३५. डुब्न लागेको जीवन
सन् २००८ मा, मैले मण्डलीको साहित्य ओसारपसार गर्ने कामको जिम्मा लिएकी थिएँ। धार्मिक स्वतन्त्रता भएको देशमा यो एकदमै सामान्य किसिमको कर्तव्य हो, तर चीनमा, यो अत्यन्तै खतरनाक काम हो। कम्युनिस्ट पार्टीको नियमअनुसार, धार्मिक पुस्तक ओसारपसार गर्ने व्यक्ति पक्राउ परेमा उसलाई सात वर्ष वा त्योभन्दा बढी जेल सजाय हुन सक्छ। यसकारण, हाम्रो कर्तव्यमा अरू दाजुभाइ-दिदीबहिनीहरू र म अत्यन्तै होसियार हुन्थ्यौँ। तर अगस्ट महिनाको २६ तारिख, म सडकमा हिँडिरहेकी बेला, मलाई धेरैवटा पुलिस कारले घेरे र पुलिसले मलाई एउटा कारमा हाल्यो। म अत्यन्तै घबराएकी थिएँ। मैले यस्तै कार्य गर्दा पक्राउ परेर दश वर्ष जेल सजाय पाएकी सिस्टरको बारेमा सम्झेँ? के मलाई पनि दश वर्ष जेल सजाय हुनेछ? यदि मैले साँच्चै जेलमा त्यति लामो समय बिताउनुपर्यो भने, के म जिउँदै जेलबाट निस्कनसमेत सक्छु के? त्यो सोच्दा मेरो मुटु ढुकढुक भयो, र मैले हतपत परमेश्वरलाई पुकारेँ: “हे परमेश्वर! पुलिसले मलाई कसरी यातना दिनेछ थाहा छैन। बिन्ती छ, मलाई रक्षा गर्नुहोस्, अनि विश्वास र सामर्थ्य दिनुहोस्।” प्रार्थना गरेपछि मलाई परमेश्वरका यी वचनहरू याद आयो: “तँ यो र त्यो कुराप्रति डराउनु हुँदैन; तैँले जतिसुकै अप्ठ्यारा र खतराको सामना गर्नुपरे पनि, तँ कुनै पनि बाधाबाट अवरोधमा नपरी मेरो अगाडि स्थिर रहन सक्छस्, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो…। मैले तँलाई जाँच गर्नुपर्ने समय यही हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्छस्? के यो मार्गको अन्त्यसम्म तँ मलाई निष्ठापूर्वक पछ्याउन सक्छस्? नडरा; तैँले मेरो साथ पाएपछि, यो मार्गलाई कसले छेक्न सक्छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। यसले मेरो विश्वास र साहसलाई दह्रिलो बनायो। परमेश्वर सबै थोकका शासक हुनुहुन्छ र सारा ब्रह्माण्ड उहाँकै हातमा छ। त्यसकारण के पुलिस पनि उहाँका हातमा छैन र? परमेश्वरले अनुमति दिनुभएन भने, मेरो शिरको एउटा कपालसमेत छुन सकिँदैन। परमेश्वरले मेरो विश्वासलाई सिद्ध पार्न दमन र कठिनाइको प्रयोग गर्नुहुन्छ, त्यसकारण, मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो र उहाँमा भर पर्नुपर्थ्यो अनि म उहाँको लागि गवाहीको रूपमा खडा हुनुपर्थ्यो। मैले १० वर्षको जेल सजाय नै पाएँ भने पनि, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई र परमेश्वरलाई कहिल्यै धोका नदिने अठोट गरेँ।
पुलिसले मलाई सहरबाहिर दुई तले भवनमा लग्यो। एक जना अल्गो, अधबैँसे मोटोघाटो अफिसर हातमा चीसो पानीको बोतल लिएर डरलाग्दो अनुहार पार्दै मतर्फ हत्तारिँदै आए, र टेबल ठटाउँदै चिच्याए, “तेरो नाम के हो? चर्चमा तँ के गर्छस्? तेरो कस-कससित सम्पर्क छ? तेरो चर्चको अगुवा को हो?” मैले केही नभनेपछि, तिनले बोतल उठाएर मेरो टाउकोमा हिर्काए, जसले गर्दा म रिँगटिएँ। तिनले अनेक किसिमका फोहोर बोली बोल्दै मलाई प्रश्न गरिरहे। मैले शिर झुकाएर तिनलाई एउटै पनि उत्तर नदिई प्रार्थना गरिरहेँ। त्यसपछि तिनले फेरि मेरो निधारमा बोतलले हाने—एकछिन त मैले आँखै देखिनँ र मेरो खोपडी फुट्न लागेको जस्तै भयो। यति पीडा भयो कि आँसु नै झर्यो। त्यसपछि तिनी जङ्गिए, “बोलिनस् भने तँलाई यातना दिइन्छ, र पनि बोलिनस् भने, जिउँदो निस्किन्छु भन्ने सोच्दै नसोच!” मलाई निकै डर लाग्यो। सोचेँ, यदि तिनले मलाई त्यसरी हिर्काइरहे भने, यसले मेरो खप्पर फुटाएन भने पनि, मेरो मस्तिष्कमा अवश्य नै चोट पुग्नेछ। मलाई कुटेर मार्ने पो हो कि भन्ने लाग्यो। मैले तुरुन्तै परमेश्वरलाई पुकारेँ र उहाँको सुरक्षा मागेँ, अनि तिनले मलाई जसरी पिटे पनि, मैले परमेश्वरलाई कहिल्यै धोका दिनु हुँदैन, यहूदा बन्नु हुँदैन भनेर सङ्कल्प गरेँ। ठीक त्यही बेला तिनको मोबाइल बज्यो, र कल उठाएपछि तिनी