सत्यता पछ्याउनु भनेको के हो (५)

पछिल्लो सङ्गतिमा हामीले के विषय सङ्गति गर्‍यौँ? (परमेश्‍वरले सुरुमा जियाओजियाओ र जियाओजीको कथा सङ्गति गर्नुभयो। त्यसपछि, तपाईंले मानिसले असल ठानेका व्यवहारहरूले के प्रतिनिधित्व गर्छन् भन्‍नेबारेमा सङ्गति गर्नुभयो, मानिसलाई परमेश्‍वरले दिनुभएका केही मापदण्डहरूबारे पनि कुरा गर्नुभयो, र यसमा आफ्ना आमाबुबाको आदर गर्नुको विषयमा हामीले बुझ्‍नुपर्ने सत्यता सिद्धान्तहरूमा विशेष जोड दिइएको थियो।) पछिल्लोपटक, हामीले सत्यता पछ्याउने कार्यसँग सम्‍बन्धित एउटा विषयमा सङ्गति गरेका थियौँ जुन मानिसका धारणाहरूको लागि सबैभन्दा उपयुक्त थियो। यो एउटा नकारात्मक विषय पनि थियो, खास गरी मानिसका धारणाहरूअनुसार सही र असल ठानिने व्यवहारहरूको विषय। हामीले यस विषयलाई सम्‍बोधन गर्ने केही उदाहरणहरू दिएका थियौँ, त्यसपछि मानिसको व्यवहार नियन्त्रण गर्नको लागि परमेश्‍वरले अघि सार्नुभएका मापदण्डहरूबारे थप केही उदाहरणहरू दिएका थियौँ। हामीले सङ्गति गरेका खास विषयहरू लगभग यिनै थिए। यो सङ्गतिमा त्यति धेरै ठूला खण्डहरू थिएनन्, तर हामीले मानिसहरूका ज्ञान, अभ्यास, र सत्यतासम्‍बन्धी तिनीहरूका बुझाइबारे विभिन्‍न विवरणहरू छलफल गरेका थियौँ। आज, हामी यी कुराहरूलाई फेरि छोटकरीमा हेर्नेछौँ। सामान्य रूपमा भन्दा, मानिसले केलाई असल व्यवहारको रूपमा हेर्छ? के यस विषयमा हामीसँग निष्कर्ष वा बृहत् परिभाषा हुनुपर्दैन र? के तिमीहरूले निष्कर्ष निकालेका छौ? के भेलाहरूमा तिमीहरूले यी कुराहरूबारे सङ्गति गरेका छौ? (छौँ। परमेश्‍वरले हामीसँग धेरैपटक सङ्गति गर्नुभएपछि, हामीले मानिसले सही ठानेका असल व्यवहारहरू एक किसिमका व्यवहार मात्रै हुन् भनेर बुझ्न सक्षम भयौँ। ती व्यवहारले सत्यतालाई प्रतिनिधित्व गर्दैनन्, ती त मानिसहरूले आफ्‍नो वास्तविक रूप लुकाउने तरिकाहरू मात्रै हुन्।) बाहिरी व्यवहारहरूबारे मानवजातिले निष्कर्ष निकालेका केही अभिव्यक्तिहरूको आधारमा भन्दा, यी व्यवहारहरूको सार वास्तवमा के हो? मानिसको सार र मानवजातिका बाहिरी असल व्यवहारहरूको बीचमा कुनै सम्‍बन्ध छ? यी बाहिरी असल व्यवहारहरूले मानिसहरूलाई एकदमै भद्र र इज्‍जतदार देखाउँछन्; यस्तो व्यवहार भएका मानिसहरूलाई अरूले आदर र प्रशंसा गर्छन्, तिनीहरूले औधी सम्‍मान पाउँछन् र तिनीहरूको राम्रो छाप प्रदर्शित हुन्छ। के यो राम्रो छाप मानिसको भ्रष्ट स्वभावको सारसँग नबाझिने हुन्छ त? (अहँ, हुँदैन।) त्यसो भए, यो दृष्टिकोणबाट हेर्दा, मानिसका असल व्यवहारहरूको प्रकृति के हो? के ती सतही शैली र देखावटी रूप मात्रै होइनन् र? (हो, ती त्यस्तै हुन्।) के ती सतही शैली र देखावटी रूप सामान्य मानवताका उचित प्रकटीकरणहरू हुन् त? (अहँ, होइनन्।) त्यसैले मानिसहरूले आफ्‍ना धारणाहरूद्वारा सही र असल ठानेका व्यवहारहरू मानवजातिका सतही शैली र देखावटी रूप मात्रै हुन्। ती व्यवहारहरूको प्रकृति यही हो। तिनले सामान्य मानवतामा जिउनुलाई जनाउँदैनन्, न त ती सामान्य मानवताका प्रकटीकरणहरू नै हुन्; ती त बाहिरी शैलीहरू मात्रै हुन्। ती शैलीहरूले मानिसका भ्रष्ट स्वभावहरूलाई ढाकछोप गर्छन्, मानिसको शैतानी प्रकृति सारलाई ढाकछोप गर्छन्, र तिनले मानिसहरूको आँखा छल्छन्। मानिसहरूले अरूको निगाह, आदर र सम्‍मान पाउनको लागि ती असल व्यवहारहरू अभ्यास गर्छन्—त्यस्ता व्यवहारहरूले मानिसहरूलाई अरूसँग इमानदारितासाथ व्यवहार गर्न, वा निष्कपटतासाथ आपसी व्यवहार गर्न सहयोग गर्न सक्दैनन्, सामान्य मानव रूपमा जिउन सहयोग गर्नु त परको कुरा हो। ती असल व्यवहारहरू हृदयमा अनुभव गरेको इमानदारिताबाट आउने शैलीहरू होइनन्, न त ती सामान्य मानवताका प्राकृतिक प्रकटीकरणहरू नै हुन्। ती व्यवहारले कुनै पनि तरिकामा मानिसको सारलाई प्रतिनिधित्व गर्दैनन्; ती त मानिसले धारण गर्ने छद्म भेष र देखावटी रूप मात्रै हुन्—ती त भ्रष्ट मानवजातिका श्रृङ्गार हुन्। तिनले मानवजातिको दुष्ट सार ढाकछोप गर्छन्। मानिसका असल व्यवहारहरूको सार त्यही हो, तिनको पछाडि लुकेको सत्यता त्यही हो। त्यसकारण, मानिसको लागि परमेश्‍वरले मापदण्डको रूपमा तोक्‍नुभएका व्यवहारहरूको सार के हो? पछिल्ला दुई सङ्गतिहरूमा, हामीले मानिसहरूको व्यवहारको विषयमा परमेश्‍वरले मापदण्डको रूपमा तोक्‍नुहुने र मानिसहरूलाई जिउन लगाउनुहुने केही शैलीहरू उल्‍लेख गरेका थियौँ। तिनमा के कुराहरू समावेश थिए? (मानिसहरूले धुम्रपान वा मद्यपान गर्नु हुँदैन, र तिनीहरूले अरूलाई कुटपिट वा गालीगलौज गर्नु हुँदैन। तिनीहरूले आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ, र तिनीहरूमा सन्तको जस्तो शिष्टता हुनुपर्छ। तिनीहरूले मूर्ति पूजा गर्नु हुँदैन, व्यभिचार गर्नु हुँदैन, चोरी गर्नु हुँदैन, अरूको सम्पत्ति हिनामिना गर्नु हुँदैन, वा झूटो गवाही दिनु हुँदैन, आदि इत्यादि।) यी मापदण्डहरूको सार के हो? अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले के आधारमा यी मापदण्डहरू तय गर्नुहुन्छ? ती कुन आधारभूत अवस्थामा आधारित छन्? के यी मापदण्डहरू मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको छ र मानिसमा पापी प्रकृति छ भन्‍ने प्रसङ्ग र आधारमा अघि सारिएका होइनन् र? अनि के यी मापदण्डहरू सामान्य मानवताको क्षेत्रभित्र पर्दैनन् र? के ती सामान्य मानवता भएका मानिसहरूले हासिल गर्न सक्‍ने कुराहरू होइनन् र? (हो, ती त्यस्तै हुन्।) यी मापदण्डहरू सामान्य मानवता भएको व्यक्तिले ती कुरा हासिल गर्न सक्छ भन्‍ने आधारभूत अवस्थाको आधारमै अघि सारिएका हुन्। त्यसो भए यस विषयमा, परमेश्‍वरले मानिसको लागि मापदण्डको रूपमा तोक्‍नुभएका व्यवहारहरूको सार के हो? के यो सामान्य मानवतामा जिइने साँचो रूप, साथै सामान्य मानवतामा हुनुपर्ने न्यूनतम कुरा हो भनेर भन्‍न सकिन्छ? हामीले दिएका उदाहरणहरू: मानिसहरूमा सन्तको जस्तो शिष्टता हुनुपर्छ, र तिनीहरू संयमित हुनुपर्छ, र लम्पट हुनु हुँदैन, अरूलाई कुटपिट वा गालीगलौज गर्नु हुँदैन, वा धुम्रपान-मद्यपान गर्नु हुँदैन, व्यभिचार गर्नु हुँदैन, चोरी गर्नु हुँदैन, वा मूर्ति पूजा गर्नु हुँदैन, र तिनीहरूले आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ, र अनुग्रहको युगमा भनिएझैँ मानिसहरू धैर्य, सहनशील हुनुपर्छ, आदि इत्यादि कुराहरू—के परमेश्‍वरले अघि सार्नुभएका यी मापदण्डहरू एकै किसिमको शैलीमा सीमित छन् त? छैनन्, परमेश्‍वरले मानिसहरू कसरी सामान्य मानवतामा जिउनुपर्छ भन्‍ने कुराको मानक दिनुभएको छ। मैले “मानक” भनेर केलाई भन्‍न खोजेको हुँ? मैले भन्‍न खोजेको परमेश्‍वरका मापदण्डहरूका मानकहरू हुन्। व्यक्तिको रूपमा, सामान्य मानवता पाउनको लागि तँ के कुरामा जिउनुपर्छ? तैँले परमेश्‍वरले अघि सार्नुभएका मापदण्डहरू पूरा गर्नुपर्छ। हामीले परमेश्‍वरले मानिसको लागि तोक्‍नुभएका मापदण्डहरूको एउटा भाग मात्रै सूचीबद्ध गर्‍यौँ। अरूलाई कुटपिट वा गालीगलौज नगर्ने, धुम्रपान-मद्यपान नगर्ने, व्यभिचार नगर्ने, वा चोरी नगर्ने, आदि इत्यादि कुराहरू सामान्य मानवता भएका मानिसहरूले हासिल गर्न सक्‍ने कुराहरू हुन्। यी कुराहरू सत्यताभन्दा कमसल र सत्यताको स्तरभन्दा तल भए पनि, यी कुराहरू व्यक्तिमा मानवता छ कि छैन भनेर मूल्याङ्कन गर्ने केही आधारभूत मानकहरू हुन्।

हामीले भर्खरै समीक्षा गरेको परमेश्‍वरले मानिसको लागि मापदण्डको रूपमा तोक्‍नुभएका व्यवहारहरूको सार के थियो? सामान्य मानवतामा जिउनु। यदि व्यक्तिले परमेश्‍वरले तोक्‍नुभएका शैलीहरूअनुसार जिउन वा व्यवहार गर्न सक्छ भने, परमेश्‍वरको नजरमा यो व्यक्तिमा सामान्य मानवता हुन्छ। व्यक्तिमा सामान्य मानवता हुनु भनेको के हो? यसको अर्थ व्यक्तिमा परमेश्‍वरले तोक्‍नुभएको व्यवहारसम्‍बन्धी मानक पहिलेदेखि नै छ, र उसले आफ्‍नो व्यवहार, शैली, र जियाइमा सामान्य मानवताको मानक पूरा गर्छ, किनभने उसले परमेश्‍वरले तोक्‍नुभएको शैलीमा सामान्य मानवता प्रकट गर्छ र जिउँछ। के यो कुरालाई यसरी भन्दा हुन्छ? (हुन्छ।) मान्छेले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि, तिनीहरूमा साँचो विश्‍वास भए पनि नभए पनि, तिनीहरूले अरूबाट चोर्ने, अरूलाई छल्‍ने, वा अरूबाट फाइदा लुट्ने गर्छ भने; वा तिनीहरूले बारम्‍बार फोहोरी शब्‍दहरू बोल्छन् भने; वा तिनीहरूको प्रतिष्ठा, हैसियत, छवि, वा अरू हितहरूमा खतरा हुँदा तिनीहरूले कुनै सङ्कोच नमानी अरूलाई कुट्ने र चोट पुर्‍याउने गर्छन् भने; वा तिनीहरू व्यभिचारको पाप गर्ने हदसम्‍म पुग्छन् भने—विशेष गरी, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, यदि मानवतामा जिउने तिनीहरूको शैलीमा अझै पनि यी समस्याहरू छन् भने, के तिनीहरूको मानवता सामान्य हुन्छ? (अहँ, हुँदैन।) तैँले गैरविश्‍वासीहरूलाई मूल्याङ्कन गरे पनि वा विश्‍वासीहरूलाई मूल्याङ्कन गरे पनि, परमेश्‍वरले अघि सार्नुभएका यी व्यवहारसम्‍बन्धी मानकहरू व्यक्तिको मानवता मूल्याङ्कन गर्ने सबैभन्दा आधारभूत र न्यूनतम् मानकहरू हुन्। विश्‍वासी बनेपछि, कतिपय मानिसहरूले आफूलाई त्यागेर केही परिश्रम गर्न, र अलिअलि मूल्य चुकाउन सक्छन्, तर परमेश्‍वरले तय गर्नुभएका व्यवहारसम्‍बन्धी मानकहरू कहिल्यै पूरा गर्दैनन्। स्पष्टै छ यस्ता मानिसहरू सामान्य मानवतामा जिउँदैनन्—तिनीहरू सबैभन्दा आधारभूत मानव स्वरूपमा समेत जिउँदैनन्। व्यक्ति सामान्य मानवतामा जिउँदैन भने यसको अर्थ के हुन्छ? यसको अर्थ तिनीहरूमा सामान्य मानवता छैन भन्‍ने हुन्छ। मानवतामा जिउने सन्दर्भमा मानव व्यवहारको निम्ति परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरूको मानकसमेत तिनीहरूले पूरा गर्न नसक्‍ने हुनाले, तिनीहरूको मानवता अत्यन्तै कमजोर हुन्छ, र तिनीहरूलाई कमजोर मूल्याङ्कन मात्रै प्रदान गर्न सकिन्छ। व्यक्तिको मानवता मूल्याङ्कन गर्ने न्यूनतम मानक भनेको तिनीहरूको व्यवहारले परमेश्‍वरले मानवजातिको व्यवहारको लागि तय गर्नुभएका मापदण्डका मानकहरू पूरा गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नु हो। परमेश्‍वरमा विश्‍वास गरेपछि तिनीहरूले आफूलाई काबूमा राख्‍न सक्छन् सक्दैनन्; तिनीहरूको बोल्दा र काम गर्दा, तिनीहरूमा सन्तको जस्तो शिष्टता छ कि छैन; तिनीहरूले अरूसँग व्यवहार गर्दा फाइदा लुट्छन् कि लुट्दैनन्; तिनीहरूले परिवारका सदस्यहरू र मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम, सहनशीलता, र धैर्यसाथ व्यवहार गर्छन् कि गर्दैनन्; तिनीहरूले आफ्‍ना आमाबुबाप्रतिका जिम्‍मेवारीहरू आफ्‍नो क्षमताले भ्याउञ्‍जेल सक्दो रूपमा पूरा गर्छन् कि गर्दैनन्; कसैले नहरेको बेला तिनीहरूले अझै पनि मूर्तिहरू पुज्छन् कि पुज्दैनन्, भन्‍नेजस्ता कुराहरू हेर्नुपर्छ। हामीले व्यक्तिको मानवता मूल्याङ्कन गर्न यी कुराहरू प्रयोग गर्न सक्छौँ। व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन र सत्यतालाई पछ्याउँछ कि पछ्याउँदैन भन्‍ने कुरालाई एकातिर राखेर, पहिले तिनीहरूसँग सामान्य मानवता छ कि छैन—तिनीहरूका बोलीवचन र व्यवहारले परमेश्‍वरले तय गर्नुभएका व्यवहारसम्‍बन्धी मानकहरू पूरा गर्छन् कि गर्दैनन् भनेर मूल्याङ्कन गर्नुपर्छ। यदि ती कुराहरूले व्यवहारसम्‍बन्धी मानकहरू पूरा गर्दैनन् भने, तिमीहरूले तिनीहरू जे कुरामा जिउँछन् त्यसैको मात्राअनुसार तिनीहरूको मानवता मूल्याङ्कन गर्न सक्छौ, चाहे त्यो मात्रा औसत, कमजोर, अत्यन्तै कमजोर, वा अत्यन्तै भयानक, र यही क्रमअनुसार नै किन नहोस्—त्यही नै सही हुन्छ। यदि कुनै विश्‍वासी सुपरमार्केट वा सार्वजनिक स्थलहरूमा जाँदा चोर्छ र पकेट मार्छ भने, यदि तिनीहरू हात लामो गर्ने खालका छन् भने, तिनीहरूमा कस्तो मानवता हुन्छ? (खराब मानवता।) कतिपय मानिसहरू कुनै कुराले रिस उठ्दा अरूलाई गालीगलौज र कुटपिटसमेत गर्ने गर्छन्। तिनीहरूले गर्ने अपमान अर्को व्यक्तिको सारको निष्पक्ष मूल्याङ्कन हुँदैन, बरु स्वेच्‍छाचारी दोषारोपण मात्र हुन्छ र त्यो फोहोरी शब्‍दहरूले भरिएको हुन्छ। त्यस्ता मानिसहरूले आफ्‍नो घृणा व्यक्त गर्न केही बाँकी नराखी जे पायो त्यही बोल्छन्। कतिपय मानिसहरूले विशेष गरी आफ्‍ना गैरविश्‍वासी आमाबुबा, दाजुभाइ-दिदीबहिनी, आफन्तहरू, अनि गैरविश्‍वासी साथीहरूलाई समेत अनेक कुरा भन्छन्, जुन तँ सुन्‍न चाहँदैनस्, नत्र तेरो कान बहिरो हुनेछ। यस्तो व्यक्तिमा कस्तो मानवता हुन्छ? (खराब मानवता।) तिनीहरूमा कुनै मानवता छैन भनेर तिमीहरूले भन्‍न सक्छौ। अनि, सधैँ पैसाको पछि लाग्‍ने मानिसहरू पनि छन्। जब यी मानिसहरूले पैसावाल, मीठो खाने र राम्रो लाउने, र सम्‍पन्‍न जीवन भएका मानिसहरू देख्छन्, तब तिनीहरूबाट सधैँ फाइदा लिन चाहन्छन्। तिनीहरूले यी मानिसहरूबाट सधैँ घुमाउरो पारामा विभिन्न कुराहरू मागिरहेका, वा उनीहरूका खाना खाइरहेका र उनीहरूका चीजबीजहरू प्रयोग गरिरहेका, वा उनीहरूबाट सापट लिएर फिर्ता नदिने गरिरहेका हुन्छन्। तिनीहरूले अरूबाट ठूलै फाइदा नलुटे पनि, र तिनीहरूको व्यवहारमा हिनामिना वा घुस लेनदेन संलग्‍न नभए पनि, तिनीहरूको हात लामो गर्ने यी व्यवहारहरू नीच र घृणित छन्, र यी व्यवहारहरूलाई अरूबाट तिरस्कार मात्र मिल्नेछ। अझै गम्‍भीर रूपमा, विपरीत लिङ्गीहरूको सुन्दरतामा मरिहत्ते गर्नेहरू पनि हुन्छन्। तिनीहरू बारम्‍बार विपरीत लिङ्गीहरूलाई नजर लगाउँछन्, र व्यभिचार गर्दै विपरीत लिङ्गीहरूबीचको पापसमेत गर्छन्। यीमध्ये कतिपय मानिसहरू अविवाहित हुन्छन् भने, र कतिपयको आफ्‍नै परिवार हुन्छ—कतिपय त पाको उमेरमा पुगेर पनि व्यभिचारमा लाग्‍नेहरू छन्। अझै गम्‍भीर कुरा त, कतिपय मानिसहरू समान लिङ्गका मानिसहरूलाई प्रलोभनमा पार्ने, र तिनीहरूसँग लसपस गर्ने प्रयास गर्छन्। यो साँच्‍चै नै घिनलाग्दो कुरा हो। अझै विश्‍वास नलाग्‍ने कुरा त के हो भने, कतिपय मानिसहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेर पनि, सत्यता नै सबैभन्दा सर्वोच्‍च छ, वा परमेश्‍वरका वचनहरूले सबै कुरा हासिल गर्न सक्छन् भनेर विश्‍वास गर्दैनन्। यी मानिसहरू प्रायजसो आफ्‍नो भाग्य हेर्न हात हेराउन जान्छन्, बुद्ध वा अरू मूर्तिहरूको पूजा गर्न धूप बाल्छन्, र कतिले त अरूलाई श्रापित पार्न जादुटुनासमेत गर्छन्, वा भूत बोलाउँछन्, र यस्तै कार्यहरू गर्छन्। यस्ता दुष्ट जादुटुनाहरू गर्नु अझै गम्‍भीर समस्या हो; यस्ता मानिसहरू अविश्‍वासीहरू हुन्, र तिनीहरू गैरविश्‍वासीहरूभन्दा फरक छैनन्। परिस्‍थितिहरू सानोतिनो वा चरम जस्तोसुकै भए पनि, व्यक्तिमा यी प्रकटीकरणहरू देखिएपछि, तिनीहरू अस्वाभाविक र कलङ्कित रूपले मानवता जिइरहेका छन् र तिनीहरूका केही व्यवहारहरू गलत र हास्यास्पद छन्—र ती साँच्‍चै नै पापी व्यवहार हुन् भनेर हामी भन्‍न सक्छौं। परमेश्‍वरमा विश्‍वास गरेपछि, कतिपय मानिसहरू उत्तेजक वस्‍त्र लगाउने गर्छन्, गैरविश्‍वासीहरूले जस्तै तिनीहरूले कामुक देखिनुलाई धेरै महत्त्व दिन्छन्, र तिनीहरूले सांसारिक प्रचलनहरू पछ्याउँछन्। तिनीहरू अलिकति पनि सन्तजस्तो देखिँदैनन्। कतिपय मानिसहरू भेलाहरूमा जाँदा निकै भद्र देखिने वस्‍त्र लगाउँछन्, तर घर पुगेपछि गैरविश्‍वासीहरूले लगाउने प्रचलित वस्‍त्रहरू नै पहिरन्छन्। तिनीहरूको वस्‍त्रद्वारा, तिनीहरू विश्‍वासीजस्ता देखिँदैनन्; तिनीहरू र गैरविश्‍वासीहरूबीचमा कुनै भिन्‍नता हुँदैन। तिनीहरू खितखित हाँस्छन् र ठट्यौली गर्छन्; तिनीहरू अत्यन्तै आत्मलिप्त हुन्छन् र कुनै संयम अपनाउँदैन्। के यस्ता मानिसहरूले सामान्य मानवता जिइरहेका हुन्छन्? (अहँ, हुँदैनन्।) तिनीहरूले सांसारिक प्रचलनहरू पछ्याउँछन्, र कामुक हुने, र अरूलाई आकर्षित गर्ने, र हेरेको हेर्‍यै पार्ने प्रयास गर्छन्। तिनीहरूले विपरीत लिङ्गीहरूलाई आकर्षित गर्नको लागि राम्रो वस्‍त्र लगाउन ध्यान दिँदै, र मेकअप गर्दै दिन बिताउँछन्। ती मानिसहरूको जियाइ तुलनात्मक रूपमा तुच्‍छ हुन्छ। तिनीहरूले आफ्नो लवाइ, बोलाइ, र व्यवहारमा समेत आफूलाई काबुमा राख्‍न सक्दैनन्, र तिनीहरूमा सन्तको जस्तो शिष्टता हुँदैन, त्यसकारण जब हामी तिनीहरूलाई परमेश्‍वरले तोक्‍नुभएको व्यवहारसम्‍बन्धी मानकअनुसार मूल्याङ्कन गर्छौँ, तब तिनीहरूले जिउने मानवता तुच्छ छ भन्‍ने कुरा स्पष्ट हुन्छ। यी ठोस उदाहरणहरूको आधारमा हेर्दा, हामी के देख्‍न सक्छौँ भने मानिसहरूको व्यवहार र तिनीहरूले जिउने शैलीबारे परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरू सामान्य मानवताका मापदण्डअनुरूप छन्—त्यसकारण, प्राकृतिक तवरमै, सामान्य मानवता भएकाहरूले ती कुराहरू हासिल गर्न सक्छन्। यो अभिव्यक्तिको अर्थ के हो? यसको अर्थ, यदि तँ यसरी जिउँछस् भने, तँमा मानव स्वरूप मात्रै छ, तँ सामान्य व्यक्तिजस्तो देखिन्छस्, र तँमा सामान्य मानवताको न्यूनतम स्तर छ। परमेश्‍वरका मापदण्डहरूलाई अझ निर्दिष्ट रूपमा हेर्दा, यसरी मानवतामा जिउनु झूट वा नाटक होइन, न त यो अरूलाई ठग्‍नु नै हो। बरु, यो त सामान्य मानवता प्रकट हुनुपर्ने तरिका, र यसमा रहनुपर्ने वास्तविकता हो। सामान्य मानवताका यी प्रकटीकरणहरूमा जिउनेहरूमा मात्रै बिलकुलै छलरहित मानव स्वरूप हुन्छ। यसरी सामान्य मानवतामा जिएर मात्रै मानिसहरूले अरूको आदर पाउन, र इज्‍जतसाथ जिउन सक्छन्। अनि यसरी सामान्य मानवतामा जिउँदा र सन्तको जस्तो शिष्टता धारण गर्दा मात्रै, मानिसहरूको सामान्य प्रकटीकरणले परमेश्‍वरको महिमा बढाउँछ। किनभने त्यसपछि तैँले जिउने हरेक कुरा सकरात्मक, अनि सकारात्मक कुराहरूको वास्तविकता हुन्छ, र त्यो नाटक हुनेछैन। तँ परमेश्‍वरका मापदण्डहरूअनुसार मानव स्वरूपमा जिइरहेको हुनेछस्।

