३४. परमेश्‍वरको आज्ञापालन गर्नु भनेको के हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुमाउनुभयो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। मानवलाई परमेश्‍वरको उत्तम आराधना गर्न दिनका निम्ति र पृथ्वीमा उत्तम गरी जिउन दिनका निम्ति विद्रोहीका ती सन्तानहरूको आखिरी विनाशलाई कार्यान्वयन पनि गरिनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्‍ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्‍ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजातिचाहिँ उहाँको आराधना गर्ने, पूर्ण रूपमा उहाँको अधीनमा रहने र उहाँको महिमा प्रकट गर्ने मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

तैँले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैँले उहाँप्रति समर्पित हुनुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत मनोवृत्ति हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली विरासत हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। पिशाचहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-समर्पितहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर समर्पणता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्! परमेश्‍वरको कामलाई मानिसले सजिलैसँग प्राप्त गर्न सक्दैन। मानिसहरूले तिनीहरूसँग भएको सबै तागत लगाएर पनि यसको एउटा सानो अंश मात्र प्राप्त गर्न सक्छन्, जसले आखिरमा तिनीहरूलाई सिद्ध तुल्याउने बाटो प्रदान गर्छ। त्यसो भए, प्रधान दूतका सन्तानलाई चाहिँ के हुन्छ, जसले परमेश्‍वरको कामलाई विनाश गर्न खोज्छन्? के तिनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुने सम्भावना झन् कम छैन र? मैले विजयको काम गर्नुको उद्देश्य केवल विजय गर्नको लागि विजय गर्ने होइन, बरु धार्मिकता र अधार्मिकतालाई प्रकाश पार्न, मानिसको दण्डको लागि प्रमाण जुटाउन, दुष्टलाई दोषी ठहराउनको लागि हो र यस बाहेक, जो स्वेच्छाले समर्पित हुन्छन् उनीहरूलाई सिद्ध पार्नको लागि विजय गर्नु हो। आखिरमा, सबैलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ अनि सिद्ध पारिने व्यक्तिहरूमा ती व्यक्तिहरू हुनेछन् जसका सोचहरू र विचारहरू समर्पणताले भरिपूर्ण हुन्छन्। आखिरमा पूरा गरिनुपर्ने कार्य यही हो। यस बीच, ती व्यक्तिहरू जसका हरेक कार्य विद्रोही छन्, तिनीहरूलाई दण्ड दिइनेछ र आगोमा जल्न पठाइनेछ, अनन्त श्रापको पात्र बनाइनेछ। जब त्यो समय आउँछ, ती युगौँदेखिका “महान र अदम्य नायकहरू” सबैभन्दा क्षुद्र र सबैभन्दा बढी तिरस्कृत “कमजोर र नामर्दहरू” बन्नेछन्। यसले मात्र परमेश्‍वरको धार्मिकताको हरेक पक्ष र मानिसद्वारा अनुल्लंघनीय उहाँको स्वभावलाई चित्रण गर्छ, र यसले मात्र मेरो हृदयमा भएको घृणालाई शान्त पार्छ। के यो कुरा पूर्ण रूपमा तार्किक छ भन्‍ने कुरामा तिमीहरू सहमत छैनौं र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

परमेश्‍वर देहमा हुनुभएको समयमा, उहाँले मानिसहरूबाट चाहनुभएको समर्पणमा तिनीहरूले कल्पना गरेजस्तो दोष लाउने वा विरोध गर्ने कार्यबाट टाढा बस्‍ने कुराहरू पर्दैनन्। बरु, उहाँ मानिसहरूले उहाँका वचनहरूलाई आफू जिउने सिद्धान्तको रूपमा र आफ्नो अस्तित्वको आधारको रूपमा प्रयोग गरून्, उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा उतारून् र उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा सन्तुष्ट पारून् भन्‍ने चाहनुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्‍वरप्रति समर्पित हुन लगाउने मापदण्डको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई जनाउँछ भने, अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकतामा समर्पित हुन सक्‍नुलाई जनाउँछ। यी दुवै निरपेक्ष हुनुपर्छ। यी दुवै पक्षहरू हासिल गर्न सक्‍नेहरू सबै नै परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदय भएका व्यक्तिहरू हुन्। तिनीहरू सबै नै परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिसहरू हुन्, र तिनीहरू सबैले आफ्नै जीवनलाई प्रेम गरेझैँ परमेश्‍वरलाई प्रेम गर्छन्। देहधारी परमेश्‍वरले उहाँको काममा सामान्य र व्यावहारिक मानवता धारण गर्नुहुन्छ। यस तरिकाले, उहाँको सामान्य र व्यावहारिक मानवता दुवैको बाहिरी आवरण मानिसहरूको निम्ति ठूलो परीक्षा बन्छ; त्यो तिनीहरूको सबैभन्दा ठूलो कठिनाइ बन्छ। तैपनि, परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई हटाउन सकिँदैन। उहाँले समाधान खोज्न हरप्रकारको कोसिस गर्नुभयो, तर अन्त्यमा उहाँले आफूलाई सामान्य मानवताको बाहिरी आवरणबाट मुक्त गर्न सक्‍नुभएन। किनभने आखिर जे भए पनि उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, स्वर्गमा हुनुहुने आत्माका परमेश्‍वर हुनुहुन्‍न। उहाँ मानिसहरूले देख्‍न नसक्‍ने परमेश्‍वर हुनुहुन्‍न, उहाँ त सृष्टि गरिएको प्राणीको आवरण पहिरिनुभएको परमेश्‍वर हुनुहुन्छ। यसरी, उहाँले आफैलाई उहाँको सामान्य मानवताको आवरणबाट अलग गर्न कदापि सजिलो हुँदैन। त्यसकारण, चाहे जे भए पनि, आफूले गर्न