प्रार्थनाको अभ्यासको सम्बन्धमा

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थना गर्ने कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने गर्दथे, मानिस परमेश्‍वरको समक्ष केवल झारा टार्ने हिसाबले जाने गर्दथ्यो। कुनै पनि मानिसले कहिल्यै पनि आफ्नो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरसमक्ष अर्पण गरेर उहाँलाई साँचो प्रार्थना गरेन। समस्या आउँदा मात्र मानिसले परमेश्‍वरलाई प्रार्थना गर्थ्यो। अहिलेसम्म, के तैँले परमेश्‍वरलाई कहिल्यै साँचो रूपले प्रार्थना गरेको छस्? के कुनै यस्तो समय आएको छ जब तैँले परमेश्‍वरसमक्ष पीडाको आँसु झारेको थिइस्? के कुनै यस्तो समय आएको छ जब तैँले उहाँसमक्ष आफैलाई चिन्‍न पुगिस्? के तैँले परमेश्‍वरलाई कहिल्यै हृदयदेखि प्रार्थना गरेको छस्? प्रार्थना अभ्यासबाट आउँदछ: यदि तँ सामान्यतया घरमा प्रार्थना गर्दैनस् भने, तँसँग मण्डलीमा प्रार्थना गर्ने कुनै मार्ग हुनेछैन र यदि तँ साधारणतया स-साना भेलाहरूमा प्रार्थना गर्दैनस् भने, तँ ठूला भेलाहरूमा प्रार्थना गर्न असक्षम हुनेछस्। यदि तँ नियमित रूपमा परमेश्‍वरको निकट जाँदैनस् वा परमेश्‍वरका वचनहरूमा चिन्तन गर्दैनस् भने, प्रार्थना गर्ने समयमा तँसँग भन्नुपर्ने कुरा केही पनि हुनेछैन, र यदि प्रार्थना गर्छस् नै भने पनि, तैँले केवल ओठे-सेवा मात्रै चढाउनेछस्; यो साँचो प्रार्थना हुनेछैन।

साँचो प्रार्थना के हो? साँचो प्रार्थना भनेको तेरो हृदयमा के छ सो परमेश्‍वरलाई बताउनु, परमेश्‍वरको इच्छालाई बुझेर उहाँसँग कुराकानी गर्नु, परमेश्‍वरसँग उहाँको वचनको माध्यमबाट कुराकानी गर्नु, परमेश्‍वरसँग विशेष रूपमा घनिष्ठ भएको महसुस गर्नु, उहाँ तेरोसामु हुनुहुन्‍छ भन्‍ने बोध गर्नु, र उहाँलाई भन्नुपर्ने केही कुरा तँसँग छ भनेर विश्‍वास गर्नु हो। तेरो हृदय उज्यालोले भरिएको महसुस हुन्छ र तैँले परमेश्‍वर कति प्रिय हुनुहुन्छ भन्‍ने महसुस गर्छस्। तैँले विशेष रूपमा प्रेरित भएको महसुस गर्छस् र तेरो कुरा सुनेर तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सन्तुष्टि प्राप्त हुन्छ। तैँले बोल्‍ने शब्दहरू उनीहरूको हृदयभित्रका शब्दहरू हुन्, उनीहरूले भन्न चाहेका शब्‍दहरू हुन् भन्‍ने उनीहरूले महसुस गर्नेछन्, मानौं तेरा शब्दहरू उनीहरूका शब्दको साटोमा आएका हुन्। साँचो प्रार्थना यही नै हो। तँ साँचो प्रार्थनामा संलग्न भएपछि, तेरो हृदय शान्‍तिमा हुनेछ र सन्तुष्टि के हो सो तैँले जान्‍नेछस्। परमेश्‍वरलाई प्रेम गर्ने शक्ति वृद्धि हुन सक्छ, र परमेश्‍वरलाई प्रेम गर्नु जत्तिको बहुमूल्य वा महत्त्वको कुरा जीवनमा अरू केही छैन भन्‍ने तैँले महसुस गर्नेछस्। यी सबै कुराले तेरा प्रार्थनाहरू प्रभावकारी भएका छन् भन्‍ने प्रमाणित गर्छन्। के तैँले कहिल्यै यसरी प्रार्थना गरेको छस्?

