परमेश्वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्नेसम्बन्धी वचनहरू
अंश ७७
कतिपय मानिसहरू एकदमै कमजोर क्षमताका हुन्छन् र सत्यतालाई प्रेम गर्दैनन्। सत्यताबारे जतिसुकै सङ्गति गरे पनि त्यो बुझ्न तिनीहरूको स्तरले भ्याउँदैन। तिनीहरूले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन् तर तिनीहरू अझै पनि कुनै वास्तविक अनुभवात्मक बुझाइबारे कुरा गर्न सक्दैनन्। त्यसैले, तिनीहरू आफू परमेश्वरका पूर्वनिर्धारित र चुनिएका मानिस नभएको र जति वर्ष विश्वास गरे पनि आफूलाई परमेश्वरले मुक्ति दिन नसक्ने भन्दै आफ्नै बारेमा फैसला गर्छन्। तिनीहरूले आफ्नो हृदयमा यस्तो विचार राखेका हुन्छन्, “परमेश्वरद्वारा पूर्वनिर्धारित र चुनिएकाहरूले मात्र मुक्ति पाउन सक्छन्, र एकदमै कमजोर क्षमता भएका र सत्यता बुझ्न नसक्नेहरू परमेश्वरका पूर्वनिर्धारित र चुनिएका मानिसमा पर्दैनन्; तिनीहरूले परमेश्वरमा विश्वास गरेर पनि मुक्ति पाउन सक्दैनन्।” तिनीहरू परमेश्वरले मानिसहरूको परिणाम तिनीहरूको प्रकटीकरण र व्यवहारको आधारमा निर्धारण गर्नुहुन्न भन्ने सोच्छन्। यदि तैँले यस्तो सोचेको छस् भने, तैँले परमेश्वरलाई धेरै नै गलत बुझेको रहेछस्। यदि परमेश्वरले साँच्चै यसरी नै व्यवहार गर्नुभएको भए, के उहाँ अझै पनि धर्मी हुनुहुनेथियो? परमेश्वरसँग मानिसहरूको परिणाम निर्धारण गर्ने एउटा सिद्धान्त छ: अन्त्यमा, परमेश्वरले मानिसहरूको परिणाम तिनीहरूका व्यक्तिगत प्रकटीकरणहरू र व्यवहारका आधारमा निर्धारण गर्नुहुन्छ। जब तँ परमेश्वरको धर्मी स्वभाव देख्न सक्दैनस्, र सधैँ परमेश्वरलाई गलत बुझिरहेको र उहाँका इच्छाहरूलाई तोडमोड गरिरहेको हुन्छस्, यस्तो सम्म कि तँ सधैँ निराशावादी र दुःखी भइरहन्छस् भने, के त्यो आफूमाथि आफैले निम्त्याएको नतिजा होइन र? यदि तँ परमेश्वरको पूर्वनिर्धारणले कसरी काम गर्छ भन्ने बुझ्दैनस् भने, तैँले परमेश्वरबाट उहाँका वचनहरूमा सत्यता खोज्नुपर्छ र आफू उहाँको पूर्वनिर्धारित र चुनिएको मानिसमा नपर्ने भनेर अन्धाधुन्ध निष्कर्ष निकाल्नु हुँदैन। यो परमेश्वरबारे गम्भीर गलत बुझाइ हो! तँलाई परमेश्वरको कामबारे केही पनि थाहा छैन, र तँ परमेश्वरका अभिप्रायहरू बुझ्दैनस्, परमेश्वरको छ हजार वर्षे व्यवस्थापनको कार्यपछाडिका श्रमसाध्य अभिप्रायहरू त झनै बुझ्दैनस्। तँ हरेस खान्छस्, परमेश्वरबारे अनुमान र शङ्का गर्छस्, आफू सेवाकर्ता हुँ र सेवा पूरा गरिसकेपछि हटाइनेछु भनी डराउँछस्, र सदैव यस्तो सोचिरहन्छस्, “मैले आफ्नो कर्तव्य किन पूरा गर्ने? कर्तव्य पूरा गर्दा पनि मैले सेवा प्रदान गरिरहेको छु त? मैले सेवा दिने काम सकिएपछि मलाई हटाइयो भने के म कुनै चालमा फसिरहेको हुनेछैन र?” यस्तो सोचलाई तिमीहरू कसरी बुझ्छौ? के तिमीहरू यसलाई खुट्ट्याउन सक्छौ? के यस तरिकाले सोच्नु भनेको परमेश्वरलाई गलत बुझ्नु र उहाँविरुद्ध सतर्क हुनु होइन र? (हो।) तँ सधैँ परमेश्वरलाई गलत बुझ्छस्, उहाँलाई संसारलाई शासन गर्ने दियाबलस राजाहरूसँग वर्गीकृत गर्छस्, तँ सधैँ उहाँविरुद्ध आफ्नो हृदयलाई सतर्क राख्छस्, र तँ सधैँ उहाँलाई मानवजत्तिकै स्वार्थी र घृणास्पद सोच्छस्। उहाँले मानवजातिलाई प्रेम गर्नुहुन्छ भन्ने तँ कहिल्यै विश्वास गर्दैनस् र मानवजातिलाई मुक्ति दिने उहाँको इमानदारितामा कहिल्यै विश्वास गर्दैनस्। तँ सधैँ आफूलाई सेवाकर्ताको रूपमा चित्रण गरिरहेको हुन्छस् र सेवा दिइसकेपछि हटाइने पो हो कि भनेर डर मान्छस्; यो नै अविश्वासीहरूको छली मानसिकता हो। गैरविश्वासीहरूले परमेश्वरमा विश्वास गर्दैनन्, किनभने तिनीहरू परमेश्वर हुनुहुन्छ भन्ने स्वीकार गर्दैनन्, न त परमेश्वरको वचन सत्यता हो भनेर नै स्वीकार गर्छन्। तँ त परमेश्वरमा विश्वास गर्छस्, तर किन उहाँमा भरोसा गर्दैनस्? परमेश्वरको वचन सत्यता हो भनेर किन स्वीकार गर्दैनस्? तँ अनिच्छापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्छस्, र तँ सत्यता अभ्यास गर्नका खातिर कुनै कष्ट भोग्दैनस्, र परिणामस्वरूप, धेरै वर्ष परमेश्वरमा विश्वास गर्नुको बाबजुद तैँले अझै पनि सत्यता प्राप्त गरेको छैनस्। यसको सट्टामा, तँ अन्त्यमा परमेश्वरले तँलाई पूर्वनिर्धारित गर्नुभएन, उहाँले तँसँग सच्चा व्यवहार गर्नुभएन भन्दै दोष जति सबै उहाँमाथि थोपर्छस्। त्यो कस्तो समस्या हो? तँ परमेश्वरका इच्छाहरूलाई गलत बुझ्छस्, र तँ उहाँका वचनहरूलाई विश्वास गर्दैनस्, अनि तँ आफ्नो कर्तव्य निर्वाह गर्ने बेलामा सत्यतालाई व्यवहारमा लागु गर्दैनस् र अर्पित हुँदैनस्। त्यसोभए तँ कसरी परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न सक्छस् र? कसरी तैँले पवित्र आत्माको काम प्राप्त गर्न र सत्यता बुझ्न सक्छस् र? त्यस्ता मानिसहरू सेवाकर्ताहरू हुनसमेत योग्य हुँदैनन्, त्यसैले तिनीहरू कसरी परमेश्वरसित मोलमोलाइ गर्न