त्यहाँबाट गए। र्को अफिसरले मेरो टाउको बोराले छोपेर डोरीले कसेर बाँधे, त्यसपछि मलाई खाली कोठामा घिस्याएर लगे। बोराभित्र गर्मी भयो र पसिना आयो। तिनीहरूले मलाई दोस्रो तल्लामा लैजाँदा कति समय लाग्यो मलाई थाहा छैन। प्रान्तीय सार्वजनिक सुरक्षा विभागका गोङ्ग थरका शाखा प्रमुखले दाँत किट्दै मलाई धम्की दिए: “सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको कारण मात्रै पनि हामी तँलाई दश वर्षको सजाय दिन सक्छौँ। अहिले नै हामीलाई सबै कुरा बताइहाल्, नत्र तँलाई कसैले बचाउन सक्दैन!” तिनले मेरो रोजगारदातालाई गएर मेरो तलब रोक्न लगाउँछु पनि भने। मैले अझै पनि मुख नखोलेको देखेर, तिनले मेरो कुनै अघिल्ला पक्राउ विवरण छन् कि भनेर कसैलाई खोज्न पठाए। त्यो सुन्दा म निकै घबराएँ, किनभने २००३ मा सुसमाचार प्रचार गरेको आरोपमा म पक्राउ परेकी थिएँ, र म पाँच महिना थुनामा परेकी थिएँ। यदि तिनीहरूले मेरो विवरण भेट्टाए भने, मलाई अवश्य नै अझै कठोर सजाय दिनेथिए। तिनीहरूले केही पनि भेट्टाएनन्—त्यो परमेश्वरको सुरक्षा हो भन्ने मलाई थाहा भयो। मैले उहाँलाई मनमनै धन्यवाद दिएँ। पुलिसले मलाई मध्यरात काटेपछि थुना घरमा लिएर गए, जहाँ सुधार अधिकारीले मलाई नाङ्गो पार्न केही कैदीलाई अह्राए, मलाई हात फिँजाउन लगाए, अनि तीन पटक ठिङ्ग्रिएर उठबस गर्न लगाए। तिनीहरूले मेरो बाहिरी लुगा सबै कोठरीबाहिर फ्याँकिदिए, र तिनीहरूले मेरा भित्री वस्त्रहरू पनि फ्याँक्न लागेको देखेपछि, मैले दौडेर गई खोसेँ र लगाएँ। त्यहाँ नाङ्गै ठिङ्ग्रिएर बसेको बेला पर्खालमा चारवटा सेक्युरिटी क्यामेरा देख्दा, मलाई असाध्यै अपमानित महसुस भयो। भोलि बिहान सबै कैदी उठेपछि, मैले तन्ना निकालेर शरीर ढाक्नुपर्यो। त्यसपछि एक जना कैदीले मलाई एक-दुई वटा लुगा फ्याँकिदिए र कानेखुसी गर्दै भने, “यो लगा, छिटो।” अर्कोले मलाई एउटा पाइन्ट दिइन्। परमेश्वरले नै यो प्रबन्ध मिलाउनुभएको भन्ने मलाई थाहा भयो—म अत्यन्तै आभारी थिएँ। त्यस बिहान अलिपछि, सुधार अफिसरले मेरो लुगा फेरि कोठरीमा नै फ्याँकिदिए, तर लुगा हेर्दा, मेरो पाइन्टका जिपर र बटनहरू अनि अरू लुगाहरू काटिएको रहेछ, त्यसकारण म एउटा हातले पाइन्ट समातेर अर्को हातले अगाडि बन्द गरेर केही परसम्म निहुरिएर हिँड्नुपऱ्यो। मलाई त्यस्तो अवस्थामा देखेर, अरू कैदीहरूले मेरो खिल्ली उडाए र मलाई अनेक कुरा गर्न लगाए, र तिनीहरूमध्ये कतिले जानी-जानी मेरो पाइन्ट तानिदिए र गिल्ला गर्दै अनेक कुरा भने। त्यो दिन कटाउने एउटै उपाय प्रार्थना मात्रै थियो।
तेस्रो दिनको मध्य दिनतिर, मलाई सोधपुछ गर्न लैजान पुलिस देखा पर्यो। तिनीहरूले मलाई मधुरो बत्ति बलेको, रित्तो कोठामा ल्याए, र त्यहाँ यातना दिने फलामको यन्त्र पर्खालमा झुण्डिरहेको मैले देखेँ, र त्यहाँ जताततै सुकेको रगतका दागहरू थिए। यो हेर्दै डरलाग्दो र भयानक थियो। तिनीहरूले मेरो हात पछाडि पारेर हतकडी लगाए, अनि राष्ट्रिय सुरक्षा ब्रिगेडका क्याप्टेन याङ्ग र अपराध शाखाका केही पुलिस अफिसरहरूले मलाई घेरे र भोका ब्वाँसाहरूले जस्तै घुरेर हेरे। क्याप्टेन याङ्गसँग मलाई सनाखत गर्न लगाउन अरू सिस्टरहरूको एक-दुई वटा फोटो थिए र तिनले मण्डलीको पैसा कहाँ राखिएको छ भनेर सोधे। तिनले मलाई जङ्गिँदै यसो भनेर धम्की पनि दिए, “बोल्! बोलिनस् भने, हामी तँलाई कुटेर मार्नेछौँ!” तिनीहरूले त्यसो गरे पनि, म यहूदा बन्दिनँ भनेर मैले सोचेँ। अर्का मोटो पुलिसले भने, “तँ आज बोल्दा नै ठीक हुन्छ! बोलिनस् भने, म भन्छु, मेरो यो मुड्कीलाई मासु मन पर्छ। मैले पुलिस एकेडेमीमा चार वर्ष बक्सिङ सिकेको छु र ‘हम्मर हान्ने’ नामक शैलीबारे मैले विशेष तालिम लिएको छु। यो शैलीमा कुमको विशेष भागमा हानिन्छ र एकै प्रहारले तेरा हड्डी र भित्री भागहरू चकनाचूर हुनेछन्। मेरो मुड्की खाएपछि, नबोल्ने त एक जना पनि