७२. दिमाग भर्मनाउने कक्षाका प्रलोभनहरू

सु हुई, चीन

जुलाई २०१८ को अन्त्यतिर, परमेश्‍वरमा विश्‍वास गरेको र सुसमाचार प्रचार गरेको कारण मलाई पक्राउ गरियो। अक्टोबर महिनाको एक दिन, सहरको बाहिरी इलाकामा रहेको एउटा घर (आँगन भएको) मा लगे, जुन घरलाई दिमाग भर्मनाउने केन्द्रको रूपमा प्रयोग गरिँदो रहेछ। त्यो बेला, म अलिक घबराएँ र डराएकी थिएँ। ब्रदर-सिस्टरहरूलाई गुप्तमा सोधपुछ गरिएको र यातना दिइएको चित्र मनमा झलझली आइरहेको थियो। मैले मनमनै परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, प्रहरीले मलाई कसरी यातना दिनेछन् थाहा छैन। बिन्ती छ मलाई विश्‍वास र सामर्थ्य दिनुहोस्। मैले जस्तो यातना भोग्‍नुपरे पनि, म तपाईंलाई धोका दिने केही पनि गर्नेछैनँ।” प्रार्थना गरेपछि, मलाई अलिक ढुक्‍क भयो।

हामीलाई सुधार गर्ने जिम्‍मा पाएका व्यक्ति लाङ थरका क्याप्टेन थिए, जो निकै धूर्त र कुटिल देखिन्थे। तिनले हामीलाई लाइनमा उभिन लगाएर भने, “यहाँका कक्षाहरू छिटो र ढिलो कक्षाहरूमा विभाजित गरिएका छन्। यदि तिमीहरू तुरुन्तै सुधार हुन र कक्षा सकाउन चाहन्छौ भने, छिटो कक्षा रोज्‍न सक्छौ। ढिलो कक्षामा, कुनै पनि बेला र कहीँ पनि कुटाइ खान सकिन्छ। ती कुटाइ खानाजस्तै नियमित हुनेछन्।” तिनले यो भनेको सुन्दा मलाई निकै रिस उठ्यो। यो हामीलाई तिनको निरङ्कुशताको डर देखाएर परमेश्‍वरलाई धोका दिन लगाउने स्पष्ट प्रयास थियो। म पक्राउ परेकी थिएँ, जुन परमेश्‍वरको अनुमतिमा भएको हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण म परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक भएँ। तिनीहरूले मलाई जसरी सताउने योजना बनाएका भए पनि, म परमेश्‍वरलाई कहिल्यै धोका दिनेथिइनँ। यो सोचेर, मैले भनेँ, “म ढिलो कक्षा लिनेछु।” त्यो रात, लाङले ढिलो कक्षा छनौट गर्ने हामी बाह्र जनालाई आँगनमा लाइन बस्‍न लगाए, त्यसपछि हामीलाई गाह्रो बनाउन जानाजानी प्रश्‍नहरू सोध्‍न थाले। त्यहाँ इलेक्ट्रिक ब्याटन बोकेका चारपाँच जना पुरुष प्रहरीहरू थिए, कहिलेकाहीँ तिनीहरूले ब्याटनको स्वीच अन गर्थे र चर्रर-चर्रर आवाज निस्कन्थ्यो। तिनीहरूको गोजीमा पिरो खोर्सानी पानी र रायो पानीका बोतलहरू पनि थिए र ती कुराले हामीलाई कुनै पनि क्षण यातना दिन तिनीहरू तयारी अवस्थामा थिए। यो देख्दा, मलाई सायद म जाँचमा पर्दै छु, परमेश्‍वरबाट ममाथि परीक्षा आउँदै छ भन्‍ने महसुस भयो, र मलाई परमेश्‍वरले भन्‍नुभएको केही कुरा याद आयो: “‘आखिरी दिनहरूमा, मेरा मानिसहरूउपर अत्याचार गर्न वनपशुको उदय हुनेछ, र मृत्युसँग डराउनेहरूलाई त्यो वनपशुले लिएर जाने गरी छाप लगाइनेछ। मलाई देखेकाहरूलाई त्यो वनपशुले मार्नेछ।’ यी वचनहरूमा ‘वनपशु’ ले अवश्य नै मानवजातिलाई छल गर्ने शैतानलाई जनाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०)। कम्युनिस्ट पार्टीले मानिसहरूलाई बलजफ्ती परमेश्‍वरलाई धोका दिन लगाउन देहगत यातना प्रयोग गर्छ, अनि जीवन जोखिममा पार्न नसकेमा, अलिकति लापरवाहीले पनि हटाइने, निष्कासित हुने खतरामा परिन्छ। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, तिनीहरूले आज मलाई जति नै नराम्ररी कुटे पनि, म आफ्नो जीवन र मृत्यु तपाईँकै हातमा समर्पित गर्न चाहन्छु, र दृढ भएर तपाईँलाई सन्तुष्ट पार्न आफ्‍नो जीवन दिन तयार छु।” त्यसपछि लाङले मलाई सोधे, “तँलाई साँच्‍चै कुन कक्षामा बस्‍नु मन छ?” मैले भनेँ, “ढिलो कक्षामा।” यो सुनेपछि तिनी क्रोधित भए, त्यसकारण तिनले मलाई लात हानेर फूल पोखरीमा पुर्‍याए। पोखरीको वरिपरि राखिएको एउटा इँटामा मेरो खुट्टाको जोर्नी ठोक्‍कियो, र असाध्यै दुख्यो। त्यसपछि, तिनले अरू एघार जनालाई पनि पालैपालो लात हान्दै भुईँमा लडाए, र हामीलाई खडा हुन आदेश दिए। हामी उठ्न लागेको बेला, केही प्रहरीले हाम्रो अनुहारमा पालैपालो खोर्सानी-पानी र रायो-पानी छ्यापिदिए। मैले एकाएक अनुहार छोपेर मेरोपछाडिको फूल पोखरीमा हाम फालेँ। मेरो अनुहार पोलिरहेको थियो, र मेरो घाँटी निस्सासिरहेको थियो र म खोकिरहेकी थिएँ। त्यसपछि, तिनीहरूले हामीलाई मुड्कीले हिर्काए, र हामीमाथि तातो खुर्सानी-पानी खन्याए, र यसरी एक घन्टाभन्दा बढी यातना दिए।

