पावलको प्रकृति सार कसरी पहिचान गर्ने

तिमीहरूले “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” भन्‍ने शीर्षकको परमेश्‍वरका वचनहरूको खण्डमा निकै लामो समय सङ्गति गरेका छौ। यसले कुन मुद्दाहरूबारे छलफल गर्छ, र यो कुन-कुन सत्यताहरूसँग सम्‍बन्धित छ? (यो विश्‍वासीका रूपमा मानिसले हिँड्ने मार्गसँग सम्‍बन्धित छ।) यो विषय मुख्यतया पत्रुस र पावलले लिएका मार्गहरूमा केन्द्रित छ, होइन त? यति लामो समय सङ्गति गरेपछि, तिमीहरूले यसबाट केही प्राप्त गरेका छौ भन्‍नेमा म पक्‍का छु—सायद धेरै कुराहरू प्राप्त गरेका छौ। तिमीहरूले यस अवधिमा सुनेका प्रवचनहरूको चुरोको सारांश निकाल्नैपर्छ, त्यसपछि यसका मुख्य भावहरूलाई क्रमबद्ध गर्नुपर्छ, र यस सोचाइको तरिका, अनि तिमीहरूले सारांशीकृत गरेका महत्त्वपूर्ण कुरा र भावहरू अनुरूप अनुभव गर्नुपर्छ। यसले तिमीहरूलाई परमेश्‍वरको कामको अनुभव कसरी गर्ने, कसरी आफ्नो कर्तव्य उचित तरिकाले निर्वाह गर्ने, र वास्तविक जीवनमा कसरी राम्रोसँग गवाही दिने भन्‍ने कुरामा सहयोग गर्नेछ। म आशा गर्छु कि तिमीहरूले सारांश निकालिसकेपछि, तिमीहरूको जीवन प्रवेश र आत्मिक कदले ठूलो अग्रगामी कदम चाल्नेछ। त्यसोभए, जब तिमीहरूले त्यस अध्यायबाट बुझ्नुपर्ने सत्यता वास्तविकताहरूको सारांश निकाल्छौ, के तिमीहरूले पावलको अनुभवबाट सुरु गर्छौ कि पत्रुसको अनुभवबाट? (पावलको अनुभवबाट।) किन? (पावल असफल भएका कारणहरूका आधारमा आत्मचिन्तन गरेर, हामीले आफू पावलको मार्गमा छौँ कि छैनौँ भनेर थाहा पाउनेछौँ। त्यसपछि, हामी पत्रुस कस्तो मार्गमा थिए भनेर हेर्नेछौँ, ताकि हामीसँग पछ्याउने लक्ष्य र दिशा होस्।) वास्तवमा, हुनुपर्ने नै त्यही हो। पावलले भोगेका सबै कुरा र तिनले पछ्याएको बाटोका अनुभवहरूबाट पाठ सिक र ती अनुभवहरूको सारांश निकाल। तिनी कुन बाटोमा थिए, किन परमेश्‍वरले विश्‍वासीहरूलाई सही मार्ग पछ्याउन माग गर्नुहुन्छ, र सही मार्ग के हो भनेर बुझ। यदि तैँले सत्यता खोजी गर्ने मार्ग पछ्याउन सकिस् भने, जीवनका वास्तविक परिस्थितिहरूमा, साथै तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्‍वरको काम अनुभव गर्दा तँ पथभ्रष्ट हुनबाट जोगिन सक्‍नेछस्। तँ परमेश्‍वरको काममा अवरोध पुर्‍याउन, भूलवश गलत मार्गमा पर्न वा पावलले जस्तै अन्तमा आफैमाथि दण्ड ल्याउनबाट जोगिन सक्‍नेछस्।

अब, पावलका अनुभवहरूका आधारमा, तिनले लिएको बाटोका विशेषताहरू, तिनले परमेश्‍वरमा विश्‍वास गरेको तरिका, र तिनले पछ्याएका लक्ष्य र दिशाहरूलाई संक्षेप गरौँ। हामी सुरुमा यी कोणहरूबाट पावलको चरित्र र स्वभावलाई हेर्नेछौँ। पावलको जीवन र तिनलाई के भयो भन्‍ने सम्बन्धी कथाहरूलाई मूल्याङ्कन गर्दा, तिनको स्वभावका केही पक्षहरू छन्: अहङ्कार, आत्म-धार्मिकता, छलीपन, सत्यताप्रतिको घृणा, दुष्टता, र क्रूरता। मानिसहरूले पावलको स्वभावका जतिसुकै मुख्य पक्षहरूलाई देख्‍न वा संक्षेप गर्न सके पनि, यदि तैँले तिनको स्वभावका यी पक्षहरूका बारेमा मात्र कुरा गर्छस् भने, तैँले सायद त्यो एकदम खोक्रो छ भन्‍ने महसुस गर्नेछस्, होइन र? तैँले तिनको स्वभावका यी पक्षहरू उल्लेख गर्दा, के ती कुराहरू तिनको पछ्याइ, तिनको जीवनको दिशा र एक विश्‍वासीका रूपमा तिनले पछ्याएको मार्गसँग जोडिएका हुन्छन्? जब तैँले तिनको अहङ्कारबारे कुरा गर्छस्, के तँसँग त्यो पुष्टि गर्ने कुनै तथ्यहरू हुन्छन्? तैँले तिनलाई अहङ्कारी देख्‍नुको कारण के हो? तैँले तिनलाई छली देख्‍नुको कारण के हो? तैँले तिनलाई सत्यतालाई घृणा गर्ने व्यक्ति देख्‍नुको कारण के हो? यदि तैँले तिनको स्वभावका यी पक्षहरूको सारलाई मात्रै संक्षेप गर्छस् र तिनको पछ्याइ, तिनको जीवनको दिशा, र विश्‍वासीका रूपमा तिनले पछ्याएको मार्गका बारेमा कुरा गर्दैनस् भने, ती खोक्रा शब्द हुन्, र अहिले मानिसहरूका लागि तिनको कुनै सकारात्मक वा लाभदायक उपयोग हुनेछैन। पावलका पछ्याइहरू र तिनको मार्गपछाडिको दृष्टिकोणबाट बोल्नु राम्रो हुन्छ। व्यक्तिको सार बुझ्नु कुनै सामान्य मामला होइन। कुनै व्यक्तिले केही कार्य नगर्दा, वा केही महत्त्वहीन कामहरू मात्र गर्दा उसको प्रकृति सार यस्तो छ भनेर निर्क्योल गर्न सकिँदैन। तैँले तिनीहरूले कसरी नियमित रूपमा आफूलाई प्रकट गर्छन् र तिनीहरूका कार्यपछाडिको अभिप्राय र मनसाय के हो भन्‍ने कुरालाई हेर्नैपर्छ, अर्थात्, तिनीहरूको पछ्याइ, चाहना, र तिनीहरूले पछ्याउने मार्गलाई हेर्नैपर्छ। अझ महत्त्वपूर्ण पक्ष भनेको, कुनै व्यक्तिले परमेश्‍वरले उसका लागि खडा गर्नुभएको परिस्थितिको सामना गर्दा, वा परमेश्‍वरले उसलाई व्यक्तिगत रूपमा केही गर्नुहुँदा, जस्तै जाँच, शोधन र काटछाँट गर्नुहुँदा, वा परमेश्‍वरले व्यक्तिगत रूपमा उसलाई ज्योति दिनुहुँदा र मार्गदर्शन गर्नुहुँदा, उसले त्यसलाई कसरी सम्‍हाल्‍छ भन्‍ने कुरालाई हेर्नैपर्छ। परमेश्‍वरले मुख्यतया यी पक्षहरूलाई हेर्नुहुन्छ। यी पक्षहरू केसँग सम्बन्धित छन्? यी पक्षहरू व्यक्तिले कार्य गर्ने, जिउने, आफूलाई आचरणमा ढाल्ने र संसारसँग अन्तरक्रिया गर्ने सिद्धान्तहरूसँग, साथै तिनीहरूले पछ्याउने लक्ष्य र दिशा, तिनीहरूले पछ्याउने मार्ग, तिनीहरूको जिउने तरिका, तिनीहरू के अनुसार जिउँछन् भन्‍ने कुरा, र तिनीहरूको अस्तित्वको आधारसँग सम्‍बन्धित छन्। ती यिनै कुरासँग सम्‍बन्धित छन्। त्यसकारण त म भन्छु, यदि हामीले यी सबै कुराहरूलाई पन्छाएर पावलको प्रकृति सारका बारेमा मात्र कुरा गर्‍यौँ भने, हामीले जतिसुकै भने पनि वा जतिसुकै विस्तृत कुरा गरे पनि, ती खोक्रा शब्दहरू मात्र हुनेछन्। यदि हामीले पावलको सारलाई तिनी को थिए भन्‍ने कुराको हरेक पक्षबाट हेर्न, र आजका मानिसहरूलाई सहयोग गर्न चाहन्छौँ, वा तिनीहरूलाई आफूलाई हेर्नका लागि एउटा ऐना दिन चाहन्छौँ भने, हामीले सुरुमा पावलले पछ्याएको मार्ग, तिनले पछ्याएका लक्ष्यहरू, तिनको अस्तित्वको आधार, र परमेश्‍वरप्रतिको तिनको मनोवृत्तिको सारांश निकाल्नैपर्छ। यदि हामीले तिनको स्वभावको हरेक पक्षलाई यी कोणहरूबाट विश्‍लेषण गर्‍यौँ भने, हामीसँग एउटा आधार हुँदैन र? आंशिक रूपमा, तैँले पावललाई अझ स्पष्ट रूपमा देख्‍न सक्‍नेछस् भनेर नै यसरी सङ्गति र संक्षेप गरिएको हो, तर मुख्य रूपमा भने आजका मानिसहरूले परमेश्‍वरको मुक्ति र सार्वभौमिकताको सामना गर्दा, तिनीहरूले यसलाई कसरी लिने, र कसरी सत्यता पछ्याउने भनी जानून्, ताकि तिनीहरू पावलको पाइला पछ्याउनबाट जोगिन सकून् र तिनी जस्तै दण्डित हुनबाट जोगिन सकून् भनेर हो। यो नै सबैभन्दा प्रभावकारी विधि हो।

जब तँ पावलले आफूलाई प्रस्तुत गरेका सबै तरिकाहरूलाई हेर्छस्, तब तैँले तिनको प्रकृति सार देख्‍न सक्‍नुपर्छ, र तिनको पछ्याइको दिशा, लक्ष्य, स्रोत, र प्रेरणा गलत थिए, र यी कुराहरू परमेश्‍वरप्रति विद्रोही र प्रतिरोधी, उहाँलाई अप्रसन्‍न पार्ने, र परमेश्‍वरले घृणा गर्नुहुने कुरा थिए भन्‍ने निष्कर्षमा पुग्‍न पूर्ण रूपमा सक्‍नुपर्छ। पावलले आफूलाई प्रस्तुत गरेको पहिलो मुख्य तरिका के थियो? (तिनले मुकुटको खातिर परिश्रम र काम गरे।) तिनले आफूलाई यसरी प्रस्तुत गरेको, वा तिनी यस्तो स्थितिमा रहेको तिमीहरूले कहाँ देख्यौ? (तिनका शब्‍दहरूबाट।) तिनका “प्रसिद्ध भनाइहरू” बाट। सामान्यतया, प्रसिद्ध भनाइहरू सकारात्मक हुन्छन्, र सङ्कल्प, आशा र आकाङ्क्षा भएकाहरूका लागि सहयोगी र लाभदायक हुन्छन्; तिनले त्यस्ता मानिसहरूलाई प्रोत्साहित र उत्प्रेरित गर्न सक्छन्, तर पावलका प्रसिद्ध भनाइहरूको प्रकार्य के थियो? तिनका भनाइहरू धेरै थिए। के तिमीहरू तिनका अलिक प्रसिद्ध भनाइहरूमध्ये एउटा भन्‍न सक्छौ? (“मैले राम्रो लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)।) यी शब्दहरूले तिनको प्रकृति सारको कुन पक्षलाई प्रतिनिधित्व गर्छन्? हामीले यसलाई सत्यता अनुसार कसरी चित्रण गर्नुपर्छ? (अहङ्कारी, आत्म-धर्मी, र परमेश्‍वरसँग सम्झौता गर्ने व्यक्ति भनेर।) तिनलाई यी कुरा बोल्न प्रेरित गर्ने तिनको अहङ्कारी प्रकृति नै थियो—यदि अन्त्यमा मुकुट नभएको भए तिनी दौडनेथिएनन्, तिनले काम गर्नेथिएनन्, वा परमेश्‍वरमा विश्‍वास समेत गर्नेथिएनन्। यति धेरै प्रवचनहरू सुनेपछि, अब मानिसहरूले पावलले प्रकट गरेको यो प्रकटीकरण र यो स्थितिलाई चिन्‍न सक्‍नुपर्छ, तर के तिमीहरूले यसलाई चित्रण गर्न सक्छौ? जब हामी “सारांश निकाल्ने” भन्छौँ, हाम्रो मतलब कुनै कुरालाई चित्रण गर्नु हो; तिमीहरूले कुनै कुरालाई चित्रण गर्न प्रयोग गर्ने शब्दहरू नै साँचो बुझाइ हुन्। जब तैँले कुनै कुरालाई सही रूपमा चित्रण गर्न सक्छस्, यसले तैँले त्यस मामलालाई स्पष्ट रूपमा देख्छस् भन्‍ने कुरालाई प्रमाणित गर्छ; जब तैँले कुनै कुरालाई चित्रण गर्न सक्दैनस् र अरूका चित्रणहरूको अनुकरण मात्र गर्छस्, तब यसले तैँले साँच्‍चै बुझेको छैनस् भन्‍ने कुरा प्रमाणित गर्छ। कुन मानसिकता वा स्थितिले पावललाई त्यस क्षणमा ती शब्दहरू बोल्न प्रेरित गर्‍यो? कुन अभिप्रायले तिनलाई त्यसो गर्न लगायो? यी शब्दहरूले तँलाई देखाउने तिनको पछ्याइको सार के हो? (आशिष्‌हरू प्राप्त गर्नु।) तिनी जोडले दौडिए, आफैलाई खटाए र आफ्‍नो त्यति धेरै कुरा सुम्पिए किनभने तिनको अभिप्राय आशिष्‌हरू प्राप्त गर्नु थियो। त्यो तिनको प्रकृति सार, र तिनको हृदयको सबैभन्दा भित्री स्थानमा बसेको कुरा थियो। भर्खरै, तिमीहरूले यो कुराको चिरफार गरिरहँदा, तिमीहरूले पावलले परमेश्‍वरसँग सम्झौता गरिरहेका थिए भनेर भन्यौ। यसले पावलमा भएको कस्तो मनोवृत्तिलाई प्रतिनिधित्व गर्दछ? अहिले हामी मुकुटप्रति, आशिष् प्राप्त गर्ने र परमेश्‍वरमा विश्‍वास गर्नेप्रति पावलको सबैभन्दा साँचो मनोवृत्तिको सारांश निकाल्ने प्रयास गरिरहेका छौँ; हामी पावलले परमेश्‍वरसँग सम्झौता गरिरहेका थिए कि थिएनन् र तिनी साँचो विश्‍वासी थिए कि थिएनन् भन्‍ने कुराको सारांश निकाल्ने प्रयास गरिरहेका छैनौँ। फेरि भन त। (तिनले सत्यतालाई प्रेम गर्दैनथिए र तिनी तिरस्कारले भरिएका थिए।) यो मनोवृत्ति होइन; यो तिनको स्वभावकै हिस्सा हो। अहिले हामी तिनको मनोवृत्तिबारे कुरा गरिरहेका छौँ। (तिनी लोभी थिए।) यो तिनको आशिष्‌हरू प्राप्त गर्ने अभिप्राय, र तिनको चाहना जस्तै तिनको प्रकृति सारको एउटा पक्ष हो। मनोवृत्ति भनेको के हो? उदाहरणका लागि, म सधैँ पिरो खाने कुराहरू खानु पेटका लागि नराम्रो हो भनेर भन्छु, र कसैले जवाफ दिन्छ, “मलाई थाहा छ, पिरो खाना खानु नराम्रो हो, तर मलाई पिरो खाना खान मनपर्छ! यदि मैले पिरो खाना खाइनँ भने के खाने?” म जवाफ दिन्छु, “तेरो स्वास्थ्यका खातिर, जबसम्म तैँले पिरो खाना खाँदैनस्, तबसम्‍म म तँलाई अरू कुनै खानेकुरा किन्‍नका लागि हरेक पटक पाँच डलर दिनेछु।” त्यसपछि, ऊ निकै खुसी हुन्छ, र भन्छ, “त्यसोभए ठीक छ, म पिरो खाना खानेछैनँ!” एउटा सम्झौता हुन्छ र उसले त्यसलाई पालन गर्छ। तर उसले किन पिरो खाना खानबाट आफूलाई रोक्‍न सक्छ? यो वास्तवमा पैसाको कारणले हो। यदि मैले उसलाई पैसा नदिएको भए, उसले आफूलाई नियन्त्रण गर्न सक्‍नेथिएन; उसले पहिले जस्तै पिरो खाना खाइरहनेथियो। उसले त्यसबाट कुनै फाइदा पाउन सक्‍ने भएर मात्र पिरो खाना खान छोडेको हुन्छत्यो हो, पैसाक। यो नै उसको मनोवृत्ति हो। उसको हृदयको गहिराइमा यही कुरा लुकेको हुन्छ। के उसले सत्यता अभ्यास गरिरहेका कारण, उसलाई भनिएझैँ गरिरहेका कारण, वा परमेश्‍वरलाई प्रसन्‍न पार्नका लागि पिरो खाना खान छोडेको हो? (होइन।) होइन, यो तीमध्ये कुनै पनि कारणले होइन। उसले सत्यता अभ्यास गरिरहेकाले, वा आफ्नो स्वास्थ्यमा ध्यान दिएर पिरो खाना खानबाट आफूलाई रोकेको हुँदैन; उसको मनोवृत्ति झाराटारुवा र सतही हुन्छ; उसले यसलाई लेनदेनका रूपमा हेर्छ, र चापलुसी गर्न यसो गरिरहेको हुन्छ। यदि उसले आफ्नो उद्देश्य हासिल गरेन र पैसा प्राप्त गरेन भने, उसले फेरि आफूले चाहेकै खानेकुरा खान थाल्नेछ, र पहिलेको भन्दा बढी पनि खान सक्छ। यो सबैभन्दा उपयुक्त उदाहरण नहोला, तर हामीले यसलाई पावलसँग तुलना गर्दा के-कस्ता समानताहरू देख्छौँ त? (यो कुरा पावलले आशिष् प्राप्त गर्नका लागि उत्प्रेरित भएर परमेश्‍वरसँग कसरी सम्झौता गरे भन्‍ने तथ्य जस्तै छ।) पावलले राम्रो लडाइँ लड्नु, दौड दौडनु, काम गर्नु, आफूलाई खटाउनु, र मण्डलीको मलजल गर्नुलाई समेत धार्मिकताको मुकुटसँग साट्न सकिने कुरा र त्यसतर्फको मार्गका रूपमा हेरे। त्यसकारण, चाहे तिनले कष्ट भोगे पनि, आफूलाई खटाए पनि, वा दौड दौडे पनि, जति सुकै कष्ट भोगे पनि, तिनको मनमा रहेको एकमात्र लक्ष्य भनेको धार्मिकताको मुकुट प्राप्त गर्नु थियो। तिनले धार्मिकताको मुकुट पछ्याउनु र आशिष्‌हरू पछ्याउनुलाई परमेश्‍वरमा विश्‍वास गर्नुको उचित उद्देश्यका रूपमा, र कष्ट भोग्‍ने, आफूलाई खटाउने, काम गर्ने, र दौड दौडने कार्यलाई त्यसतर्फको मार्गका रूपमा लिएका थिए। तिनले सबै बाहिरी असल व्यवहार देखाउनका लागि गरेका थिए; तिनले अन्तमा आशिष्‌हरू पाउने बदलामा त्यसो गरेका थिए। यो पावलको प्रमुख पापहरूमध्ये पहिलो हो।

पावलले भनेका र गरेका सबै कुरा, तिनले प्रकट गरेका कुरा, तिनको काम र तिनले दौडेका दौड दुवैको अभिप्राय र लक्ष्य, साथै यी दुवैप्रति तिनको मनोवृत्ति—के यी कुराहरूमा सत्यतासँग मेल खाने कुनै कुरा छ? (अहँ, छैन।) तिनमा सत्यतासँग मिल्दोजुल्दो कुरा केही छैन, र तिनले गरेको कुनै पनि कुरा प्रभु येशूले मानिसहरूलाई गर्नू भनी निर्देशन दिनुभएको कुरा अनुरूप थिएन, तर के तिनले यसबारे चिन्तन गरे? (अहँ, गरेनन्।) तिनले यसबारे कहिल्यै चिन्तन नै गरेनन्, न त खोजी नै गरे, त्यसोभए आफ्नो सोचाइ सही हो भनेर मान्‍नका लागि तिनीसँग के आधार थियो त? (तिनका धारणा र कल्पनाहरू।) यसमा एउटा समस्या छ; तिनले कसरी आफूले कल्‍पना गरेको कुनै कुरालाई आफ्नो सम्पूर्ण जीवनभरि पछ्याउने लक्ष्य बनाउन सके? के तिनले कहिल्यै “के मैले सोचेको कुरा सही छ त? अरू मानिसहरूले यसरी सोच्दैनन्, म मात्र सोच्छु। के यो समस्या हो?” भनेर कहिल्यै विचार गरे वा आफैलाई सोधे? तिनलाई यी शङ्काहरू नलागेको मात्र होइन, तिनले आफ्ना विचारहरू पत्रमा लेखेर सबै मण्डलीहरूमा समेत पठाए, ताकि सबैले ती पत्रहरू पढ्न सकून्। यो व्यवहारको प्रकृति के हो? यसमा एउटा समस्या छ; किन तिनले कहिल्यै आफ्नो सोच सत्यतासँग मेल खान्छ कि खाँदैन भनेर प्रश्‍न गरेनन्, सत्यताको खोजी गरेनन्, वा यसलाई प्रभु येशूले भन्‍नुभएको कुरासँग तुलना गरेनन्? यसको सट्टा, तिनले आफूले कल्पना गरेको कुरा, र आफ्नो धारणामा सही ठानेको कुरालाई आफूले पछ्याउनु पर्ने लक्ष्यका रूपमा लिए। यहाँ समस्या के छ? तिनले आफूले कल्पना गरेको र आफूले सही ठानेका सोचलाई सत्यता, र पछ्याउनुपर्ने लक्ष्यका रूपमा लिए। के यो अत्यन्तै अहङ्कारी र आत्म-धर्मी कुरा होइन? के तिनको हृदयमा अझै पनि परमेश्‍वरका निम्ति ठाउँ थियो? के तिनले अझै पनि परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिन सक्थे? यदि तिनले परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा लिन सक्दैनथिए भने, परमेश्‍वरप्रति तिनको मनोवृत्ति के हुनेथियो? के तिनी पनि परमेश्‍वर बन्‍न चाहन्थे? होइन भने, तिनले आफ्नै सोच र धारणामा कल्पना गरेको कुरालाई आफूले पछ्याउनुपर्ने लक्ष्यका रूपमा लिनेथिएनन्, न त तिनले आफ्ना धारणा वा आफूले कल्पना गरेका कुराहरूलाई सत्यता मानेर नै पछ्याउनेथिए। तिनी आफूले सोचेको कुरा सत्यता हो, र यो सत्यता अनुरूप र परमेश्‍वरका अभिप्राय अनुरूप छ भनी विश्‍वास गर्थे। तिनले आफूले सही ठानेको कुरालाई मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि बाँड्थे, र तिनीहरूमा त्यो कुरा हालिदिन्थे, अनि सबैलाई तिनले भनेका हास्यास्पद कुराहरूको पालना गर्न लगाउँथे; तिनले प्रभु येशूका वचनहरूलाई आफ्नै शब्दहरूले प्रतिस्थापित गरे, र तिनले तिनका लागि जिउनु ख्रीष्ट हो भनी गवाही दिन यी हास्यास्पद शब्दहरू प्रयोग गरे। के यो पावलको दोस्रो ठूलो पाप होइन र? यो समस्या अत्यन्तै गम्भीर छ!

पावलसँग मिल्दाजुल्दा धेरै मानिसहरू विभिन्‍न युगमा थिए, त्यसोभए हामी पावललाई नै किन कालजयी उदाहरणका रूपमा प्रयोग गर्छौँ? किनभने तिनलाई बाइबलमा अभिलेख गरिएको छ, र तिनले भनेका विधर्म र भ्रमहरूले, साथै तिनी आफैले पनि सबै इसाईहरूमा ठूलो प्रभाव पारेका छन्। तिनले गरेको हानि अति ठूलो छ भनेर भन्‍न सकिन्छ। तिनीद्वारा बहकाइएका र विषाक्त पारिएका मानिसहरू अति धेरै छन्। तिनले धेरै पुस्ताका मानिसहरूलाई विषाक्त पारेका मात्र छैनन्, त्यो विष अत्यन्तै गहिरो गरी पसेको छ। कति गहिरो? (सबै इसाईहरूले तिनलाई आदर्शका रूपमा हेर्छन् र तिनको अनुकरण गर्छन्; तिनीहरूले तिनका शब्दहरूलाई परमेश्‍वरको वचनझैँ मानेर अभ्यास गर्छन्।) यदि तैँले ख्रीष्टका वचनहरू र परमेश्‍वरका वचनहरूबारे सङ्गति गरिस् भने, कसैले पनि यसलाई ठूलो कुरा मान्दैन। तर जब तैँले पावलका शब्दहरूबारे सङ्गति गर्छस्, तिनीहरू तुरुन्तै थपक्क बसेर सुन्छन्। यसको मतलब के हो? (तिनीहरूले पावललाई ख्रीष्ट जस्तै व्यवहार गर्छन्।) जब मानिसहरूले पावललाई ख्रीष्ट जस्तै व्यवहार गर्छन्, तब तिनले तिनीहरूको हृदयमा प्रभु येशू ख्रीष्टको स्थान लिएका हुन्छन्। के यो चरम पाप होइन? (हो।) पावल इतिहासका सबैभन्दा ठूला ख्रीष्टविरोधी हुन्! तिनका शब्दहरूको अभिप्राय अत्यन्तै स्पष्ट छ; तिनका लक्ष्य र कपट स्पष्ट रूपमा देखिन्छन्; तिनको सार अत्यन्त कपटी र दुर्भावपूर्ण छ। यसको प्रकृति अत्यन्तै समस्याजनक छ! त्यसकारण मैले यस कुरालाई उठाएर चिरफार गर्नुपरेको हो। यदि मैले त्यसो नगरेको भए, मानिसहरू तिनको बहकाउमा परिरहनेथिए। तर, यदि मैले पावलका समस्याहरूलाई चिरफार गर्न लागेको थिएँ भने, मैले आजका मानिसहरूले के गर्नु हुँदैन भन्‍ने उदाहरणका रूपमा तिनलाई उत्तम रूपमा प्रयोग गर्नुपर्थ्यो। भर्खरै हामीले पावलका दुई वटा पापको सारांश निकाल्यौँ। पहिलो के थियो? (पावलले काम र दौडलाई मुकुटसँग साट्न मिल्ने कुराका रूपमा लिएका थिए। तिनले आशिष् र मुकुट प्राप्त गर्नुलाई आफूले पछ्याउनुपर्ने उपयुक्त लक्ष्यका रूपमा हेरेका थिए।) ठीक भन्यौ। पावलको सबैभन्दा ठूलो समस्या के थियो भने, तिनले यी कुराहरूलाई आफूले पछ्याउनुपर्ने लक्ष्यका रूपमा लिएका थिए। सुरुदेखि नै, यो विद्रोहीपन र दुष्ट प्रकृति बोकेको एउटा लेनदेन थियो, तर पावलले यसलाई पछ्याउनका लागि उपयुक्त लक्ष्यका रूपमा लिएका थिए। यो सबैभन्दा गम्भीर समस्या हो। दोस्रो के थियो? (पावलले आफूले कल्पना गरेका, र आफ्नो धारणामा सही ठानेका कुराहरूलाई सत्यताका रूपमा लिएका थिए। तिनले यस सम्बन्धमा कहिल्यै चिन्तन वा खोजी गरेनन्; बरु, तिनले मानिसहरूलाई बहकाए, र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनका शब्‍दहरू र बेतुके सिद्धान्तहरू पालन गर्न लगाए, र मानिसहरूलाई आफूप्रति ख्रीष्टझैँ व्यवहार गर्न लगाए।) यो निकै गम्भीर समस्या हो। यी समस्याहरूको सही टिपोट गर; हामीले तिनको सारांश निकालिसकेपछि, तिमीहरूले आफूलाई ती कुराहरूसँग तुलना गर्नुपर्छ। जब हामी कुनै विषयमा छलफल गर्छौँ, हामीले सुरुमा सत्यताको त्यो विशेष पक्षबारे कुरा गर्नुपर्छ, त्यसपछि तुलना गर्नुपर्छ। पावलले आफूलाई कसरी प्रदर्शन गरे भन्‍ने कुराको चिरफारले सबैका लागि चेतावनीका रूपमा काम गर्छ, साथै यसले मानिसहरूलाई तिनीहरूले सही मार्ग रोज्नुपर्छ, त्यसपछि अभ्यासको सही मार्ग खोज्‍नुपर्छ र पावलको पाइला पछ्याउनबाट जोगिनुपर्छ भनेर पनि बताउँछ। यसरी, त्यो पूर्ण रूपमा प्रभावकारी हुनेछ।

पावलको अर्को पनि गम्भीर पाप छ, र त्यो के हो भने, तिनले आफ्नो काम पूर्ण रूपमा आफ्नो मानसिक क्षमता, शैक्षिक ज्ञान, ईश्‍वरशास्त्रीय ज्ञान र प्रतिपादित सिद्धान्तका आधारमा गर्थे। यो तिनको प्रकृति सारसँग सम्बन्धित कुरा हो। तिमीहरूले यसको सारांश निकाल्नुपर्छ, र त्यसपछि यी कुराहरूप्रति तिनको मनोवृत्ति कस्तो छ भनेर जाँच्नुपर्छ। यो निकै विशेष र महत्त्वपूर्ण, र मानिसहरूले बुझ्नैपर्ने पाप हो। पावलको कुन-कुन प्रकटीकरणहरूमा यो पाप समावेश थियो भनेर एकछिन सोच; यी प्रकटीकरणहरूमार्फत तिनको प्रकृति सार के हो भनेर हेर, र तिनले आफ्‍नो अन्तस्करणमा के कुरालाई महत्त्व दिएका थिए, तिनका लक्ष्यहरू के थिए भन्‍ने कुरालाई स्पष्ट रूपमा बुझ। तिनले गलत मार्ग किन हिँड्न थाले भन्‍ने कुराको जडमा तिनको अभिप्राय र लक्ष्यहरू नै छन्। तिमीहरूले स्पष्ट रूपमा बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। पावलसँग के-कस्ता वरदान थिए? (पावलसँग व्यवस्थाको युगको धेरै बाइबलीय ज्ञानको राम्रो पकड थियो।) त्यो बेला पुरानो करार मात्र अस्तित्वमा थियो। पावल यी धर्मशास्त्रहरूसँग परिचित थिए, र आजका धर्मशास्त्रीय शिक्षक, पाष्टर, प्रचारक र पादरीहरू जस्तै तिनी पनि यी कुराका बारेमा निकै जानकार थिए। तिनको धर्मशास्त्रीय ज्ञान त तिनीहरूको भन्दा पनि फराकिलो रहेको हुन सक्छ, तर तिनले संसारमा जन्मेपछि मात्र यो कुरा सिकेका हुन्। पावलसँग जन्मैदेखि के थियो? (तिनका जन्मजात क्षमताहरू।) पावल प्राकृतिक रूपमै चलाख थिए, बोल्नमा सिपालु थिए, आफ्नो कुरा राम्रोसँग व्यक्त गर्थे, र मञ्चमा बोल्‍न डराउँदैनथिए। अब हामी तिनका जन्मजात क्षमता, वरदान, बुद्धिमत्ता, सक्षमता, साथै तिनले आफ्नो जीवनभर सिकेको ज्ञानबारे कुरा गरौँ। तिनी बोल्नमा सिपालु थिए भन्‍ने तथ्यको अर्थ के हो? तिनले आफूलाई कुन तरिकाले प्रकट र प्रस्तुत गर्थे? तिनलाई ठूला-ठूला सिद्धान्तहरूका बारेमा बकबक गर्न मन पर्थ्यो; तिनी निरन्तर गहन आत्मिक धर्मसिद्धान्त, प्रतिपादित सिद्धान्त र ज्ञान, र मानिसहरूले प्रायजसो उल्लेख गर्ने तिनका प्रसिद्ध लेख र भनाइहरूका बारेमा कुरा गर्थे। पावलका शब्दहरूलाई सारांशीकृत गर्ने एउटा शब्द के हो? (खोक्रो।) के खोक्रा शब्दहरू मानिसहरूका लागि रचनात्मक हुन्छन्? जब तिनीहरूले ती शब्दहरू सुन्छन्, तब तिनीहरूले उत्साहित भएको महसुस गर्छन्, तर केही समयपछि तिनीहरूको उत्साह हराउँछ। पावलले बताएका कुराहरू अस्पष्ट र भ्रामक थिए, जुन कुराहरूलाई वास्तवमा ठोस शब्‍दहरूमा व्यक्त गर्न सकिँदैन। तिनले बताएका प्रतिपादित सिद्धान्तहरूमा, तैँले अभ्यास गर्ने कुनै मार्ग, वा अभ्यास गर्ने दिशा पाउन सक्दैनस्; तैँले वास्तविक जीवनमा सही रूपमा लागू गर्न सक्‍ने कुनै पनि कुरा भेटाउन सक्दैनस्—चाहे प्रतिपादित सिद्धान्तहरू होऊन् वा आधारहरू, कुनै पनि वास्तविक जीवनमा लागू हुँदैनन्। त्यसकारण त म भन्छु, तिनले बताएका धार्मिक सिद्धान्तहरू र आत्मिक धर्मसिद्धान्तहरू खोक्रा, अव्यवहारिक शब्द थिए। यी कुराहरूबारे कुरा गर्नुको पछाडि पावलको लक्ष्य के थियो? कतिपय मानिसहरू भन्छन्, “तिनले सधैँ यी कुराहरूका बारेमा बोल्थे किनभने तिनले अझ धेरै मानिसहरूको मन जित्‍न चाहन्थे, र तिनीहरूले आफूलाई आदरभावले हेरून् र आदर्श मानून् भन्‍ने चाहन्थे। तिनले प्रभु येशूको स्थान लिन र धेरै मानिसहरू प्राप्त गर्न चाहन्थे। यदि तिनले धेरै मानिसहरू प्राप्त गरेका भए, के तिनी आशिषित हुनेथिएनन् र?” के आज हामीले कुरा गर्न चाहेको विषय यही हो? (अहँ, होइन।) जसलाई काँटछाँट गरिएको छैन, न्याय गरिएको वा सजाय दिइएको छैन, जसले परीक्षा वा शोधन भोगेको छैन, जोसँग तिनका जस्ता वरदानहरू छन्, र ख्रीष्टविरोधीको प्रकृति सार छ, त्यस्तो व्यक्तिले यसरी धाक लगाउनु र यस्तो व्यवहार देखाउनु अत्यन्तै सामान्य कुरा हो, त्यसकारण हामी यस विषयको गहिराइमा पुग्‍नेछैनौँ। हामी के कुराको गहिराइमा पुग्‍नेछौँ त? तिनको यस समस्याको सार, तिनले यी कार्यहरू गर्नु पछाडिको मूल कारण र प्रेरणा, र के कुराले तिनलाई यस्तो कार्य गर्न उत्प्रेरित गर्‍यो भन्‍ने कुरामा। आज मानिसहरूले तिनले बोलेका यी सबै कुराहरूलाई धर्मसिद्धान्त, प्रतिपादित सिद्धान्त, धर्मशास्त्रीय ज्ञान, जन्मजात वरदान, वा कामकुराहरूबारे तिनको आफ्नै व्याख्या माने पनि, आम रूपमा भन्‍नुपर्दा, पावलको सबैभन्दा ठूलो समस्या के थियो भने, तिनले मानव इच्छाबाट आउने कुराहरूलाई सत्यताका रूपमा लिन्थे। त्यसैकारण तिनमा मानिसहरूको मन जित्‍न र तिनीहरूलाई सिकाउनका लागि यी धर्मशास्त्रीय सिद्धान्तहरू निर्णायक, निर्भिक र खुला रूपमा प्रयोग गर्ने आँट थियो। समस्याको सार यही हो। के यो गम्भीर समस्या हो? (हजुर, हो।) तिनले के-कस्ता कुराहरूलाई सत्यताका रूपमा लिएका थिए? तिनले जन्‍मजात पाएका वरदानहरू, साथै तिनले जीवनभर सिकेका ज्ञान र धर्मशास्त्रीय सिद्धान्तहरूलाई। तिनले धर्मशास्त्रीय सिद्धान्तहरू शिक्षकहरूबाट, धर्मशास्त्रहरू पढेर सिकेका थिए, र तिनले बुझेका र कल्पना गरेका कुराहरूबाट पनि ती उत्पन्‍न भएका थिए। तिनले आफ्नो मानवीय बुझाइबाट आएका धारणा र कल्पनाहरूलाई सत्यताका रूपमा लिएका थिए, तर यो सबैभन्दा गम्भीर समस्या थिएन, योभन्दा अझ ठूलो एउटा समस्या थियो। तिनले ती कुराहरूलाई सत्यताका रूपमा लिएका थिए, तर के तिनले त्यो बेला ती कुराहरू सत्यता हुन् भनेर सोचेका थिए? के तिनले सत्यता के हो भनेर बुझेका थिए? (अहँ, थिएनन्।) त्यसोभए तिनले ती कुराहरूलाई केका रूपमा लिएका थिए त? (जीवनका रूपमा।) तिनले ती सबै कुराहरूलाई जीवनका रूपमा लिएका थिए। तिनले जति धेरै प्रवचनहरू प्रचार गर्न सकियो, वा ती जति धेरै उच्च छन्, आफ्नो जीवन त्यति नै महान् हुनेछ भन्‍ने सोच्थे। तिनले ती कुराहरूलाई जीवनका रूपमा लिएका थिए। के यो गम्भीर मामला हो? (हो, यो गम्भीर मामला हो।) यसले के असर पारेको थियो? (यसले तिनले पछ्याएको मार्गलाई असर पारेको थियो।) यो यसको एउटा पाटो हो। अरू के? (तिनले यी कुराहरू प्राप्त गर्नाले मुक्ति पाइनेछ र तिनलाई स्वर्गको राज्यमा प्रवेश प्राप्त दिइनेछ भन्‍ने सोचेका थिए।) यो अझै पनि आशिष् प्राप्त गर्नुसँग नै सम्बन्धित छ; तिनलाई तिनको जीवन जति महान् हुन्छ, स्वर्गको राज्यमा प्रवेश गर्ने र स्वर्ग आरोहण गर्ने तिनको सम्भावना त्यति नै ठूलो हुन्छ भन्‍ने लाग्थ्यो। “स्वर्ग आरोहण गर्नु” लाई अरू कसरी भन्‍न सकिन्छ? (परमेश्‍वरसँगै शासन गर्नु र शक्ति चलाउनु।) स्वर्गको राज्यमा प्रवेश गर्नु पछाडिको तिनको उद्देश्य परमेश्‍वरसँगै शासन गर्नु र शक्ति चलाउनु थियो, तर यो तिनको अन्तिम लक्ष्य थिएन, तिनको अर्को पनि एउटा लक्ष्य थियो। तिनले यसबारे कुरा गरेका छन्। तिनले यसलाई कसरी भने? (“किनकि मेरा लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्‍पी १:२१)।) तिनले तिनका लागि जिउनु ख्रीष्ट हो, र मर्नु प्राप्ति हो भने। यसको अर्थ के हो? तिनी मरेपछि परमेश्‍वरमा परिणत हुनेछन् भन्‍ने हो? तिनको महत्त्वाकाङ्क्षाको कुनै सीमा छैन! तिनको समस्या अत्यन्तै गम्भीर छ! त्यसोभए, के हामीले पावलको कुरालाई चिरफार गर्नु गलत हो त? पटक्‍कै होइन। तिनले आफ्‍ना वरदानहरू र आफूले सिकेको ज्ञानलाई जीवनका रूपमा कहिल्यै लिनु हुँदैनथियो। यो तिनको तेस्रो ठूलो पाप हो। तैँले यी तीन पापहरूमध्ये जुनसुकैमा पावलको प्रकृति सार देख्‍न सक्छस्। तिनको प्रकृति सारका विशेषताहरू प्रत्येक पापमा खुलासा गरिएका छन्; कुनै पनि कुरा लुकेको वा छुटेको छैन। ती सबैमा तिनको प्रकृति सारको प्रतिनिधित्व छ।

