मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?

आज तिमीहरू सत्यताको कुन पक्ष सबैभन्दा बढी सुन्न चाहन्छौ? म तिमीहरूलाई केही विषयहरू छान्न दिनेछु, र तिमीहरूलाई जुन मन पर्छ हामी त्यसैमाथि सङ्गति गर्न सक्छौँ। पहिलो प्रश्‍न: तिमीहरू आफूलाई कसरी चिन्छौ? आफूलाई चिन्ने उपाय के हो? तिमीहरूले किन आफूलाई चिन्नुपर्छ? दोस्रो प्रश्‍न: परमेश्‍वरमा विश्‍वास गरेको त्यतिका वर्षसम्म मानिसहरू केको आधारमा जिएका छन्? के तँ परमेश्‍वरको वचन र सत्यताको आधारमा जिएको छस्, कि शैतानी स्वभाव र दर्शनहरूको आधारमा जिएको छस्? तँ परमेश्‍वरको वचन र सत्यताको आधारमा जिउँछस् भन्ने कुरा कस्तो व्यवहारले देखाउँछ? यदि तँ शैतानी स्वभाव र दर्शनहरूको आधारमा जिउँछस् भने, तेरो भ्रष्टता कसरी प्रकट र खुलासा हुन्छ? तेस्रो प्रश्‍न: भ्रष्ट स्वभाव भनेको के हो? हामीले यसअघि भ्रष्ट स्वभावका छवटा पक्षहरूबारे छलफल गरेका थियौँ, त्यसैले म कुन स्थितिहरू यी भ्रष्ट स्वभावका विशिष्ट प्रकटीकरणहरू हुन् भन्नेबारे कुरा गर्नेछु। अब तिमीहरू नै रोज। तिमीहरूले सबैभन्दा कम बुझेको र सबैभन्दा बढी बुझ्न चाहेको, अनि तिमीहरूलाई बुझ्न सबैभन्दा कठिन लागेको प्रश्‍न कुन हो? (हामी दोस्रो प्रश्‍न रोज्छौँ।) त्यसोभए हामी यही विषयमा सङ्गति गर्नेछौँ। एकछिन मनन गर्। परमेश्‍वरमा विश्‍वास गरेको त्यतिका वर्षसम्म मानिसहरू केको आधारमा जिएका छन्, र यो विषयमा कस्ता कुराहरू संलग्न छन्? यो वाक्यको मुख्य कुरा “के” भन्ने शब्द हो। यो “के” को दायरामा के समावेश हुन्छ? तिमीहरू यसका के कुराहरू बुझ्न सक्छौ? तिमीहरूलाई सबैभन्दा महत्त्वपूर्ण, परमेश्‍वरमा विश्‍वास गर्दा अभ्यास गर्नुपर्ने, र मानवजातिमा हुनुपर्ने भन्ने लागेका कुराहरू यही “के” भन्ने शब्दको दायराभित्र पर्छन्। तिमीहरूले दैनिक जीवनमा जे-जस्ता कुराहरू सामना गर्छौ, जे-जस्ता कुराहरू तिमीहरूको सामर्थ्य र बोध क्षमताले बुझ्ने गर्छ, र जे-जस्ता कुराहरू तिमीहरूलाई सकारात्मक र सत्यतासँग नजिक र मिल्दो, अनि सकारात्मक कुराहरूको वास्तविकता हो भन्ने लाग्छ, र जे-जस्ता कुराहरू परमेश्‍वरको इच्छासँग मिल्छ भन्ने लाग्छ, ती कुराहरूकै आधारमा तिमीहरू यतिका वर्षसम्म परमेश्‍वरलाई पछ्याउँदै र कर्तव्य निर्वाह गर्दै जिएका छौ, त्यसैले हामी तिनलाई बाहिर ल्याएर तीबारे सङ्गति गर्न सक्छौँ। तिमीहरू के-के कुराहरू सोच्न सक्छौ? (मलाई लाग्छ कि, परमेश्‍वरमाथिको विश्‍वासमा, परमेश्‍वरको मुक्ति पाउनको लागि मैले बस दुःख भोग्ने, मूल्य चुकाउने, र आफ्नो कर्तव्यमार्फत नतिजा निकाल्ने काम गरे पुग्छ।) यो तिमीहरूले सकारात्मक ठानेको दृष्टिकोण हो। त्यसोभए यो दृष्टिकोण र पावलको दृष्टिकोणबीच के भिन्नता छ? के सार उस्तै छैन र? (उस्तै छ।) सार उस्तै छ। के यो दृष्टिकोणको सार एउटा कल्पना मात्र होइन र? (हो।) यतिका वर्षसम्म, तँ यही कल्पना बोकेर अनि तैँले सोचेको ठिक हो भनेर जिएको छस्। परमेश्‍वरमा विश्‍वास गर्न, आफ्नो कर्तव्य निभाउन, र मण्डली जीवन जिउन पनि तैँले यसमाथि भरोसा गरेको छस्। यो एउटा परिस्थिति हो। सुरुमा, तैँले तेरा सोच र दृष्टिकोणहरू सही छन् छैनन् र ती परमेश्‍वरको वचनमा आधारित छन् छैनन् भनी पुष्टि गर्नुपर्छ। यदि तँलाई ती सही छन्, तिनको आधार छ, र तैँले सत्यता नै अभ्यास गरिरहेको छस् भन्ने लाग्छ, तर वास्तवमा तँ गलत छस् भने, आजको सङ्गतिमा हामी त्यही कुरा छलफल गर्नेछौँ।

मानिसहरू ठ्याक्कै केको आधारमा जिएका छन् भन्ने सत्यताको पक्षमाथि सङ्गति गर्ने सबैभन्दा सरल तरिका भनेको सुरुमा सबैले बुझ्न सक्ने विषय पावलको घटनाबारे कुरा गर्ने, र त्यसपछि त्यसलाई तिमीहरूको आफ्नै स्थितिसँग जोड्ने हो। पावलको बारेमा किन कुरा गर्ने त? धेरैजसो मानिसहरूलाई पावलको कथा थाहा छ। अनि, बाइबलमा पावलको बारेमा कस्ता कथा वा विषयहरू छन्? उदाहरणको लागि, पावलका चर्चित भनाइहरू के-के हुन्, वा उसका विशेषता, व्यक्तित्व र प्रतिभाहरू के-के हुन्? ल भन् त। (पावलले व्यवस्थाशास्‍त्री गमालिएलबाट शिक्षा पाएका थिए, जुन उनको लागि राम्रो ब्रान्ड थियो, र त्यो कुनै प्रतिष्ठित विश्‍वविद्यालयबाट शैक्षिक योग्यता प्राप्त गरेसरह थियो।) आधुनिक शब्दमा भन्नुपर्दा, पावल धर्मशास्‍त्रको विद्यार्थी थियो जसले एक प्रतिष्ठित धर्मशास्‍त्र विद्यालयबाट डिग्री लिएको थियो। पावलको पृष्ठभूमि, शैक्षिक स्तर, र सामाजिक हैसियतलाई तुलनात्मक रूपमा प्रतिनिधित्व गर्ने यो पहिलो विषय हो। दोस्रो विषयको कुरा गर्नुपर्दा, पावलको सबैभन्दा चर्चित भनाइ के हो? (“मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)।) उसको दौडधुपको प्रेरणा यही हो। आधुनिक शब्दमा भन्नुपर्दा, पावलले दुःख भोग्यो र मूल्य चुकायो, काम गर्‍यो, र सुसमाचार प्रचार गर्‍यो, तर ऊ मुकुट प्राप्त गर्ने कुराले प्रेरित थियो। यो दोस्रो विषय हो। अब अघि भन् त। (पावलले भन्यो, “मेरो लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्पी १:२१)।) यो पनि पावलको एउटा चर्चित भनाइ हो। यो तेस्रो विषय हो। हामीले भर्खरै तिन्टा विषयहरू उल्लेख गर्‍यौँ। पहिलो विषय, पावल व्यवस्थाशास्‍त्री गमालिएलको विद्यार्थी थियो, जुन आजको सेमिनरी स्नातक बराबर हो। बाइबलबारे सर्वसाधारणभन्दा ऊ निश्‍चय नै बढी शिक्षित थियो। त्यस्तो विद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकोले पावलसँग पुरानो करारको ज्ञान थियो। त्यो नै पावलको शैक्षिक पृष्ठभूमि थियो। यसले पछि उसको सुसमाचार प्रचार र मण्डली भरणपोषणमा कस्तो प्रभाव पार्‍यो? त्यसले केही फाइदा पुर्‍याएको होला—तर के त्यसले कुनै हानि पनि गर्‍यो कि? (हजुर, गर्‍यो।) के धर्मशास्‍त्रीय सिकाइ सत्यताबमोजिम हुन्छ? (अहँ, हुँदैन।) धर्मशास्‍त्रीय सिकाइ भनेको भ्रमपूर्ण कुरा र खोक्रो सिद्धान्त मात्र हो। यो व्यावहारिक हुँदैन। दोस्रो विषय के थियो रे? (पावलले भन्यो, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।”) पावलले यिनै वचनहरूको आधारमा जियो; यिनकै आधारमा पछ्याइ अपनायो। त्यसोभए, के हामी पावलले दुःख भोग्नु र मूल्य चुकाउनुको आशय र उद्देश्य यिनै थिए भन्न सक्छौँ? (सक्छौँ।) सिधै भन्नुपर्दा, उसको आशय इनाम प्राप्त गर्नु थियो, र यसको मतलब उसले धार्मिकताको मुकुट लिनको लागि आफ्नो यात्रा गर्‍यो, मूल्य चुकायो, र आफ्नो असल लडाइँ लड्यो। यसले देखाउँछ कि पावलको त्यतिको वर्षको पछ्याइको उद्देश्य इनाम पाउनु र धार्मिकताको मुकुट प्राप्त गर्नु थियो। यदि उसको आशय र उद्देश्य यो नभएको भए, के उसले यस्तो दुःख भोग्न र यस्तो मूल्य चुकाउन सक्थ्यो र? के उसले उसको आफ्नै नैतिक गुण, महत्त्वाकाङ्क्षा, र चाहनाहरूको आधारमा उसको काम गर्न र मूल्य चुकाउन सक्थ्यो र? (सक्दैनथ्यो।) मानौँ कि प्रभु येशूले उसलाई अग्रिम रूपमै यसो भन्नुभयो रे, “मैले धर्तीमा काम गर्दा तैँले मलाई सताइस्। तँजस्ता मानिसहरू दण्डित र श्रापित हुन्छन्। तैँले जे गरे पनि त्यस्ता गल्तीहरू पूर्ति गर्न सक्दैनस्; तैँले जति पश्‍चात्ताप गरे पनि, म तँलाई मुक्ति दिनेछैन।” पावलको मनोवृत्ति कस्तो हुनेथ्यो? (उसले परमेश्‍वरलाई त्याग्‍नेथ्यो र विश्‍वास गर्न छोड्नेथ्यो।) उसले परमेश्‍वरमाथि विश्‍वास नगर्ने मात्र होइन, उसले त परमेश्‍वरलाई समेत नकार्नेथ्यो, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा नकार्नेथ्यो, र स्वर्गमा परमेश्‍वरको अस्तित्व रहेको कुरा नकार्नेथ्यो। त्यसोभए पावल केको आधारमा जिउँथ्यो त? ऊ इमानदारीसाथ परमेश्‍वरलाई प्रेम गर्दैनथ्यो, र ऊ उहाँप्रति समर्पित हुने व्यक्ति थिएन, तैपनि ऊ किन यतिका धेरै सङ्कष्टहरू सहेर सुसमाचार प्रचार गर्न सक्षम भयो? यो भन्नु जायज हुन्छ कि उसको मुख्य आड आशिष्‌हरूप्रतिको उसको चाहना नै थियो; उसलाई त्यही कुराले शक्ति दिन्थ्यो। साथै, जब दमास्कस जाने बाटोमा पावलले परमेश्‍वरको महान् ज्योति देखेको थियो, तब ऊ अन्धो भएको थियो। त्यतिबेला ऊ भुइँमा लम्पसार ढल्यो र उसको पूरै शरीर काँप्यो। उसले परमेश्‍वरको महान्‌ता र उहाँको अद्‌भुतता महसुस गरेको थियो, र उसलाई परमेश्‍वरले उसलाई प्रहार गर्नुहोला भन्ने डर थियो, त्यसैले उसले परमेश्‍वरको आज्ञा नकार्ने साहस गरेन। जतिसुकै ठूला कठिनाइहरू भए पनि, उसले सुसमाचार प्रचार गरिरहनुपर्थ्यो। उसले ढिलासुस्तीको जोखिम लिँदैनथ्यो। त्यसको आंशिक पाटो त्यही थियो। यद्यपि, त्यसको सबैभन्दा ठूलो पाटो भनेको आशिषित् हुने उसको अत्यधिक चाहना नै थियो। के आशिषित् हुने चाहना, अर्थात् आशाको त्यो किरण नभएको भए, उसले त्यसो गर्नेथ्यो त? निश्‍चय नै गर्नेथेन। तेस्रो विषय पावलले जिउनु भनेको ख्रीष्ट हो भनी गवाही दिएको कुरा थियो। पहिला पावलले गरेको काम हेरौँ। पावलसँग प्रशस्त धार्मिक ज्ञान थियो; उसँग ख्यातिप्राप्त र विशिष्ट शैक्षिक पृष्ठभूमिवाल डिग्री थियो। यो भन्‍न सकिन्छ कि ऊ सर्वसाधारणभन्दा बढी नै शिक्षित थियो। त्यसोभए आफ्नो काम गर्न ऊ केमाथि भरोसा गर्थ्यो त? (उसका वरदान र प्रतिभाहरू, र बाइबलबारेको उसको ज्ञानमाथि।) देख्दा त, उसले सुसमाचार प्रचार गरिरहेको र प्रभु येशूको गवाही दिइरहेको देखिएला, तर उसले प्रभु येशूको नाममात्रको गवाही दिन्थ्यो; प्रभु येशू नै परमेश्‍वरको प्रकटीकरण हुनुहुन्छ र उहाँ काम गर्दै हुनुहुन्छ, प्रभु येशू परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ भनेर उसले साँचो रूपमा गवाही दिँदैनथ्यो। त्यसोभए, पावलले वास्तवमा कसको गवाही दिइरहेको थियो त? (उसले आफ्नै गवाही दिन्थ्यो। उसले भन्थ्यो, “मेरो लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो।”) उसका शब्दहरूले के इङ्गित गर्छन्? यो कि, ख्रीष्ट, प्रभु, र परमेश्‍वर त पावल थियो, प्रभु येशू हुनुहुन्थेन। उसका अभिप्राय र महत्त्वाकाङ्क्षाहरूको कारण पावल यसरी दौडधुप र प्रचार गर्न सक्षम थियो। त्यो उसको महत्त्वाकाङ्क्षा के थियो? उसले सुसमाचार सुनाएका वा उसको बारेमा सुनेका सारा मानिसहरूलाई ऊ ख्रीष्ट र परमेश्‍वरको रूपमा जिउँछ भन्ने सोच्ने तुल्याउनु थियो। यो एउटा पक्ष हो, ऊ उसका चाहनाहरूको आधारमा जिउँथ्यो। साथै, पावलको काम बाइबलसम्बन्धी उसको ज्ञानमा आधारित थियो। उसको प्रचार र शब्दहरू सबैले उसमा बाइबलको ज्ञान थियो भन्ने देखाउँथ्यो। ऊ पवित्र आत्माको काम र अन्तर्दृष्टि वा सत्यता वास्तविकताहरूबारे कुरा गर्दैनथ्यो। यी विषयहरू उसका पत्रहरूमा कतै पनि भेटिँदैनन् र ऊसँग निश्‍चय नै यसप्रकारको कुनै अनुभव थिएन। पावलले उसको काममा कतै पनि प्रभु येशूले बोल्नुभएका वचनहरूको गवाही दिएन। मानिसहरूले कसरी पापस्वीकार र पश्‍चात्ताप अभ्यास गर्नुपर्छ भन्‍नेसम्बन्धी प्रभु येशूको शिक्षा, वा प्रभु येशूले मानिसहरूलाई प्रदान गर्नुभएका शिक्षाका धेरै वचनहरूको उदाहरण लिऊँ—पावलले ती कुराहरू कहिल्यै प्रचार गरेन। प्रभु येशूका वचनहरूसँग पावलले गरेको कुनै पनि कामको कुनै सम्बन्ध थिएन, उसले प्रचार गरेको सबथोक उसले अध्ययन गरेको धर्मशास्‍त्रीय सिकाइ र सिद्धान्तको कुरा थियो। अनि, त्यो धर्मशास्‍त्रीय सिकाइ र सिद्धान्तमा के-के कुराहरू पर्छन्? मानव धारणा, कल्पना, दर्शन, र निचोडहरू, साथै देखासिकी अनुभव, पाठहरू, आदि इत्यादि पर्छन्। छोटकरीमा भन्दा, त्यो सबथोक मानव सोचबाट उत्पन्न हुन्छ र त्यसले मानव सोच र दृष्टिकोणहरू झल्काउँछ; त्यो कुनै पनि सत्यता होइन, सत्यतासँग मिल्ने त झन कुरै आउँदैन। त्यो सबै पूर्णतया सत्यताको विपरीत छ।

पावलको उदाहरण सुनेपछि, आफूलाई ऊसँग तुलना गर। आज हामीले कुरा गरिरहेको “परमेश्‍वरमा विश्‍वास गरेको त्यतिका वर्षसम्म मानिसहरू केको आधारमा जिएका छन्” भन्ने विषयबारे, के तिमीहरूलाई आफ्नै केही स्थिति र व्यवहारहरू याद आउँछ? (यसले मलाई यदि मैले कहिल्यै परिवार बनाइनँ, कहिल्यै परमेश्‍वरको आज्ञा तोडिनँ, ठूला परीक्षाहरू आइपर्दा परमेश्‍वरविरुद्ध कुनै गुनासोहरू गरिनँ भने, अन्त्यमा, परमेश्‍वरले मलाई मर्न दिनुहुनेछैन भन्ने मेरो विश्‍वासबारे सोच्ने तुल्याउँछ।) त्यो कामनाद्वारा जिउनु हो, जुन आजको सङ्गतिको विषयसँग नजिक छ र यसले एउटा वास्तविक स्थितिलाई छुन्छ। यो वास्तविक जीवनको व्यावहारिक पछ्याइबारेको दृष्टिकोण हो। अरू केही छ? (मेरो एउटा दृष्टिकोण छ: मलाई यदि मैले आफ्नो आस्थामा अन्त्यसम्म परमेश्‍वरलाई पछ्याएँ भने, मैले आशिष्‌ पाउने र गज्जबको परिणाम र गन्तव्य प्राप्त गर्ने निश्‍चित छ भन्ने अनुभूति हुन्छ।) धेरै मानिसहरूमा यस्तै दृष्टिकोण हुन्छ, हुँदैन र? यो मूलत: सबै सहमत हुन सक्ने एउटा दृष्टिकोण हो। कोहीसँग फरक दृष्टिकोण छ त? सुनौँ त। म तिमीहरूलाई एउटा कुरा औँल्याइदिनेछु: कतिपय मानिसहरू धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छन्, र तिनीहरूका आफ्नै व्यक्तिगत अनुभव, कल्पना, वा आत्मिक पुस्तकहरू पढेर आफूले प्राप्त गरेका एकप्रकारका अनुभव र केही उदाहरणहरूको आधारमा, तिनीहरू अभ्याससम्बन्धी केही शैलीहरूको सारांश बनाउँछन्, जस्तै आत्मिक बन्नको निम्ति परमेश्‍वरका विश्‍वासीहरूले कस्तो व्यवहार गर्नुपर्छ, सत्यता अभ्यास गर्नको निम्ति तिनीहरूले कस्तो व्यवहार गर्नुपर्छ, आदि इत्यादि। तिनीहरू आफूले जे गर्छन् त्यो सत्यता अभ्यास गरेको हो, र ती कुराहरू गरेर तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गर्न सक्छन् भन्ठान्छन्। उदाहरणको लागि, केही मानिसहरू रोगले ग्रसित हुँदा, यसको लागि परमेश्‍वरको इच्छा र सत्यता खोज्न आवश्यक हुन्छ। यो परमेश्‍वरका विश्‍वासीहरूले थाहा पाउनुपर्ने सबैभन्दा आधारभूत कुराहरूमध्येको एक हो। तर तिनीहरू कसरी अभ्यास गर्छन्? तिनीहरू भन्छन्, “यो रोग परमेश्‍वरले योजनाबद्ध गर्नुभएको हो, र मैले आस्था बोकेर जिउनुपर्छ, त्यसैले म औषधी खाने, खोप लाउने, वा अस्पताल जाने काम गर्नेछैन। मेरो आस्था तिमीलाई कस्तो लाग्छ? बलियो छ, हैन र?” के यस्तो व्यक्तिमा आस्था हुन्छ? (हुन्छ।) तिमीहरू यो दृष्टिकोणसँग सहमत छौ, र अभ्यास पनि यसरी नै गर्छौ। तिमीहरूलाई लाग्छ कि यदि तिमीहरू बिरामी भयौ भने, खोप नलाउनु, औषधी नलिनु, वा चिकित्सककहाँ नजानु भनेको परमेश्‍वरको इच्छा पूरा गर्न सत्यता अभ्यास गर्नु सरह हो। त्यसोभए, तिमीहरू केको आधारमा भन्छौ कि यो सत्यता अभ्यास गर्नु हो? के यसरी अभ्यास गर्नु सही हो? यसको आधार के हो? के तिमीहरूले यो पुष्टि भएको देखेका छौ? तिमीहरू निश्‍चित छैनौ। यो सत्यताबमोजिम छ छैन भनी तिमीहरूलाई नै थाहा छैन भने, किन यसरी अभ्यास गर्नमा जिद्‌ कस्छौ? यदि तिमीहरू बिरामी भयौ भने, परमेश्‍वरलाई प्रार्थना गर्नमा मात्र जोड दिन्छौ, खोप लाउने, औषधी खाने, चिकित्सकलाई भेट्ने काम गर्दैनौ, र बस भित्री रूपमा परमेश्‍वरमाथि भरोसा गर्छौ र उहाँलाई प्रार्थना गर्छौ, र यो रोगबाट मुक्त पार्न परमेश्‍वरलाई अनुरोध गर्छौ वा आफूलाई उहाँको कृपामा राख्छौ—के यस तरिकाले अभ्यास गर्नु सही हो त? (होइन।) के तिमीहरूलाई अहिले मात्र यो गलत हो भन्ने लागेको हो, कि पहिले पनि यो गलत हो भन्ने थाहा थियो? (विगतमा, म बिरामी पर्दा, मलाई चिकित्सकलाई भेट्नु वा औषधी खानु भनेको बाह्य विधि हो, र यो आस्थाहीनताको अभिव्यक्ति हो भन्ने लाग्थ्यो, त्यसैले उक्त मामलालाई सम्हाल्न म प्रार्थना वा अन्य विधिहरूमाथि भरोसा गर्थेँ।) के यसले यदि परमेश्‍वरले तँलाई कुनै रोग दिनुभयो, र तैँले त्यसलाई निको पारिस् भने, तैँले परमेश्‍वरलाई विश्‍वासघात गरिरहेको छस् र तँ तेरो लागि गरिएका परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित भइरहेको छैनस् भन्ने जनाउँछ? (त्यो मेरो दृष्टिकोण थियो।) त्यसोभए के तँलाई यो दृष्टिकोण सही हो कि गलत हो भन्ने लाग्छ? कि तँ अझै दुविधामा छस्, र तँलाई त्यो सही वा गलत के हो भनी थाहा छैन, र तँलाई लाग्छ कि आखिर तैँले सधैँ यस्तै व्यवहार गरेको छस्, र अरू कसैले पनि यो गलत हो भनेको छैन, र तँलाई त्यसबारे ग्लानि महसुस हुँदैन, त्यसैले तँ त्यही तरिकामा अभ्यास गरिरहन्छस्? (मैले सधैँ यसरी नै अभ्यास गरेँ, र मलाई खास केही पनि महसुस भएन।) त्यसोभए के तिमीहरूलाई यसो गर्नमा अलि दुविधा महसुस हुन्छ? तँ सही छस् कि गलत छस् भन्ने कुरालाई थाती राखौँ, तर हामी कम्तीमा एउटा कुरामा चाहिँ निश्‍चित हुन सक्छौँ, र त्यो हो यसरी अभ्यास गर्नु सत्यतासँग मिल्दैन। किनभने, यदि यो सत्यतासँग मिल्थ्यो भने, तँलाई कम्तीमा तँ कुन सत्यता सिद्धान्त पछ्याइरहेको थिइस् र यस्तो अभ्यास कुन सिद्धान्तको दायराअन्तर्गत पर्छ भन्ने थाहा हुनेथ्यो। तर अहिले यसलाई हेर्दा, हामी मानिसहरूले आफ्नै कल्पनाको आधारमा यस्तो व्यवहार गरेका देख्छौँ। यो तिनीहरूले आफैमाथि राखेको बन्धन हो। यसअलावा, मानिसहरू आफ्नै कल्पनाको आधारमा यसलाई आफ्नो मानक बनाउँछन्, र बिरामी हुँदा तिनीहरूले यसो गर्नुपर्छ भन्ने सोच्छन्, तर परमेश्‍वरले ठ्याक्कै के आवश्यक गराउनुहुन्छ वा भन्न चाहनुहुन्छ भनेर तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू आफैले कल्पना र तय गरेको एउटा तरिकाअनुसार कार्य गर्छन्, र यस तरिकाले कार्य गर्दा कस्तो नतिजा आउनेछ भनी जान्दैनन्। मानिसहरू यो स्थितिमा हुँदा केको आधारमा जिउँछन्? (आफ्नै कल्पनाका आधारमा।) के यी कल्पनाहरूभित्र कुनै धारणा हुन्छ? तिनीहरूको धारणा के हो? (यो कि, यस तरिकाले अभ्यास गरेर तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्छन्।) यो एउटा धारणा हो। के यो मामलासम्बन्धी यो सही बुझाइ हो त? (होइन।) यसमा एउटा परिभाषा र नतिजा छ: जब तँ यस्तो धारणा र यस्ता कल्पनाहरूद्वारा जिउँछस्, तब तँ सत्यता अभ्यास गरिरहेको हुँदैनस्।

