१७. कर्तव्य गुमाएपछिको पछुतो

क्याथलिन, इटाली

म वर्षौँदेखि एक अभिनेत्रीको रूपमा आफ्नो कर्तव्य पूरा गर्दै आएकी छु। मे २०२२ मा, अगुवाहरूले मलाई निर्देशकको तालिम लिन र पार्ट-टाइम भिडियो जाँच्ने काम गर्न भने। त्यसबेला, म केही दबाबमा भए पनि, म माथि उठ्न र त्यो राम्रोसँग गर्नका लागि सक्दो प्रयास गर्न इच्छुक थिएँ। म हरेक दिन व्यस्त हुन्थेँ, र यो सबै निकै सन्तोषजनक लाग्थ्यो।

अगस्ट २०२२ मा, हामीले एउटा नयाँ चलचित्रको छायाङ्कन सुरु गर्‍यौँ, र निर्देशकहरूले मलाई र बहिनी जुडिथलाई मुख्य भूमिकाका लागि अडिसन दिन आग्रह गरे, तर म त्यति इच्छुक थिइनँ। मलाई दुईवटा कर्तव्यले नै आफूलाई पूरै व्यस्त बनाइरहेको छ, र यदि मैले अडिसन पास गरेर मुख्य भूमिका पाएँ भने, निश्चय नै म तीनवटा कर्तव्यले थिचिनेछु भन्ने लाग्यो। पछि, जुडिथ मुख्य भूमिकाका लागि छानिइन्, र मलाई तेस्रो भूमिकाका लागि छानियो। मुख्य भूमिका नपाएकामा म निराश भइनँ मात्र होइन, तर मनमनै खुसी भएँ। किनभने यो तेस्रो पात्रको संवाद थोरै थियो र यो त्यति महत्त्वपूर्ण भूमिका थिएन, यो तुलनात्मक रूपमा सजिलो हुनेथ्यो, त्यसैले मैले खुसीसाथ यो भूमिका स्विकारेँ। पछि, निर्देशकहरूले के देखे भने जुडिथ अलि उदास देखिन्थिन्, र यो मुख्य पात्रको सकारात्मक र बलियो व्यक्तित्वसँग त्यति मिल्दैनथ्यो, त्यसैले उनीहरूले मलाई फेरि मुख्य भूमिकाका लागि अडिसन दिन सुझाए। जब मैले यो खबर सुनेँ, तब मेरो पहिलो सोच यस्तो थियो: “यी तीनवटा कर्तव्यले मलाई पहिल्यै व्यस्त बनाइरहेका छन्; यदि उनीहरूले मलाई मुख्य भूमिकामा राखे भने, के म अझ व्यस्त हुनेछैनँ र? साथै, मुख्य भूमिकाका लागि केही रुने दृश्य पनि छन्, त्यसैले यो निकै कठिन अभिनय हुनेछ। यसलाई राम्रोसँग गर्न, धेरै ऊर्जा चाहिन्छ।” यसबारे राम्ररी सोचेपछि, मैले निर्देशकहरूलाई भनेँ, “मुख्य पात्र निकै शान्त स्वभावकी छिन्, तर म अलि जवान छु, त्यति शान्त स्वभावकी छैनँ, र यस भूमिकाका लागि उपयुक्त छैनँ। जुडिथले यस भूमिकाका लागि धेरै मेहनत गरिसकेकी छिन्, अनि उनको उमेर र स्वभाव पनि बढी मिल्छ। उनको हाउभाउ मात्रै अलि मिल्दैन, र अलिकति थप मद्दतले त्यो सुध्रिनुपर्ने हो। त्यसैले मलाई मैले फेरि अडिसन दिन आवश्यक छ जस्तो लाग्दैन।” पछि, केही छलफलपछि, सबैले जुडिथ नै वास्तवमा मुख्य पात्रको स्वभावसँग बढी मेल खान्छिन् र उनलाई केही थप मद्दत चाहिन सक्छ भन्ने महसुस गरे। यो कुरा बिते पनि, मलाई हृदयमा म मुख्य भूमिका खेल्न चाहन्नँ किनकि मलाई कष्टको डर छ भन्ने थाहा थियो। मलाई केही हदसम्म दोषी महसुस भयो, तर मैले त्यसलाई समाधान गर्नका लागि सत्यता खोजिनँ।

त्यसपछि, हरेक दिन पूरै तालिकाबद्ध हुन्थ्यो, र मलाई केही हदसम्म अनिच्छुक महसुस हुन्थ्यो। कहिलेकाहीँ, निर्देशकहरू चलचित्रबारे छलफल गर्न राती भेट्थे, र म हिचकिचाउँथेँ र अनिच्छुक हुन्थेँ, म मनमनै सोच्थेँ, “छिटो गरेर छलफल सका। छलफल सकाएपछि आराम गर्न पाउँछस्, तर मैले अझै भिडियोहरू जाँच्नुपर्छ। जाँच्नुपर्ने भिडियोहरू कहिले कम होलान्?” कहिलेकाहीँ, यी कामहरू छिट्टै सकाउन, भिडियोहरू जाँच्दा, म तिनलाई फास्ट-फरवार्ड गरेर हेर्थेँ ताकि म छिट्टै सकाएर चाँडै सुत्न सकूँ। निर्देशकको कर्तव्यमा शट्स र प्रस्तुतिजस्ता कुराहरूबारे सोच्नुपर्छ, र मलाई यी कुराहरूमा धेरै ऊर्जा चाहिन्छ भन्ने लाग्थ्यो, त्यसैले म त्यो मेहनत गर्न चाहन्नथेँ। जब मुख्य अभिनेत्रीलाई अभिनयमा कठिनाइ हुन्थ्यो, अरू निर्देशकहरूले उनलाई राम्रोसँग भूमिका निभाउन मद्दत गर्थे, तर म भने केवल सुस्त हुन र भूमिकालाई वास्ता नगर्न चाहन्थेँ। म आफूले बटुलेको थोरै अनुभव मात्र सिस्टरलाई बताउँथेँ, जुन वास्तवमा निर्देशकको भूमिका पूरा गरेको हुँदैनथ्यो। मैले गरिरहेको तेस्रो भूमिकाका सन्दर्भमा भन्दा, मैले व्यस्त भएको बहाना बनाएँ र त्यस भूमिकाबारे सोच्न मेहनत गरिनँ, जसले गर्दा प्रस्तुति एकदमै कमजोर भयो।

एक दिन, एउटी सिस्टरले मसँग सङ्गति गर्दै म आफ्नो कर्तव्यमा मूल्य चुकाउन इच्छुक छैन, शारीरिक आराममा लिप्त छु, र म सानातिना चालबाजीहरू प्रयोग गरिरहेकी छु, चिप्लो छु र ढिलासुस्ती गर्छु भनेर भनिन्। उनले मेरो वास्तविक समस्या औँल्याइरहेकी छिन् भन्ने मलाई थाहा थियो, तर मैले समस्याको गम्भीरता बुझिनँ। मैले मनमनै सोचेँ, “जे भए पनि, म यति धेरै कर्तव्यहरू धान्न सक्दिनँ, र मैले निर्देशकका रूपमा योगदान नपुऱ्याइरहेकीले ढिलो-चाँडो मलाई बर्खास्त गरिनेछ, र यदि बर्खास्त गरियो भने, गरियोस्। एउटा कर्तव्य कम हुनुको मतलब कम शारीरिक कष्ट हुनु हो, र मैले थप फुर्सद पाउनेछु। एउटै काम गर्ने कर्तव्य निर्वाह गर्नु राम्रो हुनेथ्यो।” मैले आफ्नो सोचाइ नबदलेकीले, म आफ्नो कर्तव्यमा झनै निष्क्रिय बनेँ। छायाङ्कनको दौरान धेरै समस्या आए, त्यसैले प्रगति निकै सुस्त भयो, तर म आफ्नो कर्तव्य घटाउनमा मात्र केन्द्रित थिएँ र त्यसैले यी समस्याहरूप्रति उदासीन रहेँ। पछि, मेरा कर्तव्यहरूमा ममा बोझको बोध नभएकाले, अगुवाहरूले मलाई निर्देशकबाट हटाउनुभयो, र बरु मैले खेलिरहेको भूमिकामा पूरै ध्यान केन्द्रित गर्न लगाए। मेरा कर्तव्यहरू कम भए पनि, मैले अझै पनि कुनै उत्साह जुटाउन सकिनँ, र मेरो प्रस्तुतिमा अझै धेरै समस्या थिए। अन्त्यमा, छायाङ्कनका समस्याहरू र हामी मुख्य कलाकारहरूको अभिनय मानकअनुरूपको नभएकाले, छायाङ्कन असफल भयो। केही विशेष कारणले गर्दा, मैले कलाकारका रूपमा निरन्तरता दिन सकिनँ, न त भिडियोहरू नै जाँच्न सकेँ। एकपछि अर्को कर्तव्यहरू गुम्दा मेरो भावशून्य हृदय ब्युँझिएन, र मैले अझै पनि राम्ररी आत्मचिन्तन गरिनँ। बरु, मलाई कर्तव्य गुमाउनुको पछाडि वस्तुगत कारणहरू छन् भन्ने लाग्यो। पछि, मण्डलीले मलाई सुसमाचार कामको जिम्मेवारी लिन खटायो, र म यो कर्तव्यलाई कदर गर्न चाहन्थेँ, तर केही समयपछि, म पुरानै बानीहरूमा फर्केँ। सुसमाचार प्रचारमा ब्रदर-सिस्टरहरूले सामना गरेका कठिनाइहरू, सुसमाचार कामदारहरूमाझको सहकार्यमा भएका समस्याहरू, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूका समस्याहरू आदि सामना गर्दा, मलाई सधैँ अनन्त काम छ भन्ने लाग्यो, र मैले फेरि चिप्लो हुन र ढिलासुस्ती गर्न थालेँ। हरेक पटक म काम कार्यान्वयन गर्न जाँदा, म केवल त्यो अरूलाई सुम्पन्थेँ। हरेक दिन, म अगुवाहरूले दिएको काम छिट्टै सकेर चाँडै आराम गर्नेबारे सोच्थेँ, र जब म थाक्थेँ, तब म सोच्थेँ, “के मैले गर्न सक्ने अझै हल्का कर्तव्य छ? यस काममा सधैँ एकदमै व्यस्त होइन्छ। कहिले आराम गर्न पाइएला? यो थकान कहिले अन्त्य होला?” मलाई यी “इच्छाहरू” चाँडै पूरा होलान् भन्ने अपेक्षा थिएन।