यसपछि, हामी पावललाई सबैभन्दा बढी प्रतिनिधित्व गर्ने उसका सबैभन्दा महत्त्वपूर्ण र गम्भीर समस्याहरूलाई हेर्नेछौँ। पावल आफूले लेखेका पत्रहरूमा प्रायजसो के-कस्ता शब्दहरू प्रयोग गर्थ्यो? जाओ र बाइबलको मूल पाठले के भन्छ, हेर, अनि हामी त्यसलाई विश्लेषण र चिरफार गर्नेछौँ, उसको मनमा वास्तवमा के कुरा थियो, र परमेश्‍वर ऊदेखि किन घिनाउनुभयो र उहाँले उसलाई किन घृणा गर्नुभयो भन्‍ने कुरा हेर्नेछौँ। प्रारम्भिक मण्डलीहरूको कामका लागि प्रसिद्ध र निर्णायक रहेका पावलजस्तो व्यक्तिले कसरी दण्ड पायो? परमेश्‍वरले आफ्‍नो मनमा पावललाई कसरी मूल्याङ्कन गर्नुभयो? परमेश्‍वरले उसलाई कसरी हेर्नुभयो? परमेश्‍वरले किन उसलाई यसरी मूल्याङ्कन गर्नुभयो, र त्यस्तो फैसला गर्नुभयो? परमेश्‍वरले अन्ततः पावललाई कुन आधारमा चित्रण गर्नुभयो र उसको परिणाम निर्धारण गर्नुभयो? यी सबै कुरालाई सूचीबद्ध गर ताकि मानिसहरूले कसरी उसले परमेश्‍वरको प्रतिरोध गऱ्यो भन्‍ने कुराका तथ्यहरू देख्‍न सकून्, र उसलाई गलत रूपमा दोषी ठहराइएको थियो भन्‍ने नसोचून्। जब मानिसहरू सत्यता बुझ्दैनन्, तब तिनीहरूले बाहिरी रूपका आधारमा मानिसहरूलाई परिभाषित गर्ने सम्‍भावना सबैभन्दा बढी हुन्छ। मानिसहरूले अरूलाई बाहिरी रूपअनुसार परिभाषित गर्ने आधार के हो? यसको एउटा भाग परम्परागत संस्कृति र सामाजिक शिक्षाहरू हो। अर्को भाग भनेको घरबाट दिइने शिक्षा, स्पष्ट विचार र अवधारणाहरू, अनि सही र गलतसम्‍बन्धी विचार र अवधारणाहरू हो। अझै अर्को भाग भनेको विद्यालयमा दिइने शिक्षा हो। यी सब कुराहरू मिलेर पूर्णतः शैतानी शिक्षा प्रणाली बनेको हुन्छ। शैतानले मानिसहरूमा यी कुराहरू हालिदिनुको परिणाम के हो भने, मानिसहरू आफ्‍ना धारणा र प्राथमिकताहरूअनुसार यो राम्रो, त्यो नराम्रो, यो सही, र त्यो गलत भनेर चित्रण गर्छन्। मानिसहरूमा हुने यी सबै चित्रणहरूको आधार के हो? वास्तवमा, ती कुराहरू शैतानी सिद्धान्त र दर्शनहरूमा आधारित छन्; मानिसहरूसँग हुने यी आधारहरू परमेश्‍वर वा सत्यताबाट आएका हुँदै होइनन्। त्यसैले त भ्रष्ट मानिसहरूले कुनै व्यक्ति वा घटनालाई जसरी चित्रण गरे पनि तिनीहरू गलत नै हुन्छन्—सत्यतासँग यसको कुनै सम्बन्ध हुँदैन, र यो परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुँदैन; परमेश्‍वर वा उहाँका वचनहरूसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्‍वर आफ्नो स्वभाव र सारअनुसार मानिसहरू र घटनाहरूका बारेमा फैसला गर्नुहुन्छ। परमेश्‍वरको स्वभाव र सार के हो? सत्यता हो। सत्यता भनेको सबै सकारात्मक कुराहरूको अभिव्यक्ति हो, र सबै सकारात्मक कुराहरूको वास्तविकता हो। परमेश्‍वर अस्तित्वमा रहेका सबै कुरा, र मानिसहरूको सम्पर्कमा आउने सबै मानिस, घटना, र कामकुराहरूका बारेमा सत्यताअनुसार फैसला गर्नुहुन्छ। परमेश्‍वर मानिसहरूको प्रकृति सार, तिनीहरूका कार्यलाई के कुराले उत्प्रेरित गर्छ भन्‍ने कुरा, तिनीहरू हिँडिरहेको मार्ग, र सकारात्मक कुराहरू र सत्यताप्रति तिनीहरूको मनोवृत्तिका आधारमा तिनीहरूको फैसला गर्नुहुन्छ। परमेश्‍वरका निष्कर्षहरूको आधार यही हो। सबै घटना र कामकुराबारे परमेश्‍वरको फैसला सत्यतामा आधारित हुन्छ। शैतानले केका आधारमा सबै घटना र कामकुराहरूलाई चित्रण गर्छ? (त्यसको आफ्नै तर्कका आधारमा।) शैतानी दर्शन र तर्क, जुन सत्यताको ठिक विपरीत हुन्छ। सारा मानवतालाई शैतानले भ्रष्ट पारेको छ। मानिसहरूसँग सत्यता छैन; तिनीहरू शैतानको प्रतिनिधित्व गर्छन् र तिनीहरू त्यसको मूर्त रूप हुन्। तिनीहरू सबै कुरालाई शैतानी दर्शन र तर्कअनुसार चित्रण गर्छन्। तसर्थ, तिनीहरू कामकुराहरूलाई चित्रण गर्दा के निष्कर्ष निकाल्छन् त? सत्यतासँग ठ्याक्कै बाझिने, अनि सत्यताविपरित निष्कर्षहरू निकाल्छन्। के तिमीहरूले पावलले आफ्ना पत्रहरूमा धेरैजसो प्रयोग गर्ने शब्दहरू भेट्यौ? पढ त। (“पावललाई परमेश्‍वरको इच्छामार्फत येशू ख्रीष्टको प्रेरित हुन खटाइयो” (१ कोरिन्थी १:१)।) देख्यौ? पावलले परमेश्‍वर र ख्रीष्टलाई यसरी श्रेणीबद्ध गरेको छ: “पावललाई परमेश्‍वरको इच्छामार्फत येशू ख्रीष्टको प्रेरित हुन खटाइयो।” यस श्रेणीमा पावल कहाँ छ? (तेस्रो स्थानमा।) पावलको मनमा, नम्बर एक को हो? (परमेश्‍वर।) अनि नम्बर दुई? (प्रभु येशू।) येशू ख्रीष्‍ट। तेस्रो को हो? (पावल स्वयम्।) ऊ आफै। “पावललाई परमेश्‍वरको इच्छामार्फत येशू ख्रीष्टको प्रेरित हुन खटाइयो।” पावल प्रायः यो वाक्यांश प्रयोग गर्थ्यो, र यो गहन अर्थ बोकेको वाक्यांश हो। सर्वप्रथम त, पावल प्रभु येशू ख्रीष्टको प्रेरित हो भन्‍ने कुरा हामीलाई थाहा छ। त्यसोभए, पावलको दृष्टिकोणअनुसार, प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ? उहाँ मानिसको पुत्र हुनुहुन्छ, र स्वर्गमा हुनुहुने परमेश्‍वरपछिको दोस्रो श्रेणीमा हुनुहुन्छ। पावलले प्रभु येशू ख्रीष्टलाई मालिक भने पनि वा प्रभु भने पनि, उसको दृष्टिकोणमा, पृथ्वीमा आउनुभएका ख्रीष्ट परमेश्‍वर हुनुहुन्‍नथ्यो, बरु मानिसहरूलाई सिकाउन र आफ्‍नो पछि लगाउन सक्‍ने व्यक्ति हुनुहुन्थ्यो। यस्ता व्यक्तिको प्रेरितका रूपमा पावलको प्रकार्य के थियो? सुसमाचार प्रचार गर्नु, मण्डलीहरू भ्रमण गर्नु, प्रवचनहरू प्रचार गर्नु, र पत्रहरू लेख्‍नु। ऊ आफूले प्रभु येशू ख्रीष्टको तर्फबाट यी कुरा गरिरहेको विश्‍वास गर्थ्यो। आफ्नो हृदयमा, ऊ सोच्थ्यो, “म तपाईँ जान नसक्‍ने ठाउँमा गएर तपाईँलाई सहयोग गर्नेछु, र तपाईँ जान नचाहने ठाउँमा गएर म तपाईँको तर्फबाट गएर हेर्नेछु।” प्रेरितबारे पावलको अवधारणा यही थियो। उसको मनमा रहेको श्रेणीअनुसार ऊ र प्रभु येशू दुवै साधारण मानिसहरू थिए। ऊ आफूलाई र प्रभु येशू ख्रीष्टलाई समान, मानव देख्थ्यो। उसको मनमा, उसको र उहाँको स्थानबीच कुनै आधारभूत भिन्‍नता थिएन, न उसको र उहाँको पहिचानमा नै कुनै भिन्‍नता थियो, झन् उसको र उहाँको सेवकाइबीच भिन्‍नता हुनु त परको कुरा थियो। उसको र उहाँको नाम, उमेर, पारिवारिक परिस्थिति र पृष्ठभूमि मात्र फरक थिए, र ऊ र उहाँसँग फरक-फरक बाहिरी वरदान र ज्ञान थियो। पावलको मनमा, ऊ हरेक हिसाबले प्रभु येशू ख्रीष्टजस्तै थियो, र उसलाई पनि मानिसको पुत्र भन्‍न सकिन्थ्यो। ऊ प्रभु येशू ख्रीष्टभन्दा पछिको श्रेणीमा हुनुको एउटै कारण भनेको ऊ प्रभु येशूको प्रेरित थियो; ऊ प्रभु येशू ख्रीष्टको शक्ति प्रयोग गर्थ्यो, र उसलाई प्रभु येशू ख्रीष्टले मण्डलीहरू भ्रमण गर्न र मण्डलीको काम गर्न पठाउनुहुन्थ्यो। पावल प्रेरितका रूपमा आफ्नो पद र पहिचान यही हो भन्‍ने विश्‍वास गर्थ्यो—उसले यसलाई यसरी नै अर्थ्याएको थियो। साथै, “पावललाई … येशू ख्रीष्टको प्रेरित हुन खटाइयो” भन्‍ने वाक्यांशमा भएको छैटौँ शब्‍द “खटाइयो” हो। यस शब्दबाट हामी पावलको मानसिकता देख्‍न सक्छौँ। उसले किन “परमेश्‍वरको इच्छामार्फत … खटाइयो” भन्‍ने तीनवटा शब्दहरू प्रयोग गऱ्यो त? उसलाई प्रभु येशू ख्रीष्टले आफूलाई उहाँको प्रेरित हुन बोलाउनुभएको हो भन्‍ने लागेको थिएन; ऊ सोच्थ्यो, “प्रभु येशू ख्रीष्टसँग मलाई कुनै पनि कार्य गर्न आदेश दिने शक्ति छैन। म उहाँले आज्ञा गर्नुभएअनुसार गरिरहेको छैनँ; मैले उहाँका लागि केही गरिरहेको छैनँ। बरु, म स्वर्गमा हुनुहुने परमेश्‍वरको इच्छामार्फत यी कुराहरू गरिरहेको छु। म प्रभु येशू ख्रीष्टजस्तै छु।” यसले अर्को कुरालाई सङ्केत गर्छ—पावल प्रभु येशू ख्रीष्ट ठिक आफूजस्तै मानिसको पुत्र हुनुहुन्छ भन्‍ने सोच्थ्यो। “परमेश्‍वरको इच्छामार्फत … खटाइयो” भन्‍ने शब्‍दहरूले पावल आफ्नो हृदयमा कसरी प्रभु येशू ख्रीष्टको पहिचानलाई इन्कार र शङ्का गर्थ्यो भन्‍ने कुरा प्रकट गर्छन्। पावलले आफू परमेश्‍वरको इच्छाद्वारा प्रभु येशू ख्रीष्टको प्रेरित भएको छु, परमेश्‍वरले उसलाई प्रेरित बन्‍न भन्‍नुभएको हो, उसलाई परमेश्‍वरले पूर्वनियोजित र स्थापित गर्नुभएको हो, र परमेश्‍वरले उसलाई बोलाउनुभएको र इच्छा गर्नुभएको हुनाले ऊ प्रभु येशू ख्रीष्टको प्रेरित बनेको हो भनेर भन्थ्यो। पावलको मनमा, ऊ र प्रभु येशू ख्रीष्टबीचको सम्बन्ध यही थियो। तर, यो यसको सबैभन्दा खराब पक्ष पनि होइन। सबैभन्दा खराब पक्ष के हो? पावलले ऊ प्रभु येशू ख्रीष्टको इच्छाद्वारा नभई परमेश्‍वरको इच्छाद्वारा प्रभु येशू ख्रीष्टको प्रेरित भएको हो, प्रभु येशूले उसलाई बोलाउनुभएको होइन, बरु स्वर्गमा हुनुहुने परमेश्‍वरले उसलाई त्यसो गर्न लगाउनुभएको हो भन्‍ने सोच्थ्यो। ऊ आफूलाई प्रभु येशू ख्रीष्टको प्रेरित बनाउने शक्ति वा योग्यता कसैसँग छैन, स्वर्गमा हुनुहुने परमेश्‍वरसँग मात्र त्यो शक्ति छ, र स्वर्गमा हुनुहुने परमेश्‍वरले नै उसलाई सिधै मार्गदर्शन गरिरहनुभएको छ भन्‍ने सोच्थ्यो। त्यसोभए, यसले के सङ्केत गर्छ? पावल आफ्‍नो हृदयभित्र स्वर्गमा हुनुहुने परमेश्‍वर एक नम्बरमा हुनुहुन्छ, र ऊ आफै दोस्रो नम्बरमा छ भन्‍ने विश्‍वास गर्थ्यो। त्यसोभए उसले प्रभु येशूलाई कहाँ राख्थ्यो त? (आफ्नै स्थानमा।) समस्या यही नै हो। ऊ आफ्नो ओठले प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भनी घोषणा त गर्थ्यो, तर ख्रीष्टको सार परमेश्‍वरकै सार हो भनेर पहिचान गर्दैनथ्यो; ऊ ख्रीष्ट र परमेश्‍वरबीचको सम्बन्ध बुझ्दैनथ्यो। यही बुझाइको कमीकै कारण यस्तो गम्भीर समस्या पैदा भएको थियो। कुन हिसाबले यो गम्भीर थियो? (उसले प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गरेन। उसले प्रभु येशूलाई इन्कार गर्‍यो।) हो, त्यो अत्यन्तै गम्भीर कुरा हो। प्रभु येशू ख्रीष्ट देह बन्‍नुभएको परमेश्‍वर हुनुहुन्छ, प्रभु येशू ख्रीष्ट स्वर्गबाट पृथ्वीमा आउनुहुँदा परमेश्‍वरको देह हुनुहुन्थ्यो, र प्रभु येशू परमेश्‍वरको देहधारी शरीर हुनुहुन्थ्यो भन्‍ने कुरालाई उसले इन्कार्‍यो। के यसले पावलले पृथ्वीमा आउनुभएको परमेश्‍वरको अस्तित्वलाई इन्कार गरेको सङ्केत गर्दैन र? (हो, गर्छ।) यदि ऊ पृथ्वीमा आउनुभएको परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्थ्यो भने, के उसले प्रभु येशूका वचनहरू मान्‍न सक्थ्यो? (अहँ, उसले सक्दैनथ्यो।) यदि उसले उहाँका वचनहरू मान्दैनथ्यो भने, के ती वचनलाई स्वीकार गर्न सक्थ्यो? (अहँ, उसले सक्दैनथ्यो।) उसले प्रभु येशू ख्रीष्टका वचनहरू, शिक्षाहरू, वा पहिचानलाई स्वीकार गर्थेन भने, के उसले प्रभु येशू ख्रीष्टको काम स्वीकार गर्न सक्थ्यो? (अहँ, उसले सक्दैनथ्यो।) ऊ प्रभु येशू ख्रीष्टले गरेको काम, वा प्रभु येशू ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यलाई स्वीकार गर्दैनथ्यो, तैपनि यो सबैभन्दा खराब पक्ष थिएन। सबैभन्दा खराब पक्ष के थियो? दुई हजार वर्षपहिले, प्रभु येशू सबैभन्दा ठूलो काम गर्न पृथ्वीमा आउनुभयो—अनुग्रहको युगको छुटकाराको काम, जहाँ उहाँ देहधारण गरी पापी देहको रूप बन्‍नुभयो, र सारा मानवजातिका लागि पापबलिका रूपमा क्रूसमा टाँगिनुभयो। के यो ठूलो काम थियो? (हो, थियो।) यो सम्पूर्ण मानवजातिलाई छुटकारा दिने काम थियो, र यो परमेश्‍वर आफैले गरेको काम थियो, तैपनि पावलले हठपूर्वक यसलाई इन्कार गर्‍यो। प्रभु येशूले गरेको छुटकाराको काम परमेश्‍वर स्वयम्‌ले गर्नुभएको थियो भन्‍ने कुरालाई उसले इन्कार गर्‍यो, र यो कुरा परमेश्‍वरले छुटकाराको काम पूरा गरिसक्‍नुभएको छ भन्‍ने तथ्यलाई इन्कार गर्नु थियो। के यो गम्भीर समस्या हो? यो अत्यन्तै गम्भीर समस्या हो! पावलले प्रभु येशू ख्रीष्टको क्रूसीकरणको तथ्यलाई बुझ्न नखोजेको मात्र होइन, यसलाई स्वीकार पनि गरेन, र यसलाई स्वीकार नगर्नु भनेको इन्कार गर्नु हो। उसले क्रूसमा टाँगिएर सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्‍वर नै हुनुहुन्थ्यो भन्‍ने कुरा स्वीकार गरेन, न त परमेश्‍वर सम्पूर्ण मानवजातिका लागि पापबलि बन्‍नुभयो भन्‍ने कुरा नै स्वीकार गर्‍यो। यसले के जनाउँछ भने, परमेश्‍वरले आफ्नो काम गर्नुभएपछि सारा मानवजातिले छुटकारा पाए, वा तिनीहरूको पाप क्षमा गरियो भनेर उसले स्वीकार गरेन। त्यस सँगसँगै, ऊ आफ्‍ना पापहरू पनि क्षमा गरिएका छैनन् भन्‍ने सोच्थ्यो। प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभयो भन्‍ने तथ्यलाई उसले स्वीकार गरेन। उसको दृष्टिकोणमा त, ती सबै कुरा मेटिएका थिए। यो नै सबैभन्दा गम्भीर समस्या हो। भर्खरै, मैले विगत दुई हजार वर्षको अवधिका सबैभन्दा ठूलो ख्रीष्टविरोधी पावल नै थियो भनेर उल्लेख गरेँ; यो तथ्य प्रकट भइसकेको छ। यदि यी तथ्यहरू बाइबलमा अभिलेख नगरिएका भए, र पावल परमेश्‍वरको अवज्ञा गर्थ्यो र ऊ ख्रीष्टविरोधी थियो भनेर परमेश्‍वरले भन्‍नुभएको भए, के मानिसहरूले यो कुरा विश्‍वास गर्नेथिए त? तिनीहरूले पक्‍कै पनि गर्नेथिएनन्। धन्य बाइबलले पावलका पत्रहरूको अभिलेख राख्यो, र ती पत्रहरूमा तथ्यगत प्रमाण छ; नत्र त, मैले भनिरहेका कुराहरूलाई समर्थन गर्न केही पनि हुनेथिएन, र तिमीहरूले यो कुरा स्वीकार गर्नेथिएनौ होला। अब, हामीले पावलका वचनहरू निकालेर पढेर हेर्दा, पावल प्रभु येशूले भनेका सबै कुराहरूलाई कसरी हेर्थ्यो त? ऊ प्रभु येशूले भनेका कुराहरू उसका आफ्नै धार्मिक धर्मसिद्धान्तहरूमध्ये एउटाको पनि बराबर छैनन् भन्‍ने सोच्थ्यो। त्यसकारण, प्रभु येशूले यो संसार छोडेर जानुभएपछि, पावलले सुसमाचार फैलाएको, काम गरेको, प्रचार गरेको, र मण्डलीहरूको गोठालो गरेको भए पनि, उसले कहिल्यै प्रभु येशूका वचनहरू प्रचार गरेन, झन् ती वचनहरू अभ्यास वा अनुभव गर्नु त परको कुरा हो। बरु, उसले पुरानो करारसम्‍बन्धी आफ्नै बुझाइ प्रचार गर्‍यो, जुन अप्रचलित र रित्ता वचनहरू थिए। पछिल्ला दुई हजार वर्षमा, प्रभुमा विश्‍वास गर्नेहरूले बाइबलअनुसार नै विश्‍वास गर्ने गर्छन्, र तिनीहरूले स्वीकार गर्ने सबै कुरा पावलका खोक्रा सिद्धान्तहरू हुन्। फलस्वरूप, मानिसहरू ऊद्वारा दुई हजार वर्षदेखि अन्धो बनाइएका छन्। यदि तैँले आज धार्मिक मानिसहरूको एउटा समूहलाई पावल गलत थियो भनेर भनिस् भने, तिनीहरूले विरोध गर्नेछन् र त्यो स्वीकार गर्नेछैनन्, किनभने तिनीहरू सबैले पावललाई सम्‍मान गर्छन्। पावल तिनीहरूको आदर्श र संस्थापक पिता हो, र तिनीहरू पावलका कर्तव्यपरायण पुत्र र सन्तान हुन्। तिनीहरू कुन हदसम्म बहकाइएका छन्? तिनीहरू परमेश्‍वरको विरोधमा पावलसँगै पहिल्यै उभिरहेका छन्; तिनीहरूको दृष्टिकोण, प्रकृति सार र पछ्याइको विधि पावलको जस्तै छ। पावलले तिनीहरूलाई पूर्ण रूपमा आफूमा समेटेका छन्। पावलको चौथो मुख्य पाप यही हो। पावलले प्रभु येशू ख्रीष्टको पहिचानलाई इन्कार गर्‍यो, र व्यवस्थाको युगपछि अनुग्रहको युगमा परमेश्‍वरले गरेको कामलाई इन्कार गर्‍यो। सबैभन्दा गम्भीर कुरा यही हो। अर्को गम्भीर कुरा के हो भने, उसले आफूलाई प्रभु येशू ख्रीष्टकै स्तरमा राखेको थियो। पावलले आफू जिएको युगमा प्रभु येशू ख्रीष्टलाई भेट्यो तर उहाँलाई परमेश्‍वरका रूपमा हेरेन;बरु, उसले प्रभु येशू ख्रीष्टलाई आम व्यक्तिका रूपमा लियो, मानौँ उहाँ मानवजातिको अर्को सदस्य मात्रै हुनुहुन्छ; भ्रष्ट मानिसहरूको जस्तै प्रकृति सार भएको व्यक्ति हुनुहुन्छ। पावलले कुनै पनि हिसाबले प्रभु येशूलाई ख्रीष्टका रूपमा व्यवहार गरेन, झन् उहाँलाई परमेश्‍वरका रूपमा व्यवहार गर्नु त परको कुरा हो। यो अत्यन्तै गम्भीर कुरा हो। त्यसोभए पावलले किन यसो गर्‍यो? (उसले देहधारी परमेश्‍वरसँग परमेश्‍वरको सार छ भन्‍ने कुरा पहिचान गरेन, त्यसैले प्रभु येशू ख्रीष्टलाई परमेश्‍वरका रूपमा व्यवहार गरेन।) (उसले प्रभु येशूका वचनहरू सत्यता हुन् भनी बुझेन, न त प्रभु येशू ख्रीष्ट सत्यताको मूर्त रूप हुनुहुन्छ भनेर नै बुझ्यो।) (बाहिरी रूपमा, पावल आफूले प्रभु येशूमा विश्‍वास गर्छु भनी दाबी गर्थ्यो, तर वास्तवमा स्वर्गका अस्पष्ट परमेश्‍वरलाई विश्‍वास गर्थ्यो।) (ऊ सत्यता खोजी गर्दैनथ्यो, त्यसैले ऊ ख्रीष्ट नै सत्य र जीवन हुनुहुन्छ भन्‍ने कुरा बुझ्‍न सक्दैनथ्यो।) भन्दै जाऊ। (पावलले आफ्ना लागि जिउनु भनेको ख्रीष्ट हो भनी भनेको थियो। ऊ परमेश्‍वर बनेर प्रभु येशूलाई प्रतिस्थापित गर्न चाहन्थ्यो।) तिमीहरूले भनेका सबै कुरा तथ्यहरूसँग मिल्छन्। पावलले आफूलाई प्रकट गरेको प्रत्येक तरिका, र उसका प्रत्येक पापहरू, पहिलेका भन्दा झनै गम्भीर थिए।

