तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ

तिमीहरू अहिले मार्गको अन्तिम भागमा छौ। यो, मार्गको महत्त्वपूर्ण भाग हो। सायद तैँले असाध्य कष्ट सहेको छस्, धेरै काम गरेको छस्, धेरै मार्गमा यात्रा गरेको छस्, अनि धेरै प्रवचनहरू सुनेको छस्; सायद तँ अहिले जहाँ छस्, त्यहाँसम्म पुग्न सजिलो भएको छैन होला। यदि तैँले हाल सामना गरिरहेको कष्ट सहन सक्दैनस् र विगतमा गरेकै कार्यलाई जारी राखिस् भने, तँलाई सिद्ध तुल्याइन सकिँदैन। यी वचनहरूको उद्देश्य तँलाई भयभीत तुल्याउन होइन—यी तथ्य हुन्। पत्रुसले परमेश्‍वरका धेरै काम अनुभव गरेपछि केही कुराको अन्तर्दृष्टि र अझै बढी समझशक्ति पनि हासिल गरे। उनले सेवाको सिद्धान्तको सम्बन्धमा धेरै कुरा बुझे, अनि पछि जुन कुरा येशूले उनलाई सुम्पिनुभएको थियो, त्यसप्रति उनले आफूलाई पूर्ण रूपले अर्पण गर्न सके। उनले गरेका कुराको निम्ति उनी परमेश्‍वरप्रति अति धेरै ऋणी छन् र आफूले कहिल्यै पनि त्यसको ऋण चुकाउन सक्दैनन् भन्‍ने उनलाई लागेकै कारणले गर्दा नै उनले ठूलो शोधन प्राप्त गरेका थिए। पत्रुसले पनि मानिस धेरै भ्रष्ट छन् भनेर बुझे, जसले उनको विवेकमा दोषी अनुभूति गरायो। येशूले पत्रुसलाई धेरै कुरा भन्नुभएको थियो, तर जब यी कुरा भनिएका थिए, त्यस समय उनले थोरै बुझाइ मात्र प्राप्त गर्न सक्थे, अनि कहिलेकाहीँ उनले अझै केही विरोध र विद्रोहीपनलाई मनमा पाले। येशू क्रूसमा टाँगिनुभएपछि, अन्ततः उनले केही जागरणको अनुभव गरे, अनि निन्दाका ठूला सन्तापहरू अनुभूति गरे। अन्त्यमा, यो यस्तो बिन्दुसम्म पुग्यो जहाँ कुनै पनि बेठीक विचारहरू राख्नु अस्वीकार्य हो भनी उनले अनुभूति गरे। उनलाई आफ्नै अवस्थाबारे राम्ररी थाहा थियो, अनि उनलाई प्रभुको पवित्रताबारे पनि थाहा थियो। परिणामस्वरूप, उनको हृदयमा प्रभुको निम्ति अझ धेरै प्रेम वृद्धि भयो, अनि उनी आफ्नै जीवनप्रति अझ बढी केन्द्रित भए। उनले ठूला कठिनाइहरू भोगेका हुनाले, अनि समय-समयमा उनी गम्भीर बिमारी भए अनि उनी मरेको जस्तो प्रतीत भएको भए तापनि, उनले धेरै पल्ट यसप्रकारको शोधनबाट गुज्रिएपछि, आफ्नै बारेमा अझ बढी बुझाइ हासिल गरे, अनि प्रभुको निम्ति सच्‍चा प्रेम विकास गरे। यसो भन्न सकिन्छ, उनको पूरै जीवन शोधनमा, अनि त्यसभन्दा पनि बढी, सजायमा बितेको थियो। उनको अनुभव अरू कुनै पनि व्यक्तिको भन्दा फरक थियो र उनको प्रेमले सिद्ध नतुल्याइएका कुनै पनि व्यक्तिको प्रेमलाई उछिन्यो। उनलाई नमूनाको रूपमा चुनिनुको कारण के थियो भने, उनले आफ्नो जीवनकालमा धेरै व्यथा अनुभव गरे, र उनका अनुभवहरू सबैभन्दा सफल थिए। यदि तिमीहरू पनि पत्रुसले जस्तै साँच्चिकै मार्गको अन्तिम भागसम्म हिँड्न सक्छौ भने, कुनै पनि सृष्टिले तिमीहरूका आशिषहरू खोसेर लैजान सक्दैन।

पत्रुस विवेकशील मानिस थिए, तर उनीसित मानवता भए तापनि उनले प्रभुलाई पहिला पछ्याउन सुरु गर्दाको समयमा उनकोमा धेरै विरोधी र विद्रोही विचारहरू थिए। तर, जब उनले येशूलाई पछ्याइरहेका थिए, तब यी कुरालाई गम्भीरतापूर्वक लिएनन्, किनभने उनी मानिसहरू यस्तै प्रकारको हुनुपर्छ भन्‍ने विश्‍वास गर्थे। त्यसैले, सुरुमा उनले कुनै निन्दाको अनुभूति गरेनन्, न त उनलाई कुनै निराकरण नै गरियो। येशूले पत्रुसका प्रतिक्रियाहरूलाई गम्भीरतापूर्वक लिनुभएन, न त उहाँले त्यसप्रति कुनै ध्यान नै दिनुभयो, तर उहाँले आफूले गर्नुपर्ने कामलाई नै निरन्तरता दिइरहनुभयो। उहाँले पत्रुस र अरूको गल्तीलाई कहिल्यै पनि अनावश्यक रूपमा खोतल्नुभएन। तैँले यसो भन्छस् होला: “के तिनीहरूसित भएका विचारहरूबारे येशूलाई थाहा नभएको हुन सक्ला र?” यो हुनै सक्दैन! किनभने उहाँले साँच्चै पत्रुसलाई बुझ्नुहुन्थ्यो—वास्तवमा, यसो भन्न सकिन्छ कि उहाँसित उनको बारेमा एकदमै राम्रो बुझाइ थियो—येशूले उनको विरुद्धमा कुनै कदम चाल्नुभएन। उहाँले मानवजातिलाई घृणा गर्नुहुन्थ्यो र तिनीहरूलाई दया पनि गर्नुहुन्थ्यो। के तिमीहरूको माझमा अहिले पावलजस्तै विरोधी, अनि त्यस समयमा प्रभु येशूप्रति पत्रुससित जुन धारणाहरू थिए तिनै धारणा बोक्‍ने मानिसहरू छैनन्? म तँलाई भन्छु, यदि तैँले तेरो तेस्रो इन्द्रिय, तेरो अनुभूति गर्ने इन्द्रियलाई अति विश्‍वास नगर्नु नै सर्वोत्तम हुन्थ्यो, जुन अत्यन्तै अविश्‍वसनीय हुन्छ र धेरै लामो समयअघि नै शैतानको भ्रष्टताद्वारा पूर्ण रूपले नष्ट