२३. मैले परमेश्वरको गवाही दिन कसरी सिकेँ
गत वर्षको जून महिनामा, मलाई मलजल गर्ने डिकनको रूपमा छनौट गरिएको थियो, र परमेश्वरको आखिरी दिनहरूको कामलाई भर्खरै स्वीकार गरेका मानिसहरूलाई मलजल गर्ने कामको इन्चार्ज बनाइएको थियो। मैले मनमनै सोचेँ, “मैले मेरो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ र परमेश्वरको प्रेमको ऋण तिर्नुपर्छ।” सुरुमा, काममा मैले धेरै कठिनाइहरू भोगेँ: केही दाजुभाइ-दिदीबहिनीहरू काममा व्यस्त भएर नियमित रूपमा भेलाहरूमा सहभागी हुँदैनथे; कति त धार्मिक वृत्त र चिनियाँ कम्युनिस्ट पार्टीको निन्दाको बहकाउमा परेर भेलाहरूमा सहभागी हुन अनिच्छुक भएका थिए; र कतिचाहिँ आफ्नो परिवारको वाधाको कारण नकारात्मक र कमजोर भएका थिए र आफ्नो कर्तव्य पूरा गर्न सक्दैनथे। यी कुराहरूको बारेमा विचार गर्दा मलाई निकै तनाव भयो। यी दाजुभाइ-दिदीबहिनीहरूले सत्यतालाई बुझ्न सकून् र साँचो मार्गमा जरा गाड्न सकून् भनेर तिनीहरूलाई राम्ररी मलजल गर्नको लागि, धेरै काम गर्नुपर्थ्यो। त्यो बेला, मैले परमेश्वरसँग प्रार्थना गरेँ, परमेश्वरमा नै भरोसा गरेँ, र तिनीहरूका समस्या र कठिनाइहरू समाधान गर्न सत्यताको खोजी गरेँ। केही समयपछि, तिनीहरूमध्ये धेरैले सामान्य रूपमा नै भेलाहरूमा सहभागिता जनाउन थाले, र तिनीहरूमध्ये कतिले आफ्नो कर्तव्य पूरा गर्नुको अर्थ जाने, त्यसैले तिनीहरूले आफ्नो क्षमताअनुसार सर्वोत्तम कर्तव्यहरू ग्रहण गरे। जब मैले यी नतिजाहरू देखेँ, म अत्यन्तै खुशी भएँ, र आफ्नै तारिफ नगरी बस्न सकिनँ, र सोचेँ “म यो काममा पक्कै राम्रो छु। नत्र मैले यस्तो राम्रो नतिजा कसरी हासिल गर्न सक्थेँ र?” त्यसपछि, मैले दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्यमा सामना गरेका समस्या र कठिनाइहरूका बारेमा कुरा गरेको सुन्दा, थाहै नपाई मैले म तिनीहरूभन्दा राम्रो र बढी अनुभवी छु भनी प्रदर्शन गर्न थालेँ।
एकपटक, नयाँ विश्वासीहरूलाई मलजल गर्न भर्खरै सुरु गरेका केही सिस्टरहरूसँगको भेलामा, तिनीहरूले कतिपय नयाँ विश्वासीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको उन्माद दमन र पक्राउको सामना गरेको, र नकारात्मक, कमजोर, कायर र भयभीत अनुभव गरेको कुरा बताए। ती सिस्टरहरूलाई यो कुरा समाधान गर्न कसरी सङ्गति गर्ने थाहा थिएन। मैले मनमनै सोचेँ, मैले भर्खरै यी समस्याहरू समाधान गरेकी र केही नतिजाहरू हासिल गरेकी हुनाले, मैले यी कुराहरू समाधान गर्न कसरी सत्यतामा सङ्गति गरेँ भनी तिनीहरूलाई बताउने, र मैले सत्यतालाई सबैभन्दा राम्ररी बुझेकी छु र म सबैभन्दा योग्य कर्मचारी हुँ भनी तिनीहरूलाई देखाउने यो राम्रो मौका हो। त्यसकारण मैले निर्धक्कसाथ भनेँ, “हालै, मैले यस्तै स्थितिमा हुनुभएका केही दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्ने काम गरेकी थिएँ। त्यो बेला म अत्यन्तै चिन्तित भएकी थिएँ, त्यसैले उहाँहरूलाई राम्ररी मलजल गर्न, मैले उहाँहरूसित धेरै भेलाहरू गरेँ, र उहाँहरूको स्थितिप्रति लक्षित परमेश्वरको वचन पढेँ र सत्यतामा सङ्गति गरेँ। मैले त्यहाँ जाँदा-आउँदा ५० किलोमिटरभन्दा बढी दूरी बाइक चढ्नुपर्थ्यो। केही समय मलजल गरिसकेपछि, उहाँहरूले परमेश्वरको काम, सर्वशक्तिमान्ता, र बुद्धिको बारेमा केही ज्ञान प्राप्त गर्नुभयो, परमेश्वरले ठूलो रातो अजिङ्गरलाई आफ्नो कामको प्रतिभारको रूपमा प्रयोग गर्नुको महत्त्व बुझ्नुभयो, र परमेश्वरप्रति उहाँहरूको आत्मविश्वास बढ्यो। उहाँहरूले त्यसउप्रान्त चिनियाँ कम्युनिस्ट पार्टीको सतावटको बाधा अनुभव गर्न छोड्नुभयो, र परमेश्वरको कामको गवाही दिन सुसमाचार फैलाउनसमेत चाहनुभयो…।” मैले सङ्गति गर्ने क्रममा, सिस्टरहरूले छक्क परेर मलाई हेरिरहे। मलाई सन्तुष्टिको अनुभव भयो, र बोल्दै गर्दा उत्साहको महसुस गरेँ। मेरो सङ्गति सकिएपछि, एकजना सिस्टरले उत्साहित हुँदै भनिन्, “तपाईंसँग धेरै अनुभव भएको हुनाले, तपाईंले समस्यालाई राम्ररी बुझ्न सक्नुहुन्छ। म भए त पूर्ण रूपमा अन्योलमा हुनेथेँ।” अर्की सिस्टरले डाहा गर्दै भनिनन्, “यी समस्याहरू समाधान गर्न तपाईंलाई अत्यन्तै सजिलो छ। तपाईंसँग थप कुनै राम्रो अनुभव भए, हामीसँग सङ्गति गर्नुहोस् न, ताकि हामीले तपाईंबाट सिक्न सकौं।” तिनीहरूको तारिफ सुनेपछि म निकै खुशी भएँ। मैले मेरो कामको नतिजा पूर्ण रूपमा परमेश्वरको अगुवाइबाट आएको हो, मेरो आफ्नै प्रयासबाट आएको होइन भनेर बताए पनि, मनमा चाहिँ यी नतिजाहरूको लागि कष्ट भोग्ने र मूल्य चुकाउने व्यक्ति म पो हुँ त भन्ने लाग्यो। त्यसपछि त मलाई झन्झन् बढी प्रदर्शन गर्न मन लाग्यो। एउटा