अध्याय ३५
वर्तमानमा, सबै मानिसहरू फरक-फरक हदमा सजायमा प्रवेश गरेका छन्। यो परमेश्वरले भन्नुभएको जस्तै हो, “म मानिससँग सँग-सँगै अघि बढ्छु।” यो पूर्ण रूपमा साँचो छ, तैपनि मानिसहरूले अझै पनि यस बुँदालाई पूर्ण रूपमा बुझ्न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूले गरेको कामको भाग अनावश्यक रहेको छ। परमेश्वरले भन्नुभयो, “तिनीहरूको कदअनुसार म तिनीहरूलाई साथ दिन्छु र तिनीहरूको लागि भरणपोषण गर्छु। मानव मेरो सम्पूर्ण व्यवस्थापन योजनाको मुख्य पात्रहरू भएका हुनाले, ‘मानव’ को भूमिकामा परेकाहरूलाई म थप अगुवाइ प्रदान गर्छु, ताकि तिनीहरूले त्यो भूमिका हृदयदेखि नै र तिनीहरूको क्षमताले भ्याएसम्म राम्ररी निर्वाह गर्न सकून्,” साथै “तैपनि, म प्रत्यक्ष रूपमा तिनीहरूको विवेकको आलोचना गर्न इन्कार गर्छु; बरु, म तिनीहरूलाई धैर्यताको साथ र व्यवस्थित ढङ्गले अगुवाइ गरिरहन्छु। आखिर, मानिसहरू कमजोर छन्, र तिनीहरूले कुनै पनि काम गर्न सक्दैनन्।” परमेश्वरको सोचाइ यस्तो छ: यदि उहाँले यी सबै मानवलाई अन्त्यमा नाश गर्नुभयो भने पनि, पृथ्वीको उहाँको काम अझै पनि उहाँको मूल योजनाअनुसार नै जारी रहिरहनेथियो। परमेश्वरले व्यर्थको काम गर्नुहुन्न; परमेश्वरले गर्नुहुने सबै काम असल हुन्छ। यो पत्रुसले भनेको जस्तै छ, “यदि परमेश्वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि, मानिसहरूसँग के नै गुनासो छ र? तिनीहरूसँग के अधिकार छ र?” वर्तमान दिनमा, के परमेश्वरले मानवजातिद्वारा यही कुरा हासिल गरिरहनुभएको छैन र? के मानिसहरूसँग साँच्चै नै त्यस्तो दृष्टिकोण हुन सक्छ? हजारौं वर्ष पहिले जिएका पत्रुसले कसरी यस्तो कुरा गर्न सके, जबकि यस उच्च प्रविधिको, आधुनिक युगमा बस्ने आजका “पत्रुसहरू” ले यसो भन्न सक्दैनन्? इतिहास अघि बढिरहेको छ कि पछि फर्किरहेको छ म त्यो कुरा निश्चित रूपमा भन्न सक्दिन, र विज्ञान अघि बढिरहेको छ कि पछि फर्किरहेको छ त्यस प्रश्नको उत्तर अझै कसैले दिन सक्दैन। परमेश्वरले मानवजातिमा गर्नुभएको सबै कुरा तिनीहरूलाई सकारात्मक बनाउन र तिनीहरूको जीवनलाई परिपक्व बनाउनको लागि रहेको छ। के मानिसहरूले यसलाई बुझ्न सक्दैनन् र? तँलाई नकरात्मक तुल्याउने हरेक कुरा तेरो कमजोरी हो, शैतानले तँलाई आक्रमण गर्ने कमजोरीको बिन्दु हो। के तैँले यसलाई स्पष्ट रूपमा देख्न सक्छस्? परमेश्वर किन यसरी बोल्नुभयो? “म मानवजातिलाई सारा तत्परता र इमानदारीताको साथ बिन्ती गर्छु। के तिनीहरूले साँच्चै मैले अनुरोध गरेको कुरा गर्न सक्दैनन्?” यी वचनहरूको अर्थ के हो? परमेश्वरले किन यो प्रश्न गर्नुभयो? यसले मानवजातिसँग धेरै नकारात्मक पक्षहरू छन् भन्ने देखाउँछ, र एउटै नकारात्मक पक्ष नै मानवलाई ठक्कर खुवाउन पर्याप्त हुन्छ। तैँले