३. परमेश्‍वरको न्याय र सजाय कसरी अनुभव गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानिसले सम्पूर्ण जीवन शैतानको सत्तामा जिउँछ, र आफ्‍नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्यसमेत नभएको अशुद्ध संसारमा, भ्रष्टता र रिक्ततामा जिउँछन्; तिनीहरू देहको लागि, अभिलाषाको लागि र शैतानको लागि त्यस्तो लापरवाही जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यता भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्‍वरलाई विश्‍वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्‍दैन। युगौँयुगदेखि, अत्यन्तै थोरै मानिसहरूले मात्र यो रहस्य पत्ता लगाएका छन्, अत्यन्तै थोरैले मात्र यसलाई बुझेका छन्। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि र देहलाई घृणा गरे पनि, शैतानको पासोरूपी प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज के तिमीहरू अझै पनि शैतानको सत्तामा छैनौ र? तिमीहरू आफ्ना विद्रोही कार्यहरूबारे पछुतो गर्दैनौ, तिमीहरूले आफू फोहोरी र विद्रोही छौँ भनी महसुस गर्नु त परै जाओस्। परमेश्‍वरको विरोध गरिसकेपछि, तिमीहरू ढुक्‍क हुन्छौ र ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूले यो शान्ति आफू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो ढुक्‍कपन तिमीहरूको विद्रोहीपनबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको अँध्यारो प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको देहमा अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसहरूको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ फोहोरी हुन्छ; यदि उसलाई परमेश्‍वरले सुरक्षा र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय र सजाय गरिएन भने, शैतानको अँध्यारो प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम ऊसँग हुनेछैन। तैँले देखाउने भ्रष्ट स्वभाव र तँ जिउने विद्रोही आचरण नै तँ अझै पनि शैतानको सत्तामा छस् भन्‍ने कुरा प्रमाणित गर्न पर्याप्त छन्। यदि तेरो मन र विचारहरू शुद्ध पारिएका छैनन् भने, र तेरो स्वभावलाई न्याय र सजाय गरिएको छैन भने, तेरो समग्र अस्तित्व अझै पनि शैतानको सत्ताद्वारा नियन्त्रित छ, तेरो मन शैतानको नियन्त्रणमा छ, तेरा विचारहरू शैतानको चालबाजीमा परेको छ, र तेरो सम्पूर्ण अस्तित्व शैतानका हातहरूको नियन्त्रणमा छ। … यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ। खास गरी, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्‍ने कुरालाई तैँले बुझ्‍नैपर्छ। के तँ यस कार्यलाई स्वीकार गर्न सक्छस्? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरको ज्ञान र पवित्र आत्माको कार्यको खोजी गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभाव परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

आज परमेश्‍वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैँले आफैलाई चिन् भन्‍ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैँले आफूलाई चिन्‍न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्‍नो मूल्यलाई जान्‍न सक् र परमेश्‍वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्‍ने मात्र थाहा छ, तर परमेश्‍वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैँले अनुभव प्राप्त गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्‍वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्‍वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा झुकाउनु हो। परमेश्‍वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्‍वर स्वयम्‌को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्‍वरको प्रेम हो र परमेश्‍वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा प्रेम, दया र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्‍वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्‍वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्‍वरलाई दिन सकून् भनी परमेश्‍वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्‍वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्‍वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्‍वरको नाउँको सामु झुक्छ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्‍वरको अभिप्राय यो होइन। परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम प्रेम र दया देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम प्रेम वा करुणा होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्‍न सक्छ, र म जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो शिक्षाका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धर्मी न्याय होस् वा निर्दयी शुद्धीकरण र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकार अनुसार वर्गीकरण गरिए पनि वा मानिसका वर्गहरूलाई उदाङ्गो पारिए पनि, परमेश्‍वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको अभिप्रायलाई बुझ्‍नुपर्छ

यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम अनि सत्यता स्वीकार गर्ने क्षमता हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने, तँसँग जे-जस्तो भ्रष्ट स्वभाव भए तापनि, वा रातो अजिङ्गरको अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्‍वरका वचनहरूले यी कुराहरू पर्दाफास गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्‍वरका वचनहरूअनुसार आफूलाई चिन्‍नुपर्छ। परमेश्‍वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्‍नु भनेको यही हो। परमेश्‍वरले जेसुकै भन्नुभए तापनि, उहाँका वाणीहरू जति नै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भन्नुभएका कुराहरू सत्य हुन् भने तैँले तिनलाई स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तैँले तिनलाई सकार्न सक्छस्। तैँले परमेश्‍वरका वचनहरूलाई जति गहन रूपमा बुझे पनि तँ ती वचनहरूमा समर्पित हुन सक्छस्, र तँ पवित्र आत्माद्वारा प्रकट गरिएको अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेको ज्योतिलाई स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्छस्। जब त्यस्तो व्यक्तिले केही हदसम्म सत्यको खोजी गरेको हुन्छ तब उसले सत्य प्राप्त गर्न सक्छ र उसले आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही सुकर्म र परमेश्‍वरको लागि त्याग र समर्पण गर्न सक्‍ने भए पनि, तिनीहरू सत्यताबारे अन्योलमा हुन्छन् र यसलाई गम्‍भीर रूपमा लिँदैनन्, त्यसकारण तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

परमेश्‍वरको कामको अनुभव गर्ने क्रममा, तिमीहरूले पहिले मानिसको प्रकृति र सारलाई खुलासा गर्ने उहाँका वचनहरू स्विकार्नुपर्छ। यदि तिमीहरूले मानिसहरूको भ्रष्ट स्वभाव र तिनीहरूको भ्रष्टताको सत्यतालाई स्पष्ट रूपमा देख्‍न सक्यौ, र आफूलाईसाँचो रूपमा चिन्यौ भने, के यो तिमीहरूले मुक्ति हासिल गर्ने मार्ग होइन र? मानिसलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूलाई तिमीहरूले कसरी लिन्छौ भन्ने कुरा महत्त्वपूर्ण छ। सर्वप्रथम, तिमीहरूले मानिसको प्रकृति खुलासा गर्ने परमेश्‍वरका वचनहरू मनन गरेर बुझ्‍नुपर्छ; यदि तिमीहरूले परमेश्वरका वचनले खुलासा गरेका कुराहरू पूर्णतः आफ्‍नो स्थितिअनुरूप नैछन् भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्यौ भने, फसल प्राप्त गर्नेछौ। कतिपय मानिसहरूले परमेश्‍वरका वचनहरू पढिसकेपछि ती वचनलाई सधैँ अरूसँग दाँज्छन्; तिनीहरूले सधैँ ती वचनहरू अरूप्रति लक्षित छन्, र परमेश्‍वरले बोल्‍नुभएका वचनहरू जति नै कडा भए पनि तीसँग तिनीहरूको कुनै सम्‍बन्ध छैन भन्‍ने सोच्छन्। यो समस्याको कुरा हो—यस्तो व्यक्तिले सत्यता स्विकार्दैन। त्यसोभए तिमीहरूले परमेश्‍वरका वचनहरूलाई कसरी लिनुपर्छ? तिमीहरूले हरेक पटक परमेश्‍वरका कुनै पनि वचनहरू पढ्दा, तिनलाई आफूसँग तुलना गर्नुपर्छ, आफ्‍नै स्थिति, आफ्‍नै सोच र दृष्टिकोणहरूसँग, अनि आफ्‍नै व्यवहारसँग दाँज्नुपर्छ। यदि तँ साँच्‍चै तीसँग तुलना गर्न लायक छस्र आफ्‍ना समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्छस् भने, यसरी तैँले आफ्‍नो फसल पाउनेछस्। त्यसपछि तैँले अरूलाई सहयोग गर्नका लागि आफूले बुझेको सत्यताको वास्तविकता प्रयोग गर्नुपर्छ; तिनीहरूलाई सत्यता बुझ्‍न र समस्याहरू समाधान गर्न सहयोग गर्नुपर्छ, तिनीहरूलाई परमेश्‍वरको अघि आउन, र उहाँका वचनहरू र सत्यता स्विकार्न सहयोग गर्नुपर्छ। यसले अरूप्रतिको प्रेम देखाउँछ, र यसबाट तैँले फसल पाउन सक्छस्; यसले तँ र अरू दुवै पक्षलाई फाइदा गर्छ, यो दुई गुणा फसल हो। यसरी कार्य गरिस् भने तँ परमेश्‍वरको घरमा उपयोगी व्यक्ति बन्छस्; यदि तँमा त्यस्तो सत्यताको वास्तविकता छ भने, तैँले परमेश्‍वरको गवाही दिन सक्छस्। के त्यसपछि तँलाई परमेश्‍वरले स्विकार्नुहुने छैन र? परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्ने बाँकी वचनहरू स्विकार्न र तिनमा समर्पित हुनका लागि पनि तैँले त्यही विधि प्रयोग गर्नुपर्छ, त्यसपछि आफ्नो विश्‍लेषण गरेर आफैलाई चिन्‍नुपर्छ। के तिमीहरू आफूलाई यसरी तुलना गर्न जान्दछौ? (अलिअलि जान्दछौँ।) यदि परमेश्‍वरले तँ शैतान होस्, दियाबलस होस्, तँमा भ्रष्ट स्वभाव छ, र तैँले उहाँको विरोध गर्छस् भनेर भन्‍नुभयो भने, तैँले यी ठूला कुराहरूलाई आफूसँग तुलना गर्न सक्लास्; तर जब उहाँका वचनहरूले तँ कस्तो व्यक्ति होस् भन्ने कुरा पत्ता लगाउन अरू निश्‍चित स्थिति र अभिव्यक्तिलाई छुन्छन् भने, तैँले तिनलाई आफूसँग तुलना गर्न सक्दैनस्, र तिनलाई स्विकार्न सक्दैनस्—यो अत्यन्तै समस्याको कुरा हो। यसको अर्थ के हो? (यसको अर्थ हो, हामीले आफूलाई साँचो रूपमा चिनेका छैनौँ।) तैँले आफूलाई साँचो रूपमा चिनेको छैनस्, र तैँले सत्यता स्विकार्दैनस्, वास्तविकता त्यही होइन र? (हो।) मानिसहरूलाई खुलासा गर्नका लागि परमेश्‍वरले प्रयोग गर्नुहुने वचनहरू मानिसहरूले बिस्तारै बुझ्दै जानुपर्छ, जस्तै “कीराहरू,” “फोहोरी पिशाच,” “एक पैसाको पनि मूल्य नभएको,” “फोहोर,” र “केही न कामको।” के परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्नुको उद्देश्य तिनीहरूको निन्दा गर्नु हो? (होइन।) त्यसोभए के हो त? (मानिसहरूलाई आफूलाई चिन्‍न, र आफ्‍नो भ्रष्टता त्याग्‍न लगाउन हो।) ठीक भन्यौ। परमेश्‍वरले यी कुराहरू खुलासा गर्नुको उद्देश्य भनेको तिमीहरूलाई आफूलाई चिन्‍न, यसै क्रममा सत्यता प्राप्त गर्न, र उहाँको इच्‍छा बुझ्‍न दिन हो। यदि परमेश्‍वरले तँलाई कीराको रूपमा, नीच व्यक्तिको रूपमा, केही काम नलाग्‍ने व्यक्तिको रूपमा खुलासा गर्नुभयो भने, तैँले कसरी अभ्यास गर्नुपर्छ? तैँले सायद यसो भन्छस् होला, “परमेश्‍वरले मलाई कीरा भन्‍नुभयो, त्यसकारण म कीरा नै हुनेछु। परमेश्‍वरले मलाई केही काम नलाग्‍ने भन्‍नुभयो, त्यसकारण म केही काम नलाग्‍ने नै बन्‍नेछु। परमेश्‍वरले मलाई एक पैसाको जति पनि मूल्य नभएको भन्‍नुहुन्छ, त्यसकारण म कुनै मूल्य नभएको कसिङ्गर बन्‍नेछु। परमेश्‍वरले मलाई फोहोरी पिशाच र शैतान भन्‍नुहुन्छ, त्यसकारण म फोहोरी पिशाच र शैतान बन्‍नेछु।” के यो सत्यता प्राप्त गर्ने तरिका हो? (होइन।) परमेश्‍वरले यी शब्‍दहरू भन्‍नुको पछाडिको उहाँको उद्देश्य, उहाँको सबै न्याय, सजाय, र खुलासाको अन्तिम उद्देश्य भनेको मानिसहरूलाई उहाँको इच्छा बुझ्‍न,अनि सत्यता अभ्यास गर्ने, परमेश्‍वरलाई चिन्‍ने, र उहाँमा समर्पित हुने मार्गमा पाइला चाल्‍न दिनु हो। यो मार्गमा हिँड्ने क्रममा यदि मानिसहरूले परमेश्‍वरलाई सधैँ गलत रूपमा बुझ्छन् भने, यदि तिनीहरूले प्रायजसो उहाँको न्याय र सजायलाई पूर्ण रूपमा स्विकार्न सक्दैनन् भने, र तिनीहरूको विद्रोहीपन साह्रै ठूलो छ भने, तिनीहरूले के गर्न सक्छन्? तँ धेरैभन्दा धेरै पटक परमेश्‍वरको अघि आउनुपर्छ, उहाँको छानबिनलाई स्विकार्नुपर्छ, आफ्नो बारम्‍बारको परीक्षा र शोधनमा उहाँलाई तेरो अगुवाइ गर्न दिनुपर्छ, र उहाँलाई तँलाई शुद्ध पार्ने परिस्‍थितिहरूको बन्दोबस्त गर्न दिनुपर्छ। मानिसहरूको भ्रष्टता अत्यन्तै गहन छ, त्यसलाई पखाल्‍न तिनीहरूलाई परमेश्‍वर चाहिन्छ। यदि मानिसहरूमा यसो गर्ने इच्छा छैन भने, यदि तिनीहरू सधैँ ऐसआराममा लिप्त हुन्छन् भने, यदि तिनीहरू सधैँ अलमल्ल पर्छन् भने, र तिनीहरूले सत्यताको खोजी गर्दै गर्दैनन् भने, सत्यता प्राप्त गर्ने तिनीहरूको आशा अत्यन्तै थोरै हुन्छ। परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइलाई जाँच्‍नुभएको तथ्यका धेरै व्यावहारिक प्रकटीकरणहरू छन्, जसलाई परमेश्‍वरले खुलासा गर्नुहुने मानिसहरूको भ्रष्ट स्वभावका विभिन्‍न कुराहरूबाट देख्‍न सकिन्छ। मानिसको प्रकृति र सारभित्र रहेका कुराहरूलाई परमेश्‍वरले मात्रै देख्‍न सक्‍नुहुन्छ। त्यसकारण, यदि तँ परमेश्‍वरका वचनहरू सुन्दैनस्, परमेश्‍वरले तँलाई भनेबमोजिम जिउँदैनस्, उहाँमा विश्‍वास गर्दैनस् वा उहाँले तँलाई अह्राएअनुसार आफ्‍नो कर्तव्य पूरा गर्दैनस् भने, तँ कुनै पनि हालतमा परमेश्‍वरको इच्छा पूरा गर्ने मार्गमा हिँड्न सक्नेछैनस्; तँ परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्न सक्नेछैनस्, र तँलाई मुक्ति प्राप्त गर्न अत्यन्तै गाह्रो हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू

तिमीहरूले परमेश्‍वरका वचनहरूको न्याय स्वीकार गर्ने क्रममा, कष्ट-भोग वा पीडाको डर नमान, यसको साथै, परमेश्‍वरका वचनहरूले तिमीहरूको हृदय छेड्नेछन् र तिमीहरूका कुरूप स्थितिहरू खुलासा गर्नेछन् भनेर डर नमान। यी कुराहरूको कष्ट भोग्‍नु निकै फाइदाजनक हुन्छ। यदि तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ भने, तिमीहरूले मानिसहरूलाई न्याय र सजाय गर्ने परमेश्‍वरका वचनहरू, खास गरी मानवजातिको भ्रष्टताको सार प्रकट गर्ने वचनहरू अझ धरै पढ्नुपर्छ। तिमीहरूले आफ्‍नो व्यावहारिक स्थितिलाई ती वचनहरूसँग अझै बढी तुलना गर्नुपर्छ, र तिमीहरूले आफूसँग ती वचनहरू अझै बढी, र अरू वचनहरू कम जोड्नुपर्छ। परमेश्‍वरले खुलासा गर्नुभएका स्थितिहरू हरेक व्यक्तिमा हुन्छन्, र ती सबै तँमा भेटिन सक्छन्। यदि तँलाई विश्‍वास लाग्दैन भने, यसलाई अनुभव गर्ने प्रयास गर्। तैँले जति धेरै अनुभव गर्छस्, तैँले आफूलाई त्यति धेरै चिन्‍नेछस्, र तँलाई परमेश्‍वरका वचनहरू अत्यन्तै सही छन् भन्‍ने त्यति नै धेरै अनुभव हुनेछ। परमेश्‍वरका वचनहरू पढिसकेपछि, कतिपय मानिसहरूले तिनलाई आफैसँग जोड्न सक्दैनन्; उनीहरू यी वचनहरूका केही भागहरू उनीहरूको बारेमा होइनन्, तर ती अरू मानिसहरूको बारेमा हुन् भनी सोच्छन्। उदाहरणको लागि, जब परमेश्‍वरले मानिसहरूलाई जेजेबेल र वेश्याको रूपमा प्रकट गर्नुहुन्छ, केही दिदी-बहिनीहरूले तिनीहरू आफू आफ्ना पतिप्रति विश्‍वासयोग्य भएका कारण त्यस्ता वचनहरू उनीहरूका बारेमा भनिएको होइन भनी विचार गर्छन्; केही दिदी-बहिनीहरू उनीहरू अविवाहित भएकाले र कहिल्यै यौन-सम्पर्क नगरेकोले त्यस्ता वचनहरू उनीहरूका निम्ति पनि होइनन् भनी सोच्छन्। केही दाजुभाइहरू यी वचनहरू केवल महिलालाई मात्र भनिएका हुन्, र उनीहरूसँग तिनको कुनै सम्बन्ध छैन भनी विचार गर्छन्; कतिपय मानिसहरू परमेश्‍वरका प्रकाशका वचनहरू औधी कठोर छन्, ती वास्तविकतासँग मेल खाँदैनन् भन्‍ने विश्‍वास गर्छन्, र तिनलाई स्वीकार गर्न मान्दैनन्। त्यस्ता मानिसहरू पनि छन् जसले कतिपय अवस्थामा परमेश्‍वरका वचनहरू गलत हुन्छन् भनी भन्छन्। के यो परमेश्‍वरका वचनहरूप्रति हुनुपर्ने सही दृष्टिकोण हो? यो अवश्य नै गलत कुरा हो। मानिसहरू सबैले आफूलाई आफ्‍ना बाहिरी बानीबेहोराको आधारमा हेर्छन्। तिनीहरूले आफ्‍नो बारेमा मनन गर्न सक्दैनन्, र परमेश्‍वरका वचनहरूका आधारमा आफ्‍नो भ्रष्ट सारलाई चिन्दैनन्। यहाँ, “जेजेबेलहरू” र “वेश्याहरू” ले मानवजातिको भ्रष्टता, फोहोरीपन र व्यभिचारलाई जनाउँछ। चाहे पुरुष होस् वा स्त्री, विवाहित होस् वा अविवाहित, सबै जनामा व्यभिचारका भ्रष्ट सोचहरू हुन्छन्—यसैले तँसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ? परमेश्‍वरका वचनहरूले मानिसहरूको भ्रष्ट स्वभावलाई प्रकट गर्दछ; चाहे पुरुष होस् वा महिला, भ्रष्टताको स्तर एकसमान छ। के यो एउटा तथ्य होइन? हामीले सुरुमा परमेश्‍वरले भन्‍नुभएको हरेक कुरा सत्यता हुन्, र तथ्यहरूअनुरूप हुन्छन्, अनि मानिसहरूलाई न्याय र खुलासा गर्ने उहाँका वचनहरू जति नै कठोर भए पनि, वा सत्यता सङ्गति गर्ने वा मानिसहरूलाई प्रोत्साहन दिने उहाँका वचनहरू जति नै नरम भए पनि, उहाँका वचनहरू न्याय भए पनि आशिष्‌ भए पनि, ती दोषारोपण वा श्राप भए पनि, तिनले मानिसहरूलाई तीतो अनुभूति दिए पनि मीठो अनुभूति दिए पनि, मानिसहरूले ती सबैलाई स्वीकार गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ। परमेश्‍वरका वचनहरूप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। यो कस्तो किसिमको मनोवृत्ति हो? के यो निष्ठावान् मनोवृत्ति, भक्त मनोवृत्ति, धैर्य मनोवृत्ति, वा दुःखलाई अङ्गाल्ने मनोवृत्ति हो? तिमीहरू अलिक अन्योलमा छौ। म तिमीहरूलाई भन्छु, कि यो यीमध्ये कुनै पनि होइन। मानिसहरूले तिनीहरूको विश्‍वासमा परमेश्‍वरका वचनहरू सत्य छन् भनी दृढ विश्‍वास गर्नुपर्छ। ती वास्तवमै सत्य छन्, त्यसैले मानिसहरूले तिनलाई तर्कसङ्गत रूपमा स्वीकार गर्नुपर्छ। चाहे तिनीहरूले परमेश्‍वरको वचनलाई पहिचान वा स्वीकार गर्न सकून् वा नसकून्, त्यसप्रति तिनीहरूको पहिलो मनोवृत्ति त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने हुनुपर्छ। यदि परमेश्‍वरको वचनले तिमीहरूलाई खुलासा गर्दैन भने, कसले खुलासा गर्छ? अनि तिमीहरूलाई खुलासा गर्नको लागि होइन भने, किन तिमीहरूलाई यो स्वीकार गर्न लगाइन्छ? के यो विरोधाभास होइन र? परमेश्‍वरले सारा मानवजातिसँग बोल्‍नुहुन्छ, परमेश्‍वरले बोल्‍नुभएका हरेक वाक्यले भ्रष्ट मानवजातिलाई खुलासा गर्छ, र कसैलाई पनि छूट छैन—र यसले स्वाभाविक रूपमै तँलाई पनि समावेश गर्छ। परमेश्‍वरका वाणीहरूको एउटै पङ्‌क्ति पनि बाहिरी स्वरूप वा कुनै एक प्रकारको स्थितिसँग सम्बन्धित हुँदैन, कुनै बाहिरी नियमसँग वा मानिसहरूका व्यवहारको साधारण रूपसँग त्यो सम्बन्धित हुने कुरा त परै जाओस्। ती वाणीहरू त्यस्ता हुँदैनन्। यदि तँ परमेश्‍वरले बोल्नुभएको प्रत्येक पङ्क्तिले सामान्य प्रकारको मानवीय व्यवहार वा बाहिरी स्वरूपको खुलासा मात्र गर्छ भन्‍ने सोच्छस् भने, तँसँग कुनै आत्मिक बुझाइ छैन र तैँले सत्यता के हो भन्‍ने बझ्दैनस्। परमेश्‍वरका वचनहरू सत्यता हुन्। मानिसहरूले परमेश्‍वरका वचनहरूको गहनता अनुभूति गर्न सक्छन्। ती कसरी गहन छन्? परमेश्‍वरका सबै वचनहरूले मानिसका भ्रष्ट स्वभावहरू, र तिनीहरूको जीवनका सारगत अनि जरा गाडेर बसेका कुराहरू खुलासा गर्छन्। ती सारगत कुराहरू हुन्, बाहिरी स्वरूपहरू होइनन्, र निश्‍चित रूपमा बाहिरी व्यवहार होइनन्। मानिसहरूलाई उनीहरूको बाहिरी स्वरूपबाट हेर्दा तिनीहरू सबै असल देखिन सक्छन्। तर त्यसो भए किन परमेश्‍वरले केही मानिसहरू दुष्टात्माहरू हुन् र केही अशुद्ध आत्माहरू हुन् भनी भन्नुहुन्छ? यो तेरो निम्ति अदृश्य विषय हो। त्यसकारण, परमेश्‍वरका वचनहरूलाई मानव धारणा वा कल्‍पनाहरूअनुसार, वा मानव जनश्रुतिको आधारमा लिनु हुँदैन, र सत्ताधारी पार्टीका अभिव्यक्तिहरूका आधारमा त अवश्य नै लिनु हुँदैन। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्; मान्छेका शब्‍दहरू सबै भ्रम हुन्। आफूलाई त्यसरी सङ्गति गरिसकिएपछि, के तिमीहरूले परमेश्‍वरका वचनहरूप्रतिको तिमीहरूको मनोवृत्तिमा परिवर्तन अनुभव गरेका छौ? त्यो परिवर्तन जति नै ठूलो वा सानो भए पनि, अर्कोपटक मानिसहरूलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू पढ्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन। तैँले “परमेश्‍वरका प्रकाश र न्यायका वचनहरू औधी कठोर छन्; म यो पृष्ठ पढ्नेछैन। म यसलाई छोडेर अघि बढ्नेछु। म आशिष्‌हरू र प्रतिज्ञाहरूबारे पढेर केही सान्त्वना लिनेछु” भन्दै परमेश्‍वरबारे गुनासो गर्न छोड्नुपर्छ। तैँले अबउप्रान्त आफ्‍नै रुचिअनुसार रोज्दै र छान्दै परमेश्‍वरको वचन पढ्न छोड्नुपर्छ। तैँले सत्यता अनि परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्छ; त्यसपछि मात्रै तेरो भ्रष्ट स्वभाव धुन सकिन्छ, र त्यसपछि मात्रै तैँले मुक्ति पाउन सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग

परमेश्वरमा साँच्चै विश्वास गर्नेहरूले उहाँका वचनहरू अभ्यास र अनुभव गर्न मिहिनेत गर्नेछन्, आफ्नो भ्रष्ट स्वभाव प्रकट हुँदा आत्म-चिन्तन र आफूलाई जान्ने कोसिस गर्नेछन्, अनि यस भ्रष्ट स्वभाव हटाउन परमेश्वरका वचनहरूको सत्यता खोज्नेछन्। सत्यतालाई प्रेम गर्नेहरू परमेश्वरका वचनहरू पढ्दा आत्म-चिन्तन अनि आफूलाई जान्ने प्रयास गर्नमा ध्यान दिन्छन्, अनि तिनीहरूलाई उहाँका वचनहरू तिनीहरूको भ्रष्टता र कुरूपता खुलासा गर्ने ऐनाजस्तै लाग्छ। यसरी, तिनीहरू परमेश्वरका वचनहरूमार्फत् उहाँको न्याय र सजाय स्विकार्न थाल्छन्, अनि बिस्तारै आफ्नो भ्रष्ट स्वभाव हटाउँछन्। जब तिनीहरू आफ्नो भ्रष्ट स्वभाव कम प्रकट भएको देख्छन्, जब तिनीहरू परमेश्वरमा साँच्चै समर्पित हुन्छन्, तिनीहरूलाई सत्यता अभ्यास गर्न धेरै सहज भएको र कुनै कठिनाइहरू बाँकी नभएको महसुस हुनेछ। यसबेला, तिनीहरूले आफूमा साँचो परिवर्तन देख्नेछन्, अनि तिनीहरूको हृदयमा परमेश्वरका लागि साँचो प्रशंसा विकासित हुनेछ: "सर्वशक्तिमान् परमेश्वरले मलाई मेरो भ्रष्ट स्वभावको बन्धन र बाधा अनि शैतानको प्रभावबाट मुक्ति दिनुभएको छ।" परमेश्वरका वचनहरूको न्याय र सजायको अनुभवबाट प्राप्त हुने नतिजा यही हो। यदि मानिसहरू परमेश्वरका वचनहरूमा न्याय र सजाय अनुभव गर्न सक्दैनन् भने तिनीहरूको भ्रष्ट स्वभाव निर्मूल पार्न वा तिनीहरूलाई शैतानको प्रभावबाट अल्ग्याउन सकिँदैन। सत्यतालाई प्रेम नगर्ने मानिसहरू धेरै छन्, र तिनीहरूले परमेश्वरका वचनहरू पढे पनि वा प्रवचनहरू सुने पनि, पछि तिनीहरू शब्द र धर्मसिद्धान्त मात्र बोल्छन्, र फलस्वरूप तिनीहरूले वर्षौँ परमेश्वरमा विश्वास गरे पनि आफ्नो कुनै पनि भ्रष्ट स्वभाव हटाउँदैनन्। यी मानिसहरू पहिले पनि शैतान र दियाबलस थिए र अझै पनि त्यही नै छन्। तिनीहरूले परमेश्वरका वचनहरू फैलाउञ्जेल, उहाँका केही वचनहरू पढेर सुनाउञ्जेल अनि अरूसँग उहाँका वचनहरूबारे सङ्गति गरूञ्जेल, धेरै शब्द र धर्मसिद्धान्तहरू बोल्न सकुञ्जेल, अनि धर्मसिद्धान्त बुझ्न र आत्म-संयम सिक्न सकुञ्जेल आफ्ना भ्रष्ट स्वभावलाई हटाउन सकिनेछ भनी सोचे। फलस्वरूप, धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि पनि तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आउँदैन, तिनीहरू अनुभवात्मक गवाहीबारे बताउन सक्दैनन् अनि त्यसैले आश्चर्यचकित हुन्छन्। परमेश्वरमा विश्वास गरेको यतिका धेरै वर्ष तिनीहरूले व्यर्थमा जिएका र समय बर्बाद गरेका हुनाले तिनीहरूका हात रित्तो छन् अनि तिनीहरूले कुनै सत्यता पाएका छैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

परमेश्‍वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनी सत्यता बोध गर्न र परमेश्‍वरको अभिप्राय बुझ्न, साथसाथै परमेश्‍वरको स्वभाव र प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथमा मानिसको प्रकृति सार र वास्तविक कमीहरू बुझ्न पनि प्रयास गरे र यसमार्फत तिनले परमेश्‍वरलाई सन्तुष्ट पार्न उहाँका मापदण्डहरूका सबै पक्षहरू सजिलै पूरा गरे। पत्रुससँग परमेश्‍वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए। यो कुरा परमेश्‍वरका अभिप्राय अनुरूपको थियो र व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्‍ने सर्वोत्तम शैली यही नै थियो। परमेश्‍वरले पठाउनुभएका सयौं परीक्षाहरू सामना गर्दा पत्रुसले आफूलाई मानिसप्रतिको परमेश्‍वरका न्याय र खुलासाका हरेक वचनहरू, अनि मानिसले पूरा गर्नुपर्ने उहाँका मापदण्डहरूका हरेक वचनसँग कठोर रूपले दाँजेर जाँच गरे र सहीसित ती वचनहरूको अर्थ बोध गर्न लागिपरे। येशूले भन्‍नुभएका हरेक वचनहरूलाई तिनले इमान्दारीपूर्वक चिन्तन र याद गर्ने प्रयास गरे, र तिनले राम्रो नतिजा हासिले गरे। यसरी अभ्यास गरेर तिनले परमेश्‍वरका वचनहरूबाट आफ्नै बारेमा बुझाइ हासिल गर्न सके, र तिनले मानिसका विविध भ्रष्ट अवस्था र कमीकमजोरीहरूबारे मात्र होइन, मानिसको सार र प्रकृतिबारे पनि बुझाइ हासिल गरे। आफूलाई साँचो रूपमा बुझ्नु भनेकै यही हो। परमेश्‍वरका वचनहरूबाट, पत्रुसले आफ्नो बारेमा साँचो बुझाइ मात्र हासिल गरेनन्, तिनले त परमेश्‍वरको धर्मी स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, परमेश्‍वरको कामको लागि उहाँको अभिप्राय, र मानवजातिप्रति परमेश्‍वरका मापदण्डहरू पनि बुझे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्‍वरलाई चिने। तिनले परमेश्‍वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्‍वरसँग के छ र उहाँ को हुनुहुन्छ, र साथसाथै परमेश्‍वरको प्रेमिलोपन र मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूलाई जाने र बुझे। त्यतिखेर परमेश्‍वर आजभोली बोल्नुभए जति बोल्नुहुन्‍नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै विरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौं परीक्षाहरू भोगे, तर तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्‍वरका वचनहरू र कामबाट आफूले आफैलाई मात्र चिनेनन्, बरु तिनले त परमेश्‍वरलाई समेत चिने। यसको साथै, तिनले परमेश्‍वरका वचनहरूभित्र रहेका मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मापदण्डहरूबारे विशेष ध्यान केन्द्रित गरे। मानिसले परमेश्‍वरको अभिप्रायअनुरूप परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्ने जुनसुकै पक्षहरू नै किन नहोस्, यी सबै पक्षहरूमा ठूलो प्रयत्न गर्न र पूर्ण स्पष्टता हासिल गर्न पत्रुस सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्‍वरले जेसुकैको बारेमा बोल्नुभएको भए तापनि, ती वचनहरू जीवन बन्‍न सकुञ्‍जेल र ती सत्यता हुञ्‍जेल, पत्रुस तिनलाई कुँदेर आफ्नो हृदयमा राख्‍न तथा तिनलाई बारम्बार चिन्तन र बोध गर्न सक्षम भए। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्‍न सके, जसले तिनले विशेष रूपमा परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्‍ने देखाउँछ र तिनले अन्त्यमा सच्‍चा रूपमै नतिजा हासिल गरे। यसको मतलब, तिनले परमेश्‍वरका वचनहरूलाई स्वतन्त्र पूर्वक व्यवहारमा उतार्न, सत्यतालाई दुरुस्त रूपमा अभ्यास गर्न अनि परमेश्‍वरको अभिप्रायअनुरूप हुन, सम्पूर्ण रूपले परमेश्‍वरको चाहनाअनुरूप कार्य गर्न, र आफ्ना दृष्टिकोणहरू र कल्पनाहरू त्याग्‍न सके। यसरी, पत्रुस परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

धेरै मानिसहरू आफ्नो कर्तव्य निभाउन इच्छुक भए पनि, उहाँको काम कसरी अनुभव गर्ने भन्ने कुरा तिनीहरूले बुझ्दैनन्। त्यसो गर्नको लागि, तैँले उहाँको न्याय र सजाय, उहाँको काटछाँट र निराकरण, अनि परीक्षा र शोधन अनुभव गर्नैपर्छ। परमेश्‍वरका सबै मापदण्डहरू अभ्यास गर्नुपर्छ, तिनमा प्रवेश गर्नुपर्छ र तिनलाई हासिल गर्नुपर्छ। यसलाई परमेश्‍वरको काम अनुभव गरेको भनिन्छ। त्यो अनुभव गर्नको लागि तैँले उहाँसित सामान्य सम्बन्ध स्थापित गर्नुपर्छ, सधैँ उहाँलाई प्रार्थना गर्नुपर्छ र आज्ञाकारी हृदयद्वारा उहाँसित खोजी गर्ने गर्नुपर्छ। तँमाथि जे आइपरे पनि वा तैँले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, तैँले परमेश्‍वरमाथि भरोसा राख्नुपर्छ र उहाँको बाटो हेर्नुपर्छ, उहाँका वचनहरूमा जवाफ र मार्ग खोज्नुपर्छ, र सधैँ उहाँसित प्रार्थना र सङ्गति गर्नुपर्छ। परमेश्‍वरको काम अनुभव गर्नु भनेको उहाँसँग सम्पर्कमा रहनु र उहाँका वचनहरू र काम पालना गर्नु, आफूलाई समस्या वा कठिनाइहरू पर्दा उहाँलाई प्रार्थना गर्नु र उहाँसित खोजी गर्नु हो। तँसित यस्तो धेरै अनुभव भएपछि, र तैँले सत्यता बुझेपछि, तैँले आफूमाथि आइपर्ने घट्नाहरूमा परमेश्‍वरका वचनहरू लागू गर्न जानेको हुनेछस्। परमेश्‍वरका वचनहरू लागू गर्ने थुप्रै तरिकाहरू छन्, जस्तै, केही कुरा आइपर्दा प्रार्थना र खोजी गर्ने, र मानिसहरूले कस्तो व्यवहार गर्नुपर्छ, त्यसका सिद्धान्तहरू के हुन्, र मानिसहरूको लागि परमेश्‍वरका इच्छा र मापदण्डहरू के हुन् भनी परमेश्‍वरका वचनहरूले कसरी प्रस्ट रूपमा बताउँछन् भनी हेर्ने। जब तँलाई यो सब थाहा हुन्छ, र जब तैँले परमेश्‍वरका अभिप्रायहरू बुझ्छस्, तब तँमा परमेश्‍वरबारे केही ज्ञान र बुझाइ हुनेछ। जब परीक्षाहरू सामना हुन्छन्, तैँले खोजी गर्नुपर्छ, “यस्तो ठूलो परीक्षाबारे परमेश्‍वरको वचनले के भन्छ? परमेश्‍वरले मानिसहरूको परीक्षा लिनुको अर्थ के हो? उहाँ किन मानिसहरूको परीक्षा लिन चाहनुहुन्छ?” परमेश्‍वरका वचनहरूले भन्छन् कि तँ भ्रष्ट छस्, तँ सधैँ विद्रोही र अनाज्ञाकारी हुन्छस्, र तँ उहाँप्रति समर्पित हुँदैनस्, बरु लगातार रूपमा कल्पना र धारणाहरू बनाउँछस्, त्यसैले परमेश्‍वरले परीक्षाहरूमार्फत तँलाई धुन चाहनुहुन्छ। तैँले जे अनुभव गरे पनि, चाहे त्यो उत्पीडन र परीक्षाहरू होऊन्, वा चाहे काटछाँट र निराकरण, र अनुशासन र दण्ड होऊन्, र परमेश्‍वरले तेरो लागि जे-जस्तो परिवेश मिलाउनुभए पनि वा उहाँले जुनसुकै विधि प्रयोग गर्नुभए पनि, तैँले सधैँ परमेश्‍वरका वचनहरूमै जवाफ र आधार खोज्नुपर्छ, अनि तैँले तँबारे उहाँका इच्छा र मापदण्डहरू के छन् भनेर खोजी गर्नुपर्छ। त्यसको मतलब, जेसुकै आइपरे पनि, तैँले सुरुमा परमेश्‍वरले के भन्नुभएको छ, उहाँ मानिसहरूले कसरी अभ्यास गरून् भन्ने चाहनुहुन्छ, मानिसहरूको लागि उहाँका मापदण्डहरू के हुन्, र उहाँको इच्छा के हो भन्नेबारे सोच्नुपर्छ। यी कुराहरू बुझिस् भने, परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनेर तैँले जान्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको सार्वभौमिकताबारे कसरी जान्‍ने