मानिसको असल व्यवहारको सार र परमेश्‍वरले मापदण्डको रूपमा तोक्‍नुभएको व्यवहारको सार दुवैबारे स्पष्ट र बृहत् रूपमा व्याख्या गरिसकिएको छ। त्यसकारण, मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ, र तिनीहरू कसरी सामान्य मानवतामा जिउनुपर्छ भन्‍ने कुरा पनि स्पष्ट भएको हुनुपर्छ, होइन र? सामान्य मानवतामा जिउने विषयमा मानिसहरूले आवेगमा आउने वा सानातिना कुराहरू कोट्याउने काम गर्नेछैनन्। के सामान्य मानवतामा जिउने कार्य मानिसहरूको जीवनका मानवतासँग सम्‍बन्धित नरहेका सानातिना कुराहरूसँग सम्‍बन्धित हुन्छन्? यो मामिलालाई स्पष्‍ट रूपमा देख्‍न नसक्‍ने कतिपय हास्यास्पद मानिसहरू पनि छन्। तिनीहरू भन्छन्, “परमेश्‍वरको सङ्गति अत्यन्तै विस्तृत भएकोले, हामी हाम्रो जीवनको हरेक सानातिना पक्षप्रति अति सावधान हुनुपर्छ। उदाहरणको लागि, सुठुनी उसिन्दा बढी पौष्टिक हुन्छ कि पोल्दा?” के यो सामान्य मानवतामा जिउने कार्यसँग सम्‍बन्धित छ? बिलकुलै छैन। मानिसहरूले के खानुपर्छ र कसरी खानुपर्छ भन्‍ने कुरा सबै मानिसहरूमा हुने सामान्य चेतना हो। कुनै कुरा खाँदा त्यसले समस्या दिँदैन भने, जसरी मन लाग्यो त्यसरी खान सक्छौ। यदि कसैलाई यस्तो सामान्य चेतनासम्‍बन्धी सरल मामलाहरूबारे सत्यता खोजी गर्नुपर्छ, र त्यस्ता कुराहरूलाई सत्यता नै हुन् जसरी अभ्यास गर्नुपर्छ भन्‍ने लाग्छ भने, के त्यो व्यक्ति हास्यास्पद र मूर्ख होइन र? अहिले कतिपय मानिसहरू यस्ता पनि छन् जो यस्ता सानातिना कुराहरूलाई साह्रै ध्यान दिन्छन्, जबकि ती कुरासँग सत्यताको कुनै सम्‍बन्ध छैन। यी मानिसहरूले सत्यता खोजिरहेका छौँ भन्‍ने ठान्छन्, र सानातिना कुराहरूलाई सत्यताझैँ गरी अनुसन्धान र जाँच गर्छन्। कतिपय त यी कुराहरूबारे तर्क गर्दा रातो अनुहारसमेत बनाउँछन्। यो कस्तो समस्या हो? के यो आत्मिक बुझाइको चरम कमी हुनु होइन र? कतिपय मानिसहरूले सुठुनी खाने कार्यलाई पनि सत्यताझैँ गरी सोधखोज गर्नु भनेको हास्यस्पद र झर्कोलाग्दो कुरा हो। यस्ता मानिसहरू आशाहीन पात्रहरू हुन्, किनभने तिनीहरूमा परमेश्‍वरका वचनहरूको बुझाइ हुँदैन, र सत्यता पछ्याउनु भनेको के हो त्यो तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूले जीवनका सामान्य चेतनाका सबभन्दा सरल मामलाहरूको वास्तविकता पनि देख्‍न सक्दैनन्, र तिनीहरूले ती समस्याहरू हल गर्न सक्दैनन्—त्यसकारण तिनीहरू यतिका वर्ष जिउनुको अर्थ के भयो र? ती मानिसहरूले कसरी यस्ता महत्त्वहीन कुराहरूलाई भेलाहरूमा ल्याएर ती सत्यता खोजी गर्न सकिने विषयहरू नै हुन् जसरी छलफल र सङ्गति गर्न सक्छन्? यसको मुख्य कारण के हो भने ती मानिसहरूमा विकृत बुझाइ हुन्छ र आत्मिक बुझाइको कमी हुन्छ। कुन प्रसङ्गमा तिनीहरू अति सावधान हुन्छन्? तिनीहरूमा किन यी सोच र विचारहरू आउँछन्? तिनीहरूले सुठुनी कसरी खाने भन्‍ने विषयमा कसरी भेलाहरूमा छलफल र सङ्गति गर्न सक्छन्? के मैले सङ्गति गर्दै आइरहेका विषयहरू अत्यन्तै ठोस भएकोले, र यसले शब्‍द-शब्‍दको अर्थ खोज्‍ने र सानातिना कुराहरू तुलना गर्ने मानिसहरूबीचमा भ्रम पैदा गरेकोले हो? जब यी समस्या र परिस्थितिहरू देखा पर्छन्, मलाई ती मानिसहरूसँग कुरा गर्नु बाँदरहरूलाई मान्छेजस्तो व्यवहार गर्नुसरह लाग्छ। बाँदरहरू त पहाड र जङ्गलतिर बस्‍ने प्राणी हुन्। तिनीहरू मान्छेजस्तै देखिए पनि, र तिनीहरूका धेरै व्यवहार र आनीबानी मानिसको जस्तै भए पनि, अनि कुनै बेला मानिसले तिनीहरूलाई आफ्‍ना पुर्खाहरूको रूपमा हेर्ने गरेका भए पनि, बाँदरहरू भनेका बाँदरहरू हुन्। तिनीहरू जङ्गल र पहाडतिर बस्‍नुपर्छ। के तिनीहरूलाई मान्छेसँग बस्‍न घरमा राख्‍नु गल्ती हुँदैन र? के बाँदरलाई हामीले मान्छेलाई जस्तै व्यवहार गर्नुपर्छ त? (अहँ, गर्नु हुँदैन।) त्यसो भए, तिमीहरू बाँदर हौ कि मान्छे हौ? यदि तिमीहरू मान्छे हौ भने, मैले जति धेरै बोल्‍नु परे पनि वा जति धेरै काम गर्नु परे पनि, मैले तिमीहरूलाई यो कुरा भन्‍नु उचित र सार्थक नै हुन्छ। तिमीहरू बाँदर हौ भने, के मैले तिमीहरूलाई मान्छेलाई जस्तो व्यवहार गर्नु, र तिमीहरूसँग सत्यता र परमेश्‍वरका अभिप्रायहरूबारे छलफल गरेर मेरो सास खेर फाल्‍नु उचित हुन्छ? के यो सार्थक हुन्छ? (अहँ, हुँदैन।) त्यसो भए, तिमीहरू बाँदर हौ कि मान्छे हौ? (हामी मान्छे हौँ।) आशा छ, तिमीहरू मान्छे नै हौ। सुठुनी कसरी खाने भन्‍ने विषयमा भेलाहरूमा सङ्गति गर्नुलाई तिमीहरू कसरी हेर्छौ? के तिमीहरू पनि यस्ता सानातिना विषयमा एकदमै धेरै ध्यान दिन्छौ? उदाहरणको लागि, कतिपय मानिसहरूले सोध्छन: “मैले नीलो लुगा लगाउने कि सेतो? सेतो लुगा लगाएँ भने, कस्तो सेतो लगाउने? कस्तो सेतोले पवित्रता जनाउँछ, र सन्तजस्तो देखाउँछ? यदि मेरो लागि नीलो उचित हुन्छ भने, कस्तो नीलो? कुन नीलो लगाउँदा मानिसप्रतिका परमेश्‍वरका मापदण्ड र मानकहरूको लागि उचित हुन्छ, र परमेश्‍वरलाई सबैभन्दा बढी महिमित तुल्याउँछ?” के तिमीहरूले कहिल्यै यी मामलाहरूमा अति ध्यान दिएका छौ? के कसैले कस्तो पाराको कपाल, वा कस्तो बोल्‍ने शैली र कस्तो लवज सन्तको लागि उपयुक्त हुन्छ भनेर कहिल्यै विचार गरेका छौ? के तिमीहरू कहिल्यै यी कुराहरूमा अति सावधान भएका छौ? कतिपय मानिसहरूले अति सावधान भएर यी कुराहरूमा मेहनत गरेका छन्। कतिपय मानिसहरूलाई पहिले आफ्‍नो कपाल ब्लिच गर्न, वा रातो वा अरू अनौठो रङ्ग लगाउन मन पर्थ्यो, तर परमेश्‍वरमा विश्‍वास गरेपछि, मण्डलीका अरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले कपालमा रङ्ग नलगाएको देख्दा, तिनीहरूले त्यस्तो गर्न छोडे। धेरै वर्ष बितेपछि मात्रै तिनीहरूले बल्ल कपालको रङ्ग वा शैली जस्तोसुकै भए पनि त्यो महत्त्वपूर्ण कुरा होइन भन्‍ने बुझे। महत्त्वपूर्ण भनेको त व्यक्ति सामान्य मानवतामा जिइरहेको छ कि छैन, र उसले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने हो। सामान्य मानवतामा जिउने कार्यसँग सम्‍बन्धित नै नरहेका त्यस्ता कुराहरूमा अति सावधान हुने मानिसहरूले यी कुराहरूमा मेहनत लगाउनु व्यर्थ छ भनेर क्रमिक रूपमा बुझ्‍न थालेका छन्, किनभने यी मामलाहरू सत्यतासँग कहीँकतै सम्‍बन्धित छैनन्। यी त सामान्य मानवताको क्षेत्रमा पर्ने केही कुराहरू मात्रै हुन्, र यिनमा सत्यताको कमी हुन्छ। यदि तैँले जिउने मानवताले परमेश्‍वरका मापदण्ड र मानकहरू पूरा गर्छ भने, त्यो नै पर्याप्त हुन्छ। के तिमीहरू विगतमा यी कुराहरूबाट अलि रनभुल्ल र अन्योलमा परेका छैनौ र? (हो, छौँ।) सुठुनी कसरी खाने भन्‍नेबारे भेलाहरूमा विवाद गर्नेजस्तो चरम कुराले नभए पनि, जीवनका केही साना र महत्त्वहीन कुराले तिमीहरू रनभुल्ल भएका छौ होला। यी कुराहरू साँचो हुन्। त्यसकारण, यी मामलाहरूमा कुनै निर्णयात्मक निष्कर्ष हुनुपर्दैन र? परमेश्‍वरका मापदण्ड र मानकहरूअनुसार सामान्य मानवतामा जिउने क्रममा मानिसहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ भन्‍नेबारेमा के तिमीहरू स्पष्ट छौ? तिमीहरूले पछि जब कुनै खास परिस्‍थितिहरू सामना गर्छौ, के तिमीहरूलाई कसरी सत्यता खोजी गर्नुपर्छ भन्‍ने थाहा छ? कतिपय मानिसहरूले भन्छन्, “म सुठुनी कसरी खाने भनेर सोध्‍नेजस्तो चरम हदमा नगए पनि, यदि मेरो दैनिक जीवनमा निश्‍चित समस्या देखा पर्‍यो भने, मलाई अझै पनि केही समय अन्योल हुन्छ।” त्यसो भए, मलाई एउटा उदाहरण देओ—के कुराले तिमीहरूलाई केही समय अन्योलमा पार्छ? के महिलाले मेकअप गर्नु गलत हो भनेर तिमीहरू भन्छौ? के सामान्य मानवतामा जिउने परमेश्‍वरका मापदण्डहरूसँग यो मिल्छ? (यो गलत होइन।) यहाँ “यो गलत होइन” भन्‍ने कुराले केलाई जनाउँछ? (यदि मेकअप सन्तलाई उपयुक्त हुने खालको छ, र यो अति धेरै छैन भने, ठीकै हुन्छ।) यदि मेकअप अति धेरै छैन भने, उचित नै हुन्छ। कतिपय मानिसहरूले सोध्छन्, “यदि अति धेरैचाहिँ होइन तर सामान्य मेकअप लगाउनुचाहिँ उचित नै हुन्छ भने, के त्यसको अर्थ तपाईँ हामीले मेकअप गरौँ भन्‍ने चाहनुहुन्छ?” मैले यसो भनेँ र? (अहँ, भन्‍नुभएन।) मेकअप लगाउनु समस्या होइन, यो सामान्य मानवतामा जिउनुसँग सम्‍बन्धित कुरा हो। यसलाई निर्धारण गर्ने सिद्धान्त भनेको मेकअप अति धेरै छैन भने, त्यो ठीकै हुन्छ भन्‍ने हो। मानक त्यही हो। त्यसो भए, सामान्य मानवतामा जिउने कार्यसँग उपयुक्त हुने गरी महिलाले आफ्‍नो मेकअप कुन हदमा रहेर लगाउनुपर्छ? यसको सीमा कहाँ हुन्छ? “धेरै मेकअप” भन्‍नुको अर्थ के हो? कस्तो मेकअपलाई धेरै मानिन्छ? यदि स्पष्ट सीमा कोरियो भने, के गर्ने भन्‍ने कुरा मानिसहरूलाई थाहा हुनेछ। के यो विस्तृत कुरा होइन र? धेरै मेकअप भनेको के हो त्यसको उदाहरण मलाई देओ त। (आफ्‍नो अनुहार साह्रै सेतो देखिने गरी पोतेको छ, ओठमा साह्रै रातो लगाएको छ, र आँखामा साह्रै कालो गाजल लगाएको छ, र हेर्दा साह्रै अस्वाभाविक र अप्ठ्यारो देखिन्छ भने।) यो देख्दा मानिसहरू भूतजस्तै तर्सेर उफ्रन्छन्, अनि अरूले प्राकृतिक रूप वा अनुहार देख्‍न सक्दैनन्। खास गरी कतिपय देश र जातका मानिसहरू, साथै निश्‍चित पेसाका मानिसहरूले धेरै मेकअप लगाउने गर्छन्। उदाहरणको लागि, बार र नाइटक्‍लबका मानिसहरूले लगाउने मेकअप यस्तै हुँदैन र? ती सबै मानिसहरूले धेरै मेकअप लगाउँछन्, र यसले कुनै सकरात्मक प्रभाव पार्दैन—तिनीहरूको मेकअपको उद्देश्य अरूलाई प्रलोभनमा पार्ने हुन्छ। यस्तो मेकअप नै धेरै मेकअप हो। त्यसो भए, कस्तो मेकअप सामान्य मानवतामा जिउने कार्यसँग मिल्दो हुन्छ त? सामान्य मेकअप, जस्तै कार्यस्थलमा महिलाले लगाउने मेकअप, जुन अत्यन्तै इज्‍जतदार र शिष्ट देखिने खालको हुन्छ। तिमीहरूको मेकअप यो सीमाभन्दा बाहिर गएन भने, ठीकै हुन्छ। चीनमा, पुरानो पुस्तामाझ मेकअप गर्ने चलन छैन। समाजमा कुनै खास हैसियत वा पद नभएको सामान्य वा वृद्ध व्यक्तिले घरबाट बाहिर जाँदा सधैँ ठाँटिलो वस्‍त्र र मेकअप लगाउँछ भने, उसले आफ्‍नो उमेर अनुसारको व्यवहार गरिरहेको छैनन् भनेर मानिसहरूले भन्‍नेछन्। तर पश्‍चिममा भने स्थिति फरक छ। यदि तैँले कसैलाई भेट्न लागेको छस् वा तँ काममा गइरहेको छस् तर तैँले केही मेकअप लगाउने र आफूलाई चिटिक्क पार्ने गर्दैनस् भने, मानिसहरूले तँलाई तँ आफ्‍नो जागिरलाई सम्‍मान गर्दैनस्, तँ अव्यावसायिक छस्, र तँ अरू मानिसहरूप्रति अनादरकारी छस् भनेर भन्‍नेछन्। यो एक किसिमको संस्कृति हो। स्वाभाविक रूपमै, यस्तो परिस्थितिमा, मेकअप लगाउने काम तँ इज्‍जतदार र भलाद्मी देखिने, र अरूको अघि आदरणीय देखिने स्तरसम्‍मको मात्रै हुनुपर्छ। एउटा वाक्यमा भन्दा: यदि तँ मेकअप लगाउँछस् भने, यसले तँलाई आदरणीय व्यक्तिजस्तो देखाउनुपर्छ, र मानिसहरूको हृदयमा कामेच्छा पैदा गर्नु हुँदैन—यस्तो मेकअप उचित हुन्छ। सिद्धान्त यही हो, र यो कुरा यति सरल छ। कतिपय मानिसहरूले सोध्छन्, “घरबाट निस्कँदा मैले मेकअप नगर्नु उचित हुन्छ? मलाई मेकअप गर्ने बानी छैन।” तैँले परमेश्‍वरका वचनहरूमा” खोजी गर्नुपर्छ। के मेकअप नगर्नु गलत हो भनेर परमेश्‍वरले भन्‍नुभएको छ? परमेश्‍वरले यसो भन्‍नुभएको छैन। परमेश्‍वरको घरले मानिसहरूलाई कहिल्यै पनि मेकअप लगाउनुपर्छ भनेर भनेको छैन। यदि तँलाई मेकअप लगाउन मन पर्छ भने, मैले तँलाई यो मानक र परिधि दिएको छु, र तेरो मेकअप उचित हुनको लागि तैँले के गर्नुपर्छ भनेर तँलाई बताएको छु। यदि तँलाई मेकअप लगाउन मन पर्दैन भने, परमेश्‍वरको घरले यो जरुरी गरेको छैन। तैपनि, तैँले एउटा कुरा याद गर्नुपर्छ: तैँले मेकअप लगाउनु जरुरी नभए पनि, तँ भिखारीजस्तो झुत्रेमुत्रे र फोहोरी भएर घरबाट निस्कनु हुँदैन। उदाहरणको लागि, जब तँ सुसमाचार सुनाउन बाहिर जान्छस्, तब घरबाट निस्कनुभन्दा पहिले यदि तैँले आफूलाई अरूको अघि प्रस्तुत गर्न सकिने बनाइनस् वा मुख धोइनस्, र झात्रेझुत्रे वस्‍त्र लगाइस्, र “ठीकै छ। हामीले सत्यता बुझेका छौँ भने, हामीले कस्तो वस्‍त्र लगाउँछौँ त्यसले फरक पार्दैन!” भनेर भन्छस् भने, के त्यो फाइदाजनक हुन्छ? परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएर, तँसित आफ्नो वस्‍त्र र रूपसित सम्बन्धित पनि सिद्धान्तहरू हुनुपर्छ। यो सिद्धान्तको न्यूनतम मानक भनेको तँ सामान्य मानवतामा जिउनुपर्छ, र तैँले परमेश्‍वरलाई अपमानित गर्ने, वा आफ्‍नै चरित्र र मर्यादालाई अपमानित गर्ने कुनै काम गर्नु हुँदैन। तैँले कम्तीमा पनि अरूले तेरो सम्‍मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ। यदि तँमा भक्तिको कमी नै छ भने पनि, तैँले कम्तीमा पनि आफूलाई काबुमा राख्‍नुपर्छ, र इज्‍जतदार र सीधा हुनुपर्छ, र तँमा सन्तको जस्तो शिष्टता हुनुपर्छ। यदि तैँले मानिसहरूमा यस्तो छाप छोड्छस् भने, त्यो नै पर्याप्त हुन्छ। सामान्य मानवतामा जिउने सबैभन्दा आधारभूत मापदण्ड यही हो।

