४३. परमेश्वरको वचनका आधारमा मैले अरूलाई खुट्याउन सिकेँ
२०१७ मा, म मण्डलीमा लेख-सम्बन्धी कर्तव्य निर्वाह गर्दै थिएँ। एउटा भेलाको क्रममा, मैले चेन सियालाई बर्खास्त गरिएको छ, अनि उनलाई ख्रीष्टविरोधी मानिएको छ, र निष्कासन गर्न जानकारीहरू जम्मा गरिँदै छ भनेर सुनेँ। यो खबर सुनेर म पूरै विचलित भएँ र आफूलाई शान्त बनाउन सकिनँ—मलाई यो स्वीकार्नै गाह्रो भयो। मेरो र चेन सियाको भेट हामी दुवैले प्रभुलाई पाएपछि भएको थियो, र परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेपछि हामीले सँगै हाम्रा कर्तव्यहरू निर्वाह गर्यौँ। चेन सिया त्यो बेला निक्कै उत्साही थिइन्। उनको श्रीमान् उनको आस्थाको विरोधमा थिए, र उनले यस कुरामा धेरै आँसु बगाइन्। अन्ततः उनले आफ्ना श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। सम्बन्धविच्छेदपछि, उनले जिम्मेवारीको दह्रिलो भावनासहित आफ्नो कर्तव्य निर्वाह जारी राखिन्। मैले विशेष गरी देखेको कुरा भनेको चेन सियालाई परमेश्वरका वचन पढ्न असाध्यै मन पर्थ्यो। म उनीसँग सहकार्य गर्दा, उनी जाडोको समयमा बिहानै उठेर परमेश्वरका वचनहरू पढ्ने गर्थिन्। उनी परमेश्वरका वचनका महत्त्वपूर्ण खण्डहरू नोटबुकमा लेख्ने समेत गर्थिन् र समय मिल्दा नोटबुक निकालेर ती वचन पढ्थिन्। उनी मलाई प्रायः भन्थिन्, “हामीले परमेश्वरका वचनहरू धेरै पढ्नुपर्छ र त्यसमा प्रयास लगाउनुपर्छ, अन्यथा हामी हाम्रा कर्तव्यहरू राम्ररी पूरा गर्न सक्षम हुनेछैनौँ।” म मनमनै सोच्थेँ, “उनी परमेश्वरको वचनलाई यति माया गर्छिन् कि उनी नै सत्यता पछ्याउने व्यक्ति हुनुपर्छ।” अनि म उनलाई मनदेखि नै सम्मान गर्थेँ, सोच्थेँ, उनी बलिदान दिन र आफ्ना कर्तव्य निर्वाह गर्न मात्र सक्षम होइन, परमेश्वरका वचनहरू पढ्न पनि अत्यन्त धेरै प्रयास लगाउन सक्थिन्, र यस सन्दर्भमा, मेरो उनीसँग तुलना हुन सक्दैनथ्यो र मैले उनीबाट सिक्नुपर्ने थियो। त्यसपछि, जबजब म कठिनाइहरूको सामना गर्थेँ वा केही बुझ्दिनथेँ, म उनको सङ्गति खोज्न चाहन्थेँ, उनका विचार र सल्लाह सुन्न चाहन्थेँ। पछि, जब चेन सियालाई उनका कर्तव्य निर्वाह गर्न अर्को ठाउँमा खटाइयो, मलाई वास्तविक क्षतिको अनुभूति भयो, मैले अघिल्लो वर्ष मात्र उनले मानिसहरूलाई निकाल्न जानकारी भेला गर्दै गरेको कुरा सम्झेँ। धेरै समय पनि बितेको थिएन, र अहिले उनलाई निष्कासित गरिँदै थियो? यो गल्तीले पो भएको हो कि? तर फेरि मैले सोचेँ मानिसहरूलाई निकाल्नेबारे मण्डलीमा सिद्धान्तहरू हुन्छन्, र तिनीहरूले बिना कारण उनलाई निष्कासन गर्न जानकारी भेला गर्दैनन्। मेरो हृदय विचलित भइरह्यो र मैले भेलामा ध्यान दिन सकिनँ। अगुवाले मलाई चेन सियाको मूल्याङ्कन लेख्न भने, र आफ्ना वास्तविक विचारहरू व्यक्त नगरी मैले झारा टारुवा तरिकामा सहमति जनाएँ।
जब म घर पुगेर चेन सियाबारे सोचेँ, मलाई असहज महसुस भयो। मैले सोचेँ, “चेन सिया निक्कै समर्पित छिन्, र आफ्ना कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियरको बलिदान दिएकी छिन्। उनले परमेश्वरका वचनमा धेरै प्रयास लगाएकी छिन्, तैपनि अहिले उनलाई निष्कासन गरिँदै छ। मैले उनले जति कष्ट भोगेकी वा समर्पित गरेकी छैन, न त आफ्ना कर्तव्यमा धेरै काम गरेकी छु, र मैले पक्कै परमेश्वरका वचनमा त्यति धेरै मेहनत पनि गरेकी छैन। के यसको अर्थ म अन्ततः हटाइन, अनि निष्कासित हुन पनि सक्छु भन्ने हो?” यी विचारहरूले कर्तव्य निर्वाह गर्ने मेरो प्रेरणालाई घटायो। जब म सिस्टरहरूलाई कामका बारेमा छलफल गरिरहेको देख्थेँ, म सहभागी हुन चाहन्नथेँ। मलाई धेरै प्रयास लगाउनु वा मूल्य चुकाउनु व्यर्थ लाग्यो, किनकि अन्त्यमा, मैले के परिणाम पाउनेछु भनेर कसलाई थाहा छ र? तसर्थ, त्यो अवधिमा, मैले आफ्नो कर्तव्यमा जिम्मेवारीको अनुभूति गुमाएँ।
पछि, मैले मेरो स्थिति गलत रहेछ भन्ने बुझेँ, त्यसैले मैले प्रार्थना गरेर यसबारे परमेश्वरलाई खोजेँ। मैले परमेश्वरका वचन पढेँ: “मानिसहरूभित्र थुप्रै सोच, विचार, र स्थितिहरू हुन्छन् जसले प्रायः तिनीहरूका केही राय, दृष्टिकोण र मतहरूलाई प्रभावित पारिरहन्छन्। यदि तैँले सत्यताको खोजीमार्फत यी सोच, विचार र स्थितिहरूलाई एक-एक गर्दै समाधान गर्न सक्छस् भने, तिनले परमेश्वरसँगको तेरो सम्बन्धलाई प्रभावित पार्नेछैनन्। अहिले तेरो सानो कद होला, तँमा सत्यताबारे सतही बुझाइ होला, र तैँले परमेश्वरमा छोटो समय मात्र विश्वास गरेकोले वा अन्य विविध तत्त्वहरूको कारणले, तैँले त्यति धेरै सत्यताहरू बुझ्दैनस् होला—तर तैँले एउटा सिद्धान्त बोध गर्नुपर्छ: म परमेश्वरले गर्नुहुने सब थोकप्रति समर्पित