सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो

परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य मुक्ति प्राप्त गर्नु हो, तर के मुक्ति प्राप्त गर्नु साधारण कुरा हो? यसमा सबैभन्दा कठिन कुरा के छ? धेरै मानिसहरूले यसलाई स्पष्टसँग देख्न सक्दैनन्, तर वास्तवमा मुक्ति प्राप्त गर्नको निम्ति सबैभन्दा कठिन कुरा भनेको सत्यता प्राप्त गर्नु हो। त्यसकारण, चाहे तैँले जतिसुकै नै प्राप्त गरे पनि, सत्यता प्राप्त गर्नको लागि धेरै पीडा भोग्नु र मूल्य चुकाउनु सधैँ सार्थक हुन्छ। त्यसो भए, सत्यता प्राप्त गर्नको निम्ति तैँले के-कस्तो कष्ट सहनुपर्छ? तैँले न्याय र सजाय, र जाँच र शोधनको कष्ट सहनुपर्छ, अनि तैँले काटछाँट हुनुपर्छ, तैँले परमेश्‍वरलाई पछ्याउँदा आइपर्ने सतावट र सङ्कष्ट सहनुपर्छ, र तैँले कारावास अनि धार्मिक संसारको गालीबेइज्‍जती र निन्दा सहनुपर्छ। तैँले यी सबै कठिनाइहरू सहनुपर्छ। यदि यी सबै कुराहरू सहन सक्छस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। अहिले धेरैजसो मानिसहरू सत्यता पछ्याउन इच्छुक छन्। तिनीहरू आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नमा केन्द्रित छन् र तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गर्नमा प्रशिक्षित हुन र सत्यता प्राप्त गर्न चाहन्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु र आफ्नो कर्तव्य निर्वाह गर्नु जीवनको सही मार्ग हो। यो मार्ग छान्‍नु सही कुरा हो र यो परमेश्‍वरद्वारा सबैभन्दा बढी आशिषित कुरा हो। मानिसहरूले इमान्दारीपूर्वक उहाँको निम्ति आफैलाई खर्चिन र सृष्टि गरिएका प्राणीहरूको कर्तव्य पूरा गर्न सक्छन्—यो परमेश्‍वरको विशेष अनुग्रह र आशिष् हो। कर्तव्य निर्वाह गर्नुको महत्त्वलाई स्पष्ट रूपमा नदेख्नेहरू पनि केही छन्, जो सधैँ परमेश्‍वरसँग लेनदेन सम्झौता गर्ने प्रयास गर्छन्—तिनीहरूमाथि जे आइलागे पनि तिनीहरूलाई सधैँ विवश र विचलित पार्न सकिन्छ, तिनीहरूलाई सधैँ प्रभावित पार्न र बटार्न सकिन्छ, र यसले तिनीहरूलाई सामान्य रूपमा आफ्नो कर्तव्यहरू निर्वाह गर्न असमर्थ बनाउँछ, यतिसम्म कि तिनीहरू आफ्ना कर्तव्यहरू त्यागेर भाग्न पनि सक्छन्। यो साँच्चै खेदजनक कुरो हो। तिनीहरूले त्यति धेरै पछुतो महसुस नगर्न सक्छन्, तर विपत्तिहरू भीमकाय बन्दा र परमेश्‍वरको काम समाप्त हुँदा अनि उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिन सुरु गर्नुहुँदा, तिनीहरूले यस कार्यको परिणाम जान्‍नेछन्। त्यसैले, तिमीहरूले बारम्बार सँगै मिलेर प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको सामु आफूलाई शान्त राख्नुपर्छ, अझ बढी उहाँका वचनहरू पढ्नुपर्छ र अझ बढी सत्यता सङ्गति गर्नुपर्छ। अहिलेका लागि, सत्यता पछ्याउने कुरासँग असम्बन्धित र अहिले ध्यान नदिनुपर्ने विषयहरूलाई अलग राख। जीवनमा विवाह, काम, आफ्नो भविष्य र घर बसाल्ने काम मात्र महत्त्वपूर्ण मामलाहरू होइनन्, न त समाजमा आफ्नो स्थान खोज्नु र जीविकोपार्जन गर्नु नै हुन्। जीवनमा यीमध्ये कुनै पनि सबैभन्दा महत्त्वपूर्ण कुरा होइनन्। त्यसो भए, जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? यो सृजित प्राणीले पूरा गर्नुपर्ने कर्तव्य र कार्य पूरा गर्नु अनि परमेश्‍वरको आज्ञा र आफ्नो मिसन पूरा गर्नु हो। त्यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो। मानिसहरूमा हुनुपर्ने सङ्कल्प नै यही हो।

अहिले, तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूले हरेक दिन उहाँका वचनहरू खान र पिउन सक्छौ र सत्यता अझ धेरै पछ्याउनेहरूले त कर्तव्यहरू पनि निर्वाह गरिरहेका छौ। यो तिमीहरूको जीवनदिशाको निम्ति सही सुरुवाती बिन्दु हो, यसैले तिमीहरूले यस मार्गमा कसरी निरन्तर हिँडिरहनुपर्छ? (हामीले जीवन प्रवेशको मार्गमा जग बसाल्नुपर्छ।) हो, यदि तिमीहरू सत्यता र जीवन प्राप्त गर्न चाहन्छौ भने, तिमीहरूले परमेश्‍वरको वचनको जग बसाल्नुपर्छ। यसले तिमीहरूलाई सत्यता खोजी गर्ने मार्गमा अगाडि बढ्न मदत दिनेछ, यो नै जीवनको लक्ष्य र दिशा हो। यदि तैँले उहाँको वचन र सत्यतालाई तेरो हृदयमा जग बसाल्न दिन्छस् भने मात्र तँ साँच्‍चिकै परमेश्‍वरका चुनिएका र पूर्वनिर्धारित गरिएका व्यक्तिहरूमध्येको एक होस्। अहिले तिमीहरूका जगहरू अझ पनि अस्थिर नै छन्। ठूलो विपत्ति वा जाँचको त कुरै छोडौँ, यदि शैतानको सानो परीक्षा पनि तिमीहरूमाथि आइलाग्यो भने, तिमीहरू थर्कन र ढल्न सक्छौ। यो जगको कमी हो, जुन एकदमै खतरनाक छ! सतावट र प्रतिकूलता आइपर्दा धेरै मानिसहरूले ठेस खान्छन् र परमेश्‍वरलाई धोका दिन्छन्। केही हैसियत प्राप्त