१८. सतावट र सङ्कष्टले मलाई प्रकट गर्‍यो

छिङ यु, चीन

म धेरै मण्डलीहरूको सफा गर्ने कामको जिम्मामा थिएँ। जुलाई २०२२ को एक दिन, याङ सिनबाट केही कुरा बुझ्न म उनको घरमा गएँ। ढोका खोल्ने उनका श्रीमान् हुनुहुन्थ्यो। उहाँले आत्तिँदै मलाई सानो आवाजमा भन्‍नुभयो, “तपाईंले कसलाई खोज्नुभएको?” मैले बुद्धि लगाउँदै भनेँ, “म मेरी दिदीलाई खोज्दै छु।” उहाँले तुरुन्तै भन्नुभयो, “उनी त बाहिर गएकी छिन्।” यति भनेपछि उहाँले ढोका लगाउनुभयो। उहाँले ढोका लगाउनै लाग्दा, मैले ढोकाको कापबाट बैठक कोठामा ३०-४० वर्षजति उमेरका दुई जना मानिस बसिरहेको देखेँ, जसले एकनासले मतिर हेरिरहेका थिए। म झस्किएँ, “ती दुई जनाले अरूलाई हेर्ने तरिका साधारण मानिसको भन्दा फरक छ। तिनीहरूले मलाई शत्रुवत् नजरले नियालिरहेका थिए। के तिनीहरू प्रहरी हुन् त?” मेरो मनमा एक्कासि डर पस्यो, र म हतार-हतार त्यहाँबाट हिँडेँ।

म अतिथि सत्कारक घरमा फर्कंदा, एउटी सिस्टर आत्तिँदै आउनुभयो र भर्खरै मण्डलीका दुई जना अगुवाहरू पक्राउ परेको कुरा आफूले सुनेको उहाँले बताउनुभयो। मेरो सातोपुत्लो उड्यो, “बर्बाद भयो! याङ सिन पनि पक्राउ परेकी होली। उनको घरमा मैले देखेका ती दुई जना अपरिचित मानिसहरू पक्कै पनि निगरानी गरिरहेका प्रहरी हुन्।” म भित्रभित्रै आत्तिन थालेँ। त्यसको लगत्तै, मैले बिहानको दुई वा तीन बजेतिर केही ब्रदर-सिस्टरहरू पनि पक्राउ परेको थाहा पाएँ। एकैचोटि यति धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका थिए, र मेरो मुटु डरले ढुकढुक गर्न थाल्यो। मैले सोचेँ, तीन वर्षअघि मानिसहरूले मलाई चिनून् भनेर प्रहरीले मेरो फोटो देखाएको थियो; पक्राउ परेका ब्रदर-सिस्टरहरूलाई म अहिले बसिरहेको घरबारे पनि थाहा थियो। यदि म त्यहीँ बसेँ भने, म जतिबेला पनि पक्राउ पर्न सक्थेँ, त्यसैले मैले आफ्ना सामानहरू लिएँ र म निस्कन तयार भएँ। त्यति नै बेला, एउटी सिस्टर हतारिँदै आउनुभयो र मण्डलीका अगुवा र कामदारहरू, अनि सुसमाचारको काम र मलजल गर्ने काममा खटिएका सुपरिवेक्षकहरू सबै पक्राउ परेका छन् भनी बताउनुभयो। उहाँले मलाई यो घरबाट चाँडै गइहाल्‍नुहोस् भनेर भन्नुभयो। यो सुन्दा त म छाँगाबाट खसेजस्तै भएँ। “यति धेरै मानिसहरू पक्राउ परेछन्, अब घटनापछिको काम कसले सम्हाल्नेछ? मैले मेरा ब्रदर-सिस्टरहरूलाई तुरुन्तै खबर गर्न कुनै मान्छे खोज्नुपर्छ ताकि तिनीहरू उम्कन सकून्!” तर फेरि ममा अर्को विचार आयो, “पक्राउ परेका ब्रदर-सिस्टरहरूसँग मेरो नजिकको सम्पर्क थियो, र प्रहरीसँग मेरो फोटो पनि छ। यदि प्रहरीले मलाई पक्रियो भने, मलाई कुटेर नमारे पनि अङ्गभङ्ग त पक्कै गर्नेछ। म त तुरुन्तै लुक्नुपर्छ!” त्यसैले म एक जना आफन्तको घरमा गएँ। म तत्कालका लागि सुरक्षित भए पनि, मेरो हृदय निरन्तर अशान्त भइरह्यो, “मण्डलीमा के भइरहेको होला? के अरू पनि पक्राउ परेका छन्? यस पटक पक्राउ पर्नेहरू सबै अगुवा र कामदारहरू छन्, त्यसैले घटनापछिको काम कसले सम्हालिरहेको होला? म पनि मण्डलीको एउटी सदस्य नै हुँ, त्यसैले के म यसरी लुकेर मात्र बस्ने हो त?” मेरो हृदय निकै बेचैन थियो।

