जीवनमा प्रवेश (१)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३७४

सर्वशक्तिमान्‌ परमेश्‍वर, सबै थोकका मुखिया हुनुहुन्छ, उहाँले आफ्नो सिंहासनबाट आफ्नो शाही शक्ति चलाउनुहुन्छ। उहाँले ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्नुहुन्छ, र सारा पृथ्वीमा हामीलाई डोऱ्याउने काममा हुनुहुन्छ। हामी हरेक क्षण उहाँसँग नजिक हुनेछौं, र चुपचाप उहाँको सामु आउनेछौं, एक पल पनि कहिल्यै गुमाउनेछैनौं, र सबै समय हामीसँग सिक्नका लागि पाठहरू हुनेछन्। वरपरको वातावरणदेखि मानिसहरू, घटनाहरू, र विभिन्न वस्तुहरूसम्म सबै थोक, सबै नै उहाँको सिंहासनको अनुमतिद्वारा अस्तित्वमा छन्। तिमीहरूको हृदयमा कहिल्यै गुनासो पैदा नहोस्, नत्र परमेश्‍वरले आफ्‍नो अनुग्रह रोक्‍नुहुनेछ। जब-जब रोग-बिमार आइपर्छन्, यो परमेश्‍वरको प्रेम हो, र तीभित्र अवश्य नै उहाँका दयालु अभिप्रायहरू लुकेका हुन्छन्। तेरो शरीर अलिकति कष्टबाट भएर जानुपर्ने हुनसक्‍ने भए तापनि, शैतानका कुनै विचारहरू मनमा नराख्। रोग-बिमारको बीचमा परमेश्‍वरको प्रशंसा गर् र तेरो प्रशंसाको क्रममा परमेश्‍वरसँग आनन्द गर्। बिमारीपनको बीचमा निराश नबन्, बारम्‍बार खोजी गर् अनि हरेस नखा, र परमेश्‍वरले तँलाई उहाँको ज्योति दिनुहुनेछ। अय्यूबको विश्‍वास कस्तो थियो? सर्वशक्तिमान्‌ परमेश्‍वर महाशक्तिशाली वैद्य हुनुहुन्छ! रोग-बिमारमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा जिउनु भनेको निको हुनु हो। जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, तबसम्‍म परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन।

हामीभित्रै ख्रीष्टको पुनरुत्थान भएको जीवन छ। निस्सन्देह, हामीमा परमेश्‍वरको उपस्थितिमा विश्‍वासको कमी हुन्छ: परमेश्‍वरले हामीभित्र साँचो विश्‍वास राख्नुहुन्छ। परमेश्‍वरको वचन साँच्चै मीठो छ! परमेश्‍वरको वचन शक्तिशाली औषधी हो! यसले दियाबलसहरू र शैतानलाई लज्जित बनाउँछ! परमेश्‍वरको वचन बुझेमा हामीलाई साथ मिल्छ। उहाँको वचनले हाम्रो हृदयलाई मुक्ति दिन द्रुत गतिमा कार्य गर्छ! यसले सबै थोकको सन्देह मेटाउँछ र सबै थोकलाई शान्ति दिन्छ। विश्‍वास भनेको एउटै मुढाको पुलजस्तो हुन्छ: दयनीय रूपले जीवनमा अल्झिरहेका मानिसहरूलाई त्यो पार गर्न कठिनाइ हुनेछ, तर आफूलाई बलिदान दिन तयार रहेकाहरूले नडगमगाइ र निष्फिक्रीसित त्यसलाई पार गर्न सक्छन्। यदि मानिसले आफ्नो मनमा डरपोक र भयका विचारहरू राख्छ भने शैतानले उनीहरूलाई मूर्ख बनाएको हुन्छ, हामी विश्‍वासको पुल पार गरी परमेश्‍वरमा प्रवेश गरौंला भनी त्यो डराएको हुन्छ। शैतानले हामीकहाँ त्यसका विचारहरू पठाउने हरसम्भव कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरले हामीलाई उहाँको ज्योतिले उज्यालो पारून् भनी हरक्षण उहाँसँग प्रार्थना गर्नुपर्छ, हामीभित्रबाट शैतानको विष निकाल्नको लागि हामी हरक्षण परमेश्‍वरमा निर्भर हुनुपर्छ, हाम्रो आत्माभित्र हामीले परमेश्‍वरको नजिक कसरी आउने भनी हामीले हरपल अभ्यास गर्नुपर्छ, र हामीले परमेश्‍वरलाई हाम्रो सम्पूर्ण अस्तित्वमाथि प्रभुत्व कायम गर्न दिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३७५

जब मानिसहरूलाई आफूमाथि आइपरेका परिस्थितिहरूको बारेमा अन्तर्दृष्टि हुँदैन, र के गर्ने भन्‍ने थाहा हुँदैन, तब तिनीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिनीहरूले सर्वप्रथम प्रार्थना गर्नुपर्छ; सुरुमा प्रार्थना नै आउँछ। प्रार्थना गर्नु भनेको के हो? यसको अर्थ तँ भक्त छस्, तँसँग परमेश्‍वरको केही डर मान्‍ने हृदय छ, तँलाई तैँले परमेश्‍वरको खोजी गर्नुपर्छ भन्‍ने थाहा छ, र यसले तैँले परमेश्‍वरलाई नै पहिलो स्थानमा राख्छस् भन्‍ने प्रमाणित गर्छ। जब तेरो हृदयमा परमेश्‍वर हुनुहुन्छ, जब तेरो हृदयमा परमेश्‍वरको निम्ति स्थान हुन्छ, र तैँले परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्, तब तँ भक्त इसाई हुन्छस्। कैयौँ पाका विश्‍वासीहरू यस्ता हुन्छन् जो हरेक दिन उही समय र स्थानमा घुँडा टेकेर एकदुई घण्टासम्‍म प्रार्थना गर्छन्। तर यतिका वर्षदेखि यसरी घुँडा टेकेर पनि तिनीहरूको पापका समस्याहरू खासै समाधान भएका हुँदैनन्। त्यस्तो प्रार्थना, त्यस्तो धार्मिक विधिको कुनै अर्थ हुन्छ कि हुँदैन, त्यो कुरालाई हामी एकैछिन पन्छाऔँ। कम्तीमा पनि, यी पाका ब्रदर-सिस्टरहरू केही भक्त नै हुन्छन्; यस हिसाबमा, तिनीहरू जवानहरूभन्दा निकै असल हुन्छन्। यदि तँ परमेश्‍वरको अघि जिउँछस् र परमेश्‍वरको कामको अनुभव गर्छस् भने, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा प्रार्थना हो। प्रार्थना गर्नुको अर्थ बारम्‍बार दोहोर्‍याइने केही शब्‍दहरूलाई प्रफुल्‍लित भई लयमा गाउनु भन्‍ने हुँदैन—यसले समस्या समाधान गर्दैन। तैँले हृदयदेखि प्रार्थना गर्ने अभ्यास गर्नुपर्छ। आठ-दशपटक यसो गरिसकेपछि पनि तैँले केही प्राप्त नगर्न सक्छस्, तर निरूत्साहित नबन्, बरु प्रयासलाई जारी राख्। जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, सबभन्दा पहिले प्रार्थना गर्, परमेश्‍वरलाई भन्, त्यो कुरालाई परमेश्‍वरको हातमा सुम्पी, परमेश्‍वरको सहयोग ली, परमेश्‍वरको अगुवाइ र मार्गदर्शन पछ्या; यसले तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, र तैँले परमेश्‍वरलाई पहिलो स्थानमा राख्छस् भन्‍ने प्रमाणित गर्छ। जब तँमाथि कुनै कुरा आइपर्छ वा तैँले केही कठिनाइ सामना गर्छस् र तँ नकारात्मक बन्छस्, अनि रिसाउँछस्, तब यो तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तैँले परमेश्‍वरको डर मान्दैनस् भन्‍ने कुराको प्रकटीकरण हो। आफ्‍नो दैनिक जीवनमा, तैँले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, तँ परमेश्‍वरको अघि आउनैपर्छ; तैँले गर्नुपर्ने पहिलो कुरा प्रार्थनामा परमेश्‍वरसामु घुँडा टेक्‍नु हो, यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो। प्रार्थना गर्नुको अर्थ तेरो हृदयमा परमेश्‍वरको निम्ति ठाउँ छ भन्‍ने हो। कठिनाइमा हुँदा जब तैँले परमेश्‍वरलाई हेर्छस् र सत्यता खोजी गर्न परमेश्‍वरलाई प्रार्थना गर्छस्, तब यसले तेरो हृदयमा परमेश्‍वरको निम्ति केही डर छ भन्‍ने देखाउँछ; यदि परमेश्‍वर तेरो हृदयमा नहुनुभएको भए तैँले त्यसो गर्ने थिइनस्। कतिपय मानिसहरू यसो भन्छन्, “मैले परमेश्‍वरलाई प्रार्थना गरेँ तर उहाँले मलाई अन्तर्दृष्टि दिनुभएन!” तैँले त्यसो भन्‍न मिल्दैन। तैँले सुरुमा तेरो प्रार्थनाको मनसाय सही छ कि छैन भनेर हेर्नुपर्छ; यदि तैँले साँच्‍चै नै सत्यताको खोजी र परमेश्‍वरसँग बारम्‍बार प्रार्थना गर्छस् भने, परमेश्‍वरले निश्‍चित मामलामा तँलाई अन्तर्दृष्टि र बुझाइ प्रदान गर्नुहुनेछ; मामला जे भए पनि, परमेश्‍वरले तँलाई कुरा बुझाउनुहुनेछ। यदि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएन भने, तैँले आफै यो कुरा बुझ्‍नेछैनस्; तँ अन्तर्ज्ञानी भए पनि नभए पनि, वा तेरो क्षमता जस्तोसुकै भए पनि, कतिपय कुराहरू मानिसको सोचभन्दा बाहिर हुन्छन्। जब तैँले कुनै कुरा बुझ्छस्, के त्यो तेरो आफ्‍नै मस्तिष्कबाट आएको हुन्छ? जब पवित्र आत्‍माको काम र परमेश्‍वरका अभिप्रायहरूको कुरा आउँछ, यदि तँलाई पवित्र आत्‍माले अन्तर्दृष्टि दिनुभएन भने, तैँले जोसुकैलाई सोधे पनि तिनीहरूलाई थाहा हुँदैन; परमेश्‍वर स्‍वयम्‌ले यसको अर्थ बताउनुभएपछि मात्रै तँलाई थाहा हुन्छ। त्यसकारण, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा प्रार्थना हो। जब तैँले प्रार्थना गर्छस्, तब तैँले आफ्‍ना विचार, दृष्टिकोण र मनोवृत्ति परमेश्‍वरको अघि व्यक्त गर्नुपर्छ, र आज्ञापालनको मानसिकतासाथ परमेश्‍वरसित सत्यता खोजी गर्नुपर्छ; तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। झारा टार्ने काम गरेर कुनै प्रभाव हासिल हुँदैन, र तैँले पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि दिनुभएन भनेर गुनासो गर्नु हुँदैन। मैले देखेको छु, परमेश्‍वरमाथिको विश्‍वासमा कतिपय मानिसहरूले धार्मिक विधि पालना गर्छन् र धार्मिक संस्कार पूरा गरिरहेका हुन्छन्; तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै स्थान हुँदैन, तिनीहरूले पवित्र आत्‍माको कार्यलाई समेत इन्कार गर्छन्, अनि तिनीहरूले प्रार्थना पनि गर्दैनन्, परमेश्‍वरका वचनहरू पनि पढ्दैनन्, केवल सेवामा गइरहन्छन्, त्योभन्दा बढी केही गर्दैनन्। के यो परमेश्‍वरमाथिको विश्‍वास हो र? तिनीहरूले विश्‍वास गरे पनि तिनीहरूको विश्‍वासबाट परमेश्‍वर हराइसक्‍नुभएको हुन्छ, तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍न, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न र परमेश्‍वरका वचनहरू पढ्न इच्‍छा गर्न छोडेका हुन्छन्। यसरी, के तिनीहरू अविश्‍वासी बनेका हुँदैनन् र? विशेष गरी, कतिपय अगुवा र सेवकहरूले प्रायजसो साधारण मामलाका काम गर्छन्। तिनीहरूले कहिल्यै जीवनमा प्रवेशमा ध्यान दिँदैनन्, बरु यी साधारण मामलाका कामलाई आफ्‍नो कर्तव्यका काम मान्छन्; यसरी, तिनीहरू प्रमुख कर्मचारीहरूभन्दा बढी केही बनेका हुँदैनन्, र तिनीहरूले अगुवा र सेवकहरूले गर्नुपर्ने कुनै पनि काम गर्दैनन्। फलस्वरूप, परमेश्‍वरलाई विश्‍वास गरेको बीस-तीस वर्षपछि पनि, तिनीहरूसँग कुनै जीवन अनुभव हुँदैन, परमेश्‍वरको बारेमा साँचो ज्ञान हुँदैन, र धर्मसिद्धान्तका केही शब्‍दहरू सुगारटाइ गर्न मात्र सक्छन्। यसरी, के तिनीहरू झूटा अगुवा बनेका हुँदैनन् र? किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास त गरेका हुन्छन्, तर तिनीहरूले आफ्‍नो उचित कर्तव्य पूरा गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्। धर्मसिद्धान्तका शब्दहरूको बुझाइमा मात्रै भर परेर कुनै कुरा पनि समाधान हुँदैन। जाँच, विपद्‌ वा रोगबिमारमा पर्दा मानिसहरूले परमेश्‍वरको बारेमा गुनासो गर्नु, तिनीहरूमा आफ्‍नो बारेमा कुनै साँचो ज्ञान नहुनु, तिनीहरू अनुभव र गवाहीरहित हुनु—यी सबले के देखाउँछन् भने, परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षमा तिनीहरूले सत्यता खोजी गरेका छैनन्, तिनीहरू सतही कुरामा मात्रै व्यस्त भएका छन्, जसले गर्दा तिनीहरूले आफूले आफैलाई गुमाएका हुन्छन्। मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरू पतन नहुने, दुष्कर्म नगर्ने, र निष्कासित नहुने सुनिश्‍चित गर्न चाहन्छन् भने कम्तीमा पनि तिनीहरूले केही सत्यताको बुझाइ हासिल गरेका हुनुपर्छ। कम्तीमा पनि तिनीहरूमा यी कुरा हुनुपर्छ। कतिपय मानिसहरू प्रवचन सुन्दा उदासीन रहन्छन्, र परमेश्‍वरका वचनहरू मनन गर्दैनन्, आफूमाथि जेसुकै आइपरे पनि सत्यता खोजी गर्दैनन्, धर्मसिद्धान्तका शब्‍दहरू बुझ्‍नमै सन्तुष्ट हुन्छन्, र आफूले सत्यता प्राप्त छु भन्‍ने ठान्छन्—यसले गर्दा, जब तिनीहरूको जाँच हुन्छ तब तिनीहरूमा कुनै ज्ञान हुँदैन, तिनीहरूको हृदय असन्तुष्टि र गुनासोले भरिएको हुन्छ, अनि तिनीहरूलाई यो कुरा पोख्‍न त मन लाग्छ तर बोल्‍न आँटै आउँदैन। यस्ता मानिसहरू अत्यन्तै दयनीय हुन्छन्, होइन र? कतिपय मानिसहरू आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सधैँ लापरवाह र झाराटारुवा बन्छन्, तिनीहरू आफूलाई काटछाँट र निराकरण गरिँदा आफ्‍नो बारेमा मनन गर्ने वा आफूलाई चिन्‍ने प्रयास गर्दैनन्, तिनीहरूले सधैँ मनमा तर्कवितर्क गरिरहेका हुन्छन्—जसले गर्दा तिनीहरूले हरतरिकाले आफैलाई अपमानित गरिरहेका हुन्छन्, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्, र तिनीहरूले कहिल्यै पनि आफूलाई चिन्‍न सक्दैनन्। र यस्तो अवस्थामा, तिनीहरूले एकदुई वटा धर्मसिद्धान्तलाई बुझ्‍नुको के अर्थ हुन्छ र? त्यसको कुनै अर्थ हुँदैन। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए पनि, यदि तिनीहरूले धर्मसिद्धान्तलाई मात्रै बुझेका छन् अनि शब्‍द र वाक्यहरू सुगारटाइ गर्न मात्र सक्छन् भने त्यसको कुनै अर्थ हुँदैन; तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन्, बरु बाटो बिराएका हुन्छन्। त्यसकारण, जब तँमाथि कुनै कुरा आइपर्छ र तैँले परमेश्‍वरका अभिप्रायहरूको खोजी गर्दै परमेश्‍वरलाई प्रार्थना गर्छस्, तब यदि समस्या समाधान गर्नुछ भने मुख्य कुरा सत्यताको बुझाइ हासिल गर्नु हो; सही मार्ग यही हो, र यसरी अभ्यास गर्ने कार्यलाई तैँले कहिल्यै छोड्नु हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३७६

परमेश्‍वरतिर हेर्नु र सबै कुराहरूमा उहाँमाथि भर पर्नु नै सबैभन्दा बुद्धिमानी कुरा हो। सर्वसाधारण मानिसहरूले यसलाई पहिचान गर्दैनन्। सबै मानिसहरूले आफूले जति धेरै भेलाहरूमा सहभागिता जनायो, जति धेरै प्रवचनहरू सुन्यो, ब्रदर-सिस्टरहरूसँग जति धेरै सङ्गति गर्‍यो, जति धेरै त्याग गर्‍यो, जति धेरै कष्ट भोग्यो, र जति धेरै मूल्य चुकायो, तिनीहरूले त्यति नै परमेश्‍वरको अनुमोदन र मुक्ति प्राप्त गर्छन् भन्‍ने सोच्छन्। यसरी अभ्यास गर्नु नै सबैभन्‍दा बुद्धिमानी कुरा हो भन्‍ने तिनीहरूले सोच्छन्, तर तिनीहरूले सबैभन्‍दा ठूलो कुरा अर्थात् परमेश्‍वरको बाटो हेर्नु र उहाँको भरोसा गर्नुलाई बेवास्ता गर्छन्। तिनीहरूले सानातिना मानवीय चलाकीलाई बुद्धिको रूपमा हेर्छन्, र मानिसहरूले गर्ने कामको सबैभन्दा ठूलो असरलाई बेवास्ता गर्छन्। यो एउटा भूल हो। व्यक्तिले जति धेरै सत्यतालाई बुझे पनि, व्यक्तिले जति नै धेरै कर्तव्य पूरा गरेको भए पनि, ती कर्तव्यहरू पूरा गर्ने क्रममा उसले जति धेरै अनुभव प्राप्त गरेको भए पनि, व्यक्तिको कद जति ठूलो वा सानो भए पनि, वा व्यक्ति जस्तोसुकै वातावरणमा भए पनि, व्यक्तिले परमेश्‍वरतर्फ नहेरी र उसले गर्ने सबै कुरामा उहाँमा भरोसा नगरी केही पनि गर्न सक्दैन। यो सबैभन्दा बुद्धिमानी कुरा हो। म किन यसलाई सबैभन्दा बुद्धिमानी कुरा भन्छु त? यदि कसैले धेरै सत्यता बुझेको छ भने पनि, यदि उसले परमेश्‍वरमा भरोसा गर्दैन भने के त्यस कामद्वारा केही हुनेछ र? कतिपय मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, र तिनीहरूले धेरै परीक्षा अनुभव गरेका हुन्छन्, तिनीहरूमा केही व्यावहारिक अनुभव हुन्छ, तिनीहरूले केही सत्यता बुझेका हुन्छन्, र तिनीहरूसँग सत्यताका केही व्यावहारिक ज्ञान हुन्छ, तर तिनीहरूले परमेश्‍वरमा भरोसा राख्‍न जान्दैनन्, न त तिनीहरूले कसरी उहाँतिर हेर्ने र उहाँमा कसरी भरोसा राख्ने भन्‍ने नै जानेका हुन्छन्। के त्यस्ता मानिसहरूसँग बुद्धि हुन्छ? तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्, र आफैलाई बुद्धिमान् ठान्नेहरू हुन्; तिनीहरू परमेश्‍वरसित डराउँदैनन् र दुष्टतादेखि टाढा बस्दैनन्। कतिपय मानिसहरू भन्छन्, “मैले धेरै सत्यताहरू बुझेको छु र सत्यता वास्तविकता धारण गरेको छु। सिद्धान्तअनुसार काम गरे भइहाल्छ। म परमेश्‍वरप्रति बफादार छु, र उहाँको नजिक कसरी जानुपर्छ सो म जान्दछु। मेरो जीवनमा परिस्थितिहरू आइपर्दा मैले सत्यताको अभ्यास गर्नु नै पर्याप्त हुँदैन र? परमेश्‍वरलाई प्रार्थना गर्नु वा परमेश्‍वरको बाटो हेर्नु जरुरी छैन।” सत्यता अभ्यास गर्नु सही कुरा हो, तर त्यस्ता समय र परिस्थितिहरू धेरै हुन्छन् जहाँ मानिसहरूले कुन सत्यता वा सत्यताका के-कस्ता सिद्धान्तहरूको कुरा आउँदै छ भनी जान्दैनन्। व्यावहारिक अनुभव भएकाहरू सबैले यो जान्दछन्। उदाहरणको लागि, जब तैँले कुनै समस्याको सामना गर्छस्, त्यस बेला तँलाई त्यो समस्याले कुन सत्यतालाई छुन्छ वा सान्दर्भिक सत्यतालाई कसरी अभ्यास वा प्रयोग गर्नुपर्छ भन्‍ने थाहा नहुन सक्छ। यस्तो बेला तैँले के गर्नुपर्छ? तँसित व्यावहारिक अनुभव जति धेरै भए पनि, तैँले सबै परिस्थितिहरूमा सत्यताका सिद्धान्तहरू बुझ्न सक्दैनस्। तैंले जति धेरै समय परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तैंले जति धेरै कुराको अनुभव गरेको भए पनि, तैंले काटछाँट, निराकरण वा अनुशासनको जति धेरै अनुभव गरेको भए पनि, र तैँले सत्यतालाई बुझे पनि, के तैँले तँ नै सत्यता होस् भनेर भन्‍ने आँट गर्छस्? कतिपय मानिसहरू भन्छन्, “मलाई वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तकमा भएका प्रसिद्ध वाणीहरू र खण्डहरू सबै कण्ठ छ; मैले परमेश्‍वरमा भरोसा गर्नु वा उहाँको बाटो हेर्नु आवश्यक छैन। जब समय आउँछ, म परमेश्‍वरका यी वचनहरूमा भर परेर नै सफल हुनेछु।” तैंले कण्ठ गरेका वचनहरू स्थिर छन्, तापनि तैंले सामना गर्ने वातावरणहरू साथै तेरा अवस्थाहरू गतिशील छन्। तैँले धर्मसिद्धान्तका शब्‍दहरू बोल्‍न सक्छस्, तर तेरो जीवनमा कुनै कुरा आइपर्दा तैँले त्यसबाट केही गर्न सक्दैनस्, जसले तैँले सत्यता बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। धर्मसिद्धान्तका शब्दहरू सुनाउन तँ जति नै सिपालु भए पनि, तैँले सत्यता बुझेको छस् भन्‍ने हुँदैन, तैँले सत्यताको अभ्यास गर्न सक्‍नु त परको कुरा हो। यसैले यहाँ सिक्नुपर्ने एउटा महत्त्वपूर्ण पाठ छ। अनि यो पाठ के हो त? त्यो यही हो कि मानिसहरूले सबै कुरामा परमेश्‍वरतर्फ फर्कर्नुपर्छ, र त्यसो गरेर तिनीहरूले परमेश्‍वरमाथिको निर्भरता हासिल गर्न सक्छन्। परमेश्‍वरको इच्‍छामा भरोसा गरेर मात्रै तिनीहरूले पछ्याउने मार्ग र पवित्र आत्‍माको काम प्राप्त गर्नेछन्। नत्र, तैँले केही कुरा सही रूपमा र सत्यताको उल्लङ्घन गरी गर्न सक्छस्, तर यदि तँ परमेश्‍वरमा भर पर्दैनस् भने, तेरा कार्यहरू केवल मानिसका असल कार्य मात्र हुन्छन् र ती कार्यहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍दैनन्। मानिसहरूमा सत्यको सतही बुझाइ हुने भएकोले, विभिन्न परिस्थितिहरूको सामना गर्दा तिनीहरूले नियमहरू पालना गरिरहने र उही सत्यता प्रयोग गर्दै दृढतापूर्वक धर्मसिद्धान्तका शब्दहरूमै अल्झिरहने सम्‍भावना हुन्छ। तिनीहरूले सत्यताका सिद्धान्तहरूसँग आम रूपमा मिल्‍ने गरी धेरै मामिलाहरू पूरा गर्न सक्छन्, तर त्यसमा परमेश्‍वरको मार्गनिर्देशन देख्न सकिँदैन, न त पवित्र आत्माको काम नै देख्न सकिन्छ भन्‍ने कुराको सम्‍भावना हुन्छ। यहाँ एउटा गम्भीर समस्या छ, त्यो के हो भने, मानिसहरूले आफ्नो अनुभवमा र तिनीहरूले बुझेका नियमहरूमा र कुनै-कुनै मानवीय कल्पनाहरूमा भर परेर धेरै कुराहरू गर्छन्। परमेश्‍वरको निम्ति साँचो प्रार्थना हासिल गर्नु र तिनीहरूले गर्ने सबै कुरामा साँचो रूपमा परमेश्‍वरको बाटो हेर्नु र उहाँमा भरोसा गर्नु कठिन हुन्छ। व्यक्तिले परमेश्‍वरको इच्‍छा बुझे पनि, परमेश्‍वरको अगुवाइ र सत्यताका सिद्धान्तहरूअनुसार काम गर्दा प्राप्त हुने प्रभाव हासिल गर्नु गाह्रो हुन्छ। यसैकारण म भन्छु कि सबैभन्दा बुद्धिमानी कुरा भनेको परमेश्‍वरतिर हेर्नु र सबै कुरामा उहाँमाथि भर पर्नु हो।

मानिसहरूले सबै कुरामा परमेश्‍वरतिर हेर्ने र उहाँमा निर्भर हुने अभ्यास कसरी गर्न सक्छन्? कतिपय मानिसहरू भन्छन्, “म जवान छु, मेरो कद सानो छ, र मैले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै समय भएको छैन। कुनै कुरा आइपर्दा परमेश्‍वरलाई हेर्ने र उहाँमा भरोसा गर्ने अभ्यास कसरी गर्ने मलाई थाहा छैन।” के यो समस्या हो? परमेश्‍वरमा विश्‍वास गर्दा सामना गर्नुपर्ने धेरै कठिनाइहरू छन्, र तैँले धेरै संकष्ट, परीक्षा, र पीडाहरू सामना गर्नुपर्ने हुन्छ। यी सबै कुराको लागि कठिनाइपूर्ण समयबाट पार पाउन परमेश्‍वरको बाटो हेर्नुपर्छ र उहाँमा भरोसा गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको बाटो हेर्ने र उहाँमा भरोसा गर्ने अभ्यास गर्न सक्दैनस् भने, तैँले कठिनाइहरूबाट पार पाउन सक्‍नेछैनस्, र तैँले परमेश्‍वरलाई पछ्याउन सक्‍नेछैनस्। परमेश्‍वरको बाटो हेर्नु अनि उहाँमा भरोसा गर्नु खोक्रो सिद्धान्त होइन, न त यो परमेश्‍वरमा विश्‍वास गर्ने मन्त्र नै हो। बरु, यो त महत्त्वपूर्ण सत्यता हो, परमेश्‍वरमा विश्‍वास गर्न र पछ्याउनको लागि तँमा हुनैपर्ने सत्यता हो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको बाटो हेर्ने र उहाँमा भरोसा गर्ने कुरा ठूलो घटना घट्दा मात्र लागू हुन्छ। उदाहरणको लागि, संकष्ट, परीक्षा, पक्राउ, र सतावट सामना गर्दा, वा कर्तव्यमा कठिनाइहरू झेल्दा, वा काटछाँट र निराकरण गरिँदा मात्रै परमेश्‍वरको बाटो हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। व्यक्तिगत जीवनका सानातिना कुराहरूका हकमा परमेश्‍वरको बाटो हेर्नु र परमेश्‍वरमा भरोसा गर्नु जरुरी हुँदैन, किनभने परमेश्‍वरले ती कुरालाई वास्ता गर्नुहुन्‍न।” के यो अभिव्यक्ति सही छ? अवश्य छैन। यहाँ विचलन छ। ठूलाठूला मामलाहरूमा परमेश्‍वरको बाटो हेर्नु अत्यावश्यक हुन्छ, तर के तैँले सिद्धान्तहरूविना जीवनका नगन्य र सानातिना कुराहरूलाई सामना गर्न सक्छस्? लुगा लगाउने र खाना खानेजस्ता मामलाहरूमा, के तैँले सिद्धान्तहरूविना काम गर्न सक्छस्? अवश्य सक्दैनस्। के मानिसहरू र मामलाहरूलाई सामना गर्दा योविना काम गर्न सक्छस्? अवश्य सक्दैनस्। दैनिक जीवन र नगन्य मामलाहरूमा समेत, मानव स्वरूपमा जिउनको लागि तँमा कम्तीमा पनि सिद्धान्तहरू हुनुपर्छ। सिद्धान्तहरू संलग्‍न हुने समस्याहरू सत्यतासँग सम्‍बन्धित समस्याहरू हुन्। के मानिसहरूले ती समस्याहरू आफै समाधान गर्न सक्छन्? अवश्‍य सक्दैनन्। त्यसकारण, तैँले परमेश्‍वरको बाटो हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। तैँले परमेश्‍वरको अन्तर्दृष्टि पाएपछि र सत्यता बुझेपछि मात्र यी सानातिना समस्याहरू समाधान गर्न सक्छस्। यदि तिमीहरूले परमेश्‍वरको बाटो हेरेनौ र परमेश्‍वरमा भरोसा गरेनौ भने, के तिमीहरूलाई सिद्धान्तहरूसँग सम्‍बन्धित यी समस्याहरू समाधान गर्न सकिन्छ जस्तो लाग्छ? सहजै त अवश्य सकिँदैन। के भन्‍न सकिन्छ भने मानिसहरूले स्पष्‍ट रूपमा देख्‍न नसक्‍ने र मानिसहरूले सत्यताको खोजी गर्नुपर्ने सबै कुरामा तिनीहरूले परमेश्‍वरको बाटो हेर्नु र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। सत्यताद्वारा समाधान गर्नुपर्ने कुनै पनि समस्या जति ठूलो होस् या सानो, त्यसको लागि परमेश्‍वरको बाटो हेर्नुपर्छ र परमेश्‍वरमा भरोसा गर्नुपर्छ। यो अत्यावश्यक छ। मानिसहरूले सत्यता बुझे पनि र आफै समस्याहरू समाधान गर्न सके पनि, यी बुझाइ र समाधानहरू सीमित र सतही मात्र हुन्छन्। यदि मानिसहरूले परमेश्‍वरको बाटो हेर्दैनन् र परमेश्‍वरमा भरोसा गर्दैनन् भने, तिनीहरूको प्रवेश कहिल्यै पनि गहन हुन सक्दैन। उदाहरणको लागि, यदि तँ आज बिरामी छस्, र यसले तेरो कर्तव्यपालनमा असर गर्छ भने, तैँले यस विषयमा प्रार्थना गर्दै यसो भन्‍नुपर्छ, “हे परमेश्‍वर, आज मलाई सन्चो छैन, मलाई खान मन हुँदैन, र यसले मेरो कर्तव्यपालनमा असर गरिरहेको छ। मैले आफूलाई जाँच्‍नुपर्छ। म बिरामी हुनुको वास्तविक कारण के हो? के म आफ्‍नो कर्तव्यमा विश्‍वासयोग्य नभएकोले परमेश्‍वरले मलाई अनुशासनमा राखिरहनुभएको हो? हे परमेश्‍वर, बिन्ती छ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” तैँले यसरी पुकार्नैपर्छ। परमेश्‍वरको बाटो हेर्नु भनेको यही हो। तैपनि, जब तैँले परमेश्‍वरको बाटो हेर्छस्, तब तैँले औपचारिकता र नियमहरू मात्रै पछ्याउने गर्नु हुँदैन। समस्याहरू समाधान गर्न तैँले सत्यता खोजी गर्दैनस् भने, तैँले कामकुरामा ढिलाइ गराउनेछस्। परमेश्‍वरलाई प्रार्थना गरेपछि र परमेश्‍वरको बाटो हेरेपछि पनि तैँले बिनाकुनै ढिलाइ आफूले निर्वाह गर्नुपर्ने कर्तव्य पूरा गर्दै आफ्‍नो जीवन जसरी जिउनुपर्ने हो त्यसरी जिउनुपर्छ। यदि तँ बिरामी छस् भने, तैँले डाक्टरलाई भेट्नुपर्छ, र यो उचित कुरा हो। यसको साथै, तैँले प्रार्थना गर्नुपर्छ, आफ्‍नो बारेमा मनन गर्नुपर्छ, र समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी अभ्यास गर्नु मात्रै पूर्ण रूपमा उचित हुन्छ। कतिपय कुराहरूका हकमा, यदि मानिसहरूलाई ती काम उचित रूपमा कसरी गर्ने भन्‍ने थाहा छ भने, तिनीहरूले ती काम गर्नुपर्छ। मानिसहरूले यसरी नै सहकार्य गर्नुपर्छ। तैपनि, यी मामलाहरूमा चाहेको प्रभाव र उद्देश्य पूर्ण रूपमा हासिल गर्न सकिन्छ कि सकिँदैन भन्‍ने कुरा परमेश्‍वरको बाटो हेर्ने र उहाँमा भरोसा गर्ने कार्यमा निर्भर हुन्छ। मानिसहरूले स्पष्ट रूपमा देख्‍न नसक्‍ने र तिनीहरू आफैले सम्‍हाल्‍न नसक्‍ने समस्याहरूका हकमा, तिनीहरूले तिनलाई समाधान गर्न अझै बढी परमेश्‍वरको बाटो हेर्नुपर्छ र सत्यताको खोजी गर्नुपर्छ। यस्तो गर्नसक्‍ने क्षमता नै सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुरा हो। परमेश्‍वरको बाटो हेर्दा सिक्‍नुपर्ने पाठहरू धेरै छन्। परमेश्‍वरको बाटो हेर्ने प्रक्रियामा, तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्, र तँसित मार्ग हुनेछ, वा यदि परमेश्‍वरको वचन तँकहाँ आयो भने, कसरी सहकार्य गर्ने भन्‍ने तँलाई थाहा हुनेछ, वा सायद परमेश्‍वरले तँलाई पाठहरू सिकाउन केही परिस्थितिहरू बन्दोबस्त गर्नुहुनेछ, अनि यी कुरामा परमेश्‍वरका असल अभिप्रायहरू हुन्छन्। परमेश्‍वरको बाटो हेर्ने प्रक्रियामा, तैँले परमेश्‍वरको मार्गदर्शन र अगुवाइ देख्‍नेछस्, र यी कुराहरूले तँलाई धेरै पाठहरू सिक्‍न र परमेश्‍वरबारे अझै राम्ररी बुझ्‍न सहयोग गर्नेछन्। परमेश्‍वरको बाटो हेरेर हासिल गरिने प्रभाव यही हो। त्यसकारण, परमेश्‍वरको बाटो हेर्नु भनेको परमेश्‍वरलाई पछ्याउने मानिसहरूले प्राय सिक्‍नुपर्ने पाठ हो, र यो तिनीहरूले आफ्‍नो जीवनकालमा अनुभव गरेर कहिल्यै नसकिने कुरा हो। धेरै मानिसहरूको अनुभव अत्यन्तै थोरै हुन्छ र तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्‍न सक्दैनन्, त्यसकारण तिनीहरू सोच्छन्, “म आफैले गर्न सक्‍ने सानातिना कुराहरू धेरै छन् र ती काममा मैले परमेश्‍वरको बाटो हेर्नु पर्दैन।” यो गलत कुरा हो। कतिपय सानातिना कुराहरूले ठूला कुराहरू निम्त्याउँछन्, र कतिपय सानातिना कुरामा परमेश्‍वरको इच्‍छा लुकेको हुन्छ। धेरै मानिसहरूले सानातिना कुराहरू बेवास्ता गर्छन्, र परिणामस्वरूप, यिनै सानातिना कुराहरूको कारण तिनीहरूलाई ठूलो बाधा पुगेको हुन्छ। सानोठूलो दुवै कुरामा साँचो रूपमा परमेश्‍वरको डर मान्‍ने मानिसहरूले परमेश्‍वरको बाटो हेर्छन्, परमेश्‍वरलाई प्रार्थना गर्छन्, सबै कुरा परमेश्‍वरलाई सुम्पन्छन्, त्यसपछि तिनीहरूलाई परमेश्‍वरले कसरी अगुवाइ र मार्गदर्शन गर्नुहुन्छ त्यो हेर्छन्। यस्तो अनुभव प्राप्त गरेपछि, तैँले सबै कुरामा परमेश्‍वरको बाटो हेर्न सक्छस्, र तैँले यसको जति धेरै अनुभव गर्छस्, तँलाई त्यति नै बढी सबै कुरामा परमेश्‍वरको बाटो हेर्नु अत्यन्तै व्यावहारिक हुन्छ भन्‍ने लाग्छ। कुनै मामलामा जब तैँले परमेश्‍वरको बाटो हेर्छस्, तब सायद परमेश्‍वरले तँलाई भावना, स्पष्ट अर्थ, अथवा स्पष्ट निर्देशनहरू नदिन सक्‍नुहुन्छ, तर उहाँले तँलाई यस मामलासँग एकदमै मिल्ने सान्दर्भिक विचार बुझ्‍न सहयोग गर्नुहुनेछ, अनि यसरी परमेश्‍वरले तँलाई फरक तरिकाले अगुवाइ गरिरहनुभएको र तँलाई मार्ग दिइरहनुभएको हुन्छ। यदि तैँले यो कुरा अनुभूति गर्न र बुझ्‍न सक्छस् भने, तँलाई फाइदा हुनेछ। तैँले तुरुन्तै केही पनि बुझ्‍न सक्दैनस् होला, तर तैँले परमेश्‍वरलाई निरन्तर प्रार्थना गरिरहनुपर्छ र उहाँको बाटो हेरिरहनुपर्छ। यसो गर्नु गलत होइन, र ढिलोचाँडो तैँले अन्तर्दृष्टि पाउनेछस्। यसरी अभ्यास गर्नु भनेको नियमहरूको पालना गर्नु होइन। बरु, यो त आत्माका खाँचोहरू पूरा गर्नु हो, र मानिसहरूले यसरी नै अभ्यास गर्नुपर्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्दा र उहाँको बाटो हेर्दा हरेकपटक नै अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त नगर्न पनि सक्छस्, तर मानिसहरूले यसरी अभ्यास गर्नैपर्छ, अनि यदि तिनीहरूले सत्यता बुझ्‍न चाहन्छन् भने, तिनीहरूले यसरी नै अभ्यास गर्नुपर्छ। यो जीवन र आत्माको सामान्य स्थिति हो, र यसरी मात्रै मानिसहरूले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सक्छन्, र त्यसरी तिनीहरूको हृदय परमेश्‍वरको नजिक हुन्छ। त्यसकारण के भन्‍न सकिन्छ भने परमेश्‍वरको बाटो हेर्नु भनेको मानिसहरूले हृदयमा परमेश्‍वरसँग गर्ने सामान्य अन्तरक्रिया हो। तैँले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सके पनि नसके पनि, तैँले सबै कुरामा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँको बाटो हेर्नुपर्छ। यो परमेश्‍वरको अघि जिउने अपरिहार्य तरिका पनि हो। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरलाई पछ्याउँछन्, तब तिनीहरूमा सधैँ परमेश्‍वरको बाटो हेर्ने मनस्थिति हुनुपर्छ। सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने मनस्थिति यही हो। कहिलेकहीँ, परमेश्‍वरलाई हेर्नुको अर्थ निश्‍चित शब्दहरूको प्रयोग गरी परमेश्‍वरलाई केही गर्न अनुरोध गर्नु, वा उहाँलाई निश्‍चित अगुवाइ वा सुरक्षाको लागि अनुरोध गर्नु भन्‍ने हुँदैन। बरु, यसको अर्थ के हुन्छ भने जब मानिसहरूले कुनै समस्याको सामना गर्छन्, तिनीहरूले उहाँलाई इमानदारिताका साथ पुकार्न सक्छन्। त्यसो भए, मानिसहरूले उहाँलाई पुकार्दा परमेश्‍वरले त्यहाँ के गरिरहनुभएको हुन्छ त? जब कसैको हृदय उत्तेजित हुन्छ र तिनीहरूमा यस्तो विचार आउँछ: “हे परमेश्‍वर, म यो एकलै गर्न सक्दिन, यो कसरी गर्ने मलाई थाहा छैन, र म कमजोर र नकारात्मक महसुस गर्छु…,” जब तिनीहरूमा यस्तो विचार पैदा हुन्छ, के परमेश्‍वरलाई यसको बारेमा थाहा हुँदैन र? जब मानिसहरूमा यस्तो विचारहरू पैदा हुन्छ, के तिनीहरूको हृदय इमानदार हुन्छ त? जब तिनीहरूले परमेश्‍वरलाई यसरी इमानदारिताका साथ पुकार्छन्, के परमेश्‍वर तिनीहरूलाई सहयोग गर्न ओर्लनुहुन्छ त? तिनीहरूले कुनै शब्‍द नबोलेको हुनसक्‍ने भए पनि, तिनीहरूले इमानदारिता देखाउँछन्, त्यसकारण तिनीहरूलाई सहायता गर्न परमेश्‍वर ओर्लनुहुन्छ। जब कसैले विशेष रूपमा कठिन समस्याको सामना गर्छ, जब तिनीहरूले शरण लिने कोही हुँदैन, र जब तिनीहरूले खास रूपमा विवश भएको महसुस गर्छन्, तिनीहरूले तिनीहरूको एउटै आशा परमेश्‍वरमा राख्छन्। तिनीहरूको प्रार्थना कस्तो हुन्छ? तिनीहरूको मनस्थिति कस्तो हुन्छ? के तिनीहरू इमानदार हुन्छन्? त्यो बेला कुनै अपमिश्रण भएको हुन्छ? अन्तिम आशा उहाँ मात्रै हुनुहुन्छ, अनि उहाँले तँलाई सहयोग गर्नुहुनेछ भनेर आशा गर्दै तैँले परमेश्‍वरमा भरोसा गरिस् भने मात्रै, तेरो हृदय इमानदार हुन्छ। तैँले त्यति धेरै कुरा नबताएको हुनसक्‍ने भए तापनि, तेरो हृदय पहिले नै उत्साहित भइसकेको हुन्छ। अर्थात्, तैँले तेरो इमानदार हृदय परमेश्‍वरलाई दिन्छस्, र परमेश्‍वरले तेरो कुरा सुन्‍नुहुन्छ। जब परमेश्‍वरले सुन्‍नुहुन्छ, उहाँले तेरा कठिनाइहरूलाई देख्‍नुहुनेछ, र उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तँलाई अगुवाइ गर्नुहुनेछ, र तँलाई सहयोग गर्नुहुनेछ। मानिसको हृदय कहिले सबैभन्दा इमानदार हुन्छ? उम्‍कने कुनै उपाय नहुँदा जब मानिसले परमेश्‍वरको बाटो हेर्छ तब यो सबैभन्दा बढी इमानदार हुन्छ। परमेश्‍वरको बाटो हेर्दा व्यक्तिमा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा इमानदार हृदय हो। तँ साँचो रूपमा परमेश्‍वरको खाँचो पर्ने स्थितिमा हुनुपर्छ। भन्‍नुको अर्थ, मानिसहरूको हृदय कम्तीमा पनि इमानदार हुनुपर्छ, झाराटारुवा हुनु हुँदैन; तिनीहरूले मुख मात्र चलाउने, हृदय नचलाउने गर्नु हुँदैन। यदि तँ परमेश्‍वरसँग लटरपटर गर्दै जसोतसो कुराकानी त गर्छस्, तर तेरो हृदयमा स्पर्श भएको छैन भने, तैँले “मैले आफ्ना योजनाहरू बनाइसकेको छु, र परमेश्‍वर, म तपाईंलाई जानकारी मात्रै दिँदै छु। तपाईं सहमत भए पनि नभए पनि म ती लागू गर्ने नै छु। म अल्याङटल्याङ मात्रै गरिरहेको छु” भनेर भनिरहेको हुन्छस् भने, यो समस्या हो। तैँले परमेश्‍वरलाई धोका दिइरहेको र उहाँसँग खेल खेलिरहेको हुन्छस्, र यो परमेश्‍वरप्रतिको अनादरको अभिव्यक्ति हो। यसपछि परमेश्‍वरले तँलाई कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्‍वरले तँलाई बेवास्ता गर्नुहुनेछ र पन्छाउनुहुनेछ, र तँ पूर्ण रूपमा अपमानित हुनेछस्। यदि तैँले सक्रिय रूपमा परमेश्‍वरको खोजी गर्दैनस् र सत्यता सम्बन्धमा प्रयास गर्दैनस् भने, तँलाई हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वास संसारका दुष्ट प्रचलनहरू चिन्‍ने कार्यबाट सुरु हुनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३७७