हुनुपर्छ, चाहे बाहिरबाट त्यो राम्रो देखियोस् वा नराम्रो, सही देखियोस् वा गलत, र त्यो मानव धारणाहरूसित मिलोस् वा नमिलोस्। मसित त्यो सही हो कि गलत भनेर आलोचना, मूल्याङ्कन, विश्लेषण, वा अध्ययन गर्ने अधिकार छैन। मैले गर्नुपर्ने भनेको सृष्टि गरिएको प्राणीको रूपमा मेरो कर्तव्य पूरा गर्नु र त्यसपछि मैले बुझ्न सक्ने सत्यताहरू अभ्यास गर्नु, परमेश्वरलाई सन्तुष्ट तुल्याउनु र साँचो मार्गबाट विचलित नहुनु हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको सार्वभौमिकताबारे कसरी जान्ने)। “वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र वस्तुहरूसित कुन-कुन सत्यताहरू सम्बन्धित छन् भनेर तैँले सुरुमा विचार गर्नुपर्छ; यिनै सत्यताहरूको माझमा तैँले परमेश्वरका अभिप्रायहरू पत्ता लगाउन सक्छस् र उहाँका अभिप्रायहरूमा तैँले जे भेटेको छस्, त्यससित जोडिन सक्छस्। यदि तैँले सामना गरेका कुराहरूसित सत्यताका कुन-कुन पक्षहरूले सम्बन्ध राख्छन् भन्ने तँलाई थाहा छैन तर प्रत्यक्ष रूपमा परमेश्वरका अभिप्रायहरू खोजी गर्न जान्छस् भने, यो एउटा अन्धो तरिका हो जसले परिणामहरू हासिल गर्न सक्दैन। यदि तँ सत्यताको खोजी गर्न र परमेश्वरका अभिप्रायहरू बुझ्न चाहन्छस् भने, पहिले तैँले कस्ता कुराहरू तँमा घटेका छन्, सत्यताको कुन पक्षहरूसित ती सम्बन्धित छन् सो हेरेर, परमेश्वरको वचनमा निश्चित सत्यताको खोजी गर्नु आवश्यक हुन्छ, जुन तैँले अनुभव गरेको कुरासित सम्बन्धित छन्। त्यसपछि तैँले त्यस सत्यतामा तेरो लागि सहि रहेको अभ्यासको मार्गलाई खोजी गर्नुपर्छ; यसरी, तैँले परमेश्वरका अभिप्रायहरूको अप्रत्यक्ष बुझाइ हासिल गर्न सक्छस्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३)। परमेश्वरका वचनबाट, मैले के बुझेँ भने मेरा धारणाहरूसँग मेल नखाने कुराहरूको सामना गर्दा, मैले परमेश्वरको डर मान्ने हृदय कायम राख्नुपर्छ, अनि पहिले समर्पण गर्नुपर्छ र परमेश्वर विरुद्ध गुनासो गर्नुहुँदैन, र मैले यो विषय सत्यता सिद्धान्तका कुन पक्षसँग सम्बन्धित छ भनेर हेर्नुपर्छ, र परमेश्वरका अभिप्रायहरू बुझ्न त्यसबाट सत्यता खोज्नुपर्छ। मैले आफैँमाथि चिन्तन गर्न थालेँ। जब मैले चेन सिया निष्कासन हुनेबारे सुनेँ, मैले सत्यता बिल्कुलै खोजिनँ। मैले उनले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि आफ्ना परिवार र करियरलाई बलिदान दिएकी र परमेश्वरका वचनमा धेरै मेहनत गरेकी कारण, अनि उनले अगुवा र कामदारका रूपमा पनि सेवा गरेकी कारण, उनी सत्यता पछ्याउने व्यक्ति हुन् भन्ने सोचेँ, र त्यसैले मैले उनको तर्फबाट अन्याय महसुस गरेँ, र मैले परमेश्वरप्रति गुनासो र भ्रमहरू राखेँ, र आफ्नो कर्तव्यमा रुचि गुमाएँ। मैले बुझेँ मसँग परमेश्वरको भय मान्ने हृदय नै थिएन, र मेरा धारणाहरूसँग मेल नखाने कुराहरूको सामना गर्दा, म प्रतिरोधी महसुस गर्थेँ, गुनासो गर्थेँ, र मैले सत्यता नै खोज्थिनँ। मेरो स्थिति धेरै नै खतरनाक थियो! पछि, मैले सुनेँ मानिसहरूलाई निकाल्न जानकारी सङ्कलन गर्ने क्रममा, टोली अगुवासँग हैसियतका लागि प्रतिस्पर्धा गर्न उनी प्रायः ब्रदर-सिस्टरहरूलाई घूस दिने गर्थिन्, र उनले टोली अगुवाप्रति ब्रदर-सिस्टरहरूले नकारात्मक धारणा बनाउने गरी मतभेद सिर्जना गर्थिन्। उनी प्रायः सबैका सामु टोली अगुवामा जीवन प्रवेशको कमी छ, मानिसहरूलाई खुट्याउन सक्दैनन्, र पवित्र आत्माको काम छैन भन्ने गर्थिन्; उनले टोली अगुवालाई कमजोर देखाउन यस्ता कुराहरू भन्थिन्। उनले ब्रदर-सिस्टरहरूको आलोचना गर्न तिनीहरूको भ्रष्टताको प्रकटीकरणलाई प्रायः बढाइचढाइ गर्थिन्, जसले सबैको कर्तव्यप्रतिको उत्साहलाई कम गरिदिन्थ्यो। अगुवा र ब्रदर-सिस्टरहरूले उनलाई मद्दत गर्न धेरै पटक सङ्गति गरे, तर उनले आफूलाई बिल्कुलै नचिनी आफ्ना क्रियाकलापहरूको बचाउ गर्न अडिग रहिन्। उनका व्यवहारबारे सुनेपछि, मैले चेन सियामा समस्याहरू छ भन्ने बुझेँ, र मैले उनीसँग सहकार्य गर्दादेखिको उनको व्यवहार सम्झेँ। २०१२ को मण्डली चुनाव दौरान, चेन सिया र सिस्टर वाङ हुइ दुवै अगुवामा निर्वाचित भएका थिए। वाङ हुइको क्षमता केही कमजोर भए तापनि, उनमा आफ्ना कर्तव्यप्रति जिम्मेवारी बोध थियो र उनी केही समस्या समाधान गर्न सक्षम थिइन्। तर, चेन सियाले सधैँ अर्की सिस्टरलाई निर्वाचित गराउन चाहन्थिन्, किनभने ती सिस्टरले उनलाई बढी सुन्ने गर्थिन्। यो लक्ष्य पाउन, चेन सियाले वाङ हुइका कमजोरीहरूलाई लिएर तिनलाई ठूलो बनाइन्, ब्रदर-सिस्टरहरूका सामु वाङ हुइलाई कमजोर क्षमता भएका कारण अगुवा बन्न अयोग्य भनी उनलाई तुच्छ देखाइन्। उनले वाङ हुइलाई