जीवनमा प्रवेश (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०६

जब मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने, प्रेम गर्ने र सन्तुष्ट पार्ने गर्छन् तब उनीहरूले आफ्नो हृदयद्वारा परमेश्‍वरको आत्मा छुन्छन् र त्यसबाट उहाँको सन्तुष्टि प्राप्त गर्छन्, उनीहरूले परमेश्‍वरका वचनहरूसँग सन्‍निकट रहन आफ्नो हृदय प्रयोग गर्छन् र यसरी परमेश्‍वरको आत्माद्वारा प्रेरित हुन्छन्। यदि तँ सामान्य आत्मिक जीवन जिउन चाहन्छस् र परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न चाहन्छस् भने तैँले सबभन्दा पहिले आफ्‍नो हृदय उहाँमा अर्पित गर्नुपर्छ। उहाँसामु तैँले तेरो हृदय शान्त बनाएपछि र उहाँमा तेरो सम्पूर्ण हृदय अर्पित गरेपछि मात्र, तँ क्रमिक रूपमा सामान्य आत्मिक जीवन विकसित गर्न सक्षम हुनेछस्। यदि परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले आफ्नो हृदय उहाँमा अर्पित गर्दैनन् भने, यदि उनीहरूको हृदय उहाँमाथि छैन र उहाँको बोझलाई आफ्नै बोझको रूपमा लिँदैनन् भने, उनीहरूले जे गर्छन् त्यो सब परमेश्‍वरलाई ठग्‍ने काम हुन्छ, जुन ठ्याक्‍कै धार्मिक मानिसहरूले गर्ने काम हो र यस्तो कामले परमेश्‍वरको प्रशंसा प्राउन सक्दैन। यस प्रकारको व्यक्तिबाट परमेश्‍वरले केही पनि प्राप्त गर्न सक्‍नुहुन्‍न, त्यसले त परमेश्‍वरको काममा प्रतिभारको काम मात्र गर्न सक्छ। यस्ता मानिसहरू परमेश्‍वरको घरका सजावट सामग्री मात्रै हुन्—उनीहरू प्रतिस्थापन वस्तुहरू हुन्, उनीहरू रद्दी हुन्, र परमेश्‍वरले उनीहरूलाई प्रयोग गर्नुहुन्‍न। उनीहरूमा पवित्र आत्माले काम गर्ने सम्भावनै नहुने मात्र होइन, उनीहरूलाई सिद्ध पार्नुको समेत कुनै महत्त्व हुँदैन। यस प्रकारको व्यक्ति सच्‍चा जिउँदो लास हो। यस्ताहरूको कुनै पनि भाग पवित्र आत्माले प्रयोग गर्न सक्‍नुहुन्‍न—उनीहरू शैतानद्वारा पूर्ण रूपमा अधीन गरिएका र गहन रूपमा भ्रष्ट पारिएका हुन्छन्। परमेश्‍वरले यी मानिसहरूलाई हटाउनुहुनेछ। आज मानिसहरूको प्रयोग गर्दा पवित्र आत्माले काम पूरा गर्नलाई उनीहरूका वाञ्छनीय भागहरू प्रयोग गर्ने मात्र गर्नुहुन्‍न, उनीहरूका अवाञ्छनीय भागहरू सिद्ध पार्ने र परिवर्तन गर्ने पनि गर्नुहुन्छ। यदि तँ तेरो हृदय परमेश्‍वरमा अर्पित गर्न र यसलाई उहाँसामु शान्त राख्‍न सक्छस् भने, तैँले पवित्र आत्माद्वारा प्रयोग हुने, पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश प्राप्त गर्ने, अवसर र योग्यता पाउनेछस्। योभन्दा पनि अझै बढी, तैँले पवित्र आत्माद्वारा तेरा कमजोरीहरू सुधार पारिने अवसर पाउनेछस्। जब तैँले परमेश्‍वरलाई आफ्‍नो हृदय अर्पित गर्छस्, सकारात्मक पक्षतर्फ हेर्दा, तँ अझ गहन प्रवेश र उच्‍च अन्तर्दृष्टि तह हासिल गर्न सक्षम हुनेछस्। नकारात्मक पक्षतर्फ हेर्दा, तँलाई तेरा आफ्नै कमी र कमजोरीहरूको बढी जानकारी हुनेछ, अनि तैँले परमेश्‍वरको इच्छा पूरा गर्न अझ बढी तृषित हुँदै खोजी गर्नेछस्। अझ भन्‍ने हो भने, तँ निष्क्रिय हुनेछैनस् बरु सक्रिय रूपमा प्रवेश गर्न सक्षम हुनेछस्। यसले तँ सही व्यक्ति होस् भन्‍ने देखाउँछ। परमेश्‍वरसामु तेरो हृदय शान्त रहन सक्षम छ भनेर मान्‍ने हो भने, तैँले पवित्र आत्माबाट प्रशंसा पाउँछस् वा पाउँदैनस् र तैँले परमेश्‍वरलाई खुशी राख्छस् वा राख्दैनस् भन्‍ने कुरा तँ सक्रिय रूपमा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्‍नेमा निर्णायक रूपमै निर्भर रहन्छ। जब पवित्र आत्माले कुनै व्यक्तिलाई अन्तर्दृष्टि दिनुहुँदै प्रयोग गर्नुहुन्छ, उहाँले उसलाई कहिल्यै नकारात्मक बनाउनुहुन्‍न, सधैँ सक्रिय रूपमा प्रगति गर्ने बनाउनुहुन्छ। अनि, जब उहाँले यस्तो गर्नुहुन्छ, यस्ता मानिसहरूमा अझै पनि कमजोरीहरू हुन्छन्, तर उनीहरू ती कमजोरीअनुसार जिउँदैनन्। उनीहरूले जीवनवृद्धिलाई थाती राख्‍दैनन्, बरु परमेश्‍वरको इच्छा सन्तुष्ट पार्ने खोजीलाई निरन्तरता दिन्छन्। यो एक मापदण्ड हो। यदि तैँले यो हासिल गर्न सक्छस् भने, तैँले पवित्र आत्माको उपस्थिति प्राप्त गरेको प्रमाणित हुन्छ। यदि कुनै व्यक्ति सधैँ नकारात्मक छ भने, र यदि अन्तर्दृष्टि प्राप्त गरेर आफूलाई चिन्‍न सक्षम भए पछि पनि, ऊ नकारात्मक र निष्क्रिय नै रह्यो र परमेश्‍वरसँग खडा हुन र काम गर्न सकेन भने, उसले परमेश्‍वरको अनुग्रह मात्र प्राप्त गरेको छ तर ऊसमा पवित्र आत्मा हुनुहुन्‍न। उसमा नकारात्मकता छ भने, यसको अर्थ उसको हृदय परमेश्‍वरतिर फर्किएको छैन र उसको आत्मा परमेश्‍वरको आत्माद्वारा प्रेरित भएको छैन। यो सबैले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०७

अनुभवबाट यो देख्‍न सकिन्छ कि परमेश्‍वरसामु आफ्नो हृदय शान्त बनाउनु अत्यन्तै महत्त्वपूर्ण छ। यो मानिसहरूको आत्मिक जीवन र जीवनवृद्धिका सवालहरूसित सम्बन्धित हुन्छ। परमेश्‍वरसामु तेरो हृदय शान्त भए मात्र, सत्यता र स्वभावगत परिवर्तनसम्बन्धी तेरो खोजीले फल दिनेछ। किनकि परमेश्‍वरसामु तँ बोझ बोकेर आउँछस्, र तँलाई लाग्छ कि तँमा धेरै प्रकारको कमी छ, तैँले थाहा पाउनुपर्ने सत्यहरू धेरै छन्, तैँले अनुभव गर्नुपर्ने वास्तविकता धेरै छ र तँलाई परमेश्‍वरको इच्छाप्रति सोचविचार पुर्‍याउनु छ। यी कुराहरू तेरो मनमा सधैँ छन्, यस्तो लाग्छ मानौँ उनीहरूले जोडतोडले तँलाई दबाब दिइरहेका छन् जसले तँलाई सास फेर्न असमर्थ बनाएको छ, र त्यसैले तँ हृदयमा भारी अनुभव गर्छस् (यद्यपि तँ नकारात्मक स्थितिमा भने छैनस्)। यस्ता व्यक्तिहरू मात्र परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि स्विकार्न र परमेश्‍वरको आत्माद्वारा प्रेरित हुन योग्य छन्। उनीहरूले बोकेको बोझको कारणले, उनीहरूको हृदय भारी भएकाले र यो भन्‍न सकिन्छ कि उनीहरूले चुकाएको मूल्यको कारणले र परमेश्‍वरसामु उनीहरूले सहेको कष्टको कारणले नै उनीहरूले उहाँको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन्। किनकि परमेश्‍वरले कसैलाई पनि विशेष व्यवहार गर्नुहुन्‍न। मानिसहरूसँगको व्यवहारमा उहाँ सधैँ निष्पक्ष हुनुहुन्छ, तर उहाँले मानिसहरूलाई मनोमानी वा निसर्त रूपमा पनि दिनुहुन्‍न। यो उहाँको धर्मी स्वभावको एउटा पक्ष हो। वास्तविक जीवनमा, अधिकांश मानिसहरूले यो क्षेत्र हासिल गर्न बाँकी नै छ। कम्तीमा पनि, उनीहरूको हृदय परमेश्‍वरमा पूर्ण रूपमा फर्किन बाँकी नै छ, र त्यसैले उनीहरूको जीवन स्वभावमा अझै कुनै उल्लेखनीय परिवर्तन भएको छैन। यसको कारण के हो भने उनीहरू परमेश्‍वरको अनुग्रहमा मात्र बाँच्छन् तर उनीहरूले पवित्र आत्माको काम हासिल गर्न बाँकी नै छ। परमेश्‍वरद्वारा प्रयोग हुनको लागि मानिसहरूले पूरा गर्नैपर्ने मापदण्डहरू यसप्रकार छन्: उनीहरूको हृदय परमेश्‍वरतर्फ फर्किएको हुनुपर्छ, उनीहरूले उहाँका वचनहरूको बोझ बोक्‍नुपर्छ, उनीहरूसँग तृषित हृदय हुनुपर्छ र उनीहरू सत्यता खोजी गर्न दृढ हुनपर्छ। यस्ता मानिसहरूले मात्र पवित्र आत्माको काम प्राप्त गर्न सक्छन् र उनीहरूले बारम्बार अन्तर्दृष्टि र ज्योति हासिल गर्छन्। परमेश्‍वरद्वारा प्रयोग गरिने मानिसहरू बाहिरबाट हेर्दा अविवेकी र अरूसँग सामान्य सम्‍बन्ध नभएका जस्ता देखिन्छन्, यद्यपि उनीहरू सावधानी र मर्यादासाथ बोल्छन्, र परमेश्‍वरसामु सधैँ हृदय शान्त राख्‍न सक्छन्। ठीक यस्तै प्रकारको व्यक्ति पवित्र आत्माद्वारा प्रयोग गरिन लायक हुन्छ। परमेश्‍वरले चर्चा गर्नुभएका यी “अविवेकी” मानिसहरूको अन्य व्यक्तिहरूसँग सामान्य सम्बन्ध नभएजस्तो देखिन्छ र उनीहरू बाह्य प्रेम वा बाह्य अभ्यासहरूलाई त्यति ध्यान दिँदैनन् तर जब उनीहरूले आत्मिक कुराहरू सङ्गति गर्छन्, तब उनीहरू आफ्नो हृदय खोल्न र परमेश्‍वरसामु आफूले आफ्नो वास्तविक अनुभवबाट प्राप्त गरेका ज्योति र अन्तर्दृष्टि अरूलाई निस्वार्थ प्रदान गर्न सक्षम हुन्छन्। उनीहरूले यसरी परमेश्‍वरप्रतिको आफ्‍नो प्रेम व्यक्त गर्छन् र उहाँको इच्छा सन्तुष्ट पार्छन्। जब अन्य व्यक्तिहरूले उनीहरूको बदनामी र गिल्ला गरिरहेका हुन्छन्, उनीहरू बाहिरका मानिसहरू, मामिला वा वस्तुहरूद्वारा प्रभावित हुनबाट टाढा रहन्छन् र परमेश्‍वरसामु अझै शान्त रहन सक्छन्। उनीहरूमा उनीहरूको आफ्नै अद्वितीय अन्तर्दृष्टि रहेजस्तो देखिन्छ। अन्य मानिसहरूले जे गरे पनि उनीहरूको हृदयले परमेश्‍वरलाई कहिल्यै छोड्दैन। जब अन्य व्यक्तिहरू हाँसो र गफमा भुल्छन्, तब उनीहरूको हृदय परमेश्‍वरसामु रहन्छ, र उनीहरू परमेश्‍वरका अभिप्रायहरू खोज्दै उहाँको वचन मनन गर्ने वा हृदयमा उहाँलाई मनमनै प्रार्थना गर्ने गर्छन्। यी मानिसहरूले सामान्य अन्तर्वैयक्तिक सम्बन्ध कायम राख्‍ने कुरालाई महत्त्व दिँदैनन्, र उनीहरूमा जीवन जिउने कुनै दर्शन नभएजस्तो देखिन्छ। उनीहरू सक्रिय, प्रेमयोग्य र निर्दोष देखिन्छन् तर उनीहरूमा निश्‍चित शान्तपन पनि हुन्छ। परमेश्‍वरले प्रयोग गर्नुहुने खालको व्यक्तिको स्वरूप यही हो। यस प्रकारको व्यक्तिमा जीवन जिउने दर्शन वा “सामान्य समझ” जस्ता कुराहरूले कुनै काम गर्दैन; उनीहरूले आफ्नो सम्पूर्ण हृदय परमेश्‍वरका वचनमा अर्पित गरेका हुन्छन् र उनीहरूको हृदयमा परमेश्‍वर मात्र रहनुभएजस्तो देखिन्छ। यही नै परमेश्‍वरले “कारणविनाको” भनेर चर्चा गर्नुभएको व्यक्ति हो र ठ्याक्‍कै यस्तै प्रकारको व्यक्ति नै परमेश्‍वरद्वारा प्रयोग गरिने व्यक्ति हो। परमेश्‍वरद्वारा प्रयोग गरिने व्यक्तिको लक्षण भनेको: जहिले र जहाँसुकै भए पनि उसको हृदय सधैँ परमेश्‍वरसामु हुन्छ, र अन्य व्यक्तिहरू जति नै दुराचारी भए पनि, वा वासना र देहमा जत्ति नै लिप्त भए पनि, यस्तो व्यक्तिको हृदयले परमेश्‍वरलाई कहिल्यै छोड्दैन र उसले भीडलाई कहिल्यै पछ्याउँदैन। यस प्रकारको व्यक्ति मात्र परमेश्‍वरको प्रयोगका लागि उचित हुन्छ र यस प्रकारका व्यक्तिलाई मात्र पवित्र आत्माले सिद्ध बनाउनुहुन्छ। यदि तँ यो कुरा हासिल गर्न असफल भइस् भने तँ परमेश्‍वरद्वारा प्राप्त गरिन र पवित्र आत्माद्वारा सिद्ध पारिन योग्य छैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०८

यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरतर्फ फर्किएको हुनुपर्छ; यसको जगमा अन्य मानिसहरूसँगको तेरो सम्बन्ध पनि सामान्य हुनेछ। यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, तैँले अन्य मानिसहरूसँगको तेरो सम्बन्ध कायम राख्‍न जे गरे पनि, तैँले जति नै कठिन परिश्रम गरे पनि वा जति नै शक्ति प्रयोग गरे पनि, ती सबै जीवन जिउने मानवदर्शनका कुरा हुनेछन्। तैँले परमेश्‍वरका वचनहरूअनुरूप सामान्य अन्तर्वैयक्तिक सम्बन्ध स्थापित गर्नुको सट्टा, मानव दृष्टिकोण र मानव दर्शनद्वारा मानिसहरूमाझ तेरो प्रतिष्ठा रक्षा गरिरहेको र उनीहरूको प्रशंसा बटुलिरहेको हुनेछस्। यदि तैँले मानिसहरूसँगका तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस्, बरु त्यसको सट्टा परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँको आज्ञापालन गर्न सिक्‍न तत्पर छस् भने, प्राकृतिक रूपमै तेरा अन्तर्वैयक्तिक सम्बन्धहरू सामान्य हुनेछन्। त्यसपछि, ती सम्बन्धहरू देहको आधारमा नभई परमेश्‍वरको प्रेमको जगमा स्थापित हुनेछन्। अन्य मानिसहरूसँगको तेरो दैहिक अन्तरक्रिया झण्डै शून्य हुनेछ, तर आत्मिक तहमा तिमीहरूमाझ सङ्गति, पारस्परिक प्रेम, सान्त्वना, र भरणपोषण हुनेछ। यी सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहनाको जगमा गरिन्छ—यी सम्बन्धहरू जीवन जिउने मानवदर्शनको आधारमा कायम राखिँदैन, ती सम्बन्धहरू परमेश्‍वरको लागि बोझ बोक्‍ने क्रममा प्राकृतिक रूपमै स्थापित हुन्छन्। यसको लागि तेरो कृत्रिम मानव प्रयत्न आवश्यक पर्दैन, तैँले परमेश्‍वरका वचनहरूको सिद्धान्तअनुसार अभ्यास गरे मात्र पुग्छ। के तँ परमेश्‍वरको इच्छाप्रति विचारशील हुन इच्छुक छस्? के तँ परमेश्‍वरसामु “कारणविनाको” व्यक्ति हुन इच्छुक छस्? के तँ परमेश्‍वरलाई आफ्‍नो हृदय पूर्ण रूपमा अर्पित गर्न र अन्य मानिसहरूमाझ रहेको तेरो हैसियतलाई उपेक्षा गर्न इच्छुक छस्? तैँले उठबस गर्ने सबै मानिसहरूमध्ये कोसँग तेरो सबैभन्दा उत्कृष्ट सम्बन्ध छ? कोसँग तेरो सबैभन्दा खराब सम्बन्ध छ? के मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य छन्? के तँ सबै मानिसहरूलाई समान रूपले व्यवहार गर्छस्? के अन्य मानिसहरूसँगका तेरा सम्बन्धहरू तेरो जीवन जिउने दर्शनमा आधारित भएर कायम गरिएका छन् कि ती सम्बन्धहरू परमेश्‍वरको प्रेमको जगमा निर्मित छन्? जब मानिसहरूले आफ्नो हृदय परमेश्‍वरमा अर्पित गर्दैनन् तब उनीहरूको आत्मा लोसे, भावशून्य र अचेत बन्छ। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू कहिले बुझ्‍नेछैनन्, परमेश्‍वरसँग उनीहरूको सम्बन्ध कहिल्यै सामान्य हुनेछैन, र उनीहरूले कहिल्यै स्वभावगत परिवर्तन हासिल गर्नेछैनन्। आफ्नो स्वभाव परिवर्तन गर्नु भनेको परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय अर्पित गर्ने र उहाँका वचनहरूबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्ने प्रक्रिया हो। परमेश्‍वरको कामले मानिसहरूलाई सक्रिय रूपमा प्रवेश गर्न दिन्छ, र यसले उनीहरूलाई आफ्ना नकारात्मक कुराहरूबारे ज्ञान प्राप्त गरेर ती कुराहरूलाई हटाउन सक्षम बनाउँछ। जब तैँले आफ्‍नो हृदय परमेश्‍वरमा अर्पित गरेको हुन्छस्, तब तँ हरपल आफ्‍नो आत्मा केही न केही अभिप्रेरित भएको महसुस गर्न र परमेश्‍वरको अन्तर्दृष्टि र ज्योतिको हर पक्षबारे ज्ञान पाउन सक्षम हुनेछस्। यदि तँ यसैमा लागिपर्छस् भने, तँ पवित्र आत्माद्वारा सिद्ध पारिने बाटोमा बिस्तारै प्रवेश गर्नेछस्। परमेश्‍वरसामु तेरो हृदय जति शान्त हुन सक्छ, त्यति नै बढी तेरो आत्मा संवेदनशील र कोमल हुनेछ, त्यति नै बढी यसले पवित्र आत्माले यसलाई अभिप्रेरित गर्नुहुन्छ भनेर बुझ्नेछ, अनि त्यति नै बढी परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुनेछ। सामान्य अन्तर्वैयक्तिक सम्बन्ध मानिसको प्रयत्नको माध्यमबाट नभई, आफ्नो हृदय परमेश्‍वरतर्फ फर्काउने जगमा स्थापित हुन्छ। यदि व्यक्तिको हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, अन्य मानिसहरूसँगका सम्बन्धहरू केवल दैहिक सम्बन्धहरू मात्र हुन्छन्। ती सामान्य हुँदैनन्, ती वासनाले ग्रसित आसक्ती हुन्, र त्यस्ता सम्बन्धहरूलाई परमेश्‍वर घिनाउनुहुन्छ। यदि तँ तेरो आत्मा उत्प्रेरित भएको छ भनेर भन्छस्, तर सधैँ आफूलाई मनपर्ने र आफूले मान गर्ने मानिसहरूसँग मात्र सङ्गति गर्न इच्छुक हुन्छस्, र मन नपरेका मानिसहरू आफूलाई खोज्‍दै आए भने तँ पूर्वाग्रह राख्दै उनीहरूसित कुरा गर्न अस्वीकार गर्छस् भने, यो तँ तेरा भावनाहरूद्वारा नियन्त्रित छस् र परमेश्‍वरसँगको तेरो सम्बन्ध रत्तीभर सामान्य छैन भन्‍ने कुराको अझै बढी प्रमाण हो। यसले तँ परमेश्‍वरलाई झुक्याउने र तेरो आफ्नै कुरूपता ढाकछोप गर्ने कोसिस गरिरहेको छस् भन्‍ने देखाउँछ। तैँले केही ज्ञान बाँड्न सक्‍छस् होला, तर यदि तेरो मनसाय गलत छ भने, तैँले गर्ने सबै कुरा मानव मापदण्डअनुरूप मात्र राम्रा हुन्छन्, र परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्‍न। तेरा कार्यहरू परमेश्‍वरको बोझद्वारा नभई दैहिकताद्वारा उत्प्रेरित हुन्छन्। यदि तैँले परमेश्‍वरसामु आफ्‍नो हृदयलाई शान्त राख्‍न र परमेश्‍वरलाई प्रेम गर्ने सबैसँग स्वाभाविक अन्तरक्रिया गर्न सक्छस् भने मात्रै तँ परमेश्‍वरको प्रयोगको निम्ति योग्य हुन्छस्। यदि त्यसो गर्न सक्छस् भने, तैँले अन्य व्यक्तिहरूसँग जसरी उठबस गरे पनि, जीवन जिउने दर्शनअनुसार व्यवहार गरिरहेको हुनेछैनस्, बरु परमेश्‍वरको बोझप्रति विचारशील हुँदै उहासामु बाँचिरहेको हुनेछस्। तिमीहरूमाझ यसप्रकारका मानिसहरू कति छन्? के अन्य व्यक्तिहरूसँगका तिमीहरूका सम्बन्धहरू वास्तवमै सामान्य छन्? केको जगमा ती निर्मित भएका छन्? तँभित्र जीवन जिउने दर्शनहरू कति छन्? के तैँले ती कुराहरूलाई त्यागेको छस्? यदि तेरो हृदय परमेश्‍वरतर्फ पूर्ण रूपमा फर्किन सक्दैन भने, तँ परमेश्‍वरको होइनस्—तँ शैतानबाट आएको होस्, र अन्त्यमा तँ शैतानतर्फै फर्कनेछस्, र तँ परमेश्‍वरका मानिसहरूमध्येको एक हुन लायक छैनस्। तैँले यी कुराहरूलाई सावधानीपूर्वक जाँच गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४०९

परमेश्‍वरमा विश्‍वास राख्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँगको सामान्य सम्बन्धका विषयमा रहेको समस्यालाई समाधान गर्नुपर्छ। यदि परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध छैन भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको अर्थ गुमेको छ। परमेश्‍वरको उपस्थितिमा शान्त रहने हृदयको साथमा परमेश्‍वरसँगको सामान्य सम्बन्धको स्थापना पूर्ण रूपमा हासिल गर्न सकिन्छ। परमेश्‍वरसँगको सामान्य सम्बन्धको अर्थ उहाँको कुनै पनि कार्यलाई शङ्का र इन्कार नगर्नु र उहाँको कार्यप्रति समर्पित हुन सक्नु हो। यसको अर्थ परमेश्‍वरको उपस्थितिमा सही अभिप्राय राख्नु हो, आफ्नो लागि योजना नबनाउनु हो, र सबै कुरामा परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा पहिले विचार गर्नु हो; यसको अर्थ परमेश्‍वरको सूक्ष्म जाँचलाई स्वीकार गर्नु र परमेश्‍वरका प्रबन्धहरूको पालना गर्नु हो। तैँले गर्ने सबै कार्यमा आफ्नो हृदयलाई परमेश्‍वरको उपस्थितिमा शान्त बनाउनु सक्नुपर्छ। तैँले परमेश्‍वरको इच्छा नबुझे पनि, तैँले तेरो क्षमताले भ्याएसम्म तेरा कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नैपर्छ। परमेश्‍वरको इच्छा तँलाई प्रकाश पारिएपछि, त्यसमा काम गर्, र त्यसो गर्दा त्यति धेरै ढिलो हुनेछैन। जब परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ, अनि मानिसहरूसँग तेरो सम्बन्ध सामान्य बन्छ। परमेश्‍वरसँग सामान्य सम्‍बन्ध निर्माण गर्नको लागि, सबै कुरा परमेश्‍वरका वचनहरूको जगमा निर्माण भएको हुनुपर्छ, तैँले आफ्‍नो कर्तव्य परमेश्‍वरका वचनहरूअनुसार निर्वाह गर्न र परमेश्‍वरले अह्राउनुभएको काम पूरा गर्न सक्‍नुपर्छ, तैँले आफ्‍ना दृष्टिकोणहरूलाई सिधा पार्नुपर्छ, र सबै कुरामा सत्यताको खोजी गर्नैपर्छ। तैँले सत्यतालाई बुझेपछि यसलाई अभ्यास गर्नैपर्छ, र तँमाथि जेसुकै आइपरे पनि, तैँले परमेश्‍वरसँग प्रार्थना गर्नैपर्छ र परमेश्‍वरप्रति आज्ञाकारी हृदय लिएर खोजी गर्नुपर्छ। यसरी अभ्यास गर्दा, तैँले परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सक्‍नेछस्। तैँले आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्दैगर्दा, परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई फाइदा नपुर्‍याउने कुनै पनि काम नगर्ने, र दाजुभाइ-दिदीबहिनीहरूको लागि उपयोगी नहुने कुनै पनि कुरा नबोल्ने सुनिश्‍चित गर्नुपर्छ। कम्तीमा पनि, तैँले तेरो विवेकको विरुद्ध जाने कुनै पनि काम गर्नु हुँदैन र लाजमर्दो काम त तैँले किमार्थ गर्नु हुँदैन। विशेष गरी, परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने वा उहाँको विरोध गर्ने काम तैँले कदापि गर्नु हुँदैन, र मण्डलीको काम वा जीवनमा बाधा दिने कुनै पनि कुरा गर्नु हुँदै हुँदैन। तैँले गर्ने सबै कार्यमा निष्पक्ष र प्रतिष्ठित बन् र तेरो प्रत्येक कार्य परमेश्‍वर समक्ष पेश गर्न सकिने कुरा सुनिश्चित गर्। कहिलेकाहीँ देह कमजोर बन्न सक्ने भए तापनि, तैँले व्यक्तिगत लाभको लोभविना, स्वार्थी वा तुच्छ कुनै पनि काम नगरी, र बारम्बार आत्मसमीक्षा गर्दै, परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा अगाडि राख्न सक्नुपर्छ। यस तरिकाले तँ बारम्बार परमेश्‍वरको अगाडि आएर जिउन सक्छ्‍नेछस्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य बन्‍नेछ।

तैँले गर्ने सबै कुरामा, तैँले तेरो अभिप्राय सही छ वा छैन भनेर जाँच्नुपर्छ। यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरू अनुरूप काम गर्न सक्षम छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मापदण्ड हो। आफ्नो अभिप्रायलाई हेर्, र यदि कुनै गलत अभिप्रायहरू उत्पन्न भएको पत्ता लगाइस् भने, तिनीहरूप्रति आफ्नो पिठ्यूँ फर्काउन सक्षम बन् र परमेश्‍वरका वचनहरू अनुसार काम गर्; यसरी तँ परमेश्‍वरको अगाडि सही व्यक्ति बन्न सक्छस्, जसले परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुराहरू परमेश्‍वरका खातिर भएको, तेरो आफ्नो लागि नभएको दर्साउँछ। तैँले भन्‍ने र गर्ने सबै कुरामा, आफ्‍नो हृदयलाई सही राख्‍न र आफ्‍नो व्यवहारमा धर्मी बन्‍न सक्‍ने बन्, र आफ्‍ना भावनाहरूमा नबग्, अनि आफ्‍नै इच्‍छा अनुसार काम नगर्। परमेश्‍वरका विश्‍वासीहरूको चालचलनका सिद्धान्तहरू यिनै हुन्। साना कुराले मानिसको अभिप्राय र कद प्रकाश पार्न सक्छ, र त्यसैले, परमेश्‍वरबाट सिद्ध बनाइने मार्गमा प्रवेश गर्नका लागि तिनीहरूले पहिले परमेश्‍वरसँगको आफ्ना अभिप्रायहरू र सम्बन्धलाई सच्याउनुपर्छ। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएपछि मात्रै तँ उहाँबाट सिद्ध बनाइन योग्य हुन्छस्, त्यसपछि मात्रै परमेश्‍वरको निराकरण, काँटछाँट, ताडना र शोधनले तँमा तोकिएको प्रभाव हासिल गर्न सक्छ। यसो भन्नुको अर्थ, यदि मानवजातिले परमेश्‍वरलाई तिनीहरूको हृदयमा राख्न सक्षम भएमा र व्यक्तिगत लाभको खोजी नगरेमा वा तिनीहरूको आफ्नै भविष्यको बारेमा (देहको हिसाबमा) नसोचेमा, बरु त्यसको सट्टा जीवनमा प्रवेश गर्ने भारलाई बोकेमा, सत्यको खोजी गर्ने सक्दो प्रयास गरेमा, र परमेश्‍वरको कार्यमा समर्पित भएमा—यदि तैँले यसो गर्न सकेमा, तैँले अघि बढाउने लक्ष्यहरू सही हुनेछन्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। परमेश्‍वरसँगको सम्बन्धलाई सही बनाउनुलाई आत्मिक यात्रामा प्रवेश गर्ने पहिलो कदम भन्न सकिन्छ। मानिसको नियति परमेश्‍वरको हातमा रहेको र परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको भए तापनि, र मानिसले परिवर्तन गर्न नसक्ने भए तापनि, तँ परमेश्‍वरबाट सिद्ध बनाइने वा उहाँबाट प्राप्‍त गरिने कुरा परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ वा छैन भन्‍ने कुरामा निर्भर रहन्छ। तेरा केही भागहरू कमजोर वा अवज्ञाकारी हुन सक्छन्—तर तेरो दृष्टिकोण र तेरो अभिप्राय सही हुँदासम्म, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सही र सामान्य हुँदासम्म, तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य हुन्छस्। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सही छैन भने, र तँ देह वा तेरो परिवारको निम्ति काम गर्छस् भने, तैँले जतिसुकै कडा मेहनत गरे पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ भने, अन्य सबै कुरा आफैँ मिलेर आउँछ। परमेश्‍वरले अरू केही कुरा पनि हेर्नुहुन्न, परमेश्‍वरप्रतिको तेरो दृष्टिकोण सही छ वा छैन भनेर मात्र हेर्नुहुन्छ: तँ कसलाई विश्‍वास गर्छस्, तँ कसको लागि विश्‍वास गर्छस्, र तँ किन विश्‍वास गर्छस्। यदि तैँले अवस्थालाई स्पष्ट रूपमा देख्न र तेरो दृष्टिकोणलाई राम्रो स्वभावसहित अभ्यास गर्न सक्छस् भने, तैँले तेरो जीवनमा प्रगति गर्न सक्छस्, र सही मार्गमा तेरो प्रवेशको प्रत्याभूति समेत हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन भने, र परमेश्‍वरमाथिको तेरो विश्‍वास विकृत छ भने, सबै कुरा व्यर्थ हुन्छ, र तैँले जतिसुकै विश्‍वास गरे पनि, तैँले केही पनि पाउने छैनस्। परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य भएपछि, तैँले देह परित्याग गरेर, प्रार्थना गरेर, कष्ट भोगेर, सहेर, समर्पित भएर, तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोग गरेर, परमेश्‍वरका लागि आफूलाई अर्पित गरेर, आदि इत्यादि गरेर मात्रै उहाँको प्रशंसा जित्न सक्छस्। तैँले गर्ने कुराहरूको महत्त्व र अर्थ तेरो अभिप्राय सही छ, छैन र तेरो दृष्टिकोण सही छ, छैन भन्‍ने कुरामा निर्भर रहन्छ। आजकल, धेरै मानिसहरू भित्ते घडी हेर्नका लागि टाउको घुमाएजस्तो गरी परमेश्‍वरमा विश्‍वास गर्छन्—तिनीहरूको दृष्टिकोण विकृत हुन्छ, र तिनीहरूलाई नयाँ खोजसहित सही बनाइनुपर्छ। यदि यो समस्या समाधान भयो भने, सबै कुरा राम्रो हुन्छ, यदि भएन भने, सबै कुरा व्यर्थ हुनेछ। केही मानिसहरूले मेरो उपस्थितिमा राम्रो व्यवहार देखाउँछन्, तर मेरो पिठ्यूँ पछाडि, उनीहरूले गर्ने भनेकै मेरो विरोध हो। यो तिनीहरूको कुटिलता र कपटको अभिव्यक्ति हो र त्यस्तो व्यक्ति शैतानको दास हो; र तिनीहरू परमेश्‍वरको परीक्षा गर्न आएका, शैतानका सटीक प्रतिरूप हुन्। यदि मेरो काम र मेरा वचनहरूमा तँ समर्पित हुन सक्छस् भने मात्रै तँ सही मानिस होस्। परमेश्‍वरका वचनहरू तैँले खान र पिउन सक्दासम्म; तैँले गरेका सबै कुराहरू परमेश्‍वरको अगाडि प्रस्तुत गर्न योग्य हुँदासम्म र तैँले गर्ने सबै काममा तैँले निष्पक्ष र प्रतिष्ठित रूपमा व्यवहार गर्दासम्म; तैँले लाजमर्दो कुराहरू वा अरूको जीवनमा क्षति पुग्ने काम नगर्दासम्म; र तैँले उज्यालोमा जिउँदासम्म र आफूलाई शैतानबाट शोषित हुन नदिँदासम्म, परमेश्‍वरसँगको तेरो सम्बन्ध उचित स्थितिमा रहन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१०

परमेश्‍वरमा विश्‍वास गर्नका लागि तैँले तेरो अभिप्राय र दृष्टिकोणलाई उचित स्थितिमा राख्नुपर्छ, तँसँग परमेश्‍वरका वचन तथा परमेश्‍वरका कार्यहरू, परमेश्‍वरले प्रबन्ध गर्नुहुने सबै वातावरणहरू, परमेश्‍वरले गवाही दिनुहुने मानिस, र व्यावहारिक परमेश्‍वरको बारेमा सही बुझाइ, र व्यवहार गर्ने सही तरिका हुनुपर्छ। तैँले आफ्नो विचार अनुसार अभ्यास गर्नु हुँदैन वा तेरा आफ्नै तुच्छ युक्तिहरू लागू गर्नु हुँदैन। तैँले जेसुकै गरे पनि, तैँले सत्यको खोजी गर्न सक्नुपर्छ र, सृष्टि भएको प्राणीको तेरो हैसियतमा, परमेश्‍वरको सबै कार्यमा समर्पित हुनुपर्छ। यदि परमेश्‍वरबाट सिद्ध हुन खोज्ने र जीवनको सही मार्गमा प्रवेश गर्ने तेरो लालसा भएमा, तेरो हृदय सधैँ परमेश्‍वरको उपस्थितिमा जिउनुपर्छ। स्वच्छन्द नबन्, शैतानलाई नपछ्या, शैतानलाई आफ्नो काम गर्ने कुनै पनि अवसर नदे, र शैतानलाई तँलाई प्रयोग गर्न नदे। तैँले आफूलाई सम्पूर्ण रूपमा परमेश्‍वरलाई सुम्पनुपर्छ र परमेश्‍वरलाई तँमाथि शासन गर्न दिनुपर्छ।

के तँ शैतानको दास हुन राजी छस्? के तँ शैतानबाट शोषित हुन राजी छस्? के तँ परमेश्‍वरमाथि विश्‍वास गर्छस् र तँ उहाँबाट सिद्ध हुन वा परमेश्‍वरको कार्यका लागि प्रतिभार हुन सक्ने हिसाबमा उहाँको खोजी गर्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्‍त गरिने अर्थपूर्ण जीवन रुचाउँछस्, वा व्यर्थ र खाली जीवन? के तँ परमेश्‍वरबाट प्रयोग हुन रुचाउँछस्, वा शैतानबाट शोषित हुन? के तँ परमेश्‍वरका वचनहरू र सत्यताबाट भरिन रुचाउँछस्, वा पाप र शैतानबाट भरिन? यी कुराहरूलाई राम्ररी सोच्। तेरो दैनिक जीवनमा, तैँले बोल्ने कुन शब्द वा तैँले गर्न सक्ने कुन कुराहरूले परमेश्‍वरसँगको तेरो सम्बन्धलाई असामान्य बनाउँछ भन्‍ने विषयमा तैँले बुझ्नुपर्छ, र तैँले सही व्यवहारमा प्रवेश गर्न आफैलाई सच्याउनुपर्छ। सबै समयमा, तेरा शब्द, तेरा कार्य, तेरा प्रत्येक चाल, र तेरा सबै सोच तथा विचारहरूलाई परीक्षण गर्। तेरो वास्तविक स्थितिको उचित बुझाइ हासिल गर् र पवित्र आत्माको कार्यको व्यवहारमा प्रवेश गर्। परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्ने यो एक मात्रै तरिका हो। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ, छैन भनेर लेखाजोखा गर्दै, तैँले तेरो अभिप्रायलाई सच्याउन, मानिसको प्रकृति र सार बुझ्न, र आफूलाई साँच्चिकै बुझ्न सक्छस्, र, यसो गरिरहँदा तँ वास्तविक अनुभवमा प्रवेश गर्न, वास्तविक तरिकाले आफूलाई त्याग्न, र अभिप्राय सहित समर्पित हुन सक्नेछस्। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ वा छैन भन्‍ने विषयसँग जोडिएका कुराहरूलाई तैँले अनुभव गर्दा, तैँले परमेश्‍वरबाट सिद्ध हुने अवसरहरू प्राप्‍त गर्छस् र पवित्र आत्माको धेरै स्थितिहरू बुझ्न सक्षम हुनेछस्। तैँले शैतानका धेरै छलहरू छिचोलेर हेर्न र त्यसका षड्यन्त्रहरूलाई भित्रैबाट बुझ्न सक्षम हुनेछस्। यो मार्गले मात्रै परमेश्‍वरबाट सिद्ध हुनेतिर अघि बढाउँछ। तैँले परमेश्‍वरसँगको तेरो सम्बन्धलाई सही राखेमा, तँ उहाँको प्रबन्धहरूमा पूर्ण रूपमा समर्पित हुन सक्नेछस्, र तैँले वास्तविक अनुभवको अझ भित्रसम्म प्रवेश गर्न र पवित्र आत्माको कार्य अझै धेरै पाउन पनि सक्नेछस्। जब तैँले परमेश्‍वरसँगको सामान्य सम्बन्धको साथ अभ्यास गर्छस्, तब प्रायः, देहलाई परित्याग गरेर र परमेश्‍वरसँगको वास्तविक सहकार्य मार्फत सफलता हासिल हुनेछ। “सहकार्य गर्ने हृदयविना, परमेश्‍वरको कार्य प्राप्‍त गर्न गाह्रो हुन्छ; यदि देहले कष्ट भोगेन भने, परमेश्‍वरबाट आशीर्वाद प्राप्त हुनेछैन; यदि आत्माले सङ्घर्ष गरेन भने, शैतानलाई लज्जित बनाउन सकिनेछैन” भनेर तैँले बुझ्नुपर्छ। यदि तैँले यी सिद्धान्तहरूको अभ्यास गरिस् र यिनलाई राम्ररी बुझिस् भने, परमेश्‍वरप्रतिको विश्‍वासको बारेमा तेरो दृष्टिकोण सही हुनेछ। तिमीहरूको हालको अभ्यासमा, तिमीहरूले “भोक मेट्न रोटी खोज्ने” मानसिकतालाई त्याग्नुपर्छ, तिमीहरूले “सबै कुरा पवित्र आत्माले गर्नुहुन्छ, र मानिसहरू हस्तक्षेप गर्न असक्षम छन्” भन्‍ने मानसिकतालाई त्याग्नुपर्छ। यस्तो भन्‍ने सबैले “मानिसहरूले आफूलाई इच्छा लागेको जे पनि गर्न सक्छन्, र समय आएपछि, पवित्र आत्माले उहाँको कार्य गर्नुहुनेछ। मानिसहरूले देहलाई नियन्त्रित गर्नु वा सहकार्य गर्नु आवश्यक छैन, सबैभन्दा महत्वपूर्ण कुरा भनेको पवित्र आत्माबाट प्रेरित हुनु हो” भनेर सोच्छन्। यी रायहरू सबै निरर्थक छन्। यस्ता परिस्थितिहरूमा, पवित्र आत्माले काम गर्न सक्नुहुन्न। यस्तो प्रकारको दृष्टिकोणले पवित्र आत्माको कार्यलाई धेरै अवरोध ल्याउँछ। प्रायः, पवित्र आत्माको कार्य मानव सहकार्यबाट हासिल हुन्छ। सहकार्य नगर्ने र संकल्प नभएका, तर आफ्नो स्वभावमा परिवर्तन र पवित्र आत्माको कार्य र परमेश्‍वरबाट अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्ने इच्छा राख्नेहरूसँग वास्तवमै अनावश्यक विचारहरू हुन्छन्। यसलाई “आफैमा लिप्‍त हुनु र शैतानलाई माफी दिनु” भनिन्छ। यस्ता मानिसहरूको परमेश्‍वरसँग सामान्य सम्बन्ध हुँदैन। तैँले आफूभित्र शैतानी स्वभावको धेरै प्रकाश र अभिव्यक्ति खोज्नुपर्छ र परमेश्‍वरको अहिलेको आवश्यक मापदण्डसँग बाझिने अभ्यास खोज्नुपर्छ। के तँ अब शैतानलाई त्याग्न सक्षम छस्? तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध हासिल गर्नुपर्छ, परमेश्‍वरको अभिप्राय अनुसार काम गर्नुपर्छ, र नयाँ जीवनसहित नयाँ मान्छे बन्नुपर्छ। विगतको अपराधमा नभौँतारिई; अनावश्यक रूपमा पश्‍चातापी नबन्; खडा हुन र परमेश्‍वरसँग सहकार्य गर्न सक्षम बन्, र तैँले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्। यसरी, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४११