चाहनुभएको कामलाई उहाँले देहको दृष्टिकोणबाट नै गर्नुहुन्छ। यो काम सामान्य र व्यावहारिक परमेश्‍वरको अभिव्यक्ति हो, त्यसैले मानिसहरू समर्पित नहुनु कसरी उचित हुन्छ र? मानिसहरूले परमेश्‍वरका कार्यहरूको बारेमा के पो गर्न सक्छन् र? उहाँले जे गर्न चाहनुहुन्छ त्यही गर्नुहुन्छ; उहाँ जुन कुरामा खुसी हुनुहुन्छ, त्यो त्यस्तै नै रहन्छ। यदि मानिसहरू समर्पित हुँदैनन् भने, तिनीहरूसँग अरू के-कस्ता राम्रा योजनाहरू हुन सक्छन् र? अहिलेसम्म, समर्पणले मात्रै मानिसहरूलाई मुक्ति दिन सकेको छ; कसैसँग पनि अरू कुनै राम्रा विचारहरू छैनन्। यदि परमेश्‍वरले मानिसहरूलाई जाँच गर्न चाहनुहुन्छ भने, तिनीहरूले यसबारेमा के गर्न सक्छन् र? तैपनि, यी सबै कुरा स्वर्गमा हुनुहुने परमेश्‍वरले सोच्नुभएको थिएन; यो त देहधारी परमेश्‍वरले सोच्नुभएको कुरा थियो। उहाँले यो काम गर्न चाहनुहुन्छ, त्यसैले कुनै पनि व्यक्तिले यसलाई परिवर्तन गर्न सक्‍दैन। स्वर्गका परमेश्‍वरले देहधारी परमेश्‍वरले गर्नुहुने कुनै पनि कार्यमा हस्तक्षेप गर्नुहुन्‍न, त्यसैले के यो मानिसहरू उहाँमा समर्पित हुनुपर्ने अझ ठूलो कारण होइन र? उहाँ व्यावहारिक र सामान्य दुवै हुनुभए पनि उहाँ पूर्ण रूपमा देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ। उहाँका आफ्नै विचारहरूको आधारमा उहाँले जे गर्न चाहनुहुन्छ त्यही गर्नुहुन्छ। स्वर्गका परमेश्‍वरले सबै काम उहाँलाई सुम्पनुभएको छ; उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ समर्पित हुनैपर्छ। उहाँसँग मानवता छ र उहाँ अति सामान्य हुनुहुन्छ, तैपनि उहाँले जानीजानी नै यी सबै बन्दोबस्त मिलाउनुभएको छ, त्यसैले मानिसहरूले कसरी अस्वीकृतिको भावसहित बकुल्लाको जस्तो आँखा बनाई उहाँलाई हेर्न सक्छन्? उहाँ सामान्य हुन चाहनुहुन्छ, यसैले उहाँ सामान्य हुनुहुन्छ। उहाँ मानवताभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ मानवताभित्र बस्‍नुहुन्छ। उहाँ ईश्‍वरत्वभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ ईश्‍वरत्वमा रहनुहुन्छ। मानिसहरूले यसलाई जसरी मन लाग्यो त्यसरी हेर्न सक्छन्, तर परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुनेछ र मानिसहरू सधैँ मानिसहरू नै हुनेछन्। उहाँको सारलाई केही सानातिना कुराको कारण अस्वीकार गर्न सकिँदैन, न त कुनै एउटा सानो कुराको कारण उहाँलाई परमेश्‍वरको “व्यक्ति” बाट बाहिर धकेलेर निकाल्‍न नै सकिन्छ। मानिसहरूसँग मानवजातिको स्वतन्त्रता छ र परमेश्‍वरसित परमेश्‍वरको मर्यादा छ; यी कुराले एकअर्कालाई हस्तक्षेप गर्दैनन्। के मानिसहरूले परमेश्‍वरलाई थोरै स्वतन्त्रता दिन सक्दैनन्? के तिनीहरूले परमेश्‍वर अलि अनौपचारिक हुनुभएको सहन सक्दैनन्? परमेश्‍वरसित त्यस्तो कठोर नहोओ! प्रत्येक व्यक्तिमा एकअर्काप्रति सहिष्णुता हुनुपर्छ; के त्यसपछि सबै कुरा ठीक हुनेछैनन् र? के अझै पनि केही खिन्‍नता बाँकी रहनेछ र? यदि कसैले त्यस्तो सानोतिनो कुरालाई सहन सक्दैन भने, तिनीहरूले कसरी “प्रधानमन्त्रीको हृदय डुङ्गा खियाउनका निम्ति पर्याप्त छ” भनी भन्‍न सक्छन्? तिनीहरू कसरी साँचो मानिस हुन सक्छन्? मानवजातिका लागि कठिनाइ उत्पन्‍न गर्ने परमेश्‍वर हुनुहुन्‍न, बरु परमेश्‍वरका लागि कठिनाइ उत्पन्‍न गर्ने मानवजाति हो। तिनीहरू सधैँ तिललाई पहाड बनाउँदै काम गर्छन्। तिनीहरूले साँच्‍चै नै शून्यताबाट कुनै कुरा बनाउँछन् र यो अत्यन्तै अनावश्यक छ! जब परमेश्‍वरले सामान्य र व्यावहारिक मानवताभित्र काम गर्नुहुन्छ, तब उहाँले जे गर्नुहुन्छ त्यो मानवजातिको काम होइन, त्यो त परमेश्‍वरको काम हो। तैपनि मानिसहरूले उहाँको कामको सारलाई देख्दैनन्; तिनीहरूले सधैँ उहाँको मानवताको बाहिरी आवरणलाई मात्र देख्छन्। तिनीहरूले त्यस्तो ठूलो कामचाहिँ देखेका छैनन् तर तिनीहरू उहाँको सामान्य र साधारण मानवतालाई देखेको छौँ भनी जिद्दी गर्छन् र त्यो कुरालाई छोड्दै छोड्दैनन्। यसलाई कसरी परमेश्‍वरमा समर्पित भएको भनेर भन्‍न सकिन्छ? स्वर्गका परमेश्‍वर अब पृथ्वीका परमेश्‍वरमा “परिणत” हुनुभएको छ, र पृथ्वीका परमेश्‍वर अब स्वर्गका परमेश्‍वर हुनुहुन्छ। उहाँहरूको बाहिरी रूपरङ्ग एकसमान भए पनि त्यसले फरक पार्दैन, न त उहाँहरूले वास्तवमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुराले नै कुनै फरक पार्छ। अन्त्यमा, जसले परमेश्‍वरको आफ्नै काम गर्नुहुन्छ उहाँ परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। तैँले चाहे पनि वा नचाहे पनि तँ समर्पित हुनैपर्छ—यो तैँले छनौट गर्न पाउने विषय होइन! मानिसहरू परमेश्‍वरप्रति समर्पित हुनुपर्छ र मानिसहरू अलिकति पनि बहाना नबनाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

