८. शैतानका दर्शन अनि विभिन्न विधर्म र भ्रमहरूलाई कसरी खुट्ट्याउने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
परमेश्वर स्वयम् नै सत्यता हुनुहुन्छ, र उहाँसित सबै सत्यताहरू छन्। उहाँ सत्यताको स्रोत हुनुहुन्छ। हरेक सकारात्मक कुरा र हरेक सत्यता परमेश्वरबाटै आउँछ। उहाँले सबै थोक र सबै घटनाको सहीपन र गलतपनको विषयमा न्याय गर्न सक्नुहुन्छ; उहाँले भइसकेका कुराहरूमाथि, अहिले भइरहेका कुराहरूमाथि, र मानिसले अझै नजानेको भविष्यका कुराहरूमाथि न्याय गर्न सक्नुहुन्छ। परमेश्वर मात्रै सबै कुराको सहीपन र गलतपनका बारेमा न्याय गर्न सक्ने न्यायकर्ता हुनुहुन्छ, र यसको अर्थ सबै थोकको सहीपन र गलतपनका बारेमा परमेश्वरले मात्र न्याय गर्न सक्नुहुन्छ भन्ने हुन्छ। उहाँलाई सबै कुराका मानकहरू थाहा छ। उहाँले कुनै पनि समय र स्थानमा सत्यताहरू व्यक्त गर्न सक्नुहुन्छ। परमेश्वर सत्यताको मूर्तरूप हुनुहुन्छ, मतलब उहाँ स्वयम्मा सत्यताको सार छ। यदि मानिसले सत्यता बुझ्छ र परमेश्वरद्वारा सिद्ध पारिइन्छ भने पनि, के सत्यताको मूर्तरूपसँग उसको कुनै सरोकार हुन्छ? हुँदैन। यो निश्चित छ। जब मानिसलाई सिद्ध पारिन्छ, तब परमेश्वरको वर्तमान काम र परमेश्वरले मानिसबाट माग गर्नुहुने विभिन्न मानकहरू अभ्यास गर्नका लागि उसँग सही मूल्याङ्कन र विधिहरू हुनेछ, र उसले परमेश्वरका अभिप्रायहरूलाई पूर्ण रूपमा बुझ्नेछ। तिनीहरूले परमेश्वरबाट के आउँछ र मानिसबाट के आउँछ सोबीचको भिन्नता, साथै सही के हो र गलत के हो सोबीचको भिन्नता छुट्याउन सक्छन्। तर पनि मानिसहरूका निम्ति अप्राप्य र अस्पष्ट रहने कुराहरू, अर्थात् परमेश्वरले तिनीहरूलाई बताउनुभएपछि मात्रै तिनीहरूले जान्ने केही कुराहरू छन्। के मानिसले अज्ञात कुराहरू, अर्थात् परमेश्वरले अझसम्म उसलाई नबताउनुभएका कुराहरू जान्न वा भविष्यवाणी गर्न सक्छ? उसले कदापि सक्दैन। अझ भन्ने हो भने, यदि मानिसले परमेश्वरबाट सत्यता प्राप्त गऱ्यो, सत्यता वास्तविकता प्राप्त गऱ्यो, र धेरै सत्यताहरूको सार जान्यो, र सही र गलत छुट्ट्याउन सक्यो भने पनि, के ऊसित सबै कुरालाई नियन्त्रण र शासन गर्ने क्षमता हुन्छ र? तिनीहरूसँग यो क्षमता हुँदैन। परमेश्वर र मानिसबीचको भिन्नता नै त्यही हो। सृजित प्राणीहरूले सत्यताको स्रोतबाट सत्यता प्राप्त गर्न मात्र सक्छन्। के तिनीहरूले मानिसबाट सत्यता प्राप्त गर्न सक्छन्? के मानिस सत्यता हो? के मानिसले यो सत्यता प्रदान गर्न सक्छ? उसले सक्दैन, र त्यहीँ नै भिन्नता छ। तैँले सत्यता प्राप्त गर्न मात्र सक्छस्, प्रदान गर्न सक्दैनस्। के तँलाई सत्यता भएको व्यक्ति भनेर भन्न सकिन्छ? के तँलाई सत्यताको मूर्तरूप भनेर भन्न सकिन्छ? अवश्य सकिँदैन! सत्यताको मूर्त रूपको वास्तविक सार के हो? यो सत्यता प्रदान गर्ने स्रोत हो, सबै थोकमाथिको प्रशासन र सार्वभौमिकताको स्रोत हो, र यो सबै थोक र सबै घटनाहरूको न्याय गर्ने एकमात्र मानक र मापदण्ड हो। सत्यताको मूर्त रूप यही नै हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन)
सत्यतासम्बन्धी उहाँको अभिव्यक्तिमा, परमेश्वरले उहाँको स्वभाव र सार व्यक्त गर्नुहुन्छ; सत्यतासम्बन्धी उहाँको अभिव्यक्ति मानवजातिले पहिचान गरेका विभिन्न सकारात्मक कुराहरू र बयानहरूको सारसङ्क्षेपमा आधारित हुँदैन। परमेश्वरका वचनहरू परमेश्वरका वचनहरू नै हुन्; परमेश्वरका वचनहरू सत्यता हुन्। ती एकमात्र त्यस्ता जग र व्यवस्था हुन् जसमार्फत मानवजाति अस्तित्वमा रहन्छ, र मानवजातिबाट उत्पन्न हुने तथाकथित सिद्धान्तहरू गलत र हास्यास्पद छन्, र परमेश्वरले तिनको निन्दा गर्नुहुन्छ। तिनले उहाँको स्वीकृति प्राप्त गर्दैनन्, र ती उहाँका वाणीहरूको मूल वा आधार त झनै होइनन्। परमेश्वरले आफ्नो स्वभाव र आफ्नो सार आफ्ना वचनहरूद्वारा प्रकट गर्नुहुन्छ। परमेश्वरको अभिव्यक्तिद्वारा ल्याइएका सबै वचनहरू सत्य हुन्, किनकि उहाँसँग परमेश्वरको सार छ, र उहाँ सबै सकारात्मक थोकहरूको वास्तविकता हुनुहुन्छ। यो भ्रष्ट मानवजातिले परमेश्वरका वचनहरूलाई जुन स्थानमा राखे पनि वा जसरी परिभाषित गरे पनि, वा तिनलाई जसरी हेरे वा बुझे पनि, परमेश्वरका वचनहरू अनन्त रूपमा सत्यता हुन्, र यो कहिल्यै परिवर्तन नहुने तथ्य हो। परमेश्वरका वचनहरू जति धेरै बोलिए पनि, र यस भ्रष्ट र दुष्ट मानवजातिले तिनलाई जति नै निन्दा र इन्कार गरे पनि, यसमा अनन्त रूपमा परिवर्तन नहुने तथ्य रहेको छ: परमेश्वरका वचनहरू सदा सत्यता रहनेछन्, र मानिसले यसलाई कहिल्यै परिवर्तन गर्न सक्छैन। अन्त्यमा, मानिसले परमेश्वरका वचनहरू सत्यता हुन्, र मानवजातिले सम्मान गरेका परम्परागत संस्कृति र वैज्ञानिक ज्ञान कहिल्यै सकारात्मक कुराहरू बन्न सक्दैनन्, र ती कहिल्यै सत्यता हुन सक्दैनन् भनेर स्वीकार गर्नैपर्छ। यो अटल कुरा हो। परिवर्तनहरू र बित्दै जाने समयको कारण मानवजातिको परम्परागत संस्कृति र जिउने शैली सत्य बन्नेछैन, न त मानवजातिको निन्दा वा भुलक्कडपनको कारण परमेश्वरका वचनहरू मानिसका वचनहरू नै बन्नेछन्। सत्य सधैँ सत्य नै हुन्छ; यो सार कहिल्यै पनि परिवर्तन हुनेछैन। यहाँ कुन तथ्य छ? मानवजातिले सारसङ्क्षेप गरेका सबै आम भनाइहरूको स्रोत शैतान नै हो, ती मानव कल्पना र धारणाहरूबाट आएका वा मान्छेको आवेग, र मानिसहरूको भ्रष्ट स्वभावहरूबाट उत्पन्न भएका हुन्छन्, र सकारात्मक कुराहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। अर्कोतर्फ, परमेश्वरका वचनहरू परमेश्वरको सार र पहिचानका अभिव्यक्ति हुन्। कुन कारणले गर्दा उहाँले यी वचनहरू व्यक्त गर्नुहुन्छ? म किन ती सत्यता हुन् भनी भन्छु? कारण के हो भने परमेश्वरले सबै थोकका सबै व्यवस्थाहरू, नियमहरू, जडहरू, सारहरू, वास्तविकताहरू, र रहस्यहरूमाथि शासन गर्नुहुन्छ। ती सबै उहाँकै हातको पकडमा छन्। त्यसकारण, परमेश्वरले मात्रै सबै कुराका नियम, वास्तविकता, तथ्य, र रहस्यहरू जान्नुहुन्छ। परमेश्वरले सबै थोकको उत्पत्तिबारे जान्नुहुन्छ, र सबै थोकको जड के हो भन्ने परमेश्वरलाई थाहा छ। परमेश्वरका वचनहरूमा प्रस्तुत गरिएका सबै कुराहरूको परिभाषा मात्रै सबैभन्दा सही छन्, र परमेश्वरका वचनहरू मात्रै मानव जीवनका मापदण्ड र सिद्धान्तहरू हुन् र ती मात्रै मानवहरूले जीवन जिउनको लागि भरोसा गर्न सक्ने सत्यता र मापदण्डहरू हुन्, जबकि शैतानले भ्रष्ट तुल्याएपछि मान्छेले जिउनको लागि भरोसा गरेका शैतानी नियम र सिद्धान्तहरू परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ, र उहाँ सबै थोकका व्यवस्था र नियमहरूमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यविपरीत छन्। मान्छेका सबै शैतानी सिद्धान्तहरू मान्छेका धारणा र कल्पनाहरूबाट उत्पन्न भएका हुन्छन्, र यी शैतानबाट आएका हुन्छन्। अनि, शैतानले कस्तो भूमिका खेल्छ? पहिलो कुरा, यसले आफूलाई सत्यताको रूपमा प्रस्तुत गर्छ; अर्को कुरा, यसले परमेश्वरले यावत् थोक सृष्टि गर्दा प्रयोग गर्नुभएका सबै व्यवस्था र नियमहरू बिथोल्छ, नष्ट गर्छ, र कुल्चन्छ। त्यसकारण, शैतानबाट आउने कुरा शैतानको सारसँग दुरुस्तै मिल्छ, र यो शैतानको दुष्ट उद्देश्य, त्यसको नक्कलीपन र झूटोपन, र त्यसको सदा अपरिवर्तनीय महत्त्वाकाङ्क्षाले भरिएको हुन्छ। भ्रष्ट मानिसहरूले शैतानबाट आएका यी दर्शन र सिद्धान्तहरू चिन्न सके पनि नसके पनि, र मानिसहरूले यी कुराहरू जति धेरै प्रस्तुत, प्रवर्धन र अनुसरण गरे पनि, र भ्रष्ट मानवजातिले यी कुराहरूलाई जति धेरै वर्ष र युगसम्म आदर, आराधना र प्रचार गरेको भए पनि, यी कुरा सत्यता बन्नेछैनन्। यी कुराहरूको सार, उत्पत्ति, र स्रोत शैतान हो, र यी कुराहरू परमेश्वरप्रति र सत्यताप्रति शत्रुवत् छन्, त्यसकारण यी कुराहरू कहिल्यै सत्यता बन्नेछैनन्—यी सधैँ नकारात्मक कुराहरू नै रहनेछन्। जब तुलना गर्नको लागि कुनै सत्यता हुँदैन, तब यी कुराहरू असल र सकारात्मक कुराहरू मानिन सक्छन्, तर जब यी कुरालाई खुलासा र चिरफार गर्न सत्यता प्रयोग गरिन्छ, तब यी त्रुटिरहित रहँदैनन्, सूक्ष्म जाँचमा यी टिक्न सक्दैनन्, र यी तुरुन्तै दोषी ठहराइने र इन्कारिने कुराहरू हुन्। परमेश्वरले व्यक्त गर्नुहुने सत्यता परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिको सामान्य मानवताका आवश्यकताहरूसँग ठ्याक्कै मिल्ने हुन्छ, जबकि शैतानले मानिसहरूमा हालिदिने कुराहरू मानवजातिको सामान्य मानवताका आवश्यकताहरूसँग ठ्याक्कै विपरीत हुन्छन्। यी कुराहरूले सामान्य व्यक्तिलाई असामान्य बनाउँछन्, अनि चरम, संकुचित, अहङ्कारी, मूर्ख, दुष्ट, हठी, आक्रमक, र असहनीय रूपमा अहङ्कारीसमेत बनाउँछन्। कुनै बेला यो कुरा यति गम्भीर हुन्छ कि मानिसहरू विक्षिप्त हुन्छन् र आफू को हुँ भन्नेसमेत तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू सामान्य वा साधारण मानिसहरू हुन चाहँदैनन्, बरु महामानवहरू, विशेष शक्ति भएका मानिसहरू, वा उच्च स्तरका मानिसहरू बन्नमा जोड दिन्छन्—यी कुराहरूले मानिसहरूको मानवता र तिनीहरूको अन्तर्निहित क्षमता विकृत पारेका हुन्छन्। सत्यताले मानिसहरूलाई सामान्य मानवताको नियम र व्यवस्थाहरू र परमेश्वरले स्थापित गर्नुभएका यी सबै नियमहरूअनुसार थप अन्तर्निहित रूपमा अस्तित्वमा रहने तुल्याउँछ, जबकि यी तथाकथित आम भनाइ र छलपूर्ण भनाइहरूले मानिसहरूलाई मानव अन्तर्निहित क्षमताविरुद्ध जान र परमेश्वरले तोक्नुभएका र तय गर्नुभएका नियमहरूबाट तर्किन लगाउँछन्, यहाँसम्म कि मानिसहरूलाई सामान्य मानवताको मार्गबाट टाढा जान र सामान्य मानिसहरूले गर्न वा सोच्न नहुने चरम कुराहरू गर्नसमेत लगाउँछन्। यी शैतानी नियमहरूले मानिसहरूको मानवता विकृत मात्रै पार्ने नभई, मानिसहरूलाई आफ्नो सामान्य मानवता र सामान्य मानवताको अन्तर्निहित क्षमता गुमाउनसमेत लगाउँछन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक)
मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्त स्थान छैन, र परमेश्वरको आराधना गर्न अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्वरको स्थान सधैँ झन्झन तल खस्केको छ। मानवको हृदयमा परमेश्वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्वरले मानवलाई सृष्टि गर्नुभयो भन्ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्वास गर्नेहरू सङ्ख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्वरका काम र उहाँका वचनहरूका अभिलेखहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्वरको गरिमा र महानता, परमेश्वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्च सभ्यता प्राप्त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्वरको मार्गदर्शन विना शासकहरू र समाजशास्त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्ने मानवका लालसा र इच्छालाई रोक्न सक्दैनन्। यो हुनुको कारणचाहिँ मानवलाई परमेश्वरले बनाउनुभयो र अर्थहीन बलिदानहरू र मानवका अन्वेषणहरूले उसलाई अझै कष्टमा मात्र लैजान सक्छ र मानवलाई लगातार डरको अवस्थामा मात्र राख्छ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्ने उसलाई थाहा हुँदैन। मानव विज्ञान र ज्ञानसँग पनि डराउनेछ, र खालीपनको अनुभूतिमा पनि ऊ अझ डराउनेछ। यस संसारमा, तँ स्वतन्त्र देशमा होस् वा मानवअधिकार नभएको देशमा होस्, जहाँ बसे पनि मानवजातिको भवितव्यबाट बच्न तँ पूर्ण असक्षम छस्। तँ शासक वा शासित जो भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो इच्छाबाट बच्न पूर्ण रूपमा असक्षम छस्, खालीपनको चिन्ताको चेतनाबाट बच्न त अझै बढी असक्षम छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई समाजशास्त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तर पनि यस्ता समस्याहरू समाधान गर्नका लागि कुनै पनि महामानव अगाडि आएको छैन। जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मान्छेले परमेश्वरको जीवनको भरणपोषण र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने इच्छा, र उसको आत्मिक खालीपनको समस्या समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्वरले त्यसलाई विनाश गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ
प्राचीन संस्कृतिको ज्ञानले थाहै नदिई मानिसलाई परमेश्वरको उपस्थितिमाझबाट चोरेर लगेको छ र उसलाई दियाबलसहरूको राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्चोत्कृष्ट पुस्तकहरूले[क] मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्ग्रहित गर्नेहरूलाई पहिलेभन्दा बढी प्रशंसा गर्ने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्वरसम्बन्धी आफ्नो धारणालाई अझ खराब बनाउँछ। मानिसले थाहै नपाई, दियाबलसहरूको राजाले क्रूरतापूर्वक उसको हृदयबाट परमेश्वरलाई निकालेको छ र त्यो ठाउँमा विजयको हर्षसहित आफै बसेको छ। त्यस समयदेखि नै, मानिस घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित दियाबलसहरूको राजाको अनुहार छ। परमेश्वरप्रतिको घृणाले उसको छाती भरियो, र दियाबलसहरूको राजाको द्वेषपूर्ण दुर्भावना ऊ पूर्ण रूपमा बरबाद नहुन्जेलसम्म मानिसहरूभित्र दिनदिनै फैलिरह्यो। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र दियाबलसहरूको राजाको बन्धनबाट मुक्त हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिने, आत्मसमर्पण गर्ने र त्यसको उपस्थितिमा समर्पण हुनेबाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा आफ्नो शैशवकालमा थियो, तब दियाबलसहरूको राजाले त्यसमा नास्तिकता रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर्नु; चार आधुनिकीकरण महसुस गर्नु; संसारमा परमेश्वर भन्ने कुनै कुरा छैन” भन्ने झूटहरू सिकायो। त्यति मात्र होइन, यो हर अवसरमा यसो भन्दै चिच्याउँछ: “सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नै उद्यमी परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको छेउमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानीकन अहङ्कारका साथ सबै श्रेय (अर्थात्, सबै मानवजातिलाई उहाँकै हातमा राख्ने परमेश्वरको श्रेय) आफैले लियो। त्यसमा यसले कहिल्यै पनि शर्मको कुनै अनुभूति गरेन। यसबाहेक, यसले लाजै नमानी परमेश्वरका मानिसहरूलाई अँठ्यायो र तानेर आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र आफूलाई परमेश्वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्वर भन्ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, र बाक्ला थोपाहरू बनेर जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोन विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, परमेश्वरको काम कहाँ छ?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्न कुराहरू भन्दै अर्थात् समर्थन गर्न नहुने यस्ता भनाइहरू बोल्दै कराइरहेका हुन्छन्: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आजको संसार करिबकरिब एक अर्ब वर्षपहिले सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई यो आफैलाई भित्तामा झुण्ड्याएर वा टेबलमा राखेर श्रद्धा र भेटी चढाउने बनाउँछ। यसको साथै यो “परमेश्वर हुनुहुन्न” भन्दै कराउँछ, यसले आफैलाई परमेश्वरजस्तो उच्च बनाउँछ, परमेश्वरको स्थानमा उभिएर र दियाबलसहरूको राजाको भूमिकालाई ग्रहण गर्दै, अभद्रपूर्ण तरिकाले परमेश्वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! …
माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्वरको कामलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्च विकसित उद्योग, कृषि र व्यवसाय कहिँकतै देखिँदैन। बरु, यसले परमेश्वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि प्राचीन समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, यसले त मानिसलाई पूरै निल्न[१] पनि चाहन्छ। सामन्तवादको नैतिक र आचार शिक्षाको प्रचारप्रसार र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्वरलाई ग्रहण गर्नेहरू थोरै छन्, हर्षोल्लास गर्दै उहाँको आगमनलाई स्वागत गर्नेहरू कमै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र हरेक ठाउँमा, हत्या गर्ने सास हावामा फैलिएको छ। तिनीहरूले यस भूमिबाट परमेश्वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्वरको “विनाश” गर्ने युद्धको तयारीमा छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (७)
फूटनोटहरू:
१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।
क. चार पुस्तक र पञ्चोत्कृष्ट पुस्तकहरू चीनको कन्फ्युसियस धर्मका आधिकारिक पुस्तकहरू हुन्।
हालको तेरो ज्ञान जुन स्तरको भए पनि, वा तेरा डिग्री र शैक्षिक योग्यता जति उच्च भए पनि, अहिले म ज्ञानबारे मानवजातिको दृष्टिकोण र ज्ञानबारे मेरो दृष्टिकोणबारे कुरा गर्दै छु। के तिमीहरूलाई परमेश्वर ज्ञानबारे के सोच्नुहुन्छ भनेर थाहा छ? कसैले भन्ला, परमेश्वर मानवजातिका लागि विकसित विज्ञानको चाहना गर्नुहुन्छ, र मानवजातिले विज्ञानसम्बन्धी अझ धेरै ज्ञान बुझेको चाहनुहुन्छ, किनकि उहाँ मान्छे अति पिछडिएको, अज्ञानी र अबुझ बनेको चाहनुहुन्न। यो सही कुरा हो, तर परमेश्वर यी कुराहरू सेवा प्रदान गर्न प्रयोग गर्नुहुन्छ, र तिनलाई अनुमोदन गर्नुहुन्न। मान्छेका नजरमा यी कुराहरू जति गजबका भए पनि, ती न त सत्यता हुन् न सत्यताका प्रतिस्थापन नै हुन्, त्यसैले परमेश्वर मानिस र तिनीहरूको स्वभाव परिवर्तन गर्न सत्यता व्यक्त गर्नुहुन्छ। परमेश्वरको वचनले बेलाबेला कन्फ्युसियनवाद वा सामाजिक विज्ञानजस्ता ज्ञानलाई हेर्ने दृष्टिकोण वा तरिकाबारे उल्लेख गरे पनि, ती त यस्ता दृष्टिकोणका नमूना मात्र हुन्। हामीले परमेश्वरका वचनहरूको अर्थ बुझेर, उहाँ मानव ज्ञानलाई घृणा गर्नुहुन्छ भन्ने कुरा बुझ्नुपर्छ। मानव ज्ञानमा आधारभूत वाक्य र सामान्य धर्मसिद्धान्तहरू मात्र हुँदैनन्, केही सोच र दृष्टिकोण, साथै मानव निरर्थकता, पूर्वाग्रह, र शैतानी विषहरू पनि हुन्छन्। कतिपय ज्ञानले मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउनसमेत सक्छन्—त्यो शैतानको विष र ट्युमर हो, र कुनै व्यक्तिले यस ज्ञानलाई स्विकारेपछि र बुझेपछि, उसका हृदयमा शैतानको विष बढेर ट्युमर बन्नेछ। यो ट्युमर उसको पूरै शरीरभरि फैलिनेछ, परिणामस्वरूप यदि उसलाई परमेश्वरको वचनद्वारा चङ्गाइ गरिएन र सत्यताद्वारा निको पारिएन भने उसको निश्चय नै मृत्यु हुन्छ। त्यसैले, मानिसहरूले जति धेरै ज्ञान हासिल गर्छन्, जति धेरै बुझ्छन्, त्यति नै परमेश्वरका अस्तित्वमा विश्वास गर्ने सम्भावना कम हुन्छ। बरु, वास्तवमा तिनीहरूले उहाँलाई अस्वीकार र प्रतिरोध गर्नेछन्, किनकि ज्ञान भनेको तिनीहरूले देख्न र छुन सक्ने कुरा हो, र त्यो बढीजसो तिनीहरूको जीवनका कुराहरूसँग सम्बन्धित हुन्छ। मानिसहरूले विद्यालयमा अध्ययन गर्न र धेरै ज्ञान हासिल गर्न सक्छन्, तर तिनीहरूलाई ज्ञानको स्रोत र आत्मिक क्षेत्रसँग त्यसको सम्बन्धबारे थाहा हुँदैन। मानिसहरूले सिक्ने र बुझ्ने अधिकांश ज्ञान परमेश्वरका वचनहरूको सत्यताविपरीत हुन जान्छ, साथै, विशेष गरी दार्शनिक भौतिकवाद र क्रमविकास नास्तिकवादको झूटो शिक्षा र भ्रमअन्तर्गत पर्छन्। निस्सन्देह, त्यो त परमेश्वरको प्रतिरोध गर्ने भ्रमहरूको पोको हो। यदि तैँले इतिहासका पुस्तक, चर्चित लेखकका कृति, वा महान् व्यक्तिहरूका जीवनीहरू पढिस्, वा सायद निश्चित वैज्ञानिक वा प्राविधिक पक्षहरू अध्ययन गरिस् भने, के प्राप्त गर्नेछस्? उदाहरणका लागि, यदि तैँले भौतिकविज्ञान अध्ययन गरिस् भने तैँले केही भौतिक सिद्धान्त, न्युटनको सिद्धान्त वा अन्य धर्मसिद्धान्तहरूमा महारत हासिल गर्नेछस् तर यी कुराहरू सिकेर मनमा गढेपछि, तिनले तेरो मनमा कब्जा जमाउनेछन् र ती तेरो सोचाइमाथि हाबी हुनेछन्। त्यसपछि तैँले परमेश्वरको वचन पढ्दा यस्तो सोच्नेछस्: “परमेश्वर किन गुरुत्वाकर्षणबारे कुरा गर्नुहुन्न? बाहिरी अन्तरिक्षबारे किन छलफल गरिँदैन? किन परमेश्वर चन्द्रमामा वायुमण्डल छ-छैन, वा पृथ्वीमा कति अक्सिजन छ भनी कुरा गर्नुहुन्न? परमेश्वरले यी कुराहरू खोल्नुपर्छ, किनकि मानवजातिलाई साँच्चै थाहा दिनुपर्ने र भन्नुपर्ने कुराहरू ती नै हुन्।” यदि तैँले हृदयमा यस प्रकारका सोचहरू राख्छस् भने, सत्यता र परमेश्वरका वचनहरूलाई गौण ठान्नेछस्, बरु आफ्ना सबै ज्ञान र सिद्धान्तलाई प्राथमिकतामा राख्नेछस्। तैँले परमेश्वरको वचनलाई यसरी लिनेछस्। जसरी पनि, यी बौद्धिक कुराहरूले मानिसहरूलाई गलत विचार दिनेछन् र परमेश्वरबाट तर्काउनेछन्। तिमीहरूले यो कुरा विश्वास गरे पनि नगरे पनि, वा तिमीहरूले यसलाई आजै स्विकार्न सके पनि नसके पनि—तिमीहरूले यो तथ्य स्विकार्ने दिन आउनेछ। के तिमीहरू ज्ञानले कसरी मानिसहरूलाई विनाश, अर्थात् नरकतर्फ लैजान्छ भन्ने कुरा साँच्चै बुझ्छौ? कतिपय मानिस यो स्विकार्न इच्छुक नहोलान्, किनकि तिमीहरूमध्ये कतिपय अत्यन्तै शिक्षित र निकै ज्ञानी छौ। म तिमीहरूको खिल्ली उडाइरहेको वा तिमीहरूलाई व्यङ्ग्य हानिरेहको छैनँ, म त तथ्य मात्र बताइरहेको छु। म तिमीहरूलाई यो कुरा यहीँनेर अहिले नै स्विकार्नू भनिरहेको छैनँ, बरु यो पक्षलाई बिस्तारै बुझ्नू भनिरहेको छु। ज्ञानले तँलाई परमेश्वरले गर्ने हरेक कुरा विश्लेषण गर्न र सम्हाल्नका लागि आफ्नो दिमाग र बौद्धिकता प्रयोग गर्न लगाउँछ। यसले तँलाई परमेश्वर चिन्न र उहाँको काम अनुभव गर्न रोक्नेछ र बाधा दिनेछ, र तँलाई परमेश्वरबाट तर्काउनेछ र उहाँको प्रतिरोध गर्न लगाउनेछ। तर अब त तँसित ज्ञान छ, त्यसैले तँ के गर्छस्? तैँले व्यावहारिक ज्ञान र शैतानबाट आउने अनि झूटो शिक्षा र भ्रमसँग सम्बन्धित ज्ञानबीच फरक छुट्याउनुपर्छ। यदि तँ नास्तिकता, निरर्थक ज्ञान मात्र स्विकार्छस् भने, त्यसले परमेश्वरप्रतिको तेरो विश्वासमा व्यवधान खडा गर्न, उहाँसँगको तेरो सामान्य सम्बन्ध र सत्यता स्वीकारमा बाधा पुर्याउन, अनि तेरो जीवन प्रवेशलाई रोक्न सक्छ। तैँले यो जान्नु आवश्यक छ, किनकि यो सही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग
ज्ञान, अनुभव, पाठहरू—यीमध्ये कुनै पनि कुरा सत्यता होइनन्; सत्यतासँग यी कुराको कुनै सरोकार हुँदैन। यी कुराहरू सत्यताको विरुद्धमा समेत जान्छन् र परमेश्वरद्वारा निन्दित हुन्छन्। उदाहरणका लागि, ज्ञानलाई लिऊँ, के इतिहासलाई ज्ञानका रूपमा गणना गरिन्छ? (गरिन्छ।) मानव इतिहास, निश्चित देश वा जातीय समुदायहरूको इतिहास, आधुनिक इतिहास, प्राचीन इतिहास, वा निश्चित अनौपचारिक इतिहासहरूकाबारे रहेका ज्ञान र इतिहासका पुस्तकहरू कसरी आए? (ती मानिसहरूले लेखेका थिए।) त्यसोभए, के मानिसहरूले लेखेका कुराहरू वास्तविक इतिहाससँग मिल्छन्? के मानिसहरूका अवधारणा र विचारहरू परमेश्वरका कार्यहरूका सिद्धान्त, मार्ग, र माध्यमहरूसँग बाझिँदैनन् र? के मानिसले बोलेका यी वचनहरू वास्तविक इतिहाससँग सम्बन्धित छन्? (छैनन्।) तीबीच कुनै सम्बन्ध हुँदैन। त्यसकारण, इतिहासका पुस्तकहरूमा समावेश भएका अभिलेखहरू चाहे जति नै सटीक भए पनि, ती ज्ञान मात्रै हुन्। ती इतिहासकारहरू चाहे जति नै सुबोध भए पनि, र तिनीहरूले यी इतिहास चाहे जति नै तार्किक र स्पष्ट रूपमा सुनाए पनि, ती कुराहरू सुनेपछि तँ के निष्कर्षमा पुग्नेछस्? (हामीले ती घटनाहरूका बारेमा थाहा पाउनेछौँ।) हो, तिमीहरूले ती घटनाहरूका बारेमा थाहा पाउनेछौ। तर के तिनीहरूले तँलाई ती इतिहास सुनाउनुको उद्देश्य ती घटनाहरूका बारेमा जानकारी दिनु मात्रै हो त? तिनीहरूसँग एउटा निश्चित विचार हुन्छ, जसद्वारा तिनीहरूले तँलाई सैद्धान्तिकरण गर्न चाहन्छन्। अनि तिनीहरूको सैद्धान्तिकरण केमा केन्द्रित हुन्छ? हामीले विश्लेषण र चिरफार गर्नुपर्ने कुरा नै यही हो। म एउटा उदाहरण दिन्छु ताकि तिनीहरूले मानिसहरूलाई के कुराद्वारा सैद्धान्तिकरण गर्न चाहन्छन् भनेर तिमीहरूले बुझ्न सक। प्राचीन समयदेखि आजको दिनसम्मको इतिहासलाई पुनरावलोकन गरेपछि, मानिसहरूले अन्तिममा एउटा भनाइ निकालेका छन्; तिनीहरूले मानव इतिहासमा एउटा तथ्य अवलोकन गरेका छन्, जुन यस्तो छ: “जित्नेले श्रीपेच पाउँछ, हार्नेले केही पाउँदैन।” के यो ज्ञान हो? (हो।) यो ज्ञान ऐतिहासिक तथ्यहरूबाट आउँछ। परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुने तरिका र माध्यमहरूसँग, के यो भनाइको कुनै सम्बन्ध छ? (छैन।) वास्तवमा, यो त्यसको विपरीत छ; यो त्यससँग बाझिन्छ र त्यसको विरुद्धमा जान्छ। त्यसोभए, तँलाई यो भनाइले सैद्धान्तिकरण गरिएको छ, र यदि तैँले सत्यता बुझ्दैनस्, वा तँ गैर-विश्वासी होस् भने, यो सुनेपछि तैँले के सोच्न सक्छस्? तैँले यस भनाइलाई कसरी लिनेथिइस्? सर्वप्रथम, यी इतिहासकार वा इतिहासका पुस्तकहरूले यस प्रकारका सबै घटनाहरूलाई सूचीकृत गर्छन्, र यो भनाइको सटीकतालाई पुष्टि गर्न पर्याप्त प्रमाण र ऐतिहासिक घटनाहरू प्रयोग गर्छन्। सुरुमा, तैँले यो भनाइ पुस्तकबाट मात्रै सिकेको हुन सक्छस्, र तँलाई यस भनाइबारे जानकारी मात्र हुन्छ। तँ यी घटनाहरूबारे सचेत नभएसम्म तैँले यसलाई एउटा स्तर वा निश्चित हदसम्म मात्रै बुझेको हुन सक्छस्। तर तैँले एक पटक यी ऐतिहासिक तथ्यहरू सुनेपछि, यो भनाइप्रतिको तेरो पहिचान र स्वीकार गहन बन्नेछ। तैँले यस्तो त अवश्य नै भन्नेछैनस्, “कतिपय कुराहरू त्यस्ता हुँदैनन्।” बरु, तैँले यसो भन्नेछस्, “वास्तविकता यस्तै हुन्छ; प्राचीन समयदेखि आजको दिनसम्मको इतिहासलाई हेर्दा, मानवजाति यसरी नै विकसित भएको छ—जित्नेले श्रीपेच पाउँछ, हार्नेले केही पाउँदैन!” जब तैँले यस मामिलालाई यसरी बुझ्छस्, तब तैँले आफ्नो आचरण करियर, र तेरो दैनिक जीवन, साथै तेरो वरिपरिका मानिसहरू, घटनाहरू, र कामकुराहरूप्रति के-कस्ता दृष्टिकोण र मनोवृत्तिहरू राख्नेछस्? के त्यस्तो बुझाइले तेरो मनोवृत्ति परिवर्तन गर्नेछ? (गर्नेछ।) सबैभन्दा बढी, यसले नै परिवर्तन गर्नेछ। त्यसोभए, यसले तेरो मनोवृत्तिलाई कसरी परिवर्तन गर्नेछ त? के यसले तेरो जीवनको दिशा र संसारसँग व्यवहार गर्ने तेरा विधिहरूलाई मार्गदर्शन र परिवर्तन गर्नेछ? सायद तैँले यसअघि यस्तो विश्वास गर्थिस् होला, “सामञ्जस्यता सम्पत्ति हो भने सहनशीलता चमक हो” र “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” अब, तैँले यस्तो सोच्नेछस्, “‘जित्नेले श्रीपेच पाउँछ, हार्नेले केही पाउँदैन,’ त्यसकारण यदि म अधिकारी बन्न चाहन्छु भने, मैले फलानो-फलानो कुरालाई ध्यान दिएर ख्याल गर्नुपर्छ। तिनीहरू मेरा पक्षमा छैनन्, त्यसकारण मैले तिनीहरूलाई बढुवा दिनु हुँदैन—तिनीहरू बढुवा पाउन योग्य नै किन नहुन्।” तैँले कामकुराहरूबारे यसरी सोच्दै जाँदा, तेरो मनोवृत्ति परिवर्तन हुनेछ—र त्यो तुरुन्तै परिवर्तन हुनेछ। यो परिवर्तन किन आउँछ? किनभने तैँले “जित्नेले श्रीपेच पाउँछ, हार्नेले केही पाउँदैन” भन्ने विचार र दृष्टिकोणलाई स्वीकार गरेको हुन्छस्। धेरै तथ्यहरू सुनेपछि यसले तेरो लागि वास्तविक मानव जीवनमा यो दृष्टिकोणको सहीपनलाई थप पुष्टि मात्रै गर्नेछ। तैँले आफ्नो भावी जीवन र सम्भावनाहरूलाई पछ्याउनका लागि यो दृष्टिकोणलाई आफ्ना कार्य र आचरणमा लागू गर्नुपर्छ भन्ने कुरा तँलाई गहन रूपमा विश्वास हुनेछ। त्यसपछि के यो विचार र दृष्टिकोणले तँलाई परिवर्तन गरेको हुनेछैन र? (हुनेछ।) अनि यसले तँलाई परिवर्तन गर्दै गर्दा, यसले तँलाई भ्रष्ट पनि तुल्याइरहेको हुनेछ। कुरो त्यही हो। त्यस्तो ज्ञानले तँलाई परिवर्तन गर्छ र भ्रष्ट तुल्याउँछ। त्यसकारण, यस मामलाको जडलाई हेर्दा, यी इतिहास जति नै सटीक रूपमा प्रस्तुत गरिएका भए पनि, ती अन्ततः यो भनाइमा सारांशित हुन्छन्, र तँ यो विचारद्वारा सैद्धान्तिकरण गरिएको हुन्छस्। यो ज्ञान सत्यताको मूर्त रूप हो कि शैतानको तर्क हो त? (शैतानको तर्क।) ठीक भन्यौ। के मैले यसबारे पर्याप्त रूपमा व्याख्या गरेको छु? (गर्नुभएको छ।) अहिले यो कुरा स्पष्ट भएको छ। यदि तैँले परमेश्वरमा विश्वास गर्दैनस् भने, दुई जुनीपछि पनि तैँले यो कुरा बुझ्नेछैनस्—तँ जति धेरै जिउँछस्, तँलाई त्यति नै आफू मूर्ख छु भन्ने लाग्नेछ, र तँ पर्याप्त रूपमा निर्दयी छैनस्, र तँ अझै निर्दयी, अझै धूर्त, अझै कुटिल, र अझै खराब र अझै दुष्ट व्यक्ति हुनुपर्छ भन्ने तँलाई लाग्छ। तैँले मनमनै यसो सोच्नेछस्: “यदि उसले मार्न सक्छ भने, मैले आगजनी गर्नुपर्छ। यदि उसले एक जनालाई मार्छ भने, मैले १० जनालाई मार्नुपर्छ। यदि उसले कुनै निशान नै नछोडी मार्छ भने, म मानिसहरूलाई थाहै नदिई हानि गर्नेछु—तिनीहरूका सन्तानलाई पनि तीन पुस्तासम्म मलाई धन्यवाद दिने बनाउनेछु!” शैतानको दर्शन, ज्ञान, अनुभव, र पाठहरूले मानवजातिमा पारेको प्रभाव यही हो। वास्तवमा, यो त दुर्व्यवहार र भ्रष्टता मात्रै हो। त्यसकारण, यस संसारमा जुनसुकै प्रकारको ज्ञान प्रचार भइरहेको वा फैलिरहेको भए पनि, त्यसले तँलाई एउटा विचार वा दृष्टिकोणका साथ सैद्धान्तिकरण गर्नेछ। यदि तैँले यो कुरा खुट्टयाउन सक्दैनस् भने, तँ विषाक्त हुनेछस्। समग्रमा, अहिले एउटा कुरा निश्चित छ: यो ज्ञान आम मानिसहरूबाट आए पनि वा आधिकारिक स्रोतहरूबाट आए पनि, यसलाई अल्पसङ्ख्यकले आदर गरे पनि वा बहुसङ्ख्यकले आदर गरे पनि—त्यसमध्ये कुनै पनि सत्यतासँग सम्बन्धित हुँदैन। सत्यता नै सम्पूर्ण सकारात्मक कुराहरूको वास्तविकता हो। त्यसको सहीपन त्यसलाई स्वीकार गर्ने मानिसहरूको सङ्ख्याले निर्धारित गर्दैन। सकारात्मक कुराहरूको वास्तविकता आफै सत्यता हो। कसैले पनि यसलाई परिवर्तन गर्न सक्दैन, न त कसैले यसलाई इन्कार नै गर्न सक्छ। सत्यता सधैँ सत्यता नै हुनेछ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग तीन)
जो व्यक्तिहरू दियाबलसका हुन् तिनीहरू सबै आफ्नो लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो”, र यस्तै अन्य भ्रामक कुराहरू। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूका बारम्बार उद्धृत गरिने चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र यी विषको सानो अंश पनि परमेश्वरबाट आएको होइन। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्न सोधेको कल्पना गरौं न: “तपाईंले यो पदमा रहेर एकदमै राम्रो काम गर्नुभएको छ, तपाईं के-कस्ता नामुद उक्तिहरू अनुसरण गर्दै जिउनुहुन्छ?” तिनीहरूले भन्न सक्छन्, “मैले बुझेको एउटा कुराचाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्ने हो।” तिनीहरूको जीवनवृत्ति यही शैतानी दर्शनमा आधारित हुन्छ। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु तिनीहरूको प्रकृति बनेको छ, र अधिकारी बन्नु र पेशा-व्यवसायमा सफलता पाउनु नै तिनीहरूको लक्ष्य हो। मानिसहरूका जीवन, आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्वरको विरोध गर्छन् र परमेश्वरको विरुद्धमा उभिन्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
“दुनियाँ पैसाको इसारामा चल्छ” भन्ने भनाइ शैतानको दर्शन हो। यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ; यो प्रचलन नै बनेको छ भनेर भन्न सकिन्छ। यस्तो किन हुन्छ भने यो हरेक व्यक्तिको हृदयमा घुसाइएको छ, र तिनीहरूले सुरुमा त यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्दहरू वास्तवमा साँचो छन् भन्ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूले यो भनाइलाई एउटै हदमा बुझ्दैनन्, तर आफ्नो वरिपरि घटेका घटनाहरू र आफ्ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्न सक्दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्भव हुन्छ भन्ने अनुभव गर्छौ त? मानिसहरूको सम्मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्नो उच्च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरैजसो मानिसहरूले पैसाको लागि जे पनि बलि चढाउन सक्छन् भन्ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्ने क्रममा आफ्नो गौरव र इज्जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र? तँमा यस प्रसिद्ध भनाइलाई इन्कार गर्नेदेखि लिएर यसलाई सत्यताको रूपमा स्वीकार गर्ने सम्मको परिवर्तन हुँदै जाँदा, तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा पर्छ, अनि त्यसकारण, तँ अपरिहार्य रूपमै यो भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्म प्रभाव पारेको छ? तैँले साँचो मार्ग चिनेको हुनसक्छस्, र तँलाई सत्यता थाहा हुनसक्छ, तर यसलाई खोजी गर्न तँ शक्तिहीन छस्। परमेश्वरका वचनहरू नै सत्यता हो भन्ने तँलाई स्पष्ट रूपमा थाहा हुनसक्छ, तर तँ सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउन वा कष्ट भोग्न अनिच्छुक छस्। बरु, अन्त्यसम्मै परमेश्वरलाई विरोध गर्नको लागि तैँले तेरो आफ्नै भविष्य र गन्तव्यलाई बलिदान दिनेछस्। परमेश्वरले जे भन्नुभए पनि, परमेश्वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्वरको प्रेम कति गहन र कति महान् छ भन्ने तैँले बुझे पनि, तँ हठी भई तेरो आफ्नै मार्गमा हिँड्न र यस भनाइको लागि मूल्य चुकाउन जिद्दी गर्छस्। भन्नुको अर्थ, यो भनाइले तँलाई भ्रममा पारिसकेको र तेरा विचारहरूलाई नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारमाथि आधिपत्य जमाइसकेको छ र तैँले धनसम्पत्तिको खोजीलाई त्याग्नुको सट्टा यसैलाई तेरो नियतिमाथि शासन गर्न दिन्छस्। मानिसहरूले यसरी व्यवहार गर्न सक्नु, तिनीहरू शैतानको भनाइको नियन्त्रण र चालबाजीमा पर्न सक्नु—के यसको अर्थ तिनीहरू शैतानद्वारा भ्रममा पारिएका र भ्रष्ट तुल्याइएका छन् भन्ने हुँदैन र? के शैतानको दर्शन र मानसिकता अनि शैतानको स्वभावले तेरो हृदयमा जरा गाडिसकेको छैन र? जब तैँले अन्धाधुन्ध रूपमा धनसम्पत्तिको खोजी गर्छस्, अनि सत्यताको खोजीलाई त्याग्छस्, तब के शैतानले तँलाई भ्रममा पार्ने उद्देश्य हासिल गरिसकेको हुँदैन र? अवस्था ठ्याक्कै यही हो। त्यसो भए, शैतानले तँलाई भ्रममा पार्दा र भ्रष्ट तुल्याउँदा, के तैँले त्यो कुरा महसुस गर्न सक्छस्? के तैँले यसलाई अनुभव गर्न सक्छस् त? तैँले सक्दैनस्। यदि तैँले शैतानलाई आफ्नै अगाडि उभिएको देख्न सक्दैनस्, वा अँध्यारोमा काम गर्ने शैतान नै हो भन्ने महसुस गर्दैनस् भने, के तँ शैतानको दुष्टतालाई देख्न सक्षम हुन्छस् त? के तैँले मानवजातिलाई शैतानले कसरी भ्रष्ट तुल्याउँछ भनेर जान्न सक्छस् त? शैतानले मानिसलाई हरेक समय र हरेक स्थानमा भ्रष्ट तुल्याउँछ। शैतानले मानिसको लागि यो भ्रष्टताको विरुद्ध प्रतिरक्षा गर्ने कार्य असम्भव तुल्याउँछ र मानिसलाई यसको विरुद्ध विवश तुल्याउँछ। तँ अनजान भएको अवस्थामा र आफूलाई के भइरहेको छ सो तँलाई थाहा नभएको अवस्थामा शैतानले तँलाई त्यसका विचारहरू, त्यसका दृष्टिकोणहरू र त्यसबाट आउने दुष्ट कुराहरू स्वीकार गर्ने तुल्याउँछ। मानिसहरूले यी कुराहरूलाई स्विकार्छन् र यीप्रति कुनै आपत्ति जनाउँदैनन्। तिनीहरूले यी कुराहरूलाई सम्पत्ति जस्तै मनमा सजाएर आफूसँगै राखिरहन्छन् र तिनीहरूले यी कुराहरूलाई आफूमाथि चालबाजी र खेलबाड गर्न दिन्छन्; यसरी मानिसहरू शैतानको शक्तिअन्तर्गत जिउँछन्, र तिनीहरूले अचेतन रूपमै शैतानको आज्ञापलन गर्छन्, र यसरी मानिसलाई भ्रष्ट तुल्याउने शैतानको कार्य झन्झन् गहिरो बन्दै जान्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५
अहिले कतिपय मानिस व्यावहारिक र सही हुन “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने भनाइलाई विश्वास गर्छन्। के यस्ता मानिसहरूमा सुझबुझ हुन्छ? के तिनीहरू सत्यता बुझ्छन्? के यस्ता मानिसहरूको सोच र दृष्टिकोण समस्याजनक हुन्छ? यदि मण्डलीभित्रका कसैले यो भनाइ फैलाउँछ भने, उसले त्यो कुनै मनसाय राखेर गर्छ, उसले अरूलाई बहकाउने प्रयास गरिरहेको हुन्छ। उसले आफूप्रति अरूको आशङ्का वा शङ्का हटाउन “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने भनाइ प्रयोग गर्न खोजिरहेको हुन्छ। परोक्ष रूपमा, यसको अर्थ ऊ आफूले काम गर्न सक्छ, आफू उपयोगयोग गरिन सक्ने व्यक्ति हो भनेर अरूले भरोसा गरेको चाहन्छ। के यो उसको अभिप्राय र उद्देश्य होइन र? त्यही हुनुपर्छ। ऊ मनमनै सोच्छ, “तिमीहरू मलाई कहिल्यै भरोसा गर्दैनौ र सधैँ शङ्का गर्छौ। कुनै मोडमा तिमीहरूले सायद ममा कुनै सानोतिनो समस्या भेट्टाउनेछौ र मलाई बरखास्त गर्नेछौ। यदि यो कुरा मेरा मनमा सधैँ रह्यो भने, मैले कसरी काम गर्ने?” त्यसैले तिनीहरू यो दृष्टिकोण फैलाउँछन् ताकि परमेश्वरको घरले तिनीहरूलाई शङ्का नगरी भरोसा गरोस् र स्वतन्त्र रूपले काम गर्न छोडिदेओस्, यसरी तिनीहरूको उद्देश्य पूरा हुन्छ। यदि कसैले साँचो रूपमा सत्यता पछ्याइरहेको छ भने, उसले परमेश्वरको घरले तिनीहरूका कामको सुपरिवेक्षण गरेको देख्दा त्यसलाई उचित रूपमा लिनुपर्छ, यो आफ्नो सुरक्षाका लागि हो, र अझ महत्त्वपूर्ण कुरा त, त्यो परमेश्वरको घरको कामप्रति जिम्मेवार हुनु पनि हो भनेर जान्नुपर्छ। तिनीहरूले आफ्नो भ्रष्टता प्रकट गर्न सक्ने भए पनि, परमेश्वरलाई आफ्नो जाँच र सुरक्षा गरिमाग्न प्रार्थना गर्न सक्छन्, वा आफूले दुष्टता गरेमा उहाँको दण्ड स्विकार्ने कसम खान सक्छन्। के यसले तिनीहरूलाई मनोशान्ति दिनेछैन र? मानिसहरूलाई बहकाउन र आफ्नो उद्देश्य पूरा गर्न किन भ्रम फैलाउनु? कतिपय अगुवा र कामदारहरू सधैँ परमेश्वरका चुनिएका मानिसहरूको सुपरिवेक्षण वा तिनीहरूको कामबारे जान्न माथिल्ला अगुवा र कामदारहरूले गर्ने प्रयासको प्रतिरोध गर्ने मनोवृत्ति राख्छन्। तिनीहरू के सोच्छन्? “‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने।’ किन तिमीहरू सधैँ मलाई सुपरिवेक्षण गरिरहन्छौ? यदि तिमीहरू मलाई भरोसा गर्दैनौ भने किन उपयोग गर्छौ?” यदि तैँले तिनीहरूको कामबारे सोधिस् वा त्यसको प्रगतिबारे सोधपुछ गरिस् र त्यसपछि तिनीहरूको व्यक्तिगत स्थितिबारे सोधिस् भने, तिनीहरू झनै रक्षात्मक हुनेछन्: “यो काम मलाई सुम्पिइएको छ; यो मेरो कार्यक्षेत्रभित्र पर्छ। किन तिमीहरू मेरा काममा हस्तक्षेप गरिरहेका छौ?” तिनीहरूले सिधै भन्ने आँट नगरे पनि, यसरी पेच हान्नेछन्, “भनाइ नै छ, ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने।’ किन तिमी यस्तो शङ्कालु व्यक्ति हौ?” तिनीहरूले तँलाई निन्दा गर्ने र नाम दिनेसमेत गर्नेछन्। अनि यदि तैँले सत्यता बुझिनस् र तँमा सुझबुझ छैन भने के हुन्छ? तिनीहरूले पेच हानेको सुनेपछि, तँ भन्नेछस्, “के म शङ्कालु छु? त्यसोभए म गलत छु। म छली हुँ! तिमीले ठिक भन्य़ौ: न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने।” के यसरी तँ बहकिएको हुँदैनस् र? के “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने भनाइ सत्यताअनुरूप छ? छैन, त्यो बकवास हो! यी दुष्ट मानिसहरू अन्तर्घाती र छली हुन्छन्; तिनीहरू भ्रमित मानिसहरूलाई बहकाउन यस भनाइलाई सत्यताका रूपमा प्रस्तुत गर्छन्। यो भनाइ सुनेपछि भ्रमित व्यक्ति साँच्चै बहकिन्छ, र ऊ अन्योलमा पर्छ, र सोच्छ, “ऊ सही हो, मैले यस व्यक्तिलाई अन्याय गरेको छु। उसले आफैँ भन्यो त: ‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने।’ कसरी मैले उसलाई शङ्का गर्न सकेँ? यसरी काम गर्न सकिँदैन। मैले उसलाई उसका काममा खोजीनिती नगरी प्रोत्साहन दिनैपर्छ। मैले उसलाई प्रयोग गरिरहेको हुनाले, उसलाई भरोसा गर्नुपर्छ र नियन्त्रण नगरी स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ। मैले उसलाई काम गर्ने स्वतन्त्रता दिनुपर्छ। ऊसँग यो काम गर्ने क्षमता छ। अनि उसमा त्यो क्षमता छैन भने पनि, पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ!” यो कस्तो प्रकारको तर्क हो? के यसमध्ये कुनै सत्यतासँग मेल खान्छ? (खाँदैन।) यी शब्दहरू सबै सही लाग्छ। “हामीले अरूलाई बाँध्न मिल्दैन।” “मानिसहरूले केही गर्न सक्दैनन्; सबै कुरा गर्ने त पवित्र आत्मा नै हुनुहुन्छ। पवित्र आत्माले सबथोक जाँच्नुहुन्छ। परमेश्वरले पूर्ण रूपमा रेखदेख गर्नुहुने हुनाले हामीले शङ्का गर्नु पर्दैन।” तर यी कस्ता शब्दहरू हुन्? के ती शब्द बोल्ने मानिसहरू भ्रमित होइनन् र? तिनीहरू यति पनि छर्लङ्गदेख्न सक्दैनन् र एउटै वाक्यले बहकिन्छन्। धेरैजसो मानिस “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने भनाइलाई सत्यताका रूपमा लिन्छन्, अनि यसद्वारा बहकिन्छन् र बन्धनमा पर्छन् भनेर भन्दा अत्युक्ति हुँदैन। मानिसहरूलाई छनौट वा प्रयोग गर्दा तिनीहरू यसको बाधा र प्रभावमा पर्छन्, र यसैलाई आफ्नो निर्देशित गर्नसमेत गर्छन्। फलस्वरूप, धेरै अगुवा र सेवकहरूले मण्डलीको कामको जाँच गर्दा र मानिसहरूलाई बढुवा र प्रयोग गर्दा, तिनीहरूले सधैँ कठिनाइ र आशङ्का महसुस गर्छन्। अन्त्यमा, तिनीहरूले आफूलाई “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने शब्दहरूद्वारा आफूलाई सान्त्वना दिन मात्र सक्छन्। जब तिनीहरू कामको जाँच वा सोधपुछ गर्छन्, तब यस्तो सोच्छन्, “‘न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने।’ ब्रदर-सिस्टरहरूलाई भरोसा गर्नुपर्छ, आखिर पवित्र आत्माले नै मानिसहरूलाई जाँच गर्नुहुन्छ, त्यसकारण मैले सधैँ शङ्का गरेर अरूको सुपरिवेक्षण गर्नु हुँदैन।” तिनीहरू यो वाक्यांशद्वारा प्रभावित भएका हुन्छन्, होइन र? यो वाक्यांशको प्रभावबाट आउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यदि कुनै व्यक्ति “न त आफूले रोजगार दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगार दिने” भन्ने यस दृष्टिकोणसँग सहमत हुन्छ भने, के उसले अरूको कामको निरीक्षण गर्नेछ र त्यसलाई मार्गदर्शन दिनेछ? के उसले मानिसहरूको कामको सुपरिवेक्षण र अनुगमन गर्नेछ? यदि यस व्यक्तिले आफूले प्रयोग गर्ने सबैलाई भरोसा गर्छ अनि तिनीहरूको कामको कहिल्यै निरीक्षण गर्दैन वा त्यसलाई मार्गदर्शन दिँदैन, अनि तिनीहरूलाई कहिल्यै सुपरिवेक्षण गर्दैन भने, के उसले आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गरिरहेको हुन्छ? के उसले दक्षतापूर्वक मण्डलीका काम गर्न र परमेश्वरको आज्ञा पूरा गर्न सक्छ? के ऊ परमेश्वरको आज्ञाप्रति बफादार भइरहेको हुन्छ? दोस्रो, यो परमेश्वरको वचन र आफ्नो कर्तव्य पालन गर्न नसक्नु मात्रै होइन, यो त शैतानको युक्ति र सांसारिक व्यवहारको दर्शनलाई सत्यताका रूपमा लिएर त्यसैलाई पछ्याउनु र अभ्यास गर्नु पनि हो। तैँले शैतानको आज्ञापालन गरिरहेको र शैतानी दर्शनअनुसार जिइरहेको हुन्छस्, होइन र? तँ परमेश्वरमा समर्पित हुने व्यक्ति होइनस्, झन् परमेश्वरका वचनहरू पालना गर्ने व्यक्ति हुनु त परको कुरा हो। तँ हदैको बदमास होस्। परमेश्वरका वचनहरूलाई पन्छाएर शैतानी वाक्यांशलाई स्विकार्दै त्यसैलाई सत्यताका रूपमा अभ्यास गर्नु सत्यता र परमेश्वरलाई धोका दिनु हो! तँ परमेश्वरका घरमा काम गर्छस्, तैपनि तेरो कामका सिद्धान्तहरू शैतानी तर्क र सांसारिक व्यवहारको दर्शन हुन् भने, तँ कस्तो व्यक्ति होस्? यो त परमेश्वरलाई विश्वासघात गर्ने र परमेश्वरलाई अत्यन्तै लज्जित पार्ने व्यक्ति हो। यो कार्यको सार के हो? खुलेआम परमेश्वरलाई निन्दा गर्नु र खुलेआम सत्यतालाई इन्कार गर्नु। के यसको सार त्यही होइन र? (हो।) तैँले परमेश्वरको इच्छा नपछ्याउनेबाहेक, शैतानी भनाइहरूमध्ये एउटा र सांसारिक व्यवहारका दर्शनहरूलाई मण्डलीमा व्याप्त हुन दिइरहेको हुन्छस्। यसो गरेर, मण्डलीभित्र तँ शैतानको मतियार बन्छस् र शैतानलाई मण्डलीभित्र त्यसका क्रियाकलाप गर्न सघाउँछस्। यस समस्याको सार एकदमै गम्भीर हुन्छ, होइन र?
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो
त्यसोभए, कहिल्यै हार नमान्नुको अर्थ के हो? यसको अर्थ कुनै व्यक्ति असफल हुँदा, उसलाई रोकावट आइपर्दा, वा ऊ तर्केर गलत मार्गमा हिँड्दा त्यो नस्विकार्नु हो। ऊ अटेर भई त्यसमा लागिरहन्छ। ऊ असफल हुन्छ तर निरुत्साहित हुँदैन, असफल हुन्छ तर आफ्नो गल्ती स्विकार्दैन। उसलाई जति जना मानिसले हप्काए वा निन्दा गरे पनि, ऊ पछि फर्कँदैन। ऊ लड्न, काम गर्न अनि आफ्नै दिशा र उद्देश्य पछ्याउन ढिपी गर्छ, र त्यसको मूल्यबारे केही सोच्दैन। यो नै त्यसले जनाउने मानसिकता हो। के यो मानिसहरूलाई एकत्रित गर्ने निकै राम्रो मानसिकता होइन र? सामान्यतया कस्ता परिस्थितिहरूमा “कहिल्यै हार नमान्नु” भन्ने भनाइ प्रयोग गरिन्छ? हरेक प्रकारका परिस्थितिमा। जहाँ-जहाँ भ्रष्ट मानवहरू अस्तित्वमा हुन्छन्, त्यहाँ-त्यहाँ यो वाक्यांश अस्तित्वमा हुन्छ; यो मानसिकता अस्तित्वमा हुन्छ। त्यसोभए, शैतानजस्ता मानिसहरूले केका लागि यो भनाइ बनाएका हुन्? मानिसहरूले आफूलाई कहिल्यै नबुझून्, आफ्ना गल्तीहरू कहिल्यै नचिनून्, र आफ्ना गल्तीहरू कहिल्यै नस्विकारून् भनेर बनाएका हुन्। मानिसहरूले आफ्नो कमजोर, दुर्बल र अयोग्य पक्ष नदेखून् भनेर मात्र नभई, बरु आफ्नो सक्षम, शक्तिशाली र दह्रिलो पक्ष देखून, आफूलाई कम नठानून् तर योग्य ठानून् भन्नाका लागि बनाएका हुन्। यदि तँ आफूलाई सक्षम ठान्छस् भने, सक्षम नै हुन्छस्; यदि तँ आफू सफल हुन सक्छु, असफल हुनेछैनँ, र हिरामध्ये कोहिनुर बन्न सक्छु भनी सोच्छस् भने, त्यही हुनेछस्। यदि तँमा त्यो अठोट र सङ्कल्प छ, त्यो महत्त्वाकाङ्क्षा र चाहना छ भने, तैँले त्यो सब हासिल गर्न सक्छस्। मानिसहरू महत्त्वहीन होइनन्; तिनीहरू शक्तिशाली हुन्। गैरविश्वासीहरूको यस्तो भनाइ छ: “जति ठूलो सोच, त्यति ठूलो हृदय।” कतिपय मानिसलाई यो भनाइ सुन्नासाथ मन पर्छ: “वाह, म दस क्यारेटको हिरा चाहन्छु, के त्यसको अर्थ त्यो म पाउनेछु? म मर्सिडेज बेन्ज चाहन्छु, के त्यसको अर्थ म त्यो पाउनेछु?” के तेरो मनले चाहेको कुरा पूरा हुनेछ? (हुनेछैन।) यो भनाइ भ्रम हो। स्पष्टसित भन्नुपर्दा, “कहिल्यै हार नमान्नु” भन्ने वाक्यांशलाई विश्वास गर्ने र स्विकार्नेहरूको अहङ्कारको कुनै सीमा हुँदैन। परमेश्वरका कुन वचनहरू यी मानिसहरूको सोच्ने तरिकासँग सिधै बाझिन्छ? परमेश्वर मानिसहरूले आफूलाई बुझून, र आफूलाई व्यावहारिक तरिकामा व्यवहारमा ढालून् भन्ने माग गर्नुहुन्छ। मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्; तिनीहरूमा परमेश्वरको प्रतिरोध गर्ने कमीकमजोरी र स्वभाव हुन्छ। मानिसहरूमाझ कोही पनि सिद्ध छैनन्; कोही पनि सिद्ध हुँदैन; तिनीहरू सामान्य मानिस मात्रै हुन्। परमेश्वरले मानिसहरूलाई कसरी आफूलाई व्यवहारमा ढाल्न प्रोत्साहित गर्नुभयो? (शिष्ट ढङ्गमा।) आफूलाई शिष्ट ढङ्गमा व्यवहारमा ढाल्न, र व्यावहारिक तरिकामा सृजित प्राणीका रूपमा आफ्ना स्थानमा दृढ रहन। के परमेश्वरले कहिल्यै मानिसहरूले कहिल्यै हार नमानून् भनेर माग गर्नुभएको छ? (छैन।) अहँ, छैन। त्यसोभए मानिसहरूले गलत मार्ग पछ्याउनु, वा भ्रष्ट स्वभाव प्रकट गर्नुबारे परमेश्वर के भन्नुहुन्छ? (उहाँ त्यसलाई मानिलिनू र स्विकार्नू भन्नुहुन्छ।) त्यसलाई मानिलिनू र स्विकार्नू, त्यसपछि त्यसलाई बुझ्नू, आफूलाई बदल्न सक्षम हुनु, र सत्यता अभ्यास हासिल गर्नू भन्नुहुन्छ। त्यसको विपरीत, कहिल्यै हार नमान्नु भनेको मानिसहरूले आफ्ना समस्याहरू नबुझ्नु, आफ्ना गल्तीहरू नबुझ्नु, आफ्ना गल्तीहरू नस्विकार्नु, कुनै हालतमा आफूलाई नबदल्नु, र कुनै हालतमा पश्चात्ताप नगर्नु हो, झन् परमेश्वरको सार्वभौमिकता वा बन्दोबस्तहरू स्विकार्न हुनु त परको कुरा हो। तिनीहरूले मानिसहरूको भाग्य ठ्याक्कै के हो, वा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू के हुन् भनेर खोजी नगर्ने मात्र होइनन्—तिनीहरूले यी कुराहरूको खोजी नगर्ने मात्र होइनन्, तर आफ्नो भाग्य पनि आफ्नै हातमा लिन्छन्; तिनीहरू अन्तिम निर्णय गर्न चाहन्छन्। साथै, परमेश्वर मानिसहरूले आफूलाई बुझून्, आफूलाई सही तरिकाले मूल्याङ्कन र आँकलन गरून्, अनि आफूले राम्ररी गर्न सक्ने जुनसुकै कुरा व्यावहारिक र शिष्ट ढङ्गमा अनि आफ्नो सारा हृदय, मन, र प्राणले गरून् भन्ने माग गर्नुहुन्छ, जबकि शैतानले मानिसहरूलाई आफ्नो अहङ्कारी स्वभावको पूर्ण प्रयोग गर्न, र आफ्नो अहङ्कारी स्वभावलाई खुल्ला छोड्न लगाउँछ। त्यसले मानिसहरूलाई महामानव हुन, महान् हुन र महाशक्ति प्राप्त गर्नसमेत लगाउँछ—त्यसले मानिसहरूलाई हुनै नसक्ने कुरा हुन लगाउँछन्। तसर्थ, शैतानको दर्शन के हो? त्यो के हो भने, तँ गलत भए पनि, तँ गलत होइनस्, अनि यदि तँमा हार नस्विकार्ने मानसिकता छ भने, र यदि तँमा कहिल्यै हार नमान्ने मानसिकता छ भने, ढिलो-चाँडो कुनै दिन तँ हिरामध्ये कोहिनूर बन्नेछस्, अनि ढिलो-चाँडो कुनै दिन तेरा इच्छा र उद्देश्यहरू साकार हुनेछन्। त्यसोभए, के कहिल्यै हार नमान्नुको अर्थ तैँले कुनै कुरा हासिल गर्न कुनै पनि माध्यम प्रयोग गर्छस् भन्ने पनि हुन सक्छ? तैँले आफ्ना उद्देश्यहरू हासिल गर्नका लागि आफू असफल हुन सक्छु भनेर स्विकार्नै हुँदैन, तैँले आफूलाई सामान्य व्यक्ति पटक्कै ठान्नु हुँदैन, र तैँले गलत मार्ग पछ्याउन सक्छस् भनेर ठान्नै हुँदैन। यसबाहेक, तैँले आफ्ना महत्त्वाकाङ्क्षा र चाहना साकार पार्न हर प्रकारको तरिका वा गोप्य युक्ति बेइमानीपूर्वक प्रयोग गर्नैपर्छ। के कहिल्यै हार नमान्नुबारे कुनै कुरा छ, जसमा मानिसहरूले आफ्नो भाग्यलाई प्रतीक्षा र समर्पण गर्ने मनोवृत्तिले लिन्छन्? (छैन।) अहँ छैन। मानिसहरू आफ्नो भाग्य पूर्ण रूपले आफ्नै हातमा लिने अड्डी कस्छन्; तिनीहरू आफ्नै भाग्य नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूले जुनै मार्ग लिए पनि, तिनीहरू आशिषित भए पनि वा तिनीहरूको जीवनशैली जस्तो प्रकारको हुने भए पनि, तिनीहरूले हरकुरामा अन्तिम निर्णय गर्नैपर्छ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट एक: सत्यता के हो
“आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने भनाइ “भेटेको पैसा लिनु हुँदैन” र “अरूलाई सहयोग गर्दा आनन्द पाइन्छ” भन्ने भनाइ जस्तै परम्परागत संस्कृतिले मानिसहरूको नैतिक आचरणको विषयमा गरेकामागहरूमध्ये एउटा हो। त्यसरी नै, कसैले यो नैतिक आचरण प्राप्त गर्न वा अभ्यास गर्न सके पनि नसके पनि, यो उसको मानवता नाप्ने मापदण्ड वा मानक होइन। सायद तँ साँच्चै आफूप्रति कडा हुन र अरूलाई सहन सक्छस्, अनि आफूप्रति निकै उच्च मापदण्ड राख्छस्। सायद तँ नैतिक रूपमा पूर्णतया स्वच्छ छस् अनि स्वार्थी नबनी र आफ्ना हितहरू नखोजी सधैँ अरूको बारेमा सोच्छस् र तिनीहरूको कुरा बुझिदिन्छस् होला। तँ विशेष गरी दिलदार र निस्स्वार्थ देखिन्छस् होला, र तँमा सामाजिक जिम्मेवारी र सामाजिक नैतिकताहरूको ठूलो बोध होला। तेरो नजिकका मानिसहरू, र तैँले भेटेका र तँसँग कुराकानी गर्ने मानिसहरूले तेरो आदर्श व्यक्तित्व र गुणहरू देखेका होलान्। तेरो व्यवहारले गर्दा अरूले कहिल्यै तँलाई दोष दिने वा आलोचना गर्ने कारण भेट्टाउँदैनन् होला, बरु तँलाई प्रशंसा र आदरसमेत गर्छन् होला। मानिसहरूले तँलाई आफूलाई कडाइ गर्ने र अरूलाई सहने व्यक्तिको रूपमा हेर्छन् होला। तैपनि, यी बाहिरी व्यवहारबाहेक केही होइनन्। के तेरो हृदयभित्रका विचार र इच्छाहरू यी बाहिरी व्यवहारसँग, तैँले बाहिरी रूपमा जिउने यी क्रियाकलापसँग मेल खान्छन्? यसको उत्तर हो, खाँदैनन्। तैँले यसरी व्यवहार गर्न सक्नुको पछाडि एउटा मनसाय छ। त्यो मनसाय वास्तवमा के हो? के तैँले त्यस्तो मनसाय खुलासा भएको सहन सक्छस्? अवश्य नै सक्दैनस्। यसले यो मनसाय उल्लेख गर्न नसकिने, कालो र दुष्ट कुरा हो भन्ने प्रमाणित गर्छ। अब, किन यो मनसाय बताउन नमिल्ने र दुष्ट किसिमको छ? किनभने मानिसहरूको मानवता उसको भ्रष्ट स्वभावद्वारा सञ्चालित र उत्प्रेरित भएको हुन्छ। मानवजातिले आफ्ना विचारहरूलाई शब्दहरूमा ढाले पनि नढाले पनि वा व्यक्त गरे पनि नगरे पनि, ती सबैलाई तिनीहरूको भ्रष्ट स्वभावले काबुमा राखेको, नियन्त्रण गरेको, र प्रभावित गरेको हुन्छ। परिणामस्वरूप, मानिसहरूको मनसाय र अभिप्राय सबै कुटिल र दुष्ट हुन्छन्। मानिसहरूले आफूलाई कडाइ गर्न र अरूलाई सहन सके पनि नसके पनि, वा तिनीहरूले बाहिरी रूपमा यो नैतिकता राम्ररी व्यक्त गर्न सके पनि नसके पनि, यो नैतिकताले तिनीहरूको मानवतालाई कुनै पनि रूपमा नियन्त्रित वा प्रभावित गर्नेछैनरभन्ने कुरा अवश्यम्भावी छ। त्यसोभए, मानिसहरूको मानवतालाई केले नियन्त्रण गर्छ? तिनीहरूको भ्रष्ट स्वभावले, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने नैतिकताको पछाडि लुकेको तिनीहरूको मानवता सारले—तिनीहरूको साँचो प्रकृति त्यही हो। व्यक्तिको साँचो प्रकृति उसको मानवता सार हो। अनि तिनीहरूको मानवता सारमा के हुन्छ? यसमा मुख्य रूपमा तिनीहरूको अभिरुचि, तिनीहरूले खोजी गर्ने कुरा, जीवनसम्बन्धी तिनीहरूको दृष्टिकोण र तिनीहरूको मूल्यमान्यता, साथै सत्यता र परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति, र यस्तै इत्यादि कुरा हुन्छ। यी कुराहरूले मात्रै मानिसहरूको मानवता सारलाई साँचो रूपमा प्रतिनिधित्व गर्न सक्छन्। निश्चित गरेर के भन्न सकिन्छ भने, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने नैतिकता पूरा गर्न आफूलाई बाध्य गर्ने धेरैजसो मानिसहरू हैसियतप्रति मरिहत्ते गर्छन्। आफ्ना भ्रष्ट स्वभावद्वारा उत्प्रेरित भएर, तिनीहरू मानिसहरूका बीचमा प्रतिष्ठा, सामाजिक प्रसिद्धि, र अरूको नजरमा हैसियत पाउने कुराको पछि नलागी सक्दै सक्दैनन्। यी सबै कुरा हैसियतप्रतिको तिनीहरूको इच्छासँग सम्बन्धित हुन्छन्, अनि तिनीहरूको असल नैतिक आचरण व्यवहारको नाममा तिनीहरू यसको पछि लाग्ने गर्छन्। अनि तिनीहरूको यी खोजीहरू कसरी आउँछन्? ती पूर्णतया तिनीहरूको भ्रष्ट स्वभावहरूबाट आउँछन् र तिनैद्वारा प्रेरित हुन्छन्। त्यसकारण, जेसुकै भए पनि, कुनै व्यक्तिले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने नैतिकतालाई पुरा गरे पनि नगरे पनि र उसले सिद्ध रूपमा त्यसो गरे पनि नगरे पनि, यसले पटक्कै उसको मानवता सार परिवर्तन गर्न सक्दै सक्दैन। यथार्थमा, यसको अर्थ यसले कुनै पनि हालतमा जीवन सम्बन्धी तिनीहरूको दृष्टिकोण वा मूल्य-मान्यताहरू परिवर्तन गर्न, वा सबै किसिमका मानिस, घटना, र कामकुराहरूप्रति तिनीहरूको मनोवृत्ति र दृष्टिकोणलाई डोऱ्याउन सक्दैन। के कुरा त्यही होइन र? (हो।) कुनै व्यक्ति आफूलाई कडाइ गर्न र अरूलाई सहन जति सक्षम हुन्छ, ऊ नाटक गर्न, आफ्नो वास्तविक रूप लुकाउन, र अरूलाई असल व्यवहार र मीठो बोलीवचनद्वारा बहकाउन उति नै सिपालु हुन्छ, र ऊ प्रकृतिले उती नै छली र दुष्ट हुन्छ। तिनीहरू जति हदसम्म यस्तो व्यक्ति बन्छन्, हैसियत र शक्तिप्रति तिनीहरूको प्रेम र खोजी त्यति नै गहिरो बन्छ। तिनीहरूको बाहिरी नैतिक आचरण जति महान्, महिमित र सही देखिए पनि, र मानिसहरूको लागि यो जति नै मनमोहक देखिए पनि, तिनीहरूको हृदयभित्र बसेको अकथित खोजी, साथै तिनीहरूको प्रकृति सार, अनि तिनीहरूका महत्त्वाकाङ्क्षाहरूसमेत कुनै पनि बेला तिनीहरूबाट विस्फोट भएर निस्कन सक्छन्। त्यसकारण, तिनीहरूको नैतिक आचरण जति नै असल भए पनि, यसले तिनीहरूको अन्तर्निहित मानवता सारलाई, वा तिनीहरूका महत्त्वाकाङ्क्षा र इच्छाहरूलाई लुकाउन सक्दैन। यसले सकारात्मक कुराहरूलाई प्रेम नगर्ने र सत्यताविरुद्ध जाने र यसलाई घृणा गर्ने तिनीहरूको घृणित प्रकृति सारलाई लुकाउन सक्दैन। यी तथ्यहरूले देखाए जस्तै, “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने भनाइ निरर्थक मात्रै छैन—यसले त्यस्ता महत्त्वाकाङ्क्षीहरूलाई खुलासा गर्छ, जसले आफ्ना गोप्य महत्त्वाकाङ्क्षा र इच्छाहरू ढाकछोप गर्न प्रयास गर्न यस्ता भनाइ र व्यवहारहरू प्रयोग गर्छन्। तिमीहरूले यसलाई मण्डलीका केही ख्रीष्ट-विरोधी र दुष्ट मानिसहरूसँग तुलना गर्न सक्छौ। मण्डलीमा आफ्नो हैसियत र शक्तिलाई दह्रिलो बनाउन, र अरू सदस्यहरूका बीचमा राम्रो ख्याति कमाउनका लागि तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा केही कष्ट भोग्न र मूल्य चुकाउन सक्छन्, र तिनीहरूले परमेश्वरका लागि मरिमेट्न आफ्नो जागिर र परिवार छोड्न र आफूसँग भएका सबै कुरा बेच्न समेत सक्छन्। कतिपय अवस्थामा त, तिनीहरूले परमेश्वरका खातिर मरिमेट्नका लागि चुकाउने मूल्य र भोग्ने दुःख-कष्ट सामान्य व्यक्तिले सहन सक्नेभन्दा पनि बढी हुन्छ; तिनीहरूले आफ्नो हैसियत कायम राख्नका लागि चरम आत्म-त्याग गर्ने भावना बोक्न सक्छन्। तैपनि, तिनीहरूले जति धेरै कष्ट भोगे पनि वा तिनीहरूले जति धेरै मूल्य चुकाए पनि, तिनीहरू कसैले पनि परमेश्वरको गवाही वा परमेश्वरको घरका हितहरूको रक्षा गर्न सक्दैनन्, न त तिनीहरूले परमेश्वरका वचनहरूअनुसार अभ्यास नै गर्न सक्छन्। तिनीहरूले पछ्याउने उद्देश्य भनेको हैसियत, शक्ति र परमेश्वरको इनाम पाउनु मात्रै हो। तिनीहरूले गर्ने कुनै पनि कुरा सत्यतासँग अलिकति पनि सम्बन्धित हुँदैन। तिनीहरूले आफूलाई जति नै कडाइ गरे पनि र अरूलाई जति नै सहे पनि, तिनीहरूको अन्तिम परिणाम के हुन्छ? परमेश्वरले तिनीहरूका बारेमा के सोच्नुहुनेछ? के परमेश्वरले तिनीहरूले जिउने बाहिरी असल व्यवहारका आधारमा तिनीहरूको परिणाम निर्धारित गर्नुहुनेछ? अवश्य नै गर्नुहुनेछैन। मानिसहरूले यी व्यवहार र प्रकटीकरणहरूअनुसार अरूलाई हेर्छन् र मूल्याङ्कन गर्छन्, र तिनीहरूले यस्ता मानिसहरूको सारलाई स्पष्टसँग देख्न नसक्ने हुनाले, तिनीहरू यी मानिसहरूको छलमा पर्छन्। तर परमेश्वर भने कहिल्यै मानिसको छलमा पर्नुहुन्न। मानिसहरू आफूलाई कडाइ गर्न र अरूलाई सहन सके भन्दैमा उहाँले तिनीहरूको नैतिक आचरणको तारिफ गर्नुहुनेछैन र त्यसलाई स्मरण गर्नुहुनेछैन। बरु, उहाँले तिनीहरूका महत्वाकाङ्क्षाहरूका निम्ति र हैसियतको खोजी गर्न तिनीहरूले लिएको मार्गका लागि तिनीहरूको निन्दा गर्नुहुनेछ। त्यसकारण, सत्यता पछ्याउने मानिसहरूले मानिसहरूलाई मूल्याङ्कन गर्ने यो मापदण्ड खुट्ट्याउन सक्नुपर्छ। तिनीहरूले यो वाहियात मानकलाई पूर्ण रूपमा इन्कार गर्नुपर्छ र त्याग्नुपर्छ, र मानिसहरूलाई परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार खुट्ट्याउनुपर्छ। तिनीहरूले मुख्य रूपमा कुनै व्यक्तिले सकारात्मक कुरालाई प्रेम गर्छ कि गर्दैन, उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन, र ऊ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन सक्छ कि सक्दैन भन्ने कुराका साथै उसले चुन्ने र हिँड्ने मार्गलाई हेर्नुपर्छ, र यी कुराहरूका आधारमा ऊ कस्तो व्यक्ति हो, र उसमा कस्तो मानवता छ भनेर वर्गीकरण गर्नुपर्छ। मानिसहरूले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने मानकका आधारमा अरूलाई मूल्याङ्कन गर्दा भ्रम र गल्तीहरू सहजै उत्पन्न हुन सक्छन्। यदि तैँले मानिसबाट आउने सिद्धान्तहरू र भनाइहरूका आधारमा कुनै व्यक्तिलाई गलत रूपमा खुट्ट्याइस् र हेरिस् भने, तैँले यस विषयमा सत्यता उल्लङ्घन गरिरहेको र परमेश्वरको विरोध गरिरहेको हुन्छस्। यस्तो किन हुन्छ? यस्तो हुने कारण के हो भने, मानिसहरूलाई हेर्ने तेरो दृष्टिकोणको आधार गलत हुन्छ, र परमेश्वरका वचनहरू र सत्यताअनुरूप हुँदैन—यो त त्यसको विरुद्ध र विपरीत पनि हुनसक्छ। परमेश्वरले “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू” भन्ने नैतिक आचरणसम्बन्धी अभिव्यक्तिका आधारमा मानिसहरूको मानवताको मूल्याङ्कन गर्नुहुन्न, त्यसकारण यदि तैँले अझै पनि यही मापदण्डअनुसार मानिसहरूको नैतिकताको मूल्याङ्कन गर्ने र तिनीहरू कस्ता व्यक्ति हुन् भनेर निर्धारित गर्ने जिद्दी गरिस् भने, तैँले सत्यता सिद्धान्तहरू पूर्ण रूपमा उल्लङ्घन गरेको हुन्छस्, र तैँले अवश्य नै गल्तीहरू गर्नेछस्, र केही त्रुटि र विचलननिम्त्याउनेछस्। के कुरा यही होइन र? (हो।)
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (६)
संसारसँग व्यवहार गर्ने दर्शनको एउटा सिद्धान्त छ, “असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।” यसको अर्थ मित्रताको सम्बन्ध जोगाउनको लागि, व्यक्तिले आफ्नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारेमा मौन बस्नुपर्छ—उसले मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्नुपर्छ। तिनीहरूले एकअर्कालाई धोका दिनुपर्छ, एकअर्काबाट आफ्नो कुरा लुकाउनुपर्छ, एकअर्काको विरुद्ध षड्यन्त्र गर्नुपर्छ; र अर्को व्यक्ति कस्तो हो भन्ने कुरा स्पष्टै थाहा भएर पनि, तिनीहरूले त्यो कुरा सीधै भन्नु हुँदैन, बरु तिनीहरूबीचको राम्रो मित्रता रक्षा गर्न धूर्त विधिहरू अपनाउनुपर्छ। किन व्यक्तिले यस्तो सम्बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा र आफ्नो समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्याएपछि ऊ तेरो शत्रु बन्नेछ र उसले तँलाई हानि गर्नेछ भन्ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्न चाहँदैनस्, र त्यसैले तैँले “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र पनि होइनन्, एकअर्काका विश्वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्बन्ध हो? के यो आधारभूत सामाजिक सम्बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्बन्धहरूमा, मानिसहरूले आफूलाई लागेको कुरा भन्न सक्दैनन्, न त गहिरा कुराहरू गर्न, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरूले आफ्नो हृदयको कुरा भन्न, अर्को व्यक्तिमा देखेका समस्याहरू बताउन, वा अर्को व्यक्तिलाई फाइदा पुग्ने शब्दहरू बोल्न सक्दैनन्। बरु, तिनीहरूले बोल्नको लागि अरूको मन जित्ने राम्रा कुराहरू चुन्छन्। तिनीहरू आफूविरुद्ध अरूमा शत्रुता नपलाओस् भनेर सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। कसैले कसैलाई खतरामा नपार्दा, के तिनीहरू तुलनात्मक रूपमा सहज र शान्तिमा बाँच्दैनन् र? “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो अस्तित्वमा रहने धूर्त र छली तरिका हो र यसमा आत्मरक्षाको तत्व मिसिएको हुन्छ, जसको उद्देश्य आफ्नो सुरक्षा गर्नु हो। यसरी जिउने मानिसहरूको केही कुरा भन्न सकिने विश्वासपात्र र मन खोल्न मिल्ने घनिष्ठ मित्र कोही हुँदैनन्। तिनीहरू एकअर्काप्रति रक्षात्मक, अनि षड्यन्त्रकारी, र रणनीतिक हुन्छन्, र दुवैले नै उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छन्। के यो यस्तै हुँदैन र? “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्याएर आफ्नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्न नदिनका लागि अपनाइने उपाय र विधि हो। सारका यी कैयौँ पक्षहरूलाई हेर्दा, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने मानव नैतिक आचरणको मापदण्ड के उच्चकोटिको सिद्धान्त हो? के यो सकारात्मक सिद्धान्त हो? (होइन।) त्यसो भए, यसले मानिसहरूलाई के सिकाउँछ? हामीले कसैलाई ठेस वा चोट पुऱ्याउनु हुँदैन, नत्र आफैलाई चोट पुग्नेछ; र साथै, तैँले कसैलाई भरोसा गर्नु हुँदैन भन्ने सिकाउँछ। यदि तैँले आफ्ना असल मित्रहरूमध्ये कसैलाई चोट पुऱ्याइस् भने, त्यो मित्रता चालै नपाई उल्टो हुन थाल्: ऊ तेरो असल र घनिष्ठ मित्रबाट सडकमा भेटिने कोही अपरिचित व्यक्ति वा शत्रु बन्नेछ। मानिसहरूलाई यस्तो कुरा सिकाउँदा, यसले के-कस्ता समस्याहरू हल गर्न सक्छ? यसरी व्यवहार गरेर, तैँले शत्रु नबनाए पनि र केही शत्रु घटाए पनि, के यसले गर्दा मानिसहरूले तँलाई आदर र अनुमोदन गर्नेछन्, र सधैँ तँलाई साथी बनाइराख्नेछन्? के यसले पूर्ण रूपमा नैतिक आचरणको मापदण्ड हासिल गर्छ? बढीमा, यो संसारसँग व्यवहार गर्ने दर्शनभन्दा अरू केही होइन। के यो कथनको पालन र अभ्यासलाई असल नैतिक आचरण मान्न सकिन्छ? बिलकुलै सकिँदैन। कतिपय आमाबुबाले यसरी नै आफ्ना छोराछोरीलाई शिक्षा दिन्छन्। यदि बाहिर कतै उनीहरूको बच्चाले कुटाइ खायो भने, उनीहरूले बच्चालाई भन्छन्, “तँ डरपोक होस्। तैँले पनि कुटन् सकिनस्? त्यसले मुक्का हान्यो भने, तैँले लात्ती हान्!” के यो सही तरिका हो? (होइन।) यसो गर्नुलाई के भनिन्छ? यसलाई उक्साउनु भनिन्छ। उक्साउनुको उद्देश्य के हो? नोक्सानीबाट जोगिनु र अरूबाट फाइदा उठाउनु। यदि कसैले तँलाई मुक्का हान्यो भने, बढीमा एकदुई दिन दुख्नेछ; तर त्यतिबेला यदि तैँले त्यसलाई लात हानिस् भने, के परिणाम झनै गम्भीर हुँदैन र? अनि यो कसले गराएको हुन्छ? (आमाबुबाले, उक्साएर।) त्यसैले, योसँग “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने कथनको चरित्र केही हदसम्म एउटै छैन र? के यो कथनअनुसार अरू मानिसहरूसँग अन्तरक्रिया गर्नु सही हो? (होइन।) अहँ, यो सही होइन। यसलाई यस दृष्टिबाट हेर्दा, के यो मानिसहरूलाई उक्साउने तरिका होइन र? (हो, यो त्यही हो।) के यसले मानिसहरूलाई अरूसँग अन्तरक्रिया गर्दा बुद्धिमानी बन्न, मानिसहरूलाई खुट्ट्याउन सक्षम बन्न, मानिसहरू र विभिन्न कुराहरूलाई सही तरिकामा हेर्न, र मानिसहरूसँग बुद्धिमानी शैलीमा अन्तरक्रिया गर्न सिकाउँछ? के यसले तँलाई मानवता भएका असल मानिसहरू भेट्दा तैँले तिनीहरूसँग सच्चा व्यवहार गर्नुपर्छ, सके तिनीहरूलाई सहयोग गर्नुपर्छ, नसके सहनशील भएर तिनीहरूलाई उचित तरिकाले व्यवहार गर्नुपर्छ, तिनीहरूको कमीकमजोरी, गलतफहमी र आलोचनाहरू सहनुपर्छ, अनि तिनीहरूको सबलता र असल गुणहरूबाट सिक्नुपर्छ भनेर सिकाउँछ? के यसले मानिसहरूलाई त्यही सिकाउँछ? (सिकाउँदैन।) त्यसो भए, यो भनाइले मानिसहरूलाई जे सिकाउँछ त्यसको अन्तिम परिणाम के हुन्छ? यसले मानिसहरूलाई अझ इमानदार कि अझ छली बनाउँछ? यसले मानिसहरूलाई अझ छली बनाउँछ; मानिसका हृदयहरू झन्झन् टाढिन्छन्, मानिसहरूबीच दूरी बढ्छ, र मानिसका सम्बन्धहरू जटिल बन्छन्; यो मान्छेका सामाजिक सम्बन्धहरूको जटिलता जस्तै हो। यसले गर्दा मानिसहरूबीचको आत्मीय कुराकानी हराउँछ, र एकआपसप्रति सतर्क रहने मनस्थिति पैदा हुन्छ। के अझै पनि यसरी मानिसका सम्बन्धहरू सामान्य हुन सक्छन्? के सामाजिक वातावरण सुध्रिन्छ? (सुध्रिँदैन।) त्यसैले, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने भनाइ प्रस्ट रूपमै गलत छ। मानिसहरूलाई यस्तो गर्न सिकाउँदा, यसले उनीहरूलाई सामान्य मानवतामा जिउने बनाउन सक्दैन; साथै यसले मानिसहरूलाई निष्कपट, सोझा, वा खुल्ला मनका पनि बनाउन सक्दैन। यसबाट कदापि कुनै पनि सकारात्मक परिणाम हासिल हुन सक्दैन।
“अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने भनाइले दुईवटा कार्यको कुरा गर्छ: एउटा हिर्काउनु, र अर्को औँला उठाउनु। मानिसहरूले अरूसँग गर्ने सामान्य अन्तरक्रियामा, कसैलाई हिर्काउनु सही हो कि गलत? (गलत।) के कसैलाई हिर्काउनु अरूसँगको अन्तरक्रियामा हुने सामान्य मानवताको प्रदर्शन र व्यवहार हो? (होइन।) चाहे अनुहारमा होस् वा अन्य कतै, मानिसहरूलाई हिर्काउनु अवश्यै गलत हो। त्यसैले, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू” भन्ने भनाइ अन्तर्निहित रूपमै गलत छ। यो भनाइअनुसार, अरूलाई अनुहारमा हिर्काउनु सही होइन, तर अन्य कतै हिर्काउनुचाहिँ सही हो भन्ने देखिन्छ, किनभने अनुहारमा हिर्काएपछि यो रातो हुन्छ, सुन्निन्छ, र चोट लाग्छ। यसले गर्दा व्यक्ति नराम्रो देखिन्छ र हेर्नलायक हुँदैन, साथै यसले मान्छेसित तँ एकदमै रूखो, ठाडो र नीच व्यवहार गर्छस् भन्ने देखाउँछ। त्यसो भए, के मानिसहरूलाई अन्य कतै हिर्काउनु राम्रो हो त? होइन—त्यो पनि राम्रो होइन। वास्तवमा, यो भनाइको चुरो कुरो कसैलाई कहाँ हिर्काउनु भन्ने होइन, बरु “हिर्काउनु” भन्ने शब्द आफै हो। अरूसँग अन्तरक्रिया गर्दा, यदि तँ समस्या सामना गर्ने र सुल्झाउने उपायको रूपमा सधैँ अरूलाई हिर्काउँछस् भने, तेरो तरिका नै गलत छ। यो आवेगमा गरिन्छ र यो आफ्नो मानवताको विवेक र समझमा आधारित हुँदैन, र निस्सन्देह नै यो सत्यता अभ्यास गर्नु वा सत्यता सिद्धान्तहरू पालन गर्नु त झन् हुँदै होइन। कतिपयले अरूको मर्यादामा तिनीहरूकै अगाडि आक्रमण गर्दैनन्—तिनीहरू आफूले भन्ने कुरामा होसियार हुन्छन् र अरूलाई अनुहारमा हिर्काउनदेखि टाढै बस्छन्, तर तिनीहरूको पिठ्यूँपछाडि भने सधैँ घिनलाग्दो चाल चल्छन्, पानीमाथिको ओबानो बन्छन्, आमनेसामने राम्रो कुरा गर्छन् तर पिठ्यूँपछाडि षड्यन्त्र रच्छन्, गल्ती खोजीखोजी त्यसैमा प्रहार गर्छन्, बद्ला लिने मौका कुर्छन्, झूटो आरोप र कपट रच्छन्, अफवाह फैलाउँछन्, वा द्वन्द्व पैदा गर्छन् र अरू मानिस लगाएर निन्दा गराउँछन्। यी कपटी तरिकाहरू कसैलाई अनुहारमा हिर्काउनुभन्दा कत्ति राम्रा हुन्छन्? के यी तरिकाहरू कसैलाई अनुहारमा हिर्काउनुभन्दा झन् खराब होइनन् र? के यी तरीका झन् कपटपूर्ण, नीच, र मानवताहीन छैनन् र? (हो, छन्।) त्यसो भए, “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू” भन्ने भनाइ अन्तर्निहित रूपमै अर्थहीन छ। यो दृष्टिकोण नै गलत छ, यसमा झूटो बहानाको गन्ध छ। यो ढोँगी तरिका हो, जसले यसलाई झनै घिन, दिगमिग र सिकसिकलाग्दो बनाउँछ। अब हामी मानिसहरूलाई हिर्काउने कार्य आवेगमा गरिन्छ भनेर प्रस्ट भयौँ। तँ केको आधारमा कसैलाई हिर्काउँछस्? के यो कानुनले दिएको अधिकार हो वा तेरो परमेश्वरप्रदत्त अधिकार हो? यो कुनै पनि होइन। त्यसो भए, मानिसहरूलाई किन हिर्काउनु? यदि तँ कसैसँग सामान्य तवरमा मिलेर बस्न सक्छस् भने, तैँले ऊसँग मिलेर बस्न र अन्तरक्रिया गर्न सही तरिकाहरू प्रयोग गर्न सक्छस्। यदि तँ ऊसँग मिलेर बस्न सक्दैनस् भने, तैँले आवेगमा आउनु वा झगडा गर्नु नपर्ने गरी आफ्नो बेग्लै बाटो लिन सक्छस्। मानवताको विवेक र समझको दायराभित्र, मानिसहरूले गर्नुपर्ने कुरा यही हुनुपर्छ हो। तैँले आवेगमा आएर काम गरिसकेपछि, मान्छेलाई अनुहारमा नहिर्काई अन्य ठाउँमा हिर्काउँछस भने पनि, यो गम्भीर समस्या हुन्छ। यो आपसी व्यवहार गर्ने सामान्य तरिका होइन। यसरी त शत्रुहरूले व्यवहार गर्छन्, यो मानिसहरू उठबस गर्ने सामान्य तरिका होइन। यो मानव समझबाहिरको कुरा हो। “कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने भनाइमा “औँला उठाउनु” भन्ने शब्द असल हो कि खराब हो? के यो “औँला उठाउनु” मा मानिसहरूलाई परमेश्वरका वचनहरूले खुलासा वा पर्दाफास गर्दाको जस्तै अर्थ लुकेको हुन्छ? (हुँदैन।) मेरो बुझाइअनुसार त, मानव भाषाको हिसाबमा “औँला उठाउनु” को अर्थ त्यस्तो हुँदैन। यसको सार भनेको त केही हदसम्म दुर्भावनापूर्ण प्रकारको खुलासा हो; यसको अर्थ मानिसहरूको समस्या र कमीकमजोरीहरू, वा अरूलाई थाहा नभएका कुरा र बानीबेहोराहरू, वा पृष्ठभूमिमा भइरहेका केही षड्यन्त्र वा विचार र दृष्टिकोणहरू खुलासा गर्नु भन्ने हुन्छ। “कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने भनाइमा “औँला नउठाउनु” को अर्थ यही हुन्छ। यदि दुई मानिसहरू मिलेर बस्छन्, तिनीहरूबीच कुनै पर्खाल छैन अनि तिनीहरू एकअर्काका विश्वासपात्र हुन्, र दुवैले आफूलाई एकअर्काको लागि फाइदाजनक र उपयोगी हुने अपेक्षा गर्छन् भने, तिनीहरूले बसेर एकअर्काका समस्या खुलस्त र इमानदारीसाथ उजागर गर्नु नै सर्वोत्तम हुन्छ। यो उचित कुरा हो, र यो अरूको कमजोरीमाथि औँला उठाउनु गर्नु होइन। यदि तैँले अर्को व्यक्तिको समस्या देख्छस् तर ऊ तेरो सल्लाह मान्न सक्ने अवस्थामा छैन भने, भनाभन वा झगडा हुन नदिनलाई केही पनि नभन्। यदि तँ तिनीहरूलाई सहयोग गर्न चाहन्छस् भने, तैँले तिनीहरूसित विचार बुझ्न सुरुमा सोध्न सक्छस्, “तपाईंमा अलिअलि समस्या देखिन्छ, र सायद म केही सल्लाह दिन सक्छु होला। तपाईंले स्विकार्न सक्नुहुन्छ कि हुन्न थाहा छैन। यदि सक्नुहुन्छ भने, म भन्छु। यदि सक्नुहुन्न भने, म अहिलेको लागि त्यो कुरा मनमै दबाउँछु, र केही बोल्नेछैनँ।” यदि तिनीहरूले, “म तपाईंलाई विश्वास गर्छु। तपाईंले जे भन्नु भए त्यो अस्वीकार्य हुनेछैन। म त्यो स्विकार्न सक्छु” भनी भन्छन् भने, तँलाई अनुमति दिइएको छ र त्यसपछि तैँले तिनीहरूलाई एकएक गरी तिनीहरूका समस्याहरू बताउन सक्छस्। तिनीहरूले तैँले भनेका कुरा पूर्ण रूपमा स्विकार्ने मात्रै छैनन्, यसबाट फाइदा पनि प्राप्त गर्नेछन्, र तिमीहरू दुवैले सामान्य सम्बन्ध कायम गर्न सक्नेछौ। के त्यो एकअर्कालाई इमानदारीसाथ व्यवहार गर्नु होइन र? (हो।) अरूसँग अन्तरक्रिया गर्ने सही तरिका यही हो; यो अरूको कमजोरीमाथि औँला उठाउनुजस्तो होइन। यो भनाइअनुसार “अरूको कमजोरीमाथि औँला उठाउनु” को अर्थ के हो? यसको अर्थ अरूको कमीबारे नबोल्नु, तिनीहरूका सबैभन्दा वर्जित रहेका समस्याहरू उल्लेख नगर्नु, तिनीहरूको समस्याको सार खुलासा नगर्नु, र अति भद्दा रूपमा औँला नउठाउनु हो। यसको मतलब केवल केही सतही टिप्पणी गर्नु, सबैले प्रायजसो भनिरहने कुराहरू भन्नु, व्यक्ति आफैले पहिल्यैदेखि बुझ्न सक्ने कुराहरू भन्नु, तर त्यस व्यक्तिले विगतमा गरेको गल्ती वा संवेदनशील विषय खुलासा नगर्नु हो। यदि तैँले यसरी व्यवहार गरिस् भने, त्यस व्यक्तिलाई यसले के फाइदा गर्छ? सायद तैँले उसलाई ठेस पुर्याउँदैनस् वा शत्रु बनाउँदैनस् होला, तर तैँले गरेको व्यवहारले त्यस व्यक्तिलाई कुनै पनि हालतमा सहयोग वा फाइदा पुग्दैन। त्यसकारण, “अरूको कमजोरीमाथि औँला नउठाउनू” भन्ने वाक्यांश आफैमा छली छ र यो एक किसिमको जाल हो जसले मानिसहरूको आपसी व्यवहारमा इमानदारिता रहनै दिँदैन। के भन्न सकिन्छ भने, यसरी व्यवहार गर्नु दुष्ट अभिप्रायहरू लिएर हिँड्नु हो; यो अरूसँग अन्तरक्रिया गर्ने सही तरिका होइन। गैरविश्वासीहरूले त “कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्ने भनाइलाई कुलिन नैतिकवान् व्यक्तिले अपनाउने कुरा ठान्छन्। यो अरूसँग व्यवहार गर्ने छली आचरण हो भन्ने स्पष्ट छ, जुन मानिसहरूले आफ्नो रक्षा गर्न प्रयोग गर्छन्; यो व्यवहार गर्ने उचित तरिका हुँदै होइन।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (८)
पारम्परिक चिनियाँ संस्कृतिमा उल्लेख गरिने नैतिक आचरणसम्बन्धी “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्ने भनाइ मानिसहरूलाई संयमित पार्ने र अन्तर्दृष्टि दिने सिद्धान्त हो। यसले सानातिना विवाद र नगण्य कलहहरू मात्र समाधान गर्न सक्छ, तर गहन रूपमा घृणा पाल्ने मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, यो पटक्कै प्रभावकारी हुँदैन। के यो मापदण्ड अघि सार्ने मानिसहरूले साँच्चै मानिसहरूको मानवता बुझ्छन् त? यो मापदण्ड अघि सार्ने मानिसहरू मानव विवेक र समझको सहने क्षमता कति धेरै छ भन्ने कुराबारे बिलकुलै अनभिज्ञ छैनन् भनेर जोकसलै भन्न सक्छ। यति मात्र हो कि यो सिद्धान्त अघि सार्दा तिनीहरू जानकार र महान्जस्ता देखिन सक्छन्, र तिनीहरूले मानिसहरूबाट अनुमोदन र चापलुसी प्राप्त गर्न सक्छन्। तथ्य यो हो कि, यदि कसैले कुनै व्यक्तिको मर्यादा वा चरित्रमा चोट पुऱ्याउँछ, उसको हितमा हानि गर्छ, वा उसका भावी सम्भाव्यताहरू र सारा जीवन प्रभावित समेत पार्छ भने, मानवताको दृष्टिकोणबाट हेर्दा पीडित पक्षले बदला लिएकै हुनुपर्छ भन्ने कुरा तिनीहरूलाई राम्रोसँग थाहा हुन्छ। उसँग जति नै विवेक र समझ भए पनि, उसले यसलाई त्यतिकै छोड्ने गर्दैन। बढीमा, उसको बदलाका हद र तरिका मात्र फरक पर्नेछ। …
