१. मैले कसरी अरूसँग सौहार्दपूर्ण सहकार्य गर्ने भनी सिकेँ
अगस्ट २०२१ मा, सुपरिवेक्षकले मलाई उनी ब्रदर वाङ जिन र मलाई लेखन-पठनको कर्तव्यमा सहकार्य गराउने योजना गरिरहेकी, र उपयुक्त अतिथिसत्कारक परिवार भेट्टाउनेबित्तिकै हाम्रा लागि त्यहाँ जाने बन्दोबस्त गरिदिने कुरा बताइन्। यो कुरा सुन्नेबित्तिकै, मेरो मनमा तत्कालै प्रतिरोध जाग्यो, अनि वाङ जिन र मबीचका ती सबै नमिठा विगतहरूले मेरो दिमाग भरियो।
पहिले म लेखन-पठनको कर्तव्य निर्वाह गरिरहेको बेला, सुरुमा समूहको नेतृत्व गर्ने म नै थिएँ। मैले सहकार्य गर्ने ब्रदर-सिस्टरहरू मैले लेखेका पत्रहरूमा विरलै असहमति जनाउने वा समस्याहरू औँल्याउने गर्थे, अनि सुपरिवेक्षक पनि सधैँ मसँगै कामकुराहरूबारे छलफल गर्थिन्। तर वाङ जिन समूहमा जोडिन आएपछि, उनी प्रायजसो मेरा पत्रहरूमा फरक मत राख्दै समस्याहरू औँल्याउँथे। हुन त उनी सही नै हुन्थे, तर म स्वीकार गर्न राजी हुन्नथेँ। म निकै लामो समयदेखि त्यो समूहमा थिएँ, र कसैले पनि मेरा कमजोरीहरू यसरी ठाडै औँल्याएका थिएनन्। उनका टिप्पणीहरूले म उनीजत्तिको उत्तम छैनँ जस्तो देखाउँथे। दुईपटक त उनले सुपरिवेक्षककै अगाडि मेरा लेखहरूमा भएका समस्याहरू औँल्याइदिए, र यो कुरा स्वीकार गर्न मलाई झनै गाह्रो भयो। मैले मनमनै सोचेँ, “यति लामो समयसम्म लेखन-पठनको कर्तव्य निर्वाह गरिसकेपछि पनि, सुपरिवेक्षकले म भर्खरै तालिम सुरु गरेको व्यक्तिले जति पनि सिद्धान्तहरू बुझ्दिनँ भन्ने सोच्लिन् होला त? म कसरी मुख देखाउन सकूँला?” आफूले यसरी सोच्दा, मलाई वाङ जिनले जानीजानी मलाई निशाना बनाइरहेका छन् र मानिसहरूको अगाडि मलाई लज्जित पार्न खोजिरहेका छन् भन्ने लाग्यो, अनि म उनीप्रति पूर्वाग्रही नभइरहन सकिनँ। खासगरी जब मैले उनलाई सुपरिवेक्षकको अगाडि निकै स्पष्टता र तर्कका साथ सङ्गति गरिरहेको देखेँ, तब मलाई सङ्कटको आभास भयो। मलाई उनले मेरो श्रेय खोसेको र सुपरिवेक्षकको हृदयमा भएको मेरो स्थान गुमाइदिएको जस्तो लाग्यो। पछि, हामी सँगै कम्प्युटर सीपहरू सिक्दै गरेको बेला, वाङ जिनलाई एउटा समस्या पर्यो र उनले मसँग मद्दत मागे। मैले मनमनै सोचेँ, “तिमी धेरै सक्षम छौ होइन र? तिमी सधैँ मलाई यो कुरामा राम्रो नभएको वा त्यो कुरा गर्न नजान्ने भनिरहेको होइन र? म हरेक कुरामा तिमीभन्दा खत्तम छु भने, अहिले मलाई किन सोधिरहेका छौ?” म साँच्चै नै उनलाई सिकाउन चाहन्नथेँ, र म उनीसँग झर्को मान्दै बोलेँ। केही समयपछि, वाङ जिनले मलाई भने, “ब्रदर, यो अवधिमा तपाईँसँगको अन्तर्क्रियाबाट, तपाईँमा अहङ्कारी स्वभाव भएको र तपाईँ सत्यता स्वीकार गर्न नमान्ने मात्रै होइन, तपाईँमा हैसियतको पनि तीव्र चाहना रहेको मैले पाएको छु। यदि तपाईँले यस्तै गरिरहनुभयो भने, तपाईँ आखिरमा ख्रीष्टविरोधी बन्नुहोला भन्ने मलाई डर छ।” उनले त्यसो भनेको सुन्दा, लाजले मेरो अनुहार रातो भयो, मानौँ कसैले मलाई गालामा थप्पड हानेको थियो। मलाई एकदमै नराम्रो लाग्यो, “मलाई अहङ्कारी भन्नु एउटा कुरा हो, तर म ख्रीष्टविरोधी बन्छु भनेर उनले कसरी भन्न सके? के उनले मलाई जथाभाबी आरोप लगाइरहेका छैनन् र? ख्रीष्टविरोधी कस्तो व्यक्ति हो? तिनीहरू ती मानिसहरू हुन् जसलाई परमेश्वरले घृणा गर्नुहुन्छ र हटाउनुहुन्छ, अनि जसलाई ब्रदर-सिस्टरहरूले अस्वीकार गर्छन्। यदि मेरा ब्रदर-सिस्टरहरूले यसबारे थाहा पाए भने, उनीहरूले मेरो बारेमा के सोच्लान्?” हरेकपटक यी कुराहरू सम्झँदा मलाई वाङ जिनप्रति तीव्र वितृष्णा जाग्थ्यो र कर्तव्यमा उनीसँग फेरि कहिल्यै सहकार्य गर्न चाहन्नथेँ।