भेलामा, नयाँ विश्वासीहरूलाई मलजल गर्ने आफ्नो काममा राम्रो नतिजा नआएको हुनाले, एकजना सिस्टर नकारात्मक अवस्थामा थिइन्, र उनले धेरै वटा कठिनाइहरूका बारेमा कुरा गरिन्। मैले सोचेँ, “मैले यिनै कठिनाइ र कमजोरीहरू भोगेकी छु भनेर कुरा गरेँ भने, के अरूले मलाई कम आँक्नेछैनन् र? म उनको कामको लागि जिम्मेवार छु, त्यसैले म उनलाई मेरो सफलताका अनुभवहरू सुनाउँछु, र मैले यस्ता फरक-फरक कठिनाइहरूको सामना गर्दा ती समस्या समाधान गर्न मैले कसरी सत्यता सङ्गति गरेँ सो तिनीहरूलाई देखाउँछु। त्यसरी, मैले उनका समस्याहरू पनि समाधान गर्नेछु र अरूलाई उच्च नजरले मलाई हेर्ने पनि बनाउनेछु।” यसबारेमा विचार गरिसकेपछि, मैले मेरा कमीकमजोरी र दुर्बलताहरूका बारेमा कुरा गरिनँ बरु तिनीहरूलाई म मेरो कर्तव्य पूरा गर्नमा कति प्रभावकारी छु भनेर धाक लगाएँ। मैले भनेँ, “यो अवधिमा, मैले पाँच जना दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गरेँ र साथ दिएँ। तिनीहरू नियमित रूपमा भेलाहरूमा आउँदैनथे—कतिसँग धेरै धार्मिक धारणाहरू भएकाले आउँदैनथे, कतिले पैसाको लालच गर्ने भएर आउँदैनथे, र कति भने घरका समस्याहरूको कारण कमजोर र नकारात्मक भएकाले आउँदैनथे। म तिनीहरूकहाँ एकएक गरी गएँ, केही कठिनाइहरू पार गरेँ, परमेश्वरका धेरै वचनहरूको खोजी गरेँ, र समस्याहरू समाधान गर्न तिनीहरू प्रत्येकसँग सङ्गति गरेँ, अनि मात्रै तिनीहरूले सत्यता बुझे, आफ्ना धारणाहरू त्यागे, भेलाहरूमा नियमित रूपमा आउन थाले, र स्वेच्छाले कर्तव्यहरू ग्रहण गर्न थाले। एक जना ब्रदर, अत्यन्तै प्रतिभावान् व्यक्ति थिए, जो सांसारिक हैसियत र ख्यातिको पछि लाग्ने हुँदा बिरलै भेलाहरूमा आउँथे। तिनलाई सहयोग गर्ने प्रक्रियामा मैले धेरै कठिनाइ भोगेँ, तर मैले परमेश्वरमा भरोसा गरेँ, तिनलाई परमेश्वरको वचन पढेर सुनाएँ र परमेश्वरको इच्छाको बारेमा सङ्गति गरेँ। मेरो कुरा सुनिसकेपछि, यी ब्रदरले परमेश्वरका विश्वासीहरूको लागि सत्यताको खोजी गर्नुको मूल्य बुझे, प्रतिष्ठा र हैसियतको पछि लाग्नु खोक्रो कुरा हो भनेर देख्न सके, र तिनी सत्यताको खोजी गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्न इच्छुक बने।” मेरो सङ्गतिपछि, मैले सिस्टरहरूको अनुहारमा सराहना र स्नेहको भाव देखेँ, र तिनीहरूले मेरो सङ्गतिको दौरान परमेश्वरको वचनका खण्डहरू हतारहतार टिपोट गरे। एक जना सिस्टरले भावुक हुँदै भनिन्, “तपाईंले तिनीहरूका समस्या समाधान गर्न सत्यताको प्रयोग गर्नुभयो, ताकि तिनीहरूले परमेश्वरको इच्छा बुझून्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न इच्छुक बनून्। यदि तपाईंसँग सत्यता वास्तविकताहरू नभएको भए तपाईंले त्यसो गर्न सक्नुहुन्नथ्यो।” अर्की सिस्टरले सराहना गर्दै भनिन्, “यदि मैले यी समस्याहरूको सामना गरेकी भए, म तिनलाई समाधान गर्न सक्नेथिइनँ। तपाईंसँग धेरै अनुभव छ, त्यसैले तपाईं यी समस्याहरू समाधान गर्न हामीभन्दा राम्रो हुनुहुन्छ।” त्यो बेला मैले केही न केही गलत छ भन्ने अनुभूति गरेकी थिएँ। के तिनीहरूले मेरो आराधना गरिरहेका थिएनन् र? मेरो सङ्गतिपछि, एक जना सिस्टर अलिक नकारात्मक भइन्, किनभने उनलाई आफ्नो क्षमता कम छ र उनी नयाँ विश्वासीहरूका समस्या समाधान गर्न सत्यता प्रयोग गर्न सक्दिनन् भन्ने लाग्थ्यो। मैले सोचेँ, “के मैले मेरो सफलताको अनुभवको बारेमा अति धेरै कुरा गरिरहेकी छु? के मैले तिनीहरूलाई मैले सामना गरिरहेका समस्याहरू मेरो लागि सरल र समाधान गर्न सहज छन् भनी सोच्ने तुल्याइरहेको छु, र के मैले तिनीहरूलाई मेरो बारेमा उच्च रूपमा सोच्न लगाइरहेको छु? प्रशंसा गर्नेहरू र प्रशंसा गरिनेहरू दुवैले दुर्भाग्य प्राप्त गर्नेछन्—के यस प्रकारको सङ्गति उचित हुन्छ थ?” तर त्यसपछि मैले सोचेँ, “मैले तिनीहरूलाई आफ्नै व्यवहारिक अनुभव बताइरहेकी छु, त्यसैले यो ठीकै छ।” त्यो बेला, मैले आफ्नो बारेमा निरन्तर मनन गरिनँ, र त्यो कुरा त्यतिकै सकियो। पछि, मैले मलजल गर्ने दुई जना सिस्टरहरूलाई तिनीहरूको कामको बारेमा बुझ्न भेटेँ। म पुग्नेबित्तिकै, एक जनाले हर्षित हुँदै भनिन्, “धन्न तपाईं यहाँ आउनुभएछ। यहाँ हामीकहाँ केही दाजुभाइ-दिदीबहिनीहरू समस्या लिएर आएका छन् र ती समस्या कसरी समाधान गर्ने हामीलाई थाहा छैन। तीबारेमा हामीसँग कुरा गर्नुहोस् न।” उनको आँखाको हर्षित हाउभाउले मलाई उत्साहित र चिन्तित दुवै तुल्यायो। उनले मलाई आदरको साथ हेरेको देख्दा म उत्साहित थिएँ, तर मैले मेरो काममा कसरी नतिजाहरू हासिल गरेँ भनेर सधैँ कुरा गरेकी हुनाले तिनले मलाई आराधना गरेकी हुन् कि भनी म चिन्तित थिएँ। त्यसपछि मैले सोचेँ, “म तिनीहरूलाई अभ्यासको मार्ग दिन सधैँ मेरो सफलताको बारेमा कुरा गर्छु, र यो समस्या समाधान गर्न सत्यता सङ्गति गर्नु हो। यसबाहेक, म मेरो वास्तविक समस्याहरूका बारेमा मात्रै कुरा गर्छु, बढाइचढाइ गर्दिनँ।” त्यसैले, मैले फेरि पनि मेरो सफलताको अनुभव सङ्गति गर्ने कार्यलाई नै निरन्तरता दिएँ। तिनीहरूले सधैँको जस्तै आदर र डाहाको साथ प्रतिक्रिया दिन्थे, र म अत्यन्तै खुशी हुन्थेँ।
