९३. म किन यति अहङ्कारी छु?

फ्र्याङ्क, दक्षिण कोरिया

अहिले मैले मण्डलीको भिडियोको कामको जिम्मेवारी लिएको छु। सुरुमा, केही समयको अभ्यासपछि, मैले केही सिद्धान्तहरू बुझेँ र मेरो सीपमा केही प्रगति भयो। चाँडै नै, मैले हाम्रो काममा बारम्बार समस्याहरू पत्ता लगाउन थालेँ, र कामबारेका छलफलहरूमा मेरा सुझावहरू प्रायः अरूले स्वीकार गर्थे। केही समयपछि, म अलि फुर्किन थालेँ। म आफूमाथि झन्-झन् धेरै विश्वास गर्न थालेँ, मलाई आफूसँग केही क्षमता, सिद्धान्तहरूको एकदमै शुद्ध बुझाइ, अनि विषयहरूमाथि व्यापक दृष्टिकोण छ जस्तो लाग्न थाल्यो। म मण्डलीको अगुवा नभए पनि र कुनै ठूलो कामको जिम्मेवारीमा नभए पनि, हाम्रो टोलीका परियोजनाहरूलाई व्यवस्थापन गर्न सक्नु नराम्रो होइन भन्ने मलाई लाग्यो।

मैले मेरा सहकर्मी, ब्रदर जस्टिन, केही समयदेखि आफ्नो कर्तव्यमा अलि निष्क्रिय भएका देखेँ। हाम्रा कामसम्बन्धी छलफल र टोलीको सिकाइमा सधैँ मैले नै नेतृत्व गर्थेँ, र बोझ नबोकेकोमा म तिनलाई हेला गर्थेँ। कामबारे छलफल गर्दा, म अक्सर जस्टिनका सुझावहरूलाई बेवास्ता गर्थेँ र तिनका विचारहरूलाई अस्वीकार गरिदिन्थेँ। म सोच्थेँ, “म तिमीसँग काम त गरिरहेको छु, तर अन्त्यमा धेरैजसो समय मेरै विचारअनुसार काम हुन्छ, त्यसैले यी कामकुराहरू म आफैँले गर्दा पनि हुन्छ।” केही समयपछि, मैले जस्टिनका जिम्मेवारीहरू पूर्ण रूपमा आफ्नो हातमा लिएँ। हाम्रा कामसम्बन्धी छलफलहरूमा, अरूले मेरा सुझावहरू नअपनाउँदा, म मेरै दृष्टिकोण सही छ भनेर बारम्बार जोड दिन्थेँ, र म कहिलेकाहीँ उनीहरूलाई आफ्नो कुरा सुन्ने बनाउन प्रमाणका रूपमा केही नियम वा धर्मसिद्धान्तहरू प्रस्तुत गर्थेँ। त्यसपछि, मलाई अलि असहज महसुस हुन्थ्यो, म सधैँ अरूलाई आफ्नो कुरा सुन्न बाध्य पारिरहेको छु जस्तो लाग्थ्यो। के यो अहङ्कारी स्वभाव प्रकट गरेको होइन र? कहिलेकाहीँ म अरूका सुझावहरू स्वीकार गर्ने प्रयास गर्थेँ, तर अन्त्यमा मेरो सोचाइ नै सही साबित हुन्थ्यो, त्यसैले म झनै बढी आत्मविश्वासी भएँ। कहिलेकाहीँ आफूले अहङ्कारी स्वभाव देखाइरहेको छु भन्ने महसुस गरे पनि, म त्यसलाई मनमा लिन्नथेँ, र सोच्थेँ, “म अलि अहङ्कारी त हूँला, तर म सही पनि त छु! मेरो अभिप्राय त केवल हाम्रो कामलाई राम्रोसँग सम्पन्न गर्नु हो, त्यसैले अलिकति अहङ्कार गर्नु त्यति ठूलो कुरा त होइन होला, हो र?” त्यस समयमा, अरूले गरेको कुनै पनि काममा मलाई ढुक्क लाग्दैनथ्यो। मलाई लाग्थ्यो, उनीहरू पर्याप्त सिपालु छैनन् र उनीहरूका सोचविचारमा पूर्ण दृष्टिकोण छैन। यदि तिनीहरूका विचार मेरा विचारभन्दा फरक भए भने, म दोस्रो पटक नसोची त्यसलाई खारेज गरिदिन्थेँ र तिनीहरूलाई हेप्थेँ। एक पटक, एउटी सिस्टरले बनाएको भिडियो धेरै पटक सम्पादन गर्दा पनि त्यति राम्रो भएन। तिनलाई कुनै कठिनाइ परेको छ कि भनेर सोध्नुको सट्टा, मैले तिनलाई हप्काउन थालेँ, “के तिमीले यसमा अलिकति पनि ध्यान दिएकी थियौ? अरूले कसरी गरेका छन्, त्यो हेरेर तिनीहरूबाट सिक्न सक्दिनौ र?” कहिलेकाहीँ, ब्रदर-सिस्टरहरूले भिडियो बनाउने कुनै विचार सुनाउँदा, म उनीहरूले के भनिरहेका छन् भनेर बुझ्नुभन्दा अघि नै छिट्टै अस्वीकार गरिदिन्थेँ। फलस्वरूप, ब्रदर-सिस्टरहरू सबै मसँग काम गर्न डराउँथे र आफूले सकाएका भिडियोहरू मलाई हेर्न पठाउने समेत आँट गर्दैनथे। अर्को पटक, एउटी सिस्टरले सामग्रीहरू जम्मा गरेर टोलीअध्ययन सत्रको योजना बनाइन्। मैले सरसरती हेरेँ, र अरू कसैसँग छलफलै नगरी, मैले उनले फेला पारेका सामग्रीहरूलाई पूर्ण रूपमा उपेक्षा गरेँ, र ती अध्ययन गर्न लायक छैनन् भनेँ। वास्तवमा, उनले फेला पारेका सिकाइ सामग्रीहरू त्रुटिरहित नभए पनि, सीप विकास गर्नका लागि ती सहयोगी नै हुने थिए। पछि एउटी सिस्टरले अरूसँग कुनै छलफल नगरी काम गर्ने मेरो बानीले अहङ्कारी स्वभाव देखाउने कुरा औँल्याइन्। त्यसबेला, मैले आफूलाई बिलकुलै चिनेको थिइनँ, म त केवल सल्लाह माग्नमा चुकेँ, भविष्यमा अलि बढी ध्यान दिए पुग्छ भन्ने सोचेँ। मैले त यो समेत सोचेँ, “हाम्रो काममा धेरैजसो समस्याहरूलाई सम्हाल्ने र समाधान गर्ने म नै हुँ। साना-ठूला धेरैजसो मामिलामा अन्तिम निर्णय मेरै हुन्छ, त्यसैले मेरो निगरानीविना हाम्रो टोलीको काम अस्तव्यस्त हुन्छ। प्राविधिक रूपमा म अरूसँग सहकार्यमा भए पनि, वास्तवमा म टोलीको सुपरभाइजरजस्तै छु।” त्यो सोचले मलाई म अरूभन्दा फरक छु, म नै यसलाई अगाडि बढाउने स्थानमा छु भन्ने महसुस गरायो। यसले मलाई झनै अहङ्कारी बनायो। एक पटक, दुई जना सिस्टर र मैले अर्को टोलीसँग कामबारे छलफल गर्न भेट्ने समय मिलाएका थियौँ, तर अन्तिम समयमा मेरो एउटा काम परेर म उपस्थित हुन सकिनँ, त्यसैले मैले उनीहरूलाई मबिना नै जान भनेँ। अचम्मको कुरा, म जान सक्दिनँ भन्ने सुन्नेबित्तिकै उनीहरू आत्तिए, र उनीहरू एक्लैले त्यो जिम्मेवारी लिन नसक्ने, त्यसैले मेरो समय नभएसम्म पर्खने बताए।