मण्डलीले हामीलाई फेरि सहकार्य गर्ने प्रबन्ध गर्ला भनेर त मैले सोचेकै थिइनँ। मैले मनमनै सोचेँ, “अँह, यसो गरेर हुँदैन। मैले सुपरिवेक्षकलाई मनाउने बाटो खोज्नैपर्छ। जेसुकै भए पनि म उनलाई समूहमा जोडिन दिन सक्दिनँ।” तर मलाई मैले साँचो कुरा बताएँ भने, सुपरिवेक्षकले मलाई अरूमा खोट लगाउँदै झन्झट पैदा गर्ने, र आफैँलाई पटक्कै नचिन्ने व्यक्ति ठान्लान् भन्ने चिन्ता थियो। त्यसैले, मैले घुमाउरो पाराले भनेँ, “वाङ जिनले पहिला लेखन-पठनको कर्तव्य निर्वाह गर्नुभएको भएपनि उहाँले कहिल्यै प्रवचनहरू सम्पादन गर्नुभएको छैन। यसबाहेक, उहाँको दम र गर्दनको हड्डी खिइने समस्या एकदमै गम्भीर छ, र उहाँको उमेर पनि ढल्किँदै छ। उहाँ वास्तवमा यो कर्तव्यका लागि उपयुक्त हुनुहुन्न।” तर सुपरिवेक्षकले जवाफ दिइन्, “वाङ जिनले पहिला लेखन-पठनको कर्तव्य निर्वाह गर्दा, उनको पेसागत सीप समूहमा सबैभन्दा उत्तम थियो, र उनले सिद्धान्तहरू पनि केही हदसम्म बुझेका छन्। अहिलेलाई तपाईँहरू दुई जनाले सहकार्य गर्न सक्नुहुन्छ।” त्यो सुनेर, म अलि खिन्न भएँ। पहिले सधैँ मेरा समस्याहरू औँल्याइरहने व्यक्तिकै अगाडि हरेक दिन देखिनुपर्ने सोचले मलाई भित्रभित्रै उकुसमुकुस बनायो; मलाई कस्तो महसुस भयो भन्ने कुरा म बयानै गर्न सक्दिनथेँ। केही दिनपछि, अगुवा एउटा भेलाका लागि आइन्, अनि उनको अगाडि, मैले फेरि वाङ जिनप्रति चिन्तित भएको नाटक गर्दै, उनी बूढा हुँदै गएका र उनको स्वास्थ्य कमजोर रहेको, त्यसैले आफूमा उनले लेखन-पठनको कर्तव्यको दबाब थेग्न नसक्लान् कि भन्ने डर रहेको बताएँ। यति भनिसकेपछि, मैले अलिकति आत्मग्लानि महसुस गरेँ, किनभने मलाई मैले आफ्नो हृदयमा भएको साँचो कुरा बताइरहेको छैनँ भन्ने थाहा थियो। तर मेरा शब्दहरूले अगुवालाई वाङ जिनलाई समूहमा नराख्न मनाउन सक्छन् भन्ने कुरा सोच्दा भने, त्यो थोरै बेचैनी हराएर गयो। अचम्मको कुरा, अगुवाको दृष्टिकोण पनि ठ्याक्कै सुपरिवेक्षककै जस्तै रहेछ। म एकदमै विरक्त भएँ। घर पुगेपछि, मैले श्रीमतीलाई वाङ जिनका बारेमा केही आलोचनात्मक कुराहरू भनेँ। सुनेपछि, उनले मलाई सम्झाउँदै भनिन् “हामीले जुनसुकै व्यक्तिसँग सहकार्य गरे पनि, त्यहाँ सधैँ हामीले सिक्नुपर्ने पाठ हुन्छ। तपाईँ लगातार अरूमा मात्रै ध्यान दिइरहनुभएको छ—यो सत्यता पछ्याउने लक्षण होइन!” मलाई थाहा थियो उनी सही थिइन्, तैपनि म वाङ जिनसँग सहकार्य गर्न चाहन्नथेँ, न त मैले राम्रोसँग आत्मचिन्तन नै गरेँ। म अझै पनि अगुवाले उपयुक्त अतिथिसत्कारक परिवार फेला पार्न नसकुन्, ताकि मैले उनीसँग सहकार्य गर्न नपरोस् भन्ने आशा गरिरहेको थिएँ।
एक रात, ११ बजेपछि, मलाई एक्कासि ४२ डिग्री सेल्सियसको उच्च ज्वरो आयो। आफू ओछ्यानमा कमजोर भएर रिँगटा लागेर पल्टिँदा मलाई गलेको मासुको थुप्रोजस्तै भएको महसुस भयो, म सिरकभित्र डल्लो परेर कामिरहेको थिएँ। मेरी श्रीमती ज्वरो घटाउन हतारहतार मेरो शरीरमा अल्कोहल दल्न थालिन्। दल्दै गर्दा, उनले भनिन्, “तपाईँलाई एक्कासि यति उच्च ज्वरो आयो, के तपाईँ आफूले आत्मचिन्तन गर्नुपर्छ जस्तो लाग्दैन? केही दिनयता, तपाईँ केवल वाङ जिनमा खोट मात्र देखाइरहनुभएको छ, तर के तपाईँ आफैँले सिक्नुपर्ने पाठहरू छैनन् र? यस्तो गम्भीर बिरामी पर्नु परमेश्वरको ताडना पो हुन सक्छ कि?” मलाई मैले साँच्चै आत्मचिन्तन गर्नु जरूरी रहेछ भन्ने महसुस भयो। मैले परमेश्वरलाई मौन प्रार्थना गर्दै, उहाँलाई मेरा आफ्नै समस्याहरू बुझ्न मलाई मार्गदर्शन गर्न अनुरोध गरेँ।
मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कुनै समस्याको सामना गर्नुपर्दा, कतिपय मानिसहरूले अरूबाट मद्दत खोज्छन्, तर जब अर्को व्यक्तिले भनेको कुरा सत्यतासँग मेल खान्छ, तब तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्, तिनीहरू आज्ञापालन गर्न सक्दैनन्, र तिनीहरूले हृदयमा यस्तो सोच्छन्, ‘म सामान्यतया तिनीहरूभन्दा राम्रो छु। यदि मैले यस पटक तिनीहरूको सुझाव सुनेँ भने, के तिनीहरू मभन्दा श्रेष्ठ छन् जस्तो देखिँदैन र? अहँ, म यस मामिलामा तिनीहरूको कुरा सुन्न सक्दिनँ। यो मेरो तरिकाले मात्रै गर्न सकिन्छ।’ त्यसपछि तिनीहरूले अर्को व्यक्तिको दृष्टिकोणलाई खारेज गर्न एउटा न एउटा कारण र बहाना भेट्टाउँछन्। जब तिनीहरूले आफूभन्दा राम्रो व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई तल झार्ने प्रयास गर्छन्, तिनीहरूले उसलाई बदनाम गर्न र उसको अधिकारलाई कमजोर पार्न उसका बारेमा अफवाहहरू रच्छन् वा घृणास्पद उपायहरू प्रयोग गर्छन्, र तिनीहरूले उसलाई पैतालाले समेत किच्छन्, र यो सबै गर्नुको उद्देश्य मानिसहरूको मनमा आफ्नो हैसियत जोगाउनु हो। यो कस्तो प्रकारको स्वभाव हो? यो अहङ्कारी र अभिमानी स्वभाव मात्रै होइन—यस्ता मानिसहरूमा शैतानी प्रकृति सार हुन्छ; यो एक क्रूर स्वभाव हो। तिनीहरूले आफूभन्दा राम्रा र श्रेष्ठ मानिसहरूलाई आक्रमण र बहिष्कार गर्छन्—तिनीहरू कपटी र दुष्ट हुन्छन्। साथै तिनीहरूले मानिसहरूलाई तल झार्न कुनै कसर बाँकी नराख्नुले तिनीहरूभित्र ठूलो पैशाचिक प्रकृति छ भन्ने देखाउँछ! शैतानी स्वभावहरूद्वारा जिएर, तिनीहरूले मानिसहरूलाई होच्याउँछन्, फसाउने प्रयास गर्छन्, र सास्ती दिन्छन्। के यो दुष्कर्म होइन र? यसरी जिउँदा, तिनीहरू अझै पनि आफू ठीक छु, आफू असल व्यक्ति हुँ भनी सोच्छन्। तर जब तिनीहरूले आफूभन्दा श्रेष्ठ व्यक्तिलाई देख्छन्, तब तिनीहरूले उसलाई सास्ती दिने र खुट्टाले किच्ने सामर्थ्य राख्छन्। यहाँ समस्या के हो? के यस्ता दुष्ट कार्यहरू गर्ने मानिसहरू असंयमित र बेकाबु हुँदैनन् र? यस्ता मानिसहरूले आफ्नै हित र आफ्नै भावनाहरूको मात्रै ख्याल गर्छन्, र तिनीहरू आफ्नै चाहना र महत्त्वाकाङ्क्षाहरूलाई सन्तुष्ट पार्न, र आफ्नै लक्ष्यहरू हासिल गर्न मात्रै चाहन्छन्। तिनीहरूले मण्डलीको काममा कति क्षति पुगेको छ भनेर वास्ता गर्दैनन्, र तिनीहरू मानिसहरूको मनमा आफ्नो हैसियत र आफ्नै ख्याति जोगाउन परमेश्वरको घरका हितहरूलाई बलिदान दिन रुचाउँछन्। के यस प्रकारका व्यक्तिहरू अहङ्कारी र आत्मधर्मी, स्वार्थी र नीच होइनन् र? यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी मात्र हुँदैनन्, तिनीहरू त हदैसम्मका स्वार्थी र नीच पनि हुन्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरूलाई पटक्कै ख्याल गर्दैनन्। के यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ? तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। यसैकारण, तिनीहरूले कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी छाडा व्यवहार देखाउँछन्, र आफूले जे चाह्यो त्यही गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्तो व्यवहारको प्रकृति के हो? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरू ज्यादै नै ईर्ष्यालु हुन्छन् र तिनीहरूमा व्यक्तिगत प्रतिष्ठा र हैसियतको अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र धूर्त हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, समस्याको सार के हो भने, त्यस्ता मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू परमेश्वरको डर मान्दैनन्, तिनीहरू आफैलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक कुरालाई परमेश्वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्वर उल्लेखयोग्य हुनुहुन्न, बरु नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ नै हुँदैन। के आफ्नो हृदयमा परमेश्वरका निम्ति कुनै स्थान नहुने, र परमेश्वरको डर मान्ने हृदय नहुने व्यक्तिहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। त्यसैले, जब तिनीहरू जोसका साथ यताउता गएर आफूलाई व्यस्त राख्छन् र अत्यधिक मेहनत लगाउँछन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्वरप्रति समर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यका अभिप्राय, सिद्धान्त र उद्देश्य तिनीहरूको आफ्नै ख्याति र हैसियतका लागि, तिनीहरूको आफ्नै हित