परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

परमेश्‍वरको कुनै डर नभएकाहरू जति लामो समय उहाँमा विश्‍वास गरे पनि परिवर्तन हुनेछैनन्। परमेश्‍वरको डर मान्नेहरूले मात्र पवित्र आत्माको काम प्राप्त गर्न र मुक्तिको मार्गमा पाइला टेक्न सक्छन्। मान्छेमा परमेश्‍वरको डर हुनु अत्यन्तै महत्वपूर्ण छ! कतिपय मानिसहरू किन आफूलाई कहिल्यै चिन्दैनन्? किनभने तिनीहरूमा परमेश्‍वरको डर हुँदैन। कतिपय मानिसहरू किन पवित्र आत्माको काम प्राप्त गर्न कहिल्यै सक्षम हुँदैनन्? किनभने तिनीहरूमा परमेश्‍वरको डर हुँदैन। परमेश्‍वरको डर भएकाहरू मात्र बारम्बार आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छन्; तिनीहरू सधैँ गल्ती गर्छु कि वा गलत बाटोमा हिँड्छु कि भन्ने डर मान्छन्। जब तिनीहरूलाई विकल्पहरू रोज्नुपर्ने परिस्थितिहरू आइपर्छन्, तिनीहरू परमेश्‍वरलाई चिढ्याउनुभन्दा मान्छेलाई चिढ्याउने विकल्प रोज्छन्, अनि परमेश्‍वरबाट टाढा हुने वा उहाँलाई धोका दिनुभन्दा सतावट भोग्‍न रुचाउँछन्। अय्यूब परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति थियो, र उसले परमेश्‍वरको स्वीकार प्राप्त गर्‍यो।

त्यसो भए, परमेश्‍वरमाथिको विश्‍वासमा मुक्ति प्राप्त गर्नु छ भने, तैँले कहाँबाट अनुभव गर्न सुरू गर्नुपर्छ? तैँले परमेश्‍वरको न्याय र सजाय स्विकारेर, आफूबारे साँचो ज्ञान हासिल गरेर, अनि साँच्चिकै पश्‍चाताप गरेर सुरु गर्नुपर्छ—यो मुक्तिको मार्गमा पाइला टेक्नु हो। मानिसहरूले आफूलाई चिन्न सजिलो छैन; तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभाव र सार चिन्न, र परमेश्‍वरसामु अर्थात सृष्टिकर्तासामु तिनीहरू कति साना र महत्त्वहीनछन् भन्ने थाहा पाउन झनै कठिन हुन्छ। यदि मानिसहरू आफ्नै भ्रष्ट स्वभावहरू चिन्न वा तिनीहरूको भ्रष्ट सार के हो भन्ने थाहा पाउन सक्दैनन् भने, के तिनीहरूले परमेश्‍वरसित तिनीहरूको सम्बन्ध कस्तो किसिमको छ, परमेश्‍वरसामु तिनीहरूको कद कत्रो छ, वा तिनीहरूलाई परमेश्‍वरले मन पराउनुहुन्छ कि हुन्न भन्ने कुरा थाहा पाउँछन्? (थाहा पाउँदैनन्।) त्यसो भए, यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेबापत तिनीहरूले के प्राप्त गरेका छन्? के तिनीहरूले सत्यता प्राप्त गरेका छन्? के तिनीहरूले मुक्तिको मार्गमा पाइला टेकेका छन्? यदि, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले उहाँका वचनहरू खान्छन् र पिउँछन्, मण्डली जीवन जिउँछन्, र आफ्ना कर्तव्य निभाउँछन् भने, के त्यो कुरा परमेश्‍वरसँग सम्बन्ध हुनुबराबर हो? सृष्टिकर्तासँग सम्बन्ध हुनको लागि व्यक्तिले के गर्न सक्छ, उसले के पछ्याउनुपर्छ, ऊ कुन स्थानमा उभिनुपर्छ, अनि उसले आफ्नो मार्ग कसरी रोज्नुपर्छ? तिमीहरूलाई थाहा छ? तिमीहरूले जवाफ दिन सक्दैनौ। तिमीहरूमा धेरै कमी छ जस्तो देखिन्छ, त्यसको मतलब तिमीहरू आफूले नबुझ्ने थुप्रै कुराहरूमा सत्यता खोज्ने वा त्यसबारे सङ्गति गर्ने कुरामा ध्यान दिँदैनौ, त्यसैले तिमीहरूको मण्डली जीवनमा त्यसम्बन्धी विशिष्ट कुराहरूको कमी छ, र त्यसका परिणामहरू सम्भवतः खासै राम्रा हुन सक्दैनन्। प्रायः परमेश्‍वरको विश्‍वासमा बोलिने आत्मिक शब्द र भनाइहरू तिमीहरूको मुखमुखमा झुण्डिएका छन्, तर तिमीहरू यी कुराहरूलाई गम्भीरतासाथ लिदैनौ, न त तिमीहरू आफ्नै आत्मामा फर्केर आफ्नो हृदय शान्त पारी यस्तो नै सोच्छौः “परमेश्‍वरले भन्नुभएका यी वचनहरूको अर्थ के हो? मैले आफ्नो वास्तविक जीवनमा ती कुरा कसरी लागू गरूँ? म यी वचनहरूलाई कसरी ठोस बनाऊँ—यी कुराहरूलाई कसरी वास्तविकतामा बदलूँ? मैले के गर्न सक्छु, ताकि यी वचनहरू धर्मसिद्धान्त र वादमा सीमित नरहून्, बरु मेरो जीवनको अंश बनून्, मेरो हिँड्ने दिशा बनून्? मैले कस्तो व्यवहार गर्नुपर्छ ताकि परमेश्‍वरका वचनहरू मेरो जीवनको अंश बनून्?” यदि तिमीहरूले यस्ता कुराहरू सोच्न सक्छौ भने, तिमीहरू थुप्रै जटिलताहरू विश्‍लेषण गरी निष्कर्षमा पुग्न सक्छौ। तर सामान्यतया, तिमीहरूले यस्ता कुराहरू कहिल्यै सोच्दैनौ, त्यसैले आम रूपमा जुन सत्यताहरूबारे कुरा गरिन्छ तिमीहरू तीमध्ये अधिकांशको शाब्दिक बुझाइमै सीमित हुन्छौ। यदि मानिसहरू शाब्दिक बुझाइमै सीमित रहन्छन् भने, अन्यले तिनीहरूबारे के बुझ्न सक्लान्? मानिसहरूले आत्मिक सिद्धान्तहरू, आत्मिक शब्दावली, र आत्मिक भनाइहरूबारे बारम्बार प्रवचन दिन्छन्, तर तिनीहरूको जीवनमा, तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गरेको वास्तविकता तिमीहरूले देख्न सक्दैनौ। आज, तिमीहरूले एउटा अति ठूलो समस्या सामना गरिरहेका छौ। त्यो के समस्या हो? त्यो के हो भने, तिमीहरू धर्मसिद्धान्तबारे हल्का प्रवचन दिन सक्ने, निश्‍चित आत्मिक भनाइहरूको बोध गर्न सक्‍ने, र आफूलाई चिन्ने अनुभवबारे थोरै बोल्न सक्ने भएकाले, तिमीहरू आफूले सत्यता बुझ्ने, परमेश्‍वरमा आफ्नो विश्‍वास निश्‍चित स्तरमा पुगेको, र आफू अधिकांश मानिसहरूभन्दा माथि रहेको भन्ठान्छौ, तर खासमा, तिमीहरू सत्यताको वास्तविकतामा प्रवेश गरेकै हुँदैनौ, र तिमीहरूलाई सहयोग र भरणपोषण गर्ने, र सत्यता सङ्गति गर्ने र मार्गदर्शन गर्ने मान्छे नहुँदा, तिमीहरूको प्रगति ठप्प हुन्छ, र तिमीहरू ऐयास बन्छौ। तिमीहरू परमेश्‍वरको गवाही दिने काम गर्न सक्षम छैनौ, र तिमीहरू परमेश्‍वरको आज्ञा पूरा गर्न पनि असक्षम छौ, तर भित्रभित्रै तिमीहरू आफैलाई महान्‌ ठान्छौ, अधिकांश मानिसहरूले भन्दा बढी बुझ्छु भन्ठान्छौ—तर खासमा, तिमीहरूमा कदको कमी छ, तिमीहरू सत्यताको वास्तविकतामा प्रवेश गरेका छैनौ, र केवल धर्मसिद्धान्तका केही शब्द र वाक्यांशहरू बुझ्न सक्ने भएकोमै अहङ्कारी बनेका छौ। मानिसहरू यसप्रकारको स्थितिमा प्रवेश गर्नेबित्तिकै, र जब तिनीहरू आफूले सत्यता प्राप्त गरिसकेको सोच्छन्, र आत्मसन्तुष्ट बन्छन्, तब तिनीहरू कस्तो खतरामा हुन्छन्? यदि बोलीले लठ्ठै पार्न सक्ने झूटो अगुवा वा ख्रीष्टविरोधी साँच्चिकै देखा पर्‍यो भने, तँ पक्कै छलमा पर्नेछस् र उसको पछि लाग्न थाल्नेछस्। यो खतरनाक कुरा हो, होइन र? तिमीहरू अहङ्कारी, आत्मधर्मी, र आत्मगर्वित बन्न सक्छौ—यो अवस्थामा, के तिमीहरू परमेश्‍वरबाट टाढा हुनेछैनौ र? के तिमीहरू परमेश्‍वरलाई पिठ्यूँ फर्काउँदै आफ्नै मार्गमा लाग्नेछैनौ र? तिमीहरूसँग सत्यताको वास्तविकता छैन, अनि तिमीहरू परमेश्‍वरको गवाही दिन सक्षम छैनौ; तिमीहरू आफ्नै गवाही दिन र आफ्नै शान देखाउन मात्र सक्छौ—त्यसैले के तिमीहरू खतरामा छैनौ र? साथै, यदि तिमीहरू यो परिस्थितिमा फसेका छौ भने, तिमीहरूबाट कस्ता भ्रष्ट स्वभावहरू प्रकट हुनेछन्? सबैभन्दा पहिला, तिमीहरूले अहङ्कारी र आत्मधर्मी स्वभाव प्रकट गर्नेछौ; त्यो भनिरहनै पर्दैन। के तिमीहरूले पदको फाइदा लिएर वरिष्ठताको शान पनि देखाउनेछैनौ र? के तिमीहरूले माथि उभिएर मानिसहरूलाई भाषण दिनेछैनौ र? यदि तिमीहरूले यस्तो भ्रष्ट स्वभाव प्रकट गर्छौ भने, के परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुनेछैन र? यदि कुनै व्यक्ति विशेष रूपले अहङ्कारी र आत्मधर्मी छ, र उसले आत्मचिन्तन गर्दैन भने, के परमेश्‍वरले उसलाई घृणा र इन्कार गर्नुहुने सम्भावना हुँदैन र? त्यस्तो सम्भावना साँच्चिकै धेरै हुन्छ। उदाहरणको लागिः तिमीहरूले वर्षौँसम्म आफ्ना कर्तव्यहरू निभाएका होलौ, तर तिमीहरूको जीवन प्रवेशमा देखिँदो प्रगति केही भएको छैन, तिमीहरूले केवल थोरै सतही धर्मसिद्धान्तहरू बुझ्छौ, र तिमीहरूमा परमेश्‍वरको स्वभाव र सारबारे कुनै साँचो ज्ञान छैन, भन्न मिल्ने गरी कुनै फड्कोसमेत मारेका छैनौ—यदि यो तिमीहरूको आजको कद हो भने, तिमीहरूले के गर्लौ? तिमीहरूसँग भ्रष्टताका कस्ता प्रकटीकरणहरू होलान्? (अहङ्कार र घमण्डीपन।) के तिमीहरूको अहङ्कार र घमण्डीपन बढ्लान् कि उस्तै रहलान्? (बढ्लान्।) ती किन बढ्लान्? (किनकि हामी आफैलाई अत्यन्तै योग्य ठान्छौँ।) अनि, मानिसहरूले के आधारमा आफ्नो योग्यताको तह मूल्याङ्कन गर्छन्? तिनीहरूले निश्‍चित कर्तव्य कति वर्ष निभाएका छन् र तिनीहरूले कति धेरै अनुभव बटुलेका छन् भन्‍ने आधारमा, होइन र? अनि यस्तो हो भने, के तैँले क्रमिक रूपमा वरिष्ठताको आधारमा सोच्‍न थाल्दैनस् र? उदाहरणको लागि, कुनै दाजुले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो र कर्तव्य निभाउन थालेको लामो समय भयो, त्यसकारण कुरा गर्नको लागि ऊ नै सबैभन्दा योग्य हुन्छ; कुनै बहिनीले यहाँ काम गरेको धेरै भएको छैन, र उसमा केही क्षमता भए पनि, ऊसँग यो कर्तव्य पूरा गरेको अनुभव छैन, र उसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको छैन, त्यसकारण ऊ बोल्‍नको लागि सबैभन्दा कम योग्य हुन्छे। बोल्‍नको लागि सबैभन्दा योग्य व्यक्तिले मनमनै सोच्छ, “म नै वरिष्ठ भएको हुनाले, मेरो कर्तव्यपालन मापदण्डको स्तरमा छ, र मेरो खोजी चरम अवस्थामा पुगेको छ, र मैले सिक्‍नु वा प्रवेश गर्नुपर्ने कुनै कुरा छैन। मैले यो कर्तव्य राम्ररी निभाएको छु, मैले यो काम केही हदसम्‍म पूरा गरेको छु, त्यसकारण परमेश्‍वर सन्तुष्ट हुनुपर्छ।” अनि यसरी तिनीहरू आत्मसन्तुष्ट हुन थाल्छन्। के यसले तिनीहरू सत्यताको वास्तविकतामा प्रवेश गरेका छन् भन्‍ने जनाउँछ र? तिनीहरूमा कुनै पनि प्रगति हुन छोडिसकेको छ। तिनीहरूले सत्यता वा जीवन अझै हासिल गरेका छैनन्, तर तिनीहरू आफैलाई अत्यन्तै योग्य ठान्छन्, र वरिष्ठताका शब्दहरूमा बोल्छन् र परमेश्‍वरको इनाम कुर्छन्। के यो अहङ्कारी स्वभावको प्रकटीकरण होइन? जब मानिसहरू “अत्यन्तै योग्य” हुँदैनन्, तिनीहरूलाई सतर्कता अपनाउन आउँछ, तिनीहरूले गल्ती नगर्न आफैलाई सम्झाउँछन्; आफू अत्यन्तै योग्य भएको विश्‍वास भएपछि, तिनीहरू अहङ्कारी बन्छन्, र आफैलाई महान्‌ ठान्न थाल्छन्, र प्राय आत्मसन्तुष्ट बन्छन्। यस्ता समयहरूमा, के तिनीहरूले पावलले जस्तै परमेश्‍वरसँग इनाम र मुकुट माग्ने सम्भावना हुँदैन र? (हुन्छ।) यसमा मान्छे र परमेश्‍वरबीचको सम्बन्ध के हो? यो सृष्टिकर्ता र सुष्टि गरिएका प्राणीबीचको सम्बन्ध होइन। यो कारोबारमा आधारित सम्बन्धबाहेक अरू केही होइन। अनि यस्तो अवस्थामा, परमेश्‍वरसँग मानिसहरूको केही सम्बन्ध हुँदैन, र सम्भवतः उहाँले तिनीहरूदेखि आफ्नो अनुहार लुकाउनुहुन्छ—यो खतरनाक सङ्केत हो।