हुँदैन।” बोल्दै जाँदा तिनले झन्-झन् गर्व गर्दैथिए। त्यसपछि क्याप्टेन याङ्गले झोलाबाट रातो छाप हालिएको आधिकारिक कागजात निकालेर मेरो अनुहारअगाडि हल्लाउँदै मलाई भने, “यो केन्द्रीय समितिले विशेषरूपमा सर्वशक्तिमान् परमेश्वरको मण्डलीबारे जारी गरेको गोप्य कागजात हो। हामी तिमीहरूजस्ता मानिसलाई पक्रेपछि, मृत्युको मुखमा पुर्याउन सक्छौँ, र तिमीहरू मरे भने कसैले मतलब गर्दैन! हामीले तिमीहरूलाई कुटेर मारेपछि, हामी तिमीहरूको लासलाई पहाडमा लगेर फ्याँकिदिन्छौँ र कसैलाई पनि यसबारे थाहा हुँदैन। तँजस्ता विश्वासीहरूलाई ठीक पार्नको लागि हामीसँग यातना दिने अनेक किसिमका साधनहरू छन्। एक किसिमको चाबुक छ जसलाई बरफ पानीमा डुबाएर राखिन्छ, र कसैलाई त्यसले हानेपछि मासुको चोक्टा निक्लिन्छ। त्यो व्यक्तिको हड्डीहरू देखिन थाल्छ।” यी सबै भयानक कुरा सुन्दा मेरो मुटु डरले लुगलुग भयो, र मलाई मनमा के सोच आयो भने, यदि तिनीहरूले यातनाका ती साधनहरू प्रयोग गरे भने, सम्भवतः मेरो ज्यान जान्छ। र यदि तिनीहरूले मेरो लास पहाडमा लगेर फ्याँके भने मलाई जङ्गली कुकुरहरूले खानेछन्। त्यो कस्तो दुःखद कुरा हुनेथियो! डरले आत्तिएर, मैले तुरुन्तै परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, पुलिसले मलाई यी साधनहरू प्रयोग गरेर यातना दिनेछन् भन्ने असाध्यै डर लागेको छ। मेरो विश्वास त्यति दह्रिलो छैन—बिन्ती छ, मलाई रक्षा गर्नुहोस् अनि विश्वास र साहस दिनुहोस्, ताकि तिनीहरूले मलाई जे गरे पनि, मैले यसको लागि आफ्नो ज्यान दिनुपरे पनि, म गवाहीको रूपमा खडा हुन सकूँ।” म अझै नबोलेको देखेर, क्याप्टेन याङ्गले मलाई दश-बाह्र पटक टाउकोमा, दायाँ र बायाँपट्टि हिर्काए। म उभिनसमेत सकिनँ। मैले आँखा चिम्लिएँ र आँसु बरर झऱेर अनुहारमा बग्यो। “हम्मर हान्ने” तरिकाबारे कुरा गर्ने मेरो देब्रेपट्टि बसेको पुलिसले आफ्नो सबै शक्ति लगाएर मेरो कुमको विशेष भागमा हिर्कायो। एकछिन त मेरा हड्डीहरू भाँचिएजस्तो लाग्यो, र तिनले गन्ती गर्दै मलाई हिर्काइरहे। मेरो दाहिनेतिर उभिने अफिसरले मेरो घुँडाको पाङ्ग्रामा हान्यो र म भुईंमा बजारिएँ। तिनीहरूले मलाई चिच्याउँदै उठ्न लगाए। मेरो हात पछाडिपट्टि हतकडीले बाँधिएकोले पीडा सहँदै भए पनि कठिनाइको साथ उठेँ। तिनीहरूले मलाई लात हानेर फेरि भुईंमा बजारे। “हम्मरवाला” अफिसरले मलाई कुममा हानेको-हानेकै गरे, र यी प्रश्नका जावफ मागिरहे, “तेरो कस-कससित सम्पर्क छ? चर्चको पैसा कहाँ छ? भनिहाल्, नत्र तेरो अन्त्य हुनेछ!” क्रोधित हुँदै, मैले तिनीहरूलाई सोधेँ, “मैले कुन नियम उल्लङ्घन गरेकी छु र तपाईंहरूले यसरी मलाई कुटिरहनुभएको छ? के संविधानले हामीलाई धार्मिक स्वतन्त्रता दिएको छैन र?” क्याप्टेनले जङ्गिँदै भने, “बढी नबोल्! तँलाई यहाँ मर्न मन छैन भने, मुख खोल्। चर्चको पैसा कहाँ छ? हामीलाई पैसा चाहिएको हो। भनिनस् भने, हामी तँलाई आजै खतम गर्नेछौँ!” यसो भन्दै तिनले मलाई टाउकोमा बारम्बार हिर्काइरहेका थिए, हरेक प्रहार झन्-झन् कडा हुँदै गइरहेको थियो। तिनीहरूले मलाई बारम्बार लात र मुक्का हान्दै भुईंमा बजार्थे, र फेरि उठ् भन्थे। तिनीहरूले मलाई कति बेर कुटे थाहा छैन। म टाउको र कान बजिरहेको मात्रै महसुस गर्न सक्थेँ, र मैले आँखा खोल्न सकिनँ, र तिनीहरूले मेरो टाउको फुटाउन लागिरहेका छन् जस्तै मलाई लाग्यो। मेरो अनुहार यति सुन्निएको थियो कि यसमा छोएको थाहा हुँदैनथियो र मुखको कुना-कुनाबाट रगत चुहिरहेको थियो। मेरो मुटु छाती चिरेर निस्केलाजस्तो भयो, र काँधका हड्डीहरू चूर्ण पारिएका छन् जस्तो लाग्यो। म भुईंमा हल न चल भएर लडिरहेँ र मेरो पूरै शरीर दुख्यो, मानौँ यो पूर्णतः टुक्रा-टुक्रा भएको छ। मैले अटुट रूपमा परमेश्वरलाई सुरक्षाको लागि पुकारिरहेकी थिएँ, र मैले मनमा एउटै विचार राखेँ: म मरे पनि, म यहूदा बन्नेछैनँ!
