सत्यता अभ्यास गर्नु भनेको के हो

प्रशस्त मानिसहरू धेरै वर्षसम्म प्रवचनहरू सुन्छन्, तर सत्यता के हो भन्ने कुरै बुझ्दैनन्, न त आफूले सत्यताको कुन पक्षमा कोसिस केन्द्रित गर्नुपर्ने हो भन्ने नै बुझ्छन्। हृदय नभएका विचारहीन मानिसहरूझैँ तिनीहरू सधैँ सुनेर बस्छन्, अरू केही गर्दैनन्। थुप्रै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि पनि तिनीहरूमा केही अनुभव र गवाही नहुनु कुनै नौलो कुरा होइन। साँच्चिकै सत्यता पछ्याउने व्यक्तिले आत्मचिन्तन गर्नुपर्छ। के तैँले भन्ने र गर्ने कुराहरू सत्यताबमोजिम छन्? तँमा केको कमी छ? तैँले के-कस्ता कमीहरू परिपूर्ति गर्नुपर्छ? तैँले आफ्नो कर्तव्य कत्तिको राम्ररी निभाउँदै छस्? के तँ सिद्धान्तअनुसार काम गर्न सक्षम छस्? यदि तँ यी कुराहरूमा प्रष्ट छैनस् भने, तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। यदि तेरो सत्यता पछ्याउने र प्राप्त गर्ने इच्छा छ भने, तैँले परमेश्‍वरका वचनहरू बारम्बार पढ्ने र मनन गर्ने गर्नुपर्छ। जुनसुकै कर्तव्य निभाए पनि, तैँले आफूले बुझ्न आवश्यक सत्यताहरू मनन गर्ने र ठम्याउने काम गर्नुपर्छ, र तैँले जति धेरै सत्यताहरू बुझेको छस् ती सबै अभ्यास र अनुभव गर्न सक्नुपर्छ। तैँले सधैँ यस्तो विचार गर्नुपर्छ, “के मैले यो सत्यता अभ्यास गरेको र यसमा प्रवेश गरेको छु? यो सत्यताले जीवनका कुन-कुन पक्षहरू जनाउँछ? कुन-कुन वातावरणहरू जनाउँछ? कुन-कुन परिस्थितिहरू जनाउँछ?” यी प्रश्‍नहरूलाई तैँले हृदयमै गाडेर राख्‍नुपर्छ, र फुर्सदको समयमा सुल्झाउने प्रयास गर्नुपर्छ। यदि तैँले यसबारेमा सोच्छस् तर बुझ्दैनस् भने, प्रार्थना-वाचन गर्नुपर्छ, परमेश्‍वरसामु आउनुपर्छ र मनका कुराहरू खुलस्त भन्नुपर्छ। परमेश्‍वरमाथिको विश्‍वासमा, धेरैजसो मानिसहरूले सत्यताप्रति दृढ रूपमा मन लगाएकै हुँदैनन्। तिनीहरूको मन केमा लागेको हुन्छ? तिनीहरूको मन जहिले पनि बाह्य मामिलाहरूमा लागेको हुन्छ, र तिनीहरू सधैँ आडम्बर र घमण्ड, के सही र के गलत भन्ने विषयहरूमै अल्झेर बस्छन्। तिनीहरूलाई सत्यतासँग कुन कुराहरू सम्बन्धित छन् र कुन छैनन् भन्ने नै थाहा हुँदैन, त्यसैले तिनीहरू यस्तो सोच्छन्, “जबसम्म म परमेश्‍वरको घरमा काम गरिरहेको हुन्छु, जबसम्म कर्तव्य निभाउन दौडधुप र दुख गरिरहेको हुन्छु, तबसम्म मैले सत्यता अभ्यास गरिरहेको हुन्छु।” यो कुरा गलत हो। के कुनै व्यक्तिले परमेश्‍वरको घरको लागि काम गरेर, अनि दौडधुप र दुख गरेर सत्यता अभ्यास गरिरहेको हुन्छ र? यसो भन्नुको केही आधार छ र? कामहरू गर्ने क्रममा दुख सहनु र सत्यता अभ्यास गर्नु दुई भिन्न कुराहरू हुन्। यदि तँलाई सत्यता के हो भन्ने नै थाहा छैन भने, तैँले त्यसलाई कसरी अभ्यास गर्न सक्छस्? के त्यो हास्यास्पद कुरा होइन र? तँ मानव धारणा र कल्पनाहरूअनुसार व्यवहार गर्दै छस्, तँ दुविधा र अव्यवस्थित स्थितिमा रही आफ्नै विचारहरूअनुसार काम गर्दै छस्। तेरो मनमा दुविधा छ, कुनै लक्ष्य, दिशा, वा सिद्धान्त छैन। तँ काममात्र गरिरहेको छस्, र ती काम गर्दा दुख खेपिरहेको छस्—त्यो कसरी सत्यता अभ्यास गर्ने कुरासित सम्बन्धित छ र? यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने तिनीहरूले जे गरे पनि, र जति दुख खेपे पनि, तिनीहरू सत्यता अभ्यास गर्नबाट टाढै हुन्छन्। मानिसहरू सधैँ आफ्नै इच्छाअनुसार काम गर्छन्, र काम सकाउनकै लागि मात्र काम गर्छन्; तिनीहरू आफ्ना कार्यहरू सत्यताका सिद्धान्तहरूबमोजिम छन् कि छैनन् भन्ने नै सोच्दैनन्। यदि तँलाई आफूले गरिरहेको काम सत्यताबमोजिम छ कि छैन भन्ने थाहा छैन भने, तैँले निश्‍चय नै सत्यता अभ्यास गरिरहेको छैनस्। कतिले भन्लान्, “म मण्डलीको लागि कामहरू गर्दै छु। के त्यो सत्यता अभ्यास गर्नु होइन?” त्यो सिधै गलत हो। कुनै व्यक्तिले मण्डलीको लागि काम गर्छ भने के उसले सत्यता अभ्यास गरेको मानिन्छ त? त्यस्तै हुन्छ भन्‍ने छैन—त्यो त उक्त व्यक्तिका कार्यहरूमा सिद्धान्तहरू छन् कि छैनन् भन्ने हेरेर मात्र निर्धारण गर्न सकिन्छ। यदि कसैले गरिरहेको काममा कुनै सिद्धान्त छैन भने, त्यो उसले जसको लागि गरिरहेको भए पनि, उसले सत्यता अभ्यास गरिरहेको हुँदैन। यदि उसले कुनै असल काम गर्छ नै भने पनि, सत्यताको अभ्यास ठहरिनको लागि त्यो काम सत्यताको सिद्धान्तबमोजिम नै गरिनुपर्छ। यदि उसले सिद्धान्तहरू उल्लङ्घन गर्छ भने, उसले गर्ने जुनसुकै असल काम पनि केवल उसको असल व्यवहार हुन्छ र त्यसले सत्यता अभ्यास गर्ने मापदण्ड पूरा गर्दैन। अहिले कैयौँ मानिसहरू छन् जो आफ्ना कर्तव्यहरू निर्वाह गर्दा सत्यताका सिद्धान्तहरू पछ्याउन खोज्दैनन्, यसको मतलब तिनीहरू सत्यताप्रति समर्पित नभई सेवा मात्र गरिरहेका छन्। यदि कुनै व्यक्तिले कहिल्यै सत्यता पछ्याउन खोज्दैन भने, उसले पर्याप्त मात्रामा कर्तव्य निभाउन सक्दैन; त्यस्तो व्यक्ति निश्‍चित रूपमा परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये पर्दैन, उसलाई सेवाकर्ता मात्र भन्न सकिन्छ। यदि उसले अन्त्यसम्मै सेवा दिइराख्‍न सक्छ भने, उसलाई बफादार सेवाकर्ता मानेर मण्डलीमा रहन दिन सकिन्छ। तर यदि उसले सेवा गर्ने क्रममा केही खराब कामहरू गरेको छ भने, उसलाई अब फेरि नचाहिने मौसमी कामदारलाई झैँ बीचैमा निकालिनेछ। बढीजसो सेवाकर्ताहरू यसरी नै निकालिन्छन्। यदि तिनीहरूहरूले मापदण्डअनुसार सेवा दिन सक्दैनन् भने, तिनीहरू निश्‍चय नै अडिग रहन सक्दैनन्।

