परमेश्‍वरद्वारा बास गरिएको देहको सार

उहाँको पहिलो देहधारणमा परमेश्‍वर पृथ्वीमा साढे तेत्तीस वर्ष जिउनुभयो, र ती वर्षहरूमध्ये उहाँले साढे तीन वर्षसम्‍म मात्रै आफ्‍नो सेवकाइ गर्नुभयो। उहाँले काम गर्नुभएको समय-अवधिमा, र उहाँले आफ्‍नो काम सुरु गर्नुभन्दा पहिले, उहाँमा सामान्य मानवता थियो; उहाँले आफ्‍नो सामान्य मानवतामा साढे तेत्तीस वर्ष बास गर्नुभयो। अन्तिम साढे तीन वर्षभरि, उहाँले आफैलाई देहधारी परमेश्‍वरको रूपमा प्रकट गर्नुभयो। आफ्‍नो सेवकाइलाई सुरु गर्नुभन्दा पहिले, आफ्‍नो ईश्‍वरीयताको कुनै पनि चिन्‍ह नदेखाइकन उहाँ साधारण, सामान्य मानवतामा देखा पर्नुभयो, र उहाँले आफ्‍नो सेवकाइलाई औपचारिक रूपमा सुरु गर्नुभएपछि मात्रै उहाँको ईश्‍वरीयता प्रकट गरियो। ती प्रारम्‍भिक उनन्तीस वर्षको अवधिको उहाँको जीवन र कार्यले उहाँ सच्‍चा मानव, मानिसका पुत्र, र देहगत शरीर हुनुहुन्छ भन्‍ने कुरालाई प्रदर्शन गर्‍यो, किनभने उनन्तीस वर्षको उमेरपछि मात्रै तत्परताको साथ उहाँको सेवकाइ सुरु भयो। त्यो “देहधारण” परमेश्‍वर देहमा देखा पर्ने घटनाहो; परमेश्‍वरले सृष्टि गरिएको मानवजातिका बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवता सहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्‍नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो। उहाँको देहधारी जीवन र कामलाई दुई चरणमा विभाजित गर्न सकिन्छ। पहिलो उहाँले आफ्‍नो सेवकाइ गर्नुभन्दा पहिले जिउने जीवन हो। उहाँ सामान्य मानव आवश्यकताहरू (गाँस, बास, कपास, आराम), सामान्य मानव कमजोरीहरू, र सामान्य मानव भावनाहरू सहित, मानव जीवनका सामान्य नैतिकताहरू र नियमहरूको पालन गर्दै, अत्यन्तै सामान्य मानवतामा साधारण मानव परिवारमा जिउनुहुन्छ। अर्को शब्‍दमा भन्दा, यो पहिलो चरणको अवधिमा उहाँ सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्‍न हुँदै, गैर-ईश्‍वरीय, पूर्ण रूपमा सामान्य मानवतामा जिउनुहुन्छ। दोस्रो चरण भनेको उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभएपछि उहाँले जिउनुभएको जीवन हो। अलौकिकताको कुनै बाहिरी चिन्‍ह नदेखाइकन, उहाँ अझै पनि सामान्य मानव भेष सहितको यस सामान्य मानवतामा बास गर्नुहुन्छ। तैपनि उहाँ पूर्ण रूपमा आफ्‍नो सेवकाइको खातिर जिउनुहुन्छ, र यो समय अवधिमा उहाँको ईश्‍वरीयताको सामान्य कार्यलाई कायम राख्‍नको लागि नै उहाँको सामान्य मानवता पूर्ण रूपमा अस्तित्वमा रहन्छ, किनभने त्यस बेलासम्‍म उहाँको सामान्य मानवता उहाँको सेवकाइ गर्न सक्‍ने बिन्दुसम्‍म परिपक्‍व भइसकेको हुन्छ। त्यसैले, उहाँको जीवनको दोस्रो चरण भनेको उहाँको सामान्य मानवतामा उहाँको सेवकाइलाई प्रस्तुत गर्नु हो, जुन बेला यो सामान्य मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हुन्छ। उहाँको जीवनको पहिलो चरणको अवधिमा, उहाँले पूर्ण रूपमा सामान्य मानवताको जीवन जिउनुको कारण के हो भने, उहाँको मानवता ईश्‍वरीय कार्यको पूर्णतालाई कायम राख्‍न अझै सक्षम भएको हुँदैन, परिपक्‍व भएको हुँदैन; उहाँको मानवता वृद्धि भएर परिपक्‍व भएपछि, आफ्‍नो सेवकाइको भार उठाउन सक्‍ने भएपछि मात्रै, उहाँ आफूले गर्नुपर्ने सेवकाइ गर्न तयार बन्‍न सक्‍नुहुन्छ। देहको रूपमा, उहाँ वृद्धि हुन र परिपक्‍व हुन आवश्यक हुने भएकोले, उहाँको जीवनको पहिलो चरण सामान्य मानवताको जीवन हो—जबकि दोस्रो चरणमा, उहाँको मानवता उहाँको काम गर्न र उहाँको सेवकाइलाई प्रदर्शन गर्न सक्षम भइसकेको हुनाले, उहाँको सेवकाइको अवधिमा देहधारी परमेश्‍वरले जिउनुहुने जीवन मानवता र पूर्ण ईश्‍वरीयता दुवैको जीवन हो। उहाँको जन्‍म भएको क्षणदेखि नै देहधारी परमेश्‍वरले अलौकिक चिन्ह र आश्चर्यकर्महरू गर्दै, आफ्‍नो सेवकाइलाई तत्परताको साथ सुरु गर्नुभएको भए, उहाँमा कुनै भौतिक सार हुने थिएन। त्यसकारण, उहाँको मानवता उहाँको भौतिक सारको खातिर अस्तित्वमा छ; मानवताविना कुनै देह हुन सक्दैन, र मानवता विनाको व्यक्ति मानव होइन। यसरी, परमेश्‍वरको देहको मानवता परमेश्‍वरको देहधारी शरीरको अन्तर्निहित गुण हो। “जब परमेश्‍वर देह बन्‍नुहुन्छ उहाँ पूर्ण रूपमा ईश्‍वरीय हुनुहुन्छ, र कुनै पनि हालतमा मानव हुनुहुन्‍न” भनी भन्‍नु भनेको ईश्‍वरनिन्दा हो, किनभने यो अभिव्यक्ति यथार्थ हुँदै होइन, र यसले देहधारणको सिद्धान्तलाई उल्‍लङ्घन गर्छ। उहाँले आफ्‍नो सेवकाइ गर्न सुरु गर्नुभएपछि पनि, आफ्‍नो काम गर्ने क्रममा उहाँ बाहिरी मानवताको भेष सहित आफ्‍नो ईश्‍वरीयतामा जिउनुहुन्छ; यस समयमा मात्रै, उहाँको मानवताले उहाँको ईश्‍वरीयतालाई सामान्य देहमा काम गर्न दिने एउटै उद्देश्यलाई पूरा गर्छ। त्यसैले कामको प्रतिनिधि उहाँको मानवतामा बास गर्ने ईश्‍वरीयता हो। उहाँको मानवता होइन, उहाँको ईश्‍वरीयता काममा छ, तैपनि यो ईश्‍वरीयता