३३. झूटो अगुवाबारे रिपोर्ट गरेको कथा
सन् २०१० मा म मण्डली अगुवा लुसियासँग बारम्बार सम्पर्कमा रहन्थेँ। उनले हामीलाई प्रायजसो यसो भन्थिन्, “विगत केही वर्षदेखि परमेश्वरले मलाई सधैँ अनुग्रह गर्दै आउनुभएको छ। मेरा अगुवाहरूले मलाई सधैँ कठिनाइ भोगिरहेका मण्डलीहरूमा पठाउँछन्। कहिलेकाहीँ मलाई जान मन लाग्दैन, तर यो परमेश्वरको आज्ञा हो भन्ने मलाई थाहा छ, त्यसकारण मैले आफ्ना देहगत हितहरूलाई ध्यान दिनु हुँदैन। म परमेश्वरप्रति बफादार हुनुपर्छ, त्यसैले म जान राजी हुन्छु। म जाने हरेक मण्डलीमा, म जाने ठाउँमा जान्छु, केही भेला आयोजना गर्छु, र अस्तव्यस्त भएको मण्डली सामान्य अवस्थामा फर्किन्छ, अनि मण्डली जीवन र सुसमाचारको काम फेरि प्रभावकारी हुन्छ। कहिलेकाहीँ म कठिनाइहरूको सामना गर्छु, तर म परमेश्वरलाई प्रार्थना गर्छु, अनि उहाँले अगाडि बढ्ने मार्ग खोल्नुहुन्छ, र सबै कुरा सुचारु रूपले अघि बढ्छ। परमेश्वरको काम कति अचम्मको छ मलाई थाहा हुन्छ…।” लुसियाको अनुभव सुन्दा ममा उनीप्रति आदरभाव जाग्यो। उनी बोझ बोक्न सक्ने र सक्षम अगुवा हुन् भन्ने मलाई लाग्यो। एकपटक, भेलाअघि म सामान्य कुराकानीमा थिएँ, र लुसियाले मलाई अचानक भनिन्, “यहाँ समय अति नै बहुमूल्य छ, त्यसकारण हामी सँगै हुँदा कुराकानी नगरौँ। यो समयलाई परमेश्वरको वचनमा सङ्गति गर्न प्रयोग गरौँ।” उनले त्यसो भनेको सुन्दा मैले सोचेँ, “वर्षौँको अवधिमा मैले धेरै जना अगुवा भेटेको छु, तर मैले भेटेको यति विवेकशील, भक्त र सत्यता पछ्याउन समर्पित पहिलो व्यक्ति लुसिया नै हुन्।” मैले उनलाई अझै बढी आदर र प्रशंसा गरेँ। तर उनीसँग लामो समयसम्म कुराकानी गरिसकेपछि मैले के थाहा पाएँ भने उनको सङ्गति सधैँ तार्किक हुने भए पनि, र यसो हेर्दा उनी सत्यताको पछि लाग्ने व्यक्तिजस्तो देखिए पनि, उनले परमेश्वरको वचनको आधारमा कसरी आत्मसमीक्षा गरेर आफूलाई चिन्न सकिन् त्यसको बारेमा, वा परमेश्वरको वचनसम्बन्धी आफ्नो व्यावहारिक अनुभवबारे एकदमै विरलै सङ्गति गर्थिन्। उनको धेरैजसो सङ्गति आफूलाई उचाल्ने अनि अरूलाई उनी मण्डलीमा जगेर्ना गरिएको र महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति ठान्न लगाउने छद्म रूप थियो ताकि अरूले उनको मान गरून्। तर त्योभन्दा पनि गम्भीर कुरा त के थियो भने मण्डलीका हितहरूसँग सम्बन्धित महत्त्वपूर्ण केही मामिलाहरूमा उनले सत्यता अभ्यास गर्दिनथिइन्, र उनी जानाजानी झूट बोल्थिन्, धोका दिन्थिन्, अनि जिम्मेवारीबाट पन्छिन्थिन्। उदाहरणको लागि, लुसियाको कामप्रति जिम्मेवार रहेका फिनले मण्डलीमा कुकर्महरू गरेका थिए। तिनले मण्डलीको पैसा हिनामिना र दुरुयोग गरेका थिए, त्यसपछि तिनलाई ख्रीष्टविरोधी ठहराई बहिष्कार गरिएको थियो। लुसियालाई फिनका दुष्कर्महरूबारे राम्ररी थाहा थियो, र वास्तवमा उनले त्यसमा सहभागिता जनाएकी थिइन्। तर फिनलाई बहिष्कार गरिएपछि लुसियाले आत्मसमीक्षा गर्ने वा परमेश्वरसामु पश्चात्ताप गर्ने काम नगरेकी मात्र होइन, फिनको दुष्टतामा आफ्नो सहभागिता छ भन्ने कुरालाई समेत स्वीकार गरिनन्। उनले आफू त्यस विषयमा पूर्ण रूपले स्वच्छ रहेको देखाइन्, मानौँ उनलाई यसबारे केही थाहा छैन र यसमा उनी सहभागी नै थिइनन्। त्यो बेला मलाई लुसिया ढोँगी हुन् भन्ने थाहा भयो। लुसिया आफ्नो रूप बदल्न र अरूलाई ठूला कुराले छल गर्न सिपालु भएकी हुनाले, समझशक्ति नभएका कतिपय ब्रदर-सिस्टरहरूले उनको नाम आदरभावले लिन्थे। मेरा साझेदार ब्रदर र मैले लुसियाको व्यवहार अनि उनका काम र प्रवचनका नतिजाहरू देख्दा, हामीले झूटा अगुवाहरू पत्ता लगाउनेसम्बन्धी सिद्धान्तहरू लागू गर्यौँ, र लुसिया झूटो अगुवा हुन् भन्ने निर्धारित गर्यौँ, अनि लुसियासँग सम्बन्धित यी मामिलाबारे रिपोर्ट गर्दै पत्र लेख्यौँ।