गरिएको थियो। के तँलाई तेरो अनुभूति सिद्ध र दोषरहित छ भन्‍ने लाग्छ? पावलले धेरै पल्ट प्रभु येशूको विरोध गरे, तर येशूले कुनै प्रतिक्रिया दिनुभएन। के येशूले बिरामीलाई निको पार्न सक्नुभयो र भूतात्माहरूलाई निकाल्न सक्नुभयो, तापनि पावलमा भएको “भूतात्मा” लाई चाहिँ निकाल्न सक्नुभएन भन्‍ने हुन सक्छ? येशू पुनरुत्थान भइसकेपछि र स्वर्गारोहण भइसकेपछि, पावल येशूका चेलाहरूलाई निर्दयतापूर्वक पक्राउ गरिरहेका बेलामा मात्रै अन्त्यमा उहाँ दमस्कसको बाटोमा उनीकहाँ देखा पर्नुभई उनलाई किन प्रहार गर्नुभयो? के प्रभु येशूले अति ढिलो प्रतिक्रिया जनाउनुभएको हुनसक्छ त? अथवा, उहाँ देहमा हुनुहुँदा उहाँसित कुनै अधिकार नभएकोले यसो भएको हुन सक्छ? के जब तँ मेरो पछाडि गुप्त प्रकारले विध्वंसकारी र विरोधी हुन्छस्, तब मलाई थाहा हुँदैन भन्‍ने तँलाई लाग्छ? तैँले पवित्र आत्माबाट पाउने अलिकति अन्तर्दृष्टिलाई मेरो विरोध गर्न प्रयोग गर्न सकिन्छ भन्‍ने के तँलाई लाग्छ? जब पत्रुस अपरिपक्व थिए, तब उनले येशूको सम्बन्धमा धेरै विचार मनमा राखेका थिए, तब किन त उनलाई दोषी ठहर्‍याइएन? अहिले, धेरै मानिसहरूले विना दोष कामहरू गरिरहेका छन्, अनि तिनीहरूले जे गरिरहेका छन्, त्यो ठीक छैन भनी स्पष्टसित तिनीहरूलाई बताइँदा पनि तिनीहरूले सुन्दैनन्। के यो पूर्ण रूपले मानिसको विद्रोहीपनको कारणले होइन र? मैले अहिले धेरै कुरा भनिसकेको छु, तर अझै तँमा विवेकको अलिकति बुझाइ छैन, त्यसैले मार्ग नटुङ्गिएसम्म हिँडिरहनको निम्ति कसरी तँ मार्गको अन्तिम भागसम्म हिँड्न सक्नेछस् र? के यो बृहत् परिमाणको प्रश्न हो भन्‍ने तँलाई लाग्दैन?

मानिसहरूलाई विजय गरिएपछि, तिनीहरूले परमेश्‍वरको योजनाबद्ध कार्यलाई पालन गर्न सक्छन्; तिनीहरूसित आफ्नो विश्‍वास र आफ्नो इच्छा दुवै हुन्छन् जसद्वारा तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्, अनि तिनीहरू उहाँलाई पछ्याउन यी कुरामाथि भर पर्छन्। त्यसैले, मार्गको अन्तिम भागमा कसरी हिँड्न सकिन्छ त? सङ्कष्ट अनुभव गर्दाका तेरा दिनहरूमा, तैँले सबै कठिनाइहरू सहनैपर्छ, अनि तँसित कष्ट भोग्ने इच्छा हुनैपर्छ; केवल यसरी मात्रै तँ मार्गको यस भागमा राम्रोसित हिँड्न सक्छस्। के तँलाई मार्गको यस भागमा हिँड्न यति सजिलो छ भन्‍ने लाग्छ? तैँले कुन कार्य पूरा गर्नुपर्छ भनेर जान्नुपर्छ; तिमीहरूले आफ्नो क्षमतालाई बढाउनैपर्छ अनि आफैलाई पर्याप्त सत्यताले सुसज्जित पार्नुपर्छ। यो एक वा दुई दिनको काम होइन, अनि यो तैँले सोचेको जस्तो सरल छैन! मार्गको अन्तिम भागमा हिँड्ने कुरा तँसित भएका विश्‍वास र इच्छाको प्रकारमा निर्भर हुन्छ। सायद तैँले तँभित्र पवित्र आत्माले काम गरिरहनुभएको देख्न सक्दैनस्, वा सायद तैँले मण्डलीमा पवित्र आत्माले काम गरिरहनुभएको पत्ता लगाउन सक्दैनस्, त्यसैले अगाडिको मार्गको निम्ति तँ निराशावादी छस् अनि हताश र नैराश्यताले भरिपूर छस्। निश्‍चित रूपमा, विगतका महान् योद्धाहरू सबै पतित भएका छन्—के यी सबै तेरो लागि प्रहार होइनन् र? तैँले यी कुरालाई कसरी हेर्नुपर्छ? तँसित विश्‍वास छ कि छैन? तैँले आजको कामलाई पूर्ण रूपले बुझ्न सक्छस् कि सक्दैनस्? यी कुराहरूले तँ मार्गको अन्तिम भागसम्म सफलतापूर्वक हिँड्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरालाई निर्धारण गर्दछन्।

तिमीहरू अहिले मार्गको अन्तिम भागमा छौ भनेर किन भनिन्छ? किनभने तिमीहरूले बुझ्नुपर्ने हरेक कुरा बुझेका छौ, अनि मानिसहरूले हासिल गर्नुपर्ने हरेक कुरा मैले तिमीहरूलाई बताएको छु। तिमीहरूलाई सुम्पिएको हरेक कुराबारे पनि मैले बताएको छु। त्यसैले, अहिले तिमीहरू हिँडिरहेको मार्ग अन्तिम भाग हो, जसमा म मानिसहरूलाई डोऱ्याउँछु। म केवल तिमीहरूले स्वतन्त्र भई जिउने क्षमता हासिल गरून् भन्‍ने अपेक्षा गर्छु; तँसित सधैँ र हरेक समय हिँड्ने मार्ग हुनेछ, अनि तैँले पहिलेजस्तै आफ्नो क्षमता वृद्धि गर्नेछस्, सामान्य प्रकारले परमेश्‍वरका वचनहरू पढ्नेछस्, अनि सामान्य मानव जीवन जिउनेछस्। म अहिले तँलाई यसप्रकारले जिउन अगुवाइ गर्दैछु तर भविष्यमा जब म तँलाई अगुवाइ गर्दिनँ, के तँ अझै पनि यसो गर्न सक्षम हुनेछस्? के तँ अघि बढिरहन सक्षम हुनेछस्? पत्रुसको अनुभव यस्तो थियो: जब येशूले उनलाई डोऱ्याइरहनुभएको थियो, तिनीसँग बुझाइ थिएन; उनी सधैँ निष्फिक्री