८९. हेर्नुहोस् मेरा आमाबुबा को हुन्
म सानो छँदादेखि नै मैले सधैँ मेरा आमा-बुबालाई परमेश्वरमा विश्वास गर्ने रोल मोडेल मानेकी थिएँ। मलाई उहाँहरू आफ्नो आस्थाप्रति एकदमै समर्पित र त्याग गर्न तयार हुनुहन्छ भन्ने लाग्थ्यो। आखिरी दिनहरूमा सर्वशक्तिमान परमेश्वरको काम स्वीकार गरेको केही समयपछि नै मेरी आमाले पूर्णसमय कर्तव्य गर्न निकै राम्रो जागिर छोडिदिनुभयो। उहाँसँग केही सीप र ज्ञान थियो, उहाँ मूल्य चुकाउन तयार हुनुहुन्थ्यो, त्यसैले मण्डलीमा उहाँले सधैँ महत्त्वपूर्ण कर्तव्यहरू सम्हाल्नुहुन्थ्यो। पछि, हाम्रो परिवारलाई एउटा यहुदाले बेचिदियो, त्यसैले मेरा आमा-बुबा चिनियाँ कम्युनिष्ट पार्टीको पक्राउबाट बच्न मलाई लिएर लुक्न थाल्नुभयो, त्यो बेला म सानै थिएँ। त्यसो हुँदा पनि, उहाँहरूले आफ्नो कर्तव्य गरिरहनुभएको थियो। योसँगै उहाँहरूको जीवन सादा थियो, उहाँहरूको सामान्य व्यवहार भक्तिमय र आत्मिक देखिन्थ्यो, र मैले अक्सर मण्डलीका सदस्यले मेरा आमा-बुबामा असल मानवता छ, उहाँहरू साँचो विश्वासी र सत्यता पछ्याउने मानिस हुनुहुन्छ भनेको सुन्ने गर्थेँ। म!० वर्ष हुँदा पार्टीको सताइका कारण आमा-बुबासँग छुट्टिनुपर्यो, हामीबीच भेटघाट हुने कुनै बाटो नभए पनि, उहाँहरूको यो भव्य प्रभाव मेरो मनमा सधैँ थियो। म उहाँहरूलाई धेरै आदर र सम्मान गर्थें, र मलाई उहाँहरूमा अगाध आस्था छ, सबै त्याग गरेर उहाँहरूले सत्यता पछ्याउनुपर्छ र उहाँहरूमा असल मानवता हुनुपर्छ, र परमेश्वरले उहाँहरूर्ला अनुमोदन गर्नुपर्छ भन्ने लाग्थ्यो। मलाई उहाँहरू मुक्ति पाउने मानिस हुनुहुन्छ भन्ने पनि लाग्थ्यो। उहाँहरूलाई आमा-बुबा पाएर म धन्य थिएँ।
पछि, पार्टीको सताइका कारण हामी सबै विदेश भाग्यौँ। त्यसको केही समयपछि उहाँहरूसँग मेरो सम्पर्क हुँदा, उहाँहरूले विदेशमा पनि कर्तव्य गरिरहेको देखेँ। खास गरी, मेरी आमा कयौँ परियोजनाको सुपरभाइजर रहेको थाहा पाउँदा, मैले उहाँलाई झन् आदर गर्न थालेँ। मेरा आमा-बुबा यतिका वर्षदेखि विश्वासी हुनुहुन्थ्यो, धेरै कुराको अनुभव बटुल्नुभएको थियो, र अहिले उहाँहरूले यस्तो महत्त्वपूर्ण कर्तव्य निभाइरहनु भएको थियो। उहाँहरू सत्यता पछ्याउने र कद भएका मानिस हुनुहुन्छ भन्नेमा म पक्का थिएँ, त्यसैले यसपछि, मलाई कुनै प्रकारको समस्या वा कठिनाइ हुँदा सहयोगका लागि उहाँहरूसामु जान सक्थेँ। राम्रो कुरा थियो।
पछि, हामी कहिलेकाहीँ आफ्नै पछिल्लो स्थितिबारे सङ्गति गर्थ्यौँ। एक पटक, मेरो बुबाले भन्नुभयो, उहाँले खासै प्राविधिक सीप नचाहिने एउटा काम गर्दै हुनुहुन्छ, र अर्को कर्तव्यमा जान पाए हुन्थ्यो भन्ने सधैँ लागिरहन्छ। म पनि त्यो बेल त्यस्तै स्थितिमा जिइरहेकी थिएँ, त्यसैले हामीले एकअर्कासँग सङ्गति गर्यौँ, प्रवेश गर्नेसम्बन्धी परमेश्वरका केही वचन साटासाट गर्यौँ। समयसँगै, परमेश्वरका वचन खाएर र पिएर मैले बुझेँ कि म आफ्नो कर्तव्यमा छानुवा हुँदैछु, आफूलाई नाम र लाभ दिने कर्तव्य गर्न खोज्थेँ, तर यी कुरा नदिने भएमा म सुस्त हुन्थेँ। म निकै स्वार्थी, घृणित थिएँ र परमेश्वरप्रति इमानदार हृदय थिएन। मैले आफैलाई घृणा र तिरस्कार गर्न थालेँ, र म त्यो स्थितिबाट निस्कन सक्षम भएँ। तर मेरो बुबा त्यही स्थितिमा जिइरहनुभयो, र उहाँ आफ्नो कर्तव्य गर्न उत्प्रेरित नै हुन सक्नुभएन। म अन्योलमा थिएँ। उहाँ विश्वासी भएको एक दशकभन्दा बढी भएकाले उहाँमा केही कद हुनुपर्ने हो, तर, कर्तव्यमा छनुवा हुने यो समस्या चैँ किन समाधान गर्न सक्नुभएन? मलाई के पनि महसुस भयो भने, म मेरा आमा-बुबासँग मेरा कठिनाइ र समस्याबारे अक्सर कुरा गर्दा, उहाँहरूले मलाई परमेश्वरका केही वचन पठाएर वस्तुस्थितिबारे आफ्ना विचार सङ्गति गर्नुभएको भए पनि उहाँहरूले भनेका कुराले मेरा समस्या समाधान हुन सकेका थिएनन्। मेरो दिमागमा के आउन थाल्यो भने, मैले कल्पना गरेजस्तो सत्यता उहाँहरूले बुझ्नु भएकै रहेनछ। पछि,सबै ब्रदर-सिस्टरले परमेश्वरको गवाही दिन अनुभव निबन्धहरू लेखिरहेका थिएँ। मैले ठानें, लामो समयदेखिको विश्वासी रहनुभएका मेरा आमा-बुबासँग धेरै अनुभव छ, खास गरी आमासँग। उहाँ एउटा ख्रीष्टविरोधीको सताइमा पर्नुभएको र गल्तीले मण्डलीबाट निकालिनुभएको थियो, तर उहाँले क्षमताले भ्याएसम्म सुसमाचार प्रचार गरिरहनुभयो। मण्डलीमा फेरि प्रवेश पाएपछि, पाएका जुनसुकै कर्तव्यलाई दिलोज्यानले गर्नुभयो। उहाँसँग धेरै पटक बर्खासी र पुनः नियुक्ति भएको अनुभव पनि छ, त्यसैले उहाँसँग प्रचुर अनुभव हुनुपर्छ। मैले सोचेँ, उहाँले परमेश्वरको गवाही दिन सकेसम्म छिटो यी अनुभवबारे लेख्नुपर्छ। त्यसैले मैले आमालाई सकेसम्म छिटो निबन्ध लेख्न आग्रह गर्न थालेँ, तर उहाँले लेख्न खोजिरहनुभएको थिएन, आफूले लेख्न चाहेको, तर कर्तव्यमा व्यस्त भएकोले शान्त भएर लेख्न नभ्याएको भन्नुभयो। मैले उहाँलाई भनिरहेँ, तर उहाँले कहिल्यै लेख्नुभएन। एक पटक, उहाँले मलाई आफूले निबन्ध लेख्न चाहेको, तर विचारहरू सङ्गठित गर्न नसकेको र कहाँबाट शुरु गर्ने थाहा नभएकोले मसँग छलफल गर्न चाहेको भन्नुभयो। म निकै खुसी भएँ। म साँच्चै वर्षौँदेखिको उहाँका सबै अनुभव सुन्न चाहन्थेँ। तर म निकै छक्क परेँ कि उहाँले भोगेका घटना र उहाँमा देखिएका भ्रष्टताबारे कुरा गरेपछि, उहाँले कुनै पनि वास्तविक बुझाइबारे बोल्नुभएन, बरु उहाँले धेरै नकारात्मक कुरा भन्नुभयो, आफूलाई सीमाङ्कन गर्नुभयो। विगतका केही अनुभव सम्झनु उहाँका लागि