४९. आशिष् पाउन हेतु त्याग र समर्पण गर्नु सही हो त?

सु एन्ज, चीन

मलाई उच्च रक्तचाप छ, जुन हाम्रो परिवारमा वंशाणुगत हो। सन् २०१३ मा, मलाई गम्भीर टाउको दुखाइ पनि सुरु भयो जुन हरेक एक वा दुई दिनमा बल्झिन्थ्यो। दुखाइ सुरु भएपछि, म केही गर्न सक्दिनथेँ; पूरै शरीर कमजोर हुन्थ्यो, उभिनसमेत सक्दिनथेँ, र टाउको दुखेपछि दाँत दुख्ने र वाकवाकी हुने पनि हुन्थ्यो। ठूला अस्पतालहरूमा गएर जाँच गराउँदा पनि, कारण पत्ता लागेन। कहिलेकाहीँ दुखाइ यति तीव्र हुन्थ्यो कि मलाई आफ्नो टाउको भित्तामा ठोकाऊँ जस्तो लाग्थ्यो, मर्न मन लाग्थ्यो, तर आफ्नी श्रीमती र नवजात शिशुलाई देखेर, म आफूलाई सम्हाल्थेँ। पछि, मेरी आमाले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार मलाई सुनाउनुभयो, र मैले परमेश्‍वरमाथि आशा राखेँ, अनि के सोचेँ भने परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, यदि मैले उहाँमा पूर्ण हृदयले विश्वास गरेँ भने, उहाँले मलाई आशिष् दिनुहोला र मेरो रोग निको पार्नुहोला। परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मेरो अवस्था केही हदसम्म सहज भयो। एक दिन, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तिमीहरूमध्ये मेरो लागि इमानदारीपूर्वक समर्पित हुनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५५)। म हर्षले गदगद भएँ र जबसम्म मैले परमेश्‍वरप्रति समर्पित गर्ने प्रयास गर्छु, तबसम्म भविष्यमा उहाँबाट आशिष् पाउनेछु भन्‍ने कुरामा अझ बढी विश्वस्त भएँ। पछि, मैले पूर्ण-समय आफ्नो कर्तव्यमा समर्पित हुन आफ्नो धेरै तलब आउने जागिर छोडिदिएँ, र जतिसुकै कष्ट वा कठिनाइ सहे पनि, म खुसीसाथ र राजीखुसीले गर्थेँ। ती वर्षहरूमा, मेरो टाउको दुखाइमा धेरै सुधार भयो, र दुखाइ बल्झिने क्रम पनि घट्यो। केही वर्षपछि, मैले घरबाट टाढा आफ्नो कर्तव्य निर्वाह गरिरहेको बेला, मैले एक जना सिस्टरलाई भेटेँ जो डाक्टर हुनुहुन्थ्यो। उहाँले मेरो टाउको दुखाइ अनुहारका भागमा अचानक हुने तीव्र दुखाइका कारणले बताउँदै दश युआनभन्दा अलिकति बढी पर्ने केही औषधि लेखिदिनुभयो। अचम्मको कुरा, दुई महिनासम्म औषधि खाएपछि, मेरो अनुहारमा हुने दुखाइ चमत्कारिक तरिकाले हरायो। वर्षौंदेखि मलाई कष्ट दिने पुरानो रोग हराएको थियो, र मेरो खुसीको सीमै रहेन। मलाई थाहा थियो, बाहिरबाट हेर्दा, औषधीले मलाई निको पारेको जस्तो देखिन्थ्यो, तर वास्तविकतामा, यो परमेश्‍वरको अनुग्रह थियो जुन ममाथि आएको थियो। परमेश्‍वरप्रति समर्पित हुनुले साँच्चै इनाम ल्याउँदो रहेछ जस्तो लाग्यो, त्यसैले म आफ्नो कर्तव्य निर्वाह गर्न अझ बढी समर्पित भएँ।

सन् २०२३ को जुलाईमा, मलाई लगातार आलस्य हुन थाल्यो, र कहिलेकाहीँ टाउको दुख्ने र रिङ्गटा लाग्ने पनि हुन्थ्यो। सुरुमा, मैले यसलाई धेरै महत्त्व दिइनँ, किनभने मलाई उच्च रक्तचाप भएकाले कहिलेकाहीँ रिङ्गटा लाग्नु सामान्य हो भन्ठानेँ। तर एक महिनाभन्दा बढी समयसम्म पनि कुनै सुधार नभएपछि, लक्षणहरू यतिसम्म बिग्रियो कि म बिहान मात्र आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ। दिउँसो र बेलुकासम्ममा, मेरो टाउको घुम्ने र दुख्ने गर्थ्यो, र मेरो देब्रे हात झमझमाउँथ्यो। जब रिङ्गटा धेरै लाग्थ्यो, म केही बेर आराम गर्न ओछ्यानमा पल्टिन्थेँ। एक दिन, बाथरुमबाट बाहिर निस्केपछि, मलाई यति धेरै रिङ्गटा लाग्यो कि म हतार-हतार भित्तामा अडेस लागेर आँखा बन्द गरेँ, तर केही बेरपछि म एकाएक बेहोस भएछु। होसमा आउँदा, मैले आफ्नो टाउकोको पछाडिको भाग एकदमै दुखेको महसुस गरेँ र म सिमेन्टको भुइँमा लडिरहेको रहेछु भन्‍ने थाहा पाएँ। मेरा ब्रदरले मलाई उठ्न मदत गरेपछि, मैले लड्दा ढोकाको चौकोस भाँचेको रहेछु भन्ने देखेँ, र मेरो टाउकोको पछाडिको भागमा ठूलो टुटुल्को उठेको थियो। मैले मनमनै सोचेँ, “राम्रै भएछ, सुरुमा म ढोकाको चौकोसमा ठोक्किएँ; यदि मेरो टाउकोको पछाडिको भाग सीधै भुइँमा बज्रेको भए, परिणाम अकल्पनीय हुनेथियो!” त्यसैले, म जाँचका लागि अस्पताल गएँ, र मलाई मस्तिष्कघात भएको रहेछ। म स्तब्ध भएँ र डाक्टरलाई सोधेँ, “यति सानो उमेरमा मलाई कसरी मस्तिष्कघात हुन सक्छ? यो त वृद्ध मानिसहरूलाई लाग्ने रोग होइन र? यो त होइन होला?” डाक्टरले बारम्बार यो मस्तिष्कघात नै रहेको बताए र मलाई अस्पतालमा भर्ना हुन लगाए। उनले भने, यति सानो उमेरमा सानो रक्तनलीहरू बन्द हुने व्यक्तिको यदि समयमै उपचार गरिएन भने, मुख्य नलीहरू बन्द हुन सक्छ, जुन समस्याग्रस्त हुनेछ। डाक्टरका कुराहरूले ढुङ्गाजस्तै गरी मेरो मनलाई थिचेर बसे। मैले मस्तिष्कघात भएका धेरै वृद्ध मानिसहरू देखेको थिएँ, र गम्भीर घात भएकाहरूको शरीरको एक पाटोमा पक्षाघात हुन्थ्यो, बोली लर्बरिन्थ्यो, मुख बाङ्गो हुन्थ्यो, आँखा छड्के हुन्थ्यो, र मानसिक क्षमता कमजोर हुन्थ्यो। म पनि त्यस्तै हुँला कि भनेर आत्तिएँ, अनि सोच्थेँ, “यदि मेरो हालत त्यस्तै भयो भने, मैले कसरी परमेश्‍वरका वचनहरू खानु र पिउनु अनि आफ्नो कर्तव्य निर्वाह गर्नु? आफ्नो कर्तव्य निर्वाह नगरी, मैले कसरी मुक्ति पाउन सक्छु र?” यी विचारहरूले