त्यसपछि, तिनीहरूले हामीलाई दिमाग-भर्मनाउने कक्षाहरू दिन थाले। पहिला, हुवाङ थरका मानिसले हामीलाई एउटा भिडियो देखाए। त्यसको विषयवस्तु चीनको उदय कसरी भयो र कसरी शक्तिशाली र वैभवशाली बन्यो भन्‍ने बारेमा थियो। तिनले परमेश्‍वरलाई दोष लगाउने र निन्दा गर्ने कुराहरू पनि भने। हामीले तिनीसँग तर्क गर्‍यौँ, र तिनले ढोकातिर देखाएर कालो अनुहार पार्दै हामीलाई चेतावनी दिए, “यो कक्षामा हुन नचाहनेहरू बाहिर जान सक्छन्!” कक्षाबाट बाहिर गएमा लाङबाट कडा दण्ड पाइन्छ भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले थप अरू केही भनिनँ। दिउँसो र बेलुकीको खानापछि हरेक दिन, लाङले हामीलाई एक-एक गरी कक्षामा के सिक्यौँ, मन परिवर्तन गर्‍यौँ कि, परमेश्‍वरमा विश्‍वास गर्छौँ कि गर्दैनौँ, अनि देश र परमेश्‍वरको बीचमा हामी कसलाई चुन्छौँ भनेर सोध्‍ने गर्थे। एक दिन, लाङले हामी बाह्र जनालाई लाइनमा उभिन लगाएर सोधे, “के तँ अझै पनि कक्षामा जानु आवश्यक छ? के तँ ग्यारेन्टी-पत्र, पछुतो-पत्र, र परित्याग-पत्रमा हस्ताक्षर गर्न सक्छस्?” ती “तीनवटा पत्रमा” हस्ताक्षर गर्नु भनेको परमेश्‍वरलाई इन्कार गर्नु र धोका दिनु हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण मैले भनेँ, “सक्दिनँ।” लाङले यो सुनेपछि, मलाई जोरले झापट हाने, जसले गर्दा मेरो अनुहार भतभत पोल्यो। त्यसपछि तिनले अरू ब्रदर-सिस्टरहरूलाई पनि त्यसरी नै सोधपुछ गरे र कुटे। एउटा चरण सकिएपछि, तिनी फेरि मलाई सोधपुछ गर्न आए। मैले सक्दिनँ भनेँ, त्यसकारण तिनले मलाई फेरि झापट हाने। तिनले हामीलाई त्यसरी लगभग एक घण्टा जति सोधपुछ गरे, हामी प्रत्येकलाई लगभग चार-चारपटक दबाब दिए। तीन रात लगातार तिनीहरूले हामीलाई परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउन, हरेकपटक तीन घण्टासम्म कि त कुट्ने र लात हान्‍ने गर्थे, कि त खोर्सानी-पानी, रायो-पानी, र इलेक्ट्रिक ब्याटनले यातना दिए। मेरा खुट्टा कालो डामले नढाकिन्जेल सबैतिर करेन्ट लगाइयो। केही समयपछि, मेरो खुट्टा सहनै नसक्नेगरी चिलायो, र चिलाएको सन्चो पार्न रगत आउनेगरी सक्दो कन्याउथेँ। हरेक दिन दश घण्टाभन्दा बढी समयसम्म हुने दिमाग भर्मनाउने कक्षाले म अत्यन्तै घबराउँथेँ। हामीलाई दुःख दिन र सताउन तिनीहरूले के-कस्ता प्रश्‍नहरू गर्छन् मलाई थाहा हुँदैनथियो। त्यो बेला, म जब-जब लाङले चिच्याउँदै “गार्ड, ब्याटन लिएर आओ!” भनेर आदेश दिएको सुन्थेँ, मेरो मुटुको धड्कन नै रोकिन्थ्यो। नीलो लाइट चम्काउँदै इलेक्ट्रिक ब्याटन लिएर प्रहरी हामीतिर आइरहेको देख्दा, मेरो शरीर अनियन्त्रित रूपमा थरथर काम्थ्यो।

मलाई याद छ, एक दिन एक सिस्टरले लाङले सोधेको एउटा प्रश्‍नको उत्तर भनेजस्तो गरी नदिँदा, तिनी रिसाएर भने, “तँ मेरो खण्डन गर्ने आँट गर्छस्? घुँडा टेक्!” ती सिस्टरले घुँडा टेकिनन्, त्यसकारण लाङ र अरू धेरै जना प्रहरीहरूले उनलाई निगरानी नगरिएको ठाउँमा लात हान्दै लगे। केही समयपछि, हामीले उनी नराम्ररी चिच्याएको सुन्यौँ। दश मिनेटपछि, उनलाई धूलै-धुलो बनाएर अनि कपाल जगट्याइएको अवस्थामा ल्याइयो। फेरि पनि, लाङले उनलाई तिनको अघि घुँडा टेक्‍न लगाउन तर्साउने र धम्काउने प्रयास गरे, त्यसपछि तिनले उनलाई लात हानेर भुईँमा ढाले र कालो प्लास्टिकको झोलाले उनको टाउको छोपिदिए। तिनले त्यसभित्र खोर्सानी-पानी छर्किदिए, जसले गर्दा उनले आफ्‍नो टाउको हल्‍लाइन्, प्लास्टिक निकाल्‍ने प्रयास गरिन्, र निरन्तर खोकिन्। तिनीहरूले त्यो झोला उनको टाउकोमा दुई मिनेटजति राखेपछि मात्रै निकाले। अन्त्यमा, उनलाई बलजफ्ती तिनीहरूको अघि घुँडा टेक्‍न लगाइयो। लाङले उनीमाथि गरेको अत्याचार देख्दा म क्रोधित भएँ। मलाई तिनीहरूसँग साँच्‍चै लड्न मन लागेको थियो, तर मैले यसो गरेर उनलाई सहयोग गर्न सक्दिनथिएँ, यतिमात्र होइन त्यसो गर्दा हामी बाँकीलाई पनि अझै बढी कुटपिट गरिनेथियो र यातना दिइनेथियो। त्यो रात, म सुतिनँ। मेरो मन विगत केही दिनमा प्रहरीले मानिसहरूलाई यातना दिएका दृश्यहरूले भरिएको थियो। म निराश र दुःखी भएकी थिएँ। कम्युनिस्ट पार्टीले परमेश्‍वरलाई इन्कार र निन्दा गर्ने अनेक किसिमका भ्रमहरू फैलाइरहेको मैले देखिरहेकी थिएँ, तैपनि मलाई तिनीहरूको खण्डन गर्ने आँट आएन, र मैले बारम्‍बार दण्ड र कुटपिट भोगेँ। यदि यस्तै भइरह्यो भने म सहन सक्छु कि सक्दिनँ मलाई पटक्कै थाहा थिएन। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! यस्तो डरलाग्दो परिस्थिति सामान गर्नु मेरो लागि वास्तवमै त्रासदीपूर्ण छ। मलाई डर छ, मैले अबउप्रान्त यो सब सहनै नसक्‍ने त्यो दिन पनि आउनेवाला छ। मैले तपाईंका धेरै वचनहरू याद गरेकी छैन। यदि मलाई सात वा आठ वर्ष जेल सजाय तोकियो र मलाई अगुवाइ गर्ने तपाईंका वचनहरू मसित छैन भने, मैले के गर्ने होला? यदि प्रहरीहरूले मलाई अलिअलि गर्दै कुट्दैकुट्दै मारे भने, मैले त्यो पीडा कसरी सहने होला? … हे परमेश्‍वर, के हुँदै छ भनी नजानिने कैयौँ कुराहरू छन्, र मेरो हृदयमा अत्यन्तै धेरै डर छ। मलाई थाहा छैन, म दह्रिलो रहिरहन सक्‍छु कि सक्दिनँ। परमेश्‍वर, बिन्ती