२. किन परमेश्‍वरका विश्‍वासीहरूले उहाँको न्याय र सजाय स्विकार्नैपर्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा नराम्ररी प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, संसारका कुराहरूसँग सम्‍बन्धित घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, र पतित जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको देखा पराइलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको सत्ताअन्तर्गत रहेर, हिलोको भूमिमा देह भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय, सजाय, र शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र ऊ शुद्ध पारिन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूको पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिसलाई बिस्तारै यस बिन्दुबाट परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँ खुलासा र काँटछाँट लामो समयसम्म गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरका अभिप्राय, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्‍ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र अझ पवित्र बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

मानिसले सम्पूर्ण जीवन शैतानको सत्तामा जिउँछ, र आफ्‍नै प्रयासद्वारा आफूलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्‍ने एक जना पनि छैन। सबै नै अलिकति अर्थ वा मूल्यसमेत नभएको अशुद्ध संसारमा, भ्रष्टता र रिक्ततामा जिउँछन्; तिनीहरू देहको लागि, अभिलाषाको लागि र शैतानको लागि त्यस्तो लापरवाही जीवन जिउँछन्। तिनीहरूको अस्तित्वमा अलिकति पनि मूल्य छैन। शैतानको प्रभावबाट आफूलाई मुक्त गराउने सत्यता भेट्टाउन मानिस असक्षम छ। मानिसले परमेश्‍वरलाई विश्‍वास गर्ने र बाइबल पढ्ने गर्छ, तैपनि शैतानको प्रभावको नियन्त्रणबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसले बुझ्‍दैन। युगौँयुगदेखि, अत्यन्तै थोरै मानिसहरूले मात्र यो रहस्य पत्ता लगाएका छन्, अत्यन्तै थोरैले मात्र यसलाई बुझेका छन्। त्यसैले, मानिसले शैतानलाई घृणा गरे पनि र देहलाई घृणा गरे पनि, शैतानको पासोरूपी प्रभावबाट आफैलाई कसरी मुक्त गर्ने त्यो उसलाई थाहा हुँदैन। आज के तिमीहरू अझै पनि शैतानको सत्तामा छैनौ र? तिमीहरू आफ्ना विद्रोही कार्यहरूबारे पछुतो गर्दैनौ, तिमीहरूले आफू फोहोरी र विद्रोही छौँ भनी महसुस गर्नु त परै जाओस्। परमेश्‍वरको विरोध गरिसकेपछि, तिमीहरू ढुक्‍क हुन्छौ र ठूलो शान्ति महसुस गर्छौ। के तिमीहरूले यो शान्ति आफू भ्रष्ट भएकोले प्राप्त गरेका होइनौ र? के यो ढुक्‍कपन तिमीहरूको विद्रोहीपनबाट आउँदैन र? मानिस मानव-नरकमा जिउँछ, ऊ शैतानको अँध्यारो प्रभावमा जिउँछ; सारा मुलुकभरि, मानिसको देहमा अतिक्रमण गर्दै भूतहरू मानिससँग जिउँछन्। पृथ्वीमा तँ सुन्दर स्वर्गलोकमा जिउँदैनस्। तिमीहरू जिउने संसार दियाबलसहरूको राज्य हो, यो एउटा मानव-नरक, मृतकहरूको संसार हो। यदि मानिसलाई शुद्ध पारिएन भने, ऊ फोहोरी हुन्छ; यदि उसलाई परमेश्‍वरले सुरक्षा र हेरचाह गर्नुभएन भने, ऊ अझै शैतानकै कैदी हुन्छ; उसलाई न्याय र सजाय गरिएन भने, शैतानको अँध्यारो प्रभावको दमनबाट उम्कने कुनै पनि माध्यम ऊसँग हुनेछैन। तैँले देखाउने भ्रष्ट स्वभाव र तँ जिउने विद्रोही आचरण नै तँ अझै पनि शैतानको सत्तामा छस् भन्‍ने कुरा प्रमाणित गर्न पर्याप्त छन्। यदि तेरो मन र विचारहरू शुद्ध पारिएका छैनन् भने, र तेरो स्वभावलाई न्याय र सजाय गरिएको छैन भने, तेरो समग्र अस्तित्व अझै पनि शैतानको सत्ताद्वारा नियन्त्रित छ, तेरो मन शैतानको नियन्त्रणमा छ, तेरा विचारहरू शैतानको चालबाजीमा परेको छ, र तेरो सम्पूर्ण अस्तित्व शैतानका हातहरूको नियन्त्रणमा छ। … आजको यस्तो अवस्थामा, धेरै मानिसहरूले जीवनको खोजी गर्दैनन्, जसको अर्थ तिनीहरूले शुद्ध पारिनेबारेमा वा अझै गहन जीवन अनुभवमा प्रवेश गर्नेबारेमा तिनीहरू वास्ता गर्दैनन्। यस्तो भएकोले, तिनीहरूलाई कसरी सिद्ध पार्न सकिन्छ? जीवनको खोजी नगर्ने मानिसहरूसँग सिद्ध पारिने मौका हुँदैन, र परमेश्‍वरको ज्ञानको खोजी नगर्नेहरू, आफ्‍नो स्वभाव परिवर्तन गर्ने कार्यको खोजी नगर्नेहरू शैतानको अँध्यारो प्रभावबाट उम्कन सक्दैनन्। तिनीहरू विधि मात्र अनुसरण गर्ने र नियमित सेवाहरूमा सहभागी हुनेहरूजस्तै परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान र आफ्‍नो स्वभावको परिवर्तनमा हुने प्रवेशको बारेमा गम्‍भीर छैनन्। के त्यो समयको बरबादी होइन र? परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा, यदि ऊ जीवनका मामलाहरूप्रति गम्‍भीर छैन, उसले सत्यतामा प्रवेश गर्ने कार्यको खोजी गर्दैन, आफ्‍नो स्वभावमा परिवर्तन ल्याउने कार्यको खोजी गर्दैन र परमेश्‍वरको कार्यको ज्ञानको खोजी त झन् गर्दै गर्दैन भने, उसलाई सिद्ध पारिन सकिँदैन। यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्‍वरको कार्यलाई बुझ्‍नैपर्छ। खास गरी, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्‍ने कुरालाई तैँले बुझ्‍नैपर्छ। के तँ यस कार्यलाई स्वीकार गर्न सक्छस्? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्‍वरको ज्ञान र पवित्र आत्माको कार्यको खोजी गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभाव परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