भोलिपल्ट, मैले माथिल्लो अगुवाहरूबाट एउटा पत्र पाएँ जसमा मलाई घटनापछिको काम सम्हाल्न भनिएको रहेछ। त्यतिबेला, म भित्रभित्रै अलि डराएकी थिएँ, “यति धेरै ब्रदर-सिस्टरहरू पक्राउ परेका छन्। यो त साँच्चै आँधीको केन्द्रविन्दु नै हो। यस्तो बेला घटनापछिको काम सम्हाल्दा के म आफै बन्दुकको निसानामा पर्दिनँ र? फेरि, प्रहरीसँग मेरो फोटो पनि छ। तिनीहरूको नजर ममाथि परेपछि, म कसरी उम्कन सक्छु र? जे भए पनि मेरो स्वास्थ्य अवस्था राम्रो छैन। म पक्राउ परेँ भने, मैले दियाबलसको यातना कसरी सहन सक्छु—के मलाई कुटेर नै मारिनेछैन र? यदि म मरेँ भने, के मेरो वर्षौँको विश्वास व्यर्थ हुँदैन र?” यस्तो सोच्दा, मलाई एक्कासि मेरो सातोपुत्लो उडेको जस्तो महसुस भयो। तर यदि मैले आफ्‍नो कर्तव्य अस्वीकार गरेँ भने, मण्डली पहिले नै ठप्प भइसकेको अवस्थामा यो गम्भीर घडीमा भगौडा बन्‍ने कार्यलाई मैले कसरी सही ठहर्‍याउन सक्छु र! निरन्तरको द्वन्द्वले मेरो मुटुलाई च्यातेर दुई टुक्रा पारेको जस्तो भयो। पछि, मैले मेरो सुरक्षामा जोखिम रहेको कुरा बताउँदै अगुवाहरूलाई जवाफ पठाएँ, र यो पनि भनेँ, “मलाई काममा लगाउनु हुन्छ कि हुँदैन भन्‍ने कुरा तपाईंहरूले नै निर्णय गर्नुहोस्। यदि म उपयुक्त छु जस्तो लाग्छ भने, म जानेछु।” मेरो अभिप्रायचाहिँ तिनीहरूलाई मेरो सुरक्षामा खतरा छ भनेर बताउनु थियो ताकि तिनीहरूले मलाई पठाउने बन्दोबस्त नगरून्। यो पत्र पठाउँदा, मलाई भित्रभित्रै आत्मतिरस्कारको अनुभूति भयो। “यो पत्र लेख्‍ने क्रममा के मैले छल गरिरहेकी छैनँ र? परमेश्‍वरको घरले मलाई यतिका वर्ष संवर्धन गरेको छ, तर यो सङ्कटको घडीमा मैले आफैलाई जोगाउने कोसिस मात्र गरेँ। के मानवता भएको व्यक्तिले यही गर्छ त? एउटा भनाइ छ नि, ‘सङ्कष्टमा नै मानिसको असली रूप प्रकट हुन्छ।’ अहिले, मण्डलीका यति धेरै मानिसहरू पक्राउ परेका छन्, र घटनापछिको काम तत्काल सम्हाल्‍नुपर्ने आवश्यक छ। तर मैले आफ्नो कर्तव्य अस्वीकार गरिरहेकी छु—यो त साँच्चै मानिसले गर्ने कुरा नै होइन!” तैपनि, म अझै पनि भित्रभित्रै अलि डराएकी थिएँ, त्यसैले मैले परमेश्‍वरलाई मण्डलीको कामको सुरक्षा गर्नका लागि मलाई उठ्ने विश्वास दिनुहोस् भनी प्रार्थना गर्दै बिन्ती गरेँ। प्रार्थना गरेपछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू आफ्‍नो कामको जाँच खप्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्‍ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्‍वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। ‘गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन’ भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले नराम्रो व्यवहार गर्नुहुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, मानिसहरूमा साँचो विश्वास छ कि छैन भनेर जाँच्नका लागि परमेश्‍वरले ठूलो रातो अजिङ्गरको सतावट र गिरफ्तारीलाई प्रयोग गर्नुहुन्छ। साँचो विश्वास भएकाहरूले सङ्कष्टको समयमा मण्डलीको कामको सुरक्षा गर्न सक्छन् र आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। झूटा विश्वास भएकाहरूले पनि सामान्य अवस्थामा आफ्नो स्वार्थमा असर पर्दैन भने परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न सक्छन्, तर खतरनाक वातावरणको सामना गर्दा, तिनीहरू काँतर र डरपोक बन्छन्, र तिनीहरूले आफैलाई जोगाउने बारेमा मात्र सोच्छन्। तिनीहरूले मण्डलीको कामलाई पटक्कै ख्याल गर्दैनन्। यस्तो किसिमको व्यक्तिलाई प्रकट गरिन्छ र हटाइन्छ। मैले यसलाई आफ्नै व्यवहारसँग तुलना गरेर हेरेँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्वास गरेकी थिएँ, परमेश्‍वरका धेरै वचनहरू खाएकी थिएँ र पिएकी थिएँ, र प्रायः ब्रदर-सिस्टरहरूसँग सङ्कष्ट र परीक्षाहरू आउँदा हामी कसरी आफ्नो कर्तव्यमा डटेर लाग्नुपर्छ र हामीले कसरी परमेश्‍वरको निम्ति गवाही दिनुपर्छ भन्नेबारे सङ्गति गर्ने गरेकी थिएँ। तर, जब मण्डलीले गिरफ्तारीको यो ठूलो लहरको सामना गर्‍यो, र अगुवा र कामदारहरू अनि धेरै ब्रदर-सिस्टरहरू पक्राउ परे, तब मैले सबैभन्दा पहिले सोचेको कुरा नै तरुन्तै लुक्नुपर्छ भन्ने थियो। जब माथिल्लो अगुवाहरूले मलाई घटनापछिको काम सम्हाल्नू भनेर भन्नुभयो, तब यो कर्तव्य निर्वाह गर्नु अत्यन्तै खतरनाक छ भन्ने सोचेर म हिचकिचाएँ, र मेरो सुरक्षामा जोखिम छ भन्ने आधारमा त्यसलाई अस्वीकार गरेँ। मैले कसरी मण्डलीमा यति ठूलो घटना घटेको छ, र अगुवा र कामदारहरू सबै पक्राउ परेका छन् भन्ने बारेमा सोचेँ। यदि मण्डलीका भेटी र सरसामानहरू तुरुन्तै सारिएन भने, तिनलाई प्रहरीले लैजानेछन्। यस्ता धेरै ब्रदर-सिस्टरहरू पनि थिए जसलाई अगुवा र कामदारहरू पक्राउ परेको थाहै थिएन। यदि मैले तिनीहरूलाई समयमै खबर गरिनँ भने, तिनीहरूले पनि पक्राउ पर्ने जोखिमको सामना गर्नुपर्थ्यो। तैपनि यो गम्भीर घडीमा, पटक-पटक, मैले आफैलाई जोगाउने र आफ्‍नो कर्तव्य अस्वीकार गर्ने बाटो रोजेँ। म साह्रै स्वार्थी, घृणास्पद र मानवताहीन थिएँ। म साँच्चै परमेश्‍वरको अगाडि जिउन लायककी थिइनँ! यस्तो सोच्दा, मैले गरेका सबै कुराप्रति मलाई पछुतो लाग्यो र परमेश्‍वरप्रति ऋणी महसुस गरेँ, र उप्रान्त म आफैलाई जोगाउन चाहिनँ। त्यसपछि, मैले माथिल्लो अगुवाहरूलाई एउटा पत्र लेखेर त्यतिबेलाको मेरो घृणास्पद अभिप्रायहरूबारे बताएँ, र म घटनापछिको काम सम्हाल्न तयार छु भनेर भनेँ।