छ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्, र मलाई यी पिशाचहरूको यातनामाथि विजय हासिल गर्ने विश्‍वास दिनुहोस्।” यसरी नै मैले खोज र प्रार्थना गरिरहेँ, र यसरी नै हरेक दिन सहँदै पार गरिरहेँ। मैले चिन्तन र मनन गर्ने क्रममा, आफ्नो मनमा परमेश्‍वरको वचनको एउटा वाक्य स्पष्ट रूपमा देखा पर्‍यो: “नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। परमेश्‍वरका वचनहरूलाई बारम्‍बार मनन गरिसकेपछि, मेरो हृदय उज्यालो भयो। परमेश्‍वरले मलाई साथ दिइहरनुभएको थियो। म खतरनाक अवस्थामा रहेकी र हरेक दिन प्रहरीको धम्की र कुटपिट भग्नुपर्ने भए पनि, परमेश्‍वर सधैँ मलाई साथ दिँदै मेरो साथमा हुनुहुन्थ्यो। अनि, यो परिस्थिति ममा आइपरिसकेकोले, यो मैले अनुभव गर्नैपर्ने कुरा थियो र यो मैले सहन सक्‍ने कुरा नै थियो। यतिमात्र हो कि परमेश्‍वरप्रति ममा साँचो विश्‍वास थिएन, त्यसकारण प्रहरी कति निर्दयी र दुष्ट छ भन्‍ने देख्दा, म डराएँ र थाहै नपाई शैतानको प्रलोभनमा परेँ। यो परिस्थिति परमेश्‍वरको अनुमतिमा र उहाँको सार्वभौमिकता अन्तर्गत आएको थियो। के यी प्रहरीहरू पनि परमेश्‍वरकै हातमा थिएनन् र? मैले कस्ता प्रकारको यातना सहन सक्छु भन्‍ने कुरा परमेश्‍वरलाई थाहा थियो, त्यसकारण मैले इमानदारीपूर्वक परमेश्‍वरमा भरोसा मात्र गरेर प्रहरीको सतावटलाई जित्‍न उहाँले शक्ति, सामर्थ्य र अगुवाइ दिनुहुन्छ भनेर विश्‍वास गर्नुपर्थ्यो। यो महसुस गरेपछि, मलाई निकै ढुक्‍क भयो, र मैले यो परिस्थितिको सामना गर्न विश्‍वास पाएँ। म मनमनै “जीवन गवाही” भन्‍ने भजन नगाई बस्‍नै सकिनँ: “यदि एक दिन मैले शहादत प्राप्त गरें र परमेश्‍वरको लागि उप्रान्त गवाही दिन नसक्‍ने भएँ भने, अनगिन्ती सन्तहरूले राज्यको सुसमाचार डढेलो झैँ फैलाउनेछन्। यो अप्ठ्यारो बाटोमा म कति टाढासम्‍म हिँड्न सक्छु भन्ने मलाई थाहा नभए पनि, म परमेश्‍वरको लागि गवाही दिनेछु र परमेश्‍वरलाई प्रेम गर्ने मेरो हृदय चढाउनेछु। म त परमेश्‍वरको इच्‍छा पूरा गर्न र ख्रीष्टको देखा पराई र कार्यको गवाही मात्रै दिन चाहन्छु। मैले ख्रीष्‍टको लागि घोषणा गर्न र गवाही दिन समर्पित हुने सौभाग्य पाएको छु। आपतको डर नै नमानी, भट्टीमा खारिएको शुद्ध सुन जस्तै, शैतानको प्रभावबाट निस्कँदै, विजयी सेनाहरूको झुण्ड देखा पर्छ। परमेश्‍वरका वचनहरू सारा संसारभरि फैलन्छ, मानिसको बीचमा ज्योति आएको छ। ख्रीष्टको राज्य आपतको बीचमा खडा हुन्छ र स्थापित हुन्छ। अन्धकार हटेर जान लाग्यो, धर्मी बिहानी आएको छ। समय र वास्तविकताले परमेश्‍वरको गवाही दिएको छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। मैले यो भजन जति धेरै गाएँ, मलाई त्यति नै उत्प्रेरणा मिल्यो। मलाई आखिरी दिनहरूमा प्रभुको पुनरागमनलाई स्वागत गर्न, उहाँको सोर सुन्न, आखिरी दिनहरूका ख्रीष्‍टलाई पछ्याउन, अनि सुसमाचार सुनाउन र आफ्‍नो कर्तव्य पूरा गर्न सक्षम हुनु ठूलो सम्मान र सबैभन्दा ठूलो आशिष्‌ हो भन्‍ने लाग्यो। अहिले मलाई कम्युनिस्ट पार्टीले यातना दिइरहेको थियो, तर यो सतावट धार्मिकताको निम्ति गरिँदै थियो, त्यसकारण यो कष्ट अर्थपूर्ण थियो। मैले जस्तोसुकै सतावटको सामना गर्नुपरे पनि, म दह्रिलो भई गवाहीको रूपमा खडा हुन, र शैतानको अघि नझुक्‍नका लागि परमेश्‍वरमा भर पर्न पूर्णतया इच्छुक थिएँ। त्यसपछिका दिनहरूमा, प्रहरीको धम्की र कुटपिटको सामना गर्दा, मलाई त्यति डर लाग्दैनथियो। म प्रायजसो मनमनै भजनहरू गाउने गर्थेँ र मुस्कुराउँथेँ। एकपटक, एक जना प्रहरीले छक्‍क पर्दै भने, “हामी उसलाई हरेक दिन कुट्छौँ। ऊ कसरी अझै पनि मुस्कुराउन सकेकी?” मैले सोचेँ, “तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनौ, त्यसकारण तिमीहरूले परमेश्‍वरबाट आउने आनन्द र शान्तिको अनुभव कहिल्यै पनि गर्न पाउनेछैनौ।”

एक दिन राती, हामीलाई परित्याग-पत्रमा हस्ताक्षर गर्न लैजान लाङले पुलिसलाई अह्राए। तिनीहरूले हामीलाई दिमाग भर्मनाउनु र यातना दिनुको उद्देश्य हामीलाई ती “तीनवटा पत्रमा” हस्ताक्षर गर्न लगाउनु थियो, ताकि हामीले परमेश्‍वरलाई धोका दिएर हामी पनि तिनीहरूसँगै नरकमा गएर दण्डित हुन परोस्। मलाई त्यो रात यातनाबाट उम्‍कन सक्दिनँ भन्‍ने थाहा भयो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! प्रहरीले मलाई जसरी यातना दिए पनि, म गवाहीको रूपमा खडा भएर तपाईँलाई सन्तुष्ट पार्न चाहन्छु।” मैले लामो समयसम्‍म पनि केही नलेखेको देखेर, एक जना प्रहरीले मेरो खुट्टामा लात हाने। लाङले आएर मेरो कलरमा पक्रेर ताने, अनि अनुहारमा जोरले झापट कसे, जसले गर्दा मेरो अनुहार भतभत पोल्यो। त्यसपछि तिनले मलाई फेरि लात हानेर पर्खालको फेदमा