उहाँको मानवताभित्र लुकेको हुन्छ; वास्तवमा, उहाँको मानवताद्वारा होइन, उहाँको पूर्ण ईश्‍वरीयताद्वारा नै उहाँको कार्य गरिन्छ। तर काम गर्ने उहाँकै देह हो। उहाँ मानिस हुनुहुन्छ र परमेश्‍वर पनि हुनुहुन्छ भनेर भन्‍न सकिन्छ, किनभने परमेश्‍वर मानव भेष र मानव सार तर परमेश्‍वरको सारसहितको देहमा जिउनुहुने परमेश्‍वर बन्‍नुहुन्छ। उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्‍ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेष सहितका सबैमध्ये, मानवता सहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवता बाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन, तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्‍न सकिन्छ, तर उहाँको ईश्‍वरीयतालाई बुझ्‍न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा, र मानिसहरूले यसलाई कल्‍पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्‍न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्‍वरको साँचो सारलाई बुझ्‍न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसको बारेमा यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्‍ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्‍नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

येशूले पृथ्वीमा जिउनुभएको जीवन देहको सामान्य जीवन थियो। उहाँ आफ्‍नो देहको सामान्य मानवतामा जिउनुभयो। उहाँको अख्तियार—आफ्‍नो काम गर्नु र आफ्‍नो वचन बोल्‍नु, वा बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई निकाल्‍नु, त्यस्ता असाधारण कुराहरू गर्नु—ले उहाँले आफ्‍नो सेवकाइ सुरु नगरुञ्‍जेलसम्‍म प्रायजसो, आफैलाई प्रकट गरेन। उनन्तीस वर्षभन्दा पहिलेको, उहाँले आफ्‍नो सेवकाइ गर्नुभन्दा पहिलेको उहाँको जीवन नै उहाँ सामान्य देहगत शरीर हुनुहुन्थ्यो भन्‍ने कुराको पर्याप्त प्रमाण थियो। यसकारणले गर्दा, र उहाँले आफ्‍नो सेवकाइ अझै सुरु नगर्नुभएको कारणले, उहाँमा मानिसहरूले कुनै ईश्‍वरीय कुरा देखेनन्, सामान्य मानव, सामान्य मानिस बाहेक अरू केही पनि देखेनन्—जसरी त्यो समयमा, कतिपय मानिसहरूले उहाँ योसेफका पुत्र हुन् भन्‍ने ठान्थे। उहाँ सामान्य मानिसको छोरा हुनुहुन्छ भन्‍ने मानिसहरूले ठाने, उहाँ परमेश्‍वरका देहधारी शरीर हुनुहुन्छ भनेर भन्‍ने तिनीहरूसँग कुनै उपाय थिएन; आफ्‍नो सेवकाइको अवधिमा, उहाँले धेरै आश्चर्यकर्महरू गर्नुहुँदा समेत, धेरैजसो मानिसहरूले उहाँ योसेफका पुत्र हुनुहुन्छ भनेर भने, किनभने उहाँ सामान्य मानवताको बाहिरी भेष सहितका ख्रीष्‍ट हुनुहुन्थ्यो। उहाँको सामान्य मानवता र उहाँको कार्य दुवै नै पहिलो देहधारणको महत्त्वलाई पूरा गर्न, परमेश्‍वर पूर्ण रूपमा देहमा आउनुभएको छ, उहाँ पूर्ण रूपमा सामान्य मानिस बन्‍नुभएको छ भन्‍ने प्रमाणित गर्नको लागि अस्तित्वमा थिए। उहाँले आफ्‍नो काम सुरु गर्नुभन्दा पहिलेको उहाँको सामान्य मानवता उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुराको प्रमाण थियो; र त्यसपश्चात उहाँले काम गर्नुभयो भन्‍ने कुराले पनि उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने प्रमाणित गर्‍यो, किनभने उहाँले सामान्य मानवतासहितको देहमा चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नुभयो, बिरामीहरूलाई चङ्गाइ गर्नुभयो र भूत आत्‍माहरूलाई निकाल्‍नुभयो। उहाँले आश्चर्यकर्महरू गर्न सक्‍नुको कारण के थियो भने, उहाँको देहमा परमेश्‍वरको अख्तियार थियो, परमेश्‍वरको आत्मालाई धारण गरिएको देह थियो। परमेश्‍वरको आत्माको कारण उहाँमा यो अख्तियार थियो, र यसको अर्थ उहाँ देह हुनुहुन्‍न भन्‍ने थिएन। बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई निकाल्‍नु उहाँले आफ्‍नो सेवकाइमा गर्नु पर्ने काम थियो, यो उहाँको मानवतामा लुकेको उहाँको ईश्‍वरीयताको अभिव्यक्ति थियो, र उहाँले जुन चिन्‍हहरू देखाउनुभए तापनि वा उहाँले आफ्‍नो अख्तियारलाई जसरी प्रदर्शन गर्नुभए तापनि, उहाँ सामान्य मानवतामा नै जिउनुभयो र सामान्य देह नै हुनुहुन्थ्यो। उहाँ क्रूसमा मर्नुभएपछि पुनरुत्थान भइञ्‍जेलसम्‍म, उहाँले सामान्य देहमा नै बास गर्नुभयो। अनुग्रह प्रदान गर्नु, बिरामी निको पार्नु, र भूत आत्‍माहरूलाई धपाउनु सबै उहाँको सेवकाइका भाग थिए, ती सबै उहाँले आफ्‍नो सामान्य देहमा गर्नुभएका काम थिए। उहाँ क्रूसमा जानुभन्दा पहिले, चाहे जेसुकै काम गर्दा होस्, उहाँ आफ्‍नो सामान्य मानव देहबाट कहिल्यै अलग हुनुभएन। उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, उहाँले परमेश्‍वर स्वयम्‌को काम गर्दै हुनुहुन्थ्यो, तैपनि उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुभएकोले, उहाँले खाना खानुभयो र वस्‍त्र लगाउनुभयो, उहाँका सामान्य मानवीय आवश्यकताहरू