परिचय
परमेश्वरका वचनहरूको यस भागमा जम्मा चार खण्डहरू छन् जुन सबै ख्रीष्टले जून १९९२ र मार्च २३, २०१० को बीचमा व्यक्त गर्नुभएको थियो। तीमध्ये अधिकांश ख्रीष्टले मण्डलीहरूमा यात्रा गर्नुभएको बेलाको उहाँका प्रवचनहरूको रेकर्डिङ र सङ्गतिहरूमा आधारित छन्। तिनलाई कुनै पनि प्रकारले हेरफेर गरिएका छैनन्, न त तिनलाई पछि ख्रीष्टले नै परिवर्तन गर्नुभयो। बाँकी खण्डहरू ख्रीष्टले व्यक्तिगत रूपमा नै लेख्नुभएको हो (जब ख्रीष्टले लेख्नुहुन्छ, उहाँले सोचविचार गर्न नरोकी वा कुनै सम्पादन नगरी एउटै बसाइँमा लेख्नुहुन्छ, र उहाँका वचनहरू पूर्ण रूपमा पवित्र आत्माको अभिव्यक्ति हुन्, जसमा कुनै शङ्का छैन) हो। यी दुई प्रकारका वाणीहरूलाई अलग गर्नुको सट्टा, हामीले ती व्यक्त गरिएको मूल क्रममा नै तिनलाई एकैसाथ प्रस्तुत गरेका छौं; यसले हामीलाई उहाँको वाणीहरूको पूर्णताबाट परमेश्वरको कामका चरणहरू देख्ने र उहाँले प्रत्येक चरणमा कसरी काम गर्नुहुन्छ सो बुझ्ने तुल्याउँछ, जुन परमेश्वरको कामका चरणहरू र परमेश्वरको बुद्धिसम्बन्धी मानिसहरूको ज्ञानको निम्ति फाइदाजनक छ।
“मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्टले दिनुभएका वचनहरू १” को सुरुका आठ अध्यायलाई सामूहिक रूपमा “मार्ग” भनी उल्लेख गरिन्छ—तीचाहिँ ख्रीष्ट मानिसको समानतामा बराबर उभिने क्रममा उहाँले बोल्नुभएका वचनहरूको सानो भाग हुन्। तिनमा रहेको स्पष्ट फिकापनको बाबजुद पनि ती परमेश्वरको प्रेम र मानवजातिको निम्ति उहाँको वास्ताले भरिपूर्ण छन्। योभन्दा पहिले, परमेश्वर तेस्रो स्वर्गको दृष्टिकोणबाट बोल्नुभयो, जसले उहाँ र मानिसको बीचमा ठूलो दूरी निर्माण गर्यो, र मानिसहरूलाई परमेश्वरको सामु जान भयभीत बनायो, उहाँसँग तिनीहरूका आफ्नो जीवनका लागि बिन्ती गर्ने कुरा त परै जाओस्। त्यसकारण “मार्ग” मा परमेश्वरले मानिससँग उसकै बराबरी भई बोल्नुभयो र मार्गको दिशा देखाउनुभयो, यसरी परमेश्वरसितको मानिसको सम्बन्धलाई यसको मूल अवस्थामा पुनर्स्थापित गर्नुभयो; मानिसहरूले त्यस उप्रान्त परमेश्वरले अझै पनि बोल्ने तरिका प्रयोग गरिरहनुभएको छ कि छैन भनी शङ्का गरेनन्, र त्यस उप्रान्त मृत्युको परीक्षादेखि डराउन छोडे। परमेश्वर तेस्रो स्वर्गबाट पृथ्वीमा ओर्लिनुभयो, मानिसहरू आगो र गन्धकको कुण्डबाट परमेश्वरको सिंहासनको अगि आए, तिनीहरूले “सेवा-कर्ताहरू” को उपाधिको प्रेतलाई फालिदिए र नवजात बाछोहरूले झैं तिनीहरूले औपचारिक रूपमा परमेश्वरका वचनहरूको बप्तिस्मा ग्रहण गरे। तब मात्र परमेश्वरले तिनीहरूसँग घनिष्ठ रूपमा कुरा गर्न र तिनीहरूलाई जीवन प्रदान गर्ने काम अझ बढी गर्न सक्नुभयो। परमेश्वरले आफैलाई एक मानिसको रूपमा नम्र तुल्याउनुको उद्देश्य