सत्यता कसरी पछ्याउने (२१)

यो अवधिको सङ्गतिको विषय निकै फराकिलो रहँदै आएको छ। तिमीहरू कति सम्झन सक्छौ? तिमीहरूले कति बुझ्न सक्छौ? (परमेश्‍वरले सङ्गति गरिसक्नुभएपछि, हामी त्यसको केही खण्ड अलिअलि सम्झन सक्छौँ। त्यसका अरू भागहरूको हकमा भन्नुपर्दा, हामीले हाल त्यस्तै परिस्थितिहरू अनुभव गरिरहेकाले हामीलाई त्यसको थोरै आभास हुन्छ। अनि, बाँकी भागहरूको हकमा भन्नुपर्दा, त्यस्ता परिस्थितिहरू कहिल्यै अनुभव नगरेकाले, हामी धेरै सम्झन सक्दैनौँ।) परिस्थितिहरू सामना गर्नुपर्दा, के तँलाई सङ्गति गरिएका कुराहरूको आभास हुन्छ? (अलिअलि हुन्छ। त्यस्तै परिस्थितिहरू सामना गर्नुपर्दा, म परमेश्‍वरले सङ्गति गर्नुभएको सत्यताको यो पक्ष, साथै त्यससम्बन्धी उहाँका वचनहरूका एकदुई वाक्यहरू सम्झन सक्छु, र पछि म खान र पिउनको लागि परमेश्‍वरका यी वचनहरू खोज्छु, र आफूले केही दिशा भेट्टाएझैँ अनुभूति गर्छु।) के तैँले सिद्धान्तहरू बुझेको छस्? (यस मानेमा, म अलि कमजोर छु। म अझै पनि सिद्धान्तहरू त्यति बुझ्न सक्दिनँ; म परमेश्‍वरका वचनहरूलाई आफूसित जोडेर हेर्न र अलिअलि बुझ्न मात्र सक्छु।) के तँलाई सत्यता बुझ्नु र सत्यता बोध गर्ने क्षमता हुनुको मुख्य अर्थ थाहा छ? कुनै व्यक्तिमा सत्यता बोध गर्ने क्षमता नहुँदा, के प्रायजसो “यो व्यक्तिले सत्यता बुझ्दैन,” वा “उसले सत्यता सिद्धान्तहरूको यो पक्ष बुझेको छैन” भन्‍ने गरिँदैन र? के तिमीहरू प्रायः यस्तै-यस्तै भनिरहँदैनौ र? (भनिरहन्छौँ।) व्यक्तिले सत्यता बुझ्छ र उसमा त्यो बोध गर्ने क्षमता छ भन्नुको अर्थ के हो? के त्यसले सत्यतासम्बन्धी धर्मसिद्धान्त बुझ्नुलाई जनाउँछ? (होइन। म यसलाई कसरी हेर्छु भने, परमेश्‍वरको सङ्गति सुनेपछि, यदि यो व्यक्तिमा सत्यता बोध गर्ने क्षमता हुन्छ भने, उसले त्यसलाई आफूसित जोडेर हेर्न र आफूबारे केही ज्ञान प्राप्त गर्न, र सत्यता अभ्यास गर्ने सिद्धान्तहरू भेट्टाउन सक्छ।) सत्यता बुझ्नु र सत्यता बोध गर्न सक्नुले मूल रूपमा व्यक्तिले सत्यता सिद्धान्तहरू बुझ्न सक्नुलाई जनाउँछ। यसको मतलब, जब कुनै सत्यताबारे सङ्गति गरिन्छ, त्यसका विशिष्ट विवरण र विषयवस्तु जे भए पनि, जति नै उदाहरणहरूको सूची प्रस्तुत गरिए पनि, वा जति नै मामला वा स्थितिहरूबारे छलफल गरिए पनि—यो सबैमा एउटा सत्यता सिद्धान्त हुन्छ। यदि तँ यो सत्यता सिद्धान्त बुझ्न र बोध गर्न सक्छस् भने, तँसित सत्यता बोध गर्ने क्षमता छ। अनि, यो सत्यता बोध गर्ने क्षमता हुनुको अर्थ के हो? यसको अर्थ सत्यता सिद्धान्तहरू बुझ्न सक्षम हुनु, र मामलाहरू सामना गर्नुपर्दा, सत्यता सिद्धान्तहरूको आधारमा मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्न, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्नु हो। सत्यता बोध गर्ने क्षमता हुनु भनेको यही हो। कतिपय मानिसहरूलाई जे-जसरी सत्यता सङ्गति गरे पनि, जतिसुकै उदाहरणहरू दिए पनि, जतिसुकै स्थितिहरूबारे कुरा गरे पनि, वा जति नै विशिष्टीकृत रूपमा छलफल गरे पनि, तिनीहरू अझै पनि कुन सत्यताबारे छलफल भइरहेको छ भनी जान्दैनन्, र सत्यता सिद्धान्तहरूको आधारमा मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्न, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्न, र कार्य गर्न सक्दैनन्। यसको मतलब तिनीहरू त्यो सत्यतालाई आफूसित जोडेर हेर्न वा लागू गर्न सक्दैनन्। तिनीहरू केही शब्द र धर्मसिद्धान्तहरूबारे घण्टौँसम्म कुरा गर्न, र यी कुराहरूबारे प्रस्ट र तार्किक रूपमा छलफल गर्न सक्छन्, तर दुःखलाग्दो कुरो, तिनीहरू परमेश्‍वरका वचनहरू लागू गर्नै सक्दैनन्, तिनीहरू समस्याहरू हल गर्न वा सम्हाल्न सत्यता सिद्धान्तहरू प्रयोग गर्नै सक्दैनन्। यो सत्यता सिद्धान्तहरू बुझ्नु वा सत्यता बोध गर्ने क्षमता हुनु होइन। तिनीहरूले जति धेरै धर्मसिद्धान्तहरूबारे कुरा गरे पनि, त्यो बेकार हो। सत्यता सिद्धान्तहरू भनेका हरेक मामला र सत्यतासम्बन्धी हरेक वर्गको कुरा अभ्यास गर्ने विशिष्ट मापदण्डहरू हुन्। ती अभ्यासका विशिष्ट मापदण्डहरू भएकाले, ती अवश्यै परमेश्‍वरका अभिप्राय हुन्। ती परमेश्‍वरले तँलाई विशिष्ट मामलाहरूमा आवश्यक गराउनुहुने मानकहरू, र तैँले लिनुपर्ने विशिष्ट अभ्यास मार्ग हुन्। सत्यता सिद्धान्तहरू यिनै हुन्। ती परमेश्‍वरका अभिप्राय मात्र नभई परमेश्‍वरले मानिसहरूलाई आवश्यक गराउनुहुने मानकहरू पनि हुन्। यदि तैँले सत्यता सिद्धान्तहरू बुझेको छस् भने, तँसित सत्यता बोध गर्ने क्षमता छ। यदि तँसित सत्यता बोध गर्ने क्षमता छ भने, मामलाहरू सामना गर्नुपर्दा, तैँले सत्यता सिद्धान्तहरूको आधारमा अभ्यास गर्नेछस्। तँ परमेश्‍वरका अभिप्रायबमोजिम अघि बढ्न र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्षम हुनेछस्। यसको उल्टो, यदि तँ सत्यता सिद्धान्तहरू बुझ्दैनस् भने—अर्थात्, यदि तँसित सत्यता बोध गर्ने क्षमता छैन भने—तैँले जे गरे पनि त्यो सत्यता सिद्धान्त वा परमेश्‍वरका वचनहरूमा आधारित हुनेछैन। तेरा कार्यहरूमा आधार र मापदण्ड छैनन्, अर्थात् तँसित कुनै निश्‍चित मानकहरू छैनन्। त्यसकारण, तैँले परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्दैनस्। कुनै व्यक्ति साँचो काम गर्न सक्षम छ छैन भनी मूल्याङ्कन गर्न, उसमा सत्यता बोध गर्ने क्षमता छ छैन भनी हेर्। यदि छ भने, उसले वास्तविक समस्याहरू समाधान गर्न सक्छ। यदि छैन भने, उसले जति नै धर्मसिद्धान्त ओकल्न सके पनि त्यो बेकार हुन्छ। जसले शब्द र धर्मसिद्धान्तहरूबारे कुरा गर्न मन पराउँछ तर वास्तविक समस्याहरू हल गर्दैन त्यो किताबी फरिसी हो। तैँले परमेश्‍वरका वचनका अनगिन्ती खण्डहरू कण्ठ पार्न सके पनि, त्यसको केही छैन। फरिसीहरू धाराप्रवाह रूपमा धर्मशास्‍त्र वाचन गर्न सक्थे, त्यसपछि तिनीहरू बाटोछेउ गएर प्रार्थना गर्थे; तिनीहरूले जे गर्थे त्यो मानिसहरूले देखून्, र आफ्नो प्रदर्शन गरूँ भनेर हुन्थ्यो, वास्तविक समस्याहरू हल गरूँ भनेर हुन्‍नथ्यो। त्यस्ता मानिसहरू हरप्रकारका आत्मिक र विश्‍वव्यापी रूपमा प्रशंसित र स्वीकृत, गहन र रहस्यमयी ज्ञान, धर्मसिद्धान्त, शब्द, र नाराहरू सङ्कलन गर्न ध्यान दिन्छन्, र ती कुराहरू सबैतिर प्रचार गर्छन्। तिनीहरू मानिसहरूले तिनीहरूलाई प्रशंसा र आराधना गरून् भनेर बाह्य रूपमा केही असल व्यवहारसमेत देखाउँछन् र उनीहरूलाई बहकाउँछन्। तर वास्तविक समस्याको कुरा आउँदा, विधानहरू पालना गर्ने र केही शब्द र धर्मसिद्धान्तहरू उद्धृत गर्नेअलावा, तिनीहरू कुनै पनि वास्तविक समस्या हल गर्न सक्दैनन्। मानिसहरूका भित्री स्थिति वा सारहरू, र यी मामलाहरू हेर्ने र हल गर्ने उपायको सन्दर्भमा, तिनीहरू कुनै पनि कुरा बोध गर्न वा कुनै पनि सत्यता बुझ्न सक्दैनन्। तिनीहरू केही शब्द र धर्मसिद्धान्तहरूबारे खोक्रो रूपमा बोल्न मात्र सक्छन्। किताबी फरिसी भनेकै यही हो। फरिसीहरूले शब्द र धर्मसिद्धान्तहरूबारे कुरा गर्न मात्र सक्नु तर कुनै पनि वास्तविक समस्या हल गर्न नसक्नुको कारण के हो भने, तिनीहरू सत्यता बुझ्दैनन्, र समस्याको सार सुरुदेखि अन्त्यसम्म बोध गर्न सक्दैनन्। त्यसैले, समस्याहरू सामना गर्ने समयमा, तिनीहरू झूट बोल्न र हास्यास्पद दृष्टिकोणहरू फैलाउनतिर लाग्छन्। तिनीहरू कुनै पनि व्यक्ति वा कुनै पनि मामलाको सार छर्लङ्गै देख्‍न सक्दैनन्। अन्ततः, तिनीहरूले कुनै पनि समस्या हल गर्न सक्दैनन्। तिनीहरूमा अलिकति पनि बोध क्षमता हुँदैन। तिनीहरूले जति नै प्रवचनहरू सुनेका वा जति नै धर्मसिद्धान्त छलफल गरेका भए पनि, तिनीहरू सत्यता सिद्धान्तहरू वा परमेश्‍वरका अभिप्राय बुझ्दैनन्। कमजोर र दयनीय भएर पनि, तिनीहरू अझै आफूले सत्यता बुझ्ने विश्‍वास गर्छन् र आफू आत्मिक मानिस हुँ भनी गर्व गर्छन्। के यो दयनीय कुरा होइन र? (हो।) यो दयनीय र वाक्कलाग्दो कुरा हो। तिनीहरू कैयौँ शब्द र धर्मसिद्धान्तहरूबारे कुरा गर्न, र निश्‍चित नियमहरू पालना गर्नसमेत सक्छन्, तर कुनै पनि ठोस समस्या हल गर्न सक्दैनन्। तिनीहरू अरूले बोलेको नक्कल गर्नतिर मात्र लाग्छन् र यसो भन्छन्, “ओहो, यहाँ केही भएछ। हेर त यो मामला कति जटिल, विचित्र, र असामान्य भएको छ। ओहो, त्यो व्यक्तिमा कुनै विवेक र समझ रहेनछ, उसको मानवता खराब छ र उसमा कुनै आत्मचेतना छैन। आफूलाई केही आइपर्दा, ऊ सावधानीबिना व्यवहार गर्छ।” तँ उसलाई सोध्छस्, “यो व्यवहार हेरेर, तिमी यो व्यक्तिलाई कसरी व्यवहार वा निराकरण गर्नेछौ? तिमी उसलाई कस्ता सिद्धान्तहरूको आधारमा तह लगाउनेछौ? उसको व्यवहारको सार के हो? के यस्तो व्यक्ति ख्रीष्टविरोधी हो, वा ख्रीष्टविरोधी मार्गमा लागिरहेको हो? के ऊ झूटा अगुवा हो, कि उसको मानवता खराब भएको, वा उसको आस्थाको जग सतही भएको मात्र हो?” तर उसले “यो बुझ्न गाह्रो छ” भन्छ। उसलाई त्यो हल गर्न आउँदैन, र विविध मामलाहरू सामना गर्नुपर्दा, उसले सतही घटना र अवस्थाहरू मात्र हेर्छ। विशेषगरी निश्‍चित व्यक्तिगत व्यवहार, प्रकटीकरण, शब्द, र कार्यहरूको सन्दर्भमा, उसले व्याख्या वा गन्ती गर्न मात्र सक्छ, वा उसले केही सामान्य र प्रारम्भिक प्रतिबद्धता गर्न सक्छ, तर उसले समस्याको सार बुझ्न सक्दैन। उसलाई यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्ने वा कसरी सामना गर्ने; तिनीहरूलाई चिन्तन गर्ने, आफूबारे जान्ने, र आफूलाई परमेश्‍वरका वचनहरूसित जोड्ने तुल्याउन कसरी सत्यता सङ्गति गर्ने; तिनीहरूलाई जीवन प्रवेशमा कसरी मद्दत गर्ने, वा प्रशासन र कर्मचारीहरूको कुरा आउँदा, यी मानिसहरूलाई कसरी उचित नियुक्ति गर्ने भन्‍नेबारे केही थाहा हुँदैन। उसले यो वा त्यो वर्गका मानिसहरूका विविध व्यवहार र अवस्थाहरूबारे मात्र कुरा गर्न सक्छ। तैँले उसलाई “तिमीले यी मानिसहरू सम्हाल्यौ?” भनेर सोधिस् भने, उसले “छैन, म अझै तिनीहरूलाई नियालिरहेको छु” भन्‍ने जवाफ दिन्छ। यसको परिणाम यही हो। के यसले समस्या सुल्झाउने क्षमताको अभाव जनाउँदैन र? (जनाउँछ।) के समस्या सुल्झाउने क्षमताको अभावले सत्यता बोध गर्ने असक्षमता जनाउँदैन र? (जनाउँछ।) अनि, सत्यता बोध गर्ने क्षमताबिना, के यी मानिसहरू सत्यता सिद्धान्तहरू बुझ्न असक्षम हुँदैनन् र? तिनीहरूले सत्यता सिद्धान्तहरू नबुझ्नुको कारण तिनीहरूले पर्याप्त प्रवचनहरू नसुनेर होइन; तिनीहरूमा सत्यता बोध गर्ने क्षमता नभएकाले हो—तिनीहरूमा त्यो क्षमता नै हुँदैन। त्यसोभए तिनीहरू किन प्रायः यति कुशलतापूर्वक बोल्न र बातचित गर्न सक्छन् त? तिनीहरूले धेरै सुनेका र अनुभव गरेका, र यी सबै धर्मसिद्धान्तहरू याद गरेकाले, तिनीहरू स्वाभाविक रूपमा केही शब्द र धर्मसिद्धान्तहरू छलफल गर्न सक्छन्। विशेषगरी धेरै वर्षसम्म अगुवा वा सेवकको रूपमा सेवा गरेकाहरू: तिनीहरूले नियमित अभ्यासमार्फत आफूलाई निखारेका हुन्छन्, तिनीहरू विविध शब्द र धर्मसिद्धान्तहरूबारे छलफल र कुराकानी गर्न सक्छन्, र भाषण वा निबन्ध वाचन गरेझैँ निकै सहजसाथ बोल्छन्। तर यसको अर्थ तिनीहरूमा कद वा वास्तविकता छ भन्‍ने होइन, न त तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्छन् भन्‍ने नै हो। तिमीहरू समझशक्तिमा राम्रो हुनैपर्छ र यस्ता मानिसहरूको बहकाउमा पर्नै हुँदैन। जब तैँले यस्तो कुनै व्यक्ति देख्छस् जो भेलाहरूमा कुरा नदोहोर्‍याई लगातार एकदुई दिन बोल्न सक्छ, तब तँ ऊप्रति यति मोहित हुन्छस् कि तँ पूरै विस्मित हुन्छस्; के यसले समझशक्तिको अभाव देखाउँदैन र? के यसले तँ सत्यता बुझ्दैनस् भन्‍ने देखाउँदैन र? (देखाउँछ।) यसले तँ सत्यता बुझ्दैनस् भन्‍ने देखाउँछ। यदि तैँले सत्यता बुझ्थिस् भने, तैँले उसको भाषणको कुनै कुरामा निश्‍चित स्थिति वा समस्या हल गर्ने कुनै अभ्यासका सिद्धान्तहरू छन् छैनन् भनी खुट्ट्याउन सक्थिस्। मानौँ, तैँले ध्यानपूर्वक सुनिस् र त्यसमा मानिसहरूको वास्तविक स्थिति वा समस्या सम्बोधन गर्ने एउटा पनि वाक्य नभएको, उसले थुप्रै नाराहरू र थुप्रै वचनहरू बोलेको, तर कुनै पनि सिद्धान्त, विशिष्ट समाधान, र अभ्यासका ठोस मार्गहरू नभएका धर्मसिद्धान्तहरू मात्र बोलेको पाइस् भने, उसले दुई-तीन दिनसम्म नै बोले पनि, त्यो सबै खोक्रो धर्मसिद्धान्त मात्र हुन्छ। अनि, मानौँ तैँले सुन्ने क्रममा, त्यो लाभदायक र फलदायी सुनिन्छ रे, तर चिन्तन गरेपछि तँलाई “म यो समस्या कसरी समाधान गरूँ? भर्खरै उसले यसलाई सम्बोधन गरेजस्तो लागेन” भन्‍ने लाग्छ र जब तैँले उसलाई फेरि पनि सोध्छस्, तब उसले थुप्रै धर्मसिद्धान्त मात्र ओकल्छ, तैपनि कसरी अघि बढ्ने भनी तँलाई थाहा हुँदैन रे। के यो मूर्ख पारिनु र धोकामा पर्नु होइन र? (हो।) तर कसरी अघि बढ्ने भनी तँलाई अझै थाहा नभए पनि, तँ अझै उसलाई प्रशंसा र आदर गर्छस्: त्यो मूर्ख पारिनु र धोकामा पर्नु हो। के तिमीहरू प्रायः यसरी धोकामा पर्दैनौ र? (पर्छौँ।) त्यसोभए, अगुवा र सेवकको रूपमा, के तिमीहरूले अरूलाई प्रायः यसरी धोका दिइरहेका हुँदैनौ र? (हुन्छौँ।) के अब तिमीहरूलाई सत्यता बोध गर्ने क्षमता हुनुको अर्थ के हो र सत्यता सिद्धान्तहरू के हुन् भन्‍नेबारे अलि बढी बुझाइ प्राप्त भएको छ? (म ती कुराहरू अलि बढी बुझ्छु।) त्यसोभए, सत्यता सिद्धान्तहरू भनेका के हुन्? (सत्यता सिद्धान्तहरू भनेका वास्तवमै मामलाहरू सामना गर्नुपरेको बेला अभ्यास गरिने निश्‍चित मापदण्डहरू हुन्; तिनमा परमेश्‍वर अभिप्रायका साथै अभ्यास गर्नुपर्ने निश्‍चित मानक र मार्गहरू हुन्छन्। यदि व्यक्तिले सत्यता सिद्धान्तहरू बुझ्छ भने, उसमा सत्यता बोध गर्ने क्षमता हुन्छ।) सत्यता बोध गर्ने क्षमता भएमा सत्यता सिद्धान्तहरू बुझ्न मद्दत मिल्छ। ती दुईबीचको सम्बन्ध यही हो। यो होइन कि तैँले सत्यता सिद्धान्तहरू बुझ्दा तँसित सत्यता बोध गर्ने क्षमता हुन्छ। बरु, यदि तँसित सत्यता बोध गर्ने क्षमता छ भने, तैँले सत्यता सिद्धान्तहरू बुझ्न सक्छस्। के यस्तै होइन र? (हो।) त्यसोभए, के तिमीहरूमध्ये बढीजसोमा सत्यता बोध गर्ने क्षमता छ? के तिमीहरू मैले हरेक-पटक सङ्गति गर्ने विषयवस्तुमा संलग्न सत्यता सिद्धान्तहरू बुझ्न सक्छौ? यदि तँ ती कुराहरू बुझ्न सक्छस् भने, तँमा सत्यता बोध गर्ने क्षमता छ, र तँमा आत्मिक बुझाइ छ। यदि, सुनेपछि, सङ्गतिको क्रममा कुरा गरिएका निश्‍चित मानिसहरू वा मानिसहरूको वर्गसम्बन्धी निश्‍चित कुरा, विशेष व्यवहार वा कार्यशैली मात्र सम्झन्छस्, तर यसमा सङ्गति भइरहेका सत्यता सिद्धान्तहरू वास्तवमा के हुन् भनी बुझ्दैनस्, र मामलाहरू सामना गर्नुपर्दा तिनलाई सङ्गति गरिएका विशेष तथ्यहरूसित कसरी जोड्ने, वा कसरी सत्यता सिद्धान्तअनुसार व्यवहार गर्ने भनी जान्दैनस् भने, तँमा कुनै आत्मिक बुझाइ छैन। आत्मिक बुझाइ नहुनुको अर्थ सत्यता बोध गर्ने क्षमता नहुनु हो। अनि, तैँले जति नै प्रवचनहरू सुने पनि, तँ सत्यता सिद्धान्तहरू बुझ्दैनस्, र मामलाहरू उत्पन्न हुँदा तँ अक्कबक्क पर्छस्; तैँले सतही अवस्था, प्रकटीकरण र त्यस्तै कुराहरू मात्र देख्न सक्छस्। तैँले समस्याको सार देख्न, र अभ्यासका मार्गहरू वा समस्या हल गर्ने तरिकाहरू भेट्टाउन सक्दैनस्। यसले साँचो सिद्धान्तहरूको बुझाइको अभाव र सत्यता बोध गर्ने असक्षमता जनाउँछ। यस्ता मानिसहरूमा आत्मिक बुझाइ हुँदैन। तिमीहरू समय लिएर यी मामलाहरूबारे मनन गर, र गहिराइमा पुगेर अध्ययन गर, अनि निष्कर्षमा पुग्नेछौ। यदि तिमीहरू यी मामलाहरूबारे कहिल्यै मनन गर्दैनौ भने, र यदि तेरो दिमाग भ्रमित छ छ भने, तँमा साँचो बुझाइ हुँदैन।

