परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति

कुनै व्यक्तिले परमेश्वरमा साँच्चै विश्वास गर्छ कि गर्दैन भनी हेर्न परमेश्वरप्रति उसको मनोवृत्ति नियाल्नुपर्छ। यदि उसले परमेश्वरलाई डर मान्ने र समर्पित हृदयसाथ व्यवहार गर्छ भने उसले परमेश्वरप्रति साँच्चै विश्वास गर्छ। तर, उसमा परमेश्वरप्रति कुनै डर वा समर्पण छैन भने उसमा साँचो विश्वास हुँदैन। मानिसहरूले परमेश्वरप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ? तिनीहरूले उहाँको डर मान्नुपर्छ अनि उहाँलाई पालन गर्नुपर्छ। परमेश्वरको डर मान्न सक्नेहरूले सत्यता खोज्न अनि स्विकार्न सक्छन्। परमेश्वरलाई पालन गर्न सक्नेहरूले उहाँको इच्छाको ख्याल राख्न सक्छन्; तिनीहरू आफूले गर्ने सबथोकमा परमेश्वरलाई सन्तुष्ट पार्न लागिपर्छन्। सत्यता पछ्याउने जोकोहीमा यी दुई गुणहरू हुन्छन्। परमेश्वरको डर मान्ने वा आज्ञापालन गर्ने हृदय नभएकाहरू पक्कै पनि सत्यता पछ्याउनेहरू होइनन्।

सत्यताको पछ्याइको अभ्यास ठ्याक्कै कसरी गर्नुपर्छ त? के तिमीहरूले आफ्‍नो कर्तव्य दैनिक रूपमा निर्वाह गर्ने क्रममा परमेश्‍वरको कामको अनुभव गर्छौ? समस्याहरूको सामना गर्दा के तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गरेका छौ, र के तिमीहरूले ती समस्याहरूलाई सत्यताको खोजी गरेर समाधान गर्न सक्छौ? यो जीवन प्रवेशको विषयसँग सम्‍बन्धित छ। जब तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छौ, के तिमीहरू परमेश्वरका वचनअनुसार आत्म-चिन्तन गर्न र आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्न सक्छौ? यदि तँ यसरी अभ्यास र अनुभव गर्न सक्दैनस् भने, यो परमेश्‍वरमा विश्‍वास गर्नुसँग सम्‍बन्धित नै हुँदैन। तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तैँले परमेश्‍वरका वचनहरूका कुन पक्षहरू, साथै आफ्‍ना कुन सोचाइ, विचार, वा गलत अभिप्रायहरू समावेश छन् भन्ने बुझ्ने प्रयास गर्नुपर्छ, किनभने यी सबै मानिसको स्थितिका भागहरू हुन्। मानिसको स्थितिमा के-के कुरा समावेश हुन्छन्? यसमा मानिसहरूको दृष्टिकोण, मनोवृत्ति, अभिप्राय, र विचार, साथै केही शैतानी जीवनदर्शन, तर्क, र ज्ञान समावेश हुन्छ—र छोटकरीमा भन्दा, यी सबै कुरा मानिसहरूको कामका आम तौरतरिका र विधिहरू र अरूलाई गर्ने व्यवहारसँग सम्‍बन्धित हुन्छन्। कुनै परिस्थितिको सामना गर्दा, सुरुमा आफ्नो विचार के हो सो जाँच्‍नुपर्छ—पहिलो कदम यही नै हो। दोस्रो कदम भनेको त्यो दृष्टिकोण सही छ कि छैन भनेर जाँच्‍नु हो। त्यसो भए, आफ्नो दृष्टिकोण सही छ कि गलत छ भनेर कसरी निर्धारित गर्ने? यसलाई एकातर्फ परमेश्‍वरका वचनहरूद्वारा निर्धारित गरिन्छ भने अर्कोतर्फ सम्‍बन्धित परिस्थितिको प्रकारका सिद्धान्तहरूअनुसार निर्धारित गरिन्छ: उदाहरणको लागि, परमेश्‍वरको घरका कार्य बन्दोबस्त, हित र नियमहरू, साथै परमेश्‍वरका स्पष्ट वचनहरू। कुनै पनि दृष्टिकोण सही हो कि होइन भन्‍ने कुरा निर्धारित गर्नका लागि यी कुराहरूको प्रयोग गर्। मापन गर्ने मापदण्डहरू तिनै हुन्। के तिमीहरू कुनै परिस्थिति सामना गर्दा आफ्ना दृष्टिकोणलाई जाँच्छौ? तैँले तिनलाई वास्तवमै पहिचान गर्न सके वा नसके पनि, पहिलो कदम भनेको तैँले यसरी अभ्यास गर्नैपर्छ। मानिसहरूले जेसुकै गरे पनि, तिनीहरू सबैमा त्यसबारे निश्चित दृष्टिकोण हुन्छ। यो दृष्टिकोण कसरी निर्माण हुन्छ? यो तैँले परिस्थितिलाई कसरी हेर्छस्, केका आधारमा आफ्नो परिप्रेक्ष्य निर्माण गर्छस्, त्यस परिस्थितिलाई सम्हाल्ने योजना कसरी बनाउँछस्, अनि त्यसलाई केका आधारमा सम्हाल्छस्। यी सब तेरो दृष्टिकोण का अंश हुन्। उदाहरणका लागि, मानवजातिको भ्रष्टताबारे तेरो के दृष्टिकोण छ? तेरो परिप्रेक्ष्य केमा आधारित छ? तँ यो विषयलाई कसरी लिन्छस्? यी सबै कुराहरूमा व्यक्तिले मामिलाहरूबारे राख्ने दृष्टिकोण संलग्न हुन्छ। व्यक्तिले कुनै पनि मामिलाबारे राख्ने दृष्टिकोण को कुरा आउँदा यो पनि लागु हुन्छ; परिस्थिति जस्तोसुकै भए पनि, मानिसहरूले हरेक मामिला सम्हाल्दा प्रयोग गर्ने मनोवृत्ति र तरिका पछाडि तिनीहरूको आफ्नै दृष्टिकोण हुन्छ। यस दृष्टिकोण ले तिनीहरूको कार्य गर्ने तरिकालाई डोऱ्याउनेछ र नियन्त्रण गर्नेछ। अनि यही दृष्टिकोण को स्रोतले त्यो सही छ कि गलत भन्ने निर्धारण गर्छ। उदाहरणका लागि, यदि तेरो दृष्टिकोण शैतानी दर्शन र तर्कमा आधारित छ, अनि तेरो भाषणपछाडिको अभिप्राय प्रसिद्धि र गौरव कमाउनु हो, झन् बढी मानिसहरूले तँलाई चिनून् र बुझून्, तँलाई सम्झिऊन् र स्विकारून् भन्ने हो भने तैँले सुध्रिन जमर्को गर्नुपर्ने सुरूवाती विन्दु यही हो। यदि तँसँग यस्तो खालको गलत अभिप्राय छ भने त्यसबाट उत्पन्न हुने दृष्टिकोण र तरिकाहरू पनि पक्कै गलत हुनेछन् र सत्यता अनुरूप पक्कै हुनेछैनन्। तँमा गलत दृष्टिकोण, मनोवृत्ति, र तरिकाहरू विकास हुँदा, के तँ तिनलाई चिन्न सक्छस्? यदि तँ ती कुरा कतिको सही वा गलत छन् भनी मूल्याङ्कन गर्न सक्छस् भने, तैँले परमेश्वरको इच्छा सन्तुष्ट पार्ने आधारभूत सर्त पूरा गर्छस्; तर यो परम सर्त चाहिँ होइन। परम सर्त के हो त? तैँले आफ्नो दृष्टिकोण, अभिप्राय, व्यक्तिगत योजना र चाहना गलत छन् भन्ने मूल्याङ्कन गर्दा, ती गलत दृष्टिकोण अनुरूप कार्य नगर्न के गर्न सक्छस्? यसका लागि तैँले आफ्नो गलत अभिप्राय र दृष्टिकोण त्याग्नुपर्छ, अनि साथसाथै सत्यता खोज्नुपर्छ। तँलाई आफ्ना दृष्टिकोण गलत छन्, ती न सत्यता न त परमेश्वरको इच्छाअनुरूप नै छन्, परमेश्वरले तिनलाई घृणा गर्नुहुन्छ भन्ने पूर्णत: थाहा, तसर्थ तैँले ती त्याग्नुपर्छ। देहलाई त्याग्नुको उद्देश्य के हो? त्यसको उद्देश्य परमेश्वरको इच्छाअनुसार, सत्यताअनुरूप कामकुरा गर्नु, अनि फलस्वरूप सत्यता अभ्यास गर्न सक्ने हुनु हो। तर यदि तँ आफ्ना गलत दृष्टिकोण हरू त्याग्न सक्दैनस् भने तैँले सत्यता अभ्यास गर्न वा सत्यता वास्तविकता जिउन सक्दैनस्; यसको अर्थ तैँले जे बुझ्छस् कुरा धर्मसिद्धान्त मात्र हो। तैँले जेबारे बोल्छस् ती कुराले तेरो व्यवहारलाई सीमित गर्न, तेरा कार्यलाई डोऱ्याउन, वा तेरा गलत दृष्टिकोण लाई सच्याउन सक्दैनन्, जसबाट त्यो धर्मसिद्धान्त मात्र हो भनेर झनै पुष्टि हुन्छ। तसर्थ, पहिलो कदम आफ्ना दृष्टिकोण लाई जाँच्नु हो। दोश्रो कदम ती दृष्टिकोण कतिको सही छन् भनी तोल्नु हो: गलत दृष्टिकोण लाई त्यागिनै अनि खारेज गरिनैपर्छ; सही दृष्टिकोण लाई पालन र कायम गरिनैपर्छ। अहिले तिमीहरूको कठिनाइ के हो? एकातिर, तिमीहरू आफूलाई विरलै जाँच्छौ, तिमीहरूमा यो बानी बसेकै छैन। अर्कोतिर, आफूलाई जाँच्दा समेत, तिमीहरूलाई आफ्ना अभिप्राय र दृष्टिकोण सही छन् कि छैनन् भनी थाहा हुँदैन। तिमीहरूलाई ती सही र गलत दुवै लाग्छन्, त्यसैले अन्त्यमा तिमीहरू अलमलिएको र अन्योलमा परेको महसुस गर्छौ, अनि आफ्नै तरिकामा कामकुरा गर्छौ—यो एउटा खालको परिस्थिति हो। अरू कस्ता परिस्थितिहरू हुन्छन्? (कहिलेकाहीँ म आफ्ना अभिप्राय र दृष्टिकोण लाई चिन्छु, अनि तिनलाई त्याग्न चाहन्छु, तर आफ्नो भ्रष्ट स्वभावलाई जित्न सक्दिनँ। त्यसैले म सम्झौता गर्छु, आफैलाई सहज बनाउन कारण र बहानाहरू बनाउँछु। त्यसपछि म अभ्यास गर्न असफल हुन्छु, अनि पछि पछुतो हुन्छ।) यो भनेको सत्यताप्रति समर्पित हुने र त्यसलाई प्रेम गर्ने हृदय नहुनु हो। यदि कसैले हृदयमा सत्यतालाई निकै प्रेम गर्छ भने उसले प्राय: आफ्ना केही गलत अभिप्राय र दृष्टिकोण लाई जित्न अनि तिनलाई त्याग्न सक्नेछ। पक्कै पनि, केही विशेष परिस्थितिहरू हुन्छन् जहाँ धेरैजसो मानिसहरूलाई तिनलाई जित्न गाह्रो लाग्छ। तैँले पनि तिनलाई जितेको छैनस् भने त्यो सामान्य कुरा नै हो। तर यदि धेरैजसो सामान्य मानिसले जित्न सक्छन् तर तँलाई त्यसो गर्न एकदमै कठिन लाग्छ भने यसले के पुष्टि गर्छ? यसले तेरो सत्यताप्रतिको प्रेम विशाल छैन अनि सत्यता अभ्यास गर्नु तेरा लागि महत्त्वपूर्ण छैन भन्ने देखाउँछ। तेरा लागि के महत्त्वपूर्ण छ त? आफ्नै दृष्टिकोण मा अडिग रहिरहने, आफ्नो मन ढुक्क बनाउने, आफ्ना चाहना सन्तुष्ट पार्ने—तेरा लागि महत्त्वपूर्ण कुरा यिनै हुन्। परमेश्वरका मागहरू पूरा गर्ने, सत्यता अभ्यास गर्ने, परमेश्वरको हृदयलाई सन्तुष्ट पार्ने अनि उहाँप्रति समर्पित हुने—तेरो हृदयमा यी मध्ये कुनै पनि कुरा महत्त्वपूर्ण छैनन्। यसले तेरा भित्री अभिप्राय र तैँले पछ्याउने दृष्टिकोण को खुलासा गर्छ।

कुनै व्यक्तिको स्थितिमा मुख्यत: के समावेश हुन्छ? (उसका अभिप्राय, अडान र दृष्टिकोण पर्छन्।) उसको स्थितिमा मुख्यत: यी कुराहरू समावेश हुन्छन्। मानिसहरूको स्थितिमा सबैभन्दा धेरै पाइने कुरा के हो? यो कुरा मानिसहरूले केही सामाना गर्दा तिनीहरूको हृदयमा बारम्बार देखा पर्छ, अनि त्यो, तिनीहरूले आफ्ना विचार मा सचेत रूपमै चिन्न सक्ने कुरा हो—तिमीहरूलाई त्यो के हो जस्तो लाग्छ? (तिनीहरूका अभिप्राय।) ठिक। अभिप्राय स्पष्ट रूपमा मानिसको स्थितिको अंश, अनि सबैभन्दा बढी पाइने कुरा हो; धेरैजसो मामिलाहरूमा, मानिसका आफ्नै सोच र अभिप्राय हुन्छन्। यस्ता सोच र अभिप्राय आउँदा, मानिसहरू तिनलाई जायज ठान्छन्, तर प्राय: जसो ती सोच र अभिप्राय तिनीहरूकै खातिर, तिनीहरूको आफ्नै घमण्ड र हितका लागि वा त केही ढाकछोप गर्न, वा कुनै तरिकाले आफैलाई सन्तुष्ट पार्नका लागि हुन्छन्। यस्तो बेलामा, तैँले आफ्नो अभिप्राय कसरी आयो, त्यो किन उत्पन्न भयो भनेर जाँच्नुपर्छ। उदाहरणका लागि, परमेश्वरको घरले तँलाई मण्डली शुद्ध पार्ने काम अह्रायो, अनि त्यहाँ एउटा यस्तो व्यक्ति छ जो सधैँ आफ्नो कर्तव्यमा लापरवाह र झाराटरूवा हुँदै आएको छ, जो सधैँ काम छल्ने उपाय खोज्छ। सिद्धान्तअनुसार, यस व्यक्तिलाई हटाइनुपर्छ तर तेरो ऊसँग राम्रो सम्बन्ध छ। त्यसोभए तँभित्र कस्ता सोच र अभिप्राय पैदा हुनेछन्? तैँले कसरी अभ्यास गर्नेछस्? (आफ्नै प्राथमिकताहरूअनुसार कार्य गर्नेछु।) अनि यी प्राथमिकताहरू कसरी बन्छन्? किनकि यो व्यक्तिले तँसँग असल व्यवहार गर्छ वा उसले तेरा लागि केही गरिदिएको छ, उसले तँमाथि राम्रो छाप छोडेको छ, र त्यसैले यसबेला तँ उसलाई बचाउन, उसको पक्ष लिन चाहन्छस्। के यो भावनाहरूको असर होइन र? तँ ऊप्रति भावुक हुन्छस्, अनि त्यसैले “उच्च अधिकारीहरूसँग नीति हुन्छन् भने स्थानीयहरूसँग तिनको जवाफी उपाय हुन्छन्” भन्ने विचार अपनाउँछस्। तँ दुईजिब्रे भइरहेको छस्। एकातिर, तँ उसलाई भन्छस्, “तिमीले कार्य गर्दा अलि बढी प्रयास लगाउनुपर्छ। लापरवाह र झाराटरूवा हुन बन्द गर, तिमीले अलिकति कठिनाइ त भोग्नैपर्छ; यो हाम्रो कर्तव्य हो।” अर्कोतिर, तँ माथिकालाई उत्तर दिँदै भन्छस्, “ऊ सुध्रिएको छ, अहिले ऊ आफ्नो कर्तव्य निर्वाह गर्दा झन् प्रभावकारी भएको छ।” तर खासमा तँ आफ्नो मनमा यस्तो सोचिरहेको हुन्छस्, “यो मैले उसलाई सुधारेकोले गर्दा हो। मैले नसुधारेको भए, ऊ अझै पनि पहिलेजस्तै हुने थियो।” तेरो मनमा तँ सधैँ यस्तो सोचिरहन्छस्, “उसले मलाई राम्रो व्यवहार गर्छ, उसलाई हटाउन मिल्दैन!” तेरो अभिप्रायमा यस्ता कुराहरू हुनु भनेको कस्तो स्थिति हो? यो भनेको व्यक्तिगत भावनात्मक सम्बन्धहरूलाई बचाएर मण्डलीको कामलाई हानि पुऱ्याउनु हो। के यसरी कार्य गर्नु सत्यता सिद्धान्त अनुरूप हुन्छ? अनि के तैँले यसो गर्दा त्यो आज्ञापालन गरेको हुन्छ? (हुँदैन।) त्यसमा कुनै आज्ञापालन हुँदैन; तेरो हृदयमा प्रतिरोध छ। तैँले भोग्ने कुराहरू र तैँले गर्नुपर्ने काममा, तेरा आफ्नै व्यक्तिगत मूल्याङ्कनहरू हुन्छन्, अनि त्यसमा भावनात्मक कारकहरू पनि मिसिएका हुन्छन्। तैँले भावनाको आधारमा कामकुरा गरिरहेको छस्, अनि तैपनि तैँले निष्पक्ष भएर कार्य गरिरहेको छ्स्, मानिसहरूलाई पश्चाताप गर्ने मौका दिइरहेको छस्, अनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग गरिरहेको छस् भन्ने विश्वास गर्छस्; तसर्थ तँ परमेश्वरले भनेजस्तो होइन आफूले चाहेजस्तो गर्छस्। यसरी काम गर्नु भनेको कामलाई महत्त्व नदिनु हो, यसले प्रभावकारिता घटाउँछ, अनि मण्डलीको कामलाई हानि पुऱ्याउँछ—यो सबै आफ्नो भावनाका अनुसार कार्य गरेको नतिजा हो। यदि तैँले आत्म-चिन्तन गर्दैनस् भने, के तैँले समस्या पहिचान गर्न सक्नेछस् र? कहिल्यै सक्नेछैनस्। तँलाई यसरी कार्य गर्नु गलत हो, यो अनाज्ञाकारी हुनु होइन भनेर थाहा होला तर तँ यसबारे सोचेर आफूलाई यसो भन्छस्, “मैले तिनीहरूलाई प्रेमका साथ सहयोग गर्नुपर्छ, अनि तिनीहरू सहयोग पाएर सुध्रिएपछि, तिनीहरूलाई हटाउनै पर्नेछैन। के परमेश्वरले मानिसलाई पश्चाताप गर्ने मौका दिनुहुन्न र? परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ, त्यसैले मैले तिनीहरूलाई प्रेमका साथ सहयोग गर्नैपर्छ, र मैले परमेश्वरले भनेझैँ गर्नैपर्छ।” यी कुराहरू सोचेपछि, तँ आफ्नै शैलीमा काम गर्छस्। पछि, तेरो हृदय ढुक्क हुन्छ; तँलाई आफूले सत्यता अभ्यास गरिरहेको झैँ लाग्छ। यो प्रक्रिया दौरान, के तैँले सत्यताअनुसार अभ्यास गरिस् कि आफ्नै प्राथमिकता र अभिप्रायअनुसार कार्य गरिस्? तेरा कार्यहरू पूर्ण रूपमा तेरा आफ्नै प्राथमिकता र अभिप्रायअनुसार थिए। यो पूरै प्रक्रिया दौरान, तैँले कुराहरूलाई मिलाउन आफ्नै तथाकथित दया र प्रेम, भावना, अनि संसारसँग व्यवहार गर्ने आफ्नै दर्शनको प्रयोग गरिस्, अनि तटस्थ रहने प्रयास गरिस्। तैँले यस व्यक्तिलाई प्रेमका साथ सहयोग गरेको जस्तो देखिन्थ्यो, तर खासमा तँ आफ्नो हृदयमा भावनाहरूद्वारा बाँधिएको थिइस्—अनि माथिकाहरूलाई थाहा हुन्छ भन्ने डरले तैँले त्यो व्यक्ति र माथिकाहरू, दुवैलाई सम्झौताले फकाउने प्रयास गरिस् ताकि कोही नचिढिओस् र काम होस्—अविश्वासीहरूले तटस्थ रहन प्रयोग गर्ने तरिका जस्तै हो यो। वास्तवमा, परमेश्वरले यो परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? उहाँले तँलाई सत्यताप्रति समर्पित नहुने, सत्यता र परमेश्वरका मागप्रति प्राय: अनुसन्धानात्मक, विश्लेषणात्मक मनोवृत्ति राख्ने व्यक्तिको रूपमा वर्गीकरण गर्नुहुनेछ। तैँले यो तरिका प्रयोग गरेर सत्यता र परमेश्वरका मागहरूलाई व्यवहार गर्दा, अनि यो मनोवृत्तिले आफ्ना कर्तव्य निर्वाह गर्दा तेरो अभिप्रायले कस्तो भूमिका खेल्छ त? यसले परमेश्वरका मागहरूको केही ख्याल नराखी, अनि तेरो आफ्ना कर्तव्य वा मण्डलीको काममा कुनै सकारात्मक प्रभाव नपारी तेरा आफ्नै स्वार्थ, तेरो आफ्नै घमण्ड, अनि तेरा पारस्परिक सम्बन्धहरूलाई बचाउने काम गर्छ। यस्तो व्यक्ति पूर्णत: संसारसँग व्यवहार गर्ने दर्शनसाथ जिइरहेको हुन्छ। उसले बोल्ने र गर्ने सबै कुरा उसको आफ्नै घमण्ड, भावनाहरू, पारस्परिक सम्बन्धहरूको रक्षा गर्नका निम्ति हुन्छन्, तैपनि ऊ सत्यता र परमेश्वरप्रति साँचो रूपमा समर्पित हुँदैन, न त ऊ यी समस्याहरू छन् भनी ऐलान गर्ने वा स्विकार्ने प्रयास नै गर्छ। ऊ रत्तिभर पनि आत्म-निन्दा महसुस गर्दैन र ती समस्याका प्रकृतिबारे पूर्णत: अनजान नै रहन्छ। यदि मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदयको अभाव छ भने, र यदि तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै ठाउँ छैन भने, तिनीहरूले जुनसुकै कर्तव्यहरू पूरा गरिरहेका भए तापनि वा तिनीहरू जुनसुकै समस्याहरूसँग जुधिरहेका भए तापनि, तिनीहरूले कहिले पनि सिद्धान्तअनुसार काम गर्न सक्दैनन्। आफ्ना अभिप्राय र स्वार्थी इच्छाहरूभित्र बाँचिरहेका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा, यदि तिनीहरूले समस्याको सामना गरे, र तिनीहरूले आफ्ना अभिप्रायमाथि समालोचनात्मक दृष्टिले हेर्दैनन् र आफ्ना अभिप्रायहरू कहाँनेर गलत छन् भनी पहिचान गर्दैनन्, तर यसको सट्टा तिनीहरूले आफ्ना निम्ति झुटहरू र बहाना सिर्जना गर्नका निम्ति सबै किसिमका औचित्यहरूको प्रयोग गर्छन्, तब अन्त्यमा के हुन्छ? तिनीहरूले आफ्ना हितहरू, गौरव र पारस्परिक सम्बन्धहरूको सुरक्षा गर्ने राम्रो काम गर्छन्, तर तिनीहरूले परमेश्‍वरसँगको सामान्य सम्बन्धलाई गुमाएका हुन्छन्। केही मानिसहरूले परमेश्वरमा विश्वास गरेका निकै लामो समय भइसक्यो, तर तिनीहरूलाई आफ्नो कुनै व्यक्तिगत अनुभवबारे सङ्गति गर्न आग्रह गरिँदा, तिनीहरूसँग भन्नलाई केही हुँदैन, तिनीहरूले आफ्नो स्वभाव परिवर्तनसँग सम्बन्धित कुनै पनि अनुभवात्मक गवाही बताउन सक्दैनन्। यसको कारण के हो? तिनीहरू आफूलाई विरलै जाँच्छन्, अनि विरलै सत्यता सिद्धान्तअनुसार अभ्यास गर्छन्। तिनीहरू बरू आफ्नै बाटोमा हिँड्न, भ्रष्ट स्वभावमा जिउन रूचाउँछन्, आफ्नो कार्य आफ्नै अभिप्राय, दृष्टिकोण, चाहना र योजनाद्वारा डोऱ्याइयोस् भन्ने चाहन्छन्, अनि यो सब भइरहँदा पश्चातापहीन नै रहन्छन्। तिनीहरूले विश्वास गर्ने परमेश्वरमा नै हो, अनि तिनीहरूले सुन्ने परमेश्वरका वचनहरू नै हुन्; तिनीहरूले प्राप्त गर्ने, अनि सङ्गति र प्रचार गर्ने पनि सत्यता नै हो—तर तिनीहरूले वास्तवमा अभ्यास चाहिँ के गर्छन् त? तिनीहरू परमेश्वरका माग अनुसार नभई आफ्नै अभिप्राय र कल्पनाअनुसार मात्र अभ्यास गर्छन्। त्यसोभए परमेश्वरका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ त? तिनीहरूले परमेश्वरका मागहरूलाई कसरी व्यवहार गर्छन् त? मानिसहरू परमेश्वरको काम अनुभव गर्ने कुन पक्षमा सबैभन्दा होसियार हुनुपर्छ? तिनीहरूले परमेश्वरका वचनहरूलाई कसरी अनुभव गर्नुपर्छ अनि सत्यता कसरी अभ्यास गर्नुपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण विषय हो। यदि कसैले परमेश्वरका वचन र प्रवचन सुनेपछि गएर तिनलाई अभ्यास गर्दैन भने के उसले साँच्चै परमेश्वरमा विश्वास गरिरहेको हुन्छ त? के उसले साँच्चै उहाँको काम अनुभव गरिरहेको हुन्छ त? ऊ, हुनुपर्ने ठाउँमा किन होसियार भइरहेको छैन? उसले सत्यता अभ्यास गर्नुपर्ने बेला किन परमेश्वर र उहाँका वचनहरूलाई शङ्का गरिरहेको हुन्छ? “परमेश्वरले यी माग किन गर्नुहुन्छ? के ती उहाँका वचन अनुरूप छन्? यदि परमेश्वरले यसरी माग गर्नुहुन्छ भने, के उहाँ अझै प्रेम हुनुहुन्छ त? उहाँले यस्ता माग गर्ने काम गर्नुहुन्छ जस्तै लाग्दैन, होइन र? म यो स्विकार्न सक्दिनँ। परमेश्वरका माग त्यति दृष्टिकोण शील छैनन्, ती मानव धारणा र कल्पना विरुद्ध छन्।” मलाई भन, के यसरी मामिलाहरू नापतौल गर्ने व्यक्तिले सत्यता स्विकार्न सक्छ त? (सक्दैन।) यो सत्यता स्विकार्ने मनोवृत्ति होइन। परमेश्वरका मागलाई यस्तो मनोवृत्ति र यस्ता अभिप्रायसाथ नाप्नु र व्यवहार गर्नु—यो परमेश्वरप्रति आफ्नो हृदय खोल्नु हो कि बन्द गर्नु हो? (बन्द गर्नु हो।) यो स्वीकारको होइन, प्रतिरोधको मनोवृत्ति हो। परमेश्वरका मागको कुरा गर्दा, यस्ता मानिसले पहिले अनुसन्धान गर्छन् अनि केहीले त गिज्याउने समेत गर्छन्: “परमेश्वरले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसँग खासै अन्तरक्रिया गर्नुभएको छैन; उहाँलाई मण्डलीका मामिलाहरू थाहा छैन। के परमेश्वरको घरले कामकुरा अलिक बढी नै कट्टर भएर सम्हालिरहेको छैन र? हामी यसरी कामकुरा गर्दैनौँ। हामी दाजुभाइ-दिदीबहिनीहरूका अवस्थाको आधारमा कामकुरा गर्छौँ, तिनीहरूलाई मौका दिन्छौँ। अनि त्यसबाहेक, देहधारी परमेश्वरले मानव कमजोरीहरूलाई बुझिदिनु पर्छ! यदि उहाँले ख्याल नगरे, हामी गर्नेछौँ। परमेश्वरले ख्याल नगर्ने केही कुराहरू छन्, तर हामी गर्नेछौँ।” तिनीहरूले कस्तो मनोवृत्ति अपनाइरहेका छ्न्? यो प्रतिरोध, मूल्याङ्कन, अनि निन्दा गर्ने मनोवृत्ति हो। तिनीहरू मामिलाहरूलाई अनुसन्धान गर्छन् अनि आफ्नो फैसला व्यक्त गर्छन्। अनि तिनीहरूले कसरी फैसला गर्छन्? तिनीहरू यसो भन्छन्: “जे भए पनि, परमेश्वर धर्मी हुनुहुन्छ, अनि मैले विश्वास गर्ने परमेश्वरमा हो, कुनै मान्छेमा होइन। परमेश्वरले मानिसको हृदयको गहिराइ नियाल्नुहुन्छ।” यसको अर्थ के हो? (तिनीहरू देहधारी परमेश्वरलाई इन्कार गर्छन्।) ठिक। तिनीहरू हृदयमा ख्रीष्टलाई इन्कार गर्छन्, ख्रीष्टका वचनले परमेश्वरको प्रतिनिधित्व गर्छ भन्ने जरुरी छैन भनेर इङ्गित गर्छन्। जहाँ-जहाँ ख्रीष्टका कार्य र वचनहरूले तिनीहरूका आफ्नै स्वार्थ, अभिप्राय र दृष्टिकोणहरूका विपरीत हुन्छ्न् वा तिनलाई उल्लङ्गन गर्छन्, त्यहाँ तिनीहरू परमेश्वरलाई इन्कार गर्छन्। “जे होस्, मैले विश्वास गर्ने परमेश्वरमा हो, अनि परमेश्वर धर्मी हुनुहुन्छ। परमेश्वरले मानिसहरूको हृदयको गहिराइ नियाल्नुहुन्छ।” यी कस्ता वाक्य हुन्? के ती मूल्याङ्कन हुन्? यी वाक्यको प्रकृति कस्तो छ? (ईश्वर-निन्दा गर्ने खालको।) मानिसको पछाडि तिनीहरूको कुरा काट्नु मूल्याङ्कन गर्नु हो। परमेश्वरको पछाडि उहाँको कुरा काट्नु मूल्याङ्कन मात्र होइन; ईश्वर-निन्दा हो। के परमेश्वरको निन्दा गर्न सक्ने मानिसहरू साँचो विश्वासी हुन सक्छन् त? के तिनीहरू विवेक र समझ भएका मानिस हुन् त? के तिनीहरूलाई परमेश्वरले मुक्ति दिनुहुन्छ त? यी मानिसहरू केवल शैतानका नोकर हुन्, दुष्ट मानव हुन्, र तिनीहरूलाई इन्कार गरिनुपर्छ र निष्कासित गरिनुपर्छ।