मानिसहरूको नजिक हुनु, उनीहरू र उहाँ बीचको दूरी कम गर्नु, मानिसहरूको मान्यता र भरोसा प्राप्त गर्नु, र मानिसहरूलाई जीवनको पछि लाग्न र परमेश्वरको पछि लाग्न सङ्कल्प गर्ने प्रेरणा दिनु थियो। “मार्ग” का आठ वटा अध्यायहरूलाई यस्ता कुञ्जीहरूको रूपमा बुझ्न सकिन्छ जसद्वारा परमेश्वरले मानिसहरूका हृदयको ढोका खोल्नुहुन्छ, र ती सबै एकसाथ मिलेर चिनी दलिएको चक्की बन्छ, जुन चक्की उहाँले मानिसलाई दिनुहुन्छ। परमेश्वरले यो कार्य गर्नुभयो भने मात्र मानिसले परमेश्वरले बारम्बार दिनुभएको शिक्षा र हप्कीहरूमा राम्ररी ध्यान दिन सक्छन्। यो भन्न सकिन्छ, कि यसपछि मात्र परमेश्वरले यो वर्तमान कामको चरणमा आधिकारिक रूपले जीवन प्रदान गर्ने र सत्य व्यक्त गर्ने काम थाल्नुभयो, यसरी उहाँले यी विषयहरूमा बोल्दैजानुभयो: “विश्वासीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ” र “परमेश्वरको कामका पाइलाहरूको सम्बन्धमा”…। के त्यस्तो विधिले परमेश्वरको ज्ञान र उहाँको गहन अभिप्रायहरूलाई देखाउँदैनन् र? यो ख्रीष्टले गर्नुहुने जीवनको प्रबन्धको सुरुआत हो, त्यसैले यी सत्यताहरू त्यसपछिका खण्डहरूभन्दा केही सतही छन्। यसको पछाडि रहेको सिद्धान्त एकदम सरल छ: परमेश्वरले मानवजातिको आवश्यकता अनुसार काम गर्नुहुन्छ। उहाँले अन्धाधुन्ध काम गर्नुहुन्न वा बोल्नुहुन्न; परमेश्वरले मात्र मानवजातिका आवश्यकताहरू पूर्ण रूपमा बुझ्नुहुन्छ, र अरू कसैमा पनि मानिसप्रति यति ठूलो प्रेम र बुझाइ छैन।
“काम र प्रवेश,” मा एकदेखि दशसम्मका वाणीहरूमा, परमेश्वरका वचनहरू एउटा नयाँ चरणमा प्रवेश गर्छन्। फलस्वरूप, यी भनाइहरू सुरुमा राखिएका छन्। त्यसपछि, “मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्टले दिनुभएका वचनहरू २” अस्तित्वमा आयो। यस चरणको अवधिमा, परमेश्वरले उहाँका अनुयायीहरूबाट अझ विस्तृत मागहरू गर्नुभयो, त्यस्ता मागहरू जसमा मानिसहरूको जीवनशैली, उनीहरूको क्षमताबाट के माग गरिन्छ, आदि कुराको ज्ञान सामेल छ। यी मानिसहरूले परमेश्वरको पछि लाग्ने दृढ संकल्प गरेका हुनाले, र तिनीहरूमा अब परमेश्वरको पहिचान र अस्तित्वको बारेमा कुनै शङ्का नभएकोले, परमेश्वरले सृष्टिदेखि आजको दिनसम्म उहाँको कामको भित्री सत्यताको बारेमा सङ्गति गर्दै, बाइबलको पछाडिको सत्यता प्रकट गर्दै र तिनीहरूलाई परमेश्वरको देहधारणको वास्तविक महत्त्वबारे सिकाउँदै तिनीहरूसँग औपचारिक रूपमा आफ्नै परिवारका सदस्यहरूलाई जस्तो व्यवहार गर्न थाल्नुभयो। यस खण्डमा उल्लेख गरिएका परमेश्वरका वाणीहरूले मानिसहरूलाई परमेश्वरको अस्तित्व र उहाँको कामको सारको बारेमा अझ राम्रो बुझाइ प्रदान गर्यो, र तिनीहरूले परमेश्वरको मुक्तिबाट प्राप्त गरेको कुरा