जीवनमा प्रवेश (३)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४४

एक व्यक्तिले आत्माका सबै विवरणहरू कसरी बुझ्छ? पवित्र आत्माले मानिसमा कसरी काम गर्नुहुन्छ? शैतानले मानिसमा कसरी काम गर्छ? दुष्टात्माहरूले मानिसमा कसरी काम गर्छन्? यसका प्रकटीकरणहरू के-के हुन्? जब तँलाई केही हुन्छ, के त्यो पवित्र आत्माबाट आउँछ, र तैँले त्यसलाई पालन गर्नुपर्छ वा अस्वीकार गर्नुपर्छ? मानिसहरूको वास्तविक व्यवहारमा, मानवीय इच्छाबाट धेरै कुराहरू उत्पन्न हुन्छन्, जुन मानिसहरूले सधैँ पवित्र आत्माबाट आएका हुन् भनी विश्‍वास गर्दछन्। केही कुराहरू दुष्टात्माहरूबाट आएका हुन्छन्, तर अझै पनि मानिसहरूले ती पवित्र आत्माबाट आएका हुन् भनी सोच्छन्, र कहिलेकहीँ पवित्र आत्माले मानिसहरूलाई भित्रबाटै मार्गदर्शन गर्नुहुन्छ, तर मानिसहरू त्यस्तो मार्गदर्शन शैतानबाट आएको हो भनी सोचेर डराउँछन् र त्यो पालन गर्ने हिम्मत गर्दैनन्, जबकि वास्तवमा उक्त मार्गदर्शन पवित्र आत्माको अन्तर्दृष्टि हो। यसैले, जबसम्म कसैले भिन्नता अभ्यास गर्दैन, तबसम्म कसैले पनि आफ्नो दृष्टिकोणबाट व्यावहारिक अनुभव गर्ने कुनै उपाय हुँदैन; भिन्‍नताविना जीवन प्राप्त गर्ने कुनै उपाय हुँदैन। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? दुष्टात्माहरूले कसरी काम गर्छन्? मानिसको इच्छाबाट के आउँछ? अनि पवित्र आत्माको मार्गदर्शन र अन्तर्दृष्टिबाट के जन्मन्छ? यदि तैँले मानिसभित्र पवित्र आत्माले गर्नुहुने कामको ढाँचा बुझिस् भने तेरो दैनिक जीवन र तेरा व्यावहारिक अनुभवहरूमा तैँले आफ्नो ज्ञान बढाउन र भिन्नताहरू छुट्ट्याउन सक्नेछस्; तैँले परमेश्‍वरलाई चिन्नेछस्, तैँले शैतानलाई बुझ्न र चिन्न सक्नेछस्; तेरो आज्ञाकारिता वा खोजमा तँ अलमलमा पर्नेछैनस्, र तँ त्यस्तो व्यक्ति हुनेछस् जसको विचार स्पष्ट हुन्छ, जसले पवित्र आत्माको कामलाई पालन गर्छ।

पवित्र आत्माको काम सक्रिय मार्गदर्शन र सकारात्मक अन्तर्दृष्टिको एक रूप हो। यसले मानिसहरूलाई निष्क्रिय हुन दिँदैन। यसले तिनीहरूलाई सान्त्वना दिन्छ, विश्‍वास र सङ्कल्प दिन्छ, र तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको कुराको पछि लाग्न सक्ने बनाउँछ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मानिसहरू सक्रिय रूपमा प्रवेश गर्न सक्षम हुन्छन्; तिनीहरू निष्क्रिय वा बाध्य हुँदैनन्, बरु आफ्नै पहलमा काम गर्दछन्। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मानिसहरू खुशी र इच्छुक हुन्छन्, आज्ञापालन गर्न इच्छुक र आफूलाई नम्र बनाउँदा खुशी हुन्छन्। तिनीहरू भित्रबाट दुःखित र कमजोर भए पनि तिनीहरूमा सहकार्य गर्ने संकल्प हुन्छ; तिनीहरूले खुशीसाथ दुःख भोग्छन्, तिनीहरू आज्ञापालन गर्न सक्षम हुन्छन्, र तिनीहरू मानवीय इच्छाबाट अछुतो हुन्छन्, मानिसका सोचबाट अछुतो हुन्छन्, र निश्चय नै तिनीहरू मानवीय चाहना र अभिप्रेरणाहरूबाट अछुतो हुन्छन्। जब मानिसहरूले पवित्र आत्माको कामको अनुभव गर्छन्, तिनीहरू विशेष गरी भित्रपट्टि पवित्र हुन्छन्। जोसँग पवित्र आत्माको काम हुन्छ तिनीहरू परमेश्‍वरप्रतिको प्रेममा र आफ्ना भाइ-बहिनीहरूलाई प्रेम गर्दै जिउँछन्; तिनीहरू परमेश्‍वरलाई प्रसन्न पार्ने कुरामा रमाउँछन् र परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्छन्। पवित्र आत्माको कामले छोइएका मानिसहरूमा सामान्य मानवता हुन्छ, र तिनीहरू निरन्तर सत्यको पछि लाग्छन् र मानवता प्राप्त गर्छन्। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, तब तिनीहरूको अवस्था झनझन राम्रो हुन्छ, र तिनीहरूको मानवता झन्-झन् सामान्य बन्छ, र तिनीहरूको कुनै-कुनै सहकार्य मूर्खतापूर्ण भए पनि, तिनीहरूको अभिप्रेरणा सही हुन्छ, तिनीहरूको प्रवेश सकारात्मक हुन्छ, तिनीहरूले विध्वंश गर्न खोज्दैनन्, तिनीहरूभित्र कुनै दुर्भावना हुँदैन। पवित्र आत्माको काम सामान्य र वास्तविक हुन्छ, पवित्र आत्माले मानिसमा मानिसको सामान्य जीवनको नियमअनुसार काम गर्नुहुन्छ, र उहाँले सामान्य मानिसहरूको वास्तविक खोजअनुसार मानिसहरूभित्र अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहन्छ। जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब उहाँले सामान्य मानिसहरूका आवश्यकताअनुसार मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नुहन्छ। उहाँले तिनीहरूका आवश्यकताअनुसार तिनीहरूका निम्ति प्रबन्ध गर्नुहुन्छ, र उहाँले तिनीहरूलाई तिनीहरूको अभावअनुसार र तिनीहरूका कमी-कमजोरीहरूका आधारमा सकारात्मक रूपले मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नुहन्छ। पवित्र आत्माको काम वास्तविक जीवनमा मानिसहरूलाई मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नु हो; यदि तिनीहरूले तिनीहरूको वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको अनुभव गर्छन् भने मात्र तिनीहरूले पवित्र आत्माको काम देख्न सक्छन्। यदि तिनीहरूको दैनिक जीवनमा मानिसहरू सकारात्मक अवस्थामा छन् र तिनीहरूको सामान्य आत्मिक जीवन छ भने तिनीहरूमा पवित्र आत्माको काम भएको हुन्छ। त्यस्तो अवस्थामा, जब तिनीहरूले परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, तब तिनीहरूसँग विश्‍वास हुन्छ; जब तिनीहरू प्रार्थना गर्छन्, तब तिनीहरूले प्रेरणा पाउँछन्; जब तिनीहरूले कुनै कुराको सामना गर्नुपर्ने हुन्छ, तिनीहरू निष्क्रिय बस्दैनन्; र जब घटनाहरू घट्छन्, तब तिनीहरूले ती घटनाहरूबाट जुन पाठ सिकून् भनी परमेश्‍वरले चाहनुभएको हुन्छ त्यो पाठ सिक्छन्। तिनीहरू निष्क्रिय वा कमजोर हुँदैनन्, र तिनीहरूसँग वास्तविक कठिनाइहरू भए पनि तिनीहरू परमेश्‍वरका सबै प्रबन्धहरू पालन गर्न इच्छुक हुन्छन्।

पवित्र आत्माको कामद्वारा के-कस्ता प्रभावहरू पारिएका छन्? तँ मूर्ख हुन सक्छस्, र तँ विवेकरहित हुन सक्छस्, तर पवित्र आत्माले जसरी भए पनि काम गर्नुपर्दछ र तँमा विश्‍वास हुनेछ, र तैँले सधैँ परमेश्‍वरलाई पर्याप्त प्रेम गर्न नसकिने रहेछ भनी महसुस गर्नेछस्। तेरो अघि जति नै ठूलो कठिनाइ भए पनि तँ सहकार्य गर्न इच्छुक हुनेछस्। तेरा निम्ति घटनाहरू घट्नेछन् र ती परमेश्‍वरबाट आएका हुन् वा शैतानबाट त्यो तँलाई स्पष्ट हुनेछैन, तर तैँले पर्खन सक्नेछस्, र तँ न त निष्क्रिय न त लापरवाह नै हुनेछस्। यो पवित्र आत्माको सामान्य काम हो। जब पवित्र आत्माले तँभित्र काम गर्नुहुन्छ, तब तैँले अझै पनि वास्तविक कठिनाइहरूको सामना गर्नुपर्दछ: कहिले तैँले आँसु खसाल्नुपर्नेछ, र कहिले यस्ता कुराहरू हुनेछन् जसबाट पार पाउन तैँ सक्षम हुनेछैनस्, तर यो पवित्र आत्माको सामान्य कामको एउटा चरण मात्र हो। तैँले ती कठिनाइहरूबाट पार नपाएको भए पनि, र त्यस बेला तँ कमजोर र गुनासोहरूले भरिएको भए पनि, पछि गएर तँ पूर्ण विश्‍वाससहित परमेश्‍वरलाई प्रेम गर्न सक्ने भइस्। तेरो निष्क्रियताले तँलाई सामान्य अनुभवहरू प्राप्त गर्नबाट रोक्न सक्दैन, र अरू मानिसले चाहे जे भने पनि, र अरूले तँलाई जसरी आक्रमण गरे पनि, तँ अझै परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छस्। प्रार्थनाको अवधिमा, तैँले विगतमा आफू परमेश्‍वरप्रति धेरै ऋणी भएको महसुस गर्छस्, र तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्ने र फेरि त्यस्ता कुराहरूको सामना गर्नुपर्दा देहलाई इन्कार गर्ने दृढ संकल्प गर्छस्। यो शक्तिले पवित्र आत्माको काम तँभित्र रहेको देखाउँदछ। यो पवित्र आत्माको कामको सामान्य अवस्था हो।

शैतानबाट आउने काम के हो? शैतानबाट आउने काममा, मानिसहरूभित्र हुने दर्शनहरू अस्पष्ट हुन्छन्; मानिसहरू सामान्य मानवताविनाका हुन्छन्, तिनीहरूले गर्ने कामको पछाडिका अभिप्रेरणाहरू गलत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गरे पनि तिनीहरूभित्र सधैँ आरोपहरू हुन्छन्, र यी आरोपहरू र विचारहरूले तिनीहरूभित्र निरन्तर हस्तक्षेप गर्छन्, र यसले तिनीहरूको जीवनको विकासलाई अवरुद्ध पार्छ र तिनीहरूलाई सामान्य अवस्थामा परमेश्‍वरको अघि आउनबाट रोक्दछ। भन्नुको तात्पर्य, मानिसहरूभित्र शैतानको काम हुनेबित्तिकै तिनीहरूको हृदय परमेश्‍वरको सामु शान्त हुँदैन। त्यस्ता मानिसहरूलाई आफूले के गर्ने भनेर थाहा हुँदैन—जब तिनीहरूले मानिसहरू भेला भएका देख्छन्, तिनीहरू भाग्न खोज्छन्, र अरूले प्रार्थना गर्दा तिनीहरू आफ्ना आँखाहरू बन्द गर्न सक्दैनन्। दुष्टात्माहरूको कामले मानिस र परमेश्‍वर बीचको सामान्य सम्बन्धलाई नष्ट पार्दछ, र मानिसहरूका पहिलेका दर्शनहरू वा तिनीहरूको पहिलेको जीवन प्रवेश मार्गलाई खल्बल्याउँछ; तिनीहरू आफ्नो हृदयमा कहिल्यै पनि परमेश्‍वरको नजिक हुन सक्दैनन्, र सधैँ तिनीहरूलाई बाधा पुर्‍याउने र बन्धनमा पार्ने घटनाहरू घट्छन्। तिनीहरूका हृदयले शान्ति पाउन सक्दैनन् र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने शक्ति हुँदैन र तिनीहरूका आत्माहरू डुबिरहेका हुन्छन्। शैतानको कामका प्रकटीकरणहरू यस्तै हुन्छन्। शैतानको कामका प्रकट रूपहरू निम्न छन्: आफ्नो अडानमा खरो उत्रन र गवाही दिन नसक्नु जसले तँलाई यस्तो व्यक्ति बनाउँछ जो परमेश्‍वरको सामु दोषी हुन्छ र जसको परमेश्‍वरप्रति कुनै बफादारीता हुँदैन। जब शैतानले हस्तक्षेप गर्दछ, तब तैँले आफूभित्र परमेश्‍वरप्रतिको प्रेम र बफादारीता गुमाउँछस्, परमेश्‍वरसित तेरो सामान्य सम्बन्ध टुट्छ, तँ सत्यको पछि लाग्दैनस् वा तैँले आफैलाई सुधार गर्दैनस्; तँ पछि हट्छस् र निष्क्रिय बन्छस्, तँ आफैलाई सन्तुष्ट पार्नतिर लाग्छस्, तैँले पाप फैलाउने लगाम स्वतन्त्र छोडिदिन्छस् र पापलाई घृणा गर्दैनस्; यसबाहेक, शैतानको हस्तक्षेपले तँलाई दुराचारी बनाउँछ; यसले तँभित्रको परमेश्‍वरको छुवाइलाई हटाउँछ, र तँलाई परमेश्‍वरको बारेमा गुनासो गर्ने र उहाँको विरोध गर्ने बनाउँछ, र तँलाई परमेश्‍वरमा शङ्का गर्ने बनाउँछ; तैँले परमेश्‍वरलाई त्याग्ने खतरा पनि हुन्छ। यी सबै शैतानबाट आउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४५

जब तेरो दैनिक जीवनमा तँलाई केही हुन्छ, तब तैँले त्यो पवित्र आत्माको कामबाट आएको हो वा शैतानको कामबाट आएको हो भनी कसरी छुट्ट्याउनुपर्छ? जब मानिसहरूका अवस्था सामान्य हुन्छन्, तब तिनीहरूको आत्मिक जीवन र देहमा भएको तिनीहरूको जीवन सामान्य हुन्छ र तिनीहरूको विवेक सामान्य र व्यवस्थित हुन्छ। जब तिनीहरू यस अवस्थामा हुन्छन्, तिनीहरूले आफैमा जे अनुभव गर्छन् र जे जान्दछन् त्यसलाई सामान्य रूपमा पवित्र आत्माको छुवाइबाट आएको भन्न सकिन्छ (तिनीहरूले परमेश्‍वरको वचन खाँदा र पिउँदा अन्तर्ज्ञान प्राप्त गर्नु वा केही सरल ज्ञान हुनु, वा केही कुराहरूमा विश्‍वासयोग्य हुनु, वा केही कुराहरूमा परमेश्‍वरलाई प्रेम गर्ने सामर्थ्य हुनु—यी सबै पवित्र आत्माबाट आउँछन्)। मानिसमा हुने पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ; मानिस यो महसुस गर्न असमर्थ हुन्छ, र यो मानिस आफैबाट आएको जस्तो देखिन्छ, तर यो वास्तवमा पवित्र आत्माको काम हो। दैनिक जीवनमा, पवित्र आत्माले सबैमा ठूला-साना दुवै काम गर्नुहुन्छ, यो कामको हद मात्र फरक-फरक हुन्छ। केही मानिसहरू राम्रो क्षमता भएका हुन्छन्, र तिनीहरूले चाँडै कुरा बुझ्छन्, र तिनीहरूभित्र पवित्र आत्माको अन्तर्दृष्टि विशेष महान् हुन्छ। यसैबीच, केही मानिसहरू कमजोर क्षमताका हुन्छन्, र तिनीहरूलाई कुरा बुझ्न लामो समय लाग्छ, तर पवित्र आत्माले तिनीहरूलाई भित्र छुनुहुन्छ, र तिनीहरूले पनि परमेश्‍वरप्रति बफादारीता प्राप्त गर्न सक्षम हुन्छन्—पवित्र आत्माले तिनीहरू सबैमा काम गर्नुहुन्छ जसले परमेश्‍वरलाई पछ्याउँछन्। जब, दैनिक जीवनमा मानिसहरूले परमेश्‍वरको विरोध वा उहाँको विरुद्धमा विद्रोह गर्दैनन्, परमेश्‍वरको प्रबन्धसँग नमिल्दा कामहरू गर्दैनन् र परमेश्‍वरको काममा हस्तक्षेप गर्दैनन्, तब तिनीहरू प्रत्येकमा परमेश्‍वरका आत्माले धेरै वा थोरै मात्रामा काम गर्नुहुन्छ; उहाँले तिनीहरूलाई छुनुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, तिनीहरूलाई विश्‍वास दिनुहुन्छ, तिनीहरूलाई बल दिनुहुन्छ, र तिनीहरूलाई सक्रियता साथ प्रवेश गर्न प्रेरित गर्नुहुन्छ, अल्छी नुहुनु वा देहको मोजमस्तीको लालसा नगर्नु, सत्यको अभ्यास गर्न इच्छुक हुनु र परमेश्‍वरका वचनहरूको चाहना गर्नु। यी सबै त्यो काम हो जुन पवित्र आत्माबाट आउँछ।

जब मानिसहरूको अवस्था सामान्य हुँदैन, तिनीहरू पवित्र आत्माद्वारा त्यागिएका हुन्छन्; तिनीहरूको मस्तिष्कमा तिनीहरू गुनासो गर्ने प्रवृत्तिका हुन्छन्, तिनीहरूका अभिप्रेरणाहरू गलत हुन्छन्, तिनीहरू अल्छी हुन्छन्, तिनीहरू देहमा लिप्त हुन्छन्, र तिनीहरूका हृदयहरूले सत्यको विरुद्ध विद्रोह गर्दछन्। यी सबै शैतानबाट आउँछन्। जब मानिसहरूको अवस्था सामान्य हुँदैनन्, जब तिनीहरू भित्रैदेखि धूमिल हुन्छन् र आफ्नो सामान्य विवेक गुमाएका हुन्छन्, तिनीहरू पवित्र आत्माद्वारा त्यागिएका हुन्छन्, र तिनीहरूले आफूभित्र परमेश्‍वरलाई महसुस गर्न सक्दैनन्, यस बेला शैतानले तिनीहरूभित्र काम गरिरहेको हुन्छ। यदि मानिसहरूसँग आफूभित्र सधैँ शक्ति भएको भए र तिनीहरूले सधैँ परमेश्‍वरलाई प्रेम गरेका भए, सामान्य रूपमा जब तिनीहरूमा केही कुराहरू घटित हुन्छन् तब ती कुराहरू पवित्र आत्माबाट आउँछन्, र तिनीहरूले जस-जसलाई भेट्छन्, त्यो भेट परमेश्‍वरको प्रबन्धको परिणाम हुन्छ। यसको मतलब यो हो कि जब तँ सामान्य अवस्थामा हुन्छस्, जब तँ पवित्र आत्माको महान् कामभित्र हुन्छस्, तब शैतानले तँलाई डगमगाउन असम्भव हुन्छ। यसको आधारमा यो भन्न सकिन्छ कि सबै कुरा पवित्र आत्माबाट आउँदछ, र तँमा गलत विचारहरू भए पनि तैँले ती कुराहरूलाई त्याग्न सक्छस्, र तँ तिनका पछि लाग्दैनस्। यी सबै पवित्र आत्माको कामबाट आउँछन्। शैतानले कुन अवस्थाहरूमा हस्तक्षेप गर्छ? तेरा परिस्थितिहरू सामान्य नहुँदा, जब तँ परमेश्‍वरद्वारा छोइएको हुँदैनस् र तँ परमेश्‍वरको कामविना हुन्छस्, जब तँ भित्रैदेखि सुक्खा र बाँझो हुन्छस्, जब तैँले परमेश्‍वरलाई प्रार्थना त गर्छस् तर केही पनि बुझ्दैनस्, र जब तैँले परमेश्‍वरका वचनहरू त खान्छस् र पिउँछस् तर अन्तर्दृष्टि वा ज्योति पाउँदैनस्, तब शैतानलाई तँभित्र काम गर्न सजिलो हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, जब तँ पवित्र आत्माद्वारा त्यागिन्छस् र तैँले परमेश्‍वरलाई महसुस गर्न सक्दैनस्, तब तँलाई धेरै कुराहरू हुनसक्छ जुन शैतानको परीक्षाबाट आउँदछ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, त्यो बेला शैतानले पनि सँगसँगै काम गरिरहेको हुन्छ। पवित्र आत्माले मानिसको भित्र छुनुहुन्छ, त्यही समयमा शैतानले मानिसमा हस्तक्षेप गर्दछ। तापनि, पवित्र आत्माको कामले अग्रणी स्थान ओगट्छ, र जसको अवस्था सामान्य हुन्छ, ती मानिसहरूले विजय प्राप्त गर्न सक्छन्; यो पवित्र आत्माको कामको शैतानको काममाथि भएको विजय हो। पवित्र आत्माले काम गर्नुहुँदा पनि मानिसहरूमा अझै भ्रष्ट स्वभाव रहेको हुन्छ; तापनि, पवित्र आत्माको कामको अवधिमा, मानिसहरूलाई तिनीहरूका विद्रोहीपन, अभिप्रेरणाहरू र मिलावटहरू पत्ता लगाउन र पहिचान गर्न सजिलो हुन्छ। तब मात्र, मानिसहरूले ग्लानि महसुस गर्छन् र पश्चात्ताप गर्न इच्छुक हुन्छन्। त्यसरी नै तिनीहरूका विद्रोही र भ्रष्ट स्वभावहरू परमेश्‍वरको कामभित्र क्रमै रूपले फालिँदै जान्छन्। पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ; उहाँले मानिसहरूमा काम गर्नुहुँदा तिनीहरूमा अझै पनि समस्याहरू हुन्छन्, तिनीहरू अझै पनि रुन्छन्, तिनीहरू अझै पनि दुःखित हुन्छन्, तिनीहरू अझै पनि कमजोर हुन्छन् र तिनीहरूका निम्ति अझै पनि धेरै कुरा अस्पष्ट हुन्छन्, तैपनि यो अवस्थामा तिनीहरूले आफैलाई प्रत्यागमनबाट रोक्न सक्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्छन्, र तिनीहरू रोए पनि अनि विचलित भए पनि, तिनीहरूले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्छन्; पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ, अलिकति पनि अलौकिक हुँदैन। धेरै मानिसहरूले पवित्र आत्माले काम गर्न थाल्नेबित्तिकै मानिसको अवस्थामा परिवर्तनहरू हुन्छन् र तिनीहरूका निम्ति आवश्यक कुराहरू हटाइन्छन् भनी विश्‍वास गर्छन्। यस्ता विश्‍वासहरू गलत हुन्। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, मानिसका निष्क्रिय कुराहरू अझै पनि त्यहीँ हुन्छन् र उसको कद त्यही नै रहन्छ, तर उसले पवित्र आत्माको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्दछ र त्यसैले उसको अवस्था धेरै सक्रिय बन्छ, ऊभित्रका अवस्थाहरू सामान्य बन्छन्, र ऊ द्रुत गतिमा परिवर्तित हुन्छ। मानिसहरूका वास्तविक अनुभवहरूमा तिनीहरूले मुख्य रूपमा कि त पवित्र आत्माको कि त शैतानको कामको अनुभव गर्छन्, र यदि तिनीहरूले यी अवस्थाहरू बुझ्न र भिन्नता छुट्याउन सक्दैनन् भने, वास्तविक अनुभवहरूमा प्रवेश गर्ने प्रश्न नै आउँदैन, स्वभावमा परिवर्तनहरू हुने कुरा त गर्दै नगरौं। यसैले, परमेश्‍वरको कामको अनुभव गर्नका लागि चाहिने मुख्य कुरा भनेको ती घटनाहरूलाई केलाएर हेर्न सक्नु हो; यसरी तिनीहरूलाई यो कुरा अनुभव गर्न सजिलो हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४६

पवित्र आत्माको कामले मानिसहरूलाई सकारात्मक प्रगति गर्न मदत गर्छ, जबकि शैतानको कामले चाहिँ तिनीहरूलाई नकारात्मक बनी पछि हट्न, परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्न, उहाँमाथिको विश्‍वास गुमाउन, र आफ्नो कर्तव्यपालनमा कमजोर हुन लगाउँछ। पवित्र आत्माको अन्तर्दृष्टिबाट उत्पन्न हुने सबै कुरा स्वाभाविक हुन्छ; यसमा तँलाई बाध्य पारिँदैन। यदि तँ यसमा समर्पित भइस् भने, तैँले शान्ति पाउनेछस्; यदि तैँले अनुसरण गरिनस् भने, पछि तँलाई गाली गरिनेछ। पवित्र आत्माको अन्तर्दृष्टिको साथमा तैँले गर्ने कुनै पनि कुरामा हस्तक्षेप वा बाधा हुनेछैन; तँ स्वतन्त्र हुनेछस्, त्यहाँ तेरा व्यवहारहरू अभ्यास गर्ने एउटा मार्ग हुनेछ, र तँ कुनै रोकावटको अधीनमा हुनेछैनस्, बरु तँ परमेश्‍वरको इच्छाअनुसार काम गर्न सक्षम हुनेछस्। शैतानको कामले तँलाई धेरै कुराहरूमा हस्तक्षेप गर्छ; यसले तँलाई प्रार्थना गर्न अनिच्छुक बनाउँछ, परमेश्‍वरका वचनहरू खान र पिउन धेरै अल्छी बनाउँछ, र मण्डलीको जीवन जिउन नचाहने बनाउँछ, र यसले तँलाई आत्मिक जीवनप्रति उदासीन बनाउँछ। पवित्र आत्माको कामले तेरो दैनिक जीवनमा हस्तक्षेप गर्दैन र तेरो सामान्य आत्मिक जीवनमा हस्तक्षेप गर्दैन। तैँले धेरै वटा कुराहरू घटित हुँदा त्यति नै बेला तिनलाई बुझ्न सक्दैनस्, तैपनि केही दिनपछि तेरो हृदय अझ उज्यालो हुन्छ अनि तेरो मन थप स्पष्ट हुन्छ। तैँले आत्माका केही कुराहरू बुझ्न थाल्छस्, र बिस्तारै कुनै विचार परमेश्‍वरबाट आएको हो कि शैतानबाट आएको हो सो बुझ्न‍ सक्छस्। केही कुराहरूले तँलाई स्पष्ट रूपमा परमेश्‍वरको विरोध गर्ने र परमेश्‍वर विरुद्ध विद्रोह गर्ने बनाउँछन्, वा परमेश्‍वरका वचनहरू व्यवहारमा प्रयोग गर्नबाट रोक्छन्; यी सबै कुराहरू शैतानबाट आएका हुन्। केही कुराहरू स्पष्ट हुँदैनन्, र तैँले ती के हुन् भनी त्यति नै बेला भन्न सक्दैनस्; पछि तँ तिनका प्रकट रूपहरू देख्न सक्छस्, र त्यसपछि विवेक लगाउन सक्छस्। यदि तैँले शैतानबाट आउने र पवित्र आत्माद्वारा निर्देशित कुराहरूलाई स्पष्टसँग छुट्याउन सक्छस् भने तेरा अनुभवहरूमा तँलाई सजिलै गलत बाटोमा डोर्याउन सकिने छैन। कहिलेकहीँ, जब तेरो अवस्था राम्रो हुँदैन, त्यस बेला तँमा केही विचारहरू आउँछन् जसले तँलाई तेरो निष्क्रिय अवस्थाबाट बाहिर निकाल्छन्। यसले देखाउँछ कि तेरो अवस्था प्रतिकूल हुँदा पनि तेरा केही विचारहरू पवित्र आत्माबाट आउन सक्छन्। जब तँ निष्क्रिय हुन्छस् तब तेरा सबै विचारहरू शैतानद्वारा पठाइएको हुन्छ भन्‍ने अवस्था पनि होइन; यदि त्यो सत्य हुन्थ्यो भने तँ कहिले सकारात्मक अवस्थामा रूपान्तरित हुन सक्षम हुनेथिइस्? केही समयसम्म निष्क्रिय भएपछि पवित्र आत्माले तँलाई सिद्ध बन्ने मौका दिनुहुन्छ; उहाँले तँलाई छुनुहुन्छ, तँलाई तेरो निष्क्रिय अवस्थाबाट बाहिर निकाल्नुहुन्छ, र तँ सामान्य स्थितिमा प्रवेश गर्छस्।

पवित्र आत्माको काम के हो र शैतानको काम के हो भनी जानेपछि तैँले यिनलाई आफ्ना अनुभवहरूको अवधिमा तेरो आफ्नै अवस्थासँग तुलना गर्न सक्छस्, र तेरा आफ्नै अनुभवहरूसँग तुलना गर्न सक्छस्, र यसरी तेरा अनुभवहरूमा भएका सिद्धान्तहरूसित सम्बन्धित धेरै वटा सत्यताहरू हुनेछन्। सिद्धान्तको बारेमा यी सत्यताहरू बुझिसकेपछि, तँ आफ्नो वास्तविक अवस्थामा निपुण हुन सक्नेछस्, तैँले मानिसहरू र घटनाहरूबीच भिन्नता छुट्ट्याउन सक्नेछस्, र तैँले पवित्र आत्माको काम प्राप्त गर्न यति धेरै प्रयास लगाउनुपर्नेछैन। अवश्य पनि यो कुरा तेरो सही हुने अभिप्रेरणामा अनि तेरो खोज र अभ्यास गर्ने इच्छामा निर्भर गर्दछ। यो जस्तो भाषा—सिद्धान्तहरूसँग सम्बन्धित भाषा—तेरा अनुभवहरूमा मुख्य रूपमा देखिनुपर्छ। योविना तेरा अनुभवहरू शैतान र मूर्ख ज्ञानको हस्तक्षेपले भरिएको हुनेछ। यदि तैँले पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा बुझ्दैनस् भने तैँले परमेश्‍वरसित कसरी प्रार्थना गर्ने वा कसरी प्रवेश गर्नुपर्छ भनी बुझ्दैनस्, र यदि तैँले शैतानले मानिसहरूलाई बहकाउन र हस्तक्षेप गर्न कसरी काम गर्छ भनी बुझ्दैनस् भने, तैँले शैतानलाई कसरी इन्कार्ने र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुने भनी जान्दैनस्। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ र शैतानले कसरी काम गर्छ भन्‍ने कुरा मानिसहरूले बुझ्नुपर्छ, यी मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासमा अनुभव गर्नैपर्ने कुरा हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४७

सामान्य मानवतामा के-कस्ता पक्षहरू समावेश हुन्छन्? अन्तर्दृष्टि, बोध, विवेक, र चरित्र। यदि तैँले यी प्रत्येक पक्षहरूमा सामान्यता हासिल गरिस् भने, तेरो मानवता उपयुक्त स्तरको हुनेछ। तँसँग सामान्य मानवको रूप हुनुपर्छ, तँ परमेश्‍वरको विश्‍वासी समान हुनुपर्छ। तैँले धेरै कुरा हासिल गर्नुपर्दैन, न त कूटनीतिमा सहभागी नै हुनुपर्छ; तँ केवल सामान्य मानिसको बोध भएको सामान्य मानिस हुनुपर्छ, परिस्थिति छुट्याउन सक्ने हुनुपर्छ, र कम्तीमा सामान्य मानव जस्तो देखिनुपर्छ। यति पर्याप्‍त हुनेछ। तैँले आज जे कुरा पूरा गर्न आवश्यक छ ती कुराहरू तेरो क्षमताभित्रै छ, यो क्षमताभन्दा बढी गर्न दबाब दिने मामिला होइन। तँमाथि कुनै अनुपयोगी वचन वा अनुपयोगी कार्य गरिनेछैन। तेरो जीवनमा व्यक्त वा प्रकट भएका सबै कुरूपतालाई फाल्नुपर्छ। तिमीहरू शैतानबाट भ्रष्ट भएका छौ र शैतानको विषले पूरा भरिएका छौ। तँबाट मागिएको कुरा त शैतानको यो भ्रष्ट स्वभावलाई फाल् भनेको मात्र हो। तँलाई कुनै उच्चपदस्थ कर्मचारी, वा प्रसिद्ध वा महान् व्यक्ति बन् भनिएको होइन। यसमा कुनै तुक छैन। तिमीहरूमा गरिएको कार्यले तिमीहरूका अन्तर्निहित कुराहरूलाई मध्यनजर गरेको हुन्छ। मैले मानिसहरूबाट माग्ने कुराहरू सीमामा बाँधिएका छन्। यदि बौद्धिक व्यक्तिहरूले बोल्ने तरिका र लबजमा तैँले अभ्यास गरेको थिइस् भने, यसले काम गर्नेछैन; तैँले यसलाई गर्न सक्नेछैनस्। तिमीहरूको क्षमताको आधारमा, तिमीहरूले कम्तीमा बुद्धि पुर्‍याएर र विनम्रताका साथ बोल्न र कुराहरूलाई स्पष्ट र बुझ्नयोग्य तरिकाले व्याख्या गर्न सक्नुपर्छ। शर्तहरू पूरा गर्नका लागि यति मात्रै चाहिन्छ। यदि, कम्तीमा पनि, तैँले अन्तर्दृष्टि र बोध प्राप्त गरिस् भने, यतिले काम गर्छ। अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो भ्रष्ट शैतानी स्वभाव फाल्नु हो। तँभित्र प्रकट भएको कुरूपता तैँले फाल्नुपर्छ। यी कुराहरू तैँले फाल्दैनस् भने, तैँले सर्वोच्च बोध र सर्वोच्च अन्तर्दृष्टिका बारेमा कसरी कुरा गर्न सक्छस्? युग परिवर्तन भएको देखेर, धेरै मानिसहरूमा कुनै विनम्रता वा धैर्यता छैन, र तिनीहरूमा कुनै प्रेम वा सन्तको शिष्टाचार पनि छैन। यस्ता मानिसहरू कति विवेकशून्य होलान्! के तिनीहरूमा अलिकति पनि सामान्य मानवता होला त? के तिनीहरूमा बोल्नको लागि कुनै गवाही होला त? तिनीहरूसँग अन्तर्दृष्टि वा समझ सर्वथा छैन। पक्कै पनि, मानिसहरूका केही विकृत र गलत अभ्यासलाई सच्याइनुपर्छ; उदाहरणका लागि, तिनीहरूको पहिलेको कडा आत्मिक जीवनहरू र तिनीहरूका भावशून्य र अल्पबुद्धि रूप—यी सबै कुराहरूलाई परिवर्तन गरिनुपर्छ। परिवर्तनको अर्थ तँलाई जे मन लाग्यो त्यही बोल्दै, देहमा स्वछन्द वा लिप्‍त हुन दिने भन्‍ने होइन। तैँले हल्का रूपमा बोल्नु हुँदैन। सामान्य मानवको बोली तथा आचरण हुनु भनेको तर्कसंङ्गत रूपमा बोल्नु हो, तैँले “हुन्छ” भन्दा “हुन्छ” भन्नु, “हुन्न” भन्दा “हुन्न” भन्नु हो। तथ्य परक रूपमा र उपयुक्त ढङ्गले बोल्। नठग्, र झूटो नबोल्। स्वभावको परिवर्तनको सन्दर्भमा व्यक्तिले जान सक्ने हदहरू बुझ्नुपर्छ। यदि यसो भएन भने, तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। क्षमता बढाउनु परमेश्‍वरको मुक्ति पाउनका खातिर हो

