ग. चिह्न र अचम्मका कामहरू मात्र हेर्न चाहनेहरूलाई किन हटाइनेछ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

आज, तिमीहरू सबैलाई यो कुरा प्रस्ट हुन जरुरी छ कि, आखिरी दिनहरूमा, परमेश्‍वरले पूरा गर्नुहुने मुख्य कुरा “वचन देह बन्‍नुहुन्छ” भन्‍ने तथ्य नै हो। उहाँले पृथ्वीमा उहाँका यथार्थ कामद्वारा मानिसलाई उहाँको बारेमा जान्‍ने र उहाँसँग संलग्‍न हुने र उहाँका व्यावहारिक कामहरू देख्‍ने तुल्याउनुहुन्छ। उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न सक्‍नुहुन्छ तर उहाँले त्यसो गर्न नसक्‍ने समयहरू पनि हुन्छन् भन्‍ने कुरा मानिसलाई स्पष्ट रूपमा देखाउनुहुन्छ; यो कुरा युगमा भर पर्छ। यसबाट तैँले देख्‍न सक्छस् कि परमेश्‍वर चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्‍न, बरु उहाँले गर्नुपर्ने कामअनुसार र युगअनुसार आफ्‍नो काम गर्ने तरिका परिवर्तन गर्नुहुन्छ। कामको विद्यमान चरणमा, उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्‍न; उहाँले येशूको युगमा केही चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउनुभयो किनभने त्यो युगमा उहाँको काम फरक थियो। परमेश्‍वरले आज त्यो काम गर्नुहुन्‍न, र केही मानिसहरू उहाँलाई चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न असक्षम हुनुहुन्छ भन्‍ने ठान्छन्, र उनीहरू उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुहुन्‍न भने उहाँ परमेश्‍वर हुनुहुन्‍न भन्‍ने सोच्छन्। के यो गलत कुरा होइन र? परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न सक्‍नुहुन्छ, तर उहाँले फरक युगमा काम गरिरहनुभएको हुनाले, उहाँ यस्ता काम गर्नुहुन्‍न। यो फरक युग हो, र यो परमेश्‍वरको कामको फरक चरण हो, त्यसकारण परमेश्‍वरले स्पष्ट पार्नुभएका कामहरू पनि फरक नै छन्। परमेश्‍वरमाथिको मानिसको विश्‍वास चिन्‍हहरू र अचम्‍मका कामहरूमाथिको विश्‍वास होइन, न त यो आश्‍चर्यकर्महरूमाथिको विश्‍वास नै हो, यो त नयाँ युगको दौरान उहाँले गर्नुहुने व्यावहारिक काममाथिको विश्‍वास हो। परमेश्‍वरले जुन तरिकाले काम गर्नुहुन्छ त्यस तरिकामार्फत मानिसले परमेश्‍वरलाई बुझ्छ, र यो बुझाइले मानिसमा परमेश्‍वरमाथिको विश्‍वास सिर्जना गर्छ, अर्थात् परमेश्‍वरको काम र कर्महरूमाथिको विश्‍वास सिर्जना गर्छ। कामको यो चरणमा, परमेश्‍वर मुख्य रूपमा बोल्नुहुन्छ। चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्ने प्रतीक्षा नगर्; तैँले कुनै त्यस्तो काम देख्‍नेछैनस्! किनभने तँ अनुग्रहको युगमा जन्‍मेको थिइनस्। यदि तँ त्यो बेला जन्‍मेको थिइस् भने, तैँले चिन्‍हहरू र आश्‍चर्यकर्महरू देख्‍न सक्थिस्, तर तँ आखिरी दिनहरूको समयमा जन्‍मेको थिइस्, त्यसैले तैँले परमेश्‍वरको व्यावहारिकता र सामान्यता मात्र देख्‍न सक्छस्। आखिरी दिनहरूमा अलौकिक येशूलाई हेर्ने अपेक्षा नगर्। तैँले व्यावहारिक देहधारी परमेश्‍वरलाई मात्रै देख्‍नेछस्, जो कुनै सामान्य मानवजातिभन्दा फरक हुनुहुन्‍न। हरेक युगमा, विभिन्‍न कार्यहरूलाई परमेश्‍वरले स्पष्ट पार्नुहुन्छ। हरेक युगमा, परमेश्‍वरले आफ्ना कार्यहरूका केही भागलाई स्पष्ट पार्नुहुन्छ, र हरेक युगको कामले परमेश्‍वरको स्वभाव र परमेश्‍वरका कार्यहरूको एउटा-एउटा भागलाई प्रतिनिधित्व गर्छ। उहाँले स्पष्ट पार्नुहुने कार्यहरू उहाँ जुन युगमा काम गर्नुहुन्छ त्यो युगअनुसार फरकफरक हुन्छ, तर ती सबैले नै मानिसलाई परमेश्‍वरको बारेमा अझ गहन ज्ञान दिन्छन्, परमेश्‍वरमाथिको अझ साँचो र अझ नम्र विश्‍वास दिन्छन्। परमेश्‍वरका सबै कार्यहरूका कारणले, परमेश्‍वर अत्यन्तै अचम्‍मका, अत्यन्तै महान् हुनुभएको कारणले, र उहाँ सर्वशक्तिमान् र बुझ्न नसकिने हुनुभएको कारणले मानिसले परमेश्‍वरमा विश्‍वास गर्छ। यदि तँ परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्न सक्‍नुहुन्छ, बिरामीहरू निको पार्न र भूतप्रेतहरू धपाउन सक्‍नुहुन्छ भनेर परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, र कतिपय मानिसहरूले तँलाई भन्‍नेछन्, “के दुष्ट आत्माहरूले पनि यस्ता कामहरू गर्न सक्दैनन् र?” के यसले