बितेका युगहरूमा अगमवक्ताहरू र प्रेरितहरूले प्राप्त गरेको कुराभन्दा धेरै असल छ भनी बुझायो। परमेश्वरका वचनहरूको प्रत्येक पङ्क्तिबाट, तपाईंले उहाँको ज्ञानको स-साना कुराहरू, साथै उहाँको इमानदारी प्रेम र मानिसप्रतिको चासो बुझ्न सक्नुहुन्छ। ती वचनहरू व्यक्त गर्नु बाहेक परमेश्वरले एक-एक गर्दै मानिसहरूका पहिलेका धारणहरू र भ्रमहरू, मानिसहरूले पहिले कहिल्यै कल्पना नगरेका कुराहरू, साथै मानिसहरूले भविष्यमा हिँड्नु पर्ने मार्गलाई पनि सार्वजनिक रूपमा प्रकट गर्नुभयो। सायद, मानिसले अनुभव गर्न सक्ने संकीर्ण “प्रेम” यही हो! आखिर, परमेश्वरले मानिसहरूलाई तिनीहरूलाई चाहिने सबै थोकहरू दिइसक्नुभएको थियो, र कुनै कुरा बाँकी नराखी वा बदलीमा केही नमागी तिनीहरूले मागेका थोकहरू पनि दिनुभएको थियो।
यस खण्डका विशेष अध्यायहरू बाइबलबारे परमेश्वरका स्पष्टीकरणहरूसँग सम्बन्धित छन्। बाइबल केही हजार वर्षदेखि मानव इतिहासको एउटा हिस्सा रहिआएको छ। यसबाहेक, मानिसहरू यसलाई परमेश्वरजस्तै मान्छन्, यहाँसम्म कि आखिरी दिनहरूमा, तिनीहरू यसलाई परमेश्वरको स्थान लिन प्रयोग गर्छन्, जसलाई परमेश्वर अत्यन्तै घृणा गर्नुहुन्छ। तसर्थ, परमेश्वरले आफ्नो फुर्सदको समयमा बाइबलको पछाडिको वास्तविक कथा र बाइबलको उत्पत्तिबारे स्पष्ट पार्न बाध्य महसुस गर्नुभयो; यदि उहाँले यसो नगर्नुभएको भए, बाइबलले मानिसहरूको हृदयमा परमेश्वरको स्थान ओगटिरहनेथियो अनि मानिसहरूले परमेश्वरका कार्यहरूलाई मापन गर्न र दोषी ठहराउन बाइबलका वचनहरू प्रयोग गर्नेथिए। परमेश्वरले बाइबलको सार, संरचना र त्रुटिहरूलाई व्याख्या गरेर कुनै पनि हालतमा बाइबलको अस्तित्वलाई इन्कार गरिरहनुभएको थिएन, न त त्यसलाई दोषी नै ठहराइरहनुभएको थियो; बरु, उहाँ बाइबलको मौलिक रूपलाई पुनर्स्थापित गर्न, बाइबलप्रति मानिसहरूमा भएका भ्रामक बुझाइहरूलाई सम्बोधन गर्न र सबैलाई बाइबलको सही दृष्टिकोण दिन उचित, सुहाउँदो व्याख्या प्रदान गर्दै हुनुहुन्थ्यो, ताकि आइन्दा तिनीहरूले बाइबलको आराधना नगरून् र आइन्दा तिनीहरू नहराऊन्; अर्थात्, ताकि आइन्दा तिनीहरूले बाइबलप्रतिको आफ्नो अन्धविश्वासलाई परमेश्वरमाथिको विश्वास र परमेश्वरको आराधना ठान्ने गल्ती नगरून् अनि तिनीहरू यसको साँचो पृष्ठभूमि र त्रुटिहरूको सामना गर्नसमेत नडराऊन्। मानिसहरूले बाइबलको शुद्ध बुझाइ प्राप्त गरेपछि, तिनीहरूले निसङ्कोच यसलाई पन्छाउन र बहादुरीका साथ परमेश्वरका नयाँ वचनहरू स्वीकार गर्न सक्छन्। यी केही अध्यायमा परमेश्वरको लक्ष्य यही हो। यहाँ परमेश्वरले मानिसहरूलाई बताउन चाहेको सत्यता के हो भने कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्वरको वर्तमान काम र वचनहरूको स्थान लिन