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४८

वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्‍ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? यदि कुनै मानिसले आफैलाई परमेश्‍वर हुँ भनी भन्छ तैपनि ईश्‍वरत्वलाई व्यक्त गर्न, स्वयम्‌ परमेश्‍वरको कार्य गर्न, वा परमेश्‍वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ भने, ऊ निःसन्देह नै परमेश्‍वर होइन, किनकि ऊसँग परमेश्‍वरको सारतत्त्व छैन, र जुन कुरा परमेश्‍वरले अन्तर्निहित रूपमा प्राप्त गर्न सक्नुहुन्छ त्यो ऊभित्र अस्तित्वमा हुँदैन। यदि मानिसले ऊद्वारा अन्तर्निहित रूपमा नै प्राप्त गर्न सकिने कुरालाई गुमाउँछ भने, उसलाई अब उप्रान्त मानिस भन्न सकिँदैन, र ऊ सृष्टि गरिएको प्राणीको रूपमा खडा हुन वा परमेश्‍वरको अघि आउन र उहाँको सेवा गर्न योग्य हुँदैन। यसको साथै, परमेश्‍वरको अनुग्रह ग्रहण गर्न वा उहाँको हेरचाह पाउन, सुरक्षा प्राप्त गर्न, र परमेश्‍वरद्वारा सिद्ध गरिन ऊ योग्यको हुँदैन। परमेश्‍वरको भरोसालाई गुमाएका धेरैले परमेश्‍वरको अनुग्रहलाई पनि गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्कर्महरूलाई घृणा मात्रै गर्दैनन्, तर तिनीहरूले परमेश्‍वरको मार्ग गलत छ भन्‍ने विचारलाई निर्धक्कसाथ प्रचार गर्छन्, र विद्रोहीहरूले त परमेश्‍वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस किसिमको विद्रोहले भरिएका त्यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहको आनन्द लिनका लागि कसरी हकदार बन्न सक्छन्? आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू परमेश्‍वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू पछि फर्कन्छन् र परमेश्‍वर नै गलत हुनुहुन्छ भनेर तीखो आलोचना गर्छन्। त्यस किसिमको मानिस कसरी सिद्ध बनाइनको लागि योग्य हुनसक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्‍वरको अघि आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि परमेश्‍वरसँग तर्क गर्ने र उहाँको विरुद्धमा आफै जोरी खोज्ने आँट तिनीहरूसँग छ। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो दायित्व पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र अझ अधिक, परमेश्‍वरलाई आफ्नो जीवन दिनुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने सृष्टि गरिएका प्राणीहरू हुन्छन्‌, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरका आशिषहरू र प्रतिज्ञामा रमाउनका लागि, र उहाँद्वारा सिद्ध बनाइनका लागि योग्य हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्‍वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो दायित्वलाई कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुनसक्छ? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृष्टि गरिएको प्राणीको दायित्वलाई पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृष्टि गरिएको प्राणीको रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो दायित्व पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्‍वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन्‌ र खुसीसाथ बलिदान दिन्छन्‌। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्‌! यदि तिमीहरू मप्रति विश्‍वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्‍नेछैनन्‌। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४४९

अज्ञानता र अहङ्कार भएकाहरूले सक्दो प्रयास नगर्ने मात्र होइन, आफ्नो दायित्व पूरा नगर्ने मात्रै होइन, तिनीहरूले अनुग्रहको लागि आफ्ना हातहरू समेत पसार्छन्‌, मानौं तिनीहरूले मागेको कुरा पाउन तिनीहरू योग्य छन्। अनि यदि तिनीहरूले आफूले मागेको कुरा प्राप्त गर्न असफल भए भने, तिनीहरू अझै कम विश्‍वासयोग्य बन्छन्। त्यस्ता मानिसहरूलाई कसरी उचित मान्न सकिन्छ? तिमीहरू कमजोर क्षमता भएका र तर्करहित छौ, व्यवस्थापनको कार्यको अवधिमा तिमीहरूले पूरा गर्नुपर्ने दायित्वलाई पूरा गर्न तिमीहरू पूर्ण रूपमा असक्षम छौ। तिमीहरूको मूल्य पहिले नै गिरिसकेको छ। त्यस्तो अनुग्रह तिमीहरूलाई देखाएकोमा तिमीहरूले मलाई तिर्नुपर्ने मूल्य तिर्ने तिमीहरूको असफलता आफैमा पनि एउटा चरम विद्रोह हो, तिमीहरूलाई दोषी ठहर्याउन र तिमीहरूको कायरता, असक्षमता, नीचता, र अयोग्यतालाई देखाउनको लागि त्यही नै पर्याप्त छ। तिमीहरूलाई आफ्नो हात फैलाउनको लागि केले हकदार बनाउँछ? तिमीहरू मेरो कार्यको लागि थोरै पनि सहयोगी हुन असमर्थ हुनु, निष्ठावान् हुन असमर्थ हुनु, र मेरो लागि साक्षीको रूपमा खडा हुन असमर्थ हुनु नै तिमीहरूको दुष्कर्महरू र असफलताहरू हुन्, तैपनि तिमीहरूले यसको सट्टा मलाई आक्रमण गर्छौ, मेरो बारेमा झूटा कुरा गर्छौ, र म अधर्मी हुँ भनेर गुनासो गर्छौ। के तिमीहरूको निष्ठा यसैले बनेको हो त? के तिमीहरूको प्रेम यसैले बनेको हो त? यसभन्दा पर, तिमीहरूले अरू के कार्य गर्न सक्छौ? पूरा गरिएका सबै कार्यमा तिमीहरूले कस्तो योगदान दिएका छौ? तिमीहरूले कति धेरै समर्पणता गरेका छौ? मैले तिमीहरूलाई दोष नदिइकन पहिले नै निकै ठूलो सहिष्णुता देखाइसकेको छु, तैपनि तिमीहरूले मसँग लाजै नमानी बहाना गर्छौ र गुप्तमा मेरो बारेमा गुनासो गर्छौ। के तिमीहरूमा मानवताको अलिकति पनि अवशेष बाँकी छ? मानिसको दायित्व मानिसको मन र उसका धारणाहरूद्वारा कलङ्कित भएको भएतापनि, तिमीले आफ्नो दायित्वलाई पूरा गर्नैपर्छ र आफ्नो निष्ठालाई देखाउनैपर्छ। मानिसको कार्यमा रहेका अशुद्धताहरू भनेको उसको क्षमताको समस्या हो, जबकी, यदि मानिसले आफ्नो दायित्वलाई पूरा गर्दैन भने, यसले उसको विद्रोहलाई देखाउँछ। मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो दायित्वलाई पूरा गर्दैनन्, र आफ्नो दायित्व पूरा गर्नमा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र श्रापित हुनेछन्‌। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५०

यदि तँसँग परमेश्‍वरको कामको कुनै ज्ञान छैन भने, परमेश्‍वरसँग कसरी सहकार्य गर्ने सो तँलाई थाहा हुनेछैन। यदि तँलाई परमेश्‍वरको कामका सिद्धान्तहरू थाहा छैन, र तँ शैतानले कसरी मानिसमा काम गर्छ भन्‍नेबारे अनभिज्ञ छस् भने, तँसँग अभ्यास गर्ने कुनै मार्ग हुनेछैन। परमेश्‍वरले इच्छामुताबिक परिणाम प्राप्त गर्नको लागि तेरो उत्साहपूर्ण खोजी मात्र पर्याप्त हुनेछैन। यस किसिमको अनुभव गर्ने माध्यम “लरेन्सको अनुभव” जस्तै हो: जसले भिन्‍नताहरू नछुट्याईकन, केवल अनुभवमा मात्र जोड दिन्छ र शैतानको काम के हो, पवित्र आत्माको काम के हो, परमेश्‍वरको उपस्थितिबिना मानिस कुन अवस्थामा हुन्छ, र कुन प्रकारको मानिसलाई परमेश्‍वरले सिद्ध पार्न चाहनुहुन्छ भन्‍नेबारेमा पूर्ण रूपमा अनजान रहन्छ। विभिन्‍न प्रकारका मानिसहरूसँग व्यवहार गर्दै गर्दा कुन सिद्धान्तहरू अपनाउनुपर्छ, वर्तमानमा कसरी परमेश्‍वरको इच्छा बुझ्नुपर्छ, परमेश्‍वरको स्वभावलाई कसरी जान्‍नुपर्छ, अनि के-कस्ता मानिसहरू, परिस्थितिहरू, र युगमा परमेश्‍वरको कृपा, प्रताप, र धार्मिकता निर्देशित हुन्छन्—यिनीहरू कुनैको बारेमा पनि उसले फरक छुट्याउन सक्दैन। यदि मानिसहरूसँग आफ्ना अनुभवहरूको जगको रूपमा विभिन्‍न ईश्‍वरीय दर्शनहरू छैनन् भने, जीवनको कुनै प्रश्‍नै उठ्दैन, र अनुभवको हकमा यो झन् बढी लागू हुन्छ; तिनीहरू मूर्खतापूर्ण रूपले निरन्तर हरेक थोकप्रति समर्पित भइरहेका र तिनलाई सहन गरिरहेका हुन्छन्। यस्ता मानिसहरूलाई सिद्ध पार्न साह्रै कठिन हुन्छ। यसो भन्‍न सकिन्छ कि माथि उल्लेखित ईश्‍वरीय दर्शनहरू तँसँग अलिकति पनि छैन भने, तँ अति मूर्ख होस्, तँ इस्राएलमा सँधै खडा भइरहने नुनको खामोजस्तै होस्। यस्ता मानिसहरू बेकार हुन्छन्, केही कुराको लागि पनि उपयोगी हुँदैनन्! केही मानिसहरू सँधै आँखा चिम्लेर समर्पित हुन्छन्, तिनीहरूले सँधै आफूलाई जान्दछन् र कुनै पनि नयाँ कुराको निराकण गर्नुपर्दा सँधै आफ्नै तरिकाहरूको प्रयोग गर्छन्, वा भन्‍न पनि योग्य नहुने सानातिना कुराहरूको निराकण गर्दा पनि “बुद्धि” को प्रयोग गर्छन्। त्यस्ता मानिसहरूमा सही-गलत छुट्टयाउने क्षमता पनि हुँदैन, र यस्तो लाग्छ कि आलोचित हुनको लागि आफैलाई परित्याग गर्नु नै तिनीहरूको प्रकृति हो, र तिनीहरू सँधै उस्तै हुन्छन्; तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन्। यस्ता मानिसहरू मूर्ख हुन्छन् जसमा अलिकति सही-गलत छुट्टयाउने क्षमता पनि हुँदैन। तिनीहरूले कहिल्यै पनि परिस्थिति वा विभिन्‍न व्यक्तिहरूसँग उपयुक्त उपायहरू अपनाउने प्रयास गर्दैनन्। यस्ता मानिसहरूसँग अनुभव हुँदैन। मैले केही यस्ता मानिसहरू देखेको छु जो आफ्नै ज्ञानमा यति बाँधिएका हुन्छन् कि दुष्ट आत्माको कामले ग्रस्त भएका मानिसहरूको सामना गर्दा, तिनीहरू त्यस्ता मानिसहरूको अघि खडा हुने र तिनीहरूलाई दोषी ठहर्‍याउने साहस नै नगरी आफ्नो शिर निहुराउँछन् र आफ्‍ना पाप स्विकार्छन्। अनि जब पवित्र आत्माको स्पष्ट कामको सामना गर्नुपर्छ, तब तिनीहरूले आज्ञापालन गर्ने साहस गर्दैनन्। दुष्ट आत्माहरू पनि परमेश्‍वरको हातमा छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्, अनि खडा भएर त्यस्ता दुष्टहरूको विरोध गर्ने साहस तिनीहरूमा अलिकति पनि हुँदैन। यस्ता मानिसहरूले परमेश्‍वरलाई लज्‍जित तुल्याउँछन्, र तिनीहरू उहाँको निम्ति गह्रौँ बोझ बोक्‍न पूर्ण रूपले असमर्थ हुन्छन्। यस्ता मूर्खहरूले कुनै पनि प्रकारको भिन्‍नता छुट्याउँदैनन्। त्यसकारण, अनुभवका त्यस्ता माध्यमहरूलाई शुद्ध पारिनुपर्छ, किनकि यो परमेश्‍वरको दृष्टिमा अस्थिर छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अनुभवको विषयमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५१

अहिलेका प्रवाहमा, परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने सबैले उहाँबाट सिद्ध हुने अवसर पाएका छन्। चाहे उनीहरू जवान हुन् वा वृद्ध, उनीहरूले आफ्नो हृदयमा परमेश्‍वरको आज्ञा पालन र उहाँलाई आदर गरिरहेमा उनीहरू उहाँबाट सिद्ध हुन सक्छन्। परमेश्‍वरले मानिसहरूलाई उनीहरूको विभिन्न कामअनुसार सिद्ध पार्नुहुन्छ। जबसम्म तैँले आफ्‍ना सबै शक्ति खर्च गर्छस्, र परमेश्‍वरको काममा समर्पित हुन्छस्, तँ उहाँबाट सिद्ध पारिन सक्‍नेछस्। अहिले, तिमीहरूमध्ये कोही पनि सिद्ध छैनौ। कहिलेकाहीँ तिमीहरू एक प्रकारको काम गर्न सक्षम हुन्छौ, र अरू समयमा तिमीहरूले दुई प्रकारको काम गर्न सक्षम हुन्छौ। जबसम्म तँ आफूलाई परमेश्‍वरको लागि समर्पित गर्न सक्दो प्रयास गर्छस्, तँ अन्ततः उहाँबाट सिद्ध हुनेछस्।

युवाहरूसँग बाँच्नको लागि थोरै दर्शनहरू हुन्छन्, र तिनीहरूमा बुद्धि र अन्तर्दृष्टि हुँदैन। परमेश्‍वर मानिसको बुद्धि र अन्तर्दृष्टिलाई सिद्ध गर्नका लागि यहाँ हुनुहुन्छ। उहाँको वचनले उनीहरूको कमी-कमजोरीलाई पूरा गर्दछ। यद्यपि, युवाहरूको स्वभाव अस्थिर छ, र तिनीहरूलाई परमेश्‍वरले परिवर्तन गर्नुपर्दछ। युवाहरूसँग बाँच्नका लागि कम धार्मिक धारणा र कम दर्शनहरू छन्; तिनीहरू सबै चीजलाई सामान्य रूपमा सोच्छन्, र तिनीहरूको विचारहरू जटिल छैनन्। यो उनीहरूको मानवताको अंश हो जसले अझैसम्म आकार लिएको छैन, र यो प्रशंसनीय पक्ष हो; यद्यपि युवाहरूमा अज्ञानता छ र बुद्धिको कमी छ। यो परमेश्‍वरद्वारा सिद्ध हुनुपर्ने कुरा हो। परमेश्‍वरद्वारा सिद्ध पारिएमा यसले तिमीहरूलाई समझशक्ति विकास गर्न सक्षम तुल्याउनेछ। तँ धेरै आध्यात्मिक कुराहरूलाई स्पष्टसँग बुझ्न सक्षम हुनेछस्, र बिस्तारै यस्तो व्यक्तिमा परिणत हुनेछस् जो परमेश्‍वरले प्रयोग गर्न योग्य छ। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि तिनीहरूले गर्नुपर्ने कामहरू छन्, र तिनीहरूलाई परमेश्‍वरले त्याग्‍नुभएको छैन। पाको उमेरका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि दुबै वाञ्छनीय र अवाञ्छनीय पक्षहरू हुन्छन्। उनीहरूसँग बाँच्नको लागि बढी दर्शन र बढी धार्मिक धारणा हुन्छन्। आफ्‍ना कार्यहरूमा, तिनीहरू धेरै कडा नियमहरूको पालना गर्छन् र नियमहरूको शौकीन हुन्छन् जसलाई उनीहरू यान्त्रिक रूपमा र लचकताविना नै लागू गर्छन्। यो एक अवाञ्छनीय पक्ष हो। तथापि, यी पाका उमेरका दाजुभाइ तथा दिदीबहिनीहरू जेसुकै आइपरे पनि शान्त र स्थिर रहन्छन्; तिनीहरूको स्वभाव स्थिर छ, र तिनीहरूसँग आँधीबेहरीजस्तो मनस्थिति हुँदैन। तिनीहरू कुराहरू स्वीकार गर्नमा ढिलो हुन सक्छन्, यद्यपि यो ठूलो गल्ती होइन। जबसम्म तिमीहरू समर्पित हुन सक्छौ; जबसम्म तिमीहरू परमेश्‍वरको अहिलेसम्मको वचनहरूलाई स्वीकार गर्न सक्छौ र परमेश्‍वरको वचनहरूलाई जाँच गर्दैनौ; जबसम्म तिमीहरू केवल समर्पण र अनुसरणको विषयमा चासो राख्छौ, र परमेश्‍वरका वचनहरूलाई न्याय गर्दैनौ वा तिनका बारेमा अन्य कुविचारहरू राख्दैनौ; जबसम्म तिमीहरू उहाँका वचनहरूलाई स्वीकार गर्छौ र त्यसलाई व्यवहारमा लागू गर्छौ भने—यी सर्तहरू पूरा गरेपछि तिमीहरू सिद्ध हुनेछौ।

तँ चाहे कम उमेरको होस् वा पाको उमेरको दाजुभाइ तथा दिदीबहिनी होस्, तैँले पूरा गर्नुपर्ने काम तँलाई थाहा छ। ती व्यक्तिहरू जो आफ्नो युवावस्थामा छन् तिनीहरू अहङ्कारी छैनन्; जो बृद्धावस्थामा छन् तिनीहरू निष्क्रिय छैनन्, न त तिनीहरू पछि नै हट्छन्। यसबाहेक, तिनीहरू आफ्नो कमजोरीहरूलाई पूर्ति गर्नका लागि एक अर्काका शक्तिहरूको प्रयोग गर्न सक्षम छन्, र तिनीहरूले कुनै पूर्वाग्रहविना एक-अर्काको सेवा गर्न सक्छन्। मित्रताको पुल जवान र पाका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा बनाइन्छ, र परमेश्‍वरको प्रेमको कारण, तिमीहरू एक-अर्कालाई अझ राम्ररी बुझ्न सक्षम हुन्छौ। जवान दाजुभाइ-दिदीबहिनीहरूले पाका दाजुभाइ-दिदीबहिनीहरूलाई तुच्छ ठान्दैनन्, र पाका दाजुभाइ-दिदीबहिनीहरू पनि आत्मधर्मी हुँदैनन्: के यो एउटा सहिष्णुतापूर्ण साझेदारी होइन र? यदि तिमीहरू सबैसँग त्यस्तो संकल्प छ भने, परमेश्‍वरको इच्छा निश्चित रूपमा तिमीहरूको पुस्तामा पूरा हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५२

भविष्यमा, तँलाई आशीर्वाद दिइनेछ कि सराप दिइनेछ भन्‍ने कुरा तिमीहरूको आजको कार्य र व्यवहारको आधारमा नै निर्णय गरिनेछ। यदि तिमीहरू परमेश्‍वरबाट सिद्ध पारिन चाहन्छौ भने, यो अहिले नै, यस युगमा हुनुपर्दछ; भविष्यमा अर्को अवसर हुनेछैन। परमेश्‍वरले तिमीहरूलाई अहिले सिद्ध पार्ने साँचो चाहना गर्नुहुन्छ, र यो बोल्ने तरिकाको कुरा होइन। भविष्यमा, तिमीहरूका अगाडि जस्तोसुकै परीक्षाहरू आइपरे पनि, जे घटनाहरू घटे पनि वा तिमीहरूले जुन विपत्तिहरूको सामना गर्नुपरे पनि, परमेश्‍वरले तिमीहरूलाई सिद्ध पार्न चाहनुहुन्छ; यो एक निश्चित र निर्विवाद तथ्य हो। यो कहाँ देख्न सकिन्छ? युगहरू र पुस्ताहरूका परमेश्‍वरको वचनले आजसम्म यत्तिको उचाइ प्राप्त गरेको छैन भन्‍ने तथ्यमा यसलाई देख्‍न सकिन्छ। यो सबैभन्दा माथिल्लो क्षेत्रमा प्रवेश गरिसक्यो, र सम्पूर्ण मानवतामा पवित्र आत्माको आजको काम अभूतपूर्व छ। विगतका पुस्ताका कुनै पनि मानिसहरूले सायदै यस्तो अनुभव गरेका थिए; येशूको युगमा पनि, आजको प्रकाशहरू अस्तित्वमा थिएनन्। तिमीहरूका निम्ति बोलिएका वचनहरू, तिमीहरूले बुझेका कुराहरू, र तिमीहरूको अनुभव सबै नयाँ शिखरमा पुगेको छ। परीक्षा र सजायको बीचमा, तिमीहरूले छोडेर जाँदैनौ, र परमेश्‍वरको कामले अभूतपूर्व महिमा प्राप्त गरेको पर्याप्त प्रमाण यही नै हो। यो मानिसले गर्न सक्ने काम होइन, न त यो मानिसले कायम गर्ने कुरा नै हो; बरु, यो त परमेश्‍वर स्वयम्‌को काम हो। तसर्थ, परमेश्‍वरको कामको धेरै वास्तविकताबाट, यो देख्न सकिन्छ कि परमेश्‍वर मानिसलाई सिद्ध बनाउन चाहनुहुन्छ, र उहाँ पक्कै पनि तिमीहरूलाई पूर्ण गर्न सक्षम हुनुहुन्छ। यदि तिमीहरूसँग यो अन्तर्दृष्टि छ, र तिमीहरू यो नयाँ खोजी गर्छौ भने, तिमीहरूले येशूको दोस्रो आगमनको लागि पर्खनेछैनौ; यसको सट्टामा, अहिलेको युगमा तिमीहरूलाई पूर्ण बनाउनको लागि परमेश्‍वरलाई अनुमति दिनेछौ। त्यसकारण, तिमीहरू प्रत्येकले कुनै मेहनत नछोडी अथक प्रयास गर्नु पर्छ ताकि तिमीहरू परमेश्‍वरबाट सिद्ध हुन सक।

अब, तैँले नकारात्मक कुराहरूमा कुनै ध्यान दिनु हुँदैन। पहिले, तँलाई नकारात्मक महसुस गराउने कुरालाई आफूबाट टाढा राख् र त्यसलाई वास्ता नगर्। जब तैँले समस्याहरूको सामना गरिरहेको हुन्छस्, त्यस्तो हृदयले त्यसो गर् जसले अघि जाने बाटो खोजी गर्दछ र महसुस गर्दछ, त्यस्तो हृदय जो परमेश्‍वरमा समर्पित हुन्छ। जब तिमीहरूले आफूभित्र कुनै कमजोरी भेट्टाउँछौ तर त्यसले आफूलाई नियन्त्रण गर्न दिँदैनौ, बरु, आफूले गर्नुपर्ने कामहरू पूरा गर्छौ, तब तिमीहरूले एउटा सकारात्मक कदम चालेका छौ। उदाहरणको लागि, तेरा पाका दाजुभाइ-दिदीबहिनीहरूको धार्मिक धारणाहरू छन्, तर तँ परमेश्‍वरको वचनमा प्रार्थना गर्न, समर्पित हुन, यसलाई खान र पिउन, र भजन गाउन सक्षम छस्…। भन्‍नुको अर्थ, तैँले गर्न सक्ने जेसुकै कुराका लागि, तैँले पूरा गर्न सक्ने जुनसुकै कामका लागि तैँले आफैलाई आफ्‍ना सबै बलका साथ समर्पण गर्नु पर्छ। निष्क्रिय रूपमा प्रतीक्षा नगर्। तेरो कर्तव्य पूरा गर्ने क्रममा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुनु पहिलो चरण हो। त्यसपछि, जब तँ सत्यलाई बुझ्न सक्छस् र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश पाउँछस्, तब तँ उहाँद्वारा सिद्ध पारिनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५३

संकल्प गरेका सबैले परमेश्‍वरको सेवा गर्न सक्दछन्—तर परमेश्‍वरको इच्छालाई पूरा ध्यान दिने र परमेश्‍वरको इच्छा बुझ्ने व्यक्तिहरू मात्र परमेश्‍वरको सेवा गर्ने योग्यका र हकदार हुनेछन्। मैले तिमीहरूको बीचमा यो थाहा पाएको छु: धेरै मानिसहरूले जोसिलो भएर परमेश्‍वरको निम्ति सुसमाचार फैलाउँछन्, परमेश्‍वरको निम्ति अघि बढ्छन्, आफैलाई समर्पित गर्छन् र परमेश्‍वरका निम्ति केही कुरा त्याग्छन्, र त्यस्तै अरू कुराहरू गर्छन् भने, त्यसलाई परमेश्‍वरको सेवा हो भनी विश्‍वास गर्छन्। अझ धेरै धार्मिक मानिसहरू त हातमा बाइबल लिएर यताउति दगुर्नु, स्वर्गको राज्यको सुसमाचार फैलाउनु, र मानिसहरूलाई पश्चात्ताप र पाप-स्वीकार गर्न लगाएर मुक्त गर्नु परमेश्‍वरको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। यस्ता धेरै धार्मिक अगुवाहरू पनि छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको उच्च अध्ययन गरेर अनि सेमिनरीमा तालिम लिएर च्यापलमा प्रचार गर्नु र बाइबलका शास्त्रहरू पढेर मानिसहरूलाई शिक्षा दिनु हो भनी विचार गर्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू हुन्छन् जसले परमेश्‍वरको सेवा गर्नु भनेको बिरामीलाई निको पार्नु र तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूको बीचमा भएका भूतात्माहरू निकाल्नु वा उनीहरूका निम्ति प्रार्थना गर्नु, वा उनीहरूको सेवा गर्नु हो भनी विश्‍वास गर्छन्। तिमीहरूको बीचमा धेरै जना यस्ता मानिसहरू छन्, जसले परमेश्‍वरको सेवा गर्नु भनेको परमेश्‍वरको वचनहरू खानु र पिउनु, हरेक दिन परमेश्‍वरसँग प्रार्थना गर्नु साथै सबैतिरका मण्डलीहरूमा भेटघाट गर्न जानु र कामहरू गर्नु हो भनी विश्‍वास गर्छन्। अरू दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा परिवार खडा नगर्नु र आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरमा समर्पण गर्नु हो भनी विश्‍वास गर्छन्। तापनि परमेश्‍वरको सेवा गर्नु भनेको के हो सो थोरै मानिसहरूले मात्रै साँचो रूपमा जानेका हुन्छन्। परमेश्‍वरको सेवा गर्ने मानिसहरू आकाशका ताराहरू जत्तिकै धेरै भए पनि प्रत्यक्ष रूपमा र परमेश्‍वरको इच्छाअनुसार सेवा गर्नेहरूको सङ्ख्या नगण्य—अत्यन्तै रूपमा कम छ। म किन यो कुरा भन्दछु? यसकारण भन्दछु, कि तिमीहरू “परमेश्‍वरको सेवा” भन्‍ने वाक्यांशको सारलाई बुझ्दैनौ, अनि परमेश्‍वरको इच्छाअनुसार कसरी सेवा गर्ने भन्‍ने कुरा त झनै कम बुझ्छौ। परमेश्‍वरको निम्ति गरिएको कस्तो सेवा वास्तवमा उहाँको इच्छा अनुरूप हुन्छ भन्‍ने कुरा मानिसहरूले झट्टै बुझ्नु आवश्यक हुन्छ।

यदि तिमीहरू परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न चाहन्छौ भने, पहिले तिमीहरूले यो बुझ्नुपर्छ कि, परमेश्‍वरका निम्ति कस्ता मानिसहरू मनपर्दा हुन्छन्, परमेश्‍वरले कस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ, परमेश्‍वरले कस्ता मानिसहरूलाई सिद्ध बनाउनुहुन्छ र कस्ता मानिसहरू परमेश्‍वरको सेवा गर्न योग्यका हुन्छन्। कम्तीमा पनि तिमीहरूमा यो ज्ञान हुनुपर्छ। यसबाहेक, तिमीहरूले परमेश्‍वरको कामको लक्ष्य अनि परमेश्‍वरले यहाँ र अहिले गर्नुहुने कामको बारेमा जान्नुपर्छ। यो कुरा बुझेपछि, अनि परमेश्‍वरको वचनको मार्गदर्शनद्वारा तिमीहरूले पहिले प्रवेश पाउनुपर्छ र परमेश्‍वरको आज्ञा प्राप्त गर्नुपर्छ। तिमीहरूले परमेश्‍वरका वचनहरू वास्तविक रूपमा अनुभव गरेपछि, र साँच्चै परमेश्‍वरको कामलाई जानेपछि, तिमीहरू परमेश्‍वरको सेवा गर्न योग्यका बन्नेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ, त्यस बेला परमेश्‍वरले तिमीहरूका आत्मिक आँखाहरू खोलिदिनुहुनेछ र तिमीहरूलाई उहाँको कामलाई अझ राम्ररी बुझ्ने र त्यसलाई स्पष्ट रूपमा देख्ने बनाउनुहुनेछ। जब तिमीहरू यस वास्तविकतामा प्रवेश गर्छौ, तब तिमीहरूका अनुभवहरू अझ गहन र वास्तविक बन्नेछन्, अनि त्यस्ता अनुभवहरू प्राप्त गर्ने तिमीहरू सबै मण्डलीहरूको माझमा हिँड्न सक्नेछौ अनि आफ्ना दाजुभाइ, दिदी-बहिनीहरूका निम्ति प्रबन्ध गरिदिन सक्नेछौ, यसरी तिमीहरू प्रत्येकले एक-अर्काको सबल पक्षले आफ्नै कमीहरूलाई कम गर्न सक्नेछौ, अनि आफ्‍नो आत्मामा अझ राम्ररी ज्ञान प्राप्त गर्नेछौ। यस्ता वास्तविकता प्राप्त गरिसकेपछि मात्र तिमीहरूले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्ने बन्नेछौ र तिमीहरूको सेवाको अवधिमा परमेश्‍वरद्वारा सिद्ध बनाइनेछौ।

परमेश्‍वरको सेवा गर्नेहरू परमेश्‍वरका घनिष्ठहरू हुनुपर्छ, तिनीहरू परमेश्‍वरलाई मनपर्दो हुनुपर्छ र परमेश्‍वरप्रति अत्याधिक बफादार हुन सक्ने हुनुपर्छ। चाहे तिमीहरू एकान्तमा व्यवहार गर वा सार्वजनिक स्थानमा, तिमीहरूले परमेश्‍वरको सामु परमेश्‍वरको आनन्द प्राप्त गर्न सक्छौ, तिमीहरू परमेश्‍वरको सामु दह्रिलो भई खडा हुन सक्छौ, अनि अरू मानिसहरूले तिमीहरूसँग जस्तोसुकै व्यवहार गरे पनि तिमीहरूले हिँड्नुपर्ने बाटो हिँड्नेछौ, अनि परमेश्‍वरको बोझलाई पूर्ण ध्यान दिनेछौ। यस्ता मानिसहरू मात्र परमेश्‍वरका घनिष्ठहरू हुन्। परमेश्‍वरसित घनिष्ठ रहेका व्यक्तिहरूले प्रत्यक्ष रूपमा उहाँको सेवा गर्न सक्छन्, किनकि तिनीहरूलाई परमेश्‍वरको महान् आज्ञा र परमेश्‍वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्‍वरको हृदयलाई आफ्नो हृदय बनाउन सक्षम हुन्छन्, र परमेश्‍वरको बोझलाई आफ्नै बोझ जस्तो गरी लिन्छन्, र तिनीहरूले आफ्नो भविष्यका सम्भावनाहरूमाथि विचार गर्दैनन्: तिनीहरूको कुनै सम्भावना नहुँदा, र तिनीहरूले केही कुरा प्राप्त गर्न नसक्‍ने हुँदा पनि, प्रेमिलो हृदयले सधैँ परमेश्‍वरमा विश्‍वास गर्छन्। यसैले यस्तो व्यक्ति परमेश्‍वरसँग घनिष्ठ हुन्छ। परमेश्‍वरसँग घनिष्ठ रहेका मानिसहरू परमेश्‍वरका विश्‍वासपात्रहरू पनि हुन्; परमेश्‍वरसँग घनिष्ठ रहेका व्यक्तिहरू मात्र उहाँको बेचैनी र उहाँका विचारहरूमा सहभागी हुन सक्छन्, अनि तिनीहरूका देह कष्टमय र कमजोर भए पनि, तिनीहरूले कष्ट सहन सक्छन्, अनि परमेश्‍वरलाई प्रसन्न तुल्याउनका निम्ति आफूलाई मन परेको थोक त्याग्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरले अझ बढी बोझहरू दिनुहुन्छ, अनि परमेश्‍वरले गर्न चाहनुभएको कुरा त्यस्ता मानिसहरूको गवाहीमा उत्पन्न हुँदछ। यसैले, यस्ता मानिसहरू परमेश्‍वरका निम्ति मनपर्दो हुन्छन्, तिनीहरू परमेश्‍वरको आफ्नै हृदय अनुसारका परमेश्‍वरका सेवकहरू हुन्, त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरसँग मिलेर शासन गर्न सक्छन्। जब तँ साँच्चै परमेश्‍वरप्रति घनिष्ठ व्यक्ति बनेको हुन्छस्, तैँले परमेश्‍वरसित शासन गर्ने बेला ठीक त्यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५४

येशूले परमेश्‍वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा बन्दोबस्तहरू नगरी परमेश्‍वरको इच्छामा पूरा ध्यान दिनुभयो। त्यसै पनि, उहाँ परमेश्‍वर, अर्थात् परमेश्‍वर स्वयम्‌सँग अति घनिष्ठ हुनुहुन्थ्यो, जुन कुरा तिमीहरू सबैले राम्ररी बुझ्दछौ। (वास्तवमा, उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो, जुन कुराको साक्षी परमेश्‍वरले दिनुभयो। मैले यस विषयमा उदाहरण दिनका निम्ति येशूका तथ्यहरू प्रयोग गर्न यहाँ यो कुरा भन्दैछु।) उहाँले परमेश्‍वरको व्यवस्थापन योजनालाई केन्द्रमा राख्न सक्‍नुहुन्थ्यो, अनि सधैँ स्वर्गमा हुनुहुने पितासँग प्रार्थना गर्नुभयो र उहाँको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्दै भन्नुभयो: “हे परमेश्‍वर पिता! तपाईंको इच्छा जे छ त्यो पूरा गर्नुहोस्, अनि मेरा इच्छाहरू अनुसार होइन, तर तपाईंको योजनाअनुसार काम गर्नुहोस्। मानिस कमजोर हुन सक्छ, तर तपाईं त्यसको किन वास्ता गर्नुहुन्छ? मानिस तपाईंको वास्ता पाउने योग्यको कसरी बन्न सक्छ? अर्थात् मानिस, जो तपाईंको हातमा एउटा कमिला जस्तो छ? मेरो हृदयमा, म तपाईंको इच्छा मात्र पूरा गर्न चाहन्छु, अनि तपाईंले आफ्नो इच्छाअनुसार ममा जे गर्न चाहनुहुन्छ त्यो गर्नुहोस् भन्‍ने म चाहन्छु।” यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्‍नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तीस वर्ष जिउनुभयो, ती अवधिभरि उहाँले सधैँ त्यस बेलाको परमेश्‍वरको कामअनुसार परमेश्‍वरकै इच्छा पूरा गर्ने सक्दो कोसिस गर्नुभयो, उहाँले आफ्नो फाइदा वा नोक्‍सानीको बारेमा कहिल्यै पनि विचार गर्नुभएन, अनि सधैँ परमेश्‍वर पिताको इच्छाको बारेमा सोच्नुहुन्थ्यो। यसैकारण उहाँको बप्तिस्मा भएपछि परमेश्‍वरले यसो भन्नुभएको थियो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” परमेश्‍वरको सामुन्ने उहाँले गर्नुभएको सेवा, जुन परमेश्‍वरको इच्छाअनुरूप थियो, त्यसैले गर्दा परमेश्‍वरले सारा मानवजातिलाई छुटकारा दिने गह्रौं काम उहाँको काँधमा राखिदिनुभयो र त्यो पूरा गर्न लगाउनुभयो, अनि त्यो महत्त्वपूर्ण काम पूरा गर्न उहाँ योग्य हुनुहुन्थ्यो र उहाँलाई अधिकार दिइएको थियो। उहाँले आफ्नो जीवनभरि परमेश्‍वरको निम्ति असीमित दुःखहरू भोग्नुभयो, अनि शैतानद्वारा उहाँको अनगिन्ती पटक परीक्षा भयो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्‍वरले उहाँलाई भरोसा, र प्रेम गर्नुभएको कारणले गर्दा उहाँलाई यति ठूलो काम दिनुभयो, यसैले परमेश्‍वरले व्यक्तिगत रूपमा यसो भन्नुभयो: “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” त्यस बेला, येशूले मात्र त्यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, अनि परमेश्‍वरले अनुग्रहको युगमा सारा मानवजातिलाई छुटकारा दिने काम पूरा गर्ने कार्यको यो एउटा व्यावहारिक पक्ष थियो।