यी तीन कुराहरू, अर्थात् परमेश्‍वर, उहाँको देहधारी शरीर, र सत्यताप्रति मानिसहरूको आचरण कस्तो हुनुपर्छ त? सुन्न र आज्ञापालन गर्न सक्ने हुनुपर्छ। त्यति सीधा र स्पष्ट केही पनि छैन। सुनेपछि, तैँले आफ्नो हृदयमा स्वीकार गर्नुपर्छ। यदि तैँले कुनै कुरालाई स्वीकार गर्न सक्दैनस् भने, तैँले पूर्ण स्वीकार्यता हासिल गर्न सकुन्जेलसम्म निरन्तर खोजी गरिरहनुपर्छ—त्यसपछि, तैँले स्वीकार गर्नेबित्तिकै आज्ञापालन गर्नुपर्छ। आज्ञापालन गर्नु भनेको के हो? यो भनेको कार्यान्वयन गर्नु हो। काम-कुराहरू सुनेपछि जानाजान तिनलाई बेवास्ता गर्ने नगर्; बाह्य रूपमा तँ ती काम गर्छु भनेर प्रतिज्ञा गर्छस्, र तैँले ती कुराहरूको टिपोट गर्छस्, तैँले तिनलाई लेख्छस्, तैँले तिनलाई आफ्नो कानैले सुन्छस्—तर ती तेरो हृदयमा विद्यमान हुँदैनन्, र जब काम गर्नुपर्ने समय आउँछ, तब तैँले आफूलाई जे मन लाग्यो त्यही गर्छस्, आफूले लेखेर राखेको कुरालाई महत्त्वहीन रूपमा लिँदै आफ्नो मस्तिष्कको पछाडितिर धकेल्छस्। यो आज्ञापालन होइन। आज्ञापालनको अर्थ त आफ्नो हृदयद्वारा सुन्नु र बुझ्नु हो, यसको अर्थ साँचो स्वीकार हो, कामको रूपमा, आदेशको रूपमा, बाध्यात्मक उत्तरदायित्वको रूपमा स्वीकार गर्नु हो। यो आफ्नो हृदयमा केही कुरालाई स्वीकार गर्नु मात्र होइन; तैँले त्यसलाई ठोस कार्यमा परिणत पनि गर्नुपर्छ। तैँले हिँड्ने बाटो र तँ जुन उद्देश्य र दिशातर्फ दौडन्छस्, त्यो उद्देश्य र दिशा तैँले परमेश्‍वरबाट सुनेका मापदण्डहरू हुन्; र तेरा हातले जे गरेका छन्, तेरो हृदयले जे चाहेको छ, र तेरो मस्तिष्कले जे सोचेको छ र तैँले चुकाएको मूल्य सबै नै परमेश्‍वरले तँबाट जे माग्नुहुन्छ त्यसैको खातिर हुन्। “कार्यान्वयन गर्नु” भनेको यही हो। आज्ञापालनको सूचित अर्थ के हुन्छ? केही कुरालाई कार्यमा उतार्नु, कार्यान्वयन गर्नु, वास्तविकतामा परिणत गर्नु। तैँले परमेश्‍वरले जे भन्नुहुन्छ र जे माग्नुहुन्छ त्यसलाई कागजमा टिपोट गर्छस्, लेखाइमा अभिलेख गर्छस्, तर त्यो कुरा तेरो हृदयमा हुँदैन, र जब कार्य गर्नुपर्ने समय आउँछ तैँले आफूलाई जे मन लाग्यो त्यही गर्छस्। बाह्य रूपमा तैँले यो काम गरेको जस्तो देखिन्छ, तर तैँले त्यो आफ्नै सिद्धान्तहरूअनुसार गरेको हुन्छस्। यो सुन्नु र आज्ञापालन गर्नु होइन, यो त सत्यताको अवहेलना हो, सिद्धान्तको ठाडो उल्लङ्घन, र परमेश्‍वरको घरको व्यवस्थापनप्रतिको अनादर हो। यो विद्रोह हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्‍वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई)

परमेश्‍वरप्रतिको समर्पणता र परमेश्‍वरको कामप्रतिको समर्पणता दुवै एउटै र उस्तै कुरा हुन्। परमेश्‍वरप्रति मात्र समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुने व्यक्तिहरूलाई समर्पित मान्‍न सकिँदैन, सच्चा रूपमा समर्पित नहुने बरु बाहिरी रूपमा चापलुसी गर्ने व्यक्तिहरूलाई आज्ञाकारी मानिने त झन् कुरै नगरौं। परमेश्‍वरप्रति सच्चा रूपमा समर्पित हुने व्यक्तिहरू सबैले परमेश्‍वरको कामबाट फाइदा लिन सक्छन् र परमेश्‍वरको काम र स्वभावको बारेमा बुझाइ हासिल गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले मात्र आफूलाई सच्चा रूपमा परमेश्‍वरप्रति समर्पित गर्न सक्छन्। त्यस्ता व्यक्तिहरूले नयाँ ज्ञान प्राप्त गर्न सक्छन् अनि नयाँ कामबाट तिनीहरूमा नयाँ परिवर्तन आउन सक्छ। यी व्यक्तिहरूलाई मात्र परमेश्‍वरले स्याबासी दिनुहुन्छ, यी व्यक्तिहरूलाई मात्र सिद्ध तुल्याइन्छ, र यी व्यक्तिहरू मात्र स्वभाव परिवर्तन भएका व्यक्तिहरू हुन्। परमेश्‍वरले स्याबासी दिनुभएका व्यक्तिहरू ती व्यक्तिहरू हुन् जो खुशीसाथ परमेश्‍वरप्रति र उहाँका वचन र कामप्रति समर्पित हुन्छन्। त्यस्ता व्यक्तिहरू मात्रै सही हुन्छन्, त्यस्ता व्यक्तिहरूले मात्रै इमान्दारीपूर्वक परमेश्‍वरलाई चाहन्छन् र इमान्दारीपूर्वक परमेश्‍वरको खोजी गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

परमेश्‍वरप्रति समर्पित हुने कार्यको चाबीचाँहि नयाँ ज्योति स्विकार्नु, र यसलाई स्वीकार गर्न सक्नु र यसलाई अभ्यास गर्न सक्नु हो। यही नै साँचो समर्पणता हो। परमेश्‍वरप्रति तृषित नहुनेहरू नै उद्देश्यका साथ उहाँमा समर्पित हुन नसक्ने मानिसहरू हुन्, र आफ्ना यथास्थितिमा सन्तुष्ट भएको फलस्वरूप तिनीहरूले परमेश्‍वरको विरोध मात्र गर्न सक्छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा समर्पित हुन नसक्नुको कारण के हो भने, तिनीहरू पहिले आएको कुराको बन्धनमा बाँधिएका हुन्छन्। पहिले आएका कुराहरूले मानिसहरूलाई परमेश्‍वरका बारेमा अनेक किसिमका धारणाहरू र अनुमानहरू प्रदान गरेका छन्, र तिनीहरूका मनमा यी कुराहरू परमेश्‍वरको स्वरूप बनेको छ। यसरी, तिनीहरूले विश्‍वास गर्ने कुराहरू आफ्नै धारणाहरू र तिनीहरूका आफ्नै कल्पनाका मापदण्डहरू हुन्। यदि तैँले आज व्यावहारिक काम गर्नुहुने परमेश्‍वरलाई तेरो कल्पनाको परमेश्‍वरसँग तुलना गर्छस् भने, तेरो विश्‍वास शैतानबाट आउँछ, र तेरा आफ्नै प्राथमिकताहरूद्वारा दूषित पारिएको छ, परमेश्‍वरले यस किसिमको विश्‍वास चाहनुहुन्न। तिनीहरूका योग्यताहरू जति नै उच्च भए पनि, र तिनीहरू समर्पित नै भएपनि—तिनीहरूले उहाँका काममा पूरै जीवनका प्रयासहरू समर्पण गरेका भए पनि, तिनीहरूले आफैलाई शहीद तुल्याएका भए पनि—यस किसिमको विश्‍वास भएको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्न। उहाँले तिनीहरूमाथि थोरै अनुग्रह मात्र दिनुहुन्छ र केही समयका लागि