अध्याय १४

मानिसहरूले परमेश्‍वरका वचनहरूबाट कहिल्यै केही थाहा पाएका छैनन्। बरु, तिनीहरूले तिनको साँचो अर्थ नबुझी तिनलाई सतही रूपमा मात्रै “कदर” गर्छन्। त्यसकारण, धेरैजसो मानिसहरूले उहाँका वाणीहरूलाई प्रिय ठाने पनि, तिनीहरूले वास्तवमा ती वाणीहरूलाई कदर गर्दैनन् भनेर परमेश्‍वरले औंल्याउनुभएको छ। यसको कारण के हो भने, परमेश्‍वरको दृष्टिकोणमा, उहाँका वचनहरू बहुमूल्य भए तापनि, मानिसहरूले तिनको साँचो मिठासलाई चाखेका छैनन्। त्यसकारण, तिनीहरूले “मनको लड्डु घिउसित खान” मात्रै सक्छन्, र त्यसरी आफ्नो लोभी हृदयलाई शान्त पार्न सक्छन्। परमेश्‍वरका आत्माले सबै मानवका बीचमा काम मात्र गरिरहनुभएको छैन, तिनीहरूलाई पनि अवश्य नै परमेश्‍वरको वचनको अन्तर्दृष्टि प्राप्त भएको छ; के मात्रै हो भने, तिनीहरू अत्यन्तै लापर्बाह भएकाले तिनीहरूले यसको सारलाई साँचो रूपमा बुझ्‍न सकेका छैनन्। मानिसहरूका विचारमा, राज्य पूरा हुने युग अहिले नै हो, तर वास्तविकतामा, कुरा त्यो होइन। परमेश्‍वरले जे भविष्यवाणी गर्नुभएको थियो त्यो उहाँले पूरा गरिसक्‍नुभएको भए पनि, वास्तविक राज्य अहिलेसम्‍म पृथ्वीमा आइसकेको छैन। बरु, मानवजाति परिवर्तन हुने क्रममा, काम अघि बढ्ने क्रममा, र पूर्वबाट बिजुली चम्‍कने क्रममा—अर्थात्, परमेश्‍वरको वचन गहन हुँदै जाने क्रममा—राज्य पृथ्वीमा बिस्तारै आउनेछ, क्रमिक रूपमा तर पूर्ण रूपमा यस संसारमा ओर्लिनेछ। राज्यको आगमनको प्रक्रिया पृथ्वीमा हुने ईश्‍वरीय कामको प्रक्रिया पनि हो। यसबीचमा, पृथ्वीलाई यसको पूर्णतामा पुर्नव्यवस्थित गर्नको लागि, सम्पूर्ण ब्रह्माण्डमा परमेश्‍वरले सम्पूर्ण इतिहासका कुनै पनि युगमा कहिल्यै नगरिएको काम सुरु गर्नुभएको छ। उदाहरणको लागि, ब्रह्माण्डभरि व्यापक परिवर्तनहरू सुरु भएका छन्, जस्तै इस्राएल राज्यमा आउने परिवर्तन, संयुक्त राज्य अमेरिकाको शासन-सत्ता जफत, इजिप्टका परिवर्तनहरू, सोभियत युनियनका परिवर्तनहरू, र चीनको पतन। सम्पूर्ण ब्रह्माण्ड शान्त भएपछि र सामान्य स्थितिमा पुनर्स्थापित भएपछि, पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम पूरा हुनेछ; त्यही बेला पृथ्वीमा राज्य आउनेछ। “जब संसारका सबै राष्ट्रहरू भङ्ग हुन्छन्, ठीक त्यही समयमा मेरो राज्य स्थापित हुनेछ अनि यसले आकार लिनेछ, साथसाथै त्यही बेला म रूपान्तरित हुनेछु अनि सम्पूर्ण ब्रह्माण्डको सामना गर्न त्यसतर्फ फर्कनेछु” भन्‍ने वचनहरूको साँचो अर्थ यही हो। परमेश्‍वरले मानवजातिबाट केही पनि लुकाउनुहुन्‍न; उहाँले मानिसहरूलाई उहाँको प्रशस्‍तताको बारेमा निरन्तर बताउनुभएको छ—तैपनि उहाँले भन्‍नुभएको कुराको अर्थ के हो तिनीहरूले पत्ता लगाउन सक्दैनन्, र मूर्खले जस्तो उहाँको वचनलाई स्वीकार