३१. इमानदार व्यक्ति बन्न कसरी अभ्यास गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि तथ्य कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्‍ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। मैले जे भन्छु त्यो एकदमै सरल छ, तर तिमीहरूको लागि त्यो दुई गुणा बढी मुस्किल छ। धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्। यदि तँलाई सत्यको खोजी गर्दा धेरै खुशी मिल्छ भने, तँ त्यस्तो व्यक्ति होस् जो सधैँ उज्यालोमा बस्छ। यदि तँ परमेश्‍वरको घरमा सेवाकर्ता हुन खुशी छस्, तल्लीनताको साथ काम गर्ने र विवेकपूर्ण तवरले गुमनाम हुने, सधैँ दिने तर कहिल्यै नलिने व्यक्ति होस् भने म भन्छु तँ बफादार सन्त होस् किनभने तैँले कुनै इनाम खोजी गर्दैनस् बरु केवल इमानदार बनिरहने व्यक्ति होस्। यदि तँ स्पष्टवादी बन्न इच्छुक हुँदैनस् भने, यदि तँ आफ्ना सबै कुराहरू समर्पण गर्न इच्छुक छस् भने, यदि तँ परमेश्‍वरको लागि आफ्नो जीवन बलिदान दिन सक्षम छस् र आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन्छस् भने, यदि तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्रै जान्ने तर आफ्नोबारे नसोच्ने र आफ्नो लागि केही नलिने हदसम्मको इमानदार छस् भने म भन्छु त्यस्ता मानिसहरू ती व्यक्तिहरू हुन् जो ज्योतिमा हुर्किएका हुन् र जो राज्यमा सदासर्वदा बस्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

आज, प्रायः मानिसहरू आफ्ना कामहरू परमेश्‍वरको सामु ल्याउन डराउँछन्; तँ उहाँको शरीरलाई धोका दिन सक्छस्, तर तँ उहाँको आत्मालाई धोका दिन सक्दैनस्। कुनै पनि कुरा जुन परमेश्‍वरको जाँचको अघि टिक्दैन भने त्यो सत्यतासँग अमिल्दो हुन्छ, र त्यसलाई अलग गर्नुपर्दछ; त्यस बाहेकको कुरा गर्नु भनेको परमेश्‍वरको विरुद्धमा पाप हुन्छ। यसैले जब तँ प्रार्थना गर्छस्, जब तँ आफ्ना भाइबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छस्, र जब तँ आफ्नो काम गर्छस् र तेरो व्यापारको काम गर्छस्, हरसमय तैँले परमेश्‍वरको सामु आफ्नो हृदय राख्नुपर्छ। जब तँ आफ्नो कार्य पूरा गर्छस्, परमेश्‍वर तेरो साथमा हुनुहुन्छ र जबसम्म तेरो अभिप्राय सही हुन्छ र त्यो काम परमेश्‍वरको घरको कामका लागि हुन्छ, उहाँले तैँले गरेका सबै काम स्वीकार गर्नुहुनेछ; तैँले आफ्नो काम पूरा गर्न आफैलाई इमानदारीसाथ समर्पित गर्नुपर्छ। जब तँ प्रार्थना गर्छस्, यदि तँमा परमेश्वरलाई प्रेम गर्ने हृदय छ र परमेश्‍वरको वास्ता, सुरक्षा र जाँचको खोजी गर्छस् भने, यदि यी कुराहरू तेरो उद्देश्य हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, जब तँ सभाहरूमा प्रार्थना गर्छस्, यदि तैँले आफ्नो हृदय खोल्छस् र परमेश्‍वरसँग प्रार्थना गर्दै कुनै झूटो नबोली आफ्नो हृदयको कुरा उहाँलाई बताउँछस् भने तेरा प्रार्थनाहरू निश्चय प्रभावकारी हुनेछन्। …

परमेश्‍वरको विश्‍वासी हुनु भनेको तैँले गर्ने सबै कुरा उहाँको सामु ल्याउनु र उहाँको जाँचको अधीनमा राख्नु हो। यदि तैँले जे गर्छस् त्यो परमेश्‍वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्‍वरको शरीरको अगाडि ल्याउन सकिँदैन भने, त्यसले तँ उहाँको आत्माको जाँचको अधीनमा नआएको देखाउँछ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्‍वरले साक्षी दिनुहुन्छ? के तिनीहरू एउटै र उही होइनन् र? धेरैले उहाँहरूलाई दुई अलग प्राणीको रूपमा हेर्छन्, र परमेश्‍वरका आत्मा भनेको परमेश्‍वरका आत्मा नै हो, र परमेश्‍वरले जसको साक्षी दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्‍ने विश्‍वास गर्छन्। तर के तँ गलत हुँदैनस्? यो व्यक्तिले कसको तर्फबाट काम गर्दछ? जसले देहधारी परमेश्‍वरलाई चिन्दैनन् उनीहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्‍वरका आत्मा र उहाँको देहधारी शरीर एक हुनुहुन्छ, किनकि परमेश्‍वरका आत्मा शरीरमा परिणत भएको छ। यदि यो व्यक्ति तँप्रति निष्ठुर छ भने, के परमेश्‍वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्‍वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैँले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्‍वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैँले गरेका सबै कुराहरू परमेश्‍वरको अगि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्‍ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैँले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्‍वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्‍वरसँगको तेरो घनिष्ठता, तँ परमेश्‍वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्‍वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ। परमेश्‍वरको जाँच स्वीकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ जति धेरै परमेश्‍वरको जाँचलाई स्वीकार गर्न सक्छस्, त्यति नै बढी तँ शुद्ध हुन्छस् र त्यति धेरै तँ परमेश्‍वरका अभिप्रायहरू अनुसारको हुन्छस्, तँ अनैतिक कार्यमा आकर्षित हुनेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहनेछ। तैँले उहाँको जाँचलाई जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र देहको विरुद्धमा विद्रोह गर्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्‍वरको जाँचलाई स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यास हो। चाहे तैँले जेसुकै गरे पनि, तैँले तेरा भाइबहिनीहरूसित बातचित गर्दा समेत तैँले आफ्ना कार्यहरू परमेश्‍वरको सामु ल्याउन र उहाँको जाँच खोज्न र स्वयम् परमेश्‍वरप्रति समर्पित हुन सक्छस्; यसले तैँले अभ्यास गर्ने कुरालाई अझै सटीक बनाउँछ। तैँले गर्ने सबै कुराहरू परमेश्‍वरको सामु ल्याइस् र परमेश्‍वरको जाँचलाई स्वीकार गरिस् भने मात्र तँ त्यो व्यक्ति हुन सक्छस्, जो परमेश्‍वरको उपस्थितिमा जिउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

इमानदार व्यक्ति बन्‍न लागिपर्नको लागि, तैँले परमेश्‍वरका मापदण्डहरूअनुसार व्यवहार गर्नुपर्छ; तैँले न्याय, सजाय, निराकरण र काटछाँट भोग्‍नुपर्छ। जब तिमीहरूको भ्रष्ट स्वभाव धोइन्छ र जब तिमीहरूले सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरूअनुसारको जीवन जिउन सक्छौ, तब मात्रै तिमीहरू इमानदार व्यक्ति बन्‍नेछौ। अज्ञानी, मूर्ख, र सुस्त मानिसहरू पटक्‍कै इमानदार हुँदैनन्। मानिसहरूलाई इमानदार बन्‍न आज्ञा गर्दै, परमेश्‍वरले तिनीहरूलाई सामान्य मानवतामा जिउन, आफ्‍ना छल र कपट त्याग्‍न, अरूलाई ढाँट्ने वा छल्‍ने नगर्न, आफ्‍नो कर्तव्य बफादारीसाथ पूरा गर्न, र उहाँलाई साँचो रूपमा प्रेम गर्ने र उहाँको आज्ञापालन गर्न सक्‍ने हुन भनिरहनुभएको हुन्छ। यस्ता व्यक्तिहरू मात्रै परमेश्‍वरको राज्यका मानिसहरू हुन्। परमेश्‍वरले मानिसहरूलाई ख्रीष्‍टका असल सिपाहीहरू हुन आज्ञा गर्नुहुन्छ। ख्रीष्‍टका असल सिपाहीहरू को हुन्? तिनीहरू सत्यताको वास्तविकताले सुसज्‍जित भएका र ख्रीष्‍टसँग एउटै हृदय र मन भएकाहरू हुनुपर्छ। कुनै पनि समय र स्थानमा, तिनीहरूले परमेश्‍वरको बढाइ गर्न र उहाँको गवाही दिन, र शैतानसँग लडाइँ गर्न सत्यता प्रयोग गर्न सक्‍नुपर्छ। सबै कुरामा, तिनीहरू परमेश्‍वरको पक्षमा उभिनुपर्छ, गवाही दिनुपर्छ, र सत्यताको वास्तविकतामा जिउनुपर्छ। तिनीहरूले शैतानलाई लज्‍जित पारेर परमेश्‍वरको लागि अद्‌भुत विजयहरू प्राप्त गर्न सक्‍नुपर्छ। ख्रीष्‍टको असल सिपाही हुनु भनेको त्यही हो। ख्रीष्‍टका असल सिपाहीहरू विजेताहरू हुन्, तिनीहरू शैतानलाई जित्‍ने मानिसहरू हुन्। मानिसहरूलाई इमानदार बन्‍न र छली नबन्‍न आज्ञा दिएर, परमेश्‍वरले तिनीहरूलाई मूर्ख बन्‍न होइन, बरु आफूलाई छली स्वभावबाट मुक्त गर्न, उहाँप्रतिको समर्पण हासिल गर्न र उहाँको महिमा बढाउन भनिरहनुभएको छ। सत्यता अभ्यास गरेर यो कुरा हासिल गर्न सकिन्छ। यो व्यक्तिको व्यवहारमा आउने परिवर्तन होइन, यो धेरै बोल्‍ने वा थोरै बोल्ने कुरा होइन, न त यो व्यक्तिको कामगराइको कुरा नै हो। बरु, यो त व्यक्तिको बोलीवचन र व्यवहार, उसका सोच र विचारहरू, उसका अभिलाषा र इच्‍छाहरूपछाडि लुकेको अभिप्रायसँग सम्‍बन्धित हुन्छ। भ्रष्ट स्वभावको प्रकटीकरण र गल्तीसँग सम्‍बन्धित सबै कुरालाई जराबाटै परिवर्तन गरिनुपर्छ, ताकि यो सत्यताअनुरूप हुन सकोस्। यदि कसैले स्वभाव परिवर्तन हासिल गर्नु छ भने, उसले स्पष्टसित शैतानको स्वभावको सार देख्‍न सक्‍नुपर्छ। यदि तैँले छली स्वभावको सार स्पष्टसित देख्‍न सक्छस्, र यो शैतानको स्वभाव र दियाबलसको अनुहार हो भनेर बुझ्न सक्छस् भने, यदि तैँले शैतानलाई घृणा गर्न र दियाबलसलाई त्याग्‍न सक्छस् भने, तँलाई आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सहज हुनेछ। यदि तँलाई तँभित्र छली स्थिति छ भन्‍ने थाहा छैन भने, यदि तँ छली स्वभावको प्रकटीकरण पहिचान गर्दैनस् भने, तैँले यसलाई समाधान गर्न कसरी सत्यता खोजी गर्ने भनेर जान्‍नेछैनस्, र तँलाई तेरो छली स्वभाव परिवर्तन गर्न गाह्रो हुनेछ। तैँले सुरुमा तँमा के-कस्ता कुराहरू प्रकट हुन्छन्, ती कुराहरू पहिचान गरेर, ती भ्रष्ट स्वभावका कुन-कुन पक्षहरू हुन् भनेर थाहा पाउनुपर्छ। यदि तैँले प्रकट गर्ने कुराहरू छली स्वभावका कुराहरू हुन् भने, के तैँले ती कुरालाई हृदयबाटै घृणा गर्नेछस्? अनि यदि घृणा गर्छस् भने, तँ कसरी परिवर्तन हुनुपर्छ? तैँले तेरा अभिप्रायहरू तह लगाउनुपर्छ र तेरा दृष्टिकोणहरू सुधार्नुपर्छ। तैँले तेरा समस्याहरू समाधान गर्न सुरुमा यस मामिलाबारे सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरले आज्ञा गर्नुभएको कुरा हासिल गर्न र उहाँलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ, र परमेश्‍वरलाई वा अरू मानिसहरूलाई, वा अलिक मूर्ख वा अज्ञानीहरूलाई छल्‍न प्रयास नगर्ने व्यक्ति बन्‍नुपर्छ। मूर्ख वा अज्ञानीहरूलाई छल्‍न खोज्‍नु अत्यन्तै अनैतिक कार्य हो—यसले तँलाई दियाबलस बनाउँछ। इमानदार व्यक्ति बन्‍नको लागि, तैँले कसैलाई पनि छल्नु वा ढाँट्नु हुँदैन। तैपनि, दियाबलसहरू र शैतानको लागि चाहिँ तैँले तेरा शब्‍दहरू बुद्धिमानी ढङ्गले छनौट गर्नुपर्छ; यदि त्यसो गरिनस् भने, तँलाई तिनीहरूले मूर्ख बनाउने र परमेश्‍वरलाई बदनाम गर्ने सम्भावना अधिक हुन्छ। आफ्‍ना शब्दहरू बुद्धिमानी ढङ्गले छनौट गरेर अनि सत्यता अभ्यास गरेर मात्रै, तैँले शैतानलाई जित्‍न र लज्‍जित तुल्याउन सक्छस्। अज्ञानी, मूर्ख, र जिद्दी मानिसहरूले कहिल्यै सत्यता बुझ्‍न सक्दैनन्; तिनीहरू त शैतानद्वारा ठगिन, खेलाइन, र कुल्चीमिल्ची पारिन, र अन्त्यमा त्यसद्वारा निलिन मात्रै सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