त्यसपछि, हरेक भेलामा, मैले मेरो कर्तव्यमा कसरी कष्ट भोगेँ र मूल्य चुकाएँ, समस्याहरू समाधान गर्नको लागि मैले कसरी सत्यता सङ्गति गरेँ, र मेरो हरेक सफलताका उदाहरणहरू बताएँ। क्रमिक रूपमा, मेरा सबै दाजुभाइ-दिदीबहिनीहरूले मेरो आराधना गर्न थाले, आफ्ना सबै समस्या समाधान गर्नको लागि तिनीहरू मेरै प्रतीक्षा गर्थे, र आफूलाई आदर र आराधना गरिएकोमा मलाई धेरै आनन्द लाग्थ्यो। भेलाबाट घर फर्किँदै गर्दा, मलाई दाजुभाइ-दिदीबहिनीहरूले कसरी प्रशंसा र आराधना व्यक्त गरे भन्ने कुरा याद आयो, र मलाई अत्यन्तै गर्व लाग्यो। मलाई धेरैले आदर र सम्मान गरेको कारण मलाई मेरो कर्तव्यप्रति उत्प्रेरणा मिल्यो। तर आराधना गरिँदाको आनन्दमा डुब्दै गर्दा, मैले अनपेक्षित काटछाँट र निराकरणको सामना गरेँ।
एक दिन, मण्डली अगुवाले मकहाँ आएर भन्नुभयो, “मैले दाजुभाइ-दिदीबहिनीहरूलाई यो मण्डली निर्वाचनमा तपाईंको बारेमा मूल्याङ्कन गर्न अनुरोध गरेको थिएँ, र तपाईं आफ्नो प्रदर्शन गर्न मन पराउनुहुन्छ भनेर सबैले भन्छन्।” यो कुरा सुन्दा, मेरो अनुहार लाजले रातो भयो। मैले सोचेँ, “मैले आफ्नो प्रदर्शन गर्न मन पराउँछु भनेर तिनीहरू सबैले कसरी भन्न सके? अगुवाले मलाई के सोच्नुहोला? मैले फेरि कसरी मुख देखाउने?” मलाई आफ्नो कुरा राख्न हम्मे-हम्मे भयो, “म अलिक अहङ्कारी छु, र म स्वीकार गर्छु कि कहिलेकहीँ अनजानमै म प्रदर्शन गर्न पुग्छु, तर म जानीजानी आफ्नो प्रदर्शन गर्दिनँ। म भेलाहरूमा, मेरो आफ्नै अनुभवको मात्रै कुरा गर्छु।” मेरो अगुवाले मैले आफूलाई चिनेकी छैन भन्ने देख्नुभयो, र भन्नुभयो, “तपाईंले आफ्नै अनुभवको बारेमा कुरा गर्नुहुन्छ, तर किन दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरमा भरोसा गर्दै सत्यताको खोजी गर्नुको सट्टा तपाईंमा भरोसा र तपाईंको आदर गर्छन्? तपाईंले जानीजानी प्रदर्शन गर्दिनँ भनेर भन्नुहुन्छ, तर तपाईंले किन आफ्नो भ्रष्टता, त्रुटि, नकरात्मकता, कमजोरी वा भित्री वास्तविक विचारहरूको बारेमा कुरा गर्नुहुन्न? तपाईंले असल पक्षको मात्रै कुरा गर्नुहुन्छ, आफ्नो भ्रष्टता वा कमजोरीको कुरा गर्नुहुन्न। यसबाट तपाईंलाई आफूले सत्यताको खोजी गरेको र कसरी अनुभव गर्ने आफूलाई थाहा भएको भान हुन्छ। के त्यो आफैलाई उचाल्नु र प्रदर्शन गर्नु होइन र?” मेरो अगुवाले जे कुराको खुलासा गर्नुभयो त्यसको मसँग कुनै उत्तर थिएन। भेलाहरूमा, मैले मेरो सफल अनुभवको बारेमा मात्रै कुरा गर्थेँ, तर कर्तव्यको दौरान आफूले भोगेका विचलन र असफलताहरूको कुरा कहिल्यै खोल्दिनथेँ। मैले साँच्चै नै आफ्नो प्रदर्शन गरिरहेकी थिएँ। धेरै दाजुभाइ-दिदीबहिनीहरूको अघि कसरी मैले आफ्नो प्रदर्शन गरेकी थिएँ, र अहिले आएर कसरी तिनीहरू सबैले मेरो असली रूप चिने भनेर सोच्दा, मलाई यति लाज लाग्यो कि मलाई जमिनमै बिलाऊँझैँ लाग्यो। यसबारे जति विचार गर्थेँ, म त्यति नै व्याकुल हुन्थेँ, म नरोई बस्न सक्दिनथेँ। म घुँडा टेकेर परमेश्वरको अघि आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, म अबदेखि आफ्नो प्रदर्शन गर्न चाहँदिनँ। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्, ताकि मैले आफूलाई मनन गर्न र चिन्न सकूँ।”
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्च ठानून् र आराधना गरून् भन्ने प्रयासगर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र आफूबारे गवाही दिन्छन्? तिनीहरूले मानिसलाई आफूलाई उच्च ठान्न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति धेरै मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्, जसले तिनीहरूलाई मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ, ताकि अझ धेरै मानिसहरूले तिनीहरूलाई कदर गरून्, उच्च ठानून्, प्रशंसा गरून्, साथै आराधना गरून् र आदरभावले हेरून् र अनुसरणसमेत गरून्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्वरको गवाही दिएजस्तो देखिने तर आधारभूत रूपमा आफैँलाई उच्च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्नु उचित हो त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन, अर्थात्, तिनीहरू