नकारात्मक अवस्थामा रहँदा त्यसले के ल्याउनेछ भन्ने कुरालाई हेर्नु र देख्नुपर्छ। परमेश्वरले जे गर्नुहुन्छ त्यो सबै मानवजातिलाई सिद्ध बनाउनको खातिर गर्नुहुन्छ। के यी वचनहरूको लागि कुनै थप व्याख्याको आवश्यकता छ? छैन—मेरो दृष्टिकोणमा, यसको कुनै आवश्यकता पर्दैन! मानिसहरूलाई शैतानले काबुमा राखेको छ भनेर भन्न सकिन्छ, तर मानिसहरूलाई नकारात्मकताले काबुमा राखेको छ भनेर भन्दा अझै उचित हुन्छ। यो मानवजातिको एक प्रकटीकरण हो, मानिसको देहको एक भाग हो। त्यसकारण, सबै मानिसहरू अचेत रूपमा नकारात्मकतामा फस्छन्, र त्यसपछि सजायमा पर्छन्। यो परमेश्वरले मानवजातिको लागि तयार गर्नुभएको पासो हो, र यही बेला नै मानिसहरूले सबैभन्दा बढी कष्ट भोग्छन्। मानिसहरू नकारात्मकतामा जिउने हुनाले, तिनीहरू सजायबाट उम्कन कठिन हुन्छ। के आजभोलिका कुराहरू ठ्याक्कै यस्तै छैनन् र? तर मानिसहरूले कसरी परमेश्वरका यी वचनहरूलाई बेवास्ता गर्न सक्छन्, “आजभोलि, शैतान चरम रूपमा व्याप्त भएको छ। मैले मेरो कार्यको मुख्य विषयलाई प्रदर्शन गर्न र मेरो शक्ति प्रदर्शन गर्नको लागि यो मौका किन नलिने?” म स्मरण गराउने केही शब्दहरू बोल्छु, र तुरुन्तै मण्डलीका मानिसहरू सजायमा प्रवेश गर्छन्। यसको कारण के हो भने, दुई महिनासम्मको परमेश्वरको कामपछि, मानिसहरू भित्री रूपमा सारगत हिसाबले रूपान्तरण हुन बाँकी नै छ। तिनीहरूले परमेश्वरका वचनहरूलाई आफ्नो मस्तिष्कले मात्रै विश्लेषण गर्छन्, तैपनि तिनीहरूको स्थिति वास्तवमा परिवर्तन भएको हुँदैन। तिनीहरू नकरात्मक रहन्छन्। त्यसकारण, जब परमेश्वरले सजायको समय नजिकै आएको छ भनेर भन्नुहुन्छ, मानिसहरू तुरुन्तै व्याकुल हुन्छन् र यस्तो सोच्छन्: “मलाई परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको छ कि छैन मलाई थाहा छैन, न त यो सजायको क्रममा म दह्रिलो गरी खडा हुन सक्छु कि सक्दिन भन्ने नै मलाई थाहा छ। परमेश्वरले मानिसहरूलाई सजाय दिनको लागि के-कस्ता विधिहरूको प्रयोग गर्नुहुन्छ त्यो कुरा जान्न अझै कठिन छ।” मानिसहरू सजायदेखि डराउँछन्, तैपनि तिनीहरू परिवर्तन हुन सक्दैनन्। तिनीहरू मौनतामा नै कष्ट भोग्छन्, तर तिनीहरूलाई आफू दह्रिलो गरी खडा हुन सक्दिनँ कि भन्ने पनि डर हुन्छ। त्यस्ता परिस्थितिहरूमा, तिनीहरूमाथि सजाय नबर्सिकन र वचनहरूको कष्ट आइनपरीकन, मानिसहरू अचेत रूपमा सजायमा प्रवेश गरिसकेका हुन्छन्। त्यसकारण, तिनीहरू सबै भयभीत र अस्थिर हुन्छन्। यसलाई नै “जे रोप्यो त्यै फल्छ” भनेर भनिन्छ, किनभने मानिसहरूले परमेश्वरको कामलाई बुझ्दै-बुझ्दैनन्। वास्तवमा, परमेश्वर यी मानिसहरूमा थप कुनै वचनहरू खेर फाल्न चाहनुहुन्न; परमेश्वरले तिनीहरूलाई निराकरण गर्ने फरक तरिका, अर्थात् त्यस्तो तरिका जुन साँचो सजाय होइन, त्यो