सक्दैन र कुनै पनि कुरा परमेश्वरको स्थान ओगट्न सक्दैन। यदि मानिसहरू बाइबलको पासोबाट उम्कन सकेनन् भने, तिनीहरू कहिल्यै परमेश्वरसामु आउन सक्नेछैनन्। यदि तिनीहरू परमेश्वरसामु आउन चाहन्छन् भने, तिनीहरूले पहिले उहाँलाई प्रतिस्थापित गर्न सक्ने कुनै पनि कुरालाई आफ्नो हृदयबाट पखाल्नैपर्छ; त्यसपछि तिनीहरू परमेश्वरका लागि सन्तोषजनक हुनेछन्। परमेश्वरले यहाँ बाइबलको मात्र व्याख्या गर्नुभए पनि, के नबिर्स भने बाइबलबाहेक मानिसहरूले साँचो रूपमा आराधना गर्ने अरू भ्रामक कुरा धेरै छन्; तिनीहरूले आराधना नगर्ने कुराहरू भनेका ती मात्र हुन् जुन साँच्चै परमेश्वरबाट आउँछन्। मानिसहरूले परमेश्वरमा विश्वास गर्दा र उहाँका वचनहरू स्वीकार गर्दा गलत मार्ग नलिऊन् र तिनीहरू फेरि चरम सीमामा नपुगून् र अन्योलको सिकार नबनून् भनी सम्झाउन परमेश्वर बाइबललाई एक उदाहरणका रूपमा मात्र प्रयोग गर्नुहुन्छ।
परमेश्वरले मानिसलाई प्रदान गर्नुहुने वचनहरू सतहबाट गहनतातर्फ बढ्छ। उहाँका भनाइहरूका विषयहरू मानिसहरूका बाहिरी आचरण र कार्यहरूबाट तिनीहरूको भ्रष्ट स्वभावतिर बढ्छन्, जहाँबाट परमेश्वरले आफ्नो भाषाको भालाको टुप्पोले मानिसको आत्माको सबैभन्दा गहिरो भागमा ताक्नुहुन्छ: तिनीहरूको सारमा। “मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्टले दिनुभएका वचनहरू ३” व्यक्त गरिएको अवधिमा, परमेश्वरका भनाइहरूले मानिसको सार र पहिचान र वास्तविक व्यक्ति बन्नुको अर्थ के हो लाई जोड दिन्छ—मानिसको जीवन प्रवेशसम्बन्धी यी गहन सत्यता र आवश्यक प्रश्नहरूलाई। अवश्य, “मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्टले दिनुभएका वचनहरू १,” मा परमेश्वरले मानिसलाई प्रदान गर्नुभएका सत्यताहरूलाई विचार गर्दा, “मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्टले दिनुभएका वचनहरू ३” भन्ने विषयवस्तु तुलनात्मक रूपले अति नै गहन छ। यस खण्डका वचनहरूले मानिसका भविष्यको बाटो र तिनीहरू कसरी सिद्ध बनाइन सक्छन् भन्ने विषयमा बताउँछ; तिनले मानवजातिको भविष्यको गन्तव्यलाई, र परमेश्वर र मानिस कसरी एकसाथ विश्राममा प्रवेश गर्नेछन् सो कुरालाई पनि छुन्छन्। (यो भन्न सकिन्छ, आजको दिनसम्म परमेश्वरले मानिसहरूलाई तिनीहरूको सार, तिनीहरूका मिसन र तिनीहरूका गन्तव्यको सम्बन्धमा व्यक्त गर्नुभएका वचनहरू हुन्, जुन बुझ्न अति नै सजिलो छ)। परमेश्वर यो आशा गर्नुहुन्छ कि यी वचनहरू पढ्ने मानिसहरू ती हुन् जसले आफूलाई मानवीय धारणा र कल्पनाबाट अलग राखेका छन्, जो आफ्ना हृदयको गहिराइमा परमेश्वरको हरेक वचनलाई शुद्ध रूपमा बुझ्न सक्षम छन्। यसबाहेक, उहाँ यो आशा गर्नुहुन्छ, कि यी वचनहरू पढ्ने सबैले उहाँका वचनहरूलाई सत्य, मार्ग र