तिनीहरूले परमेश्वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूबारे बढाइ गर्ने र गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष बदल्छन् र आफूलाई प्रस्तुत गर्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्ने र संगति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधरण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरू आफैबारे बढाइ गर्ने र गवाही दिने तरिका होइन र? के आफूबारे बढाइ गर्ने र गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि कपट आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गर्न सकिन्न? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफ्नै गवाही दिन्छन्)। परमेश्वरको वचनले प्रकट गरेको कुराले मेरो हृदय छेड्यो। के मेरो व्यवहार यस्तै प्रदर्शन थिएन र? भेलाहरूमा, मैले आफ्नै कष्टको बारेमा र आफ्नो कर्तव्यका सफल नतिजाहरूबारे मात्रै कुरा गर्ने गरेकी थिएँ। जब दाजुभाइ-दिदीबहिनीहरूले आफूले समाधान गर्न नजानेका समस्याहरू सामना गर्थे, तब मैले सत्यता सङ्गति गरिनँ, तिनीहरूलाई परमेश्वरको इच्छा बुझ्न र आफ्नो कर्तव्यमा कसरी परमेश्वरमा भरोसा गर्ने भनी जान्न मदत गरिनँ। बरु, आफ्नै कष्ट र समस्या समाधान गर्ने क्षमताको बारेमा गवाही दिएँ। म सधैँ मानिसहरूलाई मलजल गर्न कति लामो यात्रा गर्थेँ र कति मूल्य चुकाउथें भन्ने बारेमा मात्रै कुरा गर्थेँ। कठिनाइहरूको सामना गर्दा मैले प्रकट गरेका कमजोरी वा त्रुटीहरूका बारेमा कहिल्यै कुरा गर्दिनथेँ। म सधैँ मैले कसरी बोझ उठाएँ, कसरी परमेश्वरको इच्छालाई बुझेँ, मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई समस्याहरू हुँदा त्यसलाई समाधान गर्न मैले कसरी सत्यताको खोजी गरेँ, वा मेरो मलजल र साथको कारण कति जनाले भेलाहरूमा सहभागिता जनाए र आफ्ना कर्तव्यहरू पूरा गरे भन्नेबारेमा मात्रै कुरा गर्ने गर्थेँ, ताकि मैले सत्यता बुझेकी छु र समस्याहरू समाधान गर्न पोख्त छु भन्ने अरूले सोचून्। तिनीहरूलाई सत्यता बुझ्न, विश्वास प्राप्त गर्न, र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक बन्न सहयोग गर्ने त अवश्य नै परमेश्वरको वचन नै थियो। यी त परमेश्वरको वचनले हासिल गरेका नतिजाहरू थिए। तर मैले परमेश्वरलाई उचाल्ने वा परमेश्वरको वचन र कामको गवाही दिने काम गरिनँ। मैले अरूलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूका समस्याहरू समाधान गर्ने व्यक्ति म नै हुँ भन्ने सोच्ने तुल्याएँ। मेरो अनुभव सुन्दा, यसबाट अरूलाई परमेश्वरको बारेमा ज्ञान मिलेन; बरु तिनीहरूले मेरो आराधना गरे। समस्याहरूको सामना गर्दा, तिनीहरूले परमेश्वरमा भरोसा गर्ने वा सत्यताको खोजी गर्ने गरेनन्। बरु, तिनीहरूले समाधान निकाल्न मेरो सङ्गतिको खोजी गर्थे। तिनीहरूले मलाई तिनीहरूको जीवन बचाउन सक्ने व्यक्तिको रूपमा हेर्थे। यदि यस्तै भइरहन्थ्यो भने, के मैले तिनीहरूलाई मेरै सामु ल्याइरहेकी हुँदिनथेँ र? तर पनि, मैले आफूलाई उचालिरहेकी छु वा आफ्नो प्रदर्शन गरिरहेकी छु जस्तो मलाई लागेन। मलाई अझै पनि मैले मेरो आफ्नै वास्तविक अनुभवको बारेमा छलफल गरिरहेकी छु जस्तो लाग्यो। मैले मेरा अनुभवहरूको बारेमा कुरा गर्दा मसँग घृणित अभिप्रायहरू भएको देखेँ। मैले मानिसहरूको हृदयमा उच्च स्थान प्राप्त गर्ने प्रयास गरिरहेकी थिएँ। यसबारे जति विचार गरेँ, मलाई त्यति नै आफू घृणित र तुच्छ लाग्यो। मैले मलजल गर्ने कर्तव्य सम्हाल्न पाउनु परमेश्वरको अनुग्रह थियो, र उहाँको इच्छा मैले समस्याहरू समाधान गर्न उहाँका वचनहरू सङ्गति गर्न सकूँ, मानिसहरूलाई डोर्याएर परमेश्वरसामु ल्याउन सकूँ, र तिनीहरूलाई सत्यता बुझ्न र परमेश्वरलाई चिन्न सहयोग गर्न सकूँ भन्ने थियो। मैले मानिसहरूले मलाई आराधना गरून् भनेर निरन्तर आफ्नो प्रदर्शन गरेँ। मैले पवित्र आत्माको कामका प्रभावहरूलाई मेरो आफ्नै श्रमका प्रभावहरूको रूपमा हेरेँ, र धाक लगाउनको लागि तिनलाई पूँजीको रूपमा प्रयोग गरेँ। मैले परमेश्वरको महिमा चोरेँ र दाजुभाइ-दिदीबहिनीहरूको आदर र आराधनाको आनन्द लिएँ, र मलाई अलिकति पनि लाज लागेन। मसँग अलिकति पनि विवेक र तर्क-शक्ति थिएन! मैले लिएको गलत मार्गको बारेमा मनन गर्न र समयमै आफ्नो मार्ग सुधार गर्नको लागि अगुवाले मेरो काट-छाँट र निराकरण गर्नुभयो जुन मप्रतिको परमेश्वरको प्रेम र मुक्ति थियो! मैले अबदेखि परमेश्वरलाई चुनौती दिन र विरोध गर्न सक्दिनँ भन्ने थाहा भयो, र मैले हतारहतार पश्चात्ताप गर्नुपर्यो। मलाई परमेश्वरको वचनको एउटा खण्ड याद