परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ
तिमीहरूमध्ये धेरैजसोले परमेश्वरमा केही वर्ष विश्वास गरेका छौ र साँचो मार्गमाथि धेरथोर जग बसालिसकेका छौ। अब तिमीहरू परमेश्वरलाई पछ्याउनका लागि परिवार र बाहिरी संसारको उल्झनलाई फाल्न सक्ने भएका छौ। तिमीहरू परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न तालिम लिँदै छौ, परमेश्वरप्रति आफूलाई समर्पित गर्न इच्छुक छौ, र सत्यतातर्फ लागिपर्न तयार छौ। यसको अर्थ, तिमीहरूले कुरा बुझ्न थालेका छौ र तिमीहरूमा थोरै विवेक र समझ छ। त्यो राम्रो कुरा हो। कर्तव्य निर्वाह गर्नुको महत्त्व निकै ठूलो छ! तिमीहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नु वा नसक्नुले तिमीहरूको मुक्ति र सिद्धतासँग प्रत्यक्ष सम्बन्ध राख्छ। यसो पनि भन्न सकिएला, व्यक्तिले कर्तव्य निर्वाह गर्दै गर्दा परमेश्वरको कामको अनुभव गरेर मात्र जीवन प्रवेश प्राप्त गर्न सक्छ, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेर मात्र परमेश्वरको अनुमोदन पाउन सक्छ। त्यसकारण, तिमीहरूको कर्तव्यका सन्दर्भमा तिमीहरूबाट अलि धेरै माग गर्नु र तिमीहरूलाई काँटछाँट गर्नु तिमीहरूका लागि लाभदायी हुनेछ। कम्तीमा तिमीहरूले अझ छिटो जीवन प्रगति गर्नेछौ। तिमीहरूबाट उच्च मागहरू गरिनु नराम्रो कुरा होइन, र तिमीहरूलाई जाँच्न कहिलेकाहीँ कठिनाइमा पार्नु पनि नराम्रो होइन। यो सब तिमीहरूलाई जीवनमा वृद्धि हुन र परमेश्वरको इच्छा पछ्याउन मदत गर्नका लागि गरिन्छ, ताकि तिमीहरूले केही व्यावसायिक ज्ञान अझ राम्ररी बुझ्न सक र तिमीहरू आफ्ना कर्तव्यमा अझ प्रभावशाली हुन सक। यदि तिमीहरूबाट यी मागहरू नगरिएको भए परिणाम के हुनेथियो? तिमीहरूले धर्मसिद्धान्त प्रचार गर्न र प्रावधानहरू पालना गर्न मात्र सक्नेथियौ, अनि कैयौँ वर्षसम्म परमेश्वरमा विश्वास गर्दा पनि तिमीहरू बिलकुलै परिवर्तन हुनेथिएनौ। त्यो अवस्थामा, तिमीहरूले कहिले प्रगति गर्न सक्नेथियौ? तिमीहरूले कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नेथियौ? तिमीहरूले सत्यताका सम्बन्धमा प्रगति नगर्ने मात्र होइन, आफ्नो कर्तव्यमा चाहिने व्यावसायिक ज्ञानमा पनि प्रगति गर्नेथिएनौ। त्यसपछि, के तिमीहरूले मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरको गवाही दिन सक्थ्यौ? तिमीहरूको वर्तमान कदको कुरा गर्नुपर्दा, तिमीहरूको सत्यता बुझाइ निकै सतही छ, र तिमीहरूले आफ्नो कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझेका छैनौ। तिमीहरू आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्ने मानकसम्म पुग्नबाट पनि निकै टाढा छौ। तैपनि तिमीहरू यसबारे अनभिज्ञ छौ र आफूले राम्रो गरिरहेको ठान्छौ, अनि बेलाबेला तिमीहरू हदै आत्मधर्मी र दुस्साहसी समेत बन्छौ। तिमीहरूको बोली वा तिमीहरूले गर्ने कामकुरा साकार देखाउन लायक हुँदैनन् र ती सत्यता सिद्धान्तअनुरूप हुँदैनन्। कसैले तिमीहरूको कुनै समस्या औँल्याउँदा तिमीहरूले त्यो स्विकार्न सक्दैनौ, न त सत्यता खोजी गर्छौ, र अझ आफ्ना लागि बहानासमेत बनाउँछौ। यहाँ समस्या के हो? समस्या के हो भने, तिमीहरूमा आफूलाई उचित तरिकाले आचरणमा ढाल्न चाहिने सबैभन्दा आधारभूत समझ पनि छैन। तैँले जे गरिरहेको भए पनि, कम्तीमा त्यो धेरैजसो मानिसले उचित ठानेको हुनैपर्छ। तैँले सबैको सुझाव सुन्नैपर्छ—यदि तिनीहरूले भनेको कुरा सही छ भने तैँले त्यो स्विकार्नैपर्छ, र त्यसपछि आफ्ना गल्तीहरू सच्याउनैपर्छ। यदि सबैलाई तैँले पाएको नतिजा ठिक लाग्छ, र सबैले त्यसलाई अनुमोदन गर्छन् भने, तबमात्र तेरा कार्यहरू मानकअनुरूप मान्न सकिन्छ। यसरी, एकातर्फ, तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्दा सिद्धान्तअनुसार कार्य गर्न सक्नेछौ, र तिमीहरू समस्या सम्हाल्दा अझ बढी परिपक्व र अनुभवी हुनेछौ। अर्कोतर्फ, तिमीहरूले अझै बढी सिक्न सक्नेछौ, र सँगसँगै सत्यता बुझ्नेछौ र जीवन प्रवेश प्राप्त गर्नेछौ। त्यसैले, तिमीहरू आफूलाई केही आइपर्दा आत्मधर्मी पटक्कै हुनु हुँदैन। तिमीहरूले आफूलाई परमेश्वरसामु शान्त पार्न र पाठ सिक्न जरुरी छ। अझ बढी सिक्नका लागि तिमीहरूले आफूलाई त्याग्न सक्नैपर्छ। यदि तैँले “म यसमा तिमीहरूभन्दा बढी निपुण छु, त्यसैले म प्रभारी हुनुपर्छ, र तिमीहरू सबैले मेरो कुरा सुन्नुपर्छ!” भनेर सोच्छस् भने, त्यो कस्तो स्वभाव हो? त्यो अहङ्कार र आत्म-धार्मिकता हो। यो शैतानी, भ्रष्ट स्वभाव हो र यो सामान्य मानवताको क्षेत्रभित्रको कुरा होइन। त्यसोभए, आत्मधर्मी नहुनु भनेको के हो? (त्यो भनेको सबैका सुझावहरू सुन्नु, र कामकुराबारे सबैसँग छलफल गर्नु हो।) तेरो व्यक्तिगत सोच र विचार जेसुकै भए पनि, यदि तैँले अन्धाधुन्ध ती सही छन् र कामकुरा गर्ने तरिका त्यही हो भनी निर्धारण गर्छस् भने त्यो अहङ्कार र आत्म-धार्मिकता हो। यदि तँसँग आफूलाई सही लागेका केही विचार वा रायहरू छन्, तर तँलाई आफूमा पूर्ण विश्वास छैन, र तैँले खोजी र सङ्गति गरेर तिनको पुष्टि गर्न सक्छस् भने, आत्मधर्मी नहुनु भनेको त्यही नै हो। कार्य गर्नुअघि सबैको समर्थन र स्वीकृति पर्खनु नै कामकुरा गर्ने मनासिब तरिका हो। यदि कोही तँसँग असहमत हुन्छ भने तैँले त्यसप्रति विवेकपूर्वक प्रतिक्रिया जनाउनुपर्छ, र आफ्नो कामका व्यावसायिक पक्षहरूलाई सूक्ष्म रूपमा हेर्नुपर्छ। तैँले त्यस्तो यसो भन्दै त्यसलाई अनदेखा गर्न मिल्दैन, “यो तिमीले राम्रो बुझेको छौ कि मैले? मैले यस क्षेत्रमा काम गरेको यत्रो समय भइसक्यो—के यसबारे मैले तिमीले भन्दा बढी बुझेको हुँदिनँ र? तिमीलाई यसबारे के थाहा छ? तिमी यो बुझ्दैनौ!” त्यो राम्रो स्वभाव होइन, त्यो निकै अहङ्कारी र आत्मधर्मी स्वभाव हो। हुन सक्छ, तँसँग असहमत हुने व्यक्ति सिकारु हो, र उसले त्यस कार्यक्षेत्रलाई राम्ररी बुझेको छैन; तँ सही होलास् र तैँले सही तरिकाले कार्य गरिरहेको होलास् तर समस्याचाहिँ तेरो स्वभाव हो। त्यसोभए व्यवहार र कार्य गर्ने सही तरिका के हो त? तैँले कसरी सत्यता सिद्धान्तअनुसार व्यवहार र कार्य गर्न सक्छस्? तैँले आफ्ना विचारहरू अघि सारेर सबैलाई तिनमा कुनै समस्या छन् कि भनी हेर्न दिनैपर्छ। यदि कसैले सुझाव दिन्छ भने तैँले पहिला त्यसलाई स्विकार्नैपर्छ र त्यसपछि सबैलाई अभ्यासको सही मार्ग पुष्टि गर्न दिनैपर्छ। यदि त्यसमा कसैलाई आपत्ति छैन भने त्यसपछि तैँले कामकुरा गर्ने सबैभन्दा उचित तरिका निर्धारण गर्न र त्यसै हिसाबले कार्य गर्न सक्छस्। यदि कुनै समस्या पत्ता लागेमा, तैँले सबैको राय माग्नैपर्छ, र तिमीहरू सबैले सत्यता खोजेर त्यसमा सँगै सङ्गति गर्नुपर्छ, त्यसरी तिमीहरूले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछौ। जब