हामीले यो समय निरन्तर सङ्गति गर्दै आएको विषयवस्तुबारे नै सङ्गति गर्न जारी राखौँ। अघिल्लो भेलामा हामीले मानिसहरूका खोज, आदर्श र इच्छाहरू त्याग्‍नेबारेको चौथो भाग—अर्थात् “करियर” भन्‍ने भागको विशिष्ट विषयवस्तु—बारे छलफल गर्‍यौँ। “करियर” मा समावेश भएको विशिष्ट विषयवस्तुको कुरा गर्नुपर्दा, करियरबारे मानिसहरूमा हुनुपर्ने सही बुझाइ, वा करियरबारे परमेश्‍वरले मानिसहरूलाई आवश्यक गराउनुभएका अभ्यासका विशिष्ट मार्गहरू र अभ्यासका मापदण्डहरूको सन्दर्भमा हामीले चार वटा बुँदाहरू सूचीबद्ध गरेका छौँ। यी चार वटा बुँदाहरू के-के हुन्? (१. परोपकारी कार्यमा संलग्न नहुनु; २. खान र लाउन पाउनुमै सन्तुष्ट हुनु; ३. विभिन्न सामाजिक शक्तिहरूबाट अलग रहनु; ४. राजनीतिबाट अलग रहनु।) हामीले यी चारमध्ये दुई वटा बुँदाहरूबारे छलफल गरिसकेका छौँ। पहिलो बुँदा परोपकारी कार्यमा संलग्न नहुनु हो, र दोस्रो बुँदा खान र लाउन पाउनुमा सन्तुष्ट हुनु हो। के यी प्रत्येक चार वटा बुँदाहरूका विशिष्ट शब्दहरू मिलेर करियर त्याग्ने अभ्यासका ठोस सिद्धान्तहरू बन्दैनन् र? (बन्छन्।) यी चार वटा विशेष अभ्यासका सिद्धान्तहरू मिलेर परमेश्‍वरले मानवजातिलाई आवश्यक गराउनुभएका करियर त्याग्नेसम्बन्धी मानकहरू बन्छन्। अनि अवश्य नै, परमेश्‍वरले मानवजातिलाई आवश्यक गराउनुभएका यी मानकहरू करियर त्याग्‍ने सत्यता सिद्धान्तहरू हुन्, र यी कुराहरू मानिसहरूले यी मामलाहरू सामना गर्दा अभ्यास गर्ने विशिष्ट मार्गहरू हुन्; अर्थात्, यो दायराभित्र गर्नुपर्ने काम गरेर, तैँले परमेश्‍वरका मापदण्डहरू पूरा गर्छस्, तर यदि तँ यो दायराभन्दा बाहिर गइस् भने, तँ सिद्धान्तहरूविरुद्ध, सत्यताविरुद्ध, र परमेश्‍वरका मापदण्डहरूविरुद्ध जान्छस्। करियरसम्बन्धी विषय सन्दर्भमा, हामीले अभ्यासका दुई सिद्धान्तहरूबारे सङ्गति गरिसकेका छौँ: पहिलो, परोपकारी कार्यमा संलग्न नहुनु हो, र दोस्रो, खान र लाउन पाउनुमा सन्तुष्ट हुनु हो। परोपकारी कार्यमा संलग्न नहुनु भन्‍ने पहिलो बुँदाको सन्दर्भमा, हामीले केही विशिष्ट उदाहरणहरू दिएका छौँ र केही विशेष परिस्थितिहरूबारे छलफल गरेका छौँ। अनि, यो विषयमा मूल रूपमा के-कस्ता मामलाहरू संलग्न छन्? यो कुरा कुनै पेशा रोज्दा वा करियरको सन्दर्भ आउँदा, मानिसहरूले के गर्नुपर्छ भन्‍नेसँग सम्बन्धित छ। कम्तीमा पनि, पहिलो बुँदा परोपकारी कार्यसँग सम्बन्धित मामलाहरूमा संलग्न नहुनु भन्‍ने कुरा हो; व्यक्ति आफ्नै जीवन वा जीविकासँग सम्बन्धित करियरमा संलग्न भए पुग्छ। यदि त्यस्तो कुनै परोपकारी संस्था छ जहाँ तैँले रोजगारी पाउँछस् र जागिरमा आवेदन दिएको कारण मात्र त्यहाँ काम गर्छस् भने, यो तँ परोपकारी कार्यमा संलग्न हुनुजस्तो होइन—यो एक विशेष परिस्थिति हो। तैँले यहाँ रोजगारी प्राप्त गरेर ज्याला पाउँछस्, तर तँ एक कामदार मात्र होस्, तलब खाने कामदारभन्दा बढी केही होइनस्। उक्त परोपकारी संस्था चाहे फाउण्डेसन, समाज कल्याण, अनाथ बालबालिका वा जनावरहरू अपनाउने, विपद्‌ प्रभावित वा गरिबीले ग्रसित क्षेत्रका मानिसहरूलाई सहयोग गर्ने, शरणार्थीहरूलाई शरण लिने, आदि इत्यादि जेमा संलग्न भए पनि, यी मुख्य प्रयत्‍नहरूको तँसित कुनै सम्बन्ध हुँदैन। तँ मुख्य जिम्मेवार व्यक्ति होइनस्, र तैँले उक्त परोपकारी कार्यमा आफ्नो समय र शक्ति खर्चँदैनस्। यो पूर्णतया फरक मामला हो। तैँले परोपकारी कार्य गरिरहेको छैनस्; तँ एक परोपकारी संस्थाको कामदार मात्र होस्। के तिनका प्रकृति फरक हुँदैनन् र? (हुन्छ।) तिनका प्रकृति फरक हुन्छन्, र यो विशेष परिस्थितिले सिद्धान्त उल्लङ्घन गरेको हुँदैन। यसबाहेक, चाहे त्यो सानो वा ठूलो परोपकारी कार्य भए पनि, र उक्त परोपकारी कार्य जुनसुकै क्षेत्रमा भए पनि, त्यसको तँसँग कुनै सम्बन्ध हुँदैन। त्यो परमेश्‍वरले तँलाई गर्न आवश्यक गराउनुभएको होइन। त्यसो नगर्दा तैँले सत्यता उल्लङ्घन गरिरहेको हुँदैनस्, र तैँले त्यसो गरिस् नै भने पनि परमेश्‍वरले स्मरण गर्नुहुन्न। तेरो उद्देश्य सत्यता र मुक्ति पछ्याउने भएकोले, तैँले आफ्नो शक्ति र समय मुक्ति, सत्यता पछ्याइ, वा परमेश्‍वरप्रतिको समर्पणसँग कुनै सम्बन्ध नभएका मामलाहरूमा लगाउनु हुँदैन, किनभने परोपकारी कार्य गर्नुको कुनै मूल्य वा अर्थ छैन। अनि, किन यसो गर्नुको कुनै मूल्य वा अर्थ छैन? तैँले जोसुकैलाई बचाइस् वा मद्दत गरिस् भने पनि, त्यसले केही पनि बदल्न सक्दैन। त्यसले कसैको पनि नियति बदल्न वा तिनीहरूको नियतिका समस्याहरू समाधान गर्न सक्दैन, र तैँले मानिसहरूलाई कहिलेकाहीँ मद्दत गर्नु भनेको तिनीहरूलाई साँच्चिकै बचाउनु होइन। फलस्वरूप, अन्त्यमा, यस्ता प्रयत्‍नहरू व्यर्थ र कुनै पनि मूल्य वा अर्थै नभएका हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू ब्वाँसो पाल्छन्: तिनीहरूले एउटा दुइटाबाट सुरु गर्छन् र अन्त्यमा सयौँ वा हजारौँ बनाउँछन्। तिनीहरू यसलाई आफ्नो करियर मान्छन्, र यसमा आफ्नो सबै बचत लगाउँछन्, आफ्नो पूरै परिवारलाई संलग्न गराउँछन्, र आफ्ना पछिल्ला वर्षहरूको सम्पूर्ण ऊर्जा समर्पित गर्छन्। तिनीहरूको पूरै ऊर्जा र जीवन यही एउटै कुरामा जान्छ, अनि अन्तिम नतिजा के हुन्छ भने, ब्वाँसाहरूलाई सफलतापूर्वक बचाएर सुरक्षा दिए पनि, तिनीहरूले यो मामलामा उल्लेखनीय समय र वर्षहरू खेर फालेका हुन्छन्। तिनीहरूमा सत्यता पछ्याउने र कर्तव्य पूरा गर्ने अतिरिक्त समय र ऊर्जा हुँदैन। त्यसकारण, कर्तव्य पूरा गर्नु र मुक्ति पाउनुको तुलनामा, कुनै पनि कार्य, चाहे त्यो धेरै मानिसहरूले रुचाइएको र समाजद्वारा प्रशंसित नै किन नहोस्, त्यो मानिसहरूले मुक्ति र सत्यता पछ्याएको र कर्तव्यहरू पूरा गरेको जति महत्त्वपूर्ण हुँदैन। त्यो यी कुराहरू पछ्याउनुजति अर्थपूर्ण वा मूल्यवान् हुँदैन। यसमा अर्को महत्त्वपूर्ण कुरा छ: यदि तँ परमेश्‍वरद्वारा चुनिएको छस्, र तँ उहाँका चुनिएका मानिसहरूमध्येको एक होस् भने, परमेश्‍वरले तँलाई त्यस्तो संसार वा समाजद्वारा स्वीकृत परोपकारी कार्यको करियर कहिल्यै कदापि सुम्पनुहुनेछैन। परमेश्‍वरले कहिल्यै तँलाई यस्ता मामलाहरू जिम्‍मा दिनुहुनेछैन। अनि, यदि तँ परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक होस् भने, तँप्रति परमेश्‍वरको सबभन्दा ठूलो आशा के हुन्छ? तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्लास्, सत्यता पछ्याउन र परमेश्‍वरसामु फर्कन सक्लास्, र मुक्ति पाएर मण्डलीमै रहन सक्लास् भन्‍ने हुन्छ। परमेश्‍वरका अभिप्राय सबभन्दा बढी र राम्ररी पूरा गर्ने कुरा यही हो, यस संसार वा समाजका मानिसहरूले महत्त्वपूर्ण, अर्थपूर्ण वा चम्किलो ठान्ने कार्यहरू होइन। यदि तँ परमेश्‍वरको चुनिएको व्यक्ति होस् भने, उहाँले तँलाई सुम्पनुहुने जिम्‍मा भनेको परमेश्‍वरको काम र मण्डलीको कामसँग मात्र सम्बन्धित हुने कर्तव्य, अर्थात् तैँले पूरा गर्नुपर्ने कर्तव्य हो। मण्डलीको काम र परमेश्‍वरको व्यवस्थापनबाहिरको कुनै पनि कुरा तेरो चासोको विषय होइन। तैँले जेसुकै गरे पनि, तँलाई त्यो राम्रो हो भन्‍ने विश्‍वास भएर तँ त्यसो गर्न इच्छुक भए पनि, त्यसको कुनै मूल्य हुँदैन, त्यो स्मरणलायक हुँदैन, र परमेश्‍वरले त्यो स्मरण गर्नुहुन्न। चाहे त्यो कालजयी विरासत बनोस्, चाहे त्यसलाई सधैँभरि सम्झना गरियोस्, वा चाहे त्यसले समकालीन मानिसहरूको प्रशंसा पाओस्, त्यो सबै महत्त्वहीन छ। त्यसलाई जति जना मानिसहरूले स्विकारे पनि, त्यसको अर्थ यो होइन कि तैँले गरेको कामलाई परमेश्‍वरले अनुमोदन वा स्मरण गर्नुहुन्छ। त्यसको अर्थ तैँले गरेको काम अर्थपूर्ण वा मूल्यवान् छ भन्‍ने होइन। यो संसार र यो समाजका राय र मूल्याङ्कनहरूले परमेश्‍वरले गर्नुहुने तेरो मूल्याङ्कन जनाउँदैनन्। त्यसकारण, करियरको कुरामा, तैँले आफ्नो सीमित समय र अमूल्य ऊर्जा अर्थहीन प्रयत्‍नहरूमा खेर फाल्नु हुँदैन। बरु, तँ आफ्नो ऊर्जा र समय परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यमा र सत्यता र मुक्ति पछ्याउने मामलाहरूमा केन्द्रित गर्ने गर्। यसैको साँचो मूल्य र अर्थ छ। यस तरिकाले जिउनाले तेरो जीवन मूल्यवान् र अर्थपूर्ण हुनेछ। कतिपय मानिसहरू हजारौँ कुकुर पाल्छन्, र हरदिन आफूले पालेका ती कुकुर स्याहार्ने र तिनीहरूकै लागि जिउने कुरामा केन्द्रित हुन्छन्। तिनीहरूले मुस्किलले खाने र सुत्ने समय पाउँछन्, कपडा धुने वा मानिसहरूसित कुरा गर्ने समय पाउने त कुरै नगरौँ। तिनीहरूले सम्हाल्ने कार्यहरू तिनीहरूको क्षमताको दायराभन्दा पर जान्छन्। तिनीहरूको जीवन थकानयुक्त र दयनीय हुन्छ। के यो मूर्खता होइन र? (हो।) तँ मुक्तिदाता होइनस्, मुक्तिदाता बन्ने कोसिस नगर्। संसारलाई बचाउन, संसारलाई बदल्न, वा आफ्नै शक्तिद्वारा वर्तमान स्थिति वा यो संसार परिवर्तन गर्न चाहनु मूर्खता हो। यस्ता प्रयासहरू अवश्यै झन् बढी मूर्खता हुन्, र अन्तिम परिणामहरूले तँलाई झनै डरलाग्दो स्थितिमा राख्ने, थकित तुल्याउने, असीमित दुःख दिने, र हाँस्ने कि रुने भन्‍ने दोधारमा पार्ने काम मात्र गर्नेछन्। मानिसहरूमा त्यति धेरै ऊर्जा हुँदैन, न त तिनीहरूको सामर्थ्य र क्षमताले केही बदल्न नै सक्छ। आफूसित भएको थोरै ऊर्जा र समय सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य पूरा गर्न अर्पने र खर्चने गर्नुपर्छ। अनि अवश्य नै, मुक्ति र परमेश्‍वरप्रतिको समर्पण हासिल गर्नहेतु त्यसलाई सत्यता खोज्नमा खर्चनु र समर्पित गर्नु अझ बढी महत्त्वपूर्ण छ। यी कुराहरूबाहेक, अरू कुनै पनि प्रयत्‍नहरू अर्थहीन हुन्छन्। करियर त व्यक्तिको भौतिक जीवनको पाटोको रूपमा गर्नुपर्ने काम हो। त्यो अर्थपूर्ण कहलिन योग्य छैन; त्यो भौतिक जीवन र अस्तित्वको लागि मात्र जरुरी छ। जिउन र अस्तित्वमा रहन, तँ कुनै पेशामा संलग्न हुनैपर्छ; यो पेशा एउटा जागिर मात्र हो जसले तँलाई जीवन गुजारा गर्न मद्दत गर्छ। त्यो पेशा समाजको तल्लो वा माथिल्लो जुनै तहमा भए पनि, त्यो जीविका चलाउने एउटा उपाय मात्र हो; यसमा कुलीनता र महत्त्वको प्रश्‍नै आउँदैन। यसअलावा, त्यसको महत्त्व छ नै भने पनि, परमेश्‍वरले मानवजातिको लागि यो कुरा आवश्यक गराउनुहुन्छ: यदि तँ सत्यता पछ्याउन र मुक्तिको मार्ग हिँड्न चाहन्छस् भने, जीविका चलाउन कुनै पेशा रोज्नुको मानक भनेको खान र लाउन पाउनुमा सन्तुष्ट हुनु हो। गाँस, बास, कपास, र यातायातको निम्ति दौडधुप गरेर त्यसैमा व्यस्त रहनमा अत्यधिक ऊर्जा र समय खर्च नगर्—आधारभूत आवश्यकताहरू पूरा भए पुग्छ। जब तेरो पेट भरिएको र तेरो शरीर न्यानो रूपमा ढाकिएको हुन्छ; जब तैँले जीवित रहने यी आधारभूत सर्तहरू पूरा गर्छस्, तब तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, आफ्नो अमूल्य ऊर्जा र समय आफ्नो कर्तव्यप्रति र परमेश्‍वरले तँलाई सुम्पनुभएको कामप्रति अर्पित गर्नुपर्छ, र आफ्नो हृदय चढाउनुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा भनेको कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सत्यतामा प्रयत्न लगाउने, सत्यता पछ्याउने र सत्यता पछ्याउने मार्ग हिँड्ने काम पनि गर्नुपर्छ—भौँतारी मात्र हिँड्ने काम नगर्। सिद्धान्त यही हो। परमेश्‍वरले तँलाई बाँच्न र जिइरहनकै लागि तेरो सम्पूर्ण शक्ति लगाउन आवश्यक गराउनुहुन्न। उहाँको निम्ति तैँले आकर्षक जीवन जिएर त्यसमार्फत उहाँको महिमा बढाउन आवश्यक छैन, न त उहाँले तँलाई यो संसारमा कुनै महान् कार्यहरू पूरा गर्न, कुनै आश्‍चर्यकर्म गर्न, मानवजातिलाई कुनै योगदान दिन, धेरै मानिसहरूलाई सहयोग प्रदान गर्न, वा धेरै मानिसहरूको रोजगार समस्या हल गर्न नै आवश्यक गराउनुहुन्छ। तँसित भव्य करियर हुनु, तँ संसारभर प्रसिद्ध बन्नु, र त्यसपछि तैँले यी कुराहरू प्रयोग गरेर परमेश्‍वरको नामको महिमा गाउनु, र संसारलाई “म एक इसाई हुँ, म सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छु” भनेर सुनाउनु जरुरी छैन। परमेश्‍वरले तँ यो संसारको एक साधारण व्यक्ति र सर्वसाधारण हुन सक्‌ भन्‍ने मात्र आशा गर्नुहुन्छ। तैँले कुनै पनि आश्‍चर्यकर्म गर्नु जरुरी छैन; तैँले विविध पेशा वा क्षेत्रमा दक्षता हासिल गर्न वा प्रसिद्ध व्यक्ति वा महान् व्यक्तित्व बन्न जरुरी छैन। तँ मानिसहरूको प्रशंसा वा सम्मान आर्जन गर्ने व्यक्ति हुनु पर्दैन, न त तैँले विविध क्षेत्रमा कुनै सफलता वा विशेष सम्मान हासिल नै गर्नुपर्छ। परमेश्‍वरको महिमा बढाउन तैँले निश्‍चय नै कुनै योगदान गर्नु आवश्यक छैन। परमेश्‍वर तैँले खालि आफ्नो जीवन राम्ररी जिएको, आधारभूत आवश्यकताहरू पूरा गरेको, भोकमरीमा नपरेको, र जाडो मौसममा न्यानो र गर्मीमा उचित कपडा लगाएको मात्र आवश्यक गराउनुहुन्छ। जबसम्‍म तेरो जीवन सामान्य र तँसित बाँच्ने क्षमता हुन्छ, त्यही पर्याप्त छ—तँप्रतिको परमेश्‍वरको मापदण्ड त्यही हो। तँसित जस्तोसुकै वरदान, प्रतिभा, वा विशेष क्षमता भए पनि, परमेश्‍वर तैँले ती कुराहरू प्रयोग गरेर सांसारिक सफलता हासिल गरेको चाहनुहुन्न। बरु, उहाँ तैँले आफूमा भएका जुनसुकै वरदान वा क्षमताहरूलाई आफ्नो कर्तव्य गराइमा, उहाँले तँलाई सुम्पनुभएको कर्तव्य, र सत्यता पछ्याइमा लगाएको, र अन्त्यमा मुक्ति प्राप्त गरेको चाहनुहुन्छ। यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो, र परमेश्‍वरले त्योभन्दा बढी केही आवश्यक गराउनुहुन्न। यदि तँ राम्रोसित जिउँछस् भने, परमेश्‍वरले तँ उहाँको महिमा गाउने व्यक्ति होस् भनेर भन्नुहुनेछैन। यदि तेरो जीवन साधारण छ र तँ समाजको तल्लो वर्गमा पर्छस् भने, त्यो परमेश्‍वरको अपमान होइन। यदि तेरो परिवार तुलनात्मक रूपमा गरिब छ, तर तँ खान र लाउन पाउनुमा सन्तुष्ट हुने परमेश्‍वरको मानक पूरा गर्छस् भने, त्यो पनि उहाँको अपमान होइन। तँ जिउने र बाँच्ने क्रममा, तेरो पछ्याइको लक्ष्य भनेको खान र लाउन पाउनुमा सन्तुष्ट हुनु, आधारभूत आवश्यकताहरू पूरा गर्नु र सामान्य रूपमा जिउनु, दैनिक रूपमा खान सक्नु, र दैनिक खर्चहरू जुटाउनु हो—यति भए काफी हुन्छ। तँ सन्तुष्ट हुँदा परमेश्‍वर पनि सन्तुष्ट हुनुहुन्छ—परमेश्‍वरले मानिसहरूबाट यही कुरा माग्नुहुन्छ। उहाँ तँलाई कुनै धनी, प्रसिद्ध, वा उच्च व्यक्ति बन्न भन्‍नुहुन्न, न त उहाँले तँलाई मगन्ते नै बन्न दिनुहुन्छ। मगन्तेहरू केही काम गर्दैनन्; तिनीहरू दिनभरि खाना माग्छन्, दयालाग्दो देखिन्छन्, अरूको जुठो खान्छन्, झुत्रोझाम्रो लाउँछन्, टालेको वस्‍त्र पहिरन्छन् र जुटको बोरासमेत लपेट्छन्—तिनीहरूको जीवनको गुणस्तर निकै तल्‍लो स्तरको हुन्छ। परमेश्‍वरले तँलाई मगन्तेझैँ जिई भनेर भन्‍नुहुन्न। भौतिक जीवनको मामलामा, परमेश्‍वरले तँलाई उहाँको महिमा गाउन आवश्यक गराउनुहुन्न, न त कुनै निश्‍चित परिस्थितिलाई उहाँको अपमानको रूपमै हेर्नुहुन्छ। परमेश्‍वरले व्यक्तिलाई ऊ मुस्किलसाथ वा प्रचुरतामा जिइरहेको छ भन्‍ने आधारमा मूल्याङ्कन गर्नुहुनेछैन। बरु, उहाँले तँलाई सत्यता पछ्याइको सन्दर्भमा र उहाँले तोक्‍नुभएका सिद्धान्तहरूको सन्दर्भमा, तैँले कसरी अभ्यास गर्छस् र उहाँका मापदण्डहरू पूरा गर्छस् गर्दैनस् भन्‍ने आधारमा मूल्याङ्कन गर्नुहुन्छ। यति नै हो। के अब तैँले करियरसँग सम्बन्धित यी दुई सिद्धान्तहरू बुझेको र बोध गरेको छस्? पहिलो सिद्धान्त परोपकारी कार्यमा संलग्न नहुनु हो, र दोस्रो सिद्धान्त खान र लाउन पाउनुमा सन्तुष्ट हुनु हो। यी दुवै सिद्धान्तहरू बुझ्न सजिला छन्।

मण्डलीमा त्यस्ता केही व्यक्तिहरू हुन्छन् जो अझै पनि परोपकारी कार्य गर्नु भनेको राम्रो कुरा हो भनी दृढ विश्‍वास गर्छन्। तिनीहरू सोच्छन्, “हामीले जहाँ आवश्यकता छ त्यहाँ सहयोगी हात फैलाउनुपर्छ। मेरै व्यक्तिगत कुरा गर्नुपर्दा, मैले कपडा र केही पैसा दान दिएको छु, र म विपद्‌ प्रभावित क्षेत्रहरूमा समेत गएर स्वयंसेवा गर्छु।” तिमीहरू यो मामलालाई कसरी मूल्याङ्कन गर्छौ? के यसलाई रोक्नु वा हस्तक्षेप गर्नुपर्छ? (यसमा हस्तक्षेप गर्नु हुँदैन।) यसो भन्‍नेहरू पनि हुन्छन्, “जब म कोही व्यक्ति, विशेषगरी भोकाएका बालबालिकाहरू मागिरहेको देख्छु, तब मलाई तिनीहरूप्रति दया लाग्छ।” तिनीहरू यस्ता मानिसहरूलाई तुरुन्तै आफ्नो घर ल्याउँछन्, मिठा खाना बनाइदिन्छन्, र त्यसपछि उनीहरूलाई केही कपडा र राम्रा चिजहरू दिएर पठाउँछन्, र बेलाबेलामा उनीहरूलाई भेट्नसमेत जान्छन्। तिनीहरू यस्ता दयाका कार्यहरू गर्न र आफूलाई यस्तो व्यवहारमा ढाल्न इच्छुक हुन्छन्, र यसरी आफूलाई यस्तो व्यवहारमा ढाल्नु भनेको न्याय पालना गर्नु हो र यसो गरेमा परमेश्‍वरले तिनीहरूलाई स्मरण गर्नुहुनेछ र तिनीहरू संसारका सबैभन्दा प्रिय मानिसहरू बन्नेछन् भन्‍ने विश्‍वास गर्छन्। यस्ता मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, के मण्डलीले तिनीहरूलाई रोक्ने वा हस्तक्षेप गर्ने गर्छ? (यसले कुनै हस्तक्षेप गर्दैन।) हामी तिनीहरूलाई सुनाउनुपर्ने प्रवचनहरू सुनाउँछौँ, र परमेश्‍वरका अभिप्राय र सत्यता सिद्धान्तहरू बुझाउँछौँ। यदि तिनीहरूले सबथोकबारे बुझाइ र ज्ञान प्राप्त गरेपछि पनि, आफ्नै तवरले कामकुरा गर्न, र आफ्नै इच्छाअनुसार कार्य गर्न जिद् कस्छन् भने हामी हस्तक्षेप गर्दैनौँ। हरव्यक्तिले आफ्ना वचन र कार्यको जिम्मेवारी आफै लिनुपर्छ, र मानिसहरू तिनीहरूको अन्तिम परिणामबारे र तिनीहरूलाई परमेश्‍वरले कस्तो वर्गमा राख्‍नुहुन्छ भन्‍नेबारे आफै जवाफदेही हुन्छन्। अरूले त्यो जिम्मेवारी बोक्न वा त्यो मूल्य तिर्न आवश्यक छैन। यदि हामीले सबथोक बुझ्ने भएर पनि परोपकारी कार्य गर्न जिद् कस्ने मानिसहरू भेट्यौँ भने, हामी तिनीहरूका सोच वा दृष्टिकोणहरू सच्याउनेछैनौँ, न त हामी हस्तक्षेप नै गर्नेर्छौँ, र हामी निश्‍चय नै तिनीहरूलाई निन्दा पनि गर्नेछैनौँ। अझै पनि कतिपय यस्ता मानिसहरू छन् जो, परमेश्‍वरमा विश्‍वास गरेपछि पनि सांसारिक कुराहरू, धन, सरकारी पद वा करियर पछ्याउँछन्। के हामी तिनीहरूलाई हस्तक्षेप गर्छौँ त? (हामी हस्तक्षेप गर्दैनौँ।) सान्दर्भिक सत्यताहरूबारे तिनीहरूसित सङ्गति गर् ताकि तिनीहरूले कुरा बुझून्, र तैँले सङ्गति गरिसकेपछि तिनीहरू आफैले रोज्न सक्छन्। कुन मार्ग पछ्याउने भन्‍ने कुरा तिनीहरूले नै निर्णय गर्ने हो। तिनीहरूले के रोज्छन्, के गर्न चाहन्छन्, र कसरी गर्छन्—हामी यी मामलाहरूमा हस्तक्षेप गर्दैनौँ। हाम्रो जिम्मेवारी भनेको तिनीहरूसित परमेश्‍वरका अभिप्राय र सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्नु हो। यदि तिनीहरूले बुझ्छन् र बोध गर्छन् भने, तैँले तिनीहरूलाई सोध्न सक्छस्, “अब, तिम्रो अर्को कदम के हुनुपर्छ? तिमी सुसमाचार प्रचार गर्न कहिले थाल्छौ?” त्यसपछि तिनीहरूले भन्छन्, “अलि पर्ख न, मैले सरसामान ढुवानी गरेर ल्याउनु छ, साथै मैले सम्हाल्नुपर्ने केही काम र एउटा परियोजना छ, जुन पूरा भएपछि मैले त्यसबाट धेरै पैसा कमाउन सक्छु। सुसमाचार प्रचार गर्ने कुरामा पछि फर्कौँला न।” अनि तैँले भन्छस्, “मैले कति समय पर्खनुपर्ला?” त्यसपछि तिनीहरूले “सायद दुई-तीन वर्ष” भनी जवाफ दिन्छन्। त्यसोभए, अहिलेलाई छुटौँ। अब तैँले यस्ता मानिसहरूबारे चासो राख्नु पर्दैन। यो मामलालाई यसरी नै हल गर्न सकिन्छ, के त्यो सजिलो छैन र? (सजिलो छ।) साँचो मार्ग थाहा हुँदाहुँदै पनि जानाजान पाप गर्नु भनेको यही हो। यस्ता मानिसहरूले पापबलि चढाउनेछैनन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई रोक्ने वा हस्तक्षेप गर्ने गर्नुहुन्न; त्यो क्षणमा पनि उहाँले तिनीहरूलाई कुनै रूपमा मूल्याङ्कन गर्नुहुन्न। उहाँले तिनीहरूलाई स्वतन्त्र रूपमा रोज्न दिनुहुन्छ। तिमीहरूले पनि यो सिद्धान्त सिक्नु जरुरी छ। छोटकरीमा भन्‍नुपर्दा, तिनीहरूले जति बुझे पनि, हाम्रो जिम्मेवारी भनेको तिनीहरूलाई परमेश्‍वरका अभिप्राय प्रस्टसित बुझाउनु हो। त्यसपछि तिनीहरूले के रोज्छन्, तिनीहरूको अर्को कदम के हुनुपर्छ, त्यो तिनीहरूकै कुरा र स्वतन्त्रता हो। कसैले पनि हस्तक्षेप गर्नु हुँदैन, र तिनीहरूलाई दबाब दिन त्यसका फाइदा बेफाइदा सुनाउनु जरुरी छैन। के यो शैली उचित हो? (यो उचित हो।) यदि यो उचित हो भने, यो यसरी नै गरिनुपर्छ। सिद्धान्तविपरीत जाने नगर् र तिनीहरूलाई आफ्नो इच्छाविपरीत काम गर्न बाध्य नपार्। करियर त्याग्नुका पहिलो दुई सिद्धान्तहरू यिनै हुन्; यी दुई सिद्धान्तहरू तुलनात्मक रूपमा बुझ्न सजिला र प्रस्ट छन्।