परमेश्‍वरको प्रतिरूपलाई शैतानको प्रतिरूपसँग अन्योलमा पार्ने काम गर्दैन र? आज, परमेश्‍वरमाथिको मानिसको विश्‍वासको कारण उहाँका धेरै कार्यहरू र उहाँले गर्नुहुने कामको ठूलो मात्रा र उहाँले बोल्नुहुने धेरै तरिकाहरू नै हुन्। मानिसलाई विजय गर्न र उसलाई सिद्ध पार्न परमेश्‍वरले आफ्‍ना वाणीहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका धेरै कार्यहरूको कारणले मानिसले परमेश्‍वरमा विश्‍वास गरेको हो, उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउन सक्‍नुहुन्छ भनेर होइन; उहाँका कार्यहरू देखेर मात्रै मानिसहरूले उहाँलाई बुझ्न सक्छन्। परमेश्‍वरका व्यावहारिक कार्यहरू, उहाँले कसरी काम गर्नुहुन्छ, उहाँले कस्ता बुद्धिमानी तरिकाहरू प्रयोग गर्नुहुन्छ, उहाँले कसरी बोल्नुहुन्छ, र उहाँले कसरी मानिसलाई सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा जानेर मात्रै—यी पक्षहरू जानेर मात्रै—तैँले परमेश्‍वरको व्यावहारिकता बोध गर्न र उहाँको स्वभाव बुझ्न सक्छस्, र उहाँले के मन पराउनुहुन्छ, उहाँले के कुरालाई घृणा गर्नुहुन्छ, र मानिसमा उहाँले कसरी काम गर्नुहुन्छ भनी बुझ्न सक्छस्। परमेश्‍वरका मन पर्ने र नपर्ने कुराहरू बुझेर, तैँले कुन सकारात्मक र कुन नकारात्मक हो भनी छुट्ट्याउन सक्छस्, र परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञानद्वारा तेरो जीवनमा प्रगति हुन्छ। संक्षेपमा भन्दा, तैँले परमेश्‍वरको कामको ज्ञान प्राप्त गर्नैपर्छ, र परमेश्‍वरमा विश्‍वास गर्ने विषयमा तेरो दृष्टिकोण सीधा पार्नैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई उछिन्‍नेछ। त्यो वचनले मानिसको हृदयको गहिराइमा गडेका सबै भ्रष्ट स्वभावलाई प्रकट गर्दछ। तँसित त्यसलाई आफै पहिचान गर्ने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई तेरो अगि उदाङ्गो पारिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै चिन्‍नेछस्; तैँले तिनलाई अस्वीकार गर्न सक्‍नेछैनस्, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अधिकार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने परिणाम हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्‍ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्‍ने मात्र हुन्थ्यो। तापनि, परमेश्‍वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आज भनिएको कुराचाहिँ वास्तविकतामा प्रवेश गर्नु हो—स्वर्गमा उक्लिनु वा राजाहरूको रूपमा शासन गर्नु होइन; ती भनिएका सबै कुराचाहिँ वास्तविकताभित्र प्रवेश गर्न खोज्नु हो। योभन्दा बढी व्यावहारिक खोज अर्को छैन, अनि शासन गर्ने राजाहरूको बारेमा कुरा गर्नु व्यावहारिक होइन। मानिसमा ठूलो उत्सुकता हुन्छ अनि आज अझै पनि उसले परमेश्‍वरको कामलाई उसको धार्मिक विचारहरूद्वारा मापन गर्छ। परमेश्‍वरको काम गर्ने यति धेरै तरिकाहरूको अनुभव गरिसकेपछि पनि मानिसले अझै पनि परमेश्‍वरको कामलाई जानेको छैन, अझै पनि चिह्न र चमत्कारहरू खोज्दछ, अनि अझै पनि परमेश्‍वरका वचनहरू पूरा भएका छन् कि छैनन् सो हेर्न चाहन्छ। के यो अचम्मलाग्दो अज्ञानता होइन त? परमेश्‍वरका वचनहरू पूरा नभए, के तैँले अझै पनि उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्थिस्? आज, मण्डलीमा त्यस्तै मानिसहरूले चिह्न र चमत्कारहरू हेर्न पर्खिरहेका छन्। तिनीहरू भन्छन्, यदि परमेश्‍वरका वचनहरू पूरा भएका छन् भने उहाँ परमेश्‍वर हुनुहुन्छ; यदि उहाँका वचनहरू पूरा भएका छैनन् भने उहाँ परमेश्‍वर हुनुहु्न्न। त्यसो भए के तँ परमेश्‍वरका वचनहरू पूरा भएको कारण उहाँमा विश्‍वास गर्छस् वा उहाँ स्वयम्‌ परमेश्‍वर हुनुभएकोले विश्‍वास गर्छस्? परमेश्‍वरप्रति विश्‍वासबारे मानिसको विचारलाई सच्याउनुपर्छ! जब तँ परमेश्‍वरका वचनहरू पूरा नभएको देख्छस् तँ चाँडो-चाँडो भाग्छस्—के यो परमेश्‍वरमा विश्‍वास गरेको हो? जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तब सबै कुरा परमेश्‍वरको कृपामा छोड्नुपर्छ अनि परमेश्‍वरका सबै कामहरूप्रति समर्पित हुनुपर्छ। परमेश्‍वरले पुरानो करारमा यति धेरै वचन बोल्नुभयो—तीमध्ये