सत्यता कसरी पछ्याउने (६)

पछिल्लो भेलामा हामीले “त्याग्‍नु” भन्‍ने विषयमा सङ्गति गरेका थियौँ, जुन सत्यता कसरी खोजी गर्ने भन्‍ने अभ्यासका सिद्धान्तहरूमध्येको एक हो। “त्याग्‍नु” को पहिलो भागको अर्थ सबै नकारात्मक संवेगहरू त्याग्‍नु हो। हामीले यस विषयमा पहिले नै धेरैपटक सङ्गति गरिसकेका छौँ। के हामीले पछिल्‍लो भेलामा दबाब भन्‍ने नकारात्मक संवेगबारे सङ्गति गर्‍यौँ? (गर्‍यौँ।) यसबारे हामीले के भनेर सङ्गति गर्‍यौँ? के कुराले मानिसहरूलाई दबाब महसुस गराउँछ? (परमेश्‍वरले के सङ्गति गर्नुभयो भने, मानिसहरूले आफ्‍नो कर्तव्यमा जे मन लाग्यो त्यही गर्छन्, र मण्डलीका नीति र नियमहरूको अधीनमा रहने वा बन्देजहरू पालना गर्ने इच्छा गर्दैनन्। तिनीहरूको स्वेच्छाचारी व्यवहारको कारण र तिनीहरू सिद्धान्तहरूअनुसार काम गर्न नसक्‍ने हुनाले, तिनीहरू आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्, र त्यसैले तिनीहरू प्रायजसो काटछाँट र निराकरणमा पर्छन्। अनि, यदि तिनीहरूले आफ्‍नो व्यवहारबारे मनन गरेनन् र सत्यता खोजी गरी समस्या हल गरेनन् भने, तिनीहरूलाई दबाबमा परेको महसुस हुन्छ।) पछिल्‍लोपटक, हामीले एउटा परिस्थितिबारे सङ्गति गरेका थियौँ, जहाँ मानिसहरूले दबाबमा परेको नकारात्मक संवेग महसुस गर्छन्, जसको मुख्य कारण तिनीहरूले आफूले चाहेअनुसार गर्न नपाउनु नै हो। त्यो सङ्गति मुख्य रूपमा मानिसहरूले आफूले चाहेअनुसार गर्न नपाउने परिस्थितिहरू, अनि मानिसहरूले आफ्‍नो इच्छाअनुसार के गर्न चाहन्छन्, र दबाबको संवेगमा डुब्‍ने मानिसहरूमा कस्तो आम व्यवहार हुन्छ भन्‍ने कुरासँग सम्‍बन्धित थियो। त्यसपछि हामीले यो संवेग समाधान गर्न व्यक्तिले लिनुपर्ने मार्गबारे सङ्गति गरेका थियौँ। नकारात्मक संवेगहरू त्याग्‍नेबारे दिइएका यी सङ्गतिहरू सुनेपछि के तिमीहरूले यी सङ्गतिले मान्छेका नकारात्मक संवेगहरू खुलासा गर्छन् वा यी संवेगहरू त्याग्‍ने मार्ग बताउँछन् भनेर निष्कर्ष निकाल्यौ? नकारात्मक संवेगहरू त्याग्‍ने यो अभ्यास के कुराप्रति लक्षित छ? यी सङ्गतिहरू सुनेपछि, के तिमीहरूले यस विषयमा मनन गर्‍यौ? (परमेश्‍वर, मेरो बुझाइ के हो भने, यो अभ्यास मानिसहरूको दृष्टिकोणप्रति लक्षित छ।) ठीक हो, यो एउटा पक्ष हो। यो मानिसहरूका दृष्टिकोणहरूसँग सम्‍बन्धित छ। यी दृष्टिकोणहरू मुख्य गरी व्यक्तिले विभिन्‍न मानिसहरू, घटनाहरू, र परिस्थितिहरू सामना गर्दा लिने विभिन्‍न विचार र दृष्टिकोणहरूसँग सम्‍बन्धित छन्, र सामान्य मानव जीवन र अस्तित्वमा व्यक्तिले सामना गर्ने विभिन्‍न समस्याहरूप्रति लक्षित छन्। यसका उदाहरणहरू यसप्रकार छन्: अरूसँग कसरी अन्तरक्रिया गर्ने, वैमनस्यता कसरी हटाउने, अनि विवाह, परिवार, काम, भावी सम्भाव्यता, रोगबिमार, बूढ्यौली, मृत्यु, र जीवनका सानातिना कुराहरूप्रति व्यक्तिमा कस्तो मनोवृत्ति हुनुपर्ने। यसले व्यक्तिले आफ्‍नो वातावरणलाई कसरी सामना गर्नुपर्छ र आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई कसरी लिनुपर्छ, र यस्तै अन्य कुराहरूलाई पनि छुन्छ। के यसले यी कुराहरूलाई छुँदैन र? (छुन्छ।) सामान्य मानव जीवन र अस्तित्वसँग सम्‍बन्धित सिद्धान्तका सबै मुख्य समस्या र मामलाहरूको हकमा भन्दा—यदि व्यक्तिसँग सही विचार, दृष्टिकोण, र मनोवृत्ति छ भने, उसको मानवता तुलनात्मक रूपमा सामान्य नै हुन्छ। मैले “सामान्य” भन्‍नुको अर्थ सामान्य समझ र सामान्य दृष्टिकोण र अडान हुनु हो। सही विचार र दृष्टिकोण भएका मानिसहरूलाई मात्रै सत्यता पछ्याउँदा सत्यता बुझ्‍न र त्यसमा प्रवेश गर्न सजिलो हुन्छ। यसको अर्थ मानिसहरू र परिस्‍थितिप्रति सामान्य विचार र सामान्य दृष्टिकोण, हेराइ, र अडान भएका मानिसहरूले मात्रै सत्यता पछ्याउने क्रममा निश्‍चित परिणामहरू प्राप्त गर्न सक्छन्। यदि मानिसहरू र परिस्थितिप्रतिको व्यक्तिको दृष्टिकोण र अडान, अनि उसको विचार, दृष्टिकोण, र मनोवृत्ति सबै नकारात्मक छन्, र सामान्य मानवताको विवेक र तर्कसँग मिल्दैनन्, र चरम, जिद्दीपूर्ण र अशुद्ध छन् भने—छोटकरीमा भन्दा, यदि ती सबै नकारात्मक, प्रतिकूल, र निराशापूर्ण छन् भने—यस्ता नकारात्मक विचार र दृष्टिकोण भएको व्यक्तिले सत्यता पछ्याउँछ भने, के उसलाई यो बुझ्‍न र अभ्यास गर्न सजिलो हुन्छ? (हुँदैन।) सैद्धान्तिक हिसाबमा तिमीहरूले त्यसो भन्‍नु सरल छ, तर वास्तविक हिसाबमा, तिमीहरूले यो कुरा साँचो रूपमा बुझ्दैनौ। यसलाई अझै सरल रूपमा भन्‍नुपर्दा, जहाँसम्म हामीले सङ्गति गरिरहेका विभिन्‍न नकारात्मक संवेगहरूको कुरा छ, यदि व्यक्तिले आफ्‍नो जीवन र जीवनको बाटोमा सामना गर्ने विभिन्‍न मानिसहरू, मामिलाहरू, र परिस्थितिहरूबारे उसमा नकारात्मक र गलत दृष्टिकोण र अडान छ भने, के उसले सत्यताको बुझाइ प्राप्त गर्न सक्छ? (सक्दैन।) यदि यस्ता व्यक्तिहरू सधैँ नकारात्मक संवेगहरूमा डुबिरहे भने, के तिनीहरूले परमेश्‍वरका वचनहरूको विशुद्ध बुझाइ हासिल गर्न सक्छन्? (सक्दैनन्।) यदि तिनीहरू सधैँ नकारात्मक संवेगहरूको विचार र दृष्टिकोणहरूको प्रभुत्व, नियन्त्रण र प्रभावमा हुन्छन् भने, सबै कुराहरूप्रतिको तिनीहरूको दृष्टिकोण र अडान, र तिनीहरूको जीवनमा आइपर्ने कुराहरूप्रतिको तिनीहरूको हेराइ नकारात्मक हुँदैन र? (हुन्छ।) यहाँ “नकारात्मक” को अर्थ के हो? सबभन्दा पहिले, के हामीले यो कुरा तथ्य र वस्तुगत नियमविपरीत हुन्छ भनेर भन्‍न सक्छौँ? के यसले मान्छेले पछ्याउनुपर्ने प्रकृतिको नियम, साथै परमेश्‍वरको सार्वभौमिकताको तथ्य उल्‍लङ्घन गर्छ? (गर्छ।) यदि मानिसहरूले परमेश्‍वरका वचनहरू सुन्दा र पढ्दा आफूमा यी नकारात्मक विचार र दृष्टिकोणहरू लिएर हिँड्छन् भने, के तिनीहरूले साँच्‍चै उहाँका वचनहरू स्विकार्न र ती वचनहरूमा समर्पित हुन सक्छन्? के तिनीहरूले परमेश्‍वरप्रतिको समर्पण र उहाँसँगको सामञ्जस्यता हासिल गर्न सक्छन्? (सक्दैनन्।) यो कुरा चित्रण गर्ने एउटा उदाहरण देओ त, ताकि तिमीहरूले यो कुरा बुझ्यौ कि बुझेनौ भनेर मलाई थाहा होस्। एउटा उदाहरण खोज जहाँ व्यक्तिले आफ्‍नो जीवन र अस्तित्वको ठूलो समस्यासँग जुधिरहेको हुन्छ, जस्तै विवाह, परिवार, बालबच्‍चा, वा रोगका कुराहरू, आफ्‍नो भविष्य वा भाग्यका कुराहरू, र आफ्नो जीवन सहज रूपमा अघि बढ्छ कि बढ्दैन, आफ्नो महत्त्व, सामाजिक हैसियत, व्यक्तिगत हित, आदि इत्यादिजस्ता कुराहरू। (मलाई याद छ पछिल्लोपटक परमेश्‍वरले के भनेर सङ्गति दिनुभयो भने, मानिसहरूले रोग सामना गर्दा, तिनीहरू हैरानी, बेचैनी, र चिन्ताजस्ता नकारात्मक संवेगहरूमा डुब्छन्, र तिनीहरू मृत्युप्रति चरम रूपमा डराउँछन्। यसले कर्तव्य पूरा गर्ने र सामान्य जीवन जिउने तिनीहरूको क्षमतामा असर पार्छ, र तिनीहरूलाई वस्तुगत नियमहरूअनुसार जिउन नसक्‍ने बनाउँछ। वास्तवमा, मानिसहरूको जीवन र मृत्यु, तिनीहरू कहिले बिरामी पर्छन्, र तिनीहरूले कति कष्ट भोग्छन् भन्‍ने कुरा सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ। मानिसहरूले उचित र सकारात्मक मनोवृत्तिले यी परिस्थितिहरू सामना र अनुभव गर्नुपर्छ। तिनीहरूले आफूलाई चाहिने उपचार खोज्‍नुपर्छ, र आफूले निभाउनुपर्ने कर्तव्य निभाउनुपर्छ—तिनीहरूले सकारात्मक जीवन स्थिति कायम राख्‍नुपर्छ र आफ्‍नो रोगको पासोमा पर्नु हुँदैन। तर नकारात्मक संवेगहरूमा डुबेको बेला, मानिसहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्दैनन्, र परमेश्‍वरले तिनीहरूको जीवन र मृत्यु पूर्वनिर्धारित गर्नुभएको हुन्छ भनेर पत्याउँदैनन्। तिनीहरूलाई बस आफ्‍नो रोगबारे चिन्ता, डर र बेचैनी मात्र हुन्छ। तिनीहरू झन्झन् बढी चिन्ता र डरले भरिन्छन्—तिनीहरू मानिसको भाग्यमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ भन्‍ने सत्यताद्वारा सञ्‍चालित हुँदैनन्, र परमेश्‍वर तिनीहरूको हृदयमा रहनुभएको हुँदैन।) यो एकदम राम्रो उदाहरण हो। के यो कुरा जीवन र मृत्युजस्तो महत्त्वपूर्ण विषयमा मानिसहरूमा कस्तो दृष्टिकोण हुनुपर्छ भन्‍ने प्रश्‍नसँग सम्बन्धित छ? (छ।) के तिमीहरू सबैलाई यस विषयबारे केही थाहा छ? यो आफ्‍नै जीवन र मृत्यु सामना गर्नेसम्बन्धी प्रश्‍न हो। के यो सामान्य मानवताको दायराभित्रका समस्याहरूसँग सम्‍बन्धित छ? (छ।) यो सबैले सामना गर्नुपर्ने एक मुख्य समस्या हो। यदि तँ जवान छस् वा तेरो स्वास्थ्य स्थिति राम्रो छ र तैँले कुनै पनि जीवन-मृत्युको समस्या सामना वा अनुभव गरेको छैनस् भने पनि, एक दिन तैँले त्यो सामना गर्नुपर्ने अपरिहार्य नै हुन्छ—यो हरेक व्यक्तिले सामना गर्नैपर्ने कुरा हो। सामान्य व्यक्तिको रूपमा, तँलाई व्यक्तिगत रूपमा यसले छोएको भए पनि, वा तँ यसबाट टाढा भएको भए पनि, यो कुरा तैँले आफ्‍नो जीवनमा सामना गर्नैपर्ने एक महत्त्वपूर्ण कुरा हो। त्यसकारण, मृत्युजस्तो महत्त्वपूर्ण कुरा सामना गर्दा, के मानिसहरूले यो समस्या कसरी सम्‍हाल्‍ने भनेर मनन गर्नुपर्दैन र? के तिनीहरूले यसलाई सामना गर्न केही मानव विधिहरू अपनाउँदैनन् र? अनि, मानिसहरूले के-कस्ता दृष्टिकोणहरू अङ्गालिरहनुपर्छ? के यो व्यावहारिक समस्या होइन र? (हो।) यदि मानिसहरू नकारात्मक संवेगहरूमा डुबिरहेका छन् भने, तिनीहरूले के सोच्छन्? यस विषयमा हामीले पहिले नै सङ्गति गरिसकेका छौँ—यदि मानिसहरू नकारात्मक संवेगहरूको विचार र दृष्टिकोणअनुसार जिउँछन् भने, तिनीहरूको व्यवहार र अभिव्यक्ति सत्यताअनुसार हुन्छ कि हुँदैन? त्यो सामान्य मानवताको सोचाइअनुरूप हुन्छ कि हुँदैन? (अहँ, हुँदैन।) त्यो सामान्य मानवताको सोचाइअनुरूप हुँदैन, त्यो सत्यताअनुरूप हुनु त परको कुरा हो। त्यो वस्तुगत तथ्य वा वस्तुगत नियमअनुरूप हुँदैन, र त्यो निश्‍चय नै परमेश्‍वरको सार्वभौमिकताअनुरूप पनि हुँदैन।

विभिन्‍न नकारात्मक संवेगहरू त्याग्‍ने विषयमा हामीले गरेको सङ्गतिको अन्तिम नतिजा के हो? तिमीहरूले सामान्य मानवताको सोचाइ र समझ प्राप्त गर्नको लागि, अर्को शब्‍दमा भन्दा, सामान्य मानवता र समझ भएको व्यक्तिमा हुनुपर्ने सोच, दृष्टिकोण, र विचार प्राप्त गर्नको लागि तिमीहरूले कसरी ठ्याक्‍कैसँग “त्याग्‍ने कार्य” व्यवहारमा उतार्न र अभ्यास गर्न सक्छौ? यो “त्याग्‍ने कार्य” मा संलग्‍न विशिष्ट चरणहरू वा अभ्यासका मार्गहरू के-के हुन्? के पहिलो चरण भनेको तैँले सामना गर्ने कुराहरूप्रतिको तेरो दृष्टिकोण सही छ कि छैन र त्यसमा कुनै नकारात्मक संवेगहरू छन् कि छैनन् भनेर पहिचान गर्नु होइन र? पहिलो चरण यही हो। उदाहरणको लागि, रोग र मृत्यु सामना गर्नेबारेमा हामीले योभन्दा पहिले उल्‍लेख गरेको उदाहरणको कुरा गर्दा, तैँले त्यस्ता कुराहरूप्रतिको तेरो दृष्टिकोण चिरफार गर्नुपर्छ, त्यसमा कुनै नकारात्मक संवेगहरू छन् कि छैनन्, अर्थात् तँलाई यी समस्याहरूबारे कुनै हैरानी, चिन्ता वा बेचैनी हुन्छ कि हुँदैन र तेरा हैरानी, चिन्ता र बेचैनी कसरी पैदा हुन्छन् भनेर चिरफार गर्नुपर्छ, र यी समस्याहरूको मूलजड पत्ता लगाउनुपर्छ। त्यसपछि, तैँले चिरफार गर्ने कामलाई जारी राख्‍नुपर्छ, अनि तँलाई थाहा हुनेछ कि तैँले यी कुराहरू राम्ररी बुझेको छैनस्। मानवजातिको सबै कुरा परमेश्‍वरको हातमा र उहाँको सार्वभौमिकतामा छ भन्‍ने कुरा तैँले स्पष्ट रूपमा पहिचान गरेको छैनस्। मानिसहरू बिरामी पर्दा वा मृत्युको मुखमा पर्दा पनि, तिनीहरू यी कुराहरूको बन्धनमा पर्नु हुँदैन। बरु, तिनीहरू रोग वा मृत्युद्वारा विचलित नभई वा हरेस नखाई परमेश्‍वरको बन्दोबस्त र योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ। तिनीहरू यी कुराहरूदेखि डराउनु हुँदैन, न त यी कुराहरूलाई तिनीहरूको सामान्य जीवन र कर्तव्य पूरा गर्ने कार्यमा असर गर्न नै दिनु हुन्छ। एक हिसाबमा, तिनीहरूले सक्रिय भएर परमेश्‍वरको सार्वभौमिकता अनुभव गर्नु र बुझ्‍नुपर्छ अनि रोग झेलिरहेको बेला उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, अनि आवश्यक परे तिनीहरूले उपचार खोज्‍नुपर्छ। अर्थात्, तिनीहरूले सक्रिय रूपमा यो प्रक्रियालाई सामना गर्ने, अनुभव गर्ने, र बुझ्ने गर्नुपर्छ। अर्को हिसाबमा, तिनीहरूले यी मामिलाहरूबारे हृदयमा सही बुझाइ विकास गर्नुपर्छ र यो विश्‍वास गर्नुपर्छ कि सबै कुरा परमेश्‍वरकै हातमा हुन्छ। मानिसहरूले त आफ्‍नो भूमिका निर्वाह गर्न मात्र सक्छन्, र बाँकी कुराहरूको लागि तिनीहरू स्वर्गको इच्छामा समर्पित हुनुपर्छ, किनकि सबै कुरा परमेश्‍वरकै हातमा छ, र मानिसहरूको जीवन र मृत्यु पनि सबै परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको छ। मानिसहरूले आफूले गर्नुपर्ने कुरा गरे पनि, यसको अन्तिम परिणाम तिनीहरूको इच्छाअनुसार हेरफेर हुँदैन, र यो कुरा मानिसहरूद्वारा निर्धारित गरिँदैन, होइन र? (हो।) रोग सामना गर्दा, तैँले पहिले आफ्‍नै हृदय जाँच्‍नुपर्छ र कुनै पनि नकारात्मक संवेगहरू पहिचान गर्नुपर्छ। तैँले यसप्रति आफ्नो बुझाइ के छ र आफ्नो हृदयमा के-कस्ता दृष्टिकोणहरू छन्, आफू नकारात्मक संवेगहरूको नियन्त्रण वा बन्धनमा छु कि छुइनँ र यी नकारात्मक संवेगहरू कसरी आए भनेर लेखाजोखा गर्नुपर्छ। तैँले आफूलाई केको चिन्ता लाग्छ, के कुराको डर लाग्छ, कहाँ असुरक्षित महसुस हुन्छ, र रोगको कारण आफूले के कुरा त्याग्‍न सक्दिनँ भनेर चिरफार गर्नुपर्छ, अनि आफूलाई चिन्तित तुल्याउने, तर्साउने, वा डर लगाउने ती कुराहरूको कारण जाँच्‍नुपर्छ, अनि यी कुराहरूलाई एकएक गरी क्रमिक रूपमा समाधान गर्नुपर्छ। तैँले सुरुमा आफूभित्र ती नकारात्मक तत्वहरू छन् कि छैनन् भनेर चिरफार र अन्वेषण गर्नुपर्छ, र यदि ती कुराहरू छन् भने, ती सही हुन् कि होइनन्, वा तिनमा सत्यतासँग नमिल्‍ने तत्वहरू पो छन् कि भनेर चिरफार गरी निधो गर्नुपर्छ। यदि तैँले सत्यतासँग नमिल्‍ने तत्वहरू भेट्टाइस् भने, परमेश्‍वरका वचनहरूमा उत्तरहरू खोज्‍नुपर्छ र तिनलाई समाधान गर्न क्रमिक रूपमा सत्यता खोजी गर्नुपर्छ। तँ ती नकारात्मक तत्वहरूले समस्या, प्रभाव, वा बन्धनमा नपार्ने स्थितिमा पुग्‍न लागिपर्नुपर्छ, ताकि तिनले तेरो सामान्य जीवन वा काम वा कर्तव्य पूर्तिमा असर नपारून्, वा तेरो जीवनको क्रम निबिथोलून्। अनि अवश्यै, तिनले परमेश्‍वरमाथिको तेरो विश्‍वास र उहाँलाई पछ्याउने कार्यमा पनि असर पार्नु हुँदैन। सारांशमा भन्दा, यसको उद्देश्य भनेको तँ आफूले सामना गर्ने यस्ता समस्याहरूलाई तर्कसङ्गत रूपमा, सही विचारले, वस्तुगत रूपमा, र सहीसित सामना गर्न सक्‍ने हू भन्‍ने हो। के यही नै त्याग्‍ने प्रक्रिया होइन र? (हो।) यो अभ्यासको विशिष्ट मार्ग हो। के तिमीहरू अभ्यासको विशिष्ट मार्ग के हो भनेर सारसङ्क्षेप गर्न सक्छौ? (पहिलो कुरा त, व्यक्तिले आफूले सामना गर्ने मामला बुझ्‍नुपर्छ, र यो प्रक्रियामा आफूमा कुनै नकारात्मक संवेगहरू पो छन् कि भनेर चिरफार गर्नुपर्छ, र त्यसपछि परमेश्‍वरका वचनहरूमा उत्तर खोज्‍नुपर्छ, तिनलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ, र यी नकारात्मक संवेगहरूद्वारा आफूमाथि समस्या हुन दिनु हुँदैन, न त आफ्नो जीवन र कर्तव्य पूरा गर्ने काममा नै असर पर्न दिनु हुन्छ। यसको साथै, उसले आफूले सामना गर्ने कुराहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूद्वारा पैदा भएका हुन्छन् भन्‍ने विश्‍वास गर्नुपर्छ। यस्तो बुझाइ भएमा, मानिसहरूले अन्त्यमा समर्पण हासिल गर्न र सकारात्मक र सक्रिय अभ्यास लागू गर्न सक्छन्।) मलाई भन त, यदि मानिसहरू नकारात्मक संवेगहरूमा जिउँछन् भने, रोगबिमार सामना गर्दा तिनीहरूको ठेट व्यवहार कस्तो हुन्छ? आफूमा नकारात्मक संवेगहरू छन् भनेर तैँले कसरी महसुस गर्छस्? (सबभन्दा पहिले त, धेरै डर लाग्छ, र हामीमा यस्ता विचारहरू पैदा हुन थाल्छन्, “यो कस्तो रोग हो? यदि मैले यसको उपचार गर्न सकिनँ भने यसले मलाई धेरै दुःख दिने पो हो कि? के अन्त्यमा यसले मलाई मार्ने त होइन? के मैले पछि गएर अझै आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछु त?” हामीले यी कुराहरूबारे सोच्‍नेछौँ, चिन्ता गर्नेछौँ, र डराउनेछौँ। कतिपय मानिसहरूले आफ्‍नो स्वास्थ्य स्थितिप्रति अझै बढी ध्यान दिन थाल्‍नेछन्, आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मूल्य चुकाउन इच्छा गर्नेछैनन्, अनि आफूले कम मूल्य चुकाए, आफ्नो रोग कम हुन्छ भन्‍ने सोच्छन्। यी सबै नकारात्मक संवेगहरू हुन्।) यी नकारात्मक संवेगहरूलाई दुई कोणबाट जाँच्‍न सकिन्छ। एउटा कोणबाट हेर्दा, तँलाई आफूले मनमा सोचिरहेको कुरा थाहा हुनुपर्छ। तँ बिरामी पर्दा, तँलाई यस्तो लाग्‍न सक्छ, “अहो, मलाई कसरी यो रोग लाग्यो? के कसैले मलाई यो रोग सारेको हो? के म थकित भएकोले लागेको हो? यदि मैले आफूलाई निरन्तर थकित पारिरहेँ भने, के यो रोग अझै खराब हुने त होइन? यो अझै पीडादायी हुने त होइन?” यो एउटा कोण हो; तैँले यी कुराहरू आफ्‍नो सोचभित्र महसुस गर्न सक्छस्। फरक कोणबाट हेर्दा, जब तँमा यी विचारहरू आउँछन्, तेरो व्यवहारमा यी विचार कसरी प्रकट हुन्छन्? जब मानिसहरूमा विचारहरू आउँछन्, तब तिनीहरूको व्यवहार पनि त्यसरी नै प्रभावित हुन्छ। मानिसहरूका कार्य, व्यवहार, र विधिहरू सबै विभिन्‍न विचारहरूद्वारा सञ्‍चालित हुन्छन्। मानिसहरूमा यी नकारात्मक संवेगहरू हुँदा, यी संवेगहरूले विभिन्‍न विचारहरू पैदा गर्छन्, र यी विचारहरूको प्रभावले गर्दा, कर्तव्य पूरा गर्ने तिनीहरूको मनोवृत्ति वा विधिमा रूपान्तरण आउँछ। उदाहरणको लागि, विगतमा कहिलेकहीँ तिनीहरू उठ्नेबित्तिकै आफ्‍नो कर्तव्य पूरा गर्न थाल्थे। तर अहिले, ओछ्यानबाट उठ्ने समय भएपछि, तिनीहरू यस्तो सोच्‍न थाल्छन्, “के यो रोग थकाइको कारण लागेको त होइन? सायद मैले अलिक बढी सुत्‍नुपर्छ होला। म पहिले धेरै कष्ट भोग्थेँ र थकित हुन्थेँ। अहिले