सत्यता अभ्यास गरेर र परमेश्‍वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ

तिमीहरूमध्ये अधिकांशले कम्तीमा पनि लगभग दस वर्ष परमेश्‍वरमा विश्‍वास गरेका छौ, त्यसैले तिमीहरू अहिले आफ्नो जीवन अनुभवको कुन चरणमा पुगेका छौ? तिमीहरूको कद हाल कुन चरणमा छ? (जब म आफूले निरन्तर भ्रष्ट स्वभाव प्रकट गरेको देख्छु, म परमेश्‍वरको मानिस नभई सेवाकर्ता मात्र हुनुपर्छ भन्ने मनस्थितिमा पुग्छु; अनि आफू मुक्ति पाउन योग्य छुइनँ भनेर म नकारात्मक र चिन्तित हुन्छु।) तैँले आफू सेवाकर्ता भएको निर्धारण गरेर भयभीत हुनु: यो तेरो कद बच्‍चाको जस्तो र अपरिपक्व रहेको सङ्केत हो। बच्‍चाको जस्तो कद हुनु भनेको तँसँग निर्णय क्षमता नहुनु हो, समस्या तौलेर विचार गर्ने क्षमता र प्रौढ सोचप्रक्रिया नहुनु र तँ सधैँ आफ्ना भावी सम्भाव्यताहरू र नियतिद्वारा बाधित हुनु हो। अरू कसैलाई केही कुरा राख्नु छ? (कर्तव्य निर्वाह गर्दा, म आफ्नो बाटोबाट बहकिन्छु, परमेश्‍वरले मेरो खुलासा गरेर मलाई निष्कासन गर्नुहोला भन्ने सोच्दै चिन्तित हुन्छु।) तिमीहरू निष्कासित हुने डर किन मान्छौ? तिमीहरूले भनेको यो “निष्कासित हुनु”: वास्तवमा यसको अर्थ के हो? (राम्रो अन्त्यमा नपुग्नु हो।) जब तिमीहरूले “निष्कासित हुनु”को अर्थ आफ्नो कर्तव्य पूरा गर्न नपाउनु, वा आफ़ूलाई मिल्न सक्ने मुक्तिको हरकुनै मौका गुमाउनु हो भनेर मान्छौ, के तेरो यो अर्थ्याइ परमेश्‍वरले तँलाई हेर्नुहुने र व्यवहार गर्नुहुने तरिकासित मेल खान्छ त? बच्‍चाको जस्तो कद भएकाहरूले अपेक्षाकृत रूपमै सबैकुरालाई परमेश्‍वरको वचन र सत्यताअनुसार नभई, मानव धारणा र कल्पनाको आधारमा हेर्नेछन्। तर जीवनमा प्रौढ र परिपक्व भएकाहरूले सबैकुरालाई परमेश्‍वरको वचन र सत्यताअनुसार हेर्नेछन्; समस्याहरूलाई यसरी जाँच्‍नु अत्यन्तै सही हुन्छ। व्यक्तिले कर्तव्य निभाउँदा, ऊ बहकाइ र कठिनाइहरूमा पर्नु सामान्य नै हो; यदि व्यक्तिलाई एउटा त्रुटी गर्नेबित्तिकै निष्कासित गरियो भने, कसैले पनि आफ्नो कर्तव्य राम्ररी निभाउन सक्नेछैन। तिमीहरूले के बुझ्नुपर्छ भने, कर्तव्य निभाउनुको सारा जोड भनेकै व्यक्तिको भ्रष्ट स्वभाव परमेश्‍वरको न्यायको अनुभवद्वारा शुद्ध पारियोस्, व्यक्तिले कर्तव्य निभाउने क्रममा सत्यता बुझेर वास्तविकतामा प्रवेश गरोस् र शैतानको प्रभावबाट उम्किएर मुक्ति प्राप्त गरोस भन्‍ने हो। त्यसैले, परमेश्‍वर तिनीहरूले आफ्नो कर्तव्य निभाउँदा सबैकुरामा सत्यता कसरी खोज्ने भनेर सिकून् र परमेश्‍वरका वचनअनुसार समस्या सुल्झाऊन् भनेर भन्‍नुहुन्छ: यो जीवन अनुभव गर्ने अनिवार्य प्रक्रियाक्रम हो। सामान्य परिस्थितिहरूमा, कुनै एउटा व्यक्ति सबैकुरामा खप्पिस हुँदैन, न त एउटै व्यक्तिसँग सबैकुराको सीप नै हुन्छ, त्यसैले व्यक्तिले कर्तव्य निभाउँदा गल्ती नगर्नु लगभग असम्भव नै हुन्छ। तर त्यो गल्ती बाधा पुऱ्याउने मनसायले नगरिएसम्म, सामान्य अपेक्षाको दायराभित्रै पर्छ। यद्धपि, यदि यो मानव षड्यन्त्रद्वारा गरिन्छ भने, यदि यो जानीजानी गरिएको गलत कार्यको दुष्परिणाम हो भने, त्यो व्यक्तिको मानवतामा केही समस्या छ, र यो जानजानी गरिएको बाधा र विनाशको मामला हुनेछ। त्यसपछि त्यो दुष्ट व्यक्तिलाई पूर्ण रूपले खुलासा गरिनेछ। परमेश्‍वरले आफ्नो नजरमा, मानिसहरूलाई सटीक रूपमा मापन र मुल्याङ्कन गर्नुहुन्छ; अर्थात, व्यक्तिलाई प्रयोग गर्दा, उसलाई केही कार्य गर्न लगाउँदा, परमेश्‍वरसँग त्यो व्यक्तिले पूरा गर्नुपर्ने मापदण्डहरू पनि पक्कै हुन्छन्। परमेश्‍वर तँ महामानव, र सर्वशक्तिमान्‌ बन् भन्ने चाहनुहुन्न; बरु, उहाँ साधारण मानिसहरूको क्षमतामा जे पर्छ, त्यसकै आधारमा तँलाई मापदण्ड प्रदान गर्ने र तँसँग व्यवहार गर्ने गर्नुहुन्छ। तैँले आफूलाई सुसज्जित पारेको ज्ञान, तेरो क्षमता, तँ जिउने परिस्थितिहरू, र तैँले प्राप्त गरेका ती सबै अन्तर्दृष्टिअनुसार, साथै तेरो हालको उमेर र अनुभवलाई ध्यानमा राख्दै, तेरो क्षमताभित्र जे पर्छ त्यसअनुसार, परमेश्‍वरले तेरो मुल्याङ्कन गर्न सबैभन्दा सटीक र उपयुक्त मापदण्डहरू तय गर्नुहुनेछ। अनि, मुल्याङ्कन गर्नको लागि परमेश्‍वरको मापदण्ड के हो? त्यो तैँले कार्य गर्ने तरिकाको अभिप्राय, सिद्धान्त, र उद्देश्य जाँच्नु अनि ती सत्यताअनुसार छन् छैनन् भनेर हेर्नु हो। तैँले गर्ने कार्य सायद अरूले तेरो लागि बनाएका मापदण्डसँग त मेल खाने होला, र तैँले त्यसको लागि सर्वोत्तम अङ्क पनि प्राप्त गर्छस् होला; तर परमेश्‍वरले तेरो मुल्याङ्कन कसरी गर्नुहुन्छ? तँलाई मापन गर्ने परमेश्‍वरको मापदण्ड भनेको तँ आफ्नो पूरै हृदय, मन र बल लगाउन सक्छस् सक्दैनस्, र आफ्नो सबथोक र आफ्नो भक्तिभाव अर्पण गर्न सक्ने अवस्थामा पुग्न सक्छस् सक्दैनस् भन्ने हो। परमेश्‍वरले गर्नुहुने मुल्याङ्कनको मापदण्ड यही हो। यदि तैँले आफ्नो सबथोक अर्पण गरिसकेको छस् भने, परमेश्‍वरले तँलाई मापदण्ड पूरा गरिसकेको व्यक्तिको रूपमा हेर्नुहुनेछ। परमेश्‍वरले मानिसहरूलाई दिनुहुने सबै मापदण्डहरू तिनीहरूले पूरा गर्न सक्ने क्षमताभित्रै पर्छन्, र ती तिनीहरूको पहुँचबाहिर हुँदैनन्।

कहिलेकहीँ, परमेश्‍वरले तेरो खुलासा गर्न वा तँलाई अनुशासनमा राख्‍न निश्‍चित मामला प्रयोग गर्नुहुन्छ। के यसको अर्थ तँलाई हटाइएको छ भन्‍ने हुन्छ? के यसको अर्थ तेरो अन्त्य आएको छ भन्‍ने हुन्छ? हुँदैन। यो त बच्‍चा अनाज्ञाकारी भएर गल्ती गरेको जस्तै हो; उसका आमाबुबाले उसलाई गाली गर्न र दण्ड दिन सक्छन्, तर उसले आमाबुबाको अभिप्राय जान्‍न वा तिनीहरूले किन यसो गरिरहेका छन् भनेर बुझ्‍न सक्दैन भने, उसले तिनीहरूको अभिप्रायलाई गलत रूपमा बुझ्‍नेछ। उदाहरणको लागि, आमाबुबाले बच्चालाई यसो भन्‍न सक्छन्, “घर एक्लै नछाड्नु, र एक्‍लै आफै बाहिर नडुल्‍नू,” तर यो कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउँदै, त्यो बच्‍चा लुकेर एक्लै बाहिर जान्छ। त्यो थाहा पाएपछि, आमाबुबाले त्यो बच्‍चालाई हकार्छन् र सजायस्वरूप, उसलाई कुनामा उभ्याएर आफ्‍नो व्यवहारबारे मनन गर्न लगाउँछन्। आफ्ना आमाबुबाको अभिप्रानबुझेर बच्‍चाले शङ्का गर्न थाल्छ: “के मेरा आमाबुबाले मलाई चाहन छोडेका हुन्? यदि म साँच्‍चै उनीहरूको बच्‍चा हैन भने के मलाई धर्मपुत्र राखिएको हो?” उसले यस्ता कुराहरू विचार गर्छ। आमाबुबाका वास्तविक अभिप्रायहरू के-के हुन्? त्यसो गर्नु अत्यन्तै खतरनाक हुन्छ र त्यसैले त्यसो नगर्नू भनेर आमाबुबाले बच्‍चालाई भनेका थिए। तर बच्‍चाले त्यो कुरा मानेन, एउटा कानले सुनेर अर्को कानले उडाइदियो। त्यसकारण, आमाबुबाले बच्‍चालाई उचित शिक्षा दिन र उसले आफ्ना गल्तीबाट केही सिकोस् भनेर कुनै किसिमको दण्ड प्रयोग गर्नु जरुरी भयो। यसो गरेर आमाबुबाले के हासिल गर्न चाहन्छन्? के बच्‍चालाई उसको गल्तीबाट केही सिकाउन मात्रै यसो गरिएको हो? तिनीहरूले बच्चालाई अन्तत: यस प्रकारको पाठ सिकाउन चाहेका होइनन्। आमाबुबाले यसो गर्नुको उद्देश्य बच्‍चालाई जे भन्यो त्यही गर्ने बनाउनु, तिनीहरूको सल्‍लाहअनुसार चल्ने तुल्याउनु, र तिनीहरूलाई चिन्तित तुल्याउने कुनै पनि अनाज्ञाकारी कार्य नगर्ने पार्नु हो, र तिनीहरूले चाहेको परिणाम यही हो। यदि बच्‍चाले आफ्‍ना आमाबुबाको कुरा सुन्छ भने, उसको समझ परिपक्क भएको देखिन्छ, र उसका आमाबुबाको मनमा कम चिन्ता हुनेछ। के त्यसपछि तिनीहरू ऊप्रति सन्तुष्ट हुनेछैनन् र? के तिनीहरूले अझै पनि उसलाई त्यसरी दण्ड दिनुपर्नेछ र? तिनीहरूले उप्रान्त त्यसो गर्नुपर्नेछैन। परमेश्‍वरमा विश्‍वास गर्नु पनि त्यस्तै हो। मानिसहरूले परमेश्‍वरका वचनहरूमा ध्यान दिन र उहाँको हृदयलाई बुझ्‍न सिक्‍नुपर्छ। तिनीहरूले परमेश्‍वरलाई गलत रूपमा बुझ्‍नु हुँदैन। वास्तवमा, धेरैजसो अवस्थामा, मानिसहरूको चिन्ता तिनीहरूका आफ्‍नै स्वार्थबाट पैदा भएका हुन्छन्। सामान्य शब्दमा भन्दा, यो आफूलाई कुनै परिणाम हात नलाग्ला कि भन्‍ने तिनीहरूको डर हो: तिनीहरूले सधैँ यस्तो सोचिरहन्छन्, “यदि परमेश्‍वरले मेरो खुलासा गर्नुभयो, र मलाई हटाउनुभयो, र इन्कार्नुभयो भने के गर्ने?” यो तैँले परमेश्‍वरलाई गलत अर्थ्याएको हो; यी तेरा एकतर्फी अनुमानहरू मात्रै हुन्। तैँले परमेश्‍वरको अभिप्राय के हो त्यो पत्ता लगाउनुपर्छ। जब उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, त्यो तिनीहरूलाई हटाउन गरिएको हुँदैन। तिनीहरूका कमीकमजोरी, गल्ती, अनि तिनीहरूको प्रकृति सार पर्दाफास गर्न, तिनीहरूले आफैलाई चिनेर, र साँचो पश्‍चात्ताप गर्न सक्‍ने तुल्याउन तिनीहरूको खुलासा गरिन्छ; यसकारण, मानिसहरूको खुलासा गर्नु भनेको तिनीहरूको जीवनलाई वृद्धि हुन सहयोग गर्नको लागि हो। साँचो समझविना, मानिसहरूले परमेश्‍वरलाई गलत अर्थ्याउने र नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना हुन्छ। तिनीहरू निराशसमेत हुन सक्छन्। वास्तवमा, परमेश्‍वरद्वारा खुलासा गरिनुको अर्थ तँलाई हटाइनेछ भन्‍ने हुँदैन। यो त तँलाई तेरो आफ्नो भ्रष्टता चिन्‍न मदत गर्न, र तँलाई पश्‍चात्ताप गर्न लगाउनको लागि गरिन्छ। मानिसहरू विद्रोही हुने भएकाले, र तिनीहरूको भ्रष्टता प्रकट हुँदा तिनीहरूले सत्यतामा समाधान नखोज्ने भएकाले, प्रायजसो परमेश्‍वरले अनुशासन प्रयोग गर्नुपर्ने हुन्छ। त्यसकारण कहिलेकाहीँ, उहाँले मानिसहरूको खुलासा गर्नुहुन्छ, अनि तिनीहरूको कुरूपता र दयनीय अवस्था पर्दाफास गरिदिनुहुन्छ, तिनीहरूलाई आफैलाई चिन्‍ने तुल्याउनुहुन्छ, जसले तिनीहरूको जीवन वृद्धि हुन सहयोग पुर्‍याउँछ। मानिसहरूको खुलासास गर्नुका दुई फरक आशयहरू हुन्छन्: दुष्टहरूको हकमा, खुलासा गरिनुको अर्थ तिनीहरूलाई निकाल्‍नु भन्‍ने हुन्छ। सत्यता स्विकार्न सक्‍ने मानिसहरूको हकमा, यो ताकिता र चेतावनी हुन्छ; र तिनीहरूलाई आफ्‍नो बारे मनन गर्न, आफ्‍नो साँचो स्थिति देख्‍न, र बाटो बिराउन र लापरवाही हुन रोक्न लगाइन्छ, किनभने यसरी अघि बढ्नु खतरनाक हुनेछ। मानिसहरूको यसरी खुलासा गर्नुको उद्देश्य तिनीहरूलाई सम्झाउनको लागि हो, नत्र आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू झाराटारुवा र लापरवाह बन्छन्, कामकुरालाई गम्भीर रूपमा लिँदैनन्, एक-दुईवटा नतिजा प्राप्त गर्दा नै सन्तुष्ट हुन्छन्, र स्वीकार्य मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गरेको ठान्छन्—जबकि वास्तवमा परमेश्‍वरले मागअनुसार मापन गर्दा, तिनीहरू धेरै चुकेका हुन्छन्, तर अझै पनि तिनीहरू आत्मसन्तुष्ट बन्छन्, र आफूले ठिकै काम गरिरहेको ठान्छन्। त्यस्तो परिस्‍थितिमा, परमेश्‍वरले मानिसहरूलाई अनुशासनमा राख्नुहुन्छ, चेतावनी दिनुहुन्छ, र सम्झाउनुहुन्छ। कहिलेकहीँ, परमेश्‍वरले तिनीहरूको कुरूपता खुलासा गर्नुहुन्छ—र यसले ताकिताको रूपमा काम गर्नुपर्छ। त्यस्तो बेला तैँले आफ्‍नो बारेमा मनन गर्नुपर्छ: यसरी तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्नु पर्याप्त छैन, तँभित्र विद्रोहीपन छ, अत्यन्तै धेरै नकारात्मक तत्त्वहरू छन्, तैँले गर्ने हरेक कुरा लापरवाह रूपमा गरिएको छ, र तैँले अझै पनि पश्‍चात्ताप गरिनस् भने, नियमानुसार, तँ दण्डित हुनुपर्छ। परमेश्‍वरले तँलाई कहिलेकाहीँ, ताडना दिनुहुँदा, वा उदाङ्गो पार्नुहुँदा, यसको अर्थ तँलाई हटाइनेछ भन्‍ने नै हुँदैन। यो विषयलाई सही तरिकाले हेरिनुपर्छ। तँलाई हटाइयो नै भने पनि, तैँले यसलाई स्विकार्नुपर्छ र यसमा समर्पित हुनुपर्छ, र तुरुन्तै मनन गरेर पश्‍चात्ताप गरिहाल्‍नुपर्छ। समग्रमा भन्नुपर्दा, तँलाई खुलासा गर्नुपछाडि जे सुकै अर्थ भए पनि, तैँले समर्पित हुन सिक्नुपर्छ। यदि तँ निष्क्रिय प्रतिरोध देखाउँछस्, र आफ्नो गल्ती सुधार्नुको सट्टा खराबबाट झन् खराब बनिरहन्छस् भने, तँ पक्कै पनि दण्डित हुनेछस्। तसर्थ, खुलासा हुने मामिलाहरू सम्हाल्दा, व्यक्तिले समर्पण देखाउनुपर्छ, उसको हृदय डरले भरिएको हुनुपर्छ, र ऊ पश्‍चात्ताप गर्न सक्षम हुनुपर्छ: त्यसपछि मात्र ऊ परमेश्‍वरको इच्छाअनुसारको हुन सक्छ, र यसरी अभ्यास गरेर मात्र उसले आफैलाई मुक्ति दिलाउन र परमेश्‍वरको दण्डबाट बचाउन सक्छ। समझदार मानिसहरू त्यसपछि आफ्ना गल्तीहरू चिन्न र सच्याउन सक्षम हुनुपर्छ, र कम्तीमा पनि कर्तव्य निभाउन आफ्नो विवेकमा भर पर्ने अवस्थासम्म पुग्नुपर्छ। साथै, तिनीहरू सत्यतातर्फ पनि लम्किनुपर्छ, र आफ्नो व्यवहार सिद्धान्तपरक हुने अवस्थासम्म मात्र नभई, सम्पूर्ण हृदय, आत्मा, मनमस्तिष्क र बल समर्पित गर्ने अवस्थासम्म पुग्नुपर्छ: यो मात्र कर्तव्य निभाउने स्वीकार्य तरिका हो, यसरी मात्र तिनीहरू साँच्चै परमेश्‍वरप्रति समर्पित मानिसहरू बन्‍न सक्छन्। व्यक्तिले केलाई परमेश्‍वरको इच्छा सन्तुष्ट गर्ने मापदण्ड मान्‍नुपर्छ? व्यक्तिले आफ्ना कार्यलाई सत्यता सिद्धान्तमा आधारित गर्नुपर्छ, र त्यसको प्रमुख पक्ष भनेको परमेश्‍वरको घरको हित र परमेश्‍वरको घरको काममा जोर दिनु, समग्र अवस्थालाई ध्यानमा राख्नु र कुनै एक पक्षमा ध्यान केन्द्रित गरेर अर्को पक्षलाई नदेख्‍ने काम नगर्नु हो, अनि त्यसको सानो पक्ष भनेको चाहिँ आफ्नो काम राम्ररी पूरा गर्नु, र अल्याङटल्याङ नगरी र झारा नटारी, र परमेश्‍वरलाई लज्जित नबनाई, आफूलाई भनिएअनुसारको इच्छित प्रभाव हासिल गर्नु हो। यदि मानिसहरू यी सिद्धान्तहरूमा निपुण भए भने, के तिनीहरूले आफ्ना चिन्ता र गलत अवधारणाहरू त्याग्नेछैनन् र? तैँले आफ्‍ना चिन्ता र भ्रमहरू पन्छाएपछि, र तँमा अबउप्रान्त परमेश्‍वरबारे कुनै पनि अनुचित अवधारणा नभएपछि, नकारात्मक तत्त्वहरूले बिस्तारै तँभित्रको हक जामाउन छाड्नेछन्, र यी मामलाहरूलाई तैँले सही तरिकाले लिनेछस्। तसर्थ, सत्यता खोजी गर्नु र परमेश्‍वरको इच्‍छा बुझ्‍ने प्रयास गर्नु अत्यन्तै महत्त्वपूर्ण छ।