परमेश्‍वरमा विश्‍वास गर्नेहरूको लागि, मान्छेको बाहिरी व्यवहार र सामान्य मानवताको जियाइसँग सम्‍बन्धित यी प्रश्‍नहरू बोझ वा कठिनाइ हुनु हुँदैन, किनभने यी कुराहरू कम्तीमा पनि सामान्य व्यक्तिमा हुनुपर्ने आधारभूत कुराहरू हुन्। यी कुराहरू बुझ्‍न सजिलो छ; ती अमूर्त छैनन्। त्यसकारण, मान्छेको बाहिरी व्यवहार र सामान्य मानवताको जियाइसम्‍बन्धी यी प्रश्‍नहरू मण्डली जीवनमा बारम्बार छलफल गरिनुपर्ने महत्त्वपूर्ण विषयहरू बन्‍नु हुँदैन। ती विषयमा कहिलेकहीँ कुरा गर्नु त ठीकै हुन्छ, तर यदि तिमीहरूले ती कुरालाई सत्यता खोजी गर्नुपर्ने विषयको रूपमा लिन्छौ, र तीबारेमा जोरदार र गम्‍भीरतापूर्वक बारम्‍बार छलफल गर्छौ भने, केही हदसम्‍म तिमीहरूले आफ्‍नो उचित कर्तव्यलाई बेवास्ता गरिरहेका हुन्छौ। कस्ता मानिसहरू प्रायजसो आफ्‍नो उचित कर्तव्यलाई बेवास्ता गरिरहने मानिसहरू हुन्? सुठुनी कसरी खानेजस्ता प्रश्‍नहरू उठाउनु, र ती प्रश्‍नहरूलाई सत्यता खोजी गर्नुपर्ने विषयको रूपमा लिनु, भेलाहरूमा ती प्रश्‍नहरूकै अनुसन्धान र सङ्गति गर्नु र कहिलेकहीँ त कैयौँ भेलामा त्यस्तै गरिरहनु, अनि मण्डली अगुवाहरूले यसलाई रोक्‍न केही पनि नगर्नु—के यी विकृत हुने सम्भावना भएका र आत्मिक बुझाइ नभएका मानिसहरूका प्रकटीकरणहरू होइनन् र? (हो, ती त्यस्तै हुन्।) भेलाहरूमा सबैभन्दा बढी के-कस्ता प्रश्‍नहरू छलफल गरिनुपर्छ? सत्यता र मानिसहरूको भ्रष्ट स्वभावसँग सम्‍बन्धित प्रश्‍नहरू। मण्डली जीवनका अपरिवर्तनीय विषयहरू भनेका सत्यता र परमेश्‍वरका वचनहरू हुन्; सामान्य मानवताका बाहिरी व्यवहारहरूसँग सम्‍बन्धित सबैभन्दा आधारभूत र सामान्य विषयहरूसँग जोडिएका मामलाहरू मण्डली जीवन र भेलाहरूमा सङ्गतिको मूल विषय हुनु हुँदैन। यदि विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले भेलाहरूभन्दा बाहिर यी कुराहरूबारे एकअर्कालाई सुझाउने, सम्झाउने, र सङ्गति गर्ने गर्छन् भने, त्यो नै यी समस्याहरू समाधान गर्न पर्याप्त हुन्छ। तीबारे सङ्गति र छलफल गर्दै अत्यन्त धेरै समय बिताउनु आवश्यक छैन। त्यसले मानिसहरूको सामान्य भेला र परमेश्‍वरका वचनहरू खाने-पिउने कार्य प्रभावित तुल्याउनेछ, र यसबाट तिनीहरूको जीवन प्रवेशमा असर पुग्‍नेछ। मण्डली जीवन भनेको परमेश्‍वरका वचनहरू खाने-पिउने जीवन हो। यसको जोड सत्यता सङ्गति गर्ने र व्यावहारिक समस्याहरू समाधान गर्ने कार्यमा केन्द्रित हुनुपर्छ, त्यसरी व्यक्तिको जीवन प्रगतिमा ढिलाइ हुनेछैन। यदि तँमा सामान्य मानवतावोध छ भने, सिद्धान्तअनुसार यी मामलाहरू कसरी अभ्यास गर्ने त्यो कुरा तँलाई स्पष्ट हुनुपर्छ। यदि तँ सत्यता सिद्धान्तहरूसँग कुनै सम्‍बन्ध नरहेका सानातिना मामला र कुराहरूमा अल्झिरहन्छस्, सधैँ झिनामसिना कुराहरू कोट्याइरहन्छस्, तैपनि आफूलाई ज्ञानी र शिक्षित ठान्छस् भने, के यो समस्याबारे विश्‍लेषण गरिनुपर्दैन र? उदाहरणको लागि, कतिपय मानिसहरूले आफ्‍नो पोशाक शैलीमा धेरै जोड दिन्छन्, र विश्‍वासीले असामान्य पोशाक लगाउन मिल्छ कि मिल्दैन भनेर सधैँ सोध्छन्; परमेश्‍वरमा भर्खरै विश्‍वास गरेका कतिपय मानिसहरूले सधैँ विश्‍वासीले रक्सी पिउनु हुन्छ कि हुँदैन भनेर सोध्छन्; कतिपय मानिसहरू व्यापार गर्न मन पराउँछन्, र विश्‍वासीहरूले धेरै पैसा कमाउनु हुन्छ कि हुँदैन भनेर सधैँ सोध्छन्; अनि कतिपय मानिसहरूले सधैँ परमेश्‍वरको दिन कहिले आउनेछ भनेर सोध्छन्। सही उत्तर पाउनलाई यी मानिसहरू सत्यता खोजी गर्न इच्छुक हुँदैनन्। यी विषयहरूमा कुनै सटीक वचनहरू नभए पनि, यी समस्याहरूलाई कसरी लिने भन्‍ने सिद्धान्तहरू परमेश्‍वरले अत्यन्तै स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ। यदि कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू पढ्न मेहनत गर्दैन भने, उसले उत्तरहरू भेट्टाउनेछैन। वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्‍य के हो, र यसबाट के प्राप्त गर्ने हो भन्‍ने कुरा सबैलाई थाहा हुन्छ। यति मात्रै हो कि, कतिपय मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्, तैपनि आशिष्‌हरू प्राप्त गर्न चाहन्छन्। तिनीहरूको कठिनाइ त्यहीँ हुन्छ। त्यसकारण, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यक्तिले सत्यता स्विकार्न सक्छ कि सक्दैन भन्‍ने नै हो। कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरू खाने-पिउने वा सत्यता सङ्गति गर्ने कार्यलाई कहिल्यै महत्त्व दिएका हुँदैनन्। तिनीहरू कुनै महत्त्व नभएका प्रश्‍नहरूमा अल्झिरहन्छन्, र भेलाहरूमा तिनीहरू सधैँ यी प्रश्‍नहरूमा सङ्गति गरेर तिनको ठोस उत्तर पाउन चाहन्छन्, अनि अगुवा र सेवकहरूले पनि तिनीहरूलाई रोक्‍न सक्दैनन्। यो कस्तो प्रकारको समस्या हो? के यी मानिसहरूले आफ्‍नो उचित कर्तव्यलाई बेवास्ता गरिरहेका छैनन् र? यदि तँ सत्यता अभ्यास गर्न चाहँदैनस् र सधैँ गलत मार्गमा हिँड्न चाहन्छस् भने, तैँले किन आफूलाई मनन गर्ने, आफूलाई चिन्‍ने, र आफ्‍नो चिरफार गर्ने गर्दैनस्? तँ सधैँ मान्छे खुसी पार्दै हिँड्ने व्यक्ति बन्छस्, आफ्‍नो कर्तव्यमा जिम्‍मेवार हुँदैनस्, तँ स्‍वेच्‍छाचारी छस्, नियम-कानुन आफै बन्छस्, आफ्‍नो मनमानी गर्छस्, र लापरवाही हुन्छस्। यस विषयमा तँ कसरी विवेकशील हुन नसकेको हो? वास्तवमा के भइरहेको हो भनेर पत्ता लाउन अनुसन्धान र विश्‍लेषण गर्न किन सक्दैनस्? तँमाथि कुनै कुरा आइपर्दा तँ किन परमेश्‍वरलाई दोष दिन्छस् र उहाँलाई गलत रूपमा बुझ्छस्? तँ किन सधैँ आफ्‍नो बारेमा फैसला गर्दै परमेश्‍वर धर्मी हुनुहुन्‍न र मण्डली अनुचित छ भनेर गनगन गर्छस्? के यी समस्याहरू होइनन् र? के तैँले मण्डली जीवनमा यी समस्याहरू सङ्गति र विश्‍लेषण गर्नुपर्दैन र? परमेश्‍वरको घरले मण्डली विभाजन गर्दा र मानिसहरूलाई सफाइ गरेर हटाउँदा, तँ कहिल्यै समर्पित हुँदैनस् र तँलाई कहिल्यै सन्तुष्टि मिल्दैन, तँसँग सधैँ धारणाहरू हुन्छन् र तँ सधैँ नकारात्मकता फैलाउँछस्। के यो समस्या होइन र? के तैँले यो समस्या अनुसन्धान र विश्‍लेषण गर्नुपर्दैन र? तँ सधैँ हैसियत पछ्याउँछस्, र राजनीति गर्छस्, अनि आफ्‍नो हैसियत सम्हाल्छस्। के यो समस्या होइन र? के तैँले यी समस्याहरू सङ्गति र विश्‍लेषण गर्नुपर्दैन र? मण्डलीले अहिले सफाइको काम गरिरहेको छ, र कतिपयले भन्छन्, “मानिसहरू जबसम्म आफ्‍नो कर्तव्यमा केही हदसम्‍म प्रभावकारी हुन्छन्, तबसम्म तिनीहरूलाई हटाइनेछैन, त्यसकारण यदि म आफ्‍नो कर्तव्यमा केही हदसम्‍म प्रभावकारी नै भइरहेँ र मलाई हटाइएन भने, त्यो नै पर्याप्त हुन्छ।” यहाँ समस्या के हो? के यी मानिसहरू निष्क्रिय विरोधमा छैनन् र? यदि कसैले यस्तो छली स्वभाव प्रकट गर्छ भने, के यसलाई समाधान गरिनुपर्दैन र? के भ्रष्ट स्वभाव र मानिसको प्रकृति सारसँग सम्‍बन्धित समस्याहरू सुठुनी कसरी खानेभन्दा गम्‍भीर छैनन् र? परमेश्‍वरका चुनिएका मानिसहरूले समझशक्ति प्राप्त गर्न सकून् भनेर, के यी कुराहरू भेलाहरू र मण्डली जीवनमा उठाउन, सङ्गति गर्न, र विश्‍लेषण गर्न लायक छैनन् र? के यी नकारात्मक व्यवहारका राम्रा र नमुना उदाहरणहरू होइनन् र? भ्रष्ट स्वभावसम्‍बन्धी समस्याहरू प्रत्यक्ष रूपमा मानिसको स्वभाव परिवर्तनसँग सम्‍बन्धित हुन्छन्, र ती कुराहरूले मानिसको मुक्तिलाई छुन्छन्। यी सानातिना मामला होइनन्, त्यसकारण किन तिमीहरू भेलाहरूमा यी समस्याहरू सङ्गति र विश्‍लेषण गर्दैनौ? यदि भेलाहरूमा यस्ता महत्त्वपूर्ण मामलाहरू समाधान गर्न तिमीहरू कहिल्यै सत्यता खोजी गर्दैनौ, बरु सानातिना र न्यास्रोलाग्दा कुराहरूबारे अटुट रूपमा सङ्गति गर्छौ, एउटा सानो विषय सङ्गति गर्दै भेलाको पुरै समय बिताउँछौ, र कुनै पनि ठोस समस्याहरू समाधान गर्न सक्दैनौ र समय पनि बरबाद गर्छौ भने, के तिमीहरूले आफ्‍नो उचित कर्तव्यलाई बेवास्ता गरिरहेका हुँदैनौ र? यदि तिमीहरू निरन्तर यसरी नै अघि बढिरह्यौ भने, तिमीहरू सबै कमजोर क्षमताका काम नलाग्‍ने, बेवकुफ, र आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्ने, र सत्यताको मापदण्ड भेट्न नसक्‍ने मानिसहरू बन्छौ। तिमीहरूले भेलाहरूमा सङ्गति गर्नुपर्ने कुराहरू सङ्गति गर्दैनौ, र तिमीहरू सङ्गति नगर्नुपर्ने कुराहरू अटुट रूपमा सङ्गति गर्छौ। तिमीहरू भेलाहरूमा सत्यतासँग सम्बन्धित नै नरहेका, तिमीहरूका आफ्‍नै विकृत बुझाइ र सानातिना व्यक्तिगत समस्याहरूसँग सम्‍बन्धित कुराहरूबारे सधैँ सङ्गति गर्छौ र सबैलाई तिमीहरूसँगै ती कुराहरू अनुसन्धान गर्न लगाउँछौ र व्यर्थमा समय बरबाद गर्छौ। यसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर गर्ने मात्रै होइन, मण्डलीको कामको सामान्य प्रगतिमा समेत ढिलाइ गराउँछ। के यो मण्डलीको काममा बाधा र व्यवधान दिनु होइन र? यस्तो व्यवहारलाई बाधाको रूपमा लिइनुपर्छ। यो जानीजानी दिइने बाधा हो, र यस्तो व्यवहार गर्ने मानिसहरूलाई प्रतिबन्धित गरिनुपर्छ। भविष्यमा, भेलाहरू परमेश्‍वरका वचनहरू खाने-पिउने, सत्यता सङ्गति गर्ने, भ्रष्ट स्वभावसँग सम्‍बन्धित समस्याहरू समाधान गर्ने, र मानिसहरूको कर्तव्यका कठिनाइ र समस्याहरू समाधान गर्ने कार्यमा सीमित हुनुपर्छ। कुनै पनि सानातिना र महत्त्वहीन मामलाहरू वा दैनिक सामान्य सुझबुझका समस्याहरूसँग सम्‍बन्धित कुराहरूबारे भेलाहरूमा सङ्गति गरिनु हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूले एकआपसमा सङ्गति गरेर यी समस्याहरू आफै समाधान गर्न सक्छन्; यी कुराहरूबारे भेलाहरूमा सङ्गति गर्नु आवश्यक छैन।

मण्डलीमा परमेश्‍वरका वचनहरूबारे विकृत बुझाइ भएका मानिसहरू सधैँ हुन्छन् जो सानातिना कुराहरू कोट्याइरहन्छन्। जब म मानिसको असल व्यवहारबारे छलफल गर्छु, तब यी मानिसहरूले साँच्‍चै नै आफ्‍नो व्यवहारमा मेहनत लगाउँछन्। यी कुराहरूबारे हामीले किन सङ्गति गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। मलाई भन, हामीले किन यस विषयमा सङ्गति गर्नुपर्छ? यस विषयमा सङ्गति गरेर हामी के हासिल गर्न चाहन्छौँ? हामीले यस विषयमा किन सङ्गति गर्नुपर्छ भन्‍नेबारेमा सुरुमा कुरा गरौँ। मानिसको असल व्यवहार र परमेश्‍वरले तोक्‍नुभएका असल व्यवहारहरूको मापदण्डको विषय कुन प्रसङ्गमा उठाइएको थियो? हामीले “सत्यता पछ्याउनु भनेको के हो” भन्‍ने विषयमा सङ्गति गरिरहेका बेला यसलाई उठाइएको थियो। यो विषय मानिसले कसरी सत्यता खोजी गर्नुपर्छ भन्‍ने कुरासँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। सत्यता अभ्यास गरेको कारण मानिसहरूले देखाउने असल व्यवहारहरूले सत्यतासँग सरोकार राख्छन् र ती सत्यतासँग सम्‍बन्धित हुन्छन्। मानिसको नजरमा कुनै व्यवहार जति नै असल देखिए पनि, यदि यो सत्यता अभ्यास गर्ने कार्यसँग सम्‍बन्धित छैन भने, यो सत्यतासँग सम्‍बन्धित नरहेको कुरा हो। कतिपय मानिसहरूले भन्छन्, “त्यो गलत हो! के असल व्यवहारहरूले सत्यताको मापदण्ड पुरा गर्दैनन् भनेर तपाईंले भन्‍नुभएको होइन र? मैले यो कुरा बुझिनँ।” के तिमीहरू यस समस्याबारे व्याख्या गर्न सक्छौ? “सत्यता पछ्याउनु भनेको के हो” भन्‍ने विषयमा सङ्गति गर्ने क्रममा, मैले मानिसहरूले आफ्‍ना धारणाहरूअनुसार असल ठान्‍ने गरेका व्यवहारहरूबारे विश्‍लेषण गरेर, ती व्यवहारहरूको आलोचना र निन्दा गरेको थिएँ। यसको साथै, मैले मानिसको व्यवहारबारे परमेश्‍वरले कुन मापदण्ड अघि सार्नुभएको छ भनेर मानिसहरूलाई जानकारी गराएको थिएँ, र तिनीहरूलाई सामान्य मानवतामा जिउने सही मार्ग दिएको थिएँ, र यसरी तिनीहरूलाई सामान्य मानवताको जियाइ मूल्याङ्कन गर्ने मानक धारण गर्न सक्षम पारेको थिएँ। यस जगको आधारमा, मैले अन्तिममा मानिसहरूलाई के कुराबारे जानकारी दिन सफल भएँ भने, तिनीहरूले असल ठानेका व्यवहारहरू सत्यताको मापदण्ड होइनन्, न त तिनमा सत्यता संलग्‍न हुन्छ, र न त ती सत्यतासँग नै सम्‍बन्धित हुन्छन्, र यसरी मैले मानिसहरूलाई यी असल व्यवहारहरू पालना गर्नु सत्यता पछ्याउनु हो भनेर गलत विश्‍वास गर्नबाट रोकेँ। सँगसँगै, मैले मानिसहरूलाई के पनि जानकारी दिएँ भने, परमेश्‍वरले तिनीहरूको लागि तोक्‍नुभएको व्यवहारसम्‍बन्धी मापदण्ड पूरा गर्दा मात्र तिनीहरूले सामान्य मानवतामा जिउने मापदण्डहरू पूरा गरेका हुन्छन्। मैले मानिसहरूलाई मानिसले वकालत गर्ने यी सबै असल व्यवहारहरू छद्म रूप र झूट हुन्, ती सबै नाटक र देखावटी व्यवहार हुन्, र ती सबै गलत छन्, ती सबैमा शैतानका युक्तिहरू मिसिएका हुन्छन् भनेर बताएको छु, अनि अहिले यी कुराहरूलाई खोसी लगिएको छ र मानिसहरूलाई तीबाट बन्चित गरिएको छ, त्यसकारण के तिनीहरूलाई कसरी अभ्यास गर्ने भन्‍ने थाहा छ त? तिनीहरूले मनमनै सोच्छन्, “त्यसो भए म केअनुसार जिउनुपर्छ? परमेश्‍वरले तोक्‍नुभएका व्यवहारका वास्तविक मापदण्डहरू के-के हुन्?” मानिसहरूको व्यवहारप्रति परमेश्‍वरसित भएका मापदण्ड, मानक र ठोस अभिव्यक्तिहरू—यो यति सरल छ। मानिसहरू परमेश्‍वरले तोक्‍नुभएका वास्तविकताहरूमा जिउँछन् भने, तिनीहरूले सामान्य मानवतामा जिउने मापदण्डहरू पूरा गरेका हुनेछन्। तिनीहरू सानातिना कुराहरू कोट्याउने, वा यस विषयमा चकित वा अन्योल हुने गर्नेछैनन्। जब व्यक्तिले सामान्य मानवतामा जिउनुपर्ने मापदण्डहरू पूरा गर्छ, तब के उसले सत्यता पछ्याउने मार्गमा हिँड्दै व्यावहारिक समस्या समाधान गरेको हुँदैन र? के उसले बाधा हटाएर सामान्य मानवतामा जिउने अवरोध समाधान गरेको हुँदैन र? कम्तीमा पनि, अहिलेसम्‍म सुशिक्षित र समझदार, मिलनसार र व्यवहार गर्न सजिलो जस्ता मानवजातिले प्रशंसा गर्ने बाहिरी शैलीहरू मानिसले पछ्याउने लक्ष्य बन्‍न छोडेका छन्। अझै स्पष्ट रूपमा भन्दा, यो सत्यता पछ्याउने मानिसहरूले बाहिरी रूपमा जिउन लागिपर्ने लक्ष्य होइन, न त यो सामान्य मानवता जिउनुपर्ने मापदण्ड नै हो। यसको स्थान त आफूलाई काबुमा राख्‍ने, सन्तको जस्तो शिष्टता धारण गर्ने, आदि इत्यादि कुराले लिएको छ। परमेश्‍वरले तोक्‍नुभएका यी कुराहरू मान्छेको लागि सामान्य मानवतामा जिउने मापदण्डहरू हुन्; सामान्य मानवता यसरी नै जिइनुपर्छ। यसरी, के सत्यता पछ्याउने आधारभूत सर्त, लक्ष्य, र दिशा पुष्टि भएको छैन र? सबैभन्दा आधारभूत र प्राथमिक कुरा पुष्टि भएको छ, अर्थात् सामान्य मानवतामा जिउनुको लक्ष्य मानिसहरू सुशिक्षित र समझदार, भद्र र परिष्कृत, मिलनसार, शिष्ट, ठूलालाई आदर र सानालाई ख्याल गर्ने, आदि इत्यादि हुनुपर्छ भन्‍ने होइन। बरु, यो त परमेश्‍वरले तोक्‍नुभएअनुसार तिनीहरू सामान्य मानवतामा जिउनुपर्छ भन्‍ने हो। यसमा कुनै देखावटी रूप र शैतानका युक्तिहरू छैनन्; बरु, यो त सामान्य मानवताको वास्तविक जियाइ, प्रकटीकरण, र व्यवहार हो। के यो कुरा यस्तै होइन र? (हो, यस्तै हो।) यो दृष्टिकोणबाट हेर्दा, मानिसहरूले आफ्‍ना धारणाहरूमा सही र असल ठान्ने कुराहरूको विषयमा पर्ने मानिसका असल व्यवहारहरूबारे सङ्गति गर्दा, साथै परमेश्‍वरले तोक्‍नुभएका व्यवहारसम्‍बन्धी मापदण्डहरूबारे सङ्गति गर्दा—के यी कुराहरू सत्यता पछ्याउने कार्यसँग सम्‍बन्धित छन्? (हो, छन्।) हो, ती सम्‍बन्धित छन्। निश्‍चित हदसम्‍म, यसले मान्छेको सत्यता पछ्याउने आधारभूत दिशा र लक्ष्य पुष्टि गर्छ। यसको अर्थ, कम्तीमा पनि, तैँले सत्यता पछ्याउन सुरु गर्नुभन्दा पहिले सामान्य मानवतामा जिउने तेरो लक्ष्य सही हुनेछ। यो उद्देश्य मानव-निर्मित शैली होइन, यो देखावटी रूप धारण गर्नु, वा वास्तविक रूप लुकाउनु पनि होइन। यो त परमेश्‍वरले तोक्‍नुभएको मानवतामा सामान्य रूपमा जिउनु हो। यो विषय सत्यताको वास्तविक पछ्याइबाट केही हदसम्‍म टाढा भएको भए पनि, सत्यता पछ्याउने कार्यका व्यापक दिशाहरूको लागि यो अपरिहार्य हुन्छ। यो मानिसले बुझ्‍नुपर्ने व्यवहारको सबैभन्दा सरल र आधारभूत मापदण्ड हो। सङ्गतिको यो विषय सत्यता पछ्याउने कार्यबाट जति टाढा भए पनि, र सत्यताको मानकबाट यो जति टाढा भए पनि, यो परमेश्‍वरका मापदण्डहरू र मानवजातिलाई परमेश्‍वरले दिनुभएको व्यवहारको मानकसित सम्बन्धित भएकोले, प्राकृतिक रूपमै, निश्‍चित हदसम्‍म यो सत्यताको मानकसित पनि सम्बन्धित हुन्छ। त्यसकारण, मानिसहरूले यी समस्याहरू बुझ्‍नुपर्छ। मानिसको व्यवहारको निम्ति परमेश्‍वरले तोक्‍नुभएका यी कुराहरू मानिसहरूले पालना गर्नुपर्ने मापदण्डहरू हुन्, र यी मापदण्डहरूलाई बेवास्ता गर्नु हुँदैन। यी समस्याहरू बुझेपछि, मानिसहरू सामान्य मानवतामा जिउने क्रममा, र आफ्‍नो बाहिरी व्यवहारमा, कम्तीमा पनि अत्यन्तै सुशिक्षित र समझदार, भद्र र परिष्कृत, शिष्ट, व्यवहार गर्न सजिलो, वा मिलनसार वा खालको व्यक्ति बन्‍ने प्रयास गर्नेछैनन्—खास गरी पश्‍चिमी मानिसहरूले अपेक्षा गरेजसरी पुरुषहरू भद्र होऊन्, महिलाको लागि ढोका खोलिदिऊन्, महिला बस्न लाग्दा उनको लागि कुर्सी तानिदिऊन्, र सार्वजनिक स्थानमा महिलालाई प्राथमिकता दिऊन् भन्‍ने अपेक्षा गर्नेछैनन्—मानिसहरूले यी असल व्यवहारहरूको वस्तविकता बुझेपछि, तिनीहरूले सामान्य मानवतामा जिउने प्रयत्न गर्दा वा सामान्य मानवताका व्यवहारहरू पछ्याउँदा, कम्तीमा पनि यी कुराहरूलाई मानकको रूपमा लिनेछैनन्। बरु, तिनीहरूले यी कुराहरूलाई आफ्‍नो हृदय र मनबाट त्याग्‍नेछन्; तिनीहरू यी कुराहरूको प्रभाव र बन्धनमा पर्न छोड्नेछन्। यो तिमीहरूले गर्नुपर्ने कुरा हो। यदि कसैले अझै “अँ, त्यो व्यक्ति त्यति सुशिक्षित र समझदार रहेनछ” भनेर भन्छ भने, तेरो प्रतिक्रिया के हुनेछ? तैँले तिनीहरूलाई झलक्‍क हेरेर, यो कुरा औँल्याउनेछस्, “गलत बोल्‍नुभयो। यो त परमेश्‍वरको घर हो। तपाईंले ‘सुशिक्षित र समझदार’ भनेर के भन्‍न खोज्‍नुभएको हो? यो सत्यता होइन, र यो हामीले जिउनुपर्ने मानव स्वरूप होइन।” कतिपय मानिसहरूले भन्छन्, “हाम्रा अगुवाहरूले ठूलालाई आदर र सानालाई ख्याल गर्दैनन्। म वृद्ध अवस्थामा पुगिसकेकी छु, तैपनि उनले मलाई अन्टी भनेर भन्दिनन्, बरु मेरो नामले बोलाउँछिन्। उनले त्यस्तो गर्नु हुँदैन। मेरा नातिनातिना पनि उनीभन्दा बढी उमेरका छन्! के यस्तो व्यवहार गर्नु मलाई हेला गर्नु होइन र? उनले मानिसहरूसँग मित्रवत्‌ वा असल व्यवहार पनि गर्दिनन्। उनको व्यवहारलाई हेर्दा, उनी अगुवा हुन लायक देखिदिँनन्।” तिमीहरूलाई यो दृष्टिकोण कस्तो लाग्छ? ठूलालाई आदर र सानालाई ख्याल गर्नुपर्छ भन्‍ने कुरा सत्यता होइन। तैँले मानिसहरूलाई तिनीहरूको बाहिरी व्यवहार र प्रकटीकरणको आधारमा मूल्याङ्कन गर्नु हुँदैन, तर सत्यतालाई आफ्‍नो मापदण्ड बनाई परमेश्‍वरका वचनहरूको आधारमा मूल्याङ्कन गर्नुपर्छ। मानिसहरूलाई मूल्याङ्कन गर्ने सिद्धान्तहरू यी मात्रै हुन्। त्यसो भए, हामीले अगुवा र सेवकहरूलाई कसरी मूल्याङ्कन गर्नुपर्छ? तिनीहरूले व्यावहारिक काम गर्छन् कि गर्दैनन्, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरको वचन खान-पिउन र सत्यता बुझ्‍न अगुवाइ गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूले सत्यता प्रयोग गरेर मण्डलीका समस्याहरू सुल्झाउन र केही महत्त्वपूर्ण कामहरू पूरा गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा हेर्नुपर्छ। उदाहरणको लागि, सुसमाचार कार्य कसरी अघि बढिरहेको छ? मण्डली जीवन कस्तो छ? के परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिरहेका छन्? विशेषज्ञ क्षेत्रका फरकफरक कामहरू कसरी अघि बढिरहेका छन्? के अविश्‍वासीहरू, दुष्ट मानिसहरू, र ख्रीष्टविरोधीहरूलाई हटाइएको छ? यी कुराहरू मण्डलीका महत्त्वपूर्ण कामहरू हुन्। अगुवा र सेवकहरूको मूल्याङ्कन तिनीहरूले कति राम्ररी यी कामहरू गरिरहेका छन् भन्‍ने कुरा हेरेर गरिन्छ। यदि तिनीहरू यी सबै क्षेत्रमा प्रभावकारी छन् भने, तिनीहरू दक्ष अगुवा हुन्। तिनीहरूको व्यवहारमा केही कुराको कमी भए पनि, त्यो ठूलो समस्या होइन। बाहिरी व्यवहारलाई हेर्नु मात्रै अगुवा वा सेवक उपयुक्त छ कि छैन भनेर मूल्याङ्कन गर्ने मानक होइन। यदि मान्छेले मानिसको दृष्टिकोणद्वारा यसलाई हेर्थे भने, ती वृद्ध महिलालाई कहिल्यै पनि अन्टी वा बजू भनेर नबोलाएको कारण अगुवाले रूखो व्यवहार गरेजस्तो देखिन्थ्यो। तर तिनीहरूले उनलाई मूल्याङ्कन गर्न परमेश्‍वरका वचनहरू प्रयोग गरे भने, यी अगुवा सन्तोषजनक नै हुन्छिन्, र परमेश्‍वरका चुनिएका मानिसहरूले सही अगुवा नै छनौट गरेका हुन्छन् किनभने उनले मण्डलीको कामको हरेक पक्षको बोझ लिन सक्छिन्, परमेश्‍वरका चुनिएका हरेक मानिसहरूप्रति उनी सहयोगी र उपयोगी हुन्छिन्, र उनले सुसमाचारको काम राम्ररी गर्छिन्। सबैले उनको नेतृत्वलाई स्विकारेर उनीसँग सहकार्य गर्नुपर्छ। यदि कसैले यी अगुवासँग सहकार्य गर्दैनन्, वा उनको लागि समस्या खडा गरिदिन्छन्, वा तिनीहरूले यी अगुवामा ठूलालाई आदर र सानालाई ख्याल गर्नेजस्ता बाहिरी असल व्यवहार छैन भनेर उनलाई आलोचना गर्ने मौका खोज्छन् भने, यो कुरा मण्डलीको कामको लागि फाइदाजनक हुँदैन। यो त अगुवा र सेवकप्रति सिद्धान्तहीन व्यवहार गर्नु हो, र यो मण्डलीको काममा बाधा-व्यवधान ल्याउने कार्यको प्रकटीकरण हो। यस्ता मानिसहरू सही हुँदैनन्; तिनीहरूले दुष्कर्म गरिरहेका हुन्छन्। यदि अगुवा वा सेवकले आफूभन्दा पाका व्यक्तिलाई आदर गर्दैनन्, र फलस्वरूप, तिमीहरूलाई तिनीहरू असल व्यक्ति होइनन् भन्‍ने लाग्छ, र तिमीहरू तिनीहरूको नेतृत्व स्विकार्दैनौ, र तिनीहरूलाई दोषसमेत दिन्छौ भने, तिमीहरूले कस्तो गल्ती गरिरहेका हुन्छौ? यो मानिसका मापदण्डहरू प्रयोग गरेर, परम्‍परागत संस्कृतिका दृष्टिकोणहरूअनुसार मानिसहरूलाई मूल्याङ्कन गर्नुको दुष्परिणाम हो। यदि सबैले परमेश्‍वरका वचनहरू र सत्यताअनुसार मानिसहरूको मूल्याङ्कन गर्न अनि अगुवा र सेवकहरू छनौट गर्न सक्छन् भने, यो सही र परमेश्‍वरका अभिप्रायअनुरूप हुनेछ। अनि, मानिसहरूले अरूसँग उचित व्यवहार गर्न, र मण्डलीको कामको सामान्य प्रगति कायम राख्‍न सक्‍नेछन्। अनि, परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र मानिस पनि सन्तुष्ट हुनेछ। के कुरा यही होइन र?