सत्यता अभ्यास गर्नुको अर्थ के हो? कुनै काम पूरा गर्दा वा कर्तव्य निर्वाह गर्दा सत्यता अभ्यास गर्नु वा नगर्नु भनेको के हो? सत्यता अभ्यास नगर्नु भनेको व्यक्तिले गरिरहेको काम सत्यतासित सम्बन्धित नहुनु हो। त्यो व्यक्तिले कर्तव्य निर्वाह गरिरहेको हुन सक्छ, तर उसले यसो गर्नु र सत्यताबीच खासै सम्बन्ध हुँदैन। त्यो एक प्रकारको असल व्यवहार मात्र हुन्छ, र त्यसलाई असल कर्म मान्न सकिन्छ, तर त्यो अझै पनि सत्यता अभ्यास गर्ने कामभन्दा धेरै टाढा हुन्छ—र यी कुराहरूबीच एउटा भिन्नता हुन्छ। त्यो भिन्नता के हो? तैँले केही काम गर्दा कुनै दायरा वा नियमहरू पालना गरिरहेको मात्र हुन्छस्। तैँले परमेश्‍वरको घरको हितमा कुनै क्षति पुग्न दिँदैनस्, तँ अलि बढी दौडधुप गर्छस् र अलि बढी दुख खेप्छस्, तैँले यी कुराहरू हासिल गरेको हुन्छस्, र यदि तँसित गरिएका अपेक्षाहरू विशेष उच्च छैनन् भने, तैँले आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गरिरहेको हुन सक्छस्। तर विचार गर्नुपर्ने अर्को कुरा छः के तैँले त्यो काम गर्ने क्रममा आफूभित्र परमेश्‍वरलाई दुःखी तुल्याउने कस्ता भ्रष्ट स्वभाव, सोच र चीजहरू छन् भनी खोतल्ने र उजागर गर्ने काम गरेको छस्? के तैँले त्यो काम गरेर अनि आफ्नो कर्तव्य निर्वाह गरेर साँचो आत्मज्ञान प्राप्त गरेको छस्? के तैँले आफूले अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता भेट्टाएको छस्? (बिरलै—कहिलेकाहीँ म आफैलाई परमेश्‍वरको वचनसित तुलना गर्छु, र आफैलाई अलिकति चिन्न पाउँछु, त्यति नै हो।) त्यसोभए तँसित बढीजसो आफूबारे सैद्धान्तिक, सूत्रगत ज्ञान मात्र छ, व्यवहारिक ज्ञान छैन। यदि तँ सत्यता पछ्याउँदैनस्, सत्यता अभ्यास गर्दैनस् र तैँले सत्यता प्राप्त गरेको पनि छैनस् भने, तैँले कुनै ठूला भूलहरू र कुनै ठूला सिद्धान्तहरू उल्लङ्घन नगरे पनि, तैँले सक्रिय रूपले दुष्ट काम नगरेको भए पनि र तँ अलिअलि मानवता भएको असल व्यक्तिजस्तो देखिए पनि, तैँले कुनै भूल नगर्नु र तँमा मानवता देखिनु भनेको सत्यताबमोजिम हुनु वा सत्यता अभ्यास गर्नुसरह होइन। यी कुराहरू एकअर्काबाट टाढा र भिन्न छन्। कैयौँ वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि, थुप्रै मानिसहरूले आफूहरू खाट्टी सेवाकर्ताहरू भएको थाहा पाउँछन्। तिनीहरू आफू कसरी सेवाकर्ता बन्न पुगेँ भनी सोच्छन्, तर जतिसुकै मनन गरे पनि जवाफ पाउँदैनन्। जब मानिसहरूले परमेश्‍वरमा भर्खरै विश्‍वास गर्न थालेका हुन्छन्, तिनीहरूमा सेवाकर्ता बन्ने अभिप्राय हुँदैन। तिनीहरू असल विश्‍वासी बन्ने, सत्यताबारे बुझाइ प्राप्त गर्ने, र अन्त्यमा मुक्ति प्राप्त गरी स्वर्गको राज्यमा प्रवेश गर्ने—वा कम्तीमा पनि बाँचिरहन सक्षम बन्ने योजना बनाउँछन्। तिनीहरूले विश्‍वासी भएको नाताले आफूले परमेश्‍वरको डर मान्नु र दुष्टताबाट अलग रहनुपर्ने र उहाँप्रति समर्पित हुनुपर्नेबारे पनि सोच्छन्। तिनीहरू थाहै नभई कसरी सेवाकर्ता बन्न पुग्छन्? यस्तो किन हुन्छ भने तँ आफ्नो कर्तव्यमार्फत सत्यता अभ्यास गर्न वा सत्यताको वास्तविकतामा प्रवेश गर्न कहिल्यै सक्दैनस्, र परमेश्‍वरले तेरो लागि मिलाउनुभएको वातावरणहरूमा—जहिले पनि तँ आफ्नो कर्तव्य निर्वाह गर्नुको साटो परिश्रम मात्र गरिरहेको हुन्छस्। कारण त्यही हो। त्यसकारण, तैँले केही अवधिसम्म आफ्नो कर्तव्य निर्वाह गरिसकेपछि, जब तैँले आफूलाई शान्त पारेर यस्तो सोच्छस्, “यस अवधिमा मैले के प्राप्त गरेको छु? जब म बाहिर निस्केँ एकपटक म झण्डै खतरामा परेँ, तर परमेश्‍वरले मलाई बचाउनुभयो,” के परमेश्‍वरले तँलाई बचाउनुभएको कुरा देख्नुलाई तैँले उहाँलाई चिनेको भन्न सकिन्छ? यी कुराहरूले न तँलाई परमेश्‍वरप्रति विश्‍वास बढाउन प्रेरित गर्छ, न त तँलाई आफ्नो भ्रष्ट स्वभाव, प्रकृति र सारको साँचो बुझाइ प्राप्त गर्न नै सक्षम तुल्याउँछ। यस अवधिमा तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गरिस् भनी फर्केर सोच्दा, के तैँले आफ्नो जीवन प्रवेशमा केही प्रगति गरेको छस्? यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता अभ्यास गरिस्, र सिद्धान्तहरूअनुसार व्यवहार गरिस् भने, तैँले अवश्य प्रगति गर्नेछस्। मानौँ तँ यसो भन्छस्, “जहाँसम्म सकारात्मक पाटोको कुरा छ, परमेश्‍वरलाई चिन्ने सत्यता गहन हुन्छ; मैले साँच्चिकै त्यो बुझेको छैन वा त्यसबाट अहिलेसम्म खासै धेरै सिकेको छैन। तर नकारात्मक पाटोको कुरा गर्नुपर्दा, मलाई थाहा छ कि पहिचान गर्न सबैभन्दा कठिन भ्रष्ट स्वभावहरूमा परमेश्‍वरले खुलासा गर्नुभएको मानवजातिको भ्रष्ट स्वभाव, परमेश्‍वरविरोधी र उहाँको प्रतिरोध गर्ने मानवताको सार, मानवताको दुष्ट प्रकृति र छलीपन, साथसाथै मानिसको हृदयको गहिराइमा लुकेका भनी परमेश्‍वरले खुलासा गर्नुभएको भ्रष्ट स्वभाव पर्छन्। पहिले, मैले यो बुझ्न सक्दिनथेँ, तर अहिले थाहा पाउन र बुझ्न थालेको छु, र मेरो हृदयमा यसबारे केही समझ छ।” यो प्रगति हो। तँसित यी भावनाहरू छन्, र जब तैँले आफूलाई शान्त बनाउँछस् र त्यसबारे ध्यानपूर्वक सोच्ने कोसिस गर्छस्, तैँले थुप्रै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेको तेरो अनुभव अति सतही भएको पाउनेछस्, र आफूमा कैयौँ कमीकमजोरीहरू रहेको देख्‍नेछस्। तँसित आफूमा भ्रष्टता रहेको सत्यताबारे केही बुझाइ छ, तर तैँले भर्खरै मात्र पश्‍चाताप गर्न थालेको छस्। तैँले कम पाप गर्छस्, र व्यवहारमा केही सानातिना परिवर्तन देखाउँछस्, तर यो अझै पनि जीवन स्वभावमा हुने परिवर्तनबाट निकै टाढा छ। तैँले थप केही वर्षको अनुभव प्राप्त गरुञ्जेल, अर्थात तँसित तेरो भ्रष्ट स्वभावबारे योभन्दा गहन बुझाइ, र तेरो जीवन स्वभावमा केही परिवर्तन हुञ्‍जेल पर्खी—त्यसपछि तैँले अन्त्यमा परमेश्‍वरबाट महान्‌ मुक्ति प्राप्त गरेको अनुभव गर्नेछस्, र यसो भन्नेछस्, “मान्छेको खुलासा गर्ने परमेश्‍वरका वचनहरू सत्य हुन्, र