यसको आनन्द लिन दिनुहुन्छ। यस्ता मानिसहरूले सत्यतालाई लागू गर्न सक्दैनन्। पवित्र आत्माले तिनीहरूभित्र काम गर्नुहुन्न, र परमेश्‍वरले तिनीहरू प्रत्येकलाई हटाउनुहुनेछ। जवान र वृद्ध जो भए पनि, आफ्नो विश्‍वासमा परमेश्‍वरप्रति समर्पित नहुने र गलत अभिप्राय बोकेर हिँड्ने मानिसहरू विरोध गर्ने र अवरोध पुऱ्याउने मानिसहरू हुन् र त्यस्ता मानिसहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ भन्‍नेमा कुनै प्रश्न छैन। जो परमेश्‍वरप्रति अलिकति पनि समर्पित छैनन्, जसले उहाँको नामलाई त्यतिकै स्वीकार गर्छन्, र परमेश्‍वरको दयालुपन र प्रेमिलोपनको बारेमा केही जानेका हुन्छन्, र पनि पवित्र आत्माका कदमहरूलाई पछ्याउँदैनन्, र पवित्र आत्माका वर्तमान कार्य र वचनहरूलाई पालना गर्दैनन् भने—यस्ता मानिसहरू परमेश्‍वरको अनुग्रहले मात्र बाँचेका हुन्छन्, र तिनीहरूलाई उहाँले लिनुहुनेछैन वा सिद्ध पार्नुहुनेछैन। परमेश्‍वरले मानिसहरूका समर्पणताद्वारा, परमेश्‍वरको वचनलाई खाने, पिउने र यसमा आनन्द मनाउने, र तिनीहरूका कार्यद्वारा, र तिनीहरूका जीवनमा आउने दुःख र शोधनद्वारा परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्नुहुन्छ। यस किसिमको विश्‍वासद्वारा मात्र मानिसहरूका भित्री स्वभाव परिवर्तन हुनेछ, र त्यसपछि मात्र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्नेछन्। परमेश्‍वरको अनुग्रहमा बाँचेर मात्र सन्तुष्ट नभई, सक्रिय रूपमा सत्यतालाई चाहने र खोज्ने, र परमेश्‍वरद्वाराप्राप्त हुन खोज्‍ने—सचेत भएर परमेश्‍वरमा समर्पित हुनु भनेको यही नै हो र उहाँले चाहनुहुने विश्‍वास पनि यही नै हो। परमेश्‍वरको अनुग्रहमा आनन्द गर्ने बाहेक अरू केही कुरा नगर्ने व्यक्तिहरूलाई सिद्ध पार्न वा परिवर्तन गर्न सकिँदैन। अनि तिनीहरूका समर्पणता, भक्ति, प्रेम, र धैर्यता सबै सतही मात्र हुन्छन्। परमेश्‍वरको अनुग्रहमा मात्र रमाउनेहरूले परमेश्‍वरलाई साँचो रूपमा चिन्न सक्दैनन्, अनि तिनीहरूले परमेश्‍वरलाई चिने भने पनि, तिनीहरूको ज्ञान सतही हुन्छ, र “परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ,” वा “परमेश्‍वर मानिसहरूप्रति करुणामय हुनुहुन्छ” भन्‍ने जस्ता कुराहरू तिनीहरू गर्छन्। यसले मानिसको जीवनलाई प्रतिनिधित्व गर्दैन, र मानिसहरूले साँच्चै परमेश्‍वरलाई चिनेका छन् भन्‍ने कुरालाई पनि देखाउँदैन। जब परमेश्‍वरको वचनले तिनीहरूलाई शोधन गर्छ, वा उहाँका जाँचहरू तिनीहरूमाथि आउँछन्, मानिसहरू परमेश्‍वरप्रति समर्पित हुनसक्दैनन्—बरु, तिनीहरू शङ्कालु हुन्छन्, र पतन हुन्छन्—तब तिनीहरू अलिकति पनि समर्पित भएका हुँदैनन्। तिनीहरूभित्र, परमेश्‍वरमाथिको विश्‍वास सम्बन्धी धेरै नियमहरू र प्रतिबन्धहरू, धेरै वर्षको विश्‍वासका नतिजा स्वरूप आएका पुराना अनुभवहरू, वा बाइबलमा आधारित विभिन्न नियमहरू हुन्छन्। के यस किसिमका मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन्? यी मानिसहरू मानवीय कुराहरूले भरिएका हुन्छन्—तिनीहरू कसरी परमेश्‍वरमा समर्पित हुन सक्छन्? तिनीहरूका “समर्पणता” व्यक्तिगत प्राथमिकता अनुसार हुन्छन्—के परमेश्‍वरले यस किसिमको समर्पणता चाहनुहुन्छ? यो परमेश्‍वरप्रतिको समर्पणता होइन, तर नियमहरूको पालन हो। यो आफ्‍नै सन्तुष्टि र कृतज्ञता हो। यदि तँ यो परमेश्‍वरप्रति गरिएको समर्पणता हो भनी भन्छस् भने, के तैँले उहाँको निन्दा गरिरहेको हुँदैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

यदि मानिसहरूले धार्मिक धारणाहरूलाई त्याग्‍न सक्छन् भने, तिनीहरूले आज परमेश्‍वरका वचनहरू र कामलाई नाप्न तिनीहरूले दिमाग लगाउन छाड्नेछन, त्यसको साटो प्रत्यक्ष रूपले तिनमा समर्पित हुनेछन्। आज परमेश्‍वरको कार्य स्पष्टतः विगतको जस्तो नभए पनि तैँले विगतको दृष्टिकोणलाई त्याग्न अनि परमेश्‍वरको आजको कार्यप्रति सोझै समर्पित हुन सक्छस्। विगतमा परमेश्‍वरले जस्तोसुकै प्रकारले कार्य गर्नुभएको भए तापनि, यदि तैँले आजका परमेश्‍वरको कामलाई महत्वपूर्ण स्थान दिनुपर्छ भन्‍ने कुरा बुझ्‍न सक्छस् भने, तँ आफ्‍ना धारणाहरूलाई त्यागिसकेको, परमेश्‍वरमा समर्पित हुने, अनि परमेश्‍वरका कार्य अनि वचनहरूमा समर्पित हुन र उहाँका पाइलाहरू पछ्याउन सक्‍ने व्यक्ति होस्। यसमा, तँ साँचो रूपले परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति बन्छस्। तैँले परमेश्‍वरको कार्यलाई विश्लेषण वा सुक्ष्म जाँच गर्दैनस्; यो कुरा परमेश्‍वरले आफ्‍नो पहिलेको काम बिर्सनुभएको, र तैँले पनि यसलाई बिर्सेको छस् भन्‍ने जस्तै हो। वर्तमान वर्तमान नै हो, अनि विगत विगत नै हो, विगतमा उहाँले गर्नुभएका कुराहरूलाई परमेश्‍वरले पन्छाउनुभएको छ, तँ त्यसैमा बसिरहनु हुँदैन। त्यस्तो व्यक्तिले मात्रै सम्पूर्ण रीतिले परमेश्‍वरप्रति समर्पित हुन्छन् अनि आफ्‍ना धार्मिक धारणाहरूलाई पूर्ण रूपले त्यागेका हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