परमेश्‍वरको कामको अनुभव गर्ने सिलसिलामा, जतिपटक असफल भए पनि, लडे पनि, काटछाँट, वा प्रकाश गरिए पनि, यी कुराहरू नराम्रा होइनन्। तँलाई जे-जसरी काटछाँट, वा यो अगुवा, सेवक, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेको भए पनि, यी सबै असल कुरा हुन्। तैँले यो कुरा याद राख्‍नुपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट, वा प्रकाश गरिनु सधैँ नै राम्रो हुन्छ। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, न प्रसङ्ग नै हुन्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको मुख्य समस्या समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनको लागि एकदमै फाइदाजनक हुन्छ। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैँले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस्, सत्यता अभ्यास गर्दै वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैँले त्यस मौकाको फाइदा उठाउन सक्छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्।

यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छस् भने, तैंले दैनिक घटनाहरू, चाहे ती राम्रो होस् वा नराम्रो, ती कुनै पनि विनाउद्देश्यका हुँदैनन् भन्‍ने विश्‍वास गर्नुपर्छ। यो कसैले जानी-जानी तँसँग कठोर व्यवहार गरेको वा तँलाई निशाना बनाइरहेको भन्‍ने हुँदैन; यो सब परमेश्‍वरले नै प्रबन्ध र योजनाबद्ध गर्नुभएको हुन्छ। परमेश्‍वरले किन यी सबै कुराहरूलाई योजनाबद्ध गर्नुहुन्छ? त्यो तँ को होस् भनी खुलासा गर्न वा तँलाई प्रकाश गरेर हटाउनका लागि होइन; तँलाई प्रकाश गर्नु अन्तिम लक्ष्य होइन। तँलाई सिद्ध बनाउनु र मुक्ति दिनुचाहिँ लक्ष्य हो। परमेश्‍वरले तँलाई कसरी सिद्ध तुल्याउनुहुन्छ? अनि उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई तेरो भ्रष्ट स्वभावबारे सचेत गराउँदै, र तँलाई तेरो प्रकृति सार, तेरा कमजोरीहरू र तेरो कमी चिनाउँदै यो काम सुरु गर्नुहुन्छ। यी कुराहरूलाई जानेर र ती कुराहरूलाई स्पष्ट रूपमा बुझेर मात्र, तँ सत्यताको पछि लाग्न सक्छस् र तैँले बिस्तारै तेरो भ्रष्ट स्वभावलाई हटाउन सक्छस्। यो परमेश्‍वरले तँलाई मौका दिनुभएको हो। यो परमेश्‍वरको करुणा हो। यो मौकालाई कसरी सदुपयोग गर्नुपर्छ त्यो तैंले जान्नुपर्छ। तैंले परमेश्‍वरको विरोध गर्न, उहाँसँग टाउको जुधाउन वा उहाँलाई गलत बुझ्न हुँदैन। निश्‍चित रूपमा, परमेश्‍वरले तेरो वरिपरि मिलाउनुभएका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूको सामना गर्दा, ती कुराहरू तैंले चाहना गरे अनुसार छैनन् भनी बारम्बार महसुस नगर्; तीबाट बारम्बार उम्कने इच्छा नगर् वा सधैँ परमेश्‍वरबारे गुनासो गर्ने र गलत प्रकारले बुझ्ने नगर्। यदि तँ निरन्तर यी कुराहरू गर्छस् भने, तैंले परमेश्‍वरको कामको अनुभव गरिरहेको हुँदैनस्, र त्यसले तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न धेरै कठिन बनाउनेछ। जब तैंले पूर्ण रूपमा बुझ्न नसक्‍ने कुनै कुराको सामना गर्छस्, जब कुनै कठिनाइ उत्पन्न हुन्छ, तैंले अधीनमा बस्न सिक्नुपर्छ। तैंले परमेश्‍वरको अगाडि आएर अझ धेरै प्रार्थना गर्दै यो काम सुरु गर्नुपर्छ। त्यसरी, तैंले थाहै नपाई, तेरो आन्तरिक अवस्थामा परिवर्तन आउनेछ, र तैँले आफ्नो समस्या समाधान गर्नका निम्ति सत्यताको खोजी गर्न सक्नेछस्। त्यसरी, तैँले परमेश्‍वरको कामको अनुभव गर्न सक्नेछस्। जब यस्तो हुन्छ, तँभित्र सत्यता वास्तविकता आउँछ, र तैँले यसरी नै उन्नति गर्नेछस् र तेरो जीवनको अवस्थामा रूपान्तरण आउनेछ। तँ यो परिवर्तनबाट भएर गएपछि र तैँले यो सत्यता वास्तविकता प्राप्त गरेपछि, तैंले कद पनि प्राप्त गर्नेछस्, र कदको साथमा जीवन पनि आउनेछ। यदि कुनै व्यक्ति सधैँ भ्रष्ट शैतानी स्वभावको आधारमा जिउँछ भने, उनीहरूसँग जति धेरै उत्साह वा ऊर्जा भए पनि, उनीहरूसँग कद, वा जीवन छ भनेर मानिँदैन। परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुन्छ, र उहाँको काम गर्ने तरिका जस्तोसुकै भए पनि, उहाँले आफ्नो सेवामा जस्तोसुकै प्रकारको मानिस, घटना र परिस्थितिहरूलाई प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको शैली जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। अनि, उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई परिवर्तन गर्नुहुन्छ। त्यसैले तैंले अलिअलि पनि कष्ट नभोग्‍नु कसरी सम्भव हुन्छ? तैंले कष्ट भोग्नु पर्नेछ। यस कष्टमा धेरै कुराहरू समावेश हुन सक्छन्। सुरुमा, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दा तिनीहरूले कष्ट सहनुपर्छ। जब परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र खुलस्त हुन्छन् र मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँका बारेमा धारणाहरूसमेत राख्छन्, तब त्यो पनि पीडादायी नै हुन सक्छ। कहिलेकहीँ परमेश्‍वरले मानिसहरूको भ्रष्टता प्रकाश गर्न, तिनीहरूलाई आत्मचिन्तन गर्दै आफूलाई चिन्‍न बाध्य गराउनको लागि कुनै परिस्थिति ल्याइदिनुहुन्छ, र त्यसबेला पनि तिनीहरूले अलिकति पीडा भोग्‍छन्। कहिलेकहीँ, जब मानिसहरूलाई प्रत्यक्ष रूपमा काटछाँट र खुलासा गरिन्छ, तब तिनीहरूलाई कष्ट हुन्छ। यो त तिनीहरू चक्‍कुको धारमुनि भएजस्तै कुरा हो—यदि यस्तो कुनै कष्ट हुन्‍न भने, प्रभाव पनि केही हुँदैन। यदि हरेकपटक तँलाई काँटछाँट गरिँदा, र हरेकपटक कुनै वातावरणले तँलाई प्रकाश गर्दा, त्यसले तेरा भावनाहरूलाई जगाउँछ र तँलाई प्रोत्साहन दिन्छ भने, यो प्रक्रियाद्वारा तँ सत्यता वास्तविकता प्रवेश गर्नेछस्, र तँसित कद हुनेछ। हरेकपटक तँलाई काटछाँट, र कुनै वातावरणमार्फत तँलाई प्रकाश गरिँदा, तँलाई कुनै पनि प्रकारको पीडा वा असुविधा अनुभूति हुँदैन, र तैँले केही पनि महसुस गर्दैनस् भने, यदि तँ परमेश्‍वरको सामु आउँदैनस् र उहाँका अभिप्रायको खोजी गर्दैनस्, प्रार्थना गर्दैनस् र सत्यताको खोजी पनि गर्दैनस् भने, तँ साँच्चै अति चेतनाशून्य छस्! जब तेरो आत्माले केही अनुभव गर्दैन, र यसले कुनै प्रतिक्रिया दिँदैन, तब परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन। उहाँले भन्नुहुनेछ, “यो व्यक्ति अति नै चेतनाशून्य छ, र धेरै गहन रूपमा भ्रष्ट भएको छ। मैले त्यसलाई जति नै अनुशासनमा राखे पनि, जति नै काँटछाँट गरे पनि वा जति नै काबूमा राख्‍न खोजे पनि, मैले त्यसको हृदय छुन वा त्यसको आत्मालाई जगाउन सक्दिनँ। यो व्यक्ति समस्यामा पर्नेछ; त्यसलाई मुक्ति दिन सजिलो छैन।” यदि परमेश्‍वरले तेरो लागि केही वातावरण, मानिसहरू, घटनाहरू, र काम-कुराहरू मिलाउनुहुन्छ भने, यदि उहाँले तँलाई काँटछाँट गर्नुहुन्छ भने र यदि तैंले त्यसबाट पाठ सिक्छस् भने, यदि तैंले परमेश्‍वरको सामु आउन सिकेको छस् भने, सत्यको खोजी गर्न सिकेको छस्, र अनजानमा, अन्तर्दृष्टि र प्रकाश पाएको छस् र सत्यता प्राप्त गरेको छस् भने, यदि तैंले यी वातावरणहरूमा परिवर्तन अनुभव गरेको छस्, इनामहरू कटनी गरेको छस्, र उन्नति गरेको छस् भने, यदि तैंले परमेश्‍वरका अभिप्रायलाई अलि-अलि बुझ्न थालेको छस् र गुनासो गर्न छोडेको छस् भने, यी सबैको अर्थ तँ यी वातावरणहरूका सबै परीक्षाहरूको बीचमा दह्रो भई खडा भएको छस्, र तैँले त्यो जाँचको सामना गरेको छस् भन्ने हुन्छ। त्यसरी तँ त्यो कठिन जाँचबाट पार भएर गएको हुनेछस्। परीक्षामा नडग्मगाउनेहरूलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? परमेश्‍वरले तिनीहरूमा साँचो हृदय छ र तिनीहरूले यस प्रकारको कष्ट सहन सक्छन्, र भित्री रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्छन् र सत्यता प्राप्त गर्न चाहन्छन् भनेर भन्‍नुहुनेछ। यदि परमेश्‍वरले तँलाई यसरी मूल्याङ्कन गर्नुभयो भने, के तँ कद भएको व्यक्ति हुँदैनस् र? के त्यसपछि तँसँग जीवन हुँदैन र? अनि यो जीवन कसरी प्राप्त गर्न सकिन्छ? के यो परमेश्‍वरले दिनुहुन्छ? परमेश्‍वरले तँलाई विभिन्न तरिकाद्वारा आपूर्ति दिनुहुन्छ र तँलाई तालिम दिनको लागि विभन्न मानिसहरू, घटनाहरू र परिस्थितिहरू प्रयोग गर्नुहुन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले व्यक्तिगत रूपमै तँलाई खाना र पानी दिँदै हुनुहुन्छ, तैँले पेटभरि खा र आनन्द लिई भनेर व्यक्तिगत रूपमै विविध खाद्यपदार्थ तेरो सामु ल्याउँदै हुनहुन्छ; र त्यसपछि मात्र तँ वृद्धि हुन र दह्रिलो गरी खडा हुन सक्छस्। तैँले यी कुराहरूलाई यसरी नै अनुभव गर्नु र बुझ्‍नुपर्छ; परमेश्‍वरबाट आउने हरेक कुरामा यसरी नै समर्पित हुनुपर्छ। तँमा यही प्रकारको मानसिकता र मनोवृत्ति हुनुपर्छ, र तैँले सत्यताको खोजी गर्न सिक्‍नैपर्छ। तैँले निरन्तर तेरा समस्याहरूको बाहिरी कारणहरू खोज्‍ने वा तिनका लागि अरूलाई दोष लगाउने वा मानिसहरूको गल्ती खोतल्‍ने काम गर्नु हुँदैन; तँमा परमेश्‍वरका अभिप्रायका बारेमा स्पष्ट बुझाइ हुनुपर्छ। बाहिरबाट हेर्दा, कतिपय मानिसहरूसँग तेरो बारेमा रायहरू रहेको वा तेरो विरुद्धमा द्वेषभाव रहेको जस्तो देखिन सक्छ, तर तैँले परिस्थितिलाई त्यसरी हेर्नु हुँदैन। यदि तैँले परिस्थितिलाई यस प्रकारको दृष्टिकोणबाट हेर्छस् भने, तैँले बहाना मात्रै बनाउनेछस्, र तैँले केही पनि प्राप्त गर्न सक्‍नेछैनस्। तैँले परिस्थितिहरूलाई वस्तुगत रूपमा हेर्नुपर्छ र सबै कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। जब तैँले परिस्थितिहरूलाई यसरी हेर्छस्, तब परमेश्‍वरको कामप्रति समर्पित हुन तँलाई सहज हुनेछ, र तैँले सत्यता खोजी गर्न, र परमेश्‍वरका अभिप्राय बुझ्‍न सक्‍नेछस्। तेरो दृष्टिकोण र मानसिकता सुधार हुनेबित्तिकै, तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्। त्यसो भए, तैँले किन यसो गर्दैनस्? किन विरोध गर्छस्? यदि तैँले विरोध गर्न छोडेको भए, सत्यता प्राप्त गर्नेथिइस्। यदि तैँले विरोध गरिस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र परमेश्‍वरका भावनाहरूमा चोट पुर्‍याउनेछस् र उहाँलाई खिन्‍न तुल्याउनेछस्। परमेश्‍वर किन खिन्‍न हुनुहुनेछ? किनभने तँ सत्यता स्विकार्दैनस्, तँसँग मुक्तिको आशा छैन, र परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्‍न, तब उहाँ खिन्‍न नभई कसरी बस्‍न सक्‍नुहुन्छ? जब तैँले सत्यता स्वीकार गर्दैनस्, तब त्यो परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमा दिनुभएको खाना इन्कार गर्नुसरह हुन्छ। तैँले मलाई भोक लागेको छैन र तँलाई यसको खाँचो छैन भनी भन्छस्; परमेश्‍वरले तँलाई खान प्रोत्साहित गर्नको लागि बारम्‍बार प्रयास गर्नुहुन्छ, तर तँ अझै पनि यसलाई चाहँदैनस्। बरु तँ भोकै बस्‍न चाहन्छस्। तँलाई आफू अघाएको छु भन्‍ने लाग्छ, तर वास्तवमा, तँसँग बिलकुलै केही पनि हुँदैन। यस्ता मानिसहरूमा समझको औधी कमी हुन्छ, र तिनीहरू औधी आत्मधर्मी हुन्छन्; साँच्‍चै नै तिनीहरूले देख्दा पनि एउटै असल कुरा पनि चिन्दैनन् र तिनीहरू सबैभन्दा दरिद्र र दयनीय मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