पीडादायी थियो, मानैँ, विकल्प नै नभएर उहाँले आफूलाई समर्पित गर्नुभएको थियो। उहाँले यसबाट प्राप्त कुनै पनि वास्तविक कुराबारे भन्नुभएन। हाम्रो कुरापछि मलाई निकै नराम्रो लाग्यो। मैले सोचेकी थिएँ, उहाँले साँच्चै बुझाइ वा केही प्राप्ति गर्नुभएको थियो भने, त्यस समयको अनुभव जतिसुकै पीडादायी वा नकारात्मक भए पनि, उहाँले परमेश्वरका वचन खाने पिउने, सत्यता खोज्ने, परमेश्वरको इच्छा बुझ्ने, र आफू र परमेश्वरबारे साँचो ज्ञान लिने काम गरेसम्म, अन्ततः केही मिठासको अनुभूति र केही आनन्द हुने थियो। तर, विगतको अनुभवबारे कुरा गर्दा, उहाँ निकै पीडा र नकारात्मकतामा पुगिहाल्नुहुन्थ्यो, र आफूबारे उहाँको बुझाइ भावनात्मक बढी र अव्यावहारिक रहेको देखिन्थ्यो। के यसको अर्थ उहाँमा वास्तविक अनुभव थिएन भन्ने हो? अचानक मैले बुझेँ—उहाँले परमेश्वरको गवाही दिने निबन्ध लेख्न इच्छा नदेखाउनु कुनै आश्चर्य होइन। उहाँले समय छैन भन्नु केवल बहाना थियो। मुख्य कुरा भनेको उहाँले सत्यता वा कुनै वास्तविक कुरा पाउनुभएकै थिएन, त्यसैले उहाँले अनुभवात्मक गवाही लेख्न सक्नुभएन। जहाँसम्म बुबाको कुरा छ, उहाँ निबन्ध लेख्ने इच्छुक भएपनि, उहाँले मामुली कुराहरू मात्रै बढी लेख्नुभयो, त्यसमा आफ्नो वास्तविक आत्मज्ञान वा अनुभवबाट पाएका कुरा पर्याप्त थिएनन्। यो उहाँको वर्षौँदेखि विश्वाससँग मेल खाँदैनथ्यो। मैले परमेश्वरका यी वचन सम्झेँ: “तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्ने कुरा तेरो वरिष्ठता वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू निर्माण गरेको छस् भन्ने कुरामा त झनै कम निर्भर हुन्छ। बरु, यो त तेरो खोजीले फल फलाएको छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने ‘रूखहरू’ हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष सडकहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसको के मतलब हुन्छ र? तेरो गवाही कहाँ छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७))। त्यो मेरा लागि एउटा चेतावनी थियो। यो साँचो हो। व्यक्तिले परमेश्वरमा जति लामो विश्वास गरेको, जति धेरै काम गरेको वा जति कुराको अनुभव गरेको भए पनि, उसले आफूले भोगेका कुराबाट कुनै वास्तविक प्राप्ति गरेको छैन भने, र कुनै सत्यता प्राप्त गरेको छैन र गवाही दिन सक्दैन भने, उसँग जीवनको कमी छ भन्ने हुन्छ। यस प्रकारको व्यक्तिले अन्तसम्म विश्वास गरे पनि कहिल्यै मुक्ति पाउन सक्दैन। मैले यो कुरा बुझेपछि, ममा जुन भावना आयो, त्यो वर्णन गर्न सक्दिनँ। मेरो मनमा रहेको मेरा आमा-बुबाको “सत्यता बुझ्ने” र “कद भएको” मानिस भन्ने छवि पहिलो पटक टुट्यो। मैले बुझ्नै सकिनँ। यत्रो वर्षको आस्था र उहाँहरूले गरेका सबै त्यागपछि, अहिलेसम्म किन सत्यता पाउन सक्नुभएन? एक्लै म नरोई बस्नै सकिनँ। त्यसपछि मैले उहाँहरूलाई त्यति धेरै प्रशंसा नगरेपनि, अझै पनि के लाग्थ्यो भने, जेजस्तो भए पनि, यतिका वर्षको त्यागपछि, कमसेकम यसको अर्थ उहाँहरूमा सरल मानवता छ र उहाँहरू साँचो विश्वासी हुनुहुन्छ। उहाँहरूले कर्तव्य राम्रोसँग गर्न सक्नुभयो, र सत्यता पछ्याउन सुरु गर्नुभयो भने मुक्ति पाउन सक्नुहुन्छ। तर त्यसपछि केही यस्ता कुरा भए जसले उहाँहरूबारे मेरो विचार फेरि बदल्यो।
एक दिन, मेरो बुबालाई सदैव झारा टार्ने, कठिन कामबाट भाग्ने र राम्रा नतिजा नल्याइरहेको भनेर बर्खास्त गरिएको थाहा पाएँ। तयसको केही समयपछि, आमालाई पनि खराब मानवता भएको, मण्डलीको हितलाई कायम नराखेको, अहङ्कारी स्वभाव पालेको, र कर्तव्यमा सकारात्मक भूमिका नखेलेको भन्दै बर्खास्त गरिएको थाहा पाएँ। त्यो बेला म छक्क परे, मलाई विश्वास नै भइरहेको थिएन, मनमनै सोचेँ, “यस्तो कसरी हुन सक्यो?” के कर्तव्य पूरा गर्न नसक्दा मूलतः खुलासा र निष्कासित हुनेसम्म हुन्छ? के उहाँहरूमा खराब मानवता छ? मेरा आमा-बुबालाई चिन्ने पुराना सबैले सधैँ उहाँहरूमा राम्रो मानवता भएको भन्थे, अन्यथा, उहाँहरूले यति धेरै त्याग कसरी गर्न सक्नुहुन्थ्यो? मेरो मन अशान्त भयो, धेरै चिन्ता र आशंकाहरू उब्जिन थाले। उहाँहरूलाई कस्तो भइरहेको होला, पीडा वा कष्टमा पो हुनुहुन्छ कि भन्ने लाग्यो। यसबारे जति सोचेँ, उति नै मन खिन्न र उदासीन भयो। मलाई मण्डलीले यो सिद्धान्तका आधारमा गरेको र उचित कुरा हो भन्ने थाहा भए पनि, यो स्विकार्न मलाई गाह्रो भयो, मैले मनमनै सोचेँ, “मेरा आमा-बुबाले यतिका वर्षदेखि परमेश्वरमा विश्वास गर्नुभएको छ, धेरै कुरा झेल्नुभएको छ, चिनियाँ कम्युनिष्ट पार्टीको सताइले लुक्नु परेको छ, म सानै हुँदादेखि हामी थोरै समय सँगै र धेरै समय अलग रहेका छौँ। परमेश्वरको काम समाप्त भएपछि हामी सबैको राज्यमा मिलन हुने आश थियो। तर अब…। यतिका वर्षसम्मको कठिनाइ भोगेपछि र यति धेरै काम गरेपछि पनि, उहाँहरूलाई यति सजिलै कसरी बर्खास्त गर्न सकियो?” मैले यसबारे जति धेरै सोचेँ, उति धेरै दुःखी भएँ, र फेरि आँखाबाट आँशु खस्न थाले। ती केही दिनमा, मैले खुइय्य गर्नुबाहेक केही गर्न सकिनँ र कर्तव्यमा मन नै लाग्दैनथ्यो। यस मामिलाबारे सोच्दा मेरो मन दुःखी हुन्थ्यो र शरीरबाट सबै ऊर्जा हराएर जान्थ्यो। लाग्थ्यो खोजी गर्ने मेरा सबै प्रेरणा अचानक हराएका छन्। मेरो स्थिति गलत रहेको मलाई थाहा थियो, र मनमनै आफैलाई सम्झाइरहन्थेँ, “मेरा आमा-बुबाको बर्खासी उचित रहेको हुनुपर्छ, परमेश्वर धर्मी हुनुहुन्छ।” तर मेरो