करियर त्याग्ने विषयबारेमा परमेश्‍वरले मानिसहरूलाई अभ्यास गर्न आवश्यक गराउनुभएको तेस्रो सिद्धान्त के हो? त्यो सिद्धान्त विभिन्न सामाजिक शक्तिहरूबाट अलग रहनु भन्‍ने हो। यो बुझ्न अलि बढी कठिन छ, होइन र? (हो।) यो बुझ्न अलि बढी कठिन होला, तर यो पनि एउटा सिद्धान्त नै हो। यो मानिसहरूले यो समाजमा बाँच्नको निम्ति बफादारीपूर्वक पालना गर्नुपर्ने सिद्धान्त हो। यो एउटा मनोवृत्ति, पद्धति र बाँच्ने शैली पनि हो जुन यो समाजमा बाँच्नको लागि मानिसहरूमा हुनैपर्छ, र यो समाजमा बाँच्न चाहिने एक प्रकारको बुद्धि हो भन्दा अवश्यै सही हुन्छ। विभिन्न सामाजिक शक्तिहरूबाट अलग रहनु सतही रूपमा हरव्यक्तिको लागि टाढाको कुरा देखिन सक्ला, तर वास्तवमा, यी विविध सामाजिक शक्तिहरू हरव्यक्तिको छेउछाउमै लुकेका हुन्छन्। ती अदृश्य शक्तिहरू हुन्, हरव्यक्तिका वरिपरि हुने कुराहरू हुन्। जब तैँले कुनै पेशा रोज्छस्, त्यो पेशा जुनसुकै सामाजिक वर्गमा पर्ने भए पनि, त्यो सम्बन्धित पेशाको ठूलो शक्तिको प्रभावमा रहेको हुन्छ। तँ उच्चस्तरीय वा निम्नस्तरीय जे-जस्तो पेशामा संलग्न भए पनि, त्यस पेशाभित्रै सम्बन्धित समूहका मानिसहरू हुन्छन्। यदि समाजमा यी समूहहरूसँग केही वर्षको अनुभव, निश्‍चित योग्यता, वा निश्‍चित सामाजिक जग छन् भने, तिनीहरू मिलेर जरुर एउटा अमूर्त शक्ति बन्छ। जस्तै, शिक्षण पेशालाई उच्चस्तरीय पेशा नमानिएला, तर त्यो निम्नस्तरीय पनि होइन। त्यो खेतीपाती वा विविध प्रकारका श्रमभन्दा अलि उच्च, तर समाजका साँच्चिकैका उच्चस्तरीय पेशाहरूभन्दा अलि निम्न हो। यो पेशाभित्र, तैँले गर्ने सामान्य कामबाहेक, यो क्षेत्र प्रवेश गर्ने अरू थुप्रै मानिसहरूको लर्को पनि हुन्छ। त्यसैले, यो क्षेत्रमा, मानिसहरूलाई वरिष्ठता र अनुभवको गहनताको आधारमा छुट्याइने गरिन्छ। यो पेशाका माथिल्ला तहहरूमा कर्मचारी, प्रचलन, नीति, नियमन र नियमजस्ता कुराहरूमाथि नियन्त्रण गर्ने वर्ग हुन्छ; त्यसबाट यो पेशाभित्रै त्यहीअनुरूपको एउटा शक्ति निर्माण हुन्छ। जस्तै, शिक्षण पेशामा नेतृत्व, अर्थात् यो पेशालाई नेतृत्व दिने र नियन्त्रण गर्ने, र तेरो जीविका र तलबमाथि नियन्त्रण राख्ने व्यक्ति को हुन्छ? केही देशहरूमा, कुनै शिक्षक सङ्गठन हुन सक्ला; चीनमा शिक्षा ब्युरो र शिक्षा मन्त्रालय छन्। यी संस्थाहरूले समाजमा शिक्षण पेशासम्बन्धी शक्तिहरूको क्षेत्र प्रतिनिधित्व गर्छन्। त्यसैगरी, किसानहरूको हकमा, तिनीहरूको वरिष्ठ को हुन्छ? त्यो कुनै टोली अगुवा, गाउँ प्रमुख, वा नगर प्रमुख हुन सक्ला, र अहिले कृषि व्यवस्थापन समितिहरू पनि बनिरहेका छन्। के यो पेशासम्बन्धी शक्ति केन्द्र यही होइन र? (हो।) यी विभिन्न शक्ति केन्द्रहरूले तेरा सोच, वचन र व्यवहार, र तेरो आस्था र तैँले जीवनमा लिने मार्गलाई समेत प्रभावित र नियन्त्रित गर्न सक्छन्। तिनले तेरो जीविकामाथि नियन्त्रण जमाउने मात्र होइन; तिनले तेरो सबथोकमाथि पनि नियन्त्रण जमाउँछन्। विशेषगरी ठूलो रातो अजिङ्गरको देशमा, गैरविश्‍वासीहरू सधैँ वैचारिक सेमिनारहरू सञ्चालन गर्ने, आफ्ना सोचहरूबारे रिपोर्ट गर्ने, र आफ्ना सोचमा केही समस्या छन् छैनन्, र आफूमा कुनै पार्टीविरोधी, राज्यविरोधी, वा मानवविरोधी पक्षहरू छन् छैनन् भनी जाँच्ने कामहरू गरिरहन्छन्। तँ जुनसुकै पेशामा संलग्न भए पनि, चाहे त्यो परम्परागत पेशा होस् वा आधुनिक, तेरो वरपर तेरो पेशागत क्षेत्रमा त्यससम्बन्धी विविध शक्तिहरू हुनेछन्। केही शक्तिहरू तेरा सुपरिवेक्षकहरू, र प्रत्यक्ष रूपमा तेरो तलब र जिउने खर्च निर्धारण गर्न जिम्मेवार व्यक्तिहरू हुन्। अरू अमूर्त शक्तिहरू पनि हुन सक्छन्। जस्तै, मानौँ तँ कुनै कार्यस्थलको तल्लो स्तरको कामदार होस्; तेरो पेशागत क्षेत्रमा विविध शक्तिहरू काम गरिरहेका हुन्छन्। केही मानिसहरू म्यानेजरसित घनिष्ठ सम्बन्ध बनाउन खोज्छन् र सधैँ उसकै वरिपरि झुम्मिन्छन्—यो एक प्रकारको शक्ति हो। त्यसैगरी एउटा शक्ति समूह हुन्छ जो कार्यकारी अधिकृतको नजिक रहन्छ र उसकै कामकाज सम्हाल्न समर्पित हुन्छ। अर्को समूह मार्केटिङ विभागको निर्देशकको निकट हुन सक्छ। यी सबै विविध शक्तिहरू हुन्छन्। अनि, यी शक्तिहरूको उद्देश्य के हुन्छ? यी शक्तिहरू कसरी निर्मित हुन्छन्? यसमा हरव्यक्तिले आफूले चाहेको कुरा लिने, साथै कुनै पक्ष लिने र आफ्ना उद्देश्यहरू हासिल गर्न र बाँच्नको निम्ति शक्तिमा रहेकाहरूको चाकरी गर्ने गर्छ, जसले गर्दा विविध शक्तिहरू निर्मित हुन्छन्। कतिपय शक्तिहरू एउटा शैलीको वकालत गर्छन् भने, अरू शक्तिहरू अर्कै शैलीको वकालत गर्छन्। कतिपय शक्तिहरूमा नियमबमोजिम कामकुरा गर्ने र कार्यस्थलका नियमहरू पालना गर्ने प्रवृत्ति हुन सक्छ भने, अरू शक्तिहरू बढी नीच व्यवहार गर्छन्, कानुन र पेशागत नैतिकताको बेवास्ता गर्छन्। यी विविध शक्तिहरू एकआपसमा मिसिने वातावरणमा रहँदा, तैँले कसरी निर्णय लिनुपर्छ? तैँले कसरी बाँच्नुपर्छ? के तँ पार्टी सङ्गठनसित नजिकिनुपर्छ, कि कुनै म्यानेजर वा सिइओसित? के तैँले निर्देशकसँग नजिक हुन खोज्नुपर्छ कि शाखा प्रमुखसँग, कि ब्युरो प्रमुख वा कारखाना निर्देशकसँग मिल्नुपर्छ? (ती कसैसित पनि त्यस्तो केही गर्नुपर्दैन।) तर बाँच्नको निम्ति, मानिसहरू प्रायजसो आफ्नो मर्यादा, आचरणका सिद्धान्त, र विशेषगरी आफूलाई व्यवहारमा ढाल्ने सीमाहरू त्याग्छन्। यी शक्तिहरूको जटिल परिदृश्यभित्र, मानिसहरू अचेतन रूपमै पक्ष लिने, प्रवृत्ति पछ्याउने, र विविध शक्तिहरूसित मिल्ने विकल्प रोज्छन्। तिनीहरू आफूलाई स्विकार्ने र रक्षा गर्ने शक्ति, वा आफूले सजिलो तरिकाले स्विकार्न र नियन्त्रण गर्न सक्ने शक्ति खोज्छन्, र तिनीहरू त्यसैको नजिक हुने वा त्यसैमा मिसिने कामसमेत गर्छन्। के यो मानव प्रवृत्ति होइन र? (हो।) के यो बाँच्ने सीप वा विधि होइन र? (हो।) चाहे यो अन्तर्निहित प्रवृत्ति होस् वा मानिसहरूको यस समाजमा र विविध समूहहरूमा घुलमिल हुने सीप होस्, के यो आफूलाई उचित व्यवहारमा ढाल्नको लागि व्यक्तिमा हुनुपर्ने अभ्यासको सिद्धान्त हो त? (होइन।) कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “अहिले तिमीले होइन भनिरहेको भए पनि, जब तिमी साँच्चिकै त्यो परिस्थितिमा पर्छौ, तब वास्तविक जीवनमा तिमीले आफूलाई फाइदा दिने र आफूलाई बाँच्न मद्दत गर्ने शक्तिको पक्ष लिन र त्यसको शरणमा पर्न खोज्नेछौ। अनि तिमीलाई भित्री रूपमा यो महसुस हुन सक्छ कि मानिसहरू जिउनको लागि यी शक्तिहरूमै भर पर्नुपर्छ, तिनीहरू स्वतन्त्र रूपमा जिउन सक्दैनन्, किनकि स्वतन्त्र रूपले जिउँदा तिनीहरू हेपाइमा पर्न सक्छन्। तिमी सधैँ स्वतन्त्र र अलग्गै रहन सक्दैनौ; तिमीले विविध शक्तिहरूप्रति समर्पित हुन र तिनको नजिक रहन सिक्नैपर्छ। तिमी सतर्क हुनैपर्छ, मानिसहरूको चाकरी र चाहिएअनुसारको व्यवहार गर्नैपर्छ। तिमीले परिस्थितिअनुसार चल्ने, चिप्लो घस्ने, प्रवृत्तिहरू चिन्ने, र राम्रो अन्तर्ज्ञान राख्ने गर्नुपर्छ। तिमीले तिम्रा अगुवाहरूलाई मनपर्ने र मन नपर्ने कुराहरू, तिनीहरूको मिजास र व्यक्तित्व, तिनीहरूको पारिवारिक पृष्ठभूमि, तिनीहरूले सुन्न रुचाउने कुराहरू, तिनीहरूको उमेर र जन्मदिन, तिनीहरूलाई मनपर्ने सुट, जुत्ता र लेदर ब्यागका ब्रान्डहरू, तिनीहरूलाई मनपर्ने रेस्टुराँ, कारको ब्रान्ड, कम्प्युटर र फोनको ब्रान्ड, तिनीहरूलाई कम्प्युटरमा इनस्टल गर्न मनपर्ने सफ्टवेयर, तिनीहरूले फुर्सदमा गर्न रुचाउने मनोरञ्जन गतिविधि, तिनीहरूले सङ्गत गर्न रुचाउने मानिसहरू, र तिनीहरूले छलफल गर्ने विषयहरू पत्ता लगाएर ती कुराहरूसँग परिचित बन्नुपर्छ।” बाँच्नको निम्ति, तँ अचेतन र स्वाभाविक रूपमा तिनीहरूसँग नजिकिनेछस्, तिनीहरूसँग एक हुनेछस्, र अगुवा र सहकर्मीहरूलाई खुसी पार्न, र निपुणतासाथ काम गर्न र कार्यस्थलमा सबथोकमाथि नियन्त्रण जमाउन तँ अत्यन्तै मिलनसार हुनेछस् र आफूलाई गर्न मन नलागेका कामकुरा गर्नेछस्, र भन्‍ने इच्छा नभएका कुराहरू भन्‍नेछस्, र आफ्नो जीवन र अस्तित्वको सुरक्षा प्रत्याभूति गर्नेछस्। तेरा व्यवहारहरूले स्व-व्यवहारका नैतिकता र दायराहरू उल्लङ्घन गरे पनि नगरे पनि, वा त्यसको लागि तैँले आफ्नो मर्यादा गुमाउनु परे पनि, तँलाई मतलब हुँदैन। तर ठ्याक्कै यही उदासीनताबाट तेरो पतन सुरु हुन्छ, र यसले तँलाई मद्दत गर्नु बेकार छ भन्‍ने सङ्केत गर्छ। त्यसैले, सतही रूपमा, आफ्नो जीवन र अस्तित्वको निम्ति विविध सामाजिक शक्तिहरूसँग नजिकिनुको विकल्प नै नभएका मानिसहरूलाई कसैले धिक्कार्न सक्दैन। तर मानिसहरूले देखाउने व्यवहार, तिनीहरूले गर्ने निर्णय, र तिनीहरूले रोज्ने मार्गले तिनीहरूको मानवता र चरित्र विकृत पार्छन्। साथै, मानिसहरू विविध शक्तिहरूसँग नजिकिँदा वा तिनमा समाहित हुँदा, तिनीहरूले यी शक्तिहरूलाई खुसी र सन्तुष्ट पारेर आफ्नो जीवन सुधार्न र आफ्ना जियाइ अवस्था राम्रो बनाउन निरन्तर विविध योजना र रणनीतिहरू प्रयोग गर्न सिक्छन्। तिनीहरूले जति बढी यसो गर्छन्, तिनीहरूलाई हालको स्थिति र यी सम्बन्धहरू कायम राख्न त्यति नै बढी ऊर्जा र समय चाहिन्छ। त्यसैले, तेरो सीमित समय र दिनहरूमा, तैँले बोल्ने हरशब्द, तैँले गर्ने हरकाम, र तैँले जिउने हरदिनको अर्थ नहुने मात्र होइन; ती भित्रैदेखि सडेका समेत हुन्छन्। अनि, ती सडेका हुन्छन् भन्नुको अर्थ के हो? त्यसको अर्थ हरदिन तँ थप चरित्र-भ्रष्ट हुन्छस्, यतिसम्म कि तँ न त मानवजस्तो न भूतजस्तो हुन्छस्। यो पृष्ठभूमिमा, तँसित परमेश्‍वरसामु आउने शान्तिपूर्ण हृदय हुँदैन, र तँसित आफ्नो कर्तव्य पूरा गर्ने पर्याप्त समय पनि अवश्यै हुँदैन। तैँले आफ्नो सारा शरीर र मन कर्तव्य पूरा गर्नमा लगाउन सक्दै सक्दैनस्, र साथमा, तैँले आफ्नो सारा शरीर र मन सत्यता पछ्याइमा लगाउन पनि सक्दैनस्। यसर्थ, तैँले मुक्ति पाउने सम्भावना अत्यन्तै कम हुन्छ, र तेरा आशाहरू मलिन बन्छन्। तैँले विविध सामाजिक शक्तिहरूमा लगानी गरेकोले, तिनका नजिक हुन रोजेकोले, र तिनमा समाहित हुन र तिनलाई स्विकार्न खोजेकोले, यो निर्णयको परिणामस्वरूप तैँले यो वर्तमान स्थिति नै कायम राख्न र यतिकै दिन कटाउन आफ्नो सारा शरीर र मन समर्पित गर्नुपर्छ। तँ शारीरिक र मानसिक रूपमा थाकेको हुन्छस्, मानौँ तँ हरदिन असहज परिस्थितिमा बिताइरहेको छस्, तैपनि तेरो निर्णयको कारण, तैँले दिनप्रतिदिन यसरी नै जिउन जारी राख्‍नुपर्छ। यही विविध शक्तिहरूको जटिल वातावरणमा, जब तँ तिनीहरूसँगै गाँसिन्छस्, तब तिनीहरूले बोल्ने हरेक शब्द, त्यसभित्रका प्रवृत्तिहरू, साथै आउँदा मामलाहरू, हरव्यक्तिका व्यवहार र तिनीहरूका सबैभन्दा भित्री सोच, र विशेषगरी तँभन्दा माथिल्लो ओहदाका र यी शक्तिहरूका उच्चस्तरका मानिसहरूले सोच्‍ने कुराहरू—तैँले यी सबै कुराहरू मूल्याङ्कन गर्नुपर्छ र यीबारे समयमै जानकारी बटुल्नुपर्छ। तैँले ढिलाइ गर्न वा यी कुरा बेवास्ता गर्न मिल्दैन। तिनीहरू के सोचिरहेका छन्, पर्दापछाडि के-कस्ता कार्यहरू गरिरहेका छन्, तिनीहरूसित कस्ता योजना र अभिप्राय छन्, साथै तिनीहरू हरव्यक्तिको निम्ति के योजना र हिसाब गरिरहेका छन्, उनीहरूको लागि के निर्णय गरिरहेका छन् र उनीहरूप्रति कस्तो मनोवृत्ति राखेका छन्—यदि तँ यी कुराहरू पूर्ण रूपमा जान्न चाहन्छस् भने, तँसित हृदयको गहिराइमा उक्त परिस्थितिबारे एउटा बुझाइ हुनैपर्छ। यदि तँ यी कुरा गहन रूपमा बुझ्न चाहन्छस् भने, तैँले यी कुरा अध्ययन गर्न र यीबारे विज्ञता हासिल गर्नमा आफ्नो सम्पूर्ण ऊर्जा समर्पित गर्नैपर्छ। तैँले तिनीहरूसित खाना खाने, बातचित गर्ने, फोन सम्पर्क गर्ने, कामको दौरान बढी अन्तरक्रिया गर्ने, र छुट्टीको समयमा पनि तिनीहरूसित नजिकिने र तिनीहरू कहाँ जान्छन् भनी निगरानी राख्ने गर्नैपर्छ। फलस्वरूप, तेरा दिनहरू जे-जस्ता भए पनि, ती खुसी वा पीडाले भरिएका भए पनि, तँसित आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने हृदय भए पनि, के तैँले आफूलाई शान्त बनाएर आफ्नो सम्पूर्ण शरीर र मनले कर्तव्य पूरा गर्न सक्नेथिस् त? (हामीले सक्नेथेनौँ।) यस्तो अवस्थामा, परमेश्‍वरमाथिको तेरो विश्‍वास र तेरो कर्तव्य-निर्वाहन तैँले फुर्सदमा गर्ने एक प्रकारको सोखभन्दा बढी केही हुनेथेन। परमेश्‍वरमाथिको तेरो आस्थाप्रतिका मापदण्ड र चाहनाको बाबजुद पनि, तेरो यो वर्तमान अवस्थामा, परमेश्‍वरमा विश्‍वास गर्नु र कर्तव्य पूरा गर्नु सायद तैँले सबैभन्दा अन्तिममा मात्र चाहने कुराहरू हुन सक्छन्। सत्यता पछ्याउने र मुक्ति पाउने सन्दर्भमा, तैँले सायद ती कुराबारे सोच्ने आँटै नगर्न सक्छस्, वा तीबारे सोच्‍नै असक्षम हुन सक्छस्—के त्यो ठिक होइन र? (हो।) त्यसकारण, तिमीहरूमध्ये जोकोही पनि, जुनसुकै कार्य वातावरणमा भए पनि, यदि तँ विविध शक्तिहरूसित नजिकिन वा तीसँग जोडिन चाहन्छस् भने, वा यदि तँ ती कुराहरूसँग पहिल्यै नजिकिइसकेको वा जोडिइसकेको छस् भने, तैँले जस्तोसुकै कारण र बहानाहरू देखाए पनि, अन्तिम परिणामस्वरूप तेरो मुक्ति पाउने आशा हावामा उडेर जान मात्र सक्छ। यसको सबैभन्दा प्रत्यक्ष घाटा के हो भने, तैँले परमेश्‍वरको वचन पढ्ने वा कर्तव्य पूरा गर्ने समय विरलै मात्र पाउनेछस्। अनि अवश्यै, तैँले परमेश्‍वरसामु शान्त हृदय बनाउनु वा परमेश्‍वरलाई इमानदारीपूर्वक प्रार्थना गर्नु पनि असम्भव हुन्छ—तैँले यो न्यूनतम कुरासमेत पूरा गर्न सक्नेछैनस्। तैँले मानिस र घटनाहरूले अत्यन्तै जटिल पारेको वातावरणमा आफूलाई पाउने भएकोले, तँ विविध शक्तिहरूमा समाहित हुनु भनेको दलदलमा फस्‍नुजस्तै हुन्छ—तँ भित्र छिरिसकेपछि आफूलाई बाहिर निकाल्न सजिलो हुँदैन। यो आफूलाई बाहिर निकाल्न सजिलो हुँदैन भन्नुको अर्थ के हो? त्यसको अर्थ के हो भने, तँ विविध शक्तिहरूको क्षेत्रमा छिरेपछि, तँ यी शक्तिहरूमा जोडिएका विविध मामलाहरू, र तीबाट उत्पन्न हुने अनेक विवादहरूबाट उम्कन सक्नेछैनस्। तँ लगातार रूपमा विभिन्न मानिस र घटनाहरूमा अल्झिरहनेछस्, र तैँले कोसिस गरे पनि तिनलाई पन्छाउन सक्नेछैनस्, किनभने तँ तीमध्येको एक बनिसकेको हुन्छस्। त्यसैले, यी शक्तिहरूको क्षेत्रमा हुने हरेक घटना तँसित जोडिएको हुन्छ र कुनै निश्‍चित परिस्थिति नआएसम्‍म तँ त्यसैमा संलग्न भइरहनेछस्; यसको मतलब, यस सन्दर्भमा तँ फाइदा र घाटाका साथै विवादहरूप्रति उदासीन रहन्छस्, र तैँले सबथोक एक दर्शकको नजरबाट नियाल्छस्। त्यो अवस्थामा, तँ सम्भवतः यी विविध विवाद वा कुनै पनि सम्भावित दुर्भाग्यहरूबाट परै बस्‍नेछस्। तर तँ यी शक्तिहरूमा समाहित हुनेबित्तिकै, तँ तिनीहरूसित नजिकिएलगत्तै, तैँले तिनीहरूको हरेक घटनामा सम्पूर्ण हृदयले भाग लिएलगत्तै, तँ अवश्यै पासोमा पर्नेछस्। तँ दर्शकमै सीमित रहन सक्नेछैनस्; तँ एक सहभागी मात्र हुन सक्छस्। अनि, एक सहभागीको रूपमा, तँ यी शक्ति केन्द्रहरूको सिकार बन्नेछस्।

कतिपय मानिसहरू भन्छन्, “तिमी जुनसुकै क्षेत्रको पेशामा वा जुनसुकै समूहमा भए पनि, अरूको ठेलठालमा पर्नु कुनै ठूलो कुरा होइन—तर तिमी बाँच्न सक्नु नसक्नुचाहिँ महत्त्वपूर्ण कुरा हो। यदि तिमी सङ्गठन वा विविध शक्तिहरूमा आबद्ध भएनौ, र समाज वा विभिन्न समूहमा तिमीलाई साथ दिने कोही भएन भने, तिमीले जीवन धान्न सक्नेछैनौ।” के साँच्चिकै यस्तै हुन्छ त? (यस्तो हुँदैन।) विविध सामाजिक समूहहरूमा, मानिसहरूले विभिन्न शक्तिहरूको चाकरी गर्नुपछाडिको उद्देश्य “ठूलो रूखको छहारी खोज्नु,” र आफूलाई समर्थन गर्ने शक्तिहरू खोज्नु हो। यो मानिसहरूको सबभन्दा आधारभूत माग हो। त्यसबाहेक, मानिसहरू यी शक्तिहरूको फाइदा उठाएर पदोन्नति हासिल गर्न, र लाभ वा शक्ति खोज्ने तिनीहरूको आफ्नै लक्ष्य पूरा गर्न चाहन्छन्। यदि तँ पेशागत क्षेत्रमा जीवन गुजारा मात्र गरिरहेको छस् र खान र लाउन पाउनुमै सन्तुष्ट हुन्छस् भने, तँलाई कुनै शक्तिसित नजिकिनुपर्दैन। यदि तँ तिनीहरूसित नजिक हुन्छस् भने, त्यसको अर्थ त्यो जीवन गुजारा गर्न र खाने-लाउने आधारभूत आवश्यकताहरू पूरा गर्नलाई मात्र होइन—तँसित निश्‍चय नै अन्य अभिप्रायहरू छन्, चाहे त्यो प्रसिद्धि वा नाफा जेसुकैको लागि नै किन होस्। के त्यस्तो कोही व्यक्ति छ जसले “जीवन गुजारा गर्नबाहेक, म आफूलाई प्रमाणित गर्न पनि चाहन्छु” भनेर भन्छ? के यो जरुरी छ? (यो जरुरी छैन।) तैँले पैसा कमाएर, दिनमा तीन छाक खाना खान सक्ने, र कपडा लाउन सक्ने भइस् भने पुग्छ—गौरवको लागि प्रयत्न गर्नुको के अर्थ छ? तँ कसको लागि प्रयत्न गरिरहेको छस्? तेरो देशको लागि, तेरा पुर्खा र तेरा आमाबुबाको लागि, कि तेरो आफ्नै लागि? ल भन् त, के गौरवको लागि प्रयत्न गर्नु बढी महत्त्वपूर्ण छ कि खान र लाउन पाउनुमा सन्तुष्ट हुनु? (खान र लाउन पाउनुमा सन्तुष्ट हुनु बढी महत्त्वपूर्ण छ।) गौरवको लागि प्रयत्न गर्नु भनेको अविवेकले भरिएको स्वभाव हो; तँ जे गर्छस् यही गौरवको लागि गर्छस्। यो एक अमूर्त र खोक्रो अवधारणा हो। सबैभन्दा व्यावहारिक कुरा भनेको तैँले जीविका चलाउन सक् भनेर पैसा कमाउनु हो। तैँले त्यसबारे यसरी सोच्नुपर्छ: “परिस्थिति जे-जस्तो भए पनि, जसले जसको पक्ष लिए पनि, वा जो जुनसुकै तहको अगुवा वा अधिकारीसँग नजिकिए पनि, त्यो कुनै कुराले अर्थ राख्दैन। जसको पदोन्नति वा अवनति भए पनि, जसको तलब वृद्धि भए पनि, वा जसले उच्चस्तरीय अधिकारी बन्न जस्तोसुकै उपायहरू प्रयोग गरे पनि, त्यो सबै असान्दर्भिक कुरा हुन्। म हातमुख जोड्न मात्र काम गरिरहेको छु। तिमीहरूमध्ये कसैले जे प्रयत्न गरिरहेको भए पनि, मसित त्यसको कुनै सम्बन्ध छैन। जे भए पनि, म दिनको आठ घन्टा काम गर्छु, मैले पाउनुपर्ने तलब पाउँछु, र आफू र आफ्नो परिवारको भरणपोषण गर्न सकेँ भने म सन्तुष्ट हुन्छु। कुरा त्यति हो; मैले खोज्ने त्यति नै हो।” आफ्नो जागिरमा जे गर्नुपर्ने हो त्यो राम्ररी गर्, अनि आफ्नो तलब र त्यसमा आएको बोनस प्रस्ट विवेकले लिई—त्यति भए पुग्छ। के अस्तित्व र आफ्नो पेशाप्रतिको यो मनोवृत्ति सही हो? (हो।) यो कसरी सही हो? (किनभने तिनीहरू परमेश्‍वरले आवश्यक गर्नुभएबमोजिमको मनोवृत्तिसाथ जिउँछन्। पहिलो कुरा त, यसको अर्थ आफ्नो काम झाराटारुवा तरिकाले नगर्नु र आफ्नो पेशाको काम राम्ररी गर्न सक्नु भन्‍ने हो। दोस्रो, यसको अर्थ कुनै शक्तिको शरण नखोज्नु वा चापलुसी नगर्नु भन्‍ने हो; सामान्य जीवनका आवश्यकताहरू पूरा गर्न सके पुग्छ। यो कुरा परमेश्‍वरका वचनसित मिल्छ।) यो अवश्यै परमेश्‍वरका वचनहरूसित मिल्छ। के तँलाई बचाउन परमेश्‍वरले तँलाई यसो गर्न आवश्यक गराउनुहुन्छ? (हो।) तर तँलाई केबाट बचाउनलाई हो? (शैतानले हानि पुर्‍याउनबाट। नत्र, हामी यस्ता विवादहरूमा फसिसकेपछि, जीवन निकै पीडादायी बन्छ, र साथमा, हामीसँग परमेश्‍वरमा विश्‍वास गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्नको लागि धेरै समय बाँकी रहनेछैन।) यो एउटा पक्ष हो। मूल रूपमा अर्को पक्षचाहिँ के हो? जब तँ विविध शक्तिहरूमा संलग्न हुन्छस्, परिणामस्वरूप अन्तिममा तँ आफै बरबाद हुनेछस्। यो साँच्चिकै जायज कुरो होइन! पहिलो कुरा त, तैँले आफूलाई बचाउन सक्नेछैनस्। दोस्रो, तैँले न्याय पालना र प्रवर्धन गर्नेछैनस्। तेस्रो, तैँले विविध शक्तिहरूसित मिलेमतो गर्नेछस्, र आफ्ना पापहरू बढाउनेछस्। त्यसकारण, यी शक्तिहरूसँग नजिकिँदा कुनै प्रकारको फाइदा छैन। तैँले विविध शक्तिहरूको चाकरी गरेर तेरो तलब वृद्धि वा पदोन्नति भए पनि, तिनीहरूसित जोडिन तैँले कति झूटहरू बोल्नुपर्नेछ? तैँले पर्दापछाडि कति खराब कार्यहरू गर्नुपर्नेछ? तैँले गोप्य रूपमा कति मानिसहरूलाई दण्डित गर्नुपर्छ? यो समाजमा, किन हरप्रकारका मानिसहरू र विविध उद्योगहरूलाई यी शक्तिहरूको आवश्यकता पर्छ? किनभने यो समाजमा निष्पक्षता र न्यायको अभाव छ। मानिसहरू विविध शक्तिहरूमा भर परेर मात्र आफ्नो रक्षा गर्न सक्छन्, र ती शक्तिहरूले तिनीहरूको पक्षमा बोल्दा र काम गर्दा मात्र आफ्नो स्थान सुरक्षित गर्न सक्छन्। के यसमा निष्पक्षता छ? (छैन।) यसमा कुनै निष्पक्षता छैन; सबथोक यी शक्तिहरूमै आधारित हुन्छ। जसको ठूलो शक्ति छ उसैले अन्तिम निर्णय गर्न पाउँछ, जबकि शक्ति नभएका वा कम भएकाहरूले केही भन्न पाउँदैनन्। कानुन निर्माणमा पनि यस्तै हुन्छ: यदि तँसित धेरै शक्ति छ भने, तैँले बनाएका कानुनहरू पारित र लागु हुन सक्छन्। यदि तँसित धेरै शक्ति छैन भने, तैँले प्रस्ताव गरेका कुनै पनि कानुन र प्रावधानहरू पारित हुनेछैनन्, र तिनले राष्ट्रिय कानुनमा प्रवेश पाउन सक्दैनन्। मानिसहरूको जुनसुकै समूहमा यस्तै हुन्छ: यदि तँसित धेरै शक्ति छ भने, तैँले आफ्ना हितहरूको लागि लड्न र ती हितहरू बढाउन सक्छस्; यदि तँसित शक्ति छैन भने, तेरा हितहरू तँबाट खोसिन वा जफत गरिन सक्छन्। विविध शक्तिहरू निर्माण हुनुपछाडिको उद्देश्य ती शक्तिहरू प्रयोग गरेर परिस्थितिहरू नियन्त्रण गर्नु, र सार्वजनिक राय, कानुन र मानव नैतिकतासमेत प्रभावहीन गराउनु हो। ती शक्तिहरू कानुन, नैतिकता र मानवताभन्दा माथि जान सक्छन्—ती सबथोकभन्दा माथि रहन सक्छन्। व्यक्तिको शक्ति जति ठूलो छ, उसको प्रभाव पनि त्यति नै बढी हुनेछ, र उसले आफूखुसी गर्ने र मामलाहरू नियन्त्रित गर्ने मौका पनि त्यति नै बढी पाउनेछ। के यो निष्पक्षता हो त? (होइन।) यसमा कुनै निष्पक्षता छैन। शक्ति र बलले नै उसको पहिचान र उसले प्राप्त गर्न सक्ने प्रतिफल जनाउँछ। यदि तँ कुनै सामाजिक समूहमा छस् र तँ आफ्नो जीविका चलाउन र खान-लाउन मात्र चाहन्छस्, र हैसियत वा ख्याति पछ्याउँदैनस्, वा तेरा आफ्नै चाहनाहरू पूरा गर्न खोज्दैनस् भने, तैँले विविध शक्तिहरूसित नजिकिनु नचाहिँदो देखिनेछ। यदि तँ आफ्नो सम्पूर्ण समय कर्तव्यपालनमा समर्पित गर्न, सत्यता पछ्याउने मार्ग हिँड्न र अन्त्यमा मुक्ति पाउन चाहन्छस्, तर तँ विविध शक्तिहरूको चाकरी गर्न पनि चाहन्छस् भने, यी दुई कुराहरू परस्परविरोधी छन्। ती एकअर्काका पूरक हुन सक्दैनन् किनभने ती पूर्ण रूपमा विपरीत कुराहरू हुन्, ती पानी र तेलजतिकै नमिल्ने खालका छन्। विविध शक्तिहरूसित नजिकिएर परमेश्‍वरमाथिको तेरो विश्‍वास वा तेरो सत्यता पछ्याइमा कुनै मद्दत पुग्नेछैन। त्यसले तँलाई शैतानको घिनलाग्दो मुहार अझ प्रस्ट रूपमा चिन्न मद्दत गर्नेछैन, न त त्यसले तँलाई आफ्नो कुरा भन्‍ने थप अवसर नै दिनेछ न त संसारद्वारा इन्कार नभई र सरकारको उत्पीडन नभोगी परमेश्‍वरमा विश्‍वास नै गर्न दिनेछ। कतिपय मानिसहरू सानो गाउँमा बस्छन् तर हृदयमा ठूला परिकल्पनाहरू बोक्छन्। तिनीहरू सोच्छन्, “म गाउँमा जन्मेँ। म एक किसान हुँ। मैले दुर्व्यवहार भोगे पनि, म केही अन्न र तरकारी रोपेर अनि केही कुखुरा, बस्तुभाउ र भेडाबाख्रा पालेर जीवन धान्न सक्छु। यदि मैले परमेश्‍वरमा विश्‍वास गरेँ र सत्यता पछ्याएँ भने, यी अवस्थाहरू निकै राम्रा हुन्छन्; मसित बाँच्नलाई चाहिने आधारभूत अवस्थाहरू छन्। तर मलाई किन सधैँ यो समाजमा र यी मानिसहरूमाझ जिउँदा र बाँच्दा केही नपुगेजस्तो अनुभूति हुन्छ?” यहाँ के कुरा पुगिरहेको छैन? तिनीहरूसित बलियो साथ छैन। एउटा घर रोज्दा मानिसहरू के गर्छन् हेर्: तिनीहरू जहिले पनि पछाडि ठूलो पहाड भएको घर रोज्छन्। तिनीहरू त्यो पहाडलाई आफ्नो आड ठान्छन्, र तिनीहरूलाई त्यसले त्यहाँ बस्न सुरक्षित महसुस गराउँछ। यदि घरपछाडि भिर भइदिएको भए तिनीहरूलाई त्यहाँ बस्न सुरक्षित महसुस हुँदैनथ्यो, जुनसुकै बेला भिरबाट खसिएला जस्तो हुनेथ्यो। त्यसैगरी, गाउँमा बस्दा, यदि कसैले ख्याति र हैसियत भएको कुनै व्यक्तिसँग सम्बन्ध स्थापित गरेन र उसको मन जित्न उसलाई बारम्बार भेट्न गएन भने, उसलाई त्यो गाउँमा बस्दा सधैँ एक्लो महसुस हुन्छ र ऊ लगातार बहकाउमा पर्ने र आफ्नो उद्देश्य पूरा गर्न नसक्ने जोखिममा हुन्छ। त्यसकारण, ऊ सधैँ गाउँ प्रमुखको चाकरी गर्न चाहिरहेको हुन्छ। के यो राम्रो विचार हो त? (होइन।) विशेषगरी परमेश्‍वरमा विश्‍वास गर्ने कुरामा, सरकारी उत्पीडन भोगिने केही देशहरूमा कतिपय मानिसहरू यसो भन्छन्, “यदि हामीले गाउँ प्रमुखलाई सुसमाचार सुनायौँ र उसले विश्‍वास गरेन, तर उसकी आमा, हजुरआमा, श्रीमती, वा छोरीले विश्‍वास गरी भने, के त्यो प्रमुखसँग नजिकिनु होइन र? यदि गाउँमा हाम्रो मण्डलीको कुनै दाजुभाइ वा दिदीबहिनीको राम्रो स्थान छ वा ऊ गाउँ प्रमुखको नातेदार हो भने, के त्यहाँ मण्डलीको दरिलो आधार हुनेछैन र? के यसको हैसियत हुनेछैन र? के परमेश्‍वरमा विश्‍वास गर्ने हाम्रा दाजुभाइ-दिदीबहिनीहरूले कुनै समस्याबिना गाउँमा खान र खेतीपाती गर्न सक्नेछैनन् र? यति मात्र होइन, ठूलो रातो अजिङ्गर वा युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टले छानबिन गर्न आउँदा हामीलाई साथ दिने कोही हुनेछ। त्यस्तो हुँदा कति राम्रो हुनेछ!” तँ आफू कुनै खतरनाक परिस्थितिमा नपर्ने सुनिश्‍चित गर्न, र आफूले सुरक्षित रूपमा र बिनाउत्पीडन परमेश्‍वरमा विश्‍वास गर्न सक्ने सुनिश्‍चित गर्न सधैँ कुनै सङ्गठन वा केही शक्ति समूहसँग नजिकिन चाहन्छस्—कति राम्रो! साथै, प्रभावशाली मानिसहरूसँग मिसिँदा, तँलाई आफू प्रभावशाली व्यक्ति जस्तो लाग्छ, होइन र? यो त गज्जबको सोच हो, तर के गाउँ प्रमुखले तँ उसको नजिक परेको चाहन्छ त? के गाउँ प्रमुख तैँले फाइदा लिन सक्ने व्यक्ति हो त? के गाउँ प्रमुखले तँलाई उसको फाइदा लिन दिनेछ त? तँ साधारण व्यक्तिको नाताले सङ्गठन वा गाउँ प्रमुखसँग नजिकिन चाहन्छस्, अनि के तँलाई सुसमाचार प्रचार गर्दैमा त्यो सङ्गठन वा व्यक्तिसँग नजिकिन सक्छु भन्‍ने लाग्छ? के तैँले गाउँ प्रमुखसँग नजिकिन केही राम्रा उपहार दिनु वा केही महत्त्वपूर्ण काम पूरा गर्नुपर्दैन र? यसबारे तिमीहरूसित के अनुभव छ? के गाउँ प्रमुखसँग नजिकिनु सजिलो छ? उसको पाल्तु कुकुरसँग नजिकिनसमेत गाह्रो हुनेछ! सोझै गाउँ प्रमुखलाई उपहार दिएर काम हुनेछैन; तैँले सजिलै प्रभावमा पार्न सकिने उसकी श्रीमती, आमा, काकी, वा हजुरआमासँग नजिकिएर काम सुरु गर्नुपर्नेछ। अनि, गाउँ प्रमुखकी हजुरआमासँग किन नजिकिने? ऊसँग गाउँ प्रमुखको निकट सम्बन्ध हुन्छ, त्यसैले ऊबाटै सुरु गर्, र उसकी हजुरआमा परिवारको बुज्रुक भएकीले उसले तेरो लागि राम्रो कुरा गर्न सक्छे, र तँ ऊमार्फत बिस्तारै गाउँ प्रमुखको नजिक हुँदै जान्छस्। “अप्रत्यक्ष शैली” भनेको यही हो, होइन त? यदि तैँले सिधै गाउँ प्रमुखलाई कुनै उपहार दिइस् भने, उसले “तिमी को हौ?” भनी सोध्‍न सक्छ। अनि तैँले “म गाउँको पूर्वी भेगको ली परिवारको फलानो हुँ” भन्‍नेछस्। “कुन ली परिवार? मैले त चिनिनँ?” यदि उसले तँलाई चिन्दा समेत चिन्दैन भने, के ऊसित नजिकिन सजिलो हुनेछ? (अहँ, हुनेछैन।) अनि यदि तैँले उसलाई केही उपहार दिइस् भने, कस्तो उपहार उसको नजरमा पर्नेछ? सुनको बिस्कुट—के तँसित सुनको बिस्कुट छ त? समुन्द्री खाना—के ऊ त्यो कुरा चाहन्छ? उसले तैँले दिएको समुन्द्री खाना आयातित हो कि घरेलु भनी हेर्नेछ; त्यो कुरा ऊसँगै प्रशस्त छ। त्यो चिज किन्न तँ अरू कुरामा खर्च गर्दैनस् र मितव्ययी रूपमा दिन कटाउँछस्, आफूले त्यो खाने वा छुने आँटसमेत गर्दैनस्। तैँले त्यो चिज उसलाई दिन्छस् र त्यसलाई हेर्न पनि हेर्दैनस्। तैँले उसलाई एउटा पेटी दिन्छस्, तर भने उसले भन्छ, “यो त यहीँ बनेको होइन र?” तैँले “यो गाईको छाला हो” भन्छस्। अनि उसले भन्छ, “आजकाल गाईको छालाको पेटी कसले लाउँछ र? कसैले नि लाउँदैन। मानिसहरू युरोपेली ब्राण्डका लोगोवाला वा हिराजडित शुद्ध छालाको पेटी लाउँछन्। के तिमीसँग त्यस्ता पेटी छन्?” तैँले भन्छस्, “ती कस्ता हुन्छन्? मैले त कहिल्यै देखेको छैन।” उसले भन्छ, “यदि तिमीले ती कहिल्यै देखेका छैनौ भने यहाँ आउने कष्ट नगर। के तिमीले यो पेटी कुनै मगन्तेलाई दिन खोजेको हो?” के तैँले यस्तो व्यक्तिको अनुग्रह पाउन सक्छस्? तैँले आफूसँग सानो चतुर योजना छ र सबथोक मिलेको छ भन्ठान्छस्, तर उसले तेरो उपहारलाई सिधै बेवास्ता गर्छ। तर उसले तेरो उपहारलाई बेवास्ता गर्दा पनि, तँ उसको चाकरी गर्न जिद् कस्छस्। के यो उचित हो? उसले तेरो उपहारलाई सम्मान गरे पनि के तैँले उसको चाकरी गर्नु उचित हो? (त्यो उचित होइन।) केही खान पाउन र गाउँमा एक शक्तिशाली व्यक्तिको साथ पाउन, तँ यस्ता नीच काम गर्न तत्पर हुन्छस्। के तिमीहरूलाई यो लाजमर्दो लाग्दैन? (लाग्छ।) प्रमुखका हजुरआमा, श्रीमती र बुहारीको पछि लाग्नु, अनेकथरीका हतारे विधिहरू प्रयोग गर्नु, उपहारहरू दिनु र नजिकिन खोज्नु। अरूले तँलाई भन्छन्, “तिमीले यी उपहारहरू दिनु बेकार हो; प्रमुखले तिमीमाथि नै नजर राखेको छ।” अनि, के तँ अझै पनि ऊसित नजिकिन खोज्नेछस्? तैँले दिन सक्ने कुनै उपहार सुहाउनेछैन। प्रमुखले त्यसलाई फर्केर पनि हेर्नेछैन, र त्यो ऊभन्दा तल्लो स्तरको हो भन्ठान्नेछ। सबभन्दा नराम्रो कुरा त, तैँले मोलमोलाइ गर्नुपर्नेछ। के तँ अझै ऊसित नजिकिन खोज्नेछस्? (खोज्नेछैनँ।) के तँ अझै यस्तो आडदाता खोज्‍नेछस्? गाउँ प्रमुख कस्तो पात्र हो? के ऊ तँलाई सामान्य रूपमा ऊसित नजिकिन दिने व्यक्ति हो? (होइन।) यदि तैँले ऊसित सम्बन्ध स्थापित गरिस् र ऊसित नजिक भइस् नै भने पनि, त्यसपछि के हुन्छ र? के उसले तेरो भाग्य नियन्त्रण गर्न वा तँलाई मुक्ति पाउन मद्दत गर्न सक्छ? अथवा जब साँचो उत्पीडन र परिस्थितिहरू सामना गर्ने समय आउँछ, जब परमेश्‍वरले यी परिस्थितिहरू आउन दिनुहुन्छ र योजनाबद्ध गर्नुहुन्छ, तब के तँ ती कुराबाट पन्छिन सक्छस्? के यसमा गाउँ प्रमुखको अन्तिम निर्णय हुन्छ? (हुँदैन।) परमेश्‍वरले योजनाबद्ध गर्नुभएको भव्य युक्तिमा त्यस्तो कुनै शक्ति छैन जसले अन्तिम निर्णय गर्न पाउँछ, गाउँ प्रमुखको त कुरै छाडौँ—यसबारेमा कुनै पनि शक्ति उल्लेखयोग्य छैन। त्यसैले, यो संसारमा रहेर, चाहे कुनै गाउँ, प्रान्त, सहर, वा कुनै देशमा, वा चाहे कुनै देशभित्र तेरो संलग्नता भएको कुनै उद्योगमा तँ रहेको भए पनि, विद्यमान विविध कुनै पनि शक्तिहरूले तेरो भाग्यमाथि सार्वभौमिकता कायम गर्न सक्दैनन्, न त तिनले तेरो भाग्य परिवर्तन गर्न नै सक्छन्। कुनै पनि शक्ति तेरो भाग्यको मालिक हुँदैन, तेरो भाग्यमाथि सार्वभौम हुने त कुरै छाडौँ, न त त्यसले तेरो नियति निर्धारण नै गर्छ। यसविपरीत, तँ समाजमा रहेका विविध शक्तिहरूमा समाहित भएपछि, तँलाई विपत्ति आइपर्छ र तेरो दुर्भाग्य सुरु हुन्छ। तिनीहरूसित जति नजिकिन्छस्, तँ त्यति नै खतरामा हुन्छस्; तँ तिनीहरूसित जति समाहित हुन्छस्, आफूलाई बाहिर निकाल्न त्यति नै तँलाई कठिन हुन्छ। यी विविध शक्तिहरूले तँलाई कुनै फाइदा नगर्ने मात्र नभई, तँ तिनीहरूसित समाहित भएपछि तिनीहरूले तँलाई बारम्बार क्षतविक्षत पार्नेछन् र कुल्चनेछन्, तेरो आत्मा र मनमस्तिष्क बङ्ग्याउनेछन्, तेरो शान्ति भङ्ग गर्नेछन्, र यसरी तैँले यो संसारमा निष्पक्षता र न्यायको अस्तित्वमा विश्‍वास गर्नै छोड्‍नेछस्। तिनले सत्यता र मुक्ति पछ्याउने तेरो सबैभन्दा सुन्दर चाहना नष्ट पार्नेछन्। त्यसैले, यो समाजमा बाँच्नको लागि, तँ जुनसुकै सामाजिक वर्ग, परिवेश, वा समूहमा रहे पनि, वा जुनसुकै क्षेत्रमा भए पनि, कुनै शक्तिमाथि भर पर्न खोज्नु, र त्यसलाई तेरो आफ्नै सुरक्षा छाता बनाउन खोज्नु, मिथ्या र चरम सोचविचार हो। यदि तँ बाँच्न मात्र खोजिरहेको छस् भने, तँ यी शक्तिहरूबाट धेरै टाढा रहनुपर्छ। यदि यी शक्तिहरूले तेरो वैधानिक मानव अधिकारहरू रक्षा मात्र गरिरहेका भए पनि, त्यही कारण वा बहानामा तँ तिनीहरूसित संलग्न हुनु हुँदैन। समाजमा यी विविध शक्तिहरूको अस्तित्वको स्थिति जे-जस्तो भए पनि, तिनीहरूका अगाडि बढाएका लक्ष्यहरू वा कार्यदिशा जे भए पनि, छोटकरीमा भन्‍नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने व्यक्तिको नाताले तँ तिनीहरूजस्तै बन्नु हुँदैन, न त यी विविध शक्तिहरूको पैरवीकर्ता बन्नु नै हुन्छ। बरु, तँ तिनीहरूबाट अलग्‍गिनु र टाढै बस्‍नुपर्छ, तिनीहरूलाई घेर्ने विविध विवादहरूबाट बचेर बस्‍नुपर्छ, तिनीहरूले बनाएका विविध व्यवहार नियमहरूबाट पन्छिनुपर्छ, र तिनीहरूले व्यक्तिलाई उसको पेशाको दायराभित्र वा यी शक्तिहरूको दायराभित्र गर्न र भन्न आवश्यक गराउने हानिकारक कुरा र शब्दहरूबाट पनि परै बस्‍नुपर्छ। तँ तिनीहरूजस्तै बन्नु हुँदैन, र तँ निश्‍चय नै तिनीहरूको मतियार बन्नु हुँदैन। विभिन्न शक्तिहरू रहने विविध क्षेत्र र पेशामा परमेश्‍वरले तँलाई आवश्यक गराउनुहुने मापदण्ड यो हो: तिनीहरूबाट टाढिनू र अलग रहनू, तिनीहरूको बलिको बोको नबन्‍नू, तिनीहरूको शोषणको पात्र नबन्‍नू, तिनीहरूको नोकर वा मुखपात्र नबन्‍नू।