के मण्डलीहरूमा परमेश्वरबारे कुरा काट्ने अनि उहाँको कामको मूल्याङ्कन गर्ने प्रकटीकरण हुन्छन्? ती व्याप्त नभए पनि हुन चाहिँ हुन्छन्, किनकि मण्डलीमा केही गैरविश्वासी र दुष्ट मानिसहरू हुन्छन्। अब, कुनै विशेष परिस्थितिमा, के परमेश्वरमा साँच्चै विश्वास गर्नेहरूको हृदयमा पनि यस्तो किसिमको स्थिति उत्पन्न हुन सक्ला र? यदि तिमीहरूमा मूल्याङ्कन, प्रतिरोध र ईश्वर-निन्दा जस्ता कुराहरू पैदा भएमा, तिमीहरूको भित्री प्रतिक्रिया के हुन्छ? के तिमीहरू त्यो समस्याको गम्भीर प्रकृति बुझ्न सक्छौ? उदाहरणका लागि, मानौँ कि तैँले कहिल्यै बिहे गरिनस्, तर तँ उचित वातावरणमा छस् अनि तैँले एकजना असल सम्भावित जीवनसाथी भेटिस् जोसँग तँ कुरा अघि बढाउन चाहन्छस्। तैँले विगतमा परमेश्वरलाई आफ्नो सम्पूर्ण जिन्दगी उहाँप्रति समर्पित गर्नेछु र जीवनसाथी खोज्नेछैनँ भनेर वाचा गरेको भए तापनि, तँलाई हृदयमा यस व्यक्तिसँग राम्रो हुन्छ भन्ने आभास भइरहेको छ, त्यसैले तँ उसँग कुरा अघि बढाउने निधो गर्छस्। तर भेटघाट गरिसकेपछि तैँले धेरै बाधाहरू छन् भन्ने पत्ता लगाउँछस्, अनि तैँले उसलाई भेट्नु उचित हुँदैन, र परमेश्वरले यसको अनुमति दिनुहुन्न भन्ने थाहा पाउँछस्। तँ उसलाई त्याग्न चाहन्छस्, तर छोडिहाल्न सक्दैनस्, त्यसैले परमेश्वरलाई प्रार्थना गर्छस् अनि आफैलाई सराप्छस् र हार मान्छस्, अनि अन्त्यमा तिमीहरू दुईको बिछोड हुन्छ। बिछोडपछि, तँ अत्यन्तै मानसिक तनावमा पर्छस्। यो सामान्य हो। यो मानव हुनुको सामान्य कमजोरी हो। तर तैँले परमेश्वरलाई दोष दिनैहुँदैन। के प्राय: मानिसहरू यस अनुभवबाट गुज्रेर पनि परमेश्वरलाई दोष नदिकन बस्न सक्लान्? प्राय:ले सक्दैनन्, अनि यसले तिनीहरूको सत्यता र परमेश्वरप्रतिको मनोवृत्ति दर्शाउँछ। यस्तो खालको अवस्थामा परमेश्वरलाई दोष दिने व्यक्तिको सोच कति गलत होला त? (यदि मैले परमेश्वमा विश्वास नगरेको भए, जीवनसाथी भेट्टाउन सक्थेँ।) के यस्तो खालको सोच हुनु ठूलो समस्या हो? ऊ परमेश्वरमा विश्वास गर्न चाहँदैन, हार मान्न चाहन्छ। ऊ यसो सोच्छ: “मैले परमेश्वरमा विश्वास गर्ने मार्ग नै किन रोजेँ? परमेश्वरमा विश्वास नगर्नु नै राम्रो हुन्थ्यो, मलाई जे मन लाग्यो त्यही गर्न सक्थेँ। यस्तो सुहाउने जीवनसाथी भेट्टाउन सजिलो हुँदैन; अहिले मैले उसलाई जान दिएँ भने, चाँडै म बुढो हुनेछु र मलाई कसैले चाहनेछैन। के म फेरि कहिल्यै जीवनसाथी खोज्ने प्रयास नगरौँ त? के मैले आफ्नो बाँकी जीवन यसरी नै बिताउनेछु?” नकारात्मक, पछुतोले भरिएका सोच यस व्यक्तिको दिमागमा यतिसम्म घुमिरहन्छन् कि ऊ उप्रान्त विश्वास नै गर्न चाहँदैन। यी परमेश्वरको विरोध गर्ने र उहाँलाई धोका दिने प्रकटीकरण हुन्। तर यो सबैभन्दा गम्भीर सोच होइन। योभन्दा गम्भीर सोच कस्तो हुन्छ? के तिमीहरूले यस्तो खालको कुरा अनुभव गरेका छौ। (छैनौँ।) यस्तो अनुभव नगर्नु वास्तवमै निकै खतरनाक हुन्छ। यस्ता कुरा अनुभव गरेकाहरूले तिनका केही निश्चित पक्षहरू स्पष्ट देख्न सक्छन्; पूर्णत: निश्चित नभए पनि, तिनीहरू तुलनात्मक रूपमा सुरक्षित नै हुन्छन्। त्यस्ता अनुभव नभएकाहरूले सामना गर्ने परीक्षा मामुली हुँदैन। तिनीहरू सतर्क रहनैपर्छ, किनकि सतर्क नहुनेबित्तिकै तिनीहरू परीक्षामा फसिहाल्छन्! केही मानिसहरू यस्तो सोच्छन्: “आखिरी दिनहरूमा जन्मनु र परमेश्वरद्वारा चुनिनु राम्रो कुरा हो। त्यसमाथि, म जवान नै छु, पारिवारिक उल्झन रहित छु, आफ्ना कर्तव्य पूरा गर्न स्वतन्त्र छु—यो परमेश्वरको अनुग्रह हो। यसको नराम्रो पक्ष एउटा मात्र छ; यदि मैले सुहाउँदो जीवनसाथी भेटेँ भने पनि तिनलाई भेटिरहन वा बिहे गर्न पाउँदिनँ। तर मैले जीवनसाथी खोज्न किन नपाउने? के बिहे पाप हो र? जीवनसाथी अनि बालबच्चा भएका कैयौँ दाजुभाइ-दिदीबहिनीहरू छैनन् र? अनि के तिनीहरूले पनि परमेश्वरमा विश्वास गर्दैनन् र? मैले चाहिँ जीवनसाथी खोज्न किन नपाउने? परमेश्वर धर्मी हुनुहुन्न!” तिनीहरूको परमेश्वरप्रतिको मूल्याङ्कन र असन्तुष्टि देखा पर्छ। तिनीहरू आफ्नो यो सब परमेश्वरले नै गर्नुभएको हो, यो सबै उहाँबाटै आउँछ भन्ने मन बनाउँछन्, त्यसैले उहाँसँग रिसाएर गुनासो पोख्छन्: “परमेश्वरले मलाई एकदम अन्याय गर्नुहुन्छ! उहाँ अति अदृष्टिकोण शील हुनुहुन्छ! अरूले बिहे गर्न हुने, मैले चाहिँ किन नहुने? अरूले बालबच्चा पाउन हुने, मैले चाहिँ किन नहुने? परमेश्वरले अरूलाई यो मौका दिनुहुन्छ, मलाई चाहिँ किन दिनुहुन्न?” गुनासो र मूल्याङ्कन पैदा हुन्छन्। यो कस्तो स्थिति हो? (प्रतिरोधी, विरोधी स्थिति।) प्रतिरोधी, असन्तुष्ट, अनिच्छुक स्थिति। तिनीहरूमा परमेश्वरले गर्ने कार्य स्विकार्ने वा त्यसप्रति समर्पित हुने अभिप्राय अलिकति पनि हुँदैन; तिनीहरू केवल उहाँले त्यसो नगरिदिनुभए हुन्थ्यो भन्ने इच्छा गर्छन्। तथापि, तिनीहरू अझै पनि बिहे गर्न हिच्किचाउँछन्, किनकि तिनीहरूले बिहे गरेर उल्झनमा परे भने, तिनीहरू यति स्वतन्त्र हुनेछैनन् र आफ्ना कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नेछैनन्, तसर्थ पछि मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्नबाट बञ्चित हुनेछन् भनी डराउँछन्। त्यतिबेला तिनीहरूले पछुतो गरेर के हुनेछ र? वास्तवमा, यो तैँले आफैले रोज्ने मार्ग हो। परमेश्वरले मानवलाई स्वतन्त्र इच्छा दिनुभएको छ। तँ जीवनसाथी खोजेर बिहे गर्न चाहन्छस् कि सत्यता र मुक्ति पछ्याउन चाहन्छस् भन्ने कुरा छनौट गर्न सक्छस्। यो पूर्णत: व्यक्तिगत छनौट हो; तैँले सही छनौट गर्छस् कि गलत भन्ने कुराको परमेश्वरसँग कुनै सम्बन्ध छैन, त्यसैले तँ किन उहाँलाई दोष दिन्छस्? तँ उहाँ धर्मी हुनुहुन्न भनेर किन गुनासो गर्छस्? तँ किन यति धेरै गुनासो गर्छस्? (किनकि मेरा स्वार्थ सन्तुष्ट भएनन्।) तेरा स्वार्थको कुरा आउँदा, तँ भित्र असन्तुष्ट बन्छस्। तैँले घाटा बेहोरेको महसुस गर्छस्, त्यसैले परमेश्वरलाई दोष दिन्छस् अनि गुनासो पोख्ने कारणहरू समेत खोज्छस्। यो कस्तो खालको स्वभाव हो? (द्वेषी स्वभाव।) यो द्वेष हो। परमेश्वरलाई दोष दिने, उहाँ धर्मी हुनुहुन्न भनी गुनासो गर्ने, र आफ्ना स्वार्थ सन्तुष्ट नहुँदा उहाँका प्रबन्धहरू अनुचित छन् भनी गुनासो गरिहाल्ने—यो द्वेषी र हठी, सत्यतालाई प्रेम नगर्ने स्वभाव हो। यस्ता स्थिति र सोच मानिसहरूमा कसरी उत्पन्न हुन्छन्? यदि यी परिस्थिति नहुने हुन् भने, के ती अझै उत्पन्न र प्रकट हुने थिए? (थिएनन्।) तैँले यस्तो परिस्थिति सामना नगर्दा, तेरा सान्दर्भिक स्वार्थ परमेश्वरका मागसँग ठोक्किने छैनन् अनि तेरा स्वार्थसँग कुनै पनि तरिकामा सम्झौता गरिनेछैन, त्यसैले तँ परमेश्वरप्रतिको तेरो प्रेम र पछ्याइ अरू सबैजनाको भन्दा राम्रो र बलियो छ भन्ने सोच्छस्। तर जब तैँले यस परिस्थितिको सामना गर्दा तेरा स्वार्थ संलग्न हुन्छन् र तैँले आफ्ना स्वार्थ त्याग्न सक्दैनस्, तब तँ परमेश्वरलाई दोष दिन्छस्। यो कुराबाट के देख्न सकिन्छ? मानिसहरूले परमेश्वरलाई के कारणले बारम्बार दोष दिन्छन् र मूल्याङ्कन गर्छन्? (जब तिनीहरूका आफ्ना स्वार्थ सन्तुष्ट हुँदैनन्।) जब मानिसहरूको आफ्नै स्वार्थहरूको कुरा आउँछ, जब तिनीहरूका अभिप्राय, चाहना, अनि योजना पूरा हुन सक्दैनन्, तब तिनीहरू परमेश्वरको प्रतिरोध, मूल्याङ्कन, र उहाँबारे गुनासो गर्छन्, र ईश्वर-निन्दा पनि गर्न सक्छन्। खासमा, मूल्याङ्कन गर्नु आफैमा एक किसिमको प्रतिरोधी स्थिति हो; ईश्वर-निन्दा त झनै गम्भीर हो। जब तिनीहरूका स्वार्थलाई हानि पुग्छ, तिनीहरू त्यसबारे जति सोच्छन् त्यति रिसाउँछन्, अनि जति असन्तुष्ट बन्छन्, त्यति अन्यायमा परेको महसुस गर्छन्। तिनीहरू प्रतिरोध गर्न थाल्छन्, अनि मनमा यी सोचहरू हुँदा, तिनीहरूका ओठबाट गुनासो पोखिन थाल्छ अनि तिनीहरू मूल्याङ्कन गर्न थाल्छन्। यो परमेश्वरलाई विरोध गर्ने सङ्केत हो।

व्यक्तिले परमेश्वरको प्रतिरोध गरेको देखाउने केही ठोस प्रकटीकरणहरू के हुन्? (आफ्नो कर्तव्य लगनशीलतापूर्वक निर्वाह नगर्नु; आफ्नो कर्तव्यमा लापरवाह र झाराटरूवा हुनु।) यो एउटा पक्ष हो। पहिला, यस व्यक्तिले आफ्नो उर्जाको ७० वा ८० प्रतिशत आफ्नो कर्तव्य निर्वाह गर्नमा लगाउन, अनि ऊ आफूले गरिरहेको काममा समर्पित हुन सक्थ्यो, तर अहिले ऊ परमेश्वरबारे अवधारणा पाल्छ, अनि आफ्नो कर्तव्य पूरा गरे पनि परमेश्वरको आशिष् वा अनुग्रह नपाएको महसुस गर्छ। परमेश्वरलाई अधर्मी भनेर मूल्याङ्कन गर्नबाहेक, उसको हृदयमा अनिच्छुकता पनि हुन्छ, त्यसैले ऊ आफ्नो कर्तव्य निर्वाह गर्दा पूर्णत: लापरवाह र झाराटरूवा रूपमा कार्य गर्दै, आफ्नो १० वा २० प्रतिशत मात्र लगाउँछ। यो विद्रोही स्थितिको कारण उत्पन्न हुने एक किसिमको प्रतिरोधी व्यवहार हो। अरू के हुन्छ? (लापरवाह परित्याग।) यो कसरी प्रकट हुन्छ? उदाहरणका लागि, मानौँ कुनै व्यक्ति समूह अगुवा भएर कार्य गर्दा, ८ बजेको भेलाका लागि ५ बजे नै उठेर प्रार्थना गर्ने, आत्मिक भक्तिमा संलग्न हुने अनि तयारी गर्ने गर्थ्यो। त्यसपछि उसले भेलामा सङ्गति गर्ने विषयवस्तु रेकर्ड गर्थ्यो। कर्तव्य निर्वाहप्रति उसको मनोवृत्ति गम्भीर थियो, ऊ आफूलाई त्यसमा पूर्णत: समर्पित गर्थ्यो। तर एक पटक उसलाई काँट-छाँट अनि निराकरण गरिएपछि, उसले यस्तो सोच्न थाल्यो: “सवेरै उठ्नुको के अर्थ छ र? परमेश्वरले त्यो देख्नुहुन्न, अनि कसैले त्यसको लागि मेरो प्रशंसा गर्दैन। मैले आफ्नो कर्तव्य निष्ठावान् भएर निभाउँछु भन्ने एकजना व्यक्ति पनि छैन। यसबाहेक, मैले कडा परिश्रम गरे पनि मलाई सधैँ निराकरण गरिन्छ। अनि मैले परमेश्वरको स्याबासी पनि त पाएको छैनँ; भविष्यका इनाम पनि अब खतरामा छन् जस्तो देखिन्छ।” त्यसैले अर्को भेलामा ऊ पूर्वतयारी वा उत्साहपूर्वक सङ्गति गर्दैन, अनि रेकर्ड राख्न पनि छोड्छ। यो कस्तो मनोवृत्ति हो? (गैरजिम्मेवार मनोवृत्ति।) ऊ गैरजिम्मेवार, लापरवाह र झाराटरूवा हुन्छ, अनि त्यस उप्रान्त उसले आफ्नो पूरै हृदय र बल समर्पण गर्न नै चाहँदैन। ऊ किन यस्तो हुन्छ? किनकि ऊभित्र केही कुराले समस्या पैदा गरिरहेको हुन्छ। ऊ परमेश्वरको प्रतिरोध गर्छ र उहाँसँग प्रतिस्पर्धा गर्दै यसो सोचिरहन्छ: “तपाईँले मलाई गर्ने काँट-छाँट र निराकरणले मलाई असहज बनाएको छ, त्यसैले म पनि तपाईँसँग यसरी नै व्यवहार गर्छु। म आफ्नो पूरै हृदय र मन समर्पित गर्ने गर्थेँ तर परमेश्वरले मलाई स्याबासी दिनुभएन। परमेश्वरले मानिसहरूलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ, त्यसैले म आइन्दा आफ्नो कर्तव्य निभाउने सक्दो प्रयास गर्नेछैनँ!” यो कस्तो स्वभाव हो? उसको जङ्गलीपन प्रकट भइरहेको छ; उसले आफ्नो हृदयमा परमेश्वरको धार्मिकतालाई, उहाँले मानिसको हृदयको गहिराइमा नियाल्नुहुन्छ, उहाँ मानिसलाई साँच्चै प्रेम गर्नुहुन्छ भन्ने कुरालाई, उहाँको सारलाई इन्कार गर्छ, अनि केवल आफ्नै धारणाको आधारमा उहाँलाई व्यवहार गर्छ। परमेश्वरलाई यसरी व्यवहार गर्दा कस्ता आचरणहरू देखा पर्छन्? लापर्बाही, लापरवाह परित्याग, अनि गैरजिम्मेवारी, साथै गुनासो र गलतफहमीहरू। उसले आफ्ना धारणा फैलाउँदै, अरूलाई उक्साउनेसमेत गर्नेछ: “परमेश्वरमा विश्वास गर्दैमा तैँले आशिष् पाउँछस् भन्ने सुनिश्चित हुँदैन। अनि तैपनि के आशिष् छ र? के कसैले ती देखेको छ र? हामी सबै पावलको मार्गमा हिँडिरहेका छौँ, हामीमध्ये कतिजना पत्रुसजस्तो हुन सक्छौँ र? परमेश्वरद्वारा सिद्ध बनाइन कहाँ त्यति सजिलो छ र!” उसले के फैलाइरहेको छ? परमेश्वरबारे उसको मूल्याङ्कन, धारणा, साथै, उहाँप्रतिको उसको असन्तुष्टता। यो कस्तो प्रकृतिको व्यवहार हो? के यो झगडालु प्रकृतिको व्यवहार हो? (हो।) तिनीहरू कसरी यति झगडालु हुन सक्छन्? किनकि तिनीहरूले पाल्ने दृष्टिकोण गलत छन्। तिनीहरूले मानिसप्रति परमेश्वरको मनोवृत्ति, उहाँले तिनीहरूबाट गर्ने मागहरू, अनि तिनीहरूलाई गर्ने व्यवहारलाई गलत बुझिरहेका छन्—तिनीहरू यी कुरा बुझ्दैनन्। परमेश्वरले तिनीहरूमा काम गर्दा, तिनीहरू त्यसलाई स्विकार्न, त्यसमा समर्पित हुन सक्दैनन् न त सत्यता खोज्न नै सक्छन्। यसले गर्दा अन्तत: के देखा पर्छ? प्रतिरोध, मूल्याङ्कन, निन्दा, अनि ईश्वर-निन्दा। भ्रष्ट स्वभाव हुने सबैले स्वभाविक रूपमै यी देखाउनेछन्; कसले कति हदसम्म देखाउँछ भन्ने कुरा मात्र फरक हुन्छ। दुष्कर्मीहरूले मात्र यसरी व्यवहार गर्छन् भन्ने पटक्कै होइन। के तिमीहरू सहमत छौ? (छौँ। सत्यता नपछ्याउने सबैले यसरी व्यवहार गर्छन्।) ठिक। सत्यता नपछ्याउने अनि विषालु मानवता भएका मानिसहरू सबैले भिन्नाभिन्नै हदमा यी लक्षणहरू प्रदर्शन र प्रकट गर्छन्। तिनीहरूभन्दा अलिक बढी इमानदार खोजीकर्ताहरूले पनि आफूलाई केही अवाञ्छनीय कुरा आइपर्दा असाधारण स्थितिहरू अनुभव गर्छन्, तर तिनीहरू प्रार्थना गरेर, आफूलाई परमेश्वरका वचनहरूअनुसार जाँचेर, अनि सत्यता खोजेर आफूलाई बदल्न सक्छन्। आफूलाई बदलेपछि, तिनीहरू पश्चात्ताप गर्छन्, जसले तिनीहरूलाई परमेश्वरलाई गलत बुझ्न छोड्ने अनि केही समर्पण विकास गर्ने तुल्याउँछ। यस समर्पणमा कहिलेकाहीँ केही अशुद्धता भए पनि, यो अलिक जबरजस्ती गरिएको भए पनि, वा मापदण्डअनुसार नभएपनि, तिनीहरू समर्पित हुन इच्छुक भएसम्म अनि अलिकति भए पनि सत्यता अभ्यास गर्न सकेसम्म, तिनीहरूले बिस्तारै सत्यताका सबै पक्षबारे स्पष्टता प्राप्त गर्नेछन्। तर यदि तँमा समर्पित हुने कुनै इच्छा नै छैन भने, तैँले आफूलाई जाँचेर यो समस्या थाहा पाइसकेपछि पनि तँ सत्यता खोज्ने वा स्विकार्ने गर्दैनस्—परमेश्वरले तँलाई व्यवहार गर्ने तरिका झनै स्वीकार्दैनस् भने—समस्या हुनेछ। यसले कस्ता परिणामाहरू पैदा गर्नेछ त? तैँले गुनासो गर्नेछस्, लापरवाह भएर मूल्याङ्कन गर्नेछस्, अनि अनियन्त्रित भएर बोल्नेछस्; तँमा परमेश्वरको डर-मान्ने हृदयको नामोनिशान हुनेछैन। त्योभन्दा कम गम्भीर अवस्थामा, तैँले घरमा गुनासो गर्नेछस् अनि आफ्नो रिस पोख्न भाँडाहरू फुटाउनेछस्। तँ परमेश्वरबाट टाढा जानेछस्, र उहाँसामु आउन र प्रार्थना गर्न अनिच्छुक हुनेछस्। अझ गम्भीर अवास्थामा, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा आफ्नो नकारात्मकता र धारणाहरू फैलाउनेछस्, बाधा र अवरोध खडा गर्नेछस्। त्यतिबेला पनि पश्चात्ताप गरिनस् भने, तैँले तिनीहरूको आक्रोश निम्त्याउने सम्भावना हुन्छ, अनि तँ मण्डलीबाट हटाइनेछस् वा निष्कासित हुनेछस्।

