ग. किन आखिरी दिनहरूको न्याय स्विकारेर मात्र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सकिन्छ

बाइबलमा परमेश्‍वरका वचनहरू

“तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तपाईंले तिनीहरूलाई दुष्टताबाट अलग राख्‍नुहोस् भनेर म प्रार्थना गर्छु। … तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो। … अनि तिनीहरूका खातिर म आफैलाई पवित्र पार्छु, ताकि तिनीहरू पनि सत्यताद्वारा शुद्ध पारिन सकून्” (यूहन्‍ना १७:१५-१९)

“मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४८)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानी स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय, सजाय, र शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र ऊ शुद्ध पारिन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूको पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिसलाई बिस्तारै यस बिन्दुबाट परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ त्यो सबै परमेश्‍वरका अभिप्रायअनुसार होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्‍ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

मानिसले सम्पूर्ण जीवन शैतानको सत्तामा जिउँछ, र आफ्‍नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्यसमेत नभएको अशुद्ध संसारमा, भ्रष्टता र रिक्ततामा जिउँछन्; तिनीहरू देहको लागि, अभिलाषाको लागि र शैतानको लागि त्यस्तो लापरवाही जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यता भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्‍वरलाई विश्‍वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्‍दैन। युगौँयुगदेखि, अत्यन्तै थोरै मानिसहरूले मात्र यो रहस्य पत्ता लगाएका छन्, अत्यन्तै थोरैले मात्र यसलाई बुझेका छन्। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि र देहलाई घृणा गरे पनि, शैतानको पासोरूपी प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज के तिमीहरू अझै पनि शैतानको सत्तामा छैनौ र? तिमीहरू आफ्ना विद्रोही कार्यहरूबारे पछुतो गर्दैनौ, तिमीहरूले आफू फोहोरी र विद्रोही छौँ भनी महसुस गर्नु त परै जाओस्। परमेश्‍वरको विरोध गरिसकेपछि, तिमीहरू ढुक्‍क हुन्छौ र ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूले यो शान्ति आफू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो ढुक्‍कपन तिमीहरूको विद्रोहीपनबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको अँध्यारो प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको देहमा अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसहरूको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ फोहोरी हुन्छ; यदि उसलाई परमेश्‍वरले सुरक्षा र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय र सजाय गरिएन भने, शैतानको अँध्यारो प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम ऊसँग हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

मानिस देहमाझ जिउँछ, जसको अर्थ ऊ मानव नरकमा जिउँछ र परमेश्‍वरको न्याय र सजायविना ऊ शैतानजस्तै अशुद्ध छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्‍वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा महान् अनुग्रह हो भन्‍ने विश्‍वास पत्रुसको थियो। परमेश्‍वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले शरीरलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्‍वरको कठोर अनुशासनले मात्रै मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई आफ्‍नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउन दिन्छ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गर्थे, “हे परमेश्‍वर! जबसम्‍म तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ, तबसम्‍म म तपाईंले मलाई छोड्नुभएको छैन भनी थाहा पाउनेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती सजायहरू दिनुभए पनि, जबसम्‍म तपाईं मलाई छोड्नुहुन्‍न, तबसम्‍म मेरो हृदय सहजतामा हुनेछ। आज तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष्‌ बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले ममाथि बर्साउनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्‍ना देहका सुखचैनहरूलाई पन्छाएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्‍वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन। मानिस शैतानको प्रभावमा जिउँछ, र देहको अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिँदैन र उसले परमेश्‍वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्‍नेछ। यदि उसले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

वास्तवमा, अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्‍याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्‍न सकून्, यो फोहोरी संसारलाई चिन्‍न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिन्‍न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्‍न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। सजाय र न्याय जति यस्तो हुन्छ, त्यति नै धेरै मानिसको हृदयमा चोट पुग्‍न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहै छैन र निश्‍चय नै ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्‍ने पनि उसलाई थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नर्कमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्‍ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्‍कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई जोडजोडले चिच्याउनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र जोडदार गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभाव रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति समर्पित होस्, उहाँको गवाही दिओस्, तिनीहरूले उहाँको व्यावहारिक र सामान्य कार्य जानून्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूप्रति तिनीहरू समर्पित होऊन्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही तिनीहरूले दिऊन् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस प्रकारको गवाही मात्र सही र व्यावहारिक हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय, सजाय, र काँटछाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँ आफ्नो गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। श्रम गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धर्मी स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानिसलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका खराब कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको श्रम गर्न नसक्‍नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको प्रतिफल हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू गैरविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्‍ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धर्मी स्वभावले कसैलाई पनि दया देखाउँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

सम्बन्धित प्रवचनहरू

किन परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ?

सम्बन्धित भजनहरू

आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग सुरु गर्नुभयो

परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो

अघिल्लो: ख. परमेश्‍वरले कसलाई मुक्ति दिनुहुन्छ र कसलाई हटाउनुहुन्छ

अर्को: घ. मुक्ति प्राप्त गरेकाहरू र सिद्ध तुल्याइएकाहरूलाई परमेश्‍वर के प्रतिज्ञा गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्