गरिसकेपछि केही मानिसहरूले लापरवाही गर्न थाल्छन् र त्यसपछि तिनीहरूलाई खुलासा गरेर हटाइन्छ। तिमीहरू सबैले यी कुराहरू एकदमै स्पष्टसँग देख्न सक्छौ। यसैले तिमीहरूले पहिले जीवनमा पछ्याउनुपर्ने दिशा र लक्ष्यका साथै तिमीहरूले हिँड्नुपर्ने बाटो निर्धारण गर्नुपर्छ र त्यसपछि उक्त लक्ष्यको निम्ति आफ्नो मनलाई शान्त पार्ने र कडा परिश्रम गर्ने, आफूलाई समर्पित गर्ने, र मूल्य चुकाउने कार्य गर्नुपर्छ। अहिलेलाई अन्य मामिलाहरू पन्छाइदे—यदि तैँले ती कुराहरू निरन्तर विचार गर्छस् भने, यसले तेरो कर्तव्य निर्वाहलाई प्रभावित पार्नेछ र यसले तेरो सत्यता पछ्याइ र तेरो मुक्तिको महत्त्वपूर्ण विषयलाई प्रभावित पार्नेछ। यदि तैँले काम खोज्ने, धेरै पैसा कमाउने, धनी बन्‍ने र समाजमा आफ्नो दह्रिलो पकड स्थापित गर्ने अनि आफ्नो स्थान खोज्नेबारेमा सोच्नुपर्छ भने, यदि तैँले विवाह र जोडी खोज्ने अनि परिवारलाई भरणपोषण गर्ने र राम्रो जीवन प्रदान गर्नेबारेमा सोच्नुपर्छ भने, अनि यदि तँ केही नयाँ सिपहरू सिक्न, अरू मानिसहरूभन्दा उत्कृष्ट र राम्रो बन्‍न पनि चाहन्छस् भने—के यी सबै कुराहरूको बारेमा सोच्नु थकाइलाग्दो हुन्‍न र? तेरो दिमागमा कति कुराहरू अट्न सक्छन्? कुनै एक व्यक्तिको जीवनकालमा कति ऊर्जा हुन्छ? एउटा व्यक्तिसँग राम्रा वर्षहरू कति हुन्छन्? यस जीवनमा बिस वर्षदेखि चालिस वर्षसम्मको उमेरमा मानिसहरूसँग सबैभन्दा धेरै ऊर्जा हुन्छ। यस अवधिमा, परमेश्‍वरका विश्‍वासीहरूले बुझ्न आवश्यक कुराहरूमा तिमीहरू निपुण हुनुपर्छ, अनि सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ र परमेश्‍वरको न्याय र सजायका साथै उहाँका शोधन र जाँचहरू स्वीकार गर्नुपर्छ, र जस्तोसुकै परिस्थितिमा पनि तिमीहरू परमेश्‍वरलाई इन्कार गर्दै नगर्ने बिन्दुमा पुग्नुपर्छ। यो सबैभन्दा आधारभूत कुरा हो। यसअलावा, तँलाई लोभ्याउन र प्रलोभनमा पार्न जोसुकैले प्रेम र विवाह प्रयोग गरे पनि, वा कसैले तँलाई जतिसुकै ख्याति, प्राप्ति, हैसियत वा लाभहरू प्रदान गरे पनि, तैँले आफ्नो कर्तव्य वा सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुराहरू त्याग्नु हुँदैन। पछि परमेश्‍वरले तँलाई चाहनुभएन नै भने पनि, तैँले सत्यता खोजी गरिरहनुपर्छ, तैँले अझै पनि परमेश्‍वरको भय मान्‍ने र दुष्टबाट अलग बस्‍ने मार्ग हिँड्न खोजिरहनुपर्छ। तँ यो उचाइमा पुग्नैपर्छ। यस तरिकाले, तैँले परमेश्‍वरको लागि आफैलाई समर्पित गरेका वर्षहरू व्यर्थमा जानेछैनन्। यदि तैँले आफ्नो जीवनका उत्तम वर्षहरू राम्रो जागिर भेट्टाउने वा जोडी खोज्‍ने बारेमा सोच्‍दै बिताउँछस्, र परमेश्‍वरमा विश्‍वास गर्दा दैहिक जीवनको आनन्द लिने अर्थात् दुवै काम एकैसाथ गर्ने आशा गर्छस् भने, केही वर्षपछि तैँले जोडी पनि भेट्टाउलास्, विवाह पनि गर्लास्, बच्चा पनि जन्माउलास् अनि घर र करियर पनि बनाउलास्, तर तैँले ती सबै वर्षहरूमा परमेश्‍वरमा विश्‍वास गरेर केही पनि प्राप्त गरेको हुनेछैनस्, तैँले कुनै सत्य प्राप्त गरेको हुनेछैनस्, तैँले तेरो हृदय खाली भएको महसुस गर्नेछस् र तेरा उत्तम वर्षहरू त्यसै बितेर गएका हुनेछन्। जब तैँले चालिस वर्षको उमेरमा पछाडि फर्केर हेर्नेछस्, तँसँग परिवार पनि हुनेछ, तेरा बच्चाहरू पनि हुनेछन् र तँ एक्लो पनि हुनेछैनस्, तर तैँले तेरो परिवारको भरणपोषण गर्नुपर्नेछ। अनि यो एक यस्तो जन्जिर हो जसबाट तँ मुक्त हुनै सक्दैनस्। यदि तँ आफ्नो कर्तव्य निभाउन चाहन्छस् नै भने पनि तैँले तेरो परिवारको जन्जिरमा बाँधिएर कर्तव्य निभाउनुपर्नेछ। तेरो हृदय जतिसुकै ठूलो भए तापनि तैँले दुवै कुरालाई ध्यान दिन सक्दैनस्—तँ परमेश्‍वरलाई पूर्ण हृदयले पछ्याउन र राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्षम हुनेछैनस्। परिवार र सांसारिक कुराहरू त्याग्ने धेरै मानिसहरू छन्, तर परमेश्‍वरलाई केही वर्ष विश्‍वास गरेपछि तिनीहरूले अझ पनि केवल ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन्। तिनीहरूले कुनै सत्य प्राप्त गरेका छैनन् र तिनीहरूसँग कुनै वास्तविक अनुभव गवाही छैन। यो त तिनीहरूले आफ्नो समय बरबाद गर्नुसरह हो। अहिले, जब तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, तिनीहरूले सत्यको एउटा सानो अंश पनि बुझ्दैनन् र जब तिनीहरूलाई केही हुन्छ, तिनीहरू यसलाई कसरी अनुभव गर्ने भन्‍ने नै जान्दैनन्—यसैले तिनीहरू रुन थाल्छन् र ठूलो पश्‍चात्तापले भरिन्छन्। जब तिनीहरूले सुरुको कुरा सोच्‍न थाल्छन्, सबै जवान मानिसहरू सँगै मण्डली जीवन बिताउँदै बसेको, आफ्ना कर्तव्यहरू पूरा गरेको, सँगै भजनहरू गाएको र सँगै परमेश्‍वरको प्रशंसा गरेको कुरा सोच्‍न