मैले एक शब्द पनि बोलिरहेकी छैनँ भन्ने देखेपछि, क्याप्टेनले मलाई अलिक मनाउने प्रयास गरे: “हामीले तँलाई यी प्रश्नहरू सोधिरहेका छौँ, तर वास्तवमा, हामीलाई उत्तर थाहा भइसकेको छ। हामी त प्रमाणित मात्रै गरिरहेका छौँ। तेरो बारेमा पहिले नै अरू कसैले पोल खोलिसकेको छ, त्यसकारण अरूको गल्तीको दोष लिनु उचित कुरा हो र? तेरो जस्तो उमेरमा, किन यी सबै कष्ट भोग्छस्? के साँच्चै यसो गर्नुपर्ने कुनै आवश्यकता छ? यो त धर्मको कुरा मात्रै हो, होइन र? तँलाई के थाहा छ, हामीलाई भन् अनि हामी तँलाई तुरुन्तै जान दिनेछौँ। त्यसो गरिस् भने तँ धेरै कष्टबाट बच्नेछस्।” त्यसपछि तिनीहरूले ईश्वर-निन्दा गर्दै केही कुरा बोले। तिनीहरूको फोहोरी शब्द सुन्दा र तिनीहरूको क्रूर अनुहार देख्दा मलाई रिस उठ्यो। अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई पक्राउ गर्न र मण्डलीको पैसा जफत गर्न, तिनीहरूले मलाई लोभ्याउन फरक-फरक रणनीति प्रयोग गरे। तिनीहरू साँच्चै नै नीच र दुष्ट थिए! अरू कसैले मेरो पोल खोले पनि नखोले पनि, म अझै पनि दृढ भई खडा हुनेथिएँ अनि परमेश्वर वा अरू दाजुभाइ-दिदीबहिनीहरूलाई पटक्कै धोका दिनेथिइनँ। त्यसपछि, क्याप्टेनले मलाई धम्की दिन मेरी छोरीको प्रयोग गरे। तिनले मलाई हेरेर देखावटी रूपमा मुस्कुराउँदै भने, “तेरी छोरी बेइजिङ्गमा छिन् होइन? हामी उसलाई पक्राउ गरेर तेरै अघि यातना दिन सक्छौँ। तैँले मुख खोलिनस् भने, हामी तिमीहरू दुईलाई पुरुषको जेलमा हालिदिन्छौँ र ती मानिसहरूले तिमीहरूलाई लुटेर मारून्। म त्यो एकै चुट्कीमा गर्न सक्छु, र म जे भन्छु त्यही गर्छु।” कम्युनिस्ट पार्टीले जे पनि गर्न सक्छ भन्ने कुरा मलाई थाहा थियो, र कुटेर मार्नेबारे मलाई डर थिएन, तर मेरी छोरी र मलाई पुरुषको जेलमा हालिने कुरा त मैले सोच्न पनि सकिनँ। त्यसरी अपमानित हुनुभन्दा त म कुटेर मारिन चाहन्थेँ। यो सोच्दा मलाई निकै डर लाग्यो, त्यसकारण मैले तुरुन्तै परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, बिन्ती छ, मेरो हृदयलाई रक्षा गर्नुहोस्, र तिनीहरूले मलाई जसरी यातना दिए पनि वा बेइज्जत गरे पनि, म यहूदा बन्नु हुँदैन।” प्रार्थना गरेपछि, मैले दानिएललाई सिंहको खोरमा फ्याँकिएको घटना सम्झेँ। दानिएललाई सिंहहरूले खाएनन् किनभने परमेश्वरले उनलाई चोट पुर्याउने अनुमति ती सिंहहरूलाई दिनुभएन। मैले परमेश्वरमा विश्वास गर्नुपर्थ्यो। ती दुष्ट पुलिसहरू पनि परमेश्वरकै हातमा थिए, त्यसकारण परमेश्वरले अनुमति दिनुभएन भने तिनीहरूले मलाई केही गर्न सक्दैनन्थिए। म अझै पनि नबोलेको हुनाले, एक जनाले मलाई जङ्गिँदै कराए, “बोलिनस् भने हामी तँलाई आजै कुटेर मार्नेर्छौँ!” यसो भनेर, तिनी एक-दुई पाइला पछि सरे, मुड्की कसे, रिसले आँखा रातो पार्दै ममाथि आइलागे, र मुड्कीले मेरो ठीक छातीमै हाने। पहिला मेरो टाउको जोतिने गरी भुईंमा बजारिएँ र एक छिनसम्म सास फेर्नै सकिनँ। मेरो भित्री भाग र हाडहरू टुक्रिएका छन् जस्तै मलाई महसुस भयो, र मेरो मुटु सनासोले च्यापेर निकालिएको छ जस्तै भयो। पीडाले गर्दा मैले राम्ररी सास फेर्नै सकिनँ। मेरो टाउको भुईंमा बजारिएको थियो र मलाई जीउभरि पसिना आएको थियो। मलाई रुन मन लाग्यो तर रुन सकिनँ—मलाई घाँटीमा केही अडकिएको जस्तै भइरहेको थियो। म रुन चाहन्थेँ, तर आँसु आउँदैनथियो। त्यो बेला, मलाई यस्तो अवस्थामा पर्नुभन्दा त साँच्चै मर्नु नै बेस हो जस्तो लाग्यो। म कमजोर भएँ, शारीरिक रूपले थाम्न नसक्ने अवस्थामा पुगिसकेकी छु जस्तो लाग्यो, र तिनीहरूले मलाई त्यसरी नै कुटिरहे