यो कुरा पढेपछि, तैँले यी वचनहरू स्वीकारेको दाबी मात्रै गर्छस्, तर तेरो हृदयमा कुनै प्रभाव परेको छैन, र तँ परमेश्‍वरसँगको तेरो सम्बन्धलाई सामान्य बनाउन खोज्दैनस् भने, यसले तँ परमेश्‍वरसँगको तेरो सम्बन्धलाई महत्त्व दिँदैनस् भन्‍ने प्रमाणित गर्छ। यसले प्रमाणित गर्छ कि तेरो दृष्टिकोण अहिलेसम्म सही भएको छैन, तेरा अभिप्रायहरू परमेश्‍वरद्वारा प्राप्‍त गरिने गरी र उहाँको महिमा ल्याउने गरी स्थापित भएका छैनन्, बरु शैतानको षड्यन्त्रको जीत हुने गरी र तेरा आफ्नै लक्ष्यहरू प्राप्‍त हुने गरी स्थापित भएका छन्। यस्ता मानिसहरूमा गलत अभिप्राय र गलत दृष्टिकोणहरू हुन्छन्। परमेश्‍वरले जेसुकै भन्नुभए पनि वा उहाँले जसरी नै भन्नुभए पनि, यस्ता मानिसहरू पूर्ण रूपमा उदासीन रहन्छन् र अलिकति पनि रूपान्तरण भएका हुँदैनन्। तिनीहरूको हृदयले डरको अनुभव गर्दैन र तिनीहरू लज्जित हुँदैनन्। यस्तो व्यक्ति आत्माहीन मूर्ख हो। परमेश्‍वरको प्रत्येक वाणी पढ् र यी वाणीलाई बुझ्ने बित्तिकै अभ्यास गर्। तेरो देह कमजोर भएको, वा तँ विद्रोही बनेको, वा तैँले विरोध गरेको अवसरहरू शायद थिए होलान्; तैँले विगतमा जे-जस्तो व्यवहार गरेको भए पनि, परिणामको हिसाबमा त्यसले खासै फरक पर्दैन, र यसले आज तँलाई परिपक्व हुनबाट रोक्न सक्दैन। त्यसैले, आज परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध हुँदासम्म, आशा अझै बाँकी हुन्छ। यदि प्रत्येक पटक परमेश्‍वरको वाणी पढ्दा तँमा परिवर्तन आउँछ, र अरूले तेरो जीवन राम्रो हिसाबमा परिवर्तन हुँदै गएको छ भनेर भन्छन् भने, यसले परमेश्‍वरसँगको तेरो सम्बन्ध अब सामान्य छ, सही भएको छ भन्‍ने देखाउँछ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको अपराधको आधारमा व्यवहार गर्नुहुन्न। तैँले एक पटक बुझेपछि र सचेत भएपछि, तैँले विद्रोह वा विरोध गर्ने काम बन्द गर्दासम्म, तँमाथि परमेश्‍वरको कृपा भइरहनेछ। परमेश्‍वरद्वारा सिद्ध पारिनका लागि खोजी गर्ने तँसँग बुझाइ र सङ्कल्प छ भने, परमेश्‍वरको उपस्थितिमा तेरो स्थिति सामान्य बन्छ। तैँले जेसुकै गरिरहेको भए तापनि, ती कुरा गर्दा निम्न कुराहरूमा ध्यान दिनू: मैले यो गर्दा परमेश्‍वरले के सोच्नुहुन्छ? के यसले मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई फाइदा गर्छ? के यो परमेश्‍वरको घरमा हुने कार्यलाई लाभदायक छ? प्रार्थना, सङ्गति, प्रवचन, कार्य वा अरूसँगको सम्पर्कमा, तेरो अभिप्रायलाई जाँच गर्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ, छैन परीक्षण गर्। यदि तैँले तेरो आफ्नै अभिप्राय र सोचलाई बुझ्न सक्दैनस् भने, यसको अर्थ तँमा विभेदीकरणको कमी छ भन्‍ने हो, जसले तैँले एकदमै कम सत्य बुझ्छस् भन्‍ने प्रमाणित गर्छ। यदि तँ परमेश्‍वरले गर्नुभएको प्रत्येक कार्यलाई स्पष्ट रूपमा बुझ्न, र उहाँको पक्षमा खडा भएर, उहाँका वचनहरूको दृष्टिबाट परिस्थितिहरूलाई बुझ्न सक्षम छस् भने, तेरो दृष्टिकोण सही भएको हुनेछ। तसर्थ, परमेश्‍वरसँग राम्रो सम्बन्ध स्थापना गर्नु परमेश्‍वरमा विश्‍वास राख्ने जोकोहीको लागि एकदमै महत्त्वपूर्ण हुन्छ; सबैले यसलाई सर्वाधिक महत्त्वको कार्य र तिनीहरूको जीवनको सबैभन्दा ठूलो घटना सम्झिनुपर्छ। तैँले गर्ने सबै कुराहरूलाई परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ, छैन भन्‍ने कुराद्वारा मापन गरिन्छ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ र तेरा अभिप्रायहरू सही छन् भने, काम गर्। परमेश्‍वरसँगको सम्बन्धलाई सामान्य बनाइराख्नलाई तैँले तेरो व्यक्तिगत रुचिहरूमा क्षति हुन्छ कि भनी डराउनु हुँदैन; शैतानलाई जित्न तैँले दिनु हुँदैन, तैँले शैतानलाई तँलाई खरिद गर्न दिनु हुँदैन, र तैँले शैतानलाई तँलाई हाँस्यपात्र बनाउन दिनु हुँदैन। यस्ता अभिप्रायहरू हुनु भनेको परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ भन्‍ने कुराको सङ्केत हो—र यो देहको लागि नभएर आत्माको शान्तिको लागि हो, पवित्र आत्माको कार्यको प्राप्तिका लागि हो, र परमेश्‍वरको इच्छा सन्तुष्ट पार्नका लागि हो। सही स्थितिमा प्रवेश गर्नका लागि, तैँले परमेश्‍वरसँग राम्रो सम्बन्ध स्थापना गर्नुपर्छ र परमेश्‍वरमाथिको तेरो विश्‍वासको दृष्टिकोणलाई सही बनाउनुपर्छ। यसरी मात्रै तँलाई परमेश्‍वरले प्राप्त गर्न सक्नुहुन्छ, र उहाँले तँमा उहाँका वचनहरूको फल अभिव्यक्त गर्न र अझ धेरै तँलाई अन्तर्दृष्टि र ज्योति दिन सक्नुहुन्छ। यसरी, तँ सही तरिकामा प्रवेश भएको हुनेछस्। आजका परमेश्‍वरका वचनहरू खान र पिउन जारी राख्, पवित्र आत्माको काम गराइको विद्यमान तरिकामा प्रवेश गर्, परमेश्‍वरका आजका आवश्यक मापदण्डहरू अनुसार काम गर्, अभ्यासको पुरानो ढर्राको तरिका अनुसरण नगर्, काम गर्ने पुरानो तरिकाहरूमा नझुन्डी, र यथाशक्य चाँडो आजको कामको तरिकामा प्रवेश गर्। यसरी, परमेश्‍वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य हुनेछ, अनि तैँले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग प्रारम्भ गरेको हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१२

मानिसहरूले परमेश्‍वरका वचनहरू जति धेरै ग्रहण गर्छन्, उनीहरूले त्यति नै धेरै अन्तर्दृष्टि प्राप्त गर्छन् र परमेश्‍वरलाई चिन्ने आफ्‍नो खोजीमा तिनीहरू त्यति नै धेरै भोकाउँछन् र तिर्खाउँछन्। परमेश्‍वरका वचनहरू स्वीकार गर्नेहरू मात्र सम्‍पन्‍न र अझै गहन अनुभवहरू प्राप्त गर्न सक्‍ने हुन्छन्, र तिनीहरूको जीवन मात्र तिलका फूलझैँ निरन्तर फक्रिँदै जान सक्छ। जीवनको पछि लाग्ने सबैले यसलाई आफ्नो पूर्णकालीन कामको रूपमा लिनुपर्छ; तिनीहरूले “परमेश्‍वरविना, म जिउन सक्दिनँ; परमेश्‍वरविना, म कुनै काम गर्न सक्दिनँ; परमेश्‍वरविना, सबै थोक रित्तो छन्” भन्‍ने अनुभूति गर्नुपर्दछ। यसकारण, तिनीहरूले यो पनि सङ्कल्प गर्नुपर्दछ, “पवित्र आत्माको उपस्थितिविना म केही गर्नेछैनँ, यदि परमेश्‍वरका वचनहरू पढ्दा त्यसले कुनै प्रभाव परेन भने, म कुनै पनि कुरा गर्न उदासीन हुन्छु।” तिमीहरूले आफैलाई लिप्त नबनाओ। जीवनसम्बन्धी अनुभवहरू परमेश्‍वरले प्रदान गर्नुभएको अन्तर्ज्ञान र मार्गदर्शनबाट आउँछन्, र ती तिमीहरूका व्यक्तिपरक प्रयत्नहरूमा छर्लङ्ग देखिने हुन्छन्। तिमीहरूले आफ्ना लागि यो माग गर्नुपर्छ: “जब जीवनका अनुभवको कुरा आउँछ, मैले बहाना गरेर हुँदैन।”

कहिलेकाहीँ, असामान्य परिस्थितिहरूमा, तैँले परमेश्‍वरको उपस्थिति गुमाउँछस्, र प्रार्थना गर्दा परमेश्‍वरको अनुभूति गर्न सक्दैनस्। त्यस्तो समयमा, डरको अनुभव गर्नु सामान्य कुरा हो। तैँले तत्कालै खोजी गर्न सुरु गर्नुपर्दछ। यदि तैँले खोजी गरिनस् भने, परमेश्‍वर तँबाट टाढा हुनुहुनेछ र तँ एक दिन, दुई दिन, एक महिना वा दुई महिनासम्म पनि पवित्र आत्माको उपस्थिति, साथै पवित्र आत्माको कामविना नै रहनेछस्। यस्ता परिस्थितिहरूमा, तँ एकदमै अविश्‍वसनीय रूपले चेतनाशून्य बन्छस् र फेरि पनि शैतानको कैदी बन्छस्, यहाँसम्‍म कि तँ सबै प्रकारका खराबी गर्न सक्‍ने बन्छस्। तैँले धनसम्पत्तिको लोभ गर्छस्, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन्छस्, चलचित्र र भिडियोहरू हेर्छस्, जुवातास खेल्छस् र अनुशासनहीन भई धुम्रपान र मद्यपान पनि गर्छस्। तेरो हृदय परमेश्‍वरबाट टाढा भइसकेको हुन्छ, तँ गोप्य रूपमा आफ्नै बाटोमा गइसकेको हुन्छस् र तैँले स्वेच्छाचारी रूपमा परमेश्‍वरको कामलाई आलोचना गरेको हुन्छस्। कतिपय अवस्थाहरूमा, मानिसहरू यति तल गिरेका हुन्छन् कि तिनीहरू यौनजन्य प्रकृतिका पापहरू गर्न समेत कुनै लाज वा सङ्कोच मान्दैनन्। यस्तो व्यक्ति पवित्र आत्माले त्याग्‍नुभएको हुन्छ; वास्तवमा, त्यस्तो व्यक्तिमा पवित्र आत्माको काम लामो समयदेखि अनुपस्थित रहेको हुन्छ। त्यस्ता मानिसहरूलाई दुष्टका हातले अझ धेरै तानिरहेको बेला तिनीहरू भ्रष्टताको झन् गहिराइमा डुबेको मात्र देखिन्छ। अन्त्यमा, तिनीहरूले यस मार्गको अस्तित्वलाई अस्वीकार गर्दछन्, र तिनीहरूले पाप गरेका हुनाले शैतानले तिनीहरूलाई बन्दी बनाएको हुन्छ। यदि तैँले आफूसँग केवल पवित्र आत्माको उपस्थिति मात्र छ, तर पवित्र आत्माको कामको चाहिँ अभाव छ भनेर थाहा पाइस् भने, त्यो खतरनाक अवस्था हो। जब तैँले पवित्र आत्माको उपस्थिति पनि महसुस गर्न सक्दैनस्, तब तँ मृत्युको मुखमा हुन्छस्। यदि तैँले पश्‍चात्ताप गरिनस् भने, तँ पूर्णतया शैतानकहाँ फर्किसकेको हुनेछस्, र तँ हटाइएकाहरूमध्ये एक हुनेछस्। यसकारण, जब तैँले आफू पवित्र आत्माको उपस्थिति मात्रै हुने यस्तो स्थितिमा रहेको, (तैँले पाप गर्दैनस्, आफूलाई नियन्त्रणमा राख्छस् र परमेश्‍वरको स्पष्ट प्रतिरोधमा केही गर्दैनस्) तर तँसँग पवित्र आत्माको कामको अभाव रहेको (प्रार्थना गर्दा तँ भावुक रूपमा प्रभावित भएको अनुभव गर्दैनस्, तैँले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, स्पष्ट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्दैनस्, तँ परमेश्‍वरका वचनहरू खाने र पिउने कुरामा अनिच्छुक हुन्छस्, तेरो जीवनमा कहिल्यै कुनै वृद्धि हुँदैन र तँ लामो समयदेखि ठूलो ज्योतिबाट वञ्चित छस्) थाहा पाउँछस्—यस्तो समयमा, तँ धेरै सतर्क हुनैपर्दछ। तैँले आफूलाई लिप्त बनाउनु हुँदैन, तैँले उप्रान्त आफ्नो चरित्रलाई स्वतन्त्र छोड्नु हुँदैन। पवित्र आत्माको उपस्थिति जुनसुकै बखत पनि हराउन सक्छ। त्यसैले त यस्तो स्थिति निकै खतरनाक हुन्छ। यदि तँ यस्तो स्थितिमा पुगिस् भने, जतिसक्दो चाँडो अवस्था बदल्ने प्रयत्न गर्। सर्वप्रथम, तैँले पश्‍चात्तापको प्रार्थना गर्नुपर्दछ र परमेश्‍वरलाई तँमाथि उहाँको कृपा एक पटक फेरि बढाइदिन आग्रह गर्नुपर्दछ। अझ धेरै उत्साहका साथ प्रार्थना गर्, परमेश्‍वरका वचनहरू अझ धेरै खान र पिउन तेरो हृदयलाई शान्त बना। यसलाई जग बनाएर, तैँले धेरै समय प्रार्थना गर्नुपर्छ; गाउन, प्रार्थना गर्न, परमेश्‍वरका वचनहरू खान र पिउन अनि आफ्नो कर्तव्य पूरा गर्नमा दुई गुणा प्रयत्न गर्। तँ जब आफ्नो सबैभन्दा कमजोर अवस्थामा हुन्छस्, तब तेरो हृदयलाई सबैभन्दा सजिलोसँग शैतानले अधीनमा लिन्छ। जब त्यसो हुन्छ, तेरो हृदय परमेश्‍वरबाट लिइन्छ र शैतानलाई फिर्ता दिइन्छ, त्यसपछि तँ पवित्र आत्माको उपस्थितिरहित रहन्छस्। त्यस्तो समयमा, पवित्र आत्माको काम पुनः प्राप्त गर्न दुई गुणा कठिन हुन्छ। पवित्र आत्मा अझै तँसँगै हुनुहुँदा उहाँको काम खोजी गर्नु धेरै उपयुक्त हुन्छ, जसले गर्दा परमेश्‍वरले तँमाथि अझै बढी उहाँको अन्तर्दृष्टि प्रदान गर्नुहुनेछ र उहाँले तँलाई त्याग्‍नुहुनेछैन। प्रार्थना गर्ने, भजनहरू गाउने, तेरो कार्य पूरा गर्ने र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य—यी सबै काम शैतानले आफ्‍नो काम गर्ने कुनै अवसर नपाओस्, पवित्र आत्माले तँभित्र काम गरिरहनुभएको होस् भनेर गरिन्छ। यदि तैँले यसरी पवित्र आत्माको काम पुनः प्राप्त गर्दैनस् र केवल पर्खेर मात्र बस्छस् भने, पवित्र आत्माले तँलाई विशेष रूपमा छुनुभयो वा विशेष रूपमा ज्योति र अन्तर्दृष्टि प्रदान गर्नुभयो भने मात्रै पवित्र आत्माको उपस्थिति फेरि प्राप्त गर्न सहज हुनेछ, नत्र भने पवित्र आत्माको उपस्थिति गुमाएको बेला तैँले उहाँको उपस्थिति फेरि प्राप्त गर्नु सहज हुनेछैन। तैपनि, तेरो स्थिति सुध्रिन एक-दुई दिन मात्र लाग्दैन; कहिलेकाहीँ त कुनै सुधारविना नै छ महिना समेत बित्न सक्छ। किनभने मानिसहरूले आफूलाई धेरै सहज रूपमा लिन्छन्, तिनीहरूले सामान्य तरिकाले परिस्थिति अनुभव गर्न पनि सक्दैनन्, त्यसरी पवित्र आत्माद्वारा त्यागिन्छन्। तैँले पवित्र आत्माको काम पुनः प्राप्त गरिस् भने पनि, परमेश्‍वरको वर्तमान काम तँलाई अझै स्पष्ट नहुन सक्छ, किनभने तँ आफ्‍नो जीवन अनुभवमा धेरै पछाडि परेको हुन्छस्, मानौं तँ दशौं हजार माइल पछाडि परेको छस्। के यो भयानक कुरा होइन र? तैपनि म त्यस्ता मानिसहरूलाई भन्छु, अहिले पश्‍चात्ताप गर्न धेरै ढिलो भएको छैन, तर एउटा शर्त छ: तिमीहरूले अझ धेरै परिश्रम गर्नुपर्छ, र अल्छीपनमा लिप्त हुनु हुँदैन। यदि अरूले एक दिनमा पाँच पटक प्रार्थना गर्छन् भने, तैँले दश पटक गर्नैपर्छ; यदि अरू एक दिनमा दुई घण्टा परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन् भने, तैँले यो काम चार वा छ घण्टा गर्नुपर्छ; र यदि अरूले दुई घण्टा भजन सुन्छन् भने तैँले कम्तीमा पनि आधा दिनसम्म सुन्नैपर्छ। तँ प्रभावित नभएसम्म र तेरो हृदय परमेश्‍वरतर्फ नफर्किएसम्म र तैँले परमेश्‍वरबाट टाढा हुने साहस नगरेसम्म परमेश्‍वरसामु सधैँ शान्त बन् र परमेश्‍वरको प्रेमको बारेमा सोच्—तब मात्रै तेरो परिश्रमको प्रतिफल प्राप्त हुनेछ; अनि मात्र तैँले तेरो पहिलेको सामान्य स्थिति फेरि प्राप्त गर्न सक्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य स्थितिमा कसरी प्रवेश गर्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१३

परमेश्‍वरका विश्‍वासीको मार्गमा तिमीहरू केवल थोरै भाग मात्र हिँडेका छौ, र अझै तिमीहरूले सही मार्गमा प्रवेश गर्न बाँकी नै छ, यसकारण तिमीहरू परमेश्‍वरको मापदण्ड पूरा गर्नदेखि टाढा नै छौ। हाल, तिमीहरूको कद उहाँका मागहरू पुरा गर्नको लागि अझै पर्याप्त छैन। तिमीहरूको क्षमता र भ्रष्ट प्रकृतिको कारण तिमीहरू सधैँ परमेश्‍वरका कामलाई लापरवाही रूपले लिन्छौ; तिमीहरू यसलाई गम्भीर रूपमा लिँदैनौ। यो तिमीहरूको सबैभन्दा गम्भीर कमजोरी हो। निश्‍चय नै, पवित्र आत्मा हिँड्नुहुने बाटो पहिल्याउन सक्ने कोही पनि छैन; तिमीहरूमध्ये धेरैले यो कुरा बुझ्दैनौ र यसलाई स्पष्ट रूपमा देख्न पनि सक्दैनौ। यसका अतिरिक्त तिमीहरूमध्ये धेरैले यस विषयलाई ख्याल गर्दैनौ, मनदेखि नै यसमा ध्यान दिने कुरा त परै जाओस्। यदि तिमीहरू यसरी निरन्तर पवित्र आत्माको कामप्रतिको अनभिज्ञतामा जिइरहन्छौ भने परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा तिमीहरूले अँगालेको मार्ग व्यर्थ हुनेछ। किनभने तिमीहरूले आफ्नै शक्तिमा परमेश्‍वरको इच्छा पूरा गर्न सबै थोक गर्दैनौ र तिमीहरूले परमेश्‍वरसँग राम्ररी सहकार्य गर्दैनौ। यसको अर्थ परमेश्‍वरले तँमा काम गर्नुभएको छैन भन्‍ने होइन वा पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुभएको छैन भन्‍ने पनि होइन। तँ यति धेरै लापरवाही भइस् कि तैँले पवित्र आत्माको कामलाई गम्भीरतापूर्वक लिएनस्। तैँले यस परिस्थितिलाई तत्कालै परिवर्तन गर्नुपर्छ र तँ पवित्र आत्माले मानिसहरूलाई डोर्‍याउनुहुने मार्गमा हिँड्नुपर्छ। आजको मुख्य विषयवस्तु यही हो। “पवित्र आत्माले डोर्‍याउनुहुने मार्ग” भन्नाले आत्मामा अन्तर्दृष्टि प्राप्त गर्नु; परमेश्‍वरको वचनको ज्ञान हासिल गर्नु; अगाडिको मार्गको स्पष्टता प्राप्त गर्नु; सत्यतामा चरणबद्ध रूपमा प्रवेश गर्न सक्‍नु र परमेश्‍वरको बारेमा वृहत् ज्ञान प्राप्त गर्नुलाई जनाउँछ। पवित्र आत्माले मानिसहरूलाई डोर्‍याउनुहुने मार्ग मुख्यतया परमेश्‍वरका वचन स्पष्ट बुझिने, पथभ्रष्टता र गलत धारणाबाट मुक्त हुने मार्ग हो र यस मार्गमा हिँड्नेहरू सदैव यसमा सिधा हिँड्छन्। यो मार्ग प्राप्त गर्न तिमीहरूले परमेश्‍वरसँगको सामञ्‍जस्यतामा काम गर्नुपर्छ, अभ्यास गर्न उपयुक्त मार्ग पत्ता लगाउनु पर्छ र पवित्र आत्माले डोर्‍याउनुहुने मार्गमा हिँड्नुपर्छ। यस अन्तर्गत मानिसको तर्फबाट सहकार्य समावेश हुन्छ: अर्थात्, परमेश्‍वरले तिमीहरूलाई दिनुभएका मापदण्डहरू पूरा गर्न तिमीहरूले के गर्नुपर्छ, र परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा प्रवेश गर्न तिमीहरूले कस्तो व्यवहार गर्नुपर्छ।

तँलाई पवित्र आत्माले डोर्‍याउनुहुने मार्गमा हिँड्न जटिल लाग्न सक्छ, तर जब तँलाई अभ्यासको मार्ग स्पष्ट हुन्छ तब तँलाई यो मार्ग अझ सरल हुनेछ। सत्य कुरा के हो भने, परमेश्‍वरले मानिसहरूबाट अपेक्षा गर्नुभएका सबै कुरा तिनीहरूले गर्न सक्छन्—यो उहाँले सुँगुरहरूलाई उड्न सिकाउन प्रयास गरिरहनुभएको जस्तो होइन। हरेक परिस्थितिहरूमा परमेश्‍वरले मानिसहरूका समस्या समाधान गर्न र तिनीहरूका चासोका विषयहरू सम्बोधन गर्न खोज्नुहुन्छ। तिमीहरू सबैले यो कुरा बुझ्नु जरुरी छ; परमेश्‍वरलाई गलत रूपमा नबुझ। पवित्र आत्माको हिँड्नुहुने मार्गमा मानिसहरूलाई परमेश्‍वरका वचनअनुसार डोर्‍याइन्छ। पहिला नै उल्लेख गरिए झैं, तैँले आफ्‍नो हृदय परमेश्‍वरलाई सुम्पनुपर्छ। पवित्र आत्माले डोर्‍याउनुहुने मार्गमा हिँड्नको लागि यो एउटा सर्त हो। सही मार्गमा प्रवेश गर्नका लागि तैँले यसो गर्नु आवश्यक छ। कुनै व्यक्तिले सचेत रूपमा परमेश्‍वरलाई आफ्नो हृदय सुम्पने कार्य कसरी गर्न सक्छ? आफ्नो दैनिक जीवनमा जब तिमीहरू परमेश्‍वरको कामको अनुभव गर्छौ र उहाँसँग प्रार्थना गर्छौ, तब तिमीहरू लापरवाही गर्छौ—काम गरिरहेको अवस्थामा तिमीहरू परमेश्‍वरसँग प्रार्थना गर्छौ। के यसलाई तैँले आफ्नो हृदय परमेश्‍वरलाई दिएको भनेर सकिन्छ? तँ घरायसी मामला वा देहका कामकुराका बारेमा सोच्छस्; तँ सधैँ दुई मनको हुन्छस्। के यसलाई तैँले आफ्नो हृदय परमेश्‍वरको सामु शान्त पारेको भनेर मान्न सकिन्छ? यसो हुनुको कारण के हो भने, तेरो हृदय बाह्य मामिलाहरूमा अल्झिएर रहेको छ र तेरो हृदय परमेश्‍वर सामु फर्कन सकेको छैन। यदि तेरो हृदय साँचो रूपमा परमेश्‍वरको सामु शान्तिपूर्ण अवस्थामा रह्यो भने तैँले अवश्य पनि सचेत सहकार्यको काम गर्नु पर्दछ। अर्थात्, तिमीहरू सबैसँग भक्तिको समय हुनु पर्दछ, तिमीहरूले मानिसहरू, घटनाहरू र काम-कुराहरू पन्छ्याउने समय हुनुपर्छ; आफ्नो हृदयलाई एकचित्त गर्ने र परमेश्‍वरसामु आफूलाई शान्त पार्नुपर्छ। प्रत्येक व्यक्तिले गहन वा सतही जुनसुकै तवरले भए तापनि व्यक्तिगत भक्तिभाव, परमेश्‍वरको वचन र तिनीहरूको आत्मा कसरी उत्प्रेरित हुन्छ त्यस बारेमा व्यक्तिगत नोट राख्नुपर्छ; हरेकले आफ्नो हृदय परमेश्‍वरको सामु सचेत रूपमा शान्त राख्नुपर्छ। यदि तैँले आत्मिक जीवनका लागि दैनिक एक-दुई घण्टाको समय समर्पण गर्न सकिस् भने तैँले हरेक दिन आफ्नो जीवन समृद्ध भएको महसुस गर्नेछस् र तेरो हृदय उज्ज्वल र सफा हुनेछ। यदि तैँले प्रत्येक दिन यस प्रकारको आत्मिक जीवन व्यतीत गरिस् भने, तेरो हृदय अझै बढी परमेश्‍वरकहाँ फर्कन सक्‍नेछ, तेरो आत्मा झन्-झन् बलियो हुनेछ, तेरो अवस्थामा निरन्तर सुधार हुँदै जानेछ, तँ अझै बढी पवित्र आत्माले डोर्‍याउनुभएको मार्गमा हिँडिरहन सक्‍नेछस् र परमेश्‍वरले तँलाई अझ धेरै आशिष् प्रदान गर्नुहुनेछ। तिमीहरूको आत्मिक जीवनको उद्देश्य सचेत रूपमा पवित्र आत्माको उपस्थिति हासिल गर्नु हो। यो नियमको पालन वा धार्मिक अनुष्ठान पूरा गर्नु होइन, तर साँचो रूपमा परमेश्‍वरसँग काम गर्नु हो, साँचो रूपमा आफ्नो शरीरलाई अनुशासनमा राख्नु हो—मानिसले गर्नुपर्ने कुरा यही हो, यसकारण तिमीहरूले यो कार्य पूर्ण प्रयत्नका साथ गर्नुपर्छ। तिमीहरूले सहकार्य जति राम्ररी गर्दछौ र जति धेरै प्रयत्न गर्छौ, तेरो हृदय त्यति नै धेरै परमेश्‍वरकहाँ फर्कन सक्‍छ र तँ उहाँको सामु आफ्नो हृदय समर्पण गर्न सक्षम हुन्छस्। निश्चित विन्दुमा परमेश्‍वरले तेरो हृदय पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ। कसैले पनि तेरो हृदय प्रभाव पार्न वा कब्जा गर्न सक्‍नेछैन र तँ पूर्ण रूपमा परमेश्‍वरको स्वामित्वमा हुनेछस्। यदि तँ यस मार्गमा हिँडिस् भने, परमेश्‍वरको वचन हरबखत तँमा आफै प्रकट हुनेछन् र तैँले नबुझेका सबै कुराको बारे तँलाई प्रकाश दिइनेछ—यो सबै तँसँगको सहकार्यबाट प्राप्त गर्न सकिनेछ। यही कारणले गर्दा परमेश्‍वरले सधैँ भन्नुहुन्छ, “मसँग काम गर्ने सबैलाई म दुई गुणा बढी इनाम दिनेछु।” तिमीहरूले यो मार्गलाई स्पष्ट देख्नुपर्छ। यदि तिमीहरू सही मार्गमा हिँड्न चाहन्छौ भने तिमीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न आफूले सक्ने जति सबै कुरा गर्नै पर्दछ। आत्मिक जीवन प्राप्त गर्न तिमीहरूले सक्दो सबै थोक गर्नु पर्दछ। सुरुको अवस्थामा तिमीहरूले यस खोजीबाट ठूलो प्रतिफल हासिल नगर्न सक्छौ, तर तिमीहरूले आफूलाई पछि फर्कन वा नकारात्मकतामा डुब्‍न नदेओ—तैँले कडा परिश्रम गरिरहनु पर्दछ! तैँले आत्मिक जीवन जति धेरै जिउँछस् तेरो हृदय परमेश्‍वरको वचनले त्यति नै भरिनेछ, सधैँ यिनै विषयसँग सरोकार राख्नेछ, यो बोझ बोक्नेछ। त्यसपछि तेरो आत्मिक जीवनको माध्यमबाट परमेश्‍वरसामु तेरो भित्री सत्यता प्रकट गर्; तँ के गर्न तत्पर छस्, तँ के विषयमा सोचिरहेको छस्, उहाँको वचन सम्‍बन्धी तेरो बुझाई र दृष्टिकोण के छ सबै उहाँलाई बता। कुनै कुरा बाँकी नराख्, अलिकति पनि बाँकी नराख्! मनमनै शब्दहरू बोल्ने र परमेश्‍वरसँग आफ्ना साँचो भावनाहरू प्रकट गर्ने अभ्यास गर्; यदि यो कुरा तेरो हृदयभित्र छ भने यसलाई कुनै पनि हालत बता। यस प्रकारले तँ जति धेरै बोल्छस्, तैँले परमेश्‍वरको प्रेमिलो स्वभाव त्यति नै धेरै अनुभव गर्नेछस् र परमेश्‍वरले तेरो हृदय त्यति नै धेरै खिँच्नुहुनेछ। जब यसो हुन्छ, तब मात्र तैँले परमेश्‍वर तेरो लागि कुनै पनि कुराभन्दा प्रिय हुनुहुन्छ भन्‍ने अनुभव गर्नेछस्। जुनसुकै अवस्थामा पनि तैँले परमेश्‍वरको पक्ष कहिल्यै छोड्नेछैनस्। यदि तैँले यस प्रकारको आत्मिक भक्ति दैनिक अभ्यास गर्छस् र यसलाई आफ्नो मनबाट निकाल्दैनस्, तर यसलाई आफ्नो जीवनमा ठूलो महत्त्वका साथ आत्मसाथ गर्छस् भने परमेश्‍वरको वचनले तेरो हृदयमा ओगट्नेछ। पवित्र आत्माले छुनु भनेको यही हो। तेरो हृदय सधैँ परमेश्‍वरको स्वामित्वमा थियो झैँ हुनेछ, जसलाई प्रेम गर्छस् त्यो सदैव तेरो हृदयमा छ झैँ हुनेछ। त्यसलाई तँबाट कसैले खोसेर लान सक्दैन। जब यसो हुन्छ, तब साँच्‍चै परमेश्‍वरले वास्तवमा तँभित्र बास गर्नुहुन्छ र तेरो हृदयभित्र स्थान लिनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एक सामान्य आत्मिक जीवनले मानिसहरूलाई सही मार्गतर्फ डोर्‍याउँछ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१४

परमेश्‍वरमाथिको विश्‍वासको लागि सामान्य आत्मिक जीवनको आवश्यकता हुन्छ, जुन परमेश्‍वरका वचनहरू अनुभव गर्ने र वास्तविकतामा प्रवेश गर्ने आधार हो। के तिमीहरूका प्रार्थना गर्ने, परमेश्‍वरको नजिक आउने, भजन गाउने, प्रशंसा गर्ने, ध्यान गर्ने, र परमेश्‍वरका वचनहरूको चिन्तन गर्ने अभ्यासहरू “सामान्य आत्मिक जीवन” समान छन्? तिमीहरू कसैलाई पनि थाहा छैन जस्तो देखिन्छ। सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्‍वरका वचनहरू खाने र पिउने जस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्‍ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्‍ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्‍वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्‍याओस् वा नडोर्‍याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियम-पालना हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियम र विधिहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्‍ने बारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमको रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियम र विधिहरू सबै मानवबाट आएका हुन्; ती परमेश्‍वरबाट आएका होइनन्। परमेश्‍वर न त नियमहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै कानुनको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक कार्य पूरा गर्दै दिनहुँ नयाँ काम गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्‍नुहुन्‍न, किनकि उनीहरूको हृदय नियमहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्‍वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू केवल व्यवस्थाको नियन्त्रणमा मात्र जिइरहन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सदा असक्षम हुन्छन्।

सामान्य आत्मिक जीवन भनेको परमेश्‍वरको सामु जिएको जीवन हो। प्रार्थना गर्दा, व्यक्तिले परमेश्‍वरको सामु आफ्नो हृदय शान्त पार्न सक्छ, र प्रार्थना मार्फत कसैले पवित्र आत्माको अन्तर्दृष्टिको खोजी गर्न सक्छ, परमेश्‍वरका वचनहरू जान्न सक्छ, र परमेश्‍वरको इच्छा बुझ्छ। उहाँका वचनहरू खाएर र पिएर, मानिसहरूले परमेश्‍वरको वर्तमान कार्यको बारेमा अझ स्पष्ट र पूर्ण बुझाइ प्राप्त गर्न सक्छन्। तिनीहरूले अभ्यासको नयाँ मार्ग पनि प्राप्त गर्न सक्छन्, र पुरानोसँग टाँसिनेछैनन्; तिनीहरू जे अभ्यास गर्छन् ती सबै जीवनमा वृद्धि हासिल गर्नका लागि हुनेछन्। प्रार्थनाको सम्बन्धमा भन्‍ने हो भने, यो तँ कति ऋणी छस् भनेर देखाउन राम्रा-राम्रा शब्दहरू बोल्‍नु वा परमेश्‍वरको अगाडि आँसु झार्नुसँग सम्‍बन्धित छैन; बरु यसको उद्देश्य भनेको त परमेश्‍वरसामु आफ्नो हृदय शान्त पार्दै आत्माको प्रयोगको लागि आफैलाई तालिम दिनु हो, सबै कुरामा परमेश्‍वरका वचनहरूबाट मार्गदर्शन खोज्नको लागि आफैलाई तालिम दिनु हो, ताकि व्यक्तिको हृदयलाई हरेक दिन नयाँ ताजा ज्योतिमा ल्याउन सकियोस्, र जसले गर्दा कोही पनि निष्क्रिय वा अल्छी नहोस् र परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्ने सही बाटोमा हिँड्न सकोस्। आजभोलि अधिकांश मानिसहरू अभ्यासका विधिहरूमा ध्यान केन्द्रित गर्छन्, यद्यपि तिनीहरू सत्यलाई पछ्याउन र जीवन वृद्धि हासिल गर्न त्यसो गर्दैनन्। तिनीहरूले यहीँ नै बाटो बिराएका छन्। कतिपय नयाँ प्रकाश प्राप्त गर्न सक्‍नेहरू पनि छन्, तर तिनीहरूको अभ्यास गर्ने विधिहरू परिवर्तन हुँदैनन्। परमेश्‍वरका आजका वचनहरू ग्रहण गर्ने प्रयासमा तिनीहरूले आफूसँग तिनीहरूका पुराना धार्मिक धारणाहरू लिएर आउँछन्, त्यसैले उनीहरूले जे पाउँछन् त्यो अझै पनि धार्मिक धारणाले रङ्गिएको धर्मसिद्धान्त नै हो; तिनीहरूले आजको प्रकाश प्राप्त गरिरहेका छँदै छैनन्। परिणामस्वरूप, तिनीहरूको अभ्यासहरूमा दाग लागेको छ; तिनीहरू नयाँ प्याकेजमा हालिएका उस्तै पुराना अभ्यासहरू हुन्। तिनीहरूले जति राम्रो अभ्यास गरे पनि, तिनीहरू ढोङ्गीहरू हुन्। परमेश्‍वरले मानिसहरूलाई हरेक दिन नयाँ अन्तर्दृष्टि र बुझाइ प्राप्त गरून् भन्‍ने माग गर्दै, र उनीहरू पुरानो जमानाका र एउटै कुरा दोहोर्‍याइरहने किसिमका नबनून् भन्‍ने मापदण्ड दिँदै उहाँले तिनीहरूलाई हरेक दिन नयाँ काम गर्न अगुवाइ गर्नुहुन्छ। यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस् तर पनि तेरो अभ्यासका विधिहरू बिलकुल परिवर्तन भएको छैन भने, र यदि तँ अझै बाह्य मामिलाहरूका बारेमा जोसिलो र व्यस्त छस्, तर परमेश्‍वरका वचनहरूको आनन्द लिनको लागि उहाँको सामुन्ने ल्याउने शान्त हृदय तँसँग छैन भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। जब परमेश्‍वरको नयाँ काम स्वीकार गर्ने कुरा आउँछ, तब यदि तैँले फरक तरिकाले योजना गर्दैनस् भने, आफ्‍नो अभ्यासलाई नयाँ तरिकाले अघि बढाउँदैनस्, र कुनै नयाँ बुझाइको पछि लाग्दैनस्, बरु तैँले अभ्यास गर्ने शैलीलाई परिवर्तन नगरीकन पुरानोलाई पक्रिरहन्छस् र केही सीमित नयाँ प्रकाश मात्र प्राप्त गर्छस् भने, तँजस्ता मानिसहरू यो प्रवाहमा नामले मात्र हुन्छन्; वास्तविकतामा त, तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिरका धार्मिक फारसीहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१५