थाल्छन्, तब तिनीहरूले ती दिनहरू कति असल थिए र आफू त्यो समयमा फर्कन पाए पनि हुन्थ्यो नि भनेर सोच्छन्। तर दुर्भाग्य, यस संसारमा पश्‍चात्तापको कुनै उपचार नै छैन। चाहँदैमा कसैले पनि समयलाई फर्काउन सक्दैन। सुरुको समयमा फर्केर जाने र जीवनलाई पुनः जिउने कुनै उपाय नै छैन। यसैले, एउटा मौका आएर गइसकेपछि, त्यो फर्केर आउनेवाला छैन। एक व्यक्तिको आयु केही दशक लामो मात्र हुन्छ, त्यसैले यदि तैँले सत्यता पछ्याउने यो सर्वोत्तम समय गुमाइस् भने, तैँले पछुतो गर्नु बेकार हुनेछ। कतिपय मानिसहरूले आजसम्‍मै परमेश्‍वरमा विश्‍वास गरेका छन्, तैपनि तिनीहरू अझै रनभुल्लमै परिरहेका छन्। तिनीहरू परमेश्‍वरको काम कुन चरणमा पुगेको छ भन्‍नेबारेमा पुरै अनभिज्ञ छन्। ठूला विपत्तिहरू आइसकेका छन् तर यी मानिसहरू भने “परमेश्‍वरले उहाँको काम सक्नुअघि अझै धेरै समय बाँकी छ! मानिसहरू अहिले पनि साबिकको झैँ खाने, पिउने र विवाह गर्ने काम गरिरहेका छन्। मैले पनि हतारहतार गर्दै जीवनको आनन्द लिनुपर्छ, मैले यो मौका छोड्नुहुँदैन!” भन्‍ने सोच्दै सपनामा बाँचिरहेका छन्। तिनीहरू अझै पनि दैहिक आनन्दको लालच गर्छन्, तिनीहरूको हृदयमा सत्यताप्रति अलिकति पनि तृष्णा छैन। यसरी तिनीहरूले जीवनभरमा एकपटक मात्र आउने मुक्तिको मौका गुमाउँछन्। वास्तवमा, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ, अनि उहाँको मुक्तिको काम सकिएपछि, एक व्यक्ति मात्र बाँच्छ भने पनि परमेश्‍वरले यो त एकदमै कम भयो भनेर सोच्नुहुनेछैन। परमेश्‍वरले त्यही एक व्यक्तिलाई लैजानुहुनेछ र अरू सबै पछि छुट्नेछन्। यो परमेश्‍वरको स्वभाव हो, जसलाई कसैले पनि स्पष्टसँग बुझ्न सक्दैन। जब परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नाश गर्न लाग्नुभएको थियो, तब उहाँमाथि विश्‍वास गर्नेहरूलाई बचाउनको निम्ति उहाँले नोआलाई ठूलो जहाज निर्माण गर्ने निर्देशन दिनुभयो। जब त्यो ठूलो जहाजको निर्माण पूरा भयो, नोआको परिवारका आठ सदस्यहरूले मात्र त्यो जहाजमा प्रवेश गरे र तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गरे। बाँकी अरूलाई चाहिँ के भयो? तिनीहरू सबै बाढीमा डुबे र त्यो विपत्तिमा परेर मरे। आज, परमेश्‍वरले यी सबै सत्यताहरू अभिव्यक्त गर्नुभएको देख्ने मानिसहरू धेरै छन्, तिनीहरूलाई परमेश्‍वरले मुक्तिको कार्य गरिरहनुभएको छ भन्‍ने कुरा राम्रोसित थाहा छ, तर तिनीहरू अझ पनि शङ्का गर्छन्, आफ्नै धारणाहरूमा अल्झिरहन्छन् र यसलाई स्वीकार गर्न इन्कार गर्छन्। यसप्रकारका व्यक्तिहरू आफैँमा खुसी हुन्छन्, तर जब ठूलो विपत्ति आउँछ, तिनीहरू नष्ट हुनेछन् र यसको निम्ति तिनीहरूले कसलाई दोष लाउन मिल्ला र? परमेश्‍वरको नजरमा, उहाँको मुक्ति स्वीकार नगर्नेहरू उडुसहरू हुन्, तिनीहरू जीवित भूतहरू हुन्, तिनीहरू पशुहरूभन्दा कमका छन्! परमेश्‍वरको मुक्तिका अवधिमा, उहाँको स्वभाव कृपालु, प्रेमिलो र सहनशील हुन्छ, तर जब परमेश्‍वरको मुक्तिको काम समाप्त हुन्छ, उहाँले त्यस उप्रान्त मानिसलाई आफ्नो सहनशीलता प्रदान गर्नुहुनेछैन। परमेश्‍वरले यसलाई फिर्ता लिनुहुनेछ, र मानिसहरूले उहाँको क्रोध र प्रताप मात्र सामना गर्नेछन्। अहिले, तिमीहरू यस महान् क्षणका लागि ठीक समयमा आइपुगेका छौ— परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गरिरहनुभएको छ। मानिसहरूका निम्ति परमेश्‍वरद्वारा मुक्ति दिइने र उहाँद्वारा सिद्ध पारिने यो एकमात्र अवसर हो। परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने यस महत्त्वपूर्ण क्षणमा तिमीहरू सबैले आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका छौ। यो साँच्चै परमेश्वरले गर्नुभएको तिमीहरूको असाधारण उत्थान हो। तैँले जुनसुकै क्षेत्रको अध्ययन गरेको भए तापनि वा तँसँग जुनसुकै क्षेत्रको ज्ञान भए तापनि वा तँमा जुनसुकै वरदान वा विशेषज्ञता भए तापनि, यस्ता जुनसुकै अवस्थामा परमेश्‍वरले उहाँको घरमा कर्तव्य पूरा गर्नका निम्ति यो विशेषज्ञता प्रयोग गर्ने अनुमति दिँदै तँलाई अनुग्रह देखाउँदै हुनुहुन्छ। यो मौका प्राप्त गर्न एकदम गाह्रो हुन्छ। जब परमेश्‍वर कार्य गर्नुहुन्छ, तब उहाँ सबैप्रति निष्पक्ष हुनुहुन्छ, उहाँ सबैलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ। सत्यता स्वीकार र अभ्यास गर्ने जोकोहीलाई परमेश्वरले अनुग्रहका साथ व्यवहार गर्नुहुन्छ र सत्यतालाई प्रेम नगर्ने, सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई इन्कार गर्ने जोकोहीलाई उहाँले तिरस्कार गर्नुहुन्छ। उहाँ हरेक व्यक्तिप्रति धर्मी हुनुहुन्छ। जबसम्म तँ सत्यता स्वीकार गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छस्, तबसम्म