यतिन्जेल, “मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्” भन्ने शीर्षकमाथि तिमीहरूले धेरै नै मनन गरेका हुनेछौ, र यस शीर्षकमाथि के सङ्गति गरिनेछ भनेर तिमीहरूलाई धेरथोर थाहै छ। त्यसैले, केही स्थितिहरूबारे कुरा गरौँ। ध्यानपूर्वक सुन र सुन्दाखेरि मनन गर। अनि, यसरी मनन गर्नुको उद्देश्य के हो? मैले भनेका स्थितिहरूलाई तिमीहरूका स्थितिहरूसँग दाँज्ने, तिनलाई बुझ्ने, र तिमीहरूसित त्यस्ता स्थिति र समस्याहरू छन् भनी थाहा पाउने, र त्यसपछि सत्यता खोजेर तिनलाई समाधान गर्ने, र सत्यतासँग पूर्णतया असम्बन्धित विविध कुराहरूद्वारा जिउनुभन्दा सत्यताद्वारा जिउन प्रयास गर्ने। “मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्” भन्‍ने एउटा यस्तो शीर्षक हो जसले धेरै कुराहरू समेट्छ, त्यसैले सुरुमा वरदानहरूबारे कुरा गरौँ। कतिपय मानिसहरू प्रस्ट र धाराप्रवाह रूपमा बोल्न सक्छन्। तिनीहरू मानिसहरूसित प्रशंसनीय र मख्खै पार्ने तरिकाले कुराकानी र अन्तरक्रिया गर्छन्, र तिनीहरूको सोच्ने क्षमता अत्यन्तै तीव्र हुन्छ। हरेक परिस्थितिमा, ठ्याक्कै के भन्नुपर्छ, त्यो तिनीहरूलाई थाहा हुन्छ। परमेश्‍वरको घरमा, तिनीहरू वाक्पटुता र तीक्ष्ण बौद्धिकताद्वारा आफ्नो कर्तव्य निभाउँछन्। तिनीहरूका झूटा-मिठा शब्दहरूले साधारण समस्याहरू महत्त्वहीन बनाइदिन्छन्। तिनीहरू धेरै समस्याहरू समाधान गर्न सक्षम देखिन्छन्। तिनीहरूको तेजिलो दिमाग, साथै तिनीहरूको सामाजिक अनुभव र कुशाग्रताको कारण, तिनीहरू आफूमाथि आइपर्ने कुनै पनि साधारण घटनाहरूको अर्थ बुझ्न सक्छन्; समस्या समाधान गर्न तिनीहरूले केही शब्दहरू बोलिदिए पुग्छ। अन्य मानिसहरू तिनीहरूको प्रशंसा गर्छन्, र यस्तो सोच्छन्, “तिनीहरू यति सजिलै परिस्थितिहरू सम्हाल्न सक्छन्। मचाहिँ किन सक्दिनँ?” तिनीहरू आफैसँग पनि दङ्ग हुन्छन् र सोच्छन्, “हेर त, परमेश्‍वरले मलाई यो वाक्पटुता र यो कुशल जिब्रो, यो चलाख दिमाग, यो अन्तर्ज्ञान, र यो तीव्र प्रतिक्रिया क्षमता दिनुभयो, त्यसैले मैले सम्हाल्न नसक्ने केही पनि छैन!” अनि समस्या यहीँबाट सुरु हुन्छ। यसरी प्रखर रूपमा बोल्न र तीव्र रूपमा सोच्न सक्ने व्यक्तिले आफ्ना प्रतिभा र क्षमताहरू प्रयोग गरी केही कर्तव्यहरू निर्वाह गर्न सक्छन्, र आफ्नो कर्तव्य निभाउने क्रममा, तिनीहरूले केही समस्याहरू समाधान गर्छन् वा परमेश्‍वरको घरको लागि थोरै कामहरू गर्छन्, तर तिनीहरूले गर्ने सबथोक यदि तैँले विस्तारमा जाँचिस् भने, तिनीहरूले गर्ने हरेक कुरा सत्यताबमोजिम छ छैन, त्यो सत्यता सिद्धान्तहरूसँग मिल्छ मिल्दैन, र त्यसले परमेश्‍वरको इच्छा पूरा गर्छ गर्दैन भन्नेबारेमा तँसित प्रश्‍न चिह्न मात्र रहनेछ। यस्ता मानिसहरू सत्यता के हो वा कसरी सत्यताबमोजिम काम गर्ने भनेर प्राय बुझ्दैनन्, तैपनि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्छन्। तर तिनीहरूले आफ्नो कर्तव्य जतिसुकै राम्ररी निभाए पनि, तिनीहरूले भरोसा गर्नेचाहिँ केमा हो त? तिनीहरूको कार्य-सम्पादनको सुरुवात कहाँबाट हुन्छ? तिनीहरूको सोच, अन्तर्ज्ञान, र वाक्चातुर्यबाट। के तिमीहरूमध्ये यस्तो कोही छौ? (छौँ।) के आफ्नो मस्तिष्क, उच्च बौद्धिक स्तर, वा कलात्मक बोलीले जिउने व्यक्तिलाई उसले गर्ने काम सत्यता सिद्धान्तहरूसँग मिल्छ मिल्दैन भनी थाहा हुन्छ? (हुँदैन।) के तिमीहरू कार्य गर्दा सिद्धान्तहरू पालना गर्छौ? अथवा, अर्को तरिकाले भन्नुपर्दा, जब तिमीहरू काम गर्छौ, के तिमीहरू शैतानी दर्शनहरू, तिमीहरूका आफ्नै बुद्धि, तिमीहरूका आफ्नै बौद्धिकता र बुद्धिमत्ताद्वारा गर्छौ—कि परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूअनुसार गर्छौ? यदि तिमीहरू सधैँ शैतानी दर्शनहरूद्वारा, र तिमीहरूका आफ्नै रूचि र विचारहरूद्वारा कार्य गरिरहेका हुन्छौ भने, तिमीहरूका कार्यहरूमा कुनै पनि सिद्धान्तहरू छैनन्। तर यदि तिमीहरू सत्यता खोज्न, र परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छौ भने—त्यो सिद्धान्तहरूअनुसार कार्य गर्नु हो। के अहिले तिमीहरूको बोल्ने र कार्य गर्ने शैलीमा सत्यताविरुद्ध जाने त्यस्तो कुनै कुरा छ? के तिमीहरू सिद्धान्तहरूविरुद्ध जान्छौ? यदि जान्छौ भने, के तिमीहरू त्यो थाहा पाउँछौ? (कहिलेकाहीँ।) ती समयमा तिमीहरू के गर्छौ? (हामी परमेश्‍वरलाई प्रार्थना गर्छौँ, पश्‍चात्ताप गर्ने सङ्कल्प दह्रिलो बनाउँछौँ, र त्यसरी फेरि कहिल्यै कार्य गर्नेछैन भनेर परमेश्‍वरसामु कसम खान्छौँ।) अर्कोपटक त्यस्तै प्रकृतिको केही आइपर्दा, के तिमीहरू फेरि त्यस तरिकाले कार्य गर्ने र आफ्नो सङ्कल्प दह्रिलो पार्ने गर्छौ? (गर्छौँ।) आफूलाई केही आइपर्नेबित्तिकै तिमीहरू सधैँ आफ्नो इच्छाशक्ति बलियो पार्नमा भर पर्छौ—तर आफ्नो इच्छाशक्ति बलियो बनिसकेपछि, के तिमीहरू वास्तवमा सत्यता व्यवहारमा लागु गर्छौ? के तिमीहरू वास्तवमा सिद्धान्तहरूद्वारा कार्य गर्छौ? के तिमीहरूलाई यो कुरा प्रस्ट छ? आफूलाई कुनै कुरा आइपर्दा धेरै मानिसहरू सत्यता खोज्दैनन्, बरु आफ्नै धूर्त्याइँ र वरदानहरूद्वारा जिउँछन्। तर बुद्धिमान् र स्पष्टवक्ता हुनु एकमात्र वरदान हो त? वरदानहरूद्वारा जिउने कुरा अरू कसरी प्रकट हुन्छ? उदाहरणको लागि, कतिपय मानिसहरू धेरै गाउन रूचाउँछन्, र कुनै गीत दुईतीन पटक सुनेपछि तिनीहरू पूरै गाउन सक्छन्। त्यसकारण यो क्षेत्रमा तिनीहरूको कर्तव्य हुन्छ, र तिनीहरू यो कर्तव्य तिनीहरूलाई परमेश्‍वरले दिनुभएको हो भन्ने सोच्छन्। तिनीहरूलाई यही ठिक र सही लाग्छ। समयक्रममा, तिनीहरूले धेरै भजनहरू सिक्छन्, र जति बढी गाउँछन्, तिनीहरूमा त्यति नै निखार आउँछ। तर तिनीहरू एउटा समस्याबारे सचेत हुँदैनन्। त्यो के हो? तिनीहरूको गायन झन्झन् राम्रो बन्छ, र तिनीहरू यही वरदानलाई आफ्नो जीवन ठान्छन्। के यो गलत होइन र? तिनीहरू हरदिन आफ्नो वरदानद्वारा जिउँछन्, र हरदिन भजनहरू गाउँदा, तिनीहरूले जीवन प्राप्त गरेका छन् भन्ने विश्‍वास गर्छन्, तर के यो भ्रम मात्र होइन र? तँ त्यो गायनद्वारा भावुक भए पनि, अरू त्यसमा रमाए पनि, र अरू केहीले त्यसबाट लाभ पाए पनि, के यसले तैँले जीवन प्राप्त गरेको प्रमाणित गर्न सक्छ र? भन्न गाह्रो छ। यो कुरा तैँले सत्यता कति बुझ्छस्, तैँले सत्यता अभ्यास गर्न सक्छस् सक्दैनस्, तैँले आफ्ना कार्यहरू र कर्तव्यमा सिद्धान्तहरू पालना गर्छस् गर्दैनस्, र तँसित वास्तविक अनुभवात्मक गवाही छ छैन भन्नेमा भर पर्छ। यी पक्षहरूबाट मात्र तैँले मानिसहरूमा सत्यता वास्तविकताहरू छन् छैनन् भनी मूल्याङ्कन गर्न सक्छस्। यदि तिनीहरूमा सत्यता वास्तविकताहरू छन् भने, तिनीहरू जीवन भएका व्यक्तिहरू, विशेषगरी परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग रहन सक्नेहरू, साथै साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्ने जनहरू हुन्। यदि कुनै व्यक्तिमा वरदान र प्रतिभाहरू छन्, र उसले आफ्नो कर्तव्यमा राम्रा नतिजाहरू पनि दिन्छ, तर उसले सत्यता पछ्याउँदैन र ऊ आफ्ना वरदानहरूद्वारा मात्र जिउँछ, आफ्ना योग्यताहरूको धाक देखाउँछ, र कहिल्यै कसैको आज्ञापालन गर्दैन भने, के यस्तो व्यक्तिमा जीवन हुन सक्छ? कुनै व्यक्तिमा जीवन हुने नहुने कुरा उसमा सत्यता वास्तविकताहरू छन् छैनन् भन्नेमा भर पर्छ। तर प्रतिभा र वरदानहरू भएको व्यक्तिले कसरी सत्यता प्राप्त गर्न सक्छ? ऊ वरदानहरूमा भरोसा नगरी कसरी जिउन सक्छ? ऊ यसरी जिउनबाट कसरी उम्कन सक्छ? उसले सत्यता खोज्नुपर्छ। सुरुमा, उसले वरदानहरू के हुन् र जीवन के हो भन्नेबीचको भिन्नता प्रस्ट रूपमा थाहा पाउनुपर्छ। कुनै व्यक्तिमा वरदान र प्रतिभा छ भने, यसको मतलब ऊ कुनै कुरामा भित्रैदेखि राम्रो छ वा कुनै रूपमा अरूको तुलनामा अलि उत्कृष्ट छ। उदाहरणको लागि, तैँले अरूले भन्दा अलि चाँडो प्रतिक्रिया जनाउँलास्, अरूले भन्दा अलि छिटो कुरा बुझ्लास्, निश्‍चित व्यावसायिक सीपहरूमा दक्षता हासिल गरेको होलास्, वा तँ कुशल वक्ता होलास्, र तँमा यस्तै अन्य क्षमता होला। यी कुरा व्यक्तिमा हुन सक्ने वरदान र प्रतिभाहरू हुन्। यदि तँसित केही निश्‍चित प्रतिभा र सबल पक्षहरू छन् भने, तैँले तिनलाई कसरी बुझ्छस् र सम्हाल्छस् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। यदि तँ आफूसित भएका प्रतिभा र वरदानहरू अरू कसैसँग नभएकाले, तेरो स्थान कसैले ओगट्न सक्दैन भन्‍ने सोच्छस् भने, र यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्न आफ्ना वरदान र प्रतिभाहरू प्रयोग गर्छस् भने, तँ सत्यता अभ्यास गरिरहेको छस् भन्ठान्छस् भने, के यो दृष्टिकोण सही हो कि गलत हो? (गलत।) तँ किन यो गलत हो भन्छस्? प्रतिभा र वरदानहरू भनेका ठ्याक्कै के हुन्? तैँले तिनलाई कसरी बुझ्ने, प्रयोग गर्ने र सम्हाल्ने गर्नुपर्छ? तथ्य के हो भने, तँसित जे वरदान वा प्रतिभा भए पनि, त्यसको मतलब यो होइन कि तँसित सत्यता र जीवन छ। यदि मानिसहरूमा केही वरदान र प्रतिभाहरू छन् भने, तिनीहरूले यी वरदान र प्रतिभाहरूको उपयोग हुने कुनै कर्तव्य निर्वाह गर्दा उचित हुन्छ, तर त्यसको मतलब यो होइन कि तिनीहरू सत्यता अभ्यास गरिरहेका छन्, वा सिद्धान्तहरूअनुसार कामकुरा गरिरहेका छन्। उदाहरणको लागि, यदि तँ गायन प्रतिभा बोकेर जन्मेको छस् भने, के तेरो गायन क्षमताले सत्यता अभ्यास जनाउँछ र? के त्यसको मतलब तँ सिद्धान्तहरूअनुसार गाउँछस् भन्ने हुन्छ र? हुँदैन। उदाहरणको लागि, मानौँ तँसित भाषा प्रयोग गर्ने जन्मसिद्ध प्रतिभा छ र तँ लेखनमा राम्रो छस् रे। तर यदि तँ सत्यता बुझ्दैनस् भने, के तेरो लेखन सत्यताबमोजिम हुन सक्छ र? के त्यसले तँसित अनुभवात्मक गवाही छ नै भन्ने हुन्छ र? (अहँ, हुँदैन।) यसर्थ, वरदान र प्रतिभाहरू सत्यताभन्दा फरक हुन् र तिनलाई तुलना गर्न मिल्दैन। तँसित जे-जस्तो वरदान भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछैनस्। कतिपय मानिसहरू प्राय आफ्ना वरदानहरूको सान देखाउँछन् र सामान्यतया आफू अरूभन्दा राम्रो भएको अनुभूति गर्छन्, त्यसैले तिनीहरू अरू मानिसहरूलाई हेयको दृष्टिले हेर्छन् र आफ्नो कर्तव्य निर्वाह गर्दा अरूसँग सहकार्य गर्न अनिच्छुक हुन्छन्। तिनीहरू सधैँ शक्तिमा रहन चाहन्छन्, र फलस्वरूप तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा प्राय सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र तिनीहरूको कार्यदक्षता पनि निकै कम हुन्छ। वरदानहरूले तिनीहरूलाई अहङ्कारी र आत्मधर्मी बनाएका हुन्छन्, अरूलाई हेयको दृष्टिले हेर्ने बनाएका हुन्छन्, र सधैँ आफू अरू मानिसहरूभन्दा राम्रो भएको र अरू कोही पनि आफूजति राम्रो नभएको अनुभूति गराउँछन्, जसको कारणले तिनीहरू दम्भी बन्छन्। के यी मानिसहरूलाई तिनीहरूका वरदानहरूले बिगारेका छैनन् र? वास्तवमै बिगारेका छन्। वरदान भएका र प्रतिभाशाली मानिसहरू अहङ्कारी र आत्मधर्मी हुने सम्भावना धेरै हुन्छ। यदि तिनीहरू सत्यता पछ्याउँदैनन् र सधैँ आफ्ना वरदानहरूद्वारा जिउँछन् भने, त्यो निकै खतरनाक कुरा हो। परमेश्‍वरको घरमा कुनै व्यक्तिले जे कर्तव्य निर्वाह गरे पनि, उसमा जे-जस्तो प्रतिभा भए पनि, यदि उसले सत्यता पछ्याउँदैन भने, ऊ निश्‍चय नै आफ्नो कर्तव्य पूरा गर्न असफल हुनेछ। व्यक्तिमा जे-जस्ता वरदान र प्रतिभाहरू भए पनि, उसले त्यस्तो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यदि उसले सत्यता बुझ्न र सिद्धान्तअनुसार कामकुरा गर्न पनि सक्छ भने, उक्त कर्तव्यको कार्य-सम्पादनमा उसका वरदान र प्रतिभाहरूले पनि भूमिका खेल्नेछन्। जो मानिसहरू सत्यता स्विकार्दैनन्, र सत्यता सिद्धान्तहरू खोज्दैनन्, र आफ्ना वरदानहरूमा मात्र भरोसा गर्छन्, तिनीहरूले आफ्नो कर्तव्यपालनबाट कुनै नतिजाहरू दिनेछैनन्, र तिनीहरू हटाइने जोखिममा हुन्छन्। एउटा उदाहरण हेर: कतिपय मानिसहरू लेखनमा प्रतिभाशाली हुन्छन् तर सत्यता बुझ्दैनन्, र तिनीहरूको लेखनमा सत्यता वास्तविकता बिलकुलै हुँदैन। अनि, त्यसले अरूलाई कसरी ज्ञान दिन सक्छ र? त्यसको प्रभाव अशिक्षित तर सत्यता बुझ्ने व्यक्तिले आफ्नो गवाहीबारे कुरा गर्दाको प्रभावभन्दा कम हुन्छ। धेरै मानिसहरू वरदानै वरदान बोकेर जिउँछन् र आफू परमेश्‍वरको घरका उपयोगी व्यक्तित्व भएको भन्‍ने सोच्छन्। तर मलाई भन् त, यदि तिनीहरू सत्यता पछ्याउनुलाई कहिल्यै प्राथमिकता दिँदैनन् भने, के अझै पनि तिनीहरूको मूल्य हुन्छ र? यदि कुनै व्यक्तिमा वरदान र प्रतिभाहरू छन् तर सत्यता सिद्धान्तहरू छैनन् भने, के उसले राम्ररी कर्तव्य निर्वाह गर्न सक्छ र? जसले यो मामलालाई साँच्चिकै बुझ्छ र यसको महत्त्व थाहा पाउँछ, उसलाई वरदान र प्रतिभाहरूलाई कसरी लिने भनी थाहा हुन्छ। यदि तँ सधैँ तेरा वरदानहरूको घमण्ड गर्दै तँसित सत्यता वास्तविकता छन् र तँ अरूभन्दा राम्रो छस् भन्ने सोचिरहन्छस्, साथै गोप्य रूपमा अरूलाई हेयको दृष्टिले हेरिरहन्छस् भने, तैँले के गर्नुपर्छ? तैँले सत्यता खोज्‍नु आवश्यक छ; तैँले वरदानहरूको घमण्ड गर्नुको सार बुझ्‍नु जरुरी छ। के वरदानहरूको घमण्ड गर्नु नै मूर्खता र अज्ञानताको उच्चत्तम बिन्दु होइन र? यदि कुनै व्यक्ति कुशल वक्ता हो भने, के त्यसको अर्थ उसमा सत्यता वास्तविकता छ भन्ने हुन्छ र? के वरदानहरू हुनुको अर्थ कुनै व्यक्तिमा सत्यता र जीवन छ भन्ने हुन्छ र? यदि कुनै व्यक्तिले आफूमा बिलकुलै कुनै वास्तविकता नभएर पनि आफ्ना वरदानहरू प्रदर्शन गर्छ भने, के ऊ लाजपचुवा होइन र? यदि उसले यी कुराहरू बुझेको भए, उसले घमण्ड गर्नेथिएन। अब, अर्को प्रश्‍न यस्तो छ: यी धेरै वरदान भएका र प्रतिभाशाली मानिसहरूले सामना गर्ने सबैभन्दा ठूलो चुनौती के हो? के तिमीहरूले यस्तो कुरा अनुभव गरेका वा भोगेका छौ? (तिनीहरूको सबैभन्दा ठूलो चुनौती के हो भने, तिनीहरू सधैँ अरूभन्दा राम्रा छन्, र तिनीहरू सबै हिसाबमा राम्रा छन् भन्ने सोच्छन्। तिनीहरू अत्यन्तै अहङ्कारी र दम्भी हुन्छन्; तिनीहरू सबैलाई हेयको दृष्टिले हेर्छन्। यस्ता मानिसहरूलाई सत्यता स्विकार्न र अभ्यास गर्न सजिलो हुँदैन।) त्यो त्यसैको पाटो हो। अरू केही छ? (तिनीहरूलाई आफ्ना वरदान र प्रतिभाहरू त्याग्न गाह्रो हुन्छ। तिनीहरूलाई सधैँ यो लाग्छ कि तिनीहरूले आफ्ना वरदान र प्रतिभाहरू प्रयोग गरेर धेरै समस्याहरू समाधान गर्न सक्छन्। तिनीहरूले सत्यताअनुसार कामकुरा हेर्न नजानेको मात्र हो।) (वरदान भएका मानिसहरूले सधैँ आफैले परिस्थितिहरू सम्हाल्न सक्ने सोच्छन्, त्यसैले तिनीहरूलाई चुनौतीहरू आइपर्दा परमेश्‍वरमा भरोसा गर्न कठिन हुन्छ, र तिनीहरू सत्यता खोज्न अनिच्छुक हुन्छन्।) तिमीहरूले जे भनिरहेका छौ, ती तथ्यहरू हुन्, तथ्यबाहेक अरू केही होइनन्। वरदान भएका र प्रतिभाशाली मानिसहरूले आफू चलाख छु, र आफूले सबथोक बुझ्छु भन्ठान्छन्—तर तिनीहरूलाई थाहा हुन्‍न कि वरदान र प्रतिभाहरूले सत्यता जनाउँदैनन्, र यी कुराहरूको सत्यतासँग कुनै सम्बन्ध हुँदैन। जब मानिसहरू आफ्ना कार्यहरूमा आफ्नै वरदान र कल्पनाहरूमा भरोसा गर्छन्, तब तिनीहरूका सोच र रायहरू प्राय सत्यताविपरीत हुन जान्छन्—तर तिनीहरू यो कुरा बुझ्न सक्दैनन्, तिनीहरू अझै यस्तो सोच्छन्, “हेर त, म कति बुद्धिमान् छु; मैले यति राम्रा चुनाउहरू गरेको छु! कति बुद्धिमान् निर्णयहरू! तिमीहरू कोही पनि मेरो तुलनामा आउँदैनौ।” तिनीहरू सधैंभरि आत्ममोहमा र आत्म-प्रशंसामा जिउँछन्। तिनीहरूलाई आफ्नो हृदयलाई शान्त पार्न र परमेश्‍वरले तिनीहरूलाई भन्‍नुहुने कुराहरू, सत्यता के हो र सत्यता सिद्धान्तहरू के-के हुन् भन्‍ने कुराहरू विचार गर्न गाह्रो पर्छ। त्यसैले तिनीहरूलाई सत्यता बुझ्न गाह्रो पर्छ, र तिनीहरूले कर्तव्यहरू निर्वाह गरे पनि, तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुँदैनन्, र त्यसैले गर्दा तिनीहरूलाई सत्यता वास्तविकताभित्र प्रवेश गर्न पनि निकै कठिन हुन्छ। छोटकरीमा भन्दा, यदि कुनै व्यक्तिले सत्यता पछ्याउन र स्विकार्न सक्दैन भने, उसमा जे-जस्ता वरदान र प्रतिभाहरू भए पनि, ऊ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुनेछैन—यसमा रत्ती पनि शङ्का छैन।

वरदान र प्रतिभाहरूलाई एउटै प्रकारका कुरा मान्न सकिन्छ। यस्ता प्रतिभाहरू के-के छन्? केही मानिसहरू कुनै निश्‍चित प्रविधिमा निकै दक्ष हुन्छन्। उदाहरणको लागि, कतिपय पुरुषहरू ग्याजेट चलाइरहन मन पराउँछन्, र कतिपय मानिसहरू इलेक्ट्रोनिक सामानहरू चलाउन निकै सिपालु हुन्छन्, र कम्प्युटरका भित्री कोड वा सफ्टवेयर प्रोग्रामहरू उत्कृष्ट ढङ्गले चलाउँछन्। तिनीहरू यी कुराहरूमा दक्षता हासिल गर्न र तिनलाई तुरन्तै सम्झन सक्छन्—यसको मतलब, यी कुराहरू बुझ्ने र कण्ठ पार्ने तिनीहरूको क्षमता असाधारण हुन्छ। यो एउटा प्रतिभा हो। कतिपय मानिसहरू भाषा सिक्नमा उत्तम हुन्छन्। जुन भाषा सिके पनि तिनीहरू अत्यन्तै चाँडो सिक्छन्, र तिनीहरूको स्मरण क्षमता साधारण मानिसहरूको भन्दा बलियो हुन्छ। कतिपय मानिसहरू गायन, नृत्य, वा कलामा उत्तम हुन्छन्, कतिपयचाहिँ श्रृङ्गार र अभिनयमा उत्तम हुन्छन्, केही मानिसहरू निर्देशक बन्न सक्छन्, र यस्तै यस्तै प्रतिभाहरू हुन्छन्। तर प्रतिभा जे-जस्तो भए पनि, यदि कुनै व्यक्ति कुनै प्रकारको काममा संलग्न हुन्छ भने, यसले “मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्” भन्ने शीर्षक समेट्छ। अनि, हामीले किन मानव वरदान र प्रतिभाहरू विश्‍लेषण गर्न आवश्यक छ? किनकि मानिसहरू आफ्ना वरदान र प्रतिभाहरूद्वारा जिउनमा रमाउँछन्, र मानिसहरू तिनलाई उपलब्धि, आफ्नो जीविकाको स्रोत, जीवन, र मूल्य, लक्ष्य पछ्याइ, र आफ्नो जीवनको महत्त्व मान्छन्। मानिसहरू आफूले जिउनको लागि यी कुराहरूमा भरोसा गर्नु स्वाभाविक हो भन्ने महसुस गर्छन्, र तिनलाई मानव जीवनको अपरिहार्य पाटोको रूपमा हेर्छन्। लगभग आजका सबै मानिसहरू आफ्ना वरदान र प्रतिभाहरूद्वारा जिउँछन्। अनि, तिमीहरू प्रत्येकचाहिँ के-कस्ता वरदानहरूद्वारा जिउँछौ? (मलाई लाग्छ ममा भाषासम्बन्धी वरदान छ। त्यसैले म त्यस वरदानद्वारा सुसमाचार प्रचार गर्छु—साँचो मार्ग अनुसन्धान गरिरहेको कुनै व्यक्तिसँग कुरा गरिरहँदा, म उसको ध्यान तान्न सक्छु, र ऊ मेरो कुरा सुन्न चाहन्छ।) अनि, तँसँग यो वरदान हुनु राम्रो हो कि होइन? (अब मैले परमेश्‍वरको सङ्गति सुनिसकेको छु, त्यसैले मलाई लाग्छ यो वरदानले मलाई सत्यता सिद्धान्तहरू खोज्नमा बाधा पुर्‍याउनेछ।) के तैँले भाषिक प्रतिभा हुनु राम्रो होइन, र अबउप्रान्त तँ यो वरदान प्रयोग गर्न चाहनेछैनस्, भनेर भनिरहेको हो? (होइन।) त्यसोभए, के भनिरहेको हो? अब तिमीहरूले आजको छलफल केमा केन्द्रित छ, यसले तिमीहरूका कुन-कुन समस्याहरू समाधान गर्नेछन्, यी वरदानहरूद्वारा जिउनुमा के गलत छ र के सही छ भनी बुझ्नुपर्छ। तिमीहरू यी कुराहरूबारे प्रस्ट हुनैपर्छ। यदि तिमीहरू यी कुराहरू बुझ्दैनौ, र यदि अन्त्यमा यति धेरै कुरा गरेपछि पनि तिमीहरूलाई सही कुराहरू गलत छन र गलत कुराहरू सही छन्, अनि तिमीहरूले गर्ने सबथोक गलत छन् भन्ने अनुभूति भयो भने, के तिमीहरू वरदानहरूद्वारा जिउने समस्या समाधान गर्न सक्छौ? (सक्दैनौँ। सुसमाचार प्रचार गर्न आफ्नो भाषिक दक्षतामा भरोसा गर्दा, मलाई लाग्छ आफ्नो अभिप्राय परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु नभई, आफ्नै प्रदर्शन गर्नु, आफ्नै प्रशंसा गर्नु, र आफैबारे राम्रो अनुभूति गर्नु हुन्छ।) तैँले भर्खरै तेरा वरदानहरूद्वारा जिउनु गलत हुनुको कारण व्यक्त गरेको छस्। तँलाई यो वरदान भनेको तेरो उपलब्धि र तेरो आत्मसम्मानको पुष्टि हो, र यी सोचहरू र यो दृष्टिकोण गलत हुन् भन्ने लाग्छ। तँ यो समस्या कसरी समाधान गर्न सक्छस्? (मैले जान्‍नुपर्छ कि मेरो वरदान भनेको मेरो कर्तव्य निर्वाह गर्ने एउटा साधन मात्र हो। मेरो वरदान प्रयोग गर्नुको उद्देश्य भनेको मेरो कर्तव्य राम्ररी निर्वाह गर्नु र परमेश्‍वरको आज्ञा पूरा गर्नु हो।) यो तरिकाले सोचेपछि, के तैँले अचानक सत्यता अभ्यास गर्न सक्नेछस् त? (सक्नेछैन।) त्यसोभए तँ कसरी सत्यता अभ्यास गर्ने अनि यी वरदानहरूद्वारा नजिउने बन्‍न सक्छस् त? तैँले कर्तव्य निर्वाह गरिरहेको बेलामा, यदि तँ तेरा वरदानहरू प्रयोग गरेर तेरा व्यक्तिगत सीप र क्षमताहरूको धाक देखाइरहेको हुन्छस् भने, तँ तेरा वरदानहरूद्वारा जिइरहेको हुन्छस्। तर यदि तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र बफादारी देखाउन तेरा वरदान र ज्ञान प्रयोग गर्छस्, र त्यसपछि तँ परमेश्‍वरको इच्छा पूरा गर्न र परमेश्‍वरले आवश्यक गराउनुभएका नतिजाहरू हासिल गर्न सक्षम हुन्छस्, र यदि तँ परमेश्‍वरको बारेमा अझ राम्ररी गवाही दिन र परमेश्‍वरले के काम गरिरहनुभएको छ भनी मानिसहरूलाई बुझाउन र प्रस्ट पार्नमा अझ राम्रोसित मद्दत गर्न सकूँ भनेर कसरी बोल्ने र के भन्ने भनी मनन गर्छस्, र यसरी अन्त्यमा मानिसहरूलाई परमेश्‍वरको काम स्विकार्न मद्दत गर्छस् भने, तँ सत्यता अभ्यास गरिरहेको छस्। के यसमा कुनै भिन्नता छ? (छ।) के तिमीहरू कहिल्यै आफ्ना वरदान, प्रतिभा, वा क्षमताहरूको सान देखाउँदा बहकिएका छौ, अनि आफूले कर्तव्य निभाउँदै गरेको कुरा बिर्सेर, अरूको अगाडि अविश्‍वासीले झैँ सान देखाएका छौ? के तिमीहरूलाई कहिल्यै यस्तो भएको छ? (छ।) त्यसोभए यी परिस्थितिहरूमा, व्यक्तिको भित्री स्थिति कस्तो हुन्छ? यस्तो बेला, भोगविलासको स्थिति हुन्छ, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय, संयम, वा ग्लानि हुँदैन, र तिनीहरूले कामकुराहरू गर्दा तिनीहरूको मनमा कुनै लक्ष्य वा सिद्धान्त हुँदैन, र तिनीहरूले इसाईमा हुनुपर्ने आधारभूत मर्यादा र शालीनता गुमाइसकेका हुन्छन्। फलस्वरूप के हुन्छ? फलस्वरूप तिनीहरूले आफ्ना सीपहरूको सान देखाउँछन् र आफ्नो व्यक्तित्व बेचिदिन्छन्। के तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, प्राय त्यस्ता स्थितिहरू अनुभव गर्छस् जहाँ तँ तेरा प्रतिभा र वरदानहरू प्रस्तुत गर्नमा मात्र चासो राख्छस्, र जहाँ तँ सत्यता खोज्दैनस्? तँ यस्तो स्थितिमा हुँदा, के तँ त्यसलाई आफैले महसुस गर्न सक्छस्? के तँ आफ्नो मार्ग परिवर्तन गर्न सक्छस्? यदि तँ यो महसुस गर्न र तेरो मार्ग परिवर्तन गर्न सक्छस् भने, तँ सत्यता अभ्यास गर्न सक्षम हुनेछस्। तर यदि तँ सधैँ यस्तै हुन्छस्, र लामो समयसम्म बारम्बार यो स्थिति अनुभव गर्छस् भने, तँ पूर्णतया आफ्ना वरदानहरूद्वारा जिउने र सत्यता बिलकुलै अभ्यास नगर्ने व्यक्ति होस्। तिमीहरूलाई आफ्नो संयम कहाँबाट आउँछ भन्ने लाग्छ? तेरो संयमको शक्ति केद्वारा निर्धारित हुन्छ? यो तैँले सत्यतालाई कति प्रेम गर्छस् र दुष्टता र नकारात्मक कुराहरूलाई कति घृणा गर्छस् भन्ने कुराद्वारा निर्धारित हुन्छ। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तैँले दुष्टता गर्न चाहनेछैनस्, र जब तैँले नकारात्मक कुराहरूलाई घृणा गर्छस्, तब पनि तैँले दुष्टता गर्न चाहनेछैनस्—र त्यसरी नै संयमको भावना उत्पन्न हुन्छ। सत्यताप्रति प्रेम नगर्ने मानिसहरूलाई दुष्ट कुराहरू घृणा गर्न असम्भव हुन्छ। त्यसैले तिनीहरूमा कुनै संयमको भावना हुँदैन, र त्यो भावना नभएपछि, तिनीहरू बेलगाम ऐयासीमा पर्ने सम्भावना हुन्छ। तिनीहरू मनोमानी र लापरवाह हुन्छन्, र तिनीहरूले कति दुष्टता गर्छन् भन्नेबारे तिनीहरूलाई कति पनि वास्ता हुँदैन।

आफ्ना वरदानहरूमा भरोसा गरेर जिउने मानिसहरूले अनुभव गर्ने अर्को पनि स्थिति छ। मानिसहरूमा जस्तोसुकै प्रतिभा, वरदान, वा सीपहरू भए पनि, यदि तिनीहरूले काम र परिश्रम मात्र गर्छन्, र कहिल्यै सत्यता खोजेका छैनन्, न त परमेश्‍वरको इच्छा बुझ्न नै खोजेका छन् भने, र मानौँ तिनीहरूका मनमा सत्यता अभ्यास गर्ने अवधारणा नै छैन, र तिनीहरूको एउटै मात्र प्रेरणा भनेको काम सकाउने र कार्य सम्पन्न गर्ने मात्र हो भने, के यो पूर्णतया आफ्नै वरदान र प्रतिभाहरूद्वारा अनि आफ्नै क्षमता र सीपहरूद्वारा जिउनु होइन र? परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरू परिश्रम गर्न मात्र चाहन्छन् ताकि तिनीहरूले आशिष्‌हरू प्राप्त गर्न सकून् र तिनीहरूका आफ्नै वरदान र सीपहरूलाई परमेश्‍वरका आशिष्‌हरूसँग साट्न सकून्। धेरै मानिसहरू यही स्थितिमा हुन्छन्। विशेषगरी परमेश्‍वरको घरले तिनीहरूलाई कुनै नियमित काममा खटाउँदा धेरैजसो मानिसहरूले यो दृष्टिकोण बोक्छन्—तिनीहरूले परिश्रम मात्र गर्छन्। अर्को शब्दमा भन्नुपर्दा, तिनीहरू आफ्ना लक्ष्यहरू हासिल गर्नहेतु परिश्रममा भरोसा गर्न चाहन्छन्। तिनीहरू कहिलेकाहीँ कुराकानी गर्छन् वा कुनै कुरा नियाल्छन्; कहिलेकाहीँ शारीरिक काम गर्छन् वा दौडधुप गर्छन्। तिनीहरू यसो गरेर आफूले धेरै योगदान गरेको छु भन्ने सोच्छन्। आफ्ना वरदानहरूमा भरोसा गरेर जिउनु भनेको यही हो। हामी किन वरदान र प्रतिभाहरूद्वारा जिउनु भनेको कर्तव्य निभाउनुभन्दा पनि परिश्रम गर्नु हो, र सत्यता अभ्यास गर्नु त बिलकुलै होइन भन्छौँ? यसमा एउटा भिन्नता छ। उदाहरणको लागि, मानौँ रे परमेश्‍वरको घरले तँलाई एउटा काम दिन्छ, र त्यो काम लिएपछि तँ त्यो काम कसरी सकेसम्म चाँडो पूरा गर्ने भन्नेबारे सोच्छस्, ताकि तैँले अगुवालाई रिपोर्ट दिएर तँलाई उसको प्रशंसा प्राप्त होस्। तेरो निकै इमानदार मनोवृत्ति पनि होला र तैँले चरणबद्ध योजना बनाएको पनि होलास्, तर तँ काम सकाउन र अरूले हेरून् भनी त्यो गर्न मात्र ध्यान दिन्छस्। अथवा, तैँले त्यसो गर्दा आफूलाई सन्तुष्ट र खुसी पार्ने गरी कसरी काम गर्ने भन्नेबारे सोच्दै, र आफूले खोजेको सिद्धताको मानक पूरा हुने गरी, तैँले आफ्नै लागि एउटा मानक बनाउन पनि सक्छस्। तर तैँले जति मानकहरू बनाए पनि, यदि तैँले गर्ने कुराको सत्यतासँग कुनै सम्बन्ध छैन भने, र यदि त्यो कुरा सत्यता खोजेर, परमेश्‍वरका मापदण्डहरू बुझेर र पुष्टि गरेर गरिएन, बरु अन्धाधुन्ध रूपमा र अन्यौलपूर्ण मनले गरिएमा, त्यो परिश्रम गर्नु हो। त्यो तेरो आफ्नै मन, वरदान, क्षमता, र सीपहरूमा भरोसा गरेर कामकुरा गर्नु, साथै मनोकामनाको मानसिकता राख्नु हो। अनि, यस तरिकाले कामकुराहरू गर्नुको नतिजा के हुन्छ? सायद तैँले कार्य सम्पन्न गर्न सक्छस्, र कसैले पनि केही समस्या नऔँल्याउन सक्छन्। तँ निकै खुसी हुन्छस्, तर काम गर्ने क्रममा, सुरुमा तैँले परमेश्‍वरको इच्छा बुझिनस्। दोस्रो कुरा, तैँले त्यो काम तेरो सारा हृदय, मन र शक्तिले गरिनस्; तेरो हृदयले सत्यता खोजेन। यदि तैँले सत्यता सिद्धान्तहरू र परमेश्‍वरको इच्छा खोजेको हुन्थिस् भने, तेरो कार्य-सम्पादन मापदण्डअनुरूप हुनेथियो। तँ सत्यता वास्तविकताहरूमा प्रवेश गर्न पनि सक्षम हुनेथिस्, र तैँले जे गरेको थिइस्, त्यो परमेश्‍वरको इच्छासँग मिल्दो थियो भनी सही रूपमा बुझ्न सक्‍नेथिस्। तर यदि तँ त्यसमा आफ्नो हृदय लगाउँदैनस्, र अन्यौलमा त्यो काम गर्छस् भने, काम पूरा र कार्य सम्पन्न हुने भए पनि, तैँले त्यो कति राम्ररी गरिस् भनेर हृदयमा तँलाई थाहा हुनेछैन, तँसित कुनै पनि मानकहरू हुनेछैनन्, र उक्त काम परमेश्‍वरको इच्छा वा सत्यताअनुरूप गरियो गरिएन भनेर तैँले थाहा पाउनेछैनस्। त्यो अवस्थामा, तैँले कर्तव्य निर्वाह गरिरहेको हुँदैनस्, तैँले त सेवा मात्र गरिरहेको हुन्छस्।

