सत्यता कसरी पछ्याउने (२)

हाम्रो अघिल्‍लो भेलामा, हामीले एउटा ठूलो विषय अर्थात् सत्यता कसरी खोजी गर्ने भनेर सङ्गति गरेका थियौँ। सत्यता कसरी खोजी गर्ने—यस विषयमा हामीले कसरी सङ्गति गर्‍यौँ? (परमेश्‍वरले दुईवटा पक्षबारे सङ्गति दिनुभएको थियो: पहिलो थियो “त्याग्‍नु,” अनि दोस्रो, “समर्पण गर्नु।” त्याग्‍नु भन्‍ने विषयमा, परमेश्‍वरले मान्छेमा हुने नकारात्मक संवेगहरूबारे कुरा गर्नुभएको थियो। खास गरी, परमेश्‍वरले हीनताबोध, रिस, र घृणाजस्ता नकारात्मक संवेगहरूले हाम्रो कर्तव्यमा पार्ने निश्‍चित असर र परिणामहरूबारे सङ्गति गर्नुभयो। परमेश्‍वरको सङ्गतिले हामीलाई सत्यता कसरी खोजी गर्ने भन्‍ने विषयमा फरक बुझाइ प्रदान गर्‍यो। हामीले दैनिक रूपमा आफूले प्रकट गर्ने नकारात्मक संवेगहरूलाई प्राय कसरी बेवास्ता गर्छौँ, र कसरी हामी सामान्यतया हाम्रा नकारात्मक संवेगहरूलाई चिन्‍ने वा बुझ्‍ने गर्दैनौँ भनेर बुझ्यौँ। हामी यस्तै त हौँ नि भनेर एकतर्फी मूल्याङ्कन गर्छौँ। हामी यी नकारात्मक संवेगहरूलाई हाम्रो कर्तव्यमा ल्याउँछौँ, र यसले त्यो कर्तव्यका परिणामहरूमा प्रत्यक्ष प्रभाव पार्छ। यसले मानिसहरू र परिस्थितिहरूलाई हामी कसरी हेर्छौँ र कसरी जीवनका समस्याहरू सम्हाल्छौँ भन्‍ने कुरालाई पनि प्रभाव पार्छ। यसले गर्दा सत्यता पछ्याउने मार्ग हिँड्न हाम्रो लागि अत्यन्तै कठिन बन्छ।) हाम्रो पछिल्‍लो भेलामा, मैले सत्यता कसरी खोजी गर्ने भन्‍ने विषयमा सङ्गति गरेको थिएँ। अभ्यासको कुरा गर्दा, मुख्य दुईवटा मार्गहरू छन्—त्याग्‍नु र समर्पण गर्नु। पछिल्‍लोपटक, हामीले “त्याग्‍नु” भन्‍ने मार्गको पहिलो पक्षसँग सम्‍बन्धित मुख्य सवालहरू, अर्थात्, व्यक्तिले विभिन्‍न प्रकारका संवेगहरू त्याग्‍नुपर्छ भन्‍ने सवालहरू सारांशित गरेका थियौँ। मुख्यतया यी नकारात्मक संवेगहरू हुन्—असामान्य, तर्कहीन, र विवेक र समझसँग नमिल्‍ने संवेगहरू हुन्। यीमध्ये, हाम्रो सङ्गति हीनताबोध, रिस, र घृणा, साथै यी नकारात्मक संवेगहरूमा जिएको कारण आउने केही व्यवहारहरू, र केही खास परिस्थितिहरू वा विकासात्मक पृष्ठभूमिको कारण उत्पन्‍न हुने विभिन्‍न नकारात्मक संवेगहरू, र असामान्य पात्रमा देखिने नकारात्मक संवेगहरूमा केन्द्रित थियो। यी नकारात्मक संवेगहरू किन त्यागिनुपर्छ? किनभने वस्तुगत रूपमा भन्दा, यी नकारात्मक संवेगहरूले मानिसहरूमा नकारात्मक मानसिकता र दृष्टिकोण पैदा गर्छन्, जसले गर्दा मानिसहरू, घटनाहरू, वा परिस्थितिहरू सामना गर्दा तिनीहरूले लिने विचारहरू प्रभावित हुन्छन्। त्यसकारण, यस्तो अभ्यासको पहिलो पक्षको लागि, अर्थात् त्याग्‍ने कार्यको लागि, मानिसहरूले हरकिसिमका नकारात्मक संवेगहरू त्याग्‍नुपर्ने हुन्छ। पछिल्लोपटक हामीले यी नकारात्मक संवेगहरूबारे केही सङ्गति आदनप्रदान गरेका थियौँ। तर हामीले सङ्गति गरेका हीनताबोध, रिस, र घृणाजस्ता विषयहरूबाहेक, सामान्य मानवताका दृष्टिकोणहरूमा असर पुर्‍याउन सक्‍ने संवेगहरू अवश्यै अनगिन्ती र विविध छन्। ती संवेगहरूले सामान्य मानवताको विवेक, समझ, सोच, र मूल्याङ्कन क्षमतामा हस्तक्षेप गर्छन्, र तिनले सत्यताप्रतिको मान्छेको खोजको परिणाममा असर पार्न सक्छन्। यसको अर्थ के हो भने यी नकारात्मक संवेगहरू मानवजातिले सत्यता खोजी गर्ने क्रममा त्याग्‍नुपर्ने पहिलो कुराहरू हुन्। आजको हाम्रो सङ्गति यही विषयमा, अर्थात् विभिन्‍न नकारात्मक संवेगहरूलाई कसरी त्याग्‍ने भन्‍नेबारेमा जारी रहनेछ। सुरुमा, हामी नकारात्मक संवेगहरूका विभिन्‍न प्रकटीकरणहरूबारे सङ्गति गर्नेछौँ, र यी प्रकटीकरणहरूबारे मैले दिएको सङ्गतिबाट मानिसहरूले नकारात्मक संवेगहरूको ज्ञान प्राप्त गर्न, ती कुरासँग आफूलाई तुलना गर्न, र त्यसपछि दैनिक जीवनमा तिनलाई एकएक गरी समाधान गर्न थाल्‍नेछन्। सत्यताप्रतिको खोज र बुझाइद्वारा, अनि नकारात्मक सोच र दृष्टिकोणहरू, साथै असामान्य दृष्टिकोण र विचारहरू, र मानिसहरूमा प्रकट हुने नकारात्मक संवेगहरू चिनेर अनि चिरफार गरेर, तिनीहरूले यी नकारात्मक संवेगहरू समाधान गर्न थाल्‍न सक्‍नेछन्।

पछिल्‍लोपटक, हामीले “डिप्रेसन” नामक नकारात्मक संवेगबारे कुरा गरेका थियौँ। सर्वप्रथम, के धेरैजसो मानिसहरूमा डिप्रेसनको भावना हुन्छ? के तिमीहरूले डिप्रेसन कस्तो अनुभव र मनस्थिति हो, र यसका प्रकटीकरणहरू के-के हुन् भनेर अनुभूत गर्न सक्छौ? (सक्छौँ।) यो कुरा बुझ्‍न सजिलो छ। हामी “डिप्रेसन” बारे विस्तारमा कुरा गर्नेछैनौँ, बरु परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने मानिसहरूमा डिप्रेसनको संवेगले ल्याउने प्रकटीकरणहरूबारे मात्रै व्याख्या गर्नेछौँ। “डिप्रेसन” भनेको के हो? यसको अर्थ उदास लाग्‍नु, नरमाइलो लाग्‍नु, केही काम गर्ने जाँगर नचल्‍नु, कुनै उत्साह र कुनै उत्प्रेरणा नहुनु, आफूले गर्ने कुरामा नकारात्मक र निष्क्रिय मनोवृत्ति हुनु, र झट्ट उठेर काम गर्ने दृढता नहुनु भन्‍ने हुन्छ। त्यसोभए, यी प्रकटीकरणहरूको मूल कारण के हो? चिरफार गरिनुपर्ने मुख्य कुरा यही हो। तैँले डिप्रेसनका विभिन्‍न प्रकटीकरणहरू, साथै यो नकारात्मक संवेगले पैदा गर्ने मनका विभिन्‍न स्थिति, सोच र मनोवृत्तिहरू बुझेपछि, तैँले यी नकारात्मक भावनाहरूका कारणहरू के-के हुन्, अर्थात्, मानिसहरूमा आउने यी नकारात्मक भावनाहरूपछाडि के-‍कस्ता मुख्य कारणहरू रहेका हुन्छन् भनेर बुझ्‍नेछस्। मानिसहरू किन डिप्रेसनमा पर्छन्? किन तिनीहरूमा काम गर्ने कुनै उत्प्रेरणा हुँदैन? तिनीहरू कुनै काम गर्दा किन सधैँ नकारात्मक, निष्क्रिय र दृढताहीन हुन्छन्? यसको अवश्य नै कारण छ। उदाहरणको लागि, तैँले कुनै व्यक्तिलाई देख्छस्, र त्यो व्यक्ति कुनै काम गर्दा सधैँ डिप्रेसन र निष्क्रियतामा हुन्छ, उसले कुनै ऊर्जा बटुल्‍न सक्दैन, उसको संवेग र मनोवृत्ति सकारात्मक र आशावादी हुँदैन, र उसले सधैँ नकारात्मक, दोष दिने र हताश पोख्‍ने मनोवृत्ति मात्र व्यक्त गरिरहन्छ। तैँले उसलाई सल्‍लाह दिन्छस् तर उसले कहिल्यै सुन्दैन, अनि तैँले उसलाई देखाएको बाटो सही हो र तेरो तर्क राम्रो हो भनेर उसले स्वीकार पनि गर्छ, तर काम गर्दा उसले कुनै ऊर्जा बटुल्‍न सक्दैन, र ऊ अझै पनि नकारात्मक र निष्क्रिय नै रहिरहन्छ। अनि गम्‍भीर परिस्थितिहरूमा, उसको शरीरको चाल, जिउडाल, हिँडाइ, बोलीको भाव, र बोल्ने शब्‍दहरूबाट, तैँले यस व्यक्तिको संवेग निकै डिप्रेसनमा डुबेको छ, उसले गर्ने हरेक कुरामा उसको कुनै जोसजाँगर छैन र ऊ निचोरिएको फलजस्तै भएको छ, र ऊसँग जसले समय बिताउँछ त्यो व्यक्ति ऊसको नराम्रो प्रभावमा पर्नेछ भन्‍ने कुरा देख्‍न सक्छस्। यो सबको अर्थ के हो? डिप्रेसनमा परेका मानिसहरूले देखाउने विभिन्‍न व्यवहार, अनुहारको अभिव्यक्ति, बोल्‍ने शैली, र विचार र दृष्टिकोणहरूसमेत नकारात्मक गुणका हुन्छन्। अनि, यी नकारात्मक अवस्थाहरूको कारण के हो त? यसको जड कहाँ छ? पक्‍कै पनि, डिप्रेसनजस्तो नकारात्मक संवेग पैदा हुनुको मूल कारण हरेक व्यक्तिको लागि फरकफरक हुन्छ। मान्छेले महसुस गर्ने एक किसिमको डिप्रेसनको संवेग तिनीहरूले आफ्‍नै भयानक भाग्यप्रति गर्ने निरन्तरको विश्‍वासबाट पैदा हुनसक्छ। के यो एउटा कारण होइन र? (हो।) तिनीहरू साना हुँदा, तिनीहरू गाउँमा वा गरिब क्षेत्रमा हुर्केका थिए, तिनीहरूको परिवार सम्‍पन्‍न थिएन, अनि सामान्य मालमत्ताहरूबाहेक तिनीहरूसँग मूल्यवान् कुरा अरू केही थिएन। तिनीहरूसँग लगाउनको लागि एकदुई वटा लुगा हुन्थे जसमा केही प्वालहरू परिसकेका हुन्थे, अनि तिनीहरूले कहिल्यै पनि सामान्य रूपमा राम्रो खाना खान पाउँदैनथे, अनि मासु खानको लागि पनि नयाँ वर्ष वा चाडपर्व पर्खिनुपर्थ्यो। कहिलेकहीँ तिनीहरू भोकै बस्‍नुपर्थ्यो र तिनीहरूले न्यानो लुगा लाउन पाउँदैनथे र कचौराभरि मासु खान पाउनु ठूलो सपना नै हुन्थ्यो, र फलफूलको एक टुक्रा खान पाउनु पनि गाह्रो हुन्थ्यो। आफू त्यस्तो वातावरणमा हुर्केकोले, तिनीहरूलाई ठूलो सहरमा बस्‍ने, धनी आमाबुबा भएका, चाहेको जुनसुकै खानेकुरा खान पाउने र जुनसुकै कपडा लाउन पाउने, चाहेको जुनसुकै कुरा जुनसुकै बेला पाउने, र धेरै कुराहरू जान्‍ने अरू मानिसहरूभन्दा आफू फरक छु जस्तो लाग्छ। तिनीहरूले सोच्छन्, “तिनीहरूको भाग्य कति राम्रो छ। किन मेरो भाग्यचाहिँ यति खराब हो?” तिनीहरू सधैँ भीडभन्दा माथि उठ्न र आफ्‍नो नियति परिवर्तन गर्न चाहन्छन्। तर आफ्‍नो नियति परिवर्तन गर्न त्यति सजिलो छैन। जब कुनै व्यक्ति त्यस्तो परिस्थितिमा जन्मन्छ, तब उसले जति नै प्रयास गरे पनि, आफ्‍नो भाग्य कति नै परिवर्तन गर्न सक्छ र, अनि उसले यसलाई कति नै राम्रो बनाउन सक्छ र? वयस्क बनेपछि, तिनीहरू जहाँ गए पनि समाजमा तिनीहरूलाई विभिन्‍न बाधाहरूले रोक्छन्, तिनीहरू जहाँ गए पनि तिनीहरू हेपाइमा पर्छन्, र त्यसकारण तिनीहरूलाई सधैँ आफू अभागी छु भन्‍ने लाग्छ। तिनीहरू सोच्छन्, “म किन यति अभागी? म किन सधैँ निर्दयी मानिसहरू भेट्छु? सानो हुँदा पनि जीवन कठिन थियो, र अवस्था ठ्याक्‍कै यस्तै थियो। अहिले म ठूलो भएर पनि अवस्था त्यस्तै खराब नै छ। मैले गर्न सक्छु भनेर म सधैँ देखाउन चाहन्छु तर कहिल्यै मौका पाउँदिनँ। यदि मैले कहिल्यै मौका पाउँदिन भने, ठीकै छ त्यस्तै होस्। म बस परिश्रम गरेर सुखी जीवन जिउनको लागि पर्याप्त पैसा कमाउन चाहन्छु। तर म त्योसमेत किन गर्न सक्दिनँ? किन सुखी जीवन जिउन यति गाह्रो हुन्छ? मैले हरेक अन्य व्यक्तिभन्दा उच्‍च जीवन जिउनु जरुरी छैन। तर म कम्तीमा एउटा सहरबासीको जीवन जिउन चाहन्छु र मानिसहरूद्वारा तुच्छ नजरले हेरिन चाहन्‍नँ, अनि दोस्रो वा तेस्रो दर्जाको नागरिक बन्‍न चाहन्‍नँ। कम्तीमा पनि मानिसहरूले मलाई बोलाउँदा, ‘ओइ, यहाँ आइज!’ भन्दै नचिच्याऊन्। कम्तीमा पनि तिनीहरूले मलाई मेरो नामले बोलाएर सम्‍मानसाथ सम्‍बोधन गरून्। तर मलाई त सम्‍मानको साथ सम्‍बोधनसमेत गरिँदैन। किन मेरो भाग्य यति निर्दयी भयो? कहिले यसको अन्त्य हुन्छ?” त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास नगर्दा, भाग्यलाई निर्दयी ठान्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न र यो नै साँचो मार्ग हो भनेर देख्‍न थालेपछि यस्तो विचार गर्छन्, “पहिलेको सबै दुःख-कष्ट सार्थक थियो। यो सब परमेश्‍वरले नै योजनाबद्ध गर्नुभएको हो, यो उहाँले नै गर्नुभएको हो, र परमेश्‍वरले यो एकदमै राम्रो गर्नुभयो। यदि मैले यसरी कष्ट नभोगेको भए, मैले परमेश्‍वरमा विश्‍वास गर्नेथिइनँ। अहिले मैले परमेश्‍वरमा विश्‍वास गरेँ, त्यसकारण मैले सत्यता स्विकार्न सकेँ भने मेरो नियति परिवर्तन भएर राम्रो बन्‍नेछ। अब म मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग मण्डलीमा समान जीवन जिउन सक्छु, र मानिसहरूले मलाई ‘दाजु वा भाइ’ वा ‘दिदी वा बहिनी’ भनेर बोलाउँछन्, र मलाई सम्‍मानसाथ सम्‍बोधन गरिन्छ। अहिले मैले अरूको सम्‍मान पाउँदा कस्तो हुन्छ त्यसको आनन्द लिन पाएको छ।” यस्तो लाग्छ तिनीहरूको नियति परिवर्तन भएजस्तो छ, र लाग्छ तिनीहरूले अबदेखि कष्ट भोग्‍नु पर्दैन र तिनीहरूको भाग्य खराब छैन जस्तो देखिन्छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गर्छन्, तिनीहरू कठिनाइ सहन र परिश्रम गर्न सक्‍ने बन्छन्, कुनै पनि कुरामा अरूले भन्दा धेरै दुःख सहन सक्‍ने बन्छन्, र तिनीहरू धेरैजसो मानिसहरूको अनुमोदन र सम्‍मान पाउन लागिपर्छन्। तिनीहरू आफूलाई मण्डली अगुवाको रूपमा, इन्‍चार्जको रूपमा, वा टोली अगुवाको रूपमा छनौट गरिन सक्छ भन्‍नेसमेत सोच्छन्, अनि त्यसपछि त के तिनीहरूले आफ्‍ना पितापुर्खालाई र आफ्‍नो परिवारलाई सम्‍मान दिइरहेका हुनेछैनन् र? के तिनीहरूले आफ्‍नो नियति परिवर्तन गरेका हुँदैनन् र? तैपनि, वास्तविकता तिनीहरूको कामनाअनुसारको हुँदैन र तिनीहरू उदास बन्छन्, र सोच्छन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो र म मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग राम्ररी घुलमिल हुन सक्छु, तर किन अगुवा, इन्‍चार्ज, वा टोली अगुवा छनौट गर्ने बेलामा, मेरो पालो कहिल्यै आउँदैन? के म साह्रै सरल देखिएकोले हो कि, कि मैले राम्ररी काम नगरेकोले मलाई कसैले ध्यान नदिएको हो? निर्वाचन हुँदा हरेकपटक नै मेरो थोरै भए पनि आशा हुन्छ, र म टोली अगुवाको रूपमा छनौट हुन पाए खुसी नै हुन्थेँ। म परमेश्‍वरको ऋण तिर्न अत्यन्तै उत्साहित छु, तर पनि निर्वाचन हुँदा हरेकपटक नै मैले खिन्‍न हुनुपर्छ र यो सबबाट मलाई छुटाइन्छ। के भएर यस्तो भएको हो? के म मेरो जीवनभरि एउटा साधारण व्यक्ति, सामान्य व्यक्ति, र अनुल्‍लेखनीय व्यक्ति मात्रै बन्‍न सक्छु? मेरो बाल्यकाल, जवानी, र अधबैँसे उमेरलाई फर्केर हेर्दा, मैले हिँडेको यो बाटो सधैँ नै सामान्य रहेको थियो र मैले कुनै पनि स्मरणीय काम गरेको छैनँ। मसँग कुनै महत्त्वाकाङ्क्षा नभएकोले वा मेरो क्षमता कम भएकोले यस्तो भएको होइन, र मैले पर्याप्त प्रयास नगर्ने वा कठिनाइ भोग्‍न नसक्‍ने भएर पनि यस्तो भएको होइन। मेरा पनि आकाङ्क्षा र उद्देश्यहरू छन्, र यो भन्‍न सकिन्छ कि मसँग पनि महत्त्वाकाङ्क्षा छँदै छ। तर पनि किन म भीडभन्दा माथि कहिल्यै उठ्न सक्दिनँ? अन्तिम विश्‍लेषण गरेर हेर्दा के देखिन्छ भने, मेरो भाग्य नै खराब छ र म कष्ट भोग्‍न जन्‍मेको हुँ, र परमेश्‍वरले मेरो लागि यसरी नै बन्दोबस्त मिलाउनुभएको छ।” तिनीहरूले यो कुरालाई जति विचार गर्छन्, तिनीहरूलाई तिनीहरूको भाग्य त्यति नै खराब लाग्छ। तिनीहरूले सामान्य रूपमा कर्तव्य निभाउँदै जाने क्रममा, यदि तिनीहरूले केही सुझाव दिन्छन् वा केही दृष्टिकोणहरू व्यक्त गर्छन् र सधैँ खण्डन सामना गर्छन्, अनि कसैले पनि तिनीहरूको कुरा सुन्दैन वा तिनीहरूलाई गम्‍भीर रूपमा लिँदैन भने, तिनीहरूलाई अझै बढी डिप्रेसन हुन्छ, र तिनीहरूले सोच्छन्, “अहो, मेरो भाग्य कति खराब रहेछ! म जुनसुकै समूहमा भए पनि मलाई अघि बढ्न नदिने र मलाई दमन गर्ने छुद्र व्यक्ति सधैँ नै त्यहीँ हुन्छ। कसैले पनि मलाई कहिल्यै गम्‍भीर रूपमा लिँदैन र म कहिल्यै पनि अरूभन्दा माथि उठ्न सक्दिनँ। अन्त्यमा, यही कुरा लागू हुन्छ: मेरो भाग्य नै खोटो छ!” तिनीहरूको जीवनमा जेसुकै आइपरे पनि, तिनीहरूले सधैँ भाग्य खोटो भएकोले यस्तो भएको हो भनेर भन्छन्; तिनीहरूले भाग्य खोटो छ भन्‍ने यो विचारलाई नै सधैँ जोड दिन्छन्, यसलाई गहन रूपमा बुझ्‍न र जान्‍न लागिपर्छन् र, यस कुरालाई दिमागमा खेलाइरहने क्रममा, तिनीहरूको संवेग अझै निराशापूर्ण बन्छ। जब तिनीहरूले कर्तव्य निभाउने क्रममा सानो गल्ती गर्छन्, तब यस्तो सोच्छन्, “अहो, मेरो भाग्य नै त यति खोटो छ, मैले कसरी पो आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु र?” भेलाहरूमा, तिनीहरूका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सङ्गति दिन्छन् र तिनीहरूले यसबारेमा बारम्‍बार विचार गर्छन्, तर केही पनि बुझ्दैनन्, त्यसैले तिनीहरूले यस्तो सोच्छन्, “अहो, मेरो भाग्य नै त यति खोटो छ, मैले कसरी पो यस्तो कुरा बुझ्‍न सक्छु र?” जब तिनीहरूले भन्दा राम्रो बोल्‍न सक्‍ने, आफूले बुझेको कुरा तिनीहरूले भन्दा स्पष्ट र अन्तर्दृष्टिपर्ण रूपमा छलफल गर्न सक्‍ने कसैलाई देख्छन्, तब तिनीहरूलाई झनै बढी डिप्रेसन हुन्छ। जब तिनीहरूले कठिनाइहरू भोग्‍न र मूल्य चुकाउन सक्‍ने, आफ्‍नो कर्तव्यमा परिणामहरू ल्याउने, र विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट अनुमोदन र बढुवा पाउने कसैलाई देख्छन्, तब तिनीहरूलाई हृदयमा बेखुसी हुन्छ। जब तिनीहरूले कसैलाई अगुवा वा सेवक बनेको देख्छन्, तब तिनीहरूलाई अझै बढी डिप्रेसन हुन्छ, र जब तिनीहरूले आफूभन्दा राम्रो गाउन र नाच्‍न सक्‍ने कसैलाई देख्छन्, र आफू त्यो व्यक्तिभन्दा कम भएको महसुस गर्छन्, तब पनि तिनीहरूलाई डिप्रेसन हुन्छ। तिनीहरूले जस्तोसुकै मानिस, घटना, वा वस्तुहरूको सामना गरे पनि, वा तिनीहरू जस्तोसुकै परिस्थितिमा परे पनि, सधैँ यस्तो डिप्रेसनको संवेगमार्फत प्रतिक्रिया दिन्छन्। तिनीहरूले तिनीहरूको भन्दा अलिक राम्रो लुगा लाउने वा अलिक राम्रो कपाल भएको व्यक्तिलाई देख्दा पनि, तिनीहरूलाई सधैँ नरमाइलो लाग्छ, र तिनीहरूको हृदयमा डाहा र ईर्ष्या पैदा हुन्छ, र अन्ततः तिनीहरू फेरि डिप्रेसनको संवेगमै फर्केर जान्छन्। तिनीहरू यस्तो अवस्थामा पुग्‍नुका कारणहरू के-के हुन्? तिनीहरूले सोच्छन्, “अहो, के यो मेरो भाग्यै खोटो भएर यस्तो भएको होइन र? यदि म अलिक राम्रो देखिने भएको भए, यदि म तिनीहरू जस्तै इज्‍जतदार भएको भए, यदि म राम्रो जिउडालको र अल्गो भएको भए, मसित राम्रो लुगा र धेरै पैसा भएको भए, अनि मेरा आमाबुबा राम्रा भएका भए, के अहिले सबै कुरा फरक हुन्थेन र? के मानिसहरूले मलाई आदर र डाहा गर्थेनन् र? आखिर, मेरो भाग्य नै खराब छ र मैले यसको लागि कसैलाई दोष दिनु मिल्दैन। भाग्य नै यस्तो खराब भएपछि, मेरो लागि केही पनि राम्रो हुँदैन, र मैले कुनै कुरामा ठेस नखाई यताउता हिँड्न सक्दिनँ। मेरो भाग्य नै खोटो हो, र मैले यसबारेमा केही पनि गर्न सक्दिनँ।” त्यसै गरी, जब तिनीहरूलाई काटछाँट र निराकरण गरिन्छ वा जब विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई गाली वा आलोचना गर्छन्, वा तिनीहरूलाई सुझाव दिन्छन्, तब पनि तिनीहरू आफ्नो डिप्रेसनको संवेगमार्फत प्रतिक्रिया दिन्छन्। चाहे जे होस, चाहे तिनीहरूको जीवनमा भइरहेको केही कुरा होस् वा तिनीहरूवरपरको हरेक कुरा होस्, ती कुराहरूबारे तिनीहरूले सधैँ आफ्‍नो डिप्रेसनको संवेगबाट पैदा हुने नकारात्मक विचार, दृष्टिकोण, मनोवृत्ति र विचारहरूद्वारा नै प्रतिक्रिया दिन्छन्।

