सत्यता कसरी पछ्याउने (१९)

सकारात्मक कुराहरूसम्बन्धी विषयमा, पछिल्लोपटक हामीले सकारात्मक कुराहरू के हुन् भन्‍नेबारे सङ्गति गर्‍यौँ र तिनलाई परिभाषा दियौँ। सकारात्मक कुराहरू के हुन्? (परमेश्‍वरले सृष्टि गरेका, परमेश्‍वरले नियोजन गरेका, वा परमेश्‍वरको सार्वभौमिकताअन्तर्गतका सबै कुरा सकारात्मक कुरा हुन्।) तिमीहरूले सकारात्मक कुराहरूको परिभाषा याद गरेका रहेछौ, तर के तिमीहरू दिइएका उदाहरणहरू बोध गर्न सक्छौ? (हामी तिनलाई केही हदसम्म बोध गर्न सक्छौँ।) यो परिभाषा, सकारात्मक कुराहरूको यो अवधारणा—के यो सत्यता हो? (हो, यो सत्यता हो।) के तिमीहरू निश्‍चित छौ? परमेश्‍वरका वचनहरू पढ्दा, तँलाई यो परिभाषा सत्यता हो र सही छ भन्‍ने लाग्छ, तर जब तँ तेरा धारणाहरूसँग मेल नखाने कुनै कुरा सामना गर्छस्, तब तँ त्यो बुझ्न सक्दैनस् र तैँले सत्यता स्वीकार गर्नेछैनस्। कुनै कुरालाई मानिसहरूका धारणाहरूअनुसार सकारात्मक वा नकारात्मक कुराका रूपमा हेरिए तापनि, छोटकरीमा भन्दा, त्यो परमेश्‍वरले सकारात्मक कुराका रूपमा परिभाषित गरेको कुरा नभएसम्म, त्यो सकारात्मक कुरा नभई नकारात्मक कुरा हुन्छ। के तँ यसरी कामकुराहरू खुट्ट्याउन सक्छस्? (सक्छु। यदि परमेश्‍वरले कुनै कुरालाई सकारात्मक कुराका रूपमा परिभाषित गर्नुभएको छ, र यो मेरा आफ्नै धारणाहरूसँग मेल खाँदैन र म यो बुझ्न सक्दिनँ—तर मलाई परमेश्‍वरले भन्ने कुरा निश्‍चित रूपमा सत्यता हो भन्‍ने थाहा छ भने—म आफैलाई इन्कार गर्न सिक्नेछु।) यदि यस कुराले तँलाई हानि गर्छ, वा सबै मानिसलाई नै हानि गर्छ भने—मानिसहरूका धारणाहरूअनुसार यसले तिनीहरूलाई फाइदा गर्दैन र कुनै खुसी वा आनन्द दिँदैन, बरु पीडा र दुर्भाग्य निम्त्याउँछ भने—तैँले यसलाई कसरी हेर्नेछस्? के तँ अझै पनि “सकारात्मक कुराहरूबारे परमेश्‍वरको परिभाषा वास्तवमा सही छ; मानिसहरूले आफ्ना धारणाहरूले मूल्याङ्कन गर्नु हुँदैन, न त तिनीहरूले कुनै कुराबाट लाभ उठाउँछन् कि उठाउँदैनन् भन्‍ने आधारमा त्यसको मूल्याङ्कन गर्नु नै हुन्छ” भन्‍ने आफ्नो दृष्टिकोणमा अडिग रहनेछस्? तिमीहरू यसबारे निश्‍चित हुन सक्दैनौ, सक्छौ र? (सक्दैनौँ।) सत्यताको कुनै पनि पक्ष धर्मसिद्धान्तको स्तरमा मात्रै अर्थपूर्ण वा जायज हुँदैन; बरु, वास्तविक जीवनमा, सबै तथ्यसामु, यो अनन्त रूपमा अपरिवर्तनीय कथन हुन्छ। यदि तँ यसबारे निश्‍चित हुन सक्दैनस् भने, तेरो हृदयमा रहेको सत्यतासम्बन्धी तेरो अवधारणा वास्तवमा अस्पष्ट छ। हामीले सङ्गति गर्ने सत्यताका विभिन्‍न पक्षमा विभिन्‍न मानिस, घटना, र कामकुराहरूसम्बन्धी दृष्टिकोणहरू समावेश हुन्छन्; तिनमा विभिन्‍न मानिस, घटना, र कामकुराहरूको सार र वास्तविक परिस्थितिहरू समावेश हुन्छन्, र तिनले मानिसहरूलाई परमेश्‍वर यी मानिस, घटना, र कामकुराहरूलाई कसरी व्यवहार गर्नुहुन्छ—तिनका बारेमा उहाँका दृष्टिकोण र मनोवृत्तिहरू के-के हुन् भनेर पनि देखाउँछन्। सकारात्मक कुराहरूको परिभाषा सत्यता भएकाले, यसमा अवश्य पनि यस परिभाषाको दायराले समेट्ने विभिन्‍न मानिस, घटना, र कामकुराहरूका वास्तविक परिस्थिति र सार पनि समावेश हुन्छ, साथै यी विभिन्‍न कुराका बारेमा रहेका परमेश्‍वरका मनोवृत्ति, दृष्टिकोण, र कथनहरू पनि समावेश हुन्छन्। त्यसैले, मानिसहरूलाई आफ्ना धारणाहरूअनुसार सकारात्मक कुराहरूको परिभाषा सही लागे पनि वा गलत लागे पनि, र तिनीहरूको परम्परागत संस्कृति वा तिनीहरूको दैनिक जीवनका सन्दर्भमा सकारात्मक कुराहरूको परिभाषाबारे मानिसहरूको प्रारम्भिक दृष्टिकोण जेसुकै भए तापनि, छोटकरीमा भन्दा, सकारात्मक कुराहरूको यो परिभाषा सत्यता भएकाले, यसले समेट्ने मानिस, घटना, र कामकुराहरू सबै सकारात्मक कुरा हुन्, र यसको विपरीत हुने सबै नकारात्मक कुराहरू हुन्। यस कुरामा कुनै शङ्का छैन। तँमा यस मामिलाबारे स्पष्ट बुझाइ हुनैपर्छ। जुनसुकै बेला वा जुनसुकै सामाजिक वातावरणमा भए पनि, अनि कुनै सकारात्मक कुराले तँलाई जस्तोसुकै प्रभाव पारे पनि वा त्यसबारे तेरो मनोवृत्ति र दृष्टिकोण जस्तोसुकै भए पनि, सकारात्मक कुराहरूको परिभाषा र त्यस परिभाषाले समेट्ने मानिस, घटना, र कामकुराहरूको सार अपरिवर्तनीय हुन्छ। बुझिस्? (बुझेँ।)

पछिल्लोपटक, हामीले मुख्यतया “परमेश्‍वरद्वारा नियोजन गरिएका वा परमेश्‍वरको सार्वभौमिकतामा रहेका सबै कुरा सकारात्मक कुरा हुन्” भन्‍ने भनाइका बारेमा केही निश्‍चित उदाहरणबारे सङ्गति गर्‍यौँ। हामीले “परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुरा सकारात्मक कुरा हुन्” भन्‍ने अंशका बारेमा त्यति विस्तृत रूपमा सङ्गति गरेनौँ। त्यसोभए, के तिमीहरू आफूले सङ्गतिमार्फत वा वर्षौँदेखि बुझेका सत्यताहरूद्वारा यो भनाइ सही छ भनी पुष्टि गर्न सक्छौ? अथवा, के तिमीहरू आफूले जीवनमा देखेका र अनुभव गरेका मानिस, घटना, र कामकुराहरूका आधारमा परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुरा सकारात्मक कुरा हुन् भनी प्रमाणित गर्न सक्छौ? के तिमीहरू यसरी कामकुराहरू बोध गर्न सक्छौ? के तिमीहरू यसरी सत्यता खोज्न सक्छौ? (हामी यसरी केही सरल कुरा बोध गर्न सक्छौँ।) यहाँ एउटा सिद्धान्त छ। सतही रूपमा हेर्दा, परमेश्‍वरद्वारा सृष्टि गरिएका, परमेश्‍वरद्वारा नियोजन गरिएका, वा परमेश्‍वरको सार्वभौमिकतामा रहेका विषयहरूले धेरै फराकिलो दायरा समेट्छन् र ती अत्यन्तै अमूर्त छन्, तर वास्तवमा, ती वास्तविक जीवनमा मानिसहरू सम्पर्कमा आउने विभिन्‍न मानिस, घटना, र कामकुराहरूसँग घनिष्ठ रूपले जोडिएका हुन्छन्—के पनि भन्न सकिन्छ भने, ती घनिष्ठ रूपमा सम्बन्धित हुन्छन्; ती वास्तविकताबाट अलग हुँदैनन्। यो एउटा मामिलासँग सम्बन्धित छ। जब तँ आफ्‍नो जीवनमा धेरै अप्रत्याशित मानिस, घटना, र कामकुराहरू सामना गर्छस्, तब तँ ती सकारात्मक कुरा हुन् कि नकारात्मक कुरा हुन् भनी निर्धारण गर्न सक्दैनस्। तैँले सकारात्मक र नकारात्मक कुराहरू खुट्ट्याउने धर्मसिद्धान्त बुझे पनि, अझै पनि त्यो कुरा निर्धारण गर्न सक्दैनस्। ती सकारात्मक कुराहरूले समेट्ने प्रकारका कुराहरू भए पनि, तँ तिनलाई तेरा धारणाहरूभित्र सकारात्मक कुराका रूपमा स्वीकार गर्दैनस्, र तीदेखि विकर्षित हुन्छस् र आफ्नो हृदयमा तिनलाई घृणा गर्छस्, र ती सकारात्मक कुराहरूको दायराभित्र सूचीकृत हुन पूर्ण रूपमा अयोग्य छन् भनेरसमेत सोच्छस्, तैपनि ती वास्तवमा परमेश्‍वरद्वारा सृष्टि गरिएका, परमेश्‍वरद्वारा नियोजन गरिएका, वा परमेश्‍वरको सार्वभौमिकतामा रहेका कुराहरू हुन्, र ती सकारात्मक कुराहरूको श्रेणीमा पर्छन्। यस्तो बेला नै मानिसहरूले यस प्रकारका कुराहरू सामना कसरी गर्नुपर्छ भन्‍ने अभ्यासका सिद्धान्तहरू लागू हुन्छन्। अभ्यासको सबैभन्दा सरल सिद्धान्त यो हो: पहिलो, सम्बन्धित कुरा सकारात्मक कुराहरूको परिभाषाले समेट्ने प्रकारको कुरा हो भन्‍नेमा तँ सुनिश्‍चित हुनैपर्छ। मानिसहरूका धारणाहरूअनुसार यो सकारात्मक कुरा जस्तो नदेखिए पनि, यदि यो परमेश्‍वरद्वारा परिभाषित सकारात्मक कुराहरूको श्रेणीभित्रको कुनै कुरा हो भने, सबैभन्दा पहिले, तँ यो सकारात्मक कुरा हो, र यसमा बिलकुलै कुनै गल्ती छैन भनेर निश्‍चित हुनैपर्छ। परमेश्‍वरले यो कुरा सृष्टि गर्नुको महत्त्व छ; मानिसहरूले यसबाट केही पाठ सिकून् भनेर यसलाई सृष्टि गरिएको हो। यसबारे निश्‍चित हुनु आवश्यक छ। यो अभ्यासको एउटा सिद्धान्त हो। दोस्रो, यो कुरा वा यस प्रकारको मामिलाका सम्बन्धमा, हामी वैज्ञानिकहरूजस्तो भएर यसको प्रकृति वा प्रकार्य, वा यसले मानव जीवन वा सम्पूर्ण खाद्य शृङ्खलामा कस्तो भूमिका खेल्छ भन्नेबारे अध्ययन गर्नु आवश्यक छैन। यो सकारात्मक कुरा हो भनी निश्‍चित हुनु नै पर्याप्त छ। कतिपय मानिस यसो भन्छन्, “यदि यो सकारात्मक कुरा मानिसहरूको जीवनमा अक्सर देखा पर्छ र यसले तिनीहरूको जीवनमा दखल दिन्छ, र यो सकारात्मक हो भन्‍ने तिनीहरूको दृष्टिकोणलाई असर गर्छ भने, यसलाई कसरी सम्हाल्नुपर्छ?” त्यो सम्हाल्न सजिलो छ। यदि तेरो जीवनमा यो प्रयोग गर्न आवश्यक छ भने, आवश्यकताअनुसार प्रयोग गर्; यसलाई तेरो सेवा गर्न दे। यदि तँलाई यो प्रयोग गर्न आवश्यक छैन, र यसले अक्सर तँलाई दखल दिन्छ वा तेरा कुनै पनि शारीरिक इन्द्रियहरूलाई बाधा दिन्छ भने, तँ यसलाई धपाउन र यसबाट टाढा बस्न सक्छस्। बस यसलाई तँलाई दखल वा शारीरिक पीडा दिन नदे। यो दोस्रो सिद्धान्त हो। साथै, तैँले के कुरा जान्नैपर्छ भने, यदि यो परमेश्‍वरको सृष्टि, परमेश्‍वरको नियोजन, वा परमेश्‍वरको सार्वभौमिकताबाट आएको हो भने, तैँले यसलाई अरुचिकर ठान्‍नु, घृणा गर्नु, वा इन्कार गर्नु हुँदैन। बरु, तैँले यसलाई स्वीकार गर्नुपर्छ र मानिलिनुपर्छ। अझ राम्रो कुरा त यसलाई उचित तरिकाले व्यवस्थापन गर्नु र उपयोग गर्नु हो। यी अभ्यासका जम्मा तीनवटा सिद्धान्त हुन्। यी तीन सिद्धान्त के-के हुन्? (पहिलो हो, कुनै कुरा परमेश्‍वरले परिभाषित गरेका सकारात्मक कुराहरूको दायराभित्र परेसम्म, हामी यो सकारात्मक कुरा हो भनेर निश्‍चित हुनैपर्छ। परमेश्‍वरले यसलाई सृष्टि गर्नुको महत्त्व छ; मानिसहरूले यसबाट केही पाठ सिकून् भनेर यसलाई सृष्टि गरिएको हो। दोस्रो हो, यो सकारात्मक कुरा हो भनी निश्‍चित हुनका आधारमा, हामी आवश्यक परेमा यो प्रयोग गर्छौँ। यदि हामीलाई यो प्रयोग गर्न आवश्यक छैन, र यसले हाम्रो जीवनमा दखल दिन्छ भने, हामी यसलाई धपाउन र यसबाट टाढा बस्न, अनि यसलाई हाम्रो जीवनमा दखल दिन नदिन सक्छौँ। तेस्रो हो, यदि यो परमेश्‍वरद्वारा सृष्टि गरिएको, परमेश्‍वरद्वारा नियोजन गरिएको, वा परमेश्‍वरको सार्वभौमिकतामा रहेको कुरा हो भने, हामीले यसलाई अरुचिकर ठान्‍नु वा घृणा गर्नु हुँदैन; हामीले यसलाई स्वीकार गर्नुपर्छ र मानिलिनुपर्छ। अझ राम्रो कुरा त यसलाई उचित तरिकाले व्यवस्थापन गर्न र उपयोग गर्न सक्नु हो।) के यी तीन सिद्धान्त लागू गर्न सजिलो छ? ती त्यति सजिला छैनन्, छन् त? (छैनन्।) यदि कुनै लामखुट्टे तेरो कानमा भुनभुनाइरहेको छ भने, तैँले त्यसलाई धपाउनेछस्, र मनमनै यस्तो सोच्नेछस्, “परमेश्‍वरले सृष्टि गरेका सबै कुरा असल छन्; बस् म यसलाई धपाउँछु र कुरा सिध्याइदिन्छु”—तँ यी तीन सिद्धान्तअनुसार कार्य गर्न सक्नेछस्। तर यदि तैँले त्यसलाई धपाइस् र त्यो तुरुन्तै फर्केर आयो र तँलाई टोक्यो भने, तँ यसबारे जति धेरै सोच्छस्, त्यति नै धेरै तँलाई रिस उठ्नेछ: “मैले तँलाई जान दिएँ, तर तँ मलाई एक्लै छोड्दैनस्। यसपटक, म तँलाई पक्कै मार्नेछु!” के त्यसलाई मार्नु सही कुरा हो? वास्तवमा, त्यसलाई मार्नु गलत होइन; यसलाई उपयुक्त व्यवस्थापन मान्न सकिन्छ। तर साथसाथै, के तँलाई लामखुट्टेहरू सकारात्मक कुरा हुन् भन्‍ने तथ्यमा शङ्का लाग्न पनि थाल्नेछैन र? विशेष गरी जब त्यसको टोकाइको डाम झन्-झन् चिलाउँदै जान्छ, यति साह्रो चिलाउँछ कि त्यो असह्य हुन्छ, तब तैँले मनमनै यस्तो सोच्नेछस्: “परमेश्‍वरले लामखुट्टेहरू सृष्टि गर्नुको के काम? यदि लामखुट्टेहरू नभएका भए मानिसहरूले यो हानि भोग्नेथिए र? यो त पक्कै पनि सकारात्मक कुरा हो जस्तो लाग्दैन!” तेरो चेतनाले तँलाई यसरी सोच्नु गलत हो, लामखुट्टे सकारात्मक कुरा हो किनभने यो परमेश्‍वरद्वारा सृष्टि गरिएका सकारात्मक कुराहरूको दायराभित्रको एउटा सानो प्राणी हो भनी भन्नेछ। तर तँ अझै पनि यसलाई बुझ्न सक्दैनस्: “यसले मानिसहरूलाई फाइदा गर्दैन, त्यसोभए परमेश्‍वरले यसलाई किन सृष्टि गर्नुभयो?” लामखुट्टेको टोकाइको डाम ठूलो नभए पनि, त्यसको चिलाइ भयानक हुन्छ। एलर्जी भएकाहरूले यसलाई कन्याउँदा राताम्मे हुने र सुन्निने समस्या हुन सक्छ, र सङ्क्रमण हुन र ज्वरोसमेत आउन सक्छ। यस बिन्दुमा, तँमा धारणाहरू विकास हुनेछन् र तँलाई स्वीकार गर्न गाह्रो हुनेछ: “मलाई लामखुट्टेहरू सकारात्मक कुरा जस्तो लाग्दैन। ती सकारात्मक भएका भए, तिनले कसरी मानिसहरूलाई दखल र पीडा दिन सक्थे र? के सकारात्मक कुराहरूले सकारात्मक प्रभाव पार्नु पर्दैन र? यो प्रभाव सकारात्मक छैन; तिनले नकारात्मक भूमिका खेलिरहेका छन् र मानिसहरूमा नकारात्मक प्रभाव पारिरहेका छन्। लामखुट्टेहरूलाई कसरी सकारात्मक कुराको श्रेणीमा राख्न सकिन्छ? यो अकल्पनीय छ। परमेश्‍वरले गरेको कुरा मेरा धारणाहरूसँग मेल खाँदैन!” तैँले आफ्नो हृदयमा लामखुट्टेहरू सकारात्मक कुरा हुन् भन्‍ने तथ्यबारे धारणाहरू विकास गर्नेछस्। तँ ठूलो स्वरले यसो भन्छस्, “सबैभन्दा पहिले, लामखुट्टेहरू सकारात्मक कुरा हुन् भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन। दोस्रो, यदि तिमी तिनले तिमीलाई दखल नदिऊन् भन्‍ने चाहन्छौ भने, तिनलाई धपाउन र तीबाट टाढा बस्न सक्छौ। अन्त्यमा, तिमीले तिनलाई अरुचिकर ठान्‍नु वा घृणा गर्नु हुँदैन, बरु तिनलाई स्वीकार गर्नुपर्छ, मानिलिनुपर्छ, र उचित तरिकाले व्यवस्थापन गर्नुपर्छ।” तैँले त्यसो भने पनि, यो अन्तिम सिद्धान्त लागू गर्न तँलाई एकदमै गाह्रो हुन्छ। तँलाई फाइदाजनक कीराहरूलाई स्वीकार गर्न निकै सजिलो हुन्छ। तर, लामखुट्टेहरूको कुरा आउँदा, यदि तैँले तिनलाई स्वीकार गर्ने, उचित रूपमा व्यवस्थापन गर्ने, र नसराप्ने प्रयास गरिस् भने, के तँ यो गर्न सक्छस्? (परमेश्‍वरको सङ्गतिभन्दा पहिले, कहिलेकाहीँ मेरो मुड खराब हुँदा र लामखुट्टेले टोक्दा, मलाई निकै अरुचि लाग्थ्यो र केही नराम्रा कुरा भन्थेँ। भविष्यमा, म यसबाट बच्ने र उप्रान्त ती कुराहरू नभन्ने सक्दो प्रयास गर्नेछु।) तैँले तिनलाई सराप्नु हुँदैन; तैँले तिनलाई स्वीकार गर्नुपर्छ, सही तरिकाले सम्हाल्नुपर्छ, र उचित तरिकाले व्यवस्थापन गर्नुपर्छ। उचित व्यवस्थापनसम्बन्धी यो भाग लागू गर्न धेरै गाह्रो छ, छैन र? (छ।) यदि तैँले तिनलाई मौखिक र धर्मसैद्धान्तिक रूपमा मानिलिएको र स्वीकार गरेको भए, त्यसो गर्न केही हदसम्म सजिलो हुनेथ्यो। यदि तिनले तँलाई चोट पुर्‍याउँथे भने, तँ तीबाट टाढा बस्न र जोगिन पनि सक्थिस्। तर तँलाई ती आफ्नो हृदयबाट स्वीकार गर्न र मानिलिन, तिनलाई सही तरिकाले व्यवहार गर्न, र यसबाहेक, तिनलाई उचित तरिकाले व्यवस्थापन गर्न लगाउनु—तँलाई यो कुरा गर्न गाह्रो हुनेथ्यो। यो किन गाह्रो हुनेथ्यो? किनभने जब तिनले तँलाई चोट पुर्‍याउँछन्, तब तैँले तीबाट आफूले लाभ उठाइरहेको महसुस गर्दैनस्, बरु तीबाट आफूलाई हानि भइरहेको महसुस गर्छस्। अर्थात्, तेरा धारणाहरूअनुसार, सकारात्मक कुराहरूले सकारात्मक प्रभाव पार्नुपर्छ, तर लामखुट्टेहरूबाट कुनै सकारात्मक लाभ प्राप्त गर्नुको सट्टा, तँ तिनले तँमा नकारात्मक प्रभाव पारेको महसुस गर्छस्। यस बिन्दुमा, तिनलाई अरुचिकर वा घृणित नठान्‍न, बरु तिनलाई स्वीकार गर्न र उचित तरिकाले व्यवस्थापनसमेत गर्न तँलाई सजिलो हुनेथिएन। मानिसहरूले लामखुट्टेहरू सकारात्मक कुरा हुन् भनी धर्मसिद्धान्तको स्तरमा स्वीकार गर्न सके पनि, र तिनीहरूले मुस्किलले लामखुट्टेहरूलाई सही तरिकाले लिन सके पनि, जब तिनीहरूलाई वास्तविक जीवनमा लामखुट्टेहरूले बाधा दिन्छन्, तब तिनीहरूलाई सिद्धान्तहरूअनुसार तिनलाई लिन निकै गाह्रो हुन्छ। यसका लागि मानिसहरूले सत्यता बुझ्न, सकारात्मक कुराहरूले समेट्ने तीन पक्ष—ती “परमेश्‍वरद्वारा सृष्टि गरिएका, परमेश्‍वरद्वारा नियोजन गरिएका, वा परमेश्‍वरको सार्वभौमिकतामा रहेका” हुन्—तीअन्तर्गत समावेश निश्‍चित धेरै मानिस, घटना, र कामकुराहरूको प्रकृति बुझ्न, साथै तिनले मानव जीवन र बचाइमा कस्तो प्रकारको भूमिका खेल्छन्, र तिनलाई सृष्टि गर्नु र तिनलाई तिनको जीवनशैली दिनुमा परमेश्‍वरको मूल उद्देश्य के थियो भनी बुझ्न आवश्यक छ। मानिसहरूले यी नै कुराहरू बुझ्नु आवश्यक छ। यदि मानिसहरूले परमेश्‍वरका अभिप्रायहरू र आधारभूत सिद्धान्तहरूपछाडिको उहाँको मूल उद्देश्य र आम आशय बुझ्छन् भने, आफ्ना धारणाहरूसँग मेल नखाने केही सकारात्मक कुराका हकमा भन्दा, सायद तीबाट टाढा बस्नुबाहेक, तिनीहरूले—फरक-फरक हदमा—तिनलाई स्वीकार गर्न, मानिलिन, उचित रूपमा व्यवस्थापन गर्न, र सही तरिकाले उपयोग गर्न पनि सक्छन्। हामी यस विषयमाक्रमिक रूपमा छलफल गर्नेछौँ।