हामीले पत्र पठाएपछि, माथिल्लो तहका अगुवाहरूले लुसियाको मामिलालाई जाँचबुझ गर्छन् भन्ने प्रतीक्षा गर्यौँ, तर आधा महिनापछि पनि हामीले कुनै प्रतिक्रिया प्राप्त गरेनौँ। मेरा साझेदार ब्रदर र मैले यसबारे सोच्यौँ। एक दिन, लुसिया हामीसँग भेला हुन खुसी हुँदै आइन् र माथिल्लो तहका अगुवाहरूले उनलाई जगेर्ना गर्ने योजना बनाएका छन् भनेर भनिन्। मलाई त विश्वासै लागेन: “यस झूटो अगुवालाई बर्खास्त गरिनुको सट्टा जगेर्ना गरेर महत्त्वपूर्ण भूमिकाहरूमा राखिँदैछ? के हामीले सत्यता सिद्धान्तहरू नबुझेका र हामीमा समझशक्ति नभएको कारण हामीले उनीबारे गलत रूपमा रिपोर्ट गर्यौँ?” लगभग एक महिनापछि, लुसिया फेरि आइन् र मण्डलीले अगुवाहरूको निर्वाचन गर्न लागेको छ, बहुसंख्यक ब्रदर-सिस्टरहरूले उनको बारेमा सकारात्मक मूल्याङ्कन दिएका छन् र उनलाई फेरि पनि अगुवा पदमा चयन गर्ने मनसाय राखेका छन् भनिन्। यो कुरा सुन्दा म चकित भएँ। मैले सोचेँ, “लुसिया त धूर्त र चलाक छिन्। उनी अगुवा हुन पटक्कै योग्य छैनन्। मैले उनको रिपोर्ट गर्न अर्को पत्र लेख्नुपर्छ।” तर पत्र लेख्न लाग्दा, म हिचकिचाएँ। “अहिले, धेरै मानिसले लुसियाको वास्तविकतालाई बुझेका छैनन्। तिनीहरू सबै उनको झूटो देखावटी रूपद्वारा धोकामा परेका छन्। यदि मैले उनको रिपोर्ट गर्न फेरि पत्र लेखेँ, र माथिल्लो तहका अगुवाहरूले वास्तविक परिस्थितिलाई बुझेनन् भने, के तिनीहरूले म यस्तो सामान्य कुरा पनि बिर्सन नसक्ने व्यक्ति भनेर सोच्नेछन्? त्यसबाहेक, यदि मैले पत्र लेखेको हो भनेर लुसियाले पत्ता लगाइन् भने, के उनले मसँग ईख राख्नेछिन् र चुपचाप मलाई चोट पुऱ्याउने प्रयास गर्नेछिन्? हामीलाई परमेश्वरको घरबाट परमेश्वरको वचनका पुस्तकहरू, प्रवचनहरू, र सङ्गति दिने कार्यको जिम्मेवार व्यक्ति उनी नै हुन्, त्यसकारण यदि मैले उनलाई चिढ्याएँ भने, उनले मलाई कुनै किसिमले सक्रिय रूपमा दमन गर्नु पर्दैन; मलाई बेवास्ता गर्दै पुस्तकहरू नदिएर नै गम्भीर सङ्कटमा पार्न पर्याप्त हुन्छ।” यी कुराबारे सोच्दा मलाई के गर्ने, के गर्ने भयो। मैले उनको फेरि रिपोर्ट गर्ने कि त्यसलाई बिर्सी दिने? मैले आफ्ना हित, भविष्य र भाग्यबारे विचार गर्दा, मलाई अदृश्य अन्धकार शक्तिले बाँधिरहेको र विवश पारिरहेको छ जस्तो लाग्यो। मैले मनमा केही क्षण सङ्घर्ष गरेँ, र आफूलाई दमन हुनबाट बचाउन मैले अन्त्यमा यसलाई छोडिदिने निर्णय गरेँ। मैले त्यो बेलाको लागि उनको रिपोर्ट गर्ने कुरालाई पन्छ्याइदिने निर्णय गरेँ। मैले आफूलाई यसो भन्दै सान्त्वना दिएँ, “कम्तीमा पनि अहिले हामीले लुसियाको वास्तविकता थाहा पाएका छौँ र उप्रान्त उनीद्वारा धोकामा पर्नेछैनौँ, त्यसकारण अहिलेको लागि यति नै काफी छ। सायद एक दिन परमेश्वरले उनलाई खुलासा गर्नुहुनेछ, र उनको बारेमा सबैले समझशक्ति प्राप्त गर्नेछन् र उनी को हुन् भन्ने कुरा देख्नेछन्। परिणामस्वरूप उनलाई प्रतिस्थापित गरिनेछ।”