आफ्‍नो भाग्य खराब छ भनेर सधैँ सोच्ने यस्ता मानिसहरूलाई तिनीहरूको मुटु ठूलो ढुङ्गाले किच्याइएको छ जस्तो निरन्तर महसुस हुन्छ। तिनीहरूले आफ्‍नो जीवनमा आइपर्ने सबै कुरा तिनीहरूको खराब भाग्यले गर्दा हुन्छ भन्‍ने सधैँ विश्‍वास गर्ने हुँदा, तिनीहरूमाथि जेसुकै कुरा घटित भए पनि तिनीहरूले यसलाई परिवर्तन गर्न सक्दैनन् भन्‍ने लाग्छ। अनि, तिनीहरूले के गर्छन्? तिनीहरूले बस नकारात्मक महसुस गरिरहन्छन् र तिनीहरू सुस्त भइरहन्छन् र आफ्‍नो दुर्दशामा डुबिरहन्छन्। तिनीहरू आफ्‍नो दुर्दशामा डुबिरहन्छन् भनेर मैले भन्‍नुको अर्थ के हो? तिनीहरूले सोच्छन्, “अहो, मैले सधैँ जीवनमा यसरी नै अल्याङटल्याङ गर्दै हिँड्नुपर्ने भो!” अरू मानिसहरूले चाहिँ काटछाँट र निराकरणमा पर्दा आफ्‍नो बारेमा मनन गर्दै यसो भन्छन्, “मलाई किन काटछाँट र निराकरण गरियो? मैले सत्यता सिद्धान्तहरूको विरुद्ध जाने त्यस्तो के गरेँ? मैले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेँ? के मेरो बुझाइ पर्याप्त रूपमा गहन र ठोस छ? मैले यी समस्याहरू कसरी बुझ्‍ने र समाधान गर्ने?” तिनीहरूले यस्ता कुराहरू भन्छन्, र यस्तो भन्‍ने व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो। तर जब तथाकथित खोटो भाग्यवाला कुनै व्यक्तिलाई काटछाँट र निराकरण गरिन्छ, तब तिनीहरूलाई अरूले तुच्छ नजरले हेर्ने गरेको, तिनीहरूको भाग्य खराब रहेको, र त्यही कारणले गर्दा तिनीहरूलाई कसैले मन नपराएको, र निराकरण गर्न चाहने जो-कसैले तिनीहरूलाई निराकरण गर्न सकेको महसुस हुन्छ। जब कसैले तिनीहरूलाई निराकरण गरिरहेको हुँदैन, तब तिनीहरूको डिप्रेसन अलिक कम हुन्छ, तर कसैले तिनीहरूलाई निराकरण गर्नेबित्तिकै, तिनीहरूको डिप्रेसन अझै खराब बन्छ। निराकरण गरिँदा, अरूहरूले पनि धेरै दिनसम्‍म नकारात्मक महसुस गर्न सक्छन्। तर तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन् र आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको सहयोगमार्फत तिनीहरूले सत्यता स्विकार्न सक्छन् र बिस्तारै आफूलाई परिवर्तन गरेर त्यो नकारात्मक स्थिति त्याग्‍न सक्छन्। तैपनि आफ्‍नो भाग्य खोटो छ भनेर सोच्‍ने मानिसहरूले भने नकारात्मक संवेग नत्याग्‍ने मात्र होइन, बरु ठीक उल्टो रूपमा, आफ्नो भाग्य साँच्‍चै खराब छ भन्‍ने कुरामा अझै निश्‍चित हुन्छन्। यस्तो किन हुन्छ? तिनीहरू आफ्‍नो सीप कहिल्यै पूर्ण रूपमा प्रयोग नभएको, र आफूलाई सधैँ निराकरण गरिएको र सधैँ बलिको बोको बनाइएको महसुस गर्दै परमेश्‍वरको घरमा आउँछन्। तिनीहरूले यस्तो सोच्छन्, “देख्‍नुभयो नि? अरूले यही काम गर्छन् र पनि तिनीहरूलाई निराकरण गरिँदैन, तर मैलेचाहिँ यो काम गर्दा किन मलाई निराकरण गरिन्छ? यसले अवश्य नै मेरो भाग्य खोटो छ भन्‍ने देखाउँछ!” त्यसकारण तिनीहरू डिप्रेसनमा पर्छन् र हताश हुन्छन्। अरूले तिनीहरूलाई जसरी सत्यता सङ्गति गर्ने प्रयास गरे पनि, यो कुरा तिनीहरूको मनमा घुस्दैन, र तिनीहरूले भन्छन्, “तपाईंहरूलाई त एकछिन मात्रै निराकरण गरिन्छ, तर मलाई कहाँ यस्तो हुन्छ र। म केही काम पनि सही तरिकाले गर्न सक्दिनँ र म त निराकरण सहनलाई नै जन्‍मेको हुँ। मैले कसैलाई दोष दिन मिल्दैन, बस मेरो भाग्य नै खोटो छ।” तिनीहरूले सधैँ आफ्‍नो भाग्य खोटो छ, र आफू बाँचुन्जेल यस्तै हो भन्‍ने विश्‍वास गर्ने हुनाले, परमेश्‍वरको घरले मानिसहरूलाई सत्यता कसरी पछ्याउने, सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्ने, र मापदण्डअनुसार कसरी कर्तव्य पूरा गर्ने भनेर जे-जसरी बताए पनि, यस्तो कुनै पनि कुरा तिनीहरूको मनमा घुस्दैन। तिनीहरू आफ्नो भाग्य खराब छ भन्‍ने कुरामा सधैँ निश्‍चित रहने हुनाले, सत्यता खोजी गर्ने र मुक्ति पाउने यो सुन्दर कुरासँग तिनीहरूको कुनै सम्‍बन्ध छैन भन्‍ने तिनीहरूलाई लाग्छ, त्यसकारण तिनीहरूले आफ्‍नो कर्तव्य पनि त्यति विवेकशील भएर पूरा गर्दैनन्। तिनीहरूलाई हृदयमा के पक्‍का हुन्छ भने, “खराब भाग्य भएका मानिसहरूले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्; राम्रो भाग्य भएका मानिसहरूले मात्रै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्। यदि कसैको भाग्य राम्रो छ भने, तिनीहरू जहाँ गए पनि मानिसहरूले तिनीहरूलाई मन पराउँछन्, र तिनीहरूको लागि सबै कुरा सहज रूपमा अघि बढ्छ। तर मेरो भाग्य खराब छ र म सधैँ छुद्र मानिसहरू भेट्छु, र मलाई आफ्‍नो कर्तव्य निभाउँदा कहिल्यै खुसी लाग्दैन—यी दुर्भाग्यहरू एकपछि अर्को गर्दै आइपरिहाल्छन्!” यसरी तिनीहरूले आफ्‍नो भाग्य खराब छ भनेर विश्‍वास गर्ने हुनाले, तिनीहरूलाई सधैँ उदास र डिप्रेसनमा परेको महसुस हुन्छ। तिनीहरूलाई सधैँ के लाग्छ भने, सत्यता खोजी गर्ने भन्‍ने त बोल्ने कुरा मात्रै हो, र त्यसैले खराब भाग्य भएका तिनीहरूजस्ता व्यक्तिहरूले सत्यता खोजी गरेर कहिल्यै केही हासिल गर्न सक्दैनन्। तिनीहरूलाई के पनि लाग्छ भने, सत्यता खोजी नै गरे पनि, तिनीहरूले अन्त्यमा केही पाउँदैनन्, र तिनीहरूले सधैँ यस्तो सोच्छन्, “खराब भाग्य भएका मानिसहरू कसरी राज्यमा प्रवेश गर्न सक्छन् र? खोटो भाग्य भएका मानिसहरूले कसरी मुक्ति पाउन सक्छन् र?” तिनीहरू यो कुरा विश्‍वास गर्ने आँटै गर्दैनन्, त्यसकारण तिनीहरूले सधैँ यस्तो सोच्दै आफूलाई सीमित गरिरहेका हुन्छन्, “मेरो भाग्य खराब छ र म दुःख पाउनलाई नै जन्मिएको हुँ, त्यसैले अन्त्यमा बाँच्‍न सक्‍नु र सेवाकर्ता बन्‍नु मात्रै पनि त्यति नराम्रो कुरो होइन। मतलब, मेरा पुर्खाहरूको सुकर्मले ममा फल फलाउनेछ, र उनीहरूले मलाई सौभाग्यको आशीर्वाद दिनेछन्। मेरो भाग्य खराब भएको हुनाले, म केही मामुली कर्तव्यहरू पूरा गर्न मात्रै लायक छु, जस्तै खाना पकाउने, सरसफाइ गर्ने, वा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका बालबच्‍चा हेर्ने, टापटिपे काम गर्ने, र आदि इत्यादि कामहरू। जहाँसम्‍म परमेश्‍वरको घरमा आफूलाई चम्काउने कामहरू छन्, मैले बाँचुञ्‍जेल सायद ती काम गर्न पाउनेछैनँ होला। देख्‍नुभयो नि, म त जोसले भरिएर परमेश्‍वरको घरमा आएको थिएँ, तर आखिरमा म कस्तो अवस्थामा पुगेँ? बस खाना पकाउने अनि हातनङ्ग्रा खियाउने। म कति थकित हुन्छु वा कति गाह्रो हुन्छ भन्‍ने कसैले देख्दैन, त्यो कसैले हेर्दैन, र कसैले मतलब गर्दैन। यदि यो फुटेको कर्म होइन भने के हो मलाई थाहा छैन! अरूहरू मुख्य नायक वा सहनायक बनेका छन्, एकपछि अर्को चलचित्र र भिडियो बनाइरहेका छन्—कति गज्‍जब छ तिनीहरूलाई! तर मैले त एकचोटि पनि त्यस्तो मौका पाएको छैनँ। कस्तो फुटेको कर्म! कस्तो खोटो भाग्य! मेरो भाग्य यस्तो हुनुको दोषी को हो? के यो मेरै त्रुटि होइन र? म अब मर्नुअघिसम्म यसरी नै अघि बढिरहनेछु।” तिनीहरू यस्तो नकरात्मक संवेगको गहिराइमा झन्झन् डुब्दै जान्छन्। तिनीहरूले आफ्‍ना नकारात्मक संवेगहरू के हुन्, वा ती किन आए, वा तीमध्ये कुनै पनि कुरा राम्रो वा नराम्रो भाग्य हुनुसँग सम्‍बन्धित छ कि छैन भनी मनन गर्न र चिन्‍न पनि नसक्‍ने, अनि यी कुराहरू बुझ्‍न सत्यता खोजी पनि नगर्ने मात्र होइन, तिनीहरू त आफ्ना सबै समस्याहरू आफ्नै खोटो भाग्यले गर्दा हो भन्‍ने विचारमा अन्धाधुन्ध लागिरहन्छन्। यसको परिणाम यो हुन्छ कि तिनीहरू यी नकारात्मक संवेगहरूको गहिराइमा झन्झन् डुब्दै जान्छन् र तिनीहरूले आफूलाई यसबाट मुक्त गर्नै सक्दैनन्। अन्त्यमा, तिनीहरू सधैँ आफ्‍नो भाग्य खराब छ भनेर विश्‍वास गर्दै निराशामा डुब्छन्, कुनै पनि वास्तविक उद्देश्यविना जीवन जिउँछन् र मृत्यु कुर्दै बस खाँदै र पिउँदै बस्छन्; त्यसकारण तिनीहरूले सत्यता पछ्याउने, मुक्ति पाउने, र परमेश्‍वरका अरू त्यस्तै मापदण्डहरू पूरा गर्ने कार्यमा झन्झन् रुचि गुमाउँदै जान्छन्, र यी कुराहरूलाई झन्झन् बढी घृणा र इन्कार गर्न थाल्छन्। तिनीहरूले आफ्‍नो खराब भाग्यलाई सत्यता नपछ्याउने र मुक्ति प्राप्त गर्ने नसक्ने कारण र आधारको रूपमा लिन्छन्। तिनीहरू आफूले सामना गर्ने परिस्थितिहरूमा आफ्‍नो भ्रष्ट स्वभाव वा नकारात्मक संवेगहरूलाई चिरफार गरेर आफूलाई चिन्‍ने र आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्ने गर्दैनन्, बरु आफूले सामना र अनुभव गर्ने हरेक व्यक्ति, घटना, र परिस्थितिमा तिनीहरूले आफ्‍नो भाग्य नै खराब छ भन्‍ने दृष्टिकोण प्रयोग गरेर प्रतिक्रिया जनाउँछन्, जसले गर्दा तिनीहरू डिप्रेसनको भावनामा झन्झन गहिरो गरी डुब्छन्। के यस्तै हुँदैन र? (हो।) त्यसोभए, मानिसहरूले आफ्‍नो भाग्य नै खराब छ भनी सोच्‍ने यो डिप्रेसनको संवेग सही हुन्छ कि हुँदैन? (यो सही हुँदैन।) यो कसरी सही हुँदैन? (मलाई लाग्छ यो संवेग अलिक उग्र किसिमको छ। तिनीहरू आफ्‍नो जीवनमा आइपर्ने सबै कुरालाई व्याख्या र सीमित गर्न आफ्‍नो खोटो भाग्यलाई अघि सार्छन्। तिनीहरूको जीवनमा कुनै घटना घट्दा, तिनीहरूले त्यसबारेमा मनन गरेर यी समस्याहरू किन पैदा हुन्छन् भन्‍नेबारे निष्कर्ष निकाल्दैनन्, न त तिनीहरूले कुनै खोजी वा चिन्तन नै गर्छन्। यो त परिस्थितिलाई लिने अत्यन्तै उग्र र हास्यासपद तरिका हो।) परिस्थितिलाई लिने यो उग्र र हास्यास्पद तरिका कसरी पैदा हुन्छ? डिप्रेसनका यी भावनाहरूको मूल कारण के हो? (मलाई लाग्छ, यो संवेगको मूल कारण के हो भने, तिनीहरूले गलत मार्ग पछ्याइरहेका हुन्छन्, र तिनीहरूको पछ्याइको सुरुवाती बिन्दु नै गलत हुन्छ। तिनीहरूका केही बेकाबु इच्छाहरू हुन्छन्, तिनीहरूले सधैँ होड गरिरहेका र अरूसँग आफूलाई तुलना गरिरहेका हुन्छन्, र तिनीहरूले आफ्‍ना बेकाबु इच्छाहरू पूरा गर्न नसक्दा, तिनीहरूभित्रको यो नकारात्मक संवेग बाहिर निस्कन्छ।) तिमीहरूले यो समस्याको सार स्पष्ट रूपमा बुझेका छैनौ—मुख्य कुरा के हो भने “भाग्य” सम्‍बन्धी तिनीहरूको बुझाइ नै गलत छ। तिनीहरूले सधैँ राम्रो भाग्य खोजिरहेका हुन्छन् वा आफ्‍नो भाग्य यस्तो होस्, जसले गर्दा सबै कुरा सहजसाथ र सजिलै अघि बढोस् भन्‍ने चाहिरहेका हुन्छन्। तिनीहरूले सधैँ मानिसहरूको भाग्यलाई हेरिरहेका हुन्छन्, र तिनीहरूले त्यस्तो कुरा पछ्याउन थालेपछि, तिनीहरूलाई के हुन्छ? तिनीहरूले फरकफरक वातावरणमा जिइरहेका मानिसहरूलाई हेर्छन्, तिनीहरूले के खान्छन्, तिनीहरूले के लाउँछन्, र तिनीहरू के कुरामा रमाउँछन् त्यसलाई हेर्छन्, र त्यसपछि यसलाई तिनीहरूको आफ्‍नै अवस्थासँग तुलना गर्छन् र तिनीहरूको अवस्था हरेक हिसाबमा खराब छ, अरू सबै तिनीहरूभन्दा असल छन् भन्‍ने महसुस गर्छन्, त्यसकारण तिनीहरूले आफ्‍नो भाग्य खोटो छ भन्‍ने विश्‍वास गर्छन्। वास्तवमा, तिनीहरूको अवस्था खराब नै हुन्छ भन्‍ने छैन, तर तिनीहरूले सधैँ अरूसँग आफूलाई तुलना र मापन गरिरहेका हुन्छन्, सधैँ यो “भाग्य” को कुरा मनन र अवलोकन गर्दै यसैको अध्ययनमा घोरिइरहेका हुन्छन्। तिनीहरूले हरेक कुरा मापन गर्नको लागि भाग्य राम्रो छ कि खराब छ भन्‍ने दृष्टिकोण र विचार प्रयोग गर्छन् र तिनीहरूले सधैँ त्यहीअनुसार यतिसम्‍म मापन गरिरहन्छन् कि तिनीहरूले आफैलाई यसको बन्धनमा पारेर कुनामा कोचार्छन्, अनि तिनीहरूसँग अघि बढ्ने कुनै बाटो हुँदैन, र अन्ततः तिनीहरू पूरै नकारात्मकतामा डुब्छन्। कामकुराहरूको सार हेर्नुको सट्टा तिनीहरूले भइपरिआउने सबै कुराको बाहिरी रूप मापन गर्नको लागि भाग्य राम्रो छ कि खराब छ भन्‍ने दृष्टिकोण नै निरन्तर प्रयोग गर्छन्। यसो गरेर तिनीहरूले के गल्ती गरिरहेका हुन्छन्? तिनीहरूको विचार र दृष्टिकोण गलत र हास्यास्पद हुन्छ, र भाग्यसम्‍बन्धी तिनीहरूको विचार गलत हुन्छ। मानिसको भाग्य यति गहन हुन्छ कि कसैले पनि यसलाई स्पष्ट रूपमा बुझ्‍न सक्दैन। व्यक्तिको जन्‍म मिति वा ऊ जन्मेको ठीक समयले मात्रै उसको भाग्य राम्रो हुन्छ कि खराब भनेर इङ्गित गर्दैन—यो त एउटा रहस्य हो।

व्यक्तिको भाग्य के हुनेछ, यो राम्रो हुनेछ कि खराब हुनेछ भन्‍नेसम्बन्धी परमेश्‍वरको बन्दोबस्तलाई मान्छेको नजरद्वारा हेर्नु वा मापन गर्नु वा भाग्य बताउने व्यक्तिको नजरले हेर्नु हुँदैन, न त यो कुरालाई व्यक्तिले आफ्‍नो जीवनकालमा कति सम्पत्ति र वैभव पाउँछ, वा उसले कति धेरै कष्ट भोग्छ वा भावी सम्भाव्यता, ख्याति र सम्पत्ति पछ्याउने क्रममा ऊ कति सफल हुन्छ भन्‍ने आधारमा मापन गर्नु नै हुन्छ। यसको बाबजुद पनि, आफ्‍नो भाग्य खराब छ भनेर भन्‍ने मानिसहरूले गर्ने गम्‍भीर गल्ती नै यही हो, साथै अधिकांश मानिसहरूले आफ्‍नो भाग्य मापन गर्न प्रयोग गर्ने तरिका पनि यही हो। त्यसोभए, धेरैजसो मानिसहरूले आफ्‍नो भाग्य कसरी मापन गर्छन्? व्यक्तिको भाग्य राम्रो छ कि खराब छ भनेर सांसारिक मानिसहरूले कसरी मापन गर्छन्? मुख्य गरी, तिनीहरूले यो कुरालाई व्यक्तिको जीवन सहज रूपमा अघि बढ्छ कि बढ्दैन, उसले सम्पत्ति र वैभव उपभोग गर्न पाउँछ कि पाउँदैन, उसले अरूको भन्दा उच्‍च जीवनशैली जिउन पाउँछ कि पाउँदैन, उसले आफ्‍नो जीवनमा कति धेरै कष्ट भोग्‍नुपर्छ र कति धेरै आनन्द लिन सक्छ, ऊ कति लामो समय बाँच्‍छ, उसले कुन पेसा अपनाउँछ, उसको जीवन संघर्षले भरिएको छ कि सहज र सजिलो छ भन्‍ने कुरामा आधारित गर्छन्—तिनीहरूले कुनै व्यक्तिको भाग्य असल छ कि खराब छ भनेर मापन गर्नको लागि यी कुराहरू र यस्तै अन्य कुराहरू प्रयोग गर्छन्। के तिमीहरूले पनि यसरी नै मापन गर्दैनौ र? (गर्छौँ।) त्यसोभए, जब तिमीहरूमध्ये धेरैजसोले आफूलाई मननपर्ने कुरा सामना गर्छौ, जब समय कठिन हुन्छ, वा तिमीहरूले उच्‍च जीवनशैली उपभोग गर्न पाउँदैनौ, तब तिमीहरूले पनि आफ्नो भाग्य खोटो छ भनेर सोच्‍नेछौ, र तिमीहरू डिप्रेसनमा डुब्नेछौ। मेरो भाग्य खोटो छ भनेर भन्‍नेहरूको भाग्य खोटो नै हुन्छ भन्‍ने छैन, न त मेरो भाग्य राम्रो छ भन्‍नेहरूको भाग्य नै राम्रो हुन्छ। भाग्य असल छ कि खराब छ भनेर वास्तवमा कसरी मापन गर्ने? तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ भने तिमीहरूको भाग्य राम्रो छ, र परमेश्‍वरमा विश्‍वास गर्दैनौ भने तिमीहरूको भाग्य खराब छ—के यसो भन्‍नु सही हो? (सही नै हो भन्‍ने छैन।) तिमीहरू भन्छौ, “सही नै हो भन्‍ने छैन,” यसको मतलब परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरूको भाग्य साँच्‍चै खराब छ र कतिपयको राम्रो छ। त्यसोभए, परमेश्‍वरमा विश्‍वास नगर्नेहरू कतिपयको पनि भाग्य राम्रो छ र कतिपयको चाहिँ खराब छ—के यसो भन्‍नु सही हो? (अहँ, त्यो गलत हो।) तिमीहरूले यसो भन्‍नुको कारण मलाई भन। किन यो गलत हो? (मलाई लाग्‍दैन कि व्यक्तिको भाग्य उसले परमेश्‍वरमा विश्‍वास गर्छ कि गर्दैन भन्‍ने कुरासँग सम्‍बन्धित हुन्छ।) ठीक भन्यौ; व्यक्तिको भाग्य राम्रो छ कि खराब छ भन्‍ने कुरा परमेश्‍वरमाथिको विश्‍वाससँग सम्‍बन्धित हुँदैन। त्यसोभए, यो केसँग सम्‍बन्धित हुन्छ? के यो मानिसहरूले हिँड्ने मार्ग वा तिनीहरूको खोजसँग सम्‍बन्धित हुन्छ? के कसैले सत्यता पछ्याउँछ भने उसको भाग्य असल हुने, र सत्यता पछ्याउँदैन भने उसको भाग्य खराब हुने हुन्छ हो? मलाई भन, के विधवाको भाग्य असल हुन्छ? सांसारिक मानिसहरूको लागि, विधवाको भाग्य खराब हुन्छ। यदि तिनीहरू तीस वा चालीस वर्षतिर विधवा भए भने, तिनीहरूको भाग्य साँच्‍चै खराब हुन्छ, र यो कुरा तिनीहरूलाई निकै गाह्रो हुन्छ! तर यदि एउटी विधवाले आफ्‍नो पति गुमाएको कारण नोक्सानी भोग्छे, र परमेश्‍वरमा विश्‍वास गर्छे भने, के उसको भाग्य खराब हुन्छ? (हुँदैन।) विधवा नभएकाहरूले खुसीको जीवन जिइरहेका हुन्छन्, तिनीहरूले सबै कुरा सहज रूपमा अघि बढिरहेको, धेरै साथ पाएको, राम्रो खान र लाउन पाएको, परिवारमा छोराछोरी र नातिनातिना भएको, अनि कठिनाइ वा आत्मिक इच्छाको कुनै अनुभूतिविनाको सहज जीवन जिइरहेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, र तिनीहरूलाई तैँले जसरी सुसमाचार सुनाउन खोजे पनि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्। अब, कसको भाग्य राम्रो हुन्छ? (विधवाको भाग्य राम्रो हुन्छ किनभने उसले परमेश्‍वरमा विश्‍वास गरेकी हुन्छे।) देखिस् त, सांसारिक मानिसहरूले विधवाको भाग्य खराब हुन्छ भनेर सोच्‍ने हुनाले, र उसलाई धेरै कष्ट हुने हुनाले, उसले दिशा परिवर्तन गरेर फरक मार्ग पछ्याउन थाल्छे, अनि उसले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई पछ्याउन थाल्छे—के यसको अर्थ उसको भाग्य अब असल भयो, र उसले खुसीको जीवन जिइरहेकी छे भन्‍ने हुँदैन र? (हुन्छ।) उसको खराब भाग्य असल भाग्यमा परिवर्तन भएको छ। यदि तिमीहरू उसको भाग्य खराब छ भनी भन्छौ भने, उसको जीवनको भाग्य सधैँ खराब हुनुपर्छ र उसले यसलाई परिवर्तन गर्न सक्‍नु हुँदैन; अनि, यसलाई कसरी परिवर्तन गर्न सकिन्छ? के उसले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि उसको भाग्य परिवर्तन भएको हो? (होइन, उसको दृष्टिकोण परिवर्तन भएकोले यस्तो भएको हो।) किनभने उसले हेर्ने दृष्टिकोण परिवर्तन भएको हुन्छ। के उसको आफ्‍नै भाग्यसम्‍बन्धी वस्तुगत तथ्य परिवर्तन भएको हुन्छ? (हुँदैन।) परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले त्यो विधवाले विधवा नभएका महिलाहरूप्रति डाहा गर्थी, र यस्तो सोच्थी, “उसलाई हेर त, उसको भाग्य कस्तो राम्रो छ। उसको श्रीमान छ, एउटा घर छ, र ऊ खुसी र सन्तुष्ट जीवन जिउँछे। उसले विधवा हुनुको पीडा भोग्दिन।” तैपनि परमेश्‍वरमा विश्‍वास गरेपछि उसले सोच्छे, “अहिले म परमेश्‍वरमा विश्‍वास गर्छु र परमेश्‍वरले मलाई उहाँलाई पछ्याउनको निम्ति छनौट गर्नुभएको छ, र मैले आफ्‍नो कर्तव्य निभाउन र सत्यता प्राप्त गर्न सक्छु। भविष्यमा म मुक्ति पाएर राज्यमा प्रवेश गर्न सक्छु। कति राम्रो मेरो भाग्य! ऊ विधवा त भएकी छैन, तर उसको भाग्य कस्तो छ? ऊ सधैँ जीवनमा आनन्द गर्ने, ख्याति, सम्पत्ति, र हैसियत पछ्याउने, आफ्‍नो करियरमा सफल हुने, र समृद्धि र सम्पत्तिमा रमाउने प्रयास गरिरहेकी हुन्छे, तर पछि जब उसको मृत्यु हुन्छ, ऊ नरक जान्छे। उसको भाग्य खराब छ। मेरो भाग्य उसको भन्दा राम्रो छ!” यसमा उसको दृष्टिकोण परिवर्तन भएको हुन्छ, तर उसको वस्तुगत तथ्यहरू परिवर्तन भएको हुँदैन। परमेश्‍वरमा विश्‍वास नगर्नेले अझै पनि यस्तो सोचिरहेकोकी हुन्छे, “हुँ! मेरो भाग्य तेरोभन्दा राम्रो छ! तँ विधवा होस्, तर म होइनँ। मेरो जीवन तेरोभन्दा राम्रो छ। मेरो भाग्य राम्रो छ!” तैपनि, परमेश्‍वरमा विश्‍वास गर्ने महिलाको नजरमा, उसको भाग्य राम्रो हुँदैन। यो परिवर्तन कसरी आयो? के विधवाको वस्तुगत वातावरण परिवर्तन भएको हुन्छ? (हुँदैन।) त्यसोभए उसको दृष्टिकोण कसरी परिवर्तन भयो? (कुनै कुरा असल हो कि खराब हो भनेर मापन गर्ने उनको मापदण्ड परिवर्तन भएर।) हो, विभिन्‍न कुरालाई कसरी मापन गर्ने र लिने भन्‍ने उसको दृष्टिकोण परिवर्तन भएको हुन्छ। ऊ विधवा नभएकी महिलाको भाग्य राम्रो हुन्छ भनेर सोच्‍ने व्यक्तिबाट उसको भाग्य खराब छ भन्‍ने व्यक्तिमा परिणत भई, र आफ्नो भाग्य खराब छ भनी सोच्‍ने व्यक्तिबाट आफ्नो भाग्य असल छ भन्‍ने व्यक्तिमा परिवर्तन भई। यी दुई दृष्टिकोणहरू पहिलेको भन्दा पूरै फरक छन्, ती पूर्ण रूपमा बदलिएका छन्। यसको कारण के हो? यहाँ वस्तुगत तथ्य र वातावरण बदलिएको छैन, तब कसरी उसको दृष्टिकोण बदलियो? (सत्यता र सकारात्मक कुराहरू स्विकारेपछि, उनले अहिले असल वा खराब कुराहरू मापन गर्ने आफ्‍नो दृष्टिकोणमा सही मापदण्ड लागू गर्छिन्।) उसको दृष्टिकोण परिवर्तन भएको छ, तर के वास्तविक तथ्य परिवर्तन भएको हुन्छ? (हुँदैन।) त्यो विधवा अझै पनि विधवा नै हुन्छे, र खुसीसाथ जिइरहेकी महिला अझै पनि खुसीसाथ नै जिइरहेकी हुन्छे—वास्तविक तथ्यमा कुनै परिवर्तन आएको हुँदैन। त्यसोभए, अन्त्यमा कसको भाग्य असल र कसको भाग्य खराब हुन्छ? के तिमीहरू व्याख्या गर्न सक्छौ? त्यो विधवाले आफ्‍नो भाग्य खराब छ भनेर सोच्‍ने गर्थी, र यसको एउटा कारण उसको जिउने वस्तुगत परिस्थिति थियो, र अर्कोचाहिँ त्यो वस्तुगत वातावरणले पैदा गरेको उसको विचार र दृष्टिकोण थियो। उसले परमेश्‍वरमा विश्‍वास गरेपछि, र परमेश्‍वरका वचनहरू पढेर केही सत्यता बुझेपछि, उसको विचार पनि सँगसँगै बदलियो, र उसको दृष्टिकोण फरक बन्यो। त्यसकारण, परमेश्‍वरमा विश्‍वास गरेपछि, ऊ आफूलाई खराब भाग्य भएको व्यक्तिको रूपमा हेर्दिन, बरु असल भाग्य भएको व्यक्तिको रूपमा हेर्छे, किनभने उसले परमेश्‍वरको काम स्विकार्ने मौका पाएकी छे, र उसले सत्यता बुझ्‍न र मुक्ति पाउन सक्छे—यो परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा हो, र ऊ अधिक आशिषित हुन्छे। परमेश्‍वरमा विश्‍वास गरेपछि, ऊ सत्यता पछ्याउनमा मात्रै ध्यान दिन्छे, जुन उसले पहिले पछ्याएको लक्ष्यभन्दा फरक हो। उसको जिउने अवस्था, जिउने वातावरण, र जीवन स्तर लगभग पहिलेको जस्तै र केही नबदलिएको अवस्थामा भए पनि, उसको दृष्टिकोण परिवर्तन भएको हुन्छ। तर वास्तवमा, परमेश्‍वरमा विश्‍वास गरेको कारण के उसले साँच्‍चै राम्रो भाग्य पाएकी हुन्छे त? त्यस्तो हुन्छ नै भन्‍ने हुँदैन। यति मात्र हो, उसले अहिले परमेश्‍वरमा विश्‍वास गर्छे, आशा पाएकी छे, हृदयमा केही सन्तुष्टि पाएकी छे, उसले पछ्याउने उद्देश्य बदलिएको छ, उसको दृष्टिकोण फरक भएको छ, त्यसैले उसको अहिलेको जिउने वातावरणले उसलाई खुसी, सन्तुष्ट, हर्षित र शान्तिपूर्ण तुल्याउँछ। उसलाई अहिले आफ्नो भाग्य असल छ, विधवा नभएकी महिलाको भन्दा राम्रो छ भन्‍ने महसुस हुन्छ। अहिले मात्रै उसलाई आफ्नो भाग्य खराब छ भनेर विश्‍वास गर्दै उसले पहिले लिएको दृष्टिकोण गलत थियो भन्‍ने महसुस भएको छ। यसबाट तिमीहरूले के देख्‍न सक्छौ? के “असल भाग्य” र “खराब भाग्य” भन्‍ने चीज हुन्छ र? (हुँदैन।) अहँ, हुँदैन।