मैले मानिसको तथाकथित “असल व्यवहारहरू” विश्‍लेषण गरेँ, र मानिसको व्यवहारप्रति परमेश्‍वरले तोक्‍नुभएका कुराहरूको मापदण्डहरूबारे सङ्गति गरेँ, त्यसैले मानिसहरूले व्यक्तिलाई हेर्ने दृष्टिकोण, र अरूलाई मूल्याङ्कन गर्न तिनीहरूले प्रयोग गर्ने मापदण्डहरू परिवर्तन भएका छन्; मानिसहरूले व्यक्तिलाई हेर्ने दृष्टिकोणको दायरा फरकफरक हुन्छन्, त्यसैले मान्छेको मूल्याङ्कनका परिणामहरू पनि फरकफरक नै हुन्छन्। यदि मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्‍नो मूल्याङ्कनको आधारको रूपमा प्रयोग गर्छन् भने, परिणाम अवश्य नै सही, न्यायसङ्गत, निष्पक्ष, र सबैको हितमा हुनेछ। यदि मान्छेको मूल्याङ्कनको दृष्टिकोण, विधि, र आधार मानिसहरूले सही र असल ठानेका कुराहरू हुन् भने, परिणाम के हुनेछ? यस्तो मूल्याङ्कन गर्नेहरू कोही अन्त्यमा असल मानिसहरूलाई गलत रूपमा दोष लगाउने वा निन्दा गर्ने बन्‍न पुग्छन्, वा तिनीहरू ढोँगीहरूको बहकाउमा परेर सही तरिकाले व्यक्तिलाई मूल्याङ्कन र व्यवहार गर्न असक्षम बन्‍न सक्छन्। जब मानिसको आधार गलत हुन्छ, अन्तिम परिणाम पनि अवश्य नै गलत, अन्यायपूर्ण, र परमेश्‍वरका अभिप्रायहरूका विपरीत हुन्छ। त्यसकारण, के असल व्यवहारसम्‍बन्धी मानिसहरूको धारणाहरूको सारबारे विश्‍लेषण र सङ्गति गर्नु आवश्यक छ? के सत्यता पछ्याउने कार्यसँग यसको कुनै सम्‍बन्ध छ? ती अत्यन्तै नजिकबाट सम्‍बन्धित छन्! यो विषयले मानिसहरूको सामान्य मानवताको जियाइ, र मानिसका बाहिरी शैली र प्रकटीकरणहरू मात्रै छोए पनि, जब मानिसहरूसँग सामान्य मानवतामा जिउनेबारे परमेश्‍वरले तोक्‍नुभएका सही मापदण्ड हुन्छ, तब तिनीहरूसँग अरूलाई मूल्याङ्कन गर्ने, मानिसहरू र कामकुराहरूलाई हेर्ने, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नको लागि सही र मानकीकृत आधार र मापदण्ड हुनेछ। अनि, यस हिसाबमा, तिनीहरूको सत्यता पछ्याउने कार्यको दिशा, मार्ग, र लक्ष्य अझै सटीक हुनेछैन र? (हो, हुनेछ।) यो अझै सटीक र अझै मानकीकृत हुनेछ। यी विषयहरू केही हदसम्‍म सरल भए पनि, ती मानिसहरू र कामकुराहरूप्रतिका मानिसका दृष्टिकोणहरू, र मानिसका व्यवहार र कार्यहरूसँग सबैभन्दा व्यावहारिक, वास्तविक, र घनिष्ठ रूपमा सम्‍बन्धित छन्—ती बिलकुलै खोक्रा छैनन्।

मैले पहिले नै मानिसहरूले आफ्‍ना धारणाहरूमा सही र असल ठान्‍ने कुराहरूको विषयमा धेरै बोलिसकेको छु—यी विषयहरू केही हदसम्‍म सत्यताबाट अलग भए पनि, र यी सत्यता जत्तिका उच्‍चस्तरका नभए पनि, यी विषय मानिसहरू र कामकुराहरू, र मानिसहरूका व्यवहार र कार्यप्रतिका मान्छेका दृष्टिकोणहरूसित सम्बन्धित छन् भनेर तिमीहरूलाई बुझाउन मैले बारम्‍बार आफ्‍नो कुरा दोहोर्‍याएको थिएँ। त्यसकारण, यी विषयहरूलाई गैर-सत्यता, वा कुनै किसिमको ज्ञान वा सिद्धान्तको रूपमा नलेओ। यी खोक्रा छैनन्। मानिसहरूले आफ्‍ना धारणाहरूमा सही र असल ठानेका कुराहरू सधैँ तिनीहरूको हृदयको गहिराइमा बसेका हुन्छन्, र ती कुराले तिनीहरूका विचारहरू नियन्त्रित गरिरहेका हुन्छन्, अनि मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूका दृष्टिकोण र सोचहरू र तिनीहरूले गर्ने व्यवहार र कार्यहरूलाई नियन्त्रित गरिरहेका हुन्छन्। त्यसकारण, ती कुराहरूलाई स्पष्ट रूपमा व्याख्या गरिनुपर्छ, ताकि मानिसहरूले ती कुराहरू बुझेर समझशक्ति प्राप्त गर्न सकून्, र असल व्यवहार र यस्ता कुराहरूप्रतिका मानिसका धारणाहरू त्यागून्, अनि ती कुराहरूलाई फेरि कहिल्यै पनि सकारात्मक नमानून्, वा मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूका दृष्टिकोण, र तिनीहरूका व्यवहार र कार्यहरूको मापदण्डको रूपमा नहेरून्। ती कुराहरू अवश्य नै परमेश्‍वरका वचनहरू होइनन्, ती सत्यता हुनु त परको कुरा हो। तिमीहरूले जुन दृष्टिकोण र अडानअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्छौ, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्छौ, त्यो कुरामा निरन्तर सुधार गर्नुपर्छ, यसको साथै तिमीहरूले आफ्नो मनमा पैदा हुने हरेक धारणा र दृष्टिकोण सत्यताअनुरूप छ कि छैन भनेर निरन्तर जाँच्‍नुपर्छ। तिमीहरूले आफ्‍ना भ्रामक धारणा र दृष्टिकोणहरू तुरुन्तै सुधार गर्नुपर्छ, र त्यसपछि सही अडानमा लाग्‍नुपर्छ, र परमेश्‍वरले तय गर्नुभएको व्यवहारसम्‍बन्धी मापदण्ड प्रयोग गर्दै र परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्नुपर्छ, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने गर्नुपर्छ। सत्यता पछ्याउनेसम्‍बन्धी सबैभन्दा आधारभूत अभ्यास यही हो। मुक्ति पाउन र सामान्य मानवतामा जिउन प्रयास गर्ने क्रममा तिमीहरूमा हुनुपर्ने खोजको दिशा र लक्ष्य पनि यही हो। तिमीहरूले यी वचनहरू भर्खरै मात्र सुनेका छौ, त्यसैले तीबारे तिमीहरूको बुझाइ त्यति गहन वा ठोस नहुन सक्छ, तर चिन्ता नगर। परमेश्‍वरका वचनहरूबारे तिमीहरूको अनुभव निरन्तर गहन हुँदै गएपछि, र परम्‍परागत संस्कृतिका धारणाहरूभित्र सही ठानिने कुराहरूलाई बारम्‍बार विश्‍लेषण गरी तीबारे समझ प्राप्त गरेपछि, तिमीहरूले अन्ततः परम्‍परागत संस्कृतिका विभिन्‍न दाबीहरू त्याग्‍न सक्‍नेछौ। त्यसपछि तिमीहरूले मान्छेका व्यवहारहरूलाई परम्‍परागत संस्कृतिको आधारमा फेरि कहिल्यै मूल्याङ्कन गर्नेछैनौ; बरु, परमेश्‍वरका वचनहरू र सत्यताअनुसार मानिसहरूको मूल्याङ्कन गर्नेछौ। यस तरिकाले, तिमीहरूले परम्‍परागत संस्कृतिका धारणाहरू पूर्ण रूपमा बढारिसकेका र त्यागिसकेका हुनेछौ। यदि तैँले सत्यता बुझेको छैनस्, सरल धर्मसिद्धान्तहरू मात्रै बुझेको छस्, र परम्‍परागत संस्कृतिले तोकेका व्यवहारहरू अमान्य छन् भन्‍ने तँलाई थाहा छ भने, तैँले यस्तो सोच्‍न सक्छस्, “म आधुनिक व्यक्ति हुँ, सांसारिक भीडबाट अलग छु। म त्यति परम्‍परागत छैन र मलाई परम्‍परागत संस्कृतिप्रति साँच्‍चै वितृष्ण छु, र मलाई झमेलापूर्ण प्रथा र रीतिरिवाजहरू पालना गर्न मन पर्दैन।” तर जब तँ मानिसहरू र कामकुराहरूलाई हेर्छस्, तब तिनीहरूलाई हेर्न र मूल्याङ्कन गर्न प्राकृतिक तवरमै आफ्ना विगतका धारणाहरू प्रयोग गर्छस्। त्यो बेला, तँलाई आफू आधुनिक भएको, पुरानो सोचवाला वा परम्‍परागत नभएको, र सत्यता स्विकार्न सक्‍ने भएको दाबी वास्तवमा झूटो र गलत थियो, र तँ आफ्‍नै भावनाको बहकाउमा परेको थिइस् भन्‍ने महसुस हुनेछ। त्यसपछि मात्रै तँलाई पुराना विचार, दृष्टिकोण र धारणाहरूले धेरै पहिले नै तेरो हृदयमा जरा गाडेका थिए, र तैँले आफ्‍ना धारणाहरू बदल्दा वा निश्‍चित विचारहरू त्याग्दा ती तुरुन्तै हराएर जाँदैनन् भन्‍ने महसुस हुनेछ। आफूलाई नयाँ युगको व्यक्ति, आधुनिक व्यक्ति भनेर भन्‍नु सतही नामाकरण मात्रै हो; तँ फरक पुस्ता र युगमा जन्‍मेकोले मात्रै तैँले यस्तो भन्‍न सकेको हो, तर पुराना र परमेश्‍वरविरोधी ती सबै कुराहरू, सारा मानवजातिमा आम रूपमा रहने कुराहरू तँमा पनि अवश्यै हुन्छन्, त्यसमा कुनै अपवाद छैन। तँ मानिस रहनुन्जेल, तँभित्र यी कुराहरू हुन्छन् नै। तँलाई यो कुरामा विश्‍वास लाग्दैन भने, थप ज्ञान बटुल्। कुनै बेला तैँले मेरा यी वचनहरूलाई “आमेन” भन्दै स्विकार्ने दिन आउनेछ। आत्मिक बुझाइ नभएकाहरू, र जो घमण्डी र अहङ्कारी छन् तिनीहरूले यस्तो सोच्छन्, “मैले मास्टर डिग्री गरेको छु र डाक्टरको उपाधि पाएको छु। म यो समाजमा बसेको धेरै वर्ष भयो, र मैले नयाँ युगको संस्कृति र शिक्षा, विशेष गरी पश्‍चिमी शिक्षा पाएको छु। मैले कसरी अझै ती पुराना कुराहरू मनमा राख्‍न सक्छु? मेरो लागि परम्‍पराहरू अत्यन्तै खराब हुन्छन्। मलाई ती व्यर्थका नियमहरूदेखि सबैभन्दा बेसी घिन लाग्छ। जब मेरो परिवार भेला भएर परम्‍परागत कुराहरू र नियमहरूबारे कुरा गर्छन्, मलाई त्यो पटक्‍कै सुन्‍न मन लाग्दैन।” यसलाई इन्कार गर्न हतार नगर्। त्यो दिन अवश्यै आउनेछ जुन दिन तैँले तेरा यी विचारहरू त्याग्‍नेछस्। तैँले आफूजति शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको अन्य सामान्य सदस्य हुनै सक्दैन भनेर स्विकार्नेछस्। तैँले आफूभित्रका पुराना धारणाहरू जानीजानी स्वीकार वा प्रकट नगरेको भए पनि, मानवजातिका परम्‍परागत संस्कृति र पुर्खाहरूले तँलाई धेरै पहिले नै सङ्क्रमित पारिसकेका र सधाइसकेका थिए। यी कुराहरू तेरो भित्री संसारमा, र तेरा विचार र धारणाहरूमा हुन्छन्, त्यसमा कुनै अपवाद छैन। यस्तो किन हुन्छ? किनभने परम्‍परागत संस्कृतिका यी पक्षहरू सरल अभिव्यक्तिहरू होइनन्, न त यी सरल भनाइ र शैलीहरू नै हुन्। यी त एक किसिमका सोच र सिद्धान्तहरू हुन्। यी कुराहरूले मानिसहरूलाई बहकाउँछन् र भ्रष्ट तुल्याउँछन्। यी भनाइ र शैलीहरू भ्रष्ट मानवताबाट आउँदैनन्, बरु शैतानबाट आउँछन्। शैतानको शक्तिको अधीनमा जिउन्जेल, तँ यी कुराहरूको प्रभाव, बहकाइ, र भ्रष्टताबाट बच्‍न सक्दैनस्। अब तैँले मेरा वचनहरू सुनेको छस्, त्यसैले तँलाई यी सबै तथ्यहरू र सत्यता हुन् भन्‍ने लाग्‍नेछ। जब तैँले मेरा यी वचनहरू अनुभव गरेको हुन्छस्, तब तँलाई परम्‍परागत संस्कृति, वा झमेलापूर्ण प्रथा र रीतिरिवाजहरू, वा व्यर्थका नियमहरू मन नपर्ने भए पनि, तैँले मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्ने, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने आधार अवश्य नै मान्छेबाट आउँछन् भनेर तैँले पत्ता लगाउनेछस्। ती कुरा परम्‍परागत संस्कृतिका केन्द्रविन्दुबाट आएका हुन्छन्, र ती परम्‍परागत संस्कृतिभित्रकै कुरा हुन्। मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्ने तेरा दृष्टिकोणहरू, र तेरा व्यवहार र कार्यहरू सत्यतालाई मापदण्डको रूपमा लिने र परमेश्‍वरका वचनहरूमा आधारित हुँदैनन्। त्यो बेला, तँलाई थाहा हुनेछ र तैँले यो स्पष्‍टसित देख्‍न सक्‍नेछस् कि मानिसहरूले सत्यता प्राप्त गर्नुभन्दा पहिले, सत्यता पछ्याउने वा बुझ्ने गर्दैनन् भने, सबैभन्दा आधारभूत सामान्य मानवता जिउने क्रममा तिनीहरूले शैतानको विष, शैतानको अंश, र शैतानका युक्तिहरू आफूभित्र बोकेर हिँडेका हुन्छन्। तिनीहरूले जिउने हरेक कुरा नकारात्मक हुन्छ, र परमेश्‍वरले त्यसलाई तिरस्कार गर्नुहुन्छ। यो सबै कुरा देहसँग सम्‍बन्धित हुन्छ, र परमेश्‍वरले अघि सार्नुभएका, र मन पराउनुहुने सकारात्मक कुराहरूसँग सम्बन्धित हुँदैन, र यो उहाँका अभिप्रायअनुरूप पनि हुँदैन। ती कहीँकतै सम्‍बन्धित हुँदैनन्, र तिनको बीचमा कुनै समानता हुँदैन। यी समस्याहरूलाई स्पष्ट रूपमा देख्‍नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ, नत्र मानिसहरूले सत्यता अभ्यास गर्नु भनेको के हो त्यो जान्‍नेछैनन्। तिनीहरू सदासर्वदा नै मानिसले सकारात्मक ठानेका असल व्यवहारहरूमा लागिरहनेछन्, अनि तिनीहरूका व्यवहार र प्रकटीकरणहरूले कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनन्। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्छ भने, उसले सत्यता स्विकार्न र पछ्याउन सक्छ। उसले पूर्ण रूपमा परमेश्‍वरका वचनअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्नेछ, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्नेछ र कार्य गर्नेछ। यसरी, ऊ परमेश्‍वरले मानिसलाई देखाउनुभएको जीवनको मार्गमा हिँड्न सक्छ। पूर्ण रूपमा परमेश्‍वरका वचनअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्नु, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु—यो सत्यता सिद्धान्त मानिसको लागि अत्यन्तै महत्त्वपूर्ण र अपरिहार्य छ। यो मुक्तिको पछि लाग्दा र अर्थपूर्ण जीवन जिउन लागिपर्दा व्यक्तिमा हुनैपर्ने सत्यता सिद्धान्त हो। तैँले यसलाई स्विकार्नैपर्छ। यस विषयमा छनौट गर्ने कुनै ठाउँ छैन, र कसैको लागि पनि अपवाद हुँदैन। यदि तँ सत्यता पछ्याउँदैनस्, र यो सत्यता सिद्धान्त स्विकार्दैनस् भने, तँ वृद्ध भए नि जवान भए नि, ज्ञानी भए नि अज्ञानी भए नि, तँ विश्‍वासी भए नि वा अलिअलि मात्रै विश्‍वासी भए नि, तँ समाजको जुन वर्गमा परे नि, वा तँ जुन जातको भए नि, परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरूसँग तेरो कुनै सम्‍बन्ध हुनेछैन, र यसमा कुनै अपवाद छैन। तैँले गर्नैपर्ने भनेको पूर्ण रूपमा परमेश्‍वरका वचनअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्न, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न लागिपर्नु हो। तैँले हिँड्नुपर्ने एउटै मात्र बाटो यही हो। तैँले यसो भन्दै छनौट गर्न मिल्दैन, “यदि कुनै कुरा मेरो धारणासँग मिल्छ भने म त्यसलाई सत्यताको रूपमा स्विकार्नेछु, र मिल्दैन भने, म स्विकार्नेछैनँ। म कामकुराहरू आफ्‍नै तरिकाले गर्छु, मैले सत्यता पछ्याउन जरुरी छैन। मैले मान्छे, मामला र परिस्थितिलाई परमेश्‍वरका वचनहरूको दृष्टिकोणले हेर्नु पर्दैन; मेरा आफ्‍नै दृष्टिकोणहरू छन्, र ती निकै आदर्श, निष्पक्ष, र सकारात्मक छन्। ती परमेश्‍वरका वचनहरूभन्दा फरक छैनन्, र तिनले अवश्य नै परमेश्‍वरका वचनहरू र सत्यताको स्थान लिन सक्छन्। यस विषयमा मैले परमेश्‍वरका वचनहरू अभ्यास गर्न वा तीअनुसार काम गर्न जरुरी छैन।” खोजको यस्तो दृष्टिकोण र विधि गलत छ। व्यक्तिका दृष्टिकोणहरू जति नै असल वा सही भए पनि, ती अझै गलत नै हुन्छन्। तिनले कुनै हालतमा पनि सत्यताको ठाउँ लिन सक्दैनन्। यदि सत्यता स्विकार्न सक्दैनस् भने, तैँले पछ्याउने जुनसुकै कुरा गलत हुनेछ। त्यसैले त म भन्छु, “पूर्ण रूपमा परमेश्‍वरका वचनअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने” विषयमा तँसँग कुनै विकल्‍प हुँदैन। तैँले गर्न सक्‍ने एउटै कुरा भनेको यो वाक्यांशअनुसार निष्ठापूर्वक काम गर्नु, र यसलाई लागू गरेर व्यक्तिगत रूपमै अनुभव गर्नु, यसबारेमा क्रमिक रूपमा ज्ञान प्राप्त गर्नु, तेरो आफ्‍नै भ्रष्ट स्वभाव पहिचान गर्नु, र यो वाक्यांशको वास्तविकतामा प्रवेश गर्नु हो। त्यसपछि मात्रै तैँले अन्तिममा हासिल गर्ने लक्ष्य सत्यता पछ्याएर हासिल गर्नुपर्ने लक्ष्य बन्‍नेछ। नत्र, तेरो परिश्रम, तैँले त्यागेका सबै कुरा, र तैँले चुकाएको सबै मूल्य बिलाइजानेछ, र ती सब व्यर्थ हुनेछन। कुरो बुझिस्?