अनि प्रार्थनाको विषयवस्तु कस्तो हुनुपर्छ? तेरो प्रार्थना तेरो हृदयको साँचो अवस्था तथा पवित्र आत्माको कार्यअनुरूप चरणबद्ध रूपमा अगाडि बढ्नुपर्दछ; तँ परमेश्‍वरसँग उहाँको इच्छा र उहाँले मानिसबाट जे चाहनुहुन्छ सोअनुसार कुराकानी गर्न थाल्छस्। जब तँ प्रार्थनाको अभ्यास सुरु गर्छस्, सर्वप्रथम आफ्नो हृदय परमेश्‍वरलाई प्रदान गर्। परमेश्‍वरको इच्छा बुझ्ने प्रयास नगर्—केवल तेरो हृदयभित्र भएका शब्दहरू नै परमेश्‍वरलाई बताउने प्रयास गर्। जब तँ परमेश्‍वरसामु आउँछस्, यसरी बोल्: “हे परमेश्‍वर, मैले हजुरको अवज्ञा गर्ने गरेको थिएँ भन्‍ने कुरा आज मात्र महसुस गरेँ। म वास्तवमै भ्रष्ट र नीच छु। मैले केवल आफ्नो जीवन बरबाद मात्रै गर्दै आइरहेको रहेछु। आजबाट म हजुरकै लागि जिउनेछु। म एउटा अर्थपूर्ण जीवन बिताउनेछु र हजुरको इच्छा सन्तुष्ट पार्नेछु। हजुरको आत्माले मभित्र सदैव काम गरिरहोस्, मलाई निरन्तर ज्योति र ज्ञान प्रदान गरिरहोस्। मलाई हजुरसमक्ष मजबुत र ठोस गवाही वहन गर्न दिनुहोस्। शैतानले हामीमा प्रकट भएको तपाईंको महिमा, तपाईंको गवाही, र तपाईंको विजयको प्रमाण देखोस्।” जब तँ यसरी प्रार्थना गर्छस्, तेरो हृदय पूर्ण रूपमा स्वतन्त्र हुनेछ। यसरी प्रार्थना गरेपछि, तेरो हृदय परमेश्‍वरसँग अझै घनिष्ठ हुनेछ, र यदि तैँले सधैँ नै यस प्रकारले प्रार्थना गर्न सक्छस् भने, पवित्र आत्माले अवश्य नै तँभित्र काम गर्नुहुनेछ। यदि तैँले परमेश्‍वरलाई सधैँ यसरी नै पुकार्छस्, र उहाँसमक्ष आफ्नो सङ्कल्प प्रस्तुत गर्छस् भने, त्यस्तो दिन आउनेछ जब तेरो सङ्कल्प परमेश्‍वरसमक्ष स्वीकार्य हुनेछ, तेरो हृदय र तेरो सम्पूर्ण अस्तित्व परमेश्‍वरले प्राप्त गर्नुहुन्छ र तँ आखिरमा उहाँद्वारा पूर्ण बनाइनेछस्। तिमीहरूको लागि, प्रार्थना अत्यन्तै महत्त्वपूर्ण छ। जब तैँले प्रार्थना गर्छस् र पवित्र आत्माको कार्य प्राप्त गर्छस्, तेरो हृदय परमेश्‍वरद्वारा उत्प्रेरित हुनेछ, र परमेश्‍वरलाई प्रेम गर्ने शक्ति प्रस्फुटन हुनेछ। यदि तँ आफ्नो हृदयले प्रार्थना गर्दैनस् भने, यदि तैँले परमेश्‍वरसँग कुराकानी गर्नको लागि आफ्नो हृदय खोल्‍दैनस् भने, परमेश्‍वरले तँमा कार्य गर्ने कुनै मार्ग पाउनुहुनेछैन। यदि, प्रार्थना गरिसकेपछि र तेरो हृदयका शब्दहरू बोलिसकेपछि पनि, परमेश्‍वरका आत्माले उहाँको कार्य आरम्भ गर्नुभएको छैन र तैँले कुनै प्रेरणा प्राप्त गरेको छैनस् भने, यसले तेरो हृदयमा इमानदारीताको कमी छ, तेरा शब्दहरू असत्य र अझै पनि अशुद्ध छन् भन्‍ने देखाउँदछ। यदि, प्रार्थना गरिसकेपछि, तँलाई सन्तुष्टिको आभास हुन्छ भने, तेरा प्रार्थनाहरू परमेश्‍वरको निम्ति स्वीकार्य भएका छन् र तँमा परमेश्‍वरका आत्माले काम गरिरहनुभएको छ। परमेश्‍वरसमक्ष सेवा गर्ने व्यक्तिको रूपमा, तँ प्रार्थनारहित रहन सक्‍दैनस्। यदि तँ परमेश्‍वरसँगको बातचितलाई वास्तवमै अर्थपूर्ण र मूल्यवान् चीजको रूपमा हेर्छस् भने, के तँ प्रार्थनालाई त्याग गर्न सक्छस्? कोही पनि परमेश्‍वरसँगको बातचितरहित हुन सक्दैन। प्रार्थनाबिना तँ देहमा शैतानको बन्धनमा रहेर जिउँछस्; साँचो प्रार्थनाबिना तँ अन्धकारको प्रभावमा जिउँछस्। म आशा गर्दछु कि तिमी दाजुभाइ-दिदीबहिनीहरू प्रत्येक र हरेक दिन साँचो प्रार्थनामा संलग्न हुन सक्छौ। यो कुरा नियमहरू पालना गर्ने बारे होइन, बरु निश्चित परिणाम प्राप्त गर्ने बारे हो। के तँ प्रातकालीन प्रार्थना गर्न र परमेश्‍वरका वचनहरूको आनन्द लिन सबेरै उठ्न अलिकति निद्रा र सुखलाई त्याग गर्न इच्छुक छस्? यदि तँ शुद्ध हृदयले प्रार्थना गर्छस् र यसरी परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस् भने, उहाँको लागि तँ अझै बढी स्वीकार्य हुनेछस्। यदि हरेक बिहान तँ यसो गर्छस्, यदि हरेक दिन उहाँसँग कुराकानी गर्दै र संलग्न हुँदै, तैँले परमेश्‍वरलाई आफ्नो हृदय प्रदान गर्ने अभ्यास गर्छस् भने, परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञान निश्चित रूपमा वृद्धि हुनेछ, र तँ परमेश्‍वरको इच्छा बुझ्न अझै बढी सक्षम हुनेछस्। तँ भन्छस्: “हे परमेश्‍वर! म आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छु। म हजुरमा मात्रै मेरो सम्पूर्ण अस्तित्व अर्पण गर्न सक्छु, ताकि हजुरले हामीबाट महिमा प्राप्त गर्न सकून्, ताकि हजुरले हाम्रो यो समूहले दिएको गवाहीमा आनन्द लिन सकून्। म हजुरलाई बिन्ती गर्दछु कि हामीमा कार्य गर्नुहोस्, ताकि म हजुरलाई साँच्चिकै प्रेम गर्न एवं हजुरलाई सन्तुष्ट पार्न र मेरो लक्ष्यको रूपमा हजुरको खोजी गर्न सक्षम होऊँ।” जब तँ यो अभिभारा वहन गर्छस्, परमेश्‍वरले निश्चय नै तँलाई सिद्ध बनाउनुहुनेछ। तैँले केवल आफ्नै फाइदाको लागि मात्र प्रार्थना गर्नुहुँदैन, तर तैँले परमेश्‍वरको इच्छालाई पछ्याउन र उहाँलाई प्रेम गर्न पनि प्रार्थना गर्नुपर्दछ। सबैभन्दा साँचो प्रकारको प्रार्थना यही हो। के तँ परमेश्‍वरको इच्छा पछ्याउनको खातिर प्रार्थना गर्ने व्यक्ति होस्?