परमेश्‍वरले धेरै पहिले नै मानिसहरूको भाग्य पूर्वनिर्धारित गर्नुभएको छ, र ती अपरिवर्तनीय छन्। यो “असल भाग्य” र “खराब भाग्य” व्यक्तिपिच्छे फरकफरक हुन्छन्, र ती कुरा वातावरणमा र मानिसहरूले कस्तो महसुस गर्छन् र के पछ्याउँछन् भन्‍ने कुरामा निर्भर हुन्छन्। त्यसकारण कसैको भाग्य असल पनि हुँदैन र खराब पनि हुँदैन। तैँले साह्रै कठिन जीवन जिउन सक्छस्, तर तैँले यस्तो सोच्‍न सक्छस्, “म उच्‍च जीवन जिउने प्रयास गरिरहेको छैनँ। पुग्दो खान र लाउन पाए म त्यसैमा खुसी हुन्छु। जीवनमा हरकसैले कष्ट भोग्‍नुपर्छ। सांसारिक मानिसहरूले भन्छन्, ‘वर्षा नभई इन्द्रेनी देखिन्‍न’ त्यसकारण दुःखकष्टमा पनि मूल्य हुन्छ। यो त्यति खराब कुरा होइन, र मेरो भाग्य खराब छैन। माथिको स्वर्गले मलाई केही पीडा, केही परीक्षा, र केही संकष्ट दिएको छ। यो किन हो भने उहाँ मलाई निकै सम्‍मान गर्नुहुन्छ। यो राम्रो भाग्य हो!” कतिपय मानिसहरू कष्ट भोग्‍नु खराब कुरा हो, र यसको अर्थ तिनीहरूको भाग्य खराब छ, र जीवन कष्टरहित, आराम र सहज छ भने मात्रै तिनीहरूको भाग्य राम्रो हुन्छ भन्‍ने सोच्छन्। अविश्‍वासीहरू यसलाई “विचारको कुरा” भन्छन्। परमेश्‍वरका विश्‍वासीहरूले “भाग्य” सम्‍बन्धी यो विषयलाई कसरी लिन्छन्? के हामी “असल भाग्य” वा “खराब भाग्य” भनेर कुरा गर्छौँ? (गर्दैनौँ।) हामी यस्ता कुराहरू गर्दैनौँ। मानौँ, तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तेरो भाग्य राम्रो छ, तर त्यसपछि यदि तैँले आफ्‍नो विश्‍वासमा सही मार्ग पछ्याउँदैनस्, र तँलाई दण्डित, खुलासा र निष्कासित गरियो भने, के त्यसको अर्थ तेरो भाग्य राम्रो छ भन्‍ने हुन्छ कि नराम्रो? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्दैनस् भने, तँलाई खुलासा गरिने वा हटाइने सम्‍भावनै हुँदैन। अविश्‍वासीहरू र धर्मका मानिसहरूले मानिसहरूलाई खुलासा गर्ने वा चिन्‍नेबारेमा कुरा गर्दैनन्, र तिनीहरूले मानिसहरूलाई सफाइ गर्ने वा हटाउनेबारेमा पनि कुरा गर्दैनन्। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न सके भने, तिनीहरूको भाग्य राम्रो छ भन्‍ने हुन्छ, तर यदि अन्त्यमा तिनीहरूलाई दण्ड भयो भने, के त्यसको अर्थ तिनीहरूको भाग्य खराब छ भन्‍ने हुन्छ? एक क्षण तिनीहरूको भाग्य असल हुन्छ, र अर्को क्षण खराब हुन्छ—तर खासमा त्यो कस्तो हो, असल कि खराब? कुनै व्यक्तिको भाग्य असल छ कि छैन भन्‍ने कुरा मूल्याङ्कन गर्न सकिने कुरा होइन, र मानिसहरूले यो कुरा मूल्याङ्कन गर्नै सक्दैनन्। यो सबै परमेश्‍वरले गर्नुहुने कुरा हो र परमेश्‍वरले बन्दोबस्त गर्नुहुने सबै कुरा असल हुन्छन्। यति मात्र हो, हरेक व्यक्तिको भाग्यको दिशा, वा तिनीहरूको वातावरण, र तिनीहरूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू, र आफ्‍नो जीवनकालमा तिनीहरूले अनुभव गर्ने जीवन मार्ग फरकफरक हुन्छन्; यी कुराहरू व्यक्तिपिच्छे फरकफरक हुन्छन्। हरेक व्यक्ति जिउने वातावरण र तिनीहरू हुर्कने-बढ्ने वातावरण दुवै परमेश्‍वरले नै तय गर्नुभएको हुन्छ, तर ती दुवै वातावरण पूरै फरक हुन्छन्। हरेक व्यक्तिले आफ्‍नो जीवनकालमा अनुभव गर्ने कुराहरू पूरै फरक हुन्छन्। तथाकथित कुनै असल भाग्य वा खराब भाग्य भन्‍ने कुरै हुँदैन—यो सब परमेश्‍वरले नै मिलाउनुभएको, र परमेश्‍वरले नै गर्नुभएको हुन्छ। यदि हामीले यो सब परमेश्‍वरले नै गर्नुभएको हो भन्‍ने दृष्टिकोणले हेर्‍यौँ भने, परमेश्‍वरले गर्नुहुने हरेक कुरा असल र सही हुन्छ; यति मात्र हो, मानिसहरूको अभिरुचि, भावना र छनौटहरूको दृष्टिकोणबाट, कतिपय मानिसहरूले सहज जीवन जिउन रोज्दै, ख्याति र सम्पत्ति, असल प्रतिष्ठा, र संसारको समृद्धि प्राप्त गर्ने, अनि आफ्नो जीवन आफै सम्हाल्ने निर्णय गर्छन्। यसको अर्थ तिनीहरूको भाग्य राम्रो छ, र जीवनभरि सामान्य र असफल भएर जिउनु, समाजको तल्‍लो स्तरमा जिउनु खराब भाग्य हो भन्‍ने तिनीहरूलाई लाग्छ। सांसारिक कुराहरू पछ्याउने र संसारमा जिउने खोज्ने अविश्‍वासी र सांसारिक मानिसहरूको दृष्टिकोणबाट हेर्दा विभिन्‍न कुराहरू यस्तै देखिन्छन्, र असल भाग्य र खराब भाग्यको विचार यसरी नै पैदा भएको हुन्छ। असल भाग्य र खराब भाग्यको विचार भाग्यसम्‍बन्धी मान्छेको सङ्कीर्ण बुझाइ र सतही अनुभूतिबाट, अनि मानिसहरूले कति भौतिक कष्ट भोग्छन्, र कति धेरै आनन्द, ख्याति र लाभ प्राप्त गर्छन्, र यस्तै अन्य कुराहरूसम्‍बन्धी तिनीहरूको मूल्याङ्कनबाट मात्रै पैदा भएको हुन्छ। वास्तवमा, मान्छेको भाग्यप्रतिको परमेश्‍वरको बन्दोबस्त र सार्वभौमिकताको दृष्टिकोणद्वारा हामीले यसलाई हेर्‍यौँ भने, असल भाग्य वा खराब भाग्य भनेर व्याख्या नै गरिँदैन। के यो सही होइन र? (हो।) यदि तैँले मान्छेको भाग्यलाई परमेश्‍वरको सार्वभौमिकताको दृष्टिकोणले हेर्छस् भने, परमेश्‍वरले गर्नुहुने सबै कुरा असल हुन्छ, र ती कुराहरू नै हरेक व्यक्तिलाई चाहिने कुरा हुन्छन्। यस्तो किन हुन्छ भने, विगत र वर्तमान जीवनमा कारण र प्रभावले भूमिका खेलेको हुन्छ, ती कुराहरू परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, ती कुराहरूमाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ, र परमेश्‍वरलेनै ती कुराहरूको योजना र बन्दोबस्त गर्नुभएको हुन्छ—मानवजातिसँग कुनै विकल्‍प हुँदैन। यदि हामीले यो दृष्टिकोणले हेर्‍यौँ भने, मानिसहरूले आफ्‍नो भाग्यलाई असल वा खराब भनेर मूल्याङ्कन गर्नु हुँदैन, होइन र? यदि मानिसहरूले यस विषयमा त्यतिकै मूल्याङ्कन गर्छन् भने, के तिनीहरूले भयानक गल्ती गरिरहेका हुन्‍नन् र? के तिनीहरूले परमेश्‍वरको योजना, बन्दोबस्त, र सार्वभौमिकताको मूल्याङ्कन गर्ने गल्ती गरिरहेका हुँदैनन् र? (हुन्छन्।) अनि, के त्यो गल्ती गम्‍भीर गल्ती होइन र? के यसले तिनीहरूले जीवनमा हिँड्ने मार्गलाई असर गर्दैन र? (गर्छ।) त्यसोभए, त्यो गल्तीले तिनीहरूलाई विनाशतर्फ लैजान्छ।

मानिसहरूको नियतिमाथिको परमेश्‍वरको बन्दोबस्त र सार्वभौमिकताप्रति तिनीहरूको प्रतिक्रिया कस्तो हुनुपर्छ? (परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ।) पहिलो, तैँले सृष्टिकर्ताले किन तेरो लागि यस्तो नियति र जिउने वातावरण बन्दोबस्त गर्नुभयो, किन उहाँले तँलाई निश्‍चित कुराहरू सामना र अनुभव गर्न लाउनुहुन्छ, र तेरो नियति किन यस्तो छ भनेर बुझ्‍ने प्रयास गर्नुपर्छ। यसबाट, तैँले तेरो हृदयले केको तृष्णा गर्छ र यसको खाँचो के हो, साथै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरू बुझ्‍नुपर्छ। तैँले यी कुराहरू बुझेपछि र जानेपछि, आफ्‍नो नियतिको प्रतिरोध गर्ने, यसबारेमा छनौटहरू गर्ने, यसलाई इन्कार गर्ने, योसँग बाझिने काम गर्ने, वा यसबाट तर्किने काम गर्नु हुँदैन। अनि अवश्य नै, तैँले परमेश्‍वरसँग मोलतोल गर्ने चेष्टा गर्नु हुँदैन। बरु, तँ समर्पित हुनुपर्छ। तँ किन समर्पित हुनुपर्छ? तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण आफ्‍नो नियति आफै योजना गरी अघि बढाउन सक्दैनस् र यसमाथि तेरो सार्वभौमिकता हुँदैन। परमेश्‍वरले नै तेरो नियति निर्धारित गर्नुभएको हुन्छ। तेरो नियतिको हकमा, तँ निष्क्रिय छस् र तेरो कुनै विकल्‍प छैन। तैँले गर्नुपर्ने एउटै काम भनेको समर्पित हुनु हो। तैँले आफ्‍नो नियतिको बारेमा आफ्‍नै छनौटहरू गर्नु वा यसबाट तर्किनु हुँदैन, तैँले परमेश्‍वरसँग मोलतोल गर्नु हुँदैन, र तैँले आफ्‍नो भाग्यको विरुद्धमा जाने वा गुनासो गर्ने गर्नु हुँदैन। विशेष गरी, तैँले अवश्य नै यस्तो कुरा बोल्‍नु हुँदैन, “परमेश्‍वरले मेरो लागि तय गर्नुभएको नियति खराब छ। यो दयनीय र अरूको नियतिभन्दा खराब छ,” वा “मेरो नियति खराब छ र म खुसी वा सम्‍पन्‍नतामा रमाउन पाउँदिनँ। परमेश्‍वरले मेरो लागि सबै कुरा नराम्ररी बन्दोबस्त गर्नुभएको छ।” यी आलोचनाका शब्‍दहरू हुन् र ती बोलेर, तँ आफ्‍नो स्थानभन्दा बाहिर गइरहेको छस्। यी शब्‍दहरू सृष्टि गरिएको प्राणीले बोल्‍नुपर्ने शब्‍दहरू होइनन् र यो सृष्टि गरिएको प्राणीमा हुनुपर्ने दृष्टिकोण वा मनोवृत्ति होइन। बरु, तैँले नियतिसम्‍बन्धी यस्ता विभिन्‍न गलत बुझाइ, परिभाषा, दृष्टिकोण, र ज्ञानहरू त्याग्‍नुपर्छ। यसको साथै, परमेश्‍वरले तय गर्नुभएको तेरो नियतिको रूपमा आइपर्ने सबै कुराहरूमा समर्पित हुन तैँले सही मनोवृत्ति र अडान अपनाउनुपर्छ। तैँले प्रतिरोध गर्नु हुँदैन, र तैँले निराश भएर स्वर्ग निष्पक्ष छैन, परमेश्‍वरले तेरो लागि सबै कुरा नराम्ररी बन्दोबस्त गर्नुभएको छ, र तँलाई सर्वोत्कृष्ट कुरा दिनुभएको छैन भनेर गुनासो गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीसँग आफ्‍नो नियति छनौट गर्ने अधिकार हुँदैन। परमेश्‍वरले तँलाई यस्तो दायित्व दिनुभएको छैन र यस्तो अधिकार पनि प्रदान गर्नुभएको छैन। त्यसकारण, तैँले छनौट गर्ने, परमेश्‍वरसँग तर्क गर्ने, वा उहाँसँग थप अनुरोध गर्ने प्रयास गर्नु हुँदैन। तैँले परमेश्‍वरका बन्दोबस्तहरू मान्‍नु र सामना गर्नुपर्छ, चाहे ती जेसुकै नै किन नहोऊन्। परमेश्‍वरले जे तय गर्नुभएको छ त्यसलाई तैँले सामना र अनुभव गर्ने अनि बुझ्‍ने प्रयास गर्नुपर्छ। परमेश्‍वरका बन्दोबस्तहरूमार्फत अनुभव गर्नुपर्ने सबै कुरामा तँ समर्पित हुनुपर्छ। परमेश्‍वरले तेरो लागि तय गर्नुभएको नियति तैँले मान्‍नुपर्छ। यदि तँलाई कुनै कुरा मन परेन भने पनि, वा यसले गर्दा तँलाई कष्ट नै भयो भने पनि, यसले तेरो स्वाभिमान र इज्‍जतलाई चुनौती र दमन गरे पनि, जबसम्म यो तैँले अनुभव गर्नुपर्ने कुरा हुन्छ, र जबसम्म यो परमेश्‍वरले तेरो लागि योजना र बन्दोबस्त गर्नुभएको कुरा हुन्छ, तबसम्म तँ यसमा समर्पित हुनुपर्छ र यसबारे तँसँग कुनै विकल्‍प हुँदैन। परमेश्‍वरले नै मानिसहरूको नियति तय गर्नुहुन्छ र त्यसमाथि उहाँकै सार्वभौमिकता हुन्छ, त्यसैले यसबारेमा परमेश्‍वरसँग मोलतोल गर्न सकिँदैन। यदि मानिसहरू बुज्झकी छन् र तिनीहरूमा सामान्य मानवताको समझ छ भने, तिनीहरूले आफ्नो नियति खराब छ वा आफ्नो लागि यो वा त्यो कुरा असल छैन भनेर गुनासो गर्नु हुँदैन। आफ्‍नो नियति खराब लाग्यो भन्दैमा, तिनीहरूले आफ्‍नो कर्तव्य, जीवन, विश्‍वासको मार्ग, परमेश्‍वरले बन्दोबस्त गर्नुभएका परिस्थितिहरू, वा तय गर्नुभएका मापदण्डहरूलाई निराश मनोवृत्तिले लिनु हुँदैन। यस्तो खाले डिप्रेसन सरल वा क्षणिक विद्रोह होइन, र यो भ्रष्ट स्वभावको क्षणिक प्रकटीकरण पनि होइन, झन् यो भ्रष्ट स्थितिको प्रकटीकरण हुने त कुरै आउँदैन। बरु, यो त परमेश्‍वरप्रतिको मौन प्रतिरोध हो, र परमेश्‍वरले तिनीहरूको लागि तय गर्नुभएको भाग्यप्रति गरिएको असन्तुष्टिपूर्ण मौन प्रतिरोध हो। यो एउटा सरल नकरात्मक भावना मात्रै हो, तैपनि यसले मानिसहरूमा ल्याउने परिणामहरू भ्रष्ट स्वभावले ल्याउने परिणामहरूभन्दा गम्‍भीर हुन्छन्। यसले तँलाई आफूले पूरा गर्नुपर्ने कर्तव्यप्रित, र आफ्‍नो दैनिक जीवन र जीवन यात्राप्रति सकारात्मक र सही मनोवृत्ति अपनाउनबाट रोक्‍ने मात्रै होइन, अझै गम्‍भीर रूपमा यसले तँलाई डिप्रेसनमा परी नष्ट हुनेसमेत पार्नेछ। त्यसकारण, बुद्धिमान्‌ मानिसहरूले आफ्‍नो गलत दृष्टिकोण परिवर्तन गर्न, परमेश्‍वरका वचनहरूको आधारमा आफूलाई मनन गर्न र चिन्‍न, र के कुराले तिनीहरूलाई तिनीहरूको भाग्य खराब छ भनेर विश्‍वास गर्ने बनाएको छ त्यो कुरा हेर्न हतारिनुपर्छ; तिनीहरूले कुन-कुन तरिकाले तिनीहरूको गरिमामा हानि भएको छ वा तिनीहरूको हृदयमा चोट पुगेको छ, कुन कुराले तिनीहरूमा आफ्‍नो भाग्य खराब छ भन्‍ने नकारात्मक विचारहरू ल्याएको छ, र कुन कुराले तिनीहरूलाई आजको दिनसम्‍म पनि मुक्त हुन नसक्‍ने गरी डिप्रेसनको नकारात्मक भावनामा पर्न बाध्य पारेको छ भनेर हेर्नुपर्छ। यो तैँले मनन र जाँच गर्नुपर्ने सवाल हो। कतिपय मामिलाहरूले तिमीहरूको हृदयमा जरा गाडिसकेका हुन सक्छन्, वा कसैले तेरो आत्मसम्‍मानमा चोट पुर्‍याउने किसिमको घृणित कुरा बोलेको हुन सक्छ, र यसले तँलाई तेरो भाग्य खराब छ भन्‍ने महसुस गराएर, तँ डिप्रेसनमा परेको हुन सक्छस्; वा सायद तेरो जीवनमा वा तँ हुर्कने क्रममा, शैतानको वा संसारको कुनै विचार वा दृष्टिकोणले तँलाई उक्साएर तँमा भाग्यसम्‍बन्धी यो गलत बुझाइ आएको र तँसँग असल भाग्य छ कि खराब भाग्य छ भन्‍ने कुरामा अत्यन्तै संवेदनशील बनाएको हुन सक्छ; वा सायद कुनै बेला अत्यन्तै चित्त दुख्‍ने कुराको अनुभव गरेको कारण, तँ आफ्‍नो भाग्यबारे निकै गम्‍भीर र संवेदनशील बनेको हुन सक्छस्, र त्यसपछि तँ आफ्‍नो भाग्य बदल्नप्रति अत्यन्तै जोसिलो र समर्पित भएको हुन सक्छस्—यी सब कुराहरू तैँले जाँच्‍नुपर्ने कुराहरू हुन्। तैपनि, तैँले यी कुराहरू जे-जसरी जाँच गरे पनि, तैँले अन्तिममा बुझ्‍नुपर्ने कुरा यही हो: तैँले आफ्‍नो भाग्य मापन गर्न भाग्य असल हो कि खराब हो भन्‍ने विचार र दृष्टिकोणहरू प्रयोग गर्नु हुँदैन। व्यक्तिको जीवनको भाग्य परमेश्‍वरको हातमा छ र परमेश्‍वरले धेरै पहिले नै यसबारे बन्दोबस्त मिलाइसक्‍नुभएको छ; यो मानिसहरूले परिवर्तन गर्न सक्‍ने कुरा होइन। तैपनि, व्यक्तिले आफ्‍नो जीवनकालमा कस्तो मार्ग हिँड्ने र उसले मूल्यवान् जीवन जिउने कि नजिउने भन्‍ने विकल्पहरूचाहिँ मानिसहरू आफैले छनौट गर्न सक्‍ने कुराहरू हुन्। तैँले बहुमूल्य जीवन जिउने, मूल्यवान् कुराहरूको निम्ति आफ्‍नो जीवन जिउने, सृष्टिकर्ताको योजना र व्यवस्थापनको लागि जिउने, वा मानवजातिको न्यायोचित अभियानको लागि जिउने निर्णय गर्न सक्छस्। अवश्य नै, तैँले सकारात्मक कुराहरूको लागि नजिउने, बरु ख्याति र सम्‍पत्ति, अधिकारी पद, धनमाल, र सांसारिक प्रचलनको निम्ति जिउने निर्णय पनि गर्न सक्छस्। तैँले कुनै मूल्य नभएको जस्तोसुकै जीवन जिउने निर्णय गरेर मरेतुल्य हुने छनौट पनि गर्न सक्छस्। यी सबै कुरा तैँले निर्णय गर्न सक्‍ने कुराहरू हुन्।