पावलको यो भनाइलाई विश्लेषण गरौँ: “मेरा लागि धार्मिकताको मुकुट राखिएको छ।” यी प्रभावशाली शब्दहरू हुन्। उसले छनौट गरेका शब्दहरूलाई हेर: “धार्मिकताको मुकुट।” सामान्यतया, “मुकुट” शब्द प्रयोग गर्नु आफैमा एकदम साहसी कार्य हो, तर मुकुटलाई परिभाषित गर्न “धार्मिकता” भन्‍ने शब्‍दलाई एउटा विशेषणका रूपमा प्रयोग गर्ने हिम्मत कसले गर्छ? पावलले मात्र यो शब्द प्रयोग गर्ने साहस गर्नेथ्यो। उसले यो शब्द किन प्रयोग गर्‍यो? यो शब्दको स्रोत छ, र यो शब्द होसियारीसाथ चुनिएको थियो; उसका शब्दहरूका पछाडि गहिरा अर्थहरू लुकेका छन्! के-कस्ता अर्थहरू? (उसले यो शब्‍दद्वारा परमेश्‍वरलाई बाध्य पार्ने प्रयास गरिरहेको थियो।) परमेश्‍वरलाई बाध्य पार्न चाहनु यसको एउटा पक्ष हो। उसको अभिप्राय पक्‍कै पनि लेनदेन गर्नु थियो, र यसमा परमेश्‍वरसामु सर्तहरू राख्‍न खोज्ने तत्त्व पनि छ। यसबाहेक, के उसले सधैँ धार्मिकताको यस मुकुटका बारेमा प्रचार गर्नुको पछाडि कुनै उद्देश्य थियो? (ऊ मानिसहरूलाई बहकाउन चाहन्थ्यो, र यदि उसले मुकुट पाएन भने, परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍ने सोच्न लगाउन चाहन्थ्यो।) उसले यसबारे प्रचार गर्नुको पछाडि उक्साउने र बहकाउने गुण छ, र यो कुरा पावलका चाहना र महत्वाकाङ्क्षाहरूसँग सम्‍बन्धित छ। धार्मिकताको मुकुट प्राप्त गर्ने आफ्नो चाहनालाई अन्ततः साकार पार्न र पूरा गर्नका लागि, उसले जताततै त्यसबारे प्रचार गर्ने रणनीति प्रयोग गर्‍यो। आंशिक रूपमा, यी शब्दहरू प्रचार गर्नुपछाडिको तिनको उद्देश्य मानिसहरूलाई उक्साउनु र बहकाउनु थियो; सुन्‍नेहरूमा एउटा निश्‍चित विचार हालिदिनु थियो, अर्थात्, “आफूलाई यति धेरै समर्पण गर्ने, यति धेरै यात्रा गर्ने, र यसरी पछ्याउने मजस्तो व्यक्तिले धार्मिकताको मुकुट प्राप्त गर्न सक्‍नेछ।” यो सुनेपछि, मानिसहरूले पावलजस्तो व्यक्तिले मुकुट पाए भने मात्र परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा स्वतः महसुस गरे। तिनीहरूले पावलले जस्तै पछ्याउने, यात्रा गर्ने, र समर्पित हुने गर्नैपर्छ, तिनीहरूलाई आफूहरूले प्रभु येशूको कुरा सुन्‍नु हुँदैन, र पावल नै मानक हो, ऊ प्रभु हो, र ऊ मानिसहरू हिँड्नुपर्ने दिशा र लक्ष्य हो भन्‍ने लाग्यो। तिनीहरूले के पनि सोचे भने, यदि मानिसहरूले पावल जसरी नै काम गरे भने, तिनीहरूले पनि उसले जस्तै मुकुट, परिणाम र गन्तव्य पाउनेछन्। एक हिसाबले, पावलले मानिसहरूलाई उक्साइरहेको र बहकाइरहेको थियो। अर्को हिसाबमा, उसको एउटा अत्यन्तै दुर्भावनापूर्ण लक्ष्य थियो। आफ्नो हृदयको गहिराइमा, उसले यस्तो सोच्थ्यो, “कदाचित् मैले मुकुट नपाउने परिस्थिति आइपर्यो, र यो मेरो आफ्नै कल्पना र मेरो आफ्नै इच्छा भरिएको सोच मात्र रहेछ भने, यसको अर्थ मलगायत ख्रीष्टमा विश्‍वास गर्ने सबै जना आफ्‍नो आस्थामा गलत रहेछौँ भन्‍ने हुनेछ। यसको मतलब पृथ्वीमा कुनै परमेश्‍वर छैन भन्‍ने हुनेछ, र परमेश्‍वर, म स्वर्गमा रहेको तपाईँको अस्तित्वलाई पनि इन्कार गर्नेछु, र तपाईँले यसबारे केही गर्न सक्‍नुहुनेछैन!” उसको तात्पर्य के थियो भने: “यदि मैले यो मुकुट प्राप्त गरिनँ भने, दाजुभाइ-दिदीबहिनीहरूले तपाईँलाई इन्कार मात्र गर्नेछैनन्, म तपाईँलाई मैले उक्साएका र यी वचनहरू जान्‍ने सबै मानिसहरूलाई प्राप्त गर्न समेत रोक्‍नेछु। म तिनीहरूलाई तपाईँलाई प्राप्त गर्नबाट पनि रोक्‍नेछु, र साथसाथै, म स्वर्गमा हुनुहुने परमेश्‍वरका रूपमा रहेको तपाईँको अस्तित्वलाई इन्कार गर्नेछु। तपाईँ धर्मी हुनुहुन्‍न। यदि म, पावल, मुकुट प्राप्त गर्न सक्दिनँ भने, कसैले पनि प्राप्त गर्नु हुँदैन!” यो पावलको दुर्भावनापूर्ण पक्ष थियो। के यो ख्रीष्टविरोधीको व्यवहार होइन? यो त ख्रीष्टविरोधी, दुष्ट पिशाचको व्यवहार हो: मानिसहरूलाई उक्साउने, बहकाउने र लोभ्याउने, साथै परमेश्‍वरको विरुद्धमा खुल्लमखुल्ला कोलाहल मच्चाउने र उहाँको विरोध गर्ने। आफ्नो हृदयको गहिराइमा, पावल सोच्थ्यो, “यदि मैले मुकुट प्राप्त गरिनँ भने, परमेश्‍वर धर्मी हुनुहुन्‍न। यदि मैले मुकुट प्राप्त गरेँ भने मात्र, त्यो धार्मिकताको मुकुट हो, तब मात्र परमेश्‍वरको धार्मिकता साँच्‍चै धर्मी हुन्छ।” उसको “धार्मिकताको मुकुट” को स्रोत यही नै हो। उसले यसो गरेर के गरिरहेको थियो? उसले परमेश्‍वरलाई पछ्याउनेहरूलाई खुल्लमखुल्ला उक्साइरहेको र बहकाइरहेको थियो। साथसाथै, उसले परमेश्‍वरको विरुद्धमा खुल्लमखुल्ला कोलाहल मच्चाउन र उहाँको विरोध गर्न यी विधिहरू प्रयोग गरिरहेको थियो। अर्को शब्दमा भन्दा, उसको व्यवहार विद्रोहको व्यवहार थियो। यसको प्रकृति कस्तो थियो? सतहमा, पावलले प्रयोग गरेका शब्दहरू शिष्ट र उचित देखिन्छन्, र ती शब्दमा केही गलत नभएजस्तो देखिन्छ—धार्मिकताको मुकुट प्राप्त गर्न र आशिषित हुन कसले परमेश्‍वरमा विश्‍वास गर्दैन र? क्षमता नभएका मानिसहरूले समेत कम्‍तीमा पनि स्वर्गमा पस्‍नका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि तिनीहरूलाई स्वर्गमा सडकहरू बढार्न वा प्रवेशद्वारको चौकीदारी गर्न लगाइयो भने पनि तिनीहरू खुसी हुन्छन्। परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यो अभिप्राय र उद्देश्य राख्‍नुलाई उचित र बुझ्न सकिने मान्‍न सकिन्छ। तर, पावलको उद्देश्य त्यो मात्र थिएन। आफ्‍नो धार्मिकताको मुकुटबारे प्रचार गर्ने कुरामा उसले धेरै मेहनत गर्‍यो, धेरै ऊर्जा लगायो, र धेरै हो-हल्‍ला गर्‍यो। पावलले भनेका कुराहरूले उसको दुर्भावनापूर्ण प्रकृति, साथै उसको अन्तस्करणभित्र रहेका लुकाइएका, अँध्यारा कुराहरूलाई खुलासा गरे। त्यस बेला, पावलले ठूलो नाम कमायो र उसलाई आदर्श मान्‍ने मानिसहरू धेरै थिए। ऊ यी सिद्धान्तहरू र उच्चस्तरीय लाग्‍ने विचारहरू, आफ्‍ना धारणा र कल्पनाहरू, साथै उसले आफ्नो अध्ययनमा सिकेका कुराहरू, र उसले आफ्नो दिमाग प्रयोग गरेर निर्क्योल गरेका कुराहरू प्रचार गर्न जताततै जान्थ्यो। जब पावलले यी कुराहरू जताततै प्रचार गर्‍यो, तब त्यस बेलाका मानिसहरूमा यसले कति ठूलो प्रभाव पार्‍यो होला, र यसले तिनीहरूको हृदयको गहिराइमा कति गम्भीर हानि पुर्‍यायो र त्यसलाई कति विषाक्त पार्‍यो होला? साथै, उसका पत्रहरूबाट यी कुराहरू थाहा पाएका पछिल्‍ला पुस्ताका मानिसहरूमा यसले कति ठूलो प्रभाव पारेको छ? उसका शब्दहरू पढेका मानिसहरूले जतिसुकै लामो समय प्रयास गरे पनि यी कुराहरूबाट आफूलाई मुक्त गर्न सक्दैनन्—तिनीहरू अत्यन्तै गहन रूपमा विषाक्त पारिएका छन्! कति गहन? एउटा घटना नै देखा परेको छ, जसलाई “पावलको प्रभाव” भनिन्छ। पावलको प्रभाव के हो? धर्ममा एउटा घटना छ, जहाँ मानिसहरू पावलका विचार, दृष्टिकोण, तर्कहरू, र उसले प्रकट गरेका भ्रष्ट स्वभावहरूबाट प्रभावित हुन्छन्। यसले विशेषगरी ती मानिसहरूलाई असर गर्छ जसको परिवारले पुस्तौँ पुस्तादेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका छन्—ती परिवारहरू, जसले धेरै दशकदेखि ख्रीष्टलाई पछ्याउँदै आएका छन्। तिनीहरू यसो भन्छन्, “हाम्रो परिवारले पुस्तौँ पुस्तादेखि प्रभुमा विश्‍वास गरेको छ, र सांसारिक प्रचलनहरूलाई पछ्याउँदैन। हामीले आफूलाई अधर्मी संसारबाट टाढा राखेका छौँ, आफ्‍नो परिवार र करियर त्यागेर आफूलाई परमेश्‍वरमा समर्पित गरेका छौँ। हामीले गर्ने सबै कुरा पावलले गरेका कुराहरू जस्तै छन्। यदि हामीले मुकुट प्राप्त गरेनौँ वा स्वर्गमा प्रवेश गरेनौँ भने, परमेश्‍वर आउनुहुँदा हामीले उहाँसँग बहस गर्नुपर्ने हुन्छ।” के मानिसहरूले यस्तो तर्क गर्दैनन् र? (हो, गर्छन्।) र यो प्रचलन एकदमै महत्त्वपूर्ण छ। यो प्रचलन कहाँबाट आयो? (पावलले प्रचार गरेको कुराबाट।) यो त पावलले रोपेको ट्यूमरको घातक परिणाम हो। यदि पावलले मानिसहरूलाई यसरी नउक्साएको भए, र सधैँ “मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” र “मेरा लागि जिउनु ख्रीष्ट हो” भनेर नभनेको भए, इतिहासको त्यो युगको पृष्ठभूमिबिना, अहिले मानिसहरूलाई ती कुराहरूका बारेमा कुनै ज्ञान हुनेथिएन। यदि तिनीहरूको सोच्ने तरिका त्यस्तो भएको भए पनि, तिनीहरूसँग पावलको जस्तो दुस्साहस हुनेथिएन। यो सबै पावलको प्रोत्साहन र उक्साहटको कारण भएको हो। यदि कुनै दिन यी मानिसहरू आशिषित भएनन् भने, यिनीहरूले प्रभु येशूलाई खुल्लमखुल्ला चुनौती दिने साहस गर्नेछन्, र तिनीहरू तेस्रो स्वर्गमा गएर प्रभुसँग यस मामलाबारे विवाद गर्न पनि इच्छुक हुनेछन्। के यो धार्मिक संसारले प्रभु येशूको विरुद्धमा विद्रोह गर्नु होइन र? धार्मिक संसार पावलद्वारा गम्भीर रूपमा प्रभावित भएको छ भन्‍ने कुरा स्पष्ट छ! अब मैले यस बिन्दुसम्‍म कुरा गरिसकेको हुनाले, पावलको पाँचौँ पाप के थियो भनेर तिमीहरूले निष्कर्ष निकाल्‍न सक्छौ, सक्दैनौ त? पावलले उल्‍लेख गरेको “धार्मिकताको मुकुट” को स्रोतलाई सारांशीकृत गर्दा, “धार्मिकता” भन्‍ने शब्दमा ध्यान केन्द्रित हुन्छ। उसले किन “धार्मिकता” भन्‍ने शब्‍द उल्लेख गर्‍यो? पृथ्वीमा, उसले परमेश्‍वरका चुनिएका मानिसहरूले पनि उसले जस्तै सोचून् भनेर तिनीहरूलाई उक्साउन र बहकाउन चाहेको कारण उसले त्यसो गर्‍यो। स्वर्गमा, ऊ यो शब्दद्वारा परमेश्‍वरलाई बाध्य पार्न चाहन्थ्यो, र उहाँको विरुद्धमा कोलाहल मच्चाउन चाहन्थ्यो। पावलको उद्देश्य यही थियो। उसले आफ्नो मुखबाट यो कुरा कहिल्यै ननिकालेको भए पनि, “धार्मिकता” भन्‍ने शब्द नै परमेश्‍वरको विरुद्धमा कोलाहल मच्चाउने उसको उद्देश्य र झुकावलाई पूर्णतः प्रकट गरिसकेको छ। यो खुलस्त भइसकेको थियो; यी सबै तथ्यहरू हुन्। यी तथ्यहरूका आधारमा, के पावलको प्रकृति सारलाई अहङ्कारी, आत्म-धर्मी, छली, र सत्यतालाई प्रेम नगर्ने भनेर मात्र संक्षेप गर्न सकिन्छ त? (सकिँदैन।) यी शब्‍दहरूले यसलाई संक्षेप गर्न सक्दैनन्। मैले यी तथ्य उठाएर र तिनलाई चिरफार, विश्लेषण र चित्रण गरेकाले, तिमीहरूले पावलको प्रकृति सारलाई अझ स्पष्ट र राम्ररी देख्‍न सक्‍नुपर्छ। सारलाई तथ्यहरूका आधारमा विश्लेषण गरेर हासिल गरिने प्रभाव यही हो। जब पावल परमेश्‍वरको विरुद्धमा कोलाहल मच्चाउँथ्यो, तब ऊ निजी रूपमा सानो भावनात्मक क्षण, अलिकति विद्रोही स्वभाव, वा समर्पित हुन नसक्‍ने क्षमताबाट गुज्रिरहेको थिएन। यो भ्रष्ट स्वभाव प्रकट गर्ने औसत समस्या थिएन; बरु, यो त पत्रहरूमार्फत र सार्वजनिक माहोलहरूमा मानिसहरूलाई उक्साउन र बहकाउन सबै प्रकारका विधिहरू खुल्लमखुल्ला प्रयोग गर्ने चरम अवस्थामा पुगेको थियो, ताकि सबै जना परमेश्‍वरको विरोध गर्न र उहाँविरुद्ध कोलाहल मच्चाउन क्रोधित भएर एकसाथ उठून्। पावलले परमेश्‍वरको विरुद्धमा कोलाहल मात्र मच्चाएन, उसले अरू सबैलाई पनि परमेश्‍वरको विरुद्धमा कोलाहल मच्चाउन उक्सायो—ऊ अहङ्कारी मात्र थिएन, दुष्ट दियाबलस पनि थियो! यो पाप यसभन्दा पहिलेको भन्दा अझ बढी गम्भीर छ। हामीले झन्-झन् गम्भीर पापहरूका बारेमा कुरा गर्नु राम्रो हो कि नराम्रो? (राम्रो हो।) यो कसरी राम्रो हो? (किनभने हामीले पावललाई थप खुट्ट्याइरहेका छौँ।) जब तँसँग अझै बढी खुट्ट्याउने क्षमता हुन्छ, तब तैँले पावलका विभिन्‍न प्रकटीकरण, भ्रष्‍टताका प्रकाश, र उसको वास्तविक अनुहारलाई राम्ररी उजागर गर्न र स्पष्ट रूपमा देख्‍न सक्‍नेछस्। के यसो गरेर तिमीहरूले हाम्रो लक्ष्य प्राप्त गरेका हुन्छौ? (अहँ, हुँदैनौँ।) हामीले सारांशीकृत गरेका पावलका सबै प्रकटीकरणहरू, साथै तिनको मुख्य सामग्री, विषयवस्तु, र सारलाई लिएर त्यसलाई आफूसँग जोड्नुपर्छ। जब तिमीहरूले हिँड्ने मार्ग र तिमीहरूको सार पावलको भन्दा कति फरक रहेछ भन्‍ने कुरा स्पष्ट देखेका हुन्छौ, तब तिमीहरूले पूर्ण रूपमा परिणामहरू हासिल गरेका हुनेछौ, र तिमीहरूले पावललाई चिरफार गर्नुपछाडिको हाम्रो लक्ष्य हासिल गरेका हुनेछौ। कतिपयले यसो भन्छन्, “ममा पावलको जस्तो धार्मिकताको मुकुट पछ्याउने कुनै प्रकटीकरणहरू छैनन्।” तेरा प्रकटीकरणहरू र तेरो सार पावलको जस्तो गम्भीर नहोला, तर तेरो सार र उसको सारबीच केही समानता चाहिँ छ। उसमा यस्ता प्रकटीकरणहरू थिए, र तँमा यस्ता स्थितिहरू छन्। पावलका प्रकटीकरणहरूको नाप १० वा १२ थिए भनी भन्‍न सकिन्छ भने, तेरो कति छ त? (मेरो नाप सात वा आठमा छ।) पावल यी कुराहरू सधैँ प्रकट गर्थ्यो, र ऊ सधैँ यी कुराहरूले भरिएको हुन्थ्यो। तैँले यी कुराहरू सधैँ प्रकट नगरे पनि, प्रायजसो प्रकट गर्छस्। तैँले सायद आफ्नो आधा जीवन यी कुराहरू गरेर, अनि यी स्थितिहरूमा जिएर नै बिताउँछस्। विशेषगरी जब परमेश्‍वरले तँलाई परीक्षामा पार्नुहुन्छ, जब परमेश्‍वरको काम तेरा धारणाहरूसँग मिल्दैन, जब उहाँले तँलाई काँटछाँट गर्नुहुन्छ, र जब उहाँले तेरा लागि खडा गर्नुभएका वातावरणहरू तेरा अपेक्षाहरूअनुरूप हुँदैनन्, तब तँमा यस्ता विभिन्‍न प्रकारका स्थितिहरू देखा पर्न सक्छन्; तैँले परमेश्‍वरको विरुद्धमा कोलाहल मच्चाउन र उहाँको विरोध गर्न सक्छस्। त्यस्ता समयहरूमा, पावलले मानिसहरूलाई कसरी उक्सायो र बहकायो भन्‍ने बारेमा हामीले गरेको विश्लेषण तेरा लागि उपयोगी हुन सक्छ। किन? किनभने अहिले, तँलाई पावलका प्रकटीकरणहरू प्रकृतिको हिसाबले कति गम्भीर थिए भन्‍ने कुराबारे तेरो मन सचेत छ; ती भ्रष्ट स्वभावका साधारण प्रकटीकरणहरू थिएनन्, बरु परमेश्‍वरको विरोध गर्ने दियाबलसीय प्रकृति सार थियो। जब तँमा यस्ता स्थितिहरू देखा पर्छन्, तँलाई यो समस्या कति गम्भीर छ भनेर थाहा हुनेछ। त्यसपछि तँ पछि फर्कनुपर्छ, तैँले पश्‍चात्ताप गर्नुपर्छ र तैँले यो गलत स्थितिलाई त्याग्‍नुपर्छ। तँ त्यसबाट टाढा जानुपर्छ, तैँले सत्यताको खोजी गर्नुपर्छ, र परमेश्‍वरप्रति समर्पणको मार्ग खोज्नुपर्छ। मानिसहरूले पछ्याउनुपर्ने साँचो मार्ग, र सृजित प्राणीहरूले पालना गर्नुपर्ने नियम यही हो। यो सङ्गति मानिसहरूका लागि सहयोगी छ।

पावलको अर्को प्रसिद्ध वाक्यांश छ—त्यो के हो? (“किनकि मेरा लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्पी १:२१)।) तिनले प्रभु येशू ख्रीष्टको पहिचानलाई, प्रभु येशू ख्रीष्ट पृथ्वीमा जिइरहनुभएको देहधारी परमेश्‍वर हुनुहुन्थ्यो भन्‍ने कुरालाई, वा प्रभु येशू ख्रीष्ट परमेश्‍वरको मूर्त रूप हुनुहुन्थ्यो भन्‍ने तथ्यलाई स्वीकार गरेनन्। यसको विपरीत, पावलले आफूलाई ख्रीष्टका रूपमा हेर्थे। के त्यो घिनलाग्दो कार्य होइन र? (हो।) त्यो घिनलाग्दो कार्य हो, र यस समस्याको सार अत्यन्तै गम्भीर छ। पावलको मनमा, ख्रीष्ट ठ्याक्कै को हुनुहुन्थ्यो? उहाँको पहिचान के थियो? पावल किन ख्रीष्ट बन्‍न त्यति धेरै मरिहत्ते गर्न सक्थे? यदि पावलको मनमा ख्रीष्ट भ्रष्ट स्वभाव भएका एक साधारण व्यक्ति हुनुहुन्थ्यो, वा कुनै उल्लेखनीय भूमिका नखेल्ने, कुनै शक्ति, कुनै महान् पहिचान, र साधारण मानिसहरूको भन्दा बढि कुनै क्षमता वा सीप नभएका एक महत्त्वहीन व्यक्ति हुनुहुन्थ्यो भने, के पावलले अझै पनि ख्रीष्ट बन्‍न चाहने थिए र? (अहँ, तिनले चाहने थिएनन्।) तिनले पक्‍कै पनि चाहने थिएनन्। तिनले आफूलाई सुशिक्षित ठान्थे, र तिनी साधारण व्यक्ति हुन चाहँदैनथे, तिनी एक महामानव, महान् व्यक्ति हुन चाहन्थे, र अरूलाई उछिन्‍न चाहन्थे—अरू मानिसहरूले नम्र र महत्त्वहीन ठान्‍ने ख्रीष्ट बन्‍न कसरी चाहन सक्थे र? यसलाई ध्यानमा राख्दा, पावलको हृदयमा ख्रीष्टको हैसियत र भूमिका के थियो त? ख्रीष्ट हुनका लागि व्यक्तिसँग कस्तो पहिचान र हैसियत हुनुपर्छ, र उसले कस्तो अख्‍तियार, शक्ति र चालचलन देखाउनुपर्छ? यसले पावलले ख्रीष्ट के हुनुहुन्छ भनेर कल्पना गरेका थिए, र ख्रीष्टका बारेमा तिनले के जान्दथे, अर्थात्, तिनले ख्रीष्टलाई कसरी परिभाषित गरेका थिए भन्‍ने कुरालाई खुलासा गर्दछ। यही कारणले गर्दा पावलसँग ख्रीष्ट बन्‍ने महत्त्वाकाङ्क्षा र चाहना थियो। पावल किन ख्रीष्ट बन्‍न चाहन्थे भन्‍ने कुराको एउटा निश्‍चित कारण छ, र त्यो आंशिक रूपमा तिनका पत्रहरूमा प्रकट हुन्छ। हामी विभिन्‍न मामलाहरूलाई विश्लेषण गरौँ। जब प्रभु येशूले काम गरिरहनुभएको थियो, उहाँले केही त्यस्ता कुराहरू गर्नुभयो जसले ख्रीष्टका रूपमा रहेको उहाँको पहिचानलाई प्रतिनिधित्व गर्थे। यी कुराहरू चिन्‍ह र अवधारणाहरू हुन्, जुन ख्रीष्टको पहिचानसँग छ भनी पावलले देखेका थिए। यी कुराहरू के-के थिए? (चिन्ह र चमत्कारहरूको प्रदर्शन।) ठीक भन्यौ। ती कुराहरू ख्रीष्टले मानिसहरूको रोग निको पार्नु, भूतहरू धपाउनु, अनि चिन्ह, चमत्कार र आश्‍चर्यकर्महरू गर्नु थिए। पावलले प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गरेका भए पनि, उहाँले देखाउनुभएका चिन्ह र चमत्कारहरूकै कारण तिनले त्यसो गरेका थिए। तसर्थ, जब पावलले प्रभु येशूको सुसमाचार प्रचार गरे, तिनले प्रभु येशूले बोल्नुभएका वचनहरू, वा उहाँले प्रचार गर्नुभएका कुराका बारेमा कहिल्यै पनि कुरा गरेनन्। अविश्‍वासी पावलका नजरमा, ख्रीष्टले त्यति धेरै कुरा भन्‍न, त्यति धेरै प्रचार गर्न, त्यति धेरै काम गर्न, र त्यति धेरै मानिसहरूलाई आफ्‍नो पछि लगाउन सक्‍नुभएको तथ्यले, प्रभु येशूको पहिचान र हैसियतलाई निश्‍चित सम्मान प्रदान गरेको थियो; उहाँसँग अपार महिमा र कुलीनता थियो, जसले मानिसहरूको बीच प्रभु येशूको हैसियतलाई निकै महान् र प्रतिष्ठित बनाएको थियो। पावलले देखेको कुरा यही हो। प्रभु येशू ख्रीष्टले काम गर्दा प्रकट र प्रकाश गर्नुभएको कुरा, साथै उहाँको पहिचान र सारबाट पावलले परमेश्‍वरको सार, सत्यता, मार्ग, वा जीवन देखेनन्, न त परमेश्‍वरको प्रेमिलोपन वा बुद्धि नै देखे। पावलले के देखे त? आधुनिक वाक्यांश प्रयोग गरेर भन्दा, तिनले ख्यातिको तमकझमक देखे, र तिनी प्रभु येशूका प्रशंसक बन्‍न चाहन्थे। प्रभु येशूले बोल्नुहुँदा वा काम गर्नुहुँदा, धेरै मानिसहरूले सुने—त्यो कति महिमित कुरा थियो होला! यो पावलले लामो समयदेखि प्रतिक्षा गरेको कुरा थियो, र तिनी यो क्षणको आगमनको लोभ गर्थे। तिनले त्यस दिनको तृष्णा गर्थे जब तिनले प्रभु येशूले जस्तै अनवरत रूपमा प्रचार गर्न सक्‍नेथिए, जसलाई यति धेरै मानिसहरूले आँखामा प्रशंसा र लालसाका साथ निकै ध्यान दिएर हेर्थे अनि उहाँलाई पछ्याउन चाहन्थे। प्रभु येशूको प्रभावशाली चालढालले पावल आश्‍चर्यचकित भएका थिए। वास्तवमा, तिनलाई यस कुराले साँच्चै आश्‍चर्यचकित तुल्याएको थिएन; बरु, तिनलाई मानिसहरूले सम्मान गर्ने, ध्यान दिने, आदर्श मान्‍ने, र उच्‍च ठान्‍ने पहिचान र चालढालको ईर्ष्या गर्थे। तिनलाई यही कुराको ईर्ष्या लागेको थियो। त्यसोभए तिनले यो कसरी हासिल गर्न सक्थे त? तिनले प्रभु येशू ख्रीष्टले यी कुराहरू आफ्नो सार र पहिचानमार्फत हासिल गर्नुभएको हो भन्‍ने विश्‍वास गरेनन्, तर उहाँले त उहाँको पदवी नामका कारण हासिल गर्नुभएको भन्‍ने विश्‍वास गरे। तसर्थ, पावल यस्तो व्यक्ति बन्‍न, र त्यस्तो भूमिका निभाउन लालायित हुन्थे, जहाँ उनले ख्रीष्‍टको नाम बोक्‍न सकून्। पावलले आफूलाई त्यस्तो भूमिकामा ढाल्न धेरै प्रयास गरेका थिए, होइन र? (हो।) तिनले के-कस्ता प्रयासहरू गरे? तिनले जताततै प्रचार गरे, र चमत्कारहरू पनि देखाए। अन्तमा, तिनले आफ्‍फ्ना भित्री चाहना र महत्त्वाकाङ्क्षाहरूलाई सन्तुष्ट पार्ने वाक्यांश प्रयोग गरेर आफूलाई चित्रित गरे। तिनले आफूलाई चित्रित गर्न कुन वाक्यांश प्रयोग गरे? (“किनकि मेरा लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो।”) जिउनु ख्रीष्ट हो। तिनले हासिल गर्न चाहेको मुख्य कुरा यही हो; तिनको मुख्य चाहना ख्रीष्ट हुनु नै थियो। तिनको व्यक्तिगत पछ्याइ र तिनले हिँडेको मार्गसँग यस चाहनाको के सम्बन्ध छ? (तिनले शक्तिलाई श्रद्धा गर्थे, र मानिसहरूले तिनको सम्मान गरून् भन्‍ने चाहन्थे।) यो एउटा सिद्धान्त हो; तिमीहरूले केही तथ्यहरूका बारेमा बोल्नुपर्छ। पावलले ख्रीष्ट बन्‍ने आफ्नो चाहनालाई व्यावहारिक तरिकाले प्रकट गरेका थिए; मैले गरेको तिनको चित्रण तिनले बोलेका एउटै वाक्यांशमा आधारित छैन। तिनका कार्यहरूको शैली, विधि र सिद्धान्तहरूबाट हामी के देख्‍न सक्छौँ भने, तिनले गरेका सबै कुराहरू ख्रीष्ट बन्‍ने तिनको लक्ष्यकै वरिपरि घुम्थे। पावलले यति धेरै कुराहरू भन्‍नु र गर्नुको जड र सार यही हो। पावल ख्रीष्ट बन्‍न चाहन्थे, र यसले तिनको पछ्याइ, जीवन मार्ग र विश्‍वासलाई प्रभावित गरेको थियो। यो प्रभाव कस्ता तरिकाहरूबाट प्रकट भएको थियो? (पावलले आफ्ना सबै काम र प्रचारमा आफ्नै देखावट गर्थे र आफ्नै गवाही दिन्थे।) यो एउटा तरिका हो; पावलले हरेक मोडमा देखावट गर्थे। तिनले कसरी कष्ट भोगेका थिए, कसरी काम गर्थे, र तिनका अभिप्रायहरू के थिए भनेर मानिसहरूलाई स्पष्ट पारे, ताकि मानिसहरूले यो कुरा सुन्दा, तिनीहरूले तिनी पूर्ण रूपमा ख्रीष्टजस्तै देखिन्छन् भन्‍ने सोचून्, र साँच्‍चै तिनलाई ख्रीष्ट भनेर बोलाउन चाहून्। तिनको लक्ष्य त्यही थियो। यदि मानिसहरूले तिनलाई साँच्‍चै ख्रीष्ट भनेर बोलाउँथे त, के तिनले यसलाई इन्कार गर्ने थिए? के तिनले यसलाई अस्वीकार गर्ने थिए? (अहँ, गर्ने थिएनन्।) तिनले पक्‍कै पनि इन्कार गर्ने थिएनन्—तिनी पक्‍कै पनि प्रफुल्लित हुने थिए। तिनको पछ्याइमा यसले पारेको एउटा प्रभाव एक तरिकाले यसरी प्रकट भएको थियो। अरू के-के तरिकाले प्रकट भयो त? (तिनले पत्रहरू लेखे।) हो, तिनले केही पत्रहरू लेखे ताकि ती पछिका युगहरूमा हस्तान्तरण होऊन्। तिनका पत्रहरूमा, काममा, र मण्डलीहरूको रेखदेख गर्ने सम्पूर्ण प्रक्रियाका दौरान, तिनले एक पटक पनि प्रभु येशू ख्रीष्टको नाम उल्लेख गरेनन्, वा प्रभु येशू ख्रीष्टको नाममा कार्यहरू गरेनन्, वा प्रभु येशू ख्रीष्टको नामलाई उच्च पारेनन्। तिनले सधैँ यसरी काम गरिरहनु र बोलिरहनुले के-कस्तो नकारात्मक प्रभाव ल्यायो? प्रभु येशूलाई पछ्याउनेहरूलाई यसले कस्तो प्रभाव पार्‍यो? यसले मानिसहरूलाई प्रभु येशू ख्रीष्टलाई इन्कार गर्ने बनायो, अनि पावलले उहाँको स्थान लिए। तिनी मानिसहरूले यस्तो सोधून् भनेर लालायित हुन्थे, “प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ? मैले उहाँका बारेमा कहिल्यै सुनेको छैनँ। हामी त पावल ख्रीष्टमा विश्‍वास गर्छौँ।” त्यसरी तिनी खुसी हुनेथिए। यो तिनको लक्ष्य थियो, र तिनले पछ्याएको कुराहरूमध्ये एउटा कुरा थियो। त्यो प्रभाव प्रकट भएको एउटा तरिका तिनले काम गर्ने शैली थियो; तिनी खोक्रा विचारहरूका बारेमा बडबड गरिरहन्थे, र मानिसहरूलाई आफ्नो काममा तिनी कति सक्षम र सम्मोहक छन्, तिनले मानिसहरूलाई कति मद्दत गर्छन्, र प्रभु येशू ख्रीष्ट फेरि देखा पर्नुभएझैँ गरी तिनको एक निश्‍चित चालढाल छ भनेर देखाउनका लागि खोक्रा सिद्धान्तहरूका बारेमा अनवरत कुरा गर्थे। त्यो प्रभाव प्रकट हुने अर्को तरिका के थियो भने, तिनले कहिल्यै प्रभु येशू ख्रीष्टलाई उच्च पारेनन्, र तिनले पक्‍कै पनि उहाँको नामलाई उच्च पारेनन्, न त तिनले प्रभु येशू ख्रीष्टका वचन र कामको, वा मानिसहरूले यी कुराहरूबाट कसरी फाइदा उठाए भन्‍ने कुराको गवाही नै दिए। के पावलले मानिसहरूले कसरी पश्‍चात्ताप गर्नुपर्छ भनेर प्रवचन प्रचार गरे त? तिनले पक्‍कै पनि त्यसो गरेनन्। पावलले प्रभु येशू ख्रीष्टले गर्नुभएको काम, उहाँले बोल्‍नुभएका वचनहरू, वा उहाँले मानिसहरूलाई सिकाउनुभएका सबै सत्यताहरूका बारेमा कहिल्यै प्रचार गरेनन्—पावलले आफ्नो हृदयमा यी कुराहरूलाई इन्कार गरे। पावलले प्रभु येशू ख्रीष्टले भन्‍नुभएका वचनहरू र उहाँले मानिसहरूलाई सिकाउनुभएका सत्यतालाई इन्कार मात्र गरेनन्, तिनले आफ्नै शब्दहरू, काम र शिक्षाहरूलाई सत्यताका रूपमा व्यवहार गरे। तिनले प्रभु येशूका वचनहरूलाई प्रतिस्थापन गर्न यी कुराहरू प्रयोग गरे, र मानिसहरूलाई तिनका आफ्‍नै वचनहरू अभ्यास र पालना गर्न लगाए, मानौँ ती सत्यता नै थिए। के कुराले यी प्रकटीकरण र प्रकाशलाई उत्प्रेरित गर्‍यो? (ख्रीष्ट बन्‍ने तिनको इच्छाले।) यी कुराहरू ख्रीष्ट बन्‍ने तिनको अभिप्राय, चाहना र महत्त्वाकाङ्क्षाद्वारा प्रेरित थिए। यो तिनको अभ्यास र पछ्याइसँग निकै नजिकबाट जोडिएको थियो। यो पावलको छैटौँ पाप हो। के यो गम्भीर छ? (हजुर, छ।) वास्तवमा, तिनका सबै पापहरू गम्भीर छन्। ती सबैले मृत्युलाई निम्त्याउँछन्।