मैले आफ्‍नो शरीरको हेरचाह गर्नमा ध्यान दिनुपर्छ ताकि मेरो रोग अझ नबिग्रोस।” यी सक्रिय विचारहरूद्वारा नियन्त्रित भएर, तिनीहरू पहिलेको भन्दा ढिलो उठ्छन्। खाने समय भएपछि, तिनीहरूले विचार गर्छन्, “पौष्टिक तत्व नपुगेर पनि मलाई यो रोग लागेको हुन सक्छ। विगतमा, म जे पायो त्यही खान्थेँ, तर अहिले मैले छानेर खानुपर्छ। मैले अझै बढी अण्डा र मासु खानुपर्छ ताकि पौष्टिक तत्व चाहिएजति भएर मेरो शरीर बलियो होस्—यस तरिकाले मैले मेरो रोगको पीडा भोग्‍नुपर्दैन।” आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा पनि तिनीहरू आफ्‍नो शरीर हेरचाह गर्नेबारेमै निरन्तर विचार गरिरहेका हुन्छन्। विगतमा, तिनीहरूले एकदुई घण्टा लगातार काम गरेपछि बढीमा जीउ तन्काउने वा उठेर यताउता गर्ने गर्थे। तर अहिले, तिनीहरूले हरेक आधा घण्टामा यताउता गर्ने नियम बनाएका हुन्छन्, ताकि तिनीहरू अति थकित हुन नपरोस्। भेलाहरूमा सङ्गति गर्दा, तिनीहरूले “मैले मेरो शरीरको हेरचाह गर्न सिक्‍नुपर्छ” भन्‍ने सोच्दै सक्दो कम बोल्‍ने प्रयास गर्छन्। विगतमा, कसैले जुनसुकै प्रश्‍न वा जहिलेसुकै सोधे पनि, तिनीहरूले नहिच्किचाई उत्तर दिन्थे। तर अहिले तिनीहरू कम बोल्‍न, आफ्‍नो ऊर्जा जोगाउन चाहन्छन्, र कसैले धेरै प्रश्‍न गरिहाले भने, तिनीहरूले भन्छन्, “मलाई आराम गर्नु छ।” हेर् त, तिनीहरू आफ्‍नो भौतिक शरीरप्रति विशेष चिन्ता गर्ने बनिसकेका छन्, जुन पहिलेको भन्दा फरक कुरा हो। तिनीहरू प्रायजसो पूरक पोषणहरू र फलफूल खान र नियमित कसरत गर्नमा निरन्तर ध्यान दिन्छन्। तिनीहरू सोच्छन्, “विगतमा, म साह्रै मूर्ख र अज्ञानी थिएँ र आफ्‍नो शरीरको ख्याल कसरी राख्‍ने मलाई थाहा थिएन। म आफूलाई जे मन लाग्यो त्यही खान्थेँ र भुँडी फुटुन्जेल खाँदै मस्ती गर्थेँ। तर अहिले मेरो शरीरमा समस्या आएको हुनाले, यदि मैले आफ्‍नो स्वास्थ्यमा ध्यान दिइनँ र मेरो रोग झन् गम्‍भीर बनेर मैले आफ्‍नो कर्तव्य पूरा गर्न सकिनँ भने, के मैले अझै पनि आशिष पाउनेछु र? मैले भविष्यमा आफ्‍नो शरीर हेरचाह गर्नमा धेरै ध्यान दिनुपर्छ र कुनै पनि रोग लाग्‍न दिनु हुँदैन।” त्यसकारण तिनीहरूले आफ्‍नो स्वास्थ्यमा ध्यान दिन थाल्छन्, र तिनीहरूले पूर्ण समर्पणसाथ कर्तव्य पूरा गर्न छोड्छन्। तिनीहरूलाई आफूले विगतमा कर्तव्य पूरा गर्ने क्रममा भोगेको कष्ट र चुकाएको मूल्यबारे पछुतो र असन्तुष्टि पनि हुन थाल्छ। के यी विचार र व्यवहारहरू नकारात्मक संवेगहरूबाट प्रभावित भएका र आएका हुँदैनन् र? वास्तवमा, यी विचार र व्यवहारहरू यी नकारात्मक संवेगहरूबाटै पैदा भएका हुन्छन्। के त्यसोभए यी विचार र व्यवहारहरूले, साथै तिनीहरूका नकारात्मक संवेगहरूले, तिनीहरूलाई परमेश्‍वरप्रति अझै बढी विश्‍वास प्राप्त गर्न र कर्तव्य पूरा गर्नमा अझै बढी समर्पित हुन सहयोग गर्न सक्छन्? अवश्यै सक्दैनन्। अनि, अन्तिम परिणाम के हुनेछ? तिनीहरूले समर्पणविनै झारातिरुवा रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नेछन्। तिनीहरूले कुनै काम गर्दा, के सत्यता खोजी गर्न र सत्यता सिद्धान्तहरूअनुसार काम गर्न सक्छन्? (अहँ, सक्दैनन्।) यी नकारात्मक संवेगहरूको नियन्त्रणमा परेर, तिनीहरूले सत्यतालाई पाखा लगाउँदैँ, र यसलाई कदर नगरी वा अभ्यास नगरी आफूलाई जे मन लाग्यो त्यही गर्नेछन्। तिनीहरूले गर्ने सबै कुरा र अभ्यास गर्ने सबै कुरा तिनीहरूको आफ्‍नै नकारात्मक संवेगबाट पैदा भएका विचारहरूमा आधारित हुनेछन्। के यस्तो व्यक्तिले सत्यता पछ्याउने अवस्था हासिल गर्न सक्छ? (अहँ, सक्दैन।) त्यसोभए के यस्ता विचारहरू सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विचारहरू हुन्? (अहँ, होइनन्।) यस्ता विचारहरू सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विचारहरू होइनन् भने, तिनीहरूले कहाँ गल्ती गरेका छन् भन्‍ने तिमीहरूलाई लाग्छ? (मानिसहरूले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तबारे बुझेका हुँदैनन्। वास्तवमा, यी सबै रोगबिमार परमेश्‍वरको हातमा हुन्छ। व्यक्तिले भोग्‍नुपर्ने कष्टको मात्रा पनि परमेश्‍वरले नै निर्धारित र तय गर्नुभएको हुन्छ। तैपनि, जब व्यक्ति नकारात्मक संवेगहरूमा जिउँछ, उसमा षड्यन्‍त्रको सहारा लिने प्रवृत्ति हुन्छ र ऊ गलत सोच र दृष्टिकोणहरूद्वारा नियन्त्रित हुन्छ। तिनीहरू मानव शैलीहरूमा भर पर्छन् र आफ्‍नै भौतिक शरीरको कदर गर्छन्।) के यसरी व्यक्तिले आफ्‍नो भौतिक शरीरलाई कदर गर्नु सही हुन्छ? जब व्यक्तिले आफ्‍नो भौतिक शरीरबारे अत्यन्तै धेरै चिन्ता गर्छ र राम्रो खाँदै शरीरलाई स्वस्थ र तागतिलो राख्छ, तब तिनीहरूको लागि यसको मूल्य के हुन्छ? यसरी जिउनुमा के अर्थ छ? अनि, व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने देहगत सुखचैनमा लिप्त हुनको लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? तिमीहरूको विचार बताओ। (सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि हो, व्यक्तिले कम्तीमा पनि हासिल गर्नुपर्ने कुरा यही हो।) त्यो सही हो। मलाई भन त, यदि सारा जीवनभर व्यक्तिको दैनिक व्यवहार र विचारहरू रोग र मृत्युबाट बच्‍नमा, आफ्‍नो शरीर स्वस्थ र रोगबाट मुक्त राख्‍नमा, र लामो आयु कायम राख्‍नमा केन्द्रित हुन्छ भने, के व्यक्तिको जीवनमा हुनुपर्ने मूल्य यही हो त? (अहँ, होइन।) व्यक्तिको जीवनको मूल्य त्यस्तो हुनु हुँदैन। त्यसोभए, व्यक्तिको जीवनको मूल्य के हुनुपर्छ? अहिले भर्खरै, कसैले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने कुरा उल्‍लेख गरेको थियो, जुन एउटा विशेष पक्ष हो। अरू कुनै छ? प्रार्थना वा सङ्कल्प गर्दा प्रायजसो तिमीहरूमा आइरहने आकाङ्क्षाबारे मलाई भन। (परमेश्‍वरले हाम्रो लागि मिलाउनुभएका बन्दोबस्त र योजनाबद्ध कार्यहरूमा समर्पित हुनु।) (परमेश्‍वरले हामीलाई दिनुभएको भूमिका राम्ररी निर्वाह गर्नु, र आफ्‍नो मिसन र जिम्‍मेवारी पूरा गर्नु।) अरू केही छ? एक हिसाबमा, यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्‍बन्धित छ। अर्को हिसाबमा, यो आफ्‍नो क्षमता र सामर्थ्यले भ्याउन्जेल भरमग्दुर प्रयाससाथ सबै कुरा गरेर कम्तीमा पनि तँलाई तेरो विवेकले दोष नलगाउने अवस्थामा पुग्‍नु, अनि आफ्‍नै विवेकसँग शान्तिसाथ रहन सक्‍ने र अरूको नजरमा ग्रहणयोग्य हुने अवस्थामा पुग्‍नु हो। यसलाई अझै एक चरण अगाडि लगेर भन्दा, तँ जुन परिवारमा जन्‍मेको भए पनि, तेरो शैक्षिक पृष्ठभूमि वा व्यक्तिगत गुणहरू जे-जस्ता भए पनि, तैँले तेरो पूरै जीवनभरि नै मानिसहरूले जीवनमा बुझ्‍नुपर्ने सिद्धान्तहरू केही मात्रामा बुझेको हुनुपर्छ। उदाहरणको लागि, मानिसहरू कस्तो मार्ग हिँड्नुपर्छ, तिनीहरू कसरी जिउनुपर्छ, र अर्थपूर्ण जीवन कसरी जिउने हो—कम्तीमा, तैँले थोरै नै भए पनि जीवनको साँचो मूल्य खोजी गर्नुपर्छ। यो जीवन व्यर्थमा जिउनु हुँदैन, र कोही पनि यो पृथ्वीमा व्यर्थमा आएको हुँदैन। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्‍नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामीले ठूलो मिसन, कर्तव्य वा जिम्‍मेवारी पूरा गर्नेबारे कुरा गरिरहेका छैनौँ; तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गार्नैपर्छ। उदाहरणको लागि, मण्डलीमा, कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्ने कार्यमा आफ्नो सबै मेहनत लगाउँछन्, आफ्‍नो जीवनभरको ऊर्जा लगाऊँछन्, ठूलो मूल्य चुकाउँछन्, अनि धेरै मानिसहरूलाई विश्‍वासमा ल्याउँछन्। यसले गर्दा, तिनीहरूलाई आफ्नो जीवन व्यर्थ भएन, र त्यसमा मूल्य र सान्त्वना छ भन्‍ने महसुस हुन्छ। रोग वा मृत्यु सामना गर्दा, आफ्‍नो सारा जीवनको लेखाजोखा गर्दै आफूले हिँडेको मार्गमा आफूले गरेको सबै कुरालाई फर्केर हेर्दा, तिनीहरूलाई हृदयमा ढाडस मिल्छ। तिनीहरूलाई कुनै दोष वा ग्‍लानि अनुभूत हुँदैन। कतिपय मानिसहरूले मण्डलीमा नेतृत्व गर्दा वा कुनै कामको जिम्‍मेवारी लिँदा कुनै कसर बाँकी राख्दैनन्। तिनीहरूले आफूले गर्ने काममा आफ्‍नो अधिकतम सामर्थ्य लगाउँछन्, आफ्‍नो सारा शक्ति खन्याउँछन्, सारा ऊर्जा अर्पित गर्छन् र ठूलो मूल्य चुकाउँछन्। तिनीहरूको मलजल, नेतृत्व, सहयोग, र साथको कारण, तिनीहरूले कमजोरी र नकारात्मकतामा परेका धेरै मानिसहरूलाई दह्रिलो भएर खडा हुन, पछि नहट्न, बरु परमेश्‍वरको छेउमा फर्कन अनि अन्त्यमा गवाहीसमेत दिन धेरैलाई सहयोग गर्छन्। यसको साथै, तिनीहरूले आफ्नो नेतृत्वको अवधिमा धेरै महत्त्वपूर्ण कार्यहरू पूरा गर्छन्, धेरै दुष्ट मानिसहरूलाई निकाल्छन्, परमेश्‍वरका चुनिएका धेरै मानिसहरूलाई रक्षा गर्छन्, र धेरै हानिहरूको पूर्ति गर्छन्। तिनीहरूको नेतृत्वको अवधिमै यी सब उपलब्धिहरू हासिल हुन्छन्। आफूले हिँडेको मार्गलाई फर्केर हेर्दा, वर्षौँको अवधिमा आफूले गरेको काम र चुकाएको मूल्यलाई फर्केर हेर्दा, तिनीहरूलाई कुनै पछुतो वा दोषारोपण महसुस हुँदैन। तिनीहरूलाई आफूले कुनै ग्‍लानि हुने काम गरेको छैनँ भन्‍ने विश्‍वास हुन्छ, र तिनीहरू मूल्यबोध अनुभूत गर्दै, र हृदयमा स्थिरता र सान्त्वना महसुस गर्दै बाँच्छन्। कति राम्रो कुरा! के यही नै नतिजा यही होइन र? (हो।) यस्तो स्थिरता र सान्त्वना अनुभूति हुनु, अनि यसरी कुनै पछुतो नहुनु—यो सब सकारात्मक कुराहरू र सत्यता पछ्याउनुको परिणाम र इनाम हो। मानिसहरूको लागि उच्‍च मापदण्डहरू तय नगरौँ। एउटा यस्तो परिस्थितिबारे विचार गरौँ जहाँ कुनै व्यक्तिलाई उसले गर्नुपर्ने वा उसले आफ्‍नो जीवनकालमा गर्न चाहेको काम दिइएको हुन्छ। उसले आफ्‍नो स्थान भेट्टाएपछि, ऊ आफ्‍नो स्थानमा दह्रिलो गरी खडा हुन्छ, आफ्‍नो स्थान लिन्छ, ठूलो पीडा भोग्छ, मूल्य चुकाउँछ, र आफूले गर्नुपर्ने काम सम्पन्‍न र पूरा गर्न आफ्‍नो सारा शक्ति लगाउँछ। जब अन्त्यमा ऊ आफ्‍नो लेखा दिन परमेश्‍वरको अघि खडा हुन्छ, उसलाई तुलनात्मक रूपमा निकै सन्तुष्टि हुन्छ, र उसको हृदयमा कुनै दोषारोपण वा पछुतोको अनुभूति हुँदैन। उसलाई सान्त्वना र इनाम पाएको अनुभूति हुन्छ र मूल्यवान्‌ जीवन जिएछु जस्तो लाग्छ। के यो महत्त्वपूर्ण लक्ष्य होइन र? यसको क्षेत्र जत्रोसुकै भए पनि, मलाई भन त, के यो व्यावहारिक छैन र? (यो व्यावहारिक छ।) के यो विशिष्ट प्रकृतिको छ? यो पर्याप्त रूपमा विशिष्ट प्रकृतिको, अनि व्यावहारिक, र वास्तविक छ। त्यसोभए, तिमीहरूलाई के लाग्छ, के मूल्यवान्‌ जीवन जिउन र अन्त्यमा यस्तो इनाम हासिल गर्नको लागि, व्यक्तिले थकाइ र शारीरिक रोग भोग्‍नु परे पनि, भौतिक शरीरमा थोरै कष्ट भोग्‍नु र थोरै मूल्य चुकाउनु सार्थक हुन्छ? (यो सार्थक हुन्छ।) जब व्यक्ति यो संसारमा आउँछ, ऊ देहको आनन्द लिनको लागि मात्रै आएको हुँदैन, न त ऊ खानपिउन र रमाइलो गर्नको लागि मात्रै आएको नै हुन्छ। व्यक्ति यी कुराहरूको लागि मात्रै जिउनु हुँदैन; मानव जीवनको मूल्य त्यो होइन, न त त्यो सही मार्ग नै हो। मानव जीवनको मूल्य र पछ्याउनुपर्ने सही मार्गमा त कुनै बहुमूल्य कुरा हासिल गर्ने र मूल्यसहितको कुनै एउटा वा धेरै काम पूरा गर्ने कार्य समावेश हुन्छ। यसलाई करियर भनिँदैन; यसलाई सही मार्ग भनिन्छ, यसलाई उचित काम पनि भनिन्छ। मलाई भन त, के व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नको लागि मूल्य चुकाउनु सार्थक हुन्छ? यदि तँ साँच्‍चै सत्यता खोज्‍न र बुझ्‍न चाहन्छस् भने, र जीवनको सही मार्ग हिँड्न, कर्तव्य राम्ररी पूरा गर्न, र बहुमूल्य र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले तेरो सारा ऊर्जा लगाउन, मूल्य चुकाउन, र तेरा सबै समय र दिनहरू अर्पन हिचकिचाउनु हुँदैन। यदि यो अवधिमा तैँले थोरै रोगबिमार सहनुपर्‍यो भने पनि केही हुँदैन, यसले तँलाई चकनाचुर पार्दैन। के यो कुरा सहजता र फुर्सतको जीवन बिताउनु, पोषण पुग्‍ने र स्वस्थ रहने गरी शरीरको हेरचाह गर्नु, अनि अन्त्यमा लामो आयु प्राप्त गर्नुभन्दा निकै उत्कृष्ट कुरो होइन र? (हो।) यी दुईमध्ये कुन विकल्‍पचाहिँ मूल्यवान्‌ जीवनको लागि हितकर हुन्छ? मानिसहरूले अन्त्यमा मृत्यु सामना गर्दा, यीमध्ये कुन विकल्पले तिनीहरूलाई सान्त्वना दिन्छ र कुनै पछुतो गराउँदैन? (अर्थपूर्ण जीवन जिउँदा।) अर्थपूर्ण जीवन जिउनु भनेको आफ्‍नो हृदयमा परिणामहरू पाएको र सान्त्वना मिलेको अनुभव गर्नु हो। मृत्यु हुनुअघिसम्‍मै राम्रो खाइरहने, र सुन्दरता कायम राखिराख्‍ने मानिसहरूको बारेचाहिँ के भन्‍न सकिन्छ? तिनीहरूले अर्थपूर्ण जीवनको खोजी गर्दैनन्, त्यसकारण मर्ने बेलामा तिनीहरूलाई कस्तो महसुस हुन्छ? (तिनीहरूले व्यर्थमा जिएछु जस्तो महसुस गर्छन्।) व्यर्थमा जिउनु—यी दुई शब्‍दहरू तीखा छन्। अनि, यो “व्यर्थमा जिउनु” भनेको के हो? (आफ्‍नो जीवन खेर फाल्‍नु।) व्यर्थमा जिउनु, आफ्‍नो जीवन खेर फाल्‍नु—यी दुई वाक्यांशहरूको आधार के हो? (तिनीहरूले आफ्‍नो जीवनको अन्त्यमा आफूले केही पनि प्राप्त नगरेको पाउँछन्।) त्यसोभए व्यक्तिले के प्राप्त गर्नुपर्छ? (तिनीहरूले जीवनमा सत्यता प्राप्त गर्नुपर्छ वा बहुमूल्य र अर्थपूर्ण कुराहरू हासिल गर्नुपर्छ। तिनीहरूले सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। यदि तिनीहरूले त्यसो गर्न सकेनन् र आफ्‍नो भौतिक शरीरको लागि मात्रै जिए भने, तिनीहरूलाई आफ्‍नो जीवन व्यर्थमा जिएको र खेर गएको महसुस हुनेछ।) मृत्यु सामना गर्दा, तिनीहरूले आफूले आफ्‍नो जीवनभरि के-के गरेँ भनेर विचार गर्नेछन्। अनि, तिनीहरूले यसो भन्‍नेछन्, “अहो, मैले त हरेक दिन खाने, पिउने, र रमाइलो गर्नेबारेमा मात्रै सोचेँ। मेरो स्वास्थ्य राम्रो थियो, र मलाई कुनै रोग लागेन। मेरो सारा जीवन शान्तिपूर्ण थियो। तर अहिले म बूढो हुँदै छु र मर्न लागेको छु, अब म मृत्युपछि कहाँ जान्छु होला? म नरक जान्छु कि स्वर्ग जान्छु होला? परमेश्‍वरले कसरी मेरो अन्त्य बन्दोबस्त गर्नुहुन्छ होला? मेरो गन्तव्य कहाँ हुन्छ होला?” तिनीहरूलाई असहज महसुस हुन्छ। आफ्‍नो सारा जीवन शारीरिक सहजताको आनन्‍द उठाउँदा, तिनीहरूलाई पहिले यसको कुनै चेतना भएन, तर अहिले मृत्यु सामना गर्दा तिनीहरूलाई असहज महसुस हुन्छ। अनि, तिनीहरूलाई अप्ठ्यारो महसुस भएपछि, के तिनीहरूले परिवर्तन हुनेबारे सोच्‍न थाल्दैनन् र? तर त्यो बेला अझै परिवर्तन हुने समय हुन्छ र? (त्यस्तो कुनै समय हुँदैन।) तिनीहरूसँग अब दौडने सामर्थ्य बाँकी हुँदैन, न त तिनीहरूसँग बोल्‍ने सामर्थ्य नै बाँकी हुन्छ। तिनीहरूले मूल्य चुकाउन वा थोरै कठिनाइ भोग्‍न चाहे नै भने पनि, तिनीहरूको शारीरिक सामर्थ्य पर्याप्त हुँदैन। तिनीहरूले बाहिर गएर सुसमाचार सुनाउने प्रयास गरे नै भने पनि, तिनीहरूको शरीरले साथ दिँदैन। यसको साथै, तिनीहरूले कुनै सत्यता बुझ्दैनन् र यसबारे अलिकति पनि सङ्गति गर्न सक्दैनन्। तिनीहरूसँग अब परिवर्तन हुने कुनै समय बाँकी हुँदैन। मानौँ तिनीहरूले अझै बढी भजन सुन्‍न चाहन्छन् रे। तर सुन्दा, तिनीहरू निदाइहाल्छन्। मानौँ तिनीहरूले कुनै प्रवचन सुन्‍न चाहन्छन् र। तर सुन्दा, तिनीहरू झुलिहाल्छन्। तिनीहरूसँग अब कुनै ऊर्जा नै बाँकी हुँदैन, र तिनीहरूले ध्यान केन्द्रित गर्न सक्दैनन्। तिनीहरूले यतिका वर्ष आफूले के गरेँ र आफ्‍नो ऊर्जा कहाँ लगाएँ भनेर सोच्छन्। अहिले तिनीहरू पाको उमेरका भइसकेका हुन्छन्, र तिनीहरू आफूले गर्नुपर्ने उचित काम गर्न चाहन्छन्, तर तिनीहरूको बूढो हुँदै गएको शरीरले तिनीहरूलाई साथ दिँदैन। तिनीहरूसँग अब कुनै ऊर्जा नै बाँकी हुँदैन, तिनीहरूले चाहे नै भने पनि केही सिक्‍न सक्दैनन्, र तिनीहरूको प्रतिक्रिया एकदम सुस्त हुन्छ। तिनीहरूले धेरै सत्यता बुझ्‍न सक्दैनन्, र जब अरूसँग सङ्गति गर्ने प्रयास गर्छन्, सबै जना व्यस्त हुन्छन् र तिनीहरूसँग सङ्गति गर्ने समय हुँदैन। तिनीहरूसँग आफूले गर्ने कुनै कुराको बारेमा पनि सिद्धान्तहरू वा मार्ग हुँदैन। अन्त्यमा, तिनीहरूलाई के हुन्छ? जति विचार गर्‍यो, तिनीहरूलाई त्यति नै असहज हुन्छ। जति मनन गर्‍यो, तिनीहरूलाई त्यति नै ग्‍लानि हुन्छ। अनि, अझ धेरै विचार गर्‍यो, तिनीहरूमा अझ धेरै ग्‍लानि थुप्रिन्छ। अन्त्यमा, तिनीहरूसँग मृत्यु पर्खिनेबाहेक अरू कुनै विकल्‍प हुँदैन। तिनीहरूको जीवन समाप्त हुन्छ, तर भुलसुधार गर्ने कुनै उपाय हुँदैन। के तिनीहरूलाई ग्‍लानि हुन्‍न र? (हुन्छ।) तर धेरै ढिला भइसकेको हुन्छ। कुनै समय बाँकी हुँदैन। मृत्यु सामना गर्दा, तिनीहरूलाई भौतिक आरामको जीवनमा रमाउनु पूरै खोक्रो रहेछ भन्‍ने महसुस हुन्छ। तिनीहरूले सबै कुराको वास्तविकता देख्छन् र सत्यता खोजी गर्न र आफ्‍नो कर्तव्य पूरा गर्न अनि कुनै राम्रो काम गर्न फर्केर जान चाहन्छन्, तर तिनीहरूले कुनै पनि हिसाबले केही पनि हासिल गर्न वा केही कुरामा पनि लागिपर्न सक्दैनन्। यो जीवन सकिन लागेको हुन्छ, र यो ग्‍लानि र असहजताहरू बोकेर पछुतो गर्दै समाप्त हुन्छ। अनि, मृत्यु सामना गर्दा यस्ता मानिसहरूको अन्तिम परिणाम के हुन्छ? तिनीहरू पछुतो, ग्‍लानि, र असहजतासाथ मर्न मात्रै सक्छन्। यो जीवन व्यर्थमा बितेको हुन्छ! तिनीहरूको भौतिक शरीरले कुनै कठिनाइ भोगेको हुँदैन। तिनीहरूले बतास वा घाम नसही, वा कुनै खतरा नमोली सहजताको मात्रै आनन्द लिएका हुन्छन्। तिनीहरूले कुनै पनि मूल्य चुकाएका हुँदैनन्। तिनीहरू राम्रो स्वास्थ्यसाथ जिएका हुन्छन्, बिरलै मात्र कुनै रोग भोगेका हुन्छन्, तिनीहरूलाई रुघासमेत हत्तपत्त लागेको हुँदैन। तिनीहरूले आफ्‍नो भौतिक शरीर राम्रोसित हेरचाह गरेका हुन्छन्, तर दुःखको कुरो, तिनीहरूले कुनै कर्तव्य पूरा गरेका वा सत्यता प्राप्त गरेका हुँदैनन्। मृत्युको क्षणमा मात्रै तिनीहरूलाई पछुतो हुन्छ। अनि तिनीहरूलाई पछुतो भयो भनेर के गर्ने? यो त आफ्‍नै कामको परिणामले भोगिने कष्ट न हो!