मानिसहरूको भ्रष्ट स्वभाव तिनीहरूको बोली र व्यवहारपछाडिका अभिप्रायहरूमा, विभिन्‍न कुराहरूप्रतिको तिनीहरूको दृष्टिकोणमा, तिनीहरूको हरेक सोच र युक्तिहरूमा, र सत्यता, परमेश्‍वर, र परमेश्‍वरको कामसम्बन्धी तिनीहरूका विचार, बुझाइ, धारणा, दृष्टिकोण, इच्छा, र मागहरूमा लुकेको हुन्छ। यो मानिसहरूलाई थाहै नभई तिनीहरूका वचन र व्यवहारहरूबाट प्रकट हुन्छ। त्यसोभए, परमेश्‍वरले मानिसभित्र रहेका यी कुराहरूलाई कुन रूपमा हेर्नुहुन्छ? उहाँले तँलाई उदाङ्गो बनाउने विविध परिवेशहरू मिलाउनुहुन्छ। उहाँले तँलाई उदाङ्गो मात्र पार्नुहुन्न, उहाँले त तेरो न्याय पनि गर्नुहुन्छ। जब तँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस्, जब तँसँग परमेश्‍वरको अवज्ञा गर्ने विचार र धारणाहरू हुन्छन्, जब तँसँग परमेश्‍वरसित प्रतिस्पर्धा गर्ने अवस्था र दृष्टिकोणहरू हुन्छन्, जब तँसित यस्ता अवस्थाहरू हुन्छन् जसले गर्दा तँ परमेश्‍वरलाई गलत रूपमा बुझ्छस्, वा उहाँको प्रतिरोध र विरोध गर्छस्, तब परमेश्‍वरले तँलाई हप्काउनुहुनेछ, तेरो न्याय गर्नुहुनेछ र तँलाई सजाय दिनुहुनेछ, र कहिलेकाहीँ उहाँले तँलाई अनुशासनमा राख्नुहुनेछ र दण्ड दिनुहुनेछ। तँलाई अनुशासनमा राख्नु र हप्काउनुको उद्देश्य के हो त? (हामीलाई पश्‍चात्ताप गर्न र बदलिन लगाउनु हो।) हो, त्यो तँलाई पश्‍चात्ताप गर्न लगाउनलाई हो। तँलाई अनुशासनमा राख्दा र हप्काउँदा के प्राप्त हुन्छ भने, त्यसले तँलाई तेरो मार्ग परिवर्तन गर्न मदत दिन्छ। यो तँलाई तेरा सोचहरू मानिसका धारणाहरू हुन्, र ती गलत छन् भन्ने कुरा बुझाउनलाई हो; तेरा प्रेरणाहरू शैतानबाट जन्मेका हुन्, ती मानवीय इच्छाबाट उत्पन्न हुन्छन्, ती सत्यतासँग मिल्दैनन्, ती परमेश्‍वरसित मेल नखाने हुन्छन्, तिनले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दैनन्, ती परमेश्‍वरका निम्ति अप्रिय र घृणित हुन्छन्, तिनले उहाँको क्रोध जगाउँछन्, र उहाँको श्रापसमेत निम्त्याउँछन्। यो कुरा महसुस गरेपछि, तैँले तेरा उत्प्रेरणा र मनोवृति परिवर्तन गर्नुपर्छ। अनि ती कसरी परिवर्तन हुन्छन् त? सर्वप्रथम, परमेश्‍वरले तँसँग जस्तो व्यवहार गर्नुहुन्छ तँ त्यसमै समर्पित भएर बस्नुपर्छ, र उहाँले तेरो निम्ति तयार पार्नुभएका वातावरण र मानिस, वस्तु र परिस्थितिहरूमा समर्पित भएर बस्नुपर्छ। दोषहरू मात्रै खोजेर नबस्, वस्तुगत बहानाहरू मात्रै नबना, आफ्ना जिम्मेवारीहरूबाट नपन्छी। दोस्रो, परमेश्‍वरले उहाँको काम गर्नुहुँदा मानिसहरूले अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता खोजी गर्। तैँले यी कुराहरू बुझ् भनी परमेश्‍वर भन्नुहुन्छ। परमेश्‍वरले तेरो निम्ति मिलाउनुहुने वातावरणहरूमा तँ समर्पित हुन सक् र अन्त्यमा, उहाँको इच्छाअनुसार र उहाँले तँलाई आवश्यक गर्नुभएअनुसार अभ्यास गर्न सक् भनेर तैँले तेरो भ्रष्ट स्वभावहरू र शैतानी सारलाई बुझ्न र उहाँको इच्छा पूरा गर्न सक् भन्ने उहाँ चाहनुहुन्छ। तब तैँले जाँच पास गरेको हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो आज्ञापालनद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुराप्रति समर्पित हुन खोजे। अलिकति पनि गुनासो नगरीकन, तिनले सजाय र न्यायका साथै शोधन, संकष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूर्ति थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै समर्पित हुन सक्छस्, र सृष्टि गरिएको प्राणीले हासिल गर्नुपर्ने यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ सृष्टि गरिएको योग्य प्राणी हो, र सृष्टिकर्ता अभिप्राय उसले भन्दा राम्ररी पूरा गर्ने अरू केही हुँदैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तर तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहर्‍याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जो परमेश्‍वरप्रति समर्पित हुन सक्दैन, र जसले परमेश्‍वरविरुद्ध विद्रोह गर्छ। तैँले परमेश्‍वरको लागि काम गर्नेबारेमा मात्रै चासो लिन्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍नेबारेमा चासो लिँदैनस्। तैँले सृष्टिकर्तालाई बुझ्न वा चिन्‍न सक्दैनस्, र सृष्टिकर्ताप्रति समर्पित हुने वा उहाँलाई प्रेम गर्ने गर्दैनस्। तँ परमेश्‍वरप्रति जन्मजातै परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