जब मानिसहरूमा फरकफरक कुराहरू आइपर्छन्, तब तिनीहरूमा अनेकथरीका प्रकटीकरण देखिन्छन्, र त्यसले असल र खराब मानवताबीचको भिन्‍नता देखाउँछ। त्यसो भए, मानवता मापन गर्ने मापदण्डहरू के-के हुन्? कुनै व्यक्ति कस्तो व्यक्ति हो, र उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा कसरी मापन गर्नुपर्छ? यो कुरा तिनीहरूले सत्यलाई प्रेम गर्छन् कि गर्दैनन् र तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। मानिसहरू सबैमा भित्री रूपमा धारणा र विद्रोहीपन लुकेको हुन्छ, तिनीहरू सबैमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले कहिलेकाहीँ यस्तो समय आइपर्छ जुन बेला परमेश्‍वरले तिनीहरूलाई तिनीहरूको हितसँग नमिल्‍ने कुराहरू गर्न लगाउनुहुन्छ, र तिनीहरूले छनौट गर्नुपर्ने हुन्छ—यी कुराहरू तिनीहरू सबैले प्राय अनुभव गर्ने कुराहरू हुन्, कोही पनि यी कुराहरूबाट बच्न सक्दैनन्। हर व्यक्तिलाई त्यस्ता समयहरू आइपर्छन् जुन बेला उसले परमेश्‍वरलाई गलत बुझ्‍ने र परमेश्‍वरबारे धारणा बोक्‍ने, वा परमेश्‍वरप्रति आक्रोशित, प्रतिरोधी, वा विद्रोही हुने काम गर्छ—तर सत्यताप्रति मानिसहरूको मनोवृत्ति फरकफरक हुन्छ, र यसलाई तिनीहरूले फरकफरक तरिकाले नै लिन्छन्। कतिपय मानिसहरू आफ्‍ना धारणाहरूबारे कहिल्यै केही बोल्दैनन्, बरू आफै सत्यता खोजेर त्यसलाई समाधान गर्छन्। किन तिनीहरूले ती कुराबारे केही बोल्दैनन्? (तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ।) ठिक भन्यौ: तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ। यस्ता कुरा बोल्दा नकारात्मक असर पर्छ भन्‍ने तिनीहरूलाई डर लाग्छ, र तिनीहरूले कसैलाई असर नगरी हृदयभित्रै यसलाई समाधान गर्ने प्रयास गर्छन्। जब तिनीहरूले यस्तै स्थितिमा भएका अरूलाई भेट्छन्, तब तिनीहरूले उनीहरूलाई सहयोग गर्न आफ्‍नो अनुभव प्रयोग गर्छन्। यो दयालु हृदयको हुनु हो। दयालु हृदय भएका मानिसहरूले अरूप्रति प्रेमिलो व्यवहार गर्छन्, र तिनीहरू अरूलाई समस्या समाधान गर्न सहयोग गर्ने इच्‍छा गर्छन्। तिनीहरूले काम गर्दा र अरूलाई सहयोग गर्दा सिद्धान्तहरू पालना गर्छन्, अरूलाई फाइदा होस् भनेर नै तिनीहरूले अरूका समस्याहरू समाधान गर्न सहयोग गर्छन्, र तिनीहरूले अरूलाई फाइदा नपुग्‍ने केही कुरा बोल्दैनन्। यो प्रेम हो। त्यस्ता मानिसहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, र तिनीहरूको व्यवहार सिद्धान्त-आधारित र बुद्धिमानीपूर्ण हुन्छ। मानिसहरूको मानवता असल छ कि खराब भनेर मापन गर्ने मापदण्ड यिनै हुन्। नकारात्मक कुराले कसैलाई फाइदा गर्दैन, र तिनीहरूले यी कुराहरू बोले भने अरूलाई असर गर्छ भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, त्यसैले त्यो समाधान गर्नलाई तिनीहरूले मनमनै परमेश्‍वरलाई प्रार्थना गर्दै सत्यता खोजी गर्ने निर्णय गर्छन्। तिनीहरूको धारणा जे-जस्तो भए पनि, त्यसलाई तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्ने हृदयका साथ लिन र समाधान गर्न सक्छन्, र त्यसपछि सत्यताको बुझाइ, अनि पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्ने क्षमता प्राप्त गर्न सक्छन्; यसरी, तिनीहरूमा धारणाहरू झन्झन् कम हुँदै जान्छन्। तर कतिपय मानिसहरूमा कुनै समझ हुँदैन। तिनीहरूमा धारणाहरू पैदा हुँदा, तिनीहरूले तिनका बारेमा सबैसँग सङ्गति गर्न मन पराउँछन्। तर यसले समस्या समाधान गर्दैन, बरु अरूमा धारणाहरू पैदा हुन्छ—के यसले तिनीहरूलाई असर गर्दैन र? कतिपयले चाहिँ आफूमा धारणाहरू हुँदा ब्रदर-सिस्टरहरूलाई भन्दैनन्, तिनीहरूले आफूमा धारणा छन् भन्ने थाह पाउलान्, अनि त्यसलाई आफ्नो विरुद्ध प्रयोग गर्लान् भन्‍ने डर मान्छन्—तर घरमा हुँदा, तिनीहरू आफ्‍नो घरका अविश्‍वासीहरूलाई मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूजस्तो ठान्दै, धक नमानी आफूलाई जे मन लाग्यो त्यही बोल्छन्। त्यसो गर्दा के-कस्ता परिणाम आउँछन् भन्‍नेबारेमा विचार गर्दैनन्। के यसरी व्यवहार गर्नु सिद्धान्तअनुसार हुन्छ त? उदाहरणको लागि, तिनीहरूका आफन्तहरूमा परमेश्‍वरमा विश्‍वास गर्ने र नगर्नेहरू हुन सक्छन्, वा आधा विश्‍वास गर्ने र आधा शङ्का गर्ने हुन सक्छन्; जब तिनीहरूमा धारणाहरू पैदा हुन्छ, तब तिनीहरूले यो कुरा परिवारका सदस्यहरूमाझ फैलाउँछन्, जसले गर्दा यी सबै मानिसहरू पनि तिनीहरूसँगै तानिन्छन्, र परमेश्‍वरको बारेमा धारणा र गलतबुझाइ बोक्‍न थाल्छन्। धारणा र गलतबुझाइहरू अन्तर्निहित रूपमै घातक हुन्छन्, र ती फैलेपछि, यी कुराहरूलाई वास्तविक रूपमा नबुझ्‍ने मानिसहरूलाई साँच्‍चै हानि हुन सक्छ। विशेष गरी, अलमलिएका मानिसहरू यी कुरा सुनेपछि झन् अन्योलमा पर्न सक्छन्। सत्यता बुझेका र त्यस्तो कुरा पहिचान गर्न सक्‍ने मानिसहरूले मात्रै यी विपरीत कुराहरू अर्थात् धारणा, नकारात्मकता, र गलतबुझाइका कुराहरू इन्कार गर्न र परमेश्‍वरमार्फत सुरक्षा पाउन सक्छन्। धेरैजसो मानिसहरूमा यस्तो कद हुँदैन। कतिले यी कुराहरू गलत हुन् भन्‍ने अनुभूति गर्न सक्छन्—जुन आफैमा निकै राम्रो कुरा हो—तर तिनीहरूले यी कुराको वास्तविकता बुझ्नै सक्दैनन्। त्यसकारण, प्रायजसो धारणा र नकारात्मकता फैलाइरहने मानिसहरू हुँदा, यी विपरीत कुराहरूले धेरैलाई बाधा दिन्छन्, र कमजोर र नकारात्मक बनाउँछन्। यो कुरा निश्‍चित छ। यी नकारात्मक र विपरीत कुराहरूमा नयाँ विश्‍वासीहरूलाई झुक्याउने र हानि गर्ने ठूलो शक्ति हुन्छ। पहिले नै जग बसालिसकेका मानिसहरूलाई यी कुराले त्यति असर गर्दैनन्; केही समयपछि, जब त्यस्ता मानिसहरूले सत्यता बुझ्छन्, आफूलाई पहिलेकै अवस्थामा फर्काउनेछन्। तर जग नबसालेका नयाँ विश्‍वासीहरूले यी विपरीत कुराहरू सुने भने, तिनीहरू सहजै नकारात्मक र कमजोर बन्नेछन्; सत्यतालाई प्रेम नगर्नेहरूले त झन् पछि हटेर परमेश्‍वरमा विश्‍वास गर्नसमेत छोड्नेछन्; ती दुष्कर्मीहरूले धारणाहरू फैलाएर मण्डलीको काममा बाधासमेत खडा गर्न सक्छन्। निर्धक्‍क नकारात्मकता र धारणाहरू फैलाउने ती मानिसहरू कस्ता हुन्? तिनीहरू सबै दुष्कर्मीहरू, पिशाचहरू हुन्, र तिनीहरू सबैलाई खुलासा गर्नु र हटाउनुपर्छ। कतिपय मानिसहरू भन्छन्: “म यी कुरा पराईहरूलाई फैलाउँदिनँ; तीबारे घरमा मात्र कुरा गर्छु।” तैँले तीबारे चाहे बाहिर वा घरमा कुरा गरे पनि, मामिलाको प्रकृति उही नै हो। तैँले तीबारे घरमा कुरा गर्न सक्नुको अर्थ तँमा परमेश्वरबारे धारणा र गलतफहमी छन्। तैँले यी कुरा खुलेर भन्न सक्नुले तँ सत्यता खोज्दैनस् र त्यसलाई प्रेम गर्दैनस् भन्ने पुष्टि गर्छ। तँले यी धारणाहरू हटाउन सत्यता खोजेको छैनस्, न त तेरो तिनलाई त्याग्ने योजना छ, त्यसैले तैँले जोसुकैसँग बोले पनि, तेरो बोलीको प्रकृति उही रहन्छ। अनि जता गए पनि, जसलाई भेटे पनि आफ्नो धारणा फैलाइहाल्ने मानिसहरू पनि हुन्छन्। उदाहरणका लागि, मानौँ कुनै व्यक्तिलाई उसले कर्तव्य निभाउँदै गर्दा बाधा र अवरोध खडा गरेकाले घर पठाइयो। उसलाई किन घर पठाइएको भनेर सोधियो भने, उसले यो जवाफ दिन्छ: “म स्वभावले नै खुला मनको छु। आफ्नो मनमा जे छ त्यही भन्छु। मैले गल्तीले आफूले पहिले गर्ने गरेका केही नराम्रा कुराहरूबारे बोलेँ; जब अगुवा र सेवकले यो सुने, तिनीहरूले मलाई दुष्ट ठहराएर घर पठाइदिए। तिमीहरू सबैले मेरो अनुभवबाट सिक्नुपर्छ; परमेश्वरको घरमा जथाभावी रूपमा बोल्नुहुँदैन। परमेश्वरले इमानदार बन् भन्नुहुन्छ, तर तैँले कोसँग बोल्दै छस् भनेर ध्यान दिनुपर्छ। आफ्नो परिवारसँग इमानदार हुनु ठिकै हो, तर पराईहरूसँग इमानदार हुने प्रयास गरिस् भने तेरो क्षति हुन्छ। मलाई त्यसरी नै क्षति भएको होइन र? यसलाई पाठका रूपमा लिनू।” केही मानिसले यो सुनेपछि यसबारे यसरी मनन गर्नेछन्: “परमेश्वरको घरमा यस्तो पनि हुँदो रहेछ है? सायद अबदेखि हामीले पनि बोल्दा होसियारी अपनाएकै राम्रो होला!” के यी मानिसहरू भ्रमित छैनन् त? परमेश्वरले कति धेरै बोलिसक्नुभयो, तर एक दशक भन्दा बढी समयसम्म सुनेर पनि तिनीहरू एउटै वाक्य पनि सम्झन सक्दैनन्—तर एकजना दुष्ट व्यक्तिले केही भन्नेबित्तिकै तिनीहरू त्यो चाहिँ दृढतापूर्वक सम्झन्छन्, त्यसलाई हृदयमै कुँद्छन्, अनि त्यहाँदेखि आफ्नो बोली र कार्यमा सावधान हुन्छन्। तिनीहरूलाई बहकाइएको र विषाक्त बनाइएको छ। तिनीहरूलाई किन विषाक्त बनाउन सकिन्छ? एउटा तरिकाले हेर्दा, तिनीहरूको क्षमता कमजोर छ, अनि तिनीहरू अति भ्रमित छन्, अरू मानिसहरूको बोली र व्यवहार खुट्ट्याउन सक्दैनन्, अनि तिनीहरूमा आफ्नै अडान हुँदैन। तिनीहरू सत्यता बुझ्दैनन् र त्यसलाई कायम गर्न सक्दैनन्। अर्को तरिकाले हेर्दा, तिनीहरू परमेश्वरमा कुनै आस्था राख्दैनन् अनि उहाँले मानिसलाई कसरी व्यवहार गर्नुहुन्छ भनेर आधारभूत रूपमै बुझ्दैनन्। यी सबै कारणले गर्दा, तिनीहरू अरूद्वारा बहकाइन सक्छन्। तिनीहरू पनि असल मानिस त पक्कै होइनन् किनकि तिनीहरू दियाबलसका वचनहरूलाई अँगाल्न सक्छन्। धारणाहरू फैलाउँदा दियाबलसका अभिप्राय र उद्देश्य के हुन्छन्? ऊ सबैले उसँग सहानुभूति राखून् भन्ने चाहन्छ। सबैले परमेश्वरबारे गुनासो गरे ऊ अत्यन्तै हर्षित हुन्थ्यो। के यो बाधा र अवरोध खडा गर्ने व्यक्ति होइन र? के उसले अन्धाधुन्ध समस्या सृजना गरिरहेको छैन र? यस्ता मानिसलाई कसरी सम्हाल्नुपर्छ? यो पनि भनिरहनुपर्छ र? उसलाई तुरुन्तै मण्डलीबाट निकाल; उसलाई एकदिन पनि बढी बस्न नदेऊ। ऊजस्तो दुष्कर्मी परमेश्वरको घरमा रहिरहे नतिजा केवल विपत्ति हुनेछ; तिनीहरू लुकेका खतरा, पड्किन लागेका टाइमबम्ब हुन्। तिनीहरूलाई निकाल्नु नै सबैभन्दा उत्तम हुन्छ। तिनीहरूले मण्डलीबाहिर जसरी विश्वास गर्न चाहे पनि गरून्—त्यसले परमेश्वरको घरसँग कुनै सरोकार राख्दैन। यस्ता मनिसहरू सबैभन्दा घातक अनि मुक्ति पाउनै नसक्ने हुन्छन्। मलाई भन, परमेश्वरको घरमा कसलाई अकस्मात गलत बोलेकोले बाहिर निकालिएको छ? अहिलेसम्म कसलाई इमानदार र खुला रूपले आफूलाई चिन्ने भएकोले निस्किन बाध्य पारिएको छ र? परमेश्वरको घरले सधैँ मण्डली शुद्ध पार्ने काम गरिरहेको हुन्छ, अनि शुद्द पार्दा फालिने को हुन् त? तिनीहरू सबै ती दुष्ट मानिस, ख्रीष्टविरोधी, र गैरविश्वासीहरू हुन् जो लगातार आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्दैनन्, अनि दुष्कर्म गर्ने अनि बाधा खडा गर्ने समेत गर्छन्। अहिलेसम्म एक जना व्यक्ति पनि क्षणिक उल्लङ्घन वा क्षणिक भ्रष्टताको प्रदर्शनका कारण फ्यालिएको छैन, झन् इमानदार व्यक्ति बन्न सत्यता अभ्यास गरेकाले कसैलाई हटाइएको त झनै छैन। यो सबैले स्विकारेको तथ्य हो। केही मानिस भन्छन्: “मण्डलीमा सत्यता पछ्याउनेहरू कमै हुन्छन्। अधिकांश मानिसहरू सत्यता पछ्याउँदैनन्। यदि अधिकांशलाई हटाइयो भने, सेवा कसले गर्नेछ? यदि अधिकांशलाई हटाइयो भने, कतिजनाले चाहिँ अझै मुक्ति पाउनेछन् र?” यसरी सोच्नु सही हुँदैन। धेरै अगाडि भनिएझैँ, “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ।” किनकि मानवजाति गहनतम रूपमा भ्रष्ट भएकाले सत्यतालाई प्रेम गर्ने मानिसहरू निकै कम छन्। परमेश्वरले धेरै सङ्ख्यामा होइन, उत्कृष्ट मानिसहरू चाहनुहुन्छ। परमेश्वरको घरमा सुन्न र पालन गर्न सक्ने, उहाँको घरको कामको संरक्षण गर्न सक्नेहरू बाँकी हुन्छन्; तिनीहरूमध्ये धेरैजसो सत्यता स्विकार्न सक्नेहरू हुन्। केही मानिसहरूको क्षमता कमजोर हुन्छ अनि तिनीहरूले सत्यता नबुझ्न सक्छन्, तर तिनीहरू सुन्न, पालन गर्न, अनि गलत काम गर्नबाट आफूलाई रोक्न सक्छन्, त्यसैले यस्ता मानिसहरूलाई सेवा-कर्ताको रूपमा राखिरहन सकिन्छ। सेवा-कर्ताहरूमध्ये रहिरहन सक्नेहरू सबै निष्ठावान् हुन्छन्। जस्तोसुकै सेवा गर्नुपर्ने भए पनि, तिनीहरू गुनासो गर्दैनन्; तिनीहरू सुन्ने र पालन गर्ने मानिसहरू हुन्। नसुन्ने र पालन नगर्नेहरू रहिरहे भने के तिनीहरूले बाधा खडा मात्र गर्नेथिएनन् र? तिनीहरूले अलिकति सेवा प्रदान गरे पनि, तिनीहरूलाई सधैँ निरीक्षणको आवश्यकता हुन्छ; निरीक्षण नगरिनेबित्तिकै तिनीहरूले गल्ती गर्न अनि समस्या सिर्जना गर्न सक्छन्। यस्ता मानिसको सेवाले फाइदाभन्दा पनि हानि धेरै गर्छ। यस्ता सेवा-कर्ताहरूलाई हटाउनैपर्छ, नत्र परमेश्वरद्वारा चुनिएका मानिसहरू, र साथै मण्डली जीवनलाई बाधा पुग्नेछ। यदि दुष्कर्मीहरूलाई मण्डलीबाट हटाइएन भने, परमेश्वरद्वारा चुनिएका मानिसहरूलाई साँच्चै हानि पुग्नेछ अनि तिनीहरू बर्बाद हुनेछन्। तसर्थ, परमेश्वरद्वारा चुनिएका मानिसहरूको बाधारहित मण्डली जीवन अनुभव निश्चित गर्ने एक मात्र उपाय भनेको दुष्कर्मीहरूलाई हटाउनु हो; परमेश्वरद्वारा चुनिएका मानिसहरूको परमेश्वरप्रतिको विश्वास अनि मुक्ति प्राप्तिको सही मार्गमा प्रवेश निश्चित गर्ने यो एक मात्र उपाय हो। दुष्कर्मीहरूलाई हटाउनु पूर्णत: परमेश्वरको इच्छाअनुरूप हुन्छ।

