ख. सत्यताको अभ्यास कसरी गर्ने, कसरी सत्यतालाई बुझ्‍ने र वास्तविकतामा प्रवेश गर्ने सो सम्बन्धमा

३४४. अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका वचनहरू तेरो जीवनको यथार्थता बनेको छ कि छैन त्यसमा निर्भर हुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरू परिचित गराइएको छ ताकि, अन्त्यमा, सबै मानिसहरू परमेश्‍वरको वचनको संसारमा जिऊन्, र भित्रैबाट हरेक व्यक्तिलाई उहाँका वचनहरूले अन्तर्दृष्टि र प्रकाश दिऊन्। यदि, यो समयको दौरान, तँ परमेश्‍वरका वचनहरू पढ्नमा लापरवाह भइस् भने, र उहाँका वचनहरूमा तेरो रुची छैन भने, यसले तेरो स्थिति गलत छ भन्‍ने देखाउँछ। यदि तँ वचनको युगमा प्रवेश गर्न सक्दैनस् भने, तँमा पवित्र आत्माले काम गर्नुहुन्न; यदि तँ यो युगमा प्रवेश गरेको छस् भने, उहाँले आफ्नो काम गर्नुहुनेछ। पवित्र आत्माको काम प्राप्त गर्न वचनको युगको प्रारम्भमा तैँले के गर्न सक्छस्? यो युगमा, र तिमीहरूका माझमा, परमेश्‍वरले उल्लिखित तथ्य समाप्त गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्‍वरका वचनहरू जिउनु पर्नेछ, सत्यलाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र परमेश्‍वरलाई आदर गर्ने हृदयहरू हुनु पर्नेछ; र परमेश्‍वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्‍वरसँगै राजसी शक्ति धारण गर्ने छ। परमेश्‍वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्‍वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्‍ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्‍वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्‍ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्‍वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्‍ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्‍ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्‍वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।” आज, परमेश्‍वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा समाप्त गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्‍वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्‍वरले सबैलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका वचनहरूद्वारा, मानिसलाई न्याय गरिन्छ र सिद्ध पारिन्छ, त्यसपछि अन्तिममा राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्‍वरका वचनहरूले मात्र मानिसको जीवनको निम्ति जुटाउन सक्छ, र परमेश्‍वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको लागि मार्ग दिन सक्छ। जबसम्म तँ परमेश्‍वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्‍म परमेश्‍वरले तँलाई सिद्ध बनाउन सक्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

३४५. मानिसले धारण गर्नुपर्ने सत्यता परमेश्वरको वचनमा पाइन्छ र सत्यता नै त्यो कुरा हो जुन मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुन्छ। यो तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हो, यस्तो कुरा जसले मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्छ। यो त त्यो सत्यता हो जुन कुराले मानिस सुसज्जित हुनुपर्छ। तिमीहरू जति बढी परमेश्वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक संसारका कुराहरलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्‍याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले “परमेश्वरको वचन जीवन हो” भन्ने वाक्यांश कसरी तिनीहरूका निम्ति वास्तविक हुन्छ त? परमेश्वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्वरको वचनलाई बुझ्नु आवश्यक छ भन्ने तेरो विश्वास हो भने तेरो बुझाइ गलत छ। साँचो प्रकारले परमेश्वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि “सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ”। आज परमेश्वरको वचन पढेर तैँले परमेश्वरको वचनलाई चिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन् कि सत्यतालाई अभ्यास गर्ने एउटै तरिका यसलाई पहिले बुझ्नु हो तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँ साँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको आक्षरिक शब्दहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्‍याउनु हो। त्यसकारण, तँ सत्यतासित जहाँ पनि जान सक्छस् तर यदि तँमा सत्यता छैन भने तेरो आफ्नो परिवारका सदस्यहरूलाई समेत तैँले विश्वस्त तुल्याउने प्रयास गर्ने कुरा सोच्दै नसोचे हुन्छ, धर्मी मानिसहरूको त कुरै छाडिदे। सत्यताविना तँ हावामा उडिरहेको हिमकण मात्रै होस्, तर सत्यताको साथमाले तँ खुशी र स्वतन्त्र हुन सक्छस् अनि कसैले तँलाई आक्रमण गर्न पनि सक्तैन। सिद्धान्त जतिसुकै बलियो भए तापनि त्यसले सत्यतामाथि विजय पाउन सक्दैन। सत्यताले संसार आफै झुल्न सक्छ अनि पहाडहरू र समुद्रहरू हल्लन सक्छन् जबकि सत्यताको कमीले बलियो शहरका पर्खालहरू पनि किराहरूद्वारा भग्नावशेषमा बदलिन सक्छ। यो एउटा स्पष्ट तथ्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

३४६. परमेश्‍वरले मानिसहरूमा वास्तविकताबारे कुरा गर्ने क्षमता होस् भन्ने मात्र चाहनुहुन्न; त्यो त धेरै सजिलो हुनेछ, होइन र? त्यसोभए, परमेश्‍वरले किन जीवनमा प्रवेश गर्नेबारे कुरा गर्नुहुन्छ? किन उहाँले रूपान्तरणको कुरा गर्नुहुन्छ? यदि मानिसहरू वास्तविकताको बारेमा खोक्रो कुरा गर्न मात्र सक्षम छन् भने, के तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्? राज्यका असल सिपाहीहरूलाई केवल वास्तविकताको बारेमा कुरा गर्न वा घमण्ड गर्न सक्ने मानिसहरूको समूह हुनका निम्ति मात्र तालिम दिइँदैन; बरु, हरसमय परमेश्‍वरको वचन अनुसार जिउन, जस्तोसुकै अवरोधहरूको सामना गर्नु परे पनि अटल रहन, र निरन्तर परमेश्‍वरको वचनअनुसार जिउन र संसारमा नफर्कनको लागि तिनीहरूलाई तालिम दिइन्छ। परमेश्‍वरले बताउनुभएको वास्तविकता यही हो; परमेश्‍वरले मानिससँग गर्नुभएको माग यही हो। यसैले, परमेश्‍वरले बताउनुभएको वास्तविकतालाई अति नै साधारण नठान। पवित्र आत्माबाट अन्तर्दृष्टि मात्रै प्राप्त गर्नु वास्तविकता धारण गर्नु बराबर होइन। मानिसको कद यस्तो छैन—यो परमेश्‍वरको अनुग्रह हो, जसमा मानिसको कुनै योगदान छैन। प्रत्येक व्यक्तिले पत्रुसको कष्ट सहनुपर्छ, यति मात्र होइन, तिनीहरूले पत्रुसको महिमा धारण गर्नुपर्दछ, जसमा तिनीहरू परमेश्‍वरको काम प्राप्त गरेपछि जिउँछन्। यसलाई मात्र वास्तविकता भन्न सकिन्छ। तैँले वास्तविकताको विषयमा कुरा गर्न सक्छस् भन्दैमा तँसँग त्यो छ भन्ने नसोच्; त्यो गलत हो। त्यस्ता विचारहरू परमेश्‍वरको इच्छासँग मेल खाँदैनन् र ती कुराको कुनै वास्तविक महत्त्व हुँदैन। भविष्यमा यस्ता कुरा नगर्—त्यस्ता भनाइहरूलाई समाप्त गर्। परमेश्‍वरका वचनहरूको बारेमा गलत बुझाइ भएकाहरू सबै अविश्‍वासीहरू हुन्। तिनीहरूसँग कुनै वास्तविक ज्ञान हुँदैन, वास्तविक कद हुने कुरा त परै जाओस्; तिनीहरू अज्ञानी मानिसहरू हुन् जसमा वास्तविकताको कमी हुन्छ। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको सारभन्दा बाहिर जिउनेहरू सबै अविश्‍वासीहरू हुन्। मानिसहरूले अविश्‍वासीहरू ठानेका व्यक्तिहरू परमेश्‍वरको नजरमा जनावरहरू हुन्, र परमेश्‍वरले अविश्‍वासीहरू ठान्नुभएका मानिसहरू त्यस्ता व्यक्तिहरू हुन् जसको जीवनमा परमेश्‍वरका वचनहरू हुँदैनन्। त्यसकारण जुन मानिसहरूसँग परमेश्‍वरको वचनको वास्तविकता हुँदैन र जो उहाँको वचनअनुसार जिउन असफल हुन्छन् तिनीहरू अविश्‍वासीहरू हुन् भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको उद्देश्य भनेको सबैलाई उहाँको वचनको वास्तविकता अनुसार जिउन लगाउनु हो—सबै जनालाई वास्तविकताको बारेमा कुरा गर्न लगाउनु मात्र होइन, तर, त्योभन्दा बढी, सबैलाई उहाँका वचनहरूको वास्तविकता अनुसार जिउन सक्ने तुल्याउनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