परमेश्‍वरबाट सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! मेरो देह विद्रोही छ, र तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ। म तपाईंको सजाय र न्यायमा आनन्द मनाउँछु, र तपाईंले मलाई नचाहनुभए पनि, तपाईंको न्यायमा म तपाईंको पवित्र र धर्मी स्वभाव देख्छु। अरूले तपाईंको न्यायमा तपाईंको धर्मी स्वभाव देख्‍न सकून् भनेर, जब तपाईंले मलाई न्याय गर्नुहुन्छ, तब मलाई सन्तुष्टिको आभास हुन्छ। यदि यसले तपाईंको स्वभाव व्यक्त गर्न सक्छ र तपाईंको धर्मी स्वभावलाई सबै सृष्टि गरिएका प्राणीले देख्‍न सक्‍ने तुल्याउँछ भने, र यदि यसले तपाईंप्रतिको मेरो प्रेमलाई अझै शुद्ध तुल्याउन सक्छ जसले गर्दा जो धर्मी हुनुहुन्छ उहाँजस्तै म बन्‍न सक्‍छु भने, तपाईंको न्याय असल छ, किनभने तपाईंको सद्भावना त्यस्तै छ। मभित्र अझै धेरै विद्रोही कुराहरू छन् र तपाईंको सामु आउन म अझै पनि योग्य छैन भन्‍ने कुरा मलाई थाहा छ। चाहे विषम परिस्थितिद्वारा होस् या महासंकष्टहरूद्वारा होस्, तपाईंले मलाई अझै बढी न्याय गर्नुहोस् भन्‍ने मेरो कामना छ; तपाईंले जे गर्नुहुन्छ, त्यो मेरो लागि बहुमूल्य छ। तपाईंको प्रेम अति नै प्रगाढ छ र म अलिकति पनि गुनासो नगरीकन आफूलाई तपाईंको कृपामा समर्पित गर्न इच्‍छुक छु।” यो परमेश्‍वरको कार्य अनुभव गरिसकेपछिको पत्रुसको बोध हो र यो परमेश्‍वरप्रतिको उनको प्रेमको गवाही पनि हो। आज तिमीहरूलाई पहिल्यै विजय गरिसकिएको छ—तर तिमीहरूमा कसरी यो विजय व्यक्त हुन्छ? कतिपय मानिसहरू भन्छन्, “ममाथिको विजय भनेको परमेश्‍वरको सर्वोच्‍च अनुग्रह र उच्‍चता हो। अहिले मात्र म मानिसको जीवन खोक्रो र महत्त्वहीन छ भन्‍ने कुरा महसुस गर्छु। मानिसले एकपछि अर्को पुस्ताको सन्तान पैदा गर्दै र हुर्काउँदै दौडधूपमा आफ्‍नो जीवन बिताउँछ तर अन्त्यमा उसँग केही पनि बाँकी रहँदैन। आज परमेश्‍वरद्वारा विजय गरिएपछि मात्रै यसरी जिउनुको कुनै मूल्य छैन भन्‍ने कुरा मैले देखेको छु; यो साँच्‍चै नै एउटा अर्थहीन जीवन हो। म पनि मर्न सक्छु र त्यसपछि त कुरै सकियो नि!” विजय गरिएका त्यस्ता मानिसहरू के परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छन्? के तिनीहरू आदर्श र नमुनाहरू बन्‍न सक्छन्? त्यस्ता मानिसहरू नकारात्मकताका पाठ हुन्; तिनीहरूसँग कुनै आकाङ्क्षा छैन र तिनीहरूले आफूलाई सुधार गर्ने प्रयास गर्दैनन्। विजय गरिएकाहरूको रूपमा गन्ती भए पनि त्यस्ता नकारात्मक मानिसहरू सिद्ध पारिन असक्षम हुन्छन्। उनलाई सिद्ध बनाइएपछि, आफ्‍नो जीवनको अन्त्यतिर पत्रुसले भने, “हे परमेश्‍वर! यदि मैले थप केही वर्ष जिउनुपर्थ्यो भने, म तपाईंको अझ शुद्ध र अझ गहन प्रेम प्राप्त गर्ने कामना गर्नेथिएँ।” उनी क्रूसमा टाँगिन लागेको बेला, उनले आफ्‍नो हृदयमा यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंको समय अब आइपुगेको छ; तपाईंले मेरो लागि तयार पार्नुभएको समय आइपुगेको छ। म तपाईंको लागि क्रूसमा टाँगिनैपर्छ, मैले तपाईंलाई यो गवाही दिनैपर्छ र मलाई आशा छ मेरो प्रेमले तपाईंका मापदण्डहरू पूरा गर्न सक्छ र यो अझै शुद्ध हुन सक्छ। आज तपाईंको लागि मर्न सक्‍नु र तपाईंको लागि क्रूसमा टाँगिन सक्‍नु मेरो लागि सान्त्वना र आश्‍वासन दिने किसिमको छ, किनभने तपाईंको लागि क्रूसमा मर्न सक्‍नु र तपाईंका इच्‍छाहरू पूरा गर्नु र आफैलाई तपाईंमा अर्पित गर्न सक्‍नु, र तपाईंलाई आफ्‍नो जीवन चढाउनुजत्तिको आनन्दको कुरा मेरो लागि अरू केही छैन। हे परमेश्‍वर! तपाईं कति प्रेमिलो हुनुहुन्छ! यदि तपाईंले मलाई जिउन दिनुभएको भए, तपाईंलाई म अझै बढी प्रेम गर्न इच्‍छुक हुनेथिएँ। जबसम्‍म म जीवित रहन्छु, तबसम्‍म म तपाईंलाई नै प्रेम गर्नेछु। म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहुन्छ, मलाई सजाय दिनुहुन्छ र मलाई जाँच्‍नुहुन्छ किनभने म धर्मी छैनँ र मैले पाप गरेको छु। अनि तपाईंको धर्मी स्वभाव मेरो लागि अझै स्पष्ट हुन्छ। यो मेरो लागि एउटा आशिष्‌ हो, किनभने म तपाईंलाई अझै गहन रूपमा प्रेम गर्न सक्छु र तपाईंले मलाई प्रेम गर्नुभएन भने पनि म तपाईंलाई यसरी नै प्रेम गर्न इच्‍छुक छु। तपाईंको धर्मी स्वभावलाई हेर्न म इच्‍छुक छु, किनभने यसले मलाई अर्थपूर्ण जीवन जिउनको लागि अझै सक्षम तुल्याउँछ। मेरो जीवन अहिले अझै अर्थपूर्ण भएको मलाई आभास हुन्छ, किनभने म तपाईंको लागि क्रूसमा टाँगिएको छु र तपाईंको लागि मर्नु अर्थपूर्ण छ। तैपनि, मलाई अझै पनि सन्तुष्टिको आभास छैन, किनभने मलाई तपाईंको बारेमा अत्यन्तै थोरै मात्रै ज्ञान छ, मलाई थाहा छ म तपाईंका इच्‍छाहरूलाई पूर्ण रूपमा पूरा गर्न सक्दिनँ र मैले तपाईंको ऋण थोरै मात्रै तिरेको छु। मेरो जीवनमा, तपाईंलाई मैले मेरो सम्पूर्णता फिर्ता दिन असक्षम रहेको छु; म त्योबाट धेरै टाढा छु। यस क्षणमा फर्केर हेर्दा, म तपाईंप्रति अत्यन्तै ऋणी भएको आभास गर्छु, र मेरा सबै गल्तीहरूको निम्ति र मैले तपाईंलाई फिर्ता नदिएको सबै प्रेम चुकाउनलाई मसँग यो बाहेक अरू क्षण छैन।”