एक सामान्य आत्मिक जीवन जिउन, व्यक्तिले हरेक दिन नयाँ ज्योति प्राप्त गर्न र परमेश्‍वरका वचनहरूको साँचो बुझाइको खोजी गर्न सक्‍नुपर्छ। व्यक्तिले सत्यतालाई स्पष्ट रूपमा देख्‍नुपर्छ, सबै मामिलामा अभ्यासको बाटो खोज्नुपर्छ, हरेक दिन परमेश्‍वरका वचनहरू पढेर नयाँ प्रश्‍नहरू पत्ता लगाउनुपर्छ, र आफ्नै अपर्याप्तताहरूलाई बुझ्नुपर्छ, ताकि ऊसँग तृष्णा गर्ने र खोजी गर्ने हृदय होस् जसले उसको सम्पूर्ण अस्तित्वलाई अगुवाइ गर्छ, ताकि पछि छोडिने डरले व्यक्ति परमेश्‍वरको सामु सधैँ शान्त हुन सकोस्। निरन्तर प्रवेश प्राप्त गर्न इच्छुक अनि तृषित र खोजी गर्ने हृदय भएको व्यक्ति आत्मिक जीवनको सही मार्गमा हुन्छ। जो पवित्र आत्माद्वारा प्रेरित छन्, जसले अझ राम्रो गर्न चाहन्छन्, जो परमेश्‍वरद्वारा सिद्ध हुन खोजी गर्छन्, जो परमेश्‍वरका वचनहरूको गहिरो बुझाइको तृष्णा गर्छन्, जो अलौकिकको पछि लाग्दैनन्, बरु वास्तविक मूल्य तिर्छन्, जसले वास्तवमा परमेश्‍वरको इच्छाको वास्ता गर्छन्, जसले वास्तवमै प्रवेश प्राप्त गर्दछन्, जसले गर्दा उनीहरूका अनुभवहरू अझ सच्‍चा र वास्तविक हुन्छन्, जसले रित्तो शब्द र सिध्दान्तहरूको खोजी गर्दैनन् वा अलौकिकता महसुस गर्न खोज्दैनन्, जसले कुनै महान व्यक्तित्वको पूजा गर्दैनन्—सामान्य आत्मिक जीवनमा प्रवेश गरेकाहरू यिनीहरू नै हुन्। उनीहरूले गर्ने सबै कुरा जीवनमा थप वृद्धि प्राप्त गर्न र आत्मामा आफैलाई ताजा र जीवन्त तुल्याउनको लागि हो, र तिनीहरूले सधैँ सक्रिय रूपमा प्रवेश प्राप्त गर्न सक्छन्। महसुसै नगरी तिनीहरूले सत्यलाई बुझ्छन् र वास्तविकतामा प्रवेश गर्छन्। सामान्य आत्मिक जीवन भएका मानिसहरूले हरेक दिन आत्माको मुक्ति र स्वतन्त्रता पाउँछन् र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गरी उहाँका वचनहरू स्वतन्त्र रूपमा अभ्यास गर्न सक्छन्। यी मानिसहरूका लागि, प्रार्थना गर्नु कुनै औपचारिकता वा प्रक्रिया होइन; प्रत्येक दिन, तिनीहरूले नयाँ प्रकाशलाई पछ्याउन सक्छन्। उदाहरणको लागि, मानिसहरूले परमेश्‍वरसामु आफ्नो हृदय शान्त गराउन आफैलाई तालिम दिन्छन्, र उनीहरूको हृदय परमेश्‍वरसामु साँच्चै नै शान्त हुन सक्छ, र तिनीहरूलाई कसैले पनि वाधा दिन सक्दैन। कुनै व्यक्ति, घटना, वा चीजले उनीहरूको सामान्य आत्मिक जीवनलाई बाधा दिन सक्दैन। यस्तो तालिम परिणाम उत्पन्न गर्ने उद्देश्यले गरिएको हुन्छ; यो मानिसहरूलाई नियम पालन गर्न लगाउनको लागि होइन। यो अभ्यास नियम-पालनसँग सम्‍बन्धित छैन, बरु यो त मानिसहरूको जीवनमा वृद्धि ल्याउने कार्यसँग सम्‍बन्धित छ। यदि तैँले यो अभ्यासलाई पालना गर्नुपर्ने नियमहरूको रूपमा मात्र देख्छस् भने, तेरो जीवन कहिल्यै परिवर्तन हुनेछैन। तँ अरूको जस्तै अभ्यासमा संलग्न हुन सक्छस्, तर जब तिनीहरूले अन्ततः पवित्र आत्माको कामको गतिलाई पछ्याउन सक्‍ने हुन्छन्, तब तँलाई पवित्र आत्माको प्रवाहबाट हटाइन्छ। के तैँले आफैलाई धोका दिइरहेको छैनस् र? यी वचनहरूको उद्देश्य भनेको मानिसहरूलाई परमेश्‍वरसमक्ष आफ्नो हृदय शान्त गराउन, उनीहरूको हृदय परमेश्‍वरतिर फर्काउन दिनको लागि हो, ताकि तिनीहरूमा परमेश्‍वरले गर्नुहुने कामहरू कुनै बाधाविना अघि बढ्न सकोस् र त्यसले फल फलाउन सकोस्। त्यसो भएमा मात्र मानिसहरू परमेश्‍वरको इच्छाअनुसारको बन्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१६

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थना गर्ने कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने गर्दथे, मानिस परमेश्‍वरको समक्ष केवल झारा टार्ने हिसाबले जाने गर्दथ्यो। कुनै पनि मानिसले कहिल्यै पनि आफ्नो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरसमक्ष अर्पण गरेर उहाँलाई साँचो प्रार्थना गरेन। समस्या आउँदा मात्र मानिसले परमेश्‍वरलाई प्रार्थना गर्थ्यो। अहिलेसम्म, के तैँले परमेश्‍वरलाई कहिल्यै साँचो रूपले प्रार्थना गरेको छस्? के कुनै यस्तो समय आएको छ जब तैँले परमेश्‍वरसमक्ष पीडाको आँसु झारेको थिइस्? के कुनै यस्तो समय आएको छ जब तैँले उहाँसमक्ष आफैलाई चिन्‍न पुगिस्? के तैँले परमेश्‍वरलाई कहिल्यै हृदयदेखि प्रार्थना गरेको छस्? प्रार्थना अभ्यासबाट आउँदछ: यदि तँ सामान्यतया घरमा प्रार्थना गर्दैनस् भने, तँसँग मण्डलीमा प्रार्थना गर्ने कुनै मार्ग हुनेछैन र यदि तँ साधारणतया स-साना भेलाहरूमा प्रार्थना गर्दैनस् भने, तँ ठूला भेलाहरूमा प्रार्थना गर्न असक्षम हुनेछस्। यदि तँ नियमित रूपमा परमेश्‍वरको निकट जाँदैनस् वा परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दैनस् भने, प्रार्थना गर्ने समयमा तँसँग भन्नुपर्ने कुरा केही पनि हुनेछैन, र यदि प्रार्थना गर्छस् नै भने पनि, तैँले केवल ओठे-सेवा मात्रै चढाउनेछस्; यो साँचो प्रार्थना हुनेछैन।

साँचो प्रार्थना के हो? साँचो प्रार्थना भनेको तेरो हृदयमा के छ सो परमेश्‍वरलाई बताउनु, परमेश्‍वरको इच्छालाई बुझेर उहाँसँग कुराकानी गर्नु, परमेश्‍वरसँग उहाँको वचनको माध्यमबाट कुराकानी गर्नु, परमेश्‍वरसँग विशेष रूपमा घनिष्ठ भएको महसुस गर्नु, उहाँ तेरोसामु हुनुहुन्‍छ भन्‍ने बोध गर्नु, र उहाँलाई भन्नुपर्ने केही कुरा तँसँग छ भनेर विश्‍वास गर्नु हो। तेरो हृदय उज्यालोले भरिएको महसुस हुन्छ र तैँले परमेश्‍वर कति प्रिय हुनुहुन्छ भन्‍ने महसुस गर्छस्। तैँले विशेष रूपमा प्रेरित भएको महसुस गर्छस् र तेरो कुरा सुनेर तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सन्तुष्टि प्राप्त हुन्छ। तैँले बोल्‍ने शब्दहरू उनीहरूको हृदयभित्रका शब्दहरू हुन्, उनीहरूले भन्न चाहेका शब्‍दहरू हुन् भन्‍ने उनीहरूले महसुस गर्नेछन्, मानौं तेरा शब्दहरू उनीहरूका शब्दको साटोमा आएका हुन्। साँचो प्रार्थना यही नै हो। तँ साँचो प्रार्थनामा संलग्न भएपछि, तेरो हृदय शान्‍तिमा हुनेछ र सन्तुष्टि के हो सो तैँले जान्‍नेछस्। परमेश्‍वरलाई प्रेम गर्ने शक्ति वृद्धि हुन सक्छ, र परमेश्‍वरलाई प्रेम गर्नु जत्तिको बहुमूल्य वा महत्त्वको कुरा जीवनमा अरू केही छैन भन्‍ने तैँले महसुस गर्नेछस्। यी सबै कुराले तेरा प्रार्थनाहरू प्रभावकारी भएका छन् भन्‍ने प्रमाणित गर्छन्। के तैँले कहिल्यै यसरी प्रार्थना गरेको छस्?

अनि प्रार्थनाको विषयवस्तु कस्तो हुनुपर्छ? तेरो प्रार्थना तेरो हृदयको साँचो अवस्था तथा पवित्र आत्माको कार्यअनुरूप चरणबद्ध रूपमा अगाडि बढ्नुपर्दछ; तँ परमेश्‍वरसँग उहाँको इच्छा र उहाँले मानिसबाट जे चाहनुहुन्छ सोअनुसार कुराकानी गर्न थाल्छस्। जब तँ प्रार्थनाको अभ्यास सुरु गर्छस्, सर्वप्रथम आफ्नो हृदय परमेश्‍वरलाई प्रदान गर्। परमेश्‍वरको इच्छा बुझ्ने प्रयास नगर्—केवल तेरो हृदयभित्र भएका शब्दहरू नै परमेश्‍वरलाई बताउने प्रयास गर्। जब तँ परमेश्‍वरसामु आउँछस्, यसरी बोल्: “हे परमेश्‍वर, मैले हजुरको अवज्ञा गर्ने गरेको थिएँ भन्‍ने कुरा आज मात्र महसुस गरेँ। म वास्तवमै भ्रष्ट र नीच छु। मैले केवल आफ्नो जीवन बरबाद मात्रै गर्दै आइरहेको रहेछु। आजबाट म हजुरकै लागि जिउनेछु। म एउटा अर्थपूर्ण जीवन बिताउनेछु र हजुरको इच्छा सन्तुष्ट पार्नेछु। हजुरको आत्माले मभित्र सदैव काम गरिरहोस्, मलाई निरन्तर ज्योति र ज्ञान प्रदान गरिरहोस्। मलाई हजुरसमक्ष मजबुत र ठोस गवाही वहन गर्न दिनुहोस्। शैतानले हामीमा प्रकट भएको तपाईंको महिमा, तपाईंको गवाही, र तपाईंको विजयको प्रमाण देखोस्।” जब तँ यसरी प्रार्थना गर्छस्, तेरो हृदय पूर्ण रूपमा स्वतन्त्र हुनेछ। यसरी प्रार्थना गरेपछि, तेरो हृदय परमेश्‍वरसँग अझै घनिष्ठ हुनेछ, र यदि तैँले सधैँ नै यस प्रकारले प्रार्थना गर्न सक्छस् भने, पवित्र आत्माले अवश्य नै तँभित्र काम गर्नुहुनेछ। यदि तैँले परमेश्‍वरलाई सधैँ यसरी नै पुकार्छस्, र उहाँसमक्ष आफ्नो सङ्कल्प प्रस्तुत गर्छस् भने, त्यस्तो दिन आउनेछ जब तेरो सङ्कल्प परमेश्‍वरसमक्ष स्वीकार्य हुनेछ, तेरो हृदय र तेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरले प्राप्त गर्नुहुन्छ र तँ आखिरमा उहाँद्वारा पूर्ण बनाइनेछस्। तिमीहरूको लागि, प्रार्थना अत्यन्तै महत्त्वपूर्ण छ। जब तैँले प्रार्थना गर्छस् र पवित्र आत्माको कार्य प्राप्त गर्छस्, तेरो हृदय परमेश्‍वरद्वारा उत्प्रेरित हुनेछ, र परमेश्‍वरलाई प्रेम गर्ने शक्ति प्रस्फुटन हुनेछ। यदि तँ आफ्नो हृदयले प्रार्थना गर्दैनस् भने, यदि तैँले परमेश्‍वरसँग कुराकानी गर्नको लागि आफ्नो हृदय खोल्‍दैनस् भने, परमेश्‍वरले तँमा कार्य गर्ने कुनै मार्ग पाउनुहुनेछैन। यदि, प्रार्थना गरिसकेपछि र तेरो हृदयका शब्दहरू बोलिसकेपछि पनि, परमेश्‍वरका आत्माले उहाँको कार्य आरम्भ गर्नुभएको छैन र तैँले कुनै प्रेरणा प्राप्त गरेको छैनस् भने, यसले तेरो हृदयमा इमानदारीताको कमी छ, तेरा शब्दहरू असत्य र अझै पनि अशुद्ध छन् भन्‍ने देखाउँदछ। यदि, प्रार्थना गरिसकेपछि, तँलाई सन्तुष्टिको आभास हुन्छ भने, तेरा प्रार्थनाहरू परमेश्‍वरको निम्ति स्वीकार्य भएका छन् र तँमा परमेश्‍वरका आत्माले काम गरिरहनुभएको छ। परमेश्‍वरसमक्ष सेवा गर्ने व्यक्तिको रूपमा, तँ प्रार्थनारहित रहन सक्‍दैनस्। यदि तँ परमेश्‍वरसँगको बातचितलाई वास्तवमै अर्थपूर्ण र मूल्यवान् चीजको रूपमा हेर्छस् भने, के तँ प्रार्थनालाई त्याग गर्न सक्छस्? कोही पनि परमेश्‍वरसँगको बातचितरहित हुन सक्दैन। प्रार्थनाबिना तँ देहमा शैतानको बन्धनमा रहेर जिउँछस्; साँचो प्रार्थनाबिना तँ अन्धकारको प्रभावमा जिउँछस्। म आशा गर्दछु कि तिमी दाजुभाइ-दिदीबहिनीहरू प्रत्येक र हरेक दिन साँचो प्रार्थनामा संलग्न हुन सक्छौ। यो कुरा नियमहरू पालना गर्ने बारे होइन, बरु निश्चित परिणाम प्राप्त गर्ने बारे हो। के तँ प्रातकालीन प्रार्थना गर्न र परमेश्‍वरका वचनहरूको आनन्द लिन सबेरै उठ्न अलिकति निद्रा र सुखलाई त्याग गर्न इच्छुक छस्? यदि तँ शुद्ध हृदयले प्रार्थना गर्छस् र यसरी परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस् भने, उहाँको लागि तँ अझै बढी स्वीकार्य हुनेछस्। यदि हरेक बिहान तँ यसो गर्छस्, यदि हरेक दिन उहाँसँग कुराकानी गर्दै र संलग्न हुँदै, तैँले परमेश्‍वरलाई आफ्नो हृदय प्रदान गर्ने अभ्यास गर्छस् भने, परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञान निश्चित रूपमा वृद्धि हुनेछ, र तँ परमेश्‍वरको इच्छा बुझ्न अझै बढी सक्षम हुनेछस्। तँ भन्छस्: “हे परमेश्‍वर! म आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छु। म हजुरमा मात्रै मेरो सम्पूर्ण अस्तित्व अर्पण गर्न सक्छु, ताकि हजुरले हामीबाट महिमा प्राप्त गर्न सकून्, ताकि हजुरले हाम्रो यो समूहले दिएको गवाहीमा आनन्द लिन सकून्। म हजुरलाई बिन्ती गर्दछु कि हामीमा कार्य गर्नुहोस्, ताकि म हजुरलाई साँच्चिकै प्रेम गर्न एवं हजुरलाई सन्तुष्ट पार्न र मेरो लक्ष्यको रूपमा हजुरको खोजी गर्न सक्षम होऊँ।” जब तँ यो अभिभारा वहन गर्छस्, परमेश्‍वरले निश्चय नै तँलाई सिद्ध बनाउनुहुनेछ। तैँले केवल आफ्नै फाइदाको लागि मात्र प्रार्थना गर्नुहुँदैन, तर तैँले परमेश्‍वरको इच्छालाई पछ्याउन र उहाँलाई प्रेम गर्न पनि प्रार्थना गर्नुपर्दछ। सबैभन्दा साँचो प्रकारको प्रार्थना यही हो। के तँ परमेश्‍वरको इच्छा पछ्याउनको खातिर प्रार्थना गर्ने व्यक्ति होस्?

विगतमा, तँलाई प्रार्थना कसरी गर्ने भन्‍ने थाहा थिएन, अनि तैँले प्रार्थना गर्ने कुरालाई बेवास्ता गरिस्। अब, प्रार्थनाको लागि आफैलाई तालिम दिन तैँले जतिसक्दो प्रयास गर्नुपर्छ। यदि तँ परमेश्‍वरलाई प्रेम गर्न आफैभित्रको शक्तिलाई जगाउन असमर्थ छस् भने, तँ कसरी प्रार्थना गर्छस् त? तँ भन्छस्: “हे परमेश्‍वर, मेरो हृदय हजुरलाई साँचो प्रेम गर्न असमर्थ छ। म हजुरलाई प्रेम गर्न चाहन्छु, तर मसँग शक्तिको अभाव छ। मैले के गर्नुपर्छ? तपाईंले मेरो आत्मिक आँखा खोलिदिऊन् र तपाईंको आत्माले मेरो हृदयलाई चलाऊन्। यसलाई यस्तो बनाइदिनुहोस् कि म तपाईंसमक्ष उपस्थित हुँदा ती सबै चीज त्याग गरूँ जुन नकारात्मक छन्, म कुनै पनि व्यक्ति, विषय वा चीजद्वारा विवश हुन छोडूँ, र मेरो हृदयलाई पूर्ण रूपमा तपाईंसामु नङ्ग्याउन सकूँ, अनि यसलाई यस्तो बनाइदिनुहोस् कि म आफ्नो सम्पूर्ण अस्तित्व तपाईंसमक्ष अर्पण गर्न सकूँ। हजुरले मलाई जसरी जाँच्‍नुहुन्छ, त्यसरी नै जाँच्‍नुहोस्, म तयार छु। अब, म मेरो भविष्यका सम्भावनाहरूप्रति कुनै ध्यान दिन्नँ, न त म मृत्युको बन्धनमा नै छु। हजुरलाई प्रेम गर्ने हृदयको साथमा, म जीवनको मार्ग खोजी गर्न चाहन्छु। सबै विषय, सबै कुरा—यी सबै हजुरकै हातमा छन्; मेरो नियति हजुरकै हातमा छ र मेरो यो जीवन हजुरले आफ्नो हातमा राख्नुहुन्छ। अब, म हजुरलाई प्रेम गर्न चाहन्छु, र हजुरले आफूलाई प्रेम गर्ने अनुमति प्रदान गरे पनि या नगरे पनि, शैतानले जसरी हस्तक्षेप गरे पनि, म हजुरलाई प्रेम गर्न प्रतिबद्ध छु।” जब तैँले यस्तो समस्याको सामना गर्छस्, यसरी प्रार्थना गर्। यदि तैँले हरेक दिन यसरी प्रार्थना गरिस् भने, परमेश्‍वरलाई प्रेम गर्ने शक्ति बिस्तारै वृद्धि हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१७

कुनै व्यक्ति साँचो प्रार्थनामा कसरी प्रवेश गर्छ?

प्रार्थना गर्दा, परमेश्‍वरसमक्ष तेरो हृदय शान्त हुनुपर्दछ, र तँसँग इमानदार हृदय हुनुपर्दछ। तँ वास्तवमै परमेश्‍वरसँग कुराकानी गर्दै र प्रार्थना गर्दै गरिरहेको हुन्छस्—तैँले परमेश्‍वरलाई मीठो बोलीले फकाउने प्रयास गर्नुहुँदैन। प्रार्थना त्यो कुरामा केन्द्रित हुनुपर्दछ जुन परमेश्‍वरले अहिले नै पूरा गर्न चाहनुहुन्छ। तँलाई अझ बढी अन्तर्दृष्टि र ज्योति प्रदान गर्न अनुरोध गर्, तैँले प्रार्थना गर्दा परमेश्‍वरसामु गरेको सङ्कल्पसहित आफ्ना वास्तविक स्थिति र समस्याहरू उहाँकोअघि लिएर जा। प्रार्थना भनेको प्रक्रियाको पालना गर्नु होइन; यो त इमानदार हृदयले परमेश्‍वरको खोजी गर्नु हो। परमेश्‍वरले तेरो हृदयको सुरक्षा गरून् भनेर अनुरोध गर्, ताकि तेरो हृदय उहाँसामु प्रायः शान्त हुन सकोस्; उहाँले तँलाई जुन वातावरणमा राख्नुभएको छ, त्यसमा तैँले आफैलाई चिन्छस्, आफैलाई तुच्छ ठान्छस्, र आफैलाई त्याग्छस्, यसरी तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्ने र उहाँलाई वास्तवमै प्रेम गर्ने व्यक्ति बन्न सक्छस्।

प्रार्थनाको महत्त्व के हो?

प्रार्थना एउटा तरिका हो जसमा मानिसले परमेश्‍वरसँग सहकार्य गर्दछ, यो एक माध्यम हो जसद्वारा मानिसले परमेश्‍वरलाई पुकार्छ, र यो त्यो प्रक्रिया हो जसबाट मानिस परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित हुन्छ। के भन्न सकिन्छ भने, प्रार्थनाबिनाका मानिसहरू मृत हुन् जो आत्माविहीन हुन्छन्, यस कुराले उनीहरूसँग परमेश्‍वरद्वारा उत्प्रेरित हुने आन्तरिक क्षमताको अभाव छ भन्‍ने प्रमाणित गर्छ। प्रार्थनाबिना, एक सामान्य आध्यात्मिक जीवन बिताउन असम्भव हुनेथियो, पवित्र आत्माको कार्यको गतिलाई पछ्याउन सक्‍नु त परै जाओस्। प्रार्थनारहित हुनु भनेको परमेश्‍वरसँगको आफ्‍नो सम्बन्ध विच्छेद गर्नु हो, र यसले परमेश्‍वरको प्रशंसा जित्न असम्भव हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने एक व्यक्तिको रूपमा कसैले जति धेरै प्रार्थना गर्दछ अर्थात् ऊ परमेश्‍वरद्वारा जति धेरै उत्प्रेरित हुन्छ, ऊ त्यति नै सङ्कल्पले भरिनेछ र परमेश्‍वरबाट अन्तर्ज्ञान प्राप्त गर्न झनै नै सक्षम हुनेछ। फलस्वरूप, यस प्रकारको व्यक्ति पवित्र आत्माद्वारा धेरै चाँडो सिद्ध बनाइन सक्नेछ।

प्रार्थनाले कस्तो प्रभाव हासिल गर्नुपर्छ?

मानिसहरू प्रार्थनाको अभ्यास गर्न र प्रार्थनाको महत्त्व बुझ्न सक्षम हुन सक्दछन्, तर प्रार्थना प्रभावकारी हुनु सामान्य कुरा होइन। प्रार्थना भनेको कार्यविधि पालन गर्दै, वा परमेश्‍वरका वचनहरू पाठ गर्दै झारा टार्ने कुरा मात्र होइन। भन्नुको मतलब, प्रार्थना गर्नु भनेको निश्‍चित शब्दहरू घोक्नु र अरूको नक्कल गर्नु होइन। प्रार्थनामा, एक व्यक्ति त्यस्तो अवस्थामा पुग्नु पर्दछ, जहाँ आफ्नो हृदयलाई खुला राखेर परमेश्‍वरलाई प्रदान गर्न सकियोस्, ताकि यो परमेश्‍वरद्वारा उत्प्रेरित हुन सकोस्। यदि प्रार्थना प्रभावकारी बनाउनु छ भने, यो, परमेश्‍वरका वचनहरूको पठनमा आधारित हुनुपर्दछ। परमेश्‍वरका वचनहरू भित्रबाट प्रार्थना गरेर मात्र कुनै व्यक्तिले अझ महान् अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्दछ। साँचो प्रार्थनाका अभिव्यक्तिहरू यस प्रकार छन्‌: परमेश्‍वरले भन्नुभएका सबै कुराको तृष्णा गर्ने, र यसका साथै उहाँले जुन कुरा माग गर्नुहुन्छ त्यो पूरा गर्ने चाहना गर्ने हृदय हुनु; परमेश्‍वरले जुन कुरा घृणा गर्नुहुन्छ त्यो कुरालाई घृणा गर्नु र त्यसपछि, यस जगमाथि टेक्दै, यसबारे केही बुझाई प्राप्त गर्नु, र परमेश्‍वरले विस्तृत रूपमा वर्णन गर्नुभएका सत्यताहरूबारे केही ज्ञान र स्पष्टता प्राप्त गर्नु। जब सङ्कल्प, विश्‍वास, ज्ञान, र प्रार्थनाको अनुसरण गर्ने अभ्यासको मार्ग हुन्छ, तब मात्र यसलाई साँचो प्रार्थना भन्न सकिन्छ, र केवल यस प्रकारको प्रार्थना मात्रै प्रभावकारी हुन सक्‍छ। तथापि, प्रार्थना परमेश्‍वरका वचनहरूको आनन्दमा निर्माण हुनुपर्दछ, यो परमेश्‍वरसँग उहाँका वचनहरूमा कुराकानी गर्ने आधारमा स्थापित हुनुपर्दछ, र हृदय परमेश्‍वरको खोजी गर्न र उहाँसामु शान्त हुन सक्षम हुनुपर्दछ। यस प्रकारको प्रार्थना परमेश्‍वरसँगको साँचो बातचितको चरणमा प्रवेश गरिसकेको हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१८

प्रार्थनाबारे सबैभन्दा आधारभूत ज्ञान:

१. मनमा जे आउँछ आँखा चिम्लेर त्यही नभन्। तेरो हृदयमा एक बोझ हुनुपर्दछ अर्थात् जब तँ प्रार्थना गर्छस् तेरो एउटा उद्देश्य हुनुपर्छ।

२. प्रार्थनामा परमेश्‍वरका वचनहरू समावेश हुनुपर्दछ; प्रार्थना, परमेश्‍वरको वचनमा आधारित हुनुपर्दछ।

३. प्रार्थना गर्दा, तैँले पुराना विषयहरूलाई कण्ठ गरेर भन्‍नुहुँदैन। तेरा प्रार्थनाहरू परमेश्‍वरका वर्तमान वचनहरूसँग सम्बन्धित हुनुपर्छ, र जब तँ प्रार्थना गर्छस्, परमेश्‍वरलाई तेरो अन्तस्करणका विचारहरू बता।

४. सामूहिक प्रार्थना एउटा विषयमा केन्द्रित हुनुपर्छ, जुन अपरिहार्य रूपमा नै पवित्र आत्माको वर्तमान कार्य हो।

५. सबै मानिसहरूले मध्यस्थ प्रार्थना गर्न सिक्नुपर्दछ। यो, परमेश्‍वरको इच्छाको ख्याल राख्ने एउटा तरिका पनि हो।

व्यक्तिको प्रार्थना जीवन, प्रार्थनाको महत्त्व र प्रार्थनाको आधारभूत ज्ञानको बुझाइमा आधारित हुन्छ। दैनिक जीवनमा, तेरा आफ्नै कमी-कमजोरीहरूको लागि बारम्बार प्रार्थना गर्, तेरो जीवन स्वभावमा परिवर्तन ल्याउनको निम्ति प्रार्थना गर्, र परमेश्‍वरका वचनसम्‍बन्धी तेरो ज्ञानको आधारमा प्रार्थना गर्। हरेक व्यक्तिले आ-आफ्नै प्रार्थनाको जीवन स्थापित गर्नुपर्दछ, उनीहरूले परमेश्‍वरका वचनहरू जान्नको लागि प्रार्थना गर्नुपर्छ, र उनीहरूले परमेश्‍वरको कामको ज्ञानको खोजी गर्न प्रार्थना गर्नुपर्दछ। तेरा व्यक्तिगत परिस्थितिहरू परमेश्‍वरसमक्ष खुलस्त राख् र तैँले प्रार्थना गर्ने तरिकामा अनावश्यक चासो नदिई वास्तविक बन्, र मुख्य कुरा भनेको सही बुझाइ प्राप्त गर्नु हो, र परमेश्‍वरका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्नु हो। आत्मिक जीवनमा प्रवेश गर्न खोज्‍ने व्यक्तिले धेरै प्रकारले प्रार्थना गर्न सक्षम हुनुपर्छ। मौन प्रार्थना, परमेश्‍वरका वचनहरूमाथि चिन्तन गर्नु, परमेश्‍वरको कार्यलाई जान्‍नु—यी सबै सामान्य आत्मिक जीवनमा प्रवेश प्राप्त गर्नका खातिर गरिने आत्मिक सङ्गतिको उद्देश्यपूर्ण कार्यका उदाहरणहरू हुन्, जसले सदैव परमेश्‍वरसामु एक व्यक्तिको अवस्थालाई सुधार गर्छन् र जीवनमा अहिलेसम्मकै महान् प्रगति गर्न हौसला प्रदान गर्दछन्। सङ्क्षेपमा भन्नुपर्दा, तैँले गर्ने जुनसुकै काम, चाहे यो परमेश्‍वरका वचनहरू खाने र पिउने होस्, वा मौन रूपले प्रार्थना गर्ने होस्, वा ठूलो स्वरमा घोषणा गर्ने होस्, ती सबै तँलाई परमेश्‍वरका शब्दहरू, उहाँको कार्य, र उहाँले तँमा हासिल गर्न चाहनुभएको कुरालाई स्पष्ट रूपमा देख्न सक्षम पार्नका लागि हुन्। अझ महत्त्वपूर्ण कुरा, तैँले गर्ने सबै कुरा परमेश्‍वरले माग गर्ने स्तरहरूमा पुग्न र तेरो जीवनलाई नयाँ उचाइहरूमा उठाउनको लागि गरिन्छन्। परमेश्‍वरले मानिसबाट माग गर्नुहुने न्यूनतम कुरा भनेको ऊ आफ्नो हृदय उहाँसामु खोल्न सक्षम होस् भन्‍ने हो। यदि मानिसले परमेश्‍वरलाई उसको साँचो हृदय प्रदान गर्दछ र उसको हृदयमा वास्तवमा जे छ त्यो बोल्दछ भने, परमेश्‍वर उसमा कार्य गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वरले जे चाहना गर्नुहुन्छ त्यो मानिसको कुटिल हृदय होइन, तर शुद्ध र इमानदार हृदय हो। यदि मानिसले आफ्नो हृदयबाट परमेश्‍वरसँग कुरा गर्दैन भने, उहाँले उसको हृदयलाई प्रेरित गर्नुहुनेछैन वा उसमा काम गर्नुहुनेछैन। तसर्थ, प्रार्थनाको मुख्य विषय भनेको परमेश्‍वरलाई तेरा कमजोरीहरू वा विद्रोही स्वभावबारे बताउँदै आफूलाई उहाँसामु पूर्ण रूपमा खुला राख्दै तेरो हृदयदेखि परमेश्‍वरसँग कुरा गर्नु हो; तब मात्र परमेश्‍वरले तेरो प्रार्थनामा चासो राख्नुहुनेछ, अन्यथा उहाँले आफ्नो अनुहार तँबाट लुकाउनुहुनेछ। प्रार्थनाको लागि न्यूनतम मापदण्ड भनेको तैँले आफ्नो हृदयलाई परमेश्‍वरसमक्ष शान्त राख्न सक्षम हुनुपर्दछ, र यो, परमेश्‍वरबाट अलग हुनुहुँदैन भन्‍ने हो। के हुन सक्छ भने, यस चरणको अवधिमा, तैँले नयाँ वा उच्च अन्तर्दृष्टि प्राप्त गर्दैनस्, तर त्यसबेला तैँले यथास्थिति कायम राख्नको लागि प्रार्थनाको उपयोग गर्नैपर्दछ—तँ पछाडि हट्नुहुँदैन। तैँले प्राप्त हासिल गर्नुपर्ने सबैभन्दा सानो कुरा यही हो। यदि तैँले यो पनि पूरा गर्न सक्दैनस् भने, यसले तेरो आत्मिक जीवन सही मार्गमा छैन भन्‍ने प्रमाणित गर्छ। परिणामस्वरूप, तँ पहिले आफूसँग भएको दर्शनलाई कायम राख्न असमर्थ हुनेछस्, तैँले परमेश्‍वरमाथिको विश्‍वास गुमाउनेछस्, र त्यसपश्‍चात तेरो सङ्कल्प लोप हुनेछ। तँ आत्मिक जीवनमा प्रवेश गरेको छस् कि छैनस् भन्‍ने कुराको एउटा सङ्केत भनेको तेरा प्रार्थनाहरू सही मार्गमा छन् कि छैनन् भनेर हेर्नु हो। सबै मानिसहरू यस यथार्थतामा प्रवेश गर्नैपर्छ; उनीहरू सबैले आफूलाई सचेतनापूर्वक आफूहरूलाई प्रार्थनामा तालिम दिने काम गर्नैपर्दछ, निष्क्रिय रूपमा पर्खेर होइन, तर ध्यानपूर्वक पवित्र आत्माद्वारा उत्प्रेरित हुन खोजेर। त्यसपछि मात्र उनीहरू साँचो रूपले परमेश्‍वरको खोजी गर्ने मानिसहरू हुनेछन्।

जब तँ प्रार्थना गर्न सुरु गर्छस्, एकै झट्कामा सबै प्राप्त गर्ने आशा गर्दै आफैलाई असफल नबना। तैँले आफ्नो मुख खोल्नासाथै तँ पवित्र आत्माद्वारा उत्प्रेरित हुनेछस्, वा तैँले अन्तर्ज्ञान वा ज्योति प्राप्त गर्नेछस्, वा परमेश्‍वरले तँमाथि अनुग्रह वर्षाउनुहुनेछ भन्‍ने आशा गरेर तैँले आवश्यकताभन्दा बढी माग गर्न सक्दैनस्। त्यसो हुनेछैन; परमेश्‍वरले अलौकिक कामहरू गर्नुहुन्न। परमेश्‍वरले उहाँको आफ्नै समयमा मानिसहरूका प्रार्थनाहरू स्वीकार गर्नुहुन्छ, र कहिलेकाहीँ तँ उहाँसामु निष्ठावान् छस् कि छैनस् भनेर तेरो विश्‍वासको परीक्षण गर्नुहुन्छ। जब तँ प्रार्थना गर्छस् तँसँग विश्‍वास, दृढ निश्‍चयता, र सङ्कल्प हुनै पर्दछ। धेरै मानिसहरू, जब भर्खरै तालिम लिन सुरु गरेका हुन्छन्, तिनीहरू हरेस खान्छस् किनकि उनीहरू पवित्र आत्माद्वारा उत्प्रेरित हुन असफल हुन्छन्। यसले काम गर्दैन! तैँले लगनशील भएर प्रयत्न गर्नुपर्दछ; तैँले पवित्र आत्माको गतिशीलता महसुस गर्न र खोजी एवं अन्वेषण गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ। कहिलेकाहीँ, तेरो अभ्यासको मार्ग सही हुँदैन र कहिलेकाहीँ, तेरा व्यक्तिगत मनसायहरू एवं धारणाहरू परमेश्‍वरसमक्ष दृढ रूपमा कायम रहन सक्दैनन्, र त्यसैले परमेश्‍वरका आत्माले तँलाई उत्प्रेरित गर्न सक्‍नुहुन्‍न। अरू समयमा, परमेश्‍वरले तँ निष्ठावान् छस् कि छैनस् भन्‍ने हेर्नुहुन्छ। सङ्क्षेपमा भन्दा, तालिममा तैँले ठूलो मूल्य चुकाउनुपर्दछ। यदि तँ आफ्नो अभ्यासको पथबाट अचानक बरालिँदैछस् भन्‍ने पत्ता लगाइस् भने, तैँले आफ्नो प्रार्थना गर्ने तरिका बदल्न सक्‍छस्। जबसम्म तँ इमानदार हृदयले खोजी गर्छस् र प्राप्त गर्न उत्कट इच्‍छा राख्छस्, तबसम्‍म पवित्र आत्माले तँलाई निश्‍चित रूपमा यस यथार्थतामा लैजानुहुन्छ। कहिलेकाहीँ तँ निष्कपट हृदयले प्रार्थना गर्छस् तर तैँले विशेष रूपले उत्प्रेरित भएको महसुस गर्दैनस्। यस्ता समयहरूमा, परमेश्‍वरले तेरा प्रार्थनाहरूलाई हेर्नुहुन्छ भन्‍ने विश्‍वास गर्दै तँ विश्‍वासमा निर्भर हुनुपर्छ; तँ आफ्ना प्रार्थनाहरूमा अटल रहनुपर्छ।

इमानदार व्यक्ति बन्; तेरो हृदयमा भएको छलकपटबाट छुट्कारा पाउन परमेश्‍वरलाई प्रार्थना गर्। प्रार्थनाको माध्यमबाट आफूलाई सधैँ शुद्ध पार्, प्रार्थनाको माध्यमबाट परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित बन्, र तेरो स्वभाव बिस्तारै परिवर्तन हुनेछ। साँचो आध्यात्मिक जीवन प्रार्थनाको जीवन हो—यो त्यस्तो पवित्र आत्माद्वारा उत्प्रेरित जीवन हो। पवित्र आत्माद्वारा उत्प्रेरित हुने प्रक्रिया नै मानिसको स्वभाव परिवर्तन गर्ने प्रक्रिया हो। पवित्र आत्माद्वारा उत्प्रेरित नभएको जीवन आत्मिक जीवन होइन, तर केवल धार्मिक विधिविधानको जीवन मात्रै हो। पवित्र आत्माद्वारा प्रायजसो प्रेरित हुने, र पवित्र आत्माद्वारा ज्ञानी एवं प्रज्वलित हुनेहरू मात्रै, आत्मिक जीवनमा प्रवेश गरेका हुन्छन्। प्रार्थना गर्दा मानिसको स्वभाव निरन्तर रूपमा परिवर्तन हुन्छ। परमेश्‍वरका आत्माले उसलाई जति धेरै उत्प्रेरित गर्नुहुन्छ, ऊ त्यति नै सक्रिय र आज्ञाकारी बन्दछ। यसकारण, उसको हृदय पनि बिस्तारै शुद्ध हुनेछ, र उसको स्वभाव बिस्तारै परिवर्तन हुनेछ। साँचो प्रार्थनाको प्रभाव यस्तै हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४१९

परमेश्‍वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन। यो, वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नुपर्ने वा सिक्‍नुपर्ने आवश्यक पाठ हो। परमेश्‍वरको अघि तेरो हृदयलाई शान्त पार्ने कुरामा प्रवेश गर्ने मार्गहरू निम्न रहेका छन्:

१. बाहिरी कुराबाट आफ्नो हृदयलाई मुक्त गर्। परमेश्‍वरको अघि शान्त बन्, र उहाँलाई प्रार्थना गर्दा तेरो ध्यान यताउता नडुला।

२. परमेश्‍वर अगाडि तेरो हृदय शान्त राखेर उहाँका वचनहरू खा, पिई र आनन्द उठा।

३. परमेश्‍वरको प्रेमबारे ध्यान र चिन्तन गर् र उहाँको कार्यबारे हृदयमा मनन गर्।

सर्वप्रथम, प्रार्थनाको पक्षबाट सुरु गर्। आफ्नो ध्यान यताउता नडुलाई र निश्चित समयमा प्रार्थना गर्। तँसँग समय जतिसुकै कम भए पनि, तँ काममा जतिसुकै व्यस्त भए पनि, वा तँमाथि जेसुकै आइपरे पनि, हरेक दिन सामान्य रूपमा नै प्रार्थना गर्, र सामान्य रूपमा नै परमेश्‍वरका वचनहरू खा र पिई। परमेश्‍वरका वचनहरू तैँले खाँदा र पिउँदासम्‍म, तेरो परिवेश जेसुकै भए पनि, तैँले तेरो आत्मामा ठूलो आनन्द पाउनेछस्, र तँ तेरो वरिपरिका मानिस, घटना, वा काम-कुराहरूले विचलित हुनेछैनस्। जब तँ परमेश्‍वरलाई आफ्नो हृदयमा सामान्य तरिकाले चिन्तन गर्छस्, बाहिर भइरहेको कुराले तँलाई बाधा दिनेछैन। कद हुनुको अर्थ यही हो। प्रार्थनाबाट सुरु गर्: परमेश्‍वरको अगाडि शान्त भएर प्रार्थना गर्नु नै सबैभन्दा फलदायी हुन्छ। त्यसपछि, परमेश्‍वरका वचनहरू खा र पिई, परमेश्‍वरका वचनहरू मनन गर्दै त्यसमा प्रकाश खोज्, अभ्यासको मार्ग खोज्, परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुको उद्देश्य खोज्, र दायाँबायाँ नलागी ती बुझ्। सामान्यतया, बाहिरी कुराहरूबाट विचलित नभई हृदयमा परमेश्‍वरको नजिक आउन, उहाँको प्रेमको चिन्तन गर्न र उहाँका वचनबारे विचार गर्न सक्‍नु तेरो लागि सामान्य हुनुपर्दछ। जब तेरो हृदयले निश्चित मात्रामा शान्ति हासिल गरेको हुन्छ, तेरो परिवेश जस्तोसुकै भए पनि, अन्ततः तेरो हृदय प्रशंसाले नभरिञ्‍जेलसम्म, तँ शान्त भएर ध्यान लगाउन सक्छस् र आफूभित्र परमेश्‍वरको प्रेमको चिन्तन गर्न र साँचो रूपमा उहाँको नजिक जान सक्छस्, र यो प्रार्थनाभन्दा पनि राम्रो हो। त्यसपछि तँसँग निश्‍चित कद हुनेछ। यदि तैँले माथि व्याख्या गरिएका अवस्थाहरू हासिल गर्न सकिस् भने, यो तेरो हृदय परमेश्‍वर अगाडि वास्तवमै शान्त छ भन्‍ने कुराको प्रमाण हुनेछ। यो प्रथम आधारभूत पाठ हो। मानिसहरू परमेश्‍वर अगाडि शान्त हुन सकेपछि मात्रै तिनीहरूलाई पवित्र आत्माले स्पर्श दिन सक्‍नुहुन्छ, अनि पवित्र आत्माले अन्तर्दृष्टि र ज्योति दिन सक्‍नुहुन्छ, अनि मात्रै तिनीहरूले परमेश्‍वरसँग साँचो सङ्गति गर्न, साथै परमेश्‍वरको इच्छा र पवित्र आत्माको मार्गदर्शन प्राप्‍त गर्न सक्छन्। त्यसपछि तिनीहरू आफ्नो आत्मिक जीवनको सही मार्गमा प्रवेश गरेका हुनेछन्। परमेश्‍वरको अगाडि जिउने तिनीहरूको तालिम जब निश्चित गहिराइमा पुग्छ, र तिनीहरूले आफूलाई त्याग्न, घृणा गर्न, सराप्‍न, र परमेश्‍वरका वचनहरूमा जिउन सक्छन्, तब परमेश्‍वरको अघि तिनीहरूको हृदय साँचो रूपमा शान्तिमा हुन्छ। आफैलाई घृणा गर्न सक्‍नु, आफूलाई सराप्‍न सक्‍नु, र आफैलाई त्याग्‍न सक्‍नु भनेको परमेश्‍वरको कार्यबाट हासिल गर्ने प्रभाव हो, र मानिसहरूले आफ्‍नै प्रयासमा यसो गर्न सक्दैनन्। तसर्थ, परमेश्‍वरको अगाडि हृदयलाई शान्त पार्ने अभ्यास मानिसहरूले तत्कालै प्रवेश गर्नुपर्ने पाठ हो। कतिपय मानिसले परमेश्‍वरको अगाडि आफ्ना हृदयलाई साधारण हिसाबमा शान्त पार्न नसक्ने मात्रै होइन, तर प्रार्थना गर्दा समेत परमेश्‍वरको अघि आफ्ना हृदयलाई शान्त पार्न सक्दैनन्। यो परमेश्‍वरको मापदण्डभन्दा निकै तलको कुरा हो! यदि परमेश्‍वरको अघि तेरो हृदय शान्त हुन सक्दैन भने, के तैँले पवित्र आत्माको स्पर्श प्राप्त गर्न सक्छस्? यदि तँ परमेश्‍वरको अगाडि शान्त हुन नसक्ने मानिस होस् भने, कोही आउँदा अथवा अरूले कुराकानी गर्दा तँ अलमलिने सम्‍भावना हुन्छ, र अरूले काम गर्दा तेरो ध्यान खिचिन सक्छ, जुन अवस्थामा तँ परमेश्‍वरको उपस्थितिमा जिउँदैनस्। यदि तेरो हृदय परमेश्‍वरको अगाडि वास्तवमै शान्त छ भने, बाहिरी दुनियाँमा भइरहेका कुनै पनि कुराले तँलाई बाधा हुनेछैन, वा तँ कुनै पनि व्यक्ति, घटना, वा कुराबाट गाँजिनेछैनस्। यदि तँ यसमा प्रवेश गरेको छस् भने, ती नकारात्मक अवस्था र सबै नकारात्मक कुराहरू—मानव धारणा, जीवन दर्शन, मानिसहरूबीचको असामान्य सम्‍बन्धहरू, अनि उपाय र विचारहरू इत्यादि—स्वतः हराएर जानेछन्। तँ सधैँ परमेश्‍वरका वचनहरूमा चिन्तन गरिरहने भएकोले, र तेरो हृदय सधैँ परमेश्‍वरतर्फ नजिकिरहने हुनाले र सधैँ परमेश्‍वरका वर्तमान वचनहरूले भरिने भएकाले, तैँले थाहै नपाई ती नकारात्मक कुराहरू तँबाट हराएर जानेछन्। जब नयाँ र सकारात्मक कुराहरूले तँलाई भर्छन्, पुराना नकारात्मक कुराहरूको लागि कुनै ठाउँ हुनेछैन, त्यसकारण ती नकारात्मक कुराहरूलाई कुनै ध्यान नदे। तिनीहरूलाई नियन्त्रण गर्नका लागि तैँले कुनै प्रयास गर्नुपर्दैन। तँ परमेश्‍वरको अगाडि शान्त हुने कार्यमा केन्द्रित हुनुपर्छ, तैँले सक्ने जति परमेश्‍वरका वचनहरू खानु, पिउनु, र आनन्द गर्नुपर्छ, तैँले सक्ने जति परमेश्‍वरको प्रशंसाका भजनहरू गाउनुपर्छ, र परमेश्‍वरलाई तँमा काम गर्ने मौका दिनुपर्छ, किनभने अहिले परमेश्‍वरले मानवजातिलाई व्यक्तिगत रूपमा नै सिद्ध बनाउन चाहनुहुन्छ, र उहाँले तेरो हृदय प्राप्‍त गर्न चाहनुहुन्छ; उहाँको आत्माले तेरो हृदयलाई चलाउँछ र यदि, पवित्र आत्माको मार्गदर्शनको अनुसरण गर्दै तँ परमेश्‍वरको उपस्थितिमा जिउन आउँछस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्। यदि तैँले परमेश्‍वरका वचनहरूमा जिउने कुरामा ध्यान दिइस् र पवित्र आत्मको अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्न सत्यता बारे सङ्गतिमा थप सहभागी भइस् भने, ती धार्मिक धारणा र तेरो आत्म-धर्मी र आत्माभिमानी सबै हराउनेछ, र तैँले परमेश्‍वरका लागि आफूलाई कसरी समर्पित गर्ने, परमेश्‍वरलाई कसरी प्रेम गर्ने, र परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउने भनेर थाहा पाउनेछस्। र तैँले थाहै नपाई, परमेश्‍वरभन्दा बाहिरी कुराहरू तेरो विवेकबाट सम्पूर्ण रूपमा उडेर जानेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२०