यसरी सङ्गति गरिसकेपछि, तिमीहरूले के बुझ्यौ, मेरो भाग्य खोटो छ भनेर सधैँ भनिरहने मानिसहरूको सोच र दृष्टिकोण सही छ कि गलत छ? (गलत छ।) स्पष्टै छ, ती मानिसहरू चरमताको दलदलमा फसेका हुनाले तिनीहरूले डिप्रेसनको संवेग अनुभव गर्छन्। तिनीहरूमा चरम विचार र दृष्टिकोणहरूको कारण यो डिप्रेसनको चरम संवेग हुने हुनाले, तिनीहरूले न त जीवनमा आइपर्ने कुराहरू सही रूपमा सामना गर्न सक्छन्, न त मानिसहरूको कार्यगत भूमिका सामान्य रूपमा निभाउन सक्छन्, न त सृष्टि गरिएको प्राणीको कर्तव्य, जिम्‍मेवारी वा दायित्व नै पूरा गर्न सक्छन्। त्यसकारण, तिनीहरू पनि हामीले पछिल्लो सङ्गतिमा छलफल गरेका विभिन्‍न प्रकारका नकारात्मक संवेगमा डुब्‍ने मानिसहरूजस्तै हुन्। आफ्‍नो भाग्य खोटो छ भनेर सोच्‍ने ती मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, र विभिन्‍न कुरा त्याग्‍न, आफूलाई अर्पित गर्न र परमेश्‍वरलाई पछ्याउन सक्‍ने भए पनि, तिनीहरूले परमेश्‍वरको घरमा स्वतन्त्र, मुक्त र ढुक्‍क भएर आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। किन तिनीहरूले यसो गर्न सक्दैनन्? किनभने तिनीहरूले आफूभित्र कैयौँ चरम र अस्वाभाविक विचार र दृष्टिकोणहरू बोकेर हिँड्छन्, जसले गर्दा तिनीहरूमा चरम संवेगहरू पैदा हुन्छन्। यी चरम संवेगहरूले गर्दा विभिन्‍न कुराहरू मूल्याङ्कन गर्ने तिनीहरूको तरिका, तिनीहरूको सोच्‍ने शैली, र हेर्ने दृष्टिकोण चरम, गलत र भ्रमित तर्कहरूबाट आएको हुन्छ। तिनीहरूले विभिन्‍न समस्या र मानिसहरूलाई यही चरम र गलत दृष्टिकोणबाट हेर्छन्, र यसरी तिनीहरू यही नकारात्मक संवेगको प्रभाव र असरमा रहेर जिउने, सोहीअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्छन्। अन्त्यमा, तिनीहरू जे-जसरी जिए पनि, यति थकित हुन्छन् कि तिनीहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास अनि सत्यताको खोजप्रति कुनै जाँगर बटुल्‍न सक्दैनन्। तिनीहरूले आफ्‍नो जीवन जे-जसरी जिउने निर्णय गरे पनि, सकारात्मक वा सक्रिय रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्दैनन्, र परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरे पनि, तिनीहरूले आफ्‍नो कर्तव्य आफ्‍नो सारा हृदय र प्राणले पूरा गर्नमा वा चित्तबुझ्दो तरिकाले कर्तव्य निभाउनमा कहिल्यै ध्यान दिँदैनन्, झन् तिनीहरूले सत्यता पछ्याउनु, वा सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्नु त अवश्यै धेरै परको कुरा हो। यस्तो किन हुन्छ? अन्तिम विश्‍लेषण गरेर हेर्दा, के देखिन्छ भने, तिनीहरूले सधैँ आफ्‍नो भाग्य खराब छ भन्‍ने विश्‍वास गर्ने हुनाले यस्तो हुन्छ, र यसले गर्दा तिनीहरूमा निकै ठूलो डिप्रेसनको संवेग पैदा हुन्छ। तिनीहरू पूर्णतया जोसरहित, र कुनै सकारात्मक वा आशावादी व्यवहार प्रस्तुत नगर्ने जिउँदो लासजस्तै असहाय र शक्तिहीन बन्छन्, झन् तिनीहरूमा आफ्‍नो कर्तव्य, जिम्‍मेवारी, र दायित्वमा बफादारी समर्पित गर्न चाहिने सङ्कल्‍प वा जाँगर हुनु त धेरै परको कुरा हो। बरु, तिनीहरूले विनाउद्देश्य र भ्रमित रूपमा अनि विनाचेतना समय काट्दै, लापरवाही मनोवृत्ति लिएर मन नलागीनलागी सङ्घर्ष गर्दै दिनहरू बिताउँछन्। यसरी कति समय अल्याङटल्याङ गर्दै अघि बढ्ने हो त्यो तिनीहरूलाई थाहै हुँदैन। अन्त्यमा, तिनीहरूसँग आफूलाई यसो भन्दै चेतावनी दिनेबाहेक अरू कुनै उपाय हुँदैन, “अहो, म जति सक्छु त्यति लामो समयसम्‍म अल्याङटल्याङ गर्दै अघि बढिरहनेछु! यदि एक दिन म अघि बढ्नै नसक्‍ने अवस्थामा पुगेँ, र मण्डलीले मलाई निकाल्‍न र हटाउन चाहन्छ भने, तिनीहरूले मलाई हटाउन सक्‍नेछन्। किनभने मेरो भाग्य नै खोटो छ!” देखिस् त, तिनीहरूले बोल्ने कुरा पनि कति हरेसलाग्दो छ। यो डिप्रेसनको संवेग साधारण मनस्थिति मात्रै होइन, बरू अझै महत्त्वपूर्ण कुरा त यसले मानिसहरूको विचार, हृदय, र खोजमा पनि भयानक असर पार्छ। यदि तैँले आफ्‍नो डिप्रेसनको संवेगलाई समयमै र तुरुन्तै परिवर्तन गर्न सक्दैनस् भने, त्यसले तेरो पूरै जीवनमा असर गर्ने मात्रै होइन, तेरो जीवन नष्ट गरेर तँलाई मृत्युमा समेत पुर्‍याउँछ। परमेश्‍वरमा विश्‍वास गरे पनि, तैँले सत्यता र मुक्ति पाउन सक्‍नेछैनस्, र अन्त्यमा, तँ नष्ट हुनेछस्। त्यसैले, आफ्‍नो भाग्य खराब छ भनेर विश्‍वास गर्नेहरू अहिले नै बिउँझनुपर्छ; यसरी आफ्‍नो भाग्य असल छ कि खराब छ भनेर सधैँ हेर्नु, सधैँ कुनै प्रकारको भाग्यको पछि लाग्‍नु, सधैँ आफ्‍नो भाग्यको चिन्ता गर्नु—यो काम राम्रो होइन। सधैँ आफ्‍नो भाग्यलाई अत्यन्तै गम्‍भीरतासाथ लिएमा, सानोतिनो बाधा वा निराशा सामना गर्दा, वा असफलता, वाधाव्यवधान, वा अपमान सामना गर्दा पनि, तैँले तुरुन्तै यो कुरा तेरो आफ्‍नै खराब भाग्यले गर्दा भएको हो, र यो तेरो आफ्‍नै दुर्भाग्यले गराएको हो भनेर विश्‍वास गरिहाल्छस्। त्यसैले, तैँले आफूलाई तँ खोटो भाग्यवाल होस्, तँसँग अरूको जस्तो राम्रो भाग्य छैन भनेर बारम्‍बार स्मरण गराइरहन्छस्, र तँ डिप्रेसनको संवेगले घेरिएर, बाँधिएर, अनि गिजोलिएर उम्कनै नसक्‍ने गरी आफूलाई बारम्‍बार डिप्रेसनमा डुबाइरहन्छस्। यो निकै डरलाग्दो र खतरनाक कुरा हो। डिप्रेसनको यो संवेगले तँलाई थप अहङ्कारी वा छली बनाउने नभए पनि, वा तँमा दुष्टता, वा कठोरता, वा अरू त्यस्तै भ्रष्ट स्वभाव प्रकट गराउने नभए पनि; यसले तँलाई भ्रष्ट स्वभाव प्रकट गरेर परमेश्‍वरको अवज्ञा गर्ने, वा भ्रष्ट स्वभाव प्रकट गरेर सत्यता सिद्धान्तहरू उल्‍लङ्घन गर्ने, वा बाधाव्यवधान ल्याउने, वा दुष्कर्महरू गर्ने अवस्थामा पुर्‍याउने नभए पनि, सारको हिसाबमा हेर्दा, डिप्रेसनको यो संवेग वास्तविकताप्रतिको मानिसहरूको असन्तुष्टिको सबैभन्दा गम्‍भीर प्रकटीकरण हो। सारको हिसाबमा, वास्तविकताप्रतिको असन्तुष्टिको यो प्रकटीकरण परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रतिको असन्तुष्टि पनि हो। अनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति असन्तुष्ट हुनुका परिणामहरू के हुन्छन्? ती परिणामहरू निश्‍चय नै अत्यन्तै गम्‍भीर हुन्छन् र तिनले कम्तीमा पनि तँलाई परमेश्‍वरविरुद्ध विद्रोह र अवज्ञा गर्ने तुल्याउनेछन्, र तँलाई परमेश्‍वरको वाणी र भरणपोषण स्विकार्न नसक्‍ने, र परमेश्‍वरको शिक्षा, अर्ती, ताकिता, र चेतावनीहरू बुझ्‍न नसक्‍ने र सुन्‍न अनिच्‍छुक तुल्याउनेछन्। तँ डिप्रेसनको संवेगले भरिएकोले, तैँले परमेश्‍वरको वर्तमान वाणी स्विकार्न सक्दैनस्, अनि तैँले न त परमेश्‍वरको वास्तविक काम न त पवित्र आत्माले तँलाई दिनुहुने अन्तर्दृष्टि, अगुवाइ, सहयोग, साथ र भरणपोषण नै स्विकार्ने कुनै उपाय हुनेछ। परमेश्‍वरले काम गरिरहनुभएको भए पनि, तैँले यो महसुस गर्न सक्दैनस्; परमेश्‍वर र पवित्र आत्‍माले काम गरिरहनुभएको भए पनि, तैँले यो स्विकार्न सक्दैनस्। तैँले यी सकारात्मक कुराहरू, परमेश्‍वरका यी मापदण्डहरू र यो भरणपोषण स्विकार्न सक्दैनस्, तेरो हृदय अरू केहीद्वारा नभएर डिप्रेसनको यही संवेगद्वारा भरिएको र ओगटिएको छ, र परमेश्‍वरले गर्नुहुने कुनै कुराले पनि तँलाई प्रभाव पार्दैन। अन्त्यमा, तैँले परमेश्‍वरको कामको हरेक चरण छुटाउनेछस्, उहाँका वाणीहरूको हरेक क्रम छुटाउनेछस्, अनि परमेश्‍वरको कामको हरेक क्रम र उहाँले तँलाई दिनुहुने भरणपोषणसमेत गुमाउनेछस्। जब परमेश्‍वरको काम र उहाँको कामका चरणहरू सबै पूरा हुन्छन्, तब पनि तैँले आफ्‍नो डिप्रेसनका संवेगहरू समाधान गर्न सक्‍नेछैनस्, तैँले तिनलाई त्याग्‍न सक्‍नेछैनस्, अनि तँ डिप्रेसनको संवेगद्वारा घेरिएर भरिएर रहनेछस्, र त्यसपछि त तैँले परमेश्‍वरको काम पूर्ण रूपमा छुटाएको हुनेछस्। तैँले परमेश्‍वरको कामलाई पूर्ण रूपमा छुटाएपछि, अन्तिममा तैँले मानवजातिमाथिको परमेश्‍वरको खुला न्याय र दण्डाज्ञा सामना गर्नेछस्, र त्यो दिन परमेश्‍वरले मानवजातिको अन्त्यको घोषणा गर्नुहुने समय पनि हुनेछ। त्यसपछि मात्रै तैँले महसुस गर्नेछस्, “अहो, मैले आफ्‍नो बारेमा मनन गर्नुपर्छ, मैले यी डिप्रेसनका संवेगहरू त्याग्‍नुपर्छ, अझै बढी परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, परमेश्‍वरको सहयोग र साथ खोज्‍न उहाँको अघि आउनुपर्छ, उहाँको भरणपोषण खोज्‍नुपर्छ, अनि उहाँको सजाय र दण्ड कसरी स्विकार्ने र कसरी धोइपखाली हुने त्यो खोज गर्नुपर्छ, ताकि म उहाँको सार्वभौमिकता र बन्दोबस्‍तहरूमा समर्पित हुन सकूँ।” त्यो त धेरै ढिलो भइसक्यो! अब त्यो सबै तेरो विगत भइसक्यो। अब बिउँझन अबेर भइसक्यो, तँलाई केले पर्खिरहेको छ र? तैँले आफ्‍नो छाती हिर्काउँदै बिलौना गर्नेछस् र तँ पछुतोले भरिनेछस्। डिप्रेसन एक प्रकारको संवेग मात्रै भए पनि, यसको प्रकृति र यसले ल्याउने परिणामहरू अत्यन्तै गम्‍भीर भएकाले, तैँले आफूलाई होसियारीसाथ जाँच्‍नुपर्छ र तैँले डिप्रेसनका यी संवेगहरूलाई तँलाई काबुमा राख्‍न वा तेरा विचारहरू र तैँले पछ्याउने उद्देश्यहरू नियन्त्रित गर्ने मौका दिनु हुँदैन। तैँले यसलाई समाधान गर्नुपर्छ र सत्यता खोजी गर्ने तेरो मार्गमा यसलाई ठेस लाग्‍ने ढुङ्गा वा परमेश्‍वरअघि आउनबाट तँलाई छेक्‍ने पर्खाल बन्‍न दिनु हुँदैन। यदि तँ यसलाई स्पष्ट रूपमा थाहा पाउन सक्छस्, वा तैँले आत्मजाँचबाट डिप्रेसनको यो गम्‍भीर संवेगलाई पत्ता लगाउन सक्छस् भने, तैँले आफ्‍नो बाटो तुरुन्तै परिवर्तन गर्नुपर्छ, यो संवेगलाई त्याग्‍नुपर्छ, र डिप्रेसनका यी भावनाहरूलाई पछि छोड्नुपर्छ। जिद्दीपूर्वक आफ्नै मार्गमा लागेर, ढिपी गर्दै यस्तो नसोच्, “परमेश्‍वरले जे भन्‍नुभए पनि वा जे गर्नुभए पनि, मेरो भाग्य खराब हो भन्‍ने मलाई थाहा छ। भाग्य नै खराब भएपछि, मलाई डिप्रेसन त हुने नै भयो। अब यो खराब भाग्यसित, मैले सब स्विकार्नुपर्छ र सबै आशा त्याग्‍नुपर्छ।” आफूलाई आइपर्ने सबै कुरा यस्तो नकारात्मक मनोवृत्तिले स्विकार्नु भनेको एकोहोरोसाथ जिद्दी गर्नु हो। जब तैँले तँमा डिप्रेसनका भावनाहरू छन् भन्‍ने महसुस गर्छस्, तब तैँले आफूलाई परिवर्तन गरेर यसलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्छ। यसले तँलाई पूर्ण रूपमा नियन्त्रण गरुञ्‍जेलसम्‍म पर्खेर नबस्, किनभने त्यतिञ्‍जेसम्ममा तँलाई बिउँझन ढिलो भइसकेको हुनेछ।

मलाई भन्, के भाग्यमा विश्‍वास गर्नु सत्य पछ्याउने कार्यको अभिव्यक्ति हो? (अहँ, होइन।) त्यसोभए, भाग्यलाई कसरी हेर्ने भन्‍नेबारे मानिसहरूमा हुनुपर्ने सही मनोवृत्ति के हो? (तिनीहरूले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति विश्‍वास गर्नु र समर्पित हुनुपर्छ।) ठीक भन्यौ। यदि कसैले आफ्नो भाग्य असल छ कि खराब छ भन्‍ने कुरामै सधैँ ध्यान दिइरहन्छ भने, त्यसले कुन समस्या समाधान गर्न सक्छ र? आफ्‍नो भाग्य खराब छ भनी स्विकार्नु तर यो भाग्य परमेश्‍वरले नै योजना र बन्दोबस्त गर्नुभएको हो भनी विश्‍वास गर्नु अनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक हुनु—के यो दृष्टिकोण सही छ कि गलत? (होइन, यो गलत छ।) यो कसरी गलत छ? (यो दृष्टिकोणले अझै पनि आफ्नो भाग्य असल वा खराब छ भन्‍ने त्याख्‍यालाई नै कायम राख्छ।) के यो नियम हो? यहाँ मानिसहरूले बुझ्‍नुपर्ने सत्यता के हो? (भाग्यलाई असल वा खराब हो भनेर भन्‍न सकिँदैन। परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको सबै कुरा असल हुन्छन्, र मानिसहरू परमेश्‍वरका सबै योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ।) मानिसहरूले भाग्य परमेश्‍वरले नै योजना र बन्दोबस्त गर्नुभएको कुरा हो भनेर विश्‍वास गर्नुपर्छ, र परमेश्‍वरले नै यसको योजना र बन्दोबस्त गर्नुहुने हुनाले, तिनीहरूले यसलाई असल वा खराब भनेर भन्‍न मिल्दैन। भाग्य असल छ कि खराब छ भनेर मानिसहरूको दृष्टिकोण, राय, अभिरुचि र भावनाहरूको आधारमा मूल्याङ्कन गरिएको हुन्छ, र यो मूल्याङ्कन तिनीहरूको कल्‍पना र विचारहरूमा आधारित हुन्छ, सत्यताअनुरूप हुँदैन। कतिपय मानिसहरूले भन्छन्, “मेरो भाग्य राम्रो छ, किनभने म विश्‍वासीहरूको परिवारमा जन्‍मेँ। मलाई कहिल्यै पनि बाहिरी संसारको वातावरणले प्रभाव पारेन र म कहिल्यै पनि अविश्‍वासीहरूको प्रचलनको प्रभाव, प्रलोभन, वा छलमा परिनँ। ममा पनि भ्रष्ट स्वभावहरू छन्, तर म मण्डलीमा हुर्केँ र म कहिल्यै पथभ्रष्ट भइनँ। मेरो भाग्य यति राम्रो छ!” के तिनीहरूले भनेको कुरा सही हो? (होइन।) किन होइन? (तिनीहरू विश्‍वासी परिवारमा जन्‍मिने कुरा त परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको थियो र यो परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त थियो। तिनीहरूको भाग्य असल हुनु वा खराब हुनुमा यसको कुनै सम्‍बन्ध छैन।) ठीक भन्यौ, तिमीहरूले सोह्रै आना सही कुरा गर्‍यौ। यो परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्त थियो। परमेश्‍वरले मान्छेको भाग्य मिलाउने र त्यसमाथि सार्वभौमिकता राख्‍ने एउटा तरिका यो पनि हो, र भाग्यले लिने एउटा स्वरूप यो पनि हो—मानिसहरूले यस्ता मामिला मूल्याङ्कन गर्न आफ्नो भाग्य असल वा खराब छ भन्‍ने दृष्टिकोण प्रयोग गर्नु हुँदैन। कतिपय मानिसहरू आफू इसाई परिवारमा जन्‍मेकोले आफ्‍नो भाग्य राम्रो छ भनेर भन्छन्, तिमीहरू यो कुराको खण्डन कसरी गर्छौ? तिमीहरू यसो भन्छौ होला, “तिमी इसाई परिवारमा जन्‍मेको हौ र तिमीले आफ्‍नो भाग्य राम्रो छ भन्छौ, त्यसको मतलब इसाई परिवारमा नजन्‍मने कुनै पनि व्यक्तिको भाग्य खराब हुन्छ। के तिमीले ती सबै मानिसहरूको लागि परमेश्‍वरले तय गर्नुभएको भाग्य खराब छ भनेर भनिरहेका छौ?” के तिनीहरूको कुरा यसरी खण्डन गर्नु सही हुन्छ? (हुन्छ।) तिनीहरूको कुरा यसरी खण्डन गर्नु सही हुन्छ। यसरी तिनीहरूको खण्ड गरेपछि, तिमीहरूले इसाई परिवारमा जन्‍मेका मानिसहरूको भाग्य राम्रो हुन्छ भनेर मानिसहरूले भन्‍ने कुरा निराधार छ र सत्यताअनुरूप छैन भनेर देखाइरहेको हुन्छौ। अब, के असल र खराब भाग्यसम्‍बन्धी तिमीहरूको विचार अलि बढी सही भएको छ? (हो।) मानिसहरूले भाग्यमा विश्‍वास गर्ने विषयमा सबैभन्दा सही, सबैभन्दा उचित र सबैभन्दा सत्यताअनुरूप हुने गरी कस्तो दृष्टिकोण राख्‍नुपर्छ? पहिलो, तिमीहरूले सांसारिक मानिसहरूको दृष्टिकोणमार्फत भाग्यलाई असल वा खराब भनी मूल्याङ्कन गर्न मिल्दैन। साथै, तिमीहरूले हरेक मानवको भाग्य परमेश्‍वरको हातद्वारा बन्दोबस्त गरिएको हुन्छ भनेर विश्‍वास गर्नुपर्छ। कतिपय मानिसहरूले सोध्छन्, “के परमेश्‍वरको हातद्वारा बन्दोबस्त गरिएको हुन्छ भन्‍नुको अर्थ के उहाँ आफैले बन्दोबस्त गर्नुभएको हुन्छ भन्‍ने हो?” अहँ, यसको अर्थ त्यो होइन। परमेश्‍वरले अनगिन्ती तरिका, माध्यम र प्रणालीअनुसार मानिसको भाग्य बन्दोबस्त गर्नुहुन्छ र आत्मिक क्षेत्रमा यससम्बन्धी विविन्‍न जटिल कुराहरू छन् तर त्यससबारे म यहाँ कुरा गर्नेछैनँ। यो अत्यन्तै जटिल विषय हो, तर आम रूपमा भन्दा, यो सबै बन्दोबस्त सृष्टिकर्ताले मिलाउनुभएको हुन्छ। यीमध्ये केही बन्दोबस्तहरू परमेश्‍वर स्‍वयम्‌ले विभिन्‍न प्रकारका मानिसहरूको लागि गर्नुभएको हुन्छ भने, अरू कतिपय बन्दोबस्तहरूको हकमा चाहिँ विभिन्‍न प्रकारका मानिसहरू र मानिसहरूको समूहलाई परमेश्‍वरले तय गर्नुभएका नियम, प्रशासनिक आदेशहरू, सिद्धान्त, र प्रणालीअनुसार वर्गीकरण गर्ने कार्यहरू समावेश हुन्छन्; परमेश्‍वरले तय गर्नुभएको मानिसहरूको वर्ग र तिनीहरूको भाग्य दिशाअनुसार, आत्मिक क्षेत्रमा मानिसहरूको भाग्यको बन्दोबस्त मिलाइन्छ र लागू गरिन्छ, र त्यसपछि तिनीहरूको जन्‍म हुन्छ। यो अत्यन्तै विस्तृत विषय हो, तर आम रूपमा भन्दा, परमेश्‍वरले यो सब बन्दोबस्त मिलाउनुहुन्छ र त्यसमाथि सार्वभौमिकता राख्‍नुहुन्छ। परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूका सिद्धान्त, व्यवस्था र नियमहरू समावेश हुन्छन्। यहाँ कुनै असल वा खराब भन्‍ने हुँदैन, र परमेश्‍वरको लागि यो सबै सामान्य प्राकृतिक मामला अर्थात्, कारण र प्रभाव संलग्‍न कुराहरू हुन्। जहाँसम्‍म मानिसहरूलाई भाग्यबारे कस्तो महसुस हुन्छ भन्‍ने कुरा छ, तिनीहरूसँग असल भावना र खराब भावना हुन सक्छ, अनि कुनै भाग्यमा सबै कुरा सहज रूपमा अघि बढ्न सक्छ, र कुनै भाग्य बाधाले भरिएको, कठिन भाग्य, र बेखुसीको भाग्य हुन सक्छ—तर असल वा खराब भाग्य भन्‍ने कुरै हुँदैन। अब, भाग्यप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले सृष्टिकर्ताको बन्दोबस्त पालना गर्नुपर्छ, सृष्टिकर्ताले यी कुराहरू बन्दोबस्त गर्नुपछाडि उहाँको उद्देश्य र अर्थ के छ भन्‍नेबारे सक्रियता र मेहनतसाथ खोजी गरेर सत्यताको बुझाइ हासिल गर्नुपर्छ, परमेश्‍वरले तेरो लागि मिलाउनुभएको यो जीवनमा तैँले आफ्‍नो उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्छ, सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य, जिम्‍मेवारी, र दायित्व पूरा गर्नुपर्छ, र आफ्‍नो जीवन अझै अर्थपूर्ण र मूल्यवान् बनाउनुपर्छ, र अन्तिममा तैँले यसो गरेर सृष्टिकर्तालाई तँप्रति प्रसन्‍न तुल्याउनुपर्छ र उहाँलाई तेरो स्मरण गर्ने बनाउनुपर्छ। अवश्य नै, तैँले आफ्‍नो खोज र मेहनतद्वारा मुक्ति प्राप्त गर्नु अझै राम्रो हुनेछ—यो सबैभन्दा उत्कृष्ट परिणाम हुनेछ। जे होस्, भाग्यको सन्दर्भमा, सृष्टि गरिएको मानवजातिमा हुनुपर्ने सबैभन्दा उचित मनोवृत्ति भनेको अन्धाधुन्ध मूल्याङ्कन र परिभाषा नगर्नु वा यसलाई सम्हाल्न चरम शैली नअपनाउनु हो। अनि अवश्यै मानिसहरूले आफ्‍नो भाग्यलाई प्रतिरोध, छनौट, वा परिवर्तन गर्ने प्रयास गर्नु नै हुँदैन, बरु तिनीहरूले यसलाई बुझ्‍न, र यसलाई खोजी, अन्वेषण, र पालन गर्न हृदय प्रयोग गरी यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अन्त्यमा, परमेश्‍वरले तेरो लागि तय गर्नुभएको जिउने वातावरण र तेरो जीवन यात्रामा, तैँले परमेश्‍वरले तँलाई सिकाउनुहुने आचरणको तौरतरिका खोजी गर्नुपर्छ, परमेश्‍वरले तँलाई हिँड्न लगाउनुहुने बाटो पहिल्याउनुपर्छ, र यसरी परमेश्‍वरले तेरो लागि मिलाउनुभएको भाग्य अनुभव गर्नुपर्छ, र अन्त्यमा, तँ आशिषित हुनेछस्। जब सृष्टिकर्ताले तेरो लागि मिलाउनुभएको भाग्यलाई तैँले यसरी अनुभव गर्छस्, तब तैँले शोक, दुःख, आँसु, पीडा, निराशा, र असफलता मात्रै होइन, अझै महत्त्वपूर्ण रूपमा, आनन्द, शान्ति, र सान्त्वना, साथै परमेश्‍वरले तँलाई प्रदान गर्नुहुने सत्यताको अन्तर्दृष्टि र ज्योति पनि अनुभव गर्नेछस्। अनि यति मात्र होइन, जब तँ जीवनको बाटोमा अलमलिएको हुन्छस्, जब तैँले निराशा र असफलता सामना गर्छस्, र जब तैँले छनौट गर्नुपर्ने हुन्छ, तब तैँले सृष्टिकर्ताको अगुवाइ अनुभव गर्नेछस्, र अन्त्यमा तैँले सबैभन्दा अर्थपूर्ण जीवन कसरी जिउने त्यसको बुझाइ, अनुभव र ज्ञान प्राप्त गर्नेछस्। त्यसपछि तँ जीवनमा फेरि कहिल्यै हराउनेछैनस्, तँ फेरि कहिल्यै चिन्ताको अटुट स्थितिमा रहनेछैनस्, अनि अवश्यै, तैँले फेरि कहिल्यै खोटो भाग्यबारे गुनासो गर्नेछैनस्, तँ आफ्‍नो भाग्य खोटो छ भनेरर डिप्रेसनको भावनामा डुब्ने त झन् कुरै हुँदैन। यदि तँसँग यस्तो मनोवृत्ति छ र सृष्टिकर्ताले तेरो लागि तय गर्नुभएको भाग्य सामना गर्न तैँले यो विधि प्रयोग गर्छस् भने, तेरो मानवता अझै सामान्य हुने मात्र होइन, अनि तँमा सामान्य मानवता हुने, र तेरो सोच, दृष्टिकोण र विभिन्‍न कुराहरू हेर्ने तेरो सिद्धान्त सामान्य मानवताको हुने मात्रै होइन, तैँले जीवनको अर्थबारे अविश्‍वासीहरूसँग कहिल्यै नहुने दृष्टिकोण र बुझाइ पनि अवश्यै प्राप्त गर्नेछस्। अविश्‍वासीहरूले सधैँ यसो भनिरहेका हुन्छन्, “हामी कहाँबाट आउँछौ? हामी कहाँ जान्छौँ? हामी किन जिउँदो छौँ?” सधैँ कसै न कसैले यी प्रश्‍नहरू सोधिरहेका हुन्छन्, अनि अन्त्यमा तिनीहरूले कस्तो उत्तर निकाल्छन्? तिनीहरूलाई उत्तर होइन, प्रश्‍नचिन्‍हहरू मात्रै हात लाग्छन्। किन तिनीहरूले यी प्रश्‍नहरूको उत्तर भेट्टाउन सक्दैनन्? कतिपय बुद्धिमान्‌ मानिसहरूले भाग्यमा विश्‍वास गर्छन्, तैपनि तिनीहरूलाई भाग्यको विषयलाई कसरी लिने, र आफ्नो भाग्यमा पैदा हुने अनेक कठिनाइ, निराशा, असफलता र दुःखलाई कसरी झेल्‍ने त्यो थाहै हुँदैन; न त तिनीहरूलाई भाग्यले आफ्नो जीवनमा ल्याउने आनन्द र खुसीका घटनाहरूलाई कसरी झेल्‍ने भन्‍ने नै थाहा हुन्छ—ती कुराहरू कसरी सम्‍हाल्‍ने त्यो तिनीहरूलाई थाहै हुँदैन। एक क्षण, तिनीहरू आफ्‍नो भाग्य असल छ भन्छन्, र अर्को क्षण तिनीहरू आफ्‍नो भाग्य खराब छ भन्छन्; एक क्षण तिनीहरू आफ्‍नो जीवन खुसी छ भन्छन् र अर्को क्षण तिनीहरू अभागी जीवन पाइयो भन्छन्—तिनीहरू यी दुवै कुरा एउटै मुखले बोलिरहेका हुन्छन्। तिनीहरू खुसी हुँदा एउटा कुरा भन्छन् र दुःखी हुँदा अर्को कुरा भन्छन्; सबै कुरा सहज रूपमा अघि बढ्दा एउटा कुरा भन्छन्, र सहज रूपमा अघि नबढ्दा, अर्को कुरा भन्छन्; आफू अभागी छु भनेर पनि तिनीहरूले नै भन्छन्, र आफ्‍नो भाग्य राम्रो छ भनेर पनि तिनीहरूले नै भन्छन्। स्पष्टतः तिनीहरू कुनै स्पष्टता वा बुझाइमा जिइरहेका हुँदैनन्। तिनीहरू सधैँ अँध्यारोमा छामछाम-छुमछुम गरिरहेका हुन्छन्, र उम्कने कुनै बाटोबिना अन्योलतामा जिइरहेका हुन्छन्। त्यसकारण, मानिसहरूसित भाग्यको विषयलाई कसरी लिनुपर्छ, तिनीहरूले के गर्नुपर्छ, र जीवनको यो मुख्य कुरालाई कसरी सामना गर्नुपर्छ भन्‍ने विषयमा स्पष्ट बुझाइ र अघि बढ्ने स्पष्ट बाटो हुनुपर्छ। यो समस्या हल भएपछि, भाग्यप्रतिको मानिसहरूको मनोवृत्ति र दृष्टिकोण तुलनात्मक रूपमा अलिक सही र सत्यता सिद्धान्तहरूअनुरूप हुनेछ, र त्यसपछि यस विषयमा तिनीहरू कहिल्यै पनि चरमता स्थितिका बन्‍नेछैनन्।