जून ९, २०२३ मा, मेरो इलाकामा केही विशेष मामिलाको कारण, मलाई अलग्गै राखियो र मैले मण्डली वा ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न सकिनँ, र म आफ्ना कर्तव्यहरू रोक्न बाध्य भएँ। यो परिस्थिति एकदमै अचानक आयो, र धेरै बेरसम्म मेरो होस ठिक ठाउँमा फर्कन सकेन। अचानक, म व्यस्त हुने अवस्थाबाट केही काम नभएको स्थितिमा पुगेँ, र मैले आफूलाई अन्योलमा पाएँ। के गर्ने थाहा भएन। मैले त्यसबारे जसरी सोचे पनि बुझ्नै सकिनँ: अहिले सुसमाचारको काममा असाध्यै व्यस्तता छ, र आफ्ना कर्तव्य निर्वाह गर्नेहरू सबैसँग एकदमै धेरै काम छन्। मेरा कर्तव्यहरू किन अचानक रोकिए? अचानक, मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, ‘तँलाई प्रयोग गर्ने कुनै उपाय छैन। जा, पाखा लाग्। तँलाई छली हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन, र आराममा लिप्त हुन मन पर्छ, होइन त? ठिकै छ, अब सधैँभरी आराममा लिप्त हो!’ परमेश्‍वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हानि।) यो ठूलो हानि हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूको न्यायले मलाई तत्कालै ब्युँझाइदिए। के मैले सधैँ विश्राम लिन चाहेकी थिइनँ र? के मैले सधैँ कष्ट मन नपराउने, थकानदेखि डराउने, चिप्लो तरिकाले कार्य गर्ने, र कामचोर हुने, आफ्नो देहको मात्र ख्याल गर्ने गरेकी थिइनँ र? खैर, अब म पूर्णतया फुर्सदमा थिएँ, कुनै कर्तव्य निर्वाह गर्न सक्दिनथेँ! मेरो दिमाग खाली भयो, र परमेश्‍वरका वचनहरू मेरो दिमागमा दोहोरिरहे: “ठिकै छ, अब सधैँभरी आराममा लिप्त हो!” मलाई हृदयमा व्यक्त गर्न नसकिने अनुभूति भयो। मैले केवल रित्तो महसुस गरेँ। मैले पहिले आफ्ना कर्तव्यहरू कसरी गरेँ भनेर फर्केर हेरेँ, र म पछुतोले भरिएँ, र मैले दोषी भावना र आत्म-दोषमा डुबेर दिनहरू बिताएँ: मैले किन आफ्ना कर्तव्यहरूलाई राम्ररी कदर गरेकी थिइनँ? मैले किन केवल झारा टारेँ?