पुर्‍याए। यति साह्रो पीडा भयो कि मैले आफ्नो पेट दबाएँ र केही बेरसम्‍म उठ्नै सकिनँ। तिनले मलाई खडा हुन आदेश दिए। पर्खालमा अडेस लाग्दै खडा भएको मात्र थिएँ, एक जना प्रहरीले फेरि मलाई लात हाने, र म एकातिर लडेँ। अरू प्रहरीहरू पनि दौडिँदै आएर, केहीले मेरो खुट्टामा इलेक्ट्रिक ब्याटनले करेन्ट लगाए, केहीले अनुहारमा झापट हाने, र केहीले मेरो पेट, कम्‍मर, र खुट्टामा लात हाने, अनि म चाहिँ भुईँमा लडीबडी गरिरहेँ। आधा घण्टासम्‍म कुटपिट चलिरह्यो, र पूरै शरीरमा पीडा भएकोले म नचिच्याई बस्‍नै सकिनँ। मेरो शरीरलाई ठूलो, गह्रौँ ढुङ्गाले थिचेर मलाई निस्‍सासी दिएको छ जस्तो लाग्यो। त्यसपछि, लाङले मेरो कलरमा पक्रेर मलाई कुर्सीमा थिचे, कपाल पक्रेर मेरो अनुहार मास्तिर पर्नेगरी मेरो टाउको कुर्सीको पछाडिको भागमा थेचारे। तिनले धम्की दिँदै भने, “लेख्छस् कि लेख्दैनस्?” मैले केही पनि भनिनँ। तिनी यति रिसाए कि तिनले मेरो हात पक्रेर टेबलमा थिचे, त्यसपछि पुरुष प्रहरीलाई मेरो हातमा करेन्ट लगाउन लगाए। मैले सक्दो बल लगाएर मेरा औँलाहरू खुम्च्याएँ र नाडी घुमाएँ, जसले गर्दा मलाई कसरी करेन्ट लगाउने ती पुरुष प्रहरीलाई थाहा भएन। हामीले केही क्षणसम्‍म आपसमा सङ्घर्ष गरिरह्यौँ, त्यसपछि लाङले भने, “छोडिदे, नत्र तैँले मलाई करेन्ट लगाउँछस्।” त्यसपछि तिनले मेरो हात छोडिदिए। केही समयपछि, लाङले मेरोअगाडि कागजको थाक हल्‍लाउँदै भने, “तिनीहरू सबैले हस्ताक्षर गरे। तैँले मात्रै हस्ताक्षर गर्न बाँकी छ!” यो सुन्दा, मलाई वर्णन नै गर्न नसकिने एकलो र उदास महसुस भयो। धेरै सिस्टरहरूले सँगै कष्ट भोगिरहेका थिए, तर अचानक आँखा झिमिक्क गर्दा, म एकलै बाँकी रहेँ, र प्रहरीले मलाई कसरी यातना दिने योजना बनाएको छ मलाई थाहा थिएन, त्यसकारण मैले हृदयदेखि परमेश्‍वरलाई पुकारेँ। मैले केही पनि नबोलेको देखेर लाङले मलाई यसो भन्दै हप्काए, “तँ यति जब्बर छस्? तँ मात्रै फरक होस्? त्यसलाई कुट्!” त्यसपछि, प्रहरीले मलाई फेरि लात हाने र कुटे। दश मिनेटपछि, लाङले इलेक्ट्रिक ब्याटन सानो भयो भने र तिनका मातहतका प्रहरीहरूलाई ठूलो चाहिँ ल्याउन अह्राए। मैले अझै कडा यातना सहनुपर्ने रहेछ भन्‍ने सोचेर, मलाई वर्णन नै गर्न नसकिने पीडा भयो। मेरो मन प्रहरीले प्रयोग गर्ने सबै प्रकारका यातना सर-सामानहरूको दृश्यले भरियो। म यातना सहन सक्छु कि सक्दिनँ मलाई थाहा थिएन। मैले अरू केही गर्न सकिनँ, बस बेचैन मात्र भइरहेँ, र म त्यो परिस्थितिबाट बाहिर निस्‍कन चाहन्थेँ। तर मलाई के पनि थाहा थियो भने, शैतानका काला शक्तिहरूलाई पराजित गर्न र उहाँको गवाहीमा दह्रिलो गरी खडा हुन हामी सक्षम हुनेछौ भनी परमेश्‍वरले आशा गर्नुभएको हुन्छ। म त्यस्तो भगुवा बन्‍न चाहन्‍नथेँ, तर मेरो देह कमजोर थियो; म उहाँको गवाहीमा दह्रिलो रहिरहन सक्‍दिनँ होला भन्‍ने मलाई डर थियो। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मलाई थाहा छ, मैले गवाही दिनुपर्ने बेला यही हो, र मैले पिठ्यूँ देखाएर भाग्‍नु हुँदैन, तर म त्रासमा डुबेकी छु। मलाई डर छ, म यो रात पनि पार गर्न सक्दिनँ होला, र मलाई डर छ, म यो ठूलो रातो अजिङ्गरको सन्त्रास र यातनाविरुद्ध विजय पाउन सक्दिनँ होला, र सायद मैले तपाईंलाई धोका दिने कुनै काम गर्छु होला। यदि सम्भव छ भने, बिन्ती छ, मेरो लागि हृदय शान्त पार्ने, आफ्नो स्थिति सम्हाल्ने, र आइपर्नेवाला जुनसुकै कुराबाट पार पाउन तपाईंमा भर पर्ने सही अवसर तयार गरिदिनुहोला।” प्रार्थना गरेपछि, लाङले मलाई ठूलो कोठामा लगे। एक जना प्रहरीले मलाई कुर्सीमा ठेलेर बसायो र मेरो टाउको टेबलमाथि राखेर थिच्यो, अनि अरू प्रहरीहरूले चाहिँ मेरो नाडी, हात, र खुट्टा पक्रे, र मलाई चलहल गर्न नसक्‍ने बनाए। मैले फुत्किन सङ्घर्ष गर्नेबित्तिकै, तिनीहरूले मेरा खुट्टामा इलेक्ट्रिक ब्याटनले करेन्ट लगाउँथे। एक जना प्रहरीले मेरो हात पक्रे र मलाई परित्याग-पत्र लेख्‍न जबरजस्ती गरे। म क्रोधित भएँ, र सोचेँ, “तिमीहरूले मलाई जबरजस्ती परित्याग-पत्र लेख्न लगाइरहेका छौ, तर यसको अर्थ मैले परमेश्‍वरलाई धोका दिइरहेकी छु भन्‍ने होइन। परमेश्‍वरले सबै कुरा देख्‍नुहुन्छ भन्‍ने मलाई विश्‍वास छ।”