यदि येशूजस्तै तिमीहरूले पनि परमेश्‍वरको बोझलाई पूर्ण रूपमा ध्यान दिन्छौ र तिमीहरूका देहलाई त्याग्छौ भने, परमेश्‍वरले उहाँका महत्त्वपूर्ण कामहरू तिमीहरूलाई सुम्पनुहुनेछ, त्यसरी तिमीहरूले परमेश्‍वरको सेवा गर्नका निम्ति चाहिने सर्तहरू पूरा गर्नेछौ। त्यस्ता परिस्थितिहरूमा पर्दा मात्र तिमीहरूले परमेश्‍वरको इच्छा पूरा गर्दैछौ र उहाँले दिनुभएको आज्ञा पूरा गर्दैछौ भनी भन्‍ने साहस गर्छौ, अनि मात्र तिमीहरूले साँच्चै परमेश्‍वरको सेवा गर्दैछौ भनी भन्‍ने साहस गर्छौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तैँले तँ परमेश्‍वरसित घनिष्ठ छस् भनी भन्‍ने साहस गर्छस्? के तैँले परमेश्‍वरको इच्छा पूरा गर्दैछु भनी भन्‍ने साहस गर्छस्? के तैँले साँच्चै परमेश्‍वरको सेवा गर्दैछु भनी भन्‍ने साहस गर्छस्? आज तैँले परमेश्‍वरको सेवा कसरी गर्ने सो बुझ्दैनस्, के तैँले परमेश्‍वरसित घनिष्ठ छु भनी भन्‍ने साहस गर्छस्? यदि तैँले परमेश्‍वरको सेवा गर्दैछु भनी भन्छस् भने के तैँले उहाँको विरुद्धमा ईश्‍वर-निन्दा गर्दैनस् र? यस विषयमा विचार गर्: तैँले परमेश्‍वरको सेवा गर्दैछस् कि आफ्नै सेवा गर्दैछस्? तँ शैतानको सेवा गर्छस्, तापनि हठी बन्दै अझ परमेश्‍वरकै सेवा गरिरहेको छु भनी भन्छस्—के यसो गरेर तैँले ईश्‍वर-निन्दा गर्दैनस् र? मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाका लाभहरू पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूमाथि हुकुम चलाउँछन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्‍ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो उद्देश्यहरू सही छन् तापनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो उद्देश्यहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरूले परमेश्‍वरको इच्छामा कुनै ध्यान दिँदैनन्। तिनीहरूले आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरूले सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग चलाखी र छल गर्छन्, अनि दाखबारीमा आउने चतुर स्याल जस्तो भएर तिनीहरू अङ्गुर चोर्छन् र दाखबारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यको छस्? तैँले आफ्नै जीवन र मण्डलीको निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यको छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तैँले यसरी सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पनुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

परमेश्‍वरको इच्छाअनुसारको सेवा गर्न कुन-कुन सर्तहरू पूरा गर्नुपर्छ त्यो तिमीहरूले जान भनेर मैले यो कुरा भनिरहेको छु। यदि तिमीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिँदैनौ भने, यदि तिमीहरूले येशूले जस्तै परमेश्‍वरको इच्छामा पूरा ध्यान दिँदैनौ भने, परमेश्‍वरले तिमीहरूमाथि भरोसा गर्न सक्नुहुन्न, अनि अन्त्यमा तिमीहरूले परमेश्‍वरबाट दण्ड पाउनेछौ। सायद, आज परमेश्‍वरको निम्ति तैँले गर्ने सेवामा सधैँ परमेश्‍वरलाई धोखा दिने उद्देश्य राख्छस् र लापरवाहीसाथ उहाँसित व्यवहार गर्छस् होला। संक्षेपमा भन्नुपर्दा, चाहे जे नै भए पनि यदि तँ परमेश्‍वरलाई ठग्छस् भने, तँमाथि कठोर न्याय आइलाग्‍नेछ। तैँले दोहोरो मन नबनाई पहिले आफ्नो हृदयलाई परमेश्‍वरमा सुम्पिएर परमेश्‍वरको सेवाको सही बाटोमा प्रवेश गर्ने फाइदा उठाउनुपर्छ। चाहे तँ परमेश्‍वरको सामुन्ने होस् वा मानिसहरूको सामुन्ने, तेरो हृदय सधैँ परमेश्‍वरप्रति केन्द्रित हुनुपर्छ, अनि तैँले पनि येशूले जस्तै परमेश्‍वरलाई प्रेम गर्ने संकल्प गर्नुपर्छ। यसरी, परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुनेछ, अनि तँ परमेश्‍वरको हृदय अनुरूपको सेवक बन्नेछस्। यदि तँ साँच्चै परमेश्‍वरद्वारा सिद्ध बनाइन र तेरो सेवा उहाँको इच्छाअनुरूप भएको चाहन्छस् भने, परमेश्‍वरको विश्‍वासको सम्बन्धमा तेरो पहिलेका विचारहरू बदल्नुपर्छ, अनि पहिले जुन तरिकाले परमेश्‍वरको सेवा गर्थिस् त्यो तरिका बदल्नुपर्छ, यसरी तँ परमेश्‍वरद्वारा अझ बढी सिद्ध बनाइनेछस्। त्यसो भएपछि, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछैन, अनि तँ पनि पत्रुसजस्तै परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरूको पहिलो पङ्क्तिमा हुनेछस्। यदि तँ पश्चात्ताप नगरी बस्छस् भने, तैँले पनि यहूदाको जस्तै अन्त्यको सामना गर्नुपर्नेछ। यो कुरा परमेश्‍वरमा विश्‍वास गर्ने सबैले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५५

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका हरेक क्षेत्रका मानिसहरू समावेश छन्। उहाँको उद्देश्य उहाँको इच्छा पूरा गर्नु र पृथ्वीमा उहाँको कामलाई सहजतापूर्वक पूर्णतामा ल्याउनु हो; उहाँको सेवाको लागि मानिसहरू छनौट गर्नुमा परमेश्‍वरको लक्ष्य यही हो। परमेश्‍वरको सेवा गर्ने हरेकले उहाँको इच्छा बुझ्नुपर्छ। उहाँको यो कामले परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता, र पृथ्वीमा उहाँको कामका सिद्धान्तहरू मानिसहरूका निम्ति अझ स्पष्ट पार्दछ। परमेश्‍वर वास्तवमा यस पृथ्वीमा आफ्नो काम गर्न, मानिसहरूसँग संलग्न हुन नै आउनुभएको छ ताकि तिनीहरूले उहाँका कामहरू अझ स्पष्ट रूपमा थाहा पाऊन्। आज तिमीहरू, मानिसहरूको यो समूह, व्यावहारिक परमेश्‍वरको सेवा गर्न पाएकोमा भाग्यशाली छौ। यो तिमीहरूका लागि अतुलनीय आशिष् हो—साँच्चै, तिमीहरू परमेश्‍वरद्वारा उठाइएका हौ। कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्‍वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेझैं, परमेश्‍वरको सेवा गर्नु भनेको कुनै पनि हालतमा केवल उत्साहको कुरा होइन। आज, तिमीहरू देख्छौ कि परमेश्‍वरको अघि सेवा गर्नेहरू सबैले त्यसो गर्दछन् किनभने उनीहरूसँग परमेश्‍वरको मार्गदर्शन र पवित्र आत्माको काम छ, र किनभने तिनीहरू सत्यको पछि लाग्ने मानिसहरू हुन्। यी परमेश्‍वरको सेवा गर्नेहरू सबैका निम्ति न्यूनतम सर्तहरू हुन्।

परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा बाहिर फालिने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई नियन्त्रण गर्न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा दखल दिन्छ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५६

आजदेखि सुरु गरेर, परमेश्‍वरले धार्मिक विचारहरू नभएकाहरूलाई, आफ्नो पुरानो स्वभाव पन्छाउन इच्छुक हुनेहरूलाई, र सरल हृदयले परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई औपचारिक रूपमा नै सिद्ध तुल्याउनुहुनेछ। जो मानिसहरू परमेश्‍वरको वचनहरूको निम्ति तिर्खाउँछन् उनीहरूलाई उहाँले सिद्ध गर्नुहुनेछ। यी मानिसहरू खडा भएर परमेश्‍वरको सेवा गर्नुपर्दछ। परमेश्‍वरमा अन्त्यहीन प्रशस्तता र असीम बुद्धि छ। उहाँको अचम्मको काम र बहुमूल्य वचनहरूले मानिसहरूको अझ ठूलो सङ्ख्याले आनन्द गरून् भनेर प्रतीक्षा गरिरहेका छन्। यस कुरालाई हेर्दा, धार्मिक धारणाहरू भएकाहरू, वरिष्ठता ग्रहण गर्नेहरू, र आफूलाई पन्छ्याउन नसक्नेहरूलाई ती नयाँ कुराहरू स्वीकार्न कठिन हुन्छ। पवित्र आत्मासँग यी मानिसहरूलाई सिद्ध गर्ने कुनै अवसर नै छैन। यदि कुनै व्यक्तिले आज्ञापालन गर्न संकल्प गरेको छैन, र परमेश्‍वरको वचनहरूको लागि तिर्खाउँदैन भने, ती नयाँ कुराहरू स्वीकार गर्नको लागि तिनीहरूसँग कुनै माध्यम छैन; तिनीहरू केवल झन्-झन् विद्रोही, झन्-झन् धेरै धूर्त हुनेछन्, र यसरी गलत मार्गमा पुग्‍नेछन्। आफ्नो काम अहिले गरिरहँदा, परमेश्‍वरले अझ धेरै व्यक्तिहरू खडा गर्नुहुनेछ जसले उहाँलाई साँच्चै प्रेम गर्दछन् र नयाँ ज्योति ग्रहण गर्न सक्छन्, र आफ्नो वरिष्ठता ग्रहण गर्ने धार्मिक अधिकारीहरूलाई उहाँले पूर्णरूपमा ढाल्नुहुनेछ; जिद्दी पूर्वक परिवर्तनको प्रतिरोध गर्नेहरूमध्ये एक जनालाई पनि उहाँ चाहनुहुन्न। के तँ यी मानिसहरूमध्ये एक जना हुन चाहन्छस्? तैँले तेरो आफ्नै अभिरुचिहरू अनुसार सेवा गर्छस्, कि परमेश्‍वरले चाहनुभए अनुसार गर्छस्? यो तैँले आफै जान्‍नुपर्ने कुरा हो। के तँ धार्मिक अधिकारी होस्, वा के तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको नवजात शिशु होस्? तेरो कति सेवालाई पवित्र आत्माले प्रशंसा गर्नुभयो? योमध्ये कत्ति जति परमेश्‍वरले सम्झन समेत झन्झट मान्नुहुनेछ? तेरो वर्षौंको सेवाको परिणामको रूपमा तेरो जीवनमा कति ठूलो परिवर्तन आएको छ? के तँ यी सबैको बारेमा स्पष्ट छस्? यदि तँ साँच्चिकै विश्‍वासबाटकै होस् भने, तैँले पहिलेका तेरो पुरानो धार्मिक धारणाहरू हटाउनेछस्, र नयाँ तरिकामा अझै राम्ररी परमेश्‍वरको सेवा गर्नेछस्। अब खडा हुन धेरै ढीला भएको छैन। पुरानो धार्मिक धारणाहरूले कुनै व्यक्तिको सम्पूर्ण जीवनलाई हराउन सक्छ। एक व्यक्तिले प्राप्त गरेको अनुभवले उनीहरूलाई परमेश्‍वरबाट बरालिन र आफ्नै तरिकाले काम-कुराहरू गर्ने तुल्याउन सक्छ। यदि तैँले त्यस्ता कुराहरूलाई पन्छ्याउँदैनस् भने, ती तेरो जीवनको वृद्धिमा ठेस लाग्ने अवरोध हुनेछन्। परमेश्‍वरले सधैँ उहाँको सेवा गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ, र तिनीहरूलाई हल्का रूपमा बाहिर निकाल्नुहुन्न। यदि तैँले परमेश्‍वरको वचनहरूको न्याय र सजायलाई साँच्चिकै स्वीकार गर्छस् भने, यदि तँ आफ्नो पुरानो धार्मिक आचरणहरू र नियमहरूलाई पन्छ्याउन सक्छस्, र पुरानो धार्मिक धारणाहरूलाई आजका वचनहरूको मापनको रूपमा प्रयोग गर्न छोड्छस् भने मात्रै तेरो निम्ति भविष्य हुनेछ। तर यदि तँ पुराना चीजहरूसँग टाँसिरहन्छस् भने, यदि तँ अझै तिनलाई मूल्यवान् ठान्छस् भने, तैँले मुक्ति पाउन सक्ने कुनै मार्ग छैन। यस्ता मानिसहरूलाई परमेश्‍वरले वास्ता गर्नुहुन्न। यदि तँ साँच्चिकै सिद्ध हुन चाहन्छस् भने, तैँले पहिलेदेखिका सबै कुरा त्याग्ने संकल्प गर्नुपर्छ। पहिले जे गरिएको थियो त्यो ठीक थियो भने पनि, यो परमेश्‍वरको काम थियो भने पनि, तँ अझै यसलाई अलग राख्न सक्षम हुनुपर्दछ र यससँग टाँसिन बन्द गर्नुपर्दछ। यदि यो स्पष्ट रूपमै पवित्र आत्माको काम, पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम थियो भने पनि, आज तैँले त्यसलाई पन्छ्याउनुपर्छ। तैँले यसलाई समाति राख्‍नु हुँदैन। परमेश्‍वरले चाहनुहुने कुरा यही हो। सबै कुरालाई नवीकरण गरिनुपर्छ। परमेश्‍वरको काम र परमेश्‍वरको वचनहरूमा, उहाँले अघि गएका पुरानो कुराहरूको कुनै सन्दर्भ दिनुहुन्न, उहाँले पुरानो पञ्चाङ्गलाई खोतल्नुहुन्न; परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जो सँधै नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र विगतका आफ्ना वचनहरूमा समेत टाँसिनुहुन्न—जुन कुराले देखाउँदछ कि परमेश्‍वरले कुनै नियम पालना गर्नुहुन्न। त्यसकारण, यदि एक मानिसको रूपमा तँ जहिले पनि विगतका कुराहरूमा टाँसिरहन्छस्, यदि तैँले तिनलाई छोडिदिन इन्कार गर्छस् भने, र कठोरताका साथ तिनलाई सूत्रको रूपमा लागू गर्छस् भने, जबकि परमेश्‍वर अब आफूले पहिले गरेको माध्यमहरू प्रयोग गरेर काम गर्नुहुन्न, त्यसोभए के तेरा शब्दहरू र कार्यहरू विघटनकारी छैनन्? के तँ परमेश्‍वरको शत्रु बनेको छैनस् र? के तँ आफ्नो पूरै जीवन यी पुरानो चीजहरूले बरबाद गर्न र बिगार्न दिन इच्छुक छस्? यी पुराना चीजहरूले तँलाई कोही यस्तो व्यक्ति बनाउनेछ जसले परमेश्‍वरको काममा वाधा दिन्छ—के तँ त्यस्तै प्रकारको व्यक्ति बन्‍न चाहन्छस्? यदि तँ साँच्चिकै त्यो चाहँदैनस् भने, तैँले के गरिरहेको छस् त्यसलाई रोकेर फर्किहाल्; फेरि सुरु गर्। परमेश्‍वरले तेरो विगतका सेवाहरू सम्‍झनुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५७

जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्‍ने मानिसले विश्‍वास गर्छ। यस्तो विश्‍वास सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वरले मानिसलाई आग्रह गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीहरूले, यति धेरै वर्षको अनुभवपछि पनि परमेश्‍वरको निम्ति काम गर्नेबारेमा कहिल्यै सोचेका छैनन्, किनकि मानिसले जुन कामको बारेमा सोच्छ त्यो परमेश्‍वरले आग्रह गर्नुभएको कामसित नमिल्दो हुन्छ। त्यसकारण, मानिसमा कामको विषयमा कुनै पनि रुचि छैन, मानिसको प्रवेश एकतर्फी हुनुको मुख्य कारण यही हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, यसरी तिमीहरूले अनुभवको प्रत्येक पक्षलाई राम्ररी अनुभव गर्न सक्छौ। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्‍वरको खातिर यताउति दगुरिहिँड्नु भन्‍ने बुझाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जसरी जिउँछ त्यस कुराले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन भन्‍ने कुरालाई बुझाउँछ। कामले परमेश्‍वरप्रतिको आफ्‍नो भक्ति र परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञानलाई मानिसहरूले उहाँको निम्ति साक्षी दिन र मानिसको सेवा गर्नको लागि प्रयोग गर्नुलाई बुझाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसहरूले बुझ्नुपर्ने यही हो। कसैले भन्‍न सक्छ कि तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरूले परमेश्‍वरका निम्ति काम गरिरहेको बेला प्रवेश गर्ने कोसिस गर्छौ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको वचन कसरी खाने र पिउने भनी जान्‍नु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको बारेमा साक्षी दिन जान्‍नुपर्छ र तिमीहरूले परमेश्‍वरको सेवा गर्नका साथै मानिसको लागि सेवकाइ र आवश्यक प्रबन्ध गर्न सक्‍नुपर्छ। यही नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरका निम्ति यताउति दौडनु र सबै ठाउँमा प्रचार गर्नुमा मात्र ध्यान दिनेहरू धेरै छन्, तैपनि तिनीहरूले आफ्नो व्यक्तिगत अनुभवमा ध्यान दिँदैनन् र आत्मिक जीवनमा आफूले गर्नुपर्ने प्रवेशको बारेमा बेवास्ता गर्छन्। यही कुराले नै परमेश्‍वरको सेवा गर्ने मानिसहरूलाई परमेश्‍वरको विरोध गर्ने मानिसहरू बनाएको छ। यतिका वर्षसम्‍म परमेश्‍वरको सेवा र मानिसहरूको लागि सेवकाइ गर्दै आएका यी मानिसहरूले काम र प्रचार गर्नुलाई प्रवेश गर्नु भन्‍ने ठानेका छन् र कसैले पनि आफ्नो व्यक्तिगत आत्मिक अनुभवलाई महत्त्वपूर्ण प्रवेश मानेका छैनन्। बरु, पवित्र आत्माको कामबाट प्राप्त हुने अन्तर्ज्ञानलाई तिनीहरूले अरूलाई शिक्षा दिने पुँजीको रूपमा लिएका छन्। प्रचार गर्दा तिनीहरूमा धेरै बोझ हुन्छ र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्छन्, र त्यसमार्फत तिनीहरू पवित्र आत्माको आवाज प्रकट गरिरहेका हुन्छन्। यस क्षणमा, काम गर्ने व्यक्तिहरू पवित्र आत्माको काम आफ्नै व्यक्तिगत आत्मिक अनुभव बनेझैँ आत्मसन्तोषले भरिएका हुन्छन्; तिनीहरूले आफूले बोलिरहेका सबै वचनहरू आफ्नै व्यक्तिगत अस्तित्वको स्वामित्वमा भएको महसुस गर्छन्, तर फेरि पनि तिनीहरूका आफ्नै अनुभव भने तिनीहरूले वर्णन गरेजस्तो स्पष्ट हुँदैन। अझ अर्को कुरा, बोल्नुभन्दा अघि तिनीहरूलाई आफूले के भन्‍नेछू भन्‍ने थाहै हुँदैन, तर जब पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्छ, तब तिनीहरूका वचनहरू अन्त्यहीन प्रवाहजस्तो गरी बाहिर निस्कन्छन्। तैँले एकपल्ट यसरी प्रचार गरेपछि तँलाई आफ्नो कद वास्तवमा आफूले विश्‍वास गरेजतिको सानो छैन र पवित्र आत्माले आफूमा धेरैचोटि काम गर्नुभएको छ भन्‍ने लाग्छ र त्यसपछि तैँले आफूले पहिले नै त्यो कद प्राप्त गरिसकेको छु भन्‍ने निश्चित गर्छस् र पवित्र आत्माको काम तेरो आफ्नै प्रवेश र तेरो आफ्नै अस्तित्व हो भनी गलत विश्‍वास गर्छस्। तैँले निरन्तर यस्तो अनुभव गरेपछि आफ्नो प्रवेशप्रति तँ सुस्त बन्छस्, थाहै नपाई आलस्यतामा प्रवेश गर्छस् र आफ्नो व्यक्तिगत प्रवेशलाई महत्त्व दिन छोड्छस्। यसकारणले गर्दा, तँ अरूको लागि सेवकाइ गरिरहेको हुँदा, तैँले आफ्नो कद र पवित्र आत्माको कामको बीचमा स्पष्ट भेद छुट्ट्याउनुपर्छ। यसले तेरो प्रवेशलाई अझ सहज बनाउँछ र तेरो अनुभवमा थप फाइदा गराउँछ। मानिसले पवित्र आत्माको कामलाई आफ्नै व्यक्तिगत अनुभवको रूपमा लिँदा त्यो भ्रष्टताको स्रोत बन्छ। त्यही कारणले गर्दा म भन्छु, तैँले जुनसुकै काम गरे पनि आफ्नो प्रवेशलाई एउटा महत्त्वपूर्ण पाठको रूपमा लिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५८

व्यक्तिले परमेश्‍वरको इच्छा पूरा गर्न, परमेश्‍वरको हृदयअनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्‍वरकहाँ ल्याई पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी उसले परमेश्‍वरको कामको फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू त्यो कामको सारको बारेमा पूर्ण रूपमा स्पष्ट हुनु आवश्यक हुन्छ। परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्तिको रूपमा, प्रत्येक मानिस परमेश्‍वरको निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् प्रत्येक व्यक्तिले पवित्र आत्माद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ। तैपनि, एउटा कुरा तिमीहरूले बुझ्नुपर्छ: जब मानिसले परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसले परमेश्‍वरद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ, तर मानिसले जे भन्छ र जान्दछ त्यो पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्‍ने भनेको आफ्नो कामको अवधिमा आफ्नै कमजोरीहरूलाई अझ राम्ररी जान्‍नु र पवित्र आत्माबाट अझ ठूलो अन्तर्ज्ञान प्राप्त गर्नु मात्र हो। यस तरिकाले, तिमीहरू कामको अवधिमा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ। यदि मानिसले परमेश्‍वरबाट आउने अगुवाइलाई उसको आफ्नै प्रवेश र आफूभित्र अन्तर्निहित रूपमा भएको कुरा मान्छ भने मानिसको कद बढ्ने कुनै सम्‍भावना हुँदैन। पवित्र आत्माले मानिसमा जुन अन्तर्दृष्टि ल्याउने काम गर्नुहुन्छ त्यो तिनीहरू सामान्य अवस्थामा हुँदा गर्नुहुन्छ; त्यस्ता समयहरूमा, मानिसहरूले आफूले प्राप्त गरेको अन्तर्दृष्टि आफ्नै कद हो भनी सम्झने भुल गर्छन्, किनकि पवित्र आत्माले जुन प्रकारले अन्तर्दृष्टि दिनुहुन्छ त्यो असाध्यै साधारण हुन्छ, र उहाँले मानिसभित्र अन्तर्निहित रहेका कुरालाई नै प्रयोग गर्नुहुन्छ। जब मानिसहरूले काम गर्छन् र बोल्छन् वा जब तिनीहरूले प्रार्थना र आफ्नो आत्मिक आराधना गरिरहेका हुन्छन्, तब अचानक तिनीहरूलाई एउटा सत्यता स्पष्ट हुन्छ। तैपनि वास्तवमा, मानिसले जे देख्छ त्यो केवल पवित्र आत्माद्वारा दिइएको अन्तर्दृष्टि हुन्छ (स्वाभाविक रूपले यो अन्तर्दृष्टि मानिसको सहकार्यसित जोडिएको हुन्छ) र त्यसले मानिसको वास्तविक कदको प्रतिनिधित्व गर्दैन। मानिस केही कठिनाइ र जाँचहरूको सामना गर्ने अनुभवबाट गुज्रेपछि त्यस्तो परिस्थितिमा मानिसको वास्तविक कद स्पष्ट हुन्छ। तब मात्र मानिसले आफ्नो कद त्यत्ति ठूलो नभएको थाहा पाउँछ, अनि मानिसको स्वार्थीपन, व्यक्तिगत विचारहरू र लालच सबै प्रकट हुन्छन्। यस प्रकारका धेरै वटा अनुभवहरूको चक्रपछि मात्र आफ्नो आत्मामा बिउँतने धेरै जनाले विगतमा आफूले अनुभव गरेका कुराहरू आफ्नै व्यक्तिगत वास्तविकता नभएको, बरु पवित्र आत्माले दिनुभएको क्षणिक प्रकाश भएको, र मानिसले त्यो ज्योति प्राप्त गरेको मात्र हो भनेर थाहा पाउँछन्। जब पवित्र आत्माले मानिसलाई त्यो सत्यता बुझ्ने अन्तर्दृष्टि दिनुहुन्छ, तब परिस्थिति किन त्यस्तो भयो वा त्यो कतातिर जाँदैछ भन्‍ने कुरा नबताईकन पनि त्यो प्रायः स्पष्ट र बुझ्न सकिने किसिमको हुन्छ। भन्‍नुको अर्थ, यो प्रकाशमा मानिसका कठिनाइहरू सम्मिलित नगरीकनै उहाँले सोझै सत्यता प्रकट गर्नुहुन्छ। जब प्रवेश गर्ने प्रक्रियामा मानिसले कठिनाइहरूको सामना गर्छ र पवित्र आत्माको अन्तर्ज्ञानलाई सम्मिलित गर्छ तब त्यो मानिसको वास्तविक अनुभव बन्छ। … त्यसकारण, पवित्र आत्माको काम प्राप्त गरेसँगै, तिमीहरूले पवित्र आत्माको काम वास्तवमा के हो र आफ्नो प्रवेश के हो त्यो हेर्दै, साथसाथै आफ्नो प्रवेशमा पवित्र आत्माको कामलाई सम्मिलित गर्दै, आफ्नो प्रवेशलाई झन् बढी महत्त्व दिनुपर्छ, र यसरी तिमीहरू पवित्र आत्माद्वारा धेरै प्रकारले सिद्ध पारिनेछौ, अनि पवित्र आत्माको कामको सारले तिमीहरूमा काम गर्न सक्‍नेछ। पवित्र आत्माको कामको अनुभव गर्दै जाँदा तिमीहरूले पवित्र आत्मालाई, साथै तिमीहरू आफैलाई पनि चिन्‍नेछौ, अनि त्यसबाहेक, के थाहा कति धेरै तीव्र दुःखको प्रहारहरूमाझ, तिमीहरूले परमेश्‍वरसित सामान्य सम्बन्ध विकास गर्नेछौ, र तिमीहरू र परमेश्‍वरबीचको सम्बन्ध दिनदिनै झन् घनिष्ठ हुँदै जानेछ। काटछाँट र शोधन गर्ने यस्तै अनगन्ती उदाहरणहरूपछि तिमीहरूले परमेश्‍वरको निम्ति साँचो प्रेम विकास गर्नेछौ। यही कारणले गर्दा, तिमीहरूले दुःख, चोट र सङ्कष्टसित डराउनु हुँदैन भन्‍ने बुझ्‍नुपर्छ; पवित्र आत्माको काम भएर पनि तिमीहरू प्रवेश नहुनुचाहिँ डराउनुपर्ने कुरा हो; जब परमेश्‍वरको काम समाप्त हुने दिन आउँछ, तब तिमीहरूले गरेको परिश्रम व्यर्थ भएको हुनेछ; तिमीहरूले परमेश्‍वरको काम अनुभव गरेको भए पनि तिमीहरूले पवित्र आत्मालाई चिनेका हुँदैनौ वा तिमीहरूले आफ्नो प्रवेश पाएका हुँदैनौ। पवित्र आत्माले जुन अन्तर्ज्ञान दिने काम गर्नुहुन्छ त्यो मानिसको जोस थामेर राख्‍नका निम्ति नभएर मानिसको प्रवेशका निम्ति बाटो खोल्नलाई, साथै मानिसलाई पवित्र आत्माको विषयमा जान्‍न दिनलाई हो, र यस क्षणदेखि परमेश्‍वरका निम्ति आदर र भक्तिका भावनाहरू विकास गर्न मदत गर्नलाई हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४५९

काँटछाँट गरिएका, निराकरण गरिएका, न्याय गरिएका र सजाय दिइएकाहरूले गर्ने काममा निकै थोरै भिन्‍नता हुन्छ, र उनीहरूको कामको अभिव्यक्ति धेरै हदसम्म ठीक हुन्छ। काम गर्न आफ्नो स्वाभाविक गुणमा निर्भर रहने मानिसहरूले ठूला गल्तीहरू गर्छन्। असिद्ध मानिसहरूको कामले उनीहरूको आफ्नो अत्यन्तै धेरै स्वाभाविक गुण व्यक्त गर्छन्, जसले पवित्र आत्माको काममा ठूलो बाधा दिन्छ। व्यक्तिको क्षमता जतिसुकै राम्रो भए तापनि परमेश्‍वरले आदेश दिनुभएको काम गर्न त्यो व्यक्ति काँटछाँट, निराकरण, र न्यायको प्रक्रिया भएर जानैपर्छ। यदि उनीहरू त्यस किसिमको न्याय भएर गएका छैनन् भने उनीहरूले जतिसुकै राम्ररी काम गरे पनि त्यो काम सत्यताको सिद्धान्तहरूसँग एकरूप हुँदैन र त्यो काम उनीहरूको आफ्नै स्वाभाविक र मानवीय गुणको उपज बन्छ। काँटछाँट, निराकरण, र न्यायको प्रक्रिया भएर नगएका मानिसहरूको तुलनामा यो प्रक्रियाबाट भएर गएका मानिसहरूको काम धेरै हदसम्म ठीक हुन्छ। न्याय भएर नगएका मानिसहरूले मानव बौद्धिकता र जन्‍मजात प्रतिभासँग मिसिएको मानवीय शारीरिकपन र विचारहरूभन्दा अरू कुनै कुरा व्यक्त गर्दैनन्। परमेश्‍वरको कामको सही मानवीय अभिव्यक्ति यो होइन। यस किसिमका मानिसहरूको अनुसरण गर्नेहरू उनीहरूको जन्मसिद्ध क्षमताद्वारा आकर्षित भएका हुन्छन्। उनीहरूले मानिसको अन्तर्दृष्‍टि र अनुभव धेरै मात्रामा व्यक्त गर्छन्, जुन परमेश्‍वरको मौलिक अभिप्रायबाट अलग्गिएको हुन्छ र त्यसबाट धेरै हदसम्म तलमाथि भएको हुन्छ, त्यसकारण यस किसिमको व्यक्तिको कामले मानिसहरूलाई परमेश्‍वरको अगाडि ल्याउन सक्दैन, बरु तिनीहरूलाई मानिसको अगाडि ल्याउँछ। त्यसैले, न्याय र सजायको प्रक्रिया भएर नगएका मानिसहरू परमेश्‍वरले आदेश गर्नुभएको कामलाई अघि बढाउन अयोग्य हुन्छन्। योग्य सेवकको कामले मानिसहरूलाई सही मार्गमा ल्याउन सक्छ र उनीहरूलाई सत्यताको ठूलो प्रवेश प्रदान गर्छ। उसको कामले मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन सक्छ। साथै, उसले गर्ने काम व्यक्ति पिच्छे फरक हुन सक्छ र यो नीतिनियमद्वारा बाँधिएको हुँदैन, जसले गर्दा मानिसहरूले जीवनमा क्रमिक रूपमा वृद्धि हुन र सत्यताप्रतिको अझै गहन प्रवेश प्राप्त गर्नको लागि छुटकारा र स्वतन्‍त्रता प्राप्त गर्छन्। अयोग्य सेवकको काम मापदण्डभन्दा धेरै टाढा हुन्छ। उसको काम मूर्खता हो। उसले मानिसहरूलाई नीतिनियमहरूमा मात्र ल्याउन सक्छ, र उसले मानिसहरूबाट माग गर्ने कुरा व्यक्ति पिच्छे फरक हुँदैन; उसले मानिसहरूको वास्तविक आवश्‍यकताहरू बमोजिम काम गर्दैन। यस किसिमको काममा थुप्रै नीतिनियम र सिद्धान्तहरू हुन्छन्, अनि त्यसले मानिसहरूलाई वास्तविकतामा ल्याउन सक्दैन, न त जीवन वृद्धिको सामान्य अभ्यास नै ल्याउँछ। यसले मानिसहरूलाई केवल अर्थहीन एक-दुई वटा नीतिनियमहरूको अनुयायी बन्‍न सक्षम तुल्याउँछ। यस किसिमको अगुवाइले मानिसहरूलाई अन्यत्रै डोर्‍याउन सक्छ। उसले तँलाई आफूजस्तै बनाउँछ; उसले तँलाई उसँग जे छ र ऊ जो हो त्यस्तै बनाउँछ। अगुवाहरू योग्य छन् कि छैन भनी छुट्याउन उनीहरूले अगुवाइ गर्ने मार्ग र उनीहरूको कामको परिणामलाई अनुयायीहरूले एउटा मुख्य कुराको रूपमा हेर्नु, र अनुयायीहरूले सत्यता अनुरूप सिद्धान्तहरू प्राप्‍त गरेका छन् कि छैनन् भनेर हेर्नु, र उनीहरूले आफ्नो रूपान्तरण सुहाउँदो अभ्यासका तरिकाहरू पाएका छन् कि छैनन् भनेर पनि हेर्नु हो। तैँले फरक किसिमका मानिसहरूका फरक-फरक कामको बीचमा भिन्‍नता छुट्याउनुपर्छ; तँ मूर्ख अनुयायी बन्‍नु हुँदैन। मानिसहरूको प्रवेशको लागि यो विशेष रूपले महत्त्वपूर्ण छ। यदि तैँले कुन व्यक्तिको अगुवापनमा सही मार्ग छ र कुन व्यक्तिकोमा छैन भनी छुट्याउन सक्षम भइनस् भने तँ सजिलैसँग भ्रममा पर्नेछस्। यी सबै कुराले तेरो जीवनमा प्रत्यक्ष सरोकार राख्‍छ। असिद्ध मानिसहरूको काममा धेरै प्राकृतिकपन हुन्छ; यसमा धेरै मानवीय इच्छा मिश्रित हुन्छन्। उनीहरूको अस्तित्व नै तिनीहरूको प्राकृतिकपन हो—उनीहरू त्यससँगै जन्मिएका हुन्छन्। यो चाहिँ निराकरण गरिसकेपछिको जीवन वा रूपान्तरण भइसकेपछिको वास्तविकता होइन। त्यस्तो व्यक्तिले कसरी जीवनको खोजी गर्नेहरूलाई समर्थन गर्न सक्छ? मानिससँग जुन जीवन छ यो उसको जन्मसिद्ध बौद्धिकता वा क्षमतामा नै हो। यस किसिमको बौद्धिकता वा क्षमता परमेश्‍वरले मानिसबाट माग गर्नुभएको कुराबाट धेरै टाढा हुन्छ। यदि मानिस सिद्ध बनाइएको छैन र उसको भ्रष्‍ट स्वभावलाई छिँवलिएको र निराकरण गरिएको छैन भने उसले व्यक्त गर्ने कुरा र सत्यता बीच ठूलो अन्तर रहन्छ; उसले व्यक्त गर्ने कुराहरू अस्पष्ट कुराहरूसँग मिश्रित हुनेछ, जस्तै उसको कल्पना र एकोहोरो अनुभव। साथै, उसले जसरी काम गरे तापनि सारा मानिसहरूको प्रवेशको लागि समग्र लक्ष्य र सत्यता छैन भन्‍ने मानिसहरूले महसुस गर्छन्। मानिसहरूबाट माग गरिने अधिकांश कुराहरू उनीहरूको क्षमताभन्दा बाहिरको कुरा हुन्छ, मानौं उनीहरू काठमा टुसुक्‍क बस्‍न लगाएको हाँस हुन्। यो मानवीय इच्छाको काम हो। मानिसको भ्रष्‍ट स्वभाव, उसका सोचविचारहरू, र उसको धारणाले उसको शरीरको सबै अङ्‍गलाई दूषित बनाउँछ। मानिस सत्यता अभ्यास गर्ने प्रवृत्ति सहित जन्मेको हुँदैन, न त उसँग सत्यतालाई प्रत्यक्ष रूपमा बुझ्‍ने प्रवृत्ति नै हुन्छ। त्यसमा मानिसको भ्रष्‍ट स्वभाव थपौं—जब यस किसिमको प्राकृतिक व्यक्तिले काम गर्छ, के यसले अवरोधहरू ल्याउँदैन र? तर सिद्ध बनाइएको व्यक्तिमा मानिसहरूले बुझ्‍नुपर्ने सत्यताको अनुभव, र उनीहरूको भ्रष्‍ट स्वभावहरूको ज्ञान हुन्छ, ताकि उसको काममा भएको व्यर्थ र अवास्तविक कुराहरू विस्तारै हराएर जाऊन्, मानवीय व्यभिचार कम हुँदै जाओस्, र उसको काम र सेवा परमेश्‍वरले माग गर्नुभएको मापदण्डको झन्-झन् नजिक आउन सकोस्। यसरी उसको काम सत्यताको वास्तविकतामा प्रवेश गरेको हुन्छ र त्यो वास्तविक पनि बनेको हुन्छ। मानिसको मनमा भएको सोचविचारले पवित्र आत्माको कामलाई रोक्छ। मानिससँग प्रशस्‍त कल्पना र उचित तर्क पाइन्छ, र उसँग विभिन्‍न मामिलाहरू समाधान गर्ने लामो अनुभव पनि हुन्छ। यदि मानिसका यी पक्षहरू काँटछाँट र सुधार भएर गएनन् भने यी सबैले काममा अवरोध ल्याउँछन्। त्यसैले, मानिसको कामले उच्‍चतम शुद्धता हासिल गर्न सक्दैन, विशेष गरी असिद्ध मानिसहरूको कामले।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६०

जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब ती मानिसहरू जुन अवस्थाहरूमा हुनेछन् ती धेरै अवस्थाहरूको बारेमा तँसित बुझाइ हुनु आवश्यक छ। विशेषतः परमेश्‍वरको सेवामा समन्वय गर्नेहरूसित यी स्थितिहरूको बारेमा अझै दह्रिलो बुझाइ हुनैपर्छ। यदि तैँले केवल धेरै अनुभवहरू वा प्रवेश प्राप्त गर्ने तरिकाहरूको बारेमा मात्रै कुरा गर्छस् भने यसले तेरो अनुभव ज्यादै एकपक्षीय छ भन्‍ने देखाउँछ। तेरो साँचो अवस्था नजानीकन अनि सत्यताका सिद्धान्तहरू राम्ररी नबुझीकन स्वभावमा परिवर्तन हासिल गर्न सम्भव छैन। पवित्र आत्माको कामको सिद्धान्तहरू नजानीकन वा यसले फलाउने फलको बारेमा नबुझीकन दुष्ट आत्माहरूको काम खुट्ट्याउन तँलाई कठिन हुनेछ। तैँले दुष्ट आत्माहरूको कामको साथसाथै मानिसको धारणाहरूलाई उदाङ्गो पारिदिनैपर्छ, अनि सीधै मामिलाको केन्द्रबिन्दुसम्मै भेद गर्नुपर्छ; मानिसहरूको अभ्यासमा भएका धेरै विचलनहरू र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा हुनसक्ने समस्याहरूलाई पनि तैँले औँल्याइदिनैपर्छ, ताकि तिनीहरूले त्यसलाई पहिचान गरून्। कम्तीमा, तैँले तिनीहरूलाई नकारात्मक वा निष्क्रिय अनुभूति गर्न दिनु हुँदैन। तथापि, धेरै मानिसहरूका निम्ति वस्तुगत रूपले अस्तित्वमा रहेका कठिनाइहरूलाई तैँले बुझ्नैपर्छ, तँ बेमनासिब हुनुहुँदैन वा तैँले “एउटा सुँगुरलाई गाउन सिकाउने प्रयास” गर्नुहुँदैन; त्यो मूर्ख व्यवहार हो। मानिसहरूले अनुभव गर्ने धेरै कठिनाइहरूको समाधान गर्न, तैँले पहिले पवित्र आत्माको कामका विविध पक्षहरूलाई बुझ्नैपर्छ; पवित्र आत्माले मानिसहरूमा कसरी काम गर्नुहुन्छ भनी तैँले बुझ्नैपर्छ, तँसित मानिसहरूले सामना गर्ने कठिनाइहरू र तिनीहरूका कमी-कमजोरीहरूको बुझाइ हुनैपर्छ, अनि तैँले समस्याको मुख्य मामिलाहरूलाई भित्रबाट बुझ्नैपर्छ र नबरालीकन नभइकन वा कुनै गल्तीहरू नगरीकन यसको स्रोतसम्म पुग्नैपर्छ। केवल यस्तो प्रकारको व्यक्ति मात्रै परमेश्‍वरको सेवा समन्वय गर्न योग्य हुन्छ।

तँ मुख्य मामिलाहरू बुझ्न र धेरै कुराहरू स्पष्टसित देख्न सक्षम छस् वा छैनस् भन्‍ने कुरा तेरो व्यक्तिगत अनुभवहरूमा निर्भर गर्छ। जुन प्रकारले तैँले अनुभव गर्छस्, त्यही प्रकारले नै तैँले अरूलाई पनि डोर्‍याउँछस्। यदि तैँले अक्षर र धर्मसिद्धान्तहरू बुझ्छस् भने तैँले अरूलाई अक्षर र धर्मसिद्धान्तहरू बुझ्न डोर्‍याउन सक्छस्। तैँले जुन प्रकारले परमेश्‍वरका वचनहरूको वास्तविकता अनुभव गर्छस्, त्यही प्रकारले तैँले अरूहरूलाई परमेश्‍वरका वाणीहरूको वास्तविकताभित्र प्रवेश प्राप्त गर्न डोर्‍याउनेछस्। यदि तँ धेरै सत्यताहरू बुझ्न र परमेश्‍वरका वचनहरूबाट धेरै कुराहरूको बारेमा स्पष्ट अन्तर्दृष्टि प्राप्त गर्न सक्षम छस् भने तैँले अरूहरूलाई पनि धेरै सत्यताहरू बुझ्ने कार्यमा डोर्‍याउनेछस् र तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले दर्शनहरूको स्पष्ट बुझाइ प्राप्त गर्नेछन्। यदि तैँले अलौकिक अनुभूतिहरू बुझ्न ध्यान केन्द्रित गर्छस् भने तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले पनि त्यही गर्नेछन्। यदि तैँले अभ्यासलाई बेवास्ता गर्छस्, बरु छलफलमाथि जोड दिन्छस् भने, तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले पनि अभ्यास नै नगरीकन वा आफ्नो स्वभावमा कुनै परिवर्तन हासिल नै नगरीकन छलफलमाथि नै ध्यान केन्द्रित गर्नेछन्; तिनीहरू कुनै सत्यतालाई अभ्यासमा नउतारीकन केवल सतही ढङ्गले मात्रै उत्साही हुनेछन्। सबै मानिसहरूले आफूसित जे छ, त्यही नै अरूलाई आपूर्ति गर्छन्। कुनै व्यक्ति कस्तो प्रकारको छ भन्‍ने कुराले नै तिनीहरूले अरूलाई मार्गदर्शन गर्ने बाटोको साथसाथै तिनीहरूले डोर्‍याउने मानिसहरूका प्रकारहरू निर्धारण गर्दछ। परमेश्‍वरको प्रयोगको निम्ति साँच्चिकै योग्य हुनको लागि तँसित केवल आकांक्षा मात्रै होइन, धेरै मात्रामा परमेश्‍वरबाट प्राप्त अन्तर्दृष्टि, उहाँका वचनहरूबाट मार्गदर्शन, उहाँद्वारा निराकरण गरिएको अनुभव, अनि उहाँका वचनहरूबाट प्राप्त शुद्धीकरण पनि चाहिन्छ। यसलाई एउटा जगको रूपमा लिएर, साधारण समयहरूमा, तिमीहरूले आफ्ना अवलोकन, विचार, चिन्तन तथा निष्कर्षहरूलाई ध्यान दिनुपर्छ र त्यसैअनुसार सोसिने वा हटाउने कार्यमा तल्लीन हुनुपर्छ। यी सबै कुरा वास्तविकताभित्र तिमीहरूको प्रवेशको निम्ति मार्गहरू हुन्, अनि तीमध्ये हरेक अत्यावश्यक छन्। परमेश्‍वरले काम गर्नुहुने यसरी नै हो। यदि तँ परमेश्‍वरले काम गर्नुहुने यस विधिमा प्रवेश गर्छस् भने तँसित उहाँद्वारा हरेक दिन सिद्ध तुल्याइने अवसरहरू हुनेछन्। अनि कुनै पनि समयमा, तेरो वातावरण प्रतिकूल वा अनुकूल जे भए पनि, तँ जाँचमा परिरहेको भए पनि वा परीक्षामा परिरहेको भए पनि, तैँले काम गरिरहे पनि वा नगरिरहे पनि, अनि तैँले जीवन एक व्यक्तिको रूपमा वा समूहको एक भागको रूपमा बाँचिरहेको भए पनि, तैँले सधैँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू भेट्टाउनेछस् र तिनीहरूमध्ये एउटै पनि गुमाउनेछैनस्। तैँले तिनलाई सधैँ पत्ता लगाउन सक्नेछस्—अनि यसप्रकार तैँले परमेश्‍वरका वचनहरू अनुभव गर्ने रहस्य भेट्टाइसकेको हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा योग्य गोठालो कुन कुराले सुसज्जित हुनुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६१

आजभोलि धेरै मानिसहरूले अरूसित सहकार्य गर्दा के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर ध्यान दिँदैनन्। तिमीहरूमध्ये धेरैले अरूसित सहकार्य गर्दा पाठहरू सिक्न सक्दैनौ भनेर मैले पत्ता लगाएको छु; तिमीहरूमध्ये धेरै जना आफ्नै विचारहरूमा लागिरहन्छौ। मण्डलीमा काम गर्दा तँ आफ्नो विचार पोख्छस् अनि अरू कसैले आफ्नै विचारहरू पोख्छन्, अनि एउटाको अर्कोसित कुनै सम्बन्ध हुँदैन; तिमीहरूले वास्तवमा केही सहकार्य नै गर्दैनौ। सानो मात्रामा नै भएपनि जीवनको खोजी नगरिकन तिमीहरू सबै केवल आफ्नै अन्तर्दृष्टिहरूलाई व्यक्त गर्नुमा वा आफूभित्र बोकेका “बोझहरू” हलुको बनाउनामै मग्न हुन्छौ। अरू कसैले के भन्छ वा गर्छ भन्‍ने कुराको पर्बाह नगरी तँ सधैँ आफ्नै बाटोमा हिँड्नुपर्छ भनी विश्‍वास गर्दै तैँले झारा टार्ने हिसाबले मात्रै काम गरिरहेको देखिन्छ; अरूका परिस्थितिहरू जस्तोसुकै भए तापनि त्यसलाई पर्बाह नगरीकन पवित्र आत्माले अगुवाइ गर्नुभएअनुसार तैँले सङ्गति गर्नुपर्छ भन्‍ने तँलाई लाग्छ। तँ अरूका बलिया पक्षहरू पत्ता लगाउन सक्षम छैनस्, अनि न त आफैलाई जाँच्न सक्षम छस्। तिमीहरू जसरी कामकुरालाई स्वीकार गर्छौ, त्यो साँच्चि नै पथभ्रष्ट र भ्रमपूर्ण छ। यसो भन्न सकिन्छ कि अहिले पनि तिमीहरूले अझै प्रशस्त आत्म-धार्मिकता प्रदर्शन गर्दछौ, मानौँ तिमीहरू पुरानै बिमारीको दशामा फर्केका छौ। उदाहरणको निम्ति, तिमीहरू निश्चित मण्डलीहरूको कामबाट आफूले कस्ता प्रकारको परिणाम हासिल गरेका छौ, वा तेरा भित्री अवस्थाहरूको हालैको स्थिति र यस्तै इत्यादि कुराबारे एकअर्कासित पूर्ण रूपले खुला हुने किसिमले बातचित गर्दैनौ; तिमीहरूले त्यस्ता कुराबारे पटक्कै कुराकानी गर्दैनौ। तिमीहरू आफ्ना धारणाहरूलाई छोडिदिने वा आफूलाई परित्याग गर्नेजस्ता अभ्यासहरू पटक्कै गर्दैनौ। अगुवा र कार्यकर्ताहरूले केवल तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी नकारात्मक हुनदेखि बचाउने अनि कसरी तिनीहरूलाई जोशपूर्वक पछ्याउने तुल्याउने भनेर मात्र सोच्छन्। तैपनि, तिमीहरू सबै आफैले जोशपूर्वक पछ्याए भइहाल्छ भनी सोच्छौ अनि आफूलाई जान्नु र परित्याग गर्नु के हो भन्‍नेबारे तिमीहरूसित कुनै आधारभूत बुझाइ छैन, अरूसित सहकार्य गरेर सेवा गर्नुको अर्थ बुझ्नु त झन् परको कुरा हो। तिमीहरू परमेश्‍वरको प्रेमको साटो तिर्ने र पत्रुसको शैलीमा जिउने इच्छा राख्नेबारे मात्रै सोच्छौ। यी कुराबाहेक, तिमीहरू अरू कुनै कुराबारे सोच्दैनौ। तैँले के समेत भन्छस् भने, अरू मानिसहरूले जे गरे पनि, तँ अन्धो भएर समर्पित हुनेछैनस्, अनि अरू मानिसहरू जस्तोसुकै भएपनि, तैँले चाहिँ परमेश्‍वरद्वारा प्राप्त गरिने सिद्धता खोज्नेछस्, अनि त्यही नै पर्याप्त हुनेछ। तथापि, तथ्य के हो भने, वास्तवमा तेरो इच्छा कुनै पनि प्रकारले बिलकुलै लागू भएको छैन। के यी सबै, तिमीहरूले हिजोआज प्रदर्शन गर्ने व्यवहार होइनन् र? तिमीहरूमध्ये हरेकले आफ्नै अन्तर्दृष्टिलाई पक्रन्छौ, अनि तिमीहरू सबै सिद्ध तुल्याइने चाहना गर्छौ। म देख्छु कि तिमीहरूले त्यति धेरै प्रगति नगरिकन त्यत्तिका लामो समयसम्म सेवा गरेका छौ; निश्‍चित रूपमा, एकआपसमा मिलेर काम गर्नेसम्‍बन्धी यस पाठमा तिमीहरूले केही हासिल गरेका छैनौ! मण्डलीहरूमा जाँदा तिमीहरू आफ्नै तरिकाले कुराकानी गर्छौ, अनि अरूले आफ्नै तरिकाले कुराकानी गर्छन्। मेलपूर्ण सहकार्य बिरलै हुन्छ, अनि तिमीहरूभन्दा तलका अनुयायीहरूको सम्बन्धमा यो कुरा अझै बढी लागू हुन्छ। भन्‍नुको अर्थ, तिमीहरूमध्ये कसैले परमेश्‍वरको सेवा गर्नु भनेको के हो वा कसरी उहाँको सेवा गर्नुपर्छ भन्‍ने कुरा बिरलै मात्र बुझ्छौ। तिमीहरू अन्योलमा छौ र यस प्रकारका पाठलाई हल्का विषयको रूपमा लिन्छौ। यस्ता मानिसहरू अझ धेरै छन् जो सत्यताको यस पक्षलाई अभ्यास गर्नमा मात्र चुक्दैनन् तर जानी-जानी गल्तीसमेत गर्छन्। धेरै वर्षसम्म सेवा गर्नेहरूसमेत एकअर्काको विरुद्धमा लड्छन्, एकअर्काको विरुद्ध युक्ति रच्छन् अनि तिनीहरू ईर्ष्यालु र प्रतिस्पर्धात्मक छन्; हरेकले आफ्नै हित मात्रै खोज्दछ, अनि तिनीहरूले बिलकुल सहकार्य गर्दैनन्। के यी सबै कुराले तिमीहरूको वास्तविक कदलाई प्रतिनिधित्व गर्दैनन् र? दैनिक जीवनमा सेवा गर्ने तिमीहरू इस्राएलीहरूजस्तै छौ, जसले हरेक दिन मन्दिरमा परमेश्‍वर स्वयम्‌को प्रत्यक्ष सेवा गरे। परमेश्‍वरको सेवा गर्ने तिमीहरूसित नै कसरी सहकार्य गर्ने वा कसरी सेवा गर्ने भन्‍ने कुराको कुनै ज्ञान छैन, यो कसरी हुनसक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६२

मिलेर सँगै काम गर्न तिमीहरूबाट आज गरिएको माग यहोवाले इस्राएलीहरूबाट माग गर्नुभएको सेवासमान छ: नत्र भने, सेवा गर्न बन्द गरिहाल। तिमीहरू प्रत्यक्ष रूपले परमेश्‍वरको सेवा गर्ने मानिसहरू भएको कारणले, कम्तीमा तिमीहरू सेवा गर्दा बफादारितामा र अधीनतामा रहन सक्‍ने हुनैपर्छ, अनि व्यवहारिक रूपले पाठहरू सिक्न सक्‍ने हुनैपर्छ। विशेष रूपमा मण्डलीमा काम गरिरहेका तिमीहरूको विषयमा भन्नुपर्दा, के तिमीहरूभन्दा मुनिका दाजुभाइ-दिदीबहिनीहरूमध्ये कसैले तिमीहरूको निराकरण गर्ने साहस गर्छ? के कसैले तिमीहरूलाई प्रत्यक्ष रूपमा तिमीहरूका गल्तीहरू बताउने साहस गर्न सक्छ? तिमीहरू अरू सबैभन्दा उच्चमा खडा छौ; तिमीहरू राजा जस्तै राज्य गर्छौ! तिमीहरू यस्ता प्रकारका व्यावहारिक पाठहरू अध्ययन गर्दैनौ वा त्यसभित्र प्रवेश गर्दैनौ, तापनि तिमीहरू अझै परमेश्‍वरको सेवा गर्ने कुरा गर्छौ! हाल, तँलाई केही सङ्ख्यामा मण्डलीहरू अगुवाइ गर्न भनिएको छ, तर तैँले आफैलाई परित्याग नगर्ने मात्र होइन, तर यसो भन्दै आफ्नै धारणा तथा विचारहरूमा लागिरहन्छस्, “मलाई लाग्छ, यो यसरी गरिनुपर्छ, किनकि परमेश्‍वरले भन्नुभएको छ कि हामी अरूबाट नियन्त्रित हुनुहुँदैन अनि हिजोआज हामी अन्धाधुन्ध समर्पित हुनुहुँदैन।” त्यसैकारण, तिमीहरूमध्ये हरेक आफ्नै विचारमा दृढ रहन्छौ, अनि कसैले एकअर्काको आज्ञा मान्दैन। तेरो सेवा गतिरोधमा परेको छ भन्‍ने कुरा तैँले स्पष्टसित जाने तापनि तँ अझै यसो भन्छस्, “मैले देखेअनुसार, मेरो बाटो निशानाभन्दा टाढा छैन। कुनै पनि मामिलामा हामी हरेकको एउटा पक्ष हुन्छ: तपाईं आफ्नो कुरा गर्नुहोस्, म आफ्नो कुरा गर्नेछु; तपाईं आफ्ना दर्शनहरूबारे सङ्गति गर्नुहोस्, अनि म आफ्नो प्रवेशबारे कुरा गर्नेछु।” निराकरण गरिनुपर्ने धेरै कुराहरूको निम्ति तिमीहरू कहिल्यै जिम्मेवारी लिँदैनौ, वा तिमीहरूमध्ये हरेकले आफ्नै विचारहरू व्यक्त गर्दै अनि आफ्नै हैसियत, प्रतिष्ठा र इज्जतलाई बुद्धिमानीपूर्वक बचाउँदै तिमीहरू झारा टार्ने काम गर्छौ। तिमीहरूमध्ये कोही पनि आफूलाई नम्र तुल्याउन इच्छुक छैनौ, अनि जीवन तीव्र गतिमा अघि बढोस् भनेर दुवै पक्षले आफैलाई परित्याग गर्ने र एकअर्काको कमजोरीहरू पूर्ति गर्ने पहल गर्दैनौ। जब तिमीहरू सँगै सहकार्य गर्छौ, तब तिमीहरूले सत्यतालाई खोजी गर्न सिक्नुपर्छ। तैँले भन्छस् होला, “मसित सत्यताको यस पक्षको स्पष्ट बुझाइ छैन। यसबारे तपाईंसँग कस्तो अनुभव छ?” अथवा, तैँले यसो भन्छस् होला, “यस पक्षको सम्बन्धमा तपाईंसित मेरोभन्दा बढी अनुभव छ; कृपया के तपाईं मलाई केही मार्गदर्शन गर्न सक्‍नुहुन्छ?” के त्यो काम सुरु गर्ने राम्रो तरिका हुनेथिएन र? तिमीहरूले धेरै वचन सुनेका छौ, अनि सेवा गर्ने विषयमा तिमीहरूसँग केही अनुभव छन्। यदि मण्डलीमा काम गर्दा तिमीहरूले एकअर्काबाट सिकेनौ, एकअर्कालाई सहायता गरेनौ र एकअर्काको कमी कमजोरीहरूलाई पूर्ति गरेनौ भने, कसरी कुनै पाठ सिक्न सक्छौ र? तिमीहरूले कुनै कुराको सामना गर्दा, तिमीहरूले एकअर्कासित सङ्गति गर्नुपर्छ ताकि तिमीहरूको जीवनले लाभ पाएको होस्। यसको अतिरिक्त, तिमीहरूले कुनै पनि निर्णयहरू गर्नुभन्दा अघि कुनै पनि प्रकारका कुराबारे होशियारीपूर्वक सङ्गति गर्नुपर्छ। त्यसो गरेर मात्रै तैँले लापरवाही ढङ्गले काम गर्नुको सट्टा मण्डलीको निम्ति जिम्मेवारी लिइरहेको हुन्छस्। तिमीहरू मण्डलीमा गइसकेपछि, तिमीहरू एक ठाउँमा भेला हुनुपर्छ र तिमीहरूले पत्ता लगाएका मामिलाहरू र तिमीहरूले आफ्‍नो काममा सामना गरेका कुनै समस्याहरूबारे सङ्गति गर्नुपर्छ, अनि त्यसपछि तिमीहरूले प्राप्त गरेको अन्तर्दृष्टि र प्रकाशबारे कुराकानी गर्नुपर्छ—यो नै सेवाको अत्यावश्यक अभ्यास हो। तिमीहरूले परमेश्‍वरको कामको उद्देश्यका निम्ति, मण्डलीको फाइदाका निम्ति, अनि तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनका निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्‍वरको इच्छालाई वास्ता गर्नका निम्ति तैँले एकअर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ। सहकार्य गर्ने क्रममा, तैँले बोल्ने केही शब्दहरू असुहाउँदो होला तर त्यसले केही फरक पार्दैन। त्यसबारे पछि सङ्गति गर्, अनि त्यसको स्पष्ट बुझाइ प्राप्त गर्; त्यसलाई बेवास्ता नगर्। यसप्रकारको सङ्गतिपछि, तैँले तेरा दाजुभाइ-दिदीबहिनीहरूका कमजोरीहरूको पूर्ति गर्न सक्छस्। तेरो काममा यसरी गहिरिँदै जाँदा मात्रै तैँले उत्तम नतिजाहरू प्राप्त गर्न सक्छस्। परमेश्‍वरलाई सेवा गर्ने मानिसहरू भएको हैसियतले तिमीहरू हरेकले आफूले गर्ने हरेक काममा आफ्ना हितलाई विचार गर्नुको साटो मण्डलीका हितलाई रक्षा गर्न सक्‍नुपर्छ। एकले अर्कालाई हानि पुर्‍याएर एकलै काम गर्नु ग्रहणयोग्य हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नेहरू परमेश्‍वरको सेवा गर्न योग्य हुँदैनन्! त्यस्ता मानिसहरूको स्वभाव भयानक हुन्छ; तिनीहरूमा अलिकति पनि मानवता बाँकी हुँदैन। तिनीहरू शत-प्रतिशत शैतान हुन्! तिनीहरू पशु हुन्! अहिले पनि, त्यस्ता कुराहरू अझै तिमीहरूका माझमा हुन्छन्; तिमीहरू यति हदसम्म पनि जान्छौ कि कुनै सानातिना विषयमा विवाद गर्दै जानी-जानी निहुँ खोज्दै र अनुहार रातो पार्दै सङ्गतिको समयमा एकअर्कालाई आक्रमण गर्छौ, दुवै पक्षले आफूलाई एकातिर पन्साउँदैन, हरेकले एकअर्कासित आफ्ना भित्री विचारहरू लुकाउँछन्, अर्को पक्षलाई नराम्रो नियतले हेर्छन् र सधैँ आक्रमक रहन्छ। के यस्तो प्रकारको स्वभाव परमेश्‍वरको सेवाको निम्ति योग्य हुन्छ? तेरो त्यस्तो प्रकारको कामले तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै कुरा प्रदान गर्न सक्छ? तैँले मानिसहरूलाई एउटा सही जीवन मार्गमा डोर्‍याउन त सक्दैनस् नै, साथै तैँले वास्तवमा तेरा दाजुभाइ-दिदीबहिनीहरूमाथि तेरो आफ्नै भ्रष्ट स्वभावहरू लादिरहेको हुन्छस्। के तैँले अरूलाई चोट पुर्‍याइरहेको छैनस् र? तेरो विवेक डरलाग्दो छ, अनि यो गुदीसम्मै कुहिएको छ! तँ वास्तविकताभित्र प्रवेश गर्दैनस्, न त तैँले सत्यतालाई नै अभ्यास गर्छस्। यसबाहेक, तैँले निर्लज्जतापूर्वक आफ्नो शैतानिक स्वभाव अरूलाई प्रकट गर्छस्। तँलाई कुनै लाज लाग्दैन! तँलाई यी दाजुभाइ-दिदीबहिनीहरू सुम्पिएका छन्, तापनि तँ तिनीहरूलाई नरकमा लिएर जाँदैछस्। के तँ विवेक कुहिएको व्यक्ति होइनस् र? तँसित लाज-सरम भन्‍ने कुरै छैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६३

के तँ हरेक युगमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभावलाई युगको महत्त्व उचित रूपमा संप्रेषितगर्ने भाषामा ठोस तरिकाले संचार गर्नसक्छस्? के आखिरी दिनहरूका परमेश्‍वरको कार्यलाई अनुभव गर्ने तँ, परमेश्‍वरको धर्मी स्वभावलाई विस्तृत रूपमा व्याख्या गर्न सक्छस्? के परमेश्‍वरको स्वभावको बारेमा तैँले स्पष्ट र सटीक रूपमा गवाही दिन सक्छस्? धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका दयनीय, गरिब, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू हस्तान्तरण गर्नेछस्? तैँले तिनीहरूको गोठालो गरोस् भनी कस्तो प्रकारका मानिसहरूले तँलाई प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तेरा काँधका बोझहरू, तेरो कार्यभार, र तेरो जिम्‍मेवारीबारे तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू हराएका छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानक ज्योति तल झरेर हटाओस भनी ती मानिसहरु कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ? आखिर, मानवजाति विष खुवाइएका पीडितहरू नै त हुन्। मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विष खुवाएको छ भन्‍ने कसलाई थाहा हुनेथियो र? के तँ पीडितहरूमध्ये एक होस् भन्‍ने तैँले बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमको खातिर, यी बाँचेकाहरूलाई मुक्तगर्ने प्रयास गर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरको ऋण तिर्न आफ्‍नो सारा ऊर्जा अर्पण गर्न इच्‍छुक छैनस्? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब तेरो असाधारण जीवन जिउनको लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तैँले कसरी अर्थ लगाउँछस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आत्मविश्‍वास साँच्‍चै छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६४

मानिसहरूले ममा विश्‍वास गर्छन्, तर तिनीहरू मेरो निम्ति गवाही दिन असक्षम छन्, न त मैले आफैलाई प्रकट गर्न अघि तिनीहरूले मेरो निम्ति गवाही नै दिन सक्छन्। मैले प्राणीहरू र सबै पवित्र मानिसहरूलाई उछिन्छु भन्‍ने मात्र मानिसहरूले देख्छन् र मैले गरेको काम मानिसहरूले गर्न सक्दैनन् भन्‍ने मात्र देख्छन्। यसैले, यहूदीहरूदेखि हालका दिनका मेरा सबै महिमित कार्यहरू देख्ने सबै मानिसहरू मप्रति जिज्ञासाले भन्दा अरू कुनै पनि कुराले भरिएका छैनन् र कुनै पनि प्राणीको मुखले मेरो निम्ति साक्षी दिन सकेको छैन। मेरा पिताले मात्र मेरो निम्ति गवाही दिनुभयो र सबै प्राणीहरूको माझ बाटो तयार पार्नुभयो; यदि उहाँले गवाही दिनुभएको थिएन भने, मैले जति काम गरेको भए पनि, म सृष्टिको प्रभु हुँ भनी मानिसले कहिल्यै चिन्ने थिएनन्, किनभने मानिसले मबाट लिन मात्र जान्दछन् र मेरो कामको परिणामस्वरूप मप्रति विश्‍वास गर्दैनन्। म निर्दोष र कुनै पनि पक्षमा पापी छैन, म विभिन्‍न रहस्यहरूलाई व्याख्या गर्न सक्छु, म भीडहरूभन्दा माथि छु वा मानिसले मबाट धेरै लाभ लिएको छ, त्यसकारणले मात्र मानिसले मलाई चिन्छन्, तैपनि म सृष्टिको प्रभु हुँ भनेर थोरैले मात्र विश्‍वास गर्छन्। यसैले मानिसले उसँग मप्रतिको विश्‍वास किन हुन्छ भनी जान्दैन भनी म भन्छु; मप्रति विश्‍वास गर्नुको उद्देश्य वा महत्त्व उसले जान्दैन। मानिसमा वास्तविकताको कमी छ, त्यसैले ऊ मेरो निम्ति गवाही दिन विरलै योग्य छ। तिमीहरूसित साँचो विश्‍वास अति थोरै छ र तिमीहरूले अति थोरै हासिल गरेका छौ, त्यसैले तिमीहरूसित अति थोरै गवाही छ। यसको अलाबा, तिमीहरूले अति थोरै बुझ्छौ, यहाँसम्‍म कि तिमीहरू मेरा कामहरूको निम्ति गवाही दिनलाई लगभग अयोग्य छौ। तिमीहरूको संकल्प साँच्चै उल्‍लेखनीय छ, तर के तिमीहरूले परमेश्‍वरको सारलाई सफलतापूर्वक सिद्ध गर्न सक्‍नेछौ भन्‍ने कुरामा तिमीहरू पक्का छौ त? तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई दिने कुराहरूले मोशा र दाऊदलाई दिएका कुरालाई नै उछिन्छ, त्यसरी नै तिमीहरूका गवाही मोशाको भन्दा अधिक र तिमीहरूका शब्दहरू दाऊदका भन्दा महान् होस् भन्‍ने म चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—तिमीहरूले उही रूपमा फिर्ता गरेको म चाहन्छु। मानवजातिलाई जीवन दिने म नै हुँ भनी तिमीहरूलाई थाहा हुनुपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिने तिमीहरू नै हौ। मैले तिमीहरूलाई दिएको कर्तव्य यही हो, जुन तिमीहरूले मेरो निम्ति गर्नुपर्छ। मैले मेरा सबै महिमा तिमीहरूलाई दिएको छु, मेरा चुनिएका मानिसहरू, इस्राएलीहरूले कहिल्यै प्राप्‍त नगरेका जीवन मैले तिमीहरूलाई दिएको छु। अधिकारद्वारा नै, तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी र तिमीहरूको जीवन मलाई अर्पण गर्नुपर्छ। जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका हुँदैनथियौ। इस्राएलीहरूले मेरो कृपा, प्रेम र महानता मात्रै देखे र यहूदीहरूले मेरो धैर्यता र उद्धार मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अतिभन्दा अति कम देखे, यहाँसम्‍म कि ती तिमीहरूले सुनेका र देखेका भन्दा दशौं हजारमा एक भाग जति मात्र तिनीहरूले बुझे। तिमीहरूले देखेका कुराहरूले तिनीहरूका प्रधान पूजाहारीलाई पनि उछिन्छ। तिमीहरूले आज बुझेका कुराहरूले तिनीहरूले बुझेका कुरालाई उछिन्छ; तिमीहरूले आज जे देखेका छौ यसले व्यवस्थाको युग साथै अनुग्रहको युगमा देखिएको कुरालाई पनि उछिन्छ र तिमीहरूले भोगेका कुराहरू मोशा र एलियाको भन्दा पनि अधिक छन्। इस्राएलीहरूले जे बुझे त्यो परमप्रभुको व्यवस्था मात्र थियो र तिनीहरूले जे देखे त्यो परमप्रभुको पिठ्यूँ मात्र थियो; यहूदीहरूले जे बुझे त्यो येशूको उद्धार मात्र थियो, तिनीहरूले जे प्राप्‍त गरे त्यो येशूले दिनुभएको अनुग्रह मात्र थियो र तिनीहरूले जे देखे त्यो यहूदीहरूको घरानाभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरूले जे देख्छौ त्यो परमप्रभुको महिमा, येशूको उद्धार र यस दिनको मेरा सबै कामहरू हुन्। त्यसैले तिमीहरूले मेरो आत्माका वचनहरू सुनेका छौ, मेरो बुद्धिको बखान गरेका छौ, मेरो चमत्कार थाहा पाएका छौ र मेरो स्वभाव जानेका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्‍वर मात्र होइन, तर धार्मिकताले पूर्ण परमेश्‍वर हो। तिमीहरूले मेरो चमत्कारपूर्ण काम देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्‍ने जानेका छौ। यसको अतिरिक्त, कुनै समय मैले इस्राएलको घरानामाथि मेरो उर्लँदो क्रोध खन्याएँ र आज यो तिमीहरूमाथि आएको छ भन्‍ने तिमीहरू जान्दछौ। तिमीहरूले स्वर्गको मेरा रहस्यहरूलाई यशैया र यूहन्नाले भन्दा बढी बुझ्छौ; तिमीहरूले मेरो मनोरमता र संवेदनशीलतालाई विगतका सबै सन्तहरूले भन्दा पनि बढी जान्दछौ। तिमीहरूले प्राप्‍त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्‌ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्‍ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६५