“परमेश्‍वरद्वारा सृष्टि गरिएका कुराहरू” भन्‍ने विषयले समेट्ने दायरा धेरै फराकिलो छ, त्यसैले हामीले पहिले केही उदाहरणहरू दिनुपर्छ र त्यसपछि तिनलाई अलिअलि गर्दै छलफल गर्नुपर्छ। हामीले भर्खरै लामखुट्टेहरूका बारेमा कुरा गर्‍यौँ। कसैलाई पनि लामखुट्टे मन पर्दैन वा कोही पनि तीसँग बस्न इच्छुक हुँदैन भन्नु अत्योक्ति हुँदैन; यस विपरीत, सबैले लामखुट्टेलाई घृणा गर्छन् र आफ्नो जीवनभर एउटा पनि लामखुट्टे देख्नु नपरोस् भन्‍ने कामना समेत गर्छन्। लामखुट्टेको मामिला ठूलो नभए पनि, यसमा एउटा निश्‍चित प्रकारको कुरा समावेश छ, र यसमा परमेश्‍वरद्वारा सृष्टि गरिएका मानिस, घटना, र कामकुराहरूभित्रको एक निश्‍चित प्रकारको कुराको प्रकृतिबारे मानिसहरूको बुझाइ पनि समावेश छ। यहाँ मुख्य कुरा अवश्यै के हो भने, यसमा मानिसहरूले एउटा सत्यता चिन्ने र बुझ्ने कुरा समावेश छ, र यसमा मानिसहरूले आफ्नो जीवनका मानिस, घटना, र कामकुराहरूमाझको एक निश्‍चित प्रकारको कुरालाई कसरी व्यवहार गर्छन् भन्‍ने अभ्यासका सिद्धान्तहरू पनि समावेश छन्। त्यसकारण, लामखुट्टे ठूलो प्राणी नभए पनि, यसमा समावेश मामिलाहरू साना छैनन्; मानिसहरूले तिनलाई बुझ्ने र खोजी गर्ने प्रयास गर्नु सार्थक हुन्छ। “परमेश्‍वरद्वारा सृष्टि गरिएका कुराहरू” को विषयवस्तुमा बृहत् र सूक्ष्म विषयहरू समावेश हुन्छन्। भर्खरै, हामीले सूक्ष्म पक्षमा पर्ने एउटा सानो प्रजाति, लामखुट्टेका बारेमा संक्षिप्त रूपमा सङ्गति गर्‍यौँ। यो मानिसहरूले नाङ्गो आँखाले देख्न सक्ने तुलनात्मक रूपमा सानो प्रकारको प्राणी हो; लामखुट्टेभन्दा सानो कुनै पनि कुरा छलफल गर्न लायक छैन। लामखुट्टेहरू एक प्रकारका प्राणी हुन् जसको सम्पर्कमा मानिसहरू अक्सर आउन सक्छन्, र ती नाङ्गो आँखाले देखिने तुलनात्मक रूपमा सूक्ष्म प्राणी हुन्। यो मामिला सूक्ष्म स्तरमा भएकाले, हामी यसबारे पछि सङ्गति गर्नेछौँ। त्यसोभए, हामीले पहिले केका बारेमा सङ्गति गर्नुपर्छ? (बृहत् कुरा।) हामी पहिले बृहत् कुराहरूबारे सङ्गति गरौँ। बृहत् कुराहरू धेरै छन्। मानिसका लागि परमेश्‍वरले सृष्टि गर्नुभएको जीवित वातावरणका वस्तुहरूबाहेक, मानिसहरूको जीवनको सबैभन्दा नजिकको, वा मानिसहरू सम्पर्कमा आउन सक्‍ने, तिनीहरूले महसुस गर्न, र देख्न सक्ने, र सबैसँग परिचित कुरा भनेको मानवजाति नै हो। त्यसोभए, जब मानवजातिको कुरा आउँछ, तब मानिसहरूले देख्न सक्ने विभिन्‍न मानिस, घटना, र कामकुराहरूमध्ये कुन-कुन विषय कुरा गर्न लायक छन्? कुन-कुन बुझ्न लायक छन्? मानव समाजको हकमा सबैभन्दा बुझ्न लायक विषय भनेको मानवजातिको तथाकथित सभ्यता हो। यो सभ्यताले समेट्ने मुख्य विषय भनेको विभिन्‍न संस्कृति हुन्। विभिन्‍न संस्कृतिको उदय विभिन्‍न समाजभित्रको शिक्षाबाट हुन्छ; विभिन्‍न समाजभित्रको शिक्षाले विभिन्‍न संस्कृतिलाई जन्म दिन्छ, र यी विभिन्‍न संस्कृतिको पृष्ठभूमिमा, विभिन्‍न युगमा मानवजातिका तथाकथित सभ्यताहरू देखा परेका छन्। मानव सभ्यताको स्रोत र उत्पत्ति यही हो। पूर्वीय समाजको आफ्नै सभ्यता छ, र अवश्य पनि, यसको आफ्नै तथाकथित संस्कृति पनि छ। पूर्वीय समाजले आफ्ना मानिसहरूलाई शिक्षा दिने तरिकाबाट यो संस्कृतिको उदय हुन्छ। त्यसै गरी, पश्चिमेली समाजको पनि आफ्नै तथाकथित सभ्यता छ। पश्चिमेली सभ्यता पनि यसको संस्कृतिबाट आउँछ, र यसको संस्कृतिको उदय पनि त्यसै गरी पश्‍चिमी समाजको शिक्षाबाट हुन्छ। अर्थात्, विभिन्‍न युगहरूमा पश्‍चिमी समाजको शिक्षाले पश्‍चिमी संस्कृति उत्पादन गरेको छ, र यस्तो सांस्कृतिक पृष्ठभूमिमा, पश्‍चिमी सभ्यता बिस्तारै देखा परेको छ, यसले आकार लिएको छ, र आजको दिनसम्म विकसित भएको छ। चाहे पूर्वीय संस्कृति होस् वा पश्‍चिमी संस्कृति, दुवैले आ-आफ्ना मानिसहरूलाई यसरी नै, पुस्तौँ-पुस्तासम्म शिक्षा दिँदै आएका छन्। विभिन्‍न युगहरूमा, तिनले एकपछि अर्को पुस्तालाई निरन्तर सिकाउँदै र प्रभाव पार्दै आएका छन्, र ती विभिन्‍न युगहरूमा एक पुस्ताबाट अर्को पुस्तामा फैलँदै आएका छन्, साथै निरन्तर विकासित हुँदै र अगाडि बढ्दै आएका छन्। यसरी, पूर्वीय र पश्‍चिमी संस्कृति र सभ्यताहरूले बिस्तारै आकार लिएका छन् र ती प्रकट भएका छन्, र मानिसहरूले बिस्तारै तिनलाई मान्यता र स्वीकृति दिएका छन्, र पूर्वीय र पश्‍चिमी समाजहरूमा तिनले बिस्तारै आकार लिँदै र ती स्थापित हुँदै गएका छन्। यसले पूर्व र पश्‍चिमका मूलधारका संस्कृति र सभ्यताहरू निर्माण गरेको छ। पूर्वको आफ्नै मूलधारको संस्कृति र सभ्यता छ, त्यसै गरी पश्‍चिमको पनि आफ्‍नै छ। पूर्वीय र पश्‍चिमी समाजहरूले, सार, रूप, र मानवजातिमा तिनले पार्ने प्रभावको हिसाबमा फरक-फरक संस्कृति र सभ्यता निर्माण गरेका छन्। चाहे पूर्वीय संस्कृति होस् वा पश्‍चिमी संस्कृति, दुवैले मानिसहरूको जीवन, अस्तित्व, विचार, र दृष्टिकोणहरूमा अमिट, अप्रतिरोध्य, वा अपूरणीय प्रभाव पारेका छन्। हामीले पूर्वीय र पश्‍चिमी संस्कृतिहरूका बारेमा कुरा गरिरहेका हुनाले, तिनमा निश्‍चित रूपमा नै भिन्‍नताहरू छन्। पूर्वीय संस्कृतिका आफ्नै प्राथमिक विचार र दृष्टिकोणहरू छन्, जसलाई यसले महत्त्व दिन्छ, जबकि पश्‍चिमी संस्कृतिका आफ्नै विशेषताहरू र प्राथमिक विचार र दृष्टिकोणहरू छन्, जसलाई यसले महत्त्व दिन्छ। त्यसोभए, पूर्वीय संस्कृतिले केलाई महत्त्व दिन्छ? पूर्वीय संस्कृतिले मुख्यतया के सिकाउँछ? धेरैजसो मानिसले यो पक्ष त्यति बुझ्दैनन्। तिमीहरूमध्ये कतिपय पूर्ण रूपमा अकमक्क परेका हुन सक्छौ: “तपाईँले किन यहाँबाट सकारात्मक कुराहरूका बारेमा कुरा गर्न थाल्नुभयो?” धेरै बृहत् कुराहरूमा अन्तर्निहित रूपमै धेरै अमूर्त तत्त्वहरू हुन्छन्। तिमीहरूले यो पक्ष बुझिनसकेका भए पनि, यदि तिमीहरूले ध्यान दिएर सुन्यौ भने, बुझ्नेछौ।

सुरुमा हामी पूर्वीय संस्कृतिका बारेमा कुरा गरौँ। पूर्वीय संस्कृतिले के कुरालाई महत्त्व दिन्छ? यसको सार के हो? मानिसहरूमा यसले के-कस्तो प्रभाव पार्छ? तैँले व्यक्तिगत रूपमा महसुस गरेको, वा देखेको, बुझेको, वा दीर्घकालीन सम्पर्कको सूक्ष्म प्रभावमार्फत महसुस गर्न र जान्न पुगेको पूर्वीय संस्कृतिका मुख्य विशेषताहरू के हुन्? जब हामी संस्कृतिको कुरा गर्छौँ, तब यो शिक्षासँग सम्बन्धित हुन्छ। चाहे त्यो परिवारबाट आउने शिक्षा होस्, विद्यालयबाट आउने शिक्षा होस्, वा समाजबाट आउने शिक्षा नै किन नहोस्, ती सबै संस्कृतिसँग सम्बन्धित हुन्छन्; यो कुनै राष्ट्र वा मानिसहरूको कुनै निश्‍चित समूहको शिक्षासँग सम्बन्धित हुन्छ। शिक्षाले सांस्कृतिक पृष्ठभूमि सिर्जना गर्छ—यो निश्‍चित छ। के तिमीहरूलाई पूर्वीय संस्कृतिले कस्तो प्रकारको शिक्षालाई महत्त्व दिन्छ भन्‍ने थाहा छ? (पूर्वीय संस्कृतिले परम्परालाई ठूलो महत्त्व दिन्छ।) त्यसोभए परम्पराको सार के हो? “परम्परा” एउटा अवधारणा हो। यो अवधारणाले समेट्ने खास विषयवस्तु के हो? यो तैँले कसरी सोच्नुपर्छ, तैँले के गर्नुपर्छ, र तैँले कुन दिशामा र कुन लक्ष्यतर्फ आफूलाई आचरणमा ढाल्नुपर्छ भन्‍ने कुरासम्बन्धी मागहरू हुन्। यो नै यसको शिक्षाको खास सार हो। पूर्वीय समाजले महत्त्व दिने शिक्षा भनेको सामाजिक नैतिक शिक्षा हो, र यो सामाजिक नैतिक शिक्षाको पनि खास विषयवस्तु हुन्छ। उदाहरणका लागि, पूर्वीय समाजमा अक्सर प्रचार गरिने एउटा वैचारिक प्रवृत्ति भनेको अरूलाई मनाउन समझ प्रयोग गर्नु हो। के यो तीमध्ये एक हो? (हो।) यसमा बल प्रयोग गर्नुभन्दा पहिले शिष्टाचार देखाउनुपर्छ, शिष्टाचारका कारण अरूसामु झुक्नुपर्छ, र “प्रधानमन्त्रीको हृदय डुङ्गा खियाउनका निम्ति पर्याप्त छ” भन्‍ने भनाइ पनि पर्छ। यसमा “सद्भाव खजाना हो; धैर्यता सान हो,” र “सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ” भन्‍ने भनाइ पनि पर्छ। अरू के छ? “बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन,” “सास भइञ्‍जेल आस हुन्छ,” “महान् व्यक्तिलाई कहिले झुक्‍ने र कहिले नझुक्‍ने भन्ने कुरा थाहा हुन्छ,” र “साँचो पुरुषको महत्त्वाकाङ्क्षा दूरगामी हुन्छ।” अरू के छ? (के “सबै सद्गुणमध्ये पितृभक्तिलाई नै सबैभन्दा माथि राख्नुपर्छ” भन्‍ने भनाइ पर्छ?) त्यो पनि पर्छ। यसमा “टाढाको मित्र भेट्दा कति आनन्द हुन्छ” भन्‍ने कुरा पनि पर्छ, जुन आतिथ्यसँग सम्बन्धित छ। अरू के छ? (“साथीका लागि गोली खान तयार छु,” र “आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन।”) पूर्वीय शिक्षाका यी सबै अवधारणाद्वारा हासिल गर्न खोजिएको प्रभाव भनेको मानिसहरूलाई सामाजिक नैतिकतालाई महत्त्व दिन लगाउनु हो; यी अवधारणाहरूले मानिसहरूलाई समाजमा शिष्टाचारका कुन-कुन नियमहरू पालन गर्नुपर्छ भनी सिकाउँछन्, र मानिसहरूलाई यो तथाकथित शिष्टाचारलाई व्यक्तिको चरित्रको प्रतीकका रूपमा लिन लगाउँछन्। पूर्वीय शिक्षाले मानिसहरूको व्यवहारलाई नियमन गर्न यी कुराहरू प्रयोग गर्छ। यदि कुनै व्यक्ति समाजमा स्थापित हुन चाहन्छ भने, उसले पहिले सबै कुरामा अरूको प्रशंसा, उच्च सम्मान, र आदर कमाउने कुरा सुनिश्‍चित गर्नुपर्छ। मानवताका यस्ता गुणहरू भएको नैतिक चरित्र प्राप्त गरेपछि मात्रै व्यक्तिलाई साँच्चै असल मानिस मान्न सकिन्छ। यस्तो शिक्षा प्राप्त गरेपछि, मानिसहरूले आफूलाई बाँध्नका लागि तथाकथित नैतिक चरित्रसम्बन्धी यी विचारहरू प्रयोग गर्छन्, र यी मागहरू पूरा गर्न लागिपर्छन्। यो पूर्वीय शिक्षाले मानिसहरूलाई बाहिरी रूपमा शिष्टाचार पालन गर्न सिकाउँछ, ताकि तिनीहरू शिष्ट, सुसंस्कृत, र भद्र नैतिक चरित्र भएका मानिसजस्ता देखिऊन्। जहाँसम्म मानिसहरूले भित्र के सोचिरहेका छन्, तिनीहरूमा मानवताका जे-जस्ता आवश्यकता, इच्छा, वा महत्त्वाकाङ्क्षा र चाहनाहरू छन् भन्‍ने कुरा छ, ती सबैलाई दबाउनुपर्छ र तिनीहरूको हृदयको गहिराइमा गाड्नुपर्छ, र प्रकट गर्नु हुँदैन। हामीले पहिले पूर्वीय शिक्षाको यस पक्षमा निकै सङ्गति गरेका छौँ। यी सबै वैचारिक शिक्षाका अवधारणाहरूको प्रकृति के हो? के ती मानवताका आवश्यकताहरूसँग मिल्छन्? के ती मानवताको सारसँग मिल्छन्? (मिल्दैनन्।) यो पूर्वीय सामाजिक नैतिक शिक्षाअन्तर्गत रहेकाहरूले जिउने र प्रकट गर्ने व्यवहार मानिसहरूको सार र तिनीहरूको मानवताका आवश्यकताहरूको पूर्ण रूपमा विपरीत हुने हुनाले नै, यसले एउटा कुरालाई पूर्ण रूपमा प्रमाणित गर्छ: यो पूर्वीय सामाजिक नैतिक शिक्षाले वकालत गर्ने विभिन्न विचार मानिसहरूको वास्तविक अवस्था र तिनीहरूको मानवताभित्र वास्तवमा अस्तित्वमा रहेको कुराको विरुद्धमा जान्छन्। मानिसहरूका वास्तविक समस्याहरूलाई ढाक्न र तिनीहरूलाई समाजमा अझ सम्मानजनक रूपमा जिउन दिन, अझ भद्र र अरू मानिसहरूको अनुमोदनको योग्य देखिन दिन, पूर्वीय समाजमा यो सामाजिक नैतिक शिक्षा अस्तित्वमा आयो। यसरी, के भन्नैपर्छ भने, यस किसिमको सन्दर्भमा दिइने शिक्षा ढोँगको शिक्षा हो। यो ढोँगको शिक्षाको सार, वा अभिप्रेरित प्रभाव भनेको, हरेक व्यक्तिलाई आफ्नो साँचो अनुहार खुलासा नगर्नू भनेर सम्झाउनु हो—तिनीहरूको चरित्र जस्तोसुकै भए पनि, र तिनीहरूको पृष्ठभूमि जस्तोसुकै भए पनि, तिनीहरूले आफ्‍नो भेष बदल्न र मुखौटो लगाउन सिक्नुपर्छ, ताकि तिनीहरूले अरूको सामुन्ने अझ बढी इज्जत र मान पाउन सकून्, तिनीहरू आत्म-सम्मानका साथ जिउन सकून्, र प्रशंसा र अनुमोदन कमाउने तरिकाले जिउन सकून्।

यो पूर्वीय ढोँगको शिक्षाका सन्दर्भमा भन्दा, पूर्वीय मानिसहरूले के सिकेका छन्? तिनीहरूले दबाउन र सहन सिकेका छन्। पूर्वीय वैचारिक शिक्षाले पूर्वीय मानिसहरूको मानवताभित्र एक निश्‍चित गुण उत्पन्न गरेको छ, र यो गुणको परिणाम—चाहे यसलाई विचारको स्तरमा हेरियोस् वा व्यवहारको हिसाबमा हेरियोस्—के हो भने, यसले मानिसहरूलाई कसरी दबाउने र सहने भनी सिक्न लगाउँछ। तोकेर नै भन्दा, कुनै पनि सामाजिक युगमा, कुनै पनि शासक वर्गअन्तर्गत, र कुनै पनि जिउने वातावरणमा, सबै प्रकारका मानिस, घटना, र कामकुराहरू सामना गर्दा, मानिसहरूले कसरी दबाउने र सहने भनी सिक्नुपर्छ, र आफ्ना साँचो संवेग र विचारहरू प्रकट गर्नु हुँदैन। यसलाई “दबाउनु र सहनु” भन्नु त राम्रो सुनिने गरी भन्नु हो; वास्तवमा, यो ढोँग हो। अनि मानिसहरू यस ढोँगका लागि के प्रयोग गर्छन्? तिनीहरू आफ्‍नो भेष बदल्नका लागि पूर्वीय सामाजिक नैतिक शिक्षा वा पूर्वीय संस्कृतिबाट लिइएका विभिन्न विचार, दृष्टिकोण, आत्मआचरणका युक्तिहरू, र संसारसँग व्यवहार गर्ने दर्शनहरू प्रयोग गर्छन्, ताकि तिनीहरू बाहिरी रूपमा शिष्ट, सुसंस्कृत, निष्ठा र इज्जत भएका भद्र नैतिक चरित्रका मानिस, र अरूको उच्च सम्मान, अनुमोदन, र प्रशंसा कमाउन सक्‍ने मानिस देखिऊन्। मानिसहरूमा पूर्वीय सामाजिक नैतिक शिक्षाले पार्ने प्रभाव यही हो; यसको मुख्य प्रभाव के हो भने, मानिसहरूले अन्ततः दबाउन र सहन सिक्छन्। “दबाउनु र सहनु” भन्‍ने पदावलीले मानिसहरूलाई सबै कुरा सहन लगाउनु, अरूलाई मनाउन समझ प्रयोग गर्नु, र मानिसहरूसँग व्यवहार गर्दा बल प्रयोग गर्नुभन्दा पहिले शिष्ट हुनु, र अरूलाई अत्यन्तै दयालु व्यवहार गर्ने प्रयास गर्नुजस्ता कुराहरू समेट्छ। यो यस्तो हो मानौँ तिनीहरू साह्रै उदार छन्, र तिनीहरूमा परोपकार र सहनशीलताको हृदय छ; तिनीहरू आफू निकै महान् र भद्र भएको भेष धारण गर्छन्, यहाँसम्म कि तिनीहरू मानव नैतिकताको उच्च स्थानमा बसेर सबै कुरालाई होच्याएर हेर्छन्। त्यसकारण, यो पूर्वीय सांस्कृतिक सन्दर्भभित्र, पूर्वीय मानिसहरूको सांस्कृतिक जीवन आधारभूत रूपमा यी विचार र अवधारणाहरूले भरिएको हुन्छ। साथै, अर्को पुस्तालाई निरन्तर सिकाउन र प्रभावित पार्न यो संस्कृति प्रयोग गरिन्छ। उदाहरणका लागि, चलचित्र र टेलिभिजन नाटकहरूमा, निश्‍चित विचारहरूलाई प्रायजसो बढावा दिइन्छ, जसमध्ये एउटा हो, “महान् साहसी नायकहरूले आफ्नो देश र जनताप्रति आफ्नो भूमिका निर्वाह गर्छन्।” मानिसहरूको मनमा एक महान् साहसी नायकको छवि कस्तो हुन्छ? मार्सल आर्ट्स चलचित्रहरूमा, तँ धेरैजसो महान् साहसी नायकहरू आकर्षक र परिष्कृत भएको, तिनीहरूले चोयाले बुनेको टोपी लगाएको, र तिनीहरूको छेउमा तरवार वा खड्‌ग भएको देख्छस्। तिनीहरू भावहीन र निःस्वार्थ हुन्छन्, तिनीहरूले संसार, आम मानिस, र सबै जीवित प्राणीलाई आफ्नो हृदयमा राख्छन्, र तिनीहरू इन्साफ कायम गर्न, असल कामहरू गर्न, र पुण्य कमाउन चारैतिर घुम्छन्। जब तिनीहरूले अन्याय देख्छन्, तिनीहरूले मद्दत गर्न आफ्नो तरवार निकाल्छन्, र आवश्यक पर्दा कारबाही गर्छन्। मानिसहरूको मनमा हुने एक महान् साहसी नायकको छवि यही हो, र मानिसहरूको मनमा यस्ता व्यक्तित्वहरूले राख्ने मूल्य पनि यही हो। चलचित्र र टेलिभिजन नाटकहरूले यस्ता पात्रहरू सिर्जना गर्नुको कारण के हो भने, सबै पूर्वीय मानिसको हृदयमा समाज र मानवजातिप्रति यस्तो तिर्सना हुन्छ। तिनीहरू समाजमा वा जीवनमा यस्ता मानिसहरू अस्तित्वमा होऊन् भन्ने तिर्सना गर्छन्, ताकि उप्रान्त तिनीहरू आफैले दबाउनु र सहनु नपरोस्, र उप्रान्त यो सामाजिक संस्कृतिद्वारा बाँधिनु र साङ्लाले जकडिनु नपरोस्। मानिसहरूमा यो आवश्यकता भएकोले गर्दा नै केही साहित्यिक र कलात्मक कृतिहरूमा यस्ता पात्रहरू निरन्तर सिर्जना गरिन्छन्। यसले सांस्कृतिक प्रचारका आवश्यकताहरू पूरा गर्छ, र यसले दर्शकहरूका आवश्यकताहरू पनि पूरा गर्छ। आम मानिसहरूले समाजमा धेरै लामो समयसम्म र धेरै पीडादायी रूपमा दबाएका र सहेका छन्; तिनीहरूलाई निकास चाहिएको छ, तर तिनीहरूसँग कुनै निकास छैन। तिनीहरूले यी साहित्यिक र कलात्मक कृतिहरूमा सिर्जना गरिएका वीर व्यक्तित्वहरू र महान् साहसी नायकहरूमा मात्र सन्तुष्टि पाउन सक्छन्। त्यसकारण, यस्ता चलचित्र र टेलिभिजन कृतिहरू र यस्ता पात्रहरूलाई जनताले स्वीकार र प्रशंसा गर्छन्। जब जनताले चलचित्र र टेलिभिजन नाटकहरूमा यी महान् साहसी नायकहरूका धर्मी कार्यहरू—वा तिनीहरूले अन्याय देख्दा मद्दत गर्न आफ्नो तरवार निकालेका कार्यहरू—तिनीहरूको मनोवैज्ञानिक आवश्यकताहरूसँग पूर्ण रूपमा मेल खाएको देख्छन्, तब तिनीहरू सबैले ताली बजाउँछन् र जयजयकार गर्छन्, र यसो भन्दै कराउँछन्, “तँलाई ठीकै भयो! दुष्टता गरेबापत तैँले यही पाउँछस्! मानिसहरूलाई हानि पुऱ्याएबापत तैँले यही पाउँछस्!” तिनीहरूको जयजयकारले पूर्वीय मानिसहरूले आफ्नो दैनिक जीवनमा अनुभव गर्ने गरेको दमन र सहनको पीडा, साथै तिनीहरूले समाज र शासक वर्गबाट सहने भरी, अनेक प्रकारका दबाब र ठूलो हानिलाई प्रतिबिम्बित गर्छ। त्यसकारण, यस्ता मनोरञ्जनात्मक कृतिहरूलाई आम मानिसहरूले हृदयदेखि स्वागत गर्छन्, र तिनीहरूले तिनलाई अनुमोदन गर्छन् र तिनको तिर्सना गर्छन्।