के कारण मानिसहरू घृणा त्याग्न सक्छन्? मुख्य कारणहरू के हुन्? एकातर्फ, तिनीहरू नैतिक आचरणसम्बन्धी “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्ने यो भनाइद्वारा प्रभावित हुन्छन्। अर्कोतर्फ, तिनीहरू यदि सानातिना गुनासाहरू गरियो, मानिसहरूलाई घृणा गरिरहियो, र अरूप्रति असहनशील बनियो भने, समाजमा स्थान पाउन सकिनेछैन, र जनविचारद्वारा निन्दित होइनेछ र मानिसहरूले खिसी गर्नेछन्, त्यसैले मन नलागीनलागी वा इच्छा नभईनभई पनि आफ्नो रिस दबाउनैपर्छ भन्ने सोचले चिन्तित हुन्छन्। एकातिर, मानव नैसर्गिक प्रवृत्तिलाई हेर्दा, यो संसारमा जिउने मानिसहरूले यो सब दमन, निरर्थक चोट र अन्यायपूर्ण व्यवहार सहन सक्दैनन्। भन्नुको अर्थ, यी कुराहरू सहन सक्ने क्षमता मानिसहरूको मानवतामा छैन। तसर्थ, “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्ने भनाइ कसैमाथि लाद्नु अन्याय र अमानवीय कुरा हो। अर्कोतिर, यो स्पष्ट छ कि, यस्ता विचार र रायहरूले यो मामिलाप्रतिको मानिसहरूको हेराइ र दृष्टिकोण प्रभावित पार्ने वा बङ्ग्याउने गर्छन्, र त्यसैले तिनीहरू यस्ता मामिलाहरूलाई उचित तरिकाले सम्हाल्न नसक्ने हुन्छन्, र तिनीहरूले “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्नेजस्ता भनाइहरूलाई नै सही र सकारात्मक कुरा ठान्छन्। मानिसहरूलाई अन्यायपूर्ण व्यवहार हुँदा, जनविचारको निन्दाबाट जोगिनको लागि आफूले भोगेको अपमान र असमान व्यवहारलाई मनमा गुम्साएर राख्नु अनि प्रतिशोधको मौका कुर्नुबाहेक तिनीहरूसँग अर्को कुनै विकल्प रहँदैन। तिनीहरू मुखले चाहिँ राम्रोजस्तो लाग्ने “‘ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू’ भन्नेजस्ता भनाइ अरूले सुन्ने गरी बोल्छन्। केही छैन, बदला लिनुको कुनै अर्थ छैन, यो त बितेको कुरा हो,” भनेर भन्छ्न्, तैपनि मानव नैसर्गिक प्रवृत्तिले तिनीहरूलाई यो घटनाद्वारा तिनीहरूमा पुगेको हानिलाई कहिल्यै बिर्सन दिँदैन, भन्नुको अर्थ यो घटनाले तिनीहरूको तन र मनमा पुऱ्याएको हानि कहिल्यै मेटाउन वा हटाउन सकिँदैन। मानिसहरूले “घृणालाई भुलिदेऊ, यो मामिला सकिसक्यो, यो बितेको कुरा हो” भनेर भन्नु त “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्नेजस्ता विचार र दृष्टिकोणको बन्धन र प्रभावले सिर्जना गर्ने देखावटी रूप मात्र हो। अनि अवश्य नै, मानिसहरू यस्ता विचार र दृष्टिकोणद्वारा सीमित पनि हुन्छन्, अनि यो तबसम्म हुन्छ जबसम्म तिनीहरू आफूले ती अभ्यास गर्न नसके, आफूमा जहाँ सम्भव छ त्यहाँ नरम हुने हृदय वा उदारता नभए, सबैले तिनीहरूलाई तुच्छ ठान्नेछन् र निन्दा गर्नेछन्, र समाज वा समुदायमा तिनीहरूलाई झन् बढी भेदभाव गरिनेछ भनेर सोच्छन्। अनि, भेदभावको परिणाम के हुन्छ? यसको परिणाम यो हुन्छ कि, जब तँ मानिसहरूसँग सम्पर्क गरेर आफ्नो कामधन्दा गर्न थाल्छस्, तब मानिसहरूले यसो भन्नेछन्, “यो मान्छे सानो मनको र प्रतिशोधी खालको छ। योसँग व्यवहार गर्दा होसियार हुनुपर्छ!” तैँले समुदायमा आफ्नो कामधन्धा थाल्दा, यो थप असरदायी बाधा बन्छ। किन यस्तो थप बाधा भएको हो? किनभने “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्ने विचार र दृष्टिकोणले समग्रमा समाजलाई नै प्रभाव पारेको हुन्छ। समाजको चलनले समग्रमा यस्तो सोचको सम्मान गर्छ, अनि सारा समाज यसद्वारा सीमित, प्रभावित र नियन्त्रित हुन्छ, तसर्थ यदि तैँले यसलाई अभ्यास गर्न सकिनस् भने, समाजमा स्थान पाउन र आफ्नो समुदायमा बाँच्न गाह्रो हुनेछ। त्यसैले, कतिपय मानिसहरूसँग यस्ता सामाजिक चलनहरूप्रति समर्पित भई “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्नेजस्ता भनाइ र दृष्टिकोण पछ्याउनु र दयनीय जीवन जिउनुबाहेक अर्को कुनै विकल्प हुँदैन। यी घटनाहरूलाई विचार गर्दा, के यी तथाकथित नैतिकवादीहरूले नैतिक विचार र दृष्टिकोणसम्बन्धी यी भनाइहरू अघि सार्नुका निश्चित उद्देश्य र अभिप्रायहरू थिएनन् र? के तिनीहरूले मानिसहरू अझ स्वतन्त्र भई जिउन सकून्, अनि तिनीहरूको शरीर, मन र आत्मा अझ धेरै मुक्त होस् भनेर यसो गरेका थिए त? अथवा के मानिसहरू अझ धेरै खुसी भएर जिउन सकून् भनेर यसो गरिएको थियो त? अवश्य नै थिएन। नैतिक आचरणसम्बन्धी यी भनाइहरूले मानिसहरूको सामान्य मानवताका आवश्यकताहरू पटक्कै पूरा गर्दैनन्, अनि मानिसहरू सामान्य मानवतामा जिउन सकून् भनेर यी बिलकुलै अघि सारिएका थिएनन्। बरु यी भनाइहरूले त पूर्णतया शासकवर्गलाई मानिसहरूमाथि नियन्त्रण जमाउन र आफ्नो शक्ति स्थिर राख्न मात्र सघाउ पुऱ्याउँछन्। यी भनाइहरूले शासकवर्गको पक्षमा काम गर्छन्, अनि शासकवर्गले सामाजिक व्यवस्था र सामाजिक चलनहरूलाई वशमा राख्न सकून् भनी यी अघि सारिएका थिए, र यसरी तिनीहरूले यी कुरा प्रयोग गरेर हरेक व्यक्ति, हरेक परिवार, हरेक व्यक्तिविशेष, हरेक समुदाय, हरेक समूह र विभिन्न सबै समहूद्वारा गठित समाजलाई बन्धनमा पार्दै आए। यस्ता समाजमा, यस्ता नैतिक विचार र दृष्टिकोणको शिक्षण, प्रभाव र सिकाइअन्तर्गत समाजको मूलधार नैतिक विचार र दृष्टिकोण पैदा हुन्छ र फस्टाउँछ। यसरी सामाजिक नैतिकता र सामाजिक चलनहरू फस्टाउनु मानव जीवन अस्तित्वको लागि हितकर हुँदैन, यो न त मानव सोचको प्रगति र शुद्धीकरणको लागि, न त यो मानवता विस्तारको लागि नै हितकर हुन्छ। बरु उल्टै, यी नैतिक विचार र दृष्टिकोणहरू उत्पन्न भएको कारण, मानव सोच नियन्त्रण गर्न सकिने हदमा सीमित भइदिन्छ। अनि, अन्त्यमा कसलाई फाइदा हुन्छ त? मानवजातिलाई? कि शासकवर्गलाई? (शासकवर्गलाई।) सही हो, आखिरमा फाइदा शासकवर्गलाई नै हुन्छ। मानिसहरूले यी नैतिक शास्त्रपदहरूलाई आफ्नो सोच र नैतिक आचरणको आधारको रूपमा लिएका हुनाले, तिनीहरूमाथि शासन गर्न झन् सजिलो हुन्छ, तिनीहरू आज्ञाकारी नागरिक बन्ने सम्भावना झन् धेरै हुन्छ, तिनीहरूमाथि चालबाजी गर्न अझ सजिलो हुन्छ, तिनीहरू आफूले गर्ने हरेक कुरामा नैतिक शास्त्रपदका विभिन्न भनाइहरूद्वारा अझ सजिलै नियन्त्रित हुन्छन्, अनि तिनीहरू सामाजिक प्रणाली, सामाजिक नैतिकता, सामाजिक चलन र जनविचारहरूद्वारा झन् सजिलै नियन्त्रित हुन्छन्। यसरी, एक निश्चित हदसम्म, एउटै सामाजिक प्रणाली, नैतिक वातावरण, र सामाजिक चलनको अधीनमा रहने मानिसहरूमा मुल रूपमा सर्वसम्मत विचार र दृष्टिकोण, अनि आफूलाई कसरी व्यवहारमा ढाल्ने भन्नेबारे एउटै न्यूनमत मान्यता हुन्छ, किनभने तिनीहरूका विचार र दृष्टिकोणलाई यी तथाकथित नैतिकवादी, विचारक र शिक्षाविद्हरूले प्रशोधन र मानकीकरण गरेका हुन्छन्। अनि, यो “सर्वसम्मत” शब्दको अर्थ के हो त? यसको अर्थ, सबै शासितवर्गलाई—तिनीहरूको विचार र सामान्य मानवतालगायत सबैलाई—नैतिक शास्त्रपदका यी भनाइहरूद्वारा घुलमिलाइएको र सीमित पारिएको हुन्छ। अनि, मानिसहरूका विचारहरूलाई नियन्त्रित पारिन्छ, र त्यससँगै तिनीहरूको मुख र दिमाग पनि नियन्त्रित पारिन्छ। सबैलाई पारम्परिक संस्कृतिका यी नैतिक विचार र दृष्टिकोणहरू स्विकार्न बाध्य पारिन्छ, र यसरी एकातर्फ तिनीहरूलाई तिनीहरूको आफ्नै व्यवहारलाई निन्दा र नियन्त्रण गर्न, र अर्कोतर्फ अरू र यो समाजलाई निन्दा गर्न प्रयोग गरिन्छ। निश्चय नै, त्यो सँगसँगै तिनीहरू नैतिक शास्त्रपदका यी भनाइहरूमा केन्द्रित जनविचारहरूद्वारा पनि नियन्त्रित हुन्छन्। यदि तँलाई आफ्नो कार्यशैलीले “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्ने भनाइ उल्लङ्घन गर्छ भन्ने लाग्छ भने, तँलाई साह्रै खिन्न र असहज महसुस हुन्छ, अनि चाँडै नै तँलाई यस्तो लाग्नेछ, “यदि म जहाँ सम्भव छ, त्यहाँ नरम हुन सकिनँ भने, यदि म सङ्कुचित हृदय भएको क्षुद्र व्यक्तिजस्तो नीच र सानो मनको छु र घृणा थोरै पनि त्याग्न सक्दिनँ, बरु सधैँ पालेर राख्छु भने, के म हाँसोको पत्र बन्नेछुइनँ र? के मलाई मेरा सहकर्मी र साथीसँगीले भेदभाव गर्नेछैनन् र?” त्यसकारण, तैँले विशेष दिलदार भएको नाटक गर्नैपर्छ। यदि मानिसहरूमा यी व्यवहारहरू छन् भने, के यसको अर्थ तिनीहरू जनविचारद्वारा नियन्त्रित छन् भन्ने हो? (हो।) वस्तुगत रूपले भन्नुपर्दा, तेरो हृदयभित्र अदृश्य जन्जिरहरू छन्, भन्नुको मतलब, जनविचार र सम्पूर्ण समाजद्वारा हुने निन्दा तेरो लागि अदृश्य जन्जिरजस्तै हुन्छन्।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (९)
“आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइको अर्थ हो, तैँले आफूलाई मन पर्ने र आनन्दित लाग्ने कुरा मात्रै अरूलाई दिनु वा प्रदान गर्नुपर्छ। तर भ्रष्ट मानिसहरूलाई के-कस्ता कुरा मन पर्छ र के कुराले आनन्दित तुल्याउँछ? भ्रष्ट कुराहरू, निरर्थक कुराहरू, र अत्यधिक इच्छाहरू। यदि तँ मानिसहरूलाई यी नकारात्मक कुराहरू दिन्छस् र प्रदान गर्छस् भने, के सारा मानवजाति झन्-झन् भ्रष्ट हुँदै जाने छैन र? सकारात्मक कुराहरू झन्-झन् कम हुँदै जानेछन्। के यो तथ्य होइन र? यो तथ्य हो, मानवजाति गहन रूपमा भ्रष्ट तुल्याइएको छ। भ्रष्ट मानिसहरू ख्याति, फाइदा, हैसियत, र देहगत सुखचैनहरू मन पराउँछन्; तिनीहरू सेलिब्रेटी बन्न, शक्तिशाली र महामानव बन्न चाहन्छन्। तिनीहरू सहज जीवन जिउन चाहन्छन् र कडा परिश्रम गर्न इच्चा गर्दैनन्; तिनीहरू सबै कुरा हातैमा आएका चाहन्छन्। तिनीहरूमध्ये एकदमै थोरैले मात्र सत्यता वा सकारात्मक कुराहरूलाई प्रेम गर्छन्। यदि मानिसहरूले आफ्ना भ्रष्टता र अभिरुचिहरू अरूलाई दिए र प्रदान गरे भने, के हुनेछ? यो तिमीहरूले कल्पना गरेजस्तै हुनेछ: मानवजाति झन्-झन् भ्रष्ट मात्र हुँदै जानेछ। “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने विचारका समर्थकहरू मानिसहरूले अरूलाई आफ्नो भ्रष्टता, अभिरुचि, र लालची इच्छाहरू दिएर वा प्रदान गरेर दुष्टता, सुखसुविधा, पैसा, र प्रगति खोज्नुपर्छ भन्छन्। के यो जीवनको सही मार्ग हो? “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइ समस्याले भरिएको हुन्छ भनेर प्रस्टै देखिन्छ। यसका भुलचुकहरू अति स्पष्ट छन्; यो विश्लेषण गर्न र बुझ्नसमेत लायक छैन। अलिकति जाँच गर्दा पनि, यसका त्रुटि र निरर्थकता स्पष्टरूपमा देखिन्छ। तैपनि, तिमीहरूमध्ये धेरै जना यो भनाइद्वारा सहजै फकिन्छौ र प्रभावित हुन्छौ, अनि नबुझी यसलाई स्वीकार गर्छौ। अरूसँग अन्तरक्रिया गर्दा, तिमीहरू आफूलाई चेतावनी दिन र अरूलाई सल्लाह दिन यो भनाइ अक्सर प्रयोग गर्छौ। यसो गरेर, तिमीहरू आफ्नो चरित्र निकै उच्च छ, र तिमीहरूको व्यवहार अत्यन्तै समझदार छ भन्ने सोच्छौ। तर थाहै नपाई, यी शब्दहरूले तँ जिउने सिद्धान्त र मामिलाहरूमा तैँले लिने अडानलाई प्रकट गरेका हुन्छन्। यसको साथै, तैँले अरूलाई भ्रम र बहकाउमा पारेर तेरो जस्तै दृष्टिकोण र अडानले मानिसहरू र परिस्थितिलाई हेर्ने तुल्याएको छस्। तैँले वास्तविक मध्यमार्गी व्यक्तिले जस्तो व्यवहार गरेको छस्, र पूर्णरूपमा मध्य मार्ग अपनाएको छस्। तँ भन्छस्, “समस्या जेसुकै भए पनि, यसलाई गम्भीररूपमा लिनु आवश्यकता छैन। आफ्नो वा अरूका लागि परिस्थिति गाह्रो नबनाऊ। यदि अरूको लागि परिस्थिति गाह्रो बनायौ भने, तिमीहरूले आफ्नो लागि परिस्थिति गाह्रो बनाइरहेका हुन्छौ। अरूलाई दया गर्नु भनेको आफैलाई दया गर्नु हो। यदि तिमीहरू अरूप्रति कठोर भयौ भने, आफूप्रति कठोर भइरहेका हुन्छौ। आफूलाई किन कठिन परिस्थितिमा पार्ने? ‘आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन’ भनेको आफ्ना लागि गर्न सक्ने सबैभन्दा उत्तम, र सबैभन्दा विचारशील कुरा हो।” यो मनोवृत्ति अवश्य नै कुनै पनि कुरामा सतर्क हुने किसिमको होइन। कुनै पनि मामिलामा तँसँग सही अडान वा दृष्टिकोण छैन; तँसँग सबै कुराबारे अस्पष्ट दृष्टिकोण छ। तँ सावधान छैनस् तर कामकुराप्रति आँखा चिम्लन्छस्। जब तँ अन्तिममा परमेश्वरअघि खडा हुन्छस् र आफ्नो लेखा दिन्छस्, तब त्यसमा ठूलो गडबडी भएको हुने छ। किन त्यसो हुन्छ? किनभने तँ सधैँ नै “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भनी भन्छस्। यसले तँलाई धेरै सान्त्वना र आनन्द दिन्छ, तर साथै तँलाई धेरै समस्यामा पार्ने छ, यसले गर्दा तैँले धेरै विषयमा स्पष्ट दृष्टिकोण राख्न वा अडान लिन सक्दैनस्। अवश्य नै, यी परिस्थितिहरू सामना गर्दा यसले तँलाई परमेश्वरका माग र मापदण्डहरू के-के हुन्, वा तैँले कस्ता परिणाम हासिल गर्नुपर्छ भनेर बुझ्न नसक्ने पनि तुल्याउँछ। तँ कुनै पनि कुरामा सतर्क नहुने हुनाले यी कुराहरू हुन्छन्; तेरो गडबड मनोवृत्ति र दृष्टिकोणको कारण ती हुन्छन्। “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइ मानिसहरू र परिस्थितिप्रति तँमा हुनुपर्ने सहनशील मनोवृत्ति होइन र? होइन। यो बाहिरबाट सही, आदर्शमय, र दयालु देखिने सिद्धान्त मात्रै हो, तर वास्तवमा यो पूर्णतया नकारात्मक कुरा हो। स्पष्टतः यो मानिसहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्त त झन् पटक्कै होइन। परमेश्वर मानिसहरूले आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्ने माग गर्नुहुन्न, बरु उहाँ मानिसहरूले फरक-फरक परिस्थिति सम्हाल्दा तिनीहरू आफूले पालना गर्नुपर्ने सिद्धान्तहरूबारे स्पष्ट भएको माग गर्नुहुन्छ। यदि यो सही छ र परमेश्वरका वचनहरू र सत्यताअनुरूप छ भने, तँ त्यसमा लागिरहनैपर्छ। अनि तँ यसमा लागिरहनैपर्ने मात्रै होइन, तर तैँले अरूलाई अर्ती दिने, मनाउने, र सङ्गति गर्ने पनि गर्नैपर्छ, ताकि तिनीहरूले परमेश्वरका अभिप्रायहरू वास्तवमा के हुन्, र सत्यता सिद्धान्तहरू के-के हुन् भनेर स्पष्टरूपमा बुझ्न सकून्। यो तेरो जिम्मेवारी र दायित्व हो। परमेश्वरले तँलाई मध्य मार्ग अपनाउनू भनेर भन्नुहुन्न, र तेरो हृदय कति ठूलो छ भनेर तैँले देखाउनुपर्छ भनेर त झन् भन्दै भन्नुहुन्न। परमेश्वरले तँलाई जुन कुराबारे सल्लाह दिनुभएको छ र सिकाउनुभएको छ, र उहाँले आफ्ना वचनहरूमा जुन कुराहरूबारे बताउनुहुन्छ, ती कुराहरूमै तँ लागिरहनुपर्छ: मानदण्ड, मापदण्ड, र मानिसहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू। तँ यी कुरामा पटक्कै टाँसिनु र अल्झिरहनु हुँदैन मात्रै होइन, तर तैँले उदाहरण बसालेर, साथै आफूलेजस्तै यी सत्यता सिद्धान्तहरूमा टाँसिरहन, पालना र अभ्यास गर्न अरूलाई मनाएर, रेखदेख गरेर, सहयोग गरेर र डोऱ्याएर यी सत्यता सिद्धान्तहरू पनि पालन गर्नैपर्छ। परमेश्वर तैँले यो गरेको माग गर्नुहुन्छ—उहाँले तँलाई सुम्पने कुरा यही हो। तैँले अरूलाई बेवास्ता गरेर आफूबाट मात्र माग गर्नु मिल्दैन। तैँले समस्याहरूमा सही अडान लिनुपर्छ, सही मापदण्डमा टाँसिनुपर्छ, र परमेश्वरका वचनहरूमा के-कस्ता मानकहरू दिइएका छन् भनेर ठिकसित जान्नुपर्छ, र सत्यता सिद्धान्तहरू के-के हुन् भनेर ठिकसित पत्ता लगाउनुपर्छ भन्ने परमेश्वर माग गर्नुहुन्छ। तैँले यो पूरा गर्न नसके पनि, तँ अनिच्छुक भए पनि, तँलाई यो मन नपरे पनि, तँमा धारणाहरू भए पनि, वा तैँले यसको विरोध गरे पनि, तैँले यसलाई आफ्नो जिम्मेवारी, आफ्नो दायित्वको रूपमा लिनैपर्छ। तैँले मानिसहरूलाई परमेश्वरबाट आउने सकारात्मक कुराहरूबारे, सही र ठिक कुराहरूबारे सङ्गति दिनैपर्छ, अनि ती अरूलाई सहयोग गर्न, प्रभाव पार्न, र डोऱ्याउन प्रयोग गर्नैपर्छ, ताकि तीबाट मानिसहरूले फाइदा र सुधार पाऊन्, र तिनीहरू जीवनमा सही मार्गमा हिँड्न सकून्। यो तेरो जिम्मेवारी हो, र तँ “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने विचारमा जिद्दी भएर टाँसिनु हुँदैन, जुन विचार शैतानले तेरो मनमा हालिदिएको छ। परमेश्वरको नजरमा, त्यो भनाइ दुनियाँसित व्यवहार गर्ने दर्शन मात्रै हो; यो शैतानको चाल भएको एउटा सोच्ने तरिका मात्र हो; यो सही मार्ग हुँदै होइन, न त सकारात्मक कुरा नै हो। परमेश्वरले तँबाट माग गर्नुभएको कुरा भनेकै तँ सोझो व्यक्ति बन्नु हो, जसले आफूले गर्नुपर्ने र गर्न नहुने कुरा स्पष्टरूपमा बुझ्छ। उहाँ तँ मानिसहरूलाई खुसी पार्ने वा मध्यमार्गी व्यक्ति बन्नुपर्छ भन्ने माग गर्नुहुन्न; उहाँ तैँले मध्य मार्ग अपनाउनुपर्छ भनेर माग गर्नुहुन्न। जब कुनै कुरा सत्यता सिद्धान्तहरूसँग सम्बन्धित हुन्छ, तैँले भन्नुपर्ने कुरा भन्नैपर्छ, र बुझ्नुपर्ने कुरा बुझ्नैपर्छ। यदि कसैले कुनै कुरा बुझ्दैन तर तँ बुझ्छस्, र उसको गल्ती औँल्याएर सहयोग गर्न सक्छस् भने, तैँले यो जिम्मेवारी र दायित्व पूर्णतया पूरा गर्नैपर्छ। तैँले हात बाँधेर हेरिबस्नु पटक्कै हुँदैन, झन् आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन भन्नेजस्ता शैतानले तेरो मनमा हालिदिएका दर्शनहरूमा टाँसिनु त पटक्कै हुँदैन। के तैँले कुरा बुझिस्? (बुझेँ।) जुन कुरा सही र सकारात्मक हो, त्यो तँलाई मन नपरे पनि, त्यो गर्ने इच्छा नभए पनि, तैँले त्यो गर्न वा प्राप्त गर्न नसके पनि, त्यसको प्रतिरोध गरे पनि, वा त्यसविरुद्ध धारणा विकास गरे पनि, सही र सकारात्मक नै हुन्छ। मानवजातिमा भ्रष्ट स्वभाव र निश्चित संवेग, भावना, चाहना र धारणा छ भन्दैमा, परमेश्वरको वचन र सत्यताको सार परिवर्तन हुनेछैन। परमेश्वरको वचन र सत्यताको सार कहिल्यै, कदापि परिवर्तन हुनेछैन। तैँले परमेश्वरको वचन र सत्यता जानेपछि, बुझेपछि, र अनुभव गरेर प्राप्त गरेपछि, आफ्ना अनुभव गवाहीहरूबारे अरूलाई सङ्गति दिनु तेरो दायित्व हुन्छ। यसो गर्दा अझ धेरै मानिसहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न, सत्यता बुझ्न र बोध गर्न, परमेश्वरको मापदण्ड र मानक बुझ्न अनि सत्यता सिद्धान्तहरू बुझ्न मदत पाउनेछन्। यसो गरेर, यी मानिसहरूले आफ्नो दैनिक जीवनमा समस्याहरू आइपर्दा अभ्यासको मार्ग पाउनेछन् र तिनीहरू शैतानका विचार र दृष्टिकोणहरूद्वारा भ्रममा वा बन्धनमा पर्नेछैनन्। नैतिक आचरणसम्बन्धी “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने भनाइ वास्तवमै र साँच्चै नै मानिसहरूको दिमाग नियन्त्रण गर्ने शैतानको धूर्त चाल हो। यदि तँ सधैँ यसलाई पालना गर्छस् भने, तँ शैतानी दर्शनहरूअनुसार जिउने व्यक्ति होस्; शैतानी स्वभावमा पूर्णरूपले जिउने व्यक्ति होस्।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (१०)
यसलाई प्रयोग गर्ने जुनसुकै युग वा जातीय समहूमा नैतिक आचरणसम्बन्धी “साथीको लागि गोली खान तयार छु” भन्ने यो भनाइलाई निकै राम्रो ठानिन्छ। भन्नुको मतलब, यो तुलनात्मक रूपमा मानवताको विवेक र समझसँग अलि राम्रैसित मेल खान्छ। ठ्याक्कै भन्नुपर्दा, यो मानिसहरूले आफ्नो विवेकमा पालन गर्ने “भाइचारा” को अवधारणासँग मेल खान्छ। भाइचाराको मोल गर्ने मानिसहरू साथीको लागि गोली खान इच्छुक हुन्छन्। तिनीहरूले आफ्नो साथी जति नै कठिन र खतरनाक परिस्थितिमा भए पनि, अघि बढेर उनीहरूको लागि गोली खान्छन्। यो अरूको खातिर आफ्नो हित त्याग्ने मनोभाव हो। नैतिक आचरणसम्बन्धी “साथीको लागि गोली खान तयार छु” भन्ने भनाइले मानिसहरूमा हालिदिने भनेको मुख्यतः भाइचाराको मोल गर्ने कुरा हो। यसको लागि मानिसहरूले पालन गर्नुपर्ने मानक भनेको व्यक्तिले भाइचाराको मोल गर्नैपर्छ: यो भनाइको सार त्यही हो। …
“साथीको लागि गोली खान तयार हुने” जस्ता विचार र दृष्टिकोणहरूमा के गल्ती छ? वास्तवमा यो प्रश्न निकै सरल छ, कठिन छैन। संसारमा जिउने कोही पनि चट्टानको चिराबाट फुत्त निस्केर आएको होइन। सबैका आमाबुबा र छोराछोरी छन्, सबैका आफन्त छन्, यो मानव संसारमा कोही पनि स्वतन्त्र अस्तित्वमा रहँदैन। मैले यसो भन्नुको अर्थ के हो? मेरो भन्नुको मतलब, तँ यो मानव संसारमा जिउँछस्, र तैँले पूरा गर्नुपर्ने तेरा आफ्नै दायित्वहरू छन्। पहिलो कुरा, तैँले तेरा आमाबुबाको देखभाल गर्नैपर्छ, र दोस्रो कुरा, तैँले आफ्ना छोराछोरी हुर्काउनैपर्छ। यी तेरो परिवारभित्रका जिम्मेवारीहरू हुन्। समाजमा पनि तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू छन्। तैँले समाजमा कर्मचारी, कृषक, व्यवसायी, विद्यार्थी वा बुद्धिजीवीजस्ता भूमिका निभाउनैपर्ने हुन्छ। तैँले परिवारदेखि समाजसम्म पूरा गर्नुपर्ने धेरै जिम्मेवारी र दायित्वहरू छन्। त्यसको अर्थ, खानेकुरा, लुगाफाटा, आवास र यातायातबाहेक पनि तैँले गर्नुपर्ने अन्य धेरै कुरा छन्, अनि तैँले धेरै कुरा गर्नुपर्छ र धेरै दायित्व पूरा गर्नुपर्छ। मानिसहरू हिँड्ने परमेश्वरप्रतिको विश्वासको यो सही मार्गबाहेक, तैँले एक व्यक्तिको हैसियतमा पूरा गर्नुपर्ने धेरै पारिवारिक जिम्मेवारी र सामाजिक दायित्वहरू छन्। तँ स्वतन्त्र अस्तित्वमा रहँदैनस्। तेरो जिम्मेवारी साथीहरू बनाउनु र रमाइलो क्षण बिताउनु वा आफूसित कुराकानी वा मदत गर्न सक्ने कोही खोज्नु मात्र होइन। तेरो अधिकांश जिम्मेवारी—र सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारीहरू—तेरो परिवार र समाजसँग सम्बन्धित छन्। यदि तैँले आफ्ना पारिवारिक जिम्मेवारी र सामाजिक दायित्वहरू राम्ररी पूरा गरिस् भने मात्र, व्यक्तिको रूपमा तेरो जीवन पूर्ण र सिद्ध मानिनेछ। त्यसैले, तैँले परिवारमा पूरा गर्नुपर्ने जिम्मेवारीहरूमा के-के पर्छन्? तैँले छोराछोरीको हैसियतमा आफ्ना आमाबुबाको सेवा र देखभाल गर्नुपर्छ। तेरा आमाबुबा बिमार हुँदा वा कठिनाइमा पर्दा, तैँले आफ्नो शक्तिले भ्याएसम्म सबै गर्नुपर्छ। तैँले आमाबुबाको हैसियतमा आफ्नो पूरै परिवारको पालनपोषण गर्न पसिना र ऊर्जा बगाउनुपर्छ, कडा मेहनत गर्नुपर्छ र कठिनाइ सहनुपर्छ, अनि आमाबुबा हुनुको गह्रौँ जिम्मेवारी उठाउँदै छोराछोरी हुर्काउनुपर्छ, र तिनीहरूलाई सही मार्ग हिँड्न सिकाउनुपर्छ र उचित व्यवहारको सिद्धान्त बुझ्न लगाउनुपर्छ। यसरी, परिवारमा तेरा कैयौँ जिम्मेवारीहरू छन्। तैँले आफ्ना आमाबुबाको देखभाल गर्नैपर्छ र छोराछोरी हुर्काउने जिम्मेवारी उठाउनैपर्छ। तैँले गर्नुपर्ने यस्ता धेरै कुरा छन्। अनि समाजमा चाहिँ तेरा के-कस्ता जिम्मेवारीहरू छन्? तैँले नियमकानुन पालन गर्नैपर्छ, तँसँग अरूसित व्यवहार गर्ने सिद्धान्तहरू हुनैपर्छ, तैँले काममा सक्दो राम्रो गर्नैपर्छ र आफ्नो करियर राम्ररी सम्हाल्नैपर्छ। तेरो अस्सी वा नब्बे प्रतिशत समय र शक्ति यिनै कुरामा खर्च गरिनुपर्छ। भन्नुको अर्थ, तैँले आफ्नो परिवार वा समाजमा जे भूमिका निभाए पनि, तँ जुनै मार्ग हिँडे पनि, तेरो महत्त्वाकाङ्क्षा र आकाङ्क्षा जे भए पनि, हरेक व्यक्तिले वहन गर्नुपर्ने जिम्मेवारीहरू हुन्छन्, जुन उसको लागि व्यक्तिगत तवरमा एकदमै महत्त्वपूर्ण हुन्छन्, र तिनले लगभग सम्पूर्ण समय र शक्ति लिन्छन्। पारिवारिक र सामाजिक जिम्मेवारीको दृष्टिकोणबाट हेर्दा, व्यक्तिको रूपमा तँ र तेरो जीवन यो मानव संसारमा आउनुको के महत्त्व छ? यो तँलाई स्वर्गले दिएको जिम्मेवारी र मिशन पूरा गर्नको लागि हो। तेरो जीवन तेरो मात्र होइन, र अवश्य नै यो अरूको पनि होइन। तेरो जीवन तेरो मिशन र जिम्मेवारीको लागि, अनि तैँले यो मानव संसारमा पूरा गर्नुपर्ने जिम्मेवारी, दायित्व र मिशनको लागि अस्तित्वमा छ। तेरो जीवन तेरा आमाबुबाको होइन, न त तेरी पत्नी (तेरो पति) को नै हो, अनि अवश्य नै यो तेरा छोराछोरीको पनि होइन। झन् यो तेरा सन्ततिको हुनु त परको कुरा हो। त्यसोभए, तेरो जीवन कसको हो त? संसारको व्यक्तिको दृष्टिकोणबाट भन्नुपर्दा, तेरो जीवन तँलाई परमेश्वरद्वारा दिइएको जिम्मेवारी र दायित्वको लागि हो। तर एक विश्वासीको दृष्टिकोणबाट हेर्दा, तेरो जीवन परमेश्वरको हुनुपर्छ, किनभने सबथोक बन्दोबस्त गर्ने र सबथोकमाथि सार्वभौमिकता राख्ने उहाँ नै हुनुहुन्छ। तसर्थ, तैँले व्यक्तिको हैसियतमा यो संसारमा जिउँदा आफूखुसी आफ्नो जीवन अरूलाई दिने वाचा गर्नु हुँदैन, र भाइचाराको खातिर जोकसैको लागि आफ्नो जीवन आफूखुसी बलिदान गर्नु हुँदैन। भन्नुको अर्थ, तैँले आफ्नो जीवन तुच्छ बनाउनु हुँदैन। तेरो जीवन अरू कसैको लागि, विशेष गरी शैतानको लागि, यो समाजको लागि र र यो भ्रष्ट मानवजातिको लागि मूल्यहीन छ, तर तेरा आमाबुबा र आफन्तको लागि तेरो जीवन अति महत्त्वपूर्ण छ किनभने तेरो जिम्मेवारी र उनीहरूको अस्तित्वबीच अटुट सम्बन्ध हुन्छ। अवश्य नै, अझ महत्त्वपूर्ण कुरा के हो भने, तेरो जीवन र सबै कुरा अनि सम्पूर्ण मानवजातिमाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यबीच अटुट सम्बन्ध छ। परमेश्वरको सार्वभौमिकता भएका धेरै जीवनहरूको लागि तेरो जीवन अपरिहार्य छ। सायद तँ आफ्नो जीवनलाई त्यत्ति मूल्यवान् ठान्दैनस् होला र सायद तैँले आफ्नो जीवनलाई त्यत्ति मूल्यवान् ठान्नु पनि हुँदैन होला, तर तथ्य के हो भने, तेरो जीवन तँसित घनिष्ठता र अटुट सम्बन्ध रहेका तेरा आमाबुबा र आफन्तको लागि एकदमै महत्त्वपूर्ण छ। किन म त्यसो भन्दै छु? किनभने उनीहरूप्रति तेरो जिम्मेवारी छ, तिनीहरूको पनि तँप्रति जिम्मेवारी छ, र तेरो समाजप्रति जिम्मेवारी छ र समाजप्रतिको तेरो जिम्मेवारी तैँले समाजमा खेल्ने भूमिकासित सम्बन्धित छ। हरेक व्यक्तिको भूमिका र हरेक जीवित अस्तित्व परमेश्वरको लागि अपरिहार्य छ, र ती सबै कुरा मानवजाति, यो संसार र यो ब्रह्माण्डमाथिको परमेश्वरको सार्वभौमिकताका अपरिहार्य भाग हुन्। परमेश्वरको नजरमा, हरेक जीवन बालुवाको कणभन्दा पनि नगण्य र कमिलाभन्दा पनि घृणित छ। तैपनि, प्रत्येक व्यक्ति एक जीवन, एक जीवित र सास फेर्ने जीवन भएकोले परमेश्वरको सार्वभौमिकताभित्र, व्यक्तिले खेल्ने भूमिका महत्त्वपूर्ण नभए पनि, ऊ पनि अपरिहार्य नै छ। तसर्थ, यसलाई यी पक्षबाट हेर्दा, यदि कुनै व्यक्तिले खुसीसाथ साथीको लागि गोली खान तयार हुन्छ र यसो गर्ने सोच्ने मात्र नभई कुनै पनि क्षण यसो गर्न तयार हुँदै आफ्नो पारवारिक जिम्मेवारी, सामाजिक जिम्मेवारी, परमेश्वरले उसको जिम्मामा दिनुभएको मिशन र कर्तव्यसमेत वास्ता नगरी आफ्नो जीवन दिन्छ भने, के त्यो गलत होइन र? (हो, गलत हो।) यो त विश्वासघात हो! परमेश्वरले मानिसलाई दिनुहुने सबैभन्दा बहुमूल्य कुरा यो सास हो, जसलाई जीवन भनिन्छ। यदि तँ कुनै साथीलाई आफ्नो जीवन सुम्पन योग्य ठान्छस् र उसलाई त्यतिकै आफ्नो जीवन दिने वाच गर्छस् भने, के यो परमेश्वरप्रति विश्वासघाती बन्नु होइन र? के यो जीवनको अनादर गर्नु होइन र? के यो परमेश्वरविरुद्ध विद्रोह गर्नु होइन र? के यो परमेश्वरलाई धोका दिने कार्य होइन र? (हो।) स्पष्टतः यो तैँले आफ्नो परिवार र समाजमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू त्याग्नु हो र परमेश्वरले दिनुभएको मिशनबाट पछि हट्नु हो। यो त विश्वासघात हो। व्यक्तिको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा यो जीवनमा लिनुपर्ने जिम्मेवारीहरू, अर्थात् पारिवारिक जिम्मेवारी, सामाजिक जिम्मेवारी, र परमेश्वरले तँलाई दिनुभएका मिशनहरू हुन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यी जिम्मेवारी र मिशनहरू नै हुन्। यदि तैँले भाइचाराको क्षणिक भावनामा बगेर र क्षणिक आवेशमा आएर त्यतिकै अर्काको लागि ज्यान दिन्छस् भने, के तेरा जिम्मेवारीहरू रहन्छन् र? त्यसपछि तँ मिशनबारे कसरी कुरा गर्न सक्छस्? स्पष्टतया, तँ परमेश्वरले तँलाई दिनुभएको जीवनलाई सबैभन्दा बहुमूल्य कुराको रूपमा कदर गर्दैनस्, बरु यो त्यतिकै अरूलाई दिने वाचा गर्छस्, अरूको लागि ज्यान त्याग्छस्, परिवार र समाजप्रतिको जिम्मेवारीहरूलाई पूरै अनादर गर्छस् वा छोड्छस्, जुन अनैतिक र अनुचित कुरा हो। त्यसैले, म तिमीहरूलाई के बताउने प्रयास गर्दै छु? तँ आफ्नो जीवन त्यतिकै नत्याग् वा अरूलाई दिने वाचा नगर्। कतिपय मानिसहरू भन्छन्, “के म यो आमाबुबालाई दिने वाचा गर्न सक्छु? यो प्रेमिकालाई दिने वाचा गर्दा कसो होला, के यो ठिक हो?” यो ठिक होइन। किन ठिक होइन? परमेश्वर तँलाई जीवन दिनुहुन्छ र तेरो जीवन निरन्तर चल्न दिनुहुन्छ ताकि तैँले तेरो परिवार र समाजप्रति आफ्नो जिम्मेवारी अनि परमेश्वरले तँलाई सुम्पिनुभएको मिशन पूरा गर्न सकेस्। यो तैँले आफ्नो जीवनलाई खेलाँची रूपमा लिनको लागि होइन, किनभने तँ अरूलाई आफ्नो जीवन दिने वाचा गर्छस्, अनि अरूलाई आफ्नो जीवन दिन्छस्, अरूको निम्ति आफ्नो जीवन खर्चिन्छस्, र अरूलाई आफ्नो जीवन समर्पित गर्छस्। यदि यसरी व्यक्तिले आफ्नो जीवन गुमायो भने, के उसले अझै आफ्नो पारिवारिक र सामाजिक जिम्मेवारी र आफ्नो मिशन पूरा गर्न सक्छ र? के यो अझै गर्न सकिन्छ त? (सकिँदैन।) अनि जब व्यक्तिको पारिवारिक र सामाजिक जिम्मेवारीहरू हुँदैनन्, तब के उसले निर्वाह गरेको सामाजिक भूमिका अझै रहन्छ त? (रहँदैन।) जब कुनै व्यक्तिले गर्ने गरेको सामाजिक भूमिका नै रहँदैन, तब के उसको मिशन अझै रहन्छ त? रहँदैन, त्यो रहँदैन। जब व्यक्तिको मिशन र सामाजिक भूमिका रहँदैनन्, तब के परमेश्वरले जुन कुरामाथि सार्वभौम शासन गर्नुहुन्छ, त्यो अझै रहन्छ त? परमेश्वरले सार्वभौम शासन गर्नुहुने कुरा त जीवित थोक, जीवनसहितका मानवजाति हुन्, अनि जब उनीहरूको सामाजिक जिम्मेवारी र जीवन रहँदैनन्, र तिनीहरूका सबै सामाजिक भूमिका शून्यमा फर्किन्छन्, के यो परमेश्वरले सार्वभौम शासन गर्नुहुने मानवजातिलाई र परमेश्वरको व्यवस्थापन योजनालाई शून्यमा फर्काउने कोसिस होइन र? यदि यसो गरिस् भने, के यो विश्वासघात होइन र? (हो।) यो वास्तवमा विश्वासघात हो। तेरो जीवन तेरा जिम्मेवारी र मिशनहरूको लागि मात्र अस्तित्वमा छ, अनि तेरो जीवनको मूल्य तेरा जिम्मेवारी र मिशनहरूमा मात्र झल्काउन सकिन्छ। त्यसबाहेक, साथीको लागि गोली खान तयार हुनु तेरो जिम्मेवारी र मिशन होइन। परमेश्वरद्वारा जीवन दिइएको व्यक्तिको रूपमा तँलाई परमेश्वरले सुम्पनुभएको जिम्मेवारी र मिशन पूर गर्नु तैँले गर्नुपर्ने कुरा हो। तर साथीको लागि गोली खान तयार हुनु तँलाई परमेश्वरले दिनुभएको जिम्मेवारी वा मिशन होइन। यो त तैँले भाइचाराको भावनाले कार्य गर्नु हो, यो तेरो कामनापूर्ण सोचाइ हो, र जीवनबारेको तेरो गैरजिम्मेवार सोचाइ, अनि अवश्य नै, शैतानले मानिसहरूको जीवन तिरस्कार गर्न र कुल्चिमिल्ची पार्न तिनीहरूमा हालिदिने एक प्रकारको सोचाइ हो।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (१०)
