४५. घमण्ड त्याग्दा मलाई एकदमै स्वतन्त्र महसुस भयो!
सन् २०२३ को जूनमा, म मण्डली अगुवा चुनिएँ। त्यतिबेला, म केही अचम्मित र अलि चिन्तित पनि भएँ, अनि सोचेँ, “सत्यताबारे मेरो बुझाइ अझै निकै सतही छ र ममा धेरै क्षेत्रमा कमी छ। मैले ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सकिनँ, आफ्नो कर्तव्यमा असफल भएँ, र बर्खास्त भएँ भने नि? त्यसपछि उनीहरूले मेरो बारेमा के सोच्नेछन्? मैले फेरि आफ्नो अनुहार कसरी देखाउनु?” यो सोचेर मैले यो पद अस्वीकार गर्न चाहेँ। तर पछि मैले के बुझेँ भने, यो कर्तव्य परमेश्वरको उन्नयन र मेरा लागि अभ्यास गर्ने मौका हो, त्यसैले मैले यसलाई स्वीकार गरेँ।
त्यतिबेला, म सिस्टर लिन हुईसँग सहकार्य गर्दै थिएँ। लिन हुईले मलाई मण्डलीको सफाइ र मलजल कामको सुपरिवेक्षण गर्न खटाइन्, र मैले मनमनै सोचेँ, “मानिसहरूलाई सफाइ गर्ने सामग्रीहरू व्यवस्थित गर्ने काममा संलग्न सिस्टरहरूले मसँग पहिले सहकार्य गरेका छन्। उनीहरूले मेरो काममा निरीक्षण र मार्गदर्शन गर्थे। उनीहरू मलाई राम्ररी चिन्छन्, र उनीहरूलाई मेरो वास्तविक कद थाहा छ। अब मैले उनीहरूको कामको सुपरिवेक्षण र अनुगमन गर्नुपर्नेछ। यदि मैले उनीहरूका स्थिति समाधान गर्न वा उनीहरूको कामका समस्याहरूलाई सम्बोधन गर्न सकिनँ भने नि? उनीहरूले मेरो बारेमा के सोच्नेछन्? के उनीहरूले म वास्तविक काम गर्न सक्दिनँ भनी सोच्नेछन्? त्यसपछि मैले आफ्नो अनुहार कहाँ लुकाउनु?” यी सोचहरूले गर्दा म एकदमै घबराएँ, र ममा उनीहरूको स्थिति जाँच्ने वा उनीहरूको काम कस्तो भइरहेको छ भनेर सोध्ने हिम्मत भएन, त्यसैले मैले अरू कुराहरू नसोधी उनीहरूको कामको प्रगतिबारे छोटकरीमा मात्र सोधेँ। करिब बीस दिन बित्यो, र मैले के थाहा पाएँ भने मानिसहरूलाई सफाइ गर्ने सामग्रीहरू व्यवस्थित गर्ने ली सियाङ बिमार स्थितिमा जिइरहेकी छिन्, र कुनै बोझको बोधविना आफ्नो कर्तव्य पूरा गरिरहेकी छिन्। धेरैजसो काम झाऊ युले गरेकी थिइन्, र झाऊ युको स्वास्थ्य पनि त्यति राम्रो थिएन, त्यसैले केही सामग्री समयमै व्यवस्थित गर्न सकिएन। म ली सियाङलाई भटेर उनको स्थिति समाधान गर्न उनीसँग सङ्गति गर्न चाहन्थेँ, तर त्यसपछि मैले आफूले सफाइको कामका सिद्धान्तहरू उनीहरूले जस्तो राम्ररी नबुझ्ने भन्नेबारे सोचेँ, र यदि उनीहरूले मलाई कामसित सम्बन्धित केही प्रश्न सोधे र मैले ती समाधान गर्न सकिनँ भने उनीहरूले मलाई तुच्छ ठान्ने हुन् कि भनेर विचार गरेँ। त्यसैले मैले सङ्गतिका लागि उनीहरूसँग सम्पर्क गरिनँ।