क्षमता कम भएका कारण सिधै राजीनामा दिन भनिन्। जब चेन सियाले वाङ हुइले राजीनामा नदिएको देखिन्, उनले ब्रदर-सिस्टरहरूका अगाडि समस्या खडा गर्न थालिन्, उनले वाङ हुई आफ्नो पदप्रति धेरै आशक्त छिन्, र आफ्नो क्षमता कम भए तापनि त्यो पद त्याग्न चाहदिँनन् भनेर भनिन्। केही ब्रदर-सिस्टरहरू चेन सियाद्वारा बहकिएर उनका पक्षमा उभिए, अनि वाङ हुइ नेतृत्वका लागि अयोग्य छिन् भन्दै अर्को चुनावको माग गरे। यसले मण्डलीमा अराजकता सिर्जना गर्यो, र वाङ हुइ नकारात्मक स्थितिमा पुगिन्। अनि, २०१३ मा चेन सियाको नेतृत्वका बेला, नेतृत्वकारीले आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तविपरीत व्यवहार गरेको देखेर एक ब्रदरले एउटा सुझाव दिए, तर जब चेन सियाले यो थाहा पाइन्, उनले आफ्नो सहकर्मीलाई ऊमाथि नजर राख्नुपर्छ र उसले भनेका सबै कुरा रेकर्ड गर्नुपर्छ, किनकि पछि उसलाई निकाल्न जानकारी जम्मा गर्दा यसले प्रमाणका रूपमा काम गर्नेछ भनेर भनिन्। चेन सियाले यी ब्रदरलाई नेतृत्वको आलोचना गर्ने र मण्डलीको काममा बाधा पुर्याउने भन्दै निन्दा पनि गरिन्। यो सुनेर ब्रदर-सिस्टरहरूले अगुवाहरूलाई सुझाव दिन डराए, किनकि उनीहरूलाई निन्दा गरिने र निष्कासित हुने डर थियो। पछि, चेन सिया बर्खास्त भइन् किनभने उनले प्रसिद्धि र लाभका लागि प्रतिस्पर्धा गरिन् र सहकर्मीसँग परामर्श नगरी काम गरिन्, बारम्बार आफ्ना सहकर्मीहरूको सुझावलाई अस्वीकार गर्दै आफ्नो अख्तियारमा काम गरिन्, जसले मण्डलीको काममा हानि पुर्याएको थियो।
चेन सियाका धेरै व्यवहारहरूको तुलना गर्दै, मैले परमेश्वरका वचनहरूमा खोजी गरिरहेँ। मैले परमेश्वरका वचन पढेँ: “ख्रीष्टविरोधीहरूले सत्यताको पछि लाग्नेहरूलाई कसरी बहिष्कार र आक्रमण गर्छन्? तिनीहरू प्रायः अरूले तर्कसङ्गत र उचित ठान्ने तरिकाहरू प्रयोग गर्छन्, तिनीहरू मानिसहरूलाई आक्रमण गर्न, निन्दा गर्न र बहकाउन सत्यताबारेका वादविवादहरू समेत प्रयोग गर्छन्। उदाहरणका लागि, एक ख्रीष्टविरोधीले के सोच्दछ भने, यदि उसका साझेदारहरू सत्यताको पछि लाग्ने मानिसहरू हुन् भने, तिनीहरूले उसको हैसियतमाथि खतरा पैदा गर्न सक्छन्, अनि त्यसैले ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउन र मानिसहरूलाई उसको आदर गर्न लगाउनका लागि वजनदार प्रवचनहरू दिने र आत्मिक सिद्धान्तहरू छलफल गर्नेछन्। यसरी, तिनीहरूले आफ्ना साझेदारहरू र सहकर्मीहरूलाई तुच्छ देखाउन र दबाउन सक्छन्, र मानिसहरूलाई तिनीहरूका अगुवाका साझेदारहरू सत्यताको पछि लाग्ने मानिसहरू त हुन्, तैपनि तिनीहरू योग्यता र क्षमताको हिसाबले तिनीहरूको अगुवाको बराबरीका छैनन् भन्ने महसुस गराउन सक्छन्। कतिपय मानिसहरू यस्तो पनि भन्छन्, ‘हाम्रा अगुवाका उपदेशहरू वजनदार छन्, र कसैले तुलना गर्न सक्दैन।’ ख्रीष्टविरोधीका लागि यस्तो टिप्पणी सुन्नु अत्यन्त सन्तोषजनक कुरो हुन्छ। तिनीहरू मनमनै सोच्छन्, ‘तँ त मेरो साझेदार होस्, के तँमा केही सत्यता वास्तविकताहरू छैनन्? तँ मजस्तो वाकपटुता र उच्चतासाथ किन बोल्न सक्दैनस्? तँ अब पूरै अपमानित भइस्। तँमा क्षमताको कमी छ, तैपनि तँ मसँग प्रतिस्पर्धा गर्ने हिम्मत गर्छस्!’ ख्रीष्टविरोधीले यस्तै सोचिरहेको हुन्छ। ख्रीष्टविरोधीको लक्ष्य के हो? तिनीहरू अरू मानिसहरूलाई दबाउने, तुच्छ देखाउने र आफूलाई तिनीहरूभन्दा माथि राख्ने जस्ता हरसम्भव उपायहरू प्रयोग गर्दैछन्। … ख्रीष्टविरोधीले मण्डलीमा सत्यताको पछि लाग्ने मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्दछ, विशेष गरी झूटा अगुवा र ख्रीष्टविरोधीको खुलासा र रिपोर्ट गर्ने हिम्मत गर्ने न्यायको भावना भएका व्यक्तिहरूलाई। ख्रीष्टविरोधीले त्यस्ता मानिसहरूलाई आफ्नो आँखाको कसिङ्गरका रूपमा, आफू छेउको काँडाका रूपमा हेर्छ। सत्यताको पछि लाग्ने र आफ्नो कर्तव्य स्वेच्छाले पूरा गर्ने कोही देखेमा, उसको हृदयमा द्वेष र शत्रुता उत्पन्न हुन्छ, अनि उसमा एक थोपा पनि प्रेम हुँदैन। सत्यताको पछि लाग्ने मानिसहरूले जस्तोसुकै कठिनाइहरू भोग्नुपरे पनि वा तिनीहरू जतिसुकै कमजोर र नकारात्मक भए तापनि, एक ख्रीष्टविरोधीले तिनीहरूलाई मद्दत वा समर्थन नै नगर्ने भन्ने हुँदैन—उसले त्यसलाई त्यत्तिकै पन्छाउँदैन। बरु, ऊ मनमनै खुसी हुन्छ। अनि यदि कसैले ऊमाथि आरोप लगाएको छ वा उसको खुलासा गरेको छ भने, कमजोर भएको मौका छोपेर उसलाई लात हानेर तल झारिदिन्छ, उसलाई पाठ सिकाउन, उसको निन्दा गर्न, उसलाई अघि बढ्ने कुनै बाटो नदिन, अनि अन्तमा उसलाई आफ्नो कर्तव्य निर्वाह गर्न नसक्नेगरी नकारात्मक बनाउन नानाथरीका आरोप लगाउँछ। तब ख्रीष्टविरोधी आफैँमा