अब तैँले किन ममा विश्‍वास गर्छस् के तँलाई सो साँच्चै थाहा छ त? के तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई साँच्चै बुझ्छस्? के तँलाई आफ्नो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही साँच्चै थाहा छ? यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्, तिनीहरूको कुनै उपयोगीता छैन, तिनीहरू निकम्मा हुन् र मैले तिनीहरूलाई उहिलेदेखि नै तिरस्कार गरेको छु। गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरू मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ। अहिलेको मेरो काम भनेको सबै मानिसहरूलाई बिटोमा बाँध्नु मात्रै हो; अर्थात् तिनीहरूलाई पूर्ण रूपमा जित्नु हो। त्यसपछि म सबै मानिसहरूको अन्त प्रकट गर्न निफन्न सुरु गर्नेछु। त्यसैले तैँले अहिले मलाई कसरी तृप्‍त पार्ने र मप्रति तेरो विश्‍वासको सही मार्गमा तँ कसरी लाग्ने सो जान्नुपर्छ। मैले अहिले चाहने भनेको तेरो बफादारीता र आज्ञाकारीता, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तिमीहरूको बफादारीता र आज्ञाकारीता। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारीता र आज्ञाकारीतामा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै आज्ञाकारी हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्न अघि, तैँले मेरो निम्ति कसरी साक्षी दिनेछस्? तँ मप्रति कसरी बफादार र आज्ञाकारी हुनेछस्? के तँ आफ्‍ना सबै बफादारीता आफ्नै काममा अर्पण गर्छस् कि हरेस खान्छस्? तँ (मृत्यु वा विनाश नै आइपरे पनि) मेरो हरेक प्रबन्धको अधीनमा रहन्छस् कि मेरो सजायबाट बच्न बीचैबाट भाग्छस्? तँ मेरो साक्षी दिने बन्, मप्रति बफादार र आज्ञाकारी बन् भनेर म तँलाई सजाय दिन्छु। यति मात्र कहाँ हो र, हालको सजाय मेरो कामको अर्को चरण प्रकट गर्नु र कामलाई निर्बाध रूपमा अघि बढ्न दिनको लागि हो। त्यसैले, म तँलाई बुद्धिमान बन् अनि आफ्नो जीवनलाई अनि आफ्नो अस्तित्वलाई निकम्मा बालुवाको रूपमा व्यवहार नगर् भन्‍ने उत्साह दिन्छु। आउनेवाला मेरो काम ठ्याक्कै कस्तो हुनेछ भनी के तैँले जान्न सक्छस्? आउने दिनमा म कसरी काम गर्नेछु र मेरो काम कसरी प्रकट हुनेछ भन्‍ने के तँ जान्दछस्? तैँले मेरो कामप्रतिको तेरो अनुभवको महत्त्व र मप्रति तेरो विश्‍वासको महत्त्वलाई जान्नुपर्छ। मैले यति धेरै गरेको छु; तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा छोड्न सक्थेँ? मैले यति व्यापक काम गरेको छु; म यसलाई कसरी नष्ट गर्न सक्थेँ? वास्तवमा, म यो युगलाई अन्त गर्न आएको हुँ। यो सत्य हो, तर मैले नयाँ युग सुरु गर्नुपर्छ, नयाँ काम सुरु गर्नुपर्छ र सबैभन्दा मुख्य कुरा, राज्यको सुसमाचार फैलाउनुपर्छ भन्‍ने तैँले जान्नुपर्छ। त्यसैले हालको कामचाहिँ नयाँ युग ल्याउन, आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगलाई अन्त गर्नको निम्ति जग बसाल्नलाई मात्र हो भन्‍ने तैँले जान्नुपर्छ। मेरो काम तैँले सोचेजस्तो सरल छैन, न त तैँले विश्‍वास गरेजस्तो यो निकम्मा वा व्यर्थ नै छ। यसकारण, मैले अझ पनि तँलाई भन्नुपर्छ: तैँले आफ्नो जीवन मेरो कामको निम्ति दिनुपर्छ, र यस बाहेक, तैँले आफूलाई मेरो महिमाको निम्ति अर्पण गर्नुपर्छ। मैले जति लामो समयदेखि तैँले मेरो निम्ति गवाही दिओस् भन्‍ने उत्कट इच्छा गरेको छु, तैँले मेरो सुसमाचार फैलाएको होस् भन्‍ने कुरालाई मैले त्योभन्दा बढी चाहेको छु। मेरो हृदयमा के छ सो तैँले बुझ्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६६

तिमीहरूको विश्‍वास अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा बताउन सक्दैन, तिमीहरूले देखेका सबै तथ्यहरूको पूर्ण गवाही कसैले पनि दिन सक्दैन। यसको बारेमा सोच: आज तिमीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यबाट विमुख भएर शरीरका कुराहरूको खोजी गर्ने, शरीरलाई सन्तुष्ट पार्ने र लालचका साथ शरीरको मज्जा लिने भएका छौ। तिमीहरूसँग थोरै मात्र सत्यता छ। यस्तो हो भने तिमीहरूले देखेका सबै कुराहरूको गवाही कसरी दिन सक्छौ? के तिमीहरू मेरा साक्षी बन्‍न सक्छौ भन्‍ने कुरामा साँच्चै तिमीहरू निश्‍चित छौ? तिमीहरूले आज देखेका सबै कुराहरूको गवाही दिन नसक्‍ने दिन आयो भने तिमीहरूले सृजित प्राणीहरूको कार्य गुमाएको हुनेछौ र तिमीहरूको अस्तित्वको कुनै अर्थ रहनेछैन। तिमीहरू मानिस हुनको निम्ति अयोग्य हुनेछौ। यसो पनि भन्‍न सकिन्छ कि तिमीहरू मानिस हुने छैनौ! मैले तिमीहरूमा मापन नै गर्न नसकिने काम गरेको छु, तर तिमीहरूले अहिले केही पनि नसिकेको, थाहा नपाएको र तिमीहरूका परिश्रमहरूमा अप्रभावी भएको कारण मैले मेरो कामलाई विस्तार समय आउँदा तिमीहरूले खाली नजर, बाँधिएको जिब्रो र पूर्ण रूपमा बेकम्मा भएर हेर्नेछौ। यसले तिमीहरूलाई सदाको निम्ति पापी बनाउनेछैन र? जब त्यो समय आउँछ, के तिमीहरूले सबैभन्दा गहिरो पश्‍चातापको अनुभव गर्नेछैनौ र? के तिमीहरू निराशामा डुब्‍ने छैनौ र? आज मैले गर्ने सबै कामहरू निष्क्रियता र आलस्यतामा होइन तर भविष्यको मेरो कामको लागि जग निर्माण गर्नको निम्ति गरिन्छन्। मैले केही गर्न नै नसक्ने प्रतिरोधको अवस्थामा आएको कारण केही नयाँ गरौं भनेर यसो गरेको होइन। मैले गर्ने काम तैँले बुझ्‍नुपर्छ; यो बालकले सडकमा खेले जस्तो होइन, यो त मेरा पिताको प्रतिनिधित्व गर्न गरिने काम हो। यी सबै कुराहरू म आफैँ गर्दिनँ तर म मेरा पिताको प्रतिनिधित्व गर्छु भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यस बीच, तिमीहरूको भूमिका भनेको पछ्याउनु, आज्ञा पालन गर्नु, परिवर्तन गर्नु र गवाही दिनु हो। तिमीहरूले ममाथि किन विश्‍वास गर्नुपर्छ भन्‍ने तिमीहरूले बुझ्‍नुपर्छ; यो तिमीहरू हरेकले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो। मेरा पिताले आफ्नो महिमाको निम्ति संसारको सृष्टिदेखि नै तिमीहरूलाई मेरो निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँले तिमीहरूलाई यो मेरो काम र उहाँको महिमाको निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। मेरा पिताको कारण तिमीहरू ममाथि विश्‍वास गर्छौ; मेरा पिताले अघिबाटै नियुक्त गर्नुभएको कारण तिमीहरूले मलाई पछ्याउँछौ। यीमध्ये कुनै पनि कुरा तिमीहरूले आफैले छनौट गरेका होइनौ। मेरा पिताले मेरो गवाहीको उद्देश्य राखेर तिमीहरूलाई मकहाँ सुम्पिनुभएको हो भन्‍ने कुरा तिमीहरूले बुझ्‍नु अझ महत्त्वपूर्ण कुरा हो। उहाँले मलाई तिमीहरू प्रदान गर्नुभएको कारण तिमीहरूलाई मैले दिएका कुराहरूका साथै मेरा मार्गहरू र मैले तिमीहरूलाई सिकाउने वचनहरूमा तिमीहरू रहनुपर्छ, किनकि मेरा मार्गहरूमा रहनु तिमीहरूको कर्तव्य हो। ममाथिको तिमीहरूको विश्‍वासको मूल उद्देश्य यही हो। यसैले म तिमीहरूलाई भन्छु: तिमीहरू मेरा मार्गमा चल्‍नको निम्ति मेरा पिताले मलाई सुम्पिनुभएका मानिसहरू मात्र हौ। यद्यपि तिमीहरू ममाथि विश्‍वास मात्र गर्छौ; तिमीहरू इस्राएली परिवारका नभएका कारण मबाट आएका होइनौ, तिमीहरू त प्राचीन सर्पबाटका हौ। मैले तिमीहरूलाई गर्नको निम्ति भनेको कुरा यही हो कि तिमीहरू मेरो गवाही बन, तर आजचाहिँ तिमीहरू मेरा मार्गहरूमा हिँड्नुपर्छ। यी सबै कुराचाहिँ भविष्यको गवाहीको निम्ति हो। यदि तिमीहरूले मेरा मार्गहरूको बारेमा सुन्‍ने मानिसहरूको रूपमा मात्रै कार्य गर्‍यौ भने तिमीहरू मूल्य नभएका व्यक्तिहरू हुनेछौ र मेरा पिताले तिमीहरूलाई मेरो निम्ति सुम्पिनुभएको कुराको महत्त्व हराउने छ। मैले तिमीहरूलाई जोड दिएर भन्‍ने कुरा यही हो: तिमीहरू मेरो मार्गमा हिँड्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६७

वर्तमान समयमा पवित्र आत्माले मण्डलीमा कसरी काम गर्दैहुनुहुन्छ? के तैँले यो प्रश्‍नलाई स्पष्ट रूपमा बुझेको छस्? तेरा दाजुभाइ-दिदीबहिनीहरूको सबैभन्दा ठूलो कठिनाइ के हो? तिनीहरूमा सबैभन्दा बढी कुन कुराको कमी छ? हाल, धेरै जना यस्ता मानिसहरू छन् जो परीक्षाहरूबाट गुज्रनुपर्दा नकारात्मक बन्छन् र कसै-कसैले त गुनासो पनि गर्छन्। अरू मानिसहरू अब अगाडि बढिरहेका छैनन्, किनकि परमेश्‍वरले बोलिसक्नुभएको छ। मानिसहरू परमेश्‍वरप्रति विश्‍वासको सही मार्गमा प्रवेश गरेका छैनन्। तिनीहरू स्वतन्त्र रूपमा जिउन सक्दैनन् र आफ्नो आत्मिक जीवन कायम राख्‍न सक्दैनन्। कतिपय मानिसहरू पछि लाग्छन् र उत्साहको साथ खोजी गर्छन् र परमेश्‍वर बोल्नुहुँदा अभ्यास गर्न इच्छुक हुन्छन्, तर परमेश्‍वर नबोल्नुहुँदा, तिनीहरू अगाडि बढ्न छोड्छन्। मानिसहरूले अझै पनि आफ्नो हृदयमा परमेश्‍वरको इच्छालाई बुझ्न सकेका छैनन् र तिनीहरूसँग परमेश्‍वरप्रति सहज प्रेम छैन; विगतमा तिनीहरू परमेश्‍वरको पछि लागे किनकि बाध्य थिए। अहिले केही यस्ता मानिसहरू छन् जो परमेश्‍वरको कामद्वारा थकित भएका छन्। के त्यस्ता मानिसहरू खतरामा छैनन् र? धेरै मानिसहरू झारा टार्दै अघि बढ्ने स्थितिमा मात्र छन्। तिनीहरूले परमेश्‍वरको वचन खाने र पिउने गरे पनि र उहाँलाई प्रार्थना गरे पनि, तिनीहरू आधा मनले त्यसो गर्छन् र तिनीहरूमा पहिलेको जस्तो उत्साह छैन। अधिकांश मानिसहरू परमेश्‍वरको शोधन र सिद्धताको काममा रुचि राख्दैनन् र वास्तवमा यो यस्तो छ मानौं तिनीहरू निरन्तर रूपमा नै आन्तरिक जोशरहित छन्। तिनीहरू अपराधहरूद्वारा पराजित हुँदा, परमेश्‍वरप्रति ऋणी महसुस गर्दैनन्, न त तिनीहरूमा पछुतो गर्ने ज्ञान हुन्छ। तिनीहरू सत्यताको पछि लाग्दैनन् वा मण्डली छोड्दैनन्, बरु क्षणिक सुखविलासको पछि लाग्छन्। यी मानिसहरू मूर्ख हुन्, पूर्ण रूपमा मूर्ख! समय आएपछि तिनीहरू सबैलाई फालिनेछ र एकै जनालाई पनि बचाइनेछैन! के तँलाई कुनै व्यक्तिलाई एक पटक मुक्ति दिइयो भने उसले सधैँ मुक्ति पाउनेछ भन्‍ने लाग्छ? यो विश्‍वास पूर्ण रूपमा धोका हो! जीवनमा प्रवेश गर्ने कुराको पछि नलाग्ने सबैलाई सजाय दिइनेछ। धेरै मानिसलाई जीवनमा, दर्शनमा प्रवेश गर्ने वा सत्यताको अभ्यास गर्ने कुरामा कुनै खास चासो हुँदैन। तिनीहरू प्रवेश गर्न पछि लाग्दैनन् र निश्चित रूपमा तिनीहरू अझ गहिराइमा प्रवेश गर्न पछि लाग्दैनन्। के तिनीहरूले आफैलाई नाश पारिरहेका छैनन् र? अहिले, मानिसहरूको एउटा भाग छ जसको अवस्थामा निरन्तर सुधार भइरहेको छ। पवित्र आत्माले जति धेरै काम गर्नुहुन्छ, तिनीहरूले उति नै बढी आत्मविश्‍वास प्राप्त गर्छन्; तिनीहरूले जति धेरै अनुभव गर्छन्, उति नै धेरै परमेश्‍वरको कामको गम्भीर रहस्यलाई महसुस गर्दछन्। तिनीहरू जति गहिराइमा पस्छन्, त्यति नै बुझ्छन्। तिनीहरू परमेश्‍वरको प्रेम धेरै महान् छ भन्‍ने महसुस गर्छन् र आफू स्थिर र अन्तर्ज्ञानी भएको महसुस गर्छन्। तिनीहरूमा परमेश्‍वरको कामको बुझाइ हुन्छ। यी ती मानिसहरू हुन् जसभित्र पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरबाट कुनै नयाँ वचनहरू नआए पनि, मैले अझै पनि सत्यताको गहिराइमा जान खोज्नुपर्छ, म मेरो वास्तविक अनुभवको सबै कुराका विषयमा गम्भीर हुनुपर्छ र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ।” यस प्रकारको व्यक्तिसँग पवित्र आत्माको काम हुन्छ। परमेश्‍वरले आफ्‍नो अनुहार नदेखाउनुहुने भए पनि र प्रत्येक व्यक्तिबाट लुक्नुभएको भए पनि र एउटै पनि वचन नबोल्नु भए पनि र कहिलेकहीँ मानिसहरूले आन्तरिक शोधनको अनुभव गर्ने भए पनि, उहाँले मानिसहरूलाई पूर्ण रूपमा त्याग्नुभएको छैन। यदि कुनै व्यक्तिले आफूले लागू गर्नुपर्ने सत्यतालाई कायम राख्न सक्दैन भने, ऊसँग पवित्र आत्माको काम हुँदैन। शोधनको अवधिमा र परमेश्‍वरले आफैलाई प्रकट नगर्नुभएको समयमा, यदि तँमा आत्मविश्‍वास छैन तर तँ कायर हुन्छस् भने, यदि तँ उहाँका वचनहरू अनुभव गर्नमा ध्यान दिँदैनस् भने, तँ परमेश्‍वरको कामबाट भागिरहेको छस्। पछि, तँ बाहिर फालिनेहरूमध्ये एक हुनेछस्। जो परमेश्‍वरको वचनमा प्रवेश गर्न खोज्दैनन्, तिनीहरू उहाँको साक्षी बनेर खडा हुन सक्दैनन्। परमेश्‍वरको लागि साक्षी दिन सक्‍ने र उहाँको इच्छा पूरा गर्न सक्‍ने मानिसहरू सबै परमेश्‍वरका वचनको पछि लाग्न पूर्ण रूपमा आफ्नो उत्साहमा भर पर्दछन्। परमेश्‍वरले मानिसहरूमा गर्नुहुने काम मुख्य रूपले तिनीहरूलाई सत्यता प्रदान गर्नु हो; तँलाई जीवनको पछि लगाउनु भनेको तँलाई सिद्ध पार्नका निम्ति हो र यो सब तँलाई परमेश्‍वरको प्रयोगका लागि उपयुक्त बनाउनु हो। अहिले तैँले पछि लागेको कुरा भनेको रहस्यहरू सुन्नु, परमेश्‍वरको वचन सुन्नु, तेरा आँखाहरूलाई सन्तुष्ट पार्नु र कुनै नयाँपन वा प्रवृत्ति छ कि भनेर हेर्नु, त्यसरी तेरो उत्सुकतालाई मेटाउनु हो। यदि तेरो हृदयको अभिप्राय यही हो भने, तैँले परमेश्‍वरका मागहरूलाई पूरा गर्ने कुनै उपाय छैन। सत्यताको पछि नलाग्‍ने मानिसहरू अन्त्यसम्म पछि लाग्न सक्दैनन्। अहिले, परमेश्‍वरले केही गर्नुभएको छैन भन्‍ने होइन, बरु मानिसहरूले उहाँसँग सहकार्य गरिरहेका छैनन्, किनकि तिनीहरू उहाँको कामबाट थकित भएका छन्। तिनीहरू उहाँले आशिष् दिनका निम्ति बोल्नुहुने वचनहरू मात्र सुन्न चाहन्छन् र तिनीहरू उहाँको न्याय र सजायका वचनहरू सुन्न इच्छुक हुँदैनन्। यसको कारण के हो? कारण हो, आशिष् प्राप्त गर्ने मानिसहरूको इच्छा पूरा भएको छैन, यसैले तिनीहरू नकारात्मक र कमजोर भएका छन्। यो होइन कि परमेश्‍वरले जानाजानी मानिसहरूलाई उहाँको पछि लाग्न दिनुहुन्न, न त उहाँले जानी-जानी मानवजातिलाई प्रहार गरिरहनुभएको छ। मानिसहरूका अभिप्रायहरू अनुचित भएकोले मात्रै तिनीहरू नकारात्मक र कमजोर छन्। परमेश्‍वर मानिसलाई जीवन दिनुहुने परमेश्‍वर हुनुहुन्छ र उहाँले मानिसलाई मृत्युमा पार्न सक्नुहुन्न। मानिसहरूका नकारात्मकता, कमजोरीहरू र विश्‍वासबाट पछि हट्ने सबै कुरा तिनीहरूको आफ्नै कामका उपज हुन्।

परमेश्‍वरको हालको कामले मानिसहरूमा केही शोधन ल्याउँदछ अनि यो शोधन प्राप्त गर्दा दह्रिलो गरी खडा हुनेहरूले मात्र परमेश्‍वरको स्वीकृति पाउनेछन्। उहाँले आफूलाई जसरी लुकाउनुभए पनि, नबोलेर वा काम नगरेर जसरी यो गर्नुभए पनि, तँ अझै पनि जोशका साथ पछि लाग्न सक्छस्। यदि परमेश्‍वरले तँलाई अस्वीकार गर्छु भनेर भन्नुभए पनि, तैँले अझै पनि उहाँलाई पछ्याउनेछस्। परमेश्‍वरका लागि अटल गवाही बन्‍नु भनेको यही हो। यदि परमेश्‍वरले आफैलाई तँबाट लुकाउनुभयो र तँ उहाँको पछि लाग्न छोडिस् भने, के त्यो परमेश्‍वरका लागि अटल साक्षी बन्‍नु हो? यदि मानिसहरू साँच्चै प्रवेश गर्दैनन् भने, तिनीहरूसँग वास्तविक कद हुँदैन र साँच्चै ठूलो परीक्षाको सामना गर्दा, तिनीहरू ठेस लागेर लड्छन्। परमेश्‍वरले बोलिरहनुभएको वा तेरो धारणासँग मिल्ने काम गरिरहनुभएको नहुँदा, तँ तोडिन्छस्। यदि परमेश्‍वरले अहिले तेरा धारणाअनुरूप काम गरिरहनुभएको भए, यदि उहाँले तेरो इच्छा पूरा गर्दैहुनुहुन्थ्यो र तँ खडा भएर र सामर्थ्यको साथ पछि लाग्‍न सक्थिस् भने, कुन आधारमा जिइरहेको हुनेथिइस्? म भन्छु, धेरै मानिसहरू पूर्ण रूपमा मानवीय उत्सुकतामा निर्भर भई जिइरहेका छन्। तिनीहरूको वास्तविक हृदयमा पछ्याउने चाहना एउटै पनि छैन। सत्यतामा प्रवेश गर्ने कार्यको खोजी नगर्ने तर जीवनको उत्सुकतामा भर पर्नेहरू घृणित मानिसहरू हुन् र तिनीहरू खतरामा हुन्छन्। परमेश्‍वरका विभिन्न प्रकारका कामहरू सबै मानवजातिलाई सिद्ध बनाउनका निम्ति गरिन्छ। तापनि, मानिसहरू सधैँ उत्सुक हुन्छन्, उनीहरू झूटो शिक्षाहरूबारे सोधपुछ गर्न चाहन्छन्, तिनीहरू विदेशको वर्तमान हालखबरबारे चासो राख्छन्—उदाहरणका लागि, तिनीहरू इजरायलमा के भइरहेको छ, वा यदि इजिप्टमा कुनै भूकम्प पो गयो कि भनी जान्न उत्सुक हुन्छन्—तिनीहरू सधैँ आफ्ना स्वार्थी चाहनाहरू तृप्त गर्न केही नयाँ कुराहरू, नौलो कुराहरू खोजिरहेका हुन्छन्। तिनीहरू जीवनको पछि लाग्दैनन्, न त सिद्ध हुने कुराको पछि नै लाग्छन्। तिनीहरू आफ्नो सुन्दर सपना साकार होस् र आफ्ना असंयमी अभिलाषाहरू पूरा होऊन् भनेर मात्र परमेश्‍वरको दिन चाँडै आओस् भन्‍ने चाहन्छन्। यस प्रकारको व्यक्ति व्यावहारिक हुँदैन—तिनीहरू अनुचित दृष्टिकोण भएका मानिसहरू हुन्। सत्यताको पछि लाग्नु मात्रै परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको आधार हो र यदि मानिसहरूले जीवनमा प्रवेश गर्न खोज्दैनन्, यदि तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न खोज्दैनन् भने, तिनीहरू दण्डमा पर्नेछन्। दण्ड पाउनुपर्ने मानिसहरू तिनीहरू नै हुन् जोसँग परमेश्‍वरले काम गर्नुभएको समयमा पवित्र आत्माको काम थिएन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६८

परमेश्‍वरको यस चरणको काममा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? वर्तमान समयमा परमेश्‍वरले मानिसहरूलाई जाँच्दैहुनुहुन्छ। उहाँले कुनै वचन बोल्नुहुन्न, तर आफैलाई लुकाउँदैहुनुहुन्छ र मानिसहरूसँग कुनै सीधा सम्पर्क गरिरहनुभएको छैन। बाहिरबाट हेर्दा, उहाँले कुनै काम गरिरहनुभएको जस्तो देखिँदैन, तर साँचो कुरा के हो भने, उहाँले अझै पनि मानिसभित्र काम गरिरहनुभएको छ। जीवनमा प्रवेशको खोजी गर्ने कुनै पनि व्यक्तिमा जीवनको खोजी गर्ने दर्शन हुन्छ र तिनीहरूले परमेश्‍वरको काम पूर्ण रूपमा नबुझे पनि कुनै शङ्का गर्दैनन्। तँलाई परमेश्‍वरले के गर्न चाहनुहुन्छ र उहाँले कुन काम सम्पन्न गर्न चाहनुहुन्छ भनी थाहा नभएको बेला परीक्षाहरू पार गर्दा, तँलाई यो थाहा हुनुपर्छ कि मानवजातिप्रतिको परमेश्‍वरका अभिप्रायहरू सधैँ असल हुन्छन्। यदि तैँले उहाँलाई साँचो हृदयले पछ्याइस् भने, उहाँले तँलाई कहिल्यै पनि छोड्नुहुनेछैन र अन्त्यमा निश्चय तँलाई सिद्ध बनाउनुहुनेछ र मानिसहरूलाई उचित गन्तव्यमा पुर्‍याउनुहुनेछ। वर्तमानमा परमेश्‍वरले मानिसहरूलाई जसरी जाँचिरहनुभएको भए पनि, उहाँले मानिसहरूलाई उचित परिणाम दिने र तिनीहरूले गरेको कामको आधारमा उचित दण्ड दिने दिन आउनेछ। परमेश्‍वरले मानिसहरूलाई कुनै खास मोडमा डोऱ्याएर तिनीहरूलाई एकातिर फालिदिने र बेवास्ता गर्ने गर्नुहुनेछैन। किनकि परमेश्‍वर भरोसायोग्य हुनुहुन्छ। यस चरणमा, पवित्र आत्माले शोधन गर्ने काम गर्दैहुनुहुन्छ। उहाँले प्रत्येक व्यक्तिलाई शोधन गर्दैहुनुहुन्छ। मृत्युको परीक्षा र सजायको परीक्षाद्वारा बनेका कामका यी चरणहरूमा, शोधनको काम वचनहरूद्वारा अगाडि बढाइएको थियो। मानिसहरूले परमेश्‍वरको कामको अनुभव गर्नका लागि तिनीहरूले पहिले उहाँको वर्तमान कामलाई र मानव जातिले त्यसमा कसरी सहकार्य गर्नुपर्दछ भन्‍ने कुरालाई बुझ्नुपर्छ। वास्तवमा, यो सबैले बुझ्नुपर्ने कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, चाहे त्यो शोधन होस् वा उहाँ नबोलिरहनुभएको नै होस्, उहाँको कामको एउटै चरण पनि मानवजातिको धारणासँग मिल्दैन। उहाँको कामको प्रत्येक चरणले मानिसहरूका धारणाहरूलाई छताछुल्ल बनाउँछ र तोड्छ। यो उहाँको काम हो। तर परमेश्‍वरको काम एक निश्चित चरणमा पुगेको छ, यसैले चाहे जेसुकै भए पनि उहाँले सबै मानिसलाई मार्नुहुनेछैन भन्‍ने तैँले विश्‍वास गर्नुपर्छ। उहाँले मानवजातिलाई प्रतिज्ञा र आशिषहरू दुवै दिनुहुन्छ र उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिषहरू प्राप्त गर्न सक्‍नेछन्, तर जसले पछ्याउँदैनन् तिनीहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ। यो तेरो खोजीमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले के विश्‍वास गर्नुपर्छ भने, जब परमेश्‍वरको काम समाप्त हुन्छ, प्रत्येक व्यक्तिले उपयुक्त गन्तव्य पाउनेछ। परमेश्‍वरले मानवजातिलाई सुन्दर आकांक्षाहरू प्रदान गर्नुभएको छ, तर खोजी नगरी ती प्राप्त गर्न सकिँदैन। तैँले अहिले यो देख्न सक्नुपर्छ—परमेश्‍वरले गर्नुहुने मानिसहरूको शुद्धीकरण र उहाँको सजाय उहाँको काम हो, तर मानिसहरूले आफ्नो काम गर्दै हरसमय स्वभावमा परिवर्तन गर्नतिर लागिरहनुपर्छ। तेरो व्यावहारिक अनुभवमा, तैँले सबैभन्दा पहिले परमेश्‍वरको वचन कसरी खानु र पिउनुपर्छ त्यो जान्नुपर्छ; तँ के कुरामा प्रवेश गर्नुपर्छ र तेरा कमजोरीहरू के हुन् सो उहाँका वचनहरूमा भेट्टाउनुपर्छ, तेरो व्यावहारिक अनुभवमा प्रवेशको खोजी गर्नुपर्छ र अभ्यास गर्नुपर्ने परमेश्‍वरको वचनको खण्ड लिएर त्यसलाई अभ्यास गर्ने कोसिस गर्नुपर्छ। परमेश्‍वरको वचन खानु र पिउनु एउटा पक्ष हो। यसको अतिरिक्त, मण्डलीको जीवन कायमै राख्नुपर्छ, तँसँग सामान्य आत्मिक जीवन हुनुपर्दछ र तैँले आफ्नो हालको सम्पूर्ण अवस्था परमेश्‍वरमा सुम्पन सक्नुपर्छ। उहाँको काम जसरी परिवर्तन भए पनि, तेरो आत्मिक जीवन सामान्य रहनुपर्छ। आत्मिक जीवनले तेरो सामान्य प्रवेशलाई कायम राख्न सक्दछ। परमेश्‍वरले जे गर्नुभए पनि, तैँले आफ्नो आत्मिक जीवनलाई विनाबाधा अगि बढाउनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसहरूले गर्नुपर्ने कार्य यही नै हो। यो सबै पवित्र आत्माको काम हो, तर सामान्य अवस्था भएकाहरूका लागि यो सिद्धता हो, असामान्य अवस्था भएकाहरूका लागि यो परीक्षा हो। पवित्र आत्माको शोधन कार्यको वर्तमान चरणमा, कतिपय मानिसहरूले के भन्छन् भने, परमेश्‍वरको काम धेरै महान् छ र मानिसहरूलाई पूर्ण रूपमा शोधनको आवश्यकता छ, अन्यथा तिनीहरूको कद धेरै सानो हुनेछ र तिनीहरूसित परमेश्‍वरको इच्छा प्राप्त गर्ने कुनै उपाय हुनेछैन। तापनि, जसको अवस्था राम्रो छैन, तिनीहरूका लागि यो परमेश्‍वरको पछि नलाग्ने र भेलाहरूमा नजाने वा परमेश्‍वरका वचनहरू नखाने र नपिउने एउटा कारण बन्छ। परमेश्‍वरको काममा, उहाँले जे गर्नुभए पनि वा जुनसुकै परिवर्तन लागू गर्नुभए पनि, मानिसहरूले सामान्य आत्मिक जीवनको आधार-रेखा कायम राख्नुपर्छ। सायद तँ तेरो आत्मिक जीवनको वर्तमान चरणमा शिथिल भएको छैनस् होला, तापनि तैँले अझै धेरै कुरा प्राप्त गरेको छैनस् र धेरै बाली काटेको छैनस्। यस्ता परिस्थितिहरूमा, तैँले अझै पनि नियमहरू पालन गर्नुपर्छ; तैँले यी नियमहरू पालन गर्नैपर्छ, ताकि तैँले आफ्नो जीवनमा हानि भोग्नु नपरोस् र ताकि तैँले परमेश्‍वरको इच्छा पूरा गर्न सक्। यदि तेरो आत्मिक जीवन असामान्य छ भने, तैँले परमेश्‍वरको वर्तमान कामलाई बुझ्न सक्दैनस् र त्यसको साटो तँलाई सधैँ यो तेरा धारणाहरूसँग अमिल्दो छ भन्‍ने लाग्छ र तैँले उहाँलाई पछ्याउने इच्छा गरे पनि, तँसँग आन्तरिक उत्साहको अभाव हुन्छ। यसैले परमेश्‍वरले वर्तमानमा जे गरिरहनुभएको भए पनि मानिसहरूले सहकार्य गर्नुपर्छ। यदि मानिसहरूले सहकार्य गर्दैनन् भने, पवित्र आत्माले आफ्‍नो काम गर्न सक्नुहुन्न र यदि मानिसहरूमा सहकार्य गर्ने हृदय छैन भने, तिनीहरूले पवित्र आत्माको काम मुश्‍किलले प्राप्त गर्न सक्दछन्। यदि तँ आफूभित्र पवित्र आत्माको काम पाउन चाहन्छस् भने र यदि तँ परमेश्‍वरको स्वीकृति प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरसामु आफ्नो सुरुको भक्ति कायम राख्नुपर्छ। अब, तँमा गहन बुझाइ, उच्च सिद्धान्त वा अरू त्यस्तै थोकहरू हुनु आवश्यक छैन—यति मात्र आवश्यक छ कि तैँले मूल आधारमा परमेश्‍वरको वचनलाई थाम्नुपर्छ। यदि मानिसहरूले परमेश्‍वरसँग सहकार्य गर्दैनन् र गहन प्रवेशको खोजी गर्दैनन् भने, परमेश्‍वरले तिनीहरूबाट ती सबै थोकहरू खोस्नुहुनेछ जुन सुरुमा तिनीहरूको थियो। भित्रपट्टि, मानिसहरू सधैँ सहजताको लोभ गर्छन् र पहिलेबाटै जे उपलब्ध छ त्यसमा रमाउँछन्। तिनीहरू कुनै पनि मूल्य नचुकाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न चाहन्छन्। यी मानवजातिले मनमा राख्‍ने अनावश्यक विचारहरू हुन्। कुनै मूल्य नचुकाई जीवन प्राप्त गर्नु—तर के कुनै कुरा कहिल्यै यस्तो सजिलो भएको छ? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्दछ र जीवनमा प्रवेश गर्न खोज्छ र आफ्नो स्वभाव बदल्‍न खोज्छ, त्यसका निम्ति उसले मूल्य चुकाउनुपर्छ र परमेश्‍वरले जे गर्नुभए पनि सधैँ उहाँको पछि लाग्ने अवस्था प्राप्त गर्नुपर्छ। यो, मानिसहरूले गर्नैपर्ने कुरा हो। यदि तैँले यी सबै कुरालाई नियमको रूपमा पालन गरिस् भने पनि, तैँले सधैँ यसलाई अनुसरण गर्नुपर्दछ र जति ठूलो परीक्षाहरू आए पनि, परमेश्‍वरसितको आफ्नो सामान्य सम्बन्धलाई त्याग्‍नुहुँदैन। तैँले प्रार्थना गर्न र तेरो मण्डलीको जीवनलाई कायम राख्‍न सक्‍नुपर्छ अनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई कहिल्यै त्याग्नुहुँदैन। परमेश्‍वरले तँलाई जाँच्नुहुँदा पनि तैँले अझै सत्यतालाई खोज्नुपर्छ। यो आत्मिक जीवनको न्यूनतम मापदण्ड हो। सधैँ खोज्ने इच्छा राख्‍नु र सहकार्य गर्ने प्रयास गर्नु, तेरा सबै ऊर्जा प्रयोग गर्नु—के यो गर्न सकिन्छ? यदि मानिसहरूले यसलाई आधारको रूपमा लिए भने, तिनीहरूले भेद-ज्ञान हासिल गर्न र वास्तविकतामा प्रवेश प्राप्त गर्न सक्छन्। तेरो आफ्नै अवस्था सामान्य हुँदा, परमेश्‍वरको वचन स्वीकार गर्नु सजिलो हुन्छ; यस्ता अवस्थामा सत्यता अभ्यास गर्न कठिन हुँदैन र तँलाई परमेश्‍वरको काम महान् छ भन्‍ने लाग्छ। तर यदि तेरो अवस्था नराम्रो छ भने, परमेश्‍वरको काम जति नै महान् भए पनि र कुनै व्यक्तिले जति सुन्दर ढङ्गले बोले पनि, तैँले त्यसमा कुनै ध्यान दिनेछैनस्। कुनै व्यक्तिको अवस्था असामान्य हुँदा परमेश्‍वरले उसमा काम गर्न सक्नुहुन्न अनि उसले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६९

यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणा र कल्‍पनाहरूसँग अलिकति पनि मिल्दैन भनेर अहिले सबै जनाले देख्न सक्छन्। परमेश्‍वरले धेरै काम गर्नुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, अनि मानिसहरूले ती सत्यता हुन् भनेर स्वीकार गर्न सके पनि, तिनीहरूमा परमेश्‍वर सम्‍बन्धी धारणाहरू फैदा हुने सम्‍भावना अझै हुन्छन्। यदि मानिसहरूले सत्यता बुझेर यसलाई प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूले पहिले नै जे देखेका छन् र तिनीहरूका अनुभवबाट जे प्राप्त गरेका छन् त्यसमा खडा हुन तिनीहरूमा आत्मविश्‍वास र इच्‍छाशक्ति हुनुपर्दछ। परमेश्‍वरले मानिसहरूमा जे गर्नुभए पनि, तिनीहरूमा जे छ त्यसलाई तिनीहरूले थामेर राख्नुपर्छ अनि परमेश्‍वरसामु इमानदार हुनुपर्छ र अन्त्यसम्मै उहाँप्रति समर्पित रहनुपर्छ। यही नै मानवजातिको कर्तव्य हो। मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नको लागि उहाँप्रति आज्ञाकारी हुनुपर्छ र उहाँको कामको अनुभव चाहिन्छ। परमेश्‍वरले यति धेरै काम गर्नुभयो—के भन्न सकिन्छ भने, मानिसहरूका लागि यो सिद्धता, शोधन र अझ बढी, सजाय नै हो। परमेश्‍वरको कामको एक चरण पनि मानव धारणासँग मिल्दोजुल्दो छैन; मानिसहरूले आनन्द लिएका कुरा भनेको परमेश्‍वरका कठोर वचनहरू हुन्। परमेश्‍वर आउनुहुँदा, मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोध उपभोग गर्नुपर्दछ। यद्यपि, उहाँको वचन जति नै कठोर भए पनि, उहाँ मानवजातिलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। प्राणीहरूको रूपमा मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्‍वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नुपर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन् अर्थात् आफैलाई अन्धकारको शक्ति बीचमा पाउँदा पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तेरो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानवजातिका लागि, इमानदारीता भनेको शुद्धता हो र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, भजनहरू गा; जब तैँले देहलाई त्याग्नुपर्छ, शरीरलाई त्यागी दे। तैँले आफ्नो कर्तव्य पूरा गर्दा, त्यसमा अलमल गर्नु हुँदैन; तैँले परीक्षाहरूको सामना गर्नुपर्दा, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो। यदि तँ मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्दैनस् भने, तेरा पहिलेका सबै दुःख र संकल्पहरू व्यर्थ भएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७०

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर जाँदा तिनीहरूमा हिम्मत आओस्। मानिसहरूले परमेश्‍वरबाट सिद्ध हुन सक्ने आत्मविश्‍वास प्राप्त गर्न सकून् र उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्‍वरले गर्नुहुने निराकरण र काटछाँट सामना गर्न सकून् भनेर परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ। मानिसहरूभित्र अन्तर्ज्ञान र ज्योति ल्याउन र उहाँसँग मिलेर काम र अभ्यास गर्न लगाउनको लागि परमेश्‍वरका आत्माले मानिसहरूभित्र काम गर्नुहुन्छ। शोधनको अवधिमा परमेश्‍वर बोल्नुहुन्न। उहाँले आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि मानिसहरूले गर्नुपर्ने काम हुन्छ। तँसँग जे छ त्यसलाई तैँले पक्रिराख्‍नुपर्छ, तैँले अझै पनि परमेश्‍वरसँग प्रार्थना गर्न सक्‍नुपर्छ, परमेश्‍वरको नजिक हुनुपर्छ र परमेश्‍वरसामु साक्षी दिन सक्नुपर्छ; यसो गरेर तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्‍वरको कार्यबाट उहाँले मानिसहरूको आत्मविश्‍वास र प्रेम जाँच्नुहुँदा उनीहरूले उहाँलाई अझ बढी प्रार्थना गर्नुपर्छ र अझ बढी उहाँसामु उहाँका वचनहरूको स्वाद पाउनुपर्छ भन्‍ने कुरालाई स्पष्टसित देख्‍नुपर्छ। यदि परमेश्‍वरले तँलाई अन्तर्ज्ञान दिनुहुन्छ र तँलाई उहाँको इच्छा बुझ्न दिनुहुन्छ, तैपनि तैँले यीमध्ये कुनैलाई पनि अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्दा, अझै पनि उहाँसँग प्रार्थना गर्न सक्‍नुपर्छ र उहाँका वचनहरूको स्वाद लिँदा, उहाँको सामु आउनुपर्छ र निराश वा चिसोपनाको कुनै सङ्केतविना उहाँप्रति निश्‍चयताले भरिनुपर्छ। परमेश्‍वरका वचनहरूलाई अभ्यास नगर्नेहरू भेलाहरूको बेला सामर्थ्यले भरिएका हुन्छन्, तर तिनीहरू घर फर्कंदा अन्धकारमा डुब्छन्। केही मानिसहरू एकसाथ भेला हुन समेत चाहँदैनन्। यसैले, मानिसहरूले कुन कर्तव्य पूरा गर्नुपर्छ त्यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्छ। परमेश्‍वरको इच्छा वास्तवमा के हो भन्‍ने तँलाई थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, प्रार्थना गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस्, सत्यलाई अभ्यास गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस् र मानिसहरूले जे गर्नुपर्छ तैँले त्यो गर्न सक्छस्। तैँले आफ्नो सुरुको दर्शनलाई पक्रिराख्‍न सक्छस्। यसरी, तैँले परमेश्‍वरको कामको अर्को चरणलाई अझ बढी स्वीकार गर्न सक्नेछस्। परमेश्‍वरले गुप्त तरिकाले काम गर्नुहुँदा, तैँले खोजी गरिनस् भने त्यो समस्या हुन्छ। उहाँले भेलाहरूमा बोल्नुहुँदा र प्रचार गर्नुहुँदा, तैँले उत्साहको साथ सुन्छस्, तर उहाँ तँसँग नबोल्नुहुँदा तँमा ऊर्जाको अभाव हुन्छ र तँ पछि हट्छस्। कस्तो प्रकारको व्यक्तिले यसरी कार्य गर्दछ? यो त्यस्तो व्यक्ति हो जो बथान जता जान्छ, त्यतैतिर लाग्छ। उनीहरूको कुनै अडान हुँदैन, कुनै गवाही हुँदैन र कुनै दर्शन हुँदैन! धेरैजसो मानिसहरू यस्तै प्रकारका हुन्छन्। यदि तँ त्यस मार्गमा लागिरहिस् भने, एक दिन जब तैँले ठूलो परीक्षाको सामना गर्नुपर्छ, तब तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्‍वरको प्रक्रियाको लागि अडान हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्‍वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तैँले मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तैँले परमेश्‍वरले तँलाई अभ्यास गर्न लगाउनुभएको कुरालाई इमानदारीपूर्वक थामेर राख्छस् भने, अर्थात्, तैँले परमेश्‍वरका अर्तीहरूलाई स्मरण गर्छस् भने र उहाँले वर्तमान समयमा जे गर्नुभए पनि तैँले उहाँको सल्लाहलाई बिर्सँदैनस् भने, यदि तँमा उहाँको कामबारे कुनै शङ्का छैन, दह्रिलो भई खडा भइस्, तेरो गवाहीलाई पक्री राखिस् भने र मार्गको प्रत्येक कदममा तँ विजयी भइस् भने, अन्त्यमा तँलाई परमेश्‍वरले सिद्ध पार्नुहुनेछ र विजेता बनाउनुहुनेछ। यदि तँ परमेश्‍वरका जाँचहरूको प्रत्येक चरणमा दह्रिलो भई खडा हुन सकिस् भने र तँ अझै पनि अन्त्यसम्‍मै दृढ रहन सक्छस् भने, तँ एक विजेता होस्, तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको व्यक्ति होस्। यदि तँ तेरा वर्तमान जाँचहरूमा दृढ रहन सक्दैनस् भने, भविष्यमा यो अझ बढी कठिन हुनेछ। यदि तँ नगण्य दुःखबाट भएर गइस् र तँ सत्यको पछि लाग्दैनस् भने, तैँले आखिरमा केही पनि प्राप्त गर्नेछैनस्। तँ खाली हात हुनेछस्। परमेश्‍वर बोल्‍नुभएको छैन भन्‍ने देखेर आफ्‍नो खोजीलाई त्याग्‍ने मानिसहरू पनि छन् र तिनीहरूका हृदय छताछुल्ल हुन्छ। के त्यस्तो व्यक्ति मूर्ख होइन र? यस प्रकारका मानिसहरूमा कुनै वास्तविकता हुँदैन। परमेश्‍वर बोलिरहनुभएको बेला, तिनीहरू सधैँ यताउता दगुरिरहेका हुन्छन्, बाहिरबाट हेर्दा व्यस्त र उत्साहित देखिन्छन्, तर उहाँ नबोल्नुहुँदा, तिनीहरू खोजी गर्न छोड्छन्। यस प्रकारको व्यक्तिको कुनै भविष्य हुँदैन। शुद्धीकरणको क्रममा, तँ सकारात्मक दृष्टिकोणबाट प्रवेश गर्नुपर्छ र तैँले सिक्नुपर्ने पाठहरू सिक्नुपर्छ; जब तैँले परमेश्‍वरसँग प्रार्थना गर्छस् र उहाँको वचन पढ्छस्, तैँले आफ्‍नो अवस्थालाई यसैको आधारमा मापन गर्नुपर्दछ, आफ्ना कमी-कमजोरीहरू पत्ता लगाउनुपर्छ र तैँले सिक्नुपर्ने पाठहरू अझै धेरै छन् भन्‍ने थाहा पाउनुपर्छ। शुद्धीकरणको क्रममा, तैँले जति धेरै इमानदारीसाथ खोजी गर्छस्, आफूलाई त्यति नै बढी अपर्याप्त रहेको पाउनेछस्। तैँले शुद्धीकरणको अनुभव गरिरहेको बेला धेरै वटा समस्याहरूको सामना गर्छस्; त्यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, गुनासो गर्छस्, आफ्नै देहलाई प्रकट गर्छस्—केवल यसरी मात्रै तँभित्र धेरै भ्रष्ट स्वभावहरू छन् भनी तैँले थाहा पाउन सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७१

आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको निम्ति अय्यूबकोमा भएको भन्दा धेरै ठूलो आत्मविश्‍वासको आवश्यकता पर्छ। आत्मविश्‍वासविना मानिसहरूले अनुभव प्राप्त गरिरहन सक्नेछैनन् न त तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिन नै सक्छन्। ठूलो परीक्षाको दिन आउँदा, केही यहाँ, केही त्यहाँ मण्डलीहरू छोडेर जाने मानिसहरू हुनेछन्। पहिलेका दिनहरूमा खोजी गर्ने काममा धेरै राम्रो गर्नेहरू पनि केही हुनेछन् र तिनीहरूले किन विश्‍वास गर्न छोड्छन् त्यो स्पष्ट हुनेछैन। तैँले बुझ्न नसक्ने धेरै कुराहरू हुनेछन् र परमेश्‍वरले कुनै चिह्न वा आश्‍चर्यकर्म प्रकट गर्नुहुनेछैन, न त कुनै अलौकिक कार्य नै गर्नुहुनेछ। योचाहिँ तँ दह्रिलो गरी खडा हुन सक्छस् कि सक्दैनस् भनी हेर्नलाई हो—मानिसहरूलाई शोधन गर्न परमेश्‍वरले तथ्यहरूको प्रयोग गर्नुहुन्छ। तैँले अझै त्यति धेरै कष्ट भोगेको छैनस्। भविष्यमा ठूला परीक्षाहरू आउँदा, कतिपय ठाउँका मण्डलीका प्रत्येक व्यक्ति छोडेर जानेछन् र तँसँग राम्रो सम्बन्ध हुने मानिसहरू जानेछन् र आफ्नो विश्‍वास त्याग्नेछन्। के त्यसबेला तँ दृढ भएर खडा हुन सक्‍नेछस्? अहिलेसम्म, तैँले सामना गरेका परीक्षाहरू सानातिना थिए र तैँले सायद मुस्किलले तिनको सामना गर्न सकेको छस्। यस चरणमा वचनहरूद्वारा मात्र शोधन गर्ने र सिद्ध पार्ने कार्य समावेश छ। अर्को चरणमा, तँलाई शोधन गर्न तथ्यहरू तँकहाँ आउनेछन् अनि त्यसबेला तँ जोखिमको बीचमा हुनेछस्। यो साँच्चै गम्भीर भएपछि, परमेश्‍वरले तँलाई चाँडो गर्ने र जाने सल्लाह दिनुहुनेछ र धार्मिक मानिसहरूले तँलाई उनीहरूको साथमा जानका लागि लोभ्याउने कोसिस गर्नेछन्। योचाहिँ तँ त्यस मार्गमा अघि बढिरहन सक्छस् कि सक्दैनस् भनी हेर्नलाई हो र यी सबै कुरा परीक्षा हुन्। वर्तमानका परीक्षाहरू सानातिना हुन्, तर त्यस्तो दिन आउनेछ जब केही घरका आमाबाबुले विश्‍वास गर्न छोड्नेछन् र कुनै घरमा छोराछोरीले विश्‍वास गर्न छोड्नेछन्। के तँ अगि बढिरहन सक्‍नेछस्? तँ जति अगाडि जान्छस्, परीक्षाहरू उति नै ठूला बन्‍नेछन्। परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्ने काम तिनीहरूका खाँचोहरू र कदअनुसार गर्नुहुन्छ। परमेश्‍वरले मानवजातिलाई सिद्ध बनाउनुहुने चरणमा, मानिसहरूको सङ्ख्या बढिरहनु असम्भव हुन्छ—त्यो कम मात्रै हुँदै जानेछ। यी शोधनहरूद्वारा मात्र मानिसहरूलाई सिद्ध पार्न सकिन्छ। निराकरण, अनुशासन, जाँच, सजाय, सराप—के तँ यी सबैको सामना गर्न सक्छस्? जब तँ कुनै मण्डलीलाई निश्‍चित रूपमा राम्रो स्थितिमा देख्छस्, जहाँ दाजुभाइ-दिदीबहिनीहरू सबैले ठूलो ऊर्जाको साथमा खोजी गरिरहेका हुन्छन्, त्यसबेला तँ उत्साहित हुन्छस्। जब तिनीहरू सबैले छोडेर जान्छन्, तिनीहरूमध्ये कतिले विश्‍वास गर्न छोडेका हुन्छन्, कोहीले व्यापार गर्न वा विवाह गर्न छोडेर गएका हुन्छन् र कोही-कोही धर्ममा सामेल हुन्छन्; के त्यसबेला तँ दृढ भएर खडा हुन सक्‍नेछस्? के तँ भित्री रूपमा अप्रभावित रहन सक्‍नेछस्? परमेश्‍वरले मानवजातिलाई सिद्ध बनाउने काम साधारण कुरा होइन! मानिसहरूलाई शोधन गर्न उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। मानिसहरूले यी कुराहरूलाई विधिको रूपमा हेर्छन्, तर परमेश्‍वरको मूल अभिप्रायमा यी विधिहरू पटक्कै होइनन्, तर तथ्यहरू हुन्। अन्त्यमा, जब उहाँले मानिसहरूलाई एक निश्चित हदसम्म शोधन गरिसक्‍नुभएको हुन्छ र तिनीहरूमा कुनै गुनासो हुँदैन, तब उहाँको कामको यो चरण पूरा हुनेछ। पवित्र आत्माको महान् काम भनेको तँलाई सिद्ध पार्नु हो र जब उहाँले कुनै काम गर्नुहुन्न र आफूलाई लुकाउनुहुन्छ, तब त्यो तँलाई सिद्ध पार्ने उद्देश्यले गरिएको हुन्छ र निश्‍चित रूपमा, यसरी मानिसहरूमा परमेश्‍वरको निम्ति प्रेम छ कि छैन, उहाँमाथि तिनीहरूको वास्तविक भरोसा छ कि छैन सो देख्न सकिन्छ। परमेश्‍वर स्पष्टसँग बोल्नुहुँदा, तैँले खोजी गर्नु आवश्यक हुँदैन; उहाँले आफूलाई लुकाउनुभएको बेला मात्र तैँले खोजी गर्नु र तेरो आफ्नो बाटोमा अनिश्‍चितताको साथ अघि बढ्नु आवश्यक हुन्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्नुपर्छ र तेरो भविष्यको परिणाम र तेरो गन्तव्य जे भए पनि, तँ जीवित रहने वर्षहरूमा तैँले परमेश्‍वरप्रतिको ज्ञान र प्रेमको खोजी गर्न सक्‍नुपर्छ अनि परमेश्‍वरले तँलाई जसरी व्यवहार गर्नुभए पनि, तँ गुनासो गर्ने कार्यबाट जोगिन सक्नुपर्छ। पवित्र आत्माले मानिसहरूमा काम गर्ने एउटा सर्त छ। तिनीहरूले परमेश्‍वरका कामहरूको तृष्णा गर्नुपर्छ र खोजी गर्नुपर्छ र त्यसप्रति आधा मनको हुने वा शङ्कालु हुने गर्नुहुँदैन र तिनीहरूले हर समय आफ्नो कर्तव्यलाई सम्हाल्न सक्नुपर्छ; यस प्रकारले मात्र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्। परमेश्‍वरको कामको हरेक चरणमा मानवजातिबाट माग गरिएको कुरा भनेको ठूलो आत्मविश्‍वास र खोजी गर्नको लागि परमेश्‍वरको सामु आउने कार्य नै हो—अनुभवको आधारमा मात्रै मानिसहरूले परमेश्‍वर कति प्रेमयोग्य हुनुहुन्छ र पवित्र आत्माले मानिसहरूमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा थाहा पाउन सक्छन्। यदि तँ अनुभव गर्दैनस् भने, यदि तँ त्यसमा अघि बढ्दैनस् भने, यदि तँ खोजी गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तँ आफ्ना अनुभवहरूमा अघि बढ्नुपर्छ र तेरा अनुभवहरूद्वारा मात्र तैँले परमेश्‍वरका कार्यहरूलाई देख्न सक्छस् र उहाँ आश्‍चर्यजनक र अथाह हुनुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७२

परमेश्‍वरले तँलाई हरकिसिमका उकाली-ओराली, निराशा, संकष्ट, र कैयौँ असफलता र बाधाहरूमार्फत गुज्रन दिनुहुन्छ। अन्त्यमा, तँलाई यी कुराहरू हुँदै जान दिने क्रममा, परमेश्‍वरले तँलाई उहाँले भन्‍नुभएका सबै कुरा सही र सत्यता हुन् भनेर देखाउनुहुनेछ। यसको साथै, उहाँले तँलाई तेरा आफ्‍नै विश्‍वास, धारणा, कल्पना, ज्ञान, सिद्धान्त, दर्शन, र संसारमा तैंले सिकेका सबै कुराहरू गलत छन्, ती कुराहरूले तँलाई जीवनको सही मार्गमा डोऱ्याउन अनि सत्य बुझ्न र परमेश्‍वरको सामु आउन अगुवाइ गर्न सक्दैनन् भनेर देखाउनुहुनेछ। यदि तँ अझै पनि यी कुराहरूअनुसार जिउँछस् भने, तँ असफलताको बाटोमा, साथै परमेश्‍वरको विरोध गर्ने र उहाँलाई धोका दिने बाटोमा हिँडिरहेको छस्। अन्त्यमा, परमेश्‍वरले तँलाई यो कुरा स्पष्‍ट रूपमा देखाउनुहुनेछ। यो प्रक्रिया तैँले अनुभव गर्नैपर्ने कुरा हो, र परिणामहरू प्राप्त गर्ने एक मात्र तरिका यही हो, तर यो हेर्दा परमेश्‍वरलाई पीडादायी लाग्‍ने कुरा पनि हो। मानिसहरू विद्रोही छन् र उनीहरूमा भ्रष्ट स्वभाव छ, त्यसकारण उनीहरूले केही कठिनाइ भोग्‍नैपर्छ, र उनीहरू यी बाधाहरू हुँदै जानैपर्छ। यी कठिनाइहरूविना, उनीहरू शुद्ध पारिने कुनै उपाय हुँदैन। यदि व्यक्तिले साँचो रूपमा सत्यतालाई प्रेम गर्छ, र परमेश्‍वरको विभिन्‍न प्रकारको मुक्ति स्वीकार गर्न र मूल्य चुकाउन ऊ साँचो रूपमा इच्‍छुक छ भने, उसले त्यति धेरै कष्ट भोग्‍नुपर्ने आवश्यकता हुँदैन। परमेश्‍वर वास्तवमा मानिसहरूले त्यति धेरै कष्ट भोगून् भन्‍ने चाहनुहुन्‍न, र उनीहरूले यति धेरै बाधा र असफलताहरूबाट गुज्रनुपरोस् भन्‍ने पनि चाहनुहुन्‍न। तैपनि, मानिसहरू अत्यन्तै विद्रोही छन्, उनीहरू भनेको मान्‍न र समर्पित हुन चाहँदैनन्, उनीहरू सही मार्गमा हिँड्न सक्दैनन् वा छोटोमीठो तरिका अपनाउन खोज्छन्; उनीहरू आफ्‍नै बाटोमा लागेर परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन् र उहाँको विरोध गर्छन्। मानिसहरू भ्रष्ट छन्। परमेश्‍वरले मानिसहरूलाई शैतानको हातमा सुम्पिदिन र उनीहरूलाई विभिन्न वातावरणहरूमा पारेर निरन्तर सधाउन, र यसरी उनीहरूलाई हरप्रकारका अनुभवहरू र पाठहरू हासिल गराउन, र अन्त्यमा हरप्रकारका दुष्ट कुराहरूको सार महसुस गराउन मात्र सक्‍नुहुन्छ। त्यसपछि, जब उनीहरूले पछाडि फर्केर हेर्छन्, तब परमेश्‍वरका वचनहरू सत्य हुन् भनी थाहा पाउँछन्, र उनीहरूले परमेश्‍वरका वचनहरू सत्य हुन्, परमेश्‍वर सबै सकारात्मक कुराहरूको वास्तविकता हुनुहुन्छ, र परमेश्‍वर मानिसहरूलाई साँचो रूपमा प्रेम र वास्ता गर्ने, र मुक्ति दिन सक्‍ने एकमात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छन्। मानिसहरूले यति धेरै कष्ट भोगून् भन्‍ने परमेश्‍वर चाहनुहुन्‍न, तर मानिसहरू अत्यन्तै विद्रोही छन्, घुमौरो बाटो अपनाउन चाहन्छन्, र यी कठिनाइहरू भोग्‍न चाहन्छन्। मानिसहरूलाई विभिन्‍न परिस्थितिबाट गुज्रन लगाएर तिनीहरूलाई निरन्तर सधाउनेबाहेक परमेश्‍वरसँग कुनै विकल्‍प छैन। आखिरमा, मानिसहरूलाई कुन हसमम्म सधाइन्छ त? त्यस हदसम्म जब तँ भन्नेछस्, “मैले सबै किसिमको परिस्थितिको अनुभव गरेको छु, अब मैले बुझेँ। परमेश्‍वरबाहेक, एउटै पनि यस्तो व्यक्ति, विषय वा वस्तु छैन जसले मलाई सत्य बुझ्न सक्ने, मलाई सत्यको आनन्द लिन सक्ने, र मलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्ने बनाउँछ। यदि म आज्ञाकारी भई परमेश्‍वरको वचनअनुसार अभ्यास गर्न, एक सृष्टि गरिएको प्राणीलाई दिइएको हैसियत र कर्तव्य पालन गर्न, आज्ञाकारी रूपमा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्वीकार गर्न सक्छु, मसँग परमेश्‍वरको बारेमा थप कुनै गुनासो वा लालची इच्‍छाहरू छैनन्, र म सृष्टिका प्रभुको सामुन्‍ने साँचो रूपमा समर्पित हुन्छु भने मात्र म साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति बन्‍नेछु।” जब मानिसहरू यो स्तरमा पुगेका हुन्छन्, उनीहरू साँच्चै परमेश्‍वरको सामु झुक्छन्, र परमेश्‍वरले उनीहरूलाई अनुभव गर्न लगाउनका निम्ति कुनै थप वातावरण बन्दोबस्त गर्नु आवश्यक पर्दैन। त्यसो भए तिमीहरू कुन मार्ग लिन चाहन्छौ त? कसैले पनि आफ्नो व्यक्तिगत इच्छामा कठिनाइ भोग्ने चाहना गर्दैन, कसैले पनि अवरोध, असफलता, प्रतिकूल परिस्थिति, निराशा, र आँधीबेहरी अनुभव गर्न चाहँदैन। तर त्यहाँ अरू कुनै उपाय नै छैन। मानिसहरूमा शैतानी प्रकृति हुन्छ, तिनीहरू अत्यन्तै विद्रोही छन्, तिनीहरूका विचार र दृष्टिकोणहरू धेरै जटिल हुन्छन्। प्रत्येक दिन तेरो हृदयमा निरन्तर अन्तर्द्वन्द्व चल्छ, सङ्घर्ष मच्चिन्छ, अनि ओल्टाइपल्टाइ र छटपटी हुन्छ। तँ सत्य थोरै बुझ्छस्, तेरो जीवनप्रवेश सतही छ र तँमा तेरा धारणा, कल्पना र देहको भ्रष्ट स्वभावहरूमाथि विजय पाउने शक्तिको कमी छ। तैँले नियमित बाटो मात्र समाउन सक्छस्: निरन्तर असफलता र निराशाको अनुभव गर्नु, र निरन्तर लड्नु, कठिनाइद्वारा यताउता हुत्तिनु, हिलोमा मुछिनु, यस्तो त्यो दिनसम्म हुन्छ जुन दिन तँ भन्छस्, “म थाकेको छु, म विरक्त भएको छु, म यस्तो प्रकारले जिउन चाहन्नँ। म यी असफलताहरू भोग्न चाहन्नँ, म आज्ञाकारिताका साथ सृष्टिकर्ताको सामु आउन चाहन्छु। म परमेश्‍वरका वचनहरू सुन्नेछु, उहाँले जे भन्नुहुन्छ म त्यही गर्नेछु। यही मात्र जीवनको सही मार्ग हो।” जुन दिन तँ पूर्ण रूपमा विश्‍वस्त हुन्छस् र हार स्वीकार गर्छस् त्यो दिन मात्र तँ परमेश्‍वरको सामु आउनेछस्। के यसबाट तँ परमेश्‍वरको स्वभावको बारेमा केही जान्न सक्छस्? मानिसप्रति परमेश्‍वरको दृष्टिकोण कस्तो छ? परमेश्‍वरले जे गर्नुभए पनि, उहाँ मानिसको सर्वोत्तम भलाइ चाहनुहुन्छ। उहाँले जुनसुकै वातावरण तयार पार्नुभए पनि वा उहाँले तँलाई जेसुकै गर्न लगाउनु भए पनि, उहाँ सधैं उत्तम परिणाम हेर्न चाहनुहुन्छ। मानौं, तैँले कुनै कुरा झेल्छस् र अवरोधहरू र असफलताको सामना गर्छस्। परमेश्‍वरले तँ असफल भएर निरुत्साहित भएको र तैँले आफू सिद्धिएको र शैतानद्वारा खोसिई लगिएको भन्‍ने सोचेको, र हरेस खाँदै यो स्थितिबाट फेरि तैँले कहिल्यै पनि आफूलाई आफ्नो खुट्टामा खडा गर्न नसकेको, र दुःखमा डुबेको देख्न चाहनुहुन्न—परमेश्‍वरले यस्तो परिणाम देख्न चाहनुहुन्न। परमेश्‍वर के देख्ने इच्छा गर्नुहुन्छ त? तँ सायद यस विषयमा असफल भएको छस् होला, तर तँ सत्यता खोज्‍न र आत्मचिन्तन गर्न सक्छस्, तेरो असफलताको कारण पत्ता लगाउन सक्छस्; तँ यो असफलताको पाठ स्वीकार गर् र यसबाट वृद्धि हासिल गर्, तँ एउटा पाठ सिक्, त्यस्तो तरिकाले काम गर्नु गलत थियो, र परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु मात्र ठीक हो भनी महसुस गर्। तैँले महसुस गर्छस्, “म खराब छु र मसँग भ्रष्ट शैतानी स्वभावहरू छन्। ममा विद्रोहीपन छ, म परमेश्‍वरले भन्नुभएका धर्मी मानिसहरूदेखि टाढा छु, र मसँग परमेश्‍वरको भय मान्ने हृदय छैन।” तैँले यो तथ्यलाई स्पष्ट देखेको छस्, तैँले यो मामलाको सत्यता जानेको छस्, र यो बाधा र असफलताबाट, तँ समझदार र परिपक्‍व भएको छस्। परमेश्‍वरले यही हेर्न चाहनुहुन्छ। परिपक्‍वले केको प्रतिनिधित्व गर्छ? यसको अर्थ परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्छ, तैँले मुक्ति पाउन सक्छस्, तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छस्, र तैँले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग अपनाउन थालेको छस् भन्‍ने हुन्छ। परमेश्‍वर मानिसहरूले सही मार्ग लिएको हेर्न चाहनुहुन्छ। परमेश्‍वरले सावधानीपूर्ण अभिप्रायद्वारा कामकुरा गर्नुहुन्छ, र यो सबैको पछाडि उहाँको प्रेम लुकेको हुन्छ, तर मानिसहरूले प्राय यो कुरा महसुस गर्दैनन्। मानिसहरू सङ्कीर्ण सोचका र तुच्छताले भरिएका हुन्छन्। तिनीहरूले परमेश्‍वरको अनुग्रह र आशिष्‌हरूको आनन्द लिन नपाउनेबित्तिकै, परमेश्‍वरलाई दोष दिन्छन्, नकारात्मक बन्छन् र रिसाउँछन्। तर परमेश्‍वरले मानिसहरूसँग सानोतिनो कुरामा झगडा गर्नुहुन्‍न, बरु तिनीहरूलाई अज्ञानी बालकहरूजस्तो मान्‍नुहुन्छ र तिनीहरूप्रति गम्‍भीर बन्‍नुहुन्‍न। उहाँले मानिसलाई कसरी अनुग्रह र आशिष्‌हरू प्राप्त गर्ने र मानिसको लागि उहाँको अनुग्रहको अर्थ के हो र मानिसले त्यसबाट के लिन सक्छ भनी बुझाउने परिस्थितिहरू सिर्जना गर्नुहुन्छ। मानौं, तँलाई केही कुराहरू खान मन लाग्छ, जुन धेरै खानु तेरो स्वास्थ्यका निम्ति राम्रो होइन भनी परमेश्‍वरले भन्नुहुन्छ। तँ त्यो कुरा सुन्दैनस्, र त्यो खाने जिद्द गर्छस्, र परमेश्‍वरले तँलाई स्वतन्त्र रूपमा त्यो निर्णय गर्ने अनुमति दिनुहुन्छ। फलस्वरूप, तँ बिरामी हुन्छस्। धेरैपटक यस्तो अनुभव गरेपछि, तँ परमेश्‍वरका वचनहरू सही छन्, उहाँले भन्नुभएका सबै कुरा सत्य छन्, र तैंले उहाँका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ भनी बुझ्छस्। यही नै सही मार्ग हो। अनि त्यसो भए, मानिसहरूले भोग्‍नुपरेका यी अवरोध, असफलता र कष्टहरू के हुन् त? तँ परमेश्‍वरको मेहनती अभिप्रायको कदर गर्छस्, र तँ परमेश्‍वरका वचनहरू सही छन्, र ती व्यावहारिक छन् भनी विश्वास गर्छस् र निश्चित हुन्छस्; परमेश्‍वरमा तेरो विश्वास बढ्दै जान्छ। त्यहाँ अर्को कुरा पनि छ: असफलताको यस अवधिको अनुभवद्वारा तैँले परमेश्‍वरका वचनहरूको सत्यता र यथार्थता महसुस गर्नेछस्, तैँले परमेश्‍वरका वचनहरू सत्य हुन् भनी देख्नेछस्, र तैँले सत्य अभ्यास गर्ने सिद्धान्त बुझ्नेछस्। यसैले, मानिसहरूले असफलताको अनुभव गर्नु राम्रो हो—तर यो केही पीडादायी हुन्छ, जुन कुराले उनीहरूलाई सधाउँछ। तर यदि यसरी सधाइँदा त्यसले अन्त्यमा तँलाई परमेश्‍वरको सामु फर्काउँछ, उहाँका वचनहरू बुझ्ने र तिनलाई सत्यको रूपमा हृदयभित्र अङ्गीकार गर्ने बनाउँछ र यसरी अन्त्यमा तैँले परमेश्‍वरलाई चिन्‍न पुग्छस् भने, त्यस्तो सधाइ, अवरोध र असफलताहरू व्यर्थमा अनुभव गरिएका हुँदैनन्। परमेश्‍वरले देख्न चाहनुभएको नतिजा यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पावलको प्रकृति र सार कसरी पहिचान गर्ने