सत्यता पछ्याउनु भनेको के हो? (पूर्ण रूपमा परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु।) ठीक भन्यौ। यी वचनहरूलाई विवेकशील, ठोस र व्यापक रूपमा अभ्यास गर। यो वाक्यांशलाई तेरो पछ्याउने लक्ष्य, र तेरो जीवनको वास्तविकता बना, त्यसपछि तँ सत्यता पछ्याउने व्यक्ति बन्‍नेछस्। कुनै पनि हिसाबमा दूषित नबन्, मान्छेको कुनै पनि इच्‍छाद्वारा दूषित नबन्, र भाग्य चम्‍केला भन्‍ने मानसिकतामा नअल्झी। व्यवहार गर्ने सही तरिका यही हो, र त्यसपछि तैँले सत्यता प्राप्त गर्ने आशा हुनेछ। के त्यसो भए असल व्यवहारसम्‍बन्धी मान्छेका धारणाहरूबारे सङ्गति र विश्‍लेषण गर्नु आवश्यक छ? (हो, छ।) यसले तिमीहरूलाई कस्तो सकारात्मक मार्गदर्शन र मदत दिन सक्छ? के यी वचनहरू तैँले कसरी मानिसहरू र कामकुराहरूलाई हेर्ने, र कसरी आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने भन्‍ने कुराको आधार र मापदण्ड बन्‍न सक्छन्? (हो, सक्छन्।) यदि सक्छन् भने, तिमीहरूको भेला र भक्तिको समयमा यी दुई सङ्गतिको प्रार्थना-अध्ययन गर। तैँले पूर्ण रूपमा यी वचनहरू बुझेपछि, परमेश्‍वरका वचनहरूअनुसार सही रूपमा मानिसहरू र कामकुराहरूलाई हेर्न, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्‍नेछस्। त्यसरी, तँसित तेरो बोलीवचन र व्यवहारको आधार र मापदण्ड हुनेछ। तैँले मानिसहरूलाई सही रूपमा हेर्नेछस्, र विभिन्‍न कामकुराहरूलाई हेर्ने तेरो दृष्टिकोण र अडान पनि सही हुनेछ। तैँले अबउप्रान्त मानिसहरू र कामकुराहरूलाई तेरा भावना वा अनुभवहरूअनुसार हेर्नेछैनस्, न त तिनीहरूलाई परम्‍परागत संस्कृति वा शैतानी दर्शनहरूको आधारमा नै हेर्नेछस्। जब तँसँग सही आधार हुन्छ, तब मानिसहरू र कामकुराहरूप्रतिको तेरो दृष्टिकोणका परिणामहरू पनि तुलनात्मक रूपमा सही नै हुनेछन्। के यो कुरा यस्तै होइन र? (हो।) त्यसैले, तैँले यी वचनहरूलाई लिने वा त्याग्‍ने मात्रै गर्नु हुँदैन। म समय बिताउन वा मलाई न्यास्रो लागेकोले मनोरञ्जन लिनको लागि मैले तिमीहरूसँग भेला भएर यी विषयहरूबारे सङ्गति गरिरहेको छैनँ। यी समस्याहरू सबै मानिसहरूमा आम रूपमा हुने हुनाले, र मानिसहरूले सत्यता पछ्याउने र मुक्ति हासिल गर्ने मार्गमा यी समस्याहरू बुझ्नैपर्ने भएकोले, मैले यसो गरेको हुँ। तैपनि, मानिसहरू अझै पनि यी समस्याहरूबारे स्पष्ट छैनन्। तिनीहरू प्राय यी समस्याहरूको बन्धन र जालमा परिरहन्छन्। यी समस्याहरूले तिनीहरूलाई बाधा र झन्झट दिन्छन्। अवश्‍य नै, मानिसहरूले मुक्ति हासिल गर्ने मार्ग पनि बुझ्दैनन्। निष्क्रिय दृष्टिकोणबाट भए नि सक्रिय दृष्टिकोणबाट भए नि, वा नकारात्मक दृष्टिकोणबाट भए नि सकारात्मक दृष्टिकोणबाट भए नि, मानिसहरूले यी समस्याहरूमा आफू स्पष्ट हुने र आफूले यी समस्याहरू बुझ्‍ने कुरा पक्‍का गर्नुपर्छ। यसरी, तैँले वास्तविक जीवनमा यस्ता समस्याहरू सामना गर्दा र कुनै छनौट गर्नुपर्ने हुँदा, सत्यता खोजी गर्न सक्‍नेछस्; समस्याहरू हेर्ने तेरो दृष्टिकोण र अडान सही हुनेछ, र तँ सिद्धान्तहरूमा अडिग रहन सक्‍नेछस्। त्यसरी काम गर्दा, तेरा निर्णय र छनौटहरूको आधार हुनेछ, र ती परमेश्‍वरका वचनहरूअनुसार हुनेछन्। तँ फेरि कहिल्यै पनि शैतानी दर्शन र भ्रमहरूको बहकाउमा पर्नेछैनस्; तँ फेरि कहिल्यै पनि शैतानका विष र हास्यास्पद दाबीहरूद्वारा समस्यामा पर्नेछैनस्। त्यसपछि, जब सबैभन्दा आधारभूत स्तरको कुरा, अर्थात् मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्ने कुरा आउँछ, तब तँ कुनै कुरा वा व्यक्तिलाई हेर्ने तरिकाको सन्दर्भमा निष्पक्ष र न्यायसङ्गत बन्‍न सक्‍नेछस्; तँ तेरा भावना वा शैतानी दर्शनहरूको प्रभाव वा नियन्त्रणमा पर्नेछैनस्। त्यसकारण, मानिसहरूले आफ्‍ना धारणाहरूअनुसार असल ठानेका व्यवहारहरूलाई पहिचान गर्ने र तीबारे समझ प्राप्त गर्ने कार्य सत्यता खोजी गर्ने प्रक्रियाको निम्ति ठूलो विषय नभए पनि, यो मानिसहरूको दैनिक जीवनसँग घनिष्ठ रूपमा जोडिएको हुन्छ। अर्को शब्‍दमा भन्दा, दैनिक जीवनमा मानिसहरूले बारम्‍बार यी कुराहरू सामना गर्छन्। उदाहरणको लागि, मानौँ कुनै घटना घट्छ, र तँ निश्‍चित तरिकाले व्यवहार गर्न चाहन्छस्, तर अर्को व्यक्तिले फरक दृष्टिकोण अघि सार्छ, र त्यो व्यक्तिले गर्ने प्रायजसो देखाउने व्यवहारप्रति तँलाई सहज लाग्दैन—तैँले तिनीहरूको दृष्टिकोणलाई कसरी लिनुपर्छ? तैँले यो मामलालाई कसरी सम्‍हाल्‍नुपर्छ? तैँले तिनीहरूलाई बेवास्ता गर्नु गलत हुनेछ। तँसित तिनीहरूबारे निश्‍चित दृष्टिकोण वा मूल्याङ्कन भएकोले, वा तैँले तिनीहरूबारे एउटा निष्कर्ष निकालेको हुनाले, यी कुराहरूले तेरो सोच र मूल्याङ्कन नियन्त्रित गर्नेछन्, र सम्भवतः यस विषयमा तेरो फैसलालाई पनि प्रभाव पार्नेछन्। त्यसैले तैँले तिनीहरूको फरक दृष्टिकोणलाई शान्तसाथ लिनुपर्छ, र सत्यताअनुसार यसको वास्तविकता स्पष्ट रूपमा खुट्याउनु र बुझ्‍नुपर्छ। यदि तिनीहरूले भनेको कुरा सत्यता सिद्धान्तहरूअनुरूप छन् भने, तैँले त्यसलाई स्विकार्नुपर्छ। तैँले यस विषयलाई स्पष्ट देख्‍न सक्दैनस् भने, यस्तो परिस्थिति वा व्यक्तिलाई भेट्दा, तँलाई सधैँ अन्योल, तयारीहीनता, व्याकुलता र हताश महुसस हुनेछ। कतिपय मानिसहरूले त यो परिस्थिति सामना गर्न र सम्हाल्न चरम शैलीसमेत अपनाउन सक्छन्, जसको अन्तिम परिणाम अवश्य नै कसैले पनि देख्‍न चाहँदैन। यदि तैँले कुनै व्यक्तिलाई हेर्न परमेश्‍वरले तोक्‍नुभएका मापनका मापदण्डहरू प्रयोग गर्छस् भने, अन्तिम परिणाम असल र सकारात्मक हुने सम्‍भावना हुन्छ—तिमीहरू दुईबीच कुनै द्वन्द्व हुनेछैन, र तिमीहरू मिलेर बस्‍नेछौ। तर यदि तँ त्यो व्यक्तिलाई हेर्न शैतानको तर्क र असल व्यवहारसम्‍बन्धी मान्छेको धारणाका मापदण्डहरू प्रयोग गर्छस् भने, तिमीहरू दुई जना लडाइँ र विवाद गर्ने सम्‍भावना हुन्छ। फलस्वरूप तिमीहरू मिलेर बस्‍न सक्‍नेछैनौ, र त्यसबाट धेरै कुरा आउनेछन्: तिमीहरूले एकअर्कालाई अवमुल्यन गर्न, हेला गर्न, आलोचना गर्न, र गम्‍भीर अवस्थामा त कुटाकुट नै गर्न सक्‍नेछौ, र अन्तिममा दुवै पक्षलाई चोट र हानि हुनेछ। यस्तो कुरा कसैले देख्‍न चाहँदैन। त्यसैले, शैतानले मानिसहरूमा घुसाइदिने कुराहरूले तिनीहरूलाई कहिल्यै पनि व्यक्ति वा परिस्थितिलाई निष्पक्ष, न्यायसङ्गत, वा उचित रूपमा हेर्न सहयोग गर्न सक्दैनन्। तर जब मानिसहरूले परिस्थिति वा व्यक्तिलाई परमेश्‍वरले तोक्‍नु र सिकाउनुभएको व्यवहारसम्‍बन्धी मापदण्डअनुसार, र परमेश्‍वरका वचनहरू र सत्यताअनुसार हेर्छन् र मूल्याङ्कन गर्छन्, तब अन्तिम परिणाम अवश्य नै निष्पक्ष हुनेछ, किनभने यो आवेग, वा मान्छेका भावना र अनुभवहरूले अशुद्ध भएको हुँदैन। यसबाट असल कुराहरू मात्रै आउन सक्छन्। यस हिसाबमा, मानिसहरूले के कुरा स्विकार्नुपर्छ: असल कुराहरूसम्‍बन्धी मान्छेका धारणाहरू, कि परमेश्‍वरले तोक्‍नुभएका व्यवहारसम्‍बन्धी मापदण्ड? (परमेश्‍वरले तोक्‍नुभएका व्यवहारसम्‍बन्धी मापदण्ड।) तिमीहरू सबैले त्यो प्रश्‍नको उत्तर जान्दछौ, र सही जवाफ दिन सक्छौ। ठीकै छ, हामी यस विषयको सङ्गतिलाई यहीँ छोड्छौँ। यसपछि तिमीहरूले यी कुराहरूबारे निरन्तर मनन र सङ्गति गरिरहनुपर्छ, यी समस्याहरूलाई पद्धतिबद्ध रूपमै व्यवस्थित गर्नुपर्छ, अभ्यासका धेरै सिद्धान्त र मार्गहरू पत्ता लगाउनुपर्छ, र तिनलाई आफ्‍नो दैनिक जीवनमा निरन्तर पालना र अनुभव गर्नुपर्छ, अनि यी वचनहरूको वास्तविकतामा प्रवेश गर्नुपर्छ। यी वचनहरूको वास्तविकतामा प्रवेश गर्नु प्राकृतिक तवरमै मानिसहरूले पछ्याउनुपर्ने र प्रवेश गर्नुपर्ने पहिलो सत्यता वास्तविकता हो। यसरी, अनुभवको सिलसिलाद्वारा, क्रमिक रूपमा मानिसहरूले यो सङ्गतिको विषयवस्तुको हर पक्षबारे विभिन्‍न हदसम्‍म बुझाइ र ज्ञान प्राप्त गर्नेछन्, र विभिन्‍न दृष्टिकोणबाट झन्झन् बढी सिक्दै जानेछन्। तैँले जति धेरै सिक्छस्, यी वचनहरूसम्‍बन्धी तेरो अनुभावात्मक ज्ञान र प्रवेश त्यति नै गहन हुँदै जानेछ। तँ जति गहन रूपमा तिनमा प्रवेश र अनुभव गर्छस्, मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्ने तेरा दृष्टिकोणहरू, र तेरा व्यवहार र कार्यहरूसम्‍बन्धी तेरो प्रवेश र अनुभावात्मक ज्ञान त्यति नै गहन हुँदै जान्छ। अर्कोतर्फ, यदि तँ यी वचनहरूमा प्रवेश नै गर्दैनस्, र यी वचनहरूलाई त्यतिकै हेर्ने र शाब्दिक अर्थ बुझ्ने मात्रै गर्छस्, र पहिलेजस्तै गरी जिउने, समस्याहरू आउँदा सत्यता खोजी नगर्ने, र ती समस्याहरूलाई परमेश्‍वरका वचनहरूसँग तुलना नगर्ने, वा परमेश्‍वरका वचनहरूअनुसार तिनलाई समाधान नगर्ने गर्दै, यसलाई त्यतिकै छोड्छस् भने, तँ कहिल्यै पनि परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। तँ कहिल्यै पनि सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस् भन्‍नुको अर्थ के हो? यसको अर्थ तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्, र तैँले कहिल्यै पनि सत्यता अभ्यास गर्नेछैनस्, किनभने तैँले सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्ने, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने कहिल्यै गर्नेछैनस्। तँ भन्छस्, “मैले परमेश्‍वरका वचनहरूलाई मेरो आधारको रूपमा, वा सत्यतालाई मेरो मापदण्डको रूपमा नलिए पनि राम्ररी नै जिइरहेको छु।” “राम्ररी नै जिइरहेको छु” भनेर तैँले भन्‍नुको अर्थ के हो? के तँ मरेको छैनस् भन्दैमा सबै कुरा राम्ररी नै अघि बढिरहेको हुन्छ? तैँले पछ्याएको लक्ष्य मुक्ति हासिल गर्नु होइन, र तँ सत्यता स्विकार्ने वा बुझ्‍ने गर्दैनस्, तैपनि राम्ररी जिइरहेको छु भनेर भन्छस्। यदि त्यसो हो भने, तेरो जीवनको गुणस्तर निकै तल्‍लो तहको छ, र तैँले जिउने मानवताको गुणस्तर पनि निकै निकृष्ट छ। बोलीचालको भाषामा भन्दा, तँ व्यक्ति होइन पिशाच होस्, किनभने तँ परमेश्‍वरका वचनहरू खाने-पिउने गर्दैनस् र तँ सत्यता बुझ्दैनस्, तँ अझै पनि शैतानी स्वभाव र शैतानी दर्शनहरूअनुसार जिउँछस्—तँ मानिसको भेषमा भएको गैरमानव होस्। त्यस्तो व्यक्तिको जीवनको गुणस्तर वा मूल्य के हुन्छ? यसले तँलाई वा अरूलाई कुनै फाइदा दिँदैन। यस्तो जीवनको गुणस्तर अत्यन्तै खराब हुन्छ—यसको कुनै मूल्य हुँदैन।

म आज किन यी परम्‍परागत धारणा र परम्‍परागत संस्कृतिबारे सङ्गति र विश्‍लेषण गरिरहेको छु तिमीहरूलाई थाहा छ? के मलाई ती मन नपरेर हो? (होइन, कारण त्यो होइन।) त्यसो भए, यी विषयहरू सङ्गति गर्नुको महत्त्व के हो? यसको अन्तिम लक्ष्य के हो? (यसले हामीलाई हामीमा अझै पनि रहेका के-कस्ता व्यवहार र प्रकटीकरणहरू परम्‍परागत संस्कृतिद्वारा नियन्त्रित र शैतानी दर्शनहरूद्वारा जिइने कुराहरू हुन् भनी जाँच गर्न सहयोग गर्छ। हामीले सत्यता बुझेर समझशक्ति प्राप्त गरिसकेपछि, हामी परमेश्‍वरले हामीलाई दिनुभएका मापदण्ड र मानकहरूअनुसार सामान्य मानवतामा जिउन, र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्‍नेछौँ।) यो सही हो, तर व्याख्या लामो भयो। सबैभन्दा सरल र सीधा जवाफ के हुन्छ? यी विषयहरू सङ्गति गर्नुको एउटै अन्तिम लक्ष्य छ, र त्यो मानिसहरूलाई सत्यता के हो, र सत्यताको अभ्यास के हो भन्‍ने कुरा बुझ्‍न सहयोग गर्नु हो। मानिसहरू यी कुराहरूमा स्पष्ट भएपछि, तिनीहरूलाई परम्‍परागत संस्कृतिले प्रवर्धन गर्ने असल व्यवहारबारे स्पष्ट समझ आउनेछ। तिनीहरूले त्यसउप्रान्त यी असल व्यवहारलाई सत्यता अभ्यास गर्ने वा मानव स्वरूपमा जिउने मानकको रूपमा लिन छोड्नेछन्। सत्यता बुझेर मात्रै मानिसहरूले परम्‍परागत संस्कृतिका बन्धनहरू त्याग्‍न, र सत्यता अभ्यास गर्नेबारे र मानिसहरूमा हुनुपर्ने असल व्यवहारबारे गलत बुझाइ र दृष्टिकोणहरू त्याग्‍न सक्छन्। यसरी मात्रै मानिसहरूले सही तरिकाले सत्यता अभ्यास गर्न र पछ्याउन सक्छन्। यदि मानिसहरूलाई सत्यता भनेको के हो भन्‍ने थाहा छैन र तिनीहरूले परम्‍परागत संस्कृतिलाई सत्यताको रूपमा लिन्छन् भने, तिनीहरूले पछ्याउने दिशा, लक्ष्य, र मार्ग सबै गलत हुनेछन्। तिनीहरू परमेश्‍वरका वचनहरूबाट टाढा गएका, सत्यतासँग बाझिएका, र साँचो मार्गबाट अलग भएका हुनेछन्। त्यसरी, तिनीहरू आफ्‍नै मार्गमा हिँडिरहेका र पथभ्रष्ट भइरहेका हुन्छन्। सत्यता नबुझ्‍ने मानिसहरू सत्यता खोज्‍न र अभ्यास गर्न नसक्‍ने छन् भने, अन्तिम परिणाम के हुनेछ? तिनीहरूले सत्यता प्राप्त गर्नेछैनन्। अनि, यदि तिनीहरूले सत्यता प्राप्त गर्दैनन् भने, तिनीहरूले जति नै धेरै विश्‍वास गरे पनि, यो सब व्यर्थ हुनेछ। त्यसकारण, यी परम्‍परागत धारणाहरू र परम्‍परागत संस्कृतिका यी दाबीहरूसम्‍बन्धी आजको सङ्गति र विश्‍लेषण सबै विश्‍वासीहरूको लागि एकदमै महत्त्वपूर्ण र औधी अर्थपूर्ण छ। तिमीहरू परमेश्‍वरमा विश्‍वास त गर्छौ तर के तिमीहरूले सत्यता के हो भनेर साँच्‍चै बुझेका छौ? सत्यता कसरी पछ्याउने के त्यो तिमीहरूलाई साँच्‍चै थाहा छ? के तिमीहरू आफ्‍ना लक्ष्यहरूप्रति निश्‍चित छौ? के तिमीहरू आफ्‍नो मार्गप्रति पक्‍का छौ? यदि तिमीहरू केही कुराबारे पनि पक्‍का छैनौ भने, तिमीहरूले कसरी सत्यता पछ्याउन सक्छौ? कतै तिमीहरू गलत कुरा पछ्याइरहेको पो हुने हौ कि? तिमीहरू बाटो बिराइरहेको पो हुने हौ कि? यस्तो हुने सम्‍भावना निकै प्रबल छ। त्यसकारण, मैले आज सङ्गति गरिरहेका वचनहरू सतही रूपमा अत्यन्तै सरल, र मानिसहरूले सुन्‍नेबित्तिकै बुझ्‍नेजस्ता देखिए पनि, र तिमीहरूको दृष्टिकोणबाट, ती उल्‍लेखनीय नदेखिए पनि, यो विषय र यसको अन्तर्वस्तु प्रत्यक्ष रूपमा सत्यतासँग सम्‍बन्धित छ, र यसले परमेश्‍वरका मापदण्डहरूसँग सरोकार राख्छ। यो कुरा तिमीहरूमध्ये धेरैजसोलाई थाहै छैन। धर्मशिद्धान्तको हिसाबमा त तिमीहरूले परम्‍परागत संस्कृति र मानवजातिका सामाजिक विज्ञानहरू सत्यता होइनन्, र जातीय प्रथा र अभ्यासहरू त झन् निश्‍चय नै सत्यता होइनन् भनेर बुझ्छौ, तर के तिमीहरू साँच्‍चै स्पष्ट रूपमा यी कुराहरूको सार देख्छौ त? के तिमीहरूले साँच्‍चै यी कुराका बन्धनहरू त्यागेका छौ? त्यागेकै छौ भन्‍ने जरुरी छैन। परमेश्‍वरको घरले मानिसहरूलाई जातीय संस्कृति, रीतिरिवाज, र अभ्यासहरू अध्ययन गर्न जोड गर भनेर कहिल्यै भनेको छैन, र निश्‍चय नै परमेश्‍वरको घरले मानिसहरूलाई परम्‍परागत संस्कृतिका कुनै पनि कुरा स्विकार्न पनि लगाएको छैन। परमेश्‍वरको घरले कहिल्यै पनि यी कुराहरू भनेको छैन। तैपनि, आज मैले सङ्गति गरिरहेको विषय अत्यन्तै महत्त्वपूर्ण छ। मैले यो कुरा स्पष्टसँग बताउनु आवश्यक छ ताकि तिमीहरूले बुझ्‍न सक। मैले यी कुराहरू बताउनुको उद्देश्य मानिसहरूलाई सत्यता र परमेश्‍वरका अभिप्रायहरू बुझ्‍न लगाउनु मात्र हो, तर के तिमीहरू सबैले मैले भनेको कुरा बुझ्न सक्छौ? केही मेहनत गर्‍यौ, अलिकति मूल्य चुकायौ, र केही ऊर्जा लगायौ भने, तिमीहरू अन्त्यमा यो क्षेत्रमा उपलब्धि हासिल गर्न र यी सत्यताहरू बुझ्‍न सफल हुन सक्‍नेछौ। अनि यी सत्यताहरू बुझिसकेपछि, र सत्यता वास्तविकतामा प्रवेश गर्ने खोजमा लाग्दा, तिमीहरूलाई परिणामहरू प्राप्त गर्न सजिलो हुनेछ।