योग्य हुन सक्लान्? यदि परमेश्वर धर्मी हुनुहुन्न भनी तँ सोच्छस् भने, किन तँ उहाँमा विश्वास गर्छस्? तँ सधैँ आफूले परमेश्वरको घरको खातिर परिश्रम गर्नुपहिले नै परमेश्वरले तँलाई व्यक्तिगत रूपमै “तँ राज्यका मानिसहरूमध्ये एक होस्; यो कुरा कहिल्यै परिवर्तन हुनेछैन” भन्नुहोओस् भन्ने चाहन्छस्, अनि यदि उहाँले यस्ता वचनहरू भन्नुभएन भने, तँ उहाँलाई कहिल्यै आफ्नो साँचो हृदय दिनेछैनस् र तँ कहिल्यै पनि खुसीसाथ आफ्नो कर्तव्य निर्वाह गर्नेछैनस्। त्यस्ता मानिसहरू कति विद्रोही र हठी छन्! म त्यस्ता धेरै मानिस देख्छु जो कहिल्यै आफ्नो स्वभाव परिवर्तनमा ध्यान केन्द्रित गर्दैनन्, सत्यता अभ्यास गर्नमा त झनै गर्दैनन्। तिनीहरू आफूले राम्रो गन्तव्य पाइएला कि नपाइएला, परमेश्वर तिनीहरूबारे कस्तो महसुस गर्नुहुन्छ, उहाँले तिनीहरूलाई उहाँका मानिस हुने पूर्वनिर्धारित गर्नुभएको छ कि छैन, र हल्ला चलेको यस्तै अरू कुराबारे सोध्दै हिँड्नमा मात्र ध्यान केन्द्रित गर्छन्। आफ्नो उचित काममा ध्यान नदिने त्यस्ता मानिसहरूले कसरी सत्यता प्राप्त गर्न सक्छन्? कसरी तिनीहरू परमेश्वरको घरमा रहन सक्छन्? अब, म तिमीहरूलाई गम्भीर भएर भन्छु: कुनै व्यक्ति पूर्वनिर्धारित हुन त सक्ला, तर यदि ऊ सत्यता स्विकार्न र सत्यताअनुसार काम गर्न, अनि त्यसमार्फत परमेश्वरप्रति समर्पण हासिल गर्न सक्दैन भने, हटाइनु नै उसको अन्तिम परिणाम हुनेछ। सच्चा रूपमा परमेश्वरप्रति आफूलाई समर्पित गर्ने र आफ्नो सारा शक्ति लगाएर सत्यता अभ्यास गर्ने मानिसहरू मात्र बाँच्न र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्षम हुनेछन्। अरूले तिनीहरूलाई बाँच्न पूर्वनिर्धारित नगरिएका मानिसका रूपमा हेर्लान्, तर परमेश्वरको धर्मी स्वभावका कारण परमेश्वरप्रति कहिल्यै बफादारी नदेखाउने कथित पूर्वनिर्धारित मानिसहरूको भन्दा तिनीहरूको गन्तव्य राम्रो हुनेछ। के तँ यो कुरामा विश्वास गर्छस्? यदि तँ यी वचनहरूलाई विश्वास गर्न सक्दैनस् र निरन्तर जिद्दी गरिरहन्छस् भने, म तँलाई भन्छु कि तँ निश्चय नै बाँच्न सक्नेछैनस्, किनभने तँ परमेश्वरमा सच्चा विश्वास राख्ने वा सत्यताप्रति प्रेम बोकेको व्यक्ति हुँदै होइनस्। कुरा यस्तो भएकाले, परमेश्वरको पूर्वनिर्धारण महत्त्वपूर्ण हुँदैन। मैले यसो भन्नुको कारण के हो भने, आखिरमा, परमेश्वरले मानिसहरूको परिणाम तिनीहरूको प्रकटीकरण र व्यवहारको आधारमा निर्धारण गर्नुहुनेछ, तर परमेश्वरको पूर्वनिर्धारणले वस्तुगत रूपमा एउटा सानो भूमिका मात्र खेल्छ, मुख्य भूमिका खेल्दैन। के तैँले यो कुरा बुझिस्?
कतिपय मानिसहरू भन्छन्: “मसित नराम्रो स्वभाव छ र जति नै कोसिस गरे पनि म यसलाई बदल्न सक्दिनँ। त्यसैले, प्रकृतिलाई म आफ्नै बाटोमा जान दिनेछु! यदि म सफल हुन सकिनँ भने यसको बारेमा केही पनि गर्न सकिँदैन।” त्यस्ता मानिसहरू अत्यन्तै नकारात्मक हुन्छन्, यतिसम्म कि तिनीहरूले आफ्नै निम्ति आशालाई त्यागिसकेका हुन्छन्। यी मानिसहरूलाई छुटकारा गर्न सकिँदैन। के तैँले कोसिस गरेको छस्? यदि तैँले साँच्चै नै लगाएको छस् भने, अनि तँ कठिनाइ भोग्न इच्छुक छस् भने, किन तैँले बस देहविरुद्ध विद्रोह गर्न सक्दैनस्? के तँ हृदय र दिमाग भएको मानिस होइनस् र? तँ कसरी हरेक दिन प्रार्थना गर्छस्? के तँ सत्यता खोजेर परमेश्वरमाथि भर पर्न सक्दैनस् र? तेरो निम्ति, प्रकृतिलाई आफ्नै बाटो लिन दिनु भनेको निष्क्रिय भएर पर्खिनु हो, तर सक्रिय भएर सहकार्य गर्नु होइन। प्रकृतिलाई यसरी आफ्नै बाटो लिन दिनु भनेको यस्तो भन्नुसमान हो, “मैले केही गर्नु जरुरी छैन; जे भए नि, सबै कुरा परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएको हुन्छ।” के यो साँच्चै परमेश्वरको अभिप्राय हो र? यदि होइन भने, बारम्बार नकारात्मक भएर कर्तव्य निभाउने नसक्ने हुनुको साटो, तँ किन परमेश्वरको काममा समर्पित हुँदैनस्? कतिपय मानिसहरू अलिअलि अपराध गरेपछि यस्तो अनुमान लगाउँछन्, “के परमेश्वरले मलाई प्रकाश गर्नुभएको र हटाउनुभएको हो? के उहाँले मलाई प्रहार त गर्नुहुनेछैन?” यसपटक, परमेश्वर काम गर्न आउनुभएको हो, मानिसहरूलाई प्रहार गर्न होइन, बरु तिनीहरूलाई जति सम्भव छ, त्यति हदसम्म मुक्ति दिन आउनुभएको हो। कोही पनि त्रुटिरहित छैन—यदि सबैलाई प्रहार गरियो भने, के त्यो मुक्ति हुन्छ र? केही अपराधहरू नियतवश गरिएका हुन्छन्, जबकि अरू अनजानमा भएका हुन्छन्। यदि तँ अनजानमा गरेका कुराहरू पहिचान गरेर परिवर्तन हुन सक्छस् भने, के परमेश्वरले तँ परिवर्तन हुनअघि नै तँलाई प्रहार गर्नुहुन्छ र? के परमेश्वरले मानिसहरूलाई त्यसरी मुक्ति दिनुहुन्छ र? उहाँले काम गर्ने तरिका त्यस्तो होइन! तँमा विद्रोही स्वभाव भए पनि वा तैँले अनजानमा काम गरेको भए पनि, यो कुरा याद गर्: तैँले मनन गरेर आफूलाई चिन्नुपर्छ। तुरुन्तै आफूलाई परिवर्तन गर्नुपर्छ, र सारा शक्तिले सत्यतामा लागिपर्नुपर्छ—अनि, जस्तोसुकै परिस्थिति आइपरे पनि, हताश बन्नु हुँदैन। परमेश्वरले गरिरहनुभएको काम मान्छेको मुक्तिको काम हो, र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मनपरी प्रहार गर्नुहुन्न। यो कुरा निश्चित छ। यदि वास्तवमै परमेश्वरले उहाँको कुनै विश्वासीलाई अन्त्यमा प्रहार गर्नुभयो भने पनि, परमेश्वरले गर्नुभएको त्यो काम अवश्य नै धर्मी हुन्छ। समय बित्दै जाँदा, उहाँले तँलाई त्यस व्यक्तिलाई प्रहार गर्नुको कारण बताउनुहुनेछ, अनि तँ पूर्ण रूपमा विश्वस्त हुनेछस्। अहिले तँ बस सत्यताप्रति लागिपर्, जीवन प्रवेशमा ध्यान केन्द्रित गर्, र आफ्नो कर्तव्यमा राम्रो कार्यसम्पादन गर्न खोज्। यसमा कुनै गलत छैन! परमेश्वरले अन्त्यमा तँलाई जे-जसरी सम्हाल्नुभए पनि, त्यो धर्मी नै हुने कुरा निश्चित छ; तैँले यो कुरामा शङ्का गर्नु हुँदैन, र तैँले यसबारे चिन्ता गर्नु पर्दैन। तैँले परमेश्वरको धार्मिकता बुझ्न नसके पनि, एक दिन तँ विश्वस्त हुनेछस्। परमेश्वरले आफ्नो काम न्यायोचित र सम्मानजनक ढङ्गले गर्नुहुन्छ; उहाँले सबै कुरा खुल्लमखुल्ला प्रकाश गर्नुहुन्छ। यदि तिमीहरूले ध्यानपूर्वक यसबारे चिन्तन गर्छौ भने, परमेश्वरको कामले मानिसहरूलाई मुक्ति दिने र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन गर्ने काम गर्छ भन्ने मार्मिक निष्कर्षमा तिमीहरू पुग्नेछौ। परमेश्वरको काम मानिसहरूको भ्रष्ट स्वभाव रूपान्तरित गर्ने काम भएकोले, मानिसहरूमा भ्रष्टता प्रकाश नहुनु असम्भव कुरा हो। आफ्नो भ्रष्ट स्वभाव त्यसरी प्रकाश भएको अवस्थामा मात्रै मानिसहरूले आफूलाई चिन्न सक्छ, र ऊ आफूसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दै परमेश्वरको मुक्ति प्राप्त गर्न इच्छुक बन्न सक्छ। यदि मानिसहरूले भ्रष्ट स्वभाव प्रकाश गरेपछि पनि सत्यता बिलकुलै स्वीकार गर्दैनन्, र आफ्नो भ्रष्ट स्वभावमै जिउन जारी राख्छन् भने, तिनीहरूले परमेश्वरको स्वभाव चिढ्याउने सम्भावना धेरै हुन्छ। परमेश्वरले तिनीहरूमाथि विभिन्न हदका सजायहरू बर्साउनुहुनेछ, अनि तिनीहरूले आ-आफ्ना अपराधहरूको मूल्य तिर्नेछन्। यदि बेलाबेला तँ अनजानमै स्वच्छन्द हुन्छस्, र परमेश्वरले तँलाई त्यो कुरा औँल्याइदिनुहुन्छ र तँलाई काटछाँट गर्नुहुन्छ, अनि तँ सुध्रन्छस् भने, परमेश्वरले तँलाई यो कुराको लागि जवाफदेही बनाउनुहुनेछैन। यो स्वभाव रूपान्तरणको सामान्य प्रक्रिया हो, र यस प्रक्रियामा मुक्तिको कामको साँचो महत्त्व प्रकट हुन्छ। यो नै कुञ्जी हो। एउटा उदाहरण हेरौँ, लैङ्गिकताबीचको सीमासम्बन्धी सवालमा, मानौँ तँ कसैप्रति आकर्षित भइस्, र तँ सधैँ ऊसँग कुराकानी गर्न चाहन्छस्, र उसलाई फुस्ल्याउने शब्दहरू प्रयोग गरी बोल्छस्। तर पछि, तैँले विचार गर्छस्, “के यो तुच्छ व्यवहार होइन र? के यो पाप होइन र? के लैङ्गिकताबीच स्पष्ट सीमा नराख्नु परमेश्वरको अपमान होइन र? मैले कसरी यस्तो गर्न सक्छु?” यो कुरा महसुस गरिसकेपछि, तँ दौडँदै परमेश्वरसामु पुग्छस् र प्रार्थना गर्छस्, “हे परमेश्वर! मैले फेरि पाप गरेको छु। यो घिनलाग्दो र लज्जास्पद कुरा हो। म यो भ्रष्ट देहलाई घृणा गर्छु। तपाईँ मलाई अनुशासनमा राख्नुहोस् र सजाय दिनुहोस्।” तैँले भविष्यमा यस्ता कुराहरूबाट परै बस्ने र विपरीत लिङ्गीहरूलाई एक्लै नभेट्ने निर्णय गर्छस्। के त्यो परिवर्तन होइन र? यसरी बदलिएपछि तेरो पहिलेको अविवेकी कार्यका लागि अब कुनै दण्डाज्ञा हुनेछैन। यदि तँ कसैसँग कुराकानी गर्छस् अनि उसलाई फुस्ल्याउँछस्, र तँलाई यो लाजमर्दो कुरा हो भन्ने लाग्दैन भने, र तैँले आफूलाई घृणा गर्ने, सावधान गर्ने देहविरुद्ध विद्रोह गर्ने निर्णय गर्ने वा परमेश्वरसामु आएर पापस्वीकार गरी पश्चात्ताप गर्ने कुरा त झनै गर्दैनस् भने, तैँले अझ धेरै दुष्कर्महरू गर्दै जान सक्छस् र परिस्थिति झन्झन् खराब हुँदै जानेछ, अनि तैँले पाप गर्न पुग्नेछस्। यदि तैँले यस्तो गर्छस् भने, परमेश्वरले तँलाई दण्डाज्ञा दिनुहुनेछ। यदि तँ बारम्बार पाप गर्छस् भने, यो जानीबुझी गरिएको पाप हो। परमेश्वरले जानीबुझी गरेको पापविरुद्ध दण्डाज्ञा दिनुहुन्छ र यसरी जानीबुझी गरिएको पाप सुधार्न नसकिने हुन्छ। यदि तैँले साँच्चै अनजानमै केही भ्रष्ट स्वभाव प्रकट गर्छस्, र त्यसपछि तँ साँचो पश्चात्ताप गर्न, देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सक्छस् भने, यसका लागि परमेश्वरले तँलाई दण्डाज्ञा दिनुहुनेछैन, र तैँले अझै पनि मुक्ति पाउन सक्नेछस्। परमेश्वरको काम भनेकै मानिसलाई मुक्ति दिनु हो र भ्रष्ट स्वभाव प्रकट गर्ने व्यक्तिले काटछाँट, न्याय र सजाय स्विकार्नुपर्छ। जबसम्म ऊ सत्यता स्विकार्न, पश्चात्ताप गर्न र परिवर्तन हुन सक्छ, के त्यसले परमेश्वरका अभिप्राय सन्तुष्ट पारेको हुनेछैन र? कतिपय मानिसहरू सत्यता स्विकार्दैनन् र परमेश्वरप्रति सधैँ पूर्वसावधानीपूर्ण मनोवृत्ति अपनाउँछन्। यस्ता मानिसहरूले जीवन प्रवेश पाउँदैनन्, र अन्तमा तिनीहरू सबैले नै क्षति बेहोर्नुपर्नेछ।
पहिले उल्लेख गरिएजस्तै, विगतका घटनाहरू एकैचोटिको प्रयासमा मेटाउन सकिन्छ; विगतलाई ढाक्ने गरी भविष्यलाई बनाउन सकिन्छ; परमेश्वरको सहनशीलता समुद्रजत्तिकै असीम छ। तापनि यी वचनहरूका सिद्धान्तहरू पनि छन्। तैँले जतिसुकै ठूलो पाप गरे पनि परमेश्वरले कुनै पनि पापलाई मेटिदिनुहुनेछ भन्ने होइन। परमेश्वरले उहाँका सबै काम सिद्धान्तहरूअनुसार गर्नुहुन्छ। विगतमा, यो मुद्दा सम्बोधन गर्ने प्रशासनिक आदेश तय गरिएको थियो: परमेश्वरले कसैले उहाँको नाउँ स्वीकार गर्नुअघि गरेका सबै पापहरू क्षमा र माफ गर्नुहुन्छ। तर मण्डलीभित्र प्रवेश गरिसकेपछि पनि निरन्तर पाप गरिरहनेहरूको हकमा भने छुट्टै कुरा लागू हुन्छ: जसले एकपटक पाप दोहोर्याउँछ, उसलाई पश्चात्ताप गर्ने अवसर दिइन्छ, तर दुईपटक पाप दोहोर्याउने वा बारम्बार नसिहत दिँदा पनि सुध्रन नमान्नेहरूलाई निष्कासित गरिन्छ, तिनीहरूलाई पश्चात्ताप गर्ने कुनै थप अवसर दिइनेछैन। परमेश्वरले उहाँको काममा सधैँ मानिसहरूलाई सम्भव भएसम्म सबैभन्दा धेरै हदसम्म सहनुहुन्छ। यो अर्थमा, परमेश्वरको काम साँच्चै नै मानिसहरूलाई मुक्ति दिने काम हो भन्ने कुरा देख्न सकिन्छ। तथापि, यदि कामको यो अन्तिम चरणमा, तैँले अझै अक्षम्य पापहरू गर्छस् भने, तँ साँच्चै नै सुधार गर्न नसकिने छस् र तेरो उद्धार हुन सक्दैन। परमेश्वरसित मानिसहरूका भ्रष्ट स्वभावहरू शुद्धीकरण र परिवर्तन गर्ने एउटा प्रक्रिया छ: मान्छेको भ्रष्ट प्रकृति निरन्तर प्रकाश हुने प्रक्रियाको दौरान नै परमेश्वरले मानवजातिलाई धुने र मुक्ति दिने उहाँको लक्ष्य हासिल गर्नुहुन्छ। कतिपय मानिसहरूले यस्तो सोच्छन्: “यो मेरो प्रकृति भएकोले, यो पूरै खुलासा होस्। यो खुलासा भएपछि, म यसलाई चिन्नेछु र सत्यता अभ्यास गर्नेछु।” के यो प्रक्रिया आवश्यक छ? यदि तँ साँच्चै सत्यतालाई अभ्यासमा उतार्ने व्यक्ति होस्, र अरूमा कुनै भ्रष्टता प्रकट भएको र तिनीहरूले कुनै गलत काम गरेको देख्दा आत्मचिन्तन गर्छस् र आफूमा यस्तै समस्याहरू देख्दा त्यसलाई तुरुन्तै सुधार गर्छस् र त्यस्ता कुराहरू भविष्यमा कहिल्यै गर्दैनस् भने, के यो अप्रत्यक्ष परिवर्तन होइन र? अथवा, यदि तैँले कहिलेकाहीँ केही गर्न चाहेको हुन्छस्, तर त्यो गर्नुपहिले नै त्यो गलत हो भन्ने महसुस गर्छस्, र तँ देहविरुद्ध विद्रोह गर्न सक्छस् भने, के यसले पनि शुद्धीकरणको परिणाम हासिल गर्दैन र? कुनै पनि पक्षमा सत्यता अभ्यास गर्नका लागि बारम्बार दोहोरिने प्रक्रिया भएर जानुपर्छ। एकपटक सत्यता अभ्यास गरेपछि भ्रष्ट स्वभाव पूर्ण रूपमा हराएर जान्छ भन्ने हुँदैन। भ्रष्ट स्वभाव पूर्ण रूपमा समाधान हुनुभन्दा अघि व्यक्तिले बारम्बार सत्यता खोज्नुपर्छ, बारम्बार काटछाँट, ताडना र अनुशासनका साथै न्याय र सजाय भोग्नुपर्छ, र यसरी उसलाई फेरि सत्यता अभ्यास गर्न कुनै कठिनाइ हुनेछैन। यदि व्यक्ति अन्ततः परमेश्वरका अभिप्रायअनुसार पूर्ण रूपमा सत्यता अभ्यास गर्न सक्षम हुन्छ र काटछाँट, न्याय र सजाय पाइसकेपछि उसले परमेश्वरप्रति साँचो समर्पणता देखाउन सक्छ भने, त्यो उसको स्वभावमा आएको परिवर्तन हो।
अंश ७८
परमेश्वरको आखिरी दिनहरूको काममा, परमेश्वर मानिसहरूको परिणाम तिनीहरूका प्रकटीकरणहरूका आधारमा निर्धारित गर्नुहुन्छ। यहाँ यो “प्रकटीकरणहरू” ले के जनाउँछ, के तिमीहरूलाई थाहा छ? तिमीहरू यसले मानिसहरूले कामकुराहरू गर्दा प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई जनाउँछ भन्ने सोच्छौ होला, तर वास्तवमा यसले जनाउने कुरा त्यो होइन। यहाँ, प्रकटीकरणहरूले तँ सत्यता अभ्यास गर्छस् वा गर्दैनस् भन्ने कुरा; तँ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अर्पित हुन्छस् वा हुँदैनस् भन्ने कुरा; परमेश्वरमा विश्वास गर्नु पछाडिको तेरो दृष्टिकोण, परमेश्वरप्रतिको तेरो मनोवृत्ति, कठिनाइहरू सहने तेरो सङ्कल्प; न्याय, सजाय र काटछाँट स्विकार्ने तेरो मनोवृत्ति; तैँले गरेका गम्भीर अपराधहरूको सङ्ख्या; र तैँले अन्त्यमा कुन हदसम्म पश्चात्ताप र रूपान्तरण हासिल गर्न सक्छस् भन्ने कुराहरूलाई जनाउँछन्। यी सबै कुरा मिलेर तेरा प्रकटीकरणहरू बन्छन्। यहाँ प्रकटीकरणहरूले तैँले कतिवटा भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, वा कतिवटा नराम्रा कामकुराहरू गरेको छस् भन्ने कुराहरूलाई जनाउँदैनन्, बरु यिनले तैँले परमेश्वरमाथिको तेरो आस्थामा कतिवटा नतिजाहरू निकालेको छस् र तैँले आफूमा कति साँचो परिवर्तन गरेको छस् भन्ने कुरालाई जनाउँछन्। यदि मानिसहरूका परिणामहरू तिनीहरूको प्रकृतिमा कति धेरै भ्रष्टता प्रकट भएको छ भनेर निर्धारित गरिन्थ्यो