मलाई चिन्तित र अन्यायमा परेको महसुस गराए, र मैले गुनासो गर्न थालेँ, “यति वर्षदेखि, मैले आफ्नो परिवार र करियर पछाडि छोडेको छु। मेरा आफन्त र साथीहरूले मलाई खिसी र बदख्वाइँ गरे तापनि, मैले परमेश्‍वरमाथिको आफ्नो विश्वास कहिल्यै छोडिनँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्न धेरै कठिन समयहरू पार गरेको छु, अनि परमेश्‍वरले मलाई रक्षा गर्नुभएन? उहाँले मलाई यो रोग किन लाग्न दिनुभयो? यदि म बिरामी नभएको भए, के मैले आफ्नो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न सक्दिनथेँ र?” विशेष गरी मेरो अस्पताल बसाइको क्रममा, लगभग एक सय बिरामीहरूमध्ये म सबैभन्दा कान्छो थिएँ, र मेरो वरिपरिका बिरामीहरूले मलाई यो अवस्था छ भनी थाहा पाएपछि, तिनीहरू छक्क परे र भने, “वृद्धहरूलाई यो रोग लाग्नु त सामान्य हो, तर तिमीजस्तो जवान मान्छेलाई कसरी मस्तिष्कघात भयो?” यो सुनेर मलाई झनै नराम्रो लाग्यो। आईसीयूमा अचानक मस्तिष्कघात भएर ढलेका, अक्सिजन पाइप लगाएका, र होस आउने जाने गरिरहेका धेरै बिरामीहरूलाई देखेर, मलाई के चिन्ता लाग्यो भने यदि म फेरि बेहोस भएँ भने मेरो हालत पनि त्यस्तै हुने हो कि। मैले सोचेँ, “यस्तो दुर्भाग्यपूर्ण रोग मलाई नै कसरी लाग्न सक्यो?” मलाई चिन्ता र बेचैनी भयो। केही समयको उपचारपछि, मेरो अवस्था नियन्त्रणमा आयो। घर फर्केपछि, मैले आफ्नो स्वास्थ्यको हेरचाहमा ध्यान केन्द्रित गरेँ, आफूलाई धेरै काम लगाएर थकाउन डराएँ, र मेरो ध्यान अब मेरो कर्तव्यमा थिएन।

एक रात, ओछ्यानमा पल्टिरहेको बेला, मैले आफ्नो स्वास्थ्यको हेरचाहमा ध्यान केन्द्रित गरेकाले यी पछिल्ला केही दिन आफ्नो कर्तव्यप्रति त्यति ध्यान नदिएको कुरा सम्झेँ, र मलाई अलिकति दोषी महसुस भयो। भोलिपल्ट, मैले परमेश्‍वरको सामु प्रार्थना गरेँ, “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, जबदेखि मलाई मस्तिष्कघात भएको थाहा पाएँ, मलाई यो फेरि बल्झिएला र म फेरि बेहोस भएर ढुलूँला भन्ने निरन्तर चिन्ता लागिरहेको छ। मलाई के डर छ भने यदि म गम्भीर रूपमा लडेँ र मेरो जीवन खतरामा पर्‍यो भने, मैले मुक्ति पाउन सक्नेछैन। परिणाम स्वरूप, म आफ्नो कर्तव्य निर्वाह गर्न सही स्थितिमा छैन, र म आफ्नो स्वास्थ्य जोगाउनमा बढी चिन्तित छु। हे परमेश्‍वर, मलाई विश्वास दिन र मेरो स्थिति समाधानका लागि सत्यता खोज्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले अस्पतालमा भर्ना हुनुअघि एक जना सिस्टरले मलाई पठाएका परमेश्‍वरका वचनहरू सम्झेँ: “सबैको आयु परमेश्‍वरद्वारा पूर्वनियोजित गरिएको छ। कुनै रोग चिकित्साको दृष्टिकोणबाट ज्यानै जाने हुन सक्छ, तर परमेश्‍वरको दृष्टिकोणबाट, यदि तेरो आयु अझै सकिएको छैन र तेरो समय आउन बाँकी नै छ भने, तँ चाहेर पनि मर्न सक्दैनस्। यदि तँलाई परमेश्‍वरले आज्ञा दिनुभएको छ, र तेरो मिसन पूरा भएको छैन भने, तँलाई प्राणघातक रोग लागे पनि, तँ मर्नेछैनस्—परमेश्‍वरले तँलाई अझै लानुहुनेछैन। यदि तँ प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस्, र आफ्नो रोगको उपचारमा ध्यान दिँदैनस्, वा तेरो उपचारमा ढिलाइ भयो भने पनि, तँ मर्नेछैनस्। यो कुरा विशेष गरी परमेश्वरले महत्त्वपूर्ण आज्ञा दिनुभएकाहरूका हकमा सत्य हो। जब तिनीहरूको मिसन पूरा हुन बाँकी हुन्छ, तब तिनीहरूलाई जुनसुकै रोग लागे पनि, तिनीहरू तुरुन्तै मर्नेछैनन्; तिनीहरू मिसन पूरा हुने अन्तिम क्षणसम्म जिउनेछन्। के तँसँग यो विश्‍वास छ? यदि छैन भने, तैँले यसो भन्दै परमेश्‍वरलाई केही सतही प्रार्थनाहरू मात्र चढाउनेछस्, ‘हे परमेश्‍वर, मैले तपाईँले मलाई दिनुभएको आज्ञा पूरा गर्नुपर्छ। म मेरा आखिरी दिनहरू तपाईँप्रतिको पूर्ण अर्पणमा बिताउन चाहन्छु, ताकि मसँग कुनै पनि पछुतो बाँकी नरहोस्। तपाईंले मेरो सुरक्षा गर्नैपर्छ!’ तैँले यसरी प्रार्थना गरे पनि, यदि सत्यता खोज्न पहलकदमी लिँदैनस् भने, तँसँग अर्पित हुने सङ्कल्प र बल हुनेछैन। तँ वास्तविक मूल्य चुकाउन इच्छुक नभएर, परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँसँग मोलतोल गर्न, प्रायः यस्तो बहाना र विधि प्रयोग गर्छस्—के यो सत्यता पछ्याउने व्यक्ति हो त? यदि तेरो बिमार निको हुन्थ्यो भने, के तैँले आफ्नो कर्तव्य साँच्चै राम्ररी निर्वाह गर्न सक्नेथिइस्? त्यस्तो नहुन सक्छ। तथ्य के हो भने, चाहे तेरो मोलतोल आफ्‍नो रोग निको पार्न र मर्नबाट जोगिनका लागि होस्, वा यसको पछाडि तेरो अरू कुनै अभिप्राय वा उद्देश्य होस्, परमेश्‍वरको दृष्टिकोणमा, तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्न सकेसम्म, तँ अझै पनि प्रयोग गरिन लायक भएसम्म, र परमेश्‍वरले तँलाई प्रयोग गर्ने निर्णय गर्नुभएसम्म, त्यसको अर्थ के हो भने तँ मर्नु हुँदैन। तँ चाहेर पनि मर्न सक्नेछैनस्। तर तैँले जथाभाबी रूपमा समस्या ल्याइस्, र अनेक किसिमका दुष्ट कार्यहरू गरिस्, र परमेश्‍वरको स्वभाव चिढ्याइस् भने, तँ झन् छिटो मर्नेछस्; तेरो आयु घटाइनेछ। परमेश्‍वरले हरेक व्यक्तिको आयु संसारको सृष्टि हुनुभन्दा पहिले नै पूर्वनियोजन गर्नुभएको थियो। यदि