यदि कुनै व्यक्तिले मूल्यवान्‌ र अर्थपूर्ण जीवन जिउन चाहन्छ भने, उसले सत्यता पछ्याउनु अनिवार्य हुन्छ। पहिलो र सबैभन्दा मुख्य कुरा त, तिनीहरूमा जीवनसम्‍बन्धी सही दृष्टिकोण हुनुपर्छ, साथै जीवन र जीवनको बाटोमा सामना हुने विभिन्‍न ठूलासाना मामिलाहरूबारे पनि सही सोच र दृष्टिकोणहरू हुनुपर्छ। तिनीहरूले जीवनको सिलसिलामा वा दैनिक जीवनमा सामना गर्ने विभिन्‍न कुराहरूलाई चरम वा उग्र सोच र दृष्टिकोणले हेर्नुको सट्टा, सही दृष्टिकोण र सही अडानसाथ यी सबै मामलाहरूलाई हेर्नुपर्छ। अवश्य नै, तिनीहरूले यी कुराहरूलाई सांसारिक दृष्टिकोणले पनि हेर्नु हुँदैन, बरु तिनीहरूले त्यस्ता नकारात्मक र गलत सोच र दृष्टिकोणहरू त्याग्‍नुपर्छ। यदि तँ यो कुरा हासिल गर्न चाहन्छस् भने, तैँले सुरुमा मानिसहरूमा हुने विभिन्‍न नकारात्मक विचारहरू चिरफार, खुलासा, र पहिचान गर्नुपर्छ, र त्यसपछि आफ्‍ना विभिन्‍न नकारात्मक संवेगहरूलाई बदल्न र सुधार गर्न, तिनलाई त्याग्‍न, अनि सही र सकारात्मक सोच र विचारहरू पाउन, साथै मानिसहरू र परिस्थितिहरूलाई हेर्ने सही दृष्टिकोण र अडान हासिल गर्न सक्षम हुनुपर्छ। त्यसो गर्दा, तँमा सत्यता पछ्याउनको लागि आवश्यक पर्ने विवेक र समझ हुनेछ। अवश्य नै, खास गरी के भन्‍न सकिन्छ भने, जब व्यक्तिमा मानिसहरू र परिस्थितिहरूलाई हेर्ने सही हेराइ, दृष्टिकोण, र अडान हुन्छ, सामान्य मानवता हुनु भनेकै त्यही हो। यदि मानिसहरूमा यस्तो सामान्य मानवता र सही विचार र दृष्टिकोणहरू हुन्छन् भने, तिनीहरूलाई सत्यता पछ्याउन त्यति धेरै चुनौती हुँदैन बरु निकै सहज हुन्छ। यो त कुनै व्यक्ति एउटा गन्तव्यमा पुग्‍न चाहेको अवस्थाजस्तै हो—यदि ऊ सही मार्गमा छ र ऊ सही दिशातिर अघि बढिरहेको छ भने, उसको गति जतिसुकै भए पनि ऊ आखिरमा त्यो गन्तव्य पुगी छाड्छ। तैपनि, यदि व्यक्ति उसले चाहेको गन्तव्यभन्दा गलत दिशातिर अघि बढिरहेको छ भने, ऊ जति नै छिटो वा ढिलो गतिमा अघि बढे पनि, ऊ आफ्‍नो लक्ष्यबाट झन्झन् टाढा हुनेछ। यो भाषिक टुक्‍का कस्तो छ? “पश्‍चिमतिर लागेर पूर्व पुग्‍ने प्रयास गर्नु।” कतिपय मानिसहरूले यसरी नै परमेश्‍वरमा विश्‍वास गरेर मुक्ति पाउने इच्छा गर्छन्, तर तिनीहरू ख्याति, फाइदा, र हैसियत पछ्याउँछन्, यसको मतलब तिनीहरूले कुनै पनि हालतमा मुक्ति हासिल गर्न सक्दैनन्। अनि, तिनीहरूको अन्तिम परिणाम के हुनेछ? यो त निश्‍चय नै दण्ड हुनेछ। एउटा उदाहरण दिएर भन्दा, मानौँ कुनै व्यक्तिलाई क्यान्सर लागेको छ र उसलाई मर्छु भन्‍ने डर छ। उसले मृत्यु इन्कार्ने प्रयास गर्छ र आफूलाई मृत्युबाट रक्षा होस् र थप केही वर्ष भए पनि आफ्नो आयु बढोस् भनेर उसले सुरक्षाको लागि निरन्तर परमेश्‍वरलाई प्रार्थना गर्छ। ऊ थप केही वर्ष बाँचे पनि, र उसले आफ्‍नो उद्देश्य प्राप्त गरेर अनि मृत्युबाट जोगिएर पाउने खुसी अनुभव गरे पनि, उसले हैरानी, चिन्ता, र बेचैनीजस्ता नकारात्मक संवेगहरू बोकेर हिँड्छ। उसलाई आफू भाग्यमानी भएको महसुस हुन्छ, र ऊ परमेश्‍वर अत्यन्तै असल हुनुहुन्छ, उहाँ साँच्‍चै नै तेजस्वी हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ। उसले आफ्‍नै प्रयास, बारम्‍बारको बिन्ती, स्वप्रेम, र स्वहेरचाह गरेर मृत्युबाट जोगिन्छ, र अन्त्यमा, आफूले चाहेजस्तै गरी ऊ बाँची नै रहन्छ। परमेश्‍वरको सुरक्षा, अनुग्रह, प्रेम, र कृपाको लागि उसले कृतज्ञता व्यक्त गर्छ। हरेक दिन उसले परमेश्‍वरलाई धन्यवाद दिन्छ र प्रशंसा चढाउन उहाँको अघि आउँछ। भजनहरू गाउँदा र परमेश्‍वरका वचनहरू मनन गर्दा ऊ प्रायजसो रुने गर्छ, र परमेश्‍वर कति अचम्मको हुनुहुन्छ भनेर सोच्‍ने गर्छ: “साँच्‍चै जीवन र मृत्यु परमेश्‍वरकै हातमा छ; उहाँले मलाई बाँच्‍न दिनुभयो।” हरेक दिन आफ्‍नो कर्तव्य पूरा गर्दा, उसले प्रायजसो कसरी कष्टलाई पहिलो प्राथमिकता दिएर सुखलाई अन्तिम स्थानमा राख्‍ने, र सबै कुरामा कसरी अरूभन्दा उत्तम हुने भनेर विचार गर्छ, ताकि उसले आफ्‍नो जीवन बचाउन र मृत्युबाट जोगिन सकोस्—ऊ थप केही वर्ष बाँच्छ, र उसलाई निकै सन्तुष्टि र खुसी महसुस हुन्छ। तर एक दिन, उसको रोग बिग्रन्छ, र डाक्टरले उसलाई मृत्युको लागि तयार हुनू भन्दै एउटा अन्तिम चेतावनी दिन्छ। अब उसले मृत्यु सामना गरिरहेको हुन्छ; ऊ साँच्‍चै मृत्युको मुखमै पुगेको हुन्छ। उसले कस्तो प्रतिक्रिया दिन्छ? उसले सबैभन्दा बढी डर मानेको कुरा उसको जीवनमा आइसकेको हुन्छ, उसको सबैभन्दा ठूलो चिन्ता वास्तविकतामा परिणत भइसकेको हुन्छ। उसले देख्‍न र अनुभव गर्न इच्छा नगरेको दिन आइपुगिसकेको हुन्छ। तुरुन्तै उसको मन खिन्‍न हुन्छ र उसको मुड सत्यानाश हुन्छ। उसलाई अब आफ्‍नो कर्तव्य पूरा गर्न मन हुँदैन, र परमेश्‍वरलाई प्रार्थना गर्नको लागि ऊसँग कुनै शब्द बाँकी हुँदैन। ऊ परमेश्‍वरको प्रशंसा गर्न वा उहाँले कुनै वचन बोल्नुभएको वा कुनै सत्यता प्रदान गर्नुभएको सुन्‍न चाहँदैन। उसले परमेश्‍वर प्रेम, धार्मिकता, कृपा, र दया हुनुहुन्छ भनेर विश्‍वास गर्न छोड्छ। यसको साथै, उसलाई यो कुराको पछुतो पनि हुन्छ, “यतिका वर्षदेखि, मैले मिठो खान र खाली समयमा बाहिर गएर रमाइलो गर्न बिर्सेँ। अहिले मसँग यी कुराहरू गर्ने कुनै मौका नै छैन।” उसको मन गुनासो र विलापले भरिएको हुन्छ, र उसको हृदय पीडा, साथै गनगन, परमेश्‍वरप्रतिको असन्तुष्टि, र इन्कारले भरिएको हुन्छ। त्यसपछि पछुतो लिएर उसले यो संसार छोडेर जान्छ। ऊ जानुभन्दा पहिले, के उसको हृदयमा परमेश्‍वर हुन्छ? के उसले अझै पनि परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छ? (उसले विश्‍वास गर्न छोड्छ।) यो परिणाम कसरी आयो? के यो सुरुदेखि नै जीवन र मृत्युप्रतिको उसको गलत दृष्टिकोणबाट सुरु भएको थिएन र? (हो।) सुरुदेखि नै उसमा गलत विचार र दृष्टिकोण रहेको मात्रै होइन, अझै गम्‍भीर कुरा त, त्यसपछि उसले आफ्‍नो खोजीमा आफ्‍नै विचार र दृष्टिकोण पछ्यायो र त्यसैलाई अनुसरण गर्‍यो। उसले यो कुरा कहिल्यै त्यागेन, र पछाडि नहेरी ऊ गलत मार्गमा दौडी नै रह्यो। परिणामस्वरूप, अन्त्यमा उसले परमेश्‍वरमाथिको विश्‍वास गुमायो—यसरी परमेश्‍वरमाथिको उसको विश्‍वासको यात्रा टुङ्गियो, र यसरी उसको जीवन समाप्त भयो। के उसले सत्यता प्राप्त गर्‍यो? के परमेश्‍वरले उसलाई प्राप्त गर्नुभयो? (गर्नुभएन।) जब अन्त्यमा उसको मृत्यु भयो, के मृत्युप्रतिको उसको दृष्टिकोण र मनोवृत्ति परिवर्तन भयो? (भएन।) के ऊ आराम, आनन्द, र शान्तिसाथ मर्‍यो, कि पछुतो, अनिच्छा, र तिक्ततासाथ मर्‍यो? (ऊ अनिच्छा र तिक्ततासाथ मर्‍यो।) उसले केही पनि प्राप्त गरेन। उसले सत्यता प्राप्त गरेन, र परमेश्‍वरले पनि उसलाई प्राप्त गर्नुभएन। त्यसोभए, के यस्तो व्यक्तिले मुक्ति पाएको छ भनेर तिमीहरू भन्छौ त? (भन्दैनौँ।) उसले मुक्ति पाएको छैन। उसको मृत्युभन्दा पहिले, के उसले धेरै दौडधूप र मेहनत गरेन र? (हो, गर्‍यो।) अरूले जस्तै, उसले पनि परमेश्‍वरमा विश्‍वास गर्थ्यो र आफ्‍नो कर्तव्य पूरा गर्थ्यो, र बाहिरबाट हेर्दा, अरू कोही र उसमा कुनै भिन्‍नता देखिँदैनथ्यो। जब उसले रोग र मृत्यु सामना गर्‍यो, तब पनि उसले परमेश्‍वरलाई प्रार्थना गरिरह्यो र अझै आफ्‍नो कर्तव्य त्यागेन। उसले पहिले जत्ति नै काम गरिरह्यो। तैपनि, यसमा मानिसहरूले बुझ्‍नु र जान्‍नुपर्ने एउटा कुरा छ: यो व्यक्तिले लिएका सोच र दृष्टिकोणहरू निरन्तर नै नकारात्मक र गलत थिए। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा उसले भोगेको कष्ट वा चुकाएको मूल्य जति नै भए पनि, उसले आफ्‍नो खोजीमा यी गलत सोच र दृष्टिकोणहरू बोकिरह्यो। ऊ निरन्तर यी कुराहरूको नियन्त्रणमा रहिरह्यो र उसले आफ्‍नो कर्तव्यमा नकारात्मक संवेगहरूलाई ल्याइरह्यो, अनि आफू बाँच्‍न सकूँ, र आफ्‍नो उद्देश्य हासिल होस् भनेर उसले आफ्‍नो कर्तव्य पूर्तिलाई परमेश्‍वरको अघि चढाउने प्रयास गरिरह्यो। उसको खोजीको उद्देश्य सत्यता बुझ्‍नु वा प्राप्त गर्नु, वा परमेश्‍वरका सम्पूर्ण योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु थिएन। उसको खोजीको उद्देश्य यसको ठीक विपरीत थियो। ऊ आफ्‍नै इच्छा र मापदण्डहरूअनुसार जिउन, र आफूले पछ्याएको कुरा पाउन चाहन्थ्यो। ऊ आफ्‍नो भाग्य र आफ्‍नो जीवन र मृत्युसमेत आफै बन्दोबस्त र योजनाबद्ध गर्न चाहन्थ्यो। त्यसकारण, त्यो बाटोको अन्त्यमा, उसको परिणाम यो भयो कि उसले केही पनि प्राप्त गरेन। उसले सत्यता प्राप्त गरेन, बरु अन्त्यमा परमेश्‍वरलाई इन्कार गर्‍यो, अनि उहाँमाथिको विश्‍वास गुमायो। मृत्यु नजिक आइरहेको बेला पनि, उसले मानिसहरू कसरी जिउनुपर्छ र सृष्टि गरिएको प्राणीले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई कसरी लिनुपर्छ भन्‍ने कुरा बुझेन। त्यो उसको सबैभन्दा दयनीय र दुःखलाग्दो कुरा थियो। मृत्युको मुखमा पुग्दा पनि, उसले व्यक्तिको सम्पूर्ण जीवनभरि, सबै कुरा सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तमा हुन्छ भन्‍ने कुरा बुझ्‍न सकेन। यदि सृष्टिकर्ताले तँ बाँचेको चाहनुहुन्छ भने, तँ घातक रोगको सिकार भए पनि, तँ मर्दैनस्। यदि सृष्टिकर्ताले तँ मरेको चाहनुहुन्छ भने, तँ जवान, स्वस्थ, र दह्रिलो भए पनि, तेरो समय आउँछ, र तँ मर्नु नै पर्छ। सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा हुन्छ, यो परमेश्‍वरको अख्तियार हो, र कोही पनि योभन्दा माथि उठ्न सक्दैन। उसले यस्तो सरल तथ्य पनि बुझ्‍न सकेन—के यो दयनीय कुरा होइन र? (हो।) उसले परमेश्‍वरमा विश्‍वास गरे पनि, भेलामा सहभागिता जनाए पनि, प्रवचन सुने पनि, र आफ्‍नो कर्तव्य पूरा गरे पनि, परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि, उसले जीवन र मृत्युलगायत मानव नियति मानव इच्छाको अधीनमा होइन परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरा स्विकार्न बारम्बार इन्कार गरिरह्यो। आफूलाई इच्छा लाग्यो भन्दैमा कोही पनि मरिहाल्‍न सक्दैन, र कसैले बाँच्‍न चाहन्छ र मृत्युको डर मान्छ भन्दैमा ऊ बाँच्छ नै भन्‍ने हुँदैन। उसले यस्तो सरल तथ्य पनि बुझ्‍न सकेन, अनि आउन लागेको मृत्यु सामना गर्दा पनि उसले यो कुरा देख्‍न सकेन, र व्यक्तिको जीवन र मृत्यु उसको हातमा हुँदैन, बरु सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको कुरामा निर्भर हुन्छ भन्‍ने कुरा जानेन। के यो दुःखको कुरा होइन र? (हो।) त्यसकारण, मानिसहरूलाई विभिन्‍न नकारात्मक संवेगहरू मामुली कुरा हुन् जस्तो लाग्‍न सक्छ, तर यी सबै संवेगहरू व्यक्तिले सामान्य मानवतामा रहेर मानिसहरू र परिस्थितिहरूलाई हेर्ने मनोवृत्तिसँग जोडिएर आउँछन्। यदि कुनै व्यक्तिले सामान्य मानव जीवन र अस्तित्वमा आइपर्ने कुनै पनि घटनालाई सकारात्मक रूपमा लिन सक्छ भने, ऊसँग तुलनात्मक रूपमा निकै कम नकारात्मक संवेगहरू हुन्छन्। यो पनि भन्‍न सकिन्छ कि उसको विवेक र समझ तुलनात्मक रूपमा अलि सामान्य हुन्छ, त्यसकारण सत्यता पछ्याउन र वास्तविकतामा प्रवेश गर्न उसलाई सहज हुन्छ, र उसले सामना गर्ने कठिनाइ र बाधाहरू पनि कम हुन्छन्। यदि व्यक्तिको हृदय हरकिसिमका नकारात्मक संवेगहरूले भरिएको छ, र जीवनको चुनौती र अस्तित्वलाई हेर्ने उसको शैलीमा ऊ विभिन्‍न नकारात्मक संवेगहरूले भरिएको छ भने, सत्यता पछ्याउने क्रममा उसले अझै धेरै बाधा र कठिनाइहरू सामना गर्नेछ। यदि उसको सत्यता पछ्याउने इच्छा दह्रिलो छैन भने, र ऊसँग परमेश्‍वरप्रति धेरै उत्साह, वा त्यस्तो ठूलो कुनै इच्छा छैन भने, सत्यता पछ्याउने क्रममा उसले सामना गर्ने कठिनाइ र बाधाहरू निकै ठूला हुनेछन्। यसको अर्थ के हो? यसको अर्थ के हो भने, उसलाई सत्यता वास्तविकतामा प्रवेश गर्न कठिनाइ हुनेछ। उसको भ्रष्ट स्वभावको गम्‍भीरतालाई एकातिर पन्छाउँदा पनि, उसलाई यी नकारात्मक संवेगहरू मात्रैले पनि बाँधेर राख्‍नेछन्, जसले गर्दा उसको हरेक कदम कठिन हुनेछ। जब कतिपय मानिसहरूले घृणा, रिस, विभिन्‍न प्रकारका पीडा, वा अरू समस्याहरू सामना गर्छन्, तब तिनीहरूमा पैदा हुने विभिन्‍न विचारहरू नकारात्मक हुन्छन्। यसको अर्थ, लगभग हरेक मामलामा, तिनीहरूको अवस्था मूलतः सधैँभरि नै नकारात्मक संवेगहरूद्वारा नियन्त्रित भएको हुन्छ। यदि तँसँग यी नकारात्मक संवेगहरू समाधान गरेर नकारात्मक संवेगहरूको यो स्थितिबाट उम्कनको लागि चाहिने सङ्कल्प र दृढताको कमी छ भने, सत्यता वास्तविकतामा प्रवेश गर्नु तँलाई निकै चुनौतीपूर्ण हुनेछ। यो कुरा सजिलो हुनेछैन। यसको अर्थ के हो भने, सत्यता पछ्याउने वास्तविकतामा प्रवेश गर्नुभन्दा पहिले, मानिसहरूमा सामान्य मानवतासँग सम्‍बन्धित हरेक समस्याबारे सबैभन्दा आधारभूत सही विचार, दृष्टिकोण, र अडान हुनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता बुझ्‍न र स्विकार्न सक्छन्, अनि मात्र तिनीहरू क्रमिक रूपमा सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। औपचारिक रूपमा सत्यता पछ्याउनुभन्दा पहिले, तैँले तेरा विभिन्‍न नकारात्मक संवेगहरू समाधान गरेर यो चरण पार गर्नुपर्छ। मानिसहरूले यो चरण पार गरेपछि, र तिनीहरूका सोच र विचारहरू, साथै मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तिनीहरूका दृष्टिकोण र अडानहरू सबै सही भएपछि, सत्यता पछ्याउने र वास्तविकतामा प्रवेश गर्ने कार्य सजिलो हुनेछ।