यो पूर्वीय सामाजिक नैतिक शिक्षाले ल्याएको दमन र सहनशक्तिले पूर्वीय मानिसहरूलाई तिनीहरूको सोचाइ र मानवताका हिसाबमा सम्भव भएसम्म अधिकतम हदसम्म बाँधेको र सीमित गरेको हुनाले नै, तिनीहरूको मानवता र सोचाइ निकै विकृत भएको छ। यो विकृति कसरी प्रकट हुन्छ? यो सबैले अधिकारी र धनीहरूप्रति घृणा पाल्ने तथ्यमा प्रकट हुन्छ; जब तिनीहरूले कुनै अन्यायपूर्ण कुरा देख्छन्, तब तिनीहरूले भित्र घृणा महसुस गर्छन् र त्यसलाई तुरुन्तै शासक वर्ग वा धनीहरूसँग जोड्छन्, र तिनीहरूको सबै पीडा तिनीहरूले गर्दा नै भएको हो भन्‍ने महसुस गर्छन्। यो एउटा पक्ष हो। यसका साथै, पूर्वीय सामाजिक नैतिक शिक्षाले मानिसहरूमा दबाउने र सहने चरित्र उत्पन्न गर्ने हुनाले, पूर्वीय मानिसहरूका विचारहरू ठूलो हदसम्म बाँधिएका र जकडिएका हुन्छन्। पश्‍चिमीहरूको तुलनामा, पूर्वीय मानिसहरूलाई सोचाइको स्तरमा स्वतन्त्र सोचाइ वा विचारको मुक्ति हासिल गर्न गाह्रो हुन्छ; अर्थात्, तिनीहरू स्वतन्त्र रूपमा, स्वायत्त रूपमा, र आत्मनिर्भर रूपमा सोच्न र तर्क गर्न असमर्थ हुन्छन्। त्यसकारण, पूर्वको सामाजिक वातावरणमा, बालबालिकादेखि वयस्कहरूसम्म सबैमा दासत्वको गुण हुन्छ; तिनीहरूलाई कुनै समस्याका बारेमा स्वतन्त्र रूपमा सोच्न वा सिद्धान्त र योजनाहरूअनुसार स्वतन्त्र रूपमा कुनै कार्य पूरा गर्न गाह्रो हुन्छ। अर्को पक्ष के हो भने, पूर्वीय मानिसहरूको दमन र सहनले तिनीहरूलाई समाज, मानवजाति, र हरेक सामाजिक तहप्रति शत्रुवत् बनाउँछ। यसले गर्दा तिनीहरूको मानवतामा एक प्रकारको चिप्लो गुण पनि विकास भएको छ, जसलाई एक प्रकारको नीचताका रूपमा सारांशित गर्न सकिन्छ। यो संसार निकै अन्यायपूर्ण भएको हुनाले, मानिसहरूले समाज, आफ्नो कार्य वातावरण, र आफ्नो परिवारबाट विभिन्न दबाब र बन्धन सहनुपर्छ, र यसले गर्दा तिनीहरूको मानवताका सामान्य आवश्यकताहरू—तिनीहरूका सामान्य भावनात्मक र शारीरिक आवश्यकताहरू—राम्ररी वा निष्पक्ष रूपमा निराकरण हुन पाउँदैनन्। यसरी, सबैले आफ्नो जीवनप्रति निस्फिक्र, सन्देही, वा संसारप्रति दिक्क मान्ने मनोवृत्ति पाल्छन्। यो मनोवृत्तिले पूर्वीय मानिसहरूलाई जिउने आशा अत्यन्तै कम छ भन्‍ने महसुस गराउँछ; तिनीहरू मुस्किलले जिउनका लागि उत्प्रेरित हुन्छन्, र तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा मन लगाउँदैनन्। यसरी, तिनीहरूले संसारसँग व्यवहार गर्ने एउटा चलाख र चिप्लो मनोवृत्ति विकास गर्छन्, र यो चलाखी र चिप्लोपनलाई “नीचता” का रूपमा सारांशित गर्न सकिन्छ। यो “नीचता” ले केलाई जनाउँछ? यसले व्यक्तिले गर्ने हरेक कुरामा निस्फिक्र मनोवृत्ति अपनाउनुलाई जनाउँछ। उदाहरणका लागि, कतिपय मानिसको आफ्नो कर्तव्य निर्वाह गर्नेप्रतिको मनोवृत्ति आफ्नो इच्छाअनुसार गर्नु हुन्छ—यदि तिनीहरूलाई कुनै काम गर्न मन लाग्यो भने, तिनीहरू त्यो काम थोरै गर्छन्; यदि तिनीहरूलाई मन लागेन भने, तिनीहरू त्यो गर्दैनन्। तिनीहरूको काममा थोरै पनि दबाब भयो भने, तिनीहरू त्यो काम कति गाह्रो छ भनेर गुनासो गर्छन्, र आराम गर्न चाहन्छन्। यदि तैँले तिनीहरूसँग सत्यताबारे सङ्गति गरिस् र तिनीहरूलाई यसरी काममा ढिलाइ हुन्छ भनेर भनिस् भने, तिनीहरू भन्छन्, “जेसुकै होस्। मलाई अहिले आराम गर्न मन छ। म एकछिन रमाइलो गर्न चाहन्छु!” तिनीहरूमा आफूले गर्ने कुनै पनि कुरामा गम्भीर र जिम्मेवार मनोवृत्ति हुँदैन। चाहे त्यो कामप्रति होस्, तिनीहरूको दैनिक जीवनप्रति होस्, वा तिनीहरूको सम्पूर्ण जीवन र तिनीहरूको आस्थाप्रति नै किन नहोस्, तिनीहरू अन्योलग्रस्त हुन्छन्, तिनीहरूमा गम्भीर मनोवृत्ति हुँदैन, र तिनीहरू निस्फिक्र मनोवृत्ति अपनाउँछन्। तिनीहरू जहाँ गए पनि, सीधै अगाडि बढ्न चाहन्छन्। जब तिनीहरूले ठेस खान्छन्, तब तिनीहरूलाई कुनै फरक पर्दैन; तिनीहरू नियमनमा रहन सक्दैनन्, र स्वतन्त्रताको आनन्द लिने लालसा गर्छन्। यदि तिनीहरूलाई स्वतन्त्र छोडियो भने, तिनीहरूले बेपरवाह रूपमा दुष्कर्महरू गर्छन्; यदि तिनीहरूले आफ्नो स्वतन्त्रता गुमाए भने, तिनीहरू सबैका बारेमा र सबै कुराका बारेमा गुनासो गर्छन्। तिनीहरूमा यस्तै प्रकारको मनोवृत्ति हुन्छ। के यो नीचता होइन र? (हो।) पूर्वीय मानिसहरूले पूर्वको सामाजिक वातावरणभित्र विकास गरेको अद्वितीय चरित्र यही हो। कतिपय मानिस दबाउने र सहने काममा पनि संलग्न हुन्छन्; तिनीहरू जे पनि सहन सक्छन्, र धेरै लामो समयसम्म त्यसो गर्न सक्छन्। तिनीहरूमा असाधारण सहनशीलता र लचकता हुन्छ, तिनीहरू जुनै पनि कष्ट सहन सक्छन्, जुनै पनि वातावरणमा बाँच्न सक्छन्, जुनै पनि वातावरणमा मुस्कुराउन सक्छन्, र त्यसो गरेर पनि राति सुत्ने बेलामा सुत्न सक्छन्, र एक थोपा आँसु पनि झार्दैनन्। उदाहरणका लागि, जब बाढी आउँछ र कतिपय मानिसका घर, खेत, र चौपाया सबै डुब्छन्, तब तिनीहरूलाई धेरै पीडा भएको देखिँदैन। तिनीहरू बाढीमा बहुमूल्य चीजहरू उठाउनमा एकचित्त भएर केन्द्रित हुन्छन्, र धनी बन्ने योजना बनाउँछन्। अरूले तिनीहरूलाई चेतावनी दिन्छन्, “यसरी आफ्नो ज्यान जोखिममा राखेर चीजहरू उठाउनु सुरक्षित हुँदैन!” तिनीहरू जवाफ दिन्छन्, “बाढी भनेको धनी बन्ने उत्तम अवसर यही हो। यो मौका पाउन गाह्रो छ!” अरूले भन्छन्, “हाम्रा खेतहरू डुबे, हाम्रो अन्न बगेर गयो, सरकारले कुनै राहत प्रदान गरिरहेको छैन, र कोही पनि मद्दत गर्न आइरहेको छैन। हामी कसरी जिउने? यो संसारमा जीवन निकै कठिन छ। हामी मरिहाले पनि हुन्छ!” तर तिनीहरू भन्छन्, “जब प्रकोप आइपर्छ, तब तिमी आफैमा भर पर्नुपर्छ। स्वर्गले मानिसका लागि सधैँ एउटा बाटो चाहिँ राखिदिनेछ। बाढी भनेको धनी बन्ने ठूलो अवसर हो। यो विना पुँजी र ठूलो नाफाको व्यापार हो। यदि हामीले केही गुमाएका छौँ भने पनि, हामी अरू केही चीजहरू उठाउनेछौँ—त्यसले नोक्सानको राम्ररी पूर्ति गर्नेछ, र हामी थोरै नाफा पनि कमाउन सक्छौँ!” हेर् त, सामान्य मानिसहरूलाई विपत्ति आइपर्दा र नोक्सान भोग्दा पीडा महसुस हुन्छ, तर पूर्वीय मानिसहरूमाझ, यस्ता “वीर व्यक्तित्वहरू” हुन्छन्—तिनीहरूमाथि जस्तोसुकै प्रकोप आइपरे पनि, तिनीहरू परिस्थितिसँगै बग्न सक्छन् र तिनीहरूले धनी बन्ने अवसरहरू समेत भेट्टाउन सक्छन्। तिनीहरू चिन्ता गर्दैनन् वा दुःखी महसुस गर्दैनन्, र सरकारले राहत प्रदान वा तिनीहरूका समस्याहरू समाधान नगरे पनि, तिनीहरू वास्ता गर्दैनन्। यो यस्तो हुन्छ मानौँ, यति धेरै प्रकोप अनुभव गरेर, तिनीहरूलाई बानी परिसकेको छ। चिनियाँ समाज यस्तै छैन र? त्यसैले, चिनियाँ समाजमा यस प्रकारको शिक्षा भएको हुनाले, मानिसहरूले आफ्नो फुर्सदको समयमा उपभोग गर्ने साहित्यिक र कलात्मक कृतिहरू वा तिनीहरूले आराम गर्ने तरिकाहरू प्रायः आत्म-अवमुल्यन र आत्म-उपहासका रूपहरू हुन्। चिनियाँ मानिसहरूले यसरी नै आफूलाई मनोरञ्जन दिन्छन्, र आफ्नो हृदयमा भएको दमनका लागि थोरै निकास पाउँछन्। तर पछि, दैनिक जीवनमा, तिनीहरू पहिले जस्तै ढोँग गर्न र दबाउने र सहने कार्य जारी राख्छन्। सरकारले तिनीहरूलाई जस्तोसुकै व्यवहार गरे पनि, आम मानिसहरूलाई यस प्रकारको व्यवहारको बानी परिसकेको हुन्छ। तिनीहरू भोकै मर्दैनन् भने, तिनीहरू त्यसैमा सन्तुष्ट भएको महसुस गर्छन्; आसन्न मृत्युको खतरा छैन भने, तिनीहरू विद्रोह गर्नेबारे सोच्दैनन्। आम मानिसहरूले यस्ता कुराहरू स्वीकार गरिसकेका हुन्छन्: “खराब जीवन असल मृत्युभन्दा राम्रो हो; स्वर्गले मानिसका लागि सधैँ एउटा बाटो चाहिँ राखिदिनेछ। हामी यसरी नै बाँचौँ! मानव अधिकार? प्रजातन्त्र? ती त विलासी चाहनाहरू हुन्। हामी चिनियाँ मानिसहरू यही दुःखी भाग्य लिएर जन्मेका हौँ। हामी जीवित रहन पायौँ भने, त्यति नै पर्याप्त छ!” के यो चरम रूपमा मन्दबुद्धिको हुनु र भावशून्य हुनु होइन र? के तिनीहरूमा मानिसका रूपमा कुनै इज्जत बाँकी छ? (छैन।) यो एउटा दयनीय स्थिति हो।

पूर्वमा सिर्जना गरिएका अधिकांश साहित्यिक र कलात्मक कृतिहरू तिनले प्रतिबिम्बित गर्ने र वकालत गर्ने कुराहरूका हिसाबमा पश्‍चिमका कृतिहरूभन्दा धेरै फरक छन्। पूर्वीय साहित्यिक र कलात्मक कृतिहरूले केही सामाजिक अन्यायलाई प्रतिबिम्बित गरे तापनि, यो निर्देशक वा पटकथा लेखकहरूले साँच्चै वकालत गर्न चाहेको सोचाइ होइन, र यो दर्शकहरूका केही आवश्यकता पूरा गर्नका लागि गरिँदैन। तिनीहरूले यी कृतिहरूमा साँच्चै के वकालत गर्छन्? यो अझै पनि पूर्वीय सामाजिक नैतिक शिक्षा नै हुन्छ। यसका मुख्य प्रकटीकरणहरू देशभक्तिपूर्ण भावनाहरू हुन्, जसले मानिसहरूले आफ्नो देशलाई प्रेम गर्नुपर्छ, देश र जनताको चिन्ता गर्नुपर्छ, “दूरगामी महत्त्वाकाङ्क्षा भएको साँचो पुरुष” हुनुपर्छ, अन्याय देख्दा मद्दत गर्न आफ्नो तरवार निकाल्नुपर्छ, र साथीका लागि गोली खान तयार हुनुपर्छ भनेर वकालत गर्छन्। तिनीहरू अरू के वकालत गर्छन्? “सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ,” र “बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन।” तिनीहरूले वकालत गर्ने मानवता खासमा खोक्रो हुन्छ; यो मानिसहरूको कल्पना र अनुमान मात्र हो। तिनीहरू शासक वर्गको शासनको स्थिरताका लागि मात्रै यसको वकालत गर्छन्, ताकि मानिसहरूले अलिकति पनि प्रतिरोधको अनुमति नपाई शासक वर्गका लागि सधैँ बोझ बोक्ने पशुहरू जस्तै दासत्वको काम गरून्। मानिसहरूलाई भावशून्य पार्न र भ्रमित गर्न, तिनीहरूको मनोरञ्जनको आवश्यकता र तिनीहरूको हृदयका अस्थायी आवश्यकताहरू पूरा गर्नका लागि यी खोक्रा विचारहरू प्रयोग गरिन्छन्। उदाहरणका लागि, मार्सल आर्ट्स उपन्यास वा चलचित्र र टेलिभिजन नाटकहरूमा के वकालत गरिन्छ? वीरताको भावना, धनीहरूलाई लुटेर गरिबहरूलाई मद्दत गर्ने र अरूलाई मद्दत गर्न आफ्नो तरवार निकाल्ने एक महान् साहसी नायक बन्नु। तथाकथित महान् साहसी नायकलाई “महान् साहसी नायकहरूले आफ्नो देश र जनताप्रति आफ्नो भूमिका निर्वाह गर्छन्” भन्‍ने भनाइद्वारा मूर्त रूप दिइन्छ। वीरताको भावनाको वकालत गर्दा आम मानिसहरूले यस्ता पात्रहरूको प्रशंसा मात्र गर्दैनन्, यस प्रकारको व्यक्ति बन्ने तिर्सना र खोजी पनि गर्छन्। पूर्वीय साहित्यिक र कलात्मक कृतिहरूले अरू के वकालत गर्छन्? तिनले वीरताको वकालत गर्छन्: देशका लागि, राष्ट्रका लागि, र एक क्षेत्र र त्यसका मानिसहरूको भलाइका लागि कडा परिश्रम गर्नु र आफ्नो हृदय र मनलाई थकाउनु, र राष्ट्रको महान् कार्यका लागि आफ्नो युवावस्था र जीवन बलिदान गर्नु। छोटकरीमा, पूर्वीय—र विशेष गरी चिनियाँ—सामाजिक वातावरणमा उत्पादन भएका मार्सल आर्ट्सका व्यक्तित्वहरूका यी जीवनी र दन्त्यकथाहरू परम्परागत होऊन् वा आधुनिक होऊन्, वा काल्पनिक होऊन् वा वास्तविक ऐतिहासिक व्यक्तित्व र घटनाहरूमा आधारित होऊन्, सबैले मानिसहरूलाई निःस्वार्थता र आत्म-त्यागका लागि लागिपर्न सिकाउँछन्। ती सबैले यसलाई आफ्नो विषयवस्तु र शैक्षिक मर्मका रूपमा लिन्छन्, जसको उद्देश्य मानिसहरूलाई भद्र सामाजिक नैतिकता प्राप्त गर्न लगाउनु हो। निःस्वार्थता र आत्म-त्यागको अर्थ कुनै सत्त्व नहुनु हो; तिनले बृहत् सत्त्व सूक्ष्म सत्त्वभन्दा पहिले आउँछ, आफ्नो देश आफ्नो परिवारभन्दा पहिले आउँछ, र यसरी मात्रै व्यक्तिले राम्रो जीवन पाउन सक्छ भन्‍ने वकालत गर्छन्। तिनले मानिसहरूमा यस प्रकारको सोचाइ स्थापित गर्छन्। अर्थात्, तिनले तँलाई स्वार्थी नहुन, आफ्नो बारेमा मात्र ख्याल नगर्न, आफ्नै जीवन, आफ्नै अस्तित्व, वा आफूसँग सम्बन्धित कुनै पनि कुराका लागि कुनै पनि बलिदान वा प्रयास नगर्न, र यी कुराहरूका लागि कुनै पनि तरिकाले सङ्घर्ष समेत नगर्न सिकाउँछन्। बरु, तैँले आफ्नो मातृभूमि, समाज, मानवजाति, र राष्ट्रको महान् कार्यका लागि आफ्नो बलिदान गर्नुपर्छ र योगदान दिनुपर्छ। यी शिक्षाहरूलाई समग्र रूपमा ढोँगको शिक्षा भनिन्छ। यो तथाकथित ढोँगको शिक्षा अवास्तविक छ र मानवताका आवश्यकताहरूसँग मेल खाँदैन; मानिसहरूको मानवताका आवश्यकताहरू, तिनीहरूका जन्मजात प्रवृत्तिहरू, र तिनीहरूको बाँच्ने आधारभूत अधिकार खोसेको आधारमा, यसले मानिसहरूलाई देश र राष्ट्रका लागि, एक खोक्रो, शून्य अभियानका लागि व्यर्थको बलिदान गर्न झकझकाउँछ। यो आत्म-बलिदानको सद्गुण पूर्ण रूपमा पूर्वीय समाजले मानिसहरूको मानवतामा जबरजस्ती हालेको कुरा हो। “जबरजस्ती हाल्नु” को अर्थ यो मानवताबाट स्वतः उत्पन्न हुने कुरा होइन, मानवताका जन्मजात प्रवृत्तिहरूमा अन्तर्निहित कुरा होइन, जन्मजात प्रवृत्तिहरूले प्राप्त गर्न सक्ने कुरा होइन, र व्यक्तिको जन्मजात स्वतन्त्र इच्छा वा व्यक्तिपरक इच्छाले हासिल गर्न चाहेको कुरा होइन। बरु, यो शासक वर्ग वा समाजशास्त्रीहरूले मानिसहरूको दिमागमा जबरजस्ती हालेको कुरा हो, जसले तिनीहरूलाई यस्ता सामाजिक दायित्व र जिम्मेवारीहरू स्वीकार गर्न बहकाउँछ वा बाध्य पार्छ, अनि त्यसपछि तिनीहरूलाई तथाकथित “भद्र नैतिक चरित्र” को भव्य आवरणमा शिक्षा दिन्छ, जसले गर्दा तिनीहरूमा मुक्त हुने शक्ति हुँदैन, र तिनीहरू प्रयास गर्न पनि निकै डराउँछन्। यस्तो किन हुन्छ भने, यदि तैँले यो शिक्षाबाट आफूलाई मुक्त गरिस् वा यसलाई तोडिस् नै भने पनि, यदि तैँले यो शिक्षा स्वीकार गरिनस् भने, तँ सम्पूर्ण समाज र सम्पूर्ण राष्ट्रको शत्रु हुन्छस्—तँ घोर विद्रोही हुन्छस्, तँ अमानव हुन्छस्, तँ एक अनौठो व्यक्ति हुन्छस्, र तैँले एकलिएको जिउने अवस्था सामना गर्नुपर्नेछ। त्यसकारण, मानिसहरूले आफ्नो हृदयमा केही असन्तुष्टि महसुस गरे पनि, तिनीहरूले यो समाज र यस प्रकारको शिक्षालाई घृणा गरे पनि, तिनीहरूमा यसबाट मुक्त हुने न त शक्ति हुन्छ न त साहस नै, र यसलाई “हुँदैन” भनेर इन्कार गर्ने साहस हुनु त परको कुरा हो। तिनीहरू दाँत किटेर सहन मात्र सक्छन्—तिनीहरूसँग प्रतिरोध गर्ने शक्ति हुँदैन, र तिनीहरू चुपचाप सहन मात्र सक्छन्। यदि तैँले सहिनस् भने, समाजले वृहत् स्तरमा तेरो निन्दा गर्नेछ र तँलाई तिरस्कार गर्नेछ; अनि सूक्ष्म स्तरमा, तेरो परिवार र तेरा प्रियजनहरूले तँलाई तिरस्कार गर्नेछन्, तिनीहरू तँबाट टाढिनेछन्, र तिनीहरूले तँलाई एक्लो पार्नेछन्, र तँलाई घोर विद्रोही भनी निन्दा समेत गर्नेछन्। एउटा उदाहरण हेरौँ। उदाहरणका लागि, जब तँ बच्चा थिइस्, मानौँ तेरा आमाबुबाले तँलाई यसो भनी सिकाए: “जब तँ बाहिर जान्छस् र ठूलाबडाहरूलाई देख्छस्, तब तैँले तिनीहरूलाई अभिवादन गर्नैपर्छ। हामीभन्दा सानालाई ‘काका’ वा ‘काकी’ भन्नू, र वृद्धहरूलाई ‘हजुरबुबा’ वा ‘हजुरआमा’ भन्नू। जब कसैले तँलाई केही दिन्छ, तब तैँले ‘धन्यवाद’ भन्नुपर्छ। यदि अर्को बच्चाले तँलाई हिर्कायो भने, तैँले त्यो सहनुपर्छ; यदि तैँले साँच्चै सहन सकिनस् भने मात्रै प्रतिकार गर्नू। तैँले अत्यन्तै संयम अपनाउनुपर्छ।” अनि एक दिन, तँ बाहिर गइस् र तैँले कसैलाई देखिस्, तर तँ लजालु भएकाले, तैँले तिनीहरूलाई अभिवादन गर्ने आँट गरिनस्। तेरा आमाबुबाले आफ्नो इज्जत गएको महसुस गरे, त्यसैले तिनीहरूले तँ घर पुगेपछि तँलाई अनुशासित गरे, त्यसबेलादेखि तैँले कसैलाई देख्नेबित्तिकै तुरुन्तै नमस्ते भन्न थालिस्। कुटाइ खानबाट बच्न, तँलाई जतिसुकै लाज लागे पनि वा तँ भित्रबाट जतिसुकै अनिच्छुक भए पनि, तैँले अझै पनि आफ्नो इच्छाविपरीत गएर मानिसहरूलाई अभिवादन गर्नुपर्‍यो। यस्तो वातावरणमा हुर्कँदा, व्यक्तिसँग सबै कुरा सहनुबाहेक अरू कुनै विकल्प हुँदैन। यस्तो सानो कुरामा पनि, तैँले यसरी नै व्यवहार गर्नुपर्छ; चाहे घरमा होस् वा बाहिर समाजमा होस्, तैँले गर्न सक्ने यति मात्रै हो। यदि तँलाई असहज महसुस भयो र एक पटकका लागि आफ्नो इच्छाअनुसार चल्न मन लाग्यो भने, समाजले तेरो निन्दा गर्ने कुरा त छँदै छ—तेरो परिवार र आमाबुबाले समेत तँलाई पाठ पढाउनेछन् र हप्काउनेछन्। तँ हुर्किएपछि, तैँले मानिसहरूलाई अभिवादन गर्नु भनेको इज्जत जोगाउन र समाजमा आफूलाई स्थापित गर्न सजिलो बनाउनको लागि रहेछ भन्ने महसुस गर्छस्। तर, जब तँ बच्चा थिइस्, तब तैँले यो कुरा बुझ्न सकिनस्, यद्यपि तैँले अझै पनि यसरी नै व्यवहार गर्नुपर्‍यो। यदि तैँले त्यसो नगरेको भए, तँलाई अनुशासित गरिनेथ्यो, र कहिलेकाहीँ अरूको अगाडि तेरा आमाबुबाले तँलाई गाली गर्न वा कुट्न समेत सक्थे, जुन कुरा तैँले आफ्नो जीवनभर कहिल्यै बिर्सनेथिइनस्। त्यसकारण, बृहत् सामाजिक सन्दर्भमा, तैँले तथाकथित “भद्र नैतिक चरित्र” मा दिइने यो शिक्षालाई स्वीकार गर्नैपर्ने हुन्छ। यसलाई स्वीकार गर्नुका परिणामहरू जेसुकै भए पनि, यसले अन्ततः तेरो मानवतालाई जसरी प्रभाव पारे पनि, र यसले तँमा विकास गराउने चरित्र वा मानवताका गुणहरू जेसुकै भए पनि—अन्तमा, तँ एक्लैले यी परिणामहरू भोग्नुपर्छ।