परमेश्‍वर स्वयमको जीवन नै सत्यता हो; यसले उहाँको स्वभाव, उहाँको सार, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबको प्रतिनिधित्व गर्छ: केही अनुभव र ज्ञान भएकोले यदि तँ आफूसँग सत्यता छ भनेर भन्छस् भने, के तैँले पवित्रता प्राप्त गरेको हुन्छस्? तैँले अझै किन भ्रष्टता प्रकट गर्छस्? किन तैँले फरकरक प्रकारका मानिसहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैनस्? तैँले किन परमेश्‍वरको गावही दिन सक्दैनस्? तैँले केही सत्यता प्राप्त गरे पनि, के तैँले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छस्? के तँ परमेश्‍वरको स्वभावमा जिउन सक्छस्? तँसँग सत्यताको निश्‍चित पक्षको बारेमा केही अनुभव र ज्ञान हुन सक्छ र तैँले आफ्नो वाणीमा केही ज्योति घुसाउन सक्छस होला, तर तैँले मानिसहरूलाई प्रदान गर्न सक्‍ने कुरा अत्यन्तै सीमित हुन्छ, र त्यो दीर्घकालीन रूपमा रहन सक्दैन। यस्तो किन हुन्छ भने तेरो बुझाइ र तैँले प्राप्त गरेको ज्योतिले सत्यताको सार र सत्यताको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। यसले सत्यताको एउटा वा सानो पक्षलाई मात्रै प्रतिनिधित्व गर्छ, यो मानवले हासिल गर्न सक्‍ने स्तर मात्रै हो, र यो अझै पनि सत्यताको सारबाट टाढै हुन्छ। यो थोरै ज्योति, अन्तर्दृष्टि, अनुभव र ज्ञानले कहिल्यै पनि सत्यताको स्थान लिन सक्दैन। सबै मानिसहरूले अलि उपयोगी ढङ्गले सत्यता अनुभव गरे पनि, र तिनीहरूका सबै अनुभव र ज्ञानलाई एकै ठाउँमा राखे पनि, त्यो यो सत्यताको एक हरफको सम्पूर्णता र सारको स्तरमा पुग्‍न सक्दैन। विगतमा भनिएजस्तै, “म यसलाई मानव संसारका लागि एउटा सूत्रको रूपमा जोड्छु: मानिसहरूका माझमा, मलाई प्रेम गर्ने कोही पनि छैन।” यो वाक्य सत्यता हो, जीवनको साँचो सार, सबैभन्दा गहन कुरा, अनि परमेश्‍वर स्वयम्‌को एक अभिव्यक्ति हो। तीन वर्षको अनुभवपछि, तैँले थोरै सतही बुझाइ प्राप्त गरेको हुन सक्छस्, र सातआठ वर्षपछि, तैँले अलिक बढी बुझाइ प्राप्त गरेको हुन सक्छस्, तर यो बुझाइ सत्यताको यो हरफको स्तरमा खडा हुन सक्दैन। कोही अर्कोले पनि दुई वर्षपछि थोरै बुझाइ वा दश वर्षपछि थप बुझाइ प्राप्त गर्न सक्छ, वा जीवनभरमा अझै धेरै बुझाइ प्राप्त गर्न सक्छ, तर तिमीहरू दुवैको समग्र बुझाइ पनि सत्यताको यो हरफको स्तरमा खडा हुन सक्दैन। तिमीहरू दुवैले जति धेरै अन्तर्ज्ञान, ज्योति, अनुभव, वा ज्ञान बटुले पनि, त्यो कुरा सत्यताको यो हरफको स्तरमा पुग्‍न सक्दैन। भन्‍नुको अर्थ, मानव जीवन सधैँ मानव जीवन नै हुन्छ, र तेरो ज्ञान सत्यता, परमेश्‍वरको इच्‍छा, वा परमेश्‍वरका मापदण्डहरूसँग जति मिले पनि, त्यसले सत्यताको स्थान लिन सक्दैन। मानिसहरूसँग सत्यता छ भन्‍नुको अर्थ मानिसहरूले साँचो रूपमा सत्यता बुझेका छन्, तिनीहरू परमेश्‍वरको वचनका केही वास्तविकताहरूमा जिउँछन्, तिनीहरूसँग परमेश्‍वरबारे केही वास्तविक ज्ञान छ, र तिनीहरूले परमेश्‍वरलाई उचाल्‍न र सन्तुष्ट पार्न सक्छन् भन्‍ने हुन्छ। तर मानिसहरूसँग पहिल्यैदेखि सत्यता छ भनेर भन्‍न सकिँदैन, किनभने सत्यता अत्यन्तै प्रगाढ हुन्छ। परमेश्‍वरको वचनको एउटा हरफलाई अनुभव गर्नसमेत जीवनभरिको समय लाग्‍न सक्छ, र धेरै जीवनकालको अनुभवपछि, वा हजारौँ वर्षपछि पनि, परमेश्‍वरको वचनको एउटा हरफलाई पूर्ण रूपमा अनुभव गर्न सकिँदैन। यो स्पष्ट छ कि सत्यतालाई बुझ्‍ने र परमेश्‍वरलाई चिन्‍ने प्रक्रिया वास्तवमै अनन्त हुन्छ, र मानिसहरूले जीवनकालभरिको अनुभवमा कति सत्यता बुझ्‍न सक्छन् भन्‍ने कुराको पनि सीमा हुन्छ। कतिपय मानिसहरूले परमेश्‍वरको वचनको पाठ्य तहको अर्थ बुझ्‍नासाथ तिनीहरूसँग सत्यता छ भनेर भन्छन्। के यो बकवास होइन र? ज्योति र ज्ञान दुवैको हकमा, गहनताको कुरा आउँछ। व्यक्तिले जीवनकालमा प्रवेश गर्न सक्‍ने सत्यताका वास्तविकताहरू सीमित हुन्छन्। त्यसकारण, तँसँग केही ज्ञान र ज्योति छ भन्दैमा तँसँग सत्यताका वास्तविकताहरू छन् भन्‍ने हुँदैन। मुख्य कुरा यो ज्योति र ज्ञानले सत्यताको सारलाई छुन्छ कि छुँदैन भन्‍ने हो। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कतिपय मानिसहरूलाई तिनीहरूले कुनै कुरा प्रकाश पार्न सकेपछि वा थोरै सतही बुझाइ प्रदान गर्न सकेपछि तिनीहरूसँग सत्यता छ भन्‍ने लाग्छ। यो कुराले तिनीहरूलाई खुशी तुल्याउँछ, त्यसकारण तिनीहरू आफैप्रति गर्व र घमण्ड गर्छन्। वास्तवमा, तिनीहरू अझै पनि सत्यताको वास्तविकतामा प्रवेश गर्नबाट टाढै हुन्छन्। मानिसहरूले के-कस्ता सत्यता प्राप्त गर्न सक्छन्? के सत्यता भएका मानिसहरू कुनै पनि समय र स्थानमा लड्न सक्छन्? मानिसहरूसँग सत्यता हुँदा, कसरी तिनीहरूले अझै पनि परमेश्‍वरलाई चुनौती र धोका दिन सक्छन्? यदि तैँले तँसँग सत्यता छ र यसले तँभित्र ख्रीष्‍टको जीवन भएको प्रमाणित गर्छ भनेर दाबी गर्छस् भने, यो भयानक हुन्छ! के तँ प्रभु भएको छस्, ख्रीष्‍ट बनेको छस्? यो हास्यास्पद अभिव्यक्ति हो, र यो पूर्णतया मानिसको अनुमान मात्र हो; यो मानव धारणा र कल्‍पनाहरूबाट आएको कुरा हो, र यो परमेश्‍वरसामु टिक्‍न सक्‍दैन।

जब मानिसहरूले सत्यता बुझ्छन्, र त्यसलाई आफ्नो जीवनको रूपमा जिउँछन्, तब त्यो जीवनले केलाई जनाउँछ? यसले तिनीहरूको हृदयमा सत्यता सर्वोच्‍च हुन्छ, तिनीहरू परमेश्‍वरको वचनको आधारमा जिउन सक्छन्, र तिनीहरूमा परमेश्‍वरका वचनहरूको वास्तविक ज्ञान र सत्यताको सच्‍चा बुझाइ छ भन्‍ने जनाउँछ। जब मानिसहरूभित्र यो नयाँ जीवन हुन्छ, यो पूर्णतया परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर हासिल गरिएको हुन्छ। यो परमेश्‍वरका वचनहरूको सत्यताको जगमा निर्मित भएको हुन्छ, र यो सत्यताको क्षेत्रमा तिनीहरूको जियाइमार्फत प्राप्त भएको हुन्छ। मानिसहरूको जीवनमा सत्यतासम्बन्धी तिनीहरूको ज्ञान र अनुभव मात्रै हुन्छ, र त्यो जग हुँदा यसले त्यो दायरा नाघ्‍न सक्दैन; सत्यताको जीवन प्राप्त गर्ने कुरा गर्दा यही जीवनलाई सङ्केत गरिएको हुन्छ। परमेश्‍वरका वचनहरूको सत्यतामा जिउन सक्‍नु भनेको मनिसहरूभित्र सत्यताको जीवन छ भन्ने हुँदैन, न त मानिसहरूसित सत्यता तिनीहरूको जीवनको रूपमा छ भन्दैमा मानिसहरू सत्यता बन्छन्, र तिनीहरूको आन्तरिक जीवन सत्यताको जीवन बन्छ भन्‍ने नै हुन्छ; झन् तिनीहरू सत्यताका जीवन हुन् भनेर भन्‍न सकिनु त परै जाओस्। आखिर, तिनीहरूको जीवन अझै पनि मानव जीवन नै हुन्छ। यदि तँ परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, तँसित सत्यको ज्ञान छ, अनि यदि यो बुझाइले तँभित्र जरा गाड्छ, यो तेरो जीवन बन्छ, र तैँले अनुभवमार्फत प्राप्त गरेको त्यो सत्यता तेरो अस्तित्वको आधार बन्छ, अनि यदि तँ परमेश्‍वरका यी वचनहरूअनुसार जिउँछस्, कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन, र शैतानले तँलाई धोका दिन वा भ्रष्ट तुल्याउन सक्दैन भने, तैँले सत्यताको जीवन प्राप्त गरेको हुनेछस्। यसको मतलब, तेरो जीवनमा सत्यता, अर्थात् सत्यतासम्‍बन्धी तेरो बुझाइ, अनुभव, र अन्तर्ज्ञान मात्र हुन्छ, र तैँले जे गरे पनि, तँ यिनै कुराहरूअनुसार जिउँछस्, र तँ तिनको क्षेत्रभन्दा बाहिर जाँदैनस्। सत्यताको वास्तविकता प्राप्त गर्नु भनेको यही हो, र परमेश्‍वरले आफ्‍नो कार्यद्वारा अन्तिममा प्राप्त गर्न चाहनुहुने मानिसहरू यिनै हुन्। तर मानिसहरूले सत्यलाई जति नै राम्ररी बुझे पनि तिनीहरूको सार अझै पनि मानवताकै हुन्छ, र त्यसलाई परमेश्‍वरको सारसँग कदापि तुलना गर्न सकिँदैन। तिनीहरूले सत्यको अनुभव निरन्तर गर्दै जान्छन्, तिनीहरूले सत्यमा पूर्ण रूपमा जिउन असम्भव हुन्छ, र तिनीहरूले मानिसहरूले प्राप्त गर्न सक्ने सत्यताको अति सीमित भाग मात्र जिउन सक्छन्, त्यसैले तिनीहरू कसरी परमेश्‍वरमा परिणत हुन सक्छन् र? … यदि तँमा परमेश्‍वरका वचनहरूको अलिअलि अनुभव छ भने, र तँ आफूमा भएको सत्यको सच्‍चा अनुभव र ज्ञानअनुसार जिइरहेको छस् भने, परमेश्‍वरका वचनहरू क्रमिक रूपमा तेरो जीवन बन्‍नेछन्। तापनि, तैँले अझै पनि सत्य नै तेरो जीवन हो वा तैँले व्यक्त गरिरहेका कुराहरू सत्य हुन् भनेर भन्न सक्दैनस्; यदि तेरो विचार त्यस्तो छ भने, तँ गलत छस्। यदि तँसँग सत्यको एउटा खास पक्षबारे मात्रै अनुभव छ भने, के त्यसले तँसँग सत्यता भएको कुराको प्रतिनिधित्व गर्न सक्छ? के यसलाई सत्यता प्राप्त गरेको रूपमा लिन सकिन्छ? के तैँले सत्यको पूर्ण रूपमा वर्णन गर्न सक्छस्? के तैँले सत्यताबाट परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनहुन्छ त्यो पत्ता लगाउन सक्छस्? यदि यी प्रभावहरू हासिल गर्न सकिएन भने, यसले के प्रमाणित गर्छ भने सत्यताको कुनै पक्षलाई अनुभव गर्ने कार्यलाई मात्रै साँचो रूपमा सत्यता बुझेको वा परमेश्‍वरलाई चिनेको मान्‍न सकिँदैन, यसलाई सत्यता प्राप्त गरेको भनेर भन्‍न सकिनु त परको कुरा हो। प्रत्येक व्यक्तिसँग सत्यको एक पक्ष र एउटा क्षेत्रको मात्र अनुभव हुन्छ; तेरो सीमित क्षेत्रभित्र यसलाई अनुभव गरेर तैँले सत्यको सबै अनगन्ती पक्षहरूलाई छुन सक्दैनस्। के मानिसहरू सत्यताको वास्तविक अर्थअनुसार जिउन सक्छन्? तेरो थोरै अनुभवको परिमाण कति हुन्छ? समुद्र किनारको बालुवाको केवल एउटा कण जति; समुद्रको पानीको केवल एक थोपा जति। त्यसकारण तैँले आफ्ना अनुभवहरूबाट प्राप्त गरेको त्यो ज्ञान र ती भावनाहरू जति नै मूल्यवान भए पनि, तिनलाई पनि अझै सत्यताको रूपमा गन्ती गर्न सकिँदैन। तिनलाई सत्यताअनुरूपका छन् भनेर मात्रै भन्‍न सकिन्छ। सत्यता परमेश्‍वरबाट आउँछ, र सत्यताले समावेश गर्ने भित्री अर्थ र वास्तविकताहरू एकदमै व्यापक हुन्छन् र तिनलाई कसैले पनि बुझ्‍न वा खण्डन गर्न सक्दैन। जबसम्म तँसँग सत्यता र परमेश्‍वरको बारेमा वास्तविक बुझाइ हुन्छ, तबसम्म तैँले केही सत्यता बुझ्‍नेछस्, कसैले पनि यी वास्तविक बुझाइको खण्डन गर्न सक्दैन, र सत्यताका वास्तविकता भएका गवाहीहरू सदासर्वदा टिकिरहन्छन्। सत्यताका वास्तविकताहरू भएका मानिसहरूलाई परमेश्‍वरले तारिफ गर्नुहुन्छ। जबसम्म तैँले सत्यताको खोजी गर्छस्, र तँ जस्तोसुकै परिस्थितिमा भए पनि परमेश्‍वरका वचनहरूलाई अनुभव गर्न परमेश्‍वरमा भरोसा गर्न र सत्यतालाई तेरो जीवनको रूपमा स्वीकार गर्न सक्छस्, तबसम्म तँसँग मार्ग हुनेछ, तँ बाँच्‍न सक्‍नेछस्, र तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछस्। तर मानिसहरूले प्राप्त गर्ने थोरै कुरा सत्यताअनुरूप भए पनि, त्यसलाई सत्यता हो भनेर भन्‍न सकिँदैन, तिनीहरूले सत्यता प्राप्त गरेका छन् भनेर भन्‍न सकिनु त परको कुरा हो। मानिसहरूले प्राप्त गरेका थोरै ज्योति तिनीहरू आफै वा निश्‍चित क्षेत्रमा रहेका अरू केहीका निम्ति मात्रै उपयुक्त हुन्छन्, तर फरक क्षेत्रमा रहेका मानिसहरूका निम्ति उपयुक्त हुँदैनन्। कुनै व्यक्तिको अनुभव जति नै गहन भए पनि, त्यो अझै अत्यन्तै सीमित हुन्छ, र तिनीहरूको अनुभव कहिल्यै पनि सत्यताको क्षेत्रको गहिराइसम्म पुग्दैन। व्यक्तिको ज्योति र व्यक्तिको बुझाइलाई सत्यतासँग कहिल्यै पनि तुलना गर्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३७८

यदि तँ सत्यता अभ्यास गर्न र बुझ्‍न चाहन्छस् भने, तैँले सुरुमा तेरो दैनिक जीवनमा विभिन्‍न कुराहरू आइपर्दा सत्यता खोज्‍ने प्रयास गर्नुपर्छ। अर्थात्, तैँले यस्ता कुराहरूलाई परमेश्‍वरका वचनहरू र सत्यताको आधारमा हेर्नुपर्छ; जब समस्याको सार स्पष्ट हुन्छ, तब तँलाई सत्यताका सिद्धान्तहरूका आधारमा कसरी अभ्यास गर्ने भन्‍ने थाहा हुन्छ। अनि यदि तैँले परिस्थितिलाई सधैँ परमेश्‍वरका वचनहरूअनुसार हेर्छस् भने, तेरा वरिपरि घट्ने सबै घटनाहरूमा तैँले परमेश्‍वरको हात, अर्थात् परमेश्‍वरका कार्यहरू देख्‍न सक्‍नेछस्। कतिपय मानिसहरूले तिनीहरूको वरिपरि जे-जस्ता घटनाहरू घटे पनि, तिनीहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास वा सत्यतासँग यसको कुनै सम्‍बन्ध छैन भन्‍ने ठान्छन्; तिनीहरूले शैतानका दर्शनहरूअनुसार प्रतिक्रिया जनाउँदै आफ्‍नै इच्‍छाहरू पछ्याउँछन्। के तिनीहरूले यसरी कुनै पाठ सिक्‍न सक्छन्? अवश्य सक्दैनन्। यही कारणले गर्दा धेरै मानिसहरूले दशबीस वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि सत्यता बुझेका वा जीवनप्रवेश गरेका हुँदैनन्। तिनीहरूले आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरलाई समाहित गर्न, वा तिनीहरूको वरिपरि घट्ने सबै घटनालाई परमेश्‍वरका वचनहरूअनुसार लिन सक्दैनन्, त्यसकारण जब तिनीहरूको जीवनमा कुनै कुरा आइपर्छ, तब तिनीहरूले यसको वास्तविकता बुझ्‍न सक्दैनन्, न त तिनीहरूले सत्यताका सिद्धान्तहरूअनुसार यसलाई सम्‍हाल्‍न नै सक्छन्। त्यसकारण, त्यस्ता मानिसहरूले जीवनप्रवेश गर्दैनन्। कतिपय मानिसहरूले भेलाहरूमा परमेश्‍वरका वचनहरू पढ्दा मष्तिष्क मात्रै लगाउँछन्; त्यस्तो बेला, तिनीहरूले थोरै ज्ञानको कुरा बोल्‍न सक्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनमा आइपर्ने कुनै पनि कुरामा लागू गर्न सक्दैनन्, न त तिनीहरूलाई सत्यता अभ्यास गर्न नै आउँछ, त्यसकारण तिनीहरूले तिनीहरूको दैनिक जीवनमा घट्ने सबै घटनाहरूको सत्यतासँग कुनै सम्‍बन्ध हुँदैन, परमेश्‍वरका वचनहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन भन्‍ने सोच्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, तिनीहरूले परमेश्‍वरका वचनहरू र सत्यतालाई ज्ञानको क्षेत्रको रूपमा हेर्छन्, तिनीहरूको दैनिक जीवनबाट पूर्ण फरक र तिनीहरूको दृष्टिकोण, जीवन उद्देश्य, र जीवनका खोजहरूभन्दा पूर्ण अलग कुराको रूपमा हेर्छन्। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वासको अर्थ के हुन्छ? के तिनीहरू सत्यता बुझ्‍न र वास्तविकतामा प्रवेश गर्न सक्षम बन्नेछन्? जब तिनीहरूले परमेश्‍वरलाई यसरी विश्‍वास गर्छन्, के तिनीहरू परमेश्‍वरलाई पछ्याउनेहरू हुन्छन्? तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने मानिसहरू होइनन्, तिनीहरू परमेश्‍वरलाई पछ्याउने मानिसहरू हुनु त परको कुरा हो। परिवार, विवाह, काम वा तिनीहरूको सम्‍भाव्यतासँग सम्‍बन्धित लगायत तिनीहरूको दैनिक जीवनका सबै समस्याहरूलाई तिनीहरूले सत्यतासँग कुनै सम्‍बन्ध नभएका कुराहरूका रूपमा लिन्छन्, त्यसकारण तिनलाई मानव शैलीहरू प्रयोग गरी समाधान गर्ने प्रयास गर्छन्। यसरी अनुभव गरेर, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्‍नेछैनन्, परमेश्‍वरले मानिसहरूमा कुन कार्य सम्पन्‍न गर्न चाहनुहुन्छ, र तिनीहरूमा कस्तो प्रभाव हासिल गर्न चाहनुहुन्छ भन्‍नेबारेमा कहिल्यै बुझ्‍नेछैनन्। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन र तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न र परिवर्तन गर्नका लागि सत्यता व्यक्त गर्नुहुन्छ, तर सत्यता स्विकारेर अनि पछ्याएर मात्रै तिनीहरू आफ्‍ना भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सक्‍ने बन्‍नेछन् भन्‍ने तिनीहरूलाई थाहै छैन; आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव र अभ्यास गरेर मात्रै तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् भन्‍ने तिनीहरूलाई थाहै छैन। के त्यस्ता मानिसहरू बुद्धू अज्ञानी हुँदैनन् र? के तिनीहरू सबैभन्दा मूर्ख र हास्यास्पद मानिसहरू होइनन् र? परमेश्‍वरमाथिको विश्‍वासमा कतिपय मानिसहरूले कहिल्यै पनि सत्यताको खोजी गरेका हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको भेलामा जानु, प्रार्थना गर्नु, भजन गाउनु, र परमेश्‍वरको वचन पढ्नु हो; तिनीहरूले धार्मिक विधिमा जोड दिन्छन्, तर तिनीहरूले परमेश्‍वरका वचनहरूको अभ्यास वा अनुभव कहिल्यै गर्दैनन्। धर्मका मानिसहरूले यसरी नै परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्। अनि जब मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासजस्तो महत्त्वपूर्ण कुरालाई धार्मिक विश्‍वासको रूपमा मात्रै लिन्छन्, तब के तिनीहरू गैरविश्‍वासीहरू हुँदैनन् र? के तिनीहरू अविश्‍वासीहरू होइनन् र? सत्यता पछ्याउनको लागि धेरै प्रक्रियाहरू अनुभव गर्नुपर्ने हुन्छ। यसको एउटा सरल पक्ष छ, र त्यसमा एउटा जटिल पक्ष पनि छ। सरल रूपमा भन्दा, हामीले सत्यताको खोजी गर्नुपर्दछ र हाम्रो वरिपरि आइपर्ने सबै कुरामा परमेश्‍वरका वचनहरूको अभ्यास र अनुभव गर्नुपर्दछ। यसो गर्न थालेपछि, तैंले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले कति धेरै सत्यता प्राप्त गर्नुपर्छ र कतिसम्म पछि लाग्नुपर्छ, र सत्यता अति वास्तविक छ र सत्य नै जीवन हो भनी धेरैभन्दा धेरै बुझ्‍न थाल्‍नेछस्। मानवजातिले सत्यतालाई जीवनको रूपमा प्राप्त गर्न सकोस् भनेर परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ। कर्तव्य पूरा गर्ने मानिसहरू, अगुवा र सेवकहरू, र परमेश्‍वरको सेवा गर्नेहरूले मात्रै होइन, सृष्टि गरिएका सारा मानवजातिले नै सत्यतालाई जीवनको रूपमा स्वीकार गर्नुपर्छ। परमेश्‍वरका वचनहरू सारा मानवजातिप्रति लक्षित छन्, र परमेश्‍वर सारा मानवजातिसँग बोल्‍नुहुन्छ। त्यसकारण, सृष्टि गरिएका सबै प्राणीले र सारा मानवजातिले परमेश्‍वरका वचनहरू र सत्यता स्वीकार गर्नुपर्छ, सबै कुरामा सत्यता खोजी गर्नुपर्छ, त्यसपछि सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र यसरी तिनीहरू सत्यता अभ्यास र पालना गर्न सक्‍ने बन्‍न सक्छन्। यदि अगुवा र सेवकहरूलाई मात्रै सत्यता अभ्यास गर्न लगाइन्थ्यो भने, त्यो पूर्ण रूपमा परमेश्‍वरको इच्‍छाविपरीत हुन्थ्यो, किनभने परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता सारा मानवजातिको लागि हो, र यो एकदुई जना मानिसहरूलाई मुक्ति दिनको लागि नभई, सम्पूर्ण मानवजातिलाई मुक्ति दिने उद्देश्‍यले व्यक्त गरिएको हुन्छ। यदि त्यस्तो हुन्थ्यो भने, परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूको अर्थ त्यति धेरै हुन्थेन। के अब तिमीहरूसँग सत्यताको पछि लाग्ने मार्ग छ? सत्यताको पछि लाग्दा अभ्यास गरिनैपर्ने पहिलो कुरा के हो? अरू सबै कुराभन्दा पहिले, तैंले परमेश्‍वरका वचनहरू खान र पिउन र प्रवचन र सङ्गतिहरू सुन्‍ने कार्यमा धेरै समय बिताउनुपर्छ। जब तैँले कुनै समस्याको सामना गर्छस्, तब प्रार्थना गर् र धेरै खोजी गर्। जब तिमीहरूले आफैलाई धेरै सत्यताले सुसज्जित पार्छौ, जब तिमीहरू तुरुन्तै वृद्धि हुन्छौ र कद प्राप्त गर्छौ, तब तिमीहरूले कर्तव्य निभाउन र कुनै सानो काम गर्न सक्‍नेछौ, त्यसरी तिमीहरू केही जाँच र परीक्षाहरूबाट भएर जान सक्नेछौ। त्यस बेला, तिमीहरूले केही सत्यताहरू बुझेका र प्राप्त गरेका छौ भन्‍ने महसुस गर्नेछौ, अनि तिमीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सबै सत्यता हुन्, ती भ्रष्ट मानवजातिको मुक्तिको लागि सबैभन्दा अत्यावश्यक सत्यता हुन्, र ती अद्वितीय सृष्टिकर्ताले दिनुभएका जीवनका सत्यता हुन् भन्‍ने अनुभूति गर्नेछौ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३७९

परमेश्‍वरमा विश्‍वास गर्दा, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ कि छैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति ठाउँ छ कि छैन, तिनीहरू परमेश्‍वरको अघि जिउन र परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम गर्न सक्षम छन् कि छैनन् भन्‍ने कुरा मुख्य हुन्छ। मानिसहरूले सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रतिको आज्ञापालन हासिल गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। मुक्ति पाउने मार्ग र सर्तहरू यिनै हुन्। यदि तेरो हृदय परमेश्‍वरको अघि जिउन सक्दैन, यदि तैँले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँसँग सङ्गति गर्ने गर्दैनस्, अनि परमेश्‍वरसँगको सामान्य सम्‍बन्धलाई गुमाउँछस् भने, तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, किनभने तैँले मुक्ति पाउने मार्ग बन्द गरेको हुन्छस्। यदि परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध छैन भने, तँ अन्तिम बिन्दुमा पुगेको छस्। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, तँसँग विश्‍वास छ भनेर दाबी गर्नु, र परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्नु व्यर्थ छ, र तैँले धर्मसिद्धान्तका जति नै शब्‍दहरू भट्याउन सके पनि, परमेश्‍वरमाथिको विश्‍वासमा तैँले जति नै कष्ट भोगेको भए पनि, वा तँ जति नै वरदानप्राप्त भए पनि, यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँ परमेश्‍वरको डर मान्दैनस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि त्यसको कुनै अर्थ हुँदैन, र परमेश्‍वरले “मबाट टाढा बस्, दुष्कर्मी” भनेर भन्‍नुहुनेछ। तँलाई दुष्कर्मीको रूपमा वर्गीकरण गरिनेछ। तँ परमेश्‍वरसँग जोडिएको हुनेछैनस्, परमेश्‍वर तेरा प्रभु वा तेरा परमेश्‍वर हुनुहुनेछैन। परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ, र परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरालाई तैँले स्वीकार गरे पनि, तैँले परमेश्‍वरको आराधना गर्दैनस्, र तँ परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुँदैनस्। तँ दियाबलस शैतानको पछि लाग्छस्, र दियाबलस शैतान मात्रै तेरो प्रभु हुन्छ। यदि सबै कुरामा तैँले आफैलाई भरोसा गर्छस्, र आफ्‍नै इच्‍छा पछ्याउँछस् भने, यदि तेरो नियति तेरै हातमा छ भनेर विश्‍वास गर्छस् भने, तैँले आफैलाई विश्‍वास गरिरहेको हुन्छस्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर दाबी गरे पनि, परमेश्‍वरले तँलाई स्वीकार गर्नुहुन्‍न, परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध हुँदैन, त्यसकारण निश्‍चय नै परमेश्‍वरले तँलाई अन्त्यमा घृणा र इन्कार गर्नुहुनेछ, दण्ड दिनुहुनेछ, र हटाउनुहुनेछ; तँजस्ता मानिसहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्‍न। परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू परमेश्‍वरलाई मुक्तिदाताको रूपमा स्वीकार गर्ने, र परमेश्‍वर नै सत्यता, बाटो, र जीवन हुनुहुन्छ भनी स्वीकार गर्ने मानिसहरू हुन्, तिनीहरू साँचो रूपमा परमेश्‍वरमा समर्पित हुन र परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्न सक्षम छन्, तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्छन्, परमेश्‍वरका वचनहरू र सत्यता अभ्यास गर्छन्, तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्छन्, तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू पालना गर्ने, र परमेश्‍वरको इच्‍छा पछ्याउने मानिसहरू हुन्। परमेश्‍वरमा त्यसरी विश्‍वास गरे मात्रै मानिसहरूले मुक्ति पाउन सक्छन्; नत्र भने, तिनीहरूलाई दोषी ठहराइनेछ। परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूले काल्‍पनिक चाहनामा रमाउनु स्वीकार्य हुन्छ? परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरू सधैँ आफ्‍ना धारणा अनि अस्पष्ट र अमूर्त कल्‍पनाहरूमा नै लागिरहन्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? अवश्य सक्दैनन्। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले सत्यता स्वीकार गर्नुपर्छ, परमेश्‍वरले भन्‍नुभएबमोजिम परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालना गर्नुपर्छ; त्यसपछि मात्रै तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्। यसभन्दा बाहेक अरू कुनै बाटो छैन; तैँले जे गरे पनि, तँ कुनै पनि काल्‍पनिक चाहनामा रमाउनु हुँदैन। यस विषयमा सङ्गति गर्नु मानिसहरूको लागि अत्यन्तै महत्त्वपूर्ण छ, छैन त? यो तिमीहरूको लागि चेतावनीको घण्टी हो।