पछिल्‍लोपटक हामीले मानिसहरूमा दबाबको नकारात्मक संवेग किन पैदा हुन्छ भन्‍नेबारेमा सङ्गति गर्‍यौँ। तिनीहरूले चाहेअनुसार गर्न नसक्‍ने हुनाले यो पैदा हुन्छ। आज हामी दबाबको यो नकारात्मक संवेग पैदा हुने अर्को कारणबारे सङ्गति गर्न जारी रख्‍नेछौँ, र त्यो के हो भने, मानिसहरूले आफू पोख्त भएको सीप प्रयोग गर्न नपाउने हुनाले नै प्रायजसो तिनीहरू दबाबको संवेगमा जिउने गर्छन्। के यो अर्को कारण होइन र? (हो।) पछिल्लोपटक, हामीले कसरी कतिपय मानिसहरूले मण्डलीमा वा आफ्‍नो दैनिक जीवनमा प्रायजसो आफू खुसी गर्न, अनि फोकटमा समय बिताउँदै र आफूले गर्नुपर्ने काममा राम्री ध्यान नदिई बस्‍न चाहन्छन्, तर जब तिनीहरूको त्यो चाहना पूरा हुँदैन, तब तिनीहरूलाई दबाब महसुस हुन्छ भनेर कुरा गरेका थियौँ। यसपटक, हामी मानिसहरूको अर्को समूहको प्रकटीकरणबारे सङ्गति गर्नेछौँ। यी मानिसहरूसँग निश्‍चित वरदान, सामर्थ्य, वा व्यावसायिक सीप र क्षमता हुन्छ, वा तिनीहरू विशेष प्रकारको प्राविधिक पेसामा र यस्तै आदि इत्यादि कुरामा पोख्त हुन्छन्, तैपनि तिनीहरूले मण्डलीमा सामान्य रूपमा आफ्‍नो वरदान, सामर्थ्य र व्यावसायिक सीप प्रयोग गर्न सक्दैनन्, र परिणामस्वरूप, तिनीहरू प्रायजसो निराश स्थितिमा रहन्छन्, र त्यो वातावरणमा जीवन असहज र दुःखित रहेको र आफूसँग आनन्द नरहेको महसुस गर्छन्। छोटकरीमा भन्दा, यो संवेगलाई व्याख्या गर्ने शब्‍द दबाब हो। बाहिरी समाजमा, यस्ता मानिसहरूलाई के भनिन्छ? तिनीहरूलाई पेसागत विज्ञ, प्राविधिक विशेषज्ञ, र विशेषज्ञ विज्ञहरू भनिन्छ—छोटकरीमा भन्दा, तिनीहरू सबैलाई विज्ञ भनिन्छ। यी विज्ञहरूमा के-कस्ता विशेषताहरू हुन्छन्? तिनीहरूको निधार ठूलो हुन्छ र चम्किलो आँखा हुन्छ, तिनीहरूले चश्‍मा लगाउँछन्, र तिनीहरूको शिर ठाडो हुन्छ, तिनीहरू हतारमा हिँड्छन्, र तिनीहरूले कामकुराहरू निर्णयात्मक र प्रभावकारी रूपमा गर्छन्। तिनीहरूको सबैभन्दा मुख्य विशेषता भनेको तिनीहरू जहाँ गए पनि आफ्नो झोलामा ल्यापटप बोक्छन्। तिनीहरूलाई तुरुन्तै पेसागत विज्ञ र प्राविधिक विशेषज्ञ भनेर चिनिन्छ। छोटकरीमा भन्दा, यस्ता मानिसहरूमा निश्‍चित पेशागत क्षमता हुन्छ वा तिनीहरू कुनै विशिष्ट प्रकारको प्रविधिमा निकै पोख्त हुन्छन्। तिनीहरूले पेसागत शिक्षा र प्रशिक्षण पाएका हुन्छन्, र तिनीहरूले पेसागत शिक्षण र तालिम पाएका हुन्छन्, वा तिनीहरूमध्ये कतिले पेसागत प्रशिक्षण र तालिम नलिएका पनि हुन सक्छन्, तर तिनीहरू निश्‍चित प्रतिभा र गुण लिएर जन्‍मेका हुन सक्छन्। यस्ता मानिसहरू नै पेसागत विज्ञ र प्राविधिक विशेषज्ञहरू भनेर चिनिन्छन्। जब यी मानिसहरू मण्डलीमा आबद्ध हुन्छन्, तब समाजमा जस्तै तिनीहरूले प्रायजसो यताउता जाँदा ल्यापटप बोकेर हिँड्छन्, र जहाँ काम गरे पनि पेसागत विज्ञ र प्राविधिक विशेषज्ञको रूपमा चिनिन चाहन्छन्। तिनीहरूलाई विज्ञ भनेको, र तिनीहरूको नामको अगाडि “प्रोफेसर” थपेको, र यस्तै आदि इत्यादि गरेको मन पर्छ; तिनीहरूलाई यसरी नै व्यवहार गरेको र बोलाएको मन पर्छ। तर मण्डली एउटा विशेष स्थान, र विशेष काम गरिने ठाउँ हो। यो बाहिरी संसारको कुनै पनि समूह वा कुनै संगठन वा संस्थाभन्दा फरक हुन्छ। यहाँ प्राय के विषयमा छलफल गरिन्छ? सत्यता, सिद्धान्त, नियम, र कार्य बन्दोबस्त, साथै परमेश्‍वरको घरका हितहरू रक्षा गर्ने, र परमेश्‍वरको गवाही दिनेबारेमा। अवश्य नै, अझै ठोस रूपमा भन्दा, मानिसहरूलाई सत्यता अभ्यास गर्न, परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूमा समर्पित हुन, र परमेश्‍वरको घरका बन्दोबस्तहरू र यसले उल्लेख गर्ने सिद्धान्तहरू, आदि इत्यादि कुरामा समर्पित हुन पनि लगाइन्छ। यी स्पष्ट नियमहरू प्रवर्धन गरेर मानिसहरूलाई यी कुरा अभ्यास र पालना गर्न लगाइनेबित्तिकै, मण्डलीमा आबद्ध भएका यी विज्ञहरूलाई आफू अलिक अन्यायमा परेको महसुस हुन्छ। तिनीहरूले सिकेका सीप वा निश्‍चित क्षेत्रमा तिनीहरूले बटुलेको ज्ञान मण्डलीमा प्राय प्रयोग गरिँदैन। तिनीहरूलाई प्राय महत्त्वपूर्ण स्थानमा राख्‍ने वा उच्‍च आदर दिने गरिँदैन, र तिनीहरूलाई प्राय पाखा नै राखिन्छ। स्वाभाविक रूपमै, यी मानिसहरूलाई के गर्ने, के गर्ने हुन्छ, र तिनीहरूको क्षमता पनि प्रयोग गरिएको हुँदैन। अनि, तिनीहरूले मनमनै के विचार गर्छन्? “अहो, यो त ‘बाघ गाउँ पस्यो भने, कुकुरले नि उसलाई हेप्छ’ भनेजस्तै भयो त! विगतमा म सरकारी र विदेशी कम्पनीमा काम गर्थेँ, कस्तो गजब थियो! मैले आफ्‍नो झोलासमेत बोक्‍नुपर्दैनथ्यो, र मेरो दैनिक जीवनको हरेक कुरा र कामकाज सबै अरूले नै मिलाइदिन्थे। मैले केही कुराको चिन्ता लिनु पर्दैनथ्यो। म उच्‍चस्तरीय विज्ञ थिएँ, प्रमुख प्राविधिक थिएँ, त्यसकारण म त्यो कम्पनीको महत्त्वपूर्ण व्यक्ति थिएँ। त्यस्तो महत्त्वपूर्ण व्यक्ति हुनुको अर्थ के हो? त्यसको अर्थ मविना कम्पनी चल्‍न सक्दैनथ्यो, यसले कुनै खरिद अर्डर पाउन सक्दैनथ्यो, र यसका सबै कर्मचारीहरूले बिदा लिनुपर्ने हुन सक्थ्यो—कम्पनी बन्द हुने सम्‍भावना हुन्थ्यो, त्यसकारण कम्पनी मविना चल्न सक्दैनथ्यो। ती गौरवका दिनहरू थिए, सबैले मलाई गन्थे!” अनि, अहिले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, तिनीहरू अझै त्यस्तै स्तरको वैभवमा रमाउन चाहन्छन्। तिनीहरूले मनमनै विचार गर्छन्, “मेरो जस्तो क्षमता भएको व्यक्तिले त परमेश्‍वरको घरमा चम्किने अझै धेरै ठाउँ पाउनुपर्ने हो। तैपनि किन मलाई प्रयोग गरिँदैन? किन मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सधैँ मलाई बेवास्ता गर्छन्? अरूको तुलनामा ममा के कुराको कमी छ? रूप हेर्दा पनि म राम्रै छु; मेरो शीलस्वभाव पनि अरूको भन्दा नराम्रो छैन; सम्‍मान र प्रतिष्ठाको हिसाबमा पनि म कम छैनँ; प्राविधिक विशेषज्ञताको हिसाबमा म पोख्त नै छु। तैपनि किन कसैले मलाई ध्यान दिँदैन? किन कसैले पनि मेरो कुरा र सुझाव सुन्दैन? परमेश्‍वरको घरमा मलाई किन राम्रो स्थान दिइएको छैन? के परमेश्‍वरको घरलाई मजस्तो विज्ञको आवश्यकता छैन? किन यहाँ आएपछि मैले मेरो सीप प्रयोग गर्ने स्थान पाएको छैनँ? परमेश्‍वरको घरको कामको एउटा पक्षलाई त मैले सिकेको प्राविधिक सीप अवश्यै चाहिन्छ। मेरो विशेषज्ञताले यहाँ मान्यता पाउनुपर्छ! म व्यावसायिक सीप भएको व्यक्ति हुँ, म समूह अगुवा, सुपरभाइजर, वा अगुवा हुनुपर्ने हो—मैले अरूलाई नेतृत्व गर्नुपर्ने हो। मलाई किन तल्‍लो दर्जामा राखिन्छ? कसैले पनि मलाई ध्यान दिँदैन, कसैले आदर गर्दैन। यो के भइरहेको हो? के मैले सत्यता बुझिनँ भने मलाई साँच्‍चै यस्तै व्यवहार गरिनुपर्ने हो?” तिनीहरूले बारम्बार आफैलाई यी प्रश्‍नहरू गरिरहन्छन्, तर तिनीहरूले कहिल्यै पनि उत्तर भेट्टाउँदैनन्, त्यसकारण तिनीहरू दबाबमा पर्छन्।

एकपटक सङ्गीत समूह गीत गाउन मञ्‍चमा आएपछि, तिनीहरूले मलाई हेयरस्टाइलबारे प्रश्‍न सोधे। मैले भनेँ, “दिदीबहिनीहरूले पछाडि मुठा पारेर तल छोड्न वा कानको मुनि वा काँधसम्‍म पुग्‍ने गरी काट्न सक्छन्। अवश्य नै, तिनीहरूले माथितिर वा पछाडितिर चुल्ठो बाँध्‍न सक्छन्। दाजुभाइहरूले छोटो काट्न वा एकातिर फर्काउन सक्छन्। श्रृङ्गार वा सजावट गर्नु आवश्यक छैन। बस चिटिक्क, सफा, राम्रो, र स्वाभाविक देखिने बनाओ। छोटकरीमा भन्दा, तिमीहरू सोझा र मर्यादित, अनि इसाईजस्तो देखिन्छौ भने, भइहाल्यो। मुख्य कुरा राम्रो गाउनु र कार्यक्रममा प्रस्तुति दिनु हो।” के मेरा शब्‍दहरू स्पष्‍ट थिए? के ती बुझ्‍न सजिला थिए? (थिए।) पुरुष र स्‍त्री दुवैको कपाल कस्तो हुनुपर्छ भन्‍ने कुरा त स्पष्ट पारियो। तर कपालको शैली छनौट गर्ने सिद्धान्तहरूचाहिँ के-के हुन्? दाजुभाइहरूले आफ्‍नो कपाल एकातिर फर्काउन वा छोटो काट्न सक्छन्, र दिदीबहिनीहरूले छोटो वा लामो कपाल पाल्‍न सक्छन्। लामो छ भने, तिनीहरूले यसलाई पछाडि मुठा पारेर तलतिर झार्न सक्छन्, र छोटो छ भने, धेरै छोटो पनि पार्नु हुँदैन। त्यो एउटा सिद्धान्त हो। अर्को सिद्धान्त सफा र चिटिक्‍क मिलाउनु हो, अर्थात् सकारात्मक र मर्यादित देखिनु, अनि सकारात्मक चरित्र प्रस्तुत गर्नु हो। हामीले समाजमा सेलिब्रेटी वा चर्चित मानिसहरू बन्‍ने उद्देश्य लिइरहेका छैनौँ। हामी आकर्षक छवि खोजिहिँड्दैनौँ, बरु सीधा र मर्यादित देखिन चाहन्छौँ। छोटकरीमा भन्दा, हामी सफा, चिटिक्‍क, सीधा र मर्यादित देखिनुपर्छ। के मेरो कुरा स्पष्ट भयो? के यी दुई सिद्धान्तहरू बुझ्‍न र लागू गर्न सजिलो छ? (छ।) एकपटक सुन्‍नेबित्तिकै, मानिसहरूले यी कुराहरू हृदयमा स्पष्ट बुझ्छन्, र यिनलाई दोहोर्‍याइरहनुपर्दैन। यी सबै हासिल गर्न सजिलो छ। त्यति बेला दश दिन पनि भएको थिएन, तिनीहरूले मलाई एउटा भिडियो पठाए। मैले त्यो भिडियो हेरेँ र त्यसमा तीनचार लाइन दिदीबहिनीहरू थिए। पहिलो लाइनमा सबैको कपाल मिलाइएको थियो र हरेकको कपाल फरक शैली र फरक तरिकाले मिलाइएको थियो। सबैजना फरक देखिन्थे, सबै शैली अनौठा थिए, र बीसको दशकका केही बहिनीहरू तीसचालीसका देखिन्थे, र कति त बुढी आइमाईजस्ता पनि देखिन्थे। छोटकरीमा भन्दा, हरेकको कपालको शैली फरक थियो। अनि, भिडियो पठाउने व्यक्तिले भन्यो, “तपाईंले छनौट गर्नुहोस् भनेर, हामीले विभिन्‍न खाले धेरै हेयरस्टाइलहरू बनाएका छौँ। तपाईंले यीमध्ये कुनै पनि छनौट गर्न सक्‍नुहुन्छ, र हामी त्यही स्टाइल राख्‍ने बन्दोबस्त मिलाउनेछौँ। हामीलाई त्यो गाह्रो हुनेछैन! तपाईंले छनौट गर्नुभएपछि, बस हामीलाई भनिदिनुहोस् अनि हामी त्यहीअनुसार गर्नेछौँ, कुनै समस्या हुनेछैन।” यो भिडियो हेरेपछि मलाई कस्तो लाग्यो होला, तिमीहरूलाई के लाग्छ? मलाई अलिक घिन लागेर आयो, त्यसपछि ध्यान दिएर हेर्दा मलाई झर्को लाग्‍न थाल्यो। जब मैले तिनीहरूलाई बताएका सिद्धान्तहरू सम्झिएँ, मलाई अन्ततः केही बोल्‍नसमेत मन लागेन। के भन्‍ने, के भन्‍ने भयो। अनि, सोचेँ, “हैट, यी मानिसहरूले त मानव भाषासमेत बुझ्दैन रैछन्।” मैले तिनीहरूसित बोलेका शब्‍दहरू र औँल्याएका सिद्धान्तहरूबारे सोचेँ, ती सबै हरकसैले बुझ्‍न र जान्‍न सक्‍ने कुराहरू थिए। मानिसहरूलाई यस्तो सरल कुरा गाह्रो हुँदैनथ्यो, र मानिसहरूले यी कुरा गर्न सक्थे—तैपनि किन तिनीहरूले मलाई यस्तो भिडियो पठाए? यसबारे जाँचबुझ गर्दा, मलाई के महसुस भयो भने, मैले तिनीहरूलाई स्पष्ट रूपमा नबताएको पनि थिइनँ, र तिनीहरूलाई फरकफरक कपाल शैली बनाउन लगाएको पनि थिइनँ। यो व्यवहारका दुई कारण थिए: एउटा कारण, तिनीहरूले मेरो कुरा बुझ्‍न सकेका थिएनन्। अर्को कारणचाहिँ, मानिसहरू केही कुरा गर्न सक्षम हुनेबित्तिकै, तिनीहरूले केही कुरा बुझेर निश्‍चित सीप र प्राविधिक ज्ञान राम्ररी बुझ्‍नेबित्तिकै, तिनीहरूलाई ब्रह्माण्डमा आफ्‍नो स्थान के हो भन्‍ने नै थाहा हुँदैन। तिनीहरूले कसैलाई सम्‍मान गर्दैनन् र सधैँ धाक लगाउन चाहन्छन्। तिनीहरू चरम अहङ्कारी बन्छन्। तिनीहरूले मेरो कुरा बुझे पनि, त्यो स्विकार्ने वा अभ्यास गर्ने गर्दैनन्। तिनीहरूले मेरो कुरा मनमा लिँदैनन्, त्यसलाई महत्त्वपूर्ण ठान्दैनन्, र मैले भनेका कुरालाई बस बेवास्ता मात्रै गरिदिन्छन्। मैले तिनीहरूलाई जे गर्न लगाउँछु वा मलाई जे चाहिन्छ त्यस कुरामा तिनीहरूलाई कुनै चासो हुँदैन। तिनीहरूले मलाई सिद्धान्तहरूबारे सोधे पनि, वास्तवमा तिनीहरूले पहिले नै के गर्ने र कसरी गर्ने भन्‍ने कुरा निर्धारित गरिसकेका थिए। तिनीहरूले मलाई सोध्‍नु त तिनीहरूको प्रक्रियाको एउटा चरण मात्रै थियो। के तिनीहरूले त्यसरी सोध्‍नु गिल्‍ला गर्नु मात्रै थिएन र? (थियो।) तिनीहरूले यसरी गिल्‍ला गरिसकेपछि, मैले जेसुकै भने पनि, अन्त्यमा तिनीहरूले मेरो कुरा नमानी आफूलाई जे मन लाग्छ त्यही गर्छन्। तिनीहरू अत्यन्तै स्वेच्छाचारी हुन्! तिनीहरूले के सोचिरहेका हुन्छन्? “तपाईंले हामीलाई कम सम्झनुहुन्छ। हामी त पेसेवर प्राविधिकहरू हौँ। हामी समाजका प्रभावशाली मानिसहरूसँग उठबस गर्छौँ। हामीसँग यी सीप र विज्ञताहरू छन्, र हामी जहाँ गए पनि, हामीले सुखी जीवन जिउन र मानिसहरूको सम्‍मान पाउन सक्छौँ। हामी परमेश्‍वरको घर आएपछि मात्रै, हामी सेवाकर्ता बनेका हौँ, र यहाँ हामीलाई निरन्तर हेला गरिन्छ। हामीसँग सीप छ, हामी विज्ञ हौँ, र हामी सर्वसाधारण मानिसहरू होइनौँ। परमेश्‍वरको घरमा हामीलाई सम्‍मान गरिनुपर्छ। हाम्रो प्रतिभालाई तपाईं यसरी दबाउन सक्‍नुहुन्‍न। हामी परमेश्‍वरको घरमा हाम्रो विज्ञता प्रयोग गर्छौँ, र तपाईंले हामीलाई साथ र सहयोग गर्नुपर्छ।” के यो रुखो र अनुचित व्यवहार होइन र? (हो।) के यसमा कुनै सामान्य मानवता छ? (छैन, अलिकति पनि छैन।) यो देखेपछि, मैले सोचेँ, “हैट, यी मानिसहरूसँग बहस गरेर सकिँदैन रैछ!” मैले सिद्धान्तहरू बताउँदा, तिनीहरूलाई बारम्‍बार यसो भन्दै सोधेको समेत थिएँ, “तिमीहरूले बुझ्यौ? तिमीहरूलाई याद हुन्छ?” तिनीहरूले मेरो अगाडि त पूर्ण प्रतिज्ञा गरे, तर पछाडि फर्कनेबित्तिकै तिनीहरूले तुरुन्तै त्यो प्रतिज्ञा तोडिहाले। तिनीहरूले यसो भन्दै मीठो कुरा गरेका थिए, “म यहाँ आफ्‍नो कर्तव्य पूरा गर्न, र परमेश्‍वरलाई सन्तुष्ट पार्न आएको हुँ।” के आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको त्यही हो त? के तैँले साँच्‍चै परमेश्‍वरलाई खुसी पारिरहेको छस्? तैँले त आफ्‍नै देहलाई सन्तुष्ट पारिरहेको र आफ्‍नै प्रतिष्ठा बढाइरहेको छस्। तँ त यहाँ आफ्‍नो करियर बनाउन आएको होस्, कर्तव्य पूरा गर्न होइन। अर्को शब्‍दमा भन्दा, तँ त परमेश्‍वरको घरमा बरबादी ल्याउन आएको होस्। मलाई भन् त, परमेश्‍वरको घरको कामका सबै पक्षहरूमा मानिसहरूले परिपालन गर्नुपर्ने सिद्धान्तहरूबारे अन्तिम निर्णय कसको हुन्छ? तेरो कि परमेश्‍वरको? (परमेश्‍वरकै अन्तिम निर्णय हुन्छ।) तेरा वचनहरू सत्यता हुन् कि परमेश्‍वरका वचनहरू? (परमेश्‍वरका वचनहरू नै सत्यता हुन्।) तिमीहरूले बोल्ने हरेक कुरा एक किसिमको धर्मसिद्धान्त हुन्छ। यदि त्यो धर्मसिद्धान्त सत्यताअनुरूप छैन भने, त्यो एउटा भ्रम बन्छ। मैले भनेको कुरा सत्यता हुन् भनेर त भन्छौ, तर यसलाई किन स्विकार्न सक्दैनौ? मैले तिमीहरूसँग बोल्दा किन यसले कुनै प्रभाव पार्दैन? तिमीहरूले मेरो अगाडि मीठामीठा कुराहरू गर्छौ, तर मेरो पछाडि सत्यता अभ्यास गर्दैनौ। यो के भइरहेको हो? जब भ्रष्ट मानवजातिसँग थोरै प्रतिभा, विज्ञता, वा विचारहरू हुन्छन्, तब तिनीहरू अहङ्कारी र घमण्डी बन्छन् र कसैप्रति समर्पित हुन मान्दैनन्। जोसुकैले जे भने पनि तिनीहरूले सुन्दैनन्। के यो अत्यन्तै अविवेकी कुरा होइन र? यदि तिमीहरूलाई आफूले गरिरहेको कुरा सही लाग्छ भने, किन मलाई जाँच्‍न लगाउँछौ? मैले तिमीहरूका भूल र गल्तीहरू औँल्याउँदा, किन तिमीहरू त्यो स्विकार्न सक्दैनौ? तिमीहरू सत्यता बुझ्दैनौ, तर म तिमीहरूलाई सत्यता सङ्गति गर्न सक्छु। मलाई सत्यताअनुसार, सिद्धान्तहरूअनुसार, र सन्तहरूको सुचरित्रअनुसार कसरी व्यवहार गर्ने भन्‍ने थाहा छ। मलाई अरूलाई सुधार्ने तरिकाले कसरी व्यवहार गर्ने भन्‍ने थाहा छ। त्यो तिमीहरूलाई थाहा छ त? यदि तिमीहरूलाई यी कुराहरू थाहा छैन भने, किन तिमीहरू अझै पनि सत्यता स्विकार्न सक्दैनौ? किन तिमीहरू मैले भनेजस्तो गर्दैनौ?