बच्चा जस्तै थिए, अनि आफूले गरेका कुराहरूप्रति उनी गम्भीर थिएनन्। येशू बिदा भइसक्नुभएपछि मात्रै उनले सामान्य मानव जीवन बिताउन सुरु गरे। येशू बिदा भइसक्नुभएपछि मात्रै उनको अर्थपूर्ण जीवन सुरु भयो। उनीसित सामान्य मानवताको केही चेतना र सामान्य व्यक्तिमा हुनुपर्ने केही कुराहरू रहेको भए तापनि, येशू बिदा नभएसम्म उनको साँचो अनुभव र खोजीको नयाँ सुरुवात भएको थिएन। तिमीहरूको हालको अवस्था कस्तो छ? म तिमीहरूलाई अहिले यस मार्गमा डोऱ्याउँदैछु, अनि यो उदेकको छ भन्‍ने तँलाई लाग्छ। तँमाथि आइपर्ने कुनै परिस्थिति वा परीक्षाहरू छैनन्, तापनि तेरो कद वास्तवमै कस्तो प्रकारको छ भनी हेर्ने कुनै उपाय छैन, न त तँ साँच्चै सत्यतालाई पछ्याउने व्यक्ति हो कि होइन भनेर देख्ने कुनै उपाय नै छ। तँ आफ्‍नो सारलाई बुझ्छस् भनेर आफ्नो मुखले भन्छस्, तर यी खोक्रो शब्दहरू हुन्। भविष्यमा जब तथ्यहरू तँकहाँ आउँछन्, तब तेरो बुझाइ प्रमाणित हुनेछ। अहिले, तँसित यस्तो प्रकारको बुझाइ छ: “मेरो आफ्नै देह अत्यन्तै भ्रष्ट छ, अनि मानिसहरूको देहको सार भनेको परमेश्‍वरविरुद्ध विद्रोह गर्नु र विरोध गर्नु हो भन्‍ने म बुझ्छु। परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्न सक्‍नु नै उहाँले मानिसहरूलाई माथि उठाउने तरिका हो। मैले अहिले त्यो कुरा बुझेको छु, अनि म परमेश्‍वरको प्रेमको कर्जा तिर्न इच्छुक छु।” तर यो भन्न सजिलो छ। पछि तँमाथि जब सतावट, परीक्षा र कष्ट आउँछन्, यी कुराबाट गुज्रनु सजिलो हुनेछैन। तिमीहरूले यो मार्गलाई हरेक दिन पछ्याउँछौ, तर पनि आफ्नो अनुभवलाई निरन्तरता दिन सक्दैनौ। यदि मैले तिमीहरूलाई छोडिदिने हो र बेवास्ता गर्ने हो भने, अवस्था झन् खराब हुनेथियो; धेरै मानिसहरू पतित हुनेथिए र नुनको खाँबो अर्थात् लाजको चिन्‍हमा परिणत हुनेथिए। त्यस्ता नियतिहरू सम्भव छन्। के तँ यसबारे चिन्तित वा व्याकुल छैनस्? पत्रुस त्यसप्रकारको परिस्थिति भएर गए र त्यसप्रकारको कष्टबाट गुज्रे, तर पनि उनी दृढ भई खडा भए। यदि तँ त्यसप्रकारको परिस्थितिमा परेको भए, के दृढ भई खडा हुन सक्‍नेथिइस्? येशूले पृथ्वीमा हुँदा भन्नुभएका कुरा र गर्नुभएका कामहरूले पत्रुसलाई एउटा जग प्रदान गरे, अनि यही जगबाटै उनी पछिको मार्गमा हिँडे। के तिमीहरू त्यो स्तरमा पुग्न सक्छौ? तैँले हिँडेका मार्ग र बुझेका सत्यता—के ती तेरो जग हुन सक्छन्, जसमाथि तँ भविष्यमा दृढ भई खडा हुन सक्छस्? के यी कुरा तँ पछि दृढ भई खडा हुनको निम्ति तेरो दर्शन बन्‍न सक्छ? म तिमीहरूलाई सत्यता बताउनेछु—अहिले मानिसहरूले जे बुझ्छन्, ती सबै सिद्धान्तहरू हुन् भनेर भन्‍न सकिन्छ। किनकि तिनीहरूसित तिनीहरूले बुझेका सबै कुराको अनुभव हुँदैन। तँ अहिलेसम्म अघि बढिरहन सफल हुनुको कारण के हो भने, तँ नयाँ ज्योतिद्वारा डोऱ्याइएको छस्। तेरो कद कुनै निश्चित तहसम्म पुगेको कारणले होइन, तर मेरा वचनहरूले तँलाई हालको दिनसम्म डोऱ्याएकोले गर्दा हो; तँसित ठूलो विश्‍वास भएको कारणले होइन, तर मेरा वचनहरूको बुद्धिले गर्दा हो, जसले तँलाई आजसम्म अरू केही गर्ने नभई मलाई नै पछ्याउने तुल्यायो। यदि मैले तँसित अहिले नबोल्ने हो भने, यदि मेरो आवाज उच्चारण नगर्ने हो भने, तँ अघि बढिरहन असमर्थ हुने थिइस् र तुरुन्तै अघि बढ्न छोड्नेथिइस्। के तिमीहरूको वास्तविक कद यही होइन र? कुन पक्षहरूबाट भित्र प्रवेश गर्ने अनि तिमीहरूसित जे कुराको कमी छ, त्यसलाई कुन पक्षहरूले पूर्ति गर्ने भन्‍नेबारे तिमीहरूसित कुनै ज्ञान छैन। कसरी अर्थपूर्ण मानव जीवन जिउने, परमेश्‍वरको प्रेमको साटो कसरी तिर्ने, वा कसरी शक्तिशाली र शानदार गवाही दिने सो तिमीहरू बुझ्दैनौ। तिमीहरू यी कुरा हासिल गर्न पूर्ण रूपले असक्षम छौ। तिमीहरू अल्छे र बेवकुफ दुवै हौ! तिमीहरूले गर्न सक्ने एउटै कुरा भनेको अरू कुनै कुरामाथि भर पर्नु हो, अनि अहिले जुन कुरामाथि तिमीहरू भर पर्छौ, त्यो नयाँ ज्योति हो र तिमीहरूको अघि हुनुहुने, तिमीहरूलाई डोऱ्याइरहनुभएका परमेश्‍वर हुनुहुन्छ। आजसम्म तिमीहरू अघि बढिरहन सक्‍नुको कारण के हो भने, तिमीहरू नयाँ ज्योतिमा र सबैभन्दा हालैका वाणीहरूमा निर्भर छौ। तिमीहरू पत्रुसजस्तो बिलकुल छैनौ, जो साँचो मार्गलाई पछ्याउन निपुण थिए, वा अय्यूबजस्तो बिलकुल छैनौ जो यहोवालाई भक्तिपूर्वक आराधना गर्न र यहोवाले जसरी उनलाई जाँचे