एक महिनापछि, हामीले दुई जना सिस्टरबाट एउटा पत्र पायौँ। तिनीहरूले पत्रमा लुसिया झूटो अगुवा हुन् भन्ने पत्ता लगाएको र उनको रिपोर्ट गर्न चाहेको कुरा लेखेका रहेछन्, र तिनीहरूले हाम्रो राय र सल्लाह मागेका रहेछन्। मैले सोचेँ, “हामीले लुसियाबारे रिपोर्ट गरेपछि कुनै प्रतिक्रिया पत्र पाएका छैनौँ। यदि हामीले यी सिस्टरहरूसँग मिलेर फेरि पनि उनको रिपोर्ट गर्यौँ भने, के उच्च तहका अगुवाहरूले लुसियालाई आक्रमण गर्न हामीले जत्था बनाएका छौँ, र हामीले मण्डलीको काममा बाधा दिइरहेका छौँ भनेर भन्नेछन्? यदि त्यस्तो भयो भने, पक्कै पनि लुसियाको सट्टा हामीलाई बर्खास्त गरिनेछ।” यो कुरा ध्यानमा राख्दै, मेरा साझेदार ब्रदर र मैले ती दुई सिस्टरलाई यसो भन्दै पत्र लेख्यौँ, “तपाईंहरू आफ्नै तरिकाले उनको रिपोर्ट गर्न सक्नुहुन्छ। हामीले पहिले नै एकपटक उनको रिपोर्ट गरिसक्यौँ, त्यसकारण हामी फेरि रिपोर्ट गर्नेछैनौँ।” हामीले जवाफ दिइसकेपछि, मलाई एकदमै पछुतो भयो। मैले आफूलाई रक्षा गर्न चाल चलिरहेको छु भन्ने मलाई महसुस भयो। त्यो त अन्धकारको शक्तिसँग हारिरहेको र त्यसको अघि झुकिरहेको थियो। मैले आफूलाई भित्री दोषी भावनाबाट बचाउन, आफूलाई सान्त्वना दिन पहिलेका जस्तै कारणहरू प्रयोग गरेँ: “अहिले, धेरैजसो मानिसलाई लुसियाको वास्तविकता थाहा छैन। यदि हामीले उनको रिपोर्ट गर्नुपर्छ भनिरह्यौँ र उनको बर्खासी हुनुपर्ने पक्षमा उभियौँ भने, ब्रदर-सिस्टरहरूले यस्तो हुन दिनेछैनन्। तिनीहरूले उनलाई रक्षा गर्ने प्रयास गर्नेछन्। ब्रदर-सिस्टरहरूले उनको वास्तविकता थाहा नपाउन्जेलसम्म हामीले प्रतीक्षा गर्नुपर्छ। ठीक समय आएपछि, उनी स्वतः प्रतिस्थापित हुनेछिन्।” मैले त्यो सोचेको भए तापनि, झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्वरको वचनका खण्डहरू देख्दा, मलाई मेरो विवेकले घोचेको महसुस हुन्थ्यो। मैले स्पष्ट रूपमा नै झूटो अगुवा पत्ता लगाएको थिएँ, तैपनि मैले उनको रिपोर्ट गरिरहेको वा उनलाई खुलासा गरिरहेको थिइनँ। के शैतानले मण्डलीको काममा बाधा र व्यवधान ल्याउँदा मैले सहिरहेको थिइनँ र? हामीलाई बास दिने ब्रदर-सिस्टरहरू सबैले लुसियालाई मन पराउँथे, र हामीले उनको बानीबेहोरा झूटो अगुवाको जस्तो छ भनेर खुलासा गर्दा, तिनीहरूले उनको वास्तविकता जान्ने प्रयास गरेनन्, बरु हामीले लुसियालाई आक्रमण गरिरहेका छौँ भन्ने सोचेर तिनीहरू हामीसँग रिसाए र हामीलाई दोष दिए। यो झूटो अगुवाले मानिसहरूलाई अत्यन्तै गहन रूपमा छल गरेकी रहेछिन् भन्ने मलाई थाहा भयो। यो छलमा कति जना ब्रदर-सिस्टरहरू परेका छन् मलाई थाहा थिएन, र झूटा अगुवाहरू परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको निम्ति बाधा र ठेस लाग्ने ढुङ्गा हुन् भन्ने कुरा मलाई अझै धेरै महसुस भयो। त्यो बेला, मलाई लुसियालाई जतिसक्दो चाँडो प्रतिस्थापित गरियोस् भन्नेबाहेक अरू केही इच्छा थिएन, तर उनको बारेमा फेरि रिपोर्ट गर्न पत्र लेख्ने साहस मसँग थिएन। हामीलाई बास दिने ब्रदर-सिस्टरहरूलाई केवल नचिढ्याउन मैले फेरि लुसियाको व्यवहार खुलासा गर्ने आँट गरिनँ। मैले आफूलाई हृदयबाटै निन्दा गरेँ र दोष दिएँ। म कसरी यति कायर र काम नलाग्ने हुन सकेँ भनेर सोचेँ। मैले झूटा अगुवाले मण्डलीको काममा बाधा पुर्याइरहेको देखेको थिएँ तर पनि यसबारे रिपोर्ट गर्ने आँट गरिनँ। मैले सत्य बोल्ने आँटसमेत गरिनँ। के म शैतानको नोकर मात्र थिइनँ र? मलाई परमेश्वरका यी वचनहरू याद आयो: “तिमीहरू परमेश्वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्ने जत्तिको साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्नहरू सोध्, र तिनीहरूको बारेमा बारम्बार सोच्ने गर्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरको हरेक प्रश्नले मलाई अप्ठ्यारो र लज्जित महसुस गरायो। सामान्यतया, म नारा लगाउन सिपालु थिएँ, म परमेश्वरको इच्छालाई ध्यान दिन्छु र परमेश्वरप्रतिको आफ्नो गवाहीमा अडिगतासाथ खडा हुन्छु भनेर भन्थेँ, अनि म सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न