मात्रै गर्छन्। कामको यो चरणमा, मानवले परमेश्‍वरको अथाहपनलाई जानेका छन्, यसको साथै, उहाँलाई बुझ्‍ने कार्यको कठिनतालाई बुझ्‍न सकेका छन्; यही कारणले गर्दा, आज-भोलि परमेश्‍वरमा विश्‍वास गर्नु नै सबैभन्दा कठिन कार्य हो, सुँगुरलाई गीत गाउन सिकाउनु जस्तै हो भन्‍ने तिनीहरूले अनुभूति गरेका छन्। तिनीहरू पासोमा परेको मुसाजस्तै पूर्ण रूपमा विवश हुन्छन्। वास्तवमा, व्यक्तिसँग जति नै धेरै शक्ति भए पनि वा व्यक्तिको सीप जति नै कुशल भए पनि, वा व्यक्तिमा असीमित क्षमताहरू भए पनि, जब परमेश्‍वरको वचनको कुरा आउँछ, त्यस्ता कुराहरूको कुनै अर्थ हुँदैन। मानौं परमेश्‍वरको नजरमा मानवजाति कागजको खरानीको थुप्रो हो—कुनै मूल्य नभएको कुरा, कुनै प्रयोजनको त कुरै नगरौं। यो “म तिनीहरूको दृष्टिकोणबाट झन्-झन् गुप्त र बढ्दो रूपमा अथाह बनेको छु” भन्‍ने वचनहरूको साँचो अर्थको सटीक चित्रण हो। यसबाट के कुरा स्पष्ट हुन्छ भने, परमेश्‍वरको कार्यले प्राकृतिक प्रगतिलाई पछ्याउँछ, र मानवका अनुभूति गर्ने अङ्गहरूले लिन सकेअनुसार यसलाई प्रस्तुत गरिन्छ। जब मानवजातिको प्रकृति दह्रिलो र दृढ हुन्छ, तब परमेश्‍वरका वचनहरू पूर्ण रूपमा तिनीहरूका धारणाहरूअनुरूप हुन्छन्, र यी धारणाहरू लगभग परमेश्‍वरअनुरूप नै भइसकेका हुन्छन्, थोरै पनि भिन्‍नता हुँदैन। यसले मानिसहरूलाई “परमेश्‍वरको वास्तविकता” को बारेमा केही हदसम्‍म सचेत तुल्याउँछ, तर त्यो उहाँको प्राथमिक उद्देश्य होइन। परमेश्‍वरले औपचारिक रूपमा पृथ्वीमा आफ्‍नो साँचो काम सुरु गर्नुभन्दा पहिले मानिसहरूलाई शान्त हुन दिइरहनुभएको छ। त्यसकारण, मानवको लागि अत्यन्तै अन्योलपूर्ण रहेको यो सुरुवातको अवधिमा, तिनीहरूले तिनीहरूका पहिलेका विचारहरू गलत थिए, र परमेश्‍वर र मानवजाति स्वर्ग र पृथ्वी जस्तै फरक छन्, र अलिकति पनि समान छैनन् भन्‍ने कुरालाई महसुस गरिरहेका छन्। परमेश्‍वरका वचनहरूलाई मानव धारणाहरूको आधारमा अबउप्रान्त मूल्याङ्कन गर्न नसकिने भएकोले, मानवले तुरुन्तै परमेश्‍वरलाई नयाँ दृष्टिकोणले हेर्न सुरु गरेका छन्; परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरलाई अचम्‍म मानेर नियाल्छन्, मानौं व्यवहारिक परमेश्‍वर पनि अदृश्य र अस्पर्श परमेश्‍वरजस्तै पहुँचभन्दा बाहिर हुनुहुन्छ, र मानौं देहधारी परमेश्‍वरको देह उहाँको सारविनाको बाहिरी भेस मात्रै हो। उहाँ आत्माको देहधारण हुनुभए पनि, उहाँ आत्मिक रूपमा परिवर्तन भएर कुनै पनि समयमा विलय भएर जान सक्‍नुहुन्छ; त्यसकारण, मानिसहरूले केही हदसम्‍म आरक्षी मनोवृत्तिको विकास गरेका छन्। परमेश्‍वर भनेर उल्‍लेख गर्नेबित्तिकै, तिनीहरूले उहाँलाई तिनीहरूका धारणाहरू पहिर्‍याउँछन्, उहाँ बादल र कुहिरोमा सवार हुन सक्‍नुहुन्छ, पानीमा