सबैप्रति प्रेमिलो र सहनशील, अनि जोकोहीलाई पनि सहयोग गर्न इच्छुक हुने एक किसिमको व्यक्ति हुन्छ। उसले चासो नराख्ने कुरा भनेको सत्यता मात्र हो। ऊ सधैँ परमेश्वर विरुद्ध हुन्छ अनि उहाँसँग कहिल्यै मिल्न सक्दैन। ऊ परमेश्वरको कट्टर शत्रु हो। यो कस्तो खालको व्यक्ति हो? तिनीहरू गैरविश्वासी र दियाबलस हुन्। सत्यतासँग सबैभन्दा बढी दिक्क मान्ने अनि सत्यतालाई सबैभन्दा बढी घृणा गर्नेहरू दियाबलसहरू हुन्। कुनै कुरामा सत्यता वा परमेश्वरका वाणी वा माग समावेश भएमा, तिनीहरू त्यसलाई नस्विकार्ने मात्र होइन, त्यसलाई शंका पनि गर्छन्, त्यसप्रति प्रतिरोधी हुन्छ्न् अनि त्यसबारे आफ्नै धारणा फैलाउँछन्। तिनीहरू मण्डलीको काममा क्षति हुने कैयौँ कुराहरू पनि गर्छन्, आफ्ना व्यक्तिगत स्वार्थमा चोट पर्दा खुलेआम परमेश्वरविरुद्ध चिच्याउने समेत गर्छन्। यस्ता खालका मानिसहरू दियाबलस हुन्; तिनीहरू सत्यता र परमेश्वरलाई घृणा गर्ने मानिसहरू हुन्। हरेक व्यक्तिको प्रकृतिभित्र सत्यतालाई घृणा गर्ने स्वभाव हुन्छ; तसर्थ, सबैमा परमेश्वरलाई घृणा गर्ने सार हुन्छ। फरक के मात्र हो भने यो घृणाको हद थोरै थोरै छ कि धेरै। केही मानिसहरूले परमेश्वर विरुद्ध दुष्टता गर्न सक्छन् भने अरूले केवल भ्रष्ट स्वभाव वा नकारात्मक भावना प्रकट मात्र गर्छन्। त्यसोभए किन केही मानिसहरू परमेश्वरलाई घृणा गर्न सक्छन् त? तिनीहरूले के भूमिका खेल्छन्? तिनीहरूमा सत्यतालाई घृणा गर्ने स्वभाव भएकोले तिनीहरू परमेश्वरलाई घृणा गर्न सक्छन्। यो स्वभाव हुनुको अर्थ तिनीहरू दियाबलस अनि परमेश्वरका शत्रु हुन्। दियाबलस भनेको के हो? सत्यता अनि परमेश्वरलाई घृणा गर्ने सबैजना दियाबलस हुन्। के दियाबलसहरूले मुक्ति पाउन सक्छन्? बिल्कुलै सक्दैनन्। परमेश्वरले मानवजातिलाई मुक्ति दिनुहुँदा, कैयौँ मानिसहरूले उठेर उहाँको विरोध गर्नेछन् अनि उहाँको घरको कामलाई बाधा पुऱ्याउनेछन्। यस्ता मानिसहरू दियाबलस हुन्। तिनीहरूलाई जीवित राक्षस पनि भन्न सकिन्छ। हरेक मण्डलीमा, मण्डलीको कामलाई बाधा पुऱ्याउने जोकोही पनि दियाबलस अनि जीवित राक्षस हो। अनि मण्डलीलाई दमन गर्ने अनि कुनै पनि मात्रामा सत्यता नस्विकार्ने व्यक्ति जीवित राक्षस हो। तसर्थ, यदि तिमीहरूले को-को जीवित राक्षस हुन् भनेर सही रूपमा पहिचान गऱ्यौ भने, तिमीहरूले तिनीहरूलाई हटाउन तुरुन्तै पहल गर्नुपर्छ। यदि केही मानिसहरूको व्यवहार सामान्यत: राम्रो नै छ, तर कहिलेकाहीँ तिनीहरूको स्थिति नराम्रो हुन्छ, वा तिनीहरूको कद अत्यन्तै सानो छ र तिनीहरूले सत्यता बुझ्दैनन्, अनि बाधा र अवरोध खडा हुने केही गर्छन् तर यो तिनीहरूको बानी होइन अनि तिनीहरू यस्तो किसिमका प्रकृति भएका व्यक्ति होइनन् भने तिनीहरू रहिरहन सक्छन्। केही मानिसहरूको मानवता खासै असल हुँदैन; यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, तिनीहरू त्यो कुरालाई कहिल्यै जान दिँदैनन्। तिनीहरू आफूलाई चिढ्याउने व्यक्तिसँग लगातार बहस गर्छन्, आफू ठिक छु भन्ने महसुस गरेपछि दया नै देखाउँदैनन्। तैपनि, यी मानिसहरूको एउटा गुण हुन्छ—तिनीहरू सेवा गर्न अनि कठिनाइ सहन इच्छुक हुन्छन्। यस्ता खालका मानिसहरू हालका लागि रहिरहन सक्छन्। यदि यी मानिसहरूले बारम्बार दुष्टता गरे अनि मण्डलीको कामलाई बाधा पुऱ्याए भने, तिनीहरू दियाबलस शैतानका हुन्, अनि तिनीहरूले मुक्ति पाउन बिल्कुलै सक्दैनन्। यो शत प्रतिशत निश्चित हो। यस्ता खालका मानिसहरूलाई मण्डलीबाट हटाइनैपर्छ; तिनीहरूलाई बस्न दिनै हुँदैन। तिनीहरूलाई किन हटाइनैपर्छ? तिनीहरूलाई के आधारमा हटाइन्छ? कतिलाई पश्‍चात्ताप गर्ने मौका दिन, पाठ सिकाउनको लागि हटाइन्छ; अरूलाई तिनीहरूको वास्तविक प्रकृति देखिएको कारण हटाइन्छ, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्। ल देखिस् नि, मानिसहरू एकअर्काभन्दा फरक नै हुन्छन्। हटाइएका कतिपय मानिसहरू आफ्‍नो अत्यन्त नकारात्मकता र अन्धकारमय हृदयको बाबजुत पनि, आफ्‍नो कर्तव्य त्यागेका छैनन्, र निरन्तर निर्वाह गरिरहन्छन्—तिनीहरू हटाइएपछि पनि आफ्‍नो कर्तव्य निर्वाह नै नगर्ने मानिसहरूको अवस्थामा हुँदैनन्, र तिनीहरूले हिँड्ने मार्ग उही हुँदैन। हटाइएपछि पनि आफ्नो कर्तव्य निर्वाह गरिरहनेहरूको भित्री स्थिति कस्तो हुन्छ? तिनीहरू के पछ्याउँछन्? यो आफ्नो कर्तव्य निर्वाह नगर्नेहरूकोभन्दा फरक हुन्छ। यदि तिमीहरू यसलाई खुट्ट्याउन सक्दैनौ भने यसको अर्थ तिमीहरूको क्षमता कमजोर छ, तिमीहरूमा आत्मिक बुझाइको अभाव छ अनि तिमीहरू मण्डलीको काम गर्न सक्दैनौ। यदि तिमीहरू फरक देख्न सक्छौ भने, तिमीहरू तिनीहरूलाई फरक तरिकाले व्यवहार गर्नेछौ। यी दुई खालका मानिसहरू के कुरामा फरक हुन्छन् त? तिनीहरूले हिँड्ने मार्गमा के फरक हुन्छ? तिनीहरूको आफ्नो कर्तव्यको निर्वाहप्रतिको मनोवृत्तिमा के फरक हुन्छ? के तिमीहरू यी कुरा खुट्ट्याउन सक्छौ? (केही मानिसहरू हटाइएपछि पनि आफ्नो कर्तव्य निर्वाह गरिरहन सक्छन् जसले तिनीहरूमा अझै पनि अलिकति विवेक छ भन्ने सङ्केत गर्छ। सायद तिनीहरू अब मुक्ति पाउन सकिन्न भन्ने महसुस पनि गर्छन्, तर तिनीहरू यसो सोच्छन्: “म परमेश्वरमा विश्वास गर्छु। यही परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरामा म निश्चित छु। मण्डलीले मलाई हटाए पनि, मैले अझै पनि परमेश्वरमा विश्वास गर्नैपर्छ। म अझै पनि सृजित प्राणी हुँ, र म आफ्नो सृष्टिकर्तालाई स्विकार्छु।” तिनीहरूभित्र अझै पनि यति विवेकले काम गरिरहेको हुन्छ। यदि तिनीहरू हटाइएपछि आफ्नो कर्तव्य समेत निभाउँदैनन्, अनि त्यस उप्रान्त परमेश्वरमा विश्वास समेत गर्दैनन् भने, तिनीहरूले आफैलाई गैरविश्वासी साबित गर्छन्।) यसपछि को बोल्न चाहन्छ? (सायद केही मानिस हटाइएपछि पनि आफ्नो कर्तव्य निर्वाह गरिरहन सक्छन् किनकि तिनीहरूले आफूले पहिले गरेका कुराहरूका लागि आफू परमेश्वरप्रति ऋणी भएको कुरा आफ्नो हृदयमा बुझिसके, अनि आफ्ना गल्ती सुधार्न चाहन्छन्। तर यदि कसैले हटाइएपछि आफ्नो कर्तव्य पूरा गर्न छोड्छ भने, यसले ऊ परमेश्वरलाई सन्तुष्ट पार्न होइन, परमेश्वरको आशिष् पाउने आशामा उहाँसँग लेनदेन गर्न खोजिरहेको थियो भन्ने देखाउँछ। अनि कुनै आशिष् नपाउने निर्क्यौल निकालेपछि, उसले कर्तव्य गरिरहने आवश्यकता देखेन, त्यसैले सेवा गर्न छोड्यो।) यी दुई खालका मानिसहरूमध्ये, कोसँग चाहिँ अलिकति विवेक छ त? (हटाइएपछि पनि आफ्नो कर्तव्य निर्वाह गरिरहने मानिसहरूसँग।) हटाइएपछि पनि आफ्नो कर्तव्य निर्वाह गरिरहने खालका मानिसहरूसँग अझै पनि थोरबहुत विवेक र मान्छे हुने आधार हुन्छ। मानव भएपछि, परमेश्वरले तिनीहरूलाई जसरी व्यवहार गरेपनि अनि उहाँले तिनीहरूलाई चाहे वा नचाहे पनि, तिनीहरू अझै पनि उहाँकै सृजना हुन्। तिनीहरू परमेश्वरको हातबाट उम्कन सक्दैनन्; जहाँसुकै गएपनि, तिनीहरू सृजित प्राणी नै हुन्छन्, त्यसैले तिनीहरूले अझै पनि आफ्नो कर्तव्य निभाउनैपर्छ। यसले तिनीहरूमा विवेक छ अनि मान्छे हुने आधार छ भन्ने देखाउँछ। त्यसका साथै, तिनीहरू जहाँसुकै गएपनि, तिनीहरूले कम्तीमा पनि परमेश्वरप्रतिको विश्वास अनि उहाँको अस्तित्व स्विकार्न त सक्छन्। तिनीहरूको हृदयमा भएको यही आस्थाले तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम बनाउँछ। यस्तो खालको व्यक्तिमा वास्तवमै अलिकति विश्वास हुन्छ, र उसले पश्चात्ताप गर्न सक्ने सम्भावना पनि हुन्छ। र हटाइएपछि आफ्नो कर्तव्य निर्वाह गर्न छोड्नेहरूको कुरा गर्दा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, “यदि परमेश्वरले मलाई चाहनुहुन्न भने, म उप्रान्त उहाँमा विश्वास नै गर्नेछैन। त्यसै पनि मेरो विश्वास निरर्थक नै त छ।” तिनीहरू आफूले पहिले गरेका सबै कुरालाई नकार्दै, परमेश्वरमा विश्वास गर्न छोड्छन्, उहाँको अस्तित्वलाई नकार्छन्, अनि मान्छे हुने आफ्नो आधारलाई समेत त्यागिदिन्छन्। यस्ता मानिसहरूमा विवेक र समझ हुँदैन, अनि यी दुई खालका मानिसहरूमा हुने भिन्नता यही नै हो। मलाई भन, के परमेश्वरलाई यो थाहा छ? उहाँलाई यो राम्रोसँग थाहा छ। उहाँले यावत् थोक सृष्टि गर्नुभयो, उहाँले सबै कुरा छानबिन गर्न सक्नुहुन्छ अनि ती सबैमाथि सार्वभौम शासन गर्नुहुन्छ। विवेक नहुने गैरविश्वासीहरू सोच्छन्, “परमेश्वर कहाँ हुनुहुन्छ? मैले चाहिँ किन उहाँलाई देखेको छैन? मण्डलीले मलाई हटायो भनेर कसले मतलब गर्छ र? म जहाँ गए पनि उस्तै गरी जिउन सक्छु। के तपाईँ मैले तपाईँलाई छोडेकोले म जिइरहन नै सक्दिनँ भन्ने सोच्नुहुन्छ? मेरो कर्तव्य निर्वाह नगर्दा त मैले झन् बढी स्वतन्त्रता पाउँछु!” तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ जसले तिनीहरू गैरविश्वासी भएको खुलासा गर्छ, अनि यसले तिनीहरूलाई हटाइनु सही थियो भन्ने पुष्टि गर्छ। यस्ता गैरविश्वासीहरूलाई हटाइनुपर्छ—तिनीहरूबाट छुटकारा त पाइयो नि। यदि परमेश्वरमा विश्वास हुनेहरूलाई हटाइयो भने तिनीहरूको प्रतिक्रिया बेग्लै हुन्छ। उदाहरणका लागि, हटाइएपछि केही मानिसले यसो भन्लान्, “म आफ्नो कर्तव्य पूरा नगरी जिउनै सक्दिनँ। म परमेश्वरमा विश्वास नगरी जिउनै सक्दिनँ। म परमेश्वरविना अघि बढ्नै सक्दिनँ। म जहाँसुकै गएपनि, परमेश्वरको हातमा हुन्छु।” त्यसैले तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्छन्। तिनीहरूलाई यो छनौट गर्न डोऱ्याउने कुरा अन्धविश्वास वा मूर्खता होइन; तिनीहरू यी सोचहरूबाट निर्देशित भएकाले आफ्नो कर्तव्य यसरी निर्वाहगर्न सक्छन्। तिनीहरूमा पनि सिकायत, धारणा, अनि केही गुनासोहरू हुन्छन्, तर तिनीहरू कसरी अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् त? किनकि तिनीहरूको मानवताभित्र अझै पनि थोरबहुत विवेकले काम गरिरहेको छ। विवेकको प्रकार्य नभएकाहरूले आफ्नो कर्तव्य निभाउनबाट अनि परमेश्वरमा विश्वास गर्नबाट आफूलाई रोक्न सक्छन्। भिन्नता यही हो। मानिसहरू एकअर्काभन्दा फरक नै हुन्छन्; हरेक मानिसमाझ भिन्नता हुन्छ। महत्त्वपूर्ण क्षणहरूमा, व्यक्तिमा विवेक र समझ छ कि छैन भन्ने कुराले कैयौँ कुराहरूलाई निर्धारण र असर गर्न सक्छ।

भर्खर मैले व्यक्तिको अवस्थामा हुने अभिप्रायबारे सङ्गति गरेँ। अब म दृष्टिकोण र मनोवृत्तिबारे सङ्गति गर्नेछु। शब्दावलीको पक्ष होस् वा सत्यताको पक्ष, यहाँ धेरै विवरण समावेश हुन्छन्; यो सतही रूपमा बोलिने शब्द वा वाक्यजस्तो सरल हुँदैन। यदि तँ आफ्नो बुझाइलाई एक शब्द, एउटा अवधारणा, वा केही वाक्यका शाब्दिक अर्थमा सीमित राख्छस् भने, त्यो जहिले पनि केवल एक प्रकारको धर्मसिद्धान्त मात्र हुनेछ। तर, यदि तँ यी शाब्दिक वाक्यांश वा वाक्यहरूलाई मानिसले आफ्ना वास्तविक जीवनमा प्रकट गर्ने वास्तविक अवस्था अनि विचार, दृष्टिकोण वा तरिकाहरूसँग जोड्छस् र तुलना गर्छस् भने, तैँले आफ्नै धेरै समस्याहरू पत्ता लगाउन सक्नेछस्। केही समस्या सत्यताका विपरीत हुन्छन्। केही धर्मसिद्धान्तसँग मिल्दोजुल्दो देखिन्छन्, ती नियम अनि मानव विचार र तरिकाअनुरूप भएजस्तो देखिन्छन्, तर वास्तवमा तिनीहरू सत्यता वा परमेश्वरको इच्छाअनुरूप हुँदैनन्। उदाहरणका लागि, मानिसमा हुने केही विचार र दृष्टिकोण मानव धारणा र कल्पनाहरूअनुरूप मात्र हुन्छन्, सत्यता सिद्धान्तअनुरूप हुँदैनन्। यदि तिनलाई परमेश्वरका वचनहरूअनुसार नापिएन अनि खुट्याइएन भने, तिनीहरू मानिसमाझ स्वीकार्य हुनेछन्। तर, परमेश्वरका वचनहरूसँग दाँज्दा, मानव सोच र विचार गलत हुन्छन्, ती विपरीत हुन्छन्। तिमीहरूले अरू के समस्या पत्ता लगाएका छौ? (परमेश्वर, म परम्परागत संस्कृतिबाट आएका विचार र दृष्टिकोणहरूबारे सोच्दैछु; जस्तै, “आफ्ना आमाबुबालाई श्रद्धा गर्ने” अनि “असल श्रीमती र स्नेही आमा बन्ने”, जसलाई मानिसले सही र उचित ठान्छन्, तर सत्यताको दृष्टिकोणबाट हेर्दा सत्यताअनुरूप हुँदैनन्।) ती कुरा सत्यताअनुरूप हुँदैनन्। यसको अर्थ ती परमेश्वरको अभिप्रायका विरुद्ध हुन्छन्। उदाहरणका लागि, केही मानिसले आफ्ना आमाबुबालाई श्रद्धा देखाउन सक्छन् वा असल श्रीमती र स्नेही आमा बन्न सक्छन्—तिनीहरूको व्यवहार र प्रस्तुतिअनुसार यहाँ कुनै समस्या छैनजस्तो देखिन्छ, तर के तिनीहरू परमेश्वरप्रति समर्पित हुन सक्छन्? के तिनीहरू सत्यता स्विकार्न सक्छन्? केवल यी दुई व्यवहार बाहिर प्रदर्शन गर्नु समस्या होइन; तर तिनीहरूको प्रकृति सार जाँच्दा, के तिनीहरूले परमेश्वरलाई गर्ने व्यवहारमा अलिकति पनि समर्पण छ? के तिनीहरू सत्यता स्विकार्न सक्छन्? यदि यी दुई पक्षमा समस्या छन् भने, के तिनीहरूले मुक्ति पाउन सक्नेछन् त? बिल्कुलै सक्नेछैनन्। त्यसैले, यी दुई व्यवहारहरू गुणजस्ता देखिए पनि, तिनले कसैको सारको प्रतिनिधित्व गर्न सक्दैनन्। कोही सतहमा जति नै आमाबुबाप्रति श्रद्धालु वा असल श्रीमती र स्नेही आमा भए पनि, तिनीहरू परमेश्वरमा समर्पित हुन्छन् भन्ने हुँदैन, झन् शैतानको प्रभावबाट स्वतन्त्र भइसकेकाहरू त भन्न मिल्ने कुरै भएन। तिनीहरूका यी दुई गुण र सत्यताबिच कुनै सम्बन्ध छैन। तसर्थ, कसैमा यी दुई गुण छन् भन्दैमा तिनीहरू परमेश्वरले स्याबासी दिने मानिस हुने पक्कै होइन, र तिनीहरू धर्मी व्यक्तिको मापदण्डभन्दा धेरै तल हुन्छन्। भ्रष्ट मानवहरूको हृदय शैतानका दर्शनले भरिएका हुन्छन्। तिनीहरू सबैलाई अरूको प्रशंसा र समर्थन पाउन मनपर्छ। तिनीहरू सबै आफ्नो बचाउका लागि पारस्परिक सम्बन्धहरू कायम गर्न मन पराउँछन्। तिनीहरू सबै अरूले तिनीहरूको आदर गरून् भनी पृथक् हुन र देखावटी गर्न मन पराउँछन्। यी शैतानी दर्शनअनुसार जिउनु सब एउटा निश्चित प्रारम्भिक विन्दुबाट सुरू हुन्छ। यो प्रारम्भिक विन्दुले हासिल गर्न खोजेको लक्ष्य के हो त? (तिनीहरूलाई मानिसले असल व्यक्ति भनी प्रशंसा गरून् अनि तिनीहरू प्रेमिल र विचारशील छन् भनून् भन्ने हो, ताकि मानिसले तिनीहरूको समर्थन गरून् र तिनीहरूलाई स्विकारून्।) शैतानका दर्शनअनुसार जिउँदा, मानिसले एक प्रकारको धारणा र कल्पना राख्छन्: “असल व्यक्तिले इनाम पाउँछन्” अनि “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” तैपनि कसैले यो “असल व्यक्तिले इनाम पाउँछन्” अनि “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ” भनेको खास के हो भनी स्पष्ट रूपमा बताउन सक्दैनन्। यसको विपरीत, असल व्यक्तिहरू नभई खराब व्यक्तिहरू धेरै लामो बाँचेको देखेर, कसैले पनि साँच्चै यस मामिलाको मूल जडलाई बुझ्न सक्दैन। तर मानिसमाझ सधैँ एउटा साझा रूपमा स्विकारिने नियम छ जुन सधैँ स्थायी रहन्छ: “भलाइको परिणाम भलाइ नै हुन्छ, खराबीको परिणाम खराबी।” परमेश्वरले हरेक व्यक्तिलाई तिनीहरूको आफ्ना कार्यअनुसार इनाम दिनुहुन्छ। यो परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ, अनि कसैले यसलाई परिवर्तन गर्न सक्दैन, तर यो कमै मानिसले बुझ्छन्। त्यसोभए, के शैतानी दर्शनअनुसार जिउँदा मानिसलाई परिवर्तन हुन सजिलो हुन्छ त? (हुँदैन।) किन हुँदैन? (यी दर्शन तिनीहरूको बाँच्ने कानुन बनिसकेको हुन्छ। सत्यता नखोजी अनि यी धारणालाई खुट्याउन सक्ने नभई, परिवर्तन हुन गाह्रो हुन्छ।) यो त्यति सरल हुँदैन। वास्तवमा, परिस्थितिहरूको सामना गर्दा तँमा यी अभिप्राय र कार्य हुँदैन, अनि तँलाई केही महसुस हुँदैन भन्छस् भने त्यो सही होइन। गैरविश्वासीहरूले केही महसुस नगर्नु सामान्य हो किनकि तिनीहरू पूर्णत: शैतानी दर्शन र कानुनअनुसार जिउँछन्। तिनीहरू यी कुरालाई मूल्यवान् ठान्छन् र आफू गलत छौँ सोच्दैनन्। अब, तिमीहरू सबैले परमेश्वरमा विश्वास गरेको यति धेरै समय भइसकेको छ, अनि तिमीहरूले कति धेरै प्रवचनहरू सुनिसकेका छौ; भित्रबाट, तिमीहरूलाई यी कुराको आकलन हुनुपर्छ। के ती सही छन् वा गलत? तिमीहरूले यी कुरा गलत छन् भनेर चिन्न सक्नुपर्छ; तीप्रति तिमीहरूको मनोवृत्ति स्विकारात्मक होइन, नकार्ने हुनुपर्छ। त्यसोभए, तिमीहरूलाई यी गलत छन् भनी राम्रोसँग थाहा भए पनि किन तिनलाई त्याग्न सक्दैनौ? समस्या कहाँ छ? (हामी अत्यन्तै स्वार्थी र तुच्छ छौँ, अनि देहलाई त्याग्न अनिच्छुक हुन्छौँ। जब केही सामना गर्छौँ, हामी परमेश्वरलाई सन्तुष्ट पार्नेबारे सोच्दैनौँ, अनि परमेश्वरको घरको हितबारे खासै वास्ता गर्दैनौँ, केवल आफ्नै हितको मात्र वास्ता गर्छौँ। हामी आफ्ना भित्री अभिप्राय त्याग्न सक्दैनौँ।) देह त्याग्न अनिच्छुक हुनु—यो एक पक्ष हो। जब मुख्य हितहरूको कुरा आउँछ, तँ तनावमा, तड्पिएको महसुस गर्छस्, अनि त्याग्न सक्दैनस्। त्यसोभए, तिमीहरूका मुख्य हितहरू नजोडिने दैनिक जीवनका पारस्परिक अन्तरक्रियाहरूमा, के तिमीहरूले कहिल्यै यी शैतानी दर्शन र कानुनमाथि चिन्तन गरेका छौ? के तिमीहरूले तिनलाई हटाउन सत्यता खोजेका छौ? के तिमीहरू अलिकति पनि परिवर्तन भएका छौ त? (म केही कुराहरूमाथि चिन्तन गर्छु, अनि जेलाई पहिचान गर्छु, परिवर्तन गर्न खोज्छु। तर प्राय: म यसलाई गम्भीर मामिलाजसरी हेर्दिनँ अनि यसमा चिन्तन गर्दिनँ।) त्यसोभए परिवर्तन हुन सजिलो छैन। तेरो हरेक चाल, हरेक शब्द र कार्य, तेरा हेराइ समेत सबै भ्रष्ट स्वभावका अभिव्यक्ति हुन्, र सबै भ्रष्ट स्वभावद्वारा शासित छन्। यदि तँ अझै पनि यी समस्या हटाउन सत्यता खोज्दैनस् भने, मुक्ति पाउन एकदमै कठिन हुनेछ। यदि तँ देह त्याग्न आफ्नो व्यक्तित्वलाई दुई टुक्रा पार्नुपरेझैँ, अत्याधिक प्रयास अनि ऊर्जा चाहिन्छ भन्ने सोच्छस् भने, तँलाई समस्या हुन्छ; परिवर्तन हुन सजिलो हुनेछैन। यदि तैँले आफ्नो दिनचर्याबाट सुरू गर्दै, आफ्ना हरेक शब्द र कार्यमा, र विशेषगरी ख्याति, लाभ र हैसियतसँग सम्बन्धित मामिलाहरूमा आफूलाई जाँचिस् अनि सत्यता खोजिस्—अनि आफ्नो देह त्याग्न सकिस् भने, तैँले केही परिवर्तन गर्न सक्नेछस्। अब, तिमीहरू सबलाई शैतानका यी दर्शन र कानुन छोड्न गाह्रो लाग्छ; त्यसोभए के तिमीहरूका दैनिक जीवनमा, सत्यतासँग नमिल्ने यी विचार वा व्यवहार र कार्यहरूमा अलिकति पनि वास्तविक परिवर्तन आएको छ त? (कहिलेकाहीँ म बोल्दा वा कार्य गर्दा, आफूमा गलत अभिप्राय छन् भनी पहिचान गर्छु अनि तिनलाई सच्याउन चाहन्छु। प्रार्थना गरेपछि, म परमेश्वरको इच्छा बुझ्छु अनि त्यसलाई अभ्यासमा लागु गर्न सक्छु, तर सो गरेपछि मेरा कार्यपछाडिका अभिप्राय त हटेकै छैनन्, मेरो बाहिरी तरिका मात्र परिवर्तन भएको हो भन्ने पत्ता लगाउँछु। उदाहरणका लागि, यदि म आफ्नो हितको सुरक्षा गर्न ढाँट्छु भने, यो थाहा हुनेबित्तिकै म देह त्याग्नेछु अनि खुला भएर आफूलाई अरूसामु उदाङ्गो पार्दै भन्नेछु, “मैले भर्खर बोल्दा मेरो अभिप्राय सही थिएन। म छली भइरहेको थिएँ।” तर जब म अर्कोपटक उस्तै परिस्थितिको सामना गर्छु, त्यो अभिप्राय अझै पनि ममाथि हाबी हुनेछ अनि म आफ्नो हितको सुरक्षा गर्न अनि ढाँट्न चाहनेछु। त्यो अभिप्रायले निकै गहिरो जरा बनाएर बसेको छ जस्तो लाग्छ; मेरो हृदयमा यो बारम्बार प्रकट भइरहन्छ।) त्यसोभए, तेरो हितलाई सन्तुष्ट पार्ने अभिप्राय कहाँबाट आउँछ? यो तेरो भ्रष्ट स्वभावको परिणाम हो। विभिन्न भ्रष्ट स्वभावले निकाल्ने अभिप्राय सबै बेग्लाबेग्लै प्रकृतिका हुन्छन्; कुनै दुष्ट हुन्छन्, कुनै द्वेषी हुन्छन्, कुनै अर्थहीन हुन्छन्, कुनै भ्रमात्मक हुन्छन्, कुनै कट्टर हुन्छन्। हरेकको आफ्नै स्वभाव हुन्छ। त्यसैले, फरक-फरक परिस्थितिमा पनि उही अभिप्राय निक्लनु एकदम सामान्य हो, किनकि तँभित्रको भ्रष्ट स्वभाव परिवर्तन हुँदैन। यदि यो एउटा स्वभावले फरक-फरक परिस्थितिमा फरक-फरक अभिप्राय निकाल्नेथ्यो भने त्यसले मानिसलाई अति धेरै समस्या खडा गर्थ्यो अनि तिनीहरूको मन अस्तव्यस्त बनाइदिन्थ्यो! एउटा खालको अभिप्राय हटाउन नै कठिन हुन्छ, त्यसका लागि लामो अवधिको रूपान्तरण आवश्यक हुन्छ; यदि एउटा स्वभावले धेरै खालका अभिप्राय निकाल्ने भए, त्यो परिवर्तन गर्न झन् धेरै कठिन हुन्थ्यो। तैँले एक खालको अभिप्रायमा नै लगातर काम गर्नुपर्छ, त्यसलाई विभिन्न अवस्था र परिस्थितिमा, अनि विभिन्न मानिस, घटना र कुराहरूमाझ सम्हाल्नुपर्छ र हटाउनुपर्छ। यो भ्रष्ट स्वभावको एउटा पक्षसँग लड्नु हो। केही मानिस दुई-चारवटा लडाइँ हारेपछि नै चिन्तित हुन्छन् र आफू परिवर्तन हुन सक्दिनँ भन्ने निष्कर्षमा समेत पुग्छन्। चिन्तित हुनु व्यर्थ छ; भ्रष्ट स्वभाव एक क्षणमा परिवर्तन गर्न सकिँदैन। तँ एक-दुई पटक देह त्यागेपछि केही परिवर्तन आउनुपर्छ भन्ने सोच्छस् होला, तर तेरो भ्रष्ट स्वभाव सधैँ प्रकट हुन्छ भन्ने तैँले पछि थाहा पाउँछस्, अनि किन त्यस्तो हुन्छ बुझ्दैनस्। यसले तँमा स्वभाव परिवर्तनको प्रक्रियाको बुझाइको अभाव छ भन्ने दर्शाउँछ। स्वभाव परिवर्तन गर्नु सरल मामिला होइन। सत्यता एकदम सतहमा मात्र बुझेर काफी हुँदैन। जब तैँले आफ्नो भ्रष्ट स्वभावको सारलाई साँच्चै चिन्छस्, तब तैँले त्यसलाई पूर्णत: त्याग्न सक्छस्। तैँले अहिलेको तरिकामा अभ्यास गरिरहँदा, तैँले परिस्थितिहरू सामना गर्दा अझै पनि आफ्नो भ्रष्ट स्वभाव प्रकट गरे पनि, तँ परिवर्तन भइसकेको छस् भन्ने नकार्न चाहिँ सकिन्न। कम्तीमा पनि तेरो भ्रष्ट स्वभाव कम प्रकट हुन्छ, अनि तँमा पहिलेभन्दा निकै कम अभिप्राय र कपट हुन्छ। तँ अहिले त्यति पाखण्ड र बेइमानीका साथ बोल्दैनस्; बरू, तँ प्राय: हृदयबाट बोल्छस् अनि सत्यता बताउँछस्। यसले तँ परिवर्तन भएको छस् भन्ने दर्शाउँछ। तर तँ सोच्लास्, “मेरो अभ्यास र तरिकाहरूमा मात्र परिवर्तन भएको छ। मेरा अभिप्राय बद्लिएका छैनन्, त्यसैले म पनि केही परिवर्तन भएको छैनँ, छु र? के यसको अर्थ मैले मुक्ति पाउनै सक्दिनँ?” के यी सोच सही हुन्? (होइनन्।) ती विकृत अनि गलत सोच हुन्। तेरो स्वभाव परिवर्तन हुन धेरै प्रक्रियाहरूको अनुभव आवश्यक हुन्छ; तेरो अभ्यास र तरिका पहिला परिवर्तन हुनुपर्छ भन्ने कुरा ठिक हो। मानिसको भित्री अभिप्राय चाहिँ सत्यताको खोजीबाट मात्र परिवर्तन गर्न सकिन्छ। आफ्नो अभ्यास र तरिका परिवर्तन गर्न सक्नुले त्यस व्यक्ति रूपान्तरण हुन थालेको छ भन्ने पुष्टि गर्छ। यदि तँ आफ्ना मानव अभिप्राय र कपट हटाउन सत्यता खोज्नमा जोड दिन्छस् भने, तेरो भ्रष्ट स्वभाव आफै कम-कम प्रकट हुँदै जानेछ। यदि तँ परमेश्वरलाई चिन्छस्, तँमा उहाँको डर मान्ने हृदय छ, अनि तँ उहाँप्रति समर्पित हुन सक्छस् भने, यसले तेरो जीवन स्वभावमा केही परिवर्तन भइसक्यो भन्ने पुष्टि गर्छ। कुराहरूलाई हेर्ने सही तरिका यो चाहिँ हो। यदि तैँले अभ्यास गर्ने तरिका सही छ, अनि तँ थोरबहुत सिद्धान्तअनुसार सत्यता अभ्यास गर्न र कार्य गर्न सक्छस् भने, त्यसको अर्थ तँ परिवर्तन भइसकेको छस्। तैँले कहिलेकाहीँ आफ्नो भ्रष्टता प्रकट गर्छस् भन्दैमा तँ अलिकति पनि परिवर्तन भएको छैनस् भनी विश्वास गर्नु गलत हो। तँ भन्लास्, “त्यसोभए भ्रष्टता प्रकट गर्ने मेरो पुरानो बानी किन दोहोरिरहन्छ त? यसले म परिवर्तन भएको छैन भनी पुष्टि गर्छ।” कुराहरूलाई हेर्ने यो गलत तरिका हो। केवल दुई-चार वर्षको अनुभवपछि भ्रष्टता प्रकट गर्ने समस्या पूर्णरूपमा हटाउन सकिँदैन। यसलाई पूर्णत: हटाउन सत्यताको अभ्यासमा दीर्घकालीन दृढता चाहिन्छ। भ्रष्टता पहिलेभन्दा कम पोखिनु नै तँमा परिवर्तन भइसकेको छ भन्ने पुष्टि गर्न काफी हुन्छ; परिवर्तन भएकै छैन भन्नु वास्तविक अवस्थासँग मेल खाँदैन। तिमीहरू यसबारे आफ्नो हृदयमा स्पष्ट हुनुपर्छ, तिमीहरूमा विकृत र गलत बुझाइ हुन मिल्दैन। परमेश्वरको काम अनुभव गरेर मुक्ति पाउने दीर्घकालीन प्रयास हो जुन दुई-चार वर्षको छोटो समयमा बिल्कुलै हासिल गर्न सकिँदैन। तँमा यो चेतना हुनैपर्छ।