एक दिन, माथिल्ला अगुवाबाट आएको पत्रमा मानिसहरूलाई सफाइ गर्ने सामग्रीहरू व्यवस्थित गर्नमा हाम्रो मण्डलीको प्रगति सुस्त भएको छ र त्यसले काममा ढिलाइ गराएको छ भनिएको थियो, र उनीहरूले मलाई यो समस्या अनुगमन गर्न र समाधान गर्न अनुरोध गरे। यो पत्र पढेर मलाई एकदमै दोषी महसुस भयो, किनकि मलाई ली सियाङको स्थिति राम्रो छैन भन्ने थाहा थियो, तर म आफ्नो स्वाभिमान जोगाउनेबारे एकदमै चिन्तित भएकीले, मैले तुरुन्तै ती सिस्टरसँग सङ्गतिका लागि सम्पर्क गरिनँ, जसले गर्दा काममा भएको ढिलाइका लागि म जिम्मेवार भएँ। लिन हुईले पनि मलाई पत्र पठाइन्, जसमा हामीले ब्रदर-सिस्टरहरूका स्थितिहरू नजाँचिरहेको, काम कसरी अघि बढिरहेको छ भन्ने नबुझेको, र यो समस्या हामीले कामको सुपरिवेक्षण वा अनुगमनलाई गरेको बेवास्ता सिधै सम्बन्धित भएको उल्लेख थियो। उनले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति गलत छ भनेर औँल्याउन परमेश्वरका वचनहरू पनि प्रयोग गरिन्। म साह्रै व्याकुल भएँ, र परमेश्वरले मलाई झकझकाउन मेरी सस्टर प्रयोग गरेर मेरो काँटछाँट गर्दै हुनुहुन्छ भन्ने मैले बुझेँ। मैले आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्ति तुरुन्तै सच्च्याउनुपर्थ्यो। पछि, मैले ली सियाङको स्थितिबारे परमेश्वरका वचनका सान्दर्भिक खण्डहरू खोजेँ र उनीसँग सङ्गति गरेँ। मैले अरू सिस्टरहरूका स्थिति र उनीहरूका कर्तव्य कसरी चलिरहेका छन् भनेर पनि जाँचेँ, र उनीहरूका कठिनाइहरूका निम्ति सङ्गति र समाधान प्रदान गरेँ। पछि, मैले ली सियाङको स्थिति नसुध्रिएको थाहा पाएँ र सोचेँ, “यदि मैले आफ्नी सिस्टरको स्थिति समाधान गर्नसमेत सकिनँ भने सबैले मेरो बारेमा के सोच्नेछन्? के उनीहरूले ममा सत्यता वास्तविकताको कमी छ र म ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सक्दिनँ भनी सोच्नेछन्? म त साह्रै लज्जित हुनेछु!” यो सोचेर, म अलि नकारात्मक भएँ, तर मैले आफ्नो स्थिति समाधान गर्न सत्यता खोजिनँ।
एकपटक, मैले एउटी सिस्टरलाई मानिसहरूलाई संवर्धन गर्ने काममा रहेका केही समस्याबारे छलफल गर्दै पत्र लेखेँ। मैले पत्र लेखिसकेपछि, लीन हुईले त्यसमा धेरै थपथाप र काटकुट गरिन्, र मैले सोचेँ, “मैले आफ्नो कर्तव्य पूरा गर्न पनि अरूलाई दुःख दिनुपर्छ। यदि अरूलाई यो कुरा थाहा भयो भने उनीहरूले मेरो बारेमा के सोच्नेछन्? के उनीहरूले म अगुवाका रूपमा कुनै कुरा गर्न पनि असक्षम छु भनी सोच्नेछन्? पहिले म आफू केही निश्चित कामहरू गर्न र ब्रदर-सिस्टरहरूको अनुमोदन पाउन सक्षम छु भनी सोच्थेँ, तर अगुवा बनेपछि मलाई यति पूर्ण रूपमा प्रकाश गरिएला भन्ने मैले कहिल्यै सोचेकी थिइनँ। यदि मैले यो कर्तव्य नलिएकी भए, म यसरी लज्जित हुनेथिइनँ!” यी विचारहरूले मलाई आफ्ना कर्तव्यमा नकारात्मक र अनुत्प्रेरित महससु गरायो, र मलाई आफू जिम्मेवार रहेको कामको अनुगमन गर्न मन लाग्न छोड्यो। मैले आफ्नो स्थिति गलत छ भन्ने बुझेँ, त्यसैले मैले मार्गदर्शनका लागि परमेश्वरलाई प्रार्थना गरेँ। एक दिन, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै स्वार्थ, इज्जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई उच्च मानेर हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्ने कुरा मात्र विचार गर्छन्। तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, लगभग सबै