पनि, उहाँले उनलाई आशिष दिनुभए पनि या नदिनुभए पनि यहोवा नै परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्न सक्षम थिए। के तिमीहरू त्यसो गर्न सक्छौ? तिमीहरू कसरी विजय गरिएका छौ? एउटा पक्ष न्याय, सजाय र श्राप हुन् अनि अर्को पक्ष तिमीहरूलाई विजय गरिने रहस्यहरू हुन्। तिमीहरू सबै गधाजस्ता छौ। म जे भन्छु, यदि त्यो तिमीहरूको लागि पूर्ण रूपले उत्कृष्ट छैन र त्यसमा कुनै रहस्यहरू छैनन् भने, तिमीहरूलाई विजय गर्न सकिँदैन। यदि कुनै व्यक्तिले प्रचार गरिरहेको भए र तिनीहरूले केही समयावधिको निम्ति त्यही कुराबारे प्रचार गरेका भए, तिमीहरू दुई वर्षभित्रै छोडेर जानेथियौ र छरपष्ट हुनेथियौ; तिमीहरू अघि बढिरहन सक्‍नेथिएनौ। तिमीहरूलाई कसरी अझ गहिरिने भन्‍ने थाहा छैन, न त कसरी सत्यता वा जीवनको मार्गलाई पछ्याउने कुरा नै बुझ्छौ। तिमीहरूले बुझ्ने एउटै कुरा भनेको नयाँ जस्तो लाग्ने कुरालाई ग्रहण गर्नु हो, जस्तै रहस्य वा दर्शनहरू, वा कसरी परमेश्‍वरले काम गर्नुहुन्थ्यो, वा पत्रुसका अनुभवहरू, वा येशूको क्रूसीकरणको पृष्ठभूमिबारे सुन्ने…। तिमीहरू यस्ता कुराबारे मात्रै सुन्न चाहन्छौ, अनि जति बढी सुन्छौ, त्यति नै बढी जोसले भरिन्छौ। यी सबै कुरा केवल आफ्ना पीडा र न्यास्रोपनलाई हटाउनको निम्ति तिमीहरू सुनिरहेका छौ। तिमीहरूका जीवन पूर्ण रूपले यिनै नयाँ कुराहरूद्वारा पोषित हुन्छन्। के तँ आज जहाँ छस्, त्यहाँ तँ आफ्नै विश्‍वासद्वारा पुगेको छस् भन्‍ने तँलाई लाग्छ? के तिमीहरूसँग भएको यो क्षुद्र, दयनीय र सानो कद होइन र? तिमीहरूको सत्यनिष्ठा कहाँ छ? तिमीहरूको मानवता कहाँ छ? के तिमीहरूमा मानव जीवन छ? सिद्ध तुल्याइनको निम्ति तिमीहरूसँग कतिवटा तत्वहरू छन्? के मैले भनिरहेको कुरा तथ्य होइन र? म यस प्रकारले बोल्‍छु र काम गर्छु, तर पनि तिमीहरू कुनै ध्यान दिँदैनौ। तिमीहरूले पछ्याउने क्रममा ध्यान पनि देऊ। तिमीहरू सधैँ उदासीनता देखाइरहन्छौ, अनि तिमीहरू सधैँ पुरै नियन्त्रित हुन्छौ। तिमीहरू सबै यसरी नै अघि बढेका छौ; आज तिमीहरू जहाँ छौ, त्यहाँ तिमीहरूलाई जुन कुराले डोऱ्याएको छ, त्यो पूर्ण रूपले सजाय, शोधन र ताडना नै रहेको छ। यदि जीवन प्रवेशबारे केही वचन मात्र प्रचार गरिएको भए, के तिमीहरू सबै धेरै लामो समयअघि नै सुटुक्कै छोडेर जाने थिएनौ र? तिमीहरूमध्ये हरेक पहिलेभन्दा बढी दम्भले भरिपूर्ण छौ, तर वास्तवमा तिमीहरूको पेट अरू केहीले होइन, तर फोहोर पानीले भरिएको छ! तैँले मानिसहरूले पहिले नबुझेका केही रहस्य, केही कुरा बुझेको हुनाले मात्रै तँ अहिलेसम्‍म टिकेको छस्। तिमीहरूसँग नपछ्याउने कुनै कारण नै छैन, त्यसैले तिमीहरू दृढ सङ्कल्पले भरिपूर्ण हुन र भीडलाई पछ्याउन सक्षम भएका छौ। यो, मेरा वचनहरूद्वारा हासिल गरिएको परिणाम हो, र यो निश्चय नै तिमीहरू आफैले सम्पन्न गरेको साहसिक कार्य होइन। तिमीहरूसित घमन्ड गर्नका निम्ति कुनै कुरा छैन। त्यसैले कामको यो चरणमा, तिमीहरू मुख्य रूपले वचनहरूद्वारा नै वर्तमान दिनसम्म डोऱ्याइएका हौ। नत्र भने, तिमीहरूमध्ये को आज्ञाकारी हुन सक्षम हुनेथियौ? को आजसम्म लागिपर्न सक्षम हुनेथियौ? सुरुबाट नै तिमीहरू यथासम्भव छिटो छोडेर जान चाहन्थ्यौ, तर तिमीहरूले त्यसो गर्ने साहस गर्न सकेनौ; तिमीहरूमा साहसको कमी थियो। आजसम्म पनि तिमीहरूले आधा हृदयले पछ्याइरहेका छौ।

येशू क्रूसमा टाँगिनुभएपछि र उहाँ बिदा हुनुभएपछि मात्रै पत्रुसले आफ्नै दिशामा हिँड्न सुरु गरे र आफू जानुपर्ने मार्गमा हिँड्न सुरु गरे; उनले आफ्नै अपर्याप्तताहरू र कमी-कमजोरीहरू देखेपछि मात्रै उनी सुसज्जित हुन थाले। आफूसित परमेश्वरलाई प्रेम गर्ने अत्यन्तै सानो हृदय रहेछ अनि कष्ट भोग्ने उनको इच्छा कति अपर्याप्त रहेछ, आफूसित कुनै अन्तर्दृष्टि छैन रहेछ अनि आफूसित चेतनाको कमी रहेछ भनी उनले देखे। आफूमा रहेका धेरै कुरा येशूको इच्छाअनुरूप नरहेको, धेरै कुरा विद्रोही र विरोधी तथा मानव इच्छाद्वारा भ्रष्ट भएको छ भन्‍ने उनले देखे। केवल यसपछि मात्रै उनले हरेक पक्षमा प्रवेश हासिल गरे। जब येशूले उनलाई डोऱ्याइरहनुभएको थियो, तब येशूले उनको अवस्थालाई प्रकट गरिदिनुभयो र पत्रुसले त्यसलाई मानिलिए र येशूले जे भन्नुभयो त्यससित सहमत भए, तापनि पछिको समय आउनुअघिसम्म उनीसँग अझै साँचो बुझाइ थिएन। किनभने त्यस समयमा उनीसँग आफ्नै कदबारे कुनै अनुभव