३४७. परमेश्‍वरका वचनहरूको वास्तविक अर्थको सच्‍चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्‍वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्‍वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्‍वरका वाणीहरू भित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने; र यदि तैँले उहाँका वचनहरू पछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने, तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेपछि तैँले परमेश्‍वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्‍ने मान्न सकिन्छ। यसरी, परमेश्‍वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको आलंकारिक व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानवीय कल्पना र मानवीय सोच्ने शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्‍वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यताको खोजी गर्नु हो; त्यस तरिकाले मात्रै तैँले उहाँले जे भन्नुहुन्छ सो वास्तवमै बुझ्न सक्छस्। जब-जब परमेश्‍वर बोल्नुहुन्छ, तब-तब उहाँ सामान्यताहरूको बारेमा मात्र बोल्नुहुन्न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य पनि परमेश्‍वरका वचनहरूमा थप प्रकाश पारिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्‍वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानवीय सोच्ने शैलीले पूर्ण रूपमा बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षहरूको सम्पूर्ण अर्थ पत्ता लगाउन सक्छन्; यदि तैँले यसो गरिस् भने, तैँले तिनलाई अनुभव गर्दा, पवित्र आत्माले तँलाई अन्तर्ज्ञान दिनुहुँदा बाँकी विवरणहरू पूर्ण रूपमा भरिँदै जान्छन्, र यसरी तँलाई यी ठोस अवस्थाहरूका बारेमा बुझाइ प्राप्त हुन्छ। एउटा भाग भनेको परमेश्‍वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तुको खोजी गर्नु हो। अर्को भाग चाहिँ परमेश्‍वरका वचनहरूको तात्पर्यहरूको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई माध्यमहरूद्वारा नै मुख्य रूपमा परमेश्‍वरका वचनहरूको साँचो बुझाइ हासिल गरिन्छ। यदि तैँले उहाँका वचनहरूलाई शाब्दिक रूपमा, वा तेरो आफ्नो सोच वा कल्पनाका नजरबाट व्याख्या गर्छस् भने, चाहे तैँले तिनलाई जतिसुकै कुशल रूपमा व्याख्या गरे पनि परमेश्‍वरका वचनहरूप्रतिको तेरो बुझाइ वास्तविक हुँदैन। तैँले तिनको अर्थलाई प्रसङ्गभन्दा बाहिर लगेर गलत अर्थ लगाउन पनि सक्छस्, अनि त्यसो गर्नु अझै समस्याग्रस्त कुरा हो। यसर्थ, सत्यतालाई प्राथमिक रूपमा परमेश्‍वरका वचनहरूमार्फत पवित्र आत्माबाट अन्तर्दृष्टि हासिल गरेर प्राप्त गरिन्छ। उहाँका वचनहरूको शाब्दिक अर्थ बुझ्नु वा तिनलाई व्याख्या गर्न सक्षम हुनुलाई सत्यता प्राप्त गरेको भन्न सकिँदैन। यदि तैँले उहाँका वचनहरूको शाब्दिक अर्थ मात्र व्याख्या गर्नुपर्थ्यो भने पवित्र आत्माको अन्तर्दृष्टिको के अर्थ हुन्थ्यो र? त्यो अवस्थामा, तँलाई केही निश्चित स्तरको शिक्षाको मात्र आवश्यक पर्थ्यो, र अशिक्षितहरू सबै एकदमै दुर्दशामा हुन्थे। परमेश्‍वरको काम मानव मस्तिष्कद्वारा बुझिने कुरा होइन। परमेश्‍वरका वचनहरूको साँचो बुझाइ मुख्य रूपले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नुमा निर्भर रहन्छ; सत्यता प्राप्त गर्ने प्रक्रिया यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

३४८. यदि तिमीहरूले परमेश्वरका थुप्रै वचनहरू पढेका छौ तर केवल पाठको अर्थ मात्र बुझ्छौ अनि तिमीहरूमा परमेश्वरको वचनसम्बन्धमा आफ्ना व्यवहारिक अनुभवहरूमार्फत आउने प्रत्यक्ष ज्ञानको कमी छ भने तैँले परमेश्वरको वचन बुझ्ने छैनस्। जहाँसम्म तेरो सवाल छ, परमेश्वरको वचन जीवन होइन, केवल जीवनरहित अक्षरहरू हुन्। अनि यदि तँ केवल जीवनरहित अक्षरहरू पालना गर्दै जिउँछस् भने तैँले परमश्वरको वचनको सार राम्ररी बुझ्न सक्दैनस्, न त तैँले उहाँको इच्छा नै बुझ्नेछस्। तैँले उहाँको वचन तेरा वास्तविक अनुभवहरूमा अनुभव गर्छस् भने मात्र परमेश्वरको वचनको आत्मिक अर्थ आफै तँतर्फ खोलिनेछ, अनि अनुभवद्वारा मात्रै तैँले धेरै सत्यताहरूको आत्मिक अर्थ बुझ्न र परमेश्वरको वचनका रहस्यहरूको साँचो खोल्न सक्छस्। यदि तैँले यसलाई अभ्यासमा लगाउँदैनस् भने उहाँको वचन जतिसुकै स्पष्ट भए तापनि तैँले बुझेको कुरा सबै रित्ता अक्षरहरू र सिद्धान्तहरू हुन्छन् जुन तेरो निम्ति धार्मिक नियमहरू भएका छन्। के फरिसीहरूले गरेको यही नै होइन र? यदि तिमीहरूले परमेश्वरको वचन अभ्यास र अनुभव गर्छौ भने यो तिमीहरूको निम्ति व्यवहारिक बन्छ; यदि तैँले यसलाई अभ्यास गर्न खोज्दैनस् भने परमेश्वरको वचन तेरो निम्ति तेस्रो स्वर्गको दन्त्यकथा भन्दा केही बढी मात्रै हुन्छ। वास्तवमा, परमेश्वरमा विश्वास गर्ने प्रक्रिया भनेको तिमीहरूले उहाँको वचनलाई अनुभव गर्नुको साथै उहाँद्वारा तिमीहरूलाई हासिल गरिने प्रक्रिया हो अथवा यसलाई अझ स्पष्टसित भन्नुपर्दा, परमेश्वरमा विश्वास गर्नु भनेको उहाँको वचनको ज्ञान र बुझाइ प्राप्त गर्नु र उहाँको वचनलाई अनुभव गर्नु र जिउनु हो; परमेश्वरमा विश्वास गर्नुपछाडिको वास्तविकता त्यही नै हो। यदि तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ अनि परमेश्वरको वचनलाई तिमीभित्र भएको केही कुरा जस्तै गरी अभ्यास गर्न नखोजीकनै अनन्त जीवनको आशा गर्छौ भने तिमीहरू मूर्ख हौ। यो त भोजमा गएर केवल भोजनलाई हेर्नु र स्वादिष्ट कुराहरूलाई केही नचाखेर तिनीहरूको नाम कण्ठस्थ गर्नु जस्तो मात्रै हुनेछ। के त्यस्तो मानिस मूर्ख हुँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