अपनाउनुभएको छ भन्ने देखिन्छ। यो अवस्था कुनै व्यक्तिले चल्ला पक्रेर यो भाले कि पोथी रहेछ भनी माथि उठाएर हेरेजस्तै हुन्छ; यो कुनै महत्त्वपूर्ण मामला हो जस्तो नदेखिए पनि, सानो चल्ला यति भयभीत हुनेछ कि यसले आफूलाई मुक्त गर्न संघर्ष गर्नेछ, मानौं यसको मालिकले यसलाई मारेर खान लागेको छ। किनभने चल्लासँग आफ्नो बारेमा कुनै ज्ञान हुँदैन। केही आउन्स तौल मात्रै भएको चल्लालाई किन कसैले मारेर खानेथियो? के त्यो निरर्थक हुनेथिएन र? यो त परमेश्वरले भन्नुभएको जस्तै हो: “तब किन मानिसहरू मदेखि सधैँ टाढा हुन्छन्? के मैले तिनीहरूलाई समातिनेबित्तिकै मारिने चल्लाहरूलाई जस्तै व्यवहार गरेकोले हो?” त्यसकारण, मानव कष्ट-भोग सबै “निस्स्वार्थ” भक्ति हुन्, र यसलाई व्यर्थको मूल्य चुकाउने कार्य भनेर भन्न सकिन्छ। किनभने मानिसहरूले आफैलाई नचिन्ने हुनाले तिनीहरू डराएका हुन्छन्; परिणामस्वरूप, तिनीहरूले आफ्नो जीवन जोखिममा पार्न सक्दैनन्। यो मानवजातिको कमजोरी हो। के “अन्त्यमा, मानिसहरूले आफूलाई चिनून्। यो मेरो अन्तिम लक्ष्य हो” भनी परमेश्वरले बोल्नुभएका वचनहरू पुरानो भइसकेका छन्? कसले आफैलाई साँचो रूपमा चिन्छ? यदि व्यक्तिले आफूलाई चिन्दैन भने, तिनीहरूलाई सजाय पाउने अधिकार केले दिन्छ? उदाहरणको लागि थुमाहरूलाई लिऊँ। यदि तिनीहरू ठूलो भएर भेडा भएका छैनन् भने तिनीहरूलाई कसरी मारिन्छ? फल नफलेको रूखबाट मानिसहरूले कसरी आनन्द लिन सक्छन्? सबैले “खोप” लाई धेरै नै महत्त्व दिन्छन्। तसर्थ, मानिसहरूले उपवास बस्ने काम गरिरहेका छन्, र तिनीहरू भोकै बसिरहेका छन्। यो तिनीहरूले जे रोपे त्यै फलेको, आफैलाई हानि गरेको उदाहरण हो, परमेश्वरको क्रूरता वा अमानवीयताको उदाहरण होइन। यदि एक दिन मानिसहरूले अचानक आफैलाई चिन्न पुगे र परमेश्वरको अघि डरले काम्न थाले भने, परमेश्वरले तिनीहरूलाई सजाय दिन थाल्नुहुनेछ। यसरी मात्रै मानिसहरूले कठिनाइलाई स्वेच्छाले स्वीकार गर्न, र तिनीहरू हृदय र बोली-वचन दुवैमा आज्ञाकारी हुन सक्नेछन्। तर आजको हकमा के भन्ने? बच्चाहरूलाई खाना पकाउन लगाइएको जस्तै गरी, मानिसहरू सबैलाई तिनीहरूको इच्छा विपरीत सजाय दिइन्छ। त्यसो हुँदा, तिनीहरू कसरी व्याकुल नभई बस्न सक्छन्? सबै जनालाई के लाग्छ भने, “ए ठीकै छ! मलाई सजाय दिइयो भने, मैले मेरो शिर झुकाएर दोषी ठहरिनुपर्छ! मैले के गर्नसक्छु र? मैले रुँदै भए पनि, परमेश्वरलाई सन्तुष्ट तुल्याउनुपर्छ, त्यसकारण म के नै गर्न सक्छु र? राम्रोको लागि होस् वा नराम्रो लागि होस, म अहिले यही मार्गमा छु। ठीकै छ! म यसको लागि मेरो दुर्भाग्यलाई नै दोष दिनेछु!” के मानिसहरूले यसरी नै विचार गर्दैनन् र?