यस समाजमा, संसारलाई हेर्ने मानिसहरूका सिद्धान्तहरू, जिउने र अस्तित्वमा रहने तिनीहरूका विधिहरू, र धर्म र विश्वासप्रतिका तिनीहरूका मनोवृत्ति र धारणाहरू, साथै मानिसहरू र विभिन्न कुराहरूप्रतिका तिनीहरूका विविध धारणा र विचारहरू—यी सबै अपरिहार्य रूपमै परिवारद्वारा सिकाइने कुराहरू हुन्। मानिसहरूले सत्यता बुझ्नुभन्दा पहिले—तिनीहरू जति नै उमेरका भए पनि, वा तिनीहरू जुनै लिङ्गका भए पनि, वा तिनीहरू जुनै पेसामा संलग्न भएका भए पनि, वा सबै कुराप्रति तिनीहरूको मनोवृत्ति जे-जस्तो भएको भए पनि, चाहे त्यो चरम भए पनि वा तर्कसङ्गत भए पनि—छोटकरीमा भन्दा, हरकिसिमका कुराहरूमा, विभिन्न कुराहरूप्रतिको मानिसहरूको विचार र दृष्टिकोण, अनि तिनीहरूको मनोवृत्तिमा परिवारले ठूलो प्रभाव पारेको हुन्छ। अर्थात्, परिवारद्वारा व्यक्तिलाई पार्ने विभिन्न किसिमका सिकाइने कुराका प्रभावहरूले नै धेरै हदसम्म त्यस व्यक्तिको विभिन्न कुराहरूप्रतिको मनोवृत्ति र ती कुराहरूलाई लिने उसको विधि, साथै अस्तित्वसम्बन्धी उसको दृष्टिकोण निर्धारित गर्छन्, र उसको विश्वास पनि प्रभावित पार्छन्। परिवारले मानिसहरूलाई एकदमै धेरै सिकाउने र प्रभावित पार्ने हुनाले, विभिन्न कुराहरूलाई लिने मानिसहरूका विधि र सिद्धान्तहरू, साथै अस्तित्वसम्बन्धी तिनीहरूका दृष्टिकोणहरू, र विश्वाससम्बन्धी तिनीहरूका विचारहरूको जड अपरिहार्य रूपमै परिवार हो। यस्तो किन हुन्छ भने, घरपरिवार आफैमा सत्यता उत्पन्न हुने ठाउँ होइन, न त यो सत्यताको स्रोत नै हो, त्यसैले तँमा अस्तित्वसम्बन्धी कुनै पनि विचार, दृष्टिकोण, वा विधिसम्बन्धी कुरा तँलाई सिकाउनुको पछाडि तेरो परिवारलाई उत्प्रेरित गर्ने शक्ति वा उद्देश्य व्यावहारिक रूपमा एउटै हुन्छ—र त्यो हो, तेरो हितको लागि काम गर्नु। तेरो हितमा रहेका यी कुराहरू जोसुकैबाट आएका भए पनि—चाहे ती तेरा आमाबुबा, बाजेबजूबाट, वा तेरा पुर्खाहरूबाट आएका भए पनि—छोटकरीमा भन्दा, ती सबै कुराहरू तँलाई समाजमा र अरूहरूमाझ तेरो आफ्नै हित रक्षा गर्न, तँलाई हेपिनबाट बचाउन, र मानिसहरूमाझ अझै बन्धनरहित र कूटनीतिक तरिकाले बाँच्न सक्षम बनाउन, र सबैभन्दा बढी हदसम्म तेरो आफ्नै हित रक्षा गर्नको लागि हुन्। तैँले आफ्नो परिवारबाट पाएको सिकाइ तँलाई रक्षा गर्न, हेपाइ वा कुनै अपमानबाट जोगाउन, र तँलाई अरूभन्दा माथि उठेको व्यक्तिमा परिणत गर्नको लागि हो, चाहे त्यसको लागि अरूलाई हेप्नु वा चोट पुर्याउनु नै किन नपरोस्, तर तँ आफैलाई चाहिँ हानि हुनु भएन। तेरो परिवारले तँलाई सिकाएका सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्, र तँलाई सिकाएर तँभित्र घुसाइएका सबै विचारहरूको सार र मुख्य उद्देश्य पनि यिनै हुन्। के यो कुरा यस्तै होइन र? (हो।) यदि तैँले आफ्नो परिवारले सिकाउँदै तँभित्र घुसाएका सबै कुराहरूको उद्देश्य र सारबारे विचार गरिस् भने, के त्यहाँ सत्यतासँग मेल खाने कुनै कुरा हुन्छ? यदि यी कुराहरू नैतिकता वा मानवजातिको वैध अधिकार र चासोसँग मेल खाए भने पनि, के सत्यतासँग तिनको कुनै सम्बन्ध छ र? के ती सत्यता हुन् र? (होइनन्।) ती अवश्यै सत्यता होइनन्, यो निश्चयसाथ भन्न सकिन्छ। मानिसलाई तेरो परिवारले तँलाई सिकाउँदै तँभित्र घुसाउने कुराहरू जति नै सकारात्मक र वैध, मानवीय र नैतिक लागे पनि, ती सत्यता होइनन्, न त तिनले सत्यता नै प्रतिनिधित्व गर्न सक्छन्, र तिनले अवश्यै सत्यताको स्थान लिन पनि सक्दैनन्। तसर्थ, जब परिवारको कुरा आउँछ, तब यी कुराहरू मानिसहरूले त्याग्नुपर्ने अर्को पक्ष हो। खास गरी यो पक्ष के हो त? यो परिवारले सिकाउने कुराले तँलाई पार्ने प्रभावहरू हो—परिवारको हकमा तैँले त्याग्नुपर्ने दोस्रो पक्ष यही हो। हामीले परिवारले सिकाउने कुराले तँलाई पार्ने प्रभावहरूबारे छलफल गरिरहेका हुनाले, पहिले हामी यी सिकाइने कुराका प्रभावहरू ठ्याक्कै के-के हुन् भन्नेबारे कुरा गरौँ। यदि हामीले तिनलाई सही र गलतसम्बन्धी मानिसहरूको अवधारणाअनुसार छुट्टयायौँ भने, केहीचाहिँ तुलनात्मक रूपमा सही, सकारात्मक र प्रस्तुतयोग्य छन्, र तिनलाई अरूसामु प्रस्तुत गर्न सकिन्छ, जबकि केहीचाहिँ तुलनात्मक रूपमा स्वार्थी, घृणित, नीच, तुलनात्मक रूपमा नकारात्मकबाहेक अरू केही छैनन्। तर जे भए पनि, परिवारबाट आउने यी सिकाइने कुराका प्रभावहरू सुरक्षा दिने वस्त्रको तह जस्तै हुन् जसले सामूहिक रूपमा व्यक्तिको देहगत हितहरू रक्षा गर्छन्, अरूहरूमाझ तिनीहरूको मर्यादा सुरक्षित राख्छन्, र तिनीहरूलाई हेपाइमा पर्नबाट रोक्छन्। यस्तै हुन्छ, होइन र? (हो।) त्यसोभए, अब हामी तेरो परिवारले तँमा के-कस्ता सिकाइने कुराका प्रभावहरू पार्छन् भन्नेबारे कुरा गरौं। उदाहरणको लागि, तँलाई परिवारका अग्रजहरूले “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,” भनेर बारम्बार बताउँदा, यसको उद्देश्य तँलाई राम्रो प्रतिष्ठा पाउने, गर्वपूर्ण जीवन बिताउने, र आफूलाई अपमानित पार्ने काम नगर्ने कुरामा महत्त्व दिन लगाउनु हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) तैँले पूर्ण निश्चयसाथ “अहँ, सक्दैन” भन्न सक्छस्! यसबारे सोच् त, मानिसहरूले इमान्दार मानिसहरूको व्यवहार गर्नुपर्छ भनेर परमेश्वर भन्नुहुन्छ। जब तैँले कुनै अपराध, वा कुनै गलत काम गरेको, वा परमेश्वरविरुद्ध विद्रोह गर्ने र सत्यताविरुद्ध जाने काम गरेको हुन्छस्, तब तैँले आफ्नो गल्ती स्विकार्न, आफैलाई बुझ्न, र साँचो पश्चात्ताप हासिल गर्नहेतु आफैलाई निरन्तर चिरफार गरिरहन, र त्यसपछि परमेश्वरको वचनअनुसार काम गर्न आवश्यक हुन्छ। त्यसकारण, यदि मानिसहरूले इमान्दार मानिसहरूको रूपमा व्यवहार गर्ने भने, के त्यो “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने भनाइसँग बाझिन्छ? (हो।) यो कसरी बाझिन्छ? “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने भनाइको उद्देश्य खराब वा बेइज्जतपूर्ण कुराहरू गर्नुको सट्टा वा आफ्नो कुरूप पक्ष खुलासा गर्नुको सट्टा मानिसहरूलाई आफ्नो उज्यालो र रङ्गिन पक्षमा बाँच्न र आफूलाई राम्रो देखाउने धेरै कामहरू गर्नमा महत्त्व दिन लगाउनु हो, र तिनीहरूलाई अभिमान वा मर्यादाबिना बाँच्नबाट रोक्नु हो। आफ्नो प्रतिष्ठाको खातिर, आफ्नो अभिमान र सम्मानको खातिर, कसैले पनि आफ्नो बारेमा सबै कुरा बकवास बनाउनु हुँदैन, अरूलाई आफ्नो कालो र लाजमर्दो पक्षहरूबारे बताउने त झन् कुरै नगरौँ, किनभने व्यक्ति अभिमान र मर्यादासाथ बाँच्नुपर्छ। मर्यादा प्राप्त गर्नको लागि व्यक्तिलाई राम्रो प्रतिष्ठा चाहिन्छ, र राम्रो प्रतिष्ठा प्राप्त गर्नको लागि व्यक्तिले नाटक गर्नुपर्छ र आफ्नो रूपरङ्ग राम्रो पार्नुपर्छ। के यो आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्ने कार्यसँग बाझिन्छ? (हो।) जब तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्छस्, तब तैँले गरिरहेको त्यो कार्य “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने भनाइको पूर्ण विपरीत हुन्छ। यदि तैँले आफूलाई इमान्दार व्यक्तिको रूपमा व्यवहारमा ढाल्न चाहन्छस् भने, घमण्डलाई महत्त्व नदे; व्यक्तिको घमण्डको मोल एक सुक्को नि हुँदैन। सत्यता सामना गर्दा, व्यक्तिले आफूलाई खुलासा गर्नुपर्छ, नाटक गर्ने वा झूटो छवि सिर्जना गर्ने गर्नु हुँदैन। व्यक्तिले परमेश्वरलाई आफ्ना साँचा विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, र यस्तै अन्य कुराहरू खुलासा गर्नुपर्छ, र यी कुराहरू आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसामु पनि खुलासा गर्नुपर्छ। यो आफ्नो प्रतिष्ठाको खातिर बाँच्नुसँग सम्बन्धित कुरा होइन, बरु यो त इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्नको खातिर, सत्यता पछ्याउनको खातिर, सृष्टि गरिएको साँचो प्राणीको रूपमा जिउनको खातिर, र परमेश्वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनको खातिर बाँच्नुसँग सम्बन्धित कुरा हो। तर तैँले जब यो सत्यता बुझ्दैनस्, र जब परमेश्वरका अभिप्राय बुझ्दैनस्, तब तेरो परिवारले तँलाई अभ्यस्त पारी तँमाथि घुसाइदिएका कुराहरू नै हाबी हुन्छन्। त्यसकारण, जब तैँले कुनै गलत काम गर्छस्, तब यसलाई ढाकछोप गर्छस् र नाटक गर्दै यस्तो सोच्छस्, “मैले यसबारे केही भन्नु हुँदैन, र यसबारे थाहा पाउने अरू कसैलाई पनि मैले केही भन्न दिनेछैनँ। यदि तिमीहरूमध्ये कसैले केही भन्यौ भने, म तिमीहरूलाई त्यतिकै छोड्नेवाला छैनँ। मेरो प्रतिष्ठा नै पहिलो स्थानमा आउँछ। प्रतिष्ठाको खातिर बाँचिँदैन भने त्यसरी बाँच्नु व्यर्थ हो, किनभने यो अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिले आफ्नो प्रतिष्ठा गुमायो भने, उसले आफ्नो सबै मर्यादा गुमाउँछ। त्यसकारण, जस्तो छ त्यस्तै भन्नु हुँदैन, नाटक गर्नुपर्छ, कुराहरू ढाकछोप गर्नुपर्छ, नत्र आफ्नो प्रतिष्ठा र मर्यादा गुम्नेछ, र जीवन बेकार हुनेछ। यदि तिमीलाई कसैले पनि आदर गर्दैन भने, तिमी बेकार हौ, मूल्यहीन फोहोर हौ।” के यस तरिकाले अभ्यास गरेर इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्न सम्भव हुन्छ र? के पूर्ण रूपमा खुलस्त भएर आफैलाई चिरफार गर्नु सम्भव हुन्छ र? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो। तैपनि, यदि तैँले सत्यता पछ्याउन र सत्यता अभ्यास गर्नको लागि यो भनाइ त्यागिस् भने, यसले तँलाई असर गर्न छोड्नेछ, र यो तेरो आदर्श वाक्य वा तेरो काम गर्ने सिद्धान्त बन्न छोड्नेछ, र यसको साटो तैँले जे गर्छस् त्यो “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने यो भनाइको पूर्णविपरीत हुनेछ। अनि, तँ आफ्नो प्रतिष्ठाको खातिर बाँच्नेछैनस्, न त आफ्नो मर्यादाको खातिर नै बाँच्नेछस्, बरु यसको साटो, तँ सत्यता पछ्याउनको खातिर र इमान्दार व्यक्तिको रूपमा आफूलाई व्यवहारमा ढाल्दै अनि परमेश्वरलाई सन्तुष्ट पार्ने र सृष्टि गरिएको साँचो प्राणीको रूपमा बाँच्ने प्रयास गर्दै जिउनेछस्। यदि तँ यस सिद्धान्तमा अडिग रहन्छस् भने, तैँले आफूमाथि परिवारले पारेका सिकाइने कुराका प्रभावहरू त्यागिसकेको हुनेछस्।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१२)
परिवारले एकदुई वटा भनाइले मात्रै होइन, अनगिन्ती प्रसिद्ध उद्धरण र उक्तिहरूको बाढीद्वारै मानिसहरूलाई सिकाउने गर्छ। उदाहरणको लागि, के तेरो परिवारका अग्रज र आमाबुबाले प्रायजसो “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइ उल्लेख गर्दैनन् र? (हो।) तिनीहरूले तँलाई यसो भनिरहेका हुन्छन्: “मानिसहरूले आफ्नो प्रतिष्ठाकै खातिर बाँच्नुपर्छ। मानिसहरूले आफ्नो जीवनकालमा अरूहरूमाझ राम्रो प्रतिष्ठा कमाउने र राम्रो छाप छोड्नेबाहेक अरू केही खोज्दैनन्। त्यसैले तँ जहाँ गए पनि, तैँले खुलेर अभिवादन गर्न, मित्रवत् कुराकानी र प्रशंसा गर्न, र मिठा शब्दहरू बोल्न अझै बढी तत्पर हुनुपर्छ। मानिसहरूलाई नचिढ्याउनू, बरु अझ धेरै सुकर्म र दयाका कामहरू गर्नू।” परिवारले पार्ने यो विशेष सिकाइने कुराका प्रभावले मानिसहरूको व्यवहार वा आचरणका सिद्धान्तहरूमा निश्चित प्रभाव पार्छ, र यसले गर्दा अपरिहार्य रूपमै तिनीहरूले ख्याति र प्राप्तिमा ठूलो महत्त्व दिन्छन्। अर्थात्, तिनीहरूले आफ्नो मर्यादा, प्रतिष्ठा, मानिसहरूको मस्तिष्कमा तिनीहरूले पार्ने प्रभाव, अनि तिनीहरूले गर्ने सबै कुरा र व्यक्त गर्ने हरेक विचारबारे अरूले गर्ने मूल्याङ्कनप्रति ठूलो महत्त्व दिन्छन्। ख्याति र प्राप्तिमा ठूलो महत्त्व दिएर, तैँले तेरो कर्तव्य निर्वाहन सत्यता र सिद्धान्तअनुरूप छ छैन, तैँले परमेश्वरलाई सन्तुष्ट तुल्याइरहेको छस् छैनस्, र तैँले पर्याप्त रूपमा कर्तव्य पूरा गरिरहेको छस् छैनस् भन्ने कुराप्रति थाहै नभई थोरै मात्र महत्त्व दिइरहेको हुन्छस्। तैँले यी कुराहरूलाई कम महत्त्व र कम प्राथमिकता भएका कुराहरूको रूपमा हेर्छस्, जबकि तेरो परिवारले तँलाई सिकाइदिएको “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइ तेरो लागि अत्यन्तै महत्त्वपूर्ण बन्छ। यसले तँलाई मानिसहरूको मनमस्तिष्कमा तेरो हरेक कुरा कस्तो देखिन्छ भन्ने कुरामा ठूलो ध्यान दिने तुल्याउँछ। खास गरी, कतिपय मानिसहरूले अरूले पिठ्युँपछाडि तिनीहरूबारे के सोच्छन् भन्ने कुरामा विशेष ध्यान दिन्छन्, यहाँसम्म कि तिनीहरू भित्तामा कान थापेर कुरा सुन्ने, ढोकाबाट चियाएर कुरा सुन्ने, र अरूले तिनीहरूबारे के लेख्छन् भनेर झलक-झलक हेर्नेसम्म गर्छन्। कसैले तिनीहरूको नाम उल्लेख गर्नेबित्तिकै, तिनीहरूले यस्तो सोच्छन्, “तिनीहरूले के भनिरहेका छन् मैले तुरुन्तै सुन्नुपर्छ, र तिनीहरूसँग मेरो बारेमा राम्रो विचार छ कि छैन बुझ्नुपर्छ। अहो, तिनीहरूले त मलाई अल्छी र मीठो खानेकुरा खान मन पराउने पो भने त। त्यसोभए त म परिवर्तन हुनुपर्छ, भविष्यमा म अल्छी हुनु हुँदैन, म मेहनती हुनुपर्छ।” केही समय मेहनती भएपछि, तिनीहरूले मनमनै सोच्छन्, “मलाई अल्छी भनेर सबैले भनिरहेका छन् कि छैनन् भनेर म विचार गरिरहेको छु, तर कसैले पनि आजभोलि मलाई यसो भनेजस्तो लाग्दैन।” तर अझै पनि तिनीहरूलाई असहज लाग्छ, त्यसकारण तिनीहरूले आफ्नो वरपरका मानिसहरूसँग कुरा गर्दा अचानक यसो भन्दै कुरा निकाल्छन्: “म अलिक अल्छी छु।” अनि, अरूले जवाफ दिन्छन्: “तपाईँ अल्छी हुनुहुन्न, तर पहिलेभन्दा अहिले धेरै मेहनती हुनुभएको छ।” यो कुरा सुन्दा तिनीहरू तुरुन्तै आश्वस्त, हर्षित हुन्छन् र तिनीहरूलाई सान्त्वना मिल्छ। “देखिस्, मेरो बारेमा सबैको विचार परिवर्तन भएको छ। सबैले मेरो व्यवहारमा आएको सुधार देखेका रहेछन्।” यसरी तैँले गर्ने सबै कुरा सत्यता अभ्यासको लागि गरेको हुँदैनस्, न त परमेश्वरलाई सन्तुष्ट पार्नको लागि गरेको हुन्छस्, बरु, यो त तेरो आफ्नै प्रतिष्ठाको लागि गरेको हुन्छस्। यस तरिकाले, तैँले गर्ने सबै कुरा वास्तवमा के बनेको हुन्छ? यो वास्तवमा धार्मिक कार्य बनेको हुन्छ। तेरो सार के बनेको हुन्छ? तँ फरिसीको ठेट उदाहरण बनेको हुन्छस्। तेरो मार्ग के बनेको हुन्छ? यो ख्रीष्टविरोधीहरूको मार्ग बनेको हुन्छ। परमेश्वरले यसलाई यसरी नै परिभाषित गर्नुहुन्छ। त्यसकारण, तैँले गर्ने सबै कुराको सार कलङ्कित भएको हुन्छ, जसले गर्दा यो अब उस्तै रहँदैन; तैँले सत्यता अभ्यास गरिरहेको वा सत्यता पछ्याइरहेको हुँदैनस्, बरु ख्याति र प्राप्ति पछ्याइरहेको हुन्छस्। अन्त्यमा, परमेश्वरको नजरमा तेरो कर्तव्य निर्वाहन बस एक शब्दमा भन्दा अपर्याप्त हुन्छ। यस्तो किन हुन्छ? किनभने तँ परमेश्वरले तँलाई जिम्मा दिनुभएको कुरामा वा सृष्टि गरिएको प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने कर्तव्यमा नभई आफ्नो प्रतिष्ठामा मात्रै समर्पित छस्। परमेश्वरले यस्तो परिभाषा दिनुहुँदा, तैँले हृदयमा के महसुस गर्छस्? यतिका वर्ष परमेश्वरमा तैँले गरेको विश्वास व्यर्थ भयो भन्ने हो? त्यसोभए, के त्यसको अर्थ तैँले सत्यता पटक्कै पछ्याइरहेको थिइनस् भन्ने हो? तैँले सत्यता पछ्याइरहेको थिइनस्, बरु आफ्नो प्रतिष्ठालाई विशेष ध्यान दिइरहेको थिइस्, र यसको मूल जड तेरो परिवारले तँमाथि पारेका सिकाइने कुराका प्रभावहरू हुन्। तेरो परिवारले तँलाई गरा सबैभन्दा मुख्य भनाइ के हो? “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइले तेरो हृदयमा गहिरो जरा गाडेको छ र यो तेरो आदर्श वाक्य बनेको छ। तँ सानो छँदैदेखि तँलाई यो भनाइले प्रभावित र सिकाएको छ, र ठूलो भएपछि पनि आफ्नो परिवारको अर्को पुस्तालाई र आफ्ना वरिपरिका मानिसहरूलाई प्रभावित पार्न तँ यो भनाइ दोहोर्याइरहन्छस्। अझै गम्भीर कुरा त अवश्यै यो हो कि, तैँले यो भनाइलाई आफ्नो व्यवहार र विभिन्न कुराहरूलाई लिने तेरो विधि र सिद्धान्तको रूपमा अपनाएको छस्, र तैँले त्यसलाई आफ्नो जीवनमा पछ्याउने लक्ष्य र दिशाको रूपमा समेत अपनाएको छस्। तर तेरो लक्ष्य र दिशा गलत छन्, त्यसैले अन्तिम परिणाम पनि अवश्यै नकारात्मक नै हुनेछ। किनकि तैँले गर्ने सबै कुराको सार केवल आफ्नो प्रतिष्ठाको खातिर मात्र हुन्छ, र केवल “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइ अभ्यास गर्नको खातिर मात्र हुन्छ। तैँले सत्यता पछ्याइरहेको छैनस्, तैपनि तँ आफैलाई त्यो कुरा थाहै छैन। तँलाई यो भनाइ गलत छैन भन्ने लाग्छ, किनभने तैँले सोच्छस्, के मानिसहरू आफ्नो प्रतिष्ठाको लागि जिउनु पर्दैन र? किनकि आम भनाइ नै छ, “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ।” यो भनाइ निकै सकारात्मक र जायज देखिन्छ, त्यसैले तैँले अचेतन रूपमै यसका सिकाइने कुराका प्रभावहरू स्विकार्छस् र यसलाई सकारात्मक कुरा ठान्छस्। एकपटक यो भनाइलाई सकारात्मक ठानेपछि, तैँले अचेतन रूपमै यसलाई पछ्याइरहेको र अभ्यास गरिरहेको हुन्छस्। साथै, तैँले अचेतन रूपमै र भ्रममा परेर यसलाई सत्यताको रूपमा र सत्यताको मापदण्डको रूपमा पनि लिइरहेको हुन्छस्। जब तैँले यसलाई सत्यताको मापदण्डको रूपमा हेर्छस्, तब तैँले परमेश्वरले भन्नुभएको कुरा सुन्न छोड्छस्, र तैँले उहाँको कुरा बुझ्न पनि सक्दैनस्। तैँले अन्धाधुन्ध रूपमा “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने यो आदर्श वाक्य अभ्यास गर्छस् र त्यहीअनुसार व्यवहार गर्छस्, र तैँले अन्त्यमा यसबाट प्राप्त गर्ने कुरा भनेको राम्रो प्रतिष्ठा हो। तैँले पाउन चाहेको कुरा पाएको हुन्छस्, तर त्यसो गर्ने क्रममा तैँले सत्यता उल्लङ्घन गरेको र त्यागेको हुन्छस्, र मुक्ति पाउने मौका गुमाएको हुन्छस्। यसको अन्तिम नतिजा यही हुने हुनाले, तैँले तेरो परिवारले तँलाई सिकाएको “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने विचार तैँले त्याग्नु र छोड्नुपर्छ। यो तैँले पक्रिराख्नुपर्ने कुरा होइन, न त यो तैँले अभ्यास गर्न जीवनभर मेहनत र ऊर्जा लगाउनुपर्ने भनाइ वा विचार नै हो। तेरो मस्तिष्कमा हालिएको र तँलाई सिकाएको यो विचार र दृष्टिकोण गलत छ, त्यसकारण तैँले यसलाई त्याग्नुपर्छ। यो सत्यता नभएकोले मात्रै होइन, बरु यसले तँलाई बहकाएर अन्त्यमा विनाशमा पुर्याउने र यसका परिणामहरू अत्यन्तै गम्भीर हुने भएकोले तैँले यसलाई त्याग्नुपर्छ। तेरो लागि, यो साधारण भनाइ मात्रै होइन, बरु एउटा क्यान्सर नै हो, अर्थात् मानिसहरूलाई भ्रष्ट तुल्याउने माध्यम र विधि हो। यस्तो किन हो भने, परमेश्वरका वचनहरूमा, मानिसहरूको लागि उहाँले दिनुभएका सबै मापदण्डहरूमा, परमेश्वरले मानिसहरूलाई कहिल्यै पनि राम्रो प्रतिष्ठाको पछि लाग्न, वा इज्जत खोज्न, वा मानिसहरूमाझ राम्रो प्रभाव छर्न, वा मानिसहरूको अनुमोदन प्राप्त गर्न, वा मानिसहरूबाट स्याबासी पाउन लगाउनुभएको छैन, न त उहाँले कहिल्यै मानिसहरूलाई ख्याति पाउन वा राम्रो प्रतिष्ठा स्थापित गरिछोड्नको लागि बाँच्न नै लगाउनुभएको छ। मानिसहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरून्, र उहाँमा र सत्यतामा समर्पित होऊन् भन्ने मात्रै परमेश्वर चाहनुहुन्छ। तसर्थ, जहाँसम्म तेरो कुरा छ, यो भनाइ तेरो परिवारले तँमाथि लादेको एक प्रकारको सिकाइ मात्र हो, र यसलाई तैँले त्याग्नुपर्छ।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१२)
तेरो परिवारले तँमाथि पार्ने अर्को पनि सिकाइने कुराका प्रभाव छ। उदाहरणको लागि, जब आमाबुबा वा अग्रजहरूले तँलाई प्रोत्साहन दिन्छन्, तब तिनीहरूले प्राय यसो भन्छन्, “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ।” यसो भन्नुपछाडिको तिनीहरूको उद्देश्य भनेको तँलाई कष्ट सहन, लगनशील र दृढ हुन सिकाउनु, र तैँले जे गरे पनि त्यसमा कष्ट भोग्न नडराउने बन्न सिकाउनु हो, किनभने कष्ट सहने, कठिनाइको प्रतिरोध गर्ने, कडा परिश्रम गर्ने र डटिलड्ने जोस हुने मानिसहरू मात्र माथि उठ्न सक्छन्। “माथि उठ्नु” को अर्थ के हो? यसको अर्थ हेपाइमा नपर्नु, वा हेयको नजरले नहेरिनु, वा भेदभावमा नपर्नु हो; यसको अर्थ मानिसहरूमाझ उच्च प्रतिष्ठा र हैसियत प्राप्त गर्नु, बोल्ने र आफ्नो कुरा सुनाइपाउने अधिकार हुनु, र निर्णय लिने अधिकार हुनु हो; यसको अर्थ अरूहरूमाझ राम्रो र उच्च गुणस्तरको जीवन बिताउन सक्नु, र मानिसहरूलाई आफ्नो आदर, प्रशंसा र ईर्ष्या गर्ने बनाउनु हो। आधारभूत रूपमा, यसको अर्थ तँ सम्पूर्ण मानवजातिको माथिल्लो तहमा छस् भन्ने हुन्छ। “माथिल्लो तह” भनेको के हो? यसको मतलब तेरो खुट्टामुनि धेरै मानिसहरू छन् र तैँले तिनीहरूबाट कुनै दुर्व्यवहार सहनुपर्दैन भन्ने हो—“अब्बल हुनु” भनेको यही हो। माथि उठ्नको लागि, तैँले “ठूलो कष्ट सहनुपर्छ,” र यसको अर्थ तैँले अरूले सहन नसक्ने पीडा सहन सक्नुपर्छ। त्यसकारण तँ माथि उठ्न सक्नुअघि, तैँले मानिसहरूको घृणापूर्ण हेराइ, गिल्ला, व्यङ्ग्य, निन्दा, साथै तिनीहरूले तेरो कुरा नबुझ्दाको अवस्था, अनि तिनीहरूको अपमान, आदि इत्यादि कुराहरू सहन सक्नुपर्छ। शारीरिक पीडाको अतिरिक्त, तैँले मानिसहरूको व्यङ्ग्य र उपहास पनि सहन सक्नुपर्छ। यस्तो व्यक्ति बन्न सिकेर मात्र तैँले मानिसहरूमाझ पृथक हुन र समाजमा आफ्नो छुट्टै स्थान निर्माण गर्न सक्छस्। यस भनाइको उद्देश्य मानिसहरूलाई न्यूनस्तरको व्यक्ति होइन बरु शीर्षस्तरको व्यक्ति बनाउनु हो, किनभने न्यूनस्तरको व्यक्ति हुँदा धेरै गाह्रो हुन्छ—तैँले दुर्व्यवहार सहनुपर्छ, तँलाई आफू बेकार छु भन्ने महसुस हुन्छ, र तँसँग कुनै मर्यादा वा इज्जत हुँदैन। यो पनि तेरो परिवारले तँमाथि पारेको सिकाइने कुराको प्रभाव हो, र यसको उद्देश्य पनि तेरो हित होस् भन्ने नै हो। तैँले अरूको दुर्व्यवहार सहन नपरोस्, र तँसँग ख्याति र अख्तियार होस्, तँलाई राम्रो खाने र आनन्द लिने अवस्था प्राप्त होस्, र तँ जहाँ गए पनि कसैले तँलाई हेप्ने आँट नगरोस्, बरु तैँले सर्वाधिकारी शासकले जस्तो व्यवहार गर्दै हुकुम चलाउन सक्, र सबैजना तेरो अघि झुकून् र तेरो चापलूसी गरून् भनेर नै तेरो परिवारले यसो गर्छ। एक अर्थमा, अरूभन्दा माथि उठ्ने प्रयास गर्दा, तैँले आफ्नो फाइदाको लागि यसो गरिरहेको हुन्छस्, र अर्को अर्थमा, तैँले परिवारको सामाजिक हैसियत बढाउन र आफ्ना पुर्खाहरूलाई सम्मान दिन यसो गरिरहेको हुन्छस्, ताकि तेरा आमाबुबा र परिवारका सदस्यहरूले पनि तँसँग सम्बन्धित भएकोमा लाभ लिन सकून् र दुर्व्यवहार सहनुपर्ने अवस्थामा नपरून्। यदि तैँले ठूलो कष्ट भोगेर राम्रो कार चढ्ने, सुविधा सम्पन्न घर भएको र सहयोगी मानिसहरू आफ्नो वरपर घुमिरहने एक उच्च पदाधिकारी बनेर शीर्ष स्थानमा पुगेको छस् भने, तेरो परिवारले पनि तँसँग सम्बन्धित भएकोमा फाइदा पाउनेछ, र तेरो परिवारका सदस्यहरूले पनि राम्रो कार चलाउन, राम्रो खान, र उच्चस्तरीय जीवन बिताउन सक्नेछन्। यदि तँलाई मन लाग्यो भने, तैँले सबैभन्दा महँगो व्यञ्जन खान सक्छस्, र तँ जहाँ मन लाग्यो त्यहीँ जान सक्छस्, र तैँले सबैलाई आफ्नो इशारामा नचाउन सक्छस्, र जे मन लाग्यो त्यै गर्न सक्छस्, र तैँले लुकीछिपी नगरी वा डरले लुरुक्क नभई स्वेच्छाचारी र अहङ्कारी ढङ्गले जिउन सक्छस्, र जे मन लाग्यो त्यही गर्न सक्छस्, चाहे त्यो कानुनभन्दा माथि उठेर गर्नुपर्ने काम नै किन नहोस्, अनि साहसी र लापरवाही ढङ्गले जिउन सक्छस्—तँलाई यस्तो तरिकाले सिकाउनु, अर्थात् तँमाथि अन्याय हुने अवस्था आउन नदिनु र तँलाई अरूभन्दा माथि उठाउनुको पछाडि तेरो परिवारको उद्देश्य यही हुन्छ। यसलाई सीधा रूपमा भन्नुपर्दा, तिनीहरूको उद्देश्य भनेको तँलाई अरूको नेतृत्व गर्ने, अरूलाई निर्देशन दिने र अरूलाई आदेश दिने व्यक्तिमा परिणत गर्नु हो, र तँलाई अरूलाई हेप्न सक्ने तर हेपाइमा नपर्ने व्यक्ति बनाउनु, अरूको पछि लाग्ने होइन बरु अरूभन्दा पुग्ने व्यक्ति बनाउनु हो। के यो कुरा यस्तै होइन र? (हो।) … तर यस सम्बन्धमा परमेश्वरले मापदण्ड के रहेको छ? के परमेश्वरले मानिसहरूलाई माथि उठ्न, अनि सामान्य, साधारण, अतुलनीय, वा औसत होइन, महान्, प्रसिद्ध, र उच्च हुन लगाउनुहुन्छ? के परमेश्वरले मानिसहरूबाट यही चाहनुहुन्छ? (चाहनुहुन्न।) तेरो परिवारद्वारा तँलाई सिकाइएको भनाइ, अर्थात् “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” भन्ने भनाइले तँलाई सकारात्मक दिशामा डोर्याउँदैन, र यसको अवश्यै सत्यतासँग कुनै सम्बन्ध पनि छैन। तँलाई कष्ट सहन लगाउने तेरो परिवारको उद्देश्य निर्दोष पनि छैन, यसमा षड्यन्त्र भरिएको छ, र यो घृणित र धूर्त छ। परमेश्वरले मानिसहरूलाई तिनीहरूमा भ्रष्ट स्वभाव भएकोले कष्ट सहन लगाउनुहुन्छ। यदि मानिसहरूले आफ्नो भ्रष्ट स्वभावबाट शुद्ध हुन चाहन्छन् भने, तिनीहरूले कष्ट भोग्नु नै पर्छ—यो वस्तुगत तथ्य हो। यसको साथै, परमेश्वरले मानिसहरूलाई पीडा सहन पनि लगाउनुहुन्छ: यो सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो, र यो एक सामान्य व्यक्तिले सहनुपर्ने कुरा पनि हो, र सामान्य व्यक्तिमा हुनुपर्ने मनोवृत्ति पनि हो। तैपनि, परमेश्वरले तँलाई शीर्ष स्थानमै पुग्नुपर्छ भनेर भन्नुहुन्न। उहाँ तँलाई साधारण वा सामान्य व्यक्ति मात्रै बन्न लगाउनुहुन्छ, जो सत्यता बझ्छ, जो उहाँका वचनहरू सुन्छ, र जो उहाँप्रति समर्पित हुन्छ, उहाँले चाहनुभएको बस त्यति त हो। तैँले परमेश्वरलाई चकित पार् वा पृथ्वी हल्लाउने कुरा गर् भनेर परमेश्वरले कहिले पनि तँलाई भन्नुहुन्न, न त तँ सेलिब्रेटी वा महान् व्यक्ति बन्नुपर्छ भनेर नै उहाँ भन्नुहुन्छ। उहाँ त बस तँ एक साधारण, सामान्य र वास्तविक व्यक्ति भएको चाहनुहुन्छ, र तैँले जति धेरै कष्ट सहन सके पनि, वा तैँले कष्ट सहन सके पनि नसके पनि, यदि अन्त्यमा तँ परमेश्वरको डर मान्न र दुष्टताबाट अलग रहन सकिस् भने, तैँले बन्न सक्ने उत्कृष्ट व्यक्ति यही हो। परमेश्वरले तँ शीर्ष स्थानमा पुगेको चाहनुहुन्न, बरु सृष्टि गरिएको साँचो प्राणी बनेको र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्ने व्यक्ति बनेको चाहनुहुन्छ। यस्तो व्यक्ति अतुलनीय र साधारण हुन्छ, ऊ गैरविश्वासी वा भ्रष्ट मानिसहरूको नजरमा उच्च वा महान् बनेको व्यक्ति होइन, सामान्य मानवता, विवेक र समझ भएको व्यक्ति हुन्छ। हामीले यस पक्षबारे पहिले नै धेरै सङ्गति गरिसकेका छौँ, त्यसैले अब हामी यसबारे थप छलफल गर्नेछैनौँ। “अब्बल हुनको लागि ठूलो कष्ट सहनुपर्छ” भन्ने यो भनाइ तैँले त्याग्नुपर्ने कुरा हो भन्ने कुरा स्पष्ट छ। अनि, तैँले त्याग्नुपर्ने कुरा ठ्याक्कै के हो त? त्यो कुरा तेरो परिवारले तैँले पछ्याउनैपर्छ भनी तँलाई सिकाउँदै औँल्याइदिएको दिशा हो। अर्थात्, तैँले आफ्नो पछ्याउने दिशा परिवर्तन गर्नुपर्छ। केवल शीर्ष स्थानमा पुग्न, भीडभन्दा माथि उठ्न र उल्लेखनीय व्यक्ति बन्न, वा अरूको प्रशंसा पाउनको लागि मात्रै केही नगर्। बरु, तैँले यी अभिप्रायहरू, उद्देश्यहरू, र मनसायहरू त्यागेर र सृष्टि गरिएको साँचो प्राणी बन्नको लागि वास्तविकताको धरातलमा रही सबै कुरा गर्नुपर्छ। “वास्तविकताको धरातलमा रही” भनेर मैले भन्नुको अर्थ के हो? सबैभन्दा आधारभूत सिद्धान्त भनेको परमेश्वरले मानिसहरूलाई सिकाउनुभएका तौरतरिका र सिद्धान्तहरूअनुसार सबै कुरा गर्नु हो। मानौँ तैँले गर्ने कुराले सबैलाई चकित वा प्रभावित पार्दैन रे, वा कसैले त्यस कुराको प्रशंसा वा कदर पनि गर्दैन रे। तैपनि, यदि यो तैँले गर्नुपर्ने कुरा हो भने, तैँले यसलाई निरन्तरता दिनुपर्छ र तँ यसमा लागिरहनुपर्छ, अनि यसलाई सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कर्तव्यको रूपमा लिनुपर्छ। यदि तैँले त्यसो गरिस् भने, परमेश्वरको नजरमा तँ सृष्टि गरिएको स्वीकार्य प्राणी बन्नेछस्—यो कुरा यति सरल छ। तैँले परिवर्तन गर्नुपर्ने कुरा भनेको आफूलाई व्यवहारमा ढाल्ने सन्दर्भमा तैँले पछ्याउने कुरा र जीवनप्रतिको तेरो दृष्टिकोण हो।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१२)