हृदयले यो स्विकार्न नै सकेन र परमेश्वरसँग यस्तो तर्क गर्न पुगेछु, “केही ब्रदर-सिस्टर छन्, जसले मण्डलीका काममा कुनै वास्तविक योगदान दिएका वा कुनै महत्त्वपूर्ण कर्तव्य गरेका छैनन् र पनि तिनीहरूले आफ्नो कर्तव्य गरिरहेका छन्, अनि, मेरा बुबाआमालाई चैँ किन बर्खास्त गरिएको? उहाँहरूका जे समस्या भए पनि, त्यतिका वर्षमा केही हासिल नगर्नु भएको भए पनि, उहाँहरूले मेहनत गर्नुभएकै थियो, त्यसैले, उहाँहरूले भोगेका कष्ट र गरेका काम हेरेर उहाँहरूलाई अर्को मौका दिन सकिन्न र?” मेरो यो स्थिति गलत हो भन्ने म जान्दथेँ, तर मेरो हृदय झुक्न चाहेन र ममा सत्यता खोज्ने कुनै प्रेरणा थिएन। त्यसैले म परमेश्वरसामु आई प्रार्थना गरेँ, “हे परमेश्वर, म धेरै पीडामा छु। कृपया मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् ताकि म तपाईँको इच्चा बुझ्न सकूँ।”
मेरो स्थिति कसरी हल गर्ने भन्नेबारे सोध्न म एउटी सिस्टरकहाँ गएँ, र उनलाई बताउँदै गर्दा म रुन थालिहालेँ। उनले मसँग सङ्गति गरिन्, “तपाईँका आमा-बुबा बर्खास्त हुनुभयो, तर उहाँहरू हटाइएको वा निकालिएको हैन। तपाईँ किन दुःखी हुनभएको? तपाईँले यसभित्र परमेश्वरको प्रेम छ भनी हेर्नुपर्छ। यो परमेश्वरले उहाँहरूलाई पश्चात्ताप गर्ने मौका दिइरहनुभएको हो।” उनले यसो भनेपछि बल्ल मेरा आँखा खुले। यो साँचो थियो। बर्खासीको अर्थ व्यक्तिलाई खुलासा गरी निकालिएको हो भनेर परमेश्वरले कहिल्यै भन्नुभएको छैन। धेरै ब्रदर-सिस्टरले बर्खास्त भएपछि नै चिन्तन, पछुतो, साँचो पश्चात्ताप गरेर बदलिन थाल्छन्। त्यसपछि, तिनीहरूले मण्डलीमा फेरि कर्तव्य सम्हाल्छन्। कुनै पनि मामिलामा, कर्तव्य पाउँदैमा मुक्ति पाउने प्रत्याभूति हुँदैन। सत्यता नपछ्याएमा परमेश्वरबाट अझै पनि निकालिन सकिन्छ। वास्तवमा, बर्खास्त गरिनु भनेको परमेश्वरले मेरा आमा-बुबालाई चिन्तन र पश्चात्ताप गर्ने मौका दिइरहनुभएको हो, तर मैले बर्खासी हुनुलाई खुलासा गरी निकालिनु जस्तै ठानेँ। यो विचार सत्यताअनुरूप छैन! जब मैले यो तरिकाले सोचेँ, मलाई केही राहत भयो, तर, पछिल्ला समयमा यसबारे सोच्दा अझै पनि दुःख लाग्थ्यो। मण्डली उहाँहरूप्रति निकै कठोर भएको छ भन्ने कुरा मेरो मनमा आइरहन्थ्यो।
पछि, मैले परमेश्वरका वचन पढेँ: “तँ कुनै मामिलालाई जति कम बुझ्छस्, तँमा त्यति नै बढी परमेश्वरको डर मान्ने र भक्त हृदय हुनुपर्छ, र तँ बारम्बार परमेश्वरका अभिप्रायहरू र सत्यता खोजी गर्न उहाँअघि आउनुपर्छ। तैँले कुराहरू नबुझ्दा, तँलाई परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन चाहिन्छ। तैँले आफूले नबुझ्ने कुराहरू सामना गर्दा, परमेश्वरलाई तँमाथि अझै बढी काम गर्नुहोस् भनी अनुरोध गर्नुपर्छ। यी परमेश्वरका ध्यानपूर्ण विचारहरू हुन्। तँ परमेश्वरको अघि जति आउँछस्, तेरो हृदय त्यति नै परमेश्वरको नजिक हुनेछ। अनि के तेरो हृदय परमेश्वरको जति नजिक हुन्छ, परमेश्वर त्यसमा त्यति नै धेरै बास गर्नुहुनेछ भन्ने कुरा साँचो होइन र? परमेश्वर व्यक्तिको हृदयमा जति धेरै बस्नुहुन्छ, उसको खोजी, उसले हिँड्ने मार्ग, र उसको हृदयको स्थिति त्यति नै असल बन्नेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचन पढेपछि केही शान्ति भयो। परमेश्वर भन्नुहुन्छ: कुनै कुरा जति कम बुझिन्छ, त्यति नै परमेश्वरको डर मान्ने हृदय लिएर सत्यता खोज्नुपर्छ। यसरी मात्रै स्थितिमा सुधार भइरहन सक्छ। मेरा आमा-बुबाको बर्खासीबारे सोच्दै गर्दा, धर्मसिद्धान्तअनुसार यस्तो गर्नु मण्डलीका लागि उचित हुनुपर्छ र मैले गुनासो वा मूल्याङ्कन गर्नुहुन्न, यसबारे ध्यान दिन छोड्नुपर्छ भन्ने मलाई थाहा थियो, तर मैले अझै पनि मेरा गलतफहमी र परमेश्वरसँगको दूरी हल गर्न सकेकी थिइनँ। जबजब मैले यो मामिलाबारे सोच्थेँ, तब मलाई अझै पनि यस्तो अनौठो दुखाइ र पीडा हुन्थ्यो। यो बिन्दुमा मैले के बुझेँ भने हामीले नबुझ्ने वा बोध गर्न नसक्ने कुरासँग हाम्रो सामना हुँदा, हामीले सक्रियतासाथ सत्यता खोज्नुपर्छ, नियम समातेर आफूलाई नियन्त्रण गर्नु, कुरालाई कुहिरोमा छिर्न दिनुहुँदेन—यसरी समस्याको हल गर्न सकिँदैन। वास्तवमा, मैले मेरा आमा-बुबालाई राम्रोसँग चिनेकी थिइनँ। मैले बहिरबाट उहाँहरूले त्याग गरेको, समर्पित भएको र अरूले पनि उहाँहरूबारे राम्रो कुरा भनेको सुनेँ, तर यो वास्तवमा सङ्कीर्ण र एकपक्षीय कुरा थियो। मैले उहाँहरूसँग हालै सम्पर्कमा रहेका ब्रदर-सिस्टरबाट उहाँहरूको बारेमा अझ धेरै सुन्नुपर्थ्यो, मेरो आफ्नै अनुभूतिमा भर पर्नु हुँदैनथ्यो। मैले मेरा आमा-बुबाको कर्तव्यमा उहाँहरूको व्यवहारका खासखास कुरा हेर्न थालेँ। मैले उहाँहरूको निबन्ध र उहाँहरूबारे अरूले गरेका मूल्याङ्कन पढ्न थालेँ। तिनमा मेरो बुबा कर्तव्यमा लापरवाही भएको, कठिन कामबाट पछि हटेको, र शारीरिक कष्ट हुने काम गर्न खासै मन नगरेको, उहाँमा सीप भए पनि कर्तव्यमा निष्क्रिय बसेको र धेरै कुरा हासिल नगरेको भनिएका थिए। उहाँलाई कयौँ पटक बर्खासी र सरुवा गरिएको थियो, तर सरुवा गरिएका कुनै पनि कर्तव्य राम्ररी गर्नुभएन। उहाँले पछि सुसमाचार प्रचार गर्दा पनि लापरवाह हुनुभयो, र परिश्रमबाट भाग्नुभयो। सुपरिवेक्षकको निगरानी विना उहाँले कुनै कुरा पूरा गर्नु भएन। ब्रदर-सिस्टरले उहाँको कर्तव्यका समस्या औँल्याउँदा, उहाँले आत्मचिन्तन गर्नुभएन, बरु सधैँ बहाना बनाइरहनुभयो, आफू बुढो हुँदै गएको, स्वास्थ्यमा समस्या भएको, र त्यो