थिए, सामान्य मानव तर्क, र सामान्य मानव मन थियो। यी सबै नै उहाँ सामान्य मानिस हुनुहुन्थ्यो भन्‍ने कुराको प्रमाण थियो, जसले परमेश्‍वरको देहधारी शरीर सामान्य मानवता सहितको देह थियो, अलौकिक होइन भन्‍ने कुराको प्रमाण थियो। उहाँको काम परमेश्‍वरको पहिलो देहधारणको कामलाई समाप्त गर्नु, पहिलो देहधारणले गर्नुपर्ने सेवकाइलाई पूरा गर्नु थियो। देहधारणको महत्त्व भनेको साधारण, सामान्य मानिसले परमेश्‍वर स्वयमको काम गर्छ भन्‍ने हो; अर्थात्, परमेश्‍वरले आफ्‍नो ईश्‍वरीय काम मानवतामा गर्नुहुन्छ, र जसद्वारा उहाँले शैतानलाई जित्‍नुहुन्छ। देहधारणको अर्थ परमेश्‍वरका आत्मा देह बन्‍नुहुन्छ, अर्थात्, परमेश्‍वर देह बन्‍नुहुन्छ भन्‍ने हो; देहले गर्ने काम आत्माको काम हो, जुन देहमा प्रकट हुन्छ, देहद्वारा व्यक्त हुन्छ। परमेश्‍वरको देहले बाहेक अरू कसैले पनि देहधारी परमेश्‍वरको सेवकाइलाई पूरा गर्न सक्दैन; अर्थात्, देहधारी परमेश्‍वरको शरीर, यस सामान्य मानवताले मात्रै—अरू कसैले होइन—ईश्‍वरीय कार्यलाई व्यक्त गर्न सक्छ। यदि, उहाँको पहिलो आगमनको अवधिमा, उनन्तीस वर्षको उमेरभन्दा पहिले परमेश्‍वरसँग सामान्य मानवता नभएको भए—यदि उहाँ जन्‍मने बित्तिकै उहाँले आश्चर्यकर्महरू गर्न सक्‍नुभएको भए, उहाँले बोल्‍न सिक्‍ने बित्तिकै उहाँले स्वर्गको भाषा बोल्‍न सक्‍नुभएको भए, यदि उहाँले पृथ्वीमा पाइला टेक्‍नुभएकै क्षणमा उहाँले सारा सांसारिक कुराहरूलाई बुझ्‍न, हरेक व्यक्तिका विचार र अभिप्रायहरूलाई जान्‍न सक्‍नुभएको भए—त्यस्तो व्यक्तिलाई सामान्य मानिस भनेर भन्‍न सकिँदैन थियो, र त्यस्तो देहलाई मानव देह भनेर भन्‍न सकिँदैन थियो। यदि ख्रीष्‍टको अवस्था यस्तो भएको भए, परमेश्‍वरको देहधारणको अर्थ र सार हराउने थियो। उहाँमा सामान्य मानवता छ भन्‍ने कुराले उहाँ शरीरमा देहधारी हुनुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाणित गर्छ; उहाँले सामान्य मानवको वृद्धि हुने प्रक्रिया भएर जानुहुन्छ भन्‍ने तथ्यले उहाँ सामान्य देह हुनुहुन्छ भन्‍ने कुरालाई थप प्रदर्शन गर्छ; यसको साथै, उहाँ परमेश्‍वरको वचन, परमेश्‍वरको आत्मा नै देह हुनुभएको हो भन्‍ने प्रमाणित गर्न उहाँको काम नै पर्याप्त छ। उहाँको कामको आवश्यकताहरूको कारण परमेश्‍वर देह बन्‍नुहुन्छ; अर्को शब्‍दमा भन्दा, कामको यो चरणलाई देहमा नै गरिनुपर्छ, सामान्य मानवतामा नै गरिनुपर्छ। “वचन देह बन्‍नुहुन्छ” को पूर्वसर्त यही नै हो, किनभने “वचन देहमा देखा पर्नुहुन्छ,” र परमेश्‍वरका दुई वटा देहधारणहरूको पछाडिको साँचो कथा यही नै हो। येशूले आफ्‍नो जीवनभरि आश्चर्यकर्महरू गर्नुभयो, पृथ्वीमा उहाँको काम समाप्त नभइञ्‍जेलसम्‍म उहाँले मानवताको कुनै चिन्‍ह देखाउनुभएन, उहाँसँग सामान्य मानव आवश्यकताहरू वा कमजोरीहरू वा मानव भावनाहरू थिएनन्, जीवनका आधारभूत आवश्यकताहरू थिएनन् वा सामान्य मानव विचार गर्न खाँचो थिएन भनेर मानिसहरूले विचार गर्न सक्छन्। उहाँमा महामानवीय विचार, सर्वश्रेष्ठ मानवता मात्रै छ भन्‍ने कल्‍पना तिनीहरू गर्छन्। उहाँ परमेश्‍वर हुनुभएकोले, उहाँले सामान्य मानवले जस्तो विचार गर्नुहुन्‍न र त्यसरी जिउनुहुन्‍न, सामान्य मानिस, वास्तविक मानिसले मात्रै सामान्य मानव विचारहरू सोच्‍न सक्छ र सामान्य मानव जीवन जिउन सक्छ भन्‍ने विश्‍वास तिनीहरू गर्छन्। यी सबै मानव विचारहरू र मानव धारणाहरू हुन्, र यी धारणाहरू परमेश्‍वरको कामको मूल अभिप्रायहरूका विपरीत बहन्छन्। सामान्य मानव सोचाइले सामान्य मानव तर्क र सामान्य मानवतालाई कायम राख्छ; सामान्य मानवताले देहका सामान्य कार्यहरूलाई कायम राख्छ; र देहका सामान्य कार्यहरूले देहको सामान्य जीवनलाई यसको पूर्णतामा सक्रिय गर्छ। त्यस्तो देहमा काम गरेर मात्रै परमेश्‍वरले आफ्‍नो देहधारणको उद्देश्‍यलाई पूरा गर्न सक्‍नुहुन्छ। यदि देहधारी परमेश्‍वरको देहको बाहिरी भेष मात्रै थियो, तर सामान्य मानव विचारहरू सोच्‍नुहुन्‍न थियो भने, यो देहमा मानव तर्क हुने थिएन, वास्तविक मानवता हुने कुरा त परै जाओस्। मानवताविनाको यस्तो देहले कसरी देहधारी परमेश्‍वरले गर्नुपर्ने सेवकाइलाई पूरा गर्न सक्‍नुहुन्छ? सामान्य मनले मानव जीवनका सम्पूर्ण पक्षहरूलाई कायम राख्‍न सक्छ; सामान्य मनविना, व्यक्ति मानव हुने थिएन। अर्को शब्‍दमा भन्दा, सामान्य विचारहरू सोच्‍न नसक्‍ने व्यक्ति मानसिक रोगी हो, र मानवता नभएको तर ईश्‍वरीयता मात्रै भएको ख्रीष्‍टलाई परमेश्‍वरको देहधारी शरीर भन्‍न सकिँदैन। त्यसकारण, परमेश्‍वरको देहधारी शरीरमा कसरी सामान्य मानवता नहुन सक्छ? ख्रीष्‍टमा कुनै मानवता छैन भनेर भन्‍नु के ईश्‍वरनिन्दा हुँदैन र? मानिसहरू संलग्‍न हुने सबै क्रियाकलापहरू सामान्य मानव मनको संचालनमा निर्भर हुन्छ। योविना, मानिसहरूले छाडा व्यवहार गर्नेथिए; तिनीहरूले