पूर्वीय मानिसहरूले पूर्वीय समाजमा आफ्नो शिक्षाबाट विकास गर्ने मानवताको गुण भनेको दबिनु र सहनु हो। यो दबिनु र सहनुको पछाडि वास्तवमा पूर्वीय सामाजिक नैतिक शिक्षामा पाइने धेरै खास विचार, दृष्टिकोण, आफूलाई आचरणमा ढाल्ने तरिकाहरू, र सबै प्रकारका कुराहरूप्रति विभिन्न मनोवृत्तिहरू लुकेका हुन्छन्। पूर्वीय समाज यस्तै छ। त्यसै गरी, पश्‍चिमी समाजको पनि आफ्नै मुख्यधाराको सांस्कृतिक शिक्षा छ, जसद्वारा पश्‍चिमाहरू पनि आ-आफ्ना मानवताका गुणहरू विकास गर्छन्। त्यसोभए यो मुख्यधाराको पश्‍चिमी सांस्कृतिक शिक्षा के हो? यसले मुख्यतया स्वायत्तता र स्वतन्त्रतालाई महत्त्व दिन्छ। मानिसहरूलाई देश र समाजका लागि आफूलाई बलिदान दिन र योगदान दिन, अनि आफ्नो व्यक्तिगत जीवनसँग असम्बन्धित कामकुराहरू गर्न माग गर्ने पूर्वीय समाजको अवस्थाभन्दा यो फरक छ। यसको विपरीत, पश्‍चिमी समाजले मानिसहरूलाई सिकाउने कुरा पूर्वीय समाजले उनीहरूले गरून् भनी माग गर्ने कुराको ठिक उल्टो हुन्छ। पश्‍चिमी समाजले तँलाई समाज, मानवजाति, वा राष्ट्रको महान् उद्देश्यमा केही योगदान दिने माग गर्दैन; पश्‍चिमी शिक्षाको मूल कुरा भनेको तँलाई आफ्नै लागि सोच्न लगाउनु, आफ्ना समस्याहरू आफै सम्हाल्न सिक्न लगाउनु, र अरूलाई, समाजलाई, वा राज्यलाई समस्या नदिनु हो। यसले तँलाई स्वतन्त्र अधिकार, विचारका लागि स्वतन्त्र स्थान, र स्वतन्त्र व्यक्तिगत स्थान दिन्छ, र तेरो स्वतन्त्र सोच्ने क्षमता र समस्याहरूका बारेमा स्वतन्त्र रूपमा सोच्ने र तिनलाई सम्हाल्ने तेरो क्षमतालाई संवर्धन गर्छ। तैँले आफ्ना समस्याहरू आफै समाधान गर्नुपर्छ; तँ स्वतन्त्र, स्वायत्त, र आत्मनिर्भर हुनैपर्छ। पश्‍चिममा यस प्रकारको वैचारिक शिक्षाको सांस्कृतिक पृष्ठभूमि छ, र यस सांस्कृतिक पृष्ठभूमिमा, पश्‍चिमाहरू पनि आफ्नो शैक्षिक विचारधाराको मूलसँग सम्बन्धित मानवताका निश्चित गुणहरू विकास गर्छन्। पूर्वीय मानिसहरूले पूर्वीय सामाजिक नैतिक शिक्षाको पृष्ठभूमिमा पूर्वका शैक्षिक र सांस्कृतिक विशेषताहरू विकास गरेका छन्। पश्‍चिमाहरूले पश्‍चिमी समाजको शैक्षिक गुण बोक्ने हुनाले, तिनीहरूसँग त्यस गुणसँग सम्बन्धित सार पनि हुन्छ। पश्‍चिमाहरूले बोक्ने शैक्षिक गुणको सार वास्तवमा पूर्वीय मानिसहरूले बोक्ने शैक्षिक गुणको सारभन्दा फरक हुन्छ। पूर्वीय मानिसहरूले बोक्ने शैक्षिक गुण देखावटी शिक्षा हो, जबकि पश्‍चिमीहरूले बोक्ने शैक्षिक गुण स्वार्थीपनको शिक्षा हो। पश्‍चिमी शिक्षाको हरेक विषयवस्तुले मानिसहरूलाई स्वतन्त्र र स्वायत्त हुन, आफ्ना समस्याहरूबारे आफै सोच्न, र आफ्ना मामिलाहरू आफै सम्हाल्न र व्यवस्थापन गर्न सिकाउँछ। त्यसकारण, पश्‍चिमी शिक्षामा स्वार्थीपनको शिक्षा हुने गुण हुन्छ। यो स्वार्थीपनको शिक्षा पूर्वीय शिक्षाभन्दा पूर्ण रूपमा फरक छ; यो फरक प्रकारको गुण हो। यस गुणले पश्‍चिमाहरूलाई व्यक्तिगत स्वतन्त्र ठाउँ; व्यक्तिपरक इच्छा, सोचाइ, विचार, दृष्टिकोण, र धारणाहरू; अनि तिनीहरूको आफ्नै अधिकार, तिनीहरूको वर्तमान जीवन अवस्था, र तिनीहरूको वर्तमान मुड र भावनाहरूलाई प्राथमिकता दिन लगाउँछ। तिनीहरू अरू कुराहरूमा, कुनै सामाजिक वा पारिवारिक जिम्मेवारीहरूमा धेरै ध्यान दिन आवश्यक ठान्दैनन्। तिनीहरूले पहिले त आफ्नै समस्याहरू पत्ता लगाउनुपर्छ, आफ्ना भावनाहरूलाई सम्हाल्नुपर्छ, र आफ्ना तत्कालका मामिलाहरू समाधान गर्नुपर्छ, र त्यसपछि मात्रै अरू सबै कुरा आउँछन्। पूर्वीय शिक्षाले पूर्वीय मानिसहरूलाई दमन गर्न र सहन सिकाएको छ, जबकि पश्‍चिमी शिक्षाले पश्‍चिमाहरूलाई आफ्नो अधिकार रक्षा गर्न सिकाएको छ। यसमा, पश्‍चिमाहरू र पूर्वीय मानिसहरू पूर्ण रूपमा फरक छन्। जब पूर्वीय मानिसहरू कुनै कुरा सामना गर्छन्, तब तिनीहरू त्यसलाई सहिरहन्छन्। जब तिनीहरूले साँच्चै सहन सक्दैनन्, तब तिनीहरू आफूलाई भन्छन्, “खराब जीवन असल मृत्युभन्दा राम्रो हो। जीवित रहनका लागि तैँले सहनुपर्छ।” पूर्वीय मानिसहरूको दमन र सहशीलताको विपरीत, पश्‍चिमाहरूमा फरक गुण हुन्छ: तिनीहरूले स्वायत्तता र स्वतन्त्रतामा आफ्नो सामाजिक शिक्षामार्फत आफ्नो अधिकार रक्षा गर्न सिकेका छन्। पूर्वीय मानिसहरूको दबिनुपर्छ र सहनुपर्छ भन्‍ने कुराको तुलनामा, के पश्‍चिमाहरूले आफ्नो अधिकार रक्षा गर्दा तिनीहरूसँग एक निश्चित हदसम्म अलि बढी आत्म-सम्मान र इज्जत हुँदैन र? अर्थात्, त्यसमा अलिक बढी कर्तापन संलग्न हुन्छ, होइन र? (हो।) आफ्नो अधिकारको रक्षा गर्नु पूर्ण रूपमा आधारभूत अवधारणा हो; यसको अर्थ विश्वासको अधिकार, जीवनको अधिकार, वाक स्वतन्त्रताको अधिकार, र यस्तै अन्य कुराहरूलगायत आफ्नो आधारभूत मानव अधिकारको रक्षा गर्न आवश्यक कदमहरू चाल्नु हो। अवश्य पनि, अधिकारको यो आधारभूत रक्षाले मुख्यतया केलाई जनाउँछ? यसले मानिसहरूसँग विचारका लागि स्वतन्त्र स्थान हुनु, कुनै पनि सामाजिक वातावरण वा वरपरका मानिस, घटना, र कामकुराहरूबाट प्रभावित वा नियन्त्रित नभई स्वतन्त्र र स्वाधीन रूपमा मामिलाहरूबारे विचार गर्न सक्षम हुनुलाई जनाउँछ। मामिलाहरूका बारेमा विचार गर्दा उत्पन्न हुने दृष्टिकोणहरू सही हुन् वा गलत, वा व्यक्तिको सोच्ने तरिका सही छ वा छैन भन्‍ने कुरालाई वास्ता नगरी, स्वायत्तता र स्वतन्त्रता हासिल गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। छोटकरीमा भन्दा, पश्‍चिमाहरू स्वतन्त्र समाजमा बस्छन्, र पश्‍चिमी सामाजिक शिक्षाको सांस्कृतिक सन्दर्भमा भन्दा, तिनीहरूको दिमाग निकै सक्रिय हुन्छ र प्रायः स्वतन्त्रताको अवस्थामा हुन्छ। त्यसकारण, पूर्वीय समाजका मानिसहरूको तुलनामा, पश्‍चिमाहरू आफ्नो सोचाइमा बढी साहसी, सोच्न बढी इच्छुक, र सोच्नमा बढी निपुण हुन्छन्, जबकि प्रायजसो पूर्वीय मानिसहरूको सोचाइ जकडिएको, सूत्रबद्ध, वा दबिएको हुन्छ। सामान्य परिस्थितिहरूमा, पश्‍चिमाहरूको दिमाग स्वतन्त्र, सक्रिय, र समस्याहरूका बारेमा सोच्न इच्छुक हुन्छ। यसलाई अनुचित तरिकाले भन्दा, तिनीहरू अनौठा र असामान्य कुराहरूका बारेमा मनन गर्न, यहाँसम्‍म कि तिनीहरू तिनमा डुब्‍न पनि बढी इच्छुक हुन्छन्। यो उनीहरूले पश्‍चिमी सामाजिक शिक्षाभित्र विकास गर्ने मानवताका गुणहरूको प्रकटीकरण हो, र मानवताको यो प्रकटीकरण पूर्वीयहरूको भन्दा बढी प्रगतिशील छ। एकातिर, तिनीहरू आफ्नो जीवनको अधिकारको रक्षा गर्छन्, र अर्कोतिर, तिनीहरू आफ्नो स्वतन्त्र विचारबाट उत्पन्न हुने विभिन्न दृष्टिकोणहरूको पनि रक्षा गर्छन्। फलस्वरूप, पश्‍चिमी साहित्यिक कृतिहरूमा वा पश्‍चिमी कलात्मक र मनोरञ्जन जीवनमा प्रदर्शित विचार, दृष्टिकोण, र कलात्मक रूपहरू विविध र फराकिला हुन्छन्। सम्पूर्ण मानवजातिमध्ये पश्‍चिमी साहित्यिक कृतिहरू र मनोरञ्जन जीवन तुलनात्मक रूपमा स्वतन्त्र र अग्रगामी छन्, र मानिसहरूले तिनबाट प्रेरणा लिन र धेरै लाभ उठाउन सक्छन्। हेर—केही पूर्वीय साहित्यिक र कलात्मक कृतिहरूले कस्ता विचारहरूको वकालत गर्छन्? देशभक्ति, परिवारप्रतिको प्रेम, आमाबुबाप्रतिको प्रेम, र यस्तै अन्य कुराहरू। यी सबै पूर्वीय सामाजिक नैतिक शिक्षामा पाइने कुराहरू हुन्, वा पूर्वीय संस्कृतिको मूल भाग हुन्। पश्‍चिमी संस्कृतिले पश्‍चिमाहरूलाई विचारका लागि स्वतन्त्र र स्वायत्त ठाउँ प्रदान गरेको हुनाले, तिनीहरूभित्र मानवताको यो गुण उत्पादन गरेको हुनाले, र तिनीहरूलाई स्वतन्त्र विचारको यो अधिकार प्रदान गरेको हुनाले, पश्‍चिमाहरूको साहित्यिक र कलात्मक जीवनमा पूर्वीय मानिसहरूको भन्दा बढी बौद्धिक सार हुन्छ, र साथसाथै, तिनीहरूको सोचको दायरा फराकिलो हुन्छ। हेर् त, पूर्वीय मानिसहरूको सोचको दायरा, वा तिनीहरूले आफ्नो साहित्यिक र कलात्मक जीवनमा व्यक्त गर्ने र वकालत गर्ने विचारहरू, निकै सीमित, साँघुरा, र प्रतिबन्धित हुन्छन्, जबकि पश्‍चिमी मानिसहरूको साहित्यिक र कलात्मक जीवनमा देखा पर्ने विभिन्न विषयहरू निकै फराकिला र सरकारी प्रतिबन्धहरूबाट मुक्त हुन्छन्। यीमध्ये केही विषय कुनै अवधिमा सरकारले लागू गरेको कुनै निश्चित कानुनमाथि मानिसहरूको मानवताको हिसाबमा गरिएको चिन्तन, वा त्यसले समाज वा व्यक्तिको जीवन र परिवारमा पार्ने प्रभावमाथिको चिन्तन हुन्। अरू चाहिँ विद्यालय शिक्षा र मानव अधिकारमाथिको चिन्तन, साथै अन्य विभिन्न मुद्दाहरू, जस्तै जातीय समानता, जातीय भेदभाव, र विभिन्न वर्णका मानिसहरूबीचको सम्बन्धमाथि—आप्रवासीहरूका साथसाथै—सबै सामाजिक वर्गका मानिसहरूबीच हुने छलफलहरू हुन्। यसबाट, पश्‍चिमी साहित्यिक र कलात्मक कृतिहरूमा प्रतिबिम्बित हुने विभिन्न विषयहरूको दायरा निकै फराकिलो छ, साथै त्यसमा संलग्न विभिन्न विचार र दृष्टिकोणहरूको दायरा पनि फराकिलो छ भन्ने कुरा देख्न सकिन्छ। तिनले फराकिलो कानुनी ढाँचाभित्र केही कानुन प्रवर्तन निकायहरूले प्रयोग गर्ने विधि र साधनहरूले गर्दा हुने सामाजिक प्रभाव, साथै जनतामाथि पर्ने विभिन्न मनोवैज्ञानिक बोझ वा मानिसहरूको जीवनमा पछि आइपर्ने विभिन्न असरहरूलाई समेत प्रतिबिम्बित गर्छन्। यी सबै विभिन्न पश्‍चिमी साहित्यिक र कलात्मक कृतिहरूमा प्रस्तुत गरिने विचार र दृष्टिकोणहरू हुन्। एकातिर, यी पश्‍चिमी सांस्कृतिक सन्दर्भभित्र वकालत गरिएका विचारहरू हुन्; अर्कोतिर, पश्‍चिमी सांस्कृतिक शिक्षाको सन्दर्भमा रहेर मानिसहरूले स्वतन्त्र रूपमा सोच्न सक्ने हुनाले यी विचार र दृष्टिकोणहरू देखा पर्छन्। छोटकरीमा भन्दा, पश्‍चिमाहरूले आफ्नो साहित्यिक र कलात्मक कृतिहरूमा प्रस्तुत गर्ने विभिन्न विचारहरू, साथै विभिन्न सामाजिक वर्ग र विभिन्न उद्योगहरूमा रहेका पश्‍चिमाहरूले सबै प्रकारका कुराहरूलाई सम्हाल्ने तरिकामा अपनाउने विचार, दृष्टिकोण, संसारसँग व्यवहार गर्ने दर्शन र मनोवृत्तिहरू पूर्वीय मानिसहरूको भन्दा पूर्ण रूपमा फरक हुन्छन्। यहाँ एउटा सरल उदाहरण छ: पूर्वमा, जब एक कर्मचारीले कुनै कम्पनीका लागि काम गर्छ, तब उसको जीविका उसको मालिकबाट चल्छ, त्यसैले उसले आफ्नो मालिकले जे भन्यो त्यही गर्नुपर्छ। यदि उसलाई आफ्ना छोराछोरीलाई लिन जाने वा किराना सरसामान किन्न जानेजस्ता मालिकका केही घरायसी कामहरू गर्न भनियो भने पनि, ऊ पूर्ण रूपमा आज्ञाकारी हुनुपर्छ र उसले इन्कार गर्ने आँट गर्दैन। ऊ आफ्नो छुट्टीको समयमा समेत बोलाएको बेला हाजिर हुनुपर्छ। ऊ आफ्नो मालिकको परिचारक, अधीनमा बस्ने व्यक्ति, र दास हुन्छ। पूर्वमा कर्मचारी र मालिकबीचको मातहतको सम्बन्ध यस्तै हुन्छ। कर्मचारीले असहज, निराश, र अनिच्छुक महसुस गर्न सक्छ, तर ऊसँग कुनै विकल्प हुँदैन—उसले सहन मात्रै सक्छ। त्यो उसको मालिक हो, उसको जीविका चलाइदिने व्यक्ति हो, त्यसैले उसले आफूलाई उसको कृपामा छोड्न मात्रै सक्छ। पूर्वमा, मालिकले आफ्ना कर्मचारीहरूलाई जतिसुकै शोषण गरे पनि, र उसका कार्यहरू जतिसुकै अव्यावहारिक भए पनि, कर्मचारीहरूले त्यसलाई सहन मात्रै सक्छन्; तिनीहरूसँग यस अवस्थाबाट मुक्त हुने कुनै उपाय हुँदैन। केही पूर्वीय देशहरूमा श्रम कानुनहरू पनि हुन सक्छन्, जुन कानुनहरूलाई प्रत्येक नागरिकको कानुनी अधिकार र हितको रक्षा गर्नका लागि बनाइएका हुन्छन्, तर सामाजिक स्तरमा, यो पूर्व भएकाले, आफ्नो मालिकले श्रम कानुन तोडे पनि कुनै पनि कर्मचारीले उसलाई मुद्दा हाल्ने आँट गर्दैन। उसको अधिकार जतिसुकै खोसिए पनि वा उसको मालिकले उसलाई जतिसुकै शोषण गरे पनि, उसले केही गर्न सक्दैन। श्रम कानुन भए पनि, उसले आफ्नो अधिकार र हितको रक्षा गर्न कानुन प्रयोग गर्न सक्दैन। उसले त्यसलाई स्वीकार गर्न र स्थितिलाई जारी रहन दिन मात्रै सक्छ। अर्कोतर्फ, पश्‍चिम फरक छ। पश्‍चिममा कर्मचारी र मालिकबीचको मातहतको सम्बन्ध कामको स्तरमा र कामको समयमा मात्रै हुन्छ। कामबाहेक, तिनीहरूबीच कुनै व्यक्तिगत, भावनात्मक सम्बन्ध हुँदैन। यदि तेरो मालिकले तँलाई ओभरटाइम काम गर्न भन्यो भने, तैँले इन्कार गर्न पाउँछस्। यदि तेरो मालिकले तँलाई उसका छोराछोरीलाई लिन वा किराना सरसामान किन्न मद्दत गर्न भन्यो भने, तैँले यसो भन्न सक्छस्, “मलाई यो काम गर्न लगाउने कुनै अधिकार तपाईँसँग छैन। त्यो मेरो काम होइन। म तपाईँको सेवा गर्न बाध्य छैनँ।” तैँले इन्कार गर्न सक्छस्। यदि तेरो मालिकले बारम्बार र जबरजस्ती तँलाई यी कामहरू गर्न लगायो भने, तैँले उसलाई मुद्दा हाल्न सक्छस्, र पश्‍चिमी श्रम कानुनहरू लागू हुनेछन्; कानुनले सोहीअनुसार प्रतिक्रिया दिनेछ। पश्‍चिमाहरूले यसो गर्न सक्छन्, र तिनीहरू यसो गर्न डराउँदैनन्, तर पूर्वीय मानिसहरू डराउँछन्। पूर्वीय मानिसहरूका धारणाहरूअनुसार, तैँले तेरो हाकिम वा हैसियत वा ख्याति भएको व्यक्तिले जे गर्न भन्यो त्यही गर्नुपर्छ, र तिनीहरूलाई सित्तैँमा सेवाहरू प्रदान गर्नुपर्छ। तैँले यसोसमेत भन्नुपर्छ, “म तपाईँको सेवा गर्न इच्छुक छु, तपाईँका लागि आफ्नो ज्यान दिन तयार छु, र बदलामा केही पनि आशा गर्दिनँ। तपाईँको सेवा गर्न पाउनु त मेरो सम्मान हो!” तिनीहरूले तेरो श्रमको शोषण गरे पनि वा तेरो मानव अधिकार खोसे पनि, तैँले त्यो स्वीकार गर्नुपर्छ र कुनै पारिश्रमिकको माग गर्नु हुँदैन। यदि तैँले त्यसो गरिस् भने, त्यसको अर्थ तँ कृतघ्न भइरहेको हुन्छस् र तैँले तिनीहरूको बेइज्जत गरिरहेको हुन्छस्, र तिनीहरूले तँलाई त्यसको मूल्य चुकाउन लगाउनेछन्। अर्कोतर्फ, पश्‍चिमाहरू फरक छन्। तिनीहरूले आफ्नो अधिकारको रक्षा गर्न सिकेका छन् र यी अधिकारहरूलाई अत्यन्तै प्रभावकारी रूपमा प्रयोग गर्छन्, र तिनलाई आफूले सकेसम्म लागू गर्छन्। यदि राष्ट्रपति वा कुनै प्रख्यात व्यक्तिले खाना खाएपछि टिप्स छोडेन भने पनि, उजुरी दर्ता गरिनेछ—यो श्रम कानुनले कामदारहरूलाई दिएको अधिकार हो। जब पूर्वीय मानिसहरूले यस्ता परिस्थितिहरूको सामना गर्छन्, तब तिनीहरू उजुरी गर्ने आँट गर्दैनन्। तिनीहरू सोच्छन्, “उनीहरू अधिकारी हुन्, प्रसिद्ध व्यक्ति हुन्। के मैले उनीहरूविरुद्ध मुद्दा जित्न सक्छु र? मैले जिते पनि, यदि उनीहरूले पर्दापछाडि मेरा लागि परिस्थितिहरू कठिन बनाइदिए भने मैले के गर्ने? यदि मैले उनीहरूलाई मुद्दा हालेँ भने, म गम्भीर समस्यामा पर्नेछु, र म आफ्नो ज्यानसमेत गुमाउन सक्छु।” त्यसकारण, पूर्वीय मानिसहरूले टिप्स माग्ने आँट गर्नुभन्दा बरु घाटा सहन्छन्। यसलाई सहनु भनिन्छ। तर पश्‍चिमाहरू फरक छन्। तिनीहरू सोच्छन्, “मैले किन सहनुपर्‍यो र? म अरू कसैका लागि आफ्नो जीवन बिताउन जन्मेको होइनँ—म आफ्नै लागि जिउँछु। मैले आफ्नो अधिकारको रक्षा गर्नुपर्छ। यो मैले पाउनुपर्ने पैसा हो। तिमी कुनै प्रख्यात व्यक्ति वा ठूलो मान्छे हौ भन्‍ने मलाई वास्ता छैन, तिमीले तिर्नुपर्छ। सबै समान छन्। तिमीलाई टिप्स नदिने अधिकार केले दिन्छ? यदि तिमीले टिप्स दिएनौ भने, म तिमीलाई मुद्दा हाल्नेछु!” अनि तिनीहरूले टिप्स पाएपछि, मामिला सुल्झिन्छ। यी नै पूर्वीय मानिसहरू र पश्‍चिमी मानिसहरूले आ-आफ्ना सांस्कृतिक शिक्षामार्फत प्राप्त गर्ने मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्ने फरक-फरक विचार, दृष्टिकोण, र तरिकाहरू हुन्।