कर्तव्य गर्न बल नरहेकोले समस्या आउनु सामान्य रहेको र अरूले आफूबाट धेरै खोजेकाले पनि यस्तो देखिएको भन्नुभयो। परिणामस्वरूप, कर्तव्यमा राम्रो नतिजाहरू हासिल नभएपछि उहाँलाई बर्खास्त गरियो। मेरी आमा निकै ऊर्जावान र कर्तव्यमा मूल्य चुकाउन सक्ने देखिए पनि, उहाँले केवल सतही काम गर्नुभयो र धेरैजसो समय झारा टारेर मात्र बस्नुभयो। उहाँले व्यवहारिक काम गर्नुभएन र कामको प्रगतिलाई सुस्त बनाउनुभयो। उहाँले धेरै काम गरे पनि काममा धेरै समस्या थिए, जसले परमेश्वरको घरको हितमा ठूलो हानि गर्न पुग्यो। यसबाहेक, उहाँ सधैँ आफूलाई आलोचनाबाट बचाइरहनुभयो, र मण्डलीको हितलाई छोडेर आफ्नै हितको रक्षा गरिरहनुभयो। उदाहरणका लागि, कुनै कुरालाई तुरुन्त सम्हाल्नुपर्ने हुन्थ्यो, र त्यहाँ उहाँ नै जाँदा राम्रो हुन्थ्यो तर, उहाँ कसैको मन दुखाउँछु कि भन्ने डरले अरू कसैलाई पठाउनुहुन्थ्यो, जसले मण्डलीको काम रोकिन्थ्यो। ब्रदर-सिस्टरले उहाँमा अहङ्कारी स्वभाव थियो, र उहाँ जिद्दी हुनुहुन्थ्यो पनि भने। उहाँले आफ्नो अनुभवलाई वैशाखी बनाउनुभयो, अरूसँग छलफल नगरी आफूले चाहेअनुसार गर्नुहुन्थ्यो। उहाँ अरूको सुझावहरू पनि स्विकार्न सक्नुहुन्नथ्यो, आफ्नै कामलाई माया गर्नुहुन्थ्यो, पारदर्शिता थिएन, र उहाँले कसरी धेरै काम गर्नुभयो भन्नेबारे ब्रदर-सिस्टरलाई थाहा हुँदैनथ्यो। कसैले उहाँको इच्छाअनुरूप नहुने कुनै काम गरेको खण्डमा, उहाँको पारो तात्थ्यो र रिसाउँदै गाली गर्नुहुन्थ्यो, जसले अरूलाई विवशता महसुस गराउँथ्यो। एउटा ब्रदरले त यति विवशता महसुस गरे कि उनले उहाँलाई यसो भने, “सिस्टर, ममा क्षमताको कमी छ। मसँग काम गर्दा तपाईँलाई निकै कष्ट भएको हुनुपर्छ, मलाई माफ गर्नुहोला!” केही अरूले पनि भने: “मेरो कर्तव्यका लागि मात्रै हो, नत्र म कहिल्यै उहाँजस्तो व्यक्तिसँग कुराकानी गर्दिनँथेँ।” अरूले उहाँका समस्या औँल्याउँदा उहाँले स्वीकार गर्न मान्नुभएन। उहाँकै काम हेर्ने सिस्टरप्रति पनि उहाँ निकै पक्षपाती र प्रतिरोधी हुनुहुन्थ्यो। उहाँ सधैँ अरूले आफ्नो जीवन गाह्रो बनाएको र उहाँलाई उचित व्यवहार गर्न नसकेको ठान्नुहुन्थ्यो। यी मूल्याङ्कनहरू पढेपछि म छक्क परेँ। मेरा आमा-बुबा साँच्चै यस्तो हुनुहुन्थ्यो भन्ने कुरा मैले विश्वास नै गर्न चाहिनँ।
पछि, मैले परमेश्वरका वचनमा यो कुरा पढेँ: “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवत्वका तत्वहरू हुनुपर्छ। यी सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण, दुवै हुन्। अनि, अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवत्वको कमी भएको, अत्यन्तै कमजोर मानावत्व भएको व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवत्वका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर विश्लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र तुच्छ हुन्छन्।) स्वार्थी र तुच्छ मानिसहरू आफ्ना कार्यहरूमा झाराटारुवा हुन्छन् र आफूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त तिनीहरूले परमेश्वरका अभिप्रायहरूबारे कुनै वास्ता नै राख्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने कुनै पनि भार बोक्ने वा परमेश्वरको गवाही दिने काम गर्दैनन् र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। “जब व्यक्तिमा असल मानवत्व, साँचो हृदय, विवेक, र तर्कशक्ति हुन्छ, तब यी देख्न वा छुन नसकिने खोक्रा वा अस्पष्ट कुराहरू होइनन्, बरु यी त दैनिक जीवनमा जहाँसुकै देख्न सकिने कुराहरू हुन्; यी सबै वास्तविकताका कुराहरू हुन्। मानौँ कुनै व्यक्ति महान् र सिद्ध छ रे: के त्यसमा तैँले देख्न सक्ने केही कुरा छ? तैँले सिद्ध वा महान् हुनु भनेको के हो त्यस कुरालाई देख्न, छुन, वा कल्पना गर्नसमेत सक्दैनस्। तर तैँले कुनै व्यक्ति स्वार्थी छ भनेर भन्छस् भने, के तैँले त्यो व्यक्तिको व्यवहारलाई देख्न सक्दैनस् र—र के त्यो व्यक्ति उक्त व्याख्यासँग मिल्दैन र? यदि कुनै व्यक्ति साँचो हृदयसहितको इमानदार व्यक्ति हो भने, के तैँले यो बानीबेहोरालाई देख्न सक्दैनस् र? यदि कुनै व्यक्ति छली, कुटिल, र नीच छ भनेर भनिन्छ भने, के तैँले ती कुराहरूलाई देख्न सक्दैनस् र? तैँले आफ्नो आँखा बन्द नै गरिस् भने पनि, त्यो व्यक्तिको मानवत्व सामान्य छ कि घृणित छ भन्ने कुरालाई उसले के भन्छ र कसरी व्यवहार गर्छ त्यस कुराद्वारा बोध गर्न सक्छस्। त्यसकारण, ‘असल वा खराब मानवत्व’ रित्तो वाक्यांश होइन। उदाहरणको लागि, स्वार्थीपन र नीचता, कुटिलता र छलिपन, वा अहङ्कार र आत्मधार्मिकता सबै तैँले जीवनमा कुनै व्यक्तिको सम्पर्कमा आएपछि बुझ्न सक्ने कुराहरू हुन्; यी मानवत्वका नकारात्मक तत्वहरू हुन्। तसर्थ, मानिसहरूमा हुनुपर्ने मानवत्वका सकारात्मक तत्वहरूलाई—जस्तै, इमानदारिता र सत्यताप्रतिको प्रेमलाई—के अब दैनिक जीवनमा बुझ्न सकिन्छ? कुनै व्यक्तिमा पवित्र आत्माको अन्तर्दृष्टि छ कि छैन; उसले परमेश्वरको मार्गदर्शन प्राप्त गर्न सक्छ कि सक्दैन; उसमा पवित्र आत्माको काम छ कि छैन—के तैँले यी सबै कुरा देख्न सक्छस्? के तैँले यी सबै कुरा पत्ता लगाउन सक्छस्? पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्न, परमेश्वरको मार्गदर्शन पाउन, अनि सबै कुरामा सत्यता सिद्धान्तहरूअनुसार काम गर्न व्यक्तिले पूरा गर्नैपर्ने सर्तहरू के-के हुन्? उसमा इमानदार हृदय हुनैपर्छ, र उसले सत्यतालाई प्रेम