म रातभरि जागै बसेँ र यो परिस्थिति कसरी पार गर्नुपर्ने भनेर विचार गरिरहेँ। मलाई परमेश्‍वरको यो वचन याद आयो: “जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई बारम्बार शैतानले बाधा दिने र नियन्त्रण गर्नेसमेत गरेको हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र उहाँप्रतिको समर्पण र भयलाई जीवन र मृत्युको लडाइँ लड्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र तैँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, र त्यसलाई पिठिउँ फर्काएर भाग्‍ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, ताकि त्यसले तेरो विरुद्धका आक्रमण र आरोपहरूलाई पूर्ण रूपमा त्यागोस्—तब मात्र तैँले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न मदत गर्ने हातहतियारहरूद्वारा सुसज्‍जित छैनस् भने तँ अझै पनि खतरामै छस्। समय बित्दै जाँदा, जब तँ शैतानद्वारा अत्यन्‍तै धेरै सताइएर तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, जब तँ अझै पनि गवाही दिन असमर्थ रहन्छस्, जब तैँले अझै पनि आफूलाई आफूविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैनस्, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पकडमै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। अनि, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। मलाई के महसुस भयो भने मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो ज्यान दिने इच्‍छा गरिसकेको भए पनि, यातना र कष्टको सामना गर्दा, मलाई आफ्नो देहप्रति चिन्ता लाग्यो र सधैँ उम्कन चाहन्थेँ। शैतानले मलाई निर्दयी रूपमा खेदो र आक्रमण गर्न मेरो कमजोरीको फाइदा उठाइरहेको थियो। जबरजस्ती मेरो दिमाग भर्मनाउने काम गरियो, मलाई यातना दिइयो, र परमेश्‍वरलाई धोका दिन लगाउन ती “तीनवटा पत्र” मा हस्ताक्षर गर्न जबरजस्ती गरियो। यो जीवन र मृत्युको भीषण युद्ध थियो। यदि म परमेश्‍वरमा विश्‍वास गरिरहन र उहाँलाई पछ्याइरहन चाहन्थेँ भने, मैले परमेश्‍वरमा भरोसा गर्नुपर्थ्यो, उहाँमा विश्‍वास गर्नुपर्थ्यो, र उहाँका वचनहरूमा भर परेर शैतानको प्रलोभनलाई जित्‍नुपर्थ्यो। मैले परमेश्‍वरको इच्‍छा बुझेपछि, त्यसपछि आइपर्ने कुराको सामना गर्ने विश्‍वास ममा जाग्यो। तर कतिपय ब्रदर-सिस्टरहरूले यातना सहन नसकेर ती “तीनवटा पत्र” मा हस्ताक्षर गरेको सम्झिँदा, म एकदमै स्तब्ध भएँ, र केही समयसम्‍म यो कुरा स्वीकार गर्नै सकिनँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरू मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?)। आखिरी दिनहरूमा, परमेश्‍वरले सबै प्रकारका मानिसहरूलाई खुलासा गर्न ठूलो रातो अजिङ्गरको सतावट प्रयोग गर्नुहुन्छ। उहाँले साँचो विश्‍वासीहरू, झूटा विश्‍वासीहरू, डरपोकहरू, अन्धाधुन्ध भीडको पछि लाग्‍नेहरू, र आशिष्‌हरू प्राप्त गर्न आशा गर्ने अवसरवादीहरूलाई प्रकट गर्नको लागि कम्युनिस्ट पार्टीको पक्राउ र सतावट प्रयोग गर्नुहुन्छ। सत्यताको पछि नलाग्ने र आफ्‍नो पेट मात्रै भर्न खोज्नेहरूलाई खुलासा गरेर हटाइन्छ, तर परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्नेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ र सिद्ध तुल्याउनुहुन्छ। यो परमेश्‍वरको धर्मी स्वभावको प्रकटीकरण हो। पक्राउ पर्दा, परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्नेहरूले परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्नेछन्, सत्यता खोज्नेछन्, परमेश्‍वरको केही ज्ञान प्राप्त गर्नेछन्, साँचो विश्‍वास गर्नेछन्, परमेश्‍वरलाई पछ्याउन आफ्‍नो जीवन दिनेछन्, र शैतानलाई जित्ने गवाही प्राप्त गर्नेछन्। सत्यताको पछि नलाग्ने र आफ्‍नो पेट मात्रै भर्न खोज्‍नेहरूले थोरै कष्टमा समेत परमेश्‍वरलाई धोका दिनेछन् र विश्‍वास गर्न छोड्नेछन्। तिनीहरूलाई स्वाभाविक रूपमै खुलासा गरिनेछ र हटाइनेछ। त्यस्तो वातावरणमा, हरेकले आफ्‍नो अडान व्यक्त गर्नुपर्छ, सबै जनाले अग्‍निपरीक्षा पार गर्नुपर्छ, र कोही पनि उम्‍कन सक्दैन। यो कुरा परमेश्‍वरको वचनले भनेजस्तै हो: “यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्न र सिद्ध पार्न ठूलो रातो अजिङ्गरको सेवा प्रयोग गर्नुहुन्छ। यसरी काम गर्नु अत्यन्तै बुद्धिमानी कुरा हो! अरूले ती “तीनवटा पत्र” मा हस्ताक्षर गरेर डरपोक भई पछि हटे पनि, म तिनीहरूको प्रभावमा परेर अरूको पछि लाग्नु हुँदैनथियो। यदि म आफ्नो देहको वास्ता गरेर कष्टदेखि डराएकी भए, म पनि अन्त्यमा ढल्‍नेथिएँ। मलाई प्रहरीले कुटेर मारे भने पनि, यो कुरा परमेश्‍वरलाई धोका दिएर यस संसारमा नीच जीवन जिउनुभन्दा उत्तम हुनेछ भनेर मैले मनमनै वाचा बाँधेँ। भोलिपल्‍ट मैले जे-जस्ता परिस्‍थितिको सामना गरे पनि, म कहिल्यै पनि परमेश्‍वरलाई धोका दिनेथिइनँ। धेरै जना सिस्टरहरूलाई पनि पुलिसले जबरजस्ती त्याग-पत्रमा हस्ताक्षर गर्न लगाएका रहेछन् भनेर मलाई पछि मात्रै थाहा भयो। मानिसहरूलाई जबरजस्ती परमेश्‍वरलाई धोका दिन लगाउन, यी प्रहरीहरूले सबै प्रकारका घृणास्पद र दुष्ट चालहरू प्रयोग गरे। तिनीहरू अत्यन्तै भयङ्कर र दुष्ट थिए!