के मैले भाग्यबारे भर्खरै सङ्गति गरेका यी कुराहरू सत्यताअनुरूप छन्? (छन्।) के तिमीहरूलाई थाहा छ, यी कुराहरूका कुन-कुन विशेषताहरू सत्यताअनुरूप छन्? (जब मानिसहरूले यी कुराहरू सुन्छन्, तिनीहरूलाई अझै स्पष्ट र अझै सहज अनुभूति हुन्छ।) (ती व्यावहारिक छन् र तिनमा अभ्यासको मार्ग छन्।) ठीक भन्यौ, ती व्यावहारिक छन्; यसलाई अझै सही रूपमा बताउने तरिका यही हो। यसलाई व्याख्या गर्ने योभन्दा सही तरिकाहरू पनि छन्। यसपछि को बोल्‍नेछ? (यी कुराहरूले मानिसहरूको वर्तमान समस्याहरू समाधान गर्न सक्छन्।) यो यी कुराहरूको व्यावहारिकताको प्रभाव हो। यी कुराहरू व्यावहारिक भएका हुनाले यिनले समस्याहरू समाधान गर्न सक्छन्। मानिसहरूले भाग्यमा विश्‍वास गर्छन्, तर तिनीहरूको मन सधैँ असल भाग्य र खराब भाग्यको सोचले गाँजिएको हुन्छ, त्यसैले मलाई भन, तिनीहरू हृदयको गहिराइभित्र मुक्त र स्वतन्त्र हुन्छन् कि बन्धनमा हुन्छन्? (तिनीहरू बन्धनमा हुन्छन्।) यदि तँ सत्यता बुझ्दैनस् भने, तँ निरन्तर यो विचारले बाँधिएको हुनेछस्। तैँले सत्यता बुझेपछि, यो व्यावहारिक छ र यो अघि बढ्ने बाटो हो भन्‍ने महसुस गर्नेबाहेक, तँलाई अरू के महसुस हुनेछ? (मुक्त भएको।) ठीक भन्यौ, तिमीहरूले स्वतन्त्र र मुक्त भएको महसुस गर्नेछौ। जब तँसँग अभ्यासको मार्ग हुन्छ र जब तँ बन्धनमा पर्न छोडेको हुन्छस्, तब के तेरो आत्मा स्वतन्त्र र मुक्त भएको हुँदैन र? ती विकृत र हास्यास्पद दृष्टिकोणहरूले तेरो विचार वा तेरो हातखुट्टा बाँध्‍न सक्‍नेछैनन्; तँसँग पछ्याउने मार्ग हुनेछ, र तँ अबउप्रान्त ती दृष्टिकोणहरूद्वारा नियन्त्रित हुन छोड्नेछस्। मान्छेको भाग्यबारे परमेश्‍वरले गर्नुभएको सङ्गति एकपल्ट सुन्‍नेबित्तिकै, तैँले मुक्त र स्वतन्त्र महसुस गर्नेछस्, र यसो भन्‍नेछस्, “अहो, कुरा त यस्तो पो रहेछ! हैट, भाग्यसम्‍बन्धी मेरो बुझाइ पहिले कति विकृत र चरम रहेछ! अब त मैले बुझेँ, र अब फेरि म भाग्य असल वा खराब हुन्छ भन्‍ने गलत विचारद्वारा अलमलिनेछैनँ। अब म यसद्वारा समस्यामा पर्नेछैनँ। मैले यो कुरा नबुझेको भए, म सधैँ एक क्षण मेरो भाग्य असल छ भनेर सोचिरहेको हुन्थेँ र अर्को क्षण खराब छ भनेर सोचिरहेको हुन्थेँ, अनि मेरो भाग्य असल हो कि खराब हो भनेर आफैलाई सोधिरहेको हुन्थेँ! म यसबारे निरन्तर चिन्ता गरिरहेको हुन्थेँ।” तैँले यो सत्यता बुझेपछि, तँसँग पछ्याउने बाटो हुनेछ, यस विषयमा तेरो विचार सही हुनेछ, र तँसँग अभ्यासको सही मार्ग हुनेछ—र यसको अर्थ तँ मुक्त र स्वतन्त्र भएको छस् भन्‍ने हुन्छ। त्यसकारण, कसैका वचनहरू सत्यता सिद्धान्तहरूअनुसार छन् कि छैनन्, र ती सत्यता हुन् कि होइनन् भनेर पत्ता लगाउनको लागि, तैँले यी वचनहरू व्यावहारिक छन् कि छैनन् भनेर ध्यान दिएर सुन्‍नुपर्छ; साथै, तैँले यी वचनहरू सुनेपछि तेरा कठिनाइ र समस्याहरू समाधान भए कि भएनन् भनेर अवलोकन गर्नुपर्छ—यदि ती समस्या समाधान भएका छन् भने, तैँले मुक्त र स्वतन्त्र महसुस गर्नेछस्, र तँलाई तेरो काँधबाट ठूलो भारी हटाइएजस्तो लाग्‍नेछ। त्यसकारण, कुनै सत्यता सिद्धान्त बुझेको हरेकपटक नै तैँले सम्‍बन्धित समस्याहरू सुल्झाउन र केही सत्यता अभ्यास गर्न सक्‍नेछस्, र यसले तँलाई मुक्त र स्वतन्त्र महसुस गराउनेछ। के परिणाम यही हुँदैन र? (हुन्छ।) के अब तिमीहरूले सत्यताले के प्रभाव पार्छ भन्‍ने बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, सत्यताले के प्रभाव पार्न सक्छ? (यसले मानिसहरूको आत्मालाई मुक्त र स्वतन्त्र महसुस गराउँछ।) के सत्यताले यो प्रभाव मात्रै पार्छ? के यस्तो एउटा महसुस मात्रै गराउँछ? (मुख्य रूपमा, यसले विभिन्‍न कुराहरूबारे मानिसहरूमा रहेको गलत र चरम दृष्टिकोणहरू समाधान गर्छ। मानिसहरूले शुद्ध तरिकाले र सत्यताअनुसार विभिन्‍न कुरालाई हेर्न थालेपछि, तिनीहरूले आत्माभित्र मुक्त र स्वतन्त्र महसुस गर्नेछन्, र तिनीहरू शैतानबाट आउने नकारात्मक कुराहरूको बन्धन वा वाधामा पर्न छोड्छन्।) आफ्‍नो आत्मामा स्वतन्त्र र मुक्त महसुस गर्नेबाहेक, अत्यन्तै महत्त्वपूर्णकुरा के हो भने, यसले तँलाई निश्‍चित सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम बनाउँछ, जसले गर्दा तँ गलत र विकृत विचार र दृष्टिकोणहरूको बन्धन वा बहकाउमा पर्न छोड्छस्। ती कुराहरूको स्थान सत्यता अभ्यास गर्ने सिद्धान्तहरूले लिन्छन्, र त्यसपछि तँ त्यो सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्। आफ्‍नो भाग्य खराब छ भन्ठानेर डिप्रेसन महसुस गर्ने मान्छेका प्रकटीकरणहरूसम्‍बन्धी मेरो सङ्गति म यहीँ समाप्त गर्छु।

कतिपय मानिसहरू डिप्रेसनमा पर्ने अर्को कारण के हो भने, तिनीहरूले आफ्‍नो भाग्य त्यति खराब छ भनेर नसोचे पनि, तिनीहरूलाई आफू सधैँ अभागी भएको र आफ्नो जीवनमा असल कुरा कहिल्यै पनि हुने नगरेको महसुस हुन्छ, र त्यो अविश्‍वासीहरूले “भाग्य सधैँ मबाट छेऊ लाग्छ” भनेजस्तै हो। तिनीहरूलाई आफ्‍नो परिस्‍थिति त्यति खराब छ भन्‍ने नलागे पनि, र तिनीहरू अल्गो र आकर्षक, शिक्षित र प्रतिभावान्, अनि सक्षम कामदार भए पनि, तिनीहरू आफूलाई भाग्यले किन साथ दिँदैन भनेर मनमनै प्रश्‍न गरिरहन्छन्। यो कुराले तिनीहरूलाई सधैँ असन्तुष्ट तुल्याउँछ, र तिनीहरू आफूलाई सधैँ अभागी ठान्छन्। कलेजको प्रवेश परीक्षा दिने वर्ष सुरु भएदेखि नै तिनीहरूको हृदय कलेजमा प्रवेश पाउने आशाले भरिन्छ, तर जब जाँच दिने बेला आउँछ, तिनीहरूलाई रुघा लाग्छ र ज्वरो आउँछ। यसले तिनीहरूको जाँचमा असर पार्छ, र दुई-तीन अङ्गले गर्दा तिनीहरूले कलेज प्रवेश गर्न पाउँदैनन्। अनि, तिनीहरूले मनमनै सोच्छन्: “म कसरी यति अभागी भएँ? म आफ्‍नो पढाइमा राम्रो छु र म प्राय धेरै मेहनत गर्छु। किन मलाई कलेज प्रवेश परीक्षाको दिनमै ज्वरो आउनुपरेको? हे प्रभु! यो मेरो जीवनको पहिलो प्रमुख घटना थियो तर मलाई नराम्रो धक्‍का लाग्यो। मैले अब के गर्ने हो? आशा छ, भविष्यमा मेरो भाग्य राम्रो हुनेछ।” तर पछि तिनीहरूले आफ्नो जीवनमा अनेक किसिमका कठिनाइ र समस्याहरू सामना गर्छन्। उदाहरणको लागि, कुनै व्यवसायमा नयाँ कर्मचारी नियुक्ति गरिँदै गरिएको हुन्छ तर कामको लागि आवेदन गर्नै लाग्दा तिनीहरूले सबै खाली पद भरियो र कम्पनीलाई थप कुनै व्यक्ति चाहिँदैन भनेर थाहा पाउँछन्। अनि, तिनीहरूले सोच्छन्, “कसरी मेरो भाग्य यति खराब भएको? जबजब कुनै राम्रो कुरा आउन लागेको हुन्छ, तबतब किन यसले मलाई हेरेको हेर्‍यै पार्छ? कस्तो खोटो भाग्य!” पछि अर्को ठाउँमा तिनीहरूले काम सुरु गरेको पहिलो दिनमै अरू मानिसहरू व्यवस्थापक, सहायक व्यवस्थापक, र विभाग प्रमुखमा बढुवा हुन्छन्। तिनीहरूले जति धेरै परिश्रम गरे पनि, कुनै सीप लाग्दैन; बढुवा पाउनको लागि तिनीहरूले अर्को अवसर पर्खनुपर्छ। तिनीहरूले राम्रो काम गर्ने र तिनीहरूभन्दा माथिकाहरूले तिनीहरूलाई निकै राम्रो मान्‍ने हुँदा, अर्कोपटक तिनीहरूले बढुवा पाउँछु भन्‍ने सोचेका हुन्छन्, तर अन्त्यमा ती माथिकाहरूले अर्कै ठाउँबाट व्यवस्थापक ल्याउँछन्, र तिनीहरूले फेरि पनि मौका गुमाउँछन्। तिनीहरूले मनमनै सोच्छन्, “हे भगवान! मेरो भाग्य साँच्‍चै खराब छ कि क्या हो। मैले कहिल्यै पनि राम्रो भाग्य अनुभूति गर्न पाएको छैनँ—सौभाग्यले मेरो निधार कहिल्यै छुँदैन।” पछि, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, र तिनीहरूलाई लेख्‍न मनपर्ने हुनाले, तिनीहरूले लेख-रचनाको काम गर्न पाउँछु भन्‍ने आशा गरेका हुन्छन्, तर अन्त्यमा तिनीहरूले जाँचमा त्यति राम्रो गर्दैनन् र तिनीहरू असफल हुन्छन्। अनि, तिनीहरूले सोच्छन्, “सामान्यतया म निकै राम्रो लेख्छु, तैपनि किन मैले जाँचमा राम्रो गर्न सकिनँ? परमेश्‍वरले पनि मलाई अन्तर्दृष्टि दिने वा डोर्‍याउने गर्नुभएन! लेख-रचनाको कर्तव्य निभाउँदा, मैले परमेश्‍वरका अझ धेरै वचनहरू खान-पिउन र अझै बढी सत्यता बुझ्‍न पाउँछु भन्‍ने सोचेको थिएँ। मेरो कर्मै फुटेको छ, म अभागी भइरहन्छु। मेरो योजना त राम्रै थियो, तर पूरा भएन।” अन्त्यमा तिनीहरूले अरू धेरै कर्तव्यहरूबाट एउटा छान्दै यसो भन्छन्, “म सुसमाचार टोलीमा रहेर सुसमाचार प्रचार गर्छु।” सुसमाचार टोलीमा काम गर्दा सुरुमै राम्रो हुन्छ र तिनीहरूलाई यसपटक आफ्‍नो स्थान भेटेजस्तो, र आफ्‍नो सीप राम्रोसित प्रयोग गर्न सक्छुजस्तो महसुस हुन्छ। तिनीहरू आफू बाठो छु, र काममा सिपालु छु भन्‍ने सोच्छन्, र व्यावहारिक काम गर्न इच्छुक बन्छन्। तिनीहरू मेहनत गरेर केही परिणामहरू हासिल गर्न सक्षम हुन्छन्, र सुपरभाइजर बन्छन्। तर तिनीहरूले कुनै गल्ती गर्छन्, र तिनीहरूको अगुवाले त्यो थाहा पाउँछ। तिनीहरूले सिद्धान्तहरूविपरीत काम गरेका छन्, र यसले मण्डलीको काममा असर पारेको छ भनेर तिनीहरूलाई बताइन्छ। तिनीहरूको टोलीलाई निराकरण र काटछाँट गरिसकेपछि, कसैले तिनीहरूलाई यसो भन्छ, “तपाईं आउनुभन्दा पहिले हामीले राम्ररी काम गरिरहेका थियौँ। त्यसपछि तपाईं आउनुभयो र हामी पहिलोपटक निराकरणमा पर्‍यौँ।” तिनीहरूले सोच्छन्, “के यो फेरि पनि मेरो खोटो भाग्यले भएको होइन र?” केही समयपछि, सुसमाचारको काममा आएको परिवर्तनको कारण मानिसहरूको जिम्मेवारी हेरफेर गरिन्छ र तिनीहरू सुपरभाइजरबाट टोलीको सामान्य सदस्य बन्छन्, र तिनीहरूलाई सुसमाचार प्रचार गर्ने कामको लागि नयाँ ठाउँमा पठाइन्छ। अनि, तिनीहरूले यस्तो सोच्छन्, “हैट, खत्तम भो, म त माथि जानुको सट्टा तल पो झर्दै छु। म आइपुग्‍नुपहिले कसैलाई पनि स्थानान्तर गरिएको थिएन, अनि म आएपछिचाहिँ अहिले किन यति ठूलो स्थानान्तर भइरहेको छ? अहिले मलाई यहाँ पठाइएपछि, मैले बढुवा पाउने कुनै आशा छैन।” त्यो नयाँ ठाउँमा थोरै मण्डली र थोरै मण्डली सदस्यहरू हुन्छन्। तिनीहरूलाई काम सुरु गर्न कठिनाइ हुन्छ र तिनीहरूसँग कुनै अनुभव हुँदैन। तिनीहरूले केही समयसम्‍म कुरा बुझ्दै काम गर्नुपर्ने हुन्छ, र भाषासम्‍बन्धी कठिनाइ पनि हुन्छ, त्यसकारण तिनीहरूले के नै गर्न सक्छन् र? तिनीहरू हरेस खाएर त्यहाँबाट भाग्‍न चाहन्छन्, तर तिनीहरूलाई त्यसो गर्ने आँट आउँदैन; तिनीहरू आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छन्, तर त्यो कठिन र थकाइलाग्दो हुन्छ, र तिनीहरूले सोच्छन्, “ओहो, यो त म अभागी भएर भएको हो! मैले कसरी मेरो भाग्य परिवर्तन गर्न सक्छु र?” तिनीहरू जहाँ गए पनि ठक्‍कर खान्छन्, र तिनीहरूले सधैँ आफ्नो भाग्य खराब भएको, आफ्नो हरेक पाइलालाई केही न केही कुराले रोकिरहेको, र आफूले चाल्‍ने हरेक कदम कठिन रहेको महसुस गर्छन्। तिनीहरूलाई केही परिणामहरू हासिल गर्न र सानो आशा देख्‍न धेरै मेहनत लाग्यो, तर त्यसपछि तिनीहरूको परिस्‍थिति परिवर्तन भयो र त्यो आशा हरायो, र तिनीहरूसँग फेरि सुरु गर्नेबाहेक अर्को कुनै विकल्‍प रहेन। अनि, तिनीहरू झन्झन् निराश बन्छन्, र सोच्छन्, “केही परिणाम हासिल गर्न र मानिसहरूको अनुमोदन प्राप्त गर्न किन मलाई यति गाह्रो भएको? मानिसहरूको समूहमा दह्रिलो स्थान बनाउन किन मलाई यति अप्ठ्यारो परेको? मानिसहरूले अनुमोदन गर्ने र मन पराउने व्यक्ति बन्‍न किन यति गाह्रो भएको? सबै कुरा राम्रो र सहजसित अघि बढ्न किन यति अप्ठ्यारो परेको? किन मेरो जीवनमा यति धेरै गलत कुराहरू हुन्छन्? किन यति धेरै अवरोधहरू आउँछन्? किन आफूले गर्ने सबै कुरामा म सधैँ ठक्‍कर खान्छु?” विशेष गरी, केही मानिसहरूले जहाँ गए पनि कहिल्यै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्दैनन्, र तिनीहरू जहिल्यै बर्खास्त हुन्छन् र निकालिन्छन्। तिनीहरू अत्यन्तै डिप्रेसनमा पर्छन् र आफूलाई अभागी ठान्दै यस्तो भन्छन्, “म त कसैको नजरमा नपर्ने द्रुत घोडाजस्तै हुँ। भनिन्छ, ‘द्रुत घोडाहरू धेरै हुन्छन्, तर थोरैले मात्रै तिनीहरूलाई चिन्‍न सक्छन्।’ म कसैले पत्तो नपाएको द्रुत घोडा हुँ। अन्ततः म बस एक अभागी न हुँ, म जहाँ गए पनि मैले कुनै क्षेत्रमा पनि केही हासिल गर्न वा कुनै राम्रो गर्न सक्दिनँ। मैले कहिल्यै पनि आफ्‍नो सबल पक्ष प्रयोग गर्न पाउँदिनँ, वा ती कुराहरू देखाउन, वा आफूले चाहेको कुरा प्राप्त गर्न सक्दिनँ। अहो, म साह्रै अभागी रहेछु! यो के भइरहेको हो?” तिनीहरूलाई सधैँ तिनीहरूको भाग्य खराब छ भन्‍ने लाग्छ र तिनीहरू चिन्तामा डुबेरै हरेक दिन बिताउँछन्, र सोच्छन्, “हत्तेरी! म अर्को कर्तव्यमा फेरि स्थानान्तर हुन नपरोस्,” वा “हत्तेरी! केही खराब कुरा नहोस्,” वा “हत्तेरी! केही कुरा परिवर्तन नहोस्,” वा “हत्तेरी! कुनै ठूलो समस्या नहोस्।” तिनीहरू यसरी डिप्रेसनमा पर्ने मात्रै होइन, तिनीहरूलाई अत्यन्तै असहज, बेचैन, झिजो, र चिन्ता पनि महसुस हुन्छ। तिनीहरूले सधैँ आफ्‍नो भाग्य खराब छ भनी सोच्छन्, त्यसकारण तिनीहरू अत्यन्तै डिप्रेसनमा पर्छन्, र त्यो डिप्रेसन तिनीहरूले अभागी महसुस गर्दाको व्यक्तिगत भावनाबाट पैदा भएको हुन्छ। तिनीहरूले सधैँ अभागी महसुस गर्छन्, तिनीहरूले कहिल्यै बढुवा प्राप्त गर्दैनन्, तिनीहरू कहिल्यै पनि टोली अगुवा वा सुपरभाइजर बन्‍न सक्दैनन्, र तिनीहरूले भीडबाट माथि उठ्ने मौका पनि कहिल्यै पाउँदैनन्। यस्ता राम्रा कुराहरू तिनीहरूको जीवनमा कहिल्यै आउँदैनन्, र किन यस्तो भयो भनेर तिनीहरूले पत्ता लगाउनै सक्दैनन्। तिनीहरूले सोच्छन्, “म कुनै पनि कुरामा कमी छैन, तैपनि किन म जहाँ गए पनि कसैले मलाई मन पराउँदैनन्? मैले कसैलाई रिस उठाएको वा कसैलाई दुःख दिन चाहेको छैनँ, र पनि किन म यति अभागी भएँ?” तिनीहरू सधैँ यस्तै भावनामा डुबिरहने हुनाले, डिप्रेसनको यो संवेगले तिनीहरूलाई निरन्तर यो कुरा सम्झाइरहन्छ, र भनिरहन्छ, “तँ अभागी छस्, त्यसकारण आफैप्रति अति सन्तुष्ट नबन्, धाक लगाउँदै नहिँड्, र सधैँ माथि उठ्ने चाहना नगर्। तँ अभागी छस्, त्यसकारण अगुवा बन्‍नेबारे विचारसमेत नगर्। तँ अभागी छस्, त्यसकारण कुनै दिन तँलाई खुलासा र बर्खास्त गरिन सक्छ वा कसैले तेरो पिठ्यूँपछाडि तेरो बारेमा रिपोर्ट गरेर तँलाई बरबाद गर्न निहुँ खोज्‍न सक्छ, वा तैँले सधैँ नेतृत्व गरिरहेको बेला गल्ती गरेर तँलाई निराकरण गरिन सक्छ, त्यसैले आफ्‍नो कर्तव्य पूरा गर्दा तँ अझ धेरै होसियार हुनुपर्छ र तैँले कति कुराहरू लुकाउनुपर्छा। यदि तँ अगुवा नै बनिस भने पनि, आफू खुकुरीको धारमा हिँडिरहेको छु जस्तै गरी, तँ सधैँ होसियार र सतर्क रहनुपर्छ। तँ अहङ्कारी नबन्, तैँले नम्र बन्‍नुपर्छ।” यो नकरात्मक संवेगले तिनीहरूलाई सधैँ नम्र बन्‍न, सधैँ लुरुक्‍क पर्न र इज्‍जतसाथ कहिल्यै व्यवहार नगर्न सम्झाइरहन्छ। आफ्नो भाग्य खराब छ भन्‍ने विचार, सोच, दृष्टिकोण, वा चेतनाले तिनीहरूलाई सधैँ सकारात्मक वा सक्रिय नबन्‍न, आफ्‍नो कुरामा जोड नदिन, र बढी बाठो नबन्‍न स्मरण गराइरहन्छ। अनि, यो पनि स्मरण गराइरहन्छ कि, तिनीहरू बरु अरूको अगाडि जिउने आँट नगरी डिप्रेसनमै रहिरहनुपर्छ। सबैजना एउटै घरमा भए पनि, तिनीहरूले बस्‍नको लागि अलिक ओझेलको ठाउँ खोज्‍नुपर्छ, ताकि तिनीहरूलाई अरूले झट्टै देखिनहालून्। तिनीहरू अत्यन्तै अहङ्कारी देखिनु पनि हुँदैन, किनभने तिनीहरूले कुनै अहङ्कार देखाउनेबित्तिकै, तिनीहरूको खराब भाग्यले तिनीहरूलाई पकडमा लिइहाल्छ। डिप्रेसनको संवेगले यसरी तिनीहरूलाई निरन्तर घेरिरहने र तिनीहरूको अन्‍तस्‍करणमा तिनीहरूलाई यी कुराहरूबारे सधैँ चेतावनी दिइरहने हुनाले, तिनीहरू आफूले गर्ने हरेक कुरामा डरपोक र सतर्क रहन्छन्। तिनीहरूलाई हृदयमा सधैँ असहज महसुस हुन्छ, तिनीहरूले कहिल्यै आफ्‍नो स्थान भेट्टाउन सक्दैनन्, र तिनीहरूले आफ्‍नो जिम्‍मेवारी र दायित्व पूरा गर्ने कार्यमा पनि कहिल्यै आफ्‍नो सारा हृदय, मन, र सामर्थ्य लगाउन सक्दैनन्। यस्तो लाग्छ, मानौँ तिनीहरू कुनै कुराविरुद्ध सतर्क हुँदै छन् र कुनै घटना घटित हुने प्रतीक्षा गर्दै छन्। तिनीहरू खराब भाग्य प्रकट भइदेला, र खराब भाग्यले आफ्नो जीवनमा खराब कुराहरू र लाजमर्दा परिस्थितिहरू ल्याउला भनेर सतर्क हुन्छन्। त्यसकारण, डिप्रेसनको संवेगले तिनीहरूको अन्‍तस्‍करणमा संघर्ष गराउनेबाहेक, मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तिनीहरूको तरिका र विधिहरूलाई पनि नियन्त्रण गरेको हुन्छ। तिनीहरूले आफ्‍नो व्यवहार मापन गर्न, अनि मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने आफ्नो तरिका सही छ, छैन भनेर मापन गर्न असल भाग्य र खराब भाग्य प्रयोग गर्छन्, र यही कारणले गर्दा तिनीहरू बारम्‍बार डिप्रेसनको यो संवेगमा डुब्छन् र आफूलाई मुक्त गर्न सक्दैनन्, र यही कारणले नै तिनीहरूले यी तथाकथित “अभागी” कुराहरू सामना गर्न वा आफ्‍नो भयानक भाग्य भनी तिनीहरूले बताउने कुराहरू सम्‍हाल्‍न र समाधान गर्न सही सोच र दृष्टिकोण प्रयोग गर्न सक्दैनन्। यस्तो घातक चक्रमा, तिनीहरू निरन्तर डिप्रेसनको यो संवेगको नियन्त्रण र प्रभावमा परिरहन्छन्। धेरै प्रयास गरेपछि, तिनीहरूले आफ्‍नो हृदय खोलेर आफ्‍नो स्थिति वा विचारहरूबारे अरूलाई सङ्गति दिन सक्छन्, तर त्यसपछि, भेलाहरूमा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले सङ्गतिमा बोलेका शब्‍दहरूले जानाजान वा अन्जानमा तिनीहरूको स्थिति र तिनीहरूको समस्याको जड छुन पुग्छन्, जसले गर्दा तिनीहरूलाई आफ्‍नो अभिमान र इज्‍जतमा चोट पुगेको महसुस हुन्छ। तिनीहरूले अझै पनि यसलाई आफ्नो खराब भाग्यको प्रकटीकरण हो भन्‍ने विश्‍वास गर्छन्, र तिनीहरूले यस्तो सोच्छन्, “हेर त? मलाई हृदयमा भएको कुरा बताउनै यति गाह्रो हुन्छ, र मैले बताउनेबित्तिकै, कसैले यसलाई पक्रेर मलाई बरबाद गर्ने प्रयास गरिहाल्छ। म कस्तो अभागी रहेछु!” तिनीहरूले आफ्‍नो खराब भाग्यले गर्दा यस्तो भएको हो र व्यक्ति अभागी भएपछि सबै कुरा उसको विरुद्धमा हुन्छ भन्‍ने विश्‍वास गर्छन्।