इमानदार व्यक्तिको लागि सबैभन्दा महत्त्वपूर्ण अभ्यास के हो? परमेश्‍वरसामु आफ्नो हृदय खोल्‍ने कार्य सबैभन्दा महत्त्वपूर्ण अभ्यास हो। तर हृदय खोल्नु भनेको के हो त? त्यो भनेको आफ्ना विचार र आफ्ना अभिप्रायहरू, अनि आफूलाई नियन्त्रण गर्ने कुराहरू उहाँसामु बताउनु, र त्यसपछि उहाँबाट सत्यता खोजी गर्नु हो। तैँले चाहे जे कुरा खुलासा गरे पनि, परमेश्‍वरले सबथोक निकै स्पष्टतासाथ देख्‍नुहुन्छ। यदि तँ आफ्ना भावनाहरू परमेश्‍वरसामु व्यक्त गर्न, आफूले अरूबाट लुकाएका कुराहरूबारे उहाँसामु खुलस्त बताउन, र केही नलुकाई ती कुराहरू स्पष्टसँग बताउन र कुनै मनसाय नराखी आफ्ना सोचहरू जस्ताको त्यस्तै व्यक्त गर्न सक्छस् भने, त्यो हृदय खोल्नु हो। कहिलेकाहीँ इमानदारीसाथ बोल्दा अरूलाई चोट पुग्न सक्छ वा तिनीहरू चिढिन सक्छन्। त्यस्ता घटनाहरूमा, के कसैले “तपाईँ एकदमै इमानदारीसाथ बोल्नुहुन्छ, यो एकदमै ठेस पुग्‍ने खालको छ, र म यो स्विकार्न सक्दिनँ” भनेर भन्ला र? अहँ, तिनीहरूले त्यसो भन्नेछैनन्। यदि तैँले कहिलेकाँही अरूलाई चोट पुग्‍ने गरी केही कुरा बोल्ने भए पनि, यदि तँ खुलेर माफी माग्छस्, अनि आफ्ना शब्दहरूमा ज्ञानको कमी थियो र तिनीहरूको कमजोरीप्रति आफू असंवेदनशील भएको थिएँ भनेर स्विकार्छस् भने, तिनीहरूले तेरो नियत खराब थिएन भनेर थाहा पाउनेछन्। तिनीहरूले तँ इमान्दार व्यक्ति होस्, तर तँ केवल सीधै र चलाखीविना बोल्दो रैछस् भनेर बुझ्नेछन्। तिनीहरूले तँसित बहस गर्नेछैनन्, र आफ्नो हृदयमा तँलाई मन पराउनेछन्। यस तरिकाले व्यवहार गर्दा, के तिमीहरूबीच कुनै अवरोध हुनेछ र? यदि कुनै अवरोध छैन भने, द्वन्द्व पन्छाउन सकिन्छ, र समस्याहरू पनि सहज रूपमा हल गर्न सकिन्छ, र यसले तँलाई आजाद र ढुक्‍कको स्थितिमा जिउन मदत गर्नेछ। “इमानदार व्यक्तिहरू मात्र खुसीसाथ जिउन सक्छन्” भन्‍ने भनाइको अर्थ यही हो। इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सुरुमा परमेश्‍वरसित हृदय खोल्‍नु, र त्यसपछि अरूसामु हृदय खोल्‍न सिक्‍नु हो। यसैले इमानदारीपूर्वक, सच्चाइसाथ र हृदयदेखि बोल्‍ने गर्। मर्यादा, चरित्र, र निष्ठा भएको व्यक्ति बन्‍न लागिपर्, र खोक्रा कर्णप्रिय शब्दहरू वा छली शैलीमा नबोल्, र धोकेबाज वा बहकाउपूर्ण शैलीमा बोल्नबाट आफूलाई रोक्। इमानदार व्यक्ति बन्‍नुको अर्को पक्ष भनेको आफ्नो कर्तव्य इमानदार मनोवृत्ति र इमानदार हृदयसाथ निर्वाह गर्नु हो। कम्तीमा पनि, तँ आफ्ना कार्यहरूलाई मार्गदर्शन गर्न आफ्नो विवेकमा भर पर्, सत्यता सिद्धान्तहरू पालन गर्न लागिपर्, र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न लागिपर्। यी कुराहरू मौखिक रूपमा स्विकार्नु मात्र पर्याप्त हुँदैन, र केवल कुनै निश्‍चित मनोवृत्ति अँगाल्नाले तैँले सत्यता अभ्यास गर्दै छस् भनेर अर्थ्याउँदैन। त्यसमा इमानदार व्यक्ति बन्‍नुको वास्तविकता कहाँ छ? कुनै व्यावहारिक कार्यबिना केवल नाराहरू फलाक्‍नु काफी हुँदैन। जब परमेश्‍वरले व्यक्तिहरूलाई जाँच्नुहुन्छ, तब उहाँले तिनीहरूको हृदय मात्र होइन, तिनीहरूको कार्य, व्यवहार र अभ्याससमेत जाँच्‍नुहुन्छ। यदि तँ आफू इमानदार व्यक्ति बन्‍न चाहन्छु भनेर दाबी गर्छस् तर कुनै कुरा आइपर्दा तँ अझै पनि ढाँट्न र धोका दिन सक्छस् भने, के यो इमानदार व्यक्तिको व्यवहार हो र? अहँ, यो इमानदार व्यक्तिको व्यवहार होइन; यो त एउटा कुरा बोल्‍नु र अर्कै आशय राख्‍नु हो। यसमा तैँले एउटा कुरा बोल्छस् तर काम अर्कै गर्छस्, र चिप्लो बोल्दै अरूलाई धोका दिन्छस् अनि पवित्रतापूर्णव्यवहार गर्छस्। तँ ती फरिसीहरूजस्तै छस्, जो मानिसहरूलाई धर्मशास्‍त्र अर्थ्याउँदा जुनसुकै पृष्ठहरूबाट कण्ठस्थ पाठ गर्न सक्थे तर आफूमाथि कुनै कुरा आइपर्दा धर्मशास्‍त्रअनुसार अभ्यास गर्न सक्दैनथे। तिनीहरू निरन्तर हैसियतका लाभहरूप्रतिको चाहनाद्वारा अभिप्रेरित हुन्थे, र आफ्नो प्रतिष्ठा, लाभ र हैसियत त्याग्‍न अनिच्छुक थिए। यसरी फरिसीहरू पाखण्डी थिए। तिनीहरू सही मार्गमा हिँडेनन्, तिनीहरूको मार्ग सही थिएन, र तिनीहरूजस्तालाई परमेश्‍वर घृणा गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नलाई, तैँले सबैभन्दा पहिले हरदिन प्रार्थनामा परमेश्‍वरसामु आफ्नो हृदय खोल्‍न र आफ्नो हृदयका गहनतम कुराहरू उहाँलाई भन्‍न सिक्‍नुपर्छ। उदाहरणको लागि, यदि तैँले आज झूट बोलिस् र त्यो अरू मानिसहरूले चाल पाएनन्, तर त्यसबारे सबैसामु खुलेर कुरा गर्न तँलाई साहस भएन भने, कम्तीमा तैँले आफूले जाँच गरेर पत्ता लगाएका गल्तीहरू र तैँले बोलेका झूटहरू मनन गर्नहेतु परमेश्‍वरसामु ल्याउनुपर्छ, र यसो भन्‍नुपर्छः “हे परमेश्‍वर, मैले मेरा आफ्नै स्वार्थहरू रक्षा गर्न फेरि पनि झूट बोलेको छु, र म गलत थिएँ। यदि मैले फेरि पनि झूट बोलेँ भने, कृपया मलाई अनुशासित गर्नुहोस्।” परमेश्‍वर यस्तो मनोवृत्तिदेखि प्रसन्‍न हुनुहुनेछ, र उहाँले यसलाई स्मरण गर्नुहुनेछ। तँलाई यो झूट बोल्ने भ्रष्ट स्वभाव सुल्झाउनको लागि कठिन प्रयास आवश्यक पर्न सक्छ, तर चिन्ता नगर्, परमेश्‍वर तेरै छेउमा हुनुहुन्छ। उहाँले तँलाई मार्गदर्शन गर्नुहुनेछ, र तँलाई यो दोहोरिरहने कठिनाइ पार गर्न मदत गर्नुहुनेछ, र तँलाई आफ्ना झूटहरू कहिल्यै नस्विकार्ने अवस्थाबाट ती झूटहरू स्विकार्ने अनि आफूले आफैलाई निर्धक्कसित खुलासा गर्न सक्षम हुने अवस्थासम्म पुग्‍ने साहस प्रदान गर्नुहुनेछ। अनि तैँले आफ्ना झूटहरू स्विकार्न मात्र होइन, तँ किन झूट बोल्छस्, र ती झूटहरूपछाडि तेरा अभिप्राय र मनसायहरू के थिए भनेर निर्धक्‍कसित खुलासा गर्नसमेत सक्षम हुनेछस्। जब तँसित यस्तो अवरोध पार गर्ने, र शैतानको पिञ्जरा र नियन्त्रणबाट उम्किने साहस हुन्छ, र तँ प्रगतिशील रूपमा अबउप्रान्त झूट नबोल्ने अवस्थामा पुग्दै जान्छस्, तब तँ बिस्तारै ज्योतिमा, र परमेश्‍वरको मार्गदर्शन र आशिष्‌को छत्रछायाँमा जिउँदै जानेछस्। जब तँ आफ्नो दैहिक नियन्त्रणको अवरोध पार गरेर सत्यताप्रति समर्पित हुन, र निर्धक्‍क आफैले आफ्नो खुलासा गर्न, र आफ्नो अडान सबैमाझ घोषणा गर्न, र कुनै आशङ्का नपाल्न सक्षम हुन्छस्, तब तँ आजाद र स्वतन्त्र हुनेछस्। जब तँ यसरी जिउँछस्, अरू मानिसहरूले तँलाई मन पराउने मात्र नभई परमेश्‍वरसमेत तँसित प्रसन्‍न हुनुहुनेछ। कहिलेकाहीँ, तैँले अझै पनि गल्ती गर्ने र झूट बोल्ने गरे पनि, र कहिलेकाहीँ तँसित अझै पनि व्यक्तिगत अभिप्राय, गुप्त मनसाय वा स्वार्थी र तुच्छ व्यवहार र सोचविचारहरू हुनेभए पनि, तँ परमेश्‍वरको जाँच स्विकार्न सक्षम हुनेछस्, र तैँले आफ्नो अभिप्राय, आफ्नो वास्तविक स्थिति, र आफ्ना भ्रष्ट स्वभावहरू उहाँसामु खुलासा गर्न र उहाँबाट सत्यता खोजी गर्न सक्‍नेछस्। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तँसित अभ्यासको मार्ग हुनेछ। जब तेरो अभ्यासको मार्ग सही हुन्छ, र तँ सही दिशातर्फ चल्छस्, तब तेरो भविष्य सुन्दर र उज्यालो हुनेछ। यसरी, तँ आफ्नो हृदय शान्त भएको स्थितिमा जिउनेछस्, र तेरो आत्माले भरणपोषण पाएको हुनेछ, र तैँले तृप्त र सन्तुष्ट भएको महसुस गर्नेछस्। तर यदि तँ आफ्नो देहको नियन्त्रणबाट उम्किन सक्दैनस् भने, यदि तँ निरन्तर आफ्ना भावना, व्यक्तिगत स्वार्थ, र शैतानी दर्शनहरूको वशमा रहन्छस् र लुकीछिपी बोल्ने र व्यवहार गर्ने गर्छस्, र सधैँ छायाँमा लुक्ने गर्छस् भने, तँ शैतानको सत्ताअन्तर्गत जिइरहेको छस्। तर यदि तँ सत्यता बुझ्छस्, देहको नियन्त्रणबाट उम्कन्छस्, र सत्यता अभ्यास गर्छस् भने, तैँले बिस्तारै मानव स्वरूप धारण गर्दै जानेछस्। अनि, तँ आफ्ना बोलीवचन र कार्यहरूमा खुलस्त र सीधा हुनेछस्, र तँ आफ्ना राय, विचार र आफूले गरेका गल्तीहरू खुलासा गर्न सक्षम हुनेछस्, र यसरी सबैलाई ती कुराहरू स्पष्टसित देख्‍न दिनेछस्। अन्त्यमा, मानिसहरूले तँलाई पारदर्शी व्यक्तिको रूपमा पहिचान गर्नेछन्। यो पारदर्शी व्यक्ति भनेको के हो? यो भनेको असाधारण इमानदारीसाथ कुरा गर्ने व्यक्ति हो जसको बोलीवचन साँचो हुन्छ भनेर सबैले विश्‍वास गर्छन्। यदि उसले अनजानमै कुनै झूट वा कुनै गलत कुरा बोल्यो भने पनि, मानिसहरूले त्यो अनजानमा बोलिएको हो भन्ने जानेर उसलाई क्षमा दिन सक्‍नेछन्। यदि उसले आफूले ढाँटेको वा कुनै गलत कुरा बोलेको महसुस गर्‍यो भने, उसले माफी माग्‍नेछ, र आफूलाई सच्याउनेछ। यस्तो व्यक्ति नै पारदर्शी व्यक्ति हो। यस्तो व्यक्तिलाई सबैले मन पराउँछन्, र सबैले विश्‍वास गर्छन्। परमेश्‍वरको र अरूहरूको भरोसा जित्‍नका लागि तैँले यो स्तरमा पुग्नुपर्छ। यो सजिलो कार्य होइन—यो त व्यक्तिमा हुन्सक्ने सबैभन्दा उच्‍चस्तरीय मर्यादा हो। यसप्रकारको व्यक्तिसँग आत्मसम्‍मान हुन्छ। यदि तँ अरूहरूको भरोसा नै जित्‍न सक्दैनस् भने, तैँले कसरी परमेश्‍वरको भरोसा प्राप्त गर्ने अपेक्षा गर्न सक्छस्? इज्‍जतहीन जीवन जिउने कति व्यक्तिहरू छन्, तिनीहरू निरन्तर झूट रचिरहन्छन्, र कामकुराहरूलाई लापर्बाह र झारातिरुवा रूपले ने लिइरहन्छन्। तिनीहरूमा जिम्‍मेवारीको अलिकति पनि बोध हुँदैन, तिनीहरू काटछाँट र निराकरण अस्वीकार गर्छन्, तिनीहरू सधैँ भ्रामक तर्कहरूको सहारा लिन्छन्, र तिनीहरूलाई भेट्ने जति सबैले तिनीहरूलाई घृणा गर्छन्। तिनीहरू लाजसरमको कुनै बोधबिनै जिउँछन्। के तिनीहरूलाई साँच्चै मानव मान्‍न सकिन्छ? अरूहरूबाट अत्यन्तै घिनलाग्दा र भर पर्न नसकिने मानिएका मानिसहरूले पूर्ण रूपमा आफ्नो मानवता गुमाइसकेका हुन्छन्। यदि अरूहरूले तिनीहरूमा भरोसा गर्न सक्दैनन् भने, के परमेश्‍वरले तिनीहरूमाथि भरोसा गर्न सक्‍नुहुन्छ र? यदि अरूहरूले तिनीहरूलाई घृणा गर्छन् भने, के परमेश्‍वरले तिनीहरूलाई मन पराउन सक्‍नुहुन्छ र? परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ र उहाँ तिनीहरूबाट दिक्‍क हुनुहुन्छ, र तिनीहरू निश्चित रूपमा निष्कासित हुनेछन्। मानिसको रूपमा व्यक्ति इमानदार हुनुपर्छ, र उसले आफ्ना प्रतिबद्धताहरूको सम्‍मान गर्नुपर्छ। चाहे अरूहरूको लागि कार्य गर्दा होस् वा परमेश्‍वरको लागि होस्, उसले आफ्ना वचनहरू पूरा गर्नुपर्छ। जब व्यक्तिले मानिसहरूको भरोसा जितिसकेको हुन्छ, र जब उसले परमेश्‍वरलाई सन्तुष्ट र आश्‍वास्त पार्न सक्छ, तब ऊ तुलनात्मक रूपमा अलि इमानदार हुन्छ। यदि तँ आफ्ना कार्य-व्यवहारहरूमा भरोसायोग्य छस् भने, अरूहरूले मात्र होइन, परमेश्‍वरलेपनि तँलाई पक्कै मन पराउनुहुनेछ। इमानदार व्यक्ति भएर, तैँले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन र तँ इज्‍जतसाथ जिउन सक्‍नेछस्। त्यसकारण, व्यक्तिको आचरणको जग इमानदारीता हुनुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