विगतमा, तँलाई प्रार्थना कसरी गर्ने भन्‍ने थाहा थिएन, अनि तैँले प्रार्थना गर्ने कुरालाई बेवास्ता गरिस्। अब, प्रार्थनाको लागि आफैलाई तालिम दिन तैँले जतिसक्दो प्रयास गर्नुपर्छ। यदि तँ परमेश्‍वरलाई प्रेम गर्न आफैभित्रको शक्तिलाई जगाउन असमर्थ छस् भने, तँ कसरी प्रार्थना गर्छस् त? तँ भन्छस्: “हे परमेश्‍वर, मेरो हृदय हजुरलाई साँचो प्रेम गर्न असमर्थ छ। म हजुरलाई प्रेम गर्न चाहन्छु, तर मसँग शक्तिको अभाव छ। मैले के गर्नुपर्छ? तपाईंले मेरो आत्मिक आँखा खोलिदिऊन् र तपाईंको आत्माले मेरो हृदयलाई चलाऊन्। यसलाई यस्तो बनाइदिनुहोस् कि म तपाईंसमक्ष उपस्थित हुँदा ती सबै चीज त्याग गरूँ जुन नकारात्मक छन्, म कुनै पनि व्यक्ति, विषय वा चीजद्वारा विवश हुन छोडूँ, र मेरो हृदयलाई पूर्ण रूपमा तपाईंसामु नङ्ग्याउन सकूँ, अनि यसलाई यस्तो बनाइदिनुहोस् कि म आफ्नो सम्पूर्ण अस्तित्व तपाईंसमक्ष अर्पण गर्न सकूँ। हजुरले मलाई जसरी जाँच्‍नुहुन्छ, त्यसरी नै जाँच्‍नुहोस्, म तयार छु। अब, म मेरो भविष्यका सम्भावनाहरूप्रति कुनै ध्यान दिन्नँ, न त म मृत्युको बन्धनमा नै छु। हजुरलाई प्रेम गर्ने हृदयको साथमा, म जीवनको मार्ग खोजी गर्न चाहन्छु। सबै विषय, सबै कुरा—यी सबै हजुरकै हातमा छन्; मेरो नियति हजुरकै हातमा छ र मेरो यो जीवन हजुरले आफ्नो हातमा राख्नुहुन्छ। अब, म हजुरलाई प्रेम गर्न चाहन्छु, र हजुरले आफूलाई प्रेम गर्ने अनुमति प्रदान गरे पनि या नगरे पनि, शैतानले जसरी बाधा पुऱ्याए पनि, म हजुरलाई प्रेम गर्न प्रतिबद्ध छु।” जब तैँले यस्तो समस्याको सामना गर्छस्, यसरी प्रार्थना गर्। यदि तैँले हरेक दिन यसरी प्रार्थना गरिस् भने, परमेश्‍वरलाई प्रेम गर्ने शक्ति बिस्तारै वृद्धि हुनेछ।