पूर्व र पश्‍चिम तिनीहरूको सांस्कृतिक शिक्षाका विधिहरूमा र त्यस शिक्षाको विशेष विषयवस्तुमा फरक छन्। शिक्षाका यी विभिन्न रूपहरूले विभिन्न मानव संस्कृतिहरू, साथै विभिन्न जातीय समूहहरूका मानवताका गुणहरू उत्पादन गरेका छन्। मानवताका यी गुणहरूका साथ, पूर्वीय मानिसहरूको आफ्नै जीवनशैली, जीवन अवस्था, सोच्ने तरिका, र संसारसँग व्यवहार गर्ने मनोवृत्तिहरू हुन्छन्, जबकि पश्‍चिमाहरूको आफ्नै जीवनशैली, जीवन अवस्था, र संसारसँग व्यवहार गर्ने तरिका र मनोवृत्तिहरू हुन्छन्। संसारसँग व्यवहार गर्ने यी दुई मनोवृत्तिमध्ये, एउटा दबिनु र सहनु हो, र यो विशेष गरी संयमित हुन्छ; अर्कोले मानिसहरूको व्यक्तिपरक इच्छा र चाहनाहरूको अधिकारको रक्षा गर्नमा विशेष जोड दिन्छ। एउटा देखावटी शिक्षाबाट उत्पादन हुन्छ, र अर्को स्वार्थीपनको शिक्षाबाट उत्पादन हुन्छ। मानवताका यी गुणहरू जुनसुकै प्रकारको शिक्षामा उत्पादन भए पनि—चाहे त्यो दबिनु र सहनु होस् वा आफ्नो अधिकारको रक्षा गर्नु होस्, संयम होस् वा खुलापन होस्—तीमध्ये कुन चाहिँ सकारात्मक कुराहरू हुन्? (चाहे पूर्वीय होस् वा पश्‍चिमी, मानवताका यी गुणहरूमध्ये कुनै पनि सकारात्मक कुरा होइनन्।) तिमीहरू ती सकारात्मक कुराहरू होइनन् भनेर किन भन्छौ? तिमीहरूका विशेष कारणहरू सुनौँ। तिमीहरूमध्ये कसैले पनि भन्न सक्दैनौ, होइन र? (सक्दैनौँ।) उठाइएको मामिला जुनसुकै भए पनि, अरू मानिसहरूले कुरा खोतल्लान् भनेर तिमीहरू सबै डराउँछौ, र जब तिनीहरूले त्यसो गर्छन्, तब तिमीहरू अन्योलमा पर्छौ र तिमीहरू कामकुराहरू स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनौ। यसले त्यस सन्दर्भमा तँमा स्पष्टताको कमी छ भन्‍ने प्रमाणित गर्छ, त्यसैले तैँले यसबारे सङ्गति गर्नुपर्छ। मैले तँलाई सोधेको त्यो प्रश्‍न सङ्गति गर्न लायकको विषय हो, होइन र? (हो।) यो विषय “परमेश्‍वरले सृष्टि गरेको कुरा” सँग सम्बन्धित छ। त्यसैले पहिले हेरौँ: परमेश्‍वरले सृष्टि गरेको मानवजाति कस्तो प्राणी हो? परमेश्‍वरले सृष्टि गर्ने कुराहरू सकारात्मक कुरा हुन्। व्यक्तिमा भएका कुन-कुन कुराहरू परमेश्‍वरले सृष्टि गर्नुभएको हो? (व्यक्तिको स्वतन्त्र इच्छा, र परमेश्‍वरले उसलाई दिने बुद्धि।) मोटामोटी रूपमा भन्दा, व्यक्तिको अन्तर्निहित अवस्थाहरू सबै परमेश्‍वरले दिनुभएको र सृष्टि गर्नुभएको हो। यदि हामीले “सृष्टि गर्नुभएको” शब्द प्रयोग गर्‍यौँ भने, यो अलि अमूर्त हुन सक्छ, किनभने सबै जना आफ्ना आमाबुबाबाट जन्मेका हुन्, परमेश्‍वरको आफ्नै हातले बनाएका होइनन्। “परमेश्‍वरले सृष्टि गरेको कुरा” भन्ने वाक्यांश प्रयोग गर्दा यो अलि फराकिलो हुन्छ; यो त्यति उपयुक्त छैन। त्यस अवस्थामा, “परमेश्‍वरले मानिसहरूलाई दिने अन्तर्निहित अवस्थाहरू” भन्दा यो अलिक बढी विशेष र वस्तुगत हुन्छ। परमेश्‍वरले मानिसहरूलाई दिने अन्तर्निहित अवस्थाहरू “परमेश्‍वरले सृष्टि गरेको कुरा” भन्ने विषयसँग सम्बन्धित छन्। त्यसोभए, के हामी व्यक्तिका अन्तर्निहित अवस्थाहरू सबै सकारात्मक कुरा हुन् भनेर भन्न सक्छौँ? (सक्छौँ।) व्यक्तिको रूप, उसको भाषिक सामर्थ्य, र उसका सबै इन्द्रिय र उसका शारीरिक गुणहरू, साथै उसको स्वतन्त्र इच्छा, उसको सोच्ने र मनन गर्ने सामर्थ्य, उसका प्राकृतिक सामर्थ्य र प्रतिभाहरू, र उसले जीवित प्राणीका रूपमा पालन गर्ने अस्तित्वका सबै नियम—यी सबै सकारात्मक कुरा हुन्। अर्थात्, परमेश्‍वरले मानिसहरूलाई दिने अन्तर्निहित अवस्थाहरू सबै सकारात्मक कुरा हुन्। त्यसोभए, के यी सकारात्मक कुराहरूमा व्यक्तिको दिमागमा उत्पन्न हुने वा उसले समाज र विभिन्न युगबाट स्वीकार गर्ने विभिन्न विचारहरू समावेश हुन्छन्? (हुँदैनन्।) मानिसहरूले समाज वा मानवजातिबाट प्राप्त गर्ने कुनै पनि कुरा परमेश्‍वरले दिनुभएको होइन, न त यो परमेश्‍वरले सुरुमा सृष्टि गरेको कुरा नै हो। के भन्न सकिन्छ भने कुनै कुरा समाज वा मानवजातिबाट आएको हो भने, त्यो सकारात्मक कुरा होइन। यसलाई व्यापक, वैचारिक तरिकाले सारांशीकृत गर्दा, हामी यसो भन्नेछौँ। अनि यसलाई तोकेर भन्दा नि? के पूर्वीय सामाजिक नैतिक शिक्षाको सांस्कृतिक सन्दर्भमा उत्पादन हुने मानवताका गुणहरू र सोच्ने तरिकाहरू केही हदसम्म विकृत छैनन् र? यसलाई यसरी पनि भन्न सकिन्छ: पूर्वीय समाजमा, मानिसहरूको दिमाग बाँधिएको र विकृत हुन्छ; तिनीहरू समाज र शैतानबाट आएका निश्चित विचार र दृष्टिकोणहरूद्वारा भ्रष्ट र प्रभावित भएका हुन्छन्। के यसको अर्थ तिनीहरूको दिमाग शैतानको प्रक्रियाबाट गुज्रेको हुन्छ भन्‍ने होइन र? (हो।) मानिसहरूको दिमाग प्रक्रियाबाट गुज्रेको हुन्छ, र तिनीहरूका विचारहरू तिनीहरूको मानवताबाट जन्मेका हुँदैनन्। यी शिक्षाहरू सकारात्मक कुराहरूबाट आउँदैनन्, न त ती परमेश्‍वरबाट नै आउँछन्। ती परमेश्‍वरबाट नआउने हुनाले, तिनले जुनसुकै विचार, दृष्टिकोण, र सोच्ने तरिकाहरू उत्पादन गरे पनि—र तिनले अन्ततः जुनसुकै मानवताका गुणहरू उत्पादन गरे पनि—तीबाट पछि देखा पर्ने अन्य सबै कुरालगायत, ती नकारात्मक कुराहरू नै हुन्छन्, सकारात्मक कुराहरू होइनन्। यो यस्तो कुरा हो जसका बारेमा तिमीहरू निश्चित भएका छौ, होइन र? (हो।) पूर्वीय मानिसहरूको दिमाग जकडिएको र विकृत हुन्छ, र निश्चित पूर्वीय विचार र दृष्टिकोणहरूबाट पनि प्रभावित हुन्छ, त्यसैले तिनीहरूको मानवताका गुणहरूद्वारा व्यक्त हुने कुराहरू सबै नकारात्मक हुन्छन्। अब पश्‍चिमलाई हेरौँ। पश्‍चिमाहरूको वैचारिक शिक्षाको विषयवस्तु के हो? के यो सत्यतासँग सम्बन्धित हुन्छ? के पश्‍चिमी शिक्षाको विषयवस्तु र यसले मानिसहरूलाई लागिपर्न सिकाउने मानवताका प्रकटीकरणहरू परमेश्‍वरका वचनहरूबाट आउँछन्? (आउँदैनन्।) यसलाई अझ स्पष्ट रूपमा भन्नुपर्दा, म तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु: के यो शिक्षा—जीवन, अस्तित्व, र सांसारिक मामिलाहरूसँग व्यवहार गर्नेबारेका यी विचार र दृष्टिकोणहरूपछाडिका सिद्धान्तहरू, र ती कुराहरूसँग व्यवहार गर्ने यी विधिहरू—परमेश्‍वरका वचनहरूअनुरूप हुन्छ? के यो सत्यताअनुरूप हुन्छ? (हुँदैन।) यो कुन हिसाबमा सत्यताअनुरूप हुँदैन? (यो पश्‍चिमी स्वार्थीपनको शिक्षाजस्तै हो—यसले विचारको स्वतन्त्रतालाई सम्मान गरे पनि, मानिसहरूलाई आफ्‍ना बारेमा मात्रै विचार गर्नुपर्छ र अरूका बारेमा विचार गर्नु पर्दैन भन्‍ने सिकाउँछ। यो परमेश्‍वरका वचनहरू र सत्यताअनुरूप छैन।) त्यसोभए परमेश्‍वरका वचनहरू र सत्यताले के भन्छन्? (एकअर्कासँगको अन्तरक्रियामा, मानिसहरूले आफ्नो हित वा भावनाहरूलाई मात्रै विचार गर्नु हुँदैन; बरु, तिनीहरूले आफ्ना व्यवहारहरूले कसरी अरूको आत्मिक वृद्धि गर्न सक्छन् र साथसाथै त्यो सत्यताअनुसार हुन सक्छ भनेर विचार गर्नुपर्छ।) परमेश्‍वरका वचनहरूले तँलाई के भन्छन् भने, तैँले मामिलाहरूलाई स्वतन्त्र र वस्तुगत रूपमा सोचे पनि, वा कुनै निश्चित विचार वा दृष्टिकोणको प्रभुत्वमा रहेर सोचे पनि, तैँले आफ्नो हितको रक्षा गर्न वा आफ्नो इज्जत र घमण्डको रक्षा गर्नका लागि मात्रै त्यसो गर्नु हुँदैन—यो परमेश्‍वरमा विश्वास गर्नेहरूले मामिलाहरूबारे विचार गर्ने सिद्धान्त होइन। जब तँ मामिलाहरूबारे विचार गर्छस्, तब तैँले तेरो दृष्टिकोण सत्यताअनुरूप छ कि छैन, यी मामिलाहरूलाई सत्यता प्रयोग गरेर समाधान गर्न सकिन्छ कि सकिँदैन, र तेरो दृष्टिकोण सत्यता सिद्धान्तहरूअनुरूप छ कि छैन र त्यसले परमेश्‍वरमा समर्पित हुन डोऱ्याउँछ कि डोऱ्याउँदैन भन्‍ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। मामिलाहरूलाई विचार गर्ने सिद्धान्त यही हो। चाहे तैँले मानिसहरूसँग व्यवहार गरिरहेको होस्, वा आफ्नो परिवार वा आफ्नो वरपरका अन्य कुराहरूसँग सम्बन्धित मामिलाहरूसँग व्यवहार गरिरहेको होस्, तैँले केवल आफ्नो अधिकार र हितको रक्षा गर्नुको सट्टा परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ। परमेश्‍वरले माग गर्नुभएअनुसार आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू यिनै हुन्। त्यसैले, झट्ट हेर्दा, पूर्वीय संस्कृतिको शिक्षाको तुलनामा, पश्‍चिमी सांस्कृतिक शिक्षाले मानव अधिकार र मानिसहरूको अधिकारको रक्षा गर्ने कुरालाई बढी महत्त्व दिन्छ। यो पूर्वीय संस्कृतिभन्दा श्रेष्ठ छ, तर यसको अर्थ यसले सत्यताको ठाउँ लिन सक्छ भन्‍ने होइन। तँलाई यो पूर्वीय संस्कृतिभन्दा श्रेष्ठ भएकाले, वा यसले मानव अधिकारको सम्मान गर्ने र मानिसहरूलाई स्वतन्त्र र स्वाधीन हुन सक्षम बनाउने भएकाले, यसले सत्यता सिद्धान्तहरूको ठाउँ लिन सक्छ र यसलाई सकारात्मक कुराका रूपमा वर्णन गर्न सकिन्छ भन्‍ने लाग्नु हुँदैन। पश्‍चिमी सांस्कृतिक शिक्षा पूर्वीय सांस्कृतिक शिक्षाभन्दा श्रेष्ठ मात्रै छ र मानवताका आवश्यकताहरूसँग बढी मिल्छ, तर यसलाई सत्यता सिद्धान्तहरूसँग बराबर गर्न सकिँदैन, न त यसले तिनलाई प्रतिस्थापित गर्न नै सक्छ। एक निश्चित हदसम्म, यसले मानवताका आवश्यकताहरू, साथै मानिसहरूको इज्जत र तिनीहरूको अधिकार र हितलाई मात्रै समर्थन र सम्मान गर्छ। तर, यो सम्मान मानवताको हिसाबमा मात्रै सान्दर्भिक छ। सत्यता र इन्साफको हिसाबमा, यसले यी दुवै कुरालाई समर्थन गर्दैन। त्यसकारण, पश्‍चिमी सांस्कृतिक शिक्षा स्वार्थीपनको शिक्षा हो। स्वार्थीपनको शिक्षाको अर्थ हो, “सबैले मेरो हितको सेवा गर्नुपर्छ। मैले केही गर्नुअघि सबै कुरा आफै सोच्नुपर्छ। मेरो व्यक्तिगत हित, मेरो मानव अधिकार, र मेरो व्यक्तिगत अधिकार सर्वोपरि छन्।” के यहाँ कुनै नैतिक इन्साफको कुरा छ? के यहाँ कुनै निष्पक्षताको कुरा छ? (छैन।) यदि कुनै निष्पक्षता वा नैतिक इन्साफ छैन भने, यो कसरी सत्यता सिद्धान्तहरूअनुसार हुन सक्छ र? निश्चित हदसम्म, पश्‍चिमी सांस्कृतिक शिक्षाले तेरा मानव अधिकारहरूको सम्मान गर्छ; यसले तँलाई मामिलाहरूका बारेमा सोच्ने र आफ्ना विचारहरू स्वतन्त्र रूपमा व्यक्त गर्ने अधिकार दिन्छ। यसरी, यसले आधारभूत रूपमा मानिसहरूको इज्जत र मानव अधिकारको रक्षा गर्न सक्छ। त्यसैले, एक निश्चित हदसम्म, पश्‍चिमी शिक्षा मानवताका आवश्यकताहरूसँग बढी मिल्दोजुल्दो छ। तर के पश्‍चिमी शिक्षाले मानिसहरूलाई जीवनको सही मार्गमा मार्गदर्शन गर्न सक्छ? के यसले मानिसहरूलाई सबै मानिसहरूलाई व्यवहार गर्न र सबै कामहरू सत्यता सिद्धान्तहरूअनुसार गर्न सक्षम बनाउन सक्छ? यसले यसो गर्न सक्दैन। पश्‍चिमी शिक्षाले सबैलाई मानव अधिकार र आफ्नो इज्जतको रक्षा गर्ने अधिकार छ भनेर ग्यारेन्टी दिन सक्छ—यो पूर्ण रूपमा मानवताका आवश्यकताहरूअनुरूप छ। तर, समाजको वास्तविक स्थितिसँग मापन गर्दा, बिरलै देशहरूले मानव अधिकारको ग्यारेन्टी दिने मानक पूर्ण रूपमा पूरा गर्न सक्छन्। यथार्थ रूपमा भन्दा, आजको समाजमा, मानिसहरूलाई मामिलाहरूबारे स्वतन्त्र रूपमा सोच्न र आफ्ना विचारहरू स्वतन्त्र रूपमा व्यक्त गर्न अनुमति दिन सक्ने सामाजिक प्रणाली निकै राम्रो सामाजिक प्रणाली हो। परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्र इच्छा र मामिलाहरूका बारेमा स्वतन्त्र रूपमा सोच्ने क्षमता दिनुभयो; यो उहाँले तिनीहरूलाई दिएको क्षमताको एउटा पक्ष मात्रै हो। तर, परमेश्‍वरले तिमीहरूलाई कहिल्यै पनि यसो भन्नुभएको छैन, “स्वार्थी होओ, स्वायत्त होओ। सबै कुरा तिमीहरूको आफ्नै हितमा केन्द्रित हुनुपर्छ। तिमीहरूको आफ्नै हित सर्वोपरि छ। सबै कुरामा तिमीहरू स्वतन्त्र हुनुपर्छ र आफ्‍नो मालिक आफै हुनुपर्छ, र सत्यता खोज्ने, स्वर्गको इच्छाबारे सोध्ने, वा अरूको हितलाई विचार गर्ने कुनै आवश्यकता छैन।” परमेश्‍वरले कसैलाई पनि यसरी कहिल्यै सिकाउनुभएको छैन। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको जीवनमा मार्गदर्शन गर्न सुरु गर्नुभएदेखि नै, उहाँले सबै पक्षहरूमा जिउने र आत्मआचरणका विशेष तरिकाहरू औँल्याउनुभएको छ, मानिसहरूलाई सत्यता पछ्याउन, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन, इमानदार मानिस बन्‍न, सृजित प्राणीको कर्तव्य पूरा गर्न, र यस्तै अन्य कुराहरू गर्न भन्नुभएको छ। यी सबै व्यक्तिको जीवनको सबैभन्दा महत्त्वपूर्ण पछ्याइहरू हुन्। परमेश्‍वरले व्यक्त गरेका धेरै सत्यतामध्ये, उहाँले तिमीहरूलाई कहिल्यै आफ्नो अधिकारको रक्षा गर्न भन्नुभएको छैन, न त उहाँले तिमीहरूलाई कहिल्यै मामिलाहरूका बारेमा स्वतन्त्र रूपमा सोच्न र आफ्नो स्वतन्त्र ठाउँको रक्षा गर्न नै भन्नुभएको छ। परमेश्‍वरले त्यस्तो केही पनि कहिल्यै भन्नुभएको छैन। परमेश्‍वरले तिमीहरूलाई मामिलाहरूबारे स्वतन्त्र रूपमा सोच्ने क्षमता मात्रै दिनुभयो—त्यति मात्रै हो। तिमीहरूसँग यो सामर्थ्य छ, र तिमीहरूसँग स्वतन्त्र इच्छाको अन्तर्निहित अवस्था पनि छ। तर, मानिसहरूलाई यस्ता अन्तर्निहित अवस्थाहरू दिँदा, परमेश्‍वरले तिनीहरूका लागि व्यवस्था र आज्ञाहरू पनि स्थापित गर्नुभयो, र तिनीहरूलाई विभिन्न सत्यताहरू प्रदान गर्नुभयो, र तिनीहरूलाई कसरी आफूलाई आचरणमा ढाल्ने र कसरी परमेश्‍वरको आराधना गर्ने भनी बताउनुभयो—सबै मामिलामा, मानिसहरूले पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू छन्। तर परमेश्‍वरका सबै वचन र मानिसहरूलाई उहाँले दिएका चेतावनीहरूमा, उहाँले मानिसहरूलाई कहिल्यै स्वायत्त हुन, स्वतन्त्र हुन, वा आफ्नो अधिकारको रक्षा गर्न सिक्न भन्नुभएको छैन। त्यस्ता विचार, दृष्टिकोण, वा त्यस्ता भनाइ र शिक्षाहरू परमेश्‍वरका वचनहरूमा वा सत्यतामा कहिल्यै देखा परेका छैनन्। यसको विपरीत, परमेश्‍वरले मानिसहरूका भ्रष्ट स्वभावहरूलाई खुलासा गर्ने वचनहरूमा, उहाँ तिनीहरूको अहङ्कार र तिनीहरूको स्वार्थीपनलाई खुलासा गर्नुहुन्छ। यो स्वार्थीपन एउटा यस्तो गुण हो जुन मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएपछि तिनीहरूको मानवताद्वारा प्रकट हुन्छ। कतिपय मानिसमा, यो तिनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि तिनीहरूले आफ्नो हित सुरक्षित गर्न प्रयास गर्दा प्रदर्शित हुन्छ; अरूमा, यो विशुद्ध रूपमा यस समाजले दिएको शिक्षाको उपजका रूपमा देखा पर्छ। दुवै अवस्थामा, यो स्वार्थीपन नै हुन्छ। यो जसरी उब्जे पनि, छोटकरीमा भन्दा, तँ स्वार्थी छस् भने, त्यो मानवताको एउटा गुण र प्रकटीकरण हो जुन तैँले भ्रष्ट स्वभावहरूमा जिउँदा प्रदर्शन गर्छस्। के अब यो कुरा स्पष्ट भयो? (भयो।)