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ र झाराटारुवा हुनुको प्रकृति र परिणामबारे केही ज्ञान प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुनु एक प्रमुख वर्जित कुरा हो। यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झारा टार्छस् भने, तैँले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न असम्भव छ। यदि तँ अर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छस् भने, तैँले सबैभन्दा पहिले झाराटारुवा हुने आफ्नो समस्यालाई सुल्झाउनुपर्छ। तैँले यस अवस्थाका प्रकटीकरणहरू देख्नेबित्तिकै त्यसलाई सच्याउन कदम चाल्नुपर्छ। यदि तँ अन्योलमा परेको छस्, कहिल्यै समस्याहरू देख्न सक्दैनस्, सधैँ प्रक्रिया मात्र पूरा गर्छस्, र झाराटारुवा शैलीमा काम गर्छस् भने, तैँले राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्न सम्भव हुनेछैन। त्यसकारण, तैँले आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउनैपर्छ। मानिसहरूले मुस्किलले आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर पाउँछन्! जब परमेश्‍वरले तिनीहरूलाई यो मौका दिनुहुन्छ, तैपनि तिनीहरूले यसलाई पक्रँदैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्‍वरको कामले कसैलाई पनि पर्खँदैन, न त आफ्नो कर्तव्य निर्वाह गर्ने मौकाले नै पर्खन्छ। कतिपय मानिसहरू भन्छन्, ‘मैले पहिले मेरो कर्तव्य राम्ररी गरिनँ, तर अहिले म अझै यसलाई निर्वाह गर्न चाहन्छु। म असफलताभन्दा माथि उठ्नेछु।’ यस्तो सङ्कल्प राख्नु अद्भुत कुरा हो, तर तँ कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भन्‍ने बारेमा स्पष्ट हुनैपर्छ: तैँले सत्यतातर्फ प्रयास गर्नैपर्छ। सत्यता बुझ्नेहरूले मात्रै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। यदि कसैले सत्यता बुझ्दैन भने, उसको श्रम समेत मानकअनुरूप हुनेछैन। तँ सत्यताबारे जति स्पष्ट हुन्छस्, तँ आफ्नो कर्तव्यमा त्यति नै प्रभावकारी बन्नेछस्। यदि तैँले यो मामिलालाई जस्तो हो त्यस्तै देख्न सक्छस् भने, तैँले सत्यतामा मेहनत लगाउनेछस्, र तँसँग आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने आशा हुनेछ। हाल कर्तव्य निर्वाह गर्ने धेरै अवसरहरू छैनन्, त्यसैले तैँले सकेसम्म तिनलाई समात्नुपर्छ। कुनै कर्तव्य आइपर्दा नै तैँले वास्तविक प्रयास गर्नुपर्छ; त्यतिबेला नै तैँले आफूलाई अर्पण गर्नुपर्छ र परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नुपर्छ र त्यतिबेला नै तैँले मूल्य चुकाउनु आवश्यक हुन्छ। कुनै पनि कुरा लुकाएर राख्ने, कुनै तिकडम पालेर राख्ने, कुनै छुट दिने, वा आफूलाई उम्कने बाटो छोड्ने काम नगर्। यदि तैँले कुनै छुट दिइस्, चालबाजी गरिस्, वा धूर्त भइस् र ढिलासुस्ती गरिस् भने, तैँले पक्कै काम राम्रोसँग पूरा गर्नेछैनस्। मानौँ तैँले भन्छस्, ‘मैले धूर्त्याइँ गरेको र ढिलासुस्ती गरेको कसैले देखेन। क्या गजब भो!’ यो कस्तो सोचाइ हो? के तँलाई तैँले मानिसहरूको आँखामा, र परमेश्‍वरको आँखामा पनि, छारो हालेको छस् भन्‍ने लाग्छ? तर, खास तथ्यमा, के तैँले के गरेको छस् भन्ने कुरा परमेश्‍वरलाई थाहा हुन्छ? थाहा हुन्छ। वास्तवमा, तँसँग केही समय अन्तरक्रिया गर्ने जो कोहीले पनि तेरो भ्रष्टता र कुरूपताको बारेमा थाहा पाउनेछ; कुरा यति मात्रै हो कि तिनीहरूले सोझै नभन्न सक्छन्: तिनीहरूले हृदयमा तेरो मूल्याङ्कन गर्नेछन्। धेरै मानिसहरू यस्ता थिए जसलाई प्रकट गरी हटाइयो किनभने धेरैजसो मानिसहरूले तिनीहरूको सार छर्लङ्गै देख्न सक्थे र त्यसैले तिनीहरू को हुन् भन्ने कुरा खुलासा गरे र तिनीहरूलाई मण्डलीबाट निकाल्न लगाए। त्यसैले, मानिसहरूले सत्यता पछ्याए पनि नपछ्याए पनि, तिनीहरूले आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ; तिनीहरू आफ्नो विवेकद्वारा डोऱ्‍याइनुपर्छ र तिनीहरूले केही वास्तविक कामकुरा गर्नुपर्छ। तँमा कमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा प्रभावकारी हुन सक्छस् भने, तँलाई हटाइनेछैन। यदि तँ सधैँ आफू ठीक छु, मलाई पक्कै पनि हटाइनेछैन भनी सोच्छस् भने, यदि तैँले कहिल्यै चिन्तन गर्दैनस् वा आफूलाई चिन्ने प्रयास गर्दैनस्, र तैँले अझै पनि आफ्ना उचित कामहरूलाई बेवास्ता गर्छस् र सधैँ झारा टार्छस् भने, जब परमेश्‍वरका चुनिएका मानिसहरूले साँच्चै तँप्रति सहनशीलता गुमाउँछन्, तब तिनीहरूले तँ को होस् भन्ने कुरा खुलासा गर्नेछन्, अनि तँलाई हटाइनेछ। त्यसपछि, पछुताउन धेरै ढिलो भइसकेको हुनेछ, किनभने सबैले तँलाई छर्लङ्गै देखिसकेका हुनेछन्, र तैँले आफ्नो सबै इज्जत र निष्ठा गुमाइसकेको हुनेछस्। यदि कसैले तँलाई विश्‍वास गर्दैन भने, के परमेश्‍वरले तँलाई विश्‍वास गर्नुहुन्छ? परमेश्‍वरले मानिसको सबैभन्दा भित्री हृदयको छानबिन गर्नुहुन्छ: उहाँले यस्तो व्यक्तिलाई कदापि विश्‍वास गर्नुहुनेछैन। … मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ आफूलाई जाँच्नुपर्छ: ‘के मैले यो कर्तव्य मानकअनुरूप निर्वाह गरेको छु? के मैले यसमा आफ्नो हृदय लगाएको छु? के म झाराटारुवा स्थितिमा पुगेको छु?’ यदि तँ सधैँ झाराटारुवा हुन्छस् भने, तँ खतरामा छस्। कम्तीमा पनि, यसको अर्थ तँसँग कुनै विश्‍वसनीयता छैन, र मानिसहरूले तँलाई विश्‍वास गर्न सक्दैनन् भन्‍ने हुन्छ। अझ गम्भीर रूपमा भन्दा, यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारुवा हुन्छस्, र यदि तँ सधैँ परमेश्‍वरलाई धोका दिन्छस् भने, तँ ठूलो खतरामा छस्! खुलेआम छलमा संलग्न हुनुका परिणामहरू के-के हुन्? तैँले जानी-जानी गलत गरिरहेको छस् भन्ने कुरा सबैले देख्न सक्छन्। तँ पूर्ण रूपमा आफ्नै भ्रष्ट स्वभावहरूअनुसार जिइरहेको छस्, र तेरो कर्तव्यमा तँ झारा टार्ने बाहेक केही गर्दैनस्, र तैँले सत्यता पटक्कै अभ्यास गर्दैनस्—यसको मतलब तँ मानवताविहीन छस्! यदि यो तँमा सुरुदेखि अन्त्यसम्म प्रकट हुन्छ—तैँले कुनै ठूला गल्तीहरू गर्दैनस् तर सानातिना गल्तीहरू निरन्तर गरिरहन्छस्, र सुरुदेखि अन्त्यसम्म पश्‍चात्ताप गर्दैनस् भने, तँ एक दुष्ट व्यक्ति, एक अविश्‍वासी होस्, र तँलाई निकालिनुपर्छ—यो एक गम्भीर परिणाम हो। तँलाई अविश्‍वासी र दुष्ट व्यक्तिका रूपमा पूर्ण रूपमा प्रकट गरी हटाइन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ)। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पहिले धेरै पटक पढेकी थिएँ, तर त्यसले त्यसबेला जस्तो मेरो मनमा गहिरो गरी घोचेको कहिल्यै थिएन। आफ्नो कर्तव्य झाराटारूवा तरिकाले पूरा गरेर, चालबाजीको सहारा लिएर, म मानिसहरूको आँखामा त छारो हाल्न सक्थेँ, तर परमेश्‍वरलाई धोका दिन सक्दिनथेँ, र यदि पश्चात्ताप नगरीकन बढिरहेकी भए, म हटाइनेथिएँ। मैले आफ्नो कर्तव्य निर्वाह गरेका क्षणहरूलाई फर्केर हेरेँ: जब मेरा कर्तव्यहरू बढे, धेरै समय र ऊर्जा चाहियो, तब मैले गुनासो गर्न थालेँ, मलाई आफूसँग आराम गर्ने समय छैन र समयमा विश्राम गर्न पाउँदिनँ भन्ने लाग्यो, र मलाई हिचकिचाहट र अनिच्छुक महसुस भयो, मैले सधैँ विश्रामको आशा गरेँ। भिडियो जाँच्दा, म चाँडै आराम गर्न सकूँ भनेर झाराटारुवा तरिकाले हेर्थेँ। यसले कुनै हानि नगरे पनि, म आफ्ना कर्तव्यमा सुस्त र चिप्लो अनि झाराटारुवा भइरहेकी थिएँ, र परमेश्‍वरले यो सब देख्नुभयो। म साँच्चै निष्कपट थिइनँ र भरोसाहीन थिएँ! मण्डलीले मलाई निर्देशकका रूपमा तालिम लिने अवसर दियो, तर मैले त्यसको कदर गरिनँ। मैले पटकथा वा शट्सको ख्याल गर्नमा मेहनत गरिनँ, र त्यो मानसिक रूपमा थकाउने भनेर गुनासो मात्र गरेँ। कलाकारहरूलाई उनीहरूको भूमिकामा सहयोग गर्दा, म चिप्लो र सुस्त भएँ, उनीहरूलाई मार्गदर्शन गर्न आफ्नो विगतको थोरै अभिनय अनुभवमा भर परेँ, तर यसको कुनै वास्तविक उपयोग थिएन। म त साँच्चै पद ओगट्ने तर कुनै ठोस काम नगर्ने सजावटकी वस्तु मात्र थिएँ। एक कलाकारका रूपमा मेरो कर्तव्यमा, मुख्य भूमिकाका लागि ऊर्जा चाहिन्छ भन्ने मलाई थाहा थियो, त्यसैले मैले अडिसन दिने अवसर अस्वीकार गरेँ। म छानिन्थेँ कि छानिन्थिनँ भन्ने कुरा छाडौँ, जब परमेश्‍वरको घरको कामका लागि मेरो आवश्यकता थियो, तब म सहकार्य गर्न सक्रिय रूपमा अग्रसर भइनँ। बरु, मैले पहिले मेरो देहलाई सहज हुन्छ कि हुँदैन भनेर विचार गरेँ, र जब मैले यो मेरो देहका लागि लाभदायक हुनेछैन भन्ने देखेँ, तब अडिसन दिन चाहिनँ, र मैले बहाना बनाउन र जिम्मेवारीहरूबाट पछि हट्न छल प्रयोग गरेँ। म एकदमै स्वार्थी थिएँ! पछि मैले तेस्रो भूमिका खेल्दा पनि यसलाई लापरवाहीपूर्वक लिएँ। मैले पर्याप्त तयारी गरिनँ, र छायाङ्कनको परिणाम एकदमै नराम्रो भयो। वास्तवमा, त्यसबेला, मैले तीन प्रकारका कर्तव्यहरू गरे पनि, यदि मैले आफ्नो समय राम्ररी व्यवस्थापन गरेर व्यावहारिक तरिकाले आफ्नो कर्तव्य निर्वाह गरेकी भए, म तीमध्ये कुनै पनि राम्ररी निर्वाह गर्न असफल हुनेथिइनँ। मेरा कर्तव्यहरूमा जतिसुकै व्यस्तता भए पनि, तिनका लागि मैले अरू मानिसहरूले भन्दा आधा वा एक घण्टा बढी मात्र काम गर्नुपर्ने हुन्थ्यो। तर म त्यो थोरै मूल्य पनि चुकाउनसमेत इच्छुक थिइनँ, र म सधैँ कष्टलाई मन नपराउने र थकानदेखि डराउने गर्थेँ, र मैले एकपछि अर्को कर्तव्यहरू गुमाउँदासमेत, पश्चात्ताप गरिनँ। अन्त्यमा, म सुसमाचार कामका लागि जिम्मेवार रहँदा पनि, फेरि उही खराब बानीहरूमा फसिरहेँ। म आफ्नो देहको आरामका लागि, सधैँ चिप्लो तरिकाले कार्य गर्थेँ र सुस्त हुन्थेँ, र जब-जब सम्भव हुन्थ्यो, तब-तब झारा टार्थेँ। मैले आफ्नो निष्ठा र इज्जत खेर फालेकी थिएँ। म भरोसाहीन र आफ्नो कर्तव्य पूरा गर्न पूर्णतया अयोग्य थिएँ। परमेश्‍वरले मलाई धेरै पहिले नै तिरस्कार गरिसक्नुभएको थियो।