कर्तव्य निभाउने क्रममा कतिपय मानिसहरू प्रायजसो नकारात्मकता र निष्क्रियता, वा प्रतिरोध र गलतबुझाइको स्थितिमा हुन्छन्। तिनीहरू आफूलाई खुलासा गरेर हटाइनेछ भनेर निरन्तर डराइरहेका हुन्छन्, र निरन्तर भविष्य र नियतिको बन्धनमा हुन्छन्। के यो सानो कदको प्रकटीकरण होइन र? (हो।) कतिपय मानिसहरू सधैँ आफ्‍नो कर्तव्य राम्ररी निभाउन नसकुँला कि भनेर डर लाग्छ भनी भन्छन्, र विस्तृतमा विश्‍लेषण नगरी हेर्दा, व्यक्तिले तिनीहरू निष्ठावान नै रहेछन् भनी मान्न सक्छ। तर तिनीहरूले आफ्‍नो हृदयमा वास्तवमा केको चिन्ता गर्छन्? राम्रोसित कर्तव्य ननिभाए, आफूलाई हटाइनेछ र आफ्नो गन्तव्य राम्रो हुनेछैन भन्‍ने चिन्ता तिनीहरूलाई हुन्छ। कतिपय मानिसहरूले आफूलाई सेवाकर्ता भइएला भन्‍ने चिन्ता लाग्छ भनेर भन्छन्। यो कुरा सुन्दा, अरूले के अर्थ्याउँछन् भने, सेवाकर्ता बन्‍न नचाहेर, यी मानिसहरू केवल परमेश्‍वरका मानिसहरू भएर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छन् भन्ने सोच्छन्, र तिनीहरूसँग सङ्कल्प भएका मानिसहरू हुन् भन्‍ने गलत बुझाइ राख्छन्। वास्तवमा, सेवाकर्ता बनिएला भन्‍ने डर हुने ती मानिसहरूले हृदयमा यस्तो सोच्छन्, “यदि म सेवाकर्ता बनेँ भने, अन्त्यमा म नष्ट हुनेछु र मेरो कुनै राम्रो गन्तव्य हुनेछैन, र मैले स्वर्गको राज्यको हक पाउँदिनँ।” तिनीहरूका शब्‍दहरूको आशय यही हुन्छ; तिनीहरूलाई आफ्‍नो परिणाम गन्तव्यको चिन्ता हुन्छ। यदि परमेश्‍वरले तिनीहरू सेवाकर्ता हुन् भनी भन्‍नुभयो भने, तिनीहरूले कर्तव्यमा कम प्रयास लगाउनेछन्। यदि परमेश्‍वरले तिनीहरू उहाँका मानिसहरू हुन् र तिनीहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुभएको छ भनेर भन्‍नुभयो भने, तिनीहरूले कर्तव्यमा धेरै प्रयास लगाउनेछन्। यहाँ, समस्या के हो त? परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य निभाउने क्रममा, तिनीहरूले सत्यता सिद्धान्तअनुसार व्यवहार गर्दैनन्, समस्या यही हो। तिनीहरूले सधैँ आफ्‍नै भविष्य र नियति बारे ख्याल गर्छन्, र “सेवाकर्ता” भन्‍ने नाम-पद्‌वीको बन्धन महसुस गर्छन्। फलस्वरूप, तिनीहरूले राम्रोसित आफ्‍नो कर्तव्य निभाउन सक्दैनन्, र तिनीहरूले सत्यता अभ्यास गर्न चाहे पनि, तिनीहरूसँग त्यसो गर्ने बल नै हुँदैन। तिनीहरू सधैँ नकारात्मक स्थितिमा जिउँछन्, र आफू परमेश्‍वरको मानिस हुँ कि सेवाकर्ता हुँ भनेर निर्धारण गर्ने कोसिस गर्दै, परमेश्‍वरका वचनहरूपछाडिका अर्थ पत्ता लगाउन खोज्छन्। यदि तिनीहरू परमेश्‍वरका मानिसहरू रहेछन् भने, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न लागिपर्नेछन्। यदि तिनीहरू सेवाकर्ता रहेछन् भने, कर्तव्य निर्वाह गर्दा झाराटारुवा बन्‍नेछन्, आफूभित्र कैयौँ नकारात्मक तत्त्व पैदा गर्नेछन्, र “सेवा-कर्ता” नामको पावन्दीमा पर्नेछन् र त्यसबाट आफूलाई उम्काउन सक्नेछैनन्। कहिलेकाहीँ, कठोर काँटछाँट भोगेपछि, तिनीहरू मनमनै यस्तो सोच्नेछन्, “म आशारहित छु, म यस्तै नै छु। म आफूले सक्ने मात्र गर्नेछु।” अनि निष्क्रिय, नकारात्मक र विकृत सोचसाथ, प्रतिरोध गर्छन् र मन नलागीनलागी कर्तव्य निभाउँछन्। के तिनीहरूले कर्तव्य राम्ररी निभाउन सक्छन् त? भेलाहरूमा, यस्तो व्यक्तिले निरन्तर सत्यता सङ्गति गर्दै, परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरमा समर्पित हुने, जीवन जिउन परमेश्‍वरको वचनमा भर पर्ने, अनि परमेश्‍वरप्रति निष्ठा देखाउनेबारे बोलिरहेको हुन्छ, तर ऊ यी कुनै पनि कुराहरू अभ्यास गर्न सक्दैन, उसले त बस आफ्नो भावी सम्भाव्यता र नियतिबारे मात्रै विचार गरिरहन्छ, र ऊ सधैँ आशिष् पाउने लोभको अधिनमा, र सत्यताको कुनै पनि पक्ष स्विकार्न नसक्‍ने अवस्थामा रहन्छ। यसरी, ऊ प्रतिरोधी र विरोधी हुन्छ, नकारात्मक र गुनासोले भरिन्छ, हृदयमा सधैँ परमेश्‍वरबारे धारणाहरू पाल्छ, परमेश्‍वरविरुद्ध अवरोधहरू खडा गरिरहन्छ, र परमेश्‍वरलाई टाढै राखिरहन्छ। ऊ परमेश्‍वरले उसको भित्री रूप देख्नुहोला, र उसलाई नियन्त्रण गर्नुहोला, र उसको स्वार्थविपरीत कार्य गर्नुहोला भन्ने डरले सधैँ परमेश्‍वरसँग सतर्क बनिरहन्छ। अनि, ऊ आफ्नो पछ्याइमा सधैँ अनिच्छुक र नाखुस भइरहन्छ, र मानिसहरूले उसलाई अगाडिबाट तान्ने र पछाडिबाट धकेल्ने गरिरहन्छन्, यस्तो लाग्छ मानौँ, ऊ दलदलमा फसेर हरेक पाइला अत्यन्तै कष्टप्रद, र जीवित रहनु अत्यन्तै पीडादायी भएको छ। यस्तो कसरी भयो? यस्तो किन भयो भने, मानव हृदय अत्यन्तै छली छ, र त्यसले परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन गर्नुहुने कामलाई सधैँ गलत तरिकाले बुझ्छ। परमेश्‍वरले मानिसहरूलाई जे-जस्तो व्यवहार गर्नुभए पनि, तिनीहरू सधैँ यस्तो सोच्दै सशङ्कित रहनेछन्, “के यसको अर्थ परमेश्‍वरले अब मलाई चाहनुहुन्न भन्ने हो? परमेश्‍वरले अन्त्यमा मलाई मुक्ति दिनुहुनेछ कि छैन? मजस्तो मान्छेले पछ्याइमा लागिरहनु सार्थक हुन्छ त? के म राज्य प्रवेश गर्न सक्छु त?” मानिसहरूले निरन्तर यस्ता नकारात्मक र उल्टा विचारहरू पालिरहँदा, के यसले तिनीहरूको कर्तव्य पूरा गर्ने क्षमतामा असर गर्दैन र? के यसले तिनीहरूको सत्यता पछ्याइमा पनि असर गर्दैन र? यदि यी सबै नकारात्मक तत्त्वहरू फालिएनन् भने, तिनीहरू कहिले परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्ग प्रवेश गर्न सक्नेछन्? यो भन्न गाह्रो छ। त्यसैले, सत्यता स्विकार्न नमान्ने मानिसहरूलाई सम्हाल्न सबैभन्दा कठिन हुन्छ, र अन्त्यमा, तिनीहरूलाई निष्कासन गर्न मात्र सकिन्छ।

भ्रष्ट मानवजातिको हृदयमा, केही निश्‍चित विपरीत तत्त्वहरू कुँदिएका छन्, जस्तै, इज्जत, आडम्बर, हैसियत, ख्याति र लाभ, आदि इत्यादि। तैँले परमेश्‍वरमा विश्‍वास गर्दा, यदि तँ सत्यता स्विकार्न चाहन्छस् भने, यसको अर्थ यी विपरीत तत्त्वहरूसँग निरन्तर लडाइँ गर्नु र हरप्रकारका कठिन अनुभव र सङ्घर्षसँग जुध्‍नु हो। सत्यता मानिसहरूभित्र विजयी नभएसम्म र मानिसको जीवन नबनेसम्म, यो लडाइँ अन्त्य हुनेछैन। यो अवधिमा, जब मानिसहरूले परमेश्‍वरका वचनहरू खाएर-पिएर सत्यता बुझ्छन् र परमेश्‍वरको इच्छा बोध गर्छन्, तब तिनीहरू सत्यता अभ्यास गर्न र देहविरुद्ध विद्रोह गर्न थाल्नेछन्। जब सत्यता तिनीहरूको जीवन बन्छ, तिनीहरूले सत्यता प्रयोग गरेर यी नकारात्मक र विपरीत तत्त्वहरू फाल्न सक्नेछन्। आडम्बर, व्यक्तिगत प्रतिष्ठा, ख्याति, लाभ, हैसियत, मानव तृष्णा, दूषित मानव अभिप्राय, परमेश्‍वरबारे गलत मानव बुझाइ, तिनीहरूको रोजाइ र प्राथमिकता, आत्मधर्मीपन, अहङ्कार, छलीपन, र अन्य कुराहरू—मानिसहरूले सत्यता बुझेपछि यी सबै समस्याहरूले बिस्तारै समाधान पाउनेछन्। परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया, वास्तवमा, सत्यता स्विकार्ने, देहमाथि विजयी हुन सत्यता प्रयोग गर्ने र निरन्तर परमेश्‍वरका वचन खाने-पिउने, सत्यता खोज्ने, र यी समस्या समाधान गर्न आफूले बुझेका सत्यता र आफूले जानेका परमेश्‍वरका वचन र बोध गरेका सत्यता सिद्धान्तहरू प्रयोग गर्ने प्रक्रिया हो। जीवन प्रवेश गर्नु भनेको यी अनुभवहरूद्वारा गुज्रेर आउनु हो, र त्यसो गर्ने क्रममा मानिसहरू बिस्तारै रूपान्तरित हुनेछन्। हरेक व्यक्तिमा यी भ्रष्ट तत्त्वहरू हुन्छन्, र नाफा तथा ख्यातिका लागि नजिउने व्यक्ति एउटा पनि हुँदैन। सबै मानिसहरू यी कुराहरूकै लागि जिउँछन्; तिनीहरूमध्ये हरेकले कसरी यी कुराहरू सम्हाल्छन् र यी कुराहरूप्रतिको चाह व्यक्त गर्छन्, त्यो मात्र फरक हुन सक्छ। तर तिनीहरूले प्रकट गर्ने कुरा सारमा उही हुन्छ। केही मानिसहरू ठूलो स्वरमा बोल्छन्, अरूले त्यसो गर्दैनन्; केहीले आफूलाई स्पष्ट रूपमा प्रकट गर्छन्, जबकि अरूले चाहिँ आफ्नो वास्तविकता कसैले नदेखून् भनेर कुरा लुकाउने कोसिस गर्छन्, र ती कुरा ढाकछोप गर्न र देखा पर्नबाट रोक्न हरतरिका प्रयोग गर्छन्। अरूलाई आफ्नो वास्तविकता देख्‍न नदिनु, र ढाकछोप गर्नु—के यसो गरेर तैँले परमेश्‍वरलाई ती कुरा पत्ता लाउनबाट रोक्छस् जस्तो लाग्छ? तैँले यसो गरेमा, के तेरो भ्रष्ट स्वभाव रहँदैन जस्तो लाग्छ? हरेक व्यक्तिको भ्रष्ट सार उस्तै हुन्छ—एउटा व्यक्ति र अर्को व्यक्तिमा के फरक हुन्छ र? व्यक्तिले सत्यतालाई कुन मनोवृत्तिसाथ लिन्छ, त्यो कुरा एउटा व्यक्तिदेखि अर्को व्यक्तिमा फरक पर्न सक्छ। केही मानिसहरू, सत्यता सुनेर सक्‍नेबित्तिकै, त्यसलाई स्विकार्न सक्छन्। तिनीहरूले त्यसलाई खाँदा तितो तर निलेपछि निको पार्ने औषधिको रूपमा लिन्छन्, र आफूलाई भित्रैबाट दुःख दिने रोग निको पार्न र समस्या समाधान गर्न त्यसलाई प्रयोग गर्छन्। तिनीहरू मामलाहरू सम्हाल्दा, व्यवहार गर्दा, कर्तव्य निभाउँदा, अरूसँग अन्तरक्रिया गर्दा, जीवनमा लक्ष्य र दिशा तय गर्दा, परमेश्‍वरका वचनहरूमा उत्तर खोज्छन् र जीवनमा सामना हुने समस्याहरू समाधान गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्छन्, र आफूले बुझेका कुराहरू अलिअलि गर्दै अभ्यास गर्छन्। उदाहरणको लागि, जब परमेश्‍वरले, “तिमीहरू सबैजना इमानदार व्यक्ति बन्न लागिपर्नुपर्छ,” भन्नुहुन्छ, तब यस्तो व्यक्तिले, “म कसरी इमानदार व्यक्ति बन्न सक्छु?” भनेर मनन गर्छ। परमेश्‍वरले मानिसहरू इमानदार बनून् भन्‍ने मापदण्ड तोक्‍नुहुन्छ; तिनीहरूले सत्य वचन बोल्नुपर्छ, दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्न आफ्नो हृदय खोल्नुपर्छ, र परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नुपर्छ। यसमा समावेश सिद्धान्तहरू यिनै हुन्, र यस्तो व्यक्तिले यी सिद्धान्तहरू सुन्नेबित्तिकै अभ्यास गर्नेछ। प्राकृतिक तवरमै, उसको अभ्यास अवधिमा कहिलेकाहीँ ऊ दाँयाबाँया बहकिन सक्छ र उसले जति खोजे पनि सही सिद्धान्तहरू नभेट्टाउन सक्छ, र अभ्यास गर्दा, कहिलेकाहीँ उसको अभ्यासमा विचलनहरू पनि आउन सक्छ। तर इमानदार व्यक्ति बन्ने यो मापदण्ड पूरा गर्न निरन्तर लागिपर्दा, ऊ केही वर्षमै इच्छित प्रभावको झन्झन् नजिक आइपुग्‍नेछ। ऊ जतिजति जिउँछ, त्यतित्यति नै मानव बन्छ र त्यतित्यति नै उसले आफू परमेश्‍वरको उपस्थितिमा भएको महसुस गर्छ, र उसको जीवनमा पनि झन्झन् बढी प्रगति हुन्छ। यस्ता मानिसहरू परमेश्‍वरद्वारा आशिषित हुने मानिसहरू हुन्। पहिलो प्रकारका व्यक्तिहरू यस्तै हुन्छन्।