तिमीहरूको हृदयले ज्योति पाउँछ, र तिमीहरूसँग अझ राम्रो मार्ग हुन्छ, तब तिमीहरूले पहिलेको भन्दा राम्रो नतिजा प्राप्त गर्नेछौ। के यो परमेश्वरको मार्गदर्शन होइन र? यो अत्युत्तम कुरा हो! यदि तँ आत्मधर्मी हुनबाट बच्न सक्छस्, यदि तैँले आफ्ना कल्पना र विचारहरू त्याग्न सक्छस्, र यदि तैँले अरूको सही राय सुन्न सक्छस् भने, तैँले पवित्र आत्माको अन्तर्दृष्टि पाउन सक्नेछस्। तेरो हृदयले ज्योति पाउनेछ र तैँले सही मार्ग भेट्टाउन सक्नेछस्। तँसँग अघि बढ्ने बाटो हुनेछ र जब तैँले त्यसलाई व्यवहारमा लागु गर्छस्, तब त्यो निश्चय नै सत्यताअनुरूप हुनेछ। तैँले त्यस्तो अभ्यास र अनुभवमार्फत तैँले सत्यता अभ्यास गर्न सिक्नेछस् र साथै त्यस कार्यक्षेत्रबारे केही नयाँ कुरा सिक्नेछस्। के यो राम्रो कुरा होइन र? यसबाट तैँले के थाहा पाउनेछस् भने, तँलाई केही आइपर्दा, तँ आत्मधर्मी हुनै हुँदैन र तैँले सत्यता खोजी गर्नैपर्छ, र यदि तँ आत्मधर्मी हुन्छस् र तैँले सत्यता स्वीकार गर्दैनस् भने, सबैले तँलाई मन पराउनेछैनन् र परमेश्वरले तँलाई निश्चय नै घृणा गर्नुहुनेछ। के यो पाठ सिकेको होइन र? यदि तैँले सधैँ यसरी नै पछ्याइरहिस् र सत्यता अभ्यास गरिरहिस् भने, तैँले आफ्नो कर्तव्यमा प्रयोग गर्ने व्यावसायिक सिपहरू निखार्दै जानेछस्, तैँले आफ्नो कर्तव्यमा झन्-झन् राम्रो नतिजा ल्याउनेछस्, र परमेश्वरले तँलाई अन्तर्दृष्टि र आशिष् दिनुहुनेछ, र तँलाई अझ बढी लाभ उठाउन दिनुहुनेछ। त्यसमाथि, तँसँग सत्यता अभ्यास गर्ने मार्ग हुनेछ, र जब तँलाई सत्यता अभ्यास गर्न आउँछ, तब तैँले बिस्तारै सिद्धान्तहरू बुझ्नेछस्। जब तैँले कुन कार्यले परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन दिलाउँछ, कुन कार्य गर्दा उहाँले घृणा र बेवास्ता गर्नुहुन्छ र कुन कार्यले उहाँको अनुमोदन र आशिष् दिलाउँछ भनेर थाहा पाउँछस्, तब तँसँग अघि बढ्ने मार्ग हुनेछ। जब मानिसहरूले परमेश्वरको आशिष् र अन्तर्दृष्टि पाउँछन्, तब तिनीहरूको जीवन प्रगति चाँडो हुनेछ। तिनीहरूले हरेक दिन परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछन्, र तिनीहरूको हृदयमा शान्ति र खुसी छाउनेछ। के यसले तिनीहरूलाई आनन्दित तुल्याउनेछैन र? जब तेरा कार्यहरू परमेश्वरसामु प्रस्तुत गर्न र उहाँद्वारा स्वीकृत हुन सकिन्छन्, तब तँलाई हृदयमा आनन्द महसुस हुनेछ, र भित्री रूपमा तँलाई शान्ति र खुसी मिल्नेछ। यो शान्ति र खुसी भनेको परमेश्वरले तँलाई दिनुभएका भावना हुन्, पवित्र आत्माद्वारा तँलाई प्रदान गरिएका अनुभूति हुन्।
अहङ्कारी र आत्मधर्मी हुनु भनेको मान्छेको सबैभन्दा स्पष्ट शैतानी स्वभाव हो, र यदि मानिसहरूले सत्यता स्विकार्दैनन् भने, तिनीहरूले त्यसलाई पखाल्नै सक्दैनन्। सबै मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, र तिनीहरू सधैँ अभिमानी हुन्छन्। तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्नै दृष्टिकोण र मनोवृत्तिहरू सही छन्, र अरूको कुरा आफ्नो जत्तिको राम्रो वा सही छैन भन्ने सोच्छन्। तिनीहरू सधैँ आफ्नै रायमा झुण्डिरहन्छन्, र जसले बोले पनि, तिनीहरूले उसको कुरा सुन्ने छैनन्। अरू कसैले भनेको कुरा सही वा सत्यताअनुरूप भए पनि, तिनीहरूले त्यो स्वीकार गर्नेछैनन्; तिनीहरूले सुनिरहेको जस्तो मात्र देखिन्छ, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने समय आउँदा, तिनीहरूले अझै पनि आफ्नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भनेको कुरा नै सही र उचित हो भन्ने ठान्छन्। सायद तैँले भन्ने कुरा वास्तवमा सही र उचित नै हुन्छ, वा तैँले जे गरेको छस् त्यो सही र दोषरहित छ, तर तैँले कस्तो प्रकारको स्वभाव प्रकट गरेको छस्? के त्यो अहङ्कार र आत्म-धार्मिकताको स्वभाव होइन र? यदि तैँले यो अहङ्कारी र आत्मधर्मी स्वभावलाई फालिनस् भने, के यसले तेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के यसले तेरो सत्यता अभ्यासमा असर गर्नेछैन र? यदि तैँले आफ्नो अहङ्कारी र आत्मधर्मी स्वभाव समाधान गरिनस् भने, के यसले तँलाई भविष्यमा गम्भीर झट्काहरू दिनेछैन र? तैँले निश्चय नै झट्काहरू अनुभव गर्नेछस्, यो हुन्छै हुन्छ। ल भन्, के परमेश्वरले मानिसको यस्तो व्यवहार देख्न सक्नुहुन्छ? परमेश्वरले यो देख्न नसक्ने कुरै छैन! परमेश्वरले मानिसहरूका हृदयको गहिराइ छानबिन गर्ने मात्र होइन, हर समय र हर स्थानमा तिनीहरूको हरेक शब्द र कार्यको अवलोकन पनि गर्नुहुन्छ। परमेश्वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्नुहुनेछ? परमेश्वरले यसो भन्नुहुनेछ: “तँ हठी छस्! तैँले आफू गलत छु भनी थाहा नपाउँदा आफ्ना विचारमा झुण्डिनु स्वाभाविक हो, तर आफू गलत छु भन्ने प्रस्ट थाहा हुँदाहुँदै पनि आफ्नो विचारमा झुण्डिन्छस्, पश्चात्ताप नगरी मर्छस् भने, तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तैँले सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति अपनाउँछस्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ अत्यन्तै मूर्ख छस्, तँ हास्यास्पद व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!” तँसँग व्यवहार गर्न कुन हिसाबमा गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली वा गलत व्यवहार होइन, यो त तेरो स्वभावको प्रकटीकरण हो। कस्तो स्वभावको प्रकटीकरण? तँ सत्यताप्रति वितृष्ण हुने र तैँले सत्यतालाई घृणा गर्ने स्वभाव। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चित्रित भएपछि, परमेश्वरका दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट, तिनीहरूले बढीमा यसो भन्नेछन्: “यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, हठी र अहङ्कारी छ! यस व्यक्तिसँग मिलेर बस्न गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र सत्यता अभ्यास गर्दैन।” बढीमा, सबैले तेरो यस्तो मूल्याङ्कन गर्नेछन्, तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्वरले मानिसको हृदय छानबिन गर्नुहुन्छ, र साथै उहाँले तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्वरले तँलाई यसरी परिभाषित गर्नुहुन्छ र तैँले सत्यतालाई घृणा गर्छस् भनेर भन्नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी छस् मात्र भन्नुहुन्न भने, के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त समस्या हो, र यो समस्या मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरामा नभई, सत्यतालाई घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई परमेश्वरले कसरी हेर्नुहुन्छ भन्ने कुरामा हुन्छ। त्यसोभए, परमेश्वरले त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ, त्यति नै हो? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्वरको प्रतिनिधित्व गर्छ।) यसलाई मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने, परमेश्वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुको रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन र? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्वरलाई घृणा गर्छ! म किन उसले परमेश्वरलाई घृणा गर्छ भनेर भन्दैछु? के उसले परमेश्वरलाई सरापेको थियो? के उसले उहाँलाई आमनेसामने विरोध गरेको थियो? के उसले उहाँलाई उहाँको पिठ्यूँपछाडि आलोचना वा निन्दा गरेको थियो? ठोकुवा गर्न सकिन्न। त्यसोभए, सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्नु भनेको परमेश्वरलाई घृणा गर्नु हो भनेर म किन भन्छु? यो तिललाई पहाड बनाउनु होइन, अवस्थाको वास्तविकता नै यही हो। यो त ढोँगी फरिसीहरूले सत्यतालाई घृणा गर्ने भएर तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँग्नुजस्तै हो—त्यसका परिणामहरू भयानक थिए। यसको अर्थ के हो भने, यदि कुनै व्यक्तिमा सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव छ भने, उसले यो जुनसुकै समय र स्थानमा प्रकट गर्न सक्छ, र यदि ऊ यसैअनुसार जिउँछ भने, के उसले परमेश्वरलाई विरोध गर्नेछैन र? तिनीहरूले सत्यतासँग सम्बन्धित कुरा वा निर्णय गर्नुपर्ने कुराको सामना गर्दा, यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन् भने, तिनीहरूले स्वाभाविक रूपमा परमेश्वरको विरोध गर्नेछन् र उहाँलाई धोका दिनेछन्, किनभने तिनीहरूको भ्रष्ट स्वभाव परमेश्वर र सत्यतालाई घृणा गर्ने स्वभाव हो। यदि तेरो स्वभाव यस्तो छ भने, तैँले परमेश्वरले बोल्नुभएका वचनलाई समेत प्रश्न गर्नेछस् र तिनको विश्लेषण र चिरफार गर्न चाहनेछस्। त्यसपछि तैँले परमेश्वरको वचनलाई शङ्का गर्नेछस् र भन्नेछस्, “के यो साँच्चै परमेश्वरको वचन हो? मलाई त यो सत्यता जस्तो लाग्दैन, मलाई त ती सबै सही छन् जस्तो लाग्दैन!” यसरी, के सत्यतालाई घृणा गर्ने तेरो स्वभाव प्रकट भएको छैन त? जब तैँले यसरी सोच्छस्, के तँ परमेश्वरप्रति समर्पित हुन सक्छस्? पक्कै पनि सक्दैनस्। यदि तँ परमेश्वरप्रति समर्पित हुन सक्दैनस् भने, के उहाँ अझै तेरो परमेश्वर हुनुहुन्छ त? हुनुहुन्न। त्यसोभए, तेरा लागि परमेश्वर के हुनुहुन्छ? तैँले उहाँलाई अनुसन्धानको विषय, शङ्का गर्नुपर्ने व्यक्ति, निन्दा गर्नुपर्ने व्यक्तिलाई जस्तै व्यवहार गर्नेछस्; तैँले उहाँलाई सामान्य र साधारण व्यक्तिलाई जस्तै व्यवहार गर्नेछस्, र उहाँलाई सोही तरिकाले निन्दा गर्नेछस्। यसो गर्दा, तँ परमेश्वरको प्रतिरोध र ईशनिन्दा गर्ने व्यक्ति बन्नेछस्। कस्तो स्वभावले गर्दा यस्तो हुन्छ? यो अहङ्कारी स्वभावले गर्दा हुन्छ, जुन निश्चित हदसम्म मौलाएको छ; तँबाट तेरो शैतानी स्वभाव प्रकट हुने मात्र होइन, तेरो शैतानी अनुहार पनि पूर्ण रूपमा उदाङ्गो हुनेछ। जो व्यक्ति परमेश्वरको प्रतिरोध गर्ने चरणमा पुगिसकेको छ, र जसको परमेश्वरविरुद्धको विद्रोहीपन निश्चित हदसम्म पुगिसकेको छ उसको र परमेश्वरबीचको सम्बन्धको हालत कस्तो हुन्छ? यो शत्रुतापूर्ण सम्बन्ध बन्छ जसमा व्यक्तिले परमेश्वरलाई आफ्नो विपक्षमा राख्छ। यदि तैँले परमेश्वरमा विश्वास गर्दा सत्यता स्विकार्न र त्यसमा समर्पित हुन सक्दैनस् भने परमेश्वर तेरा परमेश्वर हुनुहुन्न। यदि तैँले सत्यतालाई मान्दैनस् र अस्वीकार गर्छस् भने, तँ परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति बनिसकेको हुनेछस्। के त्यसपछि पनि परमेश्वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। परमेश्वरले तँलाई मुक्ति पाउने मौका दिनुहुन्छ र तँलाई शत्रुको रूपमा हेर्नुहुन्न, तर तैँले सत्यता स्विकार्न सक्दैनस् र परमेश्वरलाई आफ्नो विपक्षमा राख्छस्; तैँले परमेश्वरलाई आफ्नो सत्यता र आफ्नो मार्ग ठान्न नसक्नाले तँ परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति बन्छस्। यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? तैँले तुरुन्तै पश्चात्ताप गरेर मार्ग बदल्नैपर्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा यदि तँलाई कुनै समस्या वा कठिनाइ आइपरर्यो र तँलाई त्यो समाधान गर्न आएन भने, तैँले त्यसबारे अन्धाधुन्ध मनन गर्नु हुँदैन, तैँले पहिला आफूलाई परमेश्वरसामु शान्त पार्न, प्रार्थना गर्न र उहाँबाट खोजी गर्न, र परमेश्वरको वचनले त्यसबारे के भन्छ भनेर हेर्न जरुरी हुन्छ। यदि तैँले परमेश्वरको वचन पढिसकेपछि पनि बुझिनस् र यस मामिला कुन सत्यतासँग सम्बन्धित छ भनेर थाहा पाइनस् भने, तँ एउटा सिद्धान्तमा अडिग हुनैपर्छ—त्यो हो, पहिले समर्पित हुने, व्यक्तिगत विचार वा सोच नराख्ने, शान्त हृदयले पर्खने, अनि परमेश्वरले कसरी कार्य गर्ने अभिप्राय र चाहना राख्नुहुन्छ भनी हेर्ने। जब तैँले सत्यता बुझ्दैनस्, तैँले अन्धाधुन्ध र लापरवाह तरिकाले कार्य गर्नुभन्दा सत्यता खोज्नुपर्छ, र परमेश्वरको प्रतीक्षा गर्नुपर्छ। तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सुझाव दिन्छ र सत्यताअनुसार काम गर्ने तरिका बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यता सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुरूप रहेछ भनेर तँ पक्का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुरूप छैन भनेर तँ पक्का भइस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल कुरा हो। तैँले सत्यता खोज्दा धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्नुपर्छ, उसका सबै शब्दहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। उसलाई बेवास्ता गर्ने वा मतलब नगर्ने काम नगर्, किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तैँले सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास गर्नु हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, कुरा एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; जब अरूले तँलाई सुझाव दिइसकछन् र तैँले बुझ्छस्, तब तैँले कामकुरा सच्याउन र सिद्धान्तअनुसार कार्य गर्न सक्नेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्वरका लागि यो ठूलो कुरा हो। म किन यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यताप्रति वितृष्ण नभएको व्यक्ति हुन्छस्—परमेश्वरले तेरो हृदय जाँच्नुहुँदा, उहाँले तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्नुपर्दा, तैँले परमेश्वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जे जिउँछस् र प्रकट गर्छस् ती सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यता वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँसँग हुने मनोवृत्ति, सोच, र स्थितिहरू नै परमेश्वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्वरले छानबिन गर्ने कुरा तिनै हुन्।