परमेश्‍वरमा विश्‍वास गर्ने सबैले उहाँको इच्छा बुझ्नुपर्छ। ज-जसले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्छन् उनीहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्, र परमेश्‍वरको आज्ञा पूरा गरेर मात्र आफ्‍नो कर्तव्यको कार्यसम्पादन सन्तोषजनक हुन सक्छ। अनि, परमेश्‍वरको आज्ञा पूरा गर्नको निम्ति एउटा मापदण्ड छ। प्रभु येशूले यसो भन्नुभएको थियो: “तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू।” उहाँले मानिसहरूलाई दिनुभएको मापदण्डको एउटा पक्ष “परमेश्‍वरलाई प्रेम गर्नु” हो। यो मापदण्ड कहाँ प्रकट हुनुपर्छ? तैँले परमेश्‍वरको आज्ञा पूरा गर्नैपर्छ भन्‍ने कुरामा। व्यावहारिक हिसाबमा भन्नुपर्दा, यो भनेको मानवको रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु हो। त्यसोभए आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नको लागि के मापदण्ड छ? परमेश्‍वरको मापदण्ड यो छ कि, एक सृष्टि गरिएको प्राणीको रूपमा तैँले आफ्नो सारा हृदय, प्राण, मन, र शक्तिले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यो कुरा बुझ्न सजिलै हुनुपर्छ। परमेश्‍वरको मापदण्ड पूरा गर्नको निम्ति, तैँले मुख्यगरी कर्तव्यमा आफ्नो हृदय लाउनु आवश्यक हुन्छ। यदि तँ तेरो हृदय त्यसमा लगाउन सक्छस् भने, तँलाई तेरो सारा प्राण, तेरो सारा मन, र तेरो सारा शक्तिले कार्य गर्न सजिलो हुनेछ। यदि तँ तेरो मस्तिष्कका कल्पनाहरूमा र तेरा वरदानहरूमा भरोसा गरेर आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, के तैँले परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्छस् र? कदापि सक्दैनस्। त्यसो भए, परमेश्‍वरको आज्ञा पूरा गर्न, र आफ्नो कर्तव्य बफादारीसाथ र राम्रोसँग सम्पन्न गर्नको लागि कुन मापदण्ड पूरा गर्नुपर्छ? त्यो भनेको सारा हृदयले, सारा प्राणले, सारा मनले र सारा शक्तिले कर्तव्य निर्वाह गर्नु हो। यदि तैँले परमेश्‍वरलाई प्रेम गर्ने हृदयविना कर्तव्य पूरा गर्ने कोसिस गर्छस् भने, त्यसले काम गर्नेछैन। यदि परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय अझ बलियो र अझ सच्‍चा हुन्छ भने, तैँले स्वाभाविक रूपमै तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा मनले र तेरो सारा शक्तिले तेरो कर्तव्य राम्ररी पूरा गर्न सक्नेछस्। तेरो सारा हृदय, तेरो सारा प्राण, तेरो सारा मन, तेरो सारा शक्ति—त्यो अन्त्यमा आउने “तेरो सारा शक्ति” हो; सुरुमा “तेरो सारा मन” आउँछ। यदि तँ तेरो सारा मनले तेरो कर्तव्य निर्वाह गरिरहेको छैनस् भने, तँ कसरी तेरो सारा शक्तिले त्यो काम गरिरहेको हुन सक्छस् र? त्यसैले आफ्नो सारा शक्तिले मात्र कर्तव्य निर्वाह गर्न खोजेमा त्यसले कुनै नतिजाहरू दिन सक्दैन—र त्यसले सिद्धान्तहरू पनि पालना गर्न सक्दैन। परमेश्‍वरले मापदण्ड तोक्‍नुहुने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (आफ्नो सारा हृदयले।) परमेश्‍वरले तँलाई जुनै कर्तव्य वा कुरा सुम्पनुभए पनि, यदि तँ केवल परिश्रम गर्ने, दौडधुप गर्ने, र मेहनत लगाउने मात्र गर्छस् भने, के तँ सत्यता सिद्धान्तहरूसँग मिल्दो हुन सक्छस् र? के तँ परमेश्‍वरको इच्छाअनुसार हिँड्न सक्छस् र? (सक्दिनँ।) त्यसोभए तँ कसरी परमेश्‍वरको इच्छासँग मिल्दो हुन सक्छस् त? (आफ्नो सारा हृदयले।) “तेरो सारा हृदयले” भन्ने शब्दहरू भन्न सजिला छन्, र मानिसहरू प्राय त्यो कुरा भनिरहन्छन्, त्यसोभए तँ कसरी तेरो सारा हृदयले त्यो गर्न सक्छस् त? कतिपय मानिसहरू भन्छन्, “तैँले अलि बढी प्रयास र इमानदारीले कामकुरा गरिस्, अझै धेरै सोचिस्, तेरो मनमा अरू केही आउन दिइनस्, र आफ्नो काम कसरी गर्ने भन्नेमा मात्र ध्यान दिइस् भने त्यसो गर्न सक्छस्, होइन र?” के त्यो त्यति सजिलो छ त? (छैन।) त्यसोभए अब अभ्यासका केही आधारभूत सिद्धान्तहरूबारे कुरा गरौँ। तिमीहरूले प्रायसो अभ्यास वा पालन गर्दै आएका सिद्धान्तहरूअनुसार, आफ्नो सारा हृदयले कामकुरा गर्न तिमीहरूले सुरुमा के गर्नुपर्छ? तिमीहरूले आफ्नो सारा मन प्रयोग गर्नुपर्छ, आफ्नो ऊर्जा प्रयोग गर्नुपर्छ, र आफ्नो हृदयलाई काम गर्न लगाउनुपर्छ, र झाराटारुवा हुनु हुँदैन। यदि व्यक्ति आफ्नो सारा हृदयले कामकुरा गर्न सक्दैन भने, उसले आफ्नो हृदय गुमाएको हुन्छ, जुन आफ्नो प्राण गुमाउनुजस्तै हो। बोल्दाखेरि उसका सोचहरू बहकिनेछन्, उसले आफ्नो हृदयलाई काममा कहिल्यै लगाउनेछैन, र उसले जे गरे पनि ऊ नासमझ हुनेछ। फलस्वरूप, उसले कामकुरा राम्ररी सम्हाल्न सक्नेछैन। यदि तँ तेरो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गर्दैनस् र आफ्नो सम्पूर्ण हृदय त्यसमा लगाउँदैनस् भने, तैँले नराम्रोसित कर्तव्य निर्वाह गर्नेछस्। अनि, वर्षौँ कर्तव्य निर्वाह गरे पनि, तैँले पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्न सक्नेछैनस्। यदि तँ तेरो हृदय लगाउँदैनस् भने, तैँले केही पनि राम्ररी गर्न सक्‍नेछैनस्। कतिपय मानिसहरू लगनशील सेवक हुँदैनन्, तिनीहरू सधैँ अस्थिर र अप्रत्याशित हुन्छन्, तिनीहरू धेरै ठूलो उद्देश्य राख्छन्, र तिनीहरूलाई आफ्नो हृदय कहाँ छ भन्‍नेसमेत थाहा हुँदैन। के यस्ता मानिसहरूमा हृदय हुन्छ त? व्यक्तिमा हृदय छ छैन भनेर तिमीहरू कसरी भन्न सक्छौ? यदि परमेश्‍वरमा विश्‍वास गर्ने कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू विरलै पढ्छ भने, के ऊसँग हृदय हुन्छ? यदि उसले जेसुकै आइपरे पनि कहिल्यै परमेश्‍वरलाई प्रार्थना गर्दैन भने, के ऊसँग हृदय हुन्छ? यदि जस्तोसुकै कठिनाइ सामना गर्नुपरे पनि उसले कहिल्यै सत्यता खोज्दैन भने, के ऊसँग हृदय हुन्छ? कतिपय मानिसहरूले वर्षौँ कर्तव्य निभाएर पनि कुनै नतिजा निकाल्दैनन्, के तिनीहरूसँग हृदय हुन्छ? (हुँदैन।) के हृदय नभएका मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? मानिसहरूले कसरी सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? सर्वप्रथम, तैँले जिम्मेवारीबारे सोच्नुपर्छ। “यो मेरो जिम्मेवारी हो, मैले यो वहन गर्नुपर्छ। मेरो सबैभन्दा बढी आवश्यकता परेको बेला, म भाग्न मिल्दैन। मैले मेरो कर्तव्य राम्ररी निभाउनुपर्छ र त्यसबारे परमेश्‍वरलाई भन्नुपर्छ।” यसको मतलब, तँसित सैद्धान्तिक आधार छ। तर के सैद्धान्तिक आधार मात्र हुँदैमा, तँ तेरो सारा हृदयले कर्तव्य निभाइरहेको छस् भन्ने हुन्छ र? (हुँदैन।) तँ अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्ने र तेरो सारा हृदयले कर्तव्य निभाउने परमेश्‍वरको मापदण्ड पूरा गर्नबाट निकै टाढा छस्। त्यसोभए, तेरो सारा हृदयले कर्तव्य निभाउनुको अर्थ के हो त? मानिसहरूले कसरी आफ्नो सारा हृदयले कर्तव्य निर्वाह गर्न सक्छन्? सर्वप्रथम, तैँले सोच्नुपर्छ, “मैले कसको लागि यो कर्तव्य निभाइरहेको छु? मैले यो परमेश्‍वरको निम्ति गरिरहेको छु, कि मण्डली, वा कुनै व्यक्तिको निम्ति?” यो कुरा प्रस्ट रूपमा बुझ्नैपर्छ। साथै, यो पनि सोच्नुपर्छ: “यो कर्तव्य मलाई कसले आज्ञा गरेको हो? परमेश्‍वरले हो, कि कुनै अगुवा वा मण्डलीले हो?” यो कुरा पनि प्रस्ट पार्नुपर्छ। यो सानो कुरा जस्तो देखिएला, तर त्यसलाई हल गर्न सत्यता खोज्नैपर्छ। ल भन त, के तिमीहरूलाई तिमीहरूको कर्तव्य आज्ञा गर्ने कुनै अगुवा वा सेवक, वा मण्डली थियो त? (थिएन।) यदि तँ हृदयमा त्यसबारे निश्‍चित छस् भने राम्रो हो। परमेश्‍वरले तँलाई तेरो कर्तव्य आज्ञा गर्नुभएको हो भनी तँ निश्‍चित हुनुपर्छ। त्यो तँलाई कुनै मण्डली अगुवाले दिएजस्तो देखिएला, तर खासमा, त्यो सबै परमेश्‍वरको बन्दोबस्तबाट आउँछ। कहिलेकाहीँ त्यो प्रस्ट रूपमा मानव इच्छाबाट आउन सक्छ, तर त्यो बेला पनि, तैँले सुरुमा त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ। त्यो अनुभव गर्ने सही तरिका त्यही हो। यदि तैँले त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्छस्, र स्वेच्छाले उहाँको बन्दोबस्तप्रति समर्पित हुन्छस्, र उहाँको आज्ञा स्विकार्न पहल गर्छस् भने—यदि तैँले त्यसरी अनुभव गर्छस् भने, तैँले परमेश्‍वरको मार्गदर्शन र काम पाउनेछस्। यदि तँ सबथोक मान्छेले गरेको हो र मान्छेबाटै आउँछ भनी निरन्तर विश्‍वास गर्छस् भने, यदि तँ यस तरिकाले कामकुराहरू अनुभव गर्छस् भने, तैँले परमेश्‍वरको आशिष् वा उहाँको काम पाउनेछैनस्, किनकि तँ त्यसको लागि अत्यन्तै धूर्त छस्, र तँमा आत्मिक बुझाइको ज्यादै कमी छ। तँमा सही मानसिकता छैन। यदि तैँले सबै मामलाहरू मानव धारणा र कल्पनाहरूले हेर्छस् भने, पवित्र आत्माको काम पाउनेछैनस्, किनकि सबै मामलाहरूमाथि परमेश्‍वरले शासन गर्नुहुन्छ। परमेश्‍वरको घरले जसलाई जे काम बन्दोबस्त गरे पनि, त्यो परमेश्‍वरकै सार्वभौमिकता र बन्दोबस्तबाट आउँछ, र त्यसमा परमेश्‍वरकै सुभेच्छा हुन्छ। तैँले पहिला यो कुरा जान्नैपर्छ। यो कुरा प्रस्ट बुझ्नु निकै महत्त्वपूर्ण छ; धर्मसिद्धान्त मात्र बुझेर हुँदैन। तँ हृदयमा यसरी निश्‍चित हुनैपर्छ, “यो कर्तव्य मलाई परमेश्‍वरले सुम्पनुभएको हो। म परमेश्‍वरको निम्ति मेरो कर्तव्य निर्वाह गरिरहेको छु, मेरै निम्ति वा अरू कसैको निम्ति होइन। यो सृष्टि गरिएको प्राणीको रूपमा मैले निभाउनुपर्ने कर्तव्य हो, र यो मलाई परमेश्‍वरले सुम्पनुभएको हो।” तँलाई यो कर्तव्य परमेश्‍वरले सुम्पनुभएको हो भने, तँलाई परमेश्‍वरले कसरी सुम्पनुभयो? के तैँले यसमा सारा हृदयले काम गर्नुपर्छ? के सत्यता खोज्न जरूरी छ? तैँले सत्यता, परमेश्‍वरले तँलाई सुम्पनुभएको कर्तव्यका मापदण्ड, मानक र सिद्धान्तहरू, र परमेश्‍वरको वचनले बोल्‍ने कुराहरू खोज्नैपर्छ। यदि उहाँका वचनहरू निकै प्रस्ट रूपमा भनिएका छन् भने, तैँले कसरी तिनलाई अभ्यास गर्ने र वास्तविकतामा परिणत गर्ने भनी मनन गर्नुपर्छ। तैँले सत्यता बुझ्ने मानिसहरूसित पनि सङ्गति गर्नुपर्छ, र त्यसपछि परमेश्‍वरका मापदण्डहरूअनुसार कार्य गर्नुपर्छ। त्यसको अर्थ सारा हृदयले त्यो काम गर्नु हो। त्यसैगरी, मानौँ तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुपहिले परमेश्‍वरको इच्छा खोज्छस्, सत्यता बुझ्छस्, र के गर्ने भनी थाहा पाउँछस्, तर जब काम गर्ने समय आउँछ, तेरा आफ्नै सोचहरू र सत्यता सिद्धान्तहरूबीच बेमेल र विरोधाभासहरू हुन्छन् रे। यस्तो हुँदा, तैँले के गर्नुपर्छ? तैँले सारा हृदयले कर्तव्य निर्वाह गर्ने, र कुनै व्यक्तिगत अपमिश्रणबिना र निश्‍चय नै आफ्नै इच्छाको आधारमा कार्य नगरी, परमेश्‍वरप्रति समर्पित हुन र परमेश्‍वरलाई सन्तुष्ट पार्नमा सम्पूर्ण हृदय लगाउने सिद्धान्त पालना गर्नैपर्छ। कतिपय मानिसहरू भन्छन्, “मलाई ती कुराहरू मतलब छैन। आखिर यो कर्तव्य मलाई नै सुम्पिइएको थियो, त्यसैले मैले नै अन्तिम निर्णय गर्नुपर्छ। ममा मेरो आफ्नै पहलमा कार्य गर्ने अधिकार छ, मलाई जे गर्नुपर्छ जस्तो लाग्छ म त्यही गर्नेछु। म अझै मेरो सारा हृदयले कर्तव्य निभाइरहेको छु, तिमीले औँल्याउनुपर्ने खोट के नै छ र?” अनि, तिनीहरूले के गर्ने भनी थाहा पाउन केही प्रयत्न गर्छन्। अन्त्यमा काम सम्पन्न त होला, तर के यो अभ्यास विधि र यो स्थिति सही हो? के यो तिनीहरूले सारा हृदयले कर्तव्य निभाएको हो? (होइन।) यसमा के समस्या छ? यो अहङ्कार हो, आफै कानून बन्‍नु हो, र मनोमानी र लापरवाह हुनु हो। के यो कर्तव्य निर्वाह गरेको हो? (होइन।) यो व्यक्तिगत व्यावसायमा संलग्न हुनु हो, आफ्नो कर्तव्यहरू निभाउनु होइन। यो आफूलाई सन्तुष्टि मिल्ने काम र आफ्नै इच्छाको आधारमा आफूलाई मन परेको काम गर्नु हो, यो सारा हृदयले आफ्नो कर्तव्य निभाउनु होइन।

भर्खरै मैले मुख्यगरी प्रतिभा र वरदानहरूबारे कुरा गरेँ। के यी प्रतिभा र वरदानहरूमा ज्ञान पर्छ? के ज्ञान र प्रतिभाबीच कुनै भिन्नता छ? प्रतिभाले एउटा सीप जनाउँछ। त्यो कुनै व्यक्ति अरूभन्दा उत्कृष्ट हुने एउटा क्षेत्र हुन सक्छ, ऊ विशिष्ट क्षमतावाल हुने एक सामर्थ्यको भाग हुन सक्छ, वा ऊ तुलनात्मक रूपमा योग्य र पोख्त हुने कुनै सीप हुन सक्छ। यी सबैलाई प्रतिभा र वरदान भनिन्छ। अनि, ज्ञानचाहिँ के हो त? ज्ञानले ठ्याक्कै के जनाउँछ? यदि कुनै बौद्धिक व्यक्तिले धेरै वर्ष अध्ययन गरेको, धेरै चर्चित पुस्तकहरू पढेको, कुनै पेशा वा ज्ञानको क्षेत्रमा गहन अध्ययन गरेको, र नतिजाहरू हासिल गरेको छ, र उसमा विशिष्ट र गहन निपुणता छ भने, के प्रतिभा र वरदानहरूसँग यसको कुनै सम्बन्ध छ? के ज्ञानलाई प्रतिभाको वर्गमा समावेश गर्न सकिन्छ? (सकिँदैन।) यदि कुनै व्यक्तिले प्रतिभाहरू प्रयोग गरेर आफ्नो काम गर्छ भने, सम्भवत ऊ असभ्य र ग्रामीण व्यक्ति पनि हुन सक्छ, उसले उच्च शिक्षा हासिल नगरेको, कुनै पनि चर्चित पुस्तक नपढेको, वा बाइबलसमेत बुझ्न नसकेको हुन सक्छ, तर उसमा अझै पनि थोरै क्षमता हुन सक्छ, र ऊ वाक्पटु शैलीमा बोल्न सक्षम हुन सक्छ। के यो प्रतिभा हो? (हो।) यो व्यक्तिमा यस्तो प्रतिभा हुन्छ। के यसको मतलब ऊसँग ज्ञान छ भन्ने हो? (होइन।) त्यसोभए ज्ञानको अर्थ के हो त? यसलाई कसरी परिभाषित गरिन्छ? त्यसलाई यसरी भनौँ, उदाहरणको लागि, यदि कुनै व्यक्तिले शिक्षा हासिल गरेको छ भने, के उसमा यो पेशाको ज्ञान हुन्छ? मानिसहरूलाई कसरी शिक्षा दिने, अरूलाई के ज्ञान बाँड्ने, आदि इत्यादि ज्ञान हुन्छ? उसमा यो क्षेत्रको ज्ञान हुन्छ भने, के ऊ यस क्षेत्रको बौद्धिक व्यक्ति हो? के उसलाई यस क्षेत्रको ज्ञान भएको प्रतिभाशाली व्यक्ति भन्न सकिन्छ? (सकिन्छ।) यसलाई एउटा उदाहरणको रूपमा हेरौँ, यदि कुनै व्यक्ति शिक्षामा संलग्न बौद्धिक व्यक्ति हो भने, यस्तो व्यक्तिले काम गर्दा वा मण्डलीको अगुवाइ गर्दा, प्राय के गर्नेछ? उसले प्रायजसो कस्ता अभ्यासहरू गर्नेछ? के उसले शिक्षकले विद्यार्थीसँग कुरा गरेझैँ सबैसँग कुरा गर्नेछ? उसले प्रयोग गर्ने लवजले फरक पार्दैन, तर उसले अरूको दिमागमा के हालिदिन्छ वा अरूलाई के सिकाउँछ भन्ने कुराले चाहिँ फरक पार्छ। ऊ कैयौँ वर्ष यो ज्ञानद्वारा जिएको हुन्छ, र यो ज्ञान मूलत: उसको जीवनको पाटो बनेको हुन्छ, यतिसम्म कि उसको व्यवहार वा जीवनको हरेक पक्षमा, तैँले उसमा यही ज्ञान भएको र उसले आफूले हासिल गरेकै ज्ञानअनुसार जिएको देख्न सक्छस्। यो देख्नु एकदमै सामान्य कुरा हो। त्यसोभए यस्ता मानिसहरू आफ्नो काम गर्न प्राय केमा भरोसा गर्छन्? तिनीहरूले हासिल गरेको ज्ञानमा। उदाहरणको लागि, मानौँ तिनीहरूले कसैले यसो भनेको सुन्छन् रे, “म परमेश्‍वरका वचनहरू पढ्न सक्दिनँ। ती मसँगै छन् तर तिनलाई कसरी पढ्ने मलाई थाहै छैन। यदि म परमेश्‍वरका वचनहरू नै पढ्न सक्दिनँ भने, मलाई कसरी सत्यता थाहा हुनेछ? यदि उहाँका वचनहरू नै पढ्न सक्दिनँ भने, म उहाँको इच्छा कसरी बुझ्‍नेछु?” तिनीहरू भन्छन्, “कसरी बुझ्ने भन्ने कुरा मलाई थाहा छ, मसँग ज्ञान छ, त्यसैले म तिमीलाई मद्दत गर्न सक्छु। यो अध्याय चार अनुच्छेदमा बाँडिएको छ। प्राय: यदि लेख एउटा कथा हो भने, त्यसमा छ वटा तत्वहरू हुन्छन्: समय, स्थान, पात्र, घटनाको कारण, घटनाक्रम, र निष्कर्ष। परमेश्‍वरको वचनको यो अध्याय प्रकाशित भएको समय अन्त्यमा दिइएको छ—अर्थात् यो २०११ को अक्टुबर हो। यो पहिलो तत्व हो। पात्रहरूको कुरा गर्नुपर्दा, परमेश्‍वरको वचनको यस अध्यायले ‘म’ पात्र उल्लेख गर्छ, त्यसैले प्रथम पुरुष परमेश्‍वर हो, र त्यसपछि परमेश्‍वरले ‘तिमीहरू’ उल्लेख गर्नुभएको छ, जसले हामीलाई जनाउँछ। त्यसपछि यसले केही मानिसहरूका स्थितिहरू विश्‍लेषण गर्छ; कतिपय स्थितिहरू विद्रोही र अहङ्कारी छन्, जसले त्यस्ता मानिसहरूलाई जनाउँछ जो अहङ्कारी र विद्रोही छन्, जो वास्तविक काम गर्दैनन्, जो बदमासी गर्छन्, ती खराब र दुष्ट मानिसहरू हुन्। घटनाक्रमअनुसार मानिसहरू खराब कामहरू गर्छन्। अनि अरू पनि केही कुराहरू छन् जुन विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।” यो कार्यविधि तँलाई कस्तो लाग्छ? तिनीहरूले अत्यन्तै प्रेमपूर्वक मानिसहरूलाई मद्दत गर्नु राम्रो कुरा हो, तर तिनीहरूका कार्यहरूको आधार के हो? (ज्ञान।) मैले यो उदाहरण दिनुको कारण के हो? मानिसहरूलाई ज्ञान के हो भनेर अझ प्रस्ट रूपमा बुझ्न मद्दत गर्नु हो। कतिपय मानिसहरू परमेश्‍वरको वचन पढ्न जान्दैनन्, तर तिनीहरूले शिक्षा प्राप्त गरेर विद्यालयमा मानविकी विषयहरूमा सायद राम्रो अङ्क ल्याए होलान्, त्यसैले तिनीहरूले परमेश्‍वरको वचनको एउटा पेज पल्टाएर पढ्दै यसको भन्‍न सक्छन्, “परमेश्‍वरको वचनको यो अध्याय अत्यन्तै राम्ररी व्यक्त गरिएको छ! पहिलो खण्डमा, परमेश्‍वरले सिधै बोल्नुहुन्छ, र दोस्रो खण्डको भावले अलिकति प्रताप र क्रोध देखाउँछ। तेस्रो खण्डमा, सबथोक विशिष्ट र प्रस्ट रूपमा खुलासा गरिएको छ। परमेश्‍वरको वचन यस्तै हुनुपर्छ। चौथो खण्ड अर्थात् सामान्य सारांशले मानिसहरूलाई अभ्यासको मार्ग प्रदान गर्छ। परमेश्‍वरको वचन सिद्ध छ!” के तिनीहरूले दिने परमेश्‍वरको वचनको निष्कर्ष र सारांश ज्ञानबाट आउँदैन र? (आउँछ।) यो उदाहरण अति उचित नहुन सक्छ, तर मैले यसो भनेर तिमीहरूलाई बुझाउन चाहेको कुरा के हो? म ज्ञानद्वारा परमेश्‍वरको वचन हेर्नुको कुरूपता तिमीहरूले प्रस्ट रूपमा बुझ भन्‍ने चाहन्छु। यो घृणास्पद कुरा हो। यस्ता मानिसहरू ज्ञानमा भरोसा गरेर परमेश्‍वरको वचन पढ्छन्, तर के तिनीहरू सत्यतामा भरोसा गरेर काम गर्न सक्छन् त? (सक्दैनन्।) कदापि सक्दैनन्।

ज्ञानद्वारा जिउने मानिसहरूले कामकुराहरू जे-जसरी गर्छन्, त्यसका विशेषताहरू के-के हुन्? सर्वप्रथम, तिनीहरू आफूमा के-कस्ता लाभदायी अवस्थाहरू छन् भन्ने सोच्छन्? तिनीहरू आफूमा ज्ञान र सिकाइ हुनु, आफू बौद्धिक व्यक्ति हुनु, र आफूले ज्ञानमा आधारित क्षेत्रहरूमा काम गरेको हुनु लाभदायी अवस्थाहरू हुन् भन्‍ने सोच्छन्। बौद्धिक मानिसहरूले कामकुराहरू गर्दा तिनीहरूमा बौद्धिक मानिसका अदा, विशेषता, र शैलीहरू हुन्छन्, त्यसैले तिनीहरू आफूले गर्ने कामकुराहरूमा एकप्रकारको बौद्धिक भाव ल्याउँछन्, जसले अरू मानिसहरूलाई तिनीहरूलाई प्रशंसा गर्न बाध्य तुल्याउँछ। बौद्धिक मानिसहरू यसैगरी काम गर्छन्; तिनीहरू सधैँ त्यही बौद्धिक भावमा ध्यान दिन्छन्। तिनीहरू बाहिरी रूपमा जतिसुकै कमजोर र भद्र देखिने भए पनि, तिनीहरूभित्रका कुराहरू निश्‍चय नै कमजोर वा भद्र हुँदैनन्, र तिनीहरूसँग सबथोकबारे सधैँ आफ्नै दृष्टिकोणहरू हुन्छन्। हरेक कुरामा, तिनीहरू सधैँ सान देखाउन, आफ्ना तुच्छ रणनीतिहरू प्रयोग गर्न, र ज्ञानका दृष्टिकोण, मनोवृत्ति, र सोच शैलीहरूको आधारमा कामकुराहरू विश्‍लेषण गर्न र सम्हाल्न चाहन्छन्। सत्यता तिनीहरूको लागि बाहिरी कुरा हो, र त्यो स्विकार्न तिनीहरूलाई निकै कठिन पर्छ। त्यसकारण, सत्यताप्रति त्यस्ता व्यक्तिहरूको पहिलो मनोवृत्ति भनेको त्यसलाई विश्‍लेषण गर्नु हो। अनि, तिनीहरूको विश्‍लेषणको आधार के हो? ज्ञान। म तँलाई एउटा उदाहरण दिन्छु। के निर्देशन अध्ययन गरेका मानिसहरूमा निर्देशनको ज्ञान हुन्छ? चाहे तैँले किताबमार्फत व्यवस्थित रूपमा निर्देशन अध्ययन गरेको होस्, वा व्यावहारिक रूपमा अध्ययन गरेको र त्यसप्रकारको काम गरेको होस्, छोट्करीमा भन्नुपर्दा, तँसित यो क्षेत्रको ठोस ज्ञान हुन्छ। चाहे तैँले निर्देशनलाई गहन रूपमा वा सतही रूपमा मात्र अध्ययन गरेको होस्, यदि तँ बाह्य संसारमा निर्देशन गर्ने काममा संलग्न थिइस् भने, यस क्षेत्रमा तैँले प्राप्त गरेको ज्ञान वा तेरो निर्देशन अनुभव निकै उपयोगी र मूल्यवान् हुनेछ। तर के यस्तो ज्ञान हुनुको अर्थ तँ परमेश्‍वरको घरको चलचित्रको काममा राम्रो गर्न अवश्यै सक्षम हुनेछस् भन्ने हुन्छ त? के तैँले प्राप्त गरेको ज्ञानले तँलाई चलचित्रहरूमार्फत परमेश्‍वरको गवाही दिन साँच्चिकै मद्दत गर्न सक्छ त? सक्छ नै भन्ने छैन। यदि तँ किताबले सिकाएको कुरा र त्यो क्षेत्रसम्बन्धी ज्ञानका नियम र मापदण्डहरूमा जोड दिइरहन्छस् भने, के तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस् र? (सक्दिनँ।) के यसमा विवाद र द्वन्द्व आउँदैन र? सत्यता सिद्धान्तहरू ज्ञानको यो पक्षसित बाझिँदा, तँ त्यसलाई कसरी समाधान गर्छस्? के तेरो मार्गदर्शकको रूपमा तँ तेरो ज्ञानलाई स्विकार्छस्, कि सत्यताका सिद्धान्तहरूलाई? के तिमीहरू हरेक शट, हरेक दृश्य र हरेक छायाङ्कन तिमीहरूको ज्ञानले दूषित नभएको वा त्यसमा ज्ञानको एकदमै कम दूषण भएको, र त्यो पूर्णतया परमेश्‍वरको घरले मापदण्ड तोकेको मानक र सिद्धान्तहरूबमोजिम भएको प्रत्याभूति गराउन सक्छौ? यदि यो सम्भव छैन भने, तैँले हासिल गरेको कुनै पनि ज्ञान परमेश्‍वरको घरमा काम लाग्दैन। यसबारे सोच्, ज्ञानको काम के हो? कस्तो ज्ञान उपयोगी हुन्छ? कस्तो ज्ञान सत्यतासँग मिल्दैन? ज्ञानले मानिसहरूलाई के दिन्छ? जब मानिसहरूले धेरै ज्ञान हासिल गर्छन्, तब के तिनीहरू अझै बढी भक्त बन्छन् र उहाँको अझै बढी डर मान्‍ने हृदय बोक्छन्, कि तिनीहरू अझै अहङ्कारी र आत्मधर्मी बन्छन्? धेरै ज्ञान हासिल गरेपछि, मानिसहरू जटिल, कट्टर र अहङ्कारी बन्दै जान्छन्। यसमा अर्को एउटा घातक कुरा पनि छ जसबारे तिनीहरूलाई थाहा नभएको हुन सक्छ: जब मानिसहरू धेरै ज्ञानद्वारा निपुण भएका हुन्छन्, तिनीहरू भित्री रूपमा अराजक बन्छन्, र तिनीहरूमा कुनै सिद्धान्तहरू हुँदैन, र तिनीहरू जति धेरै ज्ञानले निपुण हुन्छन्, तिनीहरू त्यति नै अराजक बन्छन्। ज्ञानभित्र, के मानिसहरू किन जिउँछन् भन्ने प्रश्‍नका उत्तरहरू र मानव अस्तित्वका मूल्य र अर्थहरू भेट्टाउन सकिन्छ? के मानिसहरू कहाँबाट आउँछन् र तिनीहरू कहाँ जान्छन् भन्‍ने निष्कर्षहरू भेट्टाउन सकिन्छ? के ज्ञानले तँ परमेश्‍वरबाट आएको होस् र परमेश्‍वरद्वारा सृष्टि गरिएको होस् भनेर बताउन सक्छ? (सक्दैन।) त्यसोभए, ज्ञानभित्र मानिसहरूले ठ्याक्कै के कुरा अध्ययन गर्छन्? अथवा ज्ञानले तिनीहरूभित्र ठ्याक्कै के कुराहरू भरिदिन्छ? भौतिक कुराहरू, नास्तिक कुराहरू, मानिसहरूले देख्‍न सक्‍ने कुराहरू र तिनीहरूले चिन्न सक्ने मनका कुराहरू, जसमध्ये धेरैजसो त मानिसहरूका कल्‍पनाबाट आएका हुन्छन् र ती व्यावहारिक पनि हुँदैनन्। ज्ञानले मानिसहरूमा जीवनदर्शन, विचारधारा, सिद्धान्तहरू, प्राकृतिक नियम, आदि इत्यादि कुराहरू हालिदिएको हुन्छ, तर यसले प्रस्ट रूपमा व्याख्या गर्न नसक्‍ने कुराहरू धेरै हुन्छन्। उदाहरणको लागि, मेघगर्जन र चट्याङ कसरी उत्पन्‍न हुन्छ, वा ऋतु किन परिवर्तन हुन्छ। के ज्ञानले तँलाई तिनका साँचो जवाफहरू दिन सक्छ? किन हाल जलवायु परिवर्तन र अस्वाभाविक भइरहेको छ? के ज्ञानले यसलाई प्रस्ट रूपमा व्याख्या गर्न सक्छ? के यसले यो समस्या समाधान गर्न सक्छ? (सक्दैन।) यसले तँलाई सबैथोकको स्रोतसम्‍बन्धी मामलाहरूबारे बताउन सक्दैन, त्यसकारण यसले यी समस्याहरूलाई समाधान गर्न सक्दैन। यस्तो प्रश्‍न गर्नेहरू पनि छन्, “कतिपय मानिसहरू मरेपछि पनि किन जीवनमा फर्की आउँछन्?” के ज्ञानले तँलाई यसको उत्तर दिएको छ? (छैन।) त्यसो भए, ज्ञानले तँलाई केचाहिँ बताउँछ त? यसले मानिसहरूलाई धेरै रीतिरिवाज र नियमहरूबारे बताउँछ। उदाहरणको लागि, मानिसहरूले छोराछोरीलाई हुर्काउनैपर्छ र आफ्ना आमाबुबाप्रति सन्तानीय भक्ति देखाउनैपर्छ भन्ने विचार मानव जीवनबारे एक प्रकारको ज्ञान हो। यो ज्ञान कहाँबाट आउँछ? यो परम्‍परागत संस्कृतिले सिकाउँछ। अनि, यो सबै ज्ञानले मानिसहरूलाई के दिन्छ? ज्ञानको सार के हो? यस संसारमा, उत्कृष्ट पुस्तकहरू पढेका, उच्‍च स्तरको शिक्षा प्राप्त गरेका मानिसहरू धेरै छन्, र तिनीहरू ज्ञानले भरिएका, वा ज्ञानको विशेष क्षेत्रमा पोख्त भएका हुन्छन्। त्यसोभए, जीवनको मार्गमा, के त्यस्ता मानिसहरूसँग ठीक दिशा र लक्ष्यहरू हुन्छन्? के तिनीहरूसँग आफ्नो चालचलनको लागि आधारभूत मापदण्ड र सिद्धान्तहरू हुन्छन्? यसअलावा, के तिनीहरूलाई परमेश्‍वरको आराधना गर्न आउँछ? (आउँदैन।) एक कदम अघि बढेर भन्नुपर्दा, के तिनीहरूले सत्यताको कुनै तत्व बुझ्छन्? (बुझ्दैनन्।) त्यसो भए, ज्ञान के हो त? ज्ञानले मानिसहरूलाई के दिन्छ? सायद मानिसहरूमा यसको अलिकति अनुभव हुन सक्छ। विगतमा, तिनीहरूमा ज्ञान थिएन, र मानिसहरूबीचका सम्बन्धहरू सरल थिए—के मानिसहरूले ज्ञान प्राप्त गरेपछि के ती अझै त्यस्तै सरल छन् त? ज्ञानले मानिसहरूलाई झनै जटिल बनाउँछ र तिनीहरू अबउप्रान्त शुद्ध रहँदैनन्। ज्ञानले मानिसहरूलाई झनै सामान्य मानवतारहित र जीवन लक्ष्यरहित बनाउँछ। मानिसहरूले जति बढी ज्ञान हासिल गर्छन्, तिनीहरू परमेश्‍वरबाट त्यति नै टाढा हुन्छन्। तिनीहरूले जति बढी ज्ञान हासिल गर्छन्, त्यति नै सत्यता र परमेश्‍वरको वचन नकार्छन्। मानिसहरूमा जति बढी ज्ञान हुन्छ, तिनीहरू त्यति नै चरम, जिद्दी र निरर्थक बन्छन्। अनि, नतिजा के हुन्छ? संसार झन्झन् अन्धकार र बढ्दो रूपमा दुष्ट बन्छ।

ज्ञानको प्रयोग र सत्यता सिद्धान्तहरूबीच द्वन्द्व वा विवादहरू आइपर्दा तिनलाई कसरी समाधान गर्नुपर्छ भनी हामीले भर्खरै उल्लेख गरेका छौँ। यस्तो परिस्थिति आइपर्दा तिमीहरू के गर्छौ? तिमीहरूमध्ये कतिपयले धर्मसिद्धान्त प्रस्तुत गर्छौ: “सत्यता सिद्धान्तहरू अभ्यास गर्नमा के कठिन छ र? त्याग्न नसकिने कुरा के छ र?” तर जब तँलाई केही आइपर्छ, तँ आफ्नै धारणा र कल्पनाहरू पछ्याउँदै पहिलेजस्तै गर्छस्, र कहिलेकाहीँ तँलाई सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार कार्य गर्न त मन पर्छ, तर त्यो जेसुकै नै भए पनि, तँ त्यसो गर्न सक्नेजस्तो देखिँदै देखिँदैनस्। सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नु धर्मसिद्धान्तको हिसाबले ठिक हो भनेर सबैलाई थाहा छ; तिनीहरूलाई थाहा छ कि ज्ञान निश्‍चय नै सत्यता सिद्धान्तहरूसँग मिल्दैन, र ती दुईबीच मतभेद वा द्वन्द्व हुँदा तिनीहरूले सुरुमा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ र आफ्नो ज्ञानलाई त्याग्नुपर्छ। तर वास्तवमा के यो त्यति सरल छ र? (छैन।) अहँ, यो त्यति सरल छैन। त्यसोभए, अभ्यास गर्दा कस्ता कठिनाइहरू हुन्छन्? सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नलाई कसरी अभ्यास गर्नुपर्छ? यी व्यावहारिक समस्याहरू हुन्, होइनन् र? तिनलाई कसरी समाधान गर्नुपर्छ? सर्वप्रथम, समर्पित हुनुपर्छ। तर मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्, र कहिलेकाहीँ, तिनीहरूले आफूलाई समर्पित गराउनै सक्दैनन्। तिनीहरू भन्छन्, “‘घोडालाई खोलासम्म लान त सकिन्छ, तर त्यसलाई पानी पिउन बाध्य पार्न सकिन्न’—मलाई समर्पित गराउन खोज्नु पनि त्यस्तै हो, होइन र? मैले मेरो ज्ञानको भरमा कार्य गर्नुमा के नराम्रो छ र? यदि तिमी मैले सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ भनी जिद्‌ कस्छौ भने, म समर्पित हुनेछैन।” विद्रोही स्वभावले समस्या निम्त्याउन लागेको, यस्तो परिस्थितिमा तँ के गर्छस्? (प्रार्थना गर्छु।) कहिलेकाहीँ प्रार्थनाले समस्या समाधान गर्न सक्दैन। प्रार्थना गरेपछि तेरो मनोवृत्ति र मानसिकता अलि राम्रो होला, र तैँले तेरो स्थितिको एउटा पाटो परिवर्तन गर्न सक्लास्, तर यदि तँ सान्दर्भिक सत्यता सिद्धान्तहरू बुझ्दैनस् वा तँ तीबारेमा प्रस्ट छैनस् भने, तेरो समर्पण अन्ततः एउटा औपचारिकताभन्दा बढी केही पनि नहुन सक्छ। यस्तो समयमा, तैँले सत्यता बुझ्न, सान्दर्भिक सत्यताहरू खोज्न, र तैँले गरिरहेको कामले परमेश्‍वरको घरलाई, उहाँप्रतिको गवाहीलाई, र उहाँका वचनहरूको फैलावटलाई कसरी फाइदा गर्छ भनी जान्न सक्षम हुने प्रयत्न गर्नुपर्छ। हृदयमा तँ यी कुराहरूबारे प्रस्ट हुनैपर्छ। तेरो कर्तव्य जे भए पनि, तैँले जे गरिरहेको भए पनि, तैँले सुरुमा परमेश्‍वरको घरका काम र हितहरूबारे, परमेश्‍वरका वचनहरू फैलाउनेबारे, वा तेरो कर्तव्यले हासिल गर्नुपर्ने उपलब्धिबारे सोच्नैपर्छ। त्यो सबभन्दा पहिले आउनुपर्छ। यसबारे अनेकार्थ वा सम्झौताको ठाँवै छैन। यदि तँ यस्ता समयहरूमा सम्झौता गर्छस् भने, तँ इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेको छैनस्, र तँ सत्यता पनि अभ्यास गरिरहेको छैनस्—त्योभन्दा खराब कुरा त, तँ तेरो आफ्नै मामलामा संलग्न भइरहेको छस् भनेरसमेत भन्न मिल्छ। तँ सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नुको साटो तेरो आफ्नै लागि कामकुरा गरिरहेको छस्। यदि व्यक्तिले परमेश्‍वरको आज्ञा पूरा गर्ने र मान्छेको कर्तव्य राम्ररी निभाउने काम गर्ने हो भने, उसले बुझ्नुपर्ने र अभ्यास गर्नुपर्ने पहिलो सत्यता के हो भने, उसले परमेश्‍वरको इच्छा पूरा गर्नैपर्छ। तँसित यो दर्शन हुनैपर्छ। कर्तव्य निर्वाह गर्नु भनेको आफ्नै लागि कामकुरा गर्नु वा आफ्नै मामलामा संलग्न हुनु होइन, आफ्नै गवाही दिनु र आफैलाई प्रवर्धन गर्नु त झनै होइन, न त यो आफ्नो प्रसिद्धि, लाभ, र हैसियतको कुरा नै हो। तेरो लक्ष्य त्यो होइन। तेरो लक्ष्य त तेरो आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु र परमेश्‍वरको गवाही दिनु हो; त्यो तेरो आफ्नो जिम्मेवारी लिनु र परमेश्‍वरलाई सन्तुष्ट पार्नु हो; त्यो सामान्य मानवताको विवेक र समझको जीवन जिउनु, मानवजातिको झल्को बोकेर जिउनु, र परमेश्‍वरसामु जिउनु हो। यसप्रकारको सही मानसिकता भएमा, व्यक्तिले आफ्नो ज्ञानद्वारा जिउने चुनौतीलाई सजिलै पार गर्न सक्छ। थोरै चुनौतीहरू बाँकी रहे पनि, यस प्रक्रियाको क्रममा ती निरन्तर बदलिनेछन्, र परिस्थितिहरू राम्रा हुनेछन्। त्यसोभए, वर्तमान समयमा तिमीहरूको अनुभव कस्तो छ? के त्यो राम्रो भइरहेको छ, कि स्थिर छ? यदि तिमीहरू सधैँ ज्ञान र आफ्नो मस्तिष्कद्वारा कार्य गरिरहेका हुन्छौ, र कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैनौ भने, के तिमीहरू जीवनमा वृद्धि हुन सक्नेछौ? के तिमीहरू यसबारे निष्कर्षमा पुगेका छौ? जीवन प्रवेशको मामलाबारे तिमीहरू सबैजना अझै अलि दुविधामै रहेको र तिमीहरूसित त्यसका विशिष्ट सिद्धान्तहरू नभएको देखिन्छ, र यसको मतलब के हो भने, तिमीहरूमा सत्यता अभ्यास गर्ने सिद्धान्तहरू र मार्गबारे गहन र साँचो अनुभव छैन। कतिपया मानिसहरू आफूलाई जेसुकै आइपरे पनि सधैँ आफ्नो ज्ञानअनुसार व्यवहार गर्छन्। तिनीहरू सामान्य मामलाहरूबारे बृहत्‌ परिदृश्यको शैलीमा थोरै सत्यता सिद्धान्तहरू मात्र कायम राख्छन्, र आफ्नो ज्ञानलाई हाबी हुन दिन्छन्, र सत्यता सिद्धान्तहरूलाई गौण बनाउँछन्। तिनीहरू यस्तो मध्यस्थ र सम्झौता गरिने तरिकाले अभ्यास गर्छन्; तिनीहरू आफ्नो लागि पूर्ण समर्पण वा सत्यता सिद्धान्तहरूसँग पूर्ण मिल्दो व्यवहारको कठोर मापदण्ड राख्दैनन्। के तिनीहरूले यसो गर्नु ठिक हो, कि होइन? यस्तो अभ्यासमा कस्तो खतरा हुन्छ? के यसमा बाटो बिराउने जोखिम हुँदैन र? परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको स्वभाव चिढ्याउने जोखिम हुँदैन र? मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने कुरा यही हो। के अब परमेश्‍वरको घरमा कर्तव्य निभाउनु र संसारमा कुनै जागिर पाएर अल्याङ्टल्याङ गर्दै जीवन जिउनुबीचको भिन्नता के हो भनी तिमीहरूलाई प्रस्ट भयो? के तिमीहरूको हृदयमा यसबारे प्रस्ट चेतना छ? तिमीहरूले यस मामलाबारे बारम्बार सोच्नु र मनन गर्नुपर्छ। यी दुईबीचको सबैभन्दा ठूलो भिन्नता के हो? के तिमीहरूलाई थाहा छ? (परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्नु भनेको सत्यता प्राप्त गर्नु र हाम्रो भ्रष्ट स्वभावमा परिवर्तन ल्याउनु हो; संसारमा जागिर पाउनु भनेको दैहिक जीवनसँग सम्बन्धित कुरा हो।) करिब करिब मिल्यो, तर तैँले एउटा कुरा भनिनस्: परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्नु भनेको सत्यताद्वारा जिउनु हो। अनि, सत्यताद्वारा जिउनुको अर्थ के हो? मानिसहरूको लागि, यसले तिनीहरूको स्वभाव परिवर्तन हुन सक्छ, र अन्त्यमा तिनीहरूले मुक्ति पाउन सक्छन् भन्ने अर्थ दिन्छ; परमेश्‍वरको लागि, यसले उहाँले तँलाई सृष्टि गरिएको प्राणीको रूपमा प्राप्त गर्न, र तँ उहाँको सृष्टि होस् भनी स्विकार्न सक्नुहुन्छ भन्ने अर्थ दिन्छ। त्यसोभए, मानिसहरूले संसारमा कुनै जागिर पाउँदा तिनीहरू केद्वारा जिउँछन्? (शैतानका दर्शनहरूद्वारा।) शैतानका दर्शनहरूद्वारा—समग्रमा भन्नुपर्दा, यसको मतलब तिनीहरू शैतानको भ्रष्ट स्वभावद्वारा जिउँछन्। चाहे तँ प्रसिद्धि, लाभ, हैसियत, वा धनको खोजीमा भए पनि, वा दैनिक जीविका चलाउने र बाँच्ने खोजीमा भए पनि, कुरा एउटै हो—तँ भ्रष्ट स्वभावहरूद्वारै जिइरहेको हुन्छस्। संसारमा जागिर पाएपछि, तैँल दिमाग खियाएर पैसा कमाउने प्रयास गर्नुपर्छ। प्रसिद्धि, लाभ, र हैसियतको सिँढी चढ्नको लागि, तैँले पूर्ण रूपमा प्रतिस्पर्धा, लडाइँ, सङ्घर्ष, निर्दयता, दुर्भाव, र हत्याजस्ता कुराहरूमाथि भर पर्नुपर्छ—आफ्नो खुट्टामा उभिने एउटै उपाय त्यही हो। परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्नको लागि, तैँले परमेश्‍वरका वचनहरूद्वारा नै जिउनुपर्छ, र सत्यता बुझ्नैपर्छ। शैतानका नकारात्मक कुराहरू बेकारका मात्र हुने होइनन्—ती कुराहरूलाई हटाउन पनि जरूरी छ। एउटा पनि शैतानी कुरा मान्य हुँदैन। यदि कोही शैतानी कुराहरूद्वारा जिउँछ भने, उसले न्याय र सजाय भोग्नैपर्छ; यदि कोही शैतानी कुराहरूद्वारा जिउँछ र पश्‍चात्ताप नगर्न जिद्‌ कस्छ भने, उसलाई हटाउन र त्याग्न जरूरी छ। परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्नु र संसारमा जागिर पाउनुबीचको सबैभन्दा ठूलो भिन्नता त्यही हो।