कतिपय मानिसहरूले परमेश्‍वरलाई पन्छाउँछन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई आफ्नै नियन्त्रणमा राख्छन्, र मानिसहरूको कर्तव्य निर्वाह गर्ने ठाउँलाई ख्रीष्टविरोधीहरूको स्वतन्त्र राज्यमा रूपान्तरित गर्छन्; तिनीहरू परमेश्‍वरको सेवा र आराधना गर्ने मण्डलीहरूलाई धार्मिक सङ्गठनमा रूपान्तरित गर्छन्। के यी मानिसहरू सत्यता र जीवन प्रवेश गरेका छन्? के यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउने, सेवा गर्ने वा गवाही दिने गर्छन्? तिनीहरूले कदापि गर्दैनन्। के तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका छन्? (छैनन्।) त्यसो भए तिनीहरू के गरिरहेका छन्? के तिनीहरू मान्छेका कारोबार र उद्यमहरूमा संलग्न छैनन्? मान्छेको कारोबार र उद्यमहरूमा तँ जति नै राम्ररी संलग्न भइस् भने पनि, यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्न भने, र यदि तैँले सत्यता पछ्याउँदैनस् भने, के त्यसको मतलब परमेश्‍वरसँग तेरो कुनै सम्बन्ध छैन भन्ने हुँदैन र? के त्यो अत्यन्तै खराब कुरा होइन र? जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ र उहाँलाई पछ्याउँछ, तब सबैभन्दा डर मान्नुपर्ने कुरा भनेको ऊ परमेश्‍वरका वचनहरू र सत्यताबाट विचलित होला र मान्छेका कारोबार र उद्यमहरूमा संलग्न होला कि भन्‍ने हो। त्यसो गर्नु भनेको आफ्नै मार्गमा लाग्नु हो। उदाहरणको लागि, मानौँ कुनै मण्डलीले एउटा अगुवा चुन्छ। त्यो अगुवालाई धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूको प्रवचन दिन मात्र आउँछ, र ऊ आफ्नै प्रतिष्ठा र हैसियतमा मात्र ध्यान दिन्छ। उसले कुनै व्यावहारिक काम गर्दैन। तर तिमीहरू उसले धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूमा राम्ररी र सत्यताबमोजिम प्रवचन दिएको सुन्छौ, र उसले भनेका सबथोक सही ठान्छौ, त्यसैले तिमीहरूले उसको धेरै प्रशंसा गर्छौ र तिमीहरूलाई ऊ कुशल अगुवा लाग्छ। तिमीहरू हरेक कुरामा उसलाई चासो दिन्छौ र अन्त्यमा, उसलाई पछ्याउँछौ, र ऊप्रति पूर्ण समर्पित हुन्छौ। के त्यसपछि तिमीहरू झूटा अगुवाद्वारा मोहित र नियन्त्रित हुँदैनौ र? अनि के त्यो मण्डली झूटो अगुवा टाउके रहेको धार्मिक समूह बनेको हुँदैन र? झूटो अगुवा टाउके रहेको धार्मिक समूहका सदस्यहरू आफ्ना कर्तव्यहरू निभाइरहेजस्ता देखिन सक्छन्, तर के तिनीहरू साँच्चिकै आफ्ना कर्तव्यहरू निभाइरहेका हुन्छन्? के तिनीहरू साँच्चिकै परमेश्‍वरको सेवा गरिरहेका हुन्छन्? (हुँदैनन्।) यदि ती मानिसहरू परमेश्‍वरको सेवा गरिरहेका वा आफ्ना कर्तव्यहरू निभाइरहेका हुँदैनन् भने, के परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध हुन्छ? के परमेश्‍वरसँग सम्बन्धै नभएको गिरोहले उहाँमा विश्‍वास गर्छ? भन् त, झूटो अगुवाका अनुयायीहरू वा ख्रीष्टविरोधीको नियन्त्रणमा रहेका मानिसहरूसँग पवित्र आत्माको काम हुन्छ? कदापि हुँदैन। अनि तिनीहरूसँग पवित्र आत्माको काम किन हुँदैन? किनकि तिनीहरू परमेश्‍वरका वचनहरूबाट टाढिएका छन्, र तिनीहरू परमेश्‍वरको आज्ञापालन र आराधना गर्दैनन्, बरु झूटा गोठाला र ख्रीष्टविरोधीहरूप्रति ध्यान दिन्छन्—परमेश्‍वरले तिनीहरूलाई घृणा र इन्कार गर्नुहुन्छ, र तिनीहरूमा थप काम गर्नुहुन्न। तिनीहरू परमेश्‍वरका वचनहरूबाट टाढिएका छन् अनि उहाँबाट घृणित र अस्वीकृत भएका छन्, र तिनीहरूले पवित्र आत्माको काम गुमाएका छन्। अनि, के तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्? (अहँ।) सक्दैनन्, यसको मतलब तिनीहरू समस्यामा छन्। यसकारण, कुनै मण्डलीमा जति नै धेरै मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गरिरहेका भए पनि, तिनीहरूले मुक्ति प्राप्त गर्ने वा नगर्ने कुरा विशेषतः तिनीहरू ख्रीष्टलाई पछ्याइरहेका छन् कि कुनै व्यक्तिलाई, अनि तिनीहरूले साँच्चिकै परमेश्‍वरको कामको अनुभव गर्दै सत्यता पछ्याइरहेका छन् कि धार्मिक गतिविधिहरू र मान्छेका कारोबार र उद्यमहरूमा संलग्न भइरहेका छन् भन्ने कुरामा निर्भर हुन्छ। त्यो विशेषतः तिनीहरूले सत्यता स्विकार्न र पछ्याउन सक्छन् कि सक्दैनन् र तिनीहरूले समस्या पत्ता लगाएपछि त्यो सुल्झाउनलाई सत्यता खोज्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। सबैभन्दा महत्वपूर्ण कुराहरू यिनै हुन्। मानिसहरूले वास्तवमा के कुराको खोजी गर्छन् र तिनीहरू कुन मार्गमा हिँड्छन्, तिनीहरूले साँच्‍चै सत्यता स्विकार्छन् कि त्याग्छन्, तिनीहरू परमेश्‍वरमा समर्पित हुन्छन् कि उहाँको विरोध गर्छन्—परमेश्‍वरले यी सब कुराहरूलाई निरन्तर नियालिरहनुभएको हुन्छ। हरेक मण्डली र हरेक व्यक्तिमाथि परमेश्‍वरको नजर हुन्छ। मण्डलीमा जति नै धेरै मानिसहरूले कर्तव्य निर्वाह गरिरहेका वा परमेश्‍वरलाई पछ्याइरहेका भए पनि, तिनीहरू परमेश्‍वरदेखि टाढा गएको क्षण, तिनीहरूले पवित्र आत्माको काम गुमाएको क्षण, तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्न छोड्छन्, र त्यसैले तिनीहरूले निभाइरहेको कर्तव्यको अनि तिनीहरू आफैको परमेश्‍वरको काममा कुनै सम्बन्ध र कुनै भूमिका हुँदैन, र यो अवस्थामा तिनीहरू धार्मिक समूह बनिसकेका हुन्छन्। मलाई भन, कुनै मण्डली एक धार्मिक समूहमा परिवर्तन भयो भने यसका परिणामहरू के हुन्छन्? के यी मानिसहरू ठूलो खतरामा छन् भनेर तिमीहरू भन्दैनौ र? तिनीहरूले समस्याको सामना गर्दा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् र तिनीहरू सत्यताका सिद्धान्तअनुसार कार्य गर्दैनन्, बरु तिनीहरू मानवजातिका बन्दोबस्त र चालबाजीमा पर्छन्। अझै धेरै यस्ता पनि छन् जो आफ्ना कर्तव्यहरू निर्वाह गर्दा प्रार्थना गर्ने वा सत्यताका सिद्धान्तहरू खोज्ने कहिल्यै गर्दैनन्; तिनीहरूले केवल अरूलाई सोध्ने र अरूले भनेअनुसार गर्ने, र अरूले दिएको इसारामा काम गर्ने गर्छन्। अरूले जे गर्नू भन्छन्, तिनीहरूले त्यही गर्छन्। तिनीहरूलाई आफ्नो समस्याबारे परमेश्‍वरसित प्रार्थना गर्नु र सत्यता खोज्‍नु अस्पष्ट र गाह्रो लाग्छ, त्यसैले तिनीहरू सरल र सजिलो समाधान खोज्छन्। तिनीहरूलाई अरूमा भर पर्नु र अरूले जे भन्छन् त्यो गर्नु सजिलो र सबैभन्दा व्यावहारिक लाग्छ, त्यसैले तिनीहरूले हरेक कुरामा अरूलाई सोध्दै र अरूले कुरा सुन्दै, अरूले जे भन्यो त्यही गर्छन्। फलस्वरूप, धेरै वर्षसम्म विश्‍वास गरेर पनि, तिनीहरू समस्याको सामना गर्दा एक पटक पनि प्रार्थना गर्न र उहाँको इच्छा र सत्यताको खोजी गर्न, र सत्यताको बुझाइ हासिल गर्न अनि परमेश्‍वरको इच्छाअनुसार कार्य र व्यवहार गर्न परमेश्‍वरको अघि आएका हुँदैनन्—तिनीहरूले त्यस्तो अनुभव कहिल्यै गरेका हुँदैनन्। के त्यस्ता मानिसहरूले वास्तवमै परमेश्‍वरमाथिको विश्‍वास अभ्यास गर्छन् त? मलाई अचम्म लाग्छ: केही मानिसहरू कुनै धार्मिक समूहमा प्रवेश गरिसकेपछि किन परमेश्‍वरमा विश्‍वास गर्नेबाट व्यक्तिमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउनेबाट व्यक्तिलाई पछ्याउने मानिस बन्न उद्दत हुन्छन्? किन तिनीहरू त्यति चाँडै परिवर्तन हुन्छन्? परमेश्‍वरमा त्यतिका वर्ष विश्‍वास गरिसकेपछि, किन तिनीहरू सबै कुरामा व्यक्तिलाई ध्यान दिने र पछ्याउने गर्छन्? त्यतिका वर्षको विश्‍वासको बाबजुद तिनीहरूको हृदयमा परमेश्‍वरको लागि साँच्चिकै कहिल्यै ठाउँ भएन। तिनीहरूले गर्ने हर काममध्ये कुनैको पनि परमेश्‍वरसँग र उहाँका वचनहरूसँग कहिल्यै केही सम्बन्ध रहेन। तिनीहरूका बोलीवचन, कार्य, जीवन, अरूसँगको व्यवहार, मामला सम्हालाइ, तिनीहरूको कर्तव्यनिर्वाह र परमेश्‍वरप्रतिको सेवासमेत, अनि तिनीहरूका सबै क्रियाकलाप र कर्महरू, तिनीहरूका व्यवहारहरू, र तिनीहरूमा प्रकट हुने हरेक सोच वा विचारसमेत—यीमध्ये कुनै कुराको पनि परमेश्‍वरमाथिको विश्‍वास वा परमेश्‍वरका वचनहरूसँग कुनै सम्बन्ध हुँदैन। के त्यस्तो व्यक्ति परमेश्‍वरको साँचो विश्‍वासी हो त? के कसैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षहरूको सङ्ख्याले उसको कद निर्धारण गर्न सक्छ त? के यस्तो परमेश्‍वरसँग उसको सामान्य सम्बन्ध छ भन्ने प्रमानीत गर्छ त? कदापि गर्दैन। कसैले इमानदारीसाथ परमेश्‍वरमा विश्‍वास गर्छ कि गर्दैन भनी हेर्नलाई, उसले हृदयमा परमेश्‍वरका वचनहरू ग्रहण गर्न सक्छ कि सक्दैन, र ऊ उहाँका वचनहरूमा जिउन र उहाँको काम अनुभव गर्न सक्छ कि सक्दैन भनी हेर्नु महत्वपूर्ण छ।

यो कुरा विचार गर्: जब तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, यदि तँ केवल धार्मिक संस्कारहरूमा मात्र संलग्न हुन्छस् र केही नियमहरू पालना मात्र गर्छस् भने; यदि तैँले आफ्नो कर्तव्य निभाउने र काम गर्ने क्रममा सत्यताका सिद्धान्तहरूमा ध्यान नदिई झारा टार्ने काम मात्र गर्छस् भने; यदि सत्यता सङ्गति गर्दा तँ धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूबारे मात्र कुरा गर्छस्, तर तँसँग कुनै व्यावहारिक ज्ञान छैन भने; यदि तैँले सुसमाचार फैलाउँदा र गवाही दिँदा तेरो सङ्गतिका कुराहरू देखावटी मात्र छन् भने; यदि तँ मानिसहरूलाई भरणपोषण गर्न र साथ दिन धर्मसिद्धान्तका आत्मिक कुराहरू मात्र बोल्छस् भने—के तैँले परिणाम हासिल गर्न सक्छस्? यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्दा बाह्य आत्मिकता पछ्याउँछस् भने, के तेरो जस्तो त्यस्तो विश्‍वास परमेश्‍वरको कामको अनुभव हो? के तैँले यसरी कर्तव्य निर्वाह गर्दा सत्यता प्राप्त गर्न सक्छस्? के यो परमेश्‍वरप्रतिको साँचो विश्‍वास हो? (होइन।) वास्तवमा, परमेश्‍वरप्रतिको साँचो विश्‍वास भनेको के हो? हुन सक्छ तिमीहरूले परमेश्‍वरमा धेरै वर्ष विश्‍वास गरेका छौ, उहाँका धेरै वचनहरू पढेका छौ, धेरै प्रवचनहरू सुनेका छौ, र तिमीहरू धेरै धर्मसिद्धान्तहरू बुझ्छौ—अनि अवश्य नै, तिमीहरूमध्ये कतिपय त आंशिक रूपमा सत्यताको वास्तविकतामा प्रवेश गरिसकेका छौ—तर के तँ मुक्तिको कद प्राप्त गरिसकेको छु भनेर भन्ने आँट गर्न सक्छस्? के तँ फेरि पनि शैतानद्वारा नछलिने र बन्दी नपारिने कुरामा निश्‍चित हुन सक्छस्? के तँ फेरि पनि व्यक्तिलाई आराधना नगर्ने र नपछ्याउने कुरामा निश्‍चित हुन सक्छस्? के तैँले परमेश्‍वरलाई बाटोको अन्त्यसम्मै अटूट रूपले पछ्याउने, कदापि पछाडि नफर्कने, धर्मका मानिसहरूले जस्तो व्यावहारिक परमेश्‍वरको सट्टा स्वर्गीय, अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्ने काम नगर्ने सुनिश्‍चित गर्न सक्छस्? तिमीहरूले देहधारी परमेश्‍वरलाई त पछ्याउँछौ होला, तर के तिमीहरू सत्यता पछ्याइरहेका छौ? के तिमीहरू परमेश्‍वरप्रतिको साँचो समर्पण र उहाँको ज्ञान हासिल गर्न सक्षम छौ? के तिमीहरू अझै पनि परमेश्‍वरलाई घात गर्ने खतरामा छैनौ? तिमीहरूले यी सबै कुराहरू विचार गर्नुपर्छ। आज, तिमीहरूको कुन-कुन विश्‍वासका माध्यम, विचार, र