भोलिपल्ट, म कक्षामा हुँदा लाङले मलाई अचानक बोलाए। म बाहिर जानेबित्तिकै, मैले मेरा बुबा र मेरो गाउँका दुई जना कार्यकर्तालाई देखेँ। मेरा बुबाले मलाई देखेपछि अङ्गालो हालेर रुँदै भन्‍नुभयो, “बल्‍ल तँलाई देख्‍न पाएँ!” बुबाको तालुमा सेतो कपाल र उहाँको वृद्ध अनुहारमा थकान देख्दा, मेरो मुटु निमोठियो र आँखाबाट बरबर आँसु झऱ्यो। लाङले त्यसपछि कलम र कागज ल्याएर मलाई परित्याग-पत्र लेख्‍न आदेश दिए। प्रहरीले मलाई जबरजस्ती परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउन मेरा भावनाहरूको प्रयोग गरिरहेको छ भन्‍ने महसुस भयो, त्यसकारण मैले इन्कार गरेँ। गाउँका एक जना कर्मचारीले मलाई यसो भन्दै हप्काए, “कहिलेदेखि प्रहरीले तँलाई पछुतो-पत्र लेख्‍न आग्रह गरिरहेको छ? उहाँहरूले तँलाई दशपटक लेख्‍न लगाए पनि, तैँले लेख्‍नुपर्छ।” लाङले त्यही कुरा दोहोऱ्याउँदै भने, “हो, दशपटक लेख्!” त्यो बेला, हाम्रा कक्षाहरू सञ्चालन गर्ने हुवाङ पनि आए र असल भएको ढोँग गर्दै भने, “नडरा। साहसी भई पत्र लेख्।” विशेषगरी तिनले बोलेको सुन्दा मलाई घृणा लाग्यो। मैले तिनको कुरा बेवास्ता गरेको देख्दा, तिनले मतिर औँल्याउँदै चिच्याए, “लेखिनस् भने जान पाउँदैनस्, त्यसकारण छिटो गर्!” मलाई मनाउने प्रयास गर्दै मेरा बुबा रुनुभयो, “बिन्ती छ, चुपचाप लेख्। तैँले नलेखेसम्‍म हामी घर जान सक्दैनौँ। तँलाई भेट्टाउनको लागि मैले कति दौडधूप गर्नुपर्‍यो र कति जना मानिसहरूलाई खोज्‍नुपर्‍यो, तँलाई थाहा छ? तैँले पत्र लेख्‍नुपर्छ। तँ जेल जानु हुँदैन!” लाङले पनि रिसाउँदै भने, “लगभग एक दर्जन मानिसहरूले पत्रमा हस्ताक्षर गरिसकेका छन्, र तँ मात्रै बाँकी छस्। के तँ साँच्‍चै त्यति जिद्दी गर्छस्?” गाउँका कार्यकर्ताले पनि मलाई मनाउने प्रयास गरे, “यो सजिलो छ। एक-दुई शब्‍द लेख्, अनि हामी सँगै घर जानेछौँ। तैँले पत्र लेखिनस् भने, तेरो परिवारको दर्ता गाउँबाट नै हटाइनेछ। तिमीहरू गाउँमा बस्न पाउनेछैनौ, र तिमीहरूलाई फेरि कहिल्यै पनि फर्कन दिइनेछैन।” कोठामा भएका सबै जनाले के गर्ने भनेर छलफल गर्न थाले। मेरा बुबाले मलाई मनाउने प्रयासमा कानेखुसी गरेर एक-दुईवटा चिन्ताजनक शब्‍द भन्‍नुभयो, “लेख् मात्रै, यसले तँमा फरक पार्दैन। पहिले यहाँबाट निस्केर जाऊँ। तँलाई मन लाग्यो भने पछि लुकेर विश्‍वास गर्न सक्छस्। किन यति जिद्दी गर्छस्?” मैले मनमनै सोचेँ, “यो शैतानी ठाउँलाई छोडेर जाने कसलाई मन हुँदैन र? तर मैले यस्तो कुरालाई त्यतिकै लतारपतार गरेर जानु हुँदैन। ती ‘तीनवटा पत्र’ मा हस्ताक्षर गर्नु भनेको परमेश्‍वरलाई धोका दिनु र उहाँको स्वभावलाई चिढ्याउनु हो।” तर मेरा बुबाले बारम्‍बार आग्रह गरेको र मनाउन खोजेको देख्दा, मलाई के गर्ने, के गर्ने भयो। मैले सोचेँ, “के मैले यो मौकाको फाइदा उठाएर जान सकूँ भनेर परमेश्‍वरले यो परिस्थिति मिलाउनुभएको हो?” मैले आफ्नो हृदयमा खोजी गर्न परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरेँ, “हे परमेश्‍वर! तपाईँको इच्‍छा के हो?” त्यो बेला, मलाई अचानक के महसुस भयो भने त्यहाँबाट जानको लागि चुकाउनुपर्ने मूल्य भनेको परमेश्‍वरलाई इन्कार गर्ने र धोका दिने दस्ताबेजमा हस्ताक्षर गर्नु हो। म परमेश्‍वरलाई धोका दिने केही पनि गर्न सक्दिनथिएँ। मैले इतिहासका सबै युगका धेरै सन्तहरूले परमेश्‍वरलाई धोका दिनुभन्दा कैदमा पर्न र यातना भोगेर मर्न तयार भएको बारेमा पनि विचार गरेँ। म यस परिस्थितिमा यस्तो दोधारमा पर्नुको कारण त मैले देहलाई अत्यन्तै धेरै प्रेम गरेकी थिएँ, अनि म कष्ट भोग्‍न र मूल्य चुकाउन अनिच्‍छुक थिएँ। परमेश्‍वरको अगुवाइले गर्दा त्यो बेला म निकै शान्त थिएँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। यो बेला, मैले तिनीहरूले भनेका कुरा शैतानका चाल र प्रलोभन हुन् भनेर अझै स्पष्टसित बुझेँ। ती मेरो लागि परीक्षा थिए, र यही बेला मैले परमेश्‍वरको लागि गवाही दिनु जरुरी थियो। कम्युनिस्ट पार्टीले मेरा बुबालाई शैतानको पक्षमा उभिएर मेरो मनमा बाधा हाल्न र मेरो सङ्कल्पलाई हल्‍लाउन लगाउनका लागि छल गरेको थियो। क्षणिक सहजता पाउनको लागि मैले परमेश्‍वरलाई धोका दिने र उहाँको निन्दा गर्ने काम गर्नु हुँदैनथियो, म आफ्ना भावनाहरूद्वारा नियन्त्रित भएर शैतानका चालमा पर्ने कुरा त परै जाओस्। केही समय बितेपछि, मैले केही नलेखेको देखेपछि वाङले मलाई कक्षाकोठामा नै फर्काएर लैजान प्रहरीलाई अह्राए। केही दिनपछि, तिनीहरूले मलाई मनाउन मेरा बुबा र काकालाई फेरि ल्याए, र तिनीहरूले मेरा बुबालाई रोएर मलाई गाह्रो बनाउन, साथै मेरो अगाडि आफ्‍नो भावनात्मक बाधाहरू व्यक्त गर्न पनि लगाए, र अन्त्यमा तिनीहरूको चालले काम गरेन। लाङको निराश अनुहार देख्दा, मलाई शैतानका प्रलोभनहरूलाई जित्‍न परमेश्‍वरमा भरोसा गरेपछि शान्तिको अनुभूति भयो।