परमेश्‍वरका वर्तमान वचनहरू खाँदै र पिउँदै उहाँका वचनहरूमा चिन्तन र प्रार्थना गर्नु परमेश्‍वरको अगाडि शान्त हुने पहिलो खुड्किलो हो। यदि तँ परमेश्‍वरको अगाडि वास्तवमै शान्त हुन सक्छस् भने, पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति तँसँग हुनेछ। सबै आत्मिक जीवन परमेश्‍वरको अगाडि शान्त भएर हासिल हुन्छ। प्रार्थना गर्दा, तँ परमेश्‍वरको अगाडि शान्त हुनुपर्छ, अनि मात्रै तैँले पवित्र आत्माको स्पर्श पाउन सक्छस्। जब तँ परमेश्‍वरको अगाडि शान्त हुन्छस्, जब तँ परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्न सक्छस्, र उहाँका वचनहरूको साँचो बुझाइ हासिल गर्न सक्छस्। मनन र सङ्गति र तेरो हृदयमा परमेश्‍वरको नजिक जाने तेरा नियमित गतिविधिहरूमा जब तँ परमेश्‍वरको उपस्थितिमा शान्त हुन्छस्, तैँले परमेश्‍वरसँगको साँचो निकटता प्राप्त गर्न, परमेश्‍वरको प्रेम र उहाँको कार्यको साँचो बुझाइ प्राप्‍त गर्न र परमेश्‍वरका अभिप्रायहरूप्रति साँचो ध्यान र वास्ता देखाउन सक्षम हुनेछस्। तँ जति सामान्य रूपमा परमेश्‍वरको अगाडि शान्त हुन सक्छस्, तैँले त्यति नै धेरै ज्योति प्राप्‍त गर्नेछस् र तेरो आफ्नो भ्रष्ट स्वभाव, तँमा भएको कमजोरी, तैँले प्रवेश गर्नुपर्ने कुरा, तैँले गर्नुपर्ने कार्य, र तेरो खराबी कहाँ छ भनेर त्यति नै धेरै बुझ्न सक्‍नेछस्। यी सबै कुरा परमेश्‍वरको उपस्थितिमा शान्त भएर हासिल गर्न सकिन्छ। यदि तैँले परमेश्‍वरको अगाडि तेरो शान्तिमा वास्तवमै गहिराइ हासिल गरिस् भने, तैँले आत्माका निश्चित रहस्यहरू बुझ्न, तँमा हाल परमेश्‍वरले के गर्ने इच्छा गरिरहनुभएको छ भनेर बुझ्न, परमेश्‍वरका वचनहरूको अझ गहन बुझाइ प्राप्त गर्न, उहाँका वचनहरूको आन्तरिक तत्व, उहाँका वचनहरूको सार, उहाँका वचनहरूको अस्तित्वलाई बुझ्न सक्‍नेछस्, र तैँले अभ्यासको मार्गलाई अझै स्पष्ट र सटीक रूपमा देख्न सक्‍नेछस्। तँ तेरो आत्मामा शान्त हुने विषयमा पर्याप्‍त गहिराइ हासिल गर्न असफल भइस् भने, तँ पवित्र आत्माद्वारा थोरै मात्र उत्प्रेरित हुनेछस्; तैँले भित्री रूपमा बलियो अनुभूति गर्नेछस् र केही मात्रामा आनन्द र शान्ति महसुस गर्नेछस्, तर तैँले कुनै पनि कुरालाई गहन रूपमा बुझ्न सक्नेछैनस्। मैले पहिले भनेको छु: यदि मानिसहरूले तिनीहरूको सामर्थ्यको प्रत्येक एकाइलाई काममा लगाउन सकेनन् भने, तिनीहरूलाई मेरो आवाज सुन्न वा मेरा अनुहार हेर्न गाह्रो हुनेछ। यसले परमेश्‍वरको अगाडि शान्तिमा गहिराइ हासिल गर्नुलाई जनाउँछ, र सतही प्रयास गर्नुलाई होइन। परमेश्‍वरको उपस्थितिमा वास्तवमै शान्त हुन सक्ने व्यक्तिले आफूलाई सबै सांसारिक बन्धनबाट मुक्त गर्न सक्छ, र ऊ परमेश्‍वरद्वारा प्राप्‍त गरिन सक्छ। परमेश्‍वरको उपस्थितिमा शान्तिमा हुन नसक्‍ने मानिसहरू अवश्यै दुराचारी र असंयमी हुन्छन्। परमेश्‍वरको अगाडि शान्त हुन सक्ने सबै मानिस परमेश्‍वरको अगाडि धर्मनिष्ठ र परमेश्‍वरको तृष्णा गर्ने हुन्छन्। परमेश्‍वरको अगाडि शान्त रहने व्यक्तिहरूले मात्रै जीवनलाई महत्त्व दिन्छन्, आत्माबाटै सङ्गतिलाई महत्त्व दिन्छन्, तिनीहरू परमेश्‍वरका वचनहरूप्रति तिर्खाएका हुन्छन्, र सत्यको खोजी गर्छन्। परमेश्‍वरको अगाडि शान्त रहने कुरालाई महत्त्व नदिने र शान्त रहन अभ्यास नगर्ने जोकोही व्यक्ति व्यर्थ र सतही हुन्छ, संसारसँग जोडिएको र जीवनविहीन हुन्छ; तिनीहरूले हामी परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर भने पनि, ओठेसेवा मात्रै गरिरहेका हुन्छन्। परमेश्‍वरले अन्त्यमा जसलाई सिद्ध र पूर्ण गर्नुहुन्छ, तिनीहरू उहाँको उपस्थितिमा शान्त रहन सक्ने व्यक्तिहरू हुन्। तसर्थ, परमेश्‍वरको अगाडि शान्त रहनेहरूलाई ठूला आशिषहरूद्वारा अनुग्रह गरिन्छ। दिनभरिमा परमेश्‍वरका वचनहरू खान र पिउनका लागि विरलै समय निकाल्ने, बाहिरी मामिलामा व्यस्त रहने अनि जीवन प्रवेशलाई थोरै महत्त्व दिने मानिसहरू—तिनीहरू सबै भविष्यको वृद्धिको सम्भावना नभएका ढोङ्गी हुन्। परमेश्‍वरको अगाडि शान्त रहने अनि परमेश्‍वरसँग सच्‍चा रूपमै सङ्गति गर्ने मानिसहरू नै परमेश्‍वरका मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२१

परमेश्‍वरका वचनहरूलाई तेरो जीवनको रूपमा स्वीकार गर्न उहाँको अगाडि आउनका लागि, तँ पहिले परमेश्‍वरको अगाडि शान्त हुनुपर्छ। तँ परमेश्‍वरको अगाडि शान्त रहेपछि मात्रै उहाँले तँलाई अन्तर्दृष्टि र ज्ञान दिनुहुनेछ। परमेश्‍वरको अगाडि मानिसहरू जति धेरै शान्तिमा रहन्छन्, उहाँको अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्न तिनीहरू उति नै धेरै सक्षम हुन्छन्। यी सबै कुराका लागि मानिसहरूसँग धर्मनिष्ठा र विश्‍वास हुनुपर्छ; त्यसरी मात्रै तिनीहरूलाई सिद्ध बनाउन सकिन्छ। आत्मिक जीवनमा प्रवेश गर्ने आधारभूत पाठ भनेको परमेश्‍वरको उपस्थितिमा शान्त रहनु हो। परमेश्‍वरको उपस्थितिमा तँ शान्त रहन सकिस् भने मात्रै तेरा सबै आत्मिक तालिम प्रभावकारी हुनेछ। यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त रहन सक्दैन भने, तैँले पवित्र आत्माको कार्य प्राप्‍त गर्न सक्‍नेछैनस्। तैँले जेसुकै गरिरहेको भए तापनि, यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त छ भने, तँ परमेश्‍वरको उपस्थितिमा जिउने व्यक्ति होस्। तैँले जेसुकै गरिरहेको भए तापनि, यदि तेरो हृदय परमेश्‍वरको अगाडि शान्त छ अनि परमेश्‍वरको नजिक रहन्छ भने, यसले तँ परमेश्‍वरको अगाडि शान्त रहने व्यक्ति होस् भन्‍ने प्रमाणित गर्छ। यदि, तँ अरूसँग बोल्दा, वा हिँड्दा, “मेरो हृदय परमेश्‍वरको नजिक हुँदैछ, अनि बाहिरी कुराहरूमा केन्द्रित छैन, र म परमेश्‍वरको अगाडि शान्त रहन सक्छु” भनेर भन्न सक्छस् भने, तँ परमेश्‍वरको अगाडि शान्त रहन सक्ने व्यक्ति होस्। तेरो हृदयलाई बाहिरी मामिलाहरूमा तान्ने कुनै पनि कुरा वा तेरो हृदयलाई परमेश्‍वरबाट छुट्याउने मानिसहरूसँग संलग्न नबन्। तेरो हृदयलाई परमेश्‍वरको नजिक हुनबाट बाधा दिने जुनसुकै कुरा भए पनि, त्यसलाई पाखा लगा, वा त्यसबाट परै बस्। यसो गर्नु तेरो जीवनको लागि ठूलो लाभ हुन्छ। पवित्र आत्माको महान् काम हुने सटीक समय, परमेश्‍वरले मानिसहरूलाई व्यक्तिगत रूपमा सिद्ध गर्नुहुने समय अहिले नै हो। यदि यो क्षणमा तँ परमेश्‍वरको अगाडि शान्त हुन सक्दैनस् भने, तँ परमेश्‍वरको सिंहासन अगाडि फर्कने व्यक्ति होइनस्। यदि तैँले परमेश्‍वरभन्दा बाहेकको अन्य कुराको खोजी गरिस् भने, तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुने कुनै अवस्था रहनेछैन। परमेश्‍वरबाट यस्ता वाणीहरू सुन्न सक्ने तर आज परमेश्‍वरको अगाडि शान्त रहन असफल हुनेहरू सत्यतालाई र परमेश्‍वरलाई प्रेम नगर्ने मानिसहरू हुन्। यदि तैँले आफूलाई अहिले अर्पण गर्दैनस् भने, तँ के पर्खिरहेको छस्? आफूलाई अर्पण गर्नु भनेको परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त पार्नु हो। यो नै साँचो अर्पण हुनेछ। अहिले जसले आफ्नो हृदय परमेश्‍वरमा अर्पण गर्छ, उसलाई परमेश्‍वरले निश्चित रूपमा सिद्ध तुल्याउनुहुन्छ। जेसुकै भए पनि, कुनै पनि कुराले तँलाई बाधा दिन सक्दैन; तँलाई काटछाँट गर्न वा तेरो निराकरण गर्न होस्, वा तैँले नैराश्यता वा असफलता भोग्नु परोस्, परमेश्‍वरको अगाडि तेरो हृदय सदैव शान्त हुनुपर्छ। तँलाई मानिसहरूले जस्तोसुकै व्यवहार गरे पनि, परमेश्‍वरको अगाडि तेरो हृदय शान्त हुनुपर्छ। तैँले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि—तँ विपत्ति, कष्ट, अत्याचार, वा विभिन्न परीक्षाहरूबाट प्रभावित भए पनि—तेरो हृदय परमेश्‍वरको अगाडि सदैव शान्त हुनुपर्छ; सिद्ध बनाइने मार्गहरू यिनै हुन्। तँ परमेश्‍वरको अगाडि वास्तविक रूपमा शान्त हुँदा मात्रै परमेश्‍वरका वर्तमान वचनहरू तेरो सामु स्पष्ट हुनेछन्। त्यसपछि तैँले अझ सही तरिकाले र दायाँबायाँ नभई, पवित्र आत्माको ज्योति र अन्तर्दृष्टिको अभ्यास गर्न सक्छस्, परमेश्‍वरका अभिप्रायहरूलाई अझ स्पष्टताका साथ बुझ्न सक्छस् जसले तेरो सेवालाई थप स्पष्ट दिशा प्रदान गर्नेछ, पवित्र आत्माको प्रभाव र मार्गदर्शनलाई अझ सटीक ढङ्गले बुझ्न सक्छस्, र पवित्र आत्माको मार्गदर्शन अन्तर्गत जिउने कुरामा ढुक्क हुन सक्छस्। परमेश्‍वरको अगाडि वास्तवमै शान्त रहँदा प्राप्‍त गर्न सकिने प्रभावहरू यस्ता हुन्छन्। मानिसहरू परमेश्‍वरका वचनहरूबारे स्पष्ट नहुनु, अभ्यास गर्ने मार्ग नहुनु, परमेश्‍वरका अभिप्रायहरू बुझ्न असफल हुनु, वा अभ्यासका सिद्धान्तहरूको कमी हुनुका कारण तिनीहरूको हृदय परमेश्‍वरको अगाडि शान्त नभएर हो। परमेश्‍वरको अगाडि शान्त हुनुको उद्देश्य भनेको गम्भीर र व्यावहारिक हुनु हो, परमेश्‍वरका वचनहरूमा शुद्धता र पारदर्शीता खोज्नु हो, र अन्ततः सत्यता बुझ्ने र परमेश्‍वरलाई चिन्ने अवस्थामा आइपुग्नु हो।

यदि तेरो हृदय परमेश्‍वरको अगाडि प्रायजसो शान्त हुँदैन भने, उहाँसँग तँलाई सिद्ध बनाउने कुनै उपाय हुँदैन। सङ्कल्पहीन हुनु भनेको हृदय नहुनुसरह हो, र हृदय नभएको व्यक्ति परमेश्‍वरको अगाडि शान्त रहन सक्दैन; यस्तो व्यक्तिलाई परमेश्‍वरले कति काम गर्नुहुन्छ वा उहाँ कति बोल्नुहुन्छ भनेर थाहा हुँदैन, न त उसलाई अभ्यास कसरी गर्ने भनेर नै थाहा हुन्छ। के यो हृदय नभएको व्यक्ति होइन र? के हृदय नभएको व्यक्ति परमेश्‍वरको अगाडि शान्त रहन सक्छ? हृदय नभएका व्यक्तिहरूलाई सिद्ध बनाउनका लागि परमेश्‍वरसँग कुनै उपाय छैन—तिनीहरू भारी बोक्ने पशुभन्दा फरक हुँदैनन्। परमेश्‍वरले यति स्पष्ट र पारदर्शी भएर बोल्नुभएको छ, तैपनि तेरो हृदयमा प्रभाव परेको छैन, अनि तँ परमेश्‍वरको अगाडि शान्त रहन असमर्थ छस्। के तँ विवेकहीन पशु होइनस्? कतिपय मानिस परमेश्‍वरको अगाडि शान्त रहने अभ्यासबाट भड्किन्छन्। खाना पकाउने समयमा तिनीहरू खाना पकाउँदैनन्, र दैनिक काम गर्ने समयमा तिनीहरू त्यसो गर्दैनन्, तर प्रार्थना र ध्यान मात्रै गरिरहन्छन्। परमेश्‍वरको अगाडि शान्त रहनु भनेको खाना नपकाउनु वा दैनिक काम नगर्नु जस्तो होइन, वा न त जीवन नजिउनु नै हो; बरु, यो त सबै सामान्य अवस्थाहरूमा परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त पार्न, अनि आफ्नो हृदयमा परमेश्‍वरको लागि स्थान बनाउन सक्‍नु हो। तैँले प्रार्थना गर्दा, परमेश्‍वरको अगाडि राम्ररी घुँडा टेकेर झुक्नुपर्छ; तैँले दैनिक काम गर्दा वा खाना पकाउँदा, परमेश्‍वरको अगाडि तेरो हृदयलाई शान्त पार्, परमेश्‍वरका वचनहरूको चिन्तन गर्, वा भजन गा। तैँले आफूलाई जस्तोसुकै अवस्थामा पाए पनि, तँसँग अभ्यास गर्ने आफ्नै तरिका हुनुपर्दछ, परमेश्‍वरको नजिक आउनका लागि तैँले सबै कुरा गर्नुपर्छ, र तैँले आफ्‍ना सबै शक्ति लगाएर परमेश्‍वरको अगाडि आफ्नो हृदयलाई शान्त बनाउने प्रयास गर्नुपर्छ। परिस्थितिले दिएमा दत्तचित्त भई प्रार्थना गर्; परिस्थितिले नदिएमा आफ्‍नो हातमा भएको काम गर्दै हृदयमा परमेश्‍वरको नजिक आइज। जब तँ परमेश्‍वरका वचनहरू खान र पिउन सक्छस्, त्यतिबेला परमेश्‍वरका वचनहरू खा र पिई; जब तँ प्रार्थना गर्न सक्छस्, त्यतिबेला प्रार्थना गर्; जब तैँले परमेश्‍वरबारे विचार गर्न सक्छस्, त्यतिबेला उहाँबारे विचार गर्। अर्को शब्दमा भन्नुपर्दा, प्रवेशका लागि आफूलाई आफ्‍नो वातावरणअनुसार तालिम दिन सक्दो गर्। केही मानिसहरू केही पनि नहुँदा परमेश्‍वरको अगाडि शान्त रहन सक्छन्, तर जब केही हुन्छ, तिनीहरूको मन भौँतारिन थाल्छ। त्यसो गर्नु भनेको परमेश्‍वरको अगाडि शान्त रहनु होइन। अनुभव गर्ने सही तरिका हो: कुनै पनि परिस्थितिमा आफ्नो हृदय परमेश्‍वरबाट पर नजानु, वा बाहिरी मानिस, घटना, वा कुराहरूबाट विचलित नहुनु हो, अनि मात्रै कुनै पनि व्यक्ति परमेश्‍वरको अगाडि वास्तवमै शान्तिमा हुन्छ। कतिपय मानिसहरू भन्छन् कि जब तिनीहरू भेलामा हुन्छन्, तिनीहरूको हृदय परमेश्‍वरको अगाडि शान्त रहन सक्छ, तर अरूसँगको सङ्गतिमा तिनीहरू परमेश्‍वरको अगाडि शान्त रहन सक्दैनन्, र तिनीहरूको सोचाइ भौंतारिन्छ। यो परमेश्‍वरको अगाडि शान्त रहनु होइन। आज, अधिकांश मानिस यही अवस्थामा छन्, तिनीहरूको हृदय परमेश्‍वरको अगाडि सधैँ शान्त रहन सक्दैन। तसर्थ, तिमीहरूले यस क्षेत्रमा अभ्यास गर्नका लागि थप प्रयास गर्नुपर्छ, जीवन अनुभवको सही मार्गमा चरणबद्ध रूपमा प्रवेश गर्नुपर्छ, अनि परमेश्‍वरबाट सिद्ध बनाइने मार्गमा अगाडि बढ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२२

परमेश्‍वरको काम र वचन तिमीहरूको स्वभावलाई बदली गराउने उद्देश्यको निम्ति हुन्; उहाँको लक्ष्य तिमीहरूलाई केवल उहाँको काम र वचन बुझ्ने वा जान्ने तुल्याउनु मात्रै होइन। त्यो पर्याप्त छैन। तँ बुझ्ने क्षमता भएको व्यक्ति होस्, त्यसैले तँलाई परमेश्‍वरको वचन बुझ्न कुनै कठिनता हुनु हुँदैन, किनभने परमेश्‍वरको अधिकांश वचन मानव भाषामा लेखिएको छ, अनि उहाँले धेरै सरल रूपमा बोल्नुहुन्छ। उदाहरणको निम्ति, तैँले जे बुझेको र अभ्यास गरेको परमेश्‍वर चाहनुहुन्छ सो जान्न तँ पूर्ण रूपले सक्षम छस्; यो बुझ्‍न सक्‍ने क्षमता भएको एउटा सामान्य व्यक्तिले गर्न सक्‍ने कुरा हो। निश्‍चित रूपमा, परमेश्‍वरले वर्तमान चरणमा बोलिरहनुभएका वचनहरू खास गरेर स्पष्ट तथा पारदर्शी छन्, अनि मानिसहरूले विचार नगरेका धेरै कुराहरू, साथै सबै प्रकारका मानव अवस्थाहरू परमेश्‍वरले औँल्याइरहनुभएको छ। उहाँका वचनहरू सर्व-व्यापक छन्, अनि पूर्णिमाको प्रकाश जस्तै स्पष्ट छन्। त्यसैले, अहिले मानिसहरूले धेरै विषयहरू बुझ्दछन्, तर अझै केही कुरा हराइरहेको छ—मानिसहरूले उहाँको वचनलाई अभ्यास गर्ने कुरा। मानिसहरूले सत्यताका सबै पक्षहरूलाई विस्तृत रूपमा अनुभव गर्नैपर्छ, तिनीहरूलाई जे उपलब्ध गराइन्छ त्यसलाई ग्रहण गर्नको निम्ति केवल पर्खिरहनुको सट्टा तिनीहरूले त्यसलाई अझै विस्तृत रूपमा छानबिन गर्ने र खोजी गर्ने गर्नुपर्छ; नत्रभने तिनीहरू परजीवीभन्दा अलि बढी मात्रै हुन्छन्। तिनीहरूले परमेश्‍वरको वचन जान्दछन्, तापनि त्यसलाई अभ्यास गर्दैनन्। यस्तो प्रकारको मानिसले सत्यतालाई प्रेम गर्दैनन् अनि आखिरमा तिनीहरूलाई हटाइनेछ। १९९० को दशकको पत्रुस जस्तै हो, जसको अर्थ तिमीहरूमध्ये हरेकले परमेश्‍वरको वचनलाई अभ्यास गर्नुपर्छ, तिमीहरूको अनुभवहरूमा साँचो प्रवेश हुनुपर्छ अनि परमेश्‍वरसँगको तिमीहरूको सहकार्यमा अझ धेरै र अझ ठूलो अन्तर्दृष्टि हासिल गर्नुपर्छ जुन तेरो आफ्नै जीवनको निम्ति सधैँभरि वृद्धि भएर जाने सहायता हुनेछ। यदि तिमीहरूले परमेश्‍वरका थुप्रै वचनहरू पढेका छौ तर केवल पाठको अर्थ मात्र बुझ्छौ अनि तिमीहरूमा परमेश्‍वरको वचन सम्बन्धमा आफ्ना व्यवहारिक अनुभवहरूमार्फत आउने प्रत्यक्ष ज्ञानको कमी छ भने तैँले परमेश्‍वरको वचन बुझ्ने छैनस्। जहाँसम्म तेरो सवाल छ, परमेश्‍वरको वचन जीवन होइन, केवल जीवनरहित अक्षरहरू हुन्। अनि यदि तँ केवल जीवनरहित अक्षरहरू पालना गर्दै जिउँछस् भने तैँले परमेश्‍वरको वचनको सार राम्ररी बुझ्न सक्दैनस्, न त तैँले उहाँको इच्छा नै बुझ्नेछस्। तैँले उहाँको वचन तेरा वास्तविक अनुभवहरूमा अनुभव गर्छस् भने मात्र परमेश्‍वरको वचनको आत्मिक अर्थ आफै तँतर्फ खोलिनेछ, अनि अनुभवद्वारा मात्रै तैँले धेरै सत्यताहरूको आत्मिक अर्थ बुझ्न र परमेश्‍वरको वचनका रहस्यहरूको साँचो खोल्न सक्छस्। यदि तैँले यसलाई अभ्यासमा लगाउँदैनस् भने उहाँको वचन जतिसुकै स्पष्ट भएतापनि तैँले बुझेको कुरा सबै रित्ता अक्षरहरू र सिद्धान्तहरू हुन्छन् जुन तेरो निम्ति धार्मिक नियमहरू भएका छन्। के फरिसीहरूले गरेको यही नै होइन र? यदि तिमीहरूले परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्छौ भने यो तिमीहरूको निम्ति व्यवहारिक बन्छ; यदि तैँले यसलाई अभ्यास गर्न खोज्दैनस् भने परमेश्‍वरको वचन तेरो निम्ति तेस्रो स्वर्गको दन्त्यकथा भन्दा केही बढी मात्रै हुन्छ। वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको तिमीहरूले उहाँको वचनलाई अनुभव गर्नुको साथै उहाँद्वारा तिमीहरूलाई हासिल गरिने प्रक्रिया हो अथवा यसलाई अझ स्पष्टसित भन्नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँको वचनको ज्ञान र बुझाइ प्राप्त गर्नु र उहाँको वचनलाई अनुभव गर्नु र जिउनु हो; परमेश्‍वरमा विश्‍वास गर्नुपछाडिको वास्तविकता त्यही नै हो। यदि तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ अनि परमेश्‍वरको वचनलाई अभ्यास गर्न र सत्यताको वास्तविकतामा प्रवेश गर्न नखोजीकनै अनन्त जीवनको आशा गर्छौ भने तिमीहरू मूर्ख हौ। यो त भोजमा गएर केवल भोजनलाई हेर्नु र स्वादिष्ट कुराहरूलाई केही नचाखेर तिनीहरूको नाम कण्ठस्थ गर्नु जस्तो मात्रै हुनेछ, त्यहाँ केही पनि खाँदै नखानु वा पिउँदै नपिउनु जस्तो हुनेछ। के त्यस्तो मानिस मूर्ख हुँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२३

मानिसले धारण गर्नुपर्ने सत्यता परमेश्‍वरको वचनमा पाइन्छ र सत्यता नै त्यो कुरा हो जुन मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुन्छ। यो तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हो, यस्तो कुरा जसले मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्छ। यो त त्यो सत्यता हो जुन कुराले मानिस सुसज्जित हुनुपर्छ। तिमीहरू जति बढी परमेश्‍वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक संसारका कुराहरूलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्‍वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्‍वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्‍याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले “परमेश्‍वरको वचन जीवन हो” भन्‍ने वाक्यांश कसरी तिनीहरूका निम्ति वास्तविक हुन्छ त? परमेश्‍वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्‍वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्‍वरको वचनलाई बुझ्नु आवश्यक छ भन्‍ने तेरो विश्‍वास हो भने तेरो बुझाइ गलत छ। साँचो प्रकारले परमेश्‍वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि “सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ”। आज परमेश्‍वरको वचन पढेर तैँले परमेश्‍वरको वचनलाई चिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन् कि सत्यतालाई अभ्यास गर्ने एउटै तरिका यसलाई पहिले बुझ्नु हो तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँ साँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको शाब्दिक अर्थहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्‍ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्‍याउनु हो। त्यसकारण, तँ सत्यतासित जहाँ पनि जान सक्छस् तर यदि तँमा सत्यता छैन भने तेरो आफ्नो परिवारका सदस्यहरूलाई समेत तैँले विश्‍वस्त तुल्याउने प्रयास गर्ने कुरा सोच्दै नसोचे हुन्छ, धर्मी मानिसहरूको त कुरै छाडिदे। सत्यताविना तँ हावामा उडिरहेको हिमकण मात्रै होस्, तर सत्यताको साथले तँ खुशी र स्वतन्त्र हुन सक्छस् अनि कसैले तँलाई आक्रमण गर्न पनि सक्दैन। सिद्धान्त जतिसुकै बलियो भएतापनि त्यसले सत्यतामाथि विजय पाउन सक्दैन। सत्यताले संसार आफै झुल्न सक्छ अनि पहाडहरू र समुद्रहरू हल्लन सक्छन् जबकि सत्यताको कमीले बलियो शहरका पर्खालहरू पनि किराहरूद्वारा भग्नावशेषमा बदलिनसक्छ। यो एउटा स्पष्ट तथ्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२४

वर्तमान चरणमा, पहिले सत्यता जान्नु, अनि त्यसपछि त्यसलाई अभ्यास गर्नु र सत्यताको साँचो अर्थले आफैलाई अझ धेरै सुसज्जित गर्नु अत्यन्तै महत्वपूर्ण छ। तिमीहरूले यसलाई हासिल गर्न खोज्नुपर्छ। केवल अरूलाई तेरा वचनहरू अनुसरण गराउन खोज्नुभन्दा तैँले तिनीहरूलाई तेरो अभ्यास अनुसरण गराउन लगाउनुपर्छ। केवल यस प्रकारले मात्रै तैँले अर्थपूर्ण कुरा भेट्टाउन सक्छस्। तँमाथि जेसुकै हुन आए तापनि, तैँले जसलाई भेटे तापनि, जबसम्म तँसित सत्यता हुन्छ, तँ दृढ भई खडा हुन सक्नेछस्। परमेश्‍वरको वचन मानिसलाई जीवन दिने कुरा हो, मृत्यु दिने कुरा होइन। यदि परमेश्‍वरको वचन पढेर पनि तँ जाग्दैनस्, तर अझै मृतक नै हुन्छस् भने तँसित केही गलत छ। यदि तैँले परमेश्‍वरको धेरै वचन पढेको र धेरै व्यवहारिक वचनहरू सुनेको केही समयपछि पनि तँ अझै मृत्युको अवस्थामा छस् भने यो के कुराको प्रमाण हो भने, तँ सत्यतालाई महत्त्व दिने व्यक्ति होइनस्, न त तँ सत्यतालाई अनुसरण गर्ने व्यक्ति नै होस्। यदि तिमीहरूले साँचो रीतिले परमेश्‍वरलाई प्राप्त गर्न खोज्यौ भने, तिमीहरूले आफैलाई सिद्धान्तहरूले सुसज्जित गर्ने र अरूलाई सिकाउन उत्कृष्ट सिद्धान्तहरू प्रयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्नेथिएनौ, बरु परमेश्‍वरको वचनलाई अनुभव गर्ने र सत्यतालाई व्यवहारमा उतार्ने कुरामा ध्यान केन्द्रित गर्नेथियौ। के तिमीहरूले अहिले प्रवेश गर्न खोजिरहनुपर्ने कुरा यही होइन र?

मानिसमा आफ्नो काम गर्नको निम्ति परमेश्‍वरसित सीमित समय छ, त्यसैले यदि तैँले उहाँसित सहकार्य गर्दैनस् भने के परिणाम आउन सक्छ र? किन तिमीहरूले उहाँका वचनहरू बुझिसकेपछि तिमीहरूले त्यो पालन गरेको परमेश्‍वर सधैँ चाहनुहुन्छ? किनभने परमेश्‍वरले उहाँका वचनहरू तिमीहरूलाई प्रकट गर्नुभएको छ र तिमीहरूको अर्को कदम वास्तवमा त्यसलाई पालन गर्नु हो। जब तिमीहरूले यी वचनहरू अभ्यास गर्छौ, परमेश्‍वरले अन्तर्दृष्टि दिने र मार्गदर्शन दिने काम गर्नुहुनेछ। यसरी नै यो काम गरिनुपर्छ। परमेश्‍वरको वचनले मानिसलाई जीवनमा फल्दोफुल्दो हुने तुल्याउँछ र यसमा कुनै त्यस्ता तत्वहरू हुँदैनन् जसले मानिसलाई विचलित वा निष्क्रिय हुने तुल्याउँछ। तैँले भन्छस् तैँले परमेश्‍वरको वचन पढेको छस् र त्यसलाई अभ्यास गरेको छस्, तर तैँले अझै पवित्र आत्माबाट कुनै काम प्राप्त गरेको छैनस्। तेरा वचनहरूले केवल एउटा बालकलाई मात्रै मूर्ख बनाउन सक्छ। अरू मानिसहरूले तेरो मनसाय ठीक छ वा छैन भनी नजान्लान् तर के परमेश्‍वरले जान्‍नुहुन्छ भन्‍ने सम्‍भव छैन भन्‍ने तँलाई लाग्छ? कसरी अरू मानिसहरूले परमेश्‍वरको वचन अभ्यास गर्छन् अनि पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गर्छन्, तापनि तैँले उहाँको वचन अभ्यास गर्छस् तर पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्दैनस्। के परमेश्‍वरसित भावनाहरू छन्? यदि तेरा मनसायहरू साँच्चिकै सही छन् अनि तँ सहकार्य गर्न तयार छस् भने, परमेश्‍वरका आत्मा तँसित हुनुहुनेछ। केही मानिसहरू सधैँ आफ्नै झण्डा खडा गर्न चाहन्छन् तर परमेश्‍वरले किन तिनीहरूलाई उठ्न र मण्डलीलाई अगुवाइ गर्न दिनुहुन्न? कतिपय मानिसहरूले केवल आफ्नो कार्य पूरा गर्छन् र आफ्नो कर्तव्य सम्पन्न गर्छन्, अनि तिनीहरूले थाहै नपाई तिनीहरूले परमेश्‍वरको स्वीकृति प्राप्त गरिसकेका हुन्छन्। यो कसरी हुनसक्छ? परमेश्‍वरले मानिसको हृदयको अन्तस्करणलाई जाँच गर्नुहुन्छ र सत्यतालाई अनुसरण गर्नेहरूले ठीक मनसाय राखेर त्यसो गर्नुपर्छ। जसको ठीक मनसाय छैन, तिनीहरू दृढ भई खडा रहन सक्दैनन्। मूलभूत रूपमा, तिमीहरूको लक्ष्य परमेश्‍वरको वचनलाई तिमीहरूभित्र प्रभाव पार्न दिनु हो। अर्को शब्दमा, यो भनेको तिमीहरूले परमेश्‍वरको वचनको अभ्यासमा साँचो बुझाइ प्राप्त गर्नु हो। शायद, परमेश्‍वरको वचनलाई बुझ्ने तिमीहरूको क्षमता कमजोर होला, तर जब तिमीहरूले परमेश्‍वरको वचनलाई अभ्यास गर्छौ, तब उहाँले त्यस अपूर्णतालाई निवारण गर्न सक्नुहुन्छ, त्यसैले तिमीहरूले केवल धेरै सत्यताहरू मात्र जान्ने होइन बरु तिनीहरूलाई अभ्यास पनि गर्नुपर्छ। यो ध्यान केन्द्रित गर्नुपर्ने सबैभन्दा ठूलो करा हो जसलाई बेवास्ता गर्न सकिँदैन। येशूले आफ्नो साढे तेत्तीस वर्षीय उमेरमा धेरै अपमानहरू अनि असाध्यै कष्ट सहनुभयो। उहाँले ठूलो कष्ट सहनुभयो किनकि उहाँले केवल सत्यतालाई अभ्यास गर्नुभयो, सबै कुराहरूमा परमेश्‍वरको इच्छा पालन गर्नुभयो, र परमेश्‍वरको इच्छालाई मात्र वास्ता गर्नुभयो। यदि उहाँले सत्यतालाई अभ्यास नगरीकन त्यसलाई जान्नु मात्र भएको भए उहाँले यो कष्ट भोग्नुहुने थिएन। यदि येशूले यहूदीहरूका शिक्षाहरूलाई अनुसरण गर्नुभएको भए अनि फरिसीहरूलाई पछ्याउनुभएको भए, उहाँले कष्ट सहनुहुने थिएन। तैँले येशूका कार्यहरूबाट सिक्नुपर्छ कि मानिसमाथि परमेश्‍वरको कामको प्रभावकारिता मानिसको सहकार्यबाट आउँछ, अनि यो कुरा तिमीहरूले पहिचान गर्नैपर्ने चीज हो। यदि उहाँले सत्यतालाई अभ्यास नगर्नुभएको भए, के येशूले क्रूसमा कष्ट भोग्नुभएझैँ कष्ट भोग्नुहुन्थ्यो र? यदि परमेश्‍वरको इच्छाअनुसार उहाँ नचल्नुभएको भए के उहाँले त्यस्तो पीडादायी प्रार्थना गर्नुहुन्थ्यो र? त्यसकारण, तिमीहरूले सत्यताको अभ्यासको खातिर कष्ट भोग्नुपर्छ; व्यक्तिले भोग्नुपर्ने कष्ट नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२५