परमेश्‍वरले तँलाई अनुग्रहसाथ व्यवहार गर्नुहुनेछ, र तेरा विगतका अपराधहरूप्रति तँलाई जबाफदेही बनाउनुहुनेछैन। परमेश्‍वरले तेरा निम्ति जस्तोसुकै मार्ग खोल्नुभए पनि र उहाँले तँलाई जतिसुकै अनुग्रहसाथ व्यवहार गर्नुभए पनि, उहाँको अन्ततः एउटै मात्र कामना हुन्छ, जुन तेरो जीवन प्रगतिका लागि उपयुक्त वातावरणमा तँलाई उहाँका अभिप्रायहरू बुझ्ने, पाठहरू सिक्ने र सत्यता बुझ्ने तुल्याउनु हो। परमेश्‍वरका वचन र सत्यताहरू तँभित्र ढालिएपछि र ती तेरो जीवन बनेपछि, र तैँले परमेश्‍वरलाई तेरो पुनर्जन्मको अभिभावकका रूपमा लिएपछि, र तँ परमेश्‍वरप्रतिको समर्पणता र परमेश्‍वरको डर हासिल गर्न सक्षम भएपछि, तँ परमेश्‍वरका अभिप्रायहरूअनुसारको व्यक्ति हुन्छस्। तिमीहरूमध्ये धेरैजसो एकदमै जवान नै भए तापनि, यदि, परमेश्‍वरका वचनहरू पढेर र सत्यता बुझेर, तिमीहरू सबैले सङ्कल्प प्राप्त गर्छौ, तिमीहरू जीवनमा वृद्धि हुन्छौ, तिमीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, अनि तिमीहरूमाथि परीक्षा र सङ्कष्टहरू आइपर्दा दृढ रहन सक्षम हुन्छौ भने, तिमीहरूसँग कद हुनेछ, र परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। परमेश्‍वरले तँलाई अनुग्रहसाथ व्यवहार गर्नुहुँदा उहाँले व्यर्थमा रगत-पसिना बगाउनुभएन भन्‍नुहुनेछ। उहाँले प्रतिफल हात पार्नुभएको हुनेछ, तँमा फलहरू देख्नुहुनेछ, र यो कुरा देखेर उहाँ प्रसन्न र हर्षित महसुस गर्नुहुनेछ। यो परिणाम सम्पूर्ण रूपमा परमेश्‍वरको कामद्वारा प्राप्त हुन्छ; यो मानिसले घमण्ड गर्नुपर्ने कुरा होइन।

परमेश्‍वर हरेक व्यक्तिका लागि उसको जन्मदेखि हालसम्मका दशकहरूमा केवल मूल्य चुकाउनुहुन्न। परमेश्‍वरको नजरमा, तँ यस संसारमा अनगिन्तीपटक आएको छस्, र तेरो अनगिन्तीपटक पुनर्जन्म भएको छ। यसको जिम्मेवार को हो? परमेश्‍वर यसको जिम्मेवार हुनुहुन्छ। तँसँग यी कुराहरू जान्ने कुनै उपाय छैन। हरेकपटक तँ यस संसारमा आउँदा, परमेश्‍वर व्यक्तिगत रूपमा तेरा लागि प्रबन्धहरू गर्नुहुन्छ: उहाँले तँ कति वर्ष जिउनेछस्, तँ कस्तो प्रकारको परिवारमा जन्मिनेछस्, तैँले कहिले घर र करियर बनाउनेछस्, साथै तैँले यस संसारमा के गर्नेछस् र कसरी जीविकोपार्जन गर्नेछस् भनी प्रबन्ध गर्नुहुन्छ। परमेश्‍वर तेरा लागि जीविकोपार्जन गर्ने एउटा तरिका प्रबन्ध गर्नुहुन्छ, ताकि तैँले यस जीवनमा आफ्नो मिसन सहज रूपमा पूरा गर्न सकेस्। अनि तैँले तेरो अर्को पुनर्जन्ममा के गर्नुपर्छ भन्‍ने सन्दर्भमा, परमेश्‍वर तेरा लागि त्यो जीवन प्रबन्ध गर्नुहुन्छ र तैँले जे पाउनुपर्छ र तँलाई जे दिइनुपर्छ सोअनुसार त्यो बनाउनुहुन्छ...। परमेश्‍वरले तेरा लागि यी प्रबन्धहरू धेरैपटक गर्नुभएको छ, र, अन्त्यमा, तँ आखिरी दिनहरूको युगमा, तेरो वर्तमान परिवारमा जन्मिस्। परमेश्‍वरले तेरा लागि उहाँमा विश्‍वास गर्न एउटा वातावरण प्रबन्ध गर्नुभयो, उहाँले तँलाई उहाँको आवाज सुन्न र उहाँसामु फर्कन दिनुभयो, ताकि तैँले उहाँलाई पछ्याउन र उहाँको घरमा कर्तव्य निर्वाह गर्न सकेस्। परमेश्‍वरबाटको यस्तो मार्गदर्शनले मात्रै तँ आजसम्म जिएको छस्। तँलाई तँ यस संसारमा कतिपटक आएको छस् भनेर थाहा छैन, न त तेरो रूप कतिपटक परिवर्तन भएको छ, तँ कति परिवारहरूबाट गुज्रेको छस्, तँ कति युग र वंशहरूमा जिएको छस् भनेर नै थाहा छ—तर परमेश्‍वरको हातले तँलाई सारा समय साथ दिइरहेको छ, र उहाँले तँलाई सधैँ हेरचाह गरिरहनुभएको छ। परमेश्‍वर एउटा व्यक्तिमा कति धेरै मेहनत खर्चनुहुन्छ! कतिपय मानिस भन्छन्, “म साठी वर्ष पुगेँ। साठी वर्षदेखि परमेश्‍वरले मलाई हेरचाह गरिरहनुभएको छ, सुरक्षा गरिरहनुभएको छ, र मार्गदर्शन गरिरहनुभएको छ। म बूढो भएपछि यदि मैले कर्तव्य निर्वाह गर्न सकिनँ र केही पनि गर्न सकिनँ भने—के परमेश्‍वरले अझै पनि मेरो वास्ता गर्नुहुनेछ?” के यो भन्नु मूर्ख कुरा होइन र? परमेश्‍वर एक जीवनकालका लागि मात्र कुनै व्यक्तिको हेरचाह र सुरक्षा गर्नुहुन्न र उसको भवितव्यमाथि सार्वभौमिकता राख्नुहुन्न। यदि यो एउटै जीवनकाल, एउटै जीवन-समयका लागि भएको भए, त्यसले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ भनी देखाउन सक्दैनथ्यो। कसैका लागि मेहनत खर्चँदा र मूल्य चुकाउँदा, परमेश्‍वरले तिनीहरूले यस जीवनमा के गर्नेछन् भनेर मात्रै प्रबन्ध गरिरहनुभएको हुँदैन—उहाँले तिनीहरूका लागि अनगिन्ती जीवनकालहरू प्रबन्ध गरिरहनुभएको हुन्छ। परमेश्‍वर पुनर्जन्म हुने हरेक आत्माका लागि पूर्ण जिम्मेवारी लिनुहुन्छ। उहाँ आफ्नो हृदयले काम गर्नुहुन्छ, आफ्नो जीवनको मूल्य चुकाउनुहुन्छ, हरेक व्यक्तिलाई मार्गदर्शन गर्नुहुन्छ र तिनीहरूको