वा ज्ञान थिएन। भन्नुको अर्थ, म अहिले तिमीहरूलाई डोऱ्याउनको लागि वचनहरू मात्रै प्रयोग गरिरहेको छु, र थोरै समयावधिमा तिमीहरूलाई सिद्ध बनाउनु असम्भव छ, अनि तिमीहरू सत्यता बुझ्न र जान्न सक्‍ने क्षमतामा मात्रै सीमित हुनेछौ। किनकि तँलाई विजय गर्नु र तेरो हृदयमा तँलाई मनाउनु नै हालको काम हो, अनि मानिसहरूलाई विजय गरिएपछि मात्रै तिनीहरूमध्ये कोही सिद्ध तुल्याइनेछन्। अहिले, तैँले बुझ्ने ती दर्शन र ती सत्यताहरूले तेरा भविष्यका अनुभवहरूको निम्ति एउटा जग बसालिरहेका छन्; भविष्यको सङ्कष्टमा तिमीहरू सबैसित यी वचनहरूको व्यावहारिक अनुभव हुनेछ। पछि, जब तँमाथि परीक्षाहरू आइपर्छन् अनि तँ सङ्कष्टबाट गुज्रन्छस्, तब तैँले आज भनेको वचनहरूबारे सोच्नेछस्, जुन यी हुन्: “मैले जुनसुकै सङ्कष्ट, परीक्षा, वा ठूला विपत्तिहरू सामना गर्नुपरे तापनि, परमेश्‍वरलाई सन्तुष्ट पार्नैपर्छ।” पत्रुसका अनुभवहरूलाई अनि त्यसपछि अय्यूबका अनुभवहरूलाई सम्झी—तँ आजका वचनहरूद्वारा उत्तेजित हुनेछस्। केवल यसरी मात्रै तेरो विश्‍वास प्रेरित हुन सक्नेछ। त्यस समयमा, परमेश्‍वरको न्याय र सजाय पाउन आफू योग्य छैन भनी पत्रुसले भने, अनि जब समय आउँछ, तब तँद्वारा सबै मानिसहरूले धर्मी स्वभाव देखून् भन्‍ने कुरामा तँ पनि इच्‍छुक हुनेछस्। तैँले उहाँको न्याय र सजाय तत्परताका साथ स्वीकार गर्नेछस् र उहाँको न्याय, सजाय र श्राप तेरो निम्ति सान्त्वना हुनेछन्। अहिले, सत्यताले सुसज्जित नहुनु तेरो निम्ति स्वीकारयोग्य छैन। यसविना, तँ भविष्यमा दृढ भई खडा हुन नसक्ने मात्रै होइन, तर तँ हालको काम पनि अनुभव गर्न नसक्ने हुन सक्छस्। यदि यस्तो भयो भने, के तँ ती बहिष्कृत र दण्डितहरूमध्ये हुनेछैनस् र? अहिले, तँकहाँ कुनै तथ्यहरू आएका छैनन्, अनि तँमा जुन पक्षको कमी छ, त्यसैमा मैले तँलाई प्रदान गरेको छु; म हरेक पक्षबाट बोल्छु। तिमीहरूले धेरै कष्ट सहेका छैनौ; तिमीहरूले कुनै मूल्य नतिरीकनै जे उपलब्ध छ, त्यो लिन्छौ, अनि त्योभन्दा बढी, तिमीहरूसित कुनै साँचो अनुभव वा अन्तर्दृष्टिहरू छैनन्। त्यसैले, जे बुझ्छौ, त्यो तिमीहरूको साँचो कद होइन। तिमीहरू आफ्ना बुझाइ, ज्ञान, र दृष्टिमा सीमित छौ, तर तिमीहरूले धेरै फसल कटनी गरेका छैनौ। यदि मैले तिमीहरूलाई कहिल्यै वास्ता नगरेर तिमीहरूका आफ्नै घरमा अनुभवहरूबाट गुज्रन दिएको भए, तिमीहरू धेरैअघि नै ठूलो फराकिलो संसारमा फर्किसकेका हुनेथियौ। भविष्यमा तैँले जुन मार्ग हिँड्नेछस्, त्यो कष्टको मार्ग हुनेछ, अनि यदि तँ सफलतापूर्वक हालको मार्गको अन्तिम भागसम्म हिँड्छस् भने, जब तँ भविष्यमा ठूलो सङ्कष्टबाट गुज्रनेछस्, तब तँसित गवाही हुनेछ। यदि तैँले मानव जीवनको महत्त्वलाई बुझ्छस् र मानव जीवनको सही मार्ग लिएको छस् भने, र यदि परमेश्‍वरले तँसित जसरी व्यवहार गर्नुभए पनि तँ कुनै गुनासो नगरी वा छनौट नगरी उहाँका योजनाहरूमा आफैलाई सुम्पिन्छस् भने, अनि यदि तँ परमेश्‍वरलाई कुनै माग गर्दैनस् भने, तँ मूल्यवान् व्यक्ति हुनेछस्। अहिले तँ सङ्कष्टबाट गुज्रेको छैनस्, त्यसैले तँ कुनै भेदभावविना आज्ञापालन गर्न सक्छस्। परमेश्‍वरले तँलाई जसरी डोऱ्याउनुभए पनि त्यो मार्ग ठीक छ, अनि उहाँका सबै योजनाबद्ध कार्यहरूमा तैँले आफैलाई सुम्पिन्छस् भनेर तँ भन्छस्। परमेश्‍वरले तँलाई सजाय वा श्राप दिनुभए पनि, तँ उहाँलाई सन्तुष्ट गर्न इच्छुक हुनेछस्। त्यति भनिसकेपछि पनि, तैँले अहिले भन्‍ने कुराले तेरो कदलाई प्रतिनिधित्व गर्छ नै भन्‍ने छैन। अहिले तँ जे गर्न इच्छुक छस्, त्यसले तँ अन्त्यसम्म पछ्याउन सक्षम छस् भनी देखाउँदैन। जब ठूला परीक्षाहरू तँमाथि आउँछन् वा जब तँ केही सतावट वा दबाब वा अझ ठूला परीक्षाहरू भएर जान्छस्, तब तैँले ती वचनहरू भन्न सक्नेछैनस्। यदि तँसित तब त्यस प्रकारको बुझाइ हुन सक्छ र तँ दृढ भई खडा हुन्छस् भने, यो तेरो कद हुनेछ। त्यस समयमा पत्रुस कस्ता थिए? पत्रुसले भने: “प्रभु, म तपाईंको निम्ति मेरो जीवन अर्पण गर्नेछु। यदि तपाईंले म मरेको चाहनुहुन्छ भने पनि म मर्नेछु!” उनले त्यस समयमा त्यसरी नै प्रार्थना गरे। उनले यसो पनि भने: “यदि अरूले तपाईंलाई प्रेम गर्दैनन् भने पनि म तपाईंलाई अन्त्यसम्‍मै प्रेम गर्नेछु। म तपाईंलाई हर समय पछ्याउनेछु।” त्यस समय उनले भनेको कुरा यही नै हो, तर उनीमाथि परीक्षाहरू आउनेबित्तिकै उनी टुटे र