गर्व गर्छ र त्यो व्यक्तिको दुर्भाग्यमा रमाउन थाल्छ। यसप्रकारका कामहरू गर्नमा ख्रीष्टविरोधीहरू खप्पीस छन्; सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार, आक्रमण र निन्दा गर्नु तिनीहरूको सबैभन्दा ठूलो सीप हो। … सङ्क्षेपमा, ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूका आधारमा, हामी तिनीहरूले नेतृत्वको कर्तव्य पूरा गरिरहेका छैनन् भनेर निर्धारित गर्न सक्छौँ, किनभने तिनीहरूले मानिसहरूलाई परमेश्वरको वचन खान र पिउनमा वा सत्यताबारेको सङ्गतिमा अगुवाइ गरिरहेका छैनन्, र तिनीहरूले मानिसहरूलाई मलजल वा भरणपोषण गरिरहेका छैनन्, सत्यता हासिल गर्न दिइरहेका छैनन्। बरु, तिनीहरूले मण्डलीको जीवनमा बाधा र अवरोध पुर्याउँछन्, मण्डलीको कामलाई भताभुङ्ग पार्छन् र नष्ट गर्छन्, र मानिसहरूलाई सत्यताको पछि लाग्ने र मुक्ति प्राप्त गर्ने मार्गमा व्यवधान खडा गर्छन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउन चाहन्छन् र तिनीहरूलाई मुक्ति पाउने मौका गुमाउने तुल्याउन चाहन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्याएर हासिल गर्न चाहेको अन्तिम लक्ष्य यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। ख्रीष्टविरोधीहरू मण्डलीमा शासन गर्न खोज्छन्, सुझबुझ नभएकाहरूलाई बहकाउन सिद्धान्त र शब्दहरूको प्रयोग गर्छन्, र सत्यता पछ्याउनेहरूलाई आक्रमण र बहिष्कार गर्न कुनै पनि हदसम्म जान्छन् भनी परमेश्वरले खुलासा गर्नुहुन्छ। तिनीहरू आफूलाई सुझाव दिनेहरूलाई समेत घृणा गर्छन्। तिनीहरू यी मानिसहरूलाई अवरोधका रूपमा हेर्छन्, उनीहरूको कमजोरी र भ्रष्टताको प्रकटीकरणलाई समातेर ती कुरालाई बढाइचढाइ गर्छन्, जानाजानी उनीहरूलाई होच्याउँछन्, आलोचना गर्छन् र अनुचित रूपमा अनेक नाम दिन्छन्। यसले यी ब्रदर-सिस्टरहरूलाई सीमान्तकृत र दमित बनाउँछ, अनि उनीहरू अन्ततः अति नकारात्मक हुँदै कर्तव्य निर्वाह गर्न सक्दैनन्। यसमा, ख्रीष्टविरोधीहरूका लक्ष्यहरू पूरा हुन्छन्, र तिनीहरूले मण्डलीमा इच्छाअनुसार शक्ति प्रयोग पाउँछन्। चेन सियाले यस्तै नै व्यवहार गर्दै थिइन्। उनले मण्डलीमा शासन गर्न खोजिन्, वाङ हुइको कमजोरीहरूलाई जानाजानी समातेर उनलाई होच्याउन, आलोचना र हमला गर्न लागिन्, लज्जित बनाउँदै राजीनामा दिन बाध्य बनाउन खोजिन्, यस प्रयासमा ब्रदर-सिस्टरहरूलाई बहकाएर वाङ हुइको विरुद्ध आफ्नो पक्षमा उभ्याइन्। यदि कसैले उनको मण्डली अगुवा पदलाई असर गर्ने सुझाव दिन्थ्यो भने, उनी तिनलाई सताउने तरिकाहरू निकाल्थिन्, तिनलाई निकाल्नका लागि अनुचित आरोपहरू लगाउँथिन्। उनलाई नयाँ कर्तव्यमा सरुवा गरिएपछि, टोली अगुवाको ठाउँ लिन, उनले प्रायः टोली अगुवाको भ्रष्टताको प्रकटीकरणलाई लिएर तिनलाई होच्याउने, कुरा काट्ने र आक्रमण गर्ने गर्थिन्, अरू मानिसहरूलाई बहकाएर आफ्नो पक्षमा पार्दै टोली अगुवालाई एक्ल्याउन खोजिन्। यसले कामलाई गम्भीर रूपमा बाधा पुर्यायो। हैसियतका लागि चेन सियाको निर्मम महत्त्वाकांक्षा देखेर, मैले उनका शब्द र कार्यहरू कति कपटी, धूर्त र द्वेषपूर्ण थिए भनेर थाहा पाएँ। अगुवाहरूले उनका कार्यको सार र त्यसले निम्त्याएका परिणामहरूलाई विश्लेषण गरे, तैपनि उनले यो स्वीकार गर्न इन्कार गरिन् र केवल तर्क गर्दै आफ्नो सफाइ दिइरहिन्। यो व्यक्तिगत विवाद मात्र थिएन; बरु, यसरी उनले दुष्ट काम र परमेश्वरको प्रतिरोध, अनि अन्त्यसम्मै उहाँको विरोध गरिरहेकी थिइन्! मैले चेन सियाका समस्याहरू गम्भीर छन्, र उनी मण्डलीको काममा बाधा पुर्याउने एक ख्रीष्टविरोधी हुन् भन्ने बुझेँ। यो बुझेपछि, म धेरै चिन्तित भएँ। मैले आफू कति मूर्ख र अन्धी रहेछु, कति अन्योलमा पर्ने र सुझबुझ नभएकी रहेछु भन्ने देखेँ, म वास्तवमै यस ख्रीष्टविरोधीको पक्षमा उभिएकी थिएँ, अनि नकारात्मकता र गलतफहमीमा जिउँदा मेरो कर्तव्यमा ढिलाइ आएको थियो। मैले पश्चात्ताप गर्न परमेश्वरलाई प्रार्थना गरेँ र चेन सियाका दुष्ट कार्यहरू मण्डलीमा रिपोर्ट गरेँ। अन्ततः, सिद्धान्तका आधारमा, सबैले चेन सियालाई ख्रीष्टविरोधी भएको ठहर्याए, र उनलाई मण्डलीबाट निष्कासित गरियो।