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७३

अहिले यी वचनहरू बोलिएका छन् भन्‍ने कुरालाई तैँले याद गर्नुपर्छ: पछि तैँले अझ ठूलो सङ्कष्ट र अझ ठूलो कष्ट अनुभव गर्नेछस्! सिद्ध तुल्याइनु साधारण वा सजिलो कुरा होइन। कम्तीमा, तँमा अय्यूबको जस्तो विश्‍वास हुनुपर्छ वा सायद तिनको भन्दा अझ ठूलो विश्‍वास हुनुपर्छ। भविष्यमा अय्यूबका परीक्षाहरूभन्दा ठूला परीक्षा हुनेछन् अनि तँ अझै पनि दीर्घकालीन सजायबाट गुज्रनुपर्छ भन्‍ने कुरा तैँले जान्नैपर्छ। के यो सामान्य कुरा हो र? यदि तेरो क्षमतालाई सुधार गर्न सकिँदैन, यदि तेरो बुझ्ने क्षमतामा कमी छ भने, अनि यदि तँलाई अत्यन्तै थोरै कुरा मात्र थाहा छ भने, त्यस समयमा तँसित कुनै गवाही हुनेछैन, तर बरु तँ शैतानको निम्ति ठट्टा र खेलौना हुनेछस्। यदि अहिले तैँले दर्शनहरूलाई पक्रिन सक्दैनस् भने, तँसित बिलकुल कुनै जग छैन, अनि भविष्यमा तँलाई फ्याँकिनेछ! मार्गको कुनै पनि भागमा हिँड्नको निम्ति सजिलो छैन, त्यसैले यसलाई हल्का रूपमा नलिई। यसलाई होशियारीपूर्वक तौली र तयारी गर् ताकि तँ यस मार्गको अन्तिम भागसम्म उचित प्रकारले हिँड्न सक्। यो, भविष्यमा हिँड्नैपर्ने मार्ग, सबै मानिसहरूले हिँड्नैपर्ने मार्ग हो। तैँले यो ज्ञानलाई बेवास्ता गर्नुहुँदैन; म तँलाई जे भन्छु, ती सबै व्यर्थ हुन् भनी नसोच्। त्यो दिन आउनेछ जब तैँले यसलाई राम्ररी प्रयोगमा लगाउनेछस्—मेरा वचनहरू व्यर्थमा बोल्‍न सकिँदैन। यो, आफूलाई सुसज्जित पार्ने समय हो, भविष्यको निम्ति बाटो तयार गर्ने समय हो। तैँले पछि हिँड्नुपर्ने मार्ग तयार गर्नुपर्छ; तँ भविष्यमा कसरी दृढ भई खडा हुनेछस् भन्‍नेबारे तँ चिन्तित र व्याकुल हुनुपर्छ, अनि तेरो भविष्यको बाटाका निम्ति राम्रोसित तयार गर्नुपर्छ। घिचुवा र अल्छे नहो! तेरो समयको सर्वोत्तम प्रयोग गर्न तैँले सक्नेजति हरेक कुरा गर्नुपर्छ, ताकि तँलाई चाहिने हरेक कुरा तैँले हासिल गर्न सक्। तैँले बुझ्न सक् भनेर म तँलाई सबै कुरा दिइरहेको छु। तीन वर्षभन्दा कम समयमा मैले कति धेरै कुरा गरेको छु र कति धेरै काम गरेको छु भनी तिमीहरूले आफ्नै आँखाले देखेका छौ। मैले यसप्रकारले काम गर्नुको एउटा कारण के हो भने, मानिसहरूमा धेरै कुराको कमी छ, अनि अर्को कारण समय अति छोटो छ; अब अरू कुनै ढिलाइ हुन सक्दैन। मानिसहरूले गवाही दिन र उपयोगी हुन सक्नुअघि पहिले पूर्ण रूपमा भित्रैदेखि स्पष्ट हुनैपर्छ भन्‍ने कल्पना गर्छन्—तर के त्यो धेरै सुस्त हुनेथिएन र? त्यसैले, मैले कति लामो समयसम्म तँलाई साथ दिनुपर्ने हो? यदि म बूढो भइञ्‍जेल र मेरो कपाल फुलुञ्‍जेलसम्म मैले तिमीहरूलाई साथ दिएको चाहन्छौ भने, त्यो असम्भव हुनेछ! ठूला सङ्कष्टहरूबाट गुज्रेर नै मानिसहरूभित्र साँचो बुझाइ हासिल गर्न सकिनेछ। काम गर्ने कदमहरू यिनै हुन्। तैँले आज सङ्गति गरेका दर्शनहरूलाई पूर्ण रूपले बुझेपछि र तैँले साँचो कद प्राप्त गरेपछि भविष्यमा तँ जस्तोसुकै कठिनाइहरूबाट गुज्रे तापनि तँ व्याकुल हुनेछैनस्, अनि तैँले त्यसको सामना गर्न सक्‍नेछस्। जब मैले कामको यो अन्तिम कदम पूरा गरेको हुनेछु र आखिरी वचनहरू उच्चारण गरेर सिध्याएको हुनेछु, तब भविष्यमा मानिसहरू आफ्नो मार्गमा हिँड्न आवश्यक हुनेछ। यसले पहिले बोलिएका वचनहरूलाई पूरा गर्नेछ: पवित्र आत्मासित हरेक व्यक्तिको निम्ति आज्ञा छ, र हरेक व्यक्तिमा गर्नुपर्ने काम छ। भविष्यमा, हरेक व्यक्ति पवित्र आत्माद्वारा डोरिएर आफू हिँड्नुपर्ने मार्गमा हिँड्नेछन्। सङ्कष्टबाट गुज्रँदा कसले अरूको निम्ति वास्ता गर्न सक्नेछ? हरेक व्यक्तिको आफ्नै कष्ट हुन्छ, अनि हरेकको आफ्नै कद हुन्छ। कसैको कद पनि अरूको कदसित समान छैन। पतिले आफ्‍नी पत्नीको वास्ता गर्न सक्नेछैनन् वा आमाबाबुले छोराछोरीको वास्ता गर्न सक्नेछैनन्; कसैले पनि अरू कसैको वास्ता गर्न सक्नेछैन। त्यो, पारस्परिक वास्ता र सहायता अझै सम्भव भएको अहिलेको समय जस्तो हुनेछैन। त्यो, हरेक प्रकारको व्यक्तिलाई खुलासा गरिने समय हुनेछ। भन्नुको अर्थ, जब परमेश्‍वरले गोठालाहरूलाई प्रहार गर्नुहुन्छ, तब बगालका भेडाहरू छरपष्ट हुनेछन्, अनि त्यस समयमा तिमीहरूसित कुनै साँचो अगुवा हुनेछैन। मानिसहरू विभाजित हुनेछन्—तिमीहरू झुण्डको रूपमा सँगै आउन सक्ने अहिलेको जस्तो यो हुनेछैन। भविष्यमा, जोसित पवित्र आत्माको काम छैन, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। पतिहरूले आफ्ना पत्नीहरूलाई बेच्नेछन्, पत्नीहरूले आफ्ना पतिहरूलाई बेच्नेछन्, बच्चाहरूले आफ्ना बाबुआमाहरूलाई बेच्नेछन्, अनि बाबुआमाहरूले आफ्ना बच्चाहरूलाई सताउनेछन्—मानव हृदय बुझ्न गाह्रो छ! गर्न सकिने एउटै कुरा भनेको व्यक्तिसित जे छ, त्यसलाई पक्रिराख्नु हो अनि मार्गको अन्तिम भागसम्म हिँड्नु हो। अहिले, तिमीहरूले यसलाई प्रस्टसित देख्दैनौ; तिमीहरू सबै निकटको कुरा मात्रै देख्न सक्छौ। कामको यो चरण सफलतापूर्वक अनुभव गर्नु सजिलो कुरा होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ मार्गको अन्तिम भागसम्म कसरी हिँड्नुपर्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७४

धेरैजसो मानिसहरूले आफ्‍नो भविष्यको गन्तव्यको खातिर वा अस्थायी आनन्दको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। निराकरणमा नपरेकाहरूको हकमा भन्दा, तिनीहरू स्वर्ग प्रवेश गर्नको लागि, इनामहरू प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू सिद्ध पारिन, वा परमेश्‍वरको सृष्टिको रूपमा कर्तव्य निभाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। भन्‍नुको अर्थ, धेरैजसो मानिसहरू आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न वा आफ्‍नो कर्तव्य निभाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। अर्थपूर्ण जीवन जिउनको लागि त मानिसहरूले परमेश्‍वरमा विरलै विश्‍वास गर्छन्, न त मानिस जीवित भएकोले उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ किनभने त्यो स्वर्गले तोकेको र पृथ्वीले स्वीकार गरेको कुरा हो, र मानिसको प्राकृतिक इच्‍छा हो भनेर विश्‍वास गर्नेहरू नै छन्। यसरी, फरकफरक मानिसहरू आ-आफ्‍नै लक्ष्‍यहरूको पछि लाग्‍ने भए तापनि, तिनीहरूको खोजीको लक्ष्‍य र यसको पछाडि रहेको उत्प्रेरणा सबै उस्तै हुन्छन्, र यति मात्र होइन, तिनीहरूमध्ये धेरैको आराधनाका वस्तुहरू लगभग उही हुन्छन्। विगतका हजारौं वर्षको अवधिमा, धेरै विश्‍वासीहरू मरेका छन्, र धेरैले मरेर पनि फेरि पुनर्जन्म पाएका छन्। परमेश्‍वरको खोजी गर्नेहरू एकदुई जना मानिसहरू मात्रै छैनन्, न त एकदुई हजार मात्र नै छन्, तैपनि यीमध्ये धेरैजसो मानिसहरूले तिनीहरूका आफ्‍नै सम्भाव्यताहरू वा महिमापूर्ण भविष्यका आशाहरूका खातिर खोजी गर्छन्। ख्रीष्टप्रति समर्पितहरू एकदमै कम मात्र छन्। धेरैजसो भक्त विश्‍वासीहरू आफ्‍नै जालमा फसेर मरेका छन्, र विजयी मानिसहरूको सङ्ख्या भने अत्यन्तै सानो छ। आजको दिनसम्‍म पनि, मानिसहरूलाई तिनीहरू किन असफल हुन्छन्, वा तिनीहरूको विजयका रहस्यहरू के-के हुन् भन्‍ने नै थाहा छैन। ख्रीष्‍टको पछि लाग्‍नमा तल्लीन हुनेहरूको लागि अझै पनि अचानक अन्तर्दृष्टि प्राप्त भइदिने क्षण आएकै छैन, तिनीहरू यी रहस्यहरूको पिँधमा पुग्‍न सकेका छैनन्, किनभने तिनीहरूलाई थाहै छैन। तिनीहरूले आफ्नो खोजीमा परिश्रमपूर्वक प्रयासहरू गरे तापनि, तिनीहरू जुन हिँड्ने मार्ग हिँड्दै छन् त्यो तिनीहरूभन्दा पहिलेकाहरूले हिँडिसकेको असफलताको मार्ग हो, सफलताको मार्ग होइन। यसरी, तिनीहरूले जसरी खोजी गरे तापनि, के तिनीहरू अझै पनि अन्धकारतर्फ डोर्‍याउने मार्गमै हिँड्दैनन् र? के तिनीहरूले जे प्राप्त गर्छन् त्यो तीतो फल होइन र? विगतमा सफल हुनेहरूको अनुकरण गर्ने मानिसहरू आखिरमा सौभाग्यमा पुग्‍छन् कि कष्टमा पुग्‍छन् भनेर अनुमान गर्न कठिन हुन्‍छ। त्यसैले, असफल भएकाहरूका पाइलाहरू पछ्याएर खोजी गर्ने मानिसहरूको हालत झन् कति नराम्रो होला? के तिनीहरू असफल हुने सम्‍भावना अझै बढी हुँदैन र? तिनीहरू हिँड्ने मार्गको के मूल्य छ र? के तिनीहरूले आफ्‍नो समय बरबाद गरिरहेका छैनन् र? छोटकरीमा भन्दा, मानिसहरू आफ्नो खोजीमा सफल भए पनि असफल भए पनि, तिनीहरूले किन खोजी गर्छन् भन्‍ने कुराको कारण हुन्‍छ, र जसरी मन लाग्यो त्यसरी खोजी गरेको आधारमा तिनीहरूको सफलता वा असफलता निर्धारित हुन्छ भन्‍ने छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७५

परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत मापदण्ड भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो रूपमा आज्ञापालन गर्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसको लागि सबैभन्दा कठिन कुरा हो, जसमार्पत उसले सम्पूर्ण सत्यता प्राप्त गर्न, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको उसको कर्तव्य पूरा गर्न सक्छ। यो असफल हुनेहरूले प्राप्त गर्न नसक्‍ने कुरा हो, र ख्रीष्टलाई भेट्टाउन नसक्‍नेहरूको लागि त यो प्राप्त गर्न झनै कठिन कुरा हो। आफैलाई पूर्ण रूपले परमेश्‍वरमा समर्पित गर्नमा मानिस त्यति असल नभएकोले, सृष्टिकर्ताप्रतिको आफ्‍नो कर्तव्य निभाउन मानिस इच्‍छुक नभएकोले, सत्यतालाई देखे पनि यसबाट टाढै बसी मानिस आफ्‍नै मार्गमा हिँड्ने भएकोले, सधैँ असफल भएकाहरूको मार्गलाई पछ्याउँदै मानिसले खोजी गर्ने भएकोले, र सधैँभरि नै मानिसले स्वर्गको अवज्ञा गर्ने भएकोले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलमा पर्छ, र आफ्‍नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्‍ने हुनाले, मानिस सत्यतालाई बुझ्‍न र अनुभव गर्नमा माहिर नभएकोले, मानिस पावलप्रति अत्यन्तै भक्त भएकोले र उसले स्वर्गको अत्यन्तै लालच गर्ने हुनाले, मानिसले सधैँ ख्रीष्‍टलाई उसको आज्ञापालन गर्न लगाउने र परमेश्‍वरलाई हुकुम गर्ने हुनाले, ती महान् व्यक्तित्वहरू र संसारका विभिन्‍न घटनाहरूको अनुभव गर्नेहरू अझै पनि मरणशील नै छन्, र अझै पनि तिनीहरू परमेश्‍वरको सजायको दौरान नै मर्नेछन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्‍न सक्‍ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छ भन्‍ने हो। के तिनीहरूको असफलता स्वर्गको नियमको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्‍न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यतासम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भनी निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यतासम्‍बन्धी सफलता वा असफलताको कुरा पूर्ण रूपमा मानिसकै खोजीमा निर्भर हुन्छ। सत्यतासम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, यो कुरा त उसकै खोजीद्वारा निर्धारित हुन्छ। मानिसको गन्तव्य र उसको सफलता वा असफलताको जिम्वारी परमेश्‍वरले नै बोक्‍नुहोस् भनेर यसलाई परमेश्‍वरको टाउकोमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, यो त परमेश्‍वरका सृष्टिहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। पावल र पत्रुसका खोजी र गन्तव्यको बारेमा धेरैजसो मानिसहरूसँग थोरै ज्ञान छ, तैपनि उनीहरूलाई पत्रुस र पावलका परिणामहरूका बारेमा मात्रै थाहा छ, तर पत्रुसको सफलतापछाडिको रहस्य, वा पावललाई असफल तुल्याउने त्रुटिहरूको बारेमा तिनीहरू अनजान छन्। त्यसकारण, यदि तिमीहरू तिनीहरूको खोजीको सारलाई देख्‍न पूर्ण रूपमा असमर्थ छौ भने, तिमीहरूमध्ये धेरैजसोको खोजी असफल नै हुनेछ, र तिमीहरूमध्ये थोरै व्यक्तिहरू सफल भए भने पनि, तिनीहरू पत्रुस बराबर हुनेछैनन्। यदि तेरो खोजीको मार्ग सही छ भने, तँसँग सफलताको आशा हुन्छ; यदि सत्यताको खोजीमा तैँले हिँड्ने बाटो गलत छ भने, तँ सफलता पाउन सदासर्वदा नै असक्षम हुनेछस्, र तैँले पावलको जस्तै परिणाम भोग्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७६

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्याय अनुभव गरेर परमेश्‍वरप्रति विशुद्ध प्रेम प्राप्त गरिसकेपछि मात्रै तिनलाई पूर्ण रूपमा सिद्ध पारियो; तिनले हिँडेको मार्ग सिद्ध पारिने मार्ग थियो। भन्‍नुको अर्थ, सुरुदेखि नै, पत्रुसले हिँडेको मार्ग सही थियो, र परमेश्‍वरमा विश्‍वास गर्ने उनको उत्प्रेरणा सही थियो, र त्यसकारण तिनी सिद्ध पारिएका व्यक्ति बने र मानिसले पहिले कहिल्यै नहिँडेको मार्गमा तिनले पाइला चाले। तर, सुरुदेखि नै पावल हिँडेको मार्ग ख्रीष्टविरोधी मार्ग थियो, र पवित्र आत्माले तिनलाई प्रयोग गर्न र आफ्‍नो कार्यको लागि तिनका सबै प्रतिभा र योग्यताहरूको सदुपयोग गर्न चाहनुभएको हुनाले मात्रै, तिनले ख्रीष्टका लागि धेरै दशकसम्‍म काम गरे। तिनी पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्ति मात्रै थिए, र येशूले तिनको मानवतालाई निगाहको दृष्टिकोणले हेर्नुभएको कारणले नभई तिनका प्रतिभाहरूको कारण तिनलाई प्रयोग गरिएको थियो। तिनी येशूको लागि काम गर्न खुशी भएको कारणले नभई तिनलाई प्रहार गरिएको कारणले चाहिँ तिनले येशूको लागि काम गर्न सके। पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइको कारण तिनले त्यस्तो काम गर्न सके, अनि तिनले गरेको कामले कुनै पनि हालतमा तिनको खोजी वा तिनको मानवतालाई प्रतिनिधित्व गरेन। पावलको कार्यले सेवकको कार्यलाई प्रतिनिधित्व गर्‍यो, भन्‍नुको अर्थ, तिनले एक प्रेरितको रूपमा काम गरे। तर पत्रुस फरक थिए: तिनले पनि केही काम गरे; यो पावलको कामजत्तिकै महान् थिएन, तर तिनले आफ्‍नै प्रवेशको खोजी गर्दै काम गरे, अनि तिनको काम पावलको कामभन्दा फरक थियो। पत्रुसको काम परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको कर्तव्य पूरा गर्ने काम थियो। तिनले प्रेरितको भूमिकामा रहेर काम गरेनन्, बरु परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्दै काम गरे। पावलको कार्यको मार्गमा तिनको व्यक्तिगत खोजी पनि समावेश थियो: तिनको खोजी तिनले आफ्नो भविष्यको लागि गरेका आशाहरू र असल गन्तव्यको लागि तिनले गरेका इच्‍छाहरूको खातिर मात्र थियो। आफ्‍नो कामको अवधिमा तिनले शोधन स्वीकार गरेनन्, न त तिनले काटछाँट र निराकरण नै स्वीकार गरे। जबसम्‍म तिनले गर्ने कामले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छ, र जबसम्म तिनका सबै काम परमेश्‍वरलाई मन पर्छ, तबसम्‍म तिनलाई आखिरमा इनाम मिल्ने नै छ भन्‍ने विश्‍वास तिनको थियो। तिनको काममा कुनै व्यक्तिगत अनुभवहरू थिएनन्—यो सबै तिनको आफ्‍नै खातिर थियो, परिवर्तनको खोजीको सिलसिलामा गरिएको काम थिएन। तिनको काममा गरिएका सबै कुरा लेनदेन थियो, त्यसमा परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको कर्तव्य वा समर्पण केही पनि समावेश थिएन। पावलको कामको अवधिमा, तिनको पुरानो स्वभावमा कुनै परिवर्तन आएन। तिनको काम अरूको सेवाको लागि मात्रै थियो, र यसले तिनको स्वभावमा परिवर्तन ल्याउन सकेन। सिद्ध नपारिई वा निराकरण नभोगी नै प्रत्यक्ष रूपमा पावलले आफ्‍नो काम गरे र तिनी इनामद्वारा उत्प्रेरित थिए। पत्रुस फरक थिए: तिनी काटछाँट र निराकरण भोगेका र शोधित भएका व्यक्ति गए। पत्रुसको कामको उद्देश्य र उत्प्रेरणा आधारभूत रूपमै पावलको भन्दा फरक थिए। पत्रुसले धेरै मात्रामा काम नगरेका भए तापनि, तिनको स्वभावमा धेरै परिवर्तनहरू भए, र तिनले खोजी गरेको कुरा सत्यता र वास्तविक परिवर्तन थियो। तिनले कामकै खातिर मात्रै आफ्‍नो काम गरेका थिएनन्। पावलले धेरै काम गरेका भए तापनि, यो सबै पवित्र आत्‍माको कार्य थियो, र पावलले यो काममा सहकार्य गरेको भए तापनि, तिनले यसको अनुभव गरेनन्। पत्रुसले थोरै काम गर्नुको कारणचाहिँ पवित्र आत्माले तिनीमार्फत धेरै काम नगर्नुभएकोले गर्दा मात्र थियो। तर तिनीहरूले गरेको कामको मात्राले तिनीहरूलाई सिद्ध पारिने वा नपारिने कुरा निर्धारण गरेन; एउटाको खोजी इनामहरू प्राप्त गर्नको लागि थियो र अर्कोको खोजीचाहिँ परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न सुन्दर स्वरूपमा जिउन सक्‍ने हदसम्‍म परमेश्‍वरको निम्ति सर्वोत्तम प्रेम हासिल गर्न र परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नको लागि थियो। बाहिरी रूपमा तिनीहरू फरक थिए, र त्यसरी नै तिनीहरूका सार पनि फरक थिए। तिनीहरूमध्ये कसलाई सिद्ध पारियो भन्‍ने कुरा तिनीहरूले कति काम गरे भन्‍ने आधारमा तैँले निर्धारित गर्न सक्दैनस्। पत्रुसले परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको स्वरूपअनुसार जिउन, परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्‍न, निराकरण र काटछाँट स्वीकार गर्ने व्यक्ति बन्‍न, र परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्‍न खोजी गरे। तिनी आफैलाई परमेश्‍वरमा अर्पण गर्न, आफ्‍नो सम्पूर्णतालाई परमेश्‍वरको हातमा समर्पित गर्न, र मृत्युसम्‍मै उहाँको आज्ञापालन गर्न सक्षम थिए। यो नै तिनले गर्छु भनेर संकल्‍प गरेको कुरा थियो, र अझ भन्‍ने हो भने तिनले हासिल गरेको कुरा यही थियो। आखिरमा उनको अन्त्य किन पावलको भन्दा फरक भयो त्यसको आधारभूत कारण यही हो। पवित्र आत्‍माले पत्रुसमा गर्नुभएको काम तिनलाई सिद्ध पार्नको लागि थियो, तर पवित्र आत्‍माले पावलमा गर्नुभएको काम उनलाई प्रयोग गर्नको लागि थियो। किनभने तिनीहरूका प्रकृति र खोजीसम्‍बन्धी तिनीहरूका दृष्टिकोणहरू उस्तै थिएनन्। दुवैसँग पवित्र आत्‍माको कार्य थियो। पत्रुसले यो कार्यलाई आफैमा लागू गरे, र अरूलाई पनि यो प्रदान गरे; यसबीच, पावलले पवित्र आत्माको कार्यको सम्पूर्णता मात्रै अरूलाई प्रदान गरे, तर यसबाट आफूले केही पनि प्राप्त गरेनन्। यसरी, त्यति धेरै वर्षसम्‍म पवित्र आत्माको कार्यलाई अनुभव गरिसकेपछि पनि पावलमा लगभग अस्तित्वमै नरहने परिवर्तनहरू मात्र आएका थिए। तिनी अझै पनि लगभग तिनको प्राकृतिक स्थितिमै रहिरहेका थिए, र तिनी अझै पनि पहिलेकै पावल थिए। धेरै वर्षको कार्यको कठिनाइ भोगिसकेपछि तिनले कसरी “काम” गर्ने र दृढ रहने भन्‍ने मात्रै सिकेका थिए, तर तिनको पुरानो प्रकृति—तिनको अत्यन्तै प्रतिस्पर्धी र भरौटे प्रकृति—अझै पनि रहिरहेकै थियो। धेरै वर्षसम्‍म काम गरिसकेपछि पनि तिनले आफ्‍नो भ्रष्ट स्वभाव चिनेनन्, न त तिनले आफैलाई आफ्‍नो पुरानो स्वभावबाट अलग नै गरेका थिए, र यो अझै पनि तिनको काममा स्पष्टै देख्‍न सकिन्थ्यो। तिनमा कामको थप अनुभव मात्रै थियो, तर त्यति थोरै अनुभवले मात्रै तिनलाई परिवर्तन गर्न सक्दैनथ्यो र अस्तित्वसम्बन्धी तिनका दृष्टिकोणहरू वा तिनको खोजीको महत्त्व बदल्न सक्दैनथ्यो। तिनले ख्रीष्‍टको निम्ति धेरै वर्ष काम गरेका र फेरि प्रभु येशूलाई कहिल्यै नसताएका भए तापनि, तिनको हृदयभित्र परमेश्‍वरसम्‍बन्धी ज्ञानमा कुनै परिवर्तन आएको थिएन। यसको अर्थ तिनले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि काम गरेनन्, बरु तिनी आफ्‍नो भविष्यको गन्तव्यको लागि काम गर्न बाध्य थिए भन्‍ने हुन्छ। किनभने, सुरुमा उनले ख्रीष्‍टलाई सताए, र तिनी ख्रीष्‍टमा समर्पित भएनन्; तिनी अन्तर्निहित रूपमै ख्रीष्‍टलाई जानीजानी विरोध गर्ने विद्रोही, र पवित्र आत्‍माको कामको बारेमा कुनै ज्ञान नभएको व्यक्ति थिए। उनको काम लगभग समाप्त हुन लागेको बेला पनि, तिनलाई पवित्र आत्‍माको कार्यको बारेमा थाहा थिएन, र तिनले पवित्र आत्‍माको इच्‍छालाई अलिकति पनि ध्यान नदिईकन आफ्‍नै चरित्रअनुसार काम मात्रै गरे। त्यसकारण उनको प्रकृति ख्रीष्टप्रति शत्रुवत् थियो र त्यसले सत्यता पालना गरेन। पवित्र आत्‍माको कार्यले त्यागेको, पवित्र आत्‍माको कार्यलाई नचिन्‍ने, र ख्रीष्‍टलाई पनि विरोध गर्ने यस्तो कुनै व्यक्तिले कसरी मुक्ति पाउन सक्छ र? मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले कति धेरै काम गर्छ, वा ऊ कति धेरै समर्पित हुन्छ भन्‍ने कुरामा निर्भर हुँदैन, यसलाई त उसले पवित्र आत्माको कामलाई चिनेको छ कि छैन, उसले सत्यतालाई अभ्यास गर्न सक्छ कि सक्दैन र खोजीसम्‍बन्धी उसको दृष्टिकोण सत्यतासँग मिल्छ कि मिल्दैन भन्‍ने कुराले निर्धारित गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७७

पत्रुसले येशूलाई पछ्याउन थालेपछि प्राकृतिक प्रकाशहरू देखा परेका भए तापनि, प्रकृतिको हिसाबमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको खोजी गर्न इच्‍छुक व्यक्ति थिए। पवित्र आत्‍माप्रतिको तिनको आज्ञापालन विशुद्ध थियो: तिनले ख्याति र सम्पत्तिको खोजी गरेनन्, तिनी त सत्यपालनद्वारा उत्प्रेरित थिए। तीनपटक पत्रुसले ख्रीष्टलाई चिनेकोबारे इन्कार गरेका भए तापनि, र तिनले प्रभु येशूको परीक्षा गरेका भए तापनि, तिनको प्रकृतिसँग त्यस्तो हल्का मानव कमजोरीको कुनै सम्‍बन्ध थिएन, यसले तिनको भविष्यको खोजीलाई कुनै प्रभाव पारेन, र यसले तिनको परीक्षा ख्रीष्टविरोधीको कार्य थियो भनेर पर्याप्त रूपमा प्रमाणित गर्दैन। सामान्य मानव कमजोरी संसारका सबै मानिसहरूमा हुने कुरा हो—के तँ पत्रुस योभन्दा फरक थिए भन्‍ने अपेक्षा गर्छस्? पत्रुसले धेरै मूर्खतापूर्ण गल्तीहरू गरेका हुनाले के मानिसहरूले तिनको बारेमा केही निश्‍चित दृष्टिकोणहरू राख्दैनन् र? अनि पावलले गरेका सबै काम र तिनले लेखेका सबै पत्रहरूका कारण के मानिसहरूले तिनलाई श्रद्धा गर्दैनन् र? मानिस कसरी मानिसको सारलाई देख्‍न सक्षम हुन्थ्यो र? अवश्य नै जोसँग साँचो समझ हुन्छ, के तिनीहरूले त्यति सानो कुरा देख्‍न सक्छन् र? पत्रुसको धेरै वर्षको पीडादायी अनुभवको बारेमा बाइबलमा विवरण नदिइएको भए तापनि, यसले पत्रुससँग वास्तविक अनुभवहरू थिएनन् वा पत्रुस सिद्ध पारिएका थिएनन् भन्‍ने प्रमाणित गर्दैन। परमेश्‍वरको कार्यलाई मानिसले कसरी पूर्ण रूपमा बुझ्‍न सक्छ? बाइबलमा दिइएका विवरणहरू येशूले व्यक्तिगत रूपमा छनौट गर्नुभएको थिएन, ती विवरण त पछिका पुस्ताहरूले सङ्ग्रहित गरेका थिए। त्यसो भएको हुँदा, के बाइबलमा भएका सबै विवरणहरू मानिसका विचारअनुसार चुनिएका थिएनन् र? यसअलावा, पत्रुस र पावलको अन्त्यलाई पत्रहरूमा स्पष्ट रूपमा उल्‍लेख गरिएको छैन, त्यसकारण मानिसले पत्रुस र पावललाई उसका आफ्‍नै दृष्टिकोण र उसका आफ्‍नै रुचिहरूअनुसार मूल्याङ्कन गर्छ। अनि पावलले धेरै काम गरेका हुनाले, उनका “योगदानहरू” अत्यन्तै धेरै भएकाले, धेरैको तिनको भरोसा गरे। के मानिस सतही कुरामा मात्रै केन्द्रित हुँदैन र? मानिस कसरी मानिसको सार देख्‍न सक्षम हुन्थ्यो र? पावल हजारौं वर्षदेखि आराधनाको पात्र बनेको कुरालाई ध्यानमा राख्दा, तिनको कार्यलाई हतारमा इन्कार गर्ने आँट कसले गर्छ र? पत्रुस एक मछुवा मात्रै थिए, त्यसकारण उनको योगदान कसरी पावलको जत्तिकै महान् हुन सक्थ्यो र? तिनीहरूले गरेका योगदानहरूको हिसाबमा, पावललाई पत्रुसभन्दा पहिले इनाम दिइनुपर्नेथ्यो, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्नको लागि तिनी अझै बढी योग्य हुनुपर्नेथ्यो। पावललाई व्यवहार गर्ने क्रममा परमेश्‍वरले तिनका प्रतिभाहरूद्वारा मात्रै तिनलाई काम गर्न लगाउनुभयो, जबकि परमेश्‍वरले पत्रुसलाई सिद्ध पार्नुभयो भनेर कसले कल्‍पना गर्न सक्थ्यो र? प्रभु येशूले सुरुदेखि नै पत्रुस र पावलको लागि योजना बनाउनुभएको थियो भन्‍ने कुरा साँचो हुँदै होइन: बरु, तिनीहरूका अन्तर्निहित प्रकृतिअनुसार नै तिनीहरूलाई सिद्ध तुल्याइयो वा काममा लगाइयो। त्यसकारण, मानिसहरूले देख्‍ने भनेको मानिसका बाहिरी योगदानहरू मात्रै हुन्, जबकि परमेश्‍वरले मानिसको सारका साथै मानिसले सुरुदेखि नै पछ्याउने मार्ग र मानिसको खोजीको पछाडि रहेको उत्प्रेरणालाई देख्‍नुहुन्छ। मानिसहरूले कुनै पनि मानिसलाई तिनीहरूका आफ्नै धारणा र तिनीहरूका आफ्‍नै दृष्टिकोणअनुसार मापन गर्छन्, तैपनि मानिसको आखिरी अन्त्य उसका बाहिरी कुराहरूअनुसार निर्धारित हुँदैन। त्यसकारण, यदि तैँले सुरुबाटै लिने मार्ग सफलताको मार्ग हो, र खोजीप्रतिको तेरो दृष्टिकोण सुरुदेखि नै सही छ भने, तँ पत्रुसजस्तै होस्; यदि तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो भने, तैँले जेसुकै मूल्य चुकाए तापनि, तेरो अन्त्य अझै पनि पावलको जस्तै हुनेछ। जेसुकै भए तापनि, तेरो गन्तव्य के हुनेछ, र तँ सफल वा असफल हुनेछस् भन्‍ने दुवै कुरा तैँले हिँड्ने बाटो सही छ कि छैन भन्‍ने कुराले निर्धारित गर्छ, तेरो भक्ति वा तैँले चुकाउने मूल्यले निर्धारित गर्दैन। पत्रुस र पावलको सार, र तिनीहरूले पछ्याएका लक्ष्यहरू फरकफरक थिए; मानिसले यी कुराहरूलाई पत्ता लगाउन सक्दैन, र परमेश्‍वरले मात्रै यी कुराहरूलाई पूर्ण रूपमा जान्‍न सक्‍नुहुन्छ। किनभने परमेश्‍वरले मानिसको सार देख्‍नुहुन्छ, जबकि मानिसलाई उसको आफ्‍नै सारको बारेमा केही पनि थाहा हुँदैन। मानिसले मानिसभित्रको सार वा उसको वास्तविक कदलाई देख्‍न सक्दैन, तसर्थ उसले पावल र पत्रुसको असफलता र सफलताका कारणहरू पहिचान गर्न सक्दैन। धेरैजसो मानिसहरूले पत्रुसलाई नभई पावललाई आराधना गर्नुको कारण यो हो कि पावललाई सार्वजनिक कार्यको लागि प्रयोग गरिएको थियो र मानिसले यो कार्यलाई बुझ्‍न सक्छ, र त्यसकारण मानिसहरूले पावलका “उपलब्धिहरूलाई” स्वीकार गर्छन्। तर, पत्रुसका अनुभवहरू मानिसका लागि अदृश्य छन्, र तिनले जे कुराको खोजी गरे त्यसलाई कुनै पनि मानिसले प्राप्त गर्न सक्दैन, र त्यसैले मानिसमा पत्रुसप्रति कुनै चासो छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७८