मैले आफ्नो कर्तव्य कसरी निर्वाह गरेँ भनेर चिन्तन गर्दा, मलाई हृदयमा गहन रूपमा आत्मग्लानि भयो, र म परमेश्‍वरलाई प्रार्थना गर्दै रोएँ, “हे परमेश्‍वर, मैले आफ्नो कर्तव्य मानकअनुरूपको तरिकामा गरेकी छैनँ भनर बुझेँ। यो सब मेरो झाराटारुवा तरिका र म शारीरिक आराममा लिप्त हुनुले गर्दा भएको हो। आज, मेरो कर्तव्य अचानक रोकिनु ममाथि तपाईँको सजाय र ताडना हो। हे परमेश्‍वर, म पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई आत्मचिन्तन गर्न र आफूलाई बुझ्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” पछि, मैले विवेकपूर्वक मेरा समस्याहरूसम्बन्धी सत्यता खोजेँ, र मैले परमेश्‍वरका वचनहरू पढेँ: “अल्छी मानिसहरू केही पनि गर्न सक्दैनन्। दुई शब्दमा सारांश निकाल्नुपर्दा, तिनीहरू निकम्मा मानिस हुन्; तिनीहरूमा दोस्रो दर्जाको अशक्तता हुन्छ। अल्छी मानिसहरूको क्षमता जति नै राम्रो भए पनि, यो देखावटी कुरा मात्रै हुन्छ; तिनीहरूसँग राम्रो क्षमता भए पनि, त्यसको कुनै काम हुँदैन। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्—तिनीहरूलाई आफूले के गर्नुपर्छ भनेर थाहा भए पनि, तिनीहरू त्यो गर्दैनन्; र तिनीहरूलाई कुनै कुरा समस्या हो भनेर थाहा भए पनि, तिनीहरू यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्; र काम प्रभावकारी हुनका लागि तिनीहरूले के-कस्ता कठिनाइहरू भोग्नुपर्छ भनेर तिनीहरूलाई थाहा भए पनि, तिनीहरू यी सार्थक कठिनाइहरू सहन इच्छुक हुँदैनन्—त्यसैले तिनीहरू कुनै सत्यता प्राप्त गर्न सक्दैनन्, र कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू मानिसहरूले सहनुपर्ने कठिनाइ सहन चाहँदैनन्; तिनीहरूलाई सुखसयलमा लिप्त हुन, हर्ष र फुर्सतको समयको आनन्द उठाउन, अनि स्वतन्त्र र तनावरहित जीवनको आनन्द उठाउन मात्रै आउँछ। के तिनीहरू बेकामका हुँदैनन् र? कठिनाइ सहन नसक्ने मानिसहरू जिउन लायक हुँदैनन्। सधैँ परजीवीको जीवन जिउन चाहनेहरू विवेक वा समझ नभएका मानिस हुन्; तिनीहरू पशु हुन् र त्यस्ता मानिसहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तिनीहरूले कठिनाइ सहन नसक्ने हुँदा, तिनीहरूले श्रम गरे पनि, त्यो राम्ररी गर्न सक्दैनन्, र यदि तिनीहरू सत्यता प्राप्त गर्न चाहन्छन् भने, त्यसको आशा झनै कम हुन्छ। कष्ट भोग्न नसक्ने र सत्यतालाई प्रेम नगर्ने व्यक्ति रद्दी व्यक्ति हो; ऊ श्रम गर्नसमेत योग्य हुँदैन। ऊ अलिकति पनि मानवता नभएको पशु हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ; यो मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। “सुरुदेखि नै, परमेश्‍वरले भन्‍नुभयो, ‘म मानिसहरूको धेरै सङ्ख्या नभई तिनीहरूको उत्कृष्टता चाहन्छु।’ यो परमेश्‍वरद्वारा आफ्ना चुनिएका मानिसहरूका लागि माग गरिएको मानक हो, साथै मण्डलीमा रहेका मानिसहरूको सङ्ख्यासँग सम्बन्धित माग र सिद्धान्त हो। ‘म मानिसहरूको उत्कृष्टता चाहन्छु’—यहाँ, ‘उत्कृष्टता’ ले राज्यका असल सिपाहीहरूलाई जनाउँछ कि विजेताहरूलाई जनाउँछ? दुवैमध्ये कुनै पनि कुरा सही होइन। सटीक रूपमा भन्दा, ‘उत्कृष्टता’ ले जोसँग सामान्य मानवता छ, जो साँचो रूपमा मानव हुन्, तिनीहरूलाई जनाउँछ। परमेश्‍वरको घरमा, यदि तैँले मानवले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्न सक्छस्, यदि तँलाई मानवका रूपमा प्रयोग गर्न सकिन्छ, र यदि तैँले अरूले तँलाई नतानी, नघिस्याई, वा नठेली मानवका जिम्मेवारी, कर्तव्य, र दायित्वहरू पूरा गर्न सक्छस् भने, र तँ व्यर्थको रद्दी होइनस्, तँ मुफ्तखोर होइनस्, तँ आवारा होइनस्—तैँले मानवका जिम्मेवारी र दायित्वहरू र मानवको मिसन वहन गर्न सक्छस् भने—मानवका रूपमा मानकअनुरूप हुनु भनेको यही मात्रै हो! के ती आवारा र आफ्‍ना उचित कामहरूमा ध्यान नदिनेहरूले मानवको मिसन वहन गर्न सक्छन्? (सक्दैनन्।) कतिपय मानिसहरू जिम्मेवारी वहन गर्न अनिच्छुक हुन्छन्; अरूले त्यो वहन गर्न सक्दैनन्—तिनीहरू व्यर्थका रद्दी हुन्। मानवका जिम्मेवारीहरू वहन गर्न नसक्‍नेहरूलाई मानव भन्‍न सकिँदैन। … परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न नसक्‍नेहरू सामान्य मानिसहरू होइनन्, र परमेश्‍वर तिनीहरूलाई चाहनुहुन्न। तँ अगुवा भए पनि वा कामदार भए पनि, वा तैँले व्यावसायिक सीपहरूसँग सम्बन्धित निश्‍चित काम गरिरहेको भए पनि, तैँले आफूले जिम्मेवारी लिएको काम वहन गर्न सक्नैपर्छ। आफ्नो जीवन र अस्तित्व व्यवस्थापन गर्न सक्‍ने बाहेक, तेरो अस्तित्व सास फेर्नुसँग मात्रै सम्बन्धित हुँदैन, खानु, पिउनु, र रमाइलो गर्नुसँग मात्रै सम्बन्धित हुँदैन, तर परमेश्‍वरले तँलाई दिनुभएको मिसन वहन गर्नुसँग सम्बन्धित हुन्छ। त्यस्ता मानिसहरू मात्रै सृजित प्राणी कहलिन लायक हुन्छन् र मानव कहलिन लायक हुन्छन्। सधैँ सित्तैँमा खान चाहने र सधैँ छलकपट गर्दै अघि बढ्ने, चलाकी गरेर अन्त्यसम्म पुग्ने अनि आशिष्‌हरू प्राप्त गर्ने आशा गर्ने परमेश्‍वरको घरमा रहेका मानिसहरूले कुनै पनि काम वा जिम्मेवारी वहन गर्न सक्दैनन्, कुनै मिसन वहन गर्न सक्नु त परको कुरा हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ, र यो खेदजनक कुरा होइन। किनभने जेलाई हटाइँदै छ, त्यो मानव होइन—तिनीहरू मानव कहलिन लायक छैनन्। तैँले तिनीहरूलाई व्यर्थका मानिसहरू, आवारा, वा आलसी मानिस भन्‍न सक्छस्; जे भए पनि, तिनीहरू मानव कहलिन लायक हुँदैनन्। जब तैँले तिनीहरूलाई कुनै काम सुम्पन्छस्, तब तिनीहरूले यसलाई आत्मनिर्भर रूपमा पूरा गर्न सक्दैनन्; अनि जब तैँले तिनीहरूलाई कुनै कार्य सुम्पन्छस्, तब तिनीहरूले आफ्नो जिम्मेवारी वहन गर्न वा आफूले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न सक्दैनन्—यस्ता मानिसहरू खतम हुन्छन्। तिनीहरू जिउन लायक हुँदैनन्; तिनीहरू मृत्यु पाउन लायक हुन्छन्। परमेश्‍वरले तिनीहरूलाई बाँच्‍न दिनु नै उहाँको अनुग्रह हो, र यो असाधारण निगाह हो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (५))। परमेश्‍वर अल्छी, समय त्यतिकै खेर फाल्ने मानिसहरूको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरू आफ्नो उचित कामलाई ध्यान दिँदैनन् भनेर खुलासा गर्नुहुन्छ। यसलाई एउटा वाक्यांशमा सारांशीकृत गर्नुपर्दा, तिनीहरू “जसोतसो काम चलाउँछन्।” तिनीहरू केवल खाने, पिउने, रमाइलो गर्ने, र शारीरिक सहजतामा रमाउनेबारे मात्र सोच्दै दिनहरू बिताउँछन् र उचित मामिलाहरूबारे सोच्दैनन्। सम्भव हुँदैपिच्छै, यी मानिसहरू आफ्नो कर्तव्यमा झारा टार्छन्, आराम गर्छन्, र जिम्मेवारीहरू पन्छाउँछन्। तिनीहरू कुनै पनि कर्तव्य राम्ररी निर्वाह गर्न सक्दैनन्, र तिनीहरू कुनै बोझ उठाउन न इच्छुक हुन्छन्, न त समर्थ नै। तिनीहरू केवल फुर्सद र सहजता चाहन्छन्, र पनि अन्त्यमा अझै आशिषहरू अपेक्षा गर्छन्। यस्ता मानिसहरू मानव कहलाइन अयोग्य छन्, तिनीहरू निकम्मा हुन्, र परमेश्‍वर यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ। मैले आफ्नो व्यवहारबारे चिन्तन गर्दा, आफू यी मानिसहरूजस्तै रहेछु भन्ने बुझेँ। म आफूले गर्न सक्ने काम गर्दिनँथेँ, र लिनुपर्ने जिम्मेवारी र बोझहरूलाई पन्छाउँथेँ। म सधैँ शारीरिक आरामको मात्र लालसा गर्थेँ, अनि म कष्ट र थकानदेखि डराउँथेँ। मेरो हरेक दिनको कामना भनेको आफ्नो काम छिट्टै सकेर चाँडै आराम गर्ने हुन्थ्यो। म सुँगुरजस्तो खान, पिउन र राम्रोसँग सुत्न मात्र चाहन्थेँ। मण्डलीले मलाई भिडियो जाँच्ने महत्त्वपूर्ण कर्तव्य सुम्पेको थियो, तर चाँडै सुत्न जानका लागि, म भिडियोहरू जाँच्दा फास्ट-फरवार्ड गर्थेँ। मेरो गैरजिम्मेवारीको कारण, यदि मैले मानकअनुरूप नभएको भिडियो अपलोड गर्न दिएको भए, त्यसले परमेश्‍वरको गवाही दिन नसक्ने मात्र होइन, परमेश्‍वरको बेइज्जत पनि गर्नेथ्यो, र यो मैले सहन नसक्ने परिणाम हुन्थ्यो। यसबाहेक, निर्देशक भनेको चलचित्र कामको अगुवा हो, र यस्तो महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नमा तालिम पाउन सक्नु परमेश्‍वरद्वारा उच्च पारिनु हो, तर म गैरजिम्मेवार, चिप्लो, र सुस्त भएँ। निर्देशक र कलाकार दुवै भएको नाताले, म नै चलचित्र यस्तो लामो समय ढिलाइ हुनुमा र नराम्रो छायाङ्कन हुनुमा नकार्नै नसकिने जिम्मेवार थिएँ। यसमा, मैले आफ्नो कर्तव्यमा गम्भीर रूपमा अपराध गरिरहेकी थिएँ! मण्डलीले मलाई धेरै वर्षदेखि कलाकारका रूपमा संवर्धन गर्दै आएको थियो, तैपनि नयाँ चलचित्रका लागि उपयुक्त मुख्य कलाकार भेट्टाउन नसकिएको देख्दा, म उदासीन रहेँ, चिन्तित वा व्याकुल भइनँ, र मैले आफ्नो शारीरिक आरामका खातिर मुख्य भूमिकाका लागि अडिसन दिनसमेत मानिनँ। मैले परमेश्‍वरका अभिप्रायहरूको कुनै ख्याल गरिनँ र उहाँको घरका हितहरूको सुरक्षा गर्न असफल भएँ। म पूर्ण रूपमा मानवताविहीन थिएँ! मेरा विभिन्न कार्य र मैले परमेश्‍वरको घरको काममा पुऱ्याएको हानिलाई समीक्षा गर्दा, मलाई म ठ्याक्कै परमेश्‍वरले यहाँ भन्नुभएको जस्तै छु भन्ने लाग्यो: “तिनीहरू जिउन लायक हुँदैनन्; तिनीहरू मृत्यु पाउन लायक हुन्छन्। परमेश्‍वरले तिनीहरूलाई बाँच्‍न दिनु नै उहाँको अनुग्रह हो, र यो असाधारण निगाह हो।” परमेश्‍वरको घरले मलाई बारम्बार आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर दिएको थियो, मलाई आफ्ना कर्तव्यहरू निर्वाह गरेर सत्यता प्राप्त गर्ने र थप प्रगति गर्ने मौका दिएको थियो। तर मैले सधैँ झारा टारेँ र अल्याङ्टल्याङ गरेँ। म पूर्णतया बेकम्मा थिएँ। ममा विवेक र समझको कमी थियो! मैले आफूलाई सुम्पिएका कुनै पनि कर्तव्यहरू पूरा गरेकी थिइनँ। म निकम्मा नै थिएँ। मेरो जीवनको कुनै मूल्य थिएन, र म मरिहाले पनि कसैलाई केही फरक पर्ने थिएन! अब, परमेश्‍वरले मलाई चिन्तन गर्ने अवसर दिनु नै पहिल्यै मेरा लागि परमेश्‍वरको अनुग्रह हो।