यो समाजमा, विविध उद्योग र पेशाका आफ्ना सुपरिवेक्षकहरूबाहेक, र नागरिक सङ्गठनहरूबाहेक, निश्‍चय नै मानिसहरूले पन्छाउनुपर्ने केही अवैध सामाजिक समूहहरू छन्—यी मानिसहरूसँग कुनै पनि रूपमा संलग्न हुने वा उठबस गर्ने काम नगर्। उदाहरणको लागि, मिटर ब्याजीहरूको कुरा गरौँ। कतिपय मानिसहरूलाई आफ्नो व्यवसायको लागि पुँजीको अभाव हुन्छ, र तिनीहरूले सामान्य ऋण पाउन सक्दैनन्, तर तिनीहरूलाई पुँजी प्रवाह गर्ने एउटा उपाय छ, र त्यो हो, मिटर ब्याज। मिटर ब्याजमा चर्को ब्याजदर लाग्ने मात्र नभई ठूलो जोखिम पनि हुन्छ। कतिपय मानिसहरू धेरै पैसा कमाउन र आफ्नो व्यवसायलाई टाट पल्टनबाट जोगाउन अन्त्यमा मिटर ब्याजको सहारा लिन्छन्। अनि, के मिटर ब्याजमा संलग्न हुनेहरू समाजका कानुन पालना गर्ने मानिसहरू हुन् त? (अहँ, होइनन्।) ती अवैधानिक सामाजिक सङ्गठनहरू हुन्, र तिनीहरूबाट सधैँ जोगिनुपर्छ। तेरो अस्तित्व वा वर्तमान परिस्थितिले तँलाई जहाँ पुर्‍याए पनि, तैँले कहिल्यै यो मार्ग हिँड्ने विचार गर्नु हुँदैन, बरु यसबाट टाढा रहने र यसलाई पन्छाउने गर्नुपर्छ। तेरो जीवन र जीविकामा जे-जस्ता समस्याहरू आइपरे पनि, तँ यी कुराहरूबारे सोच्ने वा यो मार्ग हिँड्‍न विचार गर्ने नगर्। के यो मानिसहरूको समूह पार्टी सङ्गठनजस्तै छैन र? यो तथाकथित कानुनी समाज र आपराधिक संसारबीच केही समानताहरू छन्। तिनीहरूले तेरो जीविकामा कुनै समाधान वा बदलाव ल्याउन सक्छन् भन्‍ने नसोच्; यो एउटा कामना मात्र हो। तैँले यो कदम चाल्न रोजेपछि, र यो मार्गमा लागेपछि, तेरो भावी जीवन झनै खराब हुनेछ। अनि अवश्य नै, अर्को प्रकारको तथाकथित सामाजिक सङ्गठन पनि छ, जसको नाम हामी यहाँ खुलाउन चाहँदैनौँ, र विशेषगरी तैँले कुनै विशेष र जटिल समस्याहरू सामना गर्नुपर्दा, तैँले विशेष परिवेशहरू सामना गर्नुपर्दा, वा तँ अत्यन्तै खतरनाक परिस्थितिहरूमा पर्दा, तँ यसको नजिक कहिल्यै पर्नु हुँदैन। आफूलाई बचाउन, खतरामुक्त हुन, र कठिनाइहरूबाट उम्कनको लागि चरम उपायहरू प्रयोग गर्नेबारे नसोच्। यस्ता परिस्थितिहरूमा, त्यस्ता मानिसहरूसँग सङ्गत गर्नु वा तिनीहरूसित कुनै पनि रूपमा संलग्न हुनुभन्दा तिनीहरूको पासोमा पर्नु बेस हुन्छ। अनि, तँ किन यसो गर्छस्? के निष्ठा धारण गर्नु भनेको यही हो? के इसाईहरूमा हुनुपर्ने निष्ठा यस्तै हो? (इसाईहरूमा हुनुपर्ने निष्ठा यस्तो होइन।) त्यसोभए त्यो के हो त? (तिनीहरूसँग नजिकिनु ठिक हुँदै होइन।) त्यो किन ठिक होइन? (तिनीहरूसँग नजिकिँदा जीवन झन् खराब बन्नेछ, र भविष्यमा झन् ठूलो खतरा आउनेछ।) के यो भविष्यको खतराबाट उम्कनकै लागि मात्र हो त? त्यसोभए सबभन्दा पहिला तँ किन तेरो तत्कालको खतराबाट उम्कँदैनस्? तँ किन यी शक्तिहरूसित नजिकिन सक्दैनस्? बाइबलमा, प्रभु येशूलाई प्रलोभनमा पारिँदा उहाँले शैतानलाई कसरी जवाफ दिनुभयो? (प्रभु येशूले भन्‍नुभयो, “यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू” (मत्ती ४:१०)।) मानिसहरूले आराधना गर्नुपर्ने एउटै व्यक्ति परमेश्‍वर हुनुहुन्छ, र मानिसहरूले उहाँको मात्र सेवा गर्नुपर्छ। साथै, मानिसहरू एउटै परमेश्‍वरको लागि मात्र जिउनुपर्छ। यदि परमेश्‍वरले तेरो जीवन लैजान अनुमति दिनुभयो भने, तैँले के गर्नुपर्छ? (समर्पित हुनुपर्छ।) तैँले परमेश्‍वरमा समर्पित हुनुपर्छ र उहाँको प्रशंसा गर्नुपर्छ। परमेश्‍वरको नाम उच्च पार्नुपर्छ, र मानिसहरूले आफ्नो जीवनको खोज नगरी परमेश्‍वरप्रति समर्पित हुनुपर्छ। तर यदि परमेश्‍वरले तँ जिएको चाहनुभयो भने, तेरो जीवन कसले लैजान सक्छ? कसैले पनि लैजान सक्दैन। त्यसैले, तैँले जे-जस्ता परिस्थिति वा खतराहरू सामना गरे पनि, मृत्युको मुखमा पर्दासमेत, यदि तँलाई मृत्युबाट बचाउन सक्ने कुनै शक्ति छ भने, त्यो उचित शक्ति होइन, त्यो शैतानको शक्ति हो। अनि, तैँले के भन्नुपर्छ? “गइहाल् शैतान! तेरो कुनै सङ्गत गर्नुभन्दा बरु म मर्छु!” के यो सिद्धान्तको कुरा होइन र? (हो।) “तेरा शक्तिहरूको कारण म जिउन सक्दिनँ, र परमेश्‍वरले मलाई त्याग्नुभएको कारण म मर्नेछैनँ। सबथोक परमेश्‍वरको हातमा हुन्छ। म जिइरहनलाई कुनै पनि शक्तिमाथि भर पर्न र सम्झौता गर्न कदापि सक्दिनँ।” मानिसहरूले पालना गर्नुपर्ने सिद्धान्त यही हो। यदि तँ दोधारमा परिस्, र कसैले समाजमा तँलाई बचाउन सक्ने एउटा शक्ति छ भनेर भन्यो भने; यदि त्यो शक्तिले तँलाई बचाउन सक्छ, तर त्यसले तेरो, इसाईहरूको, मण्डलीको, र परमेश्‍वरको घरको बेइज्‍जत गर्छ भने; यदि त्यसले परमेश्‍वरको घरको अपमान गर्छ भने, तैँले के जवाफ दिन्थिस्? तैँले स्विकार्थिस् कि अस्वीकार गर्थिस्? (अस्वीकार गर्थेँ।) तैँले अस्वीकार गर्नुपर्छ। सैद्धान्तिक रूपमा, हामी बाँच्नलाई कुनै पनि शक्तिमाथि भर पर्दैनौँ। त्यसैले, हाम्रो परिस्थिति वा हामीले सामना गर्ने खतरनाक अवस्थाको बाबजुद पनि, सबभन्दा मूलभूत कुरा के हो भने, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुबाहेक, हामीले खतरनाक दुर्दशाहरूबाट उम्कन विविध चरम उपायहरू प्रयोग गर्ने कुरा सोच्‍नुसमेत हुँदैन। मानिसहरूले जिम्मेवारी पूरा गरेर आफूले लगाउनुपर्ने प्रयत्न लगाएपछि, बाँकी कुरा परमेश्‍वरका योजनाबद्ध कार्यहरूकै हातमा छोड्नुपर्छ। यदि कसैले तँलाई बचाउन सक्ने एउटा अवैधानिक सामाजिक सङ्गठन छ भनेर भन्थ्यो भने, के तँ सहमत हुन्थिस्? (म असहमत हुन्थेँ।) तँ किन असहमत हुन्थिस्? के तँ जिउन चाहँदैनस् र? के तँ आफ्नो दुर्दशाबाट तत्काल उम्कन चाहँदैनस् र? आफ्नो दुर्दशाबाट उम्केर जीवित रहन खोज्दासमेत, तैँले उचित स्व-व्यवहार अँगाल्ने सिद्धान्त पालना गर्नैपर्छ। तँलाई आफूले के गर्न हुन्छ र के गर्न हुँदैन भन्‍ने कुरा थाहा हुनुपर्छ। तँ हृदयमा प्रस्ट हुनुपर्छ र तैँले सिद्धान्तहरू गुमाउनु हुँदैन।

विविध सामाजिक शक्तिहरूबाट अलग रहने मामला सन्दर्भमा, मानिसहरूले आफ्नो जीवनमा सामना गर्ने विभिन्न शक्तिहरूबाहेक, समाजमा बारम्बार देखापर्ने विविध शक्तिहरू पनि हुन्छन्: मानिसहरू यी शक्तिहरूबाट पनि अलग रहनुपर्छ। चाहे जीवनमा होस् वा काममा, तिनीहरूसित कुनै सम्बन्ध राख्न वा अन्तरक्रिया गर्नबाट परै बस्‍नू। आफ्नै जीवन र काम सम्हाल्नू, र सँगसँगै यी शक्तिहरूको ठूलो रूप देखेर हतोत्साहित नहुनू। हृदयमा तिनीहरूलाई इन्कार गर्दा र तिनीहरूबाट टाढिँदा, बुद्धि प्रयोग गरेर तिनीहरूसँगको सम्बन्ध सम्हाल्नू र तिनीहरूसँग दूरी कायम गर्नू। तैँले गर्नुपर्ने यही हो। हृदयमा प्रस्ट हुनू कि तँ यो काम एक छाक खाना र तेरो जीवनयापनको लागि मात्र गरिरहेको छस्। तेरो उद्देश्य सामान्य छ, खान र लाउन पाउनु, कुनै पनि परिणामको निम्ति तिनीहरूसित नलड्नु। तिनीहरूले तँलाई अनेक कुरा भने पनि वा तँसित कठोर बोले पनि; तँ धार्मिक विश्‍वासको लागि उत्पीडन भोग्नुपर्ने देशमा भए पनि, इसाई धर्मलाई उत्पीडनमा पारिएको, र केही मानिसहरूले तेरो विश्‍वासको धज्जी उडाएको, व्यङ्ग्यात्मक टिप्पणी गरेको, वा त्यसबारे अफवाह फैलाएको देशमा भए पनि, तैँले सहनबाहेक केही गर्न सक्दैनस्। त्यसैले आफ्नो सुरक्षा गर्, परमेश्‍वरसामु शान्त हू, उहाँलाई बारम्बार प्रार्थना गर्, नियमित रूपमा उहाँसामु आइज, र बाहिरी रूपमा भयङ्कर र डरलाग्दो देखिने यी शक्तिहरूबाट हतोत्साहित नहू। हृदयको गहिराइमा तिनीहरूप्रति समझशक्ति प्रयोग गर्नुबाहेक, तँ तिनीहरूबाट धेरै टाढा रहने पनि गर्नुपर्छ। बोल्दा होस् पुर्‍या, होसियारीपूर्वक पाइला टेक्, शान्तिपूर्ण सहअस्तित्व कायम राख् र तिनीहरूसित अन्तरक्रिया गर्दा बुद्धि प्रयोग गर्। के तैँले पालना गर्नुपर्ने सिद्धान्तहरू यिनै होइनन् र? (यिनै हुन्।) तर तैँले तिनीहरूबाट टाढा रहन, तिनीहरूलाई अस्वीकार गर्न, वा हृदयमा तिनीहरूलाई घृणा नै गर्न चाहन्छस् भने पनि, आफू बाहिरी रूपमा कस्तो देखिन्छु भन्‍नेबारेमा चाहिँ तँ अवश्यै चनाखो हुनुपर्छ। तैँले त्यो कुरा तिनीहरूलाई आभास हुन वा देख्न दिनु हुँदैन। हृदयमा प्रस्ट हू कि तँ जीवन गुजारा गर्न मात्रै काम गरिरहेको छस्, र तिनीहरूमाझ जिउनु तेरो अन्तिम विकल्प हो। पहिला तिनीहरूबाट अलग रहने कोसिस गर्। तिनीहरू सामूहिक रूपमा कुनै अवैध व्यवहारमा लागिरहेका छन् भने, तँ तिनीहरूबाट अलग रहनु र पन्छिनुपर्छ, र तिनीहरूको अपराधमा संलग्न हुनु हुँदैन। त्यो सँगसँगै, आफ्नो सुरक्षा गर्, आफूलाई सामूहिक आक्रमणमा पारिने वा फसाइने अप्ठ्यारो परिस्थितिमा पर्न नदे। के यसो गर्न सजिलो छ? कतिपय कलिलो उमेरका र भोलाभाला मानिसहरूलाई पहिलो पटक यो जटिल सामाजिक वातावरण प्रवेश गर्दा कठिन लाग्न सक्छ। अथवा सायद कतिपय व्यक्तिहरूमा केही क्षमता वा संयोजन क्षमता नहुन सक्छ, र तिनीहरू पारस्परिक सम्बन्ध सम्हाल्न खासै सिपालु नहुन सक्छन्, र परिस्थितिमा केही कठिनाइ थपिन्छ। तर जे भए पनि, एउटा कुरा प्रस्ट छ: तैँले आफ्नो व्यक्तिगत सामर्थ्य प्रयोग गरेर हातको काम सम्पन्न गरे पुग्छ। कसैलाई चिढ्याउने काम नगर्; आस्था, नैतिक दायरा, विवेक र समझ नभएका जोकोही व्यक्तिप्रति अति कठोर नबन्। एउटै शब्द वा घटनाको कारण तिनीहरूलाई उच्च सिद्धान्तहरू सुनाउने वा परमेश्‍वरमाथिको आस्था, आफूलाई उचित व्यवहारमा ढाल्ने कुरा, वा विवेक र मानव प्रकृतिजस्ता मामलाबारे कुरा नगर्। यो जरुरी छैन; तेरो राम्रो सल्लाह बुझ्नेहरूको लागि जोगाइराख्। पशुको स्तरका मानिसहरूसित मानव बोलीसमेत प्रयोग नगर्, सत्यतासम्बन्धी कामकुराबारे त झन् कुरै नगर्। यो मूर्खतापूर्ण कार्यशैली हो। यदि तिनीहरू ठूला शक्ति हुन् भने, तैँले हृदयमा आफूलाई अलग राख्ने र तिनीहरूलाई इन्कार गर्ने गरे पनि, बाहिरी रूपमा तिनीहरूलाई व्यवहार गर्दा तैँले तिनीहरूप्रति मित्रवत्‌ र सौहार्दपूर्ण आचरण कायम राख्नुपर्छ। खान र लाउन पाउने गरी आफ्नो जीविका कायम राख्ने प्रयत्न गर्—त्यति भए पुग्छ। विविध शक्तिहरू जकडिँदै बसेको यस्तो जटिल जियाइ परिवेशमा, तैँले आफू परमेश्‍वरलाई पछ्याउने, सत्यता पछ्याउने, वा असल र इमानदार व्यक्ति भएको प्रमाणित गर्न कुनै कुरामा पनि संलग्न भएको परमेश्‍वर चाहनुहुन्न। बरु, उहाँले तँ ढुकुरजस्तै हानिरहित र सर्पजस्तै बुद्धिमान् भएको, हरेक क्षण परमेश्‍वरसामु आएको, उहाँसामु शान्त भई प्रार्थना गरेको, परमेश्‍वरलाई तेरो रक्षा गर्न दिएको, र आफ्नो सुरक्षा गर्ने लक्ष्य प्राप्त गरेको चाहनुहुन्छ। अनि, तैँले हासिल गर्नुपर्ने ठ्याक्कै परिणामचाहिँ के हो त? त्यो परिणाम तँ दुष्ट मानिसहरूको ठगीमा नपर्ने, विविध शक्तिहरूको उल्झनमा नपर्ने, र तिनीहरूको निशाना, बलिको बोको, वा हाँसोको पात्र नबन्ने हुनुपर्छ। तिनीहरूले तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भन्‍ने कुरा थाहा पाएपछि, तिनीहरू तँलाई हेरेर हाँस्नेछन् र यसो भन्‍नेछन्, “हेर त, यो धार्मिक विश्‍वासी रे,” वा “त्यो धार्मिक व्यक्तिलाई हेर, उसको परमेश्‍वर त्यो हो, यो हो; ऊ फेरि उसको परमेश्‍वरलाई प्रार्थना गर्दै छ, र ऊ भन्छ, उसले कमाएको पैसा उसलाई परमेश्‍वरले दिएको रे।” त्यसकारण, तिनीहरूसित आस्थासम्बन्धी कुराकानी नगर्। तिनीहरूलाई कुनै मौका नदे। तैँले तिनीहरूसित घुलमिल हुन, तिनीहरूसित सम्बन्ध कायम राख्न, तिनीहरूलाई तँ कति राम्रो छस्, तँ कति असल व्यक्ति होस् भनेर भन्न लगाउन, वा तिनीहरूको अनुमोदन पाउनमा तेरो कुनै ऊर्जा खर्चनुपर्दैन। तँलाई यी कुराहरू चाहिँदैनन्। कार्यलयका कामहरू सिद्धान्तपरक ढङ्गले पूरा गर्; तँ एक साधारण कामदार होस्, यो क्षेत्रको एक सदस्य मात्र होस्। परमेश्‍वरले तँलाई उहाँका वचनहरू तिनीहरूमाझ फैलाउन, र उहाँको सत्यताबारे तिनीहरूलाई सङ्गति गर्न आवश्यक गराउनुहुन्न। उहाँ त तँलाई तिनीहरूबाट टाढा बस्‍न, आफ्नो सुरक्षा गर्न, तिनीहरूको दलदल वा कुनै प्रलोभनमा नफस्‍न, र विशेषगरी विविध विवादहरू, तिनीहरूले निम्त्याएको बेथिति, तिनीहरूको योजना र पासो, वा जटिल परिस्थितिहरूमा नअल्झन आग्रह गर्नुहुन्छ। तँ सधैँ यो पेशामा आफ्नो उद्देश्यबारे सचेत रहनुपर्छ: तेरो उद्देश्य प्रगति गर्ने, शीर्षस्थान पुग्ने, सुसम्पन्न व्यक्ति बन्ने, वा समाजलाई आफ्नो महत्त्व देखाउने होइन। त्यो आफ्ना नेता वा आफूभन्दा माथिल्ला मानिसहरूलाई प्रभाव पार्न कुनै काम गर्ने होइन। तेरो उद्देश्य आफ्नो दैनिक जीवन गुजारा गर्ने, जीविकोपार्जन गर्ने, यो संसार र समाजमा बाँच्न सक्षम हुने, र कर्तव्य निर्वाह गर्न, सत्यता पछ्याउन, र मुक्ति पाउन समय र अवस्थाहरू मिलाउने हो। यसर्थ, कुनै पनि कार्यस्थलमा, तैँले प्रगति, थप शिक्षा, वैदेशिक अध्ययन, आफूभन्दा ठूलाहरूको प्रशंसा, वा माथिल्ला नेतृत्वकर्ताहरूको ध्यान हासिले गर्ने अवसरको लागि प्रयत्न गर्नुपर्दैन। तँलाई ती केही पनि चाहिँदैनन्। यदि तँ बाँच्न र आफ्नो जीविकोपार्जन गर्न कोसिस गरिरहेको छस् भने, ती कुराहरूलाई तेरो जीवनबाट परित्याग गर्न सकिन्छ। तैँले आफूलाई तेरो पेशाको क्षेत्रभित्र मात्र सुरक्षित गर्नुपर्छ—त्यति भए पुग्छ। परमेश्‍वरले तँलाई धेरै काम गराउनुहुन्न। तैँले पालना गर्नुपर्ने सिद्धान्त भनेको आफूलाई विविध शक्तिहरूबाट टाढा राख्नु, आफूलाई सकसपूर्ण परिस्थितिमा नराख्नु वा जीविका सँभाल्न सकिने तुलनात्मक रूपमा सामान्य परिवेशमा आफैलाई नाश नपार्नु हो। यो मूर्खतापूर्ण कार्यदिशा हो। तँ प्रस्ट रूपमा सबभन्दा सरल कार्यविधिमार्फत आफ्नो जीविका सँभाल्न सक्षम छस्, तैपनि तँ प्रायजसो विवादहरूमा पर्न, विविध गतिविधिहरूमा संलग्न हुन वा तेरो पेशा वा जीविकासँग असम्बन्धित मामलाहरूमा सामेल हुन तत्पर हुन्छस्, र फलस्वरूप त्यसले तँलाई विविध जटिल मानव मामलाहरूमा, र विविध सामाजिक शक्तिहरूका जटिल उल्झन र द्वन्द्वहरूमा धकेल्छ। त्यसैले तैँले परमेश्‍वरलाई तेरा त्यस्ता परिस्थितिहरू बन्दोबस्त गर्नुभएकोमा दोष लगाउन मिल्दैन; दोषी त तँ आफै होस्, तेरै कारणले तेरो पतन भएको हो। तँ बारम्बार भन्‍ने गर्छस् कि तँ काममा अति व्यस्त र थकित हुन्छस्, र तँसित भेलामा सहभागी हुने र कर्तव्य निर्वाह गर्ने समय नै हुँदैन। तर कारणहरू जेसुकै भए पनि, तँ यस्ता परिस्थितिहरूमा परिस् भने, परमेश्‍वरको घरले तँलाई चाँडै हटाउनेछ। तेरो मुक्ति पाउने आशा हराउनेछ। त्यो तँ आफैले लिएको, तँ आफैले रोजेको मार्ग थियो, र अन्त्यमा तैँले यही परिणाम नै पाउनेछस्। यदि आफ्नो परिवेशमा तँ परमेश्‍वरले सङ्गति गर्नुभएका सिद्धान्तहरूबमोजिम अभ्यास गर्छस्, आफ्नो सुरक्षा राम्ररी गर्छस्, र शान्त हृदयले परमेश्‍वरसामु आउन सक्छस् भने, काम र कर्तव्य निर्वाहनबीच सन्तुलन मिलाउँदा, तँसित अझै मुक्ति पाउने मौका रहनेछ। तर यसको पूर्वसर्त के हो भने, तैँले आफूलाई समाजका विविध शक्तिहरूबाट टाढा राख्नुपर्छ, आफ्नो हृदयलाई शान्त पार्नुपर्छ, र सँगसँगै, तेरो क्षमता र सीमित स्रोतसाधनको दायरामा रही, तँ कर्तव्य निर्वाह गर्न र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्षम हुनुपर्छ। त्यसो गरिस् भने, तेरो पारिवारिक वातावरण जतिसुकै चुनौतीपूर्ण भए पनि, वा तेरो व्यक्तिगत स्रोतसाधन जतिसुकै सीमित रहे पनि, परमेश्‍वरको संरक्षण, आशिष् र मार्गदर्शन पाएर, तँ अन्ततः चरणबद्ध रूपमा सत्यता पछ्याउने मार्गमा अघि बढ्नेछस्। त्यसपछि मुक्ति पाउने तेरो आशा बलियो बन्नेछ। सायद तेरो व्यक्तिगत पछ्याइ, प्रयास, र मूल्य चुकाइको कारण नै तैँले अन्त्यमा मुक्ति पाउनेछस्। तर कतिपयले बीचैमा हार मान्न सक्छन्। तिनीहरू यो जीवन अति खल्लो भएको, आफूलाई संसारले एक्ल्याएको, आफ्नो जीवन एकान्त र एक्लो भएको देख्छन्, र आफू विविध विवादहरूमा नमुछिएमा आफूसँग कुनै काम नभएको, र आफ्नो महत्त्व र भविष्य थाहा पाउन असक्षम भएको अनुभूति गर्छन्। त्यसैले, तिनीहरू परमेश्‍वरले तोक्‍नुभएका सिद्धान्तहरू त्याग्छन्, र एक्लो वा मौन नरहन, समाजका विविध शक्तिहरूमा मिसिन रोज्छन्। तिनीहरू ससाना कुरामा भनावैरी गर्छन्, सङ्घर्ष र उल्झनहरूमा सामेल हुन्छन्, र तिनीहरूसित लड्ने र झगडा गर्ने गर्छन्। तिनीहरू विविध विवादहरूमा पर्छन्, र आफ्नो जीवन पूर्ण, मूल्यवान् र सुखद बनेको अनुभूति गर्छन्—तिनीहरू अब एक्लो महसुस गर्दैनन्। यस्ता मानिसहरूले के रोजेका हुन्छन्? तिनीहरूले कर्तव्यलाई बेवास्ता गर्न र सत्यता नपछ्याउन रोजेका हुन्छन्। यही नै अन्त्य हो: जब बाटोको यो बिन्दुमा पुगिन्छ, तब मुक्ति पाउने आशा बाँकी हुँदैन। कुरा यही होइन र? धेरै मानिसहरूलाई यी वचनहरू सुनेपछि पनि रमाइलै लाग्छ र यी वचनहरू व्यवहारमा लागु गर्न त्यति चुनौतीपूर्ण लाग्दैन। तर केही समय यी वचनहरू अभ्यास गरेपछि तिनीहरूले यस्तो सोच्छन्, “के यसरी जिउनु अति थकानयुक्त हुँदैन र? मानिसहरू मलाई प्रायः अनौठो, र कोही पनि साथीसँगी वा दौँतरी नभएको व्यक्तिको रूपमा हेर्छन्; मलाई अति एक्लो र एक्ल्याइएको महसुस हुन्छ, र मेरो दैनिक जीवन नीरस छ। मलाई यो साँच्चिकै राम्रो वा खुसीपूर्ण जीवन होइन भन्‍ने अनुभूति हुन्छ।” त्यसपछि तिनीहरू फेरि एक पटक पहिलेको जीवनमा फर्कन्छन्, र यस्ता मानिसहरूलाई हटाइन्छ। तिनीहरूको मुक्तिको आशा बिलाउँछ। तिनीहरूले न त एक्लोपन सहन सक्छन्, न त परमेश्‍वरको मापदण्डअनुसार जिउँदा यी मानिसहरूको समूहद्वारा गरिने गिल्ला र एक्ल्याइबाट आइपर्ने कठिनाइ नै सहन सक्छन्। यसको साटो, तिनीहरू एकअर्कासँग लड्ने विविध शक्तिहरूमाझ जिउन रुचाउँछन्, र तिनीहरू विभिन्न शक्तिहरूमा समाहित हुन्छन्, ती शक्तिहरूमा अल्झिन्छन्, ती शक्तिहरूसित झगडा गर्छन्, र ती शक्तिहरूविरुद्ध सङ्घर्ष गर्छन्। यो भन्न सकिन्छ कि, यस्ता मानिसहरू परमेश्‍वरका चुनिएका जनहरूमा पर्दैनन्। यी प्रवचनहरू सुनेपछि राम्रो अनुभूति गरे पनि, तिनीहरू आफूलाई विविध सामाजिक शक्तिहरूबाट टाढा राख्नुभन्दा तिनमै समाहित हुन रोज्छन्। भन्‍नै पर्दैन, मुक्ति निश्‍चय नै यस्ता मानिसहरूको निम्ति होइन। तर यदि तैँले आफूलाई समाजका विविध शक्तिहरूबाट टाढा राख्ने मार्ग रोज्छस्, र आफ्नो जीविका सँभाल्दै सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्छस् भने, कम्तीमा पनि यस रोजाइको आधारमा तँसित मुक्तिको आशा रहन्छ। तैँले आधारभूत पूर्वसर्तहरू पुर्‍याएको हुन्छस्; फलस्वरूप, मुक्तिको आशा रहन्छ।