स्थितिहरू इसाई धर्मका विश्‍वासीहरूकोसँग उस्तै वा मिल्दाजुल्दा छन्? के कुरामा तिमीहरूको स्थिति मिल्छ? यदि परमेश्‍वरमा विश्‍वास गर्ने कुनै व्यक्तिले सत्यता नियमहरूको सङ्ग्रह नै हो जसरी पालना गर्छ भने, के उसको विश्‍वास धार्मिक संस्कारमा संलग्न हुने कार्य नबन्ला र? (त्यस्तै बन्ला।) धार्मिक संस्कारहरूमा संलग्न हुनु वास्तवमै इसाई धर्मभन्दा केही फरक छैन—त्यसो गर्नेहरू केवल शिक्षण र सिद्धान्तमा अलि उच्च र अलि बढी प्रगति गरेका, अनि आफ्नो विश्‍वासमा अलि माथि र अलि उच्च स्तरमा हुन्छन्। त्यति नै हो। परमेश्‍वरप्रतिको विश्‍वास यदि धार्मिक विश्‍वास, धर्मशास्त्रको अध्ययन, र नियम वा संस्कारहरूको सङ्ग्रहमा परिणत हुन्छ भने, के त्यो इसाई धर्ममा परिणत भएको हुँदैन र? नयाँ र पुराना शिक्षणहरूबीच भिन्नता छ, तर यदि तैँले केवल सत्यतालाई धर्मसिद्धान्तको रूपमा बुझ्छस्, र तँलाई सत्यता अभ्यास गर्न आउँदैन, र परमेश्‍वरको काम अनुभव गर्न त झनै आउँदैन भने—अनि यदि तैँले जति धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, जतिसुकै धेरै कठिनाइहरू भोगे पनि, तँसित जतिसुकै धेरै असल व्यवहारहरू भए पनि, तँमा जे छ त्यो सत्यताको साँचो बुझाइ होइन भने, र तैँले सत्यता प्राप्त गरेको वा सत्यताको वास्तविकतामा प्रवेश गरेको छैनस् भने—के तेरो विश्‍वासको त्यो शैली इसाई धर्मको शैली होइन र? (हो।) के त्यो इसाई धर्मको सार होइन र? (हो।) त्यसो भए, तिमीहरूका कार्यहरू र कर्तव्यनिर्वाहमा के-कस्ता विचार वा स्थितिहरू छन् जुन इसाईहरूका जस्तै, वा तिनीहरूका समान छन्? (हामी नियमहरू पालना गर्छौँ र आफूलाई धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूले सुसज्जित पार्छौँ।) नियमहरूको पालना, धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूको प्रवचन दिने, र सत्यतालाई धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूको रूपमा लिने—अरू केही? (हामी काम गर्नमा ध्यान दिन्छौँ, जीवन प्रवेशमा दिँदैनौँ।) तिमीहरू श्रम खर्चनमा मात्रै ध्यान दिन्छौ, जीवन प्राप्त गर्ने वा सत्यताको वास्तविकतामा प्रवेश गर्ने कुरामा ध्यान दिँदैनौ—अरू केही? (हामी आत्मिकता र असल व्यवहारको बाह्य स्वरूपमा मात्र ध्यान दिन्छौँ।) अहिले तिमीहरूले केही कुराहरू भनेका छौ, म त्यसको सारांश भन्नेछुः असल व्यवहारको बाह्य स्वरूपको पछि लाग्नु, र आत्मिकताको खोलले आफूलाई बेर्न भरपुर कोसिस गर्नु, अनि मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूमा सही ठानेका, अर्थात मानिसहरूले प्राय अनुमोदन गर्ने कामहरू गर्नु—यो झूटो आत्मिकता पछ्याउनु हो। त्यस्तो व्यक्ति पाखण्डी हो। जो आफ्नो मञ्चमा उभिएर धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूको प्रवचन दिन्छ, जसले अरूलाई असल कर्म गर्न र मानिसहरूसित राम्रो व्यवहार गर्न सिकाउँछ, र जो आत्मिक व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गर्छ। तर अरूसँगको सम्बन्ध र परिस्थितिहरू सम्हाल्ने विषयमा, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरू कहिल्यै सत्यता खोज्दैनन्, बरु शैतानी स्वभाव बोकेर जिउँछन्। आफूलाई जेसुकै आइपरे पनि, तिनीहरू परमेश्‍वरलाई पन्छाउँदै आफ्नै इच्छाअनुसार चल्छन्। तिनीहरू कहिल्यै पनि सत्यताका सिद्धान्तहरूअनुसार काम गर्दैनन्; तिनीहरू बस नियमहरू पालना गर्छन्। तिनीहरूले सत्यता बिलकुलै बुझ्दैनन्, न त परमेश्‍वरको इच्छा नै बुझ्छन्, न त उहाँले मान्छेको लागि तोक्‍नुभएका मापदण्डका स्तरहरू, वा मान्छेलाई मुक्ति दिएर उहाँले के हासिल गर्नुहुनेछ भन्ने कुरा नै बुझ्छन्। तिनीहरूले गम्भीरतासाथ सत्यताका यी कुराहरू कहिल्यै छानबिन गर्ने वा त्यसबारेमा सोधखोज गर्ने गर्दैनन्। मान्छेका यी सबै भनाइ र व्यवहारहरूले पाखण्डका कुराहरू मात्र खुलासा गर्छन्। यस्ता मानिसहरूको हृदयको साँचो स्थिति साथसाथै तिनीहरूको बाहिरी व्यवहार हेरेपछि यो निश्‍चित हुन्छ कि तिनीहरूमा सत्यताको वास्तविकतासम्बन्धी कुनै पनि कुरा पनि छैन, र खासमा तिनीहरू पाखण्डी फरिसीहरू हुन्, र तिनीहरू गैरविश्‍वासीहरू हुन्। यदि कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ तर सत्यता पछ्याउँदैन भने, के उसको विश्‍वास साँचो हो? (होइन।) यदि कुनै व्यक्तिले जतिसुकै धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, उसले सत्यता बिलकुलै स्वीकार गर्दैन भने, के त्यो व्यक्ति परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने अवस्थामा पुग्‍न सक्छ? (सक्दैन।) उसले त्यस्तो अवस्था हासिल गर्न सक्दैन। त्यसो भए, त्यस्ता मानिसहरूको बाह्य व्यवहारको प्रकृति कस्तो हुन्छ? तिनीहरूले कस्तो बाटो हिँड्न सक्छन्? (फरिसीहरूको बाटो।) तिनीहरूले कुन कुराले आफूलाई सुसज्जित गर्दै दिनहरू बिताउँछन्? के त्यो धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूले होइन र? तिनीहरूले आफैलाई अझ बढी फरिसीहरूजस्तो बनाउन, अझ बढी आत्मिक बनाउन, र अझ बढी परमेश्‍वरलाई सेवा गर्ने व्यक्तिहरूजस्तो बनाउन आफूलाई धर्मसिद्धान्तका शब्द र वाक्यांशहरूद्वारा सुसज्जित र आभूषित गर्दै दिनहरू बिताउँछन्—यी सबै कार्यहरूको प्रकृति के हो? के यो परमेश्‍वरको आराधना गर्नु हो? के यो परमेश्‍वरमाथिको सच्‍चा विश्‍वास हो? (होइन, यो सच्‍चा विश्‍वास होइन।) त्यसो भए, तिनीहरूले के गरिरहेका छन्? तिनीहरू परमेश्‍वरलाई धोका दिइरहेका छन्; तिनीहरू केवल प्रक्रियागत चरणहरू पूरा गरिरहेका छन्। तिनीहरूले आशिषित हुने आफ्‍नो लक्ष्य पूरा गर्न विश्‍वासको झण्डा हल्लाइरहेका छन् र धार्मिक रीतिरिवाजको काम गर्दै परमेश्‍वरलाई धोका दिने प्रयास गरिरहेका छन्। यी मानिसहरूले परमेश्‍वरलाई आराधना गर्दै गर्दैनन्। अन्त्यमा, यस्ता समूहका मानिसहरू तथाकथित रूपमा परमेश्‍वरलाई सेवा गर्ने र तथाकथित रूपमा परमेश्‍वरलाई विश्‍वास गर्ने र पछयाउनेहरूजस्तै प्रार्थनालयभित्रै हराउँछन्।

व्यवस्थाको युगमा परमेश्वरलाई विश्वास गर्ने शास्त्री र फरिसीहरू अनि आधुनिक इसाईधर्म र क्याथोलिक गिर्जाघरका पाष्टर, एल्डर, पादरी र बिशपहरूबीच के भिन्नता छ? भन्नुको मतलब, यहोवामा विश्वास गर्नु र येशूमा विश्वास गर्नुबीचको फरक के हो? तिनीहरूले विश्वास गर्ने नामबाहेक के भिन्नता छ? यहोवामा विश्वास गर्नेहरूले के मान्थे? तिनीहरूको विश्वास गर्ने विधि कस्तो थियो? (तिनीहरू व्यवस्था र आज्ञाहरू पालना गर्थे।) के तिनीहरू पवित्र आत्माको काम बुझ्थे? के तिनीहरूले आफ्नो क्रूस उठाउने मार्ग बुझ्थे? (बुझ्थेनन्।) के तिनीहरूलाई परमेश्वर नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ भन्ने थाहा थियो? के तिनीहरूमा त्यस्तो अवधारणा थियो? के तिनीहरूलाई येशूमा विश्वास गर्नेहरूले सुनेका सन्देशहरू थाहा थियो? (थाहा थिएन।) येशूमा विश्वास गर्नेहरू तिनीहरूलाई कुन रूपमा हेर्छन्? (तिनीहरू पिछडिएका, रुढीवादी थिए, र तिनीहरू पवित्र आत्माको काम सँगसँगै चल्दैनथे।) मूल कुरा के हो भने, तिनीहरू परमेश्वरको कामका चरणहरू सँगसँगै चल्दैनथे। परमेश्वरले मसिह आउनुहुनेछ भनेर भन्नुभयो, र जब उहाँ देहमा आउनुभयो उहाँलाई येशू ख्रीष्ट भनियो। तिनीहरूले उहाँलाई स्विकारेनन्, बरू हठी हुँदै उहाँको प्रतिरोध गरे। तिनीहरूले प्रभु येशू नै देहधारी परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गरेनन्, र उहाँलाई क्रुसमा टाँगे। तिनीहरू पछि परे, र अनुग्रहको युगमा निकालिए। तिनीहरूले छुटकारा, क्रुसको मुक्ति, र पश्चात्तापजस्ता अनुग्रहको युगका सन्देशहरू चिनेनन्। के त्यो भिन्नता होइन? (हो।) त्यसोभए, अनुग्रहको युगका मानिसहरू केबारे बोल्छन्? तिनीहरू र व्यवस्थाको युगका विश्वासीहरूबीच के भिन्नता छ? तिनीहरूलाई थप के कुरा थाहा छ? सबैभन्दा पहिला, तिनीहरूले बाइबल पढेको हेर्दा, तिनीहरू पुरानो र नयाँ करार पढ्छन्; तिनीहरूले विश्वास गर्ने परमेश्वरको नामलाई हेर्दा, तिनीहरूले परमेश्वरलाई यहोवा मात्र भनेर बोलाउन छाडेका छन्, बरु उहाँलाई मुख्यतः येशू ख्रीष्ट भनेर बोलाउँछन्। तिनीहरू के अभ्यास गर्छन्? पाप स्वीकार र पश्चात्ताप, सहनशीलता र विनम्रता; तिनीहरू प्रेमिल छन्, आज्ञाहरू पालना गर्छन्, आफ्ना क्रुस बोक्छन्, क्रुसको कष्ट भोग्ने मार्गमा हिँड्छन्, र मृत्युपछि स्वर्गारोहण हुने अपेक्षा गर्छन्। तिनीहरू धेरै अर्थमा व्यवस्थाको युगका परमेश्वरका विश्वासीहरूभन्दा फरक छन्। तिनीहरू पवित्र आत्माको काम, अनि पवित्र आत्माले भरिने र डोरिनेबारे बोल्छन्; तिनीहरू प्रार्थनाबारे, प्रभु येशूको नाममा काम गर्नेबारे, र सुसमाचार सुनाउनेबारे बोल्छन्। तिनीहरूले भन्ने कुराहरू व्यवस्थाको युगका कुराभन्दा पूर्ण रूपले फरक छन्, तर अन्त्यमा, तिनीहरूले यहूदी विश्वासका मानिसहरूले जस्तै नतिजा प्राप्त गर्छन्—तिनीहरू पनि कुनै धार्मिक समूहका हुन्। यो कस्तो मामिला हो? व्यवस्थाको युगका ती यहूदी फरिसी, प्रधान पुजारी, र शास्त्रीहरू परमेश्वरमा नाउँ मात्रको विश्वास गर्थे, तर तिनीहरूले उहाँको मार्गलाई पिठ्यूँ फर्काए, र देहधारी परमेश्वरलाई क्रुसमा समेत टाँगे। त्यसोभए, के तिनीहरूको विश्वासले परमेश्वरको अनुमोदन प्राप्त गरेको हुन सक्थ्यो र? (अहँ।) परमेश्वरले तिनीहरूलाई यहूदी विश्वासका मानिस, एक धार्मिक समूहका सदस्य भनेर तोकिसक्नुभएको थियो। त्यसै गरी, परमेश्वर अहिले येशूमा विश्वास गर्नेहरूलाई कुनै धार्मिक समूहका सदस्यका रूपमा हेर्नुहुन्छ, किनकि उहाँ तिनीहरूलाई उहाँको मण्डलीका सदस्य वा उहाँका विश्वासीका रूपमा स्वीकार गर्नुहुन्न। किन परमेश्वर धार्मिक संसारलाई यस्तो निन्दा गर्नुहुन्छ? किनकि धार्मिक समूहहरूका सबै सदस्य, विशेष गरी विभिन्न सम्प्रदायका उच्च तहका अगुवाहरूको हृदयमा परमेश्वरको भय हुँदैन, न त तिनीहरू परमेश्वरको इच्छा पालन नै गर्छन्। तिनीहरू सबै गैरविश्वासी हुन्। तिनीहरू देहधारणमा विश्वास गर्दैनन्, झन् सत्यता स्विकार्नु त परको कुरा हो। तिनीहरू परमेश्वरका आखिरी दिनहरूको काम वा उहाँले व्यक्त गर्ने सत्यताहरू कहिल्यै खोज्दैनन्, त्यसको सोधीखोजी, जाँच गर्दैनन्, वा त्यो स्विकार्दैनन्, बरु सोझै परमेश्वरका आखिरी दिनहरूको देहधारणको कामलाई निन्दा र तिरस्कार गर्छन्। यसमा प्रस्टसित के देखिन्छ भने, तिनीहरू परमेश्वरमा नाउँ मात्रको विश्वास गर्लान्, तर परमेश्वर तिनीहरूलाई आफ्ना विश्वासीका रूपमा स्विकार्नुहुन्न; उहाँ तिनीहरूलाई दुष्कर्मी, तिनीहरूले गर्ने कुनै कुरा उहाँको मुक्तिको कामसँग अलिकति पनि सम्बन्धित छैन, तिनीहरू