अँध्यारोको प्रभावमा जिउने व्यक्तिहरू ती व्यक्तिहरू हुन जो मृत्युको बीचमा जिउँछन्, र जसलाई शैतानद्वारा काबूमा राखिएको हुन्छ। परमेश्‍वरद्वारा मुक्त नगरिएमा र परमेश्‍वरद्वारा न्याय नगरिएमा र सजाय नदिइएका मानिसहरू मृत्युको प्रभावबाट उम्कन सक्दैनन्; तिनीहरू जीवित बन्न सक्दैनन्। यी “मृतक मानवहरू” परमेश्‍वरको साक्षी बन्न सक्दैनन्, न त तिनीहरूलाई परमेश्‍वरले प्रयोग नै गर्न सक्नुहुन्छ, तिनीहरूले राज्यमा प्रवेश गर्ने कुरा त परै जाओस्। परमेश्‍वरले जीवितहरूको साक्षी चाहनुहुन्छ, मृतहरूको होइन, र उहाँले जीवितहरूले उहाँको काम गरून् भन्नुहुन्छ, मृतकहरूले होइन। “मृत व्यक्तिहरू” ती व्यक्तिहरू हुन् जसले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो आत्मामा चेतनाशून्य छन् र परमेश्‍वरको वचनहरू बुझ्दैनन्; तिनीहरू ती व्यक्तिहरू हुन् जो सत्यताको अभ्यास गर्दैनन् र जोसँग परमेश्‍वरप्रति रत्तीभर बफादारीता छैन, र तिनीहरू ती व्यक्तिहरू हुन् जो शैतानको सत्ताअन्तर्गत जिउँछन् र शैतानद्वारा शोषित हुन्छन्। मृत व्यक्तिहरूले सत्यताको विरोधमा उभिएर, परमेश्‍वरको विरुद्ध विद्रोह गरेर अनि तुच्छ, घृणायोग्य, दुष्ट, पाशविक, छली तथा धोखेबाज बनेर आफूलाई प्रकट गर्छन्। त्यस्ता व्यक्तिहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने गरे तापनि तिनीहरू परमेश्‍वरको वचनहरू अनुरूप जिउन सक्दैनन्; तिनीहरू जीवित भए तापनि तिनीहरू केवल हिँड्ने र सास फेर्ने लासहरू हुन्। मृत व्यक्तिहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न पूर्ण रूपमा असक्षम हुन्छन्, पूर्ण रूपमा उहाँप्रति समर्पित हुने कुरा त परै जाओस्। तिनीहरूले उहाँ विरुद्ध छल गर्न, उहाँको निन्दा गर्न, उहाँलाई धोखा दिन मात्रै सक्छन्, र तिनीहरूले आफू जिउने तरिका मार्फत जे ल्याउँछन् ती सबैले शैतानको प्रकृति प्रकट गर्छन्। यदि मानिसहरूले जीवित प्राणीहरू बन्न र परमेश्‍वरको साक्षी बन्न अनि परमेश्‍वरद्वारा स्वीकृत हुन चाहन्छन् भने तिनीहरूले परमेश्‍वरको मुक्ति स्वीकार गर्नुपर्छ; तिनीहरू खुशीसाथ उहाँको न्याय र सजायको अधीनमा रहनुपर्छ र परमेश्‍वरको काटछाँटलाई खुशीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि मात्र परमेश्‍वरले अनिवार्य गर्नुभएको सबै सत्यतालाई तिनीहरूले अभ्यास गर्न सक्‍नेछन्, अनि त्यसपछि तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछन् र साँच्चिकै जीवित प्राणी बन्नेछन्। जीवितहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्छ; तिनीहरूलाई परमेश्‍वरले न्याय र सजाय गरिसक्‍नुभएको हुन्छ, तिनीहरू आफूलाई समर्पित गर्न इच्छुक हुन्छन् र परमेश्‍वरको लागि आफ्नो जीवन त्याग्न खुशी हुन्छन् र तिनीहरूले खुशीसाथ आफ्नो पूरा जीवन परमेश्‍वरमा समर्पित गर्छन्। जब जीवितहरूले परमेश्‍वरको साक्षी दिन्छन् तब मात्र शैतानलाई लज्जित बनाउन सकिन्छ; जीवितहरूले मात्र परमेश्‍वरको सुसमाचार कार्य फैलाउन सक्छन्, जीवितहरू मात्र परमेश्‍वरका अभिप्राय अनुसारका हुन्छन्, र जीवितहरू मात्र वास्तविक मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ जीवित भएको व्यक्ति होस्?