पछि, मैले म किन सधैँ झाराटारुवा तरिकाले व्यवहार गर्छु भनेर मनन गरेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “मानिसहरूले परमेश्‍वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? त किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ।’ यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्‍नै लागि जिउँछन्। ‘अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने ममाथि मेरा कर्तव्य आउँदैपिच्छे, म सधैँ कष्ट मन पराउँदिनथेँ र थकानदेखि डराउँथेँ, अनि परमेश्‍वरका लागि आफूलाई साँच्चै समर्पित गर्न असमर्थ हुन्थेँ—यो मेरो गम्भीर अल्छीपनको कारणले मात्र नभई, शैतानका विषहरूले मभित्र नियन्त्रण गरेकाले गर्दा पनि थियो, जस्तै “अरूको होइन आफ्‍नै दुनो सोझ्याउनुपर्छ,” “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,” “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ,” “वर्तमानमा बाँच र आफूप्रति दयालु हुन सिक,” र “शारीरिक आनन्द नै सुख हो।” म यी विचार र दृष्टिकोणहरूद्वारा जिएँ, झन्-झन् स्वार्थी र घृणित बनेँ। म कुनै पनि कुराका लागि कष्ट भोग्न वा मूल्य चुकाउन इच्छुक थिइनँ, र मैले शारीरिक आरामलाई सबैभन्दा माथि राखेँ। जस्तै म सानी हुँदा केही सहपाठीलाई मिडिल स्कुल गएको देख्थेँ—उनीहरू स्कुल जानका लागि बिहान झिसमिसेमै उठ्थे, र स्कुलपछि, उनीहरूसँग गर्नुपर्ने सबै प्रकारका गृहकार्य हुन्थे—मलाई त्यसरी जिउनु अत्यन्तै थकाइलाग्दो लाग्थ्यो, र साथै, उनीहरूले धेरै कष्ट भोगे पनि, कलेजमा भर्ना नपाउन सक्थे। म केवल वर्तमानको आनन्द लिन र आरामसँग जिउन चाहन्थेँ, र मलाई यही पर्याप्त हुन्छ भन्ने लाग्थ्यो। त्यसैले मैले प्राथमिक विद्यालय पूरा गरेपछि विद्यालय छोडेँ। विवाह गरेपछि, म घरका साना-ठूला सबै मामिलाबारे चिन्ता लिन पनि अनिच्छुक भएँ, र मेरा श्रीमानले ती सबै सम्हाल्नुहुन्थ्यो। मेरो परिवारले म भाग्यमानी छु, चिन्तामुक्त जीवन जिइरहेकी छु भन्थ्यो, र म हामी यसरी नै जिउनुपर्छ, र चिन्ता वा तनावविनाको जीवन जिउनु, आफ्ना दिनहरू स्वतन्त्र र सहज रूपमा बिताउनु नै हामीले जिउन सक्ने सबैभन्दा सुखी जीवन हो भन्ने सोच्थेँ। मैले यी शैतानी विषहरू मेरो प्रकृति अनि मैले काम गर्ने र आफूलाई आचरणमा ढाल्ने मापदण्ड बनिसकेका देखेँ। यी कुराद्वारा जिउँदा म झन्-झन् देहमा लिप्त भएँ, र एकदमै नीच तरिकाले जिएँ। परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न आएपछि, मैले अझै पनि आफ्ना शारीरिक हितहरूलाई पहिलो स्थानमा राखेँ, आफ्नो शारीरिक आराममा असर नपरेसम्म आफ्ना कर्तव्यहरूमा थोरै मूल्य चुकाउन मात्र इच्छुक भएँ, तर आफ्नो शारीरिक हितलाई असर गरेपछि, म उम्किने बाटो निकाल्न आफ्नो दिमाग खियाउँथेँ, र म आफ्नो कर्तव्यलाई झाराटारुवा तरिकाले लिन्थेँ। ठ्याक्कै भजनमा भनिएझैँ: “मानिसहरू देहका लागि आफ्नो ज्यान दिन इच्छुक हुन्छन्, तर सत्यताका लागि केही पनि त्याग गर्न चाहँदैनन्(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, विरक्तलाग्दो र दुःखद संसारका लागि एउटा विलाप)। झारा टारेपछि आफूलाई ग्लानि हुँदा, र राम्रो नतिजा कसरी हासिल गर्ने भनेर स्पष्टसँग थाहा हुँदासमेत, म कष्ट सहन वा मूल्य चुकाउन इच्छुक भइनँ। मलाई सधैँ त्यस्तो परिश्रमले घाटामा पार्नेछ भन्ने लाग्यो, त्यसैले मैले निरन्तर आरामको लालसा गरेँ, जसको परिणामस्वरूप मेरा कर्तव्यहरूबाट नतिजा आएन। मैले आफू निर्देशक र कलाकारका रूपमा रहेको समयमा, परमेश्‍वरको घरको काममा यति ठूलो हानि पुऱ्याएँ, तर मैले यसबारे केही महसुस गरिनँ, मलाई कुनै दुःख लागेन, र यसका लागि वस्तुगत कारणहरू छन् भन्नेसमेत सोचेँ। यसबारे सोच्दा, मलाई अलि डर लाग्यो। यी शैतानी विषहरूले मलाई स्वार्थी र दुष्ट बनाए। मेरो देह आराममा रमाइरहेको भए पनि, मैले व्यक्तिका रूपमा आफ्नो मर्यादा र निष्ठा पूर्ण रूपमा गुमाइसकेकी थिएँ, र अब, मसँग आफ्नो कर्तव्य पूरा गर्ने अवसरसमेत थिएन। मेरो विगतका कर्तव्यहरूका लागि यी पछुतोहरू अब परमेश्‍वरमाथिको आफ्नो आस्थामा लागेको दाग बनेका छन्। मैले, मानवजातिलाई मुक्ति दिनका निम्ति, परमेश्‍वर देहधारी भई पृथ्वीमा आउनुभएको, उहाँले व्यक्तिगत रूपमा मानव कष्ट भोग्नुभएको, र उहाँले मानिसहरूलाई भरणपोषण, मार्गदर्शन, न्याय र शुद्धीकरण गर्न सबै प्रकारका सत्यताहरू व्यक्त गर्नुभएको बारेमा सोचेँ। परमेश्‍वरले मानवजातिका लागि आफ्नो धेरै रगत-पसिना समर्पित गर्नुभएको छ, तर म सृजित प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्नसमेत इच्छुक थिइनँ। ममा कुन हिसाबले विवेक वा समझ थियो र? म परमेश्‍वरको अनुयायी हुन साँच्चै अयोग्य थिएँ!