अभ्यासमा, आज्ञा पालन गर्ने र सत्यतालाई अभ्यासमा उतार्ने कार्य एक-आपसमा जोडिनुपर्छ। आज्ञा पालन गर्दा, सत्यताको अभ्यास गर्नुपर्छ। सत्यताको अभ्यास गर्दा, आज्ञाका सिद्धान्तहरूलाई कसैले पनि उल्लंघन गर्नु हुँदैन, न त आज्ञाको विपक्षमा जानु नै हुन्छ; परमेश्‍वरले तँबाट जे चाहनुहुन्छ तैँले त्यही गर्नुपर्छ। आज्ञा पालन गर्ने र सत्यताको अभ्यास गर्ने कार्य अन्तरसम्बन्धित छन्, अन्तर्विरोधी छैनन्। तैँले जति धेरै सत्यताको अभ्यास गर्छस्, त्यति नै धेरै तँ आज्ञाको सार कायम राख्न सक्षम बन्छस्। तैँले जति धेरै सत्यताको अभ्यास गर्छस्, त्यति नै धेरै तैँले आज्ञामा व्यक्त भएका परमेश्‍वरका वचनहरू बुझ्छस्। सत्यताको अभ्यास गर्नु र आज्ञा पालन गर्नु अन्तर्विरोधी कार्य होइनन्—तिनीहरू अन्तरसम्बन्धित छन्। सुरुमा, मानिसले आज्ञाको पालना गरेपछि मात्रै सत्यताको अभ्यास गर्न र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गर्न सक्थ्यो, तर यो परमेश्‍वरको मौलिक अभिप्राय होइन। परमेश्‍वर तैँले राम्रो व्यवहार गर्ने मात्रै नभएर तैँले आफ्नो हृदयलाई उहाँको आराधनामा लगाएको चाहनुहुन्छ। यद्यपि, सतही रूपमा भए पनि तैँले ती आज्ञाहरूको पालना गर्नुपर्छ। बिस्तारै, अनुभवमार्फत, परमेश्‍वरको अझ स्पष्ट बुझाइ प्राप्त गरेपछि, मानिसहरूले उहाँविरुद्ध विद्रोह र विरोध गर्न छाड्नेछन्, र तिनीहरूमा उहाँको कार्यप्रति कुनै शङ्का हुनेछैन। आज्ञाको सारप्रति निष्ठा राख्ने यो एक मात्र उपाय हो। तसर्थ, सत्यताको अभ्यास नगरी, आज्ञाको पालना गर्नु मात्रै, प्रभावहीन हुन्छ, र यसमा परमेश्‍वरको साँचो आराधना समावेश हुँदैन, किनभने तैँले वास्तविक कद अहिलेसम्म प्राप्त गरेको हुँदैनस्। सत्यताको अभ्यासविना आज्ञाको पालना मात्रै गर्नु भनेको नियमको कठोरतापूर्वक पालना गरेको जस्तो मात्रै हुन्छ। यसो गर्दा, आज्ञाहरू तेरा कानून बन्न पुग्छन्, जसले तँलाई जीवनमा वृद्धि हुन सहयोग गर्दैन। यसको विपरीत, ती तेरा बोझ बन्छन्, र पुरानो करारका व्यवस्थाले तँलाई कसेर बाँधेको जस्तै बाँध्छन् र पवित्र आत्माको उपस्थितिलाई गुमाउने तुल्याउँछन्। तसर्थ, सत्यताको अभ्यास गरेपछि मात्रै तैँले आज्ञालाई प्रभावकारी ढङ्गबाट पालना गर्न सक्छस्, र सत्यताको अभ्यास गर्नका लागि तैँले आज्ञाको पालना गर्छस्। आज्ञाको पालना गर्ने प्रक्रियामा, तैँले अझ धेरै सत्यताको अभ्यास गर्नेछस्, र सत्यताको अभ्यास गर्ने दौरान, आज्ञाको वास्तविक अर्थ के हो भनेर तैँले झनै गहिरो बुझाइ प्राप्त गर्नेछस्। मानिसले आज्ञा पालन गरोस् भन्‍ने परमेश्‍वरको मापदण्डको उद्देश्य र अर्थ भनेको उसले कल्पना गरेको जस्तो मानिसलाई नियमको पालना गर्न लगाउनु मात्रै होइन; बरु यसको सम्बन्ध त उसले जीवनमा प्रवेश गर्नुसँग रहेको छ। तेरो जीवनमा हुने प्रगतिले तैँले कुन हदसम्म आज्ञाको पालना गर्न सक्नेछस् भन्‍ने कुरा निर्धारण गर्छ। आज्ञाहरू मानिसले पालना गर्नुपर्ने भए तापनि, आज्ञाको सार मानिसको जीवनको अनुभवबाट मात्रै प्रष्ट हुन्छ। अधिकांश मानिसहरूले आज्ञाको पालना राम्ररी गर्नुको अर्थ तिनीहरू “पूर्ण रूपमा तयार रहेको, र गर्न बाँकी रहेको भनेको अरू सबै बिर्सेर त्यसैमा पूरै लाग्नु मात्रै हो” भनेर अनुमान लगाउँछन्। यो अनावश्यक प्रकृतिको विचार हो, र यो विचार परमेश्‍वरको इच्छाअनुसारको छैन। यस्तो कुरा भन्‍ने मानिसहरू प्रगति गर्न चाहँदैनन्, र तिनीहरू देहको अभिलाषा राख्छन्। यो वाहियात हो! यो वास्तविकतासँग मेल नखाने कुरा हो! वास्तवमा आज्ञाको पालना नगरी खाली सत्यताको मात्रै अभ्यास गर्नु भनेको परमेश्‍वरको इच्छा होइन। यसो गर्नेहरू लङ्गडा हुन्; तिनीहरू एउटा खुट्टा नभएका मानिसहरू जस्ता हुन्। नियमको पालना गरेको जस्तो गरी आज्ञाको पालना गर्ने, तर अझै पनि सत्यता निहित नगर्ने—यसले पनि परमेश्‍वरको इच्छालाई सन्तुष्ट बनाउन सक्दैन; एउटा आँखा नभएकाहरू जस्तै, यसो गर्ने मानिसहरूले पनि कुनै प्रकारको अपाङ्गताको कष्ट भोग्छन्। यदि तैँले आज्ञाको पालना राम्ररी गरिस् र व्यावहारिक परमेश्‍वरको स्पष्ट बुझाइ हासिल गरिस् भने, तँमा सत्यता निहित हुनेछ भनेर भन्न सकिन्छ; सापेक्षिक रूपमा भन्नु पर्दा, तैँले वास्तविक कद हासिल गरेको हुनेछस्। तैँले अभ्यास गर्नुपर्ने सत्यताको अभ्यास गरिस् भने, तैँले आज्ञाको पालना पनि गर्नेछस्, र यी दुइटा कुराहरू परस्परविरोधी होइनन्। सत्यताको अभ्यास गर्नु र आज्ञाको पालना गर्नु दुई वटा प्रणालीहरू हुन्, यी दुवै जीवन अनुभवका अभिन्न अङ्ग हुन्। व्यक्तिको अनुभवमा आज्ञाको पालना र सत्यताको अभ्यासको समायोजन समावेश हुनुपर्छ, विभाजन होइन। यद्यपि, यी दुई कुराहरूमा भिन्नता र सम्बन्ध दुवै छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज्ञा पालन र सत्यता अभ्यास गर्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२६

नयाँ युगमा आज्ञाहरूको घोषणा यो धारामा रहेका सबै मानिसहरू, आज परमेश्‍वरको आवाज सुन्ने सबै मानिसहरू, नयाँ युगमा प्रवेश गरेका छन् भन्‍ने तथ्यको गवाही हो। यो परमेश्‍वरको कार्यको नयाँ सुरुवात हो, साथै परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजनाको अन्तिम चरणको सुरुवात पनि हो। नयाँ युगका आज्ञाहरू परमेश्‍वर र मानिसले नयाँ स्वर्ग र नयाँ पृथ्वीको क्षेत्रमा प्रवेश गरेको द्योतक हुन्, र यसमा यहोवाले इस्राएलीहरूसँग काम गर्नुभएको र येशूले यहूदीहरूसँग काम गर्नुभएको जस्तै, परमेश्‍वरले अझ धेरै व्यावहारिक कार्य गर्नुहुनेछ, र पृथ्वीमा अझ धेरै र अझ ठूला कार्य गर्नुहुनेछ। तिनीहरू यो समूहले परमेश्‍वरबाट अझ धेरै र अझ ठूला आज्ञाहरू प्राप्त गर्नेछन्, र तिनीहरूलाई भरणपोषण गरिनेछ, खुवाइनेछ, सहयोग गरिनेछ, हेरचाह गरिनेछ, र उहाँबाट व्यावहारिक रूपमा रक्षा गरिनेछ, र उहाँबाट अझ व्यावहारिक तालिम दिइनेछ, र परमेश्‍वरको वचनबाट निराकरण, खण्डित, र परिष्कृत गरिनेछ भन्‍ने कुराको पनि द्योतक हुन्। नयाँ युगका आज्ञाहरूको महत्त्व अति नै अथाह छ। तिनीहरूले परमेश्‍वर वास्तवमै पृथ्वीमा देखा पर्नुहुन्छ, त्यहाँबाट उहाँले आफ्नो सबै महिमा देहमा प्रकट गर्दै, सम्पूर्ण ब्रम्हाण्डलाई विजय गर्नुहुनेछ भन्‍ने जनाउँछन्। तिनीहरूले उहाँका चुनिएकाहरू सबैलाई सिद्ध गर्न व्यावहारिक परमेश्‍वरले अझ धेरै व्यावहारिक कार्य गर्नुहुनेछ भन्‍ने पनि जनाउँछन्। साथै, परमेश्‍वरले पृथ्वीमा हरेक काम-कुराहरू वचनहरूबाट सम्पन्न गर्नुहुनेछ, र “देहधारी परमेश्‍वर सबैभन्दा माथि उठ्नुहुनेछ र महिमावान् हुनुहुनेछ, र सबै मानिस तथा सबै राष्ट्रहरूले महान् परमेश्‍वरको आराधना गर्न घुँडा टेक्नेछन्” भन्‍ने आदेश व्यक्त गर्नुहुनेछ। नयाँ युगका आज्ञाहरूको पालना मानिसहरूले गर्नुपर्ने भए तापनि, र ती आज्ञाहरू पालना गर्नु मानिसको कर्तव्य र दायित्व भए तापनि, तिनीहरूले प्रतिनिधित्व गर्ने अर्थ एक वा दुई शब्दमा व्यक्त गर्न सकिनेभन्दा अथाह छन्। नयाँ युगका आज्ञाहरूले यहोवा र येशूले प्रतिपादन गर्नुभएका पुरानो करारका व्यवस्थाहरू र नयाँ करारका धार्मिक-विधानहरूलाई प्रतिस्थापन गर्छन्। यो गहन पाठ हो, मानिसहरूले कल्पना गर्ने कुराजस्तो सहज होइन। नयाँ युगका आज्ञाहरूको व्यावहारिक महत्त्वको एउटा पक्ष छ: तिनीहरूले अनुग्रहको युग र राज्यको युगबीचको अन्तरस्थको काम गर्छन्। नयाँ युगका आज्ञाहरूले पुरानो युगका सबै अभ्यास तथा धार्मिक-विधानहरूका साथै येशूको युगका तथा येशूको युगभन्दा अघिका सबै अभ्यासहरूलाई समाप्त गर्छन्। तिनीहरूले मानिसलाई थप व्यावहारिक परमेश्‍वरको उपिस्थितिमा ल्याउँछन्, जसले मानिसलाई उहाँबाट व्यक्तिगत रूपमा सिद्ध हुन सक्षम बनाउँछ; तिनीहरु नै सिद्धताको मार्गको सुरुवात हुन्। तसर्थ, तिमीहरूले नयाँ युगका आज्ञाहरूप्रति सही मनोवृत्ति राख्नुपर्छ, तिनीहरूलाई जथाभाबी अनुसरण पनि नगर्नु र निन्दा पनि नगर्नू। नयाँ युगका आज्ञाहरूले केही पक्षहरूमा ठूलो महत्त्व दिएका छन्: मानिसले आजका व्यावहारिक परमेश्‍वरको आराधना गर्नुपर्छ, जसमा आत्माको सारप्रति थप व्यावहारिक रूपमा समर्पित हुने कुरा समावेश हुन्छ। यी आज्ञाहरूले उहाँ धार्मिकताको सूर्यको रूपमा प्रकट हुनुभएपछि मानिस दोषी वा धर्मी छ भनेर परमेश्‍वरले न्याय गर्नुहुने सिद्धान्तमा पनि जोड दिन्छन्। यी आज्ञाहरू अभ्यास गर्नुभन्दा बुझ्नका लागि सजिला छन्। यसबाट के देख्न सकिन्छ भने यदि परमेश्‍वरले मानिसलाई सिद्ध गर्न इच्छा गर्नुभएमा, उहाँले आफ्नै वचन र मार्गदर्शनबाट त्यसो गर्नुपर्छ, र मानिसले आफ्नै अन्तर्निहित बौद्धिकताबाट सिद्धता हासिल गर्न सक्दैन। मानिसले नयाँ युगका आज्ञाहरूको पालना गर्न सक्छ वा सक्दैन भन्‍ने कुरा व्यावहारिक परमेश्‍वरको बारेमा उसको ज्ञानमा निर्भर रहन्छ। तसर्थ, तैँले आज्ञाहरूको पालना गर्न सक्छस् वा सक्दैनस् भन्‍ने कुरा केही दिनमै समाधान हुने प्रश्न होइन। यो सिक्नुपर्ने एक अथाह पाठ हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज्ञा पालन र सत्यता अभ्यास गर्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२७

सत्यताको अभ्यास यस्तो मार्ग हो जसमा मानिसको जीवन वृद्धि हुन सक्छ। यदि तिमीहरूले सत्यताको अभ्यास गरेनौं भने, तिमीहरूसँग सिद्धान्तभन्दा बढी केही हुँदैन र वास्तविक जीवन रहँदैन। सत्यता मानिसको जीवनको कदको प्रतीक हो, तँ सत्यताको अभ्यास गर्छस् वा गर्दैनस् भन्‍ने कुराको सम्बन्ध तेरो वास्तविक कद छ वा छैन भन्‍ने कुरासँग हुन्छ। यदि तँ सत्यताको अभ्यास गर्दैनस्, धर्मी रूपमा व्यवहार गर्दैनस्, वा भावनामा बग्छस् र देहको ख्याल गर्छस् भने, तँ यी आज्ञाहरूको पालना गर्ने कुराबाट निकै पर छस्। यो नै सबैभन्दा गहन पाठ हो। प्रत्येक युगमा, मानिसहरूले प्रवेश गर्नुपर्ने र बुझ्नुपर्ने धेरै सत्यताहरू हुन्छन्, अनि प्रत्येक युगमा, ती सत्यताहरू सँगसँगै आउने विभिन्न आज्ञाहरू हुन्छन्। मानिसहरूले अभ्यास गर्ने यी सत्यताहरू निश्चित युगसँग सम्बन्धित हुन्छन्, र तिनीहरूले पालना गर्ने आज्ञाहरू पनि सोही युगसँग सम्बन्धित हुन्छन्। प्रत्येक युगको आ-आफ्नै अभ्यास गरिनुपर्ने सत्यता र पालना गरिनुपर्ने आज्ञाहरू हुन्छन्। यद्यपि, परमेश्‍वरबाट प्रतिपादन गरिएका विभिन्न आज्ञाहरूको आधारमा—अर्थात्, विभिन्न युगहरूको आधारमा—मानिसले गर्ने सत्यताको अभ्यासको लक्ष्य र प्रभाव समानुपातिक ढङ्गले भिन्न हुन्छ। आज्ञाहरूले सत्यको सेवा गर्छन्, र आज्ञाहरू कायम राख्नका लागि सत्यको अस्तित्व हुन्छ भनेर भन्न सकिन्छ। यदि सत्यता मात्रै भएको भए, कुरा गर्न मिल्ने गरी परमेश्‍वरको कार्यमा कुनै परिवर्तन हुनेछैन। यद्यपि, आज्ञाहरूलाई हेरेर, मानिसले पवित्र आत्माको कार्यमा प्रवृत्तिहरूको हद पहिचान गर्न सक्छ, र मानिसले परमेश्‍वर कुन युगमा कार्य गर्दै हुनुहुन्छ भनेर थाहा पाउन सक्छ। धर्ममा, व्यवस्थाको युगका मानिसहरूले अभ्यास गरेका सत्यताहरूको अभ्यास गर्न सक्ने धेरै मानिसहरू छन्। यद्यपि, उनीहरूसँग नयाँ युगका आज्ञाहरू छैनन्, न उनीहरूले तिनीहरूको पालना नै गर्न सक्छन्। उनीहरूले अझै पुरानै तरिकाहरू पालना गरिरहेका छन् र आदिम मानवजातिकै रूपमा रहेका छन्। उनीहरू कार्यको नयाँ तरिकाबाट सुसज्जित छैनन् र उनीहरूले नयाँ युगका आज्ञाहरू देख्न सक्दैनन्। यसरी, उनीहरूसँग परमेश्‍वरको कार्य छैन। लाग्छ, उनीहरूसँग अण्डाको खाली बोक्रा मात्र छ; यदि त्यसभित्र कुनै चल्ला छैन भने, त्यसमा आत्मा पनि छैन। यसलाई अझ सटीक तरिकाले भन्दा, तिनीहरूमा कुनै जीवन नै छैन। यस्ता मानिसहरू अझैसम्म पनि नयाँ युगमा प्रवेश गरेका छैनन् र धेरै कदम पछाडि परेका छन्। तसर्थ, पुराना युगहरूका सत्यताहरू हुनु तर नयाँ युगका आज्ञाहरू नहुनु व्यर्थ हो। तिमीहरू धेरै जना आजको सत्यताको अभ्यास गर्छौ तर यसका आज्ञाहरू पालना गर्दैनौ। तिमीहरूले केही पनि पाउँदैनौ, र तिमीहरूले अभ्यास गर्ने सत्यता महत्त्वहीन र अर्थहीन हुन्छ र परमेश्‍वरले तिमीहरूको प्रशंसा गर्नुहुनेछैन। सत्यताको अभ्यास पवित्र आत्माको वर्तमानका कार्यशैलीहरूको मापदण्डभित्र रहेर गरिनुपर्छ; यसको अभ्यास आजको व्यावहारिक परमेश्‍वरको आवाजको जबाफस्वरूप गरिनुपर्छ। यसो नगर्दा, डोकोले पानी उघाएको जस्तै, सबै कुरा शून्य हुन्छ। यो नयाँ युगका आज्ञाहरूको प्रतिपादनको व्यावहारिक अर्थ पनि हो। यदि मानिसहरूले आज्ञाहरूको पालना गर्ने हो भने, कम्तीमा तिनीहरूलाई देहमा देखा पर्नुहुने व्यावहारिक परमेश्‍वरको बारेमा, अन्योलता रहित रूपमा थाहा हुनुपर्छ। अर्को शब्दमा भन्नुपर्दा, मानिसहरूले आज्ञाहरूको पालना गर्ने सिद्धान्तहरूका बारेमा बुझ्नुपर्छ। आज्ञाहरूको पालना गर्नुको अर्थ तिनीहरूलाई लापरवाही तरिकाले वा स्वछन्द रूपमा अनुसरण गर्नु होइन, बरु आधार, उद्देश्य, र सिद्धान्तहरूसहित तिनीहरूको पालना गर्नु हो। हासिल गर्नुपर्ने पहिलो कुरा भनेको तेरो दृष्टिलाई स्पष्ट पार्नु हो। यदि वर्तमान समयमा तँसँग पवित्र आत्माको कार्यको गहन बुझाइ छ भने, र यदि तँ कार्यको आजको विधिमा प्रवेश गर्छस् भने, तैँले स्वाभाविक रूपमा आज्ञाहरूको पालना गर्ने सुस्पष्ट बुझाइ प्राप्त गर्छस्। यदि तैँले नयाँ युगका आज्ञाहरूको सार बुझ्ने दिन आएमा र तैँले आज्ञाहरूको पालना गर्न सकेमा, तँ सिद्ध भएको हुनेछस्। सत्यको अभ्यास गर्ने र आज्ञाको पालना गर्ने कुराको व्यावहारिक महत्त्व यही हो। तैँले सत्यको अभ्यास गर्न सक्छस् वा सक्दैनस् भन्‍ने कुरा तैँले नयाँ युगका आज्ञाहरूको सारलाई कसरी बुझ्छस् भन्‍नेमा निर्भर रहन्छ। पवित्र आत्माको कार्य मानिस समक्ष निरन्तर रूपमा देखा पर्नेछ, र परमेश्‍वरले मानिसहरूलाई अझ धेरै मापदण्डहरू दिनुहुनेछ। तसर्थ, मानिसले अभ्यास गर्ने सत्यताको सङ्ख्या थपिँदै जानेछ, र आज्ञाहरू पालना गर्दाका प्रभावहरू अझै धेरै गहन हुँदै जानेछन्। तसर्थ, तिमीहरूले सत्यताको अभ्यास अनि आज्ञाहरूको पालना सँगसँगै गर्नुपर्ने छ। यो कुरालाई कसैले पनि उपेक्षा गर्नु हुँदैन; यो नयाँ युगमा नयाँ सत्य अनि नयाँ आज्ञाहरू एकै पटक सुरु हुन देओ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज्ञा पालन र सत्यता अभ्यास गर्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२८

धेरै मानिसहरूले अभ्यासको बारेमा थोरै कुरा गर्न सक्दछन् र उनीहरू आफ्ना व्यक्तिगत प्रभावहरूको बारेमा कुरा गर्न सक्छन्, तर त्यसको अधिकांश भाग अरूको वचनहरूबाट प्राप्त ज्ञान हुन्छन्। त्यसमा उनीहरूको व्यक्तिगत अभ्यासको कुनै पनि कुरा समावेश भएको हुँदैन, न त त्यसमा उनीहरूले आफ्ना अनुभवहरूबाट देख्‍ने कुराहरू नै समावेश हुन्छ। मैले पहिले नै यस विषयको विश्लेषण गरिसकेको छु; मलाई केही पनि थाहा छैन भनी नसोच्। तँ त हेर्दाको डाल मात्र होस्, तैपनि तँ शैतानलाई जित्ने, विजयी गवाहीहरू दिने, र परमेश्‍वरको स्वरूपमा जिउने कुरा गर्छस्? यो व्यर्थ छन्! के आज परमेश्‍वरले बोल्नुभएका सबै वचनहरू तैँले सराहना गर्नका लागि हुन् भन्‍ने ठान्छस्? तेरो मुखले तेरो पुरानो स्वभाव त्याग्ने र सत्यको अभ्यास गर्ने कुरा गर्दछ, तर तेरा हातहरूले अन्य काम गरिरहेका हुन्छन् र तेरो हृदयले अन्य योजनाहरू बनाइरहेको हुन्छ—तँ कस्तो किसिमको व्यक्ति होस्? तेरो हृदय र तेरा हातहरू किन एउटै र उस्तै प्रकारका छैनन्? त्यति धेरै प्रचार केवल खोक्रा वचनहरू बनेका छन्; के यो हृदय दुखाउने कुरा होइन र? यदि तँ परमेश्‍वरको वचनलाई अभ्यास गर्न सक्दैनस् भने, त्यसले तँ अझसम्म पवित्र आत्माले काम गर्नुहुने मार्गमा प्रवेश गरेको छैनस्, तैँले अझै आफूभित्र पवित्र आत्माको काम प्राप्त गरेको छैनस्, र तैँले अझै उहाँको अगुवाइ पाएको छैनस् भन्‍ने प्रमाणित गर्दछ। यदि तैँले परमेश्‍वरको वचन बुझ्न मात्र सक्छु, तर तिनलाई अभ्यास गर्न सक्दिनँ भनी भन्छस् भने, तँ सत्यतालाई प्रेम नगर्ने व्यक्ति होस्। परमेश्‍वर यस किसिमको मानिसलाई मुक्ति दिन आउनुहुन्न। पापीहरूलाई बचाउन, गरिबहरूलाई बचाउन र ती सबै नम्र मानिसहरूलाई बचाउन क्रूसमा टाँगिने क्रममा येशूले ठूलो कष्ट भोग्नुभयो। उहाँको क्रूसीकरण पापबलि बन्यो। यदि तैँले परमेश्‍वरको वचन अभ्यास गर्न सक्दैनस् भने तँ जति सक्दो चाँडो छोडेर गइहाल्‍नुपर्छ; परमेश्‍वरको घरमा सित्तैँमा भोगचलन गर्ने व्यक्ति बनेर बसी नराख्। स्पष्ट रूपमा परमेश्‍वरको विरोधमा रहेको काम गर्नबाट आफूलाई रोक्न समेत धेरै जना मानिसहरूलाई कठिन हुन्छ। के तिनीहरूले मृत्युको माग गरिरहेका हुँदैनन् र? तिनीहरूले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने कुरा कसरी गर्न सक्छन्? के तिनीहरूसँग परमेश्‍वरको अनुहार हेर्ने साहस हुन्छ? परमेश्‍वरले तेरो निम्ति जुटाउनुहुने भोजन खान्छस्, अनि परमेश्‍वरले तँलाई दिनुहुने आशिषहरू उपभोग गर्न उहाँले तँलाई अनुमति दिइरहनुभएको बेला समेत, परमेश्‍वरको विरोध हुने कुटिल कामहरू गर्दछस्, द्वेषपूर्ण, कपटी बन्छस् र षडयन्त्र गर्छस्—के ती प्राप्त गर्दा तँलाई तेरा हातहरू पोलेको महसुस गर्दैनस्? के तैँले तेरो अनुहार रातो भएको महसुस गर्दैनस्? परमेश्‍वरको विरुद्धमा केही गरेपछि, “अटेरी हुने” योजनाहरू अगाडि बढाएपछि, के तँ भयभीत हुँदैनस्? यदि तैँले केही पनि महसुस गर्दैनस् भने, तैँले कसरी कुनै पनि भविष्यको कुरा गर्नसक्छस्? धेरै पहिलेबाटै तेरो लागि कुनै भविष्य थिएन, त्यसैले तैँले अझै कुन ठूलो आशा गर्न सक्छस् र? यदि तैँले कुनै लाजमर्दो कुरा भन्छस् र पनि धिक्‍कार महसुस ग गर्दैनस्, र तेरो हृदयमा जागरूकता छैन भने, के त्यसको अर्थ तँलाई परमेश्‍वरले पहिले नै त्यागिसक्‍नुभएको छ भन्‍ने हुँदैन र? अति लापरवाही र अनियन्त्रित भएर बोल्नु र व्यवहार गर्नु तेरो प्रकृति नै बनेको छ; यस्तो प्रकारले परमेश्‍वरले कहिले तँलाई सिद्ध बनाउन सक्‍नुहुन्छ र? के तँ फेरि संसारमा हिँड्डुल गर्न सक्छस्? तेरो कुरा कसले पत्याउँछ? तेरो वास्तविक प्रकृति जान्नेहरू तँबाट टाढा बस्‍नेछन्। के यो परमेश्‍वरको दण्ड होइन र? समग्रमा, यदि कुरा मात्र हुन्छ र अभ्यास हुँदैन भने कुनै वृद्धि हुँदैन। तैँले बोल्दा पवित्र आत्माले तँमा काम गरिरहनुभएको हुनसक्‍ने भए पनि, यदि तैँले अभ्यास गर्दैनस् भने, पवित्र आत्माले काम गर्न छोड्नुहुनेछ। यदि तँ यसरी नै अघि बढी रहिस् भने, भविष्यको बारेमा वा तेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरको काममा दिने बारेमा कसरी कुरा हुन सक्छ? तँ आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्ने कुरा मात्र गर्न सक्छस्, तैपनि तैँले परमेश्‍वरलाई आफ्नो साँचो प्रेम दिएको छैनस्। उहाँले तँबाट मौखिक भक्ति मात्र प्राप्त गर्नुहुन्छ; तैँले उहाँलाई सत्य अभ्यास गर्ने तेरो अभिप्राय दिएको छैनस्। के यो नै तेरो वास्तविक कद हुन सक्छ? यदि तँ यस्तै रहिरहन्छस् भने, तँलाई परमेश्‍वरले कहिले सिद्ध बनाउनुहुनेछ? के तँ आफ्नो अन्धकार र निराश भविष्यको लागि चिन्तित छैनस्? के परमेश्‍वरले तँमा आशा गुमाउनुभएको छ भन्‍ने तँलाई लाग्दैन? के परमेश्‍वर अझ धेरै र नयाँ मानिसहरूलाई सिद्ध बनाउन चाहनुहुन्छ भन्‍ने तँलाई थाहा छैन? के पुराना थोकहरू आफै रहिरहन सक्छन्? आज तैँले परमेश्‍वरको वचनहरूलाई ध्यान दिइरहेको छैनस्: के तँ भोलिको दिन पर्खिरहेको छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्ति पाउने व्यक्ति त्यो हो जो सत्यको अभ्यास गर्न इच्छुक हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४२९

तैँले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैँले वास्तविकता धारण गरेको छस् भन्‍ने हुँदैन; यी कुराहरू तैँले कल्पना गरेजस्तो सरल छैनन्। तैँले सत्यता धारण गरेको छस् कि छैन भन्‍ने कुरा तैँले जे भन्छस् त्यसमा आधारित हुँदैन; बरु तैँले जे जिउँछस् त्यस कुरामा आधारित हुन्छ। जब परमेश्‍वरका वचनहरू तेरो जीवन र तेरो प्राकृतिक अभिव्यक्ति बन्छन् तब मात्र तँसँग वास्तविकता छ भन्न सकिन्छ, र मात्र तैँले साँचो बुझाइ र वास्तविक कद प्राप्त गरेको मान्न सकिन्छ। तैँले लामो समयसम्म परीक्षाको सामना गर्न सक्‍नुपर्छ, र तँ परमेश्‍वरले माग गर्नुभएको स्वरूपमा जिउन सक्षम हुनुपर्दछ। यो शारीरिक स्थिति मात्र हुनु हुँदैन; यो तँबाट प्राकृतिक रूपमा बग्नुपर्छ। तब मात्र तैँले साँच्चै वास्तविकता धारण गर्नेछस्, तब मात्र तैँले जीवन प्राप्त गरेको हुनेछस्। म सेवाकर्ताहरूको परीक्षाको उदाहरण प्रयोग गर्छु, जसको बारेमा सबै परिचित छन्: सेवाकर्ताहरूको बारेमा कसैले पनि उच्च सिद्धान्तहरू प्रदान गर्न सक्छ, र सबैसँग त्यस विषयको उचित ज्ञान हुन्छ; तिनीहरू यस विषयमा कुरा गर्छन् र प्रत्येक भाषण पछिल्लोभन्दा उत्तम हुन्छ, मानौं यो एक प्रतिस्पर्धा हो। तैपनि, यदि मानिस ठूलो परीक्षाबाट भएर गएको छैन भने ऊसित राम्रो साक्षी छ भन्नु कठिन हुन्छ। संक्षेपमा, मानिस जियाइको अझै पनि कमी छ, उसको बझाइको पूर्ण विपरीत छ। त्यसकारण, यो अझै मानिसको वास्तविक कद बन्‍न बाँकी नै छ, र यो अझै मानिसको जीवन बनेको छैन। मानिसको समझलाई वास्तविकतामा ल्याइएको छैन, त्यसकारण उसको कद अझै पनि बालुवामा बनेको किल्ला जस्तो हुन्छ, अस्थिर र ढल्न लागेको हुन्छ। मानिससँग यथार्थ एकदम थोरै छ; मानिसमा कुनै पनि वास्तविकता पाउन लगभग असम्भव छ। मानिसबाट स्वाभाविक रूपले बगिरहेको वास्तविकता एकदम थोरै छ, र तिनीहरू जिइरहेका सबै वास्तविकतामा करकापले गर्दा हो। यही कारणले गर्दा म भन्छु मानिससँग कुनै वास्तविकता छैन। मानिसहरू परमेश्‍वरप्रतिको उनीहरूको प्रेम कहिल्यै परिवर्तन हुँदैनन् भन्‍ने दाबी गर्दछन्, तर तिनीहरूले कुनै पनि परीक्षाको सामना गर्नु अघि भन्‍ने कुरा मात्रै हो। जब एक दिन उनीहरूले अचानक परीक्षाहरूको सामना गर्नुपर्दछ, उनीहरूले बोलेका कुराहरू फेरि वास्तविकतासँग अमिल्दा हुन्छन्, र यसले फेरि पनि मानिसमा कुनै वास्तविकता छैन भन्‍ने प्रमाणित गर्नेछ। यो भन्न सकिन्छ कि जब तँ यस्तो थोक भेट्टाउँछस् जुन तेरो धारणासँग मिल्दैन र जसले गर्दा तैँले आफैलाई अलग राख्नु आवश्यक हुँदछ, ती थोकहरू तेरा परीक्षाहरू हुन्। परमेश्‍वरको इच्छा प्रकट हुनुभन्दा अघि, सबै जना कठोर जाँच र अथाह परीक्षाबाट भएर जान्छन्। के तँ यो बुझ्न सक्छस्? जब परमेश्‍वर मानिसहरूलाई जाँच गर्न चाहनुहुन्छ, तब उहाँले सधैँ वास्तविक सत्यता प्रकट हुनुभन्दा अघि उनीहरूलाई आफ्नो निर्णय गर्ने अनुमति दिनुहुन्छ। यसको अर्थ के हो भने, जब परमेश्‍वरले मानिसलाई परीक्षाहरूमा पर्न दिनुहुन्छ, उहाँले तँलाई कहिल्यै पनि सत्यता बताउनुहुन्न; यही तरिकाद्वारा मानिसहरूलाई खुलासा गरिन्छ। तैँले आजका परमेश्‍वरलाई चिन्छस् कि चिन्दैनस्, साथै तँमा कुनै वास्तविकता छ कि छैन भनी हेर्नका लागि परमेश्‍वरले काम गर्नुहुने एउटा तरिका यही हो। के तँ परमेश्‍वरको कामको सम्बन्धमा साँच्‍चै शङ्का मुक्त छस्? तँमाथि ठूलो परीक्षा आइपर्दा के तँ साँच्चै दृढ भएर खडा हुन सक्‍नेछस्? कसले यसो भन्‍ने साहस गर्छ, “कुनै समस्या हुनेछैन भनेर म सुनिश्‍चितता दिन्छु”? “अरूलाई शङ्का लाग्ला, तर म कहिल्यै शङ्का गर्दिनँ” भनी कसले ठोकुवा गर्न सक्छ? यो ठीक त्यस्तै हो जब पत्रुसले परीक्षाहरूको सामना गर्नु परेको थियो: सत्य प्रकट हुनुअघि तिनले जहिले पनि घमण्ड गर्थे। यो पत्रुसमा मात्र भएको विशेष व्यक्तिगत त्रुटि होइन; यो वर्तमानमा सबै मानिसले सामना गरिरहेका सबैभन्दा ठूलो कठिनाइ हो। यदि म केही ठाउँमा भ्रमण गर्न गएँ वा आजको परमेश्‍वरको कामको बारेमा तिमीहरूको बुझाइ के रहेछ भनी हेर्न केही भाइ-बहिनीहरूलाई भेट्न गएँ भने, तब निश्‍चित रूपले तिमीहरू आफ्नो ज्ञानको बारेमा धेरै कुरा भन्न सक्छौ, र तिमीहरूमा कुनै पनि प्रकारको शङ्का छैन जस्तो देखिन सक्छ। यदि मैले तँलाई, “आजको काम परमेश्‍वर आफैले गर्नुभएको हो भनी के तैँले निर्धारण गर्न सक्छस्? के कुनै शङ्काविना त्यसो गर्न सक्छस्?” भनी सोधेँ भने, तैँले निश्‍चय नै यो जबाफ दिनेछस्, “कुनै पनि प्रकारको शङ्का छैन कि यो परमेश्‍वरका आत्माले गर्नुभएको काम हो।” तैँले यस्तो जबाफ दिइसकेपछि, तैँले निश्‍चित रूपमा रत्तीभर पनि शङ्का गर्दैनस्, र तैँले थोरै वास्तविकता प्राप्त गरेको ठान्दै तैँले केही आनन्दको अनुभव पनि गर्नेछस्। यस तरिकाले स्थितिहरूलाई बुझ्‍ने प्रवृत्ति भएका मानिसहरू थोरै वास्तविकता भएका मानिसहरू हुन्; व्यक्तिले त्यो पाएको छु भनी जति बढी सोच्छ, परीक्षाहरू आउँदा ऊ उत्ति नै कम खडा हुन सक्छ। ती अहङ्कारी र हठीहरूलाई धिक्कार, र तिनीहरूलाई धिक्कार, जसलाई आफ्‍नो बारेमा कुनै ज्ञान छैन। त्यस्ता व्यक्तिहरू कुरा गर्नमा पोख्त हुन्छन्, तैपनि उनीहरूको कुरालाई व्यवहारमा लागू गर्दा सबैभन्दा नराम्रो तरिकाले गर्छन्। समस्याको सानो सङ्केत देख्दा, यी मानिसहरूले शङ्का गर्न थाल्छन्, र तिनीहरूको मनमा छोडेर जाने विचार आउँछ। तिनीहरूसँग कुनै वास्तविकता हुँदैन; तिनीहरूसँग धर्मभन्दा माथिका सिद्धान्तहरू मात्र हुन्छ, जसमा परमेश्‍वरले अहिले चाहनुभएको कुनै वास्तविकता हुँदैन। कुनै पनि वास्तविकताविना नै सिद्धान्तहरूको कुरा मात्र गर्नेहरूलाई म सबैभन्दा बढी घृणा गर्छु। तिनीहरू आफ्नो काम गर्दा ठूलो स्वोर कराउँछन्, तर वास्तविकताको सामना गर्न साथै तिनीहरू चकनाचूर हुन्छन्। के यसले ती मानिसहरूमा कुनै वास्तविकता छैन भन्‍ने देखाउँदैन र? बतास र छालहरू जतिसुकै उग्र भए पनि, यदि तँ आफ्नो मनमा रत्तीभर शङ्का नगरी खडा रहन सक्छस्, र अरू कोही बाँकी नभए पनि तँचाहिँ दृढ भएर खडा रहन र इन्कार नगरी रहन सक्छस् भने, तँलाई वास्तविक बुझाइ भएको र सच्‍चा रूपमा वास्तविकता भएको व्यक्ति मानिनेछ। यदि तँ जता बतास बहन्छ त्यतैतिर मोडिन्छस् भने—यदि तँ बहुमतलाई पछ्याउँछस्, र सुगाजस्तो अरूको बोलीलाई रट्न सिक्छस् भने—तँ जति नै प्रभावशाली रूपमा बोल्ने भए पनि, त्यो तँमा वास्तविकता छ भन्‍ने कुराको प्रमाण हुँदैन। त्यसकारण, म सुझाव दिन्छु कि तँ खोक्रा शब्दहरू चिच्याउन हतार नगर्। परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ भन्‍ने के तँलाई थाहा छ? अर्को पत्रुसजस्तो व्यवहार नगर्, नत्र तैँले आफैमाथि सर्म ल्याउनेछस् र आफ्नो शिर उच्च पार्ने क्षमता गुमाउनेछस्; त्यसले कसैको कुनै भलाइ गर्दैन। धेरैजसो मानिसमा कुनै वास्तविक कद हुँदैन। परमेश्‍वरले धेरै काम गर्नुभएको भए तापनि, उहाँले वास्तविकतालाई तल मानिसहरूमा ल्याउनुभएको छैन; स्पष्ट भन्‍ने हो भने, उहाँले व्यक्तिगत रूपमा कसैलाई कहिल्यै सजाय दिनुभएको छैन। केही मानिसहरू यस्ता परीक्षाहरूद्वारा उदाङ्गो भएका छन् जसका पापी हातहरू परमेश्‍वरबाट अझ उत्तम थोक पाउन सकिन्छ, आफूले चाहेको जे पनि गर्न सकिन्छ भनी सोच्दै टाढा र टाढासम्म पुर्‍याउँछन्। तिनीहरूले यस प्रकारका परीक्षाहरूको समेत सामना गर्न नसक्ने भएकोले, अझ चुनौतीपूर्ण परीक्षाहरू त वास्तविकता धारण गर्नु जस्तै नै, उनीहरूको पहुँचदेखि बाहिरका कुरा हुन्छन्। के तिनीहरूले परमेश्‍वरलाई मूर्ख बनाउने मात्रै कोसिस गरिरहेका छैनन् र? वास्तविकता धारण गर्नु भनेको कुनै यस्तो कुरा होइन जुन बहाना बनाएर देखाउन सकिन्छ, न त वास्तविकता कुनै त्यस्तो कुरा नै हो जसलाई जानेपछि प्राप्त गर्न सकिन्छ। यो तेरो वास्तविक कदमा, साथै तैँले सबै परीक्षाहरूको सामना गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। के तैले बुझिस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३०

परमेश्‍वरले मानिसहरूमा वास्तविकताबारे कुरा गर्ने क्षमता होस् भन्‍ने मात्र चाहनुहुन्न; त्यो त धेरै सजिलो हुनेछ, होइन र? त्यसोभए, परमेश्‍वरले किन जीवनमा प्रवेश गर्नेबारे कुरा गर्नुहुन्छ? किन उहाँले रूपान्तरणको कुरा गर्नुहुन्छ? यदि मानिसहरू वास्तविकताको बारेमा खोक्रो कुरा गर्न मात्र सक्षम छन् भने, के तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्? राज्यका असल सिपाहीहरूलाई केवल वास्तविकताको बारेमा कुरा गर्न वा घमण्ड गर्न सक्ने मानिसहरूको समूह हुनका निम्ति मात्र तालिम दिइँदैन; बरु, हरसमय परमेश्‍वरको वचन अनुसार जिउन, जस्तोसुकै अवरोधहरूको सामना गर्नु परे पनि अटल रहन, र निरन्तर परमेश्‍वरको वचनअनुसार जिउन र संसारमा नफर्कनको लागि तिनीहरूलाई तालिम दिइन्छ। परमेश्‍वरले बताउनुभएको वास्तविकता यही हो; परमेश्‍वरले मानिससँग गर्नुभएको माग यही हो। यसैले, परमेश्‍वरले बताउनुभएको वास्तविकतालाई अति नै साधारण नठान। पवित्र आत्माबाट अन्तर्दृष्टि मात्रै प्राप्त गर्नु वास्तविकता धारण गर्नु बराबर होइन। मानिसको कद यस्तो छैन—यो परमेश्‍वरको अनुग्रह हो, जसमा मानिसको कुनै योगदान छैन। प्रत्येक व्यक्तिले पत्रुसको कष्ट सहनुपर्छ, यति मात्र होइन, तिनीहरूले पत्रुसको महिमा धारण गर्नुपर्दछ, जसमा तिनीहरू परमेश्‍वरको काम प्राप्त गरेपछि जिउँछन्। यसलाई मात्र वास्तविकता भन्न सकिन्छ। तैँले वास्तविकताको विषयमा कुरा गर्न सक्छस् भन्दैमा तँसँग त्यो छ भन्‍ने नसोच्; त्यो गलत हो। त्यस्ता विचारहरू परमेश्‍वरको इच्छासँग मेल खाँदैनन् र ती कुराको कुनै वास्तविक महत्त्व हुँदैन। भविष्यमा यस्ता कुरा नगर्—त्यस्ता भनाइहरूलाई समाप्त गर्। परमेश्‍वरका वचनहरूको बारेमा गलत बुझाइ भएकाहरू सबै अविश्‍वासीहरू हुन्। तिनीहरूसँग कुनै वास्तविक ज्ञान हुँदैन, वास्तविक कद हुने कुरा त परै जाओस्; तिनीहरू अज्ञानी मानिसहरू हुन् जसमा वास्तविकताको कमी हुन्छ। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको सारभन्दा बाहिर जिउनेहरू सबै अविश्‍वासीहरू हुन्। मानिसहरूले अविश्‍वासीहरू ठानेका व्यक्तिहरू परमेश्‍वरको नजरमा जनावरहरू हुन्, र परमेश्‍वरले अविश्‍वासीहरू ठान्नुभएका मानिसहरू त्यस्ता व्यक्तिहरू हुन् जसको जीवनमा परमेश्‍वरका वचनहरू हुँदैनन्। त्यसकारण जुन मानिसहरूसँग परमेश्‍वरको वचनको वास्तविकता हुँदैन र जो उहाँको वचनअनुसार जिउन असफल हुन्छन् तिनीहरू अविश्‍वासीहरू हुन् भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको उद्देश्य भनेको सबैलाई उहाँको वचनको वास्तविकता अनुसार जिउन लगाउनु हो—सबै जनालाई वास्तविकताको बारेमा कुरा गर्न लगाउनु मात्र होइन, तर, त्योभन्दा बढी, सबैलाई उहाँका वचनहरूको वास्तविकता अनुसार जिउन सक्ने तुल्याउनु हो। मानिसले बुझ्ने वास्तविकता अत्यन्त सतही हुन्छ; यसको कुनै मूल्य हुँदैन र यसले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन। यो अति तुच्छ छ र उल्लेख गर्न पनि लायक छैन। यसमा धेरै कुराको कमी छ र यो परमेश्‍वरका आवश्यकताहरूको मापदण्डबाट धेरै चुकेको छ। तिमीहरूमध्ये कसले बाटो देखाउन सक्ने नभई आफ्नो बुझाइको बारेमा कुरा गर्न सक्छ सो हेर्न, साथै तिमीहरूमध्ये कोचाहिँ फाल्न योग्य फोहोर जस्ता छौ सो पत्ता लगाउनको लागि तिमीहरू प्रत्येकलाई एउटा ठूलो निरीक्षणमा राखिनेछ। अबदेखि उसो यो याद राख! खोक्रो ज्ञानको कुरा नगर; केवल अभ्यासको मार्ग र वास्तविकताको बारेमा कुरा गर। वास्तविक ज्ञानबाट वास्तविक अभ्यासमा सर, त्यसपछि अभ्यासबाट वास्तविक जीवनमा सर। अरूलाई भाषण नदे, र वास्तविक ज्ञानको कुरा नगर्। यदि तैँले मार्गको बारेमा बुझेको छस् भने, तेरा शब्दहरूलाई स्वतन्त्र रूपमा यसमा जान दे; यदि यो बुझाइ मार्गको बारेमा होइन भने, तेरो मुख बन्द गर् र बोल्‍न छोड्! तैँले भन्‍ने कुरा व्यर्थको हुन्छ। तँ परमेश्‍वरलाई धोका दिन र अरूलाई ईर्ष्यालु बनाउनका लागि ज्ञानको कुरा गर्छस्। के त्यो तेरो महत्वाकांक्षा होइन र? के तैँले जानाजानी अरूसँग खेलबाड गरिरहेको छैनस् र? के यसमा कुनै मूल्य छ? यदि तैँले अनुभव गरिसकेपछि ज्ञानको बारेमा कुरा गरिस् भने तैँले घमण्ड गरेको रूपमा हेरिनेछैन। अन्यथा, तँ अहङ्कारी वचनहरू बोल्ने व्यक्ति होस्। तेरो वास्तविक अनुभवमा धेरै यस्ता कुराहरू छन् जसलाई तैँले विजय गर्न सक्दैनस्, र तैँले आफ्नै देहको विरुद्ध विद्रोह गर्न सक्दैनस्; तँ जहिले पनि आफूले चाहेको कुरा गरिरहन्छस्, परमेश्‍वरको इच्छा कहिल्यै पूरा गर्दैनस्—तापनि तँ अझै सैद्धान्तिक ज्ञानको कुरा गर्ने आँट गर्छस्। तँ निर्लज्ज छस्! तँ अझै पनि परमेश्‍वरका वचनहरू सम्बन्धी आफ्नो ज्ञानको कुरा बोल्ने साहस गर्छस्। तँ कति निर्लज्ज छस्! भाषण दिनु र गर्व गर्नु तेरो प्रकृति नै भएको छ, र तँलाई त्यसो गर्ने बानी भएको छ। जब-जब तँ बोल्न चाहन्छस्, तँ सजिलैसँग बोल्छस्, तर जब अभ्यास गर्ने कुरा आउँछ तब तँ अलङ्कारतिर लाग्छस्। के यो अरूलाई मूर्ख तुल्याउने तरिका होइन र? तैँले मानिसहरूलाई छल गर्न सक्लास्, तर परमेश्‍वरलाई धोका दिन सकिँदैन। मानिसहरू अनजान छन् र उनीहरूमा कुनै समझशक्ति छैन, तर परमेश्‍वर त्यस्ता विषयहरूमा गम्भीर हुनुहुन्छ, र उहाँले तँलाई बचाउनुहुनेछैन। तेरा भाइ-बहिनीहरूले तेरो निम्ति वकालत गर्न सक्नेछन्, तेरो समझशक्ति र तेरो ज्ञानको प्रशंसा र तेरो सराहना गर्न सक्छन्, तर यदि तँसँग कुनै वास्तविकता छैन भने, पवित्र आत्माले तँलाई बचाउनुहुनेछैन। सायद व्यावहारिक परमेश्‍वरले तेरा गल्तीहरू खोज्नुहुनेछैन, तर परमेश्‍वरका आत्माले तँलाई बेवास्ता गर्नुहुनेछ, र तँलाई यो कुरा सहन कठिन हुनेछ। के तँ यो कुरा विश्‍वास गर्छस्? अभ्यास गर्ने वास्तविकताको बारेमा धेरै कुरा गर्; के तैँले पहिले नै बिर्सी सकिस्? व्यावहारिक मार्गहरूको बारेमा धेरै कुरा गर्; के तैँले पहिले नै बिर्सी सकिस्? “उत्कृष्ट सिद्धान्तहरू र बेकम्मा, घमण्डी कुराहरू थोरै देऊ; अहिले नै अभ्यास गर्न सुरु गर्नु उत्तम हुन्छ।” के तैँले यी वचनहरू बिर्सिस्? के तँ केही पनि बुझ्दैनस्? के तँलाई परमेश्‍वरको इच्छाको बारेमा कुनै बुझाइ छैन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३१