मानिसहरू आफ्नो ज्ञानद्वारा जिउँदा, तिनीहरू कस्तो स्थितिमा जिइरहेका हुन्छन्? तिनीहरूले सबैभन्दा गहन रूपमा अनुभव गर्ने कुरा के हो? तैँले कुनै क्षेत्रको केही कुरा सिक्नेबित्तिकै, तँलाई आफू योग्य छु, आफू सानदार छु भन्ने महसुस हुन्छ—अनि त्यसको फलस्वरूप तँ तेरो ज्ञानद्वारा बाँधिएको हुन्छस्। तैँले ज्ञानलाई तेरो जीवनको रूपमा लिएको हुन्छस्, र तँलाई केही आइपर्दा, तेरो त्यही ज्ञान बाहिर आएर तँलाई यस्तोउस्तो गर्नू भनी आदेश दिन्छ। तँ त्यसलाई हटाउन चाहन्छस्, तर सक्दैनस्, किनकि त्यो तेरो हृदयभित्र गढेको छ, र त्यसलाई अरू केहीले प्रतिस्थापन गर्न सक्दैन। “पहिलो छाप नै अन्तिम छाप हो” भनेको यही हो। ज्ञानका केही विधाहरू छन् जुन व्यक्तिले बिलकुलै अध्ययन नगरेको राम्रो हुन्छ। ती कुराहरू सिकेमा ती दायित्व र दिग्दारी बन्छन्। ज्ञानले शिक्षा, कानून, साहित्य, गणित, चिकित्सा, जीवशास्‍त्र, र यस्तै अन्य धेरै क्षेत्रहरू समेट्छ, र ती सबै मानिसहरूको प्रत्यक्ष अनुभवबाट आउँछन्। यी व्यावहारिक ज्ञानका स्वरूपहरू हुन्; ती नभएमा मानिसहरू जिउन सक्दैनन्, र तिनीहरूले तिनको अध्ययन गर्नैपर्छ। तर केही स्वरूपका ज्ञान मानवजातिका लागि विषालु हुन्छन्—ती शैतानी विषहरू हुन्, ती शैतानबाट आउँछन्। उदाहरणको लागि, सामाजिक विज्ञानहरूलाई लिऔँ, जसको शिक्षणमा नास्तिकवाद, भौतिकवाद, र विकासवादका साथै कन्फ्युसियसवाद, समाजवाद, र सामन्ती अन्धविश्‍वासहरू पर्छन्: यी सबै शैतानबाट आउने नकारात्मक ज्ञानहरू हुन्, र तिनको मुख्य उद्देश्य भनेको मानव सोचलाई सङ्क्रमित, क्षयीकृत, र विकृत पार्ने, मानिसहरूको सोचाइलाई बाँध्ने र नियन्त्रण गर्ने, र अन्त्यमा मानिसहरूलाई भ्रष्ट तुल्याउने, हानि पुर्‍याउने, र नष्ट पार्ने हो। उदाहरणको लागि, परिवारको नाम पुस्तान्तरण गर्ने, र सन्तानीय भक्ति गर्ने, र आफ्नो परिवारको महिमा बढाउने, र “आफूलाई विकास गर्ने, आफ्नो परिवारलाई व्यवस्थित बनाउने, राज्यमा शासन गर्ने, र सबैको लागि शान्ति ल्याउने” भन्‍ने सुत्ररूपी कुराहरू—यी सबै परम्परागत संस्कृतिले सिकाएका कुराहरू हुन्। अनि, यीबाहेक बुद्धवाद, ताओवाद, र आधुनिक धर्मका विविध धर्मशास्‍त्रीय सिद्धान्तहरू पनि समाजमा प्रचलित छन्। यी पनि ज्ञानको दायराभित्रै पर्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूले पास्टर वा प्रचारकको रूपमा सेवा गरेका, वा धर्मशास्‍त्र अध्ययन गरेका हुन्छन्। यस्तो ज्ञान हासिल गरेर के पाइन्छ? आशिष् पाइन्छ कि श्राप? (श्राप।) यो कसरी श्राप बन्छ? यदि यस्ता मानिसहरू बोल्दैनन् भने, ठिकै छ—तर तिनीहरूले मुख खोलेमा धार्मिक सिद्धान्त बाहिर निस्‍कन्छ। तिनीहरू सधैँ आत्मिक धर्मसिद्धान्त प्रचार गर्न खोजिरहेका हुन्छन्; तिनीहरू मानिसहरूलाई सत्यता बुझाउनुभन्दा पनि तिनीहरूमा फरिसीहरूका पाखण्डी तरिकाहरू हालिदिन्छन्। धर्मसिद्धान्तको ज्ञान मूलत: धर्मशास्‍त्रीय सिद्धान्तबारे हुन्छ। त्यो धर्मशास्‍त्रीय सिद्धान्तको सबैभन्दा उल्लेखनीय विशेषता के हो? त्यसले मानिसहरूमा तिनीहरूलाई आत्मिक लाग्‍ने कुराहरू हालिदिन्छ, र मानिसहरूले त्यस्ता झूटा आत्मिक कुराहरू ग्रहण गरिसकेपछि, त्यो नै तिनीहरूको पहिलो र अन्तिम छाप बन्छ। परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू तैँले सुनेको नै भए पनि, तैँले त्यसबेला बुझ्न सक्नेछैनस्, र तँ फरिसीहरूका ज्ञान र सिद्धान्तहरूद्वारा बाधित हुनेछस्। यो निकै खतरनाक कुरा हो। के त्यस्तो व्यक्तिलाई सत्यता स्विकार्न गाह्रो हुनेछैन र? निष्कर्षमा भन्नुपर्दा, यदि तँ धर्मसिद्धान्त र ज्ञानद्वारा जिउँछस्, र यदि तँ तेरा वरदानहरूमा भरोसा गरेर आफ्नो कर्तव्य निभाउँछस् र कार्य गर्छस् भने, अरूको नजरमा त तैँले केही असल कार्यहरू गर्न सक्लास्। तर तँ त्यस्तो स्थितिमा जिइरहँदा, के तँलाई त्यो कुरा थाहा हुन्छ त? के तैँले तँ आफ्नो ज्ञानद्वारा जिइरहेको छस् भनेर चिन्न सक्छस् त? के तँ ज्ञानद्वारा जिउँदा त्यसले कस्ता परिणामहरू ल्याउन सक्छ भनी महसुस गर्न सक्छस्? के अन्त्यमा तँलाई तेरो हृदयमा एउटा खोक्रो भावना, अर्थात् त्यस्तो जीवनको कुनै महत्त्व छैन भन्ने आभास हुँदैन र? यसो हुनुको कारण ठ्याक्कै के हो? यी प्रश्‍नहरूलाई प्रस्ट पारिनुपर्छ। ज्ञानको मामलामा अहिले हाम्रो कुरा त्यही हो।

हामीले भर्खरै ज्ञान र वरदानका समस्याहरू छलफल गरेका छौँ। अझै एउटा थप समस्या छ: धेरै मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासमा सुरुवातदेखि हालसम्मको अवस्थामा त आइपुगेका छन्, तर सत्यता के हो, वा त्यसलाई कसरी अभ्यास गर्नु र पछ्याउनुपर्छ भनी तिनीहरूले कहिल्यै जानेका छैनन्। तिनीहरू यतिन्जेल एउटा दृढ भरोसा, वा मानव धारणा र कल्पनाहरूद्वारा जिउँदै आएका छन्। यसलाई सामान्य रूपमा भन्नुपर्दा, तिनीहरू आफूलाई ठिक लाग्ने कुराहरूद्वारा जिउँछन्। तिनीहरू तल्लीनतासाथ यी कुराहरू पालना गर्न लागिपर्छन्, र यी कुरालाई सत्यताको रूपमा समेत लिन्छन्। तिनीहरू सोच्छन् कि तिनीहरू अन्त्यसम्म आफ्नो अभ्यासमा डटिरहुन्जेल तिनीहरू विजेता हुनेछन्, र तिनीहरू त्यसपश्‍चात बाँच्नेछन्। तिनीहरू यस्तो धारणाको आधारमा परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू दुःख भोग्न, आफ्ना परिवार र करियर छाड्न, र आफूलाई प्रिय लाग्ने कुराहरू त्याग्न सक्छन्—र तिनीहरू अन्त्यमा यी कुराहरूलाई केही नियमहरूमा परिणत गर्छन्, जसलाई तिनीहरू सत्यता नै हुन् जसरी अभ्यास गर्छन्। उदाहरणको लागि, कसैले कठिन समय भोगिरहेको, वा कसैको परिवारले कठिनाइ सामना गरिरहेको देख्दा, तिनीहरू उनीहरूकहाँ पुगेर मद्दत गर्न आफैलाई बाध्य पार्छन्। तिनीहरू उनीहरूलाई के-कसो छ भनी सोध्छन्, उनीहरूको ख्याल, र हेरचाह गर्छन्। जहाँ अप्रिय र चुनौतीपूर्ण काम गर्नुपर्ने हुन्छ, तिनीहरू आफै सक्रिय भई त्यहाँ जान्छन्, र त्यो काम गर्छन्। तिनीहरू अप्रिय काम वा चुनौतीहरूबाट अविचलित रहन्छन्। तिनीहरू रोजीछानी गर्दैनन्। तिनीहरू अरूसित अन्तरक्रिया गर्दा विवाद गर्दैनन्, र हरव्यक्तिसँग सौहार्दपूर्ण सहमतिमा पुग्ने सक्दो कोसिस गर्छन्। तिनीहरू अरूसित मुखामुख गर्दैनन्, र मानिसहरूप्रति हितकर र सहनशील हुन सिक्छन्, यतिसम्म कि तिनीहरूसँग केही समय बिताउने जो कसैले पनि तिनीहरू असल व्यक्ति र साँचो विश्‍वासी हुन् भनेर भन्नेछन्। परमेश्‍वरको कुरामा, तिनीहरू उहाँले जे गराउनुहुन्छ त्यही गर्छन् र जहाँ जान लगाउनुहुन्छ त्यहीँ जान्छन्। तिनीहरू प्रतिरोध गर्दैनन्। तिनीहरू केद्वारा जिइरहेका छन्? (जोसद्वारा।) यो सामान्य खालको जोस होइन—तिनीहरू आफूलाई जे सही लाग्छ त्यसैको दृढ भरोसा बोकेर जिइरहेका छन्। यस्ता मानिसहरूले वर्षौ परमेश्‍वरमा विश्‍वास गरेपछि पनि सत्यता बुझ्नेछैनन्, न त सत्यता अभ्यास गर्नु भनेको के हो, वा परमेश्‍वरप्रति समर्पित हुनु भनेको के हो, वा परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु भनेको के हो, वा सत्यता सिद्धान्तहरू के हुन् भन्ने कुरा नै जान्‍नेछन्। तिनीहरूले यी कुराहरू जान्नेछैनन्। तिनीहरूलाई इमानदार व्यक्ति भनेको के हो वा कसरी इमानदार हुने भनेरसमेत थाहा हुनेछैन। तिनीहरू यस्तो विश्‍वास गर्छन्, “मैले यसरी नै जिइरहेँ र पछ्याइरहेँ भने हुन्छ। परमेश्‍वरको घरले जुनसुकै प्रवचनहरू सुनाए पनि, म मेरै कार्यशैलीहरूमा अडिग रहनेछु; परमेश्‍वरले मलाई जे-जस्तो व्यवहार गर्नुभए पनि, म उहाँमाथिको विश्‍वास त्याग्ने वा उहाँलाई छाड्नेछैन। मलाई जुनै कर्तव्य निभाउन भनिए पनि, म त्यो गर्न सक्छु।” तिनीहरूलाई यसरी अभ्यास गरे मुक्ति पाउन सकिन्छ भन्ने छाप परेको हुन्छ। तर दुःखलाग्दो कुरो, तिनीहरूले तिनीहरूको मनोवृत्तिमा त्यस्तो कुनै ठूलो समस्या नहुँदा पनि, र तिनीहरूले त्यतिका वर्ष प्रवचनहरू सुनेपछि पनि कुनै सत्यता बुझ्दैनन्। तिनीहरू समर्पणसम्बन्धी सत्यता बुझ्दैनन् वा त्यो अभ्यास गर्न जान्दैनन्, तिनीहरू इमानदार व्यक्ति हुनुको सत्यता, वा बफादारीसाथ आफ्नो कर्तव्य निभाउनुको सत्यता, वा झाराटारुवा हुनुको अर्थ बुझ्दैनन्। तिनीहरू आफूले झूट बोल्ने नबोल्ने वा आफू छली भएको नभएको जान्दैनन्। के यस्ता मानिसहरू दयनीय होइनन् र? (हुन्।) तिनीहरू केद्वारा जिउँछन्? के तिनीहरू विशुद्ध, बच्‍चाजस्तो हृदयद्वारा जिइरहेका छन् भन्न सकिन्छ? किन सकिन्छ? किनकि, तिनीहरू यस्तो विश्‍वास गर्छन्, “मेरो हृदय ब्रह्माण्डले देख्नेगरी उदाङ्गो छ। मानिसहरूले यसलाई प्रस्ट देख्दैनन्; तिनीहरूले त्यो देख्न सक्दैनन्—तर स्वर्गलाई थाहा छ।” तिनीहरूको हृदय त्यति “इमानदार” हुन्छ: त्यसलाई कसैले पनि बुझ्न सक्दैन, त्यो सबैको पहुँचबाहिर छ। अनि, यसलाई किन विशुद्ध बच्‍चाजस्तो हृदय भन्ने त? किनभने तिनीहरूमा एक प्रकारको मनस्थिति अर्थात् भावना हुन्छ, र तिनीहरू त्यो व्यक्तिगत भावना वा आफ्नो कामनामार्फत परमेश्‍वरको विश्‍वासीले के गर्नुपर्छ र कर्तव्य भनेको के हो भनी व्याख्या गर्छन्। तिनीहरू यस्ता भावनाहरू प्रयोग गरेर परमेश्‍वरका मापदण्डहरूको संहितासमेत बनाउँछन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्, “परमेश्‍वरले वास्तवमा मानिसहरूले केही गरून्, वा तिनीहरूमा धेरै सीप होस् वा तिनीहरूले धेरै सत्यता बुझून् भन्ने अपेक्षा गर्नुहुन्न। व्यक्तिसँग विशुद्ध बच्‍चाजस्तो हृदय भए पुग्छ। परमेश्‍वरमा विश्‍वास गर्न अत्यन्तै सजिलो छ—तिमीले निरन्तर विशुद्ध बच्‍चाजस्तो हृदयको भरमा कार्य गरे पुग्छ।” तैपनि तिनीहरू झूट बोल्न छोड्दैनन्, न त तिनीहरूको प्रतिरोध, विद्रोहीपन, धारणा, र विश्‍वासघात नै रोकिन्छ। तिनीहरूले जे गरे पनि, तिनीहरूलाई त्यो महत्त्वपूर्ण भएजस्तो लाग्दैन, बरु तिनीहरूले यस्तो सोच्छन्, “ममा परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ। परमेश्‍वरसँगको मेरो सम्बन्ध टुटाउन, परमेश्‍वरप्रतिको मेरो प्रेम घटाउन, र परमेश्‍वरप्रतिको मेरो बफादारी प्रभावित पार्न कसैले सक्दैन।” यो कस्तो मानसिकता हो? निरर्थक हो, होइन र? यो निरर्थक हो, र यो दया गर्नलायक छ। यस्तो व्यक्तिको जोसमा एउटा स्थिति हुन्छ—र त्यो हो, सुक्खा, दरिद्र, र दयनीय। त्यो किन “सुक्खा” हुन्छ? किनकि तिनीहरूले कुनै सामान्य कुरा सामना गर्नुपर्दा—मानौँ तिनीहरूले झूट बोलेछन् रे—तिनीहरूलाई त्यो कुरा थाहा वा महसुस नै हुँदैन। तिनीहरूलाई कुनै आत्मधिक्‍कार हुँदैन; तिनीहरूलाई त्यस्तो कुनै पनि भावना आउँदैन। अहिलेसम्म तिनीहरूले आफ्नो कार्यमा मापनका कुनै कठोर मापदण्डहरू पालना नगरी परमेश्‍वरलाई पछ्याएका हुन्छन्। तिनीहरूलाई आफू कस्तो व्यक्ति हुँ, छली व्यक्ति हुँ कि, आफू साँच्चिकै इमानदार व्यक्ति हुन सकेँ सकिनँ, वा आफू परमेश्‍वरका मापदण्डहरूप्रति समर्पित हुन सक्छु सक्दिनँ भन्ने थाहै हुँदैन। तिनीहरूलाई यी कुनै पनि कुराहरू थाहै हुँदैन। तिनीहरू त्यति दयनीय हुन्छन्, र तिनीहरूको आत्मा सुक्खा परेको हुन्छ। अनि, तिनीहरूको आत्मा सुक्खा परेको हुन्छ भनेर किन भन्ने? किनकि तिनीहरूलाई आफूप्रति परमेश्‍वरको मापदण्ड के छ, आफू परमेश्‍वरमा किन विश्‍वास गर्छु, वा आफूले कस्तो व्यक्ति हुन खोज्नुपर्छ भन्‍ने थाहै हुँदैन। तिनीहरूलाई कस्ता कार्यहरू समझहीन हुन्छन्, वा कस्ता कार्यहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छन् भन्‍ने थाहै हुँदैन। तिनीहरूलाई दुष्ट मानिसहरूप्रति कस्तो र असल मानिसहरूप्रति कस्तो मनोवृत्ति अपनाउने भन्‍ने थाहै हुँदैन; तिनीहरूलाई आफूले कोसित अन्तरक्रिया गर्नुपर्छ वा कोसित नजिकिनुपर्छ भन्‍ने थाहै हुँदैन। जब तिनीहरू नकारात्मक बन्छन्, तिनीहरूलाई आफू कस्तो स्थितिमा फसेको छु भनेरसमेत थाहै हुँदैन। आत्मा सूक्खा पर्नु भनेको त्यही हो। के तिमीहरू पनि यस्तै छौ? (छौँ।) तिमीहरूले त्यसो भनेको सुन्न मलाई मन पर्दैन, तर तिमीहरू त्यस्तै स्थितिमा छौ। तिमीहरू सधैँ भावुक हुन्छौ, र त्यो कहिले बदलिनेछ, कसैलाई थाहा छैन।

भावुक हुनु भनेको के हो? हामी एउटा उदाहरण हेर्नेछौँ। कतिपय मानिसहरू आफूले परमेश्‍वरलाई धेरै प्रेम गरेको महसुस गर्छन्। विशेषगरी, तिनीहरू आखिरी दिनहरूमा जन्मिएकोमा, यो चरणको परमेश्‍वरको काम स्विकारेकोमा, र आफ्नै कानले उहाँका वचनहरू सुन्न र प्रत्यक्ष रूपमा उहाँको काम अनुभव गर्न सकेकोमा अत्यन्तै सम्मानित र दोब्बर आशिषित् भएको महसुस गर्छन्। फलस्वरूप, तिनीहरूलाई लाग्छ कि तिनीहरूले आफ्नो विशुद्ध बच्चाजस्तो हृदयको कुरा व्यक्त गर्न केही उपाय खोज्नैपर्छ। अनि, तिनीहरूले त्यो काम कसरी गर्छन्? तिनीहरूका भावनाहरू बाहिर आउँछन्, तिनीहरूको जोस उम्लिनै लागेको हुन्छ, र तिनीहरू अलि अविवेकी बन्छन्, र तिनीहरूका भावनाहरू असाधारण बन्छन्। त्यसबाट कुरूपता पैदा हुन्छ। मूलभूमि चीनमा हुँदा, परमेश्‍वरमा विश्‍वास गरेको कारण, तिनीहरू घृणित वातावरणमा थिए, र दमनमा जीवन जिउँथे। त्यतिबेला तिनीहरू जोसिला थिए, र “सर्वशक्तिमान् परमेश्‍वर, म तपाईंलाई प्रेम गर्छु” भन्दै चिच्याउन चाहन्थे। तर त्यसो गर्नलाई त्यहाँ कुनै ठाउँ थिएन—पक्राउ पर्ने डरले तिनीहरूले त्यसो गर्न सक्दैनथे। अहिले तिनीहरू विदेशमा छन् र स्वतन्त्र रूपले विश्‍वास गर्न सक्छन्; अन्तत: तिनीहरूले आफ्नो विशुद्ध बच्चाजस्तो हृदयको कुरा पोख्ने ठाउँ पाएका छन्। तिनीहरूलाई परमेश्‍वरप्रति आफ्नो प्रेम व्यक्त नगरी हुँदैन। त्यसैले, तिनीहरू बाटोमा निस्कन्छन् र धेरै मानिसहरू नभएको ठाउँ खोज्छन्, जहाँ तिनीहरूले आफूलाई मन लागेअनुसार चिच्च्याउन सक्छन्। तर तिनीहरूले त्यसो गर्न नपाउँदै, तिनीहरूलाई आफूमा आत्मविश्‍वास नभएझैँ लाग्छ। तिनीहरू वरपरको दृश्य हेर्छन्, अनि तिनीहरूको चिच्याहट निस्कँदै निस्कँदैन। तिनीहरूको मनमा के चलिरहेको हुन्छ? “यसरी हुँदैन। विशुद्ध बच्चाजस्तो हृदय मात्र भएर पुग्दैन। ममा अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन। चिच्याएर भन्नलाई मसँग केही पनि छैन।” त्यसैले, दुखित हुँदै र पीडा महसुस गर्दै, तिनीहरू घर जान्छन् र रुँदै परमेश्‍वरलाई प्रार्थना गर्छन्, “हे परमेश्‍वर, त्यतिखेर ‘म तपाईंलाई प्रेम गर्छु’ भनेर चिच्याउने परिस्थिति नहुँदा, मैले त्यसो गर्ने आँट गरिनँ। अहिले म त्यसरी चिच्याउन सक्ने परिस्थितिमा छु, तर ममा अझै आत्मविश्‍वास छैन। मेरो आवाज नै बाहिर निस्कँदैन। लाग्छ, मेरो कद र आत्मविश्‍वास नै अत्यन्तै निकृष्ट छन्। मैले जीवन पाएकै छैन।” त्यसपश्‍चात, तिनीहरू यस समस्याबारे प्रार्थना गर्छन्, तयारी गर्छन्, र त्यसप्रति आफैलाई समर्पित हुन्छन्। तिनीहरू प्राय: परमेश्‍वरका वचनहरू पढ्छन् र भावुक भएर रुन्छन्, र तिनीहरूका ती भावना र उत्साह बढेर तिनीहरूको हृदयमा सञ्चित हुन्छन्। यो क्रम त्यो दिनसम्म चलिरहन्छ, जब तिनीहरूलाई अब हजारौँ मानिसहरू अटाउने कुनै सार्वजनिक स्थलमा गएर भीडसामु “म तपाईंलाई प्रेम गर्छु, सर्वशक्तिमान् परमेश्‍वर” भन्दै चिच्याउन सक्छु भनेर भावानले पूरै भरिएको महसुस हुन्छ—तर जब तिनीहरू त्यस स्थलमा जान्छन् र त्यहाँ भएका सम्पूर्ण मानिसहरूलाई देख्छन्, तब फेरि पनि तिनीहरूको आवाज नै बाहिर निस्कँदैन। सायद तिनीहरूले अहिलेसम्म पनि त्यो कुरा चिच्याएर भनेका छैनन् होला। तर चिच्याएर भनेका भए नि नभए नि, त्यसको अर्थ के हुन्छ? के त्यसरी चिच्याउनु सत्यता अभ्यास गर्नु हो? के यो परमेश्‍वरको गवाही हो? (होइन।) त्यसोभए, तिनीहरू किन त्यसरी चिच्याउन दृढ रूपमा लागिपरेका हुन्? तिनीहरू के विश्‍वास गर्छन् भने, तिनीहरूको चिच्याहट परमेश्‍वरका वचनहरू प्रचार गर्ने र परमेश्‍वरको गवाही दिने अन्य कुनै पनि विधिभन्दा बढी बलियो र प्रभावकारी हुन्छ। विशुद्ध बच्चाजस्तो हृदयको व्यक्ति हुनुको अर्थ त्यही हो। व्यक्तिमा यस्ता भावनाहरू हुनु राम्रो कि नराम्रो कुरा हो? के यो सामान्य हो कि असामान्य हो? के यसलाई सामान्य मानवताको दायराभित्र राख्न मिल्छ? (मिल्दैन।) किन मिल्दैन? मानिसहरूलाई कर्तव्य निर्वाह गराउनु र सत्यता बुझ्न र अभ्यास गर्न लगाउनुमा परमेश्‍वरको लक्ष्य के हो? के त्यो उहाँप्रति मानिसहरूको भावना वा कर्तव्य निर्वाह गर्नप्रति तिनीहरूको भावना बढाउनलाई हो? (होइन।) के तिमीहरूमा पनि यस्ता भावनाहरू कहिलेकाहीँ, वा सायद बारम्बार आउँछन् हो? (आउँछन्।) यस्ता भावनाहरू आउँदा, के तँलाई ती अचानक र असामान्य तरिकाले आएजस्तो, वा तिनलाई दबाउन गाह्रो भएजस्तो महसुस हुन्छ? दबाउन जति गाह्रो भए पनि तैँले तिनलाई नियन्त्रण गर्नैपर्छ। अरू सबै कुरा छोड्ने हो भने, यी भावनाहरू मात्र हुन्, मानिसहरूले सत्यता बुझेपछि र अभ्यास गरेपछि वा परमेश्‍वरको मार्ग पछ्याएपछि प्राप्त हुने उपलब्धिहरू होइनन्। ती असामान्य स्थितिहरू हुन्। त्यसोभए, के यस्ता असामान्य स्थितिलाई चरम हठीपनमा राख्न सकिन्छ? यो कुरा घटनाअनुसार फरक पर्छ। यसका विभिन्न तहहरू हुन्छन्; कतिपयलाई चरम हठीपनमा राख्न सकिन्छ, र कतिपय निरर्थकताको स्तरसम्‍म पुग्छन्। व्यक्तिले कहिलेकाहीँ अलिअलि यस्तो मुड प्रकट गर्नु सामान्य हो। त्यसोभए, त्यसका कस्ता प्रकटीकरणहरूचाहिँ असामान्य हुन् त? अदम्य भावनाद्वारा केही गर्नु। जब कसैको दैनिक जीवन त्यही कुराको वरिपरि घुम्छ, जब उसले त्यसैको निम्ति परमेश्‍वरका वचनहरू पढ्ने र सुसमाचार प्रचार गर्ने गर्छ, र जब उसले त्यसैको निम्ति सम्पूर्ण कर्तव्यहरू निर्वाह गर्छ—जब सबथोक त्यही चिजको वरिपरि घुम्छ, र जब त्यही चिज उसको अस्तित्व र जीवनको मूल्य र महत्त्व बन्छ—तब त्यसले समस्या ल्याउँछ। त्यो व्यक्तिको लक्ष्य र दिशा टेढो बन्छ। यसरी विशुद्ध बच्चाजस्तो हृदयद्वारा जिउने मानिसहरूमा कुरूपता हुन्छ। तिनीहरूले एकप्रकारको हठीपन देखाउँछन्, र तिनीहरूमा असामान्य भावनाहरू हुन्छन्। यदि कोही यी कुराहरूद्वारा र प्राय: यस्तो स्थितिमा जिउँछ भने, के उसले सत्यता बुझ्न सक्छ? (सक्दैन।) यदि उसले सत्यता बुझ्न सक्दैन भने, प्रवचनहरू सुन्दा उसको मानसिकता कस्तो हुन्छ? परमेश्‍वरका वचनहरू पढ्नुमा ऊसको अभिप्राय के हुन्छ? के सधैँ विशुद्ध बच्चाजस्तो हृदय र धार्मिक अनुष्ठानद्वारा परमेश्‍वरमा विश्‍वास गरिरहने व्यक्तिले सत्यता बुझ्न र प्राप्त गर्न सक्छ? (सक्दैन।) किन सक्दैन? उसले जे गर्छ त्यो सब सत्यतामा नभई धार्मिक सिद्धान्त अनि धारणा र कल्पनाहरूमा आधारित हुन्छ। यो सत्यता पछ्याउने र अभ्यास गर्नेसँग सम्बन्धित कुरा पनि हुँदैन। उसले सत्यता वास्तवमा के हो वा परमेश्‍वरका वचनहरूले के भन्छन् भन्नेबारे बिलकुलै चासो दिँदैन। उसले त्यसबारे चासो नै दिँदैन, मानौँ परमेश्‍वरमा विश्‍वास गर्नको लागि चाहिने भनेको विशुद्ध बच्चाजस्तो हृदय मात्र हो, मानौँ उसले गर्नुपर्ने भनेको परिस्थितिहरू सम्हाल्ने र मण्डलीमा प्रयत्न लगाउने मात्र हो। उसलाई यो त्यति सरल लाग्छ। ऊ सत्यता बुझ्नु र अभ्यास गर्नुको अर्थ बुझ्दैन, न त मुक्ति पाउन के पछ्याउनुपर्छ भनेर नै बुझ्छ। उसले यी कुराहरूबारे कहिलेकाहीँ सोच्‍न सक्छ, तर समाधान गर्न सक्दै सक्दैन। ऊ पूरै समय “ममा जोस हुन्जेल, म भावनाको उच्च स्तरमा पुगुन्जेल, र अन्त्यमसम्म डटिरहन सकुन्जेल, मैले मुक्ति पाउन सकिहाल्छु” भनेर सोचिरहेको हुन्छ, र फलस्वरूप, ऊ आफ्ना उच्च भावनाहरूमा बहकिन्छ, र उसले मूर्ख कामहरू, र सत्यता सिद्धान्तहरूविरुद्धका कामहरूबाहेक अरू केही गर्दैन। अनि अन्त्यमा, ऊ खुलासामा परेर निष्कासित हुन्छ। यो देखिन्छ कि उच्‍च भावनाहरू आखिर खासै राम्रा हुँदैनन्।