अब म पावलको सातौं पापका बारेमा सङ्गति गर्नेछु। यो अझ गम्भीर छ। पावललाई प्रभुद्वारा बोलाइनुअघि, तिनी यहूदी धर्मका विश्‍वासी थिए। यहूदी धर्म यहोवा परमेश्‍वरमाथिको विश्‍वास हो। यहोवा परमेश्‍वरमा विश्‍वास गर्नेहरूसँग परमेश्‍वरका बारेमा के-कस्तो अवधारणा हुन्छ? यहोवा परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट कनानको असल भूमिमा डोर्‍याएर ल्याउनुहुँदा तिनीहरूका पुर्खाहरूले अनुभव गरेका कुराहरू: कसरी यहोवा परमेश्‍वर मोशासामु देखा पर्नुभयो, कसरी उहाँले मिश्रमा दश विपत्तिहरू पठाउनुभयो, कसरी उहाँले इस्राएलीहरूलाई अगुवाइ गर्न बादल र आगोका खम्बाहरू प्रयोग गर्नुभयो, र कसरी उहाँले तिनीहरूलाई आफ्ना व्यवस्थाहरू दिनुभयो, आदि। त्यस बेला यहूदी धर्ममा विश्‍वास गर्नेहरूले यी सबै कुराहरूलाई केवल कल्पना, धारणा र पौराणिक कथाहरू ठाने कि तिनलाई तथ्यहरू माने? त्यो बेला, परमेश्‍वरका चुनिएका मानिसहरू र साँचो अनुयायीहरूले स्वर्गका परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र उहाँ वास्तविक हुनुहुन्छ भन्‍ने विश्‍वास गर्थे र स्वीकार गर्थे। तिनीहरू सोच्थे, “परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएको तथ्य साँचो हो। यो घटना चाहे जति लामो समयअघि भएको भए पनि, यो तथ्य साँचो नै रहन्छ। हामीले यसलाई विश्‍वास गर्नैपर्ने मात्र होइन, हामी निश्‍चित हुनैपर्छ, र यो तथ्य फैलाउनैपर्छ। यो हाम्रो जिम्मेवारी र दायित्व हो।” तर, अविश्‍वासीहरूको अर्को समूहलाई यी कुराहरू सायद पौराणिक कथाहरू मात्रै हुन् भन्‍ने लाग्यो। कसैले पनि यी कथाहरू पुष्टि गर्ने वा ती वास्तविक हुन् कि काल्पनिक हुन् भनेर अनुसन्धान गर्ने प्रयास गरेनन्, तिनलाई आधा मात्र विश्‍वास गरे। जब तिनीहरूलाई परमेश्‍वरको आवश्यकता हुन्थ्यो, तब तिनीहरू उहाँ वास्तविक हुनुहुन्छ र उहाँले तिनीहरूले पछ्याएको, प्रार्थना गरेको, र तृष्णा गरेको कुरा तिनीहरूलाई प्रदान गर्न सक्‍नुहुन्छ भन्‍ने आशा गर्थे; जब तिनीहरूले केही पाउने आशामा परमेश्‍वरसँग प्रार्थना गर्थे, तब तिनीहरूले यो परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने आशा गर्थे। यसो गरेर, तिनीहरूले परमेश्‍वरलाई मनोवैज्ञानिक सहाराका रूपमा मात्रै व्यवहार गरिरहेका हुन्थे। तिनीहरूले परमेश्‍वरले मानिसलाई मुक्ति दिनुहुन्छ भन्‍ने तथ्यलाई देखेनन्, न त परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूलाई स्वीकार नै गरे। यो परमेश्‍वरमाथिको साँचो विश्‍वास थिएन; तिनीहरू अविश्‍वासी बनिसकेका थिए। सबैभन्दा निम्न प्रकारको व्यक्तिले आफूलाई कसरी प्रकट गर्थ्यो? उसले मण्डलीमा परमेश्‍वरको सेवा गर्ने, उहाँलाई भेटी चढाउने, सबै विधिविधानहरू पछ्याउने, र सबै प्रकारका पौराणिक कथाहरूलाई समेत विश्‍वास गर्ने काम मात्र गर्थ्यो। तर, तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍थेन, र तिनीहरूका धारणा र कल्पनाका परमेश्‍वर अस्पष्ट र खोक्रो हुनुहुन्थ्यो। यस्तो व्यक्तिले केमा विश्‍वास गर्थ्यो? भौतिकवादमा। तिनीहरू आफूले देख्‍न सक्‍ने कुरामा मात्र विश्‍वास गर्थे। तिनीहरूको नजरमा, पौराणिक कथाका कुराहरू, अस्पष्ट कुराहरू, र तिनीहरूले आफ्नो हातले छुन नसक्‍ने, आफ्नो आँखाले देख्‍न नसक्‍ने, वा आफ्नो कानले सुन्‍न नसक्‍ने आत्मिक क्षेत्रका कुनै पनि कुरा अस्तित्वमा थिएनन्। कतिपय मानिसहरू भन्छन्, “त्यसोभए, के तिनीहरूले सूक्ष्मजीवहरू जस्ता देख्‍न नसकिने कुराहरूको अस्तित्वमा विश्‍वास गर्छन् त?” तिनीहरूले ती कुरामा पूर्ण रूपमा विश्‍वास गर्छन्। तिनीहरू विज्ञान, इलेक्ट्रोन, सूक्ष्मजीव-विज्ञान, र रसायन विज्ञानमा पूर्ण रूपमा विश्‍वास गर्छन्। अविश्‍वासीहरूले ती कुराहरू कुनै पनि कुराभन्दा बढी साँचो हुन् भनी विश्‍वास गर्छन्। तिनीहरू साँचो भौतिकवादी हुन्। हामी यी तीन प्रकारका मानिसहरूको विश्लेषण गर्न यसबारे कुरा गरिरहेका छौँ: साँचो विश्‍वासीहरू, अर्धविश्‍वासीहरू, र परमेश्‍वरको अस्तित्वमा विश्‍वास नै नगर्ने भौतिकवादीहरू। कतिपय मानिसहरू भन्छन्, “के साँच्‍चै परमेश्‍वर हुनुहुन्छ? उहाँ कहाँ हुनुहुन्छ? उहाँ कस्तो देखिनुहुन्छ? मैले त परमेश्‍वर तेस्रो स्वर्गमा हुनुहुन्छ भन्‍ने सुनेको छु। त्यसोभए, तेस्रो स्वर्ग कति माथि छ त? त्यो कति टाढा छ, र त्यो कति ठूलो छ त? मानिसहरूले स्वर्ग छ, र त्यहाँ सुनको इँटा र हिराको टाइल छापिएको छ, र त्यसका पर्खालहरू पनि सुनका छन् भनेर पनि भन्छन्। यस्तो अद्भुत ठाउँ कसरी हुन सक्छ र? यो बकवास हो! व्यवस्थाको युगमा, परमेश्‍वरले आफ्ना चुनिएका मानिसहरूलाई आफ्ना व्यवस्थाहरू दिनुभयो, र व्यवस्थाका पाटीहरू अझै पनि अस्तित्वमा छन् भन्‍ने सुनेको थिएँ। सायद यो सबै केवल पौराणिक कथा हो, शासक वर्गले जनतालाई नियन्त्रण गर्न प्रयोग गर्ने कुरा हो।” के मानिसहरूको यो समूहले परमेश्‍वरमा साँचो विश्‍वास गर्छ त? (अहँ, गर्दैन।) तिनीहरूले परमेश्‍वर साँच्‍चै अस्तित्वमा हुनुहुन्छ, वा उहाँले मानिसहरूलाई सृष्टि गर्नुभएको हो र आजको दिनसम्म मानवजातिलाई अगुवाइ गर्नुभएको हो भन्‍ने तथ्यलाई विश्‍वास गर्दैनन्। त्यसोभए, तिनीहरूले किन अझै पनि मण्डलीमा सेवा गर्छन्? (किनभने तिनीहरूले परमेश्‍वरको सेवालाई जागिर र हातमुख जोड्ने रसिदका रूपमा लिन्छन्।) ठीक भन्यौ। तिनीहरूले यसलाई जागिर र हातमुख जोड्ने रसिद रूपमा हेर्छन्। त्यसोभए, पावल कुन प्रकारको व्यक्ति थिए त? (तेस्रो प्रकारको।) यो कुरा उसको प्रकृति सारसँग जोडिएको छ। पावल खोक्रा सिद्धान्तहरूका बारेमा बडबड गर्न मन पराउँथे। तिनलाई खोक्रा कुराहरू, अस्पष्ट कुराहरू र काल्पनिक कुराहरू मन पर्थ्यो। तिनलाई गहन र बुझ्न गाह्रो, अनि ठोस रूपमा बताउन नसकिने कुराहरू मनपर्थ्यो। तिनलाई कुराहरूबारे बढी सोच्न मन पर्थ्यो, अनि तिनी पूर्वाग्रही र जिद्दी थिए, र तिनको बुझाइ विकृत थियो। यस्ता मानिसहरू मानव होइनन्। तिनी त्यस्तो खालका व्यक्ति थिए। पावलको स्वभाव र प्रकृति सार, साथै तिनका प्राथमिकताहरू, आशाहरू, पछ्याइहरू र आकाङ्क्षाहरूलाई हेर्दा, तिनले मण्डलीमा सेवा गरेका र तिनी एक प्रसिद्ध शिक्षकका विद्यार्थी भएका भए पनि, तिनले सिकेको ज्ञान तिनका लागि आफ्नै चाहनाहरू, महत्त्वाकाङ्क्षाहरू, र आडम्बरलाई सन्तुष्ट पार्ने, र समाजमा हातमुख जोड्न, हैसियत, र स्थान पाउन प्रयोग गर्ने एउटा औजार मात्र थियो। पावलको प्रकृति सार र पछ्याइलाई हेर्दा, यहोवामाथि तिनको आस्था कति थियो? तिनको आस्था प्रतिज्ञा थिएन, केवल खोक्रा शब्दहरू थिए। तिनी अविश्‍वासी, नास्तिक र भौतिकवादी थिए। कतिपय मानिसहरूले सोध्छन्, “यदि पावल अविश्‍वासी थिए भने, तिनी किन प्रभु येशू ख्रीष्टका प्रेरित बने र तिनले किन अनुग्रहको युगको सुसमाचार फैलाए?” मलाई भन, तिनी कसरी यो बाटोमा हिँड्न सके? तिनलाई के कुराले उत्प्रेरित गर्‍यो? तिनलाई कुन मोडले यो भूमिका निभाउने, र तिनी जस्तो अविश्‍वासीलाई यस्तो बाटोमा हिँड्ने, र पूर्ण रूपमा पछाडि मोडिने तुल्यायो? मैले “मोड” को कुरा गर्दा केलाई जनाइरहेको छु? जब पावललाई दमास्कसको बाटोमा प्रहार गरेर ढालियो—त्यो तिनको जीवनको मोड थियो। तिनले दुई प्रकारका मोड अनुभव गरे: एउटा के थियो भने, तिनी परमेश्‍वरमा विश्‍वास नगर्ने व्यक्तिबाट परमेश्‍वर निश्‍चित रूपमा अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्ने व्यक्ति बने किनभने तिनले पहिला सताइरहेका प्रभु येशू दमास्कसको बाटोमा तिनीसामु देखा पर्नुभयो। पावलले सोधे, “तपाईँ को हुनुहुन्छ, प्रभु?” वास्तवमा, भित्री मनमा, पावलले यो प्रभु र परमेश्‍वरको अस्तित्व छ भनेर विश्‍वास गरेका थिएनन्, तर तिनी “तपाईँ को हुनुहुन्छ, प्रभु?” भनेर नपुकारी बस्‍न सकेनन्। प्रभु येशूले के भन्‍नुभयो? (“म येशू हुँ जसलाई तिमी सताउँछौ” (प्रेरित ९:५)।) प्रभु येशूले यसो भन्‍नेबित्तिकै, पावल एउटा तथ्यबारे विश्‍वस्त भए: तिनले पहिले कहिल्यै नदेखेका, तिनले कल्पना नै गर्न नसक्‍ने, र तिनले कल्पना गरेको भन्दा पनि शक्तिशाली एउटा प्रभु देखा पर्नुभएको थियो। प्रभु तिनले कल्पना गरेको भन्दा शक्तिशाली हुनुहुन्छ भनेर तिनी कसरी विश्‍वस्त भए? किनभने पावलले अपेक्षा नै नगरेको बेलामा, तिनले परमेश्‍वर भनेर विश्‍वास नै नगरेका येशू तिनको अघि नै देखा पर्नुभयो। प्रभु येशू कति शक्तिशाली हुनुहुन्छ? उहाँको ज्योतिले पावलको आँखालाई अन्धो पारेपछि उहाँको शक्ति परिमाणबारे तिनी विश्‍वस्त भएका थिए। त्यसोभए, के तिनी प्रभु येशू नै परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वस्त हुन सके त? (सकेनन्।) किन सकेनन्? (किनभने पावलले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास नै गर्दैनथिए।) ठीक भन्यौ, किनभने तिनले परमेश्‍वरको अस्तित्वमा पटक्‍कै विश्‍वास गर्दैनथिए। अहिले, तिमीहरू सबैको हृदयमा आस्था र जग छ, त्यसैले यदि परमेश्‍वर तँसामु देखा पर्नुभएको खण्डमा, उहाँको आवाज मात्रै सुनिस् वा उहाँको ढाड मात्र देखिस् भने पनि, र उहाँ तँसँग बोल्नुभयो वा उहाँले तेरो नाम बोलाउनुभयो भने पनि, तँ एउटा तथ्यबारे विश्‍वस्त हुने थिइस्: “मैले विश्‍वास गरेको परमेश्‍वर उहाँ नै हुनुहुन्छ। मैले उहाँलाई देखेको छु र सुनेको छु। परमेश्‍वर मेरो नजिक आउनुभएको छ।” तँ विश्‍वस्त हुने थिइस् किनभने तेरो हृदयमा आस्था छ, तैँले यस क्षणबारे सपना देखेको छस्, र तँ डराएको छैनस्। तर के पावलले यही सोचेका थिए त? (थिएनन्।) तिनको हृदयमा कहिल्यै आस्था थिएन। तिनको पहिलो विचार के थियो? (डर।) तिनी डराएका थिए किनभने यो निकायले तिनलाई प्रहार गर्न र मार्न सक्थ्यो! यसले तिनलाई तिनले देख्‍न नसक्‍ने नरकले भन्दा बढी भयभीत र त्रसित तुल्याएको थियो। तिनलाई मनैदेखि डर लागेको थियो। तिनको हृदयमा परमेश्‍वरप्रति कुनै आस्था नै थिएन—तिनीसँग परमेश्‍वरबारे कुनै अवधारणा नै थिएन भनेर पनि भन्‍न सकिन्छ। त्यसकारण, जब प्रभु येशूले आफ्नो काम गर्नुभयो, चाहे त्यो चिन्ह र चमत्कारको प्रदर्शन होस् वा प्रवचनहरूको प्रचार होस्, जति धेरै मानिसहरूले उहाँलाई पछ्याए पनि, उहाँ जति प्रभावशाली हुनुभए पनि, वा त्यो जति ठूलो दृश्य भए पनि, पावलको मनमा, प्रभु येशू एक साधारण व्यक्तिभन्दा बढी अरू केही हुनुहुन्‍नथियो। तिनले प्रभु येशूलाई तुच्छ दृष्टिले हेर्थे र उहाँप्रति कुनै सम्मान राख्दैनथे। तर अहिले, तिनले तुच्छ ठानेका मानिसको साधारण पुत्र तिनको अगाडि नै उभिरहनुभएको थियो, अब साधारण व्यक्तिको शरीरमा हुनुहुन्‍नथियो, र आवाजमा मात्र नभई ज्योतिको स्तम्भका साथ हुनुहुन्थ्यो! तिनका लागि, यो तिनले लाखौँ वर्षमा पनि कहिल्यै नबिर्सने क्षण थियो। त्यो ज्योति अन्धो पार्ने किसिमको थियो! परमेश्‍वरले पावललाई कसरी प्रहार गरेर ढाल्नुभयो? जब परमेश्‍वर पावलको नजिक आउनुभयो, पावल एकै क्षणमा अन्धा भए र भुइँमा ढले। के भइरहेको थियो? के तिनी जानीजानी र स्वेच्छाले लडे, कितिनी यसका लागि तयार भइसकेका थिए? (होइन, तिनले यो सहनै सकेनन्।) मानिसको शरीर त देह मात्र हो; यसले त्यो सहन सक्दैन। जब परमेश्‍वर साँच्‍चै तेरो नजिक आउनुहुन्छ, उहाँ तैँले प्रभु येशूलाई देखेको साधारण भौतिक शरीरमा हुनुहुनेछैन—जुन निकै सुखद र पहुँचयोग्य, यति नम्र र साधारण, देह र रगतले बनेको, जो तेरा लागि महत्त्वहीन देखिन्छ, र जसलाई तँ वास्ता गर्दैनस्। जब परमेश्‍वर साँच्‍चै तेरो नजिक आउनुहुन्छ, उहाँले तँलाई प्रहार गरेर ढाल्नुभएन भने पनि तैँले सहन सक्‍नेछैनस्! पावलले आफ्‍नो हृदयको गहिराइमा, महसुस गरेको पहिलो कुरा के थियो भने, “मैले सताउने गरेको र तुच्छ नजरले हेर्ने गरेको प्रभु येशू मकहाँ आउनुभएको छ। यो ज्योति साह्रै शक्तिशाली छ!” के परमेश्‍वरले उसलाई झुक्‍न लगाउनुभयो? के उहाँले यसो भन्‍नुभयो, “तँ झुक्‍नुपर्छ”? (अहँ, उहाँले त्यसो भन्‍नुभएन।) त्यसोभए पावल किन भुइँमा घोप्टो परे त? (तिनी डराएका थिए।) होइन। मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र तिनीहरू यति साना र कमजोर छन् कि जब परमेश्‍वरको ज्योतिले तिनीहरूको शरीर छुन्छ, तब तिनीहरू आफूलाई भुइँमा लड्नबाट रोक्‍नै सक्दैनन् सक्दैनन्। परमेश्‍वर अत्यन्तै विशाल र शक्तिशाली हुनुहुन्छ; उहाँ तिनीहरूको क्षमता र सहसले सम्‍हाल्‍नै नक्‍ने किसिमको हुनुहुन्छ। पावलले प्रभु येशूलाई परमेश्‍वर, वा प्रभुका रूपमा स्वीकार गरेका थिएनन्, तैपनि तिनी किन आफै झुके त? तिनी घोप्टो परेर ढलेका थिए; तिनी पूर्ण रूपमा अशक्त र हलचल गर्न नसक्‍ने भएका थिए। तिनको पहिलेको घमण्ड, अहङ्कार, धृष्टता, आत्म-धार्मिकता, र अहम् त्यही क्षणमा हरायो। परमेश्‍वर पावलसामु आफ्नो वास्तविक स्वरूपमा समेत देखा पर्नुभएको थिएन; उहाँको ज्योति मात्र पावलमा परेको थियो, र जब तिनले यो देखे, परिणाम यस्तो भयो; यसले तिनमा यति ठूलो प्रभाव पारेको थियो। यो पावल परिवर्तन भएको मोड थियो। यदि यस मोडको पछाडि कुनै पृथक् सन्दर्भ नभएको भए, वा यो कुनै विशेष मामला नभएको भए, सकारात्मक कुराहरू र सत्यता पछ्याउने मानवता र विवेक भएको एक साधारण व्यक्तिका लागि यो राम्रो कुरा हुनेथियो किनभने जब कुनै व्यक्तिले परमेश्‍वरलाई देख्छ, यसले उसको सम्पूर्ण जीवनको पछ्याइमाथि प्रभाव पार्छ। बाइबलमा अभिलेख गरिएका कुराका आधारमा मूल्याङ्कन गर्दा, शताब्दीयौँभरि कुनै व्यक्तिले परमेश्‍वरले बोल्नुभएको सुन्‍नु दुर्लभ कुरा थियो। परमेश्‍वरले अय्यूबलाई जाँचेपछि उहाँले तिनीसँग शक्तिशाली रूपमा कुरा गर्नुभयो। अय्यूबले आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुन, र परमेश्‍वरको सार्वभौमिकता बुझ्न खोज्नमा बिताएका थिए, तर अय्यूबले सत्तरी वर्षको उमेरभन्दा अगाडि परमेश्‍वरलाई कहिल्यै देखेनन्; तिनले उहाँको सार्वभौमिकता अनुभव मात्र गरेका थिए, तैपनि अय्यूबसँग त्यस्तो आस्था थियो। जब तिनले परमेश्‍वर तिनीसँग बोल्‍नुभएको आफ्‍नै कानले सुने, तब के यो तिनको आस्थामा ठूलो मोड थिएन र? (हो, थियो।) यो मोड एक उत्थान थियो, एउटा त्यस्तो बिन्दु जहाँबाट तिनको आस्था झनै बढेको थियो। यसले अय्यूबलाई तिनले विश्‍वास गरेको र समर्पित भएको परमेश्‍वरले मानिसहरूमा गर्नुभएका सबै काम सही र असल छन्, र मानिसहरू उहाँमा समर्पित हुनुपर्छ भन्‍ने कुरा झनै बढी पुष्टि गरिदियो। यो औसत व्यक्तिले अनुभव गर्ने जस्तो सानो परिवर्तनको मोड थिएन, जहाँ तिनीहरू बिस्तारै शङ्कालु आस्थाबाट शङ्काविहीन साँचो आस्थामा सर्छन्। बरु, यो त एउटा उत्थान थियो, जसमार्फत तिनको आस्था एउटा नयाँ उचाइमा पुग्यो। पावलको सन्दर्भमा भन्दा, तिनलाई प्रहार गरेर ढाल्ने रूपमा भएको परमेश्‍वरको देखापराइले तिनमा कस्तो परिवर्तनको मोड ल्याउनुपर्थ्यो? त्यो पक्‍कै पनि उत्थान त होइन, किनभने तिनले त्यसभन्दा पहिले परमेश्‍वरमा कहिल्यै विश्‍वास गरेका थिएनन्, त्यसैले त्यसलाई उत्थान भन्‍न सकिँदैन। त्यसोभए, त्यसले तिनमा कस्तो प्रभाव पार्‍यो त? यो कुरा फेरि पनि तिनका पछ्याइसँग जोडिएको छ। मलाई भन। (आफ्नो पापको प्रायश्‍चित गर्नका लागि, पावलले सुसमाचार प्रचार गरेर श्रम गर्न चाहन्थे।) एकदम ठीक भन्यौ। तिनलाई मृत्युको पनि डर थियो, र तिनी निकै बेइमान थिए। जब तिनले आफूले सताएको येशू वास्तवमा परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहा पाए, तब तिनलाई साह्रै डर लाग्यो, र तिनले सोचे, “म के गरूँ? प्रभुका आज्ञाहरू मान्‍नु बाहेक मसँग कुनै विकल्‍प छैन, नत्र म मर्नेछु!” त्यस बेलादेखि, तिनले परमेश्‍वरको आज्ञा स्वीकार गरे र आफ्ना पापहरूको प्रायश्‍चित गर्नका लागि सुसमाचार प्रचार गरेर श्रम गर्न थाले। तिनले सोचे, “यदि म वास्तवमा सुसमाचार प्रचार गर्नमा सफल भएँ र प्रभु येशू सन्तुष्ट हुनुभयो भने, मैले मुकुट र इनाम समेत पाउन सक्छु!” तिनले आफ्‍नो हृदयको गहिराइ यस्तै हिसाबकिताबहरू गरेका थिए। तिनले बल्‍ल आशिष् प्राप्त गर्ने राम्रो मौका पाएको छु भन्‍ने सोचे। पावलले आफ्ना पापहरूको प्रायश्‍चित गर्न र आफ्नो जीवन जोगाउनका लागि प्रभुको आज्ञा स्वीकार गरेका थिए; तिनले प्रभुमा विश्‍वास गर्नु र उहाँलाई स्वीकार गर्नु पछाडि तिनको अभिप्राय र लक्ष्य यही थियो। तिनले दमास्कसको बाटोमा प्रभु येशूलाई भेटेर उहाँले तिनलाई प्रहार गरेर ढाल्नुभएदेखि नै, तिनले एउटा मोड लिए, जसले तिनको पछ्याइ र परमेश्‍वरमा विश्‍वास गर्ने जीवनमा एउटा नयाँ सुरुवातलाई चिन्हित गर्‍यो। यो नयाँ सुरुवात सकारात्मक थियो कि नकारात्मक? (यो नकारात्मक थियो।) तिनले परमेश्‍वरको धार्मिकतालाई चिनेनन्, र तिनले लेनदेनको विधि प्रयोग गरेर प्रभु येशूका आज्ञाहरू स्वीकार गरे जुन झनै बेइमानीपूर्ण, अकथनीय, र छलपूर्ण थियो, किनभने तिनलाई परमेश्‍वरको प्रतापको र प्रहार गरेर ढालिन्छु भन्‍ने कुराको डर थियो। यो त झनै घिनलाग्दो कुरा हो। तर, मेरो आजको सङ्गतिको मुख्य बुँदा त्यो होइन। परमेश्‍वरको महान् ज्योतिको सामना गरेपछि पावलले लिएको मोड, र तिनले आफूलाई प्रकट गरेका विभिन्‍न तरिकाहरूबाट, हामी पावल कुन बाटोमा थिए, र तिनको प्रकृति सारले देखाए अनुसार तिनी कस्तो प्रकारका व्यक्ति थिए भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छौँ। यी कुराहरू पूर्ण रूपमा स्पष्ट छन्।

ढालिएदेखि नै पावलले प्रभु येशू ख्रीष्ट अस्तित्वमा हुनुहुन्छ र प्रभु येशू ख्रीष्ट नै परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गरेको थियो। उसले विश्‍वास गरेको परमेश्‍वर तुरुन्तै स्वर्गका परमेश्‍वरबाट प्रभु येशू ख्रीष्टमा परिवर्तित हुनुभएको थियो—उहाँ पृथ्वीका परमेश्‍वरमा परिवर्तित हुनुभएको थियो। त्यस क्षणदेखि उसले प्रभु येशूको आज्ञालाई इन्कार गर्न सकेन र देहधारी परमेश्‍वर—प्रभु येशूका लागि—दृढतासाथ श्रम गर्न थाल्यो। उसले श्रम गर्नुको लक्ष्य अवश्य नै आफूलाई आंशिक रूपमा आफ्‍ना पापबाट मुक्त गर्नु थियो, तर आंशिक रूपमा आशिष् पाउने आफ्‍नो चाहना पूरा गर्नु र आफूले चाहेको गन्तव्य प्राप्त गर्नु पनि थियो। जब पावलले “परमेश्‍वरको इच्छाद्वारा” भन्यो, उक्त “परमेश्‍वर” शब्दले यहोवालाई जनाएको थियो कि येशूलाई? ऊ अलि अन्योलमा पर्‍यो, र सोच्यो, “म यहोवामा विश्‍वास गर्छु, तर किन मलाई येशूले ढाल्नुभयो? येशूले मलाई ढाल्दा यहोवाले किन उहाँलाई रोक्‍नुभएन? वास्तवमा उहाँहरूमध्ये कोचाहिँ हुनुहुन्छ?” उसले यो कुरा पत्ता लगाउन सकेन। जे भए पनि, उसले प्रभु येशूलाई आफ्नो परमेश्‍वरका रूपमा कहिल्यै हेरेन। उसले उहाँलाई मुखले स्विकारे पनि, उसको हृदयमा अझै शङ्का थियो। समय बित्दै जाँदा, उसले फेरि बिस्तारै “केवल यहोवा नै परमेश्‍वर हुनुहुन्छ” भनी विश्‍वास गर्न थाल्यो, त्यसैले पावलले त्यसपछिका आफ्ना सबै पत्रमा जब “परमेश्‍वरको इच्छाद्वारा” भनेर लेख्यो, त्यसमा सम्भवतः “परमेश्‍वर” को उल्लेख मुख्यतः यहोवा परमेश्‍वरलाई जनाउनका लागि थियो। पावलले प्रभु येशू नै यहोवा हुनुहुन्छ भनेर कहिल्यै प्रस्टसँग बताएन, उसले प्रभु येशूलाई सधैँ परमेश्‍वरको पुत्रका रूपमा हेर्‍यो, उहाँलाई पुत्रका रूपमा उल्लेख गर्‍यो, र “पुत्र र पिता एक हुनुहुन्छ” भन्‍ने जस्ता कुरा कहिल्यै भनेन, त्यसैले यसबाट पावलले प्रभु येशूलाई एकमात्र साँचो परमेश्‍वरका रूपमा कहिल्यै स्विकारेन भन्‍ने कुरा प्रमाणित हुन्छ; ऊ सन्देहले भरिएको थियो र उसले यसलाई आधा मात्र विश्‍वास गरेको थियो। परमेश्‍वरप्रति पावलको यो दृष्टिकोण र उसको पछ्याइको विधिलाई हेर्दा, ऊ सत्यता पछ्याउने व्यक्ति थिएन। उसले देहधारणको रहस्य कहिल्यै बुझेन र प्रभु येशू एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर कहिल्यै स्विकारेन। यसबाट पावल शक्तिको पूजा गर्ने अनि चलाक र धूर्त व्यक्ति थियो भनेर भन्‍न गाह्रो छैन। पावलले दुष्टता, शक्ति र हैसियतको पूजा गर्थ्यो भन्‍ने तथ्यले उसको विश्‍वास कस्तो थियो भनेर हामीलाई के देखाउँछ? के ऊसँग साँचो विश्‍वास थियो? (थिएन।) ऊसँग साँचो विश्‍वास थिएन, त्यसोभए के उसले आफ्नो हृदयमा परिभाषित गरेको परमेश्‍वर साँच्चिकै अस्तित्वमा हुनुहुन्थ्यो? (हुनुहुन्‍नथ्यो।) त्यसोभए किन उसले प्रभु येशू ख्रीष्टका खातिर यताउता यात्रा गर्‍यो, आफूलाई समर्पित गर्‍यो र काम गर्‍यो त? (ऊ आशिष् पाउने आफ्नो अभिप्रायद्वारा नियन्त्रित थियो।) (उसलाई सजाय पाउने डर थियो।) हामी फेरि घुम्दै फिर्दै यही बुँदामा आएका छौँ। उसलाई सजाय पाउने डर थियो, र उसको शरीरमा काँडा थियो जसलाई उसले निकाल्न सकेको थिएन, त्यसैले उसले सधैँ यताउता यात्रा गरिहिँड्नुपर्‍यो र काम गर्नुपर्‍यो, ताकि उसलाई आफ्नो शरीरको काँडाले सहनै नसक्‍ने गरी पीडा नदिओस्। उसका यी प्रकटीकरणहरूबाट, उसका शब्दहरूबाट, दमास्कस जाने बाटोमा घटेको घटनाप्रति उसले देखाएको प्रतिक्रिया, र दमास्कस जाने बाटोमा ढालिएपछि उसलाई परेको प्रभावलाई हेर्दा, हामी उसको हृदयमा कुनै विश्‍वास थिएन भन्‍ने कुरा देख्‍न सक्छौँ; ऊ अविश्‍वासी र नास्तिक थियो भन्‍ने कुरामा लगभग लगभग पक्‍का हुन सकिन्छ। उसको दृष्टिकोण यस्तो थियो, “जोसँग शक्ति छ, म उसैमा विश्‍वास गर्नेछु। जोसँग शक्ति छ र जसले मलाई वशमा पार्न सक्छ, म उसैका लागि काम गर्नेछु र सक्दो प्रयास गर्नेछु। जसले मलाई गन्तव्य र मुकुट दिन सक्छ, अनि आशिष् पाउने मेरो चाहना पूरा गर्न सक्छ, म उसैलाई पछ्याउनेछु। म उसलाई अन्त्यसम्म पछ्याउनेछु।” उसको हृदयको ईश्‍वर को हुनुहुन्थ्यो? ऊभन्दा शक्तिशाली र उसलाई वशमा पार्न सक्‍ने जोकोही उसको ईश्‍वर हुन सक्थ्यो। के पावलको प्रकृति सार यस्तै थिएन र? (थियो।) त्यसोभए, उसले अन्त्यमा विश्‍वास गरेको व्यक्तित्व को हुनुहुन्थ्यो, जो उसलाई दमास्कस जाने बाटोमा ढाल्न सक्षम हुनुहुन्थ्यो? (प्रभु येशू ख्रीष्ट।) उसले प्रयोग गरेको नाम “प्रभु येशू ख्रीष्ट” थियो, तर उसले वास्तवमै विश्‍वास गरेको व्यक्तित्व त उसको हृदयमा रहेको ईश्‍वर थियो। उसको ईश्‍वर कहाँ छ? यदि तैँले उसलाई, “तपाईँका परमेश्‍वर कहाँ हुनुहुन्छ? के उहाँ स्वर्गमा हुनुहुन्छ? के उहाँ यावत् थोकमाझ हुनुहुन्छ? के उहाँ नै सारा मानवजातिमाथि सार्वभौम हुनुहुन्छ?” भनेर सोध्थिस् भने, उसले भन्‍नेथियो, “होइन, मेरो ईश्‍वर दमास्कस जाने बाटोमा हुनुहुन्छ।” वास्तवमा उसको ईश्‍वर उहाँ नै हुनुहुन्थ्यो। के पावलले प्रभु येशू ख्रीष्टलाई सताउने अवस्थाबाट प्रभु येशू ख्रीष्टका लागि काम गर्ने, आफूलाई समर्पित गर्ने, र आफ्नो जीवन समेत बलिदान गर्न सक्‍ने अवस्थामा पुग्‍नुको कारण—ऊ यति धेरै परिवर्तन हुन सक्‍नुको कारण—उसको विश्‍वासमा परिवर्तन आएकाले गर्दा हो? के उसको विवेक जागृत भएका कारणले गर्दा थियो? (होइन।) त्यसोभए यसको कारण के थियो त? के परिवर्तन भयो? उसको मनोवैज्ञानिक सहारा परिवर्तन भएको थियो। पहिले, उसको मनोवैज्ञानिक सहारा स्वर्गमा थियो; त्यो एउटा खोक्रो र अस्पष्ट कुरा थियो। यदि येशू ख्रीष्टले त्यसको स्थान लिनुभएको भए, पावलले उहाँलाई अत्यन्तै मामुली ठान्‍नेथियो—येशू केवल साधारण व्यक्ति हुनुहुन्थ्यो, त्यसकारण उहाँ मनोवैज्ञानिक सहारा हुन सक्‍नुहुन्‍न भन्ठान्‍नेथियो—र पावलले प्रसिद्ध धार्मिक व्यक्तित्वहरूलाई झनै कम सम्मान गर्थ्यो। पावल त केवल आफू भर पर्न सक्‍ने उसलाई वशमा पार्न र आशिष् दिन सक्‍ने व्यक्ति भेट्टाउनचाहन्थ्यो। उसलाई दमास्कसको बाटोमा भेटेको व्यक्तित्व सबैभन्दा शक्तिशाली हुनुहुन्छ, र त्यो व्यक्तित्व नै आफूले विश्‍वास गर्नुपर्ने व्यक्ति हो भन्‍ने लागेको थियो। उसको विश्‍वास परिवर्तन हुँदै गर्दा उसको मनोवैज्ञानिक सहारा पनि परिवर्तन भयो। यस आधारमा, पावलले साँच्‍चै परमेश्‍वरमा विश्‍वास गर्थ्यो कि गर्दैनथ्यो? (गर्दैनथ्यो।) अब पावलको पछ्याइ र ऊ हिँडेको मार्गलाई केले प्रभाव पारेको थियो भन्‍ने कुरालाई एकै वाक्यमा सारांशीकृत गरौँ। (उसको मनोवैज्ञानिक सहाराले।) त्यसोभए, हामीले पावलको सातौँ पापलाई कसरी चित्रण गर्नुपर्छ? सबै हिसाबले, पावलको विश्‍वास मनोवैज्ञानिक सहारा थियो; त्यो खोक्रो र अस्पष्ट थियो। ऊ पूर्ण रूपमा अविश्‍वासी र नास्तिक थियो। ऊजस्तो नास्तिक र अविश्‍वासीले किन धर्मको संसार छोडेन? एकातिर, उसको अस्पष्ट कल्पनामा गन्तव्यको मामला थियो। अर्कोतिर, उसको जीवनमा हातमुख जोड्ने मामला थियो। ख्याति, प्राप्ति, हैसियत र हातमुख जोड्ने स्रोत उसको यस जीवनका पछ्याइहरू थिए, र आउँदो संसारमा गन्तव्य पाउने विचार उसका लागि सान्त्वना थियो। यस्ता मानिसहरूले पछ्याउने र प्रकट गर्ने कुरा, अनि तिनीहरू हिँड्ने मार्गको प्रत्येक जड र सहारामा यी कुराहरू नै हुन्छन्। यस दृष्टिकोणबाट हेर्दा, पावल के थियो? (एक अविश्‍वासी। ऊ अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्थ्यो।) (एक नास्तिक।) ऊ नास्तिक थियो, अनि इसाई जगतमा लुकेर बसेको अविश्‍वासी र अवसरवादी थियो भनेर भन्‍नु सटीक हुन्छ। यदि तैँले उसलाई फरिसी मात्र भनिस् भने, के त्यो कम हुँदैन र? यदि तैँले पावलले लेखेका पत्रहरू हेरिस्, र झट्ट हेर्दा तिनमा “परमेश्‍वरको इच्छाद्वारा” लेखिएको देखिस् भने, तँलाई पावलले स्वर्गमा हुनुभएको परमेश्‍वरलाई सर्वोच्च परमेश्‍वरका रूपमा हेर्थे, र मानिसहरूका धारणाका कारणले मात्र, वा तिनीहरू अज्ञानी र परमेश्‍वरलाई नबुझ्‍ने भएकाले नै तिनीहरूले परमेश्‍वरलाई पिता, पुत्र र पवित्र आत्मा गरी तीन तहमा विभाजन गरे, र त्यो मानिसको मूर्खता मात्र हो, र यो त्यति गम्भीर समस्या होइन, किनभने सम्पूर्ण धार्मिक संसारले पनि त्यसरी नै सोच्छ भन्‍ने लाग्‍न सक्छ। तर, अहिले विश्लेषण गरेपछि, के कुरा यही हो त? (अहँ, होइन।) पावलले त परमेश्‍वरको अस्तित्वसमेत स्विकारेन। ऊ नास्तिक र अविश्‍वासी थियो, र उसलाई नास्तिक र गैरविश्‍वासीहरूकै वर्गमा राखिनुपर्छ।