मानिस देहमाझ जिउँछ, जसको अर्थ ऊ मानव नरकमा जिउँछ र परमेश्‍वरको न्याय र सजायविना ऊ शैतानजस्तै अशुद्ध छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्‍वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा महान् अनुग्रह हो भन्‍ने विश्‍वास पत्रुसको थियो। परमेश्‍वरको सजाय र न्यायद्वारा मात्रै मानिस बिउँझन सक्छ र उसले शरीरलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्छ। परमेश्‍वरको कठोर अनुशासनले मात्रै मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्छ, उसलाई आफ्‍नै सानो संसारबाट मुक्त गर्छ र उसलाई परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउन दिन्छ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गर्थे, “हे परमेश्‍वर! जबसम्‍म तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ, तबसम्‍म म तपाईंले मलाई छोड्नुभएको छैन भनी थाहा पाउनेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती सजायहरू दिनुभए पनि, जबसम्‍म तपाईं मलाई छोड्नुहुन्‍न, तबसम्‍म मेरो हृदय सहजतामा हुनेछ। आज तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष्‌ बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले ममाथि बर्साउनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्‍ना देहका सुखचैनहरूलाई पन्छाएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्‍वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

तिमीहरू सबै पाप र व्यभिचारको देशमा बस्छौ, र तिमीहरू सबै व्यभिचारी र पापी छौ। आज तिमीहरू परमेश्‍वरलाई हेर्न मात्र असक्षम छैनौ, तर अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले सजाय र न्याय पाएका छौ, तिमीहरूले साँच्चिकै गम्भीर मुक्ति पाएका छौ, भन्नुको मतलब, तैँले परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम पाएको छस्। उहाँले जे गर्नुहुन्छ ती सबैमा परमेश्‍वर साँच्चै तिमीहरूप्रति प्रेमिलो हुनुहुन्छ। उहाँमा कुनै खराब अभिप्राय छैन। तिमीहरूको पापको कारणले गर्दा नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ, यसैले कि तिमीहरूले आफैलाई जाँच्न सक र यो ठूलो मुक्ति पाउन सक। यो सबै मानिसलाई पूर्ण बनाउने उद्देश्यले गरिन्छ। सुरुदेखि अन्त्यसम्म, परमेश्‍वरले मानिसलाई बचाउन यथासक्दो गरिरहनुभएको छ, र उहाँका आफ्नै हातहरूले बनाउनुभएका मानिसहरूलाई पूर्ण रूपमा नष्ट गर्न चाहनुहुन्न। आज, उहाँ तिमीहरूको माझमा काम गर्न आउनुभएको छ; के अझै ठूलो मुक्ति होइन र? यदि उहाँले तिमीहरूलाई घृणा गर्नुहुन्थ्यो भने, के उहाँले तिमीहरूलाई व्यक्तिगत तवरमा मार्गदर्शन गर्न अझै यत्रो ठूलो काम गर्नुहुन्थ्यो र? उहाँले किन त्यस्तो कष्ट भोग्नुहुन्थ्यो? परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्न वा तिमीहरूप्रति कुनै नराम्रो अभिप्राय