कतिपय मानिसले केही आइपर्दा ससाना कुराहरूको भेद केलाउन र निकासहीन दिशातिर लाग्न रूचाउनु नीचता होइन र? यो ठूलो समस्या हो। प्रस्ट रूपमा सोच्न सक्ने मानिसहरूले यो गल्ती गर्नेछैनन्, तर हास्यास्पद मानिसहरू यस्तै हुन्छन्। तिनीहरू जहिले पनि अरूले तिनीहरूलाई अफ्ठ्यारोमा पारिरहेको, अरूले तिनीहरूलाई जानीजानी चुनौती दिइरहेको कल्पना गर्छन्, त्यसैले तिनीहरूले सधैँ अरू मानिसलाई खलनायक बनाउँछन्। के यो विचलन होइन? तिनीहरू सत्यताका सन्दर्भमा मेहनत लगाउँदैनन्, आफूलाई केही आइपर्दा महत्त्वहीन कुराहरूबारे झगडा गर्न रूचाउँछन्, स्पष्टीकरण माग्छन्, आफ्नो इज्जत जोगाउन खोज्छन्, र यी मामिलाहरू सम्हाल्न सधैँ मानव उपाय लगाउँछन्। जीवन प्रवेशको सबैभन्दा ठूलो अड्चन यही हो। यदि तैँले यसरी नै परमेश्वरमा विश्वास गर्छस्, वा अभ्यास गर्छस् भने, तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस् किनकि तँ कहिल्यै परमेश्वरसामु आउँदैनस्। परमेश्वरले तेरा लागि खडा गर्नुभएका सबै कुरा ग्रहण गर्न तँ उहाँसामु कहिल्यै आउँदैनस्, न त यो सब सम्हाल्न तैँले सत्यता प्रयोग नै गर्छस्, बरु तैँले कुराहरू सम्हाल्दा मानव समाधानहरू प्रयोग गर्छस्। त्यसैले, परमेश्वरका नजरमा, तँ उहाँबाट धेरै भट्किसकेको छस्। तेरो हृदय मात्र उहाँबाट भट्किएको होइन, तेरो सम्पूर्ण सत्त्व नै उहाँको उपस्थितिमा जिउँदैन। कामकुरालाई सधैँ अति विश्लेषण गर्ने र ससाना कुराको भेद केलाउनेहरूलाई परमेश्वरले यसरी नै हेर्नुहुन्छ। कतिपय मानिसहरू बोलीले लट्ठ पार्ने हुन्छन्, धाराप्रवाह बोल्छन्, जसको दिमाग छिटो चल्छ र चतुर हुन्छ, जसले “म राम्रो बोल्छु। अरू सबै मानिसले मेरो सराहना र मान गर्छन्, मलाई उच्च सम्मान दिन्छन्। मानिसहरूले सामान्यतः मेरो कुरा सुन्छन्” भनेर सोच्छन्। के यो उपयोगी छ? तैँले मानिसहरूमाझ प्रतिष्ठा कमाएको छस्, तर तैँले परमेश्वरसामु गर्ने व्यवहार उहाँलाई स्वीकार्य लाग्दैन। परमेश्वरले त तँ अविश्वासी होस् र सत्यताप्रति शत्रुवत् छस् भन्नुहुन्छ। मानिसहरूमाझ तँ तीक्ष्ण र सजिलै चल्न सक्ने होलास्, तैँले निकै राम्रोसँग कामकुरा सम्हाल्छस् होला, र जो कोहीसँग पनि मिल्छस् होला; अवस्था जस्तोसुकै भए पनि तैँले सधैँ त्यसलाई सम्हाल्ने र सुल्झाउने उपाय भेट्टाउन सक्लास्, तर तँ परमेश्वरसामु आउँदैनस् र समस्या सुल्झाउन सत्यता खोजी गर्दैनस्। यस्ता मानिसहरू निकै कष्टदायी हुन्छन्। तिनीहरूको मूल्याङ्कनमा परमेश्वरले एउटै मात्र कुरा भन्नुहुन्छ: “तँ अविश्वासी होस्, तैँले आशिष् प्राप्त गर्नका लागि परमेश्वरमा विश्वास गर्ने खोल ओडेर यो मौकाको फाइदा उठाउन खोजिरहेको छस्। तँ सत्यता स्वीकार गर्ने व्यक्ति होइनस्।” तिमीहरूलाई यस्तो किसिमको मूल्याङ्कनबारे के लाग्छ? के तिमीहरूले चाहेको यही हो? पक्कै होइन। हुन सक्छ कतिपय मानिसले वास्ता गर्दैनन् र यसो भन्छन्, “परमेश्वरले हामीलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले फरक पर्दैन, यसै पनि हामी परमेश्वरलाई देख्न सक्दैनौँ। हाम्रो सबैभन्दा तात्कालिक समस्या भनेको पहिले हामी वरपरका मानिसहरूसँग राम्रो सम्बन्ध कायम गर्नु हो। हामीले आफ्ना लागि बलियो टेको स्थापित गरिसकेपछि अगुवा र कामदारहरूको मन जित्न सक्छौँ ताकि सबैले हाम्रो सराहना गरून्।” यो कस्तो प्रकारको व्यक्ति हो? के ऊ परमेश्वरमा विश्वास गर्ने व्यक्ति हो? पक्कै होइन; ऊ अविश्वासी हो। जसले परमेश्वरमा विश्वास गर्छन् तिनीहरू सधैँ परमेश्वरको उपस्थितिमा नै जिउनुपर्छ; तिनीहरूलाई जस्तोसुकै समस्या आइपरे पनि, तिनीहरू सत्यता खोजी गर्न परमेश्वरसामु आउनैपर्छ ताकि अन्त्यमा परमेश्वरले यसो भन्नुहोस्, “तँ सत्यतालाई प्रेम गर्ने, परमेश्वरलाई खुसी पार्ने, र परमेश्वरलाई स्वीकार्य लाग्ने व्यक्ति होस्। परमेश्वरले तेरो हृदय देख्नुभएको छ र तेरो समर्पण पनि देख्नुभएको छ।” तिमीहरूलाई यस किसिमको मूल्याङ्कनबारे के लाग्छ? यस्ता मानिसहरूले मात्र परमेश्वरबाट अनुमोदन प्राप्त गर्न सक्छन्। के तिमीहरूले यो पूर्ण रूपमा बुझ्न सक्छौ? म तिमीहरूलाई के भन्छु भने, परमेश्वरमा विश्वास गर्ने व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि—चाहे उसले बाहिरी मामिलाहरू वा परमेश्वरको घरको विभिन्न काम वा विशेषज्ञताका क्षेत्रहरूसँग सम्बन्धित कर्तव्य जे सम्हाले पनि—यदि ऊ बारम्बार परमेश्वरसामु आउँदैन र उहाँको उपस्थितिमा जिउँदैन, अनि उसले उहाँको छानबिनलाई स्विकार्ने आँट गर्दैन, र परमेश्वरबाट सत्यताको खोजी गर्दैन भने ऊ अविश्वासी हो र ऊ गैरविश्वासीभन्दा फरक होइन। के तिमीहरूले यो कुरा बुझ्न सक्छौ? हुन सक्छ, अहिले कतिपय त्यस्ता मानिसहरू छन् जसले वातावरण उचित नभएका कारण आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्; तिनीहरू गैरविश्वासीहरूको वातावरणमा जिउँछन्, तैपनि बारम्बार परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउँछन्। यो कसरी हुन सक्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्न, परमेश्वरका वचनहरू खान र पिउन, सत्यता खोज्न र अभ्यास गर्न, र परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्नु हो। कुनै व्यक्ति सधैँ परमेश्वरको उपस्थितिमा जिउन सक्छ कि सक्दैन भनी निर्धारण गर्ने कडी यिनै कुरा हुन्। यदि तैँले प्रायः परमेश्वरको अनुभूति गर्न सक्दैनस् अनि तँ बारम्बार कमजोर र नकारात्मक हुन्छस्, वा प्रायः लम्पट बन्छस्, वा यदि तैँले आफ्नो कर्तव्यमा कुनै बोझ बोक्दैनस्, र तँ सधैँ अन्योलमा हुन्छस् भने, के यो राम्रो स्थिति हो कि नराम्रो स्थिति? के यो परमेश्वरसामु जिउने स्थिति हो कि परमेश्वरसामु पटक्कै नजिउने स्थिति? (यो परमेश्वरसामु नजिउने स्थिति हो।) त्यसैले, तिमीहरूले यसको मापन गर्नैपर्छ—के तिमीहरू प्रायः परमेश्वरसामु जिउँछौ कि जिउँदैनौ? यदि तँ परमेश्वरसामु विरलै जिउँछस्, र प्रार्थनासमेत गर्दैनस्, वा परमेश्वरका वचनहरू पढ्दैनस् भने, यसले समस्या निम्त्याउँछ, यसको मतलब तँ गैरविश्वासी होस्। केही मानिसहरू उचित मामिलामा विरलै ध्यान दिन्छन्, तिनीहरू लम्पट र अनियन्त्रित हुन्छन्, र जब तिनीहरूलाई केही आइपर्छ, तिनीहरू सधैँ अलमल्ल हुन्छन् र सत्यता खोज्न जान्दैनन्। तिनीहरूलाई आफूले कर्तव्य निर्वाह गर्दा नतिजा प्राप्त भयो कि भएन भनेरसमेत थाहा हुँदैन। तिनीहरूलाई आफ्ना के-कस्ता दैनिक कार्यहरूले परमेश्वरलाई चिढ्याउँछन्, कुन कार्यहरू परमेश्वरलाई स्वीकार्य लाग्छन्, र कुन