शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्नताहरू
अंश ६४
धेरैजसो मानिसले केही वर्ष विश्वास गरेपछि केही धर्मसिद्धान्तबारे कुरा गर्न सक्छन्, जस्तै “हामीले आफ्नो विश्वासमा सही अभिप्राय राख्नुपर्छ,” “हामीले परमेश्वरलाई प्रेम गर्न र उहाँको आज्ञापालन गर्न सिक्नुपर्छ,” “हामीले आफ्ना कर्तव्यहरू वफादारीसाथ निभाउनुपर्छ; हामीले परमेश्वरविरुद्ध विद्रोह गर्नु हुँदैन,” वा “हामीले आफूलाई चिन्नैपर्छ।” यी सबै धर्मसिद्धान्त सही हुन्, तर तिमीहरू यी शब्दहरूको साँचो अर्थ बुझ्दैनौ। तिमीहरू ती सतही रूपमा मात्र बुझ्छौ; तिमीहरू तिनको आत्मिक अर्थ वा परमेश्वरको वचनको गहनतम महत्त्व बुझ्दैनौ, त्यसैले तिमीहरूको हृदयमा कुनै सत्यता हुँदैन। तिमीहरूको अनुभव वा बुझाइ जेसुकै भए पनि, त्यो अति सतही हुन्छ। तिमीहरू केही धर्मसिद्धान्तबारे बोल्न र केही सरल कुराहरू प्रस्टसँग देख्न सक्छौ होला, तर तिमीहरू सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्दैनौ; तिमीहरू सत्यताको कहीँ कतै पनि नजिक आउँदैनौ। तिमीहरूसँग केही ज्ञान वा शिक्षा होला, तर तिमीहरू सत्यता बुझ्दैनौ। धर्मसिद्धान्तको बुझाइ वा शाब्दिक अर्थलाई सत्यता बुझेको नठान्। परमेश्वरमा लामो समयदेखि विश्वास गरेकाहरूमध्ये, असल क्षमता र तुलनात्मक रूपमा आत्मिक मामलाहरूलाई राम्ररी बुझ्ने केही मानिस छन् जोसँग सत्यताका केही अनुभव होला—तरै पनि, तिनीहरूले सत्यता बुझ्छन् भनेर भन्न सकिँदैन। तैँले प्रदान गर्ने ज्ञानका १० वाक्यमध्ये, सायद दुइटामा सत्यता हुन्छ। बाँकी धर्मसिद्धान्त हुन्छन्। तैपनि तँ आफूले सत्यता बुझेको ठान्छस्। तँ जहाँ गए पनि, कैयौँ दिनसम्म निरन्तर प्रचार गर्न सक्छस् र तँसँग भन्नका लागि सधैँ केही न केही हुन्छ। तँ आफूले बोलिसकेपछि, ती कुरालाई पुस्तक अर्थात् “विख्यात व्यक्तिको जीवनवृतान्त” को रूपमा सङ्कलन गरेर सबैलाई बाँड्न चाहन्छस्, ताकि तिनीहरूले सबैको फाइदाका लागि त्यसबाट खान र पिउन सकून्। यो अति अहङ्कारी र समझहीन कुरा हो, होइन र? मानिसहरूले सत्यतासम्बन्धी मामलाहरूको छेउसमेत छुन सक्दैनन्; धेरैमा, लेखिएका केही शब्दहरू बुझ्लान्। तिनीहरू चतुर र तिनीहरूको स्मरणशक्ति राम्रो हुने हुनाले, तिनीहरूले प्राय: यी पक्षहरूको सत्यताबारे जस्तै परमेश्वरको काम, देहधारणको महत्त्व र रहस्य, अनि परमेश्वरको कामका तरिका र चरणहरूबारे बोल्ने हुनाले, जब तिनीहरूले आफूलाई निश्चित हदसम्म सुसज्जित पार्छन्, तब तिनीहरूलाई आफूसँग सत्यता छ, आफूमा यो पर्याप्त छ भन्ने लाग्छ। तिनीहरू कति समझहीन छन्; यसले तिनीहरू सत्यता बुझ्दैनन् भनेर प्रमाणित गर्छ। अचेल मानिसहरू अलिकति धर्मसिद्धान्त मात्रै बुझ्छन्। तिनीहरू आफूलाई चिन्दैनन्, झन् तिनीहरूमा समझ हुनु त परै जाओस्। तिनीहरू केही धर्मसिद्धान्त बुझेपछि, आफूसँग सत्यता छ, र आफू अब सामान्य मानिस होइन भन्ने सोच्छन्। तिनीहरू आफूलाई महान् ठान्छन् र यस्तो सोच्छन्, “मैले परमेश्वरका वचनहरू धेरैपटक पढिसकेको छु। मैले केही वचन त कण्ठसमेत गरेको छु र तिनले मेरो हृदयमा जरा गाडेका छन्। म जहाँ गए पनि, कैयौँ सभाहरूलाई एकपछि अर्को गर्दै प्रचार गर्न सक्छु, र परमेश्वरका वचनहरूको कुनै पनि अध्यायका आधारभूत कुराहरू बताउन सक्छु।” वास्तविकता के हो भने सत्यता कसैले बुझ्दैन। म किन त्यसो भन्छु? एउटा कुरा त, तिमीहरू समस्या समाधान गर्न वा त्यसको जड पत्ता लगाउन र तिनको सार बुझ्न सक्दैनौ। अर्को कुरा, तिमीहरू निश्चित समस्या वा मामिलालाई आंशिक रूपमा मात्रै बुझ्न सक्छौ, तिमीहरूको बुझाइ अस्पष्ट हुन्छ; तिमीहरू त्यसलाई सत्यतासँग जोड्न सक्दैनौ। तैपनि, तिमीहरू आफूलाई राम्रो ठान्छौ, तिमीहरू अहङ्कारी र आत्मधर्मी छौ। तिमीहरू अति मूर्ख र अज्ञानी छौ।