कुनचाहिँ पूरा भएको तेरो आफ्नै आँखाले देखेको छस्? तैँले ती पूरा भएको नदेखेको कारण के तँ यहोवा साँचो परमेश्‍वर हुनुहुन्न भन्न सक्छस्? धेरै वचनहरू पूरा भएका छन् र पनि मानिस ती स्पष्ट देख्न असक्षम छ, किनकि मानिसमा सत्यता छैन र उसले केही पनि बुझ्दैन। … आज, परमेश्‍वर मानिसलाई जीवन दिन पृथ्वीमा आउनुभएको छ। मानिसहरूले कल्पना गरेजस्तो उहाँले परमेश्‍वर र मानिस बीच शान्तमय सम्बन्ध सुनिश्चित गर्नका निम्ति चिह्नहरू र चमत्कार देखाउँदै तँलाई फुस्लाउनुहुन्न। ती सबै जना जसले जीवनमा ध्यान केन्द्रित गर्दैनन् र जसले परमेश्‍वरले चिन्ह र चमत्कारहरू देखाऊन् भन्‍ने कुरामा ध्यान लगाउँछन् तिनीहरू फरिसीहरू हुन्। येशूलाई क्रूसमा कीला ठोक्नेहरू फरिसीहरू नै थिए। यदि तँ परमेश्‍वरलाई उहाँमाथिको तेरो विश्‍वासको धारणाअनुसार मापन गर्छस्, परमेश्‍वरको वचन पूरा भए मात्र उहाँमा विश्‍वास गर्छस् भने, र ती पूरा भएनन् भने शङ्का गर्छस् र परमेश्‍वरको निन्दा गर्छस् भने के तैँले उहाँलाई क्रूसमा कीला ठोक्दैनस् र? यस्ता मानिसहरू आफ्ना कर्तव्यहरूप्रति लापरवाही हुन्छन्, र लोभ पूर्वक आराम-सुविधामा मस्ती गर्छन्।

अर्कोतिर, मानिसको सबैभन्दा ठूलो समस्या यो हो, कि उसले परमेश्‍वरको काम जान्दैन। यद्यपि मानिसको मनोवृत्ति अस्वीकार गर्ने होइन, तर शङ्का गर्ने हुन्छ। मानिसले इन्कार गर्दैन, तर उसले पूर्ण रूपमा स्वीकार पनि गर्दैन। यदि मानिसहरूमा परमेश्‍वरको कामको पूर्ण ज्ञान छ भने तिनीहरू फर्केर जाँदैनन्। अर्को समस्या यो हो, कि मानिसले वास्तविकता जान्दैन। आज, प्रत्येक व्यक्ति परमेश्‍वरको वचनमा संलग्न भएको हुन्छ; साँच्चै भविष्यमा तैँले चिह्न र चमत्कारहरू हेर्ने बारेमा सोच्नु हुँदैन। म तँलाई स्पष्ट रूपमा भन्छु: वर्तमानको चरणको अवधिमा, तँ परमेश्‍वरका वचनहरू मात्र देख्न सक्छस्, र यद्यपि त्यहाँ कुनै तथ्यहरू नभए पनि अझै पनि परमेश्‍वरको जीवनलाई मानिसमा आकार दिन सकिन्छ। सहस्राब्दीय राज्यको मुख्य काम यही हो, र यदि यो कामलाई बुझ्न सक्दैनस् भने तँ कमजोर बन्‍नेछस् र ढल्‍नेछस्; तँ परीक्षाको बीचमा ओर्लन्छस्, र अझै दुःखदायी कुरा त, तँलाई शैतानद्वारा कैदी बनाइन्छ। परमेश्‍वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग संलग्न हुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे देख्छस्, त्यो परमेश्‍वरको वचन हो। तैँले जे सुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे पालन गर्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे अनुभव गर्छस् त्यो परमेश्‍वरको वचन हो, अनि परमेश्‍वरको यो देहधारणले मानिसलाई सिद्ध बनाउन मुख्य रूपले वचन प्रयोग गर्नुहुन्छ। उहाँले चिन्ह र चमत्कारहरू देखाउनुहुन्न, र विशेष गरी येशूले विगतमा गर्नुभएका काम गर्नुहुन्न। उहाँहरू परमेश्‍वर र मानिस दुवै हुनुभए तापनि उहाँहरूको सेवा कार्य एकै किसिमका छैनन्। जब येशू आउनुभयो, उहाँले परमेश्‍वरका केही कामहरू गर्नुभयो र केही वचनहरू बोल्नुभयो—तर उहाँले पूरा गर्नुभएको मुख्य काम के थियो? उहाँले मुख्य रूपमा पूरा गर्नुभएको काम क्रूसीकरण थियो। क्रूसीकरणको काम पूरा गर्न र सारा मानव जातिलाई छुटकारा दिन उहाँले पापी मानिसको स्वरूप धारण गर्नुभयो, र सारा मानवजातिको पापका निम्ति उहाँ पाप बलि बन्नुभयो। उहाँले पूरा गर्नुभएको मुख्य काम यही नै थियो। आखिरीमा, उहाँले पछि आउनेहरूलाई डोऱ्याउन क्रूसको बाटो प्रदान गर्नुभयो। जब येशू आउनुभयो, यो मुख्य रूपमा छुटकाराको काम पूरा गर्नुथियो। उहाँले सबै मानवजातिलाई छुटकारा दिनुभयो, र उहाँले स्वर्गको राज्यको सुसमाचार मानिसहरूकहाँ ल्याउनुभयो, र यसबाहेक, उहाँले स्वर्ग राज्यतिर जाने बाटो ल्याउनुभयो। फलस्वरूप, पछि आउने सबैले भने, “हामी क्रूसको बाटोमा हिँड्नुपर्छ र आफैलाई क्रूसको निम्ति बलिदान गर्नुपर्छ।” निस्सन्देह, सुरुसुरुमा येशूले अरू केही काम पनि गर्नुभयो र मानिसलाई पश्‍चाताप गर्ने र आफ्ना पापहरू स्वीकार गर्ने बनाउन केही वचनहरू बोल्नुभयो। तर उहाँको सेवा कार्य अझै पनि क्रूसीकरण नै थियो, र उहाँले साढे तीन वर्ष प्रचार गर्नुभएको मार्ग पछि आउने क्रूसीकरणको