परिवारले अरू तरिकाहरूले पनि तँलाई सिकाउने र प्रभावित पार्ने गर्छ, जस्तै “सद्भाव खजाना हो; धैर्यता सान हो।” परिवारका सदस्यहरूले प्रायजसो तँलाई यसो भन्दै सिकाउँछन्: “दयालु बन् र अरूसँग तर्क गर्ने वा शत्रु बनाउने नगर्, किनभने यदि तैँले धेरै शत्रु बनाइस् भने, समाजमा तैँले स्थान बनाउन सक्दैनस्, र यदि तँलाई घृणा गर्ने मानिसहरू धेरै छन् र तिनीहरू तँलाई खेदो गर्नतिर लागेका छन् भने, समाजमा तँ सुरक्षित हुनेछैनस्। तँ सधैँ खतरामा हुनेछस्, र तेरो अस्तित्व, हैसियत, परिवार, व्यक्तिगत सुरक्षा, अनि तेरो भावी पदोन्नतिका सम्भावनाहरूसमेत खराब मानिसहरूको कारण जोखिम र बाधामा पर्नेछन्। त्यसकारण तैँले ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ भनेर जान्नुपर्छ। सबैसँग दयालु व्यवहार गर्, राम्रो सम्बन्ध नतोड्, पछि फिर्ता लिन नसक्ने कुनै पनि कुरा नभन्, मानिसहरूको अहम्मा चोट पुर्याउनबाट टाढा बस्, र तिनीहरूको कमजोरीहरू खुलासा नगर्। मानिसहरूले सुन्न नचाहने कुराहरू नभन् वा भन्न छोड्। तारिफहरू मात्रै गर्, किनकि कसैको प्रशंसा गर्दा कहिल्यै चोट लाग्दैन। तैँले ठूला र साना दुवै मामिलाहरूमा सहनशीलता देखाउन र सम्झौता गर्न सिक्नुपर्छ, किनभने ‘सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ’” यसबारे सोच् त, तेरो परिवारले तँभित्र एकैचोटि दुइटा विचार र दृष्टिकोण हालिदिन्छ। एक अर्थमा, तिनीहरूले तँ अरूसँग दयालु हुनुपर्छ भनेर भन्छन्; अर्को अर्थमा, तँ सहनशील भएको, तैँले बोल्ने अधिकार नभएको कुरा नबोलेको चाहन्छन्, र यदि तँलाई केही भन्नु छ भने, तैँले मुख बाँधेर राख्नुपर्छ र घर आएर आफ्नो परिवारलाई मात्रै त्यो कुरा भन्नुपर्छ। अनि, अझ राम्रो कुरा त, आफ्नो परिवारलाई समेत नभन्, किनकि भित्ताको पनि कान हुन्छ—यदि कुनै बेला गुप्त कुरा बाहिरियो भने, तेरो लागि अवस्था सहज हुनेछैन। यो समाजमा स्थान पाउन र बाँच्नको लागि, मानिसहरूले एउटा कुरा सिक्नुपर्छ, र त्यो हो, सिधा कुरा नबोल्ने बन्नु। बोलचालको भाषामा भन्दा, तँ चलाक र धूर्त बन्नुपर्छ। तैँले आफ्नो मनमा भएको कुरा भन्नु हुँदैन। यदि तैँले अघि बढेर आफ्नो मनमा जे छ त्यही भनिस् भने, त्यो मूर्खता हो, र त्यो बुद्धिमानी होइन। कतिपय मानिसहरू खुल्ला तोपजस्तै हुन्छन्, जो जे मन लाग्यो त्यही बोल्छन्। मानौँ कुनै व्यक्तिले त्यसै गर्छ रे र उसले आफ्नो हाकिमलाई चिढ्याउन पुग्छ। अनि त्यसपछि त्यो हाकिमले उसको जीवन कठिन बनाउँछ, उसको बोनस काट्छ, र सँधै ऊसँग झगडा गर्न खोज्छ। अन्त्यमा, उसलाई जागिरमा बसिरहन असह्य हुन्छ। तर यदि उसले आफ्नो जागिर छोड्यो भने, ऊसँग जीविकोपार्जन गर्ने अरू कुनै उपाय हुँदैन। अनि यदि उसले जागिर छोडेन भने, ऊसँग आफूले सहनै नसक्ने जागिर सहेर बस्नुबाहेक अरू कुनै उपाय हुँदैन। यसरी चेपारोमा पर्ने अवस्थालाई के भनिन्छ? भीरमा “अल्झिनु।” त्यसपछि उसको परिवारले उसलाई यसो भन्छ: “तँ दुर्व्यवहार पाउन लायक छस्, तैँले ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ भन्ने कुरा याद गर्नुपर्थ्यो! तैँले खुल्ला तोप बनेर जथाभाबी मुख चलाएको कारण तँलाई यस्तो भएको हो! आफूले बोल्दा चलाख हुनु र सोचविचार गरेर बोल्नु भनेर हामीले भनेका थियौँ, तर तैँले त्यसो गर्न चाहिनस्, तँलाई त गएर सीधै बोलिहाल्नु थियो। के तँलाई हाकिमसँग झगडा गर्नु त्यति सजिलो छ जस्तो लागेको थियो? के तँलाई समाजमा बाँच्न त्यति सजिलो छ जस्तो लागेको थियो? तैँले सधैँ मैले त सीधा कुरा मात्रै गरिरहेको छु भनेर भनिरहेको हुन्छस्। अब तैँले यी पीडादायी परिणामहरू भोग्नुपर्छ। यो तेरो लागि एउटा पाठ होस्! भविष्यमा, तैँले ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ भन्ने कुरा राम्ररी सम्झिलास्!” उसलाई यो पाठ सिकाइएपछि, उसले यस्तो सोच्दै यो कुरा याद गर्छ, “मेरा आमाबुबाले मलाई शिक्षा दिनुभएको साँच्चै ठीक हो। यो जीवनको एक अन्तर्दृष्टिपूर्ण अनुभव हो, यो साँच्चिकै बुद्धिको कुरा हो, र मैले यसलाई बेवास्ता गरिरहनु हुँदैन। म आफैँ खतरा मोलेर आफ्ना अग्रजहरूलाई बेवास्ता गर्छु, त्यसकारण म भविष्यमा यो कुरा सम्झनेछु।” ऊ परमेश्वरमा विश्वास गरेर परमेश्वरको घरमा आबद्ध भएपछि पनि अझै उसले यो “सद्भाव खजाना हो; धैर्यता सान हो” भन्ने भनाइ याद गर्छ, र त्यसैले उसले आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई जहिले भेटे पनि अभिवादन गर्छ, र तिनीहरूसँग राम्रो बोलीवचन बोल्न सक्दो प्रयास गर्छ। अगुवाले भन्छ: “म अगुवा भएको केही समय भयो, तर मसँग कामसम्बन्धी पर्याप्त अनुभव छैन।” त्यसैले उसले तारिफ गर्दै भन्छ: “तपाईँले राम्रो काम गरिरहनुभएको छ। यदि तपाईँले हामीलाई अगुवाइ नगर्नुभएको भए, हामीलाई जाने ठाउँ कहीँ छैन जस्तो लाग्नेथ्यो।” अरू कसैले भन्छ: “मैले आफ्नो बारेमा बुझेको छु, र मलाई लाग्छ, म निकै छली छु।” त्यसकारण उसले जवाफ दिन्छ, “तपाईँ छली हुनुहुन्न, तपाईँ साँच्चै इमान्दार हुनुहुन्छ, तर छल गर्ने व्यक्ति त म पो हुँ त।” कसैले उसको बारेमा नराम्रो टिप्पणी गर्छ, र उसले मनमनै विचार गर्छ, “त्यस्तो नराम्रो टिप्पणीबाट डराउनुपर्दैन, किनभने मैले योभन्दा नराम्रो टिप्पणी पनि सहन सक्छु। तिम्रो टिप्पणी जतिसुकै नराम्रो भए पनि, म नसुनेजस्तो गर्नेछु, र म तिम्रो तारिफ गरिरहनेछु, र तिम्रो मन जित्ने सक्दो प्रयास गर्नेछु, किनकि तिम्रो तारिफ गरेर कहिल्यै चोट लाग्नेछैन।” जब सङ्गतिको बेला कसैले उसलाई आफ्नो विचार बताउन वा खुलस्त कुरा गर्न लगाउँछ, तब उसले खुलस्त बोल्दैन, र सबैको अगाडि यो कृत्रिम रूपमा हर्षित र आनन्दित मुहार कायम राख्छ। कसैले उसलाई सोध्छ: “तपाईँ सधैँ कसरी यति हँसिलो र आनन्दित हुनुभएको? के साँच्चै तपाईँ सधैँ यसरी नै मुस्कुराइरहने व्यक्ति हुनुहुन्छ?” अनि उसले मनमनै विचार गर्छ: “म वर्षौँदेखि मुस्कुराउँदै आइरहेको छु, र यतिका समय मबाट कहिल्यै पनि फाइदा लुटिएको छैन, त्यसैले यो तरिका संसारसँग व्यवहार गर्ने मेरो मुख्य सिद्धान्त बनेको छ।” के ऊ चिप्लो ढुङ्गाजस्तो छैन र? (छ।) कतिपय मानिसहरू वर्षौँदेखि यसरी नै समाजमा रुमल्लिरहेका हुन्छन्, र परमेश्वरको घरमा आएपछि पनि तिनीहरूले त्यही कार्य जारी राख्छन्। तिनीहरूले कहिल्यै पनि एउटै इमान्दार शब्द पनि बोल्दैनन्, तिनीहरूले कहिल्यै हृदयको कुरा खोल्दैनन्, र तिनीहरूले आफूबारेको आफ्नो बुझाइबारे कुरा गर्दैनन्। विश्वासी दाजुभाइ-दिदीबहिनीले आफ्नो हृदय तिनीहरूको अगाडि उदाङ्गो पार्दा पनि, तिनीहरूले खुलस्त कुरा गर्दैनन्, र तिनीहरूको दिमागमा के छ भनेर कसैले पनि पत्ता लगाउन सक्दैन। तिनीहरूले के सोच्छन् वा तिनीहरूको विचार के हो भनेर कहिल्यै खुलासा गर्दैनन्, तिनीहरूले सबैसँग साँच्चिकै राम्रो सम्बन्ध कायम राख्छन्, र तिनीहरूलाई कस्ता मानिसहरू वा कस्तो व्यक्तित्व मन पर्छ, वा तिनीहरूले अरूबारे वास्तवमा के सोच्छन् त्यसबारे तँलाई थाहै हुँदैन। यदि कसैले तिनीहरूलाई फलानो-फलानो व्यक्ति कस्तो व्यक्ति हो भनेर सोध्यो भने, तिनीहरूले जवाफ दिन्छन्, “उहाँले विश्वास गर्नुभएको दश वर्षभन्दा बढी समय भयो, र उहाँ ठीकै हुनुहुन्छ।” तैँले तिनीहरूलाई जसको बारेमा सोधे पनि, तिनीहरूले त्यो व्यक्ति ठीक छ वा धेरै राम्रो छ भनेर जवाफ दिन्छन्। यदि कसैले तिनीहरूलाई, “के तपाईँले उहाँमा कुनै कमीकमजोरी वा त्रुटिहरू पत्ता लगाउनुभएको छ?” भनेर सोध्यो भने, तिनीहरूले यस्तो जवाफ दिनेछन्, “मैले अहिलेसम्म यस्तो कुरा भेटेको छैनँ, तर भविष्यमा म यो कुरालाई नजिकबाट नियाल्नेछु,” तर भित्री रूपमा तिनीहरूले सोचिरहेका हुन्छन्: “तिमीले मलाई त्यो व्यक्तिलाई चिढ्याउन लगाइरहेको छौ, जुन काम म पक्कै पनि गर्नेछैनँ! यदि मैले तिमीलाई सत्य कुरा बताएँ र तिनले यसबारेमा थाहा पाए भने, के तिनी मेरो शत्रु बन्नेछैनन् र? मेरो परिवारले मलाई लामो समयदेखि शत्रु कमाउनु हुँदैन भनेर भनिरहेको छ, र मैले तिनीहरूका शब्दहरू बिर्सिएको छैनँ। के तिमी मलाई मूर्ख ठान्छौ? के तिमीले सत्यताका दुई वाक्य सङ्गति गर्यौ भन्दैमा मैले मेरो परिवारबाट पाएको शिक्षा र सिकाइ बिर्सनेछु भन्ने तिमीलाई लाग्छ? यस्तो कदापि हुनेछैन! ‘सद्भाव खजाना हो; धैर्यता सान हो’ र ‘सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ’ भन्ने यी भनाइहरूले मलाई अहिलेसम्म धोकामा पारेका छैनन् र ती मेरा सुरक्षा मन्त्र बनेका छन्। म कसैको त्रुटिबारे कुरा गर्दिनँ, र यदि कसैले मलाई चिढ्यायो भने, म तिनीहरूप्रति सहनशीलता देखाउँछु। के तिमीले मेरो निधारमा त्यो अक्षर छापिएको छ भन्ने देखेनौ? यो ‘सहनशीलता’ जनाउने चिनियाँ अक्षर हो, जसमा मुटुको चिन्हमाथि चक्कुको चिन्ह समावेश छ। ज-जसले मेरो बारे नराम्रो टिप्पणी गर्छन्, म तिनीहरूप्रति सहनशीलता देखाउँछु। ज-जसले मलाई काटछाँट गर्छन्, म तिनीहरूप्रति सहनशीलता देखाउँछु। मेरो उद्देश्य भनेको सबैसँग राम्रो सम्बन्ध कायम राख्नु हो, र सम्बन्धलाई यही स्तरमा कायम राखिराख्नु हो। सिद्धान्तहरूमा अडिग नबन, यति मूर्ख नबन, अलचिलो नबन, बरु परिस्थितिअनुसार चल्न सिक! कछुवाहरू किन यति लामो समयसम्म बाँच्न सक्छन् जस्तो तिमीलाई लाग्छ? किनभने बाहिर गाह्रो हुँदा तिनीहरू आफ्नो खोलभित्र लुक्छन्, होइन र? यसरी तिनीहरूले आफूलाई सुरक्षित राख्न सक्छन् र तिनीहरू हजारौँ वर्षसम्म बाँच्न सक्छन्। लामो जीवन जिउने तरिका यही हो, र संसारसित व्यवहार गर्ने तरिका पनि यही हो।” त्यस्ता मानिसहरूले कुनै सत्य वा साँचो कुरा बोलेको तैँले सुन्न पाउँदैनस्, र तिनीहरूको साँचो दृष्टिकोण र तिनीहरूको व्यवहारको भित्री आधारभूत कुरो कहिल्यै प्रकट हुँदैन। तिनीहरूले यी कुराहरूबारे हृदयभित्र मात्र विचार र चिन्तन गर्छन्, तर ती कुराहरूबारे अरू कसैलाई पनि थाहा हुँदैन। यस्तो व्यक्ति बाहिरी रूपमा सबैप्रति दयालु हुन्छ, राम्रो स्वभावको देखिन्छ, र उसले कसैलाई चोट वा हानि गर्दैन। तर वास्तवमा, तिनीहरू घुमाई-घुमाई कुरा गर्ने र चिप्लो घस्ने मानिसहरू हुन्। यस्तो व्यक्तिलाई मण्डलीका कतिपय मानिसहरूले सधैँ मन पराउँछन्, किनभने तिनीहरूले कहिल्यै ठूलो गल्ती गर्दैनन्, तिनीहरूले आफ्नो वास्तविकता कहिल्यै प्रकट गर्दैनन्, र मण्डलीका अगुवाहरू र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूबाट तिनीहरूले पाउने मूल्याङ्कन तिनीहरू सबैसँग मिल्छन् भन्ने हुन्छ। तिनीहरू आफ्नो कर्तव्यप्रति उदासीन हुन्छन्, र तिनीहरूलाई जे गर्नू भनिएको छ त्यही मात्र गर्छन्। तिनीहरू निकै आज्ञाकारी र राम्रो व्यवहार गर्ने हुन्छन्, तिनीहरूले कुराकानी गर्दा वा विभिन्न मामिलाहरू सम्हाल्दा अरूलाई कहिल्यै चोट पुर्याउँदैनन्, र तिनीहरूले कहिल्यै कसैबाट अनुचित फाइदा उठाउँदैनन्। तिनीहरूले कहिल्यै अरूलाई नराम्रो भन्दैनन्, र तिनीहरूले कहिल्यै मानिसहरूलाई पिठ्यूँपछाडि आलोचना गर्दैनन्। तैपनि, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा इमान्दार छन् कि छैनन् कसैलाई थाहा हुँदैन, र तिनीहरूले अरूबारे के सोच्छन् वा कस्तो विचार राख्छन् कसैलाई थाहा हुँदैन। सावधानीपूर्वक सोचिसकेपछि, तँलाई केसमेत लाग्छ भने, यस्तो व्यक्ति वास्तवमै अलिक अनौठो र बुझ्न नसकिने हुन्छ, र तिनीहरूलाई राखिराखियो भने समस्यासमेत आउन सक्छ। यस्तोमा तैँले के गर्नुपर्छ? यो गाह्रो कुरा हो, होइन र? जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तैँले तिनीहरूलाई आफ्नो काम गरिरहेको देख्छस्, तर परमेश्वरको घरले तिनीहरूलाई सिकाएका सिद्धान्तहरूबारे तिनीहरूले कहिल्यै वास्ता गर्दैनन्। तिनीहरूले आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्छन्, झारा टार्दै काम गरेजस्तो गर्छन् र त्यतिमै छाडिदिन्छन्, अनि कुनै ठूलो गल्ती गर्नबाट बच्ने प्रयास मात्रै गर्छन्। फलस्वरूप, तैँले तिनीहरूमा कुनै दोष भेट्टाउन, वा कुनै त्रुटिहरू पहिचान गर्न सक्दैनस्। तिनीहरूले त्रुटिरहित रूपमा काम गर्छन्, तर भित्री रूपमा तिनीहरूले के सोचिरहेका हुन्छन्? के तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन्? यदि मण्डलीका प्रशासनिक आदेशहरू, वा मण्डलीका अगुवा वा तिनीहरूका विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको सुपरिवेक्षण नहुने हो भने, के यस्ता व्यक्तिहरू दुष्ट मानिसहरूसँग घुलमिल हुन सक्थेनन् र? के तिनीहरूले दुष्ट मानिसहरूसँग मिलेर खराब काम र दुष्ट्याइँ कार्य गर्न सक्थेनन् र? यस्तो सम्भावना एकदमै धेरै छ, तिनीहरूले यस्तो काम गर्न सक्षम छन्, तर तिनीहरूले अहिलेसम्म यस्तो गरिसकेका चाहिँ हुँदैनन्। यस्तो व्यक्ति सबैभन्दा समस्याजनक व्यक्ति हो, र ऊ खाट्टी चिप्लो ढुङ्गा वा धूर्त बूढो स्याल हो। तिनीहरूले कसैसँग ईख राख्दैनन्। यदि कसैले तिनीहरूलाई चोट पुर्याउनको लागि केही कुरा भन्यो, वा तिनीहरूको मर्यादामा चोट पार्ने कुनै भ्रष्ट स्वभाव खुलासा गरिदियो भने, तिनीहरूले के सोच्छन्? “म त सहनशीलता नै देखाउनेछु, म यस कुराप्रति तिम्रो विरुद्ध ईख राख्नेछैनँ, तर तिमीले आफैलाई मूर्ख बनाउने दिन आउनेछ!” जब त्यो व्यक्तिलाई साँच्चै निराकरण गरिन्छ वा उसले आफैलाई मूर्ख बनाउँछ, तिनीहरू गोप्य रूपमा यसबारे हाँस्छन्। तिनीहरूले सजिलैसँग अरू मानिसहरू, अगुवाहरू, र परमेश्वरको घरबारे मजाक उडाउँछन्, तर तिनीहरूले आफ्नो बारेमा भने मजाक गर्दैनन्। तिनीहरूलाई आफूमा के समस्या वा कमजोरी छ भन्ने थाहै हुँदैन। यस्ता मानिसहरू होसियार भएर बस्छन् र अरूलाई चोट पुर्याउन सक्ने कुनै पनि कुरा, वा अरूलाई तिनीहरूको वास्तविकता देखाउने कुनै पनि कुरा प्रकट गर्दैनन्, यद्यपि तिनीहरूले आफ्नो हृदयमा चाहिँ यी कुराहरूबारे सोच्ने गर्छन्। तर जहाँसम्म अरूलाई स्तब्ध पार्न वा बहकाउन सक्ने कुराहरूको सवाल छ, तिनीहरूले ती कुराहरू खुलस्त रूपमा व्यक्त गर्छन् र मानिसहरूलाई ती कुराहरू देखाउँछन्। यस्ता मानिसहरू सबैभन्दा कपटी हुन्छन् र तिनीहरूसँग व्यवहार गर्न गाह्रो हुन्छ। अनि, परमेश्वरको घरले यस्ता मानिसहरूप्रति कस्तो मनोवृत्ति राख्छ? यदि तिनीहरूलाई प्रयोग गर्न सकिन्छ भने प्रयोग गर्ने, र सकिँदैन भने हटाउने—सिद्धान्त यही हो। यस्तो किन? यसको कारण के हो भने यस्ता मानिसहरूले सत्यता नपछ्याउने निश्चित हुन्छ। तिनीहरू काम बिग्रँदा परमेश्वरको घर, विश्वासी दाजुभाइ-दिदीबहिनी र अगुवाहरूको मजाक उडाउने अविश्वासीहरू हुन्। अनि, तिनीहरूले के भूमिका निर्वाह गर्छन्? के यो शैतान र दियाबलसहरूको भूमिका हो? (हो।) जब तिनीहरूले आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूप्रति धैर्यता देखाउँछन्, यसमा न त साँचो सहनशीलता हुन्छ न त साँचो प्रेम नै। तिनीहरूले आफ्नो रक्षा गर्नको लागि र आफ्नो मार्गमा कुनै शत्रु वा खतरा नआओस् भनेर यसो गर्छन्। तिनीहरूले आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नको लागि तिनीहरूप्रति सहनशील भएका हुँदैनन्, न त तिनीहरूले प्रेमको कारणले नै यसो गरेका हुन्छन्, झन् तिनीहरूले सत्यता पछ्याउन र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नको लागि यसो गर्नु त परको कुरा हो। तिनीहरूको मनोवृत्ति भनेको पूर्ण रूपमा घरी यता, घरी उता गर्ने र अरूलाई बहकाउने कार्यमा केन्द्रित रहने मनोवृत्ति हो। त्यस्ता मानिसहरू घुमाई-घुमाई कुरा गर्ने र चिप्लो घस्नेहरू हुन्। तिनीहरूलाई सत्यता मन पर्दैन र तिनीहरू सत्यता पछ्याउँदैनन्, बरु बहावसँगै बग्ने गर्छन्। यो स्पष्ट हुन्छ कि त्यस्ता मानिसहरूलाई आफ्नो परिवारले सिकाएको तिनीहरूको व्यवहार गर्ने र विभिन्न कुराहरूलाई लिने तरिकामा धेरै ठूलो प्रभाव पारेको हुन्छ। अनि संसारलाई लिने तिनीहरूका यी तरिका र सिद्धान्तहरू तिनीहरूको मानवता सारबाट अवश्यै अविभाज्य पनि हुन्छन्। यसबाहेक, तिनीहरूको परिवारले तिनीहरूलाई सिकाउने कुराका प्रभावले तिनीहरूका कार्यहरूलाई अझै स्पष्ट र ठोस बनाउने र तिनीहरूको प्रकृति सारलाई अझ पूर्ण रूपमा प्रकट गर्ने काम मात्रै गर्छ। तसर्थ, सही र गलतजस्ता महत्त्वपूर्ण कुराहरू सामना गर्दा, र परमेश्वरको घरको हितमा असर पार्ने मामिलाहरूको सन्दर्भमा, यदि त्यस्ता मानिसहरूले उपयुक्त छनौटहरू गरेर परमेश्वरको घरको हित कायम राख्न, परमेश्वरअघि आफ्ना अपराधहरू घटाउन, र आफ्ना दुष्कर्महरू कम गर्न “सद्भाव खजाना हो; धैर्यता सान हो” भन्नेजस्ता तिनीहरूले हृदयमा राखेका संसारसँग व्यवहार गर्ने दर्शनहरू त्याग्न सक्छन् भने, यसले तिनीहरूलाई कसरी फाइदा पुर्याउँछ? कम्तीमा पनि, जब भविष्यमा परमेश्वरले प्रत्येक व्यक्तिको परिणाम निर्धारित गर्नुहुन्छ, तब यसले तिनीहरूको सजाय घटाउनेछ र तिनीहरूमाथिको परमेश्वरको ताडना कम गर्नेछ। यस तरिकाले अभ्यास गर्दा, त्यस्ता मानिसहरूले केही पनि गुमाउनुपर्दैन, बरु तिनीहरूले धेरै फाइदा प्राप्त गर्छन्, होइन र? यदि तिनीहरूलाई संसारसँग व्यवहार गर्ने तिनीहरूका दर्शनहरू पूर्ण रूपमा त्याग्न लगाइयो भने, तिनीहरूलाई त्यसो गर्न सजिलो हुनेछैन, किनभने यसमा तिनीहरूको मानवता सार समावेश भएको हुन्छ, र यी चिप्लो बोल्ने र घुमाई-घुमाई कुरा गर्नेहरूले सत्यता पटक्कै स्वीकार गर्दैनन्। तिनीहरूलाई परिवारले सिकाएका शैतानी दर्शनहरू त्याग्नु त्यति सरल र सहज हुँदैन—परिवारले तिनीहरूमाथि पार्ने यी सिकाइने कुराका प्रभावहरूलाई एकातिर पन्छ्याएर भन्दासमेत—तिनीहरू आफै पनि शैतानी दर्शनहरूका कट्टर विश्वासीहरू हुन्, र तिनीहरू संसारलाई हेर्ने यो दृष्टिकोण मन पराउँछन्, जुन अत्यन्तै व्यक्तिगत वा व्यक्तिपरक दृष्टिकोण हो। तर यदि त्यस्ता व्यक्तिहरू चलाख छन् भने—यदि तिनीहरूले परमेश्वरको घरको हितको उचित रक्षा गर्न यीमध्ये केही अभ्यासहरू त्याग्छन्, र तिनीहरूको आफ्नै हितहरूमा कुनै चुनौती आइपरेको वा क्षति भएको छैन भने—त्यो वास्तवमा तिनीहरूको लागि राम्रो कुरा हो, किनभने कम्तीमा पनि यसले तिनीहरूको दोष घटाउन सक्छ, तिनीहरूमाथिको परमेश्वको ताडना कम गर्न सक्छ, र परिस्थिति परिवर्तन गर्न पनि सक्छ, जसले गर्दा परमेश्वरले तिनीहरूलाई ताडना नभई इनाम दिनुहुनेछ र तिनीहरूलाई सम्झनुहुनेछ। त्यो कति राम्रो हुनेथ्यो! के त्यो राम्रो कुरा हुन्थेन र? (हुन्थ्यो।)
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१२)
तेरो परिवारले अरू कुन तरिकाले तँलाई सिकाएको छ? उदाहरणको लागि, तेरा आमाबुबाले तँलाई प्राय यसो भनिरहन्छन्: “यदि तैँले बढी र रुखो बोल्छस् भने, ढिलोचाँडो यसले तँलाई समस्यामा पार्नेछ! तैँले ‘धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ’ भन्ने भनाइ याद गर्नुपर्छ! यसको अर्थ के हो? यसको अर्थ तैँले धेरै बोल्छस् भने, तैँले बोल्नु नहुने कुराहरू पनि बोल्नेछस्। त्यसैले परिस्थिति जे भए पनि, हतारमा नबोल्—तैँले केही बोल्नुभन्दा पहिले अरू सबैले के भन्छन् हेर्। यदि तँ बहुसङ्ख्यक मानिसहरूको पछि लाग्छस् भने, तँलाई केही हुनेछैन। तर यदि तँ सधैँ पृथक देखिने प्रयास गर्छस्, र तेरो साहेब, हाकिम, वा तेरो वरपरका मानिसहरूले के सोचिरहेका छन् भनेर नजानी तँ सधैँ हतारमा बोल्छस् र आफ्नो दृष्टिकोण व्यक्त गर्छस्, अनि तेरो साहेब वा हाकिमले त्यस्तै सोचेको रहेनछ भने, तिनीहरूले तँलाई समस्यामा पार्नेछन्। के त्यसबाट कुनै फाइदाको कुरा आउन सक्छ र? अबुझ, तैँले भविष्यमा होसियार हुनुपर्छ। धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ। यो कुरा याद गर्, र हतारमा नबोल्! मुख त खान र सास फेर्नको लागि, आफूभन्दा ठूलोसँग मीठो बोल्नको लागि, र अरूलाई खुसी पार्ने प्रयास गर्नको लागि हो, साँचो बोल्नको लागि होइन। तैँले आफ्ना शब्दहरू बुद्धिमानी ढङ्गले छान्नुपर्छ, तैँले चलाकी र तौरतरिकाहरू प्रयोग गर्नुपर्छ, र तैँले आफ्नो दिमाग लाउनुपर्छ। तेरो मुखबाट शब्दहरू फुत्कनुपहिले, तिनलाई घाँटीमै रोक् र तीबारे मस्तिष्कभित्र बारम्बार विचार गर्, र ती बोल्ने ठीक समय नआएसम्म पर्खेर बस्। तैँले वास्तवमा जे भन्छस्, त्यो पनि परिस्थितिमा निर्भर हुनुपर्छ। यदि तैँले आफ्नो विचार व्यक्त गर्न थालिस्, तर मानिसहरूले यसलाई राम्रोसँग नलिएको, वा तिनीहरूको प्रतिक्रिया राम्रो नभएको देखिस् भने, आफ्नो कुरा तुरुन्तै रोकिहाल् र सबैलाई खुसी पार्ने तरिकाले कसरी भन्न सकिन्छ भनी सोचेर मात्रै आफ्नो कुरालाई निरन्तरता दे। बाठो बच्चाले गर्ने नै त्यही हो। यदि तैँले त्यसो गरिस् भने, तँ समस्यामा पर्नेछैनस् र सबैले तँलाई मन पराउनेछन्। अनि, सबैले तँलाई मन पराए भने, के त्यसले तेरो फाइदा गर्नेछैन र? के त्यसले भविष्यमा तेरो लागि अझै धेरै अवसर पैदा गर्नेछैन र?” यसरी तेरो परिवारले तँलाई कसरी राम्रो प्रतिष्ठा प्राप्त गर्ने, कसरी सबै कुरामा जित्ने, र अरूहरूमाझ कसरी आफ्नो राम्रो आधार स्थापित गर्ने भनी सिकाएर मात्र होइन, देखावटी व्यवहारद्वारा कसरी अरूलाई धोका दिने र मनको कुरा खुलस्त बताउनुको साटो कसरी झूट बोल्ने भनी बताएर तँलाई तिनै कुराहरू सिकाइदिन्छ। कतिपय साँचो कुरा बोलेर अपसोच गर्ने मानिसहरूले “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ” भनेर परिवारले भनेको कुरा याद गर्छन् र यसबाट एउटा पाठ सिक्छन्। त्यसपछि तिनीहरू यो भनाइ अभ्यास गर्न अझै बढी इच्छुक हुन्छन् र यसलाई आफ्नो आदर्श भनाइ बनाउँछन्। अरू मानिसहरूले यस्तो अफसोस त गरेका हुँदैनन्, तर तिनीहरूले आफूलाई यस विषयमा सिकाइने परिवारको प्रक्रिया गम्भीरतासाथ स्विकार्छन्, र अवस्था जे-जस्तो भए पनि यो भनाइ अभ्यास गरी नै रहन्छन्। तिनीहरूले यो अभ्यास जति धेरै गर्छन्, तिनीहरूलाई त्यति नै धेरै यस्तो महसुस हुन्छ, “मेरा आमाबुबा र बाजेबजूले मसँग कति राम्रो व्यवहार गर्नुहुन्छ, उहाँहरू सबैले मसँग इमानदार व्यवहार गर्नुहुन्छ र मेरो हित चाहनुहुन्छ। उहाँहरूले मलाई ‘धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ’ भनेर बताउनु मेरो सौभाग्यको कुरा हो, नत्र मैले धेरै मुख चलाएर मलाई प्राय अपसोच भइरहनेथ्यो, र धेरै मानिसहरूले मलाई समस्यामा पार्ने वा घृणाको नजरले हेर्ने, वा मलाई गिल्ला र निन्दा गर्नेथिए। यो भनाइ एकदमै उपयोगी र फाइदाजनक छ!” तिनीहरूले यो भनाइ अभ्यास गरेर धेरै ठोस प्रतिफलहरू प्राप्त गर्छन्। त्यसपछि परमेश्वरको अघि आउँदा, तिनीहरूले अवश्यै यो भनाइ सबैभन्दा उपयोगी र फाइदाजनक कुरा हो भन्ने सोच्छन्। जब कुनै विश्वासी दाजुभाइ वा दिदीबहिनीले आफ्नो व्यक्तिगत स्थिति, भ्रष्टता, वा अनुभव र ज्ञानबारे खुलस्त सङ्गति गर्छ, तब तिनीहरूलाई पनि सङ्गति गर्न र सीधा-सीधा र खुलस्त बोल्ने व्यक्ति बन्न मन लाग्छ, र तिनीहरूलाई पनि आफूले वर्षौँदेखि दबाएर राखेको आफ्नो मनको स्थितिलाई क्षणिक रूपमा आराम दिन, वा केही हदसम्म स्वतन्त्रता र मुक्त अवस्था प्राप्तको लागि आफूले सोचेको वा आफ्नो हृदयमा भएको कुरा इमान्दारीसाथ बताउन मन पर्छ। तर तिनीहरूलाई आमाबुबाले “‘धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ।’ हतारमा नबोल्नू, बोल्नुभन्दा सुन्नु राम्रो हो, र अरूको कुरा सुन्न सिक्नू” भनेर सिकाएको कुरा याद आउनेबित्तिकै, तिनीहरूले भन्न लागेको कुरालाई बीचैमा रोक्छन्। अरू सबैले आफ्नो कुरा सकेपछि, तिनीहरूले केही भन्दैनन् बरु मनमनै विचार गर्छन्: “एकदम राम्रो भयो, मैले यसपटक केही नबोलेर राम्रै गरेँ, किनभने मैले आफ्नो कुरा राखेको भए सबैले मलाई यस्तो-त्यस्तो भन्नेथिए, र मैले केही न केही गुमाउनेथिएँ। केही नबोल्नु राम्रो हो, किनभने त्यसो गर्दा सायद सबैले मलाई इमानदार र छल नगर्ने, तर मौन बस्ने बानी भएको व्यक्ति हो, त्यसकारण षड्यन्त्र गर्ने, वा भ्रष्ट व्यक्ति होइन, अनि परमेश्वरबारे गलत धारणाहरू बोक्ने व्यक्ति होइन, बरु सरल र खुलस्त मन भएको व्यक्ति हो भनेर सोचिरहनेछन्। मानिसहरूले मलाई यस्तो सोच्नु नराम्रो कुरा होइन, त्यसकारण मैले किन केही बोल्नुपर्यो र? यो ‘धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ’ भन्ने भनाइ पालना गरेर मैले वास्तवमा केही परिणामहरू प्राप्त गरिरहेको छु, त्यसकारण म यस्तै व्यवहार गरिरहनेछु।” यो भनाइ पालना गर्दा तिनीहरूलाई असल र इनामवाला अनुभूति मिल्छ, त्यसकारण तिनीहरू एकपटक, दुईपटक होइन, धेरै पछिसम्म नै मौन रहिरहन्छन्, तर एक दिन तिनीहरूभित्र यति धेरै कुराहरू थुप्रेका हुन्छन् कि तिनीहरूलाई आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूसँग ती कुराहरू पोखाउन मन हुन्छ, तर तिनीहरूलाई आफ्नो मुख पूरै बाँधिएको र बन्द गरिएको जस्तो महसुस हुन्छ, र तिनीहरूले एक वाक्य पनि निकाल्न सक्दैनन्। अनि, आफ्ना विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई यस्ता कुरा बताउन नसक्ने हुनाले, तिनीहरूले परमेश्वरसँग कुरा गर्ने प्रयास गर्छन्, र उहाँको अघि घुँडा टेकेर यसो भन्छन्, “हे परमेश्वर, म तपाईँलाई केही कुरा बताउन चाहन्छु। म त…।” तर तिनीहरूले आफ्नो हृदयमा यसबारेमा सोचेका भए पनि, यो कुरा कसरी भन्ने तिनीहरूलाई थाहै हुँदैन, तिनीहरूले आफ्नो कुरा व्यक्त गर्न सक्दैनन्, यस्तो लाग्छ मानौँ तिनीहरू पूर्ण रूपमा र साँच्चिकै गुँगो भएका छन्। सही शब्दहरू कसरी छनौट गर्ने वा कसरी वाक्य मिलाउने भन्नेसमेत तिनीहरूलाई थाहा हुँदैन। धेरै वर्ष गुम्सिएर रहेका भावनाहरूले गर्दा तिनीहरूलाई पूर्ण रूपमा दबिएको, र अन्धकारपूर्ण र घिनलाग्दो जीवन जिइरहेको महसुस हुन्छ, अनि जब तिनीहरूले परमेश्वरलाई आफ्नो हृदयमा भएका कुराहरू बताउन र आफ्ना भावनाहरू पोख्न चाहन्छन्, तिनीहरूको मुखबाट एक शब्द निस्कँदैन र कहाँबाट सुरु गर्ने वा कसरी भन्ने त्योसमेत तिनीहरूलाई थाहा हुँदैन। के तिनीहरू दयनीय छैनन् र? (हो, तिनीहरू दयनीय छन्।) त्यसोभए किन परमेश्वरलाई भन्नको लागि तिनीहरूसँग केही हुँदैन? तिनीहरूले आफ्नो परिचय मात्रै दिन्छन्। तिनीहरू परमेश्वरलाई आफ्नो हृदयमा भएको कुरा बताउन चाहन्छन्, तर तिनीहरूसँग शब्दै हुँदैन, र अन्तिममा बस यति कुरा मात्रै निस्कन्छ: “हे परमेश्वर, बिन्ती छ मलाई मैले बोल्नुपर्ने शब्दहरू दिनुहोस्!” अनि परमेश्वरले भन्नुहुन्छ: “तैँले भन्नुपर्ने कुरा धेरै छन्, तर तँ भन्न चाहन्नस् छैन, अनि मौका दिँदा पनि तँ त्यो कुरा भन्दैनस्, त्यसकारण मैले तँलाई दिएको सबै कुरा फिर्ता लिँदै छु। म तँलाई यो कुरा दिनेछैनँ, तँ यो पाउन लायक नै छैनस्।” त्यतिबेला मात्रै तिनीहरूलाई यी विगत वर्षहरूमा धेरै कुरा गुमाएछु भन्ने महसुस हुन्छ। तिनीहरूलाई आफूले इज्जतदार जीवन जिएको, राम्रोसित आफ्नो ढाकछोप गरेको र आफूलाई राम्रो आवरणमा राखेको महसुस भए पनि, तिनीहरूले यतिका समय दाजुभाइ-दिदीबहिनीहरूले सधैँ धेरै कुरा सिकिरहेको देख्दा, र ती दाजुभाइ-दिदीबहिनीहरूले कुनै डर नमानी आफ्ना अनुभवहरूबारे बताएको र आफ्नो भ्रष्टताबारे खुलस्त कुरा गरेको देख्दा, यी मानिसहरूले आफू एक वाक्य पनि बोल्न नसक्ने भएको र कसरी बोल्ने त्यो पनि थाहा नभएको महसुस गर्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको हुन्छ, र तिनीहरू आफ्नो आत्मज्ञानबारे कुरा गर्न, र परमेश्वरका वचनहरूसम्बन्धी आफूले पाएको अनुभव र सिकेका कुरा छलफल गर्न, र परमेश्वरबाट केही अन्तर्दृष्टि र अलिअलि ज्योति पाउन, र केही कुरा सिक्न चाहन्छन्। तर दुःखको कुरा, तिनीहरू बारम्बार “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ” भन्ने भनाइमा अल्झिरहने र प्रायजसो यही विचारको बन्धन र नियन्त्रणमा परिरहने हुनाले, तिनीहरू यही भनाइअनुसार नै धेरै वर्ष जिएका हुन्छन्, तिनीहरूले परमेश्वरबाट कुनै अन्तर्दृष्टि वा ज्योति पाएका हुँदैनन्, र जीवन प्रवेशको कुरा आउँदा तिनीहरू अझै पनि कमजोर, दयनीय, र रित्तो हुन्छन्। तिनीहरूले यो भनाइ र यो विचारलाई सिद्धताको हदसम्म अभ्यास गरेका र अक्षरशः पालना गरेका हुन्छन्, तर धेरै वर्ष परमेश्वरमा विश्वास गरेर पनि, तिनीहरूले अलिकति पनि सत्यता प्राप्त गरेका हुँदैनन्, र तिनीहरू कमजोर र अन्धा नै रहेका हुन्छन्। परमेश्वरले तिनीहरूलाई मुख दिनुभयो, तर तिनीहरूसँग सत्यता सङ्गति गर्ने क्षमता नै हुँदैन, न त आफ्ना भावना र ज्ञानबारे कुरा गर्ने क्षमता नै हुन्छ, दाजुभाइ-दिदीबहिनीसँग कुराकानी गर्ने तिनीहरूको क्षमताबारे त कुरै नगरौँ। अझै दयनीय कुरा त के हो भने, तिनीहरूमा परमेश्वरसँग कुरा गर्ने क्षमतासमेत हुँदैन, तिनीहरूले त्यस्तो क्षमता गुमाइसकेका हुन्छन्। के तिनीहरू दयनीय छैनन् र? (हो, तिनीहरू दयनीय हुन्।) दयनीय र दुःखी। के तँ बोल्न मन पराउँदैनस् होइन र? के तँलाई धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ भन्ने कुराको सधैँ डर हुँदैन र? त्यसोभए तैँले कहिल्यै केही भन्नु हुँदैन। तैँले आफ्नो अन्तस्करणमा भएका विचारहरू अनि परमेश्वरले तँलाई दिनुभएका कुराहरू पोको पारेर, दबाएर, र बन्द गरेर राख्छस् र ती कुराहरूलाई बाहिर निस्कन दिँदैनस्। तँलाई सधैँ इज्जत गुम्ने डर हुन्छ, खतरामा पर्ने डर हुन्छ, अरूले आफ्नो वास्तविक रूप देख्लान् कि डर हुन्छ, र निरन्तर अरूको नजरमा आफू सिद्ध, इमानदार, र असल व्यक्ति नदेखिउँला भन्ने डर हुन्छ, त्यसकारण तैँले आफूलाई देखावटी भेसले सजाउँछस् र आफ्ना वास्तविक विचारहरूबारे केही पनि बोल्दैनस्। अनि, अन्तिममा के हुन्छ? तँ हरेक अर्थमा गुँगो बन्छस्। कसले तँलाई त्यस्तो हानि गर्यो? यसको मूल जड हेर्दा, यो सबैमा तेरो परिवारले तँलाई सिकाएको कुराले नै यो हानि गरेको हो। तर तेरो आफ्नै व्यक्तिगत दृष्टिकोणबाट हेर्दा, तँलाई शैतानी दर्शनहरूअनुसार नै जिउन मन पर्छ, त्यसकारण तैँले आफ्नो परिवारले तँलाई सिकाएको कुरा सही छ भन्ने विश्वास गर्न रोज्छस्, र तँ परमेश्वरले तँलाई दिनुभएका मापदण्डहरू सकारात्मक हुन् भनेर विश्वास गर्दैनस्। तँ तेरो परिवारले तँलाई सिकाउने कुराका प्रभावहरूलाई नै सकारात्मक कुराको रूपमा लिने, र परमेश्वरका वचनहरू, उहाँका मापदण्डहरू, र उहाँको भरणपोषण, सहयोग, र शिक्षणलाई आफू जोगिएर हिँड्नुपर्ने कुराहरू, वा नकारात्मक कुराहरूको रूपमा लिने निर्णय गर्छस्। त्यसकारण, परमेश्वरले सुरुमा तँलाई जति नै धेरै कुरा प्रदान गर्नुभएको भए पनि, यतिका वर्षसम्म तैँले देखाएको सतर्कता र इन्कारको कारण, यसको अन्तिम परिणाम यो हुन्छ कि परमेश्वरले सबै कुरा फिर्ता लिनुहुन्छ र तँलाई केही पनि दिनुहुन्न, किनभने तँ त्यो कुरा पाउन लायक नै छैनस्। त्यसकारण, त्यो अवस्थामा पुग्नुभन्दा पहिले, तैँले यस सम्बन्धमा तेरो परिवारले तँलाई सिकाउने कुराका प्रभावहरू त्याग्नुपर्छ, र “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ” भन्ने गलत विचार स्विकार्नु हुँदैन। यो भनाइले तँलाई झन् कुण्ठित, झन् धूर्त, र झन् ढोँगी बनाउँछ। यो कुरा मानिसहरू इमानदार हुनुपर्छ भन्ने परमेश्वरको मापदण्ड, र तिनीहरू स्पष्ट र खुलस्त हुनुपर्छ भन्ने उहाँको सर्तको पूर्ण विपरीत र विरोधाभासपूर्ण छ। परमेश्वरको विश्वासी र परमेश्वरलाई पछ्याउने व्यक्तिको रूपमा, तैँले सत्यता पछ्याउने पूर्ण अठोट गरेको हुनुपर्छ। अनि जब तैँले सत्यता पछ्याउने पूर्ण अठोट गरेको हुन्छस्, तब तैँले तेरो परिवारले तँमाथि पारेका असल सिकाइने कुराका प्रभावहरू भन्ठानेका कुराहरू त्याग्ने पूर्ण अठोट गर्नुपर्छ—यसमा कुनै छनौट हुनु हुँदैन। तेरो परिवारले तँमाथि जे-जस्ता सिकाइने कुराका प्रभावहरू पारेको भए पनि, ती तेरो लागि जति असल वा फाइदाजनक भए पनि, तिनले तँलाई जति रक्षा गरे पनि, ती कुरा मानिसहरू र शैतानबाट आएका हुन्, र तैँले तिनलाई त्याग्नुपर्छ। परमेश्वरका वचनहरू र मानिसहरूप्रतिका उहाँका मापदण्डहरू तेरो परिवारले तँलाई सिकाउने कुराका प्रभावहरूसँग बाझिने भए पनि, वा तिनले तेरा हितहरूमा हानि गर्ने भए पनि, वा तेरा अधिकारहरू खोस्ने भए पनि, अनि तिनले तेरो रक्षा गर्दैनन् बरु तँलाई अरूसामु खुलासा गरेर मूर्ख देखाइदिन्छन् भन्ने तँलाई लागे पनि, तैँले अझै पनि तिनलाई सकारात्मक कुराहरूको रूपमै लिनुपर्छ, किनभने ती परमेश्वरबाट आएका हुन्, ती सत्यता हुन्, र तैँले तिनलाई स्विकार्नुपर्छ। यदि तेरो परिवारले तँलाई सिकाउँदै तँमाथि हालिदिएका कुराहरूले तेरो सोच र व्यवहारमा, अस्तित्वसम्बन्धी तेरो दृष्टिकोणमा र तैँले हिँड्ने मार्गमा प्रभाव पारेका छन् भने, तैँले तिनलाई त्याग्नुपर्छ र तिनलाई अङ्गालिराख्नु हुँदैन। बरु, तैँले तिनलाई परमेश्वरका समानान्तर तथ्यहरूले प्रतिस्थापित गर्नुपर्छ, र त्यसो गर्ने क्रममा, तैँले तेरो परिवारले तँलाई सिकाउँदै तँमाथि हालिदिएका यी कुराहरूका अन्तर्निहित समस्या र सार निरन्तर देख्नु र पहिचान गर्नुपर्छ, र त्यसपछि अझै सही, व्यावहारिक, र साँचो रूपमा परमेश्वरका वचनहरूअनुसार कार्य र अभ्यास गर्ने गर्नुपर्छ। परमेश्वरबाट आएका विचारहरू, मानिसहरू र परिस्थितिलाई हेर्ने दृष्टिकोणहरू, र अभ्यासका सिद्धान्तहरू स्वीकार गर्नु—यही नै सृष्टि गरिएको प्राणीले पूरा गर्नैपर्ने जिम्मेवारी हो, र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो, र यही नै सृष्टि गरिएको प्राणीमा हुनैपर्ने विचार र दृष्टिकोण पनि हो।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१२)
परिवारले अर्को प्रकारको सिकाइने कुराका प्रभाव पनि पार्ने गर्छ। उदाहरणको लागि, तेरो परिवारका सदस्यहरूले तँलाई सधैँ यसो भन्छन्: “भीडबाट धेरै माथि उठ्ने व्यक्ति नबन्, तैँले आफूलाई काबुमा राख्नुपर्छ र आफ्ना बोलीवचन र व्यवहारमा, साथै आफ्ना व्यक्तिगत प्रतिभा, क्षमता, बौद्धिक स्तर, आदि इत्यादि कुरामा संयम अपनाउनुपर्छ। त्यस्तो अरूभन्दा माथि उठ्ने व्यक्ति नबन्। यो त ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ,’ र ‘लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ’ भन्ने भनाइजस्तै हो। यदि तँ आफ्नो रक्षा गर्न चाहन्छस्, र आफ्नो समूहमा दीर्घकालीन र स्थिर स्थान निर्माण गर्न चाहन्छस् भने, धेरै थुतुनो निकाल्ने नगर्, तैँले आफूलाई काबुमा राख्नुपर्छ र अरू सबैभन्दा माथि उठ्ने आकाङ्क्षा राख्नु हुँदैन। चट्याङ छडबारे विचार गर्, जसमाथि चट्याङ पर्दा सुरुमै प्रहार हुन्छ, किनभने चट्याङले सबैभन्दा उच्च विन्दुमा प्रहार गर्छ: र तुफान आउँदा, सुरुमा सबैभन्दा अल्गो रूखमै यसले प्रहार गर्छ र ढाल्छ; अनि मौसम चिसो हुँदा, सबैभन्दा अल्गो हिमालमै सुरुमा हिउँ पर्छ। मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ—यदि तँ सधैँ अरूभन्दा माथि उठेर ध्यान खिच्छस्, र पार्टीको नजर तँतिर पर्यो भने, यसले तँलाई दण्ड दिनेबारे गम्भीर विचार गर्नेछ। थुतुनो निकाल्ने चरो नबन्, र एकलै नउड्। तँ बगालभित्रै बस्नुपर्छ। अन्यथा, तेरो वरिपरि कुनै सामाजिक अभियान सुरु भयो भने, सुरुमा दण्डित हुने तैँ हुनेछस्, किनभने तँ थुतुनो निकाल्ने चरो बनेको हुन्छस्। मण्डली अगुवा वा समूह अगुवा नबन्। अन्यथा, परमेश्वरको घरमा कामसम्बन्धी कुनै घाटा वा समस्या पैदा हुनेबित्तिकै, अगुवा वा सुपरभाइजरको रूपमा, तँलाई नै सुरुमा निसाना बनाइनेछ। त्यसकारण, थुतुनो निकाल्ने व्यक्ति नबन्, किनभने थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ। तैँले आफ्नो शिर झुकाएर कछुवाजस्तो लुक्न सिक्नुपर्छ।” तँलाई तेरा आमाबुबाले बताएका यी शब्दहरू याद हुन्छ, अनि अगुवा छनौट गर्ने समय आउँदा, तैँले यसो भन्दै त्यो पद इन्कार गर्छस्, “अहो, म यो काम गर्न सक्दिनँ! मेरो परिवार र छोराछोरी छन्, म तिनीहरूसँग एकदमै बाँधिएको छु। म अगुवा हुन सक्दिनँ। यो काम त तपाईँहरूले नै गर्नुपर्छ, मलाई छनौट नगर्नुहोस्।” मानौँ, त्यसको बाबजुद पनि तँलाई अगुवाको रूपमा निर्वाचित गरियो भने पनि, तँलाई अझै पनि यो काम गर्न मन हुँदैन। अनि, तँ भन्छस्, “मलाई लाग्छ, मैले यो पद त्याग्नैपर्छ। तपाईँहरू अगुवा बन्नुहोस्, म तपाईँहरू सबैलाई अवसर दिँदै छु। म तपाईँहरूलाई यो पद लिन दिँदै छु, र म पछि हट्दै छु।” तैँले हृदयमा सोच्छस्, “हैट! थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ। जति अल्गो चढियो, त्यति नै नराम्ररी झरिन्छ, र टुप्पोमा एक्लै भइन्छ। म त तिमीहरूलाई नै अगुवा हुन दिनेछु, र तिमीहरू छनौट भएपछि, तिमीहरूको तमासा हेर्ने दिन आउनेछ। तर म कहिल्यै अगुवा बन्न चाहन्नँ, म भर्याङ चढ्न चाहन्नँ, त्यसको मतलब म धेरै अल्गोबाट लड्ने पनि छैनँ। सोच त, के फलानो-फलानोलाई अगुवा हुँदा बर्खास्त गरिएको होइन र? बर्खास्त भएपछि तिनीहरू निष्कासित भए—तिनीहरूले साधारण विश्वासी बन्ने मौकासमेत पाएनन्। ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ’ र ‘लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ’ भन्ने भनाइहरूको राम्रो उदाहरण यही हो। के मेरो कुरा ठीक होइन र? के तिनीहरूले दण्ड पाएनन् र? मानिसहरूले आफ्नो रक्षा गर्न सिक्नुपर्छ, नत्र तिनीहरूमा मस्तिष्क भएको के काम? यदि टाउकोमा मस्तिष्क छ भने, आफ्नो रक्षार्थ यसको प्रयोग गर्नु नै पर्छ। कतिपय मानिसहरूले स्पष्ट रूपमा यो समस्या देख्न सक्दैनन्, तर समाजमा र मानिसहरूको कुनै पनि समूहमा अवस्था यस्तै हुन्छ—‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ।’ थुतुनो निकाल्दा तबसम्म अत्यन्तै आदर गरिन्छ, जबसम्म प्रहार गरिँदैन। त्यसपछि महसुस हुनेछ कि आफूलाई अग्रपङ्क्तिमा राख्नेहरू ढिलो-चाँडो दण्डित हुने नै छन्।” यी कुराहरू तेरा आमाबुबा र परिवारले सिकाउने गम्भीर शिक्षाहरू हुन्, र ती अनुभवका आवाज र तिनीहरूले जीवनकालमा सिकेका ज्ञान-बुद्धिका कुरा पनि हुन्, जसलाई तिनीहरूले केही बाँकी नराखी तँलाई कानैमा बताउँछन्। “तँलाई कानैमा बताउँछन्” भनेर मैले भन्नुको अर्थ के हो? मैले भन्नुको अर्थ के हो भने, एक दिन तेरी आमाले तँलाई कानैमा खुसुक्क यसो भन्छे, “म तँलाई एउटा कुरा भन्छु, यदि मैले यो जीवनमा केही सिकेँ भने, त्यो ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ’ भन्ने कुरा हो, जसको अर्थ यदि कुनै व्यक्ति धेरै बाठो बन्छ, वा उसले धेरै ध्यान खिच्छ भने, उसलाई दण्ड दिइने सम्भावना धेरै हुन्छ। अहिले तेरो बुबालाई हेर् त, कति हताश र निराश छन्, किनभने तिनलाई दमनको एउटा अभियानमा दण्ड दिइयो। तेरो बुबासँग साहित्यिक प्रतिभा छ, तिनले लेख्न र भाषण दिन सक्छन्, तिनीसँग नेतृत्व गर्ने सीप छ, र तिनी भीडभन्दा धेरै माथि उठे, र त्यो अभियानमा दण्डित हुन पुगे। त्यहाँदेखि किन तेरो बुबाले सरकारी पदाधिकारी र उच्च स्तरीय व्यक्ति बन्नेबारे कहिल्यै कुरा गर्दैनन्? किनभने कारण त्यही हो। म तँलाई मनदेखि भनिरहेको छु र साँचो कुरा बताइरहेको छु। तैँले यो कुरा सुनेर राम्ररी याद गर्नुपर्छ। यो कुरा नबिर्सी र तैँले जहाँ गए पनि यो कुरालाई मनमा राखिराख्नुपर्छ। आमा भएर मैले तँलाई दिन सक्ने सबैभन्दा ठूलो कुरा यही हो।” त्यसपछि तैँले उसका शब्दहरूलाई स्मरण गर्नेछस्, र जब तँलाई “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ” भन्ने भनाइ याद हुन्छ, तब तँलाई आफ्नो बुबाको याद आउँछ, र जब तैँले उसको बारेमा विचार गर्छस्, तँलाई यो भनाइको याद आउँछ। तेरो बुबा कुनै बेला थुतुनो निकालेको कारण प्रहार गरिने व्यक्ति थियो, तर अहिले उसको निराशा र हैरानीले तेरो मनमा गहन प्रभाव पारेको छ। त्यसकारण, जब-जब तँलाई थुतुनो निकाल्ने मन हुन्छ, जब-जब आफ्नो मनमा लागेको कुरा बोल्न मन हुन्छ, जब-जब परमेश्वरको घरमा तँलाई इमानदारितासाथ कर्तव्य पूरा गर्न मन हुन्छ, तब-तब तेरी आमाले तँलाई कानमा भनेको मार्मिक सल्लाह अर्थात् “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ” भन्ने भनाइ फेरि तेरो मनमा आउँछ। त्यसकारण, फेरि पनि तँ यस्तो सोच्दै पछि हट्छस्, “मैले कुनै प्रतिभा वा विशेष क्षमता देखाउनु हुँदैन र मैले आफूलाई काबूमा राखेर ती प्रतिभा दबाउनुपर्छ। अनि जहाँसम्म मानिसहरूले कर्तव्य निर्वाह गर्दा आफ्नो हृदय, मन, र शक्ति लगाउनुपर्छ भनी परमेश्वरले तिनीहरूलाई दिनुभएको अर्तीको कुरा छ, मैले यी वचनहरू ठिक्कले अभ्यास गर्नुपर्छ, र अत्यन्तै धेरै प्रयास गरेर अरूभन्दा माथि उठ्नु हुँदैन। यदि मैले धेरै प्रयास गरेर अरूभन्दा माथि उठेँ, र मण्डलीको कामको नेतृत्व गर्दै आफ्नो थुतुनो निकालेँ, अनि परमेश्वरको घरको काममा केही समस्या आयो र मलाई जिम्मेवारी ठहराइयो भने के गर्ने? मैले यो जिम्मेवारी कसरी वहन गर्ने? के मलाई हटाइनेछ? के म बलिको बोको, थुतुनो निकाल्ने व्यक्ति बन्नेछु? परमेश्वरको घरमा, यी मामिलाहरूबाट के हुने हो यसै भन्न गाह्रो छ। त्यसैले, मैले जे गरे पनि, आफू उम्कने बाटो राख्नुपर्छ, र आफ्नो रक्षा गर्ने पूर्ण प्रयास गर्नुपर्छ, र बोल्नु र व्यवहार गर्नुपहिले सुरक्षा आधार तय हुने कुरा सुनिश्चित गर्नुपर्छ। सबैभन्दा बुद्धिमानी तरिका यही हो, किनकि मेरी आमाले भन्नुभएझैँ, ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ।’” यो भनाइले तेरो हृदयमा गहिरो जरा गाडेको हुन्छ र तेरो दैनिक जीवनमा ठूलो प्रभाव पनि पारेको हुन्छ। अझै गम्भीर रूपमा भन्दा, यसले अवश्यै कर्तव्य पालनप्रतिको तेरो मनोवृत्तिलाई पनि प्रभाव पारेको हुन्छ। के यसमा गम्भीर समस्याहरू छैनन् र? त्यसकारण, जब तैँले आफ्नो कर्तव्य पूरा गर्दै इमानदारीसाथ आफैलाई अर्पित गर्न र आफ्नो सारा सामर्थ्य प्रयोग गर्न चाहन्छस्, तब “थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ” भन्ने यो भनाइले तँलाई सधैँ रोक्छ, र अन्त्यमा तैँले आफूलाई सुरक्षित हुने र चलखेल गर्ने ठाउँ राख्छस्, र आफू उम्कने बाटो राख्दै सोचविचार गरेर मात्रै आफ्नो कर्तव्य निर्वाह गर्छस्। के मैले ठीकै भनेँ? के यस विषयमा तेरो परिवारले तँलाई सिकाएको कुराले तेरो खुलासा र निराकरण हुनबाट बृहत् हदसम्म सुरक्षा गर्छ? यो त तेरो लागि अर्को सुरक्षा मन्त्र मात्र हो, होइन र? (हो।)
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१२)
पारिवारिक शिक्षणमा आफ्नो आनीबानी देखाउने र दुनियाँसित व्यवहार गर्नेसम्बन्धी अरू धेरै नियमहरू समावेश हुन्छन्। उदाहरणको लागि, आमाबुबाले प्रायजसो यसो भन्छन्, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू; याद राख्, तँ एकदमै मूर्ख र जे पनि पत्याउने खालको छस्।” आमाबुबाले प्रायजसो यस्ता शब्दहरू दोहोर्याइरहन्छन्, र अग्रजहरूले पनि तँलाई प्रायजसो यसो भनेर झिज्याइरहेका हुन्छन्, “असल व्यक्ति बन्नू, अरूलाई हानि नगर्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू। मानिसहरू सबै खराब छन्। कसैले तँलाई मुखले त राम्रो भनेको देख्लास्, तर तिनीहरूले के सोचिरहेका छन् भन्ने थाहै हुँदैन। मानिसहरूको हृदय छालामुनि लुकेको हुन्छ, र बाघको चित्र कोर्दा, छाला देखाउन सकिन्छ, हड्डी सकिन्न; र व्यक्तिलाई चिन्दा, उसको मुहार चिन्न सकिन्छ, उसको हृदय सकिन्न।” के यी वाक्यांशहरूमा कुनै सही पक्ष छ? ती प्रत्येकलाई शाब्दिक रूपमा हेर्दा, त्यस्ता वाक्यांशहरूमा केही पनि गलत देखिन्न। व्यक्तिले वास्तवमा मनभित्र के सोचिरहेको हुन्छ, र उसको हृदय दुष्ट छ कि दयालु छ भनेर थाहा पाउन सकिँदैन। व्यक्तिको प्राणभित्र के छ भनेर देख्नु असम्भव हुन्छ। यी वाक्यांशहरूपछाडिको अर्थ बाहिरी रूपमा सही छन्, तर ती सिद्धान्त मात्र हुन्। मानिसहरूले अन्त्यमा यी दुई वाक्यांशहरूबाट प्राप्त गर्ने दुनियाँसित व्यवहार गर्ने सिद्धान्त के हो? त्यो हो, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू।” पुरानो पुस्ताले यही भन्छ। आमाबुबा र अग्रजहरूले प्रायजसो यसो भन्छन्, र तिनीहरूले प्राय तँलाई यसो भन्दै सल्लाह दिन्छन्, “होसियार गर्, मूर्ख बनेर आफ्नो मनको सबै कुरा प्रकट नगर्। आफूलाई जोगाउन र सतर्क रहन सिक्। असल साथीहरूसँग पनि, आफ्नो साँचो रूप प्रकट गर्ने वा हृदय उदाङ्गो पार्ने नगर्। तिनीहरूको लागि ज्यान जोखिममा नपार्।” के तेरा अग्रजहरूबाट आउने यो सल्लाह सही छ? (छैन, यसले मानिसहरूलाई छली तरिकाहरू सिकाउँछ।) सैद्धान्तिक रूपमा, यसको प्राथमिक उद्देश्य राम्रो छ, र त्यो उद्देश्य हो: तेरो रक्षा गर्नु, तँलाई खतरनाक परिस्थितिहरूमा पर्नबाट रोक्नु, तँलाई अरूको हानि वा धोकामा पर्नबाट बचाउनु, अनि तेरा भौतिक चासोहरू, तेरो व्यक्तिगत सुरक्षा, र तेरो जीवन सुरक्षा गर्नु। यो तँलाई समस्या, मुद्दा-मामिला र परीक्षाहरूबाट जोगाउन, र हरदिन शान्ति, सहज र खुसीसाथ बाँच्न मदत गर्नको लागि हो। आमाबुबा र अग्रजहरूको प्राथमिक उद्देश्य तँलाई रक्षा गर्नु मात्रै हो। तैपनि, तँलाई रक्षा गर्ने तिनीहरूको तरिका, तिनीहरूले तँलाई अनुसरण गर्न लगाउने सिद्धान्तहरू, र तिनीहरूले तँमा हालिदिने विचारहरू बिलकुलै सही छैनन्। तिनीहरूको प्राथमिक उद्देश्य सही भए पनि, तिनीहरूले तँमा हालिदिने विचारहरूले तँलाई अचेतन रूपमा चरमतातर्फ लैजान्छन्। तिनीहरूले तँमा हालिदिने विचारहरू नै दुनियाँसित व्यवहार गर्ने तेरो तौरतरिकाका सिद्धान्त र आधारहरू बन्छन्। जब तँ आफ्ना सहपाठीहरू, सहकर्मीहरू, कामका साझेदारहरू, आफूभन्दा ठूला मानिसहरू, र समाजका हरप्रकारका व्यक्तिहरू, र जीवनको हरक्षेत्रका मानिसहरूसँग अन्तरक्रिया गर्छस्, तब तैँले पारस्परिक सम्बन्धहरूसँग सम्बन्धित मामिलाहरू सामना गर्दा, तेरा आमाबुबाले तँमा हालिदिएका यी सुरक्षात्मक विचारहरू थाहै नपाई तेरा सबैभन्दा आधारभूत सुरक्षा मन्त्र र सिद्धान्त बन्छन्। अनि, यो सिद्धान्त के हो त? यो कि: म तिमीलाई हानि गर्नेछैनँ, तर तिम्रो छल वा धोकामा पर्नबाट जोगिन, समस्या वा मुद्दा-मामिलामा पर्नबाट जोगिन, मेरो परिवारको सम्पत्तिमा हानि हुन र मेरो परिवारका मानिसहरूलाई दुःखमा पर्नबाट जोगाउन, र आफू जेल पर्नबाट जोगिनको लागि म सधैँ तिमीबाट सावधान हुनुपर्छ। अनि, त्यस्ता विचार र दृष्टिकोणहरूको नियन्त्रणमा रहँदै, दुनियाँसित व्यवहार गर्ने यस्तो मनोवृत्ति लिएर यो सामाजिक समूहमा जिउँदा, तँ मन र शरीर दुवैमा झन् उदास, झन् थकित र झन् लखतरान मात्रै हुन सक्छस्। अनि त्यसपछि, तँ यो संसार र मानवजातिप्रति झन् प्रतिरोधी र झन् विमुख बन्छस्, र तैँले तिनीहरूलाई झन् बढी घृणा गर्छस्। अनि, अरूलाई घृणा गर्ने क्रममा, तैँले आफूलाई तुच्छ ठान्न थाल्छस्, र तँलाई आफूले कुनै व्यक्तिजस्तो भएर जिइरहेको छैन, बरु थकित र उदास जीवन जिइरहेको छु भन्ने महसुस हुन्छ। अरूको हानिबाट जोगिनको लागि, तँ आफ्नो इच्छाविपरीत कुराहरू गर्दै र बोल्दै आफ्नो सुरक्षाको लागि सधैँ सतर्क हुनुपर्छ। आफ्नो हित र व्यक्तिगत सुरक्षा रक्षा गर्न खोज्ने क्रममा, तैँले आफ्नो जीवनको हरेक पक्षमा मकुन्डो लगाउँछस् र आफ्नो वास्तविक रूप लुकाउँछस्, र कहिल्यै सत्य वचन बोल्ने साहस गर्दैनस्। यस्तो अवस्थामा, जीवन अस्तित्वका यी अवस्थाहरूमा, तेरो अन्तरात्माले रिहाइ वा स्वतन्त्रता पाउन सक्दैन। तँलाई प्राय त्यस्तो व्यक्ति जरुरी हुन्छ जसले तँलाई कुनै हानि गर्दैन र तेरा चासोहरूमा कहिल्यै कुनै चुनौती दिँदैन, र जोसँग तैँले आफ्ना शब्दहरूको कुनै जिम्मेवारी नलिई, कुनै अपमान, आलोचना, गिल्ला नसही, वा कुनै परिणामहरू नसही आफ्ना भित्री विचारहरू बाँड्न र आक्रोशहरू पोख्न सक्छस्। “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू” भन्ने विचार र दृष्टिकोण नै दुनियाँसित व्यवहार गर्ने तेरो सिद्धान्त बनेको अवस्थामा, तेरो अन्तरात्मा डर र असुरक्षाले भरिएको हुन्छ। अनि स्वतः तँ उदास रहनेछस्, र छुटकारा पाउन असमर्थ हुनेछस्, र तँलाई सान्त्वना दिने र तेरो कुरा सुनिदिने व्यक्तिको खाँचो हुन्छ। त्यसकारण, यी पक्षहरूलाई हेर्दा, “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू,” भनी तेरा आमाबुबाले सिकाएको दुनियाँसित व्यवहार गर्ने सिद्धान्तले तँलाई रक्षा गर्न त सक्छ, तर यो दुईधारे तरबार पनि हो। यसले केही हदसम्म तेरा भौतिक चासोहरू र तँलाई रक्षा गर्ने भए पनि, यसले तँलाई उदास र हैरान महसुस गराउँछ, र तँ छुटकारा पाउन असमर्थ हुन्छस्, र तँलाई यो संसार र मानवजातिप्रति अझै बढी उदासीन बनाउँछ। यसको साथै, तँलाई भित्री मनमा आफू यस्तो दुष्ट युग र यस्तो दुष्ट मानिसहरूको समूहमा जन्मिएँ भनेर दिक्क पनि लाग्न थाल्छ। आखिर मानिसहरू किन बाँच्नुपर्ने हो, जीवन किन यति थकाइलाग्दो छ, किन तिनीहरूले जहाँ गए पनि मकुन्डो लगाएर आफ्नो वास्तविक रूप