मेरो एकान्त बसाइको अवधिमा, मैले मण्डलीलाई सम्पर्क गर्न सकिनँ। म युट्युबमा ब्रदर-सिस्टरहरूले बनाएका भिडियोहरू मात्र हेर्न सक्थेँ। मैले परमेश्‍वरको घरका चलचित्र, जीवन अनुभवात्मक गवाही, भजन र नृत्य भिडियोहरूको सङ्ख्या बढ्दै गएको र हरेक दिन नयाँ भिडियोहरू अपलोड गरिएको देखेँ। मलाई यी ब्रदर-सिस्टरहरूसँग पवित्र आत्माको काम, अनि परमेश्‍वरको आशिष् र मार्गदर्शन छ भन्ने लाग्यो, र मलाई एकदमै डाहा लाग्यो। मलाई आफूले ब्रदर-सिस्टरहरूसँग आफ्ना कर्तव्यहरू पूरा गरेका दिनहरूको याद आयो। मैले कसरी म उनीहरूमध्ये एक हुने गर्थेँ, तर मैले आफ्ना कर्तव्यहरूलाई कदर नगरेकीले, र ती बारम्बार झारा टार्ने तरिकाले पूरा गरेकीले, आफ्नो कर्तव्य निर्वाह गर्ने अवसर गुमाएकी थिएँ भनेर सोचेँ। मलाई एकदमै दुःख लाग्यो। मेरा पछुतो र अपराधहरूले मेरो हृदयमा काँडाले घोचेजस्तो महसुस भयो, र तिनीहरूले मलाई धेरै सास्ती दिए। यही बेला मैले साँचो खुसी हामी कति शारीरिक आरामको आनन्द लिन्छौँ भन्नेमा होइन, बरु हामी कति असल कार्यहरू तयार गर्छौं, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कति कुराहरू गर्छौं भन्नेमा छ भन्ने साँच्चै बुझेँ। फर्केर हेर्दा, मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न एउटै कुरा पनि गरेकी थिइनँ, र जब-जब म यसबारे सोच्थेँ, तब-तब म पछुतो र ऋणी भावनाले भरिन्थेँ। त्यसबेला, मैले परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ, जसको शीर्षक थियो, “आफ्नो कर्तव्य पूरा गरेर मात्र तिमीले मानव जीवनको मूल्यलाई जिउन सक्छौ,” र मेरो हृदय उज्यालो बन्यो।

१  व्यक्तिको जीवनको मूल्य के हो? एक हिसाबमा, यो सृजित प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्‍बन्धित छ। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्‍नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामी कुनै ठूलो मिसन, कर्तव्य वा जिम्‍मेवारी पूरा गर्नेबारे कुरा गर्नेछैनौँ, तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। व्यक्तिले आफ्नो जीवनकालमा आफ्‍नो स्थान भेट्टाएपछि, ऊ आफ्‍नो स्थानमा दह्रिलो गरी खडा हुन्छ, उसले आफ्‍नो पद सम्हाल्छ, आफ्नो सारा रगत-पसिना र सारा ऊर्जा समर्पित गरेर आफूले गर्नुपर्ने र पूरा गर्नुपर्ने काम राम्ररी सम्पन्न गर्छ। जब अन्त्यमा ऊ आफ्‍नो लेखा दिन परमेश्‍वरको अघि खडा हुन्छ, ऊ तुलनात्मक रूपमा सन्तुष्ट हुन्छ, र उसको हृदयमा कुनै दोषारोपण वा पछुतोको अनुभूति हुँदैन। उसले सान्त्वना महसुस गर्छ र आफूले केही प्राप्त गरेको छु, मूल्यवान्‌ जीवन जिएको छु भन्ने महसुस गर्छ।