जीवनको रूपमा लिन सकून् र तिनीहरूले परमेश्वरलाई हलकासाथ नलिऊन् वा उहाँसित खुसामदी नगरून्। यदि मानिसहरूले परमेश्वरलाई जाँच्ने वा परीक्षण गर्ने मनोवृत्तिका साथ यी वचनहरू पढ्छन् भने तिनीहरूका निम्ति ती वाणीहरू बन्द पुस्तकजस्तो लाग्नेछ। सत्यको पछि लाग्नेहरू, परमेश्वरलाई पछ्याउन दृढ संकल्प गर्नेहरू, र उहाँप्रति रत्तीभर पनि शङ्का नगर्नेहरू मात्रै यी वचनहरू स्वीकार्न योग्यका हुन्छन्।
“मण्डलीहरूमा हिँड्ने क्रममा ख्रीष्टले दिनुभएका वचनहरू ४” ईश्वरीय वाणीको अर्को श्रेणी हो जुन “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” पछि आउँछ। यस खण्डमा परमेश्वरका उपदेशहरू, शिक्षाहरू र इसाई सम्प्रदायहरूका मानिसहरूलाई दिइएका प्रकाशहरू समावेश छन्, जस्तै: “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ,” “ख्रीष्ट अनुरूप नभएकाहरू निश्चय नै परमेश्वरका विरोधीहरू हुन्।” यसमा मानवजातिबाट परमेश्वरले गर्नुभएका विशेष मागहरू पनि समावेश छ, जस्तै: “तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्,” “तीन अर्तीहरू,” “अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ।” धेरै पक्षहरूलाई समेटिएका छन्, जस्तै सबै प्रकारका मानिसहरूका लागि दिइने प्रकाशहरू र दण्डहरू अनि परमेश्वरलाई कसरी चिन्ने सम्बन्धी वचनहरू। यो भन्न सकिन्छ, कि यो खण्ड परमेश्वरले मानवजातिलाई गर्नुहुने न्यायको मुख्य भाग हो। परमेश्वरका वाणीहरूको यस खण्डको सबैभन्दा अविस्मरणीय भाग भनेको, जब परमेश्वरले आफ्नो कामको पर्दा बन्द गर्न लाग्नुभएको थियो, तब उहाँले मानिसको हड्डीको मासीमा अर्थात् उसको केन्द्रमा के छ त्यो खुलस्त गर्नुभएको कुरा नै हो: विश्वासघात। उहाँको उद्देश्य मानिसहरूले अन्त्यसम्मै निम्न तथ्यहरू जानून्, र त्यसको छाप तिनीहरूका हृदयको गहिराइमा राखून् भन्ने हो: तपाईंले जति लामो समयदेखि परमेश्वरलाई पछ्याउनुभएको भए पनि, तपाईंको स्वभावले अझै पनि परमेश्वरलाई धोका दिन्छ। अर्को शब्दमा, परमेश्वरलाई धोका दिनु मानिसको स्वभाव नै हो, किनभने मानिसहरूले आफ्नो जीवनमा पूर्ण परिपक्वता प्राप्त गर्न सक्दैन, र तिनीहरूका स्वभावमा सापेक्षिक परिवर्तन मात्र हुन सक्छ। “विश्वासघात (१)” र “विश्वासघात (२),” यी दुई अध्यायहरूले मानिसहरूलाई ठूलो प्रहार गर्ने भए पनि, ती साँच्चै मानिसहरूलाई परमेश्वरले दिनुभएका सबैभन्दा विश्वासयोग्य र परोपकारी चेतावनी हुन्। जब मानिसहरू आत्मसन्तुष्टि र स्व-अभिमान हुन्छन्, तब यी दुई अध्यायहरू पढेपछि कम्तीमा पनि तिनीहरूले आफ्नो दुष्ट कार्यहरूको जाँच गर्छन्, र तिनीहरू शान्त हुन्छन्। यी दुई अध्यायद्वारा परमेश्वरले सबै मानिसलाई के कुरा स्मरण गराउनुहुन्छ भने, तपाईंको