अब तिमीहरूले यी सन्देशहरू सुनिसकेका हुनाले, तिमीहरूले सत्यता बुझेको हुनुपर्छ र मुक्तिको पछाडि के हुन्छ त्यसबारे स्पष्ट भएको हुनुपर्छ। मानिसहरूलाई के मन पर्छ, तिनीहरू केका लागि जोड गर्छन्, तिनीहरू कुन कुराप्रति उत्साहित हुन्छन्—यीमध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता स्वीकार गर्नु हो। अन्तिम विश्‍लेषण गर्दा, सत्यता प्राप्त गर्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तँलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग गर्न सिकाउने कुरा नै सही मार्ग हो। यदि तैँले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै वर्ष भयो र तैँले सधैँ सत्यतासँग सम्‍बन्धित नरहेका कुराहरू पछ्याउने गरेको छस् भने, तेरो विश्‍वाससँग सत्यता र परमेश्‍वरको कुनै सम्‍बन्ध हुँदैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनी दाबी गर्छस् होला, तर परमेश्‍वर तेरा प्रभु हुनुहुन्‍न, उहाँ तेरा परमेश्‍वर हुनुहुन्‍न, परमेश्‍वरले तेरो नियति नियन्त्रण गर्नुहुन्छ भन्‍ने तँ स्वीकार गर्दैनस्, परमेश्‍वरले तेरो लागि मिलाउनुभएका सबै कुराहरूमा तँ समर्पित हुँदैनस्, परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने तथ्यलाई तँ स्वीकार गर्दैनस्—त्यस्तो अवस्थामा मुक्ति पाउने तेरो आशा चकनाचूर भएको हुन्छ; यदि तँ सत्यता पछ्याउने मार्ग हिँड्न सक्दैनस् भने तँ विनाशको मार्ग हिँड्छस्। यदि तैँले पछ्याउने, ध्यान दिने, प्रार्थना गर्ने, र बिन्ती गर्ने सबै कुरा परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले आज्ञा गर्नुभएका कुराहरूमा आधारित हुन्छन् भने, र यदि तँलाई सृष्टिकर्ताको आज्ञापालन, र आराधना गर्नुपर्छ भन्‍ने झन्झन् बढी अनुभूति हुन्छ, र तँलाई परमेश्‍वर तेरा प्रभु र परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभव हुन्छ भने, यदि तँलाई तेरा निम्ति परमेश्‍वरले गर्नुभएका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालना गर्दा झन्झन् खुशी लाग्छ, र परमेश्‍वरसँगको तेरो सम्‍बन्ध झन्झन् नजिक, र झन्झन् सामान्य हुँदै जान्छ भने, र यदि परमेश्‍वरप्रतिको तेरो प्रेम पहिलेको भन्दा शुद्ध र साँचो छ भने, परमेश्‍वरप्रतिका तेरा गुनासा र गलत बुझाइहरू, र परमेश्‍वरप्रतिका तेरा लालची इच्‍छाहरू झन्झन् कम हुँदै जान्छन्, र तैँले पूर्ण रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने स्थिति प्राप्त गरेको हुन्छस्, जसको अर्थ तैँले मुक्तिको मार्गमा पाइला पहिल्यै टेकिसकेको छस् भन्‍ने हुन्छ। मुक्तिको मार्गमा हिँड्दा परमेश्‍वरबाट अनुशासन, काटछाँट, निराकरण, न्याय, र सजाय भोग्‍नुपर्ने भए पनि, र यी कुराले तँलाई धेरै पीडा दिने भए पनि, यो परमेश्‍वरको प्रेम तँमाथि आएको स्थिति हो। परमेश्‍वरमा विश्‍वास गर्दा, यदि तँ आशिषित हुने मात्रै प्रयास गर्छस्, र हैसियत र प्रतिष्ठा मात्रै खोजी गर्छस्, अनि तँलाई कहिल्यै पनि अनुशासनमा राखिँदैन, वा काटछाँट र निराकरण गरिँदैन, वा न्याय र सजाय दिइँदैन भने, तेरो जीवन सहज हुने भए पनि, तेरो हृदय परमेश्‍वरबाट झन्झन् टाढा हुनेछ, तैँले परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध गुमाउनेछस्, र तँ परमेश्‍वरको सूक्षम जाँच स्वीकार गर्न अनिच्‍छुक हुनेछस्; तैँले आफ्नो मालिक आफै बन्‍ने चाहना गर्नेछस्—र यो सबैले तैँले हिँड्ने मार्ग सही मार्ग होइन भन्‍ने प्रमाणित गर्छ। यदि तैँले केही समयदेखि परमेश्‍वरको कामलाई अनुभव गरेको छस् र मानवजाति अति गहन रूपमा भ्रष्ट भएको र परमेश्‍वरको विरोध गर्ने स्थितिमा पुगेको झन्झन् बढी अनुभूति गर्दै आएको छस् भने, र यदि एक दिन तैँले परमेश्‍वरविरोधी कुनै काम गर्ने समय आउँछ भन्‍ने तँलाई चिन्ता लाग्छ, र तैँले परमेश्‍वरलाई चिढ्याउने र परमेश्‍वरले तँलाई त्याग्‍ने सम्‍भावना छ भन्‍ने डर लाग्छ, र यसरी परमेश्‍वरको विरोध गर्नुजत्तिको डरलाग्दो कुरा अरू केही छैन भन्‍ने महसुस गर्छस् भने, तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुनेछ। तँलाई के लाग्‍नेछ भने, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू परमेश्‍वरबाट टाढा जानु हुँदैन; यदि तिनीहरू परमेश्‍वरबाट टाढा गए भने, यदि तिनीहरू परमेश्‍वरको अनुशासन, र परमेश्‍वरको न्याय र सजायबाट बाहिर गए भने, यो परमेश्‍वरको सुरक्षा र वास्ता, परमेश्‍वरको आशिष्‌ गुमाउनुसरह हो, र यस्तो अवस्थामा मानिसहरूको लागि सबै कुरा समाप्त हुन्छ; तिनीहरू झन्झन् भ्रष्ट मात्रै हुन सक्छन्, तिनीहरू धर्मका मानिसहरूजस्तै बन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा अझै पनि परमेश्‍वरको विरोध गर्ने सम्‍भावना हुन्छ—र यसरी तिनीहरू ख्रीष्टविरोधीहरू बनेका हुन्छन्। यदि तैँले यो कुरा महसुस गर्न सक्छस् भने, तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्, “हे परमेश्‍वर! कृपया मलाई न्याय गर्नुहोस् र सजाय दिनुहोस्। मैले गर्ने हरेक कुरामा, बिन्ती छ मलाई नियाल्‍नुहोस्। यदि मैले सत्यता र तपाईंको इच्‍छा उल्‍लङ्घन गर्ने काम गरेँ भने, तपाईंले मलाई कठोर न्याय र सजाय दिनुहोस्—म तपाईंको न्याय र सजायविना बाँच्‍न सक्दिनँ।” परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले हिँड्नुपर्ने सही मार्ग यही हो। त्यसकारण, यो मानकअनुरूप मापन गर: के तिमीहरू आफूले मुक्तिको सही मार्गमा पाइला चालेको छु भन्‍ने आँट गर्छौ? आँट गर्दैनौ, किनभने तिमीहरू सत्यता पछ्याउने मानिसहरू बन्‍न अझै बाँकी छ, धेरै कुरामा तिमीहरू सत्यता खोजी गर्दैनौ, र तिमीहरू निराकरण र काटछाँट स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्षम छैनौ—यसले तिमीहरू मुक्तिको मार्गमा पुग्‍नको लागि अझै धेरै बाटो हिँड्न बाँकी छ भन्‍ने प्रमाणित गर्छ। यदि तिमीहरू सत्यता पछ्याउने व्यक्ति होइनौ भने, के सत्यताको मार्गमा पाइला चाल्‍नु सजिलो छ? वास्तवमा, यो काम सजिलो छैन। यदि मानिसहरूले परमेश्‍वरको न्याय र सजाय अनुभव गरेका छैनन् भने, यदि तिनीहरूले परमेश्‍वरको अनुशासन, ताडना, निराकरण र काटछाँट भोगेका छैनन् भने, तिनीहरूलाई सत्यता खोजी गर्ने व्यक्ति बन्‍न सहज हुँदैन, जसले गर्दा तिनीहरूलाई सत्यताको मार्गमा पाइला चाल्‍न निकै कठिन हुन्छ। यो सन्देश सुनेपछि, यदि यो सत्यता हो भनेर तिमीहरूलाई थाहा त हुन्छ तर तिमीहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा पाइला टेक्‍नै अझै बाँकी हुन्छ भने र तिमीहरूलाई यो गम्‍भीर लाग्दैन, बरु तिमीहरूले यसमा पाइला चाल्‍ने दिन ढिलोचाँडो आइहाल्छ नि, किन हतार गर्नुपर्‍यो र भन्‍ने लाग्छ भने, यो कस्तो दृष्टिकोण हो? जब तिमीहरूमा यस्तो दृष्टिकोण हुन्छ, तब तिमीहरू समस्यामा हुन्छौ, र मुक्तिको मार्गमा पाइला चाल्‍न तिमीहरूलाई कठिन हुनेछ। त्यसो भए, यो मार्गमा पाइला चाल्‍न सक्षम हुनको लागि तिमीहरूले कस्तो सङ्कल्प गर्नुपर्छ? तैँले यस्तो भन्‍नुपर्छ, “अँ! अहिले मैले मुक्तिको मार्गमा पाइला चाल्‍नै बाँकी छ—यो निकै खतरनाक कुरा हो! परमेश्‍वर भन्‍नुहुन्छ, मानिसहरू सधैँ उहाँको अघि जिउनुपर्छ, र तिनीहरूले झन्झन् धेरै प्रार्थना गर्नुपर्छ, र तिनीहरूको हृदय शान्तिमा हुनुपर्छ, आवेगशील हुनु हुँदैन—त्यसकारण मैले अहिले नै यी सबैलाई अभ्यास गर्न थाल्‍नुपर्छ।” यसरी अभ्यास गर्नु भनेको परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा प्रवेश गर्नु हो; यो यति सरल छ। परमेश्‍वरका वचनहरू सुनेर तिनलाई अभ्यास गर्ने मानिसहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू असल मानिसहरू हुन्? तिनीहरू असल हुन्—तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्। परमेश्‍वरका वचनहरू सुनेपछि, यदि तिनीहरू चेतनाशून्य, उदासीन, अटेरी भएर बस्छन् भने—यदि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई हल्‍का रूपमा लिन्छन्, र परमेश्‍वरका वचनप्रति आफ्‍नो आँखा-कान बन्द गर्छन् भने तिनीहरू कस्ता व्यक्तिहरू हुन्? के तिनीहरू बेवकुफ होइनन् र? परमेश्‍वरलाई विश्‍वास गरेपछि मुक्ति पाउने कुनै छोटोमीठो तरिका छ कि भनेर मानिसहरूले सधैँ सोध्‍ने गर्छन्। म तिमीहरूलाई भन्छु, त्यस्तो बाटो छैन, अनि म तिमीहरूलाई यो सरल मार्गको बारेमा बताउँछु, तर यो सुनेपछि तिमीहरू अभ्यास गर्दैनौ—जुन असल कुरा सुन्दा पनि त्यसलाई नचिन्‍नु हो। के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? तिनीहरूका लागि केही आशा भए पनि, यो आशा त्यति ठूलो हुँदैन; तिनीहरूले मुक्ति पाउनु औधी गाह्रो हुन्छ। सायद कुनै दिन तिनीहरू निद्राबाट बिउँझनेछन्, अनि यी कुराहरूका बारेमा सोच्‍नेछन्, र मनमनै भन्‍नेछन्, “म त अब जवान छैन, र परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षदेखि मैले आफ्‍ना उचित कर्तव्यहरू पूरा गरिरहेको छुइनँ। परमेश्‍वरले मानिसहरूलाई सधैँ उहाँको अघि जिउन आज्ञा गर्नुहुन्छ, तर मैले परमेश्‍वरको अघि जिएको छैनँ। मैले तुरुन्तै प्रार्थना गरिहाल्‍नुपर्छ।” यदि तिनीहरूले हृदयमा चेतना आएर आफ्‍ना उचित कर्तव्यहरू पूरा गर्न थाले भने, तिनीहरूका लागि धेरै ढिला भएको हुँदैन। तर धेरै ढिला नगर; यदि तिमीहरूले आफ्नो सत्तरीअसीको दशकसम्‍म प्रतीक्षा गर्‍यौ भने, र यदि तिमीहरूको शरीरले काम गर्न छोडेको छ र तिमीहरूसँग कुनै जाँगर बाँकी छैन भने, के सत्यता खोजी गर्नको लागि ढिला भइसकेको हुँदैन र? यदि तिमीहरूले आफ्‍नो जीवनका उत्कृष्ट वर्षहरूलाई अर्थहीन कुराहरूमा बितायौ, र अत्यन्तै महत्त्वपूर्ण कुरा, अर्थात् सत्यता पछ्याउने कुरालाई थाती राख्यौ वा छुटायौ भने, के यो अत्यन्तै मूर्खता हुँदैन र? के योजत्तिको मूर्खता अरू कुनै कुरा छ र? धेरै मानिसहरूलाई साँचो मार्गको बारेमा राम्ररी थाहा हुन्छ तर पनि भविष्यमा स्विकार्छु र पछ्याउँछु भनेर प्रतीक्षा गर्छन्—तिनीहरू सबै मूर्खहरू हुन्। सत्यता खोजी गरेर जीवन प्राप्त गर्नको लागि दशकौँ मेहनत गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहै छैन। तिनीहरूले मुक्ति पाउने आफ्‍नो सर्वोत्तम समय खेर फाले भने तिनीहरूले पछुतो गर्नको लागि धेरै ढीला भइसकेको हुनेछ!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८०

मण्डली अगुवा बन्‍नु भनेको व्यक्तिले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्‍नु मात्रै होइन, यो त प्रतिभाशाली मानिसहरू पत्ता लगाएर उनीहरूको वृद्धि-विकास गर्नु पनि हो र त्यस्ता व्यक्तिहरूलाई डाहा गर्ने र दबाउने गर्नु हुँदै हुँदैन। त्यस तरिकाले अभ्यास गर्नु मण्डलीको कामको लागि फाइदाजनक हुन्छ। यदि तैँले सत्यताको खोजी गर्ने केही व्यक्तिहरूको वृद्धि-विकास गरी तैँले गर्ने सबै काममा तिनीहरूलाई तँसँग सहकार्य गर्ने बनाउँछस्, र अन्त्यमा तिमीहरू सबैसँग अनुभावात्मक गवाही हुन्छ भने, तँ एक योग्य अगुवा हुनेछस्। यदि तँ सबै कुरामा सिद्धान्तहरूअनुसार गर्न सक्‍ने गरी वृद्धि हुन्छस् भने, तँ आफ्‍नो बफादारिताको स्तरमा बाँचिरहेको हुनेछस्। कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्‍च छन्, आफ्नो बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्‍ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको बारेमा वा परमेश्‍वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तिमीहरू परमेश्‍वरको इच्‍छालाई साँच्‍चै उचित ध्यान दिन सक्षम छौ भने, तिमीहरूले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछौ। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र त्यस व्यक्तिलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र त्यसरी परमेश्‍वरको घरमा प्रतिभा भएको एउटा अर्को व्यक्ति थप्छस् भने, के तेरो काम सहज हुनेछैन र? के तँ यो कर्तव्यमा तेरो आफ्‍नो बफादारिताको स्तरमा बाँचेको हुनेछैनस् र? यो परमेश्‍वरको अघि असल कार्य हो; अगुवा बन्‍ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यतालाई अभ्यास गर्नेहरूले काम-कुराहरू गर्ने क्रममा परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्दछन्। जब तैँले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्छस्, तेरो हृदयलाई सोझो तुल्याइन्छ। यदि तँ अरूलाई देखाउनका लागि मात्र काम गर्छस्, सधैँ अरूको प्रशंसा र आदर प्राप्त गर्न चाहन्छस्, तैपनि परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको निम्ति कुनै आदर हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, वा हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनु आवश्यक हुन्छ। तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिनुपर्छ र तँ आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्ध भएको छस् कि छैनस्, तँ बफादार बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तँसँग भएका सबै कुराहरू दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामका लागि सम्पूर्ण हृदयले ध्यान दिएको छस् कि छैनस् भनी विचार गरेर यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरूलाई ध्यान दिनुपर्छ। तिनको बारेमा बारम्बार विचार गर् र तिनको समाधान गर्, र यसरी तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र त्यसका परिणामहरू धेरै राम्रो नहुन सक्छ—तर तैँले आफ्नो सक्दो प्रयास लगाएको हुन्छस्। आफूले गर्ने हरेक काममा, तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरूलाई सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदयमा सुधार ल्याइसकिएको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तेरो कर्तव्य मापदण्डअनुरूपको हुनेछ र तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। गवाही दिनु भनेकै यही हो।

केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यताको खोजी गर्दैनन्। उनीहरू सधैँ देहअनुसार जिउँछन्, सधैँ शारीरिक आनन्दमा लिप्त रहन्छन्, र सधैँ आफ्नै स्वार्थी इच्छाहरूलाई पूरा गर्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, उनीहरू सत्यताको वास्तविकतामा कहिल्यै प्रवेश गर्नेछैनन्; यो परमेश्‍वरलाई अनादर गरेकोले गर्दा भएको चिह्न हो। तँ भन्छस्, “मैले परमेश्‍वरलाई प्रतिरोध गर्ने केही गरेको छैनँ; मैले कसरी परमेश्‍वरलाई अनादर गरेको छु?” तेरा सबै सोच र विचारहरू दुष्ट छन्। तेरा कामहरूको पछाडिका अभिप्राय, लक्ष्य, र आशयहरूमा, र तैँले गर्ने कामको नतिजाहरूमा—हरप्रकारले तैँले शैतानलाई सन्तुष्ट पारिरहेको हुन्छस्, त्यसको हाँसोको पात्र बनिरहेको हुन्छस्, र त्यसलाई तँबाट केही प्राप्त गर्न दिइरहेको हुन्छस्। तैँले एक इसाइले दिनुपर्ने एउटा पनि गवाही अलिकति पनि दिएको छैनस्। तँ सैतानको स्वामित्वमा रहेको व्यक्ति होस्। तँ सबै कुरामा परमेश्‍वरको नाउँको अनादर गर्छस् र तँसँग साँचो गवाही छैन। के तैँले गरेका कार्यहरूलाई परमेश्‍वरले सम्झनुहुनेछ? आखिरमा, परमेश्‍वरले तेरा कार्यहरू र तैँले पूरा गरेको कर्तव्यको बारेमा कस्तो निष्कर्ष निकाल्नुहुनेछ? के त्यसबाट केही, कुनै प्रकारको अभिव्यक्ति आउनुपर्दैन र? बाइबलमा, प्रभु येशू भन्नुहुन्छ, “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्‍ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। प्रभु येशूले किन त्यसो भन्नुभयो? प्रभुको नाउँमा प्रचार गर्ने, भूतहरू धपाउने, र आश्‍चर्यकर्म गर्नेहरूमध्येका कैयौँ किन दुष्कर्मी बने? किनभने तिनीहरूले प्रभु येशूले व्यक्त गर्नुभएको सत्यता स्वीकार गरेनन्, प्रभु येशूका आज्ञाहरू पालना गरेनन्, र तिनीहरूको हृदयमा सत्यताप्रति कुनै प्रेम थिएन। तिनीहरू आफूले प्रभुको खातिर गरेका काम, कष्टभोग, र बलिदानहरूलाई स्वर्गको राज्यको आशिष्‌सँग साट्न मात्रै चाहन्थे। यो परमेश्‍वरसँग लेनदेन गर्नु हो, र यो परमेश्‍वरलाई प्रयोग गर्नु र उहाँलाई छल गर्नु हो, त्यसकारण प्रभुले तिनीहरूलाई घृणा गर्नुभयो, इन्कार गर्नुभयो, र दुष्कर्मीहरूको रूपमा दोषी ठहर्‍याउनुभयो। आज, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गरिरहेका छन्, तर कतिपय मानिसहरूले अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँछन्, सधैँ अरूभन्दा राम्रो देखिन चाहन्छन्, सधैँ अगुवा र सेवकहरू बन्‍न अनि प्रतिष्ठा र हैसियत प्राप्त गर्न चाहन्छन्। तिनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरलाई पछ्याउँछु, र परमेश्‍वरको लागि त्याग गर्छु र आफूलाई समर्पित गर्छु भने पनि, तिनीहरूले ख्याति, हित, र हैसियत प्राप्त गर्न आफ्‍नो कर्तव्य निभाउँछन्, र तिनीहरूसँग सधैँ व्यक्तिगत युक्तिहरू हुन्छन्। तिनीहरू परमेश्‍वरप्रति आज्ञाकारी वा निष्ठावान हुँदैनन्, तिनीहरूले आफ्‍नो बारेमा मनन नगरी स्वेच्‍छाचारी ढङ्गले व्यवहार गर्छन्, त्यसकारण तिनीहरू दुष्कर्मी बनेका छन्। परमेश्‍वरले त्यस्ता दुष्कर्मीहरूलाई घृणा गर्नुहुन्छ, र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्‍न। कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो कुरा उसका विचारहरू, शब्दहरू, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यताको वास्तविकतामा जिउने गवाही छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ दुष्कर्मी होस् भन्‍ने कुरामा कुनै शङ्का छैन। दुष्ट काम गर्नेहरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ? तेरा विचारहरू र बाहिरी कार्यहरूले परमेश्‍वरको साक्षी दिँदैन, न त तिनले शैतानलाई सर्ममा पार्छन् वा यसलाई हराउँछन्; यसको साटो, ती कुराले परमेश्‍वरलाई सर्ममा पार्छन्, र परमेश्‍वरलाई लज्जित पार्ने दागहरूले भरिएका छन्। तैँले परमेश्‍वरको लागि गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्‍वरको लागि समर्पित गरिरहेको पनि हुँदैनस्, न त तैँले परमेश्‍वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरूलाई पूरा गरिरहेको हुन्छस्; बरु, तैँले आफ्नै लागि मात्रै काम गरिरहेको हुन्छस्। वास्तवमा, “तेरो आफ्नै लागि” भन्‍ने वाक्यांशको अर्थ के हो? ठ्याक्‍कै भन्‍ने हो भने, यसको अर्थ हो: शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्‍वरले भन्नुहुनेछ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।” परमेश्‍वरको नजरमा तैँले राम्रा कामहरू गरेको छैनस्, बरु तेरो व्यवहार बदलेर दुष्ट बनेको छ। यसले परमेश्‍वरको स्वीकृति प्राप्त नगर्ने मात्र होइन—यसलाई दोषीसमेत ठहराइनेछ। परमेश्‍वरमाथिको त्यस्तो विश्‍वास भएको व्यक्तिले के प्राप्त गर्न खोज्छ? के त्यस्तो विश्‍वास अन्तिममा शून्य हुनेछैन र?

आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यताको वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, परमेश्‍वरको इच्छाको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ र यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्‍नुपर्छ; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी हेर्छन् सो बारेमा सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ तब मात्र तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। यसको साथै, तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउन, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्न, र परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍न सक्‍नेछस्। तैँले केही समय यसलाई अनुभव गरिसकेपछि, यो नै व्यवहार गर्ने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र घृणित वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र व्यवहार गर्नुपर्छ भन्‍ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ। अहिले, तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भएको भए पनि, सत्यताको पछि लाग्‍ने, सत्यताको अभ्यास गर्ने, र सत्यताका वास्तविकताहरूमा प्रवेश गर्नेसम्‍बन्धी पाठहरूको बारेमा तिमीहरूको प्रवेश, बुझाइ, र अनुभवमा गहिराइको कमी छ, र तिमीहरूसँग कुनै सच्‍चा अनुभव वा बुझाइ छैन, त्यसकारण तिमीहरूले साँचो गवाही दिन सक्दैनौ। मैले तिमीहरूसित एउटा सरल रणनीति बाँडेको छु: तिमीहरू यस तरिकाले अभ्यास गर्दै सुरु गर, र तिमीहरूले केही समयसम्म यसो गरेपछि, तिमीहरूलाई थाहै नभई तिमीहरूभित्रको अवस्था परिवर्तन हुनेछ। तँ न त परमेश्‍वरमा विश्‍वास गर्न अति नै चासो राख्ने, न त्यसप्रति दिक्क नै मान्‍ने मिश्रित अवस्थाबाट यो परमेश्‍वरमा विश्‍वास गर्नु र इमानदार व्यक्ति हुनु राम्रो कुरा हो भनी तैँले महसुस गर्ने स्थितिमा, र तँ एक इमानदार व्यक्ति हुन चासो राख्‍ने र त्यसरी जिउनुमा अर्थ र भरणपोषण छ भनी महसुस गर्ने स्थितिमा परिवर्तन हुन्छ। तेरो आत्मा दह्रिलो हुनेछ, शान्ति र सन्तुष्टिमा हुनेछ। तिमीहरूले आफ्ना अभिप्रायहरू, रुचिहरू र आफ्ना चाहनाहरू छोडिदिएको फलस्वरूप तिमीहरूको अवस्था यस्तो हुनेछ। तिमीहरूले त्यो कमाएको हुनेछौ। यो परिणामको पछाडि एउटा भागमा मानव सहकार्य हुन्छ भने अर्को भागमा पवित्र आत्‍माको कार्य हुन्छ। पवित्र आत्‍माले मानिसहरूको सहकार्यविना काम गर्नुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८१

स्वभाव परिवर्तनको बारेमा तिमीहरूलाई के थाहा छ? स्वभावको परिवर्तन र बानीबेहोराको परिवर्तनका सारहरू फरक-फरक हुन्छन्, र अभ्यासका परिवर्तनहरू पनि फरक हुन्छन्—ती सबै सारको हिसाबले फरक छन्। धेरैजसो मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा आफ्‍नो व्यवहारलाई विशेष जोड् दिन्छन्, जसको फलस्वरूप तिनीहरूको व्यवहारमा केही परिवर्तन आउँछन्। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले धुम्रपान र मद्यपान गर्न छोड्छन्, र त्यसउप्रान्त अरूसँग प्रतिस्पर्धा गर्दैनन्, र घाटा बेहोर्दा धैर्यताको अभ्यास गर्न मन पराउँछन्। तिनीहरूका व्यवहारमा केही परिवर्तन आएको हुन्छ। कतिपय मानिसहरूलाई के लाग्छ भने परमेश्‍वरमा विश्‍वास गरेपछि तिनीहरूले परमेश्‍वरको वचन पढेर सत्यता बुझ्‍न सक्छन्, तिनीहरूले पवित्र आत्‍माको कार्य अनुभव गरेका छन्, र तिनीहरूको हृदयमा साँचो शान्ति प्राप्त भएको छ जसले गर्दा तिनीहरू विशेष जोसिला भएका छन्, र तिनीहरूले त्याग्‍न वा भोग्‍न नसक्‍ने केही छैन। तापनि, आठ, दस वा बीस वा तीस वर्षसम्म विश्‍वास गरेपछि पनि तिनीहरूको स्वभावमा कुनै परिवर्तन नभएको हुनाले, आखिरमा तिनीहरू पुरानै चालमा फर्कन थाल्छन्; तिनीहरूको अहङ्कार र हठीपन झन् स्पष्ट हुँदै जान्छ, तिनीहरू शक्ति र फाइदाको लागि प्रतिस्पर्धा गर्न थाल्छन्, तिनीहरू मण्डलीको पैसाको लालच गर्छन्, परमेश्‍वरको घरबाट फाइदा लिएका मानिसहरूप्रति तिनीहरूलाई डाहा लाग्छ। तिनीहरू परजीवी र नाशक जीव बन्छन्, र कतिलाई त झूटा अगुवा र ख्रीष्टविरोधीहरूका रूपमा खुलासा गरेरसमेत हटाइन्छ। अनि यी तथ्यहरूले के प्रमाणित गर्दछन्? व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, उनीहरूले आफ्नो साँचो रङ्ग देखाउनेछन्। यस्तो किन हुन्छ भने उनीहरूको व्यवहारमा आएको परिवर्तनको स्रोत उत्साह हुन्छ, र त्यसमा त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम थपिँदा, उत्साहित हुनु वा क्षणिक दया देखाउनु तिनीहरूका निम्ति धेरै सजिलो हुन्छ। जसरी अविश्‍वासीहरू भन्छन्, “एउटा असल काम गर्नु सजिलो हुन्छ; जीवनभरि असल कामहरू गर्नुचाहिँ गाह्रो हुन्छ।” किन मानिसहरूले आफ्‍नो जीवनभरि नै असल कार्यहरू गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसले प्रकट गर्ने व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्‍ने हुन्छ। परमेश्‍वरको न्याय, दण्ड, परीक्षाहरू, र मानिसहरूका शोधनहरू सबैले तिनीहरूको स्वभाव परिवर्तन गर्न सक्दछन् ताकि तिनीहरू परमेश्‍वरप्रति पूर्ण अधीनता र भक्ति प्राप्त गर्न, र सामान्यतया उहाँको आराधना गर्ने हुन सकून्। यो परमेश्‍वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्‍वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्‍ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा अन्तर्दृष्टि र अगुवाइ पाएको हुन्छ, तापनि त्यो तिनीहरूको जीवनको अभिव्यक्ति हुँदैन। तिनीहरू अझै पनि सत्यताका वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्‍वरको आज्ञापालन गर्छन् वा उनीहरूले सत्यको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभाव हुने परिवर्तनहरूको प्रतिनिधित्व गर्दैन र त्यस्ता परिवर्तनलाई मनिसको जीवनका अभिव्यक्तिहरू भनेर भन्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८२

यदि व्यक्तिमा धेरै वटा असल बानीबेहोरा छन् भने, यसको अर्थ ऊसँग सत्यताका वास्तविकताहरू छन् भन्‍ने हुँदैन। सत्यताको अभ्यास अनि सिद्धान्तहरूअनुसार काम गरेर मात्रै तैँले सत्यताका वास्तविकताहरू प्राप्त गर्न सक्छस्। परमेश्‍वरको डर मानेर अनि दुष्टताबाट टाढा बसेर मात्रै तैँले सत्यताका वास्तविकताहरू प्राप्त गर्न सक्छस्। कतिपय मानिसहरू जोसिला हुन्छन्, तिनीहरूले धर्मसिद्धान्तको कुरा गर्न, नियमहरू पालना गर्न, र धेरै सुकर्म गर्न सक्छन्, तर तिनीहरूका बारेमा बोल्दा तिनीहरूमा अलिअलि मानवता छ भनेर मात्रै सकिन्छ। धर्मसिद्धान्तको कुरा गर्न र सधैँ नियमहरू पालना गर्न सक्‍ने मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन् नै भन्‍ने हुँदैन। तिनीहरूले भन्‍ने कुरा सही र समस्यारहित भएझैँ लागे पनि, सत्यताको सारको बारेमा तिनीहरूसँग भन्‍ने कुरा केही हुँदैन। त्यसकारण, कसैले जति धेरै धर्मसिद्धान्तको कुरा बोल्‍न सके पनि, यसको अर्थ उसले सत्यता बुझेको छ भन्‍ने हुँदैन, र उसले जति धेरै धर्मसिद्धान्त बुझेको भए पनि, उसले कुनै समस्या समाधान गर्न सक्दैन। धार्मिक सिद्धान्तकारहरू सबैले बाइबलको व्याख्या गर्न सक्छन्, र अन्त्यमा, तिनीहरू सबै पतन हुन्छन्, किनभने तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएको सम्पूर्ण सत्यता स्वीकार गरेका हुँदैनन्। जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयहरूमा विवेकी हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको इच्छाबमोजिम कसरी काम गर्ने, सत्यताको सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्‍वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र आफूले प्रदर्शन गर्ने भ्रष्टताको प्रकृति तिनीहरूले बुझेका हुन्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहलाई त्याग्‍ने बन्‍न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै व्यक्त गरिन्छ। स्वभावको परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरूले सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरूले बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा व्यावहारिक र समझदार देखिन्छन्, र तिनीहरूमा सत्यको ज्ञान भएकोले, तिनीहरूले त्यति धेरै स्व-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरूमा प्रकट हुने धेरैजसो भ्रष्टता तिनीहरूले देख्न र बुझ्न सक्छन्, त्यसैले तिनीहरू अहङ्कार गर्दैनन्। मानिसको स्थान के हो, कसरी उचित तरिकाले व्यवहार गर्ने, कसरी कर्तव्यपरायण हुने, के भन्ने र के नभन्ने, कुन मानिसहरूलाई के भन्ने र के गर्ने सो तिनीहरूले निश्चित हदसम्म बुझ्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरूले सधैँ सत्यताअनुसार बोल्न र परिस्थिति देख्‍न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तअनुसार काम गर्छन्; तिनीहरू कुनै पनि व्यक्ति, वस्तु वा थोकको प्रभावमा परेका हुँदैनन्, र तिनीहरू सबैका आ-आफ्नै विचारहरू हुन्छन् र सत्यताको सिद्धान्तलाई समर्थन गर्न सक्छन्। तिनीहरूका स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी तातो र घरी चिसो हुँदैनन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि आफ्ना कर्तव्यहरू कसरी उचित रूपले पूरा गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने किसिमको व्यवहार कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुन्छ। जस-जसका स्वभाव साँच्चै परिवर्तन भएको हुन्छ तिनीहरूले आफैलाई बाहिरी रूपमा राम्रो देखाउन के गर्नुपर्छ भन्ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न के गर्नुपर्छ सो आन्तरिक रूपमा स्पष्ट बुझेका हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित वा तिनीहरूले कुनै ठूलो काम गरेको जस्तो नदेखिन सक्छ, तर तिनीहरूले गर्ने सबै कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छन्, र तिनले व्यावहारिक परिणामहरू ल्याउँछन्। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्चित रूपमा सत्यताका धेरै वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र सिद्धान्तमा आधारित कार्यहरूद्वारा पुष्टि गर्न सकिन्छ। सत्यता प्राप्त नगरेका मानिसहरूले जीवन स्वभावमा कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। ठ्याक्‍कै भन्दा, स्वभाव परिवर्तन कसरी हासिल गर्न सकिन्छ? मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू सबैसँग परमेश्‍वरविरोधी प्रकृति छ। परमेश्‍वरले परमेश्‍वरविरोधी प्रकृति भएका र परमेश्‍वरलाई विरोध गर्ने मानिसहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँको डर मान्‍ने मानिसहरूमा परिणत गरी मुक्ति दिनुहुन्छ। स्वभाव परिवर्तन भएको व्यक्ति बन्‍नु भनेको यही हो। व्यक्ति जति नै भ्रष्ट भए पनि, तिनीहरूसँग जति नै धेरै भ्रष्ट स्वभावहरू भए पनि, तिनीहरूले सत्यता स्वीकार गर्न, अनि परमेश्‍वरको न्याय र सजाय, र विभिन्‍न परीक्षा र शोधन स्वीकार गर्न सकुञ्जेलसम्म, तिनीहरूसँग परमेश्‍वरबारे साँचो बुझाइ हुन्छ, साथै तिनीहरूले आफ्‍नो प्रकृति र सार स्पष्ट देख्‍न सक्छन्। जब तिनीहरूले आफूलाई साँचो रूपमा बुझ्छन्, तब तिनीहरूले आफूलाई र शैतानलाई घृणा गर्न सक्छन्, तिनीहरू शैतानलाई त्याग्‍न, र परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन तयार हुन्छन्। व्यक्तिमा यस्तो दृढ़ता भएपछि, उसले सत्यता खोजी गर्न सक्छ। यदि मानिसहरूमा परमेश्‍वरबारे साँचो ज्ञान छ, तिनीहरूको शैतानी स्वभावलाई शुद्ध पारिएको छ, र तिनीहरूभित्र जरा गाडेर परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन र अस्तित्वका आधार बनेका छन् भने, यदि तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार जिउँछन्, र तिनीहरू पूर्ण रूपमा परिवर्तन भएर नयाँ मानिसहरू बनेका छन् भने, यसलाई तिनीहरूको जीवन स्वभावमा आएको परिवर्तनको रूपमा लिन सकिन्छ। स्वभाव परिवर्तन हुनु भनेको उसको मानवता परिपक्‍व र अनुभवी हुनु होइन न त मानिसहरूको बाहिरी स्वभाव पहिलेको भन्दा नम्र हुनु नै हो, यो पहिले तिनीहरू अहङ्कारी थिए, तर अब विवेकी भएर कुराकानी गर्न सक्छन्, वा पहिले तिनीहरूले कसैको कुरा सुन्दैनथे, तर अब अरूका कुरा सुन्न सक्छन् भन्ने होइन; त्यस्ता बाहिरी परिवर्तनलाई स्वभावको रूपान्तरण भनी भन्न सकिँदैन। अवश्य, स्वभावमा हुने रूपान्तरणमा त्यस्ता अभिव्यक्तिहरू पनि पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण भाग भनेको आन्तरिक रूपमा, तिनीहरूका जीवन परिवर्तन भएको हुन्छ। मुख्तया यस्तो किन हुन्छ भने परमेश्‍वरका वचनहरू र सत्यताले तिनीहरूभित्र जरा गाडेका हुन्छन्, तिनले नै तिनीहरूभित्र शासन गर्छन्, र ती तिनीहरूको जीवन बनेका हुन्छन्। तिनीहरूको दृष्टिकोण पनि बदलिएका हुन्छन्। तिनीहरूले संसारमा अनि मानवजातिलाई के भइरहेको छ, शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, ठूलो रातो अजिङ्गरले कसरी परमेश्‍वरको विरोध गर्छ, र ठूलो रातो अजिङ्गरको सार के हो भन्‍ने कुरा स्पष्ट देख्‍न सक्छन्। तिनीहरूले हृदयदेखि ठूलो रातो अजिङ्गर र शैतानलाई घृणा गर्न सक्छन्, र तिनीहरूले परमेश्‍वरकहाँ पूर्ण रूपमा फर्केर उहाँलाई पछ्याउन सक्छन्। यसको अर्थ तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ, र तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ। जीवन स्वभावमा आउने परिवर्तनहरू आधारभूत परिवर्तनहरू हुन्, जबकि बानीबेहोरामा आउने परिवर्तनहरू सतही परिवर्तनहरू हुन्। जीवन स्वभावमा परिवर्तन हासिल गरेका मानिसहरूले मात्रै सत्यता प्राप्त गरेका हुन्छन्, र तिनीहरूलाई मात्रै परमेश्‍वरले प्राप्त गर्नुभएको हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८३