तिनीहरू परमेश्‍वरका प्रबन्ध र योजनाबद्ध कार्यहरूप्रति समर्पित हुन सक्छन् भने, तिनीहरूले बिमारी भोगे वा नभोगे पनि, र तिनीहरूको स्वास्थ्य राम्रो वा खराब भए पनि, तिनीहरू परमेश्‍वरले पहिले नै पूर्वनियोजन गर्नुभएको वर्ष सङ्ख्या नै बाँच्‍नेछन्। के तँमा यो विश्‍वास छ? यदि तँ यसलाई धर्मसैद्धान्तिक रूपमा मात्र मान्छस् भने, तँसित साँचो विश्‍वास छैन, र कुनै पनि कर्णप्रिय शब्दहरू भन्नु बेकार हो; यदि तँ हृदयको गहिराइदेखि नै यो परमेश्‍वरको पूर्वनियोजन हो, र परमेश्वर यसरी नै काम गर्नुहुन्छ भनी पुष्टि गर्छस् भने, तेरो अभ्यास तरिका स्वतः परिवर्तन हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने मानिसको जीवन र मृत्यु, साथै उसको आयु, सबै परमेश्‍वरद्वारा नियोजित हुन्छ। जब पृथ्वीमा उसको मिसन पूरा हुन्छ, उसको आयु समाप्त हुन्छ, अर्थात् उसको जीवनको अन्त्य हुन्छ। यदि उसको मिसन अझै पूरा भएको छैन भने, उसको रोग जतिसुकै गम्भीर भए पनि, उसको जीवन समाप्त हुँदैन। मलाई के महसुस भयो भने मानिसको मृत्युको समय उसलाई लागेको रोगसँग कुनै सम्बन्ध छैन, बरु यो परमेश्‍वरको नियोजनद्वारा तय हुन्छ। मैले केही ब्रदर-सिस्टरहरूको बारेमा सोचेँ जसलाई धेरै गम्भीर रोग लागेको थियो, र डाक्टरहरूले तिनीहरू धेरै दिन बाँच्दैनन् भनेका थिए, तर अन्त्यमा, तिनीहरूको रोग चमत्कारी रूपमा निको भयो। मैले एउटा सानो केटा रुघाखोकीकै कारण बितेको घटना पनि सुनेको थिएँ। यसले मलाई के देखायो भने मानिसको जीवन र मृत्युको उसको रोगको गम्भीरतासँग कुनै सम्बन्ध छैन, तर यो परमेश्‍वरको नियोजनद्वारा तय हुन्छ। तर, मैले यो कुरा स्पष्ट रूपमा देखेको थिइनँ। मलाई मस्तिष्कघात भएको थाहा पाएपछि, म डर र चिन्तामा जिएँ, मेरो अवस्था बिग्रिएला, म फेरि बेहोस भएर ढुलूँला, र जोड्ने ढल्दा मेरो ज्यान खतरामा परेर मैले मुक्ति पाउने मौका गुमाउँला भनी डराएँ। मैले परमेश्‍वरले मलाई रक्षा किन गर्नुभएन र यस्तो रोग लाग्न किन दिनुभयो भनेर गुनासो समेत गरेँ। परिणाम स्वरूप, मेरो कर्तव्य निर्वाह गर्ने उत्साह घट्यो, र म केवल आफ्नो स्वास्थ्य जोगाउनमा मात्र केन्द्रित भएँ, जसले ममा परमेश्‍वरप्रति साँचो विश्वास नभएको कुरा प्रकट गर्‍यो। अब मैले के बुझेँ भने मैले गर्न सक्ने भनेको आफ्नो मन शान्त पार्नु, लगनशीलताका साथ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु, र आफ्नो जीवन र मृत्यु परमेश्‍वरलाई सुम्पेर उहाँलाई सबै कुरा योजनाबद्ध गर्न दिनु थियो। जब मैले यसरी सोचेँ, मलाई पहिलेको जस्तो दुःख र चिन्ता महसुस भएन, र मेरो मन आफ्नो कर्तव्य निर्वाह गर्नमा लाग्न सक्यो।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कतिपय मानिसहरू के सोच्छन् भने, परमेश्‍वरमाथिको विश्‍वासले शान्ति र हर्ष ल्याउनुपर्छ, र यदि तिनीहरूलाई परिस्थितिहरू आइपरे भने, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना मात्रै गर्नुपर्छ, अनि परमेश्‍वरले तिनीहरूको पुकार सुन्‍नुहुनेछ, र तिनीहरूलाई अनुग्रह र आशिष् दिनुहुनेछ, र तिनीहरूका लागि सबै कुरा शान्तिपूर्ण र सहज रूपमा अघि बढ्ने सुनिश्‍चित गर्नुहुनेछ। परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको तिनीहरूको उद्देश्य भनेकै अनुग्रह खोजी गर्नु, आशिष्‌हरू प्राप्त गर्नु, र शान्ति र खुसीको आनन्द लिनु हो। यही दृष्टिकोणहरूका कारण तिनीहरू परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न आफ्नो परिवार त्याग्छन् वा जागिर छोड्छन् र कठिनाइ सहन र मूल्य चुकाउन सक्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, जबसम्‍म तिनीहरूले कुराहरू त्याग्छन्, परमेश्‍वरप्रति आफूलाई समर्पित गर्छन्, कठिनाइ सहन्छन्, र लगनशीलतासाथ काम गर्छन्, असाधारण व्यवहार प्रदर्शन गर्छन्, तबसम्‍म तिनीहरूले परमेश्‍वरका आशिष्‌हरू र निगाह प्राप्त गर्नेछन्, र तिनीहरूलाई जस्तोसुकै कठिनाइहरू आइपरे पनि, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गरेसम्म, उहाँले ती कठिनाइहरू समाधान गरिदिनुहुनेछ र सबै कुरामा तिनीहरूका लागि मार्ग खोलिदिनुहुनेछ। परमेश्‍वरमा विश्‍वास गर्ने अधिकांश मानिसहरूले बोक्ने दृष्टिकोण यही हो। मानिसहरूलाई यो दृष्टिकोण जायज र सही हो भन्‍ने लाग्छ। वर्षौँसम्म आस्था नत्यागी परमेश्‍वरमाथिको आफ्नो आस्था कायम राखिराख्‍ने धेरै मानिसहरूको क्षमता प्रत्यक्ष रूपमा यही दृष्टिकोणसँग जोडिएको हुन्छ। तिनीहरू सोच्छन्, ‘मैले परमेश्‍वरप्रति निकै समर्पित गरेको छु, मेरो व्यवहार अत्यन्तै राम्रो रहेको छ, र मैले कुनै दुष्ट कार्यहरू गरेको छैनँ; परमेश्‍वरले पक्कै मलाई आशिष् दिनुहुनेछ। मैले धेरै कष्ट भोगेको छु र हरेक कार्यका लागि ठूलो मूल्य चुकाएको छु, कुनै गल्ती नगरी सबै कुरा परमेश्‍वरका वचनहरू र मागहरूअनुसार गरेको छु, त्यसकारण परमेश्‍वरले मलाई आशिष् दिनुपर्छ; उहाँले मेरा लागि सबै कुरा सहज रूपमा अघि बढ्ने, मेरो हृदयमा प्रायजसो शान्ति र हर्ष हुने, र मैले परमेश्‍वरको उपस्थितिमा आनन्द लिन पाउने सुनिश्‍चित गर्नुपर्छ।’ के यो मानव धारणा र कल्पना होइन र? मानव दृष्टिकोणबाट हेर्दा, मानिसहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिन्छन् र फाइदाहरू प्राप्त गर्छन्, त्यसकारण यसका लागि अलिकति कष्ट भोग्‍नु उचित हुन्छ, र यो कष्टलाई परमेश्‍वरका आशिष्‌हरूसँग साट्नु सार्थक हुन्छ। यो परमेश्‍वरसँग सौदा गर्ने मानसिकता हो। तर, सत्यताको र परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, यो आधारभूत रूपमा परमेश्‍वरको कामका सिद्धान्तहरूअनुरूप वा परमेश्‍वरले मानिसहरूबाट माग गर्नुहुने मानकहरूअनुरूप हुँदैन। यो पूर्णतया मनोकामना मात्रै हो, परमेश्‍वरमा विश्‍वास गर्नेबारे विशुद्ध मानव धारणा र कल्पना मात्रै हो। चाहे यसमा परमेश्‍वरसँग सौदा गर्ने वा परमेश्‍वरबाट विभिन्‍न कुराहरू माग गर्ने कार्य समावेश होस्, वा चाहे मानव धारणा र कल्‍पनाहरू नै समावेश होस्, जे भए पनि, यो कुनै पनि कुरा परमेश्‍वरका मागहरूअनुरूप हुँदैन, न त यसले मानिसहरूलाई आशिष् दिने परमेश्‍वरका सिद्धान्त र मानकहरू नै पूरा गर्छ। विशेषगरी, यो लेनदेनको सोच र दृष्टिकोणले परमेश्‍वरको स्वभाव चिढ्याउँछ, तर मानिसहरूले यो कुरा महसुस गर्दैनन्। जब परमेश्‍वरले गर्नुहुने कुरा मानिसहरूका धारणाहरूसँग मिल्दैन, तब तिनीहरूले तुरुन्तै आफ्नो हृदयमा उहाँबारे गुनासा र गलतफहमीहरू विकास गर्छन्। तिनीहरूले अन्यायमा परेको महसुस समेत गर्छन् र त्यसपछि परमेश्‍वरसँग बहस गर्न थाल्छन्, र तिनीहरूले उहाँलाई आलोचना र निन्दासमेत गर्न सक्छन्। मानिसहरूले जस्तोसुकै धारणा र गलतफहमीहरू विकास गरे पनि, परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले मानव धारणा वा कामनाहरूअनुसार कहिल्यै कार्य गर्ने वा कसैसँग व्यवहार गर्ने गर्नुहुन्न। परमेश्‍वरले सधैँ उहाँले गर्न चाहेको कुरा, उहाँकै तरिकाअनुसार र उहाँकै स्वभाव सारका आधारमा गर्नुहुन्छ। परमेश्‍वरले हरेक व्यक्तिसँग कसरी व्यवहार गर्नुहुन्छ भन्‍नेबारे उहाँसित सिद्धान्तहरू हुन्छन्; उहाँले हरेक व्यक्तिमाथि गर्ने कुनै पनि कुरा मानव धारणा, कल्पना, वा रुचिहरूमा आधारित हुँदैन—मानव धारणाहरूसँग सबैभन्दा नमिल्‍ने परमेश्‍वरको कामको पक्ष यही हो। जब परमेश्‍वरले मानिसहरूका लागि तिनीहरूका धारणा र कल्पनाहरूसँग पूर्ण रूपमा बाझिने वातावरण खडा गर्नुहुन्छ, तब तिनीहरूले हृदयमा परमेश्‍वरविरुद्ध धारणा, आलोचना, र निन्दाहरू निर्माण गर्छन्, र उहाँलाई इन्कारसमेत गर्न सक्छन्। के त्यसपछि परमेश्‍वरले तिनीहरूका आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ? अवश्य नै सक्‍नुहुन्‍न। परमेश्‍वरले कहिल्यै आफ्नो काम गर्ने तरिका र चाहनाहरू मानव धारणाहरूअनुसार परिवर्तन गर्नुहुनेछैन। त्यसोभए परिवर्तन हुनुपर्ने को हो? मानिसहरू। परमेश्‍वरले गर्नुहुने कुरालाई सही छ कि छैन भनेर आफ्‍ना धारणाहरूसँग मापन गर्नुको सट्टा, बरु मानिसहरूले आफ्‍ना धारणाहरू त्याग्‍नुपर्छ, परमेश्‍वरले खडा गर्नुभएका वातावरणहरू स्विकार्नुपर्छ, तिनमा समर्पित हुनुपर्छ र ती अनुभव गर्नुपर्छ, अनि आफ्‍ना धारणाहरू समाधान गर्न सत्यता खोज्‍नुपर्छ। जब मानिसहरूले आफ्नै धारणाहरू पक्रिरहने जिद कस्छन्, तब तिनीहरूले परमेश्‍वरविरुद्ध प्रतिरोध विकास गर्छन्—यो स्वाभाविक रूपमै हुने कुरा हो। प्रतिरोधको जड कहाँ हुन्छ? यो सामान्यतया मानिसहरूका हृदयमा हुने कुरा भनेको निस्सन्देह आफ्नै धारणा र कल्पनाहरू हुन्, र सत्यता होइन भन्‍ने तथ्यमा निहित हुन्छ। त्यसैले, परमेश्‍वरको काम मानव धारणाहरूसँग नमिलेको देख्दा, मानिसहरूले परमेश्‍वरको अवज्ञा गर्न र उहाँविरुद्ध आलोचना गर्न सक्छन्। यसले के प्रमाणित गर्छ भने मानिसहरूमा आधारभूत रूपमा परमेश्‍वरप्रति समर्पित हुने हृदय हुँदैन, तिनीहरूको भ्रष्ट स्वभाव पखालिएको हुँदै हुँदैन, र तिनीहरू मूलतः आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरू मुक्ति प्राप्त गर्नबाट अझै निकै टाढा छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१६))। “कतिपय मानिसहरू, आफूले सामना गर्ने वातावरण जेसुकै भए पनि सत्यता खोजी गर्दैनन्। बरु, तिनीहरू परमेश्‍वरले योजनाबद्ध गर्नुभएका सबै वातावरणलाई आफ्नै धारणा र कल्पनाहरू, र यसले आफूलाई फाइदा गर्छ कि गर्दैन भन्‍ने कुराका आधारमा मूल्याङ्कन गर्छन्। तिनीहरूको विचार सधैँ तिनीहरूकै हितहरूमा केन्द्रित हुन्छ; तिनीहरू सधैँ आफूले कति ठूलो फाइदा प्राप्त गर्न सक्छु, अनि भौतिक कुराहरू, पैसा, र देहगत आनन्दका हिसाबमा आफ्ना कति हितहरू सन्तुष्ट पार्न सक्छु भन्‍नेबारे मात्रै वास्ता गर्छन्; अनि तिनीहरू सधैँ परमेश्‍वरले प्रबन्ध गर्नुहुने सबै कुराबारे यी तत्त्वहरूकै आधारमा निर्णय र व्यवहार गर्छन्। अनि अन्ततः, आफ्नो दिमाग खियाएपछि, तिनीहरू परमेश्‍वरले खडा गर्नुभएको वातावरणमा समर्पित नहुने बरु यसबाट उम्कने र तर्किने निर्णय गर्छन्। तिनीहरूको प्रतिरोध, इन्कार, र पछि हट्ने कार्यका कारण, तिनीहरू आफूलाई परमेश्‍वरका वचनहरूबाट टाढा राख्छन्, जीवनको अनुभव गुमाउँछन्, र घाटा भोग्छन्, जसले गर्दा तिनीहरूको हृदयमा पीडा र कष्ट हुन्छ। तिनीहरू त्यस्ता वातावरणहरूको जति धेरै