कालो र सेतो, असल र खराबको बीचमा रहेको भिन्‍नतालाई समेत छुट्याउन सक्दैन थिए; र तिनीहरूमा कुनै पनि मानव नैतिकता र सदाचार सिद्धान्तहरू हुने थिएन। त्यसरी नै, यदि देहधारी परमेश्‍वरले सामान्य मानवले जस्तो विचार गर्नुहुन्‍न थियो भने, उहाँ वास्तविक देह, सामान्य देह हुनुहुने थिएन। विना-सोचाइको त्यस्तो देहले ईश्‍वरीय कामलाई लिन सक्‍ने थिएन। उहाँ सामान्य देहका क्रियाकलापहरूमा सामान्य रूपमा संलग्‍न हुन सक्षम हुने थिएन, पृथ्वीमा मानिसहरूसँग एकसाथ जिउने कुरा त परै जाओस्। अनि त्यसैले, परमेश्‍वरको देहधारणको महत्त्व, परमेश्‍वर देहमा आउनुको खास सार नै हराउने थियो। देहधारी परमेश्‍वरको मानवता देहमा सामान्य ईश्‍वरीय कार्यलाई कायम राख्‍नको लागि अस्तित्वमा छ; उहाँको सामान्य मानव सोचाइले उहाँको सामान्य मानवता र उहाँका सबै सामान्य भौतिक क्रियाकलापहरूलाई कायम राख्छ। उहाँको सामान्य मानव सोचाइ देहमा परमेश्‍वरका सारा कार्यलाई कायम राख्‍नको लागि अस्तित्वमा छ भनेर भन्‍न सकिन्छ। यदि यो देहमा सामान्य मानव मन थिएन भने, परमेश्‍वरले देहमा काम गर्न सक्‍नुहुने थिएन, र उहाँले देहमा जे गर्नु आवश्यक छ त्यसलाई कहिल्यै पनि पूरा गर्न सकिँदैन थियो। देहधारी परमेश्‍वरमा सामान्य मानव मन भए तापनि, उहाँको काम मानव विचारद्वारा मिलावट भएको छैन; उहाँले मानव मन भएको मानवता धारण गर्ने पूर्वसर्त सहित, सामान्य मन सहित मानवतामा काम गर्नुहुन्छ, सामान्य मानव विचारको अभ्यासद्वारा होइन। उहाँका देहका विचारहरू जति नै उत्कृष्ट भए तापनि, उहाँको काम तर्क वा विचारबाट कलङ्कित छैन। अर्को शब्‍दमा भन्दा, उहाँको काम उहाँको देहको मनद्वारा पैदा भएको हुँदैन, तर यो उहाँको मानवतामा ईश्‍वरीय कार्यको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँका सबै काम उहाँले पूरा गर्नैपर्ने सेवकाइ हो, र यीमध्ये कुनै पनि उहाँको मस्तिष्कमा पैदा हुँदैन। उदाहरणको लागि, बिरामीलाई चङ्गाइ गर्नु, भूत आत्‍माहरूलाई निकाल्‍नु, र क्रुसीकरण उहाँको मानव मनका उपजहरू थिएनन्, र मानव मन भएको कुनै पनि मानिसले ती हासिल गर्न सक्‍ने थिएन। त्यसरी नै, आजको विजयको काम देहधारी परमेश्‍वरले पूरा गर्नैपर्ने काम हो, तर यो मानव इच्‍छाको काम होइन, यो उहाँको ईश्‍वरीयताले गर्नुपर्ने काम हो, जुन काम गर्न कुनै पनि देहगत मानिस सक्षम छैन। त्यसैले देहधारी परमेश्‍वरमा सामान्य मानव मन हुनैपर्छ, सामान्य मानवता हुनैपर्छ, किनभने उहाँले सामान्य मनसहितको मानवतामा नै आफ्‍नो काम गर्नुपर्छ। देहधारी परमेश्‍वरको कामको सार, देहधारी परमेश्‍वरको खास सार यही नै हो।

येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्‍नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भनेर कसैले भन्‍न सकेन, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्‍ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्‍वर शरीरमा देहधारी हुनुभएको थियो, र अनुग्रहको युग देहधारी परमेश्‍वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्‍ने कुराको प्रमाण थियो। यो परमेश्‍वरको आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्‍वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्‍ने कुराको प्रमाण थियो। सामान्य मानवता सहितका ख्रीष्‍ट त्यो देह हो जसमा आत्मा प्रकट हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य विवेक, र मानव विचार छ। “प्रकट हुनु” भनेको परमेश्‍वर मानिस बन्‍नु, आत्मा देह बन्‍नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवता सहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो, र यसद्वारा उहाँले आफ्‍नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—प्रकट हुनु, वा देहधारी हुनुको अर्थ यही नै हो। उहाँको पहिलो देहधारणको अवधिमा, परमेश्‍वरले बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई धपाउनु अत्यावश्यक थियो, किनभने उहाँको काम उद्धार गर्नु थियो। सारा मानवजातिलाई उद्धार गर्नको लागि, उहाँ करुणामयर क्षमा दिने बन्‍नु आवश्यक थियो। उहाँलाई क्रूसमा मारिनुभन्दा पहिले उहाँले गर्नुभएको काम बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई निकाल्‍नु थियो, जुन मानिसलाई पाप र भ्रष्टताबाट गरिने मुक्तिको पूर्वाभास थियो। यो अनुग्रहको युग भएकोले, उहाँले बिरामीलाई निको पार्नु आवश्यक थियो, त्यसद्वारा चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनुभयो, जुन त्यस युगको अनुग्रहको प्रतिनिधि थिए—किनभने अनुग्रहको युग अनुग्रह दिनुसँग सम्‍बन्धित थियो, जुन शान्ति, आनन्द, र भौतिक आशिषहरू, अर्थात् येशूमाथिको मानिसहरूको विश्‍वासका निशानीहरूको प्रतीक थियो। भन्‍नुको अर्थ, बिरामीलाई चङ्गाइ गर्ने, भूत आत्‍माहरूलाई