२  त्यसोभए, मूल्यवान्‌ जीवन जिउन र अन्त्यमा यस्तो फल हासिल गर्नका लागि, व्यक्ति थकाइले बिरामी परे पनि वा उसको स्वास्थ्यमा केही समस्या आए पनि उसले शारीरिक रूपमा थोरै कष्ट भोग्‍नु र थोरै मूल्य चुकाउनु सार्थक हुन्छ। जब व्यक्ति यो संसारमा आउँछ, ऊ देहको आनन्द लिनका लागि आएको हुँदैन, न त ऊ खान, पिउन र रमाइलो गर्नका लागि नै आएको हुन्छ। व्यक्ति ती कुराहरूका लागि जिउनु हुँदैन; मानव जीवनको मूल्य त्यो होइन, न त त्यो सही मार्ग नै हो। मानव जीवनको मूल्य र पछ्याउनुपर्ने सही मार्ग केही मूल्यवान् कुरा सम्पन्न गर्नु र एउटा वा केही मूल्यवान् कामहरू पूरा गर्नुमा निहित हुन्छ। यसलाई करियर भन्न मिल्दैन; यसलाई सही मार्ग भनिन्छ, र यसलाई उचित काम पनि भनिन्छ। व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नका लागि कुनै पनि मूल्य चुकाउनु सार्थक हुन्छ।

…………

—वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६)

यस भजनले जीवनको मूल्य र अर्थप्रति मेरो आँखा खोलिदियो। भौतिक आराम अस्थायी मात्र हो, र साँच्चिकै अर्थपूर्ण जीवन हामीले आफ्नो कर्तव्य पूरा गर्दा र आफ्नो हृदयमा सान्त्वना पाउँदा मात्र भेट्टाउन सकिन्छ। मैले के बुझेँ भने यदि मेरो भ्रष्ट स्वभाव समाधान भएन भने, मेरो अल्छीपना र भौतिक आरामको लिप्तताले मलाई सधैँ आफ्नो कर्तव्य पूरा गर्नबाट रोक्नेछ। त्यसैले, मैले अभ्यासको मार्ग खोज्नका लागि परमेश्‍वरलाई प्रार्थना गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्डबाट अभ्यासको मार्ग भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब तँलाई झाराटारुवा तरिकाले काम गर्न, छली हुन र ढिलासुस्ती गर्न, र आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको छानबिनबाट बच्ने प्रयास गर्न मन लाग्छ, तब तँ प्रार्थना गर्न र त्यसो गर्नु सही हो कि होइन भनी चिन्तन गर्न तुरुन्तै परमेश्‍वरसामु आउनुपर्छ। त्यसपछि, केही सोचविचार गर्: ‘परमेश्‍वरमा विश्‍वास गर्नुको मेरो उद्देश्य के हो? मेरो झाराटारुवापनले मानिसहरूलाई मूर्ख बनाउला, तर के यसले परमेश्‍वरलाई मूर्ख बनाउनेछ र? अझ भन्नुपर्दा, परमेश्‍वरमाथिको मेरो विश्वास र मेरो कर्तव्य निर्वाह छली हुन र ढिलासुस्ती गर्न सक्नका लागि होइन, बरु मैले मुक्ति प्राप्त गर्न सक्नका लागि हो। यसरी कार्य गर्नुले ममा सामान्य मानवता नभएको देखाउँछ, र यो परमेश्‍वरले मन पराउने कुरा होइन। त्यसो गर्नु हुँदैन। यदि म संसारमा छली भएको, ढिलासुस्ती गरेको, र आफ्नै इच्छा पछ्याएको भए त्यो एउटा कुरा हुन्थ्यो, तर अहिले म परमेश्‍वरको घरमा छु, म परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत, परमेश्‍वरका आँखाहरूको छानबिनअन्तर्गत छु, र म एक मानव हुँ, त्यसैले मैले मेरो विवेक र परमेश्‍वरका वचनहरूअनुसार कार्य गर्नैपर्छ, र मैले आफ्नै इच्छा पछ्याउन, झाराटारुवा हुन, वा छली हुन र ढिलासुस्ती गर्न मिल्दैन। त्यसोभए मैले छली नहुन र ढिलासुस्ती नगर्न, झाराटारुवा नहुन कसरी कार्य गर्नुपर्छ? मैले केही मेहनत लगाउनैपर्छ। भर्खरै मलाई त्यसरी कार्य गर्न धेरै झन्झट लाग्यो, त्यसैले म कठिनाइबाट बच्न चाहेँ, तर अब मैले बुझेँ: त्यसरी कार्य गर्न अझ धेरै झन्झट हुन सक्छ, तर त्यसले नतिजा दिन्छ, त्यसैले मैले त्यसरी नै गर्नुपर्छ।’ जब तँ त्यो काम गरिरहेको हुन्छस् र अझै पनि कष्ट सहन इच्छुक हुँदैनस्, तब तैँले त्यस्ता समयमा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ: ‘प्रिय परमेश्‍वर! म एक अल्छी, र छली व्यक्ति हुँ। कृपया मलाई अनुशासनमा राख्‍नुहोस् र मलाई हप्काउनुहोस्, ताकि मैले विवेकको सचेतना प्राप्त गर्न र लाजको भावना राख्न सकूँ। म झाराटारुवा हुन चाहन्नँ। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र अन्तर्दृष्टि दिनुहोस्, ताकि मैले आफ्नो विद्रोहीपन र आफ्नो कुरूपता देख्न सकूँ।’ जब तँ यसरी प्रार्थना गर्छस्, र यसरी चिन्तन गर्छस् र आफूलाई चिन्ने प्रयास गर्छस्, तब यसले पछुतोको भावना उत्पन्न गर्नेछ; तँ आफ्नो कुरूपतालाई घृणा गर्न सक्षम हुनेछस्, र तेरो गलत स्थिति परिवर्तन हुन थाल्नेछ। तँ यस्तो मनन गर्न सक्षम हुनेछस्: ‘म किन झाराटारुवा हुन सक्छु? म किन सधैँ छली हुने र ढिलासुस्ती गर्ने प्रयास गरिरहन्छु? यसरी कार्य गर्नु विवेक र समझविहीन हुनु हो—के म अझै पनि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हुँ? म किन लगनशीलतापूर्वक कामकुरा गर्न सक्दिनँ? के मैले अलिक बेसी समय र प्रयास मात्रै लगाउनु पर्दैन र? त्यसमा के गाह्रो छ र? मैले गर्नुपर्ने कुरा यही हो; यदि म यो समेत गर्न सक्दिनँ भने, के म मानव कहलिन लायक छु र?’ फलस्वरूप, तैँले एउटा सङ्कल्प गर्नेछस् र परमेश्‍वरसँग शपथ खानेछस्, ‘प्रिय परमेश्‍वर! मैले तपाईँलाई निराश तुल्याएको छु, म साँच्चै धेरै गहन रूपमा भ्रष्ट पारिएको छु, म विवेक र समझविहीन छु, र ममा मानवता छैन। म पश्चात्ताप गर्न इच्छुक छु। कृपया मलाई क्षमा गर्नुहोस्। म निश्चित रूपमा परिवर्तन हुनेछु। यदि मैले पश्चात्ताप गरिनँ भने, तपाईँ मलाई दण्ड दिनुहोस्।’ त्यसपछि, तेरो मानसिकता बदलिनेछ, र तँ परिवर्तन हुन थाल्नेछस्। तैँले अर्को पटक आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ लगनशीलतापूर्वक कार्य गर्न, कम झाराटारुवा हुन सक्षम हुनेछस्, र तँ कष्ट भोग्न र मूल्य चुकाउन सक्षम हुनेछस्। तैँले यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु अद्भुत छ भन्‍ने महसुस गर्नेछस्, र तेरो हृदयमा शान्ति र आनन्द हुनेछ। जब मानिसहरू परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छन्, जब तिनीहरू उहाँलाई प्रार्थना गर्न र उहाँमा भर पर्न सक्छन्, तब तिनीहरूका स्थितिहरू चाँडै परिवर्तन हुनेछन्। जब तेरो नकारात्मक स्थिति बदलिएको हुन्छ, र तैँले आफ्नै अभिप्राय र देहका स्वार्थी इच्छाहरूको विरुद्ध विद्रोह गरेको हुन्छस्, जब तँ देहको आराम र सुख त्याग्न र परमेश्‍वरका मागहरूअनुसार कार्य गर्न सक्षम हुन्छस्, र उप्रान्त मनमानी रूपमा र लापरबाहीपूर्वक कार्य गर्दैनस्, तब तेरो हृदयमा शान्ति हुनेछ र तँ आफ्नो विवेकको हप्कीबाट मुक्त हुनेछस्। के यसरी देहको विरुद्ध विद्रोह गर्न र परमेश्‍वरका मागहरूअनुसार कार्य गर्न सजिलो छ? जबसम्म तँसँग परमेश्‍वरका लागि ठूलो आकाङ्क्षा हुन्छ, तबसम्म तँ देहको विरुद्ध विद्रोह गर्न र सत्यतालाई अभ्यासमा लागू गर्न सक्छस्। अनि जबसम्म तँ यसरी अभ्यास गर्छस्, तब तँ थाहै नपाईकन सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। यो पटक्कै गाह्रो छैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले बुझेँ कि परमेश्‍वरमा विश्वास गर्दा र आफ्नो कर्तव्य पूरा गर्दा, ममा परमेश्‍वरका लागि ठूलो चाहना हुनुपर्छ र मैले आफ्नो कर्तव्यलाई पहिलो स्थानमा राख्नुपर्छ। जब म आफ्नो कर्तव्यमा झाराटारुवा हुन चाहन्छु, तब मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, उहाँलाई कष्ट सहने सङ्कल्प माग्नुपर्छ, र मैले उहाँको छानबिन पनि स्विकार्नुपर्छ। यस अभ्यासमा लागिरहँदा, मेरो झाराटारुवा हुने बानीको समस्या बिस्तारै हट्न थाल्नेछ। मैले के बुझेँ भने मैले कर्तव्यहरू गुमाउनुमा परमेश्‍वरको अभिप्राय मलाई मेरो समस्याहरूमाथि चिन्तन गर्न लगाउनु थियो, र यो मेरो आस्थाको मार्गमा एक मोड थियो। मैले सत्यता पछ्याउनुपर्थ्यो, आफ्नो देहविरुद्ध विद्रोह गर्नुपर्थ्यो, आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो, र मानव रूप जिउनुपर्थ्यो। मैले घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, अब मैले आफ्नो असफलताको जड स्पष्ट रूपमा देखेँ। म उप्रान्त शैतानी स्वभावद्वारा जिउन चाहन्नँ। म माथि उठ्ने प्रयास गर्न चाहन्छु, र यदि मैले फेरि आफ्नो कर्तव्य पूरा गर्ने मौका पाएँ भने, म आफ्नो कर्तव्यलाई पहिले राख्नेछु, र तपाईँलाई सन्तुष्ट पार्न सक्दो प्रयास गर्नेछु।”

