सत्यता कसरी पछ्याउने (१)
हामीले हाम्रो पछिल्लो सङ्गतिमा के विषयमा सङ्गति गर्यौँ? (मानिसले किन सत्यता पछ्याउनै पर्छ।) हामीले सङ्गति गरिसकेपछि, मैले तिमीहरूलाई एउटा विषयमा सोच्न गृहकार्य दिएको थिएँ—त्यो के थियो? (सत्यता कसरी पछ्याउने।) के तिमीहरूले यस विषयमा मनन गर्यौ? (परमेश्वर, मैले यस विषयमा अलिअलि मनन गरेँ। सत्यता कसरी पछ्याउने भन्ने विषयमा कुरा गर्दा, यो हामीले हरेक दिन सामना गर्ने सबै मानिसहरू, घटनाहरू, र परिस्थितिहरूमा हाम्रो भ्रष्ट स्वभावको प्रकटीकरण र भ्रष्ट स्वभावको जाँच गर्नु, त्यसपछि यी समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नु हो। यसको साथै, कर्तव्य निर्वाह गर्ने कार्यले निश्चित सिद्धान्तहरू छुन्छ, त्यसकारण हामीले फरक-फरक कर्तव्य निर्वाह गर्न लागेको बेला यी सिद्धान्तहरूअनुसार कसरी काम गर्ने भनेर बुझ्न सत्यता खोजी गर्नु अनिवार्य हुन्छ—त्यो सत्यता खोजी गर्ने अभ्यासको अर्को तरिका हो।) त्यसकारण एक हिसाबमा, आफ्नो दैनिक जीवनमा सत्यता खोजी गर्नु, र अर्को हिसाबमा, आफ्नो कर्तव्य पूरा गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्नु हो। के यो खोजीका अरू कुनै पक्षहरू छन्? यो कठिन विषय नहुनुपर्ने हो, होइन र? के तिमीहरूले “सत्यता कसरी पछ्याउने” भन्ने विषयमा मनन गर्यौ? तिमीहरूले कसरी यस विषयमा मनन गर्यौ? यस विषयमा मनन गर्नु भनेको यसबारेमा सोचेर केही समय बिताउनु, त्यसपछि त्यो मननबाट प्राप्त भएको ज्ञान टिपोट गर्नु हो। यदि तिमीहरूले यसलाई एकै क्षण मात्रै हेर्यौ र यसबारेमा थोरै मात्रै विचार गर्यौ, तर यसमा समय वा शक्ति लगाएनौ वा यसबारेमा ध्यान दिएर विचार गरेनौ भने, त्यो मनन होइन। मनन गर्नु भनेको त्यस विषयमा गम्भीर विचार गर्नु हो, त्यसबारेमा मनन गर्न साँच्चै मेहनत गर्नु, केही ठोस ज्ञान प्राप्त गर्नु, र अन्तर्दृष्टि र ज्योति प्राप्त गर्नु, र केही प्रतिफलहरू प्राप्त गर्नु हो—मननबाट हासिल गरिने परिणामहरू यिनै हुन्। अब, के तिमीहरूले साँच्चै यस विषयमा मनन गर्यौ त? तिमीहरू कसैले पनि यस विषयमा मनन गरेनौ, होइन त? पछिल्लोपटक, मैले तिमीहरूले तयारी गर्न सक भनेर तिमीहरूलाई एउटा विषयबारे सोच्नु भनेर गृहकार्य दिएँ, तर तिमीहरू कसैले पनि त्यस विषयमा मनन गरेनौ र तिमीहरूले यो कुरालाई गम्भीर रूपमा लिएनौ। के मैले नै तिमीहरूको लागि सबै गरिदिनुपर्छ भन्ने तिमीहरूले सोचिरहेका थियौ? कि तिमीहरूले यस्तो सोच्यौ, “यो विषय अत्यन्तै सरल छ, र यसमा कुनै गहिराइ छैन। हामीले पहिले नै यसबारेमा पत्ता लगाइसकेका छौँ, त्यसैले हामीले यसबारेमा मनन गर्नुपर्दैन—हामीले पहिले नै यो बुझिसकेका छौँ”? कि तिमीहरूलाई सत्यता खोजी गर्ने कार्यसँग सम्बन्धित प्रश्न र मामलाहरूमा चासो छैन? यहाँ समस्या के हो? तिमीहरू काममा साह्रै व्यस्त त पक्कै छैनौ, छौ र? वास्तवमा, यसको कारण के हो? (परमेश्वरले गर्नुभएको प्रश्न सुनेपछि अनि आफ्नो बारेमा मनन गरेपछि, मलाई लाग्छ, मैले सत्यतालाई प्रेम नगर्नु नै यसको मुख्य कारण हो। मैले परमेश्वरका वचनहरूलाई गम्भीरतासाथ लिइनँ, र मैले सत्यताबारे इमानदारीसाथ मनन गरिनँ। मैले पनि यसको उत्तर तपाईँले नै दिनुहुनेछ भन्ने आशा गरेको थिएँ। परमेश्वरले यस विषयमा सङ्गति गरिसक्नुभएपछि, मैले यो बुझ्न सकिहाल्नेछु भन्ने लागेको थियो। मेरो मनोवृत्ति त्यही थियो।) के धेरैजसो मानिसहरू यस्तै छन्? तिमीहरूलाई सबै कुरा अरूले गरिदिने बानी परेजस्तो छ। सत्यताको हकमा भन्दा, तिमीहरू त्यति सावधान हुँदैनौ र त्यति मेहनत गर्दैनौ। तिमीहरूलाई अन्धाधुन्ध काम र दौडधुप गर्न साह्रै मन पर्छ। तिमीहरूले आफ्नो समय व्यर्थैमा खेर फाल्नेबाहेक अरू केही गर्दैनौ; सत्यता सामना गर्दा तिमीहरू भ्रमित हुन्छौ, र तिमीहरूले यसलाई गम्भीरतासाथ लिँदैनौ। तिमीहरूको साँचो स्थिति त्यही हो।
सत्यता कसरी पछ्याउने भन्ने विषय परमेश्वरको घरमा सबैभन्दा आम रूपमा सङ्गति गरिने विषयहरूमध्ये एउटा हो। सत्यता कसरी पछ्याउने भन्ने विषयमा धेरैजसो मानिसहरूले केही सिद्धान्त बुझेका हुन्छन्, र तिनीहरूलाई यस्तो खोज अभ्यास गर्ने केही तरिका र शैलीहरू थाहा हुन्छ। कतिपय मानिसहरूले लामो समय परमेश्वरमा विश्वास गरेको भएर तिनीहरूसँग केही हदसम्म वास्तविक अनुभव हुन्छ, र तिनीहरूले असफलता र पतन पनि र नकारात्मकता र कमजोरी पनि अनुभव गरेका हुन्छन्। सत्यता खोजी गर्ने क्रममा, तिनीहरूले धेरै उकाली-ओराली पनि सामना गरेका हुन्छन्, र सत्यता खोजी गर्ने क्रममा, तिनीहरूले आफ्ना अनुभवहरूबाट सिकेर केही प्रतिफल पनि प्राप्त गरेका हुन्छन्। स्वाभाविक रूपमै, तिनीहरूले आफ्नो जीवन वा वातावरणहरूमा धेरै कठिनाइ र बाधाहरू, साथै विभिन्न वास्तविक समस्याहरू पनि सामना गरेका हुन्छन्। छोटकरीमा भन्दा, धेरैजसो मानिसहरूमा सत्यता पछ्याउने विषयमा केही न केही बुझाइ हुन्छ, चाहे त्यो सोचमा मात्रै होस् वा कुनै व्यावहारिक समस्याहरूबाट पाएको बुझाइ होस्, र तिनीहरूसँग यसबारेमा केही धर्मसैद्धान्तिक ज्ञान पनि हुन्छ। मानिसहरूले परमेश्वरमा विश्वास गर्न वा सत्यता खोजी गर्ने मार्ग हिँड्न थालेपछि, चाहे तिनीहरूले त्यो मार्गमा साँच्चै मूल्य चुकाएका भए पनि वा सत्यता खोजी गर्ने कार्यमा थोरै मात्रै प्रयास गरेका भए पनि, मोटामोटी रूपमा तिनीहरू सबैले यसबारेमा केही न केही बुझेका हुन्छन्। सत्यतालाई प्रेम गर्नेहरूको हकमा, यो बुझाइले साँचो र बहुमूल्य इनामहरू प्रतिनिधित्व गर्छ, तर सत्यता खोजी नगर्नेहरूसँग कुनै अनुभव हुँदैन, तिनीहरूले अनुभव वा इनामबाट केही पनि सिकेका हुँदैनन्। समग्रमा, धेरैजसो मानिसहरू सत्यता खोजी गर्ने क्रममा हिचकिचाउँदै र “पर्खेर हेरौँ” भन्ने मनोवृत्तिसाथ अघि बढिरहेका हुन्छन्, साथै तिनीहरूले सत्यता खोजी गर्दा कस्तो हुँदो रहेछ त्यो पनि थोरथोरै अनुभव गरिरहेका हुन्छन्। धेरैजसो मानिसहरूको विचार, दृष्टिकोण, वा चेतनामा, सत्यता पछ्याउने कार्य सकारात्मक र सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तिनीहरूले यसलाई मानिसहरूले पछ्याउनुपर्ने जीवनको उद्देश्य, र त्योभन्दा पनि बढी, तिनीहरूले जीवनमा पछ्याउनुपर्ने सही मार्गको रूपमा लिन्छन्। चाहे सैद्धान्तिक स्तरमा होस् वा आफ्नो वास्तविक अनुभव र ज्ञानको आधारमा होस्, मानिसहरू सबैले सत्यता खोजी गर्ने कार्यलाई असल र सबैभन्दा सकारात्मक कुराको रूपमा लिन्छन्। मानवजातिले गर्ने त्यस्तो कुनै खोजी वा मार्ग छैन जसलाई सत्यताको खोजी वा सत्यता खोजी गर्ने मार्गसँग तुलना गर्न सकिन्छ। सत्य खोजी गर्ने कार्य मानिसहरूले पछ्याउनुपर्ने एउटै मात्र सही मार्ग हो। मानवजातिको सदस्यको रूपमा, हरेक व्यक्तिको जीवनको उद्देश्य सत्यता खोजी गर्ने हुनुपर्छ, र तिनीहरूले यसलाई मानिसहरूले पछ्याउनुपर्ने सही मार्गको रूपमा लिनुपर्छ। अब, व्यक्तिले सत्यता कसरी खोजी गर्ने त? अहिले भर्खरै, तिमीहरूले केही सरल र सैद्धान्तिक विचारहरू अघि सार्यौ, जसमा अवश्यै धेरैजसो मानिसहरू सहमत हुन्छन्। हरेक व्यक्तिले यस्ता खोजी र अभ्यासहरू सत्यता खोजी गर्ने कार्यसँग सम्बन्धित छन् भन्ने सोच्छन्। तिनीहरूले के विश्वास गर्छन् भने, सत्यता खोजी गर्ने कार्यसँग खास रूपमा सम्बन्धित हुने कुराहरू: आफ्नो बारेमा ज्ञान प्राप्त गर्नु, पापस्वीकार र पश्चात्ताप गर्नु, र त्यसपछि परमेश्वरका वचनहरूबाट अभ्यास गर्ने सत्यता सिद्धान्तहरू खोज्नु, र अन्तिममा, आफ्नो दैनिक जीवन उहाँका वचनहरूमा जिउनु र सत्यता वास्तविकतामा प्रवेश गर्नु मात्रै हुन्। सत्यता कसरी खोजी गर्ने भन्ने विषयमा धेरैजसो मानिसहरूमा रहेको आम बुझाइ र समझ यही हो। तिमीहरूले पहिचान गर्न र बुझ्न सक्ने तरिकाहरूबाहेक, मैले सत्यता खोजी गर्ने अभ्यासका निश्चित मार्ग र तरिकाहरू संक्षिप्त रूपमा बताइसकेको छु। आज, हामी सत्यता कसरी पछ्याउने भन्नेबारेमा अझै विस्तृत सङ्गति गर्नेछौँ।
सत्यता पछ्याउने अभ्यासका दुई वटा मार्ग: त्याग्नु र अर्पण गर्नु
तिमीहरूले सूचीबद्ध गरेका केही तरिकाहरूबाहेक, मैले सत्यता कसरी खोजी गर्ने भन्ने विषयमा विस्तृत रूपमा बताउँदै दुई वटा विधिहरू सारांशित गरेको थिएँ। एउटा तरिका भनेको “त्याग्नु” हो। के यो सरल छ? (सरल छ।) यो अस्पष्ट पनि छैन र जटिल पनि छैन। अनि, यो याद गर्न सजिलो छ र बुझ्न पनि सजिलो छ। अवश्य नै, त्याग अभ्यास गर्दा निश्चित स्तरको कठिनाइ हुन्छ। थाहा भएकै कुरा हो, यो तरिका तिमीहरूले अघि सारेका तरिकाहरूभन्दा धेरै सरल छ। तिमीहरूले भनेका कुराहरू सिद्धान्तहरू मात्रै थिए। ती उत्कृष्ट र गहन देखिन्छन्, र अवश्य नै, तिनका ठोस पक्ष छन्, तर ती मैले भर्खरै तिमीहरूलाई बताएको भन्दा धेरै जटिल छन्। पहिलो तरिका “त्याग्नु,” र दोस्रो तरिका “समर्पण गर्नु” हो। मात्र यी दुई तरिकाहरू, जम्मा तीन शब्द। मानिसहरूले तिनलाई हेरेर मात्रै पनि बुझ्न सक्छन्, र तीबारे सङ्गति नगरी पनि मानिसहरूलाई ती कसरी अभ्यास गर्ने भन्ने थाहा हुन्छ—तिनलाई स्मरण गर्न सजिलो छ। पहिलो तरिका के हो? (त्याग्नु।) दोस्रो? (समर्पण गर्नु।) देखिस् त? के ती सरल छैनन् र? (ती सरल छन्।) ती तिमीहरूले भनेकाभन्दा निकै सारगर्भित छन्। यसलाई के भनिन्छ? तीक्ष्ण हुनु भनेको यही हो। के थोरै शब्दहरू प्रयोग गर्दैमा त्यो तीक्ष्ण हुन्छ त? (हुँदैन।) कुनै कुरा तीक्ष्ण हो कि होइन त्यो कुरा महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा त मुख्य विषय अघि सारिएको छ कि छैन र मानिसहरूले अभ्यास गर्दा त्यसले काम गर्छ कि गर्दैन भन्ने हो। साथै, त्यो अभ्यास गरेर के-कस्ता परिणामहरू हासिल हुन्छन्; त्यसले मानिसहरूका व्यावहारिक कठिनाइहरू समाधान गर्न सक्छ कि सक्दैन; त्यसले मानिसहरूलाई सत्यता खोजी गर्ने मार्ग पछ्याउन सहयोग गर्छ कि गर्दैन; त्यसले मानिसहरूलाई आफ्नो भ्रष्ट स्वभाव जराबाटै समाधान गर्न दिन्छ कि दिँदैन; र त्यो अभ्यास गर्दा मानिसहरूलाई परमेश्वरअघि आउन, र उहाँका वचनहरू र सत्यता स्विकार्न, अनि सत्यता खोजी गर्दा पाउनुपर्ने परिणाम र उद्देश्यहरू हासिल गर्न मदत मिल्छ कि मिल्दैन, त्यो कुरा हेर्नु महत्त्वपूर्ण हुन्छ। के यो सही हो? (हो।) तिमीहरूले अहिले “त्याग्नु” र “समर्पण गर्नु” भन्ने यी दुई तरिकाहरू सुन्यौ र थाहा पायौ। यी दुई तरिका र सत्यता खोजी गर्ने कार्यबीच के सम्बन्ध छ? यी तरिकाहरू तिमीहरूले उल्लेख गरेका तरिकाहरूसँग सम्बन्धित छन् कि ती कुरासँग बाझिएका छन्? यो अझै पनि त्यति स्पष्ट छैन, होइन त? (यो कुरा त्यति स्पष्ट छैन।) सामान्य रूपमा भन्दा, सत्यता खोजी गर्ने अभ्यासका खास तरिकाहरू मैले भर्खरै छलफल गरेका ती दुई तरिकाहरू नै हुन्। ती दुई तरिकामध्ये, पहिलो, अर्थात् त्याग्नुको विशिष्ट विषयवस्तु के हो? “त्याग्नु” भन्ने शब्द सुन्दा तिमीहरूले सोच्ने सबैभन्दा सरल र प्रत्यक्ष कुरा के हो? यसलाई कसरी अभ्यास गर्ने? यसका विशिष्ट भाग र विषयवस्तुहरू के-के हुन्? (आफ्नो भ्रष्ट स्वभाव त्याग्नु।) आफ्नो भ्रष्ट स्वभावबाहेक अरू के छ? (धारणा र कल्पनाहरू।) धारणा र कल्पनाहरू, भावना, इच्छा, र रुचिहरू। अरू के छ? (संसारसँग व्यवहार गर्ने शैतानी दर्शन, जीवनसम्बन्धी गलत मूल्यमान्यता र दृष्टिकोणहरू।) (आफ्ना अभिप्राय र इच्छाहरू।) छोटकरीमा भन्दा, जब मानिसहरूले त्याग्नुपर्ने कुराहरूबारे विचार गर्ने प्रयास गर्छन्, तब भ्रष्ट स्वभावसँग सम्बन्धित विभिन्न व्यवहारहरूबाहेक, तिनीहरूले मानिसहरूका विचार र दृष्टिकोणहरूसँग सम्बन्धित कुराहरू पनि विचार गर्छन्। त्यसकारण, यसमा दुई वटा मुख्य भाग छन्: एउटा भ्रष्ट स्वभावसँग सम्बन्धित छ र अर्को मानिसहरूको सोच र दृष्टिकोणसँग सम्बन्धित छ। यी दुईबाहेक, तिमीहरूले अरू के सोच्न सक्छौ? तिमीहरू अलमल्ल भयौ, होइन त? यसको कारण के हो? यसको कारण के हो भने, तिमीहरूको मनमा तुरुन्तै आउने कुराहरू तिमीहरूले परमेश्वरमा विश्वास गरेको दिनदेखि दैनिक रूपमा तिमीहरूले बारम्बार सामना गरेका र मानिसहरूले प्रायजसो बताइरहने विषयहरू हुन्। तैपनि कसैले उल्लेख नगर्ने, तर मानिसहरूमा हुने समस्याहरूको हकमा भन्दा—तिमीहरूलाई ती थाहा हुँदैनन्, तिमीहरू तीप्रति सचेत हुँदैनौ, तिमीहरूले तीबारे सोच्न सक्दैनौ, र तिमीहरूले तिनलाई मनन गर्नुपर्ने समस्याहरूको रूपमा पनि कहिल्यै हेरेका छैनौ। तिमीहरू अलमल्ल पर्नुको कारण त्यही हो। हामीले यसपछि सङ्गति गर्ने विषयलाई तिमीहरूले राम्ररी विचार गर र सोच, र तिमीहरूले यसलाई गहन रूपमा बुझ्न सक भन्ने चाहन्छु, त्यसैले म तिमीहरूसँग यस विषयमा छलफल गर्दै छु।
सत्यता पछ्याउनुको पहिलो अभ्यास: त्याग्नु
अ. विभिन्न नकारात्मक संवेगहरूलाई त्याग्नु