विशुद्ध बच्चाजस्तो हृदयद्वारा जिउनुको अर्को एउटा डरलाग्दो स्थिति छ, र त्यो के हो भने, कतिपय मानिसहरू सधैँ उत्साहमा भरोसा गर्दै परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरूको हृदयको आगो कहिल्यै निभ्दैन; तिनीहरूलाई लाग्छ कि परमेश्‍वरमा विश्‍वास गर्नको लागि तिनीहरूलाई चाहिने भनेको एउटा विशुद्ध बच्चाजस्तो हृदय मात्र हो। तिनीहरू सोच्छन्, “मैले सत्यता बुझ्नुपर्दैन, मैले आफूलाई जाँच्‍नुपर्दैन, र मैले परमेश्‍वरसामु आएर मेरा पापहरू स्विकार्नु र पश्‍चात्ताप गर्नुपर्दैन—र मैले निश्‍चय नै कुनै पनि न्याय, सजाय, काटछाँट, वा कसैको निन्दा र आलोचना पनि स्विकार्नुपर्दैन। मलाई ती कुराहरू चाहिँदैन। मलाई चाहिने त एउटा विशुद्ध बच्चाजस्तो हृदय मात्र हो।” परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सिद्धान्त यही हो। तिनीहरू सोच्छन्, “मैले न्याय र सजाय स्विकार्नुपर्दैन। म आफूप्रति सन्तुष्ट भए पुग्छ। मलाई विश्‍वास छ, मैले त्यसो गरेकोमा परमेश्‍वर निश्‍चय नै खुसी हुनुहुन्छ। म खुसी छु भने, परमेश्‍वर खुसी हुनुहुन्छ—कुरा यति हो। मैले यसैगरी परमेश्‍वरमा विश्‍वास गरेँ भने, मैले मुक्ति पाउनेछु।” के यो अत्यन्तै सरल सोचाइ भएन र? पहिले तिमीहरू त्यस्तै स्थितिमा थियौ, थिएनौ र? (थियौँ।) यदि तिमीहरू अन्त्यसम्मै त्यस्तै स्थितिमा जियौ, र कुनै सुधार ल्याउन सकेनौ भने, यो भन्न मिल्छ कि तिमीहरू सत्यता कति पनि सत्यता बुझ्दैनौ। सत्यताले तिमीहरूमाथि कुनै प्रभाव पार्दैन। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनुको लक्ष्य वा महत्त्व तिमीहरूलाई थाहै छैन, र परमेश्‍वरमाथिको विश्‍वासको सार तिमीहरू बुझ्दैनौ। परमेश्‍वरमाथि आस्था राख्नु र धर्ममा विश्‍वास गर्नुबीच के भिन्नता छ? कसैले धर्ममा विश्‍वास गर्दा सबैले सोच्छन्, त्यस व्यक्तिलाई जीवनयापनको अभाव छ, तिनीहरूलाई घरपरिवारमा कठिनाइहरू भइरहेको हुन सक्छ। अर्को हिसाबमा, यसको अर्थ तिनीहरू आड लिन सक्ने कुनै कुरा प्राप्त गर्न, र आत्मिक पोषण पाउन चाहन्छन् भन्‍ने हुन्छ। धर्ममा विश्‍वास गर्नु भनेको मानिसहरूलाई असल र हितकर बनाउनु, अरूलाई मदत गर्ने र अरूप्रति दयालु बनाउनु, सद्गुण बटुल्न अझ असल कर्महरू गराउनु, हत्या वा आगजनी गर्न नदिनु, कानून तोड्न वा अपराध गर्न नदिनु, खराब कार्यहरू गर्न नदिनु, मानिसहरूलाई कुटपिट गर्न वा सराप्न नदिनु, चोरी वा लुटपाट गर्न नदिनु, ठग्‍न वा धोकाधडी गर्न नदिनुभन्दा बढी अरू केही होइन। “धर्ममा विश्‍वास” गर्नुको अवधारणा यही हो, जुन सबैका मनमा हुन्छ। आज तिमीहरूका हृदयमा धर्ममा विश्‍वास गर्ने अवधारणा कतिसम्म छ? के धर्ममा विश्‍वास गर्नुसित जोडिएका ती कुराहरू सत्यतासँग मिल्छन्? ती ठ्याक्कै कहाँबाट आउँछन्? के तिमीहरूलाई थाहा छ? यदि तिमीहरू धर्ममा विश्‍वास राख्ने हृदय बोकेर परमेश्‍वरमा विश्‍वास गर्छौ भने त्यसको नतिजा के हुनेछ? के यो परमेश्‍वरमा विश्‍वास गर्ने सही तरिका हो? के धर्ममा विश्‍वास गर्ने स्थिति र परमेश्‍वरमाथि आस्था राख्ने स्थितिबीच कुनै भिन्नता छ? धर्ममाथिको विश्‍वास र परमेश्‍वरमाथिको आस्थाबीच के भिन्नता छ? जब तैँले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालिस्, त्यस बेला सायद तैँले धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा आस्था राख्नु एउटै कुरा हो भनी विचार गरेको थिइस् होला। तर आज, धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेपछि, तँलाई आस्था राख्‍नु भनेको वास्तवमा के हो भन्‍ने लाग्छ? के धर्ममा विश्‍वास गर्नुभन्दा यसमा कुनै भिन्नता छ? धर्ममा विश्‍वास गर्नु भनेको व्यक्तिको आत्मामा खुसी र सान्त्वना ल्याउनको लागि केही धार्मिक संस्कारहरू पालन गर्नु हो। मानिसहरू कुन बाटोमा हिँड्छन्, वा तिनीहरू आफ्नो जीवन कसरी जिउँछन् भन्ने प्रश्‍नहरूसित यसको कुनै सम्बन्ध हुँदैन। तेरो भित्री संसारमा कुनै परिवर्तन हुँदैन; तँ पहिलेकै जस्तो हुन्छस्, अनि तेरो प्रकृति सार उस्तै रहन्छ। तैँले परमेश्‍वरबाट आएका सत्यताहरू स्विकारेको र ती कुरालाई आफ्नो जीवन बनाएको हुँदैनस्, तर केवल केही असल कार्यहरू गरेको वा केही विधि र नियमहरू पालन मात्र गरेको हुन्छस्। तँ धर्मको विश्‍वाससित सम्बन्धित केही कार्यहरूमा मात्र संलग्न भएको हुन्छस्—बस यति मात्रै भएको हुन्छ। त्यसोभए परमेश्‍वरमाथिको आस्थाले के जनाउँछ? यसको अर्थ तेरो जिउने शैलीको परिवर्तन हो, यसको अर्थ तेरो अस्तित्वको महत्त्वमा र तेरो जीवनका लक्ष्यहरूमा यसअघि नै परिवर्तन आइसकेको छ भन्ने हो। तँ सुरुमा आफ्ना पुर्खाहरूलाई आदर गर्न, भीडबाट अलग बस्न, राम्रो जीवन बिताउन, र ख्याति र सम्पत्ति प्राप्त गर्ने प्रयासमा जिउँथिस्। आज, तैँले ती कुराहरू त्यागेको छस्। तँ अब शैतानको पछि लाग्दैनस्, त्यसलाई त्याग्न चाहन्छस्, र त्यो दुष्ट प्रवृत्ति त्याग्न चाहन्छस्। तैँले परमेश्‍वरलाई पछ्याइरहेको छस्, तैंले स्वीकार गर्ने कुरा सत्यता हो, र तँ हिँडिरहेको मार्ग सत्यता पछ्याउने मार्ग हो। तेरो जीवन दिशा पूर्ण रूपमा परिवर्तन भएको छ। परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तँ जीवनलाई भिन्नै दृष्टिकोणले हेरिरहेको छस्, तेरो जियाइ फरक भएको छ, तँ सृष्टिकर्तालाई पछ्याइरहेको छस्, सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गरिरहेको र तीप्रति समर्पित भइरहेको छस्, अनि आखिरमा तँ सृष्टि गरिएको एउटा साँचो प्राणी बनिरहेको छस्। के यो तेरो जीवनशैली परिवर्तन हुनु होइन र? यो तेरो पहिलेको खोज, जीवनशैली, र तैँले गरेका सबै कुराहरूपछाडि रहेका अभिप्रायहरू र महत्त्वभन्दा पूर्ण विपरीत छ—ती पूरै फरक छन्, र ती एउटै क्षेत्रमा समेत पर्दैनन्। हामी परमेश्‍वरमा आस्था राख्नु र धर्ममा विश्‍वास गर्नुबीचको भिन्नतालाई यहीँ टुङ्ग्याउँछौँ। के तिमीहरू हामीले भन्दै आएको “विशुद्ध बच्चाजस्तो हृदय” भएको स्थिति आफूमा देख्न सक्छौ? (सक्छौँ।) त्यसोभए के तिमीहरू धेरैजसो समय विशुद्ध बच्चाजस्तो हृदयद्वारा जिइरहेका हुन्छौ, कि तिमीहरूमा त्यो स्थिति कहिलेकाहीँ मात्र हुन्छ? यदि त्यो कहिलेकाहीँ मात्र हुन्छ भने, त्यसले प्रमाणित गर्छ कि तैँले त्यो स्थिति हटाइसकेको छस् र सत्यता पछ्याउन थालेको छस्, तँ त्यो मामलाबाट निस्कन थालेको छस्; यदि तँ अझै पनि धेरैजसो समय विशुद्ध बच्चाजस्तो हृदयद्वारा जिइरहेको हुन्छस् र तँलाई परमेश्‍वरका वचनहरू र सत्यताद्वारा जिउन आउँदैन, न त विशुद्ध बच्‍चाजस्तो हृदयका बन्धनहरू हटाउन र त्यस स्थितिबाट निस्कन नै आउँछ भने, त्यसले तँ परमेश्‍वरसामु जिइरहेको छैनस्, तँलाई अझै पनि सत्यता के हो वा त्यसलाई कसरी खोज्ने भन्ने थाहा छैन भन्ने प्रमाणित गर्छ। के यो ठूलो भिन्नता होइन र? (हो।) यदि तँ कति पनि सत्यता नबुझी त्यही तरिकाले नै जिइरहन्छस् भने, तँ खतरामा छस्—तँलाई ढिलोचाँडो हटाउनुपर्ने हुनेछ। त्यो विशुद्ध बच्‍चाजस्तो हृदय कसरी अस्तित्वमा आउँछ भनेर भन्नुपर्दा, तैँले सत्यता खोज्नु, स्थितिलाई विश्‍लेषण गर्नु र उक्त स्थिति परिवर्तन गर्नुपर्ने हुन्छ। कसैसँग त्यो विशुद्ध वच्‍चाजस्तो हृदय किन हुन्छ; परमेश्‍वरमा विश्‍वास गर्न जोसमा भरोसा गरेमा कस्ता परिणामहरू आउनेछन्; त्यसरी परमेश्‍वरमा विश्‍वास गरेर तैँले सत्यता प्राप्त गर्न सक्छस् सक्दैनस्; त्यसले परमेश्‍वरमाथिको तेरो आस्था बलियो बनाउनेछ छैन—यी प्रश्‍नहरूबारे हृदयमा तँ प्रस्ट हुनैपर्छ। यसको लागि तैँले आफूलाई तुलना गर्न, चिन्तनमनन गर्न, र समाधान खोज्न आवश्यक छ।

परमेश्‍वरमा विश्‍वास गर्दा एकखाले व्यक्ति हृदयमा उत्साहित हुन्छ। उसलाई जस्तोसुकै कर्तव्य पनि स्वीकार्य हुन्छ, र अलिअलि कठिनाइ पनि स्वीकार्य हुन्छ, तर उसको चित्तप्रकृति अस्थिर हुन्छ—ऊ भावुक र लहडबाज, र सामञ्जस्यहीन हुन्छ। यस्ता व्यक्तिहरू आफ्नो मुडद्वारा मात्र काम गर्छन्। खुसी हुँदा, तिनीहरू आफूलाई अह्राइएको काम राम्ररी गर्छन्, र जोसँग सहकार्य वा सङ्गत गरे पनि तिनीहरूसित एकदमै मिलेर बस्छन्। तिनीहरू थप कर्तव्य सम्हाल्न पनि इच्छुक हुन्छन्—तिनीहरू जुनसुकै कर्तव्य निर्वाह गरिरहेका भए पनि, तिनीहरूमा जिम्मेवारीको भावना हुन्छ। राम्रो स्थितिमा हुँदा तिनीहरू यसरी कार्य गर्छन्। अनि, तिनीहरू राम्रो स्थितिमा हुनुको पनि एउटा कारण हुन सक्छ: कर्तव्यमा राम्रो गरेकोले, सायद तिनीहरूले प्रशंसा अनि समूहको सम्मान र अनुमोदन पाएका थिए होला। अथवा, तिनीहरूले गरेको कामलाई सायद धेरै मानिसहरूले कदर गर्छन् होला, त्यसैले तिनीहरू जति फुक्यो त्यति फुल्ने बेलुनझैँ गर्वले फुल्ने गर्छन्। अनि त्यही कारणले गर्दा, तिनीहरू हरदिन एउटै कर्तव्य निर्वाह गरिरहन्छन्, तर यस क्रममा तिनीहरू परमेश्‍वरको इच्छा बुझ्ने वा सत्यता सिद्धान्तहरू खोज्‍ने कहिल्यै गर्दैनन्। तिनीहरू सधैँ आफ्नै अनुभवको भरमा कार्य गरिरहेका हुन्छन्। के अनुभव नै सत्यता हो त? के अनुभवको आधारमा कार्य गर्नु भरपर्दो हुन्छ? के यो सत्यता सिद्धान्तहरूसँग मिल्छ? अनुभवको आधारमा कार्य गर्नु सिद्धान्तहरूसँग मिल्दैन; त्यो कुनै न कुनै बेला जरूर असफल हुनेछ। त्यसैले, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह नगर्ने दिन पनि आउने नै छ। धेरै कुराहरू बिग्रनेछन्, र तिनीहरूलाई काटछाँट गरिनेछ। टोली तिनीहरूसित असन्तुष्ट हुनेछ। त्यसपछि तिनीहरू नकारात्मकतामा डुब्नेछन्: “अबउप्रान्त म यो कर्तव्य निर्वाह गर्नेछैन। म यो कर्तव्य राम्ररी गर्न सक्दिनँ। तिमीहरू सबैजना मभन्दा राम्रा छौ। नराम्रो त मै हुँ। त्यसैले, जसले यो गर्न चाहन्छ, गरे हुन्छ!” अनि, कसैले तिनीहरूसित सत्यता सङ्गति गर्छ, तर त्यसले तिनीहरूलाई छुँदैन, र तिनीहरूले बुझ्दै नबुझेर यसो भन्छन्: “यसमा सङ्गति गर्नुपर्ने के नै छ र? यो सत्यता हो होइन, मलाई मतलब छैन—खुसी हुँदा म आफ्नो कर्तव्य गर्नेछु र खुसी नहुँदा गर्नेछैन। त्यसलाई किन त्यति धेरै जटिल बनाउने? अब म त्यो काम गर्दिनँ; म खुसी हुने दिनको प्रतीक्षा गर्नेछु।” तिनीहरू निरन्तर यस्तै रहन्छन्। चाहे कर्तव्य निर्वाह गर्नमा होस्; चाहे परमेश्‍वरका वचनहरू पढ्नमा, वा प्रवचनहरू सुन्न र भेलाहरूमा सहभागी हुनमा होस्; वा चाहे अरूसँगका अन्तरक्रियाहरूमा होस्—तिनीहरूले जीवनको हरेक पक्षमा, छिनमै बदली र छिनमै घमाइलो, छिनमै खुसी र छिनमै उदास, छिनमै चिसो र छिनमै तातो, छिनमै नकारात्मक र छिनमै सकारात्मक कुरा प्रकट गर्छन्। संक्षेपमा भन्नुपर्दा, तिनीहरूको स्थिति राम्रो होस् वा नराम्रो, त्यो सधैँ सजिलै देखिने हुन्छ। तैँले त्यो एकै नजरमा देख्न सक्छस्। तिनीहरू हरेक काममा अस्थिर हुन्छन्, र तिनीहरू आफ्नो चित्तप्रकृतिअनुसार नै चल्छन्। खुसी हुँदा तिनीहरू राम्रो काम गर्छन्, र खुसी नहुँदा कम गुणस्तरको काम गर्छन्—तिनीहरूले त्यो काम गर्न रोक्न र त्यो काम त्याग्नसमेत सक्छन्। तिनीहरूले जे गरिरहेका भए पनि, तिनीहरूलाई त्यो आफ्नै मुडअनुसार, परिवेशअनुसार, र आफ्नै मागहरूअनुसार नै गर्नुपर्छ। कठिनाइ भोग्न तिनीहरूमा कुनै इच्छा हुँदैन; तिनीहरू पुल्पुलिएका र बिग्रिएका, उन्मत्त, समझहीन हुन्छन्, तर तिनीहरू यस्ता कुराहरू हटाउन कुनै प्रयास गर्दैनन्। तिनीहरूलाई कसैले पनि चिढ्याउन मिल्दैन; जसले चिढ्याउँछ ऊ तिनीहरूको रिसको निशाना बन्छ, जुन आँधीझैँ भएर आउँछ—रिस साम्य हुनेबित्तिकै, तिनीहरू नकारात्मक र भावनात्मक रूपले आशाहीन हुन्छन्। यतिमात्र होइन, तिनीहरू आफ्नै रूचिको आधारमा सबथोक गर्नेसमेत गर्छन्। “यदि मलाई यो काम मन पर्‍यो भने, म गर्छु; मन परेन भने, गर्दिनँ, र कहिल्यै गर्नेछैन। तिमीहरूमध्ये जो इच्छुक छौ उसले गर्दा हुन्छ। मसँग त्यसको केही सरोकार छैन।” यिनीहरू कस्ता व्यक्ति हुन्? तिनीहरू खुसी र राम्रो स्थितिमा हुँदा, हृदयमा उत्साहित हुन्छन् र परमेश्‍वरलाई प्रेम गर्न चाहन्छु भन्छन्। अनि, अति उत्साहित हुँदै, तिनीहरू रुन्छन्, मुहारबाट तातो आँशु बगाउँछन्, र चर्को रूपमा सुँकसुँकाउछन्। के तिनीहरूको हृदयले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्छ त? हृदयमा परमेश्‍वरलाई प्रेम गर्नु सामान्य स्थिति हो, तर तिनीहरूका स्वभाव, व्यवहार, र प्रकटीकरणहरू हेर्दा, तँलाई तिनीहरू दश वर्ष हाराहारीका बच्चा हुन् भन्ने लाग्छ। तिनीहरूको यो स्वभाव, तिनीहरूको यो जियाइ, लहडे खालको हुन्छ। तिनीहरू हरेक काममा अस्थिर, बेइमान, गैरजिम्मेवार, र बेकामे हुन्छन्। तिनीहरू कहिल्यै कठिनाइ भोग्दैनन् र जिम्मेवारी लिन अनिच्छुक हुन्छन्। खुसी हुँदा तिनीहरू जे गर्न पनि तयार हुन्छन्; अलिअलि कठिनाइ पनि सहन्छन्, अनि तिनीहरूको हितमा धक्का लागेमा त्यो पनि सहन्छन्। तर यदि तिनीहरू बेखुसी छन् भने, तिनीहरूले केही पनि गर्नेछैनन्। तिनीहरू कस्ता व्यक्ति हुन्? के त्यस्तो स्थिति सामान्य हो? (होइन।) यो समस्या असाधारण स्थितिभन्दा पनि परको हो—यो चरम लहडेपन, चरम मूर्ख्याइँ र अज्ञानता, र चरम बचकनाको प्रकटीकरण हो। अनि, लहडेपनमा के समस्या हुन्छ? कतिपयले भन्छन्, “यो चित्तप्रकृतिको अस्थिरता हो। तिनीहरू उमेरले ज्यादै कलिला छन् र तिनीहरूले ज्यादै कम कठिनाइ भोगेका छन्, र तिनीहरूको व्यक्तित्व अझै स्थिर भइसकेको छैन, त्यसैले तिनीहरूको व्यवहारमा प्राय: लहडेपन आइरहन्छ।” तर तथ्य के हो भने, लहडलाई उमेरले फरक पार्दैन: चालिसतिरका र सत्तरीतिरका मानिसहरू पनि कहिलेकाहीँ लहडे हुन्छन्। यसलाई कसरी व्याख्या गर्ने? लहडेपन वास्तवमा व्यक्तिको स्वभावमा हुने समस्या हो, र यो अत्यन्तै गम्भीर समस्या हो! यदि तिनीहरू कुनै महत्त्वपूर्ण कर्तव्य निभाइरहेका छन् भने, त्यसले त्यो कर्तव्य र कामको प्रगतिमा ढिलाइ गराउन सक्छ, र यसले परमेश्‍वरको घरका हितहरूमा घाटा पुर्‍याउँछ; साधारण कर्तव्यहरूको हकमा पनि, त्यसले ती कर्तव्यहरूमा बेलाबेलामा असर पार्छ, र प्रगतिमा बाधा पुर्‍याउँछ। त्यसबाट अरूलाई, तिनीहरू आफैलाई, वा मण्डलीको कामलाई पनि केही फाइदा पुग्‍दैन। तिनीहरूले गर्ने ससाना कामहरू र तिनीहरूले चुकाउने मूल्यहरूले समग्रमा घाटा नै पुर्‍याउँछन्। खासमा लहडे मानिसहरू परमेश्‍वरको घरमा कर्तव्य निभाउन अयोग्य हुन्छन्, र त्यस्ता मानिसहरू धेरै छन्। लहडेपन भ्रष्ट स्वभावहरूमध्येको सबैभन्दा आम प्रकटीकरण हो। व्यावहारिक रूपले हरव्यक्तिमा यस्तो स्वभाव हुन्छ। त्यो स्वभाव के हो? हरेक भ्रष्ट स्वभाव स्वत: एकप्रकारको शैतानी स्वभाव हो, र लहडेपन एउटा भ्रष्ट स्वभाव हो। हल्का रूपमा भन्नुपर्दा, यो सत्यतालाई प्रेम नगर्नु वा नस्विकार्नु हो; गहन रूपमा भन्नुपर्दा, यो सत्यताप्रति वितृष्ण हुनु र घृणा गर्नु हो। के लहडे मानिसहरू परमेश्‍वरप्रति समर्पित हुन सक्छन्? निश्‍चय नै सक्दैनन्। खुसी र फाइदा मिल्दा तिनीहरू क्षणिक रूपमा समर्पित हुन सक्छन्, तर बेखुसी हुँदा र फाइदा नमिल्दा, तिनीहरू क्रोधित बन्छन् र उहाँलाई प्रतिरोध र विश्‍वासघात गर्ने दुस्‍साहस गर्छन्। अनि, तिनीहरूले मनमनै यसो भन्नेछन्, “चाहे त्यो सत्यता होस् वा नहोस्, मलाई मतलब छैन—म खुसी र सन्तुष्टचाहिँ हुनुपर्छ। यदि म बेखुसी छु भने, जसले जे भने पनि काम लाग्नेछैन! सत्यताको के काम? परमेश्‍वरको के काम? म नै मालिक हुँ!” यो कस्तो प्रकारको भ्रष्ट स्वभाव हो? (सत्यतालाई घृणा गर्ने।) यो सत्यतालाई घृणा गर्ने, अर्थात् त्यसप्रति वितृष्ण स्वभाव हो। के यसमा अहङ्कार र अभिमानको तत्व छ? हठीपनको तत्व छ? (छ।) यसमा अर्को एउटा गम्भीर स्थिति पनि छ। तिनीहरू राम्रो मुडमा हुँदा सबैलाई राम्रो व्यवहार गर्छन् र जिम्मेवार भएर कर्तव्य निभाउँछन्; मानिसहरूले सोच्छन् कि तिनीहरू असल र समर्पित, मूल्य चुकाउन इच्छुक, र सत्यतालाई साँच्चिकै प्रेम गर्ने व्यक्ति हुन्। तर नकारात्मक बन्नेबित्तिकै, तिनीहरूले काम गर्न छोड्नेछन्, गुनासो गर्नेछन्, र समझहीन बन्नेछन्। यहाँ, तिनीहरूको दुष्ट पाटो उत्पन्न हुन्छ। तिनीहरूलाई कसैले पनि धिक्‍कार्न पाउँदैन। तिनीहरूले यस्तोसमेत भन्नेछन्, “म हरेक सत्यता बुझ्छु, मैले त्यो अभ्यास नगरेको मात्र हो। मलाई त म आफूप्रति सन्तुष्ट भए पुग्छ!” यो कस्तो स्वभाव हो? (क्रूरता।) यी दुष्ट मानिसहरू आफूलाई काटछाँट गर्नेविरुद्ध जाइलाग्न मात्र होइन्, कुनै दुष्ट राक्षसले झैँ उनीहरूलाई चोट र हानि पुर्‍याउनसमेत तयार हुन्छन्। तिनीहरूलाई हस्तक्षेप गर्ने आँट कसै गर्न सक्दैन। के यो तिनीहरू अत्यन्तै लहडबाज र क्रूर हुनु होइन र? के यो युवासँग सम्बन्धित समस्या हो र? यदि तिनीहरू पाका भएका भए, लहडबाज हुन्थेनन् र? यदि तिनीहरू पाका भएका भए, बढी विचारशील र चेतनशील हुन्थे र? हुन्थेनन्। यो तिनीहरूको व्यक्तित्व वा उमेरको मामला होइन। यसमा गहिरोसित गाडिएको भ्रष्ट स्वभाव लुकेको हुन्छ। तिनीहरू त्यही भ्रष्ट स्वभावद्वारा सञ्‍चालित हुन्छन्, र त्यही भ्रष्ट स्वभावद्वारा जिउँछन्। के भ्रष्ट स्वभावले जिउने व्यक्तिमा समर्पण हुन्छ? के उसले सत्यता खोज्न सक्छ? के उसमा सत्यतालाई प्रेम गर्ने पाटो हुन्छ? (हुँदैन।) अहँ, यी केही पनि हुँदैन। के तिमीहरू सबैले लहडे स्थिति अनुभव गरेका छौ? (गरेका छौँ।) यदि हामीले यसबारे सङ्गति नगरेको भए, के तिमीहरूलाई त्यो समस्या हो भन्ने लाग्नेथ्यो? (लाग्नेथिएन।) अब, त्यसबारे सङ्गति गरिसकेपछि, के तिमीहरूलाई त्यो निकै गम्भीर समस्या हो भन्ने महसुस भयो? (भयो।) कहिलेकाहीँ हुने कतिपय लहडेपन वस्तुगत कारणहरूबाट उत्पन्न भएको हुन्छ। त्यो स्वभावगत समस्या हुँदैन। तर सबै स्वभावगत समस्याहरू, र व्यक्तिका कार्यहरूमा भएका भ्रष्ट स्वभावका सबै प्रकटीकरणहरूले नकारात्मक परिणामहरू ल्याउँछन्। वस्तुगत कारणको एउटा उदाहरण यस्तो छ: मानौँ आज कसैको पेट नराम्रो तरिकाले दुखेको छ। उसलाई यति पीडा छ कि ऊसँग बोल्ने शक्तिसमेत छैन। बस ऊ केहीबेर पल्टिरहन चाहन्छ। त्यहीबेला, अरू कोही आउँछ र ऊसँग केही कुरा गर्छ, अनि उसले अलि रुखो जवाफ दिन्छ। के यो उसको स्वभावको समस्या हो त? अहँ, होइन। ऊ बिरामी र पीडामा भएकोले मात्र उसले यस्तो व्यवहार गरेको हो। यदि साधारण अवस्थामा पनि ऊ त्यसरी नै बोल्ने व्यक्ति थियो भने, त्यो स्वभावगत समस्या हुनेथियो। यो घटनामा, उसको बोलीमा खराब भाव हुन्छ किनभने उसको पीडाले निश्‍चित सीमा पार गरेको छ। त्यो सामान्य कुरा हो। यदि त्यसको कुनै वस्तुगत कारण छ, र त्यो तरिकाले बोल्नु वा कार्य गर्नु परिस्थितिहरूको कारणले गर्दा क्षमायोग्य र तर्कसङ्गत छ र त्यो मानव प्रकृति नै हो भनेर सबैले स्विकार्छन् भने, त्यो सामान्य मानवताको व्यवहार र प्रकटीकरण हो। अर्को एउटा व्यक्तिको उदाहरण लिऊँ जसले आफ्नो आफन्त गुमाएको छ र ऊ दुःखमा रुन थाल्छ। त्यो पनि निकै सामान्य कुरा हो। तर तिनीहरूलाई आलोचना गर्ने मानिसहरू पनि हुन्छन् जो यसो भन्छन्, “यो मान्छे भावुक छ। उसले परमेश्‍वरमाथि यतिका वर्ष विश्‍वास गरेको छ तैपनि अझै परिवारप्रतिको स्नेह त्याग्न सक्दैन। ऊ आफ्नो आफन्त मर्दासमेत रुन्छ। कस्तो मूर्ख!” त्यसपछि, के हुन्छ भने, त्यो त्यसो भन्ने व्यक्तिको आमा मर्छे, अनि ऊ हरकोहीभन्दा पनि बढी रुन्छ। यसलाई कसरी हेरिनुपर्छ? तैँले आँखा चिम्लेर नियमहरू लागु गर्न वा त्यसबारे सामान्यीकरण गर्न मिल्दैन—कतिपय कुराहरूका वस्तुगत कारणहरू हुन्छन्, र ती सामान्य मानवताका व्यवहार र प्रकटीकरणहरू हुन्। केचाहिँ सामान्य मानवताका व्यवहार र प्रकटीकरणहरू हुन् र केचाहिँ होइनन्—त्यो परिस्थितिहरूअनुसार फरक पर्छ। व्यक्ति केद्वारा जिउँछ भन्नेबारे जे भनिए पनि, त्यसले एकातिर मान्छेका स्वभावहरूमा हुने समस्याहरू, र अर्कोतिर मान्छेका दृष्टिकोणमा भएका समस्याहरू, तिनीहरूका पछ्याइ विधिहरू, र तिनीहरूको पछ्याइका मार्गहरू समेट्छ। त्यो तिनीहरूको मनोभाव वा व्यक्तित्व, वा तिनीहरूको बाह्य कार्यशैलीको सवाल हुँदै होइन।

अर्को प्रकारको स्थिति पनि छ, र त्यो हो दुनियाँसित व्यवहार गर्ने दर्शनहरूद्वारा जिउनु। धेरैजसो मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्दा, सत्यता पछ्याउनमा ध्यान नदिई, प्रसिद्धि, लाभ र हैसियत पछ्याउन मन पराउँछन्। जबसम्‍म कुनै व्यक्तिमा थोरै क्षमता र केही विचारहरू हुन्छ, तबसम्‍म उसमा जीवन जिउने केही शैतानी दर्शन र नियमहरू हुन्छै हुन्छ। तिनीहरू प्रत्येकसित कसरी खुसीसाथ जिउने, कसरी अरूभन्दा फरक देखिने र कसरी परिवारको नाम राख्‍ने, र सबैको वाहवाही जित्नेगरी जिउने भन्नेबारे आ-आफ्नै “गोप्य रणनीतिहरू” हुन्छन्। ती कस्ता रणनीतिहरू हुन्? ती दुनियाँसित व्यवहार गर्ने “सर्वोच्च” दर्शनहरू हुन्। त्यो सुन्दा कतिपय मानिसहरूलाई हाँस उठ्ला: “सर्वोच्च” र “दुनियाँसित व्यवहार गर्ने दर्शनहरू” सँगै राख्न मिल्दैन। यो त अनौठो संयोजन भयो। त्यसोभए, “सर्वोच्च” भन्ने शब्द यहाँ किन प्रयोग गरियो? सामान्यतया, दुनियाँसित व्यवहार गर्ने दर्शन भएको व्यक्तिलाई यो विश्‍वास हुन्छ कि जिउनको लागि, ऊ अस्तित्वका केही नियमहरूद्वारा, अर्थात् बाँच्ने केही गोप्य सुत्रहरूद्वारा सुसज्जित हुनुपर्छ। उसलाई उसको जीवन लक्ष्यहरू प्राप्त गर्ने त्यो एउटै उपाय हो भन्ने लाग्छ। तिनीहरू अस्तित्वका यी नियमहरूलाई मानिसहरूले प्राय बोलिरहने आदर्श वाक्यहरूझैँ तिनीहरूका सर्वोच्च सिद्धान्तहरू ठान्छन्, र यी नियमहरू दुनियाँसित व्यवहार गर्ने दर्शनहरू हुन्। तिनीहरू दुनियाँसित व्यवहार गर्ने आफ्नो दर्शनलाई सत्यताझैँ गरी समर्थन र पालना गर्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई समेत यस व्यवहारबाट छुटाउँदैनन्। तिनीहरू सोच्छन्, “सबै मानिसहरूको जीवन उस्तै हुन्छ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ नि, होइन र? तिमीहरू सिद्धान्तहरू पालना गर्छौ नि, होइन र? ठीकै छ, त्यसोभए, तिमीहरूलाई सम्हाल्न मसँग सांसारिक व्यवहारसम्बन्धी दर्शन छ। तिमीहरू एकदमै ध्यान दिने खाले छौ नि, होइन र? तिमीहरू सत्यता सिद्धान्तहरूअनुसार चल्छौ नि, होइन र? म त सत्यता सिद्धान्तहरू बुझ्दिनँ, तैपनि तिमीहरूलाई मतर्फ तान्न र विविध कामहरूमा भुलाउन सक्छु। म तिमीहरू सबैलाई मेरो प्रभावमा राख्नेछु; अनि तिमीहरूले मलाई असल व्यक्ति भन्नेछौ र मेरो पिठ्युँपछाडि कुनै नराम्रो कुरा भन्नेछैनौ। म तिमीहरूलाई पछाडिबाट आलोचना गर्ने, र तिमीहरूमाथि नराम्रा कुराहरू, र धोका दिने काम समेत गर्नेछु—तिमीहरूले त्यसबारे पत्तोसमेत पाउनेछैनौ।” त्यो सांसारिक व्यवहारका दर्शनहरूद्वारा जिउने व्यक्ति हो। दुनियाँसित व्यवहार गर्ने ती सांसारिक दर्शनहरूभित्र के हुन्छ? छल, धोका, र रणनीतिहरू, साथै शैली र विधिहरू हुन्छ। उदाहरणको लागि, हैसियत भएको र उपयोगी हुनसक्ने व्यक्ति देखेपछि, तिनीहरू निकै नम्र बन्छन्, र उसको पुच्छर बनेर प्रशंसा गर्छन्। तिनीहरू जोसँग दिने कुरा थोरै मात्र छन् र जो तिनीहरू जति राम्रा छैनन् भन्ने लाग्छ उनीहरूलाई सधैँ हेपेर बोलाउँछन् र हेयको दृष्टिले हेर्छन्, जसले ती मानिसहरूलाई तिनीहरू ठुलाबडा हुन् र तिनीहरूलाई सधैँ आदर गर्नुपर्छ भन्ने महसुस गराउँछ। तिनीहरूको भित्री संसारमा, तिनीहरूसित मानिसहरूलाई शोषण गर्ने र आफूअनुकूल प्रयोग गर्ने प्रणाली र हरखाले व्यक्तिलाई व्यवहार गर्ने तरिका हुन्छ। कुनै व्यक्तिलाई भेट्दा, तिनीहरूले ऊ कस्तो व्यक्ति हो, उसलाई कसरी सम्हाल्नुपर्छ र ऊसँग कसरी जोडिनुपर्छ भनेर एकै नजरमा थाहा पाउँछन्। तिनीहरूको दिमागमा तुरुन्तै सुत्र फुर्छ। तिनीहरू यसमा परिष्कृत र अभ्यस्त हुन्छन्। तिनीहरूले सांसारिक व्यवहारका यी दर्शनहरू लागु गर्नेबारे सोच्नैपर्दैन—तिनीहरूलाई प्रारम्भिक रूपरेखा वा कसैको निर्देशन चाहिँदैन। तिनीहरूका आफ्नै विधिहरू छन्। तीमध्ये कतिपय तिनीहरू आफैले सोचेका हुन्; कतिपय तिनीहरूले अरूबाट सिकेका, अरूमा देखेका, वा अरूको प्रभावबाट प्राप्त गरेका हुन्। तिनीहरूलाई ती विधिहरूबारे कसैले पनि नबताएको हुन सक्छ, तर तिनीहरू सबै कुरा बुझ्‍न सक्छन्, त्यसैले तिनीहरू सांसारिक व्यवहार, शैली, तरिका, विधि, योजना र आकलनका दर्शनहरू सिक्छन्। के यी कुराहरूद्वारा जिउने मानिसहरूमा सत्यता हुन्छ? के तिनीहरू सत्यताद्वारा जिउन सक्छन्? (सक्दैनन्।) तिनीहरू सक्दैनन्। त्यसोभए, अरू मानिसहरूमाथि तिनीहरूको कस्तो प्रभाव हुन्छ? अरूहरू प्रायजसो तिनीहरूबाट धोका पाउँछन् र छलिन्छन्, तिनीहरूको प्रयोग र शोषण, आदिमा पर्छन्। दुनियाँसित व्यवहार गर्ने यी दर्शनहरू बौद्धिक मानिसहरू वा केही समूहका मानिसहरूको दायरामा मात्र सीमित हुँदैनन्—तथ्य त यो हो कि यी कुराहरू हरेक व्यक्तिमा हुन्छन्।