प्रत्येक जीवनको प्रबन्ध गर्नुहुन्छ। परमेश्‍वर मानिसका खातिर यस्तो मेहनत खर्चनुहुन्छ र यस्तो मूल्य चुकाउनुहुन्छ, र मानिसलाई यी सबै सत्यता र यो जीवन प्रदान गर्नुहुन्छ भन्‍ने कुरालाई विचार गर्दा, यदि मानिसहरू यी आखिरी दिनहरूमा सृजित प्राणीहरूको कर्तव्य निर्वाह गर्दैनन् र सृष्टिकर्तासामु फर्कँदैनन् भने—तिनीहरू जतिसुकै जीवन र पुस्ताहरूबाट गुज्रेर जिएका भए पनि, यदि तिनीहरू अन्ततः आफ्ना कर्तव्यहरू पूरा गर्न र परमेश्‍वरका मागहरू पूरा गर्न असफल हुन्छन् भने—के परमेश्‍वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै ठूलो हुनेछैन र? के तिनीहरू परमेश्‍वरले चुकाएका सबै मूल्यहरूको अयोग्य हुनेछैनन् र? तिनीहरूमा विवेकको एकदमै कमी हुनेछ, तिनीहरू मानिस कहलाइन योग्य हुनेछैनन्, किनभने परमेश्‍वरप्रतिको तिनीहरूको ऋण अत्यन्तै ठूलो हुनेछ। त्यसकारण, यस जीवनमा—तेरा विगतका जीवनहरूको कुरा नगरी, केवल यही जीवनको कुरा गर्दा—यदि तँ बाहिरी कुराहरू, जस्तै तैँले प्रेम गर्ने भौतिक सुखहरू र घरेलु आनन्द त्याग्न सक्दैनस्, र तँ परमेश्‍वरले तेरा लागि चुकाउने मूल्यहरूका खातिर वा परमेश्‍वरको प्रेमको ऋण चुकाउन देहसुखहरू त्याग्दैनस् भने, तँ पूर्ण रूपमा अनैतिक होस्! वास्तवमा, तैँले परमेश्‍वरका लागि चुकाउने कुनै पनि मूल्य त्यसको लायक छ। परमेश्‍वरले तेरा लागि चुकाउने मूल्यको तुलनामा, तैँले चढाउने वा समर्पित गर्ने सानो मात्रा के हो र? तैँले भोग्ने थोरै कष्ट के हो र? के तँलाई थाहा छ परमेश्‍वरले कति कष्ट भोग्नुभएको छ? परमेश्‍वरले भोगेको कष्टसँग तुलना गर्दा तैँले भोग्ने थोरै कष्ट उल्लेख गर्न पनि लायक छैन। यसबाहेक, अहिले तैँले आफ्नो कर्तव्य निर्वाह गरेर, सत्यता र जीवन प्राप्त गरिरहेको छस्, र अन्त्यमा, तँ बच्नेछस् र परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछस्। त्यो कति ठूलो आशिष्‌ हो! तैँले परमेश्‍वरलाई पछ्याउँदा, चाहे कष्ट भोगोस् वा मूल्य चुकाओस्, वास्तवमा परमेश्‍वरसँग सहकार्य गरिरहेको हुन्छस्। परमेश्‍वर हामीलाई जे गर्न भन्नुहुन्छ, हामीले परमेश्‍वरका वचनहरू सुन्नुपर्छ र तीअनुसार अभ्यास गर्नुपर्छ। परमेश्‍वरविरुद्ध विद्रोह नगर वा उहाँलाई दुःख दिने कुनै कुरा नगर। परमेश्‍वरसँग सहकार्य गर्नका लागि, तैँले अलिकति कष्ट भोग्नैपर्छ, र तैँले केही कुरा त्याग्नैपर्छ र पन्छाउनैपर्छ। तैँले ख्याति, प्राप्ति, हैसियत, पैसा, र सांसारिक सुखहरू त्याग्नैपर्छ—तैँले विवाह, काम, र संसारमा आफ्ना सम्भावनाहरू जस्ता कुराहरूसमेत त्याग्नु आवश्यक छ। के परमेश्‍वरलाई तैँले यी कुराहरू त्यागेको छस् भनेर थाहा छ? के परमेश्‍वर यो सब देख्न सक्नुहुन्छ? (सक्नुहुन्छ।) जब परमेश्‍वर तैँले यी कुराहरू त्यागेको छस भन्ने देख्नुहुन्छ तब उहाँले के गर्नुहुनेछ? (परमेश्‍वरलाई सान्त्वना मिल्नेछ, र उहाँ प्रसन्न हुनुहुनेछ।) परमेश्‍वर प्रसन्न हुनुहुनेछ र “मैले चुकाएको मूल्यले फल फलाएको छ। मानिसहरू मसँग सहकार्य गर्न इच्छुक छन्, तिनीहरूमा यो सङ्कल्प छ, र मैले तिनीहरूलाई प्राप्त गरेको छु” भन्नुहुनेछ मात्रै होइन। परमेश्‍वर प्रसन्न हुनुभए पनि वा खुसी हुनुभए पनि, सन्तुष्ट हुनुभए पनि वा उहाँलाई सान्त्वना मिले पनि, परमेश्‍वरमा त्यो मनोवृत्ति मात्रै हुँदैन। उहाँ कार्य पनि गर्नुहुन्छ, र उहाँ आफ्नो कामले हासिल गर्ने परिणामहरू हेर्न चाहनुहुन्छ, नत्र उहाँले मानिसहरूबाट माग गर्ने कुरा अर्थहीन हुनेथ्यो। परमेश्‍वरले मानिसलाई देखाउने अनुग्रह, प्रेम, र कृपा एक प्रकारको मनोवृत्ति मात्रै होइनन्—ती तथ्य पनि हुन्। त्यो कस्तो तथ्य हो? त्यो के हो भने परमेश्‍वर आफ्ना वचनहरू तँभित्र राख्नुहुन्छ, तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, तँलाई उहाँका बारेमा के प्रेमिलो छ र यो संसार वास्तवमा के हो भनी देख्न दिनुहुन्छ, तँलाई ठूलो मानसिक स्पष्टता दिनुहुन्छ, र तँलाई उहाँका वचनहरू र सत्यता बुझ्न दिनुहुन्छ। यसरी, थाहै नपाई तैँले सत्यता प्राप्त गर्छस्। परमेश्‍वर तँमाथि एकदमै वास्तविक तरिकाले यति धेरै काम गर्नुहुन्छ, जसले तँलाई सत्यता प्राप्त गर्न सक्षम बनाउँछ। जब तँ सत्यता प्राप्त गर्छस्, जब तँ सबैभन्दा बहुमूल्य चीज, जुन अनन्त जीवन हो, प्राप्त गर्छस्, तब परमेश्‍वरका अभिप्रायहरू पूरा हुन्छन्। जब परमेश्‍वरले मानिसहरूले सत्यता पछ्याइरहेका छन् र उहाँसँग सहकार्य गर्न इच्छुक छन् भनी देख्नुहुन्छ, तब उहाँ खुसी र सन्तुष्ट हुनुहुन्छ। त्यसपछि उहाँसँग एउटा निश्चित मनोवृत्ति हुन्छ, र जब उहाँसँग त्यो मनोवृत्ति हुन्छ, तब उहाँ काम गर्नुहुन्छ, र मानिसलाई अनुमोदन गर्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, “म तँलाई इनाम दिनेछु। यी तैँले पाउनुपर्ने आशिष्‌हरू हुन्।” अनि त्यसपछि तैँले सत्यता र जीवन प्राप्त गर्नेछस्। जब तँसँग सृष्टिकर्ताको ज्ञान हुन्छ र तैँले उहाँको अनुमोदन प्राप्त गरेको हुन्छस्, तब के तैँले अझै पनि आफ्नो हृदयमा रित्तोपन महसुस गर्नेछस्? गर्नेछैनस्। तैँले सन्तुष्ट महसुस गर्नेछस् र तँमा आनन्दको अनुभूति हुनेछ। के त्यो मूल्यवान् जीवन जिउनु होइन र? यो सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो।