रक्षा गर्नको खातिर हुन्छन्। के तिमीहरू यस किसिमको व्यक्ति डरलाग्दो हुन्छ भन्छौ, कि भन्दैनौ? कस्ता किसिमका मानिसहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदैन? के तिनीहरू हदैसम्म अहङ्कारी होइनन् र? के तिनीहरू शैतान होइनन्? अनि कोसँग परमेश्वरको डर मान्ने हृदयको सबैभन्दा कमी हुन्छ? पशुहरूबाहेक, दुष्ट र ख्रीष्टविरोधीहरू, दियाबलस र शैतानका वर्गमा त्यस्तो कुराको कमी हुन्छ। तिनीहरूले सत्यता कदापि स्वीकार गर्दैनन्; तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदै हुँदैन र तिनीहरूले जस्तोसुकै दुष्टता गर्न सक्छन्। तिनीहरू परमेश्वरका शत्रु हुन्, र उहाँका चुनिएका मानिसहरूका पनि शत्रु हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनको यो खण्डले खुलासा गरेको कुरा ठ्याक्कै मेरो स्थिति थियो। यो पढेपछि, मैले हृदयसम्मै छेडेजस्तो र भयभीत महसुस गरेँ। मैले विगतमा हामीले समस्याहरूबारे छलफल गरिरहेका बेला, कसरी समूहका ब्रदर-सिस्टरहरू मेरो विचारसँग सहमत हुने प्रवृत्ति देखाउँथे भन्ने कुरा सम्झेँ। सुपरिवेक्षक पनि आफूले नबुझेका विषयहरूमा मसँग सल्लाह गर्थिन्। यसले ममा श्रेष्ठताको भावना पैदा गरेको थियो। तर जबदेखि मैले वाङ जिनसँग सहकार्य गर्न थालेँ, र उनले सुपरिवेक्षकसामु यति स्पष्टता र विवेकका साथ संगति गरेको देखेँ, साथै उनले सिद्धान्तहरू मैलेभन्दा राम्रोसँग बुझेजस्तो पनि देखियो, त्यो कुराले मलाई सङ्कटको आभास गरायो। त्यसमाथि, उनी सधैँ मेरा समस्याहरू पत्ता लगाउन सक्थे, मेरा पत्रका केही भागहरू नराम्रा वा अनुपयुक्त छन् भन्थे, र सुपरिवेक्षकका अगाडि मेरा लेखहरूमा भएका समस्याहरू समेत औँल्याउँथे। यसले मेरो अभिमानमा चोट पुर्यायो र मेरो हैसियतलाई खतरामा पाऱ्याे। त्यसैले, जब अगुवाले हामीलाई यसपटक सहकार्य गर्ने प्रबन्ध गरे, तब म विशेष रूपमा प्रतिरोधी हुँदै, सोचेँ, “यदि मैले यसपटक उनीसँग सहकार्य गरेँ र उनले पहिले जस्तै मेरा समस्याहरू औँल्याइरहे भने, के मेरो इज्जत फेरि पनि जानेछैन र?” उनलाई समूहबाहिरै राख्न, मैले उनले कहिल्यै प्रवचन सम्पादन गरेका छैनन् भनेँ, र उनको स्वास्थ्यका बारेमा चिन्ता गरेजस्तो गर्दै, मैले अगुवा र सुपरिवेक्षकलाई उनलाई समूहमा तालिम लिन नदिन मनाउने प्रयास गरेँ। जब मेरा प्रयासहरू असफल भए, आफ्नो असन्तुष्टि पोख्न मैले आफ्नी श्रीमतीसँग वाङ जिनका बारेमा आलोचनात्मक कुराहरू गरेँ। मैले व्यग्र हुँदै अगुवाले हाम्रा लागि उपयुक्त अतिथिसत्कारक परिवार भेट्टाउन नसकून्, ताकि मैले उनीसँग सहकार्य गर्न नपरोस् भन्ने आशा समेत गरेँ। मेरो आफ्नै अभिमान र हैसियत जोगाउन, मैले मण्डलीको कामलाई पूर्ण रूपमा बेवास्ता गरिरहेको थिएँ। म यति स्वार्थी र नीच, यति मानवता विहीन रहेछु! तथ्यहरूको प्रकाशद्वारा मात्रै मैले ममा प्रतिष्ठा र हैसियतको गहिरो चाहना, अनि एकदमै दुर्भावनापूर्ण प्रकृति रहेछ, र परमेश्वरको डर मान्ने हृदय त पटक्कै रहेनछ भन्ने देखेँ। सत्यता के हो भने, कोही पनि पूर्ण हुँदैन, र कुनै पनि कर्तव्य एउटा व्यक्तिले मात्र पूरा गर्न सक्दैन। मण्डलीको कामको आवश्यकताका कारण नै अगुवाले वाङ जिन र मबिच सहकार्य गर्ने प्रबन्ध गरेका थिए। यदि म एक्लैले प्रवचनहरू लेखेको भए, त्यसमा निश्चय नै धेरै विचलन र कमीकमजोरी हुने थिए। दुई जनाले एकअर्काका कमीकमजोरी पूर्ति गर्दा, हाम्रो कामका नतिजा राम्रो हुने थिए। तर म परमेश्वरका अभिप्राय बुझ्न असमर्थ भएको थिएँ र वाङ जिनलाई समूहमा आउनबाट रोक्न मैले सक्दो प्रयास गरेँ। मलाई आफ्ना लागि के राम्रो हुन्छ भन्ने साँच्चै थाहा थिएन। यो महसुस गरेपछि, मलाई गहिरो पछुतो र आत्मग्लानि भयो, र मैले यस्तो दुष्टता फेरि कहिल्यै नगर्ने सङ्कल्प गरेँ।