धुरुधुरु रोए। पत्रुसले तीन पल्टसम्म प्रभुलाई इन्कार गरे भन्‍ने कुरा तिमीहरू सबैलाई थाहा छ, छैन त? धेरै मानिसहरू छन् जो आफूमाथि परीक्षाहरू आउँदा धुरुधुरु रुनेछन् र मानव कमजोरी देखाउनेछन्। तँ आफ्नै मालिक होइनस्। यसमा, तैँले आफूलाई नियन्त्रण गर्न सक्दैनस्। सायद, आज तैँले धेरै राम्रो गर्दैछस्, तर तँसित अनुकूल वातावरण भएकोले गर्दा यसो भएको हो। यदि भोलि त्यो परिवर्तन भयो भने, तैँले आफ्नो कायरता र असक्षमता, तेरो घिनलाग्दोपन र अयोग्यता देखाउनेछस्। तेरो “पुरुषार्थ” निष्फल भएको लामो समय भइसकेको हुनेछ, अनि कहिलेकहीँ तैँले तेरो कामलाई एकातिर पन्छ्याउनेछस् र आफ्नो बाटो लाग्नेछस्। यसले के देखाउनेछ भने, त्यस समय तैँले जे बुझिस्, त्यो तेरो वास्तविक कद थिएन। कुनै व्यक्तिले वास्तवमै परमेश्‍वरलाई प्रेम गर्छन् कि गर्दैनन्, उनी साँच्चै परमेश्‍वरको योजनामा पूर्ण रूपमा समर्पित हुन सक्छन् कि सक्दैनन्, अनि परमेश्‍वर जे माग गर्नुहुन्छ, त्यसलाई प्राप्त गर्न उनले सबै शक्ति लगाउन सक्छन् कि सक्दैनन्, अनि आफ्नो जीवन बलिदान दिनुपरे पनि उनी परमेश्‍वरप्रति वफादार रहन, र उहाँलाई सबै थोकको सर्वोत्तम भाग दिन सक्छन् कि सक्दैनन् भनेर हेर्न उनको वास्तविक कदलाई हेर्नुपर्छ।

अहिले यी वचनहरू बोलिएका छन् भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ: पछि तैँले अझ ठूलो सङ्कष्ट र अझ ठूलो कष्ट अनुभव गर्नेछस्! सिद्ध तुल्याइनु साधारण वा सजिलो कुरा होइन। कम्तीमा, तँमा अय्यूबको जस्तो विश्‍वास हुनुपर्छ वा सायद तिनको भन्दा अझ ठूलो विश्‍वास हुनुपर्छ। भविष्यमा अय्यूबका परीक्षाहरूभन्दा ठूला परीक्षा हुनेछन् अनि तँ अझै पनि दीर्घकालीन सजायबाट गुज्रनुपर्छ भन्‍ने कुरा तैँले जान्नैपर्छ। के यो सामान्य कुरा हो र? यदि तेरो क्षमतालाई सुधार गर्न सकिँदैन, यदि तेरो बुझ्ने क्षमतामा कमी छ भने, अनि यदि तँलाई अत्यन्तै थोरै कुरा मात्र थाहा छ भने, त्यस समयमा तँसित कुनै गवाही हुनेछैन, तर बरु तँ शैतानको निम्ति ठट्टा र खेलौना हुनेछस्। यदि अहिले तैँले दर्शनहरूलाई पक्रिन सक्दैनस् भने, तँसित बिलकुल कुनै जग छैन, अनि भविष्यमा तँलाई फ्याँकिनेछ! यो मार्गको कुनै पनि भागमा हिँड्नको निम्ति सजिलो छैन, त्यसैले यसलाई हल्का रूपमा नलिई। यसलाई होशियारीपूर्वक तौली र यस मार्गको अन्तिम भागसम्म उचित प्रकारले हिँड्न सकूँ भनेर तयारी गर्। यो, भविष्यमा हिँड्नैपर्ने मार्ग, सबै मानिसहरूले हिँड्नैपर्ने मार्ग हो। तैँले यो ज्ञानलाई बेवास्ता गर्नुहुँदैन; म तँलाई जे भन्छु, ती सबै व्यर्थ हुन् भनी नसोच्। त्यो दिन आउनेछ जब तैँले यसलाई राम्ररी प्रयोगमा लगाउनेछस्—मेरा वचनहरू व्यर्थमा बोल्‍न सकिँदैन। यो, आफूलाई सुसज्जित पार्ने समय हो, भविष्यको निम्ति बाटो तयार गर्ने समय हो। तैँले पछि हिँड्नुपर्ने मार्ग तयार गर्नुपर्छ; तँ भविष्यमा कसरी दृढ भई खडा हुनेछस् भन्‍नेबारे तँ चिन्तित र व्याकुल हुनुपर्छ, अनि तेरो भविष्यको बाटाका निम्ति राम्रोसित तयार गर्नुपर्छ। घिचुवा र अल्छे नहो! तेरो समयको सर्वोत्तम प्रयोग गर्न तैँले सक्नेजति हरेक कुरा गर्नुपर्छ, ताकि तँलाई चाहिने हरेक कुरा तैँले हासिल गर्न सक्। तैँले बुझ्न सक् भनेर म तँलाई सबै कुरा दिइरहेको छु। तीन वर्षभन्दा कम समयमा मैले कति धेरै कुरा गरेको छु र कति धेरै काम गरेको छु भनी तिमीहरूले आफ्नै आँखाले देखेका छौ। मैले यसप्रकारले काम गर्नुको एउटा कारण के हो भने, मानिसहरूमा धेरै कुराको कमी छ, अनि अर्को कारण समय अति छोटो छ; अब अरू कुनै ढिलाइ हुन सक्दैन। मानिसहरूले गवाही दिन र उपयोगी हुन सक्नुअघि पहिले पूर्ण रूपमा भित्रैदेखि स्पष्ट हुनैपर्छ भन्‍ने कल्पना गर्छन्—तर के त्यो धेरै सुस्त हुनेथिएन र? त्यसैले, मैले कति लामो समयसम्म तँलाई साथ दिनुपर्ने हो? यदि म बूढो भइञ्‍जेल र मेरो कपाल फुलुञ्‍जेलसम्म मैले तिमीहरूलाई साथ दिएको चाहन्छौ भने, त्यो असम्भव हुनेछ! ठूला सङ्कष्टहरूबाट गुज्रेर नै मानिसहरूभित्र साँचो बुझाइ हासिल गर्न सकिनेछ। काम गर्ने कदमहरू यिनै हुन्। तैँले आज सङ्गति गरेका दर्शनहरूलाई पूर्ण रूपले बुझेपछि र तैँले साँचो कद प्राप्त गरेपछि भविष्यमा तँ जस्तोसुकै कठिनाइहरूबाट गुज्रे तापनि तँ व्याकुल हुनेछैनस्, अनि तैँले त्यसको सामना गर्न सक्‍नेछस्। जब मैले कामको यो अन्तिम कदम पूरा गरेको हुनेछु र