हामीले यसअघि सङ्गति गरेको, मानिसहरूले आफ्‍ना धारणाहरूमा सही र असल ठान्‍ने कुराहरूको एउटा पक्ष मानिसको असल व्यवहार थियो। अर्को पक्ष के थियो? (मानिसको नैतिकता र मानवताको गुणस्तर।) सरल भाषामा भन्दा, यो मानिसको नैतिक आचरण हो। सबै भ्रष्ट मानिसहरू आफ्नो शैतानी स्वभावअनुसार जिउने भए पनि, तिनीहरू आफ्‍नो वास्तविक रूप लुकाउन निकै सिपालु हुन्छन्। सतही तहका शैली र व्यवहारहरूसँग विशेष रूपमा सम्‍बन्धित भनाइहरूबाहेक, तिनीहरूले मानिसका नैतिक आचरणसँग सम्‍बन्धित धेरै भनाइ र मापदण्डहरू पनि सिर्जना गरेका छन्। मानिसहरूमाझ नैतिक आचरणका के-कस्ता भनाइहरू चलनचल्तीमा छन्? तिमीहरूले आफूलाई थाहा भएका र आफू परिचित रहेका भनाइहरूको सूची बनाओ, त्यसपछि विश्‍लेषण र सङ्गति गर्न तीमध्येबाट हामीले केही प्रचलित भनाइहरू छनौट गर्नेछौँ। (भेटेको पैसा लिनु हुँदैन। अरूलाई सहयोग गर्दा आनन्द मिल्छ।) (दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ।) (अरूको खातिर आफ्‍ना हितहरू त्याग गर।) (खराबीलाई भलाइले जित्‍नुपर्छ।) (स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ।) (आफूलाई कडाइ गर्नू र अरूलाई सहनू।) हो, यी सबै राम्रा उदाहरणहरू हुन्। यसबाहेक, “इनारको पानी पिउँदा, इनार खन्‍ने व्यक्तिलाई नबिर्सिनू,” “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” अनि “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइहरू पनि छन्। यी सबै मानिसको नैतिक आचरणको विषयमा अघि सारिएका मापदण्डहरू हुन्। अरू कुनै छन्? (सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ।) यो पनि मानवजातिको परम्‍परागत संस्कृतिले मान्छेको नैतिक आचरणको विषयमा अघि सारेको मापदण्ड हो, र यो मानिसहरूको नैतिक आचरण मूल्याङ्कन गर्ने मानक हो। अरू के छ? (आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन।) यो अलिक सरल छ, तर यो पनि त्यस्तै भनाइमा पर्छ। अरू पनि छन्, “साथीको लागि गोली खान तयार छु,” “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन,” “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन,” अनि “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ।” के यी अरू उदाहरणहरू होइनन् र? (हजुर, हो।) यस्तो भनाइ पनि छ, “रेसम कीराले बाँचुन्जेल धागो बुन्छ, मैनबत्तीले आफू जलेर उज्यालो दिन्छ।” मानिसको आचरण र व्यवहारबारे तिनीहरूको अपेक्षा कति उच्‍च छ, हेर त। तिनीहरूले मानिसहरू जीवनभर मैन बत्तीजस्तै जलेर खरानी बनून् भन्‍ने चाहन्छन्। व्यक्तिले यस्तो व्यवहार गर्छ भने मात्रै उसमा उच्‍च नैतिक चरित्र छ भन्‍ने मानिन्छ। के यो उच्‍च अपेक्षा होइन र? (हजुर, हो।) मानिसहरू परम्‍परागत संस्कृतिका यी पक्षहरूको प्रभाव र बन्धनमा हजारौँ वर्षदेखि रहिआएका छन्, अनि परिणाम के आएको छ? के तिनीहरू मानव स्वरूपमा जिइरहेका छन्? के तिनीहरूले अर्थपूर्ण जीवन जिइरहेका छन्? मानिसहरू आफ्‍नो जवानी त्याग्दै, र आफ्‍नो सारा जीवनसमेत त्याग्दै परम्‍परागत संस्कृतिले तोकेका यी कुराहरूको लागि जिउँछन्, र यस क्रममा तिनीहरूले आफ्‍नो जीवन निकै गौरव र महिमाले भरिएको छ भन्‍ने विश्‍वास गर्छन्। अनि अन्त्यमा, तिनीहरूको मृत्यु हुँदा, तिनीहरूलाई तिनीहरू केको लागि मरे, वा तिनीहरूको मृत्युको कुनै मूल्य र अर्थ छ कि छैन, वा तिनीहरूले आफ्‍ना सृष्टिकर्ताका मापदण्डहरू पूरा गरे कि गरेनन् भन्‍ने थाहै हुँदैन। मानिसहरू यी कुराहरूप्रति पुरै अनभिज्ञ हुन्छन्। मानिसहरूको नैतिक आचरणबारे परम्‍परागत संस्कृतिका अरू के-कस्ता भनाइ र मापदण्डहरू छन्? “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ,” र “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर” भन्‍ने भनाइहरू पनि यस्तै हुन्। यस्तो भनाइ पनि छ, “मर्दको बोली र बन्दुकको गोली उस्तै हो,” यो मापदण्ड मानिसको विश्‍वसनीयतासँग सम्‍बन्धित छ। अरू कुनै छ? (हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने।) यो वाक्यांश केही हदसम्‍म यो विषयसँग सम्‍बन्धित छ। मलाई लाग्छ हामीले पुग्दो उदाहरणहरूको सूची बनाइसक्यौँ। हामीले भर्खरै उल्‍लेख गरेका भनाइहरू मानिसको समर्पणता, देशभक्ति, विश्‍वसनीयता, नैतिक शुद्धतासम्बन्धी मापदण्डहरू हुन्, साथै ती अरूसँग कसरी अन्तरक्रिया गर्ने र आफूलाई सहयोग गर्ने व्यक्तिसँग कस्तो व्यवहार गर्ने, वा दयाको गुन कसरी फर्काउने, आदि इत्यादि कुराहरूसँग सम्‍बन्धित सिद्धान्तहरू हुन्। यीमध्ये केही भनाइहरू सरल छन्, र बाँकी अरू अलिक गहन छन्। यीचाहिँ सबैभन्दा सरल हुन्: “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ,” “भेटेको पैसा लिनु हुँदैन,” र, “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन।” यी मापदण्डहरू मान्छेको व्यवहारसँग सम्‍बन्धित छन्। “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइ मानिसहरूको सत्यनिष्ठा र नैतिक शुद्धतासँग सम्‍बन्धित मापदण्ड हो। यी भनाइहरू लगभग परम्‍परागत चिनियाँ संस्कृतिको परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयताका अवधारणाहरूभित्र पर्छन्। हामीले भर्खरै कति वटा भनाइहरूको सूची बनायौँ? (एक्काइस वटा।) मलाई पढेर सुनाओ त। (“भेटेको पैसा लिनु हुँदैन,” “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ,” “आफूलाई कडाइ गर्नू र अरूलाई सहनू,” “खराबीलाई भलाइले जित्‍नुपर्छ,” “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ,” “अरूको खातिर आफ्नो हित त्याग,” “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ,” “इनारको पानी पिउँदा, इनार खन्‍ने व्यक्तिलाई नबिर्सिनू,” “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्‍नू,” “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ,” “आफूले नचाहेको कुरा अरूमाथि लाद्‌नु हुँदैन,” “साथीको लागि गोली खान तयार छु,” “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन,” “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्‍नु हुँदैन,” “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ,” “रेसम कीराले बाँचुन्जेल धागो बुन्छ, मैनबत्तीले आफू जलेर उज्यालो दिन्छ,” “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ,” र “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो गर,” “मर्दको बोली र बन्दुकको गोली उस्तै हो,” र “हिलोबाट पनि शुद्ध भई निस्किने, सङ्ग्लो पानीले पखालिए पनि नटल्किने।”) आज हामी नैतिक आचरणको विषयमा मानवजातिले बटुलेका यी सबै “असल” गुणहरूबारे अलि उच्‍च तहको अध्ययन गर्नेछौँ। नैतिक आचरणसम्‍बन्धी परम्‍परागत संस्कृतिका विभिन्‍न दाबीहरूले मान्छेको मानवता र नैतिक आचरणका फरकफरक मापदण्डहरू अघि सारेका छन्। कतिले मानिसहरूलाई आफूले पाएको गुन फर्काउन लगाउँछन् भने, कतिले मानिसहरूले अरूलाई सहयोग गरेर आनन्द लिनुपर्छ भन्छन्, कति भनाइहरू आफूले मन नपरेका मानिसहरूसँग गर्ने व्यवहारका तरिकाहरू हुन् भने, कति भनाइहरूचाहिँ अरूका कमजोरी र त्रटिहरूलाई कसरी लिने, वा समस्या भएका मानिसहरूसँग कस्तो व्यवहार गर्ने भन्‍ने विधिहरू हुन्। यी क्षेत्रहरूमा, यी भनाइहरूले मानिसहरूलाई केही सीमा प्रदान गर्छन्, र केही मापदण्ड र मानकहरू अघि सार्छन्। यी सबै नै परम्‍परागत संस्कृतिले तोकेका मान्छेको नैतिक आचरणसम्‍बन्धी मापदण्ड र मानकहरू हुन्, र यी सबै नै मानिसहरूमाझ चलनचल्तीमा रहेका कुराहरू हुन्। चीनमा हुर्केका जोकोहीले यी भनाइहरू धेरैपटक सुनेका छन्, र तिनको अर्थ कण्ठ पारेका छन्। नैतिक आचरणसम्‍बन्धी परम्‍परागत संस्कृतिका यी दाबीहरू लगभग सबै नै परोपकार, धार्मिकता, सद्‍व्यवहार, बुद्धि, र विश्‍वसनीयताको क्षेत्रभित्र पर्छन्। अवश्य नै, यो क्षेत्रभन्दा बाहिर पर्ने केही भनाइहरू पनि छन्, तर मुख्‍यमुख्य भनाइहरू लगभग सबै यही क्षेत्रभित्र पर्छन्। यस विषयमा तिमीहरू स्पष्ट हुनुपर्छ।

आज, हामी नैतिक आचरणसम्‍बन्धी कुनै खास अभिव्यक्तिको अर्थ के हो भन्‍नेबारेमा ठोस सङ्गति गर्नेछैनौँ, न त कुनै खास भनाइको सार के हो भन्‍नेबारेमा नै ठोस चिरफार गर्नेछौँ। सुरुमा म तिमीहरूलाई अलिअलि प्रारम्भिक अध्ययन गर्न लगाउनेछु। नैतिक आचरणसम्‍बन्धी परम्‍परागत संस्कृतिका दाबीहरू, र सामान्य मानवतामा जिउनको लागि परमेश्‍वरले मानिसलाई तोकिदिनुभएका मापदण्डहरूबीचमा के-कस्ता भिन्‍नताहरू छन् त्यसलाई हेर। परम्‍परागत संस्कृतिका कुन-कुन भनाइहरू परमेश्‍वरका वचनहरू र सत्यतासँग स्पष्‍ट रूपमा बाझिन्छन्? शाब्दिक अर्थ लगाउँदा, कुन-कुन भनाइहरू परमेश्‍वरका वचनहरू र सत्यताजस्ता देखिन्छन्, वा केही हदसम्‍म तीसँग जोडिएका हुन्छन्? यीमध्ये कुन-कुन भनाइलाई तँ सकारात्मक ठान्छस्, र यीमध्ये कुन-कुन भनाइलाई तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि तेरो सत्यता पछ्याउने कार्यको लागि ती मापदण्ड नै हुन् जस्तै गरी अभ्यास र पालना गर्दै कडाइका साथ अबलम्बन गरिरहिस्? उदाहरणको लागि, “अरूको खातिर आफ्‍ना हितहरू त्याग गर।” के तिमीहरू सबै यो भनाइप्रति परिचित छौ? परमेश्‍वरमा विश्‍वास गरेपछि, के तिमीहरूलाई आफू यस्तै असल व्यक्ति बन्‍नुपर्छ भन्‍ने लागेन? अनि अरूका खातिर आफ्‍ना हितहरू त्याग्दा, के तँलाई तँसँग निकै असल मानवता छ, र परमेश्‍वरले अवश्य नै तँलाई मन पराउनुहुनेछ भन्‍ने लागेन? अथवा, परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, सायद तँ “दुष्टतालाई भलाइले जित्‍ने” गुण भएका मानिसहरू असल मानिसहरू हुन् भन्‍ने सोच्थिस् होला—तर तँ बस यसो गर्न इच्छुक हुँदिनथिस्, तँ यसो गर्न सक्षम थिइनस्, र तँ यो कुरा अबलम्बन गरिरहन पनि सक्दैनथिस्, अनि परमेश्‍वरमा विश्‍वास गरेपछि, तैँले आफूलाई त्यो मापदण्डमा अडिग राखिस्, र विगतमा तँलाई चोट पुर्‍याउने मानिसहरूप्रति, वा तैँले द्वेष राखेका वा घृणा गरेका मानिसहरूप्रति “क्षमा दिने र बिर्सने” भनाइ अभ्यास गर्न सक्षम भइस्। तँलाई नैतिक आचरणसम्‍बन्धी यो भनाइ प्रभु येशूले भन्‍नुभएको सातगुणा सत्तरीपटक मानिसहरूलाई क्षमा दिनुपर्छ भन्‍ने वचनसँग मिलेजस्तो लागेको हुन सक्छ, र यसरी तँ यो भनाइअनुसार आफूलाई संयम राख्‍न अत्यन्तै इच्छुक भएको हुन सक्छस्। तैँले यसलाई सत्यता नै हो जस्तै गरी अभ्यास र पालनासमेत गरेको हुन सक्छस्, र दुष्टतालाई भलाइले जित्‍ने अभ्यास गर्ने मानिसहरू सत्यता अभ्यास गर्ने र परमेश्‍वरको मार्ग पछ्याउने मानिसहरू हुन् भन्‍ने सोचेको हुन सक्छस्। के तिमीहरूमा यस्ता विचार वा प्रकटीकरणहरू आउँछन्? तिमीहरूलाई कुन भनाइ अझै पनि सारको हिसाबमा सत्यता र परमेश्‍वरका वचनहरूजस्तै छ, र यसले सत्यताको स्थानसमेत लिन सक्छ, र यसलाई सत्यता हो भनेर भनिरहनु पर्दैन भन्‍ने लाग्छ? अवश्‍य नै, यो भनाइ पत्ता लगाउन सजिलो छ: “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ।” धेरैजसो मानिसहरूले यो भनाइ सत्यता होइन, र यो भ्रामक तर उत्कृष्ट सुनिने नारा मात्रै हो भनेर बुझ्न सक्छन्। “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइ परमेश्‍वरमा विश्‍वास नगर्ने गैरविश्‍वासीहरूको निम्ति भनिएको भनाइ हो; यो भनाइ कुनै देशको सरकारले आफ्‍नो देशलाई प्रेम गर्न सिकाउन जनताहरूलाई दिने मापदण्ड हो। यो भनाइ सत्यतासँग मिल्दैन, र परमेश्‍वरका वचनहरूमा यसको कुनै आधार छैन। सीधै भन्‍न सकिन्छ कि यो भनाइ आधारभूत रूपमा सत्यता होइन, न त यसले सत्यताको ठाउँ नै लिन सक्छ। यो भनाइ पुरै शैतानबाट आउने र शैतानमै उत्पत्ति हुने एउटा दृष्टिकोण हो, र यो शासक वर्गको हितमा छ। परमेश्‍वरका वचनहरू वा सत्यतासँग यसको कुनै सम्‍बन्ध छैन। त्यसैले “हरेक व्यक्तिले आफ्‍नो देशको भाग्यको जिम्‍मेवारी बोकेको हुन्छ” भन्‍ने भनाइ अवश्य नै सत्यता होइन, न त यो सामान्य मानवता भएको व्यक्तिले पालना गर्नुपर्ने कुरा नै हो। त्यसो भए, कस्ता मानिसहरू यो भनाइलाई सत्यता भनेर झुक्‍किन सक्छन्? सधैँ प्रतिष्ठा, हैसियत, र व्यक्तिगत नाफा कमाउने उपायहरू सोच्‍ने मानिसहरू, र अधिकारी बन्‍न चाहने मानिसहरू। शासक वर्गको चापलुसी गर्न र आफ्‍नै उद्देश्यहरू हासिल गर्नको लागि तिनीहरूले यो भनाइलाई सत्यता नै हो जस्तै गरी अभ्यास गर्छन्। कतिपय भनाइहरूको वास्तविकता पहिचान गर्न मानिसहरूलाई गाह्रो हुन्छ। यी भनाइहरू सत्यता होइनन् भन्‍ने थाहा भएर पनि, मानिसहरूलाई अझै पनि हृदयमा यी भनाइहरू सही र सिद्धान्तअनुरूप छन् भन्‍ने लाग्छ। तिनीहरू आफ्‍नो नैतिकताको स्तर बढाउन, अनि आफ्‍नो व्यक्तिगत आकर्षण उच्‍च पार्न, साथै अरूलाई तिनीहरूमा मानवता छ र तिनीहरू गैरमानव होइनन् भन्‍ने देखाउनको लागि यी भनाइहरूअनुसार जिउन र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्न चाहन्छन्। तिमीहरूलाई कुन-कुन भनाइहरूको वास्तविकता बुझ्न गाह्रो भएको थियो? (मलाई लाग्छ, “दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ” भन्‍ने भनाइको वास्तविकता बुझ्न निकै गाह्रो भएको थियो। म त यसलाई सकारात्मक कुराको रूपमा लिन्थेँ, र कृतज्ञताको साथ आफूले पाएको गुन फर्काउनेहरू विवेक भएका मानिसहरू हुन् भन्‍ने सोच्थेँ। “अरूले तिमीलाई सुम्पेको कुरा निष्ठासाथ पूरा गर्न सक्दो प्रयास गर” भन्‍ने भनाइ पनि यस्तै हो। यसको अर्थ के हो भने, व्यक्तिले अरू कसैबाट काम पाइसकेको हुने हुनाले, यो काम राम्ररी गरिने कुरा सुनिश्‍चित गर्न उसले सक्दो गर्नुपर्छ। मलाई यो सकारात्मक कुरा हो, र विवेक र समझ भएको व्यक्तिले गर्नुपर्ने कुरा हो जस्तो लाग्थ्यो।) अरू कोही छ? (“सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” भन्‍ने भनाइ पनि छ। मलाई यस्तो गर्न सक्‍ने व्यक्ति केही मानवता र नैतिकता भएको व्यक्ति हो जस्तो लाग्थ्यो।) अरू कुनै छ? (“मर्दको बोली र बन्दुकको गोली उस्तै हो।” मलाई के लाग्थ्यो भने, यदि कसैले आफूले भनेको कुरा पूरा गर्छ र ऊ भरोसालायक छ भने, त्यो राम्रो नैतिक आचरण हो।) पहिले, तँ यसलाई असल नैतिक आचरण ठान्थिस्। अहिले यसलाई तँ कसरी हेर्छस्? (हामीले “शब्द” को प्रकृति के हो त्यसलाई हेर्नुपर्छ—यो सही छ कि गलत? यो सकारात्मक छ कि नकारात्मक? यदि कसैले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई, “मर्दको बोली र बन्दुकको गोली उस्तै हो, म तिम्रो रक्षा अवश्य गर्नेछु” भनेर भन्छ, र जब परमेश्‍वरको घरले परिस्थितिको अनुसन्धान र जाँच गर्छ, उसले ती दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको रक्षा गर्छ भने, यो व्यक्तिले दुष्कर्म गरिरहेको र परमेश्‍वरको विरोध गरिरहेको हुन्छ।) यो बुझाइ सही छ। तिमीहरूले “शब्द” को प्रकृति हेर्नुपर्छ—यो सकारात्मक हो कि नकारात्मक, त्यो हेर्नुपर्छ। यदि कसैले “मर्दको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइ अभ्यास गर्दा खराब काम वा दुष्कर्म गरिरहेका छन् भने, तिनीहरूको दुष्कर्मका पाइलाहरू तेज दौडिरहेका घोडाका अनियन्त्रित वेगजस्तै हुन्, जसले गर्दा तिनीहरू सीधै नरकमा खसेर अतल कुण्‍डमा पर्छन्। तर यदि तिनीहरूको “शब्द” सत्यताअनुरूप छ, र यसमा इन्साफको बोध छ, र यसले परमेश्‍वरको घरको कामको रक्षा गर्छ, र परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ भने, “मर्दको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइ अभ्यास गर्नु सही नै हुन्छ। यी उदाहरणहरूबाट, तिमीहरूले परम्‍परागत संस्कृतिका शब्दहरूको भित्री अर्थ चिन्‍नुपर्छ भन्‍ने कुरा बुझ्यौ। तिमीहरूले फरकफरक परिस्थिति र पृष्ठभूमिहरूलाई खुट्याएर हेर्नुपर्छ, र तिमीहरूले यी शब्दहरूलाई अविवेकी रूपमा प्रयोग गर्नु हुँदैन। कतिपय शब्दहरू अवश्य नै वास्तविकतासँग मिल्दैनन्, र स्पष्ट रूपमै गलत हुन्छन्। यी शब्दहरू प्रयोग गर्ने क्रममा तिमीहरू विशेष सतर्क हुनुपर्छ। तिमीहरूले यी कुराहरूलाई झूटा शिक्षा र भ्रमहरूकै रूपमा लिनुपर्छ। केही शब्दहरू निश्‍चित प्रसङ्ग र क्षेत्रमा मात्रै सही हुन्छन्। फरक परिस्थिति वा वातावरणमा, ती शब्दहरूको अर्थ हुँदैन; ती गलत र मानिसहरूका लागि हानिकारक हुन्छन्। तिमीहरूले ती कुराहरूको वास्तविक अर्थ चिन्‍न सकेनौ भने, ती कुराले तिमीहरूमाथि विष हाल्न र हानि गर्न सक्छन्। परम्‍परागत संस्कृतिका शब्दहरू सही भए नि गलत भए नि, मानिसको नजरमा ती जायज देखिए नि नदेखिए नि, यस्ता कुनै पनि भनाइहरू सत्यता होइनन्, र यी परमेश्‍वरका वचनहरूअनुरूप छैनन्। यो कुरा निश्‍चित छ। मानिसले सही ठानेका कुराहरूलाई परमेश्‍वरले पनि सही ठान्‍नुहुन्छ भन्‍ने छैन। मानिसले असल ठानेका शब्दहरूलाई व्यवहारमा लागू गर्दा मानिसहरूको लागि ती फाइदाजनक नै हुन्छन् भन्‍ने छैन। चाहे जे होस्, सत्यताअनुरूप नरहेका कुराहरू, अर्थात् सत्यता नभएका कुराहरू मानिसहरूले अभ्यास गरे नि नगरे नि, वा तिनीहरूको लागि ती उपयोगी भए नि नभए नि, मानछेको लागि ती सबै हानिकारक हुन्छन्, र तिनलाई स्विकारिनु र प्रयोग गरिनु हुँदैन। धेरै मानिसहरूले यी कुराहरू चिन्‍न सक्दैनन्। तिनीहरू मानिसले सही ठान्‍ने, वा भ्रष्ट मानवजातिले आम रूपमा सही भनी सहमति जनाउने कुराहरूलाई सत्यताको रूपमा लिन्छन्, र तिनलाई सत्यताझैँ पालना र अभ्यास गर्छन्। के यो उचित छ? के झूटा सत्यताहरू र नक्‍कली सत्यताहरू अभ्यास गरेर परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ? मानवजातिले आम रूपमा सही र सत्य ठानेको कुनै पनि कुरा गलत हुन्छ, कृत्रिम हुन्छ, र त्यसलाई सधैँको लागि इन्कार गरिनुपर्छ। अब, के तिमीहरूले सही र सकारात्मक ठान्‍ने कुराहरू वास्तवमा सत्यता हुन् त? हजारौँ वर्षमा, कुनै पनि व्यक्तिले यी शब्दहरूलाई इन्कार गरेको छैन; सबै मानिसहरूले यी शब्दहरूलाई सही र सकारात्मक ठानेका छन्, तर के यी शब्दहरू वास्तवमा सत्यता बन्‍न सक्छन् त? (अहँ, सक्दैनन्।) यदि यी शब्दहरू सत्यता बन्‍न सक्दैनन् भने, के ती आफै सत्यता हुन् त? (अहँ, होइनन्।) ती सत्यता होइनन्। यदि मानिसहरूले यी शब्दहरूलाई सत्यताको रूपमा लिन्छन्, र परमेश्‍वरका वचनहरूसँग मिसाएर सँगै अभ्यास गर्छन् भने, के ती शब्द र भनाइहरू सत्यताको स्तरमा पुग्‍न सक्छन् त? अवश्यै सक्दैनन्। मानिसहरूले यी कुराहरूको जति नै पछि लागे पनि वा जे-जसरी यी कुराहरूमै अडिग रहिरहे पनि, यी कुराहरूलाई परमेश्‍वरले कहिल्यै अनुमोदन गर्नुहुनेछैन, किनभने परमेश्‍वर पवित्र हुनुहुन्छ। उहाँले भ्रष्ट मानिसहरूलाई सत्यता वा उहाँका वचनहरूमा शैतानी कुराहरू मिसाउन कदापि दिनुहुन्‍न। मानिसका विचार र दृष्टिकोणहरूबाट आउने सबै कुरा शैतानबाट आउँछन्—जति नै असल भए पनि, ती सत्यता होइनन्, र ती मानिसको जीवन बन्‍न सक्दैनन्।