गर्नैपर्छ, सबै कुरामा सत्यता खोजी गर्नैपर्छ, र एकपटक सत्यता बुझेपछि यसलाई अभ्यास गर्न सक्नैपर्छ। यी सर्तहरू पूरा गर्नुको अर्थ पवित्र आत्माको अन्तर्दृष्टि पाउनु, परमेश्वरका वचनहरू बुझ्न सक्नु, र सहजै सत्यता अभ्यास गर्न सक्नु हो। यदि कोही इमानदार व्यक्ति होइन र उसले आफ्नो हृदयमा सत्यतालाई प्रेम गर्दैन भने, उसलाई पवित्र आत्माको काम प्राप्त गर्न सङ्घर्ष गर्नुपर्नेछ, र तैँले तिनीहरूसित सत्यता सङ्गति गरिस् नै भने पनि, यसबाट केही परिणाम आउनेछैन। कुनै व्यक्ति इमानदार हो कि होइन भनेर तँ कसरी भन्न सक्छस्? यसमा तैँले ऊ झूट बोल्ने र छल गर्ने गर्छ कि गर्दैन भनेर मात्रै हेर्नु पटक्कै हुँदैन, बरु यसको साटो सबैभन्दा महत्त्वपूर्ण कुरा त उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नु हो। सबैभन्दा मुख्य कुरा त्यही हो। परमेश्वरको घरले सधैँ मानिसहरूलाई हटाउँदै आइरहेको छ, र यस घडीसम्ममा, धेरैलाई पहिले नै हटाइसकिएको छ। तिनीहरू इमानदार मानिसहरू थिएनन्, तिनीहरू सबै छली मानिसहरू थिए। तिनीहरू अधर्मी कुराहरूलाई प्रेम गर्थे, तिनीहरू सत्यतालाई पटक्कै प्रेम गर्दैनथे। तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति नै वर्ष भएको भए पनि, सत्यता बुझ्न वा वास्तविकतामा प्रवेश गर्न सक्दैनथे। झन् त्यस्ता मानिसहरू साँचो रूपमा परिवर्तन हुन सक्नु त परको कुरा थियो। त्यसकारण, तिनीहरूलाई हटाइनु अपरिहार्य नै थियो। जब तँ कुनै व्यक्तिको सम्पर्कमा आउँछस्, सुरुमा के कुरा हेर्छस्? ऊ इमानदार छ कि छैन भनी हेर्न उसका बोलीवचन र कार्महरू हेर्, र उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन र सत्यतालाई स्वीकार गर्न सक्छ कि सक्दैन भनी हेर्। यी कुराहरू महत्त्वपूर्ण छन्। तैँले ऊ इमानदार छ कि छैन, उसले सत्यतालाई स्वीकार र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर निर्धारित गर्न सकुन्जेल, आधारभूत रूपमा तैँले उसको सार देख्न सक्नेछस्। यदि व्यक्तिको मुख मिठो बोलीले भरिएको छ, तर उसले कुनै वास्तविक काम गर्दैन भने—जब कुनै वास्तविक काम गर्ने बेला हुन्छ, ऊ आफ्नै बारेमा मात्रै सोच्छ र अरूको बारेमा कहिल्यै सोच्दैन भने—यो कस्तो प्रकारको मानवता हो? (स्वार्थी र नीच। उसँग कुनै मानवता नै छैन।) के मानवता नभएको व्यक्तिले सत्यता प्राप्त गर्न सजिलो छ? यो उसको लागि कठिन हुन्छ। … यस्ता व्यक्तिहरूले के भन्छन् त्यसमा ध्यान नदे; तिनीहरूले कसरी जिउँछन्, के प्रकट गर्छन्, र कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ, साथसाथै तिनीहरूको आन्तरिक अवस्था कस्तो छ र तिनीहरूले कुन कुरालाई प्रेम गर्छन् त्यो तैँले हेर्नुपर्छ। यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्वरप्रतिको बफादारीभन्दा बढी छ भने, यदि तिनीहरूको आफ्नै ख्याति वा सम्पत्तिप्रतिको प्रेम परमेश्वरको हितप्रतिको प्रेमभन्दा बढी छ भने, वा यदि तिनीहरूको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम तिनीहरूले परमेश्वप्रति देखाएको विचारशीलताभन्दा बढी छ भने, के त्यस्ता व्यक्तिहरूमा मानवत्व हुन्छ? तिनीहरू मानवत्व भएका व्यक्ति होइनन्। तिनीहरूको व्यवहारलाई अरूले पनि देख्छन् र परमेश्वरले पनि देख्न सक्नुहुन्छ। त्यस्ता व्यक्तिहरूलाई सत्यता प्राप्त गर्न धेरै कठिन हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ)। परमेश्वरका वचनबाट मैले देखेँ, कुनै व्यक्तिको मानवता असल छ कि खराब भन्ने मूल्याङ्कन गर्न हामीले कर्तव्य र सत्यताप्रति उसको मनोवृत्ति हेर्नुपर्छ। असल मानवता भएकाले सत्यतालाई प्रेम गर्छन् र कर्तव्यमा परमेश्वरको इच्छालाई विचार गर्छन्। तिनीहरू जिम्मेवार भएर कर्तव्य निर्वाह गर्छन्, भरोसायोग्य हुन्छन्, र मण्डलीका हितको रक्षा गर्छन्। खराब मानवता भएकाहरू स्वार्थी र नीच हुन्छन्, आफ्नै हितहरूबारे मात्रै सोच्छन्। उनीहरू कर्तव्यमा झारा टार्छन्, सुस्त बन्छन् र काम नगरी गफ मात्र गर्छन्। आफ्नै हितको रक्षाका लागि तिनीहरू मण्डलीका हितलाई उपेक्षा वा बिक्री गर्छन्। परमेश्वरका वचनअनुसार मेरा आमा-बुबाको व्यवहार हेर्दा, उहाँहरू मैले सोचेजस्तो असल मानवता भएका मानिस साँच्चै हुनुहुँदोरहेनछ। मेरो बुबा जस्तै–उहाँले केही सतही त्याग गरेको भए पनि, कर्तव्यमा बोझ उठाउनु भएन, बरु लापरवाह हुनुभयो, र परिश्रमबाट भाग्नुभयो। मूल्य चुकाउनुपर्ने भएमा, आफ्ने देहको ख्याल गर्न धेरै बहाना बनाउनुहुन्थ्यो, र मण्डलीको आवश्यकतालाई विचार गर्नुहुन्नथ्यो। उहाँको कर्तव्यमा उहाँलाई निरन्तर सुपरिवेक्षण र आग्रह गरिरहनुपर्थ्यो। उहाँ निकै निष्क्रिय हुनुहुन्थ्यो। जहाँसम्म मेरी आमाको कुरा छ, उहाँ सधैजसो व्यस्त रहेको, कर्तव्यका लागि कष्ट र मूल्य चुकाउन सक्ने, केही काम पूरा गरेको देखिए पनि कर्तव्यबाट कुनै वास्तविक नतिजा निक्लेको थिएन र उहाँले देखाउनका लागि मात्र कर्तव्य गर्नुभयो। उहाँ निकै व्यस्त र कार्यकुशलतामा केन्द्रित भएजस्तो देखिनुहुन्थ्यो, तर खासमा उहाँ छिटोमिठो फाइदा मात्रै खोजिरहनुहुन्थ्यो र यो सबै नाम र हैसियतका लागि थियो। आफ्नो काममा उहाँसँग परमेश्वरको भय मान्ने हृदय थिएन, र यसबाट मण्डलीका हितमा ठूलो नोक्सान भयो। मण्डलीका हित हुने कुरामा, उहाँलाई आफू त्यो कामका लागि सबभन्दा उपयुक्त व्यक्ति भन्ने थाहा हुँदा पनि अरूलाई नै सम्हाल्न लगाउनहुन्थ्यो। उहाँले महत्त्वपूर्ण मामिलामा मण्डलीका हितको