भर्खर हामीले दृष्टिकोण, अभिप्राय अनि मनोवृत्तिबारे सङ्गति गऱ्यौँ। दृष्टिकोणहरूले मनोवृत्तिहरू निर्धारण गर्छन्, होइन र? वास्तवमै, दृष्टिकोण र विचारहरूले मानिसको मनोवृत्ति निर्धारण गर्छन्। त्यसैगरी, तैँले कुनै निश्चित परिस्थिति वा अवस्था सामना गर्दा तेरो विचार के हुन्छ भन्ने तेरो दृष्टिकोणमा भर पर्छ। यदि तँ परमेश्वरसँग नभई मानिसको पक्षमा उभिन्छस्, आफ्ना पारस्परिक सम्बन्ध कायम राख्न खोज्छस् भने, तेरा विचार र तरिकाले पक्कै पनि तेरो आफ्नै हित र घमण्डलाई बचाउन र सुरक्षा गर्न, अनि तँ बाहिर निस्कन सक्ने बाटो छोड्न काम गर्नेछन्। तर यदि तेरो दृष्टिकोण परमेश्वरको घरको हितको रक्षा गर्ने, आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने अनि निष्ठावान् हुने हुन्छ भने, तेरो मनोवृत्ति सबै परिस्थितिमा सत्यताअनुसार अभ्यास गर्ने, आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने, निष्ठावान् हुने, अनि परमेश्वरको आदेश पूरा गर्ने हुनेछ—यी सबै तत्त्वहरू एकअर्काअनुरूप हुन्छन्। एकसाथ सङ्गति गर्दा, तिमीहरूले आफूले सुनेका वा आफूलाई याद आएका धर्मसिद्धान्तहरू, वा आफूले बुझेका आत्मिक सिद्धान्तहरूको बारेमा सङ्गति गर्दैनौ, बरु तिमीहरूले आफ्नो हालैका स्थितिहरूको बारेमा, कुनै घटनामा तिमीहरूका विचार र दृष्टिकोणहरू परिवर्तन भएको र नयाँ खोज र नयाँ बुझाइद्वारा पत्ता लागेका परमेश्‍वरका मापदण्डहरू र सत्यताको विपरीत रहेका आफूभित्रका कुराहरूको बारेमा सङ्गति गर्न सक्छौ भने, तिमीहरू त्यस्तो समयमा त्यस्ता कुराहरूका बारेमा सङ्गति गर्न सक्षम भएका हुन्छौ र त्यसैले तिमीहरूसँग कद हुनेछ। यदि तिमीहरूले आफ्‍ना विचार, दृष्टिकोण, अभिप्राय, र सोचाइहरूका कुनै पक्षलाई कहिल्यै जाँचेका छैनौ, वा तिनलाई जाँचेपछि, ती सही छन् कि गलत छन् भनेर भन्‍न सक्दैनौ, र त्यससम्‍बन्धी तिमीहरूको लेखाजोखा भ्रमित छ भने, तिमीहरूले मण्डलीको अगुवा बन्नुपर्दा, तिमीहरूले अरूलाई के कुराले मलजल गर्नेथियौ? (शब्द र धर्मसिद्धान्तहरूले।) मलाई के लाग्छ भने, तिमीहरूले परमेश्‍वरका वचन र मागहरूको पूर्णत: विपरीत, अरूलाई शब्द र धर्मसिद्धान्त, र आत्मिक सिद्धान्तहरूले मात्रै होइन, बरु सायद, तिमीहरूका विकृत र गलत दृष्टिकोण र परमेश्‍वरसम्‍बन्धी तिमीहरूका व्यक्तिगत धारणा र मूल्याङ्कनहरू, अनि योभन्दा पनि बढी, परमेश्‍वरसम्‍बन्धी तिमीहरूका एकतर्फी दृष्टिकोण र बुझाइहरूद्वारा अरूलाई मलजल गर्नेछौ। अनि त्यस्तो नेतृत्वअन्तर्गत परेका हरेक व्यक्तिलाई के हुन्छ? तिनीहरू शब्द र धर्मसिद्धान्तहरूको बारेमा मात्रै बोल्‍न सक्‍ने हुन्छन्। यदि परमेश्‍वरले तिनीहरूमा जाँच्ने र शुद्ध पार्ने काम गर्न चाहनुभयो भने, तिनीहरूले यसलाई इन्कार नगर्नु सन्तोषजनक परिणाम नै हुनेथियो; तिनीहरू यसलाई सही तरिकाले लिन निकै असमर्थ हुनेथिए, यसमा साँच्चै समर्पित हुने त परकै कुरा हो। यसले के देखाउँछ? यसले के देखाउँछ भने, तिमीहरूले अरूमा हालिदिने कुरा भनेका धारणा र कल्‍पनाहरू हुन्। तैँले गरेको मलजल र नेतृत्वको कारण अरूले परमेश्‍वरसम्‍बन्धी आफ्‍नो बुझाइलाई बढाएका र गलत बुझाइलाई घटाएका छैनन् भने, तिमीहरूले आफ्‍नो कर्तव्य कसरी पूरा गरेका हुन्छौ? तिमीहरूले यो पर्याप्त रूपमा गरेका हुन्छौ कि हुँदैनौ? (अपर्याप्त रूपमा गरेका हुन्छौँ।) तिमीहरूले गर्ने कामको कुन भाग र तिमीहरूले सङ्गति गर्ने कुन-कुन सत्यताले मानिसहरूका लागि साँच्‍चै उपयोगी र लाभदायक भएका छन्, तीमध्ये कुनचाहिँले परमेश्‍वरसम्‍बन्धी तिनीहरूको नकारात्मकता र धारणाहरू हटाउने मात्र नभएर तिनीहरूलाई परमेश्‍वरसम्‍बन्धी साँचो बुझाइ र उहाँसँगको सामान्य सम्बन्ध कायम गर्ने तुल्याएका छन्? यदि तिमीहरूले आफ्‍नो काममा यी परिणामहरू हासिल गर्न सक्छौ भने, तिमीहरूले व्यवहारिक काम गर्न र आफ्‍नो कर्तव्य पर्याप्त रूपमा निर्वाह गर्न सक्छौ। यदि तिमीहरू यो काम गर्न सक्दैनौ भने, तिमीहरू मण्डलीभित्र के चाहिँ गरिरहेका थियौ? के तिमीहरू आफूले गरेका कामका कुन भागहरू, बोलेका कुन शब्दहरू परमेश्वरका चुनिएका मानिसहरूका लागि साँच्चै लाभदायी र शिक्षाप्रद भएका छन् भनी आकलन गर्न सक्छौ? के तिमीहरूले गर्ने काम र बोल्ने शब्द पावलका झैँ छन्—केवल आत्मिक सिद्धान्तबारे बोल्ने, आफ्नै गवाही दिने अनि देखावटी गर्ने—वा सायद पावलले भनेका कुराभन्दा अझै बढी प्रबल र आपत्तिजनक छन् कि? के तिमीहरू त्यो नाप्न सक्छौ? यदि तिमीहरू वास्तवमै त्यसलाई नाप्न सक्छौ भने, तिमीहरूको साँच्चै प्रगति भएको छ। उदाहरणका लागि, परमेश्वरमा विश्वास गरेको एक-दुई वर्ष मात्र भएको व्यक्तिमा परमेश्वरबारे धारणा र गलतफहमी छन् जसले उसको कर्तव्य निर्वाहलाई असर गर्छ, त्यसैले तँ उसलाई लगातार भन्छस्, “तैँले परमेश्वरलाई प्रेम गर्नैपर्छ। तँमा परमेश्वरलाई प्रेम नगर्ने हृदय हुन मिल्दैन। तैँले परमेश्वरको आज्ञापालन कसरी गर्ने भन्ने सिक्नुपर्छ, अनि तैँले व्यक्तिगत माग र चाहना राख्न मिल्दैन।” तर उसमा यसमा समस्या छैन; वास्तवमा, परमेश्वरमा धेरै वर्ष विश्वास गरेको कुनै व्यक्ति निष्कासित भयो, अनि यो नयाँ विश्वासीले त्यस व्यक्तिको सार बुझेन, त्यसैले उसमा परमेश्वरको घरले यस मामिलालाई सम्हालेको तरिकाप्रति सन्देह पैदा भयो। उसमा सन्देह छन्, त्यसैले तैँले हटाउनुपर्ने यिनै सन्देह हुन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न नचाहेको, वा अल्छी गर्न चाहेको, तिनीहरू कठिनाइ सहन नसक्ने पनि होइनन्, र तैपनि तँ उसलाई सधैँ भनिरहन्छस्, “जवान मानिसले कठिनाइ सहन सक्नुपर्छ अनि मिहिनेती हुनुपर्छ, र दृढता राख्नुपर्छ।” ती शब्द सही हुन्, तर ती यस व्यक्तिको अवस्थासँग मिल्दैनन्, त्यसैले ऊ सुनेपछि पनि निरुत्साहित नै भइरहन्छ। परमेश्वरबारेका गलतफहमीलाई केही धर्मसिद्धान्त बोलेर मात्र हटाउन सकिँदैन; तैँले तथ्य बुझ्नैपर्छ र मूल कारणको स्पष्टीकरण दिनुपर्छ। मामिलाको गहिराइसम्म पुग्नु भनेको यसलाई भनिन्छ। साँच्चै के भइरहेको छ भनी पत्ता लगाएर अनि त्यस मामिलालाई हटाउन सत्यता खोजेर मात्र समस्या साँच्चै समाधान गर्न सकिन्छ। तैँले उसलाई जाँच्लास्: “तँ कसरी गलतफहमीमा छस्? तँमा कस्ता गलतफहमी छन्? परमेश्वरले तँलाई कति राम्रो गर्नुहुन्छ अनि तेरो कति ख्याल राख्नुहुन्छ, अनि तँ अझै पनि उहाँप्रति गलतफहमी राख्छस्; तँमा समझ नै छैन!” तर यसले समस्या समाधान हुँदैन; यो उपदेश र भाषण दिनु हो, सत्यतामा सङ्गति गर्नु होइन। त्यसोभए सत्यतामा सङ्गति गर्न साँच्चै के भन्नुपर्छ त? (उसलाई परमेश्वर धर्मी हुनुहुन्छ भनी विश्वास गर्न मद्दत गर्ने। यसो भन्ने: “तैँले निष्कासित भएको व्यक्तिको स्वभाव जान्न नसके पनि, तैँले आज्ञाकारी हृदय कायम गर्नुपर्छ। जब तैँले सत्यता बुझ्छस्, त्यस व्यक्तिको स्वभाव स्वत: बुझ्नेछस्।”)यो एकदम राम्रो तरिका हो, सबसे सरल तरिका; यसले सबैकुरा नबताए पनि समस्यालाई थोरबहुत हटाउन सक्छ। मलाई भन, मानिसमा गलतफहमी पैदा हुँदा तिनीहरू सामान्यत: के सोचिरहन्छन्? त्यसले तिनीहरूलाई किन नराम्रो महसुस गरायो? किनकि त्यसले तिनलाई आफ्नो हितबारे याद दिलायो; तिनीहरूले आफूलाई अर्को व्यक्तिको ठाउँमा राखेर हेरे अनि त्यसले तिनीहरूलाई कसरी असर गर्न सक्ला भन्ने सोचे: “यत्रो वर्ष परमेश्वरमा विश्वास गर्दा पनि उसलाई निष्कासित गरियो। मैले परमेश्वरमा विश्वास गरेको त उसको जति समय पनि भएको छैन; के परमेश्वरले मलाई पनि चाहनुहुनेछैन?” तिनीहरूमा यो गलतफहमी पैदा हुन्छ। यो परमेश्वरको धर्मी स्वभाव र उहाँले मानिसलाई गर्ने व्यवहारबारे गलतफहमी हो। परमेश्वरबारे यी दुई गलतफहमीलाई कसरी हटाउनुपर्छ? जब कसैमा परमेश्वरप्रति गलतफहमी पैदा भएको हुन्छ, यो गलतफहमीको प्रकृति कस्तो हुन्छ? के यो परमेश्वरको कामको समर्थन हो, या त्यसलाई प्रश्न गरिएको हो? (त्यसलाई प्रश्न गरिएको हो।) यसरी प्रश्न गर्नु सही हो कि गलत? सर्वप्रथम, यो गलत हो। त्यसोभए, के तेरो तर्कसङ्गतताले तँमा परमेश्वरबारे गलतफहमी पैदा भएको छ, अनि यो खालको व्यवहार, मनोवृत्ति, तेरो अवस्था गलत छ भनी पहिचान गर्न सहयोग पुऱ्याउँछ त? यदि तँ यति तर्कसङ्गत छस् भने, तँ गलत छस् अनि परमेश्वर निश्चित रूपमा सही हुनुहुन्छ भनी स्पष्ट रूपमा बुझ्न सक्नेछस्। यो जग भएपछि, त्यसपश्चात जुनसुकै सत्यतामा सङ्गति गरिएपनि तैँले सजिलै त्यसलाई स्विकार्न सक्नेछस्। तर यदि तँ भित्रभित्रै सोच्छस्, “परमेश्वरले गर्ने कामकुरा सही नहुन पनि सक्छ। उहाँमा पनि मानिसले गल्ती औँल्याउन सक्ने पक्षहरू हुन्छन्। उहाँले पनि गल्ती गर्नुहुन्छ अनि मानिसलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्छ; उहाँले मानिसको वास्ता नगर्नु अन्याय हो;”—यदि तँमा ती सोच पैदा हुन्छन् भने, तैँले भित्रभित्रै उहाँको कार्यलाई स्विकार्छस् वा इन्कार गर्छस्? (इन्कार।) तँ परमेश्वरको कार्यलाई इन्कार गर्छस्। त्यसोभए तँ भित्रभित्रै परमेश्वरप्रति आफूमा भएको गलतफहमीलाई सही ठान्छस् कि गलत? यदि तँ भित्रभित्रै आफू सही छु ठान्छस् भने, यो समस्या हो, जसलाई सत्यताको जुन पक्षमा जति सङ्गति गरे पनि सम्बोधन गर्न सकिँदैनथ्यो। यी दुई विचारहरूमा, यी दुई अवचेतन मानसिकताहरूमा, कुन खालको मानसिकताले तँलाई सृजित प्राणीको स्थानमा राख्छ, सृष्टिकर्तालाई सृष्टिकर्ता, मानिसलाई मानिस, अनि परमेश्वरलाई परमेश्वर भनी स्विकार्छ? (पहिलो खालको मानसिकताले।) अनि दोश्रो खालको मानसिकताले? के यो दोश्रो किसिमको विचार भएको व्यक्तिले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनी स्विकार्छ? (स्विकार्दैन।) यो कसरी प्रकट हुन्छ? यो विचार छ भन्ने के गरी थाहा हुन्छ? तिनीहरू परमेश्वरप्रति विश्वास, आज्ञापालन र स्वीकृतिको मनोवृत्ति कायम राख्दैनन्; बरू सधैँ हेरिरहने, छानबिन, विश्लेषण अनि चिरफार गरिरहने मनोवृत्ति राख्छन्। तिनीहरू परमेश्वरले गर्ने सब कार्यलाई उहाँसँग बराबरीमा खडा भएर हेर्छन्। त्यसैले जब तिनीहरूले परमेश्वरले आफ्ना धारणा र कल्पनाअनुरूप नहुने केही कार्य गरेको अचानक पत्ता लगाउँछन्, तिनीहरू आफूलाई परमेश्वरभन्दा माथि पार्न, उहाँलाई मूल्याङ्कन गर्न, अनि उहाँको निन्दा गर्न खोज्ने दुस्साहस गर्छन्। तिनीहरू परमेश्वरलाई परमेश्वरजसरी होइन, मानिसजसरी व्यवहार गरिरहेका छन्, होइन र? तिनीहरू आफूलाई परमेश्वरभन्दा माथि पार्ने, उहाँको दोष निकाल्ने अनि उहाँलाई मूल्याङ्कन गर्ने दुस्साहस गर्छन्—के यो सृजित प्राणीको स्थानबाट बोल्नु हो त? (होइन।) जब कसैलाई परमेश्वरबारे गलतफहमी हुन्छ, उसले परमेश्वरले गर्ने कार्यहरू अज्ञेय छन् भनी बुझ्नुपर्छ। सृजित प्राणी भएर, मानिसमा परमेश्वरको आलोचना र मूल्याङ्कन गर्ने कुनै औचित्य वा योग्यता छैन। जब यो हुन्छ, तिमीहरूले यस्तो व्यक्तिसँग कसरी सङ्गति गर्नुपर्छ? तैँले यसो भन्नुपर्छ: “तँमा परमेश्वरबारे गलतफहमी छन्, जुन आफैमा गलत हो। तेरो धारणासँग नमिल्ने जेसुकै कार्य परमेश्वरले गरे पनि, तँमा परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ। यदि तँ केही बुझ्न सक्दैनस् भने, अन्धाधुन्ध मूल्याङ्कन अनि निन्दा नगर्; तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ अनि सत्यता खोज्नुपर्छ। हामी मानिस, भ्रष्ट मानव भएकाले हामी कहिल्यै परमेश्वर बन्न सक्दैनौँ। हामीले परमेश्वरले व्यक्त गर्नुभएका हरेक सत्यता पायौँ र बुझ्यौँ भने पनि, हामी अझै पनि भ्रष्ट मानव मात्र हुन्थ्यौँ, र परमेश्वर सधैँ परमेश्वर हुनुहुनेछ। हामीले सत्यता पायौँ अनि परमेश्वरद्वारा सिद्ध बनाइयौँ, अनि परमेश्वरले हामीलाई मन पराउनुहुन्न र हामीलाई नष्ट गर्न चाहनुहुन्छ भने पनि हामीले चुइँक्क पनि गुनासो गर्नैहुँदैन—सृजित प्राणी यसरी नै समर्पित हुनुपर्छ। यदि यति सानो कुराले हामीलाई परमेश्वरप्रति धारणा राख्ने र उहाँलाई मूल्याङ्कन गर्ने तुल्याउँछ भने त्यसले हामी मानव कति भ्रष्ट, अहङ्कारी, दुष्ट, अनि नासमझ छौँ भन्ने मात्र पुष्टि हुन्छ। सर्वप्रथम, हामीले कहिल्यै आफूलाई सृजित प्राणीको स्थानमा राखेर अनि सृष्टिकर्तालाई त्यस हिसाबले व्यवहार गरेका छैनौँ; यो पहिलो गल्ती थियो। हामीले सधैँ परमेश्वरलाई हेरिरहने, उहाँभन्दा माथि कसरी हुन सकिन्छ भन्ने सोचिरहने, अनि नियालिरहने, छानबिन र विश्लेषण गरिरहने दोश्रो गल्ती हो—यो अझ बढी गलत हो। हामी परमेश्वरमा विश्वास नगर्ने, सत्यता नस्विकार्ने वा त्यसप्रति समर्पित नहुने मात्र होइन; शैतानकै पक्षमा उभिन्छौँ अनि त्यसको साझेदारजस्तो भएर परमेश्वरविरूद्ध आवाज निकाल्न, उहाँसँग प्रतिस्पर्धा र उहाँको विरोध गर्न संगठित हुन्छौ—यो सृजित प्राणीले गर्नुहुने कुरा नै होइन। परमेश्वरले अहिले जे गर्दै हुनुहुन्छ, मानिसले यसलाई सही ठाने पनि वा गलत, यो सत्यताको जुनसुकै पक्षअनुरूप भए पनि, अनि यो परमेश्वरको धर्मी स्वभावसँग जस्तोसुकै गरी मिले पनि, यसको हामीसँग कुनै सम्बन्ध छैन। हामी सृजित प्राणी हौँ; हाम्रा जिम्मेवारी, दायित्व, र कर्तव्य के हुनुपर्छ? विना कुनै शर्त समर्पण गर्ने अनि स्विकार्ने। यदि हामी सृजित प्राणी हौँ, अनि परमेश्वरले गर्नुहुने हरेक कार्य सही हुन्छ भन्ने विश्वास गर्छौँ भने, अनि यसले हामीलाई फाइदा गर्छ-गर्दैन, वञ्चित गर्छ-गर्दैन, हानि गर्छ-गर्दैन वा दुखाउँछ-दुखाउँदैन भन्नेबारे जेसुकै महसुस भए पनि यसलाई स्विकार्नैपर्छ भने, त्यसलाई समर्पण, परमेश्वरको डर मान्ने हृदय भएको भनिन्छ। साँचो सृजित प्राणी यस्तो हुनुपर्छ। हामी अब्राहम, अय्यूब, पत्रुसको तुलनामा कस्ता छौँ? हामी तिनीहरूभन्दा निकै तल छौँ। योग्यताकै कुरा गर्ने हो भने, हामीमा परमेश्वरसँग बोल्ने, उहाँबारे गलतफहमीमा रहने, उहाँले गर्ने सिङ्गो कार्यको मोल लगाउने वा मूल्याङ्कन गर्ने पनि योग्यता छैन।” मानिसले तिनीहरूमा यी कुनै योग्यता छैनन् भनी सुन्न पक्कै मन पराउनेछैनन्, तर तैँले भ्रष्ट मानवहरूलाई भन्नैपर्ने यही हो किनकि तिनीहरूसँग तर्क गर्न सकिँदैन। सृष्टिकर्तासँग योग्यता र औचित्यको कुरा गर्ने दुस्साहस गर्नु—के यो अहङ्कार र आत्म-धर्मीपन होइन र? बुझाउनै नसकिने हुनु होइन र? तसर्थ, तिनीहरू यसरी ठाडोगरी बोल्दा मात्र बुझ्न सक्छन्; यसरी सङ्गति गरेर केही समस्याहरू हटाउन सकिन्छ।