मण्डलीमा एक यस्तो व्यक्ति थियो, जो एक गोरासँग परिचित बन्न पुग्यो जसको बुबा एक सांसद थियो। वास्तवमा, सांसद हुनु त्यस्तो प्रतिष्ठित पद होइन, तर यो व्यक्तिलाई एक विदेशी सांसदका छोरासँग बोल्न पाउनु अत्यन्तै सम्मानको कुरा हो भन्‍ने लाग्यो। उसले त्यो व्यक्तिको राम्रो हैसियत छ भन्‍ने सोच्यो। पछि, उसले त्यो सांसदको छोरोलाई यताउति घुमायो, र तिनीहरूले भेटेजति सबै मानिसहरूसित उसको परिचय गरायो, र यसो भन्यो, “यिनी सांसदका छोरा हुन्।” मैले सोधेँ, “सांसदको छोरा रे? उसको बुबाको कुन स्तरको सांसद हो? उसले तेरो लागि के गर्न सक्छ?” उसले जवाफ दियो, “उसको बुबा एक सांसद हुनुहुन्छ!” मैले भनेँ, “के उसको बुबा सांसद हुनुको तँसित कुनै सम्बन्ध छ? तँ त सांसद होइनस्, त्यसो भए फुइँ लाउनुको के अर्थ?” त्यो व्यक्ति आफूप्रति अत्यन्तै खुसी थियो। उसले सांसदको छोरोसँग सम्बन्ध स्थापित गरेकै कारण जहाँ गए पनि घमण्डी व्यवहार देखाउँथ्यो, र चिनेका मानिसहरूलाई बाटोमा देख्दा बेवास्ता गर्थ्यो। मानिसहरू सोध्थे, “तिमी हामीसँग किन नबोलेको?” उसले यस्तो जवाफ दिन्थ्यो, “म सांसदको छोरोसँग हिँडिरहेको छु!” के तँ ऊ कति दम्भी थियो भनेर विश्‍वास गर्न सक्छस्? के यो अविश्‍वासी हो कि होइन? (हो।) परमेश्‍वरको घरका यस्ता मानिसहरूले अन्तिममा कस्तो परिणाम भोग्छन्? (तिनीहरूलाई हटाइनेछ।) यस्तो व्यक्तिलाई मण्डलीबाट हटाउनैपर्छ, किनकि ऊ एक अविश्‍वासी र अवसरवादी हो। जोसँग पद र शक्ति भएजस्तो देखिन्छ, ऊ त्यही व्यक्तिसँग टाँसिन्छ, र यदि उसले परमेश्‍वरको घरमा शक्ति भएको देखेमा, ऊ त्यसैमा टाँसिन्छ। फलस्वरूप, केही समय परमेश्‍वरको घरमा बसेपछि, उसले यहाँ पैसा कमाउन सकिँदैन भन्‍ने महसुस गर्छ, त्यसैले उसले खाना पुर्‍याउने जागिर खोज्छ। तर त्यो जागिरले उसलाई इज्जतिलो महसुस गराउँदैन, र पछि उसले अब ऊसँग हैसियत छ र उसले अबउप्रान्त खाना पुर्‍याउने काम गर्नुपर्दैन भन्‍ने सोचेर त्यो सांसदको छोरोलाई चिप्लो घस्छ। ल भन् त, के यो मूर्खता होइन र? के मण्डलीमा यस्ता मानिसहरू हुँदैनन् र? (हुन्छन्।) कतिपय मानिसहरू दर्जा वा शक्ति भएको कुनै व्यक्तिलाई चिनेकै कारण गौरव महसुस गर्छन्। तिनीहरू आफूलाई मूल्यवान् र अरूभन्दा फरक भएको भन्ठान्छन्। कतिपय मानिसहरू सानो आधिकारिक पदमा बस्छन् र तिनीहरूसित थोरै शक्ति हुन्छ, तैपनि तिनीहरू आफू मण्डलीमा अरूभन्दा फरक भएको र आफूले अन्तिम निर्णय गर्नुपर्ने विश्‍वास गर्छन्। के यी मानिसहरू अविश्‍वासी होइनन् र? (हुन्।) त्यस्ता मानिसहरू पनि हुन्छन् जसको ठूलो प्रभाव हुँदैन तर सधैँ त्यसको घमण्ड गर्छन्, र यसो भन्छन्, “म राष्ट्रपतिलाई चिन्छु!” वा “म राष्ट्रपतिको सचिवको काकाको छोराको साथीलाई चिन्छु!” तिनीहरू त्यस्तो घुमाउरो साइनो लगाउँछन् र अझै पनि यस्ता कुराहरू बोल्ने साहस गर्छन्। तिनीहरू किन यति असंवेदनशील भएका हुन्? तिनीहरूको कथा यति जटिल हुन्छ कि वास्तवमा तिनीहरू कसको बारेमा कुरा गरिरहेका छन् भनेर कसैलाई थाहा हुँदैन, र अरू मानिसहरू त्यो सुन्न बिलकुलै रुचि राख्दैनन्, किनकि तिनीहरू यी कुराहरूबारे मतलबै राख्दैनन्। यी व्यक्तिहरूले मात्र यस्ता मामलाहरू सबभन्दा महत्त्वपूर्ण, सबभन्दा उल्लेखनीय र सबभन्दा प्रभावशाली ठान्छन्। कतिपय मानिसहरू प्रायजसो आफूले मन्त्री, निर्देशक वा उच्च अधिकारीहरू चिनेको छु भनेर भन्‍ने गर्छन्। कतिपयले त यस्तोसम्म भन्छन्, “म कानुनी समाज र आपराधिक संसार दुवैतिरका मानिसहरू चिन्छु; म दुइटै मार्गमा सम्म चौरमा जस्तै सजिलै हिँड्छु।” अरू मानिसहरूले भन्‍न सक्छन्, “म प्रदेश प्रमुखकी भाउजूलाई चिन्छु।” अनि, यस्तो भन्‍नेहरू पनि छन्, “म मेयरकी आमाको मण्डलीकी साथी चिन्छु।” तिनीहरू यस्ता कुरा गरेर घमण्ड गर्छन्। यी मानिसहरूलाई चिनेर के काम? के तिनीहरूले तँलाई केही कुरा हासिल गर्न मद्दत गर्न सक्छन्? तँ एक मेयर, निर्देशक, प्रदेश गभर्नर, वा गभर्नरका आमा वा बुबा नै भए पनि, के मण्डलीमा तेरो हैसियतको कुनै काम हुन्छ र? (हुँदैन।) के मेयर र गभर्नरजस्ता मानिसहरू मानवजातिमा पर्दैनन् र? के तिनीहरू परमेश्‍वरभन्दा महान् बन्न सक्छन्? के यी अविश्‍वासीहरूले यस्ता शक्तिहरूलाई मूल्यवान् ठान्नु घिनलाग्दो कुरा होइन र? (हो।) कतिपय मानिसहरू आफूले प्रहरी प्रमुखलाई चिनेको दाबीसमेत गर्छन्, र अरू मानिसहरू भन्छन्, “म पहिले समुदाय प्रहरी अधिकृत र स्थानीय थानाको थाना प्रमुख थिएँ,” र अरूले भन्छन्, “म टोल कार्यालय निर्देशक थिएँ र रातो आर्मब्यान्ड लगाउँथेँ।” तिनीहरूले यी तथाकथित शक्तिहरूबारे कुरा गरेको सुन्दा तिमीहरूलाई कस्तो लाग्छ? कतिपय अविश्‍वासीहरू, जो सत्यता पछ्याउँदैनन् र नाम मात्रका विश्‍वासी हुन्, तिनीहरू यति मूर्ख हुन्छन् कि तिनीहरूलाई ती मानिसहरूले भनेका कुरा साँचो हुन् होइनन् थाहै हुँदैन, त्यसैले तिनीहरू त्यो कुरालाई साँचो ठान्छन् र उच्च सम्मान गर्छन्। तर सत्यता पछ्याउनेहरूको हकमा भन्नुपर्दा, तिनीहरूले यी कुराहरू सुन्दा हृदयमा के सोच्छन्? तिनीहरूले ती मानिसहरूलाई कसरी मूल्याङ्कन गर्छन्? तिनीहरूले देख्नेबित्तिकै तिनीहरू अविश्‍वासी हुन्, तिनीहरू विविध सांसारिक शक्ति र मामलाहरूबारे मात्र कुरा गर्छन्, र तिनीहरू यी कुराहरू प्रदर्शन गर्न परमेश्‍वरको घर आएका हुन् भनेर भन्न सक्छन्। तिनीहरूले कुनै अधिकारी वा सेलिब्रेटीका टाढाका नातेदार चिन्‍नुको त कुरै नगरौँ; तिनीहरू आफै अधिकारी वा सेलिब्रेटी भए पनि, परमेश्‍वरको घरमा तिनीहरूको कुनै मूल्य हुँदैन, तिनीहरूको उपाधि र पदको नै कुनै मूल्य हुँदैन भने, तिनीहरू केको धाक देखाइरहेका छन्? के तिनीहरूसित सत्यता छ? के तिनीहरू सिद्धान्तअनुसार कर्तव्य पूरा गरिरहेका छन्? तिनीहरू केही पनि होइनन्, तैपनि तिनीहरू फुर्ती लाउने आँट गर्छन्! के यो लाजमर्दो कुरा होइन? के यो घिनलाग्दो कुरा होइन र? (हो।) यो कति घिनलाग्दो हुन्छ? तिनीहरू कानुनको दुवैतिर आफ्नो सम्बन्ध भएकोमा गर्व गर्छन्—के यो कुरामा गर्व गर्ने मानिसहरू बेवकुफ होइनन् र? के तिनीहरू मूर्ख होइनन् र? (हुन्।) तिनीहरू आफू समस्यामा परिने कुरामा समेत डराउँदैनन्। कानुनको दुवै पक्षसँग मिल्नु: के यस्तो व्यक्ति ठग होइन र? परमेश्‍वरको घरमा ठग र चतुरहरूको सम्मान हुँदैन; तिनीहरू अविश्‍वासीहरूमा पर्छन् र तिनीहरूलाई निष्कासित गरिनुपर्छ! तैपनि तिनीहरू यही कुरामा फुर्ती लाउँछन्। के यो मूर्खता होइन र? के यो गर्व गर्नुपर्ने कुरा हो र? तिनीहरू यसबारे पनि घमण्ड गर्छन्! केही मानिसहरू नाडीमा सुनका ठूला बाला लगाउँछन् र मातेपछि अरू मानिसहरूलाई देखाउँछन्, र यसो भन्छन्, “मेरा पुर्खाहरू चिहान खोतल्थे, र तिनीहरूको यो सीप पुस्तौँदेखि मेरो परिवारमा हस्तान्तरण हुँदै आएको छ। मेरो नाडीको यो ठूलो बाला हेर त, मैले यो फलानो मितिको एक रात एउटा ठूलो चिहानमा भेट्टाएँ र आफैले राखेँ। यो कस्तो छ? दामी छ नि, हैन?” कतिपय मानिसहरूले यो सुनेर तिनीहरूबारे उजुरी गर्छन्, र तिनीहरू आफूले के नियम उल्लङ्घन गरेको छु भन्‍नेसमेत थाहा नपाई गिरफ्तार हुन्छन्। मानिसहरू तिनीहरूलाई सोध्छन्, “के तिम्रो नाडीको सुनको बाला यही युगको हो? त्यो त पुरातात्त्विक कलाकृति हो!” तिनीहरू मूर्खतापूर्वक दोषी बन्छन्। हुँदै नभएको कुराबारे अन्धाधुन्ध रबाफ नदेखा; प्रहरीको नजरमा परेर समस्यामा नपर्न होसियार बन्। नानाथरी रबाफ देखाएमा सजिलै समस्यामा परिन्छ; यदि तँ आगोसित खेल्छस् भने तँलाई पोल्न सक्छ, र तैँले आफूलाई नष्ट पार्नेछस्—त्यो तेरै कारण भएको हो। तँलाई के भन्‍ने भनेरसमेत थाहा छैन, तँ त्यसबारे छेउटुप्पो बुझ्दैनस्—के यो बुद्धुपन होइन र? (हो।) यदि तँ एकै पटक बिस वटा पाउरोटी खान सक्ने फुर्ती लाउँछस् भने ठिकै छ; यो सिद्धान्त उल्लङ्घन गर्ने कुरा होइन। मानिसहरूले बढीमा तँलाई मूर्ख ठान्नेछन् र गम्भीरतापूर्वक लिनेछैनन्, तर त्यो कानुनविपरीत काम होइन। विविध सामाजिक शक्तिहरूबाट अलग रहने सिद्धान्त भनेको मूलभूत रूपमा समाजको हरेक कुनामा र आफू सामेल हुने जुनसुकै समूहमा पनि बुद्धि प्रयोग गर्नु आवश्यक छ भन्‍ने हो। यो अनुग्रहको युगमा परमेश्‍वरले भन्नुभएको कुराजस्तै हो, “यसैले तिमीहरू सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ हानिरहित होओ” (मत्ती १०:१६)। आफ्नो सुरक्षा राम्ररी गर्; तैँले आफ्नो जीविका सँभाल्न सकिस् भने पुग्छ। सामाजिक शक्तिहरूको फाइदा लिएर आफूलाई समाजमा स्थापित गर्ने, तिनीहरूमै मिसिने, र तिनीहरूको अनुमोदन र प्रवेश प्राप्त गर्ने कोसिस वा त्यस्तो भ्रममा पर्ने काम नगर्। यी मूर्खतापूर्ण विचार र पतित सोच हुन्। मानिसहरूको दृष्टिकोण सच्याउनुपर्छ। तिनीहरू जस्तोसुकै सामाजिक परिवेश वा समुदायमा भए पनि, यदि तिनीहरूले परमेश्‍वरको मार्ग पछ्याउँछन् भने, तिनीहरूलाई समाज वा मानवजातिले इन्कार गर्नेछ। तर जबसम्म परमेश्‍वरले तँलाई सास दिनुहुन्छ, तबसम्म तँ बाँच्‍नै नसक्‍ने हुनेछैनस्। तँसित त्यस्तो आत्मविश्‍वास हुनैपर्छ। मानिसहरूको जीवन तिनीहरूको सुरक्षा, जीविका, भविष्य वा तिनीहरूको सबथोकको सुनिश्‍चितताको लागि ती विविध शक्तिहरूमाथि निर्भर हुँदैन। यो त परमेश्‍वरको एउटै वचन, उहाँको पूर्वनिर्धारण, मार्गदर्शन र सुरक्षामा निर्भर हुन्छ—तँसित यो आत्मविश्‍वास हुनैपर्छ। त्यसैले, समाजमा बाँच्नको लागि, तेरो आधारभूत माध्यम भनेको आफ्नो जीविका सँभाल्न कुनै पेशा रोज्ने हुनुपर्छ, कुनै प्रकारको शक्तिमाथि भर पर्ने होइन। आफ्नो जीवन गुजाराको लागि कुनै पेशामा भर पर्नु: यो सिद्धान्त भनेको मानिसहरूले परमेश्‍वरको मार्गदर्शन र पूर्वनिर्धारणमा रहेर उहाँले तिनीहरूलाई दिनुभएका भौतिक सम्पत्ति र पैसालगायत सबथोक प्रयोग गर्नु हो—आफ्नो व्यक्तिगत जीविकाको लागि भिक्षा वा विविध सामाजिक शक्तिहरूले दिएका कुराहरूमा भर नपर्नु हो। तैँले बाँचेको हरदिन तँ जुन भौतिक चिजहरू र पैसामाथि भर पर्छस्, ती सबै तैँले फेर्ने सासजस्तै परमेश्‍वरबाटै आउँछन्, र परमेश्‍वरले नै दिनुहुन्छ, र परमेश्‍वरले तँलाई दिनुभएको चिज कसैले खोस्‍न सक्दैन। भौतिक चिजहरू, तेरो शरीरबाहिरका जुनसुकै कुरा, तेरो सासजस्तै, तँलाई कसैले भिक्षा दिएका होइनन्, र ती अवश्यै कसैले पनि खोस्‍न सक्दैन। यदि ती कुराहरू तँलाई परमेश्‍वरले दिनुभएको हो भने, ती कसैले पनि खोस्‍न सक्दैन। हामी यो तथ्य अय्यूबका अनुभवहरूमा देख्न सक्छौँ, र तँसित यो आत्मविश्‍वास हुनैपर्छ। यो साँचो आत्मविश्‍वास भएमा, तैँले विविध सामाजिक शक्तिहरूबाट अलग रहने सिद्धान्त पालना गर्ने मूल आधार र प्रेरणा पाउनेछस्। त्यसपछि, यस जगमा रहेर, परमेश्‍वरसामु तेरो तन र मन शान्त रहन सक्छ, तैँले उहाँसामु आएर तेरो तन, मन, र आत्मा चढाउन, आफ्नो कर्तव्य पूरा गर्न, सत्यता पछ्याउन र मुक्तिको सुन्दर परिणाम पाउन सक्छस्। तँसित यो ज्ञान हुनुपर्छ र तैँले यी सत्यताहरू बुझ्नुपर्छ। त्यसैले, “विविध सामाजिक शक्तिहरूबाट अलग रहनु” भन्‍ने वाक्यांश सजिलो सुनिए पनि, मामलाहरू सामना गर्नुपर्दा, तैँले विविध सिद्धान्त र वास्तविक परिस्थितिहरूको आधारमै तेरा निर्णयहरू तौलनुपर्छ। छोटकरीमा भन्‍नुपर्दा, मूल लक्ष्य भनेको आफूलाई तिनीहरूबाट टाढा राख्नु र मुक्त पार्नु मात्र नभई, विविध सामाजिक शक्तिहरूबाट अलग रहने अभ्यासको विधि र मार्ग प्रयोग गरेर परमेश्‍वरसामु शान्त हुनु, उहाँलाई तन र मन चढाउनु, र परमेश्‍वरसामु आउनु, र सत्यता पछ्याएर अन्त्यमा मुक्तिको आशा प्राप्त गर्नु र आफ्ना चाहनाहरू पूरा गर्नु हो। यसर्थ, यो अन्तिम मुक्ति प्राप्त गर्न तैँले विविध सामाजिक शक्तिहरूबाट अलग रहने सिद्धान्त पालना गर्नैपर्छ। मुक्ति प्राप्तिको लागि यो एक जरुरी र सबैभन्दा महत्त्वपूर्णमध्येको एउटा मार्ग हो। होइन र? (हो।) अब विविध सामाजिक शक्तिहरूबाट अलग रहने सिद्धान्तबारे प्रस्ट रूपमा सङ्गति गरिसकिएको छ। के तिमीहरूमा यस सिद्धान्तबारे कुनै अस्पष्टता बाँकी छ? केही विशेष परिस्थितिहरूको कुरा आउँदा, के तिनलाई कुन रूपमा लिने, तँलाई थाहा छ? यदि कुनै शक्तिसँग आबद्ध हुनु कुनै निश्‍चित पेशाको औपचारिकता वा आवश्यकता मात्र हो भने, के यो विविध सामाजिक शक्तिहरूबाट अलग रहने सिद्धान्तविरुद्ध हुन जान्छ? यदि यो तेरो पेशाभित्रको एउटा आवश्यकता वा औपचारिकता मात्र हो भने, त्यो स्वीकार्य छ। हामीले कुरा गरेका शक्तिहरूको योसँग, र देखावटी सङ्गठन वा समूहहरूसँग कुनै सम्बन्ध छैन; हामी यहाँ शक्तिहरूबारे छलफल गरिरहेका छौँ। यो “शक्तिहरू” ले के जनाउँछ? यसले अधिकारीहरू, र समूहहरूको तागत र यी कुराहरू समाजमा परिचालित वा अनियन्त्रितसमेत हुने त्यस्तो तागतलाई जनाउँछ, होइन र? (हो।) यदि तैँले यो अभ्यासको सिद्धान्त बुझेको छस् भने, अब अर्को सिद्धान्त छलफल गर्नतर्फ लागौँ।