निकाल्‍ने, र अनुग्रह प्रदान गर्ने काम अनुग्रहको युगमा येशूको देहमा जन्‍मजात रूपमा पाउनुभएका क्षमताहरू थिए, ती देहमा प्रकट भएका आत्माको काम थिए। तर जबकि उहाँले त्यस्तो काम गरिरहनुभएको बेलामा, उहाँ देहमा जिइरहनुभएको थियो, र त्यसले देहलाई नाघेन। उहाँले जस्तोसुकै प्रकारको चङ्गाइ गर्नुभए तापनि, उहाँमा सामान्य मानवता नै थियो, उहाँले सामान्य मानव जीवन नै जिउनुभयो। परमेश्‍वरको देहधारणको युगको अवधिमा देहले आत्माको सबै काम गर्‍यो भनेर मैले भन्‍नुको कारण के हो भने, उहाँले जे काम गर्नुभए तापनि, उहाँले यो देहमा नै गर्नुभयो। तर उहाँको कामको कारणले गर्दा, मानिसहरूले उहाँको देहलाई पूर्ण रूपमा भौतिक सार भएको देहको रूपमा ठानेनन्, किनभने यो देहले अचम्‍मका कामहरू गर्न सक्थ्यो, र विशेष क्षणहरूमा देहको क्षमता बाहिरका कुराहरू गर्न सक्थ्यो। अवश्य नै, यी सबै घटनाहरू उहाँले आफ्‍नो सेवकाइलाई सुरु गर्नुभन्दा पहिले नै घटे, जस्तै उहाँलाई चालीस दिनसम्‍म परीक्षा गरिनु वा पर्वतमा उहाँको रूप परिवर्तन हुनु। त्यसकारण येशूमा, परमेश्‍वरको देहधारणको अर्थ पूर्ण भएन, तर यो आंशिक रूपमा मात्रै पूरा भयो। आफ्‍नो काम सुरु गर्नुभन्दा पहिले उहाँले देहमा जिउनुभएको जीवन सबै पक्षहरूमा अत्यन्तै सामान्य थियो। उहाँले काम सुरु गर्नुभएपछि, उहाँले आफ्‍नो देहको बाहिरी भेस मात्रै कायम राख्‍नुभयो। उहाँको काम ईश्‍वरीयताको अभिव्यक्ति थियो, त्यसकारण यसले देहका सामान्य कार्यहरूलाई नाघ्यो। आखिर, परमेश्‍वरको देहधारी शरीर मासु र रगतको मानवभन्दा फरक थियो। अवश्‍य नै, उहाँको दैनिक जीवनमा, उहाँलाई खाना, वस्‍त्र, निद्रा, र बासको आवश्यकता पर्यो, उहाँलाई सबै सामान्य आवश्यकताहरूको खाँचो भयो, र उहाँमा सामान्य मानवको जस्तै चेतना थियो, र उहाँले सामान्य मानवले जस्तै सोच्‍नुभयो। मानिसहरूले उहाँलाई सामान्य मानिसको रूपमा नै लिन्थे, उहाँले गर्ने काम अलौकिक मात्रै थियो। वास्तवमा, उहाँले जे गर्नुभए तापनि, उहाँ सामान्य र साधारण मानवतामा जिउनुभयो, र काम गर्ने क्रममा, उहाँको चेतना निश्‍चित रूपमा सामान्य हुन्थ्यो, उहाँका विचारहरू निश्‍चित रूपमा अरू कुनै पनि सामान्य मानिसको भन्दा स्पष्ट हुन्थे। देहधारी परमेश्‍वरमा त्यस्तो सोचाइ र चेतना हुनु अत्यावश्यक थियो, किनभने ईश्‍वरीय कार्यलाई त्यस देहद्वारा व्यक्त गरिनु आवश्यक थियो जसको चेतना अत्यन्तै सामान्य हुन्थे र जसका विचारहरू अत्यन्तै स्पष्ट हुन्थे—यसरी मात्रै उहाँको देहले ईश्‍वरीय कामलाई व्यक्त गर्न सक्थ्यो। येशूले पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्षको अवधिभरि, उहाँले आफ्‍नो सामान्य मानवतालाई कायम राख्‍नुभयो, तर साढे तीन वर्षको उहाँको सेवकाइको अवधिमा उहाँले गर्नुभएको कामको कारण, उहाँ अत्यन्तै सर्वोच्‍च हुनुहुन्छ, उहाँ पहिलेभन्दा अत्यन्तै अलौकिक हुनुहुन्छ भन्‍ने मानिसहरूले ठाने। वास्तवमा, येशूको सामान्य मानवता उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभन्दा पहिले र पछि अपरिवर्तित नै रह्यो; यो अवधिमा उहाँको मानवता उस्तै रह्यो, तर उहाँको सेवकाइभन्दा पहिले र पछिको भिन्‍नताको कारणले गर्दा, उहाँको देहको विषयमा दुई वटा फरक विचारहरू प्रकट भए। मानिसहरूले जे विचार गरे तापनि, देहधारी परमेश्‍वरले आफ्‍नो मूल, सामान्य मानवतालाई सम्पूर्ण समय नै कायम राख्‍नुभयो, किनभने परमेश्‍वर देहधारी हुनुभएको हुनाले, उहाँ देह, सामान्य मानवता भएको देहमा जिउनुभयो। चाहे उहाँले आफ्‍नो सेवकाइ गरिरहेको होस् वा नहोस्, उहाँको देहको सामान्य मानवतालाई हटाउन सकिएन, किनभने देहको आधारभूत सार मानवता नै हो। येशूले आफ्‍नो सेवकाइ गर्नुभन्दा पहिले, सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्‍न हुने क्रममा, उहाँको देह पूर्ण रूपमा सामान्य नै रह्यो; उहाँ अलिकति पनि अलौकिक देखिनुभएन, उहाँले कुनै पनि आश्‍चर्यजनक चिन्‍हहरू देखाउनुभएन। त्यो समयमा, उहाँ अत्यन्तै सामान्य मानिस मात्रै हुनुहुन्थ्यो जसले परमेश्‍वरको आराधना गर्थ्यो, यद्यपि उहाँको खोजी कसैको भन्दा अझै इमानदार, अझै निष्कपट थियो। उहाँको अत्यन्तै सामान्य मानवताले आफैलाई यसरी नै प्रकट गर्‍यो। आफ्‍नो सेवकाइलाई लिनुभन्दा पहिले उहाँले कुनै पनि काम नगर्नुभएको हुनाले, उहाँको पहिचानको बारेमा कसैलाई पनि थाहा थिएन, उहाँको देह अरू सबैको भन्दा फरक छ भनेर कसैले पनि भन्‍न सकेन, किनभने उहाँले एउटै पनि आश्‍चर्यकर्म गर्नुभएन, परमेश्‍वर स्वयमको एउटै पनि काम गर्नुभएन। तैपनि, उहाँले आफ्‍नो सेवकाइ सुरु गर्नुभएपछि, उहाँले सामान्य मानवताको बाहिरी भेषलाई कायम राख्‍नुभयो र सामान्य मानव चेतनामा नै जिउनुभयो, तर उहाँले परमेश्‍वर स्वयमको कामलाई सुरु गर्नुभएको, ख्रीष्‍टको सेवकाइलाई लिनुभएको र मरणशील प्राणीहरू, मासु र रगतका