हिँड्न सक्‍नुहुन्छ, र मानिसहरूका बीचमा अचानक देखा पर्न र हराउन सक्‍नुहुन्छ भनेर दाबी गर्छन्। अरू कसै-कसैसँग त अझै विस्तृत व्याख्या समेत हुन्छ। मानिसहरूको अज्ञानताको कारण र तिनीहरूमा अन्तर्ज्ञानको अभावको कारण, परमेश्‍वरले भन्‍नुभयो, “जब तिनीहरू आफूले मेरो प्रतिरोध वा मेरा प्रशासनिक विधिहरूको उल्लङ्घन गरेको ठान्छन्, तब म देखे पनि नदेखे झैँ गर्छु।”

परमेश्‍वरले अलिकति पनि नचुकी, निसाना कहिल्यै नचुकाई मानवजातिको कुरूप अनुहार र तिनीहरूको भित्री संसारलाई प्रकट गर्नुहुन्छ। उहाँले कुनै पनि गल्ती गर्नुहुन्‍न भनेर समेत भन्‍न सकिन्छ। यो मानिसहरूलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउने प्रमाण हो। परमेश्‍वरको कार्यपछाडिको सिद्धान्तको कारण, उहाँका धेरैजसो वचन र कार्यहरूले मेट्न असम्‍भव प्रभाव पार्छन्, र त्यसकारण मानिसहरूले उहाँको बारेमा अझै गहन बुझाइ प्राप्त गर्छन् भन्‍ने देखिन्छ, मानौं तिनीहरूले उहाँमा अझै बहुमूल्य कुराहरू पत्ता लगाएका छन्। “तिनीहरूको स्मृतिमा म या त तिनीहरूलाई सजाय नभई कृपा गर्ने परमेश्‍वर हुँ या त आफूले बोलेको कुरालाई पूरा नगर्ने परमेश्‍वर स्वयम्‌ नै हुँ। यी सबै कुराहरू मानव सोचबाट जन्मिएका काल्पनिक कुराहरू हुन्, र तिनीहरू तथ्यसँग मेल खाँदैनन्।” मानवजातिले परमेश्‍वरको साँचो अनुहारमा कहिल्यै पनि कुनै महत्त्व नदिएका हुनाले, तिनीहरूले “उहाँको स्वभावको गौण पक्ष” लाई तिनीहरूले आफ्‍नो हतकेलाको पछाडिको भागलाई जत्तिकै जानेका हुन्छन्; तिनीहरूले परमेश्‍वरका वचन र कार्यहरूमा सधैँ गल्ती खोतलिरहेका हुन्छन्। यसको कारण के हो भने, मानिसहरू परमेश्‍वरका वचनहरूलाई तुच्छ ठान्दै सधैँ नकारात्मक कुराहरूलाई ध्यान दिन, अनि सकारात्मक कुराहरूलाई बेवास्ता गर्न अत्यन्तै इच्‍छुक हुन्छन्। उहाँ आफ्‍नो वासस्थानमा नम्रतापूर्वक लुक्नुहुन्छ भनेर परमेश्‍वरले जति भन्‍नुहुन्छ, मानवजातिले उहाँबाट त्यति नै धेरै कुराहरू माग गर्छन्। तिनीहरू भन्छन्, “यदि देहधारी परमेश्‍वरले मानवजातिको हरेक कार्यको अवलोकन र मानव जीवनको अनुभव गरिरहनुभएको छ भने, किन प्रायजसो समय परमेश्‍वरले हाम्रो वास्तविक अवस्थालाई जान्‍नुहुन्‍न? के यसको अर्थ परमेश्‍वर साँच्‍चै नै लुक्‍नुभएको छ भन्‍ने हो?” परमेश्‍वरले मानव हृदयको गहिराइमा हेर्नुहुने भए पनि, उहाँले अझै पनि मानवजातिको वास्तविक अवस्थाहरूअनुसार काम गर्नुहुन्छ, त्यस क्रममा उहाँ न त स्पष्ट बन्‍नुहुन्छ न त अलौकिक नै। मानवजातिबाट तिनीहरूको पुरानो स्वभावलाई पूर्ण रूपमा हटाउनको लागि, परमेश्‍वरले मानिसहरूको साँचो प्रकृतिलाई खुलासा गर्दै, र तिनीहरूको अवज्ञाको निम्ति न्यायको घोषणा गर्दै, एक क्षणमा उहाँले सबैको निराकरण गर्छु भन्दै, र अर्को क्षणमा उहाँले मानिसहरूको एउटा समूहलाई मुक्ति दिन्छु भनेर घोषणा गर्दै; कि त मानवलाई मापदण्डहरू दिँदै कि त तिनीहरूलाई चेतावनी दिँदै; अनि वैकल्‍पिक रूपमा तिनीहरूका भित्री अङ्गहरू चिरफार गर्दै र उपचार प्रदान गर्दै विभिन्‍न दृष्टिकोणहरूबाट बोल्‍न कुनै पनि कसर बाँकी राख्‍नुभएको छैन। यसरी, परमेश्‍वरको वचनहरूको अगुवाइमा, मानौं मानवले पृथ्वीको हरेक कुना-कुनामा यात्रा गरेका छन् र हराभरा बगैँचामा प्रवेश गरेका छन् जहाँ हरेक फूलले सबैभन्दा सुन्दर बन्‍नको लागि होडबाजी गरिरहेका छन्। परमेश्‍वरले जे भन्‍नुभए पनि, मानवजाति उहाँको वचनमा प्रवेश गर्नेछन्, मानौं परमेश्‍वर फलामले बनेको हरेक कुरा तान्‍ने चुम्बक हुनुहुन्छ। “मानिसहरूले मलाई वास्ता गर्दैनन्, त्यसैले म पनि तिनीहरूलाई गम्भीर रूपमा लिँदिनँ। तिनीहरूले मलाई ध्यान दिँदैनन्, त्यसैले मैले पनि तिनीहरूउपर अझ परिश्रमसित काम गर्नु पर्दैन। के यो दुवै संसारका सर्वोत्तम कुरा होइन र?” भन्‍ने वचनहरू पढिसकेपछि, परमेश्‍वरका सबै मानिसहरू फेरि पनि अतल कुण्‍डमा फ्याँकिन्छन्, वा तिनीहरूको संवेदनशील विन्दुमा फेरि प्रहार गरिन्छ, र यसरी तिनीहरूलाई अत्यन्तै झट्का लाग्ने भन्‍ने देखिन्छ। यसप्रकार, तिनीहरू फेरि विधिमा प्रवेश गर्छन्। तिनीहरू “यदि तिमीहरूले राज्यका मेरा मानिसहरूको सदस्यको रूपमा आफ्नो कर्तव्य निभाउन सक्दैनौ भने, तिमीहरूलाई घृणा र अस्वीकार गर्नेछु!” भन्‍ने वचनहरूको सम्‍बन्धमा विशेष गरी अन्योल बन्छन्। धेरैजसो मानिसहरूलाई यति चोट लाग्छ कि तिनीहरू यस्तो सोच्दै आँसु बगाउँछन्, “अतल कुण्‍डबाट उक्‍लन मलाई निकै कठिन भएको थियो, त्यसकारण म फेरि यसमा खसेँ भने ममा कुनै आशा हुनेछैन। मानव संसारमा मैले केही पनि प्राप्त गरेको छैन, र मेरो जीवनमा सबै किसिमका कठिनाइ र संकष्टहरू भोगेको छु। खास गरी, विश्‍वासमा आएपछि, म प्रियजनबाट त्यागिएको छु, मैले मेरो परिवारबाट सतावट, र समाजका अरूबाट निन्दा भोगेको छु, र म संसारको कुनै पनि खुशीमा रमाएको छैन। म फेरि अतल कुण्‍डमा खसेँ भने, के मेरो जीवन अझै बढी व्यर्थमा जिएको हुनेछैन र?” (व्यक्तिले यो कुरा जति सोच्छ, उसले त्यति नै बढी शोक अनुभव गर्छ।) “मेरा सारा आशा परमेश्‍वरका हातमा सुम्पिएको छु। यदि उहाँले मलाई त्याग्‍नुभयो भने, म त अहिले नै मरे पनि हुन्छ…। सबै कुरालाई परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हुनाले, म अहिले परमेश्‍वरलाई प्रेम गर्ने प्रयास मात्रै गर्न सक्छु; अरू सबै गौण कुरा हुन्। किन यो मेरो नियति भएको छ?” मानिसहरूले यसरी जति विचार गर्छन्, तिनीहरू परमेश्‍वरको मापदण्ड र उहाँका वचनहरूका उद्देश्यको त्यति नै नजिक आउँछन्। यसरी, उहाँका वचनहरूको उद्देश्य हासिल गरिन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई देखेपछि, तिनीहरू सबैले आन्तरिक वैचारिक संघर्षको अनुभव गर्छन्। तिनीहरूको एउटै विकल्‍प भनेको नियतिले जे निर्धारित गर्छ त्यसमा समर्पित हुनु हो, अनि यसरी परमेश्‍वरको उद्देश्य हासिल हुन्छ। परमेश्‍वरका वचनहरू जति कठोर हुन्छन्, त्यसको परिणामस्वरूप मानवको भित्र संसार त्यति नै जटिल बन्छ। यो घाउमा छुनुजस्तै हो; जति थिचेर छोइन्छ, त्यति नै पीडा हुन्छ, यहाँसम्‍म कि मानिसहरू जीवन र मृत्युको दोसाँधमा पुग्छन् र तिनीहरूले बाँच्‍ने आत्मविश्‍वास समेत गुमाउन सक्छन्। तसर्थ, मानवले सबैभन्दा बढी कष्ट भोगेको बेला र तिनीहरू निराशाको गहिराइमा हुँदा मात्रै, तिनीहरूले परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिन सक्छन्। मानव प्रकृति कस्तो हुन्छ भने, यदि थोरै आशा मात्र पनि बाँकी छ भने, तिनीहरू सहयोगको लागि परमेश्‍वरकहाँ जानेछैनन्, बरु प्राकृतिक रूपमा बाँच्‍नको लागि आत्म-निर्भरताका विधिहरू अपनाउँछन्। यसको कारण के हो भने मानवजातिको प्रकृति आत्म-धर्मी हुन्छ, र मानिसहरूमा अरू सबैलाई नीच नजरले हेर्ने प्रवृत्ति हुन्छ। त्यसकारण, परमेश्‍वरले भन्नुभयो, “सहजताको अवस्थामा हुँदा एकै जना मानवले पनि मलाई प्रेम गर्न सकेको छैन; शान्ति र खुशीको समयमा एक जना मान्छेले पनि तिनीहरूको खुशीमा म पनि सामेल हुन सक्छु कि भनी मलाई खोज्दै आएको छैन।” यो वास्तवमा निराशाजनक छ; परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, तर उहाँ मानव संसारमा आउनुहुँदा मानिसहरूले उहाँको प्रतिरोध गर्न र उहाँलाई तिनीहरूको क्षेत्रबाट धपाउन खोजे, मानौं कि उहाँ संसारमा यताउता भौँतारिरहेको कुनै टुहुरो व्यक्ति वा आफ्नो देश नभएको सांसारिक व्यक्ति हुनुहुन्छ। परमेश्‍वरप्रति कसैले पनि आत्मीयता अनुभूति गर्दैन, उहाँलाई कसैले पनि साँचो रूपमा प्रेम गर्दैन, र उहाँको आगमनलाई कसैले पनि कहिल्यै स्वागत गरेको छैन। यसको सट्टा, परमेश्‍वरको आगमनलाई देख्दा, खुसीले भरिएका मुहारहरूलाई एकै क्षणमा बादलको छाँयाले ढाकिदिन्छ, मानौं कि अकस्मात् आँधीहुरी आउन लागेको छ वा परमेश्‍वरले तिनीहरूका परिवारका खुसीहरू खोसी लैजान सक्‍नुहुन्छ, र मानौं कि परमेश्‍वरले मानिसहरूलाई कहिल्यै पनि आशिष् दिनुभएकै छैन, बरु उहाँले सधैँ तिनीहरूमा केवल दुर्भाग्य ल्याउनुभएको छ। त्यसैले, मानिसहरूको मनमा परमेश्‍वर सौभाग्य हुनुहुन्न, बरु तिनीहरूलाई सधैँ श्राप दिने व्यक्ति हुनुहुन्छ। यस कारणले गर्दा, मानिसहरूले उहाँप्रति ध्यान दिँदैनन् वा उहाँलाई स्वागत गर्दैनन्; तिनीहरू उहाँप्रति सधैँ रूखो रहन्छन्, र अवस्था सधैँ यस्तै रहँदै आएको छ। मानिसहरूले आफ्नो हृदयमा यस्ता कुराहरू राख्ने भएकोले, परमेश्‍वर भन्‍नुहुन्छ, मानवजाति अमर्यादित र अनैतिक छन्, र जुन भावनाहरूद्वारा मानिसहरू ओतप्रोत हुनुपर्ने हो तिनीहरूमा ती भावनाहरू पनि छैनन्। मानिसहरूले परमेश्‍वरका भावनाहरूप्रति अलिकति पनि आदर देखाउँदैनन्, बरु परमेश्‍वरलाई सामना गर्नको लागि तथाकथित “धर्मीपन” को प्रयोग गर्छन्। तिनीहरू वर्षौंदेखि यस्तै रहँदै आएका छन्, र यही कारणले गर्दा, परमेश्‍वरले तिनीहरूको स्वभाव बदलिएको छैन भनी भन्नुभएको छ। यसले तिनीहरूभित्र अलिकति पनि सार छैन भन्ने देखाउँछ। मानव व्यर्थका तुच्छहरू हुन् भनेर भन्‍न सकिन्छ किनकि तिनीहरूले आफैलाई मूल्यवान् ठान्दैनन्। यदि तिनीहरूले आफैलाई समेत प्रेम गर्दैनन्, बरु आफैलाई कुल्चन्छन् भने, तब के यसले तिनीहरूको व्यर्थतालाई देखाउँदैन र? मानवजाति आफैमाथि खेल खेल्ने र अपवित्र पारिनको निम्ति स्वेच्छाले आफूलाई अरूकहाँ सुम्पने अनैतिक स्त्री झैँ छ। यति हुँदाहुँदै पनि, मानिसहरूले तिनीहरू कति नीच छन् भनेर अझै पहिचान गर्न सक्दैनन्। तिनीहरूले आफैँलाई अरूको नियन्त्रणमा राखेर अरूको निम्ति काम गर्न वा अरूसँग कुरा गर्नुमा आनन्द प्राप्त गर्छन्; के मानवजातिको फोहोरीपन ठीक यही नै होइन र? मैले मानवजाति माझमा जीवन अनुभव गरेको छैन र साँचो रूपले मानव जीवनको अनुभव गरेको छैन तैपनि, मैले मानवको हरेक चाल, हरेक कार्य, हरेक शब्द र हरेक कामको स्पष्ट बुझाइ हासिल गरेको छु। मानवलाई सबैभन्दा गहिरो सर्ममा पार्दै, तिनीहरूले आफ्नै गुप्तका गलत कामहरू प्रकट गर्न साहस गर्न वा तिनीहरूको अभिलाषामा लाग्‍न नसक्ने अवस्थासम्‍म हुने गरी तिनीहरूलाई खुलासा गर्न पनि म सक्षम छु। आफ्नै खोलहरूमा फर्कने सङ्खे कीराहरू जस्तै, तिनीहरूले अब उप्रान्त आफ्नो कुरूप अवस्थालाई प्रकट गर्ने साहस गर्दैनन्। मानवले आफैलाई नचिन्‍ने हुनाले, आफ्ना आकर्षणहरूलाई अरूको अगाडि प्रदर्शन गर्ने, आफ्नो कुरूप मुहारहरू प्रदर्शन गर्ने तिनीहरूको इच्छुकता नै तिनीहरूको सबैभन्दा ठूलो कमजोरी हो; परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुने कुरा यही हो। किनभने मानिसहरू बीचका सम्बन्धहरू असामान्य छन् र मानिसहरूको बीचमा सामान्य पारस्परिक सम्बन्धहरूको अभाव छ, तिनीहरू र परमेश्‍वरको बीच सामान्य सम्बन्धहरू हुने कुरा त परै जाओस्। परमेश्‍वरले धेरै कुरा बताउनुभएको छ र उहाँले यसो गर्नुहुँदा उहाँको मुख्य उद्देश्य मानिसहरूको हृदयमा एउटा ठाउँ ओगटेर बस्नु हो ताकि तिनीहरूले त्यहाँ बास गरेका अन्य सबै आदर्शहरूलाई निकालेर फाल्न सकून्। त्यसपछि, परमेश्‍वरले सारा मानवजातिमाथि शक्ति देखाउन सक्नुहुन्छ र पृथ्वीमा उहाँको अस्तित्वको उद्देश्य हासिल गर्न सक्नुहुन्छ।

अघिल्लो: अध्याय १३

अर्को: अध्याय १५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्