कुनै व्यक्ति साँचो प्रार्थनामा कसरी प्रवेश गर्छ?

प्रार्थना गर्दा, परमेश्‍वरसमक्ष तेरो हृदय शान्त हुनुपर्दछ, र तँसँग इमानदार हृदय हुनुपर्दछ। तँ वास्तवमै परमेश्‍वरसँग कुराकानी गर्दै र प्रार्थना गर्दै गरिरहेको हुन्छस्—तैँले परमेश्‍वरलाई मीठो बोलीले फकाउने प्रयास गर्नुहुँदैन। प्रार्थना त्यो कुरामा केन्द्रित हुनुपर्दछ जुन परमेश्‍वरले अहिले नै पूरा गर्न चाहनुहुन्छ। तँलाई अझ बढी अन्तर्दृष्टि र ज्योति प्रदान गर्न अनुरोध गर्, तैँले प्रार्थना गर्दा परमेश्‍वरसामु गरेको सङ्कल्पसहित आफ्ना वास्तविक स्थिति र समस्याहरू उहाँकोअघि लिएर जा। प्रार्थना भनेको प्रक्रियाको पालना गर्नु होइन; यो त इमानदार हृदयले परमेश्‍वरको खोजी गर्नु हो। परमेश्‍वरले तेरो हृदयको सुरक्षा गरून् भनेर अनुरोध गर्, ताकि तेरो हृदय उहाँसामु प्रायः शान्त हुन सकोस्; उहाँले तँलाई जुन वातावरणमा राख्नुभएको छ, त्यसमा तैँले आफैलाई चिन्छस्, आफैलाई तुच्छ ठान्छस्, र आफैलाई त्याग्छस्, यसरी तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्ने र उहाँलाई वास्तवमै प्रेम गर्ने व्यक्ति बन्न सक्छस्।

प्रार्थनाको महत्त्व के हो?