मानिसहरूले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्च प्रतिभाका हुन्छन्, निश्चय नै तिनीहरू आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्च नजरले हेरून् भन्ने चाहन्छन्, अरूले आफूलाई नीच नमानुन् भन्ने चाहन्छन्। यी मानिसहरूले इज्जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समाति बस्नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ पछ्याएको इज्जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनले मेरो स्थिति खुलासा गरिदिए। म सधैँ भिडभन्दा अलग देखिन चाहन्थेँ र अरूका नजरमा तुच्छ ठानिन्छु कि र आफ्ना हैसियत गुम्ला कि भन्ने चिन्ता गरिरहन्थेँ। मैले आफ्नो जीवनलाई भन्दा पनि स्वाभिमान र हैसियतलाई बढी महत्त्व दिएँ। मैले आफू अगुवा हुँदाको समयबारे फर्केर सोचेँ। त्यतिबेला, मैले यो परमेश्वरले मलाई तालिम लिन दिएको मौका हो, र मैले आफ्नो काम दृढतापूर्वक गर्ने, सङ्गति गरेर ब्रदर-सिस्टरहरूका स्थिति र कठिनाइहरू समाधान गर्ने कुरामा ध्यान दिनुपर्छ भनेर बुझेकी थिएँ। मैले समाधान गर्न नसेका समस्याहरूका हकमा, मैले मेरा सहकर्मी सिस्टरहरूसँग छलफल गर्न र माथिल्ला अगुवाबाट मार्गदर्शन खोज्न सक्थेँ। तर मैले आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर सोचिरहेकी थिइनँ। सबैभन्दा पहिले, म आफ्नो स्वाभिमान र हैसियतबारे चिन्तित थिएँ। सामग्रीहरू व्यवस्थित गर्ने सिस्टरहरूले मसँग पहिले सहकार्य गरेका, र उनीहरूले यस कर्तव्यको सिद्धान्त मैले भन्दा राम्ररी बुझेका हुनाले, यदि मैले उनीहरूका समस्याहरू समाधान गर्न सकिनँ भने उनीहरूले मलाई तुच्छ ठान्लान् भनेर म डराएँ, त्यसैले मैले उनीहरूको कामको अनुगमन गर्ने आँट गरिनँ। पछि, मैले ली सियाङको स्थिति खराब भएको छ र त्यसले काममा ढिलाइ गरेको छ भन्ने थाहा पाएँ, तर मैले त्यो समस्या समाधान गर्न नसकेमा अपमानित हुने डरले त्यस मामिलालाई बेवास्ता गरिरहेँ। लीन हुईले मैले लेखेको पत्र पढिन् र कमीकमजोरी भएका ठाउँहरूमा थपथाप र काटकुट गरिन्। यो वास्तवमा कामका लागि लाभदायक थियो, तर मलाई आफूले एउटा उचित पत्रसमेत लेख्न नसक्नु भनेको उनले मलाई पूर्णतया छर्लङ्गै देखेकी छिन् भन्ने लाग्यो, जसले गर्दा मलाई आफ्नो पुरानो कर्तव्यमा फर्कन मन लाग्यो। म स्वाभिमान र हैसियतबारेको चिन्ताले कस्सिएर बाँधिएकी थिएँ, आफ्नो प्रतिष्ठा र हैसियतका बारेमा मात्र सोच्थेँ, र मैले आफूले गर्नुपर्ने कामलाई समेत बेवास्ता गरिरहेकी थिएँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरूले ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूमाथि अदृश्य साङ्लाहरू राखिदिन्छ, र यी साङ्लो लगाएपछि, त्यसबाट उम्किन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्वरबाट टाढा पुग्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई छर्लङ्ग देख्न सक्दैनौ किनभने तिमीहरूलाई ख्याति र प्राप्तिविना जीवनको कुनै अर्थ हुँदैन भन्ने लाग्छ, र तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्ने लाग्छ। तर बिस्तारै, एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई शैतानले लगाइदिने विशाल साङ्लाहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा प्रतिरोध गर्नेछस् र शैतानले तँमाथि ल्याइदिएका साङ्लाहरूलाई तैँले पूर्ण रूपमा प्रतिरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका यी सबै कुराहरूबाट तैँले आफूलाई आजाद गर्न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँमाथि ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र तँसँग परमेश्वरका निम्ति साँचो प्रेम र तृष्णा हुनेछ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। परमेश्वरका वचनबाट, मैले के बुझेँ भने शैतानले ख्याति र प्राप्ति प्रयोग गरेर मानिसहरूका सोचलाई नियन्त्रण गर्छ, उनीहरूलाई गलत बाटोमा डोर्याउँछ, जसले गर्दा उनीहरू ख्याति र प्राप्तिको जन्जिरमा जिउँछन्, परमेश्वरबाट टाढिन्छन्, र उहाँलाई धोका दिन्छन्। परमेश्वरका वचनका आधारमा आत्मचिन्तन गर्दा, मैले प्रतिष्ठा र हैसियतको पछ्याइलाई आफ्नो जीवनको लक्ष्य बनाएकी रहेछु भन्ने बुझेँ। बाल्यकालदेखि नै, म जुनसुकै समूहमा भए पनि सधैँ प्रतिष्ठा र हैसियतका लागि प्रयासरत रहन्थेँ, र प्रतिष्ठा र हैसियत छ भने मानिसहरूको सम्मान कमाइन्छ भन्ने विश्वास गर्थेँ। म यसरी जिउनु नै अर्थपूर्ण जीवन जिउने एकमात्र तरिका हो भन्ने म सोच्थेँ। परमेश्वरलाई भेट्टाएपछि पनि, म यी कुराहरूको पछि लागिरहेँ, अनि “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ,” र “सानो दहको ठूलो माछा बन्नु नै असल हो” भन्ने शैतानी विषहरूअनुसार जिइरहेँ। मण्डली अगुवा चुनिएपछि, म आफूले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ भने आफ्नो स्वाभिमान र हैसियत गुमाउनेछु भनेर चिन्तित भएँ, त्यसैले मैले यो कर्तव्य अस्वीकार गर्न चाहेँ। जब म मानिसहरूलाई सफाइ गर्ने सामग्रीहरू व्यवस्थित गर्ने सिस्टरहरूसँग भेलामा गएँ, उनीहरूले पहिले मेरो कामको सुपरिवेक्षण गरेका हुनाले, यदि म आफूले उनीहरूका समस्याहरू समाधान गर्न सकिनँ भने इज्जत गुम्नेछ भनेर डरएँ, त्यसैले म उनीहरूको कामको सुपरिवेक्षण र अनुगमन गर्नबाट पन्छिएँ, जसले गर्दा सफाइको काममा ढिलाइ भयो। सहकर्मी सिस्टरले मैले लेखेको पत्रमा धेरै संशोधन र थपथाप गर्दा, यसबाट सिद्धान्तहरू सिक्नु र बुझ्नुको साटो, मलाई आफूलाई प्रकाश गरिएको र अत्यन्तै अपमानित भएको महसुस भयो, र म यस कर्तव्यबाट भाग्न चाहेँ। तथ्यहरूको प्रकाशबाट, मैले के बुझेँ भने म शैतानका विषद्वारा कस्सिएर बाँधिएकी छु, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्न असक्षम छु, जसले कामलाई हानि गऱ्यो र त्यसको अर्थ मैले परमेश्वरसामु अपराध गरिरहेकी थिएँ। शैतानका विषअनुसार जिउनुले मलाई केवल परमेश्वरविरुद्ध विद्रोह गर्न, परमेश्वरको विरोध गर्ने मार्गमा जान डोऱ्याउनेथ्यो। यसबारे चिन्तन गर्दा, मलाई डर, पछुतो, र आत्मग्लानिले भरिएको महसुस भयो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म यसरी अघि बढ्न चाहन्नँ। म पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई अभ्यासको मार्ग खोज्न मार्गदर्शन गर्नुहोस्।”