हामीलाई ती “तीनवटा पत्र” मा जबरजस्ती हस्ताक्षर गर्न लगाउनको लागि, प्रहरीले घृणित र अश्लील तरिका पनि प्रयोग गरे। एक रात आधा राततिर, सिस्टर जियाङ छिनमिङ र मलाई दण्डको रूपमा आँगनमा उभिन बाध्य पारियो। पछि धेरै जना प्रहरीहरूले हामीलाई कक्षाकोठामा फर्काएर लगे। लाङले म र छिनमिङलाई आफ्‍नो लुगा खोल्‍न आदेश दिए। मैले सोचेँ, “सायद हामीले असाध्यै गर्मी हुनेगरी लुगा लगाएका छौँ भन्‍ने तिनीहरूलाई लाग्यो होला,” त्यसकारण सिस्टर र मैले हाम्रा कोटहरू फुकायौँ। अचानक लाङ र प्रहरी दुवै जना हाँसे। त्यसपछि, लाङले छिनमिङलाई पाइन्ट खोल्‍न आदेश दिए, तर उनले त्यसो गर्न मानिनन्। एक जना प्रहरी दौडिँदै आए र उनको पाइन्ट आधासम्‍म तल तानिदिए। उनले फेरि उँभो तानिन्, त्यसपछि तिनी मेरो लुगा खोल्‍न आए। मैले सङ्घर्ष गरेर खोल्‍न दिइनँ, त्यसकारण लाङले अर्को पुरुष प्रहरीलाई आएर मेरो पाइन्ट खोल्‍न सघाउन मुन्टो हल्लाएर इसारा गरे। त्यो बेला, लामा-लामा, पातला खुट्टा भएका धेरैवटा ठूलो खैरो माकुराहरू यताउता गरिरहेका एउटा बोतल लिएर याङ भित्र छिरे। याङले माकुरा भएको त्यो बोतल हाम्रो अगाडि हल्‍लाउँदै भने, “तँलाई यी माकुरा खान मन छ?” याङले बोल्दै गर्दा ती माकुरा घोचेर निकाल्न खोज्दै थिए, र तिनले हाम्रो मुखको अगाडि बोतल ल्याए। मलाई घिन लाग्यो, त्यसकारण मैले टाउको फर्काएँ र झट्टै पछाडि हटेँ। प्रहरीहरू सबै गलल हाँसे। लाङले भने, “यी माकुराहरू तिनीहरूको फिलाको कापमा, वा छातीमा वा मुखमा राखिदेओ।” म रिस, घृणा, र डरले भरिएँ। तिनीहरूले ती माकुरा साँच्‍चै मेरो पाइन्टभित्र हालिदिए भने मैले के गर्ने? त्यो बेला, मलाई अचानक ती माकुरालगायत सबै कुरा परमेश्‍वरकै हातमा छन् भन्‍ने कुरा याद आयो। परमेश्‍वरको अनुमतिविना, ती माकुराले मलाई केही पनि गर्न सक्दैनथिए। म यी सबै कुराको पनि खतरा मोल्नेथिएँ, र त्यो दिन प्रहरीले मलाई जसरी अपमान गरे पनि र सताए पनि, म शैतानको अघि झुक्नेथिइनँ। याङले बोतलबाट ती माकुराहरू निकाल्‍ने प्रयास गरिरहे, तर निकाल्‍न सकेनन्। तिनले अन्त्यमा निकालेपछि, हामीकहाँ ल्याउनुभन्दा पहिले नै ती माकुरा भुईँमा खसे। केही समयपछि, लाङले तिनलाई रोके। यो परमेश्‍वरले हामीलाई गर्नुभएको सुरक्षा हो भन्‍ने मलाई थाहा थियो। सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने मैले देखेँ। यो त परमेश्‍वरले भन्‍नुभएको जस्तै हो: “चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। त्यसपछि, प्रहरी फेरि हाम्रो लुगा खोल्न आए, र मेरो लुगा खोलेर लामो अन्डरवेर मात्र बाँकी रह्यो। लाङले दाँत किट्दै भने, “फुकाल्! मेरो लागि फुकाल्!” मैले सक्दो सङ्घर्ष गरेँ। नाङ्गो पारिएर तिनीहरूले हेर्छन्, गिल्‍ला गर्छन्, र बेइज्जत गर्छन् भन्‍ने सम्झिँदा मलाई लाज लाग्यो। मैले यसबारे जति विचार गरेँ, मलाई त्यति नै अप्ठ्यारो लाग्यो। त्यो क्षणमा, मलाई अचानक के महसुस भयो भने यसरी सोच्‍नु भनेको शैतानका चालमा पर्ने खतरामा हुनु हो। प्रहरीले हाम्रो लुगा खोल्नुले तिनीहरू कति दुष्ट छन् भन्‍ने कुरा मात्रै प्रमाणित गऱ्यो। मानिसहरूलाई जबरजस्ती परमेश्‍वरलाई धोका दिन लगाउन, तिनीहरू जस्तोसुकै कुटिल र दुष्ट काम गर्न तयार हुन्थे। परमेश्‍वरमा विश्‍वास गरेको कारण मलाई अपमान गरिँदैथियो र सताइँदैथियो। यो त महिमित कुरा थियो, र लाज मान्‍ने कुरा थिएन। मानवजातिको छुटकाराको लागि प्रभु येशूलाई क्रूसमा टाँगिएको दृश्य मेरो मनमा आयो। परमेश्‍वर सर्वोच्‍च र पवित्र हुनुहुन्छ, र पनि उहाँले मानवजातिलाई छुटकारा दिन चुपचाप यी अपमानहरू सहनुभयो। परमेश्‍वरले मानवजातिको लागि यति धेरै मूल्य चुकाउनुभएको छ, र यो कुराद्वारा मैले प्रेरणा पाएँ, त्यसकारण मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, तिनीहरूले आज मलाई जति नै अपमान गरे पनि वा मैले जस्तो पीडा सहनुपरे पनि, म तपाईँलाई कहिल्यै पनि धोका दिनेछैनँ।” मैले रिसाउँदै पुलिस अफिसरलाई हेरेँ। तिनलाई ग्‍लानि भएको जस्तो देखिन्थ्यो, र तिनले हामीलाई लुगा लगाउन दिए र गए। शैतानको अर्को प्रलोभनलाई जित्न अगुवाइ गर्नुभएकोमा मैले हृदयको गहिराइबाट परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यस दिन लाङले मलाई धम्की दिँदै भने, “अब पत्रमा सही नगर्ने तँ मात्रै होस्। अरू सबैलाई आफ्‍नो लागि के असल हो भन्‍ने थाहा छ, तर तँलाई थाहा छैन। तैँले हस्ताक्षर गरिनस् भने, सबैको लागि दोष बोक्ने तँ नै हुनेछस्!” मैले तिनको कुरा बेवास्ता गरेँ। तिनले दिक्क मान्दै भने, “ठीकै छ, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको खातिर, तैँले जितिस्! जित्! बधाई छ!” तिनले मलाई पुलुक्क हेरे, अनि उठेर निराश हुँदै ढोकाबाट निस्केर गए। शैतान अपमानित र असफल भएको देख्दा, म परमेश्‍वरप्रति असाध्यै कृतज्ञ भएँ, मलाई यो अवस्थासम्‍म आइपुग्न विश्‍वास दिने परमेश्‍वरका वचनहरू र उहाँले मलाई दिनुभएको शक्ति नै हो भन्‍ने मलाई थाहा थियो, र मैले हृदयबाट परमेश्‍वरलाई महिमा दिएँ!