रक्षा नगरेको र परमेश्वरसँग एकै हृदयको नभएको मैले देखेँ। उहाँले धेरै काम पूरा गरेको र ठूलो मूल्य चुकाएको मात्र मैले देखेँ, तर यो मूल्य चुकाउनुमा उहाँको मनसाय वा यी कामबाट उहाँले केही हासिल गरे नगरेको, मण्डलीका लागि साँच्चै केही योगदान गरे नगरेको, वा राम्रोभन्दा हानि पो धेरै भएको छ कि भन्ने कुरालाई हेरिरहेकी थिइनँ। आखिरमा मैले देखेँ कि कसैको मानवता असल वा खराब छ भन्ने मूल्याङ्कन गर्नु उसले कति धेरै त्याग वा प्रयास गरेको देखिन्छ भन्नेबारे नभएर उसको मनसाय सही छ छैन, उसले इमानदार भएर मण्डलीका कामबारे सोचिरहेको छ छैन वा आफ्नै नाम र हैसियतका लागि काम गरिरहेको छ कि भन्नेबारे हो। असल मानवता भएका मानिसले सत्यता बुझ्न नसक्लान्, तर तिनीहरूको हृदय सही ठाउँमा हुन्छ र आफ्नो विवेकलाई पछ्याउँछन्। तिनीहरू परमेश्वरको घरसँग एक हृदयका हुन्छन्, कुनै कुरा आईपर्दा मण्डलीको हित रक्षा गर्न सक्छन्, अनि असल नतिजा हासिल गर्न सक्छन्। खराब मानवता भएकाको हकमा, तिनीहरूले जतिसुकै कष्ट भोग्ने र परिश्रम गर्ने, वा राम्रोसँग बोल्ने देखिए पनि वास्तविकतामा, तिनीहरू हरेक कार्यमा झारा टार्ने हुन्छन्, आफ्नै हितका लागि विचार र योजना गरिरहेका हुन्छन्, मण्डलीका हितबारे इमानदार भएर सोच्दै सोच्दैनन्, अनि काममा धेरै गल्ती गर्छन् र कुनै पनि वास्तविक कुरा हासिल गर्दैनन्। तिनीहरू आफ्नो प्रतिभा वा अनुभवमा भर परेर केही अस्थायी काम गर्न सक्लान्, तर दीर्घकालमा, यस्ता व्यक्तिलाई प्रयोग गर्दा लाभभन्दा हानि बढी हुन्छ, किनभने तिनीहरूको मानवता र चरित्र कमसल हुन्छन्। तिनीहरू भर पर्न नसकिने हुन्छन् र वास्तविक काम गर्दैनन्। तिनीहरूले मण्डलीमा कतिबेला हानि गराउने हुन् थाहा नै हुँदैन। जब मैले यो बुझेँ, तब मेरा आमा-बुबामा असल मानवताको कमी छ भन्ने मलाई पूर्ण यकीन भयो।
म सधैँ सोच्थेँ, उहाँहरूले विश्वासका लागि धेरै त्याग गर्नुभयो, अत्यन्त सहज जीवन छोड्नुभयो, दुई दशकसम्म चुनौती झेल्दै निरन्तर कर्तव्य गर्नुभयो, र सत्यता नपछ्याए पनि, उहाँहरू कम्तीमा साँचो विश्वासी, र असल मानवता भएका मानिस हुनुहुन्छ। तर वास्तवमा, यस्ता धेरै मानिस हुन्छन्, जसले कष्ट सहेर देखाउन सक्छन्, तर यसो गर्नुमा प्रत्येक व्यक्तिको प्रेरणा र सार फरक-फरक हुन सक्छ। उहाँहरूलाई कष्ट भोग्न र समर्पित हुन के कुराले प्रेरित गरिरहेको छ, वा आफ्नो कर्तव्यमा उहाँहरूले केही हासिल गरे नगरेको मैले हेरिनँ। मैले उहाँहरूको सतही स्तरको त्याग र प्रयासलाई मात्र हेरेँ, अनि उहाँहरू असल मानवता भएका साँचो विश्वासी हुनुहुन्छ भन्ने सोचेँ। म मेरा विचारमा साँच्चै सतही र मूर्ख थिएँ! यतिका वर्ष विश्वासीका रूपमा, हामीले कम्युनिष्ट पार्टीको सताइ र पारिवारिक विछोडको पीडा भोगेको भए पनि, हामीले परमेश्वरको अनुग्रहको भरपूर आनन्द पनि पायौँ। परमेश्वरले हामीलाई धेरै सत्यता मात्रा नभएर हाम्रो जीवनका लागि चाहिने प्रचुर भरपोषणसमेत दिनुहुन्छ। विवेक र समझ भएको कुनै पनि व्यक्तिले कर्तव्य निर्वाह गर्न र परमेश्वरको प्रेमको मूल्य तिर्न सकेसम्म गर्नुपर्छ। तर, आस्थाका यतिका वर्षपछि र यति धेरै धर्मसिद्धान्त बुझेर पनि, मेरा बुबाआमासँग अझै पनि कर्तव्यप्रति हुनुपर्ने बोझ वा जिम्मेवारीको एकदमै आधारभूत बोध पनि थिएन। उहाँहरूले मण्डलीका हितको पनि रक्षा गर्नुभएन। उहाँहरूले गरेका कामको आधारमा, मण्डलीले उहाँहरूलाई बर्खास्त गर्नु पूरै परमेश्वरको धार्मिकता थियो! उहाँहरूलाई यसरी सम्हाल्नु, मण्डलीका कामका लागि मात्र नभएर उहाँहरूकै लागि पनि राम्रो थियो। यसरी ठक्कर खानु वा असफल हुनुले उहाँहरूलाई आत्मचिन्तन गरी आफैलाई चिन्न र परमेश्वरतर्फ फर्कन, कर्तव्यप्रतिको मनोवृत्ति बदल्न सहयोग पुग्न सकेमा त्यो उहाँहरूका लागि मुक्ति र आस्थाको मार्गमा महत्त्वपूर्ण मोड हुने थियो। उहाँहरूले आत्मचिन्तन, पश्चात्ताप वा बदलाव विना जसरी गर्दै आएको त्यसरी नै गरिरहने हो भने उहाँहरूलाई साँच्चै खुलासा गरिएर निकालिन सकिन्छ। मैले परमेश्वरका केही वचन सम्झेँ: “एक व्यक्तिले जति दुःख भोग्नुपर्छ र उनीहरूले आफ्नो मार्गमा जति दूरी हिँड्नु पर्ने हुन्छ त्यो परमेश्वरद्वारा तोकिएको हुन्छ, र कसैले पनि अरू कसैलाई वास्तवमा सहायता गर्न सक्दैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (६))। यस बिन्दुमा, मैले गर्न सक्ने भनेकै आफूले देखेका समस्या औँल्याउनु र आफूले सकेसम्म उहाँहरूलाई मद्दत गर्नु थियो, तर उहाँहरू कुन मार्ग चुन्नुहुन्छ भन्नेबारे, त्यो मैले चिन्ता गर्ने कुरा थिएन। यी कुरा बुझेपछि मेरा हृदय अलिक उज्यालो भयो, उहाँहरूलाई लिएर दुःखी हुन छोडेँ। मैले मामिलालाई सही ढङ्गले लिन सकेँ।