कतिपय मानिसहरू लेख-रचनामा उत्कृष्ट हुन्छन्; तिनीहरूले स्वाभाविक रूपमै भाषा मिलाउने र विचारहरू व्यक्त गर्ने वरदान पाएका हुन्छन्। तिनीहरूसँग निश्‍चित स्तरको साहित्यिक क्षमता, र विभिन्‍न कुराहरू व्याख्या गर्दा निश्‍चित तौरतरिका र शैली प्रयोग गर्ने क्षमता हुन्छ। तर के यी गुणहरू छन् भन्दैमा, तिनीहरूले सत्यता बुझेका छन् भन्‍ने हुन्छ र? (अहँ, हुँदैन।) यो त ज्ञानको एउटा पक्ष, व्यक्तिको वरदान र प्रतिभाको एउटा पक्ष मात्रै हो। यसको अर्थ तँसँग निश्‍चित प्रतिभा छ, तँ लेख-रचना गर्न र भाषामार्फत विचारहरू व्यक्त गर्न सिपालु छस्, र तँ शब्‍दहरू प्रयोग गर्न पोख्त छस्। यस्ता कुराहरूमा दक्ष भएपछि, कतिपय मानिसहरू सोच्छन्, “म परमेश्‍वरको घरमा कलम चलाउँछु; म त लेख-रचनाको काममै संलग्‍न हुनुपर्छ।” धेरै मानिसहरू लेख-रचनाको काममा सहभागी हुनु राम्रो कुरा हो; परमेश्‍वरको घरलाई यसको आवश्यकता हुन्छ। तैपनि, परमेश्‍वरको घरलाई तेरो सीप, र तेरो व्यावसायिक क्षमता मात्रै चाहिएको होइन। तेरो व्यावसायिक सीप र विज्ञता त तैँले गर्ने काममा प्रयोग हुने औजार मात्रै हुन्। तेरो व्यावसायिक क्षमता र सीपको स्तर जे-जस्तो भए पनि, तैँले सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ र परमेश्‍वरको घरले इच्छा गरेका परिणाम र तय गरेका लक्ष्यहरू हासिल गर्नुपर्छ। यी परिणाम र लक्ष्यहरूको लागि परमेश्‍वरको घरका तोकिएका मापदण्ड र सिद्धान्तहरू हुन्छन्; यसले तँलाई तेरो व्यक्तिगत इच्छा वा रुचिहरूको आधारमा काम गर्न दिँदैन। उदाहरणको लागि, कतिपय मानिसहरूसँग लेख्‍ने राम्रो सीप हुन्छ, र तिनीहरूले भाषा मिलाएर अनि स्पष्ट र सुहाँउदो घटनाक्रम प्रयोग गरेर पटकथा लेख्‍न सक्छन्। तर के त्यसले चाहेका परिणामहरू हासिल गर्छ त? त्यस्ता पटकथाहरूले परमेश्‍वरको गवाही दिनु त कता हो कता, ती पत्यार लाग्‍नेसमेत हुँदैनन्। तैपनि, आकर्षक भाषामा लेख्‍ने आफ्‍नो क्षमताप्रति यी पटकथा लेखकहरू सन्तुष्ट र आत्मविश्‍वासी हुन्छन्, र तिनीहरूले आफूलाई निकै ठूला ठान्छन्। तिनीहरू त्यो पटकथाले परमेश्‍वरको गवाही दिने र परमेश्‍वरको वचन फैलाउने उद्देश्य हासिल गर्नुपर्छ भनेर बुझ्दैनन्। उद्देश्य यही हो। जब परमेश्‍वरको घरलाई पटकथा आवश्यक पर्छ, त्यसमा मुख्य पात्रले पढ्ने परमेश्‍वरका वचनहरू, र परमेश्‍वरको कामको अगुवाइमा रही मुख्य पात्रले परमेश्‍वरका वचनहरूको अनुभव र अभ्यासबाट प्राप्त गर्ने साँचो बुझाइ चित्रण गरिएको हुनुपर्छ। एक हिसाबमा, यसले परमेश्‍वरको गवाहीको रूपमा काम गर्नुपर्छ, र अर्को हिसाबमा यसले उहाँका वचनहरू फैलाउनुपर्छ। त्यसपछि मात्रै त्यो पटकथाले इच्छित परिणाम हासिल गर्छ। परमेश्‍वरको घरका मापदण्डहरू यिनै हुन्। के मानिसहरूको लागि ती गाह्रो छन्, तिमीहरूलाई के लाग्छ? (अहँ, ती गाह्रो छैनन्।) अहँ, यो परमेश्‍वरको घरको काम हो। तैपनि, यी पटकथा लेखकहरू यसरी काम गर्न इच्छुक हुँदैनन्। तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, “मैले लेखेको कुरा पर्याप्त रूपले सिद्ध र विशिष्ट छ। यदि तपाईं मलाई त्यो कुरा थप्‍न लगाउनुहुन्छ भने, यो मेरो अभिप्रायविपरीत हुनेछ। मलाई यस्तो कुरा मन पर्दैन, र म त्यसरी लेख्‍न चाहन्‍नँ।” पछि त्यो कुरा मन नलागीनलागी थपिए पनि, तिनीहरूको भावना त्यो बेला एकदमै धेरै परिवर्तन भइसकेको हुन्छ। कतिले भन्छन्, “परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्नु साह्रै दबाबपूर्ण लाग्छ। मानिसहरूले हामीलाई सधैँ निराकरण गरिरहेका र हाम्रो गल्ती खोतलिरहेका हुन्छन्। मलाई त चेपुवामा परेजस्तो लाग्छ, माग्‍नेले छान्‍न पाउँदैन भनेर भनिएजस्तो लाग्छ। मैले आफै अन्तिम निर्णय गरेर आफूलाई मन लागेको कुरा लेख्‍न पाए, कस्तो राम्रो हुनेथ्यो! परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्दा हामीले सधैँ अरूको कुरा मान्‍नुपर्छ र काटछाँट र निराकरण स्विकार्नुपर्छ। यो अत्यन्तै दबाबपूर्ण अवस्था हो!” के यो सही मनोवृत्ति हो त? अनि, यो कस्तो स्वभाव हो? यो अत्यन्तै अहङ्कारी र आत्मधर्मी स्वभाव हो! सङ्गीत समूहमा अरू केही व्यक्तिहरू पनि हुन्छन्, जो मेकअप गर्ने कर्तव्य पूरा गर्छन्। तिनीहरूलाई अविश्‍वासीहरूको हेयरस्टाइल मन पर्छ, तर त्यो हेयरस्टाइलको अन्तिम नतिजा इन्कार हुन्छ। किन? किनभने परमेश्‍वरको घरले पैशाचिक हेयरस्टाइल चाहँदैन; यसले त सामान्य, मर्यादित, र सीधा देखिने हेयरस्टाइल चाहन्छ। तँ जुन हेयरस्टाइल बनाउन सक्षम छस्, त्यसलाई गएर अविश्‍वासी संसारलाई देखाउन सक्छस्। त्यस्ता विज्ञहरू तिनीहरूलाई नै चाहिन्छ, तर परमेश्‍वरको घरलाई चाहिँदैन। कतिपय मानिसहरू परमेश्‍वरको घरको लागि निःशुल्क काम गर्न तयार छु भनी भन्छन्, तर तिनीहरूको काम आवश्यक वा मूल्यवान् हुँदैन; यो हेर्दा घृणास्पद देखिन्छ। परमेश्‍वरको घरले त तँ मर्यादित र सीधा, अनि भद्र व्यक्तिजस्तो देखिएको चाहन्छ। यसले तँ सुन्दर भएको, दरबारमा बस्‍नेजस्तो सान भएको चाहँदैन, र तँ राजकुमारी, मेमसाहेब, धनी जवान मालिक, वा प्रभु बनेको त झन् निश्‍चय नै चाहँदैन। हामी कुनै हैसियत, पद, वा मूल्य नभएका साधारण मानिसहरू हौँ, हामी केवल सबैभन्दा सामान्य र अनुल्‍लेखनीय मानिसहरू हौँ। हामीले आदर्शवान्‌ वा प्रभावशाली होइन, साधारण व्यक्ति बन्‍नु, साधारण लुगा लगाउनु र साधारण देखिनु, नाटक नगर्नु, बरु आफूले गर्न सक्‍ने कुरामा रमाउनु र कुनै महत्त्वाकाङ्क्षा वा इच्छा नबोकी साधारण व्यक्तिको जीवन जिउनमा सन्तुष्ट हुनु नै राम्रो हुन्छ। यो नै सबैभन्दा राम्रो कुरा हो, र यो नै सामान्य मानवता भएको व्यक्तिको जीवन हो। तँ साधारण व्यक्ति मात्रै होस्, तैपनि तैँले आदर्शवान्‌ व्यक्तिजस्तो व्यवहार गर्ने प्रयास गरिरहेको हुन्छस्। के यो घृणास्पद कुरा होइन र? (हो, यो घृणास्पद कुरा हो।) परमेश्‍वरको घरमा तैँले सधैँ आफ्‍नो विज्ञता देखाउने र धाक लगाउने प्रयास गरिरहेको हुन्छस्। म तँलाई सोध्छु, के आफ्‍नो विज्ञता देखाउनु बहुमूल्य कुरा हो? यदि यसको साँच्‍चै मूल्य छ भने, यो स्वीकार्य हुन्छ। तर यदि यसको कुनै मूल्य छैन, र यो हानिकारक र विनाशकारी छ भने, तैँले आफ्‍नो घिनलाग्दो प्रकृति र अप्रिय गुण देखाइरहेको छस्। के त्यस्ता कुराहरू देखाउनुका परिणामहरू तँलाई थाहा छ? यदि तँलाई थाहा छैन भने, ती कुराहरू प्रकट नगर्। तैँले के गर्न सक्छस्, तँसँग के-कस्ता प्राविधिक सीपहरू छन्, तँ प्राकृतिक रूपमा के-कस्ता विशेष प्रतिभाहरूमा उत्कृष्ट छस् वा तँमा के-कस्ता विशेष प्रतिभा छन्, यीमध्ये कुनैलाई पनि आदर्शवान्‌ कुरा मानिँदैन; तँ बस साधारण व्यक्ति मात्रै होस्। कतिपय मानिसहरू भन्छन्, “म धेरै भाषामा पोख्त छु।” त्यसोभए अनुवादकको काम गर्न जा र अनुवादको काम राम्ररी गर्; त्यसपछि तँलाई असल व्यक्ति मानिनेछ। कतिपय मानिसहरू यसो भन्छन्, “म त पुरै सिनहुवा शब्‍दकोश कण्ठस्थ सुनाउन सक्छु।” तैँले त्यो सिनहुवा शब्‍दकोश पुरै कण्ठ गरेर के हुन्छ? के त्यसले तँलाई सुसमाचार फैलाउन सक्षम तुल्याउँछ? के त्यसले तँलाई परमेश्‍वरको गवाही दिन सक्षम तुल्याउँछ? कतिपय मानिसहरू भन्छन्, “म झलक्‍क हेरेर दश हरफ पढ्न सक्छु। म एक दिनमा १०० पेज परमेश्‍वरको वचन पढ्न सक्छु। यो सीपलाई हेर त, के यो गजबको छैन र?” तैँले एक दिनमा वचन देहमा देखा पर्नुहुन्छको १०० पेज पढ्न सक्छस् होला, तर यसबाट तैँले के बुझ्छस्? तैँले सत्यताको कुन पक्ष बुझ्छस्? के तँ यसलाई अभ्यास गर्न सक्छस्? कतिपय मानिसहरू भन्छन्, “म त बच्‍चैदेखि मेधावी छु। मैले त पाँच वर्षको उमेरमै गीत गाउन र कविता लेख्‍न सक्थेँ।” के त्यो काम लाग्‍ने कुरा हो? अविश्‍वासीहरूले तँलाई आदर गर्न सक्छन् होला, तर परमेश्‍वरको घरमा तेरो कुनै काम छैन। मानौँ, मैले तँलाई अहिले नै परमेश्‍वरको प्रशंसा गर्ने गीत रचना गर् भनेर भनेँ रे। के तैँले यसो गर्न सक्छस् त? यदि सक्दैनस् भने, तैँले सत्यताको कुनै पक्ष बुझेको छैनस्। वरदानहरू हुनु मात्रै ठूलो कुरा होइन। यदि सत्यता बुझ्दैनस् भने, तैँले केही पनि हासिल गर्न सक्दैनस्। व्यक्तिमा जेसुकै वरदान, सीप, वा प्रतिभा भए पनि, वास्तवमा ती त औजार मात्रै हुन्। यदि सकारात्मक कुराहरू र सकारात्मक प्रभावको लागि प्रयोग गर्न सकिन्छ भने, ती कुराहरूमा केही मूल्य छ भनेर भन्‍न सकिन्छ। यदि सकारात्मक कुराहरूको लागि वा सकारात्मक प्रभावको लागि प्रयोग गर्न सकिँदैन भने, ती कुराहरूको कुनै मूल्य हुँदैन, र ती कुराहरू सिक्‍नु तेरो लागि व्यर्थ र बोझमय हुनेछ। यदि तैँले परमेश्‍वरको घरमा सत्यता सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न र काम गर्नको लागि आफ्‍नो पेसेवर सीप वा प्रतिभा प्रयोग गर्न सक्छस् भने, तेरो पेसेवर सीप र प्रतिभा ठीक ठाउँमा र कुनै उद्देश्य पूरा गर्न प्रयोग गरिएको छ भनेर भन्‍न सकिन्छ—ती कुराहरूको मूल्य नै यही हो। अर्कोतर्फ, यदि तैँले आफ्‍नो कर्तव्य निर्वाहमा ती कुराहरू प्रयोग गर्न सक्दैनस् भने, तेरो पेसेवर सीप र प्रतिभाको कुनै मूल्य हुँदैन र मेरो लागि ती व्यर्थ छन्। उदाहरणको लागि, कतिपय मानिसहरू स्वाभाविक रूपमै वाक्पटु र धाराप्रवाह, अनि दक्ष भाषाविद्‌ र सक्रिय चिन्तक हुन्छन्। यसलाई एउटा प्रतिभा मान्‍न सकिन्छ। संसारमा, यस्ता मानिसहरू भाषण, प्रचारप्रसार, वा वार्तामा संलग्‍न भएमा, वा न्यायाधीश, वकील, वा यस्तै अन्य पेसाको काममा लागे भने, तिनीहरूले तिनीहरूको सीपको स्थान पाउँछन्। तथापि, यदि परमेश्‍वरको घरमा तँसँग यस्तो सीप त छ तर तैँले सत्यताको कुनै पक्ष बुझेको छैनस्, तँसँग दर्शनहरूसम्बन्धी सत्यताको समेत आधारभूत बुझाइ छैन, अनि तँ सुसमाचार सुनाउन वा परमेश्‍वरको गवाही दिन सक्दैनस् भने, तेरो वरदान वा प्रतिभाको मूल्य नाममात्रको हुनेछ। यदि तँ सधैँ आफ्‍नो वरदानअनुसार जिउँछस्, जहाँ गए पनि आफ्‍नो सीपको फाइँफुट्टी लगाउँछस्, र धाक लगाउँदै धर्मसिद्धान्तका शब्‍दहरू प्रचार गर्छस् भने, मानिसहरूको लागि तँ घिनलाग्दो बन्‍नेछस्, किनभने तैँले बोल्‍ने हरेक शब्‍द घृणास्पद, अनि तैँले व्यक्त गर्ने हरेक विचार वा दृष्टिकोण थकाइलाग्दो हुन्छ। त्यस्तो अवस्थामा, तँ चुप बसेकै बेस हुन्छ। तैँले जति धेरै आफूलाई प्रदर्शन गर्ने र देखाउने प्रयास गर्छस्, त्यति नै घिनलाग्दो बन्‍नेछस्। मानिसहरूले तँलाई यसो भन्‍नेछन्, “तेरो फोहोरी मुख बन्द गर्! तैँले बोलिरहेको कुरा सबै धर्मसिद्धान्त हो, र कसले यो बुझ्दैन र? तैँले प्रचार गरेको कति वर्ष भयो? तेरा शब्‍दहरू फरिसीहरूको भन्दा फरक छैनन्, ती मण्डली वातावरण दूषित तुल्याउने खोक्रा सिद्धान्तहरूले भरिएका छन्। ती शब्दहरू कसैलाई सुन्‍न मन छैन!” देखिस् त, यसले त मानिसहरूमा रिस र घिन पैदा गर्छ। त्यसकारण, तैँले सत्यताप्रति अझै बढी ध्यान दिएको र सत्यता अझै बढी बुझ्‍ने प्रयास गरेको राम्रो हुन्छ, र त्यसो गर्नु साँचो सक्षमता हो। म जति धेरै यसो भन्छु, त्यति नै यी “सक्षम” र “विज्ञ” मानिसहरूलाई दबाब महसुस हुन्छ, र तिनीहरूले सोच्छन्, “अब सब खतम भो, उम्‍कने कुनै बाटो छैन। म त सधैँ आफूलाई जहाँ गए नि सफल हुने र प्रमुख पद पाउने प्रतिभावान् व्यक्ति ठान्थेँ। के ‘सुन हो भने, ढिलोचाँडो चम्किने नै छ’ भनेर भनिँदैन र? तर परमेश्‍वरको घरमा त मैले अनपेक्षित रूपमा ठक्‍कर मात्र खान पुगेँ। साह्रै दबाब महसुस भइरहेछ, एकदमै साह्रै दबाब! आखिर, म कसरी यस्तो अवस्थामा आइपुगेँ?” परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो, तर पनि किन परमेश्‍वरको घरमा आएपछि अत्यन्तै प्रतिभावान् र उच्‍चतम विज्ञहरूलाई यस्तो महसुस हुन्छ? अहिलेसम्‍ममा तिनीहरूलाई दबाब महसुस भएको यति धेरै वर्ष भइसकेको हुन्छ कि तिनीहरू डिप्रेसनमै गइसकेका हुन्छन्। कसरी बोल्‍ने वा व्यवहार गर्ने भन्‍नेसमेत तिनीहरूले बिर्सिसकेका हुन्छन्। अन्त्यमा, कतिपयले यसो भन्छन्, “सधैँ निराकरणमा पर्दा साह्रै दबाब महसुस हुने रहेछ। अहिले म निकै नै शिष्ट भएको छु, र मण्डली अगुवा वा समूह अगुवाले जे भने पनि म सधैँ ‘हो’ वा ‘हुन्छ’ भन्दै सहमति जनाउँछु।” तिनीहरूले समर्पित हुन र आज्ञापालन गर्न सिकेका छन् जस्तो देखिन सक्छ, तर तिनीहरूले अझै पनि सिद्धान्तहरू वा आफ्‍नो कर्तव्य कसरी पूरा गर्ने भनेर बुझेका हुँदैनन्। तिनीहरू आफूमा दबाबको यो अनुभूति बोकेर हिँड्छन् र आफूलाई भाउ नदिइएको महसुस गर्दै रुष्ट हुन्छन्। तिनीहरूको शिक्षाको स्तरबारे सोध्दा कतिले भन्छन्, “मैले स्‍नातक सकेको छु,” अरूले भन्छन्, “मास्टर्स सकेको छु,” र अझै अरूले भन्छन्, “मैले पीएचडी सकेको छु,” वा “मैले त मेडिकल स्कूल पूरा गरेको छु,” “मैले फाइनान्स पढेको छु,” वा “मैले व्यवस्थापन पढेको छु,” जबकि कति अरूचाहिँ प्रोग्रामर वा इन्जिनियर हुन्छन्। यदि तिनीहरूको नामको अगाडि “डाक्टर” उपाधि छैन भने, अरू कुनै किसिमको पदवीनाम हुन्छ। तर यी मानिसहरूलाई परमेश्‍वरको घरमा त्यसरी सम्‍बोधन गरिँदैन, न त तिनीहरूलाई उच्च सम्‍मानसाथ व्यवहार नै गरिन्छ। अनि, तिनीहरूलाई प्रायजसो दबाब महसुस हुन्छ र तिनीहरूले आफ्‍नो पहिचानको अनुभूति गुमाएका हुन्छन्। मण्डलीमा सङ्गीतकर्मी, नर्तकनर्तकी, चलचित्रकर्मी, प्राविधिक, व्यापारी, अर्थविद्, र राजनीतिज्ञलगायतका हरप्रकारका विज्ञहरू हुन्छन्। विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ हुँदा, यी मानिसहरूले प्रायजसो यसो भन्छन्, “म त सरकारी कम्पनीको सम्‍मानित प्रमुख हुँ। म त बहुराष्ट्रिय कम्पनीको वरिष्ठ प्रबन्धक हुँ। म त प्रमुख कार्यकारी अधिकृत हुँ, त्यसकारण मैले कसको डर मान्‍नुपर्छ र? म कहिले कसैको अधीनमा बसेको छु? म त व्यवस्थापन सीप लिएर जन्‍मेको हुँ, र जहाँ गए पनि मैले अख्‍तियारवाला पद पाउनुपर्छ, म इन्‍चार्ज हुनुपर्छ, सधैँ अरूलाई व्यवस्थापन गर्ने व्यक्ति हुनुपर्छ, र कसैले पनि मलाई व्यवस्थापन गर्नु हुँदैन। त्यसकारण, परमेश्‍वरको घरमा कम्तीमा पनि म समूह अगुवा वा इन्‍चार्ज त हुनैपर्छ!” केही समयपछि नै, सबैलाई ती मानिसहरूसँग कुनै सत्यता वास्तविकता छैन, र तिनीहरू कुनै पनि काम गर्न नसक्‍ने, अनि निकै अहङ्कारी र आत्माभिमानी छन् भन्‍ने थाहा हुन्छ। तिनीहरू कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्, र अन्तिममा, तिनीहरूमध्ये कतिलाई त सामान्य श्रमको काम मात्रै दिइन्छ, जबकि कति अरू भने समर्पित हुन कहिल्यै मान्दैनन्, र सधैँ आफ्‍नो क्षमताको धाक देखाउने प्रयास गर्दै अनियन्त्रित व्यवहार गरिरहेका हुन्छन्। यसकारणले गर्दा, तिनीहरूले धेरै समस्या पैदा गर्छन्, मण्डली परिवारलाई रिस उठाउँछन्, र अन्तिममा तिनीहरू निष्कासित हुन्छन्। के ती मानिसहरूले दबाब महसुस गर्दैनन् र? अन्त्यमा, तिनीहरूले यस्तो अभिव्यक्ति दिएर आफ्‍नो अनुभव सारांशित गर्छन्: “परमेश्‍वरको घर त हामीजस्तो प्रतिभावान्‌ मानिसहरूको लागि होइन। हामी उत्कृष्ट नस्लका घोडाहरूजस्तै हौँ, तर परमेश्‍वरको घरमा यस्तो कुरा देख्‍ने कोही छैन। परमेश्‍वरमा विश्‍वास गर्नेहरू अनजान र अज्ञानी छन्, विशेष गरी विभिन्‍न स्तरका अगुवाहरू यस्तो अज्ञानी छन्। तिनीहरूले सत्यता बुझे पनि, हामी उत्कृष्ट नस्लका हौँ भन्‍ने कुरा पहिचान गर्न सक्दैनन्। हामी अब जानुपर्छ र हाम्रो प्रतिभा चिन्‍ने व्यक्ति खोज्‍नुपर्छ।” अन्त्यमा, तिनीहरूले यस्तै निष्कर्ष निकाल्छन्। अनि, अरूले चाहिँ यसो भन्छन्, “परमेश्‍वरको घरमा ठाउँ थोरै भएकोले हामी बस्‍ने ठाउँ छैन। हामी सबै महत्त्वपूर्ण व्यक्तिहरू हौँ, जबकि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू समाजको तल्‍लो स्तरका मानिसहरू हुन्: किसान, फुटपाथ पसले, र सानातिना व्यापारीहरू। तिनीहरूमाझ कुनै पनि उच्चस्तरीय विज्ञ छैन। तर मण्डली सानो भए पनि, संसार ठूलो छ, र यति ठूलो संसारमा हाम्रो लागि अवश्यै ठाउँ छ। हामी प्रतिभावान् मानिसहरूले हाम्रो कदर गर्ने मानिसहरू अवश्यै भेट्नेछौँ!” यी मानिसहरूले आफ्नो कदर गर्ने मानिसहरू भेट्टाऊन्, हामी शुभकामना दिऊँ, हुँदैन? (हुन्छ।) यिनीहरूले आफ्‍नो कदर गर्ने मानिसहरू भेटेर हामीसँग बिदा हुँदा, हामी यिनीहरूलाई बिदाइभोज दिऊँ अनि तिनीहरूले कुनै दबाबको संवेग महसुस गर्न नपर्ने आफ्‍नो उचित स्थान भेट्टाऊन् भनेर कामना गरौँ। यिनीहरूले हामीभन्दा राम्रोसँग जिऊन्, र शान्तिपूर्ण जीवन पाऊन्। हामीले यसो भन्दा, के दबाबको संवेग महसुस गर्ने यी मानिसहरूलाई अलिक सहज हुन्छ? छाती कसिलो हुने, टाउको सुन्‍निने, छाती भारी हुने, अनि शारीरिक असहजता, र अप्ठ्यारोपन—के यी अनुभूतिहरू हराएका हुन्छन्? आशा छ यिनीहरूको इच्छा पूरा हुनेछ, यिनीहरूलाई दबाब महसुस हुन छोड्नेछ, र यिनीहरू खुसी र स्वतन्त्र भएर जिउन पाउँछन्।