अविश्वासीहरू हुन् जो उहाँका वचनहरूभन्दा बाहिर छन् भनेर भन्नुहुन्छ। यदि तिमीहरू परमेश्वरलाई अहिले जसरी विश्वास गर्छौ, त्यसरी नै विश्वास गर्छौ भने, तिमीहरूलाई पनि धार्मिक अनुयायीमा झार्ने दिन आउनेछैन र? धर्मभित्र परमेश्वरमा विश्वास गरेर मुक्ति प्राप्त हुँदैन—खासमा यस्तो किन हुन्छ? यदि तिमीहरू यस्तो हुनुको कारण भन्न सक्दैनौ भने, यसले तिमीहरू अलिकति पनि सत्यता बुझ्दैनौ, न त परमेश्वरको इच्छा नै बुझ्छौ भनेर देखाउँछ। परमेश्वरमा विश्वास गर्दा हुन सक्ने सबैभन्दा दुखद कुरा के हो भने, त्यो विश्वास झरेर धर्म बन्छ र त्यसलाई परमेश्वरले हटाउनुहुन्छ। यो मान्छेले कल्पना गर्नै नसक्ने कुरा हो, र सत्यता नबुझ्नेहरूले यस मामिलालाई स्पष्ट रूपमा कहिल्यै देख्न सक्दैनन्। ल भन्, जब परमेश्वरको नजरमा कुनै मण्डली बिस्तारै धर्ममा परिणत भएको हुन्छ र यसको सुरुवातदेखि धेरै वर्षको दौरान कुनै सम्प्रदाय बनेको हुन्छ, तब के त्यसका मानिसहरू परमेश्वरको मुक्तिका पात्रहुन्छन्? के तिनीहरू उहाँको परिवारका सदस्य हुन्छन्? (अहँ।) तिनीहरू हुँदैनन्। साँचो परमेश्वरमा नाउँको मात्र विश्वास गर्ने, तर परमेश्वरले धार्मिक मानिस ठान्ने यी मानिसहरू हिँड्ने बाटो कुन हो? तिनीहरू हिँड्ने बाटो त्यो हो जसमा तिनीहरू परमेश्वरमा विश्वास गरेको ब्यानर बोक्छन् तर उहाँको मार्ग कहिल्यै पछ्याउँदैनन्; त्यो बाटो हो जसमा तिनीहरू उहाँमा विश्वास गर्छन् तर उहाँको आराधना गर्दैनन्, बरु उहाँलाई त्याग्छन् समेत; त्यो बाटो हो जसमा तिनीहरू परमेश्वरमा विश्वास गरेको दाबी गर्छन् तर उहाँको प्रतिरोध गर्छन्, परमेश्वरको नाममा, साँचो परमेश्वरमा नाउँको मात्र विश्वास गर्छन्, तर शैतान र दियाबलसहरूको आराधना गर्छन्, अनि मानव कार्यहरूमा संलग्न हुन्छन्, र स्वतन्त्र मानव राज्य खडा गर्छन्। तिनीहरू हिँड्ने बाटो त्यही हो। तिनीहरू हिँड्ने बाटो हेर्दा के प्रस्ट हुन्छ भने, तिनीहरू गैरविश्वासीहरूको झुन्ड, ख्रीष्टविरोधीहरूको गिरोह, खुलेआम परमेश्वरको प्रतिरोध गर्ने र उहाँको काम भङ्ग गर्ने शैतान र दियाबलसहरूको समूह हुन्। धार्मको संसारको सार यही हो। के मानिसहरूको यस्तो कुनै समूहको मान्छेको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनासँग कुनै सम्बन्ध छ? (छैन।) परमेश्वरका विश्वासीहरूलाई पनि, चाहे तिनीहरूको सङ्ख्या धेरै किन नहोस्, तिनीहरूको विश्वासको शैलीलाई परमेश्वरले सम्प्रदाय वा समूहको रूपमा परिभाषित गर्नुभएपछि, मुक्ति दिन नसकिने मानिसका रूपमा परिभाषित गर्नुहुन्छ। किन म यसो भन्छुनिरहेको? परमेश्वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्वरमा नाउँको मात्र विश्वास गर्ला, तर तिनीहरू धर्मका पुजारी र एल्डरहरूलाई पछ्याउँछन् र तिनीहरूको आज्ञापालन गर्छन्, तर धर्मका पुजारी र एल्डरहरू आफ्नो सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, ती मानिसहरू शैतान र दियाबलसहरूलाई पछ्याउँछन्। तिनीहरू आफ्नो हृदयमा परमेश्वरप्रतिको विश्वास अभ्यास गरिरहेका छन्, तर खासमा, तिनीहरू मान्छेको चलाक प्रभावमा पर्दै छन्, मानवका योजनाबद्द कार्य र प्रभुत्वकोपकडमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्नुपर्दा, तिनीहरू शैतान र दियाबलसहरू, अनि परमेश्वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, अनि परमेश्वरका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? सक्दैनन्; तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्वरमा विश्वास गरेको नाममा मानव कार्य र व्यवसायहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, फलस्वरूप परमेश्वरले तिनीहरूलाई अन्तिम परिणामस्वरूप तिरस्कार गर्नुहुनेछ। परमेश्वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ; तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्, र तिनीहरूलाई शैतानले जितेको कारण परमेश्वर तिनीहरू शैतानलाई नै जिम्मा लगाउनुहुन्छ। के परमेश्वरप्रतिको विश्वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा त्यो विश्वास कति वर्षदेखिको हो भन्नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्ने अनुष्ठान वा पालना गर्ने नियमहरूमा भर पर्छ? के परमेश्वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्वरले मानिसहरूको कुनै समूह छान्नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। परमेश्वरले मान्छेलाई अहिले जति धेरै सत्यता अनुग्रहको युगमा भन्नुभएको थिएन होला, र ती निर्दिष्ट थिएनन् होला, तैपनि उहाँले मान्छेलाई सिद्ध पार्न सक्नुभयो, अनि त्यतिबेला मुक्ति दिन सकिने मानिसहरू पनि थिए। त्यसोभए, यदि हालको युगका अत्यन्तै धेरै सत्यता सुनेका र परमेश्वरको इच्छा बुझ्ने मानिसहरू उहाँको मार्ग पछ्याउन वा मुक्तिको मार्गमा हिँड्न सक्दैनन् भने, अन्त्यमा तिनीहरूको परिणाम के हुनेछ? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्मका विश्वासीहरूको जस्तै हुनेछ—उनीहरूले जस्तै तिनीहरूले पनि मुक्ति प्राप्त गर्न सक्नेछैनन्। यो परमेश्वरको धर्मी स्वभाव हो। तैँले जति नै प्रवचनहरू सुनेको भए पनि वा जति नै सत्यताहरू बुझेको भए पनि,—यदि तँ अझै पनि मान्छेलाई पछ्याउँछस्, शैतानलाई पछ्याउँछस्, र अन्त्यमा परमेश्वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको भय मान्न र दुष्टताबाट अलग रहन नै सक्छस् भने, परमेश्वर यस्तै मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचारगर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको भय मान्न र दुष्टताबाट अलग रहन नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्वरको नजरमा, यस्ता मानिसहरूलाई कुनै सम्प्रदाय, मानव समूह, मानव गिरोह, शैतानको आवासको सम्पत्तिको रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।

अहिले, तिमीहरूले गर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यता पछ्याउनु हो। पहिलो कुरा, तैँले आफ्नो कर्तव्य निर्वाहमा जस्तो ढिलाइ गर्नु हुँदैन, अनि अर्को कुरा, तैँले छोटो समयमै मुक्तिको मार्गमा पाइला चाल्न र परमेश्वरद्वारा नत्यागिन तुरुन्तै कोसिस गर्नैपर्छ। त्यो भयानक कुरा हुनेछ! परमेश्वरले आखिरी दिनहरूको आफ्नो काम गर्नु तेरो अन्तिम, झणिक अवसर हो। यदि परमेश्वर तैँले उहाँको मार्ग कहिल्यै पछ्याएको छैनस्, कदापि उहाँको भय मान्न सकिनस्, न त दुष्टताबाट अलग बस्न नै सकिस् भनेर कुनै व्यक्तिको निर्धारण गर्नुहुन्छ भने, र जब उहाँ तँलाई त्याग्ने निर्णय गर्नुहुन्छ, तब, त्यसउप्रान्त उहाँले तँलाई डाँट्नुहुनेछैन वा अनुशासनमा राख्नुहुनेछैन, काटछाँट गर्नुहुनेछैन, र न्याय वा सजाय दिनुहुनेछैन—उहाँले तँलाई पूर्ण रूपमा त्याग्नुहुनेछ। त्यसबेला, तैँले पूरै स्वतन्त्र महसुस गर्नेछस्। कसैले तँलाई निगरानी गर्नेछैन। तँ परमेश्वरमा कसरी विश्वास गर्छस् भनेर कसैले हस्तक्षेप गर्नेछैन; तैँले जुनै खराब काम गरे पनि, डाँट खानेछैनस्। यदि तँ आफ्नो कर्तव्य निर्वाहको क्रममा अवफादार भइस्, वा आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू मात्र पूरा गर्न खोजिस्, वा मण्डलीको काममा बाधा वा अवरोध पुऱ्याउन खोजिस् भने पनि तँलाई न डाँट पर्छ न त अनुशासनमा नै राखिन्छ। तेरो हृदयमा परमेश्वरप्रति धारणाहरू भए पनि तँलाई न त डाँट पर्छ न त अनुशासनमा नै राखिन्छ। यदि तँ काटछाँट गरिन प्रतिरोध वा इन्कार गर्छस् भने, यदि तँ अरूको कुरा काट्छस्, तिनीहरूलाई कमजोर पार्छस्, वा आफूतर्फ पार्न लोभ्याउँछस् भने पनि तँलाई न त डाँट पर्छ न त अनुशासनमा नै राखिन्छ। यो केको सङ्केत हो? के यो राम्रो सङ्केत हो? तँलाई कसैले निगरानी गर्दैन, कसैले काटछाँट गर्दैन, र परमेश्वर तँलाई डाँट्नुहुन्न। सबैथोक तैँले चाहेअनुसर भइरहेको जस्तो देखिन्छ, र तँ जे चाहन्छस् त्यही पाउँछस्। यो राम्रो सङ्केत होइन भनेर एकदमै प्रस्ट छ। जब परमेश्वर तँलाई त्याग्न चाहनुहुन्छ, तब त्यसउप्रान्त तँलाई डाँट पर्नेछैन, तँलाई अनुशासनको अनुभूति हुनेछैन, न त तैँले न्याय र सजाय नै अनुभूति गर्नेछस्। परमेश्वरले व्यक्तिलाई त्याग्नुले केलाई जनाउँछ? यसले त्यो व्यक्तिसँग अन्तिम परिणाम छैन, उसले मुक्तिको अवसर गुमाएको छ भन्ने कुरालाई जनाउँछ। परमेश्वरले कुनै व्यक्तिलाई त्याग्नुहुँदा, पहिला उसलाई डाँट नपरेको महसुस गराउनुहुन्छ; ऊ हरेक दिन आफूसँग अत्यन्तै खुसी हुन्छ, र आफूले आशिष् पाएको ठान्छ, त्यसैले ऊ त्यतिकै आफूमा लिप्त हुन्छ, पतित बन्छ, आफ्नो हृदयका चाहनाहरू पछ्याउँछ, जे इच्छा लाग्यो त्यही गर्छ, र जस्तो मन लाग्यो त्यस्तै कार्य गर्छ। उसले जस्तोसुकै दुराचारी काम गर्न चाहे पनि, उसलाई डाँट पर्दैन, न त अनुशासनमा नै राखिन्छ, झन् उसलाई असहज वा त्यो सबथोक ठिक होइन भनेर महसुस हुनु त परको कुरा हो। परमेश्वरको डाँट र ताडना त्याग्ने व्यक्ति खतराको सँघारमा हुन्छ। अब उसले कस्तो मार्ग समात्छ होला? ऊ पतित, दुराचारी, आत्मलिप्त बन्न थाल्छ, र उसको दुष्कर्मले रोकिने नाम लिँदैन। यो अत्यन्तै कष्टदायी कुरा हो। बाहिरबाट हेर्दा, कतिपय मानिस कुनै चासोविना उचित र आरामसित जिइरहेका देखिन्छन, तर सत्यता बुझ्नेहरूले के बुझ्न सक्छन् भने त्यस्तो व्यक्ति खतरामा छ, परमेश्वर उसलाई चाहनुहुन्न भनेर बुझ्छन्—परमेश्वरले उसलाई त्याग्नुभएको हुन्छ, र त्यो कुरा उसलाई थाहा हुँदैन! धार्मिक संसारका ख्रीष्टविरोधीहरू पुरै दिन देहधारी परमेश्वरका वचन र कामको आलोचना गर्दै, परमेश्वरको प्रतिरोध गर्ने थुप्रै दुष्ट कुरा गर्दै बिताउँछन्। तिनीहरूले अहिले ताडना वा डाँट नभोगे पनि त्यसको कारण भनेकै परमेश्वरले तिनीहरूलाई त्यागिसक्नुभएकाले हो, र अन्त्यमा, तिनीहरू सबैले ठूलो सजाय पाउनेछन्, जसबाट तिनीहरू एक जना पनि उम्कनेछैन। यस मामिलाबाट, के तँ परमेश्वरको इच्छा र मनोवृति बुझ्न सक्छस्? (सक्छु।) यदि अहिले तिमीहरू परमेश्वरलाई पछ्याउँदा सत्यता पछ्याउँदैनौ भने, तिमीहरूको हालत पनि तिनीहरूकै जस्तो हुन सक्छ, त्यसपछि तिमीहरू खतरामा हुनेछौ; तिमीहरूको अन्तिम नतिजा तिनीहरूकै जस्तो हुनेछ, त्यो निश्चित छ। त्यसोभए अहिले, मानिसहरूले गर्नुपर्ने सबैभन्दा जरुरी काम के हो ताकि तिनीहरू परमेश्वरले त्याग्ने अवस्थामा पुग्ननपरोस्? (हामीले सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ।) तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुबाहेक, तँ बारम्बार परमेश्‍वरसामु आउनैपर्छ, उहाँका वचनहरू खानु र पिउनुपर्छ अनि ती मनन गर्नुपर्छ, उहाँको अनुशासन र मार्गनिर्देशन