शैतानी दर्शनहरू अरू कुन-कुन रूपमा प्रकट हुन्छन्? कतिपय मानिसहरू बोल्न सिपालु हुन्छन्। तिनीहरू अरूलाई फकाएर खुसी र सन्तुष्ट पार्छन्, जो तिनीहरूको कुरा सुनेपछि शान्त बन्छन्, तर यस्ता मानिसहरूले वास्तविक काम बिलकुलै गर्दैनन्। यिनीहरू कस्ता व्यक्ति हुन्? मिठा शब्दहरूले मानिसहरूलाई आफूअनुकूल प्रयोग गर्ने व्यक्ति हुन्। कतिपय अगुवा र सेवकहरू केही समय काम गर्छन्, त्यसपछि मनमनै सोच्छन्, “के माथिकाले मलाई बुझ्नुहुन्छ? के परमेश्‍वरले मलाई चिन्नुहुन्छ? मैले केही समस्याहरू सुनाउनुपर्छ ताकि म काम गरिरहेको छु भन्ने कुरा माथिकालाई थाहा होस्। यदि माथिकाले मैले सुनाएका समस्याहरू निकै वास्तविक र महत्त्वपूर्ण छन्, ती मुख्य समस्याहरू हुन् भनी बुझ्नुभयो भने, म वास्तविक काम गर्न सक्छु भन्ने देखेर माथिकाले सायद मलाई सम्मान देखाउनुहुनेछ।” त्यसैले, तिनीहरू समस्याहरू उल्लेख गर्ने मौका खोज्छन्। तिनीहरूले समस्याहरू उल्लेख गर्नु जायज हो, त्यो आम सुझबुझ हो, र कामको लागि त्यो आवश्यक हुन्छ। तर यसमा तिनीहरूको व्यक्तिगत आशय मिसिनु हुँदैन। यस्ता व्यक्तिहरूले यी समस्याहरू सुनाउनुमा के तिमीहरू तिनीहरूको आशय बुझ्न सक्छौ? तिनीहरूको यो आशयमा भएको वास्तविक समस्या के हो? यो प्रश्‍नबारे राम्ररी सोच्नु र वास्तविकता खुट्ट्याउनु आवश्यक छ। यदि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन र परमेश्‍वरलाई खुसी पार्नको निम्ति समस्याहरू उल्लेख गरिरहेको भए, त्यो न्यायसङ्गत हुनेछ; त्यसले तिनीहरू जिम्मेवार व्यक्ति, अर्थात् वास्तविक काम गर्ने व्यक्ति हुन् भन्ने अर्थ दिनेछ। तर अहिले त्यस्ता केही अगुवा र सेवकहरू छन् जो वास्तविक काम गर्दैनन्, बरु अवसरवादी हुन्छन् र छिटो काम सकाउन खोज्छन्, जो आफूभन्दा ठुलाबडासित झूट बोल्छन् र आफूभन्दा मूनिकासित कुरा लुकाउँछन्। तैपनि, तिनीहरू मधुर र मृदुभाषी हुन, र सबैलाई सन्तुष्ट पार्न चाहन्छन्। के यो तरिकाले अभ्यास गरेर तिनीहरू शैतानी दर्शनहरूद्वारा जिइरहेका छैनन् र? यदि छन् भने, यो समस्या कसरी समाधान गर्नुपर्छ? कस्ता सत्यताहरू खोज्नुपर्छ, र त्यसलाई कसरी चिन्नु र खुट्ट्याउनुपर्छ—यी कुराहरू प्रस्ट भएपछि मात्र तिनीहरूको भ्रष्ट आशयको समस्या समाधान गर्न सकिन्छ। अर्को उदाहरण यस्तो छ। एउटा कर्तव्य निर्वाह गर्न दुई जनालाई जोडी बनाइन्छ। तिनीहरूलाई अर्को क्षेत्रको मण्डलीमा एउटा समस्या सम्हाल्न जानु छ। त्यहाँको जियाइ परिस्थिति तुलनात्मक रूपले नाजुक छ, सार्वजनिक सुरक्षा राम्रो छैन, र त्यो अलि जोखिमपूर्ण ठाउँ हो। एउटाले भन्छ, “त्यो मण्डलीका मानिसहरूले मलाई मन पराउँदैनन्। म गए नि, मैले त्यहाँको समस्या समाधान गर्न सक्ने कुनै प्रत्याभूति छैन। तर तिनीहरू सबैले तिमीलाई मन पराउँछन्। त्यो समस्या हल गर्न तिमी जाँदा नै फलदायी होला।” अर्कोलाई यो साँचो हो भन्ने लाग्छ र ऊ आफै जान्छ। अरू सबै कुरा बिर्सिने हो भने पनि, के त्यो नजाने कारण र बहाना बनाउने व्यक्तिमा समस्या छैन र? उसका बहाना र कारणहरू मान्य भए नि नभए नि, के ऊ यसमा सत्यता अभ्यास गरिरहेको छ र? के ऊ उसका दाजुभाइ-दिदीबहिनीहरूबारे सोचिरहेको छ र? छैन; ऊ झूट बोलिरहेको छ। ऊ उसका आफ्नै उद्देश्यहरू हासिल गर्न मिठा शब्दहरू प्रयोग गरिरहेको छ। के यो एउटा जुक्ति होइन र? यदि तँ यस्तै सोच्छस् र यस्तै व्यवहार गर्छस् भने, तैँले देहविरुद्ध विद्रोह गरेको छैनस्। तँ अझै शैतानी दर्शनहरूद्वारै जिइरहेको छस्। तर यदि तैँले आफूविरुद्ध विद्रोह गर्न सकिस् र शैतानी दर्शनहरूद्वारा जिइनस् भने के होला? तँ सुरुमा त्यो मण्डली गएर त्यहाँका समस्याहरू सम्हाल्न चाहँदैनथिस्, तर मनमा यस्तो सोच्‍नेथिस्: “यो ठिक होइन। मैले त्यस्तो सोच्‍छु, मतलब, म खराब व्यक्ति हुँ, र म अनैतिक छु। मैले आफूले भनेको कुरा सक्दो चाँडो फिर्ता लिनुपर्छ। मैले ऊसित माफी माग्नुपर्छ र मैले प्रकट गरेको भ्रष्टताबारे खुलेर कुरा गर्नुपर्छ। म त्यो ठाउँ आजै जानुपर्छ, चाहे म त्यहाँ मर्नु नै किन नपरोस्।” वास्तवमा तँ त्यहाँ मर्ने कुरा निश्‍चित छैन। कहिलेदेखि मृत्यु यति सजिलो हुन थाल्यो र? जीवन र मरण परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। समग्रमा, यस्तो अवस्थामा, तँसित आफूविरुद्ध विद्रोह गर्ने सङ्कल्प र क्षमता हुनुपर्छ। त्यसपछि मात्र तँ सत्यताद्वारा जिउन सक्‍नेछस्। म तँलाई अर्को उदाहरण दिन्छु। एउटा कर्तव्य निभाउन दुईजनालाई जोडी बनाइन्छ। दुबै जना त्यसको जिम्मेवारी लिन डराउँछन्, त्यसैले त्यो तिनीहरूको बौद्धिकताको लडाइँ बन्छ। एउटाले भन्छ, “यसलाई तिमीले नै सम्हाल।” अर्कोले भन्छ, “यसलाई तिमीले सम्हाल्दा राम्रो हुन्छ। म तिमीभन्दा कम क्षमतावान् छु।” तिनीहरू वास्तवमा यस्तो सोचिरहेका हुन्छन्: “यो काम राम्ररी गरेमा कुनै इनाम पाइनेछैन, र यदि राम्ररी गरिएन भने, मलाई काटछाँट गरिनेछ। म जान्नँ—म त्यति लाटो छैन! तिमी के गर्न खोजिरहेको छौ, त्यो मलाई थाहा छ। मलाई जान लगाउने प्रयास गर्न छोड।” त्यो विवादपछि अन्त्यमा के हुन्छ? ती दुईमध्ये कोही पनि जाँदैन, र फलस्वरूप काममा ढिलाइ हुन्छ। के त्यो अनैतिक होइन र? (हो।) काममा ढिलाइ गराउनु गम्भीर परिणाम होइन र? त्यो खराब परिणाम हो। त्यसोभए, ती दुईजना केद्वारा जिइरहेका छन्? तिनीहरू दुवैजना शैतानी दर्शनहरूद्वारा जिइरहेका छन्; तिनीहरू शैतानी दर्शन र तिनीहरूको आफ्नै चालबाजीको बाधा र बन्धनमा परेका छन्। तिनीहरू सत्यता अभ्यास गर्न असफल भएका छन्, र यसरी तिनीहरूको कर्तव्यनिर्वाह मापदण्डअनुरूप हुँदैन। त्यो झारा टार्ने काम मात्र हुन्छ, र त्यसमा कुनै पनि गवाही हुँदैन। मानौँ कुनै कर्तव्य निर्वाह गर्न दुईजनालाई जोडी बनाइयो रे। एउटा सबथोकमा हाबी हुन खोज्छ र सधैँ अन्तिम निर्णय गर्न चाहन्छ, अनि अर्कोचाहिँ यस्तो सोच्न सक्छ, “बलियो त ऊ हो; उसलाई अगुवाइ गर्न मन पर्छ। उसले सबथोकमा अगुवाइ गर्दा हुन्छ, र केही कुरा बिग्रिएमा, उसैलाई काटछाँट गरिनेछ। ‘सबैभन्दा अग्लो कीलालाई नै पहिले ठोकिन्छ’! म अग्लो कीला हुनेछैन। संयोगवश म कम क्षमतावान् छु, र मलाई परिस्थितिहरू सम्हाल्न मन लाग्दैन। उसलाई नै अगुवाइ गर्न मन पर्छ, होइन र? यदि केही काम गर्नु छ भने, म उसैलाई गर्न दिनेछु!” यसो भन्ने व्यक्तिहरू मान्छे खुसी पारिहिँड्ने व्यक्ति, अर्थात् अनुयायी हुनमै रमाउँछन्। तिनीहरूको कर्तव्य निर्वाह गर्ने तरिकाबारे तँलाई के लाग्छ? तिनीहरू केद्वारा जिइरहेका हुन्छन्? (सांसारिक व्यवहारका दर्शनहरूद्वारा।) तिनीहरू अरू पनि केही सोचिरहेका हुन्छन्। “यदि मैले उसलाई छायाँमा पारेँ भने के ऊ मसित रिसाउनेछैन र? के भविष्यमा हामीबीच फूट आउनेछैन र? यदि यसले हाम्रो सम्बन्धमा असर गर्‍यो भने, मिलेर अघि बढ्न कठिन हुनेछ। मैले उसलाई आफ्नो बाटोमा लाग्न दिनु नै बेस हुनेछ।” के यो सांसारिक व्यवहारको दर्शन होइन र? तिनीहरू जसरी जिइरहेका छन् त्यसले तिनीहरूलाई समस्याबाट बचाउँछ। यसले तिनीहरूलाई जिम्मेवारीबाट पन्छिन मद्दत गर्छ। तिनीहरू आफूलाई जे गर्न बाध्य पारिन्छ त्यही मात्र गर्नेछन्, अगुवाइ गर्नुपर्ने वा अलग्गै देखिनुपर्ने, र कुनै समस्याबारे सोच्नुपर्ने काम गर्नेछैनन्। सबथोक अरू कसैले सम्हालिरहेको छ, त्यसैले तिनीहरूले आफूलाई थकित तुल्याउनेछैनन्। अनुयायी हुने तिनीहरूको तत्परताले तिनीहरूमा जिम्मेवारीको भावना नै छैन भन्ने प्रमाणित गर्छ। तिनीहरू दुनियाँसित व्यवहार गर्ने दर्शनहरूद्वारा जिइरहेका हुन्छन्। तिनीहरू सत्यता स्विकार्ने वा सिद्धान्तहरू पालना गर्ने गर्दैनन्। यो सौहार्दपूर्ण सहकार्य होइन—यो अनुयायी, अर्थात् मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्‍नु हो। यो किन सहकार्य होइन? किनभने कुनै पनि कुरामा तिनीहरू आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन। तिनीहरू आफ्नो सारा हृदय वा सारा मनले कार्य गर्दैनन्, र सायद तिनीहरू आफ्नो सारा शक्तिले पनि कार्य गर्दैनन्। त्यसैले म भन्छु, तिनीहरू सत्यताद्वारा भन्दा पनि दुनियाँसित व्यवहार गर्ने दर्शनहरूद्वारा जिइरहेका छन्। यहाँ अर्को एउटा उदाहरण छ: कर्तव्य निर्वाह गर्ने क्रममा कुनै व्यक्तिले कुनै खराब काम गर्छ, र त्यो कामले परमेश्‍वरको घरका हितहरूमा क्षति पुर्‍याउँछ। तैँले त्यो देख्छस्, तर मनमनै यस्तो सोच्छस्, “त्यो मेरो चासोको विषय नै होइन। त्यसले मेरा हितहरूमा चोट पुर्‍याएन। त्यसबाहेक, म त्यसको जिम्मेवार व्यक्ति होइन। अरूको मामलामा हात हालेर मैले के नै गरिरहेको हुन्छु र? इच्छा हुने अरू कसैले त्यसलाई सम्हाल्दा हुन्छ। म त मेरो आफ्नै काममा तल्लीन हुनुपर्छ। अरूले नराम्रा काम गरे, त्यसमा मेरो कुनै सम्बन्ध हुँदैन। मैले देखे नि मतलब गर्दिनँ; तिनीहरूले बाटो बिराए नि चासो लिँदिनँ; मण्डलीको काममा कुनै क्षति पगे नि, त्यसमा मेरो सरोकार हुँदैन।” के यो दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शन होइन र? (हो।) के यस्तो व्यक्तिका अभिप्रायहरू राम्रा हुन्छन्? (हुँदैनन्।) ऊ शैतानी दर्शनहरूद्वारा जिइरहेको छ। कतिपय मानिसहरूले कुनैकुनै बेला कुनैकुनै मामलामा यसो गर्छन्; अन्यले भने बारम्बार यसो गर्छन्, र कहिल्यै सत्यता खोज्ने वा आफूमाथि चिन्तन गर्ने, र आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्ने गर्दैनन्। यी दुई प्रकारका मानिसहरू फरकफरक परिस्थितिमा हुन्छन्। तर यो एकाध घटनाहरूमा गरिए पनि सबै मामलाहरूमा गरिए पनि, यो भ्रष्ट स्वभावको समस्यासित सम्बन्धित छ। यो व्यक्तिका विधिहरूमा भएको सामान्य समस्या होइन—यो शैतानी दर्शनहरूद्वारा जीवन जिउनु हो। मानिसहरूले सामान्यतया दुनियाँसित व्यवहार गर्ने अरू कस्ता सांसारिक दर्शनहरू देख्छन् र भोग्छन्? (अरूलाई ससाना निगाहद्वारा घुस खुवाउनु, अरूका रूचिहरू पूरा गरिदिनु, मानिसहरूलाई प्रशंसा गर्नु, र तिनीहरूलाई खुसी पार्नु।) अरूका रूचिहरू पूरा गरिदिनु एउटा जुक्ति हो, यो दुनियाँसित व्यवहार गर्ने एकप्रकारको सांसारिक दर्शन हो। अरू केही छ? (कुनै व्यक्तिले सिद्धान्तहरू उल्लङ्घन हुने काम गरेको देखेपछि, उसको भावनामा चोट पुग्‍ला भनेर, सिधै त्यसबारे मुख नखोल्नु।) सिधा कुरा नगर्नु, कुरा घुमाउनु, सधैँ सिद्धान्तहरू वा मूल समस्यासँग सम्बन्ध नभएका मिठा शब्दहरू चयन गर्नु—यो दुनियाँसित व्यवहार गर्ने अर्को सांसारिक दर्शन हो। अरू केही छ? (चिप्लो घस्नु र हैसियत भएका मानिसहरूको खुसामद गर्नु।) त्यो चापलुसी गर्नु हो, र यो पनि दुनियाँसित व्यवहार गर्ने एउटा सांसारिक दर्शन हो। त्यस्ता मानिसहरू पनि छन्, जो प्राकृति तवरमै सधैँ अरूलाई आफूअनुकूल प्रयोग गर्न र तिनीहरूबाट फाइदा लिन खोजिरहेका हुन्छन्। तिनीहरू अत्यन्तै विश्‍वासघाती हुन्छन्। तिनीहरू जहाँ गए पनि मधुर र मृदुभाषी हुन्छन्। तिनीहरूले के भन्छन् भन्ने कुरा कसलाई भन्‍नुपर्ने हो भन्नेमा भर पर्छ। तिनीहरूको दिमागले एकदमै चाँडो प्रतिक्रिया दिन्छ: आँखा जुध्‍नेबित्तिकै कुनै व्यक्तिलाई कसरी सम्हाल्ने भनेर तिनीहरूलाई थाहा हुन्छ। यस्ता मानिसहरू अत्यन्तै धूर्त हुन्छन्; तिनीहरू सत्यताद्वारा जिउन सक्दैनन्। दुनियाँसित व्यवहार गर्ने यी सांसारिक दर्शनहरू अरू कुन-कुन रूपमा प्रकट हुन्छन्? (कुनै समस्या देखेपछि यदि त्यो कुनै गल्ती भएमा आफूलाई दोष लाग्ने डरले कुरा खोल्‍न आँट नगर्नु, अरू मानिसहरूले के भनिरहेका र गरिरहेका छन् भनेर हेर्नु, र अधिकांशले नबोलेसम्म कुनै पनि दृष्टिकोण व्यक्त नगर्नु।) सबैजना अपराधी भए कानुन लगाउन सकिँदैन भन्ने सोचेर मानिसहरू लहर पछ्याउन प्रवृत्त हुन्छन्। त्यो कस्तो समस्या हो? त्यो कस्तो स्वभाव हो? के त्यो छली स्वभाव होइन र? तँ सधैँ मान्छे खुसी पारिहिँड्न चाहने र चिढ्याउन डराउने हुनाले तैँले सत्यता सिद्धान्तहरू कायम राख्ने आँट नगर्नु, तर सँगसँगै सत्यता अभ्यास नगरेकोले तँलाई खुलासा गरिने र हटाइने डर पनि मान्नु—त्यो त निकै ठूलो दुबिधा हो! मान्छे खुसी पारिहिँड्नेहरूको दुखद पीडा त्यही हो। सत्यता अभ्यास नगर्दा, मानिसहरूले जिउने कुरूप अवस्थाहरू यिनै हुन्; तिनीहरू सबैमा शैतानको पैशाचिक स्वरूप हुन्छ। यी कतिपय मानिसहरू अन्तर्घाती हुन्छन्, कतिपय विश्‍वासघाती हुन्छन्, कतिपय घृणास्पद हुन्छन्, कतिपय नीच हुन्छन्, कतिपय तुच्छ हुन्छन्, र कति अरू दयनीय हुन्छन्। के तिमीहरू शैतानी दर्शनहरूद्वारा जिइरहेका छौ? अगुवा जो भए पनि उसको चापलुसी गर्नु तर प्रतिस्थापित भएका र हटाइएका अगुवाहरूको बेवास्ता गर्नु; अगुवा चुनिएको जोकोहीको खुसामद गर्नु, चाहे ऊ जोसुकै नै किन नहोस्; अनेकथरीका घिनलाग्दा कुराहरू, “आहा, तिमी आकर्षक छौ, र तिम्रो मिलेको जिउडाल छ—तिमी सुन्दरताको प्रतीक हौ। तिमी त समाचारवाचक जस्तो बोल्छौ र चराजस्तै गाउँछौ” भनेर भन्‍नु, तिनीहरूलाई चापलुसी गर्ने उपाय खोज्नु; हरमौकामा तिनीहरूलाई चिल्लो घस्नु; तिनीहरूलाई ससाना निगाहद्वारा घूस खुवाउनु; तिनीहरूले के गर्छन् र भन्छन् भनी सामान्य रूपमा हेर्नु, र तिनीहरूलाई केही कुरा मन परेको देख्दा तिनीहरूलाई सन्तुष्ट पार्ने उपायहरू सोच्नु। के तिमीहरूसँग भएका रणनीतिहरू यिनै हुन्? (हो। कहिलेकाहीँ, म अगुवा वा सेवकमा केही समस्या वा कमजोरीहरू देख्छु, तैपनि तिनीहरूले मलाई दोष लाउलान् र मप्रति खराब भावनाहरू राख्‍लान् भनेर, मलाई केही भन्‍ने आँट आउँदैन।) त्यो सिद्धान्तको अभाव हुनु हो। त्यसोभए, तैँले ती समस्याहरू सही रूपमा पहिचान गरेको छस् छैनस् र तैँले तीबारे कुरा गर्दा मण्डलीको काममा फाइदा हुनेछ छैन भनेर के तँलाई थाहा छ? (अलिअलि थाहा छ।) तँलाई अलिअलि थाहा छ—त्यसोभए सत्यता सिद्धान्तअनुरूप हुन तैँले के गर्नैपर्छ? यदि तँ आफूले समस्या भेट्टाएँ भन्‍नेमा निश्‍चित छस्, र त्यो समस्या समाधान गर्नैपर्छ, अन्यथा यसले काममा ढिलाइ पुर्‍याउनेछ भनेर हृदयमा बुझ्छस्, तैपनि तैँले सिद्धान्तहरू पालना गर्न सक्दैनस्, र तँ अरू मानिसहरू चिढिने कुराले डराउँछस् भने, यहाँ के समस्या छ? तँ किन सिद्धान्तहरू पालना गर्न डराउँछस्? यो एउटा गम्‍भीर प्रकृतिको समस्या हो, र यो तैँले सत्यतालाई प्रेम गर्छस् गर्दैनस् र तँमा न्यायको भावना छ छैन भन्‍ने कुरासँग सम्‍बन्धित छ। तैँले आफ्‍नो राय व्यक्त गर्नुपर्छ, चाहे तँलाई यो सही हो होइन भन्‍ने थाहा नभएको नै किन नहोस्। यदि तँसँग कुनै राय वा विचार छ भने, तैँले बताउनुपर्छ, र अरूलाई मूल्याङ्कन गर्न दिनुपर्छ। त्यसो गर्दा तँलाई फाइदा हुनेछ, र यसले समस्या समाधानको बाटो खोल्‍नेछ। यदि तँ मनमनै “म यसमा संलग्‍न हुनेछैनँ। यदि मैले भनेको कुरा सही हो भने, मैले श्रेय पाउनेछैनँ, र गलत भयो भने, मलाई काटछाँट गरिनेछ। यो गर्नु उचित छैन” भनी सोच्छस् भने, के तँ स्वार्थी र घृणित होइनस् र? मानिसहरू सधैँ आफ्‍नै हितहरूबारे सोचिरहेका हुन्छन्, र सत्यता अभ्यास गर्न सक्दैनन्। मानिसहरूको लागि सबैभन्दा कठिन कुरा त्यही हो। के तिमीहरू सबैमा दुनियाँसित व्यवहार गर्ने यस्ता धेरै सांसारिक दर्शन र युक्तिहरू छैनन् र? हरव्यक्तिमा शैतानी दर्शनका धेरै कुराहरू हुन्छन्, र तिनीहरू तिनमा ग्रसित भएको धेरै भइसकेको छ। त्यसकारण, मानिसहरूले वर्षौँ प्रवचन सुने पनि सत्यता नबुझ्नु, र सत्यता वास्तविकतामा तिनीहरूको प्रवेश सुस्त हुनु, अनि तिनीहरूको कद सधैँ सानै रहनु अचम्‍मको कुरा होइन। यसको कारण के हो भने, त्यस्ता भ्रष्ट कुराहरूले तिनीहरूलाई बाधा र अवरोध गरिरहेका हुन्छन्। मानिसहरूले सत्यता अभ्यास गर्नुपर्दा तिनीहरू के कुराद्वारा जिउँछन्? तिनीहरू यी भ्रष्ट स्वभाव, धारणा, कल्‍पना, र दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू, साथै वरदानहरूअनुसार जिउँछन्। यी कुराहरूअनुसार जिउँदा, मानिसहरूलाई परमेश्‍वरअघि आउन धेरै गाह्रो हुन्छ। किन गाह्रो हुन्छ? किनभने तिनीहरूको बोझ धेरै ठूलो र तिनीहरूको जुवा निकै गह्रौँ हुन्छ। मान्छे यी कुराहरूअनुसार जिउनु सत्यताभन्दा निकै टाढाको कुरा हो। यी कुराहरूले तँलाई सत्यता बुझ्‍न र सत्यता अभ्यास गर्न रोक्छन्। यदि तैँले सत्यता बुझिनस् भने, परमेश्‍वरमाथिको तेरो आस्था बढ्नेछ? (बढ्नेछैन।) परमेश्‍वरमाथिको तेरो आस्था निश्‍चय नै बढ्नेछैन, उहाँबारे तेरो ज्ञान बढ्नु त झन् परको कुरा हो। यो निकै दुःखलाग्दो र डरलाग्दो कुरा हो।

मानिसहरू केद्वारा जिउँछन् भन्ने कुरा विभिन्‍न कुराहरू हेर्ने तिनीहरूको दृष्टिकोण, साथै तिनीहरूको स्वभावसँग जोडिएको हुन्छ। कतिपय मानिसहरू सधैँ आफ्ना सपना र चाहनाहरूप्रति लागिपरेका हुन्छन्। तिनीहरू सपना भएका मानिसहरू हुन्। कति मानिसहरू सधैँ आफ्ना चाहनाहरूद्वारा जिउँछन्। अनि, तिनीहरूका चाहनाहरूमा कस्ता कुराहरू पर्छन्? त्यसमा काम गर्ने र आफूलाई चिनाउने चाहना हुन्छ, र त्यसमा आफ्नो सान देखाउने चाहना पनि हुन्छ। उदाहरणको लागि, हैसियत मन पराउनेहरूलाई लिन सकिन्छ। हैसियत नभए त, तिनीहरूले परमेश्‍वरमा विश्‍वास नै गर्दैनन्; बिनाहैसियत त, तिनीहरूलाई केही गर्न पनि मन लाग्दैन, र परमेश्‍वरमाथि विश्‍वास गर्नु पनि नीरस लाग्छ। तिनीहरू हैसियत पछ्याउने आफ्नो चाहनाद्वारा जिउँछन्, र तिनीहरू यही चाहना हाबी हुने एकपछि अर्को दिनहरू जिउँछन्। तिनीहरूसँग जे-जस्तो हैसियत भए पनि त्यो तिनीहरूको लागि अमूल्य हुन्छ। तिनीहरूले गर्ने कुनै कुरा पनि हैसियतबाहेक अरू केहीको लागि हुँदैन: आफ्नो हैसियत कायम राख्ने, आफ्नो हैसियत थप उचाइमा पुर्‍याउने, आफ्नो क्षेत्राधिकार फैलाउने—तिनीहरूले गर्ने यी सबै कुरा, हरेक कोणबाट, तिनीहरूको यही चाहनाको लागि नै हुन्छ। तिनीहरू चाहनाद्वारा नै जिइरहेका हुन्छन्। अनि, अरू मानिसहरू छन् जो संसारमा दयनीय जीवन जिउँछन्। तिनीहरू सँधै हेपिने सोझासाझा मानिसहरू हुन्, जो खराब पारिवारिक पृष्ठभूमि, र खराब सामाजिक परिवेशबाट आएका हुन्छन्, र तिनीहरूको आडभरोसा कोही हुँदैन। तिनीहरू परमेश्‍वरमा विश्‍वास नगरुन्जेल एक्लो र उपेक्षित हुन्छन्, र विश्‍वास गर्न थालेदेखि तिनीहरूलाई अन्तत: टेको मिलेको महसुस हुन्छ। तिनीहरूमा आकाङ्क्षा हुन्छ, र परमेश्‍वरमाथिको विश्‍वासमा तिनीहरू त्यही आकाङ्क्षामार्फत चलेका हुन्छन्। तिनीहरूको आकाङ्क्षा आजका दिनसम्म पनि अपरिवर्तिन नै रहेको हुन्छ। तिनीहरू सोच्छन्, “परमेश्‍वरमाथि विश्‍वास गरेर, म चारित्रिक इज्जत र निष्ठासाथ जिउँछु; परमेश्‍वरमाथि विश्‍वास गरेर, म अरूभन्दा माथि उठ्न, र अरूको भन्दा उच्च जीवन जिउन सक्छु। म स्वर्ग गएपछि, तिमीहरू सबैले मलाई सम्मान गर्नेछौ। त्यसउप्रान्त मलाई कसैले पनि हेयको दृष्टिले हेर्नेछैन।” तिनीहरूको यो चाहना, तिनीहरूको यो आशा निकै खोक्रो र अस्पष्ट छ। तिनीहरूलाई लाग्छ, तिनीहरूले आफ्नो पारिवारिक परिस्थिति वा अन्य केही कारणले गर्दा अत्यन्तै दयनीय जीवन बिताइरहेका थिए। तर परमेश्‍वरको घरमा बस्दा, तिनीहरूले भरोसा गर्न सक्‍ने केही त छ। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई हेप्दैनन्। तिनीहरू अब दयनीय छैनन्; तिनीहरूसँग आड लिने टेको छ। त्यसअलावा, तिनीहरूको सबैभन्दा ठूलो आशा भनेकै तिनीहरूले मरेपछि वा यही जीवनमा आफ्नो शिर उच्च पार्न सकिने एकदमै राम्रो गन्तव्य प्राप्त गर्न सकून् भन्‍ने हो। त्यो नै तिनीहरूको लक्ष्य हो। तिनीहरू यही आकाङ्क्षाद्वारा जिउँछन्, र जतासुकै, जे कुरामा पनि, तिनीहरू यही सोच र यही चाहनालाई आफ्नो प्रेरणाको रूपमा प्रयोग गर्छन्। तिनीहरूलाई सत्यताद्वारा जिउन निकै गाह्रो पर्छ। यस्ता मानिसहरू दयनीय तरिकाले जिउँछन्। अनि, कति अरू मानिसहरू यस्ता छन्, जोसँग आफ्नो सान देखाउने र आफूलाई परिचित गराउने चाहना हुन्छ। त्यही कारणले गर्दा, तिनीहरू समूहमा जिउन, र समूहका अन्य मानिसहरूमा तिनीहरूप्रति सम्मान जगाउन अनेक कामहरू गर्न ज्यादै मन पराउँछन्, जसले तिनीहरूको आडम्बर पूरा गरिदिन्छ। तिनीहरू यस्तो विश्‍वास गर्छन्, “म अगुवा नहुँला, तर यदि मैले समूहलाई आफ्ना प्रतिभाहरू देखाउन र आकर्षणको चमक छर्न सके, र प्रभामण्डल पाउन सके, मैले परमेश्‍वरमा विश्‍वास गर्नु सार्थक हुन्छ। म त्यसैको निम्ति जिउँछु; यो बाह्य संसारमा हुनुभन्दा खराब कुरा होइन।” त्यसैले, त्यसपश्‍चात तिनीहरू त्यसैको लागि जिउँछन्। तिनीहरू आफ्ना सबै दिन र वर्षहरू त्यसरी नै जिउँछन्, र आफ्नो मूल अभिप्राय कुनै पनि रूपमा बदल्दैनन्। के यो सत्यताद्वारा जिउनु हो र? निश्‍चय नै होइन। तिनीहरू अविश्‍वासीहरूझैँ सपना र चाहनाहरूद्वारा जिइरहेका हुन्छन्। यो व्यक्तिका दृष्टिकोणहरूसँग, साथै भ्रष्ट स्वभावहरूसँग जोडिएको समस्या हो। यदि यो समस्या हल भएन भने, सत्यता बुझ्ने वा अभ्यास गर्ने कुनै उपाय हुँदैन, र त्यसपछि सत्यताद्वारा जिउन निकै कठिन हुन्छ।

त्यस्ता महिलाहरू पनि छन् जो आफ्नो रूपद्वारा जिउँछन्, जो सधैँ आफूलाई राम्री सोचिरहेका हुन्छन्, जहाँ गए पनि आफूलाई सबैले मन पराउने, उच्च सम्मान गर्ने, र अनुमोदन गर्ने कुरा सोचिरहेका हुन्छन्। जता गए पनि, तिनीहरू आफूलाई मानिसहरूले प्रशंसा गरेको सुन्छन्, र आफूलाई हेरेर मानिसहरू मुस्कुराएको देख्छन्। तिनीहरू आफूप्रति निकै खुसी र निकै आत्मविश्‍वासी हुन्छन्, र त्यसरी नै जिउँछन्। त्यसैले, तिनीहरू यो विश्‍वास गर्छन् कि तिनीहरूले झैँ जिउनाले तिनीहरूलाई पुँजी मिल्छ, र तिनीहरूको जियाइमा ज्यादै मूल्य छ—कम्तीमा पनि धेरै मानिसहरूले तिनीहरूलाई कदर गर्छन्। के आफ्नो रूपद्वारा जिउने पुरुषहरू पनि छैनन् र? मानौँ, तँ सुन्दर छस्, र सिस्टरहरूसँग कुराकानी गर्दा, तँ समझदार, आकर्षक, र प्रेममय व्यवहार गर्छस्। सबैले तँलाई प्रशंसा गर्ने र सबैजना तेरो प्रभावमा रहने हुनाले तँ आफूप्रति निकै खुसी हुन्छस्। “मैले कसैलाई डेट गर्न खोजेको होइन। म त यो तरिकाले जिइरहेको मात्र हो, र रमाइलो भइरहेको छ! सत्यता अभ्यास गर्नु त कति नीरस छ!” कति अरू मानिसहरू यस्ता छन् जो कुनै प्रकारको पुँजीको आधारमा जिउँछन्, र तिनीहरूमा पुँजी हुनको लागि तिनीहरूसँग कुनै वास्तविक कुरा अवश्यै हुनुपर्छ। ती वास्तविक कुराहरू के हुन सक्लान्? उदाहरणको लागि, कतिपय मानिसहरूले आमाको कोखबाटै आफूले परमेश्‍वरमा विश्‍वास गरेको महसुस गर्छन्। तिनीहरूले पचास वर्ष वा त्योभन्दा बढी समय परमेश्‍वरमा विश्‍वास गरेका छन्, त्यो नै तिनीहरूको पुँजी हो। कुनै ब्रदर वा सिस्टरलाई देख्दा तिनीहरूले सोध्छन्, “तिमीले कति वर्ष परमेश्‍वरमा विश्‍वास गरेका छौ?” जबाफ आउँछ, “पाँच वर्ष”। तिनीहरूले परमेश्‍वरमा यो व्यक्तिले भन्दा पाँच गुणा बढी समय विश्‍वास गरेका छन्, त्यो देखेर तिनीहरूले मनमनै सोच्छन्, “के तिमीले जति वर्ष विश्‍वास गरेको छौ त्यो मैले विश्‍वास गरेको अवधिको छेउ पनि पुग्छ र? तिमी त ज्यादै सानो छौ। तिमीले आफ्नो व्यवहार सुधारे राम्रो—तिमीले गर्न धेरै बाँकी छ!” यो तिनीहरूले आफ्नो पुँजीको आधारमा जिउनु हो। अनि, अरू कस्ता पुँजीहरू हुन्छन्? कतिपय मानिसहरूले अगुवा र सेवकको रूपमा सबै तहमा रहेर सेवा गरेका हुन्छन्। तिनीहरूले लामो समयदेखि बाहिरफेर गर्ने, काम र दौडधुप गर्ने अनि मण्डलीहरूमा जाने काम गर्दै आएका हुन्छन्, र तिनीहरूले धेरै अनुभव बटुलेका हुन्छन्। तिनीहरू माथिका कार्य बन्दोबस्तहरूसँग, साथै मण्डलीका विविध खाले मानिसहरू र कामका क्षेत्रहरूसँग राम्रैसित परिचित हुन्छन्। त्यसैले, तिनीहरू यस्तो विश्‍वास गर्छन्, “म पाको पुँजी भएको पाको अगुवा हुँ। म लामो समयदेखि काम गर्दैआएको छु, र मसँग अनुभव छ। तिमीहरू सबैलाई के थाहा छ? तिमीहरू केटाकेटी हौ। तिमीहरूले कति दिन काम गरेका छौ? तिमीहरू काँचै छौ। तिमीहरूलाई केही थाहा छैन। बस, तिमीहरू मेरो कुरा सुन, त्यै ठिक हुन्छ!” त्यसैले, तिनीहरू दिनभरि प्रचार गरिरहन्छन्, तर त्यसमा व्यावहारिक कुरा केही हुँदैन—त्यो सब शब्द र सिद्धान्तहरू मात्र हुन्छ। तैपनि, तिनीहरूले बहानाहरू बनाइरहनेछन्: “आज म खराब मुडमा छु। एउटा ख्रीष्टविरोधीले वाधा र अवरोध सिर्जना गरिरहेको छ, त्यसले मलाई असर गरिरहेको छ। म अर्कोपटक राम्ररी प्रचार गर्नेछु।” त्यसले तिनीहरूको असली रूप देखाउँछ, होइन र? तिनीहरू आफ्नो पाको पुँजीको आधारमा जिइरहेका छन् र त्यति नै ज्यादा आत्मसन्तुष्ट पनि छन्। साँच्चिकै, कस्तो घृणित, कस्तो वाकवाकलाग्दो! त्यो एकप्रकारको पुँजी हो। अर्को खाले मानिसहरू पनि हुन्छन् जो परमेश्‍वरमा विश्‍वास गरेको कारण जेल परेका हुन्छन्, वा जसले अन्य केही असाधारण अनुभव बटुलेका, वा असाधारण कर्तव्यहरू निभाएका हुन्छन्। तिनीहरूले दुःख भोगेका हुन्छन्, र त्यसले पनि एकप्रकारको पुँजीकै काम गर्छ। अनि, मानिसहरू किन सधैँ आफ्नो पुँजीकै भरमा जिइरहेका हुन्छन् त? यसमा एउटा समस्या छ: तिनीहरू यस्तो पुँजी नै तिनीहरूको जीवन हो भन्ने विश्‍वास गर्छन्। तिनीहरू त्यो पुँजीको भरमा जिउन्जेल, तिनीहरूले आफैलाई प्रशंसा गर्न र आफैमा आनन्द लिन, अनि त्यो पुँजी प्रयोग गरेर अरूलाई निर्देशन दिन र प्रभाव पार्न सक्छन्, र त्यो तिनीहरूको प्रशंसा प्राप्त गर्न उपयोगी हुन्छ। तिनीहरू के पनि विश्‍वास गर्छन् भने, त्यो पुँजीको जगमा, यदि तिनीहरूले अलिकति सत्यता पछ्याउँछन् भने, वा कर्तव्य राम्ररी निभाएर केही असल कार्यहरू पूरा गर्छन् भने, पावलले जस्तै, तिनीहरूले पनि धार्मिकताको मुकुटको पाउन सक्छन्। अनि, निश्‍चय नै तिनीहरू बाँच्नेछन्; निश्‍चय नै तिनीहरू राम्रो गन्तव्यमा पुग्नेछन्। आफ्नो पुँजीको भरमा जिएर, तिनीहरू प्राय: आफैप्रति खुसी, अत्यन्तै आत्मसन्तुष्ट, र अत्यन्तै आत्मगर्वित स्थितिमा जिइरहेका हुन्छन्। तिनीहरू परमेश्‍वर तिनीहरूको पुँजीप्रति खुसी हुनुहुन्छ, उहाँ तिनीहरू देखेर प्रसन्न हुनुहुन्छ, उहाँले तिनीहरूलाई अन्त्यसम्‍मै रहन दिनुहुनेछ भन्ने महसुस गर्छन्। के यो पुँजीको भरमा जिउनु होइन र? तिनीहरू हरमोडमा यही मानसिकता प्रकट गर्छन्। अनि, तिनीहरूले प्रकट गर्ने र तिनीहरूले जिउने कुराहरूमा, र हरमौकामा तिनीहरूले प्रचार गर्ने कुराहरूमा, तिनीहरूको मनमा के छ भन्ने कुरा प्रस्टै देखिन्छ। त्यस्तै अरू मानिसहरू पनि छन् जसले परमेश्‍वरबाट विशेष अनुग्रह र हेरचाह पाएका हुन्छन्, जुन तिनीहरूबाहेक अरू कसैसँग हुँदैन। त्यसैले, तिनीहरू आफू विशेष भएको र बाँकी सबैबाट फरक भएको सोच्छन्। तिनीहरू भन्छन्, “परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास मेरो भन्दा फरक छ। परमेश्‍वरले तिमीहरूलाई सुरुमा धेरै अनुग्रह दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ। त्यसपछि, तिमीहरूले बिस्तारै केही सत्यताहरू बुझेपछि, परमेश्‍वरले तिमीहरूलाई काटछाँट, न्याय र सजाय गर्नुहुन्छ। तिमीहरू सबैलाई त्यस्तै हुन्छ। तर मेरो हकमा फरक हुन्छ: परमेश्‍वरले मलाई विशेष अनुग्रह प्रदान गर्नुहुन्छ। उहाँले मलाई विशेष निगाहसाथ व्यवहार गर्नुहुन्छ, र त्यो विशेष व्यवहार नै मेरो पुँजी हो—राज्यमा प्रवेश गर्नको लागि त्यो नै मेरो भौचर र टिकट हो।” तिनीहरूले यी कुराहरू बोलेको सुन्दा, तँलाई कस्तो अनुभूति हुन्छ? के तिनीहरूमा परमेश्‍वरको कामबारे ज्ञान छ? के तिनीहरूमा आफूबारे ज्ञान छ? बिलकुलै छैन। तिनीहरू सत्यता बुझ्दैनन् भन्दा जायजै हुन्छ, र तिनीहरू आफूलाई सत्यता पछ्याउन, सत्यता खोज्न, वा न्याय र सजाय स्विकार्न नपरी मुक्ति पाउन सक्ने विश्‍वास गर्छन्। यस्तै स्थिति भएकाहरू, ती कुन मानिसहरू हुन्? तिनीहरू ती केही मानिसहरू हुन्, जसले केही दर्शनहरू देखेका छन्, जसले केही विशेष सुरक्षा प्राप्त गरेका छन् र जो विपत्तिबाट बचेका छन्। अथवा, तिनीहरू मरेर व्यूँतेका छन्, र तिनीहरूसँग केही विशेष गवाही वा अनुभव छ। तिनीहरूले यी कुराहरूलाई आफ्नो जीवनको रूपमा, र आफ्नो जियाइको आधारको रूपमा लिन्छन्, र तिनलाई सत्यताको सट्टाको रूपमा प्रयोग गर्छन्। यसअलावा, तिनीहरू यी कुराहरूलाई मुक्तिको सङ्केत र मानकको रूपमा लिन्छन्। पुँजी भनेको यही हो। के तिमीहरूसित पनि त्यस्ता कुराहरू छन्? तिमीहरूसित यस्तो विशेष अनुभव नहोला, तर यदि तिमीहरूले लामो समय कुनै विशेष कर्तव्य निभएका र नतिजा निकालेका छौ भने, तिमीहरूले आफूसँग पुँजी छ भन्ठान्नेछौ। मानौँ, तैँले लामो समय निर्देशकको कर्तव्य निभाएको, र धेरै राम्रा कामहरू गरेको छस् रे। अब त्यसले नै तेरो लागि पुँजीको स्वरूप लिन्छ। तँसित अहिलेसम्म कुनै पुँजी नहोला किनकि तैँले कुनै पनि काम नगरेको हुन सक्छ। अथवा, तैँले दुइटा चलचित्र छायाङ्कन गरेको हुन सक्छ जुन तँलाई खराब छैनन् भन्ने पनि लाग्छ, तर तँ तिनलाई अझै तेरो पुँजी मान्दैनस्। तीप्रति तँमा आत्मविश्‍वास छैन; तँलाई तँसित अझै पनि पर्याप्त अनुभव वा पुँजी छैन भन्ने लाग्छ, त्यसैले तँ सतर्क, संयमित, र नियन्त्रित छस्। तँ कसैलाई पनि चिढ्याउने आँट गर्दैनस्, घमण्ड र शान देखाउने त कुरै छाडौँ। तैपनि, तँ आफूसित अत्यन्तै खुसी हुन्छस् र जहिले पनि आफ्नो प्रशंसा गर्छस्, र तँ तिनै कुराहरूद्वारा जिउँछस्। के त्यो भ्रष्ट मानवजातिको दयनीय दुर्दशा होइन र?