परमेश्‍वरले मानिसहरूलाई दिनुहुने जन्मजात अवस्थाहरूमा समावेश भएका विभिन्‍न सामर्थ्यहरू, वा मानिसहरूमा जन्मजात रूपमा आउने क्षमता र सक्षमताहरूको पश्चिमी वा पूर्वीय शिक्षासँग कुनै सरोकार छैन। मानिसहरूका परमेश्‍वर-प्रदत्त जन्मजात अवस्थाहरूभित्रका विभिन्‍न सामर्थ्यहरू सकारात्मक कुराहरू हुन्। म किन ती सकारात्मक कुराहरू हुन् भनी भन्छु? किनभने यी जन्मजात अवस्थाहरू परमेश्‍वरबाट आएका हुन्छन्। तोकेरै भन्दा, यी जन्मजात अवस्थाहरू हुनुले एक सृजित मानवलाई सकारात्मक कुराहरू स्वीकार गर्न, र वास्तविक जीवनमा उसले सामना गर्ने विभिन्‍न मानिस, घटना, र कामकुराहरूबाट सिक्न, तिनका आधारमा आत्म-चिन्तन गर्न, बोध गर्न, र बुझ्न सक्‍ने तुल्याउँछ। यो परमेश्‍वरद्वारा मानिसहरूका लागि मिलाइएको र तयार गरिएको कुरा हो, त्यसैले यो एक सकारात्मक कुरा हो। चाहे पूर्वीय शिक्षा होस् वा पश्चिमी, वा पूर्वीय संस्कृति होस् वा पश्चिमी, कुनैको पनि परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने र प्रदान गर्नुहुने सत्यतासँग कुनै सरोकार हुँदैन। यो त सत्यता र परमेश्‍वरले मानिसहरूमा हुनुपर्छ भनी माग गर्नुहुने मानवताको विरुद्धमा समेत जान्छ। त्यसकारण, न त पूर्वीय शिक्षा सकारात्मक कुरा हो न त पश्चिमी शिक्षा नै सकारात्मक कुरा हो। चाहे त्यो समाजबाट, दुष्ट प्रवृत्तिहरूबाट आएको होस्, वा कुनै शासक वर्गबाट आएको होस्, त्यो सकारात्मक हुँदैन। पश्चिमी शिक्षा पूर्वीय शिक्षाभन्दा अलिक बढी उन्नत र राम्रो भए तापनि, र त्यसले मानिसहरूलाई केही स्वतन्त्रता दिन र तिनीहरूका केही आवश्यकताहरू पूरा गर्न सक्‍ने भए पनि, त्यसले मानिसहरूको स्वतन्त्र इच्छा र मामिलाहरूबारे सोच्ने र स्वतन्त्र रूपमा विचार व्यक्त गर्ने तिनीहरूको सामर्थ्यको उपयोग मात्रै गर्छ। अर्थात्, त्यसले सकारात्मक कुराहरूको उपयोग गर्छ, तर त्यसले वकालत गर्ने विचारहरू र त्यसले हासिल गर्ने लक्ष्य राख्ने उद्देश्यहरू भनेका मानिसहरूलाई सही मार्गमा हिँडाउने होइनन्, न त तिनीहरूलाई परमेश्‍वरले चाहनुभएको जस्तो साँचो सृजित मानव बन्न मद्दत गर्ने नै हुन्। त्यसैले, यसको आधारमा हेर्दा, पश्चिमी शिक्षा पूर्वीय शिक्षाभन्दा श्रेष्ठ भए तापनि वा त्यसले मानवताका आवश्यकताहरू पूरा गरे तापनि, त्यसले मानिसहरूको स्वतन्त्र इच्छा वा निश्चित सामर्थ्यहरूको उपयोग गरेर, तिनीहरूलाई परमेश्‍वरमा समर्पित हुन, सृजित प्राणीको रूपमा उचित व्यवहार गर्न, र एक सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्षम बनाएको छैन। यो शिक्षाले मानिसहरूलाई परमेश्‍वरको सामु ल्याएको वा तिनीहरूलाई परमेश्‍वरको आराधना गर्न र दुष्टताबाट अलग बस्न सक्षम हुन मद्दत गरेको पनि छैन। पूर्वीय शिक्षा र पश्चिमी शिक्षाको एउटै काम छ: ती दुवैले मानिसहरूलाई परमेश्‍वर र सत्यताबाट टाढा बनाउँछन्। चाहे त्यो पूर्वीय संस्कृति होस् वा पश्चिमी संस्कृति, दुवै शैतानले मानवजातिमाथि गरेको शासनको बृहत्तर सामाजिक पृष्ठभूमिमा र शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउने प्रक्रियामार्फत उदय भएका हुन्। यसरी, चाहे त्यो पूर्वीय सांस्कृतिको रूपमा आएको शिक्षामा होस् वा पश्चिमी सांस्कृतिको रूपमा आएको शिक्षामा होस्, सबै जना शैतानको भ्रष्टताको यो मानव संसारमा जिउँछन्। त्यसरी नै, मानवजाति पनि विभिन्न समाजहरूमा रहेर वा समाजका विभिन्न रूपहरूको शिक्षाअन्तर्गत रहेर भ्रष्ट भएको छ, र यो भ्रष्टताको परिणाम के भएको छ भने मानिसहरूले एउटा यस्तो मानवता प्राप्त गरेका छन् जसको जीवनको रूपमा—संस्कृतिका विभिन्न स्तर र रूपहरूमा—भ्रष्ट स्वभावहरू रहेका हुन्छन्। पूर्वीय मानिसहरूमा पूर्वीय संस्कृतिले उत्पादन गरेको मानवताका गुणहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, जबकि पश्चिमीहरूमा पश्चिमी संस्कृतिको पृष्ठभूमिमा उत्पादन भएको मानवताका गुणहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्। पूर्वीय र पश्चिमी मानिसहरू तिनीहरूको मानवताका गुणहरूको हिसाबमा फरक देखिए तापनि, तिनीहरूको भ्रष्ट स्वभावको हिसाबमा, तिनीहरू सबैलाई शैतानले भ्रष्ट तुल्याएको हुनाले, पूर्वीय र पश्चिमी दुवै मानिसहरू एउटै भ्रष्ट स्वभावहरूभित्र जिउँछन्, र दुवैसँग एउटा यस्तो मानवता हुन्छ जसको जीवनको रूपमा उही भ्रष्ट स्वभावहरू नै रहेका हुन्छन्। यसरी, पूर्वीय र पश्चिमी मानिसहरूको प्रकृति सार एउटै हुन्छ: तिनीहरू दुवै सत्यता र परमेश्‍वरप्रति शत्रुवत् हुन्छन्। त्यसैले, न त पूर्वीय मानिसहरूमा नै कुनै प्रशंसनीय कुरा हुन्छ न त पश्चिमी मानिसहरूमा। चाहे पूर्वीय संस्कृति होस् वा पश्चिमी संस्कृति, परमेश्‍वर र सत्यताको उपस्थितिमा, ती दुवै नकारात्मक कुराहरू हुन्, जसमा कुनै प्रशंसनीय कुरा हुँदैन। पूर्वीय र पश्चिमी दुवै सभ्यताहरूले मानवजाति सृष्टि गर्नुको पछाडि रहेको परमेश्‍वरको मौलिक अभिप्रायको उल्लङ्घन गर्छन्, जुन अभिप्राय भनेको मानवजातिले उहाँको आराधना गरोस् भन्‍ने थियो; तिनले प्राणीहरूको पङ्क्तिमा रहेका मानवहरूलाई परमेश्‍वरको उपस्थितिबाट खोसेर लैजान आ-आफ्ना सांस्कृतिक शिक्षाका रूपहरू प्रयोग गर्छन्। यस हिसाबमा, पूर्व र पश्चिम एउटै हुन्, होइनन् र? (हुन्।) पूर्वमा कुनै प्रशंसनीय कुरा छैन, न त पश्चिममा नै छ। हेर् त, दुवैले आखिरी दिनहरूको परमेश्‍वरको काम स्वीकार गरेका भए तापनि, पूर्वीय मानिसहरूले यसलाई स्वीकार गरेपछि, तिनीहरूले तुरुन्तै दाजुभाइ तथा दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्न थाल्छन् र सक्रिय रूपमा आफ्ना नातेदार र मित्रहरूलाई सुसमाचार प्रचार गर्नका लागि तिनीहरूलाई लैजान्छन्; तिनीहरूमा सुसमाचार प्रचार गर्ने कामप्रति ठूलो जोश र उत्साह हुन्छ—अर्कोतर्फ, पश्चिमीहरू फरक हुन्छन्। तिनीहरू सुसमाचार प्रचार गर्ने कामबारे निकै सावधान हुन्छन्। तिनीहरूले आधा वर्ष वा एक वर्षसम्म परमेश्‍वरको नयाँ काम स्वीकार गरिसकेपछि पनि, जब तैँले तिनीहरूलाई आफ्ना नातेदार र मित्रहरूलाई सुसमाचार प्रचार गरेका छन् कि छैनन् भनी सोध्छस्, तब तिनीहरूले यसो भन्छन्, “मेरा आमाबुबा, नातेदार, मित्र, र सङ्गी मण्डलीका सदस्यहरूमध्ये धेरैजसोमा परमप्रभुको पुनरागमनको मामिलामा आफ्नै स्वतन्त्र विचार र दृष्टिकोणहरू छन्। तिनीहरूलाई सुसमाचारका पात्रको रूपमा तिमीहरूको अघि प्रस्तुत गर्नुअघि मैले होसियारीसाथ सोच्नुपर्छ र तिनीहरूसँग सम्पर्क गर्नुपर्छ। हामी पश्चिमीहरूले आफूलाई आचरणमा ढाल्ने मुख्य गुण के हो भने हामीले हाम्रा अधिकारहरूको रक्षा गर्नुपर्छ र हामीले हाम्रो स्वतन्त्र ठाउँलाई सबैभन्दा ठूलो हदसम्म जोगाउनुपर्छ। तिमीले कसरी विचारै नगरी मानिसहरूलाई सुसमाचार प्रचार गर्न सक्छौ?” तैँले भन्छस्, “तिमीले तिनीहरूलाई सुसमाचार प्रचार गर्न सक्छौ, ताकि तिनीहरूले परमप्रभुलाई स्वागत गर्न सकून्, आखिरी दिनहरूमा परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू प्राप्त गर्न सकून्, र मुक्ति प्राप्त गर्ने र प्रकोपहरूबाट बच्ने अवसर पाउन सकून्। यो परमेश्‍वरको आज्ञा हो, र यो पूरा गर्नुपर्ने जिम्मेवारी तिम्रो हो।” तिनीहरूले जवाफ दिन्छन्, “अँ, मैले अझै पनि पहिले आफूलाई जोगाउनुपर्छ; परमेश्‍वरको आज्ञा त पछि पूरा गर्दा पनि हुन्छ। म यस मामिलामा जिम्मेवारी लिन सक्छु। मेरो आफ्नै स्वतन्त्र विचारहरू हुनुपर्छ, र म तिमीहरूबाट प्रभावित हुन सक्दिनँ। हामी पश्चिमीहरूले प्रजातन्त्र र स्वतन्त्रतालाई महत्त्व दिन्छौँ; हामीमा हाम्रा अधिकारहरूको रक्षा गर्ने चेतना छ। हामी तिमीहरू, पूर्वीय मानिसहरूजस्तो अन्धो उत्साह भएका मानिसहरू होइनौँ। हामी सबैसँग हाम्रो आफ्नै व्यक्तिगत जिउने क्षेत्र हुन्छ, र कसैले कसैलाई बाधा दिँदैन।” देख्यौ त? यस्तै महत्त्वपूर्ण क्षणहरूमा पूर्वीय र पश्चिमी मानिसहरूको मानवताका गुणहरू छुट्टिन्छन् र फरक देखिन्छन्। तर जे भए पनि, मानवताका गुणहरू पूर्वीय शिक्षाले उत्पादन गरेका भए पनि वा पश्चिमी शिक्षाले उत्पादन गरेका भए पनि—चाहे त्यो उत्साह होस् वा उदासीनता होस्—जबसम्म कुनै व्यक्ति शैतानको भ्रष्ट स्वभावहरूभित्र जिउँछ, तबसम्म ऊ भ्रष्ट मानवजातिको सदस्य नै रहन्छ। यहाँ कुलीन र तुच्छबीच कुनै भिन्‍नता छैन; सबैलाई सत्यताको बुझाइ, परमेश्‍वरका वचनहरूको आपूर्ति, परमेश्‍वरको मुक्ति, र अझै बढी, परमेश्‍वरको न्याय र सजायको आवश्यकता पर्छ।

पूर्वीय र पश्चिमी मानिसहरूका फरक-फरक संस्कृति भए तापनि र तिनीहरू परमेश्‍वरको प्रभुत्व र सार्वभौमिकताअन्तर्गत फरक-फरक सभ्यताहरूमा बसे तापनि, परमेश्‍वरको सामु तिनीहरूको एउटा मात्रै पहिचान हुन्छ, र त्यो सृजित प्राणीहरूको पहिचान हो। सृजित प्राणीहरूको समानताको आधार के हो भने परमेश्‍वरले मानिसहरूका लागि सृष्टि गर्नुभएका जन्मजात अवस्थाहरू एउटै हुन्छन्। पूर्वीय र पश्चिमी मानिसहरूबीच जस्तोसुकै सांस्कृतिक भिन्‍नता भए पनि, रूप, भाषा, वा मामिलाहरूबारे सोच्ने तिनीहरूको तरिका र शैलीमा तिनीहरू जति फरक भए पनि, जबसम्म, परमेश्‍वरको सामु, तँ उहाँले बनाउनुभएको एक सृजित प्राणी होस्, तबसम्‍म तँसँग हुने एउटा मात्रै सकारात्मक कुरा भनेको उहाँले तँलाई दिनुभएका जन्मजात अवस्थाहरू हुन्; अरू सबै कुरा नकारात्मक कुरा हुन्। यो तिमीहरूलाई अलिकति सामान्यीकरण गरिएको जस्तो लाग्न सक्छ, त्यसैले तोकेर नै भन्दा, तँमा भएको हरेक कुरा—परमेश्‍वरले तँलाई दिनुभएका जन्मजात अवस्थाहरूबाहेकका हरेक कुरा—परमेश्‍वरले परिवर्तन गर्न चाहनुहुने कुरा हो, र तैँले सत्यता स्वीकार गरेर परिवर्तन गर्नुपर्ने र त्याग्‍नुपर्ने कुरा हो। तैँले जान्‍नुपर्ने कुरा के हो? चाहे पूर्वीय होस् वा पश्चिमी होस्, मानवजातिको तथाकथित संस्कृतिमा विभिन्‍न अवधिका शासक वर्गहरूले आमजनतालाई शिक्षा दिनका लागि बनाएका विचार र दृष्टिकोणहरू, वा सिद्धान्त र कथनहरू हुन्छन्। तर पूर्वीय होस् वा पश्चिमी होस्, सत्यतासँग त्यो संस्कृतिको कुनै सरोकार हुँदैन। त्यो सत्यतासँग नबाझिए पनि, त्यसलाई अझै पनि सकारात्मक कुरा भन्न सकिँदैन। कुनै निश्‍चित संस्कृति जतिसुकै राम्रो भए पनि, त्यो सत्यताको स्तरमा पुग्‍न सक्दैन, त्यसले सत्यताको प्रतिनिधित्व गर्ने कुरा त परै जाओस्। मानिसहरूले त्यसलाई नकारात्मक कुरा नठाने पनि, त्यसलाई सकारात्मक कुराहरूको श्रेणीमा पटक्कै वर्गीकरण गर्न सकिँदैन। तँ यसबारे स्पष्ट हुनुपर्छ। कुनै विचारको प्रवाह मानवजातिको बीचमा तुलनात्मक रूपमा उन्नत र प्रगतिशील भए तापनि, र त्यसले मानिसहरूका अधिकार र हितहरू, साथै तिनीहरूको अस्तित्वको रक्षा गरे तापनि, र कुनै पनि हिसाबमा सत्यतासँग नबाझिए तापनि, त्यसलाई अझै पनि सकारात्मक कुराहरूको श्रेणीमा पटक्कै वर्गीकरण गर्न सकिँदैन। किन सकिँदैन? किनभने परमेश्‍वरद्वारा सृजित, परमेश्‍वरद्वारा नियोजन गरिएको, र परमेश्‍वरको सार्वभौमिकताअन्तर्गतको दायराभित्रका कुराहरू मात्रै सकारात्मक कुराहरू हुन्। त्यसोभए, यस दायराभित्रका कुराहरूलाई किन सकारात्मक कुराहरूको श्रेणीमा वर्गीकरण गरिन्छ? किनभने तिनमा सत्यता समावेश हुन्छ। बृहत् हिसाबमा भन्दा, परमेश्‍वरको स्तरबाट र परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, तिनमा परमेश्‍वरको शक्ति र अख्तियार; परमेश्‍वरको स्वभाव; यी सबै कुराहरूमाथि परमेश्‍वरको सृष्टि, नियोजन, र सार्वभौमिकता पछाडिका सिद्धान्त र मौलिक अभिप्रायहरू; उहाँले हासिल गर्न चाहनुभएको उद्देश्य, र उहाँले कायम राख्‍न चाहनुहुने अर्थात् सकारात्मक कुराहरूले ल्याउने सबै प्रभावहरू, ती सबै समावेश हुन्छन्। परमेश्‍वरको स्तरबाट हेर्दा, तिनमा परमेश्‍वरको अख्तियार, शक्ति, र विचारहरू, साथै यी सबै काम गर्ने क्रममा परमेश्‍वरले स्थापित गर्नुभएका व्यवस्था र नियमहरू र यसले मानवजातिमा पार्ने प्रभाव समावेश हुने हुनाले, यस दायराभित्रका कुराहरू निश्‍चित रूपमा सकारात्मक कुराहरू हुन्। मानवको दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरद्वारा सृजित, परमेश्‍वरद्वारा नियोजन गरिएको, र परमेश्‍वरको सार्वभौमिकताअन्तर्गतको हरेक कुरा मानिसहरूका लागि लाभदायक हुन्छ; ती सबै मानवजातिको व्यवस्थित अस्तित्व र प्रजननलाई कायम राख्‍न र पूरा गर्नका लागि अस्तित्वमा रहेका हुन्छन्। अर्को अझ निश्‍चित बुँदा पनि छ, जुन परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित छ: यी कुराहरू मानिसहरूलाई सत्यता बुझ्न र परमेश्‍वरलाई अझ राम्ररी चिन्‍न, अन्ततः मुक्ति प्राप्त गर्ने मार्गमा लाग्न, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरू बन्न सक्षम बनाउनका लागि अस्तित्वमा छन्—हासिल गरिनुपर्ने परिणाम यही हो। त्यसैले, चाहे परमेश्‍वरको दृष्टिकोणबाट हेरियोस् वा मानवको दृष्टिकोणबाट हेरियोस्, परमेश्‍वरद्वारा सृजित, परमेश्‍वरद्वारा नियोजन गरिएको, र परमेश्‍वरको सार्वभौमिकताअन्तर्गतको दायराभित्रका मानिस, घटना, र कामकुराहरू सबै सकारात्मक कुराहरू हुन्। यसबारे कुनै शङ्का हुन सक्दैन। यसबारे सोच—के मानव सभ्यता र संस्कृति परमेश्‍वरका वचनहरू र मानिससँग परमेश्‍वरले गर्नुभएका मागहरूको स्तरमा रहेका कुराहरूको स्तरमा आउन सक्छन्? ती निश्‍चित रूपमा त्यस्ता कुराहरूको स्तरमा पुग्‍न वा त्यहाँसम्म पुग्न सक्दैनन्। मानव शिक्षा वा संस्कृतिको विषयवस्तुमा परमेश्‍वरको सार, परमेश्‍वरको स्वभाव, वा परमेश्‍वरले मानवजातिका लागि स्थापित गर्नुभएका व्यवस्था र नियमहरू समावेश हुँदैनन्, सबै कुरा सृष्टि गर्नुका पछाडि रहेको परमेश्‍वरको मौलिक अभिप्रायको कुरा त परै जाओस्। यसबाहेक, मानव दृष्टिकोणबाट हेर्दा, यस प्रकारको शिक्षा र संस्कृतिले मानवजातिलाई सृष्टिकर्ता परमेश्‍वरलाई चिन्‍न मद्दत गर्न सक्दैन, न त तिनले मानवजातिलाई अझ राम्रोसँग जिउन, वा सामान्य र व्यवस्थित तरिकाले प्रजनन गर्न र जिउन मद्दत गर्न नै सक्छन्। यसको विपरीत, यस प्रकारको संस्कृति र सभ्यताको शैक्षिक वातावरणभित्र रहेर, मानवजाति पतन र विनाशतिर लाग्नेछ। अर्को, अझ महत्त्वपूर्ण पक्ष छ: यो तथाकथित “सांस्कृतिक शिक्षा” र “सामाजिक सभ्यता” को अधीनमा रहेर, मानवजातिले तीबाट सत्यता, आफू जीवित हुनुको महत्त्व, वा जिउने तरिका बुझ्न सक्दैन। तिनीहरूले जीवनप्रति सही दृष्टिकोण प्राप्त गर्न र तिनीहरू त्यसमार्फत मुक्ति प्राप्त गर्ने मार्गमा लाग्न पनि सक्दैनन्, न त परमेश्‍वरको आराधना गर्न, वा परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्षम हुन सक्छन्। यसको विपरीत, यस्तो सांस्कृतिक शिक्षा र सभ्यताको सामाजिक वातावरणमा रहेर, मानवजाति झन्-झन् भ्रष्ट र दुष्ट बन्छ, परमेश्‍वरबाट झन्-झन् टाढा भड्किन्छ, र उसले अत्यधिक रूपमा दुष्ट काम गर्छ। अन्ततः, परमेश्‍वरले मानवजातिलाई नष्ट नगर्नुभए तापनि, मानवजातिले अझै पनि आफ्नै विनाश ल्याउनेछ। यदि मानवजातिले आफैलाई शासन गर्ने हो भने, यो विनाशतिर लाग्नेछ; यो अपरिहार्य छ। मानवजातिसँग यति उच्च स्तरको संस्कृति, यति धेरै ज्ञान, यति ठूलो सभ्यता छ, र त्यसले विज्ञानमा विश्‍वास गर्छ र त्यसमा भर पर्छ—त्यसोभए त्यसले किन अझै पनि आफ्नै विनाश ल्याउँछ? मानवजातिले यति धेरै ज्ञानको खोजी गर्छ र विज्ञानलाई यति धेरै सम्मान गर्छ, तैपनि त्यसले सत्यता बुझेको छैन वा त्यो परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई पछ्याउने, र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्षम हुने मार्गमा लागेको मात्रै छैन, तर त्यसले आफ्नै विनाश समेत ल्याउन सक्छ। यहाँ के भइरहेको छ? मानवजातिले गरेको व्यवस्थापनको कारणले अहिले पृथ्वीको के हालत भएको छ? सम्पूर्ण ग्रहको पानी, माटो, र हावा प्रदूषित भएको छ, पारिस्थितिक वातावरण गम्भीर रूपमा क्षतिग्रस्त भएको छ, र सम्पूर्ण मानवजातिको जीवन बिस्तारै हताश दुर्दशामा परेको छ। यो कुरा सबैले देख्न सक्ने तथ्य हो, त्यसैले विस्तृत रूपमा जानु आवश्यक छैन, होइन र? (हो।) त्यसैले, चाहे पूर्वीय संस्कृति होस् वा पश्चिमी संस्कृति, मानवजातिसँग जस्तोसुकै सभ्यता भए पनि, त्यो कुनै पनि हिसाबमा सत्यतासँग नबाझिए तापनि, त्यसलाई अझै पनि सकारात्मक कुराको रूपमा वर्गीकरण गर्न सकिँदैन। “मानव संस्कृति र सभ्यता” को विषयले समेट्ने दृष्टिकोण, विचार, सिद्धान्त, धर्मसिद्धान्त, तर्क, र व्यवहारहरू, यस विषयअन्तर्गत उत्पादन हुने कुनै पनि उपज, कार्य, वा सुधारहरू, र यस्तै अन्य कुराहरू, सकारात्मक कुराहरू होइनन्। कतिपय मानिसहरूले भन्छन्, “यी सकारात्मक कुराहरू नभएकाले, के यसको अर्थ हामीले तिनको आलोचना गर्नुपर्छ र तिनलाई नकारात्मक कुराको रूपमा वर्गीकरण गर्नुपर्छ भन्‍ने हो?” मैले यस कुरालाई त्यस्तो कालोलाई कालो र सेतोलाई सेतो भने जसरी भनेको छैन। यी कुराहरूमा सकारात्मक वा नकारात्मक दुवै कुराहरू समावेश नहुन सक्छन्, तर जे भए पनि, ती निश्‍चित रूपमा सकारात्मक कुराहरू भने होइनन्। अर्थात्, यी कुराहरू सत्यतासँग नबाझिए तापनि र तिनले परमेश्‍वरको सृष्टि, नियोजन, र सार्वभौमिकताको सिद्धान्तको उल्लङ्घन नगरे तापनि—यदि ती नकारात्मक कुराहरू होइनन् भने—ती अझै पनि पटक्कै सकारात्मक कुराहरू भने होइनन्। छोटकरीमा, म तँलाई यही भन्छु: कुनै कुरा सत्यतासँग नबाझिए तापनि, त्यो परमेश्‍वरद्वारा सृजित, परमेश्‍वरद्वारा नियोजन गरिएको, वा परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्दैन भने, त्यो सकारात्मक कुरा होइन। कुनै कुरा सकारात्मक हो कि होइन भनी खुट्ट्याउने सिद्धान्त यही हो; तैँले यस सिद्धान्तको आधारमा आफैले कुराहरू छुट्याउनुपर्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण बुँदा के हो? त्यो यही हो, तँ आफ्नो हृदयमा के कुरामा स्पष्ट हुनुपर्छ भने जब तैँले कुनै कुरा सकारात्मक हो कि नकारात्मक हो भनी स्पष्ट रूपमा देख्न सक्दैनस्, तब तैँले पहिले त्यसलाई एकातिर राख्न र बेवास्ता गर्न सक्छस्। जब तेरो कद बढेको हुन्छ र तँलाई सत्यता स्पष्ट हुन्छ, तब तैँले स्वाभाविक रूपमा त्यसलाई खुट्ट्याउन सक्नेछस्। तर अहिलेका लागि, तैँले कुन कुराहरू परमेश्‍वरबाट आउने सकारात्मक कुराहरू हुन् भनी स्पष्ट रूपमा छुट्याउनुपर्छ, र तैँले तिनलाई स्वीकार गर्नुपर्छ र सही तरिकाले लिनुपर्छ। यो तेरो जीवन वृद्धिको लागि लाभदायक हुन्छ। अर्को महत्त्वपूर्ण बुँदा छ: यदि कुनै कुरा सकारात्मक कुराहरूको परिभाषाले समेट्ने सकारात्मक कुरा हो भने, तैँले त्यसलाई नकारात्मक कुरा जस्तो व्यवहार पटक्कै गर्नु हुँदैन। यो सिद्धान्तको कुरा हो, र तँ यसबारे स्पष्ट हुनुपर्छ।