प्रार्थना एउटा तरिका हो जसमा मानिसले परमेश्‍वरसँग सहकार्य गर्दछ, यो एक माध्यम हो जसद्वारा मानिसले परमेश्‍वरलाई पुकार्छ, र यो त्यो प्रक्रिया हो जसबाट मानिस परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित हुन्छ। के भन्न सकिन्छ भने, प्रार्थनाबिनाका मानिसहरू मृत हुन् जो आत्माविहीन हुन्छन्, यस कुराले उनीहरूसँग परमेश्‍वरद्वारा उत्प्रेरित हुने आन्तरिक क्षमताको अभाव छ भन्‍ने प्रमाणित गर्छ। प्रार्थनाबिना, एक सामान्य आध्यात्मिक जीवन बिताउन असम्भव हुनेथियो, पवित्र आत्माको कार्यको गतिलाई पछ्याउन सक्‍नु त परै जाओस्। प्रार्थनारहित हुनु भनेको परमेश्‍वरसँगको आफ्‍नो सम्बन्ध विच्छेद गर्नु हो, र यसले परमेश्‍वरको प्रशंसा जित्न असम्भव हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने एक व्यक्तिको रूपमा कसैले जति धेरै प्रार्थना गर्दछ अर्थात् ऊ परमेश्‍वरद्वारा जति धेरै उत्प्रेरित हुन्छ, ऊ त्यति नै सङ्कल्पले भरिनेछ र परमेश्‍वरबाट अन्तर्ज्ञान प्राप्त गर्न झनै नै सक्षम हुनेछ। फलस्वरूप, यस प्रकारको व्यक्ति पवित्र आत्माद्वारा धेरै चाँडो सिद्ध बनाइन सक्नेछ।

प्रार्थनाले कस्तो प्रभाव हासिल गर्नुपर्छ?

मानिसहरू प्रार्थनाको अभ्यास गर्न र प्रार्थनाको महत्त्व बुझ्न सक्षम हुन सक्दछन्, तर प्रार्थना प्रभावकारी हुनु सामान्य कुरा होइन। प्रार्थना भनेको कार्यविधि पालन गर्दै, वा परमेश्‍वरका वचनहरू पाठ गर्दै झारा टार्ने कुरा मात्र होइन। भन्नुको मतलब, प्रार्थना गर्नु भनेको निश्‍चित शब्दहरू घोक्नु र अरूको नक्कल गर्नु होइन। प्रार्थनामा, एक व्यक्ति त्यस्तो अवस्थामा पुग्नु पर्दछ, जहाँ आफ्नो हृदयलाई खुला राखेर परमेश्‍वरलाई प्रदान गर्न सकियोस्, ताकि यो परमेश्‍वरद्वारा उत्प्रेरित हुन सकोस्। यदि प्रार्थना प्रभावकारी बनाउनु छ भने, यो, परमेश्‍वरका वचनहरूको पठनमा आधारित हुनुपर्दछ। परमेश्‍वरका वचनहरू भित्रबाट प्रार्थना गरेर मात्र कुनै व्यक्तिले अझ महान् अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्दछ। साँचो प्रार्थनाका अभिव्यक्तिहरू यस प्रकार छन्‌: परमेश्‍वरले भन्नुभएका सबै कुराको तृष्णा गर्ने, र यसका साथै उहाँले जुन कुरा माग गर्नुहुन्छ त्यो पूरा गर्ने चाहना गर्ने हृदय हुनु; परमेश्‍वरले जुन कुरा घृणा गर्नुहुन्छ त्यो कुरालाई घृणा गर्नु र त्यसपछि, यस जगमाथि टेक्दै, यसबारे केही बुझाई प्राप्त गर्नु, र परमेश्‍वरले विस्तृत रूपमा वर्णन गर्नुभएका सत्यताहरूबारे केही ज्ञान र स्पष्टता प्राप्त गर्नु। जब सङ्कल्प, विश्‍वास, ज्ञान, र प्रार्थनाको अनुसरण गर्ने अभ्यासको मार्ग हुन्छ, तब मात्र यसलाई साँचो प्रार्थना भन्न सकिन्छ, र केवल यस प्रकारको प्रार्थना मात्रै प्रभावकारी हुन सक्‍छ। तथापि, प्रार्थना परमेश्‍वरका वचनहरूको आनन्दमा निर्माण हुनुपर्दछ, यो परमेश्‍वरसँग उहाँका वचनहरूमा कुराकानी गर्ने आधारमा स्थापित हुनुपर्दछ, र हृदय परमेश्‍वरको खोजी गर्न र उहाँसामु शान्त हुन सक्षम हुनुपर्दछ। यस प्रकारको प्रार्थना परमेश्‍वरसँगको साँचो बातचितको चरणमा प्रवेश गरिसकेको हुन्छ।

प्रार्थनाबारे सबैभन्दा आधारभूत ज्ञान:

१. मनमा जे आउँछ आँखा चिम्लेर त्यही नभन्। तेरो हृदयमा एक बोझ हुनुपर्दछ अर्थात् जब तँ प्रार्थना गर्छस् तेरो एउटा उद्देश्य हुनुपर्छ।

२. प्रार्थनामा परमेश्‍वरका वचनहरू समावेश हुनुपर्दछ; प्रार्थना, परमेश्‍वरको वचनमा आधारित हुनुपर्दछ।

३. प्रार्थना गर्दा, तैँले पुराना विषयहरूलाई कण्ठ गरेर भन्‍नुहुँदैन। तेरा प्रार्थनाहरू परमेश्‍वरका वर्तमान वचनहरूसँग सम्बन्धित हुनुपर्छ, र जब तँ प्रार्थना गर्छस्, परमेश्‍वरलाई तेरो अन्तस्करणका विचारहरू बता।

४. सामूहिक प्रार्थना एउटा विषयमा केन्द्रित हुनुपर्छ, जुन अपरिहार्य रूपमा नै पवित्र आत्माको वर्तमान कार्य हो।

५. सबै मानिसहरूले मध्यस्थ प्रार्थना गर्न सिक्नुपर्दछ। यो, परमेश्‍वरको इच्छाको ख्याल राख्ने एउटा तरिका पनि हो।

