३. धार्मिक संसारमा, पाष्टरहरू र एल्डरहरूसँग नै अधिकार हुन्छ। तिनीहरू पाखण्डी फरिसीहरूको बाटो हिँड्छन्, र हामी तिनीहरूलाई पछ्याउने र तिनीहरूले जे भन्छन् त्यही गर्ने भए पनि, हामी प्रभु येशूमा विश्वास गर्छौं, पाष्टरहरू र एल्डरहरूमा होइन। त्यसोभए हामी फरिसीहरूको बाटोमा हिँड्छौं भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? के तपाईंले धर्मका परमेश्वरमा विश्वास गर्ने हामीले साँच्चै मुक्ति पाउनेछैनौं भनी भन्दैहुनुहुन्छ?
सन्दर्भका लागि बाइबल पदहरू:
“तिनीहरू अन्धाहरूका अन्धा अगुवाहरू हुन्। र यदि अन्धोले अन्धोलाई डोर्यायो भने दुवै खाडलमा खस्नेछन्” (मत्ती १५:१४)।
“किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गल्ती गर्ने तुल्याउँछन्; र तिनीहरूद्वारा अगुवाइ गरिएकाहरू नष्ट हुनेछन्” (यशैया ९:१६)।
“ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्” (होशे ४:६)।
परमेश्वरका प्रासंगिक वचनहरू:
फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसको अतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्र गरे, तैपनि जीवनको सत्यताको पछि लागेनन्। त्यसैले, तिनीहरूले आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्। यस्ता मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले परमेश्वरका आशिष् कसरी प्राप्त गर्न सक्थे भनी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा नरहेका हुनाले, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँमा मात्रै व्यर्थमा टाँसिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अधिकार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौं। के यो आस्था उपहासपूर्ण र हाँस्यस्पद छैनन्? म तिमीहरूलाई अझै अरू प्रश्नहरू सोध्छु: तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तिमीहरूले पनि प्राचीन फरिसीहरूले गरेका गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तैँले सत्यताको मार्ग ठम्याउन सक्छस्? तैँले येशूको विरोध गर्नेछैन भनी के तैँले साँच्चै कबुल गर्न सक्छस्? के तैँले पवित्र आत्माको कार्य अनुशरण गर्न सक्छस्? तैँले ख्रीष्टको विरोध गर्नेछस् कि गर्नेछैनस् भन्ने तँलाई थाहा छैन भने, म त भन्छु, तँ पहिले नै मृत्युको खतरामा जिइरहेको छस्। मसीहलाई नचिन्नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसका अतिरिक्त, तिनीहरूले येशूको आगमनलाई शैतानको छलको रूपमा देख्न सक्छन् र धेरै मानिसहरूले येशू देहमा फर्कनुभएको कुराको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्वर-निन्दा, मण्डलीहरूका लागि पवित्र आत्माको वचनको बरबादी र येशूले व्यक्त गर्नुभएका सबै कुराको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्त गर्न सक्छौ? यदि तिमीहरूले आफ्ना त्रुटिलाई महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, येशू सेतो बादलमा मानिसहरूकहाँ आउनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यसो भन्छुः सत्यता ग्रहण नगर्ने, तैपनि सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्द प्रतीक्षा गर्ने मानिसहरूले पवित्र आत्माका विरुद्ध निश्चय नै निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ
हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्वरमा नाममात्रको विश्वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, “हाम्रो विश्वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्वरमाथिको तिनीहरूको विश्वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावल जस्तै हुन्। …
यसभन्दा पहिले, परमेश्वरका विश्वासीहरूले व्यक्तिलाई पछ्याएका हुन सक्छन्, वा तिनीहरूले परमेश्वरको इच्छालाई सन्तुष्ट नतुल्याएका हुन सक्छन्; यस अन्तिम चरणमा, तिनीहरू परमेश्वरको सामुन्ने आउनुपर्ने हुन्छ। यदि तेरो जग यस चरणको कामको तेरो अनुभव हो, तैपनि तैँले व्यक्तिलाई पछ्याउने कार्यलाई जारी राख्छस् भने, तँलाई क्षमा हुँदैन, र तँ पावलजस्तै बन्न पुग्नेछस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्वरका निम्ति आफू स्वयम्लाई समर्पण गर्ने बारेमा बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरामा प्रश्न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिसहरू हुन् भन्ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्ने तिनीहरू विश्वास गर्छन्। यदि परमेश्वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम बन्नेथिए भन्ने तिनीहरू विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित भएका हुन्छन्; विश्वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काउने विश्वासघातीहरू मात्र हुन्।
तैंले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैंले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैंले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्वासको कमी छ। तैंले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैंले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।
कुनै पनि अवस्थामा पनि, म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै सत्यका लागि गैर-विश्वासी र विश्वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्। के अब तैंले तँभित्र कति धेरै अविश्वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? तसर्थ म तँलाई उत्साह प्रदान गर्छु: तैंले सत्यको मार्गलाई चुनेको हुनाले, तैंले आफूलाई सम्पूर्ण हृदयले समर्पण गर्नुपर्दछ; अस्पष्ट वा हतोत्साहित नबन्। तैंले यो बुझ्नुपर्छ कि परमेश्वर संसारको स्वामित्वमा हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको स्वामित्वमा नै हुनुहुन्छ, बरु उहाँ त साँचो रूपले उहाँमा विश्वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँतर्फ समर्पित र विश्वासयोग्य हुनेहरू सबैका हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?
समझशक्ति नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
परमेश्वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैंले विश्वास गरेको साँच्चै परमेश्वर हुनुहुन्छ कि शैतान हो? यदि तैंले विश्वास गरेको व्यक्ति परमेश्वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैंले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैंले कसमाथि विश्वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैंले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्वरमा विश्वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्नँ, किनकि जुन कुरामा तिमीहरू विश्वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका अण्डाहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै मानिसमा कुनै विवेक छैन। जब कुनै भ्रामक कुरा आउँछ, तिनीहरू अप्रत्याशित रूपमा शैतानको पक्षमा खडा हुन्छन्; शैतानको नोकर हो भनी भन्दा तिनीहरू रिसाउने समेत गर्छन्। मानिसहरूले आफूसँग कुनै विवेक छैन भने पनि तिनीहरू सधैँ सत्यता विनाको पक्षमा खडा हुन्छन्, तिनीहरू कठिन समयमा सत्यको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यको निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै विवेकको कमी छ? तिनीहरू किन अप्रत्याशित रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले चेतना नहुने मानिसहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँछ? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैंले सत्यको अभ्यास गर्नेहरूलाई किन सम्मान गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूलाई एकै झलक पनि नहेरी किन तुरुन्तै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैंले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासन गर्ने समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
जति धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरे पनि, उहाँले तिनीहरूको विश्वासलाई धर्म वा समूहको विश्वास भनी परिभाषित गर्नुभएपछि, उहाँले तिनीहरूलाई मुक्ति दिन सकिँदैन भनी पहिले नै निर्धारण गरिसक्नुभएको हुन्छ। म किन यसो भन्दैछु त? परमेश्वरको काम र मार्गनिर्देशनरहितका र उहाँलाई आराधना गर्दै नगर्ने मानिसहरूको गिरोह वा भीडमा, तिनीहरूले कसलाई आराधना गर्छन् त? तिनीहरूले कसलाई पछ्याउँछन् त? स्वरूप र नाममा, तिनीहरूले कुनै व्यक्तिलाई पछ्याउँछन् तर तिनीहरूले आधारभूत रूपमा कसलाई पछ्याउँछन् त? अन्तस्करणमा तिनीहरूले परमेश्वरलाई स्वीकार गर्छन्, तर वास्तविक रूपमा भने, तिनीहरू मानव चालबाजी, बन्दोबस्तहरू र नियन्त्रणको अधीनमा रहन्छन्। तिनीहरूले शैतान, दियाबलसलाई पछ्याउँछन्; तिनीहरूले परमेश्वरसँग शत्रुवत् रहेका शक्तिहरू र उहाँका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्वरले मानिसहरूको यस्तो झुण्डलाई मुक्ति दिन चाहनुहुन्छ? (चाहनुहुन्न।) किन चाहनुहुन्न त? के तिनीहरू पश्चात्ताप गर्न समर्थ हुन्छन् त? (हुँदैनन्।) तिनीहरू पश्चात्ताप गर्न असमर्थ हुन्छन्। तिनीहरूले मानव उद्यम अघि बढाउँदै र तिनीहरूका आफ्नै व्यवस्थापन सञ्चालन गर्दै विश्वासको झण्डा हल्लाउँछन् र तिनीहरू मानवजातिको मुक्ति सम्बन्धी परमेश्वरको व्यवस्थापन योजनाको विपरीत दौडन्छन्। तिनीहरूको अन्तिम परिणाम भनेको परमेश्वरद्वारा घृणित र तिरस्कृत हुनु हो; उहाँले यी मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्न, तिनीहरूले पश्चात्ताप गर्न सक्दैनन्, तिनीहरूलाई शैतानले पहिले नै बन्दी बनाइसकेको छ—तिनीहरू सम्पूर्ण रूपमा शैतानको हातमा छन्। तेरो विश्वासमा, के तैँले कति वर्ष परमेश्वरमा विश्वास गरेको छस् भन्ने तथ्यले उहाँले तँलाई स्याबासी दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरामा कुनै अर्थ राख्छ र? के तैँले पालना गर्ने रीतिरिवाज र नियमहरूले कुनै अर्थ राख्छन् र? के परमेश्वरले मानिसहरूको अभ्यासको विधिलाई हेर्नुहुन्छ र? के उहाँले कति जना मानिसहरू छन् भन्ने कुरालाई हेर्नुहुन्छ र? उहाँले मानवजातिको एक भागलाई छनौट गर्नुभएको छ; उहाँले तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदै र तिनीहरूलाई मुक्ति दिनुपर्छ कि दिनुपर्दैन भन्ने कुराको मापन कसरी गर्नुहुन्छ त? यी मानिसहरूले हिँड्ने मार्गहरूको आधारमा उहाँले यो निर्णय गर्नुहुन्छ। … तैँले जति नै धेरै उपदेशहरू सुनेको भए पनि वा तैँले जति नै धेरै सत्यता बुझेको भए पनि, यदि आखिर तैँले मानिसहरू र शैतानलाई पछ्याउँछस् भने, र अन्ततः तँ परमेश्वरको मार्ग पछ्याउन असमर्थ हुन्छस् र तँ परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनस् भने, त्यस्ता मानिसहरूलाई परमेश्वरले घृणा र तिरस्कार गर्नुहुनेछ। बाह्य स्वरूप सबैलाई हेर्दा, परमेश्वरद्वारा घृणा र तिरस्कार गरिएका यस्ता मानिसहरूले अक्षरहरू र धर्मसिद्धान्तहरूको बारेमा धेरै कुरा बताउन सक्छन्, र तिनीहरूले धेरै सत्यता बुझेका पनि हुन सक्छन्, तैपनि तिनीहरू परमेश्वरको आराधना गर्न असमर्थ हुन्छन्; तिनीहरू परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्दैनन्, र तिनीहरू उहाँप्रति पूर्ण रूपमा समर्पित हुन असमर्थ हुन्छन्। परमेश्वरको नजरमा, उहाँले तिनीहरूलाई धर्मको हिस्साको रूपमा, मानिसहरूको समूहको रूपमा—मानिसहरूको गिरोहको रूपमा—र शैतानको वास बस्ने ठाउँको रूपमा परिभाषित गर्नुहुन्छ। तिनीहरू सबैलाई सामूहिक रूपमा शैतानको गिरोह भनिन्छ, र यी मानिसहरूलाई परमेश्वरले सम्पूर्ण रूपमा घृणा गर्नुहुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ
परमेश्वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्वरको उपस्थिति विहीन छन्, यसको साथै, परमेश्वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्म बाहेक केही पनि होइन भन्ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्न सकिन्छ, र मण्डली भन्न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्माको उपस्थिति र काम छैन, पवित्र आत्माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू, र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधको बारेमा कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मको बारेमा कुनै ज्ञान छैन, परमेश्वरको सारा काम र परमेश्वरको वर्तमान इच्छाको बारेमा तिनीहरूले जान्नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन्, र तिनीहरू मैल हुन् जो विश्वासी भन्न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्माको नयाँ कामसँग कुनै सम्बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन जोसँग सत्यताको लागि कुनै प्रेम छैन, र जसलाई पवित्र आत्माले घृणा र इन्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रुवत बन्छन्, र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्वरसँग सहकार्य गर्न नसक्नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्वरको विपरीत दौडने मानिसहरूले निश्चित रूपमा नै आफ्ना उचित दण्ड पाउनेछैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
ख्रीष्टले बोल्नुभएको सत्यतामा भरोसा नगरिकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्पनामा हराएका छन्। त्यसैले म भन्छु कि आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको बाटो हुनुहुन्छ, र उहाँबाट उम्केर कोही पनि जान सक्दैन। ख्रीष्टद्वारा बाहेक परमेश्वरले कसैलाई पनि सिद्ध पार्नुहुन्न। तँ परमेश्वरमा विश्वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरूलाई स्वीकार गरेर उहाँको बाटोलाई पालन गर्नैपर्छ। सत्यतालाई प्राप्त गर्न असक्षम हुँदा-हुँदै र जीवनको प्रावधानलाई स्वीकार गर्न असक्षम हुँदा-हुँदै, तैँले आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नै नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नै पर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँको खेदो समेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नको लागि परमेश्वरले जिम्मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुराहरूलाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईश्वरनिन्दा गर्छस्। पवित्र आत्माको ईश्वरनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैन। यसको साथै, यो दिनदेखि उसो परमेश्वरबाट स्वीकृती प्राप्त गर्ने अर्को मौका तैँले पाउनेछैनस्; यदि तैँले आफैलाई छुटाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्वरको मुहारलाई देख्नेछैनस्। किनभने तैँले जे विरोध गर्छस् त्यो मानिस होइन, तैँले जे तिरस्कार गर्छस् त्यो कुनै तुच्छ कुरा होइन, तर ख्रीष्ट हुनुहुन्छ। यसका परिणामहरू के के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, तर घृणित पाप गरेको हुनेछस्। त्यसैले म जोकोहीलाई सत्यको अघि आफ्नो दारा नदेखाओ वा लापरवाह आलोचना नगर भन्ने सल्लाह दिन्छु, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्य बाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउने र परमेश्वरको मुहारलाई फेरि हेर्ने तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्नुहुन्छ