विरोध गर्छन्, तिनीहरू त्यति नै ठूलो कष्ट सहन्छन्। जब यस्तो परिस्थिति देखा पर्छ, तब परमेश्‍वरमाथि भएको तिनीहरूको थोरै आस्था पनि अन्ततः चकनाचुर हुन्छ। यस बेला, तिनीहरूको हृदयमा हाबी हुने धारणाहरू सबै एकैपटक आकाशिन्छन्: ‘मैले परमेश्‍वरप्रति आफूलाई समर्पित गरेको यति लामो समय भइसक्यो, तैपनि परमेश्‍वरले मलाई यसरी व्यवहार गर्नुहुनेछ भन्‍ने मैले अपेक्षा गरेको थिइनँ। परमेश्‍वर न्यायोचित हुनुहुन्न, र उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्‍न! परमेश्‍वरले उहाँप्रति निष्कपट रूपमा आफूलाई समर्पित गर्नेहरूले अवश्य नै धेरै आशिष् पाउनेछन् भनेर भन्‍नुभएको थियो। मैले परमेश्‍वरप्रति निष्कपट रूपमा आफूलाई समर्पित गरेको छु, मैले मेरो परिवार र करियर त्यागेको छु, कठिनाइ सहेको छु, र मेहनत गरेको छु—परमेश्‍वरले किन मलाई धेरै आशिष् दिनुभएको छैन त? परमेश्‍वरका आशिष्‌हरू कहाँ छन्? म किन तिनलाई महसुस गर्न वा देख्‍न सक्दिनँ? परमेश्‍वरले किन मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ? परमेश्‍वर किन आफ्नो वचन पूरा गर्नुहुन्‍न? मानिसहरू परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ भनेर भन्छन्, तर म किन यो कुरा महसुस गर्न सक्दिनँ? अरू सबै कुरा पन्छाएर हेर्दा, यो वातावरण मात्रैमा पनि, मैले परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ भनी पटक्‍कै महसुस गरेको छैनँ!’ मानिसहरूमा धारणाहरू हुने हुनाले, तिनीहरू सजिलै तीद्वारा छलिन्छन् र बहकाउमा पर्छन्। जब परमेश्‍वरले मानिसहरूको स्वभाव परिवर्तन र तिनीहरूको जीवन वृद्धिका लागि वातावरणहरू खडा गर्नुहुन्छ, तिनीहरूलाई स्विकार्न गाह्रो हुन्छ र तिनीहरू परमेश्‍वरलाई गलत बुझ्छन्। तिनीहरू यो परमेश्‍वरको आशिष् होइन र परमेश्‍वरले तिनीहरूलाई मन पराउनुहुन्‍न भन्‍ने सोच्छन्। तिनीहरू परमेश्‍वरप्रति आफूले निष्कपट रूपमा आफूलाई समर्पित गरेको तर परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा नगर्नुभएको विश्‍वास गर्छन्। सत्यता नपछ्याउने यी मानिसहरू, यसरी कुनै सानो वातावरणको एउटा परीक्षाबाटै सजिलै प्रकाश गरिन्छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१६))। परमेश्‍वरले मानिसहरूमा उहाँप्रतिको आस्थामा एउटा निश्चित धारणा हुन्छ भनी खुलासा गर्नुहुन्छ: तिनीहरू सोच्छन् जबसम्म आफूले परमेश्‍वरका लागि त्याग र समर्पण गर्छन्, र उहाँका लागि कष्ट सहन्छन् र बलिदान दिन्छन्, तब परमेश्‍वरले तिनीहरूलाई आशिष् दिनुपर्छ, हेरचाह र रक्षा गर्नुपर्छ, र तिनीहरूलाई मनको शान्ति र आनन्द दिनुपर्छ। जब परमेश्‍वरले तिनीहरूको धारणाअनुसार तिनीहरूलाई सन्तुष्ट पार्नुहुन्न, तिनीहरू उहाँसँग तर्क गर्छन्, उहाँलाई गलत बुझ्छन्, र उहाँको बारेमा गुनासो गर्छन्। मैले ठ्याक्कै यस्तै गरेको थिएँ। जब मैले पहिलो पटक परमेश्‍वरमा विश्वास गर्न थालेँ, मैले सोचेको थिएँ जबसम्म म पूर्ण हृदयले परमेश्‍वरमा विश्वास गर्छु र आफ्नो कर्तव्य निर्वाह गर्दा दुःखकष्ट भोग्न र मूल्य चुकाउन इच्छुक हुन्छु, तब परमेश्‍वरले मलाई आशिष् दिनुहुनेछ, र मेरो स्वास्थ्यमा सुधार ल्याउनुहुनेछ। यही दृष्टिकोणबाट प्रेरित भएर, मैले वर्षौंदेखि आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर त्यागेको थिएँ, र मेरो अनुहारको दुखाइले गम्भीर टाउको दुखाउँदा, वा मेरो उच्च रक्तचापले रिङ्गटा, वाकवाकी, र समग्र कमजोरी निम्त्याउँदा पनि, मैले आफ्नो कर्तव्यमा कहिल्यै ढिलाइ गरिनँ। मैले आफूलाई प्रायजसो के सोचेर सान्त्वना दिन्थेँ भने परमेश्‍वरले मेरो कष्ट र समर्पणलाई विचार गर्नुहुनेछ र मेरो हेरचाह तथा रक्षा गर्नुहुनेछ, र भविष्यमा उहाँले मलाई ठूलो आशिष् दिनुहुनेछ। तर, जब मैले मलाई मस्तिष्कघात भएको थाहा पाएँ, मलाई अन्यायमा परेको महसुस भयो। मैले परमेश्‍वरले मलाई राम्रो स्वास्थ्यको आशिष् नदिएको भनी सोचेको थिएँ; उल्टो, उहाँले मलाई यो रोग लाग्न दिनुभयो, र आशिष् पाउनुको सट्टा, मैले दुर्भाग्य भोगेँ। यसले ममा परमेश्‍वरप्रति गलतफहमी र गुनासोले भरिदियो, र मैले उहाँसँग तर्कसमेत गरेँ, “यदि मेरो स्वास्थ्य राम्रो भएको भए, के मैले आफ्नो कर्तव्य अझ राम्रोसँग निर्वाह गर्न सक्दिनथेँ र?” मलाई के महसुस भयो भने परमेश्‍वरमा विश्वास गरेको यति वर्षमा, मैले केवल परमेश्‍वरसँग मोलतोल गर्ने र उहाँसँग चीजहरू माग्ने प्रयास गरिरहेको थिएँ। परमेश्‍वरले मेरो रोग निको पार्नुहुँदा, म आफ्नो कर्तव्यमा उत्साही र लगनशील भएको थिएँ, तर जब परमेश्‍वरले मलाई सन्तुष्ट पार्नुभएन, तब मेरो कर्तव्य निर्वाह गर्ने र उहाँप्रति समर्पित हुने प्रेरणा घटेको थियो। म आफ्नो स्वार्थ मात्र पूरा गर्न खोज्ने एक घृणित तुच्छ व्यक्तिबाहेक केही थिइनँ, जो उत्सुकतापूर्वक आशिष्हरूको पछि लाग्थ्यो तर कठिनाइबाट भाग्थ्यो। म साँच्चै नै एकदमै स्वार्थी थिएँ! मेरा प्रयासहरू स्पष्ट रूपमा आफ्नै लागि र आशिष् पाउनका खातिर थिए, तैपनि मैले आडम्बरपूर्वक ती परमेश्‍वरलाई सन्तुष्ट पार्न र आफ्नो कर्तव्य निर्वाह गर्नका लागि थिए भनी दाबी गरेको थिएँ। साँच्चै नै लाज पचाएको!