निम्ति तयारी थियो। येशूले जति धेरै पल्ट प्रार्थना गर्नुभयो ती सबै पनि क्रूसीकरणको निम्ति थिए। उहाँले एक सामान्य मानिसको जीवन जिउनु, अनि पृथ्वीमा साढे तेत्तीस वर्ष जिउनु मुख्यतया: क्रूसीकरणको खातिर नै थियो; तिनीहरूले उहाँलाई यो काम गर्ने शक्ति दिनुपर्थ्यो, फलस्वरूप परमेश्‍वरले उहाँलाई क्रूसमा टाँगिने काम सुम्पनुभयो। देहधारी परमेश्‍वरले आज कुन काम पूरा गर्नुहुनेछ? आज, परमेश्‍वर मुख्य रूपले “शरीरमा प्रकट हुनुभएका वचन” को काम पूरा गर्न, मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्न, मानिसलाई वचनको काटछाँट र वचनको शोधन स्वीकार गर्ने बनाउन देहधारी हुनुभएको छ। उहाँका वचनहरूमा उहाँले तँलाई प्रावधानहरू र जीवन प्राप्त गर्ने तुल्याउनुहुन्छ; उहाँका वचनहरूमा तँ उहाँका काम र कार्यहरू देख्छस्। परमेश्‍वरले तँलाई सजाय दिन र शोधन पार्नका निम्ति वचन प्रयोग गर्नुहुन्छ, र यसैले यदि तैँले कठिनाइ भोगिस् भने त्यो पनि परमेश्‍वरको वचनको कारणले गर्दा नै हो। आज, परमेश्‍वरले तथ्यहरूद्वारा काम गर्नुहुन्न, तर वचनहरूद्वारा गर्नुहुन्छ। उहाँको वचन तँमा आएपछि मात्र पवित्र आत्माले तँभित्र काम गर्न सक्नुहुनेछ र तँलाई कष्ट भोग्ने वा मिठास अनुभव गर्ने तुल्याउनुहुन्छ। परमेश्‍वरको वचनले मात्र तँलाई वास्तविकतामा ल्याउन सक्छ, र परमेश्‍वरको वचन मात्र तँलाई सिद्ध बनाउन सक्षम छ। अनि यसैले कम्तीमा पनि तैँले यसलाई बुझ्नैपर्छ: परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुभएका काम मुख्य रूपले उहाँको वचन प्रयोग गरेर प्रत्येक व्यक्तिलाई सिद्ध बनाउनु र मानिसलाई बाटो देखाउनु हो। उहाँले सबै काम उहाँको वचनद्वारा गर्नुहुन्छ; तँलाई सजाय दिन उहाँले तथ्यहरू प्रयोग गर्नुहुन्न। यस्ता समयहरू हुन्छन्, जब केही मानिसहरूले परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरले तँलाई असुविधामा पार्नुहुन्न, तेरो शरीरलाई सजाय दिनुहुन्न, न त तैँले कष्ट भोग्‍नेछस्—तर तँमाथि उहाँको वचन आउने बित्तिकै, र त्यसले तँलाई शोधन गर्छ र यो तेरो निम्ति असहनीय हुन्छ। के त्यस्तो हुँदैन र? सेवाकर्ताहरूको समयमा परमेश्‍वरले मानिसलाई अतल कुण्डमा फालिदिनु भन्नुभयो। के मानिस साँच्चै अतल कुण्डमा पुगेको छ? मानिसलाई शोधन गर्न वचनहरू प्रयोग गरेर मानिस अतल कुण्डमा प्रवेश गऱ्यो। अनि यसैले, आखिरी दिनहरूमा जब परमेश्‍वर देहधारी हुनुहुन्छ, उहाँले मुख्य रूपले सबै काम गर्न र सबै कुरा स्पष्ट पार्न वचन प्रयोग गर्नुहुन्छ। उहाँको वचनमा मात्र उहाँ को हुनुहुन्छ भनी तैँले देख्न सक्छस्; उहाँको वचनमा मात्र उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्छस्। जब देहधारी परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—त्यसैले त्यहाँ तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्। यसकारण, उहाँ मुख्यतया: यही काम गर्न आउनुभएको हो, मानिसलाई उहाँको वचनमा उहाँको शक्ति र सर्वोच्चता देख्न दिन, उहाँले नम्रतासाथ आफैलाई कसरी लुकाउनुहुन्छ सो मानिसलाई उहाँको वचनमा देख्न दिन, अनि मानिसलाई उहाँको वचनमा उहाँको समग्रता जान्न दिन आउनुभएको हो। उहाँसँग जे छन् र उहाँ जो हुनुहुन्छ ती सब उहाँको वचनमा छन्। उहाँको बुद्धि र उहाँका अद्भुतता उहाँको वचनमा छन्। यसमा तँलाई परमेश्‍वरले उहाँका वचनहरू बोल्नुहुने धेरै विधिहरू देख्ने तुल्याइन्छ। परमेश्‍वरले यति लामो समय काम गर्नुभएको छ। यो कार्य मानिसलाई भरणपोषण गर्नु, खुलासा वा निराकरण गर्नको लागि नै गरिएको हो। परमेश्‍वरले मानिसलाई हल्‍कासाथ सराप्नुहुन्न, उहाँले सराप्नु भए पनि, उहाँले वचनद्वारा नै तिनीहरूलाई सराप्नु हुन्छ। अनि यसैले, परमेश्‍वर देहधारी हुनुभएको यो युगमा, परमेश्‍वरले फेरि बिरामीलाई निको पार्नुभएको र भूतात्माहरू निकाल्नुभएको देख्ने कोसिस नगर्नुहोस्, अनि निरन्तर चिह्नहरू खोज्न छोडिदिनुहोस्—त्यसको कुनै अर्थ हुँदैन! ती चिह्नहरूले मानिसलाई सिद्ध बनाउन सक्दैन। स्पष्ट रूपमा भन्‍ने हो भने: आज, देहधारण गर्नुहुने व्यावहारिक परमेश्‍वर आफैले काम गर्नुहुन्न; उहाँ बोल्नु हुन्छ मात्र। यो सत्यता हो। उहाँले