कार्यहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ भन्ने थाहा हुँदैन। तिनीहरू दिनानुदिन अल्याङटल्याङ मात्र गर्छन्। तँलाई यस्तो स्थितिबारे के लाग्छ? के यस्तो स्थितिमा जिउने मानिसहरूसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ? के तिनीहरूले गर्ने कामकुरामा कुनै सिद्धान्त हुन सक्छ? के तिनीहरूले मनासिब कामकुरा गर्न सक्छन्? के तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा “म संयमित हुनैपर्छ, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नैपर्छ, मैले यो आफ्नो सारा हृदय र सारा शक्तिले पूरा गर्नैपर्छ” भनेर भन्न सक्छन्? के तिनीहरू अर्पित हुन सक्छन्? (सक्दैनन्।) त्यसोभए यस्ता मानिसहरू के गरिरहेका हुन्छन्? तिनीहरू परिश्रम मात्र गरिरहेका हुन्छन्! के यस्ता मानिसहरूले सत्यता प्राप्त गरेका हुन्छन्? (हुँदैनन्।) त्यो त ठूलो क्षति हो। यी मूर्खहरूको जमातलाई सत्यता पछ्याउनुपर्छ भन्ने कुरा कसरी थाहा हुन नसकेको? तिनीहरूले दश-बिस वर्ष परमेश्वरमा विश्वास गरेका र धेरै प्रवचनहरू सुनिसकेका हुन्छन्, तैपनि तिनीहरूलाई परमेश्वरमा विश्वास गरेर के प्राप्त हुन्छ, तिनीहरूले कसरी सत्यता पछ्याउनुपर्छ, कसरी सत्यता अभ्यास गर्नुपर्छ, वा कसरी आफ्ना कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने कुरा थाहा हुँदैन। यदि तिनीहरू यी महत्त्वपूर्ण कुराहरूबारे स्पष्ट छैनन् भने, के तिनीहरू अलि मूर्ख होइनन् र? तिनीहरू अत्यन्तै मन्द बुद्धिका र संवेदनाहीन हुन्छन्। तिनीहरूमा सत्यताको कुनै प्रभाव पर्दैन, र यो खतरनाक कुरा हो। परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? सत्यता प्राप्त गर्नु हो। कुनै व्यक्तिले सत्यता प्राप्त गरेपछि कस्ता समस्याहरू समाधान हुनेछन्? मुख्यतः तिनीहरूको पापसम्बन्धी समस्या, तिनीहरूको भ्रष्ट स्वभावसम्बन्धी समस्या, परमेश्वरप्रतिको विश्वासमा तिनीहरूलाई आइपर्ने सबै कठिनाइहरू, र तिनीहरूका गलत दृष्टिकोणहरू समाधान हुनेछन्। यी सबै समस्या समाधान गर्न सकिन्छ। जब कुनै व्यक्तिले सत्यता प्राप्त गर्छ, तब उसले त्यसलाई कहाँ प्रयोग गर्नुपर्छ? यसलाई आफ्नो कर्तव्य निर्वाहमा र परमेश्वरको गवाही दिनमा प्रयोग गर्नुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। अहिले, तिमीहरूमा यसबारे साँचो ज्ञानको कमी होला, तिमीहरूले सत्यताको मूल्य वा महत्त्व बुझेका छैनौ होला, तर एक दिन बुझ्नेछौ।
के तिमीहरूले अय्युबको किताब पढेका छौ? त्यो पढ्दै गर्दा, के तिमीहरू उत्प्रेरित भयौ? के तिमीहरूले अय्युबजस्तै बन्न इच्छा जगाउने एक प्रकारको तृष्णा अनुभव गऱ्यौ? (गऱ्यौँ।) यस्तो स्थिति र मुड कति समयसम्म टिक्न सक्छ? एक-दुई दिन, कि एक-दुई महिना, कि एक-दुई वर्ष? (दुई-तीन दिन।) त्यसोभए के यस्तो स्थिति र मुड दुई-तीन दिनपछि हराउँछ? तैँले उत्प्रेरित हुँदा प्रार्थना गर्नैपर्छ, र परमेश्वरलाई अय्युबजस्तै बन्न चाहन्छु, सत्यता बुझ्न, परमेश्वरबारे ज्ञान प्राप्त गर्न, अनि परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्न चाहन्छु भनेर बताउनैपर्छ। तैँले परमेश्वरलाई आफूमा यो हुन दिन बिन्ती गर्नैपर्छ, मार्गदर्शन गर्नुहोस्, आफ्ना लागि वातावरणहरू गरिदिनुहोस्, शक्ति र सुरक्षा दिनुहोस् भनी बिन्ती गर्नैपर्छ ताकि तैँले सामना गर्ने हरेक परिस्थितिमा तँ दृढ रहन र परमेश्वरको प्रतिरोध नगर्न सकेस्, बरु परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कार्यहरू गर्न र उहाँका अभिप्रायहरू पूरा गर्न सकेस्। तैँले यही लक्ष्यका निम्ति र आफूले पाउने आशा गरेका कुराहरूका निम्ति सधैँ परमेश्वरलाई प्रार्थना र बिन्ती चढाउनुपर्छ र जब परमेश्वरले तेरो सच्चा हृदय देख्नुहुन्छ, तब उहाँले कार्य गर्नुहुनेछ। परमेश्वरले कार्य गर्नुहुँदा नडरा। परमेश्वरले अय्युबलाई जाँच्नुहुँदा जस्तो तेरो शरीर खटिराले भरिदिने र तँसँग भएका सबै थोक खोसिदिने काम पक्कै गर्नुहुन्न। परमेश्वरले त्यसो गर्नुहुनेछैन; उहाँले तेरो कदअनुसार तँलाई बिस्तारै थप कुरा दिँदै जानुहुनेछ। तैँले गम्भीरताका साथ परमेश्वरलाई पुकार्नैपर्छ—अय्यूबको किताब पढेपछि दुई दिनसम्म र आफू त्यसबाट उत्प्रेरित हुइन्जेलसम्म मात्र परमेश्वरलाई पुकार्ने, अनि पढ्न छोडेपछि तेस्रो दिनदेखि त्यसबारे बिर्सने र त्यसलाई आफ्नो हृदयमा नराख्ने नगर्। यदि त्यसो गरिस् भने त्यसले तँलाई समस्या निम्त्याउँछ! यदि तँ अय्युबजस्तो मानिसलाई सराहना गर्छस् र त्यस्तो व्यक्ति बन्न चाहन्छस् भने, तँसँग त्यस्तो व्यक्ति बन्ने मार्ग हुनैपर्छ, तैँले परमेश्वरसामु आफ्नो हृदय पोखाएर यसका लागि बारम्बार प्रार्थना गर्नैपर्छ, अनि यसलाई बारम्बार मनन गर्नैपर्छ, र त्यसपछि अय्युबबारे परमेश्वरले बोल्नुभएका वचनहरू खानु र पिउनुपर्छ, तिनलाई लगातार र बारम्बार मनन गर्नुपर्छ, र त्यसपछि तैँले यस्तो किसिमको अनुभवात्मक ज्ञान भएका मानिसहरूसँग सङ्गति गर्नैपर्छ। तैँले यस लक्ष्यतर्फ कडा मेहनत गर्नैपर्छ। तैँले कसरी मेहनत गर्नुपर्छ? यदि तँ बसेर हेर्ने र पर्खने मात्र गर्छस् भने त्यो कडा मेहनत गरेको हुँदैन। तैँले यो अभ्यास गर्ने, यसमा मेहनत लगाउने, साथै कष्ट सहने सङ्कल्प राख्ने र हृदयमा तृष्णा जगाउने र त्यसपछि यसका लागि प्रार्थना चढाउने र परमेश्वरलाई कार्य गर्न अनुरोध गर्ने काम गर्नैपर्छ। यदि परमेश्वरले कार्य गर्नुभएन भने, मानिसमा जतिसुकै हुटहुटी भए पनि यो केही कामको हुनेछैन। परमेश्वरले कसरी कार्य गर्नुहुनेछ? परमेश्वरले तेरो कदलाई सुहाउने गरी तेरा निम्ति वातावरणहरू खडा गर्न र मिलाउन थाल्नुहुनेछ। तैँले आफ्नो विश्वासमा हासिल गर्न चाहेका लक्ष्यहरू के-के हुन् र तँसँग कस्ता सङ्कल्पहरू छन् भनेर तैँले परमेश्वरलाई बताउनैपर्छ। के तैँले यसका लागि परमेश्वरलाई प्रार्थना र बिन्ती गरेको छस्? तैँले कति समय परमेश्वरलाई प्रार्थना र बिन्ती गरिस्? यदि तैँले आकलझुकल एकदुई पटक मात्र प्रार्थना गर्ने गर्छस् र परमेश्वरले कार्य नगर्नुभएको देखेपछि, तैँले “भइहाल्यो, यस्तै भइरहोस्। जे हुन्छ हुन्छ, म त जस्तो मादल बज्छ त्यही तालमा नाच्छु। मलाई जे आइपरे पनि मलाई मतलब छैन” भनेर सोच्छस् भने, त्यसरी हुँदैन, र तँ इमानदार छैनस्। यदि तँसँग केवल दुई मिनेटको उत्साह छ भने के परमेश्वरले तेरा लागि कार्य गर्न र तेरा लागि वातावरण मिलाउन सहयोग गर्न सक्नुहुन्छ? परमेश्वरले त्यसो गर्नुहुनेछैन! परमेश्वरले तेरो सच्चाइ हेर्न, तेरो सच्चाइ र दृढता कतिन्जेल कायम रहन सक्छ, र तेरो हृदय साँचो छ कि झूटो छ भनी हेर्न चाहनुहुन्छ। परमेश्वरले प्रतीक्षा गर्नुहुनेछ। उहाँले तेरा प्रार्थना र बिन्तीहरू सुन्नुहुन्छ, तैँले उहाँलाई गोप्य रूपमा बताएका