राख्नुहुन्न। तिमीहरूलाई थाहा हुनुपर्दछ कि परमेश्‍वरको प्रेम सबैभन्दा सत्य प्रेम हो। मानिसहरू विद्रोही भएकोले मात्र उहाँले तिनीहरूलाई न्यायको माध्यमबाट बचाउनुपर्छ; यदि त्यसो नगरिने भए, तिनीहरूलाई बचाउन असम्भव हुनेथियो। तिमीहरूले दैनिक जीवनमा कसरी जिउने भनी नजानेकाले र कसरी जिउने भनी थाहा नपाएकोले, र तिमीहरू व्यभिचारी र फोहोर शैतानहरू भएकोले, उहाँले तिमीहरूलाई अझ बढी भ्रष्ट हुन दिन सक्नुहुन्न, तिमीहरू अहिले यो फोहोर देशमा शैतानको इच्छाद्वारा कुल्चिएर जसरी जिइरहेका छौ त्यो उहाँले देख्न सक्नुहुन्न, र उहाँले तिमीहरूलाई पातालमा पस्न दिन सक्नुहुन्न। उहाँ केवल मानिसहरूको यो समूहलाई प्राप्त गर्न र तिमीहरूलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ। तिमीहरूमाथि गरिने विजयको कामको मुख्य उद्देश्य यही नै हो—यो केवल मुक्तिको लागि हो। यदि तँमाथि गरिएका सबै कुरा प्रेम र मुक्ति हो भनी तैँले बुझ्न सक्दैनस् भने, यदि तँ यो एउटा तरिका मात्र हो, मानिसलाई यातना दिने उपाय र विश्‍वसनीय कुरा हो भनी सोच्छस् भने तँ पनि दुःख र कठिनाइ भोग्नका लागि संसारमा फर्केर जान सक्छस्! यदि तँ यस प्रवाहमा हुन, र यो न्याय र यो महान् मुक्तिको आनन्द लिन, यी सबै आशिषहरूको आनन्द लिन, मानव संसारमा कहीँ पनि नपाइने आशिष् पाउन र यो प्रेमको आनन्द लिन, अनि असल बन्न इच्छुक छस् भने: विजयको काम प्राप्त गर्न यो प्रवाहमा नै बस्, यसरी तँ सिद्ध पारिन सक्नेछस्। परमेश्‍वरको न्यायको कारण आज तैँले थोरै पीडा र शुद्धीकरण भोग्नुपर्ला, तर त्यो पीडा भोग्नुको मूल्य र अर्थ छ। यद्यपि मानिसहरूलाई शोधन गरिने र परमेश्‍वरको सजाय र न्यायद्वारा निर्दयतासाथ उदाङ्गो पारिने भए पनि—त्यसको उद्देश्य तिनीहरूका पापहरूका निम्ति तिनीहरूलाई दण्ड दिनु, तिनीहरूका देहलाई दण्ड दिनु हो—यो कुनै पनि काम तिनीहरूका देहलाई नाश पार्नका निम्ति गरिँदैन। वचनद्वारा गम्भीर खुलासा गर्नु सबैको उद्देश्य तँलाई सही मार्गमा डोर्‍याउने उद्देश्यका लागि हो। तिमीहरूले व्यक्तिगत रूपमा यो कामका धेरै अनुभव गरेका छौ, अनि स्पष्ट छ, यसले तिमीहरूलाई खराब मार्गमा डोर्‍याएको छैन! यो सबै तँलाई सामान्य मानवजाति भएर जिउने बनाउनलाई हो, र यो सबैलाई तेरो सामान्य मानवताद्वारा हासिल गर्न सकिन्छ। परमेश्‍वरको कामको हरेक चरण तेरो आवश्यकताहरूमा आधारित छ, तेरो कमजोरीहरू अनुसार, र तेरो वास्तविक कदअनुसार छ र कुनै असहनीय भार तिमीहरूमाथि राखिँदैन। तँलाई आज यो स्पष्ट छैन, र म तँप्रति कठोर भएजस्तो तँलाई लाग्छ, त्यसैकारणले मैले तँलाई घृणा गर्ने हुनाले प्रत्येक दिन म तँलाई दण्ड दिन्छु, न्याय गर्छु र तेरो निन्दा गर्छु भन्‍ने तँलाई लाग्छ। तर तैँले दण्ड र न्याय भोग्‍नु परे पनि यो वास्तवमा तँप्रतिको प्रेम हो, र सबैभन्दा ठूलो सुरक्षा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)