तँलाई सिद्ध बनाउन वचनहरू प्रयोग गर्नुहुन्छ, उहाँले तँलाई खुवाउन र पानी पियाउन वचन प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नका निम्ति पनि वचनहरू प्रयोग गर्नुहुन्छ, तँलाई उहाँको व्यावहारिकता थाहा गराउन उहाँले तथ्यहरूको सट्टामा वचनहरू प्रयोग गर्नुहुन्छ। यदि तँ परमेश्‍वरको यस किसिमको कामलाई बुझ्न सक्षम छस् भने नकारात्मक हुन कठिन हुन्छ। नकारात्मक कुराहरूमा ध्यान दिनुभन्दा तैँले सकारात्मक कुराहरूमा ध्यान दिनुपर्छ—भन्नुको अर्थ, परमेश्‍वरका वचनहरू पूरा भए वा नभए पनि वा तथ्यहरूको आगमन भए वा नभए पनि परमेश्‍वरले उहाँको वचनबाट मानिसलाई जीवन प्राप्त गर्न दिनुहुन्छ, अनि यो सबै चिह्नहरूमध्ये ठूलो हो; अझ त्योभन्दा बढी यो एउटा निर्विवाद सत्यता हो। परमेश्‍वरलाई जान्ने यो नै सर्वोत्तम प्रमाण हो, र यो चिह्नहरूभन्दा ठूलो एउटा चिह्न हो। यी वचनहरूले मात्र मानिसलाई सिद्ध बनाउन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

परमेश्‍वरले सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्‍वास गर्नेहरू सबैले उहाँको वचनलाई स्वीकार गर्नुपर्छ, अनि उहाँको वचन खानु र पिउनु पर्छ; परमेश्‍वरद्वारा प्रकट गरिएका चिह्नहरू र अचम्‍मका कामहरू हेरेर कोही पनि परमेश्‍वरद्वारा प्राप्त हुन सक्दैनन्। युगौंयुगभरि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन सधैँ वचन प्रयोग गर्नुभएको छ। यसैकारण तिमीहरूले आफ्नो सम्पूर्ण ध्यान चिह्नहरू र अचम्‍मका कामहरूमा लगाउनु हुँदैन, तर परमेश्‍वरद्वारा सिद्ध बनाइने कोसिस गर्नुपर्छ। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही वचनहरू बोल्नुभयो अनि अनुग्रहको युगमा येशूले पनि धेरै वटा वचनहरू बोल्नुभयो। येशूले धेरै वचनहरू भनिसक्‍नुभएपछि, पछिबाट प्रेरितहरू र चेलाहरूले मानिसहरूलाई येशूले दिनुभएका आज्ञाहरू अनुसार अभ्यास गर्न अगुवाइ गरे अनि येशूले बोल्नुभएका वचनहरू र सिद्धान्तहरूको अनुभव गरे। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्‍वस्त तुल्याउन चिह्नहरू र अचम्‍मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको शक्तिलाई स्पष्ट बनाउन सक्दैन। यदि परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्‍वरको व्यावहारिकता स्पष्ट पार्न असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण समर्पणता र मानिसमा परमेश्‍वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्‍मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुतता ज्ञान दिन परमेश्‍वर विभिन्‍न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्नुहुने समयमा मानिसलाई पूर्ण बनाइन्छ, त्यसबेला ऊ चिन्हहरू र अचम्‍मका कामहरू हेर्न योग्यको हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्छस् र परमेश्‍वरले जे नै गर्नुभए पनि उहाँप्रति समर्पित हुन सक्ने बन्छस्, तब चिह्नहरू र अचम्‍मका कामहरू देख्दा उहाँको विषयमा तँमा उप्रान्त कुनै धारणाहरू हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरप्रति पूर्ण समर्पित हुन असक्षम छस्—के यस्तो अवस्थामा तँ परमेश्‍वरका चिन्हहरू र अचम्‍मका कामहरू देख्‍न योग्य छस् भन्‍ने ठान्छस्? जब परमेश्‍वरले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्छ, त्यही बेला परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुन्छ, अनि युग परिवर्तन हुन्छ, त्यसबाहेक युगको अन्त्य पनि हुन्छ। जब परमेश्‍वरको काम सामान्य रूपमा पूरा भइरहेको हुन्छ, त्यसबेला उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्न। चिन्हहरू र अचम्‍मका कामहरू देखाउनु उहाँको निम्ति हास्यास्पद रूपमा सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो मानिसको निम्ति परमेश्‍वरको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र अचम्‍मका कामहरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर मानिसकहाँ देखा पर्‍यो भने, के सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नेथिएनन् र? मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरू न्याय, सजाय, काटछाँट, र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा समर्पित हुन सके। यी मानिसहरूको विश्‍वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्‍मका कामहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने वचन र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको व्यावहारिकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्‍वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम व्यावहारिक काम हो। येशूको युगको अवधिमा, उहाँ मानिसलाई सिद्ध बनाउन आउनुभएन, तर मानिसलाई उद्धार गर्न आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू गर्नुभयो। किनकि उहाँ मुख्य रूपले क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको हिस्सा थिएन। त्यस्ता चिन्हहरू र अचम्‍मका कामहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्नुहुने काम व्यावहारिक काम हो, र निश्चय पनि उहाँले अहिले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुभयो भने उहाँको व्यावहारिक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्छु भनी भन्‍नुभयो, तर उहाँले चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो भने, के मानिसले साँच्चै उहाँमा विश्‍वास गरेको छ कि छैन भनी स्पष्ट पार्न सकिन्थ्यो? यसैले, परमेश्‍वरले त्यस्ता कार्यहरू गर्नुहुन्न। मानिसभित्र धर्म धेरै छ; परमेश्‍वर मानिसभित्र भएका सबै धार्मिक धारणाहरू र अलौकिक कुराहरूलाई रद्द गर्न अनि मानिसलाई परमेश्‍वरको व्यवहारिकता जनाउन आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ परमेश्‍वरको त्यो प्रतिरूप हटाउन आउनुभएको छ, जुन अस्पष्ट र काल्पनिक छ—अर्को शब्दमा भन्‍ने हो भने, एउटा यस्तो परमेश्‍वरको प्रतिरूप जसको कुनै अस्तित्व नै छैन। अनि यसैले अहिले तेरो निम्ति एउटै मात्र मूल्यवान् कुरा भनेको व्यावहारिकताको ज्ञान प्राप्त गर्नु हो! सत्य सबै कुराभन्दा माथि हुन्छ। आज तँमा कति धेरै सत्यता छ? के चिन्हहरू र अचम्‍मका कामहरू देखाउनेहरू सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्हहरू र अचम्‍मका कामहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले जीवनमा खोज्‍ने कुरा जीवन हो, चिन्हहरू र अचम्‍मका कामहरू होइनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको उद्देश्य यही नै हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

मैले अघिबाटै भनेको छु, “चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्नमा मात्र ध्यान दिनेहरू सबैलाई त्यागिनेछ; तिनीहरू ती होइनन्, जसलाई सिद्ध बनाइनेछ।” मैले धेरै वचनहरू बोलेको छु, तापनि मानिसमा यो कामको थोरै ज्ञान पनि छैन, अनि, यस विन्दुमा पुगिसकेपछि पनि मानिसहरू अझै चिह्नहरू र अचम्‍मका कामहरूको खोजी गर्छन्। के परमेश्‍वरमाथिको तेरो विश्‍वास चिह्नहरू र अचम्‍मका कामहरू खोज्नु बाहेक अरू केही होइन वा के त्यो जीवन प्राप्त गर्नका निम्ति मात्र हो? येशूले पनि धेरै वचनहरू बोल्नुभयो, र तीमध्ये केही अझै पूरा हुनु बाँकी नै छ। के तँ येशू परमेश्‍वर हुनुहु्न्न भनेर भन्न सक्छस्? परमेश्‍वरले उहाँ ख्रीष्ट र परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी साक्षी दिनुभयो। के तँ यो कुरालाई इन्कार गर्न सक्छस्? आज, परमेश्‍वरले वचनहरू मात्र बोल्नुहुन्छ, र यदि तैँले यसलाई पूर्ण रूपमा जानेनस् भने तँ दृढ भई खडा हुन सक्दैनस्। तँ उहाँ परमेश्‍वर हुनुभएकोले उहाँमा विश्‍वास गर्छस् कि उहाँका वचनहरू पूरा भएका छन् कि छैनन् भन्‍ने कुराको आधारमा उहाँमा विश्‍वास गर्छस्? तँ चिह्न र अचम्‍मका कामहरूमा विश्‍वास गर्छस् कि परमेश्‍वरमा विश्‍वास गर्छस्? आज, उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देख्नाउनुहुन्न—के उहाँ साँच्चै परमेश्‍वर नै हुनुहुन्छ? यदि उहाँले बोल्नुहुने वचनहरू पूरा हुँदैनन् भने, के उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ? के परमेश्‍वरको अस्तित्व उहाँले बोल्नुभएका वचनहरू पूरा भए कि भएनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? किन केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा अघि उहाँका वचनहरू पूरा होस् भनी सँधै पर्खिरहन्छन्? के यसको अर्थ तिनीहरूले उहाँलाई चिन्दैनन् भन्‍ने हुँदैन र? यस्ता धारणा भएकाहरू सबै ती हुन् जसले परमेश्‍वरलाई इन्कार गर्छन्। तिनीहरूले परमेश्‍वरलाई नाप्न आफ्ना धारणाहरू प्रयोग गर्छन्; यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरूले उहाँमा विश्‍वास गर्छन्, यदि पूरा भएनन् भने तिनीहरूले उहाँमा विश्‍वास गर्दैनन्; अनि तिनीहरूले सधैँ चिह्नहरू र अचम्‍मका कामहरूको खोजी गर्छन्। के यी मानिसहरू आधुनिक समयका फरिसीहरू होइनन् र? तँ दृढसँग खडा हुन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तैँले व्यावहारिक परमेश्‍वरलाई चिनेको छस् कि छैनस् त्यस कुरामा भर पर्छ—यो महत्त्वपूर्ण छ! परमेश्‍वरको वचनको व्यावहारिकता जति ठूलो हुन्छ, त्यस सम्‍बन्धी तेरो ज्ञान पनि त्यत्ति नै ठूलो हुन्छ, र तँ परीक्षाहरूको समयमा त्यति नै दृढ रूपमा खडा हुन सक्छस्। तैँले चिन्हहरू र अचम्‍मका कामहरू देख्ने कुरामा जति धेरै ध्यान दिन्छस्, तँ त्यत्ति नै कम रूपमा दृढ रूपमा खडा हुन सक्छस्, र तँ परीक्षाहरूको बीचमा पर्छस्। चिन्हहरू र अचम्‍मका कामहरू जग होइनन्; परमेश्‍वरको व्यावहारिकता मात्र जीवन हो। केही मानिसहरूलाई परमेश्‍वरको कामले प्राप्त गर्नुपर्ने प्रभावहरूको बारेमा थाहा हुँदैन। तिनीहरू आफ्ना दिनहरू अलमल्लमा पर्दै बिताउँछन्, परमेश्‍वरको कामको ज्ञानको खोजी गर्दैनन्। तिनीहरूका खोजको लक्ष्य परमेश्‍वरलाई तिनीहरूका चाहनाहरू पूरा गर्न लगाउनु मात्र हुन्छ, तब मात्र तिनीहरू आफ्नो विश्‍वासमा गम्भीर बन्नेछन्। तिनीहरू भन्छन्, यदि परमेश्‍वरका वचनहरू पूरा भए भने तिनीहरू जीवनको पछि लाग्छन्, तर यदि उहाँका वचनहरू पूरा भएनन् भने, तिनीहरूले जीवनको खोजी गर्ने कुनै सम्भावना हुँदैन। मानिसहरू सोच्छन्, कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने र स्वर्गमा अनि तेस्रो स्वर्गमा चढ्ने खोजीमा लाग्नु हो। कसैले पनि यो भन्दैन, कि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास वास्तविकतामा प्रवेश गर्ने खोजी हो, जीवनको खोजी हो, र परमेश्‍वरद्वारा प्राप्त गरिने कार्यको खोजी हो। यस्तो खोजीको के मूल्य हुन्छ र? जस-जसले परमेश्‍वरको ज्ञानको र उहाँको सन्तुष्टिको खोजी गर्दैनन् तिनीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेहरू हुन्; तिनीहरू परमेश्‍वरको निन्दा गर्नेहरू हुन्।

परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो भनी अब तिमीहरूले बुझ्छौ? के परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ चिन्हहरू र अचम्‍मका कामहरू हेर्नु हो? के यसको अर्थ स्वर्गमा उक्लिनु हो? परमेश्‍वरमा विश्‍वास गर्नु अलिकति पनि सजिलो हुँदैन। ती धार्मिक अभ्यासहरूलाई शुद्ध पारिनुपर्छ; बिरामीको चङ्गाइ र भूतात्माहरू निकाल्‍ने कार्यको पछि लाग्नु, चिन्हहरू र अचम्‍मका कामहरूमा ध्यान लगाउनु, परमेश्‍वरबाट अझ बढी अनुग्रह, शान्ति र आनन्द पाउने लालसा गर्नु, देहको सफलताहरू र आराम-सुविधाको पछि लाग्नु—यी सबै धार्मिक अभ्यासहरू हुन्, अनि यस्ता अभ्यासहरू अस्पष्ट किसिमको विश्‍वास हो। आज परमेश्‍वरमाथिको वास्तविक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु र परमेश्‍वरप्रतिको साँचो प्रेम हासिल गर्न उहाँलाई उहाँकै वचनबाट चिन्‍नु हो। अझ स्पष्ट रूपमा भन्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तैँले उहाँमा समर्पित हुनु, उहाँलाई प्रेम गर्नु र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्य पूरा गर्नको लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वरको प्रेमिलोपनको, उहाँ हाम्रो आदरको कति योग्य हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृष्टि गरिएका प्राणीहरूमा कसरी मुक्तिको काम गर्नुहुन्छ र तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ भन्‍ने ज्ञान प्राप्त गर्नैपर्छ—यी परमेश्‍वरमाथिको तेरो विश्‍वासका अत्यावश्यक तत्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा सर्नु हो; भ्रष्टतामा जिउनुबाट