अब हामीले मानव सभ्यता र संस्कृतिको बारेमा छलफल गरिसकेका हुनाले, अब हामी परमेश्‍वरले सृष्टि गर्नुभएको यो मानवजातिको अस्तित्व, र परमेश्‍वरले सबै कुराका लागि सृष्टि गर्नुभएका अस्तित्वका व्यवस्था र नियमहरूबीचको सम्बन्धको बारेमा कुरा गरौँ। बृहत् दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरले सृष्टि गर्नुभएको संसारमा पहाड, नदी, ताल, जङ्गल, महासागर, जमिन, र मरुभूमिहरू, साथै सूर्य, चन्द्रमा, र ताराहरू, अनि पृथ्वीमा भएको अन्तरिक्ष, र मानिसहरूले देख्न नसक्ने ब्रह्माण्ड छन्। अनि सूक्ष्म दृष्टिकोणबाट के छ? साना अणुहरू, हावामा भएका अणुहरू, र विभिन्न सूक्ष्मजीवहरू छन्। चाहे बृहत् दृष्टिकोणबाट हेरियोस् वा सूक्ष्म दृष्टिकोणबाट हेरियोस्, ती सबैमा परमेश्‍वरको सृष्टि—परमेश्‍वरका हातहरू र परमेश्‍वरका विचारहरूद्वारा भएको सृष्टि—समावेश हुन्छन्। परमेश्‍वरको सृष्टिको दृष्टिकोणबाट हेर्दा, पृथ्वी र त्यसमा भएका सबै जीवित थोकहरू पृथ्वीमा मानवजातिको अस्तित्व कायम राख्‍ने उद्देश्यका लागि अस्तित्वमा छन्, र परमेश्‍वरले पृथ्वीका मानिसहरूमध्येबाट आफूले चाहनुभएका सृजित मानवहरू प्राप्त गर्न चाहनुहुन्छ। त्यसकारण, परमेश्‍वरले सबै कुराका लागि सृष्टि गर्नुभएका अस्तित्वका व्यवस्था र नियमहरू मानव अस्तित्वका लागि सबैभन्दा आधारभूत अवस्थाहरू हुन्। यसरी ती सकारात्मक कुराहरू हुन् भनेर निश्चित रूपमा भन्न सकिन्छ, होइन र? (हो।) मानव अस्तित्वका लागि सबैभन्दा आधारभूत अवस्थाहरू के हुन्? पानी, हावा, सूर्यको प्रकाश, खाना—के यी कुराहरू परमेश्‍वरले सृष्टि गर्नुभएका हुन्? (हुन्।) के ती सकारात्मक कुराहरू हुन्? (हुन्।) त्यसोभए यी कुराहरूको अस्तित्वलाई किन सकारात्मक कुरा भनिन्छ? यसको एउटा कारण छ: यी कुराहरूको अस्तित्व सबै कुराका लागि बनाइएका अस्तित्वका व्यवस्था र नियमहरूको अस्तित्वमा निर्भर हुन्छ। सबै कुराहरूमा अस्तित्वका के-कस्ता व्यवस्था र नियमहरू छन्? चार ऋतुहरू; दिन र रात; हावा, तुसारो, हिउँ, र वर्षा—यी सबै नियमहरू हुन्। अरू के छन्? तिमीहरूले पनि केही सोच त। (सौर्य नियमहरू पनि छन्।) सौर्य नियमहरू चार ऋतुहरूमा समावेश छन्। अरू के छन्? चन्द्रमाको वृद्धि र क्षय, ज्वारभाटाको उतावचडाव। अनि, “ठूला माछाले साना माछा खान्छन्” भन्‍ने पनि छ—यो अस्तित्वको एक व्यवस्था र नियम हो, र यो नकारात्मक कुरा होइन। मानिसहरूले मानव संसारको निर्मम प्रकृतिलाई वर्णन गर्न “ठूला माछाले साना माछा खान्छन्” भन्‍ने वाक्यांश प्रयोग गर्छन्; यो एक सकारात्मक कुराको सामान्य घटनालाई लिएर त्यसलाई नकारात्मक कुरा भन्‍नु हो। जीवित चीजहरूको गतिविधिका धेरै ढाँचाहरू पनि छन्। त्यसमा के समावेश छ भनी सोच। (“बलियाले निर्धाको सिकार गर्छन्” भन्‍ने कुरा अस्तित्वको व्यवस्थामा पर्छ?) पर्दैन, त्यो मानिसहरूले अपमानजनक तरिकाले भनेको कुरा हो; यसलाई त “सबैभन्दा उचितको अस्तित्व” भनेर भन्‍नुपर्छ। (मलाई याद छ, परमेश्‍वरले एक पटक सबै कुराले एक-अर्कालाई बलियो बनाउँछन्, एक-अर्काको प्रतिरोध गर्छन्, र सँगै अस्तित्वमा रहन्छन् भनी सङ्गति गर्नुभएको थियो। के त्यो पर्छ?) हो, पर्छ। ती सबैले एक-अर्कालाई बलियो बनाउँछन्, एक-अर्काको प्रतिरोध गर्छन्, र सँगै अस्तित्वमा रहन्छन्—यो एक निकै महत्त्वपूर्ण पक्ष हो। “झ्याउँकिरीलाई ढुकिरहेको बेसारोलाई आफ्नो पछाडि रहेको बाजको बारेमा थाहै हुँदैन” भन्‍ने अर्को एउटा हो; यो केही हदसम्म कुराहरूले एक-अर्कालाई बलियो बनाउने र एक-अर्काको प्रतिरोध गर्ने कुरासँग सम्बन्धित छ। (के जन्म, बुढ्यौली, बिमारी, र मृत्यु एउटै हो?) अँ, हो। अनि “कागले खाना खुवाएर आमाको ऋण तिर्छ, र पाठाले घुँडा टेकेर आमाको दूध चुस्‍छ” भन्‍ने पनि छ, जुन एक स्तनपायी र एक चराको बारेमा रहेको छ—यो प्राणीजगत्‌को एउटा घटना हो, यो प्रकृतिको नियम हो। वास्तवमा सबै कुराका लागि अस्तित्वका धेरै व्यवस्था र नियमहरू छन्: चार ऋतुहरूको परिवर्तन; हावा, तुषारो, हिउँ, र वर्षाको उपस्थिति; दिन र रातको चक्र; चन्द्रमाको वृद्धि र क्षय; ज्वारभाटाको उतावचडाव; सबै कुराले एक-अर्कालाई बलियो बनाउने, एक-अर्काको प्रतिरोध गर्ने, र सँगै अस्तित्वमा रहने कुरा; साथै मानिस र अन्य सबै प्राणीहरूको जन्म, बुढ्यौली, बिमारी, र मृत्यु, र विभिन्न प्राणीहरूको गतिविधिका ढाँचाहरू। कतिपय प्राणीहरू दिनमा सुत्छन् र राति सक्रिय हुन्छन्, जबकि अरू मानिसहरूजस्तै दिनमा सक्रिय हुन्छन् र राति सुत्छन्। कतिपय प्राणीहरू समूहमा बस्छन्, जबकि अरू एक्लै बस्छन्; उदाहरणका लागि, चीलहरू सामान्यतया एक्लै उड्छन्, जबकि जङ्गली हाँसहरू बगालमा उड्छन् र तिनीहरू झुण्डमा बस्ने जनावरहरू हुन्। जीवित संसारमा कागले खाना खुवाएर आमाको ऋण तिर्ने र पाठाले घुँडा टेकेर दूध चुस्ने घटना पनि हुन्छ। यस्ता सबै कुराहरू वास्तविक जीवनमा देख्न र महसुस गर्न सकिने विभिन्न प्रकारका घटना र प्रकटीकरणहरू हुन्। यी सबै बृहत् र सूक्ष्म घटनाहरूको उपस्थिति परमेश्‍वरले स्थापित गर्नुभएका व्यवस्था र नियमहरूअनुसार हुन्छ। यी सबै व्यवस्था र नियमहरूको सुरुवात, अस्तित्व, र निरन्तरताले एउटा उद्देश्य पूरा गर्छ: पृथ्वीको सबैभन्दा आधारभूत जिउने वातावरण, मानवजातिको अस्तित्वको यो घरलाई कायम राख्‍नु। यो सबैभन्दा आधारभूत जिउने वातावरणमा, मानवजातिले पृथ्वीलाई आफ्नो घरको रूपमा पाएको छ जसमा तिनीहरू अस्तित्वका लागि भर पर्छन्, जसले तिनीहरूलाई निरन्तर रूपमा जिउन र प्रजनन गर्न दिन्छ। यसले मानवजातिलाई चाहिने आधारभूत पानी, हावा, सूर्यको प्रकाश, र खाना पनि अनन्त रूपमा आपूर्ति गर्छ। यो अनन्त आपूर्तिले मात्रै मानवको, परमेश्‍वरले सृष्टि गर्नुभएका यी प्राणीहरूको, भौतिक जीवन अस्तित्वमा रहन, तिनीहरूले प्रजनन गर्न, र तिनीहरू निरन्तर रूपमा कायम रहन सक्छ, र उहाँले आफ्नो व्यवस्थापनको काम गर्नुहुँदा मानवजातिले परमेश्‍वरको सामु आउने र उहाँको मुक्ति स्वीकार गर्ने अवसर पाउँछ, र तिनीहरू परमेश्‍वरले स्वीकार गर्नुहुने सृजित प्राणीहरू बन्छन्। त्यसकारण, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूमध्ये, कुनै पनि जीवित प्राणीको स्वरूप जस्तोसुकै भए पनि, त्यसको अस्तित्वका व्यवस्था र नियमहरू जस्तोसुकै भए पनि, र अन्य सबै कुराहरूसँग त्यसको सम्बन्ध जस्तोसुकै भए पनि, छोटकरीमा, यो परमेश्‍वरले सृष्टि गर्नुभएका व्यवस्था र नियमहरूमा रहेर अस्तित्वमा रहन्छ। अर्थात्, हरेक जीवित प्राणीले, परमेश्‍वरद्वारा सृजित भएको आधारमा, उहाँले स्थापित गर्नुभएका व्यवस्था र नियमहरूको पालना गर्छ, र त्यसका बीचमा आफ्नै अपरिहार्य भूमिका खेल्छ। यो मानवजातिका लागि परमेश्‍वरले स्थापित गर्नुभएका व्यवस्था र नियमहरूमार्फत उत्पादन हुने खाद्य श्रृंखला हो, र यो खाद्य श्रृंखला मानवजातिका लागि अत्यन्तै महत्त्वपूर्ण छ। खाद्य श्रृंखलाको अस्तित्वको पूर्वसर्त के हो भने सबै कुराले परमेश्‍वरले स्थापित गर्नुभएका व्यवस्था र नियमहरूको पालना गर्नुपर्छ। यदि तिनीहरूले यी व्यवस्था र नियमहरूलाई बेवास्ता गरे र मनपरी गरे भने, परिणाम के हुनेछ भने परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूमाझ अस्तित्वमा रहेको खाद्य श्रृंखला टुट्नेछ। यो खाद्य श्रृंखला टुटेपछि, मानवजाति अस्तित्वका लागि निर्भर हुने पानी, हावा, सूर्यको प्रकाश, र खानामा फरक-फरक मात्रामा कि त बिस्तारै कि त एकपछि अर्को गर्दै असर पर्नेछ। त्यसकारण, परमेश्‍वरले सबै कुराका लागि स्थापित गर्नुभएका सबै व्यवस्था र नियमहरू, र परमेश्‍वरले सृष्टि गर्नुभएको हरेक जीवित कुराले खाद्य श्रृंखलामा महत्त्वपूर्ण प्रभाव पारेको हुन्छ। यदि सबै कुराका लागि रहेका अस्तित्वका कुनै पनि नियमहरूमा समस्या उत्पन्न भयो भने, यसले खाद्य श्रृंखलाको अस्तित्व र निरन्तरतामा एकपछि अर्को असर पार्नेछ, र यसरी मानवजातिलाई चाहिने आधारभूत पानी, हावा, सूर्यको प्रकाश, र खानामा नकारात्मक असर पर्नेछ। यसरी, खाद्य श्रृंखला मानवजाति बाँच्न सक्छ कि सक्दैन भन्‍ने कुराको एक मुख्य स्रोत र एक महत्त्वपूर्ण सूचक हो। यो खाद्य श्रृंखला वास्तवमा के हो? खाद्य श्रृंखलामा परमेश्‍वरको सृष्टि समावेश हुन्छ। परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूमध्ये, मूर्त कुराहरू छन्, र केही अमूर्त कुराहरू पनि छन् जुन नाङ्गो आँखाले देख्न सकिँदैन। यी मूर्त कुराहरूमा पहाड, नदी, जङ्गल, माटो, मरुभूमि, उत्तरी र दक्षिणी ध्रुव, सूर्य, तारा, र चन्द्रमा, साथै विभिन्न जनावर र बोटबिरुवाहरू, र यस्तै अन्य कुराहरू समावेश छन्। अमूर्त कुराहरूमा सूक्ष्मजीव, हावा, सूर्यको प्रकाशमा भएका पराबैजनी किरणहरू समेत, साथै मानिसहरूले अनुसन्धान गरेका कुराहरू—तथाकथित परमाणु र ऊर्जा, हावा र पानीमा भएका केही अदृश्य पोषक तत्त्वहरू, र यस्तै अन्य कुराहरू समावेश हुन्छन्। यी सबै बृहत्, मूर्त कुराहरू, साथै सूक्ष्मजीवहरू र मानिसहरूले देख्न नसक्ने सूर्यको प्रकाश र हावा जस्ता कुराहरूभित्र भएका पदार्थहरू—यी सबै कुराहरू मिलेर मानव अस्तित्वका लागि आवश्यक जिउने वातावरण बनाउँछन्। यदि यो जिउने वातावरणमा समस्याहरू उत्पन्न भयो भने, मानवजातिको अस्तित्व र भविष्यले चुनौतीहरूको सामना गर्नेछ र यो खतरामा पर्नेछ। त्यसैले, सबै कुराका लागि दिइएका अस्तित्वका व्यवस्था र नियमहरू खाद्य श्रृंखला कायम राख्‍नका लागि आवश्यक एक आधारभूत अवस्था हो, र खाद्य श्रृंखलाको अस्तित्वले फलस्वरूप मानवजातिको अस्तित्वका लागि एक आधारभूत अवस्था निर्माण गर्छ। यसरी, चाहे त्यो व्यवस्था र नियम होस्, खाद्य श्रृंखला होस्, वा पानी, हावा, सूर्यको प्रकाश, र खाना होस्, यदि यीमध्ये कुनैमा पनि समस्या उत्पन्न भयो भने, त्यसले अनिवार्य रूपमा मानवजातिको अस्तित्वलाई असर गर्नेछ—अर्थात्, त्यसले यो सृजित प्राणी, मानवजातिको, भौतिक जीवनको अस्तित्वलाई असर गर्नेछ। त्यसैले, परमेश्‍वरको दृष्टिकोणमा, सबै कुराका लागि अस्तित्वका व्यवस्था र नियमहरू, खाद्य श्रृंखला, पानी, हावा, सूर्यको प्रकाश, र खानामा कुनै समस्या हुनु हुँदैन; ती सबैलाई व्यवस्थित तरिकाले कायम राखिनुपर्छ, सम्भार गरिनुपर्छ, र चलिरहन दिनुपर्छ—यसरी मात्रै मानवजाति निरन्तर रूपमा बाँच्न सक्छ र तिनीहरूको भौतिक जीवन कायम रहन सक्छ।

मानवजातिको निरन्तर रहेको अस्तित्वमा संलग्न रहेको मामिला के हो? सबै कुराका अस्तित्वका व्यवस्था र नियमहरूमध्ये, दिन र रात, र चार ऋतुहरू जस्ता बृहत्तर पक्षहरू अत्यावश्यक कुराहरू हुन्। यिनीहरूमध्ये, मानिसहरूले आफ्ना कल्पनाअनुसार खराब ठान्ने त्यस्तो कुनै पनि कुरा लगभग छैन। रूख, फूल, र बोटबिरुवा जस्ता विभिन्न जीवित थोकहरूको कुरा गर्दा, तिनले मानिसहरूमा कुनै पनि प्रकारको घातक प्रभाव नपार्ने हुनाले, मानिसहरूले तिनका बारेमा कुनै धारणा बनाउँदैनन्। तैपनि, खाद्य श्रृंखलामा केही विषालु र हानिकारक कुराहरू समावेश छन्, जस्तै लामखुट्टेले मानव शरीरमा केही नकारात्मक प्रभावहरू पार्छ। यी यस्ता कुराहरू हुन् जसलाई मानिसहरूले आफ्नो धारणाअनुसार मन पराउँदैनन्—विशेष गरी केही अत्यधिक विषालु जीवित प्राणीहरू, जस्तै सर्प, बिच्छी, र कनसुत्लाहरू। त्यसोभए परमेश्‍वरले यी विषालु कुराहरू किन सृष्टि गर्नुभयो? तिनलाई सृष्टि गर्नुको पछाडि उहाँको उद्देश्य के थियो? तिनीहरूले खाद्य श्रृंखलामा के भूमिका खेल्छन्? यो महत्त्वपूर्ण छ। तिनीहरूको स्वरूप वा प्रकृति, वा अन्य जीवित प्राणीहरूका बीचमा तिनीहरूमा हुने केही जीवनका विशेषताहरूका आधारमा मनूल्याङ्कन गर्दा, तिनले सकारात्मक भूमिका खेल्दैनन् जस्तो देखिए तापनि, तिनलाई किन सकारात्मक कुराहरू भनिन्छ? यसलाई खाद्य श्रृंखलाको हिसाबमा व्याख्या गरिनुपर्छ। हामीले जीवविज्ञान अध्ययन गरिरहेका छैनौँ—हामी वैज्ञानिक दृष्टिकोणबाट कुराहरू छलफल गर्नेछैनौँ, तर यस्ता जीवित प्राणीहरू सृष्टि गर्नुमा रहेको परमेश्‍वरको अभिप्रायको दृष्टिकोणबाट यसलाई हेर्नेछौँ। एकातिर, परमेश्‍वरले तिनलाई आफ्नो अस्तित्व सुनिश्चित गर्न एक अद्वितीय सीप दिनुभयो, जसले तिनलाई यसरी आफ्नो जीवन रक्षा गर्न सक्‍ने तुल्यायो। अर्कोतर्फ, तिनीहरूले खाद्य श्रृंखलामा एक निश्चित भूमिका पनि खेल्छन्—तिनीहरूको अस्तित्वको तरिका र तिनीहरूले स्राव गर्ने विषले अन्य जीवित प्राणीहरूका लागि आवश्यक पोषक तत्त्व वा खाद्य स्रोतहरू प्रदान गर्न सक्छ। त्यसबाहेक, तिनीहरूले जीवमण्डलभरि ब्याक्टेरियाको प्रसारण, प्रजनन, उत्पत्ति, र विकास र जीनहरूको प्रसारणका लागि आवश्यक अवस्थाहरू पनि प्रदान गर्छन्, र यस सन्दर्भमा एक निश्चित भूमिका खेल्छन्। यी जीवित प्राणीहरूको अस्तित्व भयो भने मात्रै जीवमण्डलले आनुवंशिक सन्तुलन र ब्याक्टेरियाको विविधीकरणको हिसाबमा सन्तुलन कायम राख्‍न सक्छ, र विभिन्न प्रकारका ब्याक्टेरियाहरूलाई सन्तुलनमा राख्‍न सक्छ। उदाहरणका लागि, लामखुट्टे र झिङ्गाहरूलाई लिऔँ। तिनले केही परजीवीहरू खान्छन् र केही ब्याक्टेरियाहरू पनि सार्छन्। हामी गहिराइमा जानेछैनौँ; यो एउटा सरल अवधारणा मात्र हो। छोटकरीमा, केही विशेष जीवित प्राणीहरूले मानवजातिका लागि केही विशेष उद्देश्यहरू पूरा गर्छन्, र खाद्य श्रृंखलामा एउटा अपरिहार्य भूमिका पनि खेल्छन्। यो अपरिहार्य भूमिकाले खाद्य श्रृंखलाको अस्तित्व कायम राख्‍छ। यदि यो खाद्य श्रृंखला अस्तित्वमा छ र नष्ट भएको छैन भने मात्रै सबै कुराहरू व्यवस्थित तरिकाले बाँच्न र अघि बढ्न सक्छन्। सबै कुराहरूका बीचमा एक-अर्कालाई बलियो बनाउने, एक-अर्काको प्रतिरोध गर्ने, र सँगै अस्तित्वमा रहने सम्बन्ध हुने हुनाले, खाद्य श्रृंखला टुट्नु हुँदैन। खाद्य श्रृंखलाभित्रका विभिन्न जीवित प्राणीहरूको अस्तित्वलाई सन्तुलनको अवस्थामा राखिनुपर्छ, र तिनीहरूको बस्ने ठाउँ र अस्तित्वलाई कायम राखिनुपर्छ। त्यसकारण, परमेश्‍वरले सबै कुराका लागि स्थापित गर्नुभएका अस्तित्वका व्यवस्था र नियमहरू अत्यन्तै महत्त्वपूर्ण छन्। परमेश्‍वरले सबै कुराका लागि सृष्टि गर्नुभएका अस्तित्वका व्यवस्था र नियमहरूको अस्तित्वले मात्रै खाद्य श्रृंखलाको निरन्तरतालाई सुनिश्चित गर्न सक्छ र यो टुट्दैन भन्‍ने कुराको ग्यारेन्टी दिन सक्छ। खाद्य श्रृंखलाको अस्तित्व, निरन्तरता, र संरक्षण नै मानिसहरूले पानी, हावा, सूर्यको प्रकाश, र खाना प्राप्त गर्न सक्नेछन् भन्‍ने कुराको एक आधारभूत ग्यारेन्टी हो। जब मानिसहरूसँग यो आधारभूत ग्यारेन्टी हुन्छ, तब मात्रै तिनीहरूको भौतिक जीवन कायम रहन सक्छ; तब मात्रै तिनीहरूले यस पार्थिव घरमा, यस्तो जिउने वातावरणमा, प्रजनन गर्न र जिउन सक्छन्। यसरी मात्रै मानवजातिको भविष्य र आशा हुन सक्छ। चार ऋतु, दिन र रात, र हावा, तुषारो, हिउँ, र वर्षाले पछ्याउने व्यवस्था र नियमहरू—परमेश्‍वरले सृष्टि गर्नुभएका व्यवस्था र नियमहरूअन्तर्गत अस्तित्वमा रहेका कुराहरू—साथै तिनीहरू देखा पर्ने स्वरूपहरूलाई, कुनै पनि मापनमा हेर्दा, ती पक्कै पनि परमेश्‍वरले सृष्टि गर्नुभएका सकारात्मक कुराहरू नै हुन्। विभिन्न जीवित प्राणीहरूको हकमा भन्दा—तिनीहरूको स्वरूप, तिनीहरूको अस्तित्वको तरिका, वा तिनीहरूको सिकार गर्ने वा खाना प्राप्त गर्ने तरिका जस्तोसुकै भए पनि—छोटकरीमा भन्दा, जबसम्म तिनीहरू परमेश्‍वरले स्थापित गर्नुभएका व्यवस्था र नियमहरूभित्र जिउँछन्, र जबसम्म तिनीहरू परमेश्‍वरले सृष्टि गर्नुभएको खाद्य श्रृंखलाको एक आवश्यक, अपरिहार्य भाग हुन्, तबसम्म तिनीहरू परमेश्‍वरबाट आउने सकारात्मक कुराहरू हुन्। मानिसहरूले तिनीहरूलाई आफ्नै दृष्टिकोण र प्राथमिकताहरूका आधारमा मूल्याङ्कन गर्नु हुँदैन। कसैले भन्न सक्छ, “त्यसोभए के लामखुट्टे र झिङ्गाहरू सकारात्मक कुराहरू हुन् त? विषालु सर्प, कनसुत्ला, र बिच्छीहरू नि? अनि विशेष गरी खस्रे भ्यागुताहरू, जुन यति कुरूप हुन्छन्—के ती पनि सकारात्मक कुराहरू हुन्?” यस कुरालाई भन्‍ने सही तरिका के हो? परमेश्‍वरले सृष्टि गर्नुभएका यी प्रजातिहरूले खेल्ने भूमिकाहरू र तिनीहरूले पालन गर्ने व्यवस्था र नियमहरू सबै सकारात्मक कुराहरू हुन्। अनि तिनीहरूको भौतिक स्वरूप र रूपरङ्ग नि—के ती सकारात्मक कुराहरू हुन्? यदि भन्नै पर्छ भने, तिमीहरूले तिनलाई सकारात्मक कुराहरू हुन् भनेर भन्‍न सक्छौ, तर ती नकारात्मक कुराहरू चाहिँ होइनन्। कम्तीमा पनि, तिनीहरूले पालन गर्ने नियमहरू, यी जीवित प्राणीहरूले खेल्ने भूमिकाहरू, र खाद्य श्रृंखलामा तिनीहरूको आवश्यकताको हिसाबमा, ती सकारात्मक कुराहरूको रूपमा अस्तित्वमा छन्। के यसरी भन्‍नु सही होइन र? (हो।) स्पष्ट रूपमा भन्दा, यस्ता जीवित प्राणीहरूले परमेश्‍वरले स्थापित गर्नुभएका व्यवस्था र नियमहरू पालन गर्ने र परमेश्‍वरले तिनीहरूका लागि तोक्नुभएका जिम्मेवारी र मिसन पूरा गर्ने हुनाले—ब्याक्टेरिया फैलाउने होस् वा विभिन्न सूक्ष्मजीवहरूको प्रजननीय सन्तुलन कायम राख्‍ने काम गरेर होस्, तिनीहरू आफ्नो मिसनअनुसार जिउने हुनाले—तिनीहरूले खेल्ने भूमिकाहरू र परमेश्‍वरले तिनीहरूको सृष्टि गर्नुको महत्त्व र उद्देश्यको हिसाबमा हेर्दा, तिनीहरूको अस्तित्व नै एक सकारात्मक कुरा हो। यदि हामीले लामखुट्टे आफैमा एक सकारात्मक कुरा हो भनेर भन्यौँ भने, यो कुरालाई बुझ्न वा स्वीकार गर्न अलि गाह्रो हुन सक्छ। तर, यसलाई सृष्टि गर्नुको पछाडि रहेको परमेश्‍वरको अभिप्राय, यसले पालन गर्ने व्यवस्था र नियमहरू, र यसले खाद्य श्रृंखलामा खेल्ने भूमिकाको आधारमा मूल्याङ्कन गर्दा, यो अपरिहार्य नै छ—त्यसैले यो एक सकारात्मक कुरा हो। कतिपय मानिसहरूले भन्छन्, “लामखुट्टेहरू सकारात्मक कुराहरू हुन् भने, के यसको अर्थ हामीले तिनलाई स्वीकार गर्नुपर्छ, र हामीले तिनलाई मार्नु हुँदैन भन्‍ने हो?” यदि कुनै लामखुट्टेले तँलाई टोक्न लाग्यो भने, तैँले त्यसलाई मार्नुपर्छ। यदि तैँले खाना खाइरहेको बेला कुनै झिङ्गा तेरो वरिपरि भन्किरहेको छ भने, तैँले त्यसलाई धपाउन वा मार्न सक्छस्। किनभने एक वा दुई वटा लामखुट्टे वा झिङ्गा कम हुँदा त्यसले खाद्य श्रृंखलामा कुनै समस्या उत्पन्न गर्दैन, न त यसले यी प्राणीहरूको मिसन पूरा गर्ने कार्यमा नै असर पार्छ। यदि यस्तो प्राणीले आफ्नो मिसन पूरा गर्न चाहन्छ भने, त्यसले त्यसो गर्न सही ठाउँ खोज्नुपर्छ। मानवको जिउने वातावरणमा यसको आवश्यकता हुँदैन, त्यसैले खालि यसलाई धपाइदे र पन्छ्याइदे—यससँग शान्तिपूर्वक सह-अस्तित्वमा बस्। यदि यो तँसँग शान्तिपूर्वक सह-अस्तित्वमा बस्दैन र तँलाई दिक्क लगाइरहन्छ भने, त्यसलाई धपाउनु वा मार्नु पनि ठीकै हुन्छ। यसलाई उचित व्यवस्थापन र सही व्यवहार गर्नु भनेर भनिन्छ। कतिपय मानिसहरूले भन्छन्, “लामखुट्टेले मलाई सधैँ दिक्क लगाउँछ र धेरै टोक्छ। के म तिनलाई सराप्न सक्छु?” त्यो गर्नु आवश्यक छैन। तैँले तिनलाई मार्न मात्रै सक्छस्। तँलाई तिनलाई मार्ने अधिकार छ; यो सबै कुराको भण्डारे—अर्थात् मानवजातिले—सबै कुरालाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने सिद्धान्तसँग पूर्ण रूपमा मिल्छ। उदाहरणका लागि, यदि कुनै विषालु सर्प तेरो घरमा पस्यो, र तैँले यो त्यसको ठाउँ होइन भन्‍ने देखिस् भने, त्यसलाई जङ्गलतिर धपाइदे। यदि तैँले त्यसबाट टोकाइ खाइस् र विष लाग्यो भने, तैँले तुरुन्तै चिकित्सा उपचार पाउने उपाय खोज्नुपर्छ। तैँले बदला लिन र त्यसलाई मार्न खोज्नु आवश्यक छैन। यदि त्यसले तँलाई फेरि हानि पुऱ्यायो भने, के त्यो अझै बढी समस्याजनक हुनेछैन र? त्यसैले, त्यससँग जस्तालाई त्यस्तै नगर्; केवल त्यसबाट जोगिन सिक्। यस मामिलाबाट पाठ सिक्न सक्नु नै एक बुद्धिमान् व्यक्तिले गर्ने काम हो। हामीले भर्खरै कुरा गरेका तीन वटा सिद्धान्तहरू के थिए? (पहिलो, यो एक सकारात्मक कुरा हो भनी निश्चित हुनु। दोस्रो, यदि यो तिम्रो नजिक देखा पर्‍यो र तिमी यससँग झन्झट लिन चाहँदैनौ भने, केवल यसबाट टाढा बस—यसलाई नजिक आउन नदेऊ, र तिमीलाई बाधा दिन यसलाई नदेऊ। तेस्रो, यसप्रति सही दृष्टिकोण राख्‍नु। यसप्रति घृणा महसुस नगर्नु वा यसलाई घृणा नगर्नु। बरु, यसलाई स्वीकार गर्नु र मानिलिनु, र त्यसपछि यसलाई उचित रूपमा व्यवस्थापन गर्नु हो।) यसलाई उचित रूपमा व्यवस्थापन गर् र यसलाई सही तरिकाले व्यवहार गर्। यसले तँलाई बाधा दिएको छ वा कहिलेकाहीँ तँलाई केही समस्या दिएको छ, वा तँलाई टोकेको र विष लगाएको समेत छ भन्दैमा परमेश्‍वरबारे गुनासो नगर् वा परमेश्‍वरले यसलाई सृष्टि गरेर गल्ती गर्नुभयो, वा उहाँले गल्ती गर्नुभएको हुन सक्छ भनेर आलोचना नगर्—यसरी हेर्नु गलत हो। तैँले यसलाई राम्ररी व्यवस्थापन नगरेको, वा यसले गल्तीले तेरो घरमा पसेर तँलाई बाधा दिएको पनि हुन सक्छ। तर यदि तैँले यसलाई नम्रतापूर्वक सम्बोधन गरिस्, र “तँ गलत बाटोमा गएको छस्, यो तेरो घर होइन। यदि मप्रति तेरो कुनै खराब अभिप्राय छैन भने, म तँलाई कुनै हानि गर्नेछैन। तँ जहाँ हुनुपर्ने हो, त्यहीँ जा” भनेर भनिस्, र यसले तैँले यसलाई हानि गर्नेछैनस् भन्‍ने देख्यो भने, यो आफै फर्केर जानेछ। तैँले यसलाई भन्छस्, “बिदा। फेरि भेटौँला! यस पटक हाम्रो भेट हुनु एक संयोग थियो। यदि हामी फेरि भेट्ने संयोग भयो भने, म तँलाई फेरि पनि जान दिनेछु।” यो सुनेपछि, यसले सोच्नेछ, “मानवहरू महान् छन्। हामीलाई कसरी व्यवस्थापन गर्ने भन्‍ने तिनीहरूलाई साँच्चै थाहा छ। तिनीहरूमा कुनै द्वेष छैन।” जबसम्म तैँले यसलाई हानि गर्दैनस्, तबसम्‍म यसले पनि तँलाई हानि गर्नेछैन। कतिपय जनावरहरूले मानिसहरूलाई हानि गर्छन् किनभने मानिसहरूले सधैँ तिनीहरूलाई हानि गरिरहेका हुन्छन्; तिनीहरूले मानिसहरूप्रति शत्रुताको विकास गरेपछि मात्रै मानिसहरूलाई हानि गर्छन्, र तिनीहरूले मानिसहरूको मूर्खता र क्रूरताको कारणले त्यसो गर्छन्। यस्ता प्राणीहरूको मनमा स्वाभाविक रूपमा मानिसहरूप्रति कुनै शत्रुता वा वैरभाव भने हुँदैन। हेर् त, जब नूहले जहाज बनाए, तब कुनै पनि जनावरले कसैलाई हानि गरेन, र नूहले जनावरहरूसँग अन्तरक्रिया गर्न र तिनीहरूलाई तालिम दिन समेत सक्थे। त्यस समयमा, मानव र जनावरहरू एक-अर्कासँग मित्रवत् थिए। पछि, मानवहरू झन्-झन् गहन रूपमा भ्रष्ट भए, र पूर्ण रूपमा क्रूर बने, तिनीहरूले सधैँ तिनका मासुका लागि जनावरहरूको सिकार गर्न चाहन्थे, र यसरी मानव र विभिन्न जनावरहरूबीच शत्रुता बढ्यो। मांसाहारी जनावरहरूले, मानवको गन्ध पाउनेबित्तिकै, एक स्वादिष्ट भोजन आएको महसुस गर्छन्, र पेट भरुञ्जेल खान चाहन्छन्। यो कुन पक्षले गर्दा भयो? यो पूर्ण रूपमा मानवजातिको चरम क्रूरताको कारणले भएको हो। बुझिस्? (बुझेँ।)