चाहन्छु भन्दै सधैँ प्रार्थना गर्थेँ। तर केही कुरा आइपरेपछि र मैले खडा भएर मण्डलीका हितहरूको रक्षा गर्नुपरेपछि, म लुरुक्क परेर पछि हटेँ। झूटा अगुवाहरूको बारेमा तुरुन्तै रिपोर्ट गरिनुपर्छ भन्ने कुरा मलाई स्पष्ट रूपमा थाहा थियो, तर आफूलाई दमन र बर्खास्त गरिनेछ भन्ने डरले, मैले फेरि लुसियाको रिपोर्ट गर्ने आँट गरिनँ, र उनलाई हाम्रा ब्रदर-सिस्टरहरूलाई हानि र छल गर्न दिइरहेँ। अझै खराब कुरा त के थियो भने मलाई बास दिने ब्रदर-सिस्टरहरू लुसियाको धोकामा परेको देख्दा, मैले तिनीहरूलाई झूटो अगुवा चिन्न कसरी सहयोग गर्ने भनेर सोचिनँ। बरु, मैले सम्झौताहरू गरेँ। लुसियालाई खुलासा गर्दा तिनीहरू बेखुस हुन्छन् र तिनीहरूले उप्रान्त हामीलाई बास दिँदैनन् भन्ने सोचेर, म लुसियाको झूटो नेतृत्व व्यवहारहरूबारे चुप रहेँ। म साँच्चै स्वार्थी र घृणित थिएँ। मैले परमेश्वरले प्रदान गर्नुभएका सबै कुराको आनन्द लिएँ र ब्रदर-सिस्टरहरूले मलाई बास दिए र हेरचाह गरे, तैपनि मैले परमेश्वरको इच्छालाई कुनै ध्यान दिइनँ, र मण्डलीको कामलाई रक्षा गरिनँ। म एकातिर तर्केर बसेको थिएँ र झूटो अगुवालाई मण्डलीभित्र हाँक जमाएर मण्डलीको काममा बाधा पुऱ्याउन दिएको थिएँ। मेरो विवेक र तर्कशक्ति कहाँ थिए? म परमेश्वरसामु जिउन पूर्ण रूपमा अयोग्य थिएँ!
त्यसपछि, मैले परमेश्वरका वचनहरू पढेँ: “सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तापनि, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल पर्दाफास गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई बाधा दिन्छन् र परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्, तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेका लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझ नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग मिलेर बस्छन् र परमेश्वरलाई चुनौती दिन्छन्। ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन् तैपनि, के परमेश्वरलाई चुनौती दिने तिनीहरूका स्वभावहरू सबै त्यस्तै छैनन् र? परमेश्वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्वरको वचनले प्रकट गरेको व्यक्ति, सत्यता अभ्यास नगर्ने प्रकारको व्यक्ति म नै हुँ भन्ने मैले बुझेँ। म परमेश्वरले घृणा गर्ने व्यक्ति थिएँ। मैले सबै कुरामा आफूलाई जोगाउने र रक्षा गर्ने प्रयास गरेँ। मैले झूटो अगुवाको सामना गर्दा, सिद्धान्तहरूको पालना गरेर उनको रिपोर्ट गर्ने र उनलाई खुलासा गर्ने आँट गरिनँ। के मैले शैतानको अघि झुकेर त्यससँग साँठगाँठ गरिरहेको थिइनँ र? यसो हेर्दा, मैले लुसियाको पक्षमा उभिएर उनको रक्षा गरिरहेको थिइनँ, तर उनी झूटो अगुवा हुन् भनेर रिपोर्ट वा खुलासा गरिरहेको थिइनँ। मैले उनलाई मण्डलीका ब्रदर-सिस्टरहरूलाई अन्योलमा पार्न र धोका दिन अनि मण्डलीको काममा बाधा र व्यवधान पुऱ्याउन दिएँ। यसो गरेर म शैतानको पक्षमा उभिरहेको थिएँ। परमेश्वरका वचनहरूले भन्छन्: “ती दुष्ट मानिसहरूले जे कुरा फैलाउँछन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्?” परमेश्वरका वचनहरूले मेरो बानीबेहोरालाई ठ्याक्कै प्रकट गरिदिए। मलाई प्रभु येशूले कसरी भन्नुभयो, त्यो कुरा याद आयो: “जो मेरो साथमा छैन त्यो मेरो विरोधमा छ; र जो मसँग भेला हुँदैन त्यो बाहिरतर्फ तितरबितर हुन्छ” (मत्ती १२:३०)। परमेश्वर र शैतानबीचको युद्धमा परमेश्वरको पक्षमा नउभिनु भनेको शैतानको पक्षमा उभिनु हो। बीचमा उभिने कुरा आउँदैन। तर झूटो अगुवाको बारेमा रिपोर्ट गर्ने मामिलामा, मैले चलाक