भने, मरेर यो कुरालाई समाप्त गर्नु नै राम्रो हुन्छ भन्ने लाग्यो। त्यसपछि तिनीहरूले मलाई केरकार गर्न र यातना दिन छोड्थे, र म मुक्त हुनेथिएँ। तिनीहरूलाई कुनै सानोतिनो कुरा भनूँ कि जस्तो लाग्यो, तर मैले औँलो दिएँ भने, तिनीहरूले डुँडुलो निल्न चाहन्छन्, र मलाई अझै कठोर रूपमा केरकार गर्नेछन् भन्ने मलाई थाहा थियो। अहँ हुँदैन: जेसुकै होस्, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिएर त्यस्तो यातना भोग्न लगाउनु हुँदैन। मैले चुपचाप सुरक्षाको लागि परमेश्वरलाई पुकारेँ। त्यतिनै खेर, परमेश्वरका वचनहरूका केही कुरा मेरो मनमा स्पष्ट रूपमा आए: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि निष्ठा नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्वासघात गर्नेहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई बिक्री गर्नेहरूसँग संलग्न हुन झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्वरका वचनहरूले मलाई परमेश्वरको स्वभावले कुनै पनि मानव अपराध सहनेछैन भन्ने कुरा ठीक समयमा स्मरण गराए। परमेश्वरले उहाँलाई धोका दिनेहरूलाई तिरस्कार गर्नुहुन्छ, घिनाउनुहुन्छ, र त्यस्तो व्यक्तिले शरीर र आत्मामा अनन्त दण्ड भोग्नेछ। मैले विश्वास गरेको यत्तिका वर्षमा, परमेश्वरको धेरै प्रेम अनि उहाँका वचनहरूको पोषण प्राप्त गरेकी थिएँ, र अहिले म परमेश्वरको लागि गवाहीको रूपमा खडा हुने समय आएको थियो, के मैले ज्यानको माया गर्दै उहाँलाई धोका दिनु नितान्त अनुचित कुरा हुनेथिएन र? म मानव हुनसमेत लायक हुनेथिइनँ! त्यसकारण मैले म मर्नु नै परे पनि, म यहूदा बन्नेछैनँ भनेर शपथ खाएँ। म परमेश्वरलाई धोका दिनेछैनँ, तर अवश्य नै गवाही दिनेछु!
ठीक त्यही भेला त्यो दुष्ट क्याप्टेनले मलाई लात हान्यो र यसो भन्दै चिच्यायो, “उठ्! मरेको नाटक नगर्, बुझिस्!” तर मसँग उठ्ने शक्ति थिएन। केही अफिसरले मलाई तानेर उठाए। म बेहोस अवस्थामा थिएँ, मेरो मष्तिष्क रित्तो भएको थियो र मेरो टाउको झनन भइरहेको थियो; मेरो छाती यति दुखेको थियो कि मलाई सास फेर्न पनि डर लाग्यो, र मैले सबै कुरा दुईवटा देखिरहेकी थिएँ। तिनीहरूले अझै पनि मलाई प्रश्नहरू सोधिरहेका थिए। मलाई भित्रबाट रिस जागेर आयो र मैले सारा शक्ति बटुलेर भनेँ, “त्यसोभए म मर्छु! मलाई कुटेर मार!” तिनीहरू छक्क परेर चुपचाप बसे, अनि प्रत्येकले केवल मलाई हेरिरहे। त्यो सामर्थ्य र साहस परमेश्वरले नै दिनुभएको हो भन्ने मलाई थाहा थियो, र मैले मनमनै उहाँलाई धन्यवाद दिएँ। सुरुमा तिनीहरूले मलाई यातना दिएर पालैपालो सोधपुछ गर्ने योजना बनाएका थिए, तर साँझ ५ बजेतिर प्रान्तीय सार्वजनिक सुरक्षा विभागबाट तिनीहरूको सोधपुछका परिणामबारे रिपोर्ट गर्नू भनी कल आएकोले, तिनीहरूले सोधपुछलाई रोके। पर्खालमा ढेसिएर म हल न चल भएर भुईंमा बसेँ, अनि परमेश्वरप्रति कृतज्ञ भई आँसु बगाएँ। परमेश्वरको सुरक्षाले गर्दा नै मैले यी सब सहन सकेकी थिएँ, नत्र भने मेरो त्यस्तो शारीरिक अवस्थामा त, म धेरै पहिले नै मरिसकेकी हुनेथिएँ। त्यसपछि, “हम्मरवाला” अफिसरबाहेक अरू सबै अफिसर त्यहाँबाट गए। तिनले मलाई हेरेर भने, “आन्टी, मैले पहिला कहिल्यै पनि आइमाईलाई कुटेको थिइनँ। पहिलोपटक तिमीलाई नै कुटेको हो, र ती ठूलो ज्यानका बलिया मानिसहरू कसैले पनि मेरो ३० मुक्का थेग्न सकेनन्। मैले तिमीलाई कतिपटक हिर्काएँ, थाहा छ? ३० पटक त भइसक्यो। तिम्रो उमेरको आइमाईले त्यसरी थेग्न सक्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ, र हामीले सोधेको एउटै कुरा पनि तिमीले बताएकी छैनौ। मैले अपराध नियन्त्रण प्रहरीमा काम गरेको एक दशक भइसक्यो, र मैले तिम्रो जस्तो मामिलामा कहिल्यै पनि सोधपुछ गरेको छैनँ।” यो सुन्दा मैले मनमनै परमेश्वरलाई धन्यवाद नदिई सकिनँ। कुटेर नमारिनु पनि पूर्ण रूपमा परमेश्वरकै सुरक्षा थियो।