लुकाउनुपर्छ, वा किन आफ्ना हितहरू रक्षा गर्न तँ अरूप्रति सधैँ सतर्क हुनुपर्छ भन्ने जस्ता कुरा तैँले बुझ्न सक्दैनस्। तँलाई सत्य कुरा बोल्न सके पनि हुन्थ्यो भन्ने चाहना त हुन्छ, तर त्यसका परिणामहरूको कारण तैँले त्यसो गर्न सक्दैनस्। तँ वास्तविक व्यक्ति बन्न चाहन्छस्, खुलस्त रूपमा बोल्न र व्यवहार गर्न चाहन्छस्, र पूर्ण रूपमा अन्धकारमा जिउने नीच व्यक्ति हुन वा गोप्य रूपमा घृणित र लाजमर्दो काम गर्नबाट जोगिन चाहन्छस्, तर तँ यीमध्ये कुनै कुरा पनि गर्न सक्दैनस्। अनि, तँ किन यसरी सोझो भएर जिउन सक्दैनस्? तैँले आफ्नो विगतका कार्यहरूबारे सोच्दा, तँलाई भित्र तिरस्कार महसुस हुन्छ। तँलाई यो दुष्ट प्रवृत्ति र यो दुष्ट संसारप्रति घृणा र तिरस्कार महसुस हुन्छ, र साथमा, तँलाई आफैप्रति साह्रै घिन लाग्छ र तँ अहिले जो व्यक्ति बनेको छस् त्यो व्यक्तिप्रति तँलाई घृणा लाग्छ। तैपनि, तैँले गर्न सक्ने कुरा भने केही हुँदैन। तेरा आमाबुबाले तिनीहरूका बोलीवचन र व्यवहारमार्फत तँलाई यो सुरक्षा मन्त्र प्रदान गरेका भए पनि, यसले तँलाई तेरो जीवनमा खुसी वा सुरक्षा अनुभूतिको कमी महसुस गराउँछ। जब तँलाई यो खुसी, सुरक्षा, निष्ठा र मर्यादाको कमी महसुस हुन्छ, तँ तेरा आमाबुबाप्रति तँलाई यो सुरक्षा मन्त्र दिएकोमा आभारी पनि हुन्छस् र तँलाई यस्तो बन्धनमा पारेकोमा आक्रोशित पनि हुन्छस्। तैँले तेरा आमाबुबाले तँलाई किन यस्तो व्यवहार गर्न लगाए, अनि समाजमा स्थान जमाउन, यो सामाजिक समूहमा घुलमिल हुन, र आफ्नो रक्षा गर्न तैँले किन यसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा बुझ्दैनस्। यो एउटा सुरक्षा मन्त्र भए पनि, यो एक-प्रकारको बन्धन पनि हो जसले तँलाई आफ्नो हृदयमा प्रेम र घृणा दुवै महसुस गराउँछ। तर तैँले के गर्न सक्छस् र? तँसँग जीवनको सही मार्ग छैन, कसैले पनि तँलाई कसरी बाँच्ने वा तैँले सामना गर्ने कुरा कसरी सम्हाल्ने भनेर बताउँदैन, र तैँले सही गरिरहेको छस् कि गलत, वा तैँले आफ्नो अगाडिको बाटोमा कसरी हिँड्नुपर्छ भनेर कसैले बताउँदैन। तँ बस भ्रम, हिचकिचाहट, पीडा र बेचैनीबाट मात्र गुज्रन सक्छस्। यी कुराहरू संसारसँग व्यवहार गर्नेबारेमा तेरा आमाबुबा र परिवारले तँमा हालिदिएको दर्शनका परिणामहरू हुन्, जसले गर्दा सरल व्यक्ति बन्ने तेरो सामान्य इच्छा, अर्थात् दुनियाँसित व्यवहार गर्ने यी माध्यमहरूको सहारा नलिईकनै सोझो भई आफ्नो आचरण अँगाल्न सक्षम बन्ने तेरो इच्छा साकार हुँदैन। तँ पतित तरिकामा मात्रै बाँच्न सक्छस्, जसले गर्दा तैँले सम्झौताहरू गर्छस् र आफ्नो प्रतिष्ठाको खातिर बाँच्छस्, आफूलाई अरूबाट जोगाउन आफूलाई विशेष भयङ्कर बनाउँछस्, र हरूको हेपाइबाट जोगिन आफू भयङ्कर, उच्च र पराक्रमी, र शक्तिशाली र असाधारण भएको नाटक गर्छस्। तँ यसरी आफ्नो इच्छाविपरीत गएर मात्र यसरी बाँच्न सक्छस्, जसले गर्दा तँलाई आफैप्रति घृणा लाग्छ, तर तँसँग अरू कुनै विकल्प हुँदैन। तँसँग दुनियाँसित व्यवहार गर्ने यी तरिका र रणनीतिहरूबाट उम्कन सक्ने क्षमता वा मार्ग छैन, त्यसकारण तँ तेरो परिवार र आमाबुबाले तँलाई सिकाएका विचारहरूबाट सञ्चालित हुन मात्रै सक्छस्। यो अचेतन प्रक्रियाको क्रममा, मानिसहरूलाई तिनीहरूका परिवार र आमाबुबाले हालिदिने विचारहरूले मूर्ख बनाउँछन् र नियन्त्रणमा पर्छन्, किनभने तिनीहरूले सत्यता बुझ्दैनन् वा तिनीहरू कसरी बाँच्नुपर्छ भनेर बुझ्दैनन्, त्यसैले तिनीहरूले यो कुरालाई भाग्यको हातमा छोड्न मात्रै सक्छन्। यदि तिनीहरूको अन्तस्करणमा अझै अलिअलि भावना छ नै भने पनि, वा तिनीहरूसँग मानवको रूपमा बाँच्ने, अरूसँग मिलेर बस्ने र न्यायोचित रूपमा प्रतिस्पर्धा गर्ने सानो इच्छासमेत छ नै भने पनि, र तिनीहरूको इच्छा जेसुकै नै भए पनि, परिवारबाट आउने विभिन्न विचार र दृष्टिकोणहरूको शिक्षणर नियन्त्रणबाट तिनीहरू उम्कन सक्दैनन्, र अन्त्यमा, परिवारले तिनीहरूलाई अभ्यस्त गराएको “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिबाट सधैँ जोगिनू” भन्ने विचार र दृष्टिकोणमा फर्कन मात्रै सक्छन्, किनभने तिनीहरूसँग अरू कुनै बाटो नै हुँदैन—तिनीहरूसँग अरू कुनै विकल्प नै हुँदैन। यो सबै मानिसहरूले सत्यता बुझ्न र सत्यता प्राप्त गर्न नसक्नुको कारणले हुने कुरा हो।
—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता कसरी पछ्याउने (१४)
यी परम्परागत संस्कृतिहरू किन सत्यता होइनन्? अन्ततः सार के हो भने, यी कुराहरू शैतानले मानवजातिलाई भ्रष्ट तुल्याएपछि आएका विचारहरू हुन्। यी कुरा परमेश्वरबाट आएका होइनन्। यी कुराहरू मानिसहरूका कल्पना र धारणाद्वारा दूषित भएका हुन्छन्, र अझ भन्ने हो भने, यी कुराहरू शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउनुका दुष्परिणामहरू हुन्। शैतानले मानिसहरूको सोचाइ बाँध्न र मानिसहरूको सोचाइ भ्रष्ट पार्न भ्रष्ट मानवजातिका विचार, दृष्टिकोण, र हरप्रकारका भनाइ र तर्कहरू प्रयोग गर्छ। यदि मानिसहरूलाई छल गर्न शैतानले देख्दै हास्यास्पद, मूर्खतापूर्ण, र गलत लाग्ने कुराहरू प्रयोग गर्यो भने, मानिसहरूमा समझशक्ति आउँछ, र तिनीहरूले सत्यतालाई झूटबाट, कालोलाई सेतोबाट, र सहीलाई गलतबाट छुट्याउने आफ्नो क्षमता प्रयोग गरी ती कुराहरूलाई इन्कार्न र निन्दा गर्न सक्छन्। त्यसकारण, यस्ता शिक्षणहरू सूक्षमजाँचको अगाडि टिक्न सक्दैनन्। तैपनि, जब शैतानले मानिसहरूलाई अभ्यस्तीकरण गराउन, प्रभावित पार्न, र मस्तिष्क परिवर्तन गराउन, मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्ने खालका र ठूलो स्वरमा बोल्दा सूक्षमजाँचको अगाडि पनि टिक्ने भनेर मानिसहरूलाई लाग्ने खालका केही विचार र सिद्धान्तहरू प्रयोग गर्छ, तब मानवजाति सजिलै छलमा पर्छ, अनि मानिसहरूले यी भनाइहरूलाई सजिलै स्विकार्छन् पनि र फैलाउँछन् पनि, र त्यसकारण यी भनाइहरू आजसम्मै पुस्तौँपुस्तादेखि कायम रहिरहेका छन्। उदाहरणको लागि, चिनियाँ नायकहरूबारेका केही कथाहरूलाई लिऊँ, जस्तै युइ फेइ, याङ परिवारका सेनापतिहरू, र वेन टियाङस्याङका देशभक्त कथाहरू। कसरी यी विचारहरू आजको दिनसम्म हस्तान्तरित भएका छन्? यदि हामीले यसलाई मानिसहरूको दृष्टिकोणबाट हेर्यौँ भने, हरेक युगमा यसप्रकारको व्यक्ति वा शासक हुन्छै हुन्छ, जसले यस्ता उदाहरणहरू निरन्तर प्रयोग गर्दै मानिसहरूको एकपछि अर्को पुस्तालाई सिकाउन यी व्यक्तित्वहरूका विचार र भावनाहरू प्रयोग गर्ने गर्छ, ताकि मानिसहरू पुस्तौँपुस्ता आज्ञाकारी र नम्र भएर तिनीहरूको शासन स्विकार्न सकून्, र तिनीहरूले सहजै मानिसहरूको पुस्तौँपुस्तालाई शासन गर्न, र आफ्नो शासनलाई अझै स्थिर बनाउन सकून्। युइ फेइ र याङ परिवारका सेनापतिहरूको बाँदरे भक्ति, साथै वेन टियाङस्याङ र क्व युवानको देशभक्ति भावनाबारे कुरा गरेर, तिनीहरूले आफ्ना प्रजालाई शिक्षा दिएर एउटा नियम बताउँछन्, र त्यो नियमले भन्छः व्यक्तिले बफादारीसाथ व्यवहार गर्नुपर्छ—यो उच्च नैतिक चरित्र भएको व्यक्तिमा हुनुपर्ने कुरा हो। यो बफादारी कति हदसम्म हो? यति हदसम्म कि, “राजाले भारदारलाई मर्ने आदेश दिए, ऊसँग मर्नुको विकल्प हुँदैन,” र “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन”—यो पनि तिनीहरूले आदर गर्ने अर्को भनाइ हो। तिनीहरू आफ्नो देशलाई प्रेम गर्ने मानिसहरूलाई पनि आदर गर्छन्। आफ्नो देशलाई प्रेम गर्नु भनेको केलाई, वा कसलाई प्रेम गर्नु हो? भूमिलाई प्रेम गर्नु? यसमा रहेका मानिसहरूलाई प्रेम गर्नु? अनि देश भनेको के हो? (शासकहरू।) शासकहरू देशको मुखपत्र हुन्। यदि तैँले “मेरो देशप्रतिको प्रेम वास्तवमा मेरो घरगाउँ र मेरा आमाबुबाप्रतिको प्रेम हो। म तिमीहरू, अर्थात् शासकहरूलाई प्रेम गर्दिनँ!” भनेर भन्छस् भने, तिनीहरू रिसाउनेछन्। यदि तैँले “मेरो देशप्रतिको प्रेम शासकहरूप्रतिको प्रेम हो, मेरो हृदयको गहिराइबाट गरिने प्रेम हो” भनेर भन्छस् भने, तिनीहरूले यस्तो प्रेमलाई स्विकार्छन् र अनुमोदन गर्छन्; यदि तैँले प्रेम गर्ने व्यक्ति तिनीहरू होइनन् भनेर बुझाइस् र स्पष्ट पारिस् भने, तिनीहरूले अनुमोदन गर्नेछैनन्। युगौँयुगदेखिका शासकहरूले कसलाई प्रतिनिधित्व गर्छन्? (शैतान।) तिनीहरूले शैतानलाई प्रतिनिधित्व गर्छन्, तिनीहरू शैतानको गिरोहका सदस्यहरू हुन्, र तिनीहरू दियाबलसहरू हुन्। तिनीहरूले मानिसहरूलाई परमेश्वर, अर्थात् सृष्टिकर्ताको आराधना गर्न सिकाउन किमार्थ सक्दैनन्। तिनीहरूले त्यसो गर्न सक्दै सक्दैनन्। यसको साटो, तिनीहरूले मानिसहरूलाई शासक भनेका स्वर्गका पुत्र हुन् भनेर बताउँछन्। यो “स्वर्गका पुत्र” को अर्थ के हो? यसको अर्थ स्वर्गले कसैलाई शक्ति दिन्छ, र त्यो व्यक्तिलाई “स्वर्गका पुत्र” भनेर भनिन्छ र ऊसँग स्वर्गमुनि रहेका सबै मानिसहरूमाथि शासन गर्ने शक्ति हुन्छ। के यो शासकहरूले मानिसहरूमा हालिदिएको विचार होइन र? (हो।) जब व्यक्ति स्वर्गको पुत्र बन्छ, यो कुरा स्वर्गले निर्धारित गरेको हुन्छ, र स्वर्गको इच्छा ऊसँग हुन्छ, त्यसकारण मानिसहरूले त्यो व्यक्तिको शासन जेजस्तो भए पनि त्यो शासनलाई विनासर्त स्विकार्नुपर्छ। तिनीहरूले मानिसहरूमा हालिदिने विचार यही हो, र यसले तँलाई स्वर्ग छ भन्ने कुरा मान्न, र सँगसँगै त्यो व्यक्तिलाई स्वर्गको पुत्रको रूपमा स्विकार्नसमेत लगाउँछ। तँलाई त्यो व्यक्तिलाई स्वर्गको पुत्रको रूपमा स्विकार्न लगाउनुको उद्देश्य के हो? यो तँलाई स्वर्ग छ, वा परमेश्वर, वा सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्न लगाउनको लागि होइन, बरु त्यो व्यक्ति स्वर्गको पुत्र हो, र ऊ स्वर्गको इच्छाद्वारा अस्तित्वमा ल्याइएको स्वर्गको पुत्र भएकोले, मानिसहरूले उसको शासन स्विकार्नुपर्छ भनेर मान्ने तुल्याउनको लागि हो—तिनीहरूले हालिदिने विचारहरू यिनै हुन्। मानवजातिको उत्पत्तिदेखि आजको दिनसम्म विकसित भएका यी सबै विचारहरूपछाडि—चाहे हामीले उपमाहरू भएका हरेक वाक्यांश वा उखानहरू चिरफार गरे पनि, वा उपमा समावेश नभएका हरेक लोक उक्ति वा आम भनाइहरू चिरफार गरे पनि—मानवजातिप्रतिको शैतानको बन्धन र छल, साथै भ्रष्ट मानवजातिले यी विचारहरूबारे दिएको भ्रामक परिभाषा लुकेको हुन्छ। पछिल्ला समयहरूमा मानवजातिमाथि यो भ्रामक परिभाषाको कस्तो प्रभाव रहेको छ? के यो राम्रो र सकारात्मक हो, कि नकारात्मक हो? (नकरात्मक।) यो आधारभूत रूपमा नकारात्मक हो। उदाहरणको लागि, “आफैलाई पीडा दिएर विगतको तीतोपन पलपल मनमा गुन्नु,” “अन्धकारमा आफ्नो ज्योति लुकाउनू र शक्ति जुटाउनू,” “अपमान सहनू र भारी बोझ बोक्नू,” “मर्छु भनेर कहिल्यै नभन्नू,” र साथै “एउटा काम गर्दा अर्को काम गरेको नाटक गर्नू” भन्नेजस्ता भनाइहरू—भविष्यका अवधिहरूमा यी भनाइहरूले मानवजातिमा कस्तो प्रभाव पार्छन्? तोकेरै भन्दा, मानिसहरूले परम्परागत संस्कृतिका यी विचारहरू स्विकारेपछि, मानिसहरूको हरेक भावी पुस्ता परमेश्वरबाट झन्झन् टाढा जान्छन्, र मानिसहरूलाई सृष्टि गर्ने र मुक्ति दिने परमेश्वरको कामबाट, र उहाँको व्यवस्थापन योजनाको कामबाट पनि झन्झन् टाढा जान्छन्। परम्परागत संस्कृतिका यी गलत दृष्टिकोणहरू स्विकारेपछि, मानिसहरूलाई मानव नियति तिनीहरूको हातमा हुनुपर्छ, र खुसी तिनीहरूको आफ्नै हातले निर्माण गर्नुपर्छ, र तम्तयार रहेकाहरूको लागि मात्रै अवसरहरू साँचिएको हुन्छ भन्ने झन्झन् बढी अनुभव हुन्छ, र यसले गर्दा मानवजातिले झन्झन् परमेश्वरलाई इन्कार्ने, परमेश्वरको सार्वभौमिकता नकार्ने, र शैतानको सत्तामुनि जिउने गर्छ। यदि आधुनिक युगका मानिसहरूले के कुरा बोल्न मन पराउँछन् र दुई हजार वर्षपहिलेका मानिसहरूले के कुरा बोल्न मन पराउँथे भनेर तुलना गरियो भने, यी कुराहरूपछाडि रहेको सोचाइको अर्थ वास्तवमा उस्तै छ। यति मात्र हो कि आजभोलि मानिसहरूले ती कुराहरूबारे अझै निर्दिष्ट रूपमा तोकेरै र पहिलेभन्दा साफसाफ रूपमा कुरा गर्छन्। तिनीहरूले परमेश्वरको अस्तित्व र सार्वभौमिकता इन्कार मात्रै गर्दैनन्, बरु उल्टै झन्झन् गम्भीर हदमा परमेश्वरको प्रतिरोध र निन्दासमेत गर्छन्।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक)
परमेश्वर र मानिसका वचनहरूका बीचमा, अनि सत्यता र धर्मसिद्धान्त बीच के तात्त्विक भिन्नता हुन्छ? परमेश्वरका वचनहरूले मानिसहरूलाई समझ र विवेकमा वृद्धि गराउँछ, सिद्धान्तअनुसार व्यवहार गर्ने र बढ्दो रूपमा सकारात्मक कुराहरूको वास्तविकतामा जिउने बनाउँछ। अर्को तर्फ, मानिसका वचनहरू मानिसहरूका स्वाद र धारणाहरूसँग एकदमै मिलेको देखिन सक्छन्, तर ती सत्यता नभएका हुनाले, तिनीहरू खतराहरू र परीक्षाले, विधर्म र भ्रमहरूले भरिएका हुन्छन्, अनि यसैले यदि मानिसहरूले यी वचनहरूअनुसार व्यवहार गरे भने, तिनीहरूको जियाइ परमेश्वर र परमेश्वरको मापदण्डहरूभन्दा झन् टाढा हुन जान्छ। त्योभन्दा गम्भीर कुरा त, मानिसहरूले जिउने तरिका झन् दुष्ट र शैतानसँग मिल्ने हुन जान्छ। जब मानिसहरू मानिसका विधर्म र भ्रमहरूअनुसार जिउँछन्, जब तिनीहरूले यी तर्कहरूलाई पूर्ण रूपमा अङ्गाल्छन्, तिनीहरू शैतान झैँ जिउँछन्। अनि के शैतानझैँ जिउनुले तिनीहरू शैतान हुन् भन्ने जनाउँदैन र? (जनाउँछ।) यसैले तिनीहरू “सफलतापूर्वक” जिउँदो शैतान बनेका छन्। कतिपय मानिसहरूले भन्छन्, “म यो कुरामा विश्वास गर्दिनँ। म त बस अरूले मन पराउने निष्कपट व्यक्ति बन्न चाहन्छु। म सबैले असल ठान्ने व्यक्ति बन्न चाहन्छु अनि त्यसपछि परमेश्वर मप्रति खुसी हुनुहुन्छ कि हुनुहुन्न हेर्नेछु।” यदि तैँले परमेश्वरले भन्नुभएको कुरा विश्वास गर्दैनस् भने, जा र हेर्—परमेश्वरका वचनहरू सत्यता हुन् कि होइनन् वा मानिसका धारणाहरू सत्यता हुन् कि भनेर हेर्। परमेश्वरका वचनहरू र मानिसका वचनहरूको सारको बीचको फरक यही हो। सत्यता तथा विधर्म र भ्रमहरू बीचको महत्वपूर्ण फरक यही हो। मानिसका विधर्म र भ्रमहरू मानिसहरूका स्वादसँग जतिसुकै मिल्ने देखिए तापनि, ती कहिले पनि तिनीहरूका जीवन बन्न सक्दैनन्; यसै बीच, परमेश्वरका वचनहरू जतिसुकै अशोभित, जति सामान्य, मानिसहरूका धारणाहरूसँग नमिल्ने देखिए तापनि, तिनको सार सत्यता हो, अनि यदि मानिसहरूले गर्ने र जिउने कुरा परमेश्वरका वचनहरूका सिद्धान्तहरूअनुसार छन् भने, अन्ततः कुनै दिन तिनीहरू सृष्टि गरिएका साँच्चिकै योग्य प्राणी बन्नेछन्, अनि परमेश्वरको भय मान्न र दुष्टताबाट अलग बस्न सक्षम हुनेछन्। तर यसको उल्टो, यदि मानिसहरूले परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्दैनन् र परमेश्वरका मापदण्डहरूअनुसार कार्य गर्दैनन् भने, तिनीहरू सृष्टि गरिएको योग्य प्राणी बन्न सक्दैनन्। तिनीहरूका कार्यहरू र तिनीहरूले हिँड्ने मार्गलाई परमेश्वरले तिरस्कार मात्र गर्नुहुनेछ; यो तथ्य हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग पाँच)
धेरै मानिसहरू परमेश्वरलाई मुखले विश्वास र प्रशंसा गर्छन्, तर हृदयमा भने परमेश्वरले भन्ने वचनहरूलाई प्रेम गर्दैनन्। तिनीहरू सत्यताप्रति चासो राख्दैनन्। तिनीहरू सधैँ सामान्य मानिसहरू शैतानको दर्शन वा विविध सांसारिक मतअनुसार जिउँछन्, यसरी व्यक्तिले आफ्नो रक्षा गर्न सक्छ, र यसरी संसारमा जिउनुको मूल्य हुन्छ भनी विश्वास गर्छन्। के यिनीहरू परमेश्वरलाई विश्वास गर्ने र पछ्याउने मानिस हुन्? अहँ, होइनन्। महान् र नामुद मानिसहरूका शब्दहरू विशेष गरी समझपूर्ण लाग्छन् र तिनले अरूलाई सजिलै भ्रममा पार्न सक्छन्। तैँले तिनीहरूका शब्दहरूलाई सत्यता वा पालना गर्नुपर्ने आदर्श वाक्य ठान्लास्। तर परमेश्वरको वचन, मानिसका लागि उहाँको कुनै सामान्य मापदण्ड, जस्तै इमानदार व्यक्ति बन्नुपर्ने, वा तत्परतासाथ र होसियारीपूर्वक आफ्नो स्थान कायम राख्नुपर्ने, सृष्टि गरिएका प्राणीका रूपमा आफ्नो कर्तव्य निभाउने अनि स्थिर र इमानदार आचरण बनाउने सन्दर्भमा, यदि तँ यी शब्दहरू अभ्यास गर्न र तिनलाई सत्यता मान्न सक्दैनस् भने, तँ परमेश्वरको अनुयायी होइनस्। तँ आफूले सत्यता अभ्यास गरिरहेको ठोकुवा गर्छस्, तर यदि परमेश्वरले तँलाई “के तैँले अभ्यास गरिरहेका ‘सत्यताहरू’ परमेश्वरका वचन हुन्? के तैँले कायम राख्ने सिद्धान्तहरू परमेश्वरका वचनमा आधारित छन्?” भनी सोध्नुभयो भने—तँ कसरी स्पष्टीकरण दिनेछस्? यदि तेरो आधार परमेश्वरका वचनहरू होइन भने त्यो शैतानका शब्दहरू हो। तँ शैतानका शब्दहरूअनुसार जिइरहेको छस्, तैपनि आफूले सत्यता अभ्यास गरिरहेको र परमेश्वरलाई सन्तुष्ट तुल्याइरहेको ठोकुवा गर्छस्। के त्यो परमेश्वरलाई निन्दा गर्नु होइन र? उदाहरणका लागि, परमेश्वर मानिसलाई इमानदार बन्न सिकाउनुहुन्छ, तर कतिपय मानिस इमानदार व्यक्ति हुनुमा वास्तवमा कस्ता कुराहरू समावेश छन्, इमानदार व्यक्ति बन्न कसरी अभ्यास गर्ने, तिनीहरूले जिउने र प्रकट गर्ने कुन कुराहरू बेइमान हुन् र कुन कुराहरू इमानदार हुन् भन्नेबारे मनन गर्दैनन्। तिनीहरू परमेश्वरका वचनहरूको सत्यताको सारलाई मनन गर्नुको साटो गैरविश्वासीहरूका पुस्तकहरू पढ्नतिर लाग्छन्। तिनीहरू यस्तो सोच्छन्, “गैरविश्वासीहरूका भनाइहरू पनि अत्यन्तै राम्रा छन्—तिनले पनि मानिसलाई असल हुन सिकाउँछन्! उदाहरणका लागि, ‘असल व्यक्तिका जीवनमा शान्ति हुन्छ,’ ‘सोझा मानिसहरू सधैँ सफल हुन्छन्,’ ‘अरूलाई क्षमा गर्नु मूर्खता होइन, त्यसले पछि लाभ दिन्छ।’ यी कथनहरू पनि सही छन् र सत्यतासँग मेल खान्छन्!” त्यसैले, तिनीहरू यी वचनहरू पालना गर्छन्। तिनीहरू गैरविश्वासीहरूका यी उक्तिहरू पालना गरेर कस्तो व्यक्तिको रूपमा जिउन सक्छन्? के तिनीहरू सत्यता वास्तविकताअनुसार जिउन सक्छन्? (अहँ, सक्दैनन्।) के यस्ता मानिसहरू थुप्रै छैनन् र? तिनीहरू केही ज्ञान हासिल गर्छन्; तिनीहरूले केही पुस्तक र केही चर्चित किताब पढेका हुन्छन्; तिनीहरूले केही दृष्टिकोण प्राप्त गरेका हुन्छन्, र केही चर्चित भनाइ र लोक उखानहरू सुनेका हुन्छन्, त्यसपछि तिनीहरू यी कुराहरूलाई सत्यताका रूपमा लिन्छन्, यी शब्दहरूअनुसार कार्य गर्छन् र आफ्नो कर्तव्य निर्वाह गर्छन्, परमेश्वरका विश्वासीका रूपमा तिनलाई आफ्ना जीवनमा लागू गर्छन् र आफूले परमेश्वरको हृदयलाई सन्तुष्ट पारिरहेको छु भन्ठान्छन्। के यो त झूटलाई सत्यताका ठाउँमा राख्नु होइन र? के यो छली व्यवहार होइन र? परमेश्वरका नजरमा, यो ईशनिन्दा हो! यी कुराहरू हरेक व्यक्तिमा धेरै मात्रामा प्रकट हुन्छन्। मानिसहरूका मिठा शब्दहरू र सही धर्मसिद्धान्तहरूलाई पालना गर्नुपर्ने सत्यताका रूपमा लिने, जबकि परमेश्वरका वचनहरूलाई छेउ लगाएर बेवास्ता गर्ने, ती वचनहरू जतिपटक पढे पनि लागू गर्न नसक्ने, वा परमेश्वरका वचनहरूलाई सत्यता मान्न नसक्ने व्यक्ति के परमेश्वरको विश्वासी हो? के ऊ परमेश्वरको अनुयायी हो? (होइन।) यस्ता मानिसहरू धर्ममा विश्वास गर्छन्; तिनीहरू अझै शैतानलाई नै पछ्याइरहेका हुन्छन्! तिनीहरू शैतानले बोल्ने शब्दहरू दार्शनिक, अत्यन्तै गहन र उत्कृष्टन् छन् भनी विश्वास गर्छन्। तिनीहरू ती शब्दहरूलाई परम सत्यताका प्रख्यात भनाइहरू ठान्छन्। तिनीहरूले अरू जेसुकै त्यागे पनि, ती शब्दहरू त्याग्न सक्दैनन्। ती शब्दहरू त्याग्नु भनेको आफ्नो जीवनको जग गुमाउनु, आफ्नो हृदय खोक्रो पार्नुजस्तै हुनेछ। यिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू शैतानका अनुयायी हुन्, त्यसैले तिनीहरू शैतानका प्रख्यात भनाइहरूलाई सत्यताका रूपमा स्विकार्छन्। के तिमीहरू फरकफरक सन्दर्भमा आफूमा हुने विविध स्थितिहरूलाई विश्लेषण गर्न र चिन्न सक्छौ? उदाहरणका रूपमा, कतिपय मानिसहरू परमेश्वरमा विश्वास गर्छन् र प्रायः उहाँका वचनहरू पढ्छन्, तर आफूलाई परिस्थिति आइपर्दा, जहिले पनि यसो भन्छन्, “मेरी आमा भन्नुहुन्थ्यो,” “मेरा हजुरबा भन्नुहुन्थ्यो,” “फलानो प्रसिद्ध व्यक्तिले एकपटक भनेका,” “यो-यो पुस्तकले भन्छ।” तिनीहरू कहिल्यै पनि यसो भन्दैनन्, “परमेश्वरको वचनले यसो भन्छ,” “हाम्रा लागि परमेश्वरका मापदण्डहरू यस्ता छन्,” “परमेश्वर यसो भन्नुहुन्छ।” तिनीहरू कहिल्यै पनि यी शब्दहरू बोल्दैनन्। के तिनीहरू परमेश्वरलाई पछ्याइरहेका छन्? (अहँ, छैनन्।) के मानिसलाई यी स्थितिहरू पत्ता लगाउन सजिलो हुन्छ? अहँ, हुँदैन, तर मानिसमा ती कुरा हुनु तिनीहरूका लागि धेरै घातक हुन्छ। तैँले परमेश्वरमा तीन, पाँच, आठ, वा दस वर्ष विश्वास गरेको छस् होला, तर तँलाई अझै कसरी परमेश्वरप्रति समर्पित हुने वा उहाँका वचनहरू अभ्यास गर्ने भनी थाहा नहोला। तँ आफूलाई जे आइपरे पनि, अझै शैतानी वचनहरूलाई आफ्नो आधारका रूपमा लिन्छस्; तँ अझै पनि परम्परागत संस्कृतिमा आधार खोज्छस्। के त्यो परमेश्वरप्रतिको आस्था हो? के तैँले शैतानलाई पछ्याइरहेको छैनस् र? तँ शैतानी शब्दहरू र शैतानी स्वभावअनुसार जिउँछस्, त्यसैले के तँ परमेश्वरको प्रतिरोध गरिरहेको छैनस् र? तैँले परमेश्वरको वचन अभ्यास नगर्ने वा त्यसअनुसार नजिउने, परमेश्वरको पाइला नपछ्याउने, परमेश्वर जे भन्नुहुन्छ त्यो पालन गर्न नसक्ने, अनि परमेश्वरले जे योजनाबद्ध गर्नुभए पनि वा मापदण्ड दिनुभए पनि त्यसप्रति समर्पित हुन नसक्ने भएकाले, परमेश्वरलाई पछ्याइरहेको छैनस्। तँ अझै शैतानलाई पछ्याइरहेको छस्। शैतान कहाँ छ? शैतान मानिसहरूको हृदयमै छ। दर्शन, तर्क र नियमहरू, अनि शैतानका शैतानी शब्दहरूले मानिसहरूको हृदयमा जरा गाडेको निकै समय भएको छ। सबैभन्दा गम्भीर समस्या यही हो। यदि तँ परमेश्वरप्रतिको तेरा आस्थामा रहेको यो समस्या सुल्झाउन सक्दैनस् भने, तैँले परमेश्वरको मुक्ति पाउन सक्नेछैनस्। त्यसकारण, तैँले बेलाबेलामा आफूले गर्ने सबै कुरा, आफ्ना सोच र दृष्टिकोण, अनि कामकुराहरू गर्ने आफ्नो आधारलाई परमेश्वरको वचनसँग दाँज्नैपर्छ, र आफ्ना सोचका कुराहरूलाई चिरफार गर्नैपर्छ। तँलाई आफूभित्रका कुन कुराहरू संसारसँग व्यवहार गर्ने दर्शनहरू हुन्, लोकप्रिय उक्ति, परम्परागत संस्कृति हुन्, साथै कुन चाहिँ बौद्धिक ज्ञानबाट आएका हुन् भनी थाहा हुनैपर्छ। तँलाई यीमध्ये तैँले कुनचाहिँ सधैँ सही र सत्यताबमोजिम भएको ठान्छस्, कुन चाहिँलाई सत्यता झैँ पालना गर्छस्, अनि कुन चाहिँलाई सत्यताको ठाउँ लिन दिन्छस् भनी थाहा हुनैपर्छ। तिमीहरूले यी कुराहरूलाई विश्लेषण गर्नैपर्छ। विशेष गरी, यदि तँ आफूलाई सही र मूल्यवान् लाग्ने कुराहरूलाई सत्यताको रूपमा लिन्छस् भने, तिनलाई छर्लङ्गै देख्न सजिलो हुँदैन—तर यदि तैँले तिनलाई छर्लङ्गै देख्छस् भने, ठूलो बाधा पार गरेको हुनेछस्। यी कुराहरू मानिसलाई परमेश्वरका वचनहरू बुझ्न, सत्यता अभ्यास गर्न, र परमेश्वरप्रति समर्पित हुन नदिने अडचन हुन्। यदि तँ पूरै दिन दुबिधामा र विना काम बिताउँछस्, र यी कुराहरूलाई विचार गर्दैनस् वा यी समस्याहरू समाधान गर्न ध्यान दिँदैनस् भने, ती कुरा नै तेरो हृदयको रोग, अर्थात् विषको जड हुन्छन्। यदि ती हटाइएन भने, तँ परमेश्वरलाई साँच्चै पछ्याउन असमर्थ हुनेछस्, र सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुनेछस्, अनि तैँले कुनै हालतमा पनि मुक्ति प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। धर्ममा विश्वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन
चाहे जेसुकै भएको होस्, के तँ त्यसलाई समाधान गर्न शैतानी दर्शनमा भर पर्ने र मानव तरिका प्रयोग गर्ने गर्छस्, कि सत्यताको खोजी गरेर त्यसलाई परमेश्वरका वचनहरूअनुसार समाधान गर्ने गर्छस्, कि सम्झौता गर्ने मध्यमार्गी तरिका अपनाउँछस्? तँ सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति होस् कि होइनस् भन्ने कुरा तेरो छनोटले सबैभन्दा राम्ररी प्रकट गर्दछ। यदि तँ समस्या समाधान गर्न सधैँ शैतानी दर्शन र मानव तरिकाहरूमा नै भर पर्ने छनोट गर्छस् भने, परिणामस्वरूप तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्, न त तैँले पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन नै पाउन सक्नेछस्। अझ भन्नुपर्दा, तँमा परमेश्वरबारे धारणा र गलतफहमीहरू उत्पन्न हुनेछन्, अनि अन्ततः उहाँले तँलाई तिरस्कार गर्नुहुनेछ र हटाउनुहुनेछ। तर यदि तँ सबै कुरामा सत्यताको खोजी गर्न सक्छस् र परमेश्वरका वचनहरूअनुसार तिनलाई समाधान गर्न सक्छस् भने, तँ पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन पाउन सक्षम हुनेछस्। सत्यताबारे तेरो बुझाइ झन्-झन् स्पष्ट हुँदै जानेछ र तैँले परमेश्वरलाई झन्-झन् चिन्दै जानेछस्; यसरी तैँले परमेश्वरप्रति साँच्चै समर्पित हुन र उहाँलाई प्रेम गर्न सक्नेछस्। केही समय यसरी अभ्यास र अनुभव गरेपछि तेरा भ्रष्ट स्वभाव अझ धेरै धोइनेछन् र तैँले परमेश्वरविरुद्ध गर्ने विद्रोहका घटना झन्-झन् कम हुँदै गएर अन्तमा तैँले उहाँसँग पूर्ण अनुकूलता हासिल गर्नेछस्। यदि तँ सधैँ सम्झौता गर्ने मध्यमार्गी तरिका रोज्छस् भने, तँ समस्याहरू सम्हाल्नका निम्ति वास्तवमा अझै पनि शैतानी दर्शनहरूमा नै भर परिरहेको हुन्छस्। यसरी जिउँदा तैँले कहिल्यै पनि परमेश्वरको अनुमोदन आर्जन गर्नेछैनस्, तँ केवल प्रकाश गरिएर हटाइनेछस्। यदि तैँले परमेश्वरमा विश्वास गर्ने गलत तरिका, अर्थात् धार्मिक तरिका रोजेको छस् भने, तैँले आफ्नो बाटो तुरुन्तै मोड्नुपर्छ, किनाराबाट कदम पछाडि लानुपर्छ र सही मार्ग अपनाउनुपर्छ। तब तैँले मुक्ति प्राप्त गर्ने आशा अझै पनि हुन सक्छ। यदि तँ परमेश्वरमा विश्वास गर्ने सही मार्ग प्राप्त गर्न चाहन्छस् भने, तैँले त्यसका लागि आफैले खोजी गर्नुपर्छ र यताउति हेर्नुपर्छ। आत्मिक बुझाइ भएको व्यक्तिले केही समयको अनुभवपछि सही मार्ग भेट्नेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू हटाउन सक्छ
सम्बन्धित अनुभवात्मक गवाहीहरू
के हामी परम्परागत सदाचारहरूअनुसार जिउनुपर्छ?
तपाईँले काममा लगाउनुभएकाहरूलाई शङ्का नगर्नु: के त्यो ठिक हो?
“आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने विषयमा चिन्तनहरू