मानिसहरूले गर्न नसक्‍ने काम गर्नुभएकोले, उहाँसँग सामान्य मानवता थिएन र उहाँ पूर्ण रूपमा सामान्य देह हुनुहुन्‍नथियो, तर अपूर्ण देहहुनुहुन्थ्यो भन्‍ने अनुमान मानिसहरूले गरे। उहाँले गर्नुभएको कामको कारणले गर्दा, उहाँ देहमा प्रकट हुनुभएका परमेश्‍वर हुनुहुन्छ जसमा सामान्य मानवता छैन भनेर मानिसहरूले भने। त्यस किसिमको बुझाइ भ्रमपूर्ण छ, किनभने मानिसहरूले परमेश्‍वरको देहधारणको महत्त्वलाई बुझेनन्। यो गलत बुझाइ देहमा हुनुभएका परमेश्‍वरले व्यक्त गर्नुभएको काम सामान्य मानवता सहितको देहमा व्यक्त गरिएको ईश्‍वरीय काम हो भन्‍ने तथ्यबाट उठ्यो। परमेश्‍वरले देह धारण गर्नुभएको थियो, उहाँ देहमा बास गर्नुभयो, र मानवतामा उहाँले गर्नुभएको उहाँको काम उहाँको मानवताको सामान्यतालाई अस्पष्ट पार्यो। यस कारणले गर्दा, मानिसहरूले परमेश्‍वरमा मानवता छैन, तर ईश्‍वरीयता मात्रै छ भन्‍ने विश्‍वास गरे।

आफ्‍नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, देहका सारा सामान्यता र वास्तविकतामा जिउँदै, अर्थात्, परमेश्‍वरको वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट गर्दै, देहमा उहाँले अपूरो छोड्नुभएको कामलाई त्यसद्वारा समाप्त गर्दै परमेश्‍वर फेरि पनि देहमा फर्कनुभएको छ। वास्तवमा, दोस्रो देहधारी शरीर पहिलोजस्तै छ, तर यो पहिलोभन्दा अझै वास्तविक, अझै सामान्य छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र वास्तविकताबाट पनि निस्किआउँछ। उहाँले आफ्‍नो सेवकाइ अत्यन्तै सामान्य र वास्तविक देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति वास्तविक छ, उहाँले आफ्‍नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्‍नुहुनेछ। परमेश्‍वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्‍नु पर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्‍नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको वास्तविकता र सामान्यताबाट आउँछ। आफ्‍ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्‍न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्‍नुपर्छ; काम गर्ने देह जति वास्तविक छ, मानिसहरूका धारणा त्यति नै कठोर हुन्छ, र उहाँमा त्यति नै खतराहरू पर्ने सम्‍भावना हुन्छ। तैपनि, देह जति वास्तविक छ, र देहमा सामान्य मानवको आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्‍वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। क्रूसमा कांटी ठोकिएको येशूकै देह थियो, पापबलिको रूपमा दिइएको उहाँकै देह थियो; सामान्य मानवता सहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्‍नुभयो र मानिसलाई क्रूसबाट पुर्ण रूपमा मुक्त गर्नुभयो। अनि पूर्ण देहको रूपमा नै परमेश्‍वरले आफ्‍नो दोस्रो देहधारणमा विजयको काम गर्नुहुन्छ र शैतानलाई जित्‍नुहुन्छ। पुर्ण रूपमा सामान्य र वास्तविक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्‍नुको अर्थ, मानिसको विजय देहमा हुनुभएका परमेश्‍वरको वास्तविकता र सामान्यताद्वारा प्रभावकारी बनाइन्छ, अलौकिक आश्चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्‍वरको सेवकाइ बोल्‍नु, र त्यसद्वारा मानिसलाई जित्‍नु र सिद्ध गर्नु हो; अर्को शब्‍दमा भन्दा, आत्माको काम देहमा प्रकट भयो, देहको कर्तव्य भनेको बोल्‍नु र त्यसद्वारा मानिसलाई पूर्ण रूपमा जित्‍नु, प्रकट गर्नु, सिद्ध पार्नु, र हटाउनु हो। त्यसैले, विजयको काममा नै परमेश्‍वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। उद्धारको प्रारम्‍भिक कार्य देहधारणको कार्यको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले देहधारणको सम्पूर्ण कामलाई पूरा गर्नेछ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्‍न सक्‍नुहुन्छ, र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो, र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्‍वरले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नुहुन्‍न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्‍नेछ। यसको साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्‍वरको काम भनेको बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई धपाउनु होइन, तर बोलेर मानिसलाई जित्‍नु हो, भन्‍नुको अर्थ परमेश्‍वरको यस देहधारी शरीरमा भएको जन्‍मजात क्षमता भनेको वचन बोल्‍नु र मानिसलाई जित्‍नु हो, बिरामीलाई निको पार्नु र भूत आत्‍माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूत आत्‍माहरू धपाउनु होइन, तर बोल्‍नु हो, र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्‍वरको देहधारण झूट होइन भन्‍ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ, र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्‍न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो, तर