अध्याय ५५
कथित सामान्य मानवता मानिसहरूले सोचे झैँ अलौकिक छैन। बरु, यसले सबै मानव, घटना, अनि वस्तुहरूका बन्धनहरू, र हाम्रो वातावरणबाट उत्पन्न हुने सतावटहरूलाई उछिन्न सक्छ। यो कुनै पनि स्थान वा परिस्थितिमा मेरो नजिक हुनसक्छ र मसित सङ्गति गर्नसक्छ। तिमी मानवहरू जहिले पनि मेरा अभिप्रायहरूलाई गलत व्याख्या गर्छौ। जब म तिमीहरूले सामान्य मानवताको जीवन जिउनुपर्छ भनी भन्छु, तब तिमीहरूले आत्मसंयमताको अभ्यास गर्छौ र आफ्नो शरीरलाई वशमा ल्याउँछौ, तर तिमीहरूले आफ्नै आत्माभित्र होशियारीपूर्वक खोजी गर्ने कार्यमा कुनै ध्यान दिँदैनौ। मैले तँभित्र पैदा गर्ने प्रकाशहरू र उत्प्रेरणाहरूलाई बेवास्ता गर्दै, तँ आफ्नै बाहिरी स्वरूपमा ध्यान केन्द्रित गर्छस्। तँ कति लापरवाह छस्! अति लापरवाह! मैले तँलाई सुम्पेको कुरा पूरा गर्ने कार्यलाई तैँले ठूलो उपलब्धि ठान्छस् कि? तँ मूर्ख होस्! तैँले गहिरो जरा हाल्ने कार्यलाई ध्यान दिइरहेको छैनस्! “रूखमा भएको पात नहोऊ, तर रूखको जरा होऊ”—के तेरो नारा त्यही हो? विचारहीन! लापरवाह! तैँले सानातिना लाभहरू पाएको छस् भनी सोच्नेबित्तिकै तँ सन्तुष्ट हुन्छस्। तैँले मेरो इच्छाको बारेमा कति थोरै वास्ता गर्छस्! अबदेखि, ध्यान दे, निष्क्रिय नबन्, अनि नकारात्मक नबन्! तैँले सेवा गर्दा, धेरै पटक मेरो नजिक आइज, अनि मसित अझै बढी कुराकानी गर्: यो मात्रै तेरो समस्याको समाधान हो। तैँले आफैलाई पहिले नै इन्कार गरिसकेको छस्, तेरा आफ्नै कमी कमजोरीहरूको बारेमा तँलाई थाहा छ, र तेरा आफ्नै दुर्बलताहरूको बारेमा तँलाई थाहा छ भन्ने मलाई थाहा छ। तथापि, जान्नु मात्रै पर्याप्त छैन। तैँले मसित सहकार्य गर्न आवश्यक छ, अनि तैँले मेरा अभिप्रायहरू बुझिसकेपछि, त्यसलाई तुरुन्तै कार्यान्वयन गरिहाल्नुपर्छ। मेरो बोझको निम्ति तेरो चासो देखाउने सबैभन्दा राम्रो तरिका, अनि समर्पित हुने सर्वोत्तम तरिका यही हो।
तैँले मलाई जसरी व्यवहार गरे पनि, म तँभित्र अनि सबै सन्तहरूभित्र मेरो इच्छा पूरा गर्न चाहन्छु, अनि सम्पूर्ण देशभरि नै यसलाई निर्विघ्न अघि बढाइएको चाहन्छु। यसको बारेमा पूर्ण रूपमा सचेत बन्! यसले मेरो प्रशासनिक आदेशहरूसित सम्बन्ध राख्छ! के तँ अलिकति पनि डराउँदैनस्? तेरा आफ्नै कार्य तथा व्यवहारहरूप्रति के तँ डरले कामिरहेको छैनस्? सबै सन्तहरूको माझमा, मेरा अभिप्रायहरूलाई बुझ्ने बिरलै छन्। के तँ त्यस्तो व्यक्तिको रूपमा अलग देखिन चाहँदैनस् जो साँच्चिकै मेरो इच्छाप्रति सचेत छ? के तँ सचेत छस्? मेरो हालको अत्यावश्यक अभिप्राय भनेको मेरो इच्छाको बारेमा पूर्ण रूपले सचेत हुन सक्ने मानिसहरूको समूहको खोजी गर्नु हो। के तँ तिनीहरूमध्ये एक हुन चाहँदैनस्? के तँ मेरो खातिर आफैलाई समर्पित गर्न र मेरो निम्ति आफैलाई अर्पण गर्न चाहँदैनस्? तँ सबैभन्दा सानो मूल्य चुकाउन वा सबैभन्दा सानो प्रयास पनि लगाउन चाहँदैनस्! यदि मामला निरन्तर यही भइरह्यो भने, तिमीहरूमाथिको मेरो मेहनती प्रयास सबै खेर जानेछन्। अब मैले तँलाई यो कुरा औँल्याइदिइसकेको हुनाले, के तँ यो मामलाको गम्भीरतालाई अझै बुझ्दैनस्?
“मेरो लागि इमानदारपूर्वक खर्चिनेहरूलाई म अवश्य नै धेरै आशिष् दिनेछु।” तैँले देखिस्! मैले तँलाई यो कुरा धेरै पल्ट भनिसकेको छु, तापनि तँसित अझै तेरो पारिवारिक परिस्थितिहरू र बाहिरी परिस्थितिसँग सम्बन्धित थुप्रै आशङ्का र डरहरू छन्। तेरो निम्ति के असल छ भनी तँलाई साँच्चिकै थाहा छैन! म इमान्दार, सरल र खुला मानिसहरूलाई मात्र प्रयोग गर्छु। मैले तँलाई प्रयोग गर्दा तँ खुशी र इच्छुक रहेको छस्—तर किन तँ अझै यति चिन्तित छस्? मेरा वचनहरूले तँमाथि बिलकुल प्रभाव नपारेको हुन सक्ला त? मैले तँलाई प्रयोग गरिरहेको छु भनेर मैले भनेको छु, तापनि तँ अझै त्यसमा दृढतापूर्वक निर्धक्क छैनस्। तैँले सधैँ शङ्का गरिरहेको छस्, अनि मैले तँलाई त्याग्नेछु भनेर तँ डराउँछस्। तेरा धारणाहरूले तँलाई गाँजेका छन्! जब म तँलाई प्रयोग गरिरहेको छु भनी भन्छु, यसको अर्थ, मैले तँलाई प्रयोग गरिरहेको छु भन्ने हुन्छ। तँ किन सधैँ शङ्कालु हुन्छस्? के मैले पर्याप्त रूपले स्पष्टसित बोलेको छैन र? मैले भनेको हरेक शब्द साँचो हुन्छ; एउटै वाणी समेत झूटो छैन। मेरो छोरा! मलाई भरोसा गर्। मेरो खातिर समर्पित बन्, अनि म पनि निश्चय नै तँप्रति समर्पित हुनेछु!