…………

परमेश्‍वरले मानिसलाई सजाय र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यको लागि आवश्यक छ र यति मात्र होइन, मानिसलाई पनि यसको आवश्यक छ। मानिसलाई सजाय र न्याय गरिनुपर्छ, त्यसपछि मात्रै उसले परमेश्‍वरलाई प्रेम गर्ने क्षमता हासिल गर्न सक्छ। आज तिमीहरू पूर्ण रूपमा विश्‍वस्त भएका छौ, तर जब तिमीहरूले अलिकति बाधाको सामना गर्छौ, तिमीहरूलाई समस्या हुन्छ; तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ र गहन ज्ञान प्राप्त गर्नको लागि तिमीहरूले अझै त्यस किसिमको सजाय र न्यायको अनुभव गर्नुपर्छ। आज, तिमीहरूसँग धेरथोर परमेश्वरको अलिकति डर मान्ने हृदय छ र तिमीहरू परमेश्‍वरदेखि डराउँछौ र उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने तिमीहरूलाई थाहा छ तर तिमीहरूसँग उहाँप्रतिको महान् प्रेम छैन, तिमीहरूले शुद्ध प्रेम प्राप्त गरिसकेको हुने त कुरै नगरौँ; तिमीहरूको ज्ञान अत्यन्तै सतही छ र तिमीहरूको कद अझै अपर्याप्त छ। साँचो रूपमा एउटा वातावरणको सामना गर्दा तैँले त्यसमा अझै साक्षी दिएको छैनस्, तेरो प्रवेश अत्यन्तै थोरै मात्र सक्रिय छ र कसरी अभ्यास गर्ने सो तँलाई केही पनि थाहा छैन। धेरैजसो मानिसहरू निष्क्रिय र सुस्त छन्; तिनीहरूले परमेश्‍वरलाई आफ्‍नो हृदयमा गोप्य रूपमा मात्र प्रेम गर्छन् तर तिनीहरूमा अभ्यास गर्ने कुनै उपाय छैन, न त आफ्‍ना उद्देश्यहरू के हुन् भन्‍ने विषयमा नै तिनीहरू स्पष्ट छन्। सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्र नभई विवेकको हदभन्दा माथिका सत्यताहरू पनि हुन्छ, र ती सत्यता विवेकका मापदण्डहरूभन्दा माथि हुन्छन्; तिनीहरूले परमेश्‍वरको प्रेमको ऋण तिर्न विवेकको प्रयोग त गर्छन् नै, तर त्योभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्, र परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, मानिसको प्रेमको योग्य हुनुहुन्छ र परमेश्‍वरमा प्रेम गर्नुपर्ने कुरा धेरै छन् भन्‍ने कुरा देखेका छन्; मानिसले उहाँलाई प्रेम नगरीकन बस्‍न सक्दैन! सिद्ध पारिएकाहरूको परमेश्‍वरप्रतिको प्रेम तिनीहरूका आफ्‍नै आकांक्षाहरूलाई पूरा गर्नको लागि हो। तिनीहरूको प्रेम स्वस्फूर्त प्रेम हो र त्यो प्रेमले सट्टामा केही पनि माग्दैन र त्यो कुनै कारोबार होइन। अरू केही कारणले नभई उहाँप्रतिको तिनीहरूको ज्ञानको कारणले मात्रै तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्। परमेश्‍वरले आफूलाई अनुग्रह गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने कुरालाई त्यस्ता मानिसहरूले वास्ता गर्दैनन् र परमेश्‍वरलाई सन्तुष्टि दिनेबाहेक अरू केही कुराद्वारा तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरूले परमेश्‍वरसँग मोलतोल गर्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमलाई नै तिनीहरूले विवेकको आधारमा मापन गर्छन्: “तपाईंले मलाई दिनुभएको छ, त्यसैले यसको सट्टामा म तपाईंलाई प्रेम गर्छु; यदि तपाईंले मलाई दिनुहुन्‍न भने, यसको सट्टामा मसँग तपाईंलाई दिन केही पनि हुँदैन।” सिद्ध पारिएकाहरूले सधैँ नै यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले हामीमा आफ्‍नो काम गर्नुहुन्छ। सिद्ध पारिनको लागि मसँग यो मौका, अवस्था र योग्यता भएको हुनाले, मेरो उद्देश्य अर्थपूर्ण जीवन जिउने हुनुपर्छ र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।” यो पत्रुसले अनुभव गरेको जस्तै छ: आफू सबैभन्दा कमजोर अवस्थामा हुँदा, उनले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, म तपाईंलाई सधैँ सम्‍झन्छु। तपाईंलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, म तपाईंलाई प्रेम गर्न चाहन्छु, तर मेरो कद निकै सानो छ, म निकै कमजोर र शक्तिहीन छु, मेरो प्रेम अत्यन्तै सीमित छ र तपाईंप्रतिको मेरो इमानदारिता अत्यन्तै थोरै छ। तपाईंको प्रेमको तुलनामा, म जिउनसमेत योग्य छैनँ। मेरो जीवन व्यर्थ नहोस्, र मैले तपाईंको प्रेमको ऋण तिर्न मात्र होइन, मसँग भएका सबै कुरा तपाईंमा समर्पित गर्न सकूँ भन्‍ने मात्र मेरो कामना छ। यदि मैले तपाईंलाई सन्तुष्ट पार्न सकेँ भने, सृष्टि गरिएको प्राणीको रूपमा म मनमा शान्ति पाउनेछु र अरू केही पनि माग्‍नेछैनँ। अहिले म कमजोर र शक्तिहीन भए पनि, म तपाईंका अर्तीहरूलाई बिर्सनेछैनँ, र म तपाईंको प्रेमलाई बिर्सनेछैनँ। अहिले मैले तपाईंको प्रेमको ऋण तिर्नेबाहेक अरू केही पनि गरिरहेको छैन। हे परमेश्‍वर, मलाई अति नराम्रो लाग्छ! म मेरो हृदयमा भएको प्रेम तपाईंलाई कसरी दिन सक्छु, मैले गर्न सक्‍ने जति सबै कसरी गर्न सक्छु, कसरी तपाईंका इच्‍छाहरूलाई पूरा गर्न सक्छु र कसरी मसँग भएका सबै कुरा तपाईंलाई अर्पण गर्न सक्छु? मानिसको कमजोरी तपाईंलाई थाहा छ; तपाईंको प्रेमको लागि म कसरी योग्य बन्‍न सक्छु? हे परमेश्‍वर! तपाईंलाई थाहा छ, म सानो कदको छु, मेरो प्रेम अत्यन्तै थोरै छ। यस किसिमको वातावरणमा मैले कसरी सक्दो गर्न सक्छु? मलाई थाहा छ मैले तपाईंको प्रेमको ऋण तिर्नुपर्छ, मलाई थाहा छ मसँग भएका सबै कुरा मैले तपाईंलाई दिनुपर्छ, तर आज मेरो कद अत्यन्तै सानो छ। म बिन्ती गर्छु मलाई शक्ति र आत्मबल दिनुहोस्, ताकि तपाईंमा समर्पण गर्नको लागि मैले अझै बढी शुद्ध प्रेम प्राप्त गर्न सकूँ र मसँग भएका सबै कुरालाई अझै बढी तपाईंमा समर्पण गर्न सकूँ; म तपाईंको प्रेमको ऋण तिर्न मात्रै होइन, तपाईंको सजाय, न्याय र परीक्षाहरू अनि अझ गम्‍भीर श्रापहरूलाई समेत अझै बढी अनुभव गर्न सकूँ। तपाईंले मलाई तपाईंको प्रेम हेर्न दिनुभएको छ र तपाईंलाई प्रेम नगरी बस्‍न म असक्षम छु, र म आज कमजोर र शक्तिहीन भए पनि, म तपाईंलाई कसरी बिर्सन सक्थेँ र? तपाईंको प्रेम, सजाय र न्याय सबैले मलाई तपाईंलाई चिन्‍ने तुल्याएको छ, तैपनि म तपाईंको प्रेमलाई सन्तुष्ट गर्न पनि असक्षम छु जस्तो लाग्छ, किनभने तपाईं अत्यन्तै महान् हुनुहुन्छ। मसँग भएका सबै कुरा कसरी मैले सृष्टिकर्तामा समर्पण गर्न सक्छु?” पत्रुसको अनुरोध यस्तै थियो, तैपनि उनको कद अत्यन्तै अपर्याप्त थियो। यस क्षणमा, उनले यस्तो महसुस गरे मानौं उनको हृदयमा छुरी चलाइएको छ। उनी वेदनामा थिए; यस्तो अवस्थामा के गर्ने हो उनलाई केही थाहा थिएन। तैपनि उनले प्रार्थनालाई जारी नै राखे: “हे परमेश्‍वर! मानिसको कद बालकको जस्तो छ, उसको विवेक दुर्बल छ, र मैले पूरा गर्न सक्‍ने एउटै मात्र कुरा तपाईंको प्रेमको ऋण तिर्नु हो। आज तपाईंको इच्‍छा कसरी पूरा गर्ने हो, मलाई थाहा छैन र म आफूले गर्न सक्‍ने सबै कुरा गर्न, मसँग भएका सबै कुरा दिन र मेरा सबै कुरा तपाईंमा समर्पित गर्न चाहन्छु। तपाईंको न्याय र तपाईंको सजाय जे-जस्तो भए पनि, तपाईंले मलाई जेसुकै दिनुभए पनि, तपाईंले मबाट जेसुकै लिनुभए पनि, तपाईंप्रतिको सानोभन्दा सानो गुनासोबाट समेत मलाई मुक्त गर्नुहोस्। तपाईंले मलाई सजाय र न्याय गर्नुहुँदा धेरैपटक मैले आफैसँग गनगन गरेँ, र शुद्धता प्राप्त गर्न वा तपाईंका इच्‍छाहरू पूरा गर्न म असक्षम रहेँ। मैले तपाईंको प्रेमको ऋण तिर्ने कार्य बाध्यताद्वारा पैदा भएको थियो र यो क्षणमा म आफैलाई अझै बढी घृणा गर्छु।” परमेश्‍वरको अझ शुद्ध प्रेमको खोजी गरेको कारण पत्रुसले यसरी प्रार्थना गरे। उनले खोजी र बिन्ती गरिरहेका थिए, र यसअलावा, उनले आफैलाई दोषी ठहराइरहेका र परमेश्‍वरसँग आफ्‍नो पाप स्विकारिरहेका थिए। उनलाई आफू परमेश्‍वरप्रति ऋणी महसुस भयो र आफैप्रति घृणा लाग्यो, तैपनि केही हिसाबले उनी दुःखित र नकारात्मक पनि थिए। उनी परमेश्‍वरका अभिप्रायहरूसम्म पुग्न असफल भएझैँ र आफ्नो सक्दो गर्न असक्षम भएझैँ, उनले सधैँ यस्तै महसुस गर्थे। त्यस्ता अवस्थाहरूमा पनि पत्रुसले अय्यूबको जस्तो विश्‍वास अनुसरण गरे। अय्यूबको विश्‍वास कति महान् थियो भन्‍ने कुरा उनले देखेका थिए, किनभने अय्यूबले आफूसँग भएका सबै थोक परमेश्‍वरले दिनुभएको हो र आफूबाट सबै कुरा परमेश्‍वरले लानु स्वभाविकै हो, परमेश्‍वरले जसलाई चाहनुहुन्छ त्यसलाई दिनुहुन्छ अर्थात् परमेश्‍वरको धर्मी स्वभाव त्यस्तो छ भन्‍ने कुरा बुझेका थिए। अय्यूबसँग कुनै गुनासो थिएन र उनले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्थे। पत्रुसले पनि आफैलाई चिनेका थिए र आफ्‍नो हृदयमा उनले यसो भन्दै प्रार्थना गरे, “आज, मैले मेरो विवेकको प्रयोग गरेर तपाईंको प्रेमको ऋण तिरे पनि र तपाईंलाई जति नै धेरै प्रेम फिर्ता दिए पनि, त्यसमा मात्रै म सन्तुष्ट हुनु हुँदैन, किनभने मेरा विचारहरू अत्यन्तै भ्रष्ट छन् र तपाईंलाई सृष्टिकर्ताको रूपमा हेर्न म असक्षम छु। तपाईंलाई प्रेम गर्नको निम्ति म अझै पनि अयोग्य भएको हुनाले, मैले मसँग भएका सबै कुरा तपाईंलाई समर्पण गर्ने क्षमताको विकास गर्नुपर्छ, र मैले स्वेच्छाले त्यसो गर्नुपर्छ तपाईंले गर्नुभएका सबै कुरा मैले जान्‍नैपर्छ, र मैले आफनै छनोटहरू गर्नु हुँदैन, मैले तपाईंको प्रेमलाई हेर्नैपर्छ, र तपाईंको प्रशंसा गर्नैपर्छ र तपाईंको पवित्र नाउँको बढाइ गर्नैपर्छ, ताकि तपाईंले मबाट महान् महिमा प्राप्त गर्नुहोस्। तपाईंप्रतिको यो साक्षीमा म दह्रिलो गरी खडा हुन तत्पर छु। हे परमेश्‍वर! तपाईंको प्रेम कति बहुमूल्य र सुन्दर छ; म कसरी दुष्टको हातमा जिउने इच्‍छा गर्न सक्छु र? के मलाई तपाईंले बनाउनुभएको होइन र? म कसरी शैतानको सत्यमा जिउन सक्छु? म मेरो सम्पूर्ण अस्तित्व नै तपाईंको सजायमा जिओस् भन्‍ने चाहन्छु। दुष्टको सत्तामा जिउन मलाई मन छैन। यदि म शुद्ध पारिन र मसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न सक्छु भने, म मेरो शरीर र मन तपाईंको न्याय र सजायमा समर्पित गर्न तत्पर छु, किनभने म शैतानलाई घृणा गर्छु र त्यसको सत्तामा जिउन चाहन्‍नँ। तपाईंले मलाई गर्नुहुने न्यायमार्फत आफ्‍नो धर्मी स्वभाव देखाउनुहुन्छ; म खुसी छु र मसँग अलिकति पनि गुनासो छैन। यदि मैले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सकेँ भने, म मेरो सम्पूर्ण जीवनमा तपाईंको न्यायको साथ होस् भन्‍ने चाहन्छु, जसमार्फत म तपाईंको धर्मी स्वभावलाई चिन्‍नेछु र दुष्टको प्रभावबाट आफैलाई मुक्त गर्नेछु।” पत्रुसले सधैँ यसरी प्रार्थना गर्थे, सधैँ यसरी खोजी गर्थे र तुलनात्मक रूपमा भन्दा उनी उच्‍च क्षेत्रमा पुगे। उनले परमेश्‍वरको प्रेमको ऋण तिर्न त सके नै तर त्योभन्दा महत्वपूर्ण कुरा, एक प्राणीको रूपमा आफ्‍नो कर्तव्य पनि पूरा गरे। उनलाई आफ्नो विवेकले दोष मात्रै दिएन, उनले त विवेकका मापदण्डहरू पार गर्न पनि सके। उनका प्रार्थनाहरू निरन्तर माथि परमेश्‍वरकहाँ गए, जसले गर्दा उनका आकांक्षाहरू सधैँ उच्‍च रहे र उनको साथमा झन्झन् परमेश्‍वरलाई प्रेम गर्ने हृदयरह्यो। वेदनापूर्ण पीडा सहेर पनि, उनले परमेश्‍वरलाई प्रेम गर्न भुलेनन्, बरु परमेश्‍वरका अभिप्रायहरू बुझ्ने क्षमता प्राप्त गर्ने प्रयास गरे। आफ्ना प्रार्थनाहरूमा उनले निम्‍न शब्‍दहरू उच्‍चारण गरे: “तपाईंको प्रेमको ऋण तिर्नेबाहेक मैले अरू केही हासिल गरेको छैन। मैले शैतानको अघि तपाईंको साक्षी दिएको छैनँ, आफूलाई शैतानको प्रभावबाट मुक्त गरेको छैनँ र म अझै पनि देहमा जिउँछु। म शैतानलाई हराउन र लज्‍जित पार्न आफ्नो प्रेम प्रयोग गर्न र यसरी तपाईंका अभिप्रायहरू पूरा गर्न चाहन्छु। म मेरो सम्पूर्णता तपाईंलाई दिन चाहन्छु, आफ्नो थोरै अंश पनि शैतानलाई दिन चाहन्‍नँ, किनभने शैतान तपाईंको शत्रु हो।” उनले यो दिशामा जति खोजी गरे, त्यति नै प्रभावित भए र यी विषयहरूमा तिनको ज्ञान त्यति नै उच्‍च भयो। थाहै नभई उनले आफूलाई शैतानको प्रभावबाट मुक्त गर्नुपर्छ र पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कनुपर्छ भनी जानिसकेका थिए। उनले प्राप्त गरेको क्षेत्र यस्तो थियो। उनले शैतानको प्रभावलाई नाघ्दै थिए र देहको सुख र आनन्दहरूबाट आफैलाई मुक्त गर्दै थिए, र परमेश्‍वरको सजाय र उहाँको न्याय दुवैलाई अझै गहन रूपमा अनुभव गर्न इच्‍छुक हुँदै थिए। उनी भन्थे, “म तपाईंको सजायमाझ जिए पनि र तपाईंको न्यायमाझ जिए पनि, त्यसबाट आइपर्ने कठिनाइको बाबजुत पनि, म शैतानको सत्तामा जिउन अनिच्‍छुक छु, शैतानको छल भोग्‍न अनिच्‍छुक छु। म तपाईंका श्रापहरूमा जिउन आनन्द मान्छु तर शैतानका आशिष्‌हरूमा जिउँदा पीडित हुन्‍छु। तपाईंको न्यायमा जिएर म तपाईंलाई प्रेम गर्छु र यसले मलाई निकै ठूलो आनन्द दिन्छ। तपाईंका सजाय र न्याय धर्मी र पवित्र छन्; यो मलाई शुद्ध पार्नको लागि हो र त्योभन्दा पनि बढी, यो मलाई मुक्ति दिनको लागि हो। म मेरो सम्पूर्ण जीवन तपाईंको न्यायमा बिताउन चाहन्छु ताकि म तपाईंको हेरचाहमै रहन सकूँ। म एक क्षण पनि शैतानको सत्तामा जिउन चाहन्‍नँ; म तपाईंबाट शुद्ध पारिन चाहन्छु; कष्ट नै भोग्‍नु परे पनि, म शैतानद्वारा शोषित हुन र त्यसको छलमा पर्न चाहन्‍नँ। म अर्थात् यो सृष्टि गरिएकोप्राणीलाई तपाईंद्वारा प्रयोग गरिनुपर्छ, तपाईंद्वारा स्वामित्वमा राखिनुपर्छ, तपाईंद्वारा न्याय गरिनुपर्छ, र तपाईंद्वारा सजाय दिइनुपर्छ। म तपाईंद्वारा श्रापित समेत हुनुपर्छ। तपाईं मलाई आशिष दिन इच्‍छुक हुनुहुँदा मेरो हृदय आनन्दित हुन्छ, किनभने मैले तपाईंको प्रेम देखेको छु। तपाईं सृष्टिकर्ता हुनुहुन्छ र म सृष्टि गरिएको प्राणी हुँ: तपाईंलाई धोका दिएर म शैतानको सत्तामा जिउनु हुँदैन, न त म शैतानद्वारा शोषित हुनु नै हुन्छ। शैतानको लागि जिउनुभन्दा त म तपाईंको घोडा वा गोरु हुनुपरोस्। बरु म कुनै पनि शारीरिक आनन्दविना नै तपाईंको सजाय सहेर बस्छु र मैले तपाईंको अनुग्रह गुमाउनु परे पनि यसले मलाई आनन्द नै दिन्छ। तपाईंको अनुग्रह मसँग नभए पनि, तपाईंको सजाय र न्यायमा म आनन्द लिन्छु; तपाईंको सर्वोत्तम आशिष, तपाईंको महान् अनुग्रह यही हो। मप्रति तपाईं सधैँ प्रतापी र क्रोधित हुनुभए पनि, म तपाईंलाई छोड्न असमर्थ छु र तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिनँ। म तपाईंको घरमा बस्‍न रुचाउँछु, म तपाईंबाट श्राप, सजाय र प्रहार पाउन चाहन्छु, तर म शैतानको सत्तामा जिउन इच्‍छुक छैनँ, न त म देहको लागि मात्रै दौडधूप गर्न र व्यस्त हुन नै इच्‍छुक छु, देहको लागि जिउन इच्छुक हुने त कुरै नगरौँ।” पत्रुसको प्रेम शुद्ध प्रेम थियो। यो नै सिद्ध पारिनुको अनुभव र सिद्ध पारिनुको सबैभन्दा उच्‍च क्षेत्र हो; योभन्दा अर्थपूर्ण जीवन अरू छैन। उनले परमेश्‍वरको सजाय र न्याय स्वीकार गरे र परमेश्‍वरको धर्मी स्वभावलाई बहुमूल्य ठाने र पत्रुसको बारेमा भन्दा उनीसँग योभन्दा मूल्यवान अरू केही थिएन। उनी भन्थे, “शैतानले मलाई भौतिक आनन्दहरू दिन्छ, तर म तिनलाई बहुमूल्य ठान्दिनँ। ममाथि परमेश्‍वरको सजाय र न्याय आउँछ—यसमा मैले अनुग्रह पाउँछु, यसमा मलाई आनन्द मिल्छ र यसमा म आशिषित हुन्‍छु। परमेश्‍वरको न्याय नभएको भए, मैले परमेश्‍वरलाई कहिल्यै प्रेम गर्ने थिइनँ, म अझै पनि शैतानको सत्तामा हुन्थेँ, अझै यसकै नियन्त्रण र यसकै आज्ञामा हुन्थेँ। त्यस्तो भएको भए, म कहिल्यै वास्तविक मानव बन्दिनथेँ, किनभने परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन म असक्षम हुन्थेँ र मेरो सम्पूर्णता परमेश्‍वरलाई समर्पित गर्दिनथेँ। मभित्र आगो नै बलिरहेको जस्तो गरी मलाई भित्र कहिँकतै आराम नदिई र मलाई शान्ति वा आनन्दरहित तुल्याई, परमेश्‍वरले मलाई आशिष नदिनुभए पनि र परमेश्‍वरको सजाय र अनुशासन मबाट कहिल्यै टाढा नगए पनि, परमेश्‍वरको सजाय र न्यायमा म उहाँको धर्मी स्वभाव देख्‍न सक्षम छु। म यसमा आनन्दित हुन्छु; जीवनमा योभन्दा बढी बहुमूल्य वा अर्थपूर्ण कुरा केही पनि छैन। उहाँको सुरक्षा र हेरचाह निर्दयी सजाय, न्याय, श्राप र प्रहार बनेको भए पनि, म यी कुराहरूमा आनन्द लिन्छु, किनभने यी कुराहरूले मलाई अझै राम्ररी शुद्ध पार्न र परिवर्तन गर्न सक्‍छन्, मलाई परमेश्‍वरको नजिक ल्याउन सक्छन्, परमेश्‍वरलाई प्रेम गर्न मलाई अझै सक्षम तुल्याउन सक्छन्, र परमेश्‍वरप्रतिको मेरो प्रेमलाई अझै शुद्ध बनाउन सक्छन्। यसले मलाई सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम तुल्याउँछ र मलाई परमेश्‍वरको सामु र शैतानको प्रभावबाट टाढा लैजान्छ, ताकि मैले अबउप्रान्त शैतानको सेवा गर्नु नपरोस्। जब म शैतानको सत्तामा जिउँदिनँ र कुनै पनि कुरा बाँकी नराखी मसँग भएका सबै कुरा र मैले गर्न सक्‍ने सबै कुरा परमेश्‍वरलाई समर्पण गर्न सक्छु—त्यो नै म पूर्ण रूपमा सन्तुष्ट हुने क्षण हुनेछ। मलाई मुक्ति दिने परमेश्‍वरको सजाय र न्याय नै हो र मेरो जीवनलाई परमेश्‍वरको सजाय र न्यायबाट अलग गर्न सकिँदैन। पृथ्वीको मेरो जीवन शैतानको सत्तामा रहेको छ र परमेश्‍वरको सजाय र न्यायको वास्ता र सुरक्षा नभएको भए, म सधैँ शैतानको सत्तामा जिउनेथेँ, र यति मात्र होइन, मैले अर्थपूर्ण जीवन जिउने मौका वा माध्यमहरू पाउँदिनथेँ। परमेश्‍वरको सजाय र न्यायले मलाई कहिल्यै छोडेन भने मात्रै परमेश्‍वरद्वारा म शुद्ध पारिन सक्षम हुनेछु। परमेश्‍वरको कठोर वचन र धर्मी स्वभाव अनि परमेश्‍वरको प्रतापी न्यायद्वारा मात्रै, मैले सर्वोच्‍च सुरक्षा पाएको छु र म ज्योतिमा जिएको छु, र मैले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरेको छु। शुद्ध पारिन, शैतानबाट आफूलाई मुक्त गर्न र परमेश्‍वरको प्रभुत्वमा जिउन सक्षम हुनु—आज यो नै मेरो जीवनको सबैभन्दा महान् आशिष हो।” पत्रुसले अनुभव गरेको सबैभन्दा उच्‍च क्षेत्र यही हो।