अब हामीले पहिलो प्रकारका मानिसहरूबारे छलफल गरिसकेपछि, दोस्रो प्रकारका मानिसहरूबारे कुरा गरौँ। दुबै प्रकारकाले प्रवचन सुन्ने र परेश्‍वरको वचन पढ्ने भए पनि, पहिलो प्रकारको व्यक्तिले सत्यता बुझ्न सक्छ, र उसले भ्रष्ट स्वभाव प्रकट गर्दा, आत्मचिन्तन गर्न र यसो भन्दै हृदय खोल्‍न सक्छ, “म अहङ्कारी र आत्मधर्मी छु। मलाई कार्य गर्दा रवाफ देखाउन मन पर्छ, म सधैँ आफ्नै अभिप्राय र चाहनाहरू पाल्छु, हैसियतमा रमाउँछु र ख्याति र लाभका लागि प्रतिस्पर्धा गर्दै आनन्द उठाउँछु।” यसो भन्दै, ऊ आफैलाई चिन्न र सत्यतातर्फ लम्कन सक्षम बन्छ। तर दोस्रो प्रकारको व्यक्ति फरक हुन्छ। यस्तो व्यक्तिले आफू भित्रभित्रै भ्रष्ट भएको स्विकार्न त सक्ला र काँटछाँट सामना गर्दा, आफूले गल्ती गरेको कुरा पनि स्विकार्न सक्ला, तर ऊ किमार्थ सुध्रिनेछैन। उसले जतिसुकै प्रवचन सुने पनि, र जतिसुकै वचन र धर्मसिद्धान्तहरू बुझे पनि, सत्यता अभ्यास गर्न मान्दै मान्दैन, केवल आफूखुसी गरिरहन्छ। अनि, यस्तो व्यक्ति सङ्गति गर्नको लागि खुलेर बोल्न, अनि काँटछाँट, साथै परमेश्‍वरको ताडना स्विकार्न पनि सक्षम हुन्छ। तर उसले त्यो स्विकारेपछि, त्यसलाई धर्मसिद्धान्त मानिदिन्छ, र त्यो बुझ्नेबित्तिकै त्यसलाई पन्छ्याइदिन्छ, र त्यसपछि ऊ अपरिवर्तित रहँदै आफ्नै पुराना तरिकाहरूमा फर्किन्छ। सत्यतालाई धर्मसिद्धान्त मानेर व्यवहार गर्ने—यस्तो व्यक्तिको परिणाम के हुनेछ? उसले पक्कै पनि सत्यता अभ्यासलाई नियमहरू पालना गर्नु भन्ठान्नेछ। यस्तो व्यक्तिले परमेश्‍वरको वचन वा मापदण्डअनुसार कर्तव्य निभाउँदैन, बरु संसारसँग व्यवहार गर्ने शैतानी दर्शन र आफैले आफ्नै लागि सारसङ्क्षेप गरेका तौरतरिका र माध्यमहरूअनुसार समस्या समाधान गर्ने प्रयास गर्छ। उसले परमेश्‍वरको वचन सत्यता हो र शैतानी दर्शन भ्रम हो भनेर मुखले स्विकारे पनि, वास्तविक जीवनमा अझै पनि शैतानी भ्रमहरू नै अभ्यास गर्छ, र त्यसो गर्दा मनमा शान्तिसमेत महसुस गर्छ। परमेश्‍वरको वचन सत्यता हो भनेर स्विकारे पनि त्यसलाई अभ्यास गर्न नसक्ने व्यक्ति—के यो परमेश्‍वरलाई धोका दिने व्यक्ति होइन र? उसले परमेश्‍वरको वचन सत्यता हो र शैतानी दर्शन भ्रम हो भनेर स्विकारे पनि, उसलाई शैतानी दर्शन पनि काम लाग्न सक्छ भन्ने लाग्छ, र त्यसैले उसले सम्झौताको विधि अपनाउँछ, र ती दुईबीचको मध्यमार्ग हिँड्न रोज्छ, र यसैलाई सत्यता अभ्यास गर्नु भन्ठान्छ। ऊ न त परमेश्‍वर न त शैतानको पक्षमा उभिन्छ, र यसरी दुवैलाई नचिढ्याई बस्छ, र आफूलाई अति चलाख ठान्दै यस्तो सोच्छ, “म आफ्नो कर्तव्य निभाउने साथै सत्यता पछ्याउने व्यक्ति हुँ, त्यसैले मैले पक्कै पनि परमेश्‍वरको अनुमोदन पाउन सक्नेछु।” तिमीहरू मलाई भन त, के यस्तो खालको व्यक्ति सत्यता अभ्यास गर्ने व्यक्ति हो त? (होइन।) उसले परमेश्‍वरको वचन गम्भीरतापूर्वक सुन्छ, गम्भीरतापूर्वक नै टिपोट गर्छ र कण्ठ पार्छ, र समय दिएर त्यसलाई मनन पनि गर्छ, तर उसले वास्तवमा परमेश्‍वरका वचनलाई केमा प्रयोग गर्छ त? उसले परमेश्‍वरको वचन सुन्नुको उद्देश्य के हो त? (उसले त्यो अरूलाई व्याख्या गर्न र रवाफ देखाउन प्रयोग गर्छ।) त्यो एउटा पक्ष हो। अरू केही छ? (उसले त्यसलाई पालन गर्नुपर्ने नियम मान्छ।) कहिलेकाहीँ उसले त्यसलाई पालन गर्नुपर्ने नियम मान्छ, तर अरू के छ? यहाँ अरू धेरै परिस्थितिहरू छन्। कति मानिसहरूले परमेश्‍वरको वचनलाई पालन गर्नुपर्ने नियम बनाउँछन्, परमेश्‍वरको वचनको शाब्दिक अर्थ पछ्याउँछन्, र कुरो त्यत्तिमै सक्‍किन्छ। उदाहरणको लागि, सबैले इमानदार व्यक्ति कसरी बन्ने भन्नेबारे सङ्गति गर्दा, उसले तिनीहरूसँगै सङ्गति गर्छ। अनि, अरू कसैले “तपाईँको इमानदार व्यक्ति हुनुको वास्तविक अनुभव खै त?” भनेर सोध्दा, उसले “ए, मलाई मेरो कापी हेर्न दिनुहोस् है” भन्नेछ। यदि ऊसँग अनुभव भएको भए, के उसले त्यो बताइहाल्नेथिएन र? यदि त्यो वास्तवमै उसको आफ्नै अनुभव भएको भए, उसले कापीबाट किन पढ्नुपर्थ्यो र? यसले ऊसँग कुनै पनि प्रकारको वास्तविकता छैन भनेर पूर्णत: खुलासा गर्छ। अनि कति यस्ता मानिसहरू छन्, जो प्रवचन सुनेर सकेपछि, आफूले ती बुझेको विश्‍वास गर्छन्, र धर्मसिद्धान्तका केही वाक्यहरू उद्धृत गर्न सके भने, आफूले सत्यता बुझेको विश्‍वास गर्छन्: के यो सोचविचार गर्ने गलत तरिका होइन र? यस्तो व्यक्तिले यसो भन्छ, “म सत्यता बुझ्न सक्छु, ममा आत्मिक बुझाइ छ, म परमेश्‍वरको वचन र प्रवचनमा सुनेका कुराहरूको हरेक पक्ष बुझ्न सक्छु, र यसको अर्थ मसँग सत्यता वास्तविकता छ।” ऊ परमेश्‍वरको वचन नै सत्यता हो, त्यसले नै व्यक्तिको जीवन निर्माण गर्छ, अनि सत्यतालाई अभ्यास गर्नुपर्ने मात्र होइन, त्यसलाई व्यक्तिभित्र उत्पन्न हुने हरेक समस्या र कठिनाइ समाधान गर्न लागु पनि गर्नुपर्छ भन्ने तथ्यप्रति अनभिज्ञ हुन्छ। यस्तो व्यक्तिले सत्यता स्विकार्न सक्दैन, त्यसैले जबजब उसले परमेश्‍वरविरुद्ध विद्रोह गर्छ, उसले सधैँ आफ्नो व्यवहारलाई तार्किक कुराले पुष्टि गर्न खोज्छ। यसरी यो परमेश्‍वरविरुद्ध विद्रोह गर्नु हो भनी अनभिज्ञ हुँदा, उसलाई आफ्नै विद्रोहीपनको समस्या सुल्झाउनको लागि सत्यता खोज्न असम्भव हुन्छ। के तँलाई त्यस्तो अवस्थामा यस्ता मानिसहरूले आफ्ना कठिनाइको समाधान कसरी खोज्छन् भनेर थाहा छ? परमेश्‍वरको वचनलाई सत्यता सिद्धान्त नमान्ने व्यक्तिले, परमेश्‍वरको वचन सुनिसकेपछि, यस्तो सोच्छ: “के म साँच्चै विद्रोही भइरहेको छु? तर यस्तो परिस्थितिमा त यो क्षम्य नै हुन्छ। जोकसैले पनि यसरी नै सोच्नेथ्यो, यो सोच्ने एउटा तरिका मात्रै त हो, र यसलाई विद्रोह मान्न मिल्दैन। मैले अर्कोपटक यसरी सोचिन भने ठिकै हुनेछ, म असल र समर्पित नै हुनेछु!” त्यसपछि, ऊ यसबारे मनन गर्न जारी राख्छ, “यदि म समर्पित हुन सक्छु भने, यसको अर्थ म अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति नै हुँ, जोसँग परमेश्‍वर प्रसन्न हुनुहुन्छ।” अनि यसरी उसले आफैलाई माफ गरिदिन्छ। उसले आफू किन परमेश्‍वरविरुद्ध विद्रोह गर्न सक्षम भएँ वा आफ्नो विद्रोहको स्रोत के हो भनेर चिरफार गर्दैन, र यस मामलामा आफैलाई चिन्न थप खोजी गर्दैन, र उसले आफूभित्र जति नै धेरै विद्रोह पाले पनि, आत्मचिन्तन गर्दै गर्दैन—यो सत्यता नपछ्याउने व्यक्ति हो। यस्तो व्यक्तिले सत्यतालाई जीवन नमान्ने भएकोले, उसले जेसुकै गरे पनि, र उसले जेजस्तो विद्रोह वा भ्रष्टता प्रकट गरे पनि, सत्यतासँग मेल खाने बन्‍ने वा सत्यतासँगको सहसम्बन्ध पत्ता लगाई पाठ सिक्ने प्रयास नै गर्दैन। यो कुरा उसले सत्यतालाई प्रेम गर्दैन र ऊ सत्यता पछ्याउने व्यक्ति होइन भनेर पुष्टि गर्न पर्याप्त छ। समस्या सामना गर्दा, उसले आफैलाई कहिल्यै जाँच्दैन, सत्यतातर्फ कहिल्यै लम्किँदैन, र सत्यतासँगको सहसम्बन्ध पत्ता लगाउने प्रयास कहिल्यै गर्दैन—के ऊ अविश्‍वासीजस्तै छैन र? ऊ जतिसुकै वर्षदेखिको विश्‍वासी भए पनि, उसले अलिकति पनि जीवन प्रवेश प्राप्त गरेको छैन, र ऊ केही नियम पालना गर्ने र अलि कम दुष्कर्म गर्ने प्रयास मात्र गरिरहन्छ: यसलाई कसरी सत्यता अभ्यास गर्नु भन्न मिल्छ र? परमेश्‍वरप्रतिको यस्तो विश्‍वासले उहाँको अनुमोदन कसरी जित्न सक्छ र? कैयौँ मानिसहरूले दस वा बीस वर्षभन्दा बढी समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन् र अनगिन्ती वचन र धर्मसिद्धान्तहरू भट्ट्याउन सक्छन्। तिनीहरूको कुरा सुनेर, भर्खरै विश्‍वास गर्न थालेको व्यक्ति त तिनीहरूसँग अत्यन्तै प्रभावित होला, तर तिनीहरूसँग कति पनि सत्यता वास्तविकता हुँदैन, न त तिनीहरू कुनै वास्तविक अनुभवात्मक गवाही बताउन सक्षम नै हुन्छन्। यस्तो कसरी भएको हो? वास्तविक अनुभावात्मक गवाही कत्ति पनि नहुँनु समस्याजनक हुन्छ। त्यो भनेको कत्ति पनि जीवन प्रवेश नहुनु हो! जब अरूले ऊसँग सत्यता सङ्गति गर्छन्, यस्तो व्यक्तिले “भइगो; म सबै कुरा बुझ्छु, र मैले सबै धर्मसिद्धान्त बुझेको छु” भनेर भन्नेछ। अनि, उसले यसो भन्नुको आधार के हो? उसले यसो भन्नुमा गलत के छ? उसले प्रवचन सुन्दा र परमेश्‍वरको वचन पढ्दा, किन धर्मसिद्धान्त मात्र बुझ्न सक्छ तर सत्यता बुझ्न सक्दैन? उसलाई धर्मसिद्धान्तबारे कसरी बोल्ने भनेर आउँछ, तर परमेश्‍वरको वचन कसरी अनुभव गर्ने भनेरचाहिँ आउँदैन, र फलस्वरूप, ऊ जतिसुकै वर्षदेखिको विश्‍वासी भए पनि, उसले एउटा समस्या पनि समाधान गर्न सक्दैन। यस्तो कसरी भएको हो? (उसले सत्यता स्विकार्दैन।) कुरो त्यही हो। उसले सत्यता नस्विकार्ने भएकोले यस्तो भएको हो। यो त नियमित रूपमा बिरामीहरूको रोग उपचार गर्ने डाक्टरको जस्तै कुरा हो, जो ती बिरामीहरूलाई औषधि लेखेर दिन्छ र तिनीहरूको शल्यक्रिया गर्छ; उसले चिकित्सकीय अभ्यासको हरेक सिद्धान्त पनि बुझ्न सक्छ, तर ऊ आफैलाई क्यान्सर भएको पत्ता लाग्दा, उसले “मेरो रोग कसैले निको पार्न सक्दैन” भन्छ। कसैले उसलाई “तपाईँले केमोथेरापी गर्नैपर्छ, तपाईँले शल्यक्रिया गर्नैपर्छ” भनेर भन्दा, उसले “तपाईँले मलाई त्यसो भन्नै पर्दैन, मलाई यसबारे सबै थाहा छ” भन्छ, तर त्यसबारे सबै थाहा भएर पनि, यदि उसले आफ्नै रोग निको पार्न कुनै पाइला चाल्दैन भने, के ऊ सन्चो हुन सक्छ त? ऊ डाक्टर भएको केही फाइदा हुँदैन। धर्मसिद्धान्तको हरेक पक्ष बुझ्ने, तैपनि त्यसलाई अभ्यास नगर्ने—यो दोस्रो प्रकारको व्यक्ति हो। बाहिरबाट, सबैलाई यस्तो प्रकारको व्यक्तिले काँटछाँट स्विकार्छ, प्रवचन सुन्छ र ऊ भेलाहरूमा नियमित रूपमा सहभागी हुन्छ, र ऊ काम गर्न, कर्तव्य निभाउन, कठिनाइ भोग्न र आफूलाई समर्पित गर्न उत्साहित नै हुन्छ भन्ने लाग्छ। तर एउटा कुरामा ऊ कमजोर हुन्छ, र त्यो सबैभन्दा खतरनाक खालको कमजोरी हो: उसले प्रवचनमा वा परमेश्‍वरको वचनमा सुनेको कुरालाई कहिल्यै सत्यता मानेर अभ्यास गर्दैन। यसको अर्थ उसले सत्यता स्विकार्दैन। अनि, सत्यता नस्विकार्ने व्यक्तिको सारगत समस्या के हुन्छ? (उसले सत्यतालाई प्रेम गर्दैन।) सत्यतालाई प्रेम नगर्ने व्यक्तिको परमेश्‍वरप्रतिको दृष्टिकोण र मनोवृत्ति कस्तो हुन्छ? यस्तो व्यक्तिले किन सत्यतालाई प्रेम गर्दैन? मुख्य कारण के हो भने, उसले सत्यतालाई सत्यता नै मान्दैन। उसको दृष्टिकोणबाट हेर्दा, सत्यता त केवल एउटा राम्रो धर्मसिद्धान्त मात्र हो। के यस्तो प्रकारको व्यक्तिलाई शैतानका विभिन्न खाले झूट र भ्रमहरू खुट्ट्याउन आउँछ त? पक्कै आउँदैन, किनभने शैतानका सबै झूट र भ्रमहरू मानिसहरूलाई राम्रो सिद्धान्तझैँ लाग्छन्। दुष्कर्म गर्दा, दुष्ट व्यक्तिले पनि अरूलाई बहकाउन कर्णप्रीय तर्कहरू दिन खोज्छ, ताकि अरूले उसलाई समर्थन र अनुमोदन गरून् र उसलाई सही ठानून्। यदि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले सत्यतालाई एउटा राम्रो धर्मसिद्धान्तको रूपमा हेर्छ भने, त्यो अति बेतुकको कुरा हुनेछ। यस्तो व्यक्तिमा बुझ्ने क्षमताको कमी हुने मात्र होइन, ऊ सजिलै अरूद्वारा बहकिन र शैतानको औजार हुन पनि सक्छ। त्यसैले म भन्छु: जुन व्यक्तिसँग सत्यता बुझ्ने क्षमताको कमी हुन्छ, त्यो आत्मिक बुझाइ नभएको व्यक्ति हो। यस्तो व्यक्तिले त सत्यता बुझ्नु भनेकै धर्मसिद्धान्त बुझ्नु हो, र व्यक्तिले धर्मसिद्धान्त भट्ट्याउन सकुञ्जेल, उसले सत्यता बुझेको अर्थ लाग्छ भन्‍ने सोच्छ। यस्तो व्यक्तिलाई पक्कै पनि सत्यता अभ्यास गर्न आउँदैन, न त उसले सिद्धान्त भनेको के हो भनेर नै बुझ्न सक्छ। उसले धर्मसिद्धान्तको आफ्नै बुझाइअनुसार नियमहरू पालन गर्ने कोसिस मात्र गर्न सक्छ। परमेश्‍वरमा कैयौँ वर्ष विश्‍वास गरिसकेपछि, र धेरै धर्मसिद्धान्तहरू राम्रैसित बुझिसकेपछि, उसले केही थप नियमहरू पालन गर्नेछ र केही थप असल कार्यहरू गर्नेछ, वा उसले बिनाकुनै गुनासो धेरै कठिनाइहरू सहँदै, अलिअलि बलिदान पनि गर्न सक्छ। उसले यी कुराहरूलाई परमेश्‍वरका वचनहरू अभ्यास गर्नु, र सत्यता अभ्यास गर्नु हो भन्ने मान्छ। वास्तवमा, उसले बाहिर जतिसुकै नियमहरू पालना गरेजस्तो देखिए पनि, र उसले जतिसुकै कठिनाइ भोगे पनि र बिनाकुनै गुनासो जतिसुकै मूल्य चुकाए पनि, यीमध्ये कुनै कुराले पनि उसले सत्यता अभ्यास गरिरहेको छ भन्ने अर्थ दिँदैन, परमेश्‍वरमा समर्पित हुने कुराको अर्थ दिनु त झन् परै जाओस्।