परमेश्वरको साँच्चै आज्ञापालन गर्ने र साँच्चै सत्यता स्विकार्नेहरूले परमेश्वरबारे गलतफहमी विकास गर्नुहुँदैन, न त उहाँले गर्ने कुनै पनि कार्यबारे आफ्नो विचार वा मूल्याङ्कन राख्नुहुन्छ। व्यवस्थाको युगमा, परमेश्‍वरले अब्राहामलाई एउटा छोरो दिनेछु भनी भन्‍नुभयो। अब्राहामले त्यसको लागि के भने त? उनले केही पनि भनेनन्—उनले परमेश्‍वरले भन्‍नुभएको कुरालाई विश्‍वास गरे। यो अब्राहामको मनोवृत्ति थियो। के तिनले कुनै मूल्याङ्कन गरे? के तिनले खिल्‍ली उडाए? के तिनले कुनै कुरा गुप्त रूपमा गरे? गरेनन्, न त उनले छुद्र चलाखी गरे। आज्ञापालन भनेको यही हो; आफ्‍नो स्थानमा अनि आफ्‍नो कर्तव्यमा दृढ बस्‍नु भनेको यही हो। उनकी पत्‍नी, साराको बारेमा कुरा गर्दा—के तिनी अब्राहामभन्दा फरक थिइनन् र? परमेश्‍वरप्रति तिनको मनोवृत्ति कस्तो थियो? तिनले प्रश्‍न गरिन्, खिल्‍ली उडाइन्, अविश्‍वास गरिन्—अनि तिनले मूल्याङ्कन गरिन्, अनि तिनले अब्राहामलाई उपपत्‍नीको रूपमा आफ्‍नी नोकर्नी दिने अर्थहीन कार्य गरेर छुद्र चलाखी गरिन्। यो मानिसको इच्‍छाबाट आयो। सारा आफ्‍नो स्थानमा दृढ भई बसिनन्, र तिनले परमेश्‍वरका वचनहरूलाई शंङ्का गरिन् अनि उहाँको सर्व-शक्तिमा विश्वास गरिनन्। तिनको अविश्‍वासको कारण के थियो? यसका दुई कारण र प्रसङगहरू थिए। एउटा के थियो भने अब्राहाम त्यो बेला निकै वृद्ध भइसकेका थिए। अर्को के थियो भने तिनी आफै पनि निकै वृद्धा भइसकेकी र सन्तान जन्‍माउन नसक्‍ने भइसकेकी थिइन्। त्यसैले उनले सोचिन्, “यो असम्भव छ। परमेश्वरले यो कसरी पूरा गर्नुहुन्छ? के यो अर्थहीन हुँदैन? के यो बच्चालाई झुक्काउन खोजेको जस्तो भएन र?” परमेश्‍वरले जे भन्‍नुभएको थियो त्यसलाई तिनले सत्यताको रूपमा स्वीकार वा विश्‍वास गरिनन्, बरु यसलाई ठट्टाको रूपमा लिँदै परमेश्वर मानिससँग ठट्टा गर्दै हुनुहुन्छ भन्ने सोचिन्। के यो सही मनोवृत्ति हो? के सृष्टिकर्तालाई हामीले यस्तै मनोवृत्तिले व्यवहार गर्नुपर्छ? (होइन।) त्यसोभए, के उनी आफ्नो स्थानमा दृढ बसिन् त? (बसिनन्।) उनी दृढ बसिनन्। तिनले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा होइन, बरु ठट्टाको रूपमा लिएकी हुनाले, र परमेश्‍वरले भन्‍नुभएको कुरा वा उहाँले गर्न लाग्‍नुभएको कुरामा तिनले विश्‍वास नगरेकी हुनाले, तिनले अर्थहीन रूपमा कार्य गरिन् जसकारण श्रृंखलावद्ध परिणामहरू आइलागे, जुन सबै नै मानिसको इच्‍छाबाट आए। मूल रूपमा, तिनले यसो भनिरहेकी थिइन्, “के परमेश्‍वरले यसो गर्न सक्‍नुहुन्छ? यदि उहाँले त्यसो गर्न सक्‍नुहुन्‍न भने, परमेश्‍वरका यी वचनहरूलाई पूरा गर्न सहायता गर्नको लागि मैले केही गर्नैपर्छ।” तिनीभित्र, गलत बुझाइ, मूल्याङ्कन, अनुमान, र प्रश्‍नहरू थिए, र ती सबैमा परमेश्‍वरको विरुद्ध भ्रष्ट स्वभाव भएको व्यक्तिले गर्ने विद्रोह थियो। के अब्राहामले यी कुराहरू गरे? गरेनन्, र त्यसकारण तिनीमाथि यो आशिष्‌प्रदान गरियो। परमेश्‍वरले उहाँप्रतिको अब्राहामको मनोवृत्ति, उहाँको डर मान्ने तिनको हृदय, तिनको बफादारिता, र तिनको साँचो समर्पण देख्‍नुभयो, र तिनी धेरै जातिका पिता बन्‍न सकून् भनेर परमेश्‍वरले तिनलाई एउटा छोरो दिनुभयो। अब्राहामलाई गरिएको प्रतिज्ञा यही थियो र साराले अनपेक्षाकृत तरिकामा त्यसबाट लाभ पाइन्। त्यसकारण, आज्ञापालन अत्यन्तै महत्त्वपूर्ण कुरा हो। के आज्ञापालनभित्र प्रश्‍न गरिने कार्य हुन्छ? (हुँदैन।) यदि प्रश्‍न गरिने कार्य हुन्छ भने, के यसलाई साँचो आज्ञापालनको रूपमा गन्ती गरिन्छ? (गरिँदैन।) यदि यसभित्र विश्‍लेषण र मूल्याङ्कन छ भने, यसलाई आज्ञापालनको रूपमा तब गन्ती गरिन्छ त? (गरिँदैन।) अनि कसैले परमेश्वरभन्दा माथि हुने प्रयास गर्छ भने नि? यसलाई त झन् आज्ञापालनको रूपमा गन्ती गरिने कुरै आउँदैन। त्यसो भए, साँचो प्रमाणित भएको आज्ञापालनभित्र के प्रकटीकरण र खुलासा हुन्छ—व्यवहार कस्तो हुन्छ? (विश्‍वास।) साँचो विश्‍वास एउटा कुरा हो। परमेश्‍वरले के भन्‍नुहुन्छ र गर्नुहुन्छ त्यसलाई सही रूपमा बुझ्‍नुपर्छ, र परमेश्‍वरले गर्नुहुने सबै कुरा सही र साँचो हुन्छ भनी पुष्टि गर्नुपर्छ; यसको बारेमा प्रश्‍न गर्ने कुनै आवश्यकता हुँदैन, न त अरूलाई यसको बारेमा सोध्‍नु नै आवश्यक हुन्छ, र यसलाई आफ्‍नो हृदयमा तौलनु र यसको बारेमा विश्‍लेषण गर्नु पनि आवश्यक हुँदैन। परमेश्‍वरले गर्नुहुने सबै कुरा सही छ भनेर विश्‍वास गर्नु आज्ञापालनको विषयको एउटा पक्ष हो। जब व्यक्तिले कुनै काम गर्छ, कसैले कुन व्यक्तिले यो गर्‍यो भन्ने कुरालाई, तिनीहरूको पृष्ठभूमि कस्तो खालको छ भनी, तिनीहरूले कुनै खराब कार्य गरेका छन् कि छैनन् भनी, अनि तिनीहरूको चरित्र कस्तो छ भेनी हेर्न सक्छौँ। यी कुराहरूलाई विश्‍लेषण गर्नु आवश्यक हुन्छ। अर्कोतर्फ, यदि कुनै कुरा परमेश्‍वरबाट आएको हो र उहाँले गर्नुभएको हो भने, तैँले आफ्नो मुख तुरुन्तै ढाक्नैपर्छ र कुनै सन्देह राख्नैहुँदैन—यसको बारेमा प्रश्‍न गर्ने र यसको बारेमा जिज्ञासा उठाउने होइन, बरु यसलाई पूर्ण रूपमा स्वीकार गर्नैपर्छ। अनि त्यसपछि के गर्नुपर्छ त? यहाँ केही सत्यता संलग्न छन् जसलाई मानिसहरूले बुझ्दैनन्, र तिनीहरू परमेश्‍वरलाई चिन्दैनन्। तिनीहरूले यो कार्य परमेश्वरले नै गर्नुभएको हो भनी विश्‍वास गर्न र समर्पित हुन सक्‍ने भए पनि, तिनीहरू साँचो रूपमा सत्यता बुझ्दैनन्। तिनीहरूले बुझेका कुरा अझै पनि केही हदसम्‍म धर्म-सैद्धान्तिक प्रकृतिको हुन्छ, र तिनीहरू हृदयमा अशान्त हुन्छन्। त्यस्तो बेला, तिनीहरूले यस्तो प्रश्‍न गर्दै खोजी गर्नुपर्छ, “यसमा के सत्यता छ? मेरो सोचाइमा कहाँ गल्ती छ? म परमेश्‍वरबाट कसरी टाढा भएँ? मेरा दृष्टिकोणहरूमध्ये कुनचाहिँ परमेश्‍वरले भन्‍नुहुने कुरासँग बाझिन्छ?” त्यसपछि, तिनीहरूले ती कुरालाई खोज्नुप्रछ। यो नै आज्ञापालनको मनोवृत्ति र अभ्यास हो। आफूलाई आज्ञाकारी छौं भनी भन्‍ने, तर तिनीहरूमा कुनै कुरा आइलाग्दा यसो मनन गर्ने मानिसहरू पनि छन्, “परमेश्‍वरले के गर्नुहुन्छ सो कसलाई थाहा छ र? हामी सृष्टि गरिएका प्राणीहरूले हस्तक्षेप गर्न सक्दैनौं। परमेश्‍वरले जे चाहनुहुन्छ उहाँलाई त्यही गर्न दिऔं!” के यो आज्ञापालन हो? (होइन।) यो कस्तो प्रकारको मनोवृत्ति हो? यो जिम्‍मेवारी लिने कार्यलाई घृणा गर्नु हो; यो परमेश्‍वरले जे गर्नुहुन्छ त्यसप्रति चासो नगर्नु हो अनि त्यसप्रति रुखो उदासीनता राख्नु हो। अब्राहामले आज्ञापालन गर्न सके किनभने तिनले सिद्धान्तको पालना गरे, अनि उनले आफ्‍नो विश्‍वासमा परमेश्‍वरले जे भन्नुभएको छ, त्यो गर्नैपर्छ र पूरा हुनैपर्छ भनी, दृढ थिए—उनी यी दुई “गर्नैपर्छ र हुनैपर्छ” भन्ने कुराबारे शत प्रतिशत निश्चित थिए। त्यसकारण, तिनले प्रश्‍न गरेनन्, कुनै मूल्याङ्कन गरेनन्, न त तिनी चलाखी गर्ने कार्यमा नै लागे। अब्राहामले आफ्नो समर्पणतामा यस्तै व्यवहार गरे।

अब्राहामले परमेश्वरबाट प्राप्त गरेका आशिष् यही थियो। उनले कुनै शङ्का देखाएनन्, न त आफूले गरेका कार्यमा मानव इच्छा मिसाए। यद्धपि अय्यूबले सामना गरेको परिस्थिति अब्राहामको भन्दा उल्लेखनीय रूपमा फरक थियो। त्यसमा के फरक थियो त? अब्राहामले सामाना गरेको आशिष् थियो, यो राम्रो कुरा थियो; झन्डै १०० वर्षको उमेरमा, उनी सन्तानविहीन थिए अनि सन्तानको आशामा थिए जब परमेश्वरले उनलाई सन्तान दिने वाचा गर्नुभयो। उनी कसरी खुसी नहुन सक्थे र? उनी पक्कै पनि पालन गर्न इच्छुक थिए। तर अय्यूबले जे सामना गरे, त्यो त दुर्भाग्य थियो; तैपनि उनले कसरी पालन गर्न सके त? (उनले आफ्नो हृदयमा सबै परमेश्वरकै कार्य हो भनी विश्वास गरे।) यो एउटा पक्ष हो। अर्को पक्ष पनि छ; प्राय: मानिसले धेरै कष्ट सामना गर्नु नपर्दा अनि परमेश्वरले तिनीहरूलाई आशिष् प्रदान गर्दा तिनीहरू पालन गर्न सक्छन्; तर जब परमेश्वरले लैजानुहुन्छ, त्यसउप्रान्त तिनीहरूलाई पालन गर्न सहज हुँदैन। अय्यूबमा चाहिँ, त्यो दुर्भाग्य स्विकार्न अनि त्यसप्रति समर्पित हुन सक्न, कस्तो दृष्टिकोण, कस्तो तर्कसङ्गतता थियो, उनले कुन-कुन सत्यता वा परमेश्वरबारे कुन पक्ष बुझेका थिए? (उनले परमेश्वरले गर्ने सब कुरा असल हुन्छ भनी विश्वास गरे। उनले आफ्नो हृदयमा के विश्वास गरे भने उनीसँग भएका सबथोक, उनको आफ्नो परिश्रमको कमाइ नभई, उनलाई परमेश्वरद्वारा दिइएको हो,—परमेश्वरले लैजाने पनि उहाँकै अख्तियार हो। उनमा यस प्रकारको तर्कसङ्गतता थियो, त्यसैले उनी स्विकार्न र समर्पित हुन सक्षम थिए।) यदि मानिसले परमेश्वरले गर्ने सबै कार्य असल हुन्छन् भनी विश्वास गर्छन् भने, तिनीहरूलाई समर्पित हुन सजिलो हुन्छ। तर परमेश्वरले गर्ने सबै कुराले मानिसहरूलाई दुर्भाग्य ल्याउँछ जस्तो लाग्दा पनि समर्पित हुन सजिलो हुन्छ त? कुन चाहिँले वास्तविक समर्पणलाई बढी इङ्गित गर्छ? (परमेश्वरले गर्ने सबै कुराले मानिसहरूलाई दुर्भाग्य ल्याउँछ जस्तो लाग्दा पनि समर्पित हुन सक्नु।) त्यसोभए, अय्यूबमा त्यो दुर्भाग्य स्विकार्न सक्ने कस्तो किसिमको तर्कसङ्गतता र सत्यता थियो त? (अय्यूबले परमेश्वरलाई साँच्चै परमेश्वरजसरी व्यवहार गरे। उनले के बुझे भने परमेश्वर आशिष् र अनुग्रह प्रदान गर्ने जन मात्र हुनुहुन्न—उहाँले लैजाँदा पनि, उहाँ परमेश्वर नै हुनुहुन्छ; उनले के पनि बुझे भने यदि कसैलाई विपत्ति नै आइपऱ्यो भने पनि, यो उहाँले अनुमति दिनुभएकोले गर्दा हो। परमेश्वरले जेसुकै गरेपनि, उहाँ परमेश्वर नै रहनुहुन्छ, अनि मानवले सधैँ उहाँलाई आराधना गर्नुपर्छ।) मुख्यत: अय्यूबमा परमेश्वरबारे थोरबहुत बुझाइ थियो, अनि उनले आफ्नो अडान राम्रोसँग लिए। उनले के पहिचान गरे भने बाहिरी मानिस, घटना वा काम-कुराहरू परिवर्तन हुने भएकोले परमेश्वरको सार परिवर्तन हुनेछैन; परमेश्वरको सार सदा र अनन्तसम्म परमेश्वरको सार नै रहन्छ, यो अपरिवर्तनीय छ। परमेश्वरले मानिसहरूलाई आशिष् प्रदान गरेमा उहाँ परमेश्वर हुनुहुन्छ अनि उहाँले केवल मानिसहरूलाई विपत्ति ल्याएमा, तिनीहरूलाई कष्ट र दण्ड दिएमा, वा तिनीहरूलाई नष्ट गरेमा उहाँको सार परिवर्तन भएर उहाँ परमेश्वर रहनुहुन्न भन्ने त होइन। परमेश्वरको सार कहिल्यै परिवर्तन हुँदैन। मानिसको सार पनि कहिल्यै परिवर्तन हुँदैन; यसको अर्थ, सृजित प्राणीको रूपमा मानिसको हैसियत र सार कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्वरको डर मान्न र उहाँलाई चिन्न सक्छस् भने पनि, तँ अझै पनि सृजित प्राणी नै होस्; तेरो सार परिवर्तन हुँदैन। परमेश्वरले अय्यूबलाई यति विशाल परीक्षाहरूमा पार्नुभयो, तैपनि अय्यूब समर्पित हुन सके र उनले गुनासो गरेनन्। उनीसँग परमेश्वरबारे थोरबहुत ज्ञान हुनुबाहेक, उनीसँग सबैभन्दा ठूलो तागत के थियो जसले उनलाई समर्पित हुन र गुनासो नगर्न सक्षम तुल्यायो? उनलाई मानव सधैँ मानव नै हुनेछन्, परमेश्वरले तिनीहरूलाई जस्तोसुकै व्यवहार गरे पनि पूर्णत: सही हुन्छ भन्ने थाहा थियो। सरल रूपमा भन्नुपर्दा, परमेश्वरले तँलाई जसरी व्यवहार गर्नुहुन्छ, तँलाई त्यसरी नै व्यवहार गरिनुपर्ने हो। के यसले कुराहरू स्पष्ट पार्दैन त? परमेश्वरले तँलाई कसरी व्यवहार गर्नुपर्छ, तँलाई कुन-कुन आशिष् दिनुपर्छ, वा तँलाई कुन परीक्षा भोग्ने तुल्याउनुपर्छ अनि तँमा उहाँको कामको के महत्त्व हुनुपर्छ भन्ने माग नगर्। तैँले यी कुरा माग गर्न मिल्दैन, यस्तो माग गर्नु अव्यावहारिक हुन्छ। कतिपय मानिसहरू, शान्ति र सुरक्षा दौरान परमेश्वरले गर्ने सबै कुरा असल हुन्छ त भन्छन्, तर आफ्ना धारणा सँग नमिल्ने कुनै कुरा हुनेबित्तिकै त्यसलाई स्विकार्न सक्दैनन्। यसलाई सत्यताद्वारा समाधान गरिनुपर्छ। यो सत्यता के हो? सत्यता आफ्नो स्थानमा दह्रिलो गरी खडा रहनु हो; परमेश्वरले तँलाई जस्तो व्यवहार गरे पनि त्यो व्यवहार तेरो योग्य हुन्छ र यसमा कुनै त्रुटि हुँदैन। परमेश्वरले तँलाई जस्तो व्यवहार गरेपनि, उहाँ अझै पनि परमेश्वर नै हुनुहुन्छ; मानिसहरूले उहाँसँग माग गर्नुहुँदैन। परमेश्वर कतिको सही हुनुहुन्छ भनी, अनि उहाँका कार्यका कारण, उद्देश्य वा महत्त्वलाई मूल्याङ्कन नगर्। यी कुरालाई तेरो मूल्याङ्कन चाहिँदैन। तेरो जिम्मेवारी र कर्तव्य भनेको सृजित प्राणीको रूपमा आफ्नो स्थानमा दह्रिलो गरी खडा रहनु र परमेश्वरलाई उहाँको इच्छाअनुसार योजनाबद्ध कार्य गर्न दिनु हो। सही तरिका त्यही हो। यो भन्न सजिलो तर अभ्यास गर्न गाह्रो हुन्छ; र तैपनि मानिसहरूले यो सत्यता बुझ्नैपर्छ। सत्यता बुझेर मात्र तँ केही आइपर्दा साँच्चै समर्पित हुन सक्छस्।