भने, कसैले पनि मुक्ति पाउन सक्दैनथ्यो, किनकि सबै मानिस गहन रूपमा भ्रष्ट छन्, तिनीहरूमा शैतानी प्रकृति छ, र तिनीहरू परमेश्वरको प्रतिरोध गर्छन्। परमेश्वर सत्यता स्विकार्न र उहाँको काममा समर्पित हुन सक्नेहरूलाई मुक्ति दिन चाहनुहुन्छ। तिनीहरूले जति धेरै भ्रष्टता प्रकट गरे पनि, यदि आखिरमा तिनीहरू सत्यता स्विकार्न, साँचो पश्चात्ताप गर्न, र साँचो रूपमा परिवर्तन हुन सक्छन् भने, तिनीहरू परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू हुन्। कतिपय मानिस यो कुरा स्पष्टसित बुझ्न सक्दैनन् र तिनीहरू अगुवाका रूपमा सेवा गर्ने जोकोहीले आफ्ना भ्रष्ट स्वभावहरू अझ धेरै प्रकट गर्छ, अनि जसले अझ धेरै भ्रष्टता प्रकट गर्छ, उसलाई अवश्यै हटाइनेछ र ऊ बाँच्नै सक्दैन भन्ने सोच्छन्। के यो दृष्टिकोण सही छ त? अगुवाहरूले धेरै भ्रष्टता प्रकट गरे पनि, यदि तिनीहरू सत्यता पछ्याउँछन् भने, तिनीहरू परमेश्वरको न्याय र सजाय अनुभव गर्न योग्य हुन्छन्, तिनीहरूले मुक्ति पाउने र सिद्ध पारिने मार्ग हिँड्न सक्छन्, र तिनीहरूले अन्त्यमा परमेश्वरको लागि सुन्दर गवाही दिन सक्नेछन्। तिनीहरू साँचो रूपमा परिवर्तन भएका मानिसहरू हुन्। यदि मानिसहरूको परिणाम तिनीहरू कति वटा भ्रष्ट स्वभाव प्रकट गर्छन् भन्ने आधारमा निर्धारण गरिन्थ्यो भने, अगुवा र कामदारका रूपमा सेवा गर्नेहरू झनै चाँडो प्रकाश हुन्थे। यदि त्यस्तो हुन्थ्यो त, अगुवा र कामदार बन्न कसले आँट गर्थ्यो र? परमेश्वरद्वारा प्रयोग गरिने र सिद्ध पारिने बिन्दुसम्म को पुग्न सक्थ्यो र? के यो दृष्टिकोण एकदमै वाहियात छैन र? परमेश्वरले मुख्य गरी मानिसहरूले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूले दिने गवाहीमा दृढ खडा हुन सक्छन् कि सक्दैनन् र तिनीहरू साँच्चै परिवर्तन भएका छन् कि छैनन् भनी हेर्नुहुन्छ। यदि मानिसहरूसँग साँचो गवाही छ र तिनीहरू साँचो रूपमा परिवर्तन भएका छन् भने, परमेश्वर तिनीहरूलाई अनुमोदन गर्नुहुन्छ। कतिपय मानिसले अलिअलि भ्रष्टता प्रकट गरेजस्तो देखिन सक्छ, तर तिनीहरूले कहिल्यै सत्यता स्वीकार गरेका हुँदैनन्, तिनीहरूसँग साँचो अनुभवात्मक गवाही हुँदैन, र तिनीहरू साँचो रूपमा परिवर्तन भएका हुँदैनन्। परमेश्वर तिनीहरूलाई अनुमोदन गर्नुहुन्न।
परमेश्वरले व्यक्तिको परिणाम उसको व्यवहार र सारका आधारमा निर्धारण गर्नुहुन्छ। यहाँ व्यवहार भन्नाले कुनै व्यक्ति परमेश्वरप्रति बफादार छ कि छैन, उहाँलाई प्रेम गर्छ कि गर्दैन, सत्यता अभ्यास गर्छ कि गर्दैन, र उसको स्वभाव कुन हदसम्म परिवर्तन हुन्छ भन्ने कुरालाई बुझाउँछ। यिनै व्यवहार र उसको सारका आधारमा परमेश्वरले व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ, उसले कति धेरै भ्रष्ट स्वभाव प्रकट गर्छ भन्ने आधारमा होइन। यदि तँलाई परमेश्वर व्यक्तिको परिणाम उसले कति धेरै भ्रष्टता प्रकट गर्छ भन्ने आधारमा निर्धारण गर्नुहुन्छ भन्ने लाग्छ भने, तैँले उहाँका अभिप्रायहरूको गलत व्याख्या गरेको छस्। वास्तवमा, मानिसहरूमा एकै किसिमको भ्रष्ट सार हुन्छ, र एक मात्र फरक भनेको तिनीहरूको मानवता असल छ कि खराब छ, र तिनीहरू सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा हुन्छ। तैँले आफ्नो भ्रष्ट स्वभाव जतिसुकै प्रकट गरे पनि, तेरो हृदयको गहिराइमा के छ भन्ने कुरा परमेश्वरलाई सबैभन्दा राम्रोसँग थाहा हुन्छ। तैँले यो लुकाउन आवश्यक छैन। परमेश्वरले मानिसहरूको हृदयको गहिराइलाई नियाल्नुहुन्छ। चाहे तैँले अरूको अगाडि वा तिनीहरूको नजरदेखि टाढा गरेको कुनै कुरा होस्, वा चाहे त्यो तैँले हृदयमा गर्न चाहेको कुनै कुरा होस्, ती सबै कुरा परमेश्वरको सामु उदाङ्गो हुन्छन्। मानिसहरूले गुप्त रूपमा के गर्छन् भन्ने कुरा परमेश्वरलाई कसरी थाहा हुन सक्दैन र? यदि तँ अझै पनि त्यो लुकाउन चाहन्छस् भने, के यो आत्मभ्रम होइन र? साँचो भन्ने हो भने, व्यक्तिले जतिसुकै झुट बोले पनि, ऊ ढोँग गर्न र अरूलाई छल गर्न जतिसुकै सिपालु भए पनि, उसको प्रकृति जतिसुकै छली भए पनि, परमेश्वरले यी सबै कुरा पूर्ण रूपमा जान्नुहुन्छ। परमेश्वर अगुवा र कामदारहरूलाई पूर्ण रूपमा चिन्नुहुन्छ, त्यसैले उहाँ आफ्ना साधारण विश्वासीहरूलाई पनि त्यति नै राम्ररी चिन्नुहुन्न र? कतिपय मानिस सोच्छन्, “अगुवाका रूपमा सेवा गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छ अनि उसले आफ्नै विनाश निम्त्याइरहेको हुन्छ, किनभने जब कुनै व्यक्तिले अगुवाका रूपमा सेवा गर्छ, तब उसले अनिवार्य रूपमा परमेश्वरसामु भ्रष्टता प्रकट गर्छ। यदि तिनीहरूले यो काम नगरेका भए के यति धेरै भ्रष्टता प्रकट हुनेथियो?” कस्तो हास्यास्पद विचार! के तँ तैँले अगुवाका रूपमा काम गरिनस् भने भ्रष्टता प्रकट गर्नेछैनस् भन्ने सोच्छस्? अगुवा नहुनुले, तैँले कम भ्रष्टता प्रकट गरे पनि, मुक्ति पाउनेछस् भनेर जनाउँछ? यो तर्कअनुसार, के अगुवाका रूपमा सेवा नगर्नेहरू सबै बाँच्न र मुक्ति पाउन सक्नेहरू हुन्? के यो कथन धेरै हास्यास्पद छैन र? अगुवाका रूपमा सेवा गर्ने मानिसहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरका वचनहरू खान र पिउन अनि परमेश्वरको काम अनुभव गर्न मार्गदर्शन गर्छन्। यो माग गरिएको मानक उचालिएको छ, त्यसैले अगुवाहरूले पहिलोपटक तालिम लिन थाल्दा केही भ्रष्ट स्थिति प्रकट गर्नु अवश्यम्भावी छ। यो सामान्य हो, र परमेश्वर यसलाई निन्दा गर्नुहुन्न। परमेश्वर यसलाई निन्दा गर्नुहुन्न मात्रै होइन, तर उहाँ यी मानिसहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, ज्योति दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, र तिनीहरूलाई बोझहरू प्रदान गर्नुहुन्छ। जबसम्म तिनीहरू परमेश्वरको मार्गदर्शन र काममा समर्पित हुन सक्छन्, तबसम्म तिनीहरूले साधारण मानिसहरूले भन्दा छिटो जीवनमा प्रगति गर्नेछन्। यदि तिनीहरूले सत्यता पछ्याए भने, तिनीहरू परमेश्वरद्वारा सिद्ध पारिने मार्गमा लाग्न सक्छन्। यो नै परमेश्वरद्वारा सबैभन्दा बढी आशिष् दिइएको कुरा हो। कतिपय मानिसले परमेश्वरको धार्मिकता देख्न सक्दैनन्, न त तिनीहरूले परमेश्वर हरेक व्यक्तिप्रति निष्पक्ष र धर्मी हुनुहुन्छ भनेर नै देख्न सक्छन्, र यहाँसम्म कि तिनीहरू तथ्यहरूलाई बङ्ग्याउँछन्। तिनीहरूको बुझाइअनुसार, अगुवाको भूमिकामा रहेका मानिसहरू जतिसुकै परिवर्तन भए पनि, परमेश्वरले यो हेर्नुहुनेछैन, र उहाँले अगुवा र कामदारहरूले कति भ्रष्टता प्रकट गर्छन् भनेर मात्र हेर्नुहुनेछ, र केवल यसैका आधारमा तिनीहरूलाई निन्दा गर्नुहुनेछ; र जो अगुवा र कामदारहरू होइनन्, तिनीहरूका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले कम भ्रष्टता प्रकट गर्ने हुनाले, तिनीहरू परिवर्तन नभए पनि, परमेश्वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछैन। के यो हास्यास्पद कुरा होइन र? के यो परमेश्वरविरुद्ध निन्दा होइन र? यदि तँ आफ्नो हृदयमा परमेश्वरको यति गम्भीर रूपमा प्रतिरोध गर्छस् भने, के तँ मुक्ति पाउन सक्छस्? सक्दैनस्। परमेश्वर मानिसहरूका परिणामहरू मुख्यतया तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ, र यो मुख्यतया तिनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने कुरामा निर्भर हुन्छ। यदि कसैले सत्यता पछ्याउँछ भने, उसले अपराध गर्दा अनि न्याय र सजाय सामना गर्दासमेत, साँचो रूपमा पश्चात्ताप गर्न सक्छ। जबसम्म ऊ परमेश्वरको ईशनिन्दा हुने तरिकाले बोल्दैन वा कार्य गर्दैन, तबसम्म उसले निश्चित रूपमा मुक्ति प्राप्त गर्न सक्छ। तिमीहरूको कल्पनाअनुसार, अन्त्यसम्म परमेश्वरलाई पछ्याउने सबै साधारण विश्वासीहरूले मुक्ति प्राप्त गर्न सक्छन्, जबकि अगुवाका रूपमा सेवा गर्नेहरू सबै हटाइनेछन्। यदि तिमीहरूलाई अगुवा बन्न भनिएको भए, तिमीहरूले यो नगर्नु ठिक हुँदैन भनी सोच्नेथ्यौ, तर यदि तिमीहरूले अगुवाका रूपमा सेवा गरेका भए, तिमीहरूले आफूले नचाहेर पनि निरन्तर भ्रष्टता प्रकट गर्नेथ्यौ, अनि तिमीहरू जति लामो समय सेवा गर्थ्यौ, त्यति नै बढी भ्रष्टता प्रकट गर्नेथ्यौ, र अन्त्यमा परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुन्थ्यो र हटाउनुहुनेथ्यो। तिमीहरूलाई यस्तो लाग्नेथ्यो मानौँ तिमीहरू फाँसीको तख्तामा पर्खिरहेका छौ। के यो पूर्ण रूपमा परमेश्वरप्रतिको तिमीहरूको गलतफहमीको कारणले भएको होइन र? यदि मानिसहरूका परिणामहरू तिनीहरूले प्रकट गर्ने भ्रष्टताद्वारा निर्धारण गरिएका भए, कसैले पनि मुक्ति पाउन सक्थेन। त्यस्तो अवस्थामा, परमेश्वरले मुक्तिको काम गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानिसहरूले परमेश्वरको धर्मी स्वभाव देख्न सक्नेथिएनन्। तसर्थ, तिमीहरू सबैले परमेश्वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्वरको साँचो ज्ञान छैन भन्ने देखाउँछ।
परमेश्वरले मानिसहरूको परिणाम तिनीहरूका प्रकटीकरणहरूको आधारमा निर्धारण गर्नुहुन्छ र यहाँ प्रकटीकरणहरूले तिनीहरूमाथि परमेश्वरको कार्यका नतिजाहरू जनाउँछ। म तिमीहरूलाई एउटा तुलनात्मक उदाहरण दिन्छु: एउटा बगैँचामा मालिकले रुखहरूमा पानी र मल हाल्छ र फल पाकेर टिप्ने प्रतीक्षा गर्छ। फल दिने रुखहरू राम्रा रुखहरू हुन् र तिनीहरूलाई जोगाएर राखिन्छ; फल नदिने रूखहरू अवश्यै राम्रा रुखहरू होइनन् र तिनलाई जोगाएर राख्न सकिँदैन। यो अवस्थाबारे विचार गर: एउटा रुखले फल दिन्छ, तर यसमा रोग पनि लाग्छ, र यसका केही खराब हाँगाहरू काट्नुपर्ने हुन्छ। के तिमीहरूलाई यो रुख जोगाएर राख्नुपर्छ जस्तो लाग्छ? यसलाई जोगाएर राख्नुपर्छ र यसलाई काटछाँट र उपचार गरिसकेपछि यो ठीक हुनेछ। अर्को अवस्था हेर: एउटा रुखमा रोग लागेको छैन, तर यसले फल दिँदैन—यस्तो रुखलाई जोगाएर राख्नु हुँदैन। यहाँ “फल दिनु” को अर्थ के हो? यसले परमेश्वरको कामले नतिजा हासिल गरेको अवस्था बुझाउँछ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका हुनाले, तिनीहरूले परमेश्वरको काम अनुभव गर्ने क्रममा अपरिहार्य रूपमै भ्रष्टता प्रकट गर्नेछन्, र तिनीहरूले अपरिहार्य रूपमै केही अपराध पनि गर्नेछन्। तैपनि, यस क्रममा, परमेश्वरको कामले तिनीहरूमा केही न केही नतिजाहरू हासिल गर्छ। यदि परमेश्वरले यी नतिजाहरूबारे कुनै विचार गर्नुहुन्थेन, र मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू मात्रै हेर्नुहुन्थ्यो भने, मानिसहरूलाई मुक्ति दिने कुरा त कुरै नगरे हुन्थ्यो। मुक्तिका नतिजाहरू मुख्य रूपमा मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा र सत्यता अभ्यास गर्दा प्रकट हुन्छन्। परमेश्वरले यी क्षेत्रमा तिनीहरूले हासिल गरेका नतिजाहरू, अनि तिनीहरूको अपराधको गम्भीरता हेर्नुहुन्छ। त्यसपछि, उहाँले यी तत्त्वहरूको विभिन्न संयोजनको आधारमा तिनीहरूको परिणाम र तिनीहरू रहनेछन् कि छैनन् भन्ने कुरा निर्धारण गर्नुहुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले विगतमा धेरै मात्रामा भ्रष्टता प्रकट गर्थे र आफ्नो देहको बारेमा अत्यन्तै धेरै वास्ता गर्थे; तिनीहरू आफूलाई परमेश्वरप्रति समर्पित गर्न इच्छुक हुँदैनथे, न त तिनीहरूले मण्डलीका हितहरूको रक्षा नै गर्थे। तथापि, धेरै वर्षसम्म प्रवचनहरू सुनिसकेपछि, तिनीहरूमा साँचो परिवर्तन आयो। अहिले, तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्दै सत्यता सिद्धान्तमा कसरी लागिपर्ने भनेर थाहा हुन्छ, र तिनीहरूले कर्तव्यमा झन्झन् बढी नतिजाहरू प्राप्त गर्छन्। तिनीहरू सबै कुरामा परमेश्वरको पक्षमा खडा हुन र परमेश्वरको घरको कामको रक्षा गर्न सक्दो गर्न पनि सक्षम छन्। आफ्नो जीवन स्वभाव रूपान्तरण गर्नु भनेको यही हो, र परमेश्वरले मानिसहरूमा चाहनुहुने रूपान्तरण पनि यही हो। यसको साथै, कतिपय मानिसहरूले आफूमा विगतमा धारणाहरू पैदा हुँदा त्यसलाई सधैँ वरपर फैलाउँथे, र यी धारणाहरू अरू मानिसहरूमा पनि पैदा हुँदा मात्र तिनीहरूको हृदय सन्तुष्ट हुन्थ्यो, तर अहिले जब तिनीहरूसँग केही धारणा हुन्छन्, तिनीहरू परमेश्वरसित प्रार्थना गर्न, सत्यता खोजी गर्न र आफ्ना धारणाहरू नफैलाई वा परमेश्वरको प्रतिरोध गर्ने केही नगरी समर्पित हुन सक्षम हुन्छन्। के तिनीहरूमा रूपान्तरण आएको छैन र? कतिपय मानिसहरू विगतमा अरूद्वारा काटछाँट गरिनेबित्तिकै तुरुन्तै प्रतिरोधी बन्थे; तथापि, अहिले जब तिनीहरूलाई त्यस्तो हुन्छ, तिनीहरू त्यो स्वीकार गर्न र आफैलाई चिन्न सक्षम हुन्छन्। केही पछि, तिनीहरूमा केही वास्तविक रूपान्तरण हुन्छ। के यो नतिजा होइन र? तथापि, तेरो बदलाव जति नै ठूलो भए पनि, अपराधहरूबाट पूर्ण रूपमा मुक्त हुनु असम्भव छ, र तेरो प्रकृतिलाई पूर्ण रूपमा एकै पटक परिवर्तन गर्न सकिँदैन। यदि कुनै व्यक्ति परमेश्वरमाथिको विश्वासको साँचो मार्गमा लाग्छ, र सबै कुरामा सत्यता खोजी गर्न जान्दछ भने, त्यस्ता व्यक्तिहरूले थोरै विद्रोह देखाए पनि, त्यति नै बेला तिनीहरूले त्यो कुरा महसुस गर्छन्। त्यो कुरा महसुस गरेपछि, तिनीहरूले परमेश्वरसित पापस्वीकार र पश्चात्ताप गर्न, र परिवर्तन हुन हतारिन्छन्, अनि तिनीहरूको स्थिति बस झन्झन् सुधार हुँदै जानेछ। तिनीहरूले एक-दुई पटक त्यही अपराध फेरि पनि गर्न सक्छन्, तर तेस्रो वा चौथो पटकचाहिँ दोहोर्याउनेछैनन्। यही नै रूपान्तरण हो। यसको अर्थ यो व्यक्ति केही हदसम्म परिवर्तन भएकोले अब उसले भ्रष्टता देखाउँदैन वा अबउप्रान्त उसले कुनै अपराध गर्दैन भन्ने होइन। यसको अर्थ त्यो होइन। यसप्रकारको रूपान्तरणको अर्थ त परमेश्वरको काम अनुभव गरेपछि व्यक्तिले अझ धेरै सत्यता अभ्यास गर्न सक्छ र परमेश्वरले तोक्नुभएका केही मापदण्ड अभ्यासमा ल्याउन सक्छ भन्ने हो। त्यस्तो व्यक्तिले कमभन्दा कम अपराध गर्दै जानेछ, उसले थोरैभन्दा थोरै भ्रष्टता प्रकट गर्दै जानेछ र उसका विद्रोहका घटनाहरू कमभन्दा कम गम्भीर हुँदै जानेछन्। यसबाट परमेश्वरको कामले प्रभाव हासिल गरेको छ भन्ने स्पष्ट हुन्छ; उहाँले मानिसहरूमा यस्तै प्रकारका प्रकटीकरणहरू चाहनुहुन्छ, जसले तिनीहरूमा नतिजाहरू हासिल भएका छन् भन्ने देखाउँछ। त्यसकारण, परमेश्वरले मानिसहरूका परिणामहरू जे-जसरी सम्हाल्नुहुन्छ वा उहाँले हरेक व्यक्तिसँग जे-जसरी व्यवहार गर्नुहुन्छ त्यो पूर्ण रूपमा धर्मी, उचित, र निष्पक्ष हुन्छ। तैँले आफूलाई परमेश्वरप्रति समर्पित गर्नमा मात्र आफ्नो सारा प्रयास लगाउनुपर्छ, र बिनाचिन्ता, साहससाथ र आश्वस्त भई, आफूले अभ्यास गर्नुपर्ने सत्यता अभ्यास गर्नुपर्छ, अनि परमेश्वरले तँसँग गलत व्यवहार गर्नुहुनेछैन। यसबारे विचार गर्: के सत्यतालाई प्रेम र अभ्यास गर्नेहरू परमेश्वरद्वारा दण्डित हुन सक्छन्? धेरै मानिसहरू आफूले सत्यता अभ्यास गरेपछि पनि दण्ड पाइन्छ भन्ने डरले परमेश्वरको धर्मी स्वभावप्रति सधैँ शङ्का गर्छन्; तिनीहरू आफूले बफादारी देखाए पनि, परमेश्वरले त्यो देख्नुहुनेछैन भनेर सधैँ डराउँछन्। त्यस्ता मानिसहरूमा परमेश्वरको धर्मी स्वभावबारे कुनै ज्ञान हुँदैन।