आखिरी वचनहरू उच्चारण गरेर सिध्याएको हुनेछु, तब भविष्यमा मानिसहरू आफ्नो मार्गमा हिँड्न आवश्यक हुनेछ। यसले पहिले बोलिएका वचनहरूलाई पूरा गर्नेछ: पवित्र आत्मासित हरेक व्यक्तिको निम्ति आज्ञा छ, र हरेक व्यक्तिमा गर्नुपर्ने काम छ। भविष्यमा, हरेक व्यक्ति पवित्र आत्माद्वारा डोरिएर आफू हिँड्नुपर्ने मार्गमा हिँड्नेछन्। सङ्कष्टबाट गुज्रँदा कसले अरूको निम्ति वास्ता गर्न सक्नेछ? हरेक व्यक्तिको आफ्नै कष्ट हुन्छ, अनि हरेकको आफ्नै कद हुन्छ। कसैको कद पनि अरूको कदसित समान छैन। पतिले आफ्‍नी पत्नीको वास्ता गर्न सक्नेछैनन् वा आमाबाबुले छोराछोरीको वास्ता गर्न सक्नेछैनन्; कसैले पनि अरू कसैको वास्ता गर्न सक्नेछैन। त्यो, पारस्परिक वास्ता र सहायता अझै सम्भव भएको अहिलेको समय जस्तो हुनेछैन। त्यो, हरेक प्रकारको व्यक्तिलाई खुलासा गरिने समय हुनेछ। भन्नुको अर्थ, जब परमेश्‍वरले गोठालाहरूलाई प्रहार गर्नुहुन्छ, तब बगालका भेडाहरू छरपष्ट हुनेछन्, अनि त्यस समयमा तिमीहरूसित कुनै साँचो अगुवा हुनेछैन। मानिसहरू विभाजित हुनेछन्—तिमीहरू झुण्डको रूपमा सँगै आउन सक्ने अहिलेको जस्तो यो हुनेछैन। भविष्यमा, जोसित पवित्र आत्माको काम छैन, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। पतिहरूले आफ्ना पत्नीहरूलाई बेच्नेछन्, पत्नीहरूले आफ्ना पतिहरूलाई बेच्नेछन्, बच्चाहरूले आफ्ना बाबुआमाहरूलाई बेच्नेछन्, अनि बाबुआमाहरूले आफ्ना बच्चाहरूलाई सताउनेछन्—मानव हृदय बुझ्न गाह्रो छ! गर्न सकिने एउटै कुरा भनेको व्यक्तिसित जे छ, त्यसलाई पक्रिराख्नु हो अनि मार्गको अन्तिम भागसम्म हिँड्नु हो। अहिले, तिमीहरूले यसलाई प्रस्टसित देख्दैनौ; तिमीहरू सबै निकटको कुरा मात्रै देख्न सक्छौ। कामको यो चरण सफलतापूर्वक अनुभव गर्नु सजिलो कुरा होइन।

सङ्कष्टको समयलाई अति धेरै लम्बाइनेछैन; वास्तवमा, यो एक वर्षभन्दा कम समयसम्म रहनेछ। यदि यो, एक वर्षसम्म रहने हो भने कामको अर्को चरण ढिलो हुनेछ अनि मानिसहरूको कद अपर्याप्त हुनेछ। यदि यो अति लामो भएको भए, मानिसहरूले यसलाई सामना गर्न सक्नेथिएनन्। आखिर, मानिसहरूको कदका आफ्नै सीमितताहरू छन्। मेरो आफ्नै काम पूरा भएपछि, अर्को चरण भनेको मानिसहरूले आफूले हिँड्नुपर्ने मार्गमा हिँड्नु हो। हरेकले आफूले कुन मार्ग हिँड्नुपर्छ भन्‍ने कुरा बुझ्नैपर्छ—यो, मार्ग हो र कष्टको एउटा प्रक्रिया हो अनि यो, परमेश्‍वरलाई प्रेम गर्ने तेरो इच्छालाई शोधन गर्ने मार्ग पनि हो। तँ कुन सत्यताहरूभित्र प्रवेश गर्नुपर्छ, तैँले कुन सत्यताहरू पूर्ति गर्नुपर्छ, तैँले कसरी अनुभव गर्नुपर्छ, अनि तैँले कुन पक्षबाट प्रवेश गर्नुपर्छ—तैँले यी सबै कुरा बुझ्‍नैपर्छ। तैँले अहिले नै आफूलाई सुसज्जित पार्नुपर्छ। जब तँमाथि सतावट आइपर्छ, तब अति ढिलो भइसकेको हुनेछ। हरेक व्यक्तिले आफ्नै जीवनको बोझ बोक्नुपर्छ, अनि सधैँ अरूका चेतावनीहरू वा अरूले नै तँलाई जबरजस्ती डोर्‍याऊन् भनेर सधैँ पर्खने नगर्। मैले धेरै कुरा भनेको छु, तर तँ कुन सत्यताभित्र प्रवेश गर्नुपर्छ वा कुन सत्यताले आफैलाई सुसज्जित पार्नुपर्छ भन्‍ने तँलाई अझै थाहा छैन। यसले के देखाउँछ भने, तैँले परमेश्‍वरका वचनहरू पढ्ने कार्यमा अझै प्रयास गरेको छैनस्। तैँले तेरो आफ्नै जीवनको निम्ति कुनै पनि बोझ बोक्दैनस्—यो कसरी ग्रहणयोग्य हुन सक्ला र? तँ केमा प्रवेश गर्नुपर्छ भन्‍नेबारे स्पष्ट छैनस्, तैँले बुझ्नुपर्ने कुरा बुझ्दैनस्, अनि तिमीहरूले लिनुपर्ने भविष्यको मार्गको सम्बन्धमा तिमीहरू सबै अझै अन्योलमै छौ। के तिमीहरू पूर्ण रूपमा बेकामको छैनौ र? तिमीहरू के कामका छौ? तिमीहरूले अहिले जे गरिरहेका छौ, त्यो तिमीहरूका आफ्नै मार्गहरू बनाउने र निर्माण गर्ने कार्य हो। मानिसहरूले के हासिल गर्नुपर्छ भन्‍ने कुरा तैँले जान्नैपर्छ र मानवजातिको निम्ति परमेश्‍वरले दिनुभएका मागहरूको मापदण्डलाई तैँले जान्नैपर्छ। तँसित निम्‍न बुझाइ हुनैपर्छ: जेसुकै भए तापनि, म नराम्ररी भ्रष्ट भएको भए तापनि, मैले परमेश्‍वरसामु आफ्ना यी कमीहरूलाई पूरा गर्नैपर्छ। परमेश्‍वरले मलाई भन्नुअघि मैले बुझिनँ तर अहिले उहाँले मलाई भन्नुभएको छ र मैले बुझेको छु, त्यसैले मैले कमीकमजोरीलाई परिपूर्ती गर्न, सामान्य मानवताको जीवन जिउन, परमेश्‍वरको इच्छा पूरा गर्न सक्ने छविअनुसार जिउन हतार गर्नुपर्छ। मैले पत्रुसले जिएको जीवनअनुरूप जिउन नसके तापनि, कम्तीमा सामान्य मानवताको जीवन जिउनुपर्छ। यसप्रकार म परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छु।