परमेश्‍वरले गर्नुहुने काम एक अवधिदेखि अर्को अवधिमा फरक-फरक हुने गर्छ। यदि तँ कुनै एक चरणमा परमेश्‍वरले गर्नुभएको कामप्रति एकदमै समर्पित हुन्छस् तर अर्को चरणमा उहाँको कामप्रति तेरो समर्पणता कमजोर छ भने, वा तँ समर्पित हुन नै सक्दैनस् भने, परमेश्‍वरले तँलाई छाड्नुहुनेछ। यदि परमेश्‍वरले यो कदम चाल्नुहुँदा तैँले कदममा कदम मिलाउँछस् भने, परमेश्‍वरले अर्को कदम उठाउनुहुँदा पनि तैँले कदममा कदम मिलाउन जारी राख्नुपर्छ; त्यसपछि मात्र तँ पवित्र आत्माप्रति समर्पित हुने व्यक्ति हुन सक्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तँ आफ्नो समर्पणतामा अटल रहनुपर्छ। तैँले केवल आफूलाई मन लागेको बेलामा समर्पित अनि आफूलाई मन नलागेको बेलामा समर्पित नहुने गर्नु हुँदैन। यस्तो प्रकारको समर्पणतालाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्‍न। यदि मैले सङ्गति गरेको नयाँ कामको गतिलाई तैँले पछ्याउन सक्दैनस् भने, र अघिल्‍ला कुराहरूमा अल्झिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुनसक्छ र? परमेश्‍वरको काम भनेको उहाँका वचनहरूद्वारा तँलाई आपूर्ति गर्नु हो। जब तँ उहाँका वचनहरूप्रति समर्पित हुन्छस् वा तैँले तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले अवश्य पनि तँमाथि काम गर्नुहुनेछ। पवित्र आत्माले मैले जे बोल्छु ठ्याक्कै त्यस्तै गर्नुहुन्छ; मैले भनेको जस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। तिमीहरूले हेर्नको लागि म एक नयाँ ज्योति छाड्छु र तिमीहरूलाई वर्तमानको ज्योतिभित्र ल्याउँछु, र जब तँ यो ज्योतिमा हिँड्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमाथि काम गर्नुहुनेछ। केही अटेरी व्यक्तिहरू पनि छन् जो भन्छन्, “म तपाईंले जे भन्नुहुन्छ त्यो गर्दै गर्दिनँ।” यो अवस्थामा म तँलाई भन्छु कि तँ अब मार्गको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस् र तँसँग अब बाँकी जीवन नै छैन। तसर्थ, आफ्नो स्वभाव रूपान्तरणको अनुभव गर्दा तैँले वर्तमान ज्योतिसँग कदममा कदम मिलाउनुभन्दा महत्वपूर्ण अरू केही छैन। पवित्र आत्माले परमेश्‍वरले प्रयोग गर्नुहुने केही निश्चित व्यक्तिहरूमाथि मात्र काम गर्नुहुन्न, बरु थप रूपमा उहाँले मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमाथि काम गरिरहनुभएको हुनसक्छ। उहाँले वर्तमान समयमा तँमाथि काम गर्न सक्नुहुन्छ र तैँले यो काम अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अर्को कोही व्यक्तिमा काम गर्न सक्नहुन्छ, त्यो अवस्थामा तैँले पछ्याउनको लागि हतारिनुपर्छ; तैँले वर्तमान ज्योतिलाई जति नजिकबाट पछ्याउँछस् तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कुनै व्यक्ति जुनसुकै तौरतरिकाको भए तापनि, यदि पवित्र आत्माले तिनीहरूमाथि काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तिनीहरूका अनुभवहरूलाई आफ्ना अनुभवहरूको नजरबाट हेर्, अनि तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यसो गर्दा तँ अझ चाँडो अघि बढ्नेछस्। यो मान्छेको लागि सिद्धताको मार्ग अनि जीवन वृद्धि हुने माध्यम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भनेर मापन गर्दा तिनीहरूमा अत्यधिक कुनै चाहनाहरू छन् कि छैनन् वा परमेश्‍वरप्रति गुप्त अभिप्रायहरू छन् कि छैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हो। यदि मानिसहरूले सधैँ परमेश्‍वरसँग माग गरिरहेका छन् भने, त्यसले तिनीहरू उहाँप्रति समर्पणकारी छैनन् प्रमाणित गर्दछ। तँलाई जे भए पनि, यदि तँ त्यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकार्दैनस्, सत्यता खोज्दैनस्, सधैँ आफ्नै लागि तर्क गर्छस्, सधैँ आफूलाई सही ठान्छस्, र तँ परमेश्‍वर नै सत्यता र धार्मिकता हुनुहुन्छ भनेर शङ्का गर्न सक्छस् भने, तँ समस्यामा पर्नेछस्। त्यस्ता मानिसहरू परमेश्‍वरप्रति सबैभन्दा बढी अहङ्कारी र विद्रोही हुन्छन्। सधैँ परमेश्‍वरसँग माग गर्ने मानिसहरू साँचो अर्थमा उहाँमा समर्पित हुन सक्दैनन्। यदि परमेश्‍वरसँग माग गर्छस् भने, यसले तँ परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्दै छस्, आफ्नै इच्छा रोज्दै छस्, र यही इच्छाअनुसार कार्य गरिरहेको छस् भन्‍ने प्रमाणित गर्छ। यसरी तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्, र तँमा समर्पणता हुँदैन। परमेश्‍वरसँग माग गर्नु नै समझको कमी हो; यदि तँ साँच्चै उहाँ परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छस् भने, तैँले उहाँसँग माग गर्ने हिम्मत गर्नेछैनस्, न त तँ उहाँसँग कुनै माग गर्ने योग्यह महसुस नै गर्नेछस्, चाहे तैँले ती उचित छन् कि कि छैनन् भनेर सोचेको किन नहोस्। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ, र उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छस् भने, तैँले उहाँको मात्र आराधना गर्नेछस् र उहाँप्रति मात्रै समर्पित हुनेछस्, अरू कुनै विकल्प हुनेछैन। आज मानिसहरूले स्वेच्छिक छनौटहरू गर्ने मात्रै होइन, तिनीहरूले परमेश्‍वरलाई तिनीहरूका आफ्‍नै इच्‍छाअनुसार काम गर्नसमेत लगाउँछन्। तिनीहरूले परमेश्‍वरप्रति समर्पित नहुने विकल्प मात्रै रोज्दैनन्, परमेश्‍वरलाई तिनीहरूप्रति समर्पित हुनसमेत लगाउँछन्। के यो समझको साह्रै कमी होइन र? त्यसकारण, यदि मानिसमा साँचो आस्था र बलियो विश्‍वास छैन भने, उसले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। जब मानिसहरू परमेश्‍वरसित थोरै मागहरू गर्न सक्षम हुन्छन्, तब तिनीहरूले अझ धैरै साँचो विश्वास र समर्पण गर्नेछन्, अनि तिनीहरूको समझ पनि तुलनात्मक रूपमा सामान्य हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरका चाहनाहरूबारे थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो र परमेश्‍वरको वचनप्रति समर्पित हुने र त्यसलाई सुन्‍ने कार्यले उसले गर्ने कामको विश्‍वासमा टेवा दियो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार नै समर्पण थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिल्यै हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथियो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त समर्पण गर्‍यो, सुन्यो र त्यस बमोजिम गर्‍यो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

जब परमेश्‍वरले कसैलाई योजनाबद्ध रूपमा चलाउन चाहनुहुन्छ, यो योजनाबद्ध कार्य प्रायः मानिसको धारणासँग मिल्दैन र उसले बुझ्न नसक्‍ने हुन्छ, तर यही बेमेल र बुझ्न नसक्‍ने कुरा नै मानिसको निम्ति परमेश्‍वरको परीक्षा र जाँच हो। यसबीच, अब्राहाम आफूभित्रै परमेश्‍वरप्रति समर्पण देखाउन सक्षम थिए, जुन तिनी परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्षम हुनुको सबैभन्दा आधारभूत सर्त थियो। जब अब्राहाम परमेश्‍वरको मापदण्डप्रति समर्पित हुन इसहाकलाई बलि चढाउन सक्षम भए, तब मात्र परमेश्‍वरले साँच्‍चै मानव जातिप्रति, अर्थात् उहाँले चुन्‍नुभएको अब्राहामप्रति आश्‍वस्तता र स्वीकृति महसुस गर्नुभयो। तब मात्र परमेश्‍वर उहाँले चुन्‍नुभएको यो व्यक्ति अति आवश्यक अगुवा हो, जसले उहाँको प्रतिज्ञा र त्यसपछिको व्यवस्थापन योजना पूरा गर्न सक्छ भनी निश्‍चित हुनुभयो। यो एउटा परीक्षा र जाँच मात्र रहेको भए पनि, परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुभयो, उहाँले उहाँप्रतिको मानिसको प्रेम महसुस गर्नुभयो, र उहाँले यसअघि मानिसबाट कहिल्यै नपाएको सान्त्वना पाएको महसुस गर्नुभयो। जुन क्षण अब्राहामले इसहाकलाई मार्न छुरी उठाए, के परमेश्‍वरले तिनलाई रोक्‍नुभयो? परमेश्‍वरले अब्राहामलाई इसहाकको बलि चढाउन दिनुभएन, किनकि इसहाकको ज्यान लिने अभिप्राय परमेश्‍वरको थिएन। यसैले, परमेश्‍वरले ठीक समयमा अब्राहामलाई रोक्‍नुभयो। परमेश्‍वरका लागि, अब्राहामको समर्पण यसअघि नै परीक्षामा सफल भइसकेको थियो, तिनले जे गरे त्यो पर्याप्त थियो, र परमेश्‍वरले आफूले गर्न चाहनुभएको कामको नतिजा देखिसक्‍नुभएको थियो। के यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो? यो भन्‍न सकिन्छ कि यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो, यही कुरा परमेश्‍वरले चाहनुभएको थियो, र यही कुरा हेर्ने परमेश्‍वरको तृष्णा थियो। के यो सत्य हो? विभिन्‍न सन्दर्भहरूमा, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई जाँच्ने विभिन्‍न तरिकाहरू प्रयोग गर्नुहुने भए पनि, अब्राहाममा उहाँले जे चाहनुहुन्थ्यो त्यो देख्‍नुभयो, अब्राहामको हृदय साँचो छ, र तिनको समर्पण सर्तरहित छ भन्‍ने देख्‍नुभयो। वास्तवमा परमेश्‍वरले चाहनुभएको पनि त्यस्तै “सर्तरहित” कुरा थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

त्यसोभए, मानिसहरूले समर्पण अभ्यास गर्नुपर्छ भनी पत्रुसलाई थाहा दिन परमेश्वरले पत्रुसमाथि कुन हदसम्म काम गर्नुभयो? हामीले यसअघि पत्रुसले भनेको एउटा कुरा उल्लेख गरेका थियौँ। त्यो के थियो, तिमीहरूलाई याद छ? (“यदि परमेश्वरले मलाई खेलौनाजस्तो व्यवहार गर्नुभयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?”) ठिक भनिस्, त्यही हो। परमेश्वरको काम वा मार्गदर्शनलाई अनुभव र पार गर्ने क्रममा, पत्रुसलाई थाहै नपाई यस्तो अनुभूति भयो: “के परमेश्वर मानिसहरूलाई खेलौनाजस्तो व्यवहार गर्नुहुन्न र?” तर परमेश्वरका कार्यहरूलाई प्रेरित गर्ने कुरा निश्चय नै यो होइन। मानिसहरू आफ्नो मानव दृष्टिकोण, सोचाइ, र ज्ञानमा भर परेर यस मामलालाई मूल्याङ्कन गर्छन् अनि परमेश्वर मानिसहरूलाई त्यतिकै खेलौनाजस्तै व्यवहार गर्नुहुन्छ भन्ने महसुस गर्छन्। उहाँ आज एक थोक गर् भन्नुहुन्छ, र भोलि अर्कै थोक गर् भन्नुहुन्छ। तँलाई थाहै नपाई यस्तो महसुस हुन थाल्छ, “अहो, परमेश्वरले धेरै कुरा भन्नुभएको छ। उहाँ केसमेत गर्न खोजिरहनुभएको छ?” मानिसहरू अन्योलमा पर्छन् र अलिव विक्षिप्त बन्छन्। कस्ता निर्णय गर्ने भनी तिनीहरू जान्दैनन्। परमेश्वरले पत्रुसको जाँच गर्न यो विधि प्रयोग गर्नुभयो। यो जाँचको अन्तिम नतिजा के भयो? (पत्रुस मृत्युसम्म समर्पित बने।) ऊ समर्पित बने। परमेश्वरले चाहेको नतिजा यही थियो, र उहाँले त्यो देख्नुभयो। पत्रुस समर्पित बनेको थियो र उसको कद वृद्धि भएको थियो भन्ने कुरा उसले बोलेका कुन शब्दहरूले देखाउँछन्? पत्रुसले के भन्यो? परमेश्वरले गरेका सबथोक र मानिसलाई खेलौनाजस्तो व्यवहार गर्ने परमेश्वरको मनोवृत्तिलाई पत्रुसले कसरी स्विकाऱ्यो