उहाँले धेरै चिन्‍हहरू र आश्चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्‍हहरू वा आश्‍चर्यका कामहरू देख्‍नेछैन, न त बिरामीलाई निको पारेको न त भूत आत्‍माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्‍म उपवास बसेको नै देख्‍नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्‍न, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन, तर बिरामीलाई चङ्गाइ गर्नु र भूत आत्‍माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्‍न, उहाँको आफ्‍नै कामलाई वाधा दिनुहुन्‍न। उहाँले मानिसलाई आफ्‍ना वास्तविक वचनहरूद्वारा जित्‍नुहुने हुँदा, उहाँले आश्‍चर्यकर्महरूद्वारा जित्‍नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो। तैँले आज देख्‍ने देहधारी परमेश्‍वर पूर्ण रूपमा देह हुनुहुन्छ, र उहाँको बारेमा केही पनि अलौकिक छैन। उहाँ अरू झैँ बिरामी पर्नुहुन्छ, अरूलाई जस्तै उहाँलाई खाने कुरा र वस्‍त्र चाहिन्छ; उहाँ पुर्ण रूपमा देह हुनुहुन्छ। यदि यो समयमा, देहधारी परमेश्‍वरले अलौकिक चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नुभयो भने, यदि उहाँले बिरामीलाई निको पार्नुभयो, भूत आत्‍माहरूलाई निकाल्‍नुभयो, वा एउटै वचनले मार्न सक्‍नुभयो भने, विजयको कामलाई कसरी अघि बढाउन सकिन्थ्यो? अन्यजाति राष्ट्रहरूमा कसरी काम फैलाउन सकिन्छ? बिरामीलाई चङ्गाइ गर्ने र भूत आत्‍माहरूलाई निकाल्‍ने काम अनुग्रहको युगको काम थियो, यो छुटकाराको कामको पहिलो चरण थियो, र अब परमेश्‍वरले मानिसलाई क्रूसबाट मुक्त गरिसक्‍नुभएको हुनाले, उहाँले अब उप्रान्त त्यो काम गर्नुहुन्‍न। यदि, आखिरी दिनहरूको अवधिमा, बिरामीलाई चङ्गाइ गर्ने, भूत आत्‍माहरूलाई धपाउने, अनि मानिसको लागि क्रूसमा टाँगिने येशूजस्तै “परमेश्‍वर” देखा पर्नुभयो भने, यो बाइबलमा दिइएको परमेश्‍वरको व्याख्यासँग मिल्‍ने र मानिसले सहजै स्वीकार गर्ने भए पनि, त्यो “परमेश्‍वर”, परमेश्‍वरको आत्माद्वारा होइन, तर दुष्ट आत्माद्वारा धारण गरिएको देह हुने थियो। किनभने उहाँले जे पहिले नै पूरा गरिसक्‍नुभएको छ त्यसलाई फेरि नदोहोर्याउनु परमेश्‍वरको कामको सिद्धान्त नै हो। त्यसकारण, परमेश्‍वरको दोस्रो देहधारणको काम पहिलोको कामभन्दा फरक छ। आखिरी दिनहरूमा, परमेश्‍वरले विजयको कामलाई सामान्य, साधारण देहमा प्रकट गर्नुहुन्छ; उहाँले बिरामीलाई निको पार्नुहुन्‍न, उहाँ मानिसको लागि क्रूसमा मारिनु हुनेछैन, तर देहमा वचनहरू मात्रै बोल्‍नुहुन्छ, र देहमा मानिसलाई विजय गर्नुहुन्छ। त्यस्तो देह मात्रै परमेश्‍वरको देहधारी शरीर हो; त्यस्तो देहले मात्रै परमेश्‍वरको कामलाई देहमा पूरा गर्न सक्छ।

चाहे यस चरणमा देहधारी परमेश्‍वरले कष्ट भोगिरहनुभएको होस् वा आफ्‍नो सेवकाइ गरिरहनुभएको होस्, उहाँले देहधारणको अर्थलाई पूरा गर्न त्यसो गर्नुहुन्छ, किनभने यो परमेश्‍वरको अन्तिम देहधारण हो। परमेश्‍वर दुई पटक मात्रै देहधारी हुन सक्‍नुहुन्छ। तेस्रो पटक हुन सक्दैन। पहिलो देहधारण पुरुष हुनुहुन्थ्यो, दोस्रो स्त्री हुनुहुन्छ, र त्यसैले परमेश्‍वरको देहको स्वरूप मानिसको मनमा पूरा हुन्छ; यसको साथै, दुई देहधारणहरूले पहिले नै परमेश्‍वरको कामलाई देहमा पूरा गरिसक्‍नुभएको छ। पहिलो पटक, देहधारणको अर्थलाई पूरा गर्नको लागि देहधारी परमेश्‍वरले सामान्य मानवतालाई धारण गर्नुभयो। यस पटक पनि उहाँले सामान्य मानवतालाई धारण गर्नुहुन्छ, तर यो देहधारणको अर्थ फरक छ: यो अझै गहिरो छ, र उहाँको काम अझै गहन महत्त्वको छ। परमेश्‍वर एक पटक फेरि देह बन्‍नुको कारण भनेको देहधारणको अर्थलाई पूरा गर्नु हो। जब परमेश्‍वरले उहाँको कामको यो चरणलाई पूर्ण रूपमा पूरा गर्नुभयो, देहधारणको सम्पूर्ण अर्थ, अर्थात् देहमा परमेश्‍वरको कार्य पूरा हुनेछ, र देहमा गर्नको लागि थप कुनै काम हुनेछैन। भन्‍नुको अर्थ, अबदेखि उसो आफ्‍नो काम गर्नको लागि परमेश्‍वर फेरि कहिल्यै देहमा आउनुहुनेछैन। मानवजातिलाई मुक्त गर्न र सिद्ध गर्नको लागि मात्रै परमेश्‍वरले देहधारणको काम गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, कामको खातिर बाहेक, देहमा आउनु परमेश्‍वरको लागि सामान्य होइन। काम गर्नको लागि देहमा आएर, उहाँले परमेश्‍वर देह हुनुहुन्छ, सामान्य व्यक्ति, साधारण व्यक्ति हुनुहुन्छ भन्‍ने शैतानलाई देखाउनुहुन्छ—तैपनि संसारमाथि उहाँले विजय गरेर राज्य गर्न सक्‍नुहुन्छ, शैतानलाई जित्‍न, मानवजातिलाई उद्धार गर्न, मानवजातिलाई जित्‍न सक्‍नुहुन्छ! शैतानको कामको उद्देश्य भनेको मानवजातिलाई भ्रष्ट तुल्याउनु हो, जबकि परमेश्‍वरको उद्देश्य भनेको मानवजातिलाई मुक्ति दिनुहो। शैतानले मानिसलाई अतल कुण्डमा फसाउँछ, जबकि परमेश्‍वरले उसलाई यसबाट छुटाउनुहुन्छ। शैतानले