म परमेश्‍वरका वचनहरूलाई आमेन भन्छु। उहाँका वचनहरू सत्यता हुन्, ती कति सत्य छन्!” जब मानिसले आफैलाई चिन्दैनन्, तिनीहरू सबैले यसो भन्छन्, “अरूले परमेश्‍वरलाई घात गर्लान्, तर मैले कहिल्यै गर्नेछैन। अरूले परमेश्‍वरलाई त्याग्लान्, तर मैले कहिल्यै त्याग्नेछैन।” के यी खोक्रा शब्दहरू होइनन्? तथ्यहरूको खुलासापछि, मानिसहरूले आफूहरू अत्यन्तै भरहीन भएको, आफूहरूलाई परमेश्‍वरद्वारा हेरचाह र सुरक्षा गरिनु जरुरी रहेको, आफूहरूले परमेश्‍वरको हेरचाहलाई साँच्चिकै त्याग्न नसक्ने अवस्था रहेको, परमेश्‍वरको अनुग्रह र करूणामार्फत मात्र मानवजाति आजको दिनसम्म आइपुग्‍न सकेको, र मानवजातिले घमण्ड गर्नुपर्ने केही चीज नरहेको समझ पाउँछन्। यदि तँलाई यस्तो महसुस भइरहेको छ भने, त्यो तेरो अनुभवको कारण भएको हो, अरूले तँभित्र हालिदिएको होइन। तेरो व्यक्तिगत भोगाइ र अनुभवकै कारण त्यस्तो हुन्छ। यी कुराहरू अति व्यवहारिक र गहन छन्, मानिसहरूले बारम्बार बोल्ने ठूल्ठूला खोक्रा शब्दहरू भन्दा कैयौँ गुणा बढी व्यावहारिक छन्। जब तँसित यसप्रकारको अनुभव हुन्छ, र तेरो हृदयमा यस्तो भावना हुन्छ, तँभित्र परमेश्‍वरप्रति, उहाँका वचनहरूप्रति, र सत्यताप्रति तृष्णा जाग्नेछ। तँ परमेश्‍वरका वचनहरूको कदर गर्न, र उहाँका वचनहरू अभ्यास र अनुभव गर्न प्रेरित हुनेछस्, र तँ परमेश्‍वरसितको तेरो सम्बन्धमा एक पाइला नजिक पुग्‍नेछस्। यसले प्रमाणित गर्छ कि तँ परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा पुगिसकिस्, र तैँले सत्यताको वास्तविकतामा प्रवेश गर्न सुरू गरिसकिस्। सधैँ धर्मसिद्धान्तका कुराहरू र खोक्रा वादहरू मात्र प्रवचन गर्ने मानिसहरू परपरै धकेलिनेछन्, र तिनीहरू परमेश्‍वरको घरमा झन्झन् एक्लिनेछन् र लज्जित बन्‍नेछन्। तिनीहरूले आत्मचिन्तन गर्नु जरुरी छ, र तिनीहरू जाग्ने बेला भएको छ।

कुनै व्यक्तिमा सत्यताको वास्तविकता छ कि छैन भन्ने कुरा मापन गर्ने वा कसैले सत्यता अभ्यास गरिरहेको छ कि छैन भनेर हेर्ने मापदण्डहरू के-के हुन्? जब उसलाई केही आइपर्छ, तैँले परमेश्‍वरप्रति उसको मनोवृति कस्तो छ, उसले सत्यता खोज्न सक्छ कि सक्दैन, उसले आफैलाई साँच्चै चिन्छ कि चिन्दैन, र उसले परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ कि सक्दैन भन्ने कुराहरू हेर्नुपर्छ। तैँले यी कुराहरूबारे प्रष्ट बुझेर, उसले सत्यता अभ्यास गरिरहेको छ कि छैन वा ऊसँग सत्यताको वास्तविकता छ कि छैन भन्ने कुरा निर्धारण गर्न सक्छस्। यदि कसैले जहिले पनि धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू मात्र प्रवचन गर्छ र आफूलाई केही आइपर्दा ठूलाठूला शब्दहरू फलाक्छ भने, ऊसित सत्यताको वास्तविकता नभएको प्रष्ट हुन्छ। सत्यताको वास्तविकता नभएको कुनै व्यक्तिलाई केही कुरा आइपर्‍यो भने, के उसले सत्यता अभ्यास गर्न सक्छ? सम्भवत सक्दैन। उसले यसो भन्न सक्छ, “यो कुरा आइलागिहाल्यो, म परमेश्‍वरमा समर्पित हुन्छु!” तँ परमेश्‍वरमा किन समर्पित हुन चाहन्छस्? सिद्धान्त सही छ, तर तैँले आफ्नै भावनाको आधारमा, आफैले लेखाजोखा र निर्धारित गरेको विधि प्रयोग गरेर काम गरिरहेको हुन सक्छस्। तँ परमेश्‍वरमा समर्पित हुने कुरा गर्छस्, तर हृदयभित्र सधैँ परमेश्‍वरले गर्नुहुने सबै कुरामा शङ्का गरिरहेको हुन्छस्। परमेश्‍वरले किन त्यसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा बुझ्दैनस्, तर तँ उहाँमा समर्पित हुनुपर्छ भनेर आफैलाई भनिरहन्छस्, जबकि खासमा, तँसित त्यस्तो अभिप्राय नै छैन। तँ बाहिरबाट हेर्दा मात्र प्रतिरोध र गुनासो नगर्ने, बरु जे गर्नू भनिन्छ त्यही गर्नेजस्तो देखिन्छस्। तँ समर्पित भएजस्तो देखिन्छ, तर यस्तो खाले समर्पण ओठे-सेवा, अर्थात्‌ जसोतसो नियम पालन गर्नु मात्र हो। तैँले समर्पण अभ्यास गरिरहेको छैनस्। तैँले आफूलाई समर्पित हुन नदिने भ्रष्ट स्वभाव पहिचान र विश्‍लेषण गरी त्यसलाई परमेश्‍वरका वचनहरूसित तुलना गरेर हेर्नुपर्छ। यदि तैँले तेरो भ्रष्ट स्वभावबारे साँचो ज्ञान प्राप्त गरिस् भने, यदि परमेश्‍वरलाई साँच्चिकै बुझ्न सकिस्, उहाँले जसरी व्यवहार गर्नुहुन्छ त्यो किन गर्नुहुन्छ भनेर जानिस् भने, र यदि त्यो कुरा पूर्ण रूपले बुझ्न सकिस् भने, तँ परमेश्‍वरप्रति समर्पित बन्न सक्छस्। अनि, तैँले भन्नेछस्, “कठिनाइ जतिसुकै ठूलो भए पनि, मैले जतिसुकै कमजोर र दुखी महसुस गरे पनि, म नकारात्मक हुनेछैन, र म परमेश्‍वरमा समर्पित हुनेछु, किनकि मलाई थाहा छ, परमेश्‍वरले जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ, उहाँले जे गर्नुहुन्छ ती सबै सही हुन्छन्। उहाँले केही पनि गलत गर्न सक्नुहुन्न।” जब तैँले यो ज्ञान हासिल गर्छस्, तेरो समस्या पूर्ण रूपमा सुल्झिएको हुनेछ। कतिपय मानिसहरू सत्यता खोज्दैनन् र यस तरिकाले समस्याहरू सुल्झाउँदैनन्। तिनीहरूले केवल धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू प्रवचन गर्छन्, र तिनीहरूले सबैकुरा बुझेजस्तो लाग्छ, तर जब तिनीहरूलाई साँच्चिकै कठिनाइ आइपर्छ, तिनीहरूले चाहेर पनि सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूको हृदयमा गुनासा र गलत बुझाइहरू रहिरहन्छन्—तैपनि समस्या सुल्झाउन तिनीहरू सत्यता खोज्दैनन्। यी गुनासा र गलत बुझाइहरू मानिसभित्रै लुकेका हुन्छन्। खासमा, ती कुराहरू क्यान्सरजस्तै हुन्, र सही वातावरण आउँदा प्रकट भइहाल्छन्। त्यो हुनुपहिले, मानिसहरूले ती कुरा महसुस गर्नै सक्दैनन्, र तिनीहरू सत्यताबारे सबै बुझेको छु र कुनै कठिनाइ छैन भन्ठान्छन्। तर जब पछि तिनीहरूलाई केही आइपर्छ, तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुँदैनन्। यसले तँमा