पछि, एक जना सिस्टरले मलाई भनिन्, “अहिले टोलीका साना-ठूला सबै कुरामा अन्तिम निर्णय तिमी नै गर्छौ। कसैलाई समस्या पर्दा, उनीहरू सत्यता खोज्दैनन्, तिमीमाथि नै भर पर्छन्। उनीहरूलाई तिमीविना कामै गर्न सकिँदैन जस्तो लाग्छ। के तिमीले अलिकति आत्म-चिन्तन गर्नुपर्छ जस्तो लाग्दैन? यसरी चल्दैन!” उनले त्यसो भनेको सुनेपछि मेरो मन धेरै बेरसम्म शान्त हुन सकेन, सोचेँ, “मेरा ब्रदर-सिस्टरहरूलाई मविना काम गर्न सकिँदैन भन्ने लाग्छ; सबै कुरा मैबाट भएर जानुपर्छ। के यो टोलीमाथि नियन्त्रण जमाइएको होइन र? यो त ख्रीष्ट विरोधी व्यवहार हो! तर, मैले गरेका सबै कुराको उद्देश्य त कामलाई राम्रोसँग सम्पन्न गर्नु मात्र थियो। कसरी यस्तो हुन पुग्यो? मैले उत्तम रूपले यसलाई कसरी बुझ्ने?” अन्योल र नकारात्मक महसुस गर्दै, मैले आफ्नो अवस्था परमेश्‍वरलाई सुनाएँ, र उहाँको अन्तर्दृष्टि र अगुवाइ मागेँ। त्यसपछि, अरूले मलाई ख्रीष्ट विरोधीहरूको स्वभावलाई खुलासा गर्ने परमेश्‍वरको वचनको एउटा खण्ड पठाए, जुन मेरो स्थितिसँग ठ्याक्कै मिल्थ्यो। परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीले नियन्त्रण गर्दा हुने सबैभन्दा सामान्य घटना भनेको उसले नै आफ्नो अख्तियारको दायराभित्र, अन्तिम निर्णय गर्न पाउँछ। यदि ऊ उपस्थित छैन भने, कसैले पनि निर्णय गर्ने वा कुनै मामला सुल्झाउने आँट गर्दैन। ऊविना, अरू मानिस हराएका बालबालिकाजस्तै बन्छन्, प्रार्थना गर्न, खोजी गर्न, वा एकअर्कासँग छलफल गर्न जान्दैनन्, कठपुतली वा मरेका मानिसहरूझैँ व्यवहार गर्छन्। … ख्रीष्टविरोधीको रणनीति सधैँ नवीन र अद्वितीय देखिनु र ठुलठुला दाबीहरू गर्नु हो। अरू कसैका कथनहरू जति नै सही भए पनि, उसले ती अस्वीकार गर्नेछ। अरू मानिसका सुझावहरू उसकै विचारसँग मिले पनि, यदि ती उसले पहिला प्रस्ताव नगरेको हो भने, उसले ती कहिल्यै स्विकार्ने वा अपनाउनेछैन। बरु, उसले उनीहरूलाई होच्याउन सक्दो प्रयास गर्नेछ, त्यसपछि उनीहरूलाई अस्वीकार र निन्दा गर्नेछ, सुझाव प्रस्ताव गर्ने व्यक्तिलाई आफ्ना विचार गलत लागेर आफ्नो गल्ती नस्विकारिञ्जेल निरन्तर उनीहरूको आलोचना गर्नेछ। अन्ततः त्यसपछि मात्र ख्रीष्टविरोधीले त्यसलाई छोड्नेछ। ख्रीष्टविरोधीहरू आफूलाई स्थापित गरेर अरूलाई होच्याउन, अरूलाई आफ्नो आराधना गराउन र आफूलाई केन्द्रमा राख्न रुचाउँछन्। तिनीहरू आफूलाई मात्र चम्कन दिन्छन्, अरूचाहिँ पृष्ठभूमिमा उभिन मात्र सक्छन्। तिनीहरू जे भन्छन् वा गर्छन् त्यो सही हुन्छ, अनि अरूले जे भन्छन् वा गर्छन् त्यो गलत हुन्छ। तिनीहरू प्रायः नवीन दृष्टिकोणहरू प्रस्ताव गरेर अरूका दृष्टिकोण र कार्यहरूलाई अस्वीकार गर्छन्, अरूका सुझावमा गल्ती निकाल्छन् र अरूका प्रस्तावहरूलाई बिथोल्छन् र अस्वीकार गर्छन्। यसरी, अरू मानिसले तिनीहरूको कुरा सुन्नैपर्ने र तिनीहरूका योजनाअनुसार कार्य गर्नैपर्ने हुन्छ। तिनीहरू यी विधि र रणनीतिहरू प्रयोग गरेर निरन्तर तँलाई नकार्छन्, आक्रमण गर्छन्, र तँ अयोग्य छस् भन्ने महसुस गराउँछन्, यसरी तँलाई तिनीहरूप्रति झन्-झन् समर्पित, तिनीहरूको झनै प्रशंसा गर्ने र उच्च सम्मान गर्ने बनाउँछन्। त्यसरी, तँ तिनीहरूद्वारा पूर्ण रूपले नियन्त्रित हुन्छस्। ख्रीष्टविरोधीहरूले यही प्रक्रियामार्फत मानिसहरूलाई वशमा राख्छन् र नियन्त्रण गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रण गर्छन्)। यो पढेपछि, परमेश्‍वरले भन्नुभएको कुराअनुसार मैले आफ्नो जाँच गरेँ। म त्यो पूरै समयभर टोलीको कामको लागि जिम्मेवार रहेको थिएँ, तर अरू भने अझै पनि सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनथे, बरु आफूले गर्ने हरेक कुरा मलाई सोध्थे। मविना, उनीहरू कुनै अन्तिम निर्णय गर्ने वा अरू टोलीसँग कुराकानी गर्ने आँट गर्दैनथे। उनीहरू सबै मद्वारा बाँधिएका थिए। के मैले उनीहरूलाई हानि पुऱ्याइरहेको थिइनँ र? यस्तो परिणाम आउन मैले के गरेको र के भनेको थिएँ? कामबारे छलफल गर्दा होस् वा