स्वीकार गर्नुपर्छ, र समर्पणबाट पाठ सिक्नुपर्छ—यो एकदमै महत्त्वपूर्ण छ। तँ परमेश्‍वरले तेरा लागि बन्दोबस्त गरेका सबै वातावरण, मानिस, वस्तु र मामलाहरूप्रति समर्पित हुन सक्नैपर्छ, र जब तैँले बुझ्दै नबुझ्ने मामलाहरूको कुरा आउँछ, तैँले सत्यताको खोजी गर्दै बारम्बार प्रार्थना गर्नुपर्छ; परमेश्‍वरको इच्छालाई बुझेर मात्र तैँले अघि बढ्ने बाटो भेट्टाउनेछस्। तँमा परमेश्वरको भय मान्ने हृदय हुनैपर्छ। तैँले गर्नुपर्ने कुरा होसियारीपूर्वक र सावधानीपूर्वक गर्, अनि परमेश्वरप्रति समर्पित हृदयसहित उहाँसामु जिउने गर्। उहाँसामु प्रायः आफूलाई शान्त राख्, अनि दुराचारी नबन्। कम्तीमा, तँलाई केही आइपर्दा, पहिला आफूलाई शान्त पार्, त्यसपछि तुरुन्तै प्रार्थना गर्, अनि प्रार्थना, खोजी र प्रतीक्षा गरेर परमेश्वरको इच्छा बुझ्। के यो परमेश्वरको भय मान्ने मनोवृति होइन र? यदि तँ हृदयमा परमेश्वरको भय मान्छस् र उहाँप्रति समर्पित हुन्छस्, अनि उहाँसामु आफूलाई शान्त पार्न र उहाँको इच्छा बुझ्न सक्छस् भने, यस्तो सहकार्य र अभ्यासले गर्दा तेरो सुरक्षा हुनेछ, र तँ प्रलोभनमा पर्नेछैनस्, न त तैँले मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउने कुनै काम नै गर्नेछस्। तैँले प्रष्ट रूपमा देख्न नसक्ने मामिलाहरूमा सत्यता खोज्। अन्धाधुन्ध आलोचना वा निन्दा नगर्। यसो गर्दा, तँलाई परमेश्वरले घृणा गर्नुहुनेछैन, वा तिरस्कार गर्नुहुनेछैन। यदि तँमा परमेश्वरको भय मान्ने हृदय छ भने, तँ उहाँलाई चिढ्याउनदेखि डराउनेछस्, अनि तँलाई प्रलोभनमा पार्ने केही आइपऱ्यो भने, तँ परमेश्वरसामु डर र त्रासमा जिउनेछस्, अनि सबै कुरामा उहाँप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने तीव्र इच्छा राख्नेछस्। तँसँग त्यस्तो अभ्यास भएपछि र बारम्बार आफूलाई परमेश्वरसामु शान्त पारेर अनि बारम्बार उहाँसामु आएर त्यस्तो स्थितिमा जिउन सकेपछि मात्र तँ थाहै नपाई प्रलोभन र दुष्ट कुराहरूबाट अलग बस्न सक्षम हुनेछस्। परमेश्वरको भय मान्ने हृदयविना, वा हृदय उहाँसामु छैन भने, तैँले केही दुष्ट काम गर्न सक्नेछस्। तँमा भ्रष्ट स्वभाव छ, र तँ त्यसलाई वशमा राख्न सक्दैनस्, त्यसैले तैँले दुष्ट काम गर्न सक्छस्। तैँले अवरोध र बाधा पुऱ्याउने जस्तो दुष्ट काम गर्ने हो भने, के त्यसका परिणाम गम्भीर हुनेछैनन् र? कम्तीमा, तँलाई काटछाँट गरिनेछ, र यदि तैँले गरेको काम गम्भीर रहेछ भने, परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछ, र तँलाई मण्डलीबाट निष्कासित गरिनेछ। तर, यदि तँमा परमेश्वरप्रति समर्पित हृदय छ, अनि तेरो हृदय परमेश्वरसामु प्रायः शान्त हुन सक्छ भने, र यदि तँ परमेश्वरको भय मान्छस् र उहाँसँग भयभीत हुन्छस् भने, के तँ थुप्रै दुष्कर्मबाट धेरै टाढा रहन सक्नेछैनस् र? यदि तँ परमेश्वरको भय मानेर “म परमेश्वरदेखि भयभीत छु; म उहाँलाई चिढ्याउन, उहाँको काममा अवरोध पुऱ्याउन अनि उहाँको घृणा निम्त्याउन डराउँछु” भन्छस् भने, के यो तँमा हुने सामान्य मनोवृति र सामान्य स्थिति होइन र? के कुराले तँमा डर सिर्जना गरेको हुनेछ? परमेश्वरको भय मान्ने हृदयबाटै तँमा डर सिर्जना भएको हुनेछ। यदि तेरो हृदयमा परमेश्वरको डर छ भने, तँ दुष्कर्महरूबाट अलग बस्नेछस् र ती देखिस् भने त्यसलाई पन्छाउनेछस्, र यसरी तँ सुरक्षित हुनेछस्। के हृदयमा परमेश्वरको डर नहुने व्यक्तिले उहाँको भय मान्न सक्छ? के ऊ दुष्टताबाट अलग बस्न सक्छ? (सक्दैन।) के परमेश्वरको भय मान्न नसक्ने र उहाँसँग नडराउनेहरू निडर मानिस होइनन् र? के निडर मानिसहरूलाई नियन्त्रण गर्न सकिन्छ? (सकिँदैन।) अनि के ती नियन्त्रण गर्न नसकिने मानिसहरू आवेशमा आएर जे मन लाग्छ त्यही गर्दैनन् र? मानिसहरूले आफ्नै इच्छा, जोस, र भ्रष्ट स्वभावअनुसार कार्य गर्दा केके गर्छन्? परमेश्वरको नजरमा, ती दुष्ट कुरा हुन्। त्यसैले, मान्छेको हृदयमा परमेश्वरको डर हुनु राम्रो कुरा हो भनी तिमीहरूले प्रस्टसित बुझ्नैपर्छ—त्यसो गर्दा, परमेश्वरको भय मान्न सकिन्छ। जब व्यक्तिको हृदयमा परमेश्वर हुन्छ र ऊ परमेश्वरको भय मान्न सक्छ, तब ऊ दुष्ट कुराहरूबाट धेरै टाढा रहन सक्नेछ। यस्ता मानिसहरू मुक्ति पाउने आशा हुने मानिस हुन्।

के कुनै विश्वासीका लागि परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु सजिलो हुन्छ? वास्तवमा, यो सजिलो कुरा होइन; यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले कहिल्यै त्यो प्राप्त गर्न सक्दैनस्। उदाहरणका लागि, कतिपय मानिस भन्छन्: “परमेश्वरमा विश्वास गर्नु साँच्चै सजिलो छैन, र तिमीले आफ्नो कर्तव्य निभाउने, कष्ट भोग्ने, र मूल्य चुकाउने पनि गर्नैपर्छ।” यी वचनहरू सुन्दा तँलाई कस्तो अनुभूति हुन्छ? यी वचनहरू भन्नुमा के समस्या हुन्छ? यदि तँमा परमेश्वरको भय मान्ने हृदय छैन भने, तँ के भन्नेछस्? तँ यसो भन्नेछस्: “त्यो एकदमै सही कुरा हो, मैले आफ्नो कर्तव्य निभाउन धेरै वर्षदेखि आफ्नो घर छोडेको छु, मलाई मेरा बालबच्चा र आमाको याद आउँछ, र मैले ठूलो कष्ट भोगेको छु। यदि मैले आशिषहरू प्राप्त नगर्ने हो भने, त्यो अन्याय हुनेथ्यो!” के यी शब्दहरूमा परमेश्वरको कुनै भय छ? (छैन।) यदि व्यक्तिमा परमेश्वरको भय मान्ने हृदय छैन, र ऊ यस्ता शब्दहरू बोल्छ भने, उसको व्यवहार कस्तो गुणस्तरको हो? के उसले परमेश्वरविरुद्ध गुनासो गरेर उहाँसँग झगडा गरेको हुँदैन र? यदि ऊ परमेश्वरविरुद्ध गुनासो गर्छ भने, के उसले परमेश्वर धर्मी परमेश्वर हुनुहुन्छ भनेर साँच्चै विश्वास गर्छ? यदि कुनै व्यक्तिको हृदयमा परमेश्वरको डर छैन भने, यदि ऊ परमेश्वरको डर मान्न सक्दैन भने, के उसलाई दुष्टताबाट अलग बस्न सजिलो हुन्छ? (हुँदैन।) ऊ दुष्टताबाट अलग बस्न सक्दैन। त्यस्तो व्यक्तिले यसो भन्छः “यदि मैले आफ्ना परिवार र पेशा त्यागेपछि आशिष् नपाउने हो भने, त्यो एकदमै अन्याय हुनेथ्यो!” यदि तैँले त्यसपछि तुरुन्तै “यो एकदमै सही कुरा हो” भनिस् भने, तँलाई ती शब्दहरू कस्तो लाग्नेछ? के यो दुष्टताबाट अलग बस्नु हो? तैँले “यो एकदमै सही कुरा हो” भन्न सक्नुले तँ पनि अर्को व्यक्तिले जस्तै परमेश्वरविरुद्ध गुनासो गरिरहेको छस् भन्ने प्रमाणित गर्छ। गुनासो तेरो मुखबाट निस्केर दुष्टता बनिसकेको छ। तँ दुष्टताबाट अलग बस्न नसक्ने मात्र नभई, तर तैँले गुनासोहरू गर्न र दुष्ट कुरा गर्न पनि सक्छस्। त्यो सानो दुष्टता भए पनि, त्यो परमेश्वरविरुद्ध गुनासो हो। यदि आजको सानो दुष्टतालाई सुल्झाइएन भने, भोलि तैँले परमेश्वरलाई विश्वासघात गर्ने खतरा हुन्छ—मान्छेको भ्रष्ट स्वभाव त्यस्तो भयानक हुन्छ। के तिमीहरू यो मामिला प्रस्ट रूपले देख्छौ? यदि कुनै व्यक्तिमा परमेश्वरको भय मान्ने हृदय छैन भने, तिनीहरू चर्को सोरले कुराहरू भनून्, वा तिनीहरूले हृदयमा सोच्ने कुरा, वा तिनीहरूबाट स्वाभाविक रूपले प्रकट हुने कुराहरू होऊन्—ती सबै दुष्टता हुन्। यदि तँमा परमेश्वरको भय मान्ने हृदय छैन भने, सानो कुराले पनि तेरो भ्रष्ट स्वभाव, तेरो चरित्र, पछ्याइ, र अभिप्रायहरू पूर्ण रूपले खुलासा गर्न सक्छ; त्यसले परमेश्वरप्रतिको तेरो असन्तुष्टि पनि खुलासा गर्न सक्छ। परमेश्वरको भय मान्ने हृदय नहुनेहरू आफूलाई जे मन लाग्छ त्यही भन्छन्। तिनीहरू जे सोचिरहेका हुन्छन् त्यही भन्छन्, र त्यो कुरा भनेपछि त्यो तथ्य बन्छ। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यस्तो व्यक्ति उहाँको भय मान्दैन, न त उसले दुष्ट कुराहरू नै त्याग्छ; बरु, ऊ दुष्ट कुराहरू देखेपछि आफै त्यसमा मुछिन्छ, र अपराध गर्नमा दुष्ट मानिसहरूको साझेदार बन्छ। यदि तँमा परमेश्वरको भय मान्ने हृदय छ, यदि तँ उहाँसँग डराउँछस्, यदि तँ उहाँको उपस्थितिमा जिउँछस् भने, तैँले त्यस्तो व्यक्तिका शब्दहरूप्रति कसरी प्रतिक्रिया जनाउनुपर्छ? तिनीहरूले आफ्ना शब्दहरूमार्फत के भन्न खोजेका हुन्? तिनीहरू आफ्ना आशिषहरू त्याग्न अनिच्छुक हुन्छन्। तिनीहरू आशिष् प्राप्त गर्न चाहन्छन्, तर कष्ट भोग्न र मूल्य चुकाउन अनिच्छुक हुन्छन्, त्यसैले तिनीहरू यसो भन्छन्: “परमेश्वरमा विश्वास गर्नु साँच्चै सजिलो छैन।” के तिनीहरूमा गुनासोको भावना हुँदैन? यी शब्दहरूमा गुनासोको भावना हुन्छ; यो व्यक्ति परमेश्वरसित खिन्न छ, ऊ गुनासो गर्छ, र परमेश्वर मानिसहरूबाट अत्यन्तै उच्च मागहरू गर्नुहुन्छ भन्ने ठान्छ; ऊ परमेश्वर उहाँले तिनीहरूलाई दिने सानो आशिषका लागि तिनीहरूले अति उच्च मूल्य चुकाएको चाहनुहुन्छ भन्ने सोच्छ; ऊ के सोच्छ भने, परमेश्वरले यसरी कार्य गर्नु हुँदैन, उहाँमा मान्छेका लागि प्रेम छैन, उहाँ मान्छेलाई साँच्चै कृपा गर्नुहुन्न, उहाँ मान्छेलाई सास्ती दिनुहुन्छ; ऊ सोच्छ, आशिषसित कष्ट साट्नु व्यक्तिका लागि सजिलो हुँदैन—के उसले जनाउन खोजिरहेको यही होइन र? (हो।) त्यसोभए तैँले उसलाई कसरी जवाफ दिनुपर्छ? यो जवाफ सुन, तिमीहरूलाई त्यो सही लाग्छ कि लाग्दैन हेर। तैँले यसो भन्नुपर्छः “हाम्रो सानो कष्टले के महत्व राख्छ? परमेश्वरले कति कष्ट भोग्नुभएको छ, तिमी त्यो देख्छौ। मानवजातिलाई मुक्ति दिन परमेश्वर स्वर्गबाट पृथ्वीमा आउनुभयो, अनि मान्छेहरूमाझ विनम्रतापूर्वक र गोप्य रूपले देहधारी हुनुभयो, अनि ठूलो अपमान सहनुभयो; उहाँले मानवजातिलाई मुक्ति दिन आफ्नो जीवनसमेत बलिदान दिनुभयो। हामीले भोगेको सानो कष्टभन्दा परमेश्वरले भोगेको कष्ट कता हो कता ठूलो हो। हामीले भोगेको कष्ट त केही पनि होइन। त्यसबाहेक, हामीले कष्ट भोग्नुपर्छ; के हामीले आशिष् पाउन सकौं भनेर कष्ट भोगिरहेका हुँदैनौँ र?” तँलाई के लाग्छ? यसो हेर्दा, यो ठिकै हो भन्ने लाग्छ, अनि धर्मसिद्धान्तको दृष्टिकोणबाट हेर्दा, त्यसमा केही गल्ती छैन, तर के त्यसमा कुनै गवाही छ? (अहँ छैन।) त्यसमा कुनै गवाही छैन। यो त कसैलाई उपदेश दिन जोरसोरले सरसर्ती धर्मसिद्धान्त बताउनु मात्र हो। के यसले कुनै समस्या सुल्झाउन सक्छ? यदि तँ समस्या सुल्झाउन चाहन्छस् भने, ती ऊसँग कसरी सङ्गति गर्नुपर्छ? यदि तैँले गुनासोका यी शब्दहरू सुनेको भए, तँलाई हृदयमा कस्तो अनुभूति हुनेथियो? उसले परमेश्वरमा विश्वास गर्दै आफ्ना कर्तव्य निभाउँदा, इच्छुक हृदयले कष्ट भोगेको होइन भन्ने अनुभूति हुनेथियो, तर केही क्षण विचार गरेपछि तैँले यस्तो सोच्नेथिस्: “यदि ऊ अनिच्छुक छ भने अनिच्छुक नै हुन दे। त्यसको मसँग के सरोकार छ र? यदि ऊ परमेश्वरविरुद्ध गुनासो गर्छ भने, उसले मलाई गुनासो गरिरहेको हुँदैन, र त्यो मेरो फाइदासँग सम्बन्धित छैन। यो परमेश्वरसँगको तिनीहरूको व्यक्तिगत सम्बन्ध हो, त्यसैले