आयो: “अनुभवहरू बाँड्नु र तीबारे सङ्गति गर्नु भनेको परमेश्वरका वचनहरूसम्बन्धी तेरा अनुभव र ज्ञान सङ्गति गर्नु हो। यो तेरो हृदयमा भएको हरेक विचार, तेरो स्थिति, र तँभित्र प्रकट भएको भ्रष्ट स्वभाव व्यक्त गर्नु हो। यो अरूलाई यी कुराहरू देख्न दिनु र त्यसपछि सत्यता सङ्गति गरेर समस्या समाधान गर्नु हो। अनुभवहरू यसरी सङ्गति गर्दा मात्र हरेकले फाइदा लिन र फल प्राप्त गर्न सक्छ; यो मात्र साँचो मण्डली जीवन हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। परमेश्वरका वचनहरूलाई मनन गर्दा, मैले अनुभवसम्बन्धी सङ्गतिमा व्यक्तिगत अभिप्राय, महत्वाकांक्षा, र इच्छाहरू हुनु हुँदैन भन्ने बुझेँ। मैले मेरो मन खोलेर वास्तविक कुरा मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई बताउनुपर्छ। चाहे मेरो स्थिति सकारात्मक होस् कि नकरात्मक, मैले सधैँ मेरो साँचो स्थितिको बारेमा खुलेर बताउनुपर्छ, ताकि तिनीहरूले मेरो अनुभवबाट सकरात्मक कुरालाई ग्रहण गर्न र नकारात्मक कुरा चिन्न सिक्न सकून्, तिनीहरूले म पनि विद्रोही र भ्रष्ट छु, र नकारात्मक र कमजोर बन्न सक्छु भन्ने देख्न सकून्, र तिनीहरूले मलाई उच्च ठान्ने वा आदर गर्ने नगरून्। त्यसरी, मेरो अनुभवले तिनीहरूलाई पाठ सिकाउन र गलत मार्गमा लाग्नबाट रोक्न सक्छ। भोलिपल्टको भेलामा, मैले मेरो स्थितिको बारेमा छलफल गर्ने साहस पाएँ। मैले त्यो अवधिमा कसरी अरूलाई मेरो आदर गर्न लगाउनको लागि आफ्नो प्रदर्शन गरिरहेकी थिएँ, र मैले कसरी मनन गरेँ र आफूलाई चिन्न सकेँ सो कुराको चिरफार गरेँ र सबै कुरा स्पष्ट पारिदिएँ। मलाई त्यो भेलामा सुरक्षा र आनन्दको ठूलो अनुभूति भयो।
पछि, मैले एक जना सिस्टर अत्यन्तै निराश हुनुहुन्छ भन्ने सुनेँ। कुराकानीमा, उनले भनिन्, “भेलाहरूमा म सधैँ तपाईंका अनुभवहरू र तपाईंले अरूलाई कसरी प्रभावकारी रूपमा सहयोग गर्नुहुन्छ भन्ने सुन्छु, तर मसँग सत्यता वास्तविकताहरूको कमी छ, र मेरो क्षमता अत्यन्तै कमजोर छ। समस्याहरू उत्पन्न हुँदा, म तिनलाई समाधान गर्न सक्दिनँ। अत्यन्तै तनाव हुन्छ। म यो कर्तव्य सम्हाल्न सक्दिनँ।” उनको कुराले मलाई अत्यन्तै लज्जित महसुस भयो। मैले सोचेँ, “उनको नकारात्मकताको प्रत्यक्ष दोषी म नै हुँ। मैले मेरा कर्तव्यहरूमा परमेश्वरको बढाइ गरिनँ, मैले दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो जीवन प्रवेशमा भोगेका व्यवहारिक समस्याहरूलाई समाधान गरिनँ, र मैले सधैँ धाक लडाएँ र आफ्नो प्रदर्शन गरेँ, जसले गर्दा उनले गलत रूपमा मैले सत्यता बुझेकी छु र मसँग कद छ भन्ने ठानिन्। मैले मेरो गल्ती दोहोर्याउनु हुँदैन। मैले खुलेर उनको अघि आफूलाई खुलासा गर्नुपर्छ।” त्यसैले मैले उनलाई मेरो स्थिति र मैले यो अवधिमा कसरी आफ्नो प्रदर्शन गर्दै आएकी थिएँ भन्ने कुरा बताएँ। मैले उनलाई ममा पनि कमीकमजोरीहरू छन्, कठिनाइहरूको सामना गर्दा म पनि कमजोर हुन्छु, र मसँग वास्तवमा सत्यता वास्तविकताहरू छैनन्, मेरा कर्तव्यका नतिजाहरू पवित्र आत्माको काम र अगुवाइबाट आएका हुन्, र आफ्नै प्रयासले म केही पनि हासिल गर्न सक्दिनँ भनेर बताएँ। मेरी सिस्टरको मन छोयो र उनले भनिन्, “तपाईंको सङ्गतिले मलाई के महसुस गर्यो भने, म सत्यताको खोजी गर्दिनँ, मेरो हृदयमा परमेश्वरको लागि कुनै ठाउँ छैन, र म बाह्य प्रतिभाहरूलाई हेर्छु, अरूको आराधना गर्छु र यी सबै उपलब्धिहरू पवित्र आतामाको काम र अगुवाइबाट आउँछन् भनेर मैले बुझेकै छैन। म अबउप्रान्त मेरा समस्याहरूको माझमा नकारात्मक र कमजोर हुन चाहन्नँ। म परमेश्वरमा भरोसा गरेर मेरा कर्तव्यहरू पूरा गर्न चाहन्छु।” मेरी सिस्टरको यो कुरा सुन्दा, म अत्यन्तै खुशी भएँ।
त्यसपछि, मैले आफ्नो बारेमा मनन गर्न थालेँ। आफ्नो प्रदर्शन गर्नु परमेश्वरलाई विरोध गर्नु हो भन्ने मलाई थाहा भए पनि, किन मैले अझै पनि थाहै नपाई यो मार्ग लिएँ? के भएर यस्तो भयो? पछि, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि तिनीहरू मानिसहरूले तिनीहरूलाई सुनेको, पुजेको, र तिनीहरूको वरिपरि घुमेको मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृति चिरफार गरौँ। तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही काफी हुन्छ। तिनीहरूले परमेश्वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई स्वामित्वमा लिन र तिनीहरूको हृदयमा आफ्नो स्थान बनाउन चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरको वचनले प्रकट गरेको कुराबाट, मैले म दाजुभाइ-दिदीबहिनीहरूको सामु आफूलाई प्रदर्शन गर्न चाहन्थेँ र तिनीहरूलाई मेरो आदर र आराधना