विचारहरूमा कुरा गर्दा होस्, यदि कसैको दृष्टिकोण मेरोभन्दा फरक भयो भने, म विभिन्न कारणहरू खोजेर उनीहरूलाई अस्वीकार गरिदिन्थेँ, सत्यता सिद्धान्तहरूमा कहिल्यै सङ्गति गर्दिनथेँ। मैले परमेश्‍वरलाई उचाल्ने वा उहाँको गवाही दिने गरिनँ, खालि सबैलाई मेरो कुरा बाध्य पारेँ। जब मलाई केही कुरा सही लाग्थ्यो, म आक्रामक र दमनकारी बन्थेँ। अरूको सीपमा कमी देख्दा म हेलाँ गर्थेँ, अनि म बोली र व्यवहार दुवैमा तुच्छ ठान्ने भाव देखाउँथेँ। म सबैलाई मेरो कुरा सुन्न बाध्य पार्न खोज्थेँ, र यदि उनीहरूले सुनेनन् भने, म आफू सिपालु र सिद्धान्तहरू बुझ्ने भनेर जिद्दी गर्थेँ। मैले केही समयसम्म सधैँ अरूलाई नकार्ने, अवमूल्यन गर्ने र आफूलाई उचाल्ने गरेपछि, ब्रदर-सिस्टरहरू सबैलाई आफूहरू कामै नलाग्ने, र आफ्नो दृष्टिकोण मेरो जस्तो पूर्ण नभएको भन्ने लाग्न थाल्यो, त्यसैले उनीहरू हरेक कुरामा मलाई सोध्न आउँथे। वास्तवमै यसबारे सोच्दा, धेरैजसो समय उनीहरूले सुझाएका योजनाहरू ठीकै हुन्थे। तिनीहरू पूर्ण रूपमा त्रुटिरहित नभए पनि, मैले तिनीहरूलाई सुधार्न मद्दत गर्न सक्थेँ। तर त्यसको सट्टा, मैले आफू नै सही छु भनेर जिद्दी गरेँ र अरूका विचारहरूलाई अस्वीकार गरेँ, र यसो गर्दा कामकै लागि गरिरहेको छु भन्ने सोचेँ। म कति अहङ्कारी र आत्म-सचेतनाविहीन रहेछु!

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ: “मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्‍बार परमेश्‍वरको विरुद्धमा विद्रोह र प्रतिरोध गर्न, उहाँका वचनहरूमा ध्यान नदिन, उहाँबारे धारणाहरू सिर्जना गर्न, उहाँलाई धोका दिने, र तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौँ तँलाई एउटा मण्डली दिइयो र त्यसको अगुवाइ गर्न दिइयो; मानौँ मैले तँलाई काटछाँट गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: केही समय त्यसको अगुवाइ गरिसकेपछि तैँले मानिसहरूलाई तेरो पाउमा ल्याउनेथिइस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पुग्‍ने गरी तिनीहरूलाई आज्ञापालन गर्न लगाउनेथिइस्। तैँले किन त्यसो गर्नेथिइस्? यो तेरो प्रकृतिद्वारा निर्धारित हुनेथियो; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुनेथिएन। तैँले यो कुरा अरूबाट सिक्‍नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा बाध्य पार्नु आवश्यक हुँदैन; यस्तो अवस्था प्राकृतिक रूपमा नै आउँछ। तैँले गर्ने सबै कुराको उद्देश्य मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तेरो आज्ञापालन गर्ने, र सबै कुरामा तेरो कुरा सुन्‍ने बनाउनु हो। तँलाई अगुवा बन्न दिइएमा त्यसले स्वाभाविक रूपमा यस्तो अवस्था ल्याउँछ, र यसलाई परिवर्तन गर्न सकिँदैन। यस्तो अवस्था कसरी आउँछ? यो कुरा मानिसको अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरविरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, अभिमानी, र आत्म-धर्मी हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य खडा गर्नेछन् र जसरी मन लाग्यो त्यसरी काम गर्नेछन्। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा लिनेछन् र आफ्नो अङ्गालोमा तान्नेछन्। मानिसहरूले यस्ता अहङ्कारी कार्यहरू गर्न सक्‍नुले तिनीहरूको अहङ्कारी प्रकृति शैतानसरह छ; यो प्रधान स्वर्गदूतसरह छ भन्‍ने प्रमाणित गर्छ। जब तिनीहरूको अहङ्कार र अभिमान एक निश्‍चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै स्थान हुनेछैन, र तिनीहरूले परमेश्‍वरलाई पाखा लगाउनेछन्। त्यसपछि, तिनीहरूले परमेश्‍वर बन्‍ने, र मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउने इच्छा राख्नेछन्, र तिनीहरू प्रधान स्वर्गदूत जस्तै बन्नेछन्। यदि तँमा त्यस्तो शैतानी अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, परमेश्‍वरले तँलाई चिन्नुहुनेछैन, तँलाई दुष्ट व्यक्तिका रूपमा हेर्नुहुनेछ, र तँलाई हटाउनुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको प्रतिरोधको जड हो)। परमेश्‍वरको वचनबाट मैले सिकेँ मेरो अहङ्कारी प्रकृतिले मलाई ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्नबाट रोकिरहेको थियो। मैले यो अहङ्कारी, प्रकृति स्वाभाविक रूपमा आउँदो रहेछ भन्ने महसुस गरेँ, त्यसैले मैले केही विशेष गर्नु वा सिक्नु आवश्यक थिएन, तैपनि सबैलाई मेरो कुरा सुन्ने बनाउन सक्थेँ। अरू ब्रदर-सिस्टरहरूसँग आफ्नो कर्तव्य पूरा गर्दाको समयबारे