त्यसपछि, मैले मनन गरेँ, “कुनचाहिँ भ्रष्ट स्वभावले मलाई वाङ जिनसँग सहकार्य गर्न यति प्रतिरोधी बनाइरहेको छ?” मैले परमेश्वरका वचनहरू पढेँ र आफ्नो समस्याबारे अझ बढी बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीले मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्नुको मुख्य उद्देश्य के हो? ऊ मण्डलीमा यस्तो अवस्था सिर्जना गर्न खोज्छ, जहाँ उसको आफ्नै आवाजको विपरीत कुनै आवाज नहोस्, जहाँ उसको शक्ति र उसको अगुवाइको हैसियत निरपेक्ष होऊन्, जहाँ उसका कुराहरू निरपेक्ष होऊन् र तिनलाई सबैले अनिवार्यतः पालना गरून्, र जहाँ कसैले फरक राय राखे पनि त्यस व्यक्तिले त्यो व्यक्त गर्नु हुँदैन, बरु आफ्नो हृदयमै भित्रभित्रै कुहिने गरी राख्नुपर्छ। खुल्लमखुल्ला ऊसित असहमत हुन आँट गर्ने जोकोही उसका शत्रु बन्छन्, र उसले त्यस व्यक्तिलाई सास्ती दिन हर उपाय प्रयोग गर्नेछ, र उसलाई लोप गराउने व्याकुल चाहना गर्नेछ। कुनै ख्रीष्टविरोधीले आफ्ना मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने, आफ्नो हैसियत बलियो बनाउने, र आफ्नो शक्तिको सुरक्षा गर्ने एउटा तरिका यही हो। ऊ सोच्छ, ‘तिमीले फरक राय राख्छौ भने त्यो ठीकै छ, तर तिमीले आफ्नो इच्छाअनुसार त्यसको बारेमा कुरा गर्दै हिँड्नु हुँदैन, मेरो शक्ति र हैसियतलाई कमजोर पार्ने कुरा त परै जाओस्। यदि तिमी असहमति राख्छौ भने, तिमीले मलाई व्यक्तिगत रूपमा भन्न सक्छौ। यदि तिमीले त्यो सबैको सामुन्ने भनेर मेरो अपमान गर्यौ भने, तिमी समस्या निम्त्याइरहेका छौ, र मैले तिमीलाई ठीक पार्नुपर्छ!’ यो कस्तो किसिमको स्वभाव हो? ख्रीष्टविरोधीले अरूलाई स्वतन्त्र रूपमा बोल्न दिँदैन। यदि अरू मानिसहरूले ख्रीष्टविरोधीसँग असहमति राख्छन् वा अरू कुनै कुराबारे कुनै राय राख्छन् भने,—तिनीहरूले त्यो कुरा स्वतन्त्र रूपमा उठाउन मिल्दैन; तिनीहरूले ख्रीष्टविरोधीको अभिमानलाई ख्याल गर्नैपर्छ। होइन भने, ख्रीष्टविरोधीले तिनीहरूलाई शत्रुका रूपमा व्यवहार गर्नेछ, आक्रमण र बहिष्कार गर्नेछ। यो कस्तो किसिमको प्रकृति हो? यो ख्रीष्टविरोधीको प्रकृति हो। उसले किन यसो गर्छ? उसले मण्डलीमा अरू कुनै वैकल्पिक आवाज उठ्न दिँदैन, मण्डलीमा मतविरोधीहरूलाई रहन दिँदैन, अनि परमेश्वरका चुनिएका मानिसहरूलाई खुलस्त रूपमा सत्यतामा सङ्गति गर्न र मानिसलाई खुट्ट्याउन दिँदैन। उसलाई मानिसहरूद्वारा आफ्नो खुलासा गरिने र खुट्ट्याइने सबैभन्दा बढी डर हुन्छ; ऊ आफ्नो शक्ति र मानिसहरूको हृदयमा भएको आफ्नो हैसियत सधैँ बलियो भइरहोस् र कहिल्यै निस्तेज नहोस् भन्ने चाहन्छ। उसले आफ्नो इज्जत, प्रतिष्ठा, वा अगुवाका रूपमा उसको पद र सार्थकतालाई जोखिम पुर्याउने वा असर गर्ने कुनै पनि कुरा कहिल्यै सहन सक्दैन। के यो ख्रीष्टविरोधीहरूको दुर्भावपूर्ण प्रकृतिको प्रकटीकरण होइन र? तिनीहरूमा पहिलेदेखि नै रहेको शक्तिसँग सन्तुष्ट नभएर तिनीहरू त्यसलाई सुदृढ र सुरक्षित गर्छन् र अनन्त प्रभुत्व खोज्छन्। तिनीहरूले अरूको व्यवहार मात्र नभई उनीहरूको हृदय पनि नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले यी विधिहरू प्रयोग गर्नुको उद्देश्य पूर्णतया आफ्नो शक्ति र हैसियतको रक्षा गर्नु हो, र ती पूर्ण रूपमा शक्तिमा रहिरहने तिनीहरूको इच्छाका परिणाम हुन्। … विशेष गरी मतविरोधीको उपस्थिति छ भने यस्तो हुन्छ, र ख्रीष्टविरोधीले मतविरोधीले ऊबारे केही भनेको छ वा उसको पिठ्युँ पछाडि उसको आलोचना गरेको छ भन्ने कुरा सुन्छ। यस अवस्थामा, तिनीहरूले उक्त मामलालाई तुरुन्तै समाधान गर्नेछन्, चाहे त्यसको लागि एक रातको निन्द्रा र एक दिनको खान नै किन छुटाउन नपरोस्। तिनीहरू कसरी यस्तो मेहनत लगाउन सक्छन् त? किनभने तिनीहरूलाई आफ्नो हैसियत खतरामा छ, त्यसमा चुनौती आइपरेको छ भन्ने लाग्छ। तिनीहरू के महसुस गर्छन् भने यदि आफूले यस्तो कदम चालिएन भने, आफ्नो शक्ति र हैसियत खतरामा पर्नेछ—आफ्ना दुष्ट कार्यहरू र निन्दनीय आचरण