पछि, परमेश्वरका थप वचन पढेँ: “मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, कष्टको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूको कारुणिक अवस्थाका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। यी खण्ड मेरा लागि निकै प्रेरक थिए। मानिसलाई मुक्ति दिन सकिन्छ सकिँदैन भन्ने निर्णय गर्ने परमेश्वरको एकमात्र मापदण्ड तिनीहरूसँग सत्यता छ छैन र आफ्ना स्वभाव बदलेका छन् छैनन् भन्ने हो। परमेश्वरले यी सबै वर्षमा काम गर्नुभयो, धेरै सत्यता व्यक्त गर्नुभयो, सत्यता वास्तविकतामा प्रवेश गर्ने र मुक्ति पाउनेबारे खास र विस्तृत सङ्गति दिनुभयो। जबसम्म कसैले सत्यतालाई प्रेम र स्वीकार गर्न सक्छ, उसले परमेश्वरको मुक्ति पाउने आशा रहन्छ। तर, कोही वर्षौँको विश्वासपछि पनि सतही त्याग गरेर सन्तुष्ट हुन्छ, सत्यताको अभ्यास गर्दैन वा आफ्नो भ्रष्ट स्वभाव बिलकुलै बदल्दैन भने, तिनीहरूले सत्यता स्वीकार गर्दैनन्, बरु सत्यतादेखि दिक्क मान्छन्। यस्ता व्यक्तिले जतिसुकै त्याग गरे पनि वा जति वर्ष काम गरे पनि, वा जति महत्त्वपूर्ण कर्तव्य निभाए पनि, तिनीहरूले सत्यता र जीवन प्राप्त गरेका छैनन्, वा अन्तमा भ्रष्ट स्वभावमा कुनै बदलाव आएको छैन, र अझै पनि परमेश्वरलाई प्रतिरोध वा विद्रोह गर्छन्, मण्डलीको काममा बाधा र अवरोध ल्याउँछन् भने, तिनीहरूले मुक्ति पाउँदैनन्। धेरै दुष्कर्म गर्नेहरूले परमेश्वरको दण्ड भोग्नेछन्, र यो कुरा परमेश्वरको धर्मी स्वभावले निर्धारण गर्नेछ। त्यसबारे सोचेर, मेरा बुबाआमा यो बिन्दुसम्म कसरी आइपुग्नुभयो भन्नेबारे झन् स्पष्ट भएँ। उहाँहरूले आफ्नो घर र जागिर छोडेर परिश्रम गरेको भए पनि, उहाँहरूले सत्यतालाई प्रेम गर्नुभएन। उहाँहरू कर्तव्यमा लापरवाह र मनोमानी हुनुहुन्थ्यो, र परमेश्वरका वचनका आधारमा आत्मचिन्तन गर्नुभएन वा आफैलाई चिन्नुभएन। ब्रदर-सिस्टरले उहाँहरूको समस्या औँल्याउँदा त्यसलाई स्वीकार नगरी बहाना बनाउनुभयो, अर्को व्यक्तिले उहाँहरूको जीवन गाह्रो बनाउन खोजेको र अरूले उहाँहरूबाट धेरै खोजेको ठान्नुभयो। यसले मलाई उहाँहरू सत्यता स्वीकार नगर्ने र मन नपराउने रहेको देखायो, जसले गर्दा नै कयौँ वर्षको विश्वासपछि पनि उहाँहरूको स्वभाव बदलिएको थिएन। बरु, उहाँहरू विश्वासी भएको समय र कामको अभिलेख बढ्दै जाँदा, उहाँहरूको अहङ्कारी स्वभाव झन् झन् गम्भीर हुँदै गयो। सत्यताप्रति उहाँहरूको मनोवृत्तिबाट म देख्न सक्थेँ कि उहाँहरूका सबै त्याग सत्यता र जीवन प्राप्तिका लागि थिएन, ती आशिष् पाउन अनिच्छापूर्वक गरिएका कुरा थिए। पावल जस्तै, उहाँले जे गरे ती सबै परमेश्वरसँग सौदाबाजीका लागि थिए। उहाँ परमेश्वरमा इमानदार भई समर्पित हुने साँचो विश्वासी हुनुहुन्नथ्यो। बल्ल मलाई के स्पष्ट भयो भने, कोही परमेश्वरमा इमानदार विश्वास गर्छ गर्दैन, असल मानवता भएको छ छैन र मुक्ति पाउन सक्छ सक्दैन भन्ने कुरा सत्यताप्रति उसको मनोवृत्ति हेरेर मूल्याङ्कन गरिनुपर्छ। उसको सतही त्याग, उसले गरेका कामको परिमाण वा गरेको कर्तव्यका प्रकारअनुसार मूल्याङ्कन गर्नु उचित हुँदैन। केही ब्रदर-सिस्टरले मण्डलीका लागि महान योगदान दिन नसक्ने र तिनीहरूको कर्तव्य महत्त्वहीन देखिए पनि, तिनीहरू आफ्नो कर्तव्यमा दृढ हुन्छन्, आफ्नो पूरै हृदय र शक्ति लगाउँछन्। तिनीहरू कर्तव्यमा सत्यता खोज्न र आफ्नो भ्रष्ट स्वभावको चिन्तनमा केन्द्रित हुन्छन्, यो जानेपछि, तिनीहरू व्यक्तिगत पछुतो र सत्यताको अभ्यास गर्न, र आफ्नो भ्रष्ट स्वभाव बदल्न सक्छन्। यस प्रकारको व्यक्ति परमेश्वरको घरमा अडिग रहन सक्छ। मैले यसबारे जति सोचेँ, परमेश्वर साँच्चै धर्मी हुनुहुन्छ भन्ने देख्दै गएँ। मानिसहरूलाई मूल्याङ्कन गर्ने परमेश्वरको मापदण्ड कहिल्यै बदलिएको छैन। यो मुक्तिका बारेमा मेरो स्वेच्छापूर्ण सोचाइ मात्र थियो। म सधैँ सोच्थेँ, देखिने खालको ठूलो त्याग र परिश्रम गरेका, तर कुनै कुरामा पनि योगदान नगरेकालाई परमेश्वरले त्याग्न वा निकाल्न हुँदैन। तर मेरा आमा-बुबाको मामिलाबाट मैले वास्तवमै परमेश्वरको धार्मिकता देखेँ। परमेश्वरले मानिसको भावना वा धारणा र कल्पनाका आधारमा काम गर्नुहुन्न, बरु उहाँले प्रत्येक व्यक्तिलाई मूल्याङ्कन गर्न र हेर्न सत्यताको मापदण्ड प्रयोग गर्नुहुन्छ। परमेश्वरका घरमा महत्त्वपूर्ण भूमिका निभाउनेलाई पनि छुट हुँदैन। यी कुरा बुझेर मेरो हृदय अझ उज्यालो र स्वतन्त्र भयो।
मैले परमेश्वरका वचनका अरू एकदुई खण्ड पढेँ। परमेश्वर भन्नुहुन्छ: “एक दिन, जब तैँले केही सत्यता बुझ्छस्, तब तेरी आमा नै सबैभन्दा उत्तम व्यक्ति हुन्, वा तेरा बुबाआमा सबैभन्दा उत्तम मानिसहरू हुन् भनेर सोच्न छोड्नेछस्। तैँले तिनीहरू पनि भ्रष्ट मानवजातिका सदस्य नै हुन्, र तिनीहरूका भ्रष्ट स्वभावहरू सबै उस्तै छन् भन्ने महसुस गर्नेछस्। तिनीहरूको भिन्नता भनेको तँसँगको भौतिक रगतको सम्बन्ध मात्रै हो। यदि तिनीहरू परमेश्वरमा विश्वास गर्दैनन् भने, गैरविश्वासीसरह हुन्। तैँले तिनीहरूलाई परिवारको सदस्य वा तेरो देहको नाताको दृष्टिकोणले हेर्न छोड्नेछस्, तर सत्यताको पाटोबाट हेर्नेछस्। तैँले हेर्नुपर्ने मुख्य पक्षहरू के-के हुन्? तैँले परमेश्वरप्रतिको विश्वासमा तिनीहरूको दृष्टिकोण, संसारप्रति र परिस्थितिहरू सम्हाल्नेसम्बन्धी तिनीहरूको दृष्टिकोण र सबैभन्दा महत्त्वपूर्ण, परमेश्वरप्रति तिनीहरूको मनोवृत्तिलाई हेर्नुपर्छ। यदि तैँले यी पक्षहरूलाई सही रूपमा मूल्याङ्कन गर्छस् भने, तिनीहरू असल मानिस हुन् कि खराब हुन् भनेर स्पष्टसित देख्नेछस्। एक दिन तैँले तिनीहरू पनि तँजस्तै भ्रष्ट स्वभाव भएका मानिसहरू हुन् भनेर स्पष्ट देख्न सक्नेछस्। तिनीहरू तैँले कल्पना गरेजस्तो तँलाई साँचो प्रेम गर्ने दयालु हृदयका मानिस होइनन्, र तिनीहरूले तँलाई सत्यतामा वा जीवनको सही मार्गमा डोर्याउन सक्दैनन् भन्ने कुरा अझ स्पष्ट हुनेछ। तिनीहरूले तँलाई जे गरेका छन् त्यसबाट तँलाई खासै फाइदा पुग्दैन, र तैँले जीवनमा सही मार्ग लिन यसको कुनै काम छैन भन्ने कुरा पनि स्पष्टसित देख्न सक्नेछस्। अनि, तैँले तिनीहरूका धेरैजसो अभ्यास र विचारहरू सत्यताविपरीत छन्, तिनीहरू