यसलाई तिनीहरू आफैले सम्हाल्नुपर्छ। मसँग यसको के सरोकार छ र?” उसलाई यस तरिकाले व्यवहार गर्नु सामान्य समझको कुरा हो जस्तो देखिन्छ, र त्यो गलत होइन, तर परमेश्वरको भय मान्ने हृदय हुने व्यक्तिका रूपमा, जब तँलाई यो कुरा आइपर्छ, तैँले पहिला यस्तो सोच्नैपर्छ: “यो व्यक्ति परमेश्वरमा विश्वास गर्छ, तर पनि उहाँविरुद्ध गुनासो गर्छ, र बोल्दाखेरि सत्यतालाई बङ्ग्याउँछ। यस्तो व्यक्तिले सम्भवतः सत्यता स्विकार्न सक्दैन। मुक्ति पाउनु ठूलो कुरा हो, त्यसैले उसले बिलकुलै कष्ट भोगेन भने के त्यो ठिकै हो? त्यसबाहेक, मानिसहरू किन कष्ट भोग्छन्? के त्यो तिनीहरूका भ्रष्ट स्वभावले गर्दा होइन र? मानिसहरूलाई कष्ट भोग्न दिनुमा परमेश्वरका असल अभिप्रायहरू छन्। त्यसले मानिसहरूलाई फाइदा गर्छ, तिनीहरूलाई सिद्ध पार्छ र वृद्धि गराउँछ; यदि मानिसहरूले कष्ट भोगेनन् भने पाठहरू सिक्न सक्दैनन्, न त सत्यता प्राप्त गर्न नै सक्छन्, न त तिनीहरू परमेश्वरको इच्छाअनुरूप हुन नै सक्छन्। अलिकति कष्ट भोग्नु परमेश्वरको तर्फबाट प्राप्त हुने कृपा र अनुग्रह हो; यो मानवजातिका लागि परमेश्वरको प्रेम हो। यो मुक्ति हो! कसरी तिनीहरू यस तरिकाले बोल्न सक्छन्? मैले तिनीहरूसँग सङ्गति गर्नैपर्छ। म तिनीहरूलाई परमेश्वरलाई गलत बुझ्न र उहाँविरुद्ध गुनासो गर्न दिन सक्दिनँ, म तिनीहरूलाई चारैतिर गएर यी शब्दहरू फैलाउँदै अरूलाई प्रभावित पार्न दिन सक्दिनँ। यस मामिलामा, मैले परमेश्वरको पक्षमा बोल्नैपर्छ। मैले तिनीहरूलाई परमेश्वरबारे तिनीहरूको गलत बुझाइ सुल्झाउन र परमेश्वरप्रतिको विश्वासबारे सही बुझाइ राख्न मद्दत गर्नैपर्छ। यदि तिनीहरू परमेश्वरलाई यसरी गलत बुझ्छन् भने, के तिनीहरूले उहाँलाई अनुचित व्यवहार गरिरहेका हुँदैनन् र? मान्छेका लागि परमेश्वरको प्रेम र मुक्ति अति महान् छ! कसरी तिनीहरूले कसरी त्यसरी सोच्न सकेका?” यदि तँ यस तरिकाले सोच्छस् भने, के त्यसले तँमा परमेश्वरको भय मान्ने हृदय छ भन्ने अर्थ दिँदैन र? (दिन्छ।) परमेश्वरको भय मान्ने मामिलाको सम्बन्धमा, तँ सही शब्दहरू बोल्ने मात्र गर्दैनस्; बरु, तँमा परमेश्वरको भय मान्ने हृदय छ, तँ उहाँप्रति समर्पित हुन सक्छस्, तँ विद्रोह वा गुनासो बिलकुलै गर्दैनस्। तसर्थ, तँ परमेश्वरको भय मान्ने व्यक्ति बन्छस्। परमेश्वरको भय मान्ने सम्बन्धमा, तैँले सत्यता प्राप्त गरेको हुन्छस्। तँ नारा लगाउने मात्र गर्दैनस्, तँ परमेश्वरको गवाही दिन, र उहाँको गवाहीमा अडिग रहन सक्षम हुन्छस्। यो ज्ञान पाएर तैँले त्यस व्यक्तिलाई के भन्नुपर्छ? तैँले यसो भन्नुपर्छः “परमेश्वर मान्छेको मुक्तिमा धेरै वास्ता राख्नुहुन्छ। परमेश्वरको भय मान्ने हृदय नहुनेहरू प्रायः उहाँविरुद्ध गुनासो गर्छन् र उहाँको प्रतिरोध गर्छन्, अनि उहाँको इच्छालाई बिलकुलै विचार गर्दैनन्। यदि तिनीहरू अलिकति कष्ट भोगे भने, वा परमेश्वरका आशिषहरू देखेनन् भने, गुनासो गर्छन्, तिनीहरूको हृदयमा विद्रोह चल्छ र तिनीहरू नकारात्मक र परस्पर-विरोधी बन्छन्। यसले के प्रमाणित गर्छ भने भ्रष्ट स्वभावका मानिसहरूले बारम्बार परमेश्वरको प्रतिरोध गर्नु स्वाभाविक हो, र मानव प्रकृति परमेश्वरविरोधी हुन्छ। मानिसहरू मुक्ति प्राप्त गर्न सकौँ भनेर थोरै मूल्य चुकाउँछन्, अलकति त्याग गर्छन्, रअलिकता समर्पित हुन्छन्—त्यो परमेश्वरका लागि हुँदैन। तिमी आफ्नो भ्रष्ट स्वभावको कारण कष्ट भोग्छौ। यदि तिमी सत्यता प्राप्त गर्न चाहन्छौ भने, तिमीले अलिकति कष्ट भोग्नुपर्छ। यसलाई अलि अप्रिय तरिकाले भन्नुपर्दा, मानिसहरू कष्ट भोग्नलायक छन्; परमेश्वर तिमीलाई कष्ट दिनुहुन्न, न त कष्ट भोग्न लगाउनुहुन्छ। यदि तिमीमा विद्रोही स्वभाव छ भने, के कष्ट पन्छाउन सक्छौ? तिम्रो भ्रष्ट स्वभावकै कारण तिमी कष्ट भोग्छौ—परमेश्वरसँग यसको कुनै सम्बन्ध छैन। यदि तिमीले साँचो अर्थमा सत्यता बुझेका र हरेक कुरामा तिमी परमेश्वरप्रति समर्पित भएका भए, के त्यसपछि पनि तिमीले नकारात्मकता देखाउनेथ्यौ? के तिमी अझै पनि परमेश्वरविरुद्ध गुनासो गर्नेथ्यौ? के तिमीले अझै पनि यी कुराहरू भोग्नेथ्यौ? त्यसकारण, मानिसले जे कष्ट भोगे पनि, त्यो आफ्नै भ्रष्ट स्वभावहरूका कारणले गर्दा हो; तिनीहरूले अरूलाई दोष दिनु मिल्दैन, झन परमेश्वरलाई दोष दिन मिल्नु त परको कुरा हो। यो त जे रोप्यो त्यही कटनी गर्ने कुरा हो। यदि तिमी कष्ट भोग्दैनौ भने, तिमी नष्ट हुनैपर्छ; तिमीले दण्ड पाउनैपर्छ। तिमी कुन रोज्नेथ्यौ? परमेश्वर तिमीले कष्ट भोगेको चाहनुहुन्न, तर कष्ट नभोगिकन, के तिमी परमेश्वरमा समर्पित हुन सक्नेथ्यौ? के तिमी कष्ट नभोगिकन सत्यतासिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम हुनेथ्यौ? कष्ट नभोगिकन, के तिमी परमेश्वरका वचनहरू सुन्न सक्षम हुनेथ्यौ?” यी शब्दहरू भनिसकेपछि, के तेरो समकक्षीले केही बुझाइ प्राप्त गर्न सक्नेछ? सबैभन्दा पहिला, के यी शब्दहरू परमेश्वरको इच्छाअनुरूप छन्? के ती सत्यतासँग मिल्छन्? (मिल्छन्।) के परमेश्वरको भय मान्ने व्यक्तिले ती वचन सत्यतासँग मिलेको देखेपछि, ती शब्द बोल्नु पर्दैन? (पर्छ।) यी शब्दहरू बोल्न सक्ने व्यक्ति दुष्टताबाट अलग बसिरहेको हुन्छ। त्यसोभए, व्यक्तिले आफूलाई दुष्टताबाट अलग राख्न उसमा के हुनैपर्छ? (उसमा परमेश्वरको भय मान्ने हृदय हुनैपर्छ।) ऊ परमेश्वरको भय मान्ने हृदय राखेर मात्र दुष्टताबाट अलग बस्न सक्छ; मानिसहरू परमेश्वरको भय मान्ने हृदय राखेर मात्र उहाँप्रति समर्पित हुन र उहाँको गवाही दिन सक्छन्। त्यस्ता मानिसहरू स्वभाविक रूपले दुष्टताबाट अलग बस्नेछन्।

त्यसोभए, तिमीहरूले परमेश्वरको भय नमान्ने हृदय नभएका मानिसहरू प्रायः कुन स्थितिमा जिउँछन् भन्नेथियौ? के परमेश्वरसँग तिनीहरूको सम्बन्ध छ? (छैन।) कतिपय मानिस भन्छन्: “यो ठिक होइन। तिनीहरू हरेक दिन प्रार्थना गर्छन्, परमेश्वरका वचनहरू पढ्छन्, भेलाहरूमा समयमै जान्छन्, र आफ्ना कर्तव्य सामान्य तवरले निर्वाह गर्छन्। कसरी तिमीहरू परमेश्वरसँग तिनीहरूको सम्बन्ध छैन भनेर भन्न सक्छौ? यदि तिनीहरू परमेश्वरमा विश्वास गर्थेनथे भने, त्यो सबै गर्न सक्थे?” के यो बोल्ने तरिका ठिक हो? (होइन। यो केवल बाहिरी कार्य मात्र हो। यदि तँ कार्य गर्दा सत्यता खोज्दैनस् भने, तँमा परमेश्वरको भय मान्ने हृदय छैन, र तँ जे गर्छस् त्यसको परमेश्वरसँग केही सम्बन्ध हुँदैन।) यदि परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसहरू बारम्बार उहाँअघि जिउँदैनन् भने, तिनीहरूले उहाँप्रति कुनै भय राख्न सक्‍नेछैनन्, त्यसकारण, तिनीहरू दुष्टताबाट अलग बस्न सक्‍नेछैनन्। यी कुराहरू अन्तरसम्बन्धित हुन्छन्। यदि भित्र तँ बारम्बार परमेश्‍वरसामु जिउँछस् भने, तँलाई संयमित गराइनेछ, र तैँले धेरै कुराहरूमा उहाँको भय मान्नेछस्। तैँले कुनै पनि अनुचित कुरा भन्नेछैनस्, तैँले हद पार गर्नेछैनस् वा कुनै पनि दुराचारी कुराहरू गर्नेछैनस्, न त तैँले परमेश्‍वरले घृणा गर्नेकुनै कुरा नै गर्नेछस्। यदि तैँले परमेश्‍वरको छानबिन स्वीकार गर्छस् र उहाँको अनुशासन स्वीकार गर्छस् भने, तँ धेरै दुष्ट कार्यहरू गर्नबाट बच्‍नेछस्। यसरी, के तँ दुष्टताबाट अलग बसेको हुनेछैनस् र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छु भन्छस् तर प्रायः हृदयमा अलमल्ल पर्छस्, तँलाई परमेश्वर मानिसलाई मुक्त दिन कसरी काम गर्नुहुन्छ, मानिसले कसरी सत्यता पछ्याउनुपर्छ, आफूले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, र कुनचाहिँ कुराले आफ्नो प्रार्थना परमेश्वरकहाँ पुऱ्याउँछ भनेर थाहा छैन भने; यदि तँ हरदिन अन्योलमा रहन्छस्, हरकुरामा गम्भीर हुँदैनस्, नियमहरू मात्र पालना गर्छस् भने; यदि तेरो हृदय परमेश्‍वरसामु शान्त हुन सक्दैन र आफूलाई कुनै कुरा आइपर्दा, प्रार्थना गर्दैनस् वा सत्यता खोजी गर्दैनस् भने; यदि तँ प्रायजसो आफ्नो इच्छाअनुसार काम गर्छस्, आफ्नो शैतानी स्वभावअनुसार जिउँछस् र आफ्नो अहङ्कारी स्वभाव प्रकट गर्छस् भने; अनि यदि तँ परमेश्‍वरको छानबिन वा अनुशासन स्वीकार गर्दैनस्, र तँमा समर्पित हृदय छैन भने, तँ भित्री तवरमा सधैँ शैतानसामु जिउँछन् अनि तँलाई शैतानले र आफ्‍नै भ्रष्ट स्वभावले नियन्त्रणमा राख्छ। त्यस्ता मानिसहरूमा परमेश्‍वरको भय अलिकति पनि हुँदैन। तिनीहरू दुष्टताबाट अलग बस्नै नसक्ने हुन्छन् र तिनीहरूले कुनै दुष्ट कार्यहरू नगरे पनि, तिनीहरूले सोच्ने हरेक कुरा दुष्ट नै हुन्छन् र ती कुरा सत्यतासँग असम्बन्धित र सत्यताविरुद्धका हुन्छन्। त्यसोभए, के त्यस्ता मानिसहरूको आधारभूत रूपमा परमेश्‍वरसँग कुनै सम्बन्ध हुँदैन त? तिनीहरू उहाँद्वारा शासित भए पनि, तिनीहरूको हृदय कहिल्यै उहाँसामु आएको छैन; न त तिनीहरूले कहिल्यै उहाँलाई प्रार्थना नै गरेका छन्; तिनीहरूले परमेश्‍वरलाई कहिल्यै साँचो रूपमा परमेश्वर ठानेका छैनन्, जसको तिनीहरूमाथि सार्वभौमिकता चल्छ, तिनीहरूले कहिल्यै उहाँलाई तिनीहरूमाथि शासन गर्नुहुने सृष्टिकर्ताको रूपमा व्यवहार गरेका छैनन्, तिनीहरूले कहिल्यै पनि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ हाम्रो प्रभु हुनुहुन्छ भनेर स्वीकार गरेका छैनन्, र तिनीहरूले कहिल्यै पनि उहाँलाई इमानदारितासाथ आराधना गर्नेबारेमा सोचविचार गरेका छैनन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको डर मान्नुको अर्थ के हो भन्ने नै बुझ्दैनन् र दुष्कर्म गर्नु तिनीहरूको अधिकार हो भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरू मनमनै भन्छन्, “म आफूलाई जे मन लाग्छ त्यही गर्नेछु। म मेरा आफ्नै काम-कुराको हेरविचार गर्छु, यो अरू कसैले गर्ने कुरो होइन!” तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई एक प्रकारको मन्त्र, एक प्रकारको विधिको रूपमा लिन्छन्। के यसले तिनीहरूलाई अविश्‍वासीहरू बनाउँदैन र? तिनीहरू अविश्‍वासीहरू हुन्! अनि, परमेश्‍वर मनमा यी मानिसहरूलाई दुष्कर्मी ठान्नुहुन्छ। तिनीहरूले दिनभरि विचार गर्ने हरेक कुरा दुष्ट हुन्छन्। तिनीहरू परमेश्‍वरको घरका पतितहरू हुन्, र उहाँले तिनीहरूलाई उहाँको घरका सदस्यहरूको रूपमा स्वीकार गर्नुहुन्न। परमेश्वरको घरका मानिसहरू कस्ता मानिस हुन्? तिनीहरू परमेश्वरको भय मान्ने र दुष्टताबाट अलग बस्ने, परमेश्वरको कामप्रति समर्पित हुने मानिस हुन्। परमेश्वरको नाउँमा मात्र विश्वास गर्ने, उहाँलाई आफ्नो प्रभु र परमेश्वर नमान्नेहरू—के तिनीहरू परमेश्वरको घरका भाग हुन्? परमेश्वरलाई आफ्नो सृष्टिकर्ताको रूपमा स्वीकार नगर्नेहरू, उहाँ नै सत्यता हुनुहुन्छ भन्ने तथ्य नस्विकार्नेहरू—के तिनीहरू परमेश्वरका हुन्? कदापि होइनन्। सत्यता स्विकार्नेहरू मात्र परमेश्वरका हुन्; परमेश्वरलाई परमेश्वर मान्नेहरू मात्र उहाँका हुन्। परमेश्वर सत्यता हुनुहुन्छ भनेर चिन्न सक्ने, उहाँलाई आफ्नो प्रभुको रूपमा स्विकार्न सक्ने, र सबथोकमाथि उहाँको सार्वभौमिकता चल्छ भनेर बुझ्ने मानिसहरू आफूलाई व्यक्त गर्छन्? तिनीहरूको हृदयमा कस्तो स्थिति हुन्छ? आफूलाई परिस्थितिहरू आइपर्दा, तिनीहरू कसरी अभ्यास गर्छन्? (तिनीहरू सबै कुरामा सत्यता खोजी गर्छन्।) त्यो एउटा पक्ष हो। अरू के? (तिनीहरू परमेश्वरले योतय गरेका सबै परिवेश, मानिस, घटना, र परिस्थितिप्रति समर्पित हुन्छन्, ती कुराबाट सिक्न, र सत्यता हासिल गर्न सक्षम हुन्छन्।) (तिनीहरू परमेश्वरको प्रतिरोध गर्ने वा उहाँलाई चिढ्याउने कुनै कुरा गर्ने साहस गर्दैनन्।) यी पनि तिनीहरूले आफूलाई व्यक्त गर्ने तरिकाहरू हुन्। मुख्य कुरा, तिनीहरूलाई केही आइपर्दा, तिनीहरूले सत्यता बुझे पनि नबुझे पनि, सत्यता अभ्यास गर्न सके पनि नसके पनि, तिनीहरूमा सबैभन्दा पहिला परमेश्वरको डर हुन्छ; तिनीहरू सोचविचार नगरी आफ्नै इच्छाअनुसार कार्य गर्दैनन्, तिनीहरू परमेश्वरको भय मान्न र उहाँलाई नचिढ्याउन सक्षम हुन्छन्। अरूले तिनीहरू सोचविचार नगरी बोल्दैनन्, तिनीहरूका कार्यहरू आवेगपूर्ण र दुराचारी नभई शान्तिमय हुन्छन्, तिनीहरू अत्यन्तै शान्त हुन्छन्, प्रतीक्षा गर्न सक्छन्, तिनीहरू हृदयमा परमेश्वरसित बातचित गर्छन् र उहाँलाई खोज्छन्, तिनीहरूमा परमेश्वरप्रति समर्पित हृदय छ, र तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय छ भनेर देख्न सक्छन्। यी कुराअनुसार जिउने मानिसहरू आफूलाई आइपर्ने कुनै पनि कुरा परमेश्वरका वचनसित जोड्न र मिलाउन सक्छन्, र उहाँसँग तिनीहरूको सम्बन्ध सामान्य हुन्छ। कतिपय मानिस—जसको हृदयमा परमेश्वर हुँदैन—तिनीहरू यी वास्तविकताहरूमा जिउन सक्दैनन्, र तिनीहरूका स्वभाव निश्चित रूपले अहङ्कारी, दुराचारी र अनियन्त्रित हुन्छन्। तिनीहरू सारा दिन हाँस्दै र ठट्टा गर्दै बिताउँछन्, आफ्ना कर्तव्य निर्वाहमा हृदय लाउँदैनन्, तिनीहरू दिमागमा जे आउँछ त्यही भन्छन् र गर्छन्, तिनीहरू इशाराले धम्क्याउँछन्, र तिनीहरू हरकुरा लापरवाहीसाथ र आवेगमा गर्छन्। झलक्क देख्नेबित्तिकै तिनीहरू अविश्वासीहरू हुन् भनेर भन्न सकिन्छ। के यस्तो प्रकटीकरण र व्यवहार भएको व्यक्ति परमेश्वरसामु जिउने व्यक्ति हो? के ऊ इमानदारीपूर्वक परमेश्वरमा विश्वास गर्छ? के उसको हृदयमा परमेश्वर हुनुहुन्छ? उहाँ पक्कै हुनुहुन्न। यस्ता मानिसहरूलाई परमेश्वर निन्दा र घृणा गर्नुहुन्छ।

आज हामी सबैभन्दा महत्त्वपूर्ण शीर्षकहरूमध्ये एउटाको बारेमा सङ्गति गर्दै आएका छौँ। यो शीर्षक केको बारेमा छ? (मुक्ति।) परमेश्‍वरमा विश्‍वास गर्दा, यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूसँग परमेश्‍वरको भय मान्‍ने हृदय छ कि छैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति ठाउँ छ कि छैन, तिनीहरू परमेश्‍वरको अघि जिउन र परमेश्‍वरसँग सामान्य सम्‍बन्ध कायम गर्न सक्षम छन् कि छैनन् भन्‍ने कुरा मुख्य हुन्छ। मानिसहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरप्रति समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ। मुक्ति पाउने मार्ग र सर्तहरू यिनै हुन्। यदि तेरो हृदय परमेश्‍वरको अघि जिउन सक्दैन, यदि तैँले नियमित रूपमा परमेश्‍वरलाई प्रार्थना गर्ने र उहाँसँग सङ्गति गर्ने गर्दैनस्, अनि परमेश्‍वरसँगको सामान्य सम्‍बन्धलाई गुमाउँछस् भने, तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, किनभने तैँले मुक्ति पाउने मार्ग बन्द गरेको हुन्छस्। यदि परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध छैन भने, तँ अन्तिम बिन्दुमा पुगेको छस्। यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न भने, तँसँग विश्‍वास छ भनेर दाबी गर्नु, परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्नु व्यर्थ छ। तैँले जति नै वचन र धर्मसिद्धान्तहरू बोल्न सके पनि, परमेश्‍वरमाथिको विश्‍वासमा तैँले जति नै कष्ट भोगेको भए पनि, वा तँ जति नै वरदानप्राप्त भए पनि, यदि तेरो हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तँ परमेश्‍वरको भय मान्दैनस् भने, तैँले परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि त्यसले केही फरक पार्दैन। परमेश्‍वरले “ए दुष्कर्मी, मबाट टाढा बस्” भनेर भन्‍नुहुनेछ। तँलाई दुष्कर्मीको रूपमा वर्गीकरण गरिनेछ। तँ परमेश्‍वरसँग जोडिएको हुनेछैनस्; उहाँ तेरा प्रभु वा तेरा परमेश्‍वर हुनुहुनेछैन। तैँले सबै थोकमाथि परमेश्वरको सार्भमौमिकता चल्छ, र उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनेर स्वीकार गरे पनि, उहाँको आराधना गर्दैनस्, र तँ उहाँको सार्वभौमिकताप्रति समर्पित हुँदैनस्। तँ शैतान र दियाबलसहरूलाई पछ्याउँछस्; शैतान र दियाबलसहरू नै तेरो प्रभु हुन्छन्। यदि तैँले सबै कुरामा आफैमा भरोसा गर्छस्, र आफ्‍नै इच्‍छा पछ्याउँछस् भने, यदि तँ आफ्नो नियति मेरै हातमा छ भनेर विश्‍वास गर्छस् भने, तैँले आफैलाई विश्‍वास गरिरहेको हुन्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनेर दाबी गरे पनि, परमेश्‍वर तँलाई स्वीकार गर्नुहुन्‍न। परमेश्‍वरसँग तेरो कुनै सम्‍बन्ध हुँदैन, त्यसकारण निश्‍चय नै उहाँले तँलाई अन्त्यमा तिरस्कार गर्नुहुनेछ, दण्ड दिनुहुनेछ, र हटाउनुहुनेछ; परमेश्‍वर तँजस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरू उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार गर्ने, र उहाँ नै सत्यता, बाटो, र जीवन हुनुहुन्छ भनी स्वीकार गर्नेहरू हुन्। तिनीहरू सच्चा रूपमा उहाँका लागि समर्पित हुन र सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन सक्छन्; तिनीहरू परमेश्‍वरको काम अनुभव गर्छन्, उहाँका वचन र सत्यता अभ्यास गर्छन्, र तिनीहरू सत्यता पछ्याउने मार्गमा हिँड्छन्। तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने, र उहाँकोको इच्‍छा पछ्याउने मानिस हुन्। मानिसहरूले परमेश्‍वरमा त्यसरी विश्‍वास गरे मात्रै मुक्ति पाउन सक्छन्; नत्र भने, तिनीहरूलाई दोषी ठहराइनेछ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा मनको लड्डु घिउसँग खानु स्वीकार्य हुन्छ? परमेश्‍वरमाथिको विश्‍वासमा, यदि मानिसहरू सधैँ आफ्‍ना धारणा अनि अस्पष्ट र अमूर्त कल्‍पनाहरूमा नै लागिरहन्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? अवश्य सक्दैनन्। जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ, उहाँले माग गर्नुभएबमोजिम उहाँमा विश्‍वास गर्नैपर्छ, अनि उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनैपर्छ; त्यसपछि मात्रै तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन्। यसभन्दा बाहेक अरू कुनै बाटो छैन—तैँले जे गरे पनि, तँ कुनै पनि काल्‍पनिक चाहनामा रमाउनु हुँदैन। यस विषयमा सङ्गति गर्नु मानिसहरूका लागि एकदमै महत्त्वपूर्ण छ, छैन त? यो तिमीहरूको लागि चेतावनीको घण्टी हो।

अब तिमीहरूले यी सन्देशहरू सुनिसकेका हुनाले, तिमीहरूले सत्यता बुझेको हुनुपर्छ र मुक्तिको पछाडि के हुन्छ त्यसबारे स्पष्ट भएको हुनुपर्छ। मानिसहरूलाई के मन पर्छ, तिनीहरू केका लागि जोड गर्छन्, तिनीहरू कुन कुराप्रति उत्साहित हुन्छन्—यीमध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यता स्वीकार गर्नु हो। अन्तिम विश्‍लेषण गर्दा, सत्यता प्राप्त गर्न सक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तँलाई परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग गर्न सिकाउने कुरा नै सही मार्ग हो। यदि तैँले परमेश्‍वरलाई विश्‍वास गरेको धेरै वर्ष भयो र तैँले सधैँ सत्यतासँग सम्‍बन्धित नरहेका कुराहरू पछ्याउने गरेको छस् भने, तेरो विश्‍वाससँग सत्यता र परमेश्‍वरको कुनै सम्‍बन्ध हुँदैन। तैँले परमेश्‍वरमा विश्‍वास गर्छु र उहाँलाई स्वीकार गर्छु भनी दाबी गर्छस् होला, तर परमेश्‍वर तेरा प्रभु हुनुहुन्‍न, उहाँ तेरा परमेश्‍वर हुनुहुन्‍न, तेरो नियतिमाथि परमेश्वरको सार्वभौमिकता चल्छ भन्‍ने तँ स्वीकार गर्दैनस्, परमेश्‍वरले तेरा लागि मिलाएका सबै कुरामा तँ समर्पित हुँदैनस्, परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने तथ्यलाई तँ स्वीकार गर्दैनस्—त्यस्तो अवस्थामा मुक्ति पाउने तेरो आशा चकनाचूर भएको हुन्छ; यदि तँ सत्यता पछ्याउने मार्ग हिँड्न सक्दैनस् भने तँ विनाशको मार्ग हिँड्छस्। यदि तैँले पछ्याउने, ध्यान दिने, प्रार्थना गर्ने, र बिन्ती गर्ने सबै कुरा परमेश्‍वरका वचनहरू, र परमेश्‍वरले आज्ञा गर्नुभएका कुराहरूमा आधारित हुन्छन् भने, र यदि तँलाई सृष्टिकर्ताप्रति समर्पित हुनुपर्छ, र उहाँको आराधना गर्नुपर्छ भन्‍ने झन्-झन् बढी अनुभूति हुन्छ, र तँलाई परमेश्‍वर तेरा प्रभु र परमेश्‍वर हुनुहुन्छ भन्‍ने अनुभव हुन्छ भने, यदि तँलाई तेरा निम्ति परमेश्‍वरले तेरा लागि योजनाबद्ध गर्ने र बन्दोबस्त गर्ने सबै कुरामा समर्पित हुँदा झन्-झन् आनन्द लाग्छ, र परमेश्‍वरसँगको तेरो सम्‍बन्ध झन्झन् नजिक, र झन्झन् सामान्य हुँदै जान्छ भने, र यदि परमेश्‍वरप्रतिको तेरो प्रेम पहिलेको भन्दा शुद्ध र साँचो छ भने, परमेश्‍वरप्रतिका तेरा गुनासा र गलत बुझाइहरू, र परमेश्‍वरप्रतिका तेरा लालची इच्‍छाहरू झन्झन् कम हुँदै जान्छन्, र तैँले पूर्ण रूपमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने स्थिति प्राप्त गरेको हुन्छस्, जसको अर्थ तैँले मुक्तिको मार्गमा पाइला पहिल्यै टेकिसकेको छस् भन्‍ने हुन्छ। मुक्तिको मार्गमा हिँड्दा परमेश्‍वरबाट अनुशासन, काटछाँट, न्याय, र सजाय भोग्‍नुपर्ने भए पनि, र यी कुराले तँलाई धेरै पीडा दिने भए पनि, यो परमेश्‍वरको प्रेम तँमाथि आएको स्थिति हो। परमेश्‍वरमा विश्‍वास गर्दा, यदि तँ आशिषित हुने मात्रै प्रयास गर्छस्, अनि हैसियत, ख्याति र प्राप्ति मात्रै पछ्याउँछस्, अनि तँलाई कहिल्यै पनि अनुशासनमा राखिँदैन, वा काटछाँट गरिँदैन, वा न्याय र सजाय दिइँदैन भने, तेरो जीवन सहज हुने भए पनि, तेरो हृदय परमेश्‍वरबाट झन्-झन् टाढा हुनेछ, तैँले परमेश्‍वरसँगको सामान्य सम्‍बन्ध गुमाउनेछस्, र तँ परमेश्‍वरको सूक्षम जाँच स्वीकार गर्न अनिच्‍छुक हुनेछस्; तैँले आफ्नो मालिक आफै बन्‍ने चाहना गर्नेछस्—र यो सबैले तैँले हिँड्ने मार्ग सही मार्ग होइन भन्‍ने