इमान्दार व्यक्ति बन्‍न, तैँले आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि हरेक व्यक्तिले त्यसभित्र हेर्न सकून्, तैँले के सोँच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो मुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नु हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमान्दार व्यक्ति मान्‍नेछन्। यही नै इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास अनि पूर्वासर्त हो। यदि तैँले सधैँ बहाना बनाइरहेको हुन्छस्, सधैँ पवित्रता, आदर्शता, महानता, उच्‍च चरित्रको ढोंग गरिरहेको छस् भने; यदि तैँले मानिसहरूलाई तेरा भ्रष्टता र तेरा दोषहरू हेर्न दिँदैनस् भने; यदि तैँले मानिसहरूसमक्ष झूटो छवि प्रस्तुत गर्छस् र तिनीहरूलाई तँमा निष्ठा छ, र तँ इमानदार, महान्, आत्मत्यागी, न्यासङ्गत र निस्वार्थ छस् भनी विश्‍वास गरून् भन्‍ने चाहन्छस् भने, के यो छली र झूटपन होइन र? के मानिसहरूले समयसँगै तेरो वास्तविकता देख्‍नेछैनन् र? त्यसकारण, छद्म भेष प्रयोग गर्ने वा आफूलाई ढाकछोप गर्ने नगर्। यसको साटो, अरूले देखून् भनेर आफूलाई र आफ्नो हृदयलाई उदाङ्गो पार्। यदि तैँले अन्य व्यक्तिहरूले हेरून् भनेर आफ्नो हृदयलाई उदाङ्गो पार्न सक्छस् भने, यदि तँ आफ्ना सकारात्मक र नकारात्मक दुवै खालका सोच र योजनाहरू उदाङ्गो पार्न सक्छस् भने, के तँ इमान्दारिता होइन र? यदि तैँले अन्य व्यक्तिहरूले देखून् भनेर आफूलाई उदाङ्गो पार्न सक्छस् भने, परमेश्‍वरले समेत तँलाई देख्‍नुहुनेछ। उहाँले भन्नुहुनेछ, “अन्य व्यक्तिहरूले हेरून् भनेर यदि तैँले आफूलाई उदाङ्गो पारेको छस् भने, तँ अवश्य नै मेरो अगाडि पनि इमानदार छस्।” तर यदि तैँले आफू अन्य व्यक्तिको नजरभन्दा नदेख्‍ने ठाउँमा र परमेश्‍वरको अगाडि मात्र आफूलाई उदाङ्गो पार्छस्, र उनीहरू साथमा भएको बेलामा तँ सधैँ महान, आदर्श र निस्वार्थ भएको बहाना गर्छस् भने, परमेश्‍वरले तँलाई के सोच्नुहुनेछ? उहाँले के भन्नुहुनेछ? उहाँले भन्नुहुनेछ, “तँ पूराको पूरा छली होस्; तँ पूरै पाखण्डी र दुर्जन होस्; अनि तँ इमान्दार व्यक्ति होइनस्।” परमेश्‍वरले यसरी तँलाई दोषी ठहराउनुहुनेछ। यदि तँ इमान्दार बन्न चाहन्छस् भने, परमेश्‍वरको अगाडि हुँदा होस् वा अन्य व्यक्तिहरूको अगाडि हुँदा होस्, तैँले आफ्नो भित्री स्थितिको बारेमा र तेरो हृदयमा भएका शब्दहरूको बारेमा विशुद्ध र खुलस्त वृतान्त दिन सक्‍नुपर्छ। के यो हासिल गर्न सजिलो छ? यसको लागि केही समयको अभ्यासका साथै बारम्बारको प्रार्थना अनि परमेश्‍वरमाथिको भरपराइ आवश्यक पर्छ। तैँले आफैलाई सबै कुरामा सरल र खुलस्त रूपमा हृदयका कुरा बोल्‍न तालिम दिनुपर्छ। यस प्रकारको तालिमले तैँले प्रगति गर्न सक्छस्। यदि तँलाई ठूलो कठिनाइ भयो भने, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोज्‍नुपर्छ; तिमीहरूले सत्यता अभ्यास गर्न नसककुन्जेल, हृदयमा लडाइँ गरेर देहलाई जित्‍नुपर्छ। यसरी अलिअलि गर्दै आफूलाई तालिम दिइस् भने, तेरो हृदय क्रमिक रूपमा खुल्नेछ। तँ झन्झन् शुद्ध हुँदै जानेछस्, र तेरा बोलीवचन र व्यवहारको प्रभाव पहिलेको भन्दा फरक हुनेछ। तेरा झूट र छलहरू झन्झन् कम हुँदै जानेछन्, र तँ परमेश्‍वरको अघि जिउन सक्‍नेछस्। त्यसपछि, तँ आधारभूत रूपमै इमानदार व्यक्ति बनिसकेका हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

इमानदार व्यक्ति बन्‍नको लागि आफैलाई तालिम दिनु भनेको मुख्य रूपमा झूट बोल्‍ने समस्या समाधान गर्नु, साथै आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नु हो। यसो गर्नको लागि एउटा महत्त्वपूर्ण अभ्यास गर्नुपर्छ: जब तँलाई आफूले कसैलाई ढाँटेको र छलेको छु भन्‍ने महसुस हुन्छ, तैँले तिनीहरूसँग खुलेर कुरा गर्नुपर्छ, आफूलाई उदाङ्गो पार्नुपर्छ, अनि माफी माग्‍नुपर्छ। झूट बोल्‍ने समस्या सुल्झाउन यो अभ्यास निकै फाइदाजनक हुन्छ। उदाहरणको लागि, यदि तैँले कसैलाई छलेको छस् वा तैँले तिनीहरूसँग बोलेका शब्‍दहरूमा कुनै दूषित कुरा वा व्यक्तिगत अभिप्राय थियो भने, तैँले तिनीहरूलाई भेटेर आफ्‍नो विश्‍लेषण गर्नुपर्छ। तैँले तिनीहरूलाई यसो भन्‍नुपर्छ: “मैले बोलेको कुरा झूट थियो, र त्यो मैले आफ्‍नो स्वाभिमान जोगाउनको लागि भनेको थिएँ। यसो भनेपछि मलाई अप्ठ्यारो लाग्यो, त्यसकारण म अहिले तपाईंसँग माफी माग्दै छु। कृपया, मलाई माफ गर्नुहोस्।” त्यो व्यक्तिलाई यो कुरा निकै नौलो लाग्‍नेछ। उसले झूट बोलेपछि माफी माग्‍ने व्यक्ति कसरी हुन सक्यो भनेर सोच्‍नेछ। यस्तो साहसलाई उसले सराहना गर्नेछ। त्यस्तो अभ्यास गरेर व्यक्तिले के-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छ? यसको उद्देश्य अरूको आदर पाउनु होइन, बरु आफूलाई झूट बोल्‍नबाट अझै प्रभावकारी रूपमा नियन्त्रण गर्नु र रोक्‍नु हो। त्यसकारण, झूट बोलेपछि, तैँले त्यसको लागि माफी माग्‍ने अभ्यास गर्नुपर्छ। तैँले यसरी आफूलाई जति धेरै विश्‍लेषण गर्ने, उदाङ्गो पार्ने, र मानिसहरूसँग माफी माग्‍ने तालिम दिन्छस्, परिणामहरू त्यति नै राम्रा हुँदै जानेछन्—अनि तैँले बोल्‍ने झूटको सङ्ख्या पनि घट्दै-घट्दै जानेछन्। इमानदार व्यक्ति बन्‍नको लागि र झूट बोल्‍नबाट आफूलाई रोक्‍नको लागि आफ्‍नो विश्‍लेषण गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास गर्न साहस चाहिन्छ, र झूट बोलेपछि कसैसँग माफी माग्‍न त झन् धेरै साहस चाहिन्छ। यदि तिमीहरूले यसरी एकदुई वर्ष—वा तीनदेखि पाँच वर्ष—अभ्यास गर्‍यौ भने, अवश्य नै स्पष्ट परिणामहरू प्राप्त गर्नेछौ, र आफ्‍ना झूटहरूबाट मुक्त हुन तिमीहरूलाई गाह्रो हुनेछैन्। आफूलाई झूटहरूबाट मुक्त गर्नु इमानदार व्यक्ति बन्‍नेतर्फको पहिलो कदम हो, र तीनदेखि पाँच वर्षको प्रयासविना यस्तो अवस्थामा पुग्‍न सकिँदैन। झूट बोल्‍ने समस्या समाधान गरेपछि, दोस्रो कदम भनेको छल र जालझेलको समस्या समाधान गर्नु हो। कहिलेकहीँ, जालझेल र छलका लागि व्यक्तिले झूट बोल्‍नु पर्दैन—यी कुराहरू व्यवहारद्वारा नै हासिल गर्न सकिन्छ। व्यक्तिले बाहिरी रूपमा झूट नबोल्‍न सक्छ, तर उसले आफ्‍नो हृदयमा छल र जालझेल बोकेको हुन सक्छ। तिनीहरूलाई यो कुरा अरू कसैलाई भन्दा पनि बढी थाहा हुन्छ, किनभने तिनीहरूले यसबारेमा गहन रूपमा सोचेका र होसियारीसाथ विचार गरेका हुन्छन्। पछि मनन गर्दा यो कुरा पहिचान गर्न तिनीहरूलाई सहज हुन्छ। झूट बोल्‍ने समस्या समाधान भएपछि, तुलनात्मक हिसाबमा छल र जालझेल गर्ने समस्याहरू समाधान गर्न अलिक सहज हुन्छ। तर व्यक्तिमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनुपर्छ, किनभने छल र जालझेल गर्दा उसलाई उसैको अभिप्रायले चलाएको हुन्छ। अरूले यो कुरा बाहिरबाट बुझ्‍न सक्दैनन्, न त तिनीहरूले यो कुरा ठम्याउन नै सक्छन्। परमेश्‍वरले मात्रै यसको सूक्ष्म जाँच गर्न सक्‍नुहुन्छ, र यसबारेमा उहाँलाई मात्र थाहा हुन्छ। त्यसकारण, परमेश्‍वरमा प्रार्थना गरेर अनि उहाँको सूक्ष्म जाँच स्वीकार गरेर मात्रै छल र जालझेलगर्ने समस्या समाधान गर्न सकिन्छ। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्दैन वा हृदयमा परमेश्‍वरको डर मान्दैन भने, उसको छल र जालझेल गर्ने समस्या समाधान गर्न सकिँदैन। तैँले परमेश्‍वरको अघि प्रार्थना गर्न र आफ्‍ना गल्तीहरू स्वीकार गर्न सक्छस्, वा तैँले आफ्‍नो भ्रष्ट स्वभावको चिरफार गर्न सक्छस्—त्यो बेला तैँले के सोचिरहेको थिइस्, तैँले के भनिस्, तेरो अभिप्राय के थियो, र तँ कसरी छलमा संलग्‍न भइस् भन्‍नेबारेमा साँचो रूपमा बताउन सक्छस्। यसो गर्नु निकै सजिलो हुन्छ। तैपनि, यदि तँलाई अर्को व्यक्तिको अघि आफैलाई उदाङ्गो पार्न भनियो भने, तैँले त्यसो गर्ने आफ्‍नो साहस र सङ्कल्प गुमाउन सक्छस्, किनभने तँलाई आफ्‍नो इज्‍जत बचाउन मन लाग्छ। खुलेर कुरा गर्ने र आफूलाई उदाङ्गो पार्ने अभ्यास गर्न तँलाई साह्रै कठिन हुनेछ। सायद बेलाबेलामा आफूले आफ्‍नै व्यक्तिगत लक्ष्य र अभिप्रायहरूअनुसार बोलिरहेको वा व्यवहार गरिरहेको हुन्छु भनेर तैँले आम रूपमा स्विकार्न सक्छस् होला; तैँले गर्ने वा बोल्ने कुरामा केही हदसम्म छल, दूषितता, झूट वा छल छ भनेर भन्‍न सक्छस् होला। तर त्यसपछि, जब केही हुन्छ र तँलाई आफ्‍नो विश्‍लेषण गर्न, सुरुदेखि अन्तिमसम्‍म के भयो भनेर खुलासा गर्न, र तैँले बोलेका कुन-कुन शब्‍दहरू कसरी छली थिए, तिनको पछाडि कस्तो अभिप्राय थियो, तैँले के सोचिरहेको थिइस्, र तँ द्वेषपूर्ण वा दुष्ट भइरहेको थिइस् कि थिइनस् भनेर व्याख्या गर्न लगाइयो भने, तँ खास कुराहरू बताउन वा विस्तृत कुरा खोल्‍न मान्दैनस्। कतिपय मानिसहरूले त यसो भन्दै कुरा टार्ने प्रयाससमेत गर्छन्: “कुरा त्यस्तै हो। म अलिक छली, धूर्त, र भर पर्न नसकिने व्यक्ति हुँ।” यसले तिनीहरू आफ्‍नो भ्रष्ट सारलाई उचित रूपमा सामना गर्न असमर्थ छन् वा तिनीहरू कति छली र धूर्त छन् भन्‍ने कुरा देखाउँछ। यी मानिसहरू सधैँ तर्किहिँड्ने स्थिति र अवस्थामा हुन्छन्। तिनीहरूले सधैँ आफूलाई माफ गरिरहेका र उचित ठानिरहेका हुन्छन्, र इमानदार व्यक्ति बन्‍ने सत्यता अभ्यास गर्नको लागि कष्ट भोग्‍न वा मूल्य चुकाउन सक्दैनन्। धेरै मानिसहरूले वर्षौँदेखि सधैँ यसो भन्दै वचन र धर्मसिद्धान्तहरू प्रचार गर्दै आएका छन्: “म अत्यन्तै छली र धूर्त छु, मेरो व्यवहारमा प्रायजसो जाल-झेल भइरहन्छ, र म मानिसहरूसँग इमानदारीसाथ व्यवहार बिलकुलै गर्दिनँ।” तर धेरै वर्षसम्‍म त्यही कुरा फलाकेपछि पनि, तिनीहरू पहिलेजस्तै छली नै रहिरहन्छन्, किनभने तिनीहरूले यो छली स्थिति खुलासा गर्दा कहिल्यै पनि साँचो विश्‍लेषण वा पछुतो गरेका हुँदैनन्। तिनीहरूले कहिल्यै पनि अरूसामु आफूलाई उदाङ्गो पार्ने वा झूट बोलेपछि वा मानिसहरूलाई छलेपछि माफी माग्‍ने गर्दैनन्, झन् तिनीहरूले भेलामा आत्मविश्‍लेषण र आत्मज्ञानका अनुभवात्मक गवाहीबारे सङ्गति गर्नु त परको कुरा हो। तिनीहरूले आफूलाई कसरी चिने वा त्यस्ता विषयहरूमा तिनीहरूले कसरी पश्‍चात्ताप गरे भन्‍नेबारेमा पनि कहिल्यै बताउदैनन्। तिनीहरूले यस्तो केही पनि गर्दैनन्, र यसले तिनीहरूले आफूलाई चिनेका छैनन् र तिनीहरूले साँचो पश्‍चात्ताप गरेका छैनन् भन्‍ने प्रमाणित गर्छ। जब तिनीहरूले आफू छली छु र इमानदार व्यक्ति बन्‍न चाहन्छु भनेर भन्छन्, तब तिनीहरूले नारा मात्रै फलाकिरहेका र धर्मसिद्धान्त मात्रै प्रचार गरिरहेका हुन्छन्, अरू केही गरिरहेका हुँदैनन्। तिनीहरूले परिस्थितिअनुसार चल्‍न र अरूले जे भन्यो त्यही मानेको बहाना गर्नको लागि मात्रै यी कुराहरू गरिरहेका हुन सक्छन्। अथवा, मण्डली जीवनको वातावरणले तिनीहरूलाई झारा टार्न र देखावटी व्यवहार गर्न बाध्य गरेको पनि हुन सक्छ। चाहे जे भए पनि, नारा फलाक्‍ने र धर्मसिद्धान्तको प्रचार गर्ने यस्ता मानिसहरूले कहिल्यै पनि साँचो पश्‍चात्ताप गर्दैनन्, र तिनीहरूले अवश्य नै परमेश्‍वरको मुक्ति पाउन सक्‍नेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