अब हामीले सत्यता कसरी खोजी गर्नुपर्छ त्यससँग सम्बन्धित दुई मुख्य विषयहरूबारे सङ्गति गर्नेछौँ: नम्बर एक, त्याग्नु, र नम्बर दुई, समर्पण गर्नु। पहिलो कुरा अर्थात्, त्याग्नु भन्ने विषय सङ्गति गर्दै, सुरु गरौँ। यो कार्य भावना, संसारसँग व्यवहार गर्ने दर्शन, हठ, आशिष् पाउने चाहना, र अरू त्यस्तै साधारण अर्थ्याइहरू त्याग्नु मात्रै होइन। आज मैले सङ्गति गर्न लागेको “त्याग्ने” अभ्यासको अझै विशिष्ट प्रयोजन छ र मानिसहरूले आफ्नो दैनिक जीवनमा यसलाई जाँच र अभ्यास गर्नुपर्ने हुन्छ। त्याग्ने विषयमा सर्वप्रथम के उल्लेख गरिनुपर्छ? मानिसहरूले सत्यता खोजी गर्ने क्रममा त्याग्नुपर्ने पहिलो कुरा भनेको मानव संवेगहरू हुन्। मैले यी विभिन्न संवेगहरूबारे उल्लेख गर्दा तिमीहरूलाई के लाग्छ? यी संवेगहरूमा के-के समावेश छन्? (आवेगपन, स्वेच्छाचारिता, र निष्क्रियता।) के आवेगपन संवेग हो? (मानिसहरूले आफ्नो कर्तव्य निभाउँदा कस्तो महसुस गर्छन्, त्यसलाई नै म संवेगहरू भनेर बुझ्छु। तिनीहरूले राम्रो महसुस गर्छन् कि गर्दैनन्, त्यसको आधारमा परिस्थितिप्रति फरक-फरक मनोवृत्ति अपनाउँछन्।) के मैले कुरा गर्दै आएका संवेगहरू यिनै हुन्? के संवेगहरूको व्याख्या यसरी नै गर्नुपर्ने हो? (परमेश्वर, संवेगहरूबारे मेरो बुझाइ के छ भने त्यसमा मुख्य रूपमा झिजो मान्ने, झर्को मान्ने प्रवृत्ति, साथै प्रसन्नता, रिस, शोक र आनन्द समावेश हुन्छ।) यो उचित सामान्यीकरण हो। मानिसहरूले आफूलाई कस्तो महसुस हुन्छ त्यसको आधारमा काम गर्नेबारेमा भर्खरै जुन कुरा उल्लेख गरिएको थियो, के त्यो संवेग हो? (त्यो प्रकटीकरण मात्रै हो।) यो संवेगको प्रकटीकरण हो। नरमाइलो लाग्नु, झर्को लाग्नु, र निराश हुनु—यी सबै संवेगका प्रकटीकरणहरू हुन्, तर ती संवेगका परिभाषा होइनन्। त्यसोभए, सत्यता खोजी गर्ने क्रममा मानिसहरूले त्याग्नुपर्ने पहिलो कुरालाई, अर्थात् विभिन्न संवेगहरूलाई मानिसहरूले कसरी बुझ्नुपर्छ? मानिसहरूले विभिन्न संवेगहरू त्याग्दा के कुरा त्यागिरहेका हुन्छन्? यो कार्य विभिन्न परिस्थिति र प्रसङ्गहरूमा, साथै विभिन्न मानिसहरू, घटनाहरू, र परिस्थितिहरू सामना गर्दा प्रकट हुने मनोदशा, विचार र संवेगहरू त्याग्नु हो। यीमध्ये कतिपय संवेगहरू व्यक्तिको हठ बनेका हुन्छन्। अनि, यीमध्ये कति संवेगहरू व्यक्तिको हठ नबने पनि, तिनले अझै पनि व्यक्तिका कार्य-व्यवहारमा देखिने मनोवृत्तिमा असर गर्छन्। त्यसोभए, यी संवेगहरूमा के-के हुन्छन्? उदाहरणको लागि, तिनमा निराशा, घृणा, रिस, झर्कोपन, असहजता, साथै दबाब, हीनताबोध, र आनन्दको आँसु—यी सबलाई संवेगहरू ठान्न सकिन्छ। के यी संवेगका ठोस प्रकटीकरणहरू हुन्? (हजुर।) यसो भनिसकेपछि, के तिमीहरूलाई संवेग भनेको के हो, थाहा भयो? के तिमीहरूले उल्लेख गरेको निष्क्रियता र आवेगपनसँग तिनको कुनै सम्बन्ध हुन्छ? (हुँदैन।) तिनमा कुनै सम्बन्ध छैन। त्यसोभए, तिमीहरूले उल्लेख गरेका ती कुराहरू के हुन्? (भ्रष्ट स्वभाव।) ती भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन्। के भ्रष्ट स्वभावसँग मैले भर्खरै सूचीबद्ध गरेका संवेगहरू, दबाब, निराशा, हीनताबोध, आदि इत्यादिको कुनै सम्बन्ध हुन्छ? (परमेश्वरले भर्खरै बताउनुभएका संवेगहरू भ्रष्ट स्वभावसँग सम्बन्धित छैनन्, ती भ्रष्ट स्वभावसरह होइनन्, वा ती भ्रष्ट स्वभावको स्तरमा पुगेका हुँदैनन्।) त्यसोभए, ती के हुन् त? ती कुराहरू सामान्य मानवताको खुसी, रिस, शोक, र आनन्द हुन्, र ती मानिसहरूले निश्चित परिस्थितिहरू सामना गर्दा प्रकट हुने संवेग र प्रकटीकरणहरू हुन्। सायद यीमध्ये कति भ्रष्ट स्वभावद्वारा प्रकट हुन सक्छन्, जबकि अरू संवेगहरू त्यो स्तरमा पुगेका हुँदैनन् र ती भ्रष्ट स्वभावसँग त्यति सम्बन्धित हुँदैनन्, तैपनि यी कुराहरू वास्तवमै मानिसहरूका विचारहरूमा लुकेका हुन्छन्। यस्ता परिस्थितिहरूमा, मानिसहरूले जे-जस्तो अवस्था सामना गरे पनि वा प्रसङ्ग जे भए पनि, प्रायजसो यी संवेगहरूले केही हदसम्म मानिसहरूको मूल्याङ्कन र दृष्टिकोणमा स्वतः प्रभाव पार्छन्, र तिनले मानिसहरूले लिनुपर्ने स्थान र हिँड्नुपर्ने मार्गमा पनि असर पार्छन्। हामीले भर्खरै उल्लेख गरेका विभिन्न संवेगहरू धेरैजसो नकारात्मक नै छन्। के कुनै यस्ता संवेगहरू छन् जुन अलि तटस्थ खालका छन् वा जुन त्यति नकारात्मक वा त्यति सकारात्मक छैनन्? छैनन्, तुलनात्मक रूपमा सकारात्मक संवेग कुनै छैनन्। डिप्रेसन, निराशा, घृणा, रिस, हीनताबोध, झर्कोपन, असहजता, र दबाब—यी सबै एकदमै नकारात्मक संवेगहरू हुन्। के यीमध्ये कुनै संवेगले मानिसहरूलाई सकारात्मक रूपमा जीवन, मानव अस्तित्व, र जीवनमा आइपर्ने परिस्थितिहरू सामना गर्न सक्षम तुल्याउँछ? के यिनमा सकारात्मक संवेग कुनै छैन? (छैन।) यी सबै तुलनात्मक रूपमा नकारात्मक संवेगहरू हुन्। त्यसोभए कुन-कुन संवेगहरू अलिक राम्रा छन्? तृष्णा र याद कस्ता छन्? (ती अलिक तटस्थ छन्।) हो, ती तटस्थ हुन सक्छन्। अरू के छन्? अतीतको याद, तीव्र चाहना र मनको अभिलाषा। हामीले उल्लेख गरेका यी संवेगहरूले केलाई जनाउँछ? यी कुराहरू प्रायजसो मानव हृदयको गहिराइ र अन्तरात्मामा लुकेर बस्ने कुराहरू हुन्; यी कुराहरूले प्रायजसो मानिसहरूको हृदय र विचार ओगट्न सक्छन् र काम गर्नुप्रतिको तिनीहरूको मनोदशा अनि दृष्टिकोण र मनोवृत्तिमा प्रायः असर गर्न सक्छन्। त्यसकारण, यी संवेगहरू मानिसहरूको वास्तविक जीवनमा पाइए पनि वा परमेश्वरमाथिको तिनीहरूको विश्वास र तिनीहरूको सत्यता पछ्याइमा पाइए पनि, यी संवेगहरूले धेरथोर मात्रामा तिनीहरूको दैनिक जीवनमा हस्तक्षेप वा प्रभाव निम्त्याउँछन् र कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्तिमा असर पुर्याउँछन्। अवश्य नै, यी कुराले सत्यता पछ्याउँदा मानिसहरूले अँगाल्ने मूल्याङ्कन र अडानमा पनि असर पार्छन्, र खास गरी, अलि निष्क्रिय र नकारात्मक यी भावनाहरूले मानिसहरूमा अथाह प्रभाव पार्छन्। जब मानिसहरूमा स्मृतिहरू विकास भएर तिनीहरूले आफ्ना विभिन्न संवेगहरू बोध गर्न थाल्छन्, वा जब तिनीहरूमा घटना र परिस्थिति, वातावरण, र अरू मानिसहरूलाई पहिचान गर्ने चेतनाको विकास हुन थाल्छ, तब तिनीहरूका विभिन्न संवेगहरू क्रमिक रूपमा प्रकट हुन र आकारमा आउन थाल्छन्। यी संवेगहरूले आकार लिएपछि, मानिसहरूको उमेर बढ्दै जाँदा र अझै धेरै सांसारिक कुराहरू अनुभव गर्दै जाँदा, यी संवेगहरूले तिनीहरूभित्र र तिनीहरूको हृदयमा क्रमिक रूपमा झन्झन् जरा गाड्दै जान्छन्, र तिनीहरूको वैयक्तिक मानवताको मुख्य विशेषता बन्छन्। यी संवेगहरूले क्रमिक रूपमा तिनीहरूको अलग व्यक्तित्व, तिनीहरूको खुसी, रिस, शोक र आनन्द, तिनीहरूको अभिरुचि, साथै तिनीहरूले जीवनमा पछ्याउने लक्ष्य र दिशा, आदि इत्यादि कुरालाई निर्देशित गर्छन्। त्यसैले यी संवेगहरू हरेक व्यक्तिमा अपरिहार्य रूपमा हुन्छन्। मैले किन यसो भनेँ? किनभने मानिसहरू आफ्नो वरिपरिको वातावरणप्रति आत्मगत रूपमा सचेत हुन थालेपछि, यी संवेगहरूले क्रमिक रूपमा तिनीहरूको खुसी, रिस, शोक र आनन्दमा प्रभाव पार्छन्, र मानिसहरू, घटनाहरू, र परिस्थितिप्रतिको तिनीहरूको मूल्याङ्कन र चेतनामा, अनि तिनीहरूको व्यक्तित्वमा प्रभाव पार्छन्। अवश्य नै, यी संवेगहरूले मानिसहरूले आफ्नो वरिपरिका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई कसरी सामना गर्ने र सम्हाल्ने भन्ने तिनीहरूको मनोवृत्ति र दृष्टिकोणमा पनि प्रभाव पार्छन्। अझै महत्त्वपूर्ण कुरा, यी नकारात्मक संवेगहरूले मानिसहरूले कसरी आफूलाई व्यवहारमा ढाल्ने भन्ने तौरतरिका र सिद्धान्तहरू, साथै तिनीहरूले पछ्याउने उद्देश्य र तिनीहरूको मानव व्यवहारको आधारभूत मान्यतामा पनि प्रभाव पार्छन्। सायद तिमीहरूलाई मैले भनेको कुरा बुझ्न त्यति सजिलो नलाग्ला र यो अमूर्त भएझैँ लाग्ला। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु, त्यसपछि सायद तिमीहरूले अझै राम्ररी बुझ्छौ होला।
क. नीचताको भावना
कतिपय मानिसहरू बाल्यकालदेखि नै मन्दबुद्धि, स्पष्ट बोल्न नसक्ने र सादा स्वरूपका हुन्छन्, त्यसैले तिनीहरूका परिवार र समाज भित्रका अरूले तिनीहरूका बारेमा केही नकारात्मक टिप्पणी गर्छन्। उदाहरणका लागि, मानिसहरूले यसो भन्थे: “यो बच्चा लाटो छ, उसले कुराहरूमा ढिलो प्रतिक्रिया जनाउँछ, र अकमकिँदै बोल्छ। त्यो व्यक्तिको बच्चालाई हेर त, उसको मीठो बोलीले मानिसहरूलाई साँच्चै मोहित पार्छ। यो बच्चाले मानिसहरूलाई भेट्दा के भन्नुपर्छ वा मानिसहरूलाई कसरी खुसी पार्नुपर्छ भन्ने जान्दैन, र उसले केही गल्ती गर्दा, कसरी व्याख्या गर्ने वा आफ्नो सफाइ दिने भनी जान्दैन। यो बच्चा मूर्ख छ।” तिनीहरूका आमाबुबाले यसो भन्छन्, र तिनीहरूका आफन्त, साथीभाइ र शिक्षकहरूले पनि त्यसै भन्छन्। यो वातावरणले त्यस्ता व्यक्तिहरूमाथि थाहै नपाई निश्चित दबाब दिन्छ, जसले गर्दा तिनीहरूले अचेतन रूपमा एक किसिमको मानसिकता विकास गर्छन्। कस्तो मानसिकता? तिनीहरूलाई आफू अनाकर्षक भएको र आफ्नो रूपलाई कसैले पनि मन पराउँदैन भन्ने लाग्छ, साथै तिनीहरूले आफ्नो अध्ययनमा राम्रो अङ्क प्राप्त गर्दैनन् र प्रतिक्रिया जनाउन ढिलो गर्छन् भन्ने लाग्छ; तिनीहरूले अरूलाई देख्दा आफ्नो मुख खोल्न र बोल्न सधैँ लाज मान्छन्, र मानिसहरूले तिनीहरूलाई केही दिँदा तिनीहरू धन्यवाद भन्न पनि अत्यन्तै लाज मान्छन्। तिनीहरू मनमनै सोच्छन्, “म बोल्दा किन अकमकाएको होला? अरू मानिसहरू किन त्यति वाकपटु हुन्छन्? म त मूर्ख नै रहेछु!” अवचेतन रूपमा, तिनीहरूले आफूलाई अत्यन्तै बेकामे ठान्छन्, तर आफू त्यति बेकामे, र त्यति मूर्ख भएको स्वीकार गर्न इच्छुक हुँदैनन्। तिनीहरूले हृदयमा प्रायः आफैलाई सोध्छन्, “के म साँच्चै त्यति मूर्ख छु? के म साँच्चै त्यति अप्रिय छु?” तिनीहरूका आमाबुबाले तिनीहरूलाई त्यति मन पराउँदैनन्, अनि तिनीहरूका दाजुभाइ-दिदीबहिनीले, शिक्षकहरूले, र कक्षाका साथीहरूले पनि तिनीहरूलाई मन पराउँदैनन्। अनि बेला बेलामा तिनीहरूका परिवारका सदस्य, आफन्त र साथीभाइहरूले तिनीहरूका बारेमा यसो भन्छन्, “ऊ होचो छ, उसका आँखा र नाक साना छन्, र यस्तो रूप भएकोले, ऊ हुर्केपछि उसले खासै केही गर्न सक्दैन।” यस्तो किसिमको वातावरणमा, तिनीहरू सुरुमा आफ्नो हृदयमा प्रतिरोधी महसुस गर्छन् र बिस्तारै आफ्नै अपर्याप्तता र कमीकमजोरीहरू स्वीकार गर्छन् र मान्छन्, तर त्यसको साथसाथै तिनीहरूको हृदयको गहिराइमा एउटा नकारात्मक संवेग उत्पन्न हुन्छ। यो संवेगलाई के भनिन्छ? हीनताबोध। हीनताबोध महसुस गर्ने मानिसहरूले आफ्ना सबल पक्षहरूलाई नभई आफ्ना कमजोरीहरूलाई मात्रै देख्छन्; तिनीहरूलाई सधैँ आफू अनाकर्षक र मन नपराइने खालको भएको, आफ्नो दिमाग तेज नभएको र आफूले ढिलो प्रतिक्रिया जनाउने, र आफूले मानिसहरूलाई पढ्न नसक्ने महसुस हुन्छ। छोटकरीमा, तिनीहरूलाई आफू पूर्ण रूपमा अपर्याप्त छु भन्ने लाग्छ। हीनताबोधको यो मानसिकता बिस्तारै तेरो हृदयभित्र हाबी हुन थाल्छ, र यो तेरो हृदयलाई अल्झाउने एउटा अटुट संवेग बन्छ। तँ हुर्केर संसारमा निस्केपछि, वा तैँले विवाह गरेर आफ्नो करियर स्थापित गरेपछि, तेरो सामाजिक पहिचान र हैसियत जेसुकै भए पनि, बाल्यकालदेखि तेरो पालनपोषणमा रोपिएको हीनताबोधको यो संवेगले अझै पनि तँलाई असर र नियन्त्रण गर्छ, र तँलाई आफू हरेक हिसाबमा अरू मानिसहरूभन्दा खराब छु भन्ने महसुस गराउँछ। तैँले परमेश्वरमा विश्वास गर्न थालेपछि र मण्डलीमा प्रवेश गरेपछि पनि, तैँले अझै पनि आफू स्पष्ट बोल्न नसक्ने, आफूमा कमजोर क्षमता र औसत रूप भएको, र कुनै पनि महत्त्वपूर्ण कर्तव्य पूरा गर्न नसक्ने व्यक्ति हुँ भनी सोच्छस्। तँ सोच्छस्, “म जे सक्छु त्यही गर्नेछु। मैले अगुवा बन्ने पछ्याइमा लाग्नु आवश्यक छैन, मैले गहन सत्यताहरूको बुझाइलाई पछ्याउनु आवश्यक छैन, म त सबैभन्दा कम महत्त्वपूर्ण व्यक्ति हुन मात्रै इच्छुक छु, र अरूले मलाई जस्तो व्यवहार गरे पनि हुन्छ।” झूटा अगुवाहरू वा ख्रीष्टविरोधीहरू देखा पर्दा, तैँले तिनीहरूलाई खुलासा गर्ने आँट गर्दैनस्; तँलाई आफ्नो क्षमता कमजोर छ र तँ तिनीहरूजस्तो राम्रो छैनस्, र तैँले तिनीहरूलाई खुट्ट्याउन वा खुलासा गर्न सक्दैनस् भन्ने लाग्छ। तैँले जबसम्म तँ आफै झूटो अगुवा वा ख्रीष्टविरोधी होइनस् र तैँले अवरोध र बाधा उत्पन्न गर्दैनस्, तबसम्म त्यो नै पर्याप्त हुन्छ भन्ने ठान्छस्। तेरो हृदयको गहिराइमा, तँलाई आफू असल नभएको र अरू मानिसहरूसँग तुलना गर्न नसकिने, अरू सबै जना सायद मुक्तिका पात्र हुन्, र तँ, बढीमा, एक सेवाकर्ता होस् भन्ने लाग्छ, र त्यसैले तँलाई सत्यता पछ्याउनु आफ्नो पहुँचभन्दा बाहिरको कुरा हो भन्ने लाग्छ। तैँले जति नै सत्यताहरू बुझ्न सके पनि, तँलाई अझै यस्तो लाग्छ कि परमेश्वरले तँलाई तँसँग भएको जस्तो क्षमता र तँ जस्तो देखिन्छस् त्यस्तै हुने पूर्वनिर्धारित गर्नुभएकोले, सायद उहाँले तँलाई केवल एक सेवाकर्ता हुन पूर्वनिर्धारित गर्नुभएको छ, र सत्यता पछ्याउनु, मुक्ति पाउनु, वा अगुवा वा सुपरिवेक्षकका रूपमा सेवा गर्नुसँग तेरो कुनै सरोकार छैन। त्यसैले, तँ सबैभन्दा कम महत्त्वपूर्ण सेवाकर्ता हुनमा नै चित्त बुझाउँछस्। हीनताबोधको भावना सायद तँमा जन्मजात आएको हुँदैन, तर अर्को तहमा गएर, तेरो परिवारको र तँ हुर्केको वातावरणको कारण, तँ सानातिना घोचपेच वा अनुचित आलोचनाहरूको सिकार बनिस्, जसले गर्दा तँमा हीनताबोधको भावना पैदा भयो। यस्तो संवेगले तेरो खोजको सही दिशामा असर पार्छ, यसले तेरो खोजको लागि तँमा हुनुपर्ने सही आकाङ्क्षामा प्रभाव पार्छ, र यसले तेरा उचित खोजहरूमा पनि अवरोध गराउँछ। अनि, तेरो उचित खोज र तेरो मानवतामा हुनुपर्ने उचित सङ्कल्पमा अवरोध भएपछि, सकारात्मक कुराहरू र सत्यता खोजी गर्ने तेरो उत्प्रेरणा दबिन्छ। यो उत्प्रेरणा दबाउने कार्य तेरो वरपरको वातावरण वा कुनै पनि व्यक्तिले गराएको हुँदैन, र अवश्यै परमेश्वरले तैँले यो कष्ट भोग्नुपर्छ भनेर निर्धारित गर्नुभएको पनि हुँदैन, यो त तेरो हृदयको गहिराइमा लुकेको अत्यन्तै नकारात्मक संवेगले गराएको हुन्छ। के कुरा यही होइन र? (हो।)
यसो हेर्दा, हीनताबोध मानिसहरूमा प्रकट हुने संवेग हो; तर वास्तवमा, यसको मूल कारण शैतानको भ्रष्टता, मानिसहरू जिउने वातावरण, र मानिसहरूका आफ्नै वस्तुगत कारणहरू हुन्। सारा मानवजाति दुष्ट व्यक्तिको शक्तिको अधीनमा छ, शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएको छ, र कसैले पनि आफ्ना छोराछोरीलाई सत्यता र परमेश्वरका वचनहरूअनुसार शिक्षा दिँदैन, बरु, तिनीहरू शैतानबाट आउने कुराहरूअनुसार त्यसो गर्छन्। त्यसकारण, शैतानका कुराहरू प्रयोग गरेर अर्को पुस्ता र सारा मानवजातिलाई सिकाउनुको परिणाम के हुन्छ भने यसले मानिसहरूको स्वभाव र सारलाई भ्रष्ट तुल्याउनेबाहेक मानिसहरूमा नकारात्मक संवेगहरू उत्पन्न गराउँछ। यदि उत्पन्न हुने नकारात्मक संवेगहरू अस्थायी हुन् भने, तिनले व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्नेछैनन्। तर, यदि कुनै नकारात्मक संवेग व्यक्तिको भित्री हृदय र आत्मामा गहिरिएर गाडिन्छ र अमेट रूपमा त्यहाँ अड्किन्छ, र तिनीहरूले त्यसलाई पूर्ण रूपमा बिर्सन वा त्यसबाट छुटकारा पाउन सक्दैनन् भने, त्यसले त्यस व्यक्तिले गर्ने सबै प्रकारका छनौटहरू, उसले सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई लिने तरिका, सिद्धान्तका प्रमुख मामिलाहरू सामना गर्दा उसले छनौट गर्ने कुरा, र उसले आफ्नो जीवनमा हिँड्ने मार्गलाई अनिवार्य रूपमा असर गर्नेछ—मानव समाजले हरेक व्यक्तिमा पार्ने वास्तविक प्रभाव यही हो। अर्को पक्ष चाहिँ मानिसहरूका आफ्नै वस्तुगत कारणहरू हुन्। अर्थात्, मानिसहरूले हुर्कँदै गर्दा प्राप्त गर्ने शिक्षा र सिकाइहरू, तिनीहरूले स्विकार्ने आफूलाई आचरणमा ढाल्ने तरिकाहरूका साथै सबै सोच र विचार, साथै विभिन्न मानवीय भनाइहरू, सबै शैतानबाट आउँछन्, त्यसैले मानिसहरूसँग आफूले सामना गर्ने यी समस्याहरूलाई सही परिप्रेक्ष्य र दृष्टिकोणबाट सम्हाल्ने र हटाउने क्षमता हुँदैन। त्यसकारण, अन्जानमै यस कठोर वातावरणको प्रभावमा परेर, र यसद्वारा दमित र नियन्त्रित भएर, मानिसले थाहै नपाई हीनताबोधको संवेगजस्ता विभिन्न नकारात्मक संवेगहरू विकास गर्छ, र आफूले समाधान गर्न, बदल्न, वा हटाउन नसक्ने समस्याहरूविरुद्ध लड्ने प्रयास गर्न ती प्रयोग गर्छ। मानौँ तिमीहरूका आमाबुबा, शिक्षक, तिमीहरूका अग्रज, र तिमीहरू वरपरका अरू सबैले तिमीहरूको क्षमता, मानवता, र चरित्रको अवास्तविक मूल्याङ्कन गर्छन्, र अन्ततः यसले तिमीहरूलाई गर्ने भनेकै तिमीहरूलाई आक्रमण गर्नु, दमन गर्नु, तिमीहरूको दम घोट्नु, तिमीहरूलाई साङ्लाले बाँध्नु, र तिमीहरूलाई बन्धनमा पार्नु हो। अन्ततः, जब तँसँग प्रतिरोध गर्ने कुनै क्षमता हुँदैन, तब तँसँग चुपचाप आफ्ना गुनासाहरू निल्ने जीवनरोज्नु, र यस प्रकारको अन्यायपूर्ण र अनुचित वास्तविकतालाई अनिच्छापूर्वक स्विकार्ने र चुपचाप सहने छनौट गर्नुको कुनै विकल्प हुँदैन। जब तँ यो वास्तविकता स्वीकार गर्छस्, तब अन्ततः तँमा उत्पन्न हुने संवेग खुसी, सन्तुष्टि, वा सकारात्मक वा उत्थानदायी कुरा हुँदैन; तँ अझ बढी उत्प्रेरणा र दिशाको अझ ठूलो बोधका साथ जिउँदैनस्, झन् मानव जीवनका लागि सही र सटीक लक्ष्यहरू पछ्याउनु त परै जाओस्, बरु तँमा हीनताबोधको गहिरो संवेग उत्पन्न हुन्छ। जब यो संवेग तँमा उत्पन्न हुन्छ, तब तँलाई असहाय महसुस हुन्छ। जब तँ तैँले कुनै दृष्टिकोण व्यक्त गर्नुपर्ने समस्या सामना गर्छस्, तब तैँले आफूले भन्न चाहेको कुरा र आफ्नो भित्री हृदयमा व्यक्त गर्न चाहेको दृष्टिकोणलाई कतिपटक विचार गर्नेछस् भन्ने कसलाई के थाहा हुन्छ र, तैपनि तँ अझै पनि त्यसलाई ठूलो स्वरमा बोल्ने हिम्मत गर्नेछैनस्। जब कसैले तैँले राखेको जस्तै दृष्टिकोण व्यक्त गर्छ, तब तँलाई आफ्नो हृदयमा केवल एउटा पुष्टि—तँ अरू मानिसहरूभन्दा खराब छैनस् भन्ने पुष्टि महसुस गर्छस्। तर जब उही अवस्था फेरि आउँछ, तब तँ अझै मनमनै यसो भन्छस्, “मैले लापरबाही रूपले बोल्ने, अलग देखिने, वा आफूलाई हाँसोको पात्र बनाउने गर्नु हुँदैन। म राम्रो छैनँ, म मूर्ख छु, म बेबकुफ छु, म उल्लु हुँ। मैले लुक्न सिक्नुपर्छ; मैले केवल सुन्नुपर्छ र बोल्नु हुँदैन।” यसबाट हामी के देख्न सक्छौँ भने, हीनताबोधको संवेग उत्पन्न हुने क्षणदेखि लिएर यो व्यक्तिको भित्री हृदयमा गहिरिएर स्थापित हुने अवस्थासम्म पुग्दा, तिनीहरू आफ्नो स्वतन्त्र इच्छा र परमेश्वरले तिनीहरूलाई दिएका वैध अधिकारहरूबाट वञ्चित हुन्छन्, होइन र? (हो।) यसरी तिनीहरू यी कुराहरूबाट वञ्चित हुन्छन्। वास्तवमा कसले तिनीहरूलाई यी कुराहरूबाट वञ्चित गरेको हुन्छ? तैँले निश्चित रूपमा भन्न सक्दैनस्, होइन त? तिमीहरू कसैले पनि निश्चित रूपमा भन्न सक्दैनौ। किनभने, यो सम्पूर्ण प्रक्रियामा, तँ पीडित मात्रै हुँदैनस्, तर पीडक पनि हुन्छस्—तँ अरू मानिसहरूद्वारा पीडित हुन्छस्, र आफूद्वारा पनि पीडित हुन्छस्। किन त्यस्तो भएको? मैले भर्खरै भनिसकेँ, तँमा पैदा हुने हीनताबोधको एउटा कारण तेरा आफ्नै वस्तुगत कारणहरू हुन्। तँमा स्वतन्त्र चेतना हुन थालेपछि, परिस्थितिहरूलाई मूल्याङ्कन गर्ने तेरो आधार शैतानको भ्रष्टताबाट आएको हुन्छ, र तँमा कामकुराहरूबारे तेरा दृष्टिकोणहरू समाज र मानवजातिले हालिदिन्छन् र ती कुरा तँलाई परमेश्वरद्वारा सिकाइँदैनन्। त्यसकारण, तेरो हीनताबोधको संवेग जहिले वा जुनै प्रसङ्गमा पैदा भएको भए पनि, र तेरो हीनताबोधको संवेग जुनै हदसम्म विकास भइसकेको भए पनि, तँ थाहै नपाई यस संवेगद्वारा बाँधिएको र नियन्त्रित हुन्छस्, र मानिसहरू, घटनाहरू, र परिस्थितिहरू सम्हाल्ने पद्धति अपनाउँदा तँ शैतानले तँभित्र हालिदिएका यी तरिकाहरू नै प्रयोग गर्छस्। जब हीनताबोधको संवेगले तेरो हृदयको गहिराइमा गहिरो जरा गाड्छ, तब त्यसले तँमा गहन प्रभाव पार्छ मात्रै होइन, तर त्यो मानिसहरू र कामकुराहरूबारे तेरो दृष्टिकोण, अनि तेरो आत्म-आचरण र कार्यमाथि पनि हाबी हुन्छ। अनि, हीनताबोधको भावनाद्वारा नियन्त्रित व्यक्तिहरूले मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्छन्? तिनीहरूले अरू मानिसहरूलाई आफूभन्दा असल ठान्छन्, र तिनीहरूले ख्रीष्टविरोधीहरूलाई पनि आफूभन्दा असल ठान्छन्। ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव हुने र तिनीहरूको मानवता खराब हुने भए पनि, यी मानिसहरूले अझै पनि तिनीहरूलाई अनुकरण गर्नुपर्ने र आदर्शको रूपमा लिनुपर्ने मानिसहरूको रूपमा लिन्छन्। तिनीहरूले आफैलाई यस्तोसमेत भन्छन्, “हेर् त, तिनीहरूमा खराब स्वभाव र दुष्ट मानवता भए पनि, तिनीहरू वरदानप्राप्त छन् र काममा मभन्दा सिपालु छन्। तिनीहरूले सहजतासाथ अरूसामु आफ्नो क्षमता देखाउन सक्छन् र कुनै लाज वा धक नमानी त्यति धेरै मानिसहरूअघि बोल्न सक्छन्। तिनीहरूमा साँच्चै साहस छ। म त तिनीहरूको स्तरमा पुग्नै सक्दिनँ। म पर्याप्त रूपमा साहसी छैनँ।” केले यस्तो अवस्था पैदा गर्छ? यसको एउटा कारण के हो भनेर भन्नैपर्छ भने, तेरो हीनताबोधले मानिसहरूको सारसम्बन्धी तेरो मूल्याङ्कन क्षमता, साथै अरू मानिसहरूलाई हेर्ने तेरो दृष्टिकोण र विचार प्रभावित गरेको छ। के कुरा यही होइन र? (हो।) त्यसोभए हीनताबोधको भावनाले तेरो आफ्नै व्यवहार अँगालाइमा कसरी प्रभाव पारेको हुन्छ? तैँले आफूलाई यसो भन्छस्: “म कुनै वरदान वा क्षमताविना मूर्ख भएर जन्मेँ, र सबै कुरा सिक्नमा म सुस्त छु। त्यो व्यक्तिलाई हेर् त। उसले कहिलेकहीँ बाधा र व्यवधान ल्याए पनि, र स्वेच्छाचारी र लापरवाही हिसाबले काम गरे पनि, कम्तीमा पनि ऊ वरदानप्राप्त छ र उसमा क्षमता छ। अनि जहाँ गए पनि, मानिसहरूले काम गराउन चाहने भनेको त्यस्तै व्यक्तिलाई हो, मजस्तोलाई होइन।” जब कुनै घटना घट्छ, तैँले गर्ने पहिलो कुरा भनेको आफ्नो बारेमा फैसला गरेर मनको ढोका बन्द गर्नु हो। समस्या जेसुकै होस्, तँ पछि हट्छस् र अग्रसरता लिनबाट भाग्छस्, र तँ जिम्मेवारी लिन डराउँछस्। तैँले मनमनै भन्छस्, “म त जन्मँदै मूर्ख जन्मेँ। म जहाँ गए पनि, मलाई कसैले मन पराउँदैनन्। म धेरै बाठो हुनु हुँदैन, र मैले मेरा सानातिना क्षमताहरू देखाउनु हुँदैन। यदि कसैले मलाई सिफारिस गर्यो भने, त्यसले म ठीकै छु भन्ने प्रमाणित गर्छ। तर यदि कसैले मलाई सिफारिस गरेन भने, मैले त्यो काम लिएर राम्ररी गर्न सक्छु भन्दै अग्रसरता जनाएर हुँदैन। यदि ममा यसबारे आत्मविश्वास छैन भने, ममा आत्मविश्वास छ भनेर भन्नु हुँदैन—यदि मैले काम बिगारेँ भने, के गर्ने? मलाई काटछाँट गरियो भने के गर्ने? म त साह्रै लज्जित हुनेछु! के त्यो अपमानजनक कुरा हुँदैन र? मैले आफूलाई त्यस्तो अवस्थामा पार्नु हुँदैन।” हेर् त—के यसले तेरो व्यवहारमा प्रभाव पारेको छैन र? निश्चित हदसम्म, तैँले आफूलाई व्यवहारमा कसरी ढाल्ने भन्नेबारेको तेरो मनोवृत्तिलाई हीनताबोधको तेरो भावानाले प्रभावित र नियन्त्रित गरेको हुन्छ। निश्चित हदसम्म, यसलाई तेरो हीनताबोधको दुष्परिणाम भनेर भन्न सकिन्छ।
यो हीनताबोधको प्रभावमा परेपछि, तैँले विभिन्न प्रकारका मानिसहरूलाई, चाहे तिनीहरू मानवता भएका मानिसहरू हुन्, वा ठिकठिकै मानवता भएका वा मानवता नभएका वा दुष्ट मानवता भएका मानिसहरू नै किन नहुन्, तैँले तिनीहरूलाई कसरी लिन्छस् भन्ने कुरामा यसले कसरी प्रभाव पार्छ? यस्तोमा तेरो मानिसहरूप्रतिको कुनै पनि दृष्टिकोण सत्यता वा परमेश्वरका वचनहरूअनुरूप हुँदैन, त्यसले परमेश्वरका मापदण्डहरू पूरा गर्नु त परको कुरा हो। यसको साथै, यो हीनताबोधको प्रभावमा परेर, तैँले होसियारीसाथ, सतर्कतासाथ र डराउँदै व्यवहार गर्ने निर्णय गर्छस्, र धेरैजसो समय तँ निष्क्रिय र उदास हुन्छस्। तँमा अग्रसरता देखाउने कुनै जोस वा जाँगर हुँदैन, र जब तँमा थोरै भए पनि काम गर्ने सकारात्मक र सक्रिय इच्छा र चाहना हुन्छ, तब तैँले यस्तो विचार गर्छस्, “के यो त अहङ्कारी हुनु होइन र? के मैले जबरजस्ती आफैलाई धकेलिरहेको छैनँ र? के मैले तडकभडक गरिरहेको छैनँ र? के मैले धाक देखाइरहेको छैनँ र? के यो हैसियतप्रतिको मेरो इच्छा होइन र?” तैँले आफ्नो व्यवहारको प्रकृति वास्तवमा के हो भनेर पत्ता लगाउन सक्दैनस्। मानवजातिका वैध आवश्यकता, आकाङ्क्षा, सङ्कल्प र इच्छाहरू, साथै तँ जुन कुरा हासिल गर्न लागिपर्न सक्छस्, जुन कुरा उचित छ र जुन कुरा तैँले गर्नुपर्छ ती कुराहरूबारे, तैँले आफ्नो हृदयमा धेरै पटक सोच्न र मनन गर्न सक्छस्। राती सुत्न नसक्दा, तैँले बारम्बार यस्तो विचार गर्छस्, “के मैले त्यो काम लिनुपर्ने हो? तर ओहो, म त त्यति दक्ष छैन, त्यसकारण यो काम गर्ने आँटै आउँदैन। म मूर्ख र बेवकुफ छु। मसँग त्यो व्यक्तिको जस्तो वरदान छैन, न त त्यस्तो क्षमता नै छ!” खाँदा तँ यस्तो सोच्छस्, “तिनीहरूले दिनमा तीन पटक खान्छन् र आफ्नो कर्तव्य राम्ररी पूरा गर्छन्, र तिनीहरूको जीवनको मूल्य छ। म दिनमा तीन पटक खान्छु तर आफ्नो कर्तव्य राम्ररी पूरा गर्दिनँ, र मेरो जीवनको कुनै मूल्य छैन। म परमेश्वरप्रति, र मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूप्रति ऋणी छु! म एक प्लेट खान पनि लायक छैनँ र मैले खानु पनि हुँदैन।” जब कुनै व्यक्ति अत्यन्तै डरपोक हुन्छ, तब ऊ बेकामको हुन्छ, र उसले कुनै कुरा पनि पूरा गर्न सक्दैन। अवस्था जेसुकै भए पनि, डरपोक व्यक्तिलाई केही कठिनाइ आइपर्दा, तिऊ पछि हट्छ। किन ऊ यसो गर्छ? एउटा कारण के हो भने, यो उसको हीनताबोधको संवेगले गर्दा हुन्छ। उसलाई हीनताबोध हुने र उसले मानिसहरूको अघि हुने आँट नगर्ने हुनाले, उसले लिनुपर्ने दायित्व र जिम्मेवारीहरूसमेत लिन ससक्दैन, न त आफूले आफ्नो क्षमता र सामर्थ्यको दायराभित्र, अनि सामान्य व्यक्तिका रूपमा आफ्नो अनुभवको दायराभित्र वास्तवमै हासिल गर्न सक्ने कुराको बोझ नै उठाउन सक्छ। हीनताबोधको यस संवेगले उसको मानवताको हरेक पक्षलाई असर गर्छ, यसले उसको चरित्रलाईअसर गर्छ, र अवश्य नै, यसले उसको व्यक्तित्वलाई पनि असर गर्छ। मानिसहरूको समूहमा, तिनीहरूले आफ्ना दृष्टिकोणहरू बिरलै व्यक्त गर्छन्, र तिनीहरूले आफ्नो दृष्टिकोण वा राय व्यक्त गरेको तँ मुस्किलले सुन्छस्। जब तिनीहरूले कुनै समस्या सामना गर्छन्, तिनीहरू बोल्ने आँट गर्दैनन्, बरु निरन्तर लुरुक्क परेर पछि हट्छन्। थोरै मात्र मानिसहरू हुँदा, तिनीहरूले ती मानिसहरूमाझ बस्ने साहस बटुल्न सक्छन्, तर धेरै मानिस हुँदा, तिनीहरू कुनामा र मधुरो प्रकाश भएको ठाउँमा जान्छन्, अरू मानिसहरूको अगाडि हुने आँट गर्दैनन्। जब-जब तिनीहरूलाई आफू सही छु भन्ने कुरा देखाउन सक्रिय र सकारात्मक रूपमा केही भन्न र आफ्ना दृष्टिकोण र विचारहरू बताउन मन लाग्छ, तब-तब तिनीहरूलाई त्यसो गर्ने आँटसमेत आउँदैन। जब-जब तिनीहरूमा त्यस्ता विचारहरू आउँछन्, तब-तब तिनीहरूमा हीनताबोधको संवेग अचानक उर्लेर आउँछ, र तिनीहरूलाई नियन्त्रित गर्छ, दबाउँछ, र यसो भन्छ, “केही नभन्, तँ गतिलो छैनस्। आफ्ना दृष्टिकोणहरू व्यक्त नगर्, र आफ्ना विचारहरू आफैसँग राख्। यदि तेरो हृदयमा केही कुरा छ र तँलाई साँच्चै यो कुरा भन्न मन लागेको छ भने, यसलाई कम्प्युटरमा टिपोट गरेर राख् र मनमनै यसबारेमा गम्भीर मनन गर्। तैँले यो कुरा कसैलाई बताउनु हुँदैन। तैँले गलत कुरा भनिस् भने के गर्ने? त्यो साह्रै लाजमर्दो हुनेछ!” यस आवाजले तँलाई यो नगर्, त्यो नगर्, यो नभन्, त्यो नभन् भनिरहन्छ, जसले गर्दा तँ आफूले भन्न चाहेको हरेक शब्द फेरि भित्रै निल्छस्। तैँले आफ्नो हृदयमा लामो समयदेखि खेलाउँदै आएको कुरा हुन सक्छ, तर जब बोल्ने समय आउँछ, तब तँ पछि हट्छस्, त्यो भन्ने हिम्मत गर्दैनस्, बोल्न लाज मान्छस्, र तँलाई यो तैँले गर्नै नहुने कुरा हो, त्यो गर्नु कुनै नियम उल्लङ्घन गर्नु वा कानुन तोड्नुजस्तै हुनेछ भन्ने लाग्छ। अनि जब एक दिन तँ सक्रिय रूपले आफ्नो दृष्टिकोण व्यक्त गर्छस्, तब तँलाई भित्र अतुलनीय रूपमा व्याकुल र असहज महसुस हुन्छ। अतुलनीय असहजताको यो भावना बिस्तारै हराएर गए पनि, तेरो हीनताबोधको संवेगले तँमा भएको बोल्न चाहने, आफ्नै दृष्टिकोणहरू व्यक्त गर्न चाहने, सामान्य व्यक्ति बन्न चाहने, र अरू सबैजस्तै हुन चाहने विचार, अभिप्राय र योजनाहरूलाई बिस्तारै दबाइदिन्छ। तँलाई साँच्चै नचिन्नेहरूले तँ थोरै बोल्ने व्यक्ति होस्, तँ शान्त बस्छस्, तेरो लजालु व्यक्तित्व छ, तँ भीडबाट अलग देखिन मन नपराउने व्यक्ति होस्, अरू धेरै मानिसको अगाडि बोल्दा तँलाई लाज लाग्छ र तेरो अनुहार रातो हुन्छ, अनि तँ तुलनात्मक रूपले अन्तर्मुखी छस् भन्ने विश्वास गर्छन्। वास्तवमा, तँ हीनताबोध महसुस गर्छस् भन्ने तँलाई मात्र थाहा छ। तेरो हृदय यो हीनताबोधको भावनाले भरिएको हुन्छ र यो भावना लामो समयदेखि रहेको हुन्छ, र यो कुनै क्षणिक भावना हुँदैन। बरु, यसले तेरो अन्तरात्माको गहिराइबाट तेरा विचारहरूमाथि कडा नियन्त्रण गर्छ, तेरो मुख पूरै बन्द गरिदिन्छ, र तेरो बुझाइ जति सही भए पनि, वा मानिसहरू, घटनाहरू, र परिस्थितिहरूप्रतिको तेरो दृष्टिकोण र विचार जे-जस्तो भए पनि, तैँले यसबारेमा सोच्ने र हृदयमा मनन गर्ने आँट मात्रै गर्छस्, अरूले सुन्ने गरी बोल्ने कहिल्यै आँट गर्दैनस्। अरूले तैँले भनेको कुरा अनुमोदन गरे पनि वा तेरो कुरा सच्याए पनि र तँलाई आलोचना गरे पनि, तँ त्यस्तो परिणाम सामना गर्ने वा देख्ने आँट गर्दैनस्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने तँभित्र रहेको हीनताबोधको भावनाले तँलाई यसो भनिरहेको हुन्छ, “त्यसो नगर्, तँ त्यसो गर्न लायक छैनस्। तँमा त्यस्तो क्षमता छैन, तँमा त्यसप्रकारको वास्तविकता छैन, त्यसकारण तैँले त्यसो गर्नु हुँदैन, र तँ त्यस्तो व्यक्ति हुँदै होइनस्। अहिले केही नगर् वा केही नसोच्। हीनताबोधमा बाँचेर मात्रै तँ आफ्नो वास्तविकमा जिइरहेको हुनेछस्। तँ सत्यता पछ्याउन वा आफ्नो हृदयको कुरा खोल्न र अरू मानिसहरूले जस्तै चाहेको कुरा बोल्दै अरूसँग जोडिन योग्य छैनस्। किनभने तँ गतिलो छैनस्, र तिनीहरूजत्तिको सिपालु छैनस्।” यो हीनताबोधको भावनाले मानिसहरूको दिमागभित्रको सोचलाई निर्देशित गर्छ; यसले तिनीहरूलाई सामान्य व्यक्तिले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट र तिनीहरूले जिउनुपर्ने सामान्य मानवताको जीवन जिउनबाट रोक्छ, र यस क्रममा यसले मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तिनीहरूको तौरतरिका र माध्यम, अनि दिशा र उद्देश्यलाई पनि निर्देशित गर्छ। तिनीहरूले आफू इमानदार व्यक्ति बन्नुपर्छ भन्ने विश्वास गरे पनि र तिनीहरूलाई इमानदार व्यक्ति बन्न मन परे पनि, इमानदार व्यक्ति बन्ने जीवनमा प्रवेश गर्नको लागि तिनीहरूले इमानदार व्यक्ति बन्ने इच्छालाई शब्द वा व्यवहारमा व्यक्त गर्ने आँट कहिल्यै गर्दैनन्। तिनीहरूको हीनताबोधको कारण, तिनीहरूले इमानदार व्यक्ति बन्नेसमेत आँट गर्दैनन्—तिनीहरू पूर्णतया साहसरहित हुन्छन्। जब तिनीहरूले कुनै इमानदार कुरा भन्छन्, तब हतार-हतार आफ्ना वरिपरिका मानिसहरूलाई हेर्छन्, र सोच्छन्, “कसैले मेरो बारेमा कतै नराम्रो सोचिरहेको त छैन? कतै तिनीहरूले यस्तो सोच्ने त होइनन् ‘के तिमी इमानदार व्यक्ति बन्ने प्रयास गरिरहेको छौ? के तिमीले मुक्ति पाउन सकूँ भनेर मात्रै इमानदार व्यक्ति बन्न चाहेको होइनौ? के यो आशिष् पाउने इच्छा मात्रै होइन र?’ अहँ, हुँदैन, म केही भन्दिनँ। तिनीहरू सबै इमान्दारीपूर्वक बोल्न सक्छन्, म मात्र हो नसक्ने। म तिनीहरूजस्तो योग्य छैनँ, म सबैभन्दा निम्नस्तरको व्यक्ति हुँ।” यी खास प्रकटीकरण र प्रकाशबाट हामी के देख्न सक्छौँ भने, यो नकारात्मक संवेग, अर्थात् हीनताबोधको यो भावनाले मानिसहरूको हृदयको अन्तस्करणमा प्रभाव पारेपछि र जरा गाडेपछि, जबसम्म तिनीहरूले सत्यता खोजी गर्दैनन्, तबसम्म यसलाई उखेल्न र यसको रोकावट तोड्न तिनीहरूलाई निकै गाह्रो हुनेछ, र तिनीहरूले गर्ने हरेक कुरामा तिनीहरू यसको रोकावटमा पर्नेछन्। यस संवेगलाई भ्रष्ट स्वभाव भन्न नसकिए पनि, यसले मानिसहरूमा गम्भीर नकारात्मक असर पारिसकेको छ; यसले तिनीहरूको मानवतालाई चरम रूपमा दमन गर्छ र तिनीहरूको सामान्य मानवताका विभिन्न संवेगहरू अनि बोली र कार्यहरूमा ठूलो नकारात्मक प्रभाव पार्छ। यी परिणामहरू एकदमै गम्भीर हुन्। सानो स्तरमा, यसले तिनीहरूको व्यक्तित्व, तिनीहरूको रुचि, र तिनीहरूको महत्त्वाकाङ्क्षालाई असर गर्छ; ठूलो स्तरमा, यसले तिनीहरूको जीवनको लक्ष्य र दिशालाई असर गर्छ। हीनताबोधको यस संवेगका कारणहरूबाट, यसको विकासबाट र यसले व्यक्तिमा ल्याउने परिणामहरूबाट, तैँले यसलाई जुनसुकै पक्षबाट हेरे पनि, के यो मानिसहरूले त्याग्नुपर्ने कुरा होइन र? (हो।) कतिपय मानिस भन्छन्, “मलाई म हीन छु भन्ने लाग्दैन र म कुनै पनि प्रकारको बन्धनमा छैनँ। मलाई कसैले कहिल्यै उक्साएको वा होच्याएको छैन, न त कसैले कहिल्यै मेरो दम घोटेको छ। म एकदमै स्वतन्त्र रूपमा जिउँछु, त्यसैले के त्यसको अर्थ ममा हीनताबोधको यो संवेग छैन भन्ने होइन र?” के त्यो सही हो? (होइन, कहिलेकहीँ हामीमा अझै पनि हीनताबोधको त्यो संवेग हुन्छ।) तँमा अझै पनि धेरथोर रूपमा यो हुन सक्छ। यसले तेरो हृदयको अन्तस्करणलाई वशमा पारेको नहुन सक्छ, तर कतिपय अवस्थामा यो अचानक देखा पर्न सक्छ। उदाहरणको लागि, तैँले आदर्श ठानेको, तँभन्दा सिपालु, तँमा भन्दा अझै बढी विशेष सीप र वरदान भएको, तँभन्दा बढी हैकम जमाउने खालको, तँभन्दा बढी रोबरवाफिलो, तँभन्दा बढी दुष्ट, तँभन्दा बढी अल्गो र आकर्षक, समाजमा हैसियत भएको, धनी, तँभन्दा बढी शिक्षित र उच्च हैसियत भएको, तँभन्दा जेठो र परमेश्वरमा लामो समय विश्वास गरेको, परमेश्वरमाथिको विश्वासमा अझै बढी अनुभव र वास्तविकता बटुलेको कुनै व्यक्तिलाई अचानक भेटिस् भने, तैँले आफूमा हीनताबोधको भावना आउनबाट रोक्न सक्दैनस्। जब तँभित्र यस्तो भावना आउँछ, तब “स्वतन्त्र रूपको जियाइ” हराएर जान्छ, तँ डरपोक बन्छस् र आँट गुमाउँछस्, आफ्ना शब्दहरू कसरी मिलाएर भन्ने भनेर सोच्छस्, तेरो अनुहारको हाउभाउ अनौठो बन्छ, तँलाई बोल्न र हलचल गर्न बाधित भएको महसुस हुन्छ, अनि तँ आफूलाई आवरणमा ढाक्न थाल्छस्। तँमा हीनताबोधको भावना पैदा भएकोले यी र अन्य प्रकटीकरणहरू देखा पर्छन्। अवश्य नै, यो हीनताबोध क्षणिक मात्रै हुन्छ, र जब यस्तो भावना पैदा हुन्छ, तैँले आफूलाई जाँच्नुपर्छ, र तँ समझदार बन्नुपर्छ, र त्यो भावनाको रोकावटमा पर्नु हुँदैन।
ख. घृणा र रिसका संवेगहरू
आज हामीले छलफल गरिरहेका अनि हामीले त्याग्नुपर्ने विभिन्न संवेगहरू मानिसहरूको अन्तरात्मामा गाडिएर बसेका हुन्छन्। यी कुराहरूले तँलाई पार्ने प्रभाव क्षणिक हुँदैनन्, तिनका प्रभावहरू निकै दीर्घकालीन र गहन हुन्छन्। जब तँलाई राती निदाउन गाह्रो हुन्छ, जब तँ एकलै हुन्छस्, तब विगतमा तँमा नकारात्मक संवेग पैदा गराउने र तेरो स्मरणमा जरा गाडी बसेका ती मानिसहरू, घटनाहरू, र परिस्थितिहरू अलिअलि गर्दै तेरो मस्तिष्कमा प्रकट हुन थाल्छन्। कुनै शब्द, आवाज, श्राप, कुटाइ, दृश्य, वस्तु, मानिसहरूको समूह, वा सुरुदेखि अन्त्यसम्म हुने घटनाहरूको शृङ्खला—तँमा अनेक किसिमका नकारात्मक संवेगहरू पैदा गर्ने तेरो स्मृतिको गहिराइमा रहेका यी सबै मानिसहरू, घटनाहरू र परिस्थितिहरू तेरो मस्तिष्कमा चलचित्रजस्तै खेल्न थाल्छन्। यो बारम्बार देखा परिरहन्छ, र अन्तिममा थाहै नपाई तँ फेरि तेरो प्राणको गहिराइमा लुकेर बसेका ती नकारात्मक संवेगहरूमा, अनि विगतमा तेरो अनुभूति, मानवता, व्यक्तित्व, र भविष्यको जीवनमा प्रभाव पार्ने त्यस क्षणमा फर्केर जान्छस्। जब तँ एकलै हुन्छस्, जब तैँले कठिनाइहरू सामना गरिरहेको हुन्छस्, जब तैँले कुनै निर्णय गर्नुपर्ने हुन्छ, र जब तँ निराशामा हुन्छस्, तब तँ लुरुक्क परेर सबैबाट अलग नभई, तेरो अन्तस्करणमा लुकेका तँलाई पीडा दिने त्यो परिस्थिति, घटना, र मानिसहरूको त्यो समूहमै फर्केर नगई बस्न सक्दैनस्। यी मानिसहरू, घटनाहरू र परिस्थितिहरूले तँलाई आक्रमणमा परेको महसुस गराए पनि र चोट पुर्याए पनि, अनि तिनले तँभित्र अनेक किसिमका संवेगहरू पैदा गराए पनि, जब तँलाई निराश र उदास महसुस हुन्छ, जब तैँले असफलता सामना गर्छस्, जब तँलाई काटछाँटसमेत गरिन्छ वा जब तेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तँलाई इन्कार गर्छन्, तब तँ तेरो जीवनमा प्रभाव पार्ने त्यो नकारात्मक संवेगभित्र फर्केर जान्छस्, चाहे त्यो निराशा, घृणा, रिस वा हीनताबोध नै किन नहोस्। यी संवेगहरूले तँलाई हरकिसिमका पीडा दिए पनि, वा तिनले तँलाई असहज महसुस गराए पनि, वा रुवाए पनि, वा झर्को लगाए पनि, त्यो क्षण तैँले महसुस गरेको नकारात्मक भावनाहरूमा सधैँ फर्केर जानबाट तैँले अझै पनि आफूलाई रोक्न सक्दैनस्। जब तँ त्यो क्षणमा फर्केर जान्छस्, तब त्यो नकारात्मक संवेगले तँलाई पार्ने प्रभाव फेरि बलियो बन्छ। जब यो नकारात्मक संवेगले तँलाई बारम्बार प्रभाव पार्छ, सम्झाउँछ, र झस्काउँछ, तब यसले तँलाई परमेश्वरका वचनहरू सुन्न र सत्यता सिद्धान्तहरू बुझ्नमा अदृश्य रूपमा बाधा दिन्छ। जब यी नकारात्मक संवेगहरू फेरि पनि तेरो हृदयको अन्तस्करणमा पैदा हुन्छन्, जब तिनले तेरा विचारहरू वशमा राख्छन्, तब सत्यताप्रतिको तेरो चासो कमजोर हुँदै जानेछ, र इन्कार वा विरोधको अनुभूतिसमेत जाग्नेछ। विगतमा तैँले पाएको चोट र अनुचित व्यवहारको कारण, तैँले मानवजाति र समाजलाई अझै ठूलो दुस्मनीको दृष्टिले हेर्न सक्छस्, र भइसकेका र भविष्यमा हुनेवाला सबै कुरालाई घृणा गर्न सक्छस्। यी संवेगहरू निरन्तर तेरो हृदयभित्र प्रकट भइरहन्छन्, र तेरो अनुभूति, तेरो स्थिति र अवस्थालाई बारम्बार प्रभाव पारिरहन्छन्। यी संवेगहरूले तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा महसुस गर्ने अनुभूतिलाई, साथै कर्तव्य निर्वाह गर्ने क्रममा तैँले राख्ने मनोवृत्ति र दृष्टिकोणलाई, र अवश्य नै, सत्यता पछ्याउने तेरो उत्प्रेरणा र सङ्कल्पलाई पनि बारम्बार प्रभाव पार्छन्। कहिलेकहीँ तैँले सत्यता पछ्याउने र फेरि कहिल्यै उदास नबन्ने, आफू पर्याप्त रूपमा सिपालु छैनँ भनेर कहिल्यै विश्वास नगर्ने र पछि नहट्ने सङ्कल्प मात्रै गरेको हुन्छस्; तैपनि, जब क्षणिक नकारात्मक संवेगले तेरो हृदय भर्छ, तब सत्यता खोजी गर्ने तेरो उत्प्रेरणा पूर्ण रूपमा र एकै क्षणमा नामनिसानै नरही हराउन सक्छ। जब यस्तो अवस्थामा सत्यता खोजी गर्ने तेरो उत्प्रेरणा पूर्ण रूपमा हराउँछ, तब तँलाई सत्यता खोजी गर्नु रोचक लाग्नेछैन र तँलाई परमेश्वरमा विश्वास गर्नु र मुक्ति पाउनुको कुनै अर्थ छैन भन्ने महसुस हुन्छ। यस्तो संवेग र स्थिति प्रकट हुँदा, तँ फेरि पनि परमेश्वरअघि आउन, परमेश्वरका वचनहरू प्रार्थनासहित पढ्न वा परमेश्वरका वचनहरू सुन्न अनिच्छुक हुन्छस्, र अवश्य नै तँमा परमेश्वरका वचनहरू अभ्यास गर्ने सङ्कल्प वा इच्छा हुनु, वा तँ सत्यता पछ्याउने व्यक्ति बन्नु धेरै परको कुरा हुन्छ। सत्यता पछ्याउने मार्गमा हिँड्ने मानिसहरूमा यी विभिन्न नकारात्मक संवेगहरूले दिने ठूलो बाधा र असर यही हो। अझै सटीक रूपमा भन्दा, यी संवेगहरूले मानिसहरूलाई बाधा र क्षति पुर्याउँछन्, र तैँले समय-समयमा बटुलेको थोरै साहस र तैँले भर्खरै बुझेका आनीबानीसम्बन्धी थोरै सिद्धान्तहरू बेकार तुल्याउँछन्। एकै क्षणमा, यी संवेगहरूले तँलाई तेरो हृदयको अन्तस्करणदेखि नै परमेश्वरको अस्तित्व, उहाँका आशिष्हरू, परमेश्वरको सार्वभौमिकता, र तँप्रतिको उहाँको भरणपोषण बुझ्न नसक्ने तुल्याउँछन्, र तँ तुरुन्तै यीमध्ये कुनै एक नकारात्मक संवेगले भरिन्छस्। जब तँ यी नकारात्मक संवेगहरूले भरिन्छस्, तब तेरो भ्रष्ट स्वभावले भित्र तँलाई तुरुन्तै नियन्त्रण गर्छ। अनि, जब तँलाई तेरो भ्रष्ट स्वभावले नियन्त्रण गरेको हुन्छ, तब तँ तुरुन्तै फरक व्यक्ति बन्छस् र आफ्ना वरिपरिका मानिसहरू, घटनाहरू र परिस्थितिहरूसामु फरक अनुहार देखाउँछस्। तेरो पहिलेको प्रेम हराएको हुन्छ, तेरो पहिलेको धैर्यता हराएको हुन्छ, कष्ट भोग्ने र मूल्य चुकाउने, कठिनाइ भोगेर परिश्रम गर्ने तेरो पहिलेको ऊर्जा हराएको हुन्छ, आफ्नो कर्तव्य पूरा गर्न एक छाक खाना छोड्ने र थोरै सुत्ने तेरो उत्प्रेरणा हराएको हुन्छ, र यसको स्थान हरेक व्यक्तिप्रतिको दुस्मनीले लिएको लिन्छ। हरेक व्यक्तिप्रति महसुस गरिने यो दुस्मनीको मुख्य स्रोत के हुन्छ? यो तेरो भ्रष्ट स्वभावबाट आउँछ, तर तँमा नकारात्मक संवेगहरू पैदा गराउने तैँले विगतमा अनुभव गरेका अवस्थाहरू, मानिसहरू, घटनाहरू, र परिस्थितिहरूले पनि आउँछ। तँ भन्छस्, “म अरूलाई सहन्छु, तर कसले मलाई सहन्छ? म अरूप्रति समझदार बन्छु, तर मप्रति कसले समझदारिता देखाउँछ? मेरा आमाबुबा वा मेरा दाजुभाइ-दिदीबहिनीले समेत मसँग कुनै समझदारिता देखाउँदैन! अरू सबैले गल्ती गर्छन्, त्यसकारण म पनि गल्ती गर्न सक्छु! काटछाँटमा पर्दा अरूले नकारात्मक आवेग पोखाउँछन्, त्यसकारण मैले चाहिँ किन पोखाउन सक्दिनँ र? अरूले प्रतिष्ठा र पदको लागि सङ्घर्ष गर्छन्, अनि मैले चाहिँ किन गर्न सक्दिनँ र? यदि तिमी गर्न सक्छौ भने, म पनि गर्न सक्छु! अरूले आफ्नो कर्तव्य निर्वाह गर्दा धोका दिँदै आफ्नो जिम्मेवारीबाट उम्कने प्रयास गर्न सक्छन्, त्यसैले म पनि त्यसो गर्न सक्छु। अरूले सत्यता खोजी गर्दैनन्, त्यसैले म पनि गर्दिनँ। अरूले सिद्धान्तविना व्यवहार गर्छन्, त्यसैले म पनि त्यसै गर्छु। अरूले परमेश्वरको घरका हितहरू रक्षा गर्दैनन्, त्यसैले म पनि गर्दिनँ। म अरूले जे गर्छन् त्यही गर्छु। त्यसो गर्नुमा के गल्ती छ र?” यो कस्तो किसिमको प्रकटीकरण हो? तेरा विचारहरू हेर्दा होस् वा तैँले प्रकट गर्ने भ्रष्ट स्वभाव हेर्दा होस्, यो परिवर्तन पूर्ण रूपमा उल्टो छ, लाग्छ तँ अर्कै व्यक्ति बनेको छस्। यहाँ के भइरहेको छ? यसको मूल कारण तँ भित्रैबाट परिवर्तन हुनु हो। बाहिरबाट हेर्दा तँ उस्तै देखिन्छस् र तेरो दैनिक कार्यतालिका, तेरो बोल्ने शैली, र तेरो स्वरूप अपरिवर्तित छ, र पर्दापछाडि तँलाई कसैले डोर्याइरहेको वा लोभ्याइरहेको छैन जस्तो देखिन्छ, तैपनि अचानक किन संवेगको यस्तो प्रस्फुटन भयो? यसको एउटा कारण के हो भने, यो तेरो हृदयको गहिराइमा रोपिएका नकारात्मक संवेगहरूले पैदा गरेको कुरा हो। आफूभित्र सधैँ घृणा र रिसका नकारात्मक भावनाहरू पालेर बस्ने मानिसहरू आफ्नो स्थिति राम्रो हुँदा, प्रायजसो परमेश्वरसामु आउँछन्, परमेश्वरका वचनहरू पढ्छन्, र सत्यता खोजी गर्दा र आफ्नो कर्तव्य पूरा गर्दा सबै कुरा सामान्य रूपमा अघि बढ्ने कुरा सुनिश्चित गर्छन्। यदि तिनीहरूले आफूलाई मन नपर्ने कुनै कुरा सामना गरे, वा काममा वा जीवनमा कुनै बाधा, असफलता वा अपमान सामना गरे भने, वा तिनीहरूको बेइज्जत भयो वा तिनीहरूको हितमा केही हानि भयो भने, तिनीहरूभित्रको नकारात्मक भावनाहरूले पैदा गर्ने घृणा र रिसले तिनीहरूलाई अत्यन्तै क्रोधित र सन्काहा बनाउँछ। सायद तिनीहरूले विगतमा अस्वाभाविक घटनाहरू अनुभव गरेका हुन सक्छन्, जस्तै दुर्व्यवहारमा पर्नु, वा दुष्ट मानिसहरू हातबाट जथाभाबी कुटाइ खानु, वा सम्पत्ति जफत हुनु, वा दुष्ट मानिसहरूको हेपाइ वा अपमानमा पर्नु; कतिपय मानिसहरूका सहकर्मी वा आफूभन्दा माथिल्लो पदका मानिसहरूले तिनीहरूलाई काममा दुःख दिएका हुन सक्छन्, र कतिपय मानिसहरूले पढाइमा राम्रो अङ्क नल्याएको कारण, घरको अवस्था दयनीय भएको कारण, वा तिनीहरूका आमाबुबा किसान भएका र समाजको तल्लो स्तरका मानिसहरू भएका कारण र यस्तै अन्य कुराहरूको कारण तिनीहरूलाई तिनीहरूका कक्षाका साथीहरू र स्कुलका शिक्षकहरूले भेदभाव गरेका र अनुचित व्यवहार गरेका हुन सक्छन्। जब कुनै व्यक्तिले समाजमा अनेक किसिमका अनुचित व्यवहारहरू सहनुपर्छ, जब तिनीहरूको मानव अधिकार खोसिन्छ, वा जब तिनीहरूका हितहरू वा तिनीहरूको सम्पत्ति तिनीहरूबाट खोसिन्छ, तब तिनीहरूको हृदयको गहिराइमा स्वाभाविक रूपमै घृणाको बीउ रोपिएको हुन्छ, र समयसँगै अघि बढ्दै जाँदा तिनीहरूले समाज, मानवजाति, र आफ्नै परिवार, अनि साथीभाइ र आफन्तहरूसँग गर्ने व्यवहारमा समेत यो घृणा बोकेर हिँड्छन्। हृदयमा यस्तो घृणा रोपिएका मानिसहरूको दृष्टिकोणलाई यही घृणाले प्रभाव पारेको हुन्छ, र तिनीहरूको संवेगलाई पनि यसले स्वतः प्रभाव पारेको हुन्छ।
व्यक्तिको हृदयमा घृणाले जरा गाडेपछि, यो स्वाभाविक रूपमै संवेगमा परिणत हुन्छ, र जब कुनै व्यक्ति यो घृणाको संवेगमा जिउँछ, त्यसउप्रान्त मानवजाति र कुनै पनि मामलाप्रति उसको दृष्टिकोण उचित हुँदैन। मानिसहरू र परिस्थितिहरूलाई हेर्ने त्यस्ता व्यक्तिहरूको दृष्टिकोण बाङ्गो र सामान्यभन्दा विपरीत बनेको हुन्छ। तिनीहरूले कुनै पनि सामान्य र उचित व्यक्ति, घटना, वा परिस्थितिलाई सही रूपमा लिन सक्दैनन्, र तिनीहरूले यी कुराहरूलाई आलोचना गर्ने र दोष दिने पनि गर्छन्। तिनीहरू सधैँ आफ्नो गुनासो र घृणा पोखाउने मौका खोजिहिँड्छन्। तिनीहरू एकदिन उचित शक्ति र प्रभाव प्राप्त गर्नेछु, र यी सबै गुनासोका कुराहरू सल्टाउँदै आफूलाई विगतमा हेप्ने र चोट पुर्याउनेहरूसँग बदला लिन सक्नेछु भन्ने आशा गर्छन्। तैपनि, अहिलेको लागि तिनीहरूसँग यो कुरा हासिल गर्ने कुनै उपयुक्त उपाय छैन, त्यसकारण तिनीहरूमध्ये कतिले अन्त्यमा परमेश्वरमा विश्वास गर्छन्। परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले सोच्छन्, “अहो, अहिले मैले परमेश्वरमा विश्वास गरेँ र म अहिले आफ्नो शिर ठाडो पारेर हिँड्न सक्छु। म चाहन्छु, परमेश्वरले नै मेरो लागि निर्णयहरू गर्नुहोओस्, ताकि ती दुष्ट मानिसहरूले आफ्नो उचित सजाय पाउन सकून्। यो एकदम राम्रो कुरा हो!” त्यसकारण, अहिले परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले एकदिन तिनीहरूको मेहनतले तिनीहरूको भाग्य बदल्ने र अवस्था परिवर्तन गर्ने आशा गर्दै आफ्नो घृणा र रिसलाई आफूभित्र दबाएर राख्छन्, तिनीहरूले तनमन लाएर आफैलाई अर्पन्छन्, मूल्य चुकाउँछन्, कष्ट भोग्छन्, परमेश्वरको घरमा दौडधुप गर्दै काम गर्छन्, र एकदिन जब तिनीहरू धेरै दह्रिलो हुन्छन् र पहिलेजस्तो कमजोर हुँदैनन्, तब तिनीहरूले आफूलाई हेप्ने र अपमान गर्नेहरूले दण्ड पाउने कुरा सुनिश्चित गर्छन्। तिनीहरूले यो सब कुरा गर्नुको उद्देश्य तिनीहरूको जीवनमा यस्तो अटुट पीडा र अपमान ल्याउने मानिसहरूमाथि दण्ड र सजाय आइपरेको आफ्नै आँखाले हेर्नको लागि हो। तिनीहरूले मूल्य चुकाउँदै र आफैलाई अर्पँदै, परमेश्वरमाथिको विश्वासमा यो संवेग बोकेर ल्याउँछन्। झट्ट हेर्दा लाग्छ, तिनीहरूले कहिल्यै गुनासो गर्दैनन् वा कुनै कुराको इच्छा वा माग गर्दैनन्, तिनीहरू परमेश्वरको घरमा आफ्नो कर्तव्य निभाउन पूर्ण रूपमा लागि पर्छन्, र तिनीहरूको लागि जति नै ठूलो कष्ट पनि त्यति ठूलो हुँदैन। तर यथार्थमा, तिनीहरूको हृदयको अन्तस्करणमा रहेको घृणा र रिसको संवेग समाधान भएको हुँदैन र तिनीहरूले यी कुराहरू त्यागेका हुँदैनन्। कसैले आफ्नो विचार राखेर, तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गर्नेबित्तिकै, तिनीहरू यो समस्या सामना र समाधान गर्न तुरुन्तै र अवचेतन रूपमा यो घृणा र रिसको संवेगमा फर्केर जान्छन्। तिनीहरूले सोच्छन्, “के तिमीले मलाई उपेक्षा गरेको हो? के तिमीले मलाई सोझो ठानेर हेप्न खोजेको हो? धेरै मानिसहरूले मलाई हेप्छन्, तर अन्तिममा तिनीहरूलाई के हुनेछ, त्यो तिमी पर्खेर हेर!” कसैले तिनीहरूबारे केही कुरा भन्नेबित्तिकै तिनीहरूले त्यो व्यक्तिलाई चोट दिइहाल्छन्, चाहे त्यो कुरा अनजानमा भनिएको नै किन नहोस्। त्यो व्यक्तिले तिनीहरूको कुनै संवेगात्मक घाउमा छोइदियो भने त झन् तिनीहरूको घृणा र रिस उम्लिहाल्छ, जसले गर्दा तिनीहरू अचेतन रूपमै सबैलाई घृणा गर्ने अवस्थामा फर्केर जान्छन्। स्पष्टै छ, यो दृष्टिकोण र यो संवेगले मानिसहरू र परिस्थितिहरूप्रतिको तिनीहरूको दृष्टिकोण र मनोवृत्ति, अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तिनीहरूको तरिका र माध्यमहरूमा प्रभाव पारेको हुन्छ। तिनीहरूलाई जसले उचित विचार र सुझाव दिए पनि, तिनीहरूले सधैँ यस्तो सोच्छन्, “तिनीहरूले मलाई हेला गरिरहेका र हेपिरहेका छन्। के तिनीहरूलाई म सजिलै हेपिनेजस्तो लागेको हो?” परिस्थितिहरू सामना गर्न तिनीहरूले यस्तो दृष्टिकोण र शैली प्रयोग गर्छन्, र यस क्रममा तिनीहरूलाई हृदयमा घृणा र रिसको संवेगले गाँजेको हुन्छ। तिनीहरूको हृदयको अन्तस्करणलाई घृणा र रिसको संवेगले गाँजेपछि, त्यो संवेग निरन्तर वृद्धि भइरहन्छ, र तिनीहरूले हरकिसिमका मानिस, घटना र परिस्थितिहरू सामना गर्न त्यही संवेग प्रयोग गरिरहन्छन्, अनि तिनीहरूले सबैलाई घृणा गर्नुपर्छ र कसैले पनि तिनीहरूसँग राम्रो व्यवहार गर्दैनन् भनेर आफैलाई निरन्तर सम्झाइरहन्छन्। कुनै व्यक्तिले तिनीहरूसँग राम्रो व्यवहार गर्छ भनेर तिनीहरूले क्षणिक रूपमा विश्वास गरे पनि, तिनीहरूले चाँडै नै थाहै नपाई र अवचेतन रूपमा आफूलाई यसो भन्छन्, “यस्तो नसोच्। परमेश्वर मात्रै साँच्चै असल हुनुहुन्छ, मानिसहरू कोही असल छैनन्। तेरो दुर्दशाप्रति सबैले खुच्चिङ मार्छन् र कसैले नि तेरो राम्रो होस् भन्दैनन्। तिनीहरूले तँलाई सोझो ठानेर हेप्छन्, र जब तँ कुनै कुरामा सफल भएको देख्छन्, तब तिनीहरूले तेरो चापलुसी गरेर तेरो निगाह पाउने प्रयास गर्छन्। त्यसकारण कसैलाई विश्वास नगर् र कसैलाई दयाको दृष्टिकोणले नहेर्। अरू मानिसहरूप्रति तैँले सतर्कता र शङ्का अपनाउनुपर्छ।” जब कसैले तिनीहरूलाई एक शब्द भन्छ, तब तिनीहरूले विश्लेषण गर्दै यस्तो सोच्छन्, “के उसले मलाई ताकिरहेको हो? उसले किन यसो भनेको? के उसले मलाई आक्रमण गरी हिसाब बराबर गर्न खोजेको हो? के मलाई हेप्न खोजेको हो?” शङ्का, घृणा र रिसका यी भावनाहरूले तिनीहरूलाई हरप्रकारको व्यक्ति, घटना, र परिस्थिति सम्हाल्ने र सामना गर्ने क्रममा यी संवेगहरू प्रयोग गर्न बारम्बार स्मरण गराउँदै अचेतन रूपमै यी संवेगहरू प्रयोग गर्न लगाउँछन्, तैपनि तिनीहरू यी सबै नकारात्मक संवेग हुन् भन्नेमा समेत पूरै अनभिज्ञ रहन्छन्। यी नकारात्मक संवेगहरूले तिनीहरूको मूल्याङ्कन क्षमतालाई पूरै नियन्त्रित गर्छन् र तिनीहरूको सोचलाई कसिलो गरी बाँध्छन्, र तिनीहरूलाई कुनै व्यक्ति, घटना, वा परिस्थितिलाई सही दृष्टिकोण वा विचारले हेर्नबाट रोक्छन्। जब व्यक्ति यी नकारात्मक संवेगहरूको प्रभावमा रहेर जिउन थाल्छ, तब उसलाई यिनको नियन्त्रणबाट उम्कन निकै गाह्रो हुन्छ। यी नकारात्मक संवेगहरू त्याग्नुभन्दा पहिले, मानिसहरू अनजानमै यी संवेगहरूभित्र रही जिउँछन्, र तिनीहरूले मानिसहरू, घटनाहरू र परिस्थितिहरूलाई त्यसैमा रही हेर्छन्, अनि यी नकारात्मक संवेगहरूबाट पैदा भएका गलत दृष्टिकोणमार्फत नै मानिसहरू, घटनाहरू र परिस्थितिहरूलाई सम्हाल्छन्। सर्वप्रथम, यसले अपरिहार्य रूपमै उग्रता, शङ्का, अविश्वास र आवेगसमेत पैदा गर्छ, र तिनीहरूले अरूलाई दुस्मनीको नजरले हेरेर आक्रमणसमेत गर्छन्। यी नकारात्मक संवेगहरूले व्यक्तिको हृदयबाटै उसका सोच र दृष्टिकोणहरूलाई निर्देशित गर्छन्, र यिनले तिनीहरूको हरेक बोलीवचन र व्यवहारलाई निर्देशित गर्छन्। त्यसकारण, जब यस्ता व्यक्तिहरू नकारात्मक संवेगहरूमा डुब्छन्, तब यदि तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् भने, यी नकारात्मक संवेगहरूले तिनीहरूमा बाधाहरू पैदा गर्दै तिनीहरूको हृदय र मनमा प्रभाव पार्छन्, त्यसकारण तिनीहरूको सत्यता अभ्यास अझै कम हुँदै जान्छ। यी नकारात्मक संवेगहरूले पैदा गर्ने अशुद्धता, बाधा र क्षतिको कारण, तिनीहरूले अभ्यास गर्न सक्ने सत्यता सीमित हुन्छ र कुनै परिस्थिति सामना गर्दा, तिनीहरू सधैँ आफ्ना भावनाहरूद्वारा प्रभावित हुन्छन्। अवश्यै, सबैभन्दा महत्त्वपूर्ण प्रभाव भनेको तिनीहरू पूर्ण रूपमा यी विभिन्न नकारात्मक संवेगहरूको प्रभावमा पर्नु हो, त्यसकारण सत्यता अभ्यास गर्ने कार्य तिनीहरूको लागि थकाइलाग्दो बन्छ। तिनीहरूले आफ्नो वरपरका मानिसहरू र परिस्थितिहरू सम्हाल्ने क्रममा, र आफ्नो वरपरका मानिसहरू र परिस्थितिहरू मूल्याङ्कन गर्ने क्रममा, सामान्य मानवताको विवेक र समझ प्रयोग गर्न सक्दैनन्, न त परमेश्वरले सृष्टि गर्नुभएको स्वतन्त्र इच्छा र अन्तर्निहित क्षमता, न त मानिसहरूले अभ्यास र पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू नै पालना गर्न सक्छन्।
नकारात्मक संवेगहरूलाई समाधान गर्ने मार्ग
मैले अहिलेसम्म बताएका यी कुराहरूबाट, तिमीहरूले जसरी हेरे पनि, हरेक व्यक्तिलाई धेरथोर हदमा विभिन्न नकारात्मक संवेगहरूले गाँजेकै हुन्छन् भन्ने कुरा स्पष्ट छ। यी कुराहरूले मानिसहरूको मन ओगट्ने हुनाले, तिनीहरूले सत्यता अभ्यास गर्दा निश्चित मात्रामा कठिनाइ पैदा हुन्छ। त्यसकारण, सत्यता पछ्याउने यो प्रक्रिया हुँदै अघि बढ्ने क्रममा, मानिसहरूले आफूमा नकारात्मक संवेग पैदा गर्ने यी मानिसहरू, घटनाहरू र परिस्थितिहरूलाई निरन्तर त्याग्दै जानुपर्छ, जस्तै हामीले यसभन्दा पहिले छलफल गरेको हीनताबोधको नकारात्मक संवेग। जुनसुकै अवस्थाले तेरो हीनताबोधको संवेगलाई उत्पन्न गरे पनि वा त्यसलाई जसले वा जुनै घटनाले उत्पन्न गरे पनि, तँसँग आफ्नो क्षमता, सामर्थ्य, प्रतिभा, अनि चरित्रबारे सही बुझाइ हुनुपर्छ। हीनताबोध गर्नु सही कुरा होइन, न त आफूलाई ठूलो ठान्नु नै सही कुरा हो—ती दुवै नकारात्मक संवेगहरू हुन्। हीनताबोधले तेरो व्यवहार र विचार बाँध्न, र तेरो दृष्टिकोण र अडान प्रभावित पार्न सक्छ। त्यसरी नै, श्रेष्ठताबोधको पनि नकारात्मक प्रभाव हुन्छ। त्यसकारण, चाहे यो हीनताबोध होस् वा अर्को नकारात्मक संवेग, तँसँग यो संवेग उत्पन्न गराउने टिप्पणीहरूबारे सही बुझाइ हुनुपर्छ। प्रथमतः तैँले ती टिप्पणीहरू गलत छन् भनेर बुझ्नुपर्छ, र चाहेत्यो तेरो क्षमता, तेरो प्रतिभा, वातेरो चरित्रसँग सम्बन्धित होस्, तिनीहरूले तेरा बारेमा गर्ने मूल्याङ्कन र निष्कर्षहरू सबै गलत हुन्छन्। त्यसोभए, तैँले आफूलाई सही रूपमा कसरी मूल्याङ्कन गर्न र चिन्न सक्छस्, र तँ कसरी हीनताबोधको संवेगबाट मुक्त हुन सक्छस्? तैँले परमेश्वरका वचनहरूलाई आफूलाई चिन्ने—तेरो मानवता कस्तो छ, तेरो क्षमता र प्रतिभा वास्तवमा कस्ता छन्, अनि तँमा के-कस्ता सामर्थ्यहरू छन् भनेर थाहा पाउन खोज्ने आधारका रूपमा लिनुपर्छ। उदाहरणका लागि, मानौँ तँलाई गीत गाउन मन पर्थ्यो र तँ राम्ररी गाउँथिस्, तर कतिपय मानिसहरूले तेरो आलोचना गरिरहे र तँलाई होच्याइरहे, तँलाई सुर चिन्न आउँदैन र तैँले बेसुरे गाउँछस् भनी भनिरहे, त्यसकारण तँलाई तँ राम्ररी गाउन सक्दैनस् भन्ने लाग्छ र तैँले अरूको अगाडि गाउने आँट गर्न छोडेको छस्। ती सांसारिक मानिसहरू, ती भ्रमित र औसत मानिसहरूले तेरा बारेमा गलत मूल्याङ्कन र न्याय गरे, तेरो मानवताले पाउनुपर्ने अधिकारहरू घटाए, र तेरो प्रतिभालाई दबाए। परिणामस्वरूप, तँ गीत गाउनेसमेत आँट गर्दैनस्, र तँ आफू एकलै हुँदा मात्रै ठूलो स्वरले गाउने र खुलेर व्यक्त गर्ने आँट गर्छस्। साधारणतया तँलाई चरम दमन गरिएको महसुस भएकै कारण, तँ आफू एकलै नहुँदा गीत गाउने आँटै गर्दैनस्; एकलै हुँदा मात्रै तँलाई गीत गाउने आँट आउँछ, तँ ठूलो स्वरमा र स्पष्टसित गीत गाउँदा रमाउँछस्—त्यो कति सुन्दर, स्वतन्त्र, मुक्त समय हुन्छ! यस्तै हुन्छ नि, होइन र? मानिसहरूले तँलाई गरेको हानिको कारण, तैँले वास्तवमा के गर्न सक्छस्, तँ के कुरामा सिपालु छस्, र तँ के कुरामा सिपालु छैनस् भन्ने कुरा तँ जान्दैनस् वा स्पष्ट रूपमा देख्न सक्दैनस्। यस्तो परिस्थितिमा, तैँले सही मूल्याङ्कन गर्नुपर्छ र परमेश्वरका वचनहरूअनुसार आफ्नो सही मापन गर्नुपर्छ। तैँले के सिकेको छस् र तेरा सामर्थ्यहरू कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ, अनि आफूले गर्न सक्ने जुनसुकै कुरा गर्नुपर्छ; तैँले गर्न नसक्ने कुराहरू, तेरा कमजोरी र अपर्याप्तहरूका हकमा भन्दा, तैँले चिन्तन गरेर तिनलाई चिन्नुपर्छ, र तँसँग तेरो क्षमता कस्तो छ, त्यो असल छ कि खराब छ भन्नेबारे सही मूल्याङ्कन र ज्ञान हुनुपर्छ। यदि तँ आफ्ना समस्याहरू बुझ्न सक्दैनस् वा तीबारे तँसँग स्पष्ट ज्ञान छैन भने, समझशक्ति भएका र आफूले चिनेजानेका मानिसहरूलाई तेरो बारे मूल्याङ्कन गर्न अनुरोध गर्। तिनीहरूले भन्ने कुरा सही भए पनि नभए पनि, कम्तीमा पनि यसले तँलाई सन्दर्भका लागि कुनै कुरा दिनेछ अनि आफूबारे आधारभूत न्याय वा चित्रण राख्न सक्षम बनाउनेछ। त्यसपछि तँ यस नकारात्मक संवेग—तेरो हीनताबोधको संवेग—को मूल समस्या समाधान गर्न, र त्यसबाट क्रमिक रूपमा निस्कन सक्छस्। यदि व्यक्तिले हीनताबोधको संवेगलाई खुट्ट्याउन, त्यसबाटब्युँझन, र सत्यता खोजी गर्न सक्छ भने, त्यो संवेग समाधान गर्न सजिलो हुन्छ।
समाजमा, विभिन्न पेसामा, र विभिन्न वातावरणमा असमान व्यवहार, दुर्व्यवहार र भेदभाव भोगेका मानिसहरूको कुरा गर्दा, के तिनीहरूमा प्रकट हुने घृणा र रिसको भावना समाधान गर्न सजिलो हुन्छ? (हुन्छ।) त्यसलाई कसरी समाधान गरिन्छ? (तिनीहरूले सबै मानिसहरू, घटनाहरू र परिस्थितिहरूलाई परमेश्वरका वचनहरूअनुसार लिनुपर्छ, र घृणा र रिसका यी संवेगहरूलाई त्याग्नुपर्छ, र विगतमा तिनीहरूलाई चोट पुर्याएका मानिसहरू, घटनाहरू, र परिस्थितिहरूप्रतिको रोष त्याग्नुपर्छ।) “त्याग्नु” त शब्द मात्रै हो—तर तैँले कसरी त्याग्छस्? उदाहरणको लागि, एउटी महिलाले एउटा पुरुषसँग प्रेम सम्बन्ध गाँस्छे र त्यो पुरुषले उसलाई बहकाएर सुत्न लगाउँछ र उसको पैसा पनि ठग्छ, अनि जब-जब उसले यस कुराबारे सोच्छे, उसलाई अचानक रिस उठ्छ, र जब रिस उठ्छ, उसले मुठ्ठी कस्छे र उसको हृदयको अन्तस्करण घृणाले भरिन्छ। उसले त्यो पुरुषको अनुहार याद गर्छे, त्यसले भनेका सबै कुरा सोच्छे, त्यसले उसलाई चोट दिने गरी गरेका सबै कुराबारे सोच्छे, र यी कुराहरूबारे उसले जति सोच्छे, त्यति नै उसलाई रिस उठ्छ, त्यति नै ऊ क्रोधित हुन्छे, त्यति नै ऊ आक्रोशित बन्छे, र त्यति नै उसको घृणा बढ्दै जान्छ। उसले यसबारेमा सोचिरहन्छे र उसलाई आफ्नो कर्तव्य निभाउन मन लाग्न छोड्छ, र उसलाई झन्झन् नरमाइलो महसुस हुन्छ र उसले आफूलाई विश्राम नगरी काम गरिरहन र अरूसँग बोलिरहन भनिरहन्छे, र राती सुत्न नसक्दा, उसले निदाउनलाई निद्रा लाग्ने औषधीमा भर पर्नुपर्ने हुन्छ। उसले एकलै बस्ने वा आफ्नो हृदयलाई शान्त राख्ने आँट गर्दिन। ऊ एकलै हुनेबित्तिकै, उसले विश्राम लिनेबित्तिकै, उसमा यो घृणा प्रकट हुन्छ र ऊ आफूलाई चोट दिने व्यक्तिलाई बदला लिएर मर्न बाध्य बनाउन चाहन्छे, अनि त्यो मृत्यु जति पीडादायी भयो त्यति नै राम्रो हुन्छ भन्ने उसलाई लाग्छ। यदि एकदिन उसले साँच्चै त्यो पुरुष दुःखद रूपमा मरेको छ भनेर सुनी भने मात्रै, उसले घृणा र रिसको भावना त्याग्न सक्छे। यसबारेमा विचार गर्: यदि त्यो व्यक्ति साँच्चै मर्यो, त्यसले कर्मको फल पायो र दण्डित भयो भने, के तैँले घृणा र रिस पैदा गर्ने त्यो घटना र तेरो हृदयको अन्तस्करणमा गहिरिएर बसेको त्यो याद बिर्सन सक्थिस्? के तैँले साँच्चै त्यो घटनालाई घृणा त्याग्न सक्थिस्? के त्यो साँच्चै हराएर जान सक्थ्यो? (सक्थेन।) त्यसोभए, के तँलाई चोट पुर्याउने व्यक्तिलाई गायब पार्नु र दण्ड भोगाउनु, वा सबैभन्दा पीडादायी मृत्यु मर्न लगाउनु, वा बदला भोगाउनु, वा खराब अन्त्यमा पुग्न लगाउनु घृणा र रिस समाधान गर्ने तरिका हो? के यो घृणा र रिस त्याग्ने तरिका हो? (होइन।) त्यसकारण, कतिपय मानिसहरू भन्छन्, “जब तिमीलाई आफूले यस्ता घृणा र रिसका संवेगहरू बोकिरहेको छु भन्ने थाहा हुन्छ, तब तिमीले ती कुराहरू त्याग्नुपर्छ।” के यो अभ्यासको मार्ग हो? (होइन।) त्यसोभए कसैले “तिमीले ती कुराहरू त्याग्नुपर्छ” भनेर भन्नुको अर्थ के हो? (यो धर्मसिद्धान्त हो।) ठीक भन्यौ, यो धर्मसिद्धान्त हो, अभ्यासको मार्ग होइन। मैले भर्खरै तिमीहरूलाई हीनताबोध कसरी समाधान गर्ने भनेर बताएँ र यो हीनताबोध त्याग्ने एउटा तरिका हो। के तिमीहरूले अब अभ्यासको मार्ग पायौ? (पायौँ।) त्यसोभए तिमीहरूले कसरी घृणा र रिस त्याग्नुपर्छ? के यी कुराहरूबारे विचारै नगर्नु अभ्यासको मार्ग हो? (होइन।) कतिपय मानिसहरूले यी कुराहरू आफ्नो स्मरणबाट हटाउनुपर्छ भनेर भन्छन्—के यो समस्या समाधान गर्ने तरिका हो? के यसको अर्थ तैँले यी कुराहरू त्यागिसकिस् भन्ने हो? (होइन, यसको अर्थ त्यो होइन।) थकथकाउँदै शिर हल्लाउनु, आँखा बन्द गर्नु र केही कुरा पनि नसोच्नु, वा आफैलाई व्यस्त राख्नु यस समस्या समाधान गर्ने तरिका होइन, र यो यी नकारात्मक संवेगहरू त्याग्ने अभ्यासको सही मार्ग होइन। त्यसोभए खासमा अभ्यासको मार्गचाहिँ के हो त? तिमीहरूले यी कुराहरू कसरी त्याग्न सक्छौ? यो मामला कसरी समाधान गर्न सक्छौ? के तिमीहरूसँग समाधानको राम्रो तरिका छ? यी कुराहरू त्याग्नको लागि, तैँले यी कुराहरूसँग जुध्नुपर्छ, यी कुराहरूबाट लुक्ने वा भाग्ने गर्नु हुँदैन। के तँलाई एकलै हुन डर लाग्दैन? के तँलाई यो घटना सम्झन डर लाग्दैन? के तँलाई कसैले फेरि तेरो घाउ बल्झाइदिने डर लाग्दैन? त्यसैले, डटेर सामना गर्, र विगतमा तँलाई घृणा र रिस महसुस गराउने ती सबै मानिसहरू, घटनाहरू, र परिस्थितिहरू, र तँलाई गहन प्रभाव पारेका र तैँले याद गर्न सक्ने सबै मानिसहरूलाई सम्झेर तिनीहरूबारे लेख्, परमेश्वरका वचनहरूअनुसार एकएक गरी तिनीहरूको मानवता पत्ता लगा, तिनीहरूको स्वभाव चिन्, तिनीहरूको सार चिरफार र खुलासा गर् र चिन्, र ती मानिसहरू वास्तवमा के हुन् भन्ने कुरा पत्ता लगा। तेरो अन्तिम निष्कर्ष, अर्थात् तैँले निकाल्ने एउटै निष्कर्ष ती मानिसहरू दुष्टहरू र पिशाचहरू हुन्, मानव होइनन् भन्ने मात्रै हुनेछ! तिनीहरूले तँलाई चोट दिन वा फन्दामा पार्न र हानि गर्न जुनसुकै तरिका अपनाए पनि, तिनीहरूको सार पिशाचहरूको हो, मानिसहरूको होइन, र तिनीहरू अवश्यै परमेश्वरले चुन्नुभएका पात्रहरू होइनन्। ती मानिसहरूमाझ परमेश्वरको घरमा आउन सक्ने कोही छैनन्, जबकि तँ परमेश्वरले चुन्नुभएको व्यक्ति होस्। अहिले तँ परमेश्वरको घरमा प्रवचनहरू सुन्न र परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छस्, र तँ परमेश्वरको अघि आउन सक्छस्—यो परमेश्वरले तँलाई उत्थान गर्नुभएको र तँलाई दया देखाउनुभएको हो। अर्कोतर्फ, परमेश्वरले ती मानिसहरूलाई कहिल्यै पनि मानिसहरूको रूपमा हेर्नुभएको छैन। त्यसैले, तैँले परमेश्वरमा विश्वास गर्न थालेपछि, तँ तिनीहरूबाट टाढा बस्नुपर्छ। यदि तँ अझै पनि तिनीहरूसँग सङ्गत गर्न चाहन्छस् भने, तँ अवश्यै तिनीहरूभन्दा माथि उठ्न सक्नेछैनस्, र तिनीहरूले तँलाई दमन र दण्डित गर्नेछन्, पक्षपात र अपमान गर्नेछन्, अनि हानि र दुर्व्यवहारसमेत गर्नेछन्। तिनीहरूले गर्ने हरेक कुराले पिशाचहरूले जे गर्छन् र शैतानले जे गर्छ त्यही कुरा प्रदर्शित गर्छ। यदि तँलाई तिनीहरूसँग सङ्गत गर्न र तिनीहरूसँग झगडा गर्न मन पर्छ भने, तँ पनि कुनै व्यक्ति होइनस्। तँ पनि तिनीहरूजस्तै होस्, र तैँले पनि तिनीहरूले गर्ने कुराहरू नै गर्न सक्छस्। किनभने पिशाचहरूले मानिसहरूलाई फन्दामा मात्रै पार्दैनन्, एकअर्कालाई हानिसमेत गर्छन्—यो एउटा पैशाचिक प्रकृति हो। तँलाई परमेश्वरद्वारा चुनिएको हो र तँ परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिमा पर्छस् भन्ने देखेर, पिशाचहरूले तँसँग किन पो निहुँ नखोजून् र? किन पो तिनीहरूले तँलाई चोट दिन र फन्दामा पार्न नसकून् र? तिनीहरूले सबैलाई हानि गर्छन्। तिनीहरूले एकअर्कालाई हानि गर्छन्, अनि अझै बढी रूपमा तिनीहरू क्रूर बन्न छोड्दैनन्, र तिनीहरूले मानिसहरूलाई शान्त बस्न दिँदैनन्! यसले के देखाउँछ भने, यो संसार र मानवजाति पैशाचिक छन् र शैतानका कार्यहरूले पूरै भरिएका छन्। असल व्यक्ति बन्न अत्यन्तै गाह्रो छ, र अरू कसैबाट नहेपिई बस्न चाहने साधारण व्यक्ति मात्रै बन्न पनि अत्यन्तै गाह्रो छ। तँ यसबाट जोगिने प्रयास गर्छस्, तर सक्दैनस्। संसार यस्तै छ। स्कुल जान सक्ने ज्ञान भएको समयदेखि, समाजमा प्रवेश गरेर काम गर्न थालेको समय हुँदै, मृत्युसम्मैको पूरै अवधिमा, कुन व्यक्ति आफ्नो जीवनकालमा अरूको हेपाइमा, वा छल र सतावटमा परेको हुँदैन र? यस्तो व्यक्ति कोही पनि हुँदैन। तँ जति नै सीप वा क्षमताले भरिएको भए पनि, तँलाई हेप्ने तँभन्दा क्षमतावान् व्यक्ति सधैँ नै हुन्छ। तैपनि, फरक के छ भने, हरेक व्यक्तिको जिउने दर्शन फरक-फरक हुन्छ। कतिपय मानिसहरूले प्रतिकूल अवस्था भोग्छन् र त्यसलाई स्विकार्छन्, तर कतिपय मानिसहरू फरक हुन्छन्। धेरै पटक छलमा परेपछि, र धेरै हेपाइ भोगेर अबउप्रान्त सहनै नसक्ने अवस्थामा पुगेपछि अनि चरम कष्ट भोगेपछि, तिनीहरूमा घृणा र रिसजस्ता संवेगहरू पैदा हुन्छन्, र तिनीहरूले मानवजाति र समाज दुवैलाई घृणा गर्छन्। तैँले आफूलाई हानि गर्ने मानिसहरूको सार र प्रकृति स्पष्ट देखेपछि र तिनीहरूको सार पिशाचहरूको सार हो भन्ने बुझेपछि, तैँले महसुस गर्ने घृणा र रिस मानिसहरूप्रति लक्षित हुन छोड्छन्, बरु पिशाचहरूप्रति लक्षित हुन थाल्छन्, र त्यसपछि के तेरो घृणा कम हुँदैन र? (हुन्छ।) तेरो घृणा केही हदसम्म कम हुन्छ। अनि यो अलिक कम हुनुको फाइदा के हुन्छ? यसको फाइदा के हुन्छ भने, जब तैँले फेरि त्यस्तो परिस्थिति सामना गर्छस्, तब तँ फेरि भावुक हुँदैनस् र आवेगसाथ परिस्थिति सम्हाल्ने गर्दैनस्। बरु, यसलाई तैँले सही रूपमा लिन्छस्, परमेश्वरका वचनहरू र सत्यताअनुसार यसलाई बुझ्छस् र सम्हाल्छस् भने, तैँले आफूलाई फेरि हानि गर्ने मानिसहरूलाई मानवताको विवेक र समझको दृष्टिकोणबाट हेर्नेछस्, र तिनीहरूसँगको तेरो व्यवहारमा तैँले परमेश्वरले तँलाई सिकाउनुभएका तरिका र परमेश्वरले तँलाई बताउनुभएका मार्ग र सिद्धान्तहरू प्रयोग गर्नेछस्। जब तँ परमेश्वरले तँलाई बताउनुभएको मार्ग प्रयोग गर्दै तिनीहरूसँग व्यवहार गर्छस्, तँमा फेरि घृणा र रिस पैदा हुनेछैन, बरु तँलाई मानवजातिको भ्रष्टता र पिशाचहरूको अनुहारबारे ज्ञान आउनेछ, र तैँले अझै गहन र प्रगतिशील तरिकाले परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने कुरा पुष्टि र प्रमाणित गर्नेछस्। जब तैँले यस्तो मामला हेर्न परमेश्वरका वचनहरू र परमेश्वरले तँलाई बताउनुभएको तरिका, र तँलाई सिकाउनुभएको मार्ग प्रयोग गर्छस्, तब यो मामलाले तँलाई फेरि हानि गर्न, र तेरो घृणा र रिस गहिर्याउन नसक्ने मात्र होइन, बरु ठिक उल्टो रूपमा यसले तेरो हृदयको अन्तस्करणमा रहेको घृणा र रिसलाई क्रमिक रूपमा कम गराउनेछ, र तैँले यस्तो मामला बारम्बार अनुभव गर्ने क्रममा, तेरो कद बढ्नेछ, र तेरो स्वभाव परिवर्तन हुनेछ।
हामीले छलफल गर्दै आएको त्यो विगतको घृणा र रिस तैँले कसरी त्याग्नुपर्छ भन्ने हकमा, एउटा पक्ष भनेको ती तथाकथित गैरमानवहरूलाई स्पष्ट रूपमा चिन्नु, र तिनीहरूको प्रकृति सार दियाबलस र शैतानको हो, तिनीहरूको सार मानिसहरूको लागि हानिकारक छ, तिनीहरूको सार दियाबलस, शैतान र ठूलो रातो अजिङ्गरको जस्तै छ र त्यो सार उही स्रोतबाट आएको हो, र मानवजातिलाई शैतानले जसरी भ्रष्ट तुल्याउँछ त्यसरी नै तिनीहरूले तँलाई पासोमा पार्छन् र हानि गर्छन् भन्ने कुरा स्पष्ट रूपमा बुझ्नु हो। यो कुरा बुझेपछि, के तैँले घृणा र रिसको तेरो संवेगलाई केही हदसम्म त्याग्दैनस् र? (त्याग्छु।) कतिपय मानिसहरू यसो भन्छन्, “यी कुराहरूलाई बुझ्नु मात्रै पर्याप्त हुँदैन। कहिलेकहीँ त यसबारेमा सोच्दा मात्रै पनि मलाई दुःख लाग्छ!” दुःख लाग्दा तैँले के गर्नुपर्छ? के तँ कहिल्यै दुःखित नभई बस्न सक्छस्? घाउ लागेपछि सधैँ खत बस्छ, तर यस्तो खत हुनु खराब नै हो भन्ने छैन। तँमा घृणा र रिस पैदा गराउने, तँलाई समाजको अनुचितता भोग्न लगाउने, मानवजातिको दुर्भाव, कुविचार र दुष्टता अनुभव गराउने, र तँलाई संसारको अनुचितता र उजाडपन महसुस गराउने, अनि तँलाई ज्योतिको तृष्णा गराउने र तँमा पैदा हुने यो सब कष्टबाट तँलाई बचाउने मुक्तिदाताको चाहना गराउने कुराहरू समाजका यिनै अनुचितताका घटनाहरू, र यिनै मानिसहरू, घटनाहरू, र परिस्थितिहरू हुन्। त्यसकारण, के यो इच्छाको कुनै परिवेश हुन्छ? (हुन्छ।) के यो इच्छा सहजै आउँछ? (आउँदैन।) यदि मानवजाति वा समाजमा तँलाई कहिल्यै हानि भएको छैन भने, तैँले असल मानिसहरू धेरै छन् भन्ने सोच्छस्। यदि तँ बाहिर गएको बेला लडिस् अनि कुनै व्यक्ति तँलाई उठाउन आयो, वा तँ सामान किन्न गइस् तर तँसँग पर्याप्त पैसा छैन अनि तेरो छेउको कुनै व्यक्तिले तँलाई सहयोग गर्छ, वा तैँले आफ्नो पर्स हराइस् र कसैले भेटेर फिर्ता दियो भने, तँलाई वरपर असल मानिसहरू धेरै छन् भन्ने लाग्छ। यो मानसिकता र समाजसम्बन्धी तेरो यस्तो बुझाइअनुसार, परमेश्वरले मानवजातिलाई दिनुहुने मुक्ति वा परमेश्वरले मुक्तिको काम गर्नुको आवश्यकताबारे तँसँग कति धेरै बुझाइ हुन्छ? मुक्तिदाता आउनुभएर तँलाई कष्टको सागरबाट मुक्ति दिने कार्यप्रति तेरो इच्छा कति ठूलो हुनेछ? तैँले यसको चाहना त्यति धेरै गर्नेछैनस्, होइन र? यो त एउटा कामना, र एक किसिमको कल्पना मात्रै हुन्छ। कुनै व्यक्तिले संसारमा जति धेरै कठिनाइ र कष्ट, अनि अनेक अनुचित व्यवहार भोगेको हुन्छ, अथवा, अर्को तरिकाले भन्दा, कुनै व्यक्तिले यो समाज र मानिसहरूमाझ जति लामो समय बिताएको हुन्छ, त्यति नै मानवजाति र समाजप्रति ठूलो घृणा र रिस पैदा भएको त्यस्तो व्यक्तिले परमेश्वरले यो दुष्ट युगलाई जतिसक्दो चाँडो अन्त्य गर्नुहोओस्, यो मानवजातिलाई जतिसक्दो चाँडो नष्ट गर्नुहोओस्, तिनीहरूलाई जतिसक्दो चाँडो यो कष्टको सागरबाट बचाउनुहोओस्, र दुष्टहरूविरुद्ध प्रतिशोध लिई असलहरूलाई रक्षा गर्नुहोओस् भन्ने चाहन्छ—के कुरा त्यही होइन र? (हो।) त्यसकारण, अब त्यस विन्दुमा, तँ यस्तो विचार गर्छस्, “अहो, मैले साँच्चै ती पिशाचहरूलाई धन्यवाद दिनुपर्छ। तिनीहरूले मसँग गरेको अनुचित व्यवहार र मलाई गरेको भेदभाव, अपमान र दमनको लागि मैले तिनीहरूलाई धन्यवाद दिनैपर्छ। तिनीहरूले गरेका दुष्ट कार्यहरू र तिनीहरूले मलाई गरेका हानिको कारण नै म परमेश्वरको अघि आउन बाध्य भएँ, र त्यसले नै मलाई संसार वा यी मानिसहरूमाझ जिइने यो जीवनको चाहना गर्न छोड्न बाध्य बनायो, र परमेश्वरको घरमा आउन, परमेश्वरको अघि आउन, परमेश्वरको लागि आफूलाई खर्चन, आफ्नो सारा जीवन समर्पित गर्न, अर्थपूर्ण जीवन जिउन, र दुष्ट मानिसहरूको सङ्गत गर्न छोड्न इच्छुक बनायो। अन्यथा, म पनि अझै तिनीहरूजस्तै सांसारिक प्रचलनहरू पछ्याउँदै, र ख्याति र प्राप्ति, असल जीवन, देहका सुखचैन, र सुन्दर भविष्य खोजिरहेको हुन्थेँ। अहिले म परमेश्वरमा विश्वास गर्छु, त्यसकारण अबदेखि त्यस्तो कुटिल मार्ग हिँड्नुपर्ने कुनै आवश्यकता छैन। म तिनीहरूलाई दुस्मनीको नजरले हेर्न छोडेको छु। तिनीहरू सधैँ कस्ता मानिसहरू रहँदै आएका छन्, त्यो म स्पष्टै देख्छु। तिनीहरू सेवा गर्न, परमेश्वरको कामको प्रतिभार बन्नका लागि हुन्। तिनीहरूविना, मैले यो संसारको सार के हो र मानवजाति के हो भन्ने कुरा ठीक तरिकाले देख्न सक्नेथिइनँ, अनि यो संसार र यो मानवजाति झन्झन् सुन्दर छ भनेर अझै सोचिरहेको हुनेथिएँ। अहिले मैले यो कष्ट भोगिसकेको हुनाले, मैले यो संसारमा वा कुनै पनि महान् व्यक्तिको हातमा आफ्नो आकाङ्क्षा र आशा राख्न छोडेको छु। बरु, म परमेश्वरको राज्य आओस्, र परमेश्वरको निष्पक्षता र धार्मिकताले शक्ति हातमा लिओस् भन्ने आशा गर्छु।” यस तरिकाले मनन गरेर, के घृणा र रिसका तेरा संवेगहरू क्रमिक रूपमा कम हुँदै जाँदैनन् र? (कम हुँदै जान्छन्।) ती कम हुँदै जान्छन्। अनि के मानिसहरू, घटनाहरू, र परिस्थितिहरूलाई हेर्ने तेरो हृदयको दृष्टिकोण र विचार परिवर्तन भएको हुँदैन र? के यसले भविष्यमा तैँले हिँड्ने मार्ग, तेरा छनौटहरू, र तेरा उद्देश्यहरू क्रमिक रूपमा परिवर्तन भइरहेका छन्, र तँ सही उद्देश्य र दिशा पछ्याउनेतर्फ अघि बढिरहेको छस् भन्ने अर्थ दिँदैन र? (दिन्छ।) तैँले तेरो हृदय तोड्ने र तँमा संसारप्रति घृणा जगाउने विगतमा घटेका कुराहरू स्मरण गर्छस्, र तैँले ती कुराहरूको अर्थ र सार स्पष्ट देखेपछि, तेरो हृदय परमेश्वरप्रतिको कृतज्ञताले भरिन्छ। जब तँ कृतज्ञताले भरिन्छस्, के तँ त्यो आनन्द उपभोग गर्नमा डुब्दैनस् र? त्यसपछि के तैँले यस्तो सोच्दैनस् र, “परमेश्वरमा विश्वास नगर्ने ती गैरविश्वासीहरूलाई अझै पनि दियाबलसहरूका राजा शैतानले बहकाइरहेको, हानि र सत्यानाश गरिरहेको छ। यो अत्यन्तै दयनीय कुरा हो! यदि मैले परमेश्वरमा विश्वास नगरेको र म परमेश्वरअघि नआएको भए, म पनि तिनीहरूजस्तै संसारको पछि लागेर, ख्याति, लाभ, र हैसियत प्राप्त गर्न दौडधुप गरिरहेको र धेरै कष्ट भोगिरहेको हुनेथिएँ र मलाई म परिवर्तन हुनुपर्छ भनेर कहिल्यै थाहा हुनेथिएन। म उम्कनै नसकिने पापमा डुबेको हुनेथिएँ—त्यो कति दुःखलाग्दो हुनेथियो! अहिले मैले परमेश्वरमा विश्वास गरेको हुनाले, मैले सत्यता बुझेको छु र म यो मामिलाको वास्तविकता देख्न सक्छु। मानिसहरूले पछ्याउनुपर्ने मार्ग भनेको सत्यता पछ्याउने मार्ग हो—यो नै सबैभन्दा बहुमूल्य र अर्थपूर्ण कुरा हो। अहिले, मैले अबदेखि कष्ट भोग्नु नपरोस् भनेर परमेश्वरले मलाई यस्तो दया देखाउनुभएको हुनाले, म अन्त्यसम्मै उहाँलाई पछ्याउने, उहाँका वचनहरू सुन्ने, उहाँका वचनहरूअनुसार जिउने, तर पहिलेजस्तो मानव स्वरूपमा नजिउने अवस्थामा जिउन छोड्ने सङ्कल्प गर्छु।” हेर् त, यति असल आकाङ्क्षा पैदा भएको हुन्छ, होइन र? के सही उद्देश्य र जीवन दिशाले मानिसहरूको सोच र चेतनामा क्रमिक रूपमा आकार लिएका हुँदैनन् र? अनि के अब तिनीहरू जीवनको सही मार्ग हिँड्न सक्षम हुँदैनन् र? (हुन्छन्।) त्यसोभए, जब यी सकारात्मक संवेग र आकाङ्क्षाहरू पैदा हुन्छन्, तब के ती नकारात्मक संवेगहरूबारे सोचिरहनु आवश्यक हुन्छ र? यी कुराहरूबारे केही समयसम्म विचार गरेपछि, वा धेरै-पटक विचार गरेर यी कुराहरू बुझेपछि, जब यी कुराहरूले तेरो मनमा बाधा दिन वा तैँले हिँड्ने मार्ग नियन्त्रण गर्न छोड्छन्, तब थाहै नपाई तैँले घृणा र रिसका यी संवेगहरू त्यागिसकेको हुन्छस्, यी कुराहरूले तेरो हृदयमा ठाउँ ओगट्न छोडिसकेका हुन्छन् र समय बित्दै जाँदा, तैँले आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्नेछस्। के तेरो भ्रष्ट स्वभाव समाधान गर्ने मामला तैँले सत्यता पछ्याउने कार्यसँग सम्बन्धित छ? (छ।) अनि के त्यसको अर्थ तैँले जीवनको सही मार्ग अपनाउन थालेको छस् भन्ने हुँदैन र? सही मार्ग अपनाउनु कठिन छैन; सर्वप्रभम तैँले संसारलाई, व्यक्तिको मानवतालाई, र मानवजातिलाई हेर्ने तेरा विभिन्न दृष्टिकोणहरू सबका सब त्याग्नुपर्छ, जुन तथ्यअनुरूप नै हुँदैनन्। तथ्यहरूसँग नमिल्ने ती दृष्टिकोणहरूलाई तैँले कसरी स्पष्ट रूपमा देख्न सक्छस्? तैँले तिनलाई कसरी समाधान गर्न सक्छस्? तथ्यहरूसँग नमिल्ने ती दृष्टिकोणहरू तेरो हृदयभित्र संवेगहरूमा लुकेका हुन्छन्, र यी संवेगले तेरो मानवतामा रहेको मूल्याङ्कन क्षमता र सोचलाई, साथै तेरो चरित्र, बोलीवचन र व्यवहार, साथै तेरो विवेक र समझलाई निर्देशित गर्छन्। अझै महत्त्वपूर्ण कुरा त, तिनले तेरो जीवनको उद्देश्य र तैँले हिँड्ने मार्गलाई निर्देशित र प्रभावित गर्छन्। त्यसकारण, सबै नकारात्मक संवेगहरूलाई त्याग्, तँलाई नियन्त्रण गर्ने ती सबै संवेगहरूलाई त्याग्—सत्यता खोजी गर्ने क्रममा तैँले अभ्यास गर्नुपर्ने पहिलो कदम यही हो। सुरुमा विभिन्न नकारात्मक संवेगहरूको समस्या समाधान गर्, पत्ता लगाउनेबित्तिकै त्यसलाई जाँदा समाधान गर्, र कुनै पनि समस्या बाँकी नछोड्। जब यी समस्याहरू समाधान हुन्छन्, तब तँ बन्धनमा पर्न छोड्नेछस्, र तैँले सत्यता पछ्याउने क्रममा यी नकारात्मक संवेगहरू बोकेर हिँड्न छोड्नछस्, अनि आफूमा भ्रष्ट स्वभाव प्रकट हुँदा तँ सत्यता खोजी गर्न र त्यसलाई समाधान गर्न सक्षम हुनेछस्। के यो कुरा हासिल गर्न सजिलो छ? वास्तवमा यो कुरा त्यति सजिलो छैन।
मैले यी नकारात्मक संवेगहरूबारे सङ्गति र चिरफार गर्दै आइरहेको बेला, के तिमीहरूले मैले भनेको कुरा आफूमा लागू गर्दै गरिरहेका छौ? कतिपय मानिसहरू भन्छन्, “म जवान छु र मसँग जीवनको त्यति धेरै अनुभव छैन। मैले कुनै बाधा वा असफलता भोगेको छैन वा पीर अनुभव गरेको छैन। के त्यसको अर्थ ममा कुनै नकारात्मक संवेग छैन भन्ने हुँदैन र?” हरेकमा यी संवेगहरू हुन्छन्; हरेकलाई कैयौँ कठिनाइहरू आइपर्छन् र हरेकमा नकारात्मक संवेगहरू प्रकट हुने सम्भावना हुन्छ। उदाहरणको लागि, यो युगको समाजको दुष्ट प्रचलनको कारण, धेरै बालबालिका एकल महिला वा एकल पुरुषको परिवारमा कतिले आमाको माया नपाई र कतिले बुबाको माया नपाई हुर्किरहेका छन्। यदि कुनै व्यक्तिले आमा वा बुबाको माया पाएको छैन भने, उसले केही कुरा गुमाएको छ भन्ने ठानिन्छ। तैँले जुन उमेरमा आफ्नो बुबा वा आमाको माया गुमाएको भए पनि, सामान्य मानवताको दृष्टिकोणले हेर्दा, यसले तँलाई धेरथोर रूपमा असर पारेको हुन्छ। कतिपय मानिसहरू मनको कुरा मनमै राख्ने बन्छन्, कतिपयमा हीनताबोध आउँछ, कतिपय मानिसहरू झर्को मान्ने बन्छन्, कतिपयमा असहजता र असुरक्षाको भावना आउँछ, अनि कतिपयचाहिँ विपरीतलिङ्गीहरूलाई पक्षपात गर्दै तिनीहरूलाई परै राख्ने बन्छन्। जे होस्, यस्तो वातावरणमा हुर्कने मानिसहरूले आफ्नो सामान्य मानवतामा धेरथोर रूपमा केही अस्वाभाविकता विकास गर्छन्। आधुनिक भाषामा भन्दा, तिनीहरू अलिक विकृत बन्छन्। उदाहरणको लागि, बुबाको माया नपाई हुर्केका केटीहरूलाई पुरुषहरूबारे त्यति ज्ञान हुँदैन। तिनीहरूले सानै उमेरदेखि नै आफ्ना आधारभूत आवश्यकताहरू कसरी पूरा गर्ने भन्ने कुरा सिक्नुपरेको हुन्छ, र तिनीहरूका आमाले जस्तै तिनीहरूले पनि परिवारको आर्थिक अवस्था र पूरा गर्नुपर्ने विभिन्न कामको बोझ लिनुपरेको हुन्छ, र थाहै नभई तिनीहरूले यस्ता कुराहरूको चिन्ता र वास्ता गर्न, वा आफ्नो, आमाको र परिवारको रक्षा गर्न सिकेका हुन्छन्। आफ्नो सुरक्षाबारे तिनीहरूमा निकै धेरै चेतना हुन्छ र तिनीहरूमा हीनताबोध पनि निकै धेरै हुन्छ। यस्तो निश्चित वातावरणमा हुर्केपछि, यसबारेमा थाहै नभई, तिनीहरूले आफ्नो हृदयको अन्तस्करणबाटै तिनीहरूमा केही कमीकमजोरी छ भन्ने महसुस गर्छन् र यो भावनाले विगतमा तिनीहरूको मूल्याङ्कन क्षमता वा निर्णयमा गम्भीर असर पारेको भए पनि नभए पनि तिनीहरूमा यस्तो भावना रहेकै हुन्छ। छोटकरीमा भन्दा, व्यक्ति पूर्ण रूपमा वयस्क भएपछि, तिनीहरूभित्र लामो समयदेखि बसेका केही नकारात्मक संवेगहरूले तिनीहरूको सोचलाई निर्देशित गर्छन्, र ती संवेगहरू त्यहाँ हुनुको सधैँ नै कुनै न कुनै कारण हुन्छ। उदाहरणको लागि, यदि केही बालकहरू बुबा नभएको, आमा मात्रै भएको एकल-महिलाको परिवारमा हुर्केका छन् भने, तिनीहरूले सानै उमेरदेखि नै आमासँग घरको कामकाज कसरी गर्ने भनेर सिकेका हुन्छन्, र तिनीहरूको चरित्र अलिक आमाको जस्तो बनेको हुन्छ। तिनीहरूलाई बच्चीहरू हेरचाह गर्न मन पर्छ र तिनीहरूप्रति सहानुभूति महसुस हुन्छ, तिनीहरूमा केटीहरूप्रति समावेशी भावना पैदा हुन्छ र तिनीहरूलाई महिलाहरूको रक्षा गर्न मन पर्छ, र पुरुषहरूप्रति तिनीहरूमा अलिक द्वेषभाव पलाउँछ। कतिपयलाई त मनभित्र पुरुषहरूप्रति अत्यन्तै घृणा र विरक्त लाग्छ, र तिनीहरूले पुरुषप्रति भेदभाव गर्छन्, र पुरुषहरू बेकामका र गैरजिम्मेवार हुन्छन्, र तिनीहरूले सही र उचित काम गर्दैनन् भन्ने सोच्छन्। अवश्यै, यी मानिसहरूमध्ये कतिपय त निकै सामान्य नै हुन्छन्। तैपनि, यीमध्ये कतिपय मानिसहरूमा पुरुष वा महिलाप्रति केही निश्चित, अवास्तविक, वा अनुचित विचारहरू हुन्छन्, र यिनीहरू सबैको मानवतामा कमीकमजोरी र त्रुटिहरू हुन्छन्। यदि कसैले तँमा यस्तो समस्या छ भन्ने पत्ता लगायो र तँलाई यो कुरा औँल्याइदियो भने, वा यदि तैँले आत्मजाँच गरेर तँमा यस्तो गम्भीर नकारात्मक संवेग छ, र यसले मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तेरो दृष्टिकोणमा र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तेरो शैलीमा प्रभाव पारिसकेको छ भन्ने कुरा पत्ता लगाइस् र थाहा पाइस् भने, तैँले आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ। तैँले परमेश्वरका वचनहरूको आधारमा यो नकारात्मक संवेगलाई चिन्नु र समाधान गर्नुपर्छ, यो नकारात्मक संवेगका बन्धन, नियन्त्रण र प्रभावलाई त्याग्न लागिपर्नुपर्छ, र तेरो मानवताको खुसी, रिस, शोक, आनन्द, सोच, मूल्याङ्कन, विवेक र समझलाई बिगार्न, चरम बनाउन, वा सीमाभन्दा बाहिर लान दिनु हुँदैन। अरू के छन्? तैँले यी कुराहरू हुन नदिन लागिपरेपछि, तँ सामान्य मानवताको विवेक र समझ लिएर अनि परमेश्वरले मानिसलाई दिनुभएको सामान्य मानवताको अन्तर्निहित क्षमता र स्वतन्त्र इच्छा लिएर सामान्य जीवन जिउन सक्नेछस्। अर्थात्, तँ आफ्नो विचार, अन्तर्निहित क्षमता, स्वतन्त्र इच्छा, मूल्याङ्कन क्षमता, र विवेक र समझलाई परमेश्वरले तोक्नुभएको सामान्य मानवताको दायराभित्र कायम राख्न लागिपर्नेछस्। त्यसकारण, तँलाई जे-जस्तो नकारात्मक संवेगले नियन्त्रण गरिरहेको हुन्छ, तँमा तेरो सामान्य मानवताको त्यही पक्षमा समस्या हुन्छ। तिमीहरूले कुरो बुझ्यौ नि, होइन त? (हो।)
मानिसहरूको सत्यताको खोज सामान्य मानवताको सामान्य विवेक, समझ, अन्तर्निहित क्षमता र स्वतन्त्र इच्छा, अनि सामान्य मानवताका संवेगहरूको दायराको आधारमा हासिल हुन्छ। थाहै छ, परमेश्वरले मानिसलाई दिनुभएको सामान्य मानवताको दायराभित्र कुनै पनि कुरा चरम रूपको, हदभन्दा बढी, र विकृत छैन, र त्यसमा दोहोरो व्यक्तित्व वा दुराचार पनि छैन। हदभन्दा बढी हुनु कसरी प्रकट हुन्छ? सधैँ तँ असल छैनस्, तँ केही पनि होइनस् भनेर सोच्नु—के यो हदभन्दा बढी हुनु होइन र? के यो अवास्तविक होइन र? (हो।) अन्धाधुन्ध रूपमा पुरुषहरूलाई उच्च ठान्नु, पुरुषहरू महिलाभन्दा असल र सक्षम हुन्छन्, महिलाहरू अयोग्य हुन्छन्, गतिला हुँदैनन्, पुरुषहरूजत्तिका सक्षम हुँदैनन्, र समग्रमा भन्दा, तिनीहरू पुरुषहरूजत्तिका कुशल हुँदैनन् भनी ठान्नु—के यो हदभन्दा बढी हुनु होइन र? (हो।) अनि, परिस्थितिलाई चरम रूपमा लैजाने कार्य कसरी प्रकट हुन्छ? यो तेरो अन्तर्निहित क्षमताले भ्याउनेभन्दा अगाडि जान खोज्नु र सधैँ आफ्नो सामर्थ्यको दायरा तोड्न चाहनु हो। कतिपय मानिसहरूले अरूहरू राती पाँच घण्टा मात्रै सुतेर पनि दिनभरि सामान्य रूपमै काम गर्न सकेको देख्छन्, त्यसकारण तिनीहरू राती चार घण्टा मात्रै सुतेर कति दिन आफू यसरी लागिरहन सक्छु भनेर हेर्न चाहन्छन्। कतिपय मानिसहरूले अरूहरूले दिनमा दुई छाक खाना खाएर पनि प्रशस्त ऊर्जा पाएको, र दिनभरि काम गर्न सकेको देख्छन्, त्यसकारण तिनीहरू दिनमा एकपटक मात्रै खाएर हेर्न चाहन्छन्—के यो शारीरिक रूपमा हानिकारक छैन र? सधैँ अरूहरूभन्दा क्षमतावान् देखिने प्रयास गर्नुको अर्थ के हुन्छ र? तैँले केको लागि आफ्नै देहसँग प्रतिस्पर्धा गरिरहेको छस्? कतिपय मानिसहरूले आफ्नो पचासको दशकमै दाँत गुमाइसकेका हुन्छन् र हड्डी चपाउन वा उखु खानसमेत सक्दैनन्। तिनीहरू भन्छन्, “चिन्ता नगर्नुहोस्, मैले एकदुई वटा दाँत गुमाए पनि समस्या छैन, म चपाइरहनेछु! मैले यो कठिनाइ पार गर्नैपर्छ। मैले यसलाई पार गर्ने कोसिस गरिनँ भने, म कमजोर र बेकार हुन्छु!” के यो परिस्थितिलाई चरम रूपमा लैजानु होइन र? (हजुर, हो।) तँलाई आफूले हासिल गर्न नसक्ने र आफ्नो मानवताको अन्तर्निहित क्षमताले हासिल गर्न नसक्ने कुरा हासिल गर्नुपर्छ भन्ने लाग्छ। तैँले त्यो कुरा आफ्नो प्रतिभा, बुद्धि, वा कदले, वा आफूले सिकेका कुराहरूले, वा आफ्नो उमेर र लिङ्गले हासिल गर्न सक्दैनस्, तर तँ त्यो हासिल गर्न नसक्ने भए पनि, तँलाई तैँले त्यो हासिल गर्नैपर्छ भन्ने लाग्छ। कतिपय महिलाहरू यसो भन्दै आफ्नो सामर्थ्य बढाइचढाइ गर्छन्, “हामी महिलाहरूले पनि पुरुषले गर्न सक्ने काम गर्न सक्छौँ। पुरुषहरूले भवनहरू निर्माण गर्न सक्छन् भने, हामीले पनि सक्छौँ; पुरुषहरूले हवाईजहाज उडाउन सक्छन् भने हामी पनि सक्छौँ; पुरुषहरू बक्सर बन्न सक्छन् भने, हामी पनि सक्छौँ; पुरुषहरूले हजार पाउन्डको भारी बोक्न सक्छन् भने, हामी पनि सक्छौँ।” तर अन्त्यमा, तिनीहरूलाई यसले यति थिच्छ कि तिनीहरूले रगत छाद्छन्। के तिनीहरूले अझै पनि वास्तविक क्षमताभन्दा बढीको देखिने प्रयास गरिरहेका छैनन् र? के यो चरम होइन र? के यो हदभन्दा बढी होइन र? यी प्रकटीकरणहरू सबै चरम र हदभन्दा बढी हुन्। विवेकहीन मानिसहरूले