र हेऱ्यो? पत्रुसको मनोवृत्ति कस्तो थियो? (उसले भन्यो: “म कसरी तयार र इच्छुक नहुन सक्छु र?”) हो, पत्रुसको मनोवृत्ति त्यस्तो थियो। उसका शब्दहरू ठ्याक्कै ती नै थिए। परमेश्वरका परीक्षा र शोधनको अनुभव नभएका मानिसहरूले कहिल्यै यी शब्दहरू भन्ने थिएनन् किनकि तिनीहरूले यस कथाको वृत्तान्त बुझ्दैनन् र त्यो कहिल्यै अनुभव गरेका छैनन्। तिनीहरूले त्यो अनुभव नगरेका हुनाले, तिनीहरू यस मामलामा निश्चित रूपले प्रस्ट हुँदैनन्। यदि तिनीहरू यस मामलामा प्रस्ट छैनन् भने, कसरी यो कुरा त्यतिकै भन्न सक्छ र? यी शब्दहरू मानवले कहिल्यै सोच्नै नसक्ने कुरा हुन्। पत्रुसले यसो भन्न सक्यो किनभने उसले धेरै परीक्षा र शोधन अनुभव गरेको थियो। परमेश्वरले उसलाई धेरै कुराबाट वञ्चित गर्नुभयो, तर त्यो सँगसँगै उसलाई धेरै थोक पनि दिनुभयो। दिएपछि, उहाँले फेरि एकपटक लिनुभयो। परमेश्वरले ऊबाट ती कुराहरू लिएपछि, पत्रुसलाई समर्पित हुन सिक्न लगाउनुभयो र त्यसपछि उसलाई फेरि एकपटक दिनुभयो। मानिसको दृष्टिकोणबाट हेर्दा, परमेश्वरले गर्ने धेरै कुरा अस्थिर देखिन्छन्, जसले मानिसहरूमा परमेश्वर मानिसहरूलाई खेलौनाजस्तो व्यवहार गर्नुहुन्छ, सम्मान गर्नुहुन्न, र मानवजातिको रूपमा व्यवहार गर्नुहुन्न भन्ने भ्रम सिर्जना गर्छ। मानिसहरू आफू खेलौनाझैँ मर्यादाविना जिउँदै छु भन्ने सोच्छन्; तिनीहरू परमेश्वरले तिनीहरूलाई स्वतन्त्र छनोटको अधिकार दिनुहुन्न, र उहाँ जे चाहनुहुन्छ त्यही भन्न सक्नुहुन्छ भन्ठान्छन्। उहाँ तँलाई केही कुरा दिनुहुँदा यसो भन्नुहुन्छ, “तैँले गरेको कुराका लागि तँ यो इनामको योग्य छस्। यो परमेश्वरको आशिष् हो।” उहाँ चिजहरू लानुहुँदा, अरू नै केही भन्नुहुन्छ। यस क्रममा, मानिसहरूले के गर्नुपर्छ? परमेश्वर सही वा गलत हुनुहुन्छ भनेर तैँले मूल्याङ्कन गर्ने होइन, परमेश्वरका कार्यहरूको प्रकृति तैँले पहिचान गर्ने होइन, र निश्चय नै यस क्रममा तेरो जीवनलाई अझ ठूलो मर्यादा दिने तैँले होइन। तैँले गर्नुपर्ने निर्णय यो होइन। यो भूमिका तेरो होइन। त्यसोभए तेरो भूमिका के हो त? तैँले अनुभवमार्फत परमेश्वरको इच्छा बुझ्न सिक्नुपर्छ। यदि तँ परमेश्वरको इच्छा बुझ्न सक्दैनस् र परमेश्वरका मापदण्डहरू पूरा गर्न सक्दैनस् भने, तेरो एउटै विकल्प समर्पित हुनु हो। के यस्ता परिस्थितिमा तँलाई समर्पित हुन सजिलो हुनेछ? (हुनेछैन।) समर्पित हुन सजिलो छैन। यो तैँले सिक्नुपर्ने पाठ हो। यदि तँलाई समर्पित हुन सजिलो हुने हो भने, तैँले पाठहरू सिक्नु पर्दैनथ्यो, तैँले काटछाँट भोग्न अनि परीक्षा र शोधन पार गर्न पर्दैनथ्यो। तँलाई परमेश्वरप्रति समर्पित हुन गाह्रो हुने भएकाले नै उहाँ तँलाई निरन्तर जाँच्नुहुन्छ, जानाजानी तँलाई खेलौनाझैँ खेलाउनुहुन्छ। परमेश्वरप्रति समर्पित हुन तँलाई सजिलो भएको दिन, जब परमेश्वरप्रतिको तेरो समर्पण कठिनाइ वा रोकावटरहित हुन्छ, जब तँ स्वेच्छाले र खुसीसाथ आफ्नो छनौट, अभिप्राय, वा रूचिविना समर्पित हुन सक्छस्, तब परमेश्वरले तँलाई खेलौनाझैँ व्यवहार गर्नुहुनेछैन र तैँले ठ्याक्कै आफूले गर्नुपर्ने काम नै गर्नेछस्। यदि कुनै दिन तैँले “परमेश्वर मलाई खेलौनाजस्तो व्यवहार गर्नुहुन्छ। म मर्यादाविना जिउँछु। म यसमा सहमत छैनँ र म समर्पित हुनेछैनँ” भनिस् भने, सायद त्यही दिन परमेश्वर तँलाई त्याग्नुहुन्छ। यदि तेरो कद तैँले “परमेश्वरको इच्छा बुझ्न सजिलो छैन र परमेश्वर मबाट सधैँ लुक्नुहुन्छ, तैपनि परमेश्वरले गर्ने सबथोक सही हुन्छ। परमेश्वरले जे गर्नुभए पनि, म उहाँप्रति स्वेच्छाले समर्पित हुनेछु। म समर्पित हुन नसके पनि, मैले यो मनोवृत्ति अपनाउनैपर्छ र गुनासो गर्ने वा आफै निर्णय गर्ने गर्नु हुँदैन। किनभने म एक सृष्टि गरिएको प्राणी हुँ। मेरो कर्तव्य भनेको समर्पित हुनु हो, र यो म पन्छिन नमिल्ने मेरो स्पष्ट दायित्व हो। परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ, र परमेश्वर जे गर्नुहुन्छ त्यो सही हुन्छ। मैले परमेश्वर जे गर्नुहुन्छ त्यसबारे कुनै धारणा वा कल्पना राख्नु हुँदैन। सृष्टि गरिएको प्राणीले यसो गर्नु उचित हुँदैन। परमेश्वरले मलाई जे दिनुभएको छ, त्यसका निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। परमेश्वरले मलाई जे दिनुभएन वा जे दिएर लानुभयो, त्यसका लागि पनि म परमेश्वरलाई धन्यवाद दिन्छु। परमेश्वरका सबै कार्य मेरा लागि लाभदायी छन्; मैले लाभ देख्न नसके पनि, अझै पनि मैले गर्नुपर्ने भनेको समर्पित हुनु हो” भनेर भन्ने स्तरमा पुग्यो भने के होला? के यी शब्दहरूको र पत्रुसले “म कसरी तयार र इच्छुक नहुन सक्छु र?” भनेर भनेका शब्दहरूको प्रभाव एउटै छैनन् र? यस्तो कद भएकाहरूले मात्र सत्यतालाई साँचो रूपमा बुझ्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि, सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ

मानिसहरूले के बुझ्नुपर्छ भने, सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूसँग गर्नुहुने व्यवहारको एउटा मौलिक सिद्धान्त छ, जुन सर्वोच्च सिद्धान्त पनि हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उहाँको व्यवस्थापन योजना र उहाँका कार्य मापदण्डहरूमा आधारित हुन्छ; उहाँले कुनै पनि व्यक्तिसँग सल्लाह लिनु आवश्यक पर्दैन, न त उहाँले कसैलाई उहाँसँग सहमत गराउनु आवश्यक हुन्छ। उहाँले जे गर्नुपर्दछ र उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुपर्छ उहाँले त्यसरी नै गर्नुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुभए पनि, ती सबै सत्यताका सिद्धान्तहरू र सृष्टिकर्ताले काम गर्नुहुने सिद्धान्तहरूअनुरूप हुन्छन्। सृष्टि गरिएको प्राणीको रूपमा गर्नु पर्ने एक मात्र कार्य भनेको सृष्टिकर्तमा समर्पित हुनु हो; व्यक्तिले आफ्नै रोजाइ छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो, र यदि व्यक्तिमा यो छैन भने, ऊ व्यक्ति भनिन लायक हुँदैन। मानिसहरूले के कुरा बुझ्‍नैपर्छ भने सृष्टिकर्ता सधैँ सृष्टिकै प्रभु हुनुहुनेछ; उहाँसँग आफूलाई मन लागेअनुसार सृष्टि गरिएका प्राणीहरूलाई योजनाबद्ध गर्ने र शासन गर्ने शक्ति र योग्यता छ, र त्यसो गर्नका निम्ति उहाँलाई कुनै कारणको आवश्यक पर्दैन। यो उहाँको अख्तियार हो। सृष्टिका प्राणीहरूमा एक जना पनि यस्तो छैन जोसँग सृष्टिकर्ताले गर्नुभएको काम सही वा गलत छ, वा उहाँले कसरी काम गर्नुपर्छ भनेर टीकाटिप्पणी गर्ने अधिकार वा योग्यता होस्। सृष्टिकर्ताका नियम र बन्दोबस्तहरू स्वीकार गर्ने कि नगर्ने भनेर छनौट गर्ने अधिकार कुनै पनि प्राणीमा हुँदैन; र सृष्टिकर्ताले तिनीहरूको नियतिलाई कसरी शासन र बन्दोबस्त गर्नुपर्छ भनेर मापदण्ड थोपर्ने अधिकार कुनै पनि प्राणीसँग हुँदैन। यो सर्वोच्च सत्यता हो। सृष्टिकर्ताले आफ्‍ना सृष्टि गरिएका प्राणीहरूसँग जे गर्नु भए पनि, र उहाँले त्यो जसरी गर्नुभए पनि, उहाँले सृष्टि गर्नुभएका मानिसहरूले एउटा मात्रै काम गर्नुपर्दछ: खोजी गर्नु, अधीनमा बस्नु, जान्नु अनि सृष्टिकर्ताले राख्नुभएको सबै कुरा स्वीकार गर्नु। अन्तिम परिणाम यो हुनेछ, कि सृष्टिकर्ताले उहाँको व्यवस्थापन योजनालाई कुनै बाधाविना अगाडि बढाउँदै आफ्नो व्यवस्थापन योजना हासिल गर्नुभएको र उहाँको काम पूरा गर्नुभएको हुनेछ; यसै बीच, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको शासन र व्यवस्थाहरू स्वीकार गरेकाले, र उहाँको शासन र बन्दोबस्तहरूमा समर्पित भएका हुनाले, उनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्, सृष्टिकर्ताको इच्छालाई बुझेका हुनेछन्, र उहाँको स्वभाव जानेका हुनेछन्। मैले तिमीहरूलाई बताउनैपर्ने अझै अर्को सिद्धान्त छ: सृष्टिकर्ताले जे गर्नु भए पनि, उहाँ जसरी प्रकट हुनुभए पनि, र अनि उहाँले गर्नुहुने काम महान् वा सानो भए पनि, उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जबकि उहाँले सृष्टि गर्नुभएका सबै मानवजातिले, जेसुकै गरे पनि, र उनीहरू जतिसुकै प्रतिभाशाली वा वरदानप्राप्त भए पनि, तिनीहरू सृष्टि गरिएका प्राणी नै रहन्छन्। सृष्टि गरिएको मानवजातिको सम्बन्धमा भन्दा, उनीहरूले सृष्टिकर्ताबाट जति धेरै अनुग्रह र आशिष्‌ वा जति धेरै दया, करुणा वा भलाइ प्राप्त गरेका भए पनि, उनीहरूले आफू भीडहरूबाट अलग छौं भनी विश्‍वास गर्नुहुँदैन, वा उनीहरू परमेश्‍वरको स्तरको उभिन सक्छन् र उनीहरू सृष्टि गरिएका प्राणीहरूमध्ये उच्च स्तरको बनेका छन् भनी सोच्नु हुँदैन। परमेश्‍वरले तँलाई जति धेरै वरदानहरू दिनुभएको भए पनि, वा उहाँले तँलाई जति धेरै अनुग्रह दिनुभएको भए पनि, वा उहाँले तँसँग जति नै दयालु व्यवहार गर्नुभएको भए पनि, वा उहाँले तँलाई केही विशेष प्रतिभाहरू दिनुभएको भए पनि वा नभए पनि, ती कुनै पनि कुरा तेरो सम्पत्ति होइनन्। तँ सृष्टि गरिएको प्राणी होस्, र सधैँ सृष्टि गरिएको प्राणी नै रहन्छस्। तैंले कहिल्यै पनि यस्तो सोच्नु हुँदैन, “म परमेश्‍वरको हातको एक सानो र प्रिय व्यक्ति हुँ। परमेश्‍वरले मलाई कहिल्यै फाल्नुहुन्‍न, मप्रतिको परमेश्‍वरको आचरण सधैँ प्रेम, हेरचाह, वास्ता र सान्त्वना र प्रोत्साहनको मधुर शब्‍दहरू बोल्दै कोमल छुवाइ प्रदान गर्ने किसिमको हुनेछ।” यसको विपरीत, सृष्टिकर्ताको नजरमा, तँ सृष्टि गरिएका अन्य सबै प्राणीहरू जस्तै छस्; परमेश्‍वरले तँलाई उहाँको इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र तँलाई उहाँको इच्‍छा अनुसार योजनाबद्ध गर्न सक्‍नुहुन्छ, र उहाँले सबै किसिमका मानिसहरू, घटनाहरू र परिस्थितिहरूको बीचमा तैंले खेल्नु पर्ने कुनै पनि भूमिका आफ्नो इच्छाअनुसार मिलाउन सक्नुहुन्छ। मानिसहरू हुनुपर्ने ज्ञान र समझशक्ति यही हो। यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, परमेश्‍वरसँगको उनीहरूको सम्बन्ध सामान्य हुँदै जान्छ, र उनीहरूले उहाँसँग उचित सम्बन्ध स्थापित गर्नेछन्; यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, उनीहरूले आफ्नो स्थितिलाई अनुकूल बनाउन, त्यहाँ आफ्‍नो स्थान लिन, र आफ्‍नो कर्तव्य सम्हाल्न सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ

अघिल्लो: ३३. सत्यता प्राप्त गरेर मानिसहरूमा आउने परिवर्तनहरू

अर्को: ३५. परमेश्‍वरको आज्ञापालन र मुक्तिबीच सम्बन्ध

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्