चौथो सिद्धान्त राजनीतिबाट अलग रहनु हो। राजनीति एक संवेदनशील विषय हो। तीस वर्षअघि, केही यो वा त्यो नेता, नीति, वा वर्तमान राजनैतिक मामलाबारे कुरा गर्दा, मण्डली भित्रै पनि धेरै मानिसहरूको आलोचना खेप्नुपर्थ्यो। धेरै मानिसहरू राजनीतिको कुरा उठ्नेबित्तिकै कुनै बहाना बनाएर निस्केर हिँड्थे र यस्ता विषयमा कुरा गर्ने आँट गर्दैनथे, र यसो भन्थे, “राजनीतिको कुरा उठाउनु भनेको तिमी पार्टी र राष्ट्रविरुद्ध छौ भन्‍ने हुन्छ; तिमी एक प्रतिक्रान्तिकारी हुन्छौ र पक्राउ पर्नेछौ। यदि सँगैका दाजुभाइ-दिदीबहिनी हुन्थेनन् भने, म तिम्रो उजुरी गरिदिन्थेँ।” त्यसबेला, मानिसहरू राजनीतिबारे निकै संवेदनशील हुने गर्थे। के यो अवस्था अहिले पनि उस्तै छ? यदि मण्डलीभित्र राजनीतिबारे छलफल वा खुलासा गरियो भने, यदि ठूलो रातो अजिङ्गर र शैतानहरूको पर्दाफास गरियो, वा राजनैतिक प्रकृतिका विषयहरू उठाइयो भने, के धेरैजसो मानिसहरूमा अझै यस्तो मनोवृत्ति छ? केही परिवर्तन आएको छैन? (आएको छ।) विगतका भेलाहरूमा, जब हामी कुन नरपिशाचले परमेश्‍वरको विरोध गरिरहेको वा इसाईहरूलाई सताइरहेको छ भनी कुरा गर्थ्यौँ, कतिपय मानिसहरू घाँटीमा केही अड्किएजस्तै गरी खोक्थे, र बाहिर गएर घाँटी सफा गर्थे। केहीपछि, तिनीहरू एकछिन सुन्थे र मनमनै “ओहो, प्रतिक्रान्तिकारी कुरा रोकिएछ” भन्‍ने सोच्थे, अनि फर्केर आउँथे। तर जब तिनीहरू भित्र आउँथे र तँलाई अझै त्यही कुराबारे छलफल गरिरहेको देख्थे, तिनीहरू फेरि खोक्न सुरु गर्थे र बाहिर निस्कन्थे। म सोच्थेँ, तिनीहरू किन खोकिरहन्छन्? हामी शैतानलाई कसरी खुट्याउने भनी छलफल गरिरहेका थियौँ, र त्यसको सार र तुच्छ अनुहार खुलासा गरिरहेका थियौँ। के यो राजनैतिक छलफल हो र? (होइन।) आत्मिक बुझाइ नभएका कतिपय मूर्ख, तथाकथित आत्मिक मानिसहरू यी विषयहरूलाई जोरदार प्रतिरोध गर्थे। तिनीहरू सत्यता र वास्तविक राजनैतिक संलग्नताबीच भिन्नता छुट्याउन वा कम्युनिस्ट पार्टीले भनेको “प्रतिक्रान्तिकारीहरू” को अर्थ बुझ्न सक्दैनथे। तिनीहरू अज्ञानी थिए, कम्युनिस्ट पार्टीद्वारा दिमाग भुटिएका थिए, र तिनीहरू आफै प्रतिक्रान्तिकारी ठानिने हुन् कि भनी डराउँथे। तिनीहरू ठूलो रातो अजिङ्गरको खुलासा गर्ने विषय छलफल वा उल्लेख गर्ने आँट गर्दैनथे। के ठूलो रातो अजिङ्गरको खुलासा गर्नु राजनीतिमा सामेल हुनु हो र? के ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर्नु प्रतिक्रान्तिकारी हो र? (अहँ, होइन।) अहिले त तिमीहरू होइन भन्‍ने साहस गर्छौ, तर के तिमीहरू मूलभूमि चीनमा यही कुरा भन्‍ने आँट गर्नेथ्यौ? के परमेश्‍वरलाई पछ्याउने मानिसहरू पार्टी र राज्यविरुद्ध काम गर्ने राजनैतिक अपराधी हुन् त? (होइनन्।) तँ किन होइनन् भन्छस्? राजनैतिक अपराधी भनेको के हो? के तैँले राजनीतिमा भाग लिएको छस्? (भाग लिएका छैनौँ।) यदि तैँले राजनीतिमा भाग लिएको छैनस् भने, तँ कसरी राजनैतिक अपराधी भइस्? (यो नाम त ठूलो रातो अजिङ्गरले दिएको हो।) यदि तँ चोरीमा संलग्न भइस् भने, तँ चोर होस्। यदि तँ हत्यामा संलग्न भइस् भने, तँ हत्यारा होस्। यदि तँ लुटपाटमा संलग्न भइस् भने, तँ लुटेरा होस्। यी अभियोगहरू के आधारमा लगाइन्छन्? तँ यी आपराधिक गतिविधिमा संलग्न भएपछि ती अभियोगहरू लगाइन्छन्, र तँ उक्त आपराधिक व्यवहारको उत्पीडक बन्छस्। तर यदि तँ त्यसमा संलग्न भइनस् भने, त्यो अपराध र त्यो अभियोगको तँसित कुनै सम्बन्ध हुँदैन। यदि तँ शैतान वा पार्टीलाई पछ्याउँदैनस्, कम्युनिस्ट पार्टीको विरोध गर्छस्, ठूलो रातो अजिङ्गरको विरोध गर्छस्, र ठूलो रातो अजिङ्गरलाई घृणा गर्छस् भने, र यदि तँ परमेश्‍वरलाई पछ्याउँछस् भने, के तँ राजनीतिमा संलग्न भइरहेको हुन्छस् त? (हुँदिनँ।) त्यसोभए यदि तिनीहरूले तँलाई प्रतिक्रान्तिकारी वा राजनैतिक अपराधी भएको अभियोग लगाएमा के त्यो अभियोग कायम रहन्छ त? (अहँ, रहँदैन।) त्यो कायम रहँदैन; त्यो निरर्थक कुरा हो। यो कुनै पेशा नभएको एउटा किसानले थोरै जमिनमा खेती गर्नु, बाली उठाउनु, र त्यसलाई बजारमा लगेर बेच्नुजस्तै हो। त्यसपछि बाहुलामा रातो ब्याज भएको एउटा व्यक्तिले उसलाई सोध्छ, “ए सुन्, तँसँग कामको अनुमतिपत्र छ? के तँसँग स्वास्थ्य प्रमाणपत्र छ?” उक्त किसानले भन्छ, “मैले काम गर्ने अनुमतिपत्र कहाँ पाउनु? मेरो कुनै पेशा छैन, म रोजगार भएको व्यक्ति होइन, मलाई किन काम गर्ने अनुमतिपत्र चाहियो र?” उक्त किसानको कुनै पद वा पेशा छैन, तैपनि केही कुरा बेच्नकै लागि उसलाई उसको कामको अनुमतिपत्र मागिएको छ—के त्यो निरर्थक कुरा होइन र? जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र उहाँलाई पछ्याउँछस्, तब ठूलो रातो अजिङ्गरले तँलाई राजनीतिमा संलग्न भएको आरोप लगाउँछ। तैँले राष्ट्रिय संविधानको कुन धारा निर्माण गर्न मद्दत गरिस्? तैँले कुन राजनैतिक आन्दोलनको योजनामा मद्दत गरिस्? तँ कुन स्तरको सरकारी अधिकारी होस्? के तँ सरकारको कुनै तहको आन्तरिक मतभेदमा सामेल भइस्? तैँले राष्ट्रिय काङ्ग्रेसको कुन बैठक वा राष्ट्रिय सम्मेलनमा भाग लिइस्? (कुनैमा लिइनँ।) तँसित सूचनाको पहुँचसमेत छैन, राजनीतिमा भाग लिने त परको कुरा हो, तैपनि अन्ततः तँलाई राजनैतिक अपराधीको अभियोग लगाइएको छ—के यो मनपरी लगाएको अभियोग होइन र? ल भन् त, के यो देश निरर्थक छैन र? (हो, निरर्थक छ।) कतिपय मानिसहरू अझै मूर्ख नै हुन्छन्। तिनीहरू सोच्छन्, “हुँदैन, राजनैतिक अपराधी वा प्रतिक्रान्तिकारीको अभियोग लाग्नु परमेश्‍वरका विश्‍वासीहरूको लागि ठूलो अपमान हो!” के यो मूर्खता होइन र? कतिपय मानिसहरू यस्ता पनि छन्, जो परमेश्‍वरमा विश्‍वास गरेको कारण प्रतिक्रान्तिकारी वा राजनैतिक अपराधीको अभियोग लागेर १५ वा २० वर्ष जेल पर्छन्, र जेलमुक्त भएपछि यो अपमानजनक कुरा हो भन्‍ने महसुस गर्छन्। तिनीहरू आफ्नो अनुहार सहपाठी, साथीसँगी, र परिवारसमेत कसैलाई देखाउन नमिल्ने सोच्छन्। विशेषगरी जब मानिसहरूले औँला तेर्साइरहेका र तिनीहरूको पिठ्युँपछाडि कानेखुसी गरिरहेका देख्छन्, तब तिनीहरूलाई आफूले केही लाजमर्दो कुरा गरेछु भन्‍ने अनुभूति हुन्छ। के यो मूर्खता होइन र? (हो।) यो युगले तँलाई नकार्छ, र ठूलो रातो अजिङ्गरले तँलाई सताउँछ—के तिनीहरू धर्मी हुन् त? यदि सारा मानवजाति उठ्छ र तँलाई सताउँछ भने, के त्यसको अर्थ सत्यता अब सत्यता रहेन भन्‍ने हुन्छ त? सत्यता सधैँ सत्यता नै हुन्छ, चाहे जतिसुकै मानिसहरू उठेर त्यसको विरोध नै किन नगरून्। दुष्ट शैतानको सार अपरिवर्तित रहेजस्तै सत्यताको सार पनि अपरिवर्तित नै रहन्छ। सत्यता कसैले चिनेन वा स्विकारेन भने पनि, त्यो सत्यता नै हो, र यो तथ्य कहिल्यै परिवर्तन हुनेछैन। यदि सम्पूर्ण मानवजाति परमेश्‍वरविरुद्ध उठेर उहाँका वचनहरू स्विकार्न मानेनन् भने, त्यसले मानवजाति अझै पनि दुष्टै रहेछ भन्‍ने देखाउँछ। शैतानको दुष्ट शक्तिपछाडि धेरै मानिस वा ठूला शक्तिहरू छन् भन्दैमा त्यो धर्मी बन्न सक्दैन। दस हजार पटक एउटै झूट बोले त्यो सत्यता बन्छ; त्यो शैतानको भ्रम र शैतानको तर्क हो, सत्यता होइन। यदि विश्‍वासीहरूले सारा संसारबाट अस्वीकार अनि ठूलो रातो अजिङ्गरबाट उत्पीडन र अपमान भोगेमा, के तिनीहरूले लज्जित महसुस गर्नुपर्छ र? (पर्दैन।) तिनीहरूले लज्जित महसुस गर्नुपर्दैन। जब तैँले धार्मिकताको निम्ति उत्पीडन भोग्छस्, त्यसले यो संसार साँच्चिकै दुष्ट छ भन्‍ने प्रमाणित गर्छ, र परमेश्‍वरका यी वचनहरू पुष्टि गर्छ: सारा संसार दुष्टताको नियन्त्रणमा छ। जब तैँले धार्मिकताको निम्ति उत्पीडन भोग्छस्, तब तेरो मार्ग जति सही र तेरा कार्यहरू जति धर्मी भए पनि, कोही पनि तेरो प्रशंसा गर्न खडा हुँदैन। यसविपरीत, यो संसारका मानिसहरूले गर्ने जुनसुकै फोहोरी कारोबारहरू, प्याकेटमा हालेर प्रवर्धन गरेमा, र जनमानसमाझ लगेमा, सकारात्मक कुरा बन्छन्। ती सबै दुष्ट मानिसहरू हुन्; तिनीहरूका सबै कार्य फोहोरी तिगडमहरू हुन्।

अब, हामी राजनीतिबाट अलग रहने मामलाबारे सङ्गति गर्न जारी राखौँ। यो राजनीति भनेको के हो? तैँले राजनीतिबाट आफूलाई कसरी टाढा राख्ने भनी बुझ्नुपहिले, यो राजनीति भनेको के हो भनी जान्नुपर्छ। राजनीति भनेको के हो त? सबैभन्दा आधारभूत तहमा, यसमा पद सम्हाल्ने र एक अधिकारीको रूपमा करियर बनाउने चाहना पर्छ। यो राजनीतिको एउटा क्षेत्र हो। त्यसैले, राजनीति भनेको पद सम्हाल्नु र अधिकारीको रूपमा करियर बनाउनु हो। उच्चस्तरीयदेखि निम्नस्तरीय अधिकारीसम्म, सरकारी कार्यालयका साना विभागीय प्रमुख र शाखा प्रमुखदेखि पार्टी शाखा सचिव र पार्टी समिति सचिव, निर्देशक, ब्युरो प्रमुख, मन्त्री, र विविध तहका प्रमुखहरूसम्म—यी सबै राजनीतिअन्तर्गत पर्छन्। अनि, राजनीतिले के जनाउँछ? यसको सबैभन्दा सोझो जवाफ भनेको यो शक्ति र अख्तियार हो, यो समाजको एक प्रकारको अख्तियारको प्रतीक हो। यो राजनीतिको एउटा आयाम हो। राजनीतिअन्तर्गत अरू के पर्छ? (परमेश्‍वर, के राजनीति भनेको राज्यको राजनैतिक शक्ति हत्याउने, स्थापित गर्ने वा बलियो पार्ने सङ्घर्ष पनि होइन र?) कर्मचारीहरूको द्वन्द्व र शक्ति सङ्घर्षहरू सबै राजनीतिमै पर्छन्। अरू के पर्छ? यी सङ्घर्षहरूमा प्रयुक्त योजना, रणनीति, र विधिहरू, साथै विविध निर्वाचन, अभियान, र राजनीति र शक्तिसम्बन्धी प्रचारका प्रयासहरू—यी सबै राजनीतिअन्तर्गत पर्छन्। हामीले प्राप्त गर्न सक्ने राजनीतिको सबैभन्दा सोझो बुझाइ यही हो। सङ्गठन र पार्टीसित नजिकिनु, र प्रगतिको लागि प्रयास गर्नु—के साधारण मानिसहरूको राजनीति भनेको यही होइन र? तिनीहरू यसलाई “सानो व्यक्ति तर फराकिलो सोच हुनु” भन्‍ने गर्छन्। तिनीहरूको पद सानो भए पनि सोच फराकिलो हुन्छ। त्यसैले तिनीहरू सङ्गठन र पार्टीसित नजिकिन्छन् र प्रगति हासिल गर्ने प्रयत्न गर्छन्। तिनीहरू सुरुमा कम्युनिस्ट युथ लिग र त्यसपछि कम्युनिस्ट पार्टीमा आबद्ध हुन्छन्। अनि बिस्तारै, तिनीहरू पार्टीसँग नजिकिन्छन्, पार्टीका निर्देशनहरू सुन्छन्, त्यसका मार्गदर्शक नीति र अभिमुखीकरण पालना गर्छन्। तिनीहरू पार्टीले दिएका मार्गदर्शनहरूको कठोर पालना गर्छन्, तिनलाई कार्यान्वयन गर्छन् र पूर्ण रूपमा पार्टी सदस्यका गुणहरू अँगाल्छन्। तिनीहरू पार्टीकै निम्ति बोल्छन् र काम गर्छन्, र मानिसहरूको मनमस्तिष्कमा पार्टीको हित, नियम, हैसियत र छवि सुरक्षित गर्छन्। तिनीहरू पार्टीको सबथोक रक्षा गर्छन्। के यो सबै राजनीतिको पाटो होइन र? (हो।) तैँले सङ्गठन जोगाउँछस्, र त्यो सङ्गठन भनेकै पार्टी हो। चाहे त्यो जुनसुकै राजनैतिक पार्टी होस् वा चाहे त्यो पार्टीले बनाएको जुनसुकै सङ्गठन होस्, तैँले त्यसमा भाग लिन थाल्नेबित्तिकै, तँ राजनीतिमा सामेल भइरहेको हुन्छस्। के तिमीहरूमध्ये कसैले भाग लिएको छ? (छैन।) त्यसोभए तँ ढुक्क भए हुन्छ; तँ राजनैतिक अपराधी होइनस्, न त तँसित आफूलाई राजनैतिक अपराधी बनाउने कुनै योग्यता नै छ। एउटा राजनैतिक अपराधीले कम्तीमा पनि विदेशमा गएर मानव अधिकार सङ्गठन वा समूह स्थापित गर्नुपर्ने हुन्छ, मानव अधिकारका विविध गतिविधिमा संलग्न हुनुपर्ने, र सत्तासीन सरकारका नीतिनियमका साथै सरकारले गरेका विविध कार्यहरूको विरोध गर्नुपर्ने हुन्छ। यसअलावा, उसले नियमावली, प्रणाली, नियम, र संविधानका साथै सङ्गठनका सदस्यहरूले पालना गर्नुपर्ने विविध दफाहरू स्थापित गर्नुपर्ने हुन्छ। त्यो सङ्गठित र अनुशासित हुनुपर्छ, र माथिल्लो तहका नेता र तल्लो तहका कार्यकर्ताहरूले मिलेर माथिदेखि तलसम्म पूर्ण र व्यवस्थित साङ्गठनिक संरचना निर्माण गर्नुपर्छ। त्यसपछि मात्र त्यसलाई राजनैतिक समूह भन्न सकिन्छ, र उक्त राजनैतिक समूहभित्र सञ्चालित गतिविधिहरूलाई मात्र राजनीतिमा सामेल भएको मान्न सकिन्छ। के तिमीहरूमध्ये कोही यसमा सामेल भएका छौ? यदि छैनौ भने, के तिमीहरूमा यसमा सामेल हुने कुनै चाहना छ, वा के तिमीहरू कुनै राजनैतिक दलमा आबद्ध भई कम्तीमा पनि विधायक वा सल्लाहकारको पद सम्हाल्ने योजनामा छौ? के यहाँ यो कुरा सुहाउने कोही छ? यदि तँसित त्यस्ता योजनाहरू छन् भने, त्यसको अर्थ तँ राजनीतिमा पहिल्यै संलग्न भइसकेको छस्; तैँले अहिलेसम्म भाग नलिएको भए पनि, तँमा भाग लिने चाहना छ। तर यदि तँसित त्यस्तो चाहना छैन भने, त्यो धेरै राम्रो हो। अनि, के एक नागरिकको रूपमा निर्वाचनमा भोट हाल्नुलाई राजनीतिमा संलग्न हुनुमा गनिन्छ? यदि कुनै देशको प्रणाली स्वतन्त्रता र प्रजातन्त्रमा आधारित छ, र नागरिकहरूसित भोट हाल्ने अधिकार छ भने, के यो वा त्यो उम्मेदवारलाई भोट हाल्नुलाई राजनीतिमा संलग्न भएको मानिन्छ? (अहँ, मानिँदैन।) मानिँदैन, यो त त्यो देशको नीति र व्यवस्था हो, जहाँ मानिसहरूमा भोट हाल्ने अधिकार हुन्छ। यसलाई राजनीतिमा भाग लिएको मानिँदैन। तँ कुनै एक व्यक्तिलाई छानेर आफ्नो व्यक्तिगत रुचि मात्र व्यक्त गरिरहेको हुन्छस्, तर तिनीहरूको राजनैतिक शक्ति सङ्घर्षमा लागिरहेको हुँदैनस्। कुनै पनि राजनैतिक गतिविधिको तँसित कुनै सम्बन्ध हुँदैन। तँ त्यो देशको नागरिक भएकोले, यो वा त्यो व्यक्तिलाई भोट हाल्ने काम मात्र गरिरहेको हुन्छस्। यो कार्य सिधा रूपमा आफ्नो नागरिक अधिकार प्रयोग गर्नु मात्र हो र यो कुनै राजनैतिक गतिविधि वा व्यवहार होइन।

राजनीति भनेको के हो भन्‍ने विषयबारे धेरथोर सङ्गति गरिसकिएको छ, त्यसैले कसरी राजनीतिबाट अलग रहने भन्‍ने कुरा प्रस्ट भइसकेको हुनुपर्छ। त्यसोभए, तँ कसरी राजनीतिबाट अलग रहन्छस्? पहिला, राजनीतिबाट कसरी अलग रहने भन्‍नेबारे कुरा गरौँ, र त्यसपछि हामी तँ किन राजनीतिबाट अलग रहनुपर्छ भन्‍नेबारे छलफल गरौँला। भर्खरै हामीले राजनीति भनेको के हो भनी छलफल गर्‍यौँ। यो राजनीति भनेको के हो त? सर्वप्रथम त, यो भनेको शक्ति सङ्घर्षमा सामेल हुनु हो—यो राजनीतिमा सामेल हुनुसरह हो। हामी सबै साधारण मानिसहरू भएकाले राष्ट्रपति, पार्टी अध्यक्ष, वा राष्ट्रिय राजनैतिक दलका उच्चस्तरीय पद सम्हाल्ने मानिसहरूबारे कुरा नगरौँ। बरु, साधारण मानिसहरूबारे केही कुरा गरौँ, जस्तै कुनै सरकारी संस्थाको पार्टी शाखा सचिव। के पार्टी शाखा सचिव कुनै राजनैतिक व्यक्तित्व हो? सरकारी संस्थामा कुनै पार्टीगत पद सम्हाल्दा व्यक्ति एक नामी राजनैतिक व्यक्तित्व बन्छ। त्यसोभए, तँ कसरी राजनीतिबाट अलग रहन्छस्? अनि, अलग रहनुको अर्थ के हो? (यी राजनीतिक व्यक्तित्वहरूसँग संलग्न नहुनु।) तिनीहरूसित संलग्न नहुनु? तर तैँले कार्यस्थलमा तिनीहरूलाई साँच्चिकै बेवास्ता गर्न सक्दैनस्। यदि तैँले तिनीहरूलाई बेवास्ता गरिस् भने, तिनीहरू आएर तेरो दोष कोट्याउँछन्, र यसो भन्छन्, “तिमी किन मसित नबोलेको? किन मबाट तर्केको? के तिमीलाई म पार्टीको शाखा सचिव मन पर्दैन? यदि तिमीसित मबारे केही रायहरू छन् भने, के त्यसको अर्थ तिम्रो सोच्ने शैलीमा समस्या छ भन्‍ने होइन र? यसबारे कुरा गरौँ है।” तिनीहरूले तँसित “चिया” खान चाहनेछन्। के त्यो चिया खाइ रमाइलो हुन्छ त? के तँ त्यहाँ जाने आँट गर्छस्? उदाहरणको लागि, पार्टी शाखा सचिवले तँलाई भेटेर सोध्छ, “सुन त साओ झाङ, तिमी यहाँ कहिलेदेखि काम गर्दै आएका छौ?” अनि तैँले भन्छस्, “धेरै वर्ष भइसक्यो, पाँच वर्षजति भयो।” त्यसपछि उसले जवाफ दिन्छ, “तिमी असल देखिन्छौ। के तिमी पार्टीमा आबद्ध भएका छौ?” अनि, तैँले कसरी जवाफ दिन्थिस्? आफूलाई राजनीतिबाट अलग रहनका निम्ति उचित जवाफ के हुन्छ? (यति मात्र भन्‍ने, “अहिले दलको सदस्य बन्नलाई मेरो मापदण्ड पुग्दैन।”) यो बुद्धिमानी हो। के यो भनाइ साँचो हो त? (होइन।) वास्तवमा यो त उसलाई पन्छाउने तरिका मात्र हो। तैँले सोच्छस्, “तँ धूर्त स्याल, तँ बुढो दियाबलस, म पार्टीमा आबद्ध भए पनि नभए पनि तँलाई केको चासो? तँ म पार्टीमा आबद्ध भएको चाहन्छस्। खैर, दलको के नै महत्त्व छ र?” त्यो तैँले सोच्ने कुरा हो, तर तँ त्यो कुरा उक्त बुढो दियाबलसलाई भन्न सक्दैनस्। बरु, तैँले आफ्नो बाहिरी स्वभाव नम्र देखाउनुपर्छ। तैँले यसो भन्छस्, “ओहो, तपाईँ त पार्टीको पाको सदस्य, तपाईँ हामीजस्ता भर्खरका मानिसहरूले सामना गर्ने सङ्घर्ष बुझ्नुहुन्न। हामीसँग सीमित अनुभव छ र हामीले आफ्नो कामको नतिजा देख्नै बाँकी छ, त्यसैले हामी पार्टीसँग आबद्ध हुन योग्य छैनौँ। पार्टी भनेको पवित्र हुन्छ; हामी कुनै राम्रो कारणबिना आबद्ध हुन मिल्दैन। मैले पार्टीमा आबद्ध हुने विचार गर्दै आएको छु…।” उसलाई छोटो जवाफ दे। के तँ हृदयबाट पार्टीमा आबद्ध हुन चाहन्छस् र? (चाहन्नँ।) यदि उसले तँलाई विशेषाधिकारका प्रस्तावहरू राख्छ नै भने पनि, र पार्टीसँग आबद्ध भएपछि तैँले बढुवा वा आधिकारिक पद प्राप्त गर्छस् नै भने पनि, तँलाई रुचि छैन, हैन त? पद सम्हाल्नु र अधिकारीको रूपमा करियर अघि बढाउनुको आधारभूत सर्त भनेकै तँ पहिला सङ्गठन र पार्टीमा आबद्ध हुनु वा पार्टीसित नजिकिनु हो। तँ पार्टीसित नजिकिएपछि मात्र तैँले पद सम्हाल्न वा बढुवा पाउन सक्छस्। राजनीतिबाट अलग रहनका लागि, पहिलो कदम भनेको आफूलाई राजनैतिक दलहरूबाट टाढा राख्नु हो। कतिपय मानिसहरूले सोध्‍न सक्छन्, “के त्यसको अर्थ कम्युनिस्ट पार्टीबाट मात्र अलग रहनु भन्‍ने हो?” होइन, त्यसको अर्थ सबै पार्टीहरूबाट अलग रहनु भन्‍ने हो। अनि, यो पार्टीले के जनाउँछ? त्यसले एउटा राजनैतिक शक्ति जनाउँछ। पार्टीको राजनैतिक घोषणापत्र, कार्यक्रम र लक्ष्यहरूलाई आफ्नो उद्देश्यको रूपमा लिने समूहलाई पार्टी भनिन्छ। पार्टीको उद्देश्य र कार्यक्रम जे भए पनि, तिनीहरूको एउटै लक्ष्य भनेको एउटा शक्ति निर्माण गर्नु, र आफ्नो शक्ति र बल प्रयोग गरेर राजनैतिक मैदान र परिदृश्यमा थप शक्ति र बल हत्याउनु हो। राजनैतिक दल अस्तित्वमा रहनुको उद्देश्य नै यही हो। कुनै पनि पार्टीको अस्तित्व मानिसहरूको हितको लागि होइन, बरु शक्ति र बलको लागि हो। अर्को शब्दमा भन्‍नुपर्दा, पार्टीको उद्देश्य शक्ति सम्हाल्नु र आफ्नै शक्ति प्राप्त गर्नु हो। के कुरा यही होइन र? (हो।) त्यसकारण, राजनीतिबाट अलग रहनुको पहिलो कदम भनेको औपचारिक रूपमै कुनै पनि राजनैतिक दलमा आबद्ध नहुनु हो। कतिपय मानिसहरूले सोध्‍न सक्छन्, “म पहिले फलानो पार्टीको सदस्य थिएँ भने के हुन्छ?” त्यो अलि कठिन हुन्छ। यदि तँ त्यो पार्टी परित्याग गर्न इच्छुक छस् भने, त्यो उत्तम हुन्छ, र तैँले तिनीहरूसित औपचारिक रूपमा सम्बन्ध तोड्नुपर्छ। यदि तँ पार्टी परित्याग गर्न इच्छुक छैनस् भने वा यदि पार्टी परित्याग गर्न चुनौतीपूर्ण छ भने, के गर्ने भनी तँ आफैले विचार गर्नुपर्छ। चाहे जे भए पनि, औपचारिक रूपमा होस् वा आत्मिक रूपमा, तँ राजनीति संलग्‍न हुने सबैभन्दा पहिलो र ठूलो समस्याबाट अलग रहनुपर्छ, र त्यो भनेको पार्टीहरूबाट अलग रहनु हो। तैँले आफूलाई पार्टीहरूबाट टाढा राखिसकेपछि, तँ एक स्वतन्त्र व्यक्ति बन्छस्। तँ कुनै राजनैतिक शक्तिको प्रभावमा पर्नेछैनस्, न त तैँले कुनै राजनैतिक शक्तिको निम्ति नै काम गर्नेछस्। कुनै पनि दलमा आबद्ध नहुनु नै राजनीतिबाट अलग रहनहेतु अभ्यास गर्नुपर्ने सबैभन्दा मूलभूत विशेष मार्ग हो। यसको साथै, पार्टी शाखा सचिव, निर्देशक, वा कुनै सरकारी कार्यालय अधिकृतजस्ता कुनै पनि राजनैतिक शक्तिको सन्दर्भमा, तिनीहरूसित व्यवहार गर्ने सिद्धान्त भनेकै आफ्नो दूरी कायम राख्ने हो। उदाहरणको लागि, यदि पार्टी शाखा सचिवले तँलाई “साओ झाङ, तिमीसँग अलिकति समय छ? काम सकिएपछि सँगै डिनर गरौँ है। भोलि शनिवार हो, सँगै बास्केटबल खेल्न जाऔँला” भनेर भन्यो भने, तैँले यसो भन्न सक्छस्, “ओहो, कस्तो दुर्भाग्य, मेरो बच्चा बिरामी छ। उसलाई हिजो ज्वरो आयो। कामको कारण उसलाई डाक्टरकहाँ लाने समय मिलेन। उसलाई भोलि अस्पताल लानु छ।” अर्को कुनै बेला, त्यो सचिवले भन्छ, “साओ झाङ, हामी नभेटेको धेरै भयो। हामीले एकछिन मनको गरे, कसो होला?” यहाँ उसको उद्देश्य के हो? ऊ तँलाई तालिम दिएर उसको उत्तराधिकारी बनाउन चाहन्छ। यदि तैँले त्यो कुरा अझै थाहा पाएको छैनस् भने, ऊ साँच्चिकै केको पछि लागिरहेको छ भनेर तैँले मनन गर्नुपर्छ। यदि तैँले थाहा पाएको छस् भने, तैँले चाँडो उसलाई पन्छाउनुपर्छ, र यसो भन्नुपर्छ, “ओहो, हिजो आमाले सन्चो छैन भन्दै हुनुहुन्थ्यो र मलाई अस्पताल लैजा भनेर भन्‍नुभएको छ। कस्तो दुर्भाग्यपूर्ण संयोग?” तैँले उसलाई बारम्बार पन्छाउँछस्, र जब त्यो सचिवले यो कुरा बुझ्छ, तब उसले सोच्नेछ, “हरेक-पटक मैले उसलाई बोलाउँदा केही न केही आइपर्छ, हरेक पटक म ऊसित नजिकिँदा केही न केही भइदिन्छ; यसलाई कृपाको कदर गर्नै आउँदैन, म अरू नै कोही खोज्नेछु!” उसले चाहेको जोकोही खोजे हुन्छ, तर जे भए पनि तँ ऊसित नजिकिनेछैनस्। प्रायः तँ ऊसित निकै मिलनसार व्यवहार गर्छस्, तर जब उसले तँलाई तालिम वा बढुवा दिन चाहन्छ, तब बहाना बनाउँदै तँ उसलाई पन्छाउँछस्, र तेरो उत्साह फाल्छस् ताकि उसले तँ के सोचिरहेको छस् भन्‍ने नै थाहा नपाओस्। तर वास्तवमा, तँलाई हृदयमा प्रस्ट छ, “म तँ दियाबलससित नजिकिनेछैन! मेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरले मलाई राजनीतिबाट अलग रहनू भन्नुहुन्छ। तँ राजनैतिक व्यक्ति होस्, र म तँबाट अलग रहनेछु। तँ मलाई कुनै आधिकारिक पदमा बढुवा गरेर मेरो प्रतिभालाई तेरो सेवामा प्रयोग गर्न चाहन्छस्, तर म तँलाई मौकै दिनेछैन! म यो सरकारी कार्यालयमा भुईँ बढार्दै फोहोर सोर्ने काम मात्र गरिरहेको भए पनि, म कुनै अधिकारी बन्नेछैन! म आफूलाई पुग्ने पैसा मात्र कमाउँछु, म तिमीहरूको सेवा गर्नेछैन!” तर वास्तवमा, तैँले त्यसको साटो यसो भन्नुपर्छ, “तपाईँ नेताहरू हृदयमा राष्ट्र बोक्नुहुन्छ, तपाईँहरू अनेकौँ मामलाहरू सम्हाल्नुहुन्छ, र मानिसहरूको सेवा गर्नुहुन्छ, सर्वसाधारणको ख्याल राख्नुहुन्छ! हामी साधारण मानिसहरूमा चेतना कम हुन्छ, र हामी आफ्नो पेट पाल्नेबारे मात्र चासो राख्छौँ; हाम्रो अवस्थै मिल्दैन, र हामी तपाईँ नेताहरूले गर्ने काम गर्न सक्दैनौँ।” तँ सधैँ उसको अगाडि बुद्धू भएको नाटक गर्छस्, ताकि उसले तैँले सोचिरहेको कुरा थाहा नपाओस्। तँसित प्रतिभा भए पनि, तैँले त्यो देखाउँदैनस्। महत्त्वपूर्ण क्षणहरूमा मात्र तैँले अलिअलि प्रतिभा देखाउँछस्, र उसले तँ साँच्चिकै प्रतिभाशाली भएको देख्छ। तँ प्रायः अलिअलि ससाना गल्तीहरू गर्छस् ताकि उसले तँ त्यति धेरै नै सक्षमचाहिँ छैनस् भन्‍ने सोचोस्, तर अझै पनि उसलाई काममा तँ नभई हुँदैन। यसलाई बुद्धिमत्ता भनिन्छ। तैँले त्यो दियाबलसलाई खेलाउँछस्, उसलाई सेवामा प्रयोग गर्छस्, र उसको पैसा कमाउँछस्, तर ऊसित नजिकिँदैनस्, र हृदयमा उसलाई घृणा गर्छस्, के यो ठिक होइन र? नजिक नपर्नु भन्नुको अर्थ यही हो। के तैँले यसो गर्न सक्छस्? (सक्छु।) अपराह्नको समयमा, त्यो नेता खाना खान आफ्नो सेडान गाडीमा चिरपरिचित रेस्टुराँ खोज्‍न जान्छ। उसले तँलाई कल गर्दै भन्छ, “साओ झाङ, बाहिर गएर केही खाऔँ; तिमी आज के खान चाहन्छौ?” तैँले भन्छस्, “मैले चाउमिन नखाएको धेरै दिन भयो, र मैले मोःमोः नखाएको धेरै भयो; म त्यही खान चाहन्छु। म खाना खान घर जान्छु, तिमीलाई पनि अलिकति ल्याइदिऊँ?” तैँले उसलाई यस्तै जवाफ दिनेछस्, र यो सुनेपछि उसले भन्‍नेछ, “के खानु? त्यो त सुँगुरको चारो हो, मान्छेले त्यस्तो खाना खाँदैनन्!” ऊ तैँले भनेको केही पनि खान चाहँदैन, र उसले मनमनै सोच्छ, “भनिन्छ, मूर्खको औषधी हुँदैन—यो मान्छे ठ्याक्कै त्यस्तै छ। आजकाल कसले मोमो र चाउमिन खान्छ? अधिकारीहरू त्योभन्दा राम्रो खान्छन्!” यी अधिकारीहरू रेष्टुराँ जान्छन् र सार्वजनिक कोषको पैसा खर्च गर्छन्, तिनीहरू अधिकारी हुनुको महिमा र शोभामा रमाउँछन्, र भव्य भोजन मात्रै खान्छन्: एक छाककै हजार युआनभन्दा बढी तिर्छन्। तिनीहरू बाँदरको गिदी र दुम्सीको छाला खान्छन्। यी राक्षस र दियाबलसहरू जे पनि खान्छन्, तिनीहरूले नखाने वा नपिउने केही पनि छैन। अनि, हृदयमा तैँले के सोचिरहेको हुन्छस्? “म तिमीहरूको कुनै पापमा सामेल हुनेछैन, म तँबाट अलग रहनेछु, तिमीहरू दियाबलसका सन्तान हौ, मान्छेको मासु खाने र रगत पिउने अलच्छिनाहरू हौ! म तेरो फजुल जीवनशैलीमा रमाउनुभन्दा चाउमिन र मोमो नै खान जान्छु। मैले तल्लो स्तरको खाना नै खानुपरे पनि, म तेरो छेउछाउ पनि पर्नेछैन; म तेरो दुष्टतामा फस्‍ने वा तेरा पापहरूमा संलग्न हुनेछैन। मान्छेको मासु खाने र रगत पिउने त दियाबलसहरूको काम हो, मानिसहरूको होइन। अनि, यसको अन्तिम परिणाम के हुनेछ? तैँले निश्‍चय नै नरक गएर दण्ड भोग्नेछस्! म तेरो शक्तिमा झुकेर सम्झौता गर्दै जीवन गुजारा गर्छु, तर मेरो लक्ष्य आफ्नो जीविकोपार्जन गर्नु, परमेश्‍वरलाई पछ्याउनु, र कर्तव्य पूरा गर्नु हो। म बढुवा हुन वा राजनीतिमा संलग्न हुन खोजिरहेको छैन; म तँलाई हृदयदेखि नै घृणा गर्छु!” त्यसैले, अगुवाले तँलाई जे-जसरी भव्य भोजनमा जान उक्साए पनि, तँ जाँदैनस्। शुक्रवार-शनिवार, यदि उसले तँलाई सुन्दर केटीहरूमाझ बसेर क्यारिओके गाउन, र दामी वाइन पिउन बोलायो भने; यदि उसले तँलाई आनन्द वा मनोरञ्जनको निम्ति वा ड्र्याग शो हेर्न चियाघर बोलायो भने, के तँ जानेछस् कि जानेछैनस्? यदि तँ सङ्गठन वा पार्टीसित नजिकिन चाहन्छस् भने, तँ यी ठाउँहरू जानुपर्नेछ। तर यतिबेला, तँ यसो भन्छस्, “म परमेश्‍वरका वचनहरू अभ्यास गर्छु, म राजनीतिबाट अलग रहन्छु, म यी कुनै कुरामा सामेल हुनेछैन, म तिनीहरूको पापमा संलग्न हुनेछैन।” भोलिपल्ट, तिनीहरू भेला भएर यो वा त्यो केटी कति सुन्दर थिई, ऊ कार्यक्रमभरिकै सबभन्दा सुन्दर थिई, ऊ गाउनमा कति प्रतिभावान्‌ थिई, अनि कुनै युगमा बनेको फ्रान्सेली वाइनको स्वाद कति मिठो थियो, मनोरञ्जनको लागि अब कहाँ जाने, कहाँको तातोपानीमा बस्‍न जाने, भन्‍नेजस्ता कुराहरू गर्छन्…। तिनीहरू यिनै चिजहरूबारे कुरा गर्छन्—के तँलाई तिनीहरूप्रति ईर्ष्या जाग्छ? के तँ डाहा गर्छस्? तैँले हेडफोन लाउनुपर्छ, र कान थुन्नुपर्छ; यी दियाबलसहरूका दुष्ट शब्दहरू नसुन्, तिनीहरूबाट अलग बस्, आफ्नो हृदय शान्त राख्, पापीहरूको पापमा संलग्न नहो, तिनीहरूको अश्‍लिल जीवनबाट अलग बस्, र तिनीहरूको दुष्टतामा नअल्झी। तेरो उद्देश्य राजनीतिबाट अलग रहनु हो। जो मानिसहरू प्रगति गर्न खोज्छन्, जो सङ्गठनसित नजिकिन चाहन्छन्, र बढुवा प्राप्त गर्ने इच्छा गर्छन्: वास्तवमा तिनीहरूको त्यस्तो जीवनशैलीको उद्देश्य राजनीतिमा भाग लिनु, सिधै राजनीतिमा प्रवेश गर्नु, राजनैतिक वृत्तमा कुनै पद प्राप्त गर्नु र मानव तथा राक्षस दुवैसित नमिल्ने जीवन जिउनु हो। तर तँ तिनीहरूभन्दा ठ्याक्कै उल्टो छस्। तँलाई त्यस्तो अश्‍लिल जीवनबाट टाढा रहनुपर्छ। यस्तो जीवनबाट टाढा रहनुको उद्देश्य कुनै राजनैतिक सम्भाव्यताबारे चाहना पनि र चासो पनि नराख्नु हो। तेरो भविष्य सत्यता पछ्याउनु र मुक्ति पाउनु हो। त्यसकारण, तँ हृदयमा प्रस्ट हुनुपर्छ कि अहिले तैँले गरिरहेको सबथोक अर्थपूर्ण र अमूल्य छ; यो सत्यता पछ्याइको लागि हो, मुक्ति पाउनको निम्ति हो। यो कुनै अर्थहीन त्याग होइन, न त तँ कुनै असामान्य तरिकाले नै व्यवहार गरिरहेको छस्। त्योभन्दा पनि ठूलो कुरा, तँ एक्लो छैनस्। त्यसैले, वास्तवमा यी पापी जीवनबाट अलग रहनुको मूल उद्देश्य आफूलाई यी मानिसहरूबाट छुटाउनु र आफूलाई तिनीहरूले भन्‍ने गरेको राजनीतिबाट टाढा राख्नु हो। राजनीतिबाट अलग रहनुको दोस्रो सिद्धान्त यही हो—नजिक नहो।