मलाई भन त, तिमीहरूलाई के लाग्छ, के परमेश्‍वरको घरले यी प्रतिभावान् व्यक्तिहरूको लागि जानीजानी कठिनाइ पैदा गरिरहेको हुन्छ? (त्यस्तो होइन।) अवश्यै त्यस्तो हुँदैन। त्यसोभए किन परमेश्‍वरको घरका विभिन्‍न सिद्धान्तहरू, कार्य बन्दोबस्तहरू, अनि हरेक कामका मापदण्डहरूले तिनीहरूमा यस्तो दबाबका संवेगहरू पैदा गर्छन्? परमेश्‍वरको घरमा किन यी प्रतिभावान् व्यक्तिहरूले दबाबका संवेगहरूमा फस्छन्? के परमेश्‍वरको घरले गल्ती गरेको हुन्छ? कि परमेश्‍वरको घरले जानीजानी यी मानिसहरूको निम्ति कठिनाइ ल्याइदिन्छ? (यी दुवै कुरा होइन।) धर्मसिद्धान्तको हिसाबमा, यी दुवै व्याख्या पूर्ण रूपमा गलत छन् भन्‍ने तिमीहरू सबैले बुझेका छौ। त्यसोभए किन यस्तो हुन्छ? (यस्तो किन हुन्छ भने, मानिसहरूले आफूले बाहिरी संसारमा प्राप्त गरेको व्यावसायिक विशेषज्ञता वा आफ्‍नो व्यक्तिगत रुचिहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा परमेश्‍वरको घरका सिद्धान्त र मापदण्डहरूमा लाद्छन्।) तर के परमेश्‍वरको घरले तिनीहरूलाई यी कुराहरू यसका मापदण्ड र सिद्धान्तहरूमा लाद्‌न दिन्छ त? अवश्यै दिँदैन। परमेश्‍वरको घरले यस्तो गर्न नदिने हुनाले कतिपय मानिसहरूले दबाब महसुस गर्छन्। तिमीहरूलाई के लाग्छ, तिनीहरूले यसबारे के गर्नुपर्छ? (हरेक कर्तव्य पूरा गर्नुभन्दा पहिले, तिनीहरूले त्यो कर्तव्यको लागि परमेश्‍वरको घरले तोकेका मापदण्ड र सिद्धान्तहरू बुझ्‍नुपर्छ। यी सिद्धान्तहरू सही रूपमा बुझिसकेपछि, तिनीहरूले आफूले सिकेका व्यावसायिक विज्ञतालाई उचित तरिकाले लागू गर्न सक्छन्।) यो सिद्धान्त सही छ। अब मलाई भन, के परमेश्‍वरको घरमा सधैँ आफ्‍नो विज्ञता देखाउन र आफ्‍नो क्षमता प्रदर्शन गर्न चाहनु सही सुरुवात बिन्दु हो? (अहँ, होइन।) कसरी यो गलत छ? कारण बताओ त। (तिनीहरूको अभिप्राय आफ्‍नो प्रदर्शन गर्नु र आफूलाई पृथक देखाउनु हो—तिनीहरूले आफ्‍नै करियर पछ्याइरहेका हुन्छन्। तिनीहरूले आफ्‍नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने वा परमेश्‍वरको घरको काममा फाइदा पुग्‍ने गरी कसरी व्यवहार गर्ने भनेर विचार गरिरहेका हुँदैनन्। त्यसको सट्टा, तिनीहरूले परमेश्‍वरको घरका हितहरू रक्षा नगरी वा सत्यता सिद्धान्तहरू खोजी नगरी आफ्‍नै रुचिअनुसार काम गर्न चाहन्छन्।) अरूले यो मामलालाई कसरी हेर्छन्? (केही कुरा आइपर्नेबित्तिकै आफ्‍नो धाक लगाउनु शैतानी स्वभाव हो। तिनीहरूले आफ्‍नो कर्तव्य कसरी पूरा गर्ने र परमेश्‍वरको गवाही कसरी दिने भनेर सोच्दैनन्; तिनीहरूले सधैँ आफ्‍नै बारेमा मात्रै गवाही दिन चाहन्छन् र यो मार्ग अन्तर्निहित रूपमै गलत छ।) यो सुरुवात बिन्दु अन्तर्निहित रूपमै गलत छ, र यो निश्‍चित कुरा हो। त्यसोभए, कुन तरिकाले यो गलत छ? यो तिमीहरूले खण्डन गर्न नसक्‍ने कुरा हो। यस्तो लाग्छ, तिमीहरू सबैलाई दबाब महसुस भइरहेको छ, र तिमीहरू सबैजना आफ्‍नो क्षमता प्रदर्शन गर्न आफ्‍नो विज्ञता देखाउन चाहन्छौ—होइन र? अविश्‍वासीहरूमाझ एउटा भनाइ छ, त्यो के हो? “बुढी आईमाईले लाली लाई—तिमीहरूलाई देखाउनलाई।” के “आफ्‍नो क्षमता प्रदर्शन गर्नु” भनेको यही होइन र? (हो।) आफ्‍नो क्षमता प्रदर्शन गर्नु भनेको आफ्‍नो सक्षमता देखाउन र धाक लगाउन चाहनु हो, अरूहरूमाझ प्रतिष्ठा र हैसियत अनि उच्‍च आदर पाउन चाहनु हो। कम्तीमा पनि, यो अरूलाई आफ्ना क्षमताहरू प्रदर्शन गर्ने अवसर प्रयोग गर्दै यस्तो जानकारी दिन चाहनु हो: “मसँग केही वस्तविक सीप छन्, म साधारण व्यक्ति होइन, मलाई हेयको नजरले नहेर, म प्रतिभावान्‌ व्यक्ति हुँ।” कम्तीमा पनि, यसको भित्री अर्थ यही हो। त्यसकारण, जब कुनै व्यक्तिले त्यस्ता अभिप्रायहरू बोकेको हुन्छ र सधैँ आफ्‍नो क्षमता प्रदर्शन गर्न चाहन्छ, तब यसको प्रकृति के हुन्छ? तिनीहरूले आफ्‍नै करियर बनाउन, आफ्‍नै हैसियत बढाउन, अरू मानिसहरूमाझ दह्रिलो स्थान र प्रतिष्ठा स्थापित गर्न चाहन्छन्। यो कुरा यति सरल छ। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्न वा परमेश्‍वरको घरको लागि यसो गरिरहेका हुँदैनन्, र तिनीहरूले सत्यता खोजी गरिरहेका र परमेश्‍वरको घरका सिद्धान्त र मापदण्डहरूअनुसार काम गरिरहेका हुँदैनन्। तिनीहरूले आफ्‍नै लागि, आफूलाई अझै बढी चिनाउन, आफ्‍नो मूल्य र प्रतिष्ठा बढाउन यसो गरिरहेका हुन्छन्; मानिसहरूले तिनीहरूलाई सुपरभाइजर वा अगुवा छनौट गरून् भनेर तिनीहरूले यसो गरिरहेका हुन्छन्। तिनीहरू अगुवा वा सेवक छनौट भइसकेपछि, के तिनीहरूले हैसियत पाउँदैनन् र? के त्यसपछि तिनीहरू लोकप्रिय स्थानमा हुँदैनन् र? तिनीहरूको खोज यही हो, र तिनीहरूको सुरुवात बिन्दु यति सरल हुन्छ—यो हैसियतको खोजभन्दा बढी अरू केही हुँदैन। तिनीहरूले उद्देश्यपूर्ण रूपमा हैसियत खोजिरहेका हुन्छन्, र परमेश्‍वरको घरको काम वा यसका हितहरू रक्षा गरिरहेका हुँदैनन्।

दबाब महसुस गर्नबाट जोगिन, वरदान र प्रतिभा भएका मानिसहरूले कसरी अभ्यास गर्नुपर्छ? के यो हासिल गर्न सजिलो छ? (सजिलो छ।) त्यसोभए, आफ्‍नो विज्ञता प्रयोग गर्न नपाएको कारण पैदा हुने दबाबको नकारात्मक संवेगलाई तिमीहरूले कसरी समाधान गर्न सक्छौ? सर्वप्रथम त, मानिसहरूले अध्ययन गरेर पोख्त हुने प्राविधिक सीप वा कुनै पनि प्रकारको प्रतिभा र विज्ञता के हो भन्‍ने कुरा तैँले बुझ्‍नुपर्छ—के ती आफैमा जीवन हुन् त? (अहँ, होइनन्।) के तिनलाई सकारात्मक कुराहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ? (अहँ, सकिँदैन।) तिनलाई सकारात्मक कुराहरूको रूपमा वर्गीकरण गर्न सकिँदैन; बढीमा, ती औजार मात्रै हुन्। समाज र बाहिरी संसारमा, ती बढीमा मानिसहरूलाई आफ्‍नो लागि विभिन्‍न कुराहरू जुटाउन र आफ्‍नो अस्तित्व कायम गर्न सक्षम पार्ने क्षमताहरू मात्रै हुन्। तर परमेश्‍वरको घरको नजरमा, तैँले एकप्रकारको प्राविधिक सीप मात्रै प्राप्त गरेको हुन्छस्; यो एकप्रकारको ज्ञान मात्रै हो, यो एकप्रकारको सरल र शुद्ध ज्ञान हो। यसले अवश्य नै कसैको कुलीन वा निम्‍न स्थिति पनि देखाउँदैन—कुनै व्यक्तिसँग कुनै विज्ञता वा सीप छ भन्दैमा उसँग अरूको भन्दा बढी कुलीन गुण छ भनेर भन्‍न सकिँदैन। त्यसोभए, व्यक्तिको कुलीन वा निम्‍न स्थिति कसरी देखिन्छ? उसको मानवता, उसको खोज, र उसले पछ्याउने बाटो हेरेर। प्राविधिक सीप वा विज्ञताले तैँले कस्तो खास सीप वा ज्ञान प्राप्त गरेको छस्, त्यससम्‍बन्धी तेरो बुझाइ कति गहन वा सतही छ, र तैँले त्यसबाट कस्तो स्तरको निपुणता हासिल गरेको छस् भन्‍ने कुरा मात्रै प्रतिनिधित्व गर्न सक्छ। यी प्राविधिक सीप र विज्ञतालाई निपुणता, मात्रा, गहिराइ, र त्यो क्षेत्रमा त्यो व्यक्ति निकै अनुभवी छ कि उसलाई यसबारे सतही ज्ञान मात्रै छ भन्‍ने हिसाबले मात्रै छलफल गर्न सकिन्छ। तिनलाई व्यक्तिको मानवता, उसका खोजहरू, वा ऊ हिँड्ने मार्ग मूल्याङ्कन गर्न प्रयोग गर्न सकिँदैन। ती विशुद्ध रूपमा ज्ञान वा औजार मात्र हुन्। यस्तो ज्ञान वा औजारले तँलाई कुनै सम्‍बन्धित काम गर्न सक्षम तुल्याउन सक्छ, वा कुनै खास प्रकारको काममा दक्ष बनाउन सक्छ, तर यसले तँलाई कामको सुरक्षा र रोजीरोटीको सुनिश्‍चितता मात्रै दिन सक्छ। बस त्यति हो। तेरो प्राविधिक सीप र विज्ञतालाई समाजले जसरी हेरे पनि, परमेश्‍वरको घरले ती कुराहरूलाई यसरी नै हेर्छ। परमेश्‍वरको घरले कुनै व्यक्तिसँग विशेष सीप छ भन्दैमा, उसलाई फरक तरिकाले व्यवहार गर्ने, उसको पदोन्‍नति गर्न विशेष स्थान दिने, वा उसलाई काटछाँट वा निराकरणबाट, वा कुनै पनि प्रकारको सजाय वा न्यायबाट छूट दिने कहिल्यै गर्दैन। व्यक्तिको प्राविधिक सीप वा विज्ञता जे-जस्तो भए पनि, उसमा अझै पनि भ्रष्ट स्वभाव हुन्छ, र ऊ अझै पनि भ्रष्ट मानव नै हुन्छ। व्यक्तिको वरदान, प्रतिभा, र प्राविधिक सीप उसको भ्रष्ट स्वभावभन्दा अलग्‍गै हुन्छन् र त्यससँग सम्‍बन्धित हुँदैनन्, र ती कुरा व्यक्तिको मानवता वा चरित्रसँग पनि सम्‍बन्धित हुँदैनन्। कतिपय व्यक्तिमा अलिक राम्रो क्षमता, अलिक राम्रो बौद्धिकता, वा अलिक राम्रो बुद्धि र बोध क्षमता हुन्छ, जसले गर्दा तिनीहरूले निश्‍चित प्राविधिक सीप सिक्दा गहन ज्ञान प्राप्त गर्न सक्छन्। तिनीहरूले अलिक ठूला उपलब्धि र परिणामहरू प्राप्त गर्न सक्छन्, र काम यो पेसासँग सम्‍बन्धित भए, अरूले भन्दा बढी नै उपलब्धि र परिणामहरू हासिल गर्छन्। यसले गर्दा समाजमा तिनीहरूलाई अरूलाई भन्दा अलिक बढी र उच्च आर्थिक परिणाम प्राप्त हुन सक्छ, र तिनीहरूलाई आफ्नो क्षेत्रमा अलिक उच्‍च हैसियत, वरिष्ठता, वा प्रतिष्ठा मिल्न सक्छ। बस त्यति हो। तर यीमध्ये कुनै पनि कुराले तिनीहरू हिँडिरहेको मार्ग, तिनीहरूको खोज, वा जीवन र अस्तित्वप्रतिको तिनीहरूको मनोवृत्ति प्रतिबिम्‍बित गर्दैन। प्राविधिक सीप र विज्ञता पूर्ण रूपमा ज्ञानको क्षेत्रका कुराहरू हुन्, र व्यक्तिको सोच, विचार, वा कुनै पनि कुराप्रतिको उसको हेराइ र दृष्टिकोणसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। यी कुराहरूसँग ती कहीँकतै सम्‍बन्धित हुँदैनन्। ज्ञानको क्षेत्रमा प्रवर्धन गरिने यी विचारहरू अवश्‍य नै सत्यता बुझ्‍ने र सकारात्मक कुराहरू पहिचान गर्ने सम्बन्धमा मानिसहरूलाई बहकाउने विधर्म र भ्रमहरू हुन्। त्यो पूर्ण रूपमा फरक कुरा हो। यहाँ, हामीले विशुद्ध ज्ञान र प्राविधिक सीपबारे कुरा गरिरहेका छौँ, जसले मानिसहरूको भ्रष्ट स्वभाव वा सामान्य मानवतामा कुनै सकारात्मक वा सक्रिय साथ र सुधार प्रदान गर्दैन। यी कुराहरूसँग व्यक्तिको भ्रष्ट स्वभाव काबुमा राख्‍ने वा नियन्त्रण गर्ने पनि कुनै क्षमता हुँदैन। यो तिनीहरूको प्रकृति हो। चाहे व्यक्ति साहित्य, सङ्गीत, वा कला, विज्ञान, जीवविज्ञान, वा रसायनविज्ञानको कुनै पनि क्षेत्रमा, वा प्रारूप-निर्माण, वास्तुकला, वाणिज्य, वा हस्तकलाको जुनसुकै क्षेत्रमा संलग्‍न होस्, चाहे त्यो क्षेत्र जुनसुकै नै किन नहोस्, उसको प्राविधिक सीपको प्रकृति यस्तै हुन्छ—यसको सार यही हो। तिमीहरूलाई के लाग्छ, के मैले ठीक कुरा गरेँ? (हो।) तँ जुन क्षेत्रमा संलग्‍न भए पनि वा तैँले जुन प्राविधिक सीपको अध्ययन गरे पनि, वा तँमा कुनै अन्तर्निहित विज्ञता भए पनि, यसले तेरो कुलीन वा निम्‍न स्थिति चित्रण गर्दैन। उदाहरणको लागि, समाजमा रहेर व्यापार र आर्थिक क्षेत्रमा लाग्‍ने, विशेष गरी उच्‍चवर्गीय व्यक्तिहरूलाई कतिपय मानिसहरूले कुलीन चरित्र भएका व्यक्तिहरू ठान्छन्, र तिनीहरूले सिकेका पेसा र ज्ञानलाई मानिसले निकै आदर गर्ने हुनाले, र तिनीहरूले निकै धेरै आम्दानी आर्जन गर्ने हुनाले, तिनीहरूको सामाजिक हैसियत निकै उच्च हुन्छ। तर परमेश्‍वरको घरमा त्यस्तो विचारको अस्तित्व हुँदैन, र परमेश्‍वरको घरले तिनीहरूलाई यसरी मूल्याङ्कन गर्दैन। मानिसहरूले यो कुरा मूल्याङ्कन गर्न प्रयोग गर्ने सिद्धान्त र मापदण्डहरू सत्यता होइनन्, ती मानव बुझाइ मात्रै हुन्, र ती मानव ज्ञानभित्र पर्छन्, त्यसकारण परमेश्‍वरको घरमा त्यस्ता दृष्टिकोणहरूलाई उचित ठानिँदैन। अर्को उदाहरण दिएर भन्दा, समाजका कतिपय मानिसहरू मछुवा, फुटपाथ पसले, वा हस्तकलाको काम गर्ने मानिसहरू हुन्छन्; तिनीहरूलाई कम हैसियत भएको ठानिन्छ, र कसैले पनि तिनीहरूलाई उच्‍च ठान्दैनन्। तर परमेश्‍वरको घरमा, परमेश्‍वरका चुनिएका सबै मानिसहरू समान हुन्छन्। सत्यतासामु सबैजना समान हुन्छन्, र कुलीन वा निम्‍नस्तरका मानिसहरूबीच कुनै भिन्‍नता हुँदैन। समाजमा तेरो हैसियत ठूलो छ वा तँ इज्‍जतदार पेसामा छस् भन्दैमा तँलाई आदरणीय मानिँदैन, न त समाजमा तैँले सानोतिनो पेसा अपनाएको छस् भन्दैमा तँलाई निम्‍नस्तरको नै ठानिन्छ। त्यसकारण, परमेश्‍वरको घरमा र परमेश्‍वरको नजरमा, तेरो पहिचान, मूल्य, र हैसियत ठूलो वा सानो हुनुसँग तेरो व्यावसायिक क्षमता, प्राविधिक निपुणता, वा तँमा भएको विज्ञताको कुनै सम्‍बन्ध हुँदैन। कतिले भन्छन्, “म त सेनामा कमान्डर, जर्नल, र मार्शल थिएँ।” म तिनीहरूलाई भन्छु, “तँ जा, एक छेउमा उभी।” अनि, तँ किन एक छेउमा उभिनुपर्छ? किनभने तेरो शैतानी स्वभाव अत्यन्तै चरम छ, र तँलाई हेर्दा मलाई घिन लाग्छ। सुरुमा, परमेश्‍वरका वचनहरू पढेर केही समय बिता, केही सत्यताहरू बुझ्, र थोरै भए पनि मानव रूपमा जी, र त्यसपछि, तँ आइस् भने, सबैले तँलाई स्विकार्न सक्‍नेछन्। तँ समाजमा मानिसहरूले उच्‍चकुलीन ठान्‍ने काममा संलग्‍न छस् भन्दैमा, परमेश्‍वरको घरमा तँलाई आदर गरिनेछैन, न त तँ समाजमा न्यून हैसियतको होस् भन्दैमा, तँलाई हेला नै गरिन्छ। मानिसहरूलाई मूल्याङ्कन गर्ने परमेश्‍वरको घरका मापदण्ड र सिद्धान्तहरू सत्यताको मापदण्डमा मात्र आधारित हुन्छन्। अनि, यी सत्यताका मापदण्डहरूचाहिँ के-के हुन् त? यी मापदण्डहरूका विशिष्ट पक्षहरू छन्: पहिलो, मानिसहरूलाई तिनीहरूको मानवताको गुणस्तर कस्तो छ, र तिनीहरूमा विवेक र समझ, असल हृदय, र न्यायको बोध छ कि छैन त्यसको आधारमा मूल्याङ्कन गरिन्छ; दोस्रो, मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, र तिनीहरूले कुन मार्ग अपनाइरहेका छन्—तिनीहरूले सत्यता पछ्याउने, सकारात्मक कुराहरूलाई प्रेम गर्ने र परमेश्‍वरको निष्पक्षता र धार्मिकतालाई प्रेम गर्ने गर्छन् कि सत्यता नपछ्याउने, सत्यता र सकारात्मक कुराहरूप्रति दिक्‍क मान्‍ने, सधैँ व्यक्तिगत उद्यमहरूमा लागिपर्ने, र आदि इत्यादि कुराहरू गर्ने गर्छन् भन्‍ने आधारमा तिनीहरूको मूल्याङ्कन गरिन्छ। त्यसकारण, तँमा कुनै प्रकारको प्राविधिक सीप वा विज्ञता भए पनि, वा तँमा कुनै पनि व्यावसायिक सीप वा विज्ञता नभए पनि, परमेश्‍वरको घरमा तँलाई निष्पक्ष व्यवहार गरिनेछ। परमेश्‍वरको घर सधैँ यसरी नै चल्दै आएको छ, अहिले पनि निरन्तर यसरी नै चलिरहेको छ, र भविष्यमा पनि यसरी नै चलिरहनेछ। यी सिद्धान्त र मापदण्डहरू कहिल्यै परिवर्तन हुनेछैनन्। त्यसकारण, परिवर्तन हुनुपर्ने त आफ्‍नो विज्ञता प्रयोग गर्न नपाएको कारण दबाब महसुस गर्नेहरूले चाहिँ हो। यदि तँ साँच्‍चै नै परमेश्‍वर धर्मी हुनुहुन्छ, परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ, र परमेश्‍वरको घरमा निष्पक्षता र धार्मिकता छ भन्‍नेमा विश्‍वास गर्छस् भने, म तँलाई भन्छु, तैँले प्राविधिक सीप र विज्ञताप्रतिको तेरो गलत दृष्टिकोण र विचारलाई तुरुन्तै त्यागिहाल्। केही वरदान वा थोरथोरै विज्ञता छ भन्दैमा उच्‍च स्थानमा पुग्छु भन्‍ने नसोच्। तँसँग अरूमा नभएका प्राविधिक सीप वा विज्ञता छन् होला, तर तेरो मानवता र भ्रष्ट स्वभाव अरूको भन्दा फरक छैन। परमेश्‍वरको नजरमा, तँ एक साधारण व्यक्ति मात्रै होस्, र तँमा त्यस्तो विशेष केही छैन। तैँले “म त उच्‍च अधिकारी थिएँ” भनेर भन्छस् होला, तर पनि तँ साधारण व्यक्ति मात्रै होस्। तैँले “म त ठूल्ठूला उपलब्धिहरू हासिल गरेको थिएँ” भनेर भन्छस् होला, तर पनि तँ साधारण व्यक्ति मात्रै होस्। तैँले “म त नायक थिएँ” भनेर भन्छस् होला, तर तँ जस्तोसुकै नायक वा सेलिब्रेटी भए पनि, त्यसको केही काम छैन। परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा त, तँ अझै पनि सर्वसाधारण व्यक्ति मात्रै होस्। प्राविधिक सीप र कुनै प्रकारको विज्ञताबारे मानिसहरूले बुझ्‍नुपर्ने सत्यता र सिद्धान्तहरूको एउटा पक्ष यही हो। अर्को पक्षचाहिँ—अर्थात्, यी व्यावसायिक सीप र विज्ञतालाई कसरी लिने भन्‍ने कुराचाहिँ—मानिसहरूले बुझ्‍नुपर्ने अभ्यासको एउटा खास मार्ग हो। सर्वप्रथम, तँलाई तेरो सोच र चेतनामा स्पष्ट रूपमा यो थाहा हुनुपर्छ कि, तँसँग जस्तोसुकै व्यावसायिक सीप वा विज्ञता भए पनि, तँ परमेश्‍वरको घरमा जागिर खान, आफ्‍नो मूल्य देखाउन, तलब कमाउन, वा जीविकोपार्जन गर्नको लागि आएको हुँदैनस्। तँ यहाँ आफ्‍नो कर्तव्य पूरा गर्न आएको हुन्छस्। परमेश्‍वरको घरमा तेरो एउटै पहिचान भनेको दाजुभाइ वा दिदीबहिनी भन्‍ने मात्रै हो, अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको नजरमा तँ सृष्टि गरिएको एउटा प्राणी मात्रै होस्। तेरो अर्को दोस्रो पहिचान हुँदैन। परमेश्‍वरको नजरमा सृष्टि गरिएको प्राणी कुनै पशु, वनस्पति वा दियाबलस होइन। यो त मानव हो, र मानव भएर, तैँले आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। मानवको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नु नै परमेश्‍वरको घरमा आएर तैँले पूरा गर्नुपर्ने सबैभन्दा आधारभूत उद्देश्य, र तँमा हुनुपर्ने सबैभन्दा आधारभूत दृष्टिकोण हो। तैँले यसो भन्‍नुपर्छ, “म एक व्यक्ति हुँ। म सामान्य मानवता, विवेक, र समझ भएको व्यक्ति हुँ। मैले आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ।” सिद्धान्तको हिसाबमा, मानिसहरूमा सुरुमा हुनुपर्ने सोच र दृष्टिकोण यही हो। अर्कोचाहिँ तैँले कसरी आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ भन्‍ने हो: तैँले आफ्‍नो कुरा सुन्‍नुपर्छ कि परमेश्‍वरको? (परमेश्‍वरको कुरा सुन्‍नुपर्छ।) ठीक भनिस्, तर तैँले किन परमेश्‍वरको कुरा सुन्‍नुपर्छ? सिद्धान्त र आधारको हिसाबमा भन्दा, मानिसहरूलाई तिनीहरूले परमेश्‍वरको कुरा सुन्‍नुपर्छ, परमेश्‍वर सत्यता हुनुहुन्छ, र परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ भन्‍ने कुरा थाहा हुनुपर्छ। सिद्धान्तको हिसाबमा व्यक्तिमा हुनुपर्ने दृष्टिकोण यही हो। वास्तवमा, तैँले आफ्‍नो लागि, आफ्‍नो परिवारको लागि, आफ्‍नो दैनिक अस्तित्वको लागि, आफ्‍नो व्यक्तिगत करियर वा उद्यमको लागि नभई, परमेश्‍वरको कामको लागि, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापनको लागि यो कर्तव्य पूरा गर्छस्। तेरो व्यक्तिगत मामिलाहरूसँग यसको कुनै सम्‍बन्ध हुँदैन। तैँले यो दृष्टिकोण बुझ्‍नुपर्छ र तँमा यही दृष्टिकोण हुनुपर्छ। तँमा यस्तो दृष्टिकोण आएपछि, तैँले यो बुझ्नुपर्छ कि आफ्नो कर्तव्य पूरा गर्नु भनेको आफ्‍नो लागि नभई परमेश्‍वरको कामको लागि हो, त्यसैले तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र यो कर्तव्य कसरी पूरा गर्ने, र परमेश्‍वरको घरका सिद्धान्त र मापदण्डहरू के हुन् भनेर परमेश्‍वरसँग खोजी गर्नुपर्छ। परमेश्‍वरले तँलाई जसरी गर्नू भनेर भन्‍नुभएको छ त्यसरी नै आफ्‍नो कर्तव्य पूरा गर्, उहाँले जे गर्न लगाउनुभएको छ त्यसबारे केही नभनी, नहिचकिचाई वा इन्कार नगरी त्यही गर्। यो निरपेक्ष मान्यता हो। यो परमेश्‍वरको घर भएको हुनाले, मानिसहरूले आफूले यहाँ पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्नु मात्र सही र उचित हुन्छ। तर मानिसहरूले आफ्‍नो