सोच्दा, हामीले भिडियोका लागि सुझावहरू दिँदा होस् वा कामको प्रबन्ध गर्दा होस्, म सधैँ मेरा विचारहरू नै सबैभन्दा उत्तम छन् भन्ने सोच्थेँ। मैले जस्टिन आफ्नो कर्तव्यमा निष्क्रिय भएको देख्दा, मैले सत्यता सङ्गतिमार्फत तिनलाई मदत गरिनँ। बरु, तिनमा कमजोर क्षमता भएको र तिनले बोझ नबोकेका भन्दै मनमनै तिनलाई हेलाँ गरेँ, र सबै कुराको पूर्ण जिम्मा आफैँले लिएँ, मानौँ काम सम्पन्न गर्न सक्ने म मात्र एक जना थिएँ, अरू कोही थिएन। जब म अरूको सीपमा कमी भएका क्षेत्रहरू देख्थेँ, म तिनीहरूलाई क्षमता र बुझाइको कमी भएकोमा हेलाँ गर्थेँ, मानौँ मेरो बुझाइ नै सबैभन्दा सही थियो, र सिद्धान्तहरू सबैभन्दा राम्ररी मैले नै बुझेको थिएँ। म सधैँ अरूलाई होच्याउँथेँ र आफूलाई ठूलो ठान्थेँ, र मेरा विचार र धारणाहरूलाई सत्यता नै भएजसरी उनीहरूसामु प्रस्तुत गर्थेँ। केही समयपछि, अरूलाई उनीहरू आफैँले केही पनि गर्न नसक्ने जस्तो लाग्न थाल्यो, यहाँसम्म कि उनीहरू हरेक कुरामा मकहाँ आउँथे, पूर्ण रूपमा ममाथि भर पर्थे। यदि म त्यहाँ भइनँ भने, उनीहरू अगाडि बढ्ने आँट गर्दैनथे। मैले परमेश्‍वरका वचनहरूमा पढेँ: “जब तिनीहरूको अहङ्कार र अभिमान एक निश्‍चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै स्थान हुनेछैन, र तिनीहरूले परमेश्‍वरलाई पाखा लगाउनेछन्। त्यसपछि, तिनीहरूले परमेश्‍वर बन्‍ने, र मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउने इच्छा राख्नेछन्, र तिनीहरू प्रधान स्वर्गदूत जस्तै बन्नेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको प्रतिरोधको जड हो)। परमेश्‍वरका वचनहरूको प्रकाशको सामना गर्दा, मैले लाज र ग्लानि महसुस गरेँ। मलाई ममा एउटा गम्भीर समस्या छ भन्ने महसुस भयो। म सधैँ आफूसँग प्रतिभा र क्षमता छ, म साधारण व्यक्ति होइन भन्ने सोच्दै आफूलाई उच्च स्थानमा राख्थेँ। मलाई लाग्थ्यो, ममा स्वाभाविक रूपमा नै जिम्मेवारी लिने, नेतृत्व गर्ने खुबी छ, र अरूमा क्षमताको कमी छ त्यसैले उनीहरूले मेरो कुरा सुन्नुपर्छ। मेरा यी सोच र विचारहरूका बारेमा सोच्दा मलाई डर लाग्यो र वाकवाकी आयो। ममा वास्तवमा अलिकति पनि लज्जा रहेनछ! हामी सबै परमेश्‍वरको अगुवाइ स्वीकार गर्दै र सत्यताका सिद्धान्तहरूमा समर्पित हुँदै, आफ्नो कर्तव्य पूरा गर्न सँगै काम गरिरहेका थियौँ, तर म सबैलाई मेरो अगुवाइ स्वीकार गर्न र मप्रति समर्पित हुन लगाइरहेको थिएँ। के म यहाँ गलत थिइनँ र? म यति धेरै अहङ्कारी भएको थिएँ कि मैले सबै समझ गुमाएको थिएँ। “परमेश्‍वरले चुन्‍नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश”-मा परमेश्‍वर भन्नुहुन्छ: “मानिसले आफैलाई ठूलो बनाउनु हुँदैन, न त आफैलाई उच्च पार्नु हुन्छ। उसले परमेश्‍वरको आराधना गर्नुपर्छ र उहाँलाई नै उच्च पार्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। आफ्नो हृदयमा, म सधैँ आफूलाई टोलीका अरू सदस्यहरूभन्दा उच्च स्तरमा भएको महसुस गर्थेँ, सधैँ आफूलाई अरू ब्रदर-सिस्टरहरूभन्दा माथि राख्थेँ। म गलत ठाउँमा उभिरहेको थिएँ—मैले आफूलाई उच्च पारिरहेको थिएँ। यो सोचले मलाई साँच्चै सतर्क बनायो र तर्सायो। मैले तुरुन्तै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अति नै अहङ्कारी र आत्म-विश्वासी छु। अलिकति पनि थाहा नपाईकन मैले तपाईंको स्वभावलाई उल्लङ्घन गरेँ। म पश्चात्ताप गर्न, आफ्नो सही ठाउँ लिन, र राम्रोसँग आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु।” पछि मेरो सुपरभाइजर मसँग सङ्गति गर्न आए। उनले केही ब्रदर-सिस्टरहरूले मसँग काम गर्दा साँच्चै नै बाँधिएको महसुस गरेको उल्लेख गरेका बताए। उनीहरूले म हेलाँ गर्ने र अरूलाई तुच्छ ठान्ने गर्छु, अनि सधैँ अरूका विचारहरूलाई खारेज गरिदिने गर्छु भनेका रहेछन्, कसै-कसैले त यसो पनि भनेछन्, “मैले पहिले पनि अहङ्कारी मानिसहरू देखेको छु, तर यति धेरै अहङ्कारी त कहिल्यै देखेको थिइनँ।” यी शब्दहरूले मेरो हृदय सिधै छेडे। मैले ब्रदर-सिस्टरहरूले मलाई यस्तो व्यक्तिको रूपमा हेर्छन्, मैले उनीहरूलाई यति धेरै बाँधेको र चोट पुऱ्याएको छु भनेर कहिल्यै कल्पना गरेको थिइनँ। त्यसपछिका केही दिनसम्म, मेरो हृदयमा छुरी रोपिएको जस्तो महसुस भयो। विशेष गरी हाम्रो कामको छलफलको क्रममा, जब अरू कोही बोल्ने आँट गर्दैनथे र वातावरण एकदमै चिसो हुन्थ्यो, म झनै बढी धिक्कार महसुस गर्थेँ। मलाई यो पूर्ण रूपमा मैले उनीहरूमाथि राखेको बन्धनका कारणले हो भन्ने थाहा थियो। आफ्नो पीडा र दुःखमा, म प्रार्थना गर्न परमेश्‍वर सामु आएँ, साँचो आत्म-चिन्तन र प्रवेशतर्फ मलाई डोऱ्याउन उहाँको मार्गदर्शन मागेँ।