परमेश्‍वरको वचन पालन गर्ने जीवनमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्‍वरको वास्ता र सुरक्षामा जिउनु हो; यो परमेश्‍वरमा समर्पित हुन सक्नु र देहमा समर्पित नहुनु हो; यो परमेश्‍वरलाई तेरो सम्पूर्ण हृदय प्राप्त गर्न दिनु हो, जसद्वारा परमेश्‍वरलाई तँलाई सिद्ध बनाउन दिनु हो, र तैँले आफैलाई भ्रष्ट शैतानिक स्वभावबाट मुक्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विशेष रूपले परमेश्‍वरको शक्ति र महिमा तँमा प्रकट हुन दिनु हो, तैँले परमेश्‍वरको इच्छालाई पछ्याउनु र उहाँको योजना पूरा गर्नु हो, साथै शैतानको सामु परमेश्‍वरको साक्षी दिन सक्नु हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्न चाहने तेरो इच्छामा केन्द्रित हुनुहुँदैन, न त त्यो तेरो व्यक्तिगत देहको निम्ति नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्ने, र परमेश्‍वरप्रति समर्पित हुन सक्ने हुन, अनि पत्रुसले झैं मृत्युसम्म उहाँमा समर्पित हुने विषयमा हुनुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नुका मुख्य उद्देश्यहरू यिनै हुन्। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही नै हो। यदि परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ सधैँ चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने मात्र कोसिस गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मुख्य रूपले परमेश्‍वरको वचनलाई जीवन वास्तविकताको रूपमा ग्रहण गर्नु हो। परमेश्‍वरको मुखबाट निस्केको वचनलाई अभ्यास गरेर अनि तिनलाई तँ आफैमा लागू गरेर मात्र परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिसले परमेश्‍वरद्वारा सिद्ध हुने, परमेश्‍वरमा समर्पित हुन सक्‍ने र परमेश्‍वरप्रति पूर्ण समर्पित हुने कार्यको खोजी गर्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्‍वरमा समर्पित हुन सक्छस्, परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, पत्रुसको कद हासिल गर्न सक्छस्, अनि परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्‍ने सूचित गर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाबारे मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्‍वर स्वयम्‌को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्‍वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू अनन्त विनाशमा पर्ने श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो निन्दाको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताको तृष्णा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा पुग्न हतार नगर; अझ भन्‍ने हो भने, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि नम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अस्वीकार गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै चेतना भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृढ निश्‍चयता र बाइबलअनुरूप छ, त्यसकारण तैँले यी वचनहरूको १०,००० औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। अझै पनि म तँलाई नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तँमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयको सहयोगले तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, र तिनीहरू जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखा पराइको कारण गर्दा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरूले आफू भ्रममा परिने डरले गर्दा पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा गर्नु हुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्‍नुभएको हुनेछ

अघिल्लो: ख. परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्छन् र व्यक्तिले उहाँको सोर सुनेर मात्रै फर्कनुभएका परमेश्‍वरलाई भेट्न सक्छ

अर्को: क. बाइबल परमेश्‍वरको कामका दुई चरणहरू व्यवस्थाको युग र अनुग्रहको युगको कामको मात्र अभिलेख हो; यो परमेश्‍वरको कामको सम्पूर्णताको अभिलेख होइन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्