न्यूनतम रूपमा गर्नुपर्ने काम भनेको राजनीतिकर्मीहरूसित नजिक नहुनु, र साथै सहभागिता पनि नजनाउनु हो। उदाहरणको लागि, यदि शाखा प्रमुख, निर्देशक, वा ब्युरो प्रमुखमा बढुवा हुने अवसर भएमा, सबै जना आफ्नो प्रदर्शन गर्न, आफ्नो कार्यप्रदर्शन सुधार्न, नेताहरूलाई उपहार दिन, भनसुन गर्न, विविध सम्भावनाहरू खोज्न, र हरेक उपायमार्फत नेता र उच्च तहका मानिसहरूलाई आफ्नो प्रतिभा, क्षमता, र महत्त्व देखाउन, र आफ्नो महत्त्वको फाइदा लिन लगाउनसमेत उत्सुक हुन्छन्। तिनीहरू चिप्लो घस्न, नेता र उच्च तहका मानिसहरूको चापलुसी गर्न र मन नलागी-नलागी नै भए पनि तिनीहरूले भनेको जे पनि गर्न चाहन्छन्। कतिपय मानिसहरू पैसा खुवाउँछन्, र कतिपयले त राजनीतिक सङ्घर्षमा भाग लिन आफ्नो शरीरसमेत चढाउँछन्। यी सङ्घर्षहरूमा, कतिपय मानिसहरूले नेताहरूसँग सञ्जाल बनाउँछन्, केहीले नेताहरूलाई धेरै पैसा र उपहारहरू दिन्छन्, र केही मानिसहरूले नेताहरूलाई आफ्नो शरीर चढाउँछन्, र यी सबैको अन्तिम लक्ष्य भनेको यी नेताहरूमार्फत बढुवा र तालिम पाउनु र राजनीतिको मार्ग लिनु हो। परमेश्‍वरको विश्‍वासीको नाताले, यदि तँलाई यी अभ्यासहरूमा राजनीति संलग्न छ भन्‍ने थाहा छ भने, तँ अलग रहनुपर्छ। सबभन्दा पहिले त, तैँले तेरो आफ्नो राजनीतिक सम्भाव्यता अघि बढाउन वा कुनै आधिकारिक पदको निम्ति उपहार दिने वा सञ्जाल बनाउने काम नगर्। साथै, नेताहरूलाई सक्रिय रूपमा आफ्ना सबल गुणहरू देखाउने, र निश्‍चय नै तिनीहरूको नजरमा पर्ने होडबाजीमा हदैसम्म जाने पनि नगर्। तँबिनै अरूलाई होडबाजी गर्न दे। मालिकले तँलाई मनोनयन गर्दा, हरेक पटक यसो भन्, “म यसमा सामेल हुनेछैन, म योग्य छैनँ।” तैँले बस आफू योग्य छैन भन् र अरूलाई अघि बढ्न दे; अघि बढेर प्रतिस्पर्धा गर्ने मानिसहरू प्रशस्तै छन्। मालिकले “साओ झाङ, अब तिम्रो पालो” भनेर भन्दा, यसो भन्, “म अझै योग्य छैन, मालिक ज्यू, कृपया माफ गर्नुस्। म सक्षम छैन। पहिला साओ लीलाई जान दिनुस्, यदि साओ ली सक्षम छैनन् भने साओ वाङलाई जान दिनुस्। तिनीहरूलाई गर्न दिनुस्।” मालिकले भन्‍नेछ, “के तिमी मूर्ख हौ? तिनीहरूले पद पाएमा तिमीले केही पनि लाभ पाउनेछैनौ: तिमीले घर, वा कुनै बोनस वा तलब वृद्धि पाउनेछैनौ।” त्यसपछि यसो भन्, “यदि मैले केही पाइनँ भने पाइनँ। मलाई खान र खर्च गर्न काफी नै छ, त्यसैले ढुक्क हुनुस्, सर्। यदि तपाईँलाई अझै विश्‍वास लाग्दैन भने, मलाई वर्षको अन्त्यमा बोनस अलि बढाएर दिनुस्।” तिनीहरूको सङ्घर्षमा नलाग्। जो प्रतिस्पर्धा गर्न चाहन्छ, उसैलाई गर्न दे। तैँले कुनै उपाय प्रयोग नगर्, भएभरको ऊर्जा खर्चने वा कुनै मूल्य तिर्ने काम नगर्। बढुवाको लागि एक सुका नखर्ची, एक शब्द नबोल, कुनै अतिरिक्त कुरा वा हदैसम्म जाने काम नगर्। यदि तँसित सुहाउँदो परिस्थिति, सम्बन्ध, र मानिसहरूको साथ भए पनि भाग नली। यसैलाई साँचो रूपमा त्याग्नु, र साँचो रूपमा अलग रहनु भनिन्छ। ती सांसारिक मानिसहरू तँलाई लगातार दयापूर्वक हेर्छन् यसो भनिरहन्छन्, “तिमी मूर्ख हौ, तिमी बुद्धू हौ!” तर तँ यसो भन्, “मेरो बारेमा जे भन्न मन छ भन; तर म भाग लिनेछैन।” मानिसहरू सोध्छन्, “तिमी किन भाग नलिने?” अनि, यसो भन्, “मेरो आम्दानीले मलाई खर्च पुग्छ। म योग्य छैन। तिमीहरू सबै मभन्दा योग्य छौ, त्यसैले तिमीहरू जाऊ।” के तँ भाग नलिन सक्छस्? (सक्छु।) यदि तैँले शाखा उपप्रमुख वा सहायक निर्देशकमा बढुवा हुने अवसर पाइस् भने, तैँले अवश्यै अस्वीकार गर्न सक्छस्, तर यदि तँलाई ब्युरो प्रमुख वा प्रदेश गभर्नरको पद दिइयो भने, के तैँले अस्वीकार गर्न सक्छस्? त्यो सजिलो नहोला: पद जति उच्च भयो, त्यो त्यति नै आकर्षक हुन्छ, र त्यसको अख्तियार र प्रलोभन त्यति नै ठूलो हुन्छ, किनभने जब तँसित बढी अख्तियार हुन्छ, तँलाई त्यति नै राम्रो व्यवहार गरिनेछ, तेरा शब्दहरू त्यति नै प्रभावशाली बन्‍नेछ, र तेरो भौतिक सुख बढ्नेछ। तँलाई थाहै छ, मेयर, गभर्नर र राष्ट्रपति सबैका आआफ्नै आधिकारिक निवास हुन्छन्। चाहे बाहिर जाँदा होस् वा घरमा बस्दा, तिनीहरूको सबै खर्च राज्यले बेहोर्छ। त्यसकारण, तैँले माथिल्लो वर्गहरूसँग जति बढी अन्तरक्रिया गर्छस्, तँमाथिको तिनीहरूको प्रलोभन त्यति नै ठूलो बन्छ, र तैँले जति तिनीहरूसित कुराकानी गर्ने अवसर पाउँछस्, यी अवसरहरू त्याग्न त्यति नै कठिन बन्छ। अनि प्रलोभनबाट जोगिन, तैँले तल्लो स्तरमा रहेर काम गर्छस्, माथिल्लो वर्गका वृत्तहरूमा पाइला टेक्दैनस्। यी वृत्तहरूमा कुनै पनि खुट्टा राख्दैनस्। यसैलाई अलग रहनु भनेर भनिन्छ। तैँले भन्‍ने वा गर्ने कुनै कुराको पनि राजनीतिसँग कुनै सम्बन्ध हुँदैन; तैँले गर्ने भनेको त यी कुराहरूबाट अलग रहने मात्र हो। अनि, जो हरेक प्रतिस्पर्धामा उच्च अधिकारीमा चुनिन सफल भए पनि, जसले ठूलो शक्ति प्राप्त गरे पनि, तैँले तिनीहरूको डाहा गर्दैनस्, तेरो मन दुख्दैन, र तँ पछुताउँदैनस्, किनभने परमेश्‍वरले योजनाबद्ध गर्नुभएको अर्को परीक्षा वा परिस्थितिमा तैँले परमेश्‍वरले तोक्‍नुभएको राजनीतिबाट अलग रहने सिद्धान्त अभ्यास गरेको छस्। तैँले परमेश्‍वरको मापदण्ड पूरा गरेको छस्, र शैतानको अगाडि, तँ विजयी भएको छस्; र परमेश्‍वरको अगाडि, तँ एक विजेता बनेको छस् र परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “यदि परमेश्‍वरले मलाई अनुमोदन गर्नुभयो भने, के मेरो तलब अलि बढ्नेछ?” अहँ, परमेश्‍वरले तँलाई अनुमोदन गर्नु र विजेताको रूपमा स्विकार्नुको अर्थ तँ मुक्तिको एक पाइला नजिक पुगिस्, र परमेश्‍वरले तँलाई झन्झन् बढी निगाहले हेर्नुहुन्छ भन्‍ने हो—यो ठूलो सम्मान हो। तर के राजनैतिक मामलाहरूमा भाग लिन छोड्नु सजिलो छ? जो प्रतिस्पर्धामा रमाउँछ, उसैलाई प्रतिस्पर्धा गर्न दे। जो यस्ता मामलाका पक्षमा बोल्न मन पराउँछ, उसैलाई बोल्न दे। जो यस्ता कुरामा व्यस्त हुन रुचाउँछ, उसैलाई व्यस्त हुन दे। चाहे जे भए पनि, तँलाई मतलब छैन, न त तँ यी कुराहरूबारे नै सोच्छस्, किनभने तँ अघि बढ्न खोजिरहेको छैनस् र तँसित कुनै अधिकृत हुने करियर लक्ष्य छैन। राजनीतिबाट अलग रहनुको तेस्रो सिद्धान्त—अर्थात् सहभागी नहुनु—भनेको यही हो।

राजनीतिबाट अलग रहनुको चौथो सिद्धान्त भनेको पक्ष नलिनु हो। “पक्ष लिनु” भनेको राजनैतिक मानिसहरूले प्रयोग गर्ने शब्दावली हो, र राजनीतिको दुनियाँमा पक्ष लिनु सामान्य कुरा हो। राजनीतिमा भाग लिएपछि, तैँले क पार्टी वा ख पार्टी कुनमा लाग्छस्, त्यो तेरो अडान प्रस्ट पार्नैपर्छ। तँ राजनीतिमा संलग्न भएलगत्तै कुनै न कुनै पक्ष लिनैपर्छ। यदि तँ राजनीतिमा संलग्न हुँदैनस् भने पक्ष लिनुपर्दैन, वा तैँले पक्ष नलिने भनेर भन्न सक्छस्। यदि तँ तटस्थ रहन्छस् र तिनीहरूको विवादप्रति वा ती दुई पक्षहरू किन झगडा गर्दै छन् भन्‍ने कुराप्रति ध्यान दिँदैनस् भने, तँ कुनै पनि पक्ष लिइरहेको छैनस्। तैँले क पार्टी वा ख पार्टी जुनसुकैलाई समर्थन गरे पनि, तँबाट कुनै नतिजा वा जवाफ आउँदैन। तैँले यसो भन्छस्, “म कुनैको पक्षमा छैन, म अलग छु। क पार्टी र ख पार्टी दुवैसित मेरो राम्रो सम्बन्ध छ, तर म ती कुनैसँग पनि नजिक हुँदिनँ। म तिनीहरूको कुनै झगडामा सामेल हुँदिनँ।” अनि ती मानिसहरू दोधारमा पर्छन्: आखिर तिमी क पार्टीको हो कि ख पार्टीको? तिनीहरू सधैँ तेरो मन जित्ने कोसिस गर्छन्, तर कसैले सक्दैन। फलस्वरूप, तिनीहरूले तँ कुनै पार्टीको पक्ष लिँदैनस् भन्‍ने बुझ्छन्। अनि अन्त्यमा तँभन्दा माथिल्लो व्यक्तिले भन्छ, “तिमी कपटी मान्छे, त्यस्तो महत्त्वपूर्ण घडीमा तिमीले किन मलाई साथ दिएनौ?” तैँले यसो भन्छस्, “हाकिम सा’ब, ममा यस्तो सम्मान चाहने आँट छैन, ममा तपाईँको जस्तो बौद्धिक गहनता छैन, न त म आफ्नो काममा त्यति योग्य छु; मलाई त तपाईँलाई निराश पार्छु कि भन्‍ने डर छ। सा’ब, मलाई माफ गर्नुहोस्, म त ससाना झिना झाम्टा टिपिहिँड्ने मामुली व्यक्ति हुँ; म एक साधारण व्यक्ति मात्र हो, मसित पक्ष लिने आँट छैन। कृपया मलाई दया गर्नुहोस्, म तपाईँलाई अर्कोपल्ट अवश्य साथ दिनेछु।” वास्तवमा, यहाँ तँ उसलाई पन्छाउने काम मात्र गरिरहेको छस्। तैँले उसलाई चिढ्याएको छैनस्, र उसले त्यसमा केही गर्न सक्दैन। यस्ताहरूले जसरी मन लाग्छ त्यसरी झगडा र विवाद गर्न सक्छन्, तर त्यसको तँसित कुनै सम्बन्ध छैन, तँ बाहिरको व्यक्ति होस्। अनि, मैले तँ बाहिरको व्यक्ति होस् भन्नुको कारण के हो? तँ कुनै कार्यालयसम्बन्धी करियर, नोकरशाहीपन, ख्याति प्राप्ति, वा आफ्ना पुर्खाहरूको इज्जत बढाउने, वा राजनीतिमा पाइला टेक्ने पछ्याइमा छैनस्। तँ राजनीतिक सम्भाव्यताहरू पछ्याइरहेको छैनस्; तेरो लक्ष्य कुनै पनि आधिकारिक करियरबाट र यी राजनैतिक व्यक्तित्वहरूबाट अलग रहनु हो। त्यसैले तँ जानाजान पक्ष नलिने र क पार्टी वा ख पार्टी नरोज्ने निर्णय गर्छस्, र को कुन गुटमा लाग्छ भन्‍ने कुरासित कुनै सरोकार राख्दैनस्। कसैले तँलाई मनाउन खोज्दा, तैँले त्यसलाई हाँसोमै उडाउँछस् र मूर्खझैँ व्यवहार गर्छस्, र यसो भन्छस्, “मलाई को सही भन्‍ने थाहै छैन, तिमीहरू सबै मेरा असल साथीहरू हौ, जसले जिते पनि म खुसी नै हुनेछु।” तिनीहरूले भन्छन्, “तिमी साँच्चिकै कपटी हौ!” र तैँले भन्छस्, “म कपटी हैन, म मूर्ख हुँ; तिमीहरू विज्ञ हौ!” तैँले तिनीहरूसित दोधारमा परेको बहाना गर्छस्। यसरी पक्ष नलिनु ठिक होइन र? सोझो नहो, तेरो फाइदा लिन खोज्नेहरूको पछि नलाग्। जुनसुकै तहको भए पनि, राजनीतिको पोखरी सधैँ धमिलै हुन्छ—तैँले त्यसको पिँध देख्न सक्दैनस्। यो सफा पानीको मूलजस्तो होइन, जहाँ तैँले पिँध देख्न सक्छस्; यो त धमिलो पानी हो, एक दलदल हो। यदि कुनै नेताले तँलाई राम्रो व्यवहार गरेमा तँ ऊसित नजिकिन्छस् र उसको गुटमा लाग्छस्, तर यसले राम्रो गर्छ कि नराम्रो, तँलाई थाहै हुँदैन। उसको भविष्य कस्तो हुनेछ, ऊ जेल पर्नेछ कि ख्यातिप्राप्त हुनेछ, तैँले त्यो बुझ्न सक्दैनस्। ती सबै मानिसहरू हिलोमा लुकिबस्ने गोही हुन, र त्यहाँ ठूला-साना सबै हुन्छन्। एक मामुली व्यक्तिको नाताले, तैँले तिनीहरूले बोल्ने प्रत्येक शब्द साँचो हो कि झूटो, तिनीहरू कसलाई राम्रो व्यवहार गर्छन् र कसलाई गर्दैनन्, र तिनीहरूका दैनिक कार्यहरूको उद्देश्य के हो भनेर भन्न सक्नेछैनस्—तैँले बस त्यो भन्‍नै सक्दैनस्। त्यसकारण, यदि तँ आफूलाई जोगाउन चाहन्छस् भने, सबैभन्दा सोझो र उच्च सिद्धान्त भनेको पक्ष नलिनु हो। यदि तिनीहरूले तँलाई राम्रो व्यवहार गर्छन् भने, त्यसको बदलामा उत्साह देखा; राम्रो व्यवहार गर्दैनन् भने पनि उत्साह देखा, तर पक्ष लिने काममा चाहिँ नलाग्। केही आइपर्दा, त्यसलाई हाँसोमा उडा अनि दोधारमा परेको बहाना बना; तिनीहरूले जे सोधे पनि, थाहा छैन, प्रस्ट छैनँ, वा पहिले त्यो देखेकै छैन भनेर भन्। के तँ यस तरिकाले जवाफ दिन सक्छस्? (हजुर, अब त सक्छु।) के मण्डलीमा यी सिद्धान्तहरू लागु गर्नु उचित हो? (उचित होइन।) यी चालहरू दियाबलसहरू बस्ने ठाउँमा मात्रै उचित हुन्छन्, दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रयोग गर्न उचित हुँदैनन्। यो बुद्धिमत्ता हो। जुन ठाउँमा दियाबलसहरू बस्छन्, त्यहाँ तँ सर्पझैँ बुद्धिमान्‌ हुनुपर्छ; तँ मूर्ख बन्न मिल्दैन, तँ बुद्धिमान्‌ हुनैपर्छ। जोसुकैले तँलाई आफूतिर ताने पनि, गएर उसको पक्षमा खडा नहो। जसले तँसित द्वन्द्व सिर्जना गर्छ वा तँलाई मन पराउँदैन, उसको विरोध नगर् वा ऊविरुद्ध खडा नहो। उसलाई तँ ऊविरुद्ध छैनस् भन्‍ने कुरामा विश्‍वस्त पार्। यी कुराहरूले नै बुद्धि बन्छ। कुनै पनि राजनैतिक शक्तिसँग प्रतिस्पर्धा नगर्, ती कुनैसित नजिक नहो, र ती कुनैसित मिलेमतो गर्ने वा कुनैलाई सद्भाव देखाउने काम नगर्। बुद्धिमत्ता भनेकै यही हो, यो पक्ष लिनु होइन। कुरा यही होइन र? (हो।) के तैँले यसो गर्न सिकेको छस्? (सिकेको छु।) महत्त्वपूर्ण समयमा, तैँले बहिरो र लाटो अनि पागल र मूर्ख भएको बहाना गर्नुपर्छ, र तिनीहरूलाई तँ अज्ञानी मूर्ख छस् भन्ठान्‍न दिनुपर्छ। यदि तिनीहरूले तँलाई केही गर्न अह्राए भने, त्यो गर्, कुनै प्रश्‍न नगरी तिनीहरूको सल्लाह स्विकार्, र तिनीहरूलाई तेरो आज्ञाकारिता देखा। तर कुन हदसम्म आज्ञाकारी हुने? चापलुसझैँ सधैँ सुनिरहने, आफ्नो पालोमा बाहेक कहिल्यै नबोल्ने, मालिक वा यो-त्यो व्यक्तिबारे कहिल्यै सोधखोज नगर्ने—अत्यन्तै आज्ञाकारी बन्। तर तैँले तिनीहरूसामु आफ्ना साँचा विचारहरू कहिल्यै खुलाउनु हुँदैन; तैँले आफ्ना साँचा विचार र अभिप्रायहरू खुलाएपछि, तिनीहरूले तँलाई दण्डित गर्नेछन् र पाठ सिकाउनेछन्। यदि तँ तिनीहरूको पक्षमा छैनस् भने, तैँले तिनीहरूलाई त्यसबारे थाहा दिन मिल्दैन—तैँले तिनीहरूलाई इन्कारे पनि त्यसबारे थाहा दिन मिल्दैन। अनि, तैँले किन यसो गर्नुपर्छ? किनभने तिनीहरूको नजरमा, तँ कि त तिनीहरूको मित्र होस् कि त विरोधी। तिनीहरूको नजरमा, तँ एकचोटि विरोधी बनेपछि, तँ तिनीहरूको दण्डको निशाना बन्नेछस्: तँलाई तिनीहरूले आँखाको कसिङ्गर वा अवरोधको रूपमा लिनेछन्, र तिनीहरूले तँलाई दण्डित गर्नुपर्नेछ। त्यसैले, तैँले बुद्धि प्रयोग गरेर मूर्ख भएको बहाना गर्नैपर्छ। आफ्ना क्षमताहरू नदेखा; यदि तैँले कुनै कुराप्रति आफ्ना सोच, दृष्टिकोण, अडान, वा मनोवृत्तिहरू व्यक्त गरिस् भने, तँ मूर्ख होस्। कुरो बुझिस्? (बुझेँ।) शैतान र दियाबलसहरूको अगाडि, विशेषगरी तँ राजनैतिक संसारमा कुनै समूहसित नजिकिँदा, तैँले थप होसियारी अपनाउनुपर्छ र आफ्नो सुरक्षा गर्नुपर्छ, तँ आफूलाई चलाख नठान् वा बाठो व्यवहार नगर्, आफ्नो प्रदर्शन नगर्, र आफ्नो मूल्य देखाउन नखोज्—तैँले सामान्य भएर बस्नुपर्छ। यदि तँ त्यस्तो जटिल परिवेशमा आफ्नो अस्तित्व सुनिश्‍चित गर्न चाहन्छस्, र साथै परमेश्‍वरमा विश्‍वास गर्न, कर्तव्य पूरा गर्न, सत्यता पछ्याउन, र मुक्ति पाउन पनि चाहन्छस् भने, सर्वप्रथम तैँले आफ्नो सुरक्षा गर्नुपर्छ। आफ्नो सुरक्षा गर्ने एउटा तरिका भनेको कुनै पनि राजनैतिक शक्तिलाई नउक्साउनु र तिनीहरूको आक्रमण वा दण्डको निशाना नबन्‍नु हो—यसरी तँ अलि सुरक्षित रहन सक्छस्। यदि तँ सधैँ तिनीहरूको कुरा सुन्न, तिनीहरूको आज्ञापालन गर्न, वा तिनीहरूसित नजिकिन मान्दैनस् भने, तिनीहरूले तँलाई मन पराउनेछैनन् र दण्डित गर्न चाहनेछन्। अर्कोतिर, यदि तिनीहरूले तेरो प्रतिभा र काम गर्ने क्षमता, अनि तैँले तिनीहरूलाई पुर्‍याउन सक्ने फाइदा देखेमा, र यदि तिनीहरूले तँलाई जिम्मेवारी सुम्पेमा तैँले तिनीहरूको गोप्य कुराहरू खुलाउनेछैनस् वा भविष्यमा तिनीहरूको छवि बिगार्नेछैनस् भनी विश्‍वास गरेमा, तिनीहरू तेरो मार्गदर्शक बन्न चाहनेछन्। के तिनीहरूले तँलाई मार्गदर्शन गर्नु राम्रो कुरा हो? (होइन।) ल भन् त, यदि तिनीहरू तँलाई नियालिरहेका छन् र तँलाई मार्गदर्शन गर्न चाहन्छन् भने, के यो कुनै दुष्टात्माको वशमा पर्नुसरह होइन र? (हो।) यदि तिनीहरूले तँलाई नियालिरहेका छन् भने, तँ समस्यामा छस्। त्यसैले, तिनीहरूले तँमाथि निगरानी गर्नुपहिले नै तैँले तिनीहरूको ध्यान तँतिर तानिन दिनु हुँदैन; तैँले मूर्ख भएको बहाना गर्नुपर्छ, मानौँ तैँले कुनै पनि काम अत्यन्तै राम्ररी गर्न सक्दै सक्दैनस्। बढीजसो कामकुरामा ठिक्कको कार्यप्रदर्शन गर्। तिनीहरू यसमा असन्तुष्ट हुन सक्ने भए पनि, तिनीहरूले तेरो कुनै गल्ती वा तँलाई हटाउने कारण भेट्टाउन सक्नेछैनन्। यति भए पुग्छ, र यसबाट चाहेको नतिजा प्राप्त हुन्छ। यदि तँ कामकुराहरू अत्यन्तै राम्रो तरिकाले गर्छस् भने, यदि सब काम राम्ररी सम्पन्‍न हुन्छन् र तिनीहरू तँसित अत्यन्तै सन्तुष्ट हुन्छन् र तँलाई आदर गर्छन् भने, त्यो राम्रो होइन। एकातिर, तिनीहरूले तँलाई तिनीहरूको राजनैतिक मार्गको चुनौतीको रूपमा हेर्नेछन्, र अर्कोतिर, तिनीहरूले तँलाई मार्गदर्शन गर्न चाहन सक्छन्, र तेरो लागि यो दुइटै राम्रो होइन। त्यसैले, तैँले आफूलाई यो समाजमा स्थापित गर्नको निम्ति, विविध शक्तिहरूबाट जोगिनु र अलग रहनुको अलावा, त्योभन्दा महत्त्वपूर्ण एउटा कुरा छ, र त्यो भनेको विविध शक्तिहरू वा तँभन्दा माथिल्ला तहका व्यक्तिहरूको सन्दर्भमा, सम्बन्ध वा मामलाहरू सक्षमतापूर्वक सम्हाल्नु हो। उदाहरणको लागि, यदि तँ ज्यादै प्रदर्शन गर्छस्, आफूलाई ज्यादै धेरै प्रमाणित गर्न चाहन्छस्, वा कुनै पनि बुद्धिबिना कामकुराहरू गर्छस् भने, तँ त्यस्तो दोधारमा पर्न सक्छस् जहाँ तैँले कुनै पनि कुरालाई पन्छाउन सक्दैनस् वा तैँले आफूले चाहँदै नचाहेको काम गर्नुपर्ने हुन सक्छ। यसबारे के नै गर्न सकिन्छ र? त्यसकारण, यो मामला समाधान गर्न गाह्रो छ। तैँले बारम्बार परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँसामु शान्त हुने गर्नुपर्छ, र परमेश्‍वरलाई तँलाई डोर्‍याउन, बुद्धि दिन, बोल्‍नुपर्ने वचनहरू दिन, तैँले गर्नुपर्ने काममा मार्गदर्शन दिन, र तँलाई परिस्थिति कसरी हल गर्ने भनी मद्दत गर्न दिने गर्नुपर्छ, र यसरी तैँले आफ्नो सुरक्षा गर्न र यस्ता जटिल वृत्तहरूमा परमेश्‍वरको रक्षा पाउन सक्छस्। तैँले यसरी परमेश्‍वरको रक्षा पाएको छस् र आफ्नो सुरक्षा गर्न सक्छस् भने मात्र, तँसित अझै परमेश्‍वरसामु रहने, परमेश्‍वरका वचनहरू खाने र पिउने, तिनलाई मनन गर्ने, र सत्यता पछ्याउने आधारभूत अवस्था हुनेछ। के तैँले यी कुराहरू बुझिस्? (हजुर, बुझेँ।) पक्ष नलिने सिद्धान्त भनेकै यही हो।