पछि, मैले एउटा खण्ड पढेँ जहाँ परमेश्‍वरले केवल आशिष् पाउने उद्देश्यले उहाँमा विश्वास गर्ने मानिसहरूको स्थितिको खुलासा र विश्लेषण गर्नुहुन्छ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धमा सबैभन्दा ठूलो समस्या के हो? तिनीहरूले आफूलाई कहिल्यै सृजित प्राणीको रूपमा पटक्कै लिएनन् र परमेश्‍वरलाई आराधना गर्नुपर्ने सृष्टिकर्ताको रूपमा कहिले पनि पटक्कै लिएनन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सुरुवातदेखि नै, तिनीहरूले परमेश्‍वरलाई पैसाको रूख, सम्पत्तिको खजानाका रूपमा लिए; तिनीहरूले उहाँलाई कष्ट र विपत्तिबाट छुटकारा दिने बोधिसत्त्वका रूपमा लिए, र तिनीहरूले आफूलाई यो बोधिसत्त्व, यो मूर्तिको अनुयायीका रूपमा लिए। तिनीहरूले के सोचे भने परमेश्‍वरमा विश्‍वास गर्नु भनेको बुद्धमा विश्‍वास गर्नुजस्तै हो, जहाँ शाकाहारी खाना खाएर, धर्मशास्‍त्रहरू पढेर, बारम्बार धूप बालेर अनि लम्पसार परेर, तिनीहरूले आफूले चाहेको कुरा प्राप्त गर्न सक्छन्। त्यसकारण, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि विकास गरेका सबै कथाहरू तिनीहरूको धारणा र कल्पनाहरूको क्षेत्रमै घटेका थिए। तिनीहरूले सृजित प्राणीले सृष्टिकर्ताबाट आएको सत्यता स्विकारेको कुनै पनि प्रकटीकरणहरू प्रदर्शन गरेनन्, न त तिनीहरूले सृजित प्राणीले सृष्टिकर्ताप्रति देखाउनुपर्ने कुनै समर्पणता नै प्रदर्शन गरे; तिनीहरूले त निरन्तर माग गर्ने, निरन्तर हिसाबकिताब गर्ने, र निरन्तर अनुरोध गर्ने कार्य मात्रै गरे। यो सबै कुराले अन्ततः परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध तोड्न पुग्यो। यस्तो प्रकारको सम्बन्ध लेनदेनका आधारमा हुन्छ र यो कहिल्यै दृढ रहन सक्दैन; ढिलोचाँडो त्यस्ता मानिसहरू प्रकाश भएरै छोड्छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१६))। परमेश्‍वरका वचनहरू पढेपछि, म एकदमै लज्जित भएँ। परमेश्‍वरले वर्णन गर्नुभएको कुरा ठ्याक्कै मेरो आफ्नै दृष्टिकोण र पछ्याइ थियो। बुद्ध वा अवलोकितेश्वरलाई पूजा गर्नेहरूले तिनीहरूलाई धन र सुरक्षाको स्रोतको रूपमा लिन्छन्। पदोन्नति पाउन, धनी बन्न, र आफ्नो परिवारलाई स्वस्थ राख्न, तिनीहरूले आफूले चाहेका कुराहरूको बदलामा ढोग्छन्, धूप बाल्छन्, शाकाहारी बन्छन्, र बौद्ध ग्रन्थहरू पाठ गर्छन्। तिनीहरूको पछ्याइ पूर्ण रूपमा व्यक्तिगत लाभका लागि हो। त्यसै गरी, परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मैले गलत रूपमा के सोचेको थिएँ भने, मानिसहरूले परमेश्‍वरमाथिको विश्वासमा आफूलाई समर्पण र त्याग गर्दासम्म तिनीहरूले इनाम पाउनेछन्, अर्थात् परमेश्‍वरले तिनीहरूको हेरचाह र रक्षा गर्नुहुनेछ र तिनीहरूलाई अनन्त अनुग्रह दिनुहुनेछ। मैले परमेश्‍वरलाई जन्तर, अनुग्रह र मनको शान्ति प्रदान गर्ने व्यक्तिको रूपमा लिएको थिएँ। जब मलाई मस्तिष्कघात भएको पत्ता लाग्यो, मैले परमेश्‍वरले मेरो हेरचाह वा रक्षा नगर्नुभएको भनेर गुनासो गरेको थिएँ। मैले उहाँसँग तर्क गरेको थिएँ र मागहरू राखेको थिएँ, परमेश्‍वरप्रति अलिकति पनि समर्पणता नदेखाई, र यसरी उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न पूर्ण असफल भएको थिएँ। मेरो विश्वासप्रतिको दृष्टिकोण र बुद्ध वा अवलोकितेश्वरलाई पूजा गर्नेहरूको दृष्टिकोणमा के भिन्नता थियो र? आखिरी दिनहरूमा, परमेश्‍वरको मुख्य काम मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिनका लागि न्याय गर्न र सजाय दिन सत्यता व्यक्त गर्नु हो। मैले सत्यता पछ्याएको थिइनँ, बरु, मैले परमेश्‍वरलाई बुद्ध वा अवलोकितेश्वरजस्तै व्यवहार गरेको थिएँ, र उहाँले मानिसहरूको बाहिरी योगदान र प्रयासको आधारमा लाभहरू दिनुहुनेछ भनी ठानेको थिएँ। यसले स्पष्ट रूपमा अविश्‍वासीहरूको दृष्टिकोणलाई झल्काउँथ्यो र, अझ बढी, यो परमेश्‍वर विरुद्धको ईशनिन्दाको एक रूप थियो! मैले बाइबलमा प्रभु येशूलाई पछ्याएर पहाडमा चढेका ५,००० मानिसहरूको विवरण पनि सम्झेँ। तिनीहरू उहाँका शिक्षाहरू सुन्न खोजिरहेका थिएनन्, तर आशिष् र अनुग्रहको पछि लागेका थिए। तिनीहरूले प्रभुलाई केवल एक उपकारीको रूपमा देखे, तिनीहरू आफ्नो पेट भर्नका लागि रोटी खोज्ने मानिसहरू थिए, र प्रभु येशूले त्यस्ता मानिसहरूको आस्थालाई स्वीकार गर्नुभएन। मेरो परमेश्‍वरमाथिको विश्वास पनि उहाँबाट लाभ र फाइदा खोज्ने उद्देश्यले थियो। यो साँचो विश्वास थिएन, बरु, आफ्नो पेट भर्नका लागि रोटी खोज्ने एक अविश्‍वासीको दृष्टिकोण थियो, र अन्ततः, म पनि निश्चित रूपमा परमेश्‍वरद्वारा इन्कार गरिने र हटाइने थिएँ। मेरो हृदयमा डर लाग्यो र परमेश्‍वरको सामु प्रार्थना गर्न आएँ, “हे परमेश्‍वर, मैले तपाईँमा विश्वास गरेको धेरै वर्षमा, मैले तपाईँलाई अनुग्रह माग्न सकिने व्यक्तिको रूपमा लिएँ, बुद्ध र अवलोकितेश्वरलाई पूजा गर्नेहरूको जस्तै दृष्टिकोण राखेर तपाईँमा विश्वास गरेँ, त्यसै गरी तपाईँसँग अनुग्रह र आशिष् मागेँ। यो दृष्टिकोण गलत छ, र म पश्चात्ताप गर्न र मार्ग परिवर्तन गर्न इच्छुक छु।”

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वर भन्‍नुहुन्छ, ‘तिमीहरूमध्ये मेरो लागि इमानदारीपूर्वक समर्पित हुनेहरूलाई म अवश्य नै धेरै आशिष् दिनेछु’—के यी वचनहरू सत्यता होइनन् र? यी वचनहरू शतप्रतिशत सत्यता हुन्। तिनमा कुनै उग्रता वा छल छैन। ती झूटहरू वा भव्य सुनिने विचारहरू होइनन्, ती कुनै प्रकारका आत्मिक सिद्धान्त त झनै होइनन्—ती त सत्यता हुन्। सत्यताका यी वचनहरूको सार के हो? त्यो के हो भने, परमेश्‍वरप्रति आफूलाई समर्पित गर्दा तँ निष्कपट हुनुपर्छ। ‘निष्कपट’ को अर्थ के हो? इच्छुक हुनु र अशुद्धतारहित हुनु; पैसा वा ख्यातिद्वारा उत्प्रेरित नहुनु, र निश्चय नै आफ्ना अभिप्राय, कामना, र उद्देश्यहरूका लागि काम नगर्नु हो। तँलाई जबरजस्ती गरिएकोले, वा तँलाई उक्साइएको, बाध्य पारिएको, वा तानिएको हुनाले तैँले आफूलाई समर्पित गरेको हुँदैनस्, बरु, यो त तँभित्रबाट, स्वेच्छापूर्ण रूपमा आउँछ; यो