व्यक्तिको स्वभावमा रूपान्तरण हुनु भनेको व्यवहारमा परिवर्तन हुनु होइन, न त यो बाहिरी परिवर्तनको स्वाङ हो, न जोसका कारण गरिएको अस्थायी परिवर्तन हो। यी परिवर्तनहरू जति नै असल भए पनि, तिनले जीवन स्वभावमा हुने परिवर्तनको ठाउँ लिन सक्दैनन्, किनभने यी बाहिरी परिवर्तनहरू व्यक्तिको आफ्नै प्रयासद्वारा हासिल गर्न सकिन्छ, तर जीवन स्वभावको परिवर्तन मानव प्रयासले मात्रै हासिल गर्न सकिँदैन। यसको लागि परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधनका साथै पवित्र आत्‍माले दिनुहुने सिद्धताको अनुभव गर्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले केही असल व्यवहार देखाउने भए पनि, तिनीहरूमध्ये एक जनाले पनि साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्दैनन्, परमेश्‍वरलाई साँचो प्रेम गर्दैनन्, वा परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्दैनन्। यस्तो किन हुन्छ? किनभने यसको लागि जीवन स्वभावमा परिवर्तन ल्याउनु जरुरी छ, र व्यवहारमा मात्रै परिवर्तन ल्याउनु पर्याप्त हुँदैन। स्वभावमा परिवर्तन आउनुको अर्थ तैँले सत्यताको ज्ञान र अनुभव पाएको छस्, र सत्यता तेरो जीवन बनेको छ, यसले तँलाई निर्देशित गर्न, र तेरो जीवन र तेरो बारेका सबै कुरा अधीनमा राख्‍न सक्छ भन्‍ने हुन्छ। तेरो जीवन स्वभावमा आउने परिवर्तन यही हो। सत्यतालाई जीवनको रूपमा प्राप्त गरेका मानिसहरू मात्र स्वभाव परिवर्तन भएका मानिसहरू हुन्। विगतमा, तैँले कतिपय सत्यताहरू बुझ्दा पनि तिनलाई अभ्यास गर्न सक्दैनथिस् होला, तर अहिले तैँले आफूले बुझेको सत्यताको कुनै पनि पक्षलाई कुनै बाधा वा कठिनाइविना नै अभ्यास गर्न सक्छस्। जब तैँले सत्यता अभ्यास गर्छस्, तब आफूलाई शान्ति र खुसीले भरिएको पाउनेछस्, तर तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, तँलाई पीडा हुन्छ र तेरो विवेक खलबलिन्छ। तँ सबै कुरामा सत्यता अभ्यास गर्न सक्छस्, परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छस्, र तँसँग जिउने आधार हुन्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। अब तैँले तेरा धारणा र कल्‍पनाहरू, तेरा देहगत प्राथमिकता र खोजीहरू, अनि तैँले पहिले त्याग्‍न नसकेका कुराहरूलाई सहजै त्याग्‍न सक्छस्। तँलाई परमेश्‍वरका वचनहरू साँच्‍चि नै असल छन्, र सत्यता अभ्यास गर्ने कार्य अत्यन्तै उत्तम हो भन्‍ने लाग्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्‍ने हुन्छ। स्वभाव परिवर्तन गर्ने कार्य अत्यन्तै सरल छ जस्तो सुनिन्छ, तर वास्तवमा यो यस्तो प्रक्रिया जसको लागि धेरै अनुभव चाहिन्छ। यस अवधिमा, मानिसहरूले धेरै कठिनाइहरू भोग्‍नुपर्छ, तिनीहरूले आफ्‍नै शरीरलाई वशमा राख्‍नुपर्छ र देहलाई परित्याग गर्नुपर्छ, तिनीहरूले न्याय, सजाय, काटछाँट, निराकरण, परीक्षा र शोधनको पनि सामना गर्नुपर्छ, अनि तिनीहरूले विभिन्‍न असफलता, पतन, भित्री संघर्ष, र हृदयमा कष्ट पनि सहनुपर्छ। यी अनुभवहरूपछि मात्रै मानिसहरूले आफ्‍नो प्रकृतिको बारेमा बुझ्‍न सक्छन्, तर कतिपय कुराहरू बुझेर पनि तुरुन्तै पूर्ण परिवर्तन हासिल गरिहाल्‍न सकिँदैन; तिनीहरूले लामो समयसम्‍म अनुभव गरिसकेपछि मात्रै बल्‍ल आफूलाई भ्रष्ट स्वभावहरूबाट मुक्त गर्न सक्छन्। त्यसकारण आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि जीवनको पूरै अवधि लाग्छ। उदाहरणको लागि, यदि तैँले कुनै मामलामा भ्रष्टता प्रकट गरिस् भने, के तैँले यसलाई महसुस गर्नेबित्तिकै सत्यता अभ्यास गर्न सक्छस् र? सक्दैनस्। बुझाइको यो चरणमा, अरूले तँलाई काटछाँट र निराकरण गर्छन्, र तेरो वातावरणले तँलाई त्यो सत्यताका सिद्धान्तहरूअनुरूप काम गर्न बाध्य बनाउँछ। कहिलेकहीँ, तैँले त्यसो गर्ने भनेर मन बनाएको हुँदैनस्, र तैँले मनमनै भन्छस्, “के मैले यो काम यसरी गर्नुपर्छ? किन मैले यसलाई आफूले चाहेअनुसार गर्न सक्दिनँ? किन मलाई सधैँ सत्यता अभ्यास गर्न लगाइन्छ? म यस्तो गर्न चाहन्‍नँ, म यो कुराप्रति थाकिसकेँ!” परमेश्‍वरको काम अनुभव गर्नको लागि निम्‍न प्रक्रिया भएर जानुपर्ने हुन्छ: सत्यता अभ्यास गर्न मन नलाग्‍ने अवस्थादेखि सत्यताको अभ्यास गर्न इच्‍छुक हुने अवस्थासम्‍म; नकारात्मकता र कमजोर अवस्थाबाट सामर्थ्यवान् र दैहिकता त्याग्‍ने क्षमतावान्‌ अवस्थासम्‍म। जब मानिसहरू केही परीक्षाहरूको अनुभव गरिसकेको अवस्थामा पुग्छन्, अनि केही जाँच र शोधन अनुभव गर्दै अन्त्यमा परमेश्‍वरको इच्छा र केही सत्यताहरू बुझ्‍न पुग्छन्, तब उनीहरू केही हदसम्म खुसी हुनेछन् र सत्यताका सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक हुनेछन्। सुरुमा, मानिसहरू सत्यताको अभ्यास गर्न हिचकिचाउँछन्। उदाहरणको रूपमा समर्पित रूपले एउटा कर्तव्य पूरा गर्ने कुरालाई लिऊँ: तँलाई आफ्नो कर्तव्यहरू पूरा गर्ने र परमेश्‍वरप्रति समर्पित हुने बारेमा केही बुझाइ छ, र तँसँग सत्यतासम्बन्धी केही बुझाइ पनि छ, तर तैँले आफैलाई कहिले परमेश्‍वरमा समर्पित गर्न सक्‍नेछस्? तैँले कहिले नाम र काम दुवैमा तेरा कर्तव्यहरू पूरा गर्न सक्‍नेछस्? यसको लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैंले धेरै कष्टहरू भोग्‍नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो निराकरण गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्षम जाँच गर्दै तँमै केन्द्रित हुनेछ, तब मात्र तँ गलत छस् र खराब काम गर्ने व्यक्ति तँ नै होस्, तैँले भक्तिरहीत रूपमा तेरो कर्तव्य पूरा गरेको कार्य स्वीकार्य छैन र तँ असावधान वा लापरवाह हुनु हुँदैन भन्‍ने थाहा पाउन थाल्नेछस्! पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैंले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैंले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई तँभित्र अत्यन्तै धेरै अशुद्धताहरू छन्, तँ आफ्नो हृदयमा औधी धेरै व्यक्तिगत अभिप्रायहरू पाल्छस्, र कर्तव्यहरू पूरा गर्दा तँमा कैयौँ बेकाबू इच्छाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैंले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्‍वरको सामु आएर साँचो पश्‍चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैंले आफ्ना व्यावहारिक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यताको खोजी गरिस् भने, तैंले बिस्तारै विश्‍वासको सही मार्गमा पाइला टेक्‍नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्‍नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा शुद्ध हुन थाल्‍नेछन्। तेरो भ्रष्टतालाई जति-जति शुद्ध पारिन्छ, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।

अहिले धेरै मानिसहरूले आफ्‍ना कर्तव्य निर्वाह गरिरहेका भए पनि, सारगत रूपमा, कति मानिसहरूले आफ्‍नो कर्तव्यमा लटरपटर मात्र गरिरहेका हुन्छन्? कति मानिसहरूले सत्यता स्वीकार गर्न र सत्यताका सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्छन्? कति मानिसहरूले आफ्‍नो स्वभाव परिवर्तन गरेपछि परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्छन्? यी कुराहरूलाई अझै बढी जाँच गरेर, तँ आफ्‍नो कर्तव्य निर्वाह गर्दा साँच्‍चि नै मापदण्डको स्तरमा पुगेको छस् कि छैनस् भनेर तैँले जान्‍न सक्‍नेछस्, र तैँले तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भनेर पनि स्पष्ट रूपमा देख्‍न सक्‍नेछस्। व्यक्तिको स्वभावमा रूपान्तरण हासिल गर्नु साधारण कुरा होइन; यसको अर्थ व्यवहारमा केही परिवर्तनहरू हुनु, सत्यको केही ज्ञान प्राप्त गर्नु, सत्यको प्रत्येक पक्षसँगको आफ्नो अनुभव अलि-अलि बताउन सक्‍नु वा केही परिवर्तन हासिल गर्नु वा अनुशासनमा परेपछि केही आज्ञाकारी हुनु मात्र होइन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावको रूपान्तरणलाई जनाउँदैन। म यो किन भन्छु? तँ केही हदसम्म परिवर्तन भएको भए पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता अभ्यास गरिरहेको छैनस्। सायद तँ अस्थायी रूपमा उपयुक्त वातावरणमा रहेकोले र अवस्था अनुकूल भएकोले, वा तेरो वर्तमान अवस्थाले तँलाई बाध्य तुल्याएकोले, तँ यस प्रकारले व्यवहार गर्छस्। यसबाहेक, यसको साथै, जब तँ राम्रो मनस्थितिमा हुन्छस्, जब तेरो स्थिति सामान्य हुन्छ, र जब तँसँग पवित्र आत्‍माको कार्य हुन्छ, तब तैँले सत्यता अभ्यास गर्न सक्छस्। तर मानौँ तँ परीक्षाको बीचमा छस्, र त्यो बेला तैँले अय्यूबले जस्तै परीक्षाहरूमाझ कष्ट भोगिरहेको छस्, वा तैँले मृत्युको परीक्षा सामना गरिरहेको छस्। जब यस्तो अवस्था आउँछ, के तैँले अझै पनि सत्यता अभ्यास गर्न र गवाहीमा दह्रिलो गरी खडा हुन सक्छस्? के तैँले पनि पत्रुसले भनेजस्तै यसो भन्‍न सक्छस्, “यदि तपाईंलाई चिनेपछि म मर्नु नै परे पनि, म कसरी आनन्द र खुशीसाथ त्यसो नगर्न सक्थेँ र?” पत्रुसले कुन कुरालाई महत्त्व दिन्थे? पत्रुसले आज्ञापालनलाई महत्त्व दिन्थे, र तिनले परमेश्‍वरलाई चिन्‍ने कार्यलाई नै सबैभन्दा महत्त्वपूर्ण कुरा मान्थे, त्यसकारण तिनले मृत्युसम्‍मै आज्ञापालन गर्न सके। स्वभावको रूपान्तरण रातारात हुँदैन; त्यो हासिल गर्न जीवनभरिको अनुभव चाहिन्छ। सत्यता बुझ्‍नु तुलनात्मक रूपमा सजिलो छ, तर विभिन्‍न परिस्थितिमा सत्यता अभ्यास गर्न सक्षम हुन कठिन छ। किन मानिसहरूलाई सत्यता अभ्यास गर्न सधैँ कठिन हुन्छ? वास्तवमा, यी कठिनाइहरू सीधै मानिसहरूको भ्रष्ट स्वभावसँग सम्‍बन्धित हुन्छन्, र ती सबै भ्रष्ट स्वभावबाट आउने बाधाहरू हुन्। त्यसकारण, सत्यता अभ्यास गर्न सक्षम हुनको लागि तिमीहरूले धेरै कष्ट भोग्‍नु र मूल्य चुकाउनुपर्छ। यदि तँसँग भ्रष्ट स्वभाव नभएको भए, सत्यता अभ्यास गर्नको लागि तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु पर्दैनथ्यो। के यो स्पष्ट तथ्य होइन र? कहिलेकहीँ तैँले सत्यको अभ्यास गरिरहेको छस् भन्‍ने जस्तो लाग्छ, तर वास्तविकतामा, तेरा कार्यहरूको प्रकृतिले तैँले त्यसो गरिरहेको छस् भन्‍ने देखाउँदैन। परमेश्‍वरमा विश्‍वास गर्दा, धेरै मानिसहरूले आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, र त्यसैले तिनीहरूलाई आफूले सत्यता अभ्यास गरिरहेका छौं भन्‍ने विश्‍वास लाग्छ। तर तिनीहरूले साँचो अनुभवको गवाही कहिल्यै दिन सक्दैनन्। यहाँ वास्तवमा के भइरहेको छ? तिनीहरूलाई मानिसका धारणाहरूद्वारा मापन गर्दा, तिनीहरूले सत्यता अभ्यास गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले जे अभ्यास गरिरहेका छन् त्यसलाई परमेश्‍वरले सत्यता अभ्यासको रूपमा मान्यता दिनुहुन्‍न। यदि तैँले गर्ने कुराहरूको पछाडि कुनै व्यक्तिगत मनसाय छ र त्यसमा अशुद्धता मिसिएको छ भने, तँ सिद्धान्तबाट विचलित हुने सम्भावना हुन्छ, र त्यो बेला तँलाई सत्यता अभ्यास गरिरहेको भनेर भन्‍न सकिँदैन; यो त केवल एक प्रकारको आचरण हो। कडा अर्थमा भन्‍नुपर्दा, यस प्रकारको आचरणलाई परमेश्‍वरले सायद दोषी नै ठहराउनुहुनेछ; उहाँले यस्तो आचरणलाई प्रशंसा वा सम्झना गर्नुहुनेछैन। यसलाई सार र जडसम्मै विश्‍लेषण गर्दै जाने हो भने, तँ दुष्कर्म गर्ने व्यक्ति होस्, र तेरा यी बाह्य व्यवहारहरू परमेश्‍वरविरोधी कुरा हुन्। बाहिरबाट, तैँले कुनै कुरालाई रोकावट वा बाधा दिइरहेको हुँदैनस् र तैँले वास्तविक क्षति गरेको हुँदैनस्। यो तर्कसंगत र उचितजस्तो देखिन्छ, तर भित्रचाहिँ यसमा मानव अशुद्धता र अभिप्रायहरू हुन्छन्, र यसको सार दुष्कर्म गर्ने र परमेश्‍वरको विरोध गर्ने खालको हुन्छ। त्यसकारण, तेरो स्वभावमा परिवर्तन आएको छ वा छैन र परमेश्‍वरको वचनहरू प्रयोग गर्दै र तेरा आफ्नै कामहरूको पछाडि रहेका हेतुहरूलाई ध्यान दिँदै तैँले सत्यता अभ्यास गरेको छस् कि छैनस् सो तैँले निर्धारण गर्नुपर्छ। तेरा कार्यहरू मानव कल्पना र मानव सोचहरूअनुरूप छन् वा छैनन्, वा ती तेरा स्वाद सुहाउँदो छन् कि छैनन् भन्‍ने कुरा मानवीय दृष्टिकोणमा निर्भर हुँदैन; त्यस्ता कुराहरू महत्त्वपूर्ण हुँदैनन्। बरु, यो त तँ परमेश्‍वरको इच्छाअनुसार चलेको छस् कि छैनस्, तेरा कार्यहरूमा सत्यताको वास्तविकता छ वा छैन, र तिनले उहाँका मागहरू र मापदण्डहरू पूरा गर्छन् कि गर्दैनन् भन्‍ने विषयमा उहाँले भन्‍नुहुने कुरामा निर्भर हुन्छ। परमेश्‍वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यलाई अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब समस्याको सारको कुरा आउँदछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्‍मै दिनभर दौडधूप गर्छौ, तर तिमीहरूले आफ्नो जीवन स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र स्वभाव रूपान्तरण भनेको के हो भनेर तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्‍ने हुन्छ, होइन र? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभाव रूपान्तरणसँग सम्बन्धित सार र गहिरा चीजहरूलाई सायद महसुस गरेका छैनौ। के तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्‍न सकिन्छ? परमेश्‍वरले तँलाई स्याबासी दिनुहुन्छ कि दिनुहुन्‍न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, आफूले गर्ने सबै कार्यहरूमा तैँले आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैंले तेरा कर्तव्यहरू पूरा गरिरहेको बेला, परमेश्‍वरको घरमा वा आम रूपमा कुनै पनि काम गरिरहेको बेला पवित्र आत्माले तँलाई मार्गनिर्देशन र अन्तर्दृष्टि दिइरहनुभएको महसुस गर्नेछस्। तेरो आचरण परमेश्‍वरको वचनसँग मिल्दोजुल्दो हुनेछ, र तैंले केही हदसम्म अनुभव प्राप्त गरेपछि, तैंले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्‍ने महसुस गर्नेछस्। तापनि, निश्‍चित अवधिसम्म अनुभव प्राप्त गरेपछि, यदि तैंले विगतमा गरेका केही कामहरू उचित थिएन जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट छस्, र ती कार्यहरू सत्यताअनूरूप थिएनन् भन्‍ने महसुस गर्छस् भने, तैंले गरेको सबै कुराहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने यसले प्रमाणित गर्छ। यो तेरा सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो, र तँ स्वभाव परिवर्तन हासिल गर्न पूर्ण रूपमा असफल भएको छस् भन्‍ने कुराको प्रमाण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८४

मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको मापन गर्ने क्रममा, ध्यान दिनुपर्ने मुख्य कुरा भनेको तिनीहरूले परमेश्‍वरबाट कुनै अत्याधिक थोकहरू चाहन्छन् कि चाहँदैनन्, अनि तिनीहरूको आफ्नै गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति आज्ञाकारी छैनन् प्रमाणित गर्दछ। तँलाई जेसुकै भए पनि, यदि तैँले त्यो परमेश्‍वरबाट प्राप्त गर्न सक्दैनस् भने, सत्यको खोजी गर्न सक्दैनस् भने, सधैँ तेरा आफ्नै व्यक्तिपरक तर्कबाट बोलिरहेको हुन्छस् भने, र सधैँ तँ मात्र सही छस् भन्‍ने महसुस गर्छस् भने, र तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भन्‍ने कुरामा शङ्का गर्ने खालको छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरूले कहिल्यै पनि उहाँको आज्ञापालन गर्न सक्दैनन्। यदि तैँले परमेश्‍वरसँग माग गर्छस् भने, त्यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्दैछस्, तैँले आफ्नै विचारहरू चुनिरहेको छस्, र तेरा आफ्नै विचारअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्दछ। यसो गरेर, तैँले परमेश्‍वरलाई धोका दिन्छस्, र तँमा आज्ञाकारीता हुँदैन। परमेश्‍वरसँग माग गर्नु मूर्खता हो; यदि तँ साँच्चै उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छस् भने, तैँले उहाँसँग माग गर्ने हिम्मत गर्नेछैनस्, न त तँ उहाँसँग कुनै माग गर्ने योग्यको नै हुनेछस्, चाहे ती उचित होऊन् वा नहोऊन्। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ, र उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, उहाँको आराधना गर्ने र आज्ञापालन गर्ने बाहेक अरू कुनै विकल्प तँसँग हुनेछैन। आज मानिसहरूले स्वेच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्‍वरलाई समेत तिनीहरूका आफ्‍नै इच्‍छाअनुसार काम गर्न लगाउँछन्। तिनीहरूले परमेश्‍वरको आज्ञापालन नगर्ने विकल्प मात्रै रोज्दैनन्, परमेश्‍वरलाई तिनीहरूको आज्ञापालन गर्नसमेत लगाउँछन्। के यो तर्कहीन अवस्था होइन र? त्यसकारण, यदि मानिसमा कुनै साँचो दृढ निश्‍चयता छैन, कुनै ठोस विश्‍वास छैन भने, उसले कहिल्यै पनि परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्दैन। जब मानिसहरूले परमेश्‍वरसित थोरै मागहरू गर्न सक्छन्, तिनीहरूको साँचो दृढ निश्‍चयता र तिनीहरूको आज्ञापालन बढ्नेछ, र तिनीहरूको समझशक्ति पनि तुलनात्मक रूपमा सामान्य हुनेछ। प्रायजसो के हुन्छ भने, मानिसहरू जति तर्कशील हुने प्रवृत्ति हुन्छ, र उनीहरूले जति धेरै स्पष्टीकरण दिन्छन्, उनीहरूलाई निराकरण गर्न उति नै गाह्रो हुन्छ। उनीहरूका मागहरू धेरै मात्र हुँदैनन्, तर उनीहरूलाई औँलो दिँदा डुँडुलो पनि निल्छन्। जब एउटा क्षेत्रमा सन्तुष्ट हुन्छन्, तब उनीहरूले अर्को क्षेत्रमा माग गर्छन्, उनीहरू सबै क्षेत्रमा सन्तुष्ट हुनुपर्दछ, र यदि तिनीहरू सन्तुष्ट भएनन् भने, उनीहरूले गुनासो गर्न थाल्छन्, र आफैलाई आशारहित ठान्छन्। पछि उनीहरू ऋणी र अफसोस महसुस गर्छन्, र उनीहरू धरधरी आँसु बगाउँदै रुन्छन्, र मर्न चाहन्छन्। त्यसको के फाइदा हुन्छ? के यो तर्कहीन अवस्था होइन र? यस्ता श्रृंखलाबद्ध समस्याहरूलाई जराबाटै समाधान गरिनुपर्छ। यदि तँमा भ्रष्ट स्वभाव छ र तैँले यसलाई समाधान गर्दैनस् भने, र यदि तँ यसलाई समाधान गर्नुअघि समस्यामा परुञ्‍जेल वा विपत्ति पैदा हुञ्‍जेल जिद्दीपूर्वक प्रतीक्षा गर्छस् भने, तैँले यो घाटालाई कसरी पूर्ति गर्न सक्छस्? के यो काम बिग्रेपछि मात्रै होस खुल्‍नुजस्तो होइन र? त्यसकारण, भ्रष्ट स्वभावको समस्या पूर्ण रूपमा समाधान गर्नको लागि, तैँले यो पैदा हुनेबित्तिकै समाधानहेतु सत्यताको खोजी गरिहाल्‍नुपर्छ। तैँले भ्रष्ट स्वभावलाई कोपिला छँदै समाधान गर्नुपर्छ, यसरी गल्ती नहुने र भविष्यमा समस्याहरू नआउने सुनिश्‍चित गर्न सकिन्छ। यदि भ्रष्ट स्वभावले व्यक्तिमा जरा हाल्छ र उसका विचारहरू वा दृष्टिकोण बन्छ भने, यसले उसलाई दुष्कर्म गर्न निर्देशित गर्न सक्छ। त्यसकारण, आत्मचिन्तन र आत्मज्ञानको मुख्य उद्देश्य भ्रष्ट स्वभावहरू पत्ता लगाएर, तिनलाई समाधान गर्न तुरुन्तै सत्यताको खोजी गर्नु हो। तेरो प्रकृतिमा के-कस्ता कुराहरू छन्, तँलाई के मन पर्छ, तँ के कुराको पछि लाग्छस्, र तँ के हासिल गर्न चाहन्छस् भन्‍ने कुरालाई तैँले जान्‍नैपर्छ। तैँले यी कुराहरू परमेश्‍वरको इच्‍छा अनुसार छन् कि छैनन्, र ती किन गलत छन् भनेर हेर्नको लागि यिनलाई परमेश्‍वरका वचनहरूअनुसार विश्‍लेषण गर्नुपर्छ। यी कुराहरू बुझेपछि, तैँले तर्कको असामान्यतासम्‍बन्धी समस्या, अर्थात् तर्कहीनताको समस्यालाई समाधान गर्नुपर्छ। यो भ्रष्ट स्वभावको मात्रै समस्या होइन, तर्कशक्तिको कमी हुनु पनि हो। विशेष गरी जब मानिसहरूको हितको कुरा आउँछ, हितहरूद्वारा विचलित भएका मानिसहरू तर्कहीन बन्‍न सक्छन्। यो एउटा मानसिक समस्या हो, र यो मानिसहरूको कमजोरीको बिन्दु पनि हो। कतिपय मानिसहरूलाई तिनीहरूसँग निश्‍चित क्षमता र वरदानहरू छन् भन्‍ने लाग्छ, र तिनीहरू सधैँ अरूभन्दा राम्रो देखिन अगुवा बन्‍न चाहन्छन्, त्यसकारण तिनीहरू परमेश्‍वरलाई मलाई प्रयोग गर्नुहोस् भनी अनुरोध गर्छन्। परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभएन भने, तिनीहरू भन्छन्, “परमेश्‍वरले कसरी मलाई निगाह गर्न सक्‍नुभएन? हे परमेश्‍वर, यदि तपाईंले मलाई कुनै महत्त्वपूर्ण काममा प्रयोग गर्नुभयो भने, म प्रतिज्ञा गर्छु, म तपाईंमै समर्पित हुनेछु!” के यस्तो अभिप्राय सही हुन्छ? परमेश्‍वरमा समर्पित हुनु राम्रो कुरा हो, तर परमेश्‍वरको लागि समर्पित हुने तिनीहरूको इच्‍छापछाडि अभिप्रायहरू लुकेका हुन्छन्। तिनीहरूले साँचो रूपमा प्रेम गर्ने कुरा त हैसियत हो, र तिनीहरूले यसैमा ध्यान दिन्छन्। यदि मानिसहरू साँच्‍चै नै आज्ञाकारी छन् भने, परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुभए पनि नभए पनि तिनीहरूले पूर्ण हृदयले उहाँलाई पछ्याउन सक्छन्, र तिनीहरूले हैसियत पाए पनि नपाए पनि परमेश्‍वरको लागि समर्पित हुन सक्छन्। यी मानिसहरूलाई मात्रै तर्कसंगत र परमेश्‍वरप्रति आज्ञाकारी भनेर मान्‍न सकिन्छ। मानिसहरूले परमेश्‍वरको लागि समर्पित हुन चाहनु राम्रो कुरा हो, र परमेश्‍वरले त्यस्ता मानिसहरूलाई प्रयोग गर्न चाहनुहुन्छ, तर तिनीहरू सत्यताले सुसज्‍जित छैनन् भने, परमेश्‍वरले तिनीहरूलाई कुनै पनि हालतमा प्रयोग गर्न सक्‍नुहुन्‍न। यदि मानिसहरू सत्यताको लागि मेहनत र सहकार्य गर्न इच्‍छुक छन् भने, त्यसमा तयारीको चरण हुनुपर्छ। मानिसहरू सत्यता बुझेर परमेश्‍वरको साँचो आज्ञापालन गर्न सक्‍ने भए भने मात्रै, परमेश्‍वरले औपचारिक रूपमा तिनीहरूलाई प्रयोग गर्न सक्‍नुहुन्छ। अभ्यासको यो चरण अपरिहार्य हुन्छ। आजका अगुवा र सेवकहरू सबै अभ्यासको यो चरणमा हुन्छन्। तिनीहरूले जीवन अनुभव पाएपछि र सिद्धान्तअनुसार काम गर्न सक्‍ने भएपछि, तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य बन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८५

सृष्टि गरिएको प्राणीमा सृष्टिकर्ताप्रति हुनुपर्ने एक मात्र मनोवृत्ति भनेको आज्ञापालनको मनोवृत्ति हो, निसर्त आज्ञापालनको मनोवृत्ति। यो यस्तो कुरा हो, जसलाई आज केही मानिसहरूले स्वीकार्न सक्दैनन्। यस्तो किन हुन्छ भने मानिसको कद धेरै सानो छ र तिनीहरू सत्यताको वास्तविकतारहित छन्। परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कामहरू गर्नुहुँदा, यदि तैँले परमेश्‍वरलाई गलत बुझ्‍ने सम्‍भावना छ—तैँले परमेश्‍वरको अवज्ञा गर्ने, र उहाँलाई पिठ्यूँ फर्काउने सम्‍भावना छ भने, तँ परमेश्‍वरको आज्ञापालन गर्न सक्षम हुनबाट धेरै टाढा छस्। मानिसलाई परमेश्‍वरको वचनद्वारा भरणपोषण र सिञ्चन गरिँदा, वास्तवमा मानिस एउटै उद्देश्यको लागि जोड गरिरहेको हुन्छ, र त्यो अन्त्यमा बिनासर्त परमेश्‍वरप्रति पूर्ण समर्पणता हासिल गर्न सक्नु हो—जुन बेला तँ, यो सृष्टि आवश्यक स्तरमा पुगेको हुनेछ। कहिलेकहीँ परमेश्‍वरले जानीजानी तेरा धारणाहरूविपरीत कामहरू गर्नुहुन्छ, र जानीजानी तेरा इच्‍छाहरूविरुद्ध जाने कुराहरू गर्नुहुन्छ, र त्यो सत्यतासँग नमिल्‍ने, र मानव भावनाको विपरीत, अनि तँलाई रिस उठाउने किसिमको समेत देखिन सक्छ; यी कुराहरू स्वीकार गर्न तँलाई गाह्रो हुन सक्छ, तैँले ती कुरा सहजताको साथ लिन सक्दैनस् होला, र तैँले तिनको विश्‍लेषण जसरी गरे पनि, तँलाई ती गलत लाग्‍न सक्छ र तैँले तिनलाई स्वीकार गर्न सक्दैनस्, तँलाई परमेश्‍वरले यसो गर्नु अनुचित हो भन्‍ने लाग्‍न सक्छ—तर वास्तवमा, परमेश्‍वरले यो जानीजानी गर्नुभएको हुन्छ। त्यसो भए, यी कुराहरू गर्नुपछाडि परमेश्‍वरको उद्देश्य के हुन्छ? तँलाई जाँच गर्न र खुलासा गर्न, तैँले सत्यता खोजी गर्न सक्छस् कि सक्दैनस्, तैँले साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्छस् कि सक्दैनस् भनेर हेर्नको लागि यसो गरिएको हुन्छ। परमेश्‍वरले गर्नुहुने र आज्ञा दिनुहुने सबै कुराको आधार नखोज्, र किन भनेर नसोध्। परमेश्‍वरसँग तर्क गर्नुको कुनै अर्थ हुँदैन। तैँले बस परमेश्‍वर सत्यता हुनुहुन्छ भनेर पहिचान गर्नुपर्छ र पूर्ण आज्ञापालन गर्न सक्षम हुनुपर्छ। तैँले बस परमेश्‍वर तेरा सृष्टिकर्ता र तेरा परमेश्‍वर हुनुहुन्छ भनेर पहिचान गर्नुपर्छ। यो कुनै पनि तर्क, कुनै पनि सांसारिक बुद्धि, कुनै पनि मानव नैतिकता, आचारनीति, विशेषज्ञता, दर्शन, वा परम्‍परागत संस्कृतिभन्दा उच्‍च छ—मानव धारणा, मानव धार्मिकता, र कथित मानव प्रेमभन्दा पनि अझै उच्‍च छ। यो सबै कुराभन्दा उच्‍च छ। यदि तँलाई यो कुरा स्पष्ट छैन भने, ढिलोचाँडो तेरो जीवनमा कुनै परिस्थिति आइपर्ने र तँ पतन हुने दिन आउनेछ। कम्तीमा पनि, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेछस् र तँ भ्रष्ट मार्गमा हिँड्नेछस्; यदि तैँले अन्त्यमा पश्‍चात्ताप गर्न, र परमेश्‍वरको प्रेमलाई पहिचान गर्न र परमेश्‍वरले तँमा गर्नुभएको कामको महत्त्व चिन्‍न सक्छस् भने, तँसँग अझै पनि मुक्ति पाउने आशा हुन्छ—तर यो कुराको कारण तँ लड्छस् र उठ्न सक्दैनस् भने, तँसँग कुनै आशा हुँदैन। परमेश्‍वरले मानिसहरूलाई न्याय, ताडना, वा श्राप दिनुभए पनि, यो सब तिनीहरूलाई मुक्ति दिनको लागि हुन्छ, र तिनीहरूले डराउनु पर्दैन। तैँले के कुराको चाहिँ डर मान्‍नुपर्छ त? परमेश्‍वरले “म तँलाई घृणा र इन्कार गर्छु” भन्‍नुहोला भन्‍ने डर तैँले मान्‍नुपर्छ। यदि परमेश्‍वरले यसो भन्‍नुभयो भने, तँ समस्यामा हुन्छस्: यसको अर्थ परमेश्‍वरले तँलाई मुक्ति दिनुहुनेछैन र तैँले मुक्ति पाउने कुनै आशा छैन भन्‍ने हुन्छ। त्यसकारण, परमेश्‍वरको काम स्वीकार गर्दा, मानिसहरूले परमेश्‍वरको इच्‍छा बुझ्‍नुपर्छ। तैँले जेसुकै गरे पनि, परमेश्‍वरका वचनहरूको बारेमा यसो भन्दै छनौट गर्ने नगर्, “न्याय र सजाय ठीकै छ, तर दण्डाज्ञा, श्राप, विनाश—के त्यसको अर्थ मेरो लागि सब खतम भो भन्‍ने हुँदैन र? परमेश्‍वरको सृष्टि बन्‍नुको अर्थ के भो र? त्यसकारण म तपाईंको सृष्टि बन्‍नेछैनँ, र तपाईं अबदेखि मेरा परमेश्‍वर हुनुहुन्‍न।” यदि तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुँदैनस् भने, परमेश्‍वरले तँलाई साँच्‍चै नै इन्कार गर्न सक्‍नुहुन्छ। के तिमीहरूलाई यो कुरा थाहा छ? मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरूले जति धेरै यात्रा गरेका भए पनि, तिनीहरूले जति धेरै काम गरेका भए पनि, वा तिनीहरूले जति वटा कर्तव्य पूरा गरेका भए पनि, तिनीहरूले यो अवधिमा गरेको सबै थोक एउटै कुराको तयारीको लागि हो। त्यो के हो? तिनीहरूले अन्त्यमा परमेश्‍वरप्रति पूर्ण आज्ञापालन, सर्तरहित आज्ञापालन हासिल गर्ने तयारी गरिरहेका हुन्छन्। “सर्तरहित” को अर्थ के हो? यसको अर्थ आफूलाई सही साबित गर्ने प्रयास नगर्नु, र आफ्‍नै उद्देश्यमूलक तर्कहरूको कुरा नगर्नु हो, यसको अर्थ तँ झिनामसिना कुराहरूमा तेरो-मेरो भनिरहेको छैनस् भन्‍ने हो; तँ परमेश्‍वरको सृष्टि होस्, त्यसकारण तँ यसको लायक छैनस्। जब तैँले परमेश्‍वरसँग सानातिना कुराहरूमा तेरो-मेरो भनिरहेको हुन्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र जब तैँले परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्छस्, तब फेरि पनि, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्। परमेश्‍वरसँग तर्क नगर्, सधैँ कारण पत्ता लगाउने प्रयास नगर्, आज्ञापालन गर्नुभन्दा पहिले बुझ्‍नुपर्छ भनेर जिद्दी नगर्, र नबुझ्दा आज्ञापालन गर्दिनँ भनेर नभन्। जब तैँले यसो गर्छस्, तब तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र त्यस्तो अवस्थामा परमेश्‍वरप्रतिको तेरो आज्ञापालन निरपेक्ष हुँदैन; यो तुलनात्मक र सर्तमा आधारित आज्ञापालन हुन्छ। के परमेश्‍वरको आज्ञापालन गर्दा सर्तहरू अघि सार्ने मानिसहरू परमेश्‍वरको साँचो आज्ञापालन गर्ने मानिसहरू हुन्? के तैँले यसरी परमेश्‍वरसँग परमेश्‍वरलाई जस्तो व्यवहार गरिरहेको हुन्छस्? के तैँले परमेश्‍वरलाई सृष्टिकर्ताको रूपमा आराधना गर्छस्? यदि गर्दैनस् भने, परमेश्‍वरले तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरप्रतिको निरपेक्ष र सर्तरहित आज्ञापालन हासिल गर्नको लागि तैँले के अनुभव गर्नुपर्छ? अनि तैँले कसरी अनुभव गर्नुपर्छ? एउटा कुरा के हो भने, मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ, तिनीहरूले काटछाँट र निराकरण स्वीकार गर्नुपर्छ। यसबाहेक, तिनीहरूले परमेश्‍वरको आज्ञा स्वीकार गर्नुपर्छ, आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूले सत्यता खोजी गर्नुपर्छ, जीवन प्रवेशसँग सम्‍बन्धित सत्यताका विभिन्‍न पक्षहरूलाई बुझ्‍नुपर्छ, र परमेश्‍वरको इच्‍छाबारे बुझाइ प्राप्त गर्नुपर्छ। कहिलेकहीँ, यो कुरा मानिसहरूको क्षमताभन्दा बाहिरको हुन्छ, र तिनीहरूमा सत्यताको बुझाइ प्राप्त गर्ने बोधशक्तिको कमी हुन्छ, र अरूले तिनीहरूलाई सङ्गति दिँदा वा परमेश्‍वरले तय गर्नुभएका विभिन्‍न परिस्थितिबाट पाठहरू सिकेर मात्रै तिनीहरूले थोरथोरै बुझ्‍न सक्छन्। तर तँलाई के कुराको चेतना हुनुपर्छ भने तँमा परमेश्‍वरको आज्ञापालन गर्ने हृदय हुनुपर्छ, तैँले परमेश्‍वरसँग तर्क गर्ने वा सर्तहरू अघि सार्ने प्रयास गर्नु हुँदैन; परमेश्‍वरले जे गर्नुहुन्छ ती सबै गरिनुपर्ने कुराहरू हुन्, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ; तँ परमेश्‍वरको सृष्टि होस्, र तँमा आज्ञापालनको मनोवृत्ति हुनुपर्छ, र तैँले सधैँ कारण खोज्‍ने वा सर्तहरू अघि सार्ने गर्नु हुँदैन। यदि तँमा आज्ञापालनको सबैभन्दा आधारभूत मनोवृत्ति पनि छैन, र तँ परमेश्‍वरलाई शङ्का गर्ने र उहाँप्रति सतर्क बन्‍ने प्रवृत्तिको छस्, वा तैँले आफ्‍नो हृदयमा “परमेश्‍वरले मलाई साँच्‍चै मुक्ति दिनुहुन्छ कि हुन्‍न, परमेश्‍वर वास्तवमै धर्मी हुनुहुन्छ कि हुन्‍न भनेर मैले विचार गर्नैपर्छ। सबैले परमेश्‍वर प्रेम हुनुहुन्छ भनेर भन्छन्—ठीक छ त्यसो भए, परमेश्‍वरले ममा जे गर्नुहुन्छ त्यसमा साँच्‍चै प्रेम लुकेको छ कि छैन, यो साँच्‍चै प्रेम हो कि होइन, मैले हेर्नुपर्छ” भनी भन्छस् भने, यदि तैँले परमेश्‍वरले गर्नुहुने कुरा तेरा धारणा र चाखहरू, वा तैँले सत्यता भनी ठानेका कुराहरूअनुरूप छ कि छैन भनेर निरन्तर जाँचिरहेको हुन्छस् भने, तैँले आफ्‍नो स्थानबारे गलत बुझेको हुन्छस्, र तँ समस्यामा छस्: तैँले परमेश्‍वरको स्वभाव चिढ्याउने सम्‍भावना धेरै हुन्छ। आज्ञापालनसँग सम्‍बन्धित सत्यताहरू महत्त्वपूर्ण छन्, र कुनै पनि सत्यतालाई एकदुई वटा वाक्यमा पूर्ण र स्पष्ट रूपमा व्यक्त गर्न सकिँदैन; ती सबै मानिसहरूका विभिन्‍न स्थितिहरू र भ्रष्टतासँग सम्‍बन्धित छन्। एकदुई, वा तीनचार वर्षमै सत्यताको वास्तविकतामा प्रवेश हासिल गर्न सकिँदैन। यसको लागि धेरै कुराको अनुभव गर्नुपर्छ, परमेश्‍वरका वचनहरूको धेरै न्याय र सजाय अनुभव गर्नुपर्छ, धेरै काटछाँट र निराकरण अनुभव गर्नुपर्छ, र अन्तिममा सत्यता अभ्यास गर्ने क्षमता हासिल गर्नुपर्छ। त्यसपछि मात्रै सत्यताको खोजी प्रभावकारी हुनेछ, र त्यसपछि मात्रै मानिसहरूले सत्यताको वास्तविकता प्राप्त गर्नेछन्। सत्यताको वास्तविकता भएका मानिसहरू मात्रै साँचो अनुभव भएका मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८६