त्यो साँझ ७ बजेपछाडि, तिनीहरूले मलाई थुना घरमा लिएर गए अनि चेतावनी दिए, “फर्केर गएपछि तैँले कसैलाई पनि हामीले तँलाई कुट्यौँ भनेर भन्लास्। भनिस् भने, अर्कोपटक प्रश्न गर्दा झन् कडाइ गर्नेछौँ।” बोल्दै गर्दा, तिनीहरूले तौलिया उठाए र मेरो पाइन्टको धूलो पुछिदिए, लुगा र कपाल मिलाइदिए, अनि भिजेको तौलियाले मेरो अनुहार सफा गरिदिए। मलाई कोठरीमा ल्याएपछि, तिनीहरूले गार्डहरूलाई मेरो मुटुमा अचानक समस्या भएकोले म बिरामी छु भन्दै झूट बोले। मलाई अत्यन्तै रिस उठ्यो। तिनीहरू अत्यन्तै घृणित र लाज पचेका थिए! कोठरीमा म हलचल गर्न नसकेर ओछ्यानमा पस्रिरहेँ। मेरो टाउकोमा यति चोट परेको थियो कि मैले छुन पनि आँट गरिनँ र मेरो देब्रे कानले सुन्नै छोडेको रहेछ। मेरो मुख सुनिएर खोल्नै नहुने भएको थियो र मेरा गाला कालो-नीलो भएका थिए। मेरो शरीरभरि, खुट्टाभरि चोटैचोट थिए, र मेरो छातीमा मुड्कीले हानेको स्पष्ट निलो डाम थियो। मेरो देब्रे कुम खुस्किएको थियो, त्यसकारण मैले दाहिने हातले यसलाई थाम्नुपर्थ्यो। पछि परीक्षण गर्दा मेरो छातीका धेरैवटा हड्डी भाँचिएका रहेछन् र ढाडको हड्डी पनि खुस्किएको रहेछ। मलाई सीधा सुत्न र विशेष गरी सीधा बस्न डर लाग्थ्यो; लामो सास फेर्दा मेरो मुटु र छातीमा सिसाका टुक्राहरूले घोचेजस्तो लाग्थ्यो। एकदमै बिस्तारै सास फाल्दा पीडा अलिक कम हुन्थ्यो। जेलका डाक्टरले मलाई त्यो अवस्थामा देखेर, कैदीहरूलाई मैले अझै सास फेरिरहेकी छु कि छैन भनेर राती हरेक दुई घण्टामा मेरो नाक जाँच गर्नू भनेर अह्राए। सुधार अफिसरहरूले हरेक दिन बिहान काममा आउँदा सुरुमा म मरेँ कि मरिनँ भनेर सोध्थे। मैले दुई दिनसम्म केही खाइनँ र पिइनँ अनि जेल-कोठरीका सबैले म कुनै पनि हालतमा बाँच्दिनँ भन्ने सोचेका थिए। राती गार्ड गर्ने केही कैदीहरूले खासखुस गरेका सुनेँ। एक जनाले भने, “तिनीहरूले उसलाई उपचार गराउँदैनन् अनि उनको परिवारलाई जानकारीसमेत दिएका छैनन्। मलाई लाग्छ, उसले यहाँ मृत्यु पर्खिरहेकी छे।” अर्कोले भने, “सुधार अधिकारीले भनेको, हत्यारा, आगजनी गर्ने, र वेश्याहरू सबै जना पैसा तिरेर रिहाइ हुन सक्छन्, तर सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरू मात्रै बाहिर निस्कन सक्दैनन्। ऊ एक-दुई दिन मात्रै बाँच्छे।” तिनीहरूले यसो भनेको सुन्दा निकै नरमाइलो लाग्यो। “के म साँच्चै यहाँ यसरी नै मर्न लागेकी छु? मैले अझै परमेश्वरको महिमाको दिन देखेकी छैनँ। यदि म यो ठाउँमा मरेँ भने, दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा हुनेछैन, र मेरी छोरीलाई पनि थाहा हुनेछैन।” छोरीको सम्झनाले म साह्रै दुःखी भएँ, र मैले आँसु रोक्न सकिनँ। मृत्युको मुखमा, मेरो साथमा कुनै परिवार, कुनै दाजुभाइ-दिदीबहिनी थिएन। यसबारे जति सोचेँ त्यति नै पीडा भयो, र परमेश्वरलाई पुकार्नुबाहेक मैले केही पनि गर्न सकिनँ। त्यसपछि, मैले ती दुई कैदीले यसो भनेका सुनेँ, “ऊ साँच्चै यहीँ मरी भने के हुन्छ?” अर्कोले यस्तो प्रतिक्रिया दिए, “सबैभन्दा फोहोर र फाटेको तन्नाले त्यसलाई बेर्ने, र खाडलमा हालेर पुरिदिने।” यो सुन्दा मेरो आत्मा निकै कमजोर बन्यो। म शारीरिक रूपमा शिथिल अवस्थामा पुगिसकेकी थिएँ, र त्यसमाथि त्यस्तो चरम भावनात्मक कष्ट र निराशाले गर्दा, मलाई मुटुमा अझै धेरै पीडा भइरहेको थियो—मलाई त्योभन्दा त बरु मर्नु नै जाती जस्तो लाग्यो। परमेश्वरलाई के भन्ने मलाई थाहा थिएन, त्यसकारण मैले तुरुन्तै परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, मलाई बचाउनुहोस्! बिन्ती छ मलाई सहायता गर्नुहोस्! मलाई विश्वास र साहस दिनुहोस्, ताकि म यसलाई जित्न सकूँ। हे परमेश्वर, यसपछि के हुने हो मलाई थाहा छैन, तर मेरो जीवन र मृत्यु तपाईंकै हातमा छ भन्ने मलाई थाहा छ।” त्यही बेला, मेरो मनमा परमेश्वरका वचनहरू गुञ्जिए: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्वरप्रति विश्वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्)। मैले साँच्चै प्रोत्साहन पाएँ, र परमेश्वर स्वयम् मेरो छेउमा हुनुहुन्छ र मलाई सान्त्वना र बल दिइरहनुभएको छ जस्तो लाग्यो। परमेश्वरको सुसमाचार प्रचार गर्दा शहीद भएका युगौँयुगका ती सबै सन्तहरूबारे पनि मैले सोचेँ, र आज पनि, धेरै जना दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरको राज्यको सुसमाचार सुनाउन आफ्नो ज्यान दिएका छन्। तिनीहरूको मृत्युको अर्थ र मूल्य छ, र तिनीहरूलाई परमेश्वरले सम्झनुहुन्छ। परमेश्वरमा विश्वास गरेको र आफ्नो कर्तव्य पूरा गरेको कारण मलाई पक्राउ गरिएको थियो। मलाई सताएर मारिएको भए पनि, त्यो धार्मिकताको निम्ति हुनेथियो र महिमित कुरा हुनेथियो। म त्यो दिन जिए पनि वा मरे पनि, म परमेश्वरको निम्ति गवाहीको रूपमा खडा हुनेथिएँ, र म मरे पनि, मेरो जीवन व्यर्थ हुनेथिएन। यो सोच्दा मलाई धेरै शान्त महसुस भयो, अनि त्यति धेरै उदास र असहाय महसुस गरिनँ। मैले फेरि प्रार्थना गरेँ: “हे परमेश्वर, मृत्युको कालो बादल मेरै अघि मडारिरहेको छ। यो आयो भने पनि, म तपाईंका बन्दोबस्तमा समर्पित हुन तयार छु। यदि म यसबाट बाँचे भने, अझै तपाईंलाई सन्तुष्ट पार्न सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नेछु। म आफैलाई पूर्ण रूपले तपाईंमा अर्पण गर्नेछु र अन्त्यसम्मै समर्पित हुनेछु।” त्यो प्रार्थनापछि मैले शान्तिको आभास प्राप्त गरेँ। मलाई उप्रान्त मृत्युको डरले विवश पारेन र मेरो शारीरिक पीडा पनि कम भयो। त्यसरी मैले एक दिन बिताएँ, त्यसपछि दुई दिन, अनि तीन दिन बिताएँ…। म अझै मरिनँ! यो पूर्ण रूपमा परमेश्वरकै अनुग्रह र सुरक्षा हो भन्ने कुरा मलाई राम्ररी थाहा थियो।
तीन दिनपछि राष्ट्रिय सुरक्षा ब्रिगेडका मानिसहरू मलाई थप प्रश्न गर्न आए। कोठरीको ढोका खोल्नुभन्दा पहिले नै सुधार अफिसरले चिच्याउँदै मेरो नाम लिएको मैले सुनेँ। त्यो बेला मेरो अवस्था अत्यन्तै खराब थियो, र त्यो सुन्नेबित्तिकै अरू सबै कैदीहरूले उभिएर एकैचोटि यसो भन्दै होहल्ला गर्न थाले, “उसको अवस्था यस्तो छ अनि तपाईंले अझै उसलाई प्रश्न गर्न चाहनुहुन्छ? तपाईंहरू साँच्चै क्रूर मानिसहरू हुनुहुन्छ। यसरी कुटेर यस्तो अवस्थामा पुर्याएपछि पनि उसलाई सोधपुछ गर्ने?” त्यहाँ ६० जना जति मानिस थिए, र तिनीहरूमध्ये धेरै जना क्रोधित भएर मेरो पक्षमा बोलिरहेका थिए। सबै कोठरी होहल्लाले भरिए। यो देख्दा, पुलिसले मलाई सोधपुछ नगर्ने निर्णय गर्यो। परमेश्वरको सुरक्षाको लागि कृतज्ञ हुँदै मैले भावुक भएर आँसु झारेँ। पछि मुख्य कैदीले समेत यसो भने, “म यहाँ बसेको दुई वर्ष भयो र मैले यस्तो कहिल्यै देखेकी छैनँ।” परमेश्वरले मेरो हेरचाह गर्न पर्दापछाडि काम गरिरहनुभएको छ अनि मलाई मदत गर्न र त्यो प्रहार सहन मानिसहरू, घटना, र अवस्थाको बन्दोबस्त गरिरहनुभएको छ भन्ने मलाई थाहा थियो। मैले परमेश्वरलाई धन्यवाद दिएँ!