अब यी सबै कुराहरू भनिसकिएपछि, सत्यता अभ्यास गर्ने मापदण्ड के हो त? तैँले सत्यता अभ्यास गरिरहेको छस् छैनस् भनेर कसरी मापन गर्छस्? सबै कुरा विचार गर्दा, के तँ परमेश्‍वरको वचन सुन्ने र स्विकार्ने व्यक्ति होस् त—परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ? परमेश्‍वरले यो कुरालाई यसरी हेर्नुहुन्छ: परमेश्‍वरप्रतिको विश्‍वास दाबी गर्दा र प्रवचन सुन्दा, के तैँले आफ्नो गलत भित्री स्थितिलाई, परमेश्‍वरविरुद्धको विद्रोहलाई, र आफ्नो सबै प्रकारका भ्रष्ट स्वभावलाई, सत्यताले प्रतिस्थापित गरेको छस्? के तँ परिवर्तित भएको छस्? के तँ आफ्नो बाहिरी व्यवहार र कार्यहरूमा मात्र परिवर्तित भएको छस्, कि तेरो जीवन स्वभाव नै परिवर्तन भएको छ? परमेश्‍वरले तँलाई यी कुराहरूको आधारमा मापन गर्नुहुन्छ। यति धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि, र परमेश्‍वरका वचनहरू खाइपिइसकेपछि, के तँभित्र आएका परिवर्तनहरू सतही मात्र हुन् कि आधारभूत प्रकृतिका हुन् त? के तँ तेरो स्वभावको हिसाबमा परिवर्तन भएको छस्? के तेरो परमेश्‍वरविरुद्धको विद्रोह कम भएको छ? कुनै समस्या आइपर्दा, र तेरो विद्रोहीपन खुलासा हुँदा, के तँ आत्मचिन्तन गर्न सक्छस्? के तँ परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? के कर्तव्यप्रति र परमेश्‍वरले तँलाई सुम्पनुभएको आज्ञाप्रति तेरो मनोवृत्तिमा कुनै परिवर्तन आएको छ? के तेरो बफादारी बढेको छ? के तँभित्र अझै पनि अशुद्धताहरू छन्? तैँले व्यक्तिगत रूपमा पालेका अभिप्राय, लक्ष्य, चाहना र योजनाहरू—के यी कुराहरू तैँले प्रवचन सुनिरहेको समयमा पखालिएका छन्? यी सबै कुरा नै मुल्याङ्कनका मापदण्डहरू हुन्। यी कुराहरूअलावा, तेरा परमेश्‍वरबारेका कति धारणा र गलत अवधारणाहरू हटेका छन् त? के तँ अझै पनि ती पहिलेका अस्पष्ट धारणा, कल्पना र निष्कर्षहरूलाई पक्रिबसेको छस्? के तँ अझै पनि परीक्षा र शोधनप्रति गुनासो, प्रतिरोध वा नकारात्मक भावनाहरू पाल्छस्? यदि साँच्चै यी नकारात्मक तत्त्वहरूलाई अझै पनि सम्बोधन गरिएको छैन भने, र यदि तैँले आफूमा कुनै वास्तविक परिवर्तन ल्याएको छैनस् भने, यसले एउटै तथ्य पुष्टि गर्छ—तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। त्यसरी नै, जसरी एउटा बीउ जमिनमा रोपेर मलजल गरिएको धेरै दिनपछि पनि अङ्कुरित हुँदैन भने, यसले त्यो बीउमा जीवन छैन भन्ने पुष्टि गर्छ। उदाहरणको लागि, परमेश्‍वरमा विश्‍वास गर्ने केही यस्ता मानिसहरू छन्, जो पहिला सधैँ हेपाइ, बहिष्कार र तिरस्कारमा परेका थिए, र अहिले तिनीहरू भविष्यमा आफ्नो शिर उच्च राख्न सकूँ भनेर परमेश्‍वरमा विश्‍वास गर्छन्। केही समय विश्‍वास अपनाइसकेपछि, यस्तो व्यक्तिले आफ्नो कर्तव्य निभाइरहँदा र आफूलाई समर्पित गरिरहँदा यो अभिप्राय पाल्न जारी राख्छ, र ऊ आफूलाई समर्पित गर्नमा झन्झन् उर्जा लगाइरहन्छ, र अन्त्यमा ऊ मण्डलीमा अगुवा बन्छ, र त्यसपछि उसले आफ्नो शिर उच्च राख्न सक्‍ने महसुस गर्छ। तर उसको अभिप्राय सुल्झिएको हुँदैन, र भित्रभित्रै उसले यस्तो सोच्छ: “यदि म अझै ठूलो अगुवा बन्थेँ भने, के त्यसले मेरो शिर अझै उच्च बनाउँथेन र? परमेश्‍वरमा विश्‍वास गर्नु नै हिँड्नुपर्ने मार्ग रहेछ!” ऊ परमेश्‍वरको घरमा आउनु भनेको उसले शिर उच्च राख्न सक्षम हुन र हैसियत कमाउनको खातिर थियो र यो अभिप्राय पूरै अवधिभर नसुल्झिएकै अवस्थामा छ। उसले कैयौँ वर्ष काम गरेको छ, कैयौँ वर्ष प्रवचन सुनेको छ, र कैयौँ वर्ष परमेश्‍वरका वचन खाने र पिउने गरेको छ, तैपनि उसले यो एउटा समस्या सम्बोधन गर्न सकेन। के यसरी परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उसले आफ्ना उचित कार्यहरू बेवास्ता गर्नु होइन र? व्यक्तिले सत्यता प्राप्त गर्न र जीवन प्राप्त गर्न प्रवचन सुन्छ र परमेश्‍वरका वचनहरू पढ्छ, तर उसले कति धेरै वर्षदेखि सत्यता वा जीवनको कुनै पनि पक्ष प्राप्त नगरीकनै विश्‍वास अपनाएको छ। यो मनन गर्न योग्य समस्या हो। केही मानिसहरूलाई सत्यता सङ्गति गर्न वा परमेश्‍वरको गवाही दिन नआए पनि, तिनीहरूसँग केही न केही वास्तविक अनुभव हुन्छ। काँटछाँट सामना गर्दा, तिनीहरू आत्मचिन्तन गर्न सक्छन् र तिनीहरूले सत्यता पनि स्विकार्न सक्छन्, र पछि आफूलाई सुधार्न साँच्चै आफूमा परिवर्तन ल्याउँछन्। यसले यी मानिसहरूसँग साँचो आस्था छ भन्ने पुष्टि गर्छ। तिनीहरूमाथि जतिसुकै पीडा र दुर्भाग्य आइपरे पनि, तिनीहरू पछि हट्दैनन्, र परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूको हृदय झन्झन् साँचो बन्दै जान्छ। मामलाहरू सम्हाल्दा, अब तिनीहरू सिद्धान्तहरूद्वारा निर्देशित हुन्छन्, र तिनीहरूले प्रकट गर्ने भ्रष्टता पनि निकै कम भएको हुन्छ, र कर्तव्य निर्वाह गर्दा तिनीहरूमा अझ प्रबल जिम्मेवारीबोध हुन्छ। के तँ यस्तो मानिसले सत्यता बुझ्दैन भनेर भन्न सक्छस्? ऊभित्र आएका परिवर्तनहरूको दृष्टिकोणबाट हेर्दा, यस्तो व्यक्तिले निश्‍चित रूपमै सत्यता वास्तविकता जिइरहेको छ। यसो गरेर नै उसले आफ्नो हृदयको गहिराइमा परमेश्‍वरको वचन आत्मसात्‌ गरेको छ। ऊसँग वाक्पटुताको वरदान नभए पनि, उसलाई निश्‍चय नै सत्यता अभ्यास कसरी गर्ने भनेर थाहा छ, र साथै उसले मामलाहरू सम्हाल्दा, ऊ सिद्धान्तहरूद्वारा डोऱ्याइएको छ, उसले ठोस उद्देश्यहरू हासिल गर्न आफूले सक्दो गरिरहेको छ र बिनाकुनै गुनासो हरप्रकारका कठिनाइहरू सहिरहेको छ। यो कुरा परमेश्‍वरको वचनले ऊभित्र काम गरिरहेको छ, त्यसले आफ्नो प्रभाव हासिल गरिरहेको छ र त्यो उसको जीवन बन्न थालेको छ भन्ने प्रमाण हो।

अहिले भर्खर हामीले दुई प्रकारका मानिसहरूबारे कुराकानी गरिरहेका थियौँ। पहिलो प्रकारको व्यक्तिको व्यवहार सरल छ: परमेश्‍वरको वचन सुन्दा, ऊ त्यसलाई अभ्यास गर्न सक्छ। दोस्रो प्रकारको व्यक्तिले, परमेश्‍वरको वचन धेरै सुनेपछि, त्यसलाई अभ्यास गर्न पूर्ण रूपमै चाहिँ असफल हुँदैन। उसले आफ्नै मनमा त्यो अभ्यास गरिरहेको कल्पना गर्छ, किनभने उसले आफ्नो परिवार र पेशा त्यागेर आफ्नो सबथोक अर्पित गरेको हुन्छ। अनि, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरलाई समर्पित गर्ने केही मानिसहरू पनि छन्, जो ब्र्हमचार्यको मार्ग रोज्छन्, र धन पछ्याउन इन्कार गर्छन्, र सबैकुरा अर्पित गर्छन्, तर तिनीहरूको भित्री अवस्था कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरप्रतिको तिनीहरूको गुनासो, गलतबुझाइ, धारणा र कल्पना, साथै तिनीहरूको अहङ्कारी स्वभाव, निरङ्कुश र मनोमानी आचरण—यी सबै सदैव अपरिवर्तित नै रहन्छन्, र तिनीहरू शैतानी दर्शनअनुसार नै जिउन जारी राख्छन्, र तिनीहरू अविश्‍वासीहरूभन्दा अलिकति मात्र फरक हुन्छन्। यसप्रकारका व्यक्तिले मुखले मात्र परमेश्‍वरमा विश्‍वास गर्छु भन्छन्, र तिनीहरू अविश्‍वासीहरूभन्दा थोरै मात्र राम्रा हुन्छन्—तिनीहरूले ठूला दुष्कर्महरू गर्दैनन्। बाहिर, यस्ता व्यक्तिहरू असल भएझैँ देखिन्छन्। तर तिनीहरू सत्यता पछ्याउँदैनन्, र जतिसुकै प्रवचन सुने पनि, तिनीहरूले आफ्नो जीवन स्वभावमा कुनै पनि परिवर्तन गर्दैनन्। यसप्रकारका व्यक्तिले परमेश्‍वरको वचनलाई कसरी अर्थ्याउँछन्? तिनीहरूले त्यसलाई राम्रो धर्मसिद्धान्त मान्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यता मान्छन्, तर तिनीहरूले सत्यता मानेको कुरा त वास्तवमा धर्मसिद्धान्त हो—त्यो धर्मसैद्धान्तिक प्रकृतिको कुरा हो, र त्यो त्यत्ति नराम्रो नभएको कुरा हो। तिनीहरूले केही नियम पालन गर्न सक्छन्, तर तिनीहरूको जीवन स्वभाव कति पनि परिवर्तन हुँदैन। यिनीहरू दोस्रो प्रकारका मानिसहरू हुन्।