कतिपय मानिस, अहिलेसम्म परमेश्वरमा विश्वास गरेर अनि प्रवचनहरू सुनेर, यसो सोच्छन्: “अय्यूब परमेश्वरले दिनुभएका परीक्षाहरूमा समर्पित हुन सक्थे किनकि उनलाई सबै कुरा परमेश्वरको हातबाट आउँछ भन्ने थाहा थियो। व्यक्तिसँग जतिवटा गाइवस्तु, वा घरजग्गा, सम्पत्ति र सन्तान भए पनि, ती सबै परमेश्वरले नै प्रदान गर्नुभएको हो—यो मानिसले तय गर्न सक्ने कुरा नै होइन। मानिसहरू परमेश्वरको सामु दासजस्ता हुन्, उहाँले तिनीहरूलाई जस्तोसुकै व्यवहार गरे पनि तिनीहरूले सहनैपर्छ।” तिनीहरू परमेश्वरलाई चिन्न यस किसिमको नकारात्मक मनोवृत्ति प्रयोग गर्छन्; के परमेश्वरलाई यसरी चिन्नु सही हो? यो पक्कै पनि सही होइन। त्यसोभए परमेश्वरलाई चिन्ने सही तरिका के होला त? (मानिसहरू सृजित प्राणी हुन्, र परमेश्वर सदा परमेश्वर हुनुहुन्छ। परमेश्वरले जस्तोसुकै कार्य गरे पनि, मानिसले परमेश्वरलाई उहाँको आफ्नो इच्छाअनुसार योजनाबद्ध कार्य गर्न दिनुपर्छ।) त्यो सही हो। परमेश्वरले एउटा निश्चित तरिकाले कार्य गर्नुपर्छ भनी माग नगर्। परमेश्वरले सङ्गतिमा तेरो लागि सबै कुरा स्पष्ट पारिदिनुपर्छ भनी माग नगर्। यदि उहाँले स्पष्ट पारिदिनुभएन भने, तँसँग कारण छ भन्ने सोचेर परमेश्वरसँग प्रतिस्पर्धा गर्नुहुँदैन। यो गलत हो। यो अत्यन्तै अहङ्कारी र आत्म-धर्मी हुनु, अनि विवेक र समझ नहुनु हो; सृजित प्राणीले यसो भन्नुहुँदैन। शैतानले पनि परमेश्वरसँग यस्तो मूर्खतापूर्ण रूपमा बोल्ने दुस्साहस गर्दैन—तँ एउटा भ्रष्ट मानव होस्, तँ कसरी शैतानभन्दा पनि अहङ्कारी हुन सक्छस्? मानिसहरूले परमेश्वरसँग कुराकानी गर्दा कस्तो चाहिँ स्थानमा रहेर बोल्नुपर्छ त? व्यक्तिले यो मामिलालाई कसरी बुझ्नुपर्छ? वास्तवमा, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” भन्ने अय्यूबको भनाइले उनी कसरी परमेश्वरप्रति समर्पित हुन सके भन्ने कुरालाई स्पष्ट पारिसकेको छ, अनि त्यसभित्रको सत्यता खोजिनुपर्छ। उनले यो वाक्य बोल्दा गर्दा के कुनै गुनासो वा सिकायत व्यक्त गरे त? (गरेनन्।) के त्यसमा कुनै अस्पष्टता वा नकारात्मक आशय थियो त? (थिएन।) पक्कै थिएन। सृष्टिकर्ताले मानिसलाई कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरा मानिसले निर्धारण गर्ने कुरा होइन भन्ने अय्यूबले अन्तत: आफ्ना अनुभवहरूबाट बुझे। यो अलिक अप्रिय सुनिन सक्छ, तर यो तथ्य हो। परमेश्वरले सबको सम्पूर्ण जीवनभरको नियतिको प्रबन्ध गर्नुभएको छ; चाहे तैँले यसलाई स्विकारे पनि वा नस्विकारे पनि, यो तथ्य नै हो। तैँले आफ्नो नियति बदल्न सक्दैनस्। परमेश्वर यावत् सृष्टिको प्रभु हुनुहुन्छ, र तँ उहाँद्वारा योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुनुपर्छ। परमेश्वरले जसरी कार्य गरे पनि सही नै हुन्छ किनकि उहाँ सत्य हुनुहुन्छ र यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ, अनि मानिसहरू उहाँप्रति समर्पित हुनुपर्छ। यो “यावत् थोक” मा तँलगायत सबै सृजित प्राणी समावेश हुन्छन्। त्यसोभए, तैँले सधैँ प्रतिरोध गर्न चाहनु कसको गल्ती हो त? (यो हाम्रो आफ्नै गल्ती हो।) यो तेरो आफ्नै समस्या हो। तँ सधैँ कारणहरू खोज्न अनि उहाँभन्दा माथि पर्न चाहन्छस्; के यो सही हो त? तँ सधैँ परमेश्वरबाट आशिष् र लाभहरू प्राप्त गर्न चाहन्छस्; के यो सही हो त? यो मध्ये कुनै पनि सही होइन। यी दृष्टिकोणले परमेश्वरबारे गलत ज्ञान र बुझाइको प्रतिनिधित्व गर्छन्। परमेश्वरमा विश्वास गर्ने तेरो दृष्टिकोण गलत भएकाले नै, कुनै परिस्थिति सामना गर्दा तँ अनिवार्य रूपमा परमेश्वरसँग बाझ्नेछस्, प्रतिस्पर्धा गर्नेछस् र उहाँको विरोध गर्नेछस्, अनि यसो सोच्नेछस् “परमेश्वरले यसो गर्नु गलत हो; म यो स्विकार्न सक्दिनँ। उहाँले त्यसरी कार्य गर्दा सबजनाले त्यसको विरोध गर्ने थिए। त्यसो गर्नु परमेश्वरजस्तो त भएन नि!” तर यो परमेश्वर कस्तो हुनुहुन्छ भन्ने मामिला होइन; परमेश्वरले जेसुकै गरे पनि, उहाँ परमेश्वर नै हुनुहुन्छ। यदि तँमा यो समझ र बुझाइ छैन, तँलाई हरेक दिन कुराहरू आइपर्दा तँ सधैँ अनुसन्धान र अनुमान गर्ने गर्छस् भने, परिणामस्वरूप तैँले हरेक मोडमा परमेश्वरसँग प्रतिस्पर्धा र उहाँको विरोध मात्रै गर्नेछस्, अनि यस स्थितिबाट उम्कनै सक्नेछैनस्। तर यदि तँमा यो बुझाइ छ अनि तँ सृजित प्राणीको स्थानमा लिन, अनि परिस्थितिहरू सामना गर्दा आफूलाई सत्यताको यस पक्षसँग तुलना गर्न, र त्यसलाई अभ्यास गरेर त्यसमा प्रवेश गर्न सक्छस् भने, तँमा भएको परमेश्वरको भित्री डर समय सँगै बढ्दै जानेछ। थाहै नपाइ, तँलाई यस्तो महसुस हुनेछ: “परमेश्वरले गर्ने कार्य गलत नहुँदो रहेछ; उहाँले सबै असल कुरा नै गर्नुहुँदो रहेछ। मानिसहरूले त्यसलाई अनुसन्धान र विश्लेषण गर्नुपर्दैन; केवल आफूलाई परमेश्वरका प्रबन्धहरूमा समर्पित गर!” अनि जब तैँले आफूलाई परमेश्वरप्रति समर्पित हुन वा उहाँका योजनाबद्ध कार्यहरू स्विकार्न नसकेको पाउँछस्, तेरो हृदयले दोषी महसुस गर्नेछ: “म असल सृजित प्राणी भएको छैन। म किन समर्पित हुन सक्दिनँ? के यसले सृष्टिकर्तालाई दुखी बनाइरहेको छैन र?” तँ जति असल सृजित प्राणी बन्ने चाहना गर्छस्, त्यति नै सत्यताको यस पक्षबारे तेरो बुझाइ र स्पष्टता बढ्छ। तर तँ जति आफूलाई महत्त्वपूर्ण व्यक्ति ठान्छस् र परमेश्वरले तँलाई यसरी व्यवहार गर्नहुँदैन, तँलाई यस तरिकाले चेताउनु हुँदैन, तँलाई त्यसरी काँट-छाँट, निराकरण, र योजनाबद्ध गर्नुहुँदैन भन्ने विश्वास गर्छस्, तँ समस्यमा हुन्छस्। यदि तँ हृदयमा परमेश्वरसँग धेरै माग गर्छस्, यदि तँलाई परमेश्वरले धेरै कुराहरू गर्नुहुँदैनथ्यो भन्ने लाग्छ भने, तँ गलत मार्गमा गइरहेको छस्; धारणा, मूल्याङ्कन, र ईशनिन्दा उत्पन्न हुनेछन्, अनि तँ दुष्कर्मबाट टाढा छैनस्। सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्वरका वचनहरू सुन्दा, विश्लेषण र अनुसन्धान गर्न थाल्छन्, जसबाट बिस्तारै शङ्का र उपहास उत्पन्न हुन थाल्छन्। त्यसपछि तिनीहरू मूल्याङ्कन, इन्कार र निन्दा गर्न थाल्छन्—परिणाम यही हो। परमेश्वरलाई यसरी व्यवहार गर्ने धेरै यस्ता मानिस छन्, र यो सब तिनीहरूको भ्रष्ट स्वभावका कारण भएको हो।

कतिपय मानिसहरू सधैँ यस्तो सोच्छन्, “म एउटा व्यक्ति हुँ। हो, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने साँचो हो, तर उहाँले मेरो सम्मान गर्नैपर्छ र मलाई बुझ्नैपर्छ, उहाँले मलाई प्रेम र मेरो सुरक्षा गर्नैपर्छ।” के यो दृष्टिकोण सही हो त? परमेश्वरले मानिसलाई कसरी प्रेम गर्नुहुन्छ भन्ने अन्तिम निर्णय उहाँ आफैले नै गर्नुहुन्छ। उहाँ मानिसलाई प्रेम गर्नुहुन्छ। परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ; उहाँले आफूले सृष्टि गरेका प्राणीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उहाँको मतलबको कुरा हो। परमेश्वरका आफ्नै सिद्धान्त अनि स्वभाव छन्; मानिसहरूले माग गर्नु व्यर्थ हो। तिनीहरूले बरू परमेश्वरलाई कसरी बुझ्ने र उहाँमा कसरी समर्पित हुने भनी सिक्नुपर्छ, मानिसहरूमा हुनुपर्ने समझ यही हो। कतिपय मानिसहरू भन्छन्: “परमेश्वर मानिससँग एकदम रुखो व्यवहार गर्नुहुन्छ। उहाँ मानिसहरूलाई सम्मान गर्नुहुन्न, न त तिनीहरूलाई मानवजसरी व्यवहार नै गर्नुहुन्छ!” कतिपय मानिसहरू मानव हुँदैनन्, तिनीहरू दियाबलस हुन्छन्। यस्ता मानिसहरू पनि छन् जो भन्छन्, “म निकै असल व्यक्ति हुँ; मैले परमेश्‍वरको विरोध गर्ने कुनै काम गरेको छैन, र मैले उहाँको लागि धेरै कष्ट भोगेको छु। उहाँले किन अझै मलाई काटछाँट र निराकरण गर्नुहुन्छ? उहाँ मलाई किन सधैँ बेवास्ता गर्नुहुन्छ? उहाँले किन मलाई कहिल्यै पनि सराहना गर्ने वा माथि उठाउने गर्नुहुन्‍न?” अझै अरूले भन्छन्, “म सरल र निष्कपट मान्छे हुँ; म गर्भैमा हुँदादेखि मैले परमेश्‍वरमा विश्‍वास गरेको छु, र अहिले पनि म उहाँलाई विश्‍वास गर्छु। म अत्यन्तै चोखो छु! मैले आफूलाई परमेश्‍वरको निम्ति समर्पित गर्नको लागि मेरो परिवार र जागिर त्यागेँ, र परमेश्‍वरले मलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने बारेमा विचार गरेँ। तर अब, परमेश्‍वरले मानिसहरूलाई त्यति धेरै प्रेम गर्नुहुन्‍न जस्तो देखिन्छ, र मलाई उजाड अवस्थामा छोडिएको जस्तो लाग्छ, र म उहाँप्रति निराश र हतोत्साहित छु।” के यो समस्याजनक होइन त? यी मानिसहरूले के-के कुराहरू गलत रूपमा गरिरहेका छन्? तिनीहरू आफ्‍नो उचित स्थानमा रहेका छैनन्; आफू को हुँ भन्‍ने तिनीहरूलाई थाहा छैन, र तिनीहरू सधैँ आफू परमेश्‍वरले सम्‍मान र उत्थान गर्नुपर्ने, वा बहुमूल्य वा प्रिय ठान्नुपर्ने कोही महत्त्वपूर्ण व्यक्ति हुँ भन्‍ने सोच्छन्। यदि मानिसहरूमा सधैँ यस्ता भ्रम, त्यस्तो मूर्ख र अव्यावहारिक मागहरू हुन्छन् भने, यो एकदमै खतरनाक हुन्छ। कम्तीमा पनि, तिनीहरू परमेश्वरद्वारा तिरस्कृत र घृणित हुनेछन्, अनि यदि तिनीहरूले पश्चाताप गरेनन् भने निकालिने खतरामा हुन्छन्। त्यसोभए, मानिसहरू परमेश्वरका मागअनुरूप हुन, तिनीहरूले यी कठिनाइलाई हटाउन, अनि परमेश्वरप्रतिका आफ्ना मागहरू त्याग्न के गर्नुपर्छ, आफूलाई कसरी चिन्नुपर्छ, अनि आफूलाई कसरी व्यवहार गर्नुपर्छ? केही मानिसहरूलाई परमेश्वरको घरले अगुवा बनाउने प्रबन्ध गरेको हुन्छ, अनि तिनीहरू निकै उत्साहित हुन्छन्। केही समय काम गरेपछि, तिनीहरू बाहिरी कार्य राम्रैसँग गर्न सक्ने भए पनि, समस्या-समाधान गर्ने कार्य चाहिँ सम्हाल्न सक्दैनन् भन्ने पत्ता लाग्छ—तिनीहरू समस्या हटाउन सत्यता सङ्गति गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई मण्डलीमा अगुवाको भूमिकाबाट हटाइन्छ। के यो एकदम उचित होइन र? तर तिनीहरू यसो भन्दै बहस र गुनासो गर्न थाल्छन्, “ती झुटा अगुवा र ख्रीष्टविरोधीहरूले दिइएका कार्यहरू राम्ररी गरेनन्; तिनीहरूले केवल बाधा र अवरोध मात्र खडा गरे। तिनीहरूलाई वास्तवमै हटाएर निकाल्नुपर्छ। तर मैले त केही खराब कार्य गरेको छैन; मलाईचाहिँ किन प्रतिस्थापित गरिँदैछ?” तिनीहरू अलिक निराश हुन्छन्। किन निराश हुन्छन्? किनकि तिनीहरू आफूले कुनै खराब कार्य नगरेकोले, आफू अझै पनि अगुवा हुनुपर्ने र आफ्नो प्रतिस्थापित नहुनुपर्ने ठान्छन्। तिनीहरूलाई परमेश्वरको घरले आफूलाई एकदम अन्याय गरेको महसुस गर्छन्। तिनीहरूको हृदय गुनासो र प्रतिरोधले भरिन्छ, अनि तिनीहरूमा परमेश्वरबारे धारणाहरू उत्पन्न हुन्छन्, जसले तिनीहरूलाई भित्री असन्तुलनतर्फ डोऱ्याउँछ: “के अगुवाहरूको चुनाव र निष्कासनको निम्ति सिद्धान्तहरू छन् भनेर भनिएको होइन? मलाई त जे भएको छ त्यसमा कुनै सिद्धान्त छैन, परमेश्‍वरले गल्ती गर्नुभएको छ जस्तो लाग्छ!” छोटकरीमा भन्दा, परमेश्‍वरले तिनीहरूका चासोहरूलाई हानि गर्ने र तिनीहरूको भावनामा चोट पुर्‍याउने कुनै काम गर्नुभएसम्म, तिनीहरू गल्ती खोतल्‍न थालिहाल्छन्। के यो समस्या हो? यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ? तैँले आफ्नो पहिचानलाई चिन्नैपर्छ, आफू को हुँ भन्‍ने कुरालाई जान्‍नैपर्छ। तँसँग जे-जस्ता प्रतिभा वा सामर्थ्यहरू भए पनि, तँसँग जति धेरै सीप वा क्षमता भए पनि, परमेश्‍वरको घरमा तैँले जति नै धेरै योग्यता कमाएको भए पनि, तैँले जति नै दौडधूप गरेको भए पनि, तैँले जति नै धेरै पूँजी आर्जित गरेको भए पनि, यी कुराहरू परमेश्‍वरको लागि केही पनि होइनन्, र यदि तँ उभिएको स्थानबाट ती महत्त्वपूर्ण देखिन्छन् भने, के तँ र परमेश्‍वरको बीचमा गलत बुझाइ र विरोधाभास पैदा भएको हुँदैन र? यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? यदि तँ आफू र परमेश्‍वर बीचको दूरीलाई घटाउन, र यी विरोधाभासहरूलाई समाधान गर्न चाहन्छस् भने, यो कसरी गर्नुपर्छ? तैँले सही ठानेका र तैँले पक्रिराखेका कुराहरूलाई इन्कार गर्नुपर्छ। त्यसो गरेपछि, तँ र परमेश्‍वरको बीचमा अबउप्रान्त कुनै दूरी हुनेछैन, र तँ आफ्‍नो स्थानमा उचित रूपमा खडा हुनेछस्, र तँ समर्पित हुन सक्‍नेछस्, परमेश्‍वरले गर्नुभएको सबै कुरा सही हुन्छ भन्‍ने कुरालाई पहिचान गर्न सक्‍नेछस्, आफैलाई नकार्न र त्याग्‍न सक्‍नेछस्। तैँले आफूले हासिल गरेको योग्यतालाई अबउप्रान्त पूँजीको रूपमा लिनेछैनस्, न त तैँले अबउप्रान्त परमेश्‍वरसँग सर्तहरू गर्ने, वा उहाँसँग मागहरू गर्ने, वा उहाँलाई इनाम माग्‍ने नै गर्नेछस्। यस बेला, तँसँग अब कुनै कठिनाइहरू हुनेछैनन्। परमेश्‍वरसम्‍बन्धी मानिसका सबै भ्रमहरू किन पैदा हुन्छन्? ती भ्रमहरू पैदा हुन्छन् किनभने मानिसहरूआफ्ना क्षमता नाप्न सक्दैनन्; स्पष्ट रूपमा भन्दा, परमेश्‍वरको नजरमा तिनीहरू कस्ता कुरा हुन् भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूले आफैलाई अत्यन्तै उच्‍च ठान्छन् र परमेश्‍वरको नजरमा आफ्‍नो स्थान अत्यन्तै उच्‍च रहेको आँकलन गर्छन्, र तिनीहरूले जुन कुरालाई व्यक्तिको मूल्य र पूँजी ठानेका हुन्छन् त्यसलाई नै सत्यता, त्यसलाई नै त्यो मापदण्ड मान्छन् जसको आधारमा परमेश्‍वरले तिनीहरूले मुक्ति पाउनेछन् कि छैनन् भनी मापन गर्नुहुन्छ। यो गलत कुरा हो। परमेश्‍वरको हृदयमा तेरो निम्ति कस्तो स्थान छ, र परमेश्‍वरले तँलाई जस्तोसुकै व्यवहार गर्नुभए पनि उचित हुन्छ भन्‍ने कुरा तैँले जान्‍नैपर्छ। तैँले यो सिद्धान्त बुझ्नुपर्छ, त्यसपछि तँ सत्यता र परमेश्वरका विचारअनुरूप हुनेछस्। तँमा यो समझ हुनैपर्छ अनि तँ परमेश्वरमा समर्पित हुन सक्षम हुनैपर्छ; उहाँले तँलाई जस्तोसुकै व्यवहार गरेपनि तँ समर्पित हुनैपर्छ। त्यस उप्रान्त तँ र परमेश्वरबीच कुनै विरोध हुनेछैन। अनि जब परमेश्वरले तँलाई फेरि यस तवरमा व्यवहार गर्नुहुन्छ, के तँ समर्पित हुन सक्नेछैनस् र? के तँ अझै पनि परमेश्वरसँग प्रतिस्पर्धा अनि उहाँको विरोध गर्नेछस् र? गर्नेछैनस्। तैँले आफ्नो हृदयमा अलिअलि असहजता महसुस गरे पनि, वा तँलाई परमेश्वरले तैँले चाहेजस्तो व्यवहार नगरेको झैँ लागे पनि, र किन उहाँले तँलाई त्यसरी व्यवहार गर्नुहुन्छ भनेर नबुझे पनि, तैँले थोरबहुत सत्यता बुझिसकेको अनि केही वास्तविकताहरू प्राप्त गरिसकेको, अनि तँ आफ्नो स्थानमा दह्रिलो गरी खडा हुन सक्ने भएको कारण, तँ उप्रान्त परमेश्वरसँग लड्नेछैनस्, जसको अर्थ तेरो विनाश गराउने तेरा व्यवहारहरू बाँकी रहनेछैनन्। अनि त्यसपछि के तँ सुरक्षित हुनेछैनस् र? एकपटक सुरक्षित भएपछि तँ स्थिर महसुस गर्नेछस्, जसको अर्थ तँ पत्रुसको मार्ग हिँड्न थालेको छस्। हेर्, पत्रुसले परमेश्वरमा कैयौँ वर्ष विश्वास गरे, कैयौँ वर्षसम्म आफ्नो मार्गछामछुम गरे, अनि कति कष्ट भोगे। उनले धेरै परीक्षा अनुभव गरिसकेपछि मात्र केही सत्यता बुझे र केही सत्यता वास्तविकता पाए। अब तिमीहरूको कुरा गर्दा, मैले यति धेरै बोलिसकेँ, सबै कुरा स्पष्ट रूपमा व्याखा गरिसकेँ—यो त खाना थालमा हालेरै दिए बराबर हो नि, होइन र? तिमीहरूले घुमाउरो बाटो नलिकन कति कुरा हासिल गरिसक्यौ; तिमीहरू सबैलाई निकै फाइदा भएको छ। त्यसोभए तिमीहरू अझै पनि किन सन्तुष्ट छैनौ? तिमीहरूमा कुनै थप माग हुनुहुँदैन।

हामीले आज मुख्यत: के कुराबारे सङ्गति गऱ्यौँ? एउटा पक्ष भनेको आफ्नो स्थितिको विभिन्न पक्षहरूलाई निरन्तर रूपमा ध्यान दिने र जाँच्ने, अनि ती सही छन् कि छैनन् भनेर तिनको विश्लेषण गर्ने। अर्को पक्ष भनेको आफूमा उत्पन्न हुने परमेश्वरबारे विभिन्न गलतफहमीहरू हटाउने। जब तँसँग परमेश्‍वरसम्‍बन्धी गलत बुझाइहरू हुन्छन्, तब तँमा कट्टर, पूर्वाग्रही तत्वहरू रहेका हुन्छन् जसले तँलाई सत्यताको खोजी गर्नबाट रोक्‍छन्। यदि परमेश्वरबारेका तेरा गलत बुझाइहरूलाई हटाइयो भने, तैँले सत्यताको खोजी गर्न सक्‍नेछस्; यदि तिनलाई हटाइएन भने, तेरो हृदयमा मनमुटाउको आभास हुनेछ, र तैँले झारातिरुवा तरिकाले प्रार्थना गर्नेछस्; यो त परमेश्‍वरलाई छल गर्नु हो, र उहाँले तेरो प्रार्थना बिल्कुलै सुन्‍नुहुनेछैन। यदि तँमा परमेश्‍वरको बारेमा गलतफहमी छ, जसले तँ र उहाँबीच दूरी र मनमुटाउको पैदा गर्छ, अनि तेरो हृदयको ढोका उहाँको निम्ति बन्द हुन्छ, र तैँले उहाँका वचनहरू सुन्‍न वा सत्यताको खोजी गर्न चाहँदैनस्। तैँले जे नै गरे पनि, तैँले आफूलाई छलावरणमा लुकाउँदै र छली हुँदै झारा टार्ने काम मात्रै गरिरहेको हुनेछस्। जब परमेश्‍वरसम्‍बन्धी मानिसका गलत बुझाइहरूको समाधान भएको हुन्छ र उसले यो अवरोध पार गरिसकेको हुन्छ, उसले परमेश्‍वरका हरेक वचन र मापदण्डहरूलाई इमानदारीको साथ लिनेछ, र उहाँको अघि साँचो अनि इमानदार हृदय लिएर आउनेछ। यदि मानिस र परमेश्‍वरको बीचमा, विरोधाभास, दूरी अनि गलतफहमी छ भने, मानिसले कुन भूमिका खेलिरहेको हुन्छ? उसले शैतानको भूमिका खेलिरहेको हुन्छ, र ऊ परमेश्‍वरको विरोधमा हुन्छ। परमेश्वरको विरोधबाट के-कस्ता परिणामहरू आउँछन्? के त्यस्तो व्यक्ति परमेश्‍वरमा समर्पित हुन सक्छ? के तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन्? सक्दैनन्। यदि तिनीहरू यी कुनै पनि कुरा गर्न सक्दैनन् भने, ती व्यक्तिसँग अन्त्यमा केही पनि हुने छैन। तिनीहरूको स्वभावगत परिवर्तनमा रोकावट आउनेछछ। त्यसकारण, जब व्यक्तिले आफ्‍ना विभिन्‍न स्थितिहरूलाई जाँच गर्छ, एक हिसाबमा यो आफैलाई जान्‍नको लागि गरिएको हुन्छ भने, अर्को हिसाबमा, यसले गर्दा व्यक्ति परमेश्‍वरप्रतिको आफ्‍ना गलत बुझाइहरूलाई जाँच गर्ने कार्यमा केन्द्रित हुन बाध्य भएको हुन्छ। यी गलत बुझाइहरूमा के-के कुराहरू समावेश भएका हुन्छन्? धारणा, कल्‍पना, हदबन्दी, शङ्‍का, छानबिन, र अनुमानहरू—मुख्यत: यी कुरा समावेश भएका हुन्छन्। जब कुनै व्यक्तिभित्र यी कुरा हुन्छन्, उसमा परमेश्वरप्रति गलतफहमी हुन्छ। जब तँ यी स्थितिहरूमा अल्झिन्छस्, परमेश्‍वरसँगको तेरो सम्‍बन्धमा समस्या पैदा हुन्छ। तैँले यसलाई समाधान गर्नको लागि तुरुन्तै सत्यताको खोजी गरिहाल्‍नुपर्छ—र तैँले यसलाई समाधान गर्नैपर्छ। केहीले सोच्छन्, “ममा परमेश्‍वरको बारेमा गलतफहमी पैदा भएको छ, त्यसैले यो समस्या समाधान नगरिञ्‍जेलसम्‍म आफ्‍नो कर्तव्य निर्वाह गर्न म सक्दिनँ।” के यो स्वीकार्य हुन्छ? (हुँदैन।) आफ्‍नो कर्तव्य निर्वाह गर्ने कार्यलाई स्थगित नगर्, बरु आफ्‍नो कर्तव्य पनि निर्वाह गर् र तेरो समस्यालाई पनि एकसाथ समाधान गर्। तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, परमेश्‍वरसम्‍बन्धी तेरो गलत बुझाइ थाहै नपाई सुदृढ हुँदै जानेछ, र तेरो समस्या कहाँबाट सुरु भयो र यो कति गम्‍भीर छ भन्‍ने कुरालाई तैँले पत्ता लगाउनेछस्। एक दिन, तिमीहरूले थाहा पाउन सक्‍नेछौ कि “मानिस सृष्टि गरिएको प्राणी हो, र सृष्टिकर्ता नै सदासर्वदा मेरो प्रभु हुनुहुन्छ; यसको सार परिवर्तन हुँदैन। मानिसको हैसियत परिवर्तन हुँदैन, न त परमेश्‍वरको हैसियत नै परिवर्तन हुन्छ। परमेश्‍वरले जे गर्नुभए पनि, र सारा मानवजातिले उहाँले गर्नुहुने कामलाई गलत देखे पनि, उहाँले जे गर्नुभएको छ म त्यसलाई नकार्न सक्दिन, न त उहाँ नै सत्यता हुनुहुन्छ भन्‍ने कुरालाई नै म नकार्न सक्छु। परमेश्‍वर नै सर्वोच्‍च सत्यता हुनुहुन्छ, अनन्त रूपमा अचूक हुनुहुन्छ। मानिस आफ्‍नै उचित स्थानमा दह्रिलो गरी खडा हुनुपर्छ; उसले परमेश्‍वरको छानबिन गर्नु हुँदैन, तर परमेश्‍वरको योजनाबद्ध कार्यहरूलाई र उहाँका सबै वचनहरूलाई स्वीकार गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ र गर्नुहुन्छ त्यो सही हुन्छ। मानिसले परमेश्‍वरको लागि विभिन्‍न सर्तहरू तोक्नु हुँदैन—सृष्टि गरिएका प्राणीहरू त्यसो गर्न योग्यका छैनन्। परमेश्‍वरले मलाई खेलौनाको रूपमा व्यवहार गर्नुभयो भने पनि, म अझै पनि समर्पित हुनुपर्छ, र यदि म समर्पित भइन भने, यो मेरो समस्या हो, परमेश्‍वरको होइन।” जब तैँले सत्यताको यो पक्षलाई अनुभव र स्वीकार गरेको हुन्छस्, तँ परमेश्‍वरप्रतिको समर्पणमा साँचो रूपमा प्रवेश गरेको हुनेछस्, र तँसँग अबउप्रान्त थप कुनै ठूला कठिनाइहरू हुनेछैन, र चाहे तैँले आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको होस् वा सत्यताका विभिन्‍न पक्षहरूको अभ्यास गरिरहेको होस्, धेरै कठिनाइहरू समाधान हुनेछन्। परमेश्वरप्रतिको समर्पण नै सबैभन्दा ठूलो, र सबैभन्दा गहन सत्यता हो। धेरैपटक, जब मानिसहरूले विभिन्‍न कठिनाइहरूको सामना गर्छन्, जब धेरै वाधाहरू आउँछन्, वा जब तिनीहरूले स्विकार्नै नसक्‍ने कुरा आइपर्छ, तब कारण के हुन्छ? (तिनीहरू गलत स्थानमा खडा भएका हुन्छन्।) तिनीहरू गलत स्थानमा खडा भएका हुन्छन्। तिनीहरूसँग परमेश्‍वरसम्‍बन्धी गलत बुझाइ हुन्छ; तिनीहरूले परमेश्‍वरको छानबिन गर्न चाहन्छन् र उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न चाहँदैनन्; तिनीहरूले परमेश्‍वरको विशुद्धतालाई इन्कार गर्न चाहन्छन्; र तिनीहरूले परमेश्‍वर नै सत्यता हुनुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्न चाहन्छन्। यसले मानिस सृष्टि गरिएको प्राणी बन्‍न चाहँदैन, तर परमेश्‍वरकै स्तरमा खडा हुन, उहाँमा गल्ती भेट्टाउन चाहन्छ बन्‍ने संकेत गर्छ। यसले समस्या पैदा गर्छ। यदि तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्‍नो स्थानमा अडिग रहन सक्छस् भने, परमेश्‍वरले जे गर्नुहुन्छ त्यसप्रति तँमा आधारभूत रूपमा कुनै विरोध पैदा हुनेछैन। तँसँग केही गलत बुझाइहरू हुन सक्छन्, र तँसँग केही धारणाहरू हुन सक्छन्, तर कम्तीमा पनि, तेरो मनोवृत्ति परमेश्‍वरको योजनाबद्ध कार्यहरूलाई स्वीकार गर्ने किसिमको हुनेछ, र तँ परमेश्‍वरमा समर्पित हुने स्थानमा रहेको हुनेछस्, त्यसकारण तँमा परमेश्‍वरप्रति कुनै विरोध पैदा हुनेछैन।