चाहे बृहत् दृष्टिकोणबाट हेरियोस् वा सूक्ष्म दृष्टिकोणबाट हेरियोस्, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरू अवश्य नै सकारात्मक कुराहरू हुन्। तिनलाई सृष्टि गर्नुमा रहेको परमेश्‍वरको मौलिक अभिप्राय, परमेश्‍वरले तिनीहरूका लागि सृष्टि गर्नुभएका व्यवस्था र नियमहरूका हिसाबमा हेरिए पनि अन्ततः हासिल भएको उद्देश्य र प्रभावको हिसाबमा हेरिए पनि, ती सबै मानवजातिका लागि अस्तित्वमा छन्; ती सबै नै सबै कुराको भण्डारेको रूपमा भूमिकामा रहेका मानवहरूका लागि रचना र सृष्टि गरिएका हुन्। यसरी, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूको स्वरूप वा रूपरङ्ग जस्तोसुकै भए पनि, वा मानिसहरूमा तिनीहरूले पार्ने अस्थायी प्रभाव जस्तोसुकै भए पनि, मानिसहरूले तिनीहरूलाई सही तरिकाले व्यवहार गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्छ, र बुझ्नुपर्छ, र तिनीहरूलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ—यो अत्यन्तै महत्त्वपूर्ण छ। पहिलो, मानिसहरूले के निश्चित गर्नुपर्छ भने, कुनै कुरा परमेश्‍वरले सृष्टि गर्नुभएको हो भने—त्यो असल भए पनि वा खराब भए पनि, सुन्दर भए पनि वा कुरूप भए पनि; त्यसको स्वरूप जस्तोसुकै भए पनि; र, अझै बढी, मानव देहमा त्यसको अस्थायी प्रभाव जस्तोसुकै भए पनि—छोटकरीमा भन्दा, यो परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको हातद्वारा सृष्टि गरिएको हो भने, यसले मानवजातिको आधारभूत अस्तित्वमा केही योगदान दिन्छ। यसको आधारमा, मानिसहरूले परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ, र तिनीहरूलाई आफ्नै दृष्टिकोण र प्राथमिकताहरूका आधारमा मनमानी वा एकपक्षीय रूपमा निन्दा गर्ने वा स्वीकार गर्ने गर्नु हुँदैन। बरु, तिनीहरूले तिनलाई बुझ्न, तिनलाई व्यवस्थापन गर्न र सही तरिकाले व्यवहार गर्न सिक्न, र—अझ राम्रो हुनका लागि—तिनीहरूसँग सही तरिकाले घुलमिल हुन र अन्तरक्रिया गर्न सिक्नका लागि एक सृजित प्राणीको दृष्टिकोणमा रहेर उभिनुपर्छ। यो परमेश्‍वरले सृष्टि गर्नुभएको यस पृथ्वीका मालिकहरू र यस संसारका भण्डारेहरूले—अर्थात् मानिसहरूले—पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व हो। यो अन्य सबै प्राणीहरूका बीचमा मानिसहरूले खेल्नुपर्ने भूमिका हो, र यो मानवताको दृष्टिकोणबाट अघि बढ्दै, मानिसहरूले सबैभन्दा बढी पालन गर्नुपर्ने सिद्धान्त पनि हो। यदि तँलाई परमेश्‍वरले सृष्टि गर्नुभएका निश्चित कुराहरू मन पर्दैन भने, तँ तिनीहरूबाट टाढा बस्न सक्छस्। यदि तँलाई ती मन पर्छ भने, तैँले तिनीहरूसँग नजिकबाट अन्तरक्रिया गर्न सक्छस् र तँ तिनीहरूको बारेमा जान्‍न र तिनीहरूलाई व्यवस्थापन गर्न तिनीहरूको नजिक जान सक्छस्—वा, अझ राम्रो त, तिनीहरूको जिउने वातावरणको रक्षा गर्न, तिनीहरूलाई दयालु व्यवहार गर्न, तिनीहरूलाई पर्याप्त बस्ने ठाउँ छोड्न, र तिनीहरूको बाँच्ने अधिकारको सुरक्षा र उचित पालना गर्न सक्छस्। वास्तवमा, मानवहरूको तुलनामा सबै कुराहरू कमजोर छन्। परमेश्‍वरले सबै कुरालाई अस्तित्वका सीप र प्रवृत्ति दिनुभएको भए तापनि, मानवबाहेक कुनै पनि प्रजातिले औजार र हतियार बनाउन सक्दैन; तिनीहरूमध्ये कसैसँग पनि परमेश्‍वरले स्थापित गर्नुभएका व्यवस्था र नियमहरूलाई कमजोर पार्ने शक्ति छैन, न त तिनीहरूले त्यसो गर्ने अग्रसरता नै देखाउन सक्छन्। मानवहरूमा मात्रै—तिनीहरूको मानसिकता र तिनीहरूको माग दुवैमा—विभिन्न प्रकारका जीवित प्राणीहरू र सबै कुराहरूप्रति अटुट लोभ हुन्छ। यसका साथै, मानवहरूले मात्रै वैज्ञानिक अनुसन्धान गर्छन्, रासायनिक उद्योगमा संलग्नता जनाउँन्, र अस्तित्वका लागि वा अझ राम्रो जीवनका लागि विभिन्न औजार र हतियारहरू बनाउँन्। अनि मानवहरूले मात्रै शैक्षिक ज्ञान सिक्न र विभिन्न जीवित प्राणीहरूको जियाइ वातावरणको अनुसन्धान वा परिवर्तन गर्न सक्छन्। तर, विभिन्न जनावर र जीवित प्राणीहरूको अस्तित्व र खाद्य श्रृंखलाका नियमहरूका सम्बन्धमा मानवहरूले गरेका धेरैजसो कामहरू विनाशकारी र अवरोधकारी भएका छन्, योगदानपूर्ण होइन। त्यसैले, अन्तिम विश्लेषण गरेर भन्दा, मानवहरूले मात्रै एक-अर्कालाई मार्न र आफ्नै आधारभूत जियाइ वातावरण नष्ट गर्न हतियार बनाउन सक्छन्। मानवहरूले मात्रै उद्योग, विशेष गरी रासायनिक उद्योग, विकास गर्छन्, र सबै प्रकारका हानिकारक पदार्थहरू उत्पादन गर्छन् जसले मानवजाति बसोबास गर्ने पृथ्वी—तिनीहरूको अस्तित्वको यो एक मात्र घरलाई—क्षतिग्रस्त र नष्ट गर्छ। अनि मानवहरूले आफैले मात्रै आफ्नो अस्तित्वका लागि चाहिने आधारभूत रहेका पानी, हावा, सूर्यको प्रकाश, र खानालाई प्रदूषित गरेका र खराब गरेका छन्। यसको अर्थ के हो भने, मानवहरूले आफैले आफ्नो बाँच्ने बाटो बिगारेका छन्; यो अन्य जीवित प्राणीहरूले गर्दा भएको होइन। त्यसकारण, सबै कुराका मालिकहरूको रूपमा, सृजित मानवहरूले सबै जीवित प्राणीहरू लगायत सबै कुराको व्यवस्थापन गर्ने भूमिका कसरी राम्ररी निर्वाह गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यदि मानवहरूले हतियार वा विभिन्न औजारहरू बनाउन वैज्ञानिक विधिहरू प्रयोग गरिरहे भने, वा तिनीहरू रासायनिक उत्पादनमा संलग्न भइरहे भने, यसले विनाशकारी विपत्ति निम्त्याउनेछ, चाहे त्यो तिनीहरूका लागि होस् वा अन्य जीवित प्राणीहरूका लागि होस्। अर्थात्, मानवहरूले व्यक्तिगत रूपमा आफ्नै हातले सबै कुराका लागि अस्तित्वका व्यवस्था र नियमहरूलाई कुल्चेका छन्, र व्यक्तिगत रूपमा खाद्य श्रृंखलालाई पनि नष्ट गरेका छन्। अवश्य पनि, मानवहरूले नै व्यक्तिगत रूपमा पृथ्वीलाई, अर्थात् तिनीहरू अस्तित्वका लागि जुन घरमा निर्भर छन्, त्यसलाई बिगारेका छन्। यो अत्यन्तै दुःखद कुरा हो। यी सबै परिणामहरूका लागि दोषी को हो? (मानिसहरू।) ती परमेश्‍वरले सृष्टि गर्नुभएका सकारात्मक कुराहरूलाई मानिसहरूले गरेका विनाश र विध्वंसको कारणले आएका हुन्। अन्त्यमा, मानिसहरूले आफूले जे रोपेका छन्, त्यही मात्रै कटनी गर्न सक्छन्। यदि, सुरुदेखि नै, मानिसहरूले परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूले खेल्ने विभिन्न भूमिकाहरू जान्‍न, विभिन्न जीवित प्राणीहरूको सम्मान, कदर, र हेरचाह गर्न, परमेश्‍वरले सबै कुराका लागि स्थापित गर्नुभएका अस्तित्वका नियम र व्यवस्थाहरू पालन गर्न, र पृथ्वीको आधारभूत वातावरण, जुन घरमा तिनीहरू अस्तित्वका लागि निर्भर छन्, त्यसको रक्षा गर्न सकेका भए, मानवजाति आजको अवस्थामा पुग्ने थिएन। त्यसैले, परमेश्‍वरका सबै सृष्टिहरू सकारात्मक कुराहरू हुन् भन्‍ने विषयका सम्बन्धमा भन्दा, मानिसहरूले बुझ्नुपर्ने कुरा के हो भने परमेश्‍वरले सबै कुराका लागि सृष्टि गर्नुभएका अस्तित्वका व्यवस्था र नियमहरूको महत्त्व, साथै मानिसहरूले किन तिनलाई पालन गर्नुपर्छ र तिनीहरूले कसरी त्यसो गर्नुपर्छ भन्‍ने हो। यसका साथै, मानिसहरूले यो सबै सृष्टि गर्नुमा रहेको परमेश्‍वरको उद्देश्य मानवजातिका खातिर हो, त्यसैले तिनीहरूले यसलाई कदर गर्नुपर्छ र सुरक्षा दिनुपर्छ भन्‍ने कुरा जान्‍नुपर्छ। यदि तैँले यो सबैको महत्त्व बुझ्न सक्दैनस् भने, कम्तीमा पनि यसलाई एउटा सकारात्मक कुरा, तेरो अस्तित्व निर्भर हुने एउटा अत्यावश्यक, अपरिहार्य सकारात्मक कुराको रूपमा लिनुपर्छ, र यसलाई कदर गर्नुपर्छ, हेरचाह गर्नुपर्छ, र व्यवस्थापन गर्नुपर्छ। तैँले मालिकको रूपमा पाएको आफ्नो क्षमता र भूमिकामा यसलाई सही तरिकाले व्यवहार गर्नुपर्छ र सुरक्षा दिनुपर्छ। यसरी मात्रै मानवजातिसँग भविष्य र आशा हुन सक्छ, र तिनीहरू खुसीसाथ बाँचिरहन सक्षम हुन सक्छन्, होइन र? (हो।)

के परमेश्‍वरका सबै सृष्टिहरू सकारात्मक कुराहरू हुन् भन्‍ने विषय अब निकै स्पष्ट भयो? (भयो।) परमेश्‍वरले सृष्टि गर्नुभएका विभिन्न वस्तु र जीवित प्राणीहरूलाई व्यवहार गर्ने सही तरिकालाई फेरि एक पटक पुष्टि गरौँ। ल अब हामीले भर्खरै सङ्गति गरेका तीन वटा सिद्धान्तहरू दोहोऱ्याओ। (पहिलो, जबसम्म कुनै कुरा परमेश्‍वरले परिभाषित गर्नुभएअनुसार सकारात्मक कुराहरूको दायराभित्र पर्छ, तबसम्म हामी हाम्रो हृदयमा यो परमेश्‍वरबाट आएको हो, यो एक सकारात्मक कुरा हो, र यसलाई परमेश्‍वरले सृष्टि गर्नुको पछाडि महत्त्व छ भनी निश्चित हुनुपर्छ; मानिसहरूले यसबाट केही पाठ सिक्न सकून् भनेर यसलाई दिइएको हुन्छ। दोस्रो, यो एक सकारात्मक कुरा हो भनी निश्चित भएको आधारमा, यदि हामीलाई यो मन पर्दैन वा हामी यसको सम्पर्कमा आउन चाहँदैनौँ भने, हामीले यसलाई बेवास्ता गर्न सक्छौँ। यदि यसले हाम्रो जीवनमा हस्तक्षेप गर्छ भने, हामी यसलाई धपाउन वा हामी यसबाट टाढा बस्न सक्छौँ, र हामीले यसबाट केही पाठ सिक्नुपर्छ र यसलाई केही ध्यान दिनुपर्छ। अन्त्यमा, यदि यो परमेश्‍वरले सृष्टि गर्नुभएको, परमेश्‍वरले नियुक्त गर्नुभएको, वा परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत पर्ने कुरा हो भने, हामीले यसप्रति वाक्‍क महसुस गर्नु वा यसलाई घृणा गर्नु हुँदैन, बरु यसलाई सही मनोवृत्तिले स्वीकार गर्नुपर्छ र मानिलिनुपर्छ, र यसलाई उचित रूपमा व्यवस्थापन गर्नुपर्छ।) यसलाई उचित रूपमा व्यवस्थापन गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। यदि मानवलाई परमेश्‍वरले पृथ्वीमा सृष्टि गर्नुभएका सबै कुराहरूलाई कसरी व्यवस्थापन गर्ने भन्‍ने थाहा छैन भने, उसले तिनीहरूको अस्तित्वमा हानिकारक प्रभाव पार्ने सम्भावना हुन्छ। यदि खाद्य श्रृंखलाका व्यवस्था र अस्तित्व नष्ट भए भने, मानवजातिको अस्तित्व खतरामा पर्नेछ। के मानवजाति हाल यस्तै जिउने वातावरणमा छैन र? (छ।) मानवजातिले ठूलो मात्रामा उद्योग विकास गरेको छ, र फोहोर ग्यास, फोहोर पानी, र विषाक्त पदार्थहरू उत्सर्जन गरेको छ जसले नदी, ताल, र भूमिगत पानीलाई समेत प्रदूषित पारेको छ। पिउनका लागि सफा पानी छैन; मानिसहरूले कृत्रिम रूपमा प्रशोधन गरिएको केही पुनः प्रशोधित पानी मात्रै पिउन सक्छन्, जुन विषाक्त नभए पनि, त्यसमा धेरै कम पोषक तत्त्वहरू हुन्छन्। नदी, ताल, र समुद्रका माछाहरू पनि प्रदूषित र अस्वस्थ भएका छन्। दूषित नभएको कुनै पनि खानेकुरा भेट्टाउन सजिलो छैन। के मानवजाति आफैलाई गम्भीर संकटमा पारिरहेको छैन र? के यो मानवजाति आफैले गर्दा भएको होइन र? पिउने पानी मात्रै प्रदूषित भएको छैन, तर हावा पनि खराब छ; हावामा धेरै हानिकारक पदार्थहरू छन्, र अहिले, यदि तैँले सफा हावाको एक सास लिन चाहिस् भने पनि, त्यो व्यवस्थापन गर्न गाह्रो छ—कहिलेकाहीँ मानिसहरूले भाइरसबाट बच्न मास्क समेत लगाउनुपर्छ। हावाको गुणस्तर भयानक छ, मानिसहरू सबै प्रकारका खाना खाने कार्यमा सतर्क हुन्छन्, र मानिसहरूलाई अहिले सबै प्रकारका रोगहरू लाग्छन्, र कतिपय युवाहरूलाई त क्यान्सर वा मधुमेह पनि हुन्छ। यी सबै परिणामहरू कसले गर्दा आएका हुन्? (मानिसहरूले।) ती सबै मानिसहरूले गर्दा आएका हुन्। मानिसहरूले परमेश्‍वरले तिनीहरूका लागि सृष्टि गर्नुभएको पार्थिव घरलाई यसरी नै व्यवस्थापन गरेका छन्, र आफूलाई राम्ररी खान वा पिउन नसक्ने अवस्थासम्म सताएका छन्, तैपनि आफूलाई निकै सुखी ठान्छन्। परमेश्‍वरलाई छोड्दा यस्तै हुन्छ; कुनै खुसी छैन। मानिसहरूका लागि अब एक मात्रै बाटो भनेको सृष्टिकर्ताको मुक्ति स्वीकार गर्नु, सत्यता पछ्याउनु र परमेश्‍वरको डर मान्‍ने मार्गमा हिँड्नु हो। यसरी मात्रै तैँले मुक्ति पाउन सक्छस्, जिउने आशा प्राप्त गर्न सक्छस्, र तँ नयाँ मानवजातिको सदस्य बन्न सक्छस्। यो कुरा यति सरल छ; अर्को कुनै उपाय छैन। पूर्वीय मानिसहरूलाई पश्चिमी सभ्यता कुलीन छ, र पश्चिमीहरूसँग पक्कै पनि कुनै उपाय हुनुपर्छ भन्‍ने लाग्छ। के तिनीहरूसँग उपाय छ त? (छैन।) पूर्वीय मानिसहरूलाई आफूले धेरै दुःख भोगेको, आफूमा गहिरो घृणा बढेको, र आफूले धेरै कठिनाइ सहेको, र तिनीहरूलाई पश्चिमीहरूले बचाउनुपर्छ भन्‍ने महसुस हुन्छ। तिनीहरूले सधैँ पश्चिमलाई एक बैकुण्ठको रूपमा सोच्छन्, पश्चिम जानु स्वर्गमा प्रवेश गर्नु हो, तिनीहरू पश्चिममा स्वतन्त्र र खुसी हुनेछन् भन्‍ने सोच्छन्। तर पश्चिमीहरूलाई आफूसँग धेरै खुसी छ जस्तो लाग्दैन। तिनीहरूले भन्छन्, “हाम्रो जीवन पूर्वका मानिसहरूको भन्दा अलि बढी सम्पन्न भए तापनि, हामी खासै खुसी छैनौँ।” जबसम्म तँ यस पृथ्वीको एक व्यक्ति, मानवजातिको एक सदस्य हुन्छस्, तबसम्म तँसँग यस पृथ्वीमा कुनै खुसी हुँदैन, किनभने, यस पार्थिव घरमा बस्दा, तैँले स्वीकार गर्ने सबै कुरा शैतानबाट आएको हुन्छ। चाहे त्यो मानव विचार र दृष्टिकोण होस् वा अस्तित्वका नियमहरू हुन्, चाहे त्यो पूर्वीय शिक्षा होस् वा पश्चिमी शिक्षा होस्, तँलाई साँचो मानवको स्वरूप जिउन लगाउन सक्‍ने एउटै कुरा छैन, र तँलाई, एक सृजित प्राणीको रूपमा, मानव संसारमा टिक्न दिन सक्‍ने कुनै पनि प्रकारको सामाजिक शिक्षा वा विचार वा दृष्टिकोण छैन। किनभने यो मानवजाति शैतानको शक्तिअन्तर्गत जिउँछ र शैतानद्वारा नियन्त्रित छ, त्यसैले मानिसहरू जिउने एक मात्रै उपाय भनेको परमेश्‍वरको मुक्ति स्वीकार गर्नु, परमेश्‍वरबाट आउने सबै सत्यताहरू स्वीकार गर्नु, परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नु, र मुक्ति प्राप्त गर्नु हो। तब मात्रै मानवजाति साँच्चै यस्तो संसारमा फर्कन सक्छ जहाँ सबै कुराका लागि अस्तित्वका व्यवस्था र नियमहरू स्वतन्त्र रूपमा सञ्चालन हुन सक्छन्, र साँच्चै पूर्ण खाद्य श्रृंखला भएको संसारमा जिउन सक्छ—यसरी मात्रै मानवजातिले साँच्चै सबै कुराको भण्डारेको भूमिका खेल्न सक्छ, र यस भूमिकाको जिम्मेवारी पूरा गर्न सक्छ। यसबाहेक, मानवजातिले लिने दोस्रो कुनै मार्ग छैन। यो मानवजातिको एक मात्रै बाटो हो, मानवजातिलाई आशा र खुसी दिन सक्ने एक मात्रै बाटो हो। बुझिस्? (बुझेँ।) तैँले बुझिसकेपछि, तँसँग हिँड्ने बाटो हुनेछ। यस दिशामा, यस लक्ष्यतर्फ मात्र लम्की र यसलाई पछ्या। पछाडि नफर्की, हरेस नखा, र कहिल्यै नरोकी!

आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ। बिदा!

अप्रिल १४, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (१८)

अर्को: सत्यता कसरी पछ्याउने (२६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्