राजनीतिबाट अलग रहनुको अर्को सिद्धान्त छः आफ्नो दृष्टिकोण थाहा नदिनु। यसमा राजनीतिक विचारधारा, मनोवृत्ति, वा प्रवृत्तिहरू, वा नेताहरूको अभिप्राय र उद्देश्य, र तिनीहरूका अभिव्यक्ति र सोचहरू संलग्न भए पनि, वा ती सही वा गलत जे भए पनि, तैँले आफ्नो दृष्टिकोण थाहा दिनु हुँदैन। जब हाकिमले तँलाई “के तिमी भर्खरै मैले भनेको कुरामा सहमत छौ? तिम्रो अडान के हो?” भनी सोध्छ, तैँले यसो भन्छस्, “तपाईँले के भन्नुभयो? मेरो कानले राम्ररी काम गरिरहेको छैन, मैले तपाईँको कुरै सुनिनँ।” यो सुनेर हाकिम रिसाउँछ र तँसित बोल्न छोड्छ। अनि, हृदयमा तँ यस्तो सोच्छस्, “राम्रै भयो, मैले केही भन्‍न चाहेको पनि थिइनँ!” तैँले बहिरो र लाटो भएको बहाना गर्नुपर्छ, र सधैँ आफ्नो दृष्टिकोण थाहा दिनु हुँदैन, वा “हाकिम सा’ब, मसँग केही रायहरू, केही विचारहरू छन्” भन्दै आफू बाठो रहेको देखाउनु हुँदैन। यदि तँ सधैँ हात उठाएर आफ्नो अडान राख्छस् भने त्यो मूर्खता मात्र हो। तँसित हाकिमबारे कुनै राय छ भने तैँले बोल्नु हुँदैन, र तँसित यो वा त्यो सहकर्मीबारे रायहरू छन् भने वा तैँले तेरो हाकिमले केही गल्ती गरेको देखिस् भने छिसिक्क पनि नबोल्। अब, यदि त्यो नेताले तँलाई यी कुराहरू भनेमा, तँ के भन्छस्? “तपाईँले यो औधी राम्रो गर्नुभयो, तपाईँ हामी साधारण कामदारभन्दा अर्कै स्तरको हुनुहुन्छ। तपाईँ साँच्चिकै विचारशील हुनुहुन्छ!” तैँले उसलाई प्रशंसा गर्नुपर्छ, र ऊसित बोल्दा यति चिप्लो घस्नुपर्छ कि ऊ मक्ख परिरहोस्, र तेरो उद्देश्य पूरा भएपछि, उसको प्रशंसा गर्न छोड्, किनभने तँलाई झन्डै वान्तै आइसकेको हुन्छ। तेरो हाकिमले कार्यान्वयन गर्नू भनेका नीति, राय, काम, वा कुनै पनि कुराप्रति उसको मनोवृत्ति जेजस्तो भए पनि, तैँले लाटो व्यवहार गर् र केही अस्पष्ट वाक्यहरू बोल्। तेरो कुरा सुनेपछि त्यो हाकिमले यसो भन्‍नेछ, “यो मान्छे सधैँ दुबिधामा रहिआएको छ, त्यसैले तिनीहरू पनि यस मामलाबारे दुबिधामा पर्नु सामान्य हो।” ठिकै छ, तैँले झूटो बहाना बनाएर पार पाउन सफल भएको छस्। हाकिमले जेसुकै भने पनि, तैँले आफ्नो दृष्टिकोण कहिल्यै थाहा दिनु हुँदैन। यदि तँ हाकिमसँगै भोजन गरिरहेको छस् र उसले तँलाई केही कुराबारे तेरो दृष्टिकोण बताउन लगायो भने, तैँले यसो भन्छस्, “ओहो, हेर्नुस् त मैले कति धेरै भात खाएछु; ममा उच्च मधुमेह छ र मलाई अलि रिँगटा लागेजस्तो छ, तपाईँले भन्नुभएको कुरा प्रस्टसित सुन्दै सुनिनँ। हाकिम सा’ब, के हामी त्यसबारे अर्को पटक कुरा गर्न सक्छौँ?” ऊसित अस्पष्ट कुरा गर्। यदि तेरो हाकिमले कसैलाई ऊ, पार्टी समिति, वा राष्ट्रिय नीतिहरूबारे तेरो विचार बुझ्न पठाएमा, के तैँले कुनै विचार व्यक्त गर्नुपर्छ? (पर्दैन।) सार्वजनिक रूपमा तेरो मनोवृत्ति तँसित कुनै विचार छैन भन्‍ने हुनुपर्छ, तर तेरो साँचो मनोवृत्तिचाहिँ के हुनुपर्छ? तँसित विचारहरू भए पनि व्यक्त नगर्: यसलाई भूत छल्नु भनिन्छ। एउटा प्रतीकात्मक भनाइ छ, “कसैको चिहानमाथि कृत्रिम फुल राख्नु भनेको भूतलाई छल्नु हो,” के त्यो ठिक होइन र? सही र गलतसम्बन्धी ठूला समस्याहरू सामना गर्दा, तँसित मनोवृत्ति र दृष्टिकोणहरू भए पनि, तैँले ती व्यक्त गर्न हुँदैन। किन हुँदैन? यी कुराहरूमा परमेश्‍वरमाथिको आस्था र सत्यता संलग्न हुँदैनन्, ती सबै दियाबलसको संसारका मामलाहरू हुन्, र तिनको हामी विश्‍वासीहरूसँग कुनै सम्बन्ध छैन। हाम्रा मनोवृत्तिहरू के हुन् भन्‍ने कुराले महत्त्व राख्दैन, महत्त्वपूर्ण कुरा के हो भने, यी मामलाहरूको हामीसित कुनै सम्बन्ध छैन; हामीसँग कुनै मनोवृत्ति हुन सक्ने भए पनि, वास्तवमा त्यो तिनको सारसम्बन्धी बुझाइ र समझ हो; हाम्रो मनोवृत्ति र अभ्यासको सिद्धान्त भनेको तीबाट अलग रहने, तिनलाई इन्कार गर्ने, र तिनको प्रभाव र नियन्त्रणलाई इन्कार गर्ने हुनुपर्छ। अरू मानिसहरूको मनोवृत्तिसँग हाम्रो कुनै सम्बन्ध हुँदैन; यो दियाबलसको संसारको मामला हो र यसको परमेश्‍वरका विश्‍वासीहरूसँग कुनै सम्बन्ध छैन। यी कुराहरूमा सत्यता पछ्याइ र मुक्ति समावेश हुँदैनन्, तँप्रति परमेश्‍वरको कुनै मनोवृत्ति समावेश हुने त कुरै नगरौँ; त्यसैले, तैँले न त कुनै मनोवृत्ति बोक्नु, न त कुनै मनोवृत्ति व्यक्त गर्नु नै आवश्यक छ। तैँले त्यसलाई हाँसोमै उडाएर यसो भन्न सक्छस्, “सा’ब, मेरो सोच सतही छ र मेरो दिमाग अस्पष्ट छ; मैले त्यत्रो समय राजनीति अध्ययन गरेको छु, तर सोचगत रूपमा कहिल्यै कुनै राजनैतिक क्रान्ति अनुभव गरेको छैन, त्यसैले एक साधारण व्यक्तिको नाताले म अझै माथिका नीतिहरू वा तपाईँले भन्न खोज्नुभएका कुराहरू बुझ्न सक्दिनँ। म क्षमा चाहन्छु।” यतिको जवाफ पर्याप्त हुन्छ। के यो भूतलाई छल्नु हो? (हो।) अथवा तैँले यसो पनि भन्न सक्छस्, “सा’बका आँखाहरू तेजिला छन्, र मानिसहरूका आँखा प्रस्ट छन्, तर मेरै आँखामा मात्र दुविधाको भाव देखिन्छ: म कुनै पनि कुरा देख्न वा बुझ्न सक्षम छैनँ! म कुनै दलको सदस्य होइन, त्यसैले ममा दलगत भावना छैन। म यी कुराहरू बुझ्न सक्दिनँ। सा’ब, हामीसँग कुरा गर्नुहोस्, तपाईँ प्राथमिकतामा पर्नुहुन्छ। तपाईँले जे भन्नुभए पनि, हामी त्यसलाई सुन्‍नेछौँ, र कार्यान्वयन गर्नेछौँ। मलाई यति भए पुग्छ।” के यो सरल छैन र? के यसले आफ्नो दृष्टिकोण थाहा नदिने सिद्धान्त पूरा गर्छ? (हो, गर्छ।) यस्तो झाराटराइ र आफ्नो दृष्टिकोण प्रस्ट नपार्ने कामले तँलाई आफ्नो सुरक्षा गर्न मद्दत गर्छ। के तैँले यसो भन्नुको अर्थ त्यो हाकिमलाई थाहा हुन्छ त? थाहा हुँदैन। उसले तँ मूर्ख होस् भन्ठान्छ र सोच्छ, “यो मान्छे प्रगति गर्नै खोज्दैन। यस्तो अनुकूल अवस्था भएको भए, धेरैजसो मानिसहरू माथिल्लो पदमा गइसकेका हुन्थे, सायद मेयर नै बनिसकेका हुन्थे। यो मान्छे प्रदेश गभर्नर हुन सक्थ्यो, तर यो अघि बढ्नै चाहँदैन, लाटो भएको नाटक गरिबस्छ, र सङ्गठनसित नजिकिँदैन—यो त खाट्टी मूर्ख हो!” तैँले चाहिँ हृदयमा के सोच्थिस्? “तेरो नजरमा म मूर्ख हुँ। तर परमेश्‍वरको नजरमा म हानिरहित ढुकुर हुँ। म तँभन्दा मूल्यवान् छु। तँ बुढो दियाबलसले सार्वजनिक पद सम्हाल्छस् र अलिअलि राजनीतिमा भाग लिन्छस्, र त्यसले आफूलाई ठूलो बनाउँछ भन्ठान्छस्। मेरो नजरमा, तँ त्यो सानो सलहजति पनि राम्रो छैनस्!” के तिमीहरू यसो भन्न सक्छौ? (अहँ, सक्दैनौँ।) तिमीहरू त्यसो भन्न सक्दैनौ। होसियार होऊ किनभने भित्ताका पनि कान हुन्छन्; तैँले घरमा तेरो कुकुरसित बोल्न र आफूलाई त्यतिमै सीमित राख्न सक्छस्। यो संसारमा अति थोरै मानिसहरू छन्, जसलाई तैँले भरोसा गर्न र गोप्य कुराहरू भन्न सक्छस्; त्यसैले, सिद्धान्तसम्बन्धी ठूला समस्याहरू आइपर्दा, राजनैतिक वृत्तमा होस् वा कुनै पनि सामाजिक समूहमा, विशेषगरी त्यसमा राजनीति, शक्ति वा पक्ष लिने कुरा संलग्‍न हुँदा, तैँले आफ्नो दृष्टिकोण थाहा नदिन सिक्नुपर्छ। तैँले आफ्नो दृष्टिकोण निश्‍चय नै प्रस्ट पार्नु हुँदैन। यदि प्रस्ट पारिस् भने, त्यो आफूलाई आगोमा झोस्नुसरह हुन्छ। आगोमा झोसिँदा कस्तो अनुभूति हुन्छ? यदि तँ थाहा पाउन चाहन्छस् भने, अडान लिएर हेर्। कुरो यही होइन र? (हो।) के आफ्नो दृष्टिकोण थाहा नदिन सम्भव छ त? त्यो तैँले हृदयमा के पछ्याउँछस् भन्‍नेमा भर पर्छ? यदि तँ साँचो रूपमा कुनै कार्यालयसम्बन्धी करियर पछ्याइरहेको छस्, र एक अधिकारी बन्न चाहन्छस् भने, तैँले अडान लिने मात्र नभई, हाकिमको अगाडि आफ्नो दृष्टिकोण प्रस्ट रूपमा व्यक्तसमेत गर्नेछस्, र साथमा माथितिर उक्लँदै पनि जानेछस्—यदि त्यसो भयो भने, अन्त्यमा तँ व्यक्तिको एकदमै कमजोर उदाहरण बन्नेछस्। तँ राजनीतिबाट अलग बसिरहेको छैनस्; तँ त्यसमा भाग लिइरहेको छस्। यसरी यदि तँ राजनीतिमा भाग लिन्छस् भने, अघि बढ् र बस बाहिर निस्किहाल्। परमेश्‍वरको घरमा नबस्। तँ अविश्‍वासी होस्, तँ संसारको र दियाबलसको होस्, परमेश्‍वरको घरको होइनस्—तँ परमेश्‍वरका चुनिएका मानिसहरूमा पर्दैनस्। तँ परमेश्‍वरको घरमा बसिरहेको भए पनि, तँ खुसुक्क छिरेको थिइस्, र तैँले केही खान र आशिष्‌ पाउन खोजिरहिस्—यस्तो व्यक्तिलाई यहाँ स्वागत छैन। तर अर्कोतिर, यदि तँसित उत्कृष्ट व्यक्तिगत योग्यताहरू छन् र तँ एक अधिकारी बनेर करियर सुरु गर्ने थुप्रै अवसर पाउने अवस्थामा छस्, तैपनि तँ राजनीतिमा नजिक नहुन, सामेल नहुन, पक्ष नलिन, र अडान नलिन सक्छस् भने, तँ राजनीतिबाट अलग रहन सक्छस्। के तँलाई यी सिद्धान्तहरू याद छ? के ती कार्यान्वयनयोग्य छन्? (हो, कार्यान्वयनयोग्य छन्।) तैँले देखेकै छस्, सधैँ आफ्नो प्रदर्शन गर्न र अरूभन्दा पृथक देखिन चाहने, साथै आफ्ना विचार र मनोवृत्तिहरू व्यक्त गर्न चाहने, र आफूलाई अभिव्यक्त गर्ने निकै बलियो चाहना भएका राजनीतिक वृत्तका सबै जनाको एउटै लक्ष्य हुन्छ: तिनीहरू आधिकारिक पदमा रहन चाहन्छन्। शिष्ट भाषामा भन्नुपर्दा, तिनीहरू राजनीतिमा भाग लिन चाहन्छन्; तर वास्तवमा, तिनीहरू पद सम्हाल्न, अख्तियारी लिन, र आफ्नो पदमार्फत असल जीवन जिउन मात्र चाहन्छन्। तिनीहरू आफ्नो पद प्रयोग गरेर विविध व्यक्तिगत लक्ष्यहरू हासिल गर्न र आफ्नो प्रतिष्ठा बढाउन चाहन्छन्। के कुरो यही होइन र? (हो, यही हो।) कतिपय मानिसहरू राम्रा क्षमताका हुँदैनन्; तिनीहरूमा खोट हुन्छ। तैपनि, तिनीहरू अधिकारी बनेर राजनीतिमा सहभागी हुन चाहन्छन्। फलस्वरूप, तिनीहरू जसरी पनि माथि उक्लनको लागि आफ्नो प्रयत्नमा भर पर्छन्; तिनीहरू आफूभन्दा माथिल्‍ला मानिसहरूको चापलुसी गर्छन्, र सरकारी अधिकारीहरूको दाहिने हात बन्छन्। अन्त्यमा, तिनीहरूले राजनीतिमा लाग्‍ने उद्देश्य हासिल गर्छन् र कार्यालयी करियर अपनाउने सपना साकार पार्छन्।

राजनीतिबाट अलग रहने सन्दर्भमा, हामीले पाँच वटा सिद्धान्तहरूबारे सङ्गति गरेका छौँ। पहिलो सिद्धान्त भनेको कुनै दलमा आबद्ध नहुनु हो। तँलाई थाहै छ, जुनसुकै देशका शासकहरू पनि कुनै न कुनै राजनीतिक दलकै हुन्छन्, र अधिनायकवादी देशका नेताहरू पनि कुनै न कुनै राजनैतिक दलकै हुन्छन्। त्यसकारण, राजनीतिबाट अलग रहनुको पहिलो सिद्धान्त कुनै पनि दलमा आबद्ध नहुनु हो। मैले भर्खरै त्यही भनेको होइन र? (हो।) त्यसोभए, दोस्रो सिद्धान्त के हो? (तिनीहरूको नजिक नहुनु।) तिनीहरूको वा राजनीतिक वृत्तको नजिक नहुनु। तेस्रो सिद्धान्त के हो? (सहभागी नहुनु।) ठिक भनिस्, तिनीहरूको कुनै पनि गतिविधि, चालचलन, वा वैचारिक छलफलमा सहभागी नहुनु, अर्थात् तिनीहरूमा सामेल नहुनु। चौथो सिद्धान्त के हो? (पक्ष नलिनु।) पक्ष नलिनु, को सही को गलत भनी तिनीहरूलाई नै विवाद गर्न दिनु; छोटकरीमा भन्‍नुपर्दा, तैँले पक्ष लिनु हुँदैन। पाँचौँ सिद्धान्त के हो? (आफ्नो दृष्टिकोण थाहा नदिनु।) आफ्नो दृष्टिकोण थाहा नदिनु। कसैले भन्छ, “यदि तिमीले आफ्नो दृष्टिकोण थाहा दिएनौ भने, के तिमीले समस्या निम्त्याइरहेको हुँदैनौ र?” तैँले यसो भन्छस्, “मसँग कुनै राय छैन, म त एक साधारण व्यक्ति मात्र हुँ, मैले धेरै पढेको छैन, मेरो सोच प्रक्रिया त्यस्तो महान्‌ छैन—मैले कस्तो राय बोक्न सक्छु र? म एक औसत नागरिक मात्र हुँ, मलाई एक्लै छोड।” तैँले कहिल्यै पनि कुनै राय व्यक्त गर्दैनस्। तँलाई अडान लिन लगाउँदा, तँ घुरिरहेको, निदाएको बहाना बनाउँछस्, र तैँले प्रगतिमा रुचि नराखेको देख्दा, मानिसहरूले तँलाई आफ्नो राय बताउन लगाउनेछैनन्, जुन तेरो हितमा हुन्छ, होइन र? यसमा जम्मा कति वटा सिद्धान्तहरू छन्? (पाँच वटा।) यदि तैँले यी पाँच सिद्धान्तहरू अनुसरण गरिस् भने, तँ राजनीतिबाट अलग रहन सक्छस् र कुनै राजनीतिक शक्तिले पनि तँलाई प्रभाव, विवश वा अवरुद्ध पार्नेछैन। सबैभन्दा माथिका वा तलका राजनीतिक वृत्तहरू सामना गर्नुपर्दा, यदि तैँले यी पाँच सिद्धान्तहरू अभ्यास गरिस् भने, तँ राजनीतिबाट अलग रहन सक्नेछस्। यो आफ्नो व्यावसायिक जीवनमा लागु हुने विषय हो। तँसित कुनै पेशा नभएको अवस्थामा पनि, यी सिद्धान्तहरू अवश्य नै उस्तै र अपरिवर्तित नै रहन्छन्। तँ बेरोजगार भए पनि, तैँले राजनीतिबाट अलग रहनको लागि अझै पनि यी सिद्धान्तहरू अभ्यास गर्नैपर्छ—यी सिद्धान्तहरू परिवर्तन हुँदैनन्। त्यसोभए, तँ किन राजनीतिबाट अलग रहनुपर्छ? राजनीति भनेको के हो? यो एउटा सङ्घर्ष, र शक्तिको खेल हो। राजनीति भनेको षडयन्त्र र रणनीति दुइटै हो। राजनीति भनेको अरू के हो? राजनीति विविध शक्तिहरूले गराएको आन्दोलन वा गतिविधि पनि हो। हेर त, तिमीहरू राजनीतिको वर्णनसमेत गर्न सक्दैनौ, तैपनि ठूलो रातो अजिङ्गरले मण्डलीका मानिसहरूलाई राजनीतिमा संलग्न भएको आरोप लगाउँछ। के यो बेतुके कुरो होइन र? के तिनीहरूले चाहेमा सजिलै दोष निकाल्‍न सक्दैनन् र? (सक्छन्।) यो झूटो आरोप हो भन्‍ने प्रस्ट छ। कतिपय मूर्ख र भ्रमित मानिसहरू, ठूलो रातो अजिङ्गरका दुष्ट शब्दहरू सुनेपछि, त्यसको बन्धनमा पर्छन् र त्यसको वा शैतानको वास्तविकता खुट्ट्याउने आँट गर्दैनन्। ठूलो रातो अजिङ्गर वा शैतानको वास्तविकता खुट्ट्याउने विषय उठ्नेबित्तिकै, तिनीहरू एउटा कुनामा लुक्छन् र मुख खोल्ने आँट गर्दैनन्; तिनीहरू खोक्‍ने वा दुबिधामा परेको बहाना गर्छन्। तिनीहरू केको बहाना गर्छन्? तिनीहरूले बहाना गर्नुपर्दैन: तिनीहरू राजनीतिको अर्थसमेत बुझ्दैनन्, कसरी पो तिनीहरू राजनीतिमा सहभागी हुन सक्छन् र? के त्यस्ता भ्रमित व्यक्ति राजनीतिमा सहभागी हुन सक्छन् त? त्यसकारण, वास्तवमा धेरैजसो साधारण मानिसहरू राजनीतिबाट अलग रहन सम्भव छ। हामीले सैद्धान्तिक रूपमा एउटा कुरामा मात्र जोड दिएका छौँ, र त्यो हो कुनै मूर्खता नगर्नु, र अनजानमा राजनीतिमा संलग्न हुनबाट, थाहै नपाई राजनीतिमा पर्नबाट, र अन्त्यमा वास्तविकता नबुझी बलिको बोको वा बलिको वस्तु बन्नबाट जोगिनु हो। त्यसैले, हामीले यी सिद्धान्तहरू सङ्गति गर्नुको कारण भनेको एकातिर तेरो बौद्धिकताले मात्र राजनीतिको वास्तविक सार बुझ्न सक्दैन भनी तँलाई बुझाउनु हो। अर्कोतिर के हुन्छ भने, यदि तैँले यी सिद्धान्तहरू अभ्यास गरिस् भने, तैँले कुनै पनि परिस्थितिमा, वा आफू सचेत नभएको वा अज्ञानी भएको अवस्थामा पनि, अझ राम्ररी आफ्नो सुरक्षा गर्न र आफ्नो फाइदा लुटिनबाट जोगिन सक्नेछस्। यी सिद्धान्तहरू पालना गरेर, तैँले कुनै पनि समूहमा आफ्नो तुलनात्मक सुरक्षा सुनिश्‍चित गर्न सक्छस्। त्यसकारण, यी सिद्धान्तहरू तेरो सुरक्षा कवच मात्र नभई राजनीतिको क्षेत्रमा परमेश्‍वरले तँलाई पछ्याउन अर्ती दिनुहुने सिद्धान्तहरू पनि हुन्। यी सिद्धान्तहरू पछ्याएर, तैँले सत्यताले तँलाई दिएका लाभहरू उपभोग गर्न सक्छस्, र त्यो अवस्थामा तैँले परमेश्‍वरको सुरक्षा पाएको मान्न सकिन्छ। यदि तँलाई परमेश्‍वरको सुरक्षा अस्पष्ट र खोक्रो लाग्छ, र तैँले त्यो सुरक्षा देख्‍न वा अनुभूति गर्न सक्दैनस् भने, तैँले यी पाँच सिद्धान्तहरू अभ्यास गर्ने विकल्प रोज्न सक्छस्। यस तरिकाले, तैँले साँच्‍चिकै परमेश्‍वरको सुरक्षा अनुभव गर्न सक्छस्, जुन अझ वास्तविक प्रकारको सुरक्षा हो। यो भनेको परमेश्‍वरका वचनहरू प्रयोग गरी आफ्नो सुरक्षा गर्नु मात्र नभई, परमेश्‍वरका वचनहरू अभ्यास गर्दै र परमेश्‍वरले तँसित खुलासा गर्नुभएका सत्यता सिद्धान्तहरू पालना गर्दै आफ्नो सुरक्षा गर्नु पनि हो। चाहे जे भए होस्, अन्तिम लक्ष्य प्राप्त हुन्छ, र तैँले राजनीतिबाट अलग रहेर आफूलाई दुष्ट मानिसहरूको समूहबाट सुरक्षित राख्न, विविध प्रलोभन र सङ्कटहरूबाट जोगिन, र यसरी आफ्नो शरीर र मनलाई परमेश्‍वरसामु शान्त पार्न र तनावरहित, शान्तिपूर्ण, र सुरक्षित स्थितिमा राख्न सक्छस्, र यसरी तैँले सत्यता पछ्याउन सक्छस्। तथापि, यदि तँ मूर्ख छस् र परमेश्‍वरले सिकाउनुभएका सिद्धान्तहरू पालना गर्न जान्दैनस्, र जथाभाबी रूपमा पृथक बन्‍न र आफ्नो प्रदर्शन गर्ने कोसिस गर्छस्, र प्रायः निर्बुद्धि व्यवहार गर्दै राजनीति र समूहहरूबाट उत्पन्न हुने विविध विवाद र र द्वन्द्वहरूमा अल्झिन्छस् भने; यदि तँ प्रायः विविध छलकपट र प्रलोभनमा पर्छस्, र तेरो दैनिक जीवनलाई यी कुराहरूले बहकाउ र बाधामा पारेका छन्, र तँ आफ्नो सारा समय विवाद र अवरोधका यी समस्याहरू सम्हाल्न र समाधान गर्नमा बिताउँछस् भने, यो भन्न सकिन्छ कि तेरो हृदय परमेश्‍वरसामु कहिल्यै आउनेछैन, र तँ उहाँसामु कहिल्यै शान्त हुनेछैनस्। यदि तैँले यति थोरै पनि गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरका वचनहरू चिन्ने, सत्यतालाई गहन बनाउने वा बुझ्ने, सत्यता अभ्यास गर्ने, र मुक्ति पाउनहेतु सत्यता पछ्याउने मार्गमा लाग्ने आशा रहँदैन। यदि तँ यी कुराहरूको पासोमा पर्छस् भने, त्यो दियाबलसको पासोमा पर्नुसरह हो। यदि तँसित यी मामलाहरू सम्हाल्ने सिद्धान्तहरू छैनन् भने, तेरो आखिरी लक्ष्य यिनै कुराहरूमा हराउनेछन्। तेरो दैनिक जीवन, तेरो हृदय, र तेरो जीवन यिनै विवाद र सङ्घर्षहरूमा अल्झिनेछन्। यस्तोमा तैँले सोच्‍ने भनेकै यी कुराहरूबाट कसरी मुक्त हुने, यी मानिसहरूसित कसरी लड्ने र विवाद गर्ने, र कसरी आफ्नो निर्दोषता पुष्टि गर्ने र न्याय माग गर्ने भन्‍ने मात्र हो। फलस्वरूप, यी मामलाहरूमा जति बढी पर्छस्, तँ त्यति नै आफ्नो निर्दोषता पुष्टि गर्न, न्याय माग्न, र स्पष्टीकरण पाउन चाहन्छस्, र त्यति नै तेरो हृदय अस्तव्यस्त र जटिल बन्नेछ। अनि तेरो बाह्य परिवेश जति जटिल छ, तेरो भित्री रूप त्यति नै जटिल बन्नेछ, र तेरो बाह्य परिवेश जति अस्तव्यस्त हुन्छ, तेरो भित्री रूप त्यति नै अस्तव्यस्त बन्नेछ। यसरी, तँ पूर्ण रूपमा सक्‍किनेछस्, र तँ शैतानको नियन्त्रण र कब्जामा हुनेछस्। यदि तँ अझै पनि सत्यता पछ्याउन र मुक्ति पाउन चाहन्छस् भने, त्यो असम्भव हुनेछ! तँ पूर्णतया बेकारको र छुटकारा पाउनै नसक्ने व्यक्ति हुनेछस्। त्यसबेलासम्म, तैँले यसो भन्‍नेछस्, “मलाई यो सबैको पछुतो छ। शैतानको राजनीतिक वृत्त एउटा दलदलबाहेक केही होइन रहेछ! यदि मलाई यो थाहा भएको भए, मैले परमेश्‍वरका वचनहरू सुनेको हुन्थेँ।” मैले तँलाई धेरै पहिले नै भनेको थिएँ, तर तैँले मेरो विश्‍वास गरिनस्। तैँले तिनीहरूबाट स्पष्टीकरण पाउन, अनि तिनीहरूको मुखबाट निष्पक्ष मूल्याङ्कन र प्रशंसा र स्वीकारको शब्द सुन्न जिद् कसिस्। तैँले परमेश्‍वरले तँलाई भन्नुभएका सिद्धान्त र मापदण्डहरू पालना गर्न मानिनस्, त्यसैले तँ मृत्युपर्यन्त तिनीहरूद्वारा घिसारिन लायक छस्। अन्त्यमा, शैतान नष्ट हुनेछ, र तँ त्योसँगै नष्ट हुनेछस् र त्यसको चिताको फूल बन्नेछस्। तँ त्यसैको लायक छस्! तँलाई कसले शैतान पछ्याउन लगायो? तँलाई कसले शैतानको स्पष्टीकरण खोज्न लगायो? तँलाई कसले यति मूर्ख हुन लगायो? परमेश्‍वरले तँलाई बुद्धि दिनुभयो, तर तैँले त्यसलाई प्रयोग गरिनस्। उहाँले तँलाई सिद्धान्तहरू दिनुभयो, तर तैँले तिनको पालना गरिनस्। तैँले आफ्नै मार्ग हिँड्न, आफ्नै दिमाग, प्रतिभा र वरदानद्वारा ती मानिसहरूविरुद्ध लड्न जिद् कसिस्। तर के तँ दियाबलसलाई परास्त गर्न सक्छस् र? अझ भन्‍ने हो भने, परमेश्‍वरले तँलाई दियाबलसविरुद्ध लड्ने काम सुम्पनुभएको होइन। परमेश्‍वरले तँलाई सुम्पेको काम त उहाँको मार्ग पछ्याउनु, दियबलसविरुद्ध नलड्नु हो। तैँले त्यसविरुद्ध लड्नुको कुनै औचित्य छैन। परमेश्‍वरले यस्तो काम स्मरण गर्नुहुन्न। त्यसलाई परास्त गरिस् नै भने पनि, तैँले मुक्ति पाउनेछैनस्। अब, कुरो बुझिस्? त्यसैले, राजनीतिक क्षेत्र र वृत्तमा, तैँले मानिसहरूले पालना गर्नुपर्ने यी सिद्धान्तहरू याद राख्नैपर्छ। सायद अहिले तिमीहरूमध्येका पूर्णकालीन रूपमा कर्तव्य पूरा गरिरहेकाहरूलाई यी वचनहरू अव्यावहारिक र आफूबाट अलि दूर रहेजस्तो लाग्न सक्ला। तर तिनले तँलाई कम्तीमा पनि राजनीति के हो, तैँले राजनीतिलाई कुन रूपमा हेर्नुपर्छ, राजनीतिक वृत्तमा बस्ने वा राजनैतिक भविष्य पछ्याउनेहरूलाई कुन रूपमा हेर्ने, र यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् भने तिनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न कसरी मद्दत गर्ने भनी जान्न मद्दत गर्छन्। तिमीहरूले थाहा पाउनुपर्ने सबैभन्दा मूलभूत कुराहरू यिनै हुन्। तँ यी सिद्धान्तहरू पूर्ण रूपमा बुझ्ने र स्विकार्ने भएपछि, तैँले तिनीहरूलाई मद्दत गर्न सक्नेछस्, र यस्ता मानिसहरूलाई भेट्दा तैँले सान्दर्भिक सिद्धान्तहरू प्रयोग गरेर तिनीहरूका समस्याहरू सम्हाल्न र समाधान गर्न सक्नेछस्। खैर, राजनीतिबाट अलग रहने विषयसम्बन्धी हाम्रो सङ्गति यहीँ टुङ्ग्याऔँ। जयमसीह!

जुन १८, २०२३

अघिल्लो: सत्यता कसरी पछ्याउने (२०)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्