कतिपय मानिस काँटछाँट गरिएपछि नकारात्मक बन्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने सबै ऊर्जा गुमाउँछन्, र तिनीहरूको बफादारी पनि हराउँछ। यस्तो किन हुन्छ? यो निकै गम्भीर समस्या हो। यो सत्यता स्वीकार गर्न नसक्नु हो। त्यस्ता मानिसहरू आंशिक रूपमा आफ्ना भ्रष्ट स्वभावहरूको ज्ञान नभएका कारणले गर्दा सत्यता स्वीकार गर्दैनन्, जसले गर्दा तिनीहरू काँटछाँट स्वीकार गर्न असमर्थ हुन्छन्। यो तिनीहरूको त्यो प्रकृतिद्वारा निर्धारित हुन्छ जुन अहङ्कारी र अभिमानी हुन्छ, र जसमा सत्यताप्रति कुनै प्रेम हुँदैन। यो आंशिक रूपमा मानिसहरूले काँटछाँट गरिनुको महत्त्व नबुझेको कारणले पनि हो। तिनीहरू काँटछाँट गरिनुको अर्थ तिनीहरूको परिणाम निर्धारण गरिएको हुनु हो भन्ने विश्वास गर्छन्। फलस्वरूप, तिनीहरू भुलवश के विश्वास गर्छन् भने जबसम्म तिनीहरू परमेश्वरप्रति आफूलाई समर्पित गर्न आफ्नो परिवार त्याग्छन्, र परमेश्वरप्रति केही बफादारी राख्छन्, तबसम्म तिनीहरूलाई काँटछाँट गरिनु हुँदैन, र यदि तिनीहरूलाई काँटछाँट गरिन्छ भने, यो परमेश्वरको प्रेम वा धार्मिकता होइन। यस प्रकारको गलतफहमीले गर्दा धेरै मानिसमा परमेश्वरप्रति बफादार हुने साहस हुँदैन। वास्तवमा भन्नुपर्दा, आखिरमा, मानिसहरू ज्यादै छली हुने, कष्टहरू भोग्न चाहँदै नचाहने, र सजिलो तरिकाले आशिष्हरू प्राप्त गर्न मात्र चाहने भएकाले यस्तो हुने हो। मानिसहरू परमेश्वरको धर्मी स्वभाव पटक्कै बुझ्दैनन्। तिनीहरू परमेश्वरका सबै कार्य धर्मी छन्, वा उहाँले सबैलाई गर्ने व्यवहार धर्मी छ भनी कहिल्यै विश्वास गर्दैनन्। तिनीहरू यस मामिलामा कहिल्यै सत्यता खोज्दैनन्, बरु त्यसको साटो सधैँ आफ्नै तर्क गर्छन्। तिनीहरूले जे-जस्ता नराम्रा कामहरू गरेका भए पनि, तिनीहरूले गरेका पापहरू जतिसुकै ठूला भए पनि, वा तिनीहरूले जतिसुकै दुष्टता गरेका भए पनि, यदि तिनीहरूमाथि परमेश्वरको न्याय र दण्ड आइपरेमा, तिनीहरूले स्वर्ग अन्यायी छ, र परमेश्वर धर्मी हुनुहुन्न भनी सोच्नेछन्। मानिसहरूका नजरमा, यदि परमेश्वरका कार्यहरू तिनीहरूका चाहनाहरूसँग मिल्दैनन् भने, वा यदि उहाँका कार्यहरूले तिनीहरूका भावनाहरूलाई कुनै ख्याल गर्दैनन् भने, उहाँ धर्मी हुनुहुन्न। तर, मानिसहरूलाई तिनीहरूका कार्यहरू सत्यताअनुरूप छन् कि छैनन् भनेर कहिल्यै थाहा हुँदैन, न त तिनीहरू आफूले गर्ने सबै कुरा परमेश्वरविरुद्धको विद्रोह र उहाँप्रतिको प्रतिरोधको कार्य हो भनेर कहिल्यै महसुस नै गर्छन्। यदि मानिसहरूले जे-जस्ता अपराधहरू गरे पनि तिनीहरूको विद्रोहका लागि परमेश्वरले तिनीहरूलाई कहिल्यै काँटछाँट गर्नुभएन वा हप्काउनुभएन, र यसको सट्टा तिनीहरूसँग शान्त र कोमल हुनुभयो, प्रेमका साथ तिनीहरूप्रति सहनशीलता मात्र अभ्यास गर्नुभयो, र उहाँले तिनीहरूलाई सधैँभरि उहाँसँगै भोजन गर्न र आनन्द लिन दिनुभयो भने, मानिसहरूले परमेश्वरबारे गुनासो गर्नेथिएनन् वा उहाँलाई अधर्मी भनी गलत ठहराउनेथिएनन्। बरु, तिनीहरूले पाखण्डी रूपमा परमेश्वर धर्मी हुनुहुन्छ भन्नेथिए। के त्यस्ता मानिसहरू परमेश्वरलाई चिन्छन्? के तिनीहरू परमेश्वरसँग एउटै हृदय र मनका हुन सक्छन्? परमेश्वरको न्याय र काँटछाँट भनेको तिनीहरूका जीवन स्वभावहरूलाई शुद्ध पार्न र रूपान्तरण गर्नका लागि हो ताकि तिनीहरू उहाँप्रति समर्पित हुन र उहाँलाई प्रेम गर्न सकून् भन्ने कुराको तिनीहरूलाई कुनै भान हुँदैन। त्यस्ता मानिसहरू परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्दैनन्। जब परमेश्वरले तिनीहरूलाई हप्काउनुहुन्छ, खुलासा गर्नुहुन्छ, र काँटछाँट गर्नुहुन्छ, तब तिनीहरू नकारात्मक र कमजोर बन्छन्, परमेश्वर प्रेमिलो हुनुहुन्न र मानिसप्रतिको परमेश्वरको न्याय र सजाय गलत छ भनी सधैँ गुनासो गर्छन्, र तिनीहरू यो परमेश्वरले मानिसलाई शुद्ध पार्नुभएको र मुक्ति दिनुभएको हो भनी देख्न सक्दैनन्, र तिनीहरू परमेश्वरले मानिसहरूको पश्चात्तापका प्रकटीकरणहरूका आधारमा तिनीहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्। तिनीहरू निरन्तर परमेश्वरप्रति शङ्का गर्छन् र उहाँविरुद्ध सतर्क रहन्छन्। यसको परिणाम के हुनेछ? के तिनीहरू परमेश्वरको कामप्रति समर्पित हुन सक्नेछन्? के तिनीहरू साँचो परिवर्तन हासिल गर्न सक्नेछन्? यो असम्भव हुनेछ। यदि तिनीहरूको यो स्थिति अनसुल्झा रह्यो भने, तिनीहरू गम्भीर खतरामा हुनेछन्, र तिनीहरू परमेश्वरद्वारा शुद्ध पारिन र सिद्ध पारिन असम्भव हुनेछ।