बन्ने, तटस्थ बस्ने, सुरक्षित भएर आफूलाई रक्षा गर्ने प्रयास गरिरहेको थिएँ। के यो शैतानको पक्षमा उभिएर परमेश्वरलाई धोका दिनु मात्रै थिएन र? मैले धेरै जनालाई लुसियाको वास्तविकता थाहा छैन, तर परमेश्वरले उनलाई पूर्ण रूपमा प्रकट गर्नुभएपछि र सही समय आएपछि, उनी स्वाभाविक रूपमा नै प्रतिस्थापित हुनेछिन् भन्ने सोचेको थिएँ। यसो हेर्दा, त्यो विचार अत्यन्तै उचित जस्तो देखिन्थ्यो, तर वास्तवमा म आफ्नो जिम्मेवारीबाट पछि हटिरहेको थिएँ, र सत्यता अभ्यास नगर्न बहानाहरू खोजिरहेको थिएँ। मैले उनको खुलासा गरेर रिपोर्ट गर्ने आफ्नो जिम्मेवरी पूरा गर्नुको सट्टा परमेश्वरबाट नै उनको खुलासा होस् भनेर प्रतीक्षा गरिरहेको थिएँ। वास्तवमा, मैले त दुष्ट काम गर्ने र मण्डलीको काममा बाधा पुऱ्याउने झूटो अगुवालाई साथ दिइरहेको थिएँ। मलाई झूटो अगुवाको मतियार कहलाउनु अत्युक्ति हुने थिएन। यी सबै विचार गरेपछि, मलाई आफू स्वार्थी, घृणित, कमजोर, र अयोग्य भएकोमा आफैप्रति घृणा जाग्यो। म काम नलाग्ने, र शैतानको दास थिएँ! दुष्टता विरुद्धको युद्धमा मसँग कुनै गवाही छँदै थिएन। साँच्चै नै, परमेश्वरले यस कुरालाई घृणा गर्नुहुन्थ्यो! मैले परमेश्वरसामु आएर पश्चात्ताप गर्न प्रार्थना गरेँ। मैले परमेश्वरलाई अन्धकारका शक्तिहरूको नियन्त्रण तोड्न, परमेश्वरको पक्षमा खडा हुन, र शैतानका शक्तिलाई “नाइँ” भनेर इन्कार गर्न शक्ति मागेँ। थप प्रमाण भेट्टाएपछि मैले लुसियाबारे रिपोर्ट गर्न अर्को पत्र लेख्न चाहेको थिएँ। तर मैले त्यसो गर्नुभन्दा पहिले नै, मण्डलीले अनुसन्धान गरेर लुसिया ख्रीष्टविरोधीको मार्ग हिँड्ने झूटो अगुवा हुन् भनेर निर्धारित गर्यो, र उनलाई प्रतिस्थापित गर्यो। हामीले उनको रिपोर्ट गरेर लेखेको पत्र अर्को झूटो अगुवाले लिएर रोकी राखेका रहेछन् भन्ने कुरा पछि थाहा पायौँ। त्यस झूटो अगुवालाई पनि व्यावहारिक काम नगरेकोमा प्रतिस्थापित गरियो। यो खबर सुन्दा मलाई असाध्यै खुसी लाग्यो, तर मलाई ग्लानि पनि भयो, किनभने यस मामिलामा मैले शैतानको दासको रूपमा काम गरेर मण्डलीको कामको रक्षा गर्न वा गवाहीमा अडिगतासाथ खडा हुन म असफल भएको थिएँ।
लुसियालाई प्रतिस्थापत गरिएपछि, नयाँ सिस्टरले अस्थायी रूपमा मण्डलीको काम सम्हालिन्, र अब यो समस्या समाप्त भयो भन्ने मलाई लाग्यो, तर त्यस्तो होइन रहेछ। लगभग एक महिनापछि नै, मेरा साझेदार ब्रदरले मलाई के बताए भने प्रतिस्थापित गरिएपछि पनि लुसियाले अझै ढिपी कस्ने गर्छिन्। उनले ब्रदर-सिस्टरहरूलाई छल गरेर उनीप्रति सहानुभूति देखाउन लगाउनका लागि नवनिर्वाचित अगुवा झूटो अगुवा हुन् भनेर ब्रदर-सिस्टरमाझ हल्ला फैलाइरहेकी थिइन्, र नयाँ अगुवालाई बर्खास्त गर्न लगाएर आफ्नो अगुवाको पद फेरि लिनको लागि उनले गुटबन्दी गरिरहेकी थिइन्। यो सुन्दा, मलाई निकै चिन्ता लाग्यो। मैले जतिसक्दो चाँडो लुसियाको दुष्ट व्यवहारबारे उच्च तहका अगुवाहरूलाई बताउने उपाय खोज्नुपर्थ्यो। त्यो बेला, नयाँ मण्डली अगुवाले पनि उच्च तहका अगुवाहरूलाई लुसियाको समस्याबारे रिपोर्ट गर्न पत्र लेखिरहेकी रहेछिन् र त्यो अवस्थाबारे कसरी व्याख्या गर्ने भनेर निर्णय गर्ने सोचिरहेकी रहेछिन्। म यस्तो कुरा लेख्न निकै सिपालु भएकोले, मैले उनको लागि रिपोर्ट पत्र लेख्न अग्रसर भई सहयोग गरेँ। भोलि बिहान रिपोर्ट पत्र लेखिसकेपछि, मेरा साझेदार ब्रदरले अचानक भने, “पत्रमा हाम्रो नामसहित हस्ताक्षर पनि गरौँ।” त्यो सुन्दा म छक्कै परेँ किनभने मलाई लागेको थियो, “लुसिया घातक र कपटी छिन्, अनि अरूलाई कसरी छल गर्ने उनलाई थाहा छ। यदि हामीले उनको