आफूलाई सधैँ अभागी ठान्‍ने मानिसहरूको समस्या के हो? तिनीहरूले आफ्‍नो व्यवहार सही छ कि गलत छ भनेर मापन गर्न, र तिनीहरूले लिनुपर्ने मार्ग, तिनीहरूले अनुभव गर्नुपर्ने कुराहरू, र तिनीहरूले सामना गर्ने कुनै पनि समस्याहरू तौलनको लागि भाग्यको मापदण्ड प्रयोग गर्छन्। यो सही हो कि गलत हो? (गलत हो।) तिनीहरूले खराब कुराहरूलाई अभागी भन्‍ने शब्दले र असल कुराहरूलाई भाग्यमानी वा फाइदाजनक भन्‍ने शब्दले व्यख्या गर्छन्। यो दृष्टिकोण सही छ कि गलत छ? (गलत छ।) यस्तो दृष्टिकोणले मापन गर्नु गलत हुन्छ। विभिन्‍न कुराहरू मापन गर्ने यो विधि र मापदण्ड चरम र गलत छ। यस्तो तरिकाले मानिसहरूलाई प्राय डिप्रेसनमा डुबाउँछ, र प्राय असहज महसुस गराउँछ, र यसले तिनीहरूलाई तिनीहरूले भनेजस्तो कहिल्यै हुँदैन, र तिनीहरूले चाहेको कहिल्यै मिल्दैन भन्‍ने महसुस गराउँछ, जसले गर्दा तिनीहरूलाई निरन्तर चिन्ता, झन्झट, र असहज महसुस हुन्छ। जब यी नकरात्मक संवेगहरूलाई समाधान नगरी त्यतिकै छोडिन्छ, तब यी मानिसहरू निरन्तर डिप्रेसनमा डुब्छन् र आफूलाई परमेश्‍वरले निगाह गर्नुहुन्‍न भन्‍ने महसुस गर्छन्। तिनीहरू परमेश्‍वरले अरूलाई अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्‍न, र परमेश्‍वरले अरूको हेरचाह गर्नुहुन्छ तर आफूलाई गर्नुहुन्‍न भन्‍ने सोच्छन्। “मलाई किन सधैँ असहजता र चिन्ता हुन्छ? किन मेरो जीवनमा सधैँ खराब कुराहरू आइपर्छन्? किन असल कुराहरू मेरो बाटोमा कहिल्यै आउँदैनन्? एकपटक मात्रै भए पनि त आए हुन्थ्यो!” जब तैँले यस्तो गलत सोच र दृष्टिकोणले विभिन्‍न कुराहरू हेर्छस्, तब तँ असल र खराब भाग्यको फन्दामा पर्नेछस्। जब तँ निरन्तर यो पासोमा परिरहन्छस्, तँलाई निरन्तर डिप्रेसन महसुस हुन्छ। यो डिप्रेसनमाझ, तँ तेरो जीवनमा आइपर्ने कुराहरू भाग्यशाली हुन् कि दुर्भाग्यशाली हुन् भन्‍ने कुराप्रति अत्यन्तै संवेदनशील हुन्छस्। जब यस्तो हुन्छ, यसले तँ असल भाग्य र खराब भाग्यसम्‍बन्धी यो दृष्टिकोण र विचारद्वारा नियन्त्रित भएको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ यस्तो दृष्टिकोणद्वारा नियन्त्रित भएको हुन्छस्, तब मानिसहरू, घटना, र परिस्थितिहरू हेर्ने तेरो दृष्टिकोण र मनोवृत्ति सामान्य मानवताको विवेक र समझको दायराभित्र रहेको हुँदैन, बरु चरम अवस्थामा पुगेको हुन्छ। जब तँ यो चरम अवस्थामा पुग्छस्, तँ आफ्‍नो डिप्रेसनबाट मुक्त हुन सक्दैनस्। तँ बारम्‍बार डिप्रेसनमा परिरहन्छस्, र तैँले सामान्यतया डिप्रेसन महसुस नगरे पनि, कुनै गलत कुरा आइपर्ने बित्तिकै, र तँलाई कुनै अभागी घटना घटेको छ भन्‍ने महसुस हुनेबित्तिकै, तँ तुरुन्तै डिप्रेसनमा डुब्छस्। यो डिप्रेसनले तेरो सामान्य मूल्याङ्कन र निर्णय प्रक्रियामा असर पार्छ, र तेरो खुसी, रिस, शोक, र आनन्दमा पनि असर पार्छ। जब यसले तेरो खुसी, रिस, शोक, र आनन्दमा असर पार्छ, तब यसले तेरो कर्तव्यपालन, र परमेश्‍वरलाई पछ्याउने तेरो इच्छा र चाहना बिथोल्छ र नष्ट पार्छ। जब यी सकारात्मक कुराहरू नष्ट हुन्छन्, तब तैँले बुझेका थोरै सत्यताहरू पनि हावामा बिलाएर जानेछन् र ती कुरा तेरो लागि कुनै फाइदाका हुँदैनन्। त्यसकारण, जब तँ यो दुष्चक्रमा पर्छस्, तँलाई आफूले बुझेका थोरै सत्यता सिद्धान्तहरू अभ्यास गर्न पनि निकै गाह्रो हुनेछ। तँलाई तेरो भाग्य सही छ भन्‍ने महसुस हुँदा, र तँ डिप्रेसनको दमनमा नपरेको बेला मात्र, तैँले मन नलागीनलागी अलिअलि मूल्य चुकाउन, अलिअलि कठिनाइ भोग्‍न, र आफूले गर्न चाहेका कामकुराहरू गर्दा अलिअलि इमानदारिता देखाउन सक्छस्। तर तँलाई तेरो भाग्यले छोडेको छ र फेरि पनि तेरो जीवनमा दुर्भाग्यपूर्ण घटनाहरू घटिरहेका छन् भन्‍ने तँलाई महसुस हुनेबित्तिकै, तँमाथि फेरि पनि तेरो डिप्रेसनले नियन्त्रण जमाइहाल्छ, र तेरो इमानदारिता, तेरो बफादारिता, र कठिनाइ भोग्‍ने तेरो इच्छाले तँलाई तुरुन्तै छोडेर जान्छ। त्यसकारण, आफूलाई अभागी ठान्‍ने वा आफ्‍नो भाग्यलाई साह्रै गम्‍भीरतासाथ लिने मानिसहरू आफ्‍नो भाग्य खोटो छ भनी सोच्‍ने मानिसहरूजस्तै हुन्। तिनीहरूको संवेग प्राय अत्यन्तै चरम हुन्छ—खास गरी, तिनीहरू डिप्रेसनजस्ता नकारात्मक संवेगहरूमा बारम्‍बार डुबिरहन्छन्। तिनीहरू अत्यन्तै नकारात्मक र कमजोर बन्छन्, र तिनीहरू अस्थिर मुडको सिकार बन्‍ने सम्भावना पनि हन्छ। तिनीहरू आफू भाग्यमानी छु भन्‍ने महसुस गर्दा, आनन्दले भरिन्छन्, ऊर्जाले भरपूर हुन्छन्, र तिनीहरूले कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्छन्; तिनीहरूले राती कम सुत्‍न, र दिउँसो थोरै खान पनि सक्छन्, तिनीहरू कुनै पनि कठिनाइ भोग्‍न इच्छुक हुन्छन्, र यदि तिनीहरू क्षणिक रूपमा उत्साहित भए भने त आफ्‍नो ज्यानसमेत खुसीसाथ दिन तयार हुन्छन्। तैपनि, तिनीहरूले आफू अभागी भएको महसुस गर्नेबित्तिकै, र तिनीहरूको लागि केही पनि राम्रो नभएको देखिनेबित्तिकै, डिप्रेसनको संवेगले तिनीहरूको हृदयमा तुरुन्तै पकड जमाउँछ। तिनीहरूले पहिले गरेका वाचा र सङ्कल्‍प सबै उल्टिन्छन्; अचानक तिनीहरू फुटेको भकुन्डोजस्तै बन्छन्, र कुनै साहस र ऊर्जा बटुल्‍न सक्दैनन्, वा तिनीहरू लाजको पोकोजस्तै बनेर केही गर्न वा बोल्‍न इच्छा नगर्ने बन्छन्। तिनीहरूले सोच्छन्, “सत्यता सिद्धान्तहरू, सत्यताको खोज, मुक्तिको प्राप्ति, र परमेश्‍वरको आज्ञापालन—यीमध्ये कुनै पनि कुरासँग मेरो कुनै सम्‍बन्ध छैन। म अभागी छु त्यसकारण मैले जति धेरै सत्यता अभ्यास गरे पनि वा जति धेरै मूल्य चुकाए पनि, त्यसको कुनै अर्थ छैन, किनकि मैले कहिल्यै मुक्ति पाउनेछैन। म त सक्‍किसकेँ। म त अलच्छिना ताबिजजस्तै हुँ, एक दुर्भाग्यशाली व्यक्ति हुँ। ठीकै छ, यस्तै होस्, जे गरे पनि आखिर म अभागी नै त हुँ!” देखिस् त, एक क्षण तिनीहरू हावा भरिएर फुट्न लागेको भकुन्डोजस्तै हुन्छन्, र अर्को क्षण तिनीहरू हावा झिकेको भकुन्डोजस्तै हुन्छन्। के यो समस्याको कुरा होइन र? यो समस्या कसरी आउँछ? यसको मूल कारण के हो? तिनीहरूले सधैँ आफ्‍नै भाग्यलाई नियालिरहेका हुन्छन्, मानौँ तिनीहरूले सेयर बजार माथि गइरहेको छ कि तल झरिरहेको छ भनेर हेरिरहेका छन्, मानौँ तिनीहरूले बजार बढ्दो बजार हो कि घट्दो बजार हो भनेर हेरिरहेका छन्। तिनीहरू सधैँभरि तनावमा हुन्छन्, आफ्‍नो भाग्यको विषयमा अत्यन्तै संवेदनशील हुन्छन्, र तिनीहरू अत्यन्तै जिद्दी हुन्छन्। यस्ता चरम व्यक्तिहरू सधैँ डिप्रेसनको संवेगमा डुबिरहन्छन् किनभने तिनीहरूले आफ्‍नो सौभाग्यबारे धेरै वास्ता गर्छन् र तिनीहरू आफ्‍नो मुडअनुसार जिउँछन्। तिनीहरू बिहान उठ्दा खराब मुडमा हुन्छन्, र यस्तो सोच्छन्, “हत्तेरी! आज पक्‍कै पनि भाग्यले साथ दिँदैन। धेरै दिनदेखि मेरो देब्रे आँखा फुरफुराइरहेछ, मेरो जिब्रो पनि कडा भएको छ, र मेरो मष्तिष्क पनि बोधो भएको छ। खाना खाँदा पनि मैले जिब्रो टोकेँ, र हिजो राति सुत्दा पनि मैले राम्रो सपना देखिनँ।” अथवा, तिनीहरूले यस्तो सोच्छन्, “अज मैले सुनेको पहिलो शब्‍द नै खराब सङ्केत हो जस्तो लाग्छ।” तिनीहरू सधैँ डराइरहेका हुन्छन्, नचाहिने-नचाहिने कुराहरूमा मुख बजाइरहन्छन्, र त्यस्ता कुराहरूलाई नै घोरिएर विचार गरिरहन्छन्। तिनीहरू हरेक दिन र हरेक अवधिमा आफ्‍नो भाग्य, दिशा, र मुडबारे साह्रै चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले मण्डलीका सबै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूप्रति अपनाउने हाउभाउ, मनोवृत्ति, र बोलीको लवजलाई समेत अवलोकन गर्छन्। तिनीहरूको हृदय यी कुराहरूले नै भरिएका हुन्छन्, जसले गर्दा तिनीहरू निरन्तर डिप्रेसनमा रहिरहन्छन्। तिनीहरूलाई आफू राम्रो स्थितिमा छुइनँ भन्‍ने थाहा हुन्छ तर पनि यसलाई समाधान गर्न तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, र तिनीहरूले जस्तोसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि, त्यसप्रति ध्यान दिने वा त्यसलाई गम्‍भीर रूपमा लिने गर्दैनन्। के यो समस्या होइन र? (हो।)

आफ्‍नो भाग्य असल छ कि खराब छ भनेर सधैँ चिन्ता गर्ने यी मानिसहरूको—के तिनीहरूको दृष्टिकोण सही हुन्छ? के असल भाग्य वा खराब भाग्य भन्‍ने कुरा हुन्छ? (हुँदैन।) यस्तो कुरा हुँदैन भन्‍नुको आधार के हो? (हामीले हरेक दिन भेट्ने मानिसहरूलाई र हाम्रो जीवनमा आइपर्ने घटनाहरूलाई परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तले तय गरेका हुन्छन्। असल भाग्य वा खराब भाग्य भन्‍ने कुरो हुँदैन; सबै कुरा आवश्यकताको आधारमा घटित हुन्छन् र त्यो सबै कुरापछाडि अर्थ लुकेको हुन्छ।) के त्यो सही हो? (हो।) यो दृष्टिकोण सही छ, र भाग्य भन्‍ने कुराको कुनै अस्तित्व छैन भनेर भन्‍नुको सैद्धान्तिक आधार यही हो। तँमाथि जुनसुकै घटना घटे पनि, चाहे त्यो असल होस् वा खराब, त्यो सबै चार वटा ऋतुको मौसमजस्तै सामान्य कुरा हो—हरेक दिन घाम लाग्छ नै भन्‍ने छैन। तैँले घमाइला दिनहरू परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हो, जबकि बादल लागेका दिनहरू, अनि वर्षा, बतास, र आँधीका दिनहरू परमेश्‍वरले बन्दोबस्त गर्नुभएको होइन भनेर भन्‍न सक्दैनस्। सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तले निर्धारित गरेको, र प्राकृतिक वातावरणले सिर्जना गरेको हुन्छ। प्राकृतिक वातावरण परमेश्‍वरले बन्दोबस्त र स्थापना गर्नुभएका व्यवस्था र नियमहरूअनुसार पैदा हुन्छ। यो सबै कुरा अत्यावश्यक र अपरिहार्य हुन्छ, त्यसकारण मौसम जे-जस्तो भए पनि, यसलाई प्राकृतिक नियमले नै सिर्जना गरेको र ल्याएको हुन्छ। यसमा असल वा खराब भन्‍ने कुनै कुरा हुँदैन—यसप्रतिको मान्छेको अनुभूति मात्रै असल वा खराब हुन्छ। मानिसहरूलाई वर्षा हुँदा, बतास वा बादल लाग्दा, वा असिना पर्दा राम्रो महसुस हुँदैन। खास गरी, पानी परिरहेको र भिजेर चिसो भएको अवस्था मानिसहरूलाई मन पर्दैन; तिनीहरूको जोर्नी दुख्छ र तिनीहरूलाई कमजोर महसुस हुन्छ। तर तँलाई झरी परेको दिन नरमाइलो लागे पनि, के तैँले झरी परेको दिन दूर्भाग्यपूर्ण दिन हुन् भनेर भन्‍न सक्छस्? यो त मौसमले मानिसहरूमा पैदा गर्ने अनुभूति मात्रै हो—वर्षा भइरहेको कुरामा भाग्यको कुनै सम्‍बन्ध हुँदैन। तैँले घमाइला दिनहरू राम्रा हुन्छन् भनी भन्‍न सक्छस्। यदि एक थोपा पनि पानी नपरी तीन महिना घाम मात्रै लाग्यो भने, मानिसहरूलाई रमाइलो लाग्छ। तिनीहरूले हरेक दिन घाम देख्‍न सक्छन्, र कहिलेकाहीँ मन्द हावा चल्‍ने र सुक्‍खा र न्यानो हुन्छ, र तिनीहरू जहिले मन लाग्यो त्यही बेला बाहिर जान सक्छन्। तर वनस्पतिहरूले यसलाई सहन सक्दैनन्, र खडेरीले बाली मर्छ, त्यसकारण त्यो वर्ष कुनै उब्जनी हुँदैन। त्यसकारण, के तैँले राम्रो महसुस गर्दैमा त्यसको अर्थ त्यो कुरा असल नै हो भन्‍ने हुन्छ र? अनि, शरद ऋतु आओस् न, तँसँग खाने कुरा केही नभएर तैँले यसो भन्‍नेछस्, “अहो, धेरै दिन घाम लाग्‍नु पनि राम्रो होइन रैछ। पानी परेन भने, बालीमा हानि हुँदो रैछ, भित्र्याउने बाली केही नहुँदो रैछ, अनि मानिसहरू भोकभोकै हुने रैछन्।” यस बिन्दुमा, तँलाई निरन्तर घाम लाग्‍नु पनि राम्रो होइन भन्‍ने महसुस हुन्छ। साँचो कुरा के हो भने व्यक्तिले राम्रो महसुस गर्छ कि गर्दैन भन्‍ने कुरा उसको आफ्‍नै स्वार्थी मनसाय, इच्छा, र आत्मचासोमा आधारित हुन्छ, त्यो कुराको सारमा आधारित हुँदैन। त्यसकारण, मानिसहरूले कुनै कुरालाई असल वा खरा भनी मूल्याङ्कन गर्ने आधार नै गलत हुन्छ। अनि, आधार नै गलत भएको हुनाले, तिनीहरूले निकाल्‍ने अन्तिम निष्कर्ष पनि गलत नै हुन्छ। अब, असल भाग्य र खराब भाग्यको विषयमा फर्केर हेर्दा, सबैलाई भाग्यसम्‍बन्धी यो भनाइ निराधार छ, र यो असल पनि हुँदैन र खराब पनि हुँदैन भन्‍ने कुरा थाहा भएको छ। तैँले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरू असल भए पनि खराब भए पनि, ती सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तले नै तय गरेका हुन्छन्, र त्यसकारण तैँले तिनलाई उचित रूपमा सामना गर्नुपर्छ। तैँले असल कुरा पनि परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ, र खराब कुरा पनि परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ। असल कुराहरू हुँदा आफू भाग्यमानी छु, र खराब कुराहरू हुँदा आफू अभागी छु भनेर नभन्। यो मात्र भन्‍न सकिन्छ कि यी सबै कुराहरूमा मानिसहरूले सिक्‍नुपर्ने पाठहरू हुन्छन्, र तिनीहरूले ती कुराहरू इन्कार गर्ने वा ती कुराहरूबाट तर्किने गर्नु हुँदैन। तिमीहरू असल कुराहरूको लागि पनि परमेश्‍वरलाई धन्यवाद देओ, र खराब कुराहरूको लागि पनि परमेश्‍वरलाई नै धन्यवाद देओ, किनभने ती सबै कुराको बन्दोबस्त उहाँले नै मिलाउनुभएको हुन्छ। असल मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूले मानिसहरूलाई तिनीहरूले सिक्‍नुपर्ने पाठहरू प्रदान गर्छन्, तर खराब मानिसहरू, घटनाहरू, परिस्थितिहरू, र वातावरणहरूबाट सिक्‍नुपर्ने कुराहरू अझै धेरै हुन्छन्। यी सबै कुरा अनुभव र घटनाक्रमहरू हुन् जुन व्यक्तिको जीवनको भाग बन्‍नुपर्छ। मानिसहरूले यी कुराहरू मापन गर्न भाग्यसम्‍बन्धी विचारहरू प्रयोग गर्नु हुँदैन। त्यसोभए, कुनै कुरा असल हो कि खराब हो भनेर मापन गर्न भाग्य प्रयोग गर्ने मानिसहरूको विचार र दृष्टिकोणहरू के-के हुन्? त्यस्ता मानिसहरूको सार के हो? किन तिनीहरूले असल भाग्य र खराब भाग्यप्रति यति धेरै ध्यान दिन्छन्? भाग्यमा धेरै ध्यान दिने मानिसहरूले आफ्नो भाग्य असल होस् भन्‍ने चाहन्छन् कि खराब होस् भन्‍ने चाहन्छन्? (तिनीहरू आफ्नो भाग्य राम्रो होस् नै भन्‍ने चाहन्छन्।) ठीक भन्यौ। वास्तवमा, तिनीहरूले आफ्नो असल भाग्य होस् र आफ्नो जीवनमा राम्रा घटनाहरू घटून् भन्‍ने चाहन्छन्, र तिनीहरूले यी कुराहरूबाट फाइदा र नाफा कमाउँछन्। अरूले कति धेरै कष्ट, वा कति धेरै कठिनाइ वा अप्ठ्याराहरू भोग्छन् भन्‍ने कुरा तिनीहरू वास्ता गर्दैनन्। तिनीहरूले दूर्भाग्य ठान्‍ने कुनै पनि कुरा आफ्‍नो जीवनमा आओस् भन्‍ने चाहँदैनन्। अर्को शब्‍दमा भन्दा, तिनीहरू आफ्‍नो जीवनमा कुनै खराब घटना घटेको चाहँदैनन्: कुनै वाधा, कुनै असफलता वा बेइज्जती, कुनै निराकरण वा काटछाँट, वा कुनै कुरा हराउने, छुटाउने, र कुनै छलमा पर्ने अवस्था आएको चाहँदैनन्। यदि यस्ता कुनै कुरा भयो भने, तिनीहरूले यसलाई खराब भाग्य ठान्छन्। यदि खराब कुराहरू आइपर्‍यो भने, ती कुराहरू जोसुकैद्वारा तय गरिएको भए पनि, ती अभागीकै कुरा हुन्छन्। तिनीहरू आफ्‍नो जीवनमा—बढुवा हुने, भीडबाट माथि उठ्ने, अरूको अप्ठ्यारोको फाइदा उठाउने, कुनै कुराबाट फाइदा लुट्ने, धेरै पैसा कमाउने, वा उच्‍च ओहोदाको अधिकारी बन्‍ने—सबै कुरा होऊन् भन्‍ने आशा गर्छन् र तिनीहरू यसलाई राम्रो भाग्य ठान्छन्। तिनीहरू आफूले सामना गर्ने मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई सधैँ भाग्यको आधारमा मापन गर्छन्। तिनीहरू खराब भाग्य होइन, असल भाग्य पछ्याइरहेका हुन्छन्। कुनै कुरा अलिकति गलत हुनेबित्तिकै, तिनीहरू रिसाउँछन्, झर्किन्छन्, र असन्तुष्ट हुन्छन्। सीधै भन्दा, यस्ता मानिसहरू स्वार्थी हुन्छन्। तिनीहरू अरूको बेफाइदाबाट फाइदा लिने, आफ्नै लागि नाफा कमाउने, सर्वश्रेष्ठ हुने, र भीडभन्दा माथि उठ्ने प्रयास गर्छन्। तिनीहरू हरेक असल कुरा आफ्नो जीवनमा मात्रै भयो भने मात्रै सन्तुष्ट हुन्छन्। यो तिनीहरूको प्रकृति र सार हो; यो तिनीहरूको साँचो रूप हो।