तिमीहरूले अझ बढी वास्तविक पाठहरू सिक्‍नुपर्छ। मानिसहरूले आदरभावले हेर्ने त्यो ठूलो, खोक्रो गफ आवश्यक छैन। जब ज्ञानको चर्चा गर्ने कुरा आउँछ, प्रत्येक व्यक्तिको कुरा पहिलेको भन्दा उच्‍च हुन्छ, तर उनीहरूसँग अझै पनि अभ्यास गर्ने कुनै मार्ग हुँदैन। कति मानिसले अभ्यासका सिद्धान्तहरूलाई बुझेका छन्? कति जनाले वास्तविक पाठहरू सिकेका छन्? कसले वास्तविकताको बारेमा सङ्गति गर्न सक्छ? परमेश्‍वरका वचनहरूको ज्ञानको बारेमा बोल्न सक्‍नु भनेको तँमा वास्तविक कद छ भन्‍ने होइन; यसले तँ तीक्ष्ण बुद्धिसहित जन्मिस् र तँ प्रतिभाशाली छस् भन्‍ने मात्र देखाउँछ। यदि तैँले मार्ग देखाउन सक्दैनस् भने परिणाम केही पनि हुनेछैन, र तँ काम नलाग्‍ने कसिङ्गर नै हुनेछस्! यदि तँ अभ्यास गर्ने वास्तविक मार्गको बारेमा केही भन्‍न सक्दैनस् भने के तैँले बहाना बनाइरहेको छैनस् र? यदि तँ अरूलाई आफ्नो वास्तविक अनुभवहरू प्रदान गर्न सक्दैनस्, र त्यसरी तिनीहरूले सिक्‍न वा पछ्याउन सक्‍ने मार्ग दिन सक्दैनस् भने के तैँले जाल गरिरहेको हुँदैनस् र? के तँ एक कपटी होइनस् र? तेरो के महत्त्व छ? त्यस्तो व्यक्तिले “समाजवादको सिद्धान्त आविष्कार गर्ने व्यक्ति” को भूमिका मात्र खेल्न सक्छ, “समाजवाद ल्याउन योगदान दिने व्यक्ति” को भूमिका खेल्न सक्दैन। वास्तविकताविहीन हुनु भनेको सत्यताविहीन हुनु हो, निकम्मा हुनु हो, जिउँदो लास अनि कुनै सन्दर्भ मूल्य नभएको “मार्क्सवादी-लेनिनवादी विचारक” हुनु हो। म तिमीहरू सबैलाई सिद्धान्तको बारेमा बोल्‍न छोड र कुनै वास्तविक, सच्‍चा र सारगत कुराको बारेमा कुरा गर भन्‍ने आग्रह गर्छु; केही “आधुनिक कला” को अध्ययन गर्, केही वास्तविक कुरा भन्, केही वास्तविक योगदान दे, र केही समर्पणको भावना राख्। तँ बोल्दा वास्तविकताको सामना गर्; मानिसहरूलाई खुसी बनाउन वा बसेर तँलाई ध्यान दिने बनाउनका लागि अवास्तविक र अतिरञ्‍जित कुरामा लिप्त नबन्। त्यसमा मूल्य कहाँ हुन्छ? मानिसहरूलाई तँसँग न्यानो व्यवहार गर्न लगाउनुको के अर्थ छ? आफ्नो बोलीमा थोरै “कलात्मक” बन्, आफ्नो आचरणमा केही बढी निष्पक्ष बन्, परिस्थिति सम्हाल्ने आफ्नो शैलीमा अलि विवेकी बन्, आफूले भन्‍ने कुरामा अलि व्यावहारिक बन्, आफ्नो हरेक कार्यद्वारा परमेश्‍वरको घरमा फाइदा पुर्‍याउने बारेमा सोच्, आफू भावनात्मक हुँदा आफ्नो अन्तस्करणको आवाज सुन्, दयाको ऋण घृणाले नतिर् वा दया गर्दा अकृतज्ञ नबन्, र पाखण्डी नबन्, नत्र तँ खराब प्रभाव बन्छस्। तैँले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा तिनलाई अझ बढी वास्तविकतासँग जोड्, र तैँले सङ्गति गर्दा, वास्तविकताको बारेमा अझ बढी कुरा गर्। आफूलाई उच्‍च नठान्; यसले परमेश्‍वरलाई सन्तुष्ट पार्दैन। अरूसँगको बातचितमा तँ अलि सहनशील बन्, अलि नरम बन्, अलि उदार बन् र “प्रधानमन्त्रीको स्वभाव”[क] बाट सिक्। जब तँसँग नराम्रा विचारहरू हुन्छन्, तब देहलाई परित्याग गर्ने अझै बढी अभ्यास गर्। जब तँ काम गरिरहेको हुन्छस्, तब वास्तविक मार्गहरूको बारेमा अझै बढी कुरा गर्, र अत्यन्तै उच्‍च कुरा नगर्, अन्यथा तैँले भनेका कुराहरू मानिसहरूका लागि प्राप्त गर्नै नसकिने हुनेछन्। रमाइलो थोरै, योगदान धेरै गर्—तेरो समर्पणको निःस्वार्थ भाव देखा। परमेश्‍वरका अभिप्रायहरूप्रति अझै बढी विचारशील बन्, तेरो अन्तस्करणको आवाज अझै बढी सुन्, अझ बढी विचारशील बन्, र परमेश्‍वर कसरी तिमीहरूसित हरेक दिन धैर्यता र लगनशीलताका साथ बोल्नुहुन्छ भन्‍ने कुरालाई नबिर्सी। “पुरानो पञ्‍चाङ्ग” घरीघरी पढ्। धेरै प्रार्थना गर् र बारम्बार सङगति गर्। यस्तो अस्तव्यस्त हुन छोड्; केही समझ देखा र केही अन्तर्दृष्टि प्राप्त गर्। जब तेरो पापी हात पसारिन्छ, त्यसलाई पछाडि तान्; त्यत्ति धेरै परसम्म पुग्‍न नदे। त्यो कुनै कामको हुँदैन, र तैँले परमेश्‍वरबाट जे पाउँछस् त्यो श्रापबाहेक अरू केही हुनेछैन, त्यसैले होसियार बन्। तेरो हृदयलाई अरूमाथि दया गर्न दे, र सधैँ हातमा हतियार लिएर प्रहार नगर्। अरूलाई सहयोग गर्ने सोच लिएर, सत्यको ज्ञानको बारेमा धेरै सङ्गति गर् र जीवनको बारेमा धेरै कुरा गर्। धेरै गर् र थोरै बोल्। अभ्यास धेरै गर् र अनुसन्धान र विश्‍लेषण थोरै गर्। आफैलाई पवित्र आत्माद्वारा धेरै उत्प्रेरित हुन दे, र तँलाई सिद्ध बनाउन परमेश्‍वरलाई धेरै मौका दे। मानव तत्त्वहरूलाई अझ धेरै हटा; तँमा काम गर्ने मानवका तरिकाहरू अझै पनि धेरै छन्, र काम गर्ने तेरो सतही तरिका र व्यवहार अझै पनि अरूका निम्ति घृणित छ: यीमध्ये धेरै कुराहरूलाई हटा। तेरो मनोवैज्ञानिक स्थिति अझै पनि अति घृणास्पद छ; त्यसलाई सुधार गर्न अझै बढी समय खर्च गर्। तँ अझै पनि मानिसहरूलाई धेरै मान दिन्छस्; परमेश्‍वरलाई अझ बढी मान दे, र त्यत्ति धेरै विवेकहीन नबन्। “मन्दिर” सधैँ परमेश्‍वरको हुन्छ, र तिनलाई मानिसहरूले कब्जा गर्नु हुँदैन। संक्षेपमा, धार्मिकतामा धेरै र भावनाहरूमा कम ध्यान दे। देहलाई हटाउनु सर्वोत्तम हुन्छ। वास्तविकताको बारेमा धेरै र ज्ञानको बारेमा थोरै कुरा गर्; सबैभन्दा उत्तम भनेको चुप लाग्‍नु र केही नभन्‍नु नै हो। अभ्यासको मार्गको बारेमा धेरै कुरा गर्, र मूल्यहीन घमण्डका कुराहरू कम गर्। अहिले नै अभ्यास गर्न सुरु गर्नु सर्वोत्तम हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकतामा अझ बढी ध्यान देऊ

फूटनोट:

क. प्रधानमन्त्रीको स्वभाव: फराकिलो मन र उदारता भएको व्यक्तिलाई वर्णन गर्न प्रयोग गरिने एउटा ठेट चिनियाँ भनाइ।

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३२

परमेश्‍वरले मानिसहरूको लागि तय गर्नुभएका मापदण्डहरू त्यति धेरै उच्‍च छैनन्। मानिसहरूले लगनशील र इमानदार भई अभ्यास गरे भने, “उत्तीर्णाङ्क” प्राप्त गर्नेछन्। साँचो कुरा भन्‍ने हो भने, सत्यताको बुझाइ, ज्ञान र बोध प्राप्त गर्नु सत्यता अभ्यास गर्नुभन्दा धेरै जटिल छ। पहिला, तैँले आफूले जति बुझ्छस् त्यति अभ्यास गर् अनि तैँले जे बोध गरेको छस् त्यो अभ्यास गर्। यस तरिकाले, तैँले सत्यताको साँचो ज्ञान र बोध क्रमिक रूपमा हासिल गर्दै जानेछस्। पवित्र आत्माले यिनै चरण र माध्यममार्फत काम गर्नुहुन्छ। यदि यस तरिकाले आज्ञाकारिताको अभ्यास गरिनस् भने, तैँले केही पनि हासिल गर्नैछैनस्। यदि तँ सधैँ आफ्नै इच्छाअनुसार काम गर्छस् र आज्ञाकारिता अभ्यास गर्दैनस् भने, के पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछ? के पवित्र आत्माले तैँले चाहेअनुसार काम गर्नुहुन्छ? कि उहाँले तँसित जे कमी छ त्योअनुसार र परमेश्‍वरका वचनहरूको अधारमा काम गर्नुहुन्छ? यदि तँलाई यो कुरा स्पष्ट छैन भने, तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। किन धेरैजसो मानिसहरू परमेश्‍वरका वचनहरू पढ्नमा लागिपर्छन्, तर तिनीहरूले केवल ज्ञान मात्र प्राप्त गर्छन् र त्यसपछि वास्तविक मार्गको बारेमा केही पनि भन्‍न सक्दैनन्? के तँलाई ज्ञान धारण गर्नु नै सत्य धारण गर्नु हो भन्‍ने लाग्छ? के त्यो एक भ्रमित दृष्टिकोण होइन र? तैँले समुद्र किनारमा जत्ति धेरै बालुवाका कण छन्, त्यति नै धेरै ज्ञानका टुक्राहरूको कुरा बोल्न सक्छस् होला, तर तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो तमासा प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसहरूका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्‍च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, त्यति नै धेरै यो मानिसहरूलाई वास्तविकताभित्र लैजान असक्षम हुन्छ। सिद्धान्त जति उच्‍च हुन्छ, त्यति नै बढी त्यसले तँलाई परमेश्‍वरलाई चुनौती दिने र विरोध गर्ने बनाउँछ। आध्यात्मिक सिद्धान्तलाई शीरमा नचढाओ—यसको केही फाइदा छैन! कतिपय मानिसले दशकौँदेखि आध्यात्मिक सिद्धान्तबारे कुरा गरिरहेका छन्, र तिनीहरू अध्यात्मवादका दिग्गज भएका छन्, तर आखिरमा तिनीहरू पनि सत्यताको वास्तविकतामा प्रवेश गर्न असफल हुन्छन्। किनभने तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गरेका छैनन्, तिनीहरूसित अभ्यासका सिद्धान्त वा मार्ग छैनन्। यस्ता मानिसहरूसित सत्यताको वास्तविकता हुँदैन, अनि कसरी तिनीहरूले अरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा ल्याउन सक्छन्? तिनीहरूले मानिसहरूलाई बहकाउन मात्र सक्छन्। के यो अरूलाई र आफैलाई हानि गर्नु होइन र? कम्तीमा पनि, तँ आफ्नो ठीक अगाडि भएका वास्तविक समस्या समाधन गर्न सक्षम हुनैपर्छ। भन्‍नुको अर्थ, तँ परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनैपर्छ। यो मात्र परमेश्‍वरप्रतिको आज्ञाकारिता हो। तँ जीवनमा प्रवेश गरेको छस् भने मात्र, परमेश्‍वरको लागि काम गर्न योग्य हुन्छस् र तँ इमानदारीसाथ परमेश्‍वरमा समर्पित हुँदा मात्र, तैँले परमेश्‍वरबाट अनुमोदन पाउन सक्छस्। सधैँभरि भव्य अभिव्यक्तिहरू नदे र ठूलो सिद्धान्तको कुरा नगर्; यो वास्तविक होइन। तैँले मानिसहरूलाई तेरो प्रशंसा गर्न लगाउनका लागि आध्यात्मिक सिद्धान्तबारे आडम्बरी कुरा गर्नु भनेको परमेश्‍वरको गवाही दिनु होइन, त्यो त आफ्नै प्रदर्शन गर्नु मात्र हो। यसले मानिसहरूलाई फिटिक्‍कै फाइदा पुर्‍याउँदैन र तिनीहरूमा कुनै सुधार ल्याउँदैन, अनि यसले तिनीहरूलाई सजिलैसित आध्यात्मिक सिद्धान्तको आराधना गर्ने र सत्यता अभ्यास गर्नमा ध्यान नदिने बनाउँछ—अनि के यो मानिसहरूलाई बहकाइरहेको कुरा होइन र? यसो गरिरहँदा, अनेकौँ खोक्रो सिद्धान्त र नियमहरू जन्मनेछन्, जसले मानिसहरूलाई विवश र फन्दामा पार्नेछन्; यो साँच्‍चै नै लज्‍जास्पद कुरा हो। त्यसैले, जे वास्तविक छ त्यो धेरै बोल्, साँच्‍चै अस्तित्वमा रहेका समस्याहरूबारे धेरै कुरा गर् र वास्तविक समस्याहरू समाधान गर्नलाई सत्यता खोज्न धेरै समय बिता; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। सत्यता अभ्यास गर्न सिक्‍नका लागि ढिलो नगर्: वास्तविकतामा प्रवेश गर्ने मार्ग यही हो। अरूको अनुभव र ज्ञानलाई आफ्नो निजी सम्पत्ति नठान् र अरूको प्रशंसा पाउन तिनलाई उचालेर नदेखा। तैँले तेरो आफ्नै जीवन प्रवेश प्राप्त गर्नुपर्छ। तैँले सत्यता अभ्यास गरेर र परमेश्‍वरको आज्ञापालन गरेर मात्र जीवन प्रवेश प्राप्त गर्नेछस्। यो नै हरेक व्यक्तिले अभ्यास र ध्यान केन्द्रित गर्नुपर्ने कुरा हुनुपर्छ।

तैँले जे सङ्गति गर्छस् त्यसले यदि मानिसहरूलाई हिँड्ने मार्ग दिन सक्छ भने, त्यो तँसित वास्तविकता भएको जस्तै अवस्था हो। जुनसुकै कुरा गरे पनि तैँले मानिसहरूलाई अभ्यासमा ल्याउनुपर्छ र उनीहरूले पछ्याउन सक्‍ने मार्ग दिनुपर्छ। उनीहरूलाई ज्ञान मात्र लिन नदे; त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको हिँड्ने मार्ग प्राप्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नको लागि, मानिसहरूले परमेश्‍वरको काममा उहाँले डोऱ्याउनुभएको मार्गमा हिँड्नुपर्छ। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको पवित्र आत्माले डोऱ्याउनुहुने मार्गमा हिँड्ने प्रक्रिया हो। त्यसरी नै, चाहे जे भए पनि तँसँग आफूले हिँड्न सक्‍ने एउटा मार्ग हुनुपर्छ, र तैँले परमेश्‍वरद्वारा सिद्ध पारिइने मार्गमा पाइला टेक्‍नुपर्छ। धेरै पछाडि नपर्, र आफैलाई धेरै कुराहरूको चिन्तामा नपार्। परमेश्‍वरले डोऱ्याउनुभएको बाटोमा बाधा-व्यवधान खडा नगरी हिँडिस् भने मात्र तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस् र प्रवेश गर्ने मार्ग पाउनेछस्। यसलाई मात्र परमेश्‍वरका अभिप्रायहरूको अनुरूप बनेको र मानवजातिको कर्तव्य पूरा गरेको मानिन्छ। यस प्रवाहमा रहेको एक व्यक्तिको रूपमा, प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, मानिसहरूले जे गर्नुपर्ने हो त्यो काम अझै धेरै गर्नुपर्छ, र स्वेच्छाचारी व्यवहार गर्नु हुँदैन। काम गरिरहेका मानिसहरूले आफ्ना वचनहरू स्पष्ट पार्नैपर्छ, पछ्याउने मानिसहरूले कठिनाइ सहन र आज्ञापालन गर्नमा धेरै ध्यान केन्द्रित गर्नुपर्छ, र सबै जना आफ्नो स्थानमै रहिरहनुपर्छ, कोही पनि पङ्‌क्तिबाट बाहिर निस्कनु हुँदैन। अभ्यास कसरी गर्नुपर्छ र आफूले कुन कार्य पूरा गर्नुपर्छ भन्‍ने विषयमा प्रत्येक व्यक्ति हृदयदेखि नै स्पष्ट हुनुपर्छ। पवित्र आत्माले डोऱ्याउनुभएको बाटोमा हिँड्; गलत बाटोमा नजा वा नभड्की। तैँले आजको कामलाई स्पष्ट रूपमा देख्‍नुपर्छ। आजको कामका साधनहरूमा प्रवेश गर्नु नै तिमीहरूले अभ्यास गर्नुपर्ने कुरा हो। तँ प्रवेश गर्नुपर्ने पहिलो कुरा यही नै हो। अन्य कुराहरूमा थप वचनहरू खेर नफाल्। परमेश्‍वरको घरको आजको काम गर्नु नै तिमीहरूको जिम्मेवारी हो, आजको कामको तौरतरिकामा प्रवेश गर्नु नै तिमीहरूको कर्तव्य हो, र आजको सत्यता अभ्यास गर्नु नै तिमीहरूले वहन गर्नुपर्ने बोझ हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकतामा अझ बढी ध्यान देऊ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३३

परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने सबै सत्यहरू व्यावहारिक छन्। जे उहाँका वचनहरू होइनन् ती शून्य, अस्तित्वहीन, र अनुचित हुन्छन्। आज, परमेश्‍वरका वचनहरूमा मानिसहरूलाई मार्गनिर्देशित गर्न पवित्र आत्मा हुनुहुन्छ। यदि मानिसहरूले वास्तविकतामा प्रवेशको खोजी गर्नुछ भने, उनीहरूले वास्तविकता खोज्नुपर्छ, र वास्तविकता जान्नुपर्छ, त्यसपछि उनीहरूले वास्तविकता अनुभव गर्नुपर्छ, र वास्तविकतालाई जीवनमा उतार्नुपर्छ। मानिसहरूले वास्तविकतालाई जति बढी थाहा पाउँछन्, त्यति नै अरूका वचनहरू वास्तविक हुन् वा होइनन् त्यसलाई पहिचान गर्न उनीहरू सक्षम हुन्छन्; मानिसहरूले वास्तविकतालाई जति बढी थाहा पाउँछन्, उनीहरूसँग त्यति नै कम धारणाहरू हुन्छन्; मानिसहरूले वास्तविकतालाई जति बढी अनुभव गर्छन्, त्यति नै उनीहरूले वास्तविकताको परमेश्‍वरका कामहरू थाहा पाउँछन्, र उनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरूबाट मुक्त हुन उनीहरूलाई त्यति नै सजिलो हुन्छ; मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, त्यति नै बढी उनीहरूले परमेश्‍वरलाई चिन्छन् र त्यति नै बढी उनीहरूले शरीरलाई घृणा गर्छन् र सत्यलाई प्रेम गर्छन्; र मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरू उत्ति नै परमेश्‍वरका आवश्‍यकताहरूको मापदण्डहरूको नजिक आउँछन्। परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिसहरू वास्तविकताको स्वामित्वमा भएका मानिसहरू हुन्, जसलाई वास्तविकता थाहा छ, र जसले वास्तविकताको अनुभवद्वारा परमेश्‍वरका यथार्थ कामहरू जानेका हुन्छन्। तँ जति बढी व्यावहारिक तरिकाले परमेश्‍वरसँग सहकार्य गर्छस् र आफ्नो शरीरलाई अनुशासनमा राख्छस्, तैँले त्यति नै बढी पवित्र आत्माको काम प्राप्‍त गर्नेछस्, तैँले त्यति नै बढी वास्तविकता प्राप्त गर्नेछस्, र त्यति नै बढी परमेश्‍वरले तँलाई प्रकाश दिनुहुनेछ, र यसरी परमेश्‍वरको यथार्थ कामहरूको तेरो ज्ञान महान् बन्नेछ। यदि तँ पवित्र आत्माको विद्यमान प्रकाशमा जिउन सक्षम छस् भने, अभ्यासको विद्यमान मार्ग तेरो लागि अझै प्रष्ट हुनेछ, र विगतका धार्मिक धारणाहरू र पुराना अभ्यासहरूबाट आफूलाई अलग्याउन तँ अझै बढी सक्षम हुनेछस्। आजको मुख्य विषय भनेको यथार्थता हो: मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूको सत्यको ज्ञान उत्तिकै प्रस्ट हुन्छ, र परमेश्‍वरको इच्छाको उनीहरूको बुझाइ त्यत्तिकै महान् हुनेछ। वास्तविकताले सबै शाब्दिक अर्थहरू र सिद्धान्तहरूलाई पराजित गर्न सक्छ, यसले सबै सैद्धान्तिक नियम र विज्ञतालाई पराजित गर्न सक्छ, र मानिसहरूले वास्तविकतामा जति बढी ध्यान केन्द्रित गर्छन्, उनीहरूले परमेश्‍वरलाई त्यत्ति नै बढी साँचो प्रेम गर्छन्, र उहाँका वचनहरूको लागि भोका र प्यासी हुन्छन्। यदि तैँले वास्तविकतामा ध्यान केन्द्रित गरिस् भने, जीवन जिउने तेरो दर्शनशास्त्र, धार्मिक धारणाहरू, र प्राकृतिक गुण परमेश्‍वरको काम पछ्याउँदै स्वभाविक रूपमा हटेर जानेछ। वास्तविकताको खोजी नगर्ने, र वास्तविकताको ज्ञान नभएकाहरू अलौकिक कुराको खोजी गर्न सक्छन्, र उनीहरू सजिलै धोखामा पर्न सक्छन्। यस्ता मानिसहरूमा काम गर्ने कुनै माध्यम पवित्र आत्मासँग छैन, र त्यसैले उनीहरू रित्तो, र उनीहरूको जीवनको कुनै अर्थ छैन भन्‍ने महसुस गर्छन्।

पवित्र आत्माले तँमा केवल त्यसबेला काम गर्न सक्नुहुन्छ जब तैँले साँच्चै तालिम लिन्छस्, साँच्चै खोजी गर्छस्, साँच्चै प्रार्थना गर्छस्, र सत्यको खोजीको लागि कष्ट उठाउन तत्पर हुन्छस्। सत्यको खोजी नगर्नेहरूसँग शाब्दिक अर्थहरू र सिद्धान्तहरू, र रित्तो सैद्धान्तिक नियमहरू सिवाय केही पनि हुँदैन, र सत्य विहीनहरूसँग स्वाभाविक रूपमै परमेश्‍वरबारे धेरै धारणाहरू हुन्छन्। यस्ता मानिसहरू उनीहरूको दैहिक शरीरलाई आत्मिक शरीरमा बदल्न मात्र परमेश्‍वरको चाहना राख्छन् ताकि उनीहरू तेस्रो स्वर्गमा उक्लन सकून्। यी मानिसहरू कति मूर्ख छन्! यस्ता कुराहरू भन्‍ने सबैसँग परमेश्‍वरबारे, वा वास्तविकताबारे कुनै ज्ञान हुँदैन; यस्ता मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्नै सक्दैनन्, र निष्क्रिय रूपमा प्रतीक्षा मात्रै गर्न सक्छन्। यदि मानिसहरूले सत्य बुझ्नु छ, र सत्यलाई स्पष्ट रूपमा देख्नु छ, र यसको अतिरिक्त, यदि उनीहरू सत्यमा प्रवेश गर्नु छ र यसलाई व्यवहारमा लागू गर्नु छ भने, उनीहरूले साँच्चै तालिम गर्नुपर्छ, साँच्चै खोजी गर्नुपर्छ, र साँच्चै भोकाउनु र तिर्खाउनुपर्छ। जब तँ भोकाउँछस् र तिर्खाउँछस्, र जब तँ परमेश्‍वरसँग साँच्चै सहकार्य गर्छस्, परमेश्‍वरका आत्माले तँलाई निश्चय नै छुनुहुनेछ र तँभित्र काम गर्नुहुनेछ, जसले तँमा अझै बढी प्रकाश ल्याउनेछ, र तँलाई वास्तविकताको अझ बढी ज्ञान दिनेछ, र तेरो जीवनलाई ठूलो सहायता हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३४

यदि मानिसहरूले परमेश्‍वरलाई चिन्नु छ भने, सर्वप्रथम उनीहरूले परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ भन्‍ने जान्नुपर्छ, र उनीहरूले परमेश्‍वरका वचनहरू, परमेश्‍वर व्यावहारिक रूपमा देहमा प्रकट हुनुभएको, र परमेश्‍वरको व्यावहारिक काम जान्नुपर्छ। परमेश्‍वरका सबै काम व्यावहारिक छन् भन्‍ने जानेपछि मात्र तँ परमेश्‍वरसँग साँच्चै सहकार्य गर्न सक्षम हुनेछस्, र यो मार्ग भएर मात्र तैँले आफ्नो जीवनमा वृद्धि प्राप्त गर्न सक्‍नेछस्। वास्तविकताको ज्ञान नहुने सबैसँग परमेश्‍वरका वचनहरू अनुभव गर्ने कुनै उपाय हुँदैन, उनीहरू आफ्नै धारणाहरूको फन्दामा परेका हुन्छन् आफ्नै कल्पनामा बाँचेका हुन्छन्, त्यसैले उनीहरूसँग परमेश्‍वरका वचनहरूको कुनै ज्ञान छैन। वास्तविकता सम्‍बन्धी तेरो ज्ञान जति बृहत् छ, परमेश्‍वरसँग तँ त्यति नै निकट हुन्छस्, र उहाँसँग तँ त्यत्ति नै घनिष्ठ हुन्छस्; तँ जत्ति बढी अस्पष्टता, अमूर्तता र सिद्धान्तको खोजी गर्छस्, परमेश्‍वरबाट तँ उत्तिकै टाढा बहकिन्छस्, र परमेश्‍वरका वचनहरू अनुभव गर्नु जटिल र कठिन छ भन्‍ने तैँले अनुभूति गर्नेछस्, र तँ प्रवेश गर्न असमर्थ हुनेछस्। यदि तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा, र तेरो आत्मिक जीवनको सही मार्गमा प्रवेश गर्न चाहन्छस् भने, तैँले सर्वप्रथम वास्तविकता थाहा पाउनुपर्छ र अस्पष्ट र अलौकिक कुराहरूबाट आफूलाई अलग गर्नुपर्छ, भन्नुको तात्पर्य सर्वप्रथम पवित्र आत्माले तँलाई साँच्चै कसरी प्रकाश दिनुहुन्छ र मार्गदर्शन दिनुहुन्छ तैँले बुझ्नुपर्छ। यसरी, यदि तँ मानिसभित्रको पवित्र आत्माको यथार्थ कामलाई साँच्चिकै बुझ्न सक्छस् भने, तँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने सही मार्गमा प्रवेश गरेको हुनेछस्।

आज, सब थोक वास्तविकताबाट सुरु हुन्छ। परमेश्‍वरको काम नै सबैभन्दा बढी वास्तविक छ, र यसलाई मानिसहरूले छुन सक्छन्; मानिसहरूले अनुभव गर्न र प्राप्त गर्न सक्ने कुरा यही हो। मानिसहरूमा अस्पष्ट र अलौकिक कुरा धेरै हुन्छ, जसले परमेश्‍वरको हालको काम बुझ्नबाट उनीहरूलाई रोक्छ। त्यसैले, उनीहरू आफ्ना अनुभवहरूमा सधैँ तल-माथि हुन्छन्, र कामकुराहरू कठिन छन् भन्‍ने सधैँ महसुस गर्छन्, र यो सबै उनीहरूको धारणाहरूको कारणले भएको हो। मानिसहरू पवित्र आत्माको कामका सिद्धान्तहरूलाई बुझ्न असक्षम छन्, उनीहरू वास्तविकता जान्दैनन्, त्यसैले उनीहरू आफ्‍नो प्रवेशको मार्गबाट सधैँ नकारात्मक हुन्छन्। उनीहरू, परमेश्‍वरका अपेक्षाहरूलाई टाढाबाट हेर्छन्, तिनीहरूलाई हासिल गर्न असक्षम हुन्छन्; उनीहरूले परमेश्‍वरका वचनहरू साँच्चिकै असल छन् भन्‍ने मात्र देख्छन्, तर प्रवेश गर्ने मार्ग भेट्टाउन सक्दैनन्। पवित्र आत्माले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ: मानिसहरूको सहकार्यद्वारा, सक्रियतापूर्वक प्रार्थना गरेर, खोजेर र परमेश्‍वरको नजिक आएर उनीहरूद्वारा परिणामहरू प्राप्त गर्न सकिन्छ र पवित्र आत्माद्वारा उनीहरूलाई प्रकाश दिन र ज्योतिर्मय पार्न सकिन्छ। पवित्र आत्मा एकपक्षीय रूपमा काम गर्नु हुन्छ, वा मानिस एकपक्षीय रूपमा काम गर्छ भन्‍ने होइन। दुवै अपरिहार्य छन्, र मानिसले जति बढी सहकार्य गर्छ, र उनीहरूले परमेश्‍वरका आवश्यकताहरूका मापदण्डहरूको प्राप्तिको जत्ति बढी खोजी गर्छन्, पवित्र आत्माको काम उत्ति नै महान् हुन्छ। पवित्र आत्माको काममा थपिएको मानिसहरूको वास्तविक सहकार्यले मात्र, परमेश्‍वरका वचनहरूका वास्तविक अनुभवहरू र तात्विक ज्ञान पैदा गर्न सक्छ। विस्तारै, यस प्रकारले अनुभव गर्दै, सिद्ध व्यक्ति अन्ततः तयार पारिन्छ। परमेश्‍वरले अलौकिक कुराहरू गर्नुहुन्न; मानिसहरूका धारणाहरूमा, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्‍वरद्वारा नै सबै कुरा गरिन्छ—परिणामस्वरूप मानिसहरूले निष्क्रिय भएर पर्खिन्छन्, परमेश्‍वरका वचनहरू पढ्दैनन् वा प्रार्थना गर्दैनन्, र पवित्र आत्माको स्पर्शलाई केवल पर्खिन्छन्। यद्यपि, सही समझ भएकाहरूले यो विश्‍वास गर्छन्: परमेश्‍वरका कामहरू मेरो सहकार्यसम्म मात्र अगाडि बढ्न सक्छन्, र ममा परमेश्‍वरको कामको प्रभाव मैले कसरी सहकार्य गर्छु त्यसमा भर पर्छ। जब परमेश्‍वर बोल्नुहुन्छ, परमेश्‍वरका वचनहरू खोजी गर्न र यसप्रति प्रयत्न गर्न आफूले गर्न सक्ने सबै मैले गर्नुपर्छ; मैले प्राप्त गर्नुपर्ने यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३५