गर्ने बनाउन चाहन्थेँ किनभने म मेरो आफ्नै अहङ्कारी प्रकृतिको नियन्त्रणमा थिएँ भन्ने बुझेँ। मेरो प्रकृति अति अहङ्कारी भएकोले, मैले मेरो कर्तव्यमा केही नतिजाहरू प्राप्त गरेपछि, मैले आफैप्रति गर्व गर्न थालेँ। म उत्कृष्ट र उच्च छु भन्ने देखाउनको लागि, म भेलाहरूमा धाक लगाउँथेँ, र मेरो कामका उपलब्धिहरूको प्रदर्शन गर्थेँ। मेरा कठिनाइहरू, मेरा कमजोरीहरू, मेरो विद्रोहीपन र मेरो भ्रष्टताको बारेमा कुरा गर्दिनथेँ। दाजुभाइ-दिदीबहिनीहरूले मेरो प्रशंसा गर्दा, मलाई डर लाग्दैनथ्यो। बरु म त खुशी हुन्थेँ, र निर्लज्जतापूर्वक तिनीहरूको प्रशंसा र आराधनाको आनन्द लिन्थेँ। पावलले भेलाहरू र प्रचारहरूमा औधी नै आनन्द लिन्थे, पवित्र आत्माको कामका प्रभावहरूलाई आफ्नै पूँजीको रूपमा दाबी गर्थे, मानिसहरूलाई छल्न जहीँतहीँ आफ्नै प्रदर्शन गर्ने र रवाफ देखाउने गर्थे। तिनले सबै विश्वासीहरूलाई आफ्नै अघि ल्याए, र यसले गर्दा अहिले, २,००० वर्ष पछि पनि, सम्पूर्ण धार्मिक संसारले पावलकै आराधना र बढाइ गर्छ, तिनका वचनहरूलाई नै परमेश्वरको वचनको रूपमा लिन्छ, र तिनीहरूमा प्रभु येशूको ज्ञानको कमी छ। पावलसित अहङ्कारी, आत्म-धर्मी प्रकृति थियो, र परमेश्वरप्रति तिनमा कुनै आदर थिएन; तिनी परमेश्वरको विरोध गर्ने ख्रीष्टविरोधीको मार्ग हिँडे। तिनले मानिसहरूको हृदयमा परमेश्वरको स्थान लिए, परमेश्वरको धर्मी स्वभावलाई गम्भीर रूपमा उल्लङ्घन गरे, र परमेश्वरले तिनलाई दण्ड र श्राप दिनुभयो। के मेरो स्वभाव पावलको जस्तै थिएन र? म पनि अहङ्कारी, आत्म-धर्मी थिएँ, आफूलाई उचाल्न र प्रदर्शन गर्न, र आफ्नो वरिपरि मानिसहरू घुमेको मन पराउथें। नतिजास्वरूप, महिनौँमहिनाको मेरो “कार्य-प्रस्तुति” पछि, सबैले मलाई आदर र आराधना गर्थे, तर तिनीहरूको हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ थिएन। समस्याहरू आइपर्दा, तिनीहरूले परमेश्वरको सट्टा मलाई खोज्थे। के मैले परमेश्वरको विरोध गरिरहेकी र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गरिरहेकी थिइनँ र? के म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिइनँ र? त्यसपछि मात्रै मैले आफू खतरामा भएको र अहङ्कारी प्रकृतिको नियन्त्रणमा रहेको थाहा पाएँ। बारम्बार, मैले विनालाज आफ्नै प्रदर्शन गरेँ र आफ्नै बारेमा धाक लगाएँ, मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई छलेर मेरो आराधना गर्न लगाएँ, र कहिलेकहीँ मसँग घृणित अभिप्रायहरू हुन्थे र आफूलाई प्रदर्शन गर्न चलाकीहरू प्रयोग गर्थेँ। म अत्यन्तै तुच्छ थिएँ! यसबारेमा सोच्दा, मलाई आफैप्रति घिन र दिगदिग लाग्यो, र मैले अबदेखि आफ्नो प्रदर्शन कहिल्यै गर्नेछैन भनेर सङ्कल्प गरेँ।
त्यसपछि, मैले परमेश्वरका वचनहरू वाचन गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, अनि उहाँको पहिचान र हैसियत सर्वोच्च छ। परमेश्वरसँग अख्तियार, बुद्धि, र शक्ति छ, अनि उहाँसँग आफ्नै स्वभाव र आफ्नो सम्पत्ति र अस्तित्व छ। के कसैलाई परमेश्वरले मानवजाति र सारा सृष्टिका बीचमा कति वर्षदेखि काम गरिरहनुभएको छ भन्ने थाहा छ? परमेश्वरले काम गर्नुभएको र सारा मानवजातिलाई व्यवस्थापन गर्नुभएको ठ्याक्कै कति वर्ष भयो भन्ने कुरा अज्ञात छ; कसैले पनि ठ्याक्कै सङ्ख्या दिन सक्दैन, र परमेश्वर यी कुराहरूबारे मानवजातिलाई बताउनुहुन्न। तैपनि, यदि शैतानले यस्तो काम गर्यो भने, के यसले यसको बारेमा बताउनेथिएन र? अवश्य नै बताउनेथियो। यसले अझै धेरै मानिसहरूलाई बहकाउन र अझै धेरै मानिसहरूलाई यसको योगदानको बारेमा सचेत गराउनका लागि आफ्नो प्रदर्शन गर्न चाहन्छ। परमेश्वरले किन यी कुराहरूका बारेमा बताउनुहुन्न? परमेश्वरको सारको एउटा नम्र र गुप्त पक्ष छ। नम्र र गुप्त हुनुको विपरीत के हो? यो अहङ्कारी हुनु र आफूलाई देखाउनु हो। … परमेश्वरले मानिसहरूलाई उहाँको गवाही दिनुपर्छ भनेर माग गर्नुहुन्छ, तर के उहाँले आफ्नो गवाही दिनुभएको छ? (छैन।) अर्कोतर्फ, शैतानलाई यसले गरेको सानो कुराको बारेमा समेत मानिसहरूले थाहा पाउनेछैनन् भन्ने डर लाग्छ। ख्रीष्ट-विरोधीहरू पनि त्यस्तै हुन्छन्: तिनीहरूले गर्ने हरेक सानो कामको बारेमा सबैका अगाडि घमण्ड गर्छन्। तिनीहरूको कुरा सुनेपछि, तिनीहरूले परमेश्वरको गवाही दिइरहेका छन् जस्तो लाग्छ—तर यदि तैँले ध्यान दिएर सुनिस् भने तिनीहरूले परमेश्वरको गवाही दिइरहेका छैनन्, तर तिनीहरूले धाक लगाइरहेका छन्, आफूलाई निर्माण गरिरहेका छन् भन्ने कुरा पत्ता लगाउनेछस्। तिनीहरूले भनेको कुराको पछाडि रहेको अभिप्राय र सार भनेको परमेश्वरसँग उहाँका चुनिएका