समस्याहरूबारे प्राय यसरी नै सोचविचार गर्छन् र मानिसहरू, घटनाहरू र परिस्थितिहरूलाई यसरी नै हेर्छन्, र तिनीहरूले मामिलाहरू सम्हाल्ने र समाधान गर्ने काम पनि यसरी नै गर्छन्। त्यसकारण, यदि मानिसहरूले यी चरम प्रकटीकरणहरू सुल्झाउन चाहन्छन् भने, सुरुमा तिनीहरूले यी चरम कुराहरूलाई अन्त्य गर्नु र त्याग्नुपर्छ। यीमध्ये सबैभन्दा गम्भीरचाहिँ तिनीहरूको हृदयको अन्तस्करणमा रहेका विभिन्न चरम संवेगहरू हुन्। निश्चित परिस्थितिहरूमा, यी संवेगहरूले तिनीहरूमा चरम विचारहरू पैदा गर्छन् र तिनीहरूलाई चरम विधिहरू अपनाएर पथभ्रष्ट हुने तुल्याउँछन्। यी चरम संवेगहरूले मानिसहरूलाई मूर्ख, अज्ञानी, र बेवकुफ मात्रै देखाउँदैनन्, तिनीहरूलाई पथभ्रष्ट बनाएर क्षति पनि बेहोर्न लगाउँछन्। परमेश्वर सत्यता खोजी गर्ने सामान्य व्यक्ति चाहनुहुन्छ, विवेकहीन, चरम र हदभन्दा बढी जाने व्यक्तिले सत्यता खोजी गरेको चाहनुहुन्न। यस्तो किन हो? विवेकहीन र चरम मानिसहरूले सही रूपमा कुरा बुझ्न सक्दैनन्, तिनीहरूले साँचो रूपमा सत्यता बुझ्नु त परको कुरा हो। चरम र विकृति प्रवृत्त मानिसहरूले सत्यता बुझ्न, त्यसलाई हेर्न र अभ्यास गर्न चरम विधिहरू अपनाउँछन्—र यो तिनीहरूको लागि अत्यन्तै खतरनाक र समस्याजनक कुरा हो। यसबाट तिनीहरूलाई ठूलो हानि हुन्छ, र यसले परमेश्वरलाई अत्यन्तै गम्भीर रूपमा अपमानित पनि गर्छ। परमेश्वर तैँले सत्यता अभ्यास गर्न आफ्नो क्षमताको दायरा तोडेको वा चरम र उग्र विधिहरू प्रयोग गरेको चाहनुहुन्न। बरु, तेरो मानवता सबै हिसाबमा सामान्य हुने परिस्थितिहरूमा, र तैँले बुझ्न र हासिल गर्न सक्ने मानवताको दायरामा रही, तैँले परमेश्वरका वचनहरू अभ्यास गरेको, सत्यता अभ्यास गरेको, र उहाँका मापदण्डहरू पूरा गरेको चाहनुहुन्छ। अन्तिम लक्ष्य भनेको तेरो भ्रष्ट स्वभाव बदल्नु, तेरा विचार र दृष्टिकोणहरू क्रमिक रूपमा सुधार गर्दै र बदल्दै जानु, मान्छेको भ्रष्ट स्वभावसम्बन्धी तेरो बुझाइ र परमेश्वरसम्बन्धी तेरो ज्ञान अझै गहन पार्दै जानु, र परमेश्वरप्रतिको तेरो समर्पण अझै ठोस र व्यावहारिक बनाउँदै जानु हो—तैँले यसरी मुक्ति हासिल गर्नेछस्।
के विभिन्न नकारात्मक संवेगहरूलाई कसरी त्याग्ने भन्ने विषयमा मैले सङ्गति गर्नु अर्थपूर्ण छ? (छ।) यसो गर्नुपछाडिको मेरो उद्देश्य के हो? यो उद्देश्य भनेको यी विभिन्न नकारात्मक संवेगहरू धेरै पहिले प्रकट भएका भए पनि वा ती अहिले प्रकट भइरहेका भए पनि, र चाहे तेरो जीवनमा जेसुकै नै किन आइनपरोस्, तर तैँले सही तरिका अपनाएर तुरुन्तै तिनलाई हटाउन र समाधान गर्न सक्, यी गलत, नकारात्मक संवेगहरू त्याग्न सक्, र तँ यी नकारात्मक संवेगहरूमा डुब्न छोड्ने अवस्थामा क्रमिक रूपमा आइपुग् भन्ने हो। जब फेरि विभिन्न नकारात्मक संवेगहरू पैदा हुन्छन्, तब तँसँग चेतना र समझशक्ति हुनेछ, तँलाई तिनले गर्ने हानिको बारेमा थाहा हुनेछ र अवश्यै, तैँले तिनलाई क्रमिक रूपमा त्याग्नु पनि पर्छ। जब यी संवेगहरू पैदा हुन्छन्, तैँले संयमता अपनाउन र बुद्धि प्रयोग गर्न सक्नेछस्, र तैँले तिनलाई त्याग्न सक्नेछस् वा तिनलाई समाधान गर्न र सम्हाल्न सत्यता खोजी गर्न सक्नेछस्। जुनसुकै अवस्था भए पनि, तिनले तँलाई मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने क्रममा सही तरिका, सही मनोवृत्ति, र सही दृष्टिकोण अपनाउनमा असर गर्नु हुँदैन। यस तरिकाले, सत्यता पछ्याउने तेरो मार्गमा आउने बाधा र अवरोधहरू झन्झन् कम हुँदै जानेछन्, परमेश्वरले तोक्नुभएअनुरूप नै तैँले सामान्य मानवताको दायरामा रही, बिना कुनै बाधा, वा पहिलेभन्दा कम बाधा सहँदै सत्यता खोजी गर्न सक्नेछस्, र तँ हरकिसिमका परिस्थितिहरूमा आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव समाधान गर्न सक्षम हुनेछस्। के अब तैँले विभिन्न नकारात्मक संवेगहरू कसरी समाधान गर्ने भन्नेबारेमा अघि बढ्ने बाटो भेट्टाइस्? सर्वप्रथम, आफूले प्रकट गर्ने भ्रष्टताको सन्दर्भमा आफूलाई जाँच् र तँलाई भित्रबाट यी नकारात्मक संवेगहरूले प्रभाव पारिरहेका छन् कि छैनन् र मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तेरो दृष्टिकोण, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने तेरो तौरतरिकामा तैँले यी नकारात्मक संवेगहरूलाई ल्याइरहेका छस् कि छैनस् हेर्। यसको साथै, तेरो हृदयको अन्तस्करणमा गाडिएर बसेका कुराहरूलाई जाँच् र तेरो जीवनमा आइपरेका ती कुराहरूले तँमा कुनै घाउ वा चोट दिएका छन् कि छैनन्, र तिनले तँलाई मानिसहरू र परिस्थितिहरू हेर्न, अनि आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सही तरिका र विधिहरू प्रयोग गर्न नियन्त्रित गरिरहेका छन् कि छैनन् हेर्। यसरी, जब तैँले विगतमा चोट महसुस गर्दा तँमा पैदा भएका विभिन्न नकारात्मक संवेगहरू प्रकाशमा ल्याइन्छ, तब तैँले सत्यताअनुसार तिनलाई एकएक गरी चिरफार गर्नु, चिन्नु र समाधान गर्नुपर्छ। उदाहरणको लागि, कतिपय मानिसहरूलाई अगुवाको रूपमा धेरै-पटक बढुवा दिइन्छ, तर धेरै-पटक प्रतिस्थापन वा स्थानान्तर गरिन्छ, र तिनीहरूमा अत्यन्तै नकारात्मक संवेग पैदा हुन्छ। यो बढुवा गर्ने अनि प्रतिस्थापन गरेर अर्को नियुक्ति दिने प्रक्रियामा, तिनीहरूलाई यस्तो किन भइरहेको छ भन्ने कुरा कहिल्यै महसुस हुँदैन, र त्यसैले तिनीहरूलाई आफ्नै त्रुटिहरू र कमीकमजोरी, आफ्नो भ्रष्टता, वा तिनीहरूका अपराधहरूको मूल कारण के हो भन्ने कुरा कहिल्यै थाहा हुँदैन। तिनीहरूले कहिल्यै पनि यी समस्याहरू समाधान गर्दैनन्, र तिनीहरूभित्र एउटा गहिरो छाप बसेको हुन्छ, र तिनीहरूले यस्तो सोच्छन्, “परमेश्वरको घरले यसरी नै मानिसहरूलाई प्रयोग गर्छ। प्रयोग गर्नु छ भने उत्थान गरिन्छ, होइन भने हटाइन्छ।” यस्तो अनुभूति गर्ने मानिसहरूले समाजमा ठाउँ पाउन सक्छन् जहाँ तिनीहरूले आफ्नो रिस पोख्न सक्छन्, तर तँलाई परमेश्वरको घरमा रिस पोख्नको लागि कुनै ठाउँ, कुनै उपाय, र कुनै वातावरण छैन, त्यसकारण तैँले यसलाई चुपचाप सहनबाहेक केही गर्न सक्दैनस् भन्ने लाग्छ। यो चुपचाप सहने कार्य वास्तविक रूपमा त्याग्नु होइन बरु यो त आफूभित्र गहिरो गरी गाडेर राख्नु हो। कतिपय मानिसहरूले के सोच्छन् भने, एक दिन तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछन् र, तिनीहरूका विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा देखे भने, फेरि पनि तिनीहरूलाई अगुवाको रूपमा छनौट गर्नेछन्; कतिपय मानिसहरू यस्ता पनि छन् जो आफ्नो कर्तव्यमा चुपचाप लाग्न चाहन्छन् र फेरि अगुवा बन्न चाहँदैनन्, र तिनीहरूले यसो भन्छन्, “जसले मलाई बढुवा गरे पनि म अगुवा बन्नेछैनँ। मैले इज्जत गुमाउनु हुँदैन, र म त्यो पीडा सहन सक्दिनँ। को अगुवा बन्छ, र कसलाई प्रतिस्थापित गरिन्छ, त्यससँग मेरो कुनै सम्बन्ध छैन। म फेरि अगुवा बन्नेछैनँ, ताकि मैले प्रतिस्थापित हुँदा पुग्ने चोट र आक्रमणको अनुभूति सहन नपरोस्। म आफ्नो काम राम्ररी गर्नेछु र यो जिम्मेवारी लिनेछु, र जहाँसम्म मेरो गन्तव्य र अन्त्य कस्तो हुने भन्ने कुरा छ, त्यो म परमेश्वरको हातमा सुम्पन्छु—त्यो परमेश्वरको हातको कुरा हो।” यो कस्तो प्रकारको संवेग हो? यो हीनताबोध हो भनेर भन्दा पूरै सहीचाहिँ हुँदैन; मलाई लाग्छ यसलाई डिप्रेसन भनेर भन्दा उचित हुन्छ—डिप्रेसन, निराशा, सतर्क रहनु र दबाब महसुस गर्नु हो। तिनीहरूले सोच्छन्, “परमेश्वरको घर न्याय परिपालन गरिने ठाउँ हो, तैपनि मलाई बारम्बार बढुवा गरिन्छ अनि फेरि प्रतिस्थापित गरिन्छ। मलाई साह्रै अन्यायमा परेजस्तो लाग्छ, तर यसविरुद्ध विवाद गर्ने मसँग कुनै उपाय छैन, त्यसकारण म यो कुरामा समर्पित हुनेछु! यो परमेश्वरको घर हो, त्यसकारण म आफ्नो तर्क राख्न अरू कहाँ जान सक्छु र? मलाई यसरी जिउने बानी परेको छ। संसारको कसैले पनि मेरो बारेमा त्यति धेरै सोच्दैन र परमेश्वरको घरमा पनि यस्तै छ। म भविष्यमा के हुनेछ भन्नेबारेमा विचार गर्नेछैनँ।” दिनभरि, तिनीहरू निराश भएर बस्छन्, कुनै कुरामा पनि तिनीहरूलाई रुचि हुँदैन, तिनीहरू आफूले गर्ने सबै कुरामा अल्याङटल्याङ गर्छन्, आफूले गर्न सक्ने थोरै काम गर्छन् र अरू केही पनि गर्दैनन्; तिनीहरूले अध्ययन गर्ने, मेहनत गर्ने, र कुनै कुराबारे गहन विचार गर्ने गर्दैनन्, र तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्। अन्त्यमा, तिनीहरूले तुरुन्तै ऊर्जा गुमाउँछन्, सुरुमा तिनीहरूसँग भएको जाँगर सेलाएर जान्छ, अनि तिनीहरू आफूसँग कुनै कुराको पनि सम्बन्ध छैन, र पहिलेको आफू मरिसकेको छ भन्ने सोच्छन्। के यो निराशा होइन र? (हजुर हो।) कसैले तिनीहरूलाई सोध्छ, “प्रतिस्थापित हुँदा तपाईँलाई कस्तो लाग्यो?” तिनीहरूले जवाफ दिन्छन्, “अब, मेरो क्षमता नै कमजोर छ। मलाई कस्तो लाग्नु र? म यो कुरा बुझ्दिनँ।” अनि अर्को व्यक्तिले तिनीहरूलाई सोध्छ, “तपाईँलाई फेरि अगुवाको रूपमा छनौट गरियो भने, के तपाईँ अगुवा बन्न चाहनुहुन्छ?” अनि तिनीहरूले प्रतिक्रिया दिन्छन्, “अहो, मैले किन त्यो काम गर्न चाहन्थेँ र? यस्तो गर्नु व्यावहारिक हुँदैन! मेरो क्षमता कमजोर छ र म परमेश्वरका अभिप्राय पूरा गर्न सक्दिनँ।” तिनीहरू हताश र हरेस खाएका छन् भनेर भन्नु पूर्ण यथार्थ हुँदैन। तिनीहरूले बस सधैँ शक्तिहीन, उदास, सतर्क, र निराश महसुस गर्छन्। तिनीहरूले हृदयमा भएको कुरा कसैलाई बताउन चाहँदैनन्, खुलस्त बोल्न चाहँदैनन्, र आफ्ना समस्या, कठिनाइ, भ्रष्ट स्थिति र भ्रष्ट स्वभाव समाधान गर्न चाहँदैनन्—तिनीहरूले बस सबै कुरा ठिकठाकै भएजस्तो नाटक गर्छन्। यो कस्तो संवेग हो? (डिप्रेसन।) तिनीहरूले यस्तो विचार पनि गरिरहेका हुन्छन्: “परमेश्वरले मलाई जे गर्न लगाउनुहुन्छ त्यही गर्नेछु र मण्डलीले जेसुकै गर्न लगाए पनि म मेहनत गर्नेछु। यदि मैले काम पूरा गर्न सकिनँ भने, मलाई दोष नदिनू किनभने मलाई कमजोर क्षमताको बनाउने म होइनँ!” त्यस्ता व्यक्तिहरूले वास्तवमा साँच्चै नै परमेश्वरमा विश्वास गरेका हुन्छन्, र तिनीहरूसँग सङ्कल्पहरू हुन्छन्। तिनीहरूले कहिल्यै परमेश्वरलाई त्याग्नेछैनन्, आफ्नो कर्तव्य कहिल्यै छोड्नेछैनन्, बरु सधैँ परमेश्वरलाई पछ्याइरहनेछन्। यति मात्रै हो कि तिनीहरूले जीवन प्रवेश वा आत्मचिन्तनमा, वा आफ्नो भ्रष्ट स्वभाव समाधान गर्ने कार्यमा कुनै ध्यान दिँदैनन्। यो कस्तो किसिमको समस्या हो? के तिनीहरूले यसरी विश्वास गरेर सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूको लागि यो समस्याको कुरा होइन? (हजुर, हो।) कुटेरै मारे पनि तिनीहरूले परमेश्वरमा विश्वास गर्दिनँ भनेर भन्न सक्दैनन्। तैपनि, निश्चित परिस्थितिहरूको कारण, तिनीहरूले निश्चित परिस्थिति र अवस्था अनुभव गरेकाले, र तिनीहरूलाई केही मानिसहरूले निश्चित कुराहरू भनेकाले, तिनीहरू ढलेका र उत्साहहीन भएका हुन्छन् जसले गर्दा तिनीहरू फेरि खडा हुन र कुनै ऊर्जा बटुल्न सक्दैनन्। के यसले तिनीहरूमा नकारात्मक संवेगहरू छन् भन्ने देखाउँदैन र? (देखाउँछ।) नकारात्मक संवेगहरू हुनुले समस्या छ भन्ने प्रमाणित गर्छ, र जब समस्या हुन्छ, तैँले त्यसलाई समाधान गर्नुपर्छ। समाधान गरिनुपर्ने समस्याहरू समाधान गर्ने तरिका र बाटो सधैँ हुन्छ—ती समाधान नै नगर्न नसकिने हुँदैनन्। यो कुरा तैँले समस्या सामना गर्न सक्छस् कि सक्दैनस् र त्यसलाई समाधान गर्न चाहन्छस् कि चाहँदैनस् त्यसमा भर पर्छ। यदि चाहन्छस् भने, समाधान नै गर्न नसकिने त्यति कठिन समस्या कुनै हुँदैन। तँ परमेश्वरसामु आइज, र उहाँका वचनहरूमा सत्यता खोजी गर्, अनि तैँले हरेक कठिनाइ समाधान गर्न सक्छस्। तैपनि, तेरो खिन्नता, उदासी, निराशा, र दबाबले तँलाई समस्याहरू समाधान गर्न सहयोग नगर्ने मात्रै होइन, बरु उल्टै, तेरो समस्या अझै गम्भीर र खराब बनाइदिन्छन्। के तिमीहरू यो कुरा पत्याउँछौ? (पत्याउँछौँ।) त्यसकारण, अहिले तँ जुन संवेगहरूमा अल्झिरहेको भए पनि वा जुन संवेगहरूमा डुबेको भए पनि, मलाई आशा छ, तैँले यी गलत संवेगहरूलाई त्याग्न सक्नेछस्। तँसँग जुन कारण वा बहाना भए पनि, तँ अस्वाभाविक संवेगमा डुब्नेबित्तिकै, चरम संवेगमा डुबेको हुनेछस्। अनि, जब तँ यो चरम संवेगमा डुबेको हुन्छस्, तब यसले अवश्यै तेरो खोज, र तेरा सङ्कल्प र चाहनाहरू, साथै तैँले जीवनमा पछ्याउने तेरा लक्ष्यहरू नियन्त्रित गर्नेछ, र यसका परिणामहरू पनि गम्भीर हुनेछन्।
अन्तमा, म तिमीहरूलाई के भन्न चाहन्छु भने: एउटा क्षणिक संवेगले तेरो जीवनभरिको सत्यताको खोजीलाई असर गर्न र मुक्तिको तेरो आशालाई नष्ट गर्न नदे। के तिमीहरूले बुझिस्? (बुझेँ।) तेरो यो संवेग सकारात्मक नभएको मात्र होइन, अझ सटिक रूपमा भन्दा, यो परमेश्वर र सत्यताविरुद्ध छ। तँलाई यो सामान्य मानवताको संवेग हो भन्ने लाग्छ होला, तर परमेश्वरको नजरमा, यो संवेगको सामान्य कुरो होइन, यो त परमेश्वरको विरोध गर्ने एउटा तरिका हो। मानिसहरूले यी नकारात्मक संवेगहरूलाई परमेश्वर, परमेश्वरका वचनहरू र सत्यताको प्रतिरोध गर्ने तरिकाका रूपमा प्रयोग गर्छन्। त्यसकारण, तँ सत्यता पछ्याउन इच्छुक भएकोले, तैँले आफ्नो हृदयमातँलाई हठीपूर्वक, मूर्खतापूर्वक सत्यताको विरोध गर्न र परमेश्वरसँग प्रतिस्पर्धा गर्न लगाइरहने नकारात्मक संवेगहरू छन् कि छैनन् भनी होसियारीपूर्वक आफ्नो जाँच गर्नुपर्छ। यदि, आत्म-जाँचमार्फत, तैँले तेरो हृदय अझै पनि नकारात्मक संवेगहरूद्वारा बाँधिएको छ भनी साँचो रूपमा महसुस गरेको छस् भने, म तँलाई पहिले तिनलाई त्याग्न भन्छु। तिनलाई पक्रिराख्नका लागि अब उप्रान्त बहाना नबना, र अझै विशेष गरी, तिनलाई सामान्य मनस्थितिका रूपमा नलि, अन्यथा तिनले तेरा सम्भाव्यताहरू र गन्तव्यलाई नष्ट गर्नेछन्, र तिनले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने तेरो अवसर र आशालाई नष्ट गर्नेछन्। आजको यो सङ्गति म यहीँ समाप्त गर्दछु।
सेप्टेम्बर २४, २०२२