जीवनमा हरेक व्यक्ति कैयौँ वाधा र असफलताहरूबाट गुज्रनुपर्छ। कसको जीवन सन्तुष्टिले मात्रै भरिएको हुन्छ र? कसले पो कहिल्यै असफलता वा वाधा सामना नगर्ने हुन्छ र? जब कहिलेकहीँ तेरो जीवनमा परिस्थिति सही रूपले अघि बढ्दैन, वा जब तैँले वाधा र असफलता सामना गर्छस्, त्यो खराब भाग्य होइन, बरु तैँले अनुभव गर्नुपर्ने कुरा हो। त्यो खाना खाएजस्तै कुरा हो—तैँले अमिलो, गुलियो, तीतो, र पिरो सबै खानुपर्छ। मानिसहरू नुनविना बाँच्‍न सक्दैनन्, त्यसैले तिनीहरूले केही मात्रामा नुनिलो कुरा खानुपर्छ, तर तैँले धेरै नुन खाइस् भने, यसले तेरो मृगौलामा हानि गर्नेछ। कुनै याममा तैँले केही अमिलो खाने कुरा खानुपर्छ, तर धेरै खाइस् भने राम्रो हुँदैन, किनभने यो तेरो दाँत वा पेटको लागि राम्रो होइन। सबै कुरा ठिक्क खानुपर्छ। तैँले अमिलो, नुनिलो र गुलियो कुरा खान्छस्, तर तैँले केही तीतो कुरा पनि खानुपर्छ। तीतो कुरा केही भित्री अङ्गको लागि राम्रो हुन्छ, त्यसकारण तैँले थोरै मात्रामा भए पनि तीतो खानुपर्छ। व्यक्तिको जीवन पनि त्यस्तै हो। तेरो जीवनको हरेक चरणमा तैँले भेट्ने मानिसहरू, घटना, र परिस्थितिहरू तँलाई मन पर्छ नै भन्‍ने हुँदैन। यस्तो किन हुन्छ? किनभने मानिसहरूले फरकफरक कुराहरू पछ्याउँछन्। यदि तँ ख्याति र सम्पत्ति, हैसियत, र धनको पछि लाग्छस्, अरूभन्दा माथि उठ्न र ठूलो सफलता पाउन चाहन्छस्, र यस्तै इत्यादि कुराहरू हासिल गर्न चाहन्छस् भने, ९९ प्रतिशत कुराहरू तँलाई मन पर्नेछैनन्। यो त मानिसहरूले भनेजस्तै कुरा हो: यो सबै खोटो भाग्य र दुर्भाग्यको कुरा हो। तर यदि तैँले आफू कति भाग्यमानी वा अभागी छु भन्‍ने सोच त्यागेर, यी कुराहरूलाई शान्त र सही रूपमा लिन्छस् भने, तैँले धेरैजसो कुराहरू त्यति नकारात्मक वा सम्‍हाल्‍न गाह्रो पाउनेछैनस्। जब तँ आफ्‍ना महत्त्वाकाङ्क्षा र इच्छाहरू त्याग्छस्, जब तँ आफ्‍नो जीवनमा आइपर्ने दुर्भाग्य इन्कार्न वा त्यसबाट तर्किन छोड्छस्, र त्यस्ता कुराहरूलाई तँ कति भाग्यमानी वा अभागी छस् भन्‍ने हिसाबबाट मापन गर्न छोड्छस्, तब तैँले दुर्भाग्य र खराब भनी ठान्‍ने गरेका धेरै कुराहरू तँलाई असल लाग्‍न थाल्‍नेछन्—ती खराब कुराहरू असल कुरामा परिणत हुनेछन्। तेरो मानसिकता र तेरो दृष्टिकोण परिवर्तन हुनेछ, जसले गर्दा तैँले आफ्‍नो जीवन अनुभवलाई फरक तरिकाले महसुस गर्नेछस्, र यस क्रममा फरक फलहरू प्राप्त गर्नेछस्। यो एउटा असाधारण अनुभव हो, जसले तँलाई तैँले कल्‍पनै नगरेका फलहरू दिलाउनेछ। यो राम्रो कुरा हो, खराब कुरा होइन। उदाहरणको लागि, कतिपय मानिसहरूले सधैँ कदर पाउँछन्, सधैँ बढुवा पाउँछन्, सधैँ तारिफ र प्रोत्साहन पाउँछन्, आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबाट प्राय अनुमोदन पाइरहन्छन्, र सबैले तिनीहरूलाई डाहाको नजरले हेर्छन्। के यो राम्रो कुरा हो? धेरैजसो मानिसहरूले सोच्छन्, यी कुराहरू त भाग्य यी मानिसहरूको साथमा भएको कारण भएका हुन्। तिनीहरू भन्छन्: “हेर त, त्यो व्यक्तिको क्षमता राम्रो छ, ऊ भाग्य साथमै लिएर जन्‍मेको हो र त्यसैले उसले जीवनमा राम्रो गरेको छ—उसलाई राम्रो अवसर पनि मिल्छ र बढुवा पनि मिल्छ। ऊ साँच्‍चै भाग्यमानी छ!” तिनीहरूलाई साह्रै डाहा हुन्छ। तर अन्त्यमा, केही वर्षमै त्यो व्यक्तिलाई हटाइन्छ र त्यो व्यक्ति साधारण विश्‍वासी बन्छ। यो कुराले गर्दा ऊ रुन्छ र झुण्डिएर आत्महत्या गर्ने प्रयास गर्छ, र केही दिनको अवधिमै उसलाई सफाइ गरेर निकालिन्छ। के यो राम्रो भाग्य हो? यदि तैँले यो कुरालाई त्यसरी हेरिस् भने, त्यो व्यक्ति साह्रै अभागी हो। तर के यो साँच्‍चै दुर्भाग्यको कुरा हो त? (होइन।) वास्तवमा, यो उसको भाग्य खराब रहेको कुरा होइन, बरु उसले सही मार्ग नपछ्याएको कुरा हो। उसले सही मार्ग नपछ्याएको हुनाले, मानिसहरूले “भाग्यशाली” ठान्‍ने कुराहरू उसको जीवनमा आइपर्दा, ती कुराहरू उसको लागि प्रलोभन, पासो, र उत्प्रेरक बन्यो जसले उसको विनाशको गति तीव्र पारिदियो। के यो राम्रो कुरा हो? ऊ सधैँ बढुवा पाउन, अरू सबैभन्दा माथि उठ्न, सबैको ध्यानको केन्द्र बन्‍न, र सबै कुरा राम्रो र उसले चाहेजस्तो होस् भन्‍ने चाहन्थ्यो, तर अन्त्यमा के भयो? के उसलाई निष्कासित गरिएन र? यो मानिसहरूले सही मार्ग नपछ्याउँदा आइलाग्‍ने परिणाम हो। राम्रो भाग्य खोजिहिँड्नु आफैमा सही मार्ग होइन। भाग्य पछ्याउने मानिसहरूले अवश्य नै सबै खराब कुराहरूलाई, अर्थात् मानिसहरूले अप्रिय ठान्‍ने, र मानिसहरूको मनस्थिति र देहगत चासोहरूसँग नमिल्‍ने कुराहरूलाई इन्कार्ने र पन्छाउने गर्छन्। तिनीहरू यी कुराहरू आइपर्लान् भनेर डर मान्छन्, र यी कुराहरूलाई पन्छाउँछन्, र इन्कार्छन्। जब यी कुराहरू घटित हुन्छन्, तब तिनीहरूले यी कुराहरूलाई “दुर्भाग्य” भनेर व्याख्या गर्छन्। तिनीहरूले आफूलाई अभागी ठान्दा के तिनीहरूले सत्यता खोजी गर्न सक्छन्? (सक्दैनन्।) के तँलाई सत्यता खोजी गर्न नसक्‍ने र आफूलाई सधैँ अभागी ठान्‍ने मानिसहरूले सही बाटो हिँड्न सक्छन् भन्‍ने लाग्छ? (लाग्दैन।) तिनीहरूले अवश्यै सक्दैनन्। त्यसकारण, सधैँ भाग्यको पछि लाग्‍ने, आफ्‍नो भाग्यमा ध्यान केन्द्रित दिने र त्यसबारे मात्रै विचार गर्ने मानिसहरू सही मार्ग पछ्याउने मानिसहरू होइनन्। त्यस्ता मानिसहरूले आफ्‍नो उचित कर्तव्य पूरा गर्दैनन्, र सही मार्ग पछ्याउँदैनन्, त्यसकारण तिनीहरू डिप्रेसनमा डुबिरहन्छन्। यो तिनीहरूको आफ्‍नै गल्ती हो, र तिनीहरू यसकै लायक हुन्छन्! तिनीहरूले गलत मार्ग पछ्याउने हुनाले यस्तो हुन्छ! तिनीहरू डिप्रेसनमा डुब्‍न लायक हुन्छन्। के यो डिप्रेसनबाट उम्कनु सजिलो छ? वास्तवमा, यो सजिलो छ। बस तेरा गलत दृष्टिकोणहरू त्याग्, अनि सबै कुरा राम्ररी, वा तैँले चाहेजस्तै गरी वा सहज रूपमा अघि बढ्छ भनेर अपेक्षा नगर्। गलत कुराहरू आइपर्छन् भनेर नडरा, र त्यसलाई प्रतिरोध वा इन्कार गर्ने नगर्। बरु, आफ्‍नो प्रतिरोध त्याग्, शान्त बन्, र आज्ञाकारी मनोवृत्ति लिएर परमेश्‍वरको अघि आइज, र परमेश्‍वरले तय गर्नुभएका सबै कुराहरू स्वीकार गर्। तथाकथित “असल भाग्य” को पछि नलाग् र तथाकथित “खराब भाग्य” लाई इन्कार नगर्। आफ्‍नो हृदय र आफ्‍नो सम्पूर्ण अस्तित्व परमेश्‍वरलाई दे, उहाँलाई काम र योजना गर्न दे, र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित बन्। परमेश्‍वरले तँलाई जहिले चाहिन्छ तहिले चाहिने जति सबै कुरा दिनुहुनेछ। उहाँले तेरा आवश्यकता र कमीकमजोरीअनुसार तँलाई चाहिने वातावरण, मानिस, घटना, र परिस्थितिहरू योजनाबद्ध गर्नुहुनेछ, ताकि तैँले आफूले सामना गर्ने मानिस, घटना, र परिस्थितिहरूबाट सिक्‍नुपर्ने पाठहरू सिक्‍न सक्। अवश्य नै, यो सबैको पूर्वसर्त के हो भने, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति तँमा आज्ञाकारिताको मानसिकता हुनुपर्छ। त्यसकारण, सिद्धताको पछि नलाग्; अप्रिय, लाजमर्दा, वा प्रतिकूल घटनाहरू इन्कार्ने वा ती घटित होलान् कि भनेर डराउने नगर्; अनि खराब कुराहरू घटित हुँदा प्रतिरोध गर्नको लागि आफ्‍नो डिप्रेसनको प्रयोग नगर्। उदाहरणको लागि, यदि एउटा गायकलाई एक दिन घाँटी दुख्यो र राम्ररी गाउन सकेन भने, उसले सोच्छ, “म कस्तो अभागी रहेछु! किन परमेश्‍वरले मेरो स्वरको रक्षा गर्नुहुन्‍न? एकलै हुँदा म प्राय राम्ररी गाउँछु, तर आज सबैको अघि गाइरहेको बेला म लज्‍जि हुनुपर्‍यो। मैले आफ्‍नो सुर मिलाउन सकिनँ, र मैले ताल पनि टिप्‍न सकिनँ। म सबैको अघि साह्रै मूर्ख देखिएँ!” मूर्ख देखिनु राम्रो कुरा हो। यसले तँलाई तेरा कमीकमजोरीहरू र आडम्बर-मोह देख्‍न सहयोग गर्छ। यसले तेरो समस्या कहाँ छ भन्‍ने देखाउँछ र तँ सिद्ध व्यक्ति होइनस् भनेर स्पष्‍टसित बुझ्‍न सहयोग गर्छ। मान्छे कोही पनि सिद्ध हुँदैन र मूर्खतापूर्ण व्यवहार गर्नु सामान्य कुरा हो। हरेक मान्छेले कुनै न कुनै बेला आफूलाई मूर्ख तुल्याउने वा लज्‍जित पार्ने अनुभव गरेको हुन्छ। हर व्यक्ति असफल हुन्छ, हरेकले हण्डर खान्छ, र हरेकमा दुर्बलता हुन्छ। मूर्खतापूर्ण व्यवहार गर्नु नराम्रो कुरा होइन। जब तैँले आफूलाई मूर्ख तुल्याउँछस् तर लज्‍जित वा निराश हुँदैनस्, र जब तैँले अन्तस्करणभित्र डिप्रेसन महसुस गर्दैनस्, तब त्यसको अर्थ तँ लाजसरम सबै पचाइसकेको व्यक्ति होस् भन्‍ने हुँदैन; यसको अर्थ त तैँले आफूलाई मूर्ख तुल्याउँदा त्यसले आफ्नो प्रतिष्ठामा असर गर्छ कि गर्दैन भनेर तँ वास्ता गर्दैनस् र तेरा विचारहरूमा आडम्बरले ठाउँ पाउन छोडिसकेको छ भन्‍ने हुन्छ। अनि, यसको अर्थ तँ आफ्‍नो मानवतामा परिपक्‍व भएको छस् भन्‍ने हुन्छ। यो एकदम राम्रो कुरा हो! के यो असल कुरा होइन र? यो असल कुरा हो। तैँले आफूले राम्ररी काम गरेको छुइनँ वा आफ्नो भाग्य राम्रो छैन भन्‍ने नसोच्, र यसको पछाडि रहेका वस्तुगत कारणहरू नखोज्। यो सामान्य कुरा हो। तैँले आफूलाई मूर्ख तुल्याउन सक्छस्, अरूले आफूलाई मूर्ख तुल्याउन सक्छन्, र सबैले नै आफूलाई मूर्ख तुल्याउन सक्छन्—अन्त्यमा तैँले पत्ता लगाउनेछस् कि सबै उस्तै हुन्, सबै साधारण मानिसहरू हुन्, सबै मरणशील मानिसहरू हुन्, कोही पनि अरू कोहीभन्दा ठूलो र अरू कोहीभन्दा उत्तम हुँदैन। कहिलेकहीँ सबैले आफूलाई मूर्ख तुल्याउँछन्, त्यसकारण कसैले पनि कसैको गिल्‍ला गर्नु हुँदैन। तैँले अनगिन्ती असफलताहरू अनुभव गरिसकेपछि, तँ आफ्‍नो मानवतामा क्रमिक रूपमा परिपक्‍व हुँदै जान्छस्; त्यसकारण जब तैँले फेरि यी कुराहरू सामना गर्छस्, तब तँ बन्धनमा पर्न छोडेको हुन्छस्, र तेरो कर्तव्य सामान्य रूपमा पूरा गर्ने क्रममा यी कुराहरूले असर पार्नेछैनन्। तेरो मानवता सामान्य हुनेछ, र जब तेरो मानवता सामान्य हुन्छ, तब तेरो समझ पनि सामान्य नै हुनेछ।

भाग्यको पछि लाग्‍ने यी मानिसहरू यो जीवनमा असल भाग्यको पछि लाग्‍ने, र परिस्थितिहरूलाई चरम रूपमा लैजाने मानिसहरू हुन्। यी मानिसहरूले पछ्याउने कुराहरू गलत हुन्छन् र तिनीहरूले यी कुराहरू त्याग्‍नुपर्छ। यी अप्रिय कुराहरूलाई कसरी सम्‍हाल्‍ने र कसरी सही तरिकाले लिने भन्‍नेबारेमा हामीले भर्खरै सङ्गति गर्‍यौँ—के तिमीहरूले अब यो कुरा बुझ्यौ? हामीले यस विषयमा कसरी सङ्गति गर्‍यौँ? (परमेश्‍वरले योजनाबद्ध गर्नुहुने सबै कुरामा मानिसहरू समर्पित हुनुपर्छ। तिनीहरूले सिद्ध मानिसहरू बन्‍ने प्रयास गर्नु हुँदैन, न त तिनीहरूले आफूलाई लाजमा पार्ने कुराहरू आउलान् वा कुनै अप्रिय घटना घट्ला भनेर नै डर मान्‍नु हुन्छ, अनि परिस्थितिहरू आइपर्दा ती कुराहरू प्रतिरोध गर्न मानिसहरूले डिप्रेसनको भावना प्रयोग गर्नु हुँदैन।) मन शान्त बनाएर सही मानसिकतासाथ यी सब कुरा सामना गर्। जब तेरो जीवनमा खराब कुराहरू आइपर्छन्, तब तैँले ती कुराहरू सामना र समाधान गर्न तँमा सही मार्ग हुनुपर्छ, र तैँले ती कुराहरू राम्ररी सम्हालिनस् भने पनि, तँ डिप्रेसनमा डुब्‍नु हुँदैन। यदि तँ असफल भइस् भने, तैँले फेरि प्रयास गर्न सक्छस्; बढी नै भयो भने पनि असफलता आखिर पाठ नै हुन्छ, र तँ असफल नै भइस् भने पनि, त्यो कुरा विमुख हुनु, प्रतिरोध गर्नु, इन्कार गर्नु, र भाग्‍नुभन्दा राम्रो नै हुन्छ। त्यसकारण, भविष्यमा जे आइपरे पनि वा तैँले जुनसुकै कुरा सामना गर्नु परे पनि, तैँले यसलाई इन्कार्नु वा यसबाट उम्‍कने प्रयास गर्नु हुँदैन, र तैँले आफ्‍नो भाग्य असल वा खराब छ भन्‍ने दृष्टिकोणले यसलाई नाप्‍नु त झनै हुँदैन। तैँले सबै कुरा परमेश्‍वरको हातले योजनाबद्ध गर्छ भन्‍ने कुरा मानेको हुनाले, तैँले यी सब कुरालाई आफ्नो भाग्य असल वा खराब छ भन्‍ने दृष्टिकोण र मानसिकताद्वारा मापन गर्नु हुँदैन, र तैँले आफूलाई आइपर्ने खराब कुराहरू इन्कार्नु त झनै हुँदैन। अनि अवश्‍य नै, तैँले यी कुराहरूलाई डिप्रेसनको संवेगले पनि लिनु हुँदैन। बरु, तैँले यी कुराहरू सामना गर्न र सम्हाल्नको लागि सक्रिय मनोवृत्ति र सकारात्मक मनस्थिति अपनाउनुपर्छ, अनि तैँले ती कुराहरूबाट सिक्‍नुपर्ने पाठहरू र बुझ्‍नुपर्ने कुराहरू के-के छन् भनेर हेर्नुपर्छ—तैँले गर्नुपर्ने कुरा यही हो। के त्यसपछि तेरो विचार र दृष्टिकोण सही हुँदैन र? (हुन्छ।) अनि जब तैँले फेरि पनि खराब वा दुर्भाग्यपूर्ण घटनाहरू घटित हुने परिस्थिति सामना गर्छस्, तब तैँले त्यसलाई परमेश्‍वरका वचनहरूअनुसार लिन सक्‍नेछस्, तँसँग सही विचार र दृष्टिकोण हुनेछ र यसरी तेरो मानवता र समझ सामान्य बन्‍नेछ। जब तैँले यो कुरालाई यसरी हेर्छस्, तब के सही दृष्टिकोण हुनु अत्यन्तै महत्त्वपूर्ण कुरा होइन र? के भाग्यको कुरालाई परमेश्‍वरका वचनहरूअनुसार स्पष्ट रूपमा बुझ्‍नु निकै महत्त्वपूर्ण कुरा होइन र? (हो।) भाग्य असल वा खराब भन्‍ने यो भनाइबारे अहिले हामीले लगभग सङ्गति गरिसकेका हुनाले, के अब तिमीहरूले कुरो बुझ्यौ? (बुझ्यौँ।) यदि तिमीहरूले यसप्रकारको समस्याको सार स्पष्ट रूपमा बुझ्‍न सक्छौ भने, तिमीहरूसँग भाग्यको विषयमा सही दृष्टिकोण हुनेछ।

मानिसहरू डिप्रेसनको संवेगमा डुब्‍नुको अर्को कारण पनि छ, र त्यो कारण के हो भने मानिसहरू वयस्क नभई वा वयस्क भएपछि केही खास घटनाहरू घट्छन्, अर्थात्, तिनीहरूले केही अपराध गर्छन् वा केही खराब, मूर्ख, र अज्ञानी कामकुराहरू गर्छन्। तिनीहरू आफूले गरेका यी अपराधहरू, यी खराब र अज्ञानी कामकुराहरूको कारण डिप्रेसनमा डुब्छन्। यसप्रकारको डिप्रेसन आफैलाई दोष दिनु हो, र यसले तिनीहरू कस्तो प्रकारका व्यक्ति हुन् भन्‍ने कुरा पनि निर्धारित गर्छ। यसप्रकारको अपराध कसैलाई गालीगलौज गर्ने वा कसैको बारेमा पिठ्यूँपछाडि खराब कुरा बोल्ने, वा यस्तै सानोतिनो कुराहरू गर्ने कार्य मात्र हुँदैन, यो कार्य त लाजसँग सम्‍बन्धित, व्यक्तिको व्यक्तित्व र इज्‍जत, अनि कानुनसँग सम्‍बन्धितसमेत हुन्छ। तिनीहरूले त्यो घटनाबारे निरन्तर विचार गर्ने क्रममा, तिनीहरूको हृदयको गहिराइमा डिप्रेसनको संवेग अलिअलि गर्दै जम्‍मा भएर वर्तमानसम्‍मै थुप्रेर बसेको हुन्छ। यी अपराधहरू के-के हुन्? मैले भर्खरै भनिसकेँ, ती अज्ञानी, खराब र मूर्ख कुराहरू हुन्, जुन कुराहरू मानिसहरूले कि त बच्‍चा हुँदा गरेका हुन्छन् कि त वयस्क हुँदा। ती कुराहरूमा के-के पर्छन्, तिमीहरूलाई थाहा छ? खराब, मूर्ख र अज्ञानी—यी कुराहरूमा अरूलाई हानि गर्ने तर आफूलाई फाइदा गर्ने कुराहरू, बताउन कठिन हुने कुराहरू र तँलाई लाज लाग्‍ने कुराहरू पर्छन्। यो कुनै फोहोरी, घृणित, अश्‍लील, वा निर्लज्ज कुरा हुन सक्छ, जसले तँलाई डिप्रेसनको संवेगमा डुबाउँछ। यो डिप्रेसन सरल किसिमले आत्मधिक्‍कार मात्र होइन, यो त आत्म दण्डाज्ञा नै हो। मैले उल्लेख गरेको यो क्षेत्रभित्र के-के पर्न सक्छन् के तिमीहरू विचार गर्न सक्छौ? एउटा उदाहरण देओ। (छाडापन।) हो, एउटा छाडापन हो। उदाहरणको लागि, कतिपय मानिसहरूले आफ्‍नो श्रीमान-श्रीमतीलाई विचार वा कार्यमा धोका दिएका हुन्छन्; कतिपय मानिसहरू व्यभिचार र छाडापनमा संलग्‍न भएका हुन्छन्, तर तिनीहरूले अझै पनि यो कुरा त्याग्दैनन्, र जोसँग व्यभिचारमा संलग्‍न हुन चाहन्छन् सधैँ उसैको बारेमा विचार गरिरहन्छन्; कतिपय मानिसहरूले अरूलाई पैसामा ठगेका हुन्छन्, र त्यो रकम निकै ठूलो पनि हुन सक्छ; कतिपय मानिसहरूले अरूका चीजबीजहरू चोरेका हुन सक्छन्; र कतिपय मानिसहरूले अरूलाई षड्यन्त्रमा पारेका वा अरूमाथि बदला लिएका हुन सक्छन्। यीमध्ये कतिपय कुराहरू लगभग कानुन उल्लङ्घनको नजिक पुगेका हुन्छन्, जबकि बाँकी कार्यहरू वास्तवमै कानुनको उल्‍लङ्घन नै हुन्छन्; कतिपय मानिसहरू नैतिक सीमा पार गर्ने अवस्थामा पुगेका हुन्छन्, जबकि कतिपय मानिसहरू सामान्य मानवताका नैतिकताविरुद्ध गइसकेका हुन सक्छन्। यी कुराहरू मानिसहरूको अन्‍तस्‍करणमा याद बनेर गाडिएका हुन्छन्, र समयसमयमा ती कुराहरू मनमा आइरहन्छन्। जब तँ एकलै हुन्छस्, र जब तँ राती सुत्‍न सक्दैनस्, तब तँ यी कुराहरूबारे नसोची बस्‍न सक्दैनस्। यी कुराहरू चलचित्रजस्तै एकपछि अर्को दृश्य गर्दै तेरो मनमा झलझली आइरहन्छन्, र तँ यी कुराहरूलाई मेट्न वा बिर्सन सक्दैनस्। जबजब तँ यी कुराहरूबारे विचार गर्छस्, तँलाई डिप्रेसन हुन्छ, तेरो अनुहार रातो हुन्छ, तेरो मुटुको धड्कन बढ्छ, तँलाई लाज लाग्छ, र तेरो आत्मा असहजताले भरिन्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तँलाई अझै यी कुराहरू हिजो मात्रै भएजस्तो लाग्छ। तँ ती कुराहरूबाट भाग्‍न सक्दैनस्, लुक्‍न सक्दैनस्, र यी कुराहरू कसरी त्याग्‍ने तँलाई केही थाहा हुँदैन। तैँले के गरेको छस् भनेर थोरैलाई मात्रै थाहा भए पनि वा कसैलाई थाहा नभए पनि, तँलाई हृदयमा कहीँकतै असहज लागिरहन्छ। यो असहजताबाट डिप्रेसन आउँछ, र यो डिप्रेसनले तँलाई परमेश्‍वरलाई पछ्याउँदा र आफ्‍नो कर्तव्य पूरा गर्दा आफूप्रति दोषी महसुस गराउँछ। यो दोषी भावना तेरो विवेकबाट आए पनि, कानुनबाट आए पनि, वा तेरो नैतिकता र आचार संहिताबाट आए पनि, तैँले यो कहाँबाट आएको भनेर निश्‍चितसाथ भन्‍न सक्दैनस्। परिस्थितिमा जेसुकै भए पनि, पहिले यस्ता काम गरेका मानिसहरूले कुनै खास घटना घट्दा वा कुनै निश्‍चित वातावरण र परिस्थितिहरूमा प्राय अवचेतन रूपमै असहज महसुस गर्ने गर्छन्। यो असहजताको भावनाले तिनीहरू अनजानमै डिप्रेसनमा डुब्छन्, र तिनीहरूलाई यो डिप्रेसनले बाँध्छ र नियन्त्रित पार्छ। अनि जबजब तिनीहरूले सत्यतासम्बन्धी कुनै प्रवचन वा सङ्गति सुन्छन्, तबतब यो डिप्रेसन बिस्तारै तिनीहरूको मनमा र तिनीहरूको अन्‍तस्‍करणमा प्रवेश गर्छ, र तिनीहरूले यसो भन्दै आफैलाई प्रश्‍नमाथि प्रश्‍न गर्छन्, “के मैले यसो गर्न सक्छु? के म सत्यता पछ्याउन सक्षम छु? के म मुक्ति प्राप्त गर्न सक्षम छु? म कस्तो प्रकारको व्यक्ति हुँ? मैले पहिले पनि त्यो काम गरेको छु, र म पहिले त्यस्तै व्यक्ति थिएँ। म मुक्ति दिन नसकिने व्यक्ति हुँ! के परमेश्‍वरले अझै पनि मलाई मुक्ति दिनुहुनेछ त?” कतिपय मानिसहरूले कहिलेकहीँ आफ्‍नो डिप्रेसनको भावना त्याग्‍न सक्छन्। तिनीहरूले आफ्‍नो इमानदारीता र आफूले बटुल्‍न सक्‍ने सबै ऊर्जा आफ्‍नो कर्तव्य, दायित्व, र जिम्‍मेवारी पूरा गर्नमा लगाउँछन्, तिनीहरू सत्यता खोजी गर्ने र परमेश्‍वरका वचनहरू मनन गर्ने कार्यमा आफ्‍नो सारा हृदय र मन लगाउन सक्‍ने हुन्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूमा आफ्नो मेहनत लगाउँछन्। तर कुनै विशेष परिस्‍थिति वा अवस्था आइपर्नेबित्तिकै, तिनीहरूलाई फेरि पनि डिप्रेसनको भावनाले गाँज्छ र हृदयको गहिराइमा तिनीहरूलाई दोषी महसुस गराउँछ। तिनीहरूले मनमनै विचार गर्छन्, “तैँले पहिले पनि त्यो काम गरेको छस्, र तँ त्यस्तै व्यक्ति थिइस्। के तैँले मुक्ति पाउन सक्छस्? के सत्यता अभ्यास गर्नुको कुनै अर्थ छ? तैँले गरेको कुराप्रति परमेश्‍वरले के विचार गर्नुहुन्छ? के तैँले गरेको कामको सवालमा परमेश्‍वरले तँलाई क्षमा दिनुहुनेछ? के यसरी मूल्य चुकाएर तैँले त्यो अपराधको शोधभर्ना गर्न सक्छस्?” तिनीहरू प्राय आफूलाई गाली गर्छन् र भित्री रूपमा दोषी महसुस गर्छन्, र तिनीहरू सधैँ शङ्का गर्ने र आफैमाथि प्रश्‍नहरू बर्साउने गर्छन्। तिनीहरू डिप्रेसनको यो भावना त्याग्‍न वा हटाउन कहिल्यै सक्दैनन्, र तिनीहरू आफूले गरेका लाजमर्दा कुराहरूबारे सधैँ अप्ठ्यारो महसुस गर्छन्। त्यसकारण, परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भएर पनि, तिनीहरूको अवस्था यस्तो हुन्छ मानौँ तिनीहरूले परमेश्‍वरले बोल्‍नुभएको कुनै कुरा पनि सुनेका वा बुझेका छैनन्। यस्तो लाग्छ मानौँ तिनीहरूलाई मुक्ति पाउने कार्य आफूसँग सम्‍बन्धित छ कि छैन, आफूलाई दोषमुक्त गर्न र छुटकारा दिन सकिन्छ कि सकिँदैन, वा आफू परमेश्‍वरको न्याय र सजाय अनि उहाँको मुक्ति पाउन योग्य छु कि छुइनँ भन्‍ने नै थाहा छैन। तिनीहरूलाई यी सब कुराबारे थाहा हुँदा पनि हुँदैन। तिनीहरूले कुनै उत्तर नपाउने हुनाले, र तिनीहरूले कुनै सही फैसला नपाउने हुनाले, तिनीहरूलाई भित्री रूपमा सधैँ डिप्रेसन महसुस हुन्छ। तिनीहरू हृदयभित्र अन्‍तस्‍करणमा आफूले गरेका कुराहरूबारे बारम्‍बार विचार गरिरहन्छन्, ती कुराहरूलाई मनमा बारम्‍बार सम्झिरहन्छन्, यो सब कसरी सुरु भयो र कसरी अन्त्य भयो, सुरुदेखि अन्तिमसम्‍म याद गरिरहन्छन्। तिनीहरूले यसलाई जसरी याद गरे पनि, तिनीहरूलाई सधैँ पाप महसुस हुन्छ, र त्यसकारण तिनीहरूलाई यो विषयमा वर्षौँसम्‍म डिप्रेसन महसुस भइरहन्छ। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गरिरहेको बेलामा पनि, तिनीहरूले निश्‍चित कामको मुख्य जिम्‍मा पाएको बेलामा पनि, तिनीहरूलाई आफूले मुक्ति पाउने कुनै आशा छैन भन्‍ने महसुस हुन्छ। त्यसकारण, तिनीहरूले सत्यता पछ्याउने कुरालाई सोझै सामना गर्ने र यसलाई सही र महत्त्वपूर्ण कुराको रूपमा लिने गर्दैनन्। तिनीहरूलाई आफूले विगतमा गरेको गल्ती वा गरेको कार्यलाई धेरैजसो मानिसहरूले खराब ठान्छन्, वा आफूलाई मानिसहरूले दोषी ठहर्‍याउँछन् र घृणा गर्छन्, वा परमेश्‍वरले समेत दोषी ठहर्‍याउनुहुन्छ भन्‍ने लाग्छ। परमेश्‍वरको काम जुन चरणमा भए पनि वा उहाँले जति धेरै वाणी बोल्‍नुभएको भए पनि, तिनीहरूले सत्यता पछ्याउने कुरालाई कहिल्यै पनि सही रूपमा लिँदैनन्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने, तिनीहरूसँग आफ्‍नो डिप्रेसनलाई पछि छोड्ने साहस हुँदैन। यस्ता कुराहरू अनुभव गरेपछि यस प्रकारको व्यक्तिले निकाल्‍ने अन्तिम निष्कर्ष यस्तै हुन्छ, र यस्ता व्यक्तिहरूले सही निष्कर्ष ननिकाल्‍ने हुनाले, तिनीहरू आफ्‍नो डिप्रेसनलाई पछि छोड्न नसक्‍ने अवस्थामा हुन्छन्।