सङ्कल्प र चाहनाहरू उहाँले सुन्नुहुन्छ, तर तेरो कष्ट सहने सङ्कल्प नदेखेसम्म उहाँले कार्य गर्नुहुनेछैन। यदि तैँले परमेश्वरलाई प्रार्थना गरिसकेपछि तँ केही नगरी गायब भइस् भने, के परमेश्वरले यस्ता परिस्थितिमा कार्य गर्नुहुन्छ? पक्कै गर्नुहुन्न। तैँले परमेश्वरलाई अझ बढी प्रार्थना र बिन्ती गर्नैपर्छ, त्यसमा मेहनत लगाउने र चिन्तन गर्ने, अनि त्यसपछि परमेश्वरले तेरा लागि खडा गर्नुभएको वातावरणको खुब स्वाद लिने गर्नुपर्छ; ती कुरा तँमाथि अलिअलि गर्दै आउनेछन्, र परमेश्वरले कार्य गर्न थाल्नुहुनेछ। यदि तेरो हृदय सच्चा छैन भने यसले काम गर्नेछैन। तैँले भन्लास्, “म अय्युबलाई कति सराहना गर्छु र पत्रुसलाई कति सराहना गर्छु!” तर तेरो सराहनाको के काम? तैँले मन लागेसम्म तिनीहरूलाई सराहना गर्न सक्छस्, तर तँ तिनीहरू होइनस्, र तेरो सराहनाको कारणले परमेश्वरले तँमाथि पनि तिनीहरूमाथि जस्तो काम गर्ने होइन, किनकि तँ तिनीहरूजस्तो व्यक्ति होइनस्। तँमा तिनीहरूको सङ्कल्प, वा तिनीहरूको मानवता, वा सत्यताको तृष्णा गरेको र त्यसलाई पछ्याएको तिनीहरूको जस्तो हृदय छैन। तँसँग यी कुरा भइसकेपछि मात्र परमेश्वरले तँलाई थप कुरा प्रदान गर्नुहुनेछ।
के अब तिमीहरूसँग सत्यता पछ्याउने, सत्यता प्राप्त गर्ने, मुक्ति प्राप्त गर्ने र परमेश्वरद्वारा सिद्ध पारिने सङ्कल्प छ? (छ।) तिमीहरूको सङ्कल्प कति ठूलो छ? तिमीहरूले त्यसलाई कतिन्जेल कायम राख्न सक्छौ? (म राम्रो स्थितिमा हुँदा मसँग सङ्कल्प हुन्छ, तर जब मलाई आफ्ना धारणाहरू र देहगत रूचिहरूसँग नमिल्ने कुराहरू आइपर्छन्, वा जब म केही शोधनबाट गुज्रन्छु वा केही कठिनाइहरू भोग्छु, तब म नकारात्मक स्थितिमा फँस्छु, र मसँग सुरुमा भएको आस्था र सङ्कल्प अलिअलि गर्दै हराउन थाल्छन्।) यो उचित हुनेछैन। तँ अत्यन्तै कमजोर छस्। तँ एउटा त्यस्तो ठाउँमा पुग्नैपर्छ जहाँ तँलाई जस्तोसुकै परिस्थितिहरू आइपरे पनि, तेरो सङ्कल्प परिवर्तन हुन नसकोस्। तब मात्रै तँ सत्यतालाई साँच्चै प्रेम गर्ने र पछ्याउने व्यक्ति बन्नेछस्। तँलाई केही आइपर्दा र तैँले अलिकति कठिनाइ भोग्दा, यदि तँ पछि हट्छस्, नकारात्मक र उदास हुन्छस्, अनि आफ्नो सङ्कल्प त्याग्छस् भने, यो उचित हुनेछैन। तँमा आफ्नो ज्यान जोखिममा हाल्ने सङ्कल्प हुनैपर्छ र तैँले यसो भन्नैपर्छ, “चाहे जेसुकै होस्—त्यसका लागि म मर्न परे पनि, म सत्यतालाई वा सत्यता पछ्याउने मेरो उद्देश्यलाई त्याग्नेछैनँ।” त्यसपछि कुनै कठिनाइले तँलाई रोक्न सक्नेछैन। यदि तँलाई साँच्चै कठिनाइ आइपर्यो र तँ अप्ठ्यारा परिस्थितिमा परिस् भने, परमेश्वरले कार्य गर्नुहुनेछ। त्यसबाहेक, तैँले यो कुरा बुझ्नैपर्छ: “मलाई जे आइपरे पनि, ती सबै मैले मेरो सत्यता पछ्याइमा सिक्नैपर्ने पाठ हुन्—ती परमेश्वरद्वारा बन्दोबस्त गरिएका हुन्। म कमजोर हुन सकुँला, तर म नकारात्मक छैनँ, र यी पाठहरू सिक्ने मौका दिनुभएकोमा म परमेश्वरप्रति आभारी छु। मेरा लागि यो अवस्था खडा गरिदिनुभएकोमा म परमेश्वरप्रति कृतज्ञ छु। म परमेश्वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने आफ्नो सङ्कल्प त्याग्न सक्दिनँ। यदि मैले त्यो त्याग्ने हो भने, त्यो शैतानसामु हार मान्नु, आफूलाई बरबाद गर्नु, र परमेश्वरलाई धोका दिनु समान हुन्थ्यो।” तँसँग यस्तो सङ्कल्प हुनैपर्छ। तँलाई जे-जस्ता ससाना मामिलाहरू आइपरे पनि, ती सबै तेरो जीवनको विकासका ससाना भाग हुन्। तैँले ती मामिलालाई आफ्नो प्रगतिको दिशा रोक्न पटक्कै दिनु हुँदैन। कठिनाइ सामना गर्दा तैँले खोजी र प्रतीक्षा गर्न सक्छस्, तर तेरो प्रगतिको दिशा भने परिवर्तन हुनै हुँदैन, के त्यो सही होइन र? (हो।) अरूले जे भने पनि, वा तँलाई जस्तो व्यवहार गरे पनि, र परमेश्वरले तँलाई जस्तो व्यवहार गर्नुभए पनि, तेरो सङ्कल्प बिलकुलै परिवर्तन हुनु हुँदैन। यदि परमेश्वरले “तँ सत्यतालाई बिलकुलै स्वीकार गर्दैनस्, म तँलाई घृणा गर्छु” भन्नुहुन्छ र तैँले “परमेश्वरले मलाई घृणा गर्नुहुन्छ, त्यसैले मेरो जीवनको के अर्थ छ र? म मरे त कुरै सिद्धिहाल्यो!” भन्छस् भने, तैँले परमेश्वरलाई गलत बुझिरहेको हुनेछस्। यो साँचो हो, परमेश्वरले तँलाई घृणा गर्नुहुन्छ, तर तैँले लडिराख्नुपर्छ, र तैँले सत्यता स्विकार्नुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। त्यसपछि तँ निकम्मा व्यक्ति हुनेछैनस् र परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछैन। अहिले, तिमीहरूको कद अझै पनि निकै सानो छ र तिमीहरूले परमेश्वरले तिमीहरूलाई जाँच्न माग गर्नुभएको मानक हासिल गरिसकेका छैनौ। तिमीहरूले गर्न सक्ने एकमात्र कुरा के हो? तैँले यस्तो प्रार्थना गर्नैपर्छ: “हे परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् र अन्तर्दृष्टि दिनुहोस् ताकि मैले तपाईँका अभिप्रायहरू बुझूँ, ममा सत्यता पछ्याउने मार्गमा हिँड्ने आस्था र दृढता होऊन्, र मैले परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सकूँ। म कमजोर र मेरो कद अपरिपक्व भए पनि, बिन्ती छ, मलाई शक्ति दिनुहोस् र मेरो सुरक्षा गर्नुहोस् ताकि मैले तपाईँलाई अन्त्यसम्म पछ्याउन सकूँ।” तँ प्रार्थना गर्न बारम्बार परमेश्वरसामु आउनैपर्छ। अरू मानिसहरूले सांसारिक कुराहरूको लालसा गर्लान्, तिनीहरू आफ्नो देहमा लिप्त होलान्, र तिनीहरूले सांसारिक प्रचलनहरू अपनाउलान्, तर तैँले तिनीहरूको पटक्कै सङ्गत गर्नु हुँदैन—केवल आफ्नो कर्तव्य निर्वाह गर्नमा ध्यान दिनुपर्छ। अरूले नकारात्मक महसुस गर्दा र आफ्नो कर्तव्य पूरा नगर्दा, तैँले बन्धनमा परेको महसुस पटक्कै गर्नु हुँदैन, र तैँले तिनीहरूलाई सहयोग गर्न सत्यता खोजी गर्नुपर्छ। अरू ऐसआराममा लिप्त हुँदा, तैँले तिनीहरूको ईर्ष्या गर्नै हुँदैन, तैँले परमेश्वरसामु जिउनेबारे मात्र चिन्ता गर्नुपर्छ। अरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउँदा तैँले तिनीहरूका लागि प्रार्थना गर्नुपर्छ र तिनीहरूलाई सहयोग गर्नुपर्छ, परमेश्वरसामु आफ्नो हृदय शान्त बनाउनुपर्छ र यी कुराहरूलाई आफूमाथि प्रभाव पार्न दिनु हुँदैन। तेरो वरपर जे घटना घटे पनि, तैँले सबै कुराबारे परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। तैँले सधैँ सत्यता खोजी गर्नुपर्छ, आफूलाई संयमित राख्नुपर्छ, आफू परमेश्वरसामु जिइरहेको छु, र परमेश्वरसँग आफ्नो सामान्य सम्बन्ध छ भनेर सुनिश्चित गर्नुपर्छ। परमेश्वरले हरसमय मानिसहरूलाई छानबिन गर्नुहुन्छ, र पवित्र आत्माले यस्ता मानिसहरूभित्र काम गर्नुहुन्छ। परमेश्वरले कसरी कुनै व्यक्तिको हृदय छानबिन गर्नुहुन्छ? उहाँ आफ्नो आँखाले मात्र हेर्नुहुन्न, उहाँले तेरा लागि वातावरणहरू खडा गर्नुहुन्छ र आफ्नो हातले तेरो