कतिपय मानिसहरूको निकै दुराशयी रूप हुन्छ। तिनीहरू ठूला, सुगठित, र बलिया हुन्छन्, र सधैँ अरूलाई हेप्न खोजिरहेका हुन्छन्। बोलीमा, तिनीहरू हाबी हुन खोज्ने र अहङ्कारी हुन्छन्; तिनीहरू कोहीअघि झुक्दैनन्, चाहे त्यो जोसुकै नै किन नहोस्। त्यसैले तिनीहरूलाई देख्दा मानिसहरू अलि डराउँछन्, र तिनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्छन्, र तिनीहरूको निगाह प्राप्त गर्न खोज्छन्। यसले तिनीहरूलाई अत्यन्तै गर्विलो महसुस गराउँछ। तिनीहरूलाई जीवन शीतल हावाजस्तो लाग्छ, र तिनीहरू यो सबै आफ्नो प्रतिभा हो भन्ने विश्‍वास गर्छन्—तिनीहरू आफ्नो जिउने शैलीको कारण आफूलाई कसैले पनि दुर्व्यवहार गर्ने आँट गर्नेछैन भन्ठान्छन्। भिडमा दह्रिलो रूपमा खडा हुन चाहने हो भने, आत्मनिर्भर, सशक्त, र बलियो हुनुपर्छ—तिनीहरूको जीवन सिद्धान्त यही हो। अरूमाझ दह्रिलो रूपमा खडा हुन, र कसैले पनि आफूलाई हेप्ने वा खेलवाड गर्ने, वा छल्ने र शोषण गर्ने आँट नगरून् भनेर, तिनीहरू यस्तो सिद्धान्त बनाउँछन्: “यदि राम्ररी जिउन चाहने हो भने, बलियो हुनैपर्छ—जति उग्र भइन्छ, त्यति नै राम्रो हो। त्यसो गरे, आफू जहाँ गए नि कसैले दुर्व्यवहार गर्नेबारे सोच्नेसमेत छैन।” त्यसैले, तिनीहरू केही वर्ष यसरी नै जिउँछन्, र वास्तवमै तिनीहरूलाई कसैले पनि दुर्व्यवहार गर्ने आँट गर्दैन। यसरी तिनीहरूले अन्तत: आफ्नो लक्ष्य हासिल गर्छन्। जस्तोसुकै टोलीमा भए पनि, तिनीहरू गम्भीर भाव, अर्थात् चिन्तित मुहार देखाउँछन्, आफ्नो गम्भीरता प्रस्तुत गर्छन् र शान्त तिरस्कारको भाव देखाउँछन्। तिनीहरूको वरिपरि कसैले पनि बोल्ने आँट गर्दैन; बच्चाहरू तिनीहरूलाई देखेर नै रुन्छन्। राक्षहरूको पुनर्जन्म—तिनीहरू त्यही नै हुन्! मुढेबलले जिउनु—यो के स्वभाव हो? यो क्रूरताको स्वभाव हो। तिनीहरू जहाँसुकै गए नि, तिनीहरूले सिक्ने पहिलो कुरा भनेको मानिसहरूलाई कसरी आफूअनुकूल बनाउने र शोषण गर्ने भन्ने नै हो। तिनीहरू मानिसहरूलाई नियन्त्रणमा राख्न र दबाउन पनि चाहन्छन्। तिनीहरू आफूलाई अनादर गर्ने जोकोहीको झाँको झार्ने उपायहरू सोच्छन्, र आफूलाई तीखो र अशिष्ट वचन लाउने जोकोहीलाई दण्डित गर्ने मौकाहरू खोज्छन्। के यी कुराहरूद्वारा जिउँदा क्रूर भइँदैन र? तिनीहरूले जसरी मुँढेबलले परिस्थिति सम्हाल्छन्, त्यसको केही असर हुन्छ: धेरै मानिसहरू तिनीहरूदेखि डराउँछन्, र त्यसले तिनीहरूको बाटो खोलिदिन्छ। तर त्यस्ता मानिसहरू आवेश र दुरासयी स्वभावद्वारा जिउने भएकाले, के तिनीहरूले सत्यता स्विकार्न सक्छन्? के तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छन्? त्यो असम्भव छ, किनकि तिनीहरू शैतानी दर्शनहरू र बल प्रयोगलाई अनुमोदन गर्छन्। तिनीहरू शैतानी दर्शनहरू र बल प्रयोगद्वारा मात्र जिउँछन्; तिनीहरू हरव्यक्तिलाई तिनीहरूप्रति आज्ञाकारी र डर मान्‍ने बनाउँछन्, ताकि तिनीहरू जे मन लाग्यो त्यो गर्दै बेकाबु व्यवहारमा लिप्त हुन सकून्। तिनीहरूको चिन्ता भनेको खराब छवि होला भन्ने होइन, बरु दुष्ट छवि नहोला कि भन्ने हो। तिनीहरूको सिद्धान्त त्यही हो। त्यस्तो लक्ष्य हासिल गरिसकेपछि, तिनीहरू सोच्छन्, “म परमेश्‍वरको घरमा र यी समूहहरूमा खरो उत्रेको छु। सबैजना मदेखि डराउँछन्; कसैले पनि मसित जोरी खोज्‍ने आँट गर्दैन। सबैले मप्रति सम्मानजनक व्यवहार गर्छन्।” तिनीहरू आफूले जितेको विश्‍वास गर्छन्। के साँच्चिकै तिनीहरूसित जोरी खोज्‍ने आँट कसैले नगर्ने नै हो त? तिनीहरूसित जोरी खोज्‍ने आँट नगर्नु त बाह्य कुरा हो। हृदयको गहिराइमा, हरव्यक्तिले यस्ता मानिसहरूलाई कसरी हेर्छ? यसमा शङ्कै छैन: उनीहरू तिनीहरूबाट दिक्क भएका हुन्छन्, र तिनीहरूदेखि घिनाउँछन्, घृणा गर्छन्, पछि सर्छन्, र पन्छिन्छन्। के तिमीहरू यस्तो व्यक्तिसँग अन्तरक्रिया गर्न इच्छुक हुनेछौ? (हुनेछैनौँ।) किन हुनेछैनौ? तिनीहरू सधैँ तँलाई सताउने उपायहरू सोचिरहेका हुन्छन्। के तैँले त्यो सहन सक्‍छस्? कहिलेकाहीँ, बलमार्फत धम्क्याउनुको साटो, तिनीहरू तँलाई भ्रममा पार्न र त्यसपछि धम्क्याउन केही उपायहरू प्रयोग गर्छन्। कतिपय मानिसहरू त्यो धम्की थेग्न सक्दैनन्, त्यसैले दयाको याचना गर्दै शैतानसामु आत्मसमर्पण गर्छन्। दुष्ट मानिसहरूले हरकुनै विधि प्रयोग गरेर बोल्छन् र कार्य गर्छन्। कायर र डरपोकहरूले तिनीहरूसामु आत्मसमर्पण गर्छन्, र त्यसपछि तिनीहरूकै बोली र व्यवहार पछ्याउँछन्। तिनीहरू दुष्ट व्यक्तिका मतियारहरू हुन्, होइन र? यस्तो दुष्ट व्यक्ति देख्यौ भने, तिमीहरू के गर्छौ? पहिलो कुरा त, नडराउनू। तैँले तिनीहरूलाई निराकरण र खुलासा गर्ने उपाय खोज्‍नुपर्छ। तैँले परमेश्‍वरमा साँच्चिकै विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर तिनीहरूबारे रिपोर्ट गर्न पनि सक्छस्। डर बेकार छ—तँ जति धेरै डराइस्, त्यति धेरै तिनीहरूले तँलाई दुर्व्यवहार र शोषण गर्नेछन्। समूहमा मिलेर दुष्ट व्यक्तिबारे रिपोर्ट गरे मात्र, उसलाई त्रसित र लज्जित तुल्याउन सकिन्छ। यदि तँ ज्यादै डरपोक छस् र तँसित बुद्धि छैन भने, तँ सम्भवत त्यो दुष्ट व्यक्तिको हिंस्रक आक्रमणमा पर्छस्। मानिसहरूको आस्था कति सानो छ—कति दयनीय! दृढतापूर्वक लागिपरेमा, एउटा दुष्ट व्यक्तिले मानिसहरूलाई के नै गर्न सक्छ र? के उसले कसैलाई मुक्का हानेर कुटीकुटी मार्ने आँट गर्ला त? हामी अहिले कानुनी समाजमा छौँ। उसले त्यस्तो आँटै गर्नेछैन। यसअलावा, अत्यन्तै क्रूर मानिसहरू सानो र छिटपुट अल्पसङ्ख्यामा रहेका हुन्छन्। यदि कसैले मानिसहरूलाई दुर्व्यवहार गर्ने र मण्डलीको पूर्ण बेवास्ता गरी कार्य गर्ने आँट गरे, दुईतीन जना मानिसहरू मिलेर उसको बारेमा रिपोर्ट र खुलासा गर्न सकिन्छ। त्यति गरे, उसलाई ठेगान लाउन सकिन्छ। होइन र? यदि परमेश्‍वरका चुनिएका थोरै मानिसहरूको विचार र मन मिल्यो भने, तिनीहरूले दुष्ट व्यक्तिलाई सजिलै तह लाउन सक्छन्। तैँले विश्‍वास गर्नैपर्छ कि परमेश्‍वर धर्मी र सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले दुष्ट मानिसहरूलाई घृणा गर्नुहुन्छ र उहाँका चुनिएका मानिसहरूलाई बलियो पार्नुहुनेछ। व्यक्तिसँग आस्था हुन्जेलसम्‍म, उसले दुष्ट व्यक्तिदेखि डराउनुपर्दैन—र थोरै बुद्धि र रणनीतिमार्फत, यदि ऊ अरूसित मिल्न सक्यो भने, उक्त दुष्ट व्यक्ति स्वत: पछि हट्नेछ। यदि तँ परमेश्‍वरमाथि साँच्चिकै आस्था राख्दैनस्, र दुष्ट मानिसहरूदेखि डराउँछस् र तिनीहरूसित तेरो भाग्य पकडमा राख्ने शक्ति छ भन्‍ने विश्‍वास गर्छस् भने, तँ सक्‍किनेछस्। तँसित गवाही हुनेछैन, चढाउने केही पनि हुनेछैन, र तैँले कायर र नाजुक जीवन जिउनेछस्। यस्तो परिस्थितिमा के गर्नुपर्छ? कतिपय मानिसहरू सधैँ आफ्नो तुच्छ धूर्त्याइँद्वारा जिउँछन् र सोच्छन्, “परमेश्‍वर कहाँ हुनुहुन्छ, मलाई थाहा छैन, र यस मामलाबारे माथिकोलाई थाहा छ छैन म यसै भन्न सक्दिनँ। यदि मैले रिपोर्ट गरेँ र दुष्ट व्यक्तिले थाहा पायो भने, के उसले मलाई त्यसको लागि झनै बढी सताउनेछैन र?” त्यसबारे जति धेरै सोच्यो, तिनीहरू त्यति नै धेरै त्रसित हुन्छन्, र टेबुलमूनि लुक्न चाहन्छन्। के त्यसो गर्ने व्यक्तिले अझै पनि सत्यता अभ्यास गर्न र सिद्धान्तहरू पालना गर्न सक्छ त? (सक्दैन।) तिनीहरू कायर मानिसहरू हुन्, होइनन् र? तिमीहरू धेरैजसो यस्तै छौ। केही समयअघि, एउटा ख्रीष्टविरोधी थियो र त्यसले केही मानिसहरूलाई उत्पीडनमा पार्‍यो। ती मानिसहरू उत्पीडनमा पर्ने हदसम्‍मै कायर थिए। के यसरी उत्पीडनमा पर्नु राम्रो कि नराम्रो कुरा हो? मान्छेको दृष्टिकोणबाट यो नराम्रो कुरा हो: यो अन्याय र पीडामा पारिनु हो। तर मान्छेले त्यसबाट पाठ सिक्न र फाइदा लिन सक्छ, जुन नराम्रो कुरा होइन—त्यो राम्रो कुरा हो। तर कतिपय मानिसहरूसँग बुद्धि हुँदैन र तिनीहरू निर्धा हुन्छन्। कसैले तिनीहरूलाई सताएमा र दुर्व्यवहार गरेमा, तिनीहरू सही नै भए नि प्रतिरोध गर्दैनन्। तिनीहरूलाई त्यो व्यक्ति झूटो अगुवा, ख्रीष्टविरोधी हो भन्ने थाहा हुन्छ, तर तिनीहरू उसको बारेमा रिपोर्ट गर्दैनन्, न त उसलाई नकार्ने र खुलासा गर्ने आँट नै गर्छन्। बेकामे कायर! यस्ता कुराहरूमा, यदि कसैलाई बाधित पार्न सकिन्छ भने, यसले उसको कद अत्यन्तै सानो र आस्था नाजुक रहेको देखाउँछ: ऊ परमेश्‍वरमा भरोसा गर्न जान्दैन, र उसले मण्डलीको काम जोगाउनेबारे पनि सोच्दैन। तिनीहरू परमेश्‍वरको इच्छा बुझ्दैनन्। परमेश्‍वरका चुनिएका मानिसहरूसँग दुष्ट मानिस र ख्रीष्टविरोधीहरूविरुद्ध अडान लिने अधिकार हुन्छ। यसो गरे परमेश्‍वरबाट अनुमोदन र आशिष् मिल्छ। के तैँले शैतानविरुद्ध युद्ध नगर्नु र त्यसलाई नजित्नु दयनीय कुरा होइन र? त्यो व्यक्ति दुष्कर्मी र नकारात्मक शक्ति हो भन्ने प्रस्ट छ; ऊ शैतान हो, दियाबलस हो, ऊ घिनलाग्दो दुष्टात्मा हो—तैपनि तँ उसको उत्पीडनमा परिरहेको छस्। अनि, तँ मात्र होइन—अरू पनि धेरै उत्पीडनमा परिरहेका छन्। के त्यो कायरता होइन र? किन तिमीहरू मिलेर ऊविरुद्ध लडाइँ गर्न सक्दैनौ? तिमीहरू कति बौद्धिकता र बुद्धिरहित छौ। त्यो व्यक्तिको व्यवहार चिरफार गर्न, सत्यता बुझ्‍ने केही समझवान् मानिसहरू खोज। यसो गर्‍यौ भने, परमेश्‍वरका चुनिएका धेरैजसो मानिसहरू साँचो रूपमा परिस्थिति बुझ्न र जुर्मुराउन सक्षम हुनेछन्। के त्यसपछि समस्या समाधान गर्न सजिलो हुनेछैन र? तिमीहरूले अर्कोपटक यस्तो कुरा भोग्दा, के तिमीहरू ख्रीष्टविरोधीहरूविरुद्ध उभिन र लडाइँ गर्न सक्षम हुनेछौ? (हुनेछौँ।) म तिमीहरू कति ख्रीष्टविरोधीहरूलाई सम्हाल्न र तह लगाउन सक्छौ भनी हेर्न चाहन्छु। विजेताहरूको गवाही नै त्यही हो। अहिले त तिमीहरू सक्षम छौँ भन्छौ, तर साँच्चिकै त्यसो हुँदा, के तिमीहरूले सिद्धान्तहरू पालना गर्न सक्नेछौ? सायद तिमीहरू फेरि पनि औधी डराउनेछौ र टेबुलमुनि गएर लुक्नेछौ। चुनौतीहरू आइपर्दा, सत्यता नबुझ्ने ती मानिसहरूको अवस्था दयनीय र दर्दनाक हुन्छ—त्यो देख्दा पीडा हुन्छ! त्यो अत्यन्तै दयनीय हुन्छ! उत्पीडनमा पर्दा, तिनीहरू केही पनि भन्ने आँट गर्दैनन्, र त्यसपछि तिनीहरूमा त्यो डर रहिरहन्छ। तिनीहरूको सातोपुत्लो उड्छ। त्यो व्यक्तिको कद कति सानो हुन्छ, जो दुष्ट व्यक्तिलाई देख्दा, दुष्ट व्यक्ति हो भन्न पनि सक्दैन। त्यस्ताहरूले कुनै पनि सत्यता बुझ्दैनन्। के तिनीहरू दयनीय होइनन् र? दुष्ट मानिसहरू मुँढेबलमा जिउँछन्; तिनीहरू मानिसहरूलाई दमन गर्दै, असलहरूलाई दुर्व्यवहार गर्दै, र अरूलाई हानि गरेर फाइदा लुट्दै जिउँछन्; तिनीहरू दुर्भावपूर्ण प्रकृति र क्रूर स्वभावहरूद्वारा जिउँछन्, र अरूलाई तिनीहरूको त्रास मान्‍ने, चापलुसी गर्ने र सम्मान गर्ने तुल्याउँछन्। तिनीहरू त्यसरी जिउनु अत्यन्तै राम्रो हो भन्ठान्छन्। के तिनीहरू प्रमुख भगौडा अपराधी होइनन् र? के तिनीहरू डाँका र लुटेर होइनन् र? तिमीहरू दुष्ट मानिसहरू होइनौ, तर के तिमीहरूमा पनि यस्ता स्थितिहरू छन्? के तिमीहरू पनि यस्ता कुराहरूद्वारा जिउँदैनौ र? तिमीहरूमध्ये कतिपयलाई जोडी मिलाइँदा, र तिनीहरू उमेरले सानै भएको थाहा पाउँदा, तिमीहरू यस्तो सोच्छौ, “तिमी केही पनि बुझ्दैनौ। तिमीलाई म पेल्‍न-ठेल्न सक्छु, र तिमीले त्यसमा केही पनि गर्न सक्दैनौ। म तिमीभन्दा बलियो र उच्च अवस्थामा छु; म तिमीभन्दा ठूलो छ, र मेरा मुक्का तिम्रोभन्दा कडा छ—त्यसैले, म तिमीलाई पेल्‍न सक्छु।” यो केद्वारा जिउनु हो? यो मुँढेबलद्वारा जिउनु हो; यो क्रूर स्वभावद्वारा जिउनु र कार्य गर्नु हो। सोझो व्यक्ति देख्दा, त्यस्ताहरू उसलाई हेप्छन्, र शक्तिशाली व्यक्ति देख्दा लुक्छन्। तिनीहरू कमजोरलाई सिकार बनाउँछन् र बलियोदेखि डराउँछन्। मानिसहरू आफूबाट अलग्गिएको देख्दा, कतिपय दुष्ट मानिसहरू एक्लोपनको डर मान्छन्, त्यसैले तिनीहरू केही सोझा र कायर मानिसहरू छानेर सङ्गत गर्छन् र साथी बनाउँछन्। तिनीहरूले त्यसरी आफ्नो शक्ति बढाउँछन्, त्यसपछि ती सोझा र कायर मानिसहरूलाई प्रयोगमा ल्याएर असल मानिसहरूलाई सताउँछन्, सत्यता पछ्याउने मानिसहरूलाई आक्रमण गर्छन्, र आफूप्रति रुष्ट र अवज्ञाकारी सबैलाई सताउँछन्। यसबाट प्रस्ट हुन्छ कि केही सोझा मानिसहरूलाई साथी बनाउनुमा दुष्ट व्यक्तिको केही न केही आशय र उद्देश्य हुन्छ। सारांशमा भन्नुपर्दा, यदि तँ सत्यता स्विकार्न सक्दैनस् वा आफ्नो व्यवहार र कार्यमा दुष्ट वा असल, के काम गरिरहेको छस् भनी चिन्तन गर्न सक्दैनस् भने, चाहे तँ असल वा खराब जे भए पनि, र तैँले परमेश्‍वरमा जतिसुकै वर्ष विश्‍वास गरेको भए पनि, तँ साँचो पश्‍चात्ताप गर्न सक्षम हुनेछैनस्। सायद तँ क्रूर स्वभावको व्यक्ति नहोलास्—र तँ शैतानी दर्शनहरूद्वारा मात्र जिइरहेको होलास्। तैँले दुष्टता गरेको नहोलास्, वा सायद तैँले केही असल कार्यहरू पूरा गरेको होलास्, तर अझै पनि तँ सत्यताद्वारा जिइरहेको छैनस्। तँ त सत्यतासँग कुनै सम्बन्ध नभएका कुराहरूद्वारा जिइरहेको छस्। सारांशमा भन्नुपर्दा, तँसित भ्रष्ट शैतानी स्वभाव रहेसम्‍म, तैँले परमेश्‍वरमा जतिसुकै वर्ष विश्‍वास गरेको भए पनि, तँ सत्यतासँग बिलकुलै सम्बन्ध नभएका कुराहरूद्वारा जिइरहेको हुन सक्छस्। यी कुराहरू मूर्त पनि हुन सक्छन्, वा अमूर्त पनि हुन सक्छन्; तँ तीबारे सचेत हुन पनि सक्छस्, वा बिलकुलै सचेत नहुन पनि सक्छस्; ती बाहिरबाट आएका पनि हुन सक्छन्, वा ती तेरो स्वभावभित्र गहिरो गरी ठोस जरा गाडेर बसेका पनि हुन सक्छन्—तर जे भए पनि, यीमध्ये कुनै पनि कुरा सत्यता होइनन्। ती सबै भ्रष्ट मानवजातिबाटै उत्पन्न हुन्छन्—वा, ठ्याक्‍कै भन्नुपर्दा, ती शैतानबाट आएका हुन्छन्। त्यसोभए, जब मानिसहरू यी शैतानी कुराहरूद्वारा जिउँछन्, तिनीहरू ठ्याक्कै कस्तो मार्गमा हुन्छन्? के तिनीहरू परमेश्‍वरको मार्ग पछ्याइरहेका हुन्छन्? निश्‍चय नै हुँदैनन्। यदि कसैले आफ्ना कार्य र व्यवहारहरूमा सत्यता अभ्यास गरिरहेको छैन भने, कडाइसाथ भन्नुपर्दा, उसले सृष्टि गरिएको प्राणीको कर्तव्य निभाइरहेको हुँदैन। बाहिरी रूपमा, उसले कर्तव्य निभाइरहेजस्तो देखिएला, तर त्यस्तो देखिनु र कर्तव्य निर्वाह गर्ने मानकबीच केही अन्तर हुन्छ, मुख्यगरी त्यो उसका आशयहरू र लेनदेनद्वारा दूषित भएको हुन्छ। उसले कर्तव्य निर्वाह गरिरहेको पनि हुन सक्छ, तर ऊ बफादार र सिद्धान्तपरक हुँदैन, र उसले त्यसो गरेर ठोस नतिजाहरू ल्याइरहेको हुँदैन। यसले यो प्रमाणित गर्छ कि उसले आफ्नो कर्तव्यको कार्यसम्पादनमा वास्तवमै सत्यतासँग कुनै सम्बन्ध नभएका धेरै कामहरू गर्दै आएको छ। तीमध्ये कुनै कुराले पनि सत्यता सिद्धान्तहरू छुँदैन; ती सबै त्यो व्यक्तिका आफ्नै कल्पना र रूचिहरूअनुसार गरिएका कामहरू हुन्। त्यसरी कर्तव्य निर्वाह गरेर, कसरी परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ र?

हामीले यी स्थितिहरूबारे सबै पक्षहरूबाट सङ्गति गर्दैआएका छौँ। के अब तिमीहरूले आफू के द्वारा जिइरहेको छु भनेर मापन गर्न सक्छौ? चाहे आफ्नो कर्तव्य निर्वाहमा होस् वा आफ्नो दैनिक जीवनमा, के तिमीहरू धेरैजसो समय सत्यताद्वारा जिउँछौ? (जिउँदैनौँ।) हाम्रो सङ्गतिमा, म सधैँ तिमीहरूलाई भित्रैदेखि खुलासा गरिरहेको हुन्छु, र तिमीहरूलाई आफूले सर्मनाक जीवन जिइरहेको छु भन्ने अनुभूति हुन्छ। तिमीहरूले आत्मविश्‍वास गुमाएका छौ; तिमीहरू अब पहिलेजस्तो खासै आकर्षक छैनौ। तिमीहरू धेरै कुराहरू व्यक्त गर्न असहज मान्छौ—भविष्यमा आशिषित् हुनु वा राम्रो गन्तव्यमा पुग्नु अब तिमीहरूलाई उचित हो भन्ने लाग्न छाडेको छ। अब त्यसको लागि के गर्नुपर्छ? के तँ जे-जस्तो छस् त्यही रूपमा तँलाई खुलासा गर्नु राम्रो कुरा होइन र? (हो।) त्यसोभए, तँलाई भित्रैदेखि खुलासा गर्नुको उद्देश्य के हो त? मानिसहरूले आफू कस्ता-कस्ता स्थितिमा, र कुन-कुन स्थितिमा जिइरहेको छु भन्नेबारे प्रस्ट ज्ञान राख्‍नुपर्छ; त्यसरी जिइरहँदा, तिनीहरूले आफू कुन बाटो हिँडिरहेको छु, आफ्नो जिउने शैली कस्तो छ, आफूमा कस्ता असाधारण व्यवहारहरू छन्, आफूबाट कस्ता अनुचित कार्यहरू हुने गर्छ, अनि सत्यता प्राप्त गर्न र परमेश्‍वरसामु आउन आफू सक्छु सक्दिनँ भन्नेबारे प्रस्ट ज्ञान राख्‍नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। तैँले यसो भन्‍न सक्छस्, “म कसरी जिइरहेको छु भन्नेबारे ममा प्रस्ट विवेक छ। मलाई त्यसबारे कहिल्यै बेचैनी वा बेखुसी महसुस भएको छैन, र मलाई कहिल्यै खोक्रो महसुस भएको छैन।” तर त्यसबाट के परिणाम आउँछ? परमेश्‍वरको बेखुसी। तँ उहाँको मार्ग पछ्याइरहेको छैनस्। तँ जुन बाटोमा छस् त्यो मानव जीवनको साँचो बाटो, अर्थात् परमेश्‍वरले तेरो लागि औँल्याउनुभएको बाटो होइन—यसको साटो, तैँले त्यस्तो बाटो पछ्याइरहेको छस् जुन तैँले कामना र कल्पना गर्दै भेट्टाएको छस्। तैँले विविध कार्यहरू गर्दै धेरै दौडधुप गरिरहेको भए पनि, अन्त्यमा तेरो परिणाम के हुनेछ? तेरा आशय र चाहनाहरू अनि तँ हिँड्ने मार्गले नै तँलाई हानि गर्नेछन् र तँलाई बर्बादीमा पुर्‍याउनेछन्—परमेश्‍वरमाथिको तेरो विश्‍वास असफल हुने निश्‍चित छ। परमेश्‍वरमाथिको आफ्नो विश्‍वास असफल हुनुको अर्थ के हो? (यसको अर्थ, आफूसित कुनै परिणाम हुनेछैन भन्ने हो।) अहिले हेर्दा, यो तैँले सत्यता प्राप्त नगरेको हुनुको परिणाम हो। तैँले वर्षौँ परमेश्‍वरमा विश्‍वास गरेको हुनेछस्, तर सत्यता प्राप्त गर्नमा ध्यान दिएको हुनेछैनस्, त्यसैले तँलाई कुनै न कुनै कारणले खुलासा गरिने र हटाइने दिने पक्‍कै आउनेछ। त्यसपछि त पछुताउन अत्यन्तै ढिला भइसकेको हुनेछ। तँ भन्छस्, “मैले यो तरिकाले जिउनु उचित हुन्छ! यस तरिकाले जिउँदा मलाई आत्मविश्‍वास मिल्छ, र म हृदयमा पूर्णता र प्रचुरता महसुस गर्छु।” तर के यसले मद्दत गर्छ त? तँ परमेश्‍वरमा विश्‍वास गर्ने बाटोमा जे-जसरी हिँड्छस्, तँ जे-जसरी जिउँछस्, र तँ जे-जस्ता कुराहरूद्वारा जिउँछस्, ती ठिक हुन् होइनन् भन्ने कुरा नतिजाहरूमा भर पर्छ। यसको मतलब, यो तैँले अन्त्यमा सत्यता प्राप्त गर्छस् गर्दैनस्, तैँले साँचो गवाही दिन्छस् दिँदैनस्, तेरो जीवन स्वभाव परिवर्तन हुन्छ हुँदैन, र तैँले मूल्यवान् जीवन जिएको छस् छैनस् भन्नेमा भर पर्छ। यदि तैँले यी सबै नतिजाहरू हासिल गरेको छस् भने, तैँले परमेश्‍वरको अनुमोदन र परमेश्‍वरका चुनिएका मानिसहरूको सराहना पाउनेछस्, र त्यसले तँ ठिक बाटोमा छस् भन्ने प्रमाणित गर्छ। यदि तैँले यी सकारात्मक नतिजाहरू हासिल गरेको छैनस्, र तँसित न त कुनै साँचो अनुभवात्मक गवाही छ न त तेरो जीवन स्वभावमा कुनै साँचो परिवर्तन नै आएको छ भने, त्यसले तँ ठिक बाटोमा छैनस् भन्ने प्रमाणित गर्छ। के त्यसलाई यसरी भन्दा बुझ्न सजिलो हुन्छ? संक्षेपमा भन्नुपर्दा, तैँले जे-जसरी जिए पनि, जीवनमा तँलाई जतिसुकै सहजता भए पनि र तैँले अरूबाट जस्तोसुकै अनुमोदन पाए पनि, चुरो कुरो त्यो होइन। तँ भन्छस्, “मेरो जियाइ र अभ्यासमा धेरै आनन्द छ। मलाई ठूलो सुख र इज्जतको आभास हुन्छ, र त्यो पुष्टि हुने कुरा हो।” के तँ आफूलाई मूर्ख बनाइरहेको छैनस् र? मानौँ, कसैले तँलाई सोध्छ रे, “के तिमीले इमानदार व्यक्ति हुने अभ्यास गरेका छौ? त्यो अभ्यासमा तिमीलाई के कुरा चुनौतीपूर्ण लागेको छ? इमानदार व्यक्ति हुनमा तिमीलाई कस्ता परिस्थितिहरूले अप्ठ्यारो पार्छन्? तिमीसँग त्यसको अनुभव छ भने अलिकति सुनाऊ त। अनि, के तिमीसित परमेश्‍वरलाई प्रेम गरेको गवाही छ? के तिमीसित परमेश्‍वरलाई प्रेम गरेको र उहाँप्रति समर्पित भएको अनुभव छ? के तिमीले न्याय, सजाय र काटछाँट स्विकारेपछि तिम्रो स्वभाव परिवर्तन भएको अनुभव गरेका छौ? तिमीले तिम्रो जीवनवृद्धिको मार्ग हिँड्ने क्रममा कस्ता विशेष कुराहरू अनुभव गरेका छौ जसले तिम्रो जीवनलाई निरन्तर अघि बढाएका र परमेश्‍वरले तिम्रो लागि तोक्नुभएको र तिमीले पूरा गर्नैपर्ने भनी आवश्यक गराउनुभएको त्यो लक्ष्यको नजिक डोर्‍याएका छन्?” यदि तँसित यी प्रश्‍नका प्रस्ट जवाफहरू छैनन् भने, यदि तँलाई जबाफ थाहा छैन भने, यसले तँ ठिक बाटोमा छैनस् भन्ने प्रमाणित गर्छ। त्यो घामजस्तै छर्लङ्ग छ।