लागि, आफ्‍नो दैनिक अस्तित्व, जीवन, परिवार, वा करियरको लागि यसो गरिरहेका हुँदैनन्। त्यसोभए तिनीहरूले यो केको लागि यसो गरिरहेका हुन्छन् त? परमेश्‍वरको कामको लागि, र परमेश्‍वरको व्यवस्थापनको लागि। चाहे यो कर्तव्य जुनसुकै विशिष्ट पेसामा परे पनि वा यो जुनसुकै प्रकारको काम भए पनि, वा चाहे यो एउटा विराम चिन्‍ह प्रयोग गर्ने वा ढाँचा मिलाउनेजस्तो सानो काम भए पनि, वा कुनै विशिष्ट प्रकारको महत्त्वपूर्ण काम भए पनि, यो सबै परमेश्‍वरको कामको क्षेत्रभित्र पर्छ। त्यसकारण, यदि तँसँग समझशक्ति छ भने, तैँले सुरुमा आफूलाई यो कुरा सोध्‍नुपर्छ, “मैले यो काम कसरी गर्ने? परमेश्‍वरका मापदण्डहरू के-के हुन्? परमेश्‍वरको घरले के-कस्ता सिद्धान्तहरू तय गरेको छ?” त्यसपछि, त्यससँग सम्‍बन्धित सिद्धान्तहरू एकएक गरी सूचीबद्ध गर् र ती हरेक नियम र सिद्धान्तहरू कठोर रूपमा पालना गर्दै काम गर्। तैँले गर्ने हरेक काम जबसम्म सिद्धान्तहरूअनुसार हुन्छन् र सिद्धान्तको दायराभन्दा बाहिर जाँदैनन्, तबसम्‍म ती कुराहरू उचित नै हुनेछन्, र परमेश्‍वरले तेरो त्यो कामलाई तैँले आफ्‍नो कर्तव्य पूरा गरेको रूपमा लिएर वर्गीकरण गर्नुहुनेछ। के यो कुरा मानिसहरूले बुझ्‍नुपर्ने कुरा होइन र? (हो।) यदि तैँले यो कुरा बुझ्छस् भने, तैँले सधैँभरि कसरी काम गर्न चाहन्छस् वा तैँले के गर्न चाहन्छस् त्यस कुरामा विचार गरिरहनु पर्दैन। यसरी सोच्‍नु र काम गर्नु भनेको समझको कमी हुनु हो। के समझविनाका कुराहरू गरिनुपर्ने हो र? अहँ, होइन। यदि तँलाई त्यस्तो कुरा गर्न मन लाग्यो भने, तैँले यसबारेमा के गर्नुपर्छ? (आफूलाई त्याग्‍नुपर्छ।) तैँले आफूलाई त्याग्‍नु र छोड्नुपर्छ, र आफ्‍नो कर्तव्य र परमेश्‍वरको घरका मापदण्ड र सिद्धान्तहरूलाई पहिलो स्थानमा राख्‍नुपर्छ। यदि तँ व्याकुल भइस्, र खाली समयमा आफ्‍नै हित र रुचिहरू पूरा गरिस् भने, परमेश्‍वरको घरले यसमा हस्तक्षेप गर्नेछैन। यो तैँले बुझ्‍नुपर्ने कुरा, अर्थात् तेरो कर्तव्य के हो र तैँले यो कसरी पूरा गर्नुपर्छ भन्‍ने कुराको एउटा पक्ष हो। अर्को पक्ष मानिसहरूको व्यावसायिक विज्ञता र सीपसँग सम्‍बन्धित छ। अनि, यो व्यावसायिक सीप र विज्ञताको कुरालाई तैँले कसरी लिनुपर्छ? यदि परमेश्‍वरको घरलाई तँ सर्वोत्तम रहेको वा तैँले पहिले नै सिकेको तेरो व्यावसायिक विज्ञता र सीप चाहियो भने, तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले कुनै कसर बाँकी नराखी तेरो विज्ञतालाई तेरो कर्तव्यमा जतिसक्दो धेरै हदसम्‍म काम पूरा गर्न र आफ्‍नो मूल्य प्रस्तुत गर्न दिने गरी कर्तव्य पूरा गर्नुपर्छ। तैँले त्यो सीपलाई खेर फाल्‍नु हुँदैन; तैँले त्यो प्रयोग गर्न सक्‍ने हुनाले, तैँले त्यो बुझेको हुनाले, र तँ त्यसमा पोख्त भएको हुनाले, तैँले त्यसको उपयोग गर्नुपर्छ। अनि, ती प्रयोग गर्ने सिद्धान्त के हो? त्यो सिद्धान्त के हो भने, परमेश्‍वरको घरलाई जे चाहिन्छ, जसरी चाहिन्छ, र जति हदसम्‍म चाहिन्छ, तैँले संयमसाथ र सोचिसम्झी यी सीपहरू प्रयोग गर्नुपर्छ। आफ्‍नो कर्तव्यमा आफ्‍नो प्राविधिक सीप र विज्ञता प्रयोग गरेर ती सीपलाई आफ्‍नो काम गर्न दे, अनि तैँले आफ्‍नो कर्तव्यमा अझै राम्रा परिणामहरू प्राप्त गर्नेछस्। यस तरिकाले, के तेरो व्यावसायिक सीप र विज्ञता कुनै प्रयोजनवश नै अध्ययन गरिएको हुनेछैन र? के त्यसको मूल्य हुनेछैन र? के तैँले योगदान दिएको हुनेछैनस् र? (हो।) के तिमीहरू यसरी योगदान दिन इच्छुक छौ? (छौँ।) त्यो राम्रो कुरा हो। जहाँसम्‍म परमेश्‍वरको घरमा कुनै काम नलाग्‍ने सीप र विज्ञताको कुरा छ, परमेश्‍वरको घरलाई ती चाहिँदैन र यसले ती कुरा सिक्‍न प्रोत्साहन गर्दैन, र ती सीप वा विज्ञता भएका मानिसहरूले स्वेच्‍छाचारी ढङ्गले ती कुरा प्रयोग गर्नु हुँदैन। तैँले यो विषयलाई कसरी लिनुपर्छ? (ती सीपहरू त्याग्‍नुपर्छ।) ठीक भनिस्, सबैभन्दा सरल शैली भनेको तिनलाई त्याग्‍नु हो, ती कुरा कहिल्यै नसिकेजस्तै गरी व्यवहार गर्नु हो। मलाई भन्‌ त, यदि तैँले ती कुराहरू स्वेच्छाले त्याग्छस् भने, के आफ्‍नो कर्तव्य पूरा गर्दा ती कुरा आएर तँलाई बाधा दिनेछन्? अहँ, दिनेछैनन्। के यो कुराको निर्णय तेरै हातमा हुँदैन र? ती कुरा त थोरै ज्ञान मात्रै हुन्। तिनले कति धेरै समस्या, र कति धेरै प्रभाव ल्याउन सक्छन् र? तैँले ती कुरा कहिल्यै नसिकेजस्तै, र तँमा ती कुरा छैनन् जस्तै गरी व्यवहार गर्, अनि त्यसपछि त के यो कुरा सकिँदैन र? तैँले यो कुरालाई सही तरिकाले लिनुपर्छ। यदि यो कुरा परमेश्‍वको घरले तँलाई गर्न लगाउनुभएको कुरा होइन भने, तैँले धाक देखाउन, आफ्‍ना स्वार्थहरू पूरा गर्न, वा तँलाई केही युक्तिहरू आउँछ भनेर सबैलाई देखाउन जबरजस्ती आफ्ना सीपहरू देखाउने काम नगर्। त्यो गलत हो। त्यसो गर्नु कर्तव्य पूरा गर्नु होइन र त्यस्तो कार्यलाई स्मरण गरिनेछैन। म तँलाई भन्छु, यसलाई स्मरण नगरिने मात्रै होइन, तर यसलाई निन्दासमेत गरिनेछ, किनभने तैँले आफ्‍नो कर्तव्य पूरा गरिरहेको हुँदैनस्, बरु आफ्नै व्यक्तिगत उद्यममा लागिरहेको हुन्छस्, र यो अत्यन्तै गम्‍भीर कुरा हो! किन यो गम्‍भीर कुरा हो? किनभने, यसको प्रकृतिको हिसाबले नै, यो वाधा र व्यवधान हो! परमेश्‍वरको घरले तँलाई यसरी काम गर्नु हुँदैन, वा ती कुराहरू गर्नु हुँदैन, वा त्यस्तो शैली प्रयोग गर्नु हुँदैन भनेर बारम्‍बार भनेको हुन्छ, तर पनि तैँले भनेको मान्दैनस्। तैँले ती कुराहरू गरिरहन्छस्, तिनलाई त्याग्‍न मान्दैनस्, र तँ जिद्दी गर्छस्। के त्यो बाधा होइन र? के त्यो जानीजानी गरिएको कुरा होइन र? परमेश्‍वरको घरलाई ती कुराहरू चाहिँदैन भन्‍ने कुरा तँलाई राम्ररी थाहा हुन्छ, तैपनि तैँले जानीजानी ती कुराहरू गरिरहन्छस्। के तँलाई धाक देखाउन मजा लाग्छ होइन र? यदि तैँले बनाउने भिडियो वा कार्यक्रमहरूले परमेश्‍वरलाई अपमानित गर्छन् भने, त्यसका परिणामहरू अकल्‍पनीय हुन्छन्, र तेरो अपराध ठूलो हुनेछ। तैँले यो कुरा बुझ्छस्, होइन त? (हो।) त्यसकारण, तँलाई व्यक्तिगत रूपमा मनपर्ने कुराहरू र तँसँग भएका व्यावसायिक सीपहरूको हकमा भन्दा—यदि तँलाई ती कुरा मन पर्छ, ती कुरामा चासो छ, र तँ ती कुरालाई प्रिय ठान्छस् भने, ती कुरा व्यक्तिगत रूपमा घरमै गर्। त्यसो गर्नुमा समस्या छैन। तर ती कुरा सार्वजनिक रूपमा प्रदर्शन नगर्। यदि तँ कुनै कुरा सार्वजनिक रूपमा प्रदर्शन गर्न चाहन्छस् भने, तैँले त्यो काम उच्‍च मापदण्ड पूरा गरेर गर्नुपर्छ, र परमेश्‍वरलाई अपमानित गर्ने गरी वा उहाँको घरलाई बदनाम गर्ने गरी गर्नु हुँदैन। यो तँसँग अन्तर्ज्ञान छ कि छैन वा तँ कुनै व्यावसायिक सीपमा कति पोख्त छस् भन्‍ने कुरासँग मात्रै सम्‍बन्धित विषय होइन। यो कुरा त्यति सरल छैन। तिमीहरूले गर्ने हरेक कामको निम्ति परमेश्‍वरको घरले तोक्‍ने सिद्धान्त र मापदण्डहरू, साथै हरेक चरणमा तिमीहरूको कामलाई डोर्‍याउने दिशा र उद्देश्यको निम्ति एउटा आधार हुन्छ। ती सबैको उद्देश्य परमेश्‍वरको घरको काम र हितहरू रक्षा गर्नु, र तिनलाई बाधा, अवरोध, अपमान वा नष्ट नगर्नु हो। यदि तिमीहरूको व्यक्तिगत क्षमता, अन्तर्ज्ञान, अनुभव, र रुचिले ती मापदण्डहरू पूरा गर्दैनन्, वा त्यो स्तर भेट्न चुक्छन् भने, व्यक्तिगत रूपमा सङ्गति गर, र ती कुरा बुझ्‍ने र ती मापदण्ड पूरा गर्न सक्‍नेहरूको अगुवाइ र मदत माग। तिमीहरूलाई निश्‍चित कुराहरू गर्न दिइएको छैन भन्दैमा प्रतिरोध गर्ने, र निरन्तर नकरात्मक संवेगहरू पाल्ने नगर। तिमीहरूका केही चलाकीहरू पर्याप्त हुँदैन। म किन तिमीहरू पर्याप्त छैनौ भनेर भन्दै छु? किनभने तिमीहरूका विचार र दृष्टिकोणहरू अत्यन्तै विकृत छन्। तिमीहरूको रुचि, अन्तर्ज्ञान, मूल्याङ्कन, र अनुभव अपर्याप्त र चित्त नबुझ्दो रहेको मात्रै होइन, तिमीहरूले धेरै पुराना धार्मिक धारणाहरूसमेत बोकेर हिँड्छौ। तिमीहरूका धार्मिक धारणाहरू अत्यन्तै अनगिन्ती र गहिरो गरी गाडिएका छन्, र बीसको दशकमा पुगेका कतिपय युवायुवतीहरूमा समेत अत्यन्तै पुराना विचार र धारणाहरू रहेका छन्। तिमीहरू आधुनिक प्राविधिक सीप सिक्‍ने, र निश्‍चित व्यावसायिक ज्ञान भएका आधुनिक युगका मानिसहरू भए पनि, तिमीहरूले सत्यता नबुझ्‍ने हुनाले, तिमीहरूका दृष्टिकोण, विचार, र अडानहरू, र तिमीहरूका सोचहरू पुराना छन्। त्यसकारण, तिमीहरूले जति नै धेरै व्यावसायिक सीपहरू सिके पनि, तिमीहरूका विचारहरू पुरानै रहन्छन्। तिमीहरूले यो समस्या, र यो वास्तविक अवस्था बुझ्‍नुपर्छ। त्यसकारण, परमेश्‍वरको घरले तिमीहरूलाई हटाउन र बन्देज लगाउन लगाएका, वा तिमीहरूलाई प्रयोग गर्न अनुमति नदिएका यी कुराहरू तिमीहरूले त्याग्‍नैपर्छ। तिमीहरूले आज्ञापालन गर्न सिक्‍नुपर्छ। यदि तिमीहरूले यसको भित्री कारण बुझ्दैनौ भने, कम्तीमा पनि, तिमीहरूले आज्ञापालन गर्न सक्‍ने समझ धारण गर्नुपर्छ, र सर्वप्रथम परमेश्‍वरको घरका मापदण्डअनुसार व्यवहार गर्नुपर्छ। प्रतिरोध नगर, पहिले समर्पित हुन सिक।

आफूसँग भएको व्यावसायिक सीपप्रति मानिसहरूमा हुनुपर्ने सही मनोवृत्तिबारे सङ्गति गरिसकेपछि, तिमीहरूले अरू के बुझ्‍नुपर्छ? आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, यदि निश्‍चित प्राविधिक सीप वा विज्ञता प्रयोग गर्नमा कमजोर भएको कारण तँ असफल भइस्, जसले गर्दा मण्डलीको काममा बाधा र घाटा भयो, र तँलाई काटछाँट र निराकरण गरियो भने, तैँले के गर्नुपर्छ? यो कुरा व्यवस्थापन गर्न सजिलो छ। तुरुन्तै फर्की र पश्‍चात्ताप गर्‌, अनि परमेश्‍वरको घरले तँलाई आफ्‍नो गल्ती सुधार्ने मौका दिनेछ। सिद्ध कोही पनि हुँदैन, त्यसकारण सबैले गल्ती गर्छन् र कहिलेकहीँ सबै नै दोधारमा पर्छन्। गल्ती गर्नु समस्या होइन, तर यदि तैँले एउटै गल्ती बारम्‍बार दोहोर्‍याइरहन्छस्, त्यही त्रुटि दोहोर्‍याइरहन्छस् र अघि बढ्नै नसक्‍ने ठाउँमा नपुगेसम्‍म त्यो बाटोबाट पछाडि फर्किँदैनस् भने, त्यो चाहिँ चिन्ताको विषय बन्छ। यदि तैँले आफ्‍ना गल्तीहरू महसुस गरिस् भने, त्यसलाई सुधार गर्। त्यसो गर्नु त्यति गाह्रो हुँदैन, होइन र? हरेकले गल्ती गरेको हुन्छ, त्यसकारण कसैले पनि अर्को व्यक्तिलाई गिल्‍ला गर्नु हुँदैन। यदि तैँले गल्ती गरेर त्यसलाई स्विकार्न, त्यसबाट पाठ सिक्‍न, र परिवर्तन हुन सक्छस् भने, तैँले प्रगति गर्दै जानेछस्। यसको साथै, यदि तेरो काममा निपूणताको कमी भएको कारण समस्या आएको हो भने, तैँले सिकाइ जारी राखेर आवश्यक सीपहरूमा पोख्त हुन सक्छस्, र समस्या समाधान हुन सक्छ। यदि तैँले भविष्यमा यो गल्ती फेरि नगर्ने कुरा पक्‍का गर्छस् भने, के यो त्यहीँ समाधान हुँदैन र? यो यति सरल कुरा हो! तैँले आफ्‍नो व्यावसायिक सीपको सही प्रयोग गर्न नसकेर निरन्तर गल्तीहरू गरेको कारण तँलाई काटछाँट र निराकरण गरियो भन्दैमा, तैँले दबाब महसुस गर्नु पर्दैन। यस्तो दबाब किन महसुस गर्ने? तँ किन यति कमजोर हुन्छस्? परिस्थिति वा काम गर्ने वातावरण जे-जस्तो भए पनि, मानिसहरूले कहिलेकहीँ गल्ती गर्छन्, र कतिपय क्षेत्रमा तिनीहरूको गुण, अन्तर्ज्ञान र दृष्टिकोणले भ्याउँदैन। यो सामान्य कुरा हो, र यसलाई सही तरिकाले कसरी सम्‍हाल्‍ने त्यो तँलाई थाहा हुनुपर्छ। चाहे जेसुकै भए पनि, तेरो अभ्यास जे-जस्तो भए पनि, तैँले यसलाई सही तरिकाले र सक्रिय रूपमा सामना गर्नु र सम्‍हाल्‍नुपर्छ। थोरै कठिनाइ सामना गर्दा नै निराश बन्‍ने वा नकारात्मक महसुस गर्ने वा दबाब महसुस गर्ने नग्‌, र नकारात्मक संवेगहरूमा डुब्ने नगर्। त्यसो गर्नु जरुरी छैन, र यसलाई ठूलो कुरा नबना। तैँले तुरुन्तै गर्नुपर्ने कुरा भनेको आफ्‍नो बारेमा मनन गर्नु र तेरो व्यावसायिक सीपमा कुनै समस्या छ कि वा तेरो अभिप्रायमा कुनै समस्या छ कि भनेर निर्धारण गर्नु हो। तेरो कार्यमा कुनै अशुद्धता छ कि वा कुनै धारणाले गर्दा यस्तो भएको हो कि भनेर जाँच गर्। सबै पक्षबारे मनन गर्। यदि यो निपूणताको कमीले गर्दा भएको हो भने, तैँले सिकाइ जारी राख्‍न सक्छस्, र समाधानहरू पत्ता लगाउन कसैलाई सहयोग माग्‍न, वा त्यही क्षेत्रका मानिसहरूसँग सल्‍लाह लिन सक्छस्। यदि यसमा केही गलत अभिप्रायहरू मिसिएका छन् भने, र यसमा संलग्‍न समस्या सत्यता प्रयोग गरेर समाधान गर्न सकिने खालको छ भने, तैँले सल्‍लाह र सङ्गतिको लागि मण्डली अगुवाहरू वा सत्यता बुझ्‍ने व्यक्तिहरूलाई सहयोग माग्‍न सक्छस्। तँ जुन स्थितिमा छस् त्यसबारे तिनीहरूलाई बता र यो समस्या हल गर्न तिनीहरूलाई तँलाई मदत गर्न दे। यदि यो धारणाहरूसँग सम्‍बन्धित समस्या हो भने, तैँले जाँचेर पत्ता लगाएपछि, त्यसलाई चिरफार गरेर बुझ्‍न सक्छस्, र त्यसपछि त्यसबाट टाढा बस्‍न र त्यसलाई त्याग्‍न सक्छस्। के यसमा भएको कुरो यति नै होइन र? आउँदा दिनहरूले अझै तँलाई पर्खिरहेका हुन्छन्, भोलि फेरि घाम झुल्‍किनेछ, र तैँले जिउन जारी राख्‍नैपर्ने हुन्छ। तँ जीवित रहेकोले, र तँ मानव भएकोले, तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने कार्य जारी राख्‍नुपर्छ। जबसम्‍म तँ जीवित हुन्छस् र तँमा विचारहरू हुन्छन्, तबसम्‍म तँ आफ्‍नो कर्तव्य निभाउन र यसलाई पूरा गर्न लागिपर्नुपर्छ। व्यक्तिको जीवनभरि परिवर्तन हुन नहुने उद्देश्य यही हो। तैँले जुनसुकै बेला, जस्तोसुकै कठिनाइ सामना गरे पनि, र जेसुकै कुरा भोगे पनि, दबाब अनुभूति गर्नु हुँदैन। यदि तँलाई दबाब महसुस भयो भने, तँ रोकिनेछस् र हार्नेछस्। कस्ता मानिसहरूले सधैँ दबाब महसुस गर्छन्? कमजोर र मूर्खहरू प्राय दबाबमा परिरहन्छन्। तर तँ हृदय वा विचारविनाको व्यक्ति होइनस्, र पनि तँलाई के कुरामा दबाब महसुस भएको हो? यति मात्र हो कि अहिले तेरो प्राविधिक सीप वा विज्ञता सामान्य तवरमा प्रयोग भएको छैन। यो सामान्य रूपमा प्रयोग हुनु भनेको के हो? यो भनेको परमेश्‍वरको घरले तँलाई जे गर्न लगाउँछ त्यही गर्नु र परमेश्‍वरको घरको लागि तोकिएका मापदण्डहरू पूरा गर्न आफूले सिकेको प्राविधिक सीप प्रयोग गर्नु हो। के त्यसो गर्नु पर्याप्त हुन्‍न र? के हामी त्यही कुरालाई सामान्य रूपमा प्रयोग हुनु भनेर भन्दैनौँ र? परमेश्‍वरको घरले तँलाई तेरा क्षमताहरू प्रयोग गर्नबाट निषेध गर्दैन। यसले त बस ती क्षमताहरू तैँले लापरवाही रूपमा प्रयोग गर्नुको सट्टा उद्देश्यपूर्ण रूपमा, संयमसाथ अनि मापदण्ड र सिद्धान्तहरूअनुरूप प्रयोग गरेको चाहन्छ। त्यसबाहेक, परमेश्‍वरको घरले तेरो कर्तव्यपालनसँग असम्‍बन्धित कुराहरू वा तेरो व्यक्तिगत जीवनमा हस्तक्षेप गर्दैन। तेरो कर्तव्यपालनको मामिलामा मात्रै, परमेश्‍वरको घरका कडा नियम र आवश्यक मापदण्डहरू छन्। त्यसकारण, जब तेरो व्यावसायिक सीप र विज्ञता सम्‍हाल्‍ने कुरा आउँछ, तब तेरो हातखुट्टा बाँधिएको हुँदैन, र तेरा विचारहरू पनि नियन्त्रित गरिएको हुँदैन। तेरा विचारहरू स्वतन्त्र छन्, र तेरा हातखुट्टा स्वतन्त्र छन्, र तेरो हृदय पनि स्वतन्त्र छ। यति मात्र हो कि, तँ आफूमा नकारात्मक संवेगहरू पैदा हुँदा, पछि हट्ने, निराश हुने, इन्कार गर्ने, र प्रतिरोध गर्ने निर्णय गर्छस्। तर यदि तैँले सकारात्मक रूपमा कुराहरू सामना गर्ने, ध्यान दिएर सुन्‍ने, र परमेश्‍वरको घरका सिद्धान्त, नियम, र मापदण्डहरू पछ्याउने निर्णय गरिस् भने, तँसँग पछ्याउने मार्ग वा गर्नुपर्ने कुराहरूको कमी हुनेछैन। तँ काम नलाग्‍ने, कमजोर वा मूर्ख व्यक्ति होइनस्। परमेश्‍वरले तँलाई स्वतन्त्र इच्‍छा, सामान्य सोच, र सामान्य मानवता दिनुभएको छ। त्यसकारण, तँसँग पूरा गर्नुपर्ने कर्तव्य छ, र तैँले आफ्‍नो कर्तव्य पूरा गर्नुपर्ने हुन्छ। यसअलावा, तँसँग व्यावसायिक सीप र विज्ञता छ, त्यसकारण, परमेश्‍वरको घरमा, तँ उपयोगी व्यक्ति होस्। यदि तैँले व्यावसायिक सीप र विज्ञतासँग सम्‍बन्धित परमेश्‍वरको घरको कामका निश्‍चित पक्षहरूमा आफ्‍नो विज्ञता प्रयोग गर्न सक्छस् भने, तैँले आफ्‍नो स्थान भेट्टाउनेछस् र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नेछस्। जबसम्म तँ आफ्‍नो स्थानमा दह्रिलो गरी खडा हुन्छस्, आफ्‍नो कर्तव्य पूरा गर्छस्, र आफ्‍नो काम राम्ररी गर्छस्, तबसम्म तँ काम नलाग्‍ने व्यक्ति होइनस्, तँ उपयोगी व्यक्ति नै होस्। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्न, विचारहरू राख्‍न, र दक्ष रूपमा काम गर्न सक्छस् भने, तैँले जस्तोसुकै कठिनाइ सामना गरे पनि, तँलाई दबाब महसुस हुनु हुँदैन, तँ पछि हट्नु हुँदैन, र तैँले इन्कार गर्ने वा तर्किने काम पनि गर्नु हुँदैन। अब, यस क्षणमा, तैँले आफूलाई मुक्त गर्नै नसक्‍ने गरी नकारात्मक संवेगहरूमा डुबाउने काम गर्नु हुँदैन। परमेश्‍वरको घरले अनुचित व्यवहार गर्‍यो, विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई हेपे, वा परमेश्‍वरको घरले तँलाई मूल्यवान् ठानेन वा तँलाई अवसर दिएन भन्दै तैँले कचकचे आइमाईले जस्तो गुनासो गर्नु हुँदैन। वास्तवमा, परमेश्‍वरको घरले तँलाई अवसरहरू दियो र तैँले पूरा गर्नुपर्ने कर्तव्य सुम्पियो, तर तैँले राम्ररी काम गरिनस्। तैँले अझै पनि आफ्‍नै विकल्प र मापदण्डहरू रोजिस्, तैँले परमेश्‍वरका वचनहरू राम्ररी सुनिनस् वा तेरो कामबारे परमेश्‍वरको घरले तँलाई बताएका सिद्धान्तहरूप्रति ध्यान दिइनस्। तँ अत्यन्तै स्वेच्छाचारी छस्। त्यसकारण, यदि तँ दबाबको नकारात्मक संवेगमा डुबेको छस् भने, यो अरू कसैको जिम्‍मेवारी होइन। परमेश्‍वरको घरले तँलाई निराश तुल्याएको होइन, तँलाई यहाँ सहन नगरिएको पनि होइन। यस्तो किन भएको हो भने, तैँले कर्तव्य पूरा गर्दा आफ्‍नो क्षमता पूर्ण रूपमा प्रयोग गरेको छैनस्। तैँले आफ्‍नो प्राविधिक सीप र विज्ञता सही रूपमा सम्‍हालेको वा प्रयोग गरेको छैनस्। तैँले यस मामिलालाई उचित तरिकाले लिएको छैनस्, बरु आवेगशील रूपमा र नकारात्मक संवेगद्वारा विरोध गरेको छस्। यो तेरो गल्ती हो। यदि तँ आफ्‍नो नकारात्मक संवेगहरू त्यागेर यो दबाबको स्थितिबाट मुक्त भइस् भने, तैँले आफूले गर्नसक्‍ने र गर्नुपर्ने धेरै काम छन् भन्‍ने कुरा महसुस गर्नेछस्। यदि तँ यी नकारात्मक संवेगहरूबाट मुक्त भई सकारात्मक मनोवृत्तिले आफ्‍नो कर्तव्य सम्हाल्न सक्‍ने भइस् भने, तैँले अगाडिको बाटो अँध्यारो होइन उज्यालो छ भन्‍ने देख्‍नेछस्। कसैले पनि तेरो आँखा छेकिरहेको छैन, र कसैले पनि तेरो पाइला रोकिरहेको छैन। यति मात्र हो कि तँ अगाडि बढ्नै चाहँदैनस्। तेरा चासो, इच्छा, र व्यक्तिगत योजनाहरूले तेरा कदमहरू रोकेका छन्। यी कुराहरूलाई पन्छ्या, यिनलाई त्यागिदे, अनि परमेश्‍वरको घरको काम गर्ने वातावरणमा घुलमिल हुन, तेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई दिने सहयोग र साथ अङ्गाल्‍न, र परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्ने र काम गर्ने तरिका अपनाउन सिक्। अलिअलि गर्दै, आफ्ना हित, इच्छा, र अवास्तविक र काल्‍पनिक विचारहरू त्याग्। अनि क्रमिक रूपमा, तँ स्वतः दबाबका यी नकारात्मक संवेगहरूबाट मुक्त हुनेछस्। तैँले बुझ्‍नुपर्ने अर्को थप एउटा कुरा के हो भने, तेरा व्यावसायिक सीपहरू र विज्ञता जति नै बृहत् भए पनि, यी कुराहरूले तेरो जीवन प्रतिनिधित्व गर्दैनन्। यी कुराहरूले जीवनमा तैँले पाएको परिपक्‍वता वा तैँले मुक्ति पाइसकेको कुरा प्रतिनिधित्व गर्दैनन्। यदि तैँले आफ्‍नो व्यावसायिक सीप र विज्ञता प्रयोग गरी सत्यता सिद्धान्तहरूअनुसार सामान्य र आज्ञाकारी रूपमा परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, तैँले यहाँ राम्ररी काम गरिरहेको छस् र तँ साँच्‍चिकै परमेश्‍वरको घरको सदस्य होस्। तैपनि, तँ सधैँ कर्तव्य पूरा गरेको रवाफ देखाउँछस्, कर्तव्य पूरा गर्दा लाभ लिन्छस्, परमेश्‍वरको घरले दिएका अवसरहरूबाट फाइदा लुट्छस्, र आफ्ना रुचि, महत्त्वाकाङ्क्षा र इच्छाहरूमै लागेर पूर्ण रूपमा आफ्‍नो विज्ञता प्रयोग गरिरहन्छस् र यसलाई आफ्‍नै करियर र व्यक्तिगत उद्यमहरू पछ्याउन प्रयोग गर्छस् भने, परिणामस्वरूप तँ निकासहीन मार्गमा पुग्छस् र तँलाई दबाब महसुस हुन्छ। यो दबाब कसले पैदा गरेको हो? यो तँ आफैले पैदा गरेको हो। परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्ने क्रममा, यदि तैँले सधैँ व्यक्तिगत उद्यम पछ्याइरहिस् भने, यसले यहाँ काम गर्दैन, किनभने तँ गलत ठाउँमा आएको छस्। सुरुदेखि अन्त्यसम्‍मै, परमेश्‍वरको घरमा सत्यताबारे, र परमेश्‍वरको मापदण्ड र उहाँका वचनहरूबारे छलफल गरिन्छ। यीबाहेक, बताउनुपर्ने अरू केही हुँदैन। त्यसकारण, मानिसहरूको लागि तिनीहरूको काम वा पेसा, वा कुनै पनि विशेष कार्य बन्दोबस्तबारे परमेश्‍वरको घरले बनाएका मापदण्डहरू जे-जस्ता भए पनि, ती कुनै पनि खास व्यक्तिप्रति लक्षित गरिएका हुँदैनन्, न त ती कसैलाई दबाउन वा कसैको जोस वा स्वाभिमान मार्नको लागि नै हुन्। ती त पूर्णतया परमेश्‍वरको कामको लागि, अनि परमेश्‍वरको गवाही दिन, उहाँको वचन फैलाउन, र अझै धेरै मानिसहरू उहाँको अघि ल्याउनको लागि हुन्। अनि ती अवश्‍य नै यहाँ उपस्थित तिमीहरू हरेकले पनि सक्दो चाँडो सत्यता पछ्याउने मार्ग हिँड्न सुरु गर र सत्यता वास्तविकतामा प्रवेश गर भनेर पनि हुन्। कुरो बुझिस्‌? यदि आज दिइएका उदाहरणहरू निश्‍चित व्यक्तिहरूमा लागू भएका छन् भने पनि, निरुत्साहित नहू। यदि मैले भनेको कुरामा तँ सहमत छस् भने, यसलाई स्विकार्‌। यदि तँ सहमत छैनस् र तँलाई अझै पनि दबाब महसुस हुन्छ भने, दबाब अनुभूति गरिबस्। त्यस्ता मानिसहरूले कति हदसम्‍म दबाब महसुस गर्ने रहेछन्, र सत्यता नपछ्याई वा नबद्‌लिई नकारात्मक संवेगहरू बोकेर तिनीहरू परमेश्‍वरको घरमा कति समय टिक्‍ने रहेछन्, हेरौँ।

यदि यो नकारात्मक संवेगमा जिउने मानिसहरूले दबाबको अनुभूति त्यागेनन् भने, तिनीहरूले अर्को बेफाइदा सामना गर्छन्: तिनीहरूलाई कुनै अवसर दिइनेबित्तिकै, तिनीहरू हतारहतार काममा लाग्छन्, आफै सबै कुराको जिम्‍मा लिन्छन्, परमेश्‍वरको घरका सबै मापदण्ड, नियम, र सिद्धान्तहरू बेवास्ता गर्छन्, अनि लापरवाही काम गर्दै आफ्‍नै इच्छाहरूमा पूर्ण रूपमा लिप्त हुन्छन्। तिनीहरूले आफ्‍नो चाल चालिसकेपछि, परिणामहरू अकल्‍पनीय हुन्छन्। कम्तीमा पनि तिनीहरूले परमेश्‍वरको घरमा आर्थिक नोक्‍सानी गराउँछन्, अनि बढीजसो तिनीहरूले मण्डलीको काम बिथोल्छन्। यदि ती अगुवा र सुपरभाइजरहरू आफ्‍नो जिम्‍मेवारीबाट पछि हटे र समस्याहरू सुल्झाउन असफल भए भने, यसले परमेश्‍वरको घरको सुसमाचार बिस्तार कार्यमा असर गर्छ, र यसबाट परमेश्‍वरको प्रतिरोधसमेत हुन्छ। यदि यी मानिसहरूमाथि यस्ता घटनाहरू घटे र यस्ता परिणामहरू आए भने, तिनीहरूको अन्त्य हुनेछ। तिनीहरूले यसरी आफ्‍नो भविष्यवाणी गर्नुको सट्टा, पहिले नै दबाबको अनुभूति त्याग्‍नु बेस हुन्छ र प्राविधिक सीप र विज्ञतालाई बढी ठान्‍ने र महत्त्वपूर्ण मान्‍नेबारेमा तिनीहरूले निरन्तर राखेको मनोवृत्ति र विचार बदल्‍नु उत्तम हुन्छ। तिनीहरूले आफ्‍नो दृष्टिकोण परिवर्तन गर्नु र यसलाई प्यारो नठान्‍नु महत्त्वपूर्ण हुन्छ। यी कुराहरूलाई प्यारो नठान्‍नुपर्नाको कारण यी कुराहरू परमेश्‍वरको घरमा आधारभूत रूपमै महत्त्वहीन भएर वा यी कुराहरूप्रतिको मेरो मूल्याङ्कन वा नकारात्मक विचारले गर्दा होइन। यो त बरु किन हो भने प्राविधिक सीप र विज्ञता त आधारभूत रूपमा एकप्रकारका औजार मात्रै हुन्। यी कुराले सत्यता वा जीवन प्रतिनिधित्व गर्दैनन्। जब स्वर्ग र पृथ्वी बितेर जान्छन्, जुनसुकै प्राविधिक सीप र विज्ञता पनि बितेर जान्छन्, जबकि मानिसहरूले प्राप्त गर्ने सकारात्मक कुरा र सत्यताहरू बितेर नजाने मात्रै होइनन्, ती त कहिल्यै हराउने पनि छैनन्। तँसँग भएका प्राविधिक सीप वा विज्ञता जति नै गहन, महान्, वा प्रतिस्थापन गर्न नसकिने भए पनि, तिनले मानवजाति वा संसारलाई परिवर्तन गर्न सक्दैनन्, न त तिनले मानिसहरूको सानो विचार वा दृष्टिकोण नै परिवर्तन गर्न सक्छन्। यी कुराहरूले सानो विचार वा दृष्टिकोणसमेत परिवर्तन गर्न सक्दैनन्, मानवजातिको भ्रष्ट स्वभाव परिवर्तन गर्नु त परको कुरा हो। तिनले न त मानवजातिलाई न त संसारलाई नै परिवर्तन गर्न सक्छन्। तिनले मानवजातिको वर्तमान दिनहरू, आगामी दिनहरू, वा भविष्य निर्धारित गर्न सक्दैनन्, र तिनले निश्‍चय नै मानवजातिको भाग्य पनि निर्धारित गर्न सक्दैनन्। यो मामिलाको तथ्य त्यही हो। यदि तँलाई मेरो विश्‍वास लाग्दैन भने, पर्खेर हेर्। यदि तँलाई मेरो वचनप्रति विश्‍वास लाग्दैन, र तँ ज्ञान, प्राविधिक सीप, र विज्ञताजस्ता कुराहरूलाई नै प्यारो ठानिरहन्छस् भने, तैँले तिनलाई अन्त्यसम्‍मै प्यारो ठान्दा कसलाई ढिलाइ हुन्छ र तैँले त्यसबाट के पाउँछस्, त्यो हेर। कतिपय मानिसहरू कम्प्युटर प्रविधिमा अत्यन्तै दक्ष र ज्ञानी हुन्छन्, तिनीहरू औसत व्यक्तिहरूभन्दा माथि र यस क्षेत्रमा धेरै अगाडि हुन्छन्। तिनीहरू प्रमुख प्राविधिकहरू हुन्छन्, र तिनीहरू जहाँ गए पनि आफूलाई श्रेष्ठ ठान्छन् र यस्तो भन्‍ने गर्छन्, “म कम्प्युटरमा एकदमै दक्ष छु, म कम्प्युटर इन्जिनियर हुँ!” यदि तैँले यस्तै व्यवहार गरिरहिस् भने, तँ कति अघि बढ्नेछस् र तँ कहाँ पुग्‍नेछस् हेरौँ। तैँले यो पदवीनाम त्यागेर आफूलाई पुनः परिभाषित गर्नुपर्छ। तँ एक साधारण व्यक्ति होस्। प्राविधिक सीप र विज्ञता मानवजातिबाट आउने कुरा हुन् भन्‍ने कुरा बुझ्। ती कुरा मानिसहरूको मानसिक क्षमता र विचारहरूभित्र सीमित छन्, र तिनले बढीमा मानिसहरूको मष्तिष्कका स्नायुहरू तरङ्गित गरेर तिनमा स्मृतिको रूपमा प्रभाव र छापहरू छोड्ने काम मात्रै गर्छन्। तर व्यक्तिको जीवन स्वभाव, वा उसको भविष्यको मार्गमा तिनले कुनै सकारात्मक प्रभाव पार्दैनन्। तिनले कुनै वास्तविक फाइदा दिँदैनन्। यदि तँ आफूले प्राप्त गरेको प्राविधिक सीप वा विज्ञतामै अल्झिरहन्छस्, र तिनलाई त्याग्‍ने इच्छा गर्दैनस्, बरु तिनलाई सधैँ बहुमूल्‍य र प्रिय ठान्छस्, र त्यस्ता सीप हुनु भनेको वरिष्ठ हुनु हो, अरूभन्दा माथि हुनु हो, र आदर पाउन लायक हुनु हो भन्‍ने सोच्छस् भने, म तँलाई मूर्ख होस् भन्छु। यी कुराहरू पूर्ण रूपमा व्यर्थ छन्! मलाई आशा छ, तैँले यी कुराहरू त्याग्‍न, आफूलाई प्राविधिक वा पेशागत विज्ञको पदवीनामबाट मुक्त गर्न, र प्राविधिक र पेशागत क्षेत्रबाट बाहिर निकाल्‍न प्रयास गर्न, अनि सबै कुरा बोल्न र गर्न, र सबैजना र सबै कुरालाई व्यावहारिक तरिकाले लिन सिक्‍न सक्‍नेछस्। काल्‍पनिक विचारहरूमा लिप्त हुने, वा मनको लड्डु घिउसँग खाने काममा नलाग्‌। बरु, तँ आफू दृढ हुनुपर्छ, वास्तविक तरिकाले काम गर्नुपर्छ, र व्यावहारिक आचरण अँगाल्‍नुपर्छ। तैँले इमान्दारीपूर्वक, साँचो र वास्तविक रूपमा बोल्‍न, अनि मानिसहरू र परिस्थितिप्रति सही सोच र विचार, दृष्टिकोण र अडानहरू राख्‍न सिक्‍नुपर्छ। यो आधारभूत कुरा हो। यसको अर्थ, धेरै वर्षसम्‍म तैँले हृदयमा राखेको र तेरो हृदय र सोचमा गढेर बसेको प्राविधिक सीप र विज्ञता त्याग्‍ने र हटाउनेछस्, र तैँले आफूलाई के-कस्तो व्यवहारमा ढाल्ने, के-कसरी बोल्‍ने, मानिसहरू र परिस्थितिलाई कसरी हेर्ने, परमेश्‍वरका वचन र मापदण्डहरूअनुसार कसरी आफ्‍नो कर्तव्य पूरा गर्ने भन्‍नेजस्ता आधारभूत कुराहरू सिक्‍न सक्छस्। यी सबै कुरा मानिसहरू हिँड्ने मार्ग, तिनीहरूको अस्तित्व, र तिनीहरूको भविष्यसित सान्दर्भिक छन्। मानिसहरू हिँड्ने मार्ग र तिनीहरूको भविष्यसँग सान्दर्भिक रहेका यी कुराहरूले तेरो भाग्य परिवर्तन गर्न, तेरो भाग्य निर्धारण गर्न, र तँलाई मुक्ति दिन सक्छन्। अर्कोतर्फ, प्राविधिक सीप र विज्ञताले तेरो भाग्य वा भविष्य परिवर्तन गर्न सक्दैनन्। यी सीप र विज्ञताले केही कुरा पनि निर्धारण गर्न सक्दैनन्। यदि तैँले समाजमा कुनै काम गर्न यी सीप र विज्ञता प्रयोग गरिस् भने, यिनले तँलाई जीविकोपार्जन गर्न वा केही हदसम्‍म आफ्‍नो जीवन सुधार गर्न मात्र सहयोग गर्न सक्छन्। तर म तँलाई भन्छु, जब तँ परमेश्‍वरको घरमा आउँछस्, यी सीप र विज्ञताले केही कुरा पनि निर्धारण गर्न सक्दैनन्। बरु, तेरो कर्तव्य पूरा गर्ने काममा ती बाधाहरू बन्छन् र तँलाई साधारण र सामान्य व्यक्ति बन्‍नबाट रोक्‍न सक्छन्। त्यसकारण, जेसुकै भए पनि, तैँले यी कुराहरूप्रतिको तेरो बुझाइ र दृष्टिकोण नै सुरुमा सुधार्नुपर्छ। तैँले आफूलाई विशेष प्रतिभा भएको व्यक्तिको रूपमा सोच्‍ने, वा परमेश्‍वरको घरमा असाधारण, अरूभन्दा ठूलो, वा अरूभन्दा विशेष छु भन्ठान्‍ने नगर्। तँ बिलकुलै विशेष होइनस्, कम्तीमा पनि मेरो नजरमा त होइनस्। तँसँग अरूमा नभएका केही विशेष क्षमता वा ज्ञान र सीप भएबाहेक, तँ अरू कसैभन्दा पनि फरक छैनस्। तेरा बोलीवचन, व्यवहार र आचरण, र तेरा विचार र दृष्टिकोणहरू शैतानका विषहरू, अनि गलत एवं नकारात्मक विचार र दृष्टिकोणहरूले भरिएका छन्। तैँले परिवर्तन र सुधार गर्नुपर्ने कुराहरू धेरै छन्। यदि तँ आत्मसन्तुष्टि, आत्मतृप्ति र आत्मआदरको स्थितिमा रहिरहिस् भने, तँ अत्यन्तै मूर्ख होस् र तैँले आफूलाई बढी आँक्छस्। तैँले आफ्‍नो व्यावसायिक सीप र विज्ञताको कारण कुनै बेला परमेश्‍वरको घरमा योगदान दिएको भए पनि, यी कुराहरूलाई तैँले बहुमूल्य ठानिरहनु सार्थक हुँदैन। कुनै पनि व्यावसायिक सीप वा विज्ञता आफ्नो सारा जीवन समर्पित गर्दै, आफ्‍नो भविष्य र सुन्दर गन्तव्य खतरामा पार्दै, अनि त्यसकै लागि जिउने र मर्ने अवस्थासम्‍म पुग्दै, सङ्गालेर राख्‍न, परिपालन गर्न, रक्षा गर्न र पक्रिराख्‍न लायक हुँदैन। अनि अवश्यै, तैँले तेरो विचार र संवेगलाई यी कुराको अस्तित्वले कुनै पनि हालतमा प्रभाव पार्न दिनु हुँदैन, र यी कुराहरूको कारण, यी कुराहरू तैँले गुमाएको कारण वा कसैले पनि यी कुराहरू पहिचान नगरेको कारण तैँले दबाबको अनुभूति त झन् पटक्‍कै गर्नु हुँदैन। त्यो मूर्ख र तर्कहीन शैली हुनेछ। यसलाई सीधै भन्दा, ती लुगाफाटाजस्तै हुन्, जसलाई कुनै पनि बेला फ्याँक्‍न, वा उठाउन र लगाउन सकिन्छ। तिनमा उल्‍लेखनीय कुरा केही छैनन्। चाहेको बेला तैँले ती लगाउँछस्, र नचाहेको बेला तिनलाई फुकाउन र फ्याँक्‍न सक्छस्। ती कुराहरूबारे तँलाई उदासीनता महसुस हुनुपर्छ; कुनै पनि ज्ञान, सीप, वा विज्ञताप्रति तँमा हुनुपर्ने मनोवृत्ति र दृष्टिकोण त्यस्तै हुनुपर्छ। तैँले तिनलाई प्यारो ठान्‍ने वा आफ्नै जीवन ठान्‍ने गर्नु हुँदैन, अनि तिनको कारण तैँले आनन्द वा खुसी हुने, वा तिनको लागि जिउने-मर्ने गर्नु हुँदैन। त्यसो गर्नु कुनै आवश्यक छैन। तैँले ती कुराहरूलाई तर्कसङ्गत रूपमा लिनुपर्छ। अनि अवश्य नै, यदि ती कुराहरूको कारणले तँ दबाबको नकारात्मक संवेगहरूमा पर्छस्, र त्यसले तेरो कर्तव्य पूरा गर्नमा र तेरो जीवनको अत्यन्तै महत्त्वपूर्ण कुरा अर्थात् सत्यता खोजी गर्ने कार्यमा असर पार्छ भने, त्यो अझै अस्वीकार्य हुनेछ। ती कुराहरू त तैँले प्रयोग गर्न सक्‍ने वा कुनै पनि बेला त्याग्‍न सक्‍ने औजार मात्र हुन्, त्यसकारण तँ ती कुरासँग भावनात्मक रूपमा जोडिने वा गाँसिने गर्नु हुँदैन। त्यसकारण, तैँले प्राप्त गरेको व्यावसायिक सीप वा विज्ञतालाई परमेश्‍वरको घरले जसरी लिए पनि, वा यसले ती कुरालाई अनुमोदन गरे पनि वा तँलाई ती कुरा त्याग्‍न वा ती कुरालाई निन्दा र आलोचना गर्नसमेत लगाए पनि, तँमा तेरा आफ्नै कुनै विचारहरू हुनु हुँदैन। तैँले यो मामिला परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ, र ती कुराहरूलाई सही अडान र दृष्टिकोणले सामना गर्ने र लिने गर्नुपर्छ। यदि परमेश्‍वरको घरले तेरा सीपहरू प्रयोग गर्छ तर ती सीपमा केही कमी छन् भने, तैँले अझै बढी सिकेर तँ ती सीपमा सुधार ल्याउन सक्छस्। यदि परमेश्‍वरको घरले ती सीपहरू प्रयोग गरेन भने, तैँले ती कुरालाई कुनै हिचकिचाहट, कुनै चिन्ता, र कुनै अप्ठ्यारोविना त्याग्‍नुपर्छ—यो कुरा त्यति सरल छ। परमेश्‍वरको घरमा तेरो व्यावसायिक सीप र विज्ञताको कुनै प्रयोग छैन भन्‍ने कुरा तँलाई व्यक्तिगत रूपमा लक्षित गरिएको हुँदैन, न त यसले तँलाई तेरो कर्तव्य पूरा गर्ने तेरो अधिकारबाट नै वञ्‍चित गर्छ। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सकिनस् भने, त्यो तेरो आफ्‍नै अनाज्ञाकारिताको कारण हुन्छ। यदि तैँले यसो भनिस् भने के हुन्छ, “परमेश्‍वरको घरले मलाई, मेरो प्रतिभालाई, र मैले प्राप्त गरेको ज्ञानलाई हेयको नजरले हेर्छ, र मलाई प्रतिभावान् व्यक्तिको रूपमा लिँदैन। त्यसकारण, म अबदेखि आफ्‍नो कर्तव्य पूरा गर्दिनँ।” यसरी आफ्‍नो कर्तव्य पूरा नगर्नु तेरो व्यक्तिगत निर्णय हो; परमेश्‍वरको घरले तँलाई अवसर दिन इन्कार गरेको वा कर्तव्य पूरा गर्ने तेरो अधिकार खोसेको होइन। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्न सकिनस् भने, त्यो तैँले मुक्ति पाउने आफ्‍नो मौका त्याग्‍नुसरह हुन्छ। तैँले आफ्‍नो व्यावसायिक सीप, विज्ञता, र व्यक्तिगत इज्‍जत कायम राख्‍ने कार्यलाई प्राथमिकता दिने हुनाले, तैँले आफ्‍नो कर्तव्य पूरा गर्ने कार्य र मुक्ति हासिल गर्ने आशा त्याग्छस्। मलाई भन् त, के यो तर्कसङ्गत कुरा हो कि तर्कहीन? (तर्कहीन।) के यो मूर्खता हो कि बुद्धिमान्‌ता? (मूर्खता।) त्यसोभए के यसमा तैँले कुनु कुरा छनौट गर्नुपर्छ भन्‍ने कुनै बाटो छ? (छ।) एउटा बाटो छ। अनि त्यसमा के तँलाई अझै दबाब महसुस हुन्छ? (अहँ, हुँदैन।) तँलाई अबदेखि दबाब महसुस हुँदैन, हुन्छ त? दबाबका संवेगहरू भएका र दबाबका संवेगहरू नभएका मानिसहरूमा आफ्‍नो कर्तव्यप्रतिको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छ, र तिनीहरूको काम गर्ने तरिका पनि पूर्ण रूपमा फरक हुन्छ। दबाब महसुस गर्ने मानिसहरू कहिल्यै खुसी हुन सक्दैनन्, तिनीहरूले कहिल्यै पनि शान्ति वा आनन्द महसुस गर्न सक्दैनन्, र तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरेर प्राप्त हुने आनन्द र सन्तोष पनि महसुस गर्न सक्दैनन्। तर दबाबको यो नकारात्मक संवेगबाट मुक्त भएपछि, मानिसहरूलाई परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य पूरा गर्दा, अवश्य नै खुसी, सान्त्वना, र आनन्द महसुस हुनेछ। यसपछि, कतिपय मानिसहरूले सत्यता पछ्याउने आफ्‍नो कार्यमा मेहनत गर्नुपर्छ—यस्ता मानिसहरूको भविष्य उज्वल हुन्छ। तैपनि, यदि तँलाई निरन्तर दबाब महसुस भइरहन्छ र आफूलाई मुक्त गर्न तैँले सत्यता खोजी गर्दैनस् भने, तँ त्यस्तै गरिराख्, आफ्‍नो दबाब अनुभूतिमै डुबिराख्, अनि हेर्, तँ कतिसम्‍म टिक्‍न सक्दो रहेछस्। यदि तँ दबाबको यो स्थितिमा यसरी नै रहिरहिस् भने, तेरो भविष्य अँध्यारो, र कालो न कालो हुनेछ, त्यसकारण तैँले केही पनि देख्‍नेछैनस्, र अगाडि बढ्ने कुनै पनि बाटो हुनेछैन। तैँले हरेक दिन बेहोसीमा बिताउनेछस्, र तँ कति हो कति अज्ञानी हुनेछस्! वास्तवमा, यो सानोतिनो, र झीनो कुरा हो, तर मानिसहरू यो कुराबाट मुक्त हुन, यसलाई त्याग्‍न, वा यसलाई परिवर्तन गर्न सक्दैनन्। यदि तिनीहरूले यसलाई परिवर्तन गर्न सक्छन् भने, तिनीहरूको मानसिकता र तिनीहरूको हृदयको आकाङ्क्षा, साथै तिनीहरूको खोजी पनि फरक हुनेछ। ल ठीक छ, आज हामी हाम्रो सङ्गति यहीँ समाप्त गर्नेछौँ। आशा छ तिमीहरू दबाबको नकारात्मक संवेगबाट चाँडै मुक्त हुन सक्‍नेछौ!

नोभेम्बर १९, २०२२

अघिल्लो: सत्यता कसरी पछ्याउने (५)

अर्को: सत्यता कसरी पछ्याउने (७)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्