परमेश्वरले भन्नुभएकै छ, “मानवजाति शिष्ट बन्छ; कसैले पनि मलाई विरोध गर्ने आँट गर्दैन। मैले सुम्पेको ‘काम’ गर्दै सबै मेरै अगुवाइमा रहन्छन्।” एक जना मानिसलाई पनि स्वेच्छाले सजाय दिइएको हुँदैन, यसको साथै, यो सजाय परमेश्वरबाट आउँछ भन्ने कुरालाई देखाउन यो नै पर्याप्त छ, किनभने सबै मानिसहरू आतङ्क र कोलाहलमा भन्दा फुर्सतमा जिउन चाहन्छन्। परमेश्वरले भन्नुभयो, “मृत्युबाट नडराउने को छ र? के मानिसहरूले साँच्चै आफ्नो जीवनको बाजी लगाउन सक्छन् त?” यो पूर्णतया ठीक कुरा हो; अवश्य नै रीस वा नैराश्यताको आवेगमा पर्दाको अवस्थामा बाहेक सबै जना मर्न डराउँछन्। यो नै मानवजातिको सार हो, र यसलाई समाधान गर्न अत्यन्तै कठिन छ। आज, परमेश्वर ठ्याक्कै यही अवस्थालाई समाधान गर्न आउनुभएको हो। मानिसहरू सबै शक्तिहीन छन्, त्यसकारण परमेश्वरले तिनीहरूका बीचमा विशेषज्ञ अस्पताल खोल्नुभएको छ, जहाँ तिनीहरूलाई यस रोगको उपचार गर्न सकिन्छ। मानिसहरूले आफूलाई यो रोगको पासोबाट मुक्त गर्न सक्दैनन्, त्यसैले तिनीहरू यति व्याकुल हुन्छन् कि तिनीहरूको मुख राता हुन्छन् र तिनीहरूको पेट फुल्छन्। समय बित्दै जाँदा, तिनीहरूको पेटमा हावाको मात्र बढ्दै जान्छ र तिनीहरूको पेटको चाप बढ्छ, र अन्तिममा, तिनीहरूको पेट फुट्छ र तिनीहरू सबै मर्छन्। तब, परमेश्वरले यस गम्भीर रोगको उपचार गर्नुहुनेछ, किनभने सबै मरिसकेका हुनेछन्। के यो मानव स्थितिको उपचार होइन र? परमेश्वर जानी-जानी यो काम गर्न आउनुभएको छ। मानिसहरू मृत्युदेखि अत्यन्तै डराउने हुनाले, परमेश्वर स्वयम् नै मानिसहरूसँग मिलेर यो काम गर्न आउनुभएको छ; तिनीहरूसँग अत्यन्तै थोरै साहस भएको हुनाले, उहाँले सुरुमा तिनीहरूलाई नमुना प्रदर्शन गरी देखाउनुभएको छ। परमेश्वरको उदाहरणलाई देखिसकेपछि मात्रै मानिसहरू आज्ञापालन गर्न इच्छुक हुन्छन्। यही कारणले गर्दा, परमेश्वरले भन्नुभयो, “मेरो काम कसैले अघि बढाउन नसकेका हुनाले, म शैतानसँग जीवन र मृत्युको युद्धमा सहभागी हुनको लागि म व्यक्तिगत रूपमा युद्धभूमिमा खडा भएको छु।” यो निर्णायक युद्ध हो, त्यसकारण कि त माछा मर्छ कि त जाल चुँडिन्छ। यति कुरा स्पष्ट छ। अन्तिममा आत्माले नै विजय गर्ने हुनाले, देहलाई अपरिहार्य रूपमा नै मृत्युले लैजानुपर्छ। के तिमीहरूले यसको अर्थ बुझ्यौ? तैपनि अत्यन्तै संवेदनशील भने नबन। सायद माथिको वाक्य सरल छ वा सायद यो जटिल छ। जे भए पनि, मानिसहरूले यसलाई बुझ्न सक्दैनन्—त्यति कुरा निश्चित छ। कष्ट भोग्ने क्रममा, मानिसहरूले परमेश्वरको वचनको शोधन स्वीकार गर्न सक्छन्, जसलाई कसैले आफ्नो सौभाग्य भन्न सक्छ, वा कसैले आफ्नो दुर्भाग्य भन्न सक्छ। तर म अझै के कुरा स्मरण गराउँछु भने, परमेश्वरको अभिप्राय आखिर सही छ—मानव अभिप्रायहरूभन्दा विपरीत छ, मानव अभिप्राय भनेको त तिनीहरूको आफ्नै खातिर योजनाहरू बनाउनु र बन्दोबस्तहरू गर्नु हो। यो कुरा निकै