वास्तवमा, अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्‍याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्‍न सकून्, यो फोहोरी संसारलाई चिन्‍न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिन्‍न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्‍न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। सजाय र न्याय जति यस्तो हुन्छ, त्यति नै धेरै मानिसको हृदयमा चोट पुग्‍न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहै छैन र निश्‍चय नै ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्‍ने पनि उसलाई थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नर्कमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्‍ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्‍कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई जोडजोडले चिच्याउनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

जब तिमीहरूले थोरै रोकटोक वा कठिनाइ भोग्छौ, त्यो तिमीहरूका निम्ति राम्रो हुन्छ; यदि तिमीहरूलाई सहज समय दिइयो भने तिमीहरू बरबाद हुनेथ्यौ, तब तिमीहरू कसरी सुरक्षित हुन सक्थ्यौ? आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै भ्रष्टतामा पर्नेथ्यौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र त्यसैले तिनीहरूको स्वभाव परिवर्तन गर्न यो यसरी नै गरिनुपर्छ। आज, तिमीहरूमा पावलको जस्तो विवेक वा समझ छैन, न त तिमीहरूमा आत्म-सचेतना नै छ। तिमीहरूलाई सधैँ दबाबमा पार्नुपर्छ र तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय र न्याय गर्नुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ। तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन तयार हुँदैनौ, समर्पित हुन इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई जित्‍न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई स्वर्गको उचाइ र पृथ्वीको गहिराइको बारेमा केही पनि थाहा हुँदैनथ्यो, तिमीहरू कहाँ जाँदै छौ भन्‍ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्‍ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्ता परमप्रभुलाई कसरी चिन्‍न सक्छौ? आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यको बारेमा त केही भनिएकै छैन—के त्यो झन् बढी आसन्‍न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति पतित हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। यदि तिमीहरू अझै पनि तिमीहरूका “पितापुर्खा” का जस्तै विधिहरू प्रयोग गरी “शिक्षित” हुन्थ्यौ भने, तिमीहरू कुन क्षेत्रभित्र प्रवेश गर्नेथ्यौ भनी कसले जान्दछ! तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्‍नै बारेमा चिन्तन गर्ने क्षमता छँदै छैन। तिमीहरूजस्ता मानिस यदि कुनै पनि अवरोध वा बाधाविना पछि लाग्छौ र समर्पित हुन्छौ भने, मेरा उद्देश्यहरू हासिल हुनेछन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (६)

मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफ्‍नो विरुद्धमा विद्रोह गर्न सक्‍ने हुनु, देहलाई दुःख भोग्‍न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्‍नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्‍ने कुरालाई बुझाउँथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरूमा समर्पित हुनु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो भन्‍ने कुरा सबैलाई थाहा छ। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका परमेश्‍वरसम्‍बन्धी तिनीहरूको पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको समर्पणता हासिल गर्न सक्छन्—यही मात्र स्वभावमा हुने परिवर्तनको सच्‍चा अभिव्यक्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

मानिसको स्वभाव रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति समर्पित होस्, उहाँको गवाही दिओस्, तिनीहरूले उहाँको व्यावहारिक र सामान्य कार्य जानून्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूप्रति तिनीहरू समर्पित होऊन्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही तिनीहरूले दिऊन् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस प्रकारको गवाही मात्र सही र व्यावहारिक हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय, सजाय, र काँटछाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँ आफ्नो गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई अर्ती दिन्छु, नत्रभने, तैँले परमेश्‍वरको प्रशंसा पाउने वा उहाँको राज्यभित्र उहाँले तँलाई ल्याउनुहुने कुराको अवसर कहिल्यै पाउनेछैनस्। जसले न्याय मात्र स्वीकार गर्छन् तर जो कहिल्यै पवित्र पारिँदैनन्, अर्थात्, जो न्यायको कामको बीचबाट भाग्छन्, त्यस्तालाई परमेश्‍वरले सदाका लागि तिरस्कार गर्नुहुनेछ। तिनीहरूका पाप फरिसीहरूका भन्दा पनि धेरै, र अझै डरलाग्दा हुन्छन्, किनकि तिनीहरूले परमेश्‍वरलाई धोका दिएका छन् र परमेश्‍वरका विरुद्धमा विद्रोह गरेका छन्। श्रम गर्नका लागि पनि लायक नभएका यस्ता मानिसहरूले अझै कडा दण्ड पाउनेछन्, जुन दण्डचाहिँ अनन्तसम्म रहिरहन्छ। परमेश्‍वरले कुनै पनि विश्‍वासघातीलाई बाँकी राख्नुहुनेछैन जसले एकपल्ट बोलीवचनले निष्ठा देखाएका थिए तर त्यसपछि उहाँलाई धोका दिए। यस किसिमका मानिसहरूलाई आत्मा, प्राण, र शरीरका दण्डद्वारा बदला लिइनेछ। के परमेश्‍वरको धर्मी स्वभावको प्रकाश ठीक यही नै होइन र? के मानिसलाई न्याय गर्ने र उसलाई प्रकट गरिदिने परमेश्‍वरको उद्देश्य यही होइन र? न्यायको समयावधिमा सबै किसिमका खराब कार्यहरू गर्नेहरूलाई परमेश्‍वरले दुष्ट आत्माहरूले भरिएको स्थानमा पठाउनुहुनेछ, र ती दुष्टात्माहरूले आफ्ना खुशी अनुसार तिनीहरूका मासुका शरीरहरूलाई विनाश गर्छन् र मानिसहरूका शरीरले लासहरूका दुर्गन्ध फैलाउँछन्। तिनीहरूले पाउनैपर्ने बदला यस्तो हुन्छ। निष्ठाहिन झूटा विश्‍वासीहरू, झूटा प्रेरितहरू, र झूटा कामदारहरूका प्रत्येक पापलाई परमेश्‍वरले तिनीहरूका विवरणका पुस्तकहरूमा लेख्नुहुनेछ, अनि ठीक समय आएपछि, उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरूका बीचमा फालिदिनुहुनेछ, र यी अशुद्ध आत्माहरूले आफ्ना इच्छाअनुसार तिनीहरूका पूरै शरीरहरूलाई अशुद्ध पार्नेछन्, यसरी तिनीहरू कहिल्यै जीवनमा आउनेछैनन् र तिनीहरूले फेरि कहिल्यै उज्यालो देख्ने छैनन्। केही समयको निम्ति सेवा गर्ने तर अन्तसम्म निष्ठावान भएर रहन नसक्ने ढोंगीहरूलाई परमेश्‍वरले दुष्टहरू मध्येमा गणना गर्नुभएको छ, यसरी तिनीहरू दुष्टहरूसँग सामेल होऊन् र लठाबज्र समूहका भाग बनून्; अन्त्यमा, परमेश्‍वरले तिनीहरूलाई विनाश गर्नुहुनेछ। ख्रीष्टप्रति कहिल्यै निष्ठावान् नभएका वा आफ्ना सामर्थ्यका केही कुराहरूका पनि योगदान नदिएकाहरूलाई परमेश्‍वरले पाखा लगाइदिनुहुनेछ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुनेछैन, र युगको परिवर्तनसँगै उहाँले तिनीहरू सबैलाई विनाश गर्नुहुनेछ। तिनीहरू पृथ्वीमा रहनेछैनन्, र परमेश्‍वरको राज्यभित्र प्रवेश गर्ने सम्भावनाको त कुरै नगरौं। परमेश्‍वरमा कहिल्यै इमानदार नभएकाहरू, तर उहाँसँग परिस्थिति अनुसार मन नलागी-नलागी व्यवहार गर्नेहरू, उहाँका मानिसहरूका निम्ति सेवा गर्नेहरूको गन्तीमा पर्छन्। यस्ता मानिसहरूका सानो समूह मात्र बच्नेछ, र मापदण्ड अनुसारको श्रम गर्न नसक्‍नेहरूसँग तिनीहरूमध्ये धेरैको विनाश हुनेछ। अन्त्यमा, परमेश्‍वर र परमेश्‍वरका पुत्रहरूका जस्तै मन भएका मानिसहरू, र पूजाहारीहरू हुनका लागि पूर्वनियुक्ति गरिएकाहरू सबैलाई परमेश्‍वरले उहाँको राज्यमा ल्याउनुहुनेछ। तिनीहरू परमेश्‍वरका कामको प्रतिफल हुनेछन्। परमेश्‍वरले निर्धारण गर्नुभएका कुनै पनि वर्गमा नपर्नेहरू गैरविश्‍वासीहरूमध्येमा गनिनेछन्—तिनीहरूका नतिजा के हुनेछ भन्‍ने बारेमा तिमीहरूले निश्चय पनि कल्पना गर्न सक्छौ। मैले तिमीहरूलाई भन्नुपर्ने सबै कुराहरू भनिसकेको छु; तिमीहरूले छान्नुपर्ने बाटो तिमीहरूको मात्र छनोट हो। तिमीहरूले बुझ्नैपर्ने कुरा यो हो: उहाँसँगको गतिमा अगाडि बढ्न नसक्नेका लागि परमेश्‍वरको कामले पर्खेर बस्दैन, र परमेश्‍वरको धर्मी स्वभावले कसैलाई पनि दया देखाउँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

सम्बन्धित प्रवचनहरू

किन परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुहुन्छ?

सम्बन्धित भजनहरू

परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो

आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामको अर्थ

तिमीहरू सुरक्षित छौ किनभने तिमीहरूलाई सजाय दिइएको छ र न्याय गरिएको छ

अघिल्लो: १. परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, परमेश्‍वरलाई पछ्याउनु भनेको के हो

अर्को: ३. परमेश्‍वरको न्याय र सजाय कसरी अनुभव गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्