नैतिक आचरणसम्‍बन्धी परम्‍परागत संस्कृतिका भनाइहरू शैतानबाट आएका हुन्छन्। ती भ्रष्ट मानिसहरूमाझ खडा भएका छन्, र ती गैरविश्‍वासीहरू र सत्यतालाई प्रेम नगर्नेहरूका लागि मात्रै उपयुक्त हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने मानिसहरूले यी कुराहरूलाई सुरुमै चिन्‍न र इन्कार गर्न सक्‍नुपर्छ, किनभने यी भनाइहरूले मानिसहरूलाई केही नकारात्मक प्रभाव पार्छन्, दिग्भ्रमित बनाउँछन् र गलत बाटो हिँडाउँछन्। उदाहरणको लागि, हामीले भर्खरै दिएका उदाहरणहरूमध्ये, एउटा भनाइ यस्तो छ: “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन।” हामी सुरुमा (एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन” भन्‍ने भनाइबारे कुरा गरौँ। यदि राजा बुद्धिमान्‌, सक्षम, र सकारात्मक व्यक्ति हो भने, तैँले उसलाई साथ दिएको, पछ्याएको, र उसको रक्षा गरेको कुराले तँमा मानवता, नैतिकता, र आदर्श चरित्र छ भन्‍ने देखाउँछ। तर यदि राजा तानाशाही र मूर्ख छ, दियाबलसजस्तो छ, र तैँले उसलाई पछ्याउँछस्, उसको रक्षा गर्छस्, र ऊविरुद्ध उठ्दैनस् भने, तँमा रहेको “बफादारिता” के हुन्छ? यो त मूर्खता र अन्धोभक्ति हो; यो आँधो र मूर्ख कार्य हो। त्यस अवस्थामा, तेरो बफादारिता गलत हुन्छ र यो नकारात्मक कुरा बनेको हुन्छ। यस्तो पैशाचिक राजा र दियाबलसको हकमा, तैँले यो “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन” भन्‍ने भनाइ अबलम्बन गरिरहनु हुँदैन। तैँले यो राजालाई छोड्नुपर्छ, उसलाई इन्कार्नुपर्छ, र ऊबाट टाढा बस्‍नुपर्छ—तैँले अन्धकार त्यागेर ज्योति रोज्‍नुपर्छ। यदि तँ अझै पनि यो पैशाचिक राजाप्रति बफादार हुने निर्णय गर्छस् भने, तँ उसैको दास र मतियार होस्। त्यसकारण, निश्‍चित परिस्‍थिति र प्रसङ्गहरूमा, यो भनाइले प्रस्तुत गर्ने विचार, वा सकारात्मक अर्थ र मूल्य अस्तित्वमै हुँदैन। यसबाट तिमीहरूले के देख्‍न सक्छौ भने, यो भनाइ निकै न्यायोचित र सकारात्मक देखिए पनि, यसलाई खास परिस्‍थिति र प्रसङ्गहरूमा मात्रै लागू गर्न सकिन्छ; यसलाई हरेक परिस्‍थिति वा प्रसङ्गमा लागू गर्न सकिँदैन। यदि मानिसहरू अन्धाधुन्ध र मूर्ख रूपमा यो भनाइमै अल्झिरहन्छन् भने, तिनीहरूले आफ्‍नो मार्ग गुमाउनेछन् र गलत मार्गमा पर्नेछन्। यसका परिणामहरू अशोचनीय हुन्छन्। यो भनाइको अर्को वाक्यांश छ: “एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन।” यहाँ “असल स्‍त्री” ले केलाई जनाउँछ? यसले चोखो, र एउटै श्रीमानप्रति बफादार रहने महिलालाई जनाउँछ। ऊ उसको श्रीमान्‌प्रति मृत्युसम्‍मै बफादार हुनुपर्छ, र उसको श्रीमान्‌ असल भए पनि नभए पनि उसले कहिल्यै हृदय परिवर्तन गर्नु हुँदैन। श्रीमानको मृत्यु भयो भने पनि, उसले आफ्‍नो अन्तिम दिनसम्‍मै विधवा भएर बस्‍नुपर्छ। तथाकथित चोखो र बफादार पत्‍नी त्यही हो। परम्‍परागत संस्कृतिले सबै महिलाहरूलाई चोखो र बफादार श्रीमती बन्‍ने मापदण्ड दिएको छ। के यो महिलाहरूलाई व्यवहार गर्ने निष्पक्ष तरिका हो त? किन पुरुषले एकभन्दा बढी पत्‍नी ल्याउन सक्छ, तर महिलाले श्रीमान मरेपछि पनि अर्को विवाह गर्न पाउँदिन? यहाँ पुरुष र स्‍त्रीको हैसियत समान छैन। यदि कुनै महिलाले “एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइको बन्धनमा परेर चोखो र बफादार श्रीमती हुने निर्णय गरी भने, उसले के पाउन सक्छे? बढीमा, उसको मृत्युपछि उसको चोखोपनलाई स्मरण गर्दै एउटा स्मारक बनाइन्छ होला। के यो अर्थपूर्ण हुन्छ त? के त्यो महिलाले जीवनमा साह्रै दुःख पाएकी हुन्छे भन्‍नेमा तिमीहरू सहमत छौ? किन उसले श्रीमान मरेपछि अर्को विवाह गर्ने अधिकार पाउँदिन? यो परम्‍परागत संस्कृतिले उत्साहसाथ जोड दिने दृष्टिकोण हो, र यो मानवजातिले सधैँ अवलम्बन गर्दै आएको धारणा हो। यदि कुनै महिलाको श्रीमान मर्‍यो र धेरै बालबच्‍चा छोडेर गयो भने, अनि त्यो महिलासित ती बालच्‍चा पालनपोषण गर्ने सामर्थ्य छैन भने, उसले के गर्न सक्छे? उसले मागेर खान बाध्य हुनुपर्छ। यदि उसले आफ्ना छोराछोरीले कष्ट भोगेको चाहँदिन र बाँच्‍ने उपाय निकाल्‍न चाहन्छे भने, उसले अर्को विवाह गर्नुपर्छ, र आफ्‍नो नाम कलङ्कित गरेर भए पनि, र समाजले कुरा काटेको, र समाज र बहुसङ्ख्यक मानिसहरूले छिछि-दूरदूर गरेको र हेला गरेको सहँदै जिउनुपर्छ। उसले नचाहेको गाँस निल्दै समाजका अपमानहरू सहनुपर्छ ताकि उसका छोराछोरी राम्ररी हुर्कन सकून्। यो दृष्टिकोणबाट हेर्दा, ऊ “एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने मापदण्डअनुसार नजिए पनि, उसको व्यवहार, शैली, र त्याग सम्‍मानजनक हुँदैन र? कम्तीमा पनि, जब उसका छोराछोरी बढेर आफूहरूप्रतिको आमाको प्रेमलाई बुझ्छन्, तब तिनीहरूले उसलाई सम्‍मान गर्नेछन्, र तिनीहरूले अवश्य नै उसलाई उसको व्यवहारको निम्ति हेला गर्ने वा ऊबाट टाढा बस्‍ने गर्नेछैनन्। बरु, तिनीहरू कृतज्ञ हुनेछन्, र तिनीहरूकी जस्तो आमा बिरलै पाइन्छ भन्‍ने सोच्‍नेछन्। तैपनि, चलनचल्तीको विचार तिनीहरूको विचारसँग मिल्दैन। समाजको विचार त “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइसँग मिल्छ, र मानिसले यसैको वकालत गर्छ, समाजको यस्तो विचारको दृष्टिकोणबाट हेर्दा त, जसरी हेरे पनि, यो आमा असल व्यक्ति हुँदिन, किनभने उसले नैतिकताको यो परम्‍परागत धारणालाई उल्‍लङ्घन गरेकी हुन्छे। फलस्वरूप, तिनीहरूले उसलाई समस्याग्रस्त नैतिक आचरण भएको व्यक्ति भन्छन्। त्यसो भए, ऊप्रतिका उसका छोराछोरीका विचार र दृष्टिकोणहरू परम्‍परागत संस्कृतिले उसलाई हेर्ने दृष्टिकोणभन्दा किन फरक हुन्छ? किनभने उसका छोराछोरीले यस कुरालाई जीवित रहने प्रक्रियाको दृष्टिकोणले हेर्छन्। यदि यस महिलाले अर्को विवाह नगरेकी भए, ऊ र उसका छोराछोरीसँग बाँच्‍ने आधार हुने थिएन। यदि उसले यो परम्‍परागत धारणालाई अङ्गालेकी भए, ऊ बाँच्‍ने कुनै उपाय हुने थिएन—ऊ भोकले मर्ने थिई। उसले आफ्‍ना छोराछोरी र आफ्‍नो ज्यान बचाउन अर्को विवाह गर्ने निर्णय गरी। यो प्रसङ्गको आधारमा, के परम्‍परागत संस्कृति र आम मान्यताले उसलाई दोष लगाउनु पूर्ण रूपमा गलत हुँदैन र? यिनीहरूले त मानिसहरू जिऊन् कि मरून्, कुनै ध्यान नै दिँदैनन्! अनि, नैतिकतासम्‍बन्धी परम्‍परागत धारणालाई अङ्गालेर राख्‍नुको अर्थ र मूल्य के भयो र? यसमा कुनै मूल्य छैन भनेर सीधै भन्‍न सकिन्छ। यसले मानिसहरूलाई चोट र हानि पुर्‍याउँछ। यो धारणाद्वारा पीडित भएर, यो महिला र उसका छोराछोरीले यो कुराको प्रत्यक्ष अनुभव गर्छन्, तर कसैले पनि तिनीहरूको कुरा सुन्‍ने वा तिनीहरूप्रति सहानुभूति देखाउने काम गर्दैनन्। तिनीहरू चुपचाप पीडा सहन बाध्य हुन्छन्। तिमीहरूलाई के लाग्छ, के यो समाज निश्पक्ष छ? किन यस्तो समाज र राष्ट्र अत्यन्तै दुष्ट र अँध्यारो हुन्छ? किनभने शैतानले मानिसमा घुसाइदिएको परम्‍परागत संस्कृतिले अझै पनि मानिसहरूको सोच र समाजको विचारलाई नियन्त्रित गर्छ। आजको दिनसम्‍म, कसैले पनि यो समस्यालाई स्पष्टसित देख्‍न सकेको छैन। गैरविश्‍वासीहरू अझै पनि परम्‍परागत संस्कृतिका धारणा र दृष्टिकोणहरूमै लागिरहन्छन्, र तिनीहरू आफू सही छौँ भन्‍ने सोच्छन्। आजको मितिसम्‍मै, तिनीहरूले यी कुराहरू त्यागेका छैनन्।

अब, जब हामी “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइलाई हेर्छौँ, तब यसलाई जुन दृष्टिकोणले हेरे पनि, यो सकारात्मक कुरा नभएको, केवल मानिसको धारणा र कल्‍पना भएको स्पष्टै देख्‍न सकिन्छ। यो सकारात्मक कुरा होइन भनेर म किन भन्दै छु? (किनभने यो सत्यता होइन, केवल मानिसको धारणा र कल्‍पना हो।) वास्तवमा, यो वाक्यांशले माग्‍ने कुराहरू थोरै मानिसहरूले मात्रै पूरा गर्न सक्छन्। यो बस एउटा खोक्रो सिद्धान्त र मानिसको धारणा र कल्‍पना मात्रै हो, तर यसले मानिसहरूको हृदयमा जरा गाडिसकेको छ, त्यसैले यो एक किसिमको चलनचल्तीको विचार बनिसकेको छ, र धेरै मानिसहरूले यसअनुसार नै परिस्थितिको लेखाजोखा गर्छन्। त्यसो भए, यसप्रकारका मामलाहरूलाई चलनचल्तीका मान्यताहरूबाट लेखाजोखा गर्ने दृष्टिकोण र अडानको सार के हुन्छ? अर्को विवाह गर्ने महिलालाई किन आम विचारले यति रूखो तरिकाले आलोचना गर्छ? किन मानिसहरूले यस्तो व्यक्तिलाई आलोचना गर्छन्, र ऊबाट टाढा बस्‍ने र उसलाई हेला गर्ने गर्छन्? कारण के हो? तिमीहरू यो कुरा बुझ्दैनौ, बुझ्छौ त? तथ्यहरूको विषयमा तिमीहरू स्पष्ट छैनौ; तिमीहरूलाई यो सत्यता होइन र परमेश्‍वरका वचनहरूअनुरूप छैन भन्‍ने मात्रै थाहा छ। ठीकै छ, म भनुँला, र मैले भनिसकेपछि तिमीहरूले यस्तो कुरालाई स्पष्ट रूपमा बुझ्‍न सक्‍नेछौ। यस्तो किन हुन्छ भने आम विचारले यस महिलालाई एउटा कुरा र एउटा कार्यको आधारमा, अर्थात उसले अर्को विवाह गरेको आधारमा मात्रै मूल्याङ्कन गर्छ—उसको मानवताको वास्तविक गुण हेर्नुको सट्टा त्यो एउटा कुराको आधारमा उसको मानवताको गुणलाई सङ्कुचित रूपमा परिभाषित गर्छ। के त्यो अनुचित र अन्यायपूर्ण भएन र? आम विचारले यस महिलाको मानवता सामान्य रूपमा कस्तो छ भनेर हेर्दैन—ऊ दुष्ट व्यक्ति हो कि दयालु, उसले सकारात्मक कुराहरू प्रेम गर्छे कि गर्दिन, उसले अरूलाई चोट वा हानि पुर्‍याउँछे कि पुर्‍याउँदिन, वा पुनर्विवाहपहिले ऊ छाडा छे कि छैन भनेर हर्दैन। के समाजका मानिसहरू र आम विचारले यस महिलालाई यी कुराहरूको आधारमा व्यापक मूल्याङ्कन गर्छन् त? (अहँ, गर्दैनन्।) त्यसो भए, त्यो बेला मानिसहरूले आफ्‍नो मूल्याङ्कन केमा आधारित गरेका हुन्छन्? “एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइमा। सबैले सोच्छन्, “महिलाले एकपटक मात्रै विवाह गर्नुपर्छ। श्रीमानको मृत्यु नै भए पनि, बाँकी जीवनभर विधवा बस्‍नुपर्छ। आखिर तँ महिला न होस्। यदि तँ आफ्‍नो श्रीमानको यादप्रति बफादार भई अर्को विहे नगरी बस्छस् भने, हामी तेरो चोखोपनको स्मरणमा स्मारक बनाउनेछौँ—हामीले दश वटा स्मारकसमेत बनाउन सक्‍नेछौँ! तैँले कति दुःख भोग्छस्, वा तेरा छोराछोरी हुर्काउन तँलाई कति गाह्रो हुन्छ कसैलाई मतलब छैन। तैँले सडकमा माग्‍दै खाए पनि कसैले वास्ता गर्नेछैन। तैँले ‘एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन’ भन्‍ने भनाइ पालना गर्नैपर्छ। यसो गरेर मात्रै तँ असल महिला बन्‍नेछस्, र तँमा मानवता र नैतिकता हुनेछ। अर्को विवाह गरिस् भने, तँ खराब आइमाई र वेश्या हुनेछस्।” यसले के इङ्गित गर्छ भने अर्को विहे नगेर मात्रै एउटी महिला आदर्श नैतिक आचरण र चरित्र भएकी असल, चोखो र बफादार व्यक्ति बन्‍न सक्छे। परम्‍परागत संस्कृतिको परोपकार, धार्मिकता, सद्‍व्यवहार, बुद्धि, र विश्‍वसनीयतासम्‍बन्धी अवधारणाहरूभित्र, “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइ मानिसहरूलाई मूल्याङ्कन गर्ने आधार बनेको छ। मानिसहरूले यो भनाइलाई सत्यताझैँ लिएका छन्, र अरूलाई मूल्याङ्कन गर्ने मापदण्डको रूपमा प्रयोग गरेका छन्। यो समस्याको सार यही हो। कुनै व्यक्तिमा परम्‍परागत संस्कृतिले अघि सारेका मापदण्ड र मानकहरूसँग नमिल्‍ने व्यवहार भएमा, उसलाई नीच स्तरको मानवता र नीच नैतिक आचरण भएको, र खराब र भयानक मानवता भएको व्यक्ति भनिन्छ। के यो निष्पक्ष छ त? (अहँ, छैन।) त्यसो भए, असल महिला हुनको लागि, परिस्‍थिति कस्तो हुनुपर्छ, र तैँले कस्तो मूल्य चुकाउनुपर्छ? तँ असल महिला हुन चाहन्छस् भने, तँ एउटै श्रीमानप्रति बफादार हुनुपर्छ, र तेरो श्रीमान मर्‍यो भने, तँ विधवा भएर नै बस्‍नुपर्छ। तँ र तेरा छोराछोरीले सडकमा गएर मागिखानुपर्छ, र अरूको गिल्‍ला, कुटाइ, हप्काइ, दुर्व्यवहार र अपमान सहनुपर्छ। के त्यो महिलासँग व्यवहार गर्ने उचित तरिका हो? (अहँ, होइन।) तैपनि मानिसहरू त्यसै गर्छन्, तिनीहरू तँलाई सडकमा माग्दै हिँडेको, बस्‍ने टुङ्गो नभएको, भरे के खाने भनी चिन्ता गर्नुपरेको अवस्थामा हेर्न चाहन्छन्, र कसैले पनि तँलाई वास्ता, सहानुभूति वा ध्यान दिँदैनन्। तेरा छोराछोरी जति जना भए पनि वा तेरो जीवन जति कठिन भए पनि, तेरा छोराछोरी भोकभोकै मरे पनि, कसैलाई मतलब हुँदैन। तर तैँले अर्को विहे गरिस् भने, तँ असल महिला हुँदैनस्। तँमाथि तिरस्कार र घृणाका शब्‍दहरू बर्सिनेछ, र तैँले कैयौँ गाली र बेइज्‍जत्तिका शब्‍दहरू सहनुपर्नेछ। तँलाई नानाथरीका कुराहरू भनिनेछ, र तेरा छोराछोरी र तेरा केही आफन्त र मित्रहरूले मात्रै तँलाई सहानुभूति र साथका शब्‍दहरू बोल्नेछन्। यस्तो कसरी हुन जान्छ? यो परम्‍परागत संस्कृतिको शिक्षा र सधाइको प्रत्यक्ष परिणाम हो। यो परम्‍परागत संस्कृतिले वकालत गर्ने “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइको परिणाम हो। यी कुराहरूबाट के देख्‍न सकिन्छ? यो “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइभित्र के लुकेको छ? मानिसको झूटो रूप, ढोँगीपन, र क्रूरता। एउटी महिलासँग खानको लागि केही नहुन सक्छ, ऊ बाँच्‍न नसक्‍ने र भोकभोकै मर्ने अवस्थामा पुगेकी हुन सक्छे, तर कसैले पनि उसलाई सहानुभूति दिँदैन; बरु, उसले आफ्नो चोखोपन जोगाएर राख्‍नुपर्छ भनेर सबैले भन्छन्। मानिसहरू उसलाई बाँच्‍न दिनुभन्दा ऊ भोकभोकै मरेको हेर्न र उसको सम्‍मन स्वरूप स्मारक बनाउन तयार हुन्छन्। एक हिसाबमा, यो समस्याले मानवजातिको जिद्दीपन पर्दाफास गर्छ। अर्को हिसाबमा, यसले मानवजातिको झूटोपन र क्रूरता पर्दाफास गर्छ। मानवजातिले बेसाहाराहरू वा दयाको खाँचो परेकाहरूलाई कुनै सहानुभूति दिँदैन, तिनीहरूको कुरा बुझ्‍ने, वा तिनीहरूलाई सहयोग गर्ने गर्दैन। यति मात्रै होइन, मानिसहरूलाई दोष दिन र तिनीहरूलाई मृत्युको मुखतर्फ धकेल्‍न “एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍नेजस्ता हास्यास्पद सिद्धान्त र नियमहरू प्रयोग गरी घाउमा नुनचुक दलिदिन्छन्। यो मानिसहरूको लागि न्यायसङ्गत हुँदैन। यो परमेश्‍वरका वचनहरू, र सृष्टिका प्रभुले मानवजातिको लागि तोक्‍नुभएका मापदण्डविपरीत मात्रै जाँदैन, यो त मानिसको विवेक र समझका मानकहरूसँग पनि बाझिन्छ। त्यसो भए, के यो महिलाका छोराछोरीले यो समस्यालाई हेर्ने दृष्टिकोण उचित हुन्छ त? के तिनीहरूले आफ्‍नी आमाको अर्को विवाह र उसले चुकाएको मूल्यबाट ठोस फाइदा पाएका हुँदैनन् र? यो महिलाले गरेको यो कार्यको हिसाबमा हेर्दा, छोराछोरीले आफ्‍नी आमालाई आदर र समर्थन गर्छन्, तर त्यो समर्थन कहाँबाट आउँछ? यो तिनीहरू बाँचून् भनेर, र तिनीहरूको ज्यान बचाउन तिनीहरूको जीवन अस्तित्वको खातिर तिनीहरूकी आमाले अर्को विहे गर्ने निर्णय गरेकी हो भन्‍ने तथ्यबाट आउँछ। कुरा यति हो। यदि तिनीहरूकी आमाले तिनीहरूको ज्यान बचाउन यसो नगरेकी भए, तिनीहरूले अर्को विहे गर्ने उसको निर्णयलाई अनुमोदन वा समर्थन गर्ने थिएनन्। त्यसैले, छोराछोरीको रूपमा, तिनीहरूले आफ्‍नी आमाको अर्को विहेलाई हेर्ने दृष्टिकोण साँचो रूपमा उचित हुँदैन। चाहे आम विचारको दृष्टिकोणबाट होस् वा छोराछोरीको दृष्टिकोणबाट होस्, यो आमालाई मानिसहरूले गर्ने व्यवहार र उसलाई मूल्याङ्कन गर्न तिनीहरूले प्रयोग गर्ने मापदण्डहरू उसको मानवताको साँचो प्रकृतिमा आधारित रहेका हुँदैनन्। अर्को विहे गर्ने महिलालाई मानिसहरूले गर्ने व्यवहारमा गरिने गल्ती त्यही हो। यसबाट, के कुरा स्पष्ट हुन्छ भने, “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भनी परम्‍परागत संस्कृतिले अघि सारेको भनाइ परमेश्‍वरबाट होइन, बरु शैतानबाट आएको हो, र सत्यतासँग यसको कुनै सम्‍बन्ध छैन। मानिसहरूले सबै कुरालाई हेर्ने दृष्टिकोण, र कुनै व्यक्तिको नैतिकता वा अनैतिकताप्रति गर्ने व्यवहार शैलीहरू सत्यता वा परमेश्‍वरका वचनहरूमा आधारित हुँदैनन्, ती परम्‍परागत संस्कृतिका दृष्टिकोणहरूमा आधारित हुन्छन्, र परम्परागत संस्कृतिका परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयतासम्‍बन्धी अवधारणाहरूले मानिसको लागि तोकिदिएका मापदण्डहरूमा आधारित हुन्छन्। परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयता भनेका के हुन्? यी अवधारणाहरू कहाँबाट आएका हुन्छन्? झट्ट हेर्दा, ती पुराना ज्ञानी र चर्चित मानिसहरूबाट आएका हुन् जस्ता देखिन्छन्, तर वास्तवमा, ती शैतानबाट आएका हुन्। ती कुराहरू मानिसहरूको व्यवहार नियन्त्रित गर्न र हातमा लिन, अनि मानिसहरूको नैतिक आचरणको कसी, नमुना, र खाका निर्माण गर्न शैतानले अघि सारेका विभिन्‍न भनाइहरू हुन्। सत्य भन्‍ने हो भने, यी पुराना ज्ञानी र चर्चित मानिसहरू सबैमा शैतानी प्रकृति थिए र तिनीहरू सबैले नै शैतानको सेवा गर्थे। तिनीहरू मानिसहरूलाई बहकाउने दियाबलसहरू हुन्। त्यसकारण, यी अवधारणाहरू शैतानबाट आएका हुन् भन्‍ने कुरा पूर्णतया यथार्थ हो।

अरूको नैतिक चरित्र कस्तो छ, उनीहरूको मानवता असल छ कि खराब छ भनेर मूल्याङ्कन गर्दा मानिसहरूले परम्‍परागत संस्कृतिको कुनै प्रसिद्ध भनाइको आधारमा मात्रै त्यसो गर्छन्; तिनीहरूले अरू मानिसहरूले कुनै एक मामिलालाई के-कसरी लिन्छन् भन्‍ने केवल एउटै आधारमा नै उनीहरूको मानवताको गुणस्तरबारे निर्णय र निष्कर्षमा पुगिहाल्छन्। यो अवश्य नै गलत हुन्छ, सही हुँदैन। त्यसो भए, कसैको मानवता सही छ कि खराब छ भनेर कुनै व्यक्तिले कसरी सही, वस्तुगत र न्यायसङ्गत रूपमा मूल्याङ्कन गर्न सक्छ? त्यो कुरा मूल्याङ्कन गर्ने सिद्धान्त र मापदण्डहरू के-के हुन्? ठ्याक्‍कै मिल्ने शब्दमा भन्दा, यस्तो मूल्याङ्कन गर्ने सिद्धान्त र मापदण्डहरू सत्यता नै हुनुपर्छ। सृष्टिकर्ताका वचनहरू मात्रै सत्यता हुन्, र तिनमा मात्रै अख्‍तियार र शक्ति छन्। भ्रष्ट मानवका वचनहरू सत्यता होइनन्, तिनमा कुनै सत्यता हुँदैन, र तिनलाई कुनै व्यक्तिको मूल्याङ्कन गर्ने आधार वा सिद्धान्तहरूको रूपमा लिइनु हुँदैन। त्यसैले, मानिसहरूको नैतिक चरित्र कस्तो छ, र तिनीहरूको मानवता असल छ कि खराब छ भनेर मूल्याङ्कन गर्ने, सही, वस्तुगत र न्यायसङ्गत तरिका भनेको सृष्टिकर्ताका वचनहरू र सत्यतालाई आफ्‍नो आधारको रूपमा लिनु हो। “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने भनाइ भ्रष्ट मानिसहरूमाझ प्रचलित प्रसिद्ध भनाइ हो। यसको स्रोत सही छैन, किनभने यो शैतानबाट आएको हो। यदि मानिसहरूले शैतानका वचनहरूको आधारमा अरूको मानवताको गुणस्तर मापन गर्छन् भने, तिनीहरूको निष्कर्ष अवश्य नै गलत र अन्यायपूर्ण हुन्छ। त्यसो भए, व्यक्तिको नैतिकताको गुणस्तर कस्तो छ र उसको मानवता असल छ कि खराब छ भनेर कसरी न्यायसङ्गत र सही रूपमा मूल्याङ्कन गर्न सक्छौँ? यसलाई उक्त व्यक्तिका कार्यहरूको अभिप्राय, लक्ष्य र परिणामहरू, साथै उसले गर्ने कामकुराहरूको अर्थ र मूल्यमा आधारित गर्नुपर्छ, अनि यस क्रममा तिनीहरूले सकारात्मक कुराहरूलाई कसरी लिन्छन् भन्‍ने सन्दर्भमा तिनीहरूको दृष्टिकोण र निर्णयहरूमा पनि आधारित गर्नुपर्छ। त्यो पूर्ण रूपमा सही हुनेछ। उक्त व्यक्ति परमेश्‍वरको विश्‍वासी नै हुनुपर्छ भन्‍ने छैन—तैँले कतिपय गैरविश्‍वासीहरू देख्‍न सक्छस्, जो परमेश्‍वरबाट नचुनिएका भए पनि, वस्तुगत रूपमा तिनीहरूको मानवता निकै राम्रो हुन्छ, यहाँसम्‍म कि तिनीहरूको मानवताको गुणस्तर परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरूको भन्दा उच्‍च हुन्छ। त्यसै गरी परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेका, र धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका केही धार्मिक मानिसहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बास दिँदा सधैँ मण्डलीबाट पैसा माग्‍नेबारेमा सोचिरहेका हुन्छन्, अनि पैसा र अरू कुराहरूको लोभ मनमा पाल्दै, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अघि सधैँ आफू गरिब छु भनेर बिलौना गरिरहन्छन्। जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले आफू बास बस्दा प्रयोग गरियोस् भनेर तिनीहरूलाई केही मासु, सागसब्‍जी, अन्‍न, आदि इत्यादि कुराहरू दिन्छन्, तब तिनीहरूले ती कुराहरू आफ्‍नै परिवारको लागि लुकाएर राख्छन्। यी कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरूको मानवता असल हुन्छ कि खराब? (खराब हुन्छ।) यस्ता मानिसहरू लोभी हुन्छन्, मानिसहरूबाट फाइदा लिन मन पराउँछन्, र तिनीहरूको चरित्र पनि नीच हुन्छ। सीधै परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्ने केही गैरविश्‍वासीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बास दिन निकै इच्छुक हुन्छन्। तिनीहरूले उनीहरूलाई बास दिन आफ्‍नै पैसा प्रयोग गर्न जिद्दी गर्छन्, र मण्डलीको पैसा इन्कार गर्छन्। मण्डलीले तिनीहरूलाई जति धेरै पैसा दिए पनि, तिनीहरूले त्यसबाट एक पैसा खर्च गर्दैनन्, र तिनीहरू यसको लोभमा पर्दैनन्—तिनीहरूले त्यो सबै जोगाउँछन् र पछि मण्डलीमा फर्काउँछन्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले बास बस्दा प्रयोग होस् भनेर तिनीहरूलाई सरसामाग्री किन्दिँदा, तिनीहरूले ती सबै कुरा आफूले बास दिएका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले प्रयोग गर्न र खान सकून् भनेर सुरक्षित राख्छन्। ती विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू गएपछि, तिनीहरूले ती कुराहरू भण्डार गर्छन्, र अर्कोपटक केही विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू बस्‍न आएपछि मात्रै बाहिर निकाल्छन्। तिनीहरूको दिमागमा प्रष्टै छुट्टिने स्पष्टता हुन्छ, र तिनीहरूले मण्डलीका चीजबीजहरू कहिल्यै हिनामिना गरेका हुँदैनन्। तिनीहरूलाई यो कुरा कसले सिकायो? तिनीहरूलाई कसैले भनेन, तैपनि तिनीहरूले के गर्ने भनेर कसरी जाने? तिनीहरूले कसरी यसो गर्न सके? धेरैजसो मानिसहरू यसो गर्न सक्दैनन्, तर तिनीहरू यसो गर्न सक्छन्। यहाँ, समस्या के हो? के यो मानवतामा रहेको भिन्‍नता होइन र? यो तिनीहरूको मानवताको गुणस्तरमा रहेको भिन्‍नता, र तिनीहरूको नैतिकताको भिन्‍नता हो। यी दुई प्रकारका मानिसहरूको नैतिकतामा भिन्‍नता भएकोले, के सत्यता र सकारात्मक कुराप्रतिको तिनीहरूको मनोवृत्तिमा पनि भिन्‍नता हुन्छ? (हो, हुन्छ।) यी दुई प्रकारका मानिसहरूमध्ये, कुन प्रकारका मानिसहरूलाई सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ? कुन प्रकारका मानिसहरूले सत्यता पछ्याउने सम्‍भावना बढी हुनेछ? असल नैतिकता भएका मानिसहरूले सत्यता पछ्याउने सम्‍भावना बढी हुन्छ। के तिमीहरूलाई त्यस्तै लाग्छ? तिमीहरू यसलाई यसरी हेर्दैनौ, तिमीहरू त वचन र धर्मसिद्धान्तहरू भट्याउन जान्‍ने धार्मिक मानिसहरूले यसो गर्न सक्छन्, र भर्खरै परमेश्‍वरमा विश्‍वास गर्न थालेका, वचन र धर्मसिद्धान्तहरू भट्याउन नसक्‍ने गैरविश्‍वासीहरूले यसो गर्न सक्दैनन् भन्‍ने सोच्दै अन्धाधुन्ध नियमहरू लागू गर्छौ। तर वास्तविकता त्यसको ठीक उल्‍टो छ। के तिमीहरूले यसरी मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्नु गलत र हास्यास्पद हुँदैन र? म यी कुराहरू यसरी हेर्दिनँ। जब म मानिसहरूसँग अन्तरक्रिया गर्छु, तब म विभिन्‍न कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिलाई विस्तृत रूपमा हेर्छु, विशेष गरी कसरी दुई फरक प्रकारका मानिसहरूले एउटै परिस्थितिमा फरकफरक व्यवहार गर्छन्, र तिनीहरूले कस्तो निर्णय गर्छन् भन्‍ने कुरालाई हेर्छु। यो तिनीहरूको मानवता कस्तो छ भन्‍ने कुराको अझै राम्रो चित्रण हो। यीमध्ये कुन शैली न्यासङ्गत र वस्तुगत छ? व्यक्तिलाई उसको बाहिरी व्यवहारको आधारमा नभई, उसको प्रकृति सारको आधारमा मूल्याङ्कन गर्नु अझै न्यासङ्गत हुन्छ। यदि कसैले परम्‍परागत संस्कृतिका दृष्टिकोणहरूको आधारमा मूल्याङ्कन गरी कुनै परिस्थितिमा व्यक्तिले गरेका व्यवहारहरूलाई लिएर त्यसैको आधारमा उसको बारेमा निर्णय र निष्कर्षमा पुग्छ भने, त्यो गलत हो र त्यो उक्त व्यक्तिप्रति अन्यायपूर्ण हुन्छ। व्यक्तिको मानवताको गुणस्तर, उसको समग्र व्यवहार, र उसले हिँड्ने मार्गको आधारमा उसको सही मूल्याङ्कन गर्नुपर्छ। यो मात्रै उचित र मनासिब हुन्छ, र यो कुरा उक्त व्यक्तिको लागि न्यासङ्गत पनि हुन्छ।