मैले आफ्नो आत्मिक भक्तिको समयमा परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई आफ्नो बारेमा अझ राम्रो बुझाइ दियो। परमेश्‍वरका वचनहरूले भन्छन्: “कतिपय अगुवाहरूले कहिल्यै पनि सिद्धान्तअनुसार काम गर्दैनन्, तिनीहरू नियम-व्यवस्था आफ्‍नै हातमा लिएर स्‍वेच्‍छाचारी र बेढङ्गी व्यवहार गर्छन्। अनि, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा औँल्याउँदै भन्‍न सक्छन्, ‘तपाईंले काम गर्नुभन्दा पहिले अरूसँग बिरलै छलफल गर्नुहुन्छ। तपाईंले निर्णय गरिसकेपछि मात्रै हामीलाई तपाईंको मूल्याङ्कन र निर्णयको बारेमा थाहा हुन्छ। किन तपाईं अरूसँग छलफल गर्नुहुन्‍न? तपाईंले निर्णय गर्दा किन हामीलाई पहिले नै त्यसबारे थाहा दिनुहुन्‍न? तपाईंले सही काम नै गरिरहनुभएको भए पनि, र तपाईंको क्षमता हाम्रोभन्दा राम्रो भए पनि, तपाईंले हामीलाई यसबारेमा सुरुमै जानकारी दिनुपर्ने हो। कम्तीमा पनि, के भइरहेको छ भन्‍ने कुरा जान्‍ने अधिकार हामीसँग छ। नियम-व्यवस्था सधैँ आफ्नै हातमा लिँदै काम गरेर—तपाईं ख्रीष्टविरोधी मार्गमा हिँडिरहनुभएको छ!’ अनि तैँले यस विषयमा त्यो अगुवाले के भनेको सुन्छस्? ‘मेरो घरमा म नै मालिक हुँ। ठूलोसानो सबै कुराको निर्णय मैले नै गर्छु। म यही कुरामा अभ्यस्त छु। मेरो बृहत् परिवारमा कसैलाई समस्या भयो भने, ऊ मकहाँ आउँछ र के गर्ने हो मलाई निर्णय गर्न लगाउँछ। म समस्याहरू समाधान गर्न सिपालु छु भन्‍ने तिनीहरूलाई थाहा छ। त्यसैले मेरो घरका मामलाहरूको कार्यभार म नै सम्हाल्छु। जब म मण्डलीमा आबद्ध भएँ, अबदेखि मैले यस्ता कुराहरूको चिन्ता गर्नुपर्दैन होला भन्‍ने लागेको थियो, तर त्यसपछि म अगुवाको रूपमा चुनिन पुगेँ। मैले गर्दिनँ भनेर हुँदैन—म यसैको लागि जन्मेको रहेछु। परमेश्‍वरले मलाई यही सीप दिनुभयो। निर्णय गर्न र मानिसहरूलाई अह्राउखटाउ गर्नको लागि नै म जन्‍मेको हुँ।’ यसको तात्पर्य यो हुन्छ कि तिनीहरू अधिकारी बन्‍ने कुरा त नियतिले नै निर्धारित गरेको हो, र अरू सबैचाहिँ तल्लो तहको काम गर्न र नोकरचाकर बन्‍न जन्मेका हुन्। तिनीहरूलाई आफैले अन्तिम निर्णय गर्न पाउनुपर्छ, र अरूले तिनीहरूको कुरा सुन्‍नुपर्छ भन्‍ने लाग्छ। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले यो अगुवाको समस्या देख्दा र उसलाई त्यो औँल्याइदिँदा पनि, उसले यसलाई स्वीकार गर्नेछैन, न त उसले काटछाँट हुन नै स्वीकार गर्नेछ। उसले बस लडाइँ र प्रतिरोध गरिरहन्छ, र अन्त्यमा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले उसलाई हटाउने आवाज उठाउँछन्। तर यो पुरै अवधिभर यो अगुवाले यस्तो सोचिरहेको हुन्छ, ‘मेरो जस्तो क्षमता भएको व्यक्ति त, जहाँ गए पनि ठूलो पदमै हुन्छ। अनि तिमीहरूको जस्तो क्षमताले त, तिमीहरू जहाँ गए पनि सधैँ दास र नोकरचाकर बन्‍नेछौ। तिमीहरूको भाग्यमै अरू मान्छेको हुकुम मान्‍न लेखेको छ।’ प्राय सधैँ यस्तो कुरा बोलेर तिनीहरूले कस्तो स्वभाव प्रकट गरिरहेका हुन्छन्? स्पष्‍ट रूपमै, यो एउटा भ्रष्ट स्वभाव हो, यो अहङ्कार, अभिमान र चरम अहम्‌वाद हो, तैपनि तिनीहरूले यो सबलता र सम्पत्ति नै हो जसरी कुनै लाज नमानी धाक लगाउँछन् र तडकभडक देखाउँछन्। जब व्यक्तिले भ्रष्ट स्वभाव प्रकट गर्छ, तब उसले आफ्‍नो बारेमा मनन गर्नुपर्छ, आफ्नो भ्रष्ट स्वभाव चिन्‍नुपर्छ, पश्‍चात्ताप गर्नुपर्छ र यसविरुद्ध विद्रोह गर्नुर्छ, अनि उसले सिद्धान्तअनुसार काम गर्न सक्‍ने हुन्जेलसम्म सत्यता खोजी गर्नुपर्छ। तर यो अगुवाले त्यसरी अभ्यास गर्दैन। बरु, ऊ आफ्‍नै दृष्टिकोण र शैलीहरूमा अल्झँदै असुधारीय बनिरहन्छ। यी बानीबेहोराबाट त्यस्ताहरूले पटक्‍कै सत्यता खोजी गर्दैनन् र त्यस्ताहरू सत्यता पछ्याउनेहरू हुँदै होइनन् भन्‍ने देख्‍न सकिन्छ। तिनीहरूको खुलासा र काँटछाँट गर्ने कसैको कुरा तिनीहरू सुन्दैनन्, बरु आफूलाई निर्दोष साबित गर्ने सोचले भरिन्छन्: ‘हो—म यस्तै छु! यसलाई योग्यता र प्रतिभा भनिन्छ—के तिमीहरूसँग यस्तो क्षमता छ? म इन्चार्ज बन्‍ने भाग्य लिएर जन्‍मेको छु। म जहाँ गए पनि, म अगुवा हुन्छु। म अरूसँग सल्‍लाह नगरी सबै कुराको बारेमा अन्तिम निष्कर्ष दिन र निर्णय गर्नमा अभ्यस्त छु। म त्यस्तै व्यक्ति हुँ र त्यो मेरो व्यक्तिगत शोभा हो।’ के यो छाडा निर्लज्जता होइन र? तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकारै गर्दैनन्, र देख्खी रूपमै तिनीहरूले मानिसको न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूलाई मान्दै मान्दैनन्। यसको विपरीत, तिनीहरूले आफ्नै विधर्मी र भ्रामक कुराहरूलाई सत्यताका रूपमा लिन्छन्, र अरू सबैलाई ती कुराहरूलाई स्विकार्ने र आदर गर्ने बनाउने प्रयास गर्छन्। हृदयको गहिराइमा, तिनीहरूले परमेश्‍वरको घरमा सत्यताले होइन, तिनीहरूले शासन गर्नुपर्छ, र त्यहाँ तिनीहरूकै हुकुम चल्‍नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। के यो भद्दा लाजपचाइ होइन र?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (१))। परमेश्‍वरको वचनको यो प्रकाशको सामना गर्दा मलाई लाज लाग्यो। के मैले ठ्याक्कै यसरी नै व्यवहार गरेको होइन र? मसँग केही सीपहरू थिए र अलिकति बुद्धि र क्षमता भएको जस्तो देखिन्थ्यो, त्यसैले मैले अन्तिम निर्णय मेरै हुनुपर्छ भन्ने सोचेँ। मेरो नजरमा, अरू ब्रदर-सिस्टरहरूले केही पनि राम्रोसँग गर्न सक्दैनथे, र कसैले मेरा समस्याहरू औँल्याउँदा पनि मैले त्यसलाई गम्भीर रूपमा लिइनँ। मलाई लाग्थ्यो, मसँग क्षमता भएको र मेरा सुझावहरू सही भएका कारणले मात्रै म अहङ्कारी छु। मैले आफूलाई बिलकुलै चिनिनँ। वास्तवमा, धेरै पटक त मैले मुद्दालाई सही तरिकाले हेरिनँ वा पूर्ण चित्रलाई विचार गरिनँ जस्तै जब मैले मेरी सिस्टरले जम्मा गरेका सिकाइ सामग्रीहरूलाई बेकामे भनेर खारेज गरिदिएँ, जबकि अरूले तिनमा केही सन्दर्भ मूल्य रहेको फेला पारे, र केही राम्रा सुझावहरू दिए। र कतिपय कुराहरूमा मेरो विचार सही भए तापनि, मैले अहङ्कारका कारण अरूलाई त्यो कुरा स्वीकार गर्न बाध्य पार्नु हुँदैनथ्यो। मैले सिद्धान्तहरूमा, र आफ्नो व्यक्तिगत बुझाइ र विचारहरूमा सङ्गति गर्नुपर्थ्यो। त्यसपछि, यदि सबैले मैले भनेको कुरा उपयुक्त छ भन्ने महसुस गरे भने, उनीहरूले स्वाभाविक रूपमा स्वीकार गर्नेथिए। त्यसको सट्टा, म अहङ्कारी र आत्म-विश्वासी थिएँ, अरूको सबल पक्षहरू देखिनँ, र आत्म-चिन्तन गरिनँ। म अक्सर कुन-कुन कुरामा मैले सही निर्णय गरेको थिएँ, र हाम्रो काममा कुन-कुन मुद्दाहरू मैले पत्ता लगाएको र समाधान गरेको थिएँ भनेर मनमनै हिसाब गरिरहन्थेँ। म यी उपलब्धिहरू जति धेरै हिसाब गर्थेँ, त्यति नै मलाई आफू अरूभन्दा राम्रो छु भन्ने लाग्थ्यो। मेरो अहङ्कार झन् बढ्यो र म अरू मानिसहरूलाई झन्-झन् बढी हेप्न थालेँ। म त आफू सुपरभाइजरको भूमिकाकै लागि बनेको हुँ भन्ने सोच्थेँ, त्यसैले म अहङ्कारी थिएँ, र हरेक कुरामा अन्तिम निर्णय गर्न चाहन्थेँ। म निकै अहङ्कारी र अविवेकी थिएँ र आफ्नो शैतानी स्वभाव अलिकति पनि परिवर्तन गरेको थिइनँ। म अरूसँग सामान्य रूपमा घुलमिल हुन पनि सक्दिनथेँ। मसँग अहङ्कार गर्नुपर्ने के नै थियो र? आफूसँग त्यसरी खुसी हुनु साँच्चै दयनीय थियो! ती सबै कुराहरूलाई फर्केर हेर्दा, मैले आफू कति आक्रामक र दमनकारी भएको थिएँ भन्ने देखेँ र पछुतोले भरिएँ।

पछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “के तिमीहरू मानकअनुरूप आफ्‍नो कर्तव्य-निर्वाह हासिल गर्न कठिन हुन्छ भनेर भन्छौ? वास्तवमा, यो कठिन छैन; मानिसहरूले नम्र भएर मात्रै लागिपर्न सक्‍नुपर्छ, तिनीहरूमा थोरै चेतना हुनुपर्छ, र तिनीहरूले उचित स्थान अवलम्‍बन गर्नुपर्छ। तँ जति नै शिक्षित भए पनि, तैँले जे-जस्ता पुरस्कारहरू जितेको भए पनि, वा तैँले जे हासिल गरेको भए पनि, र तेरो हैसियत र ओहोदा जति उच्‍च भए पनि, तैँले यी सबै कुराहरू त्याग्‍नुपर्छ र आडम्बरबाट बाहिर निस्कनुपर्छ—यो सबको कुनै मूल्य छैन। परमेश्‍वरको घरमा, यी गरिमाहरू जति ठूला भए पनि, ती सत्यताभन्दा उच्‍च हुन सक्दैनन्, किनकि यी सतही कुराहरू सत्यता होइनन्, र तिनले सत्यताको स्थान लिन सक्दैनन्। तँ यो कुरामा स्पष्ट हुनुपर्छ। यदि तँ ‘म वरदानप्राप्त छु, मेरो दिमाग तेजिलो छ, मेरो प्रतिक्रिया क्षमता शीघ्र छ, म चाँडो सिक्‍न सक्‍ने व्यक्ति हुँ, र मेरो स्मरण शक्ति अत्यन्तै राम्रो छ, त्यसकारण म अन्तिम निर्णय आफै गर्न योग्य छु,’ भनेर भन्छस् भने, यदि तँ सधैँ यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गर्छस्, र तिनलाई बहुमूल्‍य, र सकारात्मक ठान्छस् भने, यो समस्या हो। यदि तेरो हृदयमा यी कुराहरूले बास गरेका छन्, र यी कुराले तेरो हृदयमा जरा गाडेका छन् भने, तँलाई सत्यता स्वीकार गर्न गाह्रो हुनेछ—र त्यसका परिणामहरू सोच्‍न समेत सकिँदैन। तसर्थ, सुरुमा तैँले आफूले प्रेम गरेका, तँलाई राम्रो र बहुमूल्‍य लागेका कुराहरू त्याग्‍नु र इन्कार गर्नुपर्छ। ती कुराहरू सत्यता होइनन्; बरु, तिनले तँलाई सत्यतामा प्रवेश गर्नबाट रोक्‍न सक्छन्। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता खोजी गर्नु, र सत्यताअनुसार अभ्यास गर्नु हो, ताकि तेरो कर्तव्य-निर्वाह मानकअनुरूप होस्, किनभने मानकअनुरूप तरिकाले कर्तव्य निर्वाह गर्नु जीवन प्रवेशको मार्गतर्फ चालिने पहिलो कदम मात्रै हो। यहाँ ‘पहिलो कदम’ भनेको के हो? यो भनेको यात्रा सुरु गर्नु हो। सबै कुरामा, कुनै न कुनै कुरा हुन्छ जसबाट यात्रा सुरु हुन्छ, जुन सबैभन्दा साधारण, र आधारभूत हुन्छ, अनि कर्तव्य-निर्वाहमा मानकअनुरूप हुनु जीवन प्रवेश हासिल गर्ने मार्ग हो। यदि तेरो कर्तव्यपालन यसलाई जसरी गर्नुपर्थ्यो त्योअनुरूप भएझैँ देखिन्छ, तर सत्यता सिद्धान्तअनुरूप चाहिँ छैन भने, तैँले आफ्‍नो कर्तव्य मानकअनुरूप तरिकाले निर्वाह गरिरहेको छैनस्। त्यसो भए, व्यक्तिले यसमा कसरी काम गर्नुपर्छ? उसले सत्यता सिद्धान्तहरूमा काम गर्नुपर्छ र तिनको खोजी गर्नुपर्छ; सत्यता सिद्धान्तहरूले सुसज्‍जित हुनु महत्त्वपूर्ण छ। यदि तैँले आफ्‍नो व्यवहार र आवेगमा मात्रै सुधार गर्छस्, तर तँ सत्यता वास्तविकताहरूले सुसज्‍जित हुँदैनस् भने, यो व्यर्थ हुन्छ। तँसँग कुनै वरदान वा विशिष्टता हुन सक्छ। त्यो राम्रो कुरा हो—तर तैँले आफ्‍नो कर्तव्य निभाउँदा यसलाई प्रयोग गरिस् भने मात्रै यसको उचित प्रयोग गरिरहेको हुन्छस्। तैँले कर्तव्य राम्ररी निभाउनलाई तेरो मानवता वा व्यक्तित्वमा सुधार गर्नैपर्छ भन्‍ने छैन, न त तैँले आफ्‍नो वरदान वा प्रतिभालाई नै पन्छाउनुपर्छ। यस्ता कार्यहरू गर्नु पर्दैन। महत्त्वपूर्ण कुराचाहिँ तैँले सत्यता बुझ्‍नु र परमेश्‍वरमा समर्पित हुन सिक्‍नु हो। तैँले आफ्‍नो कर्तव्य निभाउँदा आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्नु लगभग अपरिहार्य नै हुन्छ। त्यस्तो बेला तैँले के गर्नुपर्छ? तैँले समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ र सत्यता सिद्धान्तअनुसार काम गर्नुपर्छ। यसो गर्, अनि तँलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुमा कुनै समस्या हुनेछैन। तेरो वरदान वा विशेषज्ञता जुन क्षेत्रमा भए पनि, वा तेरो व्यावसायिक ज्ञान जुन क्षेत्रको भए पनि, आफ्नो कर्तव्य-निर्वाहमा यी कुराहरू प्रयोग गर्नु सबैभन्दा उचित हुन्छ—यो आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने एउटै मात्र उपाय हो। एउटा पाटो विवेक र समझको भरमा आफ्नो कर्तव्य निर्वाह गर्नु हो, र अर्को पाटो आफ्‍नो भ्रष्ट स्वभाव हल गर्न तैँले सत्यता खोज्‍नुपर्छ भन्‍ने हो। यसरी आफ्‍नो कर्तव्य निर्वाह गर्दा व्यक्तिले जीवन प्रवेश प्राप्त गर्छ, र ऊ मानकअनुरूप तरिकाले आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्षम बन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्‍वरका वचनहरूमा मनन गर्दै, मैले के सिकेँ भने परमेश्‍वरले कसैले आफ्नो कर्तव्य मानकअनुसार पूरा गरिरहेको छ कि छैन भन्ने कुराको मापन उसले कति गरेको देखिन्छ, वा त्यो सही तरिकाले गरियो कि गरिएन भन्ने आधारमा नभएर, बरु उसले आफ्नो कर्तव्यमा कुन बाटो लिन्छ, र उसले सत्यता खोज्छ र अभ्यास गर्छ कि गर्दैन भन्ने आधारमा गर्नुहुन्छ। मैले के पनि सिकेँ भने अहङ्कारी स्वभावलाई समाधान गर्न र आफ्नो कर्तव्य मानकअनुसार पूरा गर्न, मैले पहिले आफूले गर्व गरेका ती प्रतिभा र सबल पक्षहरूलाई पन्छाउनुपर्छ, र सत्यता खोज्न परमेश्‍वरसामु आउनुपर्छ। यदि मैले काम गर्न सत्यता नखोजी वा सिद्धान्तहरू नपछ्याई, केवल आफ्नो क्षमता र प्रतिभाहरूमा भर परिरहेँ भने, मैले जति धेरै गरे पनि परमेश्‍वरले अनुमोदन गर्नुहुनेछैन। पहिले, म अरूलाई सीप र क्षमताको कमी भएकोमा हेप्थेँ। आफूले उनीहरूले कुनै सानो गल्ती गरेको वा केही कुरा अपूर्ण रूपमा गरेको देखेमा, म भित्र र बाहिर दुवै रूपमा उनीहरूप्रति हेलाँ र घृणाले भरिएको हुन्थेँ। तर मैले बनाएका भिडियोहरू धेरै पटक संशोधनका लागि फिर्ता आउँदा र अरूले मलाई सुझाव दिँदा, कसैले पनि मलाई हेपेनन्, बरु धैर्यतापूर्वक के सुधार गर्नुपर्छ भनेर बताए। साथै, म आफूसँग सहकार्य गर्ने मानिसका सुझावहरू बिरलै स्वीकार गर्थेँ, र केही ब्रदर-सिस्टरहरूसँग ठूला प्रतिभा वा क्षमता नभए पनि, उनीहरू आफ्नो कर्तव्यमा सिद्धान्तहरू खोज्थे, नम्रतापूर्वक अरूका सुझावहरू सुन्थे, र एकसाथ मिलेर सहकार्य गर्न सक्थे। उनीहरूको व्यवहारसँग आफ्नो व्यवहार दाँज्दा, मलाई साह्रै लाज लाग्यो। मैले सत्यतामा आफ्नो प्रवेश कति कमजोर रहेछ भन्ने देखेँ। त्यसपछि मेरो कर्तव्यमा, मेरो र अरूका बीचमा असहमति हुँदा, मैले आफूलाई पन्छाउने अभ्यास गरेँ, बरु सत्यताका सिद्धान्तहरू खोज्ने प्रयास गरेँ, र त्यसलाई सत्यता अभ्यास गर्ने अवसरको रूपमा हेरेँ।