मानिसहरू, र हैसियतका लागि प्रतिस्पर्धा गर्नु हो। परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, र शैतानले आफ्नो धाक देखाउँछ। के भिन्नता छ? आफ्नो प्रदर्शन गर्नु र नम्रता र गुप्तता: सकारात्मक कुराहरू के-के हुन्? (नम्रता र गुप्तता।) के शैतानलाई नम्र भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) किन? यसको दुष्ट प्रकृति सारको आधारमा हेर्दा, यो केही न कामको फोहोर हो भन्ने देखिन्छ; शैतानले आफ्नो धाक नलगाउनु त असामान्य हुन्छ। शैतानलाई कसरी ‘नम्र’ भनेर भन्न सकिन्छ? ‘नम्रता’ त परमेश्वरको बारेमा मात्रै भन्न सकिन्छ। परमेश्वरको पहिचान, सार, र स्वभाव उच्च र आदरणीय छन्, तर उहाँले कहिल्यै पनि धाक लगाउनुहुन्न। परमेश्वर नम्र र गुप्त हुनुहुन्छ, त्यसकारण मानिसहरूले उहाँले के गर्नुभएको छ भन्ने देख्दैनन्, तर उहाँले यस्तो अज्ञात रूपमा काम गर्ने हुनाले, मानवजातिलाई निरन्तर भरणपोषण, पालनपोषण गरिन्छ र मार्गदर्शन दिइन्छ—र यो सबै परमेश्वरले नै मिलाउनुभएको हो। के परमेश्वरले यी कुराहरू कहिल्यै घोषणा गर्नुहुन्न, कहिल्यै उल्लेख गर्नुहुन्न भन्ने कुरा गुप्तता र नम्रता होइन र? परमेश्वरले यी कुराहरू गर्न सक्नुहुन्छ तर उहाँले कहिल्यै पनि तिनको बारेमा उल्लेख गर्नुहुन्न वा घोषणा गर्नुहुन्न, र तिनको बारेमा मानिसहरूसँग तर्क गर्नुहुन्न, त्यसैले त उहाँ नम्र हुनुहुन्छ। तँ त्यस्ता कुराहरू गर्न सक्दैनस् भने तँसँग नम्रताको बारेमा कुरा गर्ने के अधिकार हुन्छ र? तैँले तीमध्ये कुनै पनि काम गरिनस्, तैपनि त्यसका लागि श्रेय लिने जिद्दी गर्छस्—लाजमर्दो व्यवहार गर्नु भनेको यही हो। मानवजातिलाई अगुवाइ गर्दै, परमेश्वरले यस्तो ठूलो काम गर्नुहुन्छ, र उहाँले सम्पूर्ण ब्रह्माण्डको नेतृत्व गर्नुहुन्छ। उहाँको अख्तियार र शक्ति अत्यन्तै विशाल छ, तैपनि उहाँले कहिल्यै पनि ‘मेरो शक्ति असाधारण छ’ भनेर भन्नुभएको छैन। उहाँ सबै थोकको बीचमा लुकेर बस्नुहुन्छ, सबै कुराको अगुवाइ गर्नुहुन्छ, मानवजातिलाई खुवाउनुहुन्छ र भरणपोषण गर्नुहुन्छ, र सबै मानवजातिलाई पुस्तादेखि पुस्तासम्म निरन्तरता अघि बढ्न दिनुहुन्छ। उदाहरणको लागि, हावा र घामलाई वा पृथ्वीमा मानव अस्तित्वका लागि आवश्यक रहेका सबै भौतिक कुराहरूलाई लिऊँ—ती सबै निरन्तर रूपमा बगिरहन्छन्। परमेश्वरले मानिसका लागि प्रदान गर्नुहुने कुरामा कुनै प्रश्न छैन। यदि शैतानले कुनै असल काम गर्यो भने, के यसले चुपचाप काम गर्नेथियो, र अज्ञात नायक बन्नेथियो? कहिल्यै पनि त्यसो गर्नेथिएन। यो त मण्डलीमा रहेका कतिपय ख्रीष्ट-विरोधीहरू जस्तै हो, जसले पहिले खतरनाक काम गरेका थिए, विभिन्न कुराहरूलाई त्यागेका थिए र कष्ट भोगेका थिए, सायद जेल समेत गएका थिए; कति जनाले परमेश्वरको घरको कामको एउटा पक्षमा योगदान दिएका पनि हुन सक्छन्। तिनीहरूले यी कुराहरूलाई कहिल्यै बिर्सँदैनन्, तिनीहरूले ती कुराहरूका लागि जीवनभरको श्रेय पाउनुपर्छ भन्ने सोच्छन्, तिनीहरूले यी कुराहरूलाई आफ्नो जीवनकालको पूँजी ठान्छन्—यसले मानिसहरू कति सानो छन् भन्ने कुरा देखाउँछ! मानिसहरू साँच्चै नै सानो हुन्छन्, र शैतान लाजमर्दो हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। परमेश्वरका वचनहरू पढेपछि म लज्जित भएँ। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। उहाँसँग अख्तियार र शक्ति छ। उहाँसँग सबैभन्दा महान् पहिचान र सबैभन्दा उच्च हैसियत छ। तैपनि परमेश्वर व्यक्ति रूपमा नै भ्रष्ट मानवजातिलाई मुक्ति दिन देहधारी भई आउनुभयो, र मानिसहरूलाई आपूर्ति र मुक्ति दिन उहाँ चुपचाप सत्यता व्यक्त गर्नुहुन्छ। उहाँले रवाफ देखाउनको लागि परमेश्वरको पहिचान कहिल्यै प्रयोग गर्नुहुन्न, न त उहाँले मानवजातिलाई मुक्ति दिन कति धेरै काम गर्नुभएको छ, वा उहाँले कति धेरै अपमान र पीडा सहनुभएको छ भन्नेबारेमा नै बोल्नुहुन्छ। बरु, उहाँ मानवजातिलाई मलजल गर्ने र मुक्ति दिने आफ्नो काम गर्दै मानिसहरूमाझ सधैँ नम्र र गुप्त रहनुहुन्छ। परमेश्वरको सार अत्यन्तै पवित्र, अत्यन्तै दयालु र असल हुन्छ। म शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएकी अत्यन्तै फोहोरी व्यक्ति हुँ, र परमेश्वरको नजरमा म महत्त्वहीन छु, तैपनि मैले विनालाज आफूलाई उचालेँ, आफ्नो प्रदर्शन गरेँ, र अरूलाई मेरो आदर र आराधना गर्न लगाएँ। म साँच्चै नै यति अहङ्कारी थिएँ कि मैले मेरो समझ गुमाएँ, र म परमेश्वरको अघि जिउन योग्य थिइनँ! त्यो क्षण, मलाई आफ्नो अहङ्कार, रवाफ र प्रदर्शनप्रति झन् बढी सरम लागेर आयो। म परमेश्वरअघि घोप्टिएँ र प्रार्थना गरेँ, “परमेश्वर, तपाईंको न्याय र प्रकाशद्वारा, मैले म मानव रूपमा जिउदिनँरहेछु भन्ने थाहा पाएँ, र म अबदेखि यसरी जिउन चाहन्नँ। हे परमेश्वर, मलाई सत्यताको अभ्यास गर्न र तपाईंको गवाही दिन सिकाउनुहोस्।”