निराकरण र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। तिनले भने, “मैले सधैँ परमेश्‍वरका इच्‍छाहरू सन्तुष्ट पार्नुपर्छ। मैले गर्ने सबै कुरामा म परमेश्‍वरका इच्‍छा मात्रै सन्तुष्ट तुल्याउने प्रयास गर्छु, र मलाई दण्ड वा न्याय गरिए पनि, म त्यसो गर्न खुशी नै हुन्छु।” पत्रुसले परमेश्‍वरलाई आफ्‍नो सम्पूर्णता दिए, र उनका काम, वचन, र सम्पूर्ण जीवन सबै नै परमेश्‍वरलाई प्रेम गर्नको खातिर थिए। तिनी पवित्रताको खोजी गर्ने व्यक्ति थिए, र तिनले जति धेरै अनुभव गरे, तिनको हृदयभित्रको गहिराइमा परमेश्‍वरप्रतिको तिनको प्रेम त्यति नै ठूलो बन्यो। यसबीच, पावलले बाहिरी काम मात्रै गरे, र तिनले पनि कठिन परिश्रम नै गरेका भए तापनि, तिनका परिश्रमहरू आफ्‍नो काम उचित रूपमा गरेर इनाम प्राप्त गर्नको खातिर थिए। तिनले कुनै पनि इनाम प्राप्त गर्नेछैनन् भन्‍ने तिनलाई थाहा भएको भए, तिनले आफ्‍नो काम छोड्नेथिए। पत्रुसलाई आफ्‍नो हृदयभित्रको साँचो प्रेमको बारेमा, र व्यवहारिक र हासिल गर्न सकिने कुरामा मात्रै चासो थियो। तिनले इनाम प्राप्त गर्नेछन् कि छैनन् भन्‍ने बारेमा नभई तिनको स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने विषयमा तिनलाई चासो थियो। पावललाई सधैँ कठिन परिश्रम गर्नेबारेमा चासो थियो, तिनलाई बाहिरी काम र भक्तिको बारेमा चासो थियो, र सामान्य मानिसहरूले अनुभव नगरेका धर्मसिद्धान्तहरूका बारेमा चासो थियो। तिनलाई आफ्‍नो अन्तस्करणमा हुने परिवर्तनहरूका बारेमा चासो थिएन, न त परमेश्‍वरप्रतिको साँचो प्रेमको बारेमा नै चासो थियो। पत्रुसका अनुभवहरू परमेश्‍वरप्रतिको साँचो प्रेम र साँचो ज्ञान हासिल गर्नको लागि थियो। तिनका अनुभवहरू परमेश्‍वरसँग अझै घनिष्ठ सम्‍बन्ध प्राप्त गर्न, र व्यावहारिक जियाइ प्राप्त गर्नको लागि थियो। पावलका कामहरू येशूले तिनलाई सुम्‍पिनुभएको कारण र तिनले तृष्णा गरेका कुराहरू प्राप्त गर्नको लागि गरिएका थिए, तर ती काम तिनको आफ्नै बारेको ज्ञान र परमेश्‍वरबारेको ज्ञानसँग सम्‍बन्धित थिएनन्। तिनको कार्य सजाय र न्यायबाट उम्‍कनको खातिर मात्रै थियो। पत्रुसले खोजेको चोखो प्रेम थियो, तर पावलले खोजेको धार्मिकताको मुकुट थियो। पत्रुसले धेरै वर्ष पवित्र आत्‍माको कार्य अनुभव गरेका थिए, र तिनमा ख्रीष्‍टको बारेमा व्यवहारिक ज्ञानका साथै आफ्‍नै बारेमा पनि गहन ज्ञान थियो। त्यसकारण, परमेश्‍वरप्रतिको तिनको प्रेम चोखो थियो। धेरै वर्षको शोधनले येशू र जीवनसम्‍बन्धी उनको ज्ञानलाई उच्‍च पारेको थियो, र तिनको प्रेम निसर्त प्रेम थियो, यो स्वतस्फूर्त प्रेम थियो, र तिनले सट्टामा केही पनि मागेनन्, न त तिनले कुनै लाभहरूको आशा नै गरे। पावलले धेरै वर्षसम्‍म काम गरे, तैपनि तिनमा ख्रीष्‍टसम्‍बन्धी ठूलो ज्ञान थिएन, र तिनको आफ्‍नै बारेको ज्ञान निकै सानो थियो। ख्रीष्टप्रति तिनमा प्रेम नै थिएन, र तिनको काम र तिनले दौडेको दौड आखिरी सम्मान प्राप्त गर्नको लागि थियो। तिनले खोजेको कुरा उत्तम मुकुट थियो, विशुद्ध प्रेम थिएन। तिनले सक्रिय रूपमा होइन, निष्क्रिय रूपमा खोजी गरे; तिनले आफ्‍नो कर्तव्य निभाइरहेका थिएनन्, तर पवित्र आत्‍माको कार्यले तिनलाई आफ्‍नो पकडमा लिइसकेपछि तिनी खोजी गर्न बाध्य भए। त्यसकारण, तिनको खोजीले तिनी परमेश्‍वरले सृष्टि गर्नुभएको योग्य प्राणी थिए भन्‍ने प्रमाणित गर्दैन; परमेश्‍वरले सृष्टि गर्नुभएको योग्य प्राणी त पत्रुस नै थिए जसले आफ्‍नो कर्तव्य पूरा गरे। परमेश्‍वरको निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ भनेर मानिसले सोच्छ, र योगदान जति ठूलो हुन्छ, त्यति नै बढी तिनीहरूले परमेश्‍वरको निगाह प्राप्त गर्नुपर्छ भनेर भन्‍ने गरिन्छ। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र परमेश्‍वरले सृष्टि गर्नुभएको प्राणीको रूपमा उसले आफ्‍नो कर्तव्य सक्रिय रूपमा निर्वाह गर्ने प्रयास गर्दैन। परमेश्‍वरको लागि, मानिसहरूले जति बढी परमेश्‍वरप्रति साँचो प्रेम र परमेश्‍वरप्रति पूर्ण आज्ञापालन गर्न खोज्छन्—अर्थात्, परमेश्‍वरले सृष्टि गर्नुभएको प्राणीको रूपमा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न खोज्छन् भने—तिनीहरूले त्यति नै बढी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। परमेश्‍वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र प्रतिष्ठालाई पुनर्प्राप्त गर्न लगाउनु हो। मानिस परमेश्‍वरको सृष्टि हो, र त्यसकारण मानिसले परमेश्‍वरबाट कुनै पनि मागहरू गरेर आफैलाई नाघ्‍नु हुँदैन, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई पूरा गर्नेबाहेक अरू केही पनि गर्नु हुँदैन। पावल र पत्रुसको गन्तव्यको मापन परमेश्‍वरको सृष्टिको रूपमा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सके कि सकेनन् भन्‍ने कुराअनुसार गरियो, तिनीहरूका योगदानको आकारअनुसार गरिएन; तिनीहरूले सुरुदेखि नै जे कुराको खोजी गरे त्यसअनुसार तिनीहरूको गन्तव्य निर्धारित भयो, तिनीहरूले कति धेरै काम गरे, वा अरू मानिसहरूले तिनीहरूको मुल्याङ्कन कसरी गरे त्यसअनुसार निर्धारित भएन। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा आफ्‍नो कर्तव्यलाई सक्रियताको साथ पूरा गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेमको मार्ग खोज्‍नु नै सबैभन्दा सही मार्ग हो; आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्न खोज्‍नु, र परमेश्‍वरप्रतिको चोखो प्रेमको खोजी गर्नु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै परमेश्‍वरको सृष्टिको रूपमा रहेको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्त गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कार्यको उद्देश्य पनि यही नै हो। यदि मानिसको खोजी व्यक्तिगत लालची मागहरू र तर्कहीन आकांक्षाहरूले कलङ्कित छ भने, हासिल हुने प्रभाव मानिसको स्वभावमा हुने परिवर्तन हुनेछैन। यो पुनर्प्राप्तिको कार्यको विपरीत हुन्छ। यो अवश्य नै पवित्र आत्माले गर्नुहुने काम होइन, र त्यसकारण यस प्रकारको खोजीलाई परमेश्‍वरले स्वीकृति दिनुहुन्‍न भन्‍ने कुरा यसले प्रमाणित गर्छ। परमेश्‍वरले स्वीकृति नदिनुभएको खोजीको के महत्त्व हुन्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७९

पावलले गरेका काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्‍वरप्रतिको तिनको प्रेम कति चोखो थियो र तिनले आफ्‍नो हृदयको अन्तस्करणमा परमेश्‍वरलाई कति धेरै प्रेम गर्थे—मानिसले यी कुराहरू देख्‍न सक्दैन। तिनले गरेको काम मात्रै मानिसले देख्‍न सक्छ, जसद्वारा मानिसले तिनी अवश्य नै पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए भन्‍ने जान्‍दछ, र त्यसकारण मानिसले सोच्छ कि पावल पत्रुसभन्दा उत्तम थिए र तिनको काम पावलको भन्दा महान् थियो, किनभने तिनले मण्डलीहरूलाई आवश्यक पोषण प्रदान गर्न सकेका थिए। पत्रुसले आफ्‍नो व्यक्तिगत अनुभवहरूलाई मात्रै हेरे र उनले बेलाबेलामा गर्ने कामको अवधिमा थोरै मानिसहरूलाई मात्रै प्राप्त गरे। तिनका एकदुई वटा त्यति परिचित नरहेका पत्रहरू मात्रै छन्, तर तिनको हृदयको अन्तस्करणमा परमेश्‍वरको लागि कति महान् प्रेम थियो भन्‍ने कुरा कसलाई थाहा छ र? पावलले दिनरात परमेश्‍वरको लागि काम गर्थे: गर्नुपर्ने काम हुन्जेलसम्म उनले त्यो काम गर्थे। यसरी काम गर्दा तिनले मुकुट प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍नेछन् भन्‍ने तिनलाई लागेको थियो, तर तिनले आफ्‍नो कामद्वारा आफैमा परिवर्तन ल्याउने तरिकाहरूको खोजी गरेनन्। पत्रुसलाई भने परमेश्‍वरको चाहनालाई सन्तुष्ट नगर्ने तिनको जीवनको कुनै पनि कुराले असहज महसुस गराउँथ्यो। यदि यसले परमेश्‍वरको चाहनालाई सन्तुष्ट पार्दैनथ्यो भने, तिनले ग्लानिको अनुभव गर्थे, र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास गर्नको लागि तिनले उचित मार्गको खोजी गर्थे। तिनले आफ्नो जीवनको सबैभन्दा सानो र महत्त्वहीन पक्षहरूमा समेत आफैलाई परमेश्‍वरको चाहना सन्तुष्ट पार्न लगाउँथे। आफ्‍नो पुरानो स्वभावको हकमा पनि तिनको मापदण्ड कम थिएन, त्यसैले तिनले सत्यतामा अझै गहन रूपमा अघि बढ्नको लागि आफैलाई झन्-झन् कठिन मापदण्डहरू दिन्थे। तर पावलले सतही सम्‍मान र हैसियत मात्रै खोज्थे। तिनले आफैलाई मानिसको अघि प्रदर्शन गर्न खोज्थे, र जीवन प्रवेशमा कुनै पनि गहन प्रगति गर्ने प्रयास गर्दैनथे। तिनलाई वास्तविकताको होइन धर्मसिद्धान्तको चासो थियो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको लागि पावलले धेरै काम गरे, तर किन तिनलाई परमेश्‍वरले सम्झनुभएन? पत्रुसले परमेश्‍वरको लागि थोरै कामबाहेक केही पनि गरेनन्, र मण्डलीहरूप्रति ठूलो योगदान दिएनन्, अनि किन तिनलाई नै सिद्ध पारियो?” परमेश्‍वरले आवश्यक गर्नुभएको निश्‍चित विन्दुसम्‍म पत्रुसले परमेश्‍वरलाई प्रेम गरे; यस्ता मानिसहरूसित मात्रै गवाही हुन्छ। पावलको विषयमा के भन्‍ने? कुन हदसम्‍म पावलले परमेश्‍वरलाई प्रेम गरे? के तँलाई थाहा छ? पावलको काम केको लागि गरियो? अनि पत्रुसको काम केको लागि गरियो? पत्रुसले त्यति धेरै काम गरेनन्, तर तिनको हृदयको अन्तस्करणभित्र के थियो, तँलाई थाहा छ? पावलको काम मण्डलीहरूको निम्ति प्रावधान, र मण्डलीहरूको सहयोगसँग सम्‍बन्धित थियो। पत्रुसले अनुभव गरेका कुराहरूचाहिँ तिनको जीवन स्वभावका परिवर्तनहरू थिए; तिनले परमेश्‍वरप्रतिको प्रेम अनुभव गरे। तिनीहरूका सारका भिन्‍नताहरू अब तँलाई थाहा भएको हुनाले, के तँ आखिरमा कसले साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्‍यो, र कसले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेन भनी देख्‍न सक्छस्? तिनीहरूमध्ये एकजनाले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्‍यो, तर अर्कोले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेन; एकजनाको स्वभाव परिवर्तन भयो, तर अर्कोको भएन; एउटाले नम्रताको साथ सेवा गर्‍यो, र ऊ सजिलोसित मानिसहरूको दृष्टिमा परेन, तर अर्कोलाई मानिसहरूले आराधना गरे, र ऊ ठूलो छवि भएको व्यक्ति थियो; एउटाले पवित्रताको खोजी गर्‍यो, तर अर्कोले खोजी गरेन, र ऊ अशुद्ध नै चाहिँ नभए पनि उसमा चोखो प्रेम थिएन; एकजनामा साँचो मानवता थियो, तर अर्कोमा थिएन; एकजनामा परमेश्‍वरले सृष्टि गर्नुभएको प्राणीको समझ थियो, र अर्कोमा थिएन। पावल र पत्रुसको सारमा रहेका भिन्‍नताहरू यिनै हुन्। पत्रुसले हिँडेको मार्ग सफलताको मार्ग थियो, जुन सामान्य मानवता पुनर्प्राप्त गर्ने र परमेश्‍वरको सृष्टिको कर्तव्य पुनर्प्राप्त गर्ने मार्ग पनि थियो। पत्रुसले तिनीहरू सबैलाई प्रतिनिधित्व गर्छन् जो सफल छन्। पावलले हिँडेको मार्ग असफलताको मार्ग थियो, र तिनले आफू स्वयमलाई सतही रूपमा समर्पित र अर्पित गर्ने, अनि परमेश्‍वरलाई सच्‍चा प्रेम नगर्नेहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पावलले तिनीहरू सबैलाई प्रतिनिधित्व गर्छन्, जोसँग सत्य छैन। परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुरालाई पालना गर्न खोजे। अलिकति पनि गुनासो नगरीकन, तिनले सजाय र न्यायका साथै शोधन, संकष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरप्रतिको तिनको प्रेम बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको कर्तव्य पूरा भएको अवस्था थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै आज्ञापालन हासिल गर्न सक्छस्, र परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीले हासिल गर्नुपर्ने यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ परमेश्‍वरले सृष्टि गर्नुभएको योग्य प्राणी हो, र सृष्टिकर्ताको चाहनालाई उसले भन्दा राम्ररी सन्तुष्ट पार्ने अरू केही हुँदैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तर तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी त तैँले परमेश्‍वरको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहर्‍याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जसले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैन, र जो परमेश्‍वरप्रति अनाज्ञाकारी छ। तैँले परमेश्‍वरको लागि काम गर्नेबारेमा मात्रै चासो लिन्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍नेबारेमा चासो लिँदैनस्। तैँले सृष्टिकर्तालाई बुझ्न वा चिन्‍न सक्दैनस्, र सृष्टिकर्ताको आज्ञापालन गर्ने वा उहाँलाई प्रेम गर्ने गर्दैनस्। तँ परमेश्‍वरप्रति अन्तर्निहित रूपमै अनाज्ञाकारी रहेको व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४८०

कतिपय मानिसहरू भन्छन्, “पावलले ठूलो मात्रामा काम गरे, र मण्डलीहरूका लागि तिनले ठूलो भार थामे र तिनीहरूका निम्ति धेरै योगदान दिए। पावलका तेह्र वटा पत्रहरूले २,००० वर्षको अनुग्रहको युग धान्यो र ती पत्रहरू सुसमाचारका चार पुस्तकको तुलनमा मात्र दोस्रोमा गनिन्छन्। कसलाई तिनीसित तुलना गर्न सकिन्छ? यूहन्‍नाको प्रकाशको पुस्तकलाई कसैले पनि अर्थ्याउन सक्दैन, जबकि पावलका पत्रहरूले जीवन प्रदान गर्छन्, र तिनले गरेको काम मण्डलीहरूका लागि लाभदायक थियो। अरू कसले यस्ता कुराहरू हासिल गर्न सक्थ्यो र? अनि पत्रुसले के नै काम गर्‍यो र?” जब मानिसले अरूको मापन गर्छ, उसले तिनीहरूको योगदानअनुसार नै मापन गर्छ। जब परमेश्‍वरले मानिसको मापन गर्नुहुन्छ, उहाँले मानिसको प्रकृतिअनुसार मापन गर्नुहुन्छ। जीवनको खोजी गर्नेहरूमध्ये, पावल आफ्‍नै सार थाहा नभएका व्यक्ति थिए। तिनी नम्र वा आज्ञाकारी थिँदै थिएनन्, न त तिनलाई परमेश्‍वरको विरोधमा रहेको आफ्नो सारबारे नै थाहा थियो। त्यसैले, तिनी विस्तृत अनुभवहरूबाट नगुज्रेका र सत्यतालाई अभ्यास नगरेका व्यक्ति थिए। तर पत्रुस फरक थिए। तिनलाई आफ्‍ना असिद्धता, कमजोरी, र परमेश्‍वरको सृष्टिको रूपमा आफूमा रहेको भ्रष्ट स्वभावको बारेमा थाहा थियो, र त्यसकारण उनमा आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर कुनै वास्तविकता नभएकाहरूमध्येका एक थिएनन्। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिसहरू हुन्, तिनीहरू सत्यताको खोजी गर्नको लागि योग्य मानिसहरू हुन्। परिवर्तन नहुने मानिसहरू प्राकृतिक रूपमै थोत्रा मानिसहरू हुन्; तिनीहरू मुक्ति नपाएका, अर्थात् परमेश्‍वरले तिरस्कार र इन्कार गर्नुभएका मानिसहरू हुन्। तिनीहरूको काम जति नै ठूलो भए तापनि तिनीहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछैन। जब तँ यसलाई तेरो आफ्‍नै खोजीसँग तुलना गर्छस्, तब तँ आखिर पत्रुसजस्तो व्यक्ति होस् कि पावल जस्तो व्यक्ति होस्, स्पष्ट हुन्छ। तैँले जे खोजी गर्छस् त्यसमा अझै पनि कुनै सत्यता छैन भने, र आज समेत तँ पावलजस्तै अहङ्कारी र अटेरी छस्, र अझै पनि तिनीजस्तै गफ हाँक्‍ने र धाक लाउने छस् भने, तँ अवश्य नै असफल हुने पथभ्रष्ट व्यक्ति होस्। यदि तँ पत्रुसले खोजी गरेकै कुरा खोज्छस्, यदि तँ अभ्यासहरू र साँचो परिवर्तनहरूको खोजी गर्छस्, अनि तँ अहङ्कारी वा हठी छैनस्, तर तैँले आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, तँ विजय हासिल गर्न सक्‍ने परमेश्‍वरको सृष्टि बन्‍नेछस्। पावललाई आफ्‍नो सार वा भ्रष्टताको बारेमा थाहा थिएन, तिनलाई आफ्‍नै अवज्ञाको बारेमा थाहा हुने त कुरै नगरौँ। ख्रीष्‍टप्रतिको तिनको घृणित अवज्ञालाई तिनले कहिल्यै उल्‍लेख गरेनन्, न त तिनले अत्यन्तै अफसोस नै गरेका थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र तिनी आफ्‍नो हृदयको अन्तस्करणमा परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्‍नु र आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण मामिलाको रूपमा लिएनन्। तिनी सत्यता बोल्‍नुमा, आफ्‍नो विवेकको मलमको रूपमा अरूको लागि आवश्यक पोषण प्रदान गर्नुमा, र आफ्‍नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यसउप्रान्त नसताउनुमा नै सन्तुष्ट थिए। तिनले पछ्याएको लक्ष्य भविष्यको मुकुट र सङ्क्रमणकालीन कार्यभन्दा अरू केही थिएन, उनले पछ्याएको लक्ष्य प्रशस्‍त अनुग्रह प्राप्त गर्नु थियो। तिनले पर्याप्त सत्यतालाई खोजी गरेनन्, न त तिनी पहिले आफूले नबुझेको सत्यतामा अझै गहन रूपमा अघि बढ्न नै खोजे। त्यसकारण तिनको आफ्‍नो बारेको ज्ञानलाई झूट भनेर भन्‍न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्‍नो प्रकृति वा सारको ज्ञान थियो भन्‍ने हुँदैन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसअलावा, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले सुरुदेखि नै गर्ने भनी अठोट गरेको कुरा थिएन, न त तिनले आफ्नो पुरानो स्वभावको काटछाँट स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनले विगतमा गरेका पापहरूको प्रायश्‍चित गरेन, त्यो समयका निश्‍चित मण्डलीहरूमाझ कही निश्‍चित भूमिका मात्रै निर्वाह गर्‍यो। यस्तो व्यक्ति जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्‍नुको अर्थ, जसले मुक्ति प्राप्त गरेन र जसमा सत्यताको झन् धेरै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गर्नुभएकाहरूमध्ये एक बन्‍न सक्दैनथे। तिनी येशू ख्रीष्‍टप्रतिको प्रेम र श्रद्धाले भरिएका व्यक्ति थिएनन्, न त तिनी सत्यताको खोजी गर्नमा सिपालु व्यक्ति नै थिए, तिनी देहधारणको रहस्यलाई खोज्‍ने व्यक्ति थिए भन्‍ने त कुरै नगरौं। तिनी शब्दजालमा निपुर्ण रहेका व्यक्ति मात्रै थिए, र आफूभन्दा उच्‍च वा सत्यता भएका कसैप्रति पनि समर्पित नहुने व्यक्ति थिए। आफ्नो विपरीत वा आफूप्रति शत्रुवत रहेका मानिसहरू वा सत्यताहरूप्रति तिनी डाहा गर्थे, र महान् छवि प्रस्तुत गर्ने र गहन ज्ञान भएका प्रतिभावान् मानिसहरूलाई रुचाउँथे। साँचो मार्गको खोजी गर्ने र सत्यताबाहेक अरू केही कुरामा चासो नदिने गरिब मानिसहरूसँग कुराकानी गर्न तिनलाई मन पर्दैनथ्यो, बरु धर्मसिद्धान्तहरूको बारेमा मात्रै कुरा गर्ने र प्रशस्‍त ज्ञान भएका धार्मिक संस्थाका उच्‍च पदाधिकारीहरूसँग उठबस गर्नमा चासो राख्‍थे। पवित्र आत्माको नयाँ कार्यप्रति तिनीसँग कुनै प्रेम थिएन र पवित्र आत्माको नयाँ कार्यको अभियानमा तिनलाई चासो थिएन। बरु, आम सत्यताहरूभन्दा माथि रहेका नियम र धर्मसिद्धान्तहरूलाई नै तिनी मन पराउँथे। तिनको जन्मजात सार र तिनको खोजीको सम्पूर्णतालाई हेर्दा, तिनलाई सत्यताको खोजी गर्ने इसाई भनेर भन्‍नु योग्य हुँदैन, परमेश्‍वरको घरको विश्‍वासयोग्य सेवक भनेर भन्‍नु त झन् योग्य हुने कुरै आउँदैन, किनभने तिनको ढोँगीपन अत्यन्तै धेरै थियो, र तिनको अवज्ञा अत्यन्तै ठूलो थियो। तिनी प्रभु येशूको सेवकको रूपमा चिनिए तापनि, तिनी स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न योग्य थिएनन्, किनभने सुरुदेखि अन्त्यसम्‍मका तिनका कार्यहरूलाई धर्मी भनेर भन्‍न सकिँदैन। तिनलाई पाखण्डी र अधर्म गर्ने, तर ख्रीष्टको लागि पनि काम गर्ने व्यक्तिको रूपमा मात्रै हेर्न सकिन्छ। तिनलाई दुष्ट भनेर भन्‍न नसकिए तापनि, तिनलाई अधर्म गर्ने मानिस भनेर भन्‍नु उपयुक्त नै हुन्छ। तिनले धेरै काम गरे, तैपनि तिनलाई तिनले गरेको कामको मात्राको आधारमा होइन, त्यसको गुणस्तर र सारको आधारमा मात्रै मूल्याङ्कन गरिनुपर्छ। यसरी मात्रै यस विषयको भित्रसम्म पुग्‍न सम्‍भव हुन्छ। तिनले सधैँ यस्तो विश्‍वास गरे: “म काम गर्न सक्षम छु; म धेरैजसो मानिसहरूभन्दा उत्तम छु; मैले प्रभुको बोझलाई जति विचार पुर्‍याउनु सक्छु त्यति कसैले पनि सक्दैन, र मैले जत्तिको गहन रूपमा कसैले पनि पश्‍चात्ताप गर्दैन, किनभने महान्‌ ज्योति ममाथि चम्किएको छ, र मैले महान्‌ ज्योति देखेको छु, र त्यसकारण मेरो पश्‍चात्ताप अरू कसैको भन्दा गहन छ।” त्यो बेला, उनले आफ्‍नो हृदयमा यही सोचे। आफ्‍नो कामको अन्त्यतिर, पावलले भने: “मैले लडाइ लडेको छु, मैले मेरो दौड सिध्याएको छु, र मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” तिनको लडाइ, काम, र यात्रा पूर्ण रूपमा धार्मिकताको मुकुटकै खातिर थियो, र तिनी सक्रिय रूपमा अघि बढेनन्। आफ्‍नो काममा तिनी झारातिरुवा नरहेको भए तापनि, तिनले आफ्‍ना गल्तीहरूको पूर्ति गर्न, आफ्नो विवेकका ग्‍लानिहरूको भरपाई गर्न मात्रै काम गरेका थिए भनेर भन्‍न सकिन्छ। तिनले आफूले तृष्णा गरेको धार्मिकताको मुकुटलाई चाँडोभन्दा चाँडो प्राप्त गर्न सकूँ भनेर सक्दो चाँडो आफ्‍नो काम सिध्याउने, दौड पूरा गर्ने, र लडाइ लड्ने आशा मात्रै गरेका थिए। तिनले आफ्‍ना अनुभवहरू र साँचो ज्ञानमार्फत प्रभु येशूलाई भेट्ने चाहना गर्नुको सट्टा आफ्नो कामले कमाएका इनामहरू प्रभु येशूलाई भेट्नेबित्तिकै प्राप्त गर्न सकूँ भनेर जतिसक्दो चाँडो आफ्‍नो काम समाप्त गर्ने तृष्णा गरे। तिनले आफैलाई सान्त्वना दिन र भविष्यको मुकुट पाउनको लागि आफ्‍नो कामको प्रयोग गरे। तिनले सत्यता वा परमेश्‍वरलाई होइन, मुकुटलाई मात्रै खोजे। त्यस्तो खोजी कसरी मापदण्डको स्तरमा पुग्‍न सक्छ? तिनको उत्प्रेरणा, तिनको कार्य, तिनले चुकाएको मूल्य, र तिनका सबै प्रयासहरू—ती सबै नै तिनका सुन्दर कल्‍पनाहरूले व्याप्त थिए, र तिनले पूर्ण रूपमा आफ्‍नै चाहनाहरूअनुसार काम गरे। तिनको सम्पूर्ण काममा, तिनले चुकाएको मूल्यभित्र तत्परताको थोरै अंश पनि थिएन; तिनी लेनदेन गर्ने कार्यमा मात्रै संलग्‍न भएका थिए। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मात्रै तिनले स्वेच्‍छाले प्रयासहरू गरेका थिएनन्, बरु लेनदेनको उद्देश्य हासिल गर्नको लागि मात्रै स्वेच्‍छाले ती प्रयास गरेका थिए। के त्यस्ता प्रयासहरूको कुनै मूल्य छ र? तिनका अशुद्ध प्रयासहरूलाई कसले तारिफ गर्छ र? त्यस्ता प्रयासहरूप्रति कसैसँग कुनै चासो छ र? तिनको काम भविष्यका सपनाहरूले भरिएको थियो, सुन्दर योजनाले भरिएको थियो, तर त्यसमा मानव स्वभावलाई परिवर्तन गर्ने कुनै मार्ग समावेश थिएन। तिनका धेरैजसो उपकारहरू बहाना मात्रै थिए; तिनको कार्यले जीवन प्रदान गरेन, त्यो त देखावटी शिष्टाचार मात्रै थियो; त्यो लेनदेन गर्ने कार्य मात्रै थियो। त्यस्तो कार्यले मानिसलाई कसरी आफ्‍नो मूल कर्तव्य पुनर्प्राप्त गर्ने मार्गमा डोर्‍याउन सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४८१

पत्रुसले खोजी गरेका सबै कुरा परमेश्‍वरको हृदयअनुरूप थिए। तिनले परमेश्‍वरका चाहनाहरू पूरा गर्न खोजे, अनि कष्ट र विपत्तिको बाबजुद पनि, तिनी परमेश्‍वरको इच्‍छा पूरा गर्न इच्‍छुक थिए। परमेश्‍वरका विश्‍वासीले गर्ने खोजी योभन्दा ठूलो हुँदैन। पावलले खोजी गरेको कुरा तिनको आफ्‍नै देहद्वारा, तिनका आफ्‍नै धारणाहरूद्वारा, र तिनका आफ्‍नै योजना र युक्तिहरूद्वारा कलङ्कित थियो। तिनी कुनै पनि हालतमा परमेश्‍वरले सृष्टि गर्नुभएको एक योग्य प्राणी थिएनन्, तिनी परमेश्‍वरको इच्‍छा पूरा गर्न खोज्‍ने व्यक्ति थिएनन्। तर पत्रुसचाहिँ परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुन खोज्थे, र तिनले गरेको काम ठूलो नभएको भए तापनि, तिनको खोजीपछाडिको अभिप्राय र तिनले हिँडेको मार्ग सही थियो; तिनले धेरै मानिसहरूलाई प्राप्त गर्न नसकेको भए तापनि, तिनले सत्यको मार्ग पछ्याउन सके। यही कारणले गर्दा तिनी परमेश्‍वरले सृष्टि गर्नुभएको एक योग्य प्राणी थिए भनेर भन्‍न सकिन्छ। आज, तँ कामदार नभए तापनि, तैँले परमेश्‍वरको सृष्टिको कर्तव्य निभाउन सक्‍नुपर्छ र परमेश्‍वरका सबै योजनाबद्ध कार्यमा समर्पित हुने प्रयास गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ ती सबैलाई तैँले पालना गर्न, र सबै प्रकारका संकष्ट र शोधन अनुभव गर्न सक्‍नुपर्छ, र तँ कमजोर भए तापनि, आफ्‍नो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्न सक्‍नुपर्छ। आफ्‍नो जीवनको लागि जिम्‍मेवारी लिनेहरू परमेश्‍वरको सृष्टिको रूपमा कर्तव्य निभाउन इच्‍छुक हुन्छन्, र त्यस्ता मानिसहरूको खोजीसम्‍बन्धी दृष्टिकोण सही हुन्छ। परमेश्‍वरलाई चाहिने मानिसहरू यिनै हुन्। यदि तैँले धेरै काम गरेको छस्, र अरूले तेरा शिक्षाहरू प्राप्त गरेका छन्, तर तँ आफूचाहिँ परिवर्तन भइनस्, र तैँले कुनै पनि गवाही वहन गरेको छैनस्, वा तँमा कुनै साँचो अनुभव छैन, यहाँसम्‍म कि तेरो जीवनको अन्त्यसम्‍म पनि तैँले जे गरेको छस् त्यसले कुनै गवाही वहन गर्दैन भने, के तँ परिवर्तन भएको व्यक्ति होस् र? के तँ सत्यताको खोजी गर्ने व्यक्ति होस्? त्यो बेला, पवित्र आत्माले तँलाई प्रयोग गर्नुभयो, तर जब उहाँले तँलाई प्रयोग गर्नुभयो, तब उहाँले कामको लागि प्रयोग गर्न सकिने तेरो कुनै भागलाई मात्र प्रयोग गर्नुभयो, र प्रयोग गर्न नसकिने तेरो अन्य भागलाई प्रयोग गर्नुभएन। यदि तैँले परिवर्तनको खोजी गरेको थिइस् भने, प्रयोग हुने प्रक्रियाको अवधिमा तँ क्रमिक रूपमा सिद्ध पारिन्थिइस्। तैपनि तँलाई अन्ततः प्राप्त गरिनेछ कि छैन भन्‍नेबारेमा पवित्र आत्माले कुनै जिम्‍मेवारी स्वीकार गर्नुहुन्‍न, र यो तेरो खोजीको तरिकामै निर्भर हुन्छ। यदि तेरो व्यक्तिगत स्वभावमा कुनै परिवर्तन आएको छैन भने, खोजीसम्‍बन्धी तेरो दृष्टिकोण गलत भएकोले नै त्यसो भएको हो। यदि तँलाई कुनै इनाम दिइएन भने, त्यो तेरो आफ्‍नै समस्या हो, र तैँले सत्यता अभ्यास नगरेको हुनाले र तैँले परमेश्‍वरको चाहना पूरा गर्न नसक्‍ने भएकोले यस्तो हुन्छ। त्यसकारण, तेरा व्यक्तिगत अनुभवहरूजत्तिको धेरै महत्त्वपूर्ण अरू केही हुँदैन, र तेरो व्यक्तिगत प्रवेशजत्तिको गम्भीर कुरा अरू केही हुँदैन! कतिपय मानिसहरू यसो भन्‍ने अवस्थामा पुग्छन्, “मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्‍लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै रहेको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न दिन सक्‍नुहुन्‍न र?” मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, यदि आखिरमा तँ दयनीय रूपले घिनलाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरको सृष्टिको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४८२

पत्रुस र पावलका सारहरूमा रहेका भिन्‍नताबाट तैँले जीवनको खोजी नगर्नेहरू व्यर्थमा परिश्रम गर्छन् भन्‍ने बुझ्‍नुपर्छ! तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई नै पछ्याउँछस्, र त्यसकारण तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई पन्छाउनैपर्छ, तैँले परमेश्‍वरको चाहनालाई पूरा गर्न खोज्नुपर्छ, र परमेश्‍वरको सृष्टिको रूपमा तैँले आफ्नो कर्तव्य निभाउनैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका चाहनाहरूको पूर्णता हासिल गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तैँले तँलाई सृष्टि गर्नुहुने प्रभुको आज्ञापालन गर्नुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्‍नै प्रभुत्व छैन, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै क्षमता छैन। तँ परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रता र परिवर्तनको खोजी गर्नुपर्छ। तँ परमेश्‍वरको सृष्टि होस्, त्यसकारण तैँले तेरो कर्तव्य पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यो हासिल गर्न सक्छन् र हासिल गर्नुपर्छ। यदि तैँले पत्रुस र पावलका सारहरूलाई तुलना गरिस् भने, तैँले कसरी खोजी गर्नुपर्ने हो भनी जान्‍नेछस्। पत्रुस र पावलले हिँडेका मार्गहरूमध्ये, एउटा सिद्ध पारिने मार्ग हो, र अर्को निष्कासन हुने मार्ग हो; पत्रुस र पावलले दुई फरकफरक मार्गहरूलाई प्रतिनिधित्व गर्छन्। तिनीहरू दुवैले पवित्र आत्माको काम प्राप्त गरे, र दुवैले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे, र दुवैले प्रभु येशूले तिनीहरूलाई सुम्पनुभएको कुरा स्वीकार गरे, तर ती दुईमा फलेको फल उही थिएन: एउटाले साँचो रूपमा फल फलायो, अर्कोले फलाएन। तिनीहरूका सारहरू, तिनीहरूले गरेका काम, तिनीहरूले बाहिरी रूपमा व्यक्त गरेका कुरा, र तिनीहरूको आखिरी अन्त्यको आधारमा, तैँले कुन मार्ग लिनुपर्छ, कुन मार्गमा हिँड्ने निर्णय गर्नुपर्छ सो बुझ्‍नुपर्छ। तिनीहरूले स्पष्ट रूपमै दुई फरकफरक मार्ग हिँडे। पावल र पत्रुस यी दुई मार्गका सिद्ध उदाहरण थिए र त्यसकारण सुरुदेखि नै तिनीहरू यी दुई मार्गका प्रतीक बने। पावलका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनी किन सफल भएनन्? पत्रुसका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनले सिद्ध पारिने कार्यलाई कसरी अनुभव गरे? तिनीहरू दुवैले वास्ता गर्ने कुराहरूलाई तैँले तुलना गरिस् भने, परमेश्‍वरले ठ्याक्‍कै कस्तो प्रकारको व्यक्ति चाहनुहुन्छ, परमेश्‍वरको इच्‍छा के हो, परमेश्‍वरको स्वभाव के हो, कस्तो प्रकारको व्यक्तिलाई आखिरमा सिद्ध पारिन्छ, र कस्तो प्रकारको व्यक्तिलाई सिद्ध पारिनेछैन भनी तैँले थाहा पाउनेछस्; सिद्ध पारिनेहरूको स्वभाव के हो, र सिद्ध नपारिनेहरूको स्वभाव के हो सो तैँले जान्‍नेछस्—सारसम्‍बन्धी यी कुराहरू पत्रुस र पावलका अनुभवहरूमा देख्‍न सकिन्छ। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, अनि तालतलैयालगायत परमेश्‍वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो। परमेश्‍वरले नै सबै थोकमाथि हुकुम चलाउनुहुन्छ, र हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गर्दै, र परमेश्‍वरको इच्‍छाअनुसार तिनीहरूलाई आफ्‍नै स्थान प्रदान गरेर सबै थोकलाई व्यवस्थित गर्नुहुन्छ र क्रम मिलाएर राख्‍नुहुन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्‍वरलाई उछिन्‍न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्ने वा परमेश्‍वरमा कुनै मापदण्ड थोपर्ने आँट गर्दैनन्। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा मानिसले पनि मानिसको कर्तव्य निभाउनैपर्छ। ऊ सबै थोकका प्रभु वा हेरचाह गर्ने व्यक्ति भए तापनि, सबै थोकको माझमा मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानवबाहेक अरू केही होइन, र परमेश्‍वरको सृष्टि अर्थात् महत्त्वहीन मानवजातिबाहेक अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन। परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिष्‌हरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा कुनै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्‍वरप्रति तँ पूर्ण रूपमा आज्ञाकारी छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

अघिल्लो: जीवनमा प्रवेश (२)

अर्को: जीवनमा प्रवेश (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्