इमानदार बन्‍ने अभ्यास गर्नको लागि, तँसँग एउटा मार्ग, र एउटा उद्देश्य हुनुपर्छ। सबभन्दा पहिले, झूट बोल्‍ने समस्या समाधान गर्। तैँले यी झूटहरू बोल्‍नुपछाडि लुकेको तेरो सार चिन्‍नुपर्छ। तैँले तँलाई के-कस्ता अभिप्राय र मनसायले यी झूटहरू बोल्‍न उत्प्रेरित गर्छन्, तँमा किन यस्ता अभिप्रायहरू छन्, र ती अभिप्रायको सार के हो भनेर पनि चिरफार गर्नुपर्छ। जब तैँले यी सबै समस्याहरू स्पष्ट पारेको हुन्छस्, तब तैँले झूट बोल्‍ने समस्यालाई राम्ररी चिनिसकेको हुन्छस्, र जब कुनै कुरा तँमाथि आइपर्छ, तब तँसँग अभ्यासका सिद्धान्तहरू हुनेछन्। यदि तैँले यस्तो अभ्यास र अनुभव अघि बढाइरहन्छस् भने, नतिजा पक्‍कै पनि तेरो हात आउनेछ। एक दिन तैँले यसो भन्‍नेछस्: “इमानदार बन्‍नु सजिलो छ। छली बन्‍नु अत्यन्तै थकाइलाग्दो हुँदो रहेछ! अबदेखि म छली व्यक्ति बन्‍न चाहन्‍नँ, सधैँ यसरी के-कस्ता झूटहरू बोल्‍ने र आफ्‍ना झूटहरू कसरी ढाकछोप गर्ने भनेर सोचिरहन चाहन्‍नँ। यो त मानसिक रोग भएको व्यक्ति बन्‍नुजस्तै हो, सधैँ विरोधाभासपूर्ण बोली बोल्ने—‘मानव’ भनेर भन्‍नलायक नै नभएको व्यक्ति बन्‍नु हो! त्यस्तो जीवन अति थकाइलाग्दो हुन्छ, र म अबदेखि त्यसरी जिउन चाहन्‍नँ!” यसपटक, तैँले साँचो रूपमा इमानदार बन्‍ने आशा पाएको हुन्छस्, र यसले तैँले इमानदार व्यक्ति बन्‍नेतर्फ प्रगति गर्न थालेको छस् भन्‍ने प्रमाणित गर्नेछ। यो परिवर्तनको सुरुवात हो। अवश्य नै, तिमीहरूमध्ये कति जना यस्ता छौ होला, जो अभ्यास गर्न थाल्दै गर्दा, इमानदार शब्‍दहरू बोलेपछि र आफूलाई उदाङ्गो पारेपछि लज्‍जित हुन्छ। तिमीहरूको अनुहार रातो हुन्छ होला, तिमीहरूलाई लाज लाग्‍छ होला, र अरूले तिमीहरूलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्‍छ होला। त्यस्तो बेला तिमीहरूले के गर्नुपर्छ? अझै पनि, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई सामर्थ्य माग्‍नुपर्छ। तैँले यसो भन्‍नुपर्छ: “हे परमेश्‍वर, म इमानदार व्यक्ति बन्‍न चाहन्छु, तर मैले सत्य बोल्दा मानिसहरूले मलाई हाँसोमा उडाउलान् भन्‍ने डर लाग्छ। म तपाईंलाई अनुरोध गर्छु, तपाईं मलाई मेरो शैतानी स्वभावको बन्धनबाट बचाउनुहोस्; मलाई तपाईंका वचनहरूअनुसार जिउन, अनि मलाई मुक्त र स्वतन्त्र हुन मदत गर्नुहोस्।” जब तैँले यसरी प्रार्थना गर्छस्, तब तेरो हृदयमा अझै धेरै ज्योति आउनेछ, र तैँले मनमनै भन्‍नेछस्: “यो अभ्यास गर्नु राम्रो कुरा हो। आज, मैले सत्यता अभ्यास गरेको छु। अन्ततः म एकपटक त इमानदार व्यक्ति बनेको छु।” तैँले यसरी प्रार्थना गर्दा, परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। उहाँले तेरो हृदयमा काम गर्नुहुनेछ, र उहाँले तँलाई स्पर्श गर्नुहुन्छ, र तैँले वास्तविक व्यक्ति बन्‍दा कस्तो अनुभव हुन्छ भनेर बुझ्छस्। यसरी नै सत्यता अभ्यास गरिनुपर्छ। सुरुमा तँसँग कुनै मार्ग हुनेछैन, तर सत्यताको खोजीमार्फत तैँले मार्ग भेट्टाउनेछस्। जब मानिसहरूले सत्यता खोजी गर्न सुरु गर्छन्, तब तिनीहरूसँग विश्‍वास हुन्छ नै भन्‍ने छैन। कुनै मार्ग नहुनु मानिसहरूको लागि गाह्रो कुरा हो, तर तिनीहरूले सत्यता बुझेपछि र अभ्यासको मार्ग भेट्टाएपछि, तिनीहरूको हृदयले यसमा आनन्द प्राप्त गर्नेछ। यदि तिनीहरूले सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छन् भने, तिनीहरूको हृदयले आराम पाउनेछ, र तिनीहरूले स्वतन्त्रता र उन्मुक्ति प्राप्त गर्नेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

इमानदारीता अभ्यास गर्दा यसले धेरै पक्ष समेट्छ। अर्को शब्‍दमा भन्दा, इमानदार बन्‍नुको मानक एक पक्षबाट मात्रै पूरा गर्न सकिँदैन; इमानदार बन्‍नुभन्दा पहिले तँ धेरै हिसाबमा मानकको स्तरमा पुग्‍नुपर्छ। कतिपय मानिसहरूले इमानदार बन्‍नका लागि झूट मात्रै नबोले पुग्छ भन्‍ने सोच्छन्। के यो दृष्टिकोण सही छ? के इमानदार बन्‍ने कार्यमा झूट नबोल्‍ने कुरा मात्रै संलग्‍न हुन्छ? होइन—यसमा अरू धेरै पक्षहरू पनि सम्बन्धित हुन्छन्। पहिलो कुरा, तैँले जेसुकै सामना गरे पनि, चाहे त्यो कुरा तैँले आफैले देखेको होस् वा अरू कसैले तँलाई बताएको होस्, चाहे यो मानिसहरूसँग अन्तरक्रिया गर्ने विषय होस् वा समस्या समाधान गर्ने कुरा होस्, चाहे यो तैँले पूरा गर्नुपर्ने कर्तव्य होस् वा परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरा नै किन नहोस्, तैँले यसलाई सधैँ इमानदार हृदयका साथ लिनुपर्छ। व्यक्तिले काम-कुराहरूलाई एक इमानदार हृदयका साथ लिने अभ्यास कसरी गर्नुपर्छ? तँ जे सोच्छस् त्यही भन् र इमानदारीसाथ बोल्; खोक्रा, आडम्बरी, वा मिठो सुनिने कुराहरू नबोल्, चापलुसीपूर्ण वा पाखण्डी झूटा कुराहरू नबोल्, बरु तेरो हृदयमा भएका कुराहरू बोल्। इमान्दार बन्‍नु भनेको यही हो। आफ्नो हृदयमा भएका वास्तविक विचार र दृष्टिकोणहरू व्यक्त गर्—इमानदार मानिसहरूले गर्नुपर्ने कुरा यही हो। यदि तँ आफूले सोचेका कुराहरू कहिल्यै भन्दैनस्, र शब्दहरू तेरो हृदयभित्र घाउझैँ पाक्छन्, र तैँले बोलेका कुराहरू तैँले सोचेका कुराहरूसँग कहिल्यै मिल्दैनन् भने, त्यो इमान्दार व्यक्तिले गर्ने कुरा हुँदै होइन। उदाहरणका लागि, मानौँ तँ आफ्नो कर्तव्य राम्रोसित निभाउँदैनस्, र जब मानिसहरूले यो के भइरहेको हो भनेर सोध्छन्, तँ यस्तो जबाफ दिन्छस्, “म आफ्नो कर्तव्य राम्रोसित निभाउन चाहन्छु, तर विविध कारणहरूले गर्दा, मैले त्यो राम्ररी गर्न सकेको छैनँ।” वास्तवमा, तँलाई आफ्नो हृदयमा आफू मेहनती नभएको कुरा थाहा हुन्छ, तर तैँले सत्य बोल्दैनस्। यसको साटो, तैँले सत्यतथ्य ढाकछोप गर्न र जिम्‍मेवारीबाट पन्छन हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिक्छस्। के इमान्दार व्यक्तिले यस्तै गर्छ? (गर्दैन।) तैँले यी कुराहरू बोलेर मानिसहरूलाई मूर्ख बनाउँछस् र जसोतसो कुरा टार्छस्। तर तँभित्र जे छ, तँभित्र जे-जस्तोअभिप्राय, त्यसको सार भ्रष्ट स्वभाव नै हो। यदि तँ आफूभित्र भएका कुराहरू र आफ्ना अभिप्रायहरू खुला रूपमा बाहिर ल्याउन र विश्‍लेषण गर्न सक्दैनस् भने, ती कुराहरूलाई शुद्ध पार्न सकिँदैन—र यो कुरा सानोतिनो मामिला होइन! तैँले साँचो रूपमा बोल्नुपर्छ, “मैले कर्तव्य निभाउने कुरालाई अलि पछि सारेको सार्‍यै गर्दै आइरहेको छु। म लापरवाह, झाराटारूवा, र असावधान हुँदै आइरहेको छु। जब म राम्रो मुडमा हुन्छु, म अलिअलि प्रयत्‍न लगाउन सक्छु। तर जब म खराब मुडमा हुन्छु, म सुस्‍त भइहाल्छु, र मलाई प्रयत्‍न लगाउनै मन लाग्दैन, र म दैहिक आरामको लालच गर्न थाल्छु। त्यसैले, कर्तव्य निभाउने मेरा प्रयासहरू अप्रभावकारी छन्। विगतका केही दिनहरूदेखि परिस्थिति उल्टो हुँदै गइरहेको छ, र म तनमन लगाउँदै मेरो कार्यकुशलता सुधार्ने र राम्रोसित कर्तव्य निभाउने प्रयास गरिरहेको छु।” हृदयबाट बोल्‍नु भनेको यही हो। त्यो अर्को तरिकाले बोलेको चाहिँ हृदयबाट बोलेको होइन। आफूलाई निराकरण गरिएला, आफ्नो समस्या मानिसहरूले थाहा पाउलान्, र आफूलाई जबाफदेही ठहराइएला भन्‍ने डरले, तैँले सत्यतथ्य ढाकछोप गर्न हरप्रकारका कारण, औचित्य, र बहानाहरू झिकिस्, र सुरुमा अरू मानिसहरूलाई त्यो परिस्थितिबारे बोल्न बन्द गर्ने तुल्याइस्, र त्यसपछि निराकरणमा पर्नबाट जोगिन जिम्‍मेवारी अन्यत्र मोडिदिइस्। तेरा झूटहरूको स्रोत यही हो। झूटाहरूले जतिसुकै बोले पनि, तिनीहरूले बोलेको केही न केही कुरा निश्‍चय नै सत्य र वास्तविक नै हुने गर्छ। तर तिनीहरूले बोलेका मुख्य कुराहरूमा केही न केही झूट र तिनीहरूको केही न केही अभिप्राय रहेकै हुन्छ। त्यसकारण, के कुराचाहिँ सत्य हो र केचाहिँ असत्य हो भनेर खुट्याउनु र छुट्याउनु एकदमै महत्त्वपूर्ण हुन्छ। तर यस्तो गर्न सजिलो छैन। तिनीहरूले बोलेका केही कुराहरू दूषित र सिँगारपटार गरिएका हुन्छन्, तिनीहरूले बोलेका कतिपय कुराहरू तथ्यसँग मेल खान्छन्, र तिनीहरूले बोलेका कति कुराचाहिँ तथ्यसँग बाझिन्छन्; यसरी तथ्य र कल्पना मिसिएपछि, सत्य र असत्य छुट्याउन गाह्रो हुन्छ। यस्तो व्यक्ति सबैभन्दा छली, र पहिचान गर्न सबैभन्दा गाह्रो व्यक्ति हुन्छ। यदि यस्ताले सत्यता स्विकार्न र इमान्दारिता अभ्यास गर्न सक्दैनन् भने, तिनीहरू निश्‍चय नै निष्कासित हुनेछन्। त्यसोभए, मानिसहरूले कुन मार्ग चुन्‍नुपर्छ? इमान्दारीता अभ्यास गर्ने मार्ग कुन हो? तिमीहरूले सत्य बोल्न सिक्‍नुपर्छ, र आफ्ना वास्तविक स्थिति र समस्याहरूबारे खुलस्त सङ्गति गर्न सक्षम बन्‍नुपर्छ। इमान्दार मानिसहरूले अभ्यास गर्ने यसरी नै हो, र यस्तो अभ्यास सही हुन्छ। जोसँग विवेक र समझ हुन्छ, तिनीहरू सबै नै इमान्दार बन्‍ने कार्यमा लागिपर्न इच्छुक हुन्छन्। इमान्दार मानिसहरूले मात्र साँचो रूपमा खुसी र सहज महसुस गर्छन्, र परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सत्यता अभ्यास गरेर मात्रै मान्छेले वास्तविक खुसी उपभोग गर्न सक्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

जब तैँले अरूसँग अन्तरक्रिया गर्छस्, तैँले पहिले उनीहरूलाई तेरो साँचो हृदय र इमानदारीता बुझ्न दिनुपर्छ। यदि, अरूसँग बोल्दा र सँगसँगै मिलेर काम गर्दा, र अरूलाई सम्पर्क गर्ने प्रयास गर्दा, कसैको बोलीवचन लापरवाहीपूर्ण, आडम्बरी, ठट्यौलीपूर्ण, चापलुसीले भरिएको, गैरजिम्मेवार, र काल्पनिक छन् भने, वा यदि उनीहरू केवल अरूको कृपा पाउनका निम्ति मात्रै बोल्छन् भने, उनीहरूका कुराहरूमा पूर्ण विश्‍वसनीयताको कमी हुन्छ, र उनीहरू अलिकति पनि इमानदार हुँदैनन्; अरू मानिसहरू जोसुकै भए पनि तिनीहरूसँग अन्तरक्रिया गर्ने उनीहरूको तरिका यही हो। त्यस्तो व्यक्तिमा इमानदार हृदय हुँदैन। यो इमानदार व्यक्ति होइन। मानौं, कुनै व्यक्ति नकारात्मक स्थितिमा छ, र उसले इमानदारी तँलाई भन्छ: “मलाई ठ्याक्कै बताउनुहोस्, म किन यति धेरै नकारात्मक छु। मैले यो पत्ता लगाउनै सकेको छैन!” अनि मानौँ, वास्तवमा तँलाई आफ्नो हृदयमा उसको समस्याबारे थाहा छ, तर तँ त्यो कुरा उसलाई भन्दैनस्, बरु त्यसको साटो यसो भन्छस्: “यो केही पनि होइन। तपाईं नकारात्मक भइरहनुभएको हुनुहुन्‍न; मलाई पनि त्यस्तै हुने गर्छ।” त्यो व्यक्तिका लागि यी शब्दहरू ठूलो सान्त्वना बन्छन्, तर तेरो मनोवृत्ति इमानदार हुँदैन। तँ उसलाई सहज महसुस गराउन र सान्त्वना दिनका निम्ति ऊसँग लापरवाह भइरहेको हुन्छस्; तँ ऊसँग इमानदारीपूर्वक बोल्‍नबाट जोगिएको हुन्छस्। उसले आफ्नो नकारात्मकता त्यागोस् भनेर तैँले उसलाई इमानदारीसाथ सहायता गरिरहेको र उनीहरूका समस्याहरू प्रष्टताका साथ राखिरहेको हुँदैनस्। तैँले एक इमानदार व्यक्तिले गर्नुपर्ने काम गरिरहेको छैनस्। उसलाई सान्त्वना दिन र तिमीहरूको बीचमा कुनै प्रकारको दुश्‍मनी वा झगडा नहोस् भनेर मात्र तैँले ऊसँग झारा टार्ने काम मात्र गरेको छस्—र यसो गर्नु एक इमानदार व्यक्ति बन्‍नु होइन। यसैले, एक इमानदार व्यक्ति बन्‍नका लागि, यस प्रकारको परिस्थिति सामना गर्नुपर्दा, तैँले के गर्नुपर्छ? तैँले देखेका र पहिचान गरेका कुराहरू उसलाई बताउनुपर्छ: “मैले जे देखेको र अनुभव गरेको छु, त्यो म तपाईंलाई बताउँछु। मैले भनेको कुरा सही छ कि गलत छ, तपाईं नै निर्णय गर्नुहोस्। यदि यो गलत छ भने, तपाईंले यसलाई स्वीकार गर्नु पर्दैन। यदि यो सही छ भने, म आशा गर्दछु तपाईंले यसलाई स्वीकार गर्नुहुनेछ। यदि मैले भनेको कुनै कुरा तपाईंलाई सुन्न गाह्रो लाग्यो र त्यसले तपाईंलाई चोट पुर्‍यायो भने, म आशा गर्दछु तपाईंले यस कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्न सक्नुहुनेछ। मेरो अभिप्राय र उद्देश्य भनेको तपाईंलाई सहायता गर्नु हो। म यो समस्यालाई स्पष्ट रूपमा देख्छु: तपाईं आफूलाई अपमान गरिएको र आफ्नो अहम्‌मा कसैले साथ नदिएको महसुस गर्नुहुन्छ, र तपाईंलाई सबैले तुच्छ ठान्छन्, तपाईंलाई आक्रमण गरिँदैछ र तपाईंमाथि त्यस्तो अन्याय त कहिल्यै भएको थिएन भन्‍ने सोच्नुहुन्छ, त्यसैले तपाईं त्यो स्विकार्न सक्नुहुन्न र नकारात्मक बन्नुहुन्छ। तपाईंलाई के लाग्छ—के साँच्चै यस्तो भइरहेको छ?” अनि यो सुनेर उसले कुरा यही नै हो भन्‍ने महसुस गर्छ। वास्तवमा तेरो हृदयमा यही कुरा हुन्छ, तर यदि तँ इमानदार व्यक्ति होइनस् भने, तैँले त्यो कुरा भन्नेछैनस्। तैँले यसो भन्नेछस्, “म पनि प्रायः नकारात्मक नै बन्ने गर्छु,” र जब अर्को व्यक्तिले सबै जना नकारात्मक हुँदा रहेछन् भन्ने सुन्छ, तब उसलाई नकारात्मक हुनु सामान्य नै रहेछ भन्‍ने लाग्छ, र अन्त्यमा, उसले आफ्नो नकारात्मकतालाई छोड्दैन। यदि तँ एक इमानदार व्यक्ति होस् र तैँले इमानदार मनोवृत्ति र इमानदार हृदयले उसलाई सहायता गर्छस् भने, तैँले उसलाई सत्यता बुझ्न र उसको नकारात्मकता छोड्न सहायता गर्न सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

इमानदार व्यक्ति बन्‍नु परमेश्‍वरले मानिसलाई दिनुभएको एउटा मापदण्ड हो। यो मानिसले अभ्यास गर्नैपर्ने सत्यता हो। त्यसो भए, परमेश्‍वरसँग व्यवहार गर्दा मानिसले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? इमानदार बन्‍नुपर्छ: परमेश्‍वरसँग अन्तरक्रिया गर्दा पछ्याउनुपर्ने सिद्धान्त यही हो। अविश्‍वासीहरूले अभ्यास गर्ने चापलूसी वा चिप्‍लोघसाइका कार्यमा संलग्‍न नहो; परमेश्‍वरलाई मान्छेको चिप्‍लोघसाइ र चाप्लुसी जरुरी छैन। इमानदार बन्‍नु नै पर्याप्त हुन्छ। अनि, इमानदार बन्‍नुको अर्थ के हो? यसलाई कसरी अभ्यास गर्ने? (देखावटी रूप धारण नगरी वा कुनै कुरा नलुकाई वा कुनै कुरा गुप्त नराखी परमेश्‍वरसित खुलेर कुरा गर्नु, परमेश्‍वरसँग इमानदार हृदयले भेट गर्नु, र कुनै पनि छल वा चलाकीविना सीधा कुरा बोल्‍नु।) ठीक भन्यौ। इमानदार व्यक्ति बन्‍नको लागि, तैँले सुरुमा आफ्‍ना व्यक्तिगत इच्‍छाहरूलाई पन्छाउनुपर्छ। परमेश्‍वरले तँसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा, तेरो हृदयमा के छ त्यो कुरा बता, र तेरा शब्‍दहरूका परिणामहरू के हुनेछन् त्यसको बारेमा चिन्तन गर्ने वा विचार-विमर्श गर्ने नगर्; तैँले जे विचार गरिरहेको छस् त्यही भन्, तेरा उत्प्रेरणाहरूलाई पन्छाएर राख्, अनि कुनै उद्देश्य हासिल गर्नको लागि मात्रै कुराहरू बोल्‍ने नगर्। जब तँसँग अति धेरै व्यक्तिगत अभिप्राय र अशुद्धताहरू हुन्छन्, तब तँ सधैँ आफूले बोल्ने शैलीमा हिसाबकिताब गरिरहेको हुन्छस्, र सोच्छस्, “मैले यो कुरा भन्‍नुपर्छ, त्यो कुरा होइन, मैले बोल्‍ने कुरामा म होशियार बन्‍नुपर्छ। यसलाई म आफूलाई फाइदा हुने गरी, र मेरा कमीकमजोरी ढाकिने र परमेश्‍वरमा असल छाप पर्ने गरी बताउनेछु।” के तँमा मनसायहरू छैनन्? तिमीहरूले मुख खोल्‍नुभन्दा पहिले, तिमीहरूको मन कपटी विचारहरूले भरिएको हुन्छ, तिमीहरू आफूले भन्‍न चाहेको कुरालाई धेरैपटक खेलाउँछौ, र यसरी तिमीहरूका मुखबाट निस्कँदा ती शब्‍दहरू त्यति शुद्ध हुँदैनन्, र ती अलिकति पनि सच्‍चा हुँदैनन्, र तिनमा तिमीहरूका आफ्‍नै मनसाय र शैतानका चलाकीहरू हुन्छन्। इमानदार बन्‍नु भनेको यो होइन; यो त अशुभ अभिप्राय र दुष्ट मनसाय राख्‍नु हो। यति मात्र होइन, जब तँ बोल्छस्, तब तँ सधैँ परमेश्‍वरको अनुहारको भाव र उहाँको हेराइबाट सङ्केत लिन्छस्: यदि उहाँको अनुहारमा सकारात्मक भाव छ भने, तँ आफ्‍नो कुरालाई जारी राख्छस्; छैन भने, तँ रोकिन्छस् र केही पनि भन्दैनस्; यदि परमेश्‍वरको हेराइ नराम्रो छ, र उहाँलाई आफूले सुनेको कुरा मन परेन भन्‍ने देखियो भने, तँ यसबारेमा फेरि विचार गर्छस्, र मनमनै भन्छस्, “ठीकै छ, म तपाईँलाई रोचक लाग्‍ने, तपाईँलाई खुशी बनाउने, तपाईंलाई मन पर्ने, र मप्रति सकारात्मक बनाउने कुरा बताउँछु।” के यो इमानदार बन्‍नु हो? होइन। … कतिपय मानिसहरूले यस्तो विचार गर्छन्, “यदि तपाईंलाई यसको बारेमा थाहा छैन भने म यसको बारेमा उजुरी दिनेछैन। बरु, अरू कसैले यसको उजुरी दिओस् भनेर म प्रतीक्षा गर्नेछु, त्यसपछि मात्रै अरूसँगै यसको बारेमा म पनि बोल्‍नेछु। यसो गरेर मैले तपाईंलाई मेरो उजुरी साँचो हो भन्‍ने जानकारी दिन्छु, तर यसको बारेमा उजुरी दिने पहिलो व्यक्ति म नै भएँ भने मलाई निराकरण गरिने सम्‍भावना हुन्छ। आफ्‍नो टाउको बाहिर निकाल्‍ने चरालाई नै गोली लाग्छ, र म त्यो चरा हुन चाहन्‍नँ। अवश्य नै सुरुमा अघि सर्ने व्यक्ति म बन्‍नेछैन।” के त्यो इमानदार बन्‍नु हो त? मानौं तैँले कसैको बारेमा साँचो जानकारी थाहा पाइस्, अनि यदि यसको बारेमा जान्‍ने तँ मात्रै होस् र अरू कसैलाई थाहा छैन, र तिनीहरूले अझै पनि त्यो व्यक्ति असल छ भन्‍ने सोच्‍छन् भने, र यसको बारेमा ख्रीष्‍टलाई पनि थाहा छैन भने, यस्ता परिस्‍थितिहरूमा के तैँले ख्रीष्‍टलाई यसको बारेमा पूर्ण रूपमा बताउनेछस्? यदि तैँले यसलाई लुकाउँछस्, पन्छ्याउँछस्, र यसको बारेमा कहिल्यै केही भन्दैनस्, यसको बारेमा कहिल्यै खुलासा गर्दैनस् भने, र त्यो व्यक्तिको यथार्थ प्रकट भएपछि र उसलाई पदबाट मुक्त गरिएपछि वा परमेश्‍वरको घरबाट निकालिएपछि मात्रै तँ खडा हुन्छस् र त्यसको बारेमा बोल्छस् भने, के त्यो इमानदार बन्‍नु हो त? समस्या छ भनेर जसलाई खुलासा गरिएको भए पनि वा अरू जुनसुकै समस्याको बारेमा उजुरी गरिएको भए पनि, तँ सधैँ अन्तिममा बोल्‍ने व्यक्ति हुन्छस्। के त्यो इमानदार बन्‍नु हो त? मानौं तँलाई व्यक्तिगत रूपमा कुनै व्यक्ति मन पर्दैन वा कुनै व्यक्तिसँग तँप्रति ईख छ। त्यो व्यक्ति दुष्ट व्यक्ति नहुन सक्छ वा त्यो व्यक्तिले कुनै दुष्ट कार्य नगरेको नहुन सक्छ, तर तैँले उसलाई घृणा गर्छस् र ऊसको पतन गराउन, उसलाई मूर्ख देखाउन चाहन्छस्, त्यसकारण तँ उसको बारेमा खराब कुरा भन्‍ने उपायहरू र अवसरहरूको प्रतीक्षा गर्छस्। तैँले यो व्यक्तिको बारेमा निर्णयात्मक अभिव्यक्तिहरू नदिई बोलिरहेको मात्रै हुनसक्‍ने भए पनि, तैँले मामलाको बारेमा गरेको व्याख्याको हरेक भागमा तेरा मनसायहरू स्पष्ट बन्छन्। तैँले तिनीहरूको निराकरण गर्न माथिको हातको प्रयोग गर्ने प्रयास गरिरहेको हुन्छस्। सतही रूपमा, तैँले साँचो तथ्यहरूको बारेमा कुरा गरिरहेको छस् भन्‍ने देखिन्छ, तर ती तेरा व्यक्तिगत मनसायहरूद्वारा कलङ्कित भएका हुन्छन्; यो इमानदार बन्‍नु होइन।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग दुई)

यदि कोही खुला र सोझो छ भने ऊ इमान्दार व्यक्ति हो। उसले आफ्‍नो हृदय पूर्ण रूपमा परमेश्‍वरको निम्ति खोलिदिएको छ र उसँग लुकाउनु पर्ने केही कुरा छैन न त ऊ कुनै कुराबाट लुक्नु पर्ने नै छ। उसले आफ्‍नो हृदय परमेश्‍वरलाई दिएको छ, र उहाँसामु खोलेर देखाइदिएको छ, अर्थात उसले आफ्नो सम्पूर्ण अस्तित्व उहाँमा सुम्पिदिएको छ। त्यसोभए, के ऊ परमेश्‍वरबाट अझै पनि टाढा हुन सक्छ त? अहँ, हुन सक्दैन र त्यसैले उसलाई परमेश्‍वरमा समर्पित हुन सहज हुन्छ। यदि परमेश्‍वरले ऊ छली छ भनी भन्नुभयो भने उसले त्यो कुरा स्विकार्छ। यदि परमेश्‍वरले ऊ अहङ्कारी र स्वधर्मी छ भनी भन्नुहुन्छ भने, उसले त्यो पनि स्विकार्छ र उसले यी कुराहरूलाई स्विकारेर त्यतिकै छोड्ने काम गर्दैन—ऊ पश्‍चात्ताप गर्न, सत्यता सिद्धान्तहरूतर्फ लागिपर्न, र आफू गलत भएको महसुस गर्दा त्यसलाई सच्याउन र आफ्ना गल्तीहरू सुधार्न सक्षम हुन्छ। थाहै नभई, उसले आफ्‍ना धेरै गलत शैलीहरू सुधार गरिसकेका हुन्छ, र ऊ बिस्तारै कमभन्दा कम छली, धोकेबाज, लापरवाह र झाराटारुवा हुँदै जान्छन्। ऊ जति लामो समय यस प्रकारले जिउँछ, त्यत्ति नै बढी खुला र सम्मानजनक बन्नेछ, र त्यति नै बढी इमानदार व्यक्ति बन्ने लक्ष्यको नजिक पुग्नेछ। ज्योतिमा जिउनु भनेकै यही हो। यो सबै महिमा परमेश्‍वरलाई जान्छ। जब मानिसहरू ज्योतिमा जिउँछन् यो परमेश्‍वरले गर्दा नै भएको हुन्छ—यो तिनीहरूले घमण्ड गर्ने कुरा होइन। जब मानिसहरू ज्योतिमा जिउँछन्, तब तिनीहरूले हेरक सत्यता बुझ्छन्, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, तिनीहरूलाई आफूले सामना गर्ने हरेक समस्यामा सत्यता खोजी गर्न र त्यसलाई अभ्यास गर्न आउँछ, र तिनीहरू विवेक र समझसाथ जिउँछन्। तिनीहरूलाई धर्मी मानिसहरू भन्‍न नसकिए पनि, परमेश्‍वरको नजरमा तिनीहरूमा केही न केही मानव स्वरूप हुन्छ, र कम्तीमा पनि, तिनीहरूका बोली र कार्यले परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेका हुँदैनन्, आफूलाई समस्या आइपर्दा तिनीहरूले सत्यता खोजी गर्न सक्छन्, र तिनीहरूमा परमेश्‍वरप्रति आज्ञाकारी हृदय हुन्छ। तसर्थ, तिनीहरू तुलनात्मक रूपमा सकुशल र सुरक्षित हुन्छन्, र सम्भवतः परमेश्‍वरलाई धोका दिँदैनन्। उनीहरूमा सत्यताको त्यति गहन ज्ञान नभए पनि, उनीहरू आज्ञापालन गर्न र समर्पित हुन सक्छन्, तिनीहरूसँग परमेश्‍वरको डर मान्ने, र दुष्टताबाट अलग रहने हृदय हुन्छ। जब उनीहरूलाई कुनै कार्य वा कर्तव्य दिइन्छ, उनीहरूले आफ्नो सम्पूर्ण हृदय र मनले त्यो गर्न, र आफ्नो क्षमताले भ्याएसम्म गर्न सक्छन्। यस प्रकारको व्यक्ति भरोसायोग्य हुन्छ र ऊप्रति परमेश्‍वरलाई आत्मविश्‍वास हुन्छ—यस्ता मानिसहरू ज्योतिमा जिउँछन्। के ज्योतिमा जिउनेहरूले परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्छन्? के उनीहरूले अझै पनि परमेश्‍वरबाट आफ्नो हृदय लुकाउन सक्छन्? के अझै पनि तिनीहरूले परमेश्‍वरलाई भन्‍न नसक्‍ने गोप्य कुराहरू हुन्छन्? के तिनीहरूमा अझै पनि गुप्त र चलाकीहरू हुन्छन्? हुँदैनन्। तिनीहरूले परमेश्‍वरसामु पूर्ण रूपमा हृदय खोलेका हुन्छन्, र तिनीहरूले लुकाइरहेको र आँखाबाट ओझेल गरिरहेको कुनै पनि कुरा हुँदैन। तिनीहरूले खुलेर परमेश्‍वरलाई आफ्ना व्यक्तिगत कुराहरू बताउन, उहाँसँग कुनै पनि कुराको बारेमा सङ्गति गर्न, र उहाँलाई सबै कुरा थाहा दिन सक्छन्। तिनीहरूले परमेश्‍वरलाई नभन्‍ने र नदेखाउने कुरा केही पनि हुँदैन। जब मानिसहरूले यो मापदण्ड हासिल गर्छन्, तब तिनीहरूको जीवन सहज, स्वतन्त्र र मुक्त हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

के त्यति भनेर मात्र तँ इमानदार व्यक्ति बन्न सक्छस्? (सक्दैनस्, तँमा इमानदार व्यक्तिको प्रकटीकरण हुनैपर्छ।) इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैं परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, “मेरो योग्यता कम भए पनि मसँग इमानदार हृदय छ।” तापनि जब तँमाथि कुनै काम-कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा भक्तिसाथ लाग्‍नुपर्छ, र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निभाउन आफ्‍नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि तैँले आफूले जानेको र बुझेको कुरा गर्दैनस्, अनि आफ्नो प्रयासको ५० वा ६० प्रतिशत मात्र लगाउँछस् भने, त्यसमा आफ्नो सारा हृदय र सारा बल लगाइरहेको छैनस्। बरु तँ धूर्त होस् र सुस्त हुँदै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्‍वरलाई यस्ता धूर्त र छली मानिसहरूको कुनै काम हुँदैन; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्‍वरले इमान्दार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। भक्त सेवाकर्ताहरूसमेत इमानदार हुनैपर्छ। लामो समयदेखिका लापरवाह, झाराटारुवा मानिसहरू, धूर्त र सुस्त हुन खोज्ने मानिसहरू सबै छली हुन्, तिनीहरू सबै पिशाच हुन्, तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरमा साँचो विश्‍वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिसहरू सोच्छन्, “इमानदार व्यक्ति बन्‍नु भनेको सत्य बोल्‍नु र झूट नबोल्‍नु मात्रै हो। इमानदार व्यक्ति बन्‍न साँच्‍चै सहज हुन्छ।” यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्‍वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्‍य हुन्छ। यसले के सङ्केत गर्छ? यसले के सङ्केत गर्छ भने, इमानदार हृदयले तेरो व्यवहारलाई नियन्त्रण र तेरो स्थितिलाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्‍वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यस्तो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ जिउनुपर्ने स्थिति त्यही हो, तैँले त्यसरी नै व्यवहार गर्नुपर्छ र त्यसरी नै आफूलाई समर्पित गर्नुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तँ इमानदार व्यक्ति बन्‍नुपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनुपर्छ, र तैँले समस्याहरू समाधान गर्न सत्यता खोज्ने तरिकाहरू फेला पार्नुपर्छ। विश्‍वासघाती व्यक्ति नबन्। समस्याहरू आइपर्दा, यदि तँ जिम्मेवारीबाट भाग्छस् र यसलाई पन्छाउँछस् भने, अविश्‍वासीहरूले समेत तेरो निन्दा गर्नेछन्, परमेश्वरको घरको त कुरै गर्नु परेन! यो कुरालाई परमेश्वरले निन्दा गर्नुहुन्छ र सराप्नुहुन्छ अनि परमेश्वरका चुनिएका मानिसहरूले यस्तो व्यवहारलाई घृणा र इन्कार गर्छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले यस्तो व्यवहारलाई घृणा र इन्कार गर्छन्। परमेश्‍वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ, तर छली र चिप्ले मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ विश्‍वासघाती व्यक्ति होस् र चालहरू चल्ने प्रयास गर्छस् भने, के परमेश्‍वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्‍वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जवाफदेही ठहराइनेछ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र विश्‍वासघाती मानिसहरूलाई मन पराउनुहन्‍न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र अन्योल हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। क्षणिक अज्ञानता त बुझ्‍न सकिने कुरा हो, तर सत्यता स्विकार्न पूरै अस्वीकार गर्नु भनेको हठीपन मात्र हो। इमानदार व्यक्तिले जिम्मेवारी लिन सक्छ। त्यस्ता व्यक्तिहरूले आफ्नो लाभ-हानिलाई विचार गर्दैनन्, तिनीहरूले बस परमेश्‍वरको घरका काम र हितको रक्षा गर्छन्। उनीहरू दयालु र इमानदार हृदयका हुन्छन् जुन एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै हुन्छन्। उनीहरूको काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्तिले सधैँ चालहरू चल्छ, सधैँ कामकुराहरू लुकाउँछ, ढाकछोप गर्छ, र आफूलाई यति दह्रिलो आवरणमा लुकाएर राख्छ कि कसैले पनि उसको वास्तविक रूप चिन्‍न सक्दैन। मानिसहरूले तेरा भित्री विचारहरू देख्‍न नसक्लान्, तर परमेश्‍वरले तेरो हृदयको गहिराइमा भएका कुराहरूसमेत देख्‍न सक्‍नुहुन्छ। यदि परमेश्‍वरले तँ इमानदार व्यक्ति होइनस्, तँ विश्‍वासलाग्दो छैनस्, तैँले कहिल्यै सत्यता स्वीकार गर्दैनस्, तँ सधैँ उहाँलाई धोका दिने प्रयास गरिरहेको हुन्छस्, र तैँले आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भन्‍ने तेरो वास्तविकता देख्‍नुभयो भने, उहाँले तँलाई मन पराउनुहुनेछैन, बरु उहाँले तँलाई घृणा गर्नुहुनेछ र त्याग्‍नुहुनेछ। जो अविश्‍वासीहरूमाझ फस्टाउँछन्, बोल्न सिपालु र समझदार छन् तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबैलाई असाधारण रूपले चतुर, अत्यन्तै छली र विश्वासघाती, वास्तविक दियाबलस शैतान हुन् भनेर भन्‍न सकिन्छ। के परमेश्‍वरले यस्तो कुनै व्यक्तिलाई मुक्ति दिन सक्‍नुहुन्छ? परमेश्‍वरले दियाबलसहरू—छली र विश्वासघाती मानिसहरू—लाई भन्दा धेरै अरू कुनै कुरालाई घृणा गर्नुहुन्‍न। परमेश्‍वरले यस्ता मानिसहरूलाई अवश्यै मुक्ति दिनुहुन्‍न, त्यसैले तिमीहरू जे गरे पनि, यस प्रकारका व्यक्ति चाहिँ नबन। जो सधैँ चनाखो रहन्छन् र बोल्ने बेलामा सबै कोणहरूको बारेमा विचार गर्छन्, जो चापलुसीपूर्ण र चतुर छन् र मामलाहरू सामना गर्दा परिस्थितिहरूलाई स्पष्ट रूपमा बुझ्‍न खोज्छन्—म तँलाई भन्छु, परमेश्‍वरले यी मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूले मुक्ति पाउँदैनन्। मानिसहरू छली र विश्वासघाती छन् भने, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती अझै पनि भ्रामक झूट नै हुन्। तिनीहरूका शब्‍दहरू जति मीठा सुनिन्छन्, तिनीहरू त्यति नै दियाबलस शैतान हुन्छन्। ठीकसित भन्‍ने हो भने परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने मानिसहरू यिनै हुन्। तिमीहरू के भन्छौ: के छली, झूट बोल्‍न सिपालु, र चिप्‍लो बोल्‍ने मानिसहरूले पवित्र आत्‍माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्‍माको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र विश्वासघाती मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई घृणा र इन्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूमा कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई जनावरको दर्जामा राख्‍नुहुन्छ। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरूले केवल मानवको खाल ओढेका हुन्छन्; तिनीहरूको सारमा, तिनीहरू दियाबलस शैतानजस्तै हुन्छन्, तिनीहरू जिउँदा लासहरू हुन्, र परमेश्‍वरले तिनीहरूलाई कहिल्यै मुक्ति दिनुहुनेछैन।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू (८)

मानिसहरूले परमेश्वरसामु आफ्नो कर्तव्य वा कुनै काम गर्दा तिनीहरूको हृदय शुद्ध हुनैपर्छ: यो ताजा पानीजस्तै—सङ्लो, शुद्ध हुनैपर्छ। त्यसोभए कस्तो प्रकारको मनोवृत्ति सही हो त? सही मनोवृत्ति भनेको तैँले जेसुकै गरिरहेको भए तापनि, तँ अरूसँग आफ्नो हृदयमा भएका जस्तासुकै कुरा, आफ्ना जस्तासुकै विचार छलफल गर्न सक्षम हुनु हो। यदि कसैले तेरो कार्यशैलीले काम गर्दैन भनेर अर्कै विचार राख्यो, र तँलाई त्यो विचार राम्रै लाग्यो भने, तँ आफ्ना तरिकाहरू छोडेर तिनीहरूले सोचेअनुसार कार्यहरू गर्छस्। त्यसो गर्दा, सबैले तँ अरूका सुझावहरू स्विकार्न, सही मार्ग रोज्न, सिद्धान्तअनुसार, अनि पारदर्शिता र स्पष्टसँग काम गर्न सक्छस् भन्ने देख्छन्। तेरो हृदय कालो छैन, तँ इमानदार मनोवृत्तिमा भरपर्दै काम गर्छस् र बोल्छस् भनी सबैले देख्‍नेछन्। तैँले कालोलाई कालो भन्छस्। होलाई हो र होइनलाई होइन भन्छस्। तँमा कुनै छलहरू, कुनै गोप्यता हुँदैन, तँ एक अति नै पारदर्शी व्यक्ति हुन्छस्। के यो एक प्रकारको मनोवृत्ति होइन र? यो मानिसहरू, घटनाहरू र मामिलाहरूप्रति हुने मनोवृत्ति हो र यसले व्यक्तिको स्वभाव प्रतिनिधित्व गर्छ। अर्कोतिर, हुन सक्छ, कुनै व्यक्ति कहिल्यै पनि खुलस्त हुँदैन, र उसले आफूले सोचेका कुराहरू अरूलाई कहिल्यै बताउँदैन। अनि उसले आफूले गर्ने सबै कुरामा कसैसँग पनि कहिल्यै परामर्श लिँदैन, बरु त्यसको साटो अरूप्रति हृदय बन्द राख्छ, यस्तो लाग्छ, ऊ हरेक मोडमा एकैनास अरूसित सतर्क रहन्छ। उसले सकेसम्म आफूलाई बलियोसँग लुकाउँछ। के यो धूर्त व्यक्ति होइन र? उदाहरणका लागि, उसलाई आफ्नो एउटा विचार उत्तम लाग्छ, र उसले यस्तो सोच्छ, “म अहिलेलाई यो आफैसँग राख्छु। यदि मैले यो विचार बताएँ भने, तिमीहरूले यसलाई प्रयोग गर्न सक्‍नेछौ र मेरो गर्जन चोर्न सक्‍नेछौ र म त्यो हुनै दिन्नँ। म यसलाई रोकेर राख्छु।” अथवा यदि त्यहाँ उसले पूर्ण रूपमा नबुझेको कुनै कुरा छ भने यस्तो सोच्नेछ: “म अब बोल्दिनँ। यदि म बोलेँ भने, र कसैले मेरोभन्दा पनि अझ उच्‍च कुरा भन्यो भने के हुन्छ, के म एक मूर्खजस्तो देखिन्‍नँ र? सबै जनाले मेरो रूप छर्लङ्गै देख्‍नेछन्, यसमा मेरो कमजोरी देख्‍नेछन्। मैले केही भन्‍नु हुँदैन।” विचार-विमर्श, अन्तर्निहित आशयलाई जस्तो सुकै भए पनि, ऊ सबैले आफ्नो वास्तविकता छर्लङ्गै देख्नेछन् भनी डराउँछ। ऊ सधैं यस प्रकारको दृष्टिकोण र मनोवृत्तिसाथ आफ्नो कर्तव्य निभाउँछ र मानिस, मामिला र घटनाहरूलाई व्यवहार गर्छ। यो कस्तो प्रकारको स्वभाव हो त? यो त एक बेइमान, छली र दुष्ट स्वभाव हो। सतही रूपमा हेर्दा, उसले आफूले बताउन सक्‍ने सबै कुरा अरूलाई बताएको जस्तो देखिन्छ, तर भित्री रूपमा भने, उसले केही कुरा लुकाउँछ। उसले के लुकाउँछ त? उसले कहिल्यै पनि आफ्‍नो प्रतिष्ठा र रुचिहरूसँग सम्‍बन्धित कुराहरू गर्दैन—उसले यी कुराहरू निजी हुन् भन्ने सोच्छ र यी बारे कसैसँग कुराकानी गर्दैन, चाहे त्यो उसका आमाबाबु नै किन नहोऊन्। उसले कहिल्यै पनि यी कुराहरू भन्दैन। यो समस्या हो! तँलाई के लाग्छ, तैँले यी कुराहरू भनिनस् भने परमेश्वरलाई तीबारे थाहा हुनेछैन? मानिसहरू परमेश्वरलाई थाहा हुन्छ त भन्छन्, तर के तिनीहरू परमेश्वरलाई थाहा हुन्छ भनेर हृदयमा पक्का हुन सक्छन् त? मानिसहरू “परमेश्वरलाई सबै कुरा थाहा छ; मैले हृदयमा सोच्ने कुरा, प्रकट नगरे पनि, परमेश्वर गोप्य रूपमा जाँच गर्नुहुन्छ, परमेश्वरलाई पक्कै थाहा छ। म परमेश्वरबाट केही लुकाउन सक्दिनँ, त्यसैले मैले त्यो कुरा बोल्नैपर्छ, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खुलेर बताउनैपर्छ। मेरा विचार-धारणाहरू असल वा खराब जे भए पनि मैले साँचो रूपमा ती भन्नैपर्छ। म कुटिल, छली, स्वार्थी वा घिनलाग्दो व्यक्ति हुनु हुँदैन—म इमानदार व्यक्ति हुनैपर्छ।” भनेर कहिल्यै महसुस गर्दैनन्। यदि मानिसहरू यसरी सोच्न सक्छन् भने, यो सही मनोवृत्ति हो। धेरै जना मानिसहरूसित सत्यताको खोजी गर्नुको साटो आ-आफ्नै ससाना एजेन्डाहरू हुन्छन्। तिनीहरूका लागि आफ्नै रुचि, इज्‍जत, र मानिसहरूको मनमा तिनीहरूले ओगटेको स्थान र प्रतिष्ठा नै धेरै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले यिनै कुराहरूलाई मात्रै कदर गर्छन्। तिनीहरू यी कुरालाई जकडेर राख्छन् र यिनैलाई आफ्नो जीवन मान्छन्। परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ वा व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरूका निम्ति कम महत्त्वको हुन्छ। अहिलेको लागि तिनीहरूले यसलाई बेवास्ता गर्छन्; अहिलेको लागि तिनीहरू त्यो झुन्डको मालिक हुन् कि होइनन्, मानिसहरूले तिनीहरूलाई हेर्छन् कि हेर्दैनन् वा आफ्नो कुरामा वजन छ कि छैन भन्ने कुरा मात्र विचार गर्छन्। तिनीहरूको प्राथमिक चिन्ता नै ओहोदा ओगट्नु हो। जब मानिसहरू समूहमा हुन्छन्, प्रायः तिनीहरू सबैले यस प्रकारको प्रतिष्ठा, यस प्रकारका मौकाहरू खोज्छन्। जब तिनीहरू उच्‍च प्रतिभाशाली हुन्छन्, निश्‍चय नै तिनीहरू आफ्नो क्षेत्रमा सफल हुन चाहन्छन्; यदि तिनीहरू मध्यम क्षमताका छन् भने पनि, तिनीहरू समूहमा उच्‍च स्थानमा रहन चाहन्छन्; र यदि तिनीहरू औसत क्षमता र योग्यताका भएर समूहमा निम्‍न स्थानमा छन् भने पनि, अरूले आफूलाई उच्‍च नजरले हेरून् भन्‍ने चाहन्छन्, अरूले आफूलाई नीच नामानून् भन्ने चाहन्छन्। यी मानिसहरूले इज्‍जत र मर्यादामै रेखा खिच्छन्: तिनीहरूले यी कुराहरूलाई नै समातिबस्‍नुपर्छ। तिनीहरूसित कुनै निष्ठा हुन सक्दैन, र न त परमेश्‍वरको अनुमोदन न त स्वीकृति पाएका हुन्छन्, तर तिनीहरूले अरूमाझ कमाएको इज्‍जत, हैसियत, वा सम्मान गुमाउन सक्दै-सक्दैनन्—जुन शैतानको स्वभाव हो। तर मानिसहरूलाई यसबारे सचेत नै छैनन्। उनीहरू इज्‍जतको टुक्रालाई आखिरीसम्म समातेर राख्‍नुपर्छ भनी विश्‍वास गर्छन्। यी व्यर्थ र सतही कुराहरूलाई पूर्ण रूपमा त्याग्दा र पन्छाउँदा मात्र तिनीहरू वास्तविक व्यक्ति बन्छन् भन्‍ने कुरा उनीहरूलाई थाहा छैन। यदि व्यक्तिले यी त्याग्नुपर्ने कुराहरूलाई जीवन मानेर रक्षा गर्छ भने, उसले जीवन गुमाउँछ। प्रतिष्ठालाई आफ्नो जीवन बनाउने मानिसहरूले आफ्नो जीवन गुमाउँछन्। तिनीहरूलाई कुन कुरा खतरामा छ भन्‍ने थाहा हुँदैन। त्यसैले, जब तिनीहरूले कार्य गर्छन्, तिनीहरूले सधैं केही न केही आफैभित्र रोकेर राख्छन्, तिनीहरू सधैं आफ्नो इज्‍जत र प्रतिष्ठा जोगाउने कोसिस गर्छन्, तिनीहरू यी कुराहरूलाई पहिलो स्थानमा राख्छन्, केवल आफ्नै उद्देश्य, आफ्नै अनुचित सुरक्षाको कुरा मात्र गर्छन्। तिनीहरूले गर्ने सबै काम आफ्नै लागि हुन्छ। तिनीहरू हर उज्‍ज्वल कुराको पछि दौडन्छन्, र अरूलाई तिनीहरू त्यसको एउटा हिस्सा थिए भनी देखाउँछन्। वास्तवमा तिनीहरूसँग त्यसको कुनै सरोकार हुँदैन, तर तिनीहरू कहिल्यै पृष्ठभूमिमा धकेलिन चाहँदैनन्, तिनीहरू सधैं अरू मानिसहरूले तिनीहरूलाई हेला गर्लान् भनी डराउँछन्, तिनीहरू सधैं अरू मानिसहरूले तिनीहरू केही पनि होइनन्, तिनीहरू केही पनि गर्न असमर्थ छन्, तिनीहरूसँग कुनै सीप छैन भन्लान् भनी डराउँछन्। के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित छैन र? जब तँ यी इज्जत र हैसियत जस्ता कुराहरूलाई छोड्न सक्छस्, तब तँ अझ ढुक्‍क र स्वतन्त्र हुनेछस्; तैँले इमानदार हुने बाटोमा पाइला राखेको हुनेछस्। तर धेरैका लागि, यो कुरा हासिल गर्न सजिलो हुँदैन। उदाहरणको लागि, जब क्यामेरा देखा पर्छ, मानिसहरू तछाड-मछाड गर्दै अगाडि आइपुग्छन्; तिनीहरूलाई आफ्नो अनुहार क्यामेरामा पार्न मन पर्छ, जति धेरै कभरेज हुन्छ उति नै राम्रो ठान्छन्; तिनीहरू पर्याप्त कभरेज प्राप्त नहोला कि भनेर डराउँछन्, र यो प्राप्त गर्ने मौकाका लागि कुनै पनि मूल्य चुकाउँछन्। अनि, के यो सबै तिनीहरूको शैतानी स्वभावद्वारा निर्देशित हुँदैन र? यी तिनीहरूका शैतानी स्वभावहरू हुन्। त्यसरी तैँले कभरेज पाउँछस्—त्यसपछि के हुन्छ? मानिसहरूले तँलाई ठूलो मानिस सोच्छन्—अनि के हुन्छ? तिनीहरूले तँलाई आदर्श बनाउँछन्—अनि के हुन्छ? के यीमध्ये कुनै पनि कुराले तँसित सत्यता वास्तविकता छ भनेर प्रमाणित गर्छ त? यीमध्ये कुनै पनि कुराको मूल्य हुँदैन। जब तँ यी कुराहरूलाई जित्‍न सक्छस्—जब तँ तीप्रति उदासीन हुन्छस्, र अबउप्रान्त तँ ती कुराहरूलाई महत्त्वपूर्ण मान्‍न छोड्छस्, जब इज्‍जत, घमण्ड, हैसियत, मानिसहरूको प्रशंसाले अबउप्रान्त तेरा विचार र व्यवहार नियन्त्रण गर्न छोड्छन्, र जब यी कुराहरूले तँ आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस् भन्‍ने कुरालाई नियन्त्रण गर्ने कुनै प्रश्‍न उठ्दैन—तब तेरो कर्तव्य प्रदर्शन अझ प्रभावकारी र अझ शुद्ध हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यदि तँ सत्यतालाई प्रेम गर्ने, र सत्यतालाई स्विकार्न सक्षम व्यक्ति होस् भने, तँलाई इमानदार व्यक्ति बन्‍न त्यति कठिन हुनेछैन। तैँले यो निकै सहज रहेछ भन्‍ने अनुभव गर्नेछस्। व्यक्तिगत अनुभव भएकाहरूलाई यो राम्ररी थाहा हुन्छ कि इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा ठूलो बाधा भनेको मानिसहरूको धूर्तता, छलीपन, दुर्भावपूर्णता, र घृणित अभिप्राय हो। जबसम्म यी भ्रष्ट स्वभावहरू हुन्छन्, तबसम्म इमानदार व्यक्ति बन्‍नु अत्यन्तै गाह्रो हुन्छ। तिमीहरू सबैले इमानदार मान्छे बन्‍ने तालिम लिइरहेका छौ, त्यसकारण तिमीहरूसँग यसको केही अनुभव छ। तिमीहरूका अनुभवहरू कस्ता छन्? (हरेक दिन म आफूले बोलेका रद्दी कुराहरू र ढाँटेका झूटहरू सबै लेखेर राख्छु। त्यसपछि, म केही आत्मनिरीक्षण र आत्मविश्‍लेषण गर्छु। मैले यीमध्ये धेरैजसो झूटमा कुनै न कुनै अभिप्राय भेटेको छु, र मैले आफ्नो अभिमान र इज्‍जत बचाउनको लागि ती बोलेको हुन्छु। मैले बोलेको कुरा सत्यताअनुरूप छैन भन्‍ने मलाई थाहा भए पनि, म झूट नबोली र बहाना नगरी बस्‍न सक्दिनँ।) इमानदार व्यक्ति बन्‍नुको सबैभन्दा गाह्रो कुरा त्यही हो। तँ यसबारे सचेत हुनु वा नहुनु महत्त्वपूर्ण कुरा होइन; मुख्य कुरा त यो गलत हो भनेर जान्दाजान्दै पनि तँ आफ्‍ना उद्देश्यहरू पूरा गर्न, आफ्‍नो छवि र इज्‍जत बचाउनको लागि जिद्दी भई निरन्तर झूट बोलिरहन्छस्, र तैँले अनजानमा भयो भनेर गर्ने कुनै पनि दाबी झूटो हुन्छ। इमानदार व्यक्ति बन्‍नुको कडी तेरा मनसाय, अभिप्राय र भ्रष्ट स्वभावहरू समाधान गर्नु हो। झूट बोल्‍ने समस्यालाई यसको स्रोतमै समाधान गर्ने एउटै उपाय यही हो। आफ्ना व्यक्तिगत उद्देश्यहरू हासिल गर्नु, अर्थात्, व्यक्तिगत फाइदा हासिल गर्नु, परिस्थितिको फाइदा उठाउनु, आफूलाई राम्रो देखाउनु, वा अरूको अनुमोदन प्राप्त गर्नु—यी कुराहरू नै मानिसहरूले झूट बोल्‍नुका अभिप्राय र लक्ष्यहरू हुन्। यसप्रकारको झूट बोलाइले भ्रष्ट स्वभाव प्रकट गर्छ, र झूट बोल्‍ने विषयमा तँमा हुनुपर्ने समझ नै यही हो। त्यसो भए, यो भ्रष्ट स्वभावलाई कसरी समाधान गर्नुपर्छ? त्यो सबै तैँले सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरामा अडिएको हुन्छ। यदि तँ सत्यता स्विकार्न र आफ्‍नो वकालत नगरी बोल्‍न सक्छस् भने; यदि तँ आफ्‍नै हितहरूबारे विचार गर्न छोड्न सक्छस् र यसको साटो मण्डलीको काम, परमेश्‍वरको इच्‍छा, र परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूमा ध्यान दिन सक्छस् भने, तैँले झूट बोल्‍न छोड्नेछस्। तँ साँचो र सीधा कुरा बोल्‍न सक्षम हुनेछस्। यो कदविना, तैँले साँचो बोल्‍न सक्‍नेछैनस्, र त्यसले तेरो कदमा केही कमी छ र तँ सत्यता अभ्यास गर्न असक्षम छस् भन्‍ने प्रमाणित गर्छ। त्यसकारण, इमानदार व्यक्ति बन्‍नको लागि सत्यता बुझ्‍ने प्रक्रिया, र कद बढ्ने प्रक्रिया जरुरी हुन्छ। जब हामी यसलाई यसरी हेर्छौँ, तब आठदेखि दश वर्षको अनुभवविना, इमानदार व्यक्ति बन्‍नु असम्‍भव नै हुन्छ। यो हामीले जीवनमा वृद्धि हुने प्रक्रियामा र सत्यता बुझ्‍ने र प्राप्त गर्ने प्रक्रियामा बिताउनुपर्ने समय हो। कतिपय मानिसहरूले यस्तो सोध्‍न सक्छन्: “के झूट बोल्‍ने समस्या समाधान गर्नु र इमानदार व्यक्ति बन्‍नु त्यति गाह्रो हुन सक्छ?” यो कुरा तिमीहरूले कसको बारेमा कुरा गरिरहेका छौ त्यसमा भर पर्छ। यदि यो व्यक्ति सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, उसले निश्‍चित विषयहरूमा झूट बोल्‍न छोड्न सक्छ। तर यदि यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने व्यक्ति हो भने, झूट बोल्‍न छोड्नु उसको लागि झनै गाह्रो हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास

परमेश्वरले इमानदार हुनुपर्छ भनेर तोक्‍नुभएको मापदण्ड अत्यन्तै महत्त्वपूर्ण छ। यदि तैँले इमानदारीता अभ्यास गर्ने सिलसिलामा कैयौँ असफलताहरू भोगिस्, र यसो गर्नु तँलाई अत्यन्तै कठिन लाग्यो भने, तैँले के गर्नुपर्छ? के तैँले नकारात्मक बनेर लुरुक्‍क पर्दै पछाडि फर्कनुपर्छ र सत्यता अभ्यास त्याग्नुपर्छ? यो कुरा व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुराको स्पष्ट सङ्केत हो। केही निश्‍चित अवधिसम्म इमानदारीता अभ्यास गरेपछि, केही व्यक्तिहरू यस्तो सोच्छन्, “इमानदार बन्‍न एकदमै गाह्रो छ—यसबाट मेरो अभिमान, गर्व र प्रतिष्ठामा पर्ने हानि म सहनै सक्दिनँ!” फलस्वरूप, तिनीहरू उप्रान्त इमानदार बन्‍न चाहँदैनन्। वास्तवमा, इमानदार व्यक्ति बन्‍नुको चुनौती नै यहीँनेर छ, र धेरैजसो व्यक्तिहरूले आफूलाई यही बिन्दुमा अल्झिएको र यसलाई अनुभव गर्न असक्षम रहेको पाउँछन्। त्यसोभए, इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नको लागि के कुरा चाहिन्छ त? सबैभन्दा पहिला, व्यक्तिले सत्यतालाई प्रेम गर्नुपर्छ। ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति बन्‍नुपर्छ—यो कुरो निश्‍चित छ। कतिपय मानिसहरूले वर्षौँसम्म इमानदारीता अभ्यास गर्ने अनुभव गरेर साँच्चिकै केही नतिजाहरू हासिल गर्छन्। तिनीहरूले बिस्तारै आफ्ना झूट र छलहरू कम गर्दै लान्छन्, र तिनीहरू वास्तवमै आधारभूत रूपमा इमानदार मानिसहरू बन्छन्। के तिनीहरूको इमानदारीता अभ्यास गर्ने अनुभवदौरान तिनीहरूले बाटोमा कुनै कठिनाइ वा कष्ट नभोगेका हुन सक्छन्? तिनीहरूले पक्कै पनि निकै कष्ट भोगेका छन्। तर तिनीहरू सत्यतालाई प्रेम गर्ने भएकाले, तिनीहरूले इमानदारीता अभ्यास गर्नहेतु कष्ट भोग्‍न, सत्य बोल्नमा र व्यावहारिक कार्यहरू गर्नमा अडिग रहन, इमानदार मान्छे बन्‍न, अनि अन्ततः परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न सकेका हुन्। इमानदार मान्छे बन्‍नको लागि, व्यक्तिले सत्यतालाई प्रेम गर्नुपर्छ र ऊसित परमेश्‍वरमा समर्पित हुने हृदय हुनुपर्छ। यी दुई तत्‍वहरू सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। सत्यता प्रेम गर्ने सबैमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुन्छ। परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई सत्यता अभ्यास गर्न निकै सजिलो हुन्छ, र तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न जुनसुकै प्रकारको कष्ट पनि सहन सक्छन्। यदि कुनै व्यक्तिसित परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, जब उसको सत्यता अभ्यासमा अपमान वा अड्चन र असफलताहरू आइलाग्छन्, तब उसले परमेश्‍वरलाई सन्तुष्ट पार्न, र परमेश्‍वर खुसी हुनुहुञ्जेल, त्यो अपमान र कष्ट सहन सक्‍नेछ। तसर्थ, ऊ सत्यता अभ्यास गर्न सक्षम हुन्छ। सत्यताको कुनै पनि पक्ष अभ्यास गर्ने कार्यमा अवश्यै केही निश्चित हदको कठिनाइ आउँछ, अनि इमानदार व्यक्ति बन्‍ने कार्य त त्योभन्दा पनि मुस्किल छ। सबैभन्दा ठूलो कठिनाइ भनेको व्यक्तिका भ्रष्ट स्वभावहरूले ल्याउने अड्चन हो। सबै मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् र तिनीहरू शैतानी दर्शनहरूअनुसार जिउँछन्। उदाहरणको लागि “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” वा “झूट नबोली कुनै पनि महान्‌ काम सम्पन्‍न गर्न सकिँदैन” भन्‍ने भनाइहरूलाई लिऔँ। यी भनाइहरू शैतानी दर्शन र भ्रष्ट स्वभावका उदाहरणहरू हुन्। मानिसहरूले काम पूरा गर्न, व्यक्तिगत फाइदाहरू प्राप्त गर्न, र आफ्ना लक्ष्यहरू हासिल गर्न झूटको सहारा लिन्छन्। जब व्यक्तिमा यसप्रकारको भ्रष्ट स्वभाव हुन्छ, तब उसलाई इमानदार व्यक्ति बन्‍न त्यति सजिलो हुँदैन। उसले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमाथि भर पर्नुपर्छ, अनि बिस्तारै देहविरुद्ध विद्रोह गर्दै जान, आफ्ना व्यक्तिगत स्वार्थहरू त्याग्‍न, र आफ्नो आडम्बर र घमण्ड फाल्‍न सक्षम हुनको लागि उसले बारम्बार आत्मचिन्तन गर्नु र आफूलाई चिन्‍नुपर्छ। यसको साथै, व्यक्तिले सत्य बोल्न सक्‍ने र झूट बोल्‍नबाट आफूलाई रोक्‍न सक्‍ने इमानदार व्यक्ति बन्नुअघि विभिन्न प्रकारका गालीबेइज्‍जती र आलोचनाहरू सहनुपर्छ। व्यक्तिले इमानदार बन्‍ने अभ्यास गर्दाको अवधिमा, कैयौँ असफलताहरू र आफ्नो भ्रष्ट स्वभाव प्रकट हुने क्षणहरू सामना गर्नु अपरिहार्य कुरा हो। व्यक्तिका शब्द र सोचहरू मेल नखाने कति समयहरू आउन सक्छन् वा ढोंग र छल गर्ने क्षणहरू देखिन सक्छन्। तथापि, तँमाथि जे-जस्ता कुराहरू आइपरे पनि, यदि तँ सत्य बोल्‍न र इमानदार व्यक्ति बन्‍न चाहन्छस् भने, तँ आफ्नो घमण्ड र आडम्बर त्याग्‍न सक्षम हुनुपर्छ। जब तैँले कुनै कुरा बुझ्दैनस्, त्यो बुझिनँ भन्; जब तँ कुनै कुराबारे स्पष्ट हुँदैनस्, त्यो स्पष्ट भएन भन्। अरूले तँलाई नीच नजरले हेर्लान् वा कम सोच्लान् भनेर नडरा। यसरी निरन्तर हृदयबाटै कुरा गर्दा सत्य बोल्दा, तैँले हृदयमा आनन्द, शान्ति अनि स्वतन्त्रता र आजाद भएको अनुभूत गर्नेछस्, अनि आडम्बर र घमण्डले उप्रान्त तँमाथि हैकम जमाउनेछैनन्। तैँले जोसुकैसित अन्तर्क्रिया गरे पनि, यदि तँ आफूले साँचो रूपमा जे सोच्छस् त्यो व्यक्त गर्न सक्छस् भने, र अरूहरूको सामुन्‍ने आफ्नो हृदय खोल्न र आफूले नजानेको कुरा जानेको ढोंग नगर्न सक्छस् भने, त्यो इमानदार मनोवृत्ति हो। कहिलेकाहीँ, मानिसहरूले तँलाई नीच मान्न सक्छन् र तैँले सधैँ सत्य बोल्नेभएकोले तँलाई मूर्ख भन्‍न सक्छन्। त्यस्तो अवस्थामा तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “मलाई सबैले मूर्ख भने पनि, म इमानदार व्यक्ति बन्‍ने, तर छली व्यक्ति नबन्‍ने सङ्कल्प गर्छु। म साँचोसाँचो र तथ्यअनुसार बोल्नेछु। म घिनलाग्दो, भ्रष्ट र परमेश्‍वरसामु बेकार भए पनि, अझै पनि ढोंग नगरी वा कुनै भेष नबदली सत्य नै बोल्नेछु।” यदि तँ यसरी बोल्छस् भने, तेरो हृदय स्थिर र शान्त हुनेछ। इमानदार व्यक्ति बन्‍न, तैँले आफ्नो आडम्बर र घमण्ड त्याग्‍नुपर्छ, अनि सत्य बोल्न र आफ्ना सच्‍चा भावनाहरू व्यक्त गर्न, तैँले अरूले तेरो उपहास र अवहेलना गर्लान् कि भनेर डर मान्‍नु हुँदैन। यदि अरूले तँलाई मूर्ख झैँ व्यवहार गरे नै भने पनि, तैँले बहस गर्ने वा आफ्नो प्रतिरक्षा गर्ने गर्नु हुँदैन। यदि तँ यसरी सत्यता अभ्यास गर्न सक्छस् भने, इमानदार व्यक्ति बन्‍न सक्छस्। यदि तँ आफ्ना दैहिक प्राथमिकताहरू र आफ्नो आडम्बर र घमण्ड त्याग्न सक्दैनस् भने, र यदि तँ आफूले नजानेको कुरा पनि जानेको नाटक गर्दै र आफ्नो आडम्बर र घमण्डको खातिर जिउँदै, सधैँ अरूको अनुमोदन प्राप्त गर्न खोज्छस् भने, तँ इमानदार व्यक्ति बन्‍न सक्दैनस्—यो एक व्यावहारिक कठिनाइ हो। यदि तेरो हृदय सधैँ आडम्बर र घमण्डले नियन्त्रित हुन्छ भने, तैँले झूट बोल्‍ने र देखावटी रूप धारण गर्न सम्भावना धेरै हुन्छ। यसको साथै, अरूले तँलाई तुच्छ भनेर भन्दा वा तेरो साँचो रूप खुलासा गर्दा, त्यो स्विकार्न तँलाई मुस्किल हुनेछ, र त्यो बेला तँलाई आफूले एकदमै ठूलो बेइज्‍जती भोगेको अनुभूति हुनेछ—तेरो अनुहार रातोपिरो हुनेछ, तेर हृदयको धड्कन बढ्नेछ, अनि तँ बेचैन र अशान्त महसुस गर्नेछस्। यो समस्या समाधान गर्न, तैँले केही थप पीडा सहनुपर्ने र केही थप शोधनहरू भोग्‍नुपर्ने हुन्छ। तैँले यो समस्याको जड कहाँनेर छ भनेर बुझ्नुपर्ने हुन्छ, र एकपटक यी मामिलाहरूको भित्री वास्तविकता बुझिसकेपछि, तँ आफ्ना केही पीडा घटाउन सक्षम हुनेछस्। जब तैँले यी भ्रष्ट स्वभावहरू पूर्ण रूपमा बुझेको हुन्छस् र जब तँ आफ्नो आडम्बर र घमण्ड त्याग्‍न सक्षम हुन्छस्, तब तँलाई इमानदार व्यक्ति बन्‍न झन् सजिलो हुनेछ। आफूले सत्य बोल्दा र आफ्नो मनको कुरा खोल्दा, अरूले खिल्ली उडाए भने पनि, तैँले नराम्रो मान्‍नेछैनस्, र अरूले तँलाई जे-जसरी मूल्याङ्कन र व्यवहार गरे पनि, तँ त्यो सहन र त्यसप्रति सही प्रतिक्रिया जनाउन सक्षम हुनेछस्। त्यसपछि तँ कष्टबाट पूरै आजाद हुनेछस, र तेरो हृदय पनि सधैँ शान्त र हर्षित हुनेछ, अनि तैँले स्वतन्त्रता र स्वाधीनता हासिल गर्नेछस्। यसरी, तँ भ्रष्टताको पकडबाट उम्कनेछस्, अनि मानव स्वरूपमा जिउनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मुक्ति पाउनको लागि इमानदार हुनुपर्छ

मेरो छलीपनको समाधान

सम्बन्धित भजनहरू

ईमानदारहरूलाई परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ

तिमीले गर्ने सबथोकमा परमेश्‍वरको प्रे‍क्षण स्वीकार गर्नुपर्छ

एक इमानदार व्यक्ति हुनु निकै आनन्दको कुरा हो

अघिल्लो: ३०. मुक्ति पाउन किन इमानदार व्यक्ति बन्नैपर्छ

अर्को: ३२. परमेश्‍वरको जाँच कसरी स्विकार्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्