मैले पावलका सातवटा पापलाई सारांशीकृत गरिसकेको छु। ती के-के हुन् भनेर मलाई सङ्क्षेपमा बता। (पहिलो पाप के हो भने, पावलले धार्मिकताको मुकुट पछ्याउनु र आशिष् पछ्याउनुलाई उचित उद्देश्य ठान्यो; दोस्रो, पावलले आफ्ना कल्पना र आफ्ना धारणाहरूमा सही लागेका कुराहरूलाई सत्यता ठान्यो, र ती चारैतिर प्रचार गर्‍यो, मानिसहरूलाई बहकायो; तेस्रो, पावलले आफ्नो प्रतिभा र ज्ञानलाई जीवन ठान्यो; चौथो, पावलले प्रभु येशू ख्रीष्टको पहिचान र सारलाई इन्कार गर्‍यो, अनि प्रभु येशूको छुटकाराको कामलाई इन्कार गर्‍यो; पाँचौँ, पावलले “मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” भनेर प्रचार गर्‍यो, अनि मानिसहरूलाई खुल्लमखुल्ला उक्सायो र बहकायो, तिनीहरूलाई परमेश्‍वरलाई बाध्य पार्ने, उहाँविरुद्ध कोलाहल मच्चाउने, र उहाँको विरोध गर्ने प्रयास गर्न लगायो; छैटौँ, पावलले उसका लागि जिउनु नै ख्रीष्ट हो भनी विश्‍वास गर्‍यो। उसले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यतालाई इन्कार गर्‍यो, प्रभु येशूका वचनहरूलाई आफ्नै शब्दहरूले प्रतिस्थापन गर्‍यो, अनि मानिसहरूलाई ती शब्दको अभ्यास र पालन गर्न लगायो। पावलको सातौँ पाप के हो भने, उसले परमेश्‍वरमाथिको विश्‍वासलाई मनोवैज्ञानिक सहारा ठान्यो, अनि ऊ पूर्ण रूपमा नास्तिक र अविश्‍वासी थियो।) पावलमा भएका यी समस्याहरूको हाम्रो विश्लेषण यति विस्तृत छ कि यसले पावललाई आराधना गर्ने सबैलाई होसमा ल्याउन सक्छ। यो अर्थपूर्ण छ। पावलले प्रकाश र प्रकट गरेका यी स्वभाव र सारहरू, अनि उसको पछ्याइका व्यक्तिगत विधिहरूमध्ये कुन चाहिँको तिमीहरूसँग स्पष्ट परस्पर सम्बन्ध छ? (ती सबैको।) पहिलो पाप धार्मिकताको मुकुट र आशिषहरू पछ्याउनुलाई उचित उद्देश्य ठान्‍नुसित सम्बन्धित छ। किन म यो गलत छ, र मानिसहरूले यसबारे चिन्तन गरेर यसलाई परिवर्तन गर्नुपर्छ भनेर भन्छु? जब पावलले धार्मिकताको मुकुट पछ्यायो, आशिष्‌हरू पछ्यायो, र स्वर्गको राज्यमा प्रवेश गर्न खोज्यो, तब उसले यी लाभहरू पछ्याउनुलाई उचित मान्यो। त्यसोभए, तिमीहरू वास्तविक जीवनमा के-कस्ता कुरा प्रकट र प्रकाशहरू गर्छौ जुन यो स्थितिसँग मिल्छन्? (कहिलेकाहीँ म परमेश्‍वरको घरमा महत्त्वपूर्ण काम गर्न र योगदान दिन खोज्छु। मलाई यी कुराहरू पछ्याएँ भने, परमेश्‍वरले अन्त्यमा मलाई सिद्ध पार्नुहुनेछ भन्‍ने लाग्छ। म आफूले गर्ने काम र निर्वाह गर्ने कर्तव्यलाई उपलब्धिहरूको सूची ठान्छु।) यो यसको एक भाग हो। आफूले निर्वाह गर्ने कर्तव्यलाई उपलब्धिहरूको सूची ठान्‍नु भनेको धार्मिकताको मुकुट पछ्याउनुजस्तै हो; यो उस्तै प्रकारको कुरा हो; यो उही अवस्था हो। तैँले त्यसैका लागि काम गर्छस् र कष्ट भोग्छस्। तेरो कष्टको स्रोत र उत्प्रेरणालाई त्यही कुराले निर्देशित गर्दछ। यदि यी कुराले तँलाई निर्देशित गर्थेनन् भने, तँमा कुनै ऊर्जा हुनेथिएन; तँ पूर्ण रूपमा लखतरान पर्नेथिइस्। भन्‍नका लागि कसैसँग अरू केही छ? (आफूले विभिन्‍न कुरा त्यागेको, आफूलाई समर्पित गरेको, आफूले कष्ट भोगेको, पक्राउ परेर जेलमा समय बिताएको, र त्यस्ता विगतका कुराहरूलाई व्यक्तिगत पूँजीका रूपमा, र आशिष् पाउने आधार र कारणका रूपमा लिनु।) यो त एउटा वर्णन मात्र हो। यहाँ अन्तर्निहित स्थिति के हो? कस्तो परिस्थितिले तँलाई यस अवस्थामा पुर्‍याउँछ? तैँले कुनै कारणविना यसरी सोच्दैनस्। तैँले दिनहुँ खाना खाँदा, सुत्दा, वा कामकुरा गर्दा सधैँ यस्तो कुरा सोचिरहेको हुँदै हुँदैनस्। तँलाई यस्तो स्थितिमा पुर्‍याउने पृष्ठभूमि र परिस्थितिबारे थाहा हुनुपर्छ। मलाई बता त। (जब म आफ्नो कर्तव्यमा अलिक प्रभावकारी हुन्छु, तब मलाई के लाग्छ भने, मैले परमेश्‍वरका लागि यताउता यात्रा गरेको छु, उहाँका लागि आफूलाई समर्पित गरेको छु, उहाँका लागि परिश्रम गरेको छु र धेरै कुरा गरेको छु। पावललाई जस्तै, मलाई पनि आफूले परमेश्‍वरका लागि राम्रो लडाइँ लडेको छु, र योगदान दिएको छु भन्‍ने लाग्छ। यस्तो बेला नै मेरा महत्त्वाकाङ्क्षा र चाहनाहरू प्रकट हुन्छन्।) वास्तवमा, सुरुमा तँ महत्त्वाकाङ्क्षा र चाहनारहित थिइनस्; ती कुरा सुरुदेखि नै तेरो हृदयमा लुकेका थिए, र अहिले ती बाहिर निस्केर आफूलाई प्रकट गरिरहेका छन्। जब यस्तो हुन्छ, तब तँ नम्र रहँदैनस्, तेरा शब्दहरू अप्रत्यक्ष हुँदैनन्, र तँ घमण्डी बन्छस्। पावलले गरेका सबै कुराको जडमा उसका गलत विचारहरू थिए। परमेश्‍वरमाथिको उसको विश्‍वासपछाडिका विचारहरू गलत भएका कारण, त्यसले उसका कार्यहरूको जड गलत थियो भन्‍ने कुरा सुनिश्‍चित गर्‍यो। तर, उसले यो कुरा महसुस गरेन, र यसलाई उचित समेत ठान्यो, त्यसैले उसले गलत दिशामा पछ्यायो। यसले गर्दा उसको पछ्याइको परिणाम उसको अभिप्राय विपरीत भयो; त्यसको परिणाम राम्रो भएन, र उसले सत्यता प्राप्त गरेन। अहिलेका मानिसहरू पनि उस्तै छन्। यदि तेरो पछ्याइपछाडिको दृष्टिकोण र तेरो पछ्याइको दिशा सधैँ गलत हुन्छ, तैपनि तँ त्यसलाई अझै पछ्याइको सही विधि ठान्छस् भने, तैँले अन्त्यमा के प्राप्त गर्नेछस्? यसले सम्भवतः तँलाई निराश पार्नेछ वा तेरो प्रकृतिलाई बढाइचढाइ गर्नेछ। उदाहरणका लागि, यदि परमेश्‍वर तँलाई विशेष तरिकाले आशिष् दिनुहुन्छ, वा तँलाई मात्र केही कुरा दिनुहुन्छ भने, तैँले यस्तो सोच्‍नेछस्, “हेर, परमेश्‍वर मप्रति कृपालु हुनुहुन्छ। यसबाट मैले गरेका सबै कुरालाई परमेश्‍वरले मान्यता दिनुहुन्छ भन्‍ने कुरा प्रमाणित हुन्छ। परमेश्‍वरले यसलाई स्वीकार गर्नुभएको छ। मैले चुकाएको मूल्य र मैले बगाएको मेरो हृदयको रगत-पसिना व्यर्थ गएन। परमेश्‍वर मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्‍न।” तँ परमेश्‍वरले मानिसहरूलाई अन्यायपूर्ण व्यवहार नगर्नुलाई, उहाँका आशिष् र स्वीकारलाई यसरी बुझ्छस्, तर यो बुझाइ गलत र विकृत छ। अहिले, मुख्य कुरा भनेको यी गलत र विकृत अभिप्राय, विचार, र पछ्याइलाई सही र शुद्ध विचार अनि दृष्टिकोणमा कसरी रूपान्तरित गर्ने भन्‍ने हो। सही विचार र दृष्टिकोणअनुसार काम गर्दा मात्र सत्यता अभ्यास हुन्छ, र तैँले सत्यता प्राप्त गर्न सक्‍ने एकमात्र तरिका यही नै हो। मुख्य कुरा यही हो।

मानिसहरूले बारम्बार प्रवचनहरू सुनेर अहिले आत्मचिन्तन गर्न, र आफूलाई परमेश्‍वरको वचनसँग तुलना गर्न थालेका छन्। तिनीहरूले कर्तव्य पूरा गर्दा आफूमा हुने समस्याहरू पहिचान गर्न थालेका छन्, र आफ्ना असामान्य स्थिति, अत्यधिक चाहना, र भ्रष्‍टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्छन्। तिनीहरू पूर्ण रूपमा अबोधगम्य हुने होइन। एउटै समस्या के हो भने, जब तिनीहरूले आफू गलत स्थितिमा भएको, वा आफूले भ्रष्‍टता प्रकट गरिरहेको पत्ता लगाउँछन्, तब तिनीहरूमा त्यसलाई रोक्‍ने क्षमता हुँदैन, र तिनीहरू त्यो समाधान गर्न सत्यताको खोजी गर्दैनन्। कहिलेकाहीँ तिनीहरू शैतानी दर्शनअनुसार जिउँछन्, कसैलाई चिढ्याउँदैनन्, र आफूलाई निकै राम्रो ठान्छन्। तर, तिनीहरू वास्तविक रूपमा परिवर्तन भएका हुँदैनन्; तिनीहरूले अन्योलग्रस्त भएर नै आफ्नो समय बरबाद गर्छन्, र फलस्वरूप, एक दशकसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि तिनीहरूसँग भन्‍नलाई अनुभवात्मक गवाही हुँदैन, र तिनीहरूलाई लाज लाग्छ। अहिले समाधान गर्नुपर्ने मुख्य समस्या भनेको, तेरा पछ्याइहरूको गलत दिशालाई कसरी परिवर्तन गर्ने भन्‍ने हो। तँ सत्यता पछ्याउने मार्ग नै सही हो भन्‍नेमा स्पष्ट छस्, तैपनि तँ ख्याति, प्राप्ति, र हैसियत पछ्याउनमा जिद्दी गर्छस्। यो समस्या कसरी समाधान गर्न सकिन्छ ताकि तँ सत्यताको मार्गमा हिँड्न सक्? यो एउटा यस्तो समस्या हो, जसलाई विश्‍वासीहरूले समाधान गर्नैपर्छ। तिमीहरूले आफूले परमेश्‍वरको काम अनुभव गर्ने तरिकाबारे बारम्‍बार सङ्गति गर्नुपर्छ, र सत्यता पछ्याइको अनुभवात्मक गवाही कोसँग छ, र कसको अनुभवात्मक गवाही राम्रो छ भनेर हेर्नुपर्छ, अनि त्यसपछि त्यसलाई स्वीकार गरेर त्यसको गर्नुपर्छ, ताकि तैँले यसबाट लाभ उठा र तँ आफ्‍नो भ्रष्ट स्वभावको बन्धनबाट मुक्त हो। सत्यता पछ्याउने मार्गमा हिँड्नु सजिलो छैन—तैँले आफ्‍ना अपराधहरूलाई मात्र नभई आफैलाई पनि बुझ्नैपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्‍नो भ्रष्ट स्वभाव के हो, आ फ्नाप्राथमिकता र पछ्याइहरूमा के गलत छ, र कस्ता परिणामहरू आउन सक्छन् भनेर बुझ्नु हो। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। अधिकांश मानिस ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्। हरेक दिन, तिनीहरू कसरी अगुवा बन्‍ने, अरू मानिसलाई कसरी आफ्‍नो आदर गर्न लगाउने, कसरी आडम्बर देखाउन सकिन्छ, र कसरी मर्यादित जीवन जिउने भन्‍नेबारे सोच्छन्। यदि मानिसहरूले यी कुराबारे चिन्तन गर्न सक्दैनन्, यसरी जिउनुको सारलाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्, र अन्त्यमा धेरै वर्षपछि असफल भईठक्‍कर खाएर होस नआऊञ्‍जेल यत्तिकै भौँतारिरहन्छन् भने, के यसले तिनीहरूको जीवन वृद्धिको महत्त्वपूर्ण कुरामा ढिलाइ गराउनेछैन र? मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव र आफूले रोजेको मार्गलाई स्पष्ट रूपमा हेरेर मात्र सत्यता पछ्याउने मार्गमा कदम चाल्न सक्छन्। यदि तिनीहरूले हासिल गर्न चाहने परिणाम यही हो भने, के तिनीहरूले आफूलाई बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छैन र? कतिपय मानिस आफूलाई अलिकति पनि बुझ्दैनन्, तैपनि अरूका समस्याको सानोतिनो कुरालाई पनि स्पष्टसँग बुझ्छन्, र तिनीहरू निकै सुझबुझपूर्ण हुन्छन्। त्यसोभए, तिनीहरूले अरूलाई खुट्ट्याउँदा, आफूलाई जाँच्न किन यसलाई ऐनाका रूपमा प्रयोग गर्दैनन्? यदि तँ सधैँ अरू मानिसहरू अहङ्कारी, आत्मधर्मी, छली छन्, र सत्यतामा समर्पित हुँदैनन् भनेर भन्छस्, तर तँ पनि त्यस्तै छस् भन्‍ने कुरा देख्‍न सक्दैनस् भने, तँ समस्यामा छस्। यदि तँ आफ्‍ना समस्याहरू कहिल्यै बुझ्दैनस्, र तैँले सत्यतामा दिइएको प्रवचनहरू जति नै सुने पनि, सुनेको कुरा बुझे पनि आफूलाई त्यससँग दाँज्दैनस्, आफ्‍नो स्थिति जाँच्न चाहँदैनस्, र आफ्‍ना समस्याहरूलाई गम्भीर रूपमा सम्हाल्न र समाधान गर्न सक्दैनस् भने, तँसँग जीवन प्रवेश हुनेछैन। यदि मानिसहरू सधैँ सत्यता वास्तविकताहरूमा प्रवेश गर्न असक्षम हुन्छन् भने, तिनीहरूको हृदयमा खोक्रो भावना हुनेछैन र? तिनीहरूले परमेश्‍वरले तिनीहरूमा के काम गर्नुभएको छ भन्‍ने कुरा बोध गर्नेछैनन्, मानौँ तिनीहरूमा कुनै बोधगम्यता छैन। तिनीहरू सधैँ धमिलो स्थितिमा हुनेछन्, र तिनीहरूका पछ्याइहरू सही उद्देश्य वा दिशातर्फ लक्षित हुनेछैन। तिनीहरूले आफ्नै प्राथमिकताअनुसार मात्र पछ्याउनेछन्, र तिनीहरू आफ्नै मार्गमा हिँड्नेछन्। यो त पावलले जस्तै इनाम र मुकुट पछ्याउनुलाई मात्रै महत्त्व दिनु, र सत्यता पटक्कै नस्विकार्नु वा अभ्यास नगर्नु हो। यदि तेरो मन सधैँ अस्पष्ट स्थितिमा हुन्छ, र तँसँग पछ्याइको सही मार्ग हुँदैन भने, तैँले कैयौँ वर्षदेखि प्रवचनहरू सुन्दै आए पनि कुनै परिणाम प्राप्त गरेको हुँदैनस्, र साँचो मार्गले तेरो हृदयमा कहिल्यै जरा गाडेको हुँदैन। तँलाई धेरै धर्मसिद्धान्तबारे कसरी कुरा गर्ने भन्‍ने थाहा हुन सक्छ, तैपनि यसले तेरो नकारात्मक स्थिति वा भ्रष्ट स्वभावलाई पटक्कै सुल्झाउन सक्दैन। जब तँलाई कुनै पनि प्रकारको कठिनाइ आइपर्छ, तब तैँले बुझ्ने धर्मसिद्धान्तले तँलाई त्यसलाई जित्‍न, वा त्यसलाई सहज रूपमा पार गर्न सहयोग गर्नेछैन; यसले तँलाई तेरो स्थिति परिवर्तन गर्न वा सच्याउन सहयोग गर्नेछैन, तँलाई विवेकको भावसाथ जिउन, स्वतन्त्रता र रिहाइ दिन, वा कुनै कुराको बन्धनमा पर्नबाट रोक्‍न मद्दत गर्नेछैन। तँ पहिले कहिल्यै यस्तो स्थितिमा परेको छैनस्, त्यसैले यसले तँ आधारभूत रूपमा सत्यता वास्तविकताहरूमा प्रवेश गरेको छैनस् भन्‍ने कुरा प्रमाणित गर्छ। यदि तँ सत्यता वास्तविकताहरूमा प्रवेश गर्न, परमेश्‍वरका वचनहरू बुझ्न, परमेश्‍वरमाथिको साँचो आस्था हासिल गर्न, परमेश्‍वरलाई चिन्‍न, र परमेश्‍वर साँच्‍चै अस्तित्वमा हुनुहुन्छ भनी निश्‍चित हुन चाहन्छस् भने, तैँले आफ्नो स्थितिलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्नैपर्छ, अनि त्यसपछि परमेश्‍वरका वचनमा अभ्यास र प्रवेश गर्ने मार्ग खोज्नैपर्छ। कतिपय मानिस परमेश्‍वरका वचनहरू पढ्छन् र त्यससँग आफूलाई तुलना गर्न चाहन्छन्, तर तिनीहरूले जति नै प्रयास गरे पनि, त्यसो गर्न सक्दैनन्। उदाहरणका लागि, जब परमेश्‍वर मानिसको स्वभाव साह्रै अहङ्कारी छ भनेर खुलासा गर्नुहुन्छ, तब तिनीहरू सोच्छन्, “म धेरै नम्र छु र आफूलाई पृष्ठभूमिमै राख्छु। म अहङ्कारी छैनँ।” परमेश्‍वरले कुरा गर्ने गरेको यो अहङ्कार के हो? यो एक प्रकारको स्वभाव हो, घमण्डी व्यक्तित्वको प्रकटीकरण होइन, वा चर्को आवाजको वा निकै ठाडे तरिकाको बोलाइ होइन। बरु, यसले तर तेरो स्वभावमा भएको केही कुरालाई जनाउँछ—यो त कुनै कुरासँग नझुक्‍ने, र सबै कुरालाई तिरस्कार गर्ने, तुच्छ ठान्‍ने, र बेवास्ता गर्ने तेरो स्वभाव हो। तँ अहङ्कारी, अभिमानी, आत्मधर्मी छस्, सधैँ आफूलाई सक्षम ठान्छस्, र कसैको कुरा सुन्दैनस्। यदि तैँले सत्यताका वचन सुनिस् भने पनि तिनलाई वास्ता गर्दैनस् र सत्यतालाई महत्त्वहीन ठान्छस्। तँलाई आफूले भ्रष्ट स्वभाव प्रकट गर्दा, यो समस्या हो भन्‍ने लाग्दैन, र तैँले कोही पनि तेरो बराबरीमा आउन सक्दैन भन्‍ने समेत सोच्छस्, सधैँ आफूलाई अरूभन्दा राम्रो ठान्छस्, र अरूले तेरो कुरा सुन्‍नुपर्छ भन्‍ने माग गर्छस्। अहङ्कारी र आत्मधर्मी व्यक्ति यस्तो हुन्छ। यस्ता मानिसहरूसँग जीवन प्रवेश र सत्यता वास्तविकताहरू हुँदैन।

कुनै व्यक्तिसँग सत्यता वास्तविकताहरू छन् कि छैनन् भनेर कसरी मूल्याङ्कन गर्नुपर्छ? अवश्य नै, परमेश्‍वरका वचनहरूअनुसार सही मूल्याङ्कन गर्नैपर्छ। पहिले, तैँले साँचो रूपमा आफूलाई बुझ्छस् कि बुझ्दैनस्, र तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई साँचो रूपमा बुझ्छस् कि बुझ्दैनस् भन्‍ने कुरालाई हेर्। उदाहरणका लागि, के तेरो स्वभाव अहङ्कारी छ? के तँ कामकुरा गर्दा अहङ्कारी स्वभाव प्रकट गर्छस्? यदि तँलाई थाहा छैन भने, तँ आफूलाई नबुझ्ने व्यक्ति होस्। यदि कुनै व्यक्तिले आफ्नो स्थितिलाई स्पष्ट रूपमा देख्‍न सक्दैन, आफूले प्रकट गर्ने भ्रष्‍टतालाई अलिकति पनि बुझ्दैन, आफ्नो बोली-व्यवहारलाई सत्यतामा आधारित गर्दैन, आफूलाई आइपर्ने परिस्थितिमा खुट्ट्याउन सक्दैन, र हरेक मामिलालाई हेर्दा अन्धाधुन्ध प्रावधानहरू लागू गर्छ, तर यो सही हो कि गलत हो भन्‍ने जान्दैन भने, ऊ सत्यता नबुझ्ने व्यक्ति हो। यदि तैँले सत्यता बुझिस् भने, आफूलाई बुझ्न सक्‍नेछस्, आफूमा अहङ्कारी स्वभाव छ भनेर जान्‍नेछस्, आफ्‍नो साँचो स्थिति खुट्ट्याउन, साँच्‍चै पश्‍चात्ताप गर्न र परिवर्तन हुन सक्‍नेछस्, अनि सत्यता अभ्यास गर्ने तरिका जान्‍नेछस्। तर, यदि तँ सत्यता पछ्याउँदैनस्, परमेश्‍वरका वचनको सत्यताको व्यावहारिक पक्ष बुझ्दैनस्, परमेश्‍वरले खुलासा गर्नुहुने मानिसहरूको भ्रष्ट सारबारे चिन्तन गर्दैनस्, वा त्यससँग आफूलाई तुलना गर्दैनस् भने, तँ सधैँ नै बेवकुफ व्यक्ति हुनेछस्। सत्यताले मात्र तँलाई सुझबुझपूर्ण बनाउन सक्छ, र तँलाई सही र गलत, अनि कालो र सेतोबीच भिन्‍नता छुट्ट्याउन सक्‍ने बनाउँछ; सत्यताले मात्र तँलाई बुद्धिमान र विवेकी बनाउन, तँलाई बुद्धि दिन, र सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनेर स्पष्ट रूपमा छुट्ट्याउने क्षमता दिन सक्छ। यदि तैँले यी कुराहरूबीचको भिन्‍नता स्पष्ट रूपमा छुट्ट्याउन सक्दैनस् भने, तँ सधैँभरि बेवकुफ व्यक्ति हुनेछस्; तँ सधैँ अन्योलग्रस्त, अनभिज्ञ र भ्रमित स्थितिमा हुनेछस्। यस्ता व्यक्तिहरूले कुनै पनि तरिकाले सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरे पनि, तिनीहरू अझै सत्यता वास्तविकताहरूमा प्रवेश गर्न असमर्थ हुन्छन्। यदि तिनीहरूको श्रमले मानक पूरा गर्न सक्दैन भने, तिनीहरूसँग हटाइनुबाहेक अरू कुनै कुरा बाँकी हुँदैन। उदाहरणका लागि, कुनै अति प्रख्यात व्यक्तिले केही गर्छ, र धेरैजसो मानिसले यसलाई राम्रो कुरा ठान्छन्, तर यदि सत्यता बुझ्ने व्यक्तिले यसलाई हेर्‍यो भने, उसले त्यसलाई खुट्ट्याउनेछ, र उसका कार्यभित्र दुष्ट अभिप्रायहरू लुकेका छन्—यो देखावटी भलाइ, चाल र धोका हो, अनि कुनै दुष्ट व्यक्ति वा दियाबलस राजाले मात्र त्यस्तो काम गर्न सक्छ भनेर निर्धारित गर्नेछ। यसो भन्‍नुको आधार के हो? यो “राम्रो कुरा” को सार सत्यताअनुसार चित्रण गरिएको थियो। अरू मानिसले जे भने पनि, यसको मूल्याङ्कन गर्न सत्यता प्रयोग गरेर मात्र तैँले यसको सारलाई स्पष्ट रूपमा देख्‍न सक्छस्: यदि यो राम्रो छ भने, यो राम्रो हो; यदि यो खराब छ भने, यो खराब हो। परमेश्‍वरका वचनअनुसार यसको मूल्याङ्कन गर्नु पूर्ण रूपमा सही हुनेछ। तर, यदि तँ सत्यता बुझ्दैनस् भने, तँमा धारणाहरू उत्पन्‍न हुनेछन्, र तैँले यसो भन्‍नेछस्, “उसलाई किन राम्रो काम गरेकोमा खुलासा गरिँदै छ र निन्दा गरिँदै छ? उसलाई निष्पक्ष व्यवहार गरिँदै छैन!” तैँले यसलाई यसरी मूल्याङ्कन गर्नेछस्। तैँले यस मामिलालाई सत्यताका आधारमा मूल्याङ्कन गर्दैनस्, बरु आफ्नो मनले कल्पना गरेका कुराहरूका आधारमा गर्छस्। यदि तँ सधैँ मानव धारणा र कल्पनाअनुसार कामकुरालाई हेर्छस् भने, तैँले समस्याहरूको सारलाई कहिले पनि स्पष्ट रूपमा देख्‍न सक्‍नेछैनस्; तँ केवल बाहिरी रूपको बहकाउमा पर्नेछस्। तँसँग सत्यता छैन भने, तैँले जे कुरालाई हेरिरहेको भए पनि, तेरो दृष्टिकोण सधैँ अन्योलग्रस्त, धूमिल, धमिलो र अस्पष्ट हुनेछ, तैपनि तँलाई आफूसँग अन्तर्ज्ञान र गहन सोच छ भन्‍ने लाग्छ। यो त पूर्णतः आत्म-सचेतनाको कमी हो। उदाहरणका लागि, यदि परमेश्‍वरले कुनै व्यक्ति दुष्ट छ र उसलाई सजाय दिनुपर्छ भनेर भन्‍नुहुन्छ, तर तँ ऊ असल व्यक्ति हो र उसले राम्रा कामहरू गरेको छ भनेर भन्छस् भने, के तेरा शब्दहरू ठ्याक्कै परमेश्‍वरका वचनको विरुद्ध र विपरीत हुँदैनन् र? मानिसहरूले सत्यता नबुझ्दा, र तिनीहरूमा सुझबुझ नहुँदा यस्तै हुन्छ। कतिपय मानिसले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, तर पनि सत्यता बुझ्दैनन्। तिनीहरू कुनै पनि कुरामा सूक्ष्मता अपनाउँदैनन्, र धेरै मामिलालाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्। तिनीहरू सजिलै झूटा अगुवा र ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्; जे-जस्तो परिस्थिति उत्पन्‍न भए पनि, कुनै दुष्ट व्यक्तिले बाधा पैदा गर्छ भने, तिनीहरू पनि थाहै नपाई अन्योलमा पर्छन् र दुष्ट व्यक्तिले बोलेझैँ बोल्छन्। दुष्ट व्यक्तिलाई खुलासा र प्रकट गरिएपछि मात्र तिनीहरूको होस खुल्छ। यस्ता व्यक्तिहरू प्रायजसो अनभिज्ञ मनस्थितिमा जिउँछन्, र तिनीहरूको सार बेवकुफ व्यक्तिको हुन्छ। यस्ता मानिसहरूसँग अलिकति पनि क्षमता हुँदैन; तिनीहरूले सत्यता नबुझ्‍ने मात्र होइन, तिनीहरू कुनै पनि समय बहकाउमा पर्न सक्छन्, त्यसैले तिनीहरू कुनै हालतमा सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्। हरेक मण्डलीमा यस्ता कतिपय मानिसहरू हुन्छन्—जब झूटो अगुवाले काम गर्छ, तिनीहरू उसलाई पछ्याउँछन्; जब कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाइरहेको हुन्छ, तब तिनीहरू उसैलाई पछ्याउँछन्। छोटकरीमा भन्‍नुपर्दा, तिनीहरूले अगुवा जोसुकै भए पनि उसैलाई पछ्याउनेछन्; तिनीहरू त आफ्‍ना श्रीमानले जे गरे पनि उसको पछि लाग्‍ने महिलाजस्ता हुन्। यदि अगुवा असल व्यक्ति हो भने, तिनीहरू असल व्यक्तिलाई पछ्याउँछन्; यदि अगुवा खराब व्यक्ति हो भने, तिनीहरू खराब व्यक्तिलाई पछ्याउँछन्। तिनीहरूको आफ्नै विचार वा दृष्टिकोण हुँदैन। त्यसकारण, यस्तो व्यक्तिले सत्यता बुझ्न वा वास्तविकतामा प्रवेश गर्न सक्छ भन्‍ने अपेक्षा नगर्। तिनीहरूले थोरै श्रम गर्न सक्‍नु नै ठूलो कुरा हो। पवित्र आत्माले सत्यतालाई प्रेम गर्ने मानिसहरूमा काम गर्नुहुन्छ। सत्यतालाई प्रेम गर्ने मानिसहरू सबै क्षमता भएका मानिस हुन् जसले कम्‍तीमा पनि परमेश्‍वरका वचन बुझ्न, र परमेश्‍वरको घरको प्रवचन र सङ्गति बुझ्न सक्छन्। धार्मिक संसारले जतिसुकै विधर्म र भ्रम प्रसार गरे पनि र फैलाए पनि, अनि ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिले मण्डलीलाई जसरी बदनाम गरे पनि, निन्दा गरे पनि, र सताए पनि, सत्यतालाई प्रेम गर्ने मानिसहरू परमेश्‍वरका वचन सत्यता हुन् भन्‍नेमा विश्‍वस्त नै हुन्छन्, र परमेश्‍वरको घरको प्रवचन, सङ्गति र अनुभवात्मक गवाही सत्यताअनुरूप छन् र ती वास्तविक गवाही हुन् भन्‍ने विश्‍वास गर्छन्। बुझ्ने क्षमता हुनु भनेको यही हो। यदि तैँले परमेश्‍वरले बोल्नुहुने सबै वचन सत्यता र मानिसहरूमा हुनुपर्ने जीवन वास्तविकता हुन् भन्‍ने कुरा बुझिस् भने, यो बुझाइबाट तैँले सत्यताको एउटा अंश बुझिसकेको छस् भन्‍ने कुरा प्रमाणित हुन्छ। यदि तैँले परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यता सकारात्मक कुरा र सत्यता वास्तविकता हुन् भनेर बुझिस्, र कुरा यही हो भन्‍नेमा तँ सकारात्मक छस् र कुरा यही हो भनेर शतप्रतिशत स्वीकार गर्छस् भने, तँसँग परमेश्‍वरको कामबारे बुझाइ हुन्छ। सत्यता बुझ्नु सजिलो कुरा होइन; यो त पवित्र आत्माले अन्तर्दृष्टि दिनुभएएका मानिसहरूले मात्र बुझ्न सक्‍ने कुरा हो। सत्यतालाई साँचो अर्थमा बुझ्नेहरूले परमेश्‍वरले गरेका सबै कुरा सकारात्मक हुन्छन्, ती सबै सत्यता हुन्, र ती सबै मानवजातिका लागि एकदमै बहुमूल्य छन् भन्‍ने कुरालाई आफ्नो हृदयमा स्वीकार गरिसकेका हुन्छन्। सत्यतालाई साँचो रूपमा बुझ्ने मानिसहरूले गैरविश्‍वासी संसारका सबै कुरा नकारात्मक छन्, र ती सत्यताविरुद्ध जान्छन् भनेर स्पष्ट रूपमा देख्‍न सक्छन्। तिनीहरूका सिद्धान्तहरू जतिसुकै राम्रो लागे पनि, तिनले मानिसहरूलाई बहकाउँछन् र हानि गर्छन्। परमेश्‍वरले गर्ने सबै कुरा सकारात्मक हुन्छन्, ती सत्यता हुन्, र मानिसहरूका लागि मुक्ति हुन्। शैतान र दियाबलसहरूले गर्ने सबै कुरा नकारात्मक, गलत र बेतुके हुन्छन्, र तिनले मानिसहरूलाई बहकाउँछन् र हानि गर्छन्; यो त परमेश्‍वरले गर्ने कुराको ठीक विपरीत हो। यदि तँ यस कुराबारे पूर्णतया स्पष्ट छस् भने, तँसँग सुझबुझ छ। यदि तैँले सत्यता पछ्याउन, परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्न, परमेश्‍वरका वचनमार्फत आफूलाई बुझ्‍न र तीसँग आफूलाई तुलना गर्न, आफ्नो भ्रष्टताको वास्तविकता देख्‍न, परमेश्‍वरले तेरा लागि सिर्जना गर्ने हरेक परिस्थितिमा तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरू सुल्झाउन, र अन्त्यमा आफूलाई बुझ्न सक्‍न मात्र नभई अरूलाई खुट्ट्याउन सक्छस्, र कसले परमेश्‍वरमा साँचो विश्‍वास गर्छ, अविश्‍वासी को हो, झूटो अगुवा को हो, ख्रीष्टविरोधी को हो, र कसले मानिसहरूलाई बहकाउँछ भन्‍ने कुरा बुझ्न सक्छस् भने—यदि तैँले यी कुराहरूलाई सही तरिकामा मूल्याङ्कन गर्न र बुझ्न सक्छस् भने—यसको मतलब तैँले सत्यता बुझ्छस् र तँमा केही वास्तविकता छ। उदाहरणका लागि, मानौँ तेरा आफन्त वा आमाबुबा परमेश्‍वरका विश्‍वासी हुन्, तर दुष्कर्म गरेको र बाधा दिएको वा सत्यता अलिकति पनि नस्विकारेको कारण, तिनीहरूलाई निकालिन्छ। तर, तैँले तिनीहरूलाई खुट्ट्याउँदैनस्, तँलाई तिनीहरूलाई निकाल्नुको कारण थाहा छैन, तँ निकै दुःखी हुन्छस्, अनि परमेश्‍वरको घरमा प्रेम छैन र यो मानिसहरूप्रति निष्पक्ष छैन भनेर सधैँ गुनासो गर्छस्। तैँले परमेश्‍वरसँग प्रार्थना गरी सत्यताको खोजी गर्नुपर्छ, त्यसपछि परमेश्‍वरका वचनहरूका आधारमा यी आफन्तहरू कस्ता मानिसहरू हुन् भनेर मूल्याङ्कन गर्नुपर्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझिस् भने, तिनलाई सही रूपमा परिभाषित गर्न सक्‍नेछस्, र परमेश्‍वरले गर्ने हरकुरा सही हुन्छ, र उहाँ धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर देख्‍नेछस्। त्यसपछि, तँमा कुनै गुनासो हुनेछैन, तँ परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन सक्‍नेछस्, अनि तैँले आफ्ना आफन्त वा आमाबुबाको बचाउ गर्ने प्रयास गर्नेछैनस्। यो तिमीहरूको सम्बन्ध तोड्ने कुरा होइन; यो त बस तिनीहरू कस्ता मानिस हुन् भनेर निर्धारित गर्नलाई हो, र तैँले तिनीहरूलाई खुट्ट्याउन, र तिनीहरूलाई किन हटाइयो भनेर जान्‍न सक् भनेर हो। यदि तँ तेरो हृदयमा यी कुराहरूबारे साँच्‍चै स्पष्ट छस् र तेरा दृष्टिकोणहरू सही र सत्यताअनुरूप छन् भने, तँ परमेश्‍वरकै पक्षमा खडा हुन सक्‍नेछस्, अनि यो मामिलाप्रतिको तेरा दृष्टिकोणहरू परमेश्‍वरका वचनहरूसँग पूर्ण रूपले मेल खानेछन्। यदि तँ सत्यता स्विकार्न वा परमेश्‍वरका वचनअनुसार मानिसहरूलाई हेर्न सक्दैनस्, र मानिसहरूलाई हेर्दा अझै पनि दैहिक सम्बन्ध र दृष्टिकोणको पक्ष लिन्छस् भने, तैँले यो दैहिक सम्बन्धलाई कहिल्यै फाल्न सक्‍नेछैनस्, अनि तैँले यी मानिसहरूलाई अझै पनि आफन्तकै रूपमा व्यवहार गर्नेछस्—तैँले तिनीहरूलाई मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूभन्दा पनि घनिष्ठ ठान्‍नेछस्, र त्यस स्थितिमा यो मामिलाबारे परमेश्‍वरका वचन र परिवारप्रतिको तेरो दृष्टिकोण बाझिनेछन्—द्वन्द्व समेत हुनेछ, र यस्तो परिस्थितिमा तँ परमेश्‍वरको पक्षमा खडा हुन असम्भव हुनेछ, अनि तैँले परमेश्‍वरबारे धारणा र गलतफहमी पाल्‍नेछस्। तसर्थ, यदि मानिसहरूलाई परमेश्‍वरको अनुकूल हुनु छ भने, सर्वप्रथम मामलाहरूबारे तिनीहरूको दृष्टिकोण परमेश्‍वरका वचनहरू अनुरूप हुनैपर्छ; तिनीहरूले मानिस र कामकुराहरूलाई परमेश्‍वरका वचनहरूका आधारमा हेर्न, परमेश्‍वरका वचन सत्यता हुन् भनेर स्विकार्न, र मानिसहरूका परम्‍परागत धारणाहरूलाई पन्छाउन सक्‍नैपर्छ। तैँले जुनै व्यक्ति वा मामिलाको सामना गरे पनि, परमेश्‍वरको जस्तै दृष्टिकोण र सोच कायम राख्‍न सक्‍नैपर्छ, अनि तेरा दृष्टिकोण र विचारहरू सत्यताअनुरूप हुनैपर्छ। यसरी, तेरा विचार र मानिसहरूसँग व्यवहार गर्ने तेरो शैली परमेश्‍वरविरोधी हुनेछैन, र तँ परमेश्‍वरप्रति समर्पित बन्‍न र परमेश्‍वरअनुरूप हुन सक्‍नेछस्। त्यस्ता मानिसहरूले फेरि कहिल्यै परमेश्‍वरको विरोध गर्नै सक्दैनन्; परमेश्‍वरले प्राप्त गर्न चाहने मानिसहरू तिनीहरू नै हुन्।

सत्यता वास्तविकताहरूमा प्रवेश गर्ने पहिलो कदम भनेको परमेश्‍वरका वचनहरूअनुसार आत्मचिन्तन गर्नु र आफ्ना सबै फरक-फरक स्थितिलाई उहाँका वचनहरूसँग तुलना गर्नु हो। यदि तँ अझै गहिरिन चाहन्छस् भने, तैँले आफ्नो भ्रष्ट स्वभावलाई अझ गहन रूपमा चिरफार गर्नैपर्छ र बुझ्नैपर्छ। तैँले यो बुझिसकेपछि के गर्नुपर्छ? तैँले अभ्यास गर्ने र प्रवेश गर्ने तरिका पत्ता लगाउनुपर्छ, र सत्यता अभ्यास कसरी गर्ने र आफ्नो भ्रष्ट स्वभाव कसरी फाल्ने भनेर विचार गर्नुपर्छ; सही मार्ग यही हो। कतिपय मानिस आफूलाई बुझेपछि नकारात्मक हुन्छन्; तिनीहरू आफूलाई हटाइएको र आफू सेवाकर्ता र प्रतिभार भएको भन्दै रुन्छन् र सुँकसुकाउँछन्, र आफ्नो कर्तव्यसमेत पूरा गर्न चाहँदैनन्। यी कस्ता प्रकारका मानिस हुन्? यी बेतुके मानिस हुन्, र तिनीहरू निर्लज्ज रूपमा अविवेकी हुन्छन्। त्यसोभए, यसलाई सच्याउने सबैभन्दा राम्रो तरिका के हो? कम्‍तीमा पनि, तिनीहरू रुनु वा हङ्गामा गर्नु हुँदैन, यसबाहेक, तिनीहरूले हार मान्‍नु हुँदैन वा परमेश्‍वरबारे गुनासो गर्नु हुँदैन। तिनीहरूले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता खोज्नु अनि परमेश्‍वरको अभिप्राय वास्तवमा के हो, कुन कार्यविधी सबैभन्दा समझदार छ, र आफूले कुन मार्ग रोज्नुपर्छ भनेर बुझ्नु हो; सबैभन्दा महत्त्वपूर्ण कुरा यिनै हुन्। आशिष् पाउने अभिप्रायद्वारा निरन्तर नियन्त्रित हुँदा मानिसहरूलाई आफ्नो समझ गुमाउन सबैभन्दा सजिलो हुन्छ। समझ नभएका मानिसहरू नै सबैभन्दा दयनीय हुन्छन्, तर सबै कुरामा परमेश्‍वरप्रति समर्पित हुन रोज्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र खोज्ने मानिसहरू सबैभन्दा बढी समझदार र सबैभन्दा बढी विवेक भएका मानिस हुन्। जब परमेश्‍वरले कुनै व्यक्तिलाई खुलासा गर्नुहुन्छ, तब उसले यसलाई कसरी सम्हाल्नुपर्छ, र के छनौट गर्नुपर्छ? उसले सत्यता खोज्नैपर्छ, र कुनै पनि हालतमा बेवकुफ बन्‍नु हुँदैन। परमेश्‍वरको न्याय र सजाय अनुभव गर्नु, अनि आफ्‍नो भ्रष्टता जस्ताको त्यस्तै देख्‍नु तेरा लागि राम्रो कुरा हो, तैपनि किन तँ नकारात्मक छस्? परमेश्‍वरले तैँले आफूलाई बुझ् भनेर, र तँलाई मुक्ति दिनका निम्ति तँलाई खुलासा गर्नुहुन्छ। वास्तवमा, तैँले प्रकट गर्ने भ्रष्ट स्वभाव तेरो प्रकृतिबाट उत्पन्‍न हुन्छ। परमेश्‍वर तँलाई खुलासा गर्न चाहनुहुन्छ भन्‍ने होइन, तर यदि उहाँले तँलाई खुलासा गर्नुभएन भने पनि, के तैँले यो प्रकट गर्दैनस् र? तैँले परमेश्‍वरमा विश्‍वास गर्नुअघि, उहाँले तँलाई खुलासा गर्नुभएको थिएन, त्यसकारण के तैँले जिएको सबै कुरा एउटा शैतानी भ्रष्ट स्वभाव थिएन र? तँ शैतानी स्वभावअनुसार जिउने व्यक्ति होस्। तँ यी कुराले गर्दा यति चकित हुनु पर्दैन। तँ अलिकति भ्रष्‍टता प्रकट गर्दा नै डरले थुरथुर हुन्छस्, र आफ्नो सबै कुरा खतम भयो, परमेश्‍वर तँलाई चाहनुहुन्‍न, र तैँले गरेका सबै कुरा खेर गएका छन् भन्‍ने सोच्छस्। बढ्ता प्रतिक्रिया नदे। परमेश्‍वरले मुक्ति दिने त रोबटलाई नभई भ्रष्ट मानिसलाई नै हो। मैले भ्रष्ट मानिस भनेर कसलाई भन्‍न खोजेको हुँ? मैले शैतानी भ्रष्ट स्वभाव प्रकट गर्ने, अहङ्कारी र आत्मधर्मी, सत्यता नस्विकार्ने, परमेश्‍वरको विरोध र उहाँविरुद्ध विद्रोह गर्न सक्‍ने, उहाँप्रति शत्रुभाव राख्‍न सक्‍ने, र पावलका पदचापहरू पछ्याउन सक्‍ने मानिसहरूलाई भन्‍न खोजेको हुँ। परमेश्‍वरले यस्तै मानिसहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ परमेश्‍वरको मुक्ति स्विकार्न र मुक्ति पाउन चाहन्छस् भने, तैँले आफ्नो हृदयको भ्रष्ट स्वभाव, आफूले हरेक दिन प्रकट गर्ने भ्रष्ट स्वभावको सामना गर्नैपर्छ, र तैँले हरेक दिन सत्यता खोज्नैपर्छ र आत्मचिन्तन गर्नैपर्छ, आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्नैपर्छ, आफूले प्रकट गर्ने भ्रष्ट स्वभावलाई खुट्ट्याउनैपर्छ र चिरफार गर्नैपर्छ अनि त्यससँग लड्नैपर्छ। कतिपय मानिस त्यससँग धेरै पटक लड्छन् तर पराजित हुन्छन्, र भन्छन्, “म किन सधैँ अहङ्कार प्रकट गर्छु? अरू मानिसहरूले किन प्रकट गर्दैनन्?” वास्तवमा, सबैले अहङ्कार प्रकट गर्छन्। अरू मानिसले यो प्रकट गर्दा, तँलाई थाहा हुँदैन, तर तिनीहरूलाई त थाहा हुन्छ। अथवा, तिनीहरूलाई नै आफूले अहङ्कार प्रकट गरिरहेको छु भन्‍ने थाहा नहुन सक्छ, तर परमेश्‍वरलाई थाहा हुन्छ। साथै, मानिसहरूले याद गर्नैपर्ने अर्को समस्या पनि छ: परमेश्‍वरले मानिसहरूको भ्रष्ट स्वभाव सच्याउनुहुन्छ; उहाँले तिनीहरूको कामकुरा गर्ने तरिका सच्याउनुहुन्‍न। तैँले कुनै कुरा गर्ने क्रममा तँमा हुने क्षणिक अभिप्रायलाई, वा कामकुरा गर्ने कुनै निश्‍चित तरिकालाई, वा तँ कहिलेकाहीँ अल्छी हुने वा मूल्य नचुकाउने कुरालाई परमेश्‍वरले घृणा गर्नुहुन्‍न; परमेश्‍वरले त्यस्ता कुरालाई घृणा गर्नुहुन्‍न; परमेश्‍वरले त तेरो भ्रष्ट स्वभावलाई घृणा गर्नुहुन्छ। जब तँलाई भ्रष्ट स्वभाव प्रकट गरिरहेको छु भन्‍ने लाग्छ, तब तँलाई परमेश्‍वरले ताडना दिनुअघि नै त्यो कुरा थाहा हुनुपर्छ। परमेश्‍वरले तँलाई घृणा गर्नुहुन्छ वा हटाउनुभएको छ भनेर तैँले अनुमान गर्नु हुँदैन; तँलाई आफ्नो समस्या थाहा हुनुपर्छ, त्यसपछि तैँले कसरी पश्‍चात्ताप गर्नुपर्छ, र सत्यता अभ्यास गर्ने कुन तरिकाले परिवर्तन ल्याउनेछ भनेर खोजी गर्नुपर्छ। यो सामान्य समझको प्रकटीकरण हो। तैँले पहिले थाहा पाउनुपर्ने कुरा यो हो, “मेरा यी शब्दहरू उचित छैनन्, र तिनमा अहङ्कार प्रकट हुन्छ। म यो कार्य गर्न सक्षम छैनँ, तैपनि म आफूलाई हौस्याउँछु र गर्न सक्छु भनेर भन्छु, त्यसैले के यो ठुल्ठुला गफ हाँक्‍नु मात्र होइन र? मैले ठुल्ठुला गफ हाँक्‍नु र आफूलाई हौस्याउनुले ममा अहङ्कारी स्वभाव छ भन्‍ने देखाउँछ।” परमेश्‍वरले तँलाई ठुल्ठुला गफ हाँकेकोमा दोषी ठहराउनुहुन्‍न, तर के त्यसको मतलब तैँले त्यसलाई त्यतिकै छोडिदिन सक्छस् भन्‍ने हो? होइन, तैँले त्यसलाई छोडिदिन सक्दैनस्। तैँले त्यसलाई चिरफार गरेर भन्‍नैपर्छ, “किन म आफूलाई हौस्याउन र ठुल्ठुला गफ हाँक्‍न यति सिपालु छु? किन म आफूले गर्न नसक्‍ने, वा आफूले गर्न सक्‍छु भनेर थाहा समेत नभएका कुरामा फुइँ लगाउँछु? ममा किन यो चरित्रदोष छ?” यो चरित्रदोष होइन। चरित्रदोष त सतही तहको खराब बानी हो। ठुल्ठुला गफ हाँक्‍नु भनेको अहङ्कारी स्वभाव आफै प्रकट हुने तरिकाहरूमध्ये एक हो; तँलाई यस्तो स्थितिमा जिउन निर्देशन दिने त तेरो शैतानी स्वभावले हो—तँ पूर्ण रूपमा आफ्नो स्वभावद्वारा निर्देशित हुन्छस्। यदि तँ यसलाई दबाउन सक्छस्, र अहङ्कारी स्वभाव प्रकट गर्दैनस् भने, के यसको मतलब तँसँग अब अहङ्कारी स्वभाव छैन भन्‍ने हो? के यसको मतलब यो समाधान भएको छ भन्‍ने हो? यो पक्‍कै पनि त्यति सरल कुरा होइन। तैँले कुनै कुरा गर्ने तरिका परिवर्तन गरेर, बाहिरी रूपमा नियम पालक र शिष्ट बनेर, धृष्ट नबनेर, र सुसंस्कारी बनेर मात्र तँमा अहङ्कार नहुने होइन। ती त केवल देखावटी कुरा मात्र हुन्, र तिनले अहङ्कारमाथि नयाँ समस्याहरू थपिदिन्छन्, अनि परिणाम झनै समस्याजनक हुन्छ। यदि तँ आफ्नो अहङ्कारलाई ठीक पार्न चाहन्छस्, र हरप्रकारको भ्रष्ट स्वभावलाई ठीक पार्न चाहन्छस् भने, तैँले यसो गर्न आफ्नो कर्तव्य निर्वाहमा सत्यताको खोजी गर्नैपर्छ। यो नै सही तरिका हो। उदाहरणका लागि, मानिलिऊँ अगुवाले तँलाई कुनै निश्‍चित कर्तव्य पूरा गर्ने प्रबन्ध मिलाउँछ, र कुरा सुनेपछि तँ खेलाँची पाराले भन्छस्, “मैले पहिले पनि यस्तै कर्तव्यहरू पूरा गरेको छु। यो त बायाँ हातको खेल हो!” तर यसलगत्तै, तँलाई आफूले अहङ्कार प्रकट गरेको, र यस्तो सोचाइ गलत हो भन्‍ने महसुस हुन्छ, र तैँले तुरुन्तै प्रार्थना गरेर “हे परमेश्‍वर! मैले फेरि अहङ्कार प्रकट गरेको छु। कृपया मलाई काटछाँट गर्नुहोस्; म आफ्‍नो कर्तव्य राम्रोसँग निर्वाह गर्न इच्छुक छु,” भन्दै आफ्नो सोचाइलाई मिलाउँछस्, तैँले गर्नुपर्ने पहिलो कुरा यही हो। त्यसोभए, तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ? तँ सोच्छस्, “यो त म परमेश्‍वरका लागि गर्दै छु, र म यो उहाँको उपस्थितिमा गर्दै छु, त्यसैले मैले यसलाई सावधानीपूर्वक सम्हाल्नैपर्छ। मैले यसमा गडबड गर्नु हुँदैन। गडबड गरेँ भने, यो एकदमै लाजमर्दो हुनेछ!” त्यसपछि, तँ यसबारे मनन गर्छस्, र सोच्छस्, “होइन, त्यो ठीक होइन। म किन आफूलाई लज्जित पार्छु कि भनेर डराउने?” यो स्थिति पनि सही होइन; तैँले बाटो बिराउन थालेको छस्। तैँले यसलाई कसरी सच्याउनुपर्छ? कुन दिशामा जानु सही मार्ग हो? फेरि पनि, यसको सम्बन्ध समस्या समाधान गर्नका लागि सत्यताको अभ्याससँग छ। तैँले यस्तो सोच्नुपर्छ, “म आफूलाई लज्जित पार्छु कि भनी डराउँदिनँ। मुख्य कुरा के हो भने, मैले मण्डलीको काममा हानि पुर्‍याउनु हुँदैन,” अनि तेरो स्थिति परिवर्तन भएको हुनेछ। तर त्यसपछि यदि तैँले “मैले मण्डलीको काममा हानि पुर्‍याएँ, र मलाई काटछाँट गरियो भने के गर्ने? ममा घमण्ड हुनेछैन” भनेर सोच्छस् भने, तेरो स्थिति फेरि गलत हुनेछ। यसलाई कसरी समाधान गर्न सकिन्छ? तैँले आफ्‍नो हृदयमा यस्तो सोच्नैपर्छ, “म आफ्नो कर्तव्यलाई कहिल्यै महत्त्व दिँदिनँ, म यो पूरा गर्न अल्छी गर्छु, र म साह्रै अहङ्कारी छु। म काटछाँट गरिन लायक छु। मैले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ र उहाँलाई काम गर्न दिनैपर्छ। म जब्बर छु, तर परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र उहाँका लागि केही पनि असम्भव छैन, त्यसैले म परमेश्‍वरमा भर पर्नेछु।” यो सही हो; यो नै अभ्यास गर्ने सही तरिका हो। परमेश्‍वरले तँलाई केही प्रतिभा दिनुभएको छ, र तँलाई केही ज्ञान प्राप्त गर्न दिनुभएको छ, तर यो ज्ञान प्राप्त गर्नुको अर्थ तैँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्छस् भन्‍ने होइन। के यो तथ्य होइन र? (हो।) कुनै व्यक्ति कसरी यस निष्कर्षमा पुग्छ? (अनुभवमार्फत।) यो अनुभवले तँलाई पाठ सिकायो, र तँलाई अन्तर्ज्ञान दियो। अर्थात्, परमेश्‍वरले मानिसहरूलाई दिने कुरा जन्मजात रूपमा हुने कुरा होइन, न त त्यो तिनीहरूको पूँजी नै हो; परमेश्‍वर आफूले तिनीहरूलाई दिएको कुरा कुनै पनि बेला फिर्ता लिन सक्‍नुहुन्छ। जब परमेश्‍वर तँलाई प्रकट गर्न चाहनुहुन्छ, तब तँ कुनै कुरामा जति नै प्रतिभाशाली भए पनि, तैँले त्यो बिर्सनेछस् र त्यसलाई प्रयोग गर्न सक्‍नेछैनस्—तँ केही न कामको हुनेछस्। यदि यस बेला तँ “परमेश्‍वर, मेरो केही न कामको छु। तपाईँले दिनुभएकाले नै मसँग यो क्षमता छ। बिन्ती छ, मलाई शक्ति दिनुहोस्! कृपया मलाई आशिष् दिनुहोस् र मार्गदर्शन गर्नुहोस्, ताकि मैले तपाईँको काममा हानि नगरूँ” भनेर प्रार्थना गर्छस् भने, के यो प्रार्थना गर्ने सही तरिका हो? (अहँ, होइन।) यस बिन्दुमा तैँले कस्तो परिवर्तन गर्नुपर्छ? तँ भन्छस्, “हे परमेश्‍वर! म तपाईँका बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक छु। मैले जहिले पनि आफूलाई सही ठान्‍नु हुँदैन। मलाई कामको यस क्षेत्रबारे केही कुरा थाहा भए पनि, र यसबारे ममा केही दक्षता भए पनि, यसको मतलब म त्यो काम राम्रोसँग गर्न सक्छु भन्‍ने होइन। मेरो भ्रष्ट स्वभाव एउटा बाधा भएको हुनाले, ममा झाराटारुवा र लापरवाह तरिकाले काम गर्ने प्रवृत्ति छ, र आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिँदिनँ। म आफूलाई नियन्त्रण गर्न असक्षम छु, र आफूलाई पकडमा राख्‍न सक्दिनँ। बिन्ती छ, मेरो रक्षा गर्नुहोस् र मलाई मार्गदर्शन गर्नुहोस्। म तपाईँमा समर्पित हुन, सक्दो गर्न, र तपाईँलाई महिमा दिन इच्छुक छु।” यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्छस्, अनि अस्सी प्रतिशत श्रेय परमेश्‍वरलाई र बीस प्रतिशत चाहिँ आफूलाई दिन्छस् भने, के त्यो उचित हो? (अहँ, होइन।) कामकुरालाई त्यसरी बाँडफाँड गर्नु उचित होइन। यदि परमेश्‍वरले काम गरिरहनुभएको हुनुहुन्थेन भने, के तैँले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्थिस्? अवश्य नै सक्थिनस्, किनभने तँसँग सत्यताको कमी मात्र नभई भ्रष्ट स्वभाव पनि छ। मानिसहरूको हृदयमा जस्तो प्रकारको भ्रष्ट स्थिति भए पनि, तिनीहरूले सधैँ आत्मचिन्तन गर्नैपर्छ, र त्यसलाई ठीक पार्न सत्यता खोज्नैपर्छ। तिनीहरूको भ्रष्ट स्वभाव पखालिएपछि, तिनीहरूको स्थिति सामान्य हुनेछ।

कहिलेकाहीँ व्यक्तिको हृदयमा गलत सोच वा विचार देखा पर्नेछ, र त्यसले उसको हृदय बाधा दिन्छ। तिनीहरू त्यो स्थितिमा अड्किन्छन्, र एक-दुई दिनसम्म त्यसबाट निस्कन सक्दैनन्। यस्तो समयमा व्यक्तिले के गर्नुपर्छ? तैँले त्यो परिस्थिति सुल्झाउन सत्यता खोज्नुपर्छ। पहिले, गलत सोच वा विचार कसरी उत्पन्‍न भयो, त्यसले तँलाई कसरी पकडमा पार्‍यो, नकारात्मक र अवसादग्रस्त बनायो, र सबै प्रकारका विद्रोहीपन र अनुचित तरिकाहरू प्रकट गराउन लगायो भन्‍ने कुरामा तँ स्पष्ट हुनुपर्छ। त्यसपछि, जब तँलाई यी कुराहरू आफ्नो भ्रष्ट स्वभावद्वारा निर्देशित छन्, र परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ भनेर महसुस हुन्छ, तब तैँले आफूलाई परमेश्‍वरसामु शान्त राख्‍नुपर्छ र प्रार्थना गर्नुपर्छ, “परमेश्‍वर, मलाई ताडना दिनुहोस् र मैले सिक्‍नुपर्ने पाठहरू सिकाउनुहोस्। म प्रकाश हुन डराउँदिनँ, न त लज्जित हुन वा इज्‍जत गुमाउन नै डराउँछु। मलाई त मेरो व्यवहारले तपाईँका प्रशासनिक आदेशहरू उल्‍लङ्घन गर्छ कि, र तपाईँलाई अप्रसन्‍न पार्छ कि भन्‍ने कुराको मात्रै डर छ।” यो नै सही मार्ग हो, तर के तँसँग यो मार्गमा हिँड्ने कद छ? (छैन।) यदि तँसँग त्यो कद छैन भने, के यसको मतलब तैँले यस दिशामा प्रार्थना गर्न सक्दैनस् भन्‍ने हो? यो सही मार्ग हो, त्यसैले तैँले यस दिशामा प्रार्थना गर्नुपर्छ। अहिले, मानिसहरूको कद सानो छ, तिनीहरू बारम्बार परमेश्‍वरसामु आउनैपर्छ, परमेश्‍वरमा भर पर्नैपर्छ, अनि परमेश्‍वरलाई तिनीहरूको थप सुरक्षा गर्न र तिनीहरूलाई थप ताडना दिन दिनैपर्छ। जब तिनीहरूको कद बढेको हुन्छ, र तिनीहरूले बोझ उठाउन र थप कार्यहरू गर्न सक्छन्, तब परमेश्‍वरले त्यति धेरै चिन्ता लिनुपर्नेछैन, र तिनीहरूलाई निरन्तर सुरक्षा दिनु, ताडना दिनु, परीक्षा लिनु, वा निगरानी गर्नु पर्नेछैन। यो हृदयको कुरा हो, र परमेश्‍वरले मानिसहरूको हृदय हेर्नुहुन्छ। परमेश्‍वरले तँ बाहिरी रूपमा कति शिष्ट वा आज्ञाकारी छस् भन्‍ने कुराको वास्ता गर्नुहुन्‍न; उहाँले तेरो मनोवृत्ति हेर्नुहुन्छ। सायद तँ दिनभरि केही बोल्दैनस्, तर तेरो हृदयमा कस्तो मनोवृत्ति छ? “मलाई यो कर्तव्य दिइएको छ, त्यसैले यसलाई राम्रोसँग गर्नु मेरो जिम्मेवारी हो, तर मेरो बेलगाम हुने बानी छ, र म जहिले पनि आफूखुसी गर्छु। मलाई ममा यो समस्या छ भन्‍ने थाहा छ, तर म आफूलाई नियन्त्रण गर्न सक्दिनँ। परमेश्‍वरले मेरो वातावरण खडा गर्नुहोओस्, अनि मलाई बाधा दिन सक्‍ने, मेरो कर्तव्य निर्वाहमा वा सत्यता अभ्यासमा असर गर्न सक्‍ने मेरो वरपरका मानिस, घटना र कामकुरालाई हटाउनुहोओस्, ताकि म जाँचमा नपरूँ, मैले परमेश्‍वरका परीक्षाहरू स्विकार्न सकूँ, र उहाँको अनुशासन स्विकार्न सकूँ।” तँमा स्वेच्छाले समर्पण गर्ने हृदय हुनैपर्छ। जब यी विचारहरू तेरो हृदयमा हुन्छन्, तब परमेश्‍वरले तिनलाई कसरी देख्‍न सक्‍नुहुन्‍न र? उहाँले तिनलाई कसरी ध्यान दिन सक्‍नुहुन्‍न र? त्यसैले, परमेश्‍वरले कार्य गर्नुहुन्छ। कहिलेकाहीँ जब तैँले एक-दुई पटक यसरी प्रार्थना गर्छस्, तब परमेश्‍वरले तँलाई ध्यान दिनुहुन्‍न। उहाँले कुनै व्यक्तिको काम र सच्चाइ जाँच्नुहुँदा, केही पनि भन्‍नुहुनेछैन, तर यसको मतलब तैँले गरेको कुरा गलत थियो भन्‍ने होइन। कुनै पनि परिस्थितिमा तैँले परमेश्‍वरलाई जाँच्नु हुँदैन। यदि तँ सधैँ परमेश्‍वरलाई जाँच्ने गर्छस्, र “के मैले यसो गर्नु सही हो? परमेश्‍वर, के तपाईँले देख्‍नुभयो त?” भनेर भन्छस् भने, तँ समस्यामा छस्। यो गलत स्थिति हो। कदम चाल्नमा मात्र ध्यान दे। परमेश्‍वरले तँलाई ताडना दिइरहनुभएको, अगुवाइ गरिरहनुभएको, जाँचिरहनुभएको, वा मार्गदर्शन गरिरहनुभएको छ भने पनि, ध्यान नदे। आफूले बुझेको सत्यतामा मेहनत लगाउन, र परमेश्‍वरका अभिप्रायअनुरूप कार्य गर्नमा ध्यान केन्द्रित गर्। त्यति गरे पुग्छ। जहाँसम्म परिणाम के हुनेछ भन्‍ने कुरा छ, धेरैजसो त्यो तेरो जिम्मेवारी हुँदैन। तैँले केका लागि जिम्मेवारी लिनुपर्छ? तैँले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्न, तैँले लगाउनुपर्ने समय लगाउन, र चुकाउनुपर्ने मूल्य चुकाउन। त्यति गरे पर्याप्त हुन्छ। सत्यतासँग सम्बन्धित कुनै पनि कुरालाई जाँच्नैपर्छ, र त्यो बुझ्न मेहनत लगाउनैपर्छ। मानिसहरू आफूले हिँड्नुपर्ने मार्गमा हिँड्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यति गर्नु पर्याप्त हुन्छ। मानिसहरूले गर्नुपर्ने कुरा यही हो। तँमा कुन स्तरको कद छ, तँ कस्ता परीक्षाहरूबाट गुज्रिनुपर्छ, तैँले कस्तो अनुशासन अनुभव गर्नुपर्छ, तैँले के-कस्ता परिस्थितिहरू अनुभव गर्नुपर्छ, र परमेश्‍वरले कसरी सार्वभौमिकता राख्‍नुहुन्छ भन्‍ने कुरामा, तैँले ध्यान दिनु आवश्यक छैन। त्यो त परमेश्‍वरले नै गर्नुहुनेछ। तँ भन्छस्, “म कदमा सानो छु। हे परमेश्‍वर, मलाई कुनै परीक्षामा नपार्नुहोस्, मलाई डर लाग्छ!” के परमेश्‍वर त्यसो गर्नुहुन्छ? (अहँ, गर्नुहुन्‍न।) तैँले चिन्ता लिनु आवश्यक छैन। तँ भन्छस्, “म कदमा धेरै ठूलो छु, र मसँग प्रशस्त आस्था छ। हे परमेश्‍वर, तपाईँ मलाई किन केही परीक्षामा पार्नुहुन्‍न? मलाई पनि अय्यूबलाई जस्तै जाँच्‍नुहोस् र मेरा सबै कुरा खोस्‍नुहोस्!” परमेश्‍वरले त्यसो गर्नुहुन्‍न। तँलाई आफ्नै कद थाहा छैनन, तर परमेश्‍वरलाई राम्ररी थाहा छ र उहाँ यसबारे उहाँ अत्यन्तै स्पष्ट हुनुहुन्छ; उहाँले हरेक व्यक्तिको हृदय पढ्न सक्‍नुहुन्छ। के मानिसहरूले परमेश्‍वरको हृदय पढ्न सक्छन्? (अहँ, सक्दैनन्।) मानिसहरूले परमेश्‍वरको हृदय पढ्न सक्दैनन्, त्यसोभए तिनीहरूले कसरी परमेश्‍वरलाई बुझ्छन् र उहाँसँग सहकार्य गर्छन्? (उहाँका वचनहरूमार्फत।) उहाँका वचन बुझेर, आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेर, र मानिसका रूपमा आफ्नो स्थानमा अडिग रहेर। मानिसहरूको कर्तव्य के हो? मानिसहरूले गर्नुपर्ने, र गर्न सक्‍ने काम हो। यी नै परमेश्‍वरले तँलाई दिएका कार्य हुन्। तँलाई दिइएका कार्यहरूमा के-के समावेश छन्? तँ परिचित रहेको कार्य क्षेत्र, मण्डलीले तँलाई दिने कार्यहरू, तैँले गर्नुपर्ने कार्यहरू, र तैँले गर्न सक्‍ने कार्यहरू। यो यसको एउटा भाग हो। अर्को भाग जीवन प्रवेशको मामिलासँग सम्बन्धित छ। तैँले सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्‍नैपर्छ। सत्यता अभ्यास गर्नमा र सत्यतामा प्रवेश गर्नमा मात्र ध्यान दे। अरूले गर्ने तेरो मूल्याङ्कन वा परमेश्‍वर तँलाई कसरी हेर्नुहुन्छ भन्‍ने कुरामा ध्यान नदे। तैँले यी कुरामा ध्यान दिनु पर्दैन, न त यी कुराहरूमा ध्यान दिनु नै आवश्यक छ—यी तैँले कष्ट उठाउनुपर्ने कुरा होइनन्। मानिसहरूले आफ्नो सौभाग्य, दुर्भाग्य, दीर्घायु, आफ्नो जीवनकालमा अनुभव गर्ने सबै कुरा, आफ्नो भाग्य, वा आफ्नो जीवनबारे केही निर्णय गर्न सक्दैनन्; कसैले पनि यी कुराहरू परिवर्तन गर्न सक्दैन। तँ यसबारे स्पष्ट हुनैपर्छ। परमेश्‍वर यी कुराहरूमाथि सार्वभौम हुनुहुन्छ। मानिसहरूले आफ्नो हृदयमा यसलाई स्पष्ट रूपमा चिन्‍नैपर्छ र बुझ्नैपर्छ। परमेश्‍वरको तर्फबाट कुनै पनि कुराबारे चिन्ता नगर्; परमेश्‍वर के गर्न चाहनुहुन्छ भन्‍ने कुराको निर्णय गर्ने प्रयास नगर्। तैँले आफूले के गर्नुपर्छ, आफू केमा प्रवेश गर्नुपर्छ, र कुन मार्गमा हिँड्नुपर्छ भन्‍ने कुरालाई प्रभावकारी तरिकाले सम्‍हाल्नमा मात्र ध्यान दे। त्यो पर्याप्त हुन्छ। जहाँसम्म तेरो भावी गन्तव्य कस्तो हुनेछ भन्‍ने कुरा छ, के तैँले यसबारे कुनै निर्णय गर्न सक्छस्? (सक्दिनँ।) त्यसोभए तैँले कसरी यो समस्या समाधान गर्न सक्छस्? आंशिक रूपमा, तैँले प्रत्येक दिन आफूले गर्नुपर्ने हरकुरा राम्रोसँग गरेर, र व्यक्तिका रूपमा आफ्नो कर्तव्य पूरा गरेर यो समस्या समाधान गर्न सक्छस्। यो नै परमेश्‍वरले सबैलाई दिनुहुने आज्ञा हो। तँ यस संसारमा आइस्, र परमेश्‍वरले तँलाई यतिका समय अगुवाइ गर्दै आउनुभएको छ—उहाँले तँलाई विभिन्‍न प्रकारका वरदान दिनुभएको भए पनि, वा तँलाई संवर्धन गर्नुभएको र प्रतिभा वा क्षमता दिनुभएको भए पनि, यसले परमेश्‍वरले तँलाई आज्ञाहरू दिनुभएको छ भन्‍ने देखाउँछ। परमेश्‍वरले तँलाई के आज्ञा दिनुभएको छ भन्‍ने कुरा अत्यन्तै स्पष्ट छ, र परमेश्‍वरले तँलाई सिधै बताउनु आवश्यक छैन। उदाहरणका लागि, यदि तँलाई अङ्ग्रेजी आउँछ भने, परमेश्‍वरसँग अवश्य नै यस क्षेत्रमा तँप्रतिका मागहरू छन्। यो तेरो कर्तव्य हो। परमेश्‍वरले तँलाई स्वर्गबाट बोलाएर सिधै यसो भन्‍नु आवश्यक छैन, “तेरो कर्तव्य अनुवाद गर्नु हो, र यदि तैँले त्यो गरिनस् भने, म तँलाई दण्ड दिनेछु।” यसो भन्‍नु आवश्यक छैन। तँ यो कुराबारे पहिले नै एकदमै प्रस्ट छस् किनभने परमेश्‍वरले तँलाई सामान्य तर्कशक्ति, विचार प्रक्रिया र सोचाइ, साथै यो भाषा बुझ्ने क्षमता दिनुभएको छ। त्यो नै पर्याप्त छ। परमेश्‍वरले तँलाई जे दिनुभएको छ त्यो नै उहाँले तँलाई अह्राइरहनुभएको कुरा हो, र तँ यो कुराबारे तेरो हृदयमा अत्यन्तै स्पष्ट छस्। तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्ने, र परमेश्‍वरको आज्ञा स्वीकार गर्ने क्रममा, परमेश्‍वरले तेरा लागि गर्नुभएका सबै कुरा स्वीकार गर्नैपर्छ, जसमा उहाँले तँलाई दिनुभएको सकारात्मक मार्गदर्शन, मलजल, र भरणपोषण समावेश छन्। उदाहरणका लागि, परमेश्‍वरका वचनहरू बारम्बार खाएर र पिएर, प्रवचनहरू सुनेर, मण्डली जीवन जिएर, सत्यतामा सङ्गति गरेर, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अरूसँग मिलेर सहकार्य गरेर। यसको अर्को पक्ष भनेको, व्यक्तिगत जीवन प्रवेशमार्फत हो—यो सबैभन्दा महत्त्वपूर्ण छ। कतिपय मानिस आफूसँग जीवन छ कि छैन, र आफूले कुनै नतिजा प्राप्त गरेको छु कि छैनँ भनेर सधैँ जान्‍न चाहन्छन्। यी कुराहरूबारे एकछिन विचार गर्नु ठीकै हुन्छ, तर तिनमा ध्यान केन्द्रित नगर्। यो त प्रत्येक वर्ष बाली लगाउनुजस्तै हो—कुनै पनि किसानले त्यो वर्ष कति उत्पादन हुनैपर्छ, र यदि त्यति उब्जनी भएन भने, जिउनै छोडिने छ भनेर भन्दैन। ऊनीहरू त्यति मूर्ख हुँदैनन्। तिनीहरू सबैले बीउ छर्ने याममा बीउ छर्छन्, त्यसपछि त्यसमा पानी हाल्छन्, मल हाल्छन्, र सामान्य रूपमा तिनको हेरचाह गर्छन्। त्यसपछि, ठीक मौसम आएपछि, तिनीहरूले फसल पाउने प्रत्याभूति हुन्छ। तँमा यस्तै आस्था हुनैपर्छ; परमेश्‍वरप्रतिको साँचो आस्था यही हो। परमेश्‍वरसँग यसो भन्दै हिसाबकिताब नगर्, “मैले हालै केही मेहनत लगाएको छु, के परमेश्‍वरले मलाई इनाम दिनुहुनेछ?” कार्यालयको कामदारले महिनाको अन्त्यमा आफ्नो ज्याला मागेजस्तै सधैँ इनाम माग्‍नु स्वीकार्य हुँदैन। सधैँ ज्याला माग्‍नु स्वीकार्य हुँदैन। मानिसहरूको आस्था अत्यन्तै कमजोर छ, र तिनीहरूमा परमेश्‍वरप्रति साँचो आस्था छैन। तैँले परमेश्‍वरलाई पछ्याउने मार्ग मुक्तिको मार्ग हो, र वास्तविक जीवन हो, यो मानिसहरूले पछ्याउनुपर्ने सही मार्ग हो, र सृजित प्राणीमा हुनुपर्ने जीवन हो भनेर स्पष्ट रूपमा बुझेपछि, सत्यता पछ्याउने र वास्तविकतामा प्रवेश गर्न खोज्ने, परमेश्‍वरका वचन सुन्‍ने, र परमेश्‍वरले तँलाई देखाउने दिशामा हिँड्ने र कार्य गर्ने कुरामा मात्र ध्यान केन्द्रित गर्। यो सही कुरा हो। परमेश्‍वरलाई सधैँ यस्तो नसोध्, “परमेश्‍वर, मैले तपाईँलाई मार्गको अन्त्यसम्म पछ्याउनका लागि अझै कति लामो समय लाग्छ? मैले कहिले मुक्ति पाउनेछु? मैले कहिले इनाम र मुकुट पाउनेछु? परमेश्‍वरको दिन कहिले आउनेछ?” मानिसहरूमा यी सबै स्थिति हुन्छन्, तर के यसले गर्दा त्यो कुरा सही हुन्छ त? (हुँदैन।) कतिपय मानिस भन्छन्, “सबै हाकिम भए कानुन केका लागि”, तर यो भनाइ एउटा भ्रम हो, यो खरो उत्रँदैन, र यो सत्यतासँग मेल खाँदैन। सबैमा यी स्थिति हुन्छन् भन्‍ने तथ्यले सबैमा भ्रष्ट स्वभाव हुन्छ भन्‍ने प्रमाणित गर्छ, त्यसैले तिनीहरू सबैले यो समस्यालाई सुल्झाउनैपर्छ र यो तगारोलाई पार गर्नैपर्छ। तैँले जहिले पनि आफ्नो हृदयमा जाँच्नैपर्छ, अरूको हालचाल के छ भनेर हेर्नमा ध्यान दिनु हुँदैन, र तैँले आफूलाई जाँच्दा, आफूसँग भएका कुनै पनि भ्रष्ट स्थितिलाई सच्याउनैपर्छ। मानिसहरूको दिमाग गतिशील हुन्छ, र यसले सधैँ सक्रिय रूपमा सोचिरहेको हुन्छ—यो घरी बायाँ झुक्छ, घरी दायाँ झुक्छ; तिनीहरूको सोच्‍ने तरिका सधैँ अलिकति अनौठो हुन्छ। तिनीहरू सही मार्गमा हिँड्दैनन्। तिनीहरू अरूलाई पछ्याउन, र संसारका दुष्ट प्रचलनहरूलाई पछ्याउन अनि गलत मार्गमा हिँड्न जिद्दी गर्छन्। यो मानिसहरूको प्रकृति सार हो, र तिनीहरूले चाहेर पनि त्यसलाई नियन्त्रण गर्न सक्दैनन्। यदि तँ त्यसलाई नियन्त्रण गर्न सक्दैनस् भने, नियन्त्रण नगर्। जब कुनै गलत अभिप्राय वा दृष्टिकोण देखा पर्छ, त्यसलाई समाधान गर्। यसरी, तैँले प्रकट गर्ने भ्रष्‍टता बिस्तारै कम हुनेछ। त्यसोभए, तैँले त्यसलाई कसरी समाधान गर्न सक्छस्? प्रार्थना गरेर, अनि निरन्तर ती कुराहरूबारे बुझाइ प्राप्त गरेर र तिनलाई परिवर्तन गरेर। कहिलेकाहीँ, तैँले ती कुरालाई जसरी परिवर्तन गर्ने प्रयास गरे पनि, ती कुरा देखा परिहाल्छन्, त्यसैले तिनलाई ध्यान नदे, र तैँले गर्नुपर्ने कुरा मात्र गर्। यो नै सबैभन्दा सजिलो तरिका हो। त्यसोभए मानिसहरूले के गर्नुपर्छ त? आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ, र आफ्नो कर्तव्यमा लागिराख्‍नुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञालाई तैँले अस्वीकार गर्न मिल्दैन; तैँले त्यसलाई राम्रोसँग पूरा गर्नैपर्छ। यसबाहेक, व्यक्तिगत जीवन प्रवेशको सन्दर्भमा भन्‍नुपर्दा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यताका लागि लागिपर्न सक्दो प्रयास गर्नैपर्छ, र आफूले प्राप्त गर्न सक्‍ने प्रवेशको जुनसुकै तह प्राप्त गर्न कडा मेहनत गर्नैपर्छ। तँ अन्त्यमा मानकअनुरूपको हुनेछस् कि हुनेछैनस् भन्‍ने कुरा परमेश्‍वरले नै निर्णय गर्नुहुन्छ। मानिसहरूका भावना र फैसलाहरू कुनै काम लाग्दैनन्। मानिसहरू आफ्नै नियतिको निर्णय गर्न सक्दैनन्, र आफ्‍नो व्यवहारको मूल्याङ्कन गर्न, वा आफ्‍नो अन्तिम परिणाम के हुनेछ भनेर निर्धारण गर्न सक्दैनन्। परमेश्‍वरले मात्र यी कुराहरूको मूल्याङ्कन र निर्धारण गर्न सक्‍नुहुन्छ। परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर तैँले भरोसा गर्नैपर्छ। गैरविश्‍वासीहरूका शब्दहरूलाई सापटी लिएर भन्दा, तैँले कदम चाल्ने, आफ्ना कार्यहरूका लागि जवाफदेही बन्‍ने, तथ्यहरूको सामना गर्ने, र जिम्मेवारी लिन सक्‍ने आँट गर्नैपर्छ। विवेक र समझ भएका मानिसहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ र जिम्मेवारी लिनुपर्छ।