त्यसपछि, म भेष बदलेर ब्रदर-सिस्टरहरूलाई भेट्न बाहिर गएँ र परमेश्‍वरका वचनका पुस्तकहरू कसरी सार्ने भन्नेबारे छलफल गरेँ। अनि, हामीले सुरक्षा जोखिम भएका ब्रदर-सिस्टरहरूलाई तिनीहरू चाँडै लुक्नुपर्छ भनेर खबर गर्‍यौँ, र कमजोर, नकारात्मक, काँतर भएका र डराएका ब्रदर-सिस्टरहरूलाई परमेश्‍वरमा भरोसा राखेर मण्डली जीवन जिउन र आफ्नो कर्तव्य पूरा गर्न प्रोत्साहन दिँदै पत्रहरू लेख्यौँ। मैले सक्रिय भएर घटनापछिको काम सम्हालिरहेकै बेला, अर्को एउटा घटना घट्यो जसले मलाई फेरि प्रकट गर्‍यो। पुस्तकहरू संरक्षणमा राख्ने एक जना ब्रदरकी श्रीमती र छोरी पक्राउ परेको कुरा मैले थाहा पाएँ। स्थिति धेरै नाजुक थियो। परमेश्‍वरका वचनका पुस्तकहरू जतिसक्दो चाँडो सार्नुपर्ने थियो। यो सुन्दा म साह्रै आत्तिएँ। यदि यी पुस्तकहरू प्रहरीको हातमा परे भने, क्षति निकै नै ठूलो हुने थियो। मैले ती पुस्तकहरू जतिसक्दो चाँडो सार्ने उपाय निकालिहाल्‍नुपर्थ्यो। त्यसैले, मैले वास्तविक स्थिति बुझ्नका लागि पुस्तकहरू संरक्षणमा राख्ने ब्रदरलाई भेट्ने योजना बनाएँ। त्यसको लगत्तै, पक्राउ परेर छुटेका ब्रदर-सिस्टरहरूबाट मैले के थाहा पाएँ भने, पक्राउ परेका कतिपय मानिसहरूले शैतानका दाउपेचहरू देख्न सकेनन्, र तिनीहरूले घात गर्न र अगुवा र कामदारहरूलाई चिनाउन थालेका रहेछन्। ती ब्रदरकी छोरीले सबैभन्दा धेरै सूचना सम्बन्धी घात गरेकी रहेछिन्। यो सुनेर म साह्रै डराएँ, “यो अवधिमा मैले प्रायजसो निगरानी भइरहेको ठाउँहरूमा दौडधुप गरिरहेकी छु। कसैले मलाई चिन्नेबित्तिकै, के म बर्बाद हुँदिनँ र?” यस्तो सोचेर, म पछि हट्न थालेँ। त्यतिबेला, मैले सिस्टर लि स्युन अर्को क्षेत्रबाट फर्केको कुरा सुनेँ। उहाँले पहिले घटनापछिको काम सम्हाल्नुभएको थियो भन्‍ने मलाई थाहा थियो, त्यसैले म उहाँले नै मेरो कर्तव्य लिइदिनुभए हुन्थ्यो भन्ने चाहन्थेँ। मैले मेरी सहकर्मी, सिस्टर वाङ सिनलाई भनेँ, “हामीले घटनापछिको काम सम्हाल्न लि स्युनलाई लगाउन सक्छौँ कि? उहाँको सुरक्षामा कुनै जोखिम छैन र उहाँले पहिले पनि घटनापछिको काम सम्हाल्नुभएको छ।” वाङ सिनले छक्क पर्दै भन्नुभयो, “तपाईं कसरी यस्तो सोच्न सक्नुहुन्छ? उहाँले अझै पनि आफ्ना अरू कर्तव्यहरू निर्वाह गरिरहनुभएको छ। के यसो गर्नु उचित हुन्छ र?” वाङ सिनको यो प्रश्न सुनेर, मैले यो कुरा साँच्चै अनुचित रहेछ भन्ने महसुस गरेँ, “यो स्पष्ट रूपमा मेरो कर्तव्य हो, तर अझै पनि मैले मण्डलीको हितका अलिकति पनि वास्ता नगरी यो अरूको हातमा पन्छाउन खोजेँ। तर यदि मैले यो कर्तव्य निर्वाह गरिरहेँ भने, म पक्राउ पर्छु भन्ने मलाई डर लागेको छ। यदि मैले दियाबलसका दाउपेचहरू देख्न सकिनँ र परमेश्‍वरलाई धोका दिएँ भने, त्यसको अर्थ अनन्त विनाश हुनेछ र मुक्तिको कुनै मौका हुनेछैन। मैले मुक्ति पाउने मेरो मौका पूरै गुमाउनेछु!” म जति सोच्थेँ, उति नै डराउँथेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! जब ममाथि खतरा आइपर्छ, तब म पछि हट्न चाहन्छु। मलाई डोर्‍याउनुहोस् र मलाई विश्वास र सामर्थ्य दिनुहोस्!”

मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “जब मानिसहरूले आफ्‍नो जीवन बलिदान दिन तयार हुन्छन्, सबै कुरा तुच्छ बन्छ, र त्यतिको उत्तम कुरा कसैले पनि गर्न सक्दैन। जीवनभन्दा महत्त्वपूर्ण कुरा अरू के हुन सक्छ र? तसर्थ, मानिसहरूमा थप कुनै काम गर्न शैतान असमर्थ हुन्छ, यसले मानिसलाई गर्न सक्ने कुरा केही पनि छैन। ‘देह’ को परिभाषामा देहलाई शैतानले भ्रष्ट तुल्याएको छ भनेर भनिए पनि, यदि मानिसहरूले आफूलाई साँचो रूपमा समर्पित गर्छन्, र शैतानद्वारा नियन्त्रित हुँदैनन् भने, तिनीहरूलाई कसैले पनि वशमा पार्न सक्दैनन्—अनि यस क्षणमा, देहले अर्को कार्य गर्नेछ, र औपचारिक रूपमा परमेश्‍वरका आत्माको निर्देशन प्राप्त गर्न थाल्नेछ। यो अनिवार्य प्रक्रिया हो, यो चरणबद्ध रूपमा हुनुपर्छ; नत्र भने, जिद्दी देहमा काम गर्ने कुनै माध्यम परमेश्‍वरसँग हुनेछैन। परमेश्‍वरको बुद्धि नै यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय ३६)। परमेश्‍वरका वचनहरूबाट मैले, म किन काँतरपन र डरमा बाँचिरहेकी थिएँ, र हरेक दिन सर्भेलेन्स क्यामेराहरूको निगरानीमा हिँड्दा म जतिबेला पनि पक्राउ पर्न सक्छु भन्ने डर मलाई किन लाग्थ्यो भन्‍ने बारेमा बुझेँ। यसको मुख्य कारण त मैले आफ्नो ज्यानको अति माया गर्ने भएकोले, र म पक्राउ परेर कुटाइ खाई मर्छु कि भन्‍ने डर लागेकोले रहेछ। मृत्युको डर नै मेरो कमजोरीको बिन्दु बनेको थियो। पक्राउ पर्नुअघि नै म यति धेरै डराएकी थिएँ: यदि म पक्राउ परेँ भने, म पक्कै पनि आफ्नो गवाहीमा दृढ रहन सक्नेछैनँ। मैले यहूदा बनेका ती मानिसहरूलाई सम्झेँ। तिनीहरू आफ्नो ज्यान जोगाउन मरिहत्ते गर्दै, आफ्ना ब्रदर-सिस्टरहरू र परमेश्‍वरको घरको हितलाई घात गर्न हिचकिचाएनन्। तिनीहरूले शैतानको अगाडि आत्मसमर्पण गरे र परमेश्‍वरलाई धोका दिए, जसले गर्दा शैतानले तिनीहरूलाई गिज्यायो। यसरी जिउनुको के अर्थ हुन्छ र? प्रभु येशूले भन्‍नुभयो: “किनभने जसले आफ्‍नो जीवन बचाउनेछ उसले त्यो गुमाउनेछ: र जसले मेरा खातिर आफ्‍नो जीवन गुमाउनेछ त्यसले त्यो पाउनेछ(मत्ती १६:२५)। परमेश्‍वरका लागि सहिद भएका ती व्यक्तिहरू, जस्तै स्तिफनस, जसलाई प्रभु येशूको सुसमाचार घोषणा गरेको र गवाही दिएको कारण ढुङ्गाले हानेर मारियो; वा पत्रुस, जसलाई परमेश्‍वरका लागि उँधोमुन्टो क्रूसमा टाँगियो; तिनीहरूले परमेश्‍वरको गवाही दिन आफ्नो ज्यान दिए। तिनीहरूको देह मरे पनि, तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गरे। ठूलो रातो अजिङ्गरको क्रूर सतावट भोगेर् परमेश्‍वरका लागि सहिद भएका ती ब्रदर-सिस्टरहरू पनि छन्: तिनीहरूको शरीर मरेको भए तापनि, तिनीहरूको गवाही शैतानलाई पराजित गर्ने प्रमाण बन्यो, र तिनीहरूको आत्मा सृष्टिकर्ताको अगाडि फर्किए। तिनीहरू धार्मिकताका निम्ति सताइएका थिए, र तिनीहरूको मृत्यु मूल्यवान र अर्थपूर्ण थियो! त्यसपछि मैले आफूलाई हेरेँ, म अझै पनि मृत्युको डरले बाँधिएकी थिएँ र ममा परमेश्‍वरप्रतिको साँचो विश्वासको कमी थियो। मेरो जीवन परमेश्‍वरले दिनुभएको हो, र मेरो जीवन र मृत्यु परमेश्‍वरकै हातमा छ। यदि परमेश्‍वरले मलाई पक्राउ पर्न दिनुहुन्छ भने, त्यो परमेश्‍वरद्वारा नै नियोजन गरिएको हुन्छ। यदि परमेश्‍वरले मलाई पक्राउ पर्न दिनुहुन्न भने, त्यो पनि परमेश्‍वरकै सार्वभौमिकता हो। म परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुपर्छ।