त्यसपछि मैले परमेश्वरका थप वचनहरू पढेँ: “ल भन त, तिमीहरू कसरी साधारण र सामान्य मानिसहरू बन्न सक्छौ? परमेश्वरले भन्नुभएजस्तै गरी, तिमीहरूले कसरी सृष्टि गरिएको प्राणीको उचित स्थान लिन सक्छौ—तिमीहरूले कसरी महामानव वा कुनै महान् व्यक्ति बन्ने प्रयास नगर्न सक्छौ? तिमीहरूले साधारण र सामान्य व्यक्ति बन्नलाई कसरी अभ्यास गर्नुपर्छ? यो काम कसरी गर्न सकिन्छ? कसले जवाफ दिनेछ? (सर्वप्रथम, हामीले आफू साधारण मानिस, अर्थात् अति सामान्य मानिस भएको स्विकार्नुपर्छ। हामीले नबुझ्ने, बोध नगर्ने, र सार बुझ्न नसक्ने थुप्रै कुराहरू छन्। हामीले आफू भ्रष्ट र त्रुटिपूर्ण भएको स्विकार्नैपर्छ। त्यसपछि, हामीसँग सच्चा हृदय हुनुपर्छ र खोजी गर्न हामी बारम्बार परमेश्वरसामु आउनुपर्छ।) सबभन्दा पहिले त, तैँले आफूलाई कुनै मानपदवी नदे, र ‘म अगुवा हुँ, म टोली अगुवा हुँ, म सुपरभाइजर हुँ, मैले जत्ति यो काम अरू कसैले पनि जानेको छैन, यी सीपहरू मलाई जत्ति अरू कसैलाई थाहा छैन’ भन्दै त्यसमा नबाँधिई। आफैले बनाएको पदवीमा लिप्त नबन्। तैँले यसो गर्नेबित्तिकै, यसले तेरो हातखुट्टा बाँध्नेछ, र तैँले भन्ने र गर्ने कुरालाई प्रभावित पार्नेछ। तेरो सामान्य सोचाइ र मूल्याङ्कन पनि प्रभावित हुनेछ। तैँले आफूलाई यो हैसियतको बन्धनबाट मुक्त गर्नुपर्छ। पहिले, तैँले यो तेरो आधिकारिक मानपदवी र स्थानबाट आफैलाई तल झार् र साधारण व्यक्तिको स्थानमा खडा हू। त्यसो गरे, तेरो मानसिकता अलि सामान्य बन्नेछ। तैँले यो कुरा स्वीकार गरेर यसो पनि भन्नैपर्छ, ‘यो कसरी गर्ने मलाई थाहा छैन, र मैले त्यो पनि बुझेको छैन—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यस्तो कुरा कहिल्यै अनुभव गरेको छैनँ, त्यसकारण के गर्ने मलाई थाहा छैन।’ जब तँ आफूले साँच्चै सोचेको कुरा भन्न सक्ने र इमान्दारीपूर्वक बोल्न सक्ने हुन्छस्, तब तँसँग सामान्य समझ हुनेछ। अरूले वास्तविक तँलाई जान्नेछन्, तसर्थ तिनीहरूमा तँप्रतिको दृष्टिकोण सामान्य हुनेछ, र तैँले देखावटी व्यवहार गर्नुपर्नेछैन, न त तँमाथि कुनै ठूलो दबाब नै हुनेछ, त्यसकारण तैँले मानिसहरूसँग सामान्य रूपमा संवाद गर्न सक्नेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। पहिले, मैले के सोचेकी थिएँ भने, मैले सबै कुरा जान्नु र बुझ्नुपर्छ अनि म अरूभन्दा असल हुनुपर्छ। आफ्नो कर्तव्यमा अगुवाको पदवी धारण गर्दा, म प्रतिष्ठा र हैसियतद्वारा बाँधिएँ, र मैले स्वतन्त्रताको बोध महसुस गर्न सकिनँ, र म आफ्नो कर्तव्यमा अत्यधिक सतर्क भएँ। मलाई आफूमा धेरै कमी छ भन्ने स्पष्टसित थाहा भए पनि, मैले अझै नाटक गरेँ र आफूलाई ढाकछोप गरेँ, किनकि मलाई आफूले समस्याहरू