अब म तेस्रो प्रकारका मानिसहरू—गैरविश्‍वासीहरूबारे कुराकानी गर्नेछु। गैरविश्‍वासीहरू परमेश्‍वरबारे सधैँ शङ्का गर्छन्। यसप्रकारको व्यक्तिले परमेश्‍वरका वचनहरू सुनेपछि भित्रभित्रै स्वीकार गर्छ: “यो प्रवचन सही हो, यी देहधारी परमेश्‍वरले बोल्नुभएका वचनहरू हुन्। यो मण्डली मूलतः असल मानिसहरूले भरिएको छ। यो राम्रो ठाउँ हो, यहाँ मानिसहरूले न त उत्पीडन भोग्छन् न त दुर्व्यवहार खेप्छन्, अनि तिनीहरूले यहाँ न त आँसु झार्छन् न त पीडा भोग्छन्; यो साँच्चै एउटा आरामदायी घर, एउटा आश्रयस्थल हो। यहाँका मानिसहरू चारैतिरबाट, विभिन्न देश र स्थानबाट आएका छन्, यिनीहरू दयालु र हेरचाह गर्ने खालका छन्, सङ्गतिमा आफ्नो हृदय खोल्न सक्षम छन्, र यिनीहरू एकअर्कासँग निकै राम्ररी मिलेर बस्छन्—यिनीहरू सबै असल मानिसहरू हुन्। माथिकाहरूले दिइरहेका प्रवचनहरू असल अनि सकारात्मक ऊर्जाले भरिएका छन्, र परमेश्‍वरका सबै वचनहरू सत्यता र सकारात्मक कुरा हुन्। यी प्रवचनहरू सुन्दा आत्माले पोषण र लाभ पाउँछ। अनि, मानिसहरूले परमेश्‍वरको उपस्थितिमा जिउँछन्, आनन्द, उल्लास र खुसी अनुभव गर्छन्; पृथ्वीको स्वर्गमा जिएको अनुभूति गर्छन्। यस्तोमा, व्यक्तिले प्रतिभाशाली बनेर परमेश्‍वरको घरमा योगदान गर्न सके, झनै राम्रो हुनेछ।” उसले परमेश्‍वरका वचन र प्रवचनका विषयवस्तुलाई सकारात्मक सिद्धान्त, शिक्षा, र प्रसिद्ध व्यक्तित्व र महान्‌ मानिसहरूका असल धर्मसिद्धान्त मान्छ—तर के उसले तिनलाई अभ्यास गर्छ त? (गर्दैन।) किन गर्दैन? किनभने यी सत्यता अभ्यास गर्दा निश्‍चित तहको कठिनाइ हुन्छ; र उसले कठिनाइ भोगेर मूल्य चुकाउनुपर्ने हुन्छ! उसलाई यी वचन कसरी बोल्ने, त्यो जाने पुग्छ, अभ्यास गर्नु जरुरी छैन, र परमेश्‍वरमा विश्‍वास गर्ने कुरालाई त्यति गम्भीरतापूर्वक लिनुपर्दैन भन्ने लाग्छ—ठ्याक्‍कै त्यसरी नै, जसरी धर्मभित्र परमेश्‍वरमा विश्‍वास गर्नु केवल एक सोख हुन्छ, र जहाँ अलिकति प्रयास लाउनु र भेलाहरूमा भाग लिनु पनि काफी नै हुन्छ। उसले परमेश्‍वरका वचनहरूलाई पूर्णतया र साँचो रूपमा स्विकार्न सक्दैन, अनि उसले तीबारे धारणाहरूसमेत राख्छ। उदाहरणको लागि, जब परमेश्‍वरले इमानदार व्यक्ति हुनु भनेको कालोलाई कालो र सेतोलाई सेतो भन्नु र कहिल्यै झूट नबोल्नु हो भनेर भन्नुहुन्छ, उसले बुझ्दै बुझ्दैन, र यस्तो सोच्छ: “के सबैले झूट बोल्दैनन् र? सबैसँग खुलस्त हुनु, रक्षात्मक नहुनु, र परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुनु—के यो मूर्खता होइन र?” उसले यस्तो व्यवहार गर्नु मूर्खता हो, व्यक्तिको आचरण यस्तो हुनुहुन्न भन्‍ने सोच्छ। ऊ परमेश्‍वरको वचन सत्यता हो भनेर त स्विकार्छ, तर उसलाई परमेश्‍वरको वचनअनुसार अभ्यास गर्न आग्रह गर्नु व्यर्थ हुन्छ। तसर्थ, यस्ता मानिसहरूले परमेश्‍वरका वचनलाई अर्धहृदयी मनोवृत्तिसाथ व्यवहार गर्छन्, तिनीहरूले परमेश्‍वरका सबै वचन सही र सत्यता हुन् भन्ने मात्र मान्छन्, तर तिनलाई स्विकार्न र अभ्यास गर्न मान्दैनन्। जब परमेश्‍वरको घरलाई मानिसहरूको केही प्रयत्‍न जरुरी पर्छ, तिनीहरू त्यो गर्न तयार त हुन्छन्, तर त्यसमा तिनीहरूको लक्ष्य के हुन्छ? त्यो आशिष् पाउनु र परमेश्‍वरको अनुग्रहमा अझ बढी रमाउनु भन्‍ने हुन्छ; र यदि तिनीहरूले स्वर्गको राज्य प्रवेश गर्ने मौका पाए भने, त्यो त झनै ठूलो सौभाग्य हुन्छ। तिनीहरूको अपेक्षा यस्तै हुन्छन्; र तिनीहरूको विश्‍वास यस्तै हुन्छ। तर सत्यता र परमेश्‍वरको वचनप्रतिको तिनीहरूको मनोवृत्तिचाहिँ कस्तो हुन्छ नि? तिनीहरूको लागि, परमेश्‍वरको वचन र सत्यता ऐच्छिक र अनावश्यक, र फुर्सदमा जाँच गर्ने र खाली समय बिताउन मन बहलाउने कुरा हो; तिनीहरू परमेश्‍वरको वचनलाई सत्यता र जीवन पटक्कै मान्दैनन्। यो कस्तो खालको व्यक्ति हो? यो गैरविश्‍वासी हो। यस्ता गैरविश्‍वासीहरू सत्यताले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन सक्छ भनेर स्विकार्न मान्दैनन्, र सत्यता र जीवन के हो भनेर पनि तिनीहरू बुझ्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्ने र मुक्ति प्राप्त गर्ने, साथै मानिसहरूको पापी प्रकृति कसरी समाधान गर्ने भन्ने मामलामा, तिनीहरूसँग अस्पष्ट बुझाइ मात्र हुन्छ र ती मामलाप्रति कुनै चासो हुँदैन। तिनीहरू यसो भन्छन्: “मानिसहरू शून्यतामा जिउँदैनन्, जीवित रहेसम्म हामीले खानुपर्छ; हामी वास्तवमा जनावरहरूभन्दा त्यत्ति फरक छैनौँ। हामी माथिल्लो तहका जनावरहरू मात्रै हौँ, र हामी अस्तित्वको खातिर मात्र यहाँ छौँ।” सत्यताबारे तिनीहरू कुनै चासो देखाउँदैनन्, र त्यसैले तिनीहरूले परमेश्‍वरमा जतिसुकै वर्ष विश्‍वास गरेका भए पनि वा जति धेरै प्रवचन सुनेका भए पनि, तिनीहरूले अझै पनि परमेश्‍वरका वचन सत्यता हो होइन, परमेश्‍वरमा विश्‍वास गर्दा मुक्ति पाइन्छ पाइन्न, वा मानवजातिको भावी परिणाम र गन्तव्य के हुनेछ भनेर स्पष्टसँग भन्न सक्दैनन्। यदि तिनीहरू यी कुराबारे अस्पष्ट छन् भने, तिनीहरूको अन्योल कति गम्भीर होला! तिनीहरू परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ, वा मानिसहरूले परमेश्‍वरको न्याय र सजाय स्विकारेर कसरी मुक्ति प्राप्त गर्छन्, वा तिनीहरूले सत्यता वास्तविकतामा प्रवेश गरेर कसरी परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न सक्छन् भन्ने कुरामा कुनै चासो देखाउँदैनन्। विस्तृत रूपमा भन्नुपर्दा, तिनीहरू इमानदार व्यक्ति कसरी बन्ने, कर्तव्य कसरी निभाउने र यस्तै अन्य मामलाहरूमा कुनै चासो देखाउँदैनन्। खासगरी, अरूले मानिसहरू परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित हुनैपर्छ भनेर भन्दा, तिनीहरू झनै घिनाउँछन्, र यस्तो सोच्छन्: “यदि मानिसहरू सधैँ परमेश्‍वरप्रति समर्पित हुने हो भने, दिमाग हुनुको के अर्थ? यदि मानिसहरू सधैँ परमेश्‍वरप्रति समर्पित हुन्छन् भने त तिनीहरू दास बन्छन्।” गैरविश्‍वासीहरूको दृष्टिकोण यहीँ खुलासा हुन थाल्छ। तिनीहरू परमेश्‍वरमा समर्पित हुनु अनावश्यक र आत्मअपमानको कार्य हो, यो गौरव गुमाउनु हो, परमेश्‍वरले मानिसहरूमाथि यस्ता मापदण्ड थोपर्नु हुँदैन र मानिसहरूले ती स्विकार्नु हुँदैन भन्ने विश्‍वास गर्छन्। तिनीहरू मानिसहरूलाई अनुग्रह प्राप्त गर्न, असल कार्य गर्न र असल आचरण राख्न सक्षम बनाउनेबारे छलफल गर्ने केही निश्‍चित प्रवचनहरूलाई मन नलागीनलागी स्विकार्न सक्छन्, तर कैयौँ परीक्षा स्विकारेर सिद्ध पारिएको पत्रुसबारे कुरा गर्दा, त्यो बुझ्नै सक्दैनन्। तिनीहरू सोच्छन्, “के त्यो मानिसहरूलाई खेलौनाझैँ खेलाउनु र यातना दिनु होइन र? परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने साँचो हो, तर त्यसो भए पनि, उहाँले मानिसहरूलाई यस्तो व्यवहार गर्न सक्नुहुन्न!” तिनीहरू परमेश्‍वरको कामलाई सत्यताको रूपमा स्विकार्दैनन्; तिनीहरू परमेश्‍वरले मानिसलाई मुक्ति दिने यो विधिलाई मालिकले दासलाई गरेको व्यवहारको रूपमा—र मनपरी गरेको रूपमा हेर्छन्—तिनीहरूले कोर्ने सम्बन्ध यस्तै हुन्छ। के यस्तो व्यक्तिले सत्यता बुझ्न सक्छ? (सक्दैन।) के यस्ता मानिसहरू मण्डलीमा छन्? (छन्।) के यस्तो व्यक्तिले आफै मण्डली छोडेर जान्छ? (जाँदैन।) किन छोडेर जाँदैन? किनभने उसले यस्तो सोच्दै, भाग्यशाली हुने आशा गरिरहेको हुन्छ, “बाहिरी संसार अँध्यारो र दुष्ट छ; त्यहाँ बाँच्न गाह्रो छ। मैले कहाँ समय बिताउँछु भन्ने कुराले के फरक पर्छ र? मैले मण्डलीमै समय बिताएको राम्रो। यहाँ मैले परमेश्‍वरको अनुग्रहको आनन्दसमेत उठाउन सक्छु, र मलाई यो कुरामा घाटा हुनेछैन। यहाँ खानेपिउने कुराहरू टन्नै छन्, र मानिसहरू पनि असल नै छन्—कसैले मलाई हेप्नेवाला छैन। त्यसमाथि, कर्तव्य निभाउँदा र आफैलाई परमेश्‍वरमा समर्पित गर्दा र मूल्य चुकाउँदा, परमेश्‍वरबाट आशिष्‌समेत पाइन्छ। यो सौदामा मलाई घाटा हुनेछैन!” अनि त्यसैले, यसबारे सोचविचार गरेपछि, तिनीहरू मण्डलीमा बस्‍नु सार्थक छ भन्‍ने निष्कर्ष निकाल्छन्। यदि कुनै दिन तिनीहरूलाई त्यहाँ बस्‍न सार्थक लागेन भने, र अब यसबाट केही फाइदा पाइन्न भन्ने लाग्यो भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने रुचि गुमाउनेछन् र मण्डली छोड्‍न चाहनेछन्। तिनीहरू यस्तो सोच्छन् “जे होस्, मैले धेरै घाटा भोगिनँ, न त आफ्नो पूरै हृदय र मन नै लगाएँ। मसँग सीप छ, म आफ्नो पेशा जान्दछु, र मसँग डिप्लोमा छ, म पहिलेजस्तै संसारमा बाँच्न सक्छु; मैले आफ्नो लागि सम्पत्ति बटुल्न वा सरकारी जागिर भेट्टाउन सक्छु। त्यो त क्या दामी हुनेथ्यो!” तिनीहरू कामकुराहरूलाई यसरी नै हेर्छन्। यसप्रकारको व्यक्तिको दृष्टिमा, परमेश्‍वरले बोल्नुभएका वचन र परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूको मूल्य राष्ट्रपतिको भाषणभन्दा कम हुन्छ; तिनीहरू परमेश्‍वरको वचनलाई यस्तो घृणासाथ हेर्छन्। जब यस्ता खाले मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वास र सेवामा “तत्पर इच्छुकतासाथ” यस्ता दृष्टिकोण ल्याउँछन्, तिनीहरूले परमेश्‍वरको घरमा डेरा जमाई समय काट्छन् र छोडिजान चाहँदैनन्—अनि, यसो गर्नुको लक्ष्य के हुन्छ? तिनीहरू मनमा झिनो आशा राख्दै यस्तो सोच्छन्: “यदि परमेश्‍वरले सहनशीलता देखाई मलाई कृपा गर्नुहुन्छ, र मलाई राज्य प्रवेश गर्न दिनुहुन्छ भने, मेरा सपना साकार हुनेछन्। तर राज्य प्रवेश गर्न सकिनँ नै भने पनि, मैले परमेश्‍वरको टन्नै अनुग्रहको आनन्द उठाइसकेको हुनेछु, त्यसैले मलाई घाटा हुनेछैन।” जब तिनिहरूले परमेश्‍वरमाथिको विश्‍वासमा यस्तो पर्खेर हेरम्‌ भन्ने दृष्टिकोण ल्याउँछन्, के तिनीहरूले सत्यता स्विकार्न सक्छन् त? के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् त? के तिनीहरूले परमेश्‍वरलाई सृष्टिकर्ताको रूपमा आराधना गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) यस्तो दृष्टिकोण राख्दा, तिनीहरूमा कस्ता स्थितिहरू उत्पन्न हुनेछन्? तिनीहरूले प्राय: परमेश्‍वरबारे गुनासो गर्नेछन् र उहाँलाई गलत बुझ्नेछन्। तिनीहरूले परमेश्‍वरका हरेक कार्यलाई मूल्याङ्कन, अनुसन्धान र जाँच गर्नेछन् र यो निष्कर्षमा पुग्नेछन्: “यो त परमेश्‍वरले गर्नुभएजस्तो देखिँदैन। यो परमेश्‍वरले गर्नुभएको कुरा नहुँदो हो त।” तिनीहरू हृदयमा प्रतिरोध, जाँच, मुल्याङ्कन अनि पर्खेर हेरम्‌ खालको मनोवृत्ति पाल्छन्—के यसलाई विद्रोहीपन भन्न सकिन्छ? (सकिन्छ।) त्यसपछि तिनीहरूको विद्रोहीपन र भ्रष्टता सामान्य मानिसको विद्रोहीपन र भ्रष्टता हुँदैन। यी कस्ता प्रकारका मानिसहरू हुन्? (गैरविश्‍वासीहरू।) गैरविश्‍वासीहरूले कस्तो व्यवहार गर्छन्? तिनीहरू परमेश्‍वरप्रति शत्रुवत् हुन्छन्। जब परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन् र कहिलेकाहीँ समर्पित हुन असक्षम हुन्छन्, तब परमेश्‍वरले यो विद्रोही स्वभाव हो, तिनीहरूमा विद्रोही सार छ भन्नुहुन्छ। तर उहाँ विश्‍वास नगर्नेहरूबारे के भन्नुहुन्छ? अनि शैतानबारे के भन्‍नुहुन्छ नि—के परमेश्‍वरले शैतान विद्रोही छ भनेर भन्नुहुनेथ्यो? (अहँ।) त्यसोभए परमेश्‍वरले के भन्नुहुनेथ्यो? परमेश्‍वरले त्यो दुश्मन हो, उहाँको विपरीत कुरा हो, र त्यो पूर्णतया उहाँको शत्रु हो भनेर भन्नुहुनेथ्यो। गैरविश्‍वासीहरूको परमेश्‍वरप्रतिको मनोवृत्ति जाँच र शङ्का गर्ने, साथै प्रतिरोध, गुनासो, विरोध र घृणा गर्ने हुन्छ। त्यस्तो व्यक्तिसँग सत्यता र परमेश्‍वरप्रतिको समर्पणबारे जति सङ्गति गर्‍यो, ऊ त्यति नै प्रतिकूल बन्नेछ। अनि, मुक्ति कसरी हासिल गर्ने र उहाँको सजाय, न्याय र काटछाँट स्विकारेर कसरी शुद्ध पारिने भन्नेबारे जति सङ्गति गर्‍यो, ऊ त्यति नै प्रतिकूल बन्नेछ, र उसले यी कुनै कुरा पनि स्विकार्न मान्नेछैन। यी मामलाबारे सङ्गति सुन्नेबित्तिकै, ऊ आफू बसेको ठाउँमा छट्पटिन थाल्छ, काँटीमा बसेझैँ सकसक र बेचैन हुन थाल्छ, कमिला तातोमा परेझैँ हुन थाल्छ। तर उसलाई डान्स क्लब वा बारमा जान दिइयो भने, ऊ पटक्कै छट्पटिँदैन; ऊ खुसी हुन्छ। उसलाई त्यस्तो ठाउँमा बस्नु ढुक्क र रमाइलो हुन्छ जस्तो लाग्छ—ऊ त्यसरी नै जिउन सक्ने भए, जीवन सार्थक हुनेथ्यो जस्तो लाग्छ। उसलाई निरन्तर सत्यता सुन्दा दिक्क लाग्छ, त्यसैले ऊ सुन्नै मान्दैन। यदि ऊ सत्यता सुन्नसमेत इच्छुक छैन भने, के उसले सत्यता स्विकार्न सक्छ त? पटक्कै सक्दैन। उसले आफूभित्र नकारात्मक, प्रतिरोधी र घृणायुक्त स्थिति बोकेर हिँड्छ, र सधैँ जाँच र शङ्का गरिरहन्छ। अनि, उसले के कुरा जाँच त? उसले सधैँ परमेश्‍वरका वचनहरू जाँच गर्छ। यो अब सानो कद हुनुको मामला रहेन; ऊ गैरविश्‍वासी र दुष्ट व्यक्ति हो। यस्तो व्यक्ति, सुरुदेखि अन्त्यसम्‍मै, सधैँ परमेश्‍वरविरुद्ध खडा रहनेछ, जाँच, शङ्का र प्रतिरोधमा संलग्न रहनेछ, र उसले सत्यता कदापि स्विकार्नेछैन, बरु यस्तो सोच्नेछ: “इमानदारीपूर्वक आफूलाई परमेश्‍वरमा अर्पित गर्ने व्यक्ति मूर्ख हो। सत्यता पछ्याउने र सत्यता अभ्यास गर्ने व्यक्ति मूर्ख हो। तिमीहरू आफ्नो परिवार त्याग्छौ, आफ्नाजनको हेरचाह गर्दैनौ, र परमेश्‍वरमा विश्‍वास गर्नमा मात्र ध्यान दिन्छौ; तर त्यत्रो विश्‍वास गरेपछि, तिमीहरू गरिब र अपहेलित नै रहन्छौ। हेर त, अविश्‍वासीहरू कति सजधजिएका हुन्छन्, अनि तिमीहरूले के लगाइरहेका छौ? म तिमीहरूजस्तो मूर्ख छैनँ।—मैले आफ्नो रक्षा गर्नैपर्छ। म पहिला देहगत सुख पछ्याउनेछु—त्यो यथार्थपरक हुनु हो।” यो गैरविश्‍वासीको वास्तविक रूप हो। जब परमेश्‍वरले पहिलोपल्ट देखा परेर आफ्नो काम गर्न सुरु गर्नुभयो, उहाँका निकै कम अनुयायीहरू थिए—धेरै भए १० हजार मानिस थिए—र हजार जना जतिले मात्र आफ्नो कर्तव्य निभाउँथे। पछि, सुसमाचारको काम फैलिँदै गर्दा, र यसले नतिजा देखाउन थालेपछि, कर्तव्य निभाउने मानिसहरूको सङ्ख्या बिस्तारै बढ्न थाल्यो। केही मानिसहरू उत्कृष्ट देखिने र प्रतिभा प्रदर्शन गर्ने मौका देखेर आबद्ध भए र कर्तव्य निभाउन थाले। “कस्तो अचम्‍म!” मैले भनेँ, “परमेश्‍वरको घरको काम प्रकट हुन थालिसकेको छ; अहिले कर्तव्य निभाउने यति धेरै मानिसहरू कसरी भएका होलान्? यत्तिका वर्ष यी मानिसहरू कहाँ लुकेका थिए?” वास्तवमा, यी मानिसहरूले धेरै अघि नै कुरा निर्क्योल गरिसकेका थिए: “यदि परमेश्‍वरको घरको काम फैलियो भने, म आउनेछु। यदि यो फैलिएन भने, म आउनेछैन। म पक्कै पनि यसमा कुनै श्रम लगाउनेछैन!” यी कस्ता खालका मानिस हुन्? यिनीहरू अवसरवादी हुन्। सबै अवसरवादीहरू गैरविश्‍वासी हुन्—तिनीहरू केवल उत्साहमा सम्मिलित भइरहेका छन्। बाहिरबाट हेर्दा, मानिसहरूले परमेश्‍वरको घरको काम गरिरहेजस्तो देखिन्छ, तर वास्तवमा परमेश्‍वरले सबथोकको अगुवाइ र मार्गदर्शन गरिरहनुभएको छ; काम पवित्र आत्माले गरिरहनुभएको छ। यसमा कुनै शङ्का छैन। परमेश्‍वर आफैले आफ्नो काम गरिरहनुभएको छ; उहाँको इच्छा अवरोधबिनै अघि बढ्छ। यस्तो महान्‌ कार्य कुनै पनि मानिसले सम्पन्‍न गर्न सक्दैन, यो मानव क्षमताभन्दा बाहिर छ। यो सबै परमेश्‍वरको वचनको अख्तियार र परमेश्‍वरको आफ्नै अख्तियारको नतिजा हो। मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्; तिनीहरू यस्तो सोच्छन्: “जब परमेश्‍वरको घरको शक्ति बढ्छ, मैले मेरो भाग पाउनेछु। त्यसैले, सद्‌गुण पुस्तकमा मेरो नाम टिप्न नभुल्नू!” यी कस्ता व्यक्ति हुन्? गैरविश्‍वासीको शब्दमा भन्नुपर्दा, तिनीहरूमा “दुराशय” हुन्छ—के हामीले तिनीहरूबारे यसो भन्न मिल्छ? (मिल्छ।) तिनीहरूले कस्तो दुराशय पालेको! अवश्य नै, यदि व्यक्तिले सत्यता स्विकार्न सक्छ भने, सुरुमा उसमा यस्तो अभिप्राय र दृष्टिकोण हुन सक्छ, वा उसको आस्था निकै झिनो हुन सक्छ—परमेश्‍वरले ती याद राख्नुहुन्न। यी दृष्टिकोण र मनोवृत्ति खुलासा गर्दा, परमेश्‍वर मानिसहरूलाई शङ्का र जाँच नगरी जीवनमा र परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्ग हिँड्ने तुल्याउन मात्र चाहनुहुन्छ। परमेश्‍वर तैँले जाँच गरेर वा टेलिस्कोपबाट हेरेर बुझ्न सकिने कुरा हुनुहुन्न। परमेश्‍वरको अस्तित्व र मुक्तिको काम तैँले कुनै पनि प्रकारको शोधअध्ययन गरेर निकाल्न सक्ने नतिजा होइनन्। यी तथ्य हुन्। चाहे उहाँलाई कसैले स्विकारोस् वा नस्विकारोस्, विश्‍वास गरोस् वा नगरोस्, पछ्याओस् वा नपछ्याओस्, परमेश्‍वरले यस्तो महान्‌ काम गर्नुहुन्छ भन्ने तथ्य त्यहीँको त्यहीँ हेर्न र छुन सकिन्छ। परमेश्‍वरले हासिल गर्न चाहनुभएको कुरालाई कसैले अवरोध गर्न र बदल्न सक्दैन, न त कुनै शक्तिले कुनै पनि तरिकाले रोक्‍न नै सक्छ। यो परमेश्‍वरले नै साँचो तुल्याउनुभएको तथ्य हो।

भर्खरै हामी तेस्रो प्रकारका मानिसहरू, अर्थात् गैरविश्‍वासीहरूबारे कुरा गरिरहेका थियौँ। यस्ता खालका व्यक्तिहरूले अवसरवादी हुँदै र छानविन गर्दै परमेश्‍वरमा शङ्कालु रूपले विश्‍वास गर्छन्। यदि आशिष् पाउने आशा नभए, तिनीहरू भाग्नु वा भाग्ने योजना बनाउनु नै ठिक हुन्छ भन्ने सोच्छन्। यस्ता व्यक्तिहरूले अहिले नै आत्मचिन्तन गर्दै पछुतो महसुस गर्न थाले भने, त्यति ढिलो हुनेछैन। तिनीहरू नमरेसम्म तिनीहरूको लागि आशाको त्यान्द्रो सधैँ बाँकी रहनेछ; तर यदि तिनीहरू जिद्दी गर्दै पश्‍चात्ताप गर्न अस्विकार गर्छन् र शङ्कालु रहिरहन्छन्, र सधैँ परमेश्‍वरको विरोध गर्छन् भने, परमेश्‍वरले पक्कै पनि तिनीहरूलाई अविश्‍वासीको रूपमा व्यवहार गर्नुहुन्छ र विपत्तिमाझ तिनीहरूलाई तिनीहरूकै हालतमा छोडिदिनुहुन्छ। मानिसहरूको सारबारे कुरा गर्दा, मानिस भनेको मूलत: मुठ्ठीभर माटोभन्दा बढी केही होइन, जसमा परमेश्‍वरले सास भरेर तँलाई जीवित देह र रगतको व्यक्ति बनाउनुभएको, र तँलाई जीवन दिनुभएको छ। यसरी तेरो जीवन परमेश्‍वरबाट आउँछ। परमेश्‍वरले तँलाई प्रयोग नगर्नुहुँदा, उहाँले तँलाई खाना, कपडा र अरू सबै कुरा प्रदान गर्नुभयो। तर उहाँले तँलाई प्रयोग गर्ने मनसाय राख्नुहुँदा, यदि तँ भाग्‍न खोज्छस् र निरन्तर परमेश्‍वरविरुद्ध जान्छस्, र सधैँ उहाँविरुद्ध उभिन्छस् भने—के परमेश्‍वरले अझै पनि तँलाई प्रयोग गर्न सक्नुहुन्छ र? नियमानुसार त परमेश्‍वरले तँलाई पन्छाउनैपर्ने हो। चाहे त्यो सुरुवातमा संसारको सृष्टिको दौरान होस्, वा व्यवस्थाको युग वा अनुग्रहको युगमा होस्, वा वर्तमान युगको आखिरी दिनहरूमा होस्, परमेश्‍वरले मानिसहरूका लागि धेरै वचनहरू बोल्‍नुभएको छ। चाहे त्यो प्रेरणाद्वारा होस् वा प्रत्यक्ष आमनेसामने कुराकानीद्वारा होस्, परमेश्‍वरले असंख्य वचनहरू बोल्नुभएको छ। अनि परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुको उद्देश्य के हो त? यो मानिसहरूले परमेश्‍वरको आशय बुझून् र बोध गरून्, परमेश्‍वरको इच्छा जानून्, र यी वचनहरू प्राप्त गरेपछि, स्वभाव परिवर्तन हासिल गर्न, मुक्ति प्राप्त गर्न, र जीवन प्राप्त गर्न सकिन्छ भन्ने जानून् भनेर हो। त्यसपछि, मानिसहरूले, यी वचनहरू स्विकार्न सक्छन्। परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुको उद्देश्य योभन्दा अरू केही होइन। अनि, यी वचनहरू र परमेश्‍वरको कामका विभिन्न विधिहरू स्विकारेपछि, मानिसहरूले अन्तत: के नतिजा प्राप्त गर्नेछन्? तिनीहरूले परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउन सक्नेछन् र बीचबाटै निष्कासित हुन र इन्कारिनबाट बच्नेछन्, र तसर्थ तिनीहरू अन्त्यसम्मै रहिरहने आशा हुनेछ। चाहे परमेश्‍वरले तँलाई अनुशासन, काटछाँट, र खुलासामा पार्नुभए पनि, वा कहिलेकाहीँ तँलाई त्याग्नु वा जाँच्नुभए पनि—उहाँले जे गर्नु भए पनि, मानिसहरूले यी वचनहरू बोल्नुपछाडिको परमेश्‍वरको अभिप्राय र सच्चा प्रयास इन्कार्न सक्दैनन्, होइन र? (हो।) तसर्थ, मानिसहरूले परमेश्‍वरसँग सानातिना मामलामा बहस गर्नु हुँदैन, र सधैँ परमेश्‍वरका असल अभिप्रायलाई आफ्ना झिना मापदण्ड र उहाँबारेका गलतबुझाइले मुल्याङ्कन गर्नु हुँदैन। तैँले चाहे जुनसुकै गलत दृष्टिकोण पालेको भए पनि, चाहे तेरो स्थिति जेजस्तो भए पनि, तैँले परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्विकार्न सकुन्जेल सकुन्जेल, र तिनलाई आफूले अभ्यास गर्ने सिद्धान्त र आफू हिँड्ने मार्गको दिशा र उद्देश्यको रूपमा लिन सकुन्जेल, तैँले चरणबद्ध रूपमा बिस्तारै परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्नेछस्। तर केचाहिँ चिन्ताको कुरा हो? चिन्ताको कुरा भनेको मानिसहरूले परमेश्‍वरका वचनहरू सुनेर तिनलाई केवल धर्मसिद्धान्त, नियम, वाक्याशं र नाराको रूपमा वा तिनलाई सूक्ष्म जाँच गरिनुपर्ने वस्तुको रूपमा व्यवहार गर्नु, अनि परमेश्‍वरलाई सूक्ष्म जाँच र प्रतिरोधको निसाना बनाउनु हो—यो समस्याजनक छ। यस्ता मानिसहरू परमेश्‍वरको मुक्ति पाउने व्यक्तिहरू होइनन्, तिनीहरूलाई मुक्ति दिने परमेश्‍वरसँग कुनै उपाय छैन। यो होइन कि परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न, बरु कुरा यो हो कि तिनीहरूले नै उहाँको मुक्ति स्विकार्दैनन्—भन्न सकिने कुरा यति मात्र हो, र यो तथ्य हो।