अय्यूबमा आस्था भए पनि, परमेश्वरका परीक्षा उनमाथि आइपर्दा के उनलाई सुरूमा के भइरहेको छ भन्ने थाहा थियो त? (थिएन।) मानवसँग आत्मिक क्षेत्र सिधै आर-पार गर्ने संकाय हुँदैन; अय्यूबलाई त्यहाँ के भइरहेको छ भन्नेबारे केही थाहा थिएन—उनी सबथोकबारे पूर्णत: अनजान थिए। त्यसैले, जब परमेश्वरका परीक्षा उनमाथि आइपरे, उनी पक्कै पनि चकित भए र उनले यसो सोचे, “ओहो, के भइरहेको छ? सबै कुरा कति शान्त थियो, यो अचानक किन भयो? मैले अचानक किन मेरा सबै गाइवस्तु र सम्पत्ति गुमाएँ?” उनी सुरूमा चकित भए, तर चकित हुनु भनेको परमेश्वरबारे गलतफहमी हुनु बराबर थिएन, चकित हुनु भनेको परमेश्वरले के गरिरहनुभएको छ भन्ने नबुझ्नु बराबर थिएन। कुरा यति मात्र हो कि सबै कुरा निकै अकस्मात भयो; अय्यूबलाई कुनै पूर्वजानकारी थिएन, न त कसैले उनलाई पूर्व-सूचना नै दिएको थियो—उनी अलिकति पनि तयार थिएनन्। तर, यसको अर्थ उनले गलत विकल्प रोज्थे वा गलत मार्ग लिन्थे, वा समर्पित हुन सक्थेनन् भन्ने होइन। त्यसोभए, त्यसपछि अय्यूबले के गरे त? उनले पक्कै आफ्नो हृदयलाई शान्त पारे अनि आफ्ना कार्यहरूबारे गम्भीर रूपमा चिन्तन गरे, अनि परमेश्वरलाई प्रार्थना गरे। केही दिन खोजेपछि, उनी निष्कर्षमा आइपुगे: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्यूबको यो भनाइले उनको दृष्टिकोण र उनले हिँडेको मार्ग प्रतिनिधित्व गर्छ। अय्यूब परीक्षा आइपर्दा सुरूमा चकित भएको भए पनि, उनलाई यो मानव इच्छाबाट भएको कार्य नभई परमेश्वरको कार्य हो भन्ने थाहा थियो। परमेश्वरको अनुमतिविना, कसैले पनि परमेश्वरले मानिसलाई दिनुभएको कुनै कुरा छुन सक्दैनथ्यो, शैतानले समेत सक्दैनथ्यो। सतहमा, अय्यूबमा परमेश्वरले के गरिरहनुभएको छ भन्नेबारे केही गलतफहमी भएकोजस्तो देखिन्थ्यो; उनलाई यो किन भइरहेको छ वा परमेश्वरले यसो गर्नुको अर्थ के हो भन्ने थाहा थिएन। उनले पूर्णरूपमा बुझेनन्, तर उनको गलतफहमी परमेश्वरको कार्यप्रतिको इन्कार वा प्रश्न थिएन; अय्यूबको गलतफहमी परमेश्वरले जायज मान्नुहुने खालको थियो। यसपछि, उनले यहोवा परमेश्वरले ऊसँग भएको सबै कुरा लैजाने अभिप्राय राख्नुभएको छ, अनि परमेश्वरले जे गरिरहनुभएको छ त्यो सही छ भन्ने कुरा तुरुन्तै बुझे; उनले त्यो स्विकार्न तुरुन्तै घुँडा टेके। के साधारण मानिसहरू यो स्तरमा पुग्न सक्छन् त? सक्दैनन्। अय्यूब त्यसबेला जति सुकै चकित भए पनि, वा उनीमाथि आइपरेको सब कुरा घुँडा टेकेर स्विकार्न उनलाई जति नै समय लागेको भए पनि, उनको मनोवृत्ति जहिले पनि सृजित प्राणीको स्थानमा खडा हुने थियो। यी घटनाहरू सामना गर्दा, उनले यसो भनेनन्, “म धनी छु अनि मेरा कति धेरै नोकर छन्, यी सबै कुरा यतिकै लैजान कसरी मिल्छ? मैले मेरा नोकरहरूलाई तुरुन्तै ती कुरा फिर्ता ल्याउन अह्राउनुपर्छ।” के उनले त्यस्तो गरे त? गरेनन्। उनी यो कार्य परमेश्वरले गर्नुभएको हो, अनि मानिसले यसबारे केही गर्न सक्दैन भनी आफ्नो हृदयमा स्पष्ट थिए। यसमा संलग्न हुनु भनेको परमेश्वरले गर्नुभएको कार्यको अनि उनीमाथि आइपरेको सब कुराको विरोध गर्नु हुन्थ्यो। उनले त्योबेला एउटा पनि गुनासो गरेनन्, न त जे भइरहेको थियो त्यसलाई मूल्याङ्कन गरे, न सबथोक उल्टाउने प्रयास गर्न हस्तक्षेप गरे। उनले केवल प्रतीक्षा गरे अनि कुराहरू कसरी खुल्दै जान्छन्, परमेश्वरले के गर्नहुन्छ भनेर चुपचाप हेरेर बसे। सुरूदेखि अन्त्यसम्म, अय्यूब आफ्नो उचित स्थानलाई दृढ भएर कायम राखिराखे, अर्थात सृजित प्राणीको स्थानलाई दृढ भएर कायम राखे। यो उनको प्रस्तुति थियो। यी घटना अय्यूबमाथि आइपर्दा उनी अलिकति चकित भए पनि, उनले खोज्न अनि सृष्टिकर्ताले गर्नुभएको सबै कुरा सही छ भनी स्विकार्न सके, अनि उनी समर्पित भए। उनले समस्या समाधान गर्न मानव तरिकाहरू प्रयोग गरेनन्। जब डाँकाहरू आए, उनले तिनीहरूलाई जे लुट्न सक्थे लुट्न दिए; आवगमा आएर तिनीहरूसँग लडाईँ गरेनन्। उनले आफ्नो हृदयमा यसो सोचे, “परमेश्वरको अनुमतिविना, तिनीहरूले केही पनि लुट्न सक्थेनन्। अब तिनीहरूले सबै कुरा लगेपछि, यो परमेश्वरले अनुमति दिनुभएरै भएको हो भन्ने स्पष्ट छ। कुनै पनि मानव हस्तक्षेप व्यर्थ हुन्थ्यो। मानिसहरूले आफ्नो आवेगअनुसार कार्य गर्न मिल्दैन, तिनीहरूले हस्तक्षेप गर्न मिल्दैन।” हस्तक्षेप नगर्नुको अर्थ उनले डाँकाहरूलाई सहेर बसेका थिए भन्ने होइन; त्यो कमजोरी वा डाँकाहरूको डरको सङ्केत पनि थिएन। त्यसको सट्टा, उनी परमेश्वरको हातको डर मान्थे अनि उनमा परमेश्वरको डर मान्ने हृदय थियो। उनले भने, “तिनीहरूलाई लैजान देऊ। आखिर यी सब कुरा परमेश्वरले नै दिनुभएको थियो।” के सृजित प्राणीले भन्नुपर्ने यही होइन त? (हो।) उनले कुनै गुनासो गरेनन्। उनले कसैलाई पनिलडाईँ गर्न वा आफ्ना सामान फिर्ता ल्याउन वा तिनको सुरक्षा गर्न पठाएनन्। के यो परमेश्वरमा समर्पित हुनुको साँचो प्रकटीकरण होइन त? (हो।) उनमा परमेश्वरको सार्वभौमिकताको साँचो बुझाइ भएकाले मात्र उनले यो गर्न सके। यस बुझाइविना, उनी लड्न अनि आफ्ना कुराहरू फिर्ता ल्याउन मानव तरिकाहरूमा भर पर्ने थिए, अनि परमेश्वरले यसलाई कसरी हेर्नुहुने थियो? यो परमेश्वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुनु हुन्थेन। यसमा परमेश्वरको हातले गर्ने कामकुराको बुझाइ हुन्थेन, अनि यतिका वर्ष उहाँमा विश्वास गर्नु व्यर्थ हुन्थ्यो। परमेश्वरले दिनुहुँदा खुसी हुने तर उहाँले लैजानुहुँदा क्रोधित हुने, अनिच्छुक हुने अनि आफ्ना कुराहरू बलले फिर्ता खोस्न चाहने; परमेश्वरले गरिरहनुभएको कार्यहरूप्रति सन्तुष्ट नहुने, ती कुराहरू गुमाउन नचाहने; परमेश्वरले दिनुहुने इनाम मात्र स्विकार्ने तर उहाँले दिनुहुने क्षति नस्विकार्ने; परमेश्वरको हातका योजनाबद्ध कार्यहरूमा समर्पित हुन नचाहने—के यो सृजित प्राणीको स्थानबाट कार्य गर्नु हो त? (होइन।) यो त विद्रोहीपन हो, विरोध हो। के मानिसहरूले बारम्बार यी व्यवहार प्रकट गर्दैनन् त? (गर्छन्।) यो अय्यूबले गरेको भन्दा ठ्याक्कै उल्टो हो। अय्यूबले सृजित प्राणीको स्थानबाट यहोवाको डर मान्न सक्छु, परमेश्वरका परीक्षाप्रति समर्पित हुन र तिनलाई स्विकार्न अनि परमेश्वरले उनलाई जे दिनुभएको छ त्यो स्विकार्न सक्छु भन्ने कुरा कसरी व्यक्त गरे? के उनी चिच्याए? के उनले गुनासो गरे? के उनले सबै कुरा फिर्ता पाउन हरप्रकारका मानव उपाय र विधि प्रयोग गरे त? गरेनन्—उनले परमेश्वरलाई विना रोकटोक लैजान दिए। के यो आस्था हुनु होइन त? उनमा साँचो आस्था, साँचो बुझाइ अनि साँचो समर्पण थियो। यी मध्ये कुनै कुरा सरल छैनन्, ती सबलाई अनुभव गर्न, खोज्न र अँगाल्न केही निश्चित समय चाहिन्छ। अय्यूबले सृष्टिकर्ताबारे निश्चित तहको बुझाइ पाइसकेपछि मात्र उनले यी प्रकटीकरण प्रदर्शन गर्न सके। अय्यूबले अन्त्यमा के भने? (“यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)।) अनि अय्यूबकी पत्नीले के भनेकी थिइन्? “परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। उनको भनाइको अर्थ यो थियो: “विश्वास गर्न छोड्नुहोस्। यदि तपाईँले विश्वास गर्ने साँच्चै परमेश्वर नै भएका भए, किन विपत्तिको सामना गरिरहनुभएको छ त? के यो दण्ड होइन र? तपाईँले त केही गलत गर्नुभएको थिएन, तपाईँलाई यो किन भइरहेको छ? सायद तपाईँको विश्वास नै गलत हो कि?” अय्यूबले आफ्नी पत्नीलाई के प्रतिक्रिया जनाए? उनले यसो भने: “तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ” (अय्यूब २:१०)। अय्यूबले आफ्नी पत्नी मूर्ख भएको भने; उनकी पत्नीमा परमेश्वरप्रतिको साँचो आस्था र बुझाइ थिएन, त्यसैले उनले परमेश्वरविरुद्ध अवज्ञाका शब्द बोल्न सकिन्। अय्यूबकी पत्नी परमेश्वरलाई चिन्दिन थिइन्। जब स्पष्ट रूपमा परमेश्वरले नै गर्नुभएको यो ठूलो घटना घट्यो, आश्चर्यजनक रूपमा उनले यो बुझ्न सकिनन्, अनि अय्यूबलाई यसो भन्दै सल्लाह समेत दिइन्, “तपाईँले गलत मार्ग लिनुभएको छ। विश्वास गर्न छोड्नुहोस् अनि तपाईँको परमेश्वरलाई त्याग्नुहोस्।” सुन्दा पनि कति रिस उठ्दो! उनले किन अय्यूबलाई परमेश्वरलाई त्याग्न आग्रह गरिन्? किनकि उनले आफ्नो सम्पत्ति गुमाएकी थिइन् अनि उप्रान्त ततो प्रयोग गरेर आनन्द उठाउन पाउने थिइनन्। उनी धनी महिलाबाट आफ्नो नाममा केही नभएको भिखारी भएकी थिइन्। उनी परमेश्वरले गर्नुभएको क्षतिबाट असन्तुष्ट थिइन्, त्यसैले उनले अय्यूबलाई विश्वास गर्न छोड्न भनिन्, जसको भित्री अर्थ यो थियो: “म उप्रान्त विश्वास गर्दिनँ, अनि तपाईँले पनि गर्नुहुँदैन। यति राम्रोसँग चलिरहेको गृहस्थी हामीसँग केही पनि बाँकी नहुनेगरी खोसिएको छ। एक क्षणमै, हामीले सबै कुरा गुमाएका छौँ, हाम्रो धन गरिबीमा परिणत भएको छ। यस्तो परमेश्वरमा विश्वास गर्नुको के अर्थ? विश्वास गर्न छोड्नुहोस्!” के यी मूर्खताका शब्द होइनन्? उनको प्रदर्शन यस्तो थियो। के अय्यूबले उनको कुरा सुने? सुनेनन्; उनी आफ्नी पत्नीद्वारा बहकिएनन् वा बाधित भएनन्, न त उनका विचार स्विकारे। किन? किनकि अय्यूबले यो भनाइ पालन गरे: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। उनले सोचे, “यो सब एकदमै सामान्य हो। परमेश्वरले जसरीसुकै कार्य गर्नुभए पनि त्यो सही हुन्छ; मानिसहरूले त्यो स्विकार्ने पर्छ। मानिसहरूले परमेश्वरबाट आशिष् पाउन मात्र उहाँमा विश्वास गर्नुहुँदैन। मैले परमेश्वरका लागि केही नगरी यत्रो वर्ष आशिषहरूको आनन्द उठाएको छु—अहिले उहाँको गवाही दिने समय हो। परमेश्वरले लैजाने सब उहाँकै हो, उहाँलाई जहिले मन लाग्छ त्यतिबेला लैजान सक्नुहुन्छ। मानिसहरूले माग गर्नुहुँदैन, केवल स्विकार्नुपर्छ अनि समर्पित हुनुपर्छ।” त्यसोभए, के तैँले परमेश्वरमा विश्वास गरेर आशिष् पाउनुपर्ने हो त? के त्यस्तै नै हुनुपर्ने हो? जब व्यक्तिले यो मामला पूर्णत: बोध गर्छ, त्यसपछि उसमा आस्था हुनेछ।

सृष्टिकर्ताले जे गर्नुहुन्छ त्यो सही हुन्छ र त्यो सत्यता हुन्छ। उहाँले जेसुकै गरे पनि, उहाँको पहिचान र हैसियत परिवर्तन हुँदैन। सबै मानिसले उहाँको आराधना गर्नुपर्छ। उहाँ मानवताको अनन्त प्रभु र अनन्त परमेश्वर हुनुहुन्छ। यो तथ्य कहिल्यै पनि परिवर्तन हुन सक्दैन। परमेश्वरले मानिसहरूलाई उपहारहरू दिँदा मात्र तिनीहरूले उहाँलाई परमेश्वर भनी स्विकार्न, वा उहाँले तिनीहरूबाट कुराहरू लैजानुहुँदा उहाँलाई परमेश्वर भनी नस्विकार्न मिल्दैन। यो मानिसको त्रुटिपूर्ण दृष्टिकोण हो, परमेश्वरको कार्यमा भएको गल्ती होइन। यदि मानिस सत्यता बुझ्छन् भने तिनीहरूले यो कुरा स्पष्ट रूपमा देख्न सक्नेछन्, र यदि, तिनीहरूले भित्रबाट यो सत्यता हो भनी स्विकार्न सके भने, परमेश्वरसँग तिनीहरूको सम्बन्ध झन्-झन् सामान्य हुँदै जानेछ। यदि तँ परमेश्वरका वचनहरू सत्यता हुन् भनी स्विकार्छु भन्छस्, तर तँमाथि केही आइपर्दा उहाँलाई बुझ्दैनस्, र उहाँलाई दोष समेत दिन्छस् अनि उहाँप्रति साँचो रूपमा आज्ञाकारी छैनस् भने, तैँले परमेश्वरका वचनहरू सत्यता हुन् भनी स्विकार्छु भन्नु व्यर्थ हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो हृदयले सत्यता स्विकार्न सक्नुपर्छ, र जेसुकै भए पनि, तैँले परमेश्वरका कार्य सही छन्, र उहाँ धर्मी हुनुहुन्छ भनी देख्न सक्नुपर्छ। परमेश्वरलाई बुझ्ने खालको मानिस यस्तै हुन्छ। धर्मसिद्धान्त बुझ्नमा मात्र ध्यान केन्द्रित गर्ने धेरै विश्वासीहरू छन्। तिनीहरू आत्मिक सिद्धान्त स्विकार्छन्, तर आफूमाथि केही आइपर्दा, सत्यता स्विकार्दैनन्, र पालन गर्दैनन्। यी पाखण्डी मानिसहरू हुन्। तैँले सामान्यत: भन्ने कुराहरू सही हुन्छन्, तर आफ्ना धारणासँग नमिल्ने कुनै कुरा हुनेबित्तिकै, तँ त्यसलाई स्विकार्न सक्दैनस्। तँ परमेश्वरले यो वा त्यो गर्नुहुँदैन थियो भन्ने सोच्दै उहाँसँग बहस गर्छस्। तँ परमेश्वरको कामप्रति समर्पित हुन सक्दैनस्, अनि सत्यता खोज्दैनस् वा आफ्नो विद्रोहीपनबारे चिन्तन गर्दैनस्। यसको अर्थ तँ परमेश्वरप्रति आज्ञाकारी छैनस्। तँ सधैँ परमेश्वरसँग बहस गर्न मन पराउँछस्; तँ सधैँ आफ्ना तर्कहरू सत्यताभन्दा माथि छन्, अनि ती बताउन तँ मञ्चमा जान पाए धेरै मानिसहरूले तेरो समर्थन गर्नेथे भन्ने सोच्छस्। तर धेरै मानिसहरूले तेरो समर्थन गरे तापनि, तिनीहरू सबै भ्रष्ट मानव नै हुन्। के समर्थन गर्ने र समर्थन पाउने सबै भ्रष्ट मानव नै होइनन् त? के तिनीहरू सबैमा सत्यताको अभाव छैन त? पूरै मानवजातिले तेरो समर्थन गरेर परमेश्वरको विरोध गरे पनि, परमेश्वर अझै पनि सही नै हुनुहुने थियो। परमेश्वरको विरुद्ध विद्रोह गर्ने र उहाँको प्रतिरोध गर्ने मानवजाति नै गलत हुने थियो। के यो एउटा भनाइ मात्र हो र? होइन। यो तथ्य हो; यो सत्यता हो। मानिसहरूले बारम्बार सत्यताको यो पक्ष मनन र अनुभव गर्नुपर्छ। परमेश्वरले तीन चरणमा आफ्नो काम गर्नुभएको छ, अनि हरेक चरणमा त्यसको विरोध गर्ने धेरै मानिसहरू थिए। जस्तै, जब प्रभु येशु आफ्नो छुटकाराको काम गर्न आउनुभयो, पूरै इस्राएल उहाँ विरुद्ध खडा भयो। तर अहिले, प्रभु येशुलाई मुक्तिदाताका रूपमा स्विकार्ने अरबौँ मानिसहरू छन्। उहाँका विश्वासी संसारभर फैलिएका छन्। प्रभु येशुले सम्पूर्ण मानवजातिलाई छुटकारा दिइसक्नुभएको छ। यो तथ्य हो। जुनसुकै देशका मनिसहरूले यसलाई इन्कार्न चाहे पनि, त्यो व्यर्थ हुनेछ। भ्रष्ट मानवले परमेश्वरको कामलाई जसरीसुकै मूल्याङ्कन गरे पनि, परमेश्वरको काम र उहाँले बोल्ने सत्यता सदैव ठिक र सही हुन्छन्। मानवजातिमा भएका जतिसुकै मानिसहरू उहाँको काम विरुद्ध खडा भए पनि, त्यो व्यर्थ हुन्छ। परमेश्वरले गर्ने सबै कुरा सही हुन्छ; उहाँ सानो भन्दा सानो गल्ती पनि गर्नुहुन्न। भ्रष्ट मानवमा कुनै सत्यता नहुने र तिनीहरूले परमेश्वरको कामको महत्त्व र सार स्पष्ट रूपमा देख्न नसक्ने हुनाले, तिनीहरूले भन्ने कुनै पनि कुरा सत्यतासँग मेल खाँदैन। तैँले मानवजातिका सबै सिद्धान्तहरूको सार-सङ्क्षेप निकाले पनि, ती अझै पनि सत्यता हुने थिएनन्। ती परमेश्वरका कुनै पनि वचन, वा सत्यताको कुनै पनि शब्दभन्दा महत्त्वपूर्ण हुन सक्दैनन्। यो तथ्य हो। यदि मानिसहरूले यो बुझ्दैनन् भने, तिनीहरूले त्यसलाई बिस्तारै अनुभव गर्नैपर्छ। यो अनुभवका पूर्वशर्त के हो? तैँले सुरुमा परमेश्वरका वचनहरू सत्यता हुन् भनी मान्नै र स्विकार्नैपर्छ। त्यसपछि, तैँले तिनलाई अभ्यास र अनुभव गर्नैपर्छ। अनि थाहै नपाई, तैँले परमेश्वरका वचनहरू सत्यता नै हुन् भनी पत्ता लगाउनेछस्—यो बिलकुल ठिक हो। त्यस अवस्थामा, तँ परमेश्वरका वचनहरूलाई कदर गर्न थाल्नेछस्, सत्यताको पछ्याइलाई महत्त्व दिन थाल्नेछस्अनि आफ्नो हृदयमा सत्यता स्विकार्न, र त्यसलाई आफ्नो जीवन बनाउन सक्नेछस्।

सेप्टेम्बर १०, २०१८

अघिल्लो: सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ

अर्को: उचित रूपमा कर्तव्य पूरा गर्न मैत्रीपूर्ण सहकार्य चाहिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्