परमेश्‍वरमाथिको साँचो विश्‍वास छैन र तैँले साँच्चिकै सत्यता बुझ्दैनस् भन्ने प्रमाणित गर्छ। यसको मतलब के हो? यसको मतलब, तैँले धर्मसिद्धान्तका केही शब्द र वाक्यांशहरू प्रवचन गर्न र जसोतसो केही नियमहरू पालन गर्न मात्र सक्छस् भन्‍ने हो। तँ कहिलेकाहीँ समर्पित हुन सके पनि, त्यो नियम पालन गर्ने समर्पण मात्र हो, र यो अति सीमित समर्पण हो। यदि तेरो धारणासँग नमिल्ने केही कुरा आइपर्‍यो भने, तँ समर्पित हुन सक्नेछैनस्। यसले देखाउँछ कि तँ साँच्चिकै परमेश्‍वरमा समर्पित हुन सक्ने व्यक्ति होइनस् र तेरो भ्रष्ट स्वभाव सुल्झिएको र बदलिएको छैन। तैँले आफूमाथि आइपर्ने परिस्थितिहरूको आधारमा तेरो भ्रष्ट स्वभाव जान्‍नुपर्छ, र परमेश्‍वरले जे गर्नुहुन्छ ती सबैलाई तैँले जान्नु, बुझ्नु र तीबारे विचारशील हुनुपर्छ। त्यसपछि, तैँले साँचो र इच्छित समर्पण हासिल गर्नुपर्छ, र तँलाई जे आइपरे पनि र त्यो तेरो धारणासित जतिसुकै नमिले पनि, तँ समर्पित हुन सक्षम हुनुपर्छ। परमेश्‍वरमा साँच्चिकै समर्पित हुन र साँच्चिकै परिवर्तित व्यक्ति बन्नलाई तँ यो स्तरमा पुग्नैपर्छ।

परमेश्‍वरमा वर्षौँसम्म विश्‍वास गरेका अधिकांश मानिसहरूलाई उहाँप्रति समर्पित हुनु भनेको के हो भन्ने नै थाहा छैन। तिनीहरूलाई धर्मसिद्धान्तका कुरा र वाक्यांशहरू कसरी बोल्ने भन्ने मात्र थाहा छ, सत्यता अभ्यास गर्नु भनेको के हो, वा परमेश्‍वरमा समर्पित हुन कसरी अभ्यास गर्ने भन्ने थाहा छैन। यस्तो किन भएको हो? कतिपय मानिसहरू आफ्नै धारणा र कल्पनाहरूअनुसार परमेश्‍वरमा समर्पित हुन्छन्, अनि परमेश्‍वरले भन्नुभएका कुराहरू तिनीहरूका धारणाहरूसित नमिल्दा, तिनीहरू समर्पित हुन सक्दैनन्। त्यसपछि तिनीहरूमा परमेश्‍वरबारे धारणा र गलत बुझाइहरू उब्जन्छन्, र तिनीहरूले सत्यता खोज्दैनन्। यदि तिनीहरू साँच्चिकै परमेश्‍वरप्रति समर्पित हुने मानिस हुन्थे भने, परमेश्‍वरका वचनहरू मानव धारणाहरूसित मिलोस् वा नमिलोस्, तिनीहरू समर्पित हुन सक्थे, किनभने परमेश्‍वरप्रतिको मान्छेको समर्पण स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो। यदि व्यक्तिले यस तरिकाले अभ्यास गर्छ भने, ऊ परमेश्‍वरप्रति समर्पित भइरहेको छ, र यदि कसैले यस अभ्यासमार्फत सत्यता बुझ्न पुग्छ भने, ऊसित परमेश्‍वरप्रतिको समर्पणको वास्तविकता छ। अधिकांश मानिसहरूले सत्यता अभ्यास गर्ने कोसिस गर्दा परमेश्‍वरका वचनहरूको शाब्दिक सिद्धान्त मात्र अभ्यास गर्छन्, तर आफूले सत्यता नै अभ्यास गरिरहेको छु भन्ठान्छन्। तर तथ्य के हो भने त्यस्तो काम गराइले सत्यता अभ्यासको स्तर भेट्न सक्दैन। सत्यता अभ्यासका सिद्धान्तहरू हुनुपर्छ। यदि व्यक्तिले अभ्यासका सिद्धान्तहरू भेट्न सक्दैन भने, उसले बस नियम पालना मात्र गरिरहेको हुन्छ, र यस्तो अभ्यासमा सिद्धान्तअनुसार व्यवहार गर्ने आवश्यक कुराहरूको कमी हुन्छ। कैयौँ मानिसहरूले धर्मसिद्धान्तको शब्द र वाक्यांशका नियमहरू मात्र पालना गर्छन्, र तिनीहरूको अभ्यासमा कुनै सिद्धान्त हुँदैन। यसले सत्यता अभ्यास गर्ने मापदण्डहरू पूरा गर्दैन। धर्ममा लागेकाहरू प्रत्येकले आ-आफ्ना धारणा र कल्पनाहरूअनुसार व्यवहार गर्छन् र त्यसलाई सत्यता अभ्यास गरेको भन्ठान्छन्। उदाहरणको लागि, तिनीहरूले प्रेमबारे, वा विनम्रताबारे प्रवचन दिन सक्छन्, तर तिनीहरू राम्रा सुनिने शब्दहरू मात्र रटान मारिरहेका हुन्छन्। तिनीहरूको अभ्यासमा कुनै सिद्धान्त हुँदैन, र तिनीहरू सबैभन्दा आधारभूत कुराहरू नै बुझ्न सक्दैनन्। व्यक्तिले यसरी अभ्यास गरेर कसरी सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छ? परमेश्‍वरका वचनहरू सत्यता हुन्; वास्तविकता भनेको मान्छेले जिउने हो। व्यक्तिले सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरू जिउन नसकेसम्म सत्यताको वास्तविकता प्राप्त गर्न सक्दैन। परमेश्‍वरका वचनहरूको अभ्यास र अनुभवमार्फत मानिसहरूले पवित्र आत्माको अन्तर्दृष्टि र परमेश्‍वरका वचनहरूको साँचो ज्ञान प्राप्त गर्छन्। त्यसपछि मात्र तिनीहरूले सत्यता बुझ्छन्। साँच्चिकै सत्यता बुझ्ने मानिसहरू अभ्यासका सिद्धान्तहरू निर्धारण गर्न सक्षम हुन्छन्। जब तैँले अभ्यासका सिद्धान्तहरू राम्ररी बुझेको हुन्छस्, तेरो बोली र व्यवहारमा सिद्धान्तहरू हुनेछन्, र तेरो कर्तव्यनिर्वाह सत्यताका सिद्धान्तहरूबमोजिम हुनेछ। सत्यता अभ्यास गर्नु नै यही हो; र यही नै सत्यताको वास्तविकता धारण गर्नु हो। सत्यताको वास्तविकता जिएपछि मात्र तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस्, र यदि तैँले सत्यताको वास्तविकता जिउदैनस् भने, तँ सत्यता अभ्यास गरिरहेको हुँदैनस्। सत्यता अभ्यास गर्नु भनेको, मानिसहरूले कल्पेजस्तो, नियमहरू पालना गर्नु मात्र होइन, र त्यसैले व्यक्तिले आफूलाई जसरी मन लाग्यो त्यसरी अभ्यास गर्नु हुँदैन। परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्ने क्रममा तैँले साँच्चिकै सत्यता बुझ्छस् कि बुझ्दैनस्, र तेरो बोली र व्यवहारमा सत्यताका सिद्धान्तहरू छन् कि छैनन् भनेर परमेश्‍वरले हेर्नुहुन्छ। यदि तैँले सत्यता बुझ्छस् र सत्यता अभ्यास गर्न सक्छस् भने, तैँले जीवन प्रवेश पाउनेछस्। परमेश्‍वरका वचनहरूबारे तँसित जे अनुभव र ज्ञान छ, र ती वचनहरूबारे तँसित जे बुझाइ छ, ती सबै कुरा तेरो जीवन प्रवेशसित सिधै जोडिएका हुन्छन्। यदि तैँले धेरै कुराहरू अनुभव गरेको छस्, धेरैपटक असफलता भोगेको छस्, सच्चा पाठहरू सिकेको छस्, र व्यावहारिक अनुभवहरू लिएको छस् भने, तँलाई आफूसित सत्यताको वास्तविकता भएको भान हुन सक्छ। के यो सही हो? होइन। के यस्तो भावना भरपर्दो हुन्छ? त्यो भरपर्दो पनि हुँदैन। सत्यताको