खुलासा भएपछि, आफूले आफ्नो हैसियत र शक्ति कायम राख्न नसक्ने मात्र होइन, आफूलाई मण्डलीबाट निकालिनेछ वा निष्कासित गरिनेछ। त्यसैले तिनीहरू उक्त मामला दबाउने र आफूमाथि आइपर्ने गुप्त सबै खतरा हटाउने उपायबारे सोच्नमा एकदमै बेचैन र अधीर हुन्छन्। तिनीहरूले आफ्नो हैसियत कायम राख्न सक्ने उपाय यही मात्र हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्)। परमेश्वर भन्नुहुन्छ, ख्रीष्टविरोधीहरू फरक मत राख्नेहरूलाई बहिष्कार गर्छन्। उनीहरू मण्डलीभित्र कुनै पनि फरक आवाजहरू रहनै दिँदैनन्। हरेक कुरामा उनीहरूकै निर्णय अन्तिम हुनुपर्छ, र सबैले उनीहरूकै कुरा सुन्नुपर्छ। उनीहरूको इज्जत जाने र अरूको हृदयमा भएको उनीहरूको हैसियत गुम्ने गरी, कसैले सुझाव दिनेबित्तिकै वा उनीहरूको कमीकमजोरी औँल्याउनेबित्तिकै, उनीहरू तुरुन्तै त्यो व्यक्तिलाई विरोधी र शत्रुका रूपमा व्यवहार गर्छन्। उनीहरू आफ्नो शक्ति र हैसियत सुदृढ पार्नका लागि ती व्यक्तिहरूलाई बहिष्कार र दमन गर्न जुनसुकै उपाय पनि अपनाउँछन्। यो ख्रीष्टविरोधीहरूको दुर्भावनापूर्ण प्रकृतिको एउटा प्रकटीकरण हो। मैले आफूले प्रकट गरेको कुरामाथि चिन्तन गरेँ—के म पनि ठ्याक्कै ख्रीष्टविरोधी जस्तै थिइनँ र? जब वाङ जिन मेरो कर्तव्यमा समस्याहरू भेट्टाउँथे र तिनलाई ठाडै औँल्याउँथे, मैले त्यसलाई सकारात्मक रूपमा त लिन सकिनँ नै, मलाई उनले मेरो घमण्डमा चोट पुर्याइरहेका छन् भन्ने समेत लाग्थ्यो। उनी जतिसुकै सही भए पनि वा उनका शब्दहरू तथ्यसँग जतिसुकै मेल खाए पनि, म त्यो स्वीकार गर्दिनथेँ, बरु उल्टै पूर्वाग्रही बन्थेँ र उनीप्रति इबी साँध्थेँ। पछि, उनले कम्प्युटरसम्बन्धी सीपहरू सिक्दै गरेको बेला उनलाई कठिनाइहरू हुँदा, उनले मसँग नम्र र भद्र भएर मद्दत मागे, मैले उनको उत्साह मार्न उनलाई बेवास्ता गरेँ। त्योभन्दा नराम्रो कुरा त, मलाई वाङ जिनले पहिले लेखन-पठनको कर्तव्य निर्वाह गरेका थिए र उनीसँग सिद्धान्तहरूको केही बुझाइ छ, अनि उनको कमजोर स्वास्थ्यले उनको कर्तव्य निर्वाह गर्ने क्षमतामा असर गर्दैन भन्ने राम्रोसँग थाहा थियो। तर, उनले सधैँ मेरा समस्याहरू औँल्याउने, जसले मेरो अभिमान र हैसियतमा असर पर्ने भएकाले, मैले उनलाई विरोधी र शत्रुका रूपमा हेरेँ। मैले उनको कमजोर स्वास्थ्य र प्रवचन सम्पादनमा उनको अनुभव नभएको कुरालाई बहाना बनाएर अगुवा र सुपरिवेक्षकलाई उनलाई समूहमा तालिम लिन नदिन मनाउने प्रयास गरेँ। मेरो आफ्नै अभिमान र हैसियत जोगाउन, मैले एक जना फरक मत राख्ने व्यक्तिलाई आक्रमण र बहिष्कार गर्न धेरै थोक गरेँ। मेरो प्रकृति कति दुर्भावनापूर्ण रहेछ! मैले यी सबै नीच र घृणित दुष्ट कार्यहरू गर्न सक्नुको मूल कारण भनेको मैले जिइरहेका शैतानी विषहरू नै थिए, जस्तै “समस्त ब्रह्माण्डमा, सर्वोच्च शासन गर्ने म मात्र हुँ,” “महापुरुष एक जना मात्रै हुन सक्छ,” र “सानो मुटुले भलाद्मी भइँदैन, कठोरताविना असली पुरुष भइँदैन।” यी कुराहरू मेरो प्रकृति बनिसकेका थिए, जसले गर्दा म जुनसुकै समूहमा भए पनि अन्तिम निर्णय मेरै हुनुपर्छ भन्ने चाहन्थेँ। जब म आफूभन्दा उत्तम कसैलाई देख्थेँ, तब म उनीहरूसँग निष्पक्ष व्यवहार गर्न सक्दिनथेँ। विशेष गरी जब उनीहरूका बोली वा व्यवहारले मेरो अभिमानमा चोट पुर्याउँथे वा मेरो हैसियतलाई खतरामा पार्थे। मैले उनीहरूलाई आँखाको काँडाजस्तै व्यवहार गर्दै दमन र बहिष्कार गरेँ, र उनीहरूलाई शत्रुसमेत ठानेँ। मैले परमेश्वरको घरबाट निष्कासित गरिएका ख्रीष्टविरोधी र दुष्ट मानिसहरूका बारेमा सोचेँ। उनीहरू सत्यताप्रति पूर्ण रूपमा वितृष्ण थिए र सत्यतालाई घृणा गर्थे, अरूका सही सुझावहरू कहिल्यै स्वीकार गर्दैनथे। कसैले उनीहरूको अभिमान र हैसियतमा ठेस पुराउनेबित्तिकै, उनीहरू तिनीहरूलाई दमन गर्थे र सास्ती दिन्थे, अनि आफ्नो पछि नलाग्ने जोसुकैलाई पनि