मानिसहरूले बारम्बार आफूलाई जाँच्नु, र परमेश्‍वरको छानबिन स्विकार्नु निकै महत्त्वपूर्ण छ। मानिसहरूले आफूलाई जाँच्दा र आफूमा गलत स्थिति वा दृष्टिकोणहरू भएको पत्ता लगाउँदा सत्यता खोज्नु, आफ्ना स्थिति र दृष्टिकोणहरू बदल्नु, र ती कुराबाट निस्कनु पनि निकै महत्त्वपूर्ण छ। यसरी तैँले थाहै नपाई गलत स्थितिहरू झन्-झन् कम अनुभव गर्नेछस्, र ती कुरालाई झन्-झन् खुट्ट्याउँदै जानेछस्। तैँले आफ्ना गलत स्थितिहरू बदलेपछि, तँभित्रका सकारात्मक कुराहरू बढ्नेछन्, र तैँले आफ्नो कर्तव्य झन्-झन् बढी शुद्धताका साथ निर्वाह गर्नेछस्। झट्ट हेर्दा, तेरो बोल्ने तरिका र व्यक्तित्व पहिलेको जस्तै हुने भए पनि, तेरो जीवन स्वभाव परिवर्तन भएको हुनेछ। यो कुन-कुन तरिकाले देखिनेछ? तैँले कामकुरा गर्दा र आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू पछ्याउन सक्‍नेछस्, अनि यी कुराहरूमा जिम्मेवारी लिन सक्‍नेछस्; अरूले झारटारुवा तरिकाले कामकुरा गरेको देख्दा तँलाई रिस उठ्नेछ, र तैँले नराम्रा घटनाहरू, साथै भ्रष्ट स्वभाव प्रकट गर्ने नकारात्मक, अनुचित र दुष्ट अभ्यासहरू देख्दा, तिनलाई घृणा गर्नेछस्। तैँले यी कुराहरूलाई जति धेरै हेर्छस्, तँलाई त्यति नै अरुचिकर लाग्‍नेछ, र तैँले ती कुरालाई झन्-झन् खुट्ट्याउँदै जानेछस्। जब तैँले धेरै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका, शब्द र धर्मसिद्धान्तहरूबारे एकदमै स्पष्ट रूपमा बोल्‍ने, तर कुनै वास्तविक काम नगर्ने र सिद्धान्तको कमी भएका कतिपय मानिसलाई देख्छस्, तब तँलाई रिस उठ्नेछ र घिन लाग्‍नेछ। विशेष गरी, जब तँ वास्तविक काम नगर्ने, सधैँ शब्द र धर्मधर्मसिद्धान्तबारे कुरा गर्ने, अनि वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरेको भए पनि परिवर्तन नभएका अगुवा र कामदारहरूलाई देख्छस्, तब तैँले तिनीहरूलाई खुट्ट्याउनेछस्, तिनीहरूलाई खुलासा र रिपोर्ट गर्न सक्‍नेछस्, र तँमा न्यायको बोध हुनेछ। तैँले आफूलाई घृणा त गर्नेछस् नै, साथै यी दुष्ट र अन्यायपूर्ण कुराहरू आइपर्दा तिनलाई घृणा पनि गर्नेछस्। यसले तँभित्र परिवर्तन आएको छ भनेर प्रमाणित गर्नेछ। तैँले सत्यताको दृष्टिकोण, परमेश्‍वरको पक्ष, र सकारात्मक कुराहरूको दृष्टिकोणबाट समस्याहरूलाई हेर्न, अनि मानिस, घटना र कामकुराहरूलाई लिन सक्‍नेछस्—यसले तँमा परिवर्तन आएको छ भनेर देखाउनेछ। त्यसोभए, के तँलाई अझै पनि परमेश्‍वरले मूल्याङ्कन गर्नुपर्नेछ? अहँ—तैँले यो कुरा आफै महसुस गर्न सक्‍नेछस्। उदाहरणका लागि, यदि तैँले पहिले कसैले झाराटारुवा तरिकाले कामकुरा गरिरहेको देख्दा यस्तो सोच्थिस्, “त्यो सामान्य कुरा हो। म पनि त्यस्तै छु। यदि उसले त्यसरी कामकुरा नगरेको भए, मैले झाराटारुवा तरिकाले कामकुरा गरिरहे जस्तो देखिनेथ्यो।” सबैले झाराटारुवा तरिकाले कामकुरा गरिरहेका हुन्थे, त्यसैले तँलाई आफूले धेरै राम्ररी काम गरिरहेको छु भन्‍ने लाग्थ्यो। अहिले, तँ त्यसरी सोच्दैनस्। बरु, तँ यस्तो सोच्छस्, “झाराटारुवा तरिकाले कामकुरा गर्नु अस्वीकार्य छ। परमेश्‍वरको घरको काम महत्त्वपूर्ण छ। मैले झाराटारुवा तरिकाले कामकुरा गर्नु नै ठूलो विद्रोही कुरा थियो—तिमीहरू किन म जस्तो थिएँ त्यस्तै भइरहेका छौ, र त्यसरी नै कामकुरा गरिरहेका छौ?” तँ सोच्छस्, तँ पहिले एकदमै अज्ञानी र अपरिपक्‍व थिइस्, कामकुरालाई हेर्ने तेरो तरिका साह्रै घृणित र लाजमर्दो थियो, र तैँले कुनै हालतमा परमेश्‍वरलाई यसको हिसाबकिताब दिन सक्दैनस्, र तेरो विवेकले यसबाट पार पाउन सक्दैन। तँमा यस्स्ता विचार र भावनाहरू छन् भन्‍ने तथ्यले सत्यता र परमेश्‍वरका वचनहरूले तँमा जरा गाडिसकेका छन् र ती अङ्कुराइसकेका छन् भन्‍ने कुरा प्रमाणित गर्छ। तैँले कामकुरालाई हेर्ने दृष्टिकोण, र कामकुराको मूल्याङ्कन गर्ने मानकहरू परिवर्तन भएका छन्। तँ आफ्ना भ्रष्ट स्वभावहरूमा जिउने गरेको पहिलेको भन्दा पूर्णतया फरक व्यक्ति भइसकेको छस्। तँ वास्तविक तरिकाले परिवर्तन भइसकेको छस्। के तिमीहरू अहिले अलि परिवर्तन भएका छौ? (अलिकति।) अहिले तिमीहरू अलिकति परिवर्तन भएका छौ, र कहिलेकाहीँ, जब तिमीहरू मानिसहरूले झाराटारुवा तरिकाले काम गरिरहेको, सत्यता अभ्यास गर्न नचाहेको, र सधैँ शारीरिक आराममा लिप्त भएको देख्छौ, तब तिमीहरूलाई त्यो राम्रो लाग्दैन। तर, यदि तँलाई तिनीहरूलाई सहयोग गर्न र साथ दिन लगाइयो भने, तँलाई शैतानी दर्शनहरूले अझै पनि बाँधेर राख्‍नेछन्। तैँले मानिसहरूमा यो समस्या पत्ता लगाए पनि, तँ तिनीहरूलाई चिढ्याउने डरले केही भन्‍ने आँट गर्दैनस्, र यस्तो समेत सोच्छस्, “कसैले पनि मलाई टोली अगुवा चुनेको छैन, त्यसैले मैले अरूको मामलामा हात हाल्‍नु आवश्यक छैन।” जब तँ यी अन्यायपूर्ण र नकारात्मक कुराहरूको सामना गर्छस्, तब आफ्नो बोली र व्यवहारमा सत्यताको पक्षमा खडा हुन, वा जिम्मेवारी लिन सक्दैनस्; तैँले देखेर पनि नदेखेजस्तो गर्छस्, र त्यो आफूलाई आचरणमा ढाल्ने उत्तम तरिका हो भनी सोच्दै आफूलाई विवादबाट टाढा राख्छस्। तँ सोच्छस्, “यदि केही गलत भयो भने मसँग त्यसको कुनै सम्बन्ध हुनेछैन। म आफूलाई मुस्किलले बचाइरहेको छु।” यदि तँसँग अझै यस्ता विचारहरू छन् भने, के तैँले सत्यता अभ्यास गर्न सक्‍नेछस्? के तँसँग जीवन प्रवेश हुनेछ? यदि तैँले हृदयमा यस्ता विचारहरू राख्छस् भने, तँ अविश्‍वासी होस्, र सत्यता स्विकार्न सक्दैनस्। त्यसकारण यस्ता विचारहरूलाई नसच्याई त्यतिकै छोडिदिनु हुँदैन। यदि तँ जीवन प्रवेश पाउन चाहन्छस् भने, एक हिसाबले, तैँले आफूलाई सुपरिवेक्षण गर्न सक्‍नैपर्छ। अर्को हिसाबले, तैँले मुख्यतः परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ। यदि तैँले आफ्नो हृदयमा धिक्कार देखिस् भने, आत्मचिन्तन गर्नुपर्छ, र यो धिक्कार कहाँबाट आइरहेको छ भनेर पत्ता लगाउनुपर्छ। यदि तैँले परमेश्‍वरले तेरो छानबिन गरिरहनुभएको छ भनी महसुस गर्न सक्छस्, र तैँले परमेश्‍वरले तेरो छानबिन गरिरहनुभएको छ भन्‍ने विश्‍वास गर्छस् भने, तैँले उहाँको छानबिन स्वीकार गर्नुपर्छ। बारम्बार पछुतो गरेर, हृदयमा बेचैन बनेर, र ती स्थितिमा भएकोमा परमेश्‍वरप्रति ऋणी भएको महसुस गरेर मात्रै, तँसँग सत्यता अभ्यास गर्ने र सत्यतामा प्रवेश गर्ने उत्प्रेरणा हुनेछ। सत्यता वास्तविकताहरूमा प्रवेश गर्नका लागि केही मानक र त्यसका केही व्यावहारिक प्रकटीकरण छन्। अहिले तिमीहरू तिनमा कुन हदसम्म प्रवेश गरेका छौ? (कुनै परिस्थिति उत्पन्‍न हुँदा, म आफूमा धेरै कमीकमजोरी देख्‍न सक्छु, तर म त्यो स्थितिमा धेरै समय अल्झेर बस्छु। मलाई आफूमा के-कस्ता समस्याहरू छन् भनी चिरफार गर्न वा बुझ्‍न सत्यताको दृष्टिकोण कसरी अपनाउने भनी थाहा छैन; मैले आफूलाई स्पष्टसँग खुट्ट्याएको छैन; म आफूलाई स्पष्ट रूपमा देख्दिनँ, र म प्रायजसो अरूका स्थिति पनि स्पष्ट रूपमा देख्‍न सक्दिनँ।) यदि तँ आफूलाई स्पष्ट रूपमा देख्‍न सक्दैनस् भने, अरूलाई पनि स्पष्ट रूपमा देख्‍न सक्दैनस्। यो अभिव्यक्ति सही हो। जब अरू मानिसमा कुनै समस्या हुन्छ, तँलाई त्यसको आफूसँग कुनै सम्बन्ध छैन भन्‍ने लाग्छ, तर वास्तवमा, स्थितिहरू एकैनासका, र उही हुन्छन्। यदि तैँले आफ्नै स्थितिलाई स्पष्ट रूपमा देख्‍न सक्दैनस् भने, आफ्‍ना समस्याहरू समाधान गर्न सक्‍नेछैनस्, झन् अरूका समस्या समाधान गर्नु त परको कुरा हो। तैँले आफ्ना समस्याहरू समाधान गरिसकेपछि, अरूका समस्या एकदमै स्पष्ट रूपमा देख्‍न, र तिनलाई तुरुन्तै समाधान गर्न सक्‍नेछस्। यदि तँ जीवन प्रवेश पाउन चाहन्छस् भने, तैँले निम्न दुई कुरा पालन गर्नैपर्छ: पहिलो, तैँले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नैपर्छ, र दोस्रो, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, आफूलाई बारम्बार जाँच्नैपर्छ, आफ्ना विभिन्‍न गलत विचार, सोच, अडान, अभिप्राय, र स्थितिहरू बदल्न सत्यताको खोजी गर्नैपर्छ, र हरप्रकारको गलत स्थितिबाट निस्कनैपर्छ। यदि तँसँग तीबाट निस्कने शक्ति छ भने, तैँले शैतानलाई विजय गर्नेछस् र आफ्ना भ्रष्ट स्वभाव फाल्नेछस्। त्यसपछि, तैँले आफूलाई परिवर्तन गरेको हुनेछस्। तँ आफ्ना नकारात्मक स्थितिहरूबाट निस्किएको हुनेछस्, र यी स्थितिहरूको बन्धन वा नियन्त्रणमा हुनेछैनस्। यो आफैमा एक कदम अगाडि बढ्नु हो। तिमीहरूले पहिले यो समस्या समाधान गर्नैपर्छ। तिमीहरूसँग कुन-कुन नकारात्मक स्थितिहरू छन्? कतिपय मानिस सोच्छन्, “म यस्तै छु। म आफ्‍नो अहङ्कारी स्वभावलाई ठिक पार्न केही गर्न सक्दिनँ। जे भए पनि, परमेश्‍वरलाई यसबारे थाहा छँदै छ, र मलाई लाग्छ उहाँले मलाई चित्रण गरिसक्‍नुभएको छ। मैले धेरै पटक परिवर्तन हुने प्रयास गरेँ, तर म अझै उस्तै छु। म यस्तै हुँ।” तँमा आफूबारे नराम्रो दृष्टिकोण छ, तर यो नकारात्मक स्थिति हो; यो त आफूलाई निराशामा डुबाउने मानसिकता हो। तैँले यो समस्या समाधान गर्न सत्यता त खोजेको छैनस् भने, तँ किन आफूलाई आशाहीन ठान्छस्? मानिसहरू बारम्बार यस्ता स्थितिहरूमा जिउँछन्; तिनीहरूले एक पटक क्षणिक भ्रष्‍टता प्रकट गर्नेबित्तिकै आफूलाई चित्रण गरिएको, र आफू यस्तै प्रकारको व्यक्ति भएको भन्ठान्छन्। यो एउटा नकारात्मक अवस्था हो; यसलाई बदल्नुपर्छ, र तँ त्यसबाट निस्कनुपर्छ। तँमा अरू कुन-कुन नकारात्मक स्थितिहरू छन्? (म प्रायजसो यस्तो स्थितिमा जिउँछु, जहाँ म आफ्नो प्रतिभा र क्षमताका आधारमा कामकुरा गर्छु, र जहाँ मसँग जीवन प्रवेशको कमी हुन्छ। यो स्थिति अत्यन्तै गम्भीर छ।) जब मानिसहरूले आफ्नो प्रतिभा र क्षमताका आधारमा काम गर्छन्, तब तिनीहरूलाई सधैँ अरूसँग प्रतिस्पर्धा गर्न मन लाग्छ, र तिनीहरूले सोच्छन्, “तिमीले कसरी यो काम पूरा गर्न सक्छौ तर म चाहिँ सक्दिनँ? मैले यो काममा कडा परिश्रम गर्नुपर्छ र प्रयास लगाउनुपर्छ, अनि तिमीले भन्दा राम्रो गर्ने प्रयास गर्नुपर्छ!” यसमा तेरो शैतानी स्वभाव देखा परेको छ। यसबारे के गर्नुपर्छ? यदि तैँले कामकुरा गर्दा तँमा यस्तो मनसाय वा सुरुवाती बिन्दु पैदा हुन्छ भने, त्यसलाई ध्यान नदे। यो एउटा क्षणिक प्रकटीकरण, वा क्षणिक अज्ञानी विचार हो। यसअनुसार कार्य नगर्, र तँलाई केही हुनेछैन। तैँले व्यावहारिक र गर्नुपर्ने तरिकाले कामकुरा गर्नैपर्छ। यदि तँलाई कुनै कठिनाइ आइपरेमा, अरू मानिसले त्यसलाई कसरी सम्हालेका रहेछन् भनेर हेर्न अग्रसर हो। यदि तिनीहरूले त्यसलाई राम्रोसँग सम्हालेका छन् भने, तिनीहरूसँग कुरा गर् र तिनीहरूबाट सिक्। यसरी तैँले आफ्‍ना गलत स्थितिहरूलाई उल्टाउनेछस्। यदि तँमा ती सोचहरू छन् र तँ भित्रभित्रै भ्रष्‍टता प्रकट गर्छस्, तर त्यसरी कार्य गर्दैनस् भने, तेरा भ्रष्ट स्वभावहरू नाकाम हुनेछन्। तर, यदि तँसँग त्यस्ता सोचहरू छन् र तँ त्यसरी कार्य गर्छस्, अनि तेरा कार्यहरू तेरा सोचहरूभन्दा पनि गम्भीर छन् भने, यसले समस्या निम्त्याउँछ, र यसले कामकुरालाई अस्तव्यस्त बनाउनेछ। मानिसका भ्रष्ट स्वभावहरू नै परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्ने कुरा हुन्।

परमेश्‍वरले तँलाई तेरा भ्रष्ट स्वभावहरूलाई लुकाउन, ढाकछोप गर्न, वा तिनको रूप बदल्न लगाउनुहुन्‍न। बरु, उहाँ तँलाई ती कुरा प्रकट गर्न दिनुहुन्छ, तँलाई खुलासा गर्नुहुन्छ र तीबारे ज्ञान पाउन लगाउनुहुन्छ। तैँले तीबारे ज्ञान पाएपछि, कुरा त्यतिमै सकिन्छ त? अहँ। तैँले तीबारे ज्ञान पाइसकेपछि, र तेरा भ्रष्ट स्वभावअनुसार काम गर्नु गलत हो, र यो निकासहीन बाटो हो भन्‍ने कुरा जानेपछि, तँ परमेश्‍वरसामु आउनैपर्छ, र उहाँलाई प्रार्थना गर्नैपर्छ र आफ्ना भ्रष्ट स्वभावहरू सुल्झाउन सत्यता खोज्नैपर्छ। परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र अभ्यासको सही मार्ग दिनुहुनेछ। परमेश्‍वरका वचनहरूले मानिसहरूले के गर्नुपर्छ भन्‍नेबारे बताउँछन्, तर मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, र तिनीहरू कहिलेकाहीँ परमेश्‍वरले भनेजस्तो गर्न चाहँदैनन्; तिनीहरू आफ्नै तरिकाले कामकुरा गर्न चाहन्छन्। त्यसोभए, परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले तँलाई स्वतन्त्रता दिनुहुन्छ, र तँलाई अहिलेका लागि यसरी कार्य गर्न दिनुहुन्छ। तँ यसरी कार्य गर्दै अघि बढ्दै गर्दा तैँले एउटा पार गर्नै नसकिने तगारोको सामना गर्नेछस् र आफूले गडबडी गरेको महसुस गर्नेछस्। त्यसपछि, तँ परमेश्‍वरकहाँ फर्कनेछस् र आफूले के गर्नुपर्छ भनी खोजी गर्नेछस्। परमेश्‍वरले भन्‍नुहुनेछ, “तैँले हृदयमा मेरा मागहरू बुझेको छस्। त्यसोभए तँ किन भनेको मान्दैनस्?” अनि तैँले भन्‍नेछस्, “हे परमेश्‍वर, त्यसोभए मलाई ताडना दिनुहोस्।” परमेश्‍वरले तँलाई ताडना दिनुहुनेछ, र यसले गर्दा तँलाई दुख्‍नेछ, त्यसैले तैँले यस्तो सोच्‍नेछस्, “परमेश्‍वर मलाई प्रेम गर्नुहुन्‍न। उहाँ मप्रति कसरी यति क्रूर हुन सक्‍नुहुन्छ? उहाँ साह्रै निर्दयी हुनुहुन्छ।” परमेश्‍वरले भन्‍नुहुनेछ, “ठीक छ, त्यसोभए म अबदेखि यसो गर्दिनँ। तैँले आफूखुसी कामकुरा गरिराख्,” र तँ पहिलेकै मार्गमा फर्कनेछस्। तैँले कामकुरा गर्नेछस्, फेरि पार गर्नै नसकिने तगारोको सामना गर्नेछस्, र सोच्‍नेछस्, “मैले जे गरिरहेको छु, त्यसमा केही गलत छ। मैले फर्केर आफ्ना पापहरू स्विकार्नुपर्छ। म परमेश्‍वरप्रति ऋणी छु।” तैँले फेरि परमेश्‍वरकहाँ फर्केर प्रार्थना र खोजी गर्नेछस्, परमेश्‍वरले भन्‍ने कुरा सही हुन्छ भनेर बुझ्‍नेछस्, अनि त्यसपछि परमेश्‍वरले भन्‍नुभएअनुसार गर्नेछस्। तर जब तैँले यसो गरिरहेको हुन्छस्, तब यस्तो सोच्‍नेछस्, “यसो गर्दा मेरो स्वाभिमानमा चोट पुग्‍नेछ। सायद म पहिले आफ्नो स्वाभिमानको ख्याल गर्नेछु।” त्यसपछि तँ फेरि समस्यामा पर्नेछस्, र फेरि चुकेको हुनेछस्। तँ समयसँगै यसरी नै बारम्बार घरी यता घरी उता गरिरहनेछस्। यदि मानिसहरूले आत्मचिन्तन गर्न सक्छन्, सधैँ आफूभित्रका विचलनहरूलाई चिन्‍न सक्छन्, आफ्‍ना भ्रष्ट स्वभावहरूबारे मनन गर्न र तिनलाई बुझ्न सक्छन्, र त्यसपछि तिनलाई समाधान गर्न सत्यता खोज्न सक्छन् भने, यो अनुभवको क्रममा, तिनीहरूको कद पनि निरन्तर बढ्दै जानेछ। हृदय हुने, सत्यता अभ्यास गर्न र सकारात्मक कुराहरूलाई प्रेम गर्न इच्छुक मानिसहरूले क्रमिक रूपमा झन्-झन् कम रोकावट र असफलताहरू अनुभव गर्नेछन्, परमेश्‍वरप्रति समर्पित हुने तिनीहरूका पक्षहरू, र सत्यतालाई प्रेम गर्ने तिनीहरूका पक्षहरू वृद्धि हुनेछन्। त्यसैले त परमेश्‍वरले तँलाई सत्यता अनुभव र अभ्यास गर्दा असफल हुन र विद्रोह गर्न दिनुहुन्छ; उहाँ यी कुराहरूलाई हेर्नुहुन्‍न। तैँले परमेश्‍वरको कुरा एक पटक नसुन्दैमा उहाँले तँलाई त्यसउप्रान्त चाहनुहुनेछैन, वा तँलाई नरकमा पठाउनुहुनेछ, वा मृत्युदण्ड दिनुहुनेछ भन्‍ने होइन। परमेश्‍वरले यस्तो गर्नुहुन्‍न। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुहुँदा उहाँको प्रेम अत्यन्त अपार हुन्छ भनेर किन भनिन्छ? यहीँ नै परमेश्‍वरको प्रेम प्रकट हुन्छ। यो मानिसहरूप्रतिको उहाँको सहनशीलता र धैर्यमा प्रकट हुन्छ। उहाँले तँलाई निरन्तर सहिरहनुभएको छ, तर उहाँ तँमा लिप्त भइरहनुभएको छैन। परमेश्‍वरको सहनशीलता भनेको उहाँले मानिसहरूको कद थाहा पाउनु, तिनीहरूको जन्मजात क्षमता जान्‍नु, मानिसहरूले निश्‍चित परिस्थितिमा के प्रकट गर्छन्, र आफ्नो कदका आधारमा के प्राप्त गर्न सक्छन् भनेर जान्‍नु, र तँलाई यी कुराहरू प्रकट गर्न दिनु, तँलाई निश्‍चित दायरा दिनु, र तँ उहाँकहाँ फर्केर आई ईमानदारीपूर्वक पश्‍चात्ताप गर्दा तँलाई स्वीकार गर्नु हो, साथसाथै तेरो पश्‍चात्तापको इमानदारीलाई पनि स्विकार्नु हो। त्यसकारण, जब तँ फर्केर त्यसरी कार्य गर्नु उचित हो कि होइन भनेर परमेश्‍वरलाई सोध्छस्, तब उहाँले तँलाई निरन्तर बताउनुहुनेछ र जवाफ दिनुहुनेछ। परमेश्‍वरले तँलाई त्यसरी कार्य गर्नु सही हो भनेर धैर्यपूर्वक बताउनुहुनेछ, र तँलाई मान्यता दिनुहुनेछ। तर तैँले फेरि आफ्नो विचार परिवर्तन गरेर, “परमेश्‍वर, म यो गर्न चाहन्‍नँ। यो मेरा लागि फाइदाजनक छैन, र यसले मलाई दुःखी र असहज बनाउँछ—मलाई अझै पनि मैले आफ्नै तरिकाले कामकुरा गर्नुपर्छ भन्‍ने लाग्छ, त्यसो गर्दा म आफ्नो इज्‍जत गुमाउनेछैनँ, म धूर्त र बाठो हुनेछु, अनि म हरकुरामा आफूलाई सन्तुष्ट पार्न सक्‍नेछु—म पहिले आफ्ना व्यक्तिगत चाहनाहरू पूरा गर्नेछु” भनेर भन्दा, परमेश्‍वरले यसो भन्‍नुहुनेछ, “तँ पछि परे हुन्छ, तर त्यसो गरेर, अन्त्यमा घाटा हुने तँलाई नै हो, मलाई होइन।” जब परमेश्‍वरले तँलाई मुक्ति दिइरहनुभएको हुन्छ, तब उहाँले कहिलेकाहीँ तँलाई यसरी हठी हुन दिनुहुन्छ; यो उहाँको सहनशीलता हो र उहाँले मानिसहरूलाई देखाउने कृपा हो। तर, मानिसहरू उहाँको कृपा देख्दा आत्म-लिप्त हुनु हुँदैन, र उहाँको धैर्य र सहनशीलतालाई एक प्रकारको असक्षमका रूपमा लिनु हुँदैन, वा त्यसलाई उहाँविरुद्ध विद्रोह गर्ने र उहाँका वचनहरू नसुन्‍ने बहानाका रूपमा हेर्नु हुँदैन। यो त मानिसहरूको विद्रोहीपन र दुष्टता हो। मानिसहरूले यसलाई स्पष्ट रूपमा बुझ्नैपर्छ। परमेश्‍वरले तँलाई देखाउने सहनशीलता र धैर्यको कुनै सीमा छैन। यदि तँ परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू अनुभूति गर्न सक्छस् भने, त्यो राम्रो कुरा हो। परमेश्‍वरले तँलाई मुक्ति दिन चरम उपायहरू प्रयोग गर्न सक्‍नुहुन्‍न भन्‍ने होइन—तैँले परमेश्‍वरका कार्यपछाडि सिद्धान्तहरू हुन्छन् भन्‍ने कुरा बुझ्नैपर्छ। उहाँ धेरै तरिकाले कामकुरा गर्नुहुन्छ, तर उहाँ चरम उपायहरू प्रयोग गर्नुहुन्‍न। किन? परमेश्‍वरले तँलाई हरकिसिमका कठिनाइ, निराशा, र सङ्कष्ट, साथै कैयौँ असफलता र रोकावटहरू अनुभव गर्न दिनुहुन्छ। अन्त्यमा,तैँले यी कुरा अनुभव गर्ने क्रममा, परमेश्‍वरले तँलाई उहाँले भन्‍नुभएका सबै कुरा सही र सत्यता हुन् भन्‍ने कुरा महसुस गराउनुहुनेछ। साथसाथै, उहाँले तँलाई तैँले सोच्ने र कल्‍पना गर्ने कुराहरू, साथै तेरा धारणा, ज्ञान, दर्शनसम्‍बन्धी सिद्धान्त, दर्शन, र संसारमा तैँले सिकेका र तेरा आमाबुबाले तँलाई सिकाएका सबै कुरा गलत छन्, र ती कुराले तँलाई जीवनको सही मार्गमा डोर्‍याउन, अनि सत्यता बुझ्न र परमेश्‍वरसामु आउन अगुवाइ गर्न सक्दैनन् भन्‍ने कुरा बुझाउनुहुनेछ। यदि तँ अझै पनि यी कुराअनुसार जिउँछस् भने, तँ असफलताको बाटोमा, साथै परमेश्‍वरको विरोध गर्ने र उहाँलाई धोका दिने बाटोमा हिँडिरहेको छस्। अन्त्यमा, परमेश्‍वरले तँलाई यो कुरा स्पष्‍ट रूपमा देखाउनुहुनेछ। यो प्रक्रिया तैँले अनुभव गर्नैपर्ने कुरा हो, र यही तरिकाले मात्र परिणामहरू प्राप्त गर्न सकिन्छ, तर यो हेर्दा परमेश्‍वरलाई पीडादायी लाग्‍ने कुरा पनि हो। मानिसहरू विद्रोही छन् र उनीहरूमा भ्रष्ट स्वभावहरू छन्, त्यसकारण तिनीहरूले थोरै कष्ट भोग्‍नैपर्छ, र यीमध्ये केही रोकावट अनुभव गर्नैपर्छ। यो कष्टविना, तिनीहरूसँग शुद्ध पारिने कुनै उपाय हुँदैन। यदि व्यक्तिमा साँचो रूपमा सत्यतालाई प्रेम गर्ने हृदय छ, र ऊ परमेश्‍वरको मुक्ति दिने विभिन्‍न प्रकारका विधिहरूलाई स्वीकार गर्न र मूल्य चुकाउन साँचो रूपमा इच्‍छुक छ भने, उसले त्यति धेरै कष्ट भोग्‍नुपर्ने आवश्यकता हुँदैन। परमेश्‍वरले वास्तवमा मानिसहरूलाई त्यति धेरै कष्ट भोगाउन चाहनुहुन्‍न, र तिनीहरूलाई यति धेरै रोकावट र असफलताहरू अनुभव गराउन पनि चाहनुहुन्‍न। तर, मानिसहरू अत्यन्तै विद्रोही छन्, तिनीहरू भनेको मान्‍न, समर्पित हुन इच्छुक हुँदैनन्, र तिनीहरू सही मार्गमा हिँड्न सक्दैनन् वा छोटोमीठो तरिका अपनाउँछन्; उनीहरू आफ्‍नै बाटोमा लागेर परमेश्‍वरविरुद्ध विद्रोह गर्छन् र उहाँलाई प्रतिरोध गर्छन्। मानिसहरू भ्रष्ट कुरा हुन्। परमेश्‍वरले तिनीहरूलाई शैतानको हातमा सुम्पिदिन र उनीहरूलाई विभिन्‍न परिस्थितिहरूमा पारेर निरन्तर परिष्कृत गर्न, र त्यसो गरेर उनीहरूलाई हरप्रकारका अनुभव प्राप्त गर्ने र पाठहरू सिक्‍ने, र अन्त्यमा हरप्रकारका दुष्ट कुराहरूको सार बुझ्‍ने तुल्याउन मात्र सक्‍नुहुन्छ। त्यसपछि, जब मानिसहरूले पछाडि फर्केर हेर्छन्, तब उनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी महसुस गर्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वर सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ, र परमेश्‍वर मानिसहरूलाई साँचो रूपमा प्रेम गर्ने, उनीहरूबारे चिन्ता गर्ने र उनीहरूलाई मुक्ति दिन सक्‍ने एकमात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छन्। परमेश्‍वर मानिसहरूले यति धेरै कष्ट भोगून् भन्‍ने चाहनुहुन्‍न, तर मानिसहरू अत्यन्तै विद्रोही छन्, तिनीहरू गलत बाटोमा लाग्‍न चाहन्छन्, र यो कष्ट भोग्‍न चाहन्छन्। मानिसहरूलाई विभिन्‍न परिस्थितिबाट गुज्रन लगाएर उनीहरूलाई निरन्तर परिष्कृत गर्ने बाहेक परमेश्‍वरसँग कुनै विकल्‍प छैन। आखिरमा, मानिसहरूलाई कुन हदमम्म परिष्कृत गरिन्छ त? त्यस हदसम्म, जब तँ भन्‍नेछस्, “मैले सबै किसिमको परिस्थिति अनुभव गरेको छु, र अब मैले परमेश्‍वरबाहेक, मलाई सत्यता बुझाउन, मलाई सत्यताको आनन्द लिने तुल्याउन, वा मलाई सत्यता वास्तविकताहरूमा प्रवेश गराउन सक्‍ने एउटै पनि व्यक्ति, घटना वा कुरा छैन भन्‍ने कुरा बल्ल बुझेँ। यदि मैले आज्ञाकारी भई परमेश्‍वरका वचनअनुसार अभ्यास गरेँ, एक सृजित प्राणीका रूपमा आफ्नो हैसियत र कर्तव्य पालन गरेँ, आज्ञाकारी रूपमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्वीकार गरेँ, थप कुनै गुनासो गरिनँ वा परमेश्‍वरबाट विलासी कुराहरूको चाहना राखिनँ, र म सृष्टिकर्तासामु साँचो रूपमा समर्पित हुन सकेँ भने मात्र म साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति बन्‍नेछु।” जब मानिसहरू यो स्तरमा पुग्छन्, तिनीहरू साँच्चै परमेश्‍वरसामु झुक्छन्, र परमेश्‍वरले उनीहरूलाई अनुभव गराउनका निम्ति कुनै थप परिस्थितिहरू खडा गर्नु आवश्यक हुँदैन। त्यसोभए, तिमीहरू कुन मार्ग लिन चाहन्छौ त? कसैले पनि आफ्ना आत्मगत चाहनाहरूमा कष्ट भोग्‍न चाहँदैन, कसैले पनि रोकावट, असफलता, कठिनाइ, निराशा, वा प्रतिकूलता अनुभव गर्न चाहँदैन, तर अरू कुनै उपाय नै छैन। मानिसहरूमा शैतानी प्रकृति हुन्छ; तिनीहरू अत्यन्तै विद्रोही हुन्छन्, र तिनीहरूका विचार र दृष्टिकोणहरू धेरै जटिल हुन्छन्। तेरो हृदयमा प्रत्येक दिन निरन्तर विरोधाभास, सङ्घर्ष, र खलबली हुन्छ। तँ थोरै सत्यता बुझ्छस्, तेरो जीवन प्रवेश सतही छ, र तँमा देहका धारणा, कल्पना र भ्रष्ट स्वभावहरूमाथि विजय पाउने शक्तिको कमी छ। तैँले मानिसको नियमित तरिका मात्र अपनाउन सक्छस्: अर्थात् निरन्तर असफलता र निराशा अनुभव गर्न, निरन्तर लड्न, निरन्तर कष्टमा पर्न, हिलोमा लडबडिन मात्र सक्छस्, र अन्त्यमा यस्तो दिन आउँछ, जब तैँले यसो भन्छस्, “म थाकेको छु। म वाक्क भएको छु। म यसरी जिउन चाहन्‍नँ। म यी असफलताहरू भोग्‍न चाहन्‍नँ। म आज्ञाकारी भई सृष्टिकर्तासामु आउन चाहन्छु; म परमेश्‍वरले भनेको कुरा सुन्‍नेछु, र उहाँले जे भन्‍नुहुन्छ त्यही गर्नेछु। यही मात्र जीवनको सही मार्ग हो।” जुन दिन तँ पूर्ण रूपमा विश्‍वस्त हुन्छस् र हार स्वीकार गर्छस्, त्यो दिन मात्र तँ परमेश्‍वरसामु आउन सक्‍नेछस्। के तैँले यसबाट परमेश्‍वरको स्वभावबारे केही बुझिस्? मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ? परमेश्‍वरले जे गर्नुभए पनि, उहाँ मानिसहरूको सर्वोत्तम भलाइ चाहनुहुन्छ। उहाँले जुनसुकै परिस्थिति खडा गर्नुभए पनि वा उहाँले तँलाई जेसुकै गर्न लगाउनु भए पनि, उहाँ सधैँ उत्तम परिणाम हेर्न चाहनुहुन्छ। मानौँ, तैँले कुनै कुरा अनुभव गर्छस् र रोकावटहरू र असफलताको सामना गर्छस्। परमेश्‍वर तँ असफल हुँदा निरुत्साहित भएको, आफू सिद्धिएको र शैतानद्वारा खोसिई लगिएको भन्‍ने सोचेको, त्यसपछि हरेस खाएको, कहिल्यै आफ्नो खुट्टामा फेरि खडा हुन नसकेको, र दिक्दारीमा डुबेको देख्‍न चाहनुहुन्‍न—परमेश्‍वर यस्तो परिणाम देख्‍न चाहनुहुन्‍न। परमेश्‍वर के देख्‍न चाहनुहुन्छ त? उहाँ तँ यस मामिलामा असफल भएको भए पनि, तैँले सत्यता खोज्‍न र आत्मचिन्तन गर्न सकेको, आफ्नो असफलताको कारण पत्ता लगाउन सकेको, यो असफलताले तँलाई सिकाएको पाठ स्विकार्न, भविष्यमा यस कुरालाई याद गर्न, यसरी काम गर्नु गलत हो, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु मात्र ठीक हो भन्‍ने जानेको, र यस्तो महसुस गरेको देख्‍न चाहनुहुन्छ, “म खराब व्यक्ति हुँ। ममा भ्रष्ट शैतानी स्वभाव छ। ममा विद्रोहीपन छ। म परमेश्‍वरले भन्‍नुभएका धर्मी मानिसहरूदेखि निकै टाढा छु, र ममा परमेश्‍वरको डर मान्‍ने हृदय छैन।” तैँले यो तथ्यलाई स्पष्टसँग देखेको छस्; तैँले यो मामलाको सत्यता जान्‍न पुगेको छस्, र यो रोकावट र असफलताबाट, तैँले केही बोध पाएको छस् र तँ परिपक्‍व भएको छस्। परमेश्‍वर यही हेर्न चाहनुहुन्छ। परिपक्‍व हुनु भनेको के हो? यसको अर्थ परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्छ, तैँले मुक्ति पाउन सक्छस्, तँ सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सक्छस्, र तँ परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा लागेको छस् भन्‍ने हो। परमेश्‍वर मानिसहरूले सही मार्ग लिएको हेर्ने आशा गर्नुहुन्छ। परमेश्‍वरले श्रमसाध्य अभिप्रायसाथ कामकुरा गर्नुहुन्छ, र यो सबै उहाँ गुप्त प्रेम हो, तर मानिसहरूले प्रायः यो कुरा अनूभूत गर्न सक्दैनन्। मानिसहरू सङ्कीर्ण सोचका र अत्यन्तै क्षुद्र छन्। परमेश्‍वरको अनुग्रह र आशिष्‌हरूको आनन्द लिन नपाउनेबित्तिकै, तिनीहरू परमेश्‍वरबारे गुनासो गर्छन्, नकारात्मक बन्छन् र झर्को मान्छन्, तर परमेश्‍वरले यी कुरालाई मनमा राख्‍नुहुन्‍न। उहाँले तिनीहरूलाई अज्ञानी बालबालिकाहरूजस्तो व्यवहार गर्नुहुन्छ र तिनीहरूको सानोतिनो गल्ती कोट्याउनुहुन्‍न। उहाँ मानिसहरूलाई अनुग्रह र आशिष्‌हरू कसरी प्राप्त गरिन्छ भनी थाहा दिन र मानिसका लागि अनुग्रहको अर्थ के हो र मानिसले त्यसबाट के लिन सक्छ भनी बुझाउनका लागि तिनीहरूका निम्ति परिस्थितिहरू खडा गर्नुहुन्छ। मानौँ, तँलाई केही कुराहरू खान मन लाग्छ, र ती कुरा धेरै खानु तेरो स्वास्थ्यका निम्ति राम्रो होइन भनी परमेश्‍वर भन्‍नुहुन्छ। तँ त्यो कुरा सुन्दैनस्, र त्यो खाने जिद्दी गर्छस्, र परमेश्‍वर तँलाई स्वतन्त्र रूपमा त्यो निर्णय गर्ने अनुमति दिनुहुन्छ। फलस्वरूप, तँ बिरामी हुन्छस्। धेरै पटक यस्तो अनुभव गरेपछि, तैँले परमेश्‍वरले बोल्नुभएका वचनहरू वास्तवमा सही छन्, उहाँले भन्‍ने कुरा सत्य छन्, तैँले उहाँका वचनहरूअनुसार अभ्यास गर्नैपर्छ, र यो नै सही मार्ग हो भन्‍ने महसुस गर्छस्। त्यसोभए, तैँले भोग्‍ने रोकावट, असफलता र कष्टहरूबाट के आउँछन्? एक हिसाबमा, तैँले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझ्न सक्छस्। अर्को हिसाबमा, यसले तँलाई परमेश्‍वरका वचनहरू सही र व्यावहारिक छन् भन्‍ने कुरा विश्‍वास गराउँछ र त्यसमा विश्‍वस्त तुल्याउँछ, र परमेश्‍वरमाथिको तेरो आस्था बढ्दै जान्छ। त्यसमाथि, तैँले असफलताको यस अवधिको अनुभवद्वारा परमेश्‍वरका वचनहरूको सत्यता र सटिकतालाई मान्‍नेछस्, तैँले परमेश्‍वरका वचनहरू सत्य हुन् भनी देख्‍नेछस्, र तैँले सत्यता अभ्यास गर्ने सिद्धान्त बुझ्नेछस्। त्यसैले, असफलता अनुभव गर्नु मानिसहरूका लागि राम्रो हो—तर साथसाथै, यसले तिनीहरूलाई कष्ट पनि भोगाउँछ—यो एक प्रकारको परिष्करण हो। तर यदि यसरी परिष्कृत गरिनुले अन्त्यमा तँलाई परमेश्‍वरसामु फर्काउँछ, उहाँका वचनहरू बुझाउँछ र तिनलाई सत्यताका रूपमा हृदयभित्र स्वीकार गराउँछ र परमेश्‍वरलाई चिन्‍न लगाउँछ भने, तैँले अनुभव गरेका परिष्करण, रोकावट र असफलताहरू व्यर्थ भएका हुनेछैनन्। परमेश्‍वरले देख्‍न चाहनुभएको नतिजा यही हो। तथापि, कतिपय मानिस भन्छन्, “परमेश्‍वर मानिसहरूप्रति धेरै सहनशील हुनुहुन्छ, त्यसैले म स्वच्छन्द हुनेछु, आफूखुसी गर्नेछु, र आफूले चाहेजस्तो जीवन जिउनेछु।” के यो ठीक हो? (अहँ, होइन।) सृजित प्राणीहरूले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरले तिनीहरूलाई देखाउनुभएको सही मार्गअनुसार अभ्यास गर्नु, र त्यसबाट नडगमगिनु हो। यदि तिनीहरू पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुरूपका हुन सक्दैनन् भने, तिनीहरूले जबसम्म सत्यता उल्लङ्घन गर्दैनन्, र परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छन्, तबसम्म ठीकै हुन्छ। यो न्यूनतम मानक हो। यदि तँ सत्यताबाट तर्किस्, प्रार्थना र खोजी गर्दैनस् भने, परमेश्‍वरबाट अति नै टाढा तर्केको छस्, र खतरनाक क्षेत्रमा प्रवेश गरिसकेको छस्। जब तँ परमेश्‍वरबाट अति टाढा हुन्छस्, मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दैनस्, र तैँले परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन काम गर्ने ठाउँ छोडिसकेको हुन्छस्, तब पवित्र आत्माले तँमा काम गर्न छोड्नुहुनेछ, र तँसँग कुनै मौका हुनेछैन, झन् मुक्ति हुने त कुरै भएन। तेरा लागि, परमेश्‍वरको प्रेम खोक्रा शब्दहरू मात्र हुन्।

जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तब तैँले सुरुमा परमेश्‍वरलाई बुझ्नैपर्छ, उहाँका अभिप्रायहरू, र मानिसप्रतिको उहाँको मनोवृत्तिलाई बुझ्नैपर्छ। यसो गरेर, तँलाई परमेश्‍वरले अन्त्यमा तैँले कुन सत्यता बुझ् र कुन सत्यतामा प्रवेश गर् भन्‍ने चाहनुहुन्छ भन्‍ने कुरा थाहा हुनेछ, र तैँले आफूले कुन मार्ग पछ्याउनुपर्छ भन्‍ने कुरा बुझ्नेछस्। तैँले यी कुराहरू थाहा पाएपछि, परमेश्‍वरले गर्न चाहने, र तँमा पूरा गर्न चाहने कुरामा सहकार्य गर्न सक्दो प्रयास गर्नैपर्छ। यदि तैँले साँच्‍चै सहकार्य गर्न सक्दैनस् अनि तेरो ऊर्जा र तागत सकियो भने, त्यो ठीक त्यस्तै हुन्छ; परमेश्‍वरले मानिसहरूलाई जबरजस्ती गर्नुहुनेछैन। तर, अहिले मानिसहरूले यी कुराहरूमा आफ्नो सबै तागत लगाउँदैनन्। यदि तँ सत्यता अभ्यासमा आफ्नो पूरा शक्ति लगाउँदैनस्, तर आशिष्‌हरू र धार्मिकताको मुकुट प्राप्त गर्न आफ्नो पूरा शक्ति लगाउँछस् भने, तँ सही मार्गबाट तर्केको छस्। तैँले सत्यता अभ्यास गर्नमा, र परमेश्‍वरले तँलाई दिने मिसन र कर्तव्यहरूमा आफ्नो भूमिका निभाउनमा प्रयास लगाउनैपर्छ; तैँले आफूलाई यी कुराहरूका लागि सम्पूर्ण हृदयले अर्पण र समर्पण गर्नैपर्छ। त्यसपछि, तँ परमेश्‍वरका अभिप्रायअनुरूपको हुनेछस्। परमेश्‍वरले आफ्नो कर्तव्य उचित रूपमा पूरा नगर्ने मानिसहरूलाई वास्ता गर्नुहुन्‍न, तर तिनीहरूलाई वास्ता नगर्नुको अर्थ उहाँका कार्यपछाडि सिद्धान्तहरू छैनन् भन्‍ने होइन। परमेश्‍वरले तिनीहरूलाई वास्ता नगर्नुले उहाँ सहनशील, स्वीकारशील र धैर्यवान् हुनुहुन्छ भन्‍ने देखाउँछ। मानिसहरूले आफ्नो जीवनमा के कुरा अनुभव गर्नैपर्छ, यी सृजित प्राणीहरूले के हासिल गर्न सक्छन्, र के हासिल गर्न सक्दैनन्, निश्‍चित प्रकारका मानिसहरूले निश्‍चित उमेरमा के हासिल गर्न सक्छन्, र के हासिल गर्न सक्दैनन् भन्‍ने कुरा उहाँलाई थाहा हुन्छ। यी कुराबारे सबैभन्दा स्पष्ट त परमेश्‍वर हुनुहुन्छ, मानिसहरूभन्दा धेरै स्पष्ट हुनुहुन्छ। तर, परमेश्‍वर यी कुराबारे स्पष्ट हुनुहुन्छ भन्दैमा, यसको मतलब तैँले यस्तो भन्‍न सक्छस् भन्‍ने होइन, “त्यसोभए ठीक छ, परमेश्‍वर, तपाईँलाई जस्तो मन लाग्छ त्यस्तै गर्नुहोस्। मैले केही कुराबारे सोच्नु आवश्यक छैन। म दिनभर त्यतिकै बसेर स्वर्गबाट मन्‍ना खस्छ भनी पर्खन सक्छु। परमेश्‍वरले सबै कुरा सम्हाल्नु ठीक हुन्छ।” मानिसहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा, आफूले गर्नुपर्ने काम गर्दा, आफू प्रवेश गर्नुपर्ने कुरामा प्रवेश गर्दा, आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्दा, र मानिसहरूको जन्मजात क्षमताभित्र हासिल गर्न सक्‍ने कुरा हासिल गर्दा सहकार्य गर्न सक्दो प्रयास गर्नैपर्छ। सहकार्य गर्न सक्दो प्रयास गर्नु भनेको के हो? यसको अर्थ तैँले आफ्नो कर्तव्यमा समय र ऊर्जा लगाउनैपर्छ, कष्ट भोग्‍नैपर्छ र मूल्य चुकाउनैपर्छ भन्‍ने हो। कहिलेकाहीँ, तेरो घमण्ड, अभिमान र स्वार्थले नोक्सानी उठाउनैपर्छ, र तैँले गन्तव्यको तृष्णा र आशिष् पाउने चाहना पूर्ण रूपमा त्याग्‍नैपर्छ। यी कुराहरू त्याग्‍नुपर्छ, त्यसैले तैँले तिनलाई त्याग्‍नैपर्छ। उदाहरणका लागि, परमेश्‍वर भन्‍नुहुन्छ, “दैहिक सुखचैनको लालसा नगर्, किनकि यो तेरो जीवन वृद्धिका लागि फाइदाजनक छैन।” तँ उहाँमा समर्पित हुन सक्दैनस्, र केही असफलता अनुभव गरेपछि, तैँले यस्तो सोच्छस्, “परमेश्‍वर सही हुनुहुन्छ। म किन यो अभ्यास गर्न, र देहविरुद्ध विद्रोह गर्न सक्दिनँ? के म परिवर्तन हुन असमर्थ छु? के परमेश्‍वरले पनि मलाई यसरी नै हेर्नुहुन्छ? के उहाँले मलाई मुक्ति दिनुहुनेछैन? म त बस मान्‍नेछु र सब थोक भताभुङ्ग हुन दिनेछु। म केवल श्रमिक हुनेछु, र अन्त्यसम्म श्रम गर्नेछु।” के यो स्वीकार्य छ? (अहँ, छैन।) मानिसहरू प्रायजसो यस्तो स्थितिमा हुन्छन्। या त तिनीहरू आशिष् र मुकुट मात्र पछ्याउँछन्, वा केही असफलता अनुभव गरेपछि आफू काम गर्न योग्य छैन, र परमेश्‍वरले पनि तिनीहरूबारे फैसला गरिसक्‍नुभएको छ भन्‍ने सोच्छन्। यो गलत हो। यदि तैँले समयमै कामकुरा परिवर्तन गर्न सक्छस्, आफ्‍नो हृदय र मन परिवर्तन गर्न सक्छस्, आफ्‍नो हातले गरेको दुष्कर्मलाई त्याग्‍न, परमेश्‍वरको अघि फर्किन, परमेश्‍वरसामु स्विकार्न र पश्‍चात्ताप गर्न, आफ्ना कार्यहरू र आफू हिँड्ने मार्ग गलत छन् भनी स्वीकार गर्न, आफ्ना असफलताहरू स्विकार्न, अनि त्यसपछि आफू जति नै कलङ्कित भए पनि सत्यता पछ्याउने काममा हरेस नखाई परमेश्‍वरले तँलाई देखाउनुभएको मार्गअनुसार अभ्यास गर्न सक्छस् भने, तैँले सही काम गरिरहेको हुन्छस्। स्वभाव परिवर्तन र मुक्ति अनुभव गर्दाको अवधिमा, मानिसहरूले अपरिहार्य रूपमा नै विभिन्‍न कठिनाइको सामना गर्छन्। उदाहरणका लागि, परमेश्‍वरले खडा गर्नुभएका परिस्थितिहरूमा समर्पित हुन नसक्‍नु, तिनीहरूका आफ्‍नै विविध सोचाइ, दृष्टिकोण, कल्‍पना, भ्रष्ट स्वभाव, ज्ञान, र वरदान, वा तिनीहरूका आफ्‍नै विभिन्‍न समस्या र गल्तीहरू। तैँले सबै प्रकारका कठिनाइसँग सङ्घर्ष गर्नैपर्छ। तैँले यी असङ्ख्य कठिनाइ र स्थितिलाई जितेपछि, र तेरो हृदयको युद्ध समाप्त भएपछि, तँसँग सत्यता वास्तविकताहरू हुनेछन्, तँ त्यसउप्रान्त यी कुराहरूको बन्धनमा हुनेछैनस्, र तँ स्वतन्त्र र आजाद भएको हुनेछस्। यो प्रक्रियाको दौरान मानिसहरूले प्रायः सामना गर्ने एउटा समस्या के हो भने, आफैमा रहेका समस्याहरू पत्ता लगाउनुअघि, पावलले जस्तै तिनीहरूले पनि आफू अरूभन्दा असल रहेको, र अरू कसैले आशिष्‌ नपाए पनि आफूले चाहिँ आशिष्‌ पाउने भन्ठान्छन्। जब तिनीहरूले आफ्‍ना कठिनाइहरू पत्ता लगाउँछन्, तिनीहरूले आफू केही पनि नभएको, र आफ्नो लागि सबै खतम भएको ठान्छन्। त्यहाँ सधैँ यी दुई चरम कुरा हुन्छन्। तैँले यी दुवै चरम कुरालाई विजय गर्नुपर्छ, ताकि तँ यो वा त्यो मार्गमा बरालिएर जान नपरोस्। कुनै कठिनाइको सामना गर्दा, तँलाई यो समस्या समाधान गर्न कठिन छ, र यसलाई ठीक पार्न साह्रै नै गाह्रो हुनेछ भन्‍ने कुरा थाहा पाइसकेको भए पनि, तैँले यसलाई उचित रूपमा सामना गर्नुपर्छ, परमेश्‍वरको अघि आएर यसलाई समाधान गर्न सहयोग माग्‍नुपर्छ, र सत्यताको खोजी गरेर, यसलाई कमिलाले हड्डी चपाएजस्तै अलि-अलि गर्दै चपाउँदै हल गर्नुपर्छ, र स्थितिलाई सुल्ट्याउनुपर्छ। तैँले परमेश्‍वरसँग पश्‍चात्ताप गर्नैपर्छ। पश्‍चात्ताप गर्नु भनेको तँसँग सत्यतालाई स्वीकार गर्ने हृदय र समर्पणताको मनोवृत्ति छ भन्‍ने कुराको प्रमाण हो, जसको अर्थ तैँले सत्यता प्राप्त गर्नेछस् भन्‍ने आशा छ भन्‍ने हो। अनि यदि यसबीच थप कुनै पनि कठिनाइ देखा पर्‍यो भने, नडरा। तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर् र उहाँमा भर पर्; परमेश्‍वरले गुप्त रूपमा तँलाई हेरिरहनुभएको र तेरो प्रतीक्षा गरिरहनुभएको हुन्छ, र जबसम्‍म तँ उहाँको व्यवस्थापन कार्यको परिवेश, प्रवाह, र दायराबाट बाहिर जाँदैनस्, तबसम्‍म तेरा लागि आशा हुन्छ—तैँले पटक्‍कै हरेस खानु हुँदैन। यदि तैँले सामान्य भ्रष्ट स्वभाव मात्रै प्रकट गर्छस् भने, जबसम्‍म तैँले यसलाई बुझ्‍न र सत्यतालाई स्वीकार गर्न, र सत्यता अभ्यास गर्न सक्छस्, तबसम्‍म यी समस्याहरू समाधान हुने दिन आउने नै छ। यसबारे तँमा विश्‍वास हुनैपर्छ। परमेश्‍वर सत्यता हुनुहुन्छ—तैँले तेरो यो सानो समस्या समाधान हुन सक्दैन भनेर किन डर मान्‍नुपर्छ र? यो सबैलाई समाधान गर्न सकिन्छ, अनि किन नकारात्मक बन्‍ने? परमेश्‍वरले तँप्रति हरेस खानुभएको छैन, तब किन तँ आफैप्रति हरेस खान्छस्? तैँले हरेस खानु हुँदैन, र तँ नकारात्मक हुनु हुँदैन। तैँले सही तरिकाले समस्याको सामना गर्नुपर्छ। तैँले जीवन प्रवेशका सामान्य नियमहरू जान्‍नैपर्छ, अनि भ्रष्ट स्वभावको प्रकटीकरण र अभिव्यक्ति, साथै कहिलेकाहीँ आउने नकारात्मकता, कमजोरी, र अन्योललाई सामान्य कुरा ठान्‍न सक्‍नैपर्छ। आफ्‍नो स्वभाव परिवर्तन गर्ने प्रक्रिया लामो र दोहोरिने प्रक्रिया हो। जब तँ यस कुराबारे स्पष्ट हुन्छस्, तब तैँले ठीक तरिकाले समस्याहरूको सामना गर्न सक्‍नेछस्। कहिलेकाहीँ, तेरो भ्रष्ट स्वभाव गम्भीर रूपमा आफै प्रकट हुन्छ, र यसलाई देख्‍ने सबैमा यसप्रति घृणा जाग्छ, र तैंले आफैलाई घृणा गर्छस्। वा, कहिलेकाहीँ, तँ निकै शिथिल हुन्छस् र परमेश्‍वर तँलाई ताडना दिनुहुन्छ। यसमा डर मान्‍नुपर्ने कुनै कारण छैन। यदि परमेश्‍वरले तँलाई ताडना दिइरहनुभएको हुन्छ, अझै पनि तेरो हेरचाह र रक्षा गरिरहनुभएको हुन्छ, तँमा अझै काम गरिरहनुभएको हुन्छ, अनि सधैँ तेरो साथमा रहनुहुन्छ भने, यसबाट परमेश्‍वरले तँप्रति हरेस खानुभएको छैन भन्‍ने कुरा प्रमाणित हुन्छ। कहिलेकाहीँ तँलाई परमेश्‍वरले त्याग्‍नुभएको, र तँ अन्धकारमा डुबेको महसुस हुँदा पनि तँ नडरा: जबसम्‍म तँ जीवितै हुन्छस् र नरकमा हुँदैनस्, तबसम्‍म तँसँग अझै मौका हुन्छ। तर यदि तँ पावलजस्तै हठी हुँदै ख्रीष्टविरोधीको मार्गमा हिँड्छस्, र अन्ततः मेरा लागि त जिउनु नै ख्रीष्ट हो भनेर दिन्छस् भने, तेरा लागि सबै समाप्त हुन्छ। यदि तेरो होस खुल्न सक्यो भने, तँसँग अझै मौका हुन्छ। तँसँग कस्तो मौका हुन्छ? तँ परमेश्‍वरसामु आउन सक्छस्, र यसो भन्दै अझै उहाँलाई प्रार्थना गर्न र खोजी गर्न सक्छस्, “हे परमेश्‍वर! बिन्ती छ, मलाई सत्यताको यो पक्ष र अभ्यासको मार्गको यो पक्ष बुझ्‍न अन्तर्दृष्टि दिनुहोस्।” जबसम्‍म तँ परमेश्‍वरका अनुयायीहरूमध्येको एक हुन्छस्, तबसम्‍म तँसँग मुक्तिको आशा हुन्छ, र तँ अन्त्यसम्‍मै टिक्‍न सक्छस्। के यी वचनहरू पर्याप्त रूपले स्पष्ट छन्? के तिमीहरू अझै पनि नकारात्मक बन्‍न सक्‍ने सम्‍भावना छ? (छैदैन।) जब मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्छन्, तब तिनीहरूको मार्ग फराकिलो हुन्छ। यदि तिनीहरूले उहाँका अभिप्रायहरूलाई बुझ्दैनन् भने, यो मार्ग साँघुरो हुन्छ, तिनीहरूको हृदयमा अन्धकार हुन्छ, र तिनीहरूसँग पाइला चाल्‍नका लागि कुनै मार्ग हुँदैन। सत्यता नबुझ्‍ने मानिसहरू यस प्रकारका हुन्छन्: तिनीहरू सङ्कुचित मनका हुन्छन्, तिनीहरू सधैँ सानातिना कुराहरू कोट्याउँछन्, र तिनीहरू सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र उहाँलाई गलत बुझ्ने गर्छन्। परिणामस्वरूप, तिनीहरू जति अगाडि हिँड्छन्, तिनीहरूको मार्ग त्यति नै हराउँछ। वास्तवमा, मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन्। यदि परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको कल्‍पनाअनुसार व्यवहार गर्नुभएको भए, मानवजाति धेरै पहिले नै नष्ट भइसकेको हुनेथियो।

पावलका सात पापहरूले भ्रष्ट मानवताको ठेट प्रकटीकरणको प्रतिनिधित्व गर्छन्, तर पावलको मामला नै सबैभन्दा गम्भीर थियो। उसको प्रकृति सार निर्धारित भइसकेको थियो—ऊ त्यस्तो व्यक्ति थियो। तर, यी भ्रष्ट स्वभावहरू आम रूपमा सबै भ्रष्ट मानिसमा हुन्छन्; ती प्रत्येक व्यक्तिमा फरक-फरक हदसम्म हुन्छन्। यी सबै स्थिति भ्रष्ट स्वभावबाट उत्पन्‍न हुन्छन्। तँ पावलजस्तो व्यक्ति नभए पनि, तँमा पनि यी भ्रष्ट स्वभावहरू छन्; यति मात्र हो कि, तँ उसले जस्तो गम्भीर रूपमा तिनलाई प्रकट गर्दैनस्। वर्तमान समयमा, तिमीहरूमध्ये अधिकांशमा हुने यस्ता स्थितिलाई परमेश्‍वरले भ्रष्ट स्वभावको प्रकटीकरण ठान्‍नुहुन्छ। तर, पावलले भ्रष्ट स्वभाव मात्र प्रकट गरेन; ऊ त परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा थियो, र उसले हठी हुँदै पश्‍चात्ताप गर्न मानेन। उसलाई सजाय तोकियो र दोषी ठहराइयो। उसमा पैशाचिक प्रकृति थियो, र सत्यतालाई घृणा गर्ने उसको यो पैशाचिक प्रकृति सुधार गर्नै नसकिने थियो। यसपछि, तिमीहरूले यस प्रवचनमा सङ्गति गर्नुपर्छ, र आफूलाई यससँग तुलना गर्नुपर्छ। यसको उद्देश्य भनेको पावलले गरेका यी गल्तीहरूको गम्भीरतालाई पहिचान गर्नु हो, त्यसपछि तँसँग भएका पावलका जस्तै सबै भ्रष्ट स्थितिलाई उजागर गरेर तिनलाई चरणबद्ध रूपमा ठीक गर्नु हो। यी भ्रष्ट स्वभावहरूलाई ठीक गर्नुको उद्देश्य मानिसहरूलाई झन्-झन् बढी मानव स्वरूपमा जिउन सक्‍ने, र परमेश्‍वरसँग झन्-झन् बढी मिल्न सक्‍ने बनाउनु हो। यी भ्रष्ट स्वभावहरूलाई ठीक गरेर मात्र मानिसहरू साँच्‍चै परमेश्‍वरसामु आउन सक्छन्, उहाँसँग मिल्न सक्छन्, साँचो सृजित प्राणी हुन सक्छन्, र परमेश्‍वरलाई तिनीहरूलाई सन्तुष्ट रूपले हेर्ने बनाउन सक्छन्। के तिमीहरूले आफूलाई यससँग तुलना गर्छौ? (हामीसित यस सन्दर्भमा निकै कमी छ।) तिमीहरूमा सबैभन्दा कमी रहेको कुरा सत्यता हो। तिमीहरू प्रवेश गर्नुपर्ने कुरा सत्यता नै हो। अहिले तिमीहरूभित्र धेरै कुरा छन्, तर यीमध्ये अधिकांश कुरा भ्रष्ट र खराब छन्। तिमीहरूसँग केही बेतुके ज्ञान छ, तिमीहरू साह्रै तुच्छ छौ, सधैँ लेनदेन र कारोबार गर्नेबारे सोच्छौ, तिमीहरूमा नकारात्मक कुराहरू टनाटन छन्, र तिमीहरू आफूबाट कुनै काम राम्ररी नहुँदा, वा कठिनाइ देख्दा नकारात्मक हुन्छौ। जब तैँले परमेश्‍वरको काम तेरा इच्छाहरूअनुरूप छैन भन्‍ने देख्छस्, तब तँमा नकारात्मक भावनाहरू पैदा हुन्छन्, र तैँले उहाँको कामको विरोध गर्छस् र त्यससँग लड्छस्। जब तैँले आफ्नो काममा कुनै सानो परिणाम प्राप्त गर्छस्, तब तँलाई त्यसको मात लाग्छ र तँ आफैलाई बिर्सन्छस्। तँ अहङ्कारी बन्छस् र तँलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्‍ने थाहा हुँदैन, तँ आफूलाई अरू सबैभन्दा अब्बल ठान्छस्, र यसको सट्टामा परमेश्‍वरले तँलाई मुकुट र इनाम दिनुहोओस् भन्‍ने चाहन्छस्; तैँले सार्वजनिक रूपमा बेलगाम हुने दुस्साहस पनि गर्छस्। सङ्क्षेपमा भन्‍नुपर्दा, यी स्थितिहरू पावलका स्थितिहरूसँग मिल्दाजुल्दा छन्—ती उस्तै छन्, र परमेश्‍वरले तिनलाई घृणा गर्नुहुन्छ।

हामीले पावलका सात ठूला पापहरूलाई सारांशीकृत र चित्रित गरेका छौँ। पावल अन्त्यमा सजायको भागीदार बन्यो। जब परमेश्‍वरले पावलको परिणाम निर्धारित गर्नुभयो, तब के उहाँले यसलाई उसको एउटा पापमा मात्रै आधारित गर्नुभयो? (होइन।) समग्रमा, यो उसले भोग्‍नुपर्ने परिणाम थियो; उसको अन्त्य यस्तै हुनुपर्थ्यो। तथ्यहरू तिमीहरूकै अगाडि छन्; तिमीहरूले तिनलाई इन्कार गर्न सक्दैनौ। यदि तिमीहरूमध्ये कोही पावलको जस्तो मार्गमा सुरुदेखि अन्त्यसम्म हिँड्छौ, पावलका सातैवटा पाप प्रकट गर्छौ, र तिनलाई समाधान गर्न सत्यताको खोजी गर्न सक्दैनौ भने, अन्त्यमा तिमीहरूको परिणाम के हुनेछ? (पावलको जस्तै हुनेछ।) तिमीहरू पावलजस्तै ख्रीष्टविरोधी, र दुष्ट पिशाच बन्‍नेछौ, र तिमीहरूलाई सजाय दिनुपर्ने हुन्छ। जब तँलाई सजाय दिइन्छ, तब परमेश्‍वरलाई अधर्मी भएको आरोप नलगा। बरु, तैँले परमेश्‍वरको धर्मीपनको प्रशंसा गर्नुपर्छ, र भन्‍नुपर्छ, “परमेश्‍वर धर्मी हुनुहुन्छ! परमेश्‍वरले पावलका सात पापहरू खुलासा गर्नुभयो, र उहाँका वचनहरूले तिनको व्याख्या गरे। म नै उहाँका वचनहरूमा प्रवेश गरिनँ!” अहिले, अवस्था दुई हजार वर्ष पहिलेको भन्दा फरक छ; परमेश्‍वरले मानिसहरूलाई हरेक सत्यताबारे स्पष्ट र पारदर्शी रूपमा बताउनुहुन्छ, र यसलाई तेरा लागि लेखिएको छ, ताकि तैँले यसलाई सुन् र बुझ्, र परमेश्‍वरले वास्तविक जीवनमा यसरी नै काम गर्नुहुन्छ र कामकुरा पनि पूरा गर्नुहुन्छ भन्‍ने कुरा हेर्। यदि तँ अझै पनि सत्यतामा प्रवेश गर्न सक्दैनस्, र परमेश्‍वरका वचनहरूअनुसार आफ्नो भ्रष्ट स्वभाव ठीक गर्न सक्दैनस् भने, परमेश्‍वरले आफ्नो धर्मी स्वभावअनुसार तँलाई दण्ड दिनुभएकोमा उहाँलाई दोष नदे। प्रकाशको पुस्तकमा, परमेश्‍वरले भन्‍नुभएको छ, “हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ” (प्रकाश २२:१२)। परमेश्‍वर मानिसहरूलाई तिनीहरूले गरेको कामअनुसार परिपूर्ति गर्नुहुन्छ। यो परमेश्‍वरको धर्मी स्वभाव हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरको वचनको प्रकाशमा, र परमेश्‍वरले खुलासा गर्नुभएका पावलका सात पापहरूको प्रकाशमा आत्मचिन्तन गर्नुपर्छ र आफूलाई बुझ्नुपर्छ, अनि साँचो पश्‍चात्ताप हासिल गर्नुपर्छ। परमेश्‍वर यसैलाई अनुमोदन गर्नुहुन्छ।

जुन १४, २०१८

अघिल्लो: सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ

अर्को: सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्