देहका हुन्, यसले गर्दा तँ तिनीहरूलाई तुच्छ ठान्छस्, र तिनीहरूप्रति तँलाई वाक्क लाग्छ र अरुचि हुन्छ भन्ने कुरा पनि थाहा पाउनेछस्। यदि तैँले यी कुराहरू देख्न सक्छस् भने, त्यसपछि तैँले तेरा आमाबुबालाई हृदयभित्र सही व्यवहार गर्न सक्नेछस्, र तँलाई तिनीहरूको त्यति धेरै याद आउने, चिन्ता लाग्ने, र अलग हुन नसक्ने हुन छोड्नेछ। तिनीहरूले आमाबुबाका रूपमा आफ्नो मिसन पूरा गरेका छन्, त्यसैले तैँले तिनीहरूलाई तेरो सबैभन्दा नजिकका मानिस ठान्न वा तिनीहरूलाई आदर्श मान्न छोड्नेछस्। बरु, तैँले तिनीहरूलाई सामान्य मानिसका रूपमा लिनेछस्, र त्यो बेला, तँ अनुभूतिहरूको बन्धनबाट पूर्ण रूपमा उम्केर आफ्नो अनुभूतिहरू र पारिवारिक स्नेहबाट साँच्चै मुक्त हुनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। “धेरै मानिसहरूले नचाहिँदो रूपमा भावनात्मक कष्ट भोग्छन्; वास्तवमा, त्यो सब अनावश्यक र अर्थहीन कष्ट हो। म किन त्यसो भन्दै छु? मानिसहरू सधैँ आफ्ना अनुभूतिहरूको बन्धनमा हुन्छन्, त्यसकारण तिनीहरू सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन सक्दैनन्; यसअलावा, अनुभूतिहरूको बन्धनमा पर्नु कर्तव्य निभाउने वा परमेश्वर पछ्याउने कार्यको लागि कदापि फाइदाजनक हुँदैन, र अझ भन्ने हो भने यो जीवन प्रवेशको लागि पनि ठूलो बाधा हो। त्यसकारण, अनुभूतिहरूको कष्ट भोग्नुको कुनै अर्थ छैन, र परमेश्वरले यसलाई स्मरण गर्नुहुन्न। त्यसैले, तैँले कसरी यी अर्थहीन कष्टबाट आफैलाई मुक्त गराउँछस्? तैँले सत्यता बुझ्नुपर्छ, र तैँले यी देहगत सम्बन्धहरूको सार देख्नु र बुझ्नुपर्छ; त्यसपछि तँलाई देहका अनुभूतिहरूको बन्धनहरूबाट मुक्त हुन सजिलो हुनेछ। … शैतानले मानिसहरूलाई बाधा र बन्धनमा पार्न स्नेह प्रयोग गर्न चाहन्छ। यदि मानिसहरू सत्यता बुझ्दैनन् भने, तिनीहरू सजिलै छलमा पर्छन्। बारम्बार आफ्ना आमाबुबा र प्रियजनहरूको लागि, तिनीहरू बेखुसी हुन्छन्, रुन्छन्, कठिनाइहरू सहन्छन्, र त्यागहरू गर्छन्। यो तिनीहरूको अनाडी अज्ञानता हो; तिनीहरूले यही दुर्भाग्य स्विकार्छन्, र आफ्नो कार्यको फल भोग्छन्। यी कुराहरूको कष्ट भोग्नुको अर्थ छैन—यो अनर्थ प्रयास हो जुन परमेश्वरले बिलकुलै सम्झनुहुन्न—र यसलाई नारकीय अनुभव भोगेको भन्न सकिन्छ। जब तैँले साँच्चिकै सत्यता बुझ्छस् र तिनीहरूको सार देख्छस्, तँ स्वतन्त्र बन्नेछस्; तँलाई तेरो पहिलाको कष्ट अज्ञानी र अनाडी भएको थाहा हुनेछ। तैँले अरू कसैलाई दोष दिनेछैनस्; बरु आफ्नै अन्धोपन, आफ्नो मूर्खता, र आफूले सत्यता नबुझेको वा मामिलाहरू प्रस्ट नबुझेको तथ्यलाई दोष दिनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ)। परमेश्वरका वचन पढेर म निकै भावुक भएँ। परमेश्वरले हामीलाई राम्रोसँग बुझ्नुहुन्छ। मेरा सबै आँसु र अनावश्यक कष्ट म धेरै भावुक भएकाले र कामकुरालाई स्पष्ट नदेखेकाले थिए। पहिले मैले सत्यता बुझेकी थिइनँ वा आबाबुबालाई चिनेकी थिइनँ, उहाँहरू महान र प्रशंसायोग्य हुनुहुन्छ, उहाँहरू मेरा रोल मोडल हुनुहुन्छ र मैले उहाँहरूजस्तै बन्ने प्रयास गर्नुपर्छ भन्ने सोचेँ। मैले उहाँहरू सत्यता बुझ्ने र मुक्ति पाउन सक्ने मानिस हो भन्ने पनि ठानेँ, तर जब मैले परमेश्वरका वचन र सत्यताको आधारमा उहाँहरूलाई हेरेँ तब बल्ल मैले मेरो हेराइ निकै गलत रहेको थाहा पाएँ, र अन्तमा उहाँहरूजस्ता मानिसबारे केही समझ पाएँ। मैले उहाँहरूमा धेरै कुरा देखेँ, जुन मैले प्रशंसा नगर्ने मात्र नभएर घृणा गर्ने कुरा पनि थिए। मैले उहाँहरूको सम्मान र आदर गर्न बन्द गरेँ, उहाँहरूका लागि चिन्ता गर्न र रुन बन्द गरेँ। मैले उहाँहरूलाई वस्तुनिष्ठ र सटीक रूपमा देख्न सकेँ।
यो स्थितिको खुलासाबाट मैले बल्ल आफू धेरै भावुक थिएँ भन्ने देखेँ। शारीरिक स्नेहभित्र जिउँदा, मैले मेरा आमा-बुबा कति धेरै पीडा र कष्टमा हुनुहुन्छ होला भन्ने मात्र सोचिरहन्थेँ, उहाँहरूलाई मण्डलीले गरेको व्यवहार मैले स्विकार्न सकिनँ। म प्रतिरोधले भरिएँ, र परमेश्वर धर्मी हुनुहुन्न भन्ने गुनासो पनि थियो। परमेश्वरले मानवबीचको भावनात्मक सम्बन्धलाई किन घृणा गर्नुहुन्छ भन्ने मैले बल्ल बुझेँ। किनभने मानिस यी भावनामा जिउँदा सही र गलत, असल र खराबबीच अन्योलमा हुन्छन्, परमेश्वरबाट टाढिन्छन् र उहाँविरुद्ध विद्रोह गर्छन्। पहिले म आफैलाई चिन्दिनँथेँ। ब्रदर-सिस्टरहरू बर्खास्त भएका, हटाइएका वा निकालिएका आफन्तका लागि कयौँ दिनसम्म रोएको देख्दा म तिनीहरूलाई तिरस्कार गर्थेँ। म सोच्थेँ, मसँग पनि यस्ता कुरा भइहाल्यो भने म कमजोर हुनेवाला छैन। तर जब त्यस्तै कुराको सामना गर्नुपर्यो, म अरूभन्दा धेरै कमजोर भएँ र टुट्न पुगेँ। म धेरैपटक रोएँ, नकारात्मकतामा समेत जिएँ र यसले मेरो कर्तव्यलाई प्रभावित बनायो। म निकै मूर्ख र सोझी थिएँ, र केही अविवेकी पनि। यस अनुभवबाट, मैले अन्ततः भावनाबाट मुक्त हुन संघर्षरत ब्रदर-सिस्टरबारे केही बुझाइ पाएँ, र मलाई मेरा विगतका अज्ञानता र घमण्डका लागि केही लज्जाबोध भयो। मैले के पनि जानेँ भने, हाम्रो सामु हुने जुनसुकै कुरामा सत्यता खोज्न सकिन्छ, समझशक्ति विकास गर्ने र पाठ सिक्ने मौका हुन्छ, र हामीले हाम्रा वरपरका सबै, आफ्ना आमा-बुबालाई समेत परमेश्वरका वचन र सत्यताअनुसार व्यवहार गर्नुपर्छ। त्यसपछि हामीले उहाँहरूलाई हाम्रा भावना र कल्पनाअनुसार हेर्नेछैनौँ र परमेश्वरको प्रतिरोध हुने काम गर्ने छैनौँ। परमेश्वरलाई धन्यवाद!