बारेमा यसपटक रिपोर्ट गर्न सकेनौँ, र उनी शक्ति हातमा लिएर फेरि पनि मण्डली अगुवा बनिन् भने, आफूलाई मन नपर्ने मानिसहरूलाई बहिष्कार गरेर आफ्नो शक्तिको दुरुपयोग गर्ने गरेको उनको पृष्ठभूमिलाई हेर्दा त, उनले हामीलाई अवश्य नै प्रतिस्थापित वा बहिष्कारसमेत गर्नेछिन्। तर पत्रमा हस्ताक्षर नगर्नुलाई उचित ठहराउन सकिँदैनथ्यो, किनभने यो हामीले नै लेखिदिएका थियौँ।” एक छिन सोचेर मैले भनेँ, “हामीले लेखन सहयोगीको रूपमा यो पत्र लेखेका हौँ भनेर हस्ताक्षर गरौँ।” साँचो कुरा के थियो भने म आफूलाई यो मामिलाबाट अलग राख्न सक्दो प्रयास गर्न चाहन्थेँ, ताकि मलाई पछि दमन नै गरिए पनि, त्यो त्यति कठोर नहोस्। त्यसपछि मेरा साझेदार ब्रदरले मेरो निराकरण गरे, “तपाईंलाईआफ्नो हस्ताक्षर गर्न किन यति गाह्रो लाग्छ? तपाईं अति धूर्त बन्दैहुनुहुन्छ!” त्यो टिप्पणीले मेरो हृदय साह्रै घोच्यो। मलाई महसुस भयो, मैले अबदेखि धूर्त बन्नु हुँदैन र आफूलाई रक्षा गर्ने कोसिस गर्नु हुँदैन, अनि मैले सत्यता अभ्यास गर्नुपर्छ र इमानदार व्यक्ति बन्नुपर्छ।
पछि, मैले आत्मसमीक्षा गरेँ। हरेकपटक मण्डलीका हितहरूसँग सम्बन्धित घटना घट्दा र त्यसमा मैले आफ्नो विचार व्यक्त गर्नुपर्दा, आखिर किन म किन डराएँ, पछि हटेँ, र मैले आफैलाई रक्षा गर्ने प्रयास गरेँ? यसो गर्दा मलाई कुन प्रकृतिले नियन्त्रण गरिरहेको थियो? मैले परमेश्वरका यी वचनहरू पढेँ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्न सोधेको कल्पना गरौं न: ‘तपाईंले यो पदमा रहेर एकदमै राम्रो काम गर्नुभएको छ, तपाईं के-कस्ता नामुद उक्तिहरू अनुसरण गर्दै जिउनुहुन्छ?’ तिनीहरूले भन्न सक्छन्, ‘मैले बुझेको एउटा कुराचाहिँ “जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन” भन्ने हो।’ तिनीहरूको जीवनवृत्ति यही शैतानी दर्शनमा आधारित हुन्छ। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु तिनीहरूको प्रकृति बनेको छ, र अधिकारी बन्नु र पेशा-व्यवसायमा सफलता पाउनु नै तिनीहरूको लक्ष्य हो। मानिसहरूका जीवन, आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्। … मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्वरको विरोध गर्छन् र परमेश्वरको विरुद्धमा उभिन्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्वरको वचन पढेपछि, मैले आफू शैतानी तर्क, नियम र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “जति कम समस्या, उति राम्रो,” र “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्पिस हुन्छन्” जस्ता सांसारिक दर्शनअनुसार जिउने गरेकोले मैले प्रत्यक्ष रूपमा झूटा अगुवा र ख्रीष्टविरोधीहरूको सामना गर्ने आँट नगरेको रहेछु भन्ने बुझेँ। “सबैले आफ्नै आँगन बढार्छ; अर्काको छानोमा फोहोर भए के मतलब” भन्ने भनाइ पनि छ। म यी शैतानी विषहरूअनुसार जिएको हुनाले, म विशेषगरी स्वार्थी, घृणित, डरपोक, र छली थिएँ। सबै कुरामा, म पहिला आफ्नै हित अनि सम्भावित नाफा र घाटाबारे विचार गर्थेँ। जब मैले पहिलोपटक लुसियाबारे रिपोर्ट गर्न चाहेँ, मैले आफूलाई रक्षा गर्न चाहेको हुनाले त्यसो गर्ने आँट गरिनँ। अहिले, मण्डलीमा शक्तिको लागि होड गर्दै अनि मण्डलीको काममा बाधा र अवरोध ल्याउँदै लुसियाले गुटबन्दी गरिरहेकी थिइन्, र ममा अझै पनि खडा भएर सत्यता अभ्यास गर्ने साहस थिएन। मैले त कछुवाले जस्तै आफ्नो टाउको निकालेँ भने, झूटो अगुवा र ख्रीष्टविरोधीले देखेमा मलाई दण्ड दिनेछ भनेर डराउँदै आफ्नो टाउको खपटाभित्र लुकाएँ। मुखले त मैले परमेश्वरमा विश्वास गरेको र उहाँलाई पछ्याएको