पछि, मैले परमेश्‍वरका अरू वचनहरू पढेँ: “मूलभूमि चीनमा, ठूलो रातो अजिङ्गरले परमेश्‍वरका विश्‍वासीहरूलाई निरन्तर र निर्दयी रूपले दबाउने, पक्राउ गर्ने, र सताउने, अनि तिनीहरूलाई प्राय खतरनाक वातावरणमा पार्ने गर्दै आएको छ। उदाहरणको लागि, विश्‍वासीहरूलाई पक्राउ गर्न सरकारले विभिन्‍न बहानाहरू बनाउने गरिरहन्छ। अनि, ख्रीष्टविरोधी बस्‍ने क्षेत्र पत्ता लागेमा, त्यो ख्रीष्टविरोधीले सुरुमा के सोच्नेछ? त्यो सोच मण्डलीको कामको उचित बन्दोबस्त गर्नेबारेमा हुँदैन, बरु उक्त खतरनाक परिस्थितिबाट कसरी उम्कने भन्‍नेबारेमा हुन्छ। जब मण्डलीले दमन र पक्राउ सामना गर्छ, तब ख्रीष्टविरोधीहरू कहिल्यै पनि घटनापछिको कार्यमा संलग्‍न हुँदैनन्। तिनीहरू मण्डलीका अत्यावश्यक स्रोतसाधन वा कर्मचारीहरू बन्दोबस्त गर्दैनन्। बरु यसको साटो, तिनीहरू आफ्नो लागि सुरक्षित स्थान खोज्न र त्यतिमै सीमित रहन बहाना र तर्कहरू प्रस्तुत गर्छन्। तर तिनीहरू आफ्नो व्यक्तिगत सुरक्षा प्रत्याभूत भएपछि पनि मण्डलीको काम, कर्मचारी, वा स्रोतसाधन बन्दोबस्त गर्नमा व्यक्तिगत रूपमा बिरलै सहभागी हुन्छन्, न त तिनीहरूले यस विषयमा सोधपुछ गर्ने वा कुनै निश्‍चित बन्दोबस्तहरू गर्ने नै गर्छन्। यसको परिणामस्वरूप मण्डलीका स्रोतसाधन र वित्तीय कुराहरू तुरुन्तै सुरक्षित स्थानहरूमा स्थानान्तर हुँदैनन्, र अन्त्यमा, ठूलो रातो अजिङ्गरले धेरै कुरा लुटेर लैजान्छ, जसले गर्दा मण्डलीमा ठूलो घाटा हुन्छ र अझै धेरै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू पक्राउ पर्छन्। यो ख्रीष्टविरोधीहरू आफ्नो कामप्रतिको जिम्मेवारीबाट तर्किनुको परिणाम हो। ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयको गहिराइमा सधैँ व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन्छन्। यो तिनीहरूको हृदयको समस्या हो जुन तिनीहरूको लागि सधैँ चिन्ताको विषय बनेको हुन्छ। तिनीहरू मनमनै यस्तो सोच्छन्, ‘म समस्यामा पर्नु हुँदैन। जोकोही पक्राउ पर्न सके पनि, मचाहिँ पक्राउ पर्नु हुँदैन—म बाँच्‍नुपर्छ। म अझै पनि परमेश्‍वरको काम सम्‍पन्‍न भएपछि परमेश्‍वरको महिमामा सहभागी हुन प्रतीक्षा गरिरहेको छु। यदि म पक्राउ परेँ भने, मैले यहूदाले जस्तो व्यवहार गर्नेछु, र मेरो लागि सब कुरा सक्‍किनेछ। मेरो लागि असल परिणाम हुनेछैन। म दण्डित हुनेछु।’ त्यसकारण, जब तिनीहरू काम गर्न नयाँ ठाउँ जान्छन्, तब तिनीहरूले सर्वप्रथम कसको परिवार सबैभन्दा सुरक्षित र शक्तिशाली छ र सरकारको खोजतलासबाट लुक्‍न र सुरक्षित महसुस गर्न कहाँ सकिन्छ भनेर खोजबिन गर्छन्। … ख्रीष्टविरोधीहरूले आफूलाई सुरक्षित स्थानमा राखेपछि र आफू खतरामुक्त छु, खतरा टरिसकेको छ भन्‍ने महसुस गरेपछि, केही सतही काम गर्न थाल्छन्। ख्रीष्टविरोधीहरू आफ्नो बन्दोबस्तमा निकै होसियार हुन्छन्, तर यो तिनीहरू कोसँग काम गरिरहेका छन् भन्‍ने कुरामा निर्भर हुन्छ। तिनीहरू आफ्नै हितहरूसँग सम्बन्धित कुराहरूबारे निकै होसियारीसाथ विचार गर्छन्, तर मण्डलीको काम वा आफ्नो कर्तव्यको हकमा, तिनीहरूले आफ्नो स्वार्थीपन र नीचता देखाउँछन् र कुनै जिम्मेवारी देखाउँदैनन्, र तिनीहरूमा अलिकति विवेक वा समझसमेत हुँदैन। यी व्यवहारहरूको कारण नै तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्‍वरले भन्नुभएको छ, ख्रीष्टविरोधीहरूले आफूमाथि खतरा आइपर्दा परमेश्‍वरको घरको हित वा आफ्ना ब्रदर-सिस्टरहरूको सुरक्षाको कहिल्यै वास्ता गर्दैनन्। बरु, तिनीहरूले आफ्नै हित र सुरक्षालाई पहिलो प्राथमिकता दिन्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र घृणास्पद हुन्छन्। विगतमा, मैले यी वचनहरू पढेकी थिएँ तर कहिल्यै आफैसँग तुलना गरेर हेरेकी थिइनँ। मैले आफू साँच्चै परमेश्‍वरमा विश्वास गर्ने र परमेश्‍वरको घरको हितको रक्षा गर्न सक्ने व्यक्ति हुँ भन्‍ने ठानेकी थिएँ। तर जब तथ्यहरूले मलाई प्रकट गर्‍यो, तब मात्र मैले म कति स्वार्थी र घृणास्पद रहेछु, र मैले मण्डलीको कामको अलिकति पनि रक्षा गरेकी रहेनछु भन्‍ने देखेँ। जब मैले केही मानिसहरू यहूदा बनेको कुरा सुनेँ, तब मलाई यदि मैले घटनापछिको काम सम्हालेँ र धेरै मानिसहरूको सम्पर्कमा आएँ भने मलाई पनि घात गरिनेछ भन्‍ने चिन्ता लाग्यो। आफैलाई जोगाउनका लागि, म यो कर्तव्य अरूलाई पन्छाउन चाहन्थेँ ताकि म लुकेर बस्‍न सकूँ। मैले आफूले प्रकट गरेको स्वभाव त ख्रीष्टविरोधीकै स्वभाव हो भन्‍ने देखेँ। आफ्नो देहको हितका लागि मसँग अनेकौँ घृणास्पद विचारहरू थिए। म साँच्चै स्वार्थी, घृणास्पद र दुर्भावनापूर्ण थिएँ! परमेश्‍वरको घरले मलाई यतिका वर्ष संवर्धन गरेको थियो, र मैले परमेश्‍वरका धेरै सत्यताहरूको आपूर्तिको आनन्द लिएकी थिएँ, तर नाजुक घडीमा, मैले परमेश्‍वरको घरको हितलाई बेवास्ता गरेँ। ममा साँच्चै विवेक नै थिएन! मैले परमेश्‍वर कसरी देहधारी हुनुभयो र हामीलाई मुक्ति दिनका लागि दियाबलसको शासन भएको चीनमा आउनुभयो भन्‍ने बारेमा सोचेँ। उहाँले जुनसुकै बेला र जुनसुकै ठाउँमा ज्यान जाने खतराको सामना गर्नुभयो, तर उहाँले कहिल्यै आफ्नो व्यक्तिगत सुरक्षाको वास्ता गर्नुभएन। उहाँ अझै पनि मण्डलीहरूमा हिँडडुल गर्नुभयो, र उहाँले हामीलाई मलजल गर्न र आपूर्ति दिन सत्यता व्यक्त गर्नुभयो। तर, यो प्रतिकूल वातावरणमा मैले सोचेको कुरा भनेको कसरी पक्राउ पर्नबाट बच्ने र कुटाइ खाएर नमर्ने भन्ने मात्र थियो। मैले मण्डलीको कामको पटक्कै वास्ता गरिनँ। मसँग परमेश्‍वरप्रति अलिकति पनि बफादारी थिएन। यो महसुस गर्दा, मलाई आफ्नै व्यवहारदेखि लाज लागेर आयो। परमेश्‍वरको अगाडि, मैले एउटा सङ्कल्प गरेँ, “हे परमेश्‍वर, म गलत थिएछु। मैले यो नाजुक घडीमा परमेश्‍वरको घरको हितलाई बेवास्ता गर्दै आफैलाई जोगाउने कोसिस गर्नु हुँदैनथियो। ममा विवेकको साह्रै कमी थिएछ! हे परमेश्‍वर, घटनापछिको काम सम्हाल्‍ने कार्य जतिसुकै खतरनाक भए पनि, र प्रहरीले मलाई पक्रेर कुटेर मारे पनि, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न तयार छु।”