स्पष्ट हुनुपर्छ; अन्तहीन चिन्तनमा नफस। के मानिसहरूको कमजोरी ठीक यही होइन र? तिनीहरू सबै यस्तै छन्; परमेश्वरप्रति महान् प्रेम हुनको सट्टा, तिनीहरूसँग आफैप्रति महान् प्रेम हुन्छ। उहाँ मानिसको डाहा गर्ने परमेश्वर हुनुहुन्छ, त्यसकारण उहाँले तिनीहरूलाई सधैँ मापदण्डहरू दिनुहुन्छ। मानिसहरूले आफूलाई जति प्रेम गर्छन्, परमेश्वरले तिनीहरूलाई त्यति नै उहाँलाई प्रेम गर्न लगाउनुहुन्छ, र तिनीहरूप्रतिको उहाँका सर्तहरू त्यति नै कडा हुन्छन्। यस्तो लाग्छ मानौं परमेश्वरले जानी-जानी मानिसहरूलाई सताइरहनुभएको छ। यदि मानिसहरूले उहाँलाई साँचो रूपमा प्रेम गरे भने, उहाँले तिनीहरूलाई स्वीकार गर्नुहुन्न जस्तो देखिन्छ। यसकारण, मानिसहरू टाउको कन्याउँदै गहन सोचाइमा पर्छन्। यो परमेश्वरको स्वभावको एक वृत्तान्त हो, एक-दुई वटा कुराको छोटो उल्लेख हो। यो परमेश्वरको इच्छा हो। परमेश्वरले मानिसहरूलाई यही कुरा जान्न लगाउनुहुन्छ, र यो अनिवार्य छ। यो नयाँ काम हो, र ठूलो सफलता प्राप्त गर्न र ताजा प्रगति गर्नको लागि यसमा मानिसहरूले कठिन परिश्रम गर्नैपर्छ। के तिमीहरूले यस कुरालाई बुझ्यौ? के यस विषयमा मैले थप बताउनुपर्छ?
अघिल्ला पुस्ताहरूका बारेमा, परमेश्वरले भन्नुभयो, “मैले एक जना व्यक्तिलाई समेत कहिल्यै छनौट गरिन; मेरो मौन पत्रद्वारा सबै इन्कार गरिए। किनभने विगतका मानिसहरूले मलाई मात्रै पूर्ण रूपमा सेवा गर्दैनथिए, त्यसकारण, यसको सट्टामा, मैले पनि तिनीहरूलाई मात्रै पूर्ण रूपमा प्रेम गरिन। तिनीहरूले शैतानका ‘उपहारहरू’ लिए अनि फर्केर ती मलाई दिए। के यो मेरो विरुद्धको निन्दा थिएन र?” यी शब्दहरूलाई कसरी व्याख्या गर्न सकिन्छ? यो त परमेश्वरले “सबै वरदानहरू शैतानबाट आउँछ” भन्नुभएको जस्तै हो। विगत पुस्ताका प्रेरित र अगमवक्ताहरूले आफ्नो काम गर्नको लागि पूर्ण रूपले आत्मिक वरदानहरूमा भर पर्थे, र युगहरू अघि बढ्दै क्रममा, परमेश्वरले आफ्नो काम गर्नको लागि तिनीहरूका आत्मिक वरदानहरूको प्रयोग गर्नुभयो। यही कारणले गर्दा, आत्मिक वरदान पाएका सबै मानिसहरूको सेवा शैतानबाट आउँछ भनेर भनिएको हो। तैपनि, परमेश्वरको बुद्धिको कारण, “म शैतानको चाललाई मेरो प्रतिभारको रूपमा प्रयोग गर्छु।” तसर्थ, परमेश्वरले आत्मिक वरदानहरू पाएका मानिसहरूको सेवालाई परमेश्वरले “शैतानबाट प्राप्त उपहारहरू” भनेर भन्नुभएको छ र तिनीहरू शैतानको स्वामित्वमा रहेकाले मात्रै परमेश्वरले यस कार्यलाई “निन्दा” भनी भन्नुभएको हो। यो मानिसहरूप्रति लगाइएको आधारहीन दोषारोपण होइन; यसको विपरीत, यो आधारसहितको र उचित व्याख्या हो। तसर्थ, “मैले मेरो घिनलाई प्रकट गरिन; बरु, यी ‘उपहारहरू’ लाई मेरो व्यवस्थापनका सामग्रीहरूमा समावेश गरेर मैले तिनीहरूको युक्तिलाई मेरो आफ्नै फाइदाको लागि