वास्तविकता भएका मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन र उहाँको साक्षी दिन सक्छन्, र तिनीहरूको गवाही सुन्‍दा अरूले धेरै अन्तर्दृष्टि पाउँछन्। ती मानिसहरूसित मात्र सत्यताको वास्तविकता छ भन्न सकिन्छ। यदि कुनै व्यक्तिले सत्यता बुझ्ने मानिसहरूको स्विकृति र अनुमोदन प्राप्त गर्न सक्छ भने मात्र ऊसित सत्यताको वास्तविकता हुन्छ। तँसित सत्यताको वास्तविकता छ कि छैन भन्ने कुरा प्रमुख रूपले तैँले सत्यता बुझ्न सक्छस् कि सक्दैनस् र उहाँका वचनहरू अभ्यास र अनुभव गरेर परमेश्‍वरलाई चिन्न पुग्छस् कि पुग्दैनस् भन्ने कुरामा निर्भर रहन्छ। यदि तेरा अभ्यास र अनुभवहरू परमेश्‍वरका वचनहरू र सत्यतासित सम्बन्धित छैनन् भने, तँसित जीवनको साँचो अनुभव हुँदैन। यसले परमेश्‍वरसित तेरो सम्बन्ध असामान्य छ भन्‍ने पनि प्रमाणित गर्छ। म किन परमेश्‍वरसित तेरो सम्बन्ध असामान्य छ भनिरहेको छु? किनकि तैँले उहाँका वचनहरू अभ्यास र अनुभव गरेको छैनस्, र तैँले सत्यताको बुझाइ प्राप्त गरेको छैनस्। यसले के देखाउँछ भने, तँ परमेश्‍वरको काम अनुभव गर्ने व्यक्ति होइनस्, परमेश्‍वरमा समर्पित हुने व्यक्ति हुनु त परको कुरा हो। तैँले परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेको छस् भने मात्र, धेरै परीक्षा र सङ्कष्टहरू भोगेको, र परमेश्‍वरप्रति तेरो विश्‍वास र प्रेम बढेको, र आफ्नो गवाहीमा तँ अडिग रहिआएको छस् भने मात्र, तँसित परमेश्‍वरप्रति सच्चा विश्‍वास भएको देखिनेछ। त्यस्तो सच्चा विश्‍वास आफ्नो गवाहीमा अडिग रहेर प्रमाणित गर्नुपर्छ; तैँले त्यसो गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यो तँ सत्यता अभ्यास गरिरहेको छस् कि छैनस् भन्ने कुराको जाँच हो, र यसले तँमा सच्चा विश्‍वास छ कि छैन भन्ने कुराको खुलासा गर्छ। उदाहरणको लागि, यदि परमेश्‍वरले एउटा अवस्था सिर्जना गर्नुहुन्छ जसमा तैँले सबैभन्दा बढी प्रेम र ख्याल गर्ने मान्छे वा तँलाई सबैभन्दा प्रिय लाग्ने चीज उहाँले तँबाट खोसेर लान खोज्दै हुनुहुन्छ भन्ने तैँले बुझिस् भने, परमेश्‍वरप्रति तेरो मनोवृति कस्तो हुन्छ? यो “हे परमेश्‍वर, तपाईंले गर्नुहुने हरेक चीज राम्रै हुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु र तारिफ गर्छु” भनेर भन्‍नु अनि परीक्षा पार गर्नु भनेजस्तो होइन। जब तैँले सबैभन्दा बढी प्रेम गर्ने मान्छेले अन्तिम सास फेर्न लागेको हुन्छ, तेरो हृदयमा वेदना र अशान्ति मच्चिरहेको हुन्छ, र तैँले यसो भन्छस्, “यदि ऊ मर्‍यो भने म बाँच्न सक्दिनँ। म पनि ऊसितै मर्नेछु, किनकि म ऊबिना रहन सक्दिनँ! यदि ऊ मर्‍यो भने, म परमेश्‍वरमा बिलकुलै विश्‍वास गर्नेछुइनँ।” यस्तो अवस्थामा, तँसित सत्यताको वास्तविकता हुँदैन, र तेरो पूर्ण खुलासा भएको हुन्छ। के तँसित सच्चा विश्‍वास छ? तेरो प्रियजन मर्छ र तँ बाँच्न सक्दैनस्; तँ परमेश्‍वरलाई समेत चाहँदैनस्। तेरो प्रियजन मर्छ र तँ परमेश्‍वरको आज्ञापालन समेत गर्दैनस्। यसले के प्रमाणित गर्छ भने, तैँले मान्छेलाई प्रेम गर्छस् र उसकै आज्ञापालन गर्छस्। के यसद्वारा तँ खुलासा भएको छैनस् र? मूलतः तँ परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति होइनस्, तैँले उहाँलाई प्रेम गर्ने त कुरै छाडौँ। तैँले अरूसित गर्ने सङ्गति व्यवहारिक र हृदयस्पर्शी नभएर खोक्रो कुरा र धर्मसिद्धान्तले भरिएको हुनुपर्छ। तैँले बोल्ने धर्मसिद्धान्त र फलाक्ने नाराहरू तेरो विश्‍वासबाट उत्पन्न भएका हुन् कि होइनन् र ती तेरा साँचो बुझाइ हुन् कि होइनन् भन्ने कुरा तेरो परिक्षणमार्फत खुलासा गरिनेछ। यस्तो देखिन्छ कि तँ झूटो विश्‍वासी, ढोंगी, र गैरविश्‍वासी होस्। परमेश्‍वरप्रतिको विश्‍वासमा तैँले ओठे सेवा मात्र गर्छस्; उहाँका वचनहरूले तेरो हृदयमा जरा गाडेका छैनन्। परमेश्‍वरप्रतिको विश्‍वासको स्वरूप त्यतिबेला सबैभन्दा डरलाग्दो हुन्छ जतिबेला व्यक्तिले सबै धर्मसिद्धान्तहरू बुझ्छ तर उसमा परमेश्‍वरप्रति अलिकति पनि सच्चा विश्‍वास हुँदैन। यो सच्चा विश्‍वास कसरी पुष्टि गर्न सकिन्छ? सिद्धान्ततः कुनै व्यक्तिलाई केही आइपर्दा उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भन्ने हेरेर त्यो पुष्टि गरिन्छ। यदि उसले कहिल्यै सत्यता स्विकारेको पनि छैन र अभ्यास पनि गरेको छैन भने, वास्तवमा उसको खुलासा भइसकेको हुन्छ, र उसको खुलासा गर्न कुनै परिक्षण पर्खिरहनुपर्दैन। जब कुनै व्यक्तिको दैनिक जीवनमा परिस्थितिहरू आइपर्छन्, उसमा सत्यताको वास्तविकता छ कि छैन भन्ने कुरा तैँले त्यतिखेरै प्रष्ट देख्न सक्छस्। कैयौँ यस्ता मानिसहरू हुन्छन् जो प्रायजसो सत्यता पछ्याउँदैनन्, र आफूलाई केही आइपर्दा सत्यता अभ्यास गर्दैनन्। के यस्ता मानिसहरूले आफ्ना खुलासाको लागि कुनै परिक्षण पर्खिरहनुपर्छ र? बिलकुलै पर्दैन। केहीबेरपछि, यदि केही परिवर्तन भएन भने, यसको मतलब तिनीहरूको पहिल्यै खुलासा भइसकेको छ। यदि तिनीहरूलाई काटछाँट र निराकरण गरियो तर अझै पनि तिनीहरू सत्यता स्विकार्दैनन् र दृढ रूपमा अपश्‍चात्तापी रहन्छन् भने, तिनीहरूको झनै बढी खुलासा भएको हुन्छ, र तिनीहरूलाई हटाइनु र निष्कासन गरिनुपर्छ। प्रायजसो सत्यता स्विकार्न वा अभ्यास गर्नमा ध्यान नदिनेहरू सबै गैरविश्‍वासीहरू हुन, र तिनीहरूलाई कुनै काम वा कुनै जिम्मेवारी दिइनु हुँदैन। के सत्यताबिनाको व्यक्ति अडिग रहिरहन सक्छ? के सत्यता अभ्यास गर्नु महत्त्वपूर्ण छ? बस सत्यता कहिल्यै अभ्यास नगरेकाहरूलाई हेर्—तिनीहरू सबैको खुलासा हुन धेरै वर्ष लाग्नेछैन। तिनीहरूसित अनुभव वा गवाही बिलकुलै छैन। तिनीहरू कति गरीब र दयनीय छन्, र तिनीहरूलाई कति लज्‍जा महसुस हुँदो हो!