त्यसपछि, मसँगै सहकार्य गरिरहनुभएको सिस्टरसँग छलफल गरेपछि, मैले पुस्तकहरू संरक्षणमा राख्ने ब्रदरलाई एउटा विकट ठाउँमा भेट्ने र के भइरहेको छ भनेर बुझ्ने बन्दोबस्त मिलाएँ। त्यतिबेला, उहाँकी श्रीमती छुटिसक्नुभएको थियो, र उहाँकी श्रीमतीले आफ्नी छोरीले के-के कुराको घात गरेकी थिइन् भन्नेबारे विस्तृत रूपमा बताउनुभयो। ती छोरीले मानिसहरूलाई घात मात्र गरिनन्, तर उनी प्रहरीको सुराकी बन्न पनि राजी भएकी थिइन्। प्रहरीले उनकी छोरीलाई यो कुरा पनि भनेको रहेछ, “यदि हामीले तिम्रो घरमा अरू दुई-चार दिन खानतलासी गर्‍यौँ भने, हामीले पक्कै अरू केही कुरा भेट्टाउनेछौँ।” यो सुन्दा, चिन्ताले मेरो मुटु जल्यो, “हामीले पुस्तकहरू चाँडै सार्नैपर्छ! अघिल्लो पटक, आफैलाई जोगाउन खोज्दा मैले पुस्तकहरू सार्ने सबैभन्दा राम्रो मौका गुमाएँ। यस पटक, मैले अझ ढिलो गर्नु हुँदैन। मैले आफ्नो ज्यान दिएर भए पनि ती पुस्तकहरू सार्नैपर्छ!” त्यसैले मैले पुस्तकहरू सार्नका लागि तिनीहरूसँग समय मिलाएँ। जब पुस्तकहरू सार्ने समय भयो, तब उहाँहरूको घरको अगाडि एउटा साँघुरो बाटो छ भन्ने कुरा मैले याद गरेकी थिइनँ। हामीले धेरै मुस्किलले गाडी भित्र छिरायौँ, तर गेटबाट छिर्दा गाडी अड्कियो। हामी न भित्र जान सक्थ्यौँ न बाहिर निस्कन। छिमेकीको कुकुर भुकिरह्यो। म भित्रभित्रै आत्तिएँ र त्रासित भएँ, “यदि छिमेकीले उजुरी गर्‍यो भने, केही मिनेटमै प्रहरी आइपुग्नेछ। त्यतिबेला हामीले के गर्ने?” मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। परमेश्‍वरका वचनहरूले मलाई विश्वास दिए, परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ, र परमेश्‍वरले आफ्नो कामको सुरक्षा गर्नुहुनेछ। मैले प्रार्थना गरेपछि, हामीले अड्किएको गाडीको दिशा मिलाउन सक्यौँ र पछाडि सार्‍यौँ। यसरी, हामीले दुई गाडीभरि पुस्तकहरू बाहिर ओसार्‍यौँ। हामीले प्याक गर्न सुरु गरेदेखि अन्तिम खेप नसकिउन्जेलसम्म, लगभग एक घण्टा समय लाग्यो। छिमेकीको कुकुर भुकिरह्यो, तर छिमेकी कहिल्यै बाहिर निस्किएनन्। पछि, हामीले अर्को संरक्षणकर्ताको घरबाट पनि पुस्तकहरू कुनै बाधाविना नै सुरक्षित ठाउँमा सार्यौँ।

यो अनुभवपछि, मैले मेरो आफ्नै स्वार्थी र घृणास्पद शैतानी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ, र मैले मानिसको नियति र परिणाम परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरा बुझेँ। मानिसले गर्नुपर्ने काम भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु मात्र हो। यदि ऊ पक्राउ परेर जेल पर्छ वा ऊ कुटाइ खाएर मर्छ भने पनि, त्यो अर्थपूर्ण र मूल्यवान हुन्छ। जब म आफ्नो जीवन त्याग्न तयार भएँ र मैले आफ्नै प्राप्ति र नोक्सानको वास्ता गर्न छोडेँ, तब मैले परमेश्‍वरको सार्वभौमिकता देखेँ। ममा परमेश्‍वरप्रति अझ बढी विश्वास बढ्यो!

अघिल्लो: १७. सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह नगर्दाको परिणाम

अर्को: १९. जब हैसियतको इच्‍छा देखा पर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्