पछि, म दुई जना सिस्टरसँग एउटा मुद्दामा छलफल गरिरहेको थिएँ, र हाम्रा विचारहरू फरक थिए। मैले मेरै विचार सबैभन्दा उत्तम छ र म आफ्नो विचार सही छ भनेर प्रमाणित गर्न के भन्ने, उनीहरूलाई कसरी मनाउने भनेर सोचेँ। अचानक, मैले महसुस गरेँ म फेरि अहङ्कारी स्वभाव देखाइरहेको छु, अरूका विचारहरूलाई नकार्न आफ्नो धारणा प्रयोग गर्न चाहिरहेको छु। मैले तुरुन्तै प्रार्थना गरेँ, र आफूलाई पन्छाएर अरूका सुझावहरू सुन्नमा मलाई मार्गदर्शन गर्नुहोस् भन्दै परमेश्‍वरलाई अनुरोध गरेँ। मैले परमेश्‍वरको वचनको बारेमा सोचेँ: “मण्डलीमा, पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन तीमध्ये कसैमा पनि आउन सक्छ जो सत्यता बुझ्छन् र बोध गर्ने क्षमता छ। व्यक्तिले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति समात्नुपर्छ, यसलाई पूर्ण रूपमा पछ्याउनुपर्छ र यससँग निकट रूपमा सहकार्य गर्नुपर्छ। यसो गरेर, तँ सबैभन्दा सही मार्गमा हिँडिरहेको हुनेछस्; यो पवित्र आत्‍माले डोर्‍याउने मार्ग हो। पवित्र आत्‍माको काम रहेका मानिसहरूमा उहाँले कसरी काम गर्नुहुन्छ र तिनीहरूलाई कसरी डोर्‍याउनुहुन्छ भन्‍ने कुरामा विशेष ध्यान दे। तैँले सुझावहरू दिँदै र आफ्‍ना दृष्टिकोणहरू व्यक्त गर्दै बारम्बार अरूसँग सङ्गति गर्ने गर्नुपर्छ—यो तेरो कर्तव्य र तेरो स्वतन्त्रता हो। तर अन्त्यमा, जब निर्णय गर्नुपर्ने हुन्छ, तब यदि तैँले मात्रै अन्तिम निर्णय गर्छस्, र अरू सबैलाई तैँले भनेको जस्तो गर्न र तेरो इच्छाअनुसार चल्न लगाउँछस् भने, तैँले सिद्धान्तहरू उल्‍लङ्घन गरिरहेको हुन्छस्। बहुसङ्ख्यकको इच्‍छा के हो तैँले त्यसको आधारमा सही कुरा छनौट गर्नुपर्छ, र त्यसपछि अन्तिम निर्णय गर्नुपर्छ। यदि बहुसंख्यकको सुझाव सत्यता सिद्धान्तहरूअनुरूप छैन भने, तैँले सत्यतामा जोड दिनुपर्छ। यो मात्र सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले देखेँ विचारहरू प्रदान गर्नु र भिडियोहरू बनाउनु मेरो कर्तव्य हो, तर कुन योजना उत्तम हो भनेर निर्णय गर्ने कुरा कुनै एक जना व्यक्तिमा भर पर्दैन। त्यसमाथि ब्रदर-सिस्टरहरूले सँगै छलफल गरेर निर्णय गर्नुपर्छ, अनि सबैभन्दा राम्रो सुझावअनुसार अगाडि बढ्नुपर्छ। मैले ती अनुभूतिहरूलाई अभ्यासमा ल्याएपछि मनमा साँच्चै शान्ति महसुस गरेँ। त्यो भिडियो बनिसकेपछि, अरूले अन्त्यमा मेरो संस्करण नै छाने तापनि, मैले त्यसैका कारण ती दुई सिस्टरलाई हेपिनँ। मैले महसुस गरेँ यो प्रक्रियामार्फत, मैले अन्ततः आफ्नो अहङ्कारी स्वभावअनुसार नबाँचिकन सत्यताको अभ्यास गरेको थिएँ। मैले के अनुभव गरेँ भने परमेश्‍वरले के सही वा के गलत छ भनेर मात्र हेर्नुहुन्न; बढी महत्त्वपूर्ण कुरा त मानिसहरू कुन स्वभावद्वारा जिउँछन् भन्ने हो। यदि कोही सही छ तर उसले अहङ्कारी स्वभाव देखाउँछ भने, परमेश्‍वर त्यसलाई घृणा गर्नुहुन्छ।

पछि, जब मैले गम्भीरतापूर्वक अरूका विचारहरूलाई मनन गर्ने प्रयास गरेँ, मैले महसुस गरेँ मेरा ब्रदर-सिस्टरहरूका सुझावहरूमा वास्तवमा उपयोग गर्न सकिने धेरै पक्षहरू थिए; उनीहरूले खालि कामकुराहरूलाई मैले भन्दा फरक दृष्टिकोणबाट हेरे। पहिले, म सधैँ सोच्थेँ अरूले पूर्ण चित्रलाई हेरिरहेका छैनन् किनभने म केवल आफ्नै दृष्टिकोणबाट कामकुराहरूलाई हेरिरहेको थिएँ, र अरूका विचारहरूलाई साँचो रूपमा बिरलै सुन्थेँ। तब, मैले महसुस गरेँ सबैसँग सबल पक्षहरू हुन्छन्, र मैले उनीहरूबाट सिक्न सक्ने कुराहरू हुन्छन्। अब म अहङ्कारपूर्वक आफैँमाथि विश्वास गरिरहन चाहन्नँ। बरु, म मेरा ब्रदर-सिस्टरहरूसँग राम्रोसँग काम गर्न, सत्यता खोज्न, उनीहरूका सुझावहरू धेरै सुन्न, र हाम्रो कर्तव्य राम्रोसँग पूरा गर्न सहकार्य गर्न तयार छु।

अघिल्लो: ९२. असफलता र बाधाहरूबाट वृद्धि हुँदै जानु

अर्को: ९४. परमेश्‍वरमा भरोसा गर्नु सबैभन्दा बुद्धिमानी कुरा हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्