३४९. परमेश्‍वरले मानिसहरूसित गर्नुभएका मागहरू त्यति धेरै उच्च छैनन्। यदि तिनीहरूले थोरै मात्र प्रयास गरे भने पनि, तिनीहरूले “उतीर्णाङ्क” प्राप्त गर्दछन्। वास्तवमा, सत्यलाई बुझ्नु, जान्नु र धारण गर्नु सत्यको अभ्यास गर्नुभन्दा अझ जटिल छ। सत्यलाई जान्ने र बुझ्ने कुरा सत्यको अभ्यास गरेपछि आउँछ; पवित्र आत्माले काम गर्ने चरणहरू र तरिकाहरू यिनै हुन्। तैँले कसरी आज्ञापालन गर्न सक्दैनस्? के तैँले आफ्नै तरिकाले काम गरेर आत्माका कामहरू प्राप्त गर्न सक्छस्? के पवित्र आत्माले तेरो खुसीको लागि, वा परमेश्‍वरका वचनहरू अनुसार तिम्रा अभावहरूको आधारमा काम गर्नुहुन्छ? यदि तैँले यसलाई स्पष्टसँग देख्न सक्दैनस् भने यो अर्थहीन छ। किन धेरै मानिसहरू परमेश्‍वरका वचनहरू पढ्न लागी पर्छन्, तर केवल ज्ञान मात्र प्राप्त गर्छन् र त्यसपछि वास्तविक मार्गको बारेमा केही पनि भन्न सक्दैनन्? के तँलाई ज्ञान हुनु नै सत्य हुनु हो भन्‍ने लाग्छ? के त्यो एक भ्रमित दृष्टिकोण होइन र? तैँले समुद्र किनारका जत्ति धेरै बालुवा छन्, त्यति नै धेरै ज्ञानको कुरा बोल्न सक्छस् होला, तापनि तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, यो मानिसहरूलाई वास्तविकताभित्र लैजान त्यति नै धेरै असक्षम हुन्छ; सिद्धान्त जति उच्च हुन्छ, त्यसले तँलाई त्यति नै बढी परमेश्‍वरलाई चुनौती दिने र विरोध गर्ने बनाउँछ। उच्च सिद्धान्तहरूलाई मूल्यवान् सम्पत्ति नठान; ती हानिकारक हुन्छन् र तिनले कुनै उद्देश्य पूरा गर्दैनन्! हुन सक्छ, कतिपय मानिसहरूले अति उच्च सिद्धान्तहरूको बारेमा कुरा गर्न सक्छन् होला—तर यिनमा कुनै वास्तविकता हुँदैन, किनकि ती मानिसहरूले त्यस्ता कुराहरूलाई व्यक्तिगत रूपमा अनुभव गरेका हुँदैनन्, त्यसैले गर्दा, अभ्यास गर्ने कुनै मार्ग हुँदैन। त्यस्ता मानिसहरूले अरूलाई सही बाटोमा लैजान सक्दैनन् र तिनीहरूलाई पथभ्रष्ट मात्र गराउँछन्। के यो मानिसहरूका लागि हानिकारक छैन र? कम्तीमा पनि, तैँले मानिसहरूका वर्तमान समस्याहरूलाई समाधान गर्न सक्नुपर्छ र तिनीहरूलाई प्रवेश प्राप्त गर्न सक्‍ने तुल्याउनुपर्छ; केवल यसलाई मात्र समर्पणको रूपमा गनिन्छ, अनि मात्र तँ परमेश्‍वरका लागि काम गर्ने योग्यको हुनेछस्। सधैँ ठूलठूला, काल्पनिक शब्दहरू नबोल्, र अरूलाई तेरो आज्ञापालन गर्न बाध्य बनाउनका निम्ति अनुपयुक्त अभ्यासहरूको प्रयोग नगर्। त्यसले कुनै प्रभाव पार्नेछैन र त्यसले तिनीहरूको भ्रम मात्र बढाउन सक्छ। यसो गर्दै अगाडि बढ्दा धेरै धर्मसिद्धान्त उत्पन्न हुन्छन्, जसको कारण मानिसहरूले तँलाई घृणा गर्नेछन्। मानिसको कमी-कमजोरी यस्तै छ, र यो साँच्चै लाजमर्दो छ। यसैले वास्तविक रूपमा रहेका समस्याहरूको बारेमा कुरा गर्। अरू मानिसहरूका अनुभवहरूलाई तेरो आफ्नै व्यक्तिगत सम्पत्ति जस्तो व्यवहार नगर् अनि अरूले त्यसको प्रशंसा गरून् भनी त्यसलाई माथि नउचाल्; तैँले आफ्‍नै व्यक्तिगत उपायको खोजी गर्नुपर्छ। प्रत्येक व्यक्तिले अभ्यास गर्नुपर्ने कुरा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकतामा अझ बढी ध्यान देऊ

३५०. के सत्यता सम्‍बन्धी तिमीहरूको बुझाइ तिमीहरूको आफ्नै अवस्थाहरूसित जोडिएको छ? वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र वस्तुहरूसित कुन-कुन सत्यताहरू सम्बन्धित छन् भनेर तैँले सुरुमा विचार गर्नुपर्छ; यिनै सत्यताहरूको माझमा तैँले परमेश्‍वरको इच्छा पत्ता लगाउन सक्छस् र उहाँको इच्छामा तैँले जे भेटेको छस्, त्यससित जोडिन सक्छस्। यदि तैँले सामना गरेका कुराहरूसित सत्यताका कुन-कुन पक्षहरूले सम्बन्ध राख्छन् भन्‍ने तँलाई थाहा छैन तर प्रत्यक्ष रूपमा परमेश्‍वरको इच्छा खोजी गर्न जान्छस् भने, यो एउटा अन्धो तरिका हो जसले परिणामहरू हासिल गर्न सक्दैन। यदि तँ सत्यताको खोजी गर्न र परमेश्‍वरको इच्छा बुझ्न चाहन्छस् भने, पहिले तैँले कस्ता कुराहरू तँमा घटेका छन्, सत्यताको कुन पक्षहरूसित ती सम्बन्धित छन् सो हेरेर, परमेश्‍वरको वचनमा निश्चित सत्यताको खोजी गर्नु आवश्यक हुन्छ, जुन तैँले अनुभव गरेको कुरासित सम्बन्धित छन्। त्यसपछि तैँले त्यस सत्यतामा तेरो लागि सहि रहेको अभ्यासको मार्गलाई खोजी गर्नुपर्छ; यसरी, तैँले परमेश्‍वरको इच्छाको अप्रत्यक्ष बुझाइ हासिल गर्न सक्छस्। सत्यताको खोजी गर्नु र अभ्यास गर्नु यान्त्रिक रूपले सिद्धान्त प्रयोग गर्नु वा सूत्रलाई पालन गर्नु होइन। सत्यता सूत्रबद्ध हुँदैन, न त यो नियम नै हो। यो मरेको छैन, यो आफैमा जीवन हो, यो सजीव कुरा हो, र यो सृष्टि गरिएको थोकले जीवनमा पछ्याउनुपर्ने नियम र मानिससित जीवनमा हुनुपर्ने नियम हो। यो तैँले अनुभवद्वारा जतिसक्दो धेरै बुझ्‍नुपर्ने कुरा हो। तेरो अनुभवमा तँ जुन अवस्थामा आइपुगे तापनि, तँलाई परमेश्‍वरको वचन वा सत्यतादेखि अलग गर्न सकिँदैन, र परमेश्‍वरको स्वभावको बारेमा तँ जे बुझ्छस्, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे तँलाई जे थाहा छ, ती सबैलाई परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका छन्; ती सत्यतासित फुकाउनै नमिल्ने गरी गाँसिएका छन्। परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती आफैमा सत्यता हुन्; सत्यता परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको विशुद्ध प्रस्फुटन हो। यसले उहाँसित जे छ, र उहाँ जे हुनुहुन्छ, त्यसलाई ठोस बनाउँछ र यसले उहाँसित जे हुनुहुन्छ र उहाँ जे हुनुहुन्छ, त्यसको प्रष्ट अभिव्यक्ति दिन्छ; परमेश्‍वरले के मन पराउनुहुन्छ अनि के मन पराउनुहुन्न, तैँले के गरेको उहाँ चाहनुहुन्छ, अनि उहाँले तँलाई के गर्न अनुमति दिनुहुन्‍न, कुन मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्छ, कुन मानिसहरूमा उहाँले आनन्द लिनुहुन्छ त्यसबारे यसले तँलाई अझ प्रत्यक्ष रूपमा बताउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको पछाडि, मानिसहरूले उहाँको आनन्द, रिस, शोक र खुशीको साथै उहाँको सारलाई देख्न सक्छन्—यो उहाँको स्वभावको प्रकटीकरण हो। परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ भनी जान्नु, अनि उहाँको वचनबाट उहाँको स्वभाव बुझ्नु बाहेक, सबैभन्दा महत्वपूर्ण खाँचो भनेको व्यक्तिगत अनुभवद्वारा यो बुझाइसम्म पुग्नु हो। यदि परमेश्‍वरलाई चिन्नको लागि व्यक्तिले आफूलाई वास्तविक जीवनबाट हटाउँछ भने, तिनीहरूले त्यसलाई हासिल गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरको वचनबाट केही बुझाइ हासिल गर्न सक्‍ने मानिसहरू छन्, तापनि तिनीहरूको बुझाइ सिद्धान्तहरू तथा शब्‍दहरूमा सीमित हुन्छ, अनि परमेश्‍वर स्वयम्‌ वास्तवमा कस्तो हुनुहुन्छ भन्ने कुराबारे भेद उत्पन्न हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

३५१. मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई प्रश्रय दिएका हुन्छन्। जब तँ सत्यलाई अभ्यास गर्दैनस्, तँलाई तेरा सबै अभिप्रायहरू सही लाग्छन्, तर जब तँलाई केही हुन्छ, तँभित्र धेरै गलत अभिप्रायहरू रहेछन् भनेर तैँले देख्नेछस्। तसर्थ, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई परमेश्‍वर सम्‍बन्धी उनीहरूको ज्ञानमा बाधा पुर्‍याउने धेरै अभिप्रायहरू उनीहरूभित्र रहेको अनुभव गर्न लगाउनुहुन्छ। जब तैँले तेरा अभिप्रायहरू गलत रहेछन् भनेर पहिचान गर्छस्, यदि तँ तेरो अभिप्राय र धारणाहरू अनुसार अभ्यास गर्न बन्द गर्न सक्छस्, र परमेश्‍वरको सामु साक्षी दिन सक्षम हुन्छस्, र तँलाई हुने सबै कुराहरूमा तँ तेरो स्थानमा दह्रिलो भएर खडा हुन्छस् भने, यसले तैँले देहको विरोध गरेको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ देहको विरोध गर्छस्, तँभित्र निःसन्देह लडाइँ हुन्छ। शैतानले मानिसहरूलाई जाँच्‍नेछ र त्यसमा विश्‍वास गराउन प्रयास गर्नेछ, देहका अभिप्रायहरूमा विश्‍वास गराउने र देहका रुचिहरू कायम राख्ने प्रयास गर्नेछ—तर परमेश्‍वरका वचनहरूले मानिसहरूलाई भित्रबाट ज्योति र अन्तर्दृष्टि दिनेछ, र यो समयमा परमेश्‍वरलाई विश्‍वास गर्ने कि शैतानलाई विश्‍वास गर्ने हो भन्ने कुरा तेरै हातमा हुन्छ। मुख्यतया मानिसहरूभित्र रहेका थोकहरूको निराकरण गर्न, परमेश्‍वरको हृदयअनुसारको नरहेका उनीहरूको सोच र अभिप्रायहरूको निराकरण गर्नका लागि परमेश्‍वरले उनीहरूलाई सत्यको अभ्यास गर्न अह्राउनुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई उनीहरूको हृदयमा छुनुहुन्छ र उनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। त्यसैले, हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्‍वरको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्‍वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्‍वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्‍वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्छस्। सत्यको अभ्यास गरिरहँदा, व्यक्तिले अपरिहार्य रूपमै भित्र-भित्रै कष्ट पाउनेछ; यदि, उनीहरूले सत्यलाई अभ्यास गर्दा, मानिसहरूभित्रका सबै कुराहरू सही भएमा, उनीहरूलाई परमेश्‍वरले सिद्ध बनाइरहनु पर्दैन, र त्यहाँ कुनै लडाइँ हुँदैन, र उनीहरूले कष्ट भोग्‍नेछैनन्। यसो किन हुन्छ भने, मानिसहरूभित्र यस्ता धेरै थोकहरू हुन्छन् जुन परमेश्‍वरको प्रयोगका लागि उपयुक्त हुँदैनन्, र देहको विद्रोही स्वभाव धेरै हुने भएकाले, मानिसहरूले देहको विरोध गर्ने पाठ अझ गहन तरिकाले सिक्नु पर्छ। यसैलाई परमेश्‍वरले मानवलाई उहाँसँग भोग्नुपर्ने भनेर अह्राउनुभएको कष्ट भन्नुहुन्छ। जब तँलाई अप्ठ्याराहरू आइपर्छ, हतार गर् र परमेश्‍वरमा प्रार्थना गर्: “हे परमेश्‍वर! म हजुरलाई सन्तुष्ट बनाउन चाहन्छु, तपाईंको हृदयलाई सन्तुष्ट बनाउन म अन्तिम कठिनाइ सहन गर्न चाहन्छु, र मैले जतिसुकै ठूलो धक्का बेहोर्नु परे पनि, म अझै पनि हजुरलाई नै सन्तुष्ट बनाउन चाहन्छु।” यो सङ्कल्पका साथ, जब तँ यसरी प्रार्थना गर्छस्, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्षम हुन्छस्। प्रत्येक पटक उनीहरूले सत्यलाई अभ्यास गर्दा, प्रत्येक पटक उनीहरूको शोधन, प्रत्येक पटक उनीहरू थाक्दा, र प्रत्येक पटक परमेश्वरको कार्य उनीहरूमाथि आउँदा, मानिसहरूले असह्य पीडा सहनुपर्छ। यो सबै मानिसहरूका लागि जाँच हो, र त्यसैगरी ती सबैभित्र लडाइँ हुन्छ। उनीहरूले चुकाउने वास्तविक मूल्य यही हो। परमेश्‍वरको वचनहरू झनै धेरै पढ्नु र अझै धेरै दौडधूप गर्नु त्यही मूल्यको एक अंश हो। मानिसहरूले गर्नुपर्ने कुरा यही हो, यो उनीहरूको कर्तव्य हो, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मानिसहरूले उनीहरूका पन्छाउनु पर्ने कुरालाई पन्छाउनु पर्छ। यदि तैँले त्यसो गरिनस् भने, तेरो बाहिरी कष्ट जतिसुकै ठूलो भए तापनि, तैँले जतिसुकै दौडधूप गरे पनि, सबै कुरा व्यर्थ हुनेछ! यसो भन्नुको अर्थ, तँभित्रको परिवर्तनले मात्रै तेरो बाहिरी कठिनाइको मूल्य छ कि छैन भनेर निर्धारण गर्न सक्छ। जब तेरो आन्तरिक स्वभाव परिवर्तन हुन्छ र तैँले सत्यको अभ्यास गर्छस्, तब तेरो सबै बाहिरी कष्टले परमेश्‍वरको स्वीकृति पाउनेछ; यदि तेरो आन्तरिक स्वभावमा कुनै परिवर्तन भएन भने, तैँले जतिसुकै कष्ट सहे पनि वा तैँले बाहिर जतिसुकै प्रयत्न गरे पनि, परमेश्‍वरबाट कुनै स्वीकृति हुनेछैन—र परमेश्‍वरले पुष्टि नगरेको कठिनाइ व्यर्थ हो। तसर्थ, तैँले चुकाएको मूल्य परमेश्‍वरबाट अनुमोदन हुन्छ हुँदैन भन्ने कुरा तँमा परिवर्तन आएको छ कि छैन र परमेश्‍वरको इच्छाको सन्तुष्टि, परमेश्‍वरको ज्ञान, र परमेश्‍वरप्रतिको निष्ठा हासिल गर्नका लागि तैँले सत्यको अभ्यास तथा आफ्नो अभिप्राय र धारणालाई विरोध गर्छस् कि गर्दैनस् भन्ने कुराले निर्धारित गर्छ। तैँले जतिसुकै प्रयत्न गरे पनि, यदि तँलाई आफ्नो अभिप्रायको विरुद्ध विद्रोहको बारेमा कहिल्यै थाहा छैन भने, तर बाहिरी कार्य तथा उत्सुकता मात्रै खोज्छस्, र आफ्नो जीवनप्रति कहिल्यै ध्यान दिँदैनस् भने, तेरो कठिनाइ व्यर्थ हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

३५२. संक्षिप्तमा भन्दा, आफ्नो विश्‍वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिलो, व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्‍वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्‍वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, सत्यताको खोजी गर्न अनि परमेश्‍वरका वचनहरूमा उहाँका अभिप्रायहरूको खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्‍वरको इच्‍छा बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्‍वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणतामा मुख्यतया सत्यता खोजी गर्ने, परमेश्‍वरका वचनहरूमा उहाँका अभिप्रायहरूको खोजी गर्ने, परमेश्‍वरको इच्छा बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्‍वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। उहाँका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्; बरु, तिनले सत्यताको बोध गर्न र परमेश्‍वरको इच्छा बुझ्न, साथसाथै उहाँको स्वभाव र उहाँको प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथसाथै मानिसको भ्रष्ट प्रकृति र वास्तविक कमजोरी बुझ्न पनि प्रयास गरे र यसरी तिनले उहाँलाई सन्तुष्ट पार्न मानिसको लागि परमेश्‍वरका आवश्यक मापदण्डहरूका सबै पक्षहरू पूरा गरे। पत्रुससँग परमेश्‍वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए; यो कुरा परमेश्‍वरका इच्छा अनुरूपको थियो र व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्ने सर्वोत्तम शैली यही नै थियो। परमेश्‍वरबाट सयौं परीक्षाहरू सामना गर्दा पत्रुसले आफूलाई परमेश्‍वरले गर्नुहुने मानिसको न्यायका हरेक वचनहरू, मानिसको बारेमा परमेश्‍वरको गर्नुभएको प्रकाशका हरेक वचन, अनि मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूका हरेक वचनसँग कठोर रूपले दाँजेर जाँच गरे र ती वचनहरूको अर्थ बोध गर्न लागिपरे। येशूले भन्नुभएका हरेक वचनहरूलाई इमान्दारीपूर्वक चिन्तन गर्ने र याद गर्ने प्रयास तिनले गरे, र राम्रो नतिजा हासिले गरे। यस शैलीको अभ्यासद्वारा तिनले परमेश्‍वरका वचनहरूबाट आफ्नै बारेमा बुझाइ हासिल गर्न सके, र तिनले मानिसका विविध भ्रष्ट अवस्थाहरूको बुझाइ मात्र होइन, बरु तिनले त मानिसको सार, प्रकृति र विविध कमजोरीहरूको बारेमा समेत बुझे। आफूलाई साँचो रूपमा बुझ्नु भनेकै यही हो। परमेश्‍वरका वचनहरूबाट, पत्रुसले आफ्नो बारेमा साँचो बुझाइ मात्र हासिल गरेनन्, बरु तिनले त परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका कुराहरू—परमेश्‍वरको धर्मी स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, आफ्नो कामको लागि परमेश्‍वरको इच्छा, मानवजातिप्रति उहाँका मागहरू—यी वचनहरूबाट तिनले परमेश्‍वरलाई पूर्ण रूपले चिने। तिनले परमेश्‍वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्‍वरसँग के छ र उहाँ को हुनुहुन्छ, र साथसाथै परमेश्‍वरको प्रेमिलोपन र मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूलाई जाने र बुझे। त्यतिखेर परमेश्‍वर आजभोली बोल्नुभए जति बोल्नुहुन्‍नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै विरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौं परीक्षाहरू भोगे, तर तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्‍वरका वचनहरू र कामबाट आफूले आफैलाई मात्र चिनेनन्, बरु तिनले त परमेश्‍वरलाई समेत चिने। यसको साथै, तिनले परमेश्‍वरका वचनहरूभित्र रहेका मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मागहरूको बारेमा ध्यान केन्द्रित गरे। मानिसले परमेश्‍वरको इच्छाअनुरूप परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्ने जुनसुकै पक्षहरू नै किन नहोस्, यी सबै पक्षहरूमा ठूलो प्रयत्न गर्न र पूर्ण स्पष्टता हासिल गर्न पत्रुस सक्षम भए; यो कुरा तिनको आफ्नै प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्‍वरले जेसुकैको बारेमा बोल्नुभएको भए तापनि, ती वचनहरू तिनको जीवन बन्न सकिञ्‍जेल र ती सत्यताको स्वामित्वमा रहुञ्‍जेल, पत्रुस तिनलाई कुँदेर आफ्नो हृदयमा राख्न तथा तिनलाई बारम्बार चिन्तन र सराहना गर्न सक्षम भए। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्न सके, जसले तिनले विशेष रूपमा परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्ने देखाउँछ र तिनले अन्त्यमा सच्चा रूपमै नतिजा हासिल गरे। यसको मतलब, तिनले परमेश्‍वरका वचनहरूलाई स्वतन्त्र पूर्वक व्यवहारमा उतार्न, सत्यतालाई दुरुस्त रूपमा अभ्यास गर्न अनि परमेश्‍वरको इच्छाअनुरूप हुन, सम्पूर्ण रूपले परमेश्‍वरको अभिप्राय अनुरूप कार्य गर्न, र आफ्ना दृष्टिकोणहरू र कल्पनाहरू त्याग्‍न सके। यसरी, पत्रुस परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

३५३. यदि तैँले आफ्नो हृदय, शरीर, र तेरा सबै साँचो प्रेम परमेश्‍वरमा अर्पण गर्न सक्छस् भने, तिनलाई उहाँको सामु राख्, उहाँप्रति पूर्ण आज्ञाकारी बन् र उहाँको इच्‍छालाई पूर्ण रूपमा ध्यान दे—परमेश्‍वरको वचनलाई सबै कुराको सिद्धान्त र आधारको रूपमा लिँदै, देहको लागि होइन, परिवारका लागि होइन, र तेरा आफ्नै व्यक्तिगत चाहनाहरूका लागि होइन, तर परमेश्‍वरको परिवारको हितका लागि—त्यसो गर्दा तेरा अभिप्रायहरू र तेरा दृष्टिकोणहरू सबै सही ठाउँमा हुनेछन्, र तँ परमेश्‍वरको सामु त्यो व्यक्ति बन्‍नेछस् जसले उहाँको स्याबासी पाउनेछ। परमेश्‍वरले मन पराउनुहुने मानिसहरू ती हुन् जो पूर्ण रूपमा उहाँतर्फ छन्; तिनीहरू ती हुन् जो पूर्ण रूपमा उहाँमा समर्पित हुन सक्छन्। जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ तिनीहरू ती हुन् जो उहाँतर्फ आधा हृदयका हुन्छन् र जसले उहाँको विरुद्धमा विद्रोह गर्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ, जसले उहाँमा विश्‍वास गर्छन् र सधैँ उहाँबाट आनन्द लिन चाहन्छन्, तर उहाँका निम्ति आफूलाई समर्पित गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्छौं त भन्छन्, तर आफ्नो हृदयमा उहाँको विरुद्धमा विद्रोह गर्छन्; उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जो छलकपट गर्न प्रभावकारी र लोभ्याउने शब्दहरूको प्रयोग गर्छन्। जो साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन् वा जो साँचो रूपले उहाँको अगि समर्पित हुँदैनन् तिनीहरू विश्‍वासघाती र स्वभावले अति नै अहङ्कारी हुन्छन्। जुन मानिसहरू सामान्य, व्यावहारिक परमेश्‍वरको अगाडि साँचो रूपले समर्पित हुन सक्दैनन्, तिनीहरू अझ बढी अहङ्कारी हुन्छन्, र तिनीहरू विशेष गरी प्रधान दूतको कर्तव्य पालन गर्ने सन्तान हुन्। जुन मानिसहरूले वास्तवमा परमेश्‍वरका लागि आफैलाई समर्पित गर्छन् तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्व उहाँको सामु राख्छन्; तिनीहरू साँचो रूपमा उहाँका वाणीहरूमा समर्पित हुन्छन्, र उहाँका वचनहरूलाई अभ्यास गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो अस्तित्वको आधार बनाउँदछन्, र तिनीहरूले कुन भागहरू अभ्यास गर्नुपर्छ भनी परमेश्‍वरका वचनहरूमा निरन्तर खोजी गर्न सक्छन्। साँचो रूपमा परमेश्‍वरको सामु जिउने मानिसहरू तिनीहरू नै हुन्। यदि तैँले जे गर्छस् त्यो तेरो जीवनको निम्ति फाइदाजनक छ भने, र तेरो जीवन स्वभाव रूपान्तरण होस् भनेर उहाँका वचनहरू खाएर अनि पिएर तँ आफ्ना आन्तरिक आवश्यकताहरू र कमीहरूलाई पूरा गर्न सक्छस् भने त्यसले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्दछ। यदि तँ परमेश्‍वरका आवश्यकताहरू अनुरूप काम गर्छस् र यदि तैँले शरीरलाई सन्तुष्ट पार्दैनस् तर उहाँको इच्छा पूरा गर्छस् भने, त्यसमा तँ उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गरेको हुन्छस्। जब परमेश्‍वरको वचनहरूमा वास्तविक रूपले प्रवेश गर्ने कुरा गरिन्छ, त्यसको अर्थ तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस् र परमेश्‍वरका मागहरूलाई पूरा गर्न सक्छस् भन्ने हुन्छ। यस प्रकारका व्यावहारिक कार्यहरूलाई मात्र उहाँको वचनको वास्तविकतामा प्रवेश गर्नु भनी भन्‍न सकिन्छ। यदि तँ यस वास्तविकतामा प्रवेश गर्न सक्छस् भने तँमा सत्यता हुन्छ। यो वास्तविकता प्रवेशको सुरुआत हो; तैँले पहिले यो तालीम लिनुपर्छ, त्यसपछि मात्र तँ अझ गहिरा वास्तविकताहरूमा प्रवेश गर्न सक्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

३५४. परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने सबै सत्यहरू व्यावहारिक छन्। जे उहाँ वचनहरू होइनन् ती शून्य, अस्तित्वहीन, र अनुचित हुन्छन्। आज, परमेश्‍वरका वचनहरूमा मानिसहरूलाई मार्गनिर्देशित गर्न पवित्र आत्मा हुनुहुन्छ। यदि मानिसहरूले वास्तविकतामा प्रवेशको खोजी गर्नुछ भने, उनीहरूले वास्तविकता खोज्नुपर्छ, र वास्तविकता जान्नुपर्छ, त्यसपछि उनीहरूले वास्तविकता अनुभव गर्नुपर्छ, र वास्तविकतालाई जीवनमा उतार्नुपर्छ। मानिसहरूले वास्तविकतालाई जति बढी थाहा पाउँछन्, त्यति नै अरूका वचनहरू वास्तविक हुन् वा होइनन् त्यसलाई पहिचान गर्न उनीहरू सक्षम हुन्छन्; मानिसहरूले वास्तविकतालाई जति बढी थाहा पाउँछन्, उनीहरूसँग त्यति नै कम धारणाहरू हुन्छन्; मानिसहरूले वास्तविकतालाई जति बढी अनुभव गर्छन्, त्यति नै उनीहरूले वास्तविकताको परमेश्‍वरका कामहरू थाहा पाउँछन्, र उनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरूबाट मुक्त हुन उनीहरूलाई त्यति नै सजिलो हुन्छ; मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, त्यति नै बढी उनीहरूले परमेश्‍वरलाई चिन्छन् र त्यति नै बढी उनीहरूले शरीरलाई घृणा गर्छन् र सत्यलाई प्रेम गर्छन्; र मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरू उत्ति नै परमेश्‍वरका आवश्‍यकताहरूको मापदण्डहरूको नजिक आउँछन्। परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिसहरू वास्तविकताको स्वामित्वमा भएका मानिसहरू हुन्, जसलाई वास्तविकता थाहा छ, र जसले वास्तविकताको अनुभवद्वारा परमेश्‍वरका यथार्थ कामहरू जानेका हुन्छन्। तँ जति बढी व्यावहारिक तरिकाले परमेश्‍वरसँग सहकार्य गर्छस् र आफ्नो शरीरलाई अनुशासनमा राख्छस्, तैँले त्यति नै बढी पवित्र आत्माको काम प्राप्‍त गर्नेछस्, तैँले त्यति नै बढी वास्तविकता प्राप्त गर्नेछस्, र त्यति नै बढी परमेश्‍वरले तँलाई प्रकाश दिनुहुनेछ परमेश्‍वर, र यसरी परमेश्‍वरको यथार्थ कामहरूको तेरो ज्ञान महान् बन्नेछ। यदि तँ पवित्र आत्माको विद्यमान प्रकाशमा जिउन सक्षम छस् भने, अभ्यासको विद्यमान मार्ग तेरो लागि अझै प्रष्ट हुनेछ, र विगतका धार्मिक धारणाहरू र पुराना अभ्यासहरूबाट आफूलाई अलग्याउन तँ अझै बढी सक्षम हुनेछस्। आजको मुख्य विषय भनेको यथार्थता हो: मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूको सत्यको ज्ञान उत्तिकै प्रस्ट हुन्छ, र परमेश्‍वरको इच्छाको उनीहरूको बुझाइ त्यत्तिकै महान् हुनेछ। वास्तविकताले सबै शाब्दिक अर्थहरू र सिद्धान्तहरूलाई पराजित गर्न सक्छ, यसले सबै सैद्धान्तिक नियम र विज्ञतालाई पराजित गर्न सक्छ, र मानिसहरूले वास्तविकतामा जति बढी ध्यान केन्द्रित गर्छन्, उनीहरूले परमेश्‍वरलाई त्यत्ति नै बढी साँचो प्रेम गर्छन्, र उहाँका वचनहरूको लागि भोका र प्यासी हुन्छन्। यदि तैँले वास्तविकतामा ध्यान केन्द्रित गरिस् भने, जीवन जिउने तेरो दर्शनशास्त्र, धार्मिक धारणाहरू, र प्राकृतिक गुण परमेश्‍वरको काम पछ्याउँदै स्वभाविक रूपमा हटेर जानेछ। वास्तविकताको खोजी नगर्ने, र वास्तविकताको ज्ञान नभएकाहरू अलौकिक कुराको खोजी गर्न सक्छन्, र उनीहरू सजिलै धोखामा पर्न सक्छन्। यस्ता मानिसहरूमा काम गर्ने कुनै माध्यम पवित्र आत्मासँग छैन, र त्यसैले उनीहरू रित्तो, र उनीहरूको जीवनको कुनै अर्थ छैन भन्ने महसुस गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने

३५५. जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै सत्यता तँसँग हुन्छ; जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै परमेश्‍वरको प्रेम तँसँग हुन्छ; र जति धेरै सत्यतालाई तैँले अभ्यास गर्छस्‌, त्यत्ति नै धेरै तँ परमेश्‍वरद्वारा आशिषित हुन्छस्‌। यदि तैँले सदैव यसै गरी अभ्यास गरिस्‌ भने, तेरो लागि दिइने परमेश्‍वरको प्रेमले विस्तारै तँलाई देख्न सक्षम तुल्याउनेछ, जसरी पत्रुसले परमेश्‍वरलाई जाने: परमेश्‍वरसँग स्वर्ग र पृथ्वी सृष्टि गर्ने बुद्धि मात्र होइन, तर, त्योभन्दा पनि बढी, उहाँसँग मानिसहरूमा साँचो काम गर्ने बुद्धि पनि छ भनेर पत्रुसले भने। उहाँले स्वर्ग र पृथ्वीको र सबै कुराहरूको सृष्टि गर्नुभएको कारणले गर्दा मात्र मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, तर, त्योभन्दा पनि बढी, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई पूर्ण बनाउने, र मानिसलाई आफ्नो प्रेम हस्तान्तरण गर्ने उहाँको क्षमताको कारणले गर्दा पनि उहाँ योग्य हुनुभएको हो भनेर पत्रुसले भने। त्यसैले पनि पत्रुस भन्छन्‌ कि मानिसको प्रेमको निम्ति उहाँमा योग्य कुराहरू धेरै छन्‌। पत्रुसले येशूलाई भने: “के स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्नु नै मानिसहरूको प्रेम पाउन योग्य हुनुको एउटै कारण हो र? तपाईंमा अरू पनि धेरै कुराहरू छन्‌ जुन प्रेमिलो छन्‌। तपाईं वास्तविक जीवनमा कार्यरत र चलायमान हुनुहुन्छ, तपाईंको आत्माले मलाई भित्र स्पर्श गर्नुहुन्छ, तपाईंले मलाई ताडना दिनुहुन्छ, तपाईंले मलाई हप्काउनुहुन्छ—यी कुराहरू मानिसहरूको प्रेम पाउन अझ धेरै योग्य छन्‌।” यदि तँ परमेश्‍वरको प्रेम हेर्ने र अनुभव गर्ने इच्छा राख्छस्‌ भने, तैँले वास्तविक जीवनमा उत्खनन र खोजी गर्नुपर्छ र तेरो आफ्नै पापमय स्वभावलाई पन्साउने इच्छा राख्नुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ यस्तो सङ्कल्प भएको व्यक्ति हुनुपर्छ जसले अल्छी नबनी वा पापमय स्वभावका आनन्दहरूको लालसा नगरी, पापमय स्वभावको लागि नभएर परमेश्‍वरको लागि जिएर सबै कुराहरूमा परमेश्‍वरलाई सन्तुष्ट पार्न समर्थ हुन्छ। यस्ता समयहरू हुन सक्छन्‌ जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्दैनस्‌। त्यो तैँले परमेश्‍वरको इच्छा नबुझेको कारणले हो; अर्को पटक, अझ धेरै प्रयास चाहिने भए पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नुपर्छ र पापमय स्वभावलाई सन्तुष्ट पार्ने होइन। जब तैँले यस्तो प्रकारले अनुभव गर्छस्‌, तैँले परमेश्‍वरलाई चिन्न आएको हुनेछस्‌। तैँले देख्नेछस्‌ कि परमेश्‍वरले स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्न सक्नुहुन्छ, कि उहाँ देह बन्नुभएको छ ताकि मानिसहरूले वास्तवमा उहाँलाई देख्न सकून्‌ र वास्तवमा उहाँसँग तल्लीन हुन सकून्‌; तैँले के देख्नेछस्‌ भने उहाँ मानिसहरूको माझमा हिँडडुल गर्न समर्थ हुनुहुन्छ, र उहाँको आत्माले वास्तविक जीवनमा मानिसहरूलाई उहाँको प्रेमिलोपन देख्न र उहाँको ताडना, उहाँको सजाय, र उहाँका आशिषहरू अनुभव गर्न दिँदै पूर्ण बनाउन सक्नुहुन्छ। यदि तैँले सदैव यसरी अनुभव गरिस्‌ भने, वास्तविक जीवनमा तँ परमेश्‍वरबाट अलग्याउन नसकिने हुनेछस्‌, र यदि कुनै दिन परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन छोड्छ भने, तँ सङ्घर्ष गर्न र पछुतो गर्न समर्थ हुनेछस्‌। जब परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन्छ, तैँले परमेश्‍वरलाई त्याग्ने इच्छा कहिल्यै गर्नेछैनस्‌, र यदि कुनै दिन परमेश्‍वरले तँलाई त्याग्‍नेछु भनी भन्नुहुन्छ भने, तँ भयभीत हुनेछस्‌, र परमेश्‍वरद्वारा त्यागिइनुभन्दा बरु मरुँला भनी तैँले भन्‍नेछस्‌। यी भावनाहरू तँसँग हुनेबित्तिकै, तैँले परमेश्‍वरलाई त्याग्न असक्षम छस् भन्ने तैँले आभास गर्नेछस्‌, र यसरी, तँसँग एउटा जग हुनेछ, र तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउनेछस्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

३५६. परमेश्‍वरमा आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्‍नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर परमेश्‍वर उनीहरूको दैनिक जीवनको हिस्सा भने हुनुहुन्‍न। मानिसहरूका मुखहरूले परमेश्‍वरलाई धेरै प्रार्थनाहरू चढाउँछन्, तर उनीहरूको हृदयमा परमेश्‍वरको स्थान थोरै छ, र त्यसैले परमेश्‍वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। किनभने मानिसहरू अशुद्ध छन्, जसले गर्दा उनीहरूको जाँच गर्नु बाहेक परमेश्‍वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्‍न सकून्। यदि होइन भने, मानवजाति प्रधान दूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्‍ट हुन्थे। परमेश्‍वरमा उनीहरूको विश्‍वासको प्रक्रियामा, परमेश्‍वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, परमेश्‍वरसँग कसैलाई पनि प्रयोग गर्ने कुनै उपाय हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथ्यो। परमेश्‍वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत उनीहरूले आफैलाई चिन्‍न सक्छन् र परमेश्‍वरले उनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वरले आफ्नो जीवनद्वारा उनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदयहरू परमेश्‍वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्‍वरमा विश्‍वास गर्नु चाहिँ मानिसहरूले भने जस्तो सजिलो छैन। जसरी परमेश्‍वरले त्यसलाई हेर्नुहुन्छ, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्‍वरको वचन अनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन भन्‍ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्‍वरको होइन भनी यसले देखाउँछ। एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउनलाई प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र उहाँको इच्छा अनुसार भएको मान्‍न सकिन्छ। यस मार्गमा, धेरै मानिसहरूले थुप्रै ज्ञानको कुरा गर्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, उनीहरूका आँखाहरू आँसुले भरिन्छन्, र आफ्नो जीवनकाल व्यर्थमा खेर फालेकोमा र परिपक्‍व वृद्धावस्था शून्यतामा जिएकोमा आफैलाई घृणा गर्छन्। उनीहरूले सिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यतालाई व्यवहारमा लागू गर्न सक्दैनन् अथवा परमेश्‍वरको साक्षी हुन सक्दैनन्; बरु, उनीहरू यत्तिकै यता उता दौडिरहन्छन्, मौरी झैँ व्यस्त हुन्छन्, र अन्त्यमा मृत्युको छेउमा पुगेपछि मात्र उनीहरूले आफूमा साँचो गवाहीको अभाव भएको र उनीहरूले परमेश्‍वरलाई बिलकुल नचिनेको थाहा गर्छन्। के यो धेरै ढिलो भएन र? किन तँ समयको उपयोग गर्दैनस् र तैँले प्रेम गरेको सत्यताको खोजी गर्दैनस्? किन भोलिलाई कुर्छस्? यदि जीवनमा तँ सत्यताको लागि दुःख भोग्दैनस् अथवा यसलाई प्राप्‍त गर्न खोज्दैनस् भने तँ मृत्युको घडीमा पछुताउन चाहन्छस् भन्‍ने अर्थ लाग्दैन र? यदि त्यसो हो भने किन परमेश्‍वरमा विश्‍वास गर्छस्? वास्तवमा, मानिसहरूले यदि अलिकति परिश्रम गर्‍यो भने पनि सत्यतालाई अभ्यास गर्न सक्‍ने थुप्रै विषयहरू छन् र यसरी परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्छन्। किनकी उनीहरूले परमेश्‍वरको खातिर काम गर्न नसकोस् भनेर मानिसहरूका हृदयहरू दुष्‍टद्वारा नियन्त्रित छन्, र निरन्तर रूपमा उनीहरूको शरीरको खातिर दौडधूप गर्छन्, अन्त्यमा केही पनि प्राप्‍त गर्दैनन्। यस कारणले, मानिसहरू निरन्तर रूपमा समस्याहरू र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यिनीहरू शैतानका यातनाहरू होइनन्? के यो शरीरको भ्रष्‍टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्‍वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले स्पष्‍ट कार्य गर्नुपर्छ। आफैलाई धोका नदे—त्यसको अर्थ के हुन सक्छ? आफ्नो शरीरको खातिर जिएर फाइदा र प्रसिद्धिको लागि सङ्घर्ष गरेर तैँले के प्राप्‍त गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

३५७. परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्ने मानिसहरू ती हुन् जो परमेश्‍वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्‍वर सम्‍बन्धी आफ्‍ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्‍वरलाई बदनाम गर्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकरहरू हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका मुख्य प्रतिनिधिहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्‍वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तापनि, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल पर्दाफास गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई अवरोध पुर्‍याउँछन् र परमेश्‍वरको काममा बाधा उत्पन्न गर्छन् तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेको लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझशक्ति नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्‍वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्‍वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्‍वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

अघिल्लो: क. परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो त्यसलाई प्रकट गर्ने सम्बन्धमा

अर्को: ग. कसरी आफैलाई चिन्‍ने र साँचो पश्‍चात्ताप हासिल गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्