पछि, म प्रायः यस विषयमा चिन्तन गर्थेँ, र सोच्थेँ, “मैले चेन सियासँग धेरै वर्षदेखि अन्तरक्रिया गरेकी छु, त्यसोभए मैले कसरी उनलाई पूर्ण रूपमा खुट्याउन सकिनँ? मलाई त उनी सत्यता पछ्याउने व्यक्ति हुन् भन्ने पनि लाग्थ्यो र म उनलाई उच्च सम्मान र आराधना गर्थेँ।” मेरो खोजीमा, मैले परमेश्वरको वचनका दुईवटा खण्ड पढेँ जसबाट मैले यसका पछाडिको कारण पत्ता लगाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “केही मानिसहरूले कठिनाइ सहन सक्छन्, मूल्य चुकाउन सक्छन्, तिनीहरू बाह्य रूपमा एकदमै राम्रो व्यवहारका हुन्छन्, तिनीहरूलाई निकै राम्रो सम्मान गरिन्छ, र तिनीहरूले अन्य व्यक्तिहरूबाट प्राप्त हुने प्रशंसाको आनन्द उठाउँछन्। के तिमीहरू यस प्रकारको बाह्य व्यवहारलाई सत्यताको अभ्यास गरेको मान्न सकिन्छ भनेर भन्छौ? के त्यस्ता मानिसहरूले परमेश्वरका अभिप्रायहरू पूरा गरेका छन् भनेर कसैले निर्क्योल गर्न सक्छ? किन होला बारम्बार मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई हेर्छन् र तिनीहरूले परमेश्वरको इच्छा पूरा गरिरहेका छन्, तिनीहरू सत्यताको अभ्यास गर्ने मार्गमा हिँडिरहेका छन् अनि तिनीहरू परमेश्वरको मार्ग पछ्याइरहेका छन् भनी सोच्छन्? किन केही मानिसहरूले यसरी सोच्ने गर्छन्? यसको एउटै मात्र स्पष्टीकरण छ। त्यो स्पष्टीकरण के हो त? त्यो हो—धेरै मानिसहरूका लागि केही निश्चित प्रश्नहरू जस्तै सत्यताको अभ्यास गर्नु भनेको के हो, परमेश्वरलाई सन्तुष्ट पार्नु भनेको के हो र साँच्चै नै सत्यता वास्तविकता धारण गर्नु भनेको के हो भन्ने कुराहरू स्पष्ट छैनन्। यसरी, केही मानिसहरू बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट भ्रममा पारिन्छन्। जहाँसम्म शब्द र धर्मसिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूबाट धोका खानेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवता सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको मूर्ति बन्छन्। यस बाहेक, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने मूर्तिहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्वरले स्याबासी दिनुहुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। “ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूमा लगाउने प्रयत्न र सत्यता पछ्याउनेहरूको प्रयत्नबीच के भिन्नता छ? (अभिप्राय र उद्देश्य फरक हुन्छन्। ख्रीष्टविरोधीहरू आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षाहरू पूरा गर्न आफ्नै फाइदा र हैसियतको लागि परमेश्वरका वचनहरूमा प्रयत्न लगाउँछन्।) ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूमा कस्ता प्रयत्नहरू लगाउँछन्? तिनीहरूले आफ्ना धारणाहरूअनुरूपका परमेश्वरका वचनका केही भागहरू कण्ठ पार्छन्, मानव भाषा प्रयोग गरेर परमेश्वरका वचनहरू व्याख्या गर्न सिक्छन्, र केही आत्मिक टिपोट र अन्तर्ज्ञानहरू लेख्छन्। तिनीहरूले परमेश्वरका विभिन्न भनाइहरूको निचोड निकाल्ने, र तिनलाई सारांशीकृत र व्यवस्थित गर्ने पनि गर्छन्, जस्तै मानिसहरूलाई तुलनात्मक रूपमा मानव धारणाहरूअनुरूप छन् भन्ने लागेका भनाइहरू, परमेश्वरको बोल्ने भाव भएको भनेर सजिलै बुझिने भनाइहरू, रहस्यहरूबारेका केही वचनहरू, केही समय मण्डलीमा प्रचार गरिएका परमेश्वरका केही चर्चित वचनहरू। यसमा कण्ठ पार्ने, व्यवस्थित गर्ने, सारांशीकृत गर्ने र अन्तर्ज्ञानहरू लेख्नेबाहेक, अवश्य नै केही अनौठा क्रियाकलापहरूलगायतका थप कुराहरू पनि छन्। ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गर्न, आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न, र मण्डलीलाई नियन्त्रणमा लिएर परमेश्वर हुने लक्ष्य हासिल गर्न जुनसुकै मूल्य तिर्नेछन्। तिनीहरू उच्च प्रवचनहरू दिन आफूलाई चाहिने धर्मसिद्धान्तले सुसज्जित हुनको लागि, राति अबेरसम्म काम गर्छन् र एकाबिहानै उठ्छन्, मध्यरातसम्म पनि सुत्दैनन् र बिहान सबेरै उठेर आफ्नो प्रवचन अभ्यास गर्छन्, र तिनीहरू अरूले भनेका तेजिला कुराहरूसमेत लेखेर राख्छन्। तिनीहरू यी उच्च प्रवचनहरू कसरी वाचन गर्ने भनी हरेक दिन मनन गर्छन्, परमेश्वरका कुन वचनहरू छान्दा सबैभन्दा उपयोगी हुनेछ, र त्यसले परमेश्वरका चुनिएका मानिसहरूबाट आदर र प्रशंसा प्राप्त गराउँछ भनेर चिन्तन गर्छन्, र ती वचनहरू कण्ठ पार्छन्। त्यसपछि, तिनीहरू ती वचनहरूलाई कसरी तिनीहरूको तीक्ष्णता र तेज देखाउने तरिकाले व्याख्या गर्ने भनी विचार गर्छन्। परमेश्वरको वचनको प्रभाव साँच्चिकै आफ्नो हृदयमा पार्नको निम्ति तिनीहरू उहाँको वचन अझ थुप्रै पटक सुन्ने प्रयत्न गर्छन्। तिनीहरू कलेजमा नाम निकाल्न प्रतिस्पर्धा गर्ने विद्यार्थीहरूले जस्तै मेहनत गरेर यो सबै काम गर्छन्। जब कसैले राम्रो, वा केही प्रकाश प्रदान गर्ने, वा केही सिद्धान्त प्रदान गर्ने प्रवचन दिन्छ, तब ख्रीष्टविरोधीले त्यसलाई लेखेर सङ्कलन गर्छ र त्यसलाई आफ्नै प्रवचन बनाउँछ। ख्रीष्टविरोधीले जति मेहनत गर्नु परे पनि त्यो उसको लागि धेरै हुँदैन। त्यसो भए, तिनीहरूको यो मेहनतको मनसाय र अभिप्राय के हुन्छ? त्यो हो परमेश्वरका वचनहरू प्रचार गर्न, स्पष्ट र सहजताको साथ बोल्न, तिनलाई फरर भन्न सक्षम बन्नु, ताकि अरूले तिनीहरूभन्दा त्यो ख्रीष्टविरोधी धेरै आत्मिक छ, परमेश्वरका वचनहरू धेरै जानेको छ, र परमेश्वरलाई धेरै प्रेम गर्छ भन्ने देख्न सकून्। यसरी, ख्रीष्टविरोधीले आफ्ना वरिपरिका केही मानिसहरूको प्रशंसा र आराधना प्राप्त गर्न सक्छ। उसले यसो गर्नु सार्थक छ र यसको लागि जुनसुकै प्रयास गर्नु, मूल्य चुकाउनु, वा कठिनाइ भोग्नु उचित छ भन्ने ठान्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग सात))। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने मैले चेन सियालाई उच्च मान गर्नु र उनले सत्यता पछ्याउँछिन् भनेर ठान्नुको कारण मैले गलत दृष्टिकोण राख्नु रहेछ। म बलिदान दिने, आफूलाई समर्पित गर्ने, परिश्रम गर्ने, र परमेश्वरका वचन पढ्नमा धेरै मेहनत गर्नेहरूलाई, वास्तविकता भएका र सत्यता पछ्याउने मानिसहरूका रूपमा हेर्थेँ। अब मैले के बुझेँ भने केवल आफ्नो कर्तव्य निर्वाह गर्नु, बलिदान दिनु, आफूलाई समर्पित गर्नु, कष्ट सहनु, र मूल्य चुकाउनु भनेको राम्रा व्यवहार मात्र हुन्, र यसको मतलब कुनै व्यक्तिले वास्तवमा सत्यता पछ्याउँछ वा अभ्यास गर्छ भन्ने हुँदैन। मैले के पनि बुझेँ भने परमेश्वरका वचन पढ्न धेरै मेहनत गर्नु भनेको व्यक्तिले परमेश्वरका वचनहरूको कदर गर्छ वा सत्यतालाई प्रेम गर्छ भन्ने हुँदैन। यसलाई व्यक्तिको कार्यमा रहेका अभिप्रायका आधारमा मूल्याङ्कन गर्नुपर्छ, उसले परमेश्वरको वचन अभ्यास गर्छ-गर्दैन, र उसको जीवन स्वभाव परिवर्तन भएको छ-छैन हेर्नुपर्छ। परमेश्वरलाई भेटेपछि, चेन सियाले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिन् र दुःखकष्ट सहन सकिन्, तर उनका बलिदान र समर्पणहरू सत्यता अभ्यास गरेर परमेश्वरलाई सन्तुष्ट पार्न थिएनन्, बरु, उनले अरूको प्रशंसा र आराधना पाउनका लागि प्रतिष्ठा र हैसियत पछ्याइन्। कठोर जाडोमा, चेन सिया परमेश्वरका वचन पढ्न बिहान सबेरै उठ्थिन्, कहिलेकाहीँ त परमेश्वरका वचनहरू पढ्न, लेख्न, र याद गर्न राति अबेरसम्म जागा बस्थिन्। उनले परमेश्वरका वचनहरूमा निक्कै मेहनत गरिन्, तर उनको भित्री प्रेरणा अझै पनि आफ्नो पदका लागि थियो। उनले परमेश्वरका वचनहरूलाई प्रतिष्ठा र हैसियत पाउने औजारका रूपमा प्रयोग गरिन्, ब्रदर-सिस्टरहरूको प्रशंसा र आराधना कमाउन परमेश्वरका वचनहरू बताउने मौकाहरू उपयोग गरिन्। उनले परमेश्वरका थुप्रै वचन पढिन्, तर ती वचनहरूको अभ्यास गर्ने वा आफ्नो भ्रष्ट स्वभावलाई सुधार्ने कुनै सङ्केत देखाइनन्। यसको सट्टा, उनले सधैँ प्रतिष्ठा र हैसियत पछ्याइन्, भाषण दिन र अरूलाई सीमित पार्न प्रायः कठोर दृष्टिकोण अपनाइन्। जब अरूले उनका समस्याहरूलाई औँल्याउँथे, उनी तिनीहरूको कुरा स्वीकार गर्थिनन्, बरु तिनलाई दबाउने र सताउने प्रयास गर्थिन्। उनले सत्यता अभ्यास गर्न परमेश्वरका वचनहरू पढेकी थिइनन् भन्ने स्पष्ट थियो, अन्यथा, आफ्नो स्वभावमा कुनै परिवर्तन बिना नै उनले परमेश्वरका यति धेरै वचनहरू कसरी पढ्न सक्थिन्? बरु, उनी झन्-झन् अहङ्कारी हुँदै गइन्, र उनको प्रतिष्ठा र हैसियतको पछ्याइ झन् तीव्र हुँदै गयो। यसले चेन सियाको सत्यताप्रति वितृष्णा र घृणाको सारलाई पूर्ण रूपले प्रकट गर्यो। सत्यतालाई साँचो प्रेम गर्नेहरूले परमेश्वरका वचनको कदर र अभ्यास गर्छन्। पत्रुस जस्तै, उनले प्रायः परमेश्वरका वचनहरूमाथि मनन गरे र तिनलाई आफ्नो वास्तविक जीवनमा समाहित गरे, र उनले सामना गरेका कुरामा परमेश्वरका वचनअनुसार कडा अभ्यास र प्रवेश गर्न सक्षम भए, र अन्ततः, उनको जीवन स्वभाव परिवर्तन भयो। यसबाट, मैले के देखेँ भने कोही सत्यता पछ्याउने व्यक्ति हो-होइन भनेर मूल्याङ्कन गर्न, हामीले उसको बाहिरी त्याग र समर्पण, उसले परमेश्वरका वचनहरू कति पढेको छ, वा ऊ अरूसँग सङ्गति गर्न सक्षम छ-छैन भनेर मात्र हेर्न हुँदैन, र हामीले मुख्य गरी उसले सामना गर्ने परिस्थितिहरूमा परमेश्वरका वचनहरू अभ्यास गर्न, सत्यताको खोजीमा केन्द्रित हुन, आत्मचिन्तन गरेर आफूलाई चिन्न सक्छ-सक्दैन, र उसमा कुनै जीवन प्रवेश छ-छैन भन्ने कुरा हेर्नुपर्छ। मैले केवल चेन सियाको बलिदान दिने, आफूलाई समर्पित गर्ने र परमेश्वरका वचनहरूमा मेहनत गर्ने बाहिरी क्षमता देखेँ, र त्यसैले मैले उनको पूजा गरेँ, मेरो हृदयमा उनलाई आदर्श पनि मानेँ। जब मैले मण्डलीबाट उनको निष्कासनको कुरा सुनेँ, मैले उनको पक्षमा बोल्न चाहेँ। मैले आफूले सत्यतालाई नबुझेको र परमेश्वरका वचनअनुसार मानिसहरूको मूल्याङ्कन गर्न असफल भएको पाएँ। म कति मूर्ख भएकी थिएँ!