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छस्? तैँले साँच्चै नै परमेश्‍वरको बोझको बारेमा बुझ्ने र उहाँको इच्छालाई पूरा गर्न चाहेको कारण तैँले कति पल्ट परमेश्‍वरको वचनलाई अभ्यास गरेको छस्? तैँले परमेश्‍वरको वचनलाई बुझ्नुपर्छ र तिनलाई सोही अनुरूप अभ्यास गर्नुपर्छ। आफ्ना सबै कार्यहरू र कर्महरूमा अनुशासित बन्, तर यसको मतलब नियमहरूमा बाँधिनु वा मन नलागी-नलागी देखाउनको लागि मात्र कुनै काम गर्नुपर्छ भन्‍ने होइन; बरु यसको अर्थ सत्यको अभ्यास गर्दै परमेश्‍वरको वचन अनुरूप जिउनु हो। परमेश्‍वरलाई सन्तुष्ट पार्ने जस्तो गरी मात्रै अभ्यास गर्। परमेश्‍वरलाई प्रसन्न गराउने कुनै पनि कार्यविधि नियम हुँदैन, तर यो सत्यको अभ्यास हुन्छ। कतिपय मानिसहरूलाई आफूतर्फ ध्यान खिच्नेप्रति विशेष रुचि हुन्छ। आफ्नो दाजुभाइ र दिदीबहिनीहरूको उपस्थितिमा उनीहरूले आफू परमेश्‍वरको ऋणी भएको बताउन सक्छन् तर तिनीहरूको पिठ्यूँपछाडि उनीहरू सत्यको अभ्यास गर्दैनन् र सम्पूर्ण रूपमा फरक तरिकाले व्यवहार गर्दछन्। के उनीहरू पाखण्डी फरिसीहरू होइनन् र? परमेश्‍वरलाई वास्तविक रूपमा माया गर्ने र सत्यता धारण गरेको व्यक्ति भनेको त्यस्तो व्यक्ति हो जो परमेश्‍वरप्रति बफादार हुन्छ तर बाह्य रूपमा कुनै पनि देखावटी व्यवहार प्रदर्शन गर्दैन। त्यस्तो व्यक्ति परिस्थिति आइपरेमा सत्यको अभ्यास गर्न इच्छुक हुन्छ र आफ्नो विवेकको विरुद्ध हुने गरी बोल्ने र कार्य गर्ने गर्दैन। यस्तो व्यक्तिले अवस्थाहरू आई परेमा बुद्धिको प्रदर्शन गर्छ र परिस्थिति जस्तोसुकै भए तापनि ऊ आफ्नो कार्यहरूमा अनुशासित रहन्छ। यस प्रकारको व्यक्तिले साँचो सेवा प्रदान गर्न सक्छ। यहाँ केही यस्ता छन् जो परमेश्‍वरप्रतिको ऋणीपनको लागि प्रायः मुखले मात्र सेवा गर्दछन्; उनीहरू आँखीभौँहरू चिन्तामा डुबेको देखाउँदै, कृत्रिमता अपनाउँदै र दयनीय भएको स्वाङ पार्दै दिन बिताउँछन्। कस्तो घृणा लाग्दो कुरो! यदि तैँले उनीहरूलाई “के तपाईंले तपाईं कसरी परमेश्‍वरप्रति ऋणी हुनुहुन्छ भनेर मलाई भन्न सक्नुहुन्छ?” भनेर सोधिस् भने उनीहरू अवाक् हुनेछन्। यदि तँ परमेश्‍वरप्रति बफादार छस् भने तैँले यसको बारेमा बाह्य रूपमा नबता; बरु वास्तविक अभ्यासमार्फत परमेश्‍वरप्रतिको प्रेम प्रदर्शित गर्, र साँचो हृदयले उहाँलाई प्रार्थना गर्। परमेश्‍वरसँग केवल मुखले र झारो टार्न मात्र व्यवहार गर्ने व्यक्तिहरू पाखण्डीहरू हुन्! कोही भने हरेक पल्ट प्रार्थना गर्दा परमेश्‍वरप्रति ऋणी भएको कुरा गर्छन्, र पवित्र आत्माद्वारा प्रेरित नभईकन पनि हरेक पल्ट प्रार्थना गर्दा रुन थाल्छन्। यस्ता व्यक्तिहरू धार्मिक विधिविधानहरू र धारणाहरूको अधीनमा हुन्छन्; उनीहरू सधैँ यस्ता कार्यहरूले परमेश्‍वर खुशी हुनुहुनेछ र उहाँले सतही भक्ति वा शोकाकुल आँशुहरूलाई रुचाउनुहुन्छ भनेर विश्‍वास गर्दै यस्तै धार्मिक विधिविधानहरू र धारणाहरूसँगै बाँच्ने गर्छन्। यस्ता हास्यास्पद मानिसहरूबाट के राम्रो कुरा आउन सक्छ र? कोही भने विनम्रता प्रदर्शित गर्नको लागि अन्य व्यक्तिहरूको उपस्थितिमा कुरा गर्दा शालीनताको ढोंग रच्छन्। कोही चाहिँ अन्य व्यक्तिहरूको उपस्थितिमा एक त्यान्द्रो बल पनि नभएको भेडाको पाठो झैं बनेर जानाजान दास जस्तो बन्छन्। के यो राज्यका मानिसहरूलाई सुहाउने आचरण हो? राज्यका मानिसहरू त सजीव र स्वतन्त्र, निर्दोष र खुला मनको, इमानदार र प्यारो हुनुपर्छ अनि स्वतन्त्रताको स्थितिमा बाँचिरहेको हुनुपर्छ। उनीहरूमा निष्ठा र प्रतिष्ठा हुनुपर्छ र जहाँसुकै जाँदा पनि साक्षीको रूपमा खडा हुनसक्‍ने हुनुपर्छ; यस्ता मानिसहरूलाई परमेश्‍वर र मानिस दुवैले माया गर्छन्। विश्‍वासमा अनुभव रहित मानिसहरूसँग एकदमै धेरै देखावटी अभ्यासहरू हुन्छन्; उनीहरूले सर्वप्रथम निराकरण वा विच्छिन्नताको अवधिबाट गुज्रनुपर्छ। भित्रदेखि नै परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई बाहिरबाट अन्य व्यक्तिहरूबाट भिन्‍नता छुट्याउन सकिँदैन, तर उनीहरूका व्यवहार र कार्यहरू प्रशंसा योग्य हुन्छन्। त्यस्ता मानिसहरूलाई मात्र परमेश्‍वरको वचनमा जिइरहेका छन् भनेर भन्न सकिन्छ। यदि तँ हरेक दिन विविध मानिसहरूमाझ उनीहरूलाई मुक्ति प्रदान गर्ने हेतुले सुसमाचार प्रचार गर्छस्, तर तँ अन्ततः अझै पनि नियमहरू र सिद्धान्तहरू अनुरूप जिउँछस् भने तैँले परमेश्‍वरमा महिमा ल्याउन सक्दैनस्। त्यस्ता व्यक्तिहरू धर्मानुरागी व्यक्तित्वहरू हुनुका साथसाथै पाखण्डीहरू हुन्। जब-जब यस्ता धार्मिक मानिसहरू धार्मिक जमघटमा जान्छन्, उनीहरूले सोध्न सक्छन्, “बहिनी, तपाईं हाल कस्तो हुनुहुन्छ?” उनले उत्तर दिन सक्छिन्, “मलाई लाग्छ, म परमेश्‍वरको ऋणी छु, र मैले उहाँको इच्छा परिपूर्ति गर्न सक्दिन जस्तो लाग्छ”। अर्कोले भन्न सक्छ, “म पनि परमेश्‍वरको ऋणी भएको महसुस गर्छु, र मैले उहाँको इच्छा परिपूर्ति गर्न सक्दिन जस्तो लाग्छ”। यी केही वाक्यहरू र शब्दहरू मात्रले पनि उनीहरू भित्र भएको घृणित कुराहरूलाई व्यक्त गर्दछन्; यी शब्दहरू घृणायोग्य छन्, र अति नै घिनलाग्दा छन्। यस्ता मानिसहरूको स्वभाव परमेश्‍वरको विरुद्धमा हुन्छ। यथार्थमा जोड दिने मानिसहरूले आफ्नो मस्तिष्कमा जे छ ती सबै कुराहरू बताउँछन्, र सङ्गतिमा आफ्नो मनको कुरा खोल्छन्। उनीहरू केवल एउटा पनि गलत अभ्यासमा संलग्न हुँदैनन्, उनीहरूले न त त्यस्तो शिष्टाचार प्रदर्शित गर्छन् न त खोक्रो हाँसि-मजाक नै गर्छन्। उनीहरू सँधै सीधा कुरा गर्ने हुन्छन्, र उनीहरूले कुनै पनि बाहिरी नियमहरूको पालना गर्दैनन्। केही मानिसहरूलाई बाह्य प्रदर्शनमा रुचि हुन्छ, र त्यो पूरै विवेक गुमाउने हदसम्मको पनि हुन सक्छ। जब कसैले गीत गाउँछ, उनीहरू नाच्न सुरु गर्छन्, उनीहरूलाई आफ्नो भाँडोमा भात डढी सक्यो भन्‍ने ख्याल पनि रहँदैन। यस्ता मानिसहरू धार्मिक वा सम्मान योग्य हुँदैनन् र उनीहरू अति नै हल्का स्वभावका हुन्छन्। यी सबै कुराहरू यथार्थ विहीनताको प्रकटीकरणहरू हुन्। जब केही मानिसहरूले आत्मिक जीवनका विषयहरूको बारेमा सङ्गति गर्छन्, उनीहरूले परमेश्‍वरसँग ऋणी भएको कुरा नगरे तापनि उनीहरूमा भित्र कहीँ उहाँप्रतिको साँचो प्रेम हुन्छ। अन्य मानिसहरूसँग परमेश्‍वरप्रति रहेको तपाईंहरूको ऋणीपनको भावनाको कुनै सम्बन्ध हुँदैन; तपाईंहरू परमेश्‍वरप्रति ऋणी हुनुहुन्छ, तर मानवतासँग ऋणी हुनुहुन्न। तपाईंहरूले सधैँ अन्य व्यक्तिहरूसँग यसको बारेमा कुरा गर्नुको के अर्थ हुन्छ? तपाईंहरूले वास्तविकतामा प्रवेश गर्ने कुरामा महत्त्व दिनुपर्छ, बाह्य उत्साह वा प्रदर्शनमा होइन। मानिसहरूका सतही असल कार्यहरूले केलाई प्रतिनिधित्व गर्छन्? तिनीहरूले देहको प्रतिनिधित्व गर्छन्, र बाह्य अभ्यासहरूमध्ये सर्वोत्तम अभ्यासले पनि जीवनको प्रतिनिधित्व गर्दैन; तिनीहरूले तेरो व्यक्तिगत मनोवृत्तिलाई मात्रै दर्शाउँछ। मानवजातिको बाह्य अभ्यासहरूले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्दैन। तँ निरन्तर आफू परमेश्‍वरप्रति ऋणी भएको छु भनी भन्छस्, तर तैँले अन्य व्यक्तिहरूको जीवनलाई परिपूर्ति गर्दैनस् वा परमेश्‍वरलाई माया गर्न उनीहरूलाई प्रेरित गर्दैनस्। के तँ तेरा कार्यहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्छ भनेर विश्‍वास गर्छस्? तँलाई आफ्ना कार्यहरू परमेश्‍वरको इच्छा अनुरूप नै छ जस्तो लाग्छ, र तिनीहरू आत्माको इच्छा अनुरूप छन् भन्‍ने लाग्छ, तर वास्तवमा, तिनीहरू सबै हास्यास्पद छन्। जुन कुराले तँलाई खुशी तुल्याउँछ र तँ जे गर्न चाहन्छस् तिनै कुराहरूमा परमेश्‍वर खुशी हुनुहुन्छ भनेर तँ विश्‍वास गर्छस्। के तेरो मन पर्ने कुराहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छ त? के व्यक्तिको चरित्रले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ त? जुन कुराले तँलाई खुशी तुल्याउँछ, सोही कुरालाई नै परमेश्‍वरले घृणा गर्नुहुन्छ, र तेरो बानी-व्यहोरा नै ती कुरा हुन् जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। यदि तँ ऋणी भएको अनुभव गर्छस् भने परमेश्‍वरको सामने गएर प्रार्थना गर्; यसको बारेमा अन्य व्यक्तिहरूसँग कुरा गर्न जरुरी छैन। यदी तैँले परमेश्‍वरको अगाडि प्रार्थना गर्दैनस् भने, र अन्य व्यक्तिहरूको उपस्थितिमा निरन्तर आफूतर्फ मात्रै ध्यान आकर्षित गर्छस् भने, के यसले परमेश्‍वरको इच्छालाई सन्तुष्ट गर्न सक्छ र? यदि तेरा कार्यहरू केवल देखावटी रूपमा मात्र विद्यमान रहन्छन् भने यसको मतलब तँ चरम रूपमा बेकामे छस् भन्‍ने हुन्छ। ती कस्ता आचरणका मानिसहरू हुन् जो केवल सतही असल कार्य गर्दछन् र वास्तविकता विहीन रहन्छन्? त्यस्ता मानिसहरू केवल पाखण्डी फरिसीहरू र धार्मिक व्यक्तित्वहरू मात्रै हुन्। यदि तिमीहरूले बाह्य अभ्यासलाई त्याग्दैनौ र परिवर्तन गर्न सक्दैनौ भने तिमीहरूभित्र भएको पाखण्डीपन झन्-झन् मौलाउनेछ। तिमीहरूभित्र पाखण्डीपनका तत्वहरू जति धेरै ठूलो भयो, परमेश्‍वर विरुद्धको प्रतिरोध पनि त्यति नै धेरै हुन्छ। अन्त्यमा, त्यस्ता मानिसहरूलाई हटाइनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३६

सामान्य व्यक्तिको स्वरूपलाई पुनर्स्थापित गर्न, अर्थात्, सामान्य मानवता हासिल गर्नको लागि, मानिसहरूले केवल उनीहरूको वचनद्वारा मात्र परमेश्‍वरलाई खुसी पार्न सक्दैनन्। त्यसो गरेर तिनीहरू आफ्नै हानि मात्र गर्छन्, र यसले तिनीहरूको प्रवेश वा रूपान्तरणमा फाइदा गर्दैन। त्यसकारण, रूपान्तरण प्राप्त गर्न, मानिसहरूले अलिअलि गर्दै अभ्यास गर्नुपर्छ। तिनीहरू बिस्तारै प्रवेश गर्नुपर्छ, अली-अली गर्दै खोज्नु र पत्ता लगाउनुपर्छ, सकारात्मक भएर प्रवेश गर्नुपर्दछ, र सत्यको व्यावहारिक जीवन; एक सन्तको जीवन जिउनुपर्छ। त्यसपछि, वास्तविक थोकहरू, वास्तविक घटनाहरू, र वास्तविक वातावरणले मानिसहरूलाई व्यावहारिक तालिम दिन्छ। मानिसहरूले ओठको सेवा गर्नुपर्ने कुनै आवश्यक छैन; यसको सट्टा, तिनीहरूले वास्तविक वातावरणमा तालिम लिनुपर्छ। मानिसहरूले पहिले उनीहरूमा अति थोरै क्षमता छ भनी थाहा पाउँछन् र त्यसपछि उनीहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, सामान्य रूपमा प्रवेश गर्छन् र अभ्यास गर्छन्; यसरी मात्र उनीहरूले वास्तविकता प्राप्त गर्न सक्दछन्, र यसरी नै प्रवेश अझ तीव्र गतिमा आउन सक्छ। मानिसहरूलाई रूपान्तरण गर्नको लागि, केही व्यावहारिकता हुनुपर्दछ; तिनीहरूले वास्तविक थोकहरू, वास्तविक घटनाहरू, र वास्तविक वातावरणमा अभ्यास गर्नुपर्छ। के एक व्यक्तिले मण्डलीको जीवनमा मात्र निर्भर भएर साँचो तालिम लिन सक्छ? के मानिसहरू यस्तो प्रकारले वास्तविकतामा प्रवेश गर्न सक्छन्? सक्दैनन्! यदि मानिसहरू वास्तविक जीवनमा प्रवेश गर्न सक्दैनन् भने, तिनीहरू आफ्नो पुरानो जीवनशैली र काम गर्ने पुराना तरिकाहरू रूपान्तरण गर्न सक्दैनन्। यो पूर्ण रूपमा मानिसहरूको आलस्य र धेरै परनिर्भरताका कारणले होइन, तर यसको कारण के हो भने, मानिसहरूसँग जिउने क्षमता छैन, र यसको अतिरिक्त, उनीहरूलाई सामान्य व्यक्तिको स्वरूपको सम्बन्धमा परमेश्‍वरको मापदण्डको ज्ञान छैन। विगतमा, मानिसहरू जहिल्यै पनि कुरा गर्दथे, बोल्थे, कुराकानी गर्थे—र तिनीहरू “वक्ता” समेत बने—तापनि उनीहरूमध्ये कसैले पनि आफ्नो जीवनको स्वभावमा रूपान्तरणको खोजी गरेनन्; यसको सट्टा, तिनीहरूले अन्धाधुन्ध गहन सिद्धान्तहरूको खोजी गरे। यसैले, आजका मानिसहरूले आफ्नो जीवनमा परमेश्‍वरमाथिको विश्‍वास गर्ने धार्मिक शैली परिवर्तन गर्नुपर्दछ। तिनीहरूले एउटा घटना, एउटा थोक, एउटा व्यक्तिमा केन्द्रित भएर अभ्यासमा प्रवेश गर्नुपर्दछ। तिनीहरूले ध्यान दिएर यो गर्नुपर्छ—तब मात्र तिनीहरूले परिणाम प्राप्त गर्न सक्छन्। मानिसहरूको रूपान्तरण तिनीहरूको सारको परिवर्तनबाट सुरु हुन्छ। त्यो कामको लक्ष्य मानिसहरूको सार, तिनीहरूका जीवन, र तिनीहरूको आलस्य, परनिर्भरता, र दासत्वमा लक्षित हुनुपर्दछ—यस तरिकाले मात्र उनीहरू रूपान्तरण हुन सक्छन्।

मण्डलीको जीवनले केही क्षेत्रहरूमा परिणाम उत्पन्न गर्न सक्‍ने भए तापनि, मुख्य कुरा त अझै पनि के हुन्छ भने, वास्तविक जीवनले नै मानिसहरूलाई रूपान्तरण गर्न सक्छ। कुनै व्यक्तिको पुरानो स्वभावलाई वास्तविक जीवनविना रूपान्तरण गर्न सकिँदैन। उदाहरणका लागि हामी अनुग्रहको युगको अवधिको येशूको कामलाई विचार गरौं। जब येशूले पहिलेका व्यवस्थाहरूलाई रद्द गर्नुभयो र नयाँ युगका आज्ञाहरू स्थापित गर्नुभयो, तब उहाँ वास्तविक जीवनका वास्तविक उदाहरणहरू प्रयोग गरेर बोल्नुभयो। विश्राम-दिनमा येशू आफ्ना चेलाहरूलाई गहुँको खेततिरबाट डोऱ्याउँदै लैजानुभएको बेला, उहाँका चेलाहरू भोकाए र अन्नका बालाहरू चुँडाएर खाए। फरिसीहरूले यो देखेर तिनीहरूले शबाथको दिन पालन गरिरहेका छैनन् भनी भने। तिनीहरूले शबाथको दिन खाडलमा खसेका बाछाहरूलाई बचाउन मानिसहरूलाई अनुमति छैन, किनभने विश्रामको दिनमा कुनै काम गर्नुहुँदैन पनि भने। येशूले नयाँ युगको आज्ञा बिस्तारै विस्तार गर्नका निम्ति यी घटनाहरूको बारेमा उल्लेख गर्नुभयो। त्यस समयमा, उहाँले मानिसहरूलाई बुझ्न र रूपान्तरण हुन सहायता गर्नको लागि धेरै वटा व्यावहारिक विषयहरू प्रयोग गर्नुभयो। यही सिद्धान्तद्वारा पवित्र आत्माले आफ्नो काम गर्नुहुन्छ, र मानिसहरूलाई रूपान्तरण गर्न सक्‍ने एउटै मात्र तरिका यही हो। व्यावहारिक विषयहरूविना, मानिसहरूले सैद्धान्तिक र बौद्धिक बुझाइ मात्र प्राप्त गर्न सक्छन्—यो रूपान्तरण हुने प्रभावकारी तरिका होइन। त्यसैले, कुनै व्यक्तिले तालिमद्वारा कसरी बुद्धि र अन्तर्दृष्टि प्राप्त गर्न सक्छ? के मानिसहरूले सुनेर, पढेर, र आफ्नो ज्ञान बढाएर मात्र बुद्धि र ज्ञान प्राप्त गर्न सक्छ? यस्तो कसरी हुन सक्छ? मानिसहरूले वास्तविक जीवनमा बुझ्नु र अनुभव गर्नुपर्दछ! त्यसकारण, एक व्यक्तिले तालिम लिनैपर्छ, र ऊ वास्तविक जीवनबाट अलग हुनु हुँदैन। मानिसहरूले विभिन्न पक्षमा ध्यान दिनुपर्छ र तिनीहरू विभिन्न पक्षहरूमा प्रवेश गर्नुपर्दछ: शिक्षाको स्तर, अभिव्यक्ति क्षमता, विभिन्न कुराहरू देख्‍ने क्षमता, समझशक्ति, परमेश्‍वरको वचन बुझ्ने क्षमता, सामान्य ज्ञान र मानवजातिका नियमहरू, र मानवजातिसँग सम्बन्धित अन्य कुराहरू जसद्वारा मानिसहरूसँग सुसज्जित हुनुपर्छ। बुझाइ प्राप्त गरिसकेपछि, मानिसहरूले प्रवेशमा ध्यान केन्द्रित गर्नुपर्दछ, र त्यसपछि मात्र रूपान्तरण प्राप्त गर्न सकिन्छ। यदि कसैले बुझाइ प्राप्त गरेको छ, तर तिनीहरूले अभ्यासलाई बेवास्ता गर्छन् भने, रूपान्तरण कसरी प्राप्त हुन सक्छ? वर्तमानमा, मानिसहरूले धेरै कुरा बुझ्दछन्, तर तिनीहरू वास्तविकतामा जिउँदैनन्; तसर्थ, तिनीहरूसँग परमेश्‍वरको वचन सम्‍बन्धी आवश्यक बुझाइ थोरै मात्र हुन्छ। तैँले तुलनात्मक हिसाबमा थोरै मात्र ज्ञान प्राप्त गरेको छस्; तैँले पवित्र आत्माबाट थोरै मात्र प्रकाश प्राप्त गरेको छस्, तापनि तँ वास्तविक जीवनमा प्रवेश गरेको छैनस्—वा तैँले प्रवेश गर्नेबारे वास्ता पनि गर्दैनस्—त्यसैले तँ कम रूपान्तरण भएको छस्। त्यत्ति लामो समयपछि, मानिसहरूले धेरै कुरा बुझ्छन्। तिनीहरू सिद्धान्तहरू सम्बन्धी आफ्नो ज्ञानको बारेमा धेरै कुरा गर्न सक्छन्, तर तिनीहरूको बाहिरी स्वभाव उस्तै नै रहन्छ, र तिनीहरूको मूल क्षमता यथावत् रहन्छ, अलिकति पनि अगाडि बढ्दैन। यदि यस्तो हो भने, तँ अन्ततः कहिले प्रवेश गर्नेछस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३७

मण्डलीको जीवन केवल एउटा यस्तो प्रकारको जीवन हो जहाँ मानिसहरू परमेश्‍वरको वचनको स्वाद लिन भेला हुन्छन्, र यसले व्यक्तिको जीवनको सानो भागलाई मात्र निर्माण गर्छ। यदि मानिसहरूको सामान्य जीवन—सामान्यतया परमेश्‍वरका वचनहरूको स्वाद लिँदै, प्रार्थना गर्दै र सामान्यतया परमेश्‍वरसँग नजिक हुँदै, सबै कुरा परमेश्‍वरको इच्छाअनुसार गरेर वास्तविक जीवन जिउँदै, सबै कुरा परमेश्‍वरको सत्यता अनुसार गरेर वास्तविक जीवन जिउँदै, प्रार्थनाको अभ्यास गर्ने र परमेश्‍वरको सामु शान्त रहन अभ्यास गर्ने वास्तविक जीवन जिउँदै, भजनहरू गाउने र नाच्‍ने जस्ता कार्य अभ्यास गर्दै जिउने गरिएको सामान्य आत्मिक जीवन लगायत—तिनीहरूको मण्डलीको जीवन जस्तै हुन सक्यो भने त्यस किसिमको जीवनले मात्र तिनीहरूलाई परमेश्‍वरको वचनको जीवनमा ल्याउनेथियो। धेरैजसो मानिसहरूले मण्डलीदेखि बाहिरको जीवनलाई “परवाह” नगरी उनीहरूको मण्डली जीवनका कैयौं घण्टाको समयलाई मात्र ध्यान दिन्छन्, मानौं बाहिरको जीवनसित तिनीहरूको कुनै सरोकार छैन। त्यहाँ त्यस्ता धेरै मानिसहरू पनि छन् जो परमेश्‍वरका वचनहरू खाउँदा र पिउँदा, भजनहरू गाउँदा, वा प्रार्थना गर्दा मात्र सन्तहरूको जीवनमा प्रवेश गर्छन्, त्यसपछि ती समयदेखि बाहिरका समयमा उनीहरू आफ्‍ना पुरानो स्वभावमा फर्कन्छन्। यस प्रकारको जियाइले मानिसहरूलाई रूपान्तरण गर्न सक्दैन, तिनीहरूलाई परमेश्‍वर चिन्‍ने तुल्याउनु त परको कुरा हो। परमेश्‍वरमा विश्‍वास गरेर, यदि मानिसहरू आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छन्, भने उनीहरूले आफैलाई वास्तविक जीवनबाट अलग गर्नुहुँदैन। वास्तविक जीवनमा तैँले आफैलाई चिन्नुपर्छ, आफैलाई त्याग्नुपर्छ, सत्यको अभ्यास गर्नुपर्छ, साथै बिस्तारै रूपान्तरण हासिल गर्नुभन्दा अघि तैँले सबै कुरामा आत्म-आचरणका सिद्धान्तहरू, सामान्य ज्ञान र नियमहरू सिक्नुपर्दछ। यदि तैँले सैद्धान्तिक ज्ञानमा मात्र ध्यान केन्द्रित गर्छस् र वास्तविकताको गहिराइमा नपसी, वास्तविक जीवनमा प्रवेश नगरी केवल धार्मिक विधिविधानहरूमा मात्र जिउँछस् भने तँ वास्तविकताभित्र कहिल्यै पनि प्रवेश गर्नेछैनस्, तैँले आफैलाई, सत्यतालाई वा परमेश्‍वरलाई कहिल्यै जान्नेछैनस्, र तँ सदासर्वदा अन्धो र अज्ञानी हुनेछस्। मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कार्य तिनीहरूलाई थोरै समयपछि सामान्य मानवीय जीवन बिताउन दिनु होइन, न त उनीहरूका गलत धारणा र सिद्धान्तहरूलाई रूपान्तरण गर्नको लागि नै हो। बरु, उहाँको उद्देश्य मानिसहरूको पुरानो स्वभाव परिवर्तन गर्नु, उनीहरूको पुरानो जीवनशैलीलाई पूर्ण रूपमा बदल्नु, र तिनीहरूको पुरानो सोच र मानसिक दृष्टिकोणलाई बदल्नु हो। केवल मण्डलीको जीवनमा ध्यान केन्द्रित गरेर मात्रै मानिसहरूका पुरानो जीवनका बानीहरू परिवर्तन हुँदैनन् वा उनीहरू लामो समयदेखि बाँचेको पुरानो तरिकाहरू परिवर्तन हुँदैनन्। जे भए पनि, मानिसहरू वास्तविक जीवनबाट अलग हुनुहुँदैन। मानिसहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सामान्य मानव जीवन जिऊन् भनी परमेश्‍वरले आग्रह गर्नुहुन्छ; तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सत्यतामा बाँचून्, र तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, वास्तविक जीवनमा समेत आफ्ना कार्यहरू पूरा गरून्। वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ मोड्नुपर्छ। यदि, परमेश्‍वरमा विश्‍वास गरेर, वास्तविक जीवनमा प्रवेश गरेपछि मानिसहरूले आफैलाई चिन्न सक्दैनन्, र यदि तिनीहरू वास्तविक जीवनको सामान्य मानवतामा जिउन सक्दैनन् भने तिनीहरू असफल बन्नेछन्। परमेश्‍वरको आज्ञा पालन नगर्नेहरू सबै ती मानिसहरू हुन् जो वास्तविक जीवनमा प्रवेश गर्न सक्दैनन्। तिनीहरू सबै ती मानिसहरू हुन् जसले मानवताको कुरा त गर्छन्, तर भूतात्माहरूको प्रकृति बोकेर जिउँछन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले सत्यको कुरा गर्छन्, तर त्यसको साटो धर्मसिद्धान्तहरूमा जिउँछन्। वास्तविक जीवनमा सत्यताअनुसार जिउन नसक्नेहरू ती हुन् जसले परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर तिनीहरूलाई उहाँले घृणा र अस्वीकार गर्नुहुन्छ। तैँले वास्तविक जीवनमा प्रवेश गर्ने अभ्यास गर्नुपर्छ, तेरा आफ्नै कमीहरू, अनाज्ञाकारिता, र अज्ञानतालाई जान्नुपर्छ, र तेरो असामान्य मानवता र कमजोरीहरूलाई जान्नुपर्छ। त्यसरी, तेरो ज्ञान तेरो वास्तविक अवस्था र कठिनाइहरूसँग जोडिनेछ। केवल यस प्रकारको ज्ञान मात्र वास्तविक हुन्छ र तँलाई वास्तविक रूपमा तेरो आफ्नो अवस्था बुझ्ने र स्वभाविक रूपान्तरण प्राप्त गर्ने तुल्याउन सक्छ।

अब मानिसहरूलाई सिद्ध बनाउने कार्य औपचारिक रूपमा सुरु भएको छ, त्यसकारण तँ वास्तविक जीवनमा प्रवेश गर्नु नै पर्छ। यसैले रूपान्तरण प्राप्त गर्नको लागि, तैँले वास्तविक जीवनमा प्रवेश गरेर यस कार्यलाई थाल्नुपर्छ, र अलिअलि गर्दै रूपान्तरण हुनुपर्छ। यदि तँ सामान्य मानवीय जीवनलाई बेवास्ता गर्छस् र केवल आत्मिक कुराको बारेमा मात्र कुरा गर्छस् भने, स्थितिहरू सुक्खा र नीरस बन्छन्; ती अव्यावहारिक बन्छन्, तब मानिसहरू कसरी रूपान्तरण हुन सक्छन्? अब तँलाई साँचो अनुभवमा प्रवेश गर्ने आधार स्थापना गर्नका लागि अभ्यास गर्न वास्तविक जीवनमा प्रवेश गर्न भनिएको छ। यो मानिसहरूले गर्नुपर्ने कार्यको एउटा पक्ष हो। पवित्र आत्माको काम मुख्यतया मार्गदर्शन दिनु हो, जबकि बाँकी कुराहरू मानिसहरूको अभ्यास र प्रवेशमा निर्भर हुन्छ। सबैले विभिन्न मार्गहरूद्वारा वास्तविक जीवनमा प्रवेश गर्न सक्छन्, त्यसरी तिनीहरूले परमेश्‍वरलाई वास्तविक जीवनमा ल्याउन सक्छन्, र तिनीहरू वास्तविक सामान्य मानवतामा जिउन सक्छन्। यो मात्रै जीवन अर्थपूर्ण जीवनको प्रकार हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३८

योभन्दा पहिले, पवित्र आत्माको उपस्थिति हुनु र पवित्र आत्माको काम हुनु फरकफरक कुरा हो भनेर भनिन्थ्यो। पवित्र आत्माको उपस्थिति हुनुको सामान्य स्थिति सामान्य विचारहरू, सामान्य तर्कशक्ति र सामान्य मानवतामा प्रकट हुन्छ। व्यक्तिको चरित्र पहिले जस्तो थियो त्यस्तै रहनेछ, तर तिनीहरूभित्र शान्ति हुनेछ, र बाहिरी रूपमा तिनीहरूमा सन्तको शिष्टता हुनेछ। पवित्र आत्मा तिनीहरूसँग हुनुहुँदा तिनीहरू यस्तै हुनेछन्। जब कसैसँग पवित्र आत्माको उपस्थिति हुन्छ, तिनीहरूको सोचविचार सामान्य हुन्छ। जब तिनीहरू भोकाउँछन् तब खान चाहन्छन्, जब तिनीहरू तिर्खाउँछन् तब पानी पिउन चाहन्छन्। … सामान्य मानवताका यस्ता प्रकटीकरणहरू पवित्र आत्माका अन्तर्दृष्टि होइनन्; ती त पवित्र आत्माको उपस्थितिमा हुने मानिसहरूका सामान्य सोचाइ र सामान्य स्थिति हुन्। कतिपय मानिसहरूले गलत रूपमा के विश्‍वास गर्छन् भने, जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरू भोकाउँदैनन्, तिनीहरू थाक्दैनन्, र तिनीहरूले आफ्नो परिवारको बारेमा सोच्दैनन्, तिनीहरूले आफैलाई देहबाट लगभग पूर्ण रूपले अलग गरेका हुन्छन्। वास्तवमा, मानिसहरूसँग पवित्र आत्मा जति धेरै रहनुहुन्छ, तिनीहरू त्यति नै सामान्य हुन्छन्। तिनीहरू परमेश्‍वरको लागि दुःख भोग्‍न र कामकुराहरू त्याग्‍न, आफैलाई परमेश्‍वरको निम्ति अर्पण गर्न, र परमेश्‍वरप्रति बफादार हुन जान्दछन्; त्यसबाहेक, तिनीहरूले खाने र लाउनेबारेमा पनि विचार गर्छन्। अर्को शब्दमा भन्दा, मानिसहरूमा हुनुपर्ने र हुने सामान्य मानवतालाई तिनीहरूले अलिकति पनि गुमाएका हुँदैनन्, बरु तिनीहरूमा खास तर्कशक्ति हुन्छ। कहिलेकहीँ तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन् र परमेश्‍वरको कामको बारेमा चिन्तन गर्छन्; तिनीहरूको हृदयमा विश्‍वास हुन्छ र तिनीहरू सत्यको पछि लाग्‍न इच्छुक हुन्छन्। अवश्य नै, पवित्र आत्माको काम यही जगमा आधारित हुन्छ। यदि मानिसहरूमा सामान्य सोचविचार छैन भने, तिनीहरूमा कुनै तर्कशक्ति हुँदैन—यो सामान्य स्थिति होइन। जब मानिसहरूमा सामान्य सोचविचार हुन्छ र पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ, तब तिनीहरूमा अवश्य नै सामान्य मानिसको तर्कशक्ति हुन्छ, र त्यसैले तिनीहरूसँग सामान्य स्थिति हुन्छ। परमेश्‍वरको कामको अनुभव गर्दा, पवित्र आत्माको काम कहिलेकहीँ मात्र प्राप्त हुन्छ, जबकि पवित्र आत्माको उपस्थिति प्रायः निरन्तर रहिरहन्छ। जबसम्म मानिसहरूको तर्कशक्ति र सोचविचार सामान्य हुन्छन्, र जबसम्म तिनीहरूको स्थिति सामान्य हुन्छ, तबसम्‍म पवित्र आत्मा अवश्य नै तिनीहरूको साथमा रहनुहुन्छ। जब मानिसहरूका तर्कशक्ति र सोचविचार सामान्य हुँदैनन्, तब तिनीहरूको मानवता सामान्य हुँदैन। यदि यस क्षणमा, तँमा पवित्र आत्माको काम छ भने, पवित्र आत्मा पनि निश्‍चय नै तँसँग हुनुहुनेछ। तर यदि पवित्र आत्मा तँसँग हुनुहुन्छ भने, यसले पवित्र आत्माले तँभित्र अवश्य नै काम गरिरहनुभएको छ भन्‍ने जनाउँदैन, किनकि पवित्र आत्माले विशेष समयहरूमा काम गर्नुहुन्छ। पवित्र आत्माको उपस्थिति हुनुले मानिसको सामान्य अस्तित्वलाई मात्रै कायम राख्‍न सक्छ, तर पवित्र आत्माले निश्‍चित समयहरूमा मात्र काम गर्नुहुन्छ। उदाहरणका लागि, यदि तँ एक अगुवा वा सेवक होस् भने, जब तँ मण्डलीको लागि मलजल गर्छस् वा भरणपोषण गर्छस्, तब पवित्र आत्माले तँलाई केही निश्‍चित वचनहरूको प्रकाश दिनुहुनेछ जुन अरूको लागि शिक्षाप्रद र तेरा दाजुभाइ-दिदीबहिनीहरूका केही व्यावहारिक समस्याहरू समाधान गर्न सक्‍ने हुन्छ—त्यस्तो समयमा पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कहिलेकहीँ, जब तैँले परमेश्‍वरका वचनहरू खाइरहेको र पिइरहेको हुन्छस्, त्यस बेला पवित्र आत्माले तँलाई निश्‍चित वचनहरूको प्रकाश दिनुहुन्छ जुन तेरा आफ्नै अनुभवहरूसित सान्दर्भिक हुन्छन्, र त्यसले तँलाई तेरो आफ्नै स्थितिको बारेमा अझ ठूलो ज्ञान दिन्छ; यो पनि पवित्र आत्माको काम हो। कहिलेकहीँ, जब म बोल्छु, तिमीहरू सुन्छौ र मेरा वचनहरूको आधारमा आफ्नो स्थितिलाई मापन गर्न सक्षम हुन्छौ, र कहिलेकहीँ तिमीहरू प्रभावित वा उत्प्रेरित हुन्छौ; यी सबै पवित्र आत्माका काम हुन्। कतिपय मानिसहरू पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ भनी भन्छन्। यो असम्भव छ। यदि तिनीहरूले पवित्र आत्मा सधैँ उनीहरूको साथमा हुनुहुन्छ भनी भन्थे भने त्यो यथार्थपरक हुनेथ्यो। यदि तिनीहरूले आफ्‍ना सोचविचार र चेतना सधैँ सामान्य छन् भनी भन्थे भने त्यो पनि यथार्थपरक हुनेथ्यो र त्यसले पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ भनी देखाउनेथ्यो। यदि तिनीहरूले पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ, हरपल तिनीहरूले परमेश्‍वरको अन्तर्दृष्टि र पवित्र आत्माको छुवाइ प्राप्त गर्छन् र हरसमय तिनीहरूले नयाँ ज्ञान हासिल गर्छन् भनी भन्छन् भने, त्यो कुनै पनि हालतमा सामान्य कुरा होइन! यो पूर्ण रूपमा अलौकिक हो! त्यस्ता मानिसहरू दुष्टात्मा हुन् भन्‍नेमा कुनै शङ्का छैन! परमेश्‍वरका आत्मा देहमा आउनुहुँदासमेत, कहिलेकहीँ उहाँले खानु र विश्राम गर्नुपर्छ भने, मानिसको बारेमा त झन् के कुरा गर्ने र! दुष्ट आत्माहरूद्वारा ग्रस्त मानिसहरूमा देहको कुनै कमजोरी नभएको जस्तो देखिन्छ। तिनीहरूले सबै थोक छोड्न र त्याग्‍न सक्छन्, तिनीहरू भावनाबाट मुक्त हुन्छन्, यातना सहन सक्‍ने र अलिकति पनि थकान महसुस नगर्ने हुन्छन्, मानौं तिनीहरूले देहलाई पार गरिसकेका छन्। के यो अत्यन्त अलौकिक कुरा होइन र? दुष्टात्माहरूको काम अलौकिक हुन्छ—कुनै पनि मानिसले त्यस्तो कुरा हासिल गर्न सक्दैन! समझको कमी हुनेहरू त्यस्ता मानिसहरूलाई देख्दा ईर्ष्यालु हुन्छन्: परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा तिनीहरूसित जोस छ, ठूलो विश्‍वास छ, र कमजोरीको सानोभन्दा सानो सङ्केतसमेत कहिल्यै देखाउँदैनन् भनी तिनीहरू भन्छन्! वास्तवमा, यी सबै दुष्टात्माको कामका प्रकटीकरणहरू हुन्। किनकि, सामान्य मानिसहरूसित अपरिहार्य रूपमा नै मानवीय कमजोरीहरू हुन्छन्; जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरूमा हुने सामान्य अवस्था यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४३९

आफ्नो गवाहीमा दृढ भएर खडा हुनु भनेको के हो? केही व्यक्तिहरूले अहिलेजस्तै गरी पछ्याइरहन्छौँ र आफूहरू जीवन प्राप्त गर्न सक्षम छौँ कि छैनौँ भन्‍ने वास्ता गर्दैनौँ भनी भन्छन्; तिनीहरूले जीवनको खोजी गर्दैनन्, तर तिनीहरू पछि पनि हट्दैनन्। तिनीहरूले कामको यो चरण परमेश्‍वरले नै गर्नुहुन्छ भन्‍ने कुरालाई मात्र स्वीकार गर्छन्। के यो तिनीहरू आफ्नो गवाहीमा असफल हुनु होइन र? त्यस्ता मानिसहरूले आफूलाई विजय गरिएको गवाही पनि दिँदैनन्। विजय गरिएका मानिसहरूले अरू सबै कुराहरूको बाबजुत पनि पछ्याउँछन् र जीवनको खोजी गर्न सक्छन्। तिनीहरूले व्यावहारिक परमेश्‍वरमा विश्‍वास मात्र गर्दैनन्, परमेश्‍वरका सबै प्रबन्धहरू पछ्याउन पनि जान्दछन्। गवाही दिनेहरू त्यस्तै व्यक्तिहरू हुन्। गवाही नदिनेहरू कहिल्यै पनि जीवनको पछि लागेका हुँदैनन् र अझै पनि लडखडाउँदै पछ्याइरहेका हुन्छन्। तैँले पछ्याउँछस् होला, तर त्यसको अर्थ तँलाई विजय गरिएको छ भन्‍ने हुँदैन, किनकि तँलाई परमेश्‍वरको आजको कामको कुनै ज्ञान छैन। विजय गरिनको लागि केही सर्तहरू पूरा गर्नुपर्छ। पछ्याउनेहरू सबैलाई विजय गरिएको हुँदैन, किनकि आजका परमेश्‍वरलाई किन पछ्याउनुपर्छ भन्‍नेबारेमा तैँले आफ्नो हृदयमा केही पनि बुझ्दैनस्, न त तँलाई आजको दिनसम्म तँ कसरी आइपुगिस्, कसले तँलाई आजको दिनसम्‍म सहयोग गर्‍यो सो कुरा नै जान्दछस्। केही व्यक्तिहरूको परमेश्‍वरमाथिको विश्‍वासको अभ्यास सधैँ अन्धाधुन्ध र दोधारे किसिमको हुन्छ; त्यसैले पछ्याउँदैमा तँसित गवाही छ भन्‍ने हुँदैन। साँचो गवाही भनेको के हो? यहाँ कुरा गरिएको गवाहीका दुई भाग छन्: एउटा आफूलाई विजय गरिएको गवाही हो, र अर्कोचाहिँ सिद्ध पारिएको गवाही हो (जुन स्वाभाविक रूपमा भविष्यका ठूला परीक्षा र सङ्कष्टपछि हुनेछ)। अर्को शब्दमा, यदि तँ सङ्कष्ट र परीक्षाहरूमा दृढ भएर खडा हुन सकिस् भने, तैँले गवाहीको दोस्रो चरण धारण गरेको हुनेछस्। आजको लागि महत्त्वपूर्ण भनेको गवाहीको पहिलो चरण अर्थात् हरेक सजाय र न्यायको परीक्षामा दृढ भई खडा हुन सक्षम हुनु हो। विजय गरिनुको गवाही यही हो। किनकि विजयको समय अहिले नै हो। (पृथ्वीमा परमेश्‍वरले काम गर्नुहुने समय अहिले नै हो भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ; पृथ्वीमा देहधारी परमेश्‍वरको मुख्य काम भनेको मानिसहरूको यो समूहलाई जित्‍नु हो जसले न्याय र सजाय हुँदै उहाँलाई पछ्याउँछ।) तैँले गवाही दिन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तैँले अन्त्यसम्म पछ्याउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा मात्र निर्भर नभएर, त्योभन्दा अझ महत्त्वपूर्ण रूपमा, तैँले परमेश्‍वरको कामको प्रत्येक चरण अनुभव गर्ने क्रममा, तैँले परमेश्‍वरको सजाय र न्यायलाई साँचो रूपमा बुझ्‍न सक्छस् कि सक्दैनस्, र तैँले यो सारा कामलाई साँचो रूपमा बुझ्छस् कि बुझ्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। तँ अन्त्यसम्म पछ्याएर मात्र उम्कन सक्दैनस्। तँ प्रत्येक सजाय र न्यायको अवधिमा स्वेच्छाले समर्पित हुन सक्‍नुपर्छ, तैँले अनुभव गर्ने कामको प्रत्येक चरणलाई साँच्‍चै राम्ररी बुझ्न सक्‍नुपर्छ, अनि परमेश्‍वरको स्वभावको ज्ञान प्राप्त गर्न र आज्ञापालन गर्न सक्‍नुपर्छ। विजय गरिनुको अन्तिम गवाही यही हो, जुन गवाही तैँले दिनुपर्छ। विजय गरिनुको गवाहीले मुख्य रूपमा परमेश्‍वरको देहधारणसम्बन्धी तेरो ज्ञानलाई जनाउँछ। अत्यन्तै महत्त्वपूर्ण रूपमा, गवाहीको यो चरण परमेश्‍वरको देहधारणको निम्ति हो। तैँले संसारका मानिसहरू वा शक्ति प्रयोग गर्ने व्यक्तिहरूका अगाडि के गर्छस् वा के भन्छस् भन्‍ने कुराको महत्त्व हुँदैन; तैँले परमेश्‍वरका मुखबाट निस्केका सबै वचनहरू र उहाँका सबै कामहरूलाई पालन गर्न सक्छस् कि सक्दैनस् भन्‍नेचाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसकारण, गवाहीको यो चरण शैतान र परमेश्‍वरका सबै शत्रुहरूप्रति लक्षित छ—परमेश्‍वर दोस्रोपटक देह बन्‍नुहुनेछ र अझ महान् काम गर्न आउनुहुनेछ भनी विश्‍वास नगर्ने, र अझ भन्‍ने हो भने, परमेश्‍वर देहमा फर्केर आउनुभएको तथ्यलाई विश्‍वास नगर्ने दुष्टात्मा र शत्रुहरूप्रति लक्षित छ। अर्को शब्दमा भन्दा, यो सम्पूर्ण ख्रीष्टविरोधीहरूप्रति लक्षित छ—परमेश्‍वरको देहधारणमा विश्‍वास नगर्ने सबै शत्रुहरूप्रति लक्षित छ।