व्यक्तिको प्रार्थना जीवन, प्रार्थनाको महत्त्व र प्रार्थनाको आधारभूत ज्ञानको बुझाइमा आधारित हुन्छ। दैनिक जीवनमा, तेरा आफ्नै कमी-कमजोरीहरूको लागि बारम्बार प्रार्थना गर्, तेरो जीवन स्वभावमा परिवर्तन ल्याउनको निम्ति प्रार्थना गर्, र परमेश्‍वरका वचनसम्‍बन्धी तेरो ज्ञानको आधारमा प्रार्थना गर्। हरेक व्यक्तिले आ-आफ्नै प्रार्थनाको जीवन स्थापित गर्नुपर्दछ, उनीहरूले परमेश्‍वरका वचनहरू जान्नको लागि प्रार्थना गर्नुपर्छ, र उनीहरूले परमेश्‍वरको कामको ज्ञानको खोजी गर्न प्रार्थना गर्नुपर्दछ। तेरा व्यक्तिगत परिस्थितिहरू परमेश्‍वरसमक्ष खुलस्त राख् र तैँले प्रार्थना गर्ने तरिकामा अनावश्यक चासो नदिई वास्तविक बन्, र मुख्य कुरा भनेको सही बुझाइ प्राप्त गर्नु हो, र परमेश्‍वरका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्नु हो। आत्मिक जीवनमा प्रवेश गर्न खोज्‍ने व्यक्तिले धेरै प्रकारले प्रार्थना गर्न सक्षम हुनुपर्छ। मौन प्रार्थना, परमेश्‍वरका वचनहरूमाथि चिन्तन गर्नु, परमेश्‍वरको कार्यलाई जान्‍नु—यी सबै सामान्य आत्मिक जीवनमा प्रवेश प्राप्त गर्नका खातिर गरिने आत्मिक सङ्गतिको उद्देश्यपूर्ण कार्यका उदाहरणहरू हुन्, जसले सदैव परमेश्‍वरसामु एक व्यक्तिको अवस्थालाई सुधार गर्छन् र जीवनमा अहिलेसम्मकै महान् प्रगति गर्न हौसला प्रदान गर्दछन्। सङ्क्षेपमा भन्नुपर्दा, तैँले गर्ने जुनसुकै काम, चाहे यो परमेश्‍वरका वचनहरू खाने र पिउने होस्, वा मौन रूपले प्रार्थना गर्ने होस्, वा ठूलो स्वरमा घोषणा गर्ने होस्, ती सबै तँलाई परमेश्‍वरका शब्दहरू, उहाँको कार्य, र उहाँले तँमा हासिल गर्न चाहनुभएको कुरालाई स्पष्ट रूपमा देख्न सक्षम पार्नका लागि हुन्। अझ महत्त्वपूर्ण कुरा, तैँले गर्ने सबै कुरा परमेश्‍वरले माग गर्ने स्तरहरूमा पुग्न र तेरो जीवनलाई नयाँ उचाइहरूमा उठाउनको लागि गरिन्छन्। परमेश्‍वरले मानिसबाट माग गर्नुहुने न्यूनतम कुरा भनेको ऊ आफ्नो हृदय उहाँसामु खोल्न सक्षम होस् भन्‍ने हो। यदि मानिसले परमेश्‍वरलाई उसको साँचो हृदय प्रदान गर्दछ र उसको हृदयमा वास्तवमा जे छ त्यो बोल्दछ भने, परमेश्‍वर उसमा कार्य गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वरले जे चाहना गर्नुहुन्छ त्यो मानिसको कुटिल हृदय होइन, तर शुद्ध र इमानदार हृदय हो। यदि मानिसले आफ्नो हृदयबाट परमेश्‍वरसँग कुरा गर्दैन भने, उहाँले उसको हृदयलाई प्रेरित गर्नुहुनेछैन वा उसमा काम गर्नुहुनेछैन। तसर्थ, प्रार्थनाको मुख्य विषय भनेको परमेश्‍वरलाई तेरा कमजोरीहरू वा विद्रोही स्वभावबारे बताउँदै आफूलाई उहाँसामु पूर्ण रूपमा खुला राख्दै तेरो हृदयदेखि परमेश्‍वरसँग कुरा गर्नु हो; तब मात्र परमेश्‍वरले तेरो प्रार्थनामा चासो राख्नुहुनेछ, अन्यथा उहाँले आफ्नो अनुहार तँबाट लुकाउनुहुनेछ। प्रार्थनाको लागि न्यूनतम मापदण्ड भनेको तैँले आफ्नो हृदयलाई परमेश्‍वरसमक्ष शान्त राख्न सक्षम हुनुपर्दछ, र यो, परमेश्‍वरबाट अलग हुनुहुँदैन भन्‍ने हो। के हुन सक्छ भने, यस चरणको अवधिमा, तैँले नयाँ वा उच्च अन्तर्दृष्टि प्राप्त गर्दैनस्, तर त्यसबेला तैँले यथास्थिति कायम राख्नको लागि प्रार्थनाको उपयोग गर्नैपर्दछ—तँ पछाडि हट्नुहुँदैन। तैँले प्राप्त हासिल गर्नुपर्ने सबैभन्दा सानो कुरा यही हो। यदि तैँले यो पनि पूरा गर्न सक्दैनस् भने, यसले तेरो आत्मिक जीवन सही मार्गमा छैन भन्‍ने प्रमाणित गर्छ। परिणामस्वरूप, तँ पहिले आफूसँग भएको दर्शनलाई कायम राख्न असमर्थ हुनेछस्, तैँले परमेश्‍वरमाथिको विश्‍वास गुमाउनेछस्, र त्यसपश्‍चात तेरो सङ्कल्प लोप हुनेछ। तँ आत्मिक जीवनमा प्रवेश गरेको छस् कि छैनस् भन्‍ने कुराको एउटा सङ्केत भनेको तेरा प्रार्थनाहरू सही मार्गमा छन् कि छैनन् भनेर हेर्नु हो। सबै मानिसहरू यस यथार्थतामा प्रवेश गर्नैपर्छ; उनीहरू सबैले आफूलाई सचेतनापूर्वक आफूहरूलाई प्रार्थनामा तालिम दिने काम गर्नैपर्दछ, निष्क्रिय रूपमा पर्खेर होइन, तर ध्यानपूर्वक पवित्र आत्माद्वारा उत्प्रेरित हुन खोजेर। त्यसपछि मात्र उनीहरू साँचो रूपले परमेश्‍वरको खोजी गर्ने मानिसहरू हुनेछन्।

जब तँ प्रार्थना गर्न सुरु गर्छस्, एकै झट्कामा सबै प्राप्त गर्ने आशा गर्दै आफैलाई असफल नबना। तैँले आफ्नो मुख खोल्नासाथै तँ पवित्र आत्माद्वारा उत्प्रेरित हुनेछस्, वा तैँले अन्तर्ज्ञान वा ज्योति प्राप्त गर्नेछस्, वा परमेश्‍वरले तँमाथि अनुग्रह वर्षाउनुहुनेछ भन्‍ने आशा गरेर तैँले आवश्यकताभन्दा बढी माग गर्न सक्दैनस्। त्यसो हुनेछैन; परमेश्‍वरले अलौकिक कामहरू गर्नुहुन्न। परमेश्‍वरले उहाँको आफ्नै समयमा मानिसहरूका प्रार्थनाहरू स्वीकार गर्नुहुन्छ, र कहिलेकाहीँ तँ उहाँसामु निष्ठावान् छस् कि छैनस् भनेर तेरो विश्‍वासको परीक्षण गर्नुहुन्छ। जब तँ प्रार्थना गर्छस् तँसँग विश्‍वास, दृढ निश्‍चयता, र सङ्कल्प हुनै पर्दछ। धेरै मानिसहरू, जब भर्खरै तालिम लिन सुरु गरेका हुन्छन्, तिनीहरू हरेस खान्छस् किनकि उनीहरू पवित्र आत्माद्वारा उत्प्रेरित हुन असफल हुन्छन्। यसले काम गर्दैन! तैँले लगनशील भएर प्रयत्न गर्नुपर्दछ; तैँले पवित्र आत्माको गतिशीलता महसुस गर्न र खोजी एवं अन्वेषण गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ। कहिलेकाहीँ, तेरो अभ्यासको मार्ग सही हुँदैन र कहिलेकाहीँ, तेरा व्यक्तिगत मनसायहरू एवं धारणाहरू परमेश्‍वरसमक्ष दृढ रूपमा कायम रहन सक्दैनन्, र त्यसैले परमेश्‍वरका आत्माले तँलाई उत्प्रेरित गर्न सक्‍नुहुन्‍न। अरू समयमा, परमेश्‍वरले तँ निष्ठावान् छस् कि छैनस् भन्‍ने हेर्नुहुन्छ। सङ्क्षेपमा भन्दा, तालिममा तैँले ठूलो मूल्य चुकाउनुपर्दछ। यदि तँ आफ्नो अभ्यासको पथबाट अचानक बरालिँदैछस् भन्‍ने पत्ता लगाइस् भने, तैँले आफ्नो प्रार्थना गर्ने तरिका बदल्न सक्‍छस्। जबसम्म तँ इमानदार हृदयले खोजी गर्छस् र प्राप्त गर्न उत्कट इच्‍छा राख्छस्, तबसम्‍म पवित्र आत्माले तँलाई निश्‍चित रूपमा यस यथार्थतामा लैजानुहुन्छ। कहिलेकाहीँ तँ निष्कपट हृदयले प्रार्थना गर्छस् तर तैँले विशेष रूपले उत्प्रेरित भएको महसुस गर्दैनस्। यस्ता समयहरूमा, परमेश्‍वरले तेरा प्रार्थनाहरूलाई हेर्नुहुन्छ भन्‍ने विश्‍वास गर्दै तँ विश्‍वासमा निर्भर हुनुपर्छ; तँ आफ्ना प्रार्थनाहरूमा अटल रहनुपर्छ।

इमानदार व्यक्ति बन्; तेरो हृदयमा भएको छलकपटबाट छुट्कारा पाउन परमेश्‍वरलाई प्रार्थना गर्। प्रार्थनाको माध्यमबाट आफूलाई सधैँ शुद्ध पार्, प्रार्थनाको माध्यमबाट परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित बन्, र तेरो स्वभाव बिस्तारै परिवर्तन हुनेछ। साँचो आध्यात्मिक जीवन प्रार्थनाको जीवन हो—यो त्यस्तो पवित्र आत्माद्वारा उत्प्रेरित जीवन हो। पवित्र आत्माद्वारा उत्प्रेरित हुने प्रक्रिया नै मानिसको स्वभाव परिवर्तन गर्ने प्रक्रिया हो। पवित्र आत्माद्वारा उत्प्रेरित नभएको जीवन आत्मिक जीवन होइन, तर केवल धार्मिक विधिविधानको जीवन मात्रै हो। पवित्र आत्माद्वारा प्रायजसो प्रेरित हुने, र पवित्र आत्माद्वारा ज्ञानी एवं प्रज्वलित हुनेहरू मात्रै, आत्मिक जीवनमा प्रवेश गरेका हुन्छन्। प्रार्थना गर्दा मानिसको स्वभाव निरन्तर रूपमा परिवर्तन हुन्छ। परमेश्‍वरका आत्माले उसलाई जति धेरै उत्प्रेरित गर्नुहुन्छ, ऊ त्यति नै सक्रिय र आज्ञाकारी बन्दछ। यसकारण, उसको हृदय पनि बिस्तारै शुद्ध हुनेछ, र उसको स्वभाव बिस्तारै परिवर्तन हुनेछ। साँचो प्रार्थनाको प्रभाव यस्तै हुन्छ।

अघिल्लो: परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

अर्को: परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्