सबै मानिसहरूलाई यसको आराधना गर्ने बनाउँछ, तर परमेश्‍वरले तिनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा रहने बनाउनुहुन्छ, किनभने उहाँ सृष्टिका प्रभु हुनुहुन्छ। यी सबै काम परमेश्‍वरका दुई देहधारणहरूद्वारा हासिल गरिन्छ। वास्तवमा, उहाँको देह मानवता र ईश्‍वरीयताको मिलाप हो, र यसमा सामान्य मानवता छ। त्यसैले परमेश्‍वरको देहधारी शरीरविना, परमेश्‍वरले मानवजातिलाई मुक्त गर्ने परिणामहरू प्राप्त गर्न सक्‍नुहुन्‍न थियो, र उहाँको देहको सामान्य मानवताविना, देहमा उहाँले गर्नुहुने कार्यले यी परिणामहरू हासिल गर्न सक्दैन थियो। परमेश्‍वरको देहधारणको सार भनेको उहाँमा सामान्य मानवता हुनैपर्छ भन्‍ने हो; अन्यथा यो हुनु भनेको देहधारी हुने परमेश्‍वरको मूल अभिप्रायको विपरीत हुने थियो।

किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्‍वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले उद्धारको काम मात्रै गर्नुभयो, र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्‍वर फेरि देह बन्‍नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्‍दमा भन्दा, परमेश्‍वर पूर्ण रूपमा मानव बन्‍नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्‍वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन विल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्‍न सक्‍नुहुन्छ, जसले कुनै पनि आश्‍चर्यकर्मका चिन्‍हहरू देखाउने, आश्‍चर्यकर्महरू गर्ने गर्नुहुन्‍न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक सत्यतालाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्‍ने कुरा छैन भन्‍ने देखिन्छ, र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्‍ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामको तीन चरणहरूको अवधिमा, परमेश्‍वर दुई पटक देहधारी हुनुभएको छ, र दुवै समयमा देहधारी परमेश्‍वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्‍भ गर्छ; देहधारणहरू एक-अर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्‍नु असम्‍भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारी शरीरहरू उही स्रोतबाट आउँछ कि आउँदैन भन्‍ने कुरालाई उहाँहरू जन्‍मनुभएको युग र स्थान वा अन्य कारकतत्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन, तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्‍वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्‍न, किनभने परमेश्‍वरको कामले चलनलाई पालन गर्दैन, तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन, तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्‍वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्‍वरको आफ्‍नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँ सम्‍बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्‍न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्‍वरले आफ्‍नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित समझशक्तिको कारण, परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्‍वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्‍भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्‍वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्‍नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ, र उहाँको ईश्‍वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्‍न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्‍न कामको माध्यमद्वारा उहाँलाई चिन्‍न दिनको लागि परमेश्‍वर देहमा आउनुहुन्छ, र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्‍वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार, र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नको निम्ति अस्तित्वमा हुनुहुन्छ, र दुई फरक युगहरूमा खडा हुनुहुन्छ। जेसुकै भए तापनि, परमेश्‍वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्‍ने सत्य हो।

अघिल्लो: भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

अर्को: परमेश्‍वरको कार्य र मानिसको अभ्यास

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तँ कोप्रति निष्ठावान् छस्?

अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले...

बाइबल सम्बन्धमा (३)

बाइबलमा भएका सबै कुरा परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरूको...

भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

परमेश्‍वर देह बन्‍नुभयो किनभने उहाँको कामको पात्र शैतानको आत्मा, वा कुनै पनि अमूर्त कुरा होइन, तर मानिस हो, जो देहको हो र जसलाई शैतानले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्