मैले आफूलाई पनि सोधेँ, “चेन सियाको निष्कासनको कुरा सुनेपछि मैले किन यति नकारात्मक र कमजोर महसुस गरेँ, र आफ्ना कर्तव्यहरू गर्न चाहनै छोडेँ?” पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “मानिसहरूका धारणा र कल्पनाहरू तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सिद्धान्त र मापदण्ड बनेपछि, तिनीहरूले परमेश्वरमा जसरी विश्वास गरे पनि, वा तिनीहरूले जसरी पछ्याए पनि, र तिनीहरूले जति नै धेरै कठिनाइ भोगे पनि वा जति नै धेरै मूल्य चुकाए पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि कुनै व्यक्ति आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछ भने, यस व्यक्तिले परमेश्वरको प्रतिरोध गरिरहेको हुन्छ र ऊ उहाँप्रति विरोधी हुन्छ; ऊसँग परमेश्वरले तयार गर्नुभएका वातावरणहरू वा उहाँका मागहरूप्रति साँचो समर्पणता हुँदैन। त्यसपछि अन्तिममा, तिनीहरूको परिणाम अत्यन्तै दुःखदायी हुनेछ। यदि तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको छ, र उहाँका लागि आफूलाई समर्पित गरेको छस्, यत्रतत्र दौडधूप गरेको छस् र ठूलो मूल्य चुकाएको छस्, तर तैँले गर्ने सबै कुराको सुरुवाती बिन्दु र स्रोत तेरा आफ्नै धारणा र कल्पनाहरू हुन् भने, तैँले परमेश्वरलाई साँचो रूपमा स्वीकार गर्दैनस् र तँ उहाँमा समर्पित हुँदैनस्। … यो त पावलले प्रकट गरेको कुरा जस्तै हो: उनले धेरै काम गरे र धेरै दौडधूप गरे, युरोपको धेरैजसो ठाउँमा सुसमाचार प्रचार गरे, तर उनले जति कठिनाइ भोगे पनि र जति नै मूल्य चुकाए पनि, वा जति नै दौडधूप गरे पनि, उनीसँग कहिल्यै सत्यता अनुरूपका विचार र दृष्टिकोणहरू थिएनन्, उनले कहिल्यै सत्यतालाई स्वीकार गरेनन्, र उनमा कहिल्यै परमेश्वरमा समर्पित हुने मनोवृत्ति र त्यसको वास्तविक अनुभव थिएन—उनी सधैँ आफ्नै धारणा र कल्पनाहरूभित्रै जिउँथे। उनको विशिष्ट धारणा र कल्पना के थियो? त्यो के थियो भने, उनले दौड र असल लडाइँ लड्न पूरा गरेपछि, उनका लागि धार्मिकताको मुकुट राखिएको छ—पावलको धारणा र कल्पना यही थियो। उनको धारणा र कल्पनाको विशिष्ट सैद्धान्तिक आधार के थियो? त्यो के थियो भने, परमेश्वरले कुनै व्यक्तिको परिणाम उसले गरेको दौडधूप, उसले चुकाएको मूल्य, र उसले भागेको कठिनाइको मात्राका आधारमा निर्धारित गर्नुहुन्छ। पावलले आफ्नो धारणा र कल्पनाको यस्तो सैद्धान्तिक आधारमै अनजानमा ख्रीष्टविरोधीहरूको मार्ग लिएका थिए। परिणाम स्वरूप, जब उनी बाटोको अन्त्यमा पुगे, तब उनले परमेश्वरको प्रतिरोध गर्ने उनाका व्यवहार र प्रकटीकरणहरूका बारेमा वा परमेश्वरको प्रतिरोध गर्ने उनको सारका बारेमा उनमा कुनै बुझाइ थिएन, उनमा कुनै पछुतो हुनु त परको कुरा हो। उनले परमेश्वरमा विश्वास गर्ने क्रममा अझै पनि आफ्नो मूल धारणा र कल्पनालाई कायम राखेका थिए, र उनीसँग परमेश्वरप्रति अलिकति पनि साँचो समर्पणता नभएको मात्र होइन, त्यस विपरीत, उनले आफू त्यसको साटो परमेश्वरबाट असल परिणाम र गन्तव्य प्राप्त गर्नको अझै बढी हकदार भएको विश्वास गरेका थिए। ‘त्यसको साटो” भनेर भन्नु भनेको त यसलाई राम्रो सुनिने र सभ्य तरिकाले भन्नु हो, तर वास्तवमा यो विनिमय, वा लेनदेन समेत थिएन—उनले सीधै परमेश्वरसँग यी कुराहरू मागिरहेका, परमेश्वरबाट सीधै ती माग गरिरहेका थिए। उनले कसरी परमेश्वरबाट ती कुराहरू माग गरे? यो त ठ्याक्कै उनले भनेजस्तै थियो, “मैले आफ्नो यात्रा पूरा गरेको छु, मैले असल लडाइँ लडेको छु—अब महिमाको मुकुट मेरो भएको छ। यो मैले पाउनुपर्ने कुरा हो र परमेश्वरले न्यायोचित रूपमा मलाई दिनुपर्ने कुरा हो।’ पावलले लिएको मार्ग परमेश्वरप्रतिको प्रतिरोधको मार्ग थियो, जसले उनलाई विनाशमा पुर्यायो, र उनले पाएको अन्तिम परिणाम भनेको दण्ड पाउनु थियो। यसलाई परमेश्वरबारेको उनको धारणा र कल्पनाबाट अलग गर्न सकिँदैनथियो” (वचन, खण्ड ७। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (२))। मण्डलीले चेन सियालाई निष्कासन गरेको कुरा सुनेर मैले नकारात्मक महसुस गर्नु, मैले गलत दृष्टिकोण राख्नु थियो। म सोच्थेँ, आफूलाई समर्पित गर्ने, धेरै बलिदान गर्ने र परिश्रम गर्नेहरूले परमेश्वरबाट राम्रो परिणाम र गन्तव्य पाउनेछन्। त्यसैले जब चेन सियाले बलिदान गरेर कष्ट भोगेर, र धेरै वर्षसम्म आफ्नो कर्तव्य निर्वाह गरेर पनि, अन्ततः मण्डलीले निष्कासित हुनुपरेको मैले देखेँ, मैले त्यसलाई बुझ्नै सकिनँ। मैले के पनि सोचेँ भने मैले उनले जति बलिदान गरेकी छैन, र उनले जति कर्तव्य निर्वाह गरेकी छैन, त्यसैले मलाई पनि ढिलोचाँडो