व्यक्तिलाई अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन र स्वभाव परिवर्तन हासिल गर्न सक्षम बनाउने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? सत्यता स्विकार्नु र अभ्यास गर्नु—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो, र यही नै सत्यता पछ्याउने अभ्यासको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्नु भनेको अभ्यासको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो; यो व्यक्तिको जीवन प्रवेशसँग सोझै सम्बन्धित हुन्छ। निष्ठासाथ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले जस्तोसुकै समस्या सामना गरे पनि र जस्तोसुकै परिस्थितिमा पनि खोजी र अभ्यास गर्न सिक्‍नुपर्छ। यसो गर्नु मात्र परमेश्‍वरको काम अनुभव गर्नु हो र केही वर्ष यस्तो अनुभव गरेपछि व्यक्तिले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्नेछ। तसर्थ, व्यक्तिले कुनै पनि समयमा, परमेश्‍वरका वचन अभ्यास र अनुभव गर्ने यो मामला बिर्सन हुँदैन। तैँले समस्या सामना गर्दा मनमनै सधैँ यस्तो सोच्नुपर्छ: “यो मामलामा मैले परमेश्‍वरका वचन अभ्यास र अनुभव गर्न के गर्नुपर्छ? यो मामलामा सत्यताका कुन पक्षहरू समावेश छन्? मैले सत्यता अभ्यास गर्न के गर्नुपर्छ?” यो भनेको सत्यता पछ्याउन प्रयत्‍न लगाउनु हो, र धेरै वर्ष यसरी अभ्यास र अनुभव गरेपछि, तँ बिस्तारै परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्ग प्रवेश गर्नेछस्, र तैँले जीवनको सही मार्ग हिँड्दै हुनेछस्, र तैँले दिशा भेट्टाउनेछस्। आफूले सामना गर्ने जुनसुकै समस्या मुल्याङ्कन र जाँच गर्न सधैँ आफ्नो बुद्धि प्रयोग गर्नु अनि कामकुरा सुल्झाउन सधैँ आफ्नै विधिहरूमा भर पर्नु व्यावहारिक हुँदैन। यदि तैँले यो विधिअनुसार अभ्यास गर्छस् भने, तँलाई परमेश्‍वरसँगको अनुकूलता र स्वभाव परिवर्तन हासिल गर्न असम्भव हुनेछ—तैँले ती कहिल्यै हासिल गर्नेछैनस्, यो गलत मार्ग हो। तैँले ख्याति, लाभ र हैसियत पछ्याएर मुक्ति खोज्नु व्यर्थ छ। कैयौँ मानिस यो मार्गमा असफल भएर लडिसकेका छन्। केहीलाई झूटा अगुवा र केहीलाई ख्रीष्टविरोधी ठहराइयो—ती सबैलाई निष्कासित गरियो। मण्डलीमा उत्कृष्ट देखिन खोज्नु व्यर्थ छ। बरु पत्रुसको मार्ग पछ्याउनु राम्रो हो—सत्यता पछ्याउनु नै सबैभन्दा सुरक्षित र संरक्षित मार्ग हो। के तँ अब सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, देख्छस्? सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता स्विकार्नु र अभ्यास गर्नु हो। परमेश्‍वरको वचन पढ्नु भनेको त्यसलाई मनन गर्न र सत्यता प्राप्त गर्नलाई हो। त्यसलाई जाँच नगर्¸ त्यसलाई किमार्थ जाँच नगर्, अनि प्रतिरोधी र विरोधी मनस्थिति राख्दै नराख्। तँमा यस्तो स्थिति आयो भने, तुरुन्तै आफूलाई जाँचेर त्यो स्थिति सुल्झा। अनि, तँभित्र रहेका यी भ्रष्टताका समस्याहरू निरन्तर सुल्झिनेछन्, तेरो स्थिति झन्झन् राम्रो हुनेछ र तँमा भ्रष्टताका प्रकटीकरणहरू झन्झन् कम हुनेछन्, र यसबाट अन्तत: नतिजा हासिल हुनेछ: परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्झन् सामान्य बन्नेछ, तेरो हृदयले परमेश्‍वरको झन्झन् बढी डर मान्नेछ र झन्झन् परमेश्‍वरको नजिक आउनेछ, तैँले झनझन् प्रभावशाली रूपमा कर्तव्य निभाउनेछस्, र परमेश्‍वरप्रतिको तेरो प्रेम र विश्‍वास झन्झन् बढ्नेछ। यसले तैँले तेरो हृदयमा परमेश्‍वरका वचन समाहित गरेको छस् र त्यहाँ तिनले जरा गाडेका छन् भन्‍ने पुष्टि गर्छ। अन्त्यमा, तैँले परिणाम देख्नेछस् र यसो भन्नेछस्: “निरन्तर आत्मचिन्तन गर्दै आफ्ना भ्रष्ट प्रकटीकरणहरू हल गरेर, म अपूरणीय दुष्परिणामहरूबाट जोग्गिएँ। मैले शैतानको दास भई काम गरेकोमा, मलाई पछुतो छ र म आफूलाई घृणा गर्छु। धन्न, परमेश्‍वरले मलाई मुक्ति दिनुभयो, र मलाई फर्की आउने बाटो भेट्टाउने, सत्यता स्विकार्ने, र उहाँप्रति समर्पित हुने तुल्याउनुभयो। अब त म आफूले मुक्ति पाइएला नपाइएला भनेर चिन्तित छैनँ न त पछि मिल्काइने वा निष्कासित हुने सम्भानाबारे नै चिन्तित छु। अब म परमेश्‍वरको मुक्ति पाउने व्यक्ति हुनेछु, म सही मार्गमा छु, र म साँचो परमेश्‍वर, सम्पूर्ण सृष्टिका प्रभुमा विश्‍वास गर्छु, म यसमा निश्‍चित छु। यसबारे मलाई कुनै शङ्का छैनँ।” यस्तो बिन्दुमा पुगेपछि मात्र, तैँले परमेश्‍वरमाथिको आस्थालाई हृदयमा बसाउनेछस्, अनि तँ हरेक अवस्थामा उहाँमा भर पर्न सक्‍नेछस्। त्यसपछि, तँ साँच्चै नै पवित्रस्थल प्रवेश गरेको हुनेछस्, र त्यसउप्रान्त तैँले म सेवाकर्ता मात्रै हुँ कि वा म विपत्तिमा परी मर्छु कि भनेर चिन्ता लिनुपर्नेछैन। त्यो बेला मात्र, तेरो हृदय शान्ति र आनन्दले भरिनेछ। अनि, के कारणले मानिसहरूमा यी चिन्ता हुन्छ? यस्तो किन हुन्छ भने, तिनीहरूलाई परमेश्‍वरको कामबारे अति कम थाहा छ, तिनीहरू सत्यता निकै कम बुझ्छन्, र तिनीहरूमा परमेश्‍वरबारे धारणा र गलतबुझाइहरू हुन्छन्। तैँले परमेश्‍वरका वचनहरूभित्र उहाँको अभिप्राय नबुझेकोले, र परमेश्‍वरको इच्छा नबुझेकोले, उहाँलाई सधैँ गलत बुझ्छस्। अनि तैँले सधैँ उहाँलाई गलत बुझेकोले, तँ निरन्तर चिन्तित रहन्छस् र कहिल्यै सुरक्षित महसुस गर्दैनस्। कहिलेकाहीँ तेरो मनस्थिति प्रतिरोधी हुन्छ; तैँले ठूला गल्ती नगरे पनि, क्रमिक रूपमा कैयौँ साना गल्तीहरू गरिरहन्छस्, अनि एकदिन तैँले अचानक ठूलो गल्ती गर्छस् र साँच्चै निष्कासित हुन्छस्। ठूलो गल्ती गर्नु मामुली कुरा होइन। कति मानिसहरू निष्कासित हुन्छन्, सफाइमा पर्छन् वा बहिष्कृत हुन्छन् वा तिनीहरूले पवित्र आत्माको कुनै काम प्राप्त गर्दैनन्—के यो सबैपछाडि एउटा मूल कारण छैन र? पक्कै पनि एउटा मूल कारण छ; यसमा समस्या भनेको तिनीहरू कुन मार्गमा हिँड्छन् भन्ने हो। कतिपयले पत्रुसको मार्ग रोज्छन्, जुन सत्यता पछ्याउने मार्ग हो। कति अरूले पावलको मार्ग रोज्छन्, जुन मुकुट र इनाम पछ्याउने मार्ग हो। यी दुवै मार्गको सार फरक छ, र तिनले ल्याउने परिणाम र नतिजा पनि फरक छ। ती निष्कासित हुनेहरू सत्यता पछ्याउने र अभ्यास गर्ने मार्ग कहिल्यै हिँड्दैनन्। तिनीहरू सधैँ यो मार्गबाट टाढा जान्छन् र बस आफूखुसी गर्छन्, आफ्नै चाहना र आकाङ्क्षाअनुसार कार्य गर्छन्, आफ्नै हैसियत, प्रतिष्ठा र गौरव रक्षा गर्छन्, र आफ्नै इच्छा सन्तुष्ट पार्छन्—तिनीहरूले गर्ने सबथोक यी कुराहरूकै वरपर घुम्छ। तिनीहरूले मूल्य चुकाएका, समय र उर्जा लगाएका, र बिहानदेखि बेलुकासम्‍मै काम गरेका भए पनि, तिनीहरूको अन्तिम परिणाम के हुन्छ? तिनीहरूले गरेका कामकुराहरू परमेश्‍वरको नजरमा दुष्टता भएकाले, परिणामस्वरूप तिनीहरू निष्कासित हुन्छन्। के तिनीहरूसँग अझै पनि मुक्ति पाउने मौका हुन्छ र? (हुँदैन।) यो निकै गम्भीर परिणाम हो! यो त मानिसहरू बिरामी हुँदाजस्तै हो: तुरुन्तै उपचार नगरिएको सानो बिमारी पनि ठूलो बिमारी, वा प्राणघातक बन्न सक्छ। जस्तै, यदि व्यक्तिलाई रुघाखोकी लागेको छ भने, उसले सामान्य चिकित्सा उपचार पायो भने ऊ तुरुन्तै ठिक हुनेछ। यद्यपि, केही मानिसहरू आफ्नो शरीर बलियो रहेको सोच्छन् र त्यसैले रुघाखोकीलाई गम्भीर रूपमा लिँदैनन्, न त उपचार गर्न नै जान्छन्। परिणामतः तिनीहरू लामो समय त्यसद्वारा ग्रसित हुन्छन् र तिनीहरूलाई निमोनिया लाग्छ। तर त्यसपछि पनि, तिनीहरू अझै आफूलाई सबल रोग-प्रतिरक्षा भएको युवा ठान्छन्, र त्यसैले महिनौसम्म पनि त्यसको उपचार गर्दैनन्। तिनीहरू दिनहुँ खोकिरहे पनि, खोकी अनियन्त्रित र असहनीय भएर रगत छाद्‌ने अवस्थासम्म नपुगुञ्जेल त्यसलाई वास्ता गर्दैनन्। अनि तिनीहरू जचाउँन अस्पताल पुग्छन् जहाँ तिनीहरूले आफूलाई क्षयरोग लागेको थाहा पाउँछन्। अरूले तिनीहरूलाई तुरुन्तै उपचार गर्ने सल्लाह दिन्छन्, तैपनि तिनीहरूले आफू जवान र सबल भएको, चिन्ताको कुनै कुरा नभएको सोच्छन्, त्यसैले उचित उपचार गराउँदैनन्। अनि एकदिन, अन्ततः तिनीहरूको शरीर हिँड्नै नसक्ने गरी कमजोर हुन्छ, र अस्पताल जचाउन जाँदा, तिनीहरूलाई अन्तिम चरणको क्यान्सर भइसकेको हुन्छ। मानिसहरूमा उपचार नगरिएको भ्रष्ट स्वभाव हुँदा पनि, त्यसले घातक परिणामहरू ल्याउन सक्छ। भ्रष्ट स्वभाव हुनु डर मान्नुपर्ने कुरा होइन, तर भ्रष्ट स्वभाव भएको व्यक्तिले त्यसलाई तुरुन्तै हल गर्न सत्यता खोज्‍नुपर्छ; यसरी मात्र उसको भ्रष्ट स्वभाव बिस्तारै पखालिन सक्छ। यदि उसले त्यसलाई हल गर्न ध्यान दिएन भने, त्यो झन्झन् गम्भीर हुनेछ, र उसले परमेश्‍वरलाई चिढ्याउन र प्रतिरोध गर्न सक्छ, र ऊ उहाँद्वारा तिरस्कृत भई निष्कासित हुन सक्छ।