एक दिन, लाङले मसँग बिहानभरि कुरा गरे, र अपराह्न दिमाग-भर्मनाउने केन्द्रका मलाई सुधार्ने जिम्‍मा पाएका सबैले मलाई पालैपालो ती “तीनवटा पत्रमा” हस्ताक्षर गर्न मनाउने प्रयास गरे। तिनीहरूले भने, “तैँले अहिले हस्ताक्षर गरिस् भने, अझै पनि जाने मौका पाउँछस्, तर आजदेखि उता तैँले यस्तो अर्को मौका पाउनेछैनस्। तँलाई आठदेखि दश वर्षको जेल सजाय हुनेछ। तँ बाहिर निस्कँदा कति वर्षकी हुन्छेस्?” मैले तिनीहरूको प्रलोभनका शब्‍दहरू सुनेँ, र वास्ता गरिनँ। मलाई तिनीहरू मूर्ख र अज्ञानी छन्, र तिनीहरूले आफ्‍नो शब्‍द खेर फालिरहेका छन् भन्‍ने मात्रै लाग्यो। दिमाग-भर्मनाउँदा र यातनाको बेला परमेश्‍वर कसरी सधैँ मेरै साथमा रहेर मलाई अगुवाइ गर्नुभयो भन्‍ने कुरा मैले सोचेँ, त्यसकारण मैले चिन्ता गर्नुपर्ने कारण के थियो र? मलाई कति वर्ष सजाय हुनेछ र मैले कति धेरै कष्ट भोग्‍नुपर्छ भन्‍ने सबै कुरा त परमेश्‍वरले नै अनुमति दिनुहुने कुरा थिए। मैले भावी दिनहरूमा कठिनाइ र दीर्घकालीन कष्ट भोग्‍नुपरे पनि, म परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई मान्‍न, साथै परमेश्‍वरको लागि गवाहीको रूपमा खडा हुन इच्छुक थिएँ। साँझतिर, मेरा बुबा अचानक आउनुभयो। उहाँले लाङसँग लामो समयसम्‍म कुराकानी गर्नुभयो, र अन्त्यमा ५,००० युआन जमानत तिर्नुभयो, त्यसपछि तिनीहरूले मलाई रिहा गरे। पछि, मलाई के थाहा भयो भने दिमाग-भर्मनाउने तालिमको बेला मेरा बुबाको साथीलाई काम गर्न त्यहाँ सरुवा गरिएको थियो, त्यसकारण बुबाले केही रकम तिरेर मलाई निकाल्‍ने मौका पाउनुभएको रहेछ। त्यो परमेश्‍वरले गर्नुभएको चमत्कारी बन्दोबस्त हो भन्‍ने मलाई थाहा थियो। नत्र भने, ती “तीनवटा पत्र” मा हस्ताक्षर नगर्ने व्यक्तिलाई प्रहरीले कसरी त्यति सजिलै जान दिन्थ्यो र?

यो सतावट र सङ्कष्टबाट गुज्रेपछि, मैले परमेश्‍वरको कामको बुद्धिलाई साँचो रूपमा देखेँ। परमेश्वरले मलाई सत्यता बुझ्‍न र समझशक्ति प्राप्त गर्न, साथै मेरो विश्‍वासलाई सिद्ध पार्न सहायता गर्नको लागि ठूलो रातो अजिङ्गरको सतावट प्रयोग गर्नुभयो। म खतरनाक परिस्थितिमा परेँ र मैले पुलिसबाट धम्की, सन्त्रास, जबरजस्ती दिमाग-भर्माइ, र दिनहुँ यातना सहनुपऱ्यो, तैपनि परमेश्‍वर मलाई आफ्‍ना वचनहरूद्वारा अन्तर्दृष्टि दिँदै र डोऱ्याउँदै मेरो साथमा रहनुभयो, शैतानका प्रलोभनहरूलाई जितेर उहाँको लागि दह्रिलो गवाही बन्‍न मलाई सहायता गर्नुभयो। मैले कम्युनिस्ट पार्टीको दुष्ट र कुरूप अनुहार अनि परमेश्‍वरलाई विरोध र घृणा गर्ने त्यसको शैतानी सारलाई पनि राम्ररी देखेँ, र मैले यसलाई हृदयबाट घृणा गर्न र त्याग्‍न सकेँ। यसको साथसाथै, मैले परमेश्‍वरका वचनहरूको अख्‍तियार र शक्तिलाई पनि साँचो रूपमा अनुभव गरेँ, र सबै कुरा परमेश्‍वरकै हातमा छन्, सबै कुरामाथि परमेश्‍वरले शासन गर्नुहुन्छ, र शैतान जति नै निर्दयी भए पनि, यो परमेश्‍वरको सेवामा एक औजार मात्रै हो भन्‍ने पनि थाहा पाएँ। मैले भविष्यमा जति नै खतरा र सङ्ककष्टको सामना गर्नुपरे पनि, म अन्त्यसम्‍म नै परमेश्‍वरलाई पछ्याउनेछु!

अघिल्लो: ७१. कठिन परिस्थितिको जाँच

अर्को: ७३. विगतमा ममाथि लागेको लाञ्छना

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्