थिएँ, तर मेरो हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ थिएन। परमेश्वरको घर निष्पक्षता नभएको वा धार्मिकताविहीन स्थान हो, जहाँ म निरन्तर सतर्क हुनुपर्छ र आफूलाई रक्षा गर्न सिक्नुपर्छ, नत्र म दमनमा पर्ने र दण्डित हुने जोखिममा हुन्छु भन्ने सोच्दै मैले परमेश्वरको घरलाई केवल समाजजस्तो समेत ठानेँ। यस प्रकारको दृष्टिकोण परमेश्वरप्रति गिल्ला र निन्दाबाहेक केही पनि थिएन! परमेश्वरको घर बाहिरी संसार होइन। संसारमा शैतानले शासन गर्छ र दुष्टको हुकुम चल्छ, अनि असललाई धम्काउने र दमन गर्ने मात्रै गरिन सक्छ। तर, परमेश्वरको घरमा ख्रीष्ट र सत्यताले शासन गर्नुहुन्छ। झूटा अगुवा र ख्रीष्टविरोधीहरूले परमेश्वरको घरमा उभिने स्थान पाउँदैनन्, अनि परमेश्वरका चुनिएका मानिसहरूले सत्यता र समझशक्तिको बुझाइ प्राप्त गरेपछि, ती सबैलाई रिपोर्ट गरेर खुलासा गरिनेछ, अनि निष्कासन गरिनेछ र हटाइनेछ। यो परमेश्वरको धार्मिकता हो। परमेश्वरका वचनहरूले भन्छन्: “दुष्टलाई निश्चय नै दण्ड दिइनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम)। परमेश्वरको वचन सत्यता र उहाँले पूरा गर्नुहुने तथ्यहरू हुन्। मैले झूटा अगुवा र ख्रीष्टविरोधीहरू प्रतिस्थापित वा बहिष्कृत भएका वास्तविक उदाहरणहरू पनि देखेको थिएँ। के यो परमेश्वरको धार्मिकता थिएन र? तर म आफ्नै हितहरूद्वारा पूर्ण रूपमा अन्धो भएको थिएँ, र आफूलाई कसरी रक्षा गर्ने भनेर मात्रै सोच्थेँ। मैले परमेश्वरमा विश्वास त गर्थेँ, तर उहाँको वचन, विश्वसनीयता, वा धार्मिकतामा विश्वास गरेको थिइनँ। मैले अविश्वासीको दृष्टिकोणबाट परिस्थितिलाई हेर्ने गरेको थिएँ। यो त गैरविश्वासीको प्रकटीकरण थियो! यदि मैले शैतानी दर्शनहरूअनुसार निरन्तर जिइरहेको, सत्यता अभ्यास नगरेको, र मण्डलीको कामलाई रक्षा नगरेको भए, अन्त्यमा परमेश्वरले मलाई दोषी ठहर्याएर हटाउनुहुनेथियो। यी कुरा महसुस गरेपछि मैले के बुझेँ भने लुसियाबारे रिपोर्ट गर्ने विषयमा मैले सक्दो आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ, र एक दिन मलाई लुसियाले दमन गरे पनि वा निकाले पनि, मैले पाठहरू सिक्न पाउनेथिएँ र त्यसमा परमेश्वरका असल अभिप्रायहरू हुनेथिए। यो सोचेपछि मैले एकदमै शान्त हुँदै रिपोर्ट पत्रमा मेरो नामसहित हस्ताक्षर गरेँ। त्यो क्षण, मलाई सुरक्षित र शान्ति महसुस भयो, र गर्व पनि लाग्यो। मलाई आफू बल्ल खडा भएर शालीन व्यक्ति बनेको अनुभव भयो।
रिपोर्ट पत्र पठाएको एक महिनापछि, हामीले बल्ल खुसीको खबर सुन्यौँ। लुसियाले धेरै दुष्ट काम गरेकी रहेछिन् र परिवर्तन हुन इन्कार गरेछिन्, त्यसकारण उनलाई ख्रीष्टविरोधी ठहर गरी मण्डलीबाट बहिष्कार गरिएछ। लुसियाका दुष्ट कार्य र मण्डलीको काममा बाधा दिन उनलाई पछ्याउने दुष्कर्मीहरूलाई पनि बहिष्कार गरिएछ। पश्चात्ताप गर्न चाहने कतिपयलाई भने दुष्कर्मीका रूपमा वर्गीकरण गरिएन, र मण्डलीमा नै रहन दिएर पश्चात्ताप गर्ने मौका दिइयो। धेरै महिनासम्म जारी रहेको कोलाहल बल्ल रोकिएको थियो, र पहिलाजस्तै सामान्य मण्डली जीवन सुचारु भयो। यो परिणाम देख्दा मलाई असाध्यै खुसी लाग्यो, तर मलाई पछुतो र अफसोस पनि भयो, किनभने झूटो अगुवा र ख्रीष्टविरोधीलाई रिपोर्ट गर्ने विषयमा मैले स्वार्थी र घृणित भएर आफ्नै रक्षा गरेको थिएँ अनि परमेश्वरको धार्मिकता र सत्यताले परमेश्वरको घरमा शासन गर्छ भन्ने कुरामा समेत शङ्का गरेको थिएँ। मेरो धेरैजसो भाग अझै पनि गैर-विश्वासी नै थियो। मैले आफू गहन रूपमा भ्रष्ट बनेको र परमेश्वरप्रति अत्यन्तै ऋणी रहेको देखेँ। अर्कोपटक यस्तो घटना घट्यो भने, म परमेश्वरको पक्षमा उभिनेछु भनेर मैले शपथ खाएँ।