सिद्ध पारिएपछि मानिसले प्राप्त गर्नुपर्ने स्थिति यही हो। यतिको स्थिति प्राप्त गर्न सक्दैनस् भने, तैँले अर्थपूर्ण जीवन जिउन सक्दैनस्। मानिस देहमाझ जिउँछ, जसको अर्थ ऊ मानव नरकमा जिउँछ र परमेश्‍वरको न्याय र सजायविना ऊ शैतानजस्तै अशुद्ध छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्‍वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा महान् अनुग्रह हो भन्‍ने विश्‍वास पत्रुसको थियो। परमेश्‍वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले शरीरलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्‍वरको कठोर अनुशासनले मात्रै मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई आफ्‍नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउन दिन्छ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गर्थे, “हे परमेश्‍वर! जबसम्‍म तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ, तबसम्‍म म तपाईंले मलाई छोड्नुभएको छैन भनी थाहा पाउनेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती सजायहरू दिनुभए पनि, जबसम्‍म तपाईं मलाई छोड्नुहुन्‍न, तबसम्‍म मेरो हृदय सहजतामा हुनेछ। आज तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष्‌ बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले ममाथि बर्साउनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्‍ना देहका सुखचैनहरूलाई पन्छाएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्‍वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन। मानिस शैतानको प्रभावमा जिउँछ, र देहको अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिँदैन र उसले परमेश्‍वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्‍नेछ। यदि उसले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गर्थे, “परमेश्‍वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्‍न हुन्छु र सान्त्वनाको महसुस गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले असीमित कष्ट भोगे पनि, यसमा आँसु र दुःख भए पनि, यो दुःखको कारण मेरो विद्रोहीपन र कमजोरी हो भनी तपाईं जान्‍नुहुन्छ। म बिलौना गर्छु किनभने म तपाईंका अभिप्रायहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र अफसोस महसुस गर्छु किनभने तपाईंका मापदण्डहरूका लागि म अपर्याप्त छु, तर यो क्षेत्र प्राप्त गर्न म इच्‍छुक छु, तपाईंलाई सन्तुष्ट पार्नको लागि मैले सक्‍ने सबै गर्न म इच्‍छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ र मलाई सर्वोत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई ढाकेको छ। तपाईंको सजाय र न्यायविना, म तपाईंको कृपा र प्रेमिलोदयालुपनमा रमाउँदिनथेँ। आज तपाईंको प्रेमले स्वर्गहरूलाई माथ गरेको र अरू सबै थोकलाई उछिनेको म अझै बढी देख्‍छु। तपाईंको प्रेम त कृपा र प्रेमिलोदयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। तपाईंको सजाय र न्यायले मलाई धेरै कुरा दिएको छ। तपाईंको सजाय र न्यायविना, एक जना पनि शुद्ध पारिन्‍नथ्यो र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव नगर्नेथ्यो। मैले सयौं परीक्षा र संकष्टहरूको सामना गरेको र म मृत्युको नजिक पुगेको भए पनि, ती सबैले मलाई साँचो रूपमा तपाईंलाई चिन्‍न र सर्वोच्‍च मुक्ति प्राप्त गर्न दिएको छ। यदि तपाईंको सजाय, न्याय र अनुशासन मबाट टाढा भएको भए, म अन्धकारमा शैतानको सत्तामा जिउनेथेँ। मानिसको देहसँग के लाभहरू छन् र? यदि तपाईंको सजाय र न्यायले मलाई छोडेको भए, यो तपाईंको आत्माले मलाई त्याग्‍नुभएको जस्तो हुनेथियो, तपाईं मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथ्यो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्थेँ र? यदि तपाईंले मलाई रोग दिएर मेरो स्वतन्त्रतालाई लिनुभए, म जिइरहन सक्छु, तर तपाईंको सजाय र न्यायले मलाई छोडेमा, म जिइरहने कुनै उपाय हुँदैन। यदि म तपाईंको सजाय र न्यायविना हुन्थेँ भने, मैले तपाईंको प्रेमलाई गुमाउनेथिएँ, जुन प्रेम यति गहन् छ कि म त्यसलाई शब्‍दमा भन्‍नै सक्‍दिनँ। तपाईंको प्रेमविना, म शैतानको सत्तामा जिउनेथेँ, र तपाईंको महिमावान् अनुहार देख्‍न असमर्थ हुनेथेँ। म कसरी निरन्तर जिउन सक्थेँ र? मैले त्यस्तो अन्धकार, त्यस्तो जीवनलाई सहन सक्‍दिनथेँ। तपाईं मसँग हुनु भनेको तपाईंलाई भेट्नुजस्तै हो, त्यसकारण म तपाईंलाई कसरी छोड्न सक्छु र? म तपाईंलाई अनुरोध गर्छु, म बिन्ती गर्छु कि मेरो सबैभन्‍दा महान् सान्त्वनालाई मबाट नलैजानुहोस्, चाहे यो एकदुई शब्‍दको आश्‍वासन नै किन नहोस्। मैले तपाईंको प्रेमको आनन्द लिएको छु र आज म तपाईंबाट टाढा हुन सक्दिनँ; म तपाईंलाई प्रेम नगरीकन कसरी बस्‍न सक्छु र? तपाईंको प्रेमको कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ के अनुभूति गरेको छु भने, यस्तो जीवन अझै अर्थपूर्ण छ, यसले मलाई अझै समृद्ध तुल्याउन सक्छ, मलाई अझै बढी परिवर्तन गर्न सक्छ, र सृष्टि गरिएका प्राणीहरूले धारण गर्नुपर्ने सत्यता हासिल गर्न यसले मलाई अझै बढी सक्षम तुल्याउँछ।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

सम्बन्धित चलचित्र उद्धरणहरू

परमेश्‍वरको न्याय र सजायमार्फत ख्याति र हैसियत त्याग्‍नु

सम्बन्धित अनुभवात्मक गवाहीहरू

न्याय र सजाय परमेश्वरको प्रेम हो

परमेश्‍वरको न्यायले मलाई बचायो

सम्बन्धित भजनहरू

परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो

न्याय र सजायले प्रकट गर्छन् परमेश्‍वरको मुक्ति

मैले सजाय र न्यायमा परमेश्‍वरको प्रेम देखेँ

अघिल्लो: २. किन परमेश्‍वरका विश्‍वासीहरूले उहाँको न्याय र सजाय स्विकार्नैपर्छ

अर्को: ४. आफूलाई साँचो रूपमा चिन्नु भनेको के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्