अय्यूबलाई हेर्: के तिनले आफूलाई पहाडभरि पशुधन र अपार सम्पत्ति दिनुहोस् भनेर परमेश्‍वरलाई प्रार्थना गरेका थिए र? (थिएनन्।) तिनले के प्राप्त गर्न खोजे? (तिनले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट टाढा रहने अवस्था प्राप्त गर्न खोजे।) परमेश्‍वरले “परमेश्‍वरको भय मान्‍ने र दुष्टबाट टाढा रहने” कुरालाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले भन्‍नुभयो, “परमेश्‍वरले त्यो कुरालाई असल देख्नुभयो।” जब मानिसहरू परमेश्‍वरको भय मान्‍न र दुष्टबाट अलग रहन खोज्छन्, यसले परमेश्‍वरमा सबैभन्दा ठूलो आनन्द ल्याउँछ अनि यसको लागि उहाँले आशिष् दिनुहुन्छ। के परमेश्‍वरले यी वचनहरू मात्र बोल्नुभयो र अरू केही गर्नुभएन? परमेश्‍वरले अय्यूबको निम्ति अरू के गर्नुभयो? (उहाँले अय्यूबलाई जाँच्नुभयो।) परमेश्‍वरले अय्यूबको जाँच गर्न शैतानलाई पठाउनुभयो, तिनको पहाडभरिको पशुधन, तिनको अपार सम्पत्ति, तिनका बालबच्चा, तिनका नोकरचाकरहरू खोस्न लाउनुभयो—परमेश्‍वरले तिनलाई जाँच्नुभयो। तिनलाई जाँचेर परमेश्‍वर के प्राप्त गर्न चाहनुहुन्थ्यो? परमेश्‍वर अय्यूबको गवाही चाहनुहुन्थ्यो। परमेश्‍वरले त्यसबेला अय्यूबलाई के दिनुभयो? मानिसहरू सोच्छन्: “परमेश्‍वरले अय्यूबलाई के दिनुभयो? तिनको पशुधन र अपार सम्पत्ति खोसियो र तिनीसँग के बाँकी थियो र? परमेश्‍वरले तिनलाई केही पनि दिनुभएन!” सतही रूपमा हेर्दा, परमेश्‍वरले अय्यूबलाई जे दिनुभयो त्यो फिर्ता लग्‍नुभयो, र अय्यूबसँग केही पनि बाँकी रहेन जस्तो देखिन्छ, तर परमेश्‍वरले फिर्ता लग्‍नु पनि आफैँमा झन् ठूलो इनाम हो। परमेश्‍वरले अय्यूबलाई के इनाम दिनुभयो भनेर कसैले पनि स्पष्टसँग देख्न सक्दैन। परमेश्‍वर अय्यूबको गवाही चाहनुहुन्थ्यो र उहाँले अय्यूबलाई एउटा मौका दिनुभयो। त्यो कस्तो मौका थियो? त्यो अय्यूबको निम्ति शैतान र सबै मानिसहरूसामु परमेश्‍वरको गवाही दिने, तिनी परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भन्‍ने वास्तविकताको गवाही दिने, परमेश्‍वरको भय मान्‍ने र दुष्टबाट अलग बस्ने तथ्यको गवाही दिने, आफू सिद्ध र इमानी मान्छे भएको गवाही दिने मौका थियो। के तिनलाई परमेश्‍वरले यो मौका दिनुभएन र? यदि परमेश्‍वरले अय्यूबलाई यो मौका नदिनुभएको भए, के शैतानले अय्यूबविरुद्ध कदम चाल्ने आँट गर्थ्यो र? (गर्दैनथ्यो।) शैतानले निश्‍चय नै आँट गर्ने थिएन, त्यो निश्‍चित कुरा हो। यदि शैतानले अय्यूबको परीक्षा गर्ने आँट नगरेको भए, के अय्यूबले यो मौका पाउँथे होला त? तिनले यो मौका पाउँथेनन्। यसैले परमेश्‍वरले अय्यूबलाई तिनले हिँडेको परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग सही हो, परमेश्‍वरको लागि यो स्वीकार्य छ र अय्यूब इमानी, र सिद्ध मान्छे हुन् भनी सबैसामु प्रमाणित गर्न यस्तो मौका दिनुभयो। सबैले यी कुरा देखे, परमेश्‍वरले पनि ती कुराहरू देख्नुभयो, अनि यस मौकामाझ अय्यूबले परमेश्‍वरलाई निराश पारेनन्। तिनले परमेश्‍वरको गवाही दिए र शैतानलाई जिते, र परमेश्‍वरले त्यो कुरालाई असल देख्नुभयो। के अन्त्यमा परमेश्‍वरले तिनलाई इनाम दिनुभयो? (दिनुभयो।) अय्यूबको निम्ति परमेश्‍वरको दोस्रो इनाम के थियो? अय्यूबको परमेश्‍वरप्रतिको भय र दुष्टताबाट अलग बस्ने कार्य आफूलाई स्वीकार्य छ भनेर परमेश्‍वरले बताउनुभयो। अय्यूबले शैतानसामु परमेश्‍वरको गवाही दिए र परमेश्‍वरले यो सबैलाई असल देख्नुभयो। उहाँ सन्तुष्ट र हर्षित हुनुभयो र उहाँमा एक खाले मनोवृत्ति आयो। परमेश्‍वरमा यस्तो मनोवृत्ति आएपछि, के उहाँले अरू केही पनि गर्नुभएन? परमेश्‍वरले के गर्नुभयो? तिमीहरू अय्यूबको पुस्तकसँग धेरै परिचित छैनौ जस्तो देखिन्छ। कुन परिस्थितिमा अय्यूबले यसो भने: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ”? परमेश्‍वरले तिनीसँग बोल्नुभएको कुरा सुनेपछि तिनले यी वचनहरू बोले। के यसअघि अय्यूबले परमेश्‍वरलाई देखेका थिए? (थिएनन्।) अय्यूबको निम्ति, परमेश्‍वरको आवाज सुन्‍नु उहाँको मुहार देख्‍नुसरह थियो र के त्यो सृष्टि गरिएको प्राणीले सबैभन्दा धेरै तृष्णा गर्ने