परमेश्‍वरको बारेमा सोच्नु र परमेश्‍वरको तिर्सना गर्नुले तँ परमेश्‍वरद्वारा जितिएको छस् भन्‍ने प्रमाणित गर्दैन; यो तैँले उहाँ देह बन्‍नुभएका वचन हुनुहुन्छ भनी विश्‍वास गर्छस् कि गर्दैनस्, वचन देहधारी हुनुभएको छ भनी विश्‍वास गर्छस् कि गर्दैनस्, र परमेश्‍वरका आत्मा वचन बन्‍नुभएको छ भन्‍ने कुरामा विश्‍वास गर्छस् कि गर्दैनस्, र वचन देहमा देखा पर्नुभएको छ भनी विश्‍वास गर्छस् कि गर्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। मुख्य गवाही यही हो। तैँले कसरी पछ्याउँछस् त्यो महत्त्वपूर्ण छैन, न त तैँले आफैलाई कसरी समर्पित गर्छस् भन्‍ने नै महत्त्वपूर्ण हुन्छ; महत्त्वपूर्ण कुरा भनेको यस सामान्य मानवताबाट तैँले वचन देह बन्‍नुभएको छ र सत्यका आत्मा देहमा प्रकट हुनुभएको छ—सत्य, बाटो र जीवन सबै देहमा आएका छन्, परमेश्‍वरका आत्मा साँच्‍चै पृथ्वीमा आउनुभएको छ र आत्मा देहमा आउनुभएको छ भन्‍ने कुरालाई पत्ता लगाउन सक्छस् कि सक्दैनस् भन्‍ने हो। बाहिरबाट हेर्दा, यो पवित्र आत्माद्वारा हुने गर्भधारणभन्दा फरक देखिने भए पनि, यस काममा तैँले आत्मा पहिले नै देह बन्‍नुभएको छ, अझ भन्‍ने हो भने, वचन देहधारी बन्‍नुभएको छ र वचन देहमा देखा पर्नुभएको छ भन्‍ने कुरालाई स्पष्ट रूपमा देख्‍न सक्छस्। तैँले यी वचनहरूको सही अर्थ बुझ्न सक्छस्: “प्रारम्‍भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो।” यसबाहेक, तैँले आजको वचन परमेश्‍वर हुनुहुन्छ भन्‍ने बुझ्‍नुपर्छ, र वचन देहधारी बन्‍नुहुन्छ भन्‍ने कुरालाई देख्‍नुपर्छ। तैँले दिन सक्‍ने सर्वोत्तम गवाही यही हो। परमेश्‍वर देहधारी बन्‍नुभएको छ भन्‍नेबारेमा तँसँग सही ज्ञान छ भन्‍ने यसैले प्रमाणित गर्दछ—तैँले उहाँलाई चिन्‍न सक्‍ने मात्र नभई, आज तँ हिँडिरहेको बाटो जीवनको बाटो हो र सत्यको बाटो हो भनेर पनि जान्दछस्। येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्‍ने सार मात्र पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो, र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र देहबाट अलग गर्न नसकिने हुनुहुन्थ्यो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्माको साथमा हुनुहुन्थ्यो, र यो कुरा देहधारी येशू नै परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्‍ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्‍नुहुन्छ” भन्‍ने वाक्यांशको भित्री अर्थ सटीक रूपमा पूरा गर्छ, “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो” भन्‍ने वाक्यांशमा अझ गहिरो अर्थ थप्छ र तँलाई “प्रारम्भमा वचन हुनुहुन्थ्यो” भन्‍ने वचनमा ठोस रूपमा विश्‍वास गर्ने तुल्याउँछ। भन्‍नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्‍ना वचनहरूको शक्ति र अख्तियारलाई अझ स्पष्ट पार्नुहुन्छ र मानिसलाई उहाँका सबै मार्गहरू हेर्न—उहाँका सबै वचनहरू सुन्‍न लगाउनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू सम्पूर्ण रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्‍नुको सवाल होइन, बरु तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्‍ने कुरा हो। यो तैँले धारण गर्नुपर्ने र सबैले जान्‍नुपर्ने गवाही हो। यो दोस्रो देहधारणको काम हो—र यो परमेश्‍वर देह बन्‍नुहुने अन्तिमपटक हो—यसकारण यसले देहधारणको महत्त्वलाई पूर्ण रूपमा पूरा गर्छ, र देहमा परमेश्‍वरका सम्पूर्ण कामहरूलाई अघि बढाउँछ र प्रस्तुत गर्छ, र परमेश्‍वर देहमा हुनुहुने युगलाई समाप्त गर्छ। यसैले, तैँले देहधारणको अर्थ जान्‍नुपर्छ। तँ कति धेरै दगुरी हिँड्छस्, वा तैँले अरू बाहिरी कुराहरू कति राम्ररी गर्छस् भन्‍ने कुराले फरक पार्दैन; तर तँ देहधारी परमेश्‍वरको सामु साँच्‍चै समर्पित हुन सक्छस् कि सक्दैनस्, तेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा अर्पण गर्न सक्छस् कि सक्दैनस्, र उहाँको मुखबाट निस्कने सबै वचनहरू पालन गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। तैँले गर्नुपर्ने कुरा यही हो, र तैँले पालन गर्नुपर्ने कुरा पनि यही हो।

गवाहीको अन्तिम चरण भनेको तँ सिद्ध पारिन योग्यको छस् कि छैनस् भन्‍ने कुराको गवाही हो—भन्‍नुको अर्थ, देहधारी परमेश्‍वरको मुखबाट बोलिएका सबै वचनहरू बुझिसकेपछि तँमा परमेश्‍वरको बारेमा ज्ञान हुन्छ र तँ उहाँको बारेमा निश्‍चित हुन्छस्, र तँ परमेश्‍वरको मुखबाट निस्केका सबै वचनअनुसार जिउँछस्, र परमेश्‍वरले तँलाई दिनुभएका सर्तहरू अर्थात् पत्रुसको शैली र अय्यूबको विश्‍वास हासिल गर्छस्, यहाँसम्‍म कि तँ मृत्युसम्मै आज्ञा पालन गर्न सक्छस्, आफूलाई पूर्ण रूपमा उहाँमा समर्पित गर्न सक्छस्, र अन्त्यमा मापदण्डअनुरूपको व्यक्तिको स्वरूप प्राप्त गर्छस्, अर्थात् परमेश्‍वरको न्याय र सजाय अनुभव गरेपछि जितिएको र सिद्ध पारिएको व्यक्तिको स्वरूप प्राप्त गर्छस्। अन्तिम गवाही यही हो—अन्ततः सिद्ध पारिने व्यक्तिले दिनुपर्ने गवाही यही हो। तैँले दिनुपर्ने गवाहीका दुई चरण यी नै हुन्, ती अन्तरसम्बन्धित र अपरिहार्य छन्। तर तैँले जान्‍नैपर्ने एउटा कुरा छः आज मैले तँबाट चाहेको गवाही संसारका मानिसहरूप्रति लक्षित छैन, न त कुनै एकल व्यक्तिप्रति नै लक्षित छ, बरु मैले तँलाई गर्नू भनी भनेको कुराप्रति लक्षित छ। तैँले मलाई सन्तुष्ट पार्न सक्छस् कि सक्दैनस्, साथै मैले तिमीहरू प्रत्येकलाई दिएको मापदण्डको स्तर तैँले पूर्ण रूपमा हासिल गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराद्वारा यसको मापन गरिन्छ। तैँले बुझ्नुपर्ने कुरा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४०

जब तिमीहरूले थोरै बाधा वा कठिनाइ भोग्छौ, त्यो तिमीहरूका निम्ति राम्रो हुन्छ; यदि तिमीहरूलाई सहज समय दिइयो भने तिमीहरू बरबाद हुनेथ्यौ, तब तिमीहरू कसरी सुरक्षित हुन सक्थ्यौ? आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै भ्रष्टतामा पर्नेथ्यौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र तिनीहरूको स्वभाव परिवर्तन गर्न पनि त्यत्तिकै कठिन छ। आज, तिमीहरूमा पावलको जस्तो विवेक वा समझ छैन, न त तिमीहरूमा आत्म-सचेतना नै छ। तिमीहरूलाई सधैँ दबाबमा पार्नुपर्छ र तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय र न्याय गर्नुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ। तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन तयार हुँदैनौ, समर्पित हुन इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई जित्‍न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई स्वर्गको उचाइ र पृथ्वीको गहिराइको बारेमा केही पनि थाहा हुँदैनथ्यो, तिमीहरू कहाँ जाँदै छौ भन्‍ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्‍ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्ता परमप्रभुलाई कसरी चिन्‍न सक्छौ? आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यको बारेमा त केही भनिएकै छैन—के त्यो झन् बढी आसन्‍न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति पतित हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। यदि तिमीहरू अझै पनि तिमीहरूका “पितापुर्खा” का जस्तै विधिहरू प्रयोग गरी “शिक्षित” हुन्थ्यौ भने, तिमीहरू कुन क्षेत्रभित्र प्रवेश गर्नेथ्यौ भनी कसले जान्दछ! तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्‍नै बारेमा चिन्तन गर्ने क्षमता छँदै छैन। तिमीहरूजस्ता मानिसहरू यदि कुनै पनि हस्तक्षेप वा बाधाविना पछि लाग्छौ र आज्ञापालन गर्छौ भने, मेरा उद्देश्यहरू हासिल हुनेछन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (६)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४१

जब तैँले आफैलाई जीवनका लागि सुसज्जित पारिरहेको हुन्छस्, तैँले परमेश्‍वरको वचनहरू खाने र पिउने कुरामा ध्यान दिनु पर्दछ, तैँले परमेश्‍वरको ज्ञान, मानव जीवनबारे तेरो दृष्टिकोण, र निश्‍चित रूपमा, आखिरी दिनहरूको अवधिमा परमेश्‍वरले गर्नुभएको काम सम्‍बन्धी तेरो ज्ञानको कुरा गर्न सक्नुपर्दछ। तैँले जीवनलाई पछ्याउने हुनाले, तैँले आफैलाई यी कुराहरूद्वारा सुसज्जित पार्नुपर्छ। जब तँ परमेश्‍वरको वचन खान्छस् र पिउँछस्, तब तैँले ती कुराहरूसँग तेरो आफ्नै वास्तविकतालाई नाप्नुपर्छ। अर्थात्, जब तैँले आफ्नो वास्तविक अनुभवको क्रममा तेरा कमजोरीहरू पत्ता लगाउँछस्, तब तैँले अभ्यास गर्ने मार्ग खोज्न, तेरा गलत अभिप्राय र धारणाहरूलाई त्याग्‍न सक्‍नुपर्छ। यदि तँ सधैँ यी थोकहरूका लागि प्रयास गर्छस् र तिनलाई हासिल गर्न तेरो हृदय समर्पित गर्छस् भने, तब तँसँग हिँड्ने मार्ग हुनेछ, तैँले रित्तो महसुस गर्नेछैनस्, यसरी तैँले एउटा सामान्य स्थिति कायम राख्न सक्छस्। तब मात्र तँ आफ्नो जीवनको बोझ बोक्ने, विश्‍वास भएको व्यक्ति हुनेछस्। किन केही मानिसहरूले परमेश्‍वरका वचनहरू पढेपछि ती अभ्यास गर्न सक्दैनन्? के तिनीहरूले अत्यन्त महत्त्वपूर्ण कुराहरू बुझ्न नसकेकाले गर्दा होइन र? के तिनीहरूले जीवनलाई गम्भीरतासाथ नलिएकाले गर्दा होइन र? तिनीहरूले महत्त्वपूर्ण कुराहरूलाई बुझ्न नसक्नु र तिनीहरूसँग अभ्यास गर्ने कुनै मार्ग नहुनुको कारण के हो भने, जब उनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तब तिनीहरू ती वचनसँग आफ्नो अवस्थालाई जोड्न सक्दैनन्, न त उनीहरूले आफ्नै अवस्थालाई नै वशमा राख्न सक्छन्। कतिपय मानिसहरू भन्छन्: “म परमेश्‍वरका वचनहरू पढ्छु र मेरो अवस्थालाई ती वचनसँग जोड्छु, र म भ्रष्ट र कमजोर क्षमताको छु भन्‍ने मलाई थाहा छ, तर म परमेश्‍वरको इच्छा पूरा गर्न सक्दिनँ।” तैँले केवल सतह मात्र देखेको छस्; तँलाई थाहा नभएका धेरै वास्तविक कुराहरू छन्: शरीरका मनोरञ्जनहरूलाई कसरी पन्साउने, आत्म-धार्मिकतालाई कसरी पन्साउने, आफैलाई कसरी परिवर्तन गर्ने, यी कुराहरूमा कसरी प्रवेश गर्ने, तेरो क्षमतालाई कसरी सुधार गर्ने? र कुन पक्षबाट सुरु गर्ने। तैँले सतहका केही कुराहरूलाई मात्र बुझ्छस्, र तैँले जानेको कुरा यति मात्र हो कि तँ धेरै भ्रष्ट छस्। जब तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छस्, तब तैँले तँ कति धेरै भ्रष्ट छस् भन्‍ने बारेमा मात्र कुरा गर्छस्, र यस्तो देखिन्छ कि तैँले आफैलाई चिन्छस् र तेरो जीवनका लागि तैँले ठूलो बोझ बोक्छस्। वास्तविकतामा त, तेरो भ्रष्ट स्वभाव परिवर्तन भएको छैन, जसले के प्रमाणित गर्छ भने तैँले अभ्यास गर्ने मार्ग फेला पारेको छैनस्। यदि तैँले कुनै मण्डलीको नेतृत्व गरिरहेको छस् भने, तैँले दाजुभाइ-दिदीबहिनीहरूको अवस्थालाई बुझ्न र त्यो कुरा औंल्याउन सक्नुपर्छ। के यसो भनेर मात्र पुग्छ: “तिमी मानिसहरू अनाज्ञाकारी र पछौटे छौ!”? होइन, तैँले निश्‍चित रूपमा उनीहरूको अनाज्ञाकारिता र पछौटेपन कसरी प्रकट हुन्छन् त्यो बताउनुपर्छ। तैँले उनीहरूको अनाज्ञाकारी अवस्थाहरू, उनीहरूका अनाज्ञाकारी व्यवहारहरू, र उनीहरूका शैतानी स्वभावहरूको बारेमा कुरा गर्नैपर्छ, र तैँले यी कुराहरू त्यसरी बताउनुपर्छ कि तेरा वचनहरूमा सत्यता छ भनी तिनीहरू पूर्ण रूपले विश्‍वस्त होऊन्। तेरा कुराहरू बुझाउन तथ्य र उदाहरणहरू प्रयोग गर्, र उनीहरू कसरी विद्रोही व्यवहारबाट अलग हुन सक्छन् त्यो सटीक रूपले भन्, र अभ्यास गर्ने मार्ग देखा—मानिसहरूलाई विश्‍वस्त तुल्याउनुपर्ने यसरी नै हो। यसो गर्नेहरूले मात्र अरूलाई नेतृत्व गर्न सक्छन्; उनीहरूमा मात्र सत्यताको वास्तविकता हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४२

परमेश्‍वरको गवाही दिनु भनेको मुख्य रूपले परमेश्‍वरको कामको बारेमा अनि परमेश्‍वरले मानिसहरूलाई कसरी जित्नुहुन्छ, उहाँले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले कसरी मानसिहरूलाई परिवर्तन गर्नुहुन्छ सोबारेमा तेरो ज्ञान बताउनु हो; यो भनेको परमेश्‍वरले मानिसहरूलाई उहाँद्वारा जितिन, सिद्ध बनाइन र उहाँद्वारा बचाइन दिँदै, कसरी उहाँले तिनीहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नुहुन्छ भनी बताउनु हो। गवाही दिनु भनेको उहाँको काम र तैँले अनुभव गरेका सबै कुराहरूको बारेमा बताउनु हो। उहाँको कामले मात्र उहाँको प्रतिनिधित्व गर्न सक्दछ, र उहाँको कार्यले मात्र उहाँलाई उहाँको सम्पूर्णतामा सार्वजनिक रूपमा प्रकट गर्न सक्दछ; उहाँको कामले उहाँको गवाही दिन्छ। उहाँको काम र वाणीहरूले सीधै आत्माको प्रतिनिधित्व गर्छन्; उहाँले गर्नुहुने कामलाई आत्माले अघि बढाउनुहुन्छ, र उहाँले बोल्नुहुने वचनहरू आत्माद्वारा बोलिन्छन्। यी कुराहरू केवल परमेश्‍वरको देहधारी शरीरको माध्यमबाट मात्र व्यक्त गरिन्छ, तापनि वास्तवमा ती आत्माका अभिव्यक्तिहरू हुन्। उहाँले गर्नुहुने सबै काम र उहाँले बोल्नुहुने सबै वचनहरूले उहाँको सारतत्त्वलाई प्रतिनिधित्व गर्दछ। यदि, उहाँले शरीर धारण गरेर मानिसको माझ आउनुभएपछि परमेश्‍वरले बोल्नुहुन्न वा काम गर्नुहुन्न भने र तिमीहरूलाई उहाँको वास्तविकता, उहाँको सामान्यता र उहाँको सर्वशक्ति जान्‍न लगाइयो भने के तँ त्यसो गर्न सक्‍नेथिइस्? के तैँले आत्माको सार के हो भनी जान्न सक्‍नेथिइस्? के तैँले उहाँको देहका विशेषताहरू के-के हुन् भनी जान्न सक्‍नेथिइस्? तिमीहरूले उहाँको कामको प्रत्येक चरणको अनुभव गरेको हुनाले मात्रै उहाँले तिमीहरूलाई उहाँको साक्षी दिन अनुरोध गर्नुभएको हो। यदि तिमीहरू त्यस्तो अनुभवरहित भएको भए उहाँले तिमीहरूलाई गवाही दिन लगाउन जोड दिनुहुनेथिएन। यसैले जब तैँले परमेश्‍वरको गवाही दिन्छस्, तैँले उहाँको बाहिरी सामान्य मानवताको मात्र गवाही होइन, तर उहाँले गर्नुहुने काम र उहाँले देखाउनुहुने मार्गको पनि गवाही दिइरहेको हुन्छस्; तँलाई कसरी उहाँले जित्‍नुभयो र कुन-कुन पक्षहरूमा तँलाई सिद्ध बनाइयो सो बारे तैँले गवाही दिनुपर्छ। तैँले दिनुपर्ने प्रकारको गवाही यही हो। यदि तँ जहाँ गए पनि यसरी कराउँछस् भने: “हाम्रा परमेश्‍वर काम गर्न आउनुभएको छ, र उहाँको काम साँच्चै व्यावहारिक छ! उहाँले कुनै अलौकिक कार्यहरू नगरी, कुनै आश्‍चर्यकर्म र चमत्कारहरू नगरी हामीलाई प्राप्त गर्नुभएको छ!” अरूले सोध्नेछन्: “उहाँले आश्‍चर्यकर्म र चमत्कारहरू गर्नुहुन्न भनी तिमीले भन्नुको अर्थ के हो? आश्‍चर्यकर्म र चमत्कारहरू नगरी उहाँले कसरी तिमीलाई जित्न सक्‍नुभयो?” र तँ भन्छस्: “उहाँले कुनै चमत्कार वा आश्‍चर्यकर्महरू प्रदर्शन नगरी बोल्नुहुन्छ, उहाँले हामीलाई जित्नुभएको छ। उहाँको कामले हामीलाई जितेको छ।” अन्त्यमा, यदि तैँले कुनै महत्त्वपूर्ण कुरा भन्न सक्दैनस्, यदि तैँले निश्चित कुरा गर्न सक्दैनस् भने, के त्यो साँचो गवाही हो? जब देहधारी परमेश्‍वरले मानिसहरूलाई जित्नुहुन्छ, उहाँको ईश्‍वरीय वचनहरूले नै त्यो काम गर्दछ। मानिसले त्यो काम पूरा गर्न सक्दैन; यो कुनै मरणशीलले हासिल गर्न सक्‍ने कुरा होइन, र सामान्य मानिसहरूमध्ये सबैभन्दा उच्च क्षमताको व्यक्तिले पनि यो काम गर्न सक्दैन, किनकि उहाँको ईश्‍वरत्व कुनै पनि सृष्टि गरिएको प्राणीको भन्दा उच्च छ। यो मानिसहरूका लागि असाधारण कुरा हो; आखिर, सृष्टिकर्ता कुनै पनि सृष्टिभन्दा उच्च हुनुहुन्छ। सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ता भन्दा उच्च हुन सक्दैनन्; यदि तँ उहाँभन्दा उच्च थिइस् भने, उहाँले तँलाई जित्न सक्नुहुने थिएन, र उहाँ तँभन्दा उच्च हुनुभएकोले मात्रै उहाँले तँलाई जित्न सक्नुहुन्छ। जसले सम्पूर्ण मानवजातिलाई जित्न सक्नुहुन्छ उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ, र अरू कसैले होइन तर उहाँले मात्र यो काम गर्न सक्नुहुन्छ। यी वचनहरू नै “गवाही” हुन्—तैँले दिनुपर्ने प्रकारको गवाही। तैँले चरणबद्ध रूपमा दण्ड, न्याय, शोधन, परीक्षाहरू, बाधाहरू र सङ्कष्टहरूको अनुभव गरेको छस्, र तँलाई जितिएको छ; तैँले शरीरका सम्भावनाहरूलाई, तेरा व्यक्तिगत प्रेरणाहरूलाई र देहको भित्री रुचिहरूलाई पन्छाएको छस्। अर्को वचनमा, परमेश्‍वरका वचनहरूले तेरो हृदयलाई पूर्ण रूपमा जितेको छ। तँ उहाँले माग गर्नुभएजस्‍तो प्रकारले आफ्नो जीवनमा वृद्धि भएको छैनस्, तापनि यी सबै कुरा तँलाई थाहा छ र उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ पूर्ण रूपमा विश्‍वस्त छस्। यसैले यसलाई गवाही भन्न सकिन्छ, यस्तो गवाही जुन वास्तविक र सत्य छ। परमेश्‍वर जुन काम गर्न आउनुभयो, अर्थात् न्याय गर्ने र दण्ड दिने काम, त्यसको उद्देश्य भनेको मानिसलाई जित्नु हो, तर उहाँले आफ्नो कामलाई अन्त्य पनि गर्दैहुनुहुन्छ, युगको अन्त्य गर्दैहुनुहुन्छ र निष्कर्षको काम पूरा गर्दै हुनुहुन्छ। उहाँले सम्पूर्ण युगको अन्त्य गर्दैहुनुहुन्छ, सारा मानव जातिलाई बचाउँदै हुनुहुन्छ, मानव जातिलाई एकै पल्टमा सधैँभरिका निम्ति पापबाट छुटकारा दिँदैहुनुहुन्छ; आफूले सृष्टि गर्नुभएको मानव जातिलाई उहाँले पूर्ण रूपमा प्राप्त गर्दैहुनुहुन्छ। तैँले यी सबै कुराको गवाही दिनुपर्छ। तैँले परमेश्‍वरको धेरै कामको अनुभव गरेको छस्, तैँले यो आफ्नै आँखाले देखेको छस् र व्यक्तिगत रूपमा अनुभव गरेको छस्; जब तँ अन्त्यमा पुगेको हुन्छस्, तब तँलाई जुन काम गर्ने कर्तव्य दिइएको छ त्यो गर्न तँ असक्षम हुनु हुँदैन। त्यो धेरै दुःखलाग्दो कुरा हुनेछ! भविष्यमा, जब सुसमाचार फैलाइन्छ, तैँले आफ्नै ज्ञानको कुरा गर्न सक्षम हुनुपर्दछ, तैँले आफ्नो हृदयमा प्राप्त गरेका सबै कुराहरूको गवाही दिनुपर्छ, र कुनै पनि कोसिस बाँकी राख्नुहुँदैन। सृष्टि गरिएको प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरको कामको यस चरणको वास्तविक महत्त्व के हो? यसको प्रभाव के हो? र मानिसमा यो कतिसम्म अघि बढाइन्छ? मानिसहरूले के गर्नुपर्छ? जब तिमीहरूले देहधारी परमेश्‍वरले संसारमा आउनुभएपछि गर्नुभएका सबै कामहरूको बारेमा स्पष्ट बताउन सक्छौ, तब तिमीहरूको गवाही पूर्ण हुनेछ। जब तैँले यी पाँचवटा कुरा स्पष्ट रूपमा बताउन सक्छस्: उहाँको कामको महत्त्व; त्यसको विषयवस्तुहरू; त्यसको सार; त्यसले प्रतिनिधित्व गर्ने स्वभाव र त्यसका सिद्धान्तहरू, तब त्यसले तँ परमेश्‍वरको गवाही दिन सक्षम छस्, र तँमा साँच्चै ज्ञान छ भन्‍ने प्रमाण दिन्छ। मैले तिमीहरूबाट गरेका मागहरू अति उच्च छैनन्, र जो वास्तविक खोजीमा छन् तिनीहरूले त्यो प्राप्त गर्न सक्छन्। यदि तैँले परमेश्‍वरका गवाहीहरूमध्ये एक बन्ने संकल्प गर्छस् भने, परमेश्‍वरले कुन कुरालाई घृणा गर्नुहुन्छ र कुन कुरालाई प्रेम गर्नुहुन्छ सो तैँले बुझ्नैपर्छ। तैँले उहाँका धेरै कामहरूको अनुभव गरेको छस्; यस कामद्वारा तैँले उहाँको स्वभाव जान्नुपर्छ, उहाँको इच्छा र मानव जातिसँग उहाँले गर्नुभएको मागलाई बुझ्नुपर्छ र उहाँको गवाही दिन र तेरो कर्तव्य पूरा गर्न तैँले त्यो ज्ञानको प्रयोग गर्नुपर्दछ। तैँले यसो मात्रै भन्न सक्छस्: “हामी परमेश्‍वरलाई चिन्छौं। उहाँको न्याय र सजाय धेरै कठोर छन्। उहाँका वचनहरू अति कठोर छन्; ती धर्मी र प्रतापी छन्, र तिनलाई कुनै पनि मानिसले उल्लङ्घन गर्न सक्दैनन्,” तर के यी वचनहरूले आखिरमा मानिसका लागि प्रबन्ध गर्दछन्? मानिसहरूमा तिनको प्रभाव कस्तो हुन्छ? न्याय र सजायको यो काम तेरो लागि सबैभन्दा फाइदाजनक छ भनी के तँलाई साँच्चै थाहा छ? परमेश्‍वरको न्याय र सजायले तेरो विद्रोहीपन र भ्रष्टतालाई खुलासा गर्दैछन्, होइन र? तिनले तँभित्रका घिनलाग्दा र भ्रष्ट थोकहरूलाई सफा गर्न र निकाल्न सक्छन्, के सक्दैनन् र? यदि कुनै न्याय र सजाय नभएको भए, तँ कस्तो हुनेथिइस् होला? शैतानले तँलाई अति गहन हदसम्म भ्रष्ट पारेको छ भन्‍ने कुरालाई के तैँले साँच्चै बुझ्न सक्छस्? आज, तिमीहरूले आफैलाई यी कुराहरूले सुसज्जित पार्नुपर्छ र ती कुरालाई राम्ररी जान्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४३

तिमीहरू अहिले कुन कुराले सुसज्जित हुनु आवश्यक छ त्यसबारे के तिमीहरूलाई थाहा छ? यसको एक पक्षमा काम सम्बन्धी दर्शनहरू पर्छन्, र अर्को पक्ष तेरो अभ्यास हो। तैँले यी दुवै पक्षहरूलाई बुझ्नुपर्छ। यदि जीवनमा प्रगति गर्ने तेरो खोजीमा तँसँग दर्शनहरू छैनन् भने तँसित कुनै जग हुनेछैन। यदि तँसँग थोरै दर्शन पनि छैन र अभ्यासका मार्गहरू मात्र छन् भने, अनि समग्र व्यवस्थापन योजनाको कामको बारेमा कुनै पनि प्रकारको ज्ञान छैन भने, तँ कुनै काम नलाग्ने मानिस होस्। तैँले दर्शनहरू सम्‍बन्धी सत्यताहरूलाई बुझ्नुपर्छ, र अभ्याससँग सम्बन्धित सत्यहरू बुझिसकेपछि तैँले तिनलाई अभ्यास गर्ने उचित मार्गहरू खोज्नुपर्छ; तैँले वचनहरू अनुसार अभ्यास गर्नुपर्दछ, र तँ तेरा अवस्थाहरू अनुसार प्रवेश गर्नुपर्दछ। दर्शनहरू जग हुन्, र यदि तैँले यस तथ्यलाई ध्यान दिइनस् भने, तैँले अन्तसम्म पछ्याउन सक्नेछैनस्; यस्तो तरिकाले अनुभव गरिस् भने कि त तैँले बाटो बिराउन सक्छस् वा तँ ढल्नेछस् र विफल हुनेछस्। तँ सफल हुने कुनै उपाय हुनेछैन! जुन मानिसहरूसित जगको रूपमा महान् दर्शनहरू हुँदैन तिनीहरू असफल मात्र हुन्छन्; तिनीहरू सफल हुन सक्दैनन्। तँ दह्रो भई खडा हुन सक्दैनस्! के तँलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा कुन-कुन कुराहरू समावेश हुन्छन् भन्‍ने थाहा छ? के तँलाई परमेश्‍वरको पछि लाग्नुको अर्थ के हो सो थाहा छ? कुनै दर्शनविना, तँ कुन मार्गमा हिँड्नेछस्? आजको काममा, यदि तँसँग कुनै दर्शन छैन भने तँ पूर्ण बनाइने योग्यको बिलकुलै हुनेछैनस्। तँ कसमाथि विश्‍वास गर्छस्? तँ उहाँमा किन विश्‍वास गर्छस्? तँ किन उहाँलाई पछ्याउँछस्? के तँ आफ्नो विश्‍वासलाई एक प्रकारको खेलको रूपमा हेर्छस्? के तैँले आफ्नो जीवनलाई एक प्रकारको खेलौनाको रूपमा लिँदैछस्? आजका परमेश्‍वर सबैभन्दा ठूलो दर्शन हुनुहुन्छ। तैँले उहाँलाई कतिसम्म जान्दछस्? तैँले उहाँलाई कतिसम्म देखेको छस्? आजका परमेश्‍वरलाई देखेपछि के परमेश्‍वरमाथिको तेरो विश्‍वासको जग बलियो भएको छ? के तँ जबसम्म यसरी अलमल्ल तरिकाले पछि लाग्छस् तब तैँले मुक्ति पाउनेछस् भन्‍ने सोच्छस्? के तँ हिलोको पानीमा माछा पक्रन सक्छु भन्‍ने सोच्छस्? के यो त्यत्ति सजिलो छ? आज परमेश्‍वरले बोल्नुहुने वचनहरू सम्बन्धी कति वटा धारणाहरूलाई तैँले पर पन्साएको छस्? के तँसँग आजका परमेश्‍वरको दर्शन छ? आजको परमेश्‍वरको बारेमा तेरो बुझाइ कहाँ छ? तँ सधैँ उहाँको पछि लागेर वा उहाँलाई हेरेर मात्र पनि उहाँलाई[क] प्राप्त गर्न सक्छस् र कोही पनि तँबाट मुक्त हुन सक्नेछैन भन्‍ने सोच्छस्। परमेश्‍वरलाई पछ्याउनु त्यस्तो सजिलो कुरा हो भन्‍ने नठान्। उहाँलाई तैँले चिन्‍नैपर्छ, तैँले उहाँको कामलाई जान्‍नैपर्छ, र उहाँको खातिर कठिनाइ सहन गर्ने, आफ्नो जीवन उहाँको निम्ति बलिदान दिने र उहाँद्वारा सिद्ध पारिने इच्छा तँमा हुनैपर्छ, मुख्य कुरा यही नै हो। तँमा हुनुपर्ने दर्शन यही हो। यदि तेरा सोचहरू अनुग्रहको आनन्द लिने कुरामा मात्र सधैँ झुक्छन् भने त्यसलाई बदल्नुपर्छ। परमेश्‍वर मानिसहरूको आनन्दको निम्ति मात्र वा तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति मात्र यहाँ हुनुहुन्छ भन्‍ने नठान्। तँ गलत हुनेछस्! यदि एक व्यक्तिले उहाँलाई पछ्याउनको निम्ति आफ्नो जीवन खतरामा राख्‍न सक्दैन भने र यदि एक व्यक्तिले उहाँलाई पछ्याउनको निम्ति संसारका हरेक सम्पत्ति त्याग्‍न सक्दैन भने, त्यसले उहाँलाई अन्तिमसम्म पछ्याइरहन निश्‍चय पनि सक्‍नेछैन। तेरो जगको रूपमा तँसँग दर्शनहरू हुनुपर्छ। यदि एक दिन तँमाथि दुर्भाग्य आइलाग्यो भने, तैँले के गर्नुपर्छ? के तैँले अझ पनि उहाँलाई पछ्याउन सक्छस्? तैँले अन्तिमसम्म उहाँलाई पछ्याउन सक्षम हुनेछस् कि हुनेछैनस् भनेर हलुका रूपमा कुरा नगर्। अहिले कति बेला भयो भनेर हेर्न तैँले आफ्ना आँखा खोलेको नै राम्रो। तिमीहरू अहिले मन्दिरको स्तम्भहरू जस्तै हुनसक्‍ने भए तापनि, एउटा यस्तो बेला आउनेछ जुन बेला त्यस्ता सबै स्तम्भहरू कीराहरूले खानेछन्, जसको कारण मन्दिर ढल्नेछ, किनकि वर्तमान समयमा तिमीहरूमा धेरै दर्शनहरूको अभाव छ। तिमीहरूले आफ्ना साना संसारहरूलाई मात्र ध्यान दिन्छौ र खोजको सबैभन्दा भरपर्दो र उचित बाटो के हो सो तिमीहरूलाई थाहा छैन। तिमीहरूले आजको कामको दर्शनलाई ध्यान दिँदैनौ, न त यी कुराहरूलाई आफ्ना हृदयमा नै राख्छौ। एक दिन तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सबैभन्दा अपरिचित ठाउँमा राख्‍नुहुनेछ भन्‍ने कुरालाई तिमीहरूले ध्यान दिएका छौ? एक दिन मैले तिमीहरूबाट सबै थोक खोसेँ भने तिमीहरूको के हालत हुनेछ के त्यसबारे तिमीहरूले कल्पना गर्न सक्छौ? के तिमीहरूको त्यस दिनको ऊर्जा अहिलेको जस्तै हुनेछ? तिमीहरूको विश्‍वास पुनः देखा पर्नेछ? परमेश्‍वरलाई पछ्याउँदा तिमीहरूले यस महान् दर्शनलाई जान्‍नै पर्छ जो “परमेश्‍वर” हुनुहुन्छ: यो सबैभन्दा महत्त्वपूर्ण विषय हो। साथै, पवित्र हुनका लागि सांसारिक मानिसहरूबाट अलग भएपछि तँ अनिवार्य रूपमा परमेश्‍वरको परिवारमा हुनेछस् भन्‍ने नठान्। यी दिनहरूमा परमेश्‍वर आफैले सृष्टिमा काम गरिरहनुभएको छ; कुनै अभियान अगाडि बढाउनु होइन तर उहाँको आफ्नै काम गर्न मानिसहरूको बीचमा आउनुहुने उहाँ नै हुनुहुन्छ। तिमीहरूको माझमा थोरै मानिस पनि छैनन् जसले आजको काम स्वर्गका परमेश्‍वरको काम हो, जो देह बन्नुभएको छ भनी बुझ्न सक्छ। यसको अर्थ तिमीहरू प्रतिभा भएको विशेष व्यक्तिहरू हुनुपर्छ भन्‍ने होइन; यो तिमीहरूलाई मानव जीवनको महत्त्व जान्न, मानव प्राणीको गन्तव्य थाहा पाउन, र परमेश्‍वर अनि उहाँको सम्पूर्णतालाई जान्न सहायता गर्नका लागि हो। तैँले यो जान्नुपर्छ कि तँ सृष्टिकर्ताको हातमा रहेको सृष्टिको एक वस्तु होस्। तैँले के बुझ्नुपर्छ, तैँले के गर्नुपर्छ, र तैँले परमेश्‍वरलाई कसरी पछ्याउनुपर्छ—के तैँले बुझ्नुपर्ने सत्यताहरू यिनै होइनन् र? के तैँले देख्नुपर्ने दर्शनहरू यिनै होइनन् र?

मानिसहरूले दर्शन पाएपछि तिनीहरूमा एउटा जग हुन्छ। जब तँ यस जगको आधारमा अभ्यास गर्छस्, तब प्रवेश गर्नु धेरै सजिलो हुनेछ। त्यसरी नै, तैँले प्रवेश गर्ने जग पाएपछि तँमा कुनै सन्देह हुनेछैन, र प्रवेश गर्ने कार्य तेरो निम्ति धेरै सजिलो हुनेछ। दर्शनहरू बुझ्ने र परमेश्‍वरको कामबारे जान्ने यो पक्ष महत्त्वपूर्ण छ; तिमीहरूको हतियारको भण्डारमा यो हुनुपर्दछ। यदि तँ सत्यको यस पक्षद्वारा सुसज्जित भएको छैनस् भने, र अभ्यासको मार्गहरूको बारेमा कसरी कुरा गर्नुपर्छ भनेर मात्र जानेको छस् भने तँ अत्यन्तै दोषपूर्ण हुनेछस्। मैले थाहा पाएको छु कि तिमीहरूमध्ये धेरै जनाले सत्यको यो पक्षलाई जोड दिँदैनौ, र जब तिमीहरू यसलाई सुन्छौ, तब तिमीहरूले शब्दहरू र सिद्धान्तहरू सुनिरहेको जस्तो मात्र देखिन्छ। एक दिन तँ हार्नेछस्। यी दिनहरूमा केही भनाइहरू छन् जुन तैँले त्यत्ति राम्ररी बुझ्दैनस् र स्वीकार गर्दैनस्; त्यस्ता अवस्थाहरूमा तैँले धैर्यतापूर्वक खोजी गर्नुपर्छ, र त्यस्तो दिन आउनेछ जब तैँले यी कुरालाई बुझ्नेछस्। बिस्तारै आफूलाई झन्-झन् धेरै दर्शनहरूले सुसज्जित गर्। तैँले थोरै आत्मिक सिद्धान्तहरू मात्र बुझिस् भने पनि, त्यो दर्शनहरूमा ध्यान नदिनुभन्दा त उत्तम हुन्छ, र केही पनि नबुझ्‍नुभन्दा त झनै राम्रो हुन्छ। यो सबै तेरो प्रवेशका लागि उपयोगी छ, र यसले तेरा सबै शङ्काहरू हटाउनेछ। यो तँ धारणाहरूले भरिनुभन्दा उत्तम हो। यदि तँसँग जगको रूपमा यी दर्शनहरू छन् भने तँलाई धेरै राम्रो हुनेछ। तँसँग कुनै पनि प्रकारको सन्देह हुनेछैन, र तँ निर्भयता र हिम्मतका साथ प्रवेश गर्न सक्नेछस्। किन सधैँ यस्तो अन्योल, शङ्कालु तरिकाले परमेश्‍वरलाई पछ्याउने झमेलामा पर्ने? के यो आफ्‍नो टाउको बालुवामा लुकाउनुजस्तो होइन र? गजक्क परी गम्कँदै परमेश्‍वरको राज्यमा प्रवेश गर्नु कति राम्रो हुनेछ! किन त्यति धेरै सन्देहले भरिनु? के तैँले आफैलाई नरकमा पारिरहेको छैनस् र? तैँले यहोवाको काम, येशूको काम र यस चरणको कामको ज्ञान प्राप्त गरिसकेपछि, तैँले जग प्राप्त गर्नेछस्। यस समयमा, तँलाई त्यो अति सरल छ भन्‍ने लाग्‍नसक्छ। कतिपय मानिसहरू भन्छन्, “जब समय आउँछ र पवित्र आत्माले महान् कार्य सुरु गर्नुहुन्छ, तब म यी सबै थोकको बारेमा कुरा गर्न सक्नेछु। मैले अहिले त्यति बुझ्न नसक्‍नुको कारण के हो भने, पवित्र आत्माले मलाई त्यति धेरै अन्तर्दृष्टि दिनुभएको छैन।” यो त्यति सजिलो छैन। यो तँ अहिले सत्यलाई[ख] स्वीकार गर्न तयार छस् भने, समय आएपछि तँ त्यसलाई कुशलतापूर्वक प्रयोग गर्नेछस् भन्‍ने होइन। यो अनिवार्य रूपमा त्यस्तै हुनेछ भन्‍ने हुँदैन! तँ वर्तमानमा अति राम्ररी सुसज्जित भएको छस्, र ती धार्मिक मानिसहरू र सबैभन्दा महान् सिद्धान्तवादीहरूलाई जबाफ दिन तँलाई कुनै समस्या हुनेछैन, तँ तिनीहरूलाई खण्डन पनि गर्न सक्नेछस् भन्‍ने तँलाई लाग्छ। के तँ साँच्चै त्यसो गर्न सक्नेछस्? तेरा बाहिरी अनुभवहरू लिएर तैँले कुन ज्ञानको कुरा गर्न सक्छस्? सत्यद्वारा सुसज्जित हुनु, सत्यको लडाइँ लड्नु, र परमेश्‍वरको नाउँको गवाही दिनु तैँले सोचेको कुराजस्तो होइन—जबसम्म परमेश्‍वरले काम गर्नुहुन्छ, तबसम्‍म सबै कुरा पूरा गरिनेछ। त्यतिन्जेल, तँ केही प्रश्नहरूद्वारा अलमल्ल पर्नेछस् र त्यसपछि तँ आश्चर्यचकित हुनेछस्। मुख्य कुरा भनेको तँलाई यस चरणको कामको बारेमा स्पष्ट ज्ञान छ कि छैन, र यसको बारेमा तँ कतिसम्म जान्दछस् भन्‍ने हो। यदि तँ शत्रुका सेनालाई जित्न सक्दैनस् वा धर्मका शक्तिहरूलाई हराउन सक्दैनस् भने, के तँ बेकम्मा हुनेछैनस् र? तैँले आजको कामको अनुभव गरेको छस्, तेरो आफ्नै आँखाले त्यो देखेको छस्, र तेरो आफ्नै कानले सुनेको छस्, तर अन्त्यमा, यदि तैँले साक्षी दिन सकिनस् भने, के तँमा अझै जिइरहने साहस हुन्छ? तैँले कसको सामना गर्न सक्नेछस्? त्यो त्यत्ति सजिलो हुनेछ भनी अहिले कल्पना नगर्। भविष्यको काम तैँले कल्पना गरेको जस्तो सजिलो हुनेछैन; सत्यको लडाइँ लड्नु त्यत्ति सजिलो हुँदैन, त्यो त्यत्ति सरल छैन। अहिले, तँ सुसज्जित हुनु आवश्यक छ; यदि तँ सत्यद्वारा सुसज्जित छैनस् भने, जब समय आउँछ र पवित्र आत्माले अलौकिक ढङ्गले काम गर्नुहुन्न, तब तँ अन्योलमा पर्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले कामलाई बुझ्नै पर्छ—दुबिधामा नपछ्याओ!

फूटनोट:

क. मूल पाठमा “उहाँलाई” भन्‍ने शब्‍द समावेश छैन।

ख. मूल पाठमा “सत्य” भन्‍ने शब्‍द समावेश छैन।

अघिल्लो: जीवनमा प्रवेश (१)

अर्को: जीवनमा प्रवेश (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्