विवेक र समझबाट पैदा हुन्छ। निष्कपट हुनु भनेको यही हो। परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने इच्छुकताका हिसाबमा भन्‍नुपर्दा, निष्कपट हुनु भनेकै यही हो। त्यसोभए, जब तँ परमेश्वरप्रति आफूलाई समर्पित गर्छस्, तब व्यावहारिक रूपमा निष्कपटता कसरी प्रकट हुन्छ? तँ झूट वा धोकामा संलग्‍न हुँदैनस्, कामबाट जोगिन चलाकीको सहारा लिँदैनस्, र झाराटारुवा रूपमा कामकुरा गर्दैनस्; तँ आफ्नो सारा हृदय र मन अर्पित गर्छस्, आफूले सक्दो गर्छस्, र आदि इत्यादि कुराहरू गर्छस्—यहाँ उल्लेख गर्नुपर्ने विवरणहरू धेरै छन्! छोटकरीमा भन्दा, निष्कपट हुनुमा सत्यता सिद्धान्तहरू समावेश हुन्छन्। परमेश्‍वरले मानिसहरूबाट गर्नुहुने मागपछाडि एउटा मानक र सिद्धान्त हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१६))। परमेश्‍वरका वचनहरूबाट, मैले “तिमीहरूमध्ये मेरो लागि इमानदारीपूर्वक समर्पित हुनेहरूलाई म अवश्य नै धेरै आशिष् दिनेछु” भन्‍ने वचनहरूको साँचो अर्थ बुझेँ। यो कथन सत्यता पछ्याउन र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्न समर्पित हुनेहरूलाई लक्षित गरिएको हो। तिनीहरू व्यक्तिगत लाभ खोज्दैनन् वा विपत्तिहरूको सामना गर्दा परमेश्‍वरलाई गलत बुझ्दैनन् र गुनासो गर्दैनन्। तिनीहरू स्वेच्छाले परमेश्‍वरका लागि कामकुरा त्याग्न र आफूलाई समर्पण गर्न सक्छन्, र यस्ता मानिसहरू परमेश्‍वरलाई मनपर्छन् र भविष्यमा निश्चित रूपमा उहाँको आशिष् पाउनेछन्। अय्यूबलाई उदाहरणको रूपमा लिनुहोस्: उनी सधैँ परमेश्‍वरको मार्गमा हिँडे, बारम्बार परमेश्‍वरलाई प्रार्थना गरे, र बलिदानहरू अर्पित गरे। आफ्नो धनसम्पत्ति र छोराछोरीहरू खोसिँदा र पीडादायी खटिराहरूले ग्रस्त हुँदा पनि, अय्यूबले परमेश्‍वरलाई दोष दिएनन्। बरु, उनले भने, “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबले साँचो रूपमा परमेश्‍वरको आराधना गरे। उनले परमेश्‍वरलाई माग गर्ने वस्तुको रूपमा लिएनन्, आफ्नो नियमित आराधना र बलिदानहरूलाई अनुग्रह र आशिष् प्राप्त गर्ने पूँजीको रूपमा त झनै हेरेनन्। उनले सबै कुरा गुमाउँदा पनि परमेश्‍वरको बारेमा गुनासो गरेनन्। उनको इमानदारी र समर्पणताले अन्ततः परमेश्‍वरको आशिषतर्फ डोर्‍यायो। जब मैले आफूलाई हेरेँ, मैले परमेश्‍वरका वचनहरू सही तरिकाले बुझेको रहेनछु भन्ने महसुस भयो। मैले गलत रूपमा के मानेको थिएँ भने जबसम्म म आफ्नो आस्थाका खातिर कामकुरा त्याग्न, आफूलाई समर्पित गर्न, कष्ट सहन र मूल्य चुकाउन सक्छु, तब मैले अन्ततः आशिष्, शान्ति, र स्वास्थ्य पाउनेछु। मेरो पछ्याइको तरिका अय्यूबको भन्दा ठीक उल्टो छ। मैले आफ्नो त्याग र समर्पणलाई परमेश्‍वरबाट अनुग्रह र आशिषहरू माग्ने माध्यमको रूपमा प्रयोग गरेँ, केवल मेरो स्वार्थी इच्छा र व्यक्तिगत लाभका खातिर उहाँमा विश्वास गरेँ। बिमारीको सामना गर्दा, मैले परमेश्‍वरको बारेमा गुनासो समेत गरेँ। म साँच्चै लज्जित भएँ, किनकि म अय्यूबसँग कुनै पनि हिसाबले तुलनीय थिइनँ। अब मैले के बुझेँ भने एक सृजित प्राणीको रूपमा, मैले परमेश्‍वरमा विश्वास गर्नुपर्छ र उहाँको आराधना गर्नुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्नु मेरो जिम्मेवारी हो, यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र यसको आशिष् पाउनु वा दुर्भाग्य भोग्नुसँग कुनै सम्बन्ध छैन। विपत्ति र बिमारीको सामना गर्दा पनि, मैले अझै पनि परमेश्‍वरमा समर्पित हुनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ।

सन् २०२४ को मार्चमा, मैले फेरि मस्तिष्कघातको बल्झाइ अनुभव गरेँ। मेरो देब्रे हात झमझमायो, र मलाई लगातार रिङ्गटा लागिरह्यो। मलाई के चिन्ता लाग्यो भने यदि म फेरि लडेँ र यो गम्भीर भयो भने, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन— तब म कसरी मुक्ति पछ्याउन सक्छु र? मेरो वरिपरिका ब्रदरहरूलाई हेर्दा, जो सबै मभन्दा स्वस्थ थिए, मलाई ईर्ष्या लाग्यो, र सोचेँ, “मेरो किन अरू सबैजस्तै स्वस्थ शरीर हुन नसकेको?” जब ममा यी विचारहरू आए, मलाई आफू फेरि गुनासो गरिरहेको छु भन्ने महसुस भयो, र मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “आशिष्, अनुग्रह, इनाम, मुकुट—यी सबै कुरा कसरी र कसलाई दिइन्छ, त्यो परमेश्‍वरमै निर्भर हुन्छ। त्यो किन परमेश्‍वरमै निर्भर हुन्छ? यी परमेश्‍वरका कुरा हुन्; ती मानिस र परमेश्‍वरको संयुक्त स्वामित्वमा रहेका सम्पत्ति होइनन् जुन तिनीहरू र उहाँबीच बराबर वितरण गर्न सकियोस्। ती परमेश्‍वरका हुन् अनि परमेश्‍वरले जसलाई ती दिन्छु भनेर प्रतिज्ञा गर्नुहुन्छ उसैलाई दिनुहुन्छ। यदि परमेश्‍वरले तँलाई ती दिने प्रतिज्ञा गर्नुहुन्न भने पनि, तँ अझै उहाँमा समर्पित हुनुपर्छ। यदि तैँले यो कारण परमेश्‍वरमा विश्‍वास गर्न छोडिस् भने, त्यसले कस्ता समस्याहरू समाधान गर्ला? के तँ सृजित प्राणी हुन छोड्छस्? के तँ परमेश्‍वरको सार्वभौमिकताबाट उम्कन सक्छस्? परमेश्‍वरले अझै पनि यावत्‌ थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ, र यो अपरिवर्तनीय तथ्य हो। परमेश्‍वरको पहिचान, हैसियत र सार कहिल्यै पनि मानिसको पहिचान, हैसियत र सार बराबर मान्न सकिँदैन, न त यी कुराहरूमा कहिल्यै कुनै परिवर्तन नै हुनेछ—परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ, र मानिस सदैव मानिस नै हुनेछ। यदि व्यक्तिले यो बुझ्न सक्छ भने, उसले के गर्नुपर्छ? ऊ परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ—कामकुरा अघि बढाउने यो नै सबैभन्दा विवेकी तरिका हो, र यसबाहेक अर्को मार्ग रोज्न सकिँदैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनहरूले मलाई समयमै जगाए। मैले आफ्नो पहिचान र हैसियत स्पष्ट रूपमा देख्नुपर्छ। म केवल एक सृजित प्राणी हुँ, जबकि परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। तैपनि, मैले परमेश्‍वरले कसरी काम गर्नुपर्छ र मलाई कस्तो व्यवहार गर्नुपर्छ भनी निर्देशन दिन खोजिरहेको थिएँ— यो समझविनाको