पावलजस्ता कतिपय मानिसहरूमा ख्रीष्टविरोधीको प्रकृति सार हुन्छ। तिनीहरू निरन्तर आशिष् पाउन, मुकुट हासिल गर्न र इनाम प्राप्त गर्न ध्यान केन्द्रित गर्छन्, र तिनीहरू परमेश्‍वरसँग सौदा गर्न खोज्छन्। तिनीहरू सधैँ परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न सक्ने अगुवा र प्रेरित बन्न चाहन्छन्, तर अन्त्यमा तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत हुन पुग्छन्। तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने मार्ग हिँड्छन्, र त्यो गलत मार्ग हो। कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरूलाई ख्याति, लाभ, हैसियत र फाइदा पछ्याउनु गलत हो भन्ने थाहा हुन्छ, तैपनि तिनीहरू गलत मार्ग नै रोज्छन्। परमेश्‍वरले धैर्य र सच्‍चाइसाथ उहाँका चुनिएका मानिसहरूलाई हरप्रकारका सान्त्वाना, सल्लाह, ताकिता, चेतावनी, पर्दाफास, काँटछाँट र हप्काइ प्रदान गरेर अर्ती दिनुभएको छ। परमेश्‍वरले यति धेरै वचन बोल्नुभएको छ, तैपनि मानिसहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्, त्यसलाई हावा कुराझैँ व्यवहार गर्छन्। तिनीहरू त्यसलाई अभ्यास गर्दैनन्, तर अझै पनि, आफ्नै अभिप्राय र चाहनाअनुसार, आफ्नो हैसियत, गौरव र आडम्बर रक्षा गर्छन्। तिनीहरू दिमाग खियाउँदै र कुनै कसर नछोडी आफ्नै फाइदाको लागि जताततै षड्यन्त्र गर्छन्, र जताततै आफ्नै इज्जत र भविष्यको लागि कार्य गर्छन्। हृदयमा तिनीहरू “मैले आफूलाई परमेश्‍वरमा अर्पित गरेको छु, मेरो लागि महिमामयी मुकुट छुट्याई राखिएको छ” भनेरसमेत सोच्छन् र पावलले बोलेका शब्दहरूसमेत बोल्छन्। वास्तवमा, तिनीहरूलाई आफू कुन मार्गमा छु भनेरसमेत थाहा हुँदैन, न त तिनीहरूलाई आफू परमेश्‍वरद्वारा निन्दित भएको छु भनेर नै थाहा हुन्छ। जब एकदिन यसले तिनीहरूलाई ठूलो विपत्तिमा पुऱ्याउँछ, के तिनीहरूलाई पश्‍चात्ताप गर्न आउनेछ त? त्यो समय आउँदा, तिनीहरूले यसो भन्दै प्रतिरोध गर्नेछन्, “म कडा परिश्रम गर्छु र मैले महत्त्वपूर्ण योगदान दिएको छु; योगदान दिएको छुइनँ भने, कम्तीमा कष्ट त भोगेको छु; कष्ट भोगेको छैनँ भने, कम्तीमा आफूलाई थकाएको त छु!” तिनीहरूले गरेको कामको मूल्य एक पैसा बराबर पनि हुँदैन—के ती असल कार्य हुन सक्छन् र? के त्यो आफ्नो कर्तव्य निभाउनु थियो त? के त्यो सत्यता अभ्यास गर्नु थियो त? तिनीहरू व्यक्तिगत व्यवस्थापनमा संलग्न भइरहेका थिए। त्यो अवधिमा, तिनीहरूले आफूलाई गहन सुनिने टन्नै वचन र धर्मसिद्धान्तहरूले सुसज्जित गरे; तिनीहरूले बोल्न र भाषण दिन सके, अनि आफूलाई अर्पित गर्दै दौडधुप गर्न सके, तर तिनीहरूले कुनै पनि व्यावहारिक काम गरेनन्। तिनीहरूले आफूवरपरका मानिसहरूलाई राम्ररी आकर्षित गरे, र सबैलाई आफ्नो परिधिमा ताने। तिनीहरू हृदयमा परमेश्‍वरको ठाँवै नराखी पहाडको राजा बने। के यो दुष्ट्ता गर्नु होइन र? सत्यता पटक्कै अभ्यास नगरेकोले, तिनीहरूको अन्तिम परिणाम स्पष्टै हुनुपर्छ। तर यस्तो अवस्थामा समेत तिनीहरूलाई अझै मुकुट चाहिन्छ; तिनीहरू कति निर्लज्ज हुन सकेका? यसलाई लाजमर्दो दुस्‍साहस भनिन्छ! यस्ता मानिसहरू अन्त्यमा निष्कासित भएपछि पनि कसरी बहस गर्न सकेका? तिनीहरूले हरप्रकारका दुष्टता गर्दै मण्डलीको काममा अवरोध र बाधा पुर्‍याउँछन्; तिनीहरूले कसरी अझै पनि परमेश्‍वरसँग बहस गर्दै दृढसाथ आफ्नो प्रतिरक्षा गर्न सकेका? तिनीहरूले यसरी परमेश्‍वरको प्रतिरोध गर्न सक्‍नु कस्तो समस्या हो? के तिमीहरूलाई यसको पछाडि कुनै तर्कसङ्गत आधार छ जस्तो लाग्छ? के तिनीहरूमा विवेक र समझ छ त? सामान्य मानिसहरूले परमेश्‍वरका यति धेरै वचनहरू सुनिसकेपछि—परमेश्‍वरले तिनीहरूलाई जेजसरी व्यवहार गर्नुभए पनि, वा यो व्यवहार तिनीहरूको धारणाअनुसार मिले पनि नमिले पनि—कम्तीमा परमेश्‍वरका वचन सत्यता हुन् र ती सबै सही छन् भनेर स्विकार्नुपर्छ। त्यसमा तिनीहरूको धारणासँग मेल नखाने कुनै वाक्य भए पनि, तिनीहरूले परमेश्‍वरलाई आलोचना गर्नु हुँदैन; तिनीहरूमा समर्पित हृदय हुनुपर्छ। यदि व्यक्तिले परमेश्‍वरको वचन सत्यता हो भनेर स्विकार्न र परमेश्‍वरसामु समर्पित हुन सक्छ भने, के यो परमेश्‍वरलाई परमेश्‍वरझैँ व्यवहार गर्नु होइन र? (हो।) यस्तो अवस्थामा, परमेश्‍वरबारे कहिलेकाहीँ केही गलत धारणा र गलतबुझाइ पैदा भए भने, के त्यसलाई सुल्झाउनहेतु सत्यता खोज्न सजिलो हुन्‍न र? मुख्य कुरा त मानिसहरूले परमेश्‍वरका वचनहरू र काम स्विकार्नुपर्छ—पूर्वशर्त यही हो। पावलजस्ता अविश्‍वासी र ख्रीष्टविरोधीहरूले कसरी अझै पनि परमेश्‍वरको विरोध गर्न सकेका हुन्? (तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरझैँ व्यवहार गर्दैनन्।) समस्याको जड नै यहीँ छ। तिनीहरू जतिसुकै बोल्न सिपालु भए पनि, तिनीहरूले जतिसुकै लगनसाथ दौडधुप गर्दै काम गरे पनि, तिनीहरूले जतिसुकै कष्ट भोगेर जति ठूलो मूल्य चुकाए पनि, तिनीहरू परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा कहिल्यै लिँदैनन्—के त्यसोभए तिनीहरूले सत्यता बुझ्न सक्छन् त? (सक्दैनन्।) त्यसैले, परमेश्‍वरले तिनीहरूलाई जेजसरी सम्हाल्नु भए पनि, तिनीहरू कि त आपत्ति जनाउँछन् कि त समर्पित हुन मान्दैनन्। तिनीहरूमा सृष्टि गरिएको प्राणीमा हुनुपर्ने न्यूनतम समझ नै हुँदैन, र यसले तिनीहरूले सत्यता कहिल्यै पनि स्विकारेका छैनन् भन्ने तथ्य पुष्टि गर्छ। यदि यतिका वर्ष तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा स्विकार्न सकेका भए, र ती वचनहरू अभ्यास र पालन गर्न सकेका भए, तिनीहरू यति ढीठ र विरोधी नै हुनेथिएनन्। तिनीहरूले परमेश्‍वरका प्रबन्ध र उहाँले तिनीहरूलाई गर्ने व्यवहारको विरोध गर्नेथिएनन्। तिनीहरूमा यी मनस्थिति हुनेथिएनन्; धेरै भए, तिनीहरू अलिकति उदास वा अलि अप्रसन्न हुनेथिए। सबै भ्रष्ट मानिसहरूमा सामान्य कमजोरीहरू हुन्छन्, तर तिनीहरूले कम्तीमा पनि केही सीमाहरू पालन गर्नुपर्छ। सर्वप्रथम, तिनीहरूले कर्तव्य निभाउन छोड्‍नु हुँदैन। “जहिलेसुकै भए पनि, परमेश्‍वरले जे सुम्पनुभए पनि, मैले त्यो राम्ररी गरे नि नगरे नि, मैले त्यसमा आफूले सक्नेजति गर्नैपर्छ, सकेसम्म प्रयत्‍न लगाउनैपर्छ। परमेश्‍वरले मलाई अबउप्रान्त मन पराउनुहुन्न वा मलाई हेलाको दृष्टिले हेर्नुहुन्छ भने पनि, कम्तीमा मैले आफूलाई सुम्पिइएको कार्य लिएर त्यसलाई राम्ररी गर्नैपर्छ।” यो कुरा समझपूर्ण छ; व्यक्तिले कर्तव्य त्याग्न मिल्दैन। साथै, उसले परमेश्‍वरलाई इन्कार्न मिल्दैन। “परमेश्‍वरले मलाई जसरी व्यवहार गर्नुभए पनि, वा जसरी सम्हाल्नुभए पनि, वा मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई जसरी बहिष्कार वा खुलासा गरे पनि, वा सबैले मलाई त्यागे पनि, मेरो हृदयमा परमेश्‍वरको स्थान उही रहन्छ, र व्यक्तिको रूपमा मैले लिनुपर्ने स्थान पनि अपरिवर्तित नै रहन्छ। परमेश्‍वर सधैँ मेरो परमेश्‍वर हुनुहुन्छ, उहाँको सार र पहिचान बदलिँदैन, र म उहाँलाई सदैव मेरो परमेश्‍वरको रूपमा स्विकार्नेछु।” त्यसमा यो समझ पनि हुनैपर्छ। अरू के छ? (परमेश्‍वरले हामीलाई जस्तो व्यवहार र दण्ड दिनुभए पनि, हामी उहाँप्रति समर्पित हुनैपर्छ।) यो न्यूनतम कुरा हो, यो व्यक्तिमा हुनैपर्ने सबैभन्दा आधारभूत कुरा हो। तँ भन्छस्, “म परमेश्‍वरका अभिप्राय र परमेश्‍वरले किन यसरी व्यवहार गर्नुहुन्छ भनेर बुझ्दिनँ। मलाई अलिकति अन्याय भएझैँ लाग्छ, र मसँग यसबारे केही स्पष्टीकरणहरू छन्, तर म केही भन्दिनँ किनभने म सृष्टि गरिएको प्राणी हुँ र म परमेश्‍वरमा समर्पित हुनैपर्छ। यो सृष्टि गरिएको प्राणीको कर्तव्य हो। मैले अहिले सत्यता कसरी अभ्यास गर्ने वा खोज्ने भनेर ठ्याक्कै नबुझे वा नजाने पनि, म समर्पित हुनैपर्छ।” के यो समझपूर्ण छ? (छ।) सत्यता नस्विकार्नेहरू र समझ नभएकाहरू काटछाँटमा पर्दा, तिनीहरूले कस्ता प्रकटीकरणहरू देखाउँछन्? तिनीहरू भन्छन्, “के मलाई खुलासा गरेर निष्कासित गरिनेछ? यदि मेरो भविष्य वा भाग्य छैन भने, र मैले आशिष् पाउन सक्दिनँ भने, म विश्‍वास गर्नेछैनँ!” के यस्तो व्यक्तिले परमेश्‍वरमा साँचो विश्‍वास गर्छ? परमेश्‍वरसँगको उसको सम्बन्ध सामान्य हुँदैन, प्रतिरोधी र विरोधी हुन्छ। यस्तो स्वभाव परमेश्‍वरको विरोध गर्ने शैतानी स्वभाव हो। के उसले परमेश्‍वरलाई आफ्नो परमेश्‍वरको रूपमा स्विकार्न सक्छ? उसले मनमनै यसो भन्‍न सक्छ, “उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ भने, उहाँ किन मलाई प्रेम गर्नुहुन्न? उहाँ साँच्चै परमेश्‍वर हुनुहुन्छ भने, उहाँ किन मलाई महत्त्वपूर्ण कुरामा प्रयोग गर्नुहुन्न? म त व्यक्ति मात्रै देख्छु—यो संसारमा परमेश्‍वर कहीँकतै कसरी हुन सक्नुहुन्छ? तिमीहरू सबै मूर्ख हौ। परमेश्‍वर कहाँ हुनुहुन्छ? मेरो हृदयमा, मैले उहाँमा विश्‍वास गरे मात्र उहाँ हुनुहुन्छ; मैले उहाँमा विश्‍वास नगरे, उहाँ हुनुहुन्न अनि उहाँ परमेश्‍वर पनि हुनुहुन्न।” यसरी उसको दृष्टिकोण प्रकट हुन्छ। उसले यतिका वर्ष परमेश्‍वरका कैयौँ वचन सुन्यो; यदि उसले यी वचन स्विकारेको भए, के उसले यस्तो दृष्टिकोण विकास गर्थ्यो त? (गर्दैनथ्यो।) अझै गम्भीर कुरा, उसले अब के गर्नेछ? उसले अरूलाई पनि उक्साउनेछ र त्यसतर्फ पाइला चाल्नेछ: “तिमी अझै विश्‍वास गर्छौ? तिमी कसरी यति मूर्ख हुन सक्छौ? के तिनीहरूले धेरैअगाडि नै विपत्ति आउँदै छ भनेका होइनन् र? खै त, कहिले आउँछ विपत्ति? के परमेश्‍वरले संसार विनाश हुनेछ भन्नुभएको होइन र? खै त विनाश? ए मूर्ख, तिमीले ठूलो घाटा बेहोरेका छौ! विश्‍वास गर्न छोड! तिमी किन विश्‍वास गरिरा’छौ? हेर म कति चलाख छु! म महिनामा हजारौँ कमाउँछु, तिमी कति कमाउँछौ? हेर अहिले संसारमा के लोकप्रिय छ? मैले के लगाइरा’को देख्छौ? यी सब ब्रान्डेड हुन्!” उसले मानिसहरूलाई उक्साउने र बहकाउनेछ, र कतिलाई त पूरै अन्योलको स्थितिमा पुर्‍याइदिनेछ। के यो मण्डली बिथोल्न परमेश्‍वरको घर घुस्‍ने दुष्ट व्यक्ति होइन र? यस्ता मानिसहरूले कर्तव्य निभाउँदा कस्तो मनोवृत्ति राख्छन्? “यदि म मूडमा भए, कर्तव्य निभाउनेछु। मैले गर्न चाहेँ भने, गर्नेछु। नत्र गर्नेछुइनँ। मैले आफ्नो हृदय र बल लगाउनुपर्दैन। कर्तव्य निभाउनु भनेको आफ्नै निम्ति कार्य गर्नु होइन, यो त मण्डलीको लागि कार्य गर्नु हो। अनि म परमेश्‍वरलाई कतै देख्नसमेत सक्दिनँ। मलाई त परमेश्‍वरले मलाई सम्झनुहुन्छ हुन्न भन्ने पनि थाहा छैन, तैपनि तिनीहरू मैले हृदय, बल र मन समर्पित गरोस् भन्ने चाहन्छन्—त्यसको के अर्थ? मैले केही शब्द बोलेर टारिदिए पुग्छ।” तिनीहरूको दृष्टिकोण यस्तै हुन्छ। तिनीहरू कर्तव्य निभाउन आफ्नो बल, हृदय र मन समर्पित गर्नु व्यर्थ हो र त्यो मूर्खता हो भन्ने सोच्छन्। यदि अहिले यस्तो व्यक्ति भेट्यौ भने, के तिमीहरू ऊद्वारा बहकिने वा प्रभावित हुनेछौ? यदि तिमीहरूको जग छैन र तिमीहरू सत्यता बुझ्दैनौ भने, तिमीहरू निश्‍चय नै बहकिने र प्रभावित हुनेछौ, र समय बित्दै जाँदा, अन्त्यमा तिमीहरूलाई घाटा हुनेछ।

परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरका वचन खानु र पिउनुको उद्देश्य के हो, साथै त्यसो गर्दा कुन मुख्य समस्याहरू हल हुनुपर्ने हो भन्‍नबारे स्पष्ट हुनुपर्छ। यदि व्यक्तिले परमेश्‍वरको वचन खान र पिउनमा ध्यान नदिई वर्षौँ परमेश्‍वरमा विश्‍वास गर्छ भने, व्यक्तिको भ्रष्टता हल नहुने मात्र होइन, तिनीहरूले बुझ्नुपर्ने न्यूनतम सत्यता पनि बुझ्नेछैनन्। तब, यसका परिणामहरू के हुन्छन्? यस्तोमा बहकिएर गलत मोड लिन एकदम सजिलो हुन्छ। यदि व्यक्तिले सत्यता बुझ्दैन भने, ऊ लड्ने सम्भावना धेरै हुन्छ। केही आइपर्दा, र सानोभन्दा सानो समस्या सामना गर्दा पनि, तिनीहरूलाई दृढ भई उभिरहन गाह्रो हुन्छ। तसर्थ, मानिसहरूलाई परमेश्‍वरका वचनहरू अझ बढी पढ्नु र सत्यताबारे अझ बारम्बार सङ्गति गर्नु सबैभन्दा लाभदायक हुन्छ। परमेश्‍वरले बाइबलमा भन्नुभएको एउटा कुरा छ जुन निकै महत्त्वपूर्ण छ: “स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचनहरू बितेर जानेछैनन्” (मत्ती २४:३५)। यी वचनहरूले मानिसहरूलाई के सुझाव दिन्छन्? परमेश्‍वरका वचनहरू बितेर जानेछैनन् भन्नुको अर्थ के हो? चाहे जहिलेसुकै होस्, सत्यता र परमेश्‍वरका वचनहरू सधैँ सत्यता हुनेछन्—यो कुरा बदलिनेछैन। मानिसहरूको लागि यी वचनहरूको मूल्य र महत्त्व होस् वा यिनको भित्री अर्थ र वास्तविकता, यी कुरा कहिल्यै परिवर्तन हुनेछैनन्। यी मौलिक वचन नै रहनेछन् र त्योबाहेक अरू केही बन्नेछैनन्—परमेश्‍वरका वचनहरूको सार बदलिन सक्दैन। उदाहरणको लागि, परमेश्‍वरले मानिसहरूलाई इमानदार हुनू भनेर भन्नुहुन्छ; यी वचनहरू सत्यता हुन् र यी कहिल्यै बितेर जानेछैनन्। तिनीहरू किन कहिल्यै बितेर जानेछैनन् त? मानिसहरू इमानदार हुनुपर्छ भन्ने परमेश्‍वरको मापदण्ड हेर्दा, व्यक्तिले परमेश्‍वरको सारको विश्‍वासयोग्य पक्ष देख्न सक्छ, जुन अनादिकालदेखि अस्तित्वमा छ र सदासर्वदा रहिरहनेछ। यो समय, भूगोल वा स्थानको बदलावले बदलिनेछैन; परमेश्‍वरको सार सदा विद्यमान रहनेछ। अनि, परमेश्‍वरको सार सदा विद्यमान रहनुको कारण के हो? किनभने यो सकारात्मक कुरा हो र यो सृष्टिकर्तामा भएको सार हो; यो कहिल्यै पनि बितेर जानेछैन र सदा सत्यता रहनेछ। यदि तँ सृष्टिकर्ताले व्यक्त गर्नुभएका यी सब सत्यताहरू अनुभव गर्छस् र तिनलाई आफ्नो अस्तित्वमा उतार्छस्, र यी सबलाई अभ्यास गर्छस् र जिउँछस् भने, के तँ मानिसझैँ जिउन सक्षम हुनेछैनस् र? तब के जिउनुको मूल्य हुनेछैन र? के तँ अझै त्यागिनेछस् र? परमेश्‍वरले प्रदान गर्नुभएका सबै सत्यता अनुभव गर्नु र जिउनु—के यो तेरो निकासको मार्ग होइन र? यो मार्गले मात्र मानवजातिलाई बाँच्ने तुल्याउन सक्छ। यदि मानिसहरू सत्यता स्विकार्न सक्दैनन् र सत्यता पछ्याउने मार्ग पछ्याउँदैनन् भने, तिनीहरू अन्तत: बितेर जानेछन् र नष्ट हुनेछन्। तैँले “के म अहिले ठिकै रूपमा जिइरहेको छैनँ र?” भनेर भन्‍न सक्छस्। तर यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, तँ ढिलोचाँडो निष्कासित हुनेछस्। “स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचनहरू बितेर जानेछैनन्”; यो वाक्यको निकै गहन महत्त्व छ; यो मानिसहरूको लागि सबैभन्दा ठूलो चेतावनी पनि हो। परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्, र सत्यता स्विकारे मात्र तँ दह्रिलो गरी खडा हुन सक्छस्। अर्थात, यदि तैँले परमेश्‍वरका वचनहरू खान्छस्, पिउँछस्, र अभ्यास गर्छस्, र अलिअलि मानव स्वरूपमा जिउँछस् भने, मात्र तँ निष्कासित हुनेछैनस्। यहीँनेर परमेश्‍वरका वचनहरूको मूल्य छ! त्यसोभए, के परमेश्‍वरका वचनहरू व्यक्तिको जिवन हुन सक्छन् त? अनि, यहाँ जीवनले के जनाउँछ? त्यसले तँ जिउन सक्छस्, र तँलाई मुक्ति दिइएको छ भन्‍ने जनाउँछ। यदि तैँले यी वचनहरू स्विकार्छस् भने, र तिनलाई बुझ्छस् अनि अभ्यास गर्छस् भने, परमेश्‍वरको नजरमा तँ जीवित व्यक्ति बन्छस्। तर यदि तँ इमानदार व्यक्ति होइनस्, बरु छली व्यक्ति होस् भने, परमेश्‍वरको नजरमा तँ जिउँदो लास होस्, मृत व्यक्ति होस् र यावत् थोकहरूझैँ तँ पनि बितेर जानेछस्। परमेश्‍वरका वचनहरू र सत्यतासँग सरोकार नराख्ने कुनै पनि कुरा, चाहे त्यो भौतिक होस् वा अभौतिक, परमेश्‍वरले युग परिवर्तन गरेर संसारलाई नवीकरण गर्नुहुँदा, बितेर जानैपर्छ। परमेश्‍वरका वचनहरू मात्र बितेर जानेछैनन्, अनि परमेश्‍वरका वचनहरूसँग सम्बन्धित यावत् कुराहरू मात्र बितेर जानेछैनन्। परमेश्‍वरको वचन अभ्यास गर्नु त्यति महत्त्वपूर्ण हुन्छ।