प्रमाणित गर्छ। यदि तैँले केही समयदेखि परमेश्‍वरको कामलाई अनुभव गरेको छस् र मानवजाति अति गहन रूपमा भ्रष्ट भएको र परमेश्‍वरको विरोध गर्ने स्थितिमा पुगेको झन्झन् बढी अनुभूति गर्दै आएको छस् भने, र यदि एक दिन तैँले परमेश्‍वरविरोधी कुनै काम गर्ने समय आउँछ भन्‍ने तँलाई चिन्ता लाग्छ, र तैँले परमेश्‍वरलाई चिढ्याउने र परमेश्‍वरले तँलाई त्याग्‍ने सम्‍भावना छ भन्‍ने डर लाग्छ, र यसरी परमेश्‍वरको विरोध गर्नुजत्तिको डरलाग्दो कुरा अरू केही छैन भन्‍ने महसुस गर्छस् भने, तँमा परमेश्‍वरको भय मान्‍ने हृदय हुनेछ। तँलाई के लाग्‍नेछ भने, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरू परमेश्‍वरबाट टाढा जानु हुँदैन; यदि तिनीहरू परमेश्‍वरबाट टाढा गए भने, यदि तिनीहरू परमेश्‍वरको अनुशासन, र परमेश्‍वरको न्याय र सजायबाट बाहिर गए भने, यो परमेश्‍वरको सुरक्षा र वास्ता, परमेश्‍वरको आशिष्‌ गुमाउनुसरह हो, र यस्तो अवस्थामा मानिसहरूको लागि सबै कुरा समाप्त हुन्छ; तिनीहरू झन्झन् भ्रष्ट मात्रै हुन सक्छन्, तिनीहरू धर्मका मानिसहरूजस्तै बन्छन्, र तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा अझै पनि परमेश्‍वरको विरोध गर्ने सम्‍भावना हुन्छ—र यसरी तिनीहरू ख्रीष्टविरोधीहरू बनेका हुन्छन्। यदि तैँले यो कुरा महसुस गर्न सक्छस् भने, तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्, “हे परमेश्‍वर! कृपया मलाई न्याय गर्नुहोस् र सजाय दिनुहोस्। मैले गर्ने हरेक कुरामा, बिन्ती छ मलाई जाँच्नुहोस्। यदि मैले सत्यता र तपाईंको इच्‍छा उल्‍लङ्घन गर्ने काम गरेँ भने, तपाईंले मलाई कठोर न्याय र सजाय दिनुहोस्—म तपाईंको न्याय र सजायविना बाँच्‍न सक्दिनँ।” परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले हिँड्नुपर्ने सही मार्ग यही हो। त्यसकारण, यो मानकअनुरूप मापन गर: के तिमीहरू आफूले मुक्तिको सही मार्गमा पाइला चालेको छु भन्‍ने आँट गर्छौ? आँट गर्दैनौ, किनभने तिमीहरू सत्यता पछ्याउने मानिसहरू बन्‍न अझै बाँकी छ, धेरै कुरामा तिमीहरू सत्यता खोजी गर्दैनौ, र तिमीहरू काटछाँट स्वीकार गर्न र त्यसमा समर्पित हुन सक्षम छैनौ—यसले तिमीहरू मुक्तिको मार्गमा पुग्‍नको लागि अझै धेरै बाटो हिँड्न बाँकी छ भन्‍ने प्रमाणित गर्छ। यदि तिमीहरू सत्यता पछ्याउने व्यक्ति होइनौ भने, के सत्यताको मार्गमा पाइला चाल्‍नु सजिलो छ? वास्तवमा, यो काम सजिलो छैन। यदि मानिसहरूले परमेश्‍वरको न्याय र सजाय अनुभव गरेका छैनन् भने, यदि तिनीहरूले परमेश्‍वरको अनुशासन, ताडना, र काटछाँट भोगेका छैनन् भने, तिनीहरूलाई सत्यता खोजी गर्ने व्यक्ति बन्‍न सहज हुँदैन, जसले गर्दा तिनीहरूलाई सत्यताको मार्गमा पाइला चाल्‍न निकै कठिन हुन्छ। यो सन्देश सुनेपछि, यदि यो सत्यता हो भनेर तिमीहरूलाई थाहा त हुन्छ तर तिमीहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा पाइला टेक्‍नै अझै बाँकी हुन्छ भने र तिमीहरूलाई यो गम्‍भीर लाग्दैन, बरु तिमीहरूले यसमा पाइला चाल्‍ने दिन ढिलोचाँडो आइहाल्छ नि, किन हतार गर्नुपर्‍यो र भन्‍ने लाग्छ भने, यो कस्तो दृष्टिकोण हो? जब तिमीहरूमा यस्तो दृष्टिकोण हुन्छ, तब तिमीहरू समस्यामा हुन्छौ, र मुक्तिको मार्गमा पाइला चाल्‍न तिमीहरूलाई कठिन हुनेछ। त्यसो भए, यो मार्गमा पाइला चाल्‍न सक्षम हुनको लागि तिमीहरूले कस्तो सङ्कल्प गर्नुपर्छ? तैँले यस्तो भन्‍नुपर्छ, “अँ! अहिले मैले मुक्तिको मार्गमा पाइला चाल्‍नै बाँकी छ—यो निकै खतरनाक कुरा हो! परमेश्‍वर भन्‍नुहुन्छ, मानिसहरू सधैँ उहाँको अघि जिउनुपर्छ, र तिनीहरूले झन्झन् धेरै प्रार्थना गर्नुपर्छ, र तिनीहरूको हृदय शान्तिमा हुनुपर्छ, आवेगशील हुनु हुँदैन—त्यसकारण मैले अहिले नै यी सबैलाई अभ्यास गर्न थाल्‍नुपर्छ।” यसरी अभ्यास गर्नु भनेको परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा प्रवेश गर्नु हो; यो यति सरल छ। परमेश्‍वरका वचनहरू सुनेर तिनलाई अभ्यास गर्ने मानिसहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू असल मानिसहरू हुन्? तिनीहरू असल हुन्—तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्। परमेश्‍वरका वचनहरू सुनेपछि, यदि तिनीहरू चेतनाशून्य, उदासीन, अटेरी भएर बस्छन् भने—यदि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई हल्‍का रूपमा लिन्छन्, र परमेश्‍वरका वचनप्रति आफ्‍नो आँखा-कान बन्द गर्छन् भने तिनीहरू कस्ता व्यक्तिहरू हुन्? के तिनीहरू बेवकुफ होइनन् र? परमेश्‍वरलाई विश्‍वास गरेपछि मुक्ति पाउने कुनै छोटोमीठो तरिका छ कि भनेर मानिसहरूले सधैँ सोध्‍ने गर्छन्। म तिमीहरूलाई भन्छु, त्यस्तो बाटो छैन, अनि म तिमीहरूलाई यो सरल मार्गको बारेमा बताउँछु, तर यो सुनेपछि तिमीहरू अभ्यास गर्दैनौ—जुन असल कुरा सुन्दा पनि त्यसलाई नचिन्‍नु हो। के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? तिनीहरूका लागि केही आशा भए पनि, यो आशा त्यति ठूलो हुँदैन; तिनीहरूले मुक्ति पाउनु औधी गाह्रो हुन्छ। सायद कुनै दिन तिनीहरू निद्राबाट बिउँझनेछन्, र त्यतिबेला तिनीहरू मनमनै यस्तो सोच्नेछन्, “म त अब जवान छैन, र परमेश्‍वरमा विश्‍वास गरेको यतिका वर्षदेखि मैले आफ्‍ना उचित कर्तव्यहरू पूरा गरिरहेको छुइनँ। परमेश्‍वर मानिसहरू सधैँ उहाँसामु जिएको माग गर्नुहुन्छ, तर मैले परमेश्‍वरको अघि जिएको छैनँ। मैले तुरुन्तै प्रार्थना गरिहाल्‍नुपर्छ।” यदि तिनीहरूले हृदयमा चेतखुलेर आफ्‍ना उचित कर्तव्यहरू निभाउन थाल भने, त्यो धेरै ढिलो भएको हुँदैन! तर धेरै ढिला नगर; यदि तिमीहरूले आफ्नो सत्तरीअसीको दशकसम्‍म प्रतीक्षा गर्‍यौ भने, र यदि तिमीहरूको शरीरले काम गर्न छोडेको छ र तिमीहरूसँग कुनै जाँगर बाँकी छैन भने, के सत्यता खोजी गर्नको लागि ढिला भइसकेको हुँदैन र? यदि तिमीहरूले आफ्‍नो जीवनका उत्कृष्ट वर्षहरूलाई अर्थहीन कुराहरूमा बितायौ, र अत्यन्तै महत्त्वपूर्ण कुरा, अर्थात् सत्यता पछ्याउने कुरालाई थाती राख्यौ वा छुटायौ भने, के यो अत्यन्तै मूर्खता हुँदैन र? के योजत्तिको मूर्खता अरू कुनै कुरा छ र? धेरै मानिसहरूलाई साँचो मार्गको बारेमा राम्ररी थाहा हुन्छ तर पनि भविष्यमा स्विकार्छु र पछ्याउँछु भनेर प्रतीक्षा गर्छन्—तिनीहरू सबै मूर्खहरू हुन्। सत्यता खोजी गरेर जीवन प्राप्त गर्नको लागि दशकौँ मेहनत गर्नुपर्छ भन्‍ने तिनीहरूलाई थाहै छैन। तिनीहरूले मुक्ति पाउने आफ्‍नो सर्वोत्तम समय खेर फाले भने तिनीहरूले पछुतो गर्नको लागि धेरै ढीला भइसकेको हुनेछ।

अहिले, तिमीहरूले अभ्यास गर्नुपर्ने एकदमै जरुरी मामिला के हो? त्यो हो, तिमीहरूले आफूलाई केही आइपर्दा, यथाशीघ्र सत्यता खोज्नुपर्छ, परमेश्वरसामु आफ्नो हृदय शान्त पार्नुपर्छ, अनि परमेश्वरप्रति समर्पित हृदयले उहाँलाई प्रार्थना गर्नुपर्छ र उहाँका वचनहरू पढ्नुपर्छ। यसरी, तैँले परमेश्वरसित सामान्य सम्बन्ध बनाउन सक्छस्। यदि तँ परमेश्वरमा विश्वास गर्छस् तर उहाँसँग केही सरोकार राख्दैनस् भने, यदि तँ अझै अस्पष्ट परमेश्वरमा विश्वास गर्छस् भने, यदि व्यावहारिक परमेश्वरसित तेरो सामान्य सम्बन्ध छैन भने, के तैँले परमेश्वरमा विश्वास गर्छस् भनेर उहाँले स्वीकार गर्नुहुन्छ? यदि परमेश्वरले तँलाई स्वीकार गर्नुभएन भने, के तँ समस्यामा पर्दैनस् र? तँ आफूलाई परमेश्वरले उहाँको घरको सदस्य वा उहाँको एक अनुयायीको रूपमा स्वीकार गर्नुहुने गरी कसरी पछ्याउने भनेर हृदयमा प्रस्ट हुनुपर्छ। ढिट वा विद्रोही नबन्, र तैँले आफूलाई कदापि परमेश्वरबाट टाढा राख्न मिल्दैन; तँ परमेश्वरसामु आएर उहाँलाई आऱ्नो प्रभुको रूपमा स्वीकार गर्नैपर्छ। त्यसोभए अब तैँले के गर्नुपर्छ? चाँडो गरेर परमेश्वरका वचनहरू खाने र पिउने, उहाँले व्यक्त गरेका सबै सत्यता स्विकार्ने, त्यसलाई अभ्यास र अनुभव गर्ने, र सत्यतामा प्रवेश गर्ने गर्नुपर्छ—यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। यदि मैले सङ्गति गरेका यी वचनहरू तिमीहरूलाई महत्त्वपूर्ण लाग्छ भने, यदि तिमीहरू यी वचनहरू आफ्नो जीवनमा लागू गर्न, त्यसलाई आफ्नो जीवनको निर्देशिका बनाउन, र त्यसलाई तिमीहरूले जिउने वास्तविकता बनाउन सक्छौ भने, तिमीहरूले केही लाभ हासिल गरेका हुनेछौ, र आज मैले गरेको सङ्गति व्यर्थ भएको हुनेछैन। परमेश्वरमा विश्वास गर्नुको कडी भनेको तेरो हृदयमा परमेश्वर हुनैपर्छ, तैँले परमेश्वरका वचनहरूको आधारमा कार्य गर्न सक्नैपर्छ, आफ्नो हृदयमा परमेश्वरलाई महान् ठानेर सम्मान गर्नैपर्छ, र तँ परमेश्वरप्रति समर्पित हुनैपर्छ; तैँले आफूले गर्ने सम्पूर्ण काम परमेश्वरसामु राख्नैपर्छ, र ती कुरा परमेश्वरसित सम्बन्धित रहेको सुनिश्चित गर्नैपर्छ; यसको मतलब परमेश्वरमा विश्वास गर्न, तँ परमेश्वरमा विश्वास गर्ने व्यक्ति जस्तो हुनैपर्छ। तँमा परमेश्वरप्रति विश्वासको वास्तविकता हुनैपर्छ। तैँले कुनै प्रवचन सुनेपछि, परमेश्वरको इच्छा बुझ्छस्, अनि परमेश्वरका मापदण्डअनुसार अभ्यास र प्रवेश गर्न सक्छस्। केही समयपछि म मानिसहरू परिवर्तन भएको, मेरा वचनहरूले तिनीहरूलाई फाइदा पुऱ्याएको, तिनीहरूको स्थिति परिवर्तन भएको, र तिनीहरू हिँड्ने दिशा परिवर्तन भएको देख्छु। जब मानिसहरू आफूलाई साँच्चै परिवर्तन गर्छन्, तब मलाई आफूले व्यर्थमा बोलेको रहेनछु भन्ने अनुभूति हुन्छ। जब तिमीहरूले यी वचनहरूलाई नसुनेझैँ नगरी आफ्ना हृदयमा राखेको देख्छु, तब मलाई तिमीहरू देखेर एकदमै खुसी लाग्छ। मैले जति नै वचनहरू बोले पनि यदि तिमीहरू सुन्दैनौ भने, यदि तिमीहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनौ भने, यदि तिमीहरू आफूलाई जे मन लाग्छ त्यही गर्छौ, र जसरी मन लाग्छ त्यसरी नै कार्य गर्छौ भने, तिमीहरूलाई देख्दा मलाई पीडा हुन्छ; तिमीहरूप्रति ममा अरुचि जाग्न थाल्छ, र तिमीहरूले मिठामिठा शब्दहरू बोल्नु, वा आफूलाई बाहिर राम्रो देखाउनु बेकार हुन्छ। तैँले त्यसो गर्नु पाखण्ड हुनेछ, र मलाई त्यो हेर्न मन पर्दैन। त्यसैले, मानिसहरूले सत्यता अभ्यास गर्नु एकदमै महत्त्वपूर्ण छ, अनि सत्यता वास्तविकतामा प्रवेश गर्नु झनै बढी महत्त्वपूर्ण छ। सत्यता वास्तविकता हुने मानिसहरू स्वाभाविक रूपले परमेश्वरको भय मान्छन्; परमेश्वरको भय मान्ने हृदय भएका मानिसहरू स्वाभाविक रूपले मुक्तिको मार्गमा पाइला चाल्न सक्षम हुन्छन्।

फेब्रुअरी ५, २०१७

अघिल्लो: जीवन वृद्धिका छ वटा सूचकहरू

अर्को: परमेश्वरका वचनहरू बारम्बार पढ्दा अनि सत्यता मनन गर्दा मात्र मार्ग प्राप्त हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्