समाधान गर्न नसकेमा, ब्रदर-सिस्टरहरूले मलाई तुच्छ ठान्नेछन् भन्ने डर थियो। सत्य कुरा के थियो भने, ब्रदर-सिस्टरहरूलाई मेरो कमीकमजोरीबारे पहिल्यै थाहा थियो, त्यसैले मैले आफूलाई ढाकछोप गर्नु आवश्यक थिएन। मसित सफाइको काममा सिद्धान्तहरूको बुझाइ नभए पनि, म अझै पनि सिस्टरहरूसँग सहकार्य गर्न, र सान्दर्भिक सत्यता सिद्धान्तहरू सिक्न र तीद्वारा आफूलाई सुसज्जित पार्न सक्थेँ, जसले मेरा कमीकमजोरीहरूलाई पूर्ति पनि गर्नेथ्यो। म स्वाभिमान र हैसियतका लागि जिइरहनु मिल्दैनथ्यो। अगाडि बढ्दै जाँदा, मैले “अगुवा” को पदवीलाई पर पन्छाउनुपर्थ्यो, र आफ्ना कमीकमजोरीहरूलाई सही रूपमा सामना गर्नुपर्थ्यो। मैले कुनै कुरा नबुझ्दा, आफ्नो स्वाभिमान र हैसियतलाई पन्छाउनुपर्थ्यो ब्रदर-सिस्टरहरूसँग खुलेर सङ्गति गर्नुपर्थ्यो, र आफ्ना कमीकमजोरीहरू पूर्ति गर्न र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न अरूका सबलताबाट सिक्नुपर्थ्यो।
पछि, मैले मभित्रको अर्को भ्रामक दृष्टिकोणलाई चिनेँ। मलाई के लाग्थ्यो भने म अगुवा भएकीले, मैले निश्चय नै ब्रदर-सिस्टरहरूका समस्याहरू समाधान गर्न सक्नुपर्छ। यस दृष्टिकोणको जवाफमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्वरलाई चिन्छ, र ऊ परमेश्वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्वरले पूर्वनियोजन र अनुमोदन गर्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्ने होइन—कुरा त्यस्तो होइन। … त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्वरका अभिप्रायहरूअनुसार, र परमेश्वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्। यी बुँदाहरूका आधारमा मूल्याङ्कन गर्दा, के परमेश्वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। मैले परमेश्वरका वचनबाट के देखेँ भने परमेश्वरको घरमा, कुनै व्यक्तिलाई अगुवाइ कर्तव्यका लागि संवर्धन गर्नुको अर्थ ऊसँग सत्यता वास्तविकता छ, उसले कुनै पनि समस्या सङ्गति र समाधान गर्न सक्छ, वा ऊ अरूभन्दा असल छ भन्ने होइन, बरु, उसलाई अभ्यास गर्ने अझ धेरै अवसरहरू दिइँदै छ भन्ने हो। आफ्नो कर्तव्यमा कमीकमजोरीहरू हुनु सामान्य हो, र मानिसहरूले आफूले नबुझ्ने कुराहरूका सम्बन्धमा परमेश्वरमा बढी भर पर्नुपर्छ, आफ्ना ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्नुपर्छ, परमेश्वरको घरका सिद्धान्त र मागहरूअनुसार कामकुरा गर्नुपर्छ, र परमेश्वरले बन्दोबस्त गर्नुभएका परिस्थितिहरूमा सत्यता खोज्न ध्यान केन्द्रित गर्नुपर्छ। यसरी, मानिसहरूले झनै द्रुत आत्मिक वृद्धिविकास गर्न सक्छन्। मैले अगुवाको कर्तव्य पूरा गरिरहेकी भए पनि, त्यसको अर्थ मैले सबै कुरा बुझेकी थिएँ भन्ने होइन, तर अभ्यासद्वारा, बिस्तारै विभिन्न सत्यता सिद्धान्तहरू बुझ्न सक्थेँ। यसमा परमेश्वरको प्रेम थियो! मैले परमेश्वरलाई गलत बुझेकी थिएँ, उहाँले मलाई यस परिस्थितिमार्फत प्रकाश गर्दै हुनुहुन्छ भनी सोचेकी थिएँ, र परमेश्वरको श्रमसाध्य प्रयासलाई साँच्चै निराश पारेकी थिएँ। मैले उप्रान्त परमेश्वरलाई गलत बुझ्नु हुँदैनथ्यो, र मैले आफ्नो स्वाभिमान र हैसियतलाई पन्छाउनुपर्थ्यो, गम्भीरतापूर्वक सत्यता पछ्याउनुपर्थ्यो, र आफूले कुनै कुरा नबुझ्दा आफ्ना ब्रदर-सिस्टरहरूसँग सङ्गति खोज्नुपर्थ्यो।