ठूला वा साना, केही अपराध वा अन्य यस्तै कुराहरू गर्ने मानिसहरू अवश्यै एकदमै धेरै हुन्छन्, तर नैतिक सीमाबाहिर जाने गम्‍भीर अपराधहरू गर्ने मानिसहरू अत्यन्तै थोरै हुन सक्छन्। यहाँ हामी अरू विभिन्‍न अन्य प्रकारका अपराधहरू गरेका मानिसहरूबारे कुरा गर्नेछैनौँ, हामी बस गम्‍भीर अपराधहरू गरेका, र नैतिकता र सदाचारको सीमाबाहिर जाने अपराधहरू गरेका मानिसहरूबारे कुरा गर्नेछौँ। जहाँसम्म गम्‍भीर अपराधहरू गरेका मानिसहरूको कुरा छ—र म यहाँ नैतिक सीमाभन्दा बाहिर जाने अपराधहरूबारे कुरा गरिरहेको छु—यसमा परमेश्‍वरको स्वभाव चिढ्याउने र उहाँको प्रशासनिक आदेशहरू उल्‍लङ्घन गर्ने कार्य समावेश हुँदैन। कुरो बुझ्यौ? परमेश्‍वरको स्वभाव चिढ्याउने, र उहाँको सार, वा उहाँको पहिचान र हैसियतमा ठेस पुर्‍याउने अपराधहरूबारे मैले कुरा गरिरहेको छैनँ, र मैले परमेश्‍वरविरुद्ध ईश्‍वरनिन्दा गर्ने किसिमका अपराधहरूबारे पनि कुरा गरिरहेको छैनँ। यहाँ, म नैतिक सीमाबाहिर जाने अपराधहरूबारे कुरा गरिरहेको छु। यस्ता अपराधहरू गर्ने मानिसहरूले डिप्रेसनका भावनाहरू कसरी समाधान गर्न सक्छन् भन्‍नेबारेमा पनि केही बताउनु छ। त्यस्ता मानिसहरूले लिन सक्‍ने दुई वटा मार्ग हुन्छन्, र यो सरल कुरा हो। पहिलो, यदि तँलाई आफूले गरेका कुराहरू हृदयदेखि त्याग्‍न सक्छु भन्‍ने लाग्छ भने, वा तँसँग अर्को व्यक्तिसँग माफी माग्‍ने मौका छ र ऊसँग मिलाप गर्न सक्छस् भने, तैँले त्यो व्यक्तिसँग मिलाप गरेर माफी माग्न सक्छस्, अनि तेरो आत्मामा शान्ति र सहजताको अनुभूति फर्केर आउनेछ; यदि तँसँग त्यस्तो मौका छैन भने, यदि त्यो सम्‍भव छैन भने, यदि तँ आफ्‍नो समस्याबारे अन्‍तस्‍करणदेखि नै जान्‍न सक्षम भइस् भने, यदि तैँले गरेको कुरा कति गम्‍भीर छ भन्‍ने तँलाई साँच्‍चै महसुस भयो र तँलाई साँचो अफसोस महसुस भयो भने, तँ त्यो अपराध स्विकार्न र पश्‍चात्ताप गर्न परमेश्‍वरअघि आउनुपर्छ। जबजब तैँले आफूले गरेको कुराबारे सोच्छस् र जबजब तैँले दोषी महसुस गर्छस्, तबतब र ठीक त्यही बेला तँ पापस्वीकार र पश्‍चात्ताप गर्न परमेश्‍वरअघि आउनुपर्छ, र परमेश्‍वरको माफी र क्षमादान प्राप्त गर्नको लागि तैँले आफ्‍नो इमानदारिता र साँचो भावनाहरू उहाँकहाँ ल्याउनुपर्छ। अनि, परमेश्‍वरमार्फत तैँले कसरी माफी र क्षमादान पाउन सक्छस्? यो कुरा तेरो हृदयमा निर्भर हुन्छ। यदि तैँले साँच्‍चिकै पश्‍चात्ताप गर्छस्, साँच्‍चिकै आफ्‍नो गल्ती र समस्या पहिचान गर्छस्, र आफूले अपराध वा पाप गरेको भए पनि, तैँले साँचो पापस्वीकारको मनोवृत्ति अपनाउँछस्, आफूले गरेको कुराप्रति घिन मान्छस्, र साँच्‍चिकै आफूलाई परिवर्तन गर्न सक्छस्, जसले गर्दा तैँले फेरि त्यस्तो गलत काम गर्नेछैनस् भने, एकदिन तैँले परमेश्‍वरको माफी र क्षमादान प्राप्त गर्नेछस्, अर्थात् परमेश्‍वरले तैँले पहिले गरेका अज्ञानी, मूर्ख, र फोहोरी कुराहरूको आधारमा तेरो अन्त्य निर्धारित गर्नुहुनेछैन। तँ यो स्तरमा पुगेपछि, परमेश्‍वरले त्यो मामिलै पूर्ण रूपमा बिर्सिदिनुहुनेछ; अनि तँ अरू सामान्य मानिसहरूजस्तै हुनेछस्, र तिनीहरूसँग तेरो कुनै भिन्‍नता हुनेछैन। तर यसको आधार के हो भने, तँ दाऊदजस्तै इमानदार हुनुपर्छ र तँमा पश्‍चात्तापको साँचो मनोवृत्ति हुनुपर्छ। दाऊदले आफूले गरेका अपराधहरूप्रति कति धेरै आँसु झार्‍यो? अनगिन्ती आँसु। ऊ कतिपटक रोयो? अनगिन्ती पटक। उसले झारेको आँसुलाई यी शब्‍दहरूद्वारा व्याख्या गर्न सकिन्छ: “हरेक रात म आँसुको सागरमा सुत्छु।” तेरो अपराध कति गम्‍भीर छ मलाई थाहा छैन। यदि यो साँच्‍चिकै गम्‍भीर छ भने, सायद तँ तेरो ओछ्यान आँसुको आहाल बनुञ्‍जेल रुनुपर्छ होला—तैँले परमेश्‍वरको पापक्षमा प्राप्त गर्न सक्‍नुभन्दा पहिले तैँले त्यो स्तरसम्‍मको पापस्वीकार र पश्‍चात्ताप गर्नुपर्छ होला। यदि तैँले यसो गरिनस् भने, सायद परमेश्‍वरको नजरमा तेरो अपराध पापको रूपमै रहनेछ, र तँ त्यो पापबाट मुक्‍त हुनेछैनस्। त्यसपछि तँ समस्यामा हुनेछस् र यसबारेमा थप कुरा गर्नुको कुनै औचित्य हुनेछैन। त्यसकारण, परमेश्‍वरको माफी र क्षमादान प्राप्त गर्ने कार्यको पहिलो चरण भनेकै तँ इमानदार हुनुपर्छ र तैँले साँचो रूपमा पापस्वीकार र पश्‍चात्ताप गर्न व्यावहारिक कार्य गर्नुपर्छ। कतिपय मानिसहरूले सोध्छन्, “के मैले यसबारेमा सबैलाई बताउनुपर्छ?” त्यो गर्नु आवश्यक छैन; बस तँ गएर एकलै परमेश्‍वरलाई प्रार्थना गर्। जब तँ हृदयमा अप्ठ्यारो र दोषी महसुस गर्छस्, तब प्रार्थना गरेर पापक्षमा प्राप्त गर्नको लागि तँ तुरुन्तै परमेश्‍वरअघि आउनुपर्छ। कतिपय मानिसहरूले सोध्छन्, “परमेश्‍वरले मलाई क्षमा गर्नुभयो भनेर जान्‍नुपहिले मैले कति धेरै प्रार्थना गर्नुपर्छ?” जब तँलाई यो कुराको कारण दोषी महसुस हुन छोड्छ, जब तँ यो मामलाको कारण डिप्रेसनमा पर्न छोड्छस्, तब तैँले परिणामहरू हासिल गरेको हुन्छस्, र यसले तँलाई परमेश्‍वरले माफी दिनुभयो भन्‍ने देखाउनेछ। जब तँलाई कसैले पनि, र कुनै शक्ति र कुनै बाह्य बलले पनि बाधा दिन सक्दैन, र जब तँ कुनै पनि व्यक्ति, घटना, वा परिस्थितिको दबाबमा हुन छोड्छस्, तब तैँले परिणामहरू प्राप्त गरेको हुन्छस्। तैँले चाल्‍नुपर्ने पहिलो कदम यही हो। दोस्रो कदम के हो भने, परमेश्‍वरलाई माफीको लागि निरन्तर बिन्ती गरिरहेको बेला, तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा पछ्याउनुपर्ने सिद्धान्तहरू सक्रिय रूपमा खोजी गर्नुपर्छ—यसो गरेर मात्रै तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्षम हुनेछस्। यो अवश्य नै तेरो अपराधको शोधभर्ना गर्ने, र तैँले पश्‍चात्ताप गरेको छस् र आफूलाई प्रमाणित गरेको छस् भनेर प्रमाणित गर्ने व्यावहारिक कार्य, व्यावहारिक अभिव्यक्ति र व्यावहारिक मनोवृत्ति पनि हो; यो तैँले गर्नैपर्ने कार्य हो। तैँले आफ्‍नो कर्तव्य, अर्थात् परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा कति राम्ररी पूरा गर्छस्? के तैँले यसलाई डिप्रेसनको मनोवृत्तिले लिन्छस् कि परमेश्‍वरले तँलाई पालना गर्न लगाउनुभएका सिद्धान्तहरूअनुसार लिन्छस्? के तँ आफ्‍नो बफादारिता अर्पित गर्छस्? परमेश्‍वरले कुन आधारमा तँलाई माफी दिनुपर्ने हो? के तैँले कुनै पश्‍चात्ताप अभिव्यक्त गरेको छस्? परमेश्‍वरलाई तैँले के देखाइरहेको छस्? यदि तँ परमेश्‍वरको माफी प्राप्त गर्न चाहन्छस् भने, सबभन्दा पहिले तँ इमानदार हुनुपर्छ: एकतर्फ तँमा उत्कट पापस्वीकारको मनोवृत्ति हुनुपर्छ भने, अर्कोतर्फ तैँले आफ्‍नो इमानदारिता अघि सारेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ, नत्रभने कुरा गर्नुको कुनै अर्थ हुँदैन। यदि तँ यी दुई कुरा गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरलाई आफ्‍नो इमानदारिता र असल विश्‍वासले मनाउन सक्छस्, र परमेश्‍वरलाई तेरो पाप माफ गराउन सक्छस् भने, तँ अरू मानिसहरूजस्तै हुनेछस्। परमेश्‍वरले तँलाई अरू मानिसहरूलाई जस्तै हेर्नुहुनेछ, अरू मानिसहरूलाई जस्तै व्यवहार गर्नुहुनेछ, र अरू मानिसहरूलाई जस्तै न्याय र सजाय, अनि जाँच र शोधन गर्नुहुनेछ—तँलाई फरक व्यवहार गरिनेछैन। यस तरिकाले तँसँग सत्यता पछ्याउने संकल्प र इच्छा मात्रै हुनेछैन, तेरो सत्यता पछ्यउने कार्यमा परमेश्‍वरले पनि तँलाई त्यसरी नै अन्तर्दृष्टि, अगुवाइ, र भरणपोषण प्रदान गर्नुहुनेछ। अब तँसँग इमानदार र सच्‍चा इच्छा, अनि उत्कट मनोवृत्ति हुने हुनाले, परमेश्‍वरले अवश्यै तँलाई अरूलाई भन्दा फरक व्यवहार गर्नुहुनेछैन, र अरूले जस्तै, तैँले पनि मुक्ति पाउने मौका पाउनेछस्। तिमीहरूले यो कुरा बुझ्यौ नि, होइन त? (हो।) गम्‍भीर अपराध गर्नु एउटा विशेष अवस्था हो। यो डरलाग्दो कुरा होइन भनेर हामी भन्‍न सक्दैनौँ; यो पक्‍कै अत्यन्तै गम्‍भीर समस्या हो। यो साधारण भ्रष्ट स्वभावजस्तो वा कुनै गलत विचार र दृष्टिकोणजस्तो होइन। यो त वास्तविक रूपमा घटेको, र तथ्य बनिसकेको कुरा हो, जसले गम्‍भीर परिणामहरू ल्याउँछ। त्यसकारण यसलाई विशेष रूपमा लिइनुपर्छ। तैपनि यसलाई विशेष रूपमा लिइए पनि वा सामान्य रूपमा लिइए पनि, यसमा अघि बढ्ने र समाधान गर्ने बाटो सधैँ हुन्छ, र यो कुरा तैँले मैले तँलाई बताउने र अगुवाइ गर्ने तरिका र विधिहरूअनुसार अभ्यास गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तैँले साँच्‍चै यसरी नै अभ्यास गर्छस् भने, अन्त्यमा तैँले मुक्ति पाउने आशा अरू मानिसहरूको जस्तै हुनेछ। यो सब कुरा समाधान गर्ने कार्य अवश्य नै मानिसहरूले डिप्रेसनका भावनाहरू त्याग्‍न सकून् भनेर मात्र गरिने होइन। यसको अन्तिम उद्देश्य त तिनीहरूको डिप्रेसनका भावनाहरू समाधान गरिएपछि, तिनीहरूले मानिसहरू, घटनाहरू, र परिस्थितिहरू सामना गर्दा सामान्य मानवताको विवेक र समझको दायराभित्र रही यी सब कुराहरूलाई सही रूपमा लिन सकून् भन्‍ने हो। तिनीहरूले चरमता अपनाउनु हुँदैन, र तिनीहरू जिद्दी बन्‍नु हुँदैन; तिनीहरू तबसम्‍म परमेश्‍वरका वचनहरूको इच्छा र सत्यता खोजी गर्दै अघि बढ्नुपर्छ, र तिनीहरूले तबसम्म सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने जिम्‍मेवारी र कर्तव्य पूरा गर्नुपर्छ, जबसम्‍म तिनीहरूले सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिलाई हेर्न, र त्यहीअनुसार आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्दैनन्। मानिसहरू यो वास्तविकतामा प्रवेश गरिसकेको अवस्थामा मात्र, तिनीहरू क्रमिक रूपमा सत्यताको मार्गनजिक अघि बढिरहेका हुन्छन्, र यसरी तिनीहरूले मुक्ति प्राप्त गर्ने आशा पाउँछन्। के तिमीहरूलाई अब गम्‍भीर अपराधहरू गरेको कारण पैदा हुने डिप्रेसनको संवेग समाधान गर्ने मार्ग स्पष्ट भयो? (हजुर, भयो।)

के डिप्रेसनको संवेग समाधान गर्नु कठिन समस्या हो? मलाई लाग्छ यो अत्यन्तै कठिन कुरा हो, किनभने यो जीवनका महत्त्वपूर्ण कुराहरूसँग सम्‍बन्धित छ, यो कुरा मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासमा हिँड्ने मार्गसँग, र तिनीहरूले भविष्यमा मुक्ति पाउन सक्छन् कि सक्दैनन्, वा तिनीहरूको विश्‍वास व्यर्थ हुन्छ कि हुँदैन भन्‍ने कुरासँग सम्‍बन्धित छ—यो एक महत्त्वपूर्ण विषय हो। सतही रूपमा हेर्दा, संवेग मात्रै प्रकट भएको देखिन्छ, तर यो संवेग प्रकट हुनुपछाडि कारणहरू हुन्छन्। मैले आज यी कारणहरूबारे स्पष्ट रूपमा सङ्गति गरेँ, र यी समस्याहरू समाधान गर्ने बाटो प्रदान गरेँ, त्यसकारण के अब डिप्रेसनको संवेगलाई सहजै समाधान गर्न सकिँदैन र? (सकिन्छ।) यो समस्या सिद्धान्तको हिसाबमा समाधान भयो। सैद्धान्तिक बुझाइ प्राप्त गरेर, अनि त्यसपछि यो सिद्धान्तलाई विगतमा आफूले गरेका कुराहरूसँग तुलना गर्दै, आफ्‍नो जीवनका कठिनाइहरू र आफ्‍नो सोचका कठिनाइहरू क्रमिक रूपमा समाधान गर्न यो सिद्धान्त प्रयोग गरेर, अनि यो मार्ग निरन्तर पछ्याएर, तँ क्रमिक रूपमा सत्यता पछ्याउने मार्गमा अघि बढ्न सक्छस्। तिमीहरूलाई समस्या समाधान गर्ने यो तरिका कस्तो लाग्यो? (राम्रो लाग्यो।) मानिसहरूले यसरी नै समस्या समाधान गर्नुपर्छ। तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूभित्रका जटिल समस्याहरूले—तिनीहरूको सोचका समस्याहरूले, हृदयका समस्याहरूले, मानसिक समस्याहरूले, साथै भ्रष्ट स्वभावहरूले—यी सबै कुराहरूले तिनीहरूलाई कसिलो गरी बाँध्छन्। तिनीहरू यसरी बन्धन र पासोमा पर्छन्, तिनीहरूले सधैँ कष्ट भोग्छन् र सधैँ थकित महसुस गर्छन्, तिनीहरू रुनु न हाँस्‍नु हुन्छन्, र तिनीहरूले कहिल्यै उम्कने बाटो भेट्टाउँदैनन्। तैँले आजको सङ्गति सुनिसकेपछि, यसबारेमा होसियारीसाथ मनन गरेर यसको सैद्धान्तिक बुझाइ प्राप्त गर्न सक्छस्। त्यसपछि, आफ्‍नो दैनिक जीवनमा व्यावहारिक अनुभव र व्यक्तिगत अनुभव प्राप्त गरेर, तँ यी नकारात्मक संवेगहरू र तेरो भ्रष्ट स्वभावका विभिन्‍न स्थितिहरूबाट क्रमिक रूपमा बाहिर निस्‍कन सक्छस्। तैँले यी कुराहरूलाई पछि छोडेपछि, तँ पूर्ण रूपमा स्वतन्त्र र मुक्त मात्रै हुँदैनस्, र तँ सत्यता वास्तविकतामा प्रवेश मात्रै गरेको हुँदैनस्, यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा त, तैँले सत्यता बुझेको हुनेछस्, सत्यता प्राप्त गरेको हुनेछस्, र तँ सत्यता वास्तविकतामा जिउन सक्षम बनेको हुनेछस्। त्यसपछि तँ ठूलो प्रयोगमा आउनेछस्, र तैँले मूल्यवान्‌ जीवन जिइरहेको हुनेछस्। के तिमीहरू त्यसरी जिउन चाहन्छौ? (चाहन्छौँ।) धेरैजसो मानिसहरू सत्यता बुझ्‍न र सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छन्, र तिनीहरू देहका नकारात्मक संवेगहरू, देहका लालची इच्छाहरू, सांसारिक प्रचलनहरू, र भ्रष्ट स्वभावहरूमा जीवन बिताउन चाहँदैनन्—त्यसप्रकारको जीवन त साह्रै गाह्रो र थकाइलाग्दो हुन्छ। यदि तिमीहरू यस्ता भ्रष्ट स्वभाव र नकारात्मक संवेगहरूमा जिउँछौ भने के तिमीहरूको जीवनको परिणाम राम्रो हुन्छ? यी नकरात्मक संवेगहरूमा जिउनु भनेको शैतानको प्रभुत्वमा जिउनु हो। यो त मासु पेल्‍ने मेसिनमा जिउनुजस्तै हो—ढिलोचाँडो पेलाइमा परिने नै छ, र उम्‍कन गाह्रो हुनेछ। तर यदि तैँले सत्यता स्विकार्न सक्छस् भने, तैँले अन्योलता र पीडालाई पछि छोड्ने आशा हुनेछ, र तँ नकारात्मक संवेगहरूको बन्धन र अन्योलतामा पर्दा हुने पीडाबाट उम्कन सक्षम हुनेछस्।

सुरुमा मैले आज एउटाभन्दा बढी विषयमा सङ्गति गर्ने योजना बनाएको थिएँ, तर मैले डिप्रेसनको विषयमा लामो समय सङ्गति गर्न पुगेँ। कुनै पनि विषयमा भन्‍नुपर्ने कुरा धेरै हुन्छ; एकदुई शब्‍दले कुनै पनि कुरा स्पष्ट रूपमा व्याख्या गर्न सकिँदैन। जबजब म बोल्छु, तबतब मैले कुनै पनि विषयको सिद्धान्त मात्र व्याख्या गरेर त्यसलाई त्यतिकै छोड्न मिल्दैन। कुनै पनि विषयमा सत्यता र वास्तविकताका धेरै पक्षहरू संलग्‍न हुन्छन्; यसमा मानिसहरूका विचार र दृष्टिकोणहरू, तिनीहरूले व्यवहार गर्ने तौरतरिका र माध्यमहरू, र तिनीहरूले हिँड्ने मार्ग संलग्‍न हुन्छन्, र यो सब तिमीहरूको मुक्ति पाउने कार्यसँग सम्‍बन्धित हुन्छ। सत्यता वा कुनै विषयबारे सङ्गति गर्दा म निस्फिक्री रहनु हुँदैन, त्यसकारण म सक्‍नेजति सबै प्रयास गर्छु, र बुढी बजूले एउटै कुरा दोहोर्‍याएर भनिरहेजस्तै म पनि तिमीहरूलाई यी कुराहरू बारम्‍बार बताइरहन्छु। यो कुरा तनावपूर्ण भनेर गुनासो नगर, र यो लामो भयो भनेर पनि गुनासो नगर। मैले कुनै पनि विषयमा पहिले पनि बोलेको हुन सक्छु, त्यसैले किन फेरि यस विषयमा बोल्‍ने? यदि मैले कुनै कुराबारे फेरि बोलेँ भने, तैँले यसलाई फेरि सुनेर पुनरावलोकनको रूपमा लिन सक्छस्। त्यो ठीकै होला, होइन र? (हो।) छोटकरीमा भन्दा, तैँले सत्यतासँग सम्‍बन्धित कुराहरू र मानिसहरूले हिँड्ने मार्गलाई विवेकशील रूपमा लिनुपर्छ, र तँ लापरवाह हुनु हुँदैन। मैले जति धेरै विस्तारमा बताउँछु र जति धेरै खास रूपमा तोकेरै कुरा गर्छु, त्यति नै धेरै विभिन्‍न सत्यताहरूबीचको सम्‍बन्ध, साथै अरू पक्षहरूलगायत, ती विस्तारका कुराहरूबीचका भिन्‍नता र सम्‍बन्धहरूबारे तिमीहरूको बुझाइ अझ विस्तृत र स्पष्ट बन्छ। यदि मैले समग्रमा कुरा गरेँ र केही कुराहरूबारे मात्रै मोटामोटी कुरा गरेँ भने, तिमीहरूलाई ती कुरा बुझ्‍न र तिनमा प्रवेश गर्न गाह्रो लाग्‍नेछ, र तिमीहरू आफैले ती कुराहरू मनन गरेर पत्ता लगाउनु थकानपूर्ण हुनेछ, होइन र? (हो।) उदाहरणको लागि, आजको हाम्रो विषय—नियति, भाग्य, र मानिसहरूले विगतमा गरेका निश्‍चित अपराधहरूको कारण पैदा हुने नकारात्मक संवेगहरू—तिमीहरूले यी कुराहरूबारे आफै विचार गर्न सक्‍नेथिएनौ, र सक्थ्यौ नै भने पनि, तिमीहरूले निकास पाउनेथिएनौ। यी कुराहरूभित्र रहेका सत्यताहरू तैँले नबुझ्‍ने हुनाले, विगतमा गरेका निश्‍चित अपराधहरूबारे सही उत्तर तैँले कहिल्यै प्राप्त गर्न सक्‍नेथिनस्, र यो सधैँ तेरो लागि रहस्यको रूपमा रहनेथियो, र यसले तँलाई सधैँ झिज्याउने र अलमल्याउनेथियो, र तेरो हृदयको अन्तस्करणको शान्ति, आनन्द, स्वतन्त्रता र मुक्ति तँबाट खोस्‍नेथियो। कि त सायद तैँले यस मामलालाई सही रूपमा नसम्‍हालेर अनि सही मार्ग नपछ्याएर, तेरो मुक्ति पाउने कार्यमा असर पर्नेथियो। अनि, अन्त्यमा कतिपय मानिसहरूलाई हटाइन्थ्यो र निकालिन्थ्यो। किन यस्तो हुन्थ्यो? किनभने तिनीहरूले विगतमा अकथनीय कुराहरू गरे र तिनीहरूले ती कुराहरू राम्ररी सम्‍हालेनन् र त्यसको माफी पाएनन्। तिनीहरूको हृदय जीवनभर यी कुराहरूको बन्धनमा पर्‍यो; तिनीहरूलाई सत्यता पछ्याउन मन लागेन, तिनीहरूले लापरवाही ढङ्गले आफ्‍नो कर्तव्य निर्वाह गरे, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेनन्, र तिनीहरूलाई सत्यता पछ्याउनुको कुनै आशा छैन भन्‍ने लाग्यो। तिनीहरूले अन्त्यसम्‍मै यो नकरात्मक दृष्टिकोण बोकेर हिँडे, तिनीहरूले अनुभव गवाहीबारे कहिल्यै कुरा गरेनन्, र तिनीहरूले सत्यता प्राप्त गरेनन्। त्यसपछि मात्रै तिनीहरूलाई पछुतो लाग्‍न थाल्यो, तर ढिला भइसकेको थियो। त्यसकारण, के यी सबै कुराहरू सत्यता र मुक्ति प्राप्त गर्ने कार्यसँग सम्‍बन्धित छैनन् र? (छन्।) यी कुराहरू तेरो जीवनमा आइपरेका छैनन् भन्दैमा वा यी कुराहरू कसैको जीवनमा आइपरेका छैनन्, वा यी कुरा तेरो वरपरका मानिसहरूको जीवनमा आइपरेका छैनन् भन्दैमा, ती अस्तित्वमै छैनन् भन्‍ने नसोच्। यो कुरा राम्ररी ख्याल गर्, तैँले यसभन्दा पहिले नीच काम गरेको हुन सक्छ र त्यसले अहिलेसम्‍म डरलाग्दो परिणाम नल्याएको हुन सक्छ, वा तँ यसभन्दा पहिले यस्तो नकारात्मक संवेगको दलदलमा डुबेको वा अहिले डुबिरहेको हुन सक्छ, र तँलाई यसबारेमा थाहा नभएको, र तँ यसप्रति अनजान रहेको हुन सक्छ, तर एकदिन कुनै वास्तविक घटना घट्छ र यसले तँलाई गम्‍भीर असर पार्छ र गम्‍भीर परिणामहरू ल्याउँछ। तैँले आफ्नो गहन जाँच गरेपछि मात्रै, तँ धेरै वर्षदेखि वा त्योभन्दा पनि लामो समयदेखि थाहै नपाई यो नकारात्मक संवेगको दलदलमा डुबिरहेको रहेछस् भन्‍ने कुरा पत्ता लगाउँछस्। त्यसकारण मानिसहरूले यी कुराहरू पत्ता लगाउन निरन्तर यीबारेमा चिन्तनमनन गर्नुपर्छ, बुझ्‍नुपर्छ, जान्‍नुपर्छ, र अनुभव गर्नुपर्छ। अन्तिममा यी कुराहरू पत्ता लगाउनु तेरो लागि अवश्यै अत्यन्तै खुसीको खबर हो र त्यो मुक्ति पाउने ठूलो अवसर हो। जब तैँले यी कुराहरू पत्ता लगाउँछस्, ठीक त्यही बेला तैँले यी कुराहरू त्याग्‍ने मौका वा आशा पाउँछस्, र मैले आज बोलेको कुरा व्यर्थ हुनेछैन। कुनै पनि सत्यता, कुनै पनि विषय, र कुनै पनि वचन एक वा दुई दिनमा पूर्ण रूपमा बुझ्‍न र अनुभव गर्न सकिँदैन। यो सत्यतासँग सम्बन्धित भएकोले, यो कुरा मानवता, मानिसहरूको भ्रष्ट स्वभाव, मानिसहरूले हिँड्ने मार्ग, र मानिसहरूले पाउने मुक्तिसँग सम्‍बन्धित छ। त्यसकारण, तैँले कुनै पनि सत्यताप्रति हेल्चेक्रयाइँ गर्नु हुँदैन, ती सबैलाई विवेकशील भएर लिनुपर्छ। यदि तिमीहरूले अझै पनि यी सत्यताहरू अत्यन्तै राम्ररी बुझ्दैनौ भने पनि र तिमीहरूलाई आफूमा के-कस्ता समस्याहरू छन् भनेर यी सत्यताहरूअनुसार कसरी आफूलाई जाँच्‍ने भनेर थाहा छैन भने पनि, यी सत्यताहरूलाई केही वर्ष अनुभव गरेपछि यी सत्यताहरूले तँलाई तेरो भ्रष्ट स्वभावको पकडबाट बचाउन सक्‍नेछन्, अनि यी सत्यताहरू तँलाई मुक्ति दिने बहुमूल्‍य सत्यता बन्‍नेछन्। जब त्यस्तो हुन्छ, तब यी सत्यताहरूले तँलाई जीवनको सही मार्गतर्फ डोर्‍याउनेछन्, र सायद लगभग दश वर्षमा, यी वचन र यी सत्यताहरूले तेरो विचार र दृष्टिकोण पूर्ण रूपमा बदलिसकेका र तेरो जीवन उद्देश्य र दिशा पूर्ण रूपमा रूपान्तरित गरिसकेका हुनेछन्।

आजको हाम्रो सङ्गति यतिमै समाप्त हुन्छ। जय मसीह!

अक्टोबर १, २०२२

अघिल्लो: सत्यता कसरी पछ्याउने (१)

अर्को: सत्यता कसरी पछ्याउने (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्