मानिसहरूलाई परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्नु महत्त्वपूर्ण हुन्छ भनेर थाहा छ, तर तिनीहरूसँग अभ्यासको मार्ग पनि हुनुपर्छ। यो जीवन प्रवेशको मार्ग हो, र तिनीहरूले आफ्नो हृदयमा यसलाई महत्त्व दिएर हरदिन यसलाई अनुभव गर्नुपर्छ। यदि तँ आफूसँग अनुभावात्मक गवाही नभएकोले सधैँ चिन्तित रहन्छस् र एकदिन निष्कासित भइएला भनेर डराइरहन्छस् भने, त्यो एउटा समस्या हो। सत्यतालाई प्रेम नगर्ने मानिसहरूले परमेश्‍वरका वचनहरू कहिल्यै अभ्यास वा अनुभव गर्दैनन्। यो तिनीहरूमा आस्था नभएकोले मात्र होइन, बरु मुख्यत: तिनीहरू शैतानी प्रकृतिद्वारा उक्साइने भएकोले गर्दा हो। तँ आशिष् पाउन मात्र चाहन्छस्, तर सत्यतालाई प्रेम गर्दैनस्; यदि तँमा यो अभिप्राय हाबी छ भने, तेरो कुनै राम्रो परिणाम आउन सक्दैन। त्यसैले, तैँले के गर्नुपर्छ? तैँले निश्‍चय नै यसलाई आफूभित्र यत्रतत्र फैलन दिनु हुँदैन; तैँले सत्यता खोजेर आत्मचिन्तन गर्नुपर्छ: “मैले किन सत्यता अभ्यास गरिरहेको छैनँ? म किन सधैँ निष्कासित हुनेबारे चिन्ता गरिरहन्छु? यो स्थिति सही होइन, मैले यसलाई हल गर्नैपर्छ।” के सत्यता खोजेर आफ्ना समस्या सुल्झाउन जान्नु प्रगति होइन र? यो राम्रो कुरा हो। आफ्ना समस्या सुल्झाउन नजान्नेहरू भावशून्य, बद्धु, विद्रोही र हठी हुन्छन्। कतिपय मानिसहरूलाई यो समस्या हो भनेर थाहा हुन्छ, तैपनि यसलाई सुल्झाउने प्रयास गर्दैनन्। तिनीहरू सोच्छन्, “मैले यसरी सोच्नु सामान्य नै होइन र? मैले आफ्नो आशिष् पाउने अभिप्राय किन सुल्झाउनुपर्छ र? त्यो सुल्झाउँदा त, मेरो मौकै गुम्‍छ त।” के यो हठी हुनु होइन र? कतिपय मानिसहरू भावशून्य हुन्छन्; तिनीहरू आशिष् पाउन चाहनु भनेको अभिप्राय र स्वभावको समस्या हो भनेर बुझ्दैनन्। तिनीहरू सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले आशिषित हुन चाहनु सामान्य होइन र? यो अभिप्रायलाई समस्या मान्न मिल्दैन।” के त्यस्ता विचार र दृष्टिकोणहरू सही हुन् त? यदि व्यक्तिको आशिष् पाउने अभिप्राय सुल्झँदैन, र उसको भ्रष्ट स्वभाव पखालिँदैन भने, के ऊ साँच्चै परमेश्‍वरमा समर्पित हुन सक्छ त? अनि, भ्रष्ट स्वभावसाथ जिउनुका परिणामहरू के-के हुन्? यो व्यक्ति बिसन्चो भएजस्तै हो; उसलाई रुघा लाग्न लागेको थाहा हुन्छ, त्यसैले उसले तुरुन्तै औषधी खोज्छ। तर अरूहरू बोधो हुन्छन्; तिनीहरूलाई आफ्नो घाँटी सुन्निएको पनि थाहा हुँदैन। तिनीहरू अरूलाई आफू अचेल बिसन्चो भएको भन्दै हिँड्छन्, तर आफूले रुघाका प्रारम्भिक लक्षणहरू अनुभव गरिरहेर पनि त्यसलाई गम्भीरतापूर्वक नलिएको चालै पाउँदैन्। कति मानिसहरू त यस्तोसमेत सोच्छन्, “यो रुघा त हो नि; यसले के नै बिगार गर्न सक्छ र?” तिनीहरूले पानी पिउनुपर्ने हुन्छ तर पिउँदैनन्, औषधी खानुपर्ने हुन्छ तर त्यो पनि खाँदैनन्; सहेर मात्र बस्छन्। फलस्वरूप, तिनीहरूलाई चिसो लाग्छ र तिनीहरू कैयौँ दिन बिरामी पर्छन्, र यसले गर्दा तिनीहरूका कैयौँ मामलाहरू स्थगित हुन्छन्। मानिसहरूले आफ्नो बिमारीप्रति व्यवहार गर्ने मनोवृत्तिले नै आफ्ना विभिन्न स्थितिहरूप्रति व्यवहार गर्छन्। केही मानिसहरूले सानातिना समस्याहरू तुरुन्तै हल गर्न सक्छन्, तर मुख्य समस्याहरू पटक्कै हल गर्दैनन्। यसरी विलम्ब गर्दा, तिनीहरूको भ्रष्ट स्वभाव हल हुँदै हुँदैन, र यसले तिनीहरूलाई जीवन प्रवेशबाट वञ्चित गराउँछ र जीवनमा घाटातर्फ डोऱ्याउँछ। के यो मूर्ख र अज्ञानी हुनु होइन र? अत्यन्तै मूर्ख मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन् र अन्त्यमा आफ्नो जीवन गुमाउँछन्। परमेश्‍वरमा यसरी विश्‍वास गरेर, तिनीहरूले परमेश्‍वरको मुक्ति कहिल्यै प्राप्त गर्न सक्नेछैनन्।

सत्यता पछ्याउने कार्य आत्मचिन्तन र आत्मज्ञानबाट सुरु हुनुपर्छ। व्यक्तिले जस्तोसुकै परिस्थिति सामना गरे पनि, उसले सधैँ आफ्नो भित्री स्थितिबारे चिन्तन गर्नुपर्छ, र आफूमा भएका हरेक गलत विचार र दृष्टिकोण वा विद्रोही स्थिति पहिचान गरेर समाधान गर्नुपर्छ। केही समयपछि, भिन्नै परिस्थिति वा घटना सामना गर्दा, उसले केही गलत दृष्टिकोण र स्थिति विकास गर्नेछ, अनि ती समाधान गर्न उसले सत्यता खोज्नुपर्छ। निरन्तर आत्मचिन्तन गरी आफैलाई चिन्दा अनि निरन्तर आफ्ना गलत दृष्टिकोण र विद्रोही स्थिति समाधान गर्दा, व्यक्तिको भ्रष्ट स्वभाव कमभन्दा कम मात्र प्रकट हुनेछ, र उसलाई सत्यता अभ्यास गर्न सहज हुनेछ। यो जीवन वृद्धिको प्रक्रिया हो। व्यक्तिले जस्तोसुकै परिस्थिति सामना गरे पनि, उसले सत्यता खोज्नैपर्छ अनि उसले जेसुकै मनसाय वा योजना बनाए पनि, सत्यतासँग मेल खाने कुरालाई पालन गर्नुपर्छ, र सत्यतासँग मेल नखाने कुरालाई दबाउनुपर्छ। साथै, ऊ न्यायको लागि, सत्यताको निम्ति, परमेश्‍वरबारेको ज्ञानको निम्ति, र परमेश्‍वरका मापदण्डहरू पूरा गर्नको निम्ति लागिपर्नुपर्छ। यो तरिकाले, उसले बढ्दो रूपमा आफ्ना कमीकमजोरी र भ्रष्ट प्रकटीकरणहरू पत्ता लगाउन सक्छ र आफूमा सत्यताको तृष्णा गर्ने हृदय विकास गर्न सक्छ। केही समय यसरी अनुभव गरेपछि, उसले केही सत्यता बुझ्न सक्छ, र परमेश्‍वरमाथि उसको आस्था झन्झन् ठूलो बन्छ। अभ्यासको यस्तो मार्गबिना, व्यक्तिले सत्यता अभ्यास गरिरहेको छ भनेर भन्न सकिँदैन। यदि भ्रष्ट स्वभावमा जिउने व्यक्तिले आफ्ना वचन र कार्यहरू सत्यतासँग मेल खान्छन् खाँदैनन् र सिद्धान्तविरुद्ध जान्छन् जाँदैनन् भनेर जाँच गर्दैन भने, र त्यसको साटो आफूले नियम तोडेको-नतोडेको वा अपराध गरेको-नगरेको मात्र जाँच गर्छ, र त्यत्तिमै कुरो सक्‍काउँछ, तर आफ्नो भ्रष्ट स्वभावलाई ध्यानै दिँदैन, अनि आफ्नो कुनै पनि विद्रोही स्थितिलाई वास्तै गर्दैन भने—र बाहिरबाट उसले कुनै नियम नतोडेको वा अपराध नगरेको भए पनि, र तथ्यगत रूपमा, ऊ अझै पनि भ्रष्ट स्वभावसाथ, शैतानको सत्तामुनि जिइरहेको छ भने—यस्तो व्यक्तिले सत्यता वास्तविकता जिएकै हुँदैन, र ऊ मुक्ति पाउने व्यक्ति हुँदै होइन। जब मानिसहरूले संसारमा दशकौँ वर्ष जिएर सांसारिक कुराहरू बुझ्न सक्छन्, तब तिनीहरूले आफू चलाख, दोषरहित र अद्‌भुत रहेको सोच्छन्, तर सत्यताको उपस्थितिमा, सबै भ्रष्ट मानिसहरू मूर्ख र मानसिक रूपमा कमजोर नै हुन्छन्, ठीक त्यसरी नै जसरी मामुली मानिसहरू परमेश्‍वरसामु सदैव बालक नै हुन्छन्। सत्यता पछ्याउने कार्य सरल कुरा होइन; यसको लागि धेरै सत्यताहरूको बुझाइ, निश्‍चित कद, इच्छाशक्ति, उपयुक्त वातावरण, र सत्यताको क्रमिक अभ्यास चाहिन्छ। यस तरिकाले, व्यक्तिको आस्था अलिअलि गर्दै बढ्दै जानेछ, र परमेश्‍वरबारे उसको शङ्का र गलतबुझाइ घट्दै जानेछ। परमेश्‍वरबारे उसको शङ्का र गलतबुझाइ घट्दै जाँदा, उसको आस्था बढ्नेछ र परिस्थितिहरू सामना गर्दा उसले सत्यता खोज्न सक्नेछ। जब उसले सत्यता बुझ्नेछ, तब सत्यता अभ्यास गर्न सक्नेछ, र उसमा नकारात्मक र निष्क्रिय कुराहरू झन्झन् कम हुनेछन्, र सकारात्मक र असल कुराहरू धेरै हुनेछन्, र ऊ सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्षम बन्‍ने दर बढ्नेछ। यो सत्यता वास्तविकता हुनु हो। के यसले ऊ परिपक्व भएको सङ्केत गर्दैन र? के यसले उसको हृदय झन् उत्थानशील भएको सङ्केत गर्दैन र? अनि उत्थानशील हुनुले केलाई जनाउँछ? यो कि, यस्तो व्यक्तिमा साँचो आस्था हुन्छ, उसले सत्यता बुझ्छ, उसमा वास्तविकता खुट्ट्याउने खुबी हुन्छ, ऊ देहलाई जित्न परमेश्‍वरमा भर पर्न सक्छ, उसमा पापमाथि विजय पाउने क्षमता हुन्छ, ऊ आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छ, उसमा परमेश्‍वरप्रति साँचो समर्पण हुन्छ, उसले सत्यता अभ्यास गर्नेहेतु कष्ट भोग्न र मूल्य चुकाउन सक्छ, बफादारीपूर्वक आफ्नो कर्तव्य निभाउन सक्छ, अनि उसमा सत्यता पछ्याउने र सिद्ध पारिन खोज्‍ने सङ्कल्प हुन्छ। के यसले निरन्तर सुधार भएको सङ्केत गर्दैन र? यस तरिकाले, व्यक्तिले सत्यता पछ्याउने र सिद्ध पारिने मार्ग हिँड्न सक्छ। कुनै पनि परिस्थिति वा कठिनाइले यस्तो व्यक्तिलाई बहकाउन वा परमेश्‍वर पछ्याउनबाट रोक्न सक्दैन। परमेश्‍वरद्वारा सबैभन्दा बढी आशिषित हुने व्यक्ति यही हो, र यही नै परमेश्‍वरले प्राप्त गर्ने आशा गर्नुभएको व्यक्ति हो।

तिमीहरू अहिले कस्तो स्थितिमा छौ? (कहिलेकाहीँ कठिनाइ सामना गर्दा, हामी अलिअलि नकारात्मक हुन्छौँ, तर त्यसपछि हामी अगाडि बढेर तीबाट पार पाउने कोसिस गर्न सक्छौँ।) कद हुनु भनेको आफ्ना समस्याहरू थाहा पाउँदा, तिनबाट पार पाउन पहल गर्न सक्षम हुनु हो। आफूमा समस्या भएको थाहा भए पनि तिनबाट पार पाउन वा तिनलाई हल गर्न काम नगर्नु, बर नकारात्मक स्थिति बोकेर हिँड्नु, र आफ्नो कर्तव्य निष्क्रिय र लापरवाह तरिकामा निर्वाह गर्नु—यो आम रूपमा र सधैँजसो देखिने स्थिति हो। योभन्दा पनि खराब कुरा भनेको आफू कस्तो प्रकारको व्यक्ति हुँ र आफू कस्तो स्थितिमा छु—आफ्नो स्थिति असल छ कि खराब छ, सही छ कि गलत छ, नकारात्मक छ कि सकारात्मक छ—भनेर थाहा नपाउनु हो। यो सबैभन्दा समस्याजनक कुरा हो। यस्तो व्यक्तिलाई आफ्नो जीवन प्रवेशसँग सम्बन्धित समस्याहरूको विस्तृत विवरण थाहा हुँदैन, झन् उसले कहाँबाट सत्यता अभ्यास गर्न सुरु गर्ने भनेर जान्नु त परै जाओस्। उसमा जोस मात्र हुन्छ, तर उसले कुनै सत्यता बुझ्दैन, उसमा विवेक हुँदैन, र उसले कुनै पनि अनुभवात्मक गवाहीबारे बोल्न सक्दैन। अनि, यस्तो व्यक्तिले परमेश्‍वरको जोरदार गवाही दिन कहिले सक्ला त? कतिपय मानिसहरू कैयौँ वचन र धर्मसिद्धान्तहरू भट्ट्याउन सक्छन्, तर यदि तैँले तिनीहरूलाई “के तिमीले परमेश्‍वरको गवाही दिइरहेका छौ त?” भनेर सोधिस् भने, तिनीहरू आफैलाई समेत केही थाहा हुँदैन। तिनीहरू आफूले आफ्नो कर्तव्य बफादारीपूर्वक र झारा नटारी निभाइरहेको सोच्छन्। तिनीहरू आफू सबै पक्षबाट असल अनि सबथोकमा अरूभन्दा राम्रो रहेको सोच्छन्। अरूहरू कमजोर हुँदा, तिनीहरू अर्ती दिने पनि गर्छन्: “तिमी किन यति कमजोर भएको? ल, परमेश्‍वरलाई प्रेम गर! यति समय बितिसक्यो, तर तिमीचाहिँ अझै कमजोर छौ?” यस्ता व्यक्तिहरूसँग स्पष्टतः कुनै वास्तविकता हुँदैन; तिनीहरूले सामान्य स्थितिहरू र जीवन स्वभाव बदल्ने प्रक्रियाहरू बुझ्दैनन्। तिनीहरूले “यो कमजोर हुने समय नै होइन!” अनि “अब अझै पनि तिमी आफ्नो परिवारबारे चिन्तित छौ?” भन्‍नेजस्ता प्राय सुनिने भनाइहरू मात्र दोहोऱ्याउँछन्, र यस्ता धर्मसिद्धान्तहरू प्रयोग गरेर अरूलाई जोस्याउने र भाषण सुनाउने काम गर्छन्, तर कदापि कुनै पनि व्यावहारिक समस्याहरू समाधान गर्दैन। आफ्नै स्थिति बोध गर्न नसक्नु र आफैलाई साँचो रूपमा चिन्न नसक्नु अपरिपक्व कदको सबैभन्दा स्पष्ट प्रकटीकारण हो। सत्यता अभ्यास गर्न नसक्नु र त्यसको साटो केही नियमहरू मात्र पालन गर्नु अपरिपक्व कदको सूचक हो। आफ्नो कर्तव्य निभाउन र काम राम्ररी गर्न चाहनु, तर कुन सिद्धान्त पालन गर्ने भनेर नजान्नु अनि आफ्नै प्राथमिकताअनुसार कार्य गर्नु अपरिपक्व कदको सूचक हो। अरूको अनुभावात्मक गवाही सुन्नु र त्यसको भित्री कुरा खुट्ट्याउन नसक्नु, र त्यसबाट व्यक्तिले के लाभ हासिल गर्नुपर्छ वा के पाठ सिक्नुपर्छ भनेर स्पष्टसँग भन्न नसक्नु अपरिपक्व कदको सूचक हो। परमेश्‍वरको वचन अनुभव र अभ्यास गर्न नसक्नु, र परमेश्‍वरलाई उच्च तुल्याउनु र उहाँको गवाही दिनु भनेको के हो भनेर थाहा नहुनु—यी सबै अपरिपक्व कदका सूचक हुन्। अहिले तिमीहरू कुन चरणमा छौ? (हामीहरू प्राय: नकारात्मक हुने गर्छौँ।) यो स्थिति त अपरिपक्व कदको झन् ठूलो सूचक हो। अत्यन्तै मूर्ख र अज्ञानी मानिसहरूको कुनै कद हुँदैन। तिनीहरू धेरै सत्यता बुझ्न, मामलाहरू खुट्ट्याउन, आफ्ना समस्याहरू सुल्झाउन, कम नकारात्मक स्थिति र बढी सामान्य स्थिति हासिल गर्न, भारी बोझहरू लिन, र अरूलाई अगुवाइ र भरणपोषण गर्न सक्ने भएपछि मात्र, तिनीहरूमा साँच्‍चिकै कद हुनेछ। तँ सत्यताप्रति लागिपर्नुपर्छ; तँ जति लागिपर्छस्, त्यति नै बढ्नेछस्। लागिपरिनस् भने, तँ बढ्नेछैनस्, बरु तँ पतन हुनसमेत सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्न, तैँले सत्यताअनुसार जिउनुपर्छ; अझ बढी सत्यता बुझेर, तैँले कद प्राप्त गर्छस्। यदि तँ सत्यता बुझ्दैनस् भने, तेरो कुनै कद हुनेछैन। जब तँ सत्यता पछ्याउन थाल्छस् र जब तँ आफ्ना समस्या हल गर्न सक्षम हुन्छस्, तेरो कद बढेको हुनेछ।

अक्टोबर १५, २०१७

अघिल्लो: मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?

अर्को: सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्