यस मार्गको अन्तिम भाग अहिलेदेखि भविष्यको सङ्कष्ट नसिद्धिएसम्मै फैलिनेछ। मार्गको यो भाग मानिसहरूको साँचो कद प्रकट भएपछि हुनेछ, साथै तिनीहरूसित साँचो विश्‍वास छ वा छैन भनेर पनि यसले देखाउनेछ। मार्गको यो भाग यसअघि मानिसहरूले हिँडेको मार्गभन्दा बढी कठिन, चट्टाने मार्ग हुने हुनाले, यसलाई “मार्गको अन्तिम भाग” भनेर भनिन्छ। सत्य कुरा के हो भने यो, मार्गको सबैभन्दा अन्तिम खण्ड होइन; किनकि सङ्कष्टबाट गुज्रिसकेपछि, तँ सुसमाचार फैलाउने कामबाट गुज्रनेछस् अनि मानिसहरूको एउटा भाग प्रयोग गरिँदैगरेको कामबाट गुज्रनेछन्। त्यसैले, “मार्गको अन्तिम भाग” मानिसहरूलाई शोधन गर्ने सङ्कष्ट तथा कठोर वातावरणको सन्दर्भमा मात्र भनिएको हो। विगतमा हिँडिएको मार्गको त्यस भागमा, मैले तँलाई सिकाउन तेरो हात समाएर र आफ्नै हातले तँलाई खुवाएर व्यक्तिगत रूपमा तँलाई त्यस सुखद यात्रामा डोऱ्याएँ। तँ धेरै पल्ट सजाय र न्यायबाट गुज्रे तापनि, जहाँसम्म तेरो कुरा छ, ती हल्का प्रहारहरूको श्रृङ्खलाभन्दा बढी थिएनन्। अवश्य नै, त्यसले परमेश्‍वरमाथिको तेरो विश्‍वासका दृष्टिकोणहरूलाई उल्लेखनीय ढङ्गले परिवर्तन गराएको छ; यसले तेरो स्वभावलाई पनि उल्लेखनीय ढङ्गले स्थिर गराएको छ, अनि तँलाई मेरो बारेमा केही बुझाइ हासिल गर्न दिएको छ। तर म के भन्दैछु भने, जब मानिसहरू मार्गको त्यस भागमा हिँडिरहेका थिए, तब तिनीहरूले तिरेको मूल्य वा गरेको कडा प्रयास निकै साना थिए—तँ आज जहाँ छस्, त्यहाँसम्म तँलाई डोऱ्याउने म नै हुँ। किनकि म तँलाई केही गर्न लगाउँदिनँ; वास्तवमा, तँबाट मैले गरेका मागहरू बिलकुल उच्च छैनन्—जे उपलब्ध छ म तँलाई त्यही गर्न अनुमति दिन्छु। यस समयावधिमा, मैले तिमीहरूका खाँचोहरू निरन्तर पूरा गरेको छु, अनि मैले कहिल्यै अनुचित मागहरू गरेको छैन। तिमीहरूले पटक-पटक सजाय सहेका छौ, तापनि तिमीहरूले मेरा मूल मागहरूलाई पूरा गरेका छैनौ। तिमीहरू पछि हट्छौ र खिन्न हुन्छौ, तर म त्यसलाई ध्यान दिँदिनँ किनकि अहिले यो मेरो व्यक्तिगत कामको समय हो, अनि म तेरो “उपासना” लाई धेरै गम्भीरतापूर्वक लिँदिनँ। तर यसभन्दा उताको मार्गमा, म अब उप्रान्त काम गर्ने वा बोल्नेछैनँ, अनि जब समय आउँछ, म तिमीहरूलाई अब उप्रान्त त्यस्तो सुस्त ढङ्गले अघि बढ्न दिनेछैनँ। म तिमीहरूलाई प्रशस्त पाठहरू सिकाउनेछु, अनि म जे उपलब्ध छ, त्यो गर्न दिनेछैनँ। तिमीहरूसँग आज जुन साँचो कद छ, त्यसलाई खुलासा गरिनैपर्छ। तेरो वर्षौंदेखिको प्रयास अन्ततः फलदायी भएको छ वा छैन भन्‍ने कुरा तँ मार्गको यस अन्तिम भागमा हिँड्दा देखिनेछ। विगतमा तिमीहरूले परमेश्‍वरलाई विश्‍वास गर्नु धेरै सरल छ भनी सोच्थ्यौ, किनकि परमेश्‍वरले तँलाई कठोरतापूर्वक व्यवहार गरिरहनुभएको थिएन। अनि अहिले नि? के तिमीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सरल हो भन्‍ने लाग्छ? के तिमीहरूलाई अझै परमेश्‍वरमा विश्‍वास गर्दा यसले तिमीहरूलाई सडकमा खेलिरहेका बच्चाहरूलाई जस्तै खुशी र निष्फिक्री बनाउनेछ भन्‍ने लाग्छ? तिमीहरू भेडा हौ भन्‍ने कुरा साँचो हो; तथापि, तिमीहरूले परमेश्‍वरको अनुग्रहको कर्जा चुकाउन, र विश्‍वास गर्ने परमेश्‍वरलाई पूर्ण रूपले हासिल गर्न आफूले हिँड्नुपर्ने यो मार्ग हिँड्न सक्‍नैपर्छ। आफैलाई ठट्टामा नउडाओ, अनि आफैलाई मूर्ख नबनाओ! यदि तँ मार्गको यस भागमा दृढ रहन सक्छस् भने, तैँले मेरो सुसमाचारको कार्य सम्पूर्ण ब्रह्माण्डभरि फैलिएको अभूतपूर्व दृश्यलाई देख्न सक्नेछस्, अनि तैँले मसित घनिष्ठ हुने र सम्पूर्ण ब्रह्माण्डभरि मेरो कामलाई फैलाउने कार्यमा आफ्नो भूमिका खेल्ने सौभाग्य पाउनेछस्। त्यस समय, तँ हिँड्नुपर्ने मार्गमा धेरै खुशीसाथ निरन्तर हिँड्नेछस्। भविष्य असीमित रूपले उज्यालो हुनेछ, तर अहिलेको प्राथमिक कुरा भनेको मार्गको यस अन्तिम भागसम्म ठीक प्रकारले हिँड्नु हो। तैँले खोजी गर्नैपर्छ र यो काम कसरी गर्ने हो, त्यसको निम्ति तयारी गर्नैपर्छ। तैँले अहिले गर्नुपर्ने कुरा यही नै हो; यो अहिलेको जरुरी विषय हो!

अघिल्लो: तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!

अर्को: तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्