कुरा थियो। मलाई के डर लागेको थियो भने यदि मेरो मस्तिष्कघात फेरि बल्झियो र आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, मैले मुक्तिको मौका गुमाउनेछु, त्यसैले मैले परमेश्‍वरसँग मलाई अन्य ब्रदरहरूजस्तै राम्रो स्वास्थ्य प्रदान गर्न माग गरेको थिएँ। यो पनि समर्पणताको कमी थियो! मैले आफ्नो कर्तव्य सक्दो राम्रोसँग निर्वाह गर्दै, परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ— मैले राख्नुपर्ने समझ यही थियो। त्यसैले म परमेश्‍वरसामु प्रार्थना गर्न आएँ, “हे परमेश्‍वर, मेरो मस्तिष्कघातको बल्झाइ जतिसुकै गम्भीर भए पनि, तपाईँले मलाई गुनासो गर्नबाट जोगाउनुहोस् ताकि म आफ्नो कर्तव्यमा दृढ रहन सकूँ।” केही दिनपछि, म जाँचका लागि अस्पताल गएँ। डाक्टरले मेरो अवस्था राम्ररी नियन्त्रणमा रहेको, र मैले केवल सामान्य रूपमा औषधि लिँदा हुने बताए। यो खबर सुनेर म धेरै खुसी भएँ। मेरो अन्तिम उपचार भएको सात महिनाभन्दा बढी भइसकेको थियो, र म अझै पनि सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु भनी सोच्दा— यो सबै परमेश्‍वरको अनुग्रहको कारणले थियो, र म परमेश्‍वरको कृपाका लागि साँच्चै आभारी थिएँ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब परमेश्‍वरले तँ बिरामी पर्ने प्रबन्ध गर्नुहुन्छ, तब त्यो बिमारी ठूलो भए पनि वा सानो भए पनि, उहाँले त्यसो गर्नुको उद्देश्य तँलाई बिरामी पर्नुका विस्तृत विवरणहरू, त्यो रोगले तँलाई गर्ने हानि, त्यो रोगले तेरो जीवनमा ल्याउने विभिन्न असहजताहरू र अप्ठ्याराहरू, अनि त्यो रोगले तँलाई महसुस गराउने विभिन्न भावनाहरू अनुभव गर्ने तुल्याउनु होइन—उहाँको उद्देश्य तैँले बिरामी हुने प्रक्रियामा बिमारी अनुभव गर् भन्ने होइन। बरु, उहाँको उद्देश्य त तैँले त्यो बिमारीबाट पाठहरू सिक्, परमेश्‍वरका अभिप्राय कसरी बोध गर्ने भनी सिक्, तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू र तँ बिरामी हुँदा परमेश्‍वरप्रति तँमा हुने गलत मनोवृत्तिहरू जान्, परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा समर्पित हुन र परमेश्‍वरप्रति साँचो समर्पणता हासिल गर्न र आफ्‍नो गवाहीमा दृढ रहन सिक् भन्ने हो—मुख्य कुरा यही हो। परमेश्‍वरले तँलाई रोगबिमारीमार्फत मुक्ति दिन र पखाल्न चाहनुहुन्छ। उहाँले तेरो के कुरालाई पखाल्न चाहनुहुन्छ? उहाँ तैँले परमेश्‍वरमाथि राख्ने तेरा सबै अतिशयपूर्ण चाहना र माग पखाल्न चाहनुहुन्छ, र तैँले जुनसुकै हालतमा पनि बाँच्न र आफूलाई जीवित राख्नका लागि गर्ने विभिन्न युक्ति, फैसला, र योजनाहरूसमेत पखाल्न चाहनुहुन्छ। परमेश्‍वर तँलाई योजना बनाउन दिनुहुन्‍न, उहाँ तँलाई फैसला गर्न दिनुहुन्‍न, र उहाँ तँलाई उहाँबाट कुनै पनि अतिशयपूर्ण कुराको चाहना राख्‍न दिनुहुन्‍न; उहाँ त केवल तँलाई उहाँमा समर्पित हुनुपर्ने, र समर्पणतासम्बन्धी तेरो अभ्यास र अनुभवमा रोगप्रति तेरो आफ्‍नै मनोवृत्ति, र उहाँले तँलाई दिने यी शारीरिक अवस्थाहरूप्रतिको तेरो मनोवृत्ति, साथै तेरा व्यक्तिगत कामनाहरू जान्नुपर्ने माग गर्नुहुन्छ। जब तैँले यी कुराहरू जान्दछस्, तब तैँले परमेश्‍वरले तेरा लागि बिमारीका परिस्‍थितिहरू खडा गर्नु वा तँलाई यी शारीरिक अवस्थाहरू दिनु तेरा लागि कति फाइदाजनक छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्; अनि तैँले यी कुराहरू तेरो स्वभाव परिवर्तन गर्नमा, तैँले मुक्ति पाउनमा, र तेरो जीवन प्रवेशमा कति उपयोगी छन् भन्‍ने कुरा बुझ्‍न सक्छस्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड बारम्बार पढेँ र मलाई के महसुस भयो भने यो बिमारीमा परमेश्‍वरको गहिरो र असल अभिप्राय थियो। परमेश्‍वरले मलाई मुक्ति दिन र म आफूलाई बुझ्न मद्दत गर्न चाहनुहुन्थ्यो, जसले मेरो स्वभावमा रूपान्तरण ल्याउनेथियो। सुरुमा परमेश्‍वरमा विश्वास गर्न थाल्दा, मेरो मनसाय आशिष् पाउने थियो। वर्षौंदेखि, मलाई आशिष् पाउने मेरो मनसायबारे कुनै साँचो समझ थिएन। परमेश्‍वर पवित्र हुनुहुन्छ, यदि परमेश्‍वरको काम सकिने बेलासम्म मेरो भ्रष्ट स्वभाव समाधान भएन भने त्यसले मलाई मुक्ति पाउनबाट रोक्नेथियो। यो बिमारीले आशिषप्रतिको मेरो चाहना, र परमेश्‍वरप्रतिको मेरो माग र धारणाहरूलाई प्रकट गर्‍यो, जसले मलाई सत्यता खोज्न, पश्चात्ताप गर्न, र परिवर्तन हुन प्रेरित गर्‍यो। यो मेरा लागि परमेश्‍वरको मुक्ति थियो। तर, मैले परमेश्‍वरको अभिप्राय बुझिनँ र उहाँप्रति गलतफहमी र गुनासो पालेँ। यो अपराधको बाटोमा हिँडिरहेको बच्चाजस्तै हो। जब आमाबुबाले बच्चा सही मार्गमा अओस् भनेर कडा उपायहरू प्रयोग गर्छन्, तिनीहरूको मनसाय बच्चाको भलाइका लागि हुन्छ। तर यदि बच्चाले आमाबुबाको मन बुझ्दैन र आफ्ना आमाबुबाले आफूलाई वास्ता गर्दैनन् भन्ने महसुस गर्छ भने, त्यो बच्चा असमझदार हो र उसले आमाबुबाको मन चिसो बनाउँछ। के म त्यही अज्ञानी र सही-गलत खुट्ट्याउन नसक्ने बच्चा होइन र? मेरो गलतफहमी र गुनासोको बाबजुद, परमेश्‍वरले अझै पनि चुपचाप मलाई उहाँका वचनहरूद्वारा अगुवाइ गर्नुभयो, मलाई मेरो नकारात्मक र विद्रोही स्थितिबाट ब्यूँझाउन मद्दत गर्नुभयो। मैले जति धेरै यसबारे सोचेँ, त्यति नै मलाई लज्जित र दोषी महसुस भयो। अबदेखि, मेरो बिमारीमा सुधार होस् वा बिग्रियोस्, यसले मेरो जीवनलाई नै खतरामा पारे पनि, म अब उप्रान्त परमेश्‍वरलाई गलत बुझ्न वा गुनासो गर्न चाहन्नँ। म परमेश्‍वरको बन्दोबस्त र योजनाबद्ध कार्यहरूमा समर्पित हुन इच्छुक छु।

यो बिमारी अनुभव गरेपछि, मैले आशिष् खोज्ने मेरो मनसायबारे केही समझ प्राप्त गरेँ र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको गम्भीर प्रयासको साँचो कदर गरेँ। यी लाभहरू पाउन मलाई मार्गदर्शन गर्नुभएकोमा म परमेश्‍वरप्रति आभारी छु!

अघिल्लो: ४८. मार्गदर्शन र मद्दत स्वीकार्नाले मलाई कसरी लाभ भएको छ

अर्को: ५०. आमाबुबाले हामीलाई हुर्काएर गरेको उपकारप्रति कस्तो व्यवहार गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्