केही समयसम्म, मेरो सारा शरीर यति साह्रो दुखेको थियो कि म राती सुत्नै सक्दिनथिएँ, त्यसकारण म परमेश्वरका वचनहरू मनन गर्थें। एकपटक मलाई “पत्रुसको परमेश्वरप्रतिको प्रेम” शीर्षकको भजन याद आयो, जुन पत्रुस सबैभन्दा कमजोर अवस्थामा हुँदा तिनले परमेश्वरलाई गरेको प्रार्थना सम्बन्धमा रहेको छ: “हे परमेश्वर! तपाईंलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, म तपाईंलाई सधैँ सम्झन्छु। तपाईंलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, म तपाईंलाई प्रेम गर्न चाहन्छु, तर मेरो कद निकै सानो छ, म निकै कमजोर र शक्तिहीन छु, मेरो प्रेम अत्यन्तै सीमित छ र तपाईंप्रतिको मेरो इमानदारिता अत्यन्तै थोरै छ। तपाईंको प्रेमको तुलनामा, म जिउनसमेत योग्य छैनँ। मेरो जीवन व्यर्थ नहोस्, र मैले तपाईंको प्रेमको ऋण तिर्न मात्र होइन, मसँग भएका सबै कुरा तपाईंमा समर्पित गर्न सकूँ भन्ने मात्र मेरो कामना छ। यदि मैले तपाईंलाई सन्तुष्ट पार्न सकेँ भने, सृष्टि गरिएको प्राणीको रूपमा म मनमा शान्ति पाउनेछु र अरू केही पनि माग्नेछैनँ। अहिले म कमजोर र शक्तिहीन भए पनि, म तपाईंका अर्तीहरूलाई बिर्सनेछैनँ, र म तपाईंको प्रेमलाई बिर्सनेछैनँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। त्यो भजनले मेरो हृदय अत्यन्तै छोयो। निर्दयी रूपमा यातना दिइएको त्यस अवधिमा, जब मलाई कमजोरी र पीडा महसुस हुन्थ्यो, परमेश्वरलाई प्रार्थना र उहाँमा भरोसा गर्दा, उहाँले मलाई आफ्ना वचनहरूद्वारा अन्तर्दृष्टि दिनुभयो र अगुवाइ गर्नुभयो अनि मलाई उम्कने बाटो दिनुभयो। मेरो हेरचाह र रक्षा गर्दै परमेश्वर मेरो साथमा रहनुभएको थियो। त्यस्तो वातावरणको अनुभव गरेपछि मैले परमेश्वरको सर्वशक्तिमान्ता र नियमलाई देखेँ, र उहाँमाथिको मेरो विश्वास वृद्धि भयो। परमेश्वरलाई विरोध गर्ने र मानिसहरूलाई नष्ट गर्ने ठूलो रातो अजिङ्गरको शैतानी सारलाई मैले साँचो रूपमा देखेँ—मैले त्यसलाई हृदयदेखि नै इन्कार गरेँ र त्यागेँ, अनि आफ्नो हृदय परमेश्वरतर्फ फर्काएँ। परमेश्वरले मलाई शैतानका शक्तिहरूबाट त्यस्ता व्यावहारिक तरिकामा बचाउनुभयो। परमेश्वरप्रति कृतज्ञताले भरिएर मैले यसरी प्रार्थना गरेँ, म बाँचे पनि मरे पनि, आफ्नो सारा जीवन उहाँलाई दिएर उहाँले जे बन्दोबस्त गर्नुहुन्छ त्यसलाई स्वीकार गर्न तयार छु। मर्नु नै परे पनि, म परमेश्वरलाई अन्त्यसम्मै पछ्याउनेछु! त्यस क्षणदेखि, मैले हृदयमा के महसुस गरेँ भने, म कुनै पनि कुराविना बाँच्न सक्छु—तर परमेश्वरबाट टाढा हुन सक्दिनँ। परमेश्वरका वचनहरू विचार गर्ने क्रममा, मैले आफ्नो हृदय उहाँको नजिक हुँदैछ भन्ने महसुस गर्न सकेँ। परमेश्वरको हेरचाह र सुरक्षाद्वारा, मेरो घाउको कारण सुनिएका भाग एकदमै चाँडो निको भए, सास फेर्दा मुटु त्यति धेरै दुख्दैनथियो, र एक हप्तापछि भित्ताको आडमा म उठ्न सक्ने भएँ। जेलका सबै जना छक्क परे, र भने, “हेर त, उसले पक्कै पनि साँचो परमेश्वरमा विश्वास गरेकी रहिछे!” ती सबै परमेश्वरको महान् शक्तिले गर्दा भएको हो, र उहाँले मलाई मृत्युको मुखबाट फर्काएर नयाँ जीवन दिनुभएको छ भन्ने मलाई थाहा थियो। परमेश्वरले मलाई दिनुभएको मुक्तिको लागि मैले उहाँलाई हार्दिक धन्यवाद दिएँ!
थुना घरमा चार महिना बन्दी भएपछि, कम्युनिस्ट पार्टीले मलाई सामाजिक सुव्यवस्था भङ्ग गरेको आरोपमा एक वर्ष श्रम सुधारको सजाय दियो। रिहाइ हुँदा, पुलिसले मलाई यसो भनेर चेतावनी दियो, “यदि तँ धार्मिक क्रियाकलापमा सहभागी भएको आरोपमा पक्राउ परिस् भने, अझ ठूलो सजाय पाउनेछस्।” तर म तिनीहरूको कुराले पछि हटिनँ। मैले हृदयदेखि परमेश्वरलाई प्रार्थना गरेँ, “यसपछि मैले जति धेरै दमन वा कठिनाइ सहनुपरे पनि, म तपाईंलाई सदासर्वदा पछ्याउनेछु!”