मैले परमेश्वरको यो वचन देखेँ: “परमेश्वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले के-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्नेबारेमा नै कुरा गर्नुपर्छ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै कष्ट सहेका छौ, परमेश्वरको प्रतिरोध गर्न तिमीहरूले कति धेरै कुराहरू गरेका छौ र अन्त्यमा तिमीहरू परमेश्वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ। तिमीहरूसँग परमेश्वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण तिर्नुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले विभिन्न कुराहरूको अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूका बारेमा बताउनुपर्छ, र अझ बढी हृदयबाट बोल्नुपर्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूका लागि निकै उपयुक्त देखिन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। मैले परमेश्वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ। साँचो सङ्गति भनेको आफ्नो प्रदर्शन गर्नको लागि सफल अनुभवहरूको बारेमा कुरा गर्नु होइन। यो त परमेश्वरले कसरी हामीलाई न्याय गर्नुहुन्छ, धुनुहुन्छ, र मुक्ति दिनुहुन्छ भन्ने कुराको गवाही दिनु हो। यसमा आफ्नो विद्रोहीपन, भ्रष्टता र आफ्नो घृणित अभिप्राय र तिनका परिणामहरूलाई खुलासा गर्नु जरुरी हुन्छ, र पछि आफूले कसरी परमेश्वरको वचनको न्याय र सजाय अनुभव गरेर आफूलाई चिनेँ भन्नेबारेमा कुरा गर्नु पनि जरुरी हुन्छल। यस तरिकाबाट, अरूले आफ्नै भ्रष्टताको साँचो रूपको समझ विकास गर्न र परमेश्वरको काम, परमेश्वरको स्वभाव, र मानवजातिप्रतिको परमेश्वरका मापदण्डहरूको ज्ञान पाउन सक्छन्। यसरी तिनीहरूले मानिसहरूलाई परमेश्वरले दिनुहुने मुक्ति र मानिसहरूप्रतिको परमेश्वरको प्रेम देख्न सक्छन्। यसरी सङ्गति गरेर मात्रै व्यक्तिले परमेश्वरको गवाही दिन सक्छ। अभ्यासका यी मार्गहरूलाई बुझेपछि, मैले तिनलाई सचेत भई अभ्यास गर्न थालेँ। एउटा भेलामा, एक जना ब्रदरले आफ्नो कर्तव्यमा प्रतिष्ठा र हैसियतको खोजी गरेको बारेमा कुरा गरेका थिए। तिनले आफैलाई सबैसँग तुलना गर्ने गरेका र त्यसबारेमा खिन्न महसुस गर्ने गरेका रहेछन्, यसलाई कसरी समाधान गर्ने तिनलाई थाहा थिएन। तिनले आफ्नो स्थितिको बारेमा यसरी व्याख्या गरेको सुनेपछि, मैले सोचेँ, “यदि मैले तिनको समस्या समाधान गरेँ भने, तिनले भविष्यमा आफ्नो अनुभवको बारेमा कुरा गर्दा, मेरो सङ्गतिले तिनको स्थिति परिवर्तन भयो भनेर भन्नेछन्। दाजुभाइ-दिदीबहिनीहरूले मलाई कदर गर्नेछन् र मसँग सत्यता र कद छ भनेर भन्नेछन्। मैले मेरो सङ्गतिमा वचनहरू र विचारहरू एकत्रित गर्नुपर्छ र तिनलाई मेरो अनुभवको बारेमा सबै कुरा बताउनुपर्छ।” त्यो क्षणमा, मलाई अचानक महसुस भयो कि मैले फेरि मेरो शैतानी प्रस्तुति दिन लाग्दै छु र मलाई आफैप्रति घृणा जाग्यो। मेरो दिमागमा आएको विचार अत्यन्तै घिनलाग्दो लाग्यो, मरेको झिँगा निलेझै घिन लाग्यो। त्यसैले, मैले परमेश्वरसँग मनमनै प्रार्थना गरेँ र यसपटक आफूलाई त्याग्न र परमेश्वरलाई उचाल्न र उहाँको गवाही दिन शक्ति मागेँ। पछि, मैले ती ब्रदरलाई विगतमा मैले प्रतिष्ठा र हैसियतको लागि खोजी गर्दा र लड्दा मलाई हटाइएको मेरो असफलताको अनुभव सुनाएँ। मैले कसरी परमेश्वरको वचन पढेर आफूलाई मनन गर्न, चिन्न, पश्चात्ताप गर्न र केही परिवर्तन हासिल गर्न सकेँ भन्ने कुरा पनि बताएँ। मेरो सङ्गतिपछि, ती ब्रदरले आफ्नो प्रकृति अत्यन्तै अहङ्कारी भएको र प्रतिष्ठा र हैसियतको पछि लाग्नु ख्रीष्टविरोधीको मार्ग भएको कुरा पहिचान गरे, र तिनले पश्चात्ताप गर्न चाहे। मैले ती ब्रदरको सङ्गति सुनेपछि, मैले परमेश्वरलाई धन्यवाद दिएँ। यो परमेश्वरको अगुवाइको काम थियो।
त्यसपछि, मेरा दाजुभाइ-दिदीबहिनीहरूसँगका भेलाहरूमा मैले दिने सङ्गतिहरूमा, कहिलेकहीँ मैले अझै पनि आफ्नो प्रदर्शन गर्ने गरेकी भए पनि, यो पहिलेजस्तो स्पष्ट वा गम्भीर थिएन। कहिलेकहीँ मलाई आफ्नो प्रदर्शन गर्न मन लाग्थ्यो, तर त्यो थाहा हुनेबित्तिकै, म परमेश्वरसँग प्रार्थना गर्थेँ र आफूलाई त्याग्न सक्थेँ। क्रमिक रूपमा, आफूलाई प्रदर्शन गर्ने मेरो बानी घट्दै गयो, र घमण्ड गर्ने स्थितिहरू पनि कम अनुभव गर्न थालेँ, र म आफ्ना बोलीवचन र कार्यहरूमा अलि विवेकी बनेँ। म सर्वशक्तिमान् परमेश्वरको मुक्तिको लागि अत्यन्तै कृतज्ञ छु!