पन्छाउने र मण्डलीलाई आफ्नै इलाकामा परिणत गर्ने सपना देख्थे। उनीहरूले गरेका धेरै दुष्ट कार्य र उनीहरूले मण्डलीको काममा ल्याएको गम्भीर बाधाका कारण उनीहरू निष्कासित भएका थिए। यदि मैले पश्चात्ताप नगरी आफ्नो भ्रष्ट स्वभावअनुसार आचरण गर्दै, आफ्नै प्रतिष्ठा र हैसियत जोगाउन विरोधीहरूलाई आक्रमण र बहिष्कार गरिरहेँ भने, अन्ततः म निश्चय नै परमेश्वरद्वारा तिरस्कृत भई हटाइनेथिएँ। यो महसुस गरेपछि, मलाई पछुतो र डर दुवै लाग्यो, र मैले हतारिदै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म गलत थिएँ। म शैतानद्वारा धेरै गहिरो गरी भ्रष्ट तुल्याइएको रहेछु। मेरो आफ्नै अभिमान र हैसियत जोगाउन, म मेरो ब्रदरसँग सहकार्य गर्न अनिच्छुक भएँ, र मैले उनलाई गलत ठहऱ्याउँदै बहिष्कारसमेत गरेँ। परमेश्वर, म पश्चात्ताप गर्न तयार छु कृपया मलाई अभ्यासको बाटो भेट्टाउन मार्गदर्शन गर्नुहोस्।”
पछि, मैले परमेश्वरका वचनहरू पढेँ र कसरी अभ्यास गर्ने भनी थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ आफूसँग सत्य बोल्न सक्ने मानिसहरूको नजिक हुनुपर्छ; आफ्नो आसपास यस्ता मानिस हुनु तेरो लागि निकै फाइदाजनक हुन्छ। विशेषगरी, तँमा कुनै समस्या पत्ता लगाएपछि तँलाई हकार्ने र खुलासा गर्ने आँट भएका असल मानिसहरू तेरो वरिपरि हुँदाखेरि, त्यसले तँलाई बाटो बिराउनबाट रोक्न सक्छ। तिनीहरूले तेरो हैसियत के हो भनेर वास्ता गर्दैनन्, र तिनीहरूले तैँले सत्यता सिद्धान्तविरुद्ध केही गरेको पत्ता लगाउनेबित्तिकै, आवश्यक परे तँलाई हकार्नेछन् र खुलासा गर्नेछन्। त्यस्ता मानिसहरू मात्र निष्ठावान, र इन्साफको बोध भएका मानिसहरू हुन्। तिनीहरूले तँलाई जसरी खुलासा वा हकारे पनि, यो सबै तेरा लागि सहयोगी हुन्छ, र यो सब तेरो सुपरिवेक्षण गर्न र तँलाई अघि ठेल्नको लागि हो। तँ त्यस्ता मानिसहरूको नजिक जानैपर्छ; तँलाई मद्दत गर्न तेरो छेउ त्यस्ता मानिसहरू हुँदा, तँ तुलनात्मक रूपमा सुरक्षित हुन्छस्—परमेश्वरको सुरक्षा हुनु भनेको यही हो। सत्यता बुझ्ने र सिद्धान्तहरूमा अडिग रहने मानिसहरूले हरेक दिन तेरो साथ रही तँलाई सुपरिवेक्षण गर्नु तैँले तेरो कर्तव्य राम्ररी निर्वाह गर्न र काम गर्नका लागि निकै फाइदाजनक हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्)। परमेश्वरका वचनहरू पढेपछि, मैले साँचो कुरा बोलेर मेरा समस्याहरू खुलासा गर्ने तथा औँल्याउने आँट गर्ने कोही व्यक्ति मेरो साथमा हुनु भनेको मेरो कर्तव्य र मेरो जीवन प्रवेशका लागि असाध्यै फाइदाजनक कुरा हो भन्ने बुझेँ। मैले आफूले वाङ जिनसँग पहिले सहकार्य गर्दाको समय सम्झेँ। जब उनी मैले लेखेको लेखमा कुनै समस्या भेट्टाउँथे, तब उनी ठाडै त्यो कुरा औँल्याउँथे। हुन त त्यतिबेला मेरो अभिमानमा चोट पुग्थ्यो, तर उनका सुझावअनुसार सच्याएपछि नतिजाहरू साँच्चै धेरै उत्तम हुन्थे। मैले के महसुस गरेँ भने मैले अरूका सुझाव र मद्दत स्वीकार गर्नुपर्छ; काटछाँट गरिँदा पनि, मैले पहिले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्दै समर्पित हुनुपर्छ। मेरा समस्याहरू औँल्याउने र मलाई मद्दत गर्ने उनीजस्तो कोही नभएको भए, मेरो कर्तव्य पक्कै पनि धेरै विचलन र खोटयुक्त हुने थियो, जुन मण्डलीको कामका लागि हानिकारक हुने थियो। यसबाहेक, मलाई मेरा आफ्नै भ्रष्ट स्वभावहरू बुझ्न सजिलो हुने थिएन। मैले पहिले समूहमा कसरी हरेक कुरामा मेरै निर्णय अन्तिम हुन्थ्यो, र कुनै पनि ब्रदर-सिस्टरहरूले मलाई कहिल्यै सुझाव दिँदैनथे भन्नेबारे सोचेँ। मैले आफू हरेक कुरामा राम्रो भएको र सबै कुरा बुझ्ने ठान्न पुगेको थिएँ। यसले मेरो अहङ्कारी स्वभाव मात्र जगायो र मलाई आफू अरू सबैभन्दा माथि रहेको देख्ने बनायो। वाङ जिनले मसँग सहकार्य गर्न थालेपछि, उनी आफूले समस्या देख्नेबित्तिकै बोलिहाल्थे। यसले मलाई मेरा आफ्नै समस्याहरू