हृदयलाई छुनुहुन्छ। म किन यो भन्छु? किनकी जब परमेश्वरले तेरा लागि वातावरण खडा गर्नुहुन्छ, तब उहाँले तँ त्यसप्रति अप्रसन्न छस् र त्यसलाई घिनाउँछस् कि त्यसलाई मन पराउँछस् र त्यसप्रति समर्पित हुन्छस्, तँ निष्क्रिय भएर पर्खिन्छस् कि सक्रिय रूपमा सत्यता खोजी गर्छस् भनेर हेर्नुहुन्छ। परमेश्वरले तेरो हृदय र तेरा सोचहरू कसरी परिवर्तन हुन्छन्, र ती कुन दिशामा विकास हुन्छन् भनेर हेर्नुहुन्छ। तेरो हृदयभित्रको स्थिति कहिलेकाहीँ सकारात्मक र कहिलेकाहीँ नकारात्मक हुन्छ। यदि तैँले सत्यता स्वीकार गर्न सक्छस् भने, परमेश्वरले तेरा लागि खडा गर्नुभएका मानिस, घटना र कामकुरा र विभिन्न वातावरणलाई तैँले उहाँबाट स्विकार्न सक्नेछस् र तिनलाई सही तरिकाले सम्हाल्न सक्नेछस्। परमेश्वरका वचनहरू पढेर, र मनन गरेर, तेरा सबै सोच र विचार, तेरा सबै राय, अनि तेरा सबै मुड परमेश्वरका वचनहरूका आधारमा परिवर्तन हुनेछन्। तँ यसबारे प्रस्ट हुनेछस्, र परमेश्वरले पनि यी सबैको छानबिन गर्नुहुनेछ। तैँले यसबारे कसैलाई नबताएको, वा यसबारे प्रार्थना नगरेको हुने भए पनि, साथै तैँले यो आफ्नो हृदयमा र आफ्नै संसारमा मात्र सोच्ने भए पनि, परमेश्वरको दृष्टिकोणबाट यो एकदमै स्पष्ट भइसकेको हुनेछ—उहाँलाई यो स्पष्ट हुनेछ। मानिसहरूले तँलाई आफ्ना आँखाले हेर्छन्, तर परमेश्वरले आफ्नो हृदयले तेरो हृदयलाई छुनुहुन्छ, उहाँ तँसँग त्यति नजिक हुनुहुन्छ। यदि तैँले परमेश्वरको छानबिन महसुस गर्न सक्छस् भने, तँ परमेश्वरसामु जिइरहेको छस्। यदि तैँले उहाँको छानबिन पटक्कै महसुस गर्न सक्दैनस् भने, तँ आफ्नै संसारमा जिइरहेको छस्, र तँ आफ्ना भावना र भ्रष्ट स्वभावअनुसार जिइरहेको छस्, अनि तँ समस्यामा छस्। यदि तँ परमेश्वरको उपस्थितिमा जिउँदैनस्, तँ र परमेश्वरबीच लामो दूरी छ, अनि तँ उहाँबाट टाढा छस् भने, यदि तैँले परमेश्वरका अभिप्रायहरूलाई पटक्कै ख्याल गर्दैनस्, र परमेश्वरको छानबिनलाई स्वीकार गर्दैनस् भने, परमेश्वरलाई यो सब थाहा हुनेछ। उहाँले यो कुरा सजिलै महसुस गर्नुहुनेछ। तसर्थ, जब तँसँग सङ्कल्प र उद्देश्य हुन्छ, र तँ परमेश्वरद्वारा सिद्ध पारिन, र उहाँको इच्छा पालन गर्ने, उहाँको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्न इच्छुक हुन्छस्, जब तँसँग यो सङ्कल्प हुन्छ र तैँले यी कुराका लागि बारम्बार प्रार्थना र बिन्ती गर्न सक्छस् र परमेश्वरसामु जिउँछस्, तैँले आफूलाई उहाँबाट कहिल्यै टाढा राख्दैनस् वा उहाँलाई छोडेर जाँदैनस्, तब तँ यी कुराहरूबारे प्रस्ट हुन्छस् र परमेश्वरलाई पनि ती कुरा थाहा हुन्छ। कतिपय मानिसहरू भन्छन्, “यसबारे म स्पष्ट छु, तर परमेश्वरलाई यो कुरा थाहा छ कि छैन?” यो प्रश्न अमान्य छ। यदि तँ यसो भन्छस् भने, यसबाट तैँले परमेश्वरसँग कहिल्यै सङ्गति गरेको छैनस्, अनि तँ र परमेश्वरबीच कुनै सम्बन्ध छँदै छैन भन्ने प्रमाणित हुन्छ। म किन तँ र परमेश्वरबीच कुनै सम्बन्ध छैन भनेर भन्छु? तँ परमेश्वरसामु जिएको छैनस्, त्यसकारण, परमेश्वर तँसँग हुनुहुन्छ कि हुनुहुन्न, उहाँले तँलाई मार्गदर्शन गरिरहनुभएको छ कि छैन, उहाँले तेरो रक्षा गरिरहनुभएको छ कि छैन, तैँले कुनै गलत काम गर्दा उहाँले तँलाई हप्काउनुभएको छ कि छैन भनेर तैँले महसुस गर्न सक्दैनस्। यदि तँलाई यी कुराको आभास हुँदैन भने, तँ परमेश्वरसामु जिउँदैनस्, तैँले यो कल्पना मात्र गरिरहेको छस् र आफैमा लिप्त भइरहेको छस्—तँ परमेश्वरसामु नभई, आफ्नै संसारमा जिइरहेको छस्, अनि तँ र परमेश्वरबीच कुनै सम्बन्ध छँदै छैन।
मानिसहरूले कसरी परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्छन्? यसलाई कायम राख्ने कुरा केमा निर्भर हुन्छ? यो तिनीहरूले आफ्ना हृदयमा परमेश्वरसँग गर्ने बिन्ती, प्रार्थना र अन्तरक्रियामा निर्भर हुन्छ। यस्तो सम्बन्धले मानिसहरूलाई सधैँ परमेश्वरसामु जिउने अवसर दिन्छ। तसर्थ, परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्न पहिले मानिसहरू शान्त हुनैपर्छ। केही मानिसहरू सधैँ बाहिर काम गरिरहेका हुन्छन्, र आफूलाई बाहिरी मामिलाहरूमा मात्र व्यस्त राखिरहन्छन्। यदि तिनीहरूसँग एक-दुई दिनसम्म कुनै आत्मिक जीवन भएन भने तिनीहरूले यो चाल पाउनेछैनन्। तिनीहरूले तीन-चार दिन, वा एकदुई महिनापछि समेत चाल पाउनेछैनन्। किनकि तिनीहरूले प्रार्थना, वा बिन्ती वा परमेश्वरसँग सङ्गति गरेका हुँदैनन्। बिन्ती गर्नु भनेको त्यो हो जब तँलाई केही आपर्छ र तैँले परमेश्वरले तँलाई सहयोग गरेको, मार्गदर्शन दिएको, भरणपोषण गरेको, अन्तर्दृष्टि दिएको, उहाँका अभिप्रायहरू बुझ्न, सत्यता जान्न, सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता अभ्यास गर्ने तरिका जान्न लगाएको चाहन्छस्—परमेश्वरका अभिप्रायहरूअनुरूपको बिन्ती यही नै हो। प्रार्थनाले तुलनात्मक रूपमा ठूलो क्षेत्र ओगट्छ। कहिलेकाहीँ तैँले आफ्ना हृदयमा भएका कुराबारे कुरा गर्लास्—तँलाई कठिनाइहरू आइपर्दा वा नकारात्मक र कमजोर महसुस हुँदा, तैँले परमेश्वरसँग यी कुराबारे हृदयबाट कुरा गर्न सक्छस्; तैँले आफू विद्रोही भइरहेको बेला परमेश्वरलाई प्रार्थना पनि गर्न सक्छस्, वा तँलाई दिनदिनै आइपर्ने आफूले छर्लङ्ग देख्न सक्ने र नसक्ने दुवै कुराहरूबारे परमेश्वरसँग कुरा गर्न सक्छस्—यसलाई प्रार्थना भनिन्छ। प्रार्थना भनेको आफ्नो हृदयमा भएको कुराबारे परमेश्वरसँग कुरा गर्नु वा परमेश्वरबाट सत्यता खोजी गर्नु हो। कहिलेकाहीँ प्रार्थना तोकिएको समयमा गरिन्छ, कहिलेकाहीँ यसको कुनै समय तोकिएको हुँदैन; तैँले जुनसुकै समय र स्थानमा प्रार्थना गर्न सक्छस्। आत्मामा गरिएको सङ्गतिले कुनै विशेष स्वरूप लिँदैन: केही कुराले तँलाई दिक्क पारिरहेको हुन पनि सक्छ वा नहुन पनि सक्छ; तैँले भन्न चाहेको कुरा हुन पनि सक्छ, वा नहुन पनि सक्छ। जब केही कुराले तँलाई दिक्क पारिरहेको हुन्छ, तब तैँले परमेश्वरसँग त्यसबारे कुरा र प्रार्थना गर्नुपर्छ। सामान्यतः तैँले परमेश्वरले मानिसलाई कति प्रेम गर्नुहुन्छ, मानिसबारे कति चिन्ता गर्नुहुन्छ, उहाँले किन मानिसलाई काटछाँट गर्नुहुन्छ, वास्तवमा परमेश्वरप्रति समर्पित हुनु भनेको के हो इत्यादि प्रश्नहरूमाथि मनन गर्नुपर्छ, सबै समय र स्थानमा परमेश्वरसँग कुराकानी गर्नुपर्छ, परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, र उहाँबाट खोजी गर्नुपर्छ। यो आत्मामा गरिने सङ्गति वा छोटकरीमा “आत्मा सङ्गति” हो। कहिलेकाहीँ बाटोमा हुँदा तैँले आफूलाई निकै दुःखी बनाउने कुराबारे सोच्छस् होला; तैँले घुँडा टेक्नु वा आँखा बन्द गर्नु पर्दैन। तैँले आफ्नो हृदयमा नै परमेश्वरसँग यसरी कुरा गर्न सक्छस्, “हे परमेश्वर, मलाई यो कुरा आइपरेको छ र यसलाई सम्हाल्ने सही