हामीले आज यहाँ सूचीबद्ध गरेका नैतिक आचरणसम्‍बन्धी कुनै पनि दाबीहरू परमेश्‍वरका वचनहरूसँग सम्‍बन्धित छैनन्, र तीमध्ये कुनै पनि कुरा सत्यताअनुरूप छैनन्। कुनै भनाइ जति नै परम्‍परागत वा सकारात्मक भए पनि, यो सत्यता हुन सक्दैन। नैतिक आचरणसम्‍बन्धी भनाइहरू परम्‍परागत संस्कृतिमा गुणगान गाइने कुराहरूबाट आएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई पछ्याउन लगाउनुभएका सत्यताहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। मानिसको नैतिक आचरणसम्‍बन्धी यी फरकफरक भनाइहरूबारे मानिसहरूले जति राम्रो बोले पनि, वा मानिसहरूले यी कुराहरूको स्तरमा जति राम्ररी जिए पनि, वा मानिसहरू यी कुराहरूमा जति दह्रिलो गरी लागे पनि, यी भनाइहरू सत्यता हुन् भन्‍ने यसको अर्थ हुँदैन। जसरी हजारौँपटक बोले पनि झूट सधैँ झूट नै हुन्छ, त्यसरी नै पृथ्वीका बहुसंख्यक मानिसहरूले यी कुराहरूमै अडिग रहेर यी कुरामै विश्‍वास गरिरहे पनि, यी सत्यता बन्‍नेछैनन्। झूट कहिल्यै सत्य बन्‍न सक्दैन। झूटहरू शैतानका युक्तिहरू संलग्‍न खराब सल्‍लाहहरू हुन्, त्यसकारण ती कुराले सत्यताको स्थान लिन सक्दैनन्, ती सत्यता बन्‍नु त परको कुरा हो। त्यसरी नै, नैतिक आचरणको विषयमा मानिसहरूले अघि सार्ने फरकफरक मापदण्डहरू पनि सत्यता बन्‍न सक्दैनन्। तँ ती कुराहरूमा जति धेरै वा जति राम्ररी लागिरहे पनि, त्यसले केवल मानिसको नजरमा तँसँग राम्रो नैतिक आचरण छ भनेर बताउँछ—तर के परमेश्‍वरको नजरमा तँसँग मानवता हुन्छ त? हुन्छ नै भन्‍ने छैन। बरु यसको विपरीत, यदि तँ परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि, र विश्‍वसनीयतासम्‍बन्धी परम्‍परागत संस्कृतिको अवधारणाको हरेक पक्ष र नियमलाई राम्ररी र नजिकबाट अवलम्बन गरिरहन्छस् भने, तँ सत्यताबाट निकै टाढा गएको हुन्छस्। किन त्यसो हुन्छ? किनभने तैँले नैतिक आचरणसम्‍बन्धी यी दाबीहरूको आधारमा र यिनै दाबीहरूलाई आफ्‍नो मापदण्डको रूपमा लिएर, मानिसहरू र कामकुराहरूलाई हेर्ने, र सोहीअनुरूप व्यवहार र काम गर्ने गरिरहेको हुन्छस्। त्यो त उँधोमुन्टो गरेर घडी हेर्नुजस्तै हो—तेरो हेराइ गलत हुनेछ। यसको अन्तिम परिणाम के हुन्छ भने, मानिसहरू र कामकुराहरूसम्‍बन्धी तेरो दृष्टिकोण, र तेरो व्यवहार र काम सत्यता, वा परमेश्‍वरका मापदण्डहरूसँग सम्‍बन्धित हुँदैनन्, र तैँले परमेश्‍वरको जुन मार्ग पछ्याउनुपर्थ्यो त्यो मार्गबाट तँ धेरै टाढा हुन्छस्—तँ विपरीत दिशातर्फ गइरहेको पनि हुन सक्छस्, र आफ्‍नै लक्ष्यहरूलाई असम्भव पार्ने व्यवहार गरिरहेको हुन सक्छस्। नैतिक आचरणसम्‍बन्धी यी भनाइहरूप्रति तँ जति अडिग रहिरहन्छस् र जति प्यार गरिरहन्छस्, परमेश्‍वर तँबाट त्यति नै वितृष्ण बन्‍नुहुनेछ, तँ परमेश्‍वर र सत्यताबाट त्यति नै टाढा हुनेछस्, र तँ परमेश्‍वरको विरोधमा त्यति नै बढी उभिनेछस्। नैतिक आचरणसम्‍बन्धी यी भनाइहरू तँलाई जति नै सही लागे पनि, वा तँ यिनैमा जति नै लामो समयसम्‍म लागिरहे पनि, तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्‍ने हुँदैन। तैँले परम्‍परागत संस्कृतिको व्यवहारसम्‍बन्धी जुनसुकै मापदण्डलाई सही र उचित ठाने पनि, यो सकारात्मक कुराको वास्तविकता हुँदैन; यो अवश्य नै सत्यता हुँदैन, न त यो सत्यताअनुरूप नै हुन्छ। म तँलाई आग्रह गर्छु, तँ हतारहतार आफ्‍नो बारेमा मनन गर्: तँ लीन भइरहेको यो कुरा कहाँबाट आउँछ? के मानिसहरूलाई मूल्याङ्कन गर्न र मापदण्ड तोकिदिनको लागि यसलाई सिद्धान्त र मानकको रूपमा प्रयोग गर्नु परमेश्‍वरका वचनहरूमा आधारित छ? के सत्यतामा यसको आधार छ? परम्‍परागत संस्कृतिको यो मापदण्ड अभ्यास गर्दा आउने परिणामहरू के-के हुन् भनेर तँ स्पष्ट छस्? के सत्यतासँग यसको कुनै सम्‍बन्ध छ? तैँले परम्‍परागत संस्कृतिले तोकेको यो कुरालाई आफ्‍नो व्यवहारको आधार, र मापदण्डको रूपमा प्रयोग गरेर, अनि यसलाई सकारात्मक कुराको रूपमा हेरेर, कतै तैँले सत्यतासित बाझिने काम गरिरहेको, परमेश्‍वरको विरोधमा उभिरहेको, र सत्यता उल्‍लङ्घन गरिरहेको त छैनस् भनेर खुट्याउनु र विश्‍लेषण गर्नुपर्छ। यदि तँ परम्‍परागत संस्कृतिले गुणगान गाउने दृष्टिकोण र भनाइहरूमा अन्धाधुन्ध लीन भइरहन्छस् भने, त्यसको परिणाम के हुनेछ? यदि तँ यी भनाइहरूको भ्रम वा छलमा परेको छस् भने, तैँले तेरो परिणाम र अन्त्य के हुनेछ त्यो कल्‍पना गर्न सक्छस्। यदि तैँले मानिसहरू र कामकुराहरूलाई परम्‍परागत संस्कृतिको दृष्टिकोणले हेर्छस् भने, सत्यता स्विकार्न तँलाई गाह्रो हुनेछ। तैँले कहिल्यै परमेश्‍वरका वचनहरू र सत्यताअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न सक्‍नेछैनस्। सत्यता बुझ्‍ने व्यक्तिले नैतिक आचरणसम्‍बन्धी परम्‍परागत संस्कृतिका विभिन्‍न दाबी र मापदण्डहरू चिरफार गर्नुपर्छ। तैँले तीमध्ये कुन कुरालाई सबैभन्दा प्रिय ठान्छस्, र सधैँ अङ्गाल्छस्, र मानिसहरू र विभिन्‍न कामकुराहरूलाई हेर्न, र आफूलाई व्यवहारमा ढाल्‍न र काम गर्न आधार र मापदण्डको रूपमा लिन्छस्, त्यो विश्‍लेषण गर्नुपर्छ। त्यसपछि तैँले अङ्गालिराख्‍ने ती कुराहरूलाई परमेश्‍वरका वचन र मापदण्डहरूसँग तुलना गर्नुपर्छ, र परम्‍परागत संस्कृतिका यी पक्षहरू परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूसँग विपरीत हुने वा बाझिने गर्छन् कि गर्दैनन् हेर्नुपर्छ। यदि तैँले साँच्‍चै समस्या भेट्टाइस् भने, परम्‍परागत संस्कृतिका यी पक्षहरू वास्तवमा कहाँ गलत र हास्यास्पद छन् भनेर तत्काल चिरफार गर्नुपर्छ। जब तँ यी विषयहरूमा स्पष्ट हुन्छस्, तब तँलाई सत्यता के हो र भ्रम के हो भन्‍ने थाहा हुन्छ; तँसँग अभ्यासको मार्ग हुनेछ, र तैँले आफूले हिँड्नुपर्ने मार्ग छनौट गर्न सक्‍नेछस्। यसरी सत्यता खोजी गर्, अनि तैँले आफ्‍ना मार्गहरू सुधार्न सक्‍नेछस्। मानिसहरूको नैतिक चरित्रसम्‍बन्धी मानवजातिका तथाकथित मापदण्ड र भनाइहरू जति नै स्तरीय भए पनि, वा ती जति नै बहुसंख्यक मानिसहरूको स्वाद, दृष्टिकोण, कामना, र चासोहरूसँग मिले पनि, ती सत्यता होइनन्। यो तैँले बुझ्नैपर्ने कुरा हो। अनि ती सत्यता नभएका हुनाले, तिनलाई तैँले तुरुन्तै इन्कार र त्याग गर्नुपर्छ। तैँले तिनको सार, साथै तीअनुसार जिउने मानिसहरूबाट आउने परिणामहरू पनि विश्‍लेषण गर्नुपर्छ। के ती कुराहरूले तँमा साँच्‍चै साँचो पश्‍चात्ताप ल्याउन सक्छन्? के तिनले तँलाई साँच्‍चै आफूलाई चिन्‍न सहयोग गर्न सक्छन्? के तिनले साँच्‍चै तँलाई मानव रूपमा जिउने तुल्याउन सक्छन्? ती कुराहरूले यीमध्ये कुनै पनि काम गर्न सक्दैनन्। तिनले तँलाई ढोँगी र आत्मधर्मी मात्रै बनाउनेछन्। तिनले तँलाई अझै धेरै धूर्त र दुष्ट तुल्याउनेछन्। यसो भन्‍ने मानिसहरू पनि छन्, “विगतमा, हामीले परम्‍परागत संस्कृतिका यी पक्षहरू पालना गर्दा, हामीलाई आफू असल मानिसहरू हौँ जस्तो लाग्थ्यो। हामीले जसरी व्यवहार गर्थ्यौँ, त्यो देख्दा अरू मानिसहरूले पनि हामीलाई असल मानिसहरू नै ठाने। तर वास्तवमा, हामीले कतिसम्‍मको दुष्ट काम गर्न सक्छौँ भन्‍ने कुरा हामीलाई हृदयमा थाहा छ। थोरै असल काम गर्दा, ढाकछोप मात्रै भएको हुन्छ। तर यदि हामीले परम्‍परागत संस्कृतिले हामीलाई तोकिदिएका असल व्यवहार त्याग्छौँ भने, त्यसको सट्टा हामीले के गर्नुपर्छ? कस्तो व्यवहार र प्रकटीकरणहरूले परमेश्‍वरलाई महिमा दिन्छन्?” तिमीहरूलाई यो प्रश्‍न कस्तो लाग्यो? के तिनीहरूलाई अझै पनि परमेश्‍वरका विश्‍वासीहरूले के-कस्ता सत्यताहरू अभ्यास गर्नुपर्छ भन्‍ने थाहा छैन? परमेश्‍वरले कैयौँ सत्यता व्यक्त गर्नुभएको छ, र मानिसहरूले अभ्यास गरिरहनुपर्ने सत्यताहरू कैयौँ छन्। तैपनि किन तिमीहरू सत्यता अभ्यास गर्न मान्दैनौ, बरु झूटा असल मानिसहरू र ढोँगी बन्‍न जिद्दी गर्छौ? किन तैँले नाटक गरिरहेको छस्? कतिपय मानिसहरूले यसो भन्छन्, “परम्‍परागत संस्कृतिका असल पक्षहरू धेरै छन्! जस्तै, ‘सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ’—यो सुन्दर भनाइ हो! मानिसहरूले यही कुरा अभ्यास गर्नुपर्छ। तपाईंले कसरी यसलाई पन्छ्याउन सक्‍नुहुन्छ? अनि ‘साथीको लागि गोली खान तयार छु’—कस्तो निष्ठावान्‌ र बहादुरीपूर्ण भनाइ! जीवनमा त्यस्तो साथी हुनु त सौभाग्यको कुरा हो। यस्तो भनाइ पनि छ, ‘वसन्तको रेसम कीराले बाँचुञ्जेल धागो बुन्छ, अनि मैन बत्तीले आफू जलेर उज्यालो दिन्छ।’ यो भनाइ संस्कृतिको हिसाबले कति गहन र सम्‍पन्‍न छ! यदि तपाईं हामीलाई यी भनाइहरूअनुसार जिउन दिनुहुन्‍न भने, हामी केअनुसार जिउने हो?” यदि तेरो सोच यस्तो छ भने, तैँले प्रवचन सुन्दै बिताएको वर्षौँको अवधि सबै व्यर्थ भयो। व्यक्तिले कम्तीमा पनि विवेक र तर्कका मापदण्डहरूअनुसार जिएर व्यवहार गर्नुपर्छ भन्‍ने कुरासमेत तैँले बुझेको छैनस्। तैँले अलिकति पनि सत्यता प्राप्त गरेको छैनस्, र तैँले यतिका वर्ष व्यर्थमा जिएको छस्।

छोटकरीमा भन्दा, हामीले परम्‍परागत संस्कृतिका यी नैतिक आचरणसम्‍बन्धी भनाइहरूको सूची बनायौँ, तर यसको लक्ष्य तिमीहरूलाई ती भनाइहरू मानिसहरूका धारणा र कल्‍पनाहरू हुन्, र ती शैतानबाट आएका हुन्, त्योबाहेक अरू केही होइनन् भनेर जानकारी दिनु मात्रै होइन। यसको लक्ष्य त तिमीहरूलाई यी कुराहरूको सार झूटो, देखावटी, र छली छ भनेर स्पष्टसित बुझाउनु पनि हो। मानिसहरूमा यस्ता व्यवहार भए पनि, यसको अर्थ तिनीहरू सामान्य मानवतामा जिइरहेका छन् भन्‍न बिलकुलै हुँदैन। बरु, तिनीहरूले आफ्‍ना अभिप्राय र उद्देश्यहरू ढाकछोप गर्न, र तिनीहरूका भ्रष्ट स्वभाव, र प्रकृति सार लुकाउन यी झूटा व्यवहारहरू प्रयोग गरिरहेका हुन्छन्। परिणामस्वरूप, मानिसहरू नाटक गर्न र अरूलाई छल गर्न झन्झन् सिपालु हुँदै गइरहेका छन्, जसले तिनीहरूलाई अझै धेरै भ्रष्ट र दुष्ट बनाइरहेको छ। भ्रष्ट मानवजातिले अङ्गाल्‍ने परम्‍परागत संस्कृतिका नैतिक मापदण्डहरू परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूसँग मिल्दैनन्, न त ती परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने कुनै पनि वचनहरूअनुरूप नै हुन्छन्, ती कुराहरूको कहीँकतै केही सम्बन्ध हुँदैन। यदि तँ अझै पनि परम्‍परागत संस्कृतिका पक्षहरू अङ्गालिरहन्छस् भने, तँ पूर्ण रूपमा भ्रमित र विषाक्त भएको छस्। यदि कुनै यस्तो मामिला छ जसको सन्दर्भमा तँ परम्‍परागत संस्कृतिलाई मान्छस् र यसका सिद्धान्त र दृष्टिकोणहरू पालना गर्छस् भने, तैँले त्यो मामलामा परमेश्‍वरविरुद्ध विद्रोह गर्दै सत्यता उल्‍लङ्घन गरिरहेको र परमेश्‍वरविरुद्ध दौडिरहेको हुन्छस्। यदि तँ नैतिक आचरणसम्‍बन्धी यीमध्ये कुनै पनि दाबीहरूमा अडिग र समर्पित भइरहन्छस्, अनि यसैलाई मानिसहरू वा कामकुराहरूलाई हेर्ने मापदण्ड वा आधारको रूपमा लिन्छस् भने, त्यहीँनेर तेरो गल्ती हुन्छ, र तैँले मानिसहरूलाई निश्‍चित हदसम्‍म आलोचना वा हानि गर्छस् भने, तैँले पाप गरेको हुनेछस्। यदि तँ सधैँ परम्‍परागत संस्कृतिका नैतिक मापदण्डहरूअनुसार सबैलाई मापन गर्न जिद्दी गर्छस् भने, तैँले दोषी ठहराएका र अन्याय गरेका मानिसहरूको सङ्ख्या बढ्दै जानेछ र तैँले अवश्य नै परमेश्‍वरविरुद्ध दोषारोपण र विरोध गर्नेछस्, र त्यसपछि तँ पूराको पूरा पापी व्यक्ति बन्‍नेछस्। के परम्‍परागत संस्कृतिको शिक्षा र सधाइको कारण सारा मानवजाति झन्झन् दुष्ट हुँदै गइरहेको छ भन्‍ने तिमीहरू देख्दैनौ? के यो संसार झन्झन् अँध्यारो भइरहेको छैन र? कुनै व्यक्ति जति धेरै शैतान र दियाबलसहरूको स्वामित्वमा हुन्छ, त्यति नै धेरै उसको पूजा हुन्छ; कुनै व्यक्तिले जति धेरै सत्यता अभ्यास गर्छ, जति धेरै परमेश्‍वरको निम्ति गवाही दिन्छ, र परमेश्‍वरलाई खुसी पार्छ, त्यति नै धेरै उसलाई दमन गर्ने, बहिष्कार गर्ने, दोष दिने, वा क्रूसमा टाँगेर मार्नेसमेत गरिन्छ। के यो तथ्य होइन र? अब अघि बढ्ने क्रममा, आज हामीले जुन विषयमा सङ्गति गरेका छौँ त्यसबारे तिमीहरूले बारम्‍बार सङ्गति गर्नुपर्छ। सङ्गति गरेपछि तिमीहरूले कतिपय कुराहरू बुझेनौ भने, ती कुराहरूलाई केही क्षणको लागि थन्क्याएर राख, र जबसम्‍म तिमीहरूले ती कुरा बुझ्दैनौ तबसम्‍म तिमीहरूले सम्‍हाल्‍न सक्‍ने भागहरूबारे मात्र सङ्गति गर। यी वचनहरू पूर्ण रूपमा स्पष्ट नहुञ्‍जेल र तिमीहरूले पूर्ण रूपमा नबुझुन्जेल यी वचनहरू सङ्गति गर, त्यसपछि तिमीहरू सही रूपमा सत्यता अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछौ। जब तिमीहरूले कुनै भनाइ वा कुनै कुरा सत्यता हो कि होइन भनेर, वा यो परम्‍परागत संस्कृति हो, सत्यता होइन भनेर स्पष्ट रूपमा पत्ता लगाउन सक्‍ने हुन्छौ, तब तिमीहरूसँग सत्यता वास्तविकतामा प्रवेश गर्ने अझै धेरै मार्ग हुनेछ। अन्त्यमा, जब तिमीहरू आफूले अभ्यास गर्नुपर्ने हरेक सत्यता सङ्गतिमार्फत बुझ्‍न सक्षम हुन्छौ, जब तिमीहरू सहमतिमा पुगेका हुन्छौ, जब तिमीहरूको दृष्टिकोण र बुझाइमा एकरूपता आउँछ, जब तिमीहरूले कुन-कुन कुराहरू सकारात्मक हुन् र कुन-कुन नकारात्मक हुन्, कुन-कुन कुराहरू परमेश्‍वरबाट आउँछन् र कुन-कुन चाहिँ शैतानबाट आउँछन् भन्‍ने बुझ्छौ, र जब तिमीहरूले यी कुराहरू आफूलाई स्पष्ट र पारदर्शी लागुन्जेल सङ्गति गरेका हुन्छौ, तब मात्रै तिमीहरूले सत्यता बुझेका हुनेछौ। त्यसपछि, तिमीहरूले अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू छनौट गर। यस तरिकाद्वारा, तिमीहरूले परमेश्‍वरले तय गर्नुभएका व्यवहारसम्‍बन्धी मापदण्डहरू पूरा गर्नेछौ, र कम्तीमा पनि, तिमीहरूमा केही मानव स्वरूप हुनेछ। यदि तिमीहरू सत्यतालाई बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्छौ भने, तिमीहरू पूर्णतया मानव स्वरूपमा जिउन सक्‍ने हुनेछौ। त्यसपछि मात्रै तिमीहरू पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुरूपका हुनेछौ।

मार्च ५, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (४)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्