परमेश्‍वरको कामको अनुभव गर्ने सिलसिलामा, जतिपटक असफल भए पनि, लडे पनि, काटछाँट, निराकरण वा खुलासा गरिए पनि, यी कुराहरू नराम्रा होइनन्। तँलाई जे-जसरी काटछाँट वा निराकरण गरिएको भए पनि, वा यो अगुवा, सेवक, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेको भए पनि, यी सबै असल कुरा हुन्। तैँले यो कुरा याद राख्‍नुपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट, निराकरण वा खुलासा गरिनु सधैँ नै राम्रो हुन्छ। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, न प्रसंग नै हुन्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको एउटा मुख्य समस्यालाई समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनको लागि एकदमै फाइदाजनक हुन्छ। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैँले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस्, र सत्यता अभ्यास गर्दै यसको वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैँले त्यस मौकाको फाइदा उठाउन सक्छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्।

यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैंले दैनिक घटनाहरू, चाहे ती राम्रो होस् वा नराम्रो, ती जथाभाबी रूपमा घटित हुँदैनन् भन्‍ने विश्‍वास गर्नुपर्छ। यो कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरेको वा तँलाई निशाना बनाइरहेको भन्‍ने हुँदैन; यो सब परमेश्‍वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको हुन्छ। परमेश्‍वरले किन यी सबै कुराहरूलाई योजनाबद्ध गर्नुहुन्छ? त्यो तँ को होस् भनी खुलासा गर्न वा तँलाई पर्दाफास गरेर हटाउनका लागि होइन; तँलाई खुलासा गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध बनाउनु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्‍वरले तँलाई कसरी सिद्ध तुल्याउनुहुन्छ? अनि उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई तेरो भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति र सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै यो काम सुरु गर्नुहुन्छ। यी कुराहरूलाई जानेर र ती कुराहरूलाई स्पष्ट रूपमा बुझेर मात्र, तँ सत्यताको पछि लाग्न सक्छस् र तैँले बिस्तारै तेरो भ्रष्ट स्वभावलाई हटाउन सक्छस्। यो परमेश्‍वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्‍वरको करुणा हो। यो मौकालाई कसरी सदुपयोग गर्नुपर्छ त्यो तैंले जान्नुपर्छ। तैंले परमेश्‍वरको विरोध गर्न, उहाँसँग टाउको जुधाउन वा उहाँलाई गलत बुझ्न हुँदैन। निश्‍चित रूपमा, परमेश्‍वरले तेरो वरिपरि मिलाउनुभएका मानिसहरू, मामलाहरू, र परिस्थितिहरूको सामना गर्दा, ती कुराहरू तैंले चाहना गरे अनुसार छैनन् भनी बारम्बार महसुस नगर्; तीबाट बारम्बार उम्कने इच्छा नगर् वा सधैँ परमेश्‍वरलाई दोष लाउने र गलत प्रकारले बुझ्ने नगर्। यदि तँ निरन्तर यी कुराहरू गर्छस् भने, तैंले परमेश्‍वरको कामको अनुभव गरिरहेको हुँदैनस्, र त्यसले तँलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न धेरै कठिन बनाउनेछ। जब तैंले पूर्ण रूपमा बुझ्न नसक्‍ने कुनै कुराको सामना गर्छस्, जब कुनै कठिनाइ उत्पन्न हुन्छ, तैंले अधीनमा बस्न सिक्नुपर्छ। तैंले परमेश्‍वरको अगाडि आएर अझ धेरै प्रार्थना गर्दै यो काम सुरु गर्नुपर्छ। त्यसरी, तैंले थाहै नपाई, तेरो आन्तरिक अवस्थामा परिवर्तन आउनेछ, र तैँले आफ्नो समस्या समाधान गर्नका निम्ति सत्यताको खोजी गर्न सक्नेछस्। त्यसरी, तैँले परमेश्‍वरको कामको अनुभव गर्न सक्नेछस्। जब यस्तो हुन्छ, तँभित्र सत्यताको वास्तविकता आउँछ, र तैँले यसरी नै उन्नति गर्नेछस् र तेरो जीवनको अवस्थामा रूपान्तरण आउनेछ। तँ यो परिवर्तनबाट भएर गएपछि र तैँले यो सत्यताको वास्तविकता प्राप्त गरेपछि, तैंले कद पनि प्राप्त गर्नेछस्, र कदको साथमा जीवन पनि आउनेछ। यदि कुनै व्यक्ति सधैँ भ्रष्ट शैतानी स्वभावको आधारमा जिउँछ भने, उनीहरूसँग जति धेरै उत्साह वा ऊर्जा भए पनि, उनीहरूसँग कद, वा जीवन छ भनेर मानिँदैन। परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुन्छ, र उहाँको काम गर्ने तरिका जस्तोसुकै भए पनि, उहाँले आफ्नो सेवामा जस्तोसुकै प्रकारको मानिस, मामला र परिस्थितिहरूलाई प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको शैली जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। अनि, उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई परिवर्तन गर्नुहुन्छ। त्यसैले तैंले अलिअलि पनि कष्ट नभोग्‍नु कसरी सम्भव हुन्छ? तैंले कष्ट भोग्नु पर्नेछ। यस कष्टमा धेरै कुराहरू समावेश हुन सक्छन्। सुरुमा, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दा तिनीहरूले कष्ट सहनुपर्छ। जब परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र खुलस्त हुन्छन् र मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँका बारेमा धारणाहरूसमेत राख्छन्, तब त्यो पनि पीडादायी नै हुन सक्छ। कहिलेकहीँ परमेश्‍वरले मानिसहरूको भ्रष्टता खुलासा गर्न, तिनीहरूलाई आत्मचिन्तन गर्दै आफूलाई चिन्‍न बाध्य गराउनको लागि कुनै परिस्थिति ल्याइदिनुहुन्छ, र त्यसबेला पनि तिनीहरूले अलिकति पीडा भोग्‍छन्। कहिलेकहीँ, जब मानिसहरूलाई प्रत्यक्ष रूपमा काटछाँट, निराकरण, र खुलासा गरिन्छ, तब तिनीहरूलाई कष्ट हुन्छ; मानौँ तिनीहरू चक्‍कुको धारमुनि छन्। कुनै कष्ट हुन्‍न भने, प्रभाव पनि केही हुँदैन। यदि हरेक पटक तँलाई छिँवलिंदा र तँलाई निराकरण गरिँदा, र हरेकपटक कुनै वातावरणले तँलाई उदाङ्गो पार्दा, त्यसले तेरा भावनाहरूलाई जगाउँछ र तँलाई प्रोत्साहन दिन्छ भने, यो प्रक्रियाद्वारा तँ सत्यताको वास्तविकता प्रवेश गर्नेछस्, र तँसित कद हुनेछ। हरेकपटक तँलाई काटछाँट र निराकरण गरिँदा, र कुनै वातावरणमार्फत तेरो खुलासा हुँदा, तँलाई कुनै पनि प्रकारको पीडा वा असुविधा अनुभूति हुँदैन, र तैँले केही पनि महसुस गर्दैनस् भने, यदि तँ परमेश्‍वरको सामु आउँदैनस् र उहाँको इच्छाको खोजी गर्दैनस्, प्रार्थना गर्दैनस् र सत्यताको खोजी पनि गर्दैनस् भने, तँ साँच्चै अति चेतनाशून्य छस्! जब तेरो आत्माले केही अनुभव गर्दैन, र यसले कुनै प्रतिक्रिया दिँदैन, तब परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन। उहाँले भन्नुहुनेछ, “यो व्यक्ति अति नै चेतनाशून्य छ, र धेरै गहन रूपमा भ्रष्ट भएको छ। मैले त्यसलाई जति नै अनुशासनमा राखे पनि, जति नै निराकरण गरे पनि वा जति नै काबूमा राख्‍न खोजे पनि, मैले त्यसको हृदय छुन वा त्यसको आत्मालाई जगाउन सक्दिनँ। यो व्यक्ति समस्यामा पर्नेछ; त्यसलाई मुक्ति दिन सजिलो छैन।” यदि परमेश्‍वरले तेरो लागि केही वातावरण, मानिसहरू, मामलाहरू, र काम-कुराहरू मिलाउनुहुन्छ भने, यदि उहाँले तँलाई छिँवल्नुहुन्छ र निराकरण गर्नुहुन्छ भने र यदि तैंले त्यसबाट पाठ सिक्छस् भने, यदि तैंले परमेश्‍वरको सामु आउन सिकेको छस् भने, सत्यको खोजी गर्न सिकेको छस्, र अनजानमा, अन्तर्दृष्टि र प्रकाश पाएको छस् र सत्यता प्राप्त गरेको छस् भने, यदि तैंले यी वातावरणहरूमा परिवर्तन अनुभव गरेको छस्, इनामहरू कटनी गरेको छस्, र उन्नति गरेको छस् भने, यदि तैंले परमेश्‍वरको इच्छालाई अलि-अलि बुझ्न थालेको छस् र गुनासो गर्न छोडेको छस् भने, यी सबैको अर्थ तँ यी वातावरणहरूका सबै परीक्षाहरूको बीचमा दह्रो भई खडा भएको छस्, र तैँले त्यो जाँचको सामना गरेको छस् भन्ने हुन्छ। त्यसरी तँ त्यो कठिन जाँचबाट पार भएर गएको हुनेछस्। परीक्षामा नडग्मगाउनेहरूलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? परमेश्‍वरले तिनीहरूमा साँचो हृदय छ र तिनीहरूले यस प्रकारको कष्टलाई भोग्‍न सक्छन् किनकि भित्री रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्छन् र सत्यता प्राप्त गर्न चाहन्छन् भनेर भन्‍नुहुनेछ। यदि परमेश्‍वरले तँलाई यसरी मूल्याङ्कन गर्नुभयो भने, के तँ कद भएको व्यक्ति हुँदैनस् र? के त्यसपछि तँसँग जीवन हुँदैन र? अनि यो जीवन कसरी प्राप्त गर्न सकिन्छ? के यो परमेश्‍वरले दिनुहुन्छ? परमेश्‍वरले तँलाई विभिन्न तरिकाद्वारा आपूर्ति दिनुहुन्छ र तँलाई तालिम दिनको लागि विभन्न मानिसहरू, परिस्थिति र वस्तुहरू प्रयोग गर्नुहुन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले व्यक्तिगत रूपमै तँलाई खाना र पानी दिँदै हुनुहुन्छ, तैँले पेटभरि खा र आनन्द लिई भनेर व्यक्तिगत रूपमै विविध खाद्यपदार्थ तेरो सामु ल्याउँदै हुनहुन्छ; र त्यसपछि मात्र तँ वृद्धि हुन र दह्रिलो गरी खडा हुन सक्छस्। तैँले यी कुराहरूलाई यसरी नै अनुभव गर्नु र बुझ्‍नुपर्छ; परमेश्‍वरबाट आउने हरेक कुरामा यसरी नै समर्पित हुनुपर्छ। तँमा यही प्रकारको मानसिकता र मनोवृत्ति हुनुपर्छ, र तैँले सत्यताको खोजी गर्न सिक्‍नैपर्छ। तैँले निरन्तर तेरा समस्याहरूको बाहिरी कारणहरू खोज्‍ने वा तिनका लागि अरूलाई दोष लगाउने वा मानिसहरूको गल्ती खोतल्‍ने काम गर्नु हुँदैन; तँमा परमेश्‍वरको इच्‍छाको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ। बाहिरबाट हेर्दा, कतिपय मानिसहरूसँग तेरो बारेमा रायहरू रहेको वा तेरो विरुद्धमा द्वेषभाव रहेको जस्तो देखिन सक्छ, तर तैँले परिस्थितिलाई त्यसरी हेर्नु हुँदैन। यदि तैँले परिस्थितिलाई यस प्रकारको दृष्टिकोणबाट हेर्छस् भने, तैँले बहाना मात्रै बनाउनेछस्, र तैँले केही पनि प्राप्त गर्न सक्‍नेछैनस्। तैँले परिस्थितिहरूलाई वस्तुगत रूपमा हेर्नुपर्छ र सबै कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। जब तैँले परिस्थितिहरूलाई यसरी हेर्छस्, तब परमेश्‍वरको कामको पालना गर्न तँलाई सहज हुनेछ, र तैँले सत्यता खोजी गर्न, र परमेश्‍वरको इच्‍छा बुझ्‍न सक्‍नेछस्। तेरो दृष्टिकोण र मानसिकता सुधार हुनेबित्तिकै, तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्। त्यसो भए, तैँले किन यसो गर्दैनस्? किन विरोध गर्छस्? यदि तैँले विरोध गर्न छोडेको भए, सत्यता प्राप्त गर्नेथिइस्। यदि तैँले विरोध गरिस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र परमेश्‍वरका भावनाहरूमा चोट पुर्‍याउनेछस् र उहाँलाई खिन्‍न तुल्याउनेछस्। परमेश्‍वर कसरी खिन्‍न हुनुहुनेछ? तैँले सत्यता स्वीकार गर्दैनस्, तँसँग मुक्तिको आशा छैन, र परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्‍न, तब उहाँ खिन्‍न नभई कसरी बस्‍न सक्‍नुहुन्छ? जब तैँले सत्यता स्वीकार गर्दैनस्, तब त्यो परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमा दिनुभएको खाना इन्कार गर्नुसरह हुन्छ। तैँले मलाई भोक लागेको छैन र तँलाई यसको खाँचो छैन भनी भन्छस्; परमेश्‍वरले तँलाई खान प्रोत्साहित गर्नको लागि बारम्‍बार प्रयास गर्नुहुन्छ, तर तँ अझै पनि यसलाई चाहँदैनस्। बरु तँ भोकै बस्‍न चाहन्छस्। तँलाई आफू अघाएको छु भन्‍ने लाग्छ, तर वास्तवमा, तँसँग बिलकुलै केही पनि हुँदैन। यस्ता मानिसहरूमा समझको औधी कमी हुन्छ, र तिनीहरू औधी आत्मधर्मी हुन्छन्; साँच्‍चै नै तिनीहरूले देख्दा पनि एउटै असल कुरा पनि चिन्दैनन् र तिनीहरू सबैभन्दा दरिद्र र दयनीय मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि वरपरका मानिसहरू, मामला र स्थितिहरूबाट सिक्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८७

मण्डलीका अगुवाहरू र कार्यकर्ताहरूले आफ्नो काम गर्दा दुई वटा सिद्धान्तमा ध्यान दिनुपर्छ: एउटा हो, कामको बन्दोबस्तहरूद्वारा निर्धारित गरिएका ठीक सिद्धान्तहरू अनुसार काम गर्नु, ती सिद्धान्तहरू कहिल्यै पनि उल्लङ्घन नगर्नु र तिनीहरूले गरेका कल्पना वा तिनीहरूका आफ्‍नै विचारलाई तिनीहरूका कामको आधार नबनाउनु। तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरूले मण्डलीको काममा चासो देखाउनुपर्छ, र सधैँ परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। अर्को कुरा—यो सबैभन्दा महत्त्वपूर्ण छ—सबै कुरामा तिनीहरूले पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउने कार्यमा ध्यान दिनुपर्छ, र परमेश्‍वरको वचन कडाइका साथ पालन गर्दै सबै कुरा गर्नुपर्छ। यदि तिनीहरू अझै पनि पवित्र आत्माको मार्गनिर्देशनको विरुद्धमा छन् भने, वा यदि तिनीहरू हठी बन्दै आफ्नै विचारहरूमा चल्छन्, र आफ्नै कल्‍पनाहरूअनुसार कार्यहरू गर्छन् भने, तिनीहरूका कार्यहरू परमेश्‍वरको विरुद्ध अति गम्भीर प्रतिरोध बन्नेछन्। पवित्र आत्माको अन्तर्दृष्टि र मार्गनिर्देशनप्रति बारम्बार आफ्नो पिठ्यूँ फर्काउँदा त्यसले तिनीहरूलाई बन्द बाटोमा पुऱ्याउँछ। यदि तिनीहरूले पवित्र आत्माको काम गुमाए भने, तिनीहरूले काम गर्न सक्नेछैनन्; र यदि तिनीहरूले कुनै प्रकारले काम गर्न सके भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। काम गर्ने क्रममा अगुवा र सेवकहरूले पालन गर्नुपर्ने दुई मुख्य सिद्धान्तहरू यिनै हुन्: एउटा भनेको माथिका कार्य बन्दोबस्तहरूसँग ठ्याक्‍कै मिल्ने गरी आफ्नो काम गर्नु, साथै माथिबाट तोकिएका सिद्धान्तहरूअनुसार व्यवहार गर्नु; र अर्कोचाहिँ आफूभित्र पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु। यी दुई सिद्धान्तहरू बुझेपछि तिनीहरूले गल्तीहरू गर्ने सम्‍भावना हुनेछैन। तिमीहरूको मण्डलीमा काम गरेको अनुभव अझै सीमित छ, र जब तिमीहरू काम गर्छौ, तब तिमीहरूका आफ्नै विचारहरूले ती कामलाई एकदमै धेरै अशुद्ध तुल्याउँछ। कहिलेकहीँ, पवित्र आत्माबाट आउने तँभित्रको ज्ञान वा अगुवाइलाई तैँले बुझ्न सक्दैनस्; अरू बेला, तैंले त्यो बुझेको जस्तो देखिन्छ, तर तैंले त्यसलाई बेवास्ता गर्ने सम्भावना हुन्छ। तिमीहरू सधैँ मानवीय तरिकाले कल्पना गर्छौ वा निष्कर्षमा पुग्छौ, आफूलाई जे उचित लाग्छ त्यसै गर्छौ, पवित्र आत्माका उद्देश्यहरूको कुनै वास्ता गर्दैनौ। पवित्र आत्माबाट आउने कुनै पनि अन्तर्दृष्टिलाई पन्छ्याउँदै तँ पूर्ण रूपमा आफ्नै विचारअनुसार काम गर्छस्। यस्ता परिस्थितिहरू बारम्बार आउँछन्। पवित्र आत्माको भित्री मार्गनिर्देशन कुनै पनि प्रकारले अनुभव गर्न सक्नेभन्दा परको हुँदैन; यो वास्तवमा अति सामान्य हुन्छ। अर्थात्, तेरो हृदयको गहिराइमा, तँलाई व्यवहार गर्ने उचित र सर्वोत्तम तरिका यही हो भन्‍ने थाहा हुन्छ। यो विचार वास्तवमा एकदम स्पष्ट छ; यो चिन्तनबाट आएको होइन, र कहिलेकहीँ तैँले किन त्यस्तो प्रकारले व्यवहार गर्नुपरेको हो सो पूर्ण रूपमा बुझ्दैनस्। यो प्रायजसो पवित्र आत्माको अन्तर्दृष्टिबाहेक अरू केही हुँदैन। अनुभव भएका मानिसहरूको जीवनमा यो बारम्‍बार भइरहन्छ। सबैभन्दा उचित काम कुन हो, त्यो गर्न पवित्र आत्‍माले तँलाई अगुवाइ गर्नुहुन्छ। यो तैँले सोचिरहने कुरा होइन, बरु यो त तेरो हृदयको भावना हो जसले तँलाई काम गर्ने सबैभन्दा उत्तम तरिका यही हो भन्‍ने महसुस गराउँछ, र किन भनेर थाहै नभई तँलाई त्यसरी काम गर्न मन लाग्छ। यो पवित्र आत्‍माबाट आएको हुन सक्छ। व्यक्तिको आफ्ना विचारहरू प्रायजसो धारणा र सोचविचारबाट आउँछ, र त्यो सबैमा आफ्‍नै इच्‍छा मिसिएको हुन्छ; उसले त्यो आफ्नो लागि के लाभ र फाइदाको छ भन्‍ने मात्र सोच्छन्; मानिसले गर्छु भनेर निर्णय गरेको हरेक कुरामा यी कुराहरू हुन्छन्। तापनि, पवित्र आत्माको मार्गनिर्देशनमा कुनै पनि हिसाबले त्यस्तो मिश्रण हुँदैन। पवित्र आत्माबाट प्राप्त हुने मार्गनिर्देशन वा अन्तर्दृष्टिमा सावधानीपूर्वक ध्यान दिनु आवश्यक हुन्छ; विशेष गरी मुख्य विषयहरूमा, त्यसलाई बुझ्नका निम्ति तँ होसियार हुनुपर्छ। आफ्‍नै दिमाग प्रयोग गर्न मन पराउने, र आफ्नै विचारहरूमा काम गर्न मन पराउने मानिसहरू, तिनीहरूले त्यस्तो मार्गनिर्देशन वा अन्तर्दृष्टिलाई गुमाउने धेरै सम्‍भावना हुन्छ। योग्य अगुवा र सेवकहरू भनेका पवित्र आत्‍माको कार्य प्राप्त गरेका, हरेक क्षणमा पवित्र आत्‍माको काममा ध्यान दिने, पवित्र आत्‍माको आज्ञापालन गर्ने, परमेश्‍वरको डर मान्‍ने, परमेश्‍वरको इच्‍छालाई ध्यान दिने, र अथक रूपमा सत्यताको खोजी गर्ने मानिसहरू हुन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न र उहाँको लागि उचित रूपमा गवाही दिनको लागि, तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा तँमा आउने अभिप्राय र अशुद्धताहरूका बारेमा बारम्‍बार मनन गर्नुपर्छ, र त्यसपछि कामको कति भाग मानव विचारद्वारा प्रेरित छ, कति भाग पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा पैदा भएको छ, र कति भाग परमेश्‍वरका वचनहरूअनुरूप छ भनेर हेर्ने प्रयास गर्नुपर्छ। तैँले लगातार, र सबै परिस्थितिहरूमा, आफ्ना बोलीवचन र कार्यहरू सत्यताअनुरूप छन् छैनन् भनेर मनन गर्नुपर्छ। यस तरिकाले बारम्बार अभ्यास गर्दा त्यसले तँलाई परमेश्‍वरको सेवा गर्ने सही मार्गमा राख्दछ। परमेश्‍वरप्रतिको सेवा उहाँकै अभिप्रायहरू अनुरूप प्राप्त गर्नका निम्ति व्यक्तिमा सत्यताका वास्तविकताहरू हुनु आवश्यक पर्छ। सत्य बुझेपछि मात्र मानिसहरूसँग तिनीहरूका आफ्नै विचारहरूबाट के आउँछ अनि मानव मनसायहरूबाट के आउँछ भनेर छुट्याउन र चिन्न सक्‍ने क्षमता हुन्छ। तिनीहरूले मानिसका अशुद्धताहरू, साथै सत्यको आधारमा काम गर्नुको अर्थ के हो सो बुझ्न सक्छन्। तिनीहरू वास्तविकता छुट्याउन सक्‍ने भएपछि मात्रै तिनीहरू सत्यता अभ्यास गर्न र पूर्ण रूपमा परमेश्‍वरको इच्‍छाअनुरूपका बन्‍न सक्छन्। सत्यता नबुझी, मानिसहरूले समझशक्तिको अभ्यास गर्नु असम्‍भव हुन्छ। मानिसहरूले समझशक्ति प्रयोग गर्नु असम्भव छ। एउटा भ्रमित व्यक्तिले उसको आफ्नै भ्रष्टता प्रकट हुनु भनेको के हो वा परमेश्‍वरको प्रतिरोध गर्नुको अर्थ के हो भनी नजानी आफ्नो जीवनभरि परमेश्‍वरमा विश्‍वास गरेको हुन सक्छ, किनकि उसले सत्यतालाई बुझ्दैन; त्यो विचार उसको मनमा अस्तित्वमा समेत रहेको हुँदैन। अत्यन्तै कम क्षमता भएका मानिसहरूका लागि, सत्यता तिनीहरूको पहुँचदेखि बाहिर हुन्छ; त्यस विषयमा तैँले उनीहरूसित जति नै सङ्गति गरे पनि उनीहरूले अझै बुझ्दैनन्। त्यस्ता व्यक्तिहरू भ्रममा परेका हुन्छन्। तिनीहरूको विश्‍वासमा, भ्रमित मानिसहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्; तिनीहरूले थोरै मात्र सेवा गर्न सक्छन्। यदि अगुवा र सेवकहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छन् भने, तिनीहरूको क्षमता अत्यन्तै खराब हुनु हुँदैन। कम्तीमा पनि, तिनीहरूले आत्मिक कुराहरू बुझ्नुपर्छ र विशुद्ध रूपमा परिस्थिति ग्रहण गर्नुपर्छ, ताकि तिनीहरूले सहजै सत्यता बुझ्‍न र अभ्यास गर्न सकून्। कतिपय मानिसहरूको अनुभव अत्यन्तै सतही हुन्छ, त्यसकारण कहिलेकहीँ सत्यताप्रतिको तिनीहरूको बुझाइमा तलमाथि हुन्छ, अनि तिनीहरूमा गल्‍ती गर्ने प्रवृत्ति हुन्छ। जब तिनीहरूको बुझाइ तलमाथि हुन्छ, तब तिनीहरू सत्यता अभ्यास गर्ने कार्यको स्तरमा पुगेका हुँदैनन्। जब सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइमा विचलन आउँछ, तब तिनीहरूले नियमहरू अनुसरण गर्ने सम्‍भावना हुन्छ, र जब तिनीहरूले नियमहरू अनुसरण गर्छन्, तब सहजै गल्ती हुन सक्छ, र तिनीहरू सत्यता अभ्यास गर्ने कार्यको स्तरमा पुगेका हुँदैनन्। जब बुझाइमा तलमाथि हुन्छ, तब ख्रीष्टविरोधीहरूले सहजै छल गर्न र प्रयोग गर्न पनि सक्छन्। त्यसकारण, बुझाइमा गडबडी भयो भने धेरै गल्तीहरू हुन सक्छन्। फलस्वरूप, तिनीहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न नसक्‍ने मात्र होइन, तिनीहरू सहजै बरालिन सक्छन्, र त्यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हानि गर्छ। यसरी कसैले आफ्‍नो कर्तव्य पूरा गर्नुको महत्त्व के हुन्छ र? तिनीहरू मण्डलीको काममा बाधा र व्यवधान ल्याउने व्यक्ति बनेका हुन्छन्। अनि यी असफलताहरूबाट पाठहरू सिकिनुपर्छ। परमेश्‍वरले सुम्पनुभएको काम पुरा गर्नको लागि, अगुवा र सेवकहरूले यी दुई वटा सिद्धान्तहरू बुझ्‍नु अत्यावश्यक हुन्छ: कर्तव्य पूरा गर्ने क्रममा माथिबाट दिइएका कार्य बन्दोबस्तहरूलाई कडाइका साथ पालन गर्नुपर्छ, र परमेश्‍वरको वचनअनुसार पवित्र आत्‍माको मार्गदर्शनलाई ध्यान दिनु र पालन गर्नुपर्छ। यी दुई वटा सिद्धान्तहरू बुझेपछि मात्र व्यक्तिको कार्य प्रभावकारी हुन सक्छ र परमेश्‍वर सन्तुष्ट हुन सक्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८८

पत्रुसले परमेश्‍वरको वचनको शोधनमार्फत र परमेश्‍वरले तिनलाई प्रदान गर्नुभएका विभिन्‍न परीक्षाहरूभित्रबाट आफैलाई चिन्‍न अनि आफूमा के प्रकट भएको थियो बुझ्न खोजे। जब पत्रुसले आफैलाई साँचो रूपमा बुझे, तब तिनले मानिसहरू कति गहन रूपमा भ्रष्ट भएका छन्, उनीहरू परमेश्‍वरको सेवा गर्नका निम्ति कति धेरै बेकम्मा र अयोग्य छन्, र उनीहरू परमेश्‍वरको सामु जिउन योग्य छैनन् भन्‍ने बुझे। त्यसपछि पत्रुस परमेश्‍वरको सामु लम्‍पसार परे। धेरै अनुभव प्राप्त गरेपछि, पत्रुसले यस्तो अनुभूति गरे, “परमेश्‍वरलाई चिन्‍नु नै सबैभन्दा अनमोल कुरा हो! यदि म उहाँलाई चिन्‍नुभन्दा पहिले नै मरेँ भने, त्यो दुःखको कुरा हुनेछ; परमेश्‍वरलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण, अर्थपूर्ण कुरा हो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन भने, ऊ जिउन योग्य हुँदैन, ऊ पशुसरह हुन्छ, र ऊसित जीवन हुँदैन।” पत्रुसको अनुभव यो अवस्थामा पुगिसक्दा, तिनले आफ्नो स्वभाव चिनिसकेका थिए र तिनले यसबारेमा तुलनात्मक रूपमा राम्रो बुझाइ प्राप्त गरिसकेका थिए। सायद पत्रुसले आजका मानिसहरूले जस्तो यसको स्पष्ट वर्णन गर्न सकेनन्, तापनि उनी साँच्‍चै यो अवस्थामा पुगेका थिए। त्यसकारण, सत्यता पछ्याउने बाटोमा हिँड्नु र परमेश्‍वरद्वारा सिद्धता प्राप्त गर्नका लागि मानिसले परमेश्‍वरका वाणीहरूबाट आफ्नो स्वभावलाई चिन्‍नु आवश्यक हुन्छ, साथै आफ्‍नो स्वभावका विभिन्‍न पक्षहरू बुझ्नु र शब्दहरूमा त्यसको सही वर्णन गर्नु, स्पष्ट र सरल रूपमा बोल्नु आवश्यक हुन्‍छ। यो मात्रै आफूलाई साँचो रूपमा चिन्‍नु हो, र यसरी मात्रै परमेश्‍वरले चाहनुभएको परिणाम तैँले प्राप्त गरेको हुन्छस्। यदि तेरो ज्ञान अहिलेसम्म यस बिन्दुमा पुगेको छैन, तर तैँले आफैलाई चिनेको दाबी गर्छस् र तैंले जीवन प्राप्त गरेको छस् भनी भन्छस् भने, के तैंले सेखी गरिरहेको हुँदैनस् र? तैँले आफैलाई चिन्दैनस्, न त परमेश्‍वरको अगाडि तँ के होस्, तैंले मानव हुनुका मापदण्डहरू साँच्‍चै पूरा गरेको छस् कि छैनस् वा तँभित्र अझै पनि कसरी धेरै शैतानिक तत्वहरू छन् भन्‍ने कुरा नै जान्दछस्। तँ कसको होस् भन्‍ने विषयमा तँ अझै पनि अस्पष्ट छस्, र तँसँग अझै पनि आफ्नै बारेमा कुनै ज्ञान छैन—त्यसैले परमेश्‍वरको सामु तँसँग कसरी तर्कशक्ति हुनसक्छ? जब पत्रुसले जीवनको खोजी गरिरहेका थिए, तिनले परीक्षाहरूको अवधिमा आफूलाई जाँच्न र आफ्नो स्वभाव बदल्‍नमा आफ्‍नो ध्यान केन्द्रित गरे, र तिनले परमेश्‍वरलाई चिन्‍ने प्रयास गरे। अनि अन्त्यमा तिनले सोचे, “मानिसहरूले जीवनमा परमेश्‍वरको ज्ञान खोज्नुपर्छ; उहाँलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि म परमेश्‍वरलाई चिन्दिनँ भने, म मरेपछि शान्तिमा विश्राम गर्न सक्दिनँ। मैले उहाँलाई चिनेपछि, यदि परमेश्‍वरले मलाई मर्नुपर्छ भनी भन्‍नुभयो भने, मलाई सबैभन्दा ठूलो सन्तुष्टि मिलेको अनुभूति हुनेछ। म अलिकति पनि गुनासो गर्नेछैनँ, र मेरो सम्पूर्ण जीवन पूर्ण हुनेछ।” पत्रुसले परमेश्‍वरमा विश्‍वास गर्न थाल्नासाथ उनी यस स्तरको बुझाइ प्राप्त गर्न वा तुरुन्तै यस बिन्दुमा पुग्‍न सक्षम भएनन्; बरु उनले धेरैपटक परीक्षाहरूमार्फत गुज्रनुपर्‍यो। तिनले परमेश्‍वरलाई चिन्‍नुको महत्त्वलाई अनुभूति गर्नुभन्दा पहिले, तिनको अनुभव एक निश्‍चित विन्दुसम्‍म पुग्‍नुपर्थ्यो, र तिनले आफूलाई पूर्ण रूपमा बुझ्नुपर्थ्यो। त्यसकारण, पत्रुसले लिएको मार्ग सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने अनि सिद्ध तुल्याइने मार्ग थियो। तिनको निश्‍चित अभ्यास मुख्य रूपमा यही पक्षमा केन्द्रित थियो।

परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा, तिमीहरू अहिले कुन मार्गमा हिँडिरहेका छौ? यदि तँ पत्रुसले जसरी जीवन, आफैबारेको बुझाइ र परमेश्‍वरसम्बन्धी ज्ञानको खोजी गर्दैनस् भने, तँ पत्रुसको मार्गमा हिँडिरहेको छैनस्। आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिषहरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिषहरू प्राप्त गर्नका लागि, मैले सबै कुरा परमेश्‍वरको लागि त्याग्‍नुपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिषहरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्‍वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्‍चित छ कि उनीहरूको बुझाइमा धर्मसिद्धान्तका केही शब्द मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्‍वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्‍वरप्रतिको उनीहरूको बफादारीतालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्‍चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्‍वरद्वारा मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिषहरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्‍न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्‍वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्‍वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्‍चित हुनेछ। पावलले यही कल्पना गरेका थिए र तिनले यही कुरा खोजेका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्‍वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्‍न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्‍नुपर्छ, र त्यो प्राप्त गरेपछि भीडबाट माथि उठ्न, अधिकृतहरू बन्‍न र प्रतिष्ठा पाउन सकिन्छ भन्‍ने कुरामा विश्‍वास गर्ने सांसारिक मानिसहरू जस्तै हो। उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्वाकांक्षालाई पूरा गर्न र आफ्‍ना व्यवसायहरू र पारिवारिक अभ्यासलाई समृद्धिको एक निश्‍चित तहसम्म ल्याउन सक्छन्। के सबै अविश्‍वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्‍वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: “आफैलाई परमेश्‍वरको निम्ति अर्पण गर्न मैले सबै कुरा त्याग्‍नुपर्छ। म परमेश्‍वरको सामु विश्‍वासयोग्य हुनुपर्छ र आखिरमा, मैले अवश्य नै ठूला इनाम र ठूला मुकुट पाउनेछु।” सांसारिक थोकहरूको पछि लाग्‍ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ। उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र उनीहरू उस्तै प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, शिक्षा प्राप्त गर्न खोज्छन्, प्रतिष्ठा, र भीडभन्दा अलग हुन खोज्छन्। उनीहरूले परमेश्‍वरमा विश्‍वास गरे भने, ठूला मुकुट र ठूला आशिष्‌हरू पाउने कोसिस गर्नेछन्। परमेश्‍वरमा विश्‍वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्‍चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो। तिमीहरू सबै अहिले कुन मार्गमा छौं? तैंले पावलको मार्ग अपनाउने योजना गरेको नभए पनि, तेरो प्रकृतिले नै तँ यस बाटोमा हिँड्छस्, र तँ आफै त्यस दिशामा जाँदैछस् भन्‍ने देखाउँछ। तैंले पत्रुसको मार्गमा पाइला टेक्‍न चाहे पनि, यदि कसरी त्यसो गर्ने भन्‍नेबारे तँ स्पष्ट छैनस्, तैँले नचाहेर पनि पावलको मार्ग अपनाउनेछस्: परिस्थितिको वास्तविकता यही हो। आजको समयमा व्यक्ति कसरी पत्रुसको मार्गमा हिँड्नुपर्छ? यदि तैँले पत्रुस र पावलका मार्गहरू बीचको भिन्‍नतालाई छुट्याउन सक्दैनस् भने, वा यदि तँ तीप्रति खासै परिचित छैनस् भने, तैंले पत्रुसको बाटोमा हिँड्छु भनेर जति नै दाबी गरे पनि, तेरा शब्दहरू बस खोक्रा हुन्छन्। सबभन्दा पहिले, तैँले पत्रुसको मार्ग के हो र पावलको मार्ग के हो भनेर स्पष्टसित बुझ्नुपर्छ। जब तैँले पत्रुसको मार्ग नै जीवनको पछि लाग्‍ने मार्ग हो, र सिद्धतामा पुग्‍ने एउटै मात्र मार्ग हो भनेर बुझ्छस्, तब मात्र तँ पत्रुसको मार्गमा हिँड्न, तिनले खोजी गरेजसरी नै खोजी गर्न, र तिनले अभ्यास गरेका सिद्धान्तहरू अभ्यास गर्न सक्छस्। यदि तैँले पत्रुसको मार्गलाई बुझ्दैनस् भने, तैंले लिने मार्ग पावलको मार्ग हुने निश्‍चित छ, किनकि तेरो निम्ति अर्को कुनै मार्ग हुनेछैन; तँसँग यस मामिलामा कुनै विकल्प हुनेछैन। सत्यता नबुझ्ने र सत्यता पछाउन नसक्‍ने मानिसहरूमा संकल्प छ नै भने पनि उनीहरूलाई पत्रुसको बाटोमा हिँड्न गाह्रो हुनेछ। यो भन्‍न सकिन्छ कि परमेश्‍वरले अहिले तिमीहरूलाई मुक्ति र सिद्धताको मार्ग प्रकट गरिदिनु उहाँले तिमीहरूलाई अनुग्रह र उत्थान गर्नुभएको कुरा हो। तिमीहरूलाई पत्रुसको मार्गमा डोर्‍याउनुहुने उहाँ नै हुनुहुन्छ। परमेश्‍वरको मार्गदर्शन र अन्तर्दृष्टिविना, कसैले पनि पत्रुसको मार्ग लिन सक्‍नेछैन, र एकमात्र विकल्प भनेको पावलको विनाशका पाइलाहरू पछ्याउँदै पावलको मार्गमा झर्नु मात्र हुनेछ। त्यो बेला पावललाई त्यो बाटोमा हिँड्नु गलत हो जस्तो लागेको थिएन; तिनले यो बाटो नै सही हो भनी पूर्ण विश्‍वास गरेका थिए। तिनले सत्यता प्राप्त गरेनन्, र खास गरी तिनको स्वभावमा परिवर्तन आएन। तिनले आफैमा धेरै नै विश्‍वास गर्थे, र त्यसरी विश्‍वास गर्नुमा अलिकति पनि समस्या छैन भन्‍ने तिनलाई लागेको थियो। तिनी पूर्ण हिम्मतसाथ र पूर्ण आत्मविश्‍वाससाथ निरन्तर अगाडि बढिरहे। अन्त्यमा, तिनी कहिल्यै होसमा आएनन्। तिनले अझै पनि तिनी जिउनु भनेको ख्रीष्ट हो भन्‍ने सोचे। त्यसरी, पावल आखिरीसम्म त्यही ओह्रालो बाटोमा हिँडिरहे, अनि त्यस बेला अन्त्यमा तिनलाई दण्ड दिइयो, र तिनका निम्ति सबै कुरा समाप्त भयो। पावलको मार्गमा तिनी आफैलाई चिन्‍ने कुरा समावेश थिएन, स्वभावमा परिवर्तन गर्ने कुरा त निकै परको कुरा थियो। तिनले आफ्नै प्रकृतिको बारेमा कहिल्यै पनि विश्लेषण गरेनन्, न त तिनी के थिए भन्‍ने कुराको बारमा नै तिनले कुनै ज्ञान प्राप्त गरे। तिनले यति मात्र जान्दथे कि येशूलाई गरिएको सतावटको मुख्य दोषी तिनी नै थिए। तर तिनले आफ्नै स्वभावको बारेमा अलिकति पनि ज्ञान प्राप्त गरेका थिएनन्, र आफ्‍नो काम समाप्त गरेपछि, तिनलाई वास्तवमा आफूले ख्रीष्टको रूपमा जिइरहेको छु र आफूले इनाम पाउनुपर्छ भन्‍ने लागेको थियो। पावलले गरेका काम केवल परमेश्‍वरका निम्ति गरिएको सेवा थियो। किनकि व्यक्तिगत रूपमा, पावलले पवित्र आत्माबाट केही प्रकाश प्राप्त गरेका भए पनि, तिनले एउटै पनि सत्यता वा जीवन हासिल गरेका थिएनन्। त्यसकारण, तिनलाई परमेश्‍वरले मुक्ति दिनुभएको थिएन। बरु, तिनलाई परमेश्‍वरले सजाय दिनुभएको थियो। पत्रुसको मार्गलाई किन सिद्धतामा पुऱ्याउने मार्ग भनेर भनिन्छ? किनकि, पत्रुसको अभ्यासमा तिनले जीवनलाई, परमेश्‍वरलाई चिन्‍न खोज्ने कार्यलाई, र आफैलाई चिन्‍ने कुरालाई विशेष जोड दिए। परमेश्‍वरको काम सम्‍बन्धी तिनको अनुभवबाट तिनले आफैलाई चिन्‍न सके, मानिसका भ्रष्ट अवस्थाहरूको ज्ञान प्राप्त गर्न सके, आफ्नै कमीहरूको बारेमा थाहा पाए, र मानिसहरूले अनुसरण गर्नुपर्ने सबैभन्दा मूल्यवान् कुरा पत्ता लगाए। तिनले परमेश्‍वरलाई साँचो प्रेम गर्न सके, तिनले परमेश्‍वरको ऋण कसरी चुकाउनुपर्छ भन्‍ने कुरा जाने, तिनले केही सत्यता प्राप्त गरे, र परमेश्‍वरले माग गर्नुभएका केही वास्तविकता तिनमा थियो। पत्रुसले आफ्‍ना परीक्षाहरूको अवधिमा बोलेका सबै कुराबाट यो बुझ्न सकिन्छ, कि तिनी वास्तवमा परमेश्‍वरलाई सबैभन्दा धेरै बुझ्ने व्यक्ति थिए। तिनले परमेश्‍वरको वचनबाट धेरै सत्यता बुझ्न सकेका हुनाले, तिनको मार्ग उज्यालो र चहकिलो हुँदै गयो, र झन्-झन् बढी परमेश्‍वरको इच्छासँग मिल्दै गयो। यदि पत्रुसमा यो सत्यता नभएको भए, तिनले लिएको मार्ग त्यत्ति धेरै सही हुनेथिएन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३८९

पत्रुस धेरै वर्षसम्म मप्रति विश्‍वासयोग्य थियो, तापनि उसले कहिल्यै गनगन गरेन न त उसले कुनै गुनासो नै गर्‍यो; अय्यूब पनि उसको बराबरी थिएन, र युगौँयुगसम्म सन्तहरू समेत पत्रुसको तहसम्म पुग्‍न चुकेका छन्‌। शैतानले आफ्ना छली युक्तिहरू मञ्‍चन गर्दै गरेको समयमा उसले मेरो बारेमा जान्‍न मात्र खोजेन, मेरो बारेमा जान्‍न समेत सक्यो। यसले पत्रुसलाई सदैव मेरो इच्छाको धारमा रहेर धेरै वर्षसम्म मेरो सेवा गर्न अभिप्रेरित गर्‍यो र यही कारणले गर्दा, ऊ शैतानद्वारा कहिल्यै शोषित भएन। पत्रुसले अय्यूबको विश्‍वासबाट पाठ सिक्‍यो, तर अय्यूबका कमजोरीहरूलाई पनि प्रस्टै देख्‍यो। अय्यूबसँग ठूलो विश्‍वास भएको भए पनि, ऊसँग आत्मिक क्षेत्रका कुराहरूको बारेमा ज्ञानको अभाव थियो, त्यसैले उसले वास्तविकतासँग मेल नखाने धेरै कुराहरू भन्यो; यसले अय्यूबको ज्ञान सतही र सिद्धताको निम्ति असक्षम रहेको देखाउँछ। त्यसैले, पत्रुसले सदैव आत्माको बुझाइ हासिल गर्ने कुरामा ध्यान केन्द्रित गर्‍यो, र सदैव आत्मिक क्षेत्रका विविध पक्षहरूको अवलोकन गर्ने कार्यमा ध्यान दियो। परिणामस्वरूप, ऊ मेरो चाहनाका कुराहरू पत्ता लगाउन मात्र सक्षम भएन, उसले त शैतानका छली युक्तिहरूको बारेमा पनि थोरै ज्ञान हासिल गर्‍यो। यही कारणले गर्दा, मेरो बारेमा उसको ज्ञान युगौँयुगभरिका जोसुकैको भन्दा पनि ठूलो हुनपुग्यो।

पत्रुसले गरेको अनुभवबाट, यो देख्‍न कठिन छैन कि यदि मानिसहरूले मलाई जान्‍न चाहन्छन्‌ भने, तिनीहरूले आफ्नो आत्माभित्र नै सचेत भएर हेक्‍का राख्‍ने कुरामाथि जोड दिनुपर्छ। तैँले आफ्नो निश्‍चित मात्रा मलाई बाह्य रूपमा “समर्पण” गर् भनेर म भन्दिनँ; यो त गौण सरोकारको विषय हो। यदि तैँले मलाई चिन्दैनस्‌ भने, तैँले कुरा गर्ने विश्‍वास, प्रेम र निष्ठा सबै नै भ्रमहरू मात्र हुन्छन्; ती व्यर्थका बकबक हुन्छन्, र तँ मेरो सामुन्‍ने निकै ठूलो गर्व गर्ने तर आफैलाई नचिन्‍ने व्यक्ति बन्‍ने निश्‍चित हुन्छ। यसको मतलब, तँलाई फेरि एकपटक शैतानले पासोमा पार्नेछ र तँ आफैलाई मुक्त गर्न असमर्थ हुनेछस्; तँ अनन्त विनाशको पुत्र र विध्वंसको पात्र हुनेछस्। तापनि, यदि तँ मेरा वचनहरूप्रति मन्द र लापरवाही हुन्छस्‌ भने, तैँले निःसन्देह मेरो विरोध गर्छस्। यो वास्तविकता हो, र तैँले मबाट सजाय प्राप्त गरेका धेरै र विविध आत्माहरूलाई आत्मिक क्षेत्रको द्वारबाट चियाएर हेर्नु बेस होला। मेरा वचनहरूको सामना गर्दा, तिनीहरूमध्ये कोचाहिँ निष्क्रिय, लापरवाही, र स्वीकार नगर्ने खालको थिएन र? तिनीहरूमध्ये कोचाहीँ मेरा वचनहरूको निन्दा गर्ने व्यक्ति थिएन र? तिनीहरूमध्ये कसले चाहिँ मेरा वचनहरूमा खोट पत्ता लगाउने कोसिस गरेन र? तिनीहरूमध्ये कसले चाहिँ आफैलाई “रक्षा” गर्न मेरा वचनहरूलाई “प्रतिरक्षात्मक शस्‍त्र” को रूपमा प्रयोग गरेन र? तिनीहरूले मेरो बारेमा जान्‍ने माध्यमको रूपमा मेरा वचनहरूमा भएका विषयवस्तुहरूलाई प्रयोग गरेनन्, तर तिनलाई केवल खेल्ने खेलौनाहरूको रूपमा प्रयोग गरे। यसमा, के तिनीहरूले मलाई सीधै विरोध गर्दै थिएनन्‌ र? मेरा वचनहरू को हुन्? मेरो आत्मा को हो? मैले तिमीहरूलाई यस्ता प्रश्‍नहरू धेरैपटक सोधेको छु, तर के तिमीहरूले तीबारे कहिल्यै कुनै अझ उच्‍चतम‌ र स्पष्ट अन्तर्दृष्टि पाएका छौ? के तिमीहरूले कहिल्यै तिनलाई साँच्‍चै अनुभव गरेका छौ? म तिमीहरूलाई फेरि एकपटक स्मरण गराउँछु: यदि तिमीहरूले मेरा वचनहरूको बारेमा जान्दैनौ, वा तिनलाई स्वीकार गर्दैनौ, वा तिनलाई अभ्यासमा लगाउँदैनौ भने, तिमीहरू पक्‍कै पनि मेरो सजायका पात्रहरू बन्‍नेछौ! तिमीहरू पक्‍कै पनि शैतानका सिकारहरू बन्‍नेछौ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९०

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिनेका कारणले, र तिनीहरूले उहाँको कार्यको बारेमा नजानेको कारणले यस्तो भएको हो। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमलिनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन्, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा नै पूर्ण रूपमा यसो भएको हुन्छ। यसरी, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँको कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरमाथिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न हुन्छन्: परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्‍ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरमाथिको विश्‍वास” भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई प्रायजसो एउटा साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेका हुन्छन्, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज अक्षरहरू र खोक्रा सिद्धान्तहरू अनुसार परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू पनि अझै छन्। तिनीहरूले आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहका आशिष्‌हरूको लागि परमेश्‍वरसँग प्रार्थना गर्छन्। हामी रोकिएर, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट असीम अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्‍ने हुनसक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९१

मानिसले परमेश्‍वरलाई विश्‍वास गर्न थालेदेखि के उपलब्धि प्राप्त गरेको छ? तैँले परमेश्‍वरबारे के कुरा जानेको छस्? परमेश्‍वरमा विश्‍वास गरेको कारण तँ कति हदसम्म परिवर्तन भएको छस्? आज, तिमीहरू सबैलाई के कुरा थाहा छ भने, मानिसले प्राणको मुक्तिका लागि र देहको हितका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्दैन, न त प्रेमिलो परमेश्‍वरद्वारा आफ्नो जीवन समृद्ध पार्न र त्यस्तै इत्यादि कुरा प्राप्त गर्नका लागि मात्रै नै विश्‍वास गर्छ। यसैले, यदि तैँले देहको हितका लागि वा क्षणिक सुख-चैनको लागि परमेश्‍वरलाई प्रेम गरिस् र अन्त्यमा परमेश्‍वरप्रति तेरो प्रेम चरम अवस्थामा पुग्यो अनि तैँले उप्रान्त केही मागेनस् भने पनि, तैँले खोज्ने यो प्रेम कलङ्कित र परमेश्‍वरलाई प्रसन्‍न नपार्ने किसिमको प्रेम हुनेछ। आफ्नो सुस्त किसिमको अस्तित्वलाई समृद्ध बनाउन र आफ्नो हृदयको रिक्ततालाई भर्नको लागि परमेश्‍वरको प्रेमलाई प्रयोग गर्ने मानिसहरू जीवनको सहजताका लागि लालच गर्नेहरू हुन्, परमेश्‍वरको प्रेमलाई साँचो रूपमा खोज्नेहरू होइनन्। यस किसिमको प्रेम जबरजस्ती गरिने प्रेम हो, यो मानसिक आनन्दको खोजी मात्रै हो र परमेश्‍वरलाई यसको कुनै आवश्यकता पर्दैन। त्यसोभए, तेरो प्रेम कस्तो किसिमको प्रेम हो? के कुराको लागि तँ परमेश्‍वरलाई प्रेम गर्छस्? तँभित्र अहिले परमेश्‍वरप्रतिको साँचो प्रेम कति छ? तिमीहरूमध्ये धेरैको प्रेम यसभन्दा पहिले उल्लेख गरिएको किसिमको प्रेम नै हो। त्यस किसिमको प्रेमले वर्तमान स्थितिलाई मात्रै कायम राख्‍न सक्छ; यसले कुनै पनि स्थायित्व प्राप्त गर्न सक्दैन, न त यसले मानिसमा जरा नै गाड्न सक्छ। यस किसिमको प्रेम फुलेर पनि फल नफलाई ओइलाएर जाने फूल जस्तो हो। अर्को शब्दमा भन्नुपर्दा, तैँले परमेश्‍वरलाई यस किसिमले प्रेम गरिसकेको छस्, र तँलाई अगाडि बाटोमा डोर्‍याउने कोही पनि छैन भने, तँ पतन भएर जानेछस्। यदि तैँले परमेश्‍वर प्रेमिलो हुनुभएको समयमा मात्रै परमेश्‍वरलाई प्रेम गर्छस् तर त्यसपछि तेरो जीवन स्वभाव परिवर्तन हुँदैन भने, तँ अन्धकारको प्रभावको कफनबाट बाहिर निस्केर आउने अवस्थामा रहनेछैनस्, तँ शैतानको बन्धन र यसका चलाकीहरूलाई तोड्न नसक्‍ने अवस्थामा रहनेछस्। यस किसिमको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन; आखिरमा तिनीहरूको आत्मा, प्राण, र शरीर शैतानको हातमा पर्नेछ। यसबारे कुनै शङ्का हुन सक्दैन। परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गर्न नसक्‍ने मानिसहरू तिनीहरूको सुरुको अवस्थामा नै फर्कनेछन्, अर्थात् शैतानको हातमा फर्कनेछन्, र परमेश्‍वरको अर्को चरणको दण्ड भोग्‍नका लागि आगो र गन्धकको खाडलमा पर्नेछन्। परमेश्‍वरले प्राप्त गरेका मानिसहरू तिनीहरू नै हुन् जसले शैतानलाई त्यागेका छन् र त्यसको अधिकार क्षेत्रबाट उम्केका छन्। तिनीहरूलाई आधिकारिक रूपमा नै परमेश्‍वरको राज्यका मानिसहरूमाझ थपिन्छ। यसरी राज्यका मानिसहरूको निर्माण हुन्छ। के तँ यस किसिमको व्यक्ति बन्‍न इच्छुक छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ शैतानको अधिकार क्षेत्रबाट निस्केर परमेश्‍वरकहाँ फर्केर आउन चाहन्छस्? तँ अहिले शैतानको स्वामित्वमा छस् कि राज्यका मानिसहरूमध्ये एक होस्? यस्ता कुराहरू पहिले नै स्पष्ट हुनुपर्छ, र यसको लागि कुनै थप व्याख्याको आवश्यकता पर्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९२

विगतमा, धेरैले ठूला-ठूला अभिलाषा र धारणाहरूको खोजी गरे, आफ्नै आशाको परिणामस्वरूप ती कुराको खोजी गरे। केही क्षणको लागि हामी त्यस किसिमका कुराहरूलाई पन्छ्याएर राखौं; अहिले हाम्रो लागि प्रमुख महत्त्वको विषय भनेको परमेश्‍वरको अघि सामान्य अवस्था कायम गर्नु र शैतानको प्रभावका बन्धनहरूबाट बिस्तारै स्वतन्त्र हुँदै जान तिमीहरू प्रत्येकलाई सक्षम पार्ने किसिमको अभ्यास पत्ता लगाउनु हो, ताकि तँलाई परमेश्‍वरले प्राप्त गर्न सकून्, र उहाँले तँलाई आज्ञा गर्नुभएअनुसारको जीवन तैँले जिउन सकोस्। यसरी मात्रै तैँले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न सक्‍नेछस्। धेरैले परमेश्‍वरमा विश्‍वास गर्छन्, तैपनि तिनीहरूलाई न त परमेश्‍वरले के चाहनुहुन्छ भन्‍नेबारे थाहा हुन्छ, न त शैतानले के चाहन्छ भन्‍ने नै थाहा हुन्छ। तिनीहरूले जे पर्छ त्यही टर्छ भन्दै बेवकुफ मार्गमा विश्‍वास गर्छन्, जसले गर्दा तिनीहरूले कहिल्यै पनि सामान्य इसाई जीवन जिएका हुँदैनन्; यति मात्र होइन, तिनीहरूका व्यक्तिगत सम्बन्धहरू कहिल्यै पनि सामान्य रहेका हुँदैनन्, परमेश्‍वरसँगको सामान्य सम्बन्धको त कुरै छोडौं। यसबाट हामी के कुरा देख्‍न सक्छौं भने, मानिसका कठिनाइ र कमजोरीहरू, अनि परमेश्‍वरको इच्छालाई वाधा दिन सक्‍ने अन्य तत्वहरू धेरै नै छन्। मानिस परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा आइपुगेको छैन, न त ऊ मानव जीवनको वास्तविक अनुभवमा नै प्रवेश गरेको छ भन्‍ने कुरालाई प्रमाणित गर्न यो नै पर्याप्त छ। त्यसोभए परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा आउनु भनेको के हो? सही मार्गमा आउनु भनेको मानिसमा जे कुराको कमी छ, त्यसलाई बिस्तारै बुझ्दै र परमेश्‍वरसम्बन्धी गहन ज्ञानलाई बिस्तारै प्राप्त गर्दै परमेश्‍वरसामु सँधै आफ्नो हृदयलाई शान्त राख्‍नु र उहाँसँग सामान्य कुराकानी गर्नु हो। यसद्वारा, तेरो आत्माले दैनिक रूपमा नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त गर्दै जानेछ; तेरो तृष्णा बढ्दै जान्छ, तँ सत्यतामा प्रवेश गर्ने प्रयास गर्छस्, र हरेक दिन नयाँ ज्योति र नयाँ ज्ञान प्राप्त हुनेछ। यो मार्गद्वारा तँ शैतानको प्रभावबाट बिस्तारै स्वतन्त्र हुँदै जानेछस् र आफ्नो जीवनमा वृद्धि हुँदै जानेछस्। त्यस किसिमका मानिसहरू सही मार्गमा प्रवेश गरेका हुन्छन्। आफ्ना अनुभवहरूको मूल्याङ्कन गर् अनि आफ्नो विश्‍वासमा तैँले खोजेको मार्गलाई जाँच्। जब तैँले आफूलाई माथि उल्‍लेखित कुराहरूसँग दाँज्छस्, के तैँले आफूलाई सही मार्गमा भेट्टाउँछस्? के-कस्ता कुराहरूमा तैँले शैतानका बन्धनहरू र शैतानको प्रभावबाट आफूलाई स्वतन्त्र पारेको छस्? यदि तँ सही मार्गमा आउन बाँकी नै छ भने, शैतानसँगको तेरो बन्धन तोडिएको छैन। यसो हो भने, के परमेश्‍वरलाई प्रेम गर्ने तेरो प्रयासले तँलाई प्रामाणिक, एकचित्त, र शुद्ध प्रेमतर्फ लैजानेछ? परमेश्‍वरप्रतिको तेरो प्रेम अटल किसिमको र हृदयबाट निस्केको प्रेम हो भनेर तैँले भन्छस्, तैपनि शैतानको बन्धनबाट तैँले छुटकारा भने पाएको छैनस्। के तैँले परमेश्‍वरलाई मूर्ख बनाउने प्रयास गरिरहेको छैनस् र? यदि तँ त्यस्तो अवस्थामा पुग्‍न चाहन्छस् जहाँ परमेश्‍वरप्रतिको तेरो प्रेम निष्कलङ्क हुन्छ, यदि तँ पूर्ण रूपमा परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस् र राज्यका मानिसहरूमध्ये पर्न चाहन्छस् भने, पहिला तैँले आफूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा लैजानैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९३

सबै मानिसहरूमा हुने एउटा सामान्य समस्या के हो भने, तिनीहरूले सत्यता त बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्न असफल हुन्छन्। एकातिर उनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, भने अर्कोतिर उनीहरूको विवेक अति नै अपर्याप्‍त हुन्छ; उनीहरूले दैनिक जीवनका धेरै अप्ठ्याराहरू के-के हुन् भन्‍ने कुरा देख्‍न सक्दैनन्, अनि कसरी ठीकसँग अभ्यास गर्ने भन्‍ने कुरा उनीहरूलाई थाहा छैन। मानिसहरूका अनुभवहरू अति सतही हुने भएकोले, उनीहरूको क्षमता अति कमजोर रहेकोले, र उनीहरूले सीमित रूपमा सत्यता बुझ्‍ने हुनाले, तिनीहरूसँग आफ्ना दैनिक जीवनमा सामना गर्ने कठिनाइहरूको समाधान गर्ने कुनै उपाय छैन। तिनीहरूले मुखले मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्, र आफ्नो दैनिक जीवनमा परमेश्‍वरलाई ल्याउन सक्दैनन्। भन्‍नुको अर्थ, परमेश्‍वर चाहिँ परमेश्‍वर नै हुनुहुन्छ, जीवन भनेको जीवन नै हो, र यो कुरा मानिसहरूको आफ्नो जीवनमा परमेश्‍वरसँग कुनै सम्बन्ध नभएको जस्तै हो। प्रत्येक व्यक्तिले यस्तै विचार गर्छन्। यसरी, वास्तवमा परमेश्‍वरमा विश्‍वास गरेर पनि मानिसहरूलाई उहाँले आफ्नो बनाउनुभएको वा र सिद्ध तुल्याउनुभएको हुँदैन। वास्तवमा, परमेश्‍वरको वचनले पूर्ण अभिव्यक्ति नपाएको होइन, तर उहाँको वचन ग्रहण गर्ने मानिसको क्षमता अति नै अपर्याप्‍त मात्रै भएको हो। के भन्‍न सकिन्छ भने, परमेश्‍वरको मौलिक अभिप्रायहरू अनुसार प्रायजसो कसैले पनि काम गर्दैन; बरु, आफ्नै अभिप्रायहरू, आफूले विगतमा पक्रिराखेका धार्मिक धारणाहरू र काम गर्ने आफ्नै तरिका अनुसार तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्। परमेश्‍वरको वचनलाई ग्रहण गरेर रूपान्तरण हुने अनि उहाँको इच्छा अनुसार काम गर्न थाल्‍नेहरू थोरै मात्र हुन्छन्। तर, तिनीहरू आफ्नै गलत विश्‍वासमा लागिरहन्छन्। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, उनीहरूले धर्मको परम्परागत नियमहरूमा आधारित भएर त्यसो गर्छन्, र उनीहरू पूर्ण रूपले जिउनको लागि बनाइएका आफ्नै दर्शनशास्त्रमा आधारित भएर जिउँछन् र अरूसँग अन्तरक्रिया गर्छन्। के भन्‍न सकिन्छ भने, दश जना मानिसहरूमध्ये नौ जनाको अवस्था यस्तै हुन्छ। थोरै मानिसहरूले मात्र परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि अर्को योजना बनाएर नयाँ परिवर्तनलाई अङ्गाल्‍न थाल्छन्। मानवजातिले परमेश्‍वरको वचनलाई सत्यताको रूपमा कदर गर्न वा सत्यताको रूपमा लिन, र व्यवहारमा उतार्न असफल भएको छ।

उदाहरणको लागि, येशूमाथिको विश्‍वासलाई लिऊँ। कसैले भर्खरै विश्‍वास गर्न सुरु गरेको होस् वा धेरै समय पहिलेदेखि विश्‍वास गरेको होस्, उनीहरूले आफूसँग भएको प्रतिभालाई प्रयोग गरेका र उनीहरूसँग भएका सीपहरूलाई प्रदर्शन गरेका छन्। मानिसहरूले “परमेश्‍वरमाथिको विश्‍वास” भन्‍ने यी दुई शब्दहरूलाई आफ्नो सामान्य जीवनमा यत्तिकै थपिदिए, तैपनि तिनीहरूको स्वभावमा केही परिवर्तन आएन, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास कत्ति पनि वृद्धि भएन। उनीहरूको खोज न तातो थियो न त चिसो नै थियो। उनीहरूले आफ्नो विश्‍वासलाई त्याग्‍ने कुरा गरेनन्, न त उनीहरूले परमेश्‍वरलाई सबै कुरा समर्पण नै गरे। उनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई साँचो प्रेम गरेनन् अथवा उहाँको आज्ञापालन गरेनन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा साँचो र झूटो मिसिएको थियो, तिनीहरूले यसलाई एउटा आँखा खुल्ला र एउटा आँखा बन्द गरेर नियाले, र तिनीहरू आफ्नो विश्‍वास अभ्यास गर्नलाई इमान्दार थिएनन्। तिनीहरूले यस्तो भ्रमपूर्ण अवस्थालाई निरन्तरता दिए, र आखिरमा अस्त व्यस्ततामै मरे। ती सबैको के अर्थ भयो र? आज, तैँले व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्नलाई सही मार्गमा पाइला चाल्‍नुपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले आशिषहरू मात्रै खोज्नु हुँदैन, तर परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई चिन्‍न खोज्नुपर्छ। उहाँको प्रकाशद्वारा, तेरो आफ्नै व्यक्तिगत खोजीद्वारा, तैँले उहाँको वचन खान र पिउन सक्छस्, परमेश्‍वरप्रतिको वास्तविक बुझाइको विकास गर्न, र परमेश्‍वरको साँचो प्रेम पाउन सक्छस्, जुन तेरो भित्री हृदयबाट आउँछ। अर्को शब्दमा, जब परमेश्‍वरप्रतिको लागि तेरो प्रेम धेरै निष्कपट हुन्छ, र उहाँप्रतिको तेरो प्रेमलाई कसैले नाश पार्न सक्दैन, अथवा कोही तेरो मार्गमा खडा हुन सक्दैन, तब तँ परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हुन्छस्। यसले तँ परमेश्‍वरको होस् भन्‍ने प्रमाणित गर्छ, किनभने तेरो हृदय अघिबाटै परमेश्‍वरको नियन्त्रणमा रहेको हुन्छ र अरू केही कुराले पनि तँलाई नियन्त्रण गर्न सक्दैन। तेरो अनुभवद्वारा, तैँले चुकाएको मूल्यद्वारा, र परमेश्‍वरको कार्यद्वारा तँ उहाँको लागि अचुक प्रेम विकास गर्न सक्षम भएको हुन्छस्—र जब तैँले यसो गर्छस्, तँ शैतानको प्रभावबाट स्वतन्त्र हुनेछस् र परमेश्‍वरको वचनको प्रकाशमा जिउनेछस्। जब तँ अन्धकारको प्रभावबाट स्वतन्त्र बन्छस्, तब मात्र परमेश्‍वरले तँलाई आफ्नो बनाउनुभएको छ भनी भन्‍न सकिन्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा यो लक्ष्य खोज्न कोसिस गर्नुपर्छ। यो तिमीहरू प्रत्येकको कर्तव्य हो। तिमीहरू कोही पनि अहिलेको अवस्थामा सन्‍तुष्‍ट हुनु हुँदैन। तिमीहरू परमेश्‍वरको कामप्रति दोमनमा पर्नु हुँदैन, न त यसलाई तिमीहरूले हल्का रूपमा लिन सक्छौ। तिमीहरूले परमेश्‍वरको बारेमा पूर्ण श्रद्धाका साथ हरसमय विचार गर्नुपर्छ, र सबै कुराहरू उहाँको खातिर गर्नुपर्छ। र जब तिमीहरू बोल्छौ अथवा काम गर्छौ, तिमीहरूले परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्‍नुपर्छ। यसरी मात्रै तिमीहरू परमेश्‍वरको हृदय अनुसारको व्यक्ति बन्‍न सक्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९४

परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती भनेको तिनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्‍नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर परमेश्‍वर तिनीहरूको दैनिक जीवनको हिस्सा भने बन्‍नुभएको हुँदैन। मानिसहरूको मुखले परमेश्‍वरलाई धेरै प्रार्थना चढाउँछ, तर उनीहरूको हृदयमा परमेश्‍वरको स्थान थोरै हुन्छ, त्यसैले परमेश्‍वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। मानिसहरू अशुद्ध भएका हुनाले, तिनीहरूको जाँच गर्नु बाहेक परमेश्‍वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्‍न सकून्। यदि होइन भने, मानवजाति प्रधान स्वर्गदूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्‍ट हुन्थे। परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासको प्रक्रियामा, परमेश्‍वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, कसैलाई प्रयोग गर्ने कुनै उपाय परमेश्‍वरसँग हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथियो। परमेश्‍वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत तिनीहरूले आफैलाई चिन्‍न सक्छन् र परमेश्‍वरले तिनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वरले आफ्नो जीवनद्वारा तिनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदय परमेश्‍वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्‍वरमा विश्‍वास गर्ने कार्य मानिसहरूले भने जस्तो सजिलो छैन। परमेश्‍वरको नजरमा, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्‍वरको वचन अनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन भन्‍ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्‍वरको होइन भनी यसले देखाउँछ। कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउन प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती वचन फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र उहाँको इच्छा अनुसार भएको मान्‍न सकिन्छ। यस मार्गमा, धेरै मानिसहरूले थुप्रै ज्ञानको कुरा गर्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, तिनीहरूका आँखा आँसुले भरिन्छन्, र आफ्नो जीवनकाल व्यर्थमा खेर फालेकोमा र परिपक्‍व वृद्धावस्था शून्यतामा जिएकोमा आफैलाई घृणा गर्छन्। उतिहरूले सिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यतालाई व्यवहारमा लागू गर्न सक्दैनन् अथवा परमेश्‍वरको साक्षी हुन सक्दैनन्; बरु, तिनीहरू यत्तिकै यता-उता दौडिरहन्छन्, मौरी झैँ व्यस्त हुन्छन्, र अन्त्यमा मृत्युको मुखमा पुगेपछि मात्र तिनीहरूले आफूमा साँचो गवाहीको अभाव भएको र तिनीहरूले परमेश्‍वरलाई बिलकुल नचिनेको थाहा गर्छन्। के यो धेरै ढिलो भएन र? किन तँ समयको उपयोग गर्दैनस् र तैँले प्रेम गरेको सत्यताको खोजी गर्दैनस्? किन भोलिलाई कुर्छस्? यदि जीवनमा तँ सत्यताको लागि दुःख भोग्दैनस् अथवा यसलाई प्राप्‍त गर्न खोज्दैनस् भने, के तँ मृत्युको घडीमा पछुताउन चाहन्छस् भन्‍ने अर्थ लाग्दैन र? यदि त्यसो हो भने किन परमेश्‍वरमा विश्‍वास गर्छस्? वास्तवमा, मानिसहरूले यदि अलिकति परिश्रम गरे भने पनि सत्यतालाई अभ्यास गर्न सक्‍ने थुप्रै विषयहरू छन् र यसरी परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्छन्। मानिसहरूको हृदय दुष्‍टले नियन्त्रित गरेको हुनाले मात्रै तिनीहरूले परमेश्‍वरको खातिर काम गर्न सक्दैनन्, र निरन्तर रूपमा तिनीहरूको शरीरको खातिर दौडधूप गर्छन्, तर अन्त्यमा केही पनि प्राप्‍त गर्दैनन्। यस कारणले, मानिसहरू निरन्तर रूपमा समस्याहरू र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यिनीहरू शैतानका यातनाहरू होइनन्? के यो देहको भ्रष्‍टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्‍वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले स्पष्‍ट कार्य गर्नुपर्छ। आफैलाई धोका नदे—त्यसको अर्थ के हुन सक्छ? आफ्नो शरीरको खातिर जिएर फाइदा र प्रसिद्धिको लागि सङ्घर्ष गरेर तैँले के प्राप्‍त गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९५

अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु भनेको राज्यको युगमा प्रवेश गर्नु हो। आज, तिमीहरू औपचारिक रूपमा राज्यको तालिममा प्रवेश गर्न सुरु गर्छौ, र तिमीहरूको भविष्यको जीवन पहिलेको जस्तो सुस्त र मन्द बन्‍न छोड्नेछ; त्यसरी बाँचेर, परमेश्‍वरले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई पूरा गर्नु असम्‍भव हुन्छ। यदि तैँले कुनै आतुरी अनुभूति गर्दैनस् भने, तँसँग आफैलाई सुधार गर्ने इच्‍छा छैन, तेरो प्रयास अन्योल र दोधारमा छ, र तैँले परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्दैनस् भन्‍ने यसले देखाउँछ। राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्‍वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्‍छुक छस्? के तँ आतुरीको आभास अनुभूत गर्न इच्‍छुक छस्? के तँ परमेश्‍वरको अनुशासनमा जिउन इच्‍छुक छस्? के तँ परमेश्‍वरको सजायमा जिउन इच्‍छुक छस्? जब परमेश्‍वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? अनि तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तैँले जीवनको वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले हासिल गर्नैपर्ने कुरा यही हो। जो परमेश्‍वरका मानिसहरू हुन् उनीहरू सबैमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूलाई परमेश्‍वरले दिनुभएको मापदण्ड यही हो।

राज्यका मानिसहरूका लागि परमेश्‍वरका मापदण्डहरू निम्‍नानुसार छन्:

१. तिनीहरूले परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्‍नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्‍वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।

२. तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।

३. तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरको छुवाइ प्राप्त गर्ने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तब तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्‍वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्‍ने हुन्छ। परमेश्‍वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्‍वरको स्वामित्वमा हुनेछस्।

४. तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनैपर्छ।

५. तिनीहरू पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍नैपर्छ।

यी पाँच बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्‍वरका मानिसहरूको लागि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्‍छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तँ परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्‍नेछस्। आज, तिमीहरूले परमेश्‍वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्‍ने प्रयास गर्न र राज्यका मानिसहरू बन्‍नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्न सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही हो। यदि तँ पूर्ण रूपमा परमेश्‍वरको इच्‍छालाई पूरा गर्न चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्‍वरको हृदयअनुसारको हुनेछस् र परमेश्‍वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ। राज्यको तालिममा प्रवेश गर्नु नै आजको लागि महत्त्वपूर्ण कुरा हो। राज्यको तालिममा प्रवेश गर्ने कार्यमा आत्मिक जीवन संलग्‍न हुन्छ। यसभन्दा पहिले, आत्मिक जीवनको बारेमा कुनै कुरा उठाइएको थिएन, तर आज, तँ राज्यको तालिममा प्रवेश गर्न सुरु गर्ने क्रममा, तँ औपचारिक रूपमा आत्मिक जीवनमा प्रवेश गर्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९६

कस्तो प्रकारको जीवन आत्मिक जीवन हो? आत्मिक जीवन भनेको त्यो जीवन हो जहाँ तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरमा फर्केको र परमेश्‍वरको प्रेमप्रति सचेत हुन सक्‍ने हुन्छ। यो त्यो जीवन हो जसमा तँ परमेश्‍वरका वचनहरूमा जिउँछस्, र तेरो हृदयलाई अरू कुनै कुराले ओगट्दैन, र तैँले आजको परमेश्‍वरको इच्‍छालाई बुझ्‍न सक्छस्, र तँ तेरो कर्तव्य पूरा गर्नको लागि पवित्र आत्माको आजको ज्योतिद्वारा मार्गनिर्देशित हुन्छस्। मानिस र परमेश्‍वरको बीचमा रहेको त्यो जीवन नै आत्मिक जीवन हो। यदि तैँले आजको ज्योतिलाई पछ्याउन सक्दैनस् भने, परमेश्‍वरसँगको तेरो सम्‍बन्धमा दरार उत्पन्‍न भएको छ—यो टुटेको समेत हुन सक्छ—अनि तँ सामान्य आत्मिक जीवनविहीन छस्। परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध आजको परमेश्‍वरको वचनलाई स्वीकार गर्ने कार्यको जगमा निर्मित हुन्छ। के तँमा सामान्य आत्मिक जीवन छ? के तँमा परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध छ? के तँ पवित्र आत्‍माको कार्यलाई पछ्याउने व्यक्ति होस्? यदि तँ आज पवित्र आत्माको ज्योतिलाई पछ्याउन सक्छस्, र परमेश्‍वरका वचनहरूभित्रको उहाँको इच्‍छालाई बुझ्‍न, र यी वचनहरूमा प्रवेश गर्न सक्छस् भने, तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउने व्यक्ति होस्। यदि तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँदैनस् भने, तँ सत्यताको पछि नलाग्‍ने व्यक्ति होस् भन्‍नेमा कुनै शङ्का छैन। आफैलाई सुधार गर्न इच्‍छा नगर्नेहरूभित्र पवित्र आत्माले काम गर्ने कुनै सम्भावना हुँदैन, र परिणामस्वरूप, त्यस्ता मानिसहरूले कहिल्यै पनि आफ्‍नो सामर्थ्य बटुल्‍न सक्दैनन्, र तिनीहरू सधैँ नै निष्क्रिय हुन्छन्। आज, के तँ पवित्र आत्माको प्रवाहलाई पछ्याउँछस्? के तँ पवित्र आत्माको प्रवाहमा छस्? के तँ निष्क्रिय स्थितिबाट निस्किआएको छस्? परमेश्‍वरको वचनमा विश्‍वास गर्ने, परमेश्‍वरको वचनलाई जगको रूपमा लिने, र पवित्र आत्माको आजको ज्योतिलाई पछ्याउनेहरू सबै—तिनीहरू सबै पवित्र आत्माको प्रवाहमा हुन्छन्। यदि तँ परमेश्‍वरका वचनहरू स्पष्ट रूपमा साँचो र सही छन् भन्‍ने विश्‍वास गर्छस् भने, र यदि तँ उहाँले जे भन्‍नुभए तापनि परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्छस् भने, तँ परमेश्‍वरको काममा प्रवेश गर्न लागिपर्ने व्यक्ति होस्, र यसरी तैँले परमेश्‍वरको इच्‍छालाई पूरा गर्छस्।

पवित्र आत्माको प्रवाहमा प्रवेश गर्नको लागि, तँमा परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध हुनुपर्छ, र तैँले पहिले आफूलाई आफ्नो निष्क्रिय स्थितिबाट छुटकारा दिलाउनुपर्छ। कतिपय मानिसहरू सधैँ नै भीडको पछि लाग्छन्, र तिनीहरूको हृदय परमेश्‍वरबाट निकै टाढा जान्छ; त्यस्ता मानिसहरूसँग आफैलाई सुधार गर्ने कुनै इच्‍छा हुँदैन, र तिनीहरूले पछ्याउने मापदण्डहरू अत्यन्तै न्यूनस्तरका हुन्छन्। परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरद्वारा प्राप्त गरिनको लागि लागिपर्नु मात्रै परमेश्‍वरको इच्‍छा हो। परमेश्‍वरको प्रेमको ऋण तिर्नको लागि आफ्‍नो विवेक मात्रै प्रयोग गर्ने मानिसहरू पनि छन्, तर यसले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्दैन; तैँले जति उच्‍च मापदण्डहरूको खोजी गर्छस्, यो त्यति नै परमेश्‍वरको इच्‍छाअनुरूप हुनेछ। परमेश्‍वरप्रतिको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा परमेश्‍वरका मानिसमध्ये एक बन्‍न राज्य प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्‍छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्। तिमीहरूलाई परमेश्‍वरले चुन्‍नुभएको, र परमेश्‍वरले नै हुर्काउनुभएको कारणले गर्दा, अझ भन्‍ने हो भने, तिमीहरूप्रतिको परमेश्‍वरको प्रेमको कारणले गर्दा, तिमीहरूले साँचो जीवनलाई बुझेका छौ, र अति मूल्यवान् जीवन कसरी जिउने सो जान्दछौ। यो कुरा तिमीहरूको खोजी असल भएकोले होइन, बरु परमेश्‍वरको अनुग्रहले गर्दा नै यसो भएको हो; तिमीहरूको आत्माको आँखा खोलिदिने परमेश्‍वर नै हुनुहुन्थ्यो, र तिमीहरूलाई उहाँको सामुन्‍ने आउने सौभाग्य प्रदान गर्दै तिमीहरूको हृदयलाई छुने परमेश्‍वरका आत्मा नै हुनुहुन्थ्यो। यदि परमेश्‍वरका आत्माले तिमीहरूलाई अन्तर्दृष्टि नदिनुभएको भए, परमेश्‍वरको बारेमा के कुरा प्रेमिलो छ सो कुरा तिमीहरूले देख्‍न सक्दैनथ्यौ, न त तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्नु नै सम्‍भव हुनेथ्यो। परमेश्‍वरका आत्माले मानिसहरूको हृदय छुनुभएको कारणले नै तिनीहरूको हृदय परमेश्‍वरतर्फ फर्केको छ। कहिलेकहीँ, जब तैँले परमेश्‍वरको वचनको आनन्द लिइरहेको हुन्छस्, तब तेरो आत्मा स्पर्शित हुन्छ, अनि तैँले परमेश्‍वरलाई प्रेम नगरी बस्‍न सक्दैनस्, तँलाई तँभित्र ठूलो सामर्थ्य छ, र तैँले पन्छाउन नसक्‍ने केही पनि छैन भन्‍ने लाग्छ। यदि तँलाई यस्तो अनुभूति हुन्छ भने, तँलाई परमेश्‍वरका आत्माले छुनुभएको छ, र तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छ, अनि तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्: “हे परमेश्‍वर! हामीलाई तपाईंले पूर्वनिर्धारित गरिसक्‍नुभएको र चुनिसक्‍नुभएको छ। तपाईंको महिमाले मलाई गर्व गराउँछ, र तपाईंका प्रजामध्ये एक बन्‍न पाउँदा मलाई गौरवको आभास हुन्छ। म तपाईंको इच्‍छा पुरा गर्नको निम्ति सबै थोक खर्चनेछु र सबै थोक दिनेछु, र मेरा सबै वर्षहरू, र सम्पूर्ण जीवनभरिको प्रयास तपाईंप्रति नै समर्पित गर्नेछु।” जब तँ यसरी प्रार्थना गर्छस्, तेरो हृदयमा परमेश्‍वरप्रति कहिल्यै नटुङ्गिने प्रेम र साँचो आज्ञापालन हुनेछ। के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? यदि मानिसहरू बारम्बार परमेश्‍वरका आत्माद्वारा छोइएका छन् भने, तिनीहरू आफ्‍ना प्रार्थनामा आफैलाई विशेष रूपमा परमेश्‍वरमा समर्पित गर्न इच्‍छुक हुन्छन्: “हे परमेश्‍वर! म तपाईंको महिमाको दिनलाई हेर्न चाहन्छु, र म तपाईंकै लागि जिउन चाहन्छु—तपाईंको लागि जिउनुजत्तिको योग्य वा अर्थपूर्ण कुरा केही पनि छैन, र शैतान र देहको लागि जिउने थोरै इच्‍छासमेत मसँग छैन। आज तपाईंको लागि जिउन सक्षम तुल्याउँदै तपाईंले मलाई उठाउनुभयो।” जब तैँले यसरी प्रार्थना गरेको हुन्छस्, तँ परमेश्‍वरलाई तेरो हृदय नदिई बस्‍न सक्दैनस्, तँलाई लाग्‍नेछ कि तैँले परमेश्‍वरलाई प्राप्त गर्नैपर्छ, र जीवित छँदै परमेश्‍वरलाई प्राप्त नगरी तँ मर्न चाहँदैनस्। त्यस्तो प्रार्थना गरिसकेपछि, तँभित्र असीम सामर्थ्य आउनेछ, र यो कहाँबाट आउँछ सो तँलाई थाहा हुनेछैन; तेरो हृदयमा असीमित शक्ति हुनेछ, र परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, र उहाँ प्रेम गर्न योग्य हुनुहुन्छ भन्‍ने तैँले अनुभूति गर्नेछस्। यही बेला तँ परमेश्‍वरद्वारा छोइएको हुनेछस्। यस्तो अनुभव प्राप्त गरेका सबैलाई परमेश्‍वरले छुनुभएको हुन्छ। परमेश्‍वरद्वारा बारम्बार छोइएकाहरूका हकमा, तिनीहरूको जीवनमा परिवर्तनहरू आउँछन्, तिनीहरू संकल्प गर्न सक्छन् र परमेश्‍वरलाई पूर्ण रूपमा प्राप्त गर्न इच्‍छुक हुन्छन्, तिनीहरूको हृदयमा परमेश्‍वरप्रतिको प्रेम अझै दह्रिलो हुन्छ, तिनीहरूको हृदय परमेश्‍वरमा पूर्ण रूपले फर्केका हुन्छन्, तिनीहरूलाई परिवार, संसार, जाल-झेल, वा तिनीहरूको भविष्यको कुनै ख्याल हुँदैन, र तिनीहरू आफ्‍नो जीवनभरिको प्रयास परमेश्‍वरमा समर्पित गर्न इच्‍छुक हुन्छन्। परमेश्‍वरका आत्माले छोइएकाहरू सबै सत्यताको पछि लाग्‍ने, र परमेश्‍वरद्वारा सिद्ध तुल्याइने आशा भएका मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९७

परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा परमेश्‍वरको इच्‍छाको पूर्णता जे खोजी गरिरहेको भए तापनि, सबै कुरा परमेश्‍वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तेरो कुराकानी र खोजी परमेश्‍वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्‍वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्‍माको कार्यको पूर्ण अभाव छ। परमेश्‍वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्‍वरले त्यो चाहनुहुन्‍न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्‍माको वर्तमान ज्योतिलाई पछ्याउन सक्‍नेहरू सबै आशिषित हुन्‍छन्। विगतका युगका मानिसहरूले पनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्‍म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष्‌ नै यही हो। पवित्र आत्‍माको वर्तमान कार्यलाई पछ्याउन सक्‍ने, र उहाँले तिनीहरूलाई जता डोर्‍याउनुभए पनि परमेश्‍वरलाई नै पछ्याउने गरी परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन सक्‍नेहरू—यिनीहरू परमेश्‍वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्‍वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। आज, परमेश्‍वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्‍वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले स्याबासी दिनुहुन्‍न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरको इच्‍छाअनुसार हुनु असम्‍भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्‍वरको इच्‍छाको निम्ति उपयुक्त केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्‍पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्‍वरको इच्‍छाअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्। पवित्र आत्माको कामलाई पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको इच्‍छालाई बुझ्‍दैनन्, र परमेश्‍वरको इच्‍छालाई नबुझ्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वरले उहाँको आफ्‍नै हृदयअनुसारको सेवा चाहनुहुन्छ; उहाँले धारणाहरू र देहको सेवा चाहनुहुन्‍न। यदि मानिसहरूले पवित्र आत्माको कार्यका चरणहरूलाई पछ्याउन सक्दैनन् भने, तिनीहरू धारणाहरूमाझ जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले बिथोल्छ र वाधा दिन्छ, अनि त्यस्तो सेवा परमेश्‍वरको विपरीत हुन्छ। त्यसकारण, परमेश्‍वरका पाइलाहरू पछ्याउन नसक्‍नेहरूले परमेश्‍वरको सेवा गर्न सक्दैनन्; परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन नसक्‍नेहरूले अवश्य नै परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू परमेश्‍वरको अनुरूप हुन सक्दैनन्। “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ आजको परमेश्‍वरको इच्‍छालाई बुझ्‍नु, परमेश्‍वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्‍नु, आजको परमेश्‍वरको आज्ञापालन गर्न र उहाँलाई पछ्याउन, र परमेश्‍वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्‍नु भन्‍ने हुन्छ। पवित्र आत्‍माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न र परमेश्‍वरलाई देख्‍न सक्‍ने मात्रै होइनन्, तिनीहरूले त परमेश्‍वरको हालैको कामबाट परमेश्‍वरको स्वभावलाई पनि जान्‍न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र अनाज्ञाकारितालाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्‍न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्‍नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्‍ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्। पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू परमेश्‍वरको हालैको कामलाई पछ्याउन नसक्‍ने, र परमेश्‍वरको हालैको कामको विरुद्ध विद्रोह गर्ने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला विरोध गर्नुको कारण, परमेश्‍वरले नयाँ काम गर्नुभएकोले, र परमेश्‍वरको स्वरूप तिनीहरूको धारणामा भएको जस्तो नभएकोले गर्दा हो—यसको परिणामस्वरूप, तिनीहरूले खुल्‍लमखुल्‍ला परमेश्‍वरको विरोध गर्छन्, र परमेश्‍वरको आलोचना गर्छन्, जसले गर्दा परमेश्‍वरले तिनीहरूलाई घृणा र इन्कार गर्नुहुन्छ। परमेश्‍वरको हालैको कामको ज्ञान प्राप्त गर्नु त्यति सजिलो विषय होइन, तर यदि मानिसहरूमा परमेश्‍वरको कामलाई पालना गर्ने र परमेश्‍वरको कामको खोजी गर्ने मनमस्तिष्क छ भने, तिनीहरूले परमेश्‍वरलाई देख्‍ने मौका पाउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको सबैभन्दा नयाँ अगुवाइ प्राप्त गर्ने मौका पाउनेछन्। परमेश्‍वरको कामलाई जानीजानी विरोध गर्नेहरूले पवित्र आत्‍माको अन्तर्दृष्टि वा परमेश्‍वरको अगुवाइ प्राप्त गर्न सक्दैनन्। त्यसकारण, मानिसहरूले परमेश्‍वरको हालैको काम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा परमेश्‍वरको अनुग्रहमा निर्भर हुन्छ, यो तिनीहरूको खोजीमा निर्भर हुन्छ, र यो तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९८

पवित्र आत्माका वर्तमान वाणीहरूलाई पालन गर्न सक्‍नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्‍वरको हालैको कार्यलाई प्राप्त गर्नेहरू नै सबैभन्दा बढी आशिषित हुनेहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्‍नेहरूलाई हटाइन्छ। परमेश्‍वर नयाँ ज्योति स्वीकार गर्न सक्‍नेहरूलाई नै चाहनुहुन्छ, र उहाँले उहाँको हालैको कामलाई स्वीकार गर्ने र चिन्‍नेहरूलाई चाहनुहुन्छ। तँ विशुद्ध कन्या हुनुपर्छ भनेर किन भनिन्छ? विशुद्ध कन्याले पवित्र आत्‍माको कार्यलाई खोज्न र नयाँ कुराहरूलाई बुझ्‍न सक्छ, यति मात्र होइन, उसले पुराना धारणाहरूलाई पन्छाएर, आजको परमेश्‍वरको कामलाई पालना गर्न सक्‍छ। आजको सबैभन्दा नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूको यो समूहलाई युगौंयुग पहिले नै परमेश्‍वरले पूर्वनिर्धारित गरिसक्‍नुभएको थियो, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। तिमीहरूले परमेश्‍वरको आवाज प्रत्यक्ष रूपमै सुन्छौ, र परमेश्‍वर देखा पर्नुभएको घटनालाई देख्छौ, र त्यसकारण, स्वर्ग र पृथ्वीभरि, र युगौँयुगभरि नै, तिमीहरू अर्थात् मानिसहरूको यो समूहभन्दा बढी कोही पनि आशिषित भएको छैन। यो सबै नै परमेश्‍वरको कार्यले गर्दा, परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको र चुन्‍नुभएकोले गर्दा, अनि परमेश्‍वरको अनुग्रहले गर्दा नै भएको हो; यदि परमेश्‍वरले आफ्‍ना वचनहरू नबोल्‍नुभएको र उच्‍चारित नगर्नुभएको भए, के तिमीहरूको अवस्था आजको जस्तो हुन सक्थ्यो र? तसर्थ, सारा महिमा र प्रशंसा परमेश्‍वरलाई होस्, किनभने परमेश्‍वरले तिमीहरूलाई उठाउनुहुने भएकोले गर्दा नै यो सबै भएको हो। यी कुराहरूलाई ध्यानमा राख्दै, के तँ अझै पनि निष्क्रिय हुन सक्छस्? के तेरो सामर्थ्य अझै पनि माथि उठ्न सक्दैन?

तैँले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, प्रहार, र शोधनलाई स्वीकार गर्न सक्छस्, यसको साथै तँ परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्न सक्छस् भन्‍ने कुरा युगौंयुग पहिले नै परमेश्‍वरले पूर्वनिर्धारित गरिसक्‍नुभएको थियो, तसर्थ तँलाई सजाय दिइँदा तँ हैरान हुनु हुँदैन। तिमीहरूमा गरिएको काम, र तिमीहरूलाई दिइएका आशिष्‌हरू कसैले पनि खोस्‍न सक्दैन, अनि तिमीहरूलाई दिइएका सबै कुराहरू कसैले पनि खोसेर लैजान सक्दैन। धर्मका मानिसहरूलाई तिमीहरूसँग तुलना गर्न सकिँदैन। तिमीहरूमा बाइबलसम्‍बन्धी विशेषज्ञता छैन, र तिमीहरू धार्मिक सिद्धान्तद्वारा सुसज्‍जित छैनौ, तर परमेश्‍वरले तिमीहरूभित्र काम गर्नुभएको हुनाले, तिमीहरूले युगौंयुगको अवधिमा अरू कसैले भन्दा बढी प्राप्त गरेका छौ—त्यसकारण, यो तिमीहरूको सबैभन्दा ठूलो आशिष्‌ हो। यही कारणले गर्दा, तिमीहरू परमेश्‍वरप्रति अझै समर्पित हुनुपर्छ, र परमेश्‍वरप्रति अझै निष्ठावान हुनुपर्छ। परमेश्‍वरले तँलाई माथि उठाउनुहुने भएकोले, तैँले आफ्‍नो प्रयासहरूलाई सुदृढ पार्नुपर्छ, र परमेश्‍वरको आज्ञालाई स्वीकार गर्नको लागि तेरो कदलाई तयार गर्नुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको स्थानमा तँ दह्रिलो गरी खडा हुनैपर्छ, परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍न तँ लागिपर्नुपर्छ, राज्यको तालिमलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरद्वारा प्राप्त गरिनुपर्छ र आखिरमा परमेश्‍वरको महिमावान् गवाही बन्‍नुपर्छ। के तँमा यी संकल्‍पहरू छन्? यदि तँमा यस्ता संकल्‍पहरू छन् भने, आखिरमा तँलाई अवश्य नै परमेश्‍वरले प्राप्त गर्नुहुनेछ, र तँ परमेश्‍वरको महिमावान् गवाही बन्‍नेछस्। मुख्य आज्ञा भनेको नै परमेश्‍वरद्वारा प्राप्त गरिनु र परमेश्‍वरको महिमावान् गवाही बन्‍नु हो भन्‍ने कुरालाई तैँले बुझ्‍नुपर्छ। परमेश्‍वरको इच्‍छा नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ३९९

पवित्र आत्माको आजका वचनहरू पवित्र आत्माका कार्यका गतिशीलताहरू हुन्, र यो अवधिमा पवित्र आत्माले मानिसलाई निरन्तर अन्तर्दृष्टि दिनु नै पवित्र आत्माको कामको प्रवृत्ति हो। अनि आजको पवित्र आत्माको कामको प्रवृत्ति के हो त? यो परमेश्‍वरको आजको काममा, र सामान्य आत्मिक जीवनमा मानिसहरूको नेतृत्व गर्नु हो। सामान्य आत्मिक जीवनमा गरिने प्रवेशका धेरै चरणहरू छन्:

१. पहिलो, तैँले आफ्‍नो हृदयलाई परमेश्‍वरको वचनमा खन्याउनैपर्छ। तैँले विगतको परमेश्‍वरको वचनलाई पछ्याउनु हुँदैन, र तिनलाई अध्ययन गर्नु हुँदैन, न त तिनलाई आजको वचनहरूसँग नै तुलना गर्नु हुन्छ। बरु, तैँले आफ्‍नो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरको वर्तमान वचनमा लगाउनुपर्छ। यदि अझै पनि विगतका परमेश्‍वरको वचन, आत्मिक पुस्तकहरू, वा अरू प्रचारका विवरणहरूलाई पढ्न चाहने, तर आजको पवित्र आत्माको वचनलाई नपछ्याउने मानिसहरू छन् भने, तिनीहरू सबैभन्दा मूर्ख मानिसहरू हुन्; परमेश्‍वरले त्यस्ता मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। यदि तँ आजको पवित्र आत्माको ज्योतिलाई स्वीकार गर्न इच्‍छुक छस् भने, परमेश्‍वरको आजका वाणीहरूमा आफ्‍नो हृदयलाई पूर्ण रूपमा खन्या। तैँले हासिल गर्नुपर्ने पहिलो कुरा नै यही हो।

२. तैँले आजको परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा प्रार्थना गर्नैपर्छ, तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गरेर परमेश्‍वरसँग कुराकानी गर्नैपर्छ, र तैँले आफूले हासिल गर्न चाहेका मापदण्डहरू स्थापित गर्दै परमेश्‍वरको अघि आफ्‍ना संकल्पहरू गर्नैपर्छ।

३. तैँले पवित्र आत्‍माको आजको कामको जगमा सत्यताभित्र गहन प्रवेशको खोजी गर्नुपर्छ। विगतका पुराना भइसकेका वाणी र सिद्धान्तहरूलाई पक्री नराख्।

४. तैँले पवित्र आत्‍माको छुवाइ प्राप्त गर्ने र परमेश्‍वरका वचनहरूमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ।

५. तँ आज पवित्र आत्‍माले हिँड्नुभएको मार्गमा प्रवेश गर्न लागिपर्नुपर्छ।

अनि तैँले कसरी पवित्र आत्‍माको छुवाइको खोजी गर्छस्? महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वर्तमान वचनहरूमा जिउनु, र परमेश्‍वरका मापदण्डहरूको जगमा रही प्रार्थना गर्नु हो। यसरी प्रार्थना गरिसकेपछि, पवित्र आत्‍माले तँलाई अवश्य नै छुनुहुन्छ। यदि तँ आज परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा रही खोजी गर्दैनस् भने, यो व्यर्थ हुन्छ। तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म तपाईंको विरोध गर्छु, र म तपाईंको धेरै ऋणी छु; म धेरै अनाज्ञाकारी छु, र म कहिल्यै पनि तपाईंलाई सन्तुष्ट तुल्याउन सक्दिनँ। हे परमेश्‍वर, तपाईंले मलाई मुक्ति दिनुहोस् भन्‍ने मेरो कामना छ, म तपाईंलाई अन्त्यसम्‍मै सेवा दिन चाहन्छु, म तपाईंको निम्ति मर्न चाहन्छु। तपाईं मेरो न्याय गर्नुहोस् र मलाई सजाय दिनुहोस्, तर म कुनै गुनासो गर्दिनँ; म तपाईंको विरोध गर्छु र म मर्न योग्य छु, ताकि मेरो मृत्युमा सबै मानिसहरूले तपाईंको धर्मी स्वभावलाई देख्‍न सकून्।” जब तँ हृदयबाटै यसरी प्रार्थना गर्छस्, परमेश्‍वरले तँलाई सुन्‍नुहुनेछ र तँलाई अगुवाइ गर्नुहुनेछ; यदि तँ पवित्र आत्माको आजका वचनहरूको जगमा रही प्रार्थना गर्दैनस् भने, पवित्र आत्माले तँलाई छुनुहुने कुनै सम्‍भावना हुँदैन। यदि तँ परमेश्‍वरको इच्‍छाअनुसार, र आज परमेश्‍वरले जे गर्न चाहनुहुन्छ त्योअनुसार प्रार्थना गर्छस् भने, तैँले यसो भन्‍नेछस्: “हे परमेश्‍वर! म तपाईंका आज्ञाहरूलाई स्वीकार गर्न र तपाईंका आज्ञाहरूप्रति विश्‍वासयोग्य हुन चाहन्छु, अनि म मेरो सम्पूर्ण जीवन नै तपाईंकै महिमामा अर्पण गर्न इच्‍छुक छु, ताकि मैले गर्ने सबै कुरा परमेश्‍वरका मानिसहरूका मापदण्डहरूको स्तरसम्‍म पुग्‍न सकून्। मेरो हृदय तपाईंद्वारा छोइयोस्। तपाईंको आत्माद्वारा मलाई सधैँ अन्तर्दृष्टि मिलोस्, मैले गर्ने सबै कुराले शैतानलाई शर्ममा पारोस्, आखिरमा मलाई तपाईंले प्राप्त गर्नुहोस् भन्‍ने मेरो कामना छ।” यदि तँ यसरी, परमेश्‍वरको इच्‍छावरिपरि केन्द्रित भई प्रार्थना गर्छस् भने, पवित्र आत्माले अपरिहार्य रूपमै तँमा काम गर्नुहुनेछ। तेरो प्रार्थनाका शब्‍दहरू कति धेरै छन् त्यसले केही फरक पार्दैन—तैँले परमेश्‍वरको इच्‍छालाई बुझ्छस् कि बुझ्दैनस्, मुख्य कुरा त्यही हो। तिमीहरू सबैले सायद यस्तो अनुभव प्राप्त गरेका छौ होला: भेलामा प्रार्थना गरिरहेको बेला कहिलेकहीँ पवित्र आत्‍माको कार्यका गतिशीलताहरू तिनको चरम अवस्थामा पुग्छन् र त्यसले सबैको सामर्थ्यलाई माथि उठाउँछ। कतिपय मानिसहरू प्रार्थना गर्दागर्दै परमेश्‍वरको अघि पछुतोले भरिएर नराम्ररी रुन्छन् र रुँदै बरर आँसु झार्छन्, र कतिपय मानिसहरूले आफ्नो सङ्कल्प देखाउँछन् र भाकल गर्छन्। पवित्र आत्माको कामले हासिल गर्नुपर्ने प्रभाव त्यस्तै नै हो। आज, सबै मानिसहरूले परमेश्‍वरको वचनमा आफ्‍नो हृदय पूर्ण रूपमा खन्याउनु महत्त्वपूर्ण छ। पहिले बोलिएका वचनहरूमा ध्यान नदे; पहिले जे आएको थियो त्यसलाई नै तँ अझै पक्रिरहन्छस् भने, पवित्र आत्‍माले तँभित्र काम गर्नुहुनेछैन। के तँ यो कति महत्त्वपूर्ण छ भन्‍ने देख्छस्?

के तँ आज पवित्र आत्‍माले हिँड्नुभएको मार्ग चिन्छस्? माथि उल्‍लेख गरिएका विभिन्‍न बुँदाहरू पवित्र आत्माले आज र भविष्यमा पूरा गर्नुपर्ने कुराहरू हुन्; ती पवित्र आत्माले लिनुभएको मार्ग हो, र मानिसले हासिल गर्न खोज्नुपर्ने प्रवेश हो। जीवनमा हुने तेरो प्रवेशमा, तैँले कम्तीमा पनि तेरो हृदयलाई परमेश्‍वरका वचनहरूमा खन्याउनुपर्छ, र परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्न सक्‍नुपर्छ; तेरो हृदय परमेश्‍वरको लागि तृषित हुनैपर्छ, तैँले सत्यताभित्रको गहन प्रवेश, र परमेश्‍वरले तोक्‍नुभएका उद्देश्यहरू खोजी गर्नुपर्छ। जब तँमा यस्तो सामर्थ्य हुन्छ, यसले तँलाई परमेश्‍वरले छुनुभएको छ, र तेरो हृदय परमेश्‍वरतर्फ फर्कन थालेको छ भन्‍ने देखाउँछ।

जीवनमा प्रवेश गर्ने कार्यको पहिलो चरण भनेको तेरो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरका वचनहरूमा खन्याउनु हो, र दोस्रो चरण भनेको पवित्र आत्‍माको छुवाइलाई स्वीकार गर्नु हो। पवित्र आत्माको छुवाइलाई स्वीकार गरेर के प्रभाव हासिल गरिन्छ? यो अझै गहन सत्यताको तृष्णा गर्न, त्यसको खोजी गर्न, र अन्वेषण गर्न, र सकारात्मक तरिकाले परमेश्‍वरसँग सहकार्य गर्न सक्षम हुनलाई हो। आज, तँ परमेश्‍वरसँग सहकार्य गर्छस्, भन्‍नुको अर्थ, तेरो खोजी, तेरा प्रार्थनाहरू, र परमेश्‍वरका वचनहरूसँग तेरो विचार-मन्थनको उद्देश्य छ, र तैँले तेरो कर्तव्य परमेश्‍वरका मापदण्डहरूअनुसार पूरा गर्छस्—यो मात्रै परमेश्‍वरसँग सहकार्य गर्नु हो। यदि तँ परमेश्‍वरलाई काम गर्न दिनेबारेमा मात्रै बोल्छस्, तर प्रार्थना र खोजी गर्नु त कता हो कता तैँले कुनै काम समेत गर्दैनस् भने, के यसलाई सहकार्य भन्‍न सकिन्छ र? यदि तँमा सहकार्यको कुनै छाप नै छैन, र तँमा उद्देश्यसहितको प्रवेशको तालिमको अभाव छ भने, तैँले सहकार्य गरिरहेको छैनस्। कतिपय मानिसहरूले यसो भन्छन्: “सबै कुरा परमेश्‍वरले गर्नुभएको पूर्वनिर्धारणमा नै निर्भर हुन्छ, यो सबै परमेश्‍वर स्वयमले गर्नुहुन्छ; यदि यो परमेश्‍वरले गर्नुभएको होइन भने, मानिसले कसरी गर्न सक्थ्यो र?” परमेश्‍वरको कार्य सामान्य छ, र अलिकति पनि अलौकिक छैन, र तेरो सक्रिय खोजीद्वारा मात्रै पवित्र आत्माले काम गर्नुहुन्छ, किनभने परमेश्‍वरले जबरजस्ती गर्नुहुन्‍न—तैँले परमेश्‍वरलाई काम गर्ने अवसर दिनैपर्छ, र यदि तँ खोजी वा प्रवेश गर्दैनस् भने, र तेरो हृदयमा अलिकति पनि तृष्णा छैन भने, परमेश्‍वरसँग काम गर्ने कुनै मौका हुँदैन। परमेश्‍वरद्वारा छोइनको लागि तँ कुन मार्गद्वारा खोजी गर्छस्? प्रार्थनाद्वारा, र परमेश्‍वरको नजिक आएर। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यो परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा नै हुनुपर्छ भन्‍ने कुरा याद गर्। जब तँ बारम्बार परमेश्‍वरद्वारा स्पर्शित हुन्छस्, तब तँ देहको दासत्वमा पर्दैनस्: पति, पत्‍नी, छोराछोरी, र रुपियाँपैसा—ती सबैले तँलाई बन्धनमा पार्न सक्दैनन्, र तँ सत्यताको पछि लाग्‍न र परमेश्‍वरको अघि जिउन मात्रै चाहन्छस्। यसपटक, तँ स्वतन्त्रताको क्षेत्रमा जिउने व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४००

परमेश्‍वरले मानिसलाई पूर्ण पार्ने संकल्प गर्नुभएको छ, र जुन दृष्टिकोणबाट उहाँ बोल्‍नुभए पनि, यो सबै मानिसहरूलाई सिद्ध पार्नको लागि हो। आत्माको दृष्टिकोणबाट बोलिएका वचनहरू मानिसहरूको लागि बुझ्न कठिन छन्; बुझ्नको लागि उनीहरूको क्षमता सीमित भएकाले, उनीहरूसँग अभ्यासको मार्ग पत्ता लगाउने साधनहरू छैनन्। परमेश्‍वरको कामले फरक-फरक प्रभावहरू पार्छ, र कामको हरेक कदमको पछाडि उहाँको आफ्नै उद्देश्य हुन्छ। यसका अलाबा, उहाँले फरक-फरक दृष्टिकोणहरूबाट बोल्न अत्यावश्यक छ, किनकि यसो गरेर मात्र उहाँले मानिसलाई सिद्ध पार्न सक्नुहुन्छ। यदि उहाँले आत्माको दृष्टिकोणबाट मात्र आफ्नो वचन बोल्नुथियो भने, परमेश्‍वरको कामको यो चरण पूरा गर्ने कुनै मार्ग हुने थिएन। उहाँले बोल्ने शैलीबाट, तैँले के देख्न सक्छस् भने, मानिसहरूको यो समूहलाई सिद्ध पार्न उहाँ दृढ हुनुहुन्छ। तसर्थ सिद्ध पारिन चाहना राख्ने यी प्रत्येकको लागि पहिलो कदम के हुनुपर्छ? सबैभन्दा मुख्य कुरा, तैँले परमेश्‍वरको काम बुझ्‍नैपर्छ। आज, परमेश्‍वरको काममा नयाँ विधि सुरु भएको छ; युग परिवर्तित भएको छ, परमेश्‍वरले काम गर्ने तरीका पनि बदलिएको छ, र परमेश्‍वरले बोल्ने विधि फरक छ। आज, उहाँको कामको तरीका मात्र बदलिएको छैन, युग समेत बदलिएको छ। अहिले राज्यको युग हो। यो प्रेमिलो परमेश्‍वरको युग पनि हो। यो सहस्राब्दीय राज्यको युगको पूर्वानुभव हो—जुन वचनको युग पनि हो, र जसमा मानिसलाई सिद्ध पार्न परमेश्‍वरले बोल्ने धेरै माध्यमहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई आपूर्ति प्रदान गर्न फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। सहस्राब्दीय राज्यको युगमा प्रवेश गर्नेबित्तिकै परमेश्‍वरले मानिसलाई सिद्ध पार्न वचनहरू प्रयोग गर्न सुरु गर्नुहुनेछ र मानिसलाई जीवनको वास्तविकतामा प्रवेश गर्न दिनुहुनेछ र उसलाई सही मार्गमा अगुवाई गर्नुहुनेछ। परमेश्‍वरको कामका यति धेरै कदमहरू अनुभव गरेर, परमेश्‍वरको काम अपरिवर्तित रहँदैन, बरु नरोकिईकन विकसित हुँदैछ र गहिरिँदैछ भन्‍ने मानिसले देखेको छ। यसलाई मानिसहरूले यति लामो समयदेखि अनुभव गरेपछि, उक्त काम बारम्बार बदलिँदै, निरन्तर परिवर्तन भएको छ। यद्यपि यो जति परिवर्तन भए पनि, मानवजातिलाई छुटकारा दिलाउने परमेश्‍वरको उद्देश्यबाट यो कहिल्यै बाहिर जाँदैन। दश हजार परिवर्तनहरूबाट पनि, यो कहिल्यै यसको मूल उद्देश्यबाट टाढा रहँदैन। परमेश्‍वरको कामको विधि जसरी परिवर्तन भए पनि, यो काम सत्यबाट वा जीवनबाट कहिल्यै अलग हुँदैन। काम गरिएको विधिको परिवर्तनले कामको स्वरूपमा गरिने परिवर्तन, र जुन दृष्टिकोणबाट परमेश्‍वर बोल्नुहुन्छ त्यसलाई मात्र सामेल गर्छ; परमेश्‍वरको कामको केन्द्रीय उद्देश्यमा कुनै परिवर्तन हुँदैन। प्रभाव प्राप्त गर्नको लागि परमेश्‍वरको स्वरको भाव र उहाँको कामको तरिकामा परिवर्तन गरिएका हुन्। स्वरको भावमा परिवर्तनको अर्थ कामको पछि रहेको उद्देश्य वा सिद्धान्तमा परिवर्तन होइन। मानिसहरूले मुख्यतः जीवन खोज्न परमेश्‍वरमा विश्‍वास गर्छन्; यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् तर पनि जीवनको खोजी गर्दैनस् वा सत्यको चाहना वा परमेश्‍वरको खोजी गर्दैनस् भने, यो परमेश्‍वरमाथिको विश्‍वास होइन! र अझै राजा हुनको लागि राज्यमा प्रवेश गर्न खोज्नु वास्तविकतापरक हुन्छ र? जीवनको खोजीद्वारा परमेश्‍वरको लागि साँचो प्रेम प्राप्त गर्नु—केवल यो यथार्थता हो; सत्यको चाहना र अभ्यास—यी सबै यथार्थता हुन्। परमेश्‍वरका वचनहरू पढेर, र यी वचनहरू अनुभव गरेर, वास्तविक अनुभवको बीचमा तैँले परमेश्‍वरको ज्ञान लिन सक्‍नेछस्, र साँच्चिकै खोजी गर्नुको अर्थ यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०१

अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका वचनहरू तेरो जीवनको वास्तविकता बनेको छ कि छैन त्यसमा निर्भर हुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरू परिचित गराइएको छ ताकि, अन्त्यमा, सबै मानिसहरू परमेश्‍वरको वचनको संसारमा जिऊन्, र भित्रैबाट हरेक व्यक्तिलाई उहाँका वचनहरूले अन्तर्दृष्टि र प्रकाश दिऊन्। यदि, यो समयको दौरान, तँ परमेश्‍वरका वचनहरू पढ्नमा लापरवाह भइस् भने, र उहाँका वचनहरूमा तेरो रुची छैन भने, यसले तेरो स्थिति गलत छ भन्‍ने देखाउँछ। यदि तँ वचनको युगमा प्रवेश गर्न सक्दैनस् भने, तँमा पवित्र आत्माले काम गर्नुहुन्न; यदि तँ यो युगमा प्रवेश गरेको छस् भने, उहाँले आफ्नो काम गर्नुहुनेछ। पवित्र आत्माको काम प्राप्त गर्न वचनको युगको प्रारम्भमा तैँले के गर्न सक्छस्? यो युगमा, र तिमीहरूका माझमा, परमेश्‍वरले उल्लिखित तथ्य समाप्त गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्‍वरका वचनहरू जिउनु पर्नेछ, सत्यलाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र परमेश्‍वरलाई आदर गर्ने हृदयहरू हुनु पर्नेछ; र परमेश्‍वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्‍वरसँगै राजसी शक्ति धारण गर्ने छ। परमेश्‍वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्‍वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्‍ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्‍वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्‍ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्‍वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्‍ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्‍ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्‍वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ” (मत्ती ४:४)। आज, परमेश्‍वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा समाप्त गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्‍वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्‍वरले सबैलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूद्वारा, मानिसलाई न्याय गरिन्छ र सिद्ध पारिन्छ, त्यसपछि अन्तिममा राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्‍वरका वचनहरूले मात्र मानिसको जीवनको भरणपोषण गर्न सक्छन्, र परमेश्‍वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको मार्ग दिन सक्छन्। जबसम्म तँ परमेश्‍वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्‍म परमेश्‍वरले तँलाई सिद्ध बनाउन सक्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०२

जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्‍वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ जसबाट भएर यो जानुपर्छ। देहधारी येशूलाई आफ्नो क्रूसीकरणको काम सम्पन्न गर्न साँढे तेत्तीस वर्ष लाग्यो—तसर्थ अत्यन्त कठिन, मानिसलाई शुद्ध पार्ने र उसको जीवनलाई परिवर्तन गर्ने कामबारे के? परमेश्‍वरलाई प्रकट गर्ने सामान्य मानिस बनाउनु सजिलो काम होइन। ठूलो रातो अजिङ्गरको राज्यमा जन्मिएका मानिसहरू, जो कम क्षमताका छन् र परमेश्‍वरका वचनहरू र कामको लामो अवधि चाहन्छन्, तिनीहरूमा यो खासगरी लागू हुन्छ। तसर्थ नतिजाहरू हेर्न अधैर्य नबन्। परमेश्‍वरका वचनहरू खान र पिउन तँ सक्रिय हुनैपर्छ, र परमेश्‍वरका वचनहरूमा अझ बढी प्रयास लगाउनुपर्छ। जब तैँले उहाँका वचनहरू पढिसक्छस्, परमेश्‍वरका वचनहरूमा ज्ञान, अन्तर्दृष्टि, विवेक, र बुद्धिमा विकसित हुँदै, तैँले तिनलाई वास्तविक व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस मार्फत, यसलाई अनुभूति नगरीकन तँ परिवर्तन हुनेछस्। यदि तैँले परमेश्‍वरका वचनहरूलाई खाने र पिउने, तिनीहरूलाई पढ्ने, तिनीहरूलाई बुझ्ने, तिनीहरूलाई अनुभव गर्ने, र तिनीहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई आफ्नो सिद्धान्तको रूपमा लिन सकिस् भने, तिनलाई अनुभव नै नगरिकन तँ परिपक्व हुनेछस्। परमेश्‍वरका वचनहरू पढेर पनि तिनीहरूलाई व्यवहारमा लागू गर्न सक्दैनौं भन्‍नेहरू छन्। तेरो हतार के हो? जब तँ खास कदको नापमा पुग्छस्, तँ उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्न सक्‍नेछस्। के चार वा पाँच वर्षको बालकले आफ्ना मातापितालाई सहारा दिन वा सम्मान दिन सकिन भनेर भन्छ? तेरो वर्तमान उचाइ कति ठूलो छ त्यो तैँले जान्‍नुपर्छ। तैँले जे व्यवहारमा लागू गर्न सक्छस्, त्यसलाई व्यवहारमा लागू गर्, र परमेश्‍वरको व्यवस्थापनलाई अवरोध गर्ने व्यक्ति नबन्। परमेश्‍वरका वचनहरूलाई मात्र खा र पी, र अब उप्रान्त त्यसलाई आफ्नो सिद्धान्तको रूपमा ली। परमेश्‍वरले तँलाई पूर्ण पार्न सक्नुहुन्छ कि सक्‍नुहुन्न भन्‍ने बारे, अहिलेको लागि, चिन्ता नगर्। त्यसलाई अहिले नै खोजतलास नगर्। परमेश्‍वरका वचनहरू तकहाँ जसरी आउँछन् त्यसरी नै तिनलाई खा र पी, र परमेश्‍वरले अवश्य नै तँलाई पूर्ण बनाउनुहुनेछ। यद्यपि, तैँले उहाँका वचनहरूलाई खाँदा र पिउँदा पालन गर्नुपर्ने एउटा सिद्धान्त छ। अन्धाधुन्ध त्यसो नगर्। परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा एकातिर, तैँले थाहा पाउनु पर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, दर्शनहरूसँग सम्बन्धित वचनहरू—र अर्कोतिर, तैँले वास्तविक व्यवहारमा लागू गर्नुपर्ने वचनहरू खोजेर पत्ता लगा—यसको अर्थ, तँ प्रवेश गर्नुपर्ने कुरालाई। एक पक्षको सम्बन्ध ज्ञानसँग छ, र अर्कोको प्रवेशसँग। तैँले दुवैलाई बुझिसकेपछि—तैँले के बुझ्नु पर्ने हो र के अभ्यास गर्नुपर्ने हो त्यसलाई बुझिसकेपछि—परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो तँलाई थाहा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०३

अगाडि बढ्ने क्रममा, परमेश्‍वरका वचनहरूको चर्चा नै तँ बोल्ने सिद्धान्त हुनुपर्नेछ। साधारणतः, जब तिमीहरू भेला हुन्छौ, तब परमेश्‍वरका वचनहरूलाई आफ्नो अन्तरक्रियाको विषयवस्तुका रूपमा लिएर, यी वचनहरूबारे तिमीहरूलाई के थाहा छ, तिनलाई तिमीहरू कसरी व्यवहारमा लागू गर्छौ, र पवित्र आत्माले कसरी काम गर्नुहुन्छ, यसबारे चर्चा गर्दै परमेश्‍वरका वचनहरू सम्‍बन्धी सङ्गतिमा संलग्‍न हुनुपर्छ। जबसम्म तँ परमेश्‍वरका वचनहरूको सङ्गति गर्छस्, पवित्र आत्माले तँलाई ज्योति दिनुहुनेछ। परमेश्‍वरका वचनहरूको संसार प्राप्त गर्न मानिसको सहकार्य आवश्यक पर्छ। यदि तँ यसमा प्रवेश गरिनस् भने, परमेश्‍वरसँग काम गर्ने कुनै उपाय हुनेछैन; यदि तैँले आफ्नो मुख बन्द राखिस् र उहाँका वचनहरूबारे चर्चा गरिनस् भने, उहाँसँग तँलाई ज्योति दिने कुनै उपाय हुनेछैन। जब तँ अन्यथा व्यस्त भएको हुँदैनस्, परमेश्‍वरका वचनहरूबारे चर्चा गर्, र निरर्थक गफसफमा मात्र नअल्‍मली! तेरो जीवनशैली परमेश्‍वरका वचनहरूले भरियोस्—त्यसपछि मात्र तँ सच्चा विश्‍वासी हुनेछस्। तेरो सङ्गति सतही भए पनि त्यसले फरक पर्दैन। सतहीपन विना कुनै गहिराइ हुन सक्दैन। त्यहाँ प्रक्रिया हुनुपर्छ। तेरो तालिमभरि, तैँले पवित्र आत्माको ज्योति आफूमा लिनेछस्, र परमेश्‍वरका वचनहरू कसरी प्रभावकारी ढङ्गले खाने र पिउने सो थाहा पाउनेछस्। खोजतलासको मध्यान्तरपछि, तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तैँले सहकार्य गर्न अठोट गर्छस् भने मात्र तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस्।

परमेश्‍वरका वचनहरू खाने र पिउने सिद्धान्तहरूमा, एउटा ज्ञानसँग सम्बन्धित छ, र अर्को प्रवेशसँग। तैँले कुन वचनहरू थाहा पाउनुपर्छ? तैँले दर्शनहरूसँग सम्बन्धित वचनहरू थाहा पाउनुपर्छ (जस्तै, परमेश्‍वरको काम अहिले कुन युगमा प्रवेश गरेको छ सो वर्णन गर्ने वचनहरू, अहिले परमेश्‍वर के प्राप्त गर्ने चाहना राख्नुहुन्छ, देहधारण के हो, र यस्तै-यस्तै; यी सबै दर्शनहरूसँग सम्बन्धित छन्।) मानिस प्रवेश गर्नुपर्ने मार्ग भनेको के हो? यसले मानिसले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने परमेश्‍वरका वचनहरूलाई जनाउँछ। माथि उल्‍लेखित परमेश्‍वरका वचनहरू खाने र पिउने दुई पक्षहरू हुन्। अब उप्रान्त, यस प्रकारले, परमेश्‍वरका वचनहरू खाने र पिउने गर्नू। यदि तँलाई दर्शनसँग सम्बन्धित उहाँका वचनहरूको बारेमा प्रष्ट बुझाइ छ भने, हर समय पढिरहनु आवश्यक छैन। प्राथमिक महत्त्वको कुरा भनेको प्रवेश गर्दा अझै बढी वचनहरू खानु र पिउनु हो, जस्तै परमेश्‍वरतिर तेरो हृदय कसरी फर्काउने, परमेश्‍वरको सामुन्ने तेरो हृदय कसरी शान्त बनाउने, र कसरी शरीरलाई त्याग्ने। तैँले व्यवहारमा लागू गर्नुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने सो थाहा नपाइकन, सच्चा सङ्गति असम्भव छ। उहाँका वचनहरू कसरी खाने र पिउने सो थाहा पाएपछि, चाबी के हो तैँले बुझेपछि, सङ्गति स्वतन्त्र हुनेछ, र जुनसुकै सवाल उठे पनि, तँ सङ्गति गर्न र वास्तविकतालाई बुझ्न सक्‍नेछस्। यदि, परमेश्‍वरका वचनहरूको सङ्गति गर्दा, तँसँग वास्तविकता छैन भने, चाबी के हो तैँले बुझेको छैनस्, जसले परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने तँलाई थाहा छैन भन्‍ने देखाउँछ। परमेश्‍वरका वचनहरू पढ्दा केही मानिसहरूलाई थकाइ लाग्दो लाग्न सक्छ, जुन सामान्य स्थिति होइन। परमेश्‍वरका वचनहरू पढ्दा कहिल्यै थकाइ नलाग्‍नु, तिनीहरूको लागि सधैँ तृषित रहनु, र परमेश्‍वरका वचनहरू सधैँ असल पाउनुचाहिँ सामान्य हो। वास्तवमै प्रवेश गरेकाले यसरी परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्। जब परमेश्‍वरका वचनहरू अत्याधिक व्यावहारिक छन् र मानिस प्रवेश गर्नु पर्ने ठ्याक्कै यही हो भन्‍ने तँलाई लाग्छ; जब उहाँका वचनहरू मानिसको लागि असाध्यै उपयोगी र लाभदायक छन्, र ती मानिसको जीवनको भण्डार हुन् भन्‍ने तँलाई लाग्छ—तँलाई यो अनुभूति पवित्र आत्माले दिनुहुन्छ, र पवित्र आत्माले तँलाई छुनुहुन्छ। यसले पवित्र आत्माले तँमा काम गरिरहनु भएको छ र परमेश्‍वर तँबाट फर्किएर जानुभएको छैन भन्‍ने प्रमाणित गर्छ। केही मानिसहरू, परमेश्‍वर सधैँ बोलिरहेको देखेर, उहाँका वचनहरूदेखि दिक्क हुन्छन्, र उनीहरूले त्यसलाई पढे पनि वा नपढे पनि यसको कुनै परिणाम छैन भन्‍ने ठान्छन्—जुन सामान्य स्थिति होइन। वास्तविकतामा प्रवेश गर्ने प्यास भएको हृदय उनीहरूसँग छैन, र यस्ता मानिसहरू सिद्ध पारिन न तृष्णा गर्छन् न महत्त्व नै दिन्छन्। जब तैँले आफूमा परमेश्‍वरका वचनहरूको तृष्णा नभएको पाउँछस्, यसले तँ सामान्य स्थितिमा छैनस् भन्‍ने देखाउँछ। विगतमा, परमेश्‍वर तँबाट फर्किएर जानु वा नजानु भन्‍ने कुरा, तँ आफूभित्र शान्तिमा थिइस् वा थिइनस्, र तैँले आनन्द अनुभव गरिस् वा गरिनस् त्यसले निर्धारित गर्न सक्थ्यो। अब तँ परमेश्‍वरका वचनहरूको तृष्णा गर्छस् कि गर्दैनस्, उहाँका वचनहरू तेरो वास्तविकता हो कि होइन, तँ निष्ठावान् छस् कि छैनस्, र तैँले परमेश्‍वरको लागि आफूले गर्न सक्ने सबै गर्न सक्छस् कि सक्दैनस्, चाबी त्यही हो। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको वास्तविकताद्वारा मानिसको न्याय गरिन्छ। परमेश्‍वरले आफ्ना वचनहरू सबै मानवजातिप्रति लक्षित गर्नुहुन्छ। यदि तँ ती पढ्न इच्छुक छस् भने, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तर यदि छैनस् भने, उहाँले दिनुहुनेछैन। धार्मिकताको लागि जो भोका र प्यासा छन् परमेश्‍वरले उनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ, र जसले उहाँलाई खोजी गर्छ उनीहरूलाई उहाँले अन्तर्दृष्टि दिनुहुन्छ। उनीहरूले परमेश्‍वरका वचनहरू पढेपछि पनि उहाँले उनीहरूलाई अन्तर्दृष्टि दिनु भएन भनेर कतिले भन्छन्। तर कुन तरिकाले तैँले ती वचनहरू पढिस्? यदि तैँले उहाँका वचनहरू घोडाको पछाडि सवार मानिसले फूलहरू हेरे जस्तो तरिकाले पढिस् भने, र वास्तविकतालाई कुनै महत्त्व दिइनस् भने, परमेश्‍वरले कसरी तँलाई अन्तर्दृष्टि दिन सक्नुहुन्थ्यो? परमेश्‍वरका वचनहरूलाई बहुमूल्य नमान्नेलाई उहाँले कसरी सिद्ध पार्न सक्‍नुहुन्छ? यदि तँ परमेश्‍वरका वचनहरूलाई बहुमूल्य मान्दैनस् भने, तँसँग न त सत्य हुनेछ न त वास्तविकता। यदि तँ उहाँका वचनहरूलाई बहुमूल्य मान्छस् भने, तँ सत्यलाई व्यवहारमा लागू गर्न सक्छस्, र त्यसपछि मात्र तैँले वास्तविकतालाई बुझ्‍नेछस्। त्यसैकारण तँ व्यस्त भए पनि वा नभए पनि, परिस्थिति अनुकूल भए पनि वा नभए पनि, र तँलाई जाँचिए पनि वा नजाँचिए पनि, तैँले परमेश्‍वरका वचनहरू हमेसा खानु र पिउनु पर्छ। सबै कुरामा, परमेश्‍वरका वचनहरू मानिसको अस्तित्वका जग हुन्। उहाँका वचनहरूबाट कोही पनि फर्किन सक्दैन, तर उहाँका वचनहरू तिनीहरूले एक दिनमा तीन छाक खाना खाए जसरी खानुपर्छ। सिद्ध पारिनु र परमेश्‍वरद्वारा प्राप्त गरिनु त्यति सजिलो हुन सक्थ्यो? वर्तमानमा तैँले बुझे पनि नबुझे पनि, र परमेश्‍वरका कामप्रति तँमा सूक्ष्मदृष्टि भए पनि नभए पनि, तैँले सम्भव भएसम्म धेरै परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ। यो सक्रिय तरिकाले प्रवेश गर्नु हो। परमेश्‍वरका वचनहरू पढिसकेपछि, जेमा तँ प्रवेश गर्न सक्छस् त्यसलाई व्यवहारमा लागू गर्न हतार गर्, र तँ जे सक्छस् त्यसलाई एक क्षणको लागि अलग राख्। सुरुवातमा तैँले बुझ्‍न नसक्‍ने परमेश्‍वरका धेरै वचनहरू हुन सक्छन्, तर दुई वा तीन महीनापछि, सायद एक वर्षपछि तैँले ती बुझ्‍नेछस्। यो कसरी हुन सक्छ? यसको कारण के हो भने, परमेश्‍वरले मानिसहरूलाई एक वा दुई दिनमा सिद्ध पार्न सक्नुहुन्न। अधिकांश समय, जब तँ उहाँका वचनहरू पढ्छस्, तैँले तुरुन्तै नबुझ्न सक्छस्। त्यो समयमा, ती केवल पाठभन्दा बढी केही पनि होइन भन्‍ने लाग्‍न सक्छ; तैँले ती बुझ्नुभन्दा अगाडि तैँले केही समय तिनलाई अनुभव गर्नुपर्छ। परमेश्‍वरले यति धेरै बोलेपछि, उहाँका वचनहरू खान र पिउन तैँले आफ्नो सक्दो कोसिस गर्नुपर्छ, र त्यसपछि, थाहै नपाई तैँले यो बुझ्नेछस्, थाहै नपाई, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब पवित्र आत्माले मानिसलाई अन्तर्दृष्टि दिनुहुन्छ, यो प्रायः मानिसको जानकारी विना नै हुन्छ। जब तँ तृषित हुन्छस् र खोजी गर्छस्, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ। पवित्र आत्माले काम गर्ने सिद्धान्त तैँले खाने र पिउने परमेश्‍वरका वचनहरूमा केन्द्रित छ। परमेश्‍वरका वचनहरूलाई महत्त्व नदिने र उहाँका वचनहरूका बारेमा सँधै फरक मनोवृत्ति राख्‍ने—तिनीहरूका मूर्ख सोचाइमा, तिनीहरूले वचनहरू पढे पनि वा नपढे पनि यो उदासीनताको कुरा हो भन्‍ने विश्‍वास गर्छन्—तिनीहरू वास्तविकता नभएकाहरू हुन्। यस्ता व्यक्तिमा न त पवित्र आत्माको काम न त उहाँको अन्तर्दृष्टि देख्न नै सकिन्छ। यस्ता मानिसहरू योग्यता विनाका बहाना गर्नेहरू, केही गरेजस्तो गर्नेहरू मात्रै हुन्, दृष्टान्तका[क] नाङ्गुवोजस्तै।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

फूटनोट:

क. मूल पाठमा “दृष्टान्तका” भन्‍ने शब्‍द समावेश छैन।

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०४

जब परमेश्‍वरका वचनहरू प्रकट हुन्छन्, तैँले तिनीहरूलाई तत्कालै ग्रहण गर्नुपर्छ, र तिनीहरूलाई खानु र पिउनु पर्छ। तैँले जति बुझे पनि, तैँले पक्रनुपर्ने एउटा दृष्टिकोण भनेको उहाँका वचनहरू खानु र पिउनु, बुझ्नु, र अभ्यास गर्नु भन्‍ने हो। तैँले गर्न सक्नु पर्ने कुरा यही हो। तेरो कद कति महान् बन्ला भनेर कहिल्यै विचार नगर्; उहाँका वचनहरू खाने र पिउनेमा मात्र ध्यान केन्द्रित गर्। मानिसले सहकार्य गर्नुपर्ने यसैमा हो। तेरो आत्मिक जीवनशैली भनेको मूलतः परमेश्‍वरका वचनहरू खाने र पिउने र तिनीहरूलाई व्यवहारमा लागू गर्ने वास्तविकतामा प्रवेश गर्न कोसिस गर्नु हो। अन्य कुनै कुरामा ध्यान केन्द्रित गर्नु तेरो काम होइन। चर्चका अगुवाहरूले आफ्ना दाजुभाइहरू र दिदीबहिनीहरूलाई अगुवाइ गर्न सक्नुपर्छ ताकि परमेश्‍वरका वचनहरू कसरी खाने र पिउने उनीहरूले थाहा पाउन सकून्। यो चर्चका हरेक अगुवाको जिम्मेवारी हो। उनीहरू बालक हुन् वा वृद्ध, सबैले परमेश्‍वरका वचनहरू खानु र पिउनुलाई ठूलो महत्त्वको रूपमा लिनुपर्छ र उहाँका वचनहरू उनीहरूको हृदयमा हुनुपर्छ। यो वास्तविकतामा प्रवेश गर्नुको अर्थ राज्यको युगमा प्रवेश गर्नु हो। आज, अधिकांश मानिसहरू परमेश्‍वरका वचनहरू नखाई र नपिई जिउन नसक्ने अनुभूति गर्छन्, र समय जे भए पनि उहाँका वचनहरू ताजा छन् भन्‍ने अनुभव तिनीहरू गर्छन्। यसको अर्थ उनीहरू सही मार्गमा चल्न सुरु गरेका छन् भन्‍ने हुन्छ। परमेश्‍वरले आफ्ना काम गर्न र मानिसको दिन वचनहरूको प्रयोग गर्नुहुन्छ। जब परमेश्‍वरका वचनहरूप्रति जो कोही लालायित र तृषित हुन्छन्, मानवजाति उहाँका वचनहरूको संसारमा प्रवेश गर्नेछ।

परमेश्‍वरले प्रशस्तै बोल्नुभएको छ। तैँले कति बुझेको छस्? तँ कति धेरै प्रवेश गरेको छस्? यदि चर्चका अगुवाले आफ्ना दाजुभाइहरू र दिदीबहिनीहरूलाई परमेश्‍वरका वचनहरूको वास्तविकतामा अगुवाइ गरेका छैनन् भने, उनीहरू आफ्ना कर्तव्यबाट च्युत भएका हुनेछन्, र आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल भएका हुनेछन्! तेरो समझ गम्भीर भए पनि वा सतही भए पनि, तेरो समझको मात्राको बाबजुद पनि, तैँले उहाँका वचनहरू कसरी खाने र पिउने थाहा पाउनैपर्छ, तैँले उहाँका वचनहरूलाई धेरै ध्यान दिनुपर्छ, र तिनलाई खानु र पिउनुको महत्त्व र आवश्यकता बुझ्नुपर्छ। परमेश्‍वरले यति धेरै बोल्‍नुभएपछि, यदि तैँले उहाँका वचनहरू खाइनस् र पिइनस् भने, वा खोजी गर्ने प्रयास गरेनस् भने वा उहाँका वचनहरू व्यवहारमा लागू गरिनस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गरेको भन्न सकिन्न। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ, र उहाँका वचनहरूमा जिउनुपर्छ। केवल यसलाई मात्र परमेश्‍वरमा विश्‍वास गर्नु भनेर भन्न सकिन्छ! यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भनी भन्छस्, तर पनि उहाँका कुनै पनि वचनहरूलाई व्यवहारमा लागू गर्न वा कुनै वास्तविकता पैदा गर्न सक्दैनस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनिदैन। बरु, यो “भोक तृप्त गर्न रोटी खोज्नु” हो। वास्तविकताको सानो अंश समेत नजानी, नगण्य प्रमाणहरू, प्रयोगहीन कुराहरू, र सतही कुराहरूबारे मात्र बोल्‍नु: यिनीहरूले परमेश्‍वरमा विश्‍वास निर्माण गर्न सक्दैनन्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने ठीक तरिकालाई बिलकुल बुझेको छैनस्। तैँले किन परमेश्‍वरका वचनहरू सम्‍भव भएसम्‍म धेरै खाने र पिउने गर्नुपर्छ? यदि तँ उहाँका वचनहरू खाने र पिउने गर्दैनस् तर स्वर्गमा चढ्न मात्र खोज्छस् भने, के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? परमेश्‍वरमा विश्‍वास गर्नेले चाल्नु पर्ने पहिलो कदम के हो? कुन मार्गद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुहुन्छ? परमेश्‍वरका वचनहरू नखाई र नपिई तँलाई सिद्ध पारिन सकिन्छ? के तेरो वास्तविकताको रूपमा काम गर्ने परमेश्‍वरका वचनहरू विना तँलाई राज्यको व्यक्तिको रूपमा मान्‍न सकिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ यथार्थमा के हो? परमेश्‍वरमा विश्‍वास गर्नेहरू, कम्तीमा पनि, बाह्य रूपमा शिष्ट हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरका वचनहरूले युक्त हुनुपर्छ। जे भए पनि, उहाँका वचनहरूबाट तँ फर्केर कहिल्यै टाढा जान सक्दैनस्। परमेश्‍वरलाई बुझ्ने र उहाँका अभिप्रायहरूलाई पूरा गर्ने सबै काम उहाँका वचनहरूद्वारा सफल हुन्छ। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म, र क्षेत्रलाई परमेश्‍वरका वचनहरूद्वारा विजय गरिनेछ। परमेश्‍वरले प्रत्यक्ष रूपमा बोल्नुहुनेछ, र सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्ना हातहरूमा पक्रनेछन्, र यो माध्यमद्वारा, मानवजाति सिद्ध हुनेछ। भित्र र बाहिर, परमेश्‍वरका वचनहरू सर्वत्र व्याप्त छन्: परमेश्‍वरका वचनहरूमा भित्र र बाहिर दुवै मग्न रहेर मानवजातिले आफ्ना मुखले परमेश्‍वरका वचनहरू बोल्नेछ, परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नेछ, र परमेश्‍वरका वचनहरूलाई आफूभित्र राख्नेछ। यसप्रकार मानवजाति सिद्ध हुनेछ। जसले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छन् र उहाँलाई साक्षी दिन सक्छन्, ती मानिसहरू आफ्नो वास्तविकताको रूपमा परमेश्‍वरका वचनहरूले भरिएका छन्।

सहस्राब्दीय राज्यको युग—वचनको युग—मा प्रवेश गर्ने काम आज समाप्त हुन्छ। अब उप्रान्त, परमेश्‍वरका वचनहरूबारे सङ्गतिमा अभ्यस्त हुँदै अभ्यास गर्। परमेश्‍वरका वचनहरू खाएर र पिएर साथै अनुभव गरेर मात्रै तँ परमेश्‍वरका वचनहरूमा जिउन सक्‍नेछस्। अरूलाई विश्‍वस्त पार्न तैँले केही व्यावहारिक अनुभव पैदा गर्नैपर्छ। यदि तँ परमेश्‍वरका वचनहरूको वास्तविकता जिउन सक्दैनस् भने, कोही पनि विश्‍वस्त हुनेछैनन्! परमेश्‍वरद्वारा प्रयोग गरिएका सबै परमेश्‍वरका वचनहरूको वास्तविकता जिउन सक्छन्। यदि तँ यो वास्तविकता देखाउन र परमेश्‍वरलाई गवाही दिन सक्दैनस् भने, पवित्र आत्माले तँमा काम गर्नुभएको छैन, र तँ सिद्ध परिएको छैनस् भन्‍ने यसले देखाउँछ। परमेश्‍वरका वचनहरूको महत्त्व यही हो। के परमेश्‍वरका वचनहरूको लागि तृषित हुने हृदय तँमा छ? परमेश्‍वरका वचनहरूको लागि तृषित हुने सत्यको लागि तृषित हुन्छन्, र केवल यस्ता मानिसहरू मात्रै परमेश्‍वरद्वारा आशिषित हुन्छन्। भविष्यमा, सबै धर्महरू र सबै सम्प्रदायहरूलाई परमेश्‍वरले भन्नुहुने धेरै वचनहरू छन्। बोल्न र उहाँको आवाजलाई प्रकट गर्न अन्यजातिहरूका माझमा उनीहरूलाई विजय गर्न जानुभन्दा अगाडि तिमीहरूलाई पूर्ण पार्न तिमीहरूको माझमा नै उहाँ पहिले बोल्नुहुन्छ र उहाँको आवाज प्रकट गर्नुहुन्छ। उहाँका वचनहरूद्वारा, सबै शुद्ध हृदयले र पूर्ण रूपले विश्‍वस्त हुनेछन्। परमेश्‍वरका वचनहरूद्वारा र उहाँका प्रकाशद्वारा, मानिसको भ्रष्ट स्वभाव घट्छ, उसले मानिसको स्वरूप प्राप्त गर्छ, र उसको विद्रोही स्वभाव कम हुन्छ। वचनहरूले मानिसमा अख्तियारी साथ काम गर्छन् र परमेश्‍वरका प्रकाशभित्र मानिसलाई जित्छन्। वर्तमान युगमा परमेश्‍वरले गर्ने काम, साथै उहाँको कामका मोडहरू, सबैलाई उहाँका वचनहरूभित्र पाउन सकिन्छ। यदि तँ उहाँका वचनहरू पढ्दैनस् भने, तैँले केही पनि बुझ्‍नेछैनस्। उहाँका वचनहरू तैँले आफै खाएर अनि पिएर, अनि तेरा दाजुभाइहरू र दिदीबहिनीहरूसँगको सङ्गतिको संलग्‍नताबाट र तेरो वास्तविक अनुभवहरूबाट, तैँले परमेश्‍वरका वचनहरूको पूर्ण ज्ञान प्राप्त गर्नेछस्। त्यसपछि मात्र तँ तिनको वास्तविकतामा साँच्चिकै जिउन सक्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०५

मैले अघिबाटै भनेको छु, “चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्नमा मात्र ध्यान दिनेहरू सबैलाई त्यागिनेछ; तिनीहरू ती होइनन्, जसलाई सिद्ध बनाइनेछ।” मैले धेरै वचनहरू बोलेको छु, तापनि मानिसमा यो कामको थोरै ज्ञान पनि छैन, अनि, यस विन्दुमा पुगिसकेपछि पनि मानिसहरू अझै चिह्नहरू र अचम्‍मका कामहरूको खोजी गर्छन्। के परमेश्‍वरमाथिको तेरो विश्‍वास चिह्नहरू र अचम्‍मका कामहरू खोज्नु बाहेक अरू केही होइन वा के त्यो जीवन प्राप्त गर्नका निम्ति मात्र हो? येशूले पनि धेरै वचनहरू बोल्नुभयो, र तीमध्ये केही अझै पूरा हुनु बाँकी नै छ। के तँ येशू परमेश्‍वर हुनुहु्न्न भनेर भन्न सक्छस्? परमेश्‍वरले उहाँ ख्रीष्ट र परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी साक्षी दिनुभयो। के तँ यो कुरालाई इन्कार गर्न सक्छस्? आज, परमेश्‍वरले वचनहरू मात्र बोल्नुहुन्छ, र यदि तैँले यसलाई पूर्ण रूपमा जानेनस् भने तँ दृढ भई खडा हुन सक्दैनस्। तँ उहाँ परमेश्‍वर हुनुभएकोले उहाँमा विश्‍वास गर्छस् कि उहाँका वचनहरू पूरा भएका छन् कि छैनन् भन्‍ने कुराको आधारमा उहाँमा विश्‍वास गर्छस्? तँ चिह्न र अचम्‍मका कामहरूमा विश्‍वास गर्छस् कि परमेश्‍वरमा विश्‍वास गर्छस्? आज, उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देख्नाउनुहुन्न—के उहाँ साँच्चै परमेश्‍वर नै हुनुहुन्छ? यदि उहाँले बोल्नुहुने वचनहरू पूरा हुँदैनन् भने, के उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वरको अस्तित्व उहाँले बोल्नुभएका वचनहरू पूरा भए कि भएनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? किन केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा अघि उहाँका वचनहरू पूरा होस् भनी सँधै पर्खिरहन्छन्? के यसको अर्थ तिनीहरूले उहाँलाई चिन्दैनन् भन्‍ने हुँदैन र? यस्ता धारणा भएकाहरू सबै ती हुन् जसले परमेश्‍वरलाई इन्कार गर्छन्। तिनीहरूले परमेश्‍वरलाई नाप्न आफ्ना धारणाहरू प्रयोग गर्छन्; यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरूले उहाँमा विश्‍वास गर्छन्, यदि पूरा भएनन् भने तिनीहरूले उहाँमा विश्‍वास गर्दैनन्; अनि तिनीहरूले सधैँ चिह्नहरू र अचम्‍मका कामहरूको खोजी गर्छन्। के यी मानिसहरू आधुनिक समयका फरिसीहरू होइनन् र? तँ दृढसँग खडा हुन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तैँले वास्तविक परमेश्‍वरलाई चिनेको छस् कि छैनस् त्यस कुरामा भर पर्छ—यो महत्त्वपूर्ण छ! परमेश्‍वरको वचनको वास्तविकता जति ठूलो हुन्छ, त्यस सम्‍बन्धी तेरो ज्ञान पनि त्यत्ति नै ठूलो हुन्छ, र तँ परीक्षाहरूको समयमा त्यति नै दृढ रूपमा खडा हुन सक्छस्। तैँले चिन्हहरू र अचम्‍मका कामहरू देख्ने कुरामा जति धेरै ध्यान दिन्छस्, तँ त्यत्ति नै कम रूपमा दृढ रूपमा खडा हुन सक्छस्, र तँ परीक्षाहरूको बीचमा पर्छस्। चिन्हहरू र अचम्‍मका कामहरू जग होइनन्; परमेश्‍वरको वास्तविकता मात्र जीवन हो। केही मानिसहरूलाई परमेश्‍वरको कामले प्राप्त गर्नुपर्ने प्रभावहरूको बारेमा थाहा हुँदैन। तिनीहरू आफ्ना दिनहरू अलमल्लमा पर्दै बिताउँछन्, परमेश्‍वरको कामको ज्ञानको खोजी गर्दैनन्। तिनीहरूका खोजको लक्ष्य परमेश्‍वरलाई तिनीहरूका चाहनाहरू पूरा गर्न लगाउनु मात्र हुन्छ, तब मात्र तिनीहरू आफ्नो विश्‍वासमा गम्भीर बन्नेछन्। तिनीहरू भन्छन्, यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरू जीवनको पछि लाग्छन्, तर यदि उहाँका वचनहरू पूरा भएनन् भने, तिनीहरूले जीवनको खोजी गर्ने कुनै सम्भावना हुँदैन। मानिसहरू सोच्छन्, कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने र स्वर्गमा अनि तेस्रो स्वर्गमा चढ्ने खोजीमा लाग्नु हो। कसैले पनि यो भन्दैन, कि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास वास्तविकतामा प्रवेश गर्ने खोजी हो, जीवनको खोजी हो, र परमेश्‍वरद्वारा प्राप्त गरिने कार्यको खोजी हो। यस्तो खोजीको के मूल्य हुन्छ र? जस-जसले परमेश्‍वरको ज्ञानको र उहाँको सन्तुष्टिको खोजी गर्दैनन् तिनीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरू हुन्; तिनीहरू परमेश्‍वरको निन्दा गर्नेहरू हुन्।

परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो भनी अब तिमीहरूले बुझ्छौ? के परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ चिन्हहरू र अचम्‍मका कामहरू हेर्नु हो? के यसको अर्थ स्वर्गमा उक्लिनु हो? परमेश्‍वरमा विश्‍वास गर्नु अलिकति पनि सजिलो हुँदैन। ती धार्मिक अभ्यासहरूलाई शुद्ध पारिनुपर्छ; बिरामीको चङ्गाइ र भूतात्माहरू निकाल्‍ने कार्यको पछि लाग्नु, चिन्हहरू र अचम्‍मका कामहरूमा ध्यान लगाउनु, परमेश्‍वरबाट अझ बढी अनुग्रह, शान्ति र आनन्द पाउने लालसा गर्नु, देहको सफलताहरू र आराम-सुविधाको पछि लाग्नु—यी सबै धार्मिक अभ्यासहरू हुन्, अनि यस्ता अभ्यासहरू अस्पष्ट किसिमको विश्‍वास हो। आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवनको वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरप्रतिको साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँको आज्ञापालन गर्नु, उहाँलाई प्रेम गर्नु र परमेश्‍वरको सृष्टिले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टिहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्‍ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरो विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको अधिकार-क्षेत्रबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा आज्ञाकारी हुन सक्नु र देहको आज्ञाकारी नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छाको काम गर्नु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरको आज्ञापालन गर्न सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँको आज्ञापालन गर्ने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तैँले उहाँको आज्ञापालन गर्न सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवनको वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण आज्ञाकारी हुने कार्यको खोजी गर्नुपर्छ। यदि तैँले कुनै गुनासो नगरी परमेश्‍वरको आज्ञापालन गर्न सक्छस्, परमेश्‍वरका इच्छाहरूलाई ध्यानमा राख्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्‍ने सूचित गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

अघिल्लो: जीवनमा प्रवेश

अर्को: जीवनमा प्रवेश (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्