हटाइनेछ होला, अनि म यति नकारात्मक भएँ कि मलाई मूल्य चुकाउन र आफूलाई समर्पित गर्न मन लागेन। मलाई महसुस भयो, परमेश्वरमा विश्वास गरेको यत्तिका वर्ष पछि पनि, म अझै पनि मानवीय धारणा र कल्पनाहरूमा जिइरहेकी थिएँ। परमेश्वरले कुनै व्यक्तिको परिणाम उसलेले कति लामो समयसम्म विश्वास गरेको छ, कति सिद्धान्त प्रचार गर्न सक्छ, कति काम गरेको छ, कति दुःख भोगेको छ, वा परमेश्वरको वचन कति कण्ठ गरेको छ भन्ने आधारमा निर्धारण गर्नुहुँदैन, बरु ऊ सत्यतालाई पछ्याउँछ-पछ्याउँदैन, उसको भ्रष्ट स्वभाव परिवर्तन भएको छ-छैन, र कर्तव्य र भोगाइमा उनीहरूको अभिप्राय परमेश्वरलाई सन्तुष्ट पार्नु हो-होइन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ। यदि कसैले परमेश्वरका वचनको अभ्यास नै गर्दैन र परमेश्वरसँग सौदाबाजी गर्नका लागि मात्र आफ्ना कर्तव्यहरू निर्वाह गर्छ भने, त्यस्तो व्यक्तिले बलिदान गर्न, आफूलाई समर्पित गर्न र परिश्रम गर्न सक्छ भने पनि, अन्त्यमा, यदि उसको जीवन स्वभाव परिवर्तन नै भएन, र उसले खुलेआम परमेश्वरको प्रतिरोध गर्छ भने, परमेश्वरको स्वभावलाई ठेस पुर्याउनेछ। पावललेजस्तै, उनले ठूलो मूल्य चुकाएर आफूलाई निक्कै समर्पित गरे, तर उनले सत्यता प्राप्त गर्न वा आफ्नो स्वभावमा परिवर्तन ल्याउन त्यसो गरेनन्, बरु आशिष् र मुकुट प्राप्तिका लागि गरे। त्यसैले, धेरै वर्षको कामपछि पनि, उनको अहङ्कारी, घमण्डी, र नाफा खोज्ने प्रकृतिमा कुनै परिवर्तन आएन, र अन्ततः उनले आफ्नो कडा परिश्रमलाई पनि लगानीका रूपमा प्रयोग गरेर परमेश्वरबाट धर्मी मुकुटको माग गरे, खुलेआम उहाँकै विरुद्ध बोले। यसले परमेश्वरको स्वभावलाई ठेस पुर्यायो र पावलको दण्डको कारण बन्यो। मैले पनि मेरो पीडा र समर्पणलाई राम्रो गन्तव्यसँग साट्न खोजेँ, तर जब मैले आशिष् पाउने कुनै आशा नभएको देखेँ, मलाई आफ्नो कर्तव्य निर्वाह गर्न पनि मन लागेन। के पछ्याइप्रतिको मेरो दृष्टिकोण पावलको जस्तै थिएन? सृजित प्राणीहरूका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा उचित र स्वाभाविक हो। म सृजित प्राणीका रूपमा इमानदारीपूर्वक आफ्ना कर्तव्य निर्वाह गर्न आफ्नो स्थानमा उभिइनँ। बरु, मैले कर्तव्यमा गरेको दुःख र समर्पणलाई राम्रो परिणाम र गन्तव्यको प्राप्तिमा प्रयोग गर्न चाहेँ, र जब मलाई यी कुरा प्राप्त गर्न सक्दिनँ जस्तो लाग्यो, तब मैले परमेश्वर अधर्मी हुनुहुन्छ भन्ने सोचेँ। यसरी, मैले परमेश्वरको विरोध गर्दै थिएँ र उहाँको स्वभावलाई ठेस पुर्याउँदै थिएँ। यो समस्याको प्रकृति धेरै गम्भीर थियो। यदि मैले मेरो दृष्टिकोण परिवर्तन नगरेमा, म पनि परमेश्वरद्वारा हटाइने थिएँ! यो कुरा बुझेर मलाई अत्यन्त पछुतो र अपराधबोध महसुस भयो, र म परमेश्वरसँग पश्चात्ताप गर्न चाहन्थेँ।
पछि, मैले परमेश्वरको वचन पढेँः “सृष्टि गरिएको प्राणीको रूपमा, मानिसले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिष्हरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा कुनै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्ने कुरा तेरो आफ्नै खोजीमा निर्भर हुन्छ, भन्नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मैले त्यो समय सम्झिएँ जतिखेर म केवल आशिष् खोज्नका लागि परमेश्वरमा विश्वास गर्थेँ। सरल भाषामा, म व्यक्तिगत लाभ र राम्रो गन्तव्य पछ्याउँदै थिएँ, र अन्त्यमा, म कुनै पनि सत्यता प्राप्त गर्ने थिइनँ, र मेरो स्वभावमा परिवर्तन पनि हुने थिएन, त्यसैले म अझै पनि परमेश्वरद्वारा हटाइने थिएँ। अब मैले के बुझेँ भने मैले पहिले पछ्याएको बाटो गलत थियो, र परमेश्वरमा विश्वास गर्ने सही मार्ग भनेको परमेश्वरलाई प्रेम गर्न खोज्नु, सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु, आफ्ना कर्तव्यमा सत्यता पछ्याउनु, र आफ्नो भ्रष्ट स्वभावलाई फाल्नु हो। यो मूल्यवान र अर्थपूर्ण छ। यो पत्रुसले अपनाएको जस्तै मार्ग हो। उनले सबै कुरामा परमेश्वरको वचनलाई व्यवहारमा उतार्नमा ध्यान केन्द्रित गरे, र परमेश्वरको न्याय र सजायलाई स्विकारे, र आफ्नो भ्रष्ट स्वभावबारे बुझाइ प्राप्त गरे, र अन्ततः, उनले परमेश्वरलाई प्रेम गर्ने वास्तविकता जिए। यसबारे चिन्तन गर्दा, मैले के बुझेँ भने परमेश्वरमा विश्वास गर्दा आखिरमा आशिष् पाउनु नै उद्देश्य हुनुहुँदैन, सत्यता बुझ्नु र आफ्ना कर्तव्यमा रहेको भ्रष्टता फाल्नु नै सबैभन्दा अर्थपूर्ण र सही मार्ग हो। यस अनुभवले मलाई व्यक्ति र मामिलाहरूलाई सत्यता सिद्धान्तका आधारमा हेर्नु अत्यन्तै महत्त्वपूर्ण छ भनी अनुभूत गरायो!