र मैले प्रकट गरिरहेको भ्रष्टताबारे केही सचेतना प्राप्त गर्न, र यसरी आफूलाई नियन्त्रण गर्न अनि परमेश्वरको स्वभावलाई चिढ्याउने कामहरू गर्नबाट जोगिन मद्दत गर्थ्यो। वाङ जिनले मलाई आक्रमण गर्न वा दमन गर्न मेरो सामुन्ने मेरा समस्या र कमजोरीहरू औँल्याइरहेका थिएनन्, र पक्कै पनि उनको मनसाय मलाई दोषी ठहर्याउनु थिएन। उनको उद्देश्य मण्डलीको कामको सुरक्षा गर्नु थियो; उनी मलाई साँचो अर्थमा मद्दत गर्ने कोसिस गर्दै थिए। तर इन्साफको बोध भएको यस्तो असल व्यक्तिको सामुन्ने हुँदा, आफू उनका सुझाव र मद्दतप्रति कृतज्ञ हुनु त परै जाओस्, बरू उल्टै मैले उनको असल मनसायलाई दुर्भावना ठान्दै उनलाई दमन र बहिष्कार गर्न नीच र दुर्भावनापूर्ण उपायहरू प्रयोग गरेँ। यसले उनलाई चोट मात्र पुर्याएन, काममा अवरोध र बाधा समेत ल्यायो। मैले वास्तवमै असल र खराब वा सही र गलत छुट्याउन सकिनछु! मैले जब म फेरि वाङ जिनसँग सहकार्य गर्छु, म उनका सुझावहरू ठिकसित स्वीकार गर्ने कुरा निश्चित गर्नेछु भन्ने निर्णय गरेँ।
त्यसलगत्तै, ब्रदर-सिस्टरहरूले एउटा उपयुक्त घर भेट्टाए, र वाङ जिन र मैले सँगै हाम्रो कर्तव्यमा सहकार्य गर्न सुरु गर्यौँ। सुरु-सुरुमा, वाङ जिनले मेरा समस्याहरू औँल्याउँदा, मलाई अझै पनि आफ्नो अभिमान त्याग्न मुस्किल हुन्थ्यो। म सोच्थेँ, “उनले कहिल्यै प्रवचन सम्पादन गरेका छैनन्। यदि उनले मैले सम्पादन गरेका प्रवचनहरूमा समस्या भेट्टाउन सके भने, के यसले म उनीजत्तिको उत्तम नभएको प्रमाणित गर्दैन र? उनले मेरो बारेमा के सोच्लान्?” जब ममा यस्तो सोच आयो, तब मलाई आफू फेरि अभिमान र हैसियतका लागि जिइरहेको महसुस भयो, तसर्थ मैले सचेत भई पढ्नका लागि परमेश्वरका वचनहरू खोजेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “तैँले पहिले आफ्नो देहविरुद्ध विद्रोह गर्ने अभ्यास गर्नुपर्छ, आफ्नो आडम्बर र घमण्ड त्याग्नुपर्छ, आफ्ना हितहरूलाई त्याग्नुपर्छ, आफ्नो तन र मन दुवैलाई आफ्नो कर्तव्यमा लगाउनुपर्छ, समर्पित हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र तैँले परमेश्वरलाई सन्तुष्ट पारुन्जेल कुनै पनि कष्ट भोग्न सकिन्छ भनी सोच्नुपर्छ। यदि तैँले कठिनाइहरू सामना गर्छस्, र परमेश्वरलाई प्रार्थना गर्छस्, अनि सत्यता खोज्छस् भने, परमेश्वरले तँलाई कसरी अगुवाइ गर्नुहुन्छ, तेरो हृदयमा शान्ति र खुसी छ छैन, तँसँग यो पुष्टि छ कि छैन भन्ने कुरा हेर्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचनहरूले मलाई अगाडि बढ्ने बाटो देखाए। मैले आफ्नो अभिमान त्याग्नुपर्थ्यो, आफ्नो हृदय र मन आफ्नो कर्तव्यमा लगाउनुपर्थ्यो, र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्थ्यो; तब मात्र म आफ्नो उचित काममा लागिरहेको हुने थिएँ। वास्तवमा, हरेकमा फरक-फरक सबल पक्ष हुन्छन्। हाम्रा आफ्नै सबल पक्षहरूलाई प्रयोगमा ल्याएर र आफ्ना कमजोरीहरू परिपूर्ति गर्न एकअर्काका सबल पक्षहरूबाट सिकेर मात्र हामी कर्तव्यमा राम्रा नतिजाहरू हासिल गर्नेछौँ। प्रतिष्ठा र हैसियत केवल खोक्रा कुराहरू हुन्। सबैले मलाई उच्च सम्मान गरे पनि, यसको मतलब मसँग सत्यता वास्तविकता छ भन्ने होइन, झन् यसले मलाई मुक्ति त दिलाउनै सक्दैन। म सत्यता बुझ्दिनँ र मैले आफ्ना भ्रष्ट स्वभावहरू फालेको छैनँ भने, फेरि पनि अन्तमा म दण्डका निम्ति नरकमा पठाइनेछु। यो महसुस गरेपछि, वाङ जिनले मलाई फेरि मेरा समस्याहरू औँल्याउँदा, म त्यति प्रतिरोधी भइनँ। बरु, उनले औँल्याएका समस्याहरूका आधारमा म सम्बन्धित सिद्धान्तहरू खोज्थेँ र तिनको अध्ययन गर्थेँ। यसरी अभ्यास गर्दा, समस्याहरू छिट्टै समाधान भएका मात्र होइनन्, मैले आफ्नो हृदयमा शान्ति र ढुक्कको भाव महसुस समेत गरेँ। हाम्रो सम्बन्ध पनि झन्-झन् सौहार्दपूर्ण हुँदै गयो। म भित्री हृदयदेखि नै परमेश्वरलाई धन्यवाद दिन्छु!