तरिका मलाई थाहा छैन, त्यसैले यो कुरामा मलाई मार्गदर्शन गर्नुहोस्।” जब तैँले आफ्नो हृदयमा हलचल महसुस गर्छस् र यसबारे परमेश्वरलाई केही मर्मस्पर्शी शब्दहरू पोख्छस्, तब उहाँले त्यो थाहा पाउनुहुनेछ। कहिलेकाहीँ तँलाई घरको याद आउला र तैँले यसो भन्छस् होला, “हे परमेश्वर, मलाई घरको साह्रै याद आयो।” तैँले आफूलाई ठ्याक्कै कसको याद आइरहेको छ भनेर भन्दैनस्, यति हो, तँ उदास छस् र परमेश्वरलाई त्यसबारे बताउँदै छस्। यदि तैँले परमेश्वरलाई प्रार्थना गरिस् र आफ्नो हृदयको कुरा बताइस् भने मात्र आफ्ना समस्याहरू समाधान गर्न सक्छस्। के तैँले तेरा समस्याहरू अर्को व्यक्तिसँग कुरा गरेर समाधान गर्न सक्छस्? तैँले सत्यता बुझ्ने व्यक्तिलाई भेटिस् भने त्यति नराम्रो हुनेछैन—तैँले आफ्ना समस्याहरू समाधान गर्न सक्ने मात्र होइन, तँलाई त्यसबाट फाइदा पनि हुनेछ। तर यदि तैँले सत्यता नबुझ्ने व्यक्तिलाई भेटिस् भने, तैँले आफ्ना समस्याहरू समाधान गर्न सक्नैछैनस्, र त्यसले उसलाई पनि प्रभाव पार्न सक्छ। यदि तैँले परमेश्वरसँग बोलिस् भने, परमेश्वरले तँलाई सान्त्वना दिनुहुनेछ र प्रेरित गर्नुहुनेछ। यदि तैँले आफूलाई परमेश्वरसामु शान्त पार्न र उहाँका वचनहरू पढ्न, त्यसपछि मनन र प्रार्थना गर्न सक्छस् भने, तैँले सत्यता बुझ्न र आफ्ना समस्याहरू समाधान गर्न सक्नेछस्। परमेश्वरका वचनहरूले तँलाई कठिनाइ पार गर्ने मार्ग भेट्टाउन मदत गर्न सक्छन्, र तैँले यो सानो बाधा पार गर्दा ठेस खानेछैनस्, र त्यसले तँलाई नियन्त्रण गर्नेछैन, न त तेरो कर्तव्य निर्वाहलाई नै असर गर्नेछ। कहिलेकाहीँ तेरो मनोबल अचानक कमजोर हुनेछ र तँ उदास हुनेछस्। यस्तो हुँदा, तैँले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरिहाल्नुपर्छ, र उहाँको नजिक जानुपर्छ, जसको अर्थ आफ्नो हृदयको कुरा उहाँलाई बताउनु र हर समय र तँ जहाँ भए पनि उहाँलाई मनको कुरा खोल्नु हो। यसरी तेरो स्थिति उल्टाउन सकिन्छ। तँमा यो आस्था हुनैपर्छ: “परमेश्वर हरेक पल मेरो छेउमै हुनुहुन्छ, उहाँले मलाई कहिल्यै छोड्नुभएको छैन, म यो महसुस गर्न सक्छु। म जहाँ भए पनि वा जे गरिरहेको भए पनि—म भेलामा भए पनि वा कर्तव्य निर्वाह गरिरहेको भए पनि—परमेश्वरले मलाई हात समातेर डोऱ्याइरहनुभएको छ र उहाँले मलाई कहिल्यै छाड्नुभएको छैन भनेर मलाई हृदयमा थाहा छ।” कहिलेकाहीँ, तैँले कसरी वर्षौँदेखि प्रत्येक दिन यसरी बिताइस् भनी सम्झँदा, तँलाई आफ्नो कद बढेको छ, तँलाई परमेश्वरले मार्गदर्शन गर्दै आउनुभएको छ, परमेश्वरको प्रेमले तँलाई अहिलेसम्म सुरक्षा दिँदै आइरहेको छ भन्ने महसुस हुनेछ। यी कुराहरू सोच्दा, तैँले हृदयमा प्रार्थना गर्नेछस्, र परमेश्वरलाई धन्यवाद चढाउनेछस्: “हे परमेश्वर, तपाईँलाई धन्यवाद छ! म अति कमजोर, डरपोक र अति गम्भीर रूपले भ्रष्ट छु। यदि तपाईँले मलाई यसरी मार्गदर्शन नगर्नुभएको भए, म आफै त कुनै हालतमा यहाँसम्म पुगेको हुन सक्ने थिइनँ।” के यो आत्मिक सङ्गति होइन र? यदि मानिसहरूले परमेश्वरसँग प्रायः यसरी सङ्गति गर्न सके भने, के तिनीहरूसित परमेश्वरलाई भन्ने धेरै कुरा हुनेछैनन् र? तिनीहरू धेरै दिनसम्म परमेश्वरसँग कुरा नगरी बस्नेछैनन्। यदि तँसँग परमेश्वरलाई भन्नुपर्ने केही छैन भने, परमेश्वर तेरो हृदयमा हुनुहुन्न। यदि परमेश्वर तेरो हृदयमा हुनुहुन्छ, र तैँले परमेश्वरमा आस्था राख्छस् भने, तैँले आफ्नो विश्वासपात्रलाई मात्र भन्न सक्ने कुरालगायत आफ्नो हृदयका सबै कुरा उहाँलाई भन्न सक्नेछस्। वास्तवमा, परमेश्वर तेरो सबैभन्दा नजिकको विश्वासपात्र हुनुहुन्छ। यदि तैँले परमेश्वरलाई आफ्नो सबैभन्दा नजिकको विश्वासपात्र, आफू सबैभन्दा बढी भर पर्ने, आफूलाई सबैभन्दा भरपर्दो लाग्ने, सबैभन्दा भरोसायोग्य र आफ्नो सबैभन्दा घनिष्ठ परिवार मान्छस् भने, तँसँग परमेश्वरलाई भन्ने केही नहुनु असम्भव हो। यदि तँसँग सधैँ परमेश्वरलाई भन्ने केही कुरा हुन्छ भने, के तँ सधैँ उहाँको उपस्थितिमा जिइरहेको हुनेछैनस् र? यदि तँ सधैँ परमेश्वरको उपस्थितिमा जिउँछस् भने, परमेश्वरले तँलाई कति अन्तर्दृष्टि दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, तँलाई कति ख्याल र सुरक्षा गर्नुहुन्छ, अनि तँलाई कति शान्ति र आनन्द दिनुहुन्छ, तँलाई कति आशिष् दिनुहुन्छ, कति हप्काउनुहुन्छ, अनुशासनमा राख्नुहुन्छ, ताडना, न्याय र सजाय दिनुहुन्छ भनेर तैँले हरेक क्षण आभास गर्न सक्नेछस्। यो सबै कुरा तँलाई स्पष्ट र छर्लङ्ग हुनेछ। यदि तँ हरेक दिन झारा मात्र टार्छस्, परमेश्वरलाई हृदयमा नराखी मुखले मात्र विश्वास गर्छस्, र यदि तैँले बाहिरी रूपमा मात्र आफ्नो कर्तव्य निर्वाह गर्ने र भेलाहरूमा सहभागी हुने गर्छस्, अनि केवल झारा टार्न हरेक दिन परमेश्वरका वचनहरू पढ्ने र प्रार्थना गर्ने गर्छस् भने, यो परमेश्वरमा विश्वास गरेको होइन—तैँले पालन गर्ने यस्ता कुनै पनि धार्मिक रीतिरिवाजहरूको सत्यतासँग कुनै सम्बन्ध छैन। परमेश्वरमा विश्वास गर्नेहरूले दैनिक उहाँका वचनहरूको एउटा खण्ड ध्यानपूर्वक पढ्नुपर्छ अनि यी वचनहरूभित्र प्रार्थना र सङ्गति गर्नुपर्छ। तिनीहरूले हरेक दिन परमेश्वरका वचनहरूबाट थोरै ज्योति प्राप्त गर्नुपर्छ, र थोरै सत्यता बुझ्नुपर्छ। विशेषगरी, तिनीहरू सत्यता खोजी गर्न र आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरूअनुसार मामिला सम्हाल्न सक्ने हुनुपर्छ, र हरेक दिन जीवन अनुभव प्राप्त गर्न र परमेश्वरको काम अनुभव गर्न सक्ने हुनुपर्छ। साँचो विश्वासी र परमेश्वरलाई पछ्याउने व्यक्ति त्यही हो।
परमेश्वरप्रतिको तेरो विश्वासमा सबैभन्दा महत्त्वपूर्ण र सुल्झाउनैपर्ने मुद्दा कुन हो? त्यो परमेश्वरसँगको तेरो सामान्य सम्बन्धको मुद्दा हो। यदि तँ परमेश्वरमा विश्वास गर्छस् तर उहाँ तेरो हृदयमा हुनुहुन्न र तैँले उहाँसँग आफ्नो सम्बन्ध टुटाइसकेको छस्, साथै तैँले परमेश्वरलाई आफ्नो सबैभन्दा घनिष्ठ, विश्वासिलो, सबैभन्दा निकट परिवारको सदस्य र विश्वासपात्रझैँ व्यवहार गर्दैनस् भने, परमेश्वर तेरो परमेश्वर हुनुहुन्न। केही समयसम्म मेरा वचनहरूअनुसार अभ्यास गर अनि तिमीहरूको भित्री स्थिति परिवर्तन भएको छ कि छैन भनी हेर। तैँले मेरा वचनहरूअनुसार अभ्यास गरेर आफू परमेश्वरसामु जिउने, आफूमा सामान्य अवस्था र स्थिति भएको सुनिश्चित गर्न सक्छस्। जब कुनै व्यक्तिको स्थिति सामान्य हुन्छ, र ऊ कुनै मानिस, घटना, र कामकुराहरू वा तिनीहरूको जीवन अनुभवका सबै चरणमा आइपर्ने विभिन्न वातावरणहरूद्वारा प्रभावित हुँदैन, र ऊ सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाहमा लागिपर्न सक्छ, तब उसमा साँचो कद हुन्छ र ऊ सत्यता वास्तविकतामा प्रवेश गरेको व्यक्ति हुन्छ।
जुलाई १३, २०१७