माथि गरिएको सङ्गतिका वचनहरू सामान्य भनाइहरू मात्र हुन्। त्यसमा केही ससाना कुराहरू छन्, जसलाई विस्तृत रूपमा व्याख्या गर्नुपर्दैन। उदाहरणको लागि, लगनसाथ, वा हृदयको असलपन, दुःख भोग्ने तत्परता, वा धारणा र कल्पनाहरू, आदि इत्यादिद्वारा मानिसहरूले काम गर्नु—यीमध्ये कुनै पनि सत्यताद्वारा जिउनु होइन। यी सबै आफ्नो कामना, भ्रष्ट स्वभाव, मानव असलपन, र शैतानका दर्शनहरूद्वारा मानिसहरू जिउने उदाहरण हुन्। यी सबै कुराहरू मान्छेको दिमागबाट आउँछन्, र अझ भन्नुपर्दा, शैतानबाट आउँछन्। यी कुराहरूद्वारा जिएर परमेश्‍वरलाई सन्तुष्ट पार्न सम्भवै छैन। यी कुराहरू जतिसुकै राम्रा भए पनि परमेश्‍वरले चाहनुहुन्न, किनकि यी कुराहरूद्वारा जिउनु सत्यता अभ्यास होइन। त्यो त शैतानका दर्शन र भ्रष्ट स्वभावहरूद्वारा जिउनु हो। त्यो परमेश्‍वरको अपमान हो। त्यो साँचो गवाही होइन। यदि तैँले “मलाई थाहा छ, यी कार्यहरू दयाले गरिएका हुन्, जुन सत्यता सिद्धान्तहरूसँग मिल्दैन; मैले त्यसरी अभ्यास गर्नु हुँदैन” भनेर भन्छस्, र तेरो हृदयमा त्यसबारे साँचो बुझाइ छ, अर्थात् त्यसरी कार्य गर्नु गलत हो भन्ने भावना छ भने, तँसित ज्ञान हुनेछ। तेरो दृष्टिकोण बदलिनेछ। परमेश्‍वरले चाहनुहुने नतिजा नै त्यही हो। तैँले तेरो विकृतपन कहाँकहाँ छ भनेर थाहा पाउनुपर्छ। त्यसैले, तेरो दृष्टिकोण बदल्, तेरा धारणाहरू त्याग्, अनि सत्यता र परमेश्‍वरको इच्छा बुझ्। त्यसो गरिसकेपछि, बिस्तारै त्यही दिशामा अभ्यास गर् अनि सही मार्ग हिँड्। तँलाई परमेश्‍वरले दिनुभएको लक्ष्य हासिल गर्ने तेरो एउटै आशा त्यही हो। यदि तँ परमेश्‍वरले तोक्‍नुभएको मार्गतर्फ अभ्यास र प्रवेश गर्दैनस्, बरु “म यही गर्छु। म बिनाकाम बसेको छैन: मैले आफ्नो कर्तव्य निभाउँदै आएको छु। म आफू सृष्टि गरिएको प्राणी हुँ भन्‍नेमा निश्‍चित छु, र मैले मेरो सृष्टिकर्तालाई स्विकारेको छु” भनेर भन्छस् भने, के त्यसले मद्दत गर्नेछ र? अहँ, गर्नेछैन। तँ हठी भएर परमेश्‍वरलाई प्रतिरोध गरिरहेको छस्! अब जीवनको बाटो रोज्ने समय आएको छ। परमेश्‍वरले तँलाई हिँडाउन चाहनुभएको बाटो पछ्याउन तैँले के गर्नुपर्छ भन्ने कुरा महत्त्वपूर्ण छ। पहिलो कुरा, मानव धारणा र कल्पनाहरूद्वारा परिचालित नहो; दोस्रो कुरा, मानव आकाङ्क्षाद्वारा परिचालित नहो; तेस्रो कुरा, मानव रूचिहरूद्वारा परिचालित नहो; र चौथो कुरा, मानव भावनात्मकताद्वारा परिचालित नहो। अझै महत्त्वपूर्ण कुरा, भ्रष्ट स्वभावद्वारा परिचालित नहो। तैँले यी कुराहरू तुरुन्तै फाल्नुपर्छ। तँसित जेजस्ता पुँजी भए पनि, परमेश्‍वरको लागि त्यो सब अर्थहीन र बेकारको कुरा हो, र त्यो सत्यताको छेउछाउ पनि पुग्दैन। तैँले एकएक गर्दै ती सबै कुरा मिल्काउनुपर्छ, र ती सबैलाई त्याग्नुपर्छ, र त्यसपछि तैँले सत्यता अभ्यासमा भरोसा गरेर प्राप्त हुने कुरा मात्र मूल्यवान् हुन्छ र त्यो मात्र परमेश्‍वरले मान्छेको लागि तोक्नुभएका मापदण्डहरूसँग मिल्छ भनेर अझ बढी बुझ्दै जानेछस्। मान्छेबाट आउने सबै कुरा व्यर्थ हुन्छ, र तैँले त्यसबारे जतिसुकै सिके पनि त्यो अन्त्यमा बेकार नै हुन्छ। त्यो सब बेकारको रद्दी कुरा हो; परमेश्‍वरले मानिसलाई प्रदान गर्नुभएको सत्यता मात्र खजना र जीवन हो। त्यसको शाश्‍वत मूल्य हुन्छ। तँ सधैँ तेरा आफ्नै कुराहरू पालन गरिरहेको र यस्तो सोचिरहेको हुन्छस्, “मसँग भएका सीपहरू हासिल गर्न मैले वर्षौँसम्म मुश्किलसाथ अध्ययन गर्नुपरेको थियो। मेरा आमाबुबाले मेरो निम्ति ज्यादै प्रयत्न गर्नुभयो, धेरै पैसा खर्चनुभयो, र रगत, पसिना र आँशुमार्फत ठूलो मूल्य चुकाउनुभयो—यति सजिलै म त्यसलाई कसरी विश्‍लेषण र आलोचना गर्न सक्छु र? यो निकै ठूलो कुरा हो, यो जीवन र मृत्युको मामला हो! यी कुराहरू नभए, मैले केद्वारा जिउनु?” तँ कति मूर्ख छस्। ती कुराहरूद्वारा जिइस् भने, तँ अवश्यै नरक जानेछस्। तैँले परमेश्‍वरका वचनहरूद्वारा जिउनुपर्छ। तेरो जीवनशैली परिवर्तन गर्; परमेश्‍वरका वचनहरूलाई भित्र आउन दे, अनि तेरा ती पुराना कुराहरू निकालेर फालिदे। तैँले तिनलाई विश्‍लेषण गरेर चिन्नैपर्छ, खुलस्त पारेर सबैलाई देखाउनैपर्छ, ताकि समूहले वास्तविकता खुट्ट्याउन सकून्। अनि थाहै नपाई, तैँले ती कुराहरू घृणा गर्नेछस्, यसअघि तैँले प्रेम गरेका कुराहरू घृणा गर्नेछस्, यसअघि तैँले बाँच्नको लागि भर परेका कुराहरू घृणा गर्नेछस्, र यसअघि तँलाई तेरो जीवन हो र तेरो सबैभन्दा अमूल्य चिज हो भन्ने लागेका कुराहरू घृणा गर्नेछस्। त्यही नै आफूबाट ती कुराहरू पूर्ण रूपमा अलग गर्ने र टाढा फाल्ने, सत्यताबारे साँचो बुझाइ प्राप्त गर्ने, र सत्यता अभ्यास गर्ने बाटोमा लाग्ने मार्ग हो। यो अवश्यै जटिल र कठिन प्रक्रिया हो, साथै यो पीडादायक कुरा पनि हो। तर यो मानिसले भोग्नैपर्ने प्रक्रिया हो। यो नभोगी हुँदै हुँदैन। परमेश्‍वरको काम अनुभव गर्नु भनेको कुनै रोगको उपचार पाउनुजस्तै हो: यदि तँलाई ट्युमर छ भने, त्यसलाई शल्यक्रिया टेबलमा मात्र ठिक पार्न सकिन्छ। यदि तँ त्यो टेबलमा चढिनस् र त्यो ट्युमर चिरेर फाल्ने चक्कुको अधीनमा बसिनस् भने, तेरो रोग निको हुनेछैन, र तँमा सुधार आउनेछैन।

धेरै मानिसहरू इमानदार मानिसहरूलाई मूर्ख ठान्छन्, र यस्तो सोच्छन्, “तिनीहरू परमेश्‍वरले जे भन्नुहुन्छ त्यही पछ्याउँछन्। उहाँले इमानदार व्यक्ति हुनू भन्नुभयो भने तिनीहरू साँच्चै इमानदार हुन्छन्; तिनीहरू सत्यता बोल्छन्, एउटा पनि झूटो शब्द बोल्दैनन्। तिनीहरू मूर्ख हुन्, होइनन् र? इमानदार व्यक्ति हुन त तबसम्‍म मात्र सकिन्छ, जबसम्‍म त्यसले आफूलाई कुनै हानि वा क्षति पुर्‍याउँदैन। सबथोक भनेर हिँड्नु हुँदैन! आफ्नो सबै कुरा खुलाउनु त—त्यो मूर्खता हो, होइन र?” तिनीहरूलाई लाग्छ, इमानदार व्यक्ति हुनु भनेको मूर्खता हो। के त्यस्तो हो त? त्यस्तो व्यक्ति त सबैभन्दा अक्कली हो, किनकि उसले यस्तो विश्‍वास गर्छ, “परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, र इमानदार व्यक्ति हुनु सत्यता हो, त्यसकारण परमेश्‍वरको अनुमोदन प्राप्त गर्न मानिसहरू इमानदार हुनुपर्छ। त्यसैले, परमेश्‍वर जे भन्नुहुन्छ म त्यही गर्छु; उहाँले जति टाढा जा भन्नुहुन्छ, म त्यति नै टाढा जानेछु। परमेश्‍वर मलाई समर्पित हुन लगाउनुहुन्छ, त्यसैले म समर्पित हुन्छु र म सदैव समर्पित भएरै बस्नेछु। कसैले मलाई मूर्ख भने पनि मलाई मतलब छैन—मेरो लागि परमेश्‍वरको अनुमोदन नै पर्याप्त छ।” के यस्तो व्यक्ति सबैभन्दा अक्कली होइन र? उसले के महत्त्वपूर्ण छ र के महत्त्वपूर्ण छैन भनी प्रस्ट रूपमा देखेको छ। कतिपय मानिसहरूका गोप्य एजेन्डाहरू हुन्छन्, र तिनीहरू यस्तो सोच्छन्, “सबै कुरामा समर्पित हुनु मूर्खता हुन्छ, होइन र? यसो गर्नु भनेको स्वायत्तता नहुनु हो, होइन र? यदि आफूमाथि नै पकड छैन भने, के व्यक्तिको मर्यादा हुन्छ र? हामीसँग पक्कै पनि आफ्नो अलिकति मर्यादा कायम राख्ने हक हुन्छ नि, होइन र? हामी पूर्ण रूपमा समर्पित रहन सक्दैनौँ, सक्छौ र?” त्यसैले, तिनीहरू ज्यादै कम रूपमा मात्र समर्पण अभ्यास गर्छन्। के त्यसले सत्यता अभ्यास गर्ने मापदण्ड पूरा गर्न सक्छ त? सक्दैन—त्यो त्यस मापदण्डभन्दा निकै तल हुन्छ! यदि तँ सिद्धान्तहरूअनुसार अभ्यास गर्दैनस्, बरु सधैँ सत्यतासँग पनि नमिल्ने शैतानसँग पनि नमिल्ने सम्झौताको मार्ग रोज्छस्, र बीचको बाटोमा हिँड्छस् भने, के तँ सत्यता अभ्यास गरिरहेको हुन्छस् र? यो त परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने शैतानको दर्शन हो। सत्यताप्रतिको मान्छेको यो मनोवृत्तिलाई परमेश्‍वर घृणा गर्नुहुन्छ; मानिसहरूले सत्यता र उहाँका वचनहरूबारे सधैँ शङ्का गर्ने गरेको, सधैँ उहाँका वचनहरूमा भरोसा नगर्ने गरेको, वा सधैँ विभेदकारी, अपमानजनक र अभद्र मनोवृत्ति अपनाउने गरेको कुरालाई उहाँ घृणा गर्नुहुन्छ। मान्छेले परमेश्‍वरप्रति यो मनोवृत्ति लिएर उहाँलाई शङ्का गर्ने, भरोसा नगर्ने, प्रश्‍न गर्ने, विश्‍लेषण गर्ने, र गलत बुझ्ने, र सधैँ उहाँलाई अध्ययन गर्ने र आफ्नो दिमागद्वारा उहाँलाई जोख्न खोज्ने काम गर्नेबित्तिकै, परमेश्‍वर तँबाट लुक्नुहुनेछ। अनि, परमेश्‍वर तँबाट लुक्नुभएपछि, के तैँले अझै पनि सत्यता प्राप्त गर्न सक्छस् र? तैँले भन्छस्, “सक्छु! म हरदिन परमेश्‍वरका वचनहरू पढ्छु, म सधैँ भेलाहरूमा हुन्छु, र हरेक हप्ता प्रवचनहरू सुन्छु, र तिनलाई मनमा खेलाउँछु र प्रवचन सकेपछि हरदिन टिपोट गर्छु। म भजनहरू गाउँछु र प्रार्थना पनि गर्छु। मलाई लाग्छ, पवित्र आत्माले मभित्र काम गरिरहनुभएको छ।” के त्यतिले पुग्छ त? परमेश्‍वरमा विश्‍वास गर्ने ती उपायहरू ठिकै छन्, तर ती महत्त्वपूर्ण कुरा होइनन्; तँ सही व्यक्ति हुनु, र तेरो हृदय सही हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो—त्यसपछि मात्र परमेश्‍वरले तँबाट उहाँको मुहार लुकाउनुहुनेछैन। परमेश्‍वरले तँबाट उहाँको मुहार नलुकाउने, बरु सधैँ तँलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्ने, र तँलाई सबै कुरामा उहाँको इच्छा र सत्यता बुझाउने गर्नुभएपछि, र यसरी तैँले अन्त्यमा सत्यता प्राप्त गर्ने भएपछि, तैँले ज्यादै ठूलो आशिष् प्राप्त गर्नेछस्। तर यदि तेरो हृदय सही छैन, र तँ सधैँ परमेश्‍वरलाई शङ्का गर्छस्, उहाँविरुद्ध प्रतिरक्षा गर्छस्, उहाँको परीक्षा लिन्छस्, र तेरा ससाना चलाखीपन र रायहरूमार्फत वा तेरा सिकाइ र शैतानी दर्शनहरूमार्फत उहाँलाई गलत बुझ्छस् भने, तँ समस्यामा छस्। कतिपय मानिसहरू परमेश्‍वरप्रतिको प्रतिरक्षात्मकता, परीक्षण, शङ्का, र गलतफहमीभन्दा पनि पर गएर उहाँको प्रतिरोध गर्ने र उहाँसित शत्रुता राख्ने गर्छन्। तिनीहरू शैतान बनेका छन्; तिनीहरू झनै नराम्रो समस्यामा छन्। तैँले सत्यतासम्बन्धी वचनहरूको शाब्दिक अर्थ र सामान्य धर्मसिद्धान्त बुझ्दैमा सत्यता बुझ्नेछैनस्। सत्यता बुझ्नु सामान्य कुरा होइन। धेरैजसो मानिसहरू यो गलत धारणामा लागिरहन्छन्, तिनीहरूलाई त्यसबारे बारम्बार दोहोर्‍याएर भने पनि तिनीहरू सत्यता बुझ्दैनन्। तिनीहरू सोच्छन्, “म हरदिन परमेश्‍वरका वचनहरू पढ्छु र प्रवचन र सङ्गति सुन्छु, र म हरवर्ष आफ्नो कर्तव्य निर्वाह गरिरहन्छु। म बारीको बिउजस्तै हुँ—त्यसमा पानी वा मल नहाले पनि, वर्षा भएसँगै त्यो विस्तारै आफै बढ्नेछ, र शरद ऋतुमा फल लाग्नेछ।” यो त्यसरी हुँदैन। महत्त्वपूर्ण कुरा त व्यक्तिको सहकार्यात्मक पक्ष, उसको सहकार्य गर्ने शैली, उसको हृदय, र सत्यता र परमेश्‍वरप्रतिको उसको मनोवृत्ति हो। अत्यन्तै महत्त्वपूर्ण कुराहरू यिनै हुन्। अनि, के यी कुराहरू व्यक्ति केद्वारा जिउँछ भन्नेसित पनि सम्बन्धित छैनन् र? (छन्।) यदि तँ सधैँ मानव रूचि र शैतानी दर्शनहरूद्वारा जिउँछस्, सधैँ परमेश्‍वरसित सावधान रहन्छस्, र उहाँका वचनहरूलाई सत्यताको रूपमा लिँदैनस् भने, परमेश्‍वरले अबउप्रान्त तँतिर ध्यान दिनुहुनेछैन। अनि, परमेश्‍वरले तँलाई ध्यान नै नदिनु भएपछि, तैँले के प्राप्त गर्न सक्नेछस् र? यदि सृष्टिकर्ताले तँलाई बेवास्ता गर्नुहुन्छ भने, तँ उहाँको सृष्टि गरिएको प्राणी नै रहँदैनस्। यदि उहाँले तँलाई दियाबलसको रूपमा वा शैतानको रूपमा लिनुहुन्छ भने, के तँ परमेश्‍वरसामु आउन सक्षम हुनेछस् र? के तँ अझै पनि उहाँको मुक्तिको पात्र हुनेछस् र? के तँसित अझै पनि मुक्ति प्राप्त गर्ने आशा हुनेछ र? त्यो असम्भव हुनेछ। त्यसकारण, तेरो घरेलु जीवन कस्तो छ, तँसित कस्तो क्षमता छ, वा तेरा वरदानहरू कति ठूला छन् भन्ने कुराले महत्त्व राख्दैन, न त तैँले मण्डलीमा के काम गर्छस्, तँ कस्तो कर्तव्य निभाउँछस्, वा तेरो भूमिका के हो भन्ने कुराले नै महत्त्व राख्छ। तैँले विगतमा कस्ता अपराधहरू गरेको छस्, अहिले तँ कस्तो स्थितिमा छस्, तेरो जीवनमा कुन हदसम्म वृद्धि भएको छ, वा तेरो कद कति ठूलो छ भन्ने कुराले पनि महत्त्व राख्दैन। यीमध्ये कुनै पनि सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा त परमेश्‍वरसँगको तेरो सम्बन्ध कस्तो छ, तँ उहाँलाई निरन्तर शङ्का गरिरहेको र गलत बुझिरहेको वा सधैँ उहाँको अध्ययन गरिरहेको हुन्छस् हुँदैनस्, र तेरो हृदय ठिक छ छैन भन्ने हो। यी कुराहरू महत्त्वपूर्ण छन्। मानिसहरूले यी महत्त्वपूर्ण कुराहरूबारे कसरी जान्न सक्छन्? त्यसो गर्नको लागि, तिनीहरूले सधैँ आफ्नो जाँच गर्नुपर्छ, अविश्‍वासीहरूझैँ भिडियो हेर्दै, खेल्दै, र केही काम नहुँदा नौटङ्की गर्दै दुविधामा हराउनु हुँदैन। यदि व्यक्तिको हृदय परमेश्‍वरसामु आउनै सक्दैन भने, उसले कर्तव्य कसरी निर्वाह गर्नेछ र? यदि तँ परमेश्‍वरसामु आउने प्रयास नै गर्दैनस् भने, उहाँले तँलाई आउन बाध्य पार्नुहुनेछैन, किनभने परमेश्‍वरले मानिसहरूलाई काम गर्न बाध्य पार्नुहुन्न। मानिसहरूले सत्यता बुझून् र स्विकारून् भनेर परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ। यदि मानिसहरू परमेश्‍वरसामु फर्केरै आउँदैनन् भने, तिनीहरूले सत्यता कसरी स्विकार्नेछन् र? यदि मानिसहरू सधैँ निष्क्रिय हुन्छन् भने, यदि तिनीहरू परमेश्‍वरलाई खोज्दैनन् वा तिनीहरूको हृदयमा उहाँको आवश्यकता पर्दैन भने, पवित्र आत्माले कसरी तिनीहरूभित्र काम गर्नुहुनेछ र? त्यसैले, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, के तैँले सक्रिय रूपमा उहाँलाई खोज्नु र उहाँसित सहकार्य गर्नु महत्त्वपूर्ण छैन र? त्यो तेरो काम हो! यदि परमेश्‍वरमा विश्‍वास गर्नु तेरो लागि एउटा अतिरिक्त काम मात्र हो, वा अतिरिक्त सोख मात्र हो भने, तँ समस्यामा छस्! त्यस्ता मानिसहरू पनि छन्, जो अहिले विश्‍वासी रहेका छन् र जसले थुप्रै प्रवचनहरू सुनेका छन्, तर तिनीहरू अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको धर्ममा विश्‍वास गर्नु हो, र त्यो फुर्सदको समयमा पूरा गरिने सोख हो भन्ने सोच्छन्। परमेश्‍वरमाथिको आस्थालाई तिनीहरू कति हल्का रूपले हेर्छन्! अहिलेको यो चरणमा पनि, तिनीहरू अझै यही दृष्टिकोण बोक्छन्। परमेश्‍वरमाथिको विश्‍वासमा, तिनीहरूले उहाँसित सामान्य सम्बन्ध स्थापित गर्न नसकेको मात्र होइन—उहाँसित तिनीहरूको बिलकुलै कुनै सम्बन्ध नै छैन। यदि परमेश्‍वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुभएन भने, के तँसित मुक्ति पाउने आशा अझै रहन्छ र? अहँ, रहँदैन। त्यसले गर्दा, परमेश्‍वरसित सामान्य सम्बन्ध स्थापित गर्नु महत्त्वपूर्ण छ! अनि, त्यो सामान्य सम्बन्ध केको जगमा स्थापित गरिन्छ? मानिसहरूको सहकार्यको जगमा। त्यसोभए, मानिसहरूले कस्तो अडान वा दृष्टिकोण अपनाउनुपर्छ? तिनीहरूको स्थिति के हुनुपर्छ? तिनीहरूमा कस्तो इच्छा हुनुपर्छ? अनि, तँ हृदयमा सत्यतालाई कसरी लिन्छस्? शङ्काको नजरले? अध्ययनको नजरले? अविश्‍वासको नजरले? अस्वीकारको नजरले? यदि तँसित यी कुराहरू छन् भने, के तँ हृदयमा सही छस् त? (छैन।) यदि तँ हृदयमा सही हुन चाहन्छस् भने, तँसित कस्तो मनोवृत्ति हुनुपर्छ? तँसित समर्पणको हृदय हुनुपर्छ। परमेश्‍वरले जे भन्नुभए पनि, उहाँले जे मापदण्ड दिनुभए पनि, तँ बिनाकुनै सङ्कोच र बिनाकुनै स्पष्टीकरण त्यसलाई पालना गर्न तत्पर हुनुपर्छ। त्यो नै सही मनोवृत्ति हो। तैँले कुनै छूटबिना विश्‍वास, स्वीकार र समर्पण गर्नुपर्छ। के कुनै छुट नहुने कुरा तत्काल हासिल गर्न सम्भव छ? छैन—तर तैँले त्यसमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ। कल्पना गर् त, यदि परमेश्‍वरले तँलाई “तँ बिरामी छस्” भन्नुभयो, र तैँले “होइन, म बिरामी छैन” भनेर भनिस् रे। त्यो समस्या हुनेछैन; सायद तँ त्यो कुरै विश्‍वास गर्दैनस् होला। तर त्यसपछि परमेश्‍वर भन्‍नुहुन्छ, “तँ निकै बिरामी छस्। औषधी खा,” अनि तँ भन्छस्, “म बिरामी छैन, तर तपाईंले भन्नुहुन्छ भने म केही औषधी लिन सक्छु। त्यो खाए नि, त्यसले दुखाइ हुने होइन, र यदि म बिरामी नै रहेछु भने, त्यसले काम गर्न सक्छ। म केही औषधी लिनेछु।” अनि, तैँले औषधी लिन्छस्, र शारीरिक रूपमा पहिलेभन्दा फरक अनुभूति गर्छस्; त्यसमा लेखिएको मात्रा मिलाएर तैँले त्यो औषधी लिइरहन्छस्, र केही समयपछि, तँलाई शारीरिक रूपमा झन्झन् सुधार आएको महसुस हुन्छ। त्यसपछि, परमेश्‍वरले भन्नुभएको बिराम वास्तवमै साँचो रहेछ भनी तैँले विश्‍वास गर्छस्। यस्तो अभ्यासले कस्तो नतिजा दिन्छ? परमेश्‍वरप्रतिको तेरो विश्‍वास र समर्पणको कारण तेरो रोग निको हुन्छ। सुरुमा, तैँले परमेश्‍वरले भन्नुभएजति औषधी लिइनस्, बरु आफूलाई अलिकति छूट दिइस्, अलिकति अविश्‍वास राखिस्, र तँ अलि रुष्ट भइस् र हिचकिचाइस्, तर तैँले अन्त्यमा परमेश्‍वरले भन्नुभएजति औषधी लिएरै छोडिस्, र पछिबाट त्यसका फाइदाहरू महसुस गरिस्। त्यसैले, तैँले औषधी लिइरहिस्, र जति धेरै लिइस्, त्यति धेरै तेरो आस्था बढ्यो, र झन्झन् तँलाई परमेश्‍वरका वचनहरू सही रहेछन् र तँ गलत रहेछस्, र उहाँका वचनहरूमाथि शङ्का राख्नु हुँदैन भन्ने महसुस भयो। अनि अन्त्यमा, जब तैँले परमेश्‍वरले भन्‍नुभएको सबै औषधी लिइसकेको थिस्, तब तँलाई स्वास्थ्यलाभ भयो। त्यो अवस्थामा, के परमेश्‍वरमाथिको तेरो आस्था अझ साँचो बन्नेछैन र? त्यतिखेर तँलाई थाहा हुनेछ कि परमेश्‍वरका वचनहरू सही छन्, र तैँले बिनाकुनै छुट उहाँप्रति समर्पित हुनुपर्छ र बिनाकुनै छुट उहाँका वचनहरू अभ्यास गर्नुपर्छ। यो उदाहरणले भन्न खोजेको कुरा के हो? यसमा तेरो रोगले मानिसको भ्रष्ट स्वभाव जनाउँछ, र औषधी लिनुले परमेश्‍वरको न्याय र सजाय स्विकार्नुलाई जनाउँछ। यसको मुख्य सन्देश यो हो कि, यदि मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्विकार्न सके भने, तिनीहरूको भ्रष्टता धुन सकिन्छ, र तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्। परमेश्‍वरको काम अनुभव गरेर यही कुरा प्राप्त हुन्छ। के तिमीहरू असफल हुनबाट डराउँछौ? तैँले सायद यसो भन्लास, “मैले सिद्धता प्राप्त गर्ने उद्देश्य राख्नुपर्छ। परमेश्‍वरले भन्नुभएको छ, मैले बिनाकुनै छुट पूर्ण रूपले समर्पित हुनुपर्छ। त्यसैले, पहिलोपटक उहाँका वचनहरू अभ्यास गर्दा नै म तीप्रति पूर्ण समर्पित हुनुपर्छ। यदि मैले योचोटि त्यो पूरा गर्न सक्दिनँ भने, म अर्को अवसर कुर्नेछु, र योचोटि समर्पण अभ्यास गर्दै गर्दिनँ।” के त्यस्तो हुनु राम्रो हो? (होइन।) परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, मानिसहरूले सत्यता अभ्यास गर्नुको एउटा प्रक्रिया हुन्छ। उहाँले मानिसहरूलाई मौकाहरू दिनुहुन्छ। कुनै व्यक्तिमा भ्रष्ट स्थिति हुँदा, परमेश्‍वरले त्यो खुलासा गर्नुहुनेछ र यसो भन्नुहुनेछ, “तैँले छुट अपनाएको छस्, तँ समर्पित हुँदैनस्, तँ विद्रोही छस्।” अनि, परमेश्‍वरले त्यो खुलासा गर्नुको लक्ष्य के हो? यसको लक्ष्य तँ साँचो रूपमा परमेश्‍वरप्रति समर्पित हुन सक् भनेर, कमभन्दा कम छुट अपनाउँदै जा, र झन्झन् समर्पण अभ्यास गर्, र तेरो बुझाइ झन्झन् शुद्ध र सत्यताको नजिक हुँदै जाओस् भन्ने हो। परमेश्‍वरले तेरो खुलासा गर्ने क्रममा के उहाँले तँलाई दण्डित गर्नुभयो? उहाँले तँलाई काटछाँट र परीक्षा गर्नुहुँदा, तँलाई अनुशासनमा राखिरहनुभएको र ताडना दिइरहनुभएको मात्र हुन्छ। तेरो अलिकति खुलासा र निन्दा हुन्छ, र तँलाई अलिकति पीडा अनुभूत गराइन्छ—तर के परमेश्‍वरले तँबाट तेरो जीवन लानुभयो त? (लानुभएन।) उहाँले तेरो जीवन लानुभएन, र उहाँले तँलाई शैतानकहाँ सुम्पनुभएन। त्यसमा उहाँको इच्छा देख्न सकिन्छ। अनि, उहाँको इच्छा के हो त? उहाँ तँलाई मुक्ति दिन चाहनुहुन्छ। कहिलेकाहीँ, केही कठिनाइपछि, मानिसहरू हिचकिचाउँछन् र यस्तो सोच्छन्, “परमेश्‍वरले मलाई मन पराउनुहुन्न। मेरो लागि कुनै आशा छैन।” यदि तँ सधैँ त्यसरी नै परमेश्‍वरलाई गलत बुझ्छस् भने तँ समस्यामा पर्छस्। त्यसले तेरो जीवन वृद्धिमा धेरै ढिलाइ पुर्‍याउँछ। त्यसैले, समय जस्तोसुकै भए पनि, तँ कमजोर वा बलियो, वा तेरो स्थिति राम्रो वा नाजुक जे-जस्तो अवस्था भए पनि, र तेरो जीवनमा जुनसुकै हदसम्म वृद्धि भएको भए पनि—अहिले तैँले ती कुराहरूबारे चिन्ता लिनु आवश्यक छैन। परमेश्‍वरले भन्नुभएका वचनहरू अभ्यास गर्नतिर मात्र ध्यान दे, चाहे तैँले तिनलाई अभ्यास गर्ने प्रयास मात्र गरिरहेको नै किन नहोस्। त्यति गरे पुग्छ। सहकार्य गर्न सक्दो प्रयास गर्, र जे गर्न सक्छस्, त्यो गर्; परमेश्‍वरका वचनहरूमा भनिएको स्थितिमा प्रवेश गर्; परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू अभ्यास गर्दा कस्तो अनुभूति हुन्छ, तैँले त्यसबाट लाभ लिएको छस् छैनस्, र तैँले जीवन प्रवेश पाएको छस् छैनस्, त्यो हेर्। तैँले सत्यताप्रति प्रयत्न गर्न सिक्नैपर्छ। मानिसहरू जीवनवृद्धिको प्रक्रिया बुझ्दैनन्। तिनीहरू सधैँ तत्काल परिणामको आशा गरिरहेका, र यस्तो सोचिरहेका हुन्छन्, “यदि म पूर्ण समर्पित हुन सकिनँ भने, म समर्पित हुँदै हुँदिनँ। पूर्ण रूपमा समर्पित हुन सक्ने भएपछि, मात्र म समर्पित हुनेछु। म निर्लज्ज रूपमा समर्पित हुनेछैन। यसले ममा कति दृढता छ, कति चरित्र र इज्जत छ भन्ने देखाउँछ!” त्यो कस्तो दृढता हो? त्यो विद्रोहीपन र हठीपन हो!

हामीले भर्खरै सङ्गति गरेको कुराबारे राम्ररी सोच् त। “परमेश्‍वरमा विश्‍वास गरेको त्यतिका वर्षसम्म मानिसहरू केको आधारमा जिएका छन्?” भन्ने प्रश्‍नका चारवटा उपशीर्षकहरूमा हामीले सङ्गति गरिसकेका छौँ। तिनीहरू जिउनको लागि आफ्ना वरदानहरूमा; आफ्नो ज्ञानमा; आफ्नो विशुद्ध बच्‍चाजस्तो हृदयमा; र शैतानका दर्शनहरूमा भरोसा गर्छन्। के तिमीहरूले यी चार स्थितिहरूबारे आफूले सुनेको कुरा बुझ्यौ? के तिमीहरू आफूमा यी स्थितिका कस्ता पक्षहरू छन् भनी देख्न सक्छौ? के तिमीहरू यो कुरा बुझ्न सक्षम छौ? के हामीले यसअघि यी कुराहरूबारे सङ्गति गरेका छौँ? सायद तिमीहरूले केही स्थितिहरू बुझेको र तीबारे केही कुरा जानेको हुन सक्छ, तर ती कुराहरू सत्यता अभ्यास गर्नेसित वा आजको हाम्रो सङ्गतिको विषयसित सिधै सम्बन्धित भएजति बुझेको-जानेको नहुन सक्छ। आज, हामीले “परमेश्‍वरमा विश्‍वास गरेको त्यतिका वर्षसम्म मानिसहरू केको आधारमा जिएका छन्?” भन्ने विषय र कोणबाट यी स्थितिहरूबारे सङ्गति गरेका छौँ। यो सत्यता अभ्यास गर्ने र सत्यताद्वारा जिउनेसित अलि नजिक छ। मसित अर्को पनि प्रश्‍न छ। त्यसलाई टिपिराख्। त्यो हो: तैँले सबैभन्दा बढी प्रेम गर्ने कुराहरू के-के हुन्? अनि, तैँले सबैभन्दा बढी प्रेम गर्ने ती कुराहरूप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो छ? भविष्यमा समय निकालेर हामी यो प्रश्‍नबारे सङ्गति गर्नेछौँ। आज, हामीले मानिसहरू जेद्वारा जिउँछन् त्यसबाट आउने थुप्रै नकारात्मक स्थितिहरू खुलासा गरिरहेका छौँ; हामीले यी नकारात्मक स्थितिहरूलाई विशेष सन्दर्भ बनाएर सत्यता कसरी अभ्यास गर्ने भन्नेबारे सङ्गति गरेनौँ। तर यसबारे सङ्गति नगरिएको भए पनि, के तिमीहरूलाई यी स्थितिहरूमा कहाँ गल्ती छन् भनेर थाहा छ? ती समस्याहरू कहाँबाट आउँछन्? ती कस्ता स्वभावका भागहरू हुन्? सत्यता कसरी अभ्यास गर्नुपर्छ? जब यस्ता कुराहरू देखा पर्छन्, जब तँसित यस्ता स्थिति र विधिहरू हुन्छन्, के तँ तिनलाई प्रतिस्थापन गर्न सत्यता कसरी प्रयोग गर्ने भनेर जान्दछस्? तैँले कुन सत्यताहरू अभ्यास गर्नुपर्छ? तैँले अहिले गर्नुपर्ने महत्त्वपूर्ण र प्रारम्भिक काम भनेको सुरुमा यी स्थितिहरू बुझ्ने र आफूलाई चिरफार गर्ने हो। जब तँ यी स्थितिहरूमा जिउँछस्, तँलाई हृदयमा कम्तीमा ती गलत छन् भनी थाहा हुनुपर्छ। ती गलत छन् भन्ने थाहा पाएपछि चाल्नुपर्ने कदम भनेको तिनलाई उल्टाउने हो। यदि ती सही छन् कि गलत छन्, र तिनमा त्रुटिहरू कहाँ छन् भनेर तँलाई थाहा छैन भने, तँ तिनलाई कसरी उल्टाउन सक्छस् र? त्यसैले, यी स्थितिहरू सही छन् कि गलत छन् भनी तैँले खुट्ट्याउन सक्नु नै पहिलो कदम हो। त्यसपछि मात्र तैँले कसरी अर्को कदम चाल्ने भनी जान्न सक्छस्। आज हामीले मान्छेका विभिन्न भ्रष्ट स्थितिहरूमध्ये केहीबारे मात्र सङ्गति गरिरहेका छौँ, र भन्नुपर्ने कुरा धेरै थियो। त्यसैले, तिमीहरू सत्यताद्वारा ठ्याक्कै कसरी जिउँछौ भन्नेसम्बन्धमा, त्यसबारे तिमीहरू आफैले अझ बढी मनन गर्। तिमीहरूले नतिजा पक्‍कै निकाल्न सक्नेछौ।

सेप्टेम्बर ५, २०१७

अघिल्लो: सत्यता वास्तविकता भनेको के हो?

अर्को: सत्यता अभ्यास गरेर र परमेश्‍वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्