व्यक्तिमा परमेश्‍वरप्रति सच्चा विश्‍वास कसरी जाग्छ? त्यो अनुभवबाट आउँछ। अनुभवबाट कसरी आउँछ? यदि तँ आफूले सामना गर्ने प्रत्येक व्यक्ति, घटना, र वस्तुको लागि परमेश्‍वरको इच्छा के हो भनी खोजी र मनन गर्न सक्छस् भने, थुप्रै अनुभवपछि तँ बिस्तारै परमेश्‍वरप्रतिको साँचो बुझाइ—अर्थात् शाब्दिक बुझाइ नभई हृदयले महसुस गर्ने बुझाइमा पुग्‍नेछस्। तेरो हृदयले विश्‍वास गर्ने र तेरो मुखले स्विकार्ने परमेश्‍वर तेरो हृदयमा बस्नुहुन्छ, र यो कुरा कसैले खोसेर लान सक्दैन। अय्यूबकै कुरा गर्नुपर्दा, जब उसको परीक्षा लिइयो, उसका साथीहरूले यसो भने, “तिमीले पाप गरेर परमेश्‍वरलाई चिढ्याएका छौ। तुरून्तै यहोवा परमेश्‍वरसामु क्षमा याचना गर!” अय्यूबलाई आफूले कुनै पाप गरेजस्तो वा परमेश्‍वरलाई चिढ्याएजस्तो लागेन, तर किन त्यस्तो लागेन? किनभने दशकौँको जीवनपश्‍चात, अब परमेश्‍वरबारे उसको बुझाइ उसको आफ्नै अनुभवमा मात्र आधारित थिएन; र उसले यसो भनेनः “परमेश्‍वरले आशिष् प्रदान गर्नुहुन्छ र उहाँ मान्छेप्रति कृपालु हुनुहुन्छ, र तिनीहरूलाई कहिल्यै वञ्चित राख्‍नुहुन्न।” उसको अनुभव के थियो भने, परमेश्‍वरले मान्छेलाई दिनुहुन्छ, तर उहाँले खोस्‍नु पनि हुन्छ। जब उहाँले मान्छेलाई केही कुरा दिनुहुन्छ, सँगसँगै उहाँले कहिलेकाहीँ ताडना दिने, अनुशासनमा राख्ने, र दण्ड दिने काम पनि गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई जे गर्नुहुन्छ त्यसमा मानवको मन, सोच, वा कल्पनाको हुकुम चल्दैन। त्यसकारण, अय्यूबको दशकौँको जीवन अनुभवले उसलाई यस्तो निष्कर्षमा पुर्‍यायो: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१) यसको मतलब, परमेश्‍वरले गर्नुहुने सबैथोक, चाहे ती मानिसको नजरमा राम्रा हुन् या नराम्रा, ती सबै उहाँको योजनाका पाटाहरू हुन्। नराम्रा कुराहरू नै भइहाले पनि, शैतानले परमेश्‍वरको अनुमतिबिना मान्छेविरुद्ध केही गर्ने आँट गर्दैन। मानवजाति परमेश्‍वरको हातमा हुन्छ, र उहाँको सार्वभौमिकताअन्तर्गत रहँदा तिनीहरूले डराउनुपर्ने केही हुँदैन। तँ शैतानकै हातमा परिस् भने पनि, त्यो परमेश्‍वरकै हुकुममा भएको हो, र परमेश्‍वरको अनुमतिबिना शैतानले तँलाई छुने आँट पनि गर्दैन। अय्यूबसित यो स्तरको बुझाइ थियो, त्यसैले परमेश्‍वरले जे गर्नुभए पनि उसले कुनै गुनासो गरेन। उसले प्रष्टसित बुझ्यो कि यहोवा परमेश्‍वर मात्र सच्चा परमेश्‍वर हुनुहुन्छ जसले हामी सबैमाथि शासन गर्नुहुन्छ, र ती सबै स्वर्गदूतहरू, दुष्टात्माहरू, र पिशाचहरू परमेश्‍वर होइनन्। सबैथोकमाथि कसले शासन गर्नुहुन्छ? मानवजातिमाथि कसले शासन गर्नुहुन्छ, र सबैमाथि कसको सार्वभौमिकता छ? परमेश्‍वरको। चल्तीको भनाइ प्रयोग गर्दा, परमेश्‍वर सबैभन्दा महान्‌ हुनुहुन्छ। कुनै व्यक्तिको परिवार, उसको धनको स्तर, उसले दिनहरू आरामले कटाउँछ कि पीडामा, र उसको जीवनकाल—यी सबैकुराहरू परमेश्‍वरको हातमा हुन्छन्। यस सम्बन्धमा अय्यूबको गहिरो अनुभव थियो, जीवनभरमा एकदुईपटकको मात्र अनुभव थिएन। जब केही आइपर्थ्यो, यदि उसले त्यो परमेश्‍वरको सार्वभौमिकताअनुसार नै भएको हो भनेर बुझ्न सकेमा, त्यसले उसको दिमागमा गहिरो छाप छोड्थ्यो। उसलाई यी कुराहरू संयोगवश, वा मान्छेको वा शैतानको इच्छाले भएको होइन, बरू त्यो परमेश्‍वरको काम हो भन्ने गहिरो भान र समझ हुन्थ्यो, र उसले गुनासो गर्न सक्दैनथ्यो। त्यस्ता ठूला परीक्षाहरू सामना गर्दा अय्यूबलाई के महसुस भयो? उसलाई महसुस भयो कि परमेश्‍वर सर्वश्रेष्ठ हुनुहुन्छ, र उहाँ बुद्धिमान्‌ हुनुहुन्छ। परमेश्‍वरले जे गर्नुभए पनि उसले परमेश्‍वरको सधैँ प्रशंसा गर्न सक्थ्यो। यदि तँलाई यस्तै कुराहरू आइपर्‍यो र तैँले त्यसलाई बुझ्न सकिनस् भने, त्यसको मूल्याङ्कन गर्ने वा आफ्नै निष्कर्ष थोपर्ने काम नगर्। यदि तँलाई परमेश्‍वरको इच्छा थाहा छैन भने खोज, प्रतीक्षा र आज्ञापालन गर्। यो अभ्यास गर्ने सर्वोत्तम विधि, र अभ्यासको सर्वोत्तम मार्ग हो, अन्यथा तैँले अपमानित र लज्जित हुनुपर्नेछ। अय्यूबलाई यी सबै कुराहरू राम्ररी थाहा थियो। यदि तैँले परमेश्‍वरलाई सधैँ गलत बुझ्छस् भने, तैँले सत्यता कहिल्यै प्राप्त गर्नेछैनस्, र परमेश्‍वरको आशिष् गुमाउनेछस्। यदि तैँले कैयौँ कठिनाइ भोगिस् नै भने पनि, केही हासिल गर्नेछैनस् किनकि परमेश्‍वरसँगको तेरो सम्बन्ध असामान्य छ, तैँले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दैनस्, तँ उहाँको काम बुझ्दैनस्, र तैँले साँचो रूपमा उहाँको आज्ञापालन गर्दैनस्। यसले गर्दा तैँले परमेश्‍वरबारे साँचो ज्ञान कहिल्यै प्राप्त गर्नेछैनस्। परमेश्‍वर बोल्नुहुन्छ र काम गर्नुहुन्छ, र उहाँले तेरो लागि जतिसुकै मेहनतसाथ प्रयास गर्नुभए पनि, र तेरो लागि उहाँले जस्तोसुकै वातावरण सिर्जना गर्नुभए पनि, ती सबै अन्ततः तैँले परमेश्‍वरलाई चिन्न सक् भनेर हो। तैँले परमेश्‍वरलाई चिनिसकेपछि, उहाँसँगको तेरो सम्बन्ध अझ निकट र सामान्य बन्नेछ। परमेश्‍वरले बिनाकारण काम गर्नुहुन्न, दिक्क लागेर उहाँ कसैसँग खेल्ने त कुरै नगरौँ, तर उहाँले कसरी काम गर्नुहुन्छ भनेर मानिसले बुझ्दैन भने त्यो सामान्य कुरा हो। तर तिनीहरूले सत्यता खोज्नुपर्छ, र कम्तीमा पनि परमेश्‍वरबारे कुनै निष्कर्षमा पुग्नु हुँदैन—चेतना भएको व्यक्ति हुनु भनेको यही हो। पत्रुसले भनेजस्तै, परमेश्‍वरले मानिसलाई चाहे खेलौनाझैँ, वा जसरी व्यवहार गर्नुभए पनि, त्यो सधैँ सही नै हुन्छ। “यदि परमेश्‍वरले मलाई खेलौनाजस्तो व्यवहार गर्नुभयो भने, म कसरी तयार र इच्छुक नहुन सक्छु र?” के कारणले पत्रुसले यी शब्दहरू बोल्यो? (अनुभवले पत्रुसलाई यी शब्दहरू बोल्न लगायो। उसलाई थाहा थियो, परमेश्‍वरले जे गर्नुहुन्छ, उहाँका अभिप्रायहरू सधैँ असल हुन्छन्।) कहिलेकाहीँ तैँले परमेश्‍वरको इच्छा बुझ्नेछैनस्, त्यतिबेला तैँले के गर्नुपर्छ? तैँले प्रतीक्षा, खोजी, र