अगस्ट २०२४ मा, मैले अन्ततः मण्डलीलाई सम्पर्क गर्न सकेँ, र म फेरि आफ्नो कर्तव्य पूरा गर्न सक्षम बनेँ। म यति उत्साहित भएँ कि मैले आफूले महसुस गरिरहेकी कुरा व्यक्त गर्नै सकिनँ। एक क्षणका लागि, मलाई खुसी, कृतज्ञता र ग्लानिको मिश्रित अनुभूति भयो। मलाई थाहा थियो यो परमेश्‍वरले मलाई पश्चात्ताप गर्ने अवसर दिनुभएको हो, र मैले मनमनै गोप्य रूपमा के सङ्कल्प गरेँ भने म आफ्नो कर्तव्यमा पहिलेजस्तो कहिल्यै शारीरिक आराममा लिप्त हुनेछैनँ, र मैले आफ्नो कर्तव्यलाई पहिलो स्थानमा राख्न र परमेश्‍वरको छानबिन स्विकार्न सम्झनुपर्छ।

पछि, मण्डलीले मलाई कलाकार बन्न प्रबन्ध गऱ्यो, र मैले अनुभवात्मक गवाही भिडियोहरूमा अभिनय गर्ने तालिम लिएँ, र मैले पार्ट-टाइममा अन्य कर्तव्यहरू पनि लिएँ। यसपटक, मलाई आफ्नो पार्ट-टाइम कर्तव्यहरू अनावश्यक लागेन, र म ती आफूसँग जब-जब समय हुन्थ्यो, तब गर्थेँ। मैले आफूले पहिले चिनेका ब्रदर-सिस्टरहरू सबैले विगत एकदुई वर्षमा आफ्नो कर्तव्यमा ठूलो प्रगति गरेका छन् भन्ने देखेँ। अनुभवात्मक गवाही भिडियोहरूको छायाङ्कन एकदमै द्रूत गतिमा भइरहेको थियो, र पूर्वाभ्यासका लागि खासै समय हुँदैनथ्यो। मलाई ममा धेरै कमीहरू छन्, र म अलि पछि परिरहेकी छु भन्ने महसुस भयो। मलाई याद छ, मैले अभिनय गरेको पहिलो अनुभवात्मक गवाही भिडियोको तयारी समय एकदमै छोटो थियो, र मैले सोचेँ, “म त भर्खरै तालिम लिन थाल्दै छु, त्यसोभए के उनीहरू अझ बुझकी हुन मिल्दैन र? मलाई तयारी गर्न अलि बढी समय देऊ। के हामीले साँच्चै यति धेरै हतार गर्नुपर्छ?” मैले निर्देशकलाई आफ्नो विचार बताएँ, र निर्देशकले भने, “ठिक छ, हामी परमेश्‍वरमा भर पर्नेछौँ र हामीले सक्दो प्रयास मात्र गर्नुपर्छ।” त्यो क्षण, मलाई मैले फेरि सहज र आरामदायक तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्न चाहेर आफ्नो देहलाई सन्तुष्ट पार्न खोजिरहेकी छु भन्ने महसुस भयो। आफ्नो विगतका असफलताहरूबारे सोचेर, मैले अबदेखि आफ्नो देहलाई ख्याल गर्नु हुँदैन, र समय कम भए पनि म सहकार्य गर्न सक्दो कोसिस गर्नेछु भनेर आफैलाई चेतावनी दिएँ। यसपछि, म तुरुन्तै तयारी गर्न गएँ। चाँडै, मेरो पहिलो अनुभवात्मक भिडियो सफलतापूर्वक छायाङ्कन भयो। त्यसपछि, लामा अनुभवात्मक गवाही भिडियोहरूमा अभिनय गर्दा, कहिलेकाहीँ मलाई अझै पनि धेरै दबाब महसुस हुन्थ्यो, र समय कम हुँदा, ममा कष्ट मन नपराउने र थकानदेखि डराउने सोचहरू आउँथे, तर ती विचारहरू सतहमा आएपछि, म समयमै तिनीहरूप्रति सचेत हुन सक्थेँ, र म तुरुन्तै प्रार्थना गर्थेँ, परमेश्‍वरलाई मेरो हृदयको सुरक्षा गर्न र मलाई फेरि मेरो देहबारे सोच्न नदिन बिन्ती गर्थेँ। म बारम्बार अभ्यास गर्थेँ र सहकार्य गर्नमा सारा मेहनत लगाउँथेँ। मैले अहिले अभिनय गर्ने भिडियोहरूमा मेरो प्रस्तुति अरूको जस्तो स्वाभाविक र सहज नभए पनि, मलाई हृदयमा आत्म-ग्लानि महसुस हुन छोडेको छ, बरु म चिन्तामुक्त र शान्ति महसुस गर्छु।

धेरै कर्तव्य पाएर पनि तिनको कदर नगर्नुदेखि, तिनलाई गुमाउनु, र त्यसपछि तिनलाई पुनर्स्थापित गराउनुसम्म, मैले साँच्चै परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू महसुस गरेँ, र मैले परमेश्‍वरले जेसुकै गर्नुभए पनि त्यो मलाई मेरो भ्रष्ट स्वभाव फाल्न अनि विवेक र मानवता भएको व्यक्ति बन्न दिनका लागि हो भन्ने बुझेकी छु। मलाई आफूलाई बुझ्ने र सत्यता प्राप्त गर्ने यस्तो अवसर दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद। म बाँकी समयको कदर गर्न, गम्भीरतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न, र परमेश्‍वरका अपेक्षाहरूमा नचुक्न इच्छुक छु।

अघिल्लो: १६. एक तीतो असफलतापछि मैले प्राप्त गरेको कुरा

अर्को: १८. के ज्ञानले साँच्चै मानिसको भाग्य बदल्न सक्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्