तिमीहरू “परमेश्वरमा विश्वास” भन्ने अभिव्यक्तिलाई कसरी व्याख्या गर्छौ? तिमीहरू सत्यताको यो पक्षलाई कसरी बुझ्छौ? मानिसहरूले परमेश्वरप्रतिको आफ्नो विश्वासमा राख्नुपर्ने सही दृष्टिकोण के हो? अझै रहिरहेका गलत दृष्टिकोणहरू केके हुन्? मानिसहरूले परमेश्वरमा कसरी ठ्याक्कै विश्वास गर्नुपर्छ? के तिमीहरूले यी प्रश्नहरूबारे सोचेका छौ? तिमीहरू सबै जना सत्यता बुझ्ने “दिग्गज” जस्तो देखिन्छौ, त्यसैले म तिमीहरूलाई सबैभन्दा सरल प्रश्न सोध्छु: परमेश्वरप्रतिको विश्वास भनेको के हो? के तिमीहरूले त्यो विचार गरेका छौ? परमेश्वरप्रतिको विश्वासले ठ्याक्कै केलाई जनाउँछ? तिमीहरू ठ्याक्कै उहाँबाट के प्राप्त गर्न र कस्ता समस्याहरू समाधान गर्न चाहन्छौ? तिमीहरू यी कुराहरूबारे स्पष्ट हुनुपर्छ। तिमीहरू यो कुराबारे पनि स्पष्ट हुनैपर्छ: कुनै व्यक्तिले परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्नका लागि उसमा परमेश्वरप्रतिको विश्वासका के-कस्ता प्रकटीकरणहरू झल्किनैपर्छ? अर्थात्, तैँले परमेश्वरप्रतिको आफ्नो विश्वासलाई सच्चा बनाउन आफ्नो कर्तव्य कसरी निभाउनुपर्छ? परमेश्वर उहाँमा विश्वास गर्ने मानिसहरूले आफ्नो विश्वास सच्चा छ भनेर प्रमाणित गर्न कस्ता आधारभूत कुराहरू पूरा गरेको माग गर्नुहुन्छ? के तिमीहरू मनबाटै यी प्रश्नहरूबारे स्पष्ट छौ? वास्तवमा, तिमीहरू सबैले आफ्नो दैनिक जीवनमा गैरविश्वासीका केही व्यवहार देखाउँछौ। के तिमीहरू आफूले गरेका परमेश्वरप्रतिको विश्वास वा सत्यतासँग असम्बन्धित कुराहरू स्पष्ट रूपमा बताउन सक्छौ? के तिमीहरू परमेश्वरमा विश्वास गर्नुको अर्थ के हो भनेर साँच्चै बुझ्छौ? कस्तो खालको व्यक्तिले सच्चा आस्था राख्छ र परमेश्वरमा साँच्चै विश्वास गर्छ? के तिमीहरू सृजित प्राणीले परमेश्वरमा विश्वास गर्नु भनेको के हो भनेर बुझ्छौ? यसमा व्यक्तिको परमेश्वरप्रतिको विश्वासबारे दृष्टिकोण समावेश छ। केही मानिस भन्छन्, “परमेश्वरमा विश्वास गर्नु भनेको सही मार्गमा हिँड्नु र असल कार्य गर्नु हो; जीवनमा यो ठूलो कुरा हो। परमेश्वरका लागि केही कर्तव्य निभाउनु भनेको उहाँप्रतिको विश्वास व्यावहारिक रूपमा प्रकट हुनु हो।” यसो भन्ने मानिसहरू पनि छन्, “परमेश्वरमा विश्वास गर्नु भनेको मुक्ति पाउनु हो; यो उहाँको इच्छा पूरा गर्नु हो।” तिमीहरू यी सब कुरा भनौला, तर के तिमीहरू ती कुरा साँच्चै बुझ्छौ त? वास्तविकता के हो भने तिमीहरू यी कुराहरू बुझ्दैनौ। परमेश्वरप्रतिको साँचो विश्वास भनेको केवल मुक्ति पाउनका लागि उहाँमा विश्वास गर्ने कार्य होइन, झन् यो असल व्यक्ति बन्न गरिने कार्य मात्र हुनु त परै जाओस्। यो मानव स्वरूप प्राप्त गर्न गरिने कार्य मात्रै पनि होइन। तथ्य के हो भने, परमेश्वरप्रतिको मानिसको विश्वासलाई परमेश्वर हुनुहुन्छ, अनि उहाँ सत्यता, बाटो, र जीवन हुनुहुन्छ, र कुरा त्यति हो भन्ने विश्वासको रूपमा मात्र हेर्नु हुँदैन। यो उहाँलाई स्विकार्नु, अनि उहाँ सबै थोकका शासक, सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले संसार र सबथोक बनाउनुभयो, उहाँ अद्वितीय र सर्वोच्च हुनुहुन्छ भनी विश्वास गर्नु पनि होइन। यो त तैँले त्यो तथ्यलाई विश्