चिन्ने प्रयास गर्नुपर्छ। अय्यूब र पत्रुस फरक समयमा बाँचे, उनीहरूको पृष्ठभूमि फरक थियो, उनीहरूले फरक चीजहरू अनुभव गरे, र फरक वचनहरू बोले, तर उनीहरूको मार्ग र अभ्यास गर्ने तरिका एउटै थियो, र कुनै कुरा आइपर्दा परमेश्‍वरप्रति उनीहरूको मनोवृति एउटै हुन्थ्यो। उनीहरूले यो विचार व्यक्त गर्न फरक भाषा मात्र प्रयोग गरेका हुन्। तर मानिसहरूले यसबाट के बुझ्छन्? के बझ्छन् भने, परमेश्‍वरको इच्छा खोज्दै र प्रतिक्षा गर्दै समर्पण अभ्यास गर्नुपर्छ। तर चिन्तित नबन्‍नू। सुरूमा यो मनोवृति राख्नु ठीक हो। यदि केही आइपर्दा तँ ज्यादै नै चिन्तित बन्छस् र सत्यता कसरी खोज्ने भन्ने थाहा हुँदैन भने, र तँ परमेश्‍वरको बारेमा गुनासो गरिरहन्छस् भने, समस्या हुनेछ। कतिपय मानिसहरू भन्छन्, “म बुझ्दै बुझ्दिनँ! परमेश्‍वरले हामीलाई किन यस्तो व्यवहार गर्नुहुन्छ? यदि हामीलाई दियाबलसशैतानलाई झैँ व्यवहार गरियो भने म समर्पित हुन सक्दिनँ। यो तर्क र न्यायसङ्गत कुरा होइन!” तेरो मानव मन, धारणा, कल्पना, विद्रोहीपन, र अवज्ञाले सीमा नाघ्दा पनि, के तँ अझै परमेश्‍वरको मार्गदर्शन पाउन लायक हुन्छस्? समर्पित हुनु भनेको समर्पित हुन्छु भन्नु, वा धर्मसिद्धान्त सुनाउनु, वा थोरै दृढता व्यक्त गर्नु, र थोरै आत्मसंयम अपनाउनुजस्तो सजिलो काम होइन। यो त्यति सजिलो छैन। यदि तँ परमेश्‍वरको आज्ञापालन गर्छस् भने, तेरो अन्तिम इनाम उहाँबारे ज्ञान पाउनु, उहाँले तेरो लागि बन्दोबस्त गर्नुहुने वातावरण बुझ्‍न पाउनु, र वास्तविक अनुभवहरू लिन पाउनु हो। यसको मतलब, तैँले परमेश्‍वरको मन र उहाँको अथक प्रयास, साथसाथै बाह्र वर्ष ढुंग्रोमा राखे पनि पुच्छर बाङ्गोको बाङ्गै हुनेहरूप्रति उहाँ निरास हुनुभएको बुझ्नेछस्। परमेश्‍वर तँ भ्रष्ट स्वभाव लिएर जिएको होइन, त्यसबाट उम्केको हेर्न चाहनुहुन्छ। त्यसैले उहाँले तँलाई न्याय र सजाय, काटछाँट र निराकरण, निन्दा र अनुशासित गर्ने विधिहरू यति प्रयोग गर्नुपर्छ कि उहाँ अनुचित व्यवहार गर्दै हुनुहुन्छ जस्तो देखिनुहुन्छ, यस्तो लाग्छ मानौँ उहाँ तँलाई निन्दा र सजाय गर्दै, वा खेलौनाझै खेलाउँदै हुनुहुन्छ। त्यसपछि तैँले के गर्छस्? यदि परमेश्‍वरले यस्तो व्यवहार गर्नुहुँदा पनि तैँले उहाँको अथक प्रयास बुझ्न सक्छस् भने, त्यही पर्याप्त छ—तँ साँच्चिकै आज्ञाकारी हुनेछस्। अय्यूबको परीक्षा चल्दै गर्दा, उसले भन्यो, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” यी वचनहरूबारे उसको बुझाइ के थियो? “मसित भएका सबैथोक यहोवा परमेश्‍वरले दिनुभएको हो, र उहाँले चाहनुभयो भने लान सक्नुहुन्छ, किनकि उहाँ परमेश्‍वर हुनुहुन्छ र उहाँमा यो शक्ति छ। मसित अस्वीकार गर्ने कुनै अधिकार छैन, किनभने मसँग जे छन् ती सबै उहाँबाट पाएको हुँ।” अय्यूबले बुझेको र अनुभव गरेको यही हो। त्यसबखत उसले के सङ्कल्प गरेको थियो? “मैले परमेश्‍वरलाई बुझ्नुपर्छ, समझदार तरिकाले व्यवहार गर्नुपर्छ, र तर्कसङ्गत व्यक्ति बन्नुपर्छ। मलाई यी सबैकुरा परमेश्‍वरले दिनुभएको हो, र उहाँले जुनसुकै बेला लान सक्नुहुन्छ। म यसबारेमा परमेश्‍वरसित विवाद गर्ने कोसिस गर्न सक्दिनँ; त्यसो गर्नु उहाँको अवज्ञा गर्नु हुनेछ। परमरेश्‍वरका कार्यहरू अस्वीकार गर्दा, उहाँको मन दुख्नेछ, र यदि मैले अस्वीकार गरेँ भने, म साँच्चिकै असल व्यक्ति वा साँच्चिकै सृष्टि गरिएको प्राणी हुँदिनँ।” उसले त्यसबखत यसरी अभ्यास गरेको थियो, अनि यो अभ्यासमार्फत उसले के हासिल गर्‍यो? खासमा, ऊ धनी हुनु, वा उसँग पहिलेभन्दा बढी गाईवस्तु वा भेडा हुनु, वा पहिलेभन्दा सुन्दर बालबच्‍चा पाउनु वास्तविक परिणाम थिएन। ती त केवल परमेश्‍वरको अनुग्रहद्वारा प्रदान गरिएका चीजहरू हुन्। यो अनुभवमार्फत, वास्तवमा परमेश्‍वरले उसलाई उहाँबारे गहन बुझाइ, थप आज्ञाकारिता, उहाँसित अझ निकट सम्बन्ध, र उहाँको हृदयसित अझ बढी आत्मीयता प्रदान गर्नुभयो। परमेश्‍वरले जे गर्नुभए नि अय्यूबले बुझ्न सक्थ्यो, र त्यसउप्रान्त उसले निरर्थक वा ईशनिन्दात्मक, र परमेश्‍वरको चित्त दुख्ने वचनहरू बोलेन। के यो भ्रष्ट स्वभावबाट आफैलाई मुक्त पार्नु होइन र? शैतानले अबउप्रान्त तँलाई नियन्त्रण गर्न सक्दैन; तँ अब त्यसको होइन, परमेश्‍वरको नियन्त्रणमा हुन्छस्। परमेश्‍वरले जे गर्नुभए पनि तँ समर्पित हुन सक्छस्, र तँ उहाँकै हुन्छस्। त्यसबेला अय्यूब यो स्थितिमा थियो, र उसँग यस्तो मनोवृति थियो। यसअलावा, उसले यस्तो व्यवहार गरेकोले र यस्तो वास्तविकतामा प्रवेश गरेकोले, अन्त्यमा परमेश्‍वर ऊकहाँ प्रकट हुनुभयो। परमेश्‍वर जुनसुकै स्वरूपमा आउनुभएको भए पनि, के परमेश्‍वर देखा पर्नाले उहाँबारे उसको बुझाइ गहन बनेन र? (बन्यो।) हो, त्यसबाट पक्कै पनि उसको बुझाइ गहन बन्यो। सुरूमा परमेश्‍वरबारे कथाहरूमा सुनेदेखि उहाँको अस्तित्व पुष्टि हुँदै उहाँलाई देखेसम्म—परमेश्‍वरले प्रदान गर्नुहुने अनुग्रहसँग तुलना गर्दा, मानवजातिको लागि यीमध्ये कुन ठूलो आशिष् हो? (परमेश्‍वरलाई देख्नु अरूभन्दा ठूलो आशिष् हो।) निश्‍चय पनि। जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् तर सत्यता बुझ्दैनन्, तिनीहरू सधैँ आफूलाई बचाउन, अनुग्रह प्रदान गर्न, आफूलाई अरूभन्दा माथि उठाउन र आफ्ना सम्पूर्ण परिवारलाई सुरक्षा र खुसी प्रदान गर्न परमेश्‍वरलाई बिन्ती गर्छन्। जहाँसुकै गए पनि तिनीहरू प्रवचन सुनाउन र अरूले आफ्नो ईर्ष्या र प्रशंसा गरून् भन्ने चाहन्छन्। मानिसहरू यही चाहन्छन्, तर परमेश्‍वरले प्रदान गर्न चाहनुभएको सबैभन्दा ठूलो आशिष्‌बारे तिनीहरू जानकार छैनन्। तिनीहरू बाह्य भौतिक अनुग्रह मात्र खोज्छन्, तर तिनीहरूको हर खोजले तिनीहरूलाई परमेश्‍वरको हृदयबाट झन् टाढा मात्र पुर्‍याउँछ। तिनीहरूले सबैभन्दा ठूलो वरदान गुमाउँछन्, र परमेश्‍वरको आशिष् गुमाउँछन्। यदि तैँले परमेश्‍वरबारे ज्ञान र सत्यता प्राप्त गर्न सकिनस् भने, के तँ उहाँको उपस्थितिमा बाँच्न सक्छस्? के तँ परमेश्‍वरका सारा योजनाहरूमा समर्पित बन्न सक्छस्? यो पूर्णतया असम्भव छ।

सत्यता अभ्यास गर्ने र सत्यताको वास्तविकतामा प्रवेश गर्ने प्रक्रिया वास्तवमा तैँले आफैलाई चिन्ने र आफ्नो भ्रष्ट स्वभाव त्याग्ने प्रक्रिया हो। यो परमेश्‍वरसित आमनेसामने भएर अन्तरक्रिया गर्ने, र उहाँलाई चिन्ने प्रक्रिया पनि हो। तैँले सत्यता अभ्यास गर्छु त भन्छस्, तर परमेश्‍वरलाई कसरी चिन्दैनस्? परमेश्‍वरसित तेरो सम्बन्ध कसरी निकट भएको छैन? तैँले उहाँलाई प्रत्येक दिन प्रार्थना गर्छु र मनका सबै कुरा सुनाउँछु भन्छस्, त्यसकारण के यो कालखण्डमा तँ उहाँसित निकट महसुस गर्छस्? के तँलाई परमेश्‍वरप्रतिको तेरो विश्‍वास बढेको महसुस हुन्छ? के तँलाई यो समयमा परमेश्‍वरबारे थप बुझाइ प्राप्त गरेको, उहाँप्रति कम गुनासाहरू रहेको, र तैँले उहाँलाई गलत बुझ्ने र उहाँविरुद्ध विद्रोह गर्ने काममा कमी आएको महसुस गर्छस्? यदि तैँले यीमध्ये कुनै पनि कुरा आफूमा पाउँदैनस्, र तँ पहिलाकै जस्तो छस् भने, तैँले सत्यता अभ्यास गरेको छैनस् र शक्ति मात्र खर्चेर समय बर्बाद गरेको छस्। तँलाई कसैले पनि सेवा वा कडा मेहनत गर्न जबरजस्ती गरिरहेको छैन, साथसाथै कसैले पनि तँलाई सत्यता अभ्यास गर्नबाट रोक लगाइरहेको छैन। त्यो तँ आफैले रोजेको कुरा हो, र तँ सेवा गर्ने मार्गमा हिँड्दै छस्। यदि मानिसहरूले सत्यता अभ्यास गर्दैनन् वा सत्यता पछ्याउँदैनन् भने, तिनीहरू सेवाकर्ता बनिछाड्छन्। मानिसहरूलाई सत्यता अभ्यास गर्नु अत्यन्तै कठिन हुन्छ। तिनीहरूलाई परमेश्‍वरको आज्ञापालन गर्न आउँदैन, र तिनीहरू सधैँ श्रम र सेवा गर्नमै सन्तुष्ट हुन्छन्। अन्त्यमा, जब तिनीहरूले अलिअलि सिद्धान्तहरू बुझ्छन्, तिनीहरूलाई सत्यता अभ्यास गर्ने तरिका थाहै हुँदैन। बरू, तिनीहरू थाहै नपाईकन फेरि पनि सेवा गर्नतिरै लाग्छन्। यसकारण, तैँले समयसमयमा आत्मचिन्तन गर्दै र आफैलाई जाँच्दै, र यस अवधिमा तैँले हासिल गरेको कुरामा ब्रदर-सिस्टरहरूसित सङ्गति गर्दै केही समय बिताउनुपर्छ। तँ भन्छस्, “मसित अझै पनि परमेश्‍वरबारे धेरै गलतबुझाइहरू छन् जुन मैले अहिलेसम्म सुल्झाएको छैन।” अरू कसैले भन्छ, “आजकाल मैले परमेश्‍वरको मनबारे केही बुझाइ प्राप्त गरेजस्तो लाग्छ। परमेश्‍वरले मानवजातिलाई कष्ट भोग्न दिनु राम्रो कुरा हो। पहिले म कष्टबाट डराउँथेँ, र कष्ट सामना गर्दा, लुक्न वा भाग्न चाहन्थेँ। अहिले मलाई के लाग्छ भने अलिअलि कष्ट भोगेका मानिसहरू मात्र परमेश्‍वरसामु शान्त हुन, र बाह्य मामिलामा ध्यान केन्द्रित गर्नबाट आफूलाई रोक्‍न सक्छन्। कष्ट भोग्नु राम्रो हो, त्यसकारण परमेश्‍वरले सधैँ कठिन वातावरण सिर्जना गरेर मानिसहरूको परीक्षा र शोधन गर्नुहुन्छ। मलाई लाग्छ कि म परमेश्‍वरको उद्देश्य, र उहाँले गर्नुहुने अथक प्रयासलाई केही हदसम्म बुझ्छु र अनुभूति गर्छु। परमेश्‍वरले जे गर्नुहुन्छ ती असल हुन्छन्!” तैँले यसरी नै सङ्गति गर्नुपर्छ। सङ्गति गरेर तैँले फाइदा नै पाउनेछस्। यदि केही मानिसहरू फुर्सदमा भेला भएर गफ गर्छन्, आलोचना गर्छन्, वा विवाद निम्त्याउन सक्ने अन्य कुराहरू बोल्छन् भने, तिनीहरू परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास वा जीवन अनुभवबारे बोलिरहेका जस्ता देखिन सक्छन्, तर यदि तिनीहरूको हृदय शान्त छैन भने, तिनीहरूले कसरी सत्यता खोज्ने र सत्यतामा लागिपर्ने भनेर अभ्यास गर्नुपर्छ, र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न लागिपर्नुपर्छ। यदि तैँले सधैँ यसरी नै सत्यता पछ्याउँछस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछ र तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। आफूमा सत्यता नहुनुलाई सत्यता पछ्याउनुपर्ने बोझको रूपमा ली, सत्यता अभ्यास र अनुभव गर्, र सत्यतामा लागिपर्। तैँले यसलाई कसरी अभ्यास गर्नुपर्छ? तैँले आफूले नबुझ्ने वा बोध गर्न नसक्ने कुराहरूबारे सत्यता बुझ्ने व्यक्तिको मार्गदर्शन खोज्ने र माग्ने गर्नुपर्छ। यदि तैँले सधैँभरि यसरी नै अभ्यास गरिस् भने, तैँले अझ बढी सत्यता बुझ्नेछस् र धेरै फाइदा पाउनेछस्। धेरैजसो समय, तँलाई सत्यता कसरी सङ्गति गर्ने भन्ने थाहा हुँदैन, तैँले कामको छलफल गर्नमा मात्र ध्यान दिन्छस्, वा जहिले पनि सिद्धान्तबारे नभई तौरतरिकाबारे मात्र कुरा गर्छस्। यो विचलन हो, तर वास्तवमा तैँले कामको बारेमा बोल्दा सत्यताका सिद्धान्तहरूसित सम्बन्धित विषयमा सङ्गति गर्नुपर्छ; त्यसले तेरै जीवन प्रवेशमा फाइदा पुर्‍याउनेछ। सत्यताका सिद्धान्तहरूसित सम्बन्धित विषयमा प्रष्ट रूपले सङ्गति गरिसकेपछि, तैँले जीवन प्रवेशको मार्ग भेट्टाउनेछस्। यो काम गर्न र कर्तव्य निभाउन, साथै तेरो आफ्नै जीवन प्रवेशको लागि फाइदाजनक हुन्छ। के यो दुबै कुराको लागि फाइदाजनक छैन र? तैँले परिणाम पाउन र जीवन प्रवेश हासिल गर्न परमेश्‍वरमा विश्‍वास गर्दाको तेरो अनुभवबारे शुद्ध र खुला रूपले सङ्गति गर्नुपर्छ। सधैँ गफ वा आलोचना गर्नाले जीवन प्रवेशमा केही फाइदा पुग्दैन, बरू यसो गर्दा व्यक्तिले परमेश्‍वरमाथि विश्‍वास गरेर मुक्ति पाउने अवसर गुमाउनुपर्ने हुन्छ। परमेश्‍वरमाथिको विश्‍वासमा व्यक्तिले सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। तैँले सत्यता जति बढी अभ्यास गर्छस्, त्यति नै बढी मुक्ति पाउने अवसर हुन्छ। यदि तैँले अति कम मात्रामा मात्र सत्यता बुझ्छस् भने, तैँले अझै बढी खोजी गर्नुपर्छ। सत्यताबारे बुझाइ प्राप्त गरेर, अनि त्यसको अभ्यास गरेर मात्र तैँले वास्तविक परिवर्तन अनुभव गर्न, र मुक्तिको अझ ठूलो र अझ निश्‍चित आशा प्राप्त गर्न सक्छस्।

जुलाई १६, २०१७

अघिल्लो: परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

अर्को: सामञ्‍जस्यपूर्ण सहकार्यको विषयमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्