जीवन जति नै परिपक्व भए पनि, तपाईंको जीवनका अनुभवहरू जति नै गहिरा भए पनि, तपाईंको आत्मविश्वास जति नै ठूलो भए पनि, तपाईं जुनसुकै ठाउँमा जन्मनुभएको भए पनि र तपाईं जतातिर गइरहनुभएको भए पनि, परमेश्वरलाई धोका दिने तपाईंको स्वभाव कुनै पनि समय र कुनै पनि ठाउँमा प्रकट हुनसक्छ। परमेश्वरले हरेक व्यक्तिलाई यो कुरा बताउन चाहनुहुन्छ: परमेश्वरलाई धोका दिनु हरेक व्यक्तिको जन्मजात प्रकृति हो। अवश्य, यी दुई अध्यायहरू व्यक्त गर्ने कार्यमा परमेश्वरको उद्देश्यभनेको मानवजातिलाई हटाउने वा दोषी ठहऱ्याउने बहाना खोज्नु होइन, तर मानिसलाई मानव प्रकृतिको बारेमा अझ सजग गराउनु हो, ताकि तिनीहरू परमेश्वरको अगुवाइ प्राप्त गर्न हरसमय परमेश्वरको अगाडि होसियारीसाथ जिउन सकून्, जसले तिनीहरूलाई परमेश्वरको उपस्थिति गुमाउने र कहिल्यै नफर्कने बाटोमा खुट्टा राख्नबाट जोगाउनेछ। परमेश्वरलाई पछ्याउने सबैका लागि यी दुई अध्याय चेताउनीको घण्टी हो। आशा छ, मानिसहरूले परमेश्वरको गहन अभिप्रायहरूलाई बुझ्नेछन्; आखिर, यी वचनहरू सबै निर्विवाद तथ्यहरू हुन्—त्यसैले परमेश्वरले कहिले र कसरी ती व्यक्त गर्नुभयो भनेर मानिसले मोलतोल गर्नु किन आवश्यक छ र? यदि परमेश्वरले यी सबै थोक आफैमा राख्नुभएको भए, र मानिसहरूले उहाँ तिनीहरूसँग बोल्नु उपयुक्त छ भनी विश्वास नगरेसम्म पर्खनुभएको भए, के त्यो धेरै ढिलो हुनेथिएन र? त्यो सबैभन्दा उपयुक्त समय कहिले हुनेथियो?
यी चार खण्डहरूमा परमेश्वरले विभिन्न तरिकाहरू र दृष्टिकोणहरू प्रयोग गर्नुहुन्छ। उदाहरणका लागि, कहिलेकहीँ उहाँले व्यङ्ग्य प्रयोग गर्नुहुन्छ, र कहिले सीधा प्रबन्ध गर्ने र शिक्षा दिने तरिका प्रयोग गर्नुहुन्छ; कहिलेकहीँ उहाँले उदाहरण प्रयोग गर्नुहुन्छ, र कहिले कडा हप्कीहरूको प्रयोग गर्नुहुन्छ। समग्रमा, सबै प्रकारका विभिन्न तरिकाहरूको प्रयोग गरिएको छ, जसको लक्ष्य मानिसहरूका विभिन्न अवस्थाहरू र स्वादहरूलाई पूरा गर्नु हो। उहाँ जुन दृष्टिकोणबाट बोल्नुहुन्छ त्यो उहाँका वाणीहरूका विभिन्न तरिकाहरू र विषयअनुसार परिवर्तन हुन्छन्। उदाहरणका लागि, कहिलेकहीँ उहाँले “म” वा “मलाई” भनी भन्नुहुन्छ; अर्थात् उहाँले परमेश्वर स्वयम्को दृष्टिकोणबाट बोल्नुहुन्छ। कहिलेकहीँ तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्दै, “परमेश्वर” यो वा त्यो हुनुहुन्छ भनी भन्नुहुन्छ, र अरू बेला उहाँले मानिसको दृष्टिकोणबाट बोल्नुहुन्छ। उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए पनि, उहाँको सार परिवर्तन हुँदैन, किनकि उहाँ जसरी बोल्नुभए पनि उहाँले व्यक्त गर्नुहुने सबै कुरा परमेश्वर स्वयम्को सार हो—सम्पूर्ण सत्यता यही हो, र मानवजातिलाई चाहिने कुरा यही नै हो।