प्रयोग गरेँ। पछि, तिनलाई मेसिनले प्रशोधन गरिसकेपछि, म त्यस भित्रको खतरनाक वस्तुहरूलाई डढाउनेथिएँ।” परमेश्वरको कामको अत्यन्तै सुन्दर पक्ष यही हो। यो बुँदा मानव धारणाहरूसँग सबैभन्दा नमिल्ने बुँदा हो, किनभने राजाहरूका रूपमा शासन गर्नेहरू आत्मिक वरदान पाएका मानिसहरू होइनन्, वा तिनीहरू परमेश्वरले प्रेम गर्नुहुने तर आत्मिक वरदान नपाएका मानिसहरू हुन् भनेर कसैले पनि विचार गर्दैनन्। विट्नेस ली र वाचम्यान नीका विचार वा आशाहरू सबै खरानीमा परिवर्तन भएको देख्न सकिन्छ, र आजका आत्मिक वरदानप्राप्त मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। अहिले परमेश्वरले यो काम गर्न सुरु गर्नुभएको छ, र उहाँको कामको लागि प्रतिभारको रूपमा काम गर्ने मानिसहरूबाट उहाँका सबै कामलाई उहाँले क्रमिक रूपमा फिर्ता लिँदै हुनुहुन्छ। जब परमेश्वरको काम पूर्ण रूपमा समाप्त हुन्छ, यी मानिसहरू सबै आफ्नो मूल स्थानमा फर्कनेछन्। तैपनि, मेरा वचनहरूको कारण लापरवाही व्यवहार नगर्न म मानिसहरूलाई अनुरोध गर्छु। तिमीहरूले परमेश्वरको कामका चरणहरूअनुसार घटना-परिघटनाको प्राकृतिक मार्गलाई पछ्याउनुपर्छ, यसलाई वाधा दिनु हुँदैन। के तिमीहरूले यस बुँदालाई बुझ्यौ? यी परमेश्वरको कामका चरणहरू र विधि हुन्। जब परमेश्वरले यी “उपहारहरू” लाई “प्रशोधन गरेर” “अन्तिम उत्पादन” मा परिणत गर्नुहुन्छ, तब उहाँका सबै अभिप्रायहरू स्पष्ट हुनेछन्, र उहाँको सेवा गर्ने उपहारहरूलाई हटाइनेछन्; तैपनि, परमेश्वरसँग उपभोगको लागि अन्तिम उत्पादनहरू हुनेछन्। के तिमीहरूले यस कुरालाई बुझ्यौ? परमेश्वरले चाहनुहुने भनेका अन्तिम उत्पादनहरू हुन्, मानिसहरूले उहाँलाई चढाउने प्रशस्त उपहारहरू होइनन्। हरेकले आफ्नो उचित स्थान लिएपछि मात्रै, अर्थात् जब परमेश्वर आफ्नो मौलिक स्थानमा फर्कनुभएको हुन्छ र दियाबलस पनि, साथै कुनै अपवादविना स्वर्गदूतहरू पनि आफ्नै आसनमा बसेका हुन्छन्—तब मात्रै परमेश्वरको अनुहारमा सन्तुष्ट मुस्कान देखा पर्नेछ, किनभने उहाँका अभिप्रायहरू पूरा भइसकेका हुनेछन्, उहाँको लक्ष्य हासिल भइसकेको हुनेछ। परमेश्वरले अबउप्रान्त “दियाबलस” बाट “सहयोग” खोज्नुहुनेछैन, किनभने परमेश्वरका अभिप्रायहरू मानिसहरूको लागि खुलस्त रूपमा प्रकट भइसकेका हुनेछन्, र मानिसहरूलाई फेरि कहिल्यै पनि ती अभिप्रायहरू प्रचार गर्न लगाइनेछैन। यो बेला, मानिसहरूको देहको शरीर तिनीहरूको आत्मासँग एउटै बन्नेछ। परमेश्वरले मानिसहरूलाई यही कुरा प्रकट गर्नुहुन्छ; आत्मा, प्राण, र शरीरको अन्तिम गन्तव्य यही नै हो। “मानवता” को मूल अर्थको सारांश यही हो। यसलाई विस्तृत रूपमा अनुसन्धान गर्नु पर्दैन; यसको बारेमा एक-दुई वटा कुरा जान्नु नै पर्याप्त हुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ?