परमेश्वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्
देहधारी परमेश्वरको कार्य दुई भागमा समावेश छ। जब उहाँ पहिलो पटक देह बन्नुभयो, मानिसहरूले उहाँमा विश्वास गरेनन् वा उहाँलाई चिनेनन्, र तिनीहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि, जब उहाँ दोस्रो पटक देह बन्नुभयो, मानिसहरूले अझै पनि उहाँमा विश्वास गरेनन्, उहाँलाई जान्ने कुरा त परै जाओस्, र फेरि एक पटक तिनीहरूले ख्रीष्टलाई क्रूसमा टाँगे। के मानिस परमेश्वरको शत्रु होइन र? यदि मानिसले उहाँलाई चिन्दैन भने, मानिस कसरी परमेश्वरसँग घनिष्ठ हुन सक्थ्यो र? ऊ कसरी परमेश्वरको गवाही दिन योग्य हुन सक्थ्यो र? के परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरको सेवा गर्ने, र परमेश्वरलाई महिमित गर्ने मानिसका दाबीहरू सबै कपटपूर्ण झूट होइनन् र? यदि तैँले आफ्नो जीवन यस्ता अवास्तविक, अव्यवहारिक कुराहरूमा समर्पित गर्छस् भने, के तैँले व्यर्थमा परिश्रम गर्दैनस् र? जब परमेश्वर को हुनुहुन्छ भन्ने कुरा समेत तँलाई थाहा छैन भने तँ कसरी परमेश्वरसँग घनिष्ठ हुन सक्थिस्? के यस्तो किसिमको खोजी अस्पष्ट र अमूर्त छैन र? के यो कपटपूर्ण छैन र? कुनै व्यक्ति कसरी परमेश्वरसँग घनिष्ठ बन्न सक्छ? परमेश्वरसँग घनिष्ठ हुनुको व्यावहारिक महत्त्व के हो? के तँ परमेश्वरका आत्मासँग घनिष्ठ हुन सक्छस्? आत्मा कति महान् र उच्च हुनुहुन्छ भन्ने कुरा के तँ देख्न सक्छस्? अदृश्य, अस्पृश्य परमेश्वरसँग घनिष्ठ हुनु—के त्यो अस्पष्ट र अमूर्त छैन र? यस्तो खोजीको व्यावहारिक महत्त्व के हो? के यो सबै कपटपूर्ण झूट होइन र? तँ जे कुराको पछि लाग्छस् त्यो परमेश्वरसँग घनिष्ठ बन्नु हो, तथापि वास्तवमा तँ शैतानको काखे-कुकुर होस्, किनकि तैँले परमेश्वरलाई चिन्दैनस्, र तँ अस्तित्वविहीन “यावत् थोकहरूका परमेश्वर” को पछि लाग्छस्, जुन अदृश्य, अस्पृश्य, र तेरो आफ्नै विचारहरूको एक उपज हो। मोटामोटी रूपमा भन्नुपर्दा, यस्तो “परमेश्वर” शैतान हो, र व्यावहारिक रूपमा भन्नुपर्दा, यो तँ आफै होस्। तँ आफैसँग घनिष्ठ हुन खोज्छस्, तैपनि तँ परमेश्वरसँग घनिष्ठ बन्न खोज्छु भनी भन्छस्—के यो ईश्वरनिन्दा होइन र? यस्तो खोजीको महत्त्व के हो? यदि परमेश्वरका आत्मा देह बन्नुहुन्न भने, परमेश्वरको सारतत्त्व केवल मानिसको निम्ति एक अदृश्य, अस्पर्श्य जीवनको आत्मा, आकारविहीन र निराकार, अभौतिक प्रकारको, पहुँचरहित र अबोध्य हुन्छ। मानिस कसरी यस्तो अपार्थिव, अनुपम, अगाध आत्मासँग घनिष्ठ हुन सक्थ्यो र? के यो एक ठट्टा होइन र? यस्तो निरर्थक तर्क अमान्य र अव्यावहारिक छ। सृष्टि गरिएको मानिस परमेश्वरका आत्माभन्दा स्वभावैले फरक प्रकृतिको छ, त्यसैले यी दुई कसरी घनिष्ठ हुन सक्छन्? यदि परमेश्वरका आत्मा देहमा नआउनुभएको भए, यदि परमेश्वर देह नबन्नुभएको भए र सृष्टि गरिएको प्राणी बन्नको लागि उहाँले आफैलाई नहोच्याउनुभएको भए, सृष्टि गरिएको मानिस उहाँसँग घनिष्ठ हुनको लागि दुवै अयोग्य र असक्षम हुनेथियो, र आफ्ना आत्मा स्वर्गमा प्रवेश गरिसकेपछि परमेश्वरसँग घनिष्ठ हुने मौका पाउन सक्ने ती धर्मी विश्वासीहरूभन्दा बाहेक, अधिकांश मानिसहरू परमेश्वरका आत्मासँग घनिष्ठ हुन असमर्थ हुनेथिए। अनि यदि मानिसहरू देहधारी परमेश्वरको अगुवाइ अन्तर्गत स्वर्गमा हुनुहुने परमेश्वरका निकटवर्तीहरू बन्ने इच्छा गर्छन् भने, के तिनीहरू अचम्मै मूर्ख गैर-मानिसहरू होइनन् र? मानिसहरू अदृश्य परमेश्वरप्रतिको “विश्वासयोग्यता” लाई फगत पछ्याउँछन्, र देख्न सकिने परमेश्वरलाई कति पनि ध्यान दिँदैनन्, किनकि अदृश्य परमेश्वरलाई पछ्याउनु अति सजिलो छ। मानिसहरू यो उनीहरूले चाहेजस्तै गर्न सक्छन्, तर दृश्यगत परमेश्वरको खोजी त्यति सजिलो छैन। अस्पष्ट परमेश्वरलाई खोज्ने व्यक्तिले परमेश्वरलाई प्राप्त गर्न नितान्तै असमर्थ हुन्छ, किनकि अस्पष्ट र अमूर्त कुराहरू सबै मानिसहरूद्वारा परिकल्पित हुन्छन्, र मानिसद्वारा हासिल गरिन असक्षम हुन्छन्। यदि तिमीहरूको माझमा आउनुभएको परमेश्वर उच्च हुनुभएको र उचालिनुभएको परमेश्वर, जो तिमीहरूको पहुँचरहित हुनुभएको भए, तिमीहरूले उहाँको इच्छा कसरी बुझ्न सक्थ्यौ र? अनि तिमीहरूले उहाँलाई कसरी चिन्न र जान्न सक्थ्यौ? यदि उहाँले आफ्नो कार्य मात्र गर्नुभएको भए, र मानिससँग कुनै सामान्य सम्पर्क नगर्नुभएको भए, वा सामान्य मानवत्व नभएको र केवल मरणशीलहरूसम्म पहुँचरहित हुनुभएको भए, अनि, यदि उहाँले तिमीहरूको लागि निकै कार्य समेत गर्नुभएको तर तिमीहरूले उहाँसँग कुनै सम्पर्क नराखेको भए, र उहाँलाई देख्न असमर्थ भएका भए, तिमीहरूले उहाँलाई कसरी जान्न सक्थ्यौ र? यदि यस देहले सामान्य मानवत्व धारण नगरेको भए, मानिसले परमेश्वरलाई जान्ने कुनै उपाय हुनेथिएन्; यो त परमेश्वरको देहधारणले गर्दा मात्र मानिस देहधारी परमेश्वरसँग घनिष्ठ हुन योग्य भएको हो। मानिसहरू परमेश्वरसँग घनिष्ठ बन्छन् किनकि तिनीहरू उहाँको सम्पर्कमा आउँछन्, तसर्थ तिनीहरू उहाँसँग सँगै जिउँछन् र उहाँको सङ्गतमा रहन्छन्, र यसरी उहाँलाई बिस्तारै चिन्छन्। यदि यो यस्तो नभएको भए, के मानिसको खोजी व्यर्थै हुनेथिएन र? भन्नुको मतलब, यो सबै परमेश्वरको कार्यको कारणले गर्दा मानिस परमेश्वरसँग घनिष्ठ हुन योग्य भएको होइन, तर देहधारी परमेश्वरको वास्तविकता र स्वाभाविकताको कारणले हो। यो केवल परमेश्वर देह बन्नुहुने कारणले गर्दा मात्रै मानिसले आफ्नो कर्तव्य पूरा गर्ने मौका, र साँचो परमेश्वरलाई आराधना गर्ने मौका पाउँछ। के यो सबैभन्दा वास्तविक र व्यावहारिक सत्यता होइन र? अब, के तँ अझै पनि स्वर्गमा हुनुहुने परमेश्वरसँग घनिष्ठ हुने इच्छा गर्छस्? परमेश्वरले आफैलाई कुनै बिन्दुसम्म होच्याउनु हुँदा मात्र, भन्नुको मतलब, परमेश्वर देह बन्नुहुँदा मात्र, मानिस उहाँसँग घनिष्ठ र विश्वासपात्र हुन सक्छ। परमेश्वर आत्मा हुनुहुन्छ: मानिसहरू कसरी यस आत्मासँग घनिष्ठ हुन सक्छन् जो यति उच्च र अगाध हुनुहुन्छ? जब परमेश्वरका आत्मा देहमा अवतरण गर्नुहुन्छ, र बाहिरी स्वरूपमा मानिसजस्तै प्राणी बन्नुहुन्छ, तब मात्र मानिसहरूले उहाँको इच्छा बुझ्न सक्छन् र वास्तवमा उहाँद्वारा प्राप्त गरिन सक्छन्। उहाँ देहमा बोल्नुहुन्छ र कार्य गर्नुहुन्छ, मानिस जातिको सुख, दुःख, र सङ्कष्टहरूमा सामेल हुनुहुन्छ, मानिस जातिजस्तै त्यही संसारमा जिउनुहुन्छ, मानिस जातिलाई संरक्षण गर्नुहुन्छ, र तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, र यसद्वारा उहाँले मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र तिनीहरूलाई उहाँको उद्धार र उहाँको आशिष प्राप्त गर्न दिनुहुन्छ। जब मानिसहरूले यी कुराहरू प्राप्त गरेर साँच्चै परमेश्वरको इच्छा बुझ्छन्, तब मात्र तिनीहरू परमेश्वरसँग घनिष्ठ हुन सक्नेछन्। यो मात्र व्यावहारिक छ। यदि परमेश्वर मानिसहरूको निम्ति अदृश्य र अमूर्त हुनुभएको भए, तिनीहरू कसरी उहाँसँग घनिष्ठ हुन सक्थे होलान्? के यो खोक्रो सिद्धान्त होइन र?
अहिलेसम्म परमेश्वरमा विश्वास गरेर, धेरै मानिसहरूले अझै पनि त्यही पछ्याउँछन् जुन अस्पष्ट र अमूर्त छ। तिनीहरूसँग आज परमेश्वरको कार्यको यथार्थको बारे कुनै बुझाइ छैन, र अझै पनि वचन र सिद्धान्तहरूको माझ जिउँछन्। यति मात्र होइन, अधिकांश त अझै पनि “परमेश्वरलाई प्रेम गर्नेहरूको नयाँ पुस्ता,” “परमेश्वरको घनिष्ठ,” “परमेश्वरलाई प्रेम गर्नेहरूको उदाहरण र नमुना,” र “पत्रुसको शैली” जस्ता नयाँ वाक्याङ्शहरूको यथार्थभित्र प्रवेश गर्न बाँकी नै छन्; यसको सट्टामा, तिनीहरूको खोजी अझै पनि अस्पष्ट र अमूर्त छ, तिनीहरू अझै पनि सिद्धान्तलाई छामछुम गर्छन्, र तिनीहरूसँग यी शब्दहरूको यथार्थको कुनै बोध छैन। जब परमेश्वरका आत्मा देह बन्नुहुन्छ, तैँले देहमा उहाँको कार्य हेर्न र स्पर्श गर्न सक्छस्। अझै पनि यदि तँ उहाँको निकटवर्ती बन्न असक्षम छस् भने, यदि तँ अझै पनि उहाँको विश्वासपात्र बन्न असमर्थ छस् भने, तँ कसरी परमेश्वरका आत्माको विश्वासपात्र हुन सक्लास्? यदि तैँले आजको परमेश्वरलाई चिन्दैनस् भने, परमेश्वरलाई प्रेम गर्नेहरूको नयाँ पुस्ताको एक व्यक्ति कसरी हुन सक्छस्? के यी वाक्यांशहरू खोक्रा वचन र सिद्धान्तहरू होइनन् र? के तँ आत्मालाई हेर्न र उहाँको इच्छा बुझ्न समर्थ छस्? के यी वाक्यांशहरू खोक्रा छैनन् र? यी वाक्यांशहरू र शब्दावलीहरू उच्चारण गर्नु मात्र तेरो लागि पर्याप्त छैन, र न त तैँले सङ्कल्पद्वारा मात्र परमेश्वरको सन्तुष्टि हासिल गर्न सक्छस्। तँ यी शब्दहरूलाई उच्चारण गरेर मात्र सन्तुष्ट छस्, र तैँले आफ्नै इच्छाहरू सन्तुष्ट पार्न, तेरो आफ्नै अवास्तविक आदर्शहरू सन्तुष्ट पार्न, र तेरा आफ्नै धारणाहरू र विचारलाई सन्तुष्ट पार्न यसो गर्छस्। यदि तैँले आजको परमेश्वरलाई चिन्दैनस् भने, तैँले जेसुकै गरेतापनि तँ परमेश्वरको हृदयको इच्छा पूरा गर्न असमर्थ हुनेछस्। परमेश्वरको विश्वासपात्र हुनु भनेको अर्थ के हो? के तँ अझै पनि यो बुझ्दैनस्? मानिस परमेश्वरसँग घनिष्ठ भएको हुनाले, त्यस्तै परमेश्वर पनि मानिस हुनुहुन्छ। अर्थात्, परमेश्वर देह हुनुभएको छ, र मानिस बन्नुभएको छ। तिनीहरूले मात्रै एक-अर्कालाई विश्वासपात्रहरू भनी भन्न सक्छन् जो एकै किसिमका छन्, तब मात्र तिनीहरूलाई घनिष्ठहरू भनी विचार गर्न सकिन्छ। यदि परमेश्वर आत्मा हुनुहुन्थ्यो भने, सृष्टि गरिएको मानिस कसरी उहाँसँग घनिष्ठ हुन सक्थ्यो र?
परमेश्वरमा तेरो विश्वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने हरेक कुरा व्यवहारिक हुनुपर्छ, र जुन कुराहरू भ्रामक र काल्पनिक छन् ती तैँले पछ्याउनु हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नुको कुनै मूल्य हुँदैन, र यति मात्र होइन, यस्तो जीवनको कुनै अर्थ हुँदैन। तेरो खोजी र तेरो जीवन असत्यता र छलभन्दा बढि कुनै कुराको बीचमा नबिताउने हुनाले, र तैँले मूल्य र महत्त्व भएका कुराहरू नपछ्याउने हुनाले, तैँले हासिल गर्ने कुराहरू भनेका निरर्थक तर्क र सिद्धान्त मात्र हुन् जुन सत्यताका कुराहरू होइनन्। यस्ता कुराहरूले तेरो अस्तित्वको महत्त्व र मूल्यसँग कुनै सम्बन्ध राख्दैनन्, र तँलाई खोक्रो जगतमा मात्र ल्याउन सक्छन्। यसरी, तेरो सम्पूर्ण जीवन कुनै मूल्य वा अर्थरहित हुनेछ—अनि यदि तैँले अर्थको जीवन खोजी गरिनस् भने, तँ एक सय वर्ष नै बाँच्न सके पनि यो सबै बेकामको हुनेथियो। त्यसलाई कसरी मानव जीवन भन्न सकिन्थ्यो र? के यो वास्तवमा पशुको जीवन होइन र? यसै गरी, यदि तिमीहरूले परमेश्वरमा विश्वासको मार्ग पछ्याउन कोसिस गर्यौ, तापनि देख्न सकिने परमेश्वरलाई पछ्याउने कुनै प्रयत्न गर्दैनौ र यसको सट्टामा अदृश्य र अमूर्त परमेश्वरलाई आराधना गर्छौ भने, यस्तो खोजी अझ धेरै निरर्थक हुँदैन र? अन्तमा, तेरो खोजी भग्नावशेषको थुप्रो बन्नेछ। यस्तो खोजले तँलाई के लाभ दिन्छ? मानिसको सबैभन्दा ठूलो समस्या भनेको यही हो कि उसले हेर्न र स्पर्श गर्न नसकिने कुराहरूलाई मात्र प्रेम गर्छ, जुन कुराहरू अति रहस्यमय र आश्चर्यपूर्ण छन्, र जुन कुराहरू मानिसद्वारा अकल्पनीय छन् र फगत मरणशीलहरूद्वारा हासिल गर्न नसकिने छन्। यी कुराहरू जति धेरै अवास्तविक हुन्छन्, त्यत्ति नै धेरै तिनलाई मानिसहरूद्वारा विश्लेषण गरिन्छन्, र मानिसहरूले तिनलाई अरू सबैभन्दा बेमतलबी भएर समेत पछ्याउँछन्, र तिनलाई पाउने प्रयत्न गर्छन्। ती जति धेरै अवास्तविक हुन्छन्, त्यत्ति नै धेरै मानिसहरूले तिनको बारे तिनीहरूको आफ्नै पूर्ण धारणहरू बनाउने हदसम्म पर गएर समेत तिनलाई नजिकबाट परीक्षण र विश्लेषण गर्छन्। त्यसको विपरीत, कुराहरू जति धेरै व्यावहारिक हुन्छन्, मानिसहरू तीप्रति त्यत्ति नै धेरै बेपर्बाही हुन्छन्; तिनीहरूले तिनलाई फुटेका आँखाले समेत हेर्दैनन्, र तिनलाई उपेक्षा समेत गर्छन्। आज मैले गर्ने वास्तविक कार्यप्रतिको तिमीहरूको मनोवृत्ति ठीक यही होइन र? यी कुराहरू जति धेरै वास्तविक हुन्छन्, त्यत्ति नै धेरै तिमीहरू तिनको विरुद्धमा पूर्वाग्रही हुन्छौ। तिनलाई परीक्षण गर्न तिमीहरू कुनै समय खर्चँदैनौ, तर खालि तिनलाई बेवास्ता गर्छौ; तिमीहरू यी व्यावहारिक, न्यून-स्तरीय आवश्यकताहरूलाई फुटेका आँखाले समेत हेर्दैनौ, र सबैभन्दा व्यावहारिक यस परमेश्वरको बारे असङ्ख्य धारणाहरू समेत बनाउँछौ, र उहाँको व्यावहारिकता र स्वाभाविकतालाई स्विकार गर्न केवल असक्षम छौ। यस प्रकारले, के तिमीहरूले अगम्य अस्पष्ट कायम गर्दैनौ र? तिमीहरूसँग विगत समयको अस्पष्ट परमेश्वरमा अकम्पनीय विश्वास छ, आजको व्यावहारिक परमेश्वरमा कुनै रुचि छैन। हिजोको परमेश्वर र आजको परमेश्वर दुई भिन्न युगहरूबाट हुनुभएकोले गर्दा यस्तो भएको होइन र? हिजोको परमेश्वर स्वर्गको उचालिनुभएको परमेश्वर, जबकी आजको परमेश्वर पृथ्वीमा सानो मानव हुनुभएकोले यसो भएको हैन र? यसको साथै, मानिसद्वारा आराधना गरिएको परमेश्वर उसको धारणाहरूद्वारा उत्पादित भएको, जबकी आजको परमेश्वर साँचो देहको, पृथ्वीमा उत्पादित भएकोले गर्दा यस्तो भएको होइन र? जब सबै भनिन्छ र गरिन्छ, तब आजको परमेश्वर अति वास्तविक भएकोले गर्दा मानिसले उहाँलाई नपछ्याएको होइन र? किनकि आजको परमेश्वरले मानिसहरूलाई जे गर्नको लागि भन्नुहुन्छ त्यो गर्नको लागि नै मानिसहरू सबैभन्दा अनिच्छुक हुन्छन्, र जसले तिनीहरूलाई लज्जाबोध गराउँछ। के यसले मानिसहरूको लागि कुराहरू कठिन बनाउँदै छैन र? के यसले मानिसहरूको घाउमा नुनचुक थप्दैन र? यसरी, धेरै मानिसहरूले वास्तविक परमेश्वर, व्यावहारिक परमेश्वरलाई पछ्याउँदैनन् र त्यसैले तिनीहरू देहधारी परमेश्वरका शत्रुहरू बन्छन्, अर्थात् ख्रीष्ट विरोधीहरू बन्छन्। के यो एक स्पष्ट तथ्य होइन र? विगतमा, जब परमेश्वर अझै देह बन्न बाँकी थियो, तब तँ एक धार्मिक पात्र, वा एक भक्त विश्वासी भएको हुन सक्थिस्। परमेश्वर देह बन्नुभएपछि, धेरै यस्ता भक्त विश्वासीहरू अनजानमा ख्रीष्ट विरोधीहरू भए। यहाँ के हुँदैछ के तँलाई थाहा छ? परमेश्वरमाथिको तेरो विश्वासमा, तैँले यथार्थमाथि ध्यान दिँदैनस् वा सत्यतालाई पछ्याउँदैनस्, तर यसको सट्टा असत्यताहरूले मन-मस्तिष्क भर्छस्—के यो देहधारी परमेश्वरसँगको तेरो दुस्मनीको सबैभन्दा स्पष्ट स्रोत होइन र? देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसैले देहधारी परमेश्वरलाई विश्वास नगर्नेहरू सबै जना ख्रीष्ट विरोधीहरू होइनन् र? त्यसैले, तैँले जसमा विश्वास गर्छस् र जसलाई साँच्चै प्रेम गर्छस् के उहाँ देहमा हुनुहुने यही परमेश्वर हुनुहुन्छ त? के यो साँच्चै जीवित, श्वास-प्रश्वास गर्ने परमेश्वर हुनुहुन्छ, जो सबैभन्दा वास्तविक र असाधारण रूपमा सामान्य हुनुहुन्छ? तेरो खोजीको खास उद्देश्य के हो? यो स्वर्गमा छ कि पृथ्वीमा? यो धारणा हो कि यो सत्यता हो? यो परमेश्वर हुनुहुन्छ कि यो कोही अलौकिक व्यक्ति हो? वास्तवमा, सत्यता नै जीवनका सूत्रहरूको सर्व यथार्थ हो, र सारा मानिस जातिमाझ यस्ता सूत्रहरू सर्वोच्च हुन्छ। यो परमेश्वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान् हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका मालिकबाट मानिस जातिको लागि आएको उच्चारण हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्, तर परमेश्वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो। सत्यतालाई अभ्यासमा लगाउने मानिसहरूको खोजी उनीहरूको कर्तव्यको पालन हो—भन्नुको मतलब, यो परमेश्वरको मागलाई सन्तुष्ट पार्ने खोजी हो। यस मागको सार नै सबै सत्यताहरूको सर्व यथार्थ हो, कुनै पनि मानिसले हासिल गर्न सक्ने खोक्रा सिद्धान्त होइन। यदि तेरो खोजी अरू केही नभएर सिद्धान्त मात्र हो र त्यसमा कुनै यथार्थ समावेश छैन भने, के तैँले सत्यताको विरुद्धमा विद्रोह गर्दैनस् र? के तँ सत्यतालाई आक्रमण गर्ने व्यक्ति हुँदैनस् र? यस्तो व्यक्ति कसरी परमेश्वरलाई प्रेम गर्न खोज्ने व्यक्ति बन्न सक्ला? यथार्थ बिनाका मानिसहरू ती हुन् जसले सत्यतालाई परित्याग गर्छन्, र तिनीहरू सबै अन्तर्निहित रूपमा विद्रोही हुन्छन्।
तैँले जस्तोसुकै गरी पछ्याए तापनि, सबैभन्दा माथि, आज परमेश्वरले गर्नुहुने कार्यलाई तैँले बुझ्नुपर्छ, र तैँले यस कार्यको महत्त्वलाई जान्नुपर्छ। जब उहाँ अन्तिम दिनहरूमा आउनुहुन्छ, परमेश्वरले कुन कार्य ल्याउनुहुन्छ, उहाँले कुन स्वभाव ल्याउनुहुन्छ, र मानिसमा कुन कुरा पूर्ण गर्नुहुनेछ भन्ने बारेमा तैँले बुझ्नुपर्छ र जान्नुपर्छ। उहाँले देहमा गर्नलाई आउनुभएको कार्यलाई यदि तैँले जान्दैनस् वा बुझ्दैनस् भने, तैँले उहाँको इच्छा कसरी जान्न सक्छस्, र तँ उहाँसँग कसरी घनिष्ठ हुन सक्छस्? वास्तवमा, परमेश्वरसँग घनिष्ठ हुनु जटिल छैन, तर न त यो सरल नै छ। यदि मानिसहरूले यो कुरा पूरै बुझ्न सक्छन् र यसलाई अभ्यास गर्न सक्छन् भने, यो सरल बन्छ; यदि मानिसहरूले यसलाई पूरै बुझ्न सक्दैनन् भने, यो अझ धेरै कठिन हुन्छ, र, यति मात्र होइन, तिनीहरू आफ्नो खोजीलाई अस्पष्टतातिर लिएर जानलाई लालायित हुन्छन्। यदि, परमेश्वरको खोजीमा, मानिसहरूसँग आफ्नै अडानमा खडा हुने अवस्था छैन भने, र तिनीहरूले कुन सत्यतालाई अङ्गीकार गर्नुपर्ने हो सोबारे जान्दैनन् भने, यसको अर्थ यही हो कि तिनीहरूसँग कुनै जग छैन, र त्यसैले तिनीहरूलाई दृढ खडा हुन कठिन हुन्छ। आज, सत्यतालाई नबुझ्ने यति धेरै छन्, जसले असल र खराबबीचको भिन्नता छुट्ट्याउन सक्दैनन् वा केलाई प्रेम गर्ने वा घृणा गर्ने भन्न सक्दैनन्। यस्ता मानिसहरू मुस्किलै दृढ खडा हुन सक्छन्। परमेश्वरमाथिको विश्वासको कुञ्जी भनेको सत्यतालाई अभ्यासमा लगाउन सक्नु, परमेश्वरको इच्छालाई वास्ता गर्नु, उहाँ देहमा आउनुहुँदा मानिसमा परमेश्वरको कार्यलाई र उहाँले जुन सिद्धान्तहरूद्वारा बोल्नुहुन्छ त्यसलाई जान्नु हो। हूलहरूको पछि नलाग्। तैँले प्रवेश गर्नुपर्ने कुरामा तँसँग सिद्धान्तहरू हुनुपर्छ, र तैँले तिनलाई अङ्गीकार गर्नुपर्छ। परमेश्वरको अन्तर्दृष्टिद्वारा ल्याइएका तँभित्र भएका ती कुराहरूलाई दृढपूर्वक पक्रिराख्दा सो तेरो लागि सहयोगी हुनेछ। यदि तैँले पक्रँदैनस् भने, आज तैँले एक प्रकारले दिशा परिवर्तन गर्नेछस्, भोलि अर्को तरिकाले दिशा परिवर्तन गर्नेछस्, र तैँले कहिल्यै पनि कुनै वास्तविक कुरा पाउने छैनस्। यस्तो हुनु तेरो आफ्नै जीवनको लागि लाभदायक छैन। सत्यतालाई नबुझ्नेहरूले सदैव अरूहरूलाई पछ्याउँछन्: यदि मानिसहरूले यो पवित्र आत्माको कार्य हो भनी भन्छन् भने, तैँले पनि यो पवित्र आत्माको कार्य हो भनी भन्छस्; यदि मानिसहरूले यो दुष्टात्माको कार्य हो भनी भन्छन् भने, तँ पनि शङ्कालु हुन्छस्, वा यो दुष्टात्माको कार्य हो भनी भन्छस्। तँ सदैव अरूहरूको कुराहरूलाई सुगारटाइ गर्छस्, र आफैँ केही कुरा छुट्ट्याउन असक्षम हुन्छस्, न त तँ आफ्नै लागि सोच्न समर्थ हुन्छस्। यो कुनै अडान बिनाको व्यक्ति हो, जो भिन्नता छुट्ट्याउन असमर्थ छ—यस्तो व्यक्ति एक निकम्मा नालायक हुन्छ! तँ सदैव अरूहरूको कुराहरू दोहोर्याउँछस्: आज यस्तो भनिन्छ कि यो पवित्र आत्माको कार्य हो, तर यस्तो सम्भावना छ कि कुनै दिन कसैले भन्नेछ कि यो पवित्र आत्माको कार्य होइन, र वास्तवमा यो मानिसको कार्यभन्दा बाहेक अरू केही होइन—तापनि तँ यसलाई छुट्ट्याउन सक्दैनस्, र अरूहरूद्वारा यो कुरा बताइएको तँ प्रत्यक्षदर्शी हुँदा, तैँले पनि त्यही कुरा भन्छस्। यो वास्तवमा पवित्र आत्माको कार्य हो, तर तँ यो मानिसको कार्य हो भनी भन्छस्; के तँ पवित्र आत्माको कार्यको विरुद्धमा निन्दा गर्नेहरूमध्ये एक हुँदैनस् र? यसमा, तैँले भिन्नता छुट्ट्याउन नसकेको कारणले गर्दा परमेश्वरलाई विरोध गरेको छैनस् र? सायद कुनै दिन कुनै मूर्ख प्रकट हुनेछ जसले भन्छ “यो दुष्टात्माको कार्य हो,” र जब तँ यी शब्दहरू सुन्छस्, तँ नोकसानीमा हुनेछस्, र फेरि एक पटक तँ अरूहरूको कुराहरूद्वारा बन्धित हुनेछस्। हरेक पटक कसैले खलबल पैदा गर्छ, तँ आफ्नो अडानमा खडा हुन असक्षम हुन्छस्, र यो सबै तँसँग सत्यता नभएकोले गर्दा हो। परमेश्वरमा विश्वास गर्ने र परमेश्वरलाई जान्न खोज्ने कुरा सरल छैन। यी कुराहरू केवल सँगै भेला भएर अनि प्रचार सुनेर हासिल गर्न सकिँदैन, र तँ जोसद्वारा मात्र सिद्ध गरिन सक्दैनस्। तैँले आफ्नो कार्यहरू अनुभव गर्नुपर्छ, र जान्नुपर्छ, र तँ तिनमा सिद्धान्तवान् हुनुपर्छ, र पवित्र आत्माको कार्य हासिल गर्नुपर्छ। जब तँ अनुभवहरूबाट गुज्रेको हुन्छस्, तब तैँले धेरै कुराहरू छुट्ट्याउन समर्थ हुनेछस्—तँ असल र खराबबीचको, धार्मिकता र दुष्टताबीचको, शरीर र रगत को हो र सत्यता के हो सोबीचको भिन्नता छुट्ट्याउन समर्थ हुनेछस्। तैँले यी सबै कुराहरूको बीचको भिन्नतालाई छुट्ट्याउन सक्नुपर्छ, र यसो गर्दा, परिस्थितिहरू जस्तोसुकै भएतापनि, तँ कहिल्यै हराउने छैनस्। यही मात्र तेरो वास्तविक कद हो।
परमेश्वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्ने बारे जान्नुपर्छ, यो साँचो मार्ग हो कि होइन, र यो परमेश्वरको काम हो कि होइन भन्ने कसरी मापन गर्छस्? साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? यस मार्गमा पवित्र आत्माको कार्य छ कि छैन, यी शब्दहरू सत्यताका अभिव्यक्ति हुन् कि होइनन्, कसको गवाही दिइँदै छ, र यसले तेरा लागि के ल्याउँछ भनी तैँले हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्वरमाथिको मानिसहरूको विश्वासको सारतत्त्व भनेको परमेश्वरका आत्मामाथिको विश्वास हो, र जब देहधारी परमेश्वरमा विश्वास गर्छन्, त्यो पनि देह परमेश्वरको आत्माको मुर्तरूप भएकोले नै हो, जसको अर्थ यो हो कि यस्तो विश्वास भनेको अझै आत्मामाथिको विश्वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्वास गरेपनि त्यो परमेश्वरको अन्तर्निहित सारतत्त्व नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ। सत्यता भनेको सामान्य मानवत्वको जीवन स्वभाव हो, भन्नुको मतलब, यो त्यो कुरा हो जुन परमेश्वरले सुरुमा मानिसलाई सृष्टि गर्नुहुँदा उबाट माग गर्नुभएको थियो, जस्तो कि, (मानव समझ, अन्तर्दृष्टि, बुद्धि, र मानिस हुनुको आधारभूत ज्ञान लगायत) सामान्य मानवत्वको सम्पूर्णता। अर्थात्, यस मार्गले मानिसहरूलाई सामान्य मानवत्वको जीवनमा डोर्याउन सक्छ कि सक्दैन, बोलिएको सत्यता सामान्य मानवत्वको यथार्थअनुसार माग गरिएको छ कि छैन, यस सत्यता व्यवहारिक र वास्तविक छ कि छैन, र यो सर्व समय सापेक्षिक छ कि छैन भनी तैँले हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र वास्तविक अनुभवहरूमा अग्रसर गराउन समर्थ हुन्छ; यसको साथै, मानिसहरू पहिलाभन्दा अझै सामान्य हुन्छन्, तिनीहरूको समझ पहिलाभन्दा अझ पूर्ण हुन्छ, शरीरमा तिनीहरूको जीवन र आत्मिक जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्, र तिनीहरूको भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छ। यो दोस्रो सिद्धान्त हो। एउटा अर्को सिद्धान्त छ, जुन मानिसहरूसँग परमेश्वरको बारेमा बढ्दो ज्ञान छ कि छैन, र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्वरलाई प्रेम गर्ने हृदयको प्रेरणा दिन सक्छ कि सक्दैन र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्ने हो। यसमा यो नै साँचो मार्ग हो कि होइन भनी यसलाई मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा यो मार्ग अलौकिकभन्दा पनि व्यावहारिक छ कि छैन, र यसले मानिसको जीवन प्रदान गर्न समर्थ छ कि छैन भन्ने हो। यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग साँचो मार्ग हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ। तिमीहरूको भावी अनुभवहरूमा अन्य मार्गहरू स्विकार गराउनको लागि म तिमीहरूलाई यी कुराहरू भन्दिनँ, न त भविष्यमा अर्को नयाँ युगको कार्य हुनेछ भनी पूर्वानुमानको रूपमा नै भन्छु। म ती भन्छु ताकि तिमीहरू आजको मार्ग नै साँचो मार्ग हो भन्ने कुरामा निश्चय हुन सक, ताकि तिमीहरू आजको कार्यमा आफ्नो विश्वासमा आंशिक रूपमा मात्र पक्का हुनेछैनौ र यसमा अन्तर्दृष्टि पाउन असमर्थ हुनेछैनौ। निश्चित हुनुको बाबजुद पनि अझै धेरै जना अन्योलमा पछ्याउँछन्; यस्तो निश्चयतामा कुनै सिद्धान्त हुँदैन, र यस्ता मानिसहरू चाँडो वा ढिलो निमिट्यान्न हुनुपर्छ। आफ्नो पछ्याइमा विशेष गरी उत्सुक भएकाहरू समेत पनि तीन भाग निश्चित र पाँच भाग अनिश्चित हुन्छन्, जसले देखाउँछ कि तिनीहरूसँग कुनै जग छैन। तिमीहरूको क्षमता अति कमजोर छ र तिमीहरूको जग अति सतही छ त्यसैले तिमीहरूसँग फरक छुट्ट्याउने समझ नै छैन। परमेश्वरले आफ्नो कार्य दोहोर्याउनुहुन्न, उहाँले त्यस्तो कार्य गर्नुहुन्न जुन यथार्थपरक हुँदैन, उहाँले मानिससँग अत्याधिक मागहरू गर्नुहुन्न, र उहाँले यस्तो कार्य गर्नुहुन्न जुन मानिसको भावभन्दा पर हुन्छ। उहाँले गर्नुहुने सबै कार्य मानिसको सामान्य भावको हदभित्र हुन्छ, र यसले सामान्य मानवत्वको भावलाई उछिन्दैन, र उहाँको कार्य मानिसको सामान्य आवश्यकताहरू अनुसार गरिन्छ। यदि यो पवित्र आत्माको कार्य हो भने, मानिसहरू पहिलाको भन्दा अझ बढी सामान्य बन्छन्, र तिनीहरूको मानवत्व पहिलाको भन्दा अझ अधिक सामान्य हुन्छ। मानिसहरूले तिनका भ्रष्ट शैतानी स्वभावको बारे, र मानिसको सारबारे बढ्दो ज्ञान हासिल गर्छन्, र तिनीहरूले सत्यताको लागि पहिलेको भन्दा अझ ठूलो तिर्सना पनि राख्छन्। भन्नुको मतलब, मानिसको जीवन वृद्धि हुन्छ र वृद्धि हुन्छ, र मानिसको भ्रष्ट स्वभाव झन्-झन् धेरै परिवर्तनको सक्षम बन्छ—यी सबैको अर्थ परमेश्वर मानिसको जीवन बन्नुहुन्छ भन्ने हो। यदि कुनै मार्गले मानिसको सारका ती कुराहरू प्रकट गर्न असक्षम छ, मानिसको स्वभावलाई परिवर्तन गर्न असक्षम छ, र, यसको साथै, मानिसहरूलाई परमेश्वरको सामुन्ने ल्याउन वा परमेश्वरको बारेमा तिनीहरूलाई साँचो समझ दिन असक्षम छ, र तिनीहरूको मानवत्वलाई अझ पहिलाको भन्दा पनि बढि खस्कने बनाउँछ र तिनीहरूको भाव अझ पहिलाको भन्दा असामान्य बनाउँछ भने, यो मार्ग सत्य मार्ग हुँदै होइन, र यो दुष्टात्माको कार्य, वा पुरानो मार्ग हुन सक्छ। छोटकरीमा, यो पवित्र आत्माको वर्तमान कार्य हुन सक्दैन। तिमीहरूले यी सब वर्ष परमेश्वरमा विश्वास गरेका छौ, तापनि तिमीहरूसँग साँचो मार्ग र झूटो मार्गको बीचमा फरक छुट्ट्याउनको लागि, वा यस सत्य मार्ग खोजी गर्नको लागि यस सिद्धान्तको बारे अलिकति पनि ज्ञान छैन। अधिकांश मानिसहरू यी कुराहरूमा रुचि समेत राख्दैनन्; तिनीहरू केवल त्यहीँ जान्छन् जहाँ बहुसंख्यक जान्छन्, र त्यही दोहोर्याउँछन् जे बहुसंख्यकले भन्छन्। यो व्यक्ति कसरी साँचो मार्ग खोज्ने व्यक्ति हो? यस्ता मानिसहरूले साँचो मार्गलाई कसरी पत्ता लगाउन सक्छन्? यदि तिमीहरूले यी विभिन्न मुख्य सिद्धान्तहरू बुझ्छौ भने, जेसुकै भएतापनि, तिमीहरू धोकामा पर्नेछैनौ। आज, यो महत्त्वपूर्ण छ कि मानिसहरूले भिन्नता छुट्ट्याउन सकून्; सामान्य मानवत्वद्वारा धारण गरिनुपर्ने कुरा यही हो, र मानिसहरूले आफ्नो अनुभवमा धारण गर्नुपर्ने कुरा यही हो। यदि, आज पनि, मानिसहरूले पछ्याउने क्रममा अझै पनि केही भिन्नता छुट्ट्याउन सक्दैनन्, र यदि तिनीहरूको मानव भाव अझै वृद्धि भएको छैन भने, मानिसहरू अति मूर्ख छन्, र तिनीहरूको खोजी गलत र भ्रष्ट भएको छ। आज तेरो खोजीमा अलिकति पनि भिन्नता छैन, र तैँले भनेजस्तै यो सत्य होला कि तैँले सत्य मार्ग पत्ता लगाएको छस्, तर के तैँले यसलाई प्राप्त गरेको छस्? के तँ केही छुट्ट्याउन समर्थ भएको छस्? यस सत्य मार्गको सारतत्त्व के हो? यस सत्य मार्गमा, तैँले सत्य मार्ग प्राप्त गरेको छैनस्; तैँले सत्यताको कुनै कुरा प्राप्त गरेको छैनस्। भन्नुको मतलब, तैँले त्यो कुरा हासिल गरेको छैनस् जुन परमेश्वरले तँबाट माग गर्नुहुन्छ, र यसरी तेरो भ्रष्टतामा कुनै परिवर्तन भएको छैन। यदि तैँले यसरी नै खोजी जारी राखिस् भने, तँ अन्ततः निमिट्यान्न हुनेछस्। यस दिनसम्म पछ्याएको हुनाले, तैँले समातेको मार्ग सही मार्ग हो भन्ने कुरामा तँ निश्चित हुनुपर्छ, र अब उप्रान्त कुनै शङ्का गर्नुहुँदैन। केही झीनामसिना मामिलाहरूको कारण धेरै मानिसहरू सदैव अनिश्चित हुन्छन् र सत्यताको पछि लाग्न छोड्छन्। यस्ता मानिसहरू ती हुन् जोसँग परमेश्वरको कार्यको विषयमा कुनै ज्ञान हुँदैन; तिनीहरू ती हुन् जसले अन्योलमा परमेश्वरलाई पछ्याउँछन्। ती मानिसहरू जसलाई परमेश्वरको कार्यको बारेमा थाहा हुँदैन ती उहाँसँग घनिष्ठ हुन, वा उहाँको गवाही दिन असक्षम हुन्छन्। म तिनीहरूलाई परामर्श दिन्छु जसले आशिषहरू मात्र खोज्छन् र जति सक्दो चाँडो सत्यतालाई पछ्याउन अस्पष्ट र अमूर्त कुरा मात्र पछ्याउँछन्, ताकि तिनीहरूको जीवनले अर्थ पाउन सकून्। अब उप्रान्त आफैलाई मूर्ख नबनाओ।