आशिष् होइन र? (हो।) अय्यूबले यो प्राप्त गरे। के तिमीहरू तिनको ईर्ष्या गर्छौ? (गर्छौँ।) यो आशिष् प्राप्त गर्न सजिलो छैन। अनि, तैँले कसरी यो मौका पाएर यस किसिमको अनुग्रह र इनाम प्राप्त गर्न सक्छस्? तँ परमेश्‍वरको गवाही बन्‍नुपर्छ, अर्थात् तैँले शैतानका परीक्षाहरूमाझ परमेश्‍वरको गवाही बन्‍नुपर्छ। तैँले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्नुपर्छ। तैँले परमेश्‍वरलाई यसो भन्‍ने बनाउनुपर्छ, “परमेश्‍वरले त्यो कुरालाई असल देख्नुभयो।” जब परमेश्‍वर सन्तुष्ट र प्रसन्‍न हुनुहुन्छ, अनि तेरो गवाही र तैँले गरेका सबै कुराहरू असल देख्नुहुन्छ, जब परमेश्‍वरले तँलाई सिद्ध र सत्यता पछ्याउने व्यक्ति होस् भनेर भन्‍नुहुन्छ, तब तँ आशिष्‌हरू प्राप्त गर्न सक्षम हुनेछस्। अय्यूबले परमेश्‍वरको आवाज सुनेपछि, परमेश्‍वरले अरू के गर्नुभयो? उहाँले अय्यूबलाई तिनीसँग पहिले भएको भन्दा धेरै दिनुभयो। अय्यूब पहिलेभन्दा अझ धनी बने—यदि तिनी पहिले करोडपति थिए भने त्यसपछि तिनी अरबपति बनेको हुनुपर्छ। तैँले देख्न सक्छस्, यदि कुनै एक व्यक्तिले परमेश्‍वरको भय मान्छ र दुष्टताबाट टाढा रहन्छ भने, तिनीहरूलाई अरबपति बन्‍न सजिलो छ; परमेश्‍वरको निम्ति त यो एउटै वचनको कुरा हो। त्यो परमेश्‍वरको अनुग्रह हो। अय्यूबले परमेश्‍वरको भय माने र दुष्टबाट टाढा रहे अनि तिनले परमेश्‍वरको आशिष्‌ प्राप्त गरे।

परमेश्‍वरले मानिसहरूलाई जे दिनुहुन्छ त्यो मानिसहरूले मागेको वा कल्पना गरेको भन्दा ज्यादा हुन्छ, तर यदि तैँले मागेको वा कल्पना गरेको भन्दा पनि ज्यादा इनाम प्राप्त गर्न चाहन्छस् भने, तैँले परमेश्‍वरको मार्ग पछ्याउनुपर्छ। परमेश्‍वरको मार्ग पछ्याउनु सरल हुँदैन। मानिसहरूले मूल्य चुकाउनुपर्छ, तर त्यो मूल्य व्यर्थमा चुकाइएको हुँदैन, यसको लागि इनाम दिइन्छ। मानिसहरूले आफूहरूप्रति परमेश्‍वरको एउटै प्रकारको मनोवृत्ति मात्र हुन्छ, उहाँले केही पनि गर्नुहुन्‍न, सधैँ आफूहरूलाई नियालिरहनु मात्र हुन्छ, र आफूहरूले कस्तो व्यवहार गर्छौँ भनेर हेरिरहनु मात्र हुन्छ भन्‍ने सोच्छन्। के यो त्यस्तै हो त? होइन। परमेश्‍वर वास्तवमा अभिभावकजस्तै हुनुहुन्छ। यदि तँ आफ्ना बुबाआमाको कुरा सुन्छस् भने, यदि तँ समझदार छस् भने, र यदि तँ आफ्ना कर्तव्यहरूमा ध्यान दिन्छस् र सही मार्ग पछ्याउनलाई कम्ती कष्ट भोग्दैनस् भने, तेरा बुबाआमाले कस्तो महसुस गर्छन्? तेरा बुबाआमाले तेरो निम्ति प्रेम र दुःख महसुस गर्छन्। तिनीहरू छोराछोरीहरूको खातिर अनि छोराछोरीहरूको कष्ट कम गर्न र छोराछोरीहरूले राम्रो खाने, राम्रो लाउने र जीवनको आनन्द उठाउने कुरा पक्‍का गर्नको खातिर आफ्नो जीवन परित्याग गर्न अत्यन्तै इच्छुक हुन्छन्—अनि बल्‍ल तिनीहरूलाई सन्तुष्टि मिल्छ। तैँले कुनै पनि कष्ट भोगेको तिनीहरू चाहँदैनन्। त्यो बुबाआमाको हृदय हो। बुबाआमाको हृदयसँग तुलना गर्दा परमेश्‍वरको हृदय अझ राम्रो, अझ सुन्दर, अझ दयालु छ—उहाँको हृदय त्योभन्दा कम छैन। तिमीहरू सबैले आफ्ना बुबाआमाको हृदयलाई केही मात्रामा बुझ्न सक्छौ। तिमीहरूका बुबाआमा तिमीहरूप्रति कति असल थिए भन्‍ने कुरा तिमीहरू सबैलाई थाहा छ र तिमीहरू सबैले आफ्ना बुबाआमालाई आदर गर्न चाहन्छौ। यसैले, परमेश्‍वरको हृदयको ख्याल गर्नको निम्ति तैँले पहिले बुबाआमाप्रतिको त्यो भक्ति प्रयोग गर्नुपर्छ। यस्तो गर्नेहरूसँग सबैभन्दा धेरै समझ हुन्छ। छोराछोरीप्रति बुबाआमामा हुने प्रेम छोराछोरीले महसुस गर्न सक्छन्, तर तिनीहरूले मानिसहरूप्रति परमेश्‍वरमा हुने प्रेम झन् बढी महसुस गर्नुपर्छ, किनकि तिनीहरूसँग भएका सबै कुराहरू परमेश्‍वरद्वारा बन्दोबस्त र योजना गरिएका हुन्छन्। व्यक्तिको निम्ति सबै कुरा परमेश्‍वरले मात्र निर्णय गर्न सक्नुहुन्छ। बुबाआमाहरूले त तिनीहरूको प्रेम जति नै ठूलो भए पनि बच्चाको सबै कुरा निर्णय गर्न सक्दैनन्। कम्तीमा पनि अभिभावकहरूसँग सत्यता हुँदैन। तिनीहरूको प्रेम देह र भावनाहरूको कुरा हो; यसले कुनै पनि हालतमा कसैलाई पनि भ्रष्टताबाट मुक्त गर्न सक्दैन, न त यसले तिनीहरूलाई थोरै जीवन वृद्धिसमेत प्रदान गर्न नै सक्छ। परमेश्‍वरको प्रेमले मात्र मानिसहरूलाई बचाउन सक्छ। परमेश्‍वरको वचनले मानिसहरूलाई अगुवाइ र आपूर्ति प्रदान गर्न सक्छ ताकि तिनीहरूले जीवनमा सही मार्ग हिँड्न सकून्। परमेश्‍वरको प्रेम बुबाआमाको भन्दा कति ठूलो छ भन्‍ने तैँले देख्न सक्छस्—परमेश्‍वरले मानिसहरूलाई हरतरहको ख्याल प्रदान गर्नुहुन्छ! तेरा बुबाआमाले तँलाई जन्म दिए र तिनीहरूको निम्ति तँ तिनीहरूको आफ्नै देह र रगत होस्। तिनीहरूले तेरो धेरै वास्ता, लाडप्यार र सुरक्षा गर्छन्—अनि परमेश्‍वरले चाहिँ आफ्नै हातले बनाउनुभएका मानिसहरूलाई कसरी हेर्नुहुन्छ जस्तो लाग्छ? परमेश्‍वरले मानिसहरूलाई आफ्नै सन्तानहरूझैँ लाडप्यार गर्नुहुन्छ; मानिसहरू उहाँका आफ्नै देह र रगत हुन्। यो बुबाआमाले बच्चा जन्माउने मानव अवधारणा र रक्त सम्बन्धको नाताजस्तो होइन—परमेश्‍वरले मानिसहरूलाई आफ्नै हातहरूले सृष्टि गर्नुभयो, र तिनीहरूमा आफ्नो सास भरिदिनुभयो र तिनीहरूमाथि उहाँका अपेक्षाहरू छन्। परमेश्‍वरले मानिसहरूलाई आफ्ना आशाहरू सुम्पनुभएको छ; तिनीहरूप्रति उहाँले तय गर्नुभएका मापदण्डहरू छन् र उहाँले तिनीहरूलाई कामकुराहरू सुम्पनुभएको छ। परमेश्‍वरले सामान्य रूपमा मान्छेको सृष्टि गर्ने, तिनीहरूमा सास हाल्ने, तिनहरूलाई जिउँदो बनाउने अनि आफ्नो काम सक्‍ने मात्र गर्नुभएन। यदि मानवजाति खराब भएको भए उहाँले पुनः बनाउन सक्नुहुन्थ्यो, किनकि आखिर परमेश्‍वर शक्तिशाली र सर्वशक्तिमान् हुनुहुन्छ, तर यो कुरा त्यस्तो होइन। परमेश्‍वरले मान्छेको सृष्टि गर्नुभएपछि, उहाँलाई तिनीहरूप्रति चिन्ता महसुस भयो। मानिसहरू उहाँको देह र रगत हुन्, तिनीहरू उहाँका मित्रहरू हुन् र साथसाथै उहाँको व्यवस्थापन योजनामा तिनीहरू उहाँका सारा आशाहरूका गुठियार र वाहकहरू हुन्। अन्ततः उहाँ यी मानिसहरूमा आशा देख्न र परिणाम हासिल गर्न चाहनुहुन्छ। यसको आधारमा यदि तैँले परमेश्‍वरका इच्छा र अभिप्रायहरूप्रति केही बुझाइ देखाउँछस् भने, के त्यसले तेरो बुझाइलाई केही मात्रामा गहिरो बनाउन सक्दैन र? (हो, यसले सक्छ।) यो ठ्याक्‍कै ती बुबाआमाको जस्तै कुरा हो, जो आफ्ना सन्तानहरूले अध्ययन गरी जीवनमा सफल भएको चाहन्छन्, जो आफ्ना सन्तानहरूले सिक्दा छेउमा बसेर पङ्खा हम्किँदै, तिनीहरूलाई केही समयपछि चिया दिँदै, खाने बेलामा तिनीहरूको निम्ति मिठो खाना बनाउँदै बस्छन्—ती बुबाआमालाई त्योभन्दा राम्रो कसरी गर्ने भन्‍ने थाहै हुँदैन, तिनीहरूको मन बस छोराछोरीकै वरिपरि घुमिरहेको हुन्छ। तँमाथि तेरा बुबाआमाको अपेक्षाहरू भएको कारण, तँमाथि आफ्ना आशाहरू राखेको कारण, तिनीहरूले तँलाई यस्तो व्यवहार गरेका होइनन् र? यदि तैँले तिनीहरूको कुरा सुन्दैनस् र निरन्तर तिनीहरूको अवज्ञा गर्छस् भने, के त्यसले तिनीहरूलाई पीडा दिँदैन र? के तिनीहरू दुःखी हुँदैनन् र? (हुन्छन्।) त्यसो भए, अब यस विचारको आधारमा परमेश्‍वरका अभिप्रायहरूको बारेमा मनन गर्। जब परमेश्‍वरले मान्छेलाई हेर्नुहुन्छ, तिनीहरूको उमेर जति नै भए पनि, उहाँको नजरमा तिनीहरू बालक नै हुन्। यदि तैँले, “म त असी वर्ष पुगेँ,” भन्छस् भने, परमेश्‍वरले तँ बच्चा होस् भन्‍नुहुनेछ। यदि तँ, “म बिस वर्ष पुगेँ,” भन्छस् भने, तँ त झन् बच्चा होस्। तँ असी वर्षको होस् कि आठ सय वर्षको वा आठ हजार वर्षको होस्, परमेश्‍वरको नजरमा मान्छेहरू सबै बच्चै हुन्। परमेश्‍वरको दृष्टिकोणमा, उमेरले केही पनि फरक पार्दैन। उहाँको नजरमा, मानिसहरू सबै शिशु र बच्चाहरू हुन्; मानवजातिलाई परमेश्‍वरले यसरी नै हेर्नुहुन्छ। त्यसैले, परमेश्‍वरको नजरमा, तँ उहाँको देह र रगत अनि उहाँका मित्रहरूमध्ये एक होस्। त्यसो भए, उहाँलाई सन्तुष्ट पार्नको निम्ति तँ कसरी उहाँको देह र रगत, उहाँको मित्र, र उहाँको हृदयअनुसारको व्यक्ति बन्‍न योग्य हुन्छस्? के यो मानवजातिले विचार र मनन गर्न योग्य प्रश्‍न होइन र? (हो।) परमेश्‍वरले मानवजातिलाई आफ्नो देह र रगत, उहाँको मित्र, अनि उहाँले चुकाउनुभएको मूल्य र रगतका वाहकहरूको रूपमा व्यवहार गर्नुहुन्छ। मानिसहरूको निम्ति परमेश्‍वरसँग कस्तो किसिमको प्रेम छ? उहाँसँग कस्तो मानसिकता छ? यो तहको सम्बन्ध भएको मानिसहरूसँग उहाँले कसरी व्यवहार गर्नुहुन्छ? के यी मान्छेहरूले थोरै मात्र भए पनि परमेश्‍वरले मान्छेप्रति कस्तो किसिमको प्रेम गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न सक्छन्? केही मानिसहरू भन्छन्: “मैले परमेश्‍वरलाई कहिले देखेको छैन, अनि पूर्व जीवनहरूमा उहाँले मेरो निम्ति गर्नुभएका कुराहरू म महसुस गर्न सक्दिनँ।” तँ अहिले जीवित छस्, त्यसैले के तैँले परमेश्‍वरको मार्गनिर्देशन र उहाँले तेरो लागि चुकाउनुभएको मूल्य महसुस गर्न सक्दैनस्? के तँ ती बुझ्न सक्छस्? (सक्छु।) यदि तैँले ती बोध गर्न सक्छस् भने, ठीकै छ—यसले तँसँग हृदय र प्राण छ भन्‍ने प्रमाणित गर्छ। यदि तैँले यति बोध गर्न सक्छस् भने त्यो पर्याप्त हुन्छ। तैँले परमेश्‍वरलाई पछ्याउन सबै कुरा त्याग्नु सार्थक छ।

मे २९, २०१७

अघिल्लो: हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने

अर्को: परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध राख्‍न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्