पछि, माथिल्ला अगुवाले हामीलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने राम्रा तरिकाहरू ब्रदर-सिस्टरहरूसँग बाँड्न अनुरोध गर्नुभयो, र मैले यी तरिकाहरू कसरी स्पष्ट रूपमा लेख्ने भनेर सोचेँ। मैले लेखिसकेपछि, आफूले लेखेको कुरा उपयुक्त छ कि छैन भनेर हेर्न लीन हुईलाई देखाउन चाहेँ, तर जब मैले आफ्नो कमजोर अभिव्यक्ति सीपबारे सोचेँ, तब म चिन्तित भएँ, र सोचेँ, “यदि यो राम्रो भएन भने, लीन हुईले मेरो बारेमा के सोच्लिन्? के उनले मलाई तुच्छ ठान्लन्?” त्यसैले म उनलाई मैले लेखेको कुरा देखाउन हिचकिचाएँ। तर मैले के बुझेँ भने यदि मैले लेखेको कुरा अस्पष्ट भयो भने, त्यसले मेरा ब्रदर-सिस्टरहरूलाई धेरै फाइदा पुग्नेथिएन, र यदि मैले लिन हुईलाई थपथाप गर्न र सुधार गर्न लगाएँ भने, परिणाम अझ राम्रो हुने थियो। त्यसैले मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, स्वाभिमान र हैसियतद्वारा नबाँधिन परमेश्वरलाई मार्गदर्शन मागेँ। मैले परमेश्वरका केही वचनहरू सम्झेँ: “बहाना बनाउने वा देखावटी व्यवहार गर्ने नगर्। पहिले, तैँले आफ्नो हृदयमा के सोचिरहेको छस् त्यसबारेमा, र तेरा वास्तविक विचारहरूबारेमा खुलस्त बता, ताकि सबैले ती कुराहरू थाहा पाऊन् र बुझून्। यसको फलस्वरूप, तेरा चिन्ताहरू अनि तँ र अरूबीचका पर्खाल र शङ्काहरू हट्नेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। मैले आफ्नो स्वाभिमान पन्छाएर आफ्ना कमीकमजोरीहरू खुलेर स्विकार्नुपर्थ्यो। सत्य कुरा के थियो भने, लीन हुईलाई म ठ्याक्कै कस्तो छु भन्ने थाहा थियो, र उनका बलिया अभिव्यक्ति क्षमताले मेरा कमीकमजोरीहरू पूर्ण रूपमा पूर्ति गर्नेथिए, विचलनहरू रोक्न मद्दत गर्नेथिए, र हाम्रो कामलाई फाइदा पुऱ्याउनेथिए। त्यसैले मैले आफूले लेखेको पत्र लिन हुईलाई देखाएँ, र उनले केही कमीकमजोरी औँल्याइन्। उनले भनेको कुरा मलाई निकै सहयोगी लाग्यो र मैले त्यसका लागि परमेश्वरलाई इमानदारीपूर्वक धन्यवाद दिएँ।
अहिले मैले प्रतिष्ठा र हैसियत पछ्याउँदा साँच्चै मानिसहरूलाई हानि पुग्छ भन्ने बुझेकी छु, किनकि यसले मलाई स्वतन्त्र महसुस गर्नबाट रोक्ने मात्र होइन, कामलाई पनि क्षति गर्छ। परमेश्वरका वचनअनुसार अभ्यास गरेर अनि स्वाभिमान र हैसियत त्यागेर मात्र म स्वतन्त्र र सहज महसुस गर्दै जिउन सक्छु। त्यससँगैसँगै, म के पनि महसुस गर्छु भने आफ्ना भ्रष्टता र कमीकमजोरीहरू स्विकार्नु लाजमर्दो कुरा होइन, र ब्रदर-सिस्टरहरूसँग आफ्नो साँचो स्थितिबारे खुलस्त रूपमा कुरा गर्यौँ भने, हामीले उनीहरूको मद्दत पाउन सक्छौँ। मलाई लाग्छ, यसमा मैले साँच्चै ठूलो लाभ पाएकी छु।