चार वर्षपछि, फेरि त्यस्तै घटना घट्यो। मेरो मण्डलीका केइदेन र अन्य दुई जना अगुवाले शब्द र धर्मसिद्धान्तका कुरा मात्रै गर्ने अनि व्यावहारिक काम नगर्ने भएकाले, तिनीहरूलाई झूटा अगुवाहरू ठहर गरी बर्खास्त गरियो, र जिम्मेवारीहरू लिनका लागि मण्डलीले अस्थायी रूपमा दुई जना अगुवालाई पठायो। यी दुई सिस्टरहरू आएपछि, केइदेनले हाम्रो मण्डलीले “परोपकारी सहयोग” लिँदैन भनेर भ्रम फैलायो। यसको अर्थ बाहिरबाट सरुवा भएर आएका ती दुई सिस्टरहरूलाई तिनले हाम्रा अगुवाका रूपमा स्वीकार गरेका थिएनन्। तिनीहरूले यी दुई सिस्टरलाई आक्रमण गर्ने बहाना खोज्न थाले, र अरू ब्रदर-सिस्टरहरूलाई फकाई-फुस्लाई तिनीहरूको पक्षमा उभिन र ती सिस्टरहरूलाई फिर्ता बोलाइनुपर्छ भन्ने रिपोर्ट पत्र लेख्न लगाए। पछि, तिनीहरूले मलाई पनि यसमा सहभागी हुन अनुरोध गरे। मैले तिनीहरूले लेखेको पत्र पढेपछि, तिनीहरूले दुष्ट व्यवहार भनी उल्लेख गरेका कतिपय कुरा भ्रष्टता देखाएका सामान्य उदाहरण हुन्, दुष्ट काम पटक्कै होइनन् भन्ने थाहा पाएँ। अरू कुरा बढाइचढाइ गरेर लेखिएको थियो, र कति चाहिँ स्पष्ट रूपमा झूटो आरोप र तथ्यहरूलाई बङ्ग्याएका झूट थिए। तिनीहरूको पत्रमा गरिएका दोषारोपण हदभन्दा बढी, निरर्थक, र दुष्ट थियो। तिनीहरूको रिपोर्ट पत्रको वास्तविक उद्देश्य मण्डलीको कामलाई रक्षा गर्नु, झूटा अगुवाहरूलाई निष्कासन गर्नु, वा परमेश्वरका चुनिएका मानिसहरूलाई सुरक्षा गर्नु थिएन, बरु शक्ति हातमा लिएर मण्डली अगुवाको रूपमा आफ्नो पद फिर्ता लिनु, मण्डलीलाई नियन्त्रण गर्नु, र परमेश्वरका चुनिएका मानिसहरूलाई वसमा राख्नु हो भन्ने मैले थाहा पाएँ। तिनीहरू ख्रीष्टविरोधी थिए! सुरुमा, म यो मामिलाबाट अलग बस्न चाहन्थेँ, किनभने मेरा समूह अगुवा पनि तिनीहरूको छलमा परेका थिए र उक्त रिपोर्टमा संलग्न थिए, र म त सामान्य विश्वासी मात्रै थिएँ, त्यसकारण म यी मानिसहरूलाई चिढ्याउन सक्दिनथिएँ। तर चार वर्षपहिले कसरी ख्रीष्टविरोधी लुसियालाई रिपोर्ट गरेर निष्कासन गरिएको थियो, र मसँग कसरी कुनै गवाही थिएन भन्ने बारेमा सोचेपछि, मैले फेरि पनि नलुक्ने वा पछि नहट्ने निर्णय गरेँ। मैले मेरो नजिकका ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेँ ताकि तिनीहरूले यो रिपोर्ट पत्र लेख्ने मानिसहरूको वास्तविक उद्देश्य र अभिप्रायलाई स्पष्ट रूपमा बुझ्न सकून् र तिनीहरूको वास्तविकता देख्न सकून्। त्यसपछि, मैले यो गुटले शक्तिको लागि लड्न गरेका दुष्ट कार्यबारे मण्डलीलाई रिपोर्ट र खुलासा गरेँ। मण्डलीले यो अवस्थाबारे अनुसन्धान र पुष्टि गऱ्यो, अनि यी मानिसहरू ख्रीष्टविरोधी हुन् भन्ने निर्धारित गरी तिनीहरूलाई मण्डलीबाट बहिष्कार गरियो। ख्रीष्टविरोधीहरूको यो समूहलाई बहिष्कार गर्ने सूचनामा मैले दिएका केही प्रमाणहरू पनि समावेश गरिएको देख्दा, मलाई असाध्यै खुसी लाग्यो, र सान्त्वना पनि मिल्यो। यस मामिलामा आफ्ना जिम्मेवारीहरू पूरा गर्न पाउँदा मलाई सम्मानित महसुस भयो।
यी कुराहरू अनुभव गर्दा मैले परमेश्वरको कामको महान् बुद्धिलाई देख्न सकेँ। परमेश्वरले मण्डलीमा झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई देखा पर्न दिनुभयो ताकि मैले समझशक्ति प्राप्त गर्न सकूँ। तिनीहरूलाई खुलासा र बहिष्कार गरिँदा, मैले परमेश्वरको धर्मी स्वभावबारे केही ज्ञान प्राप्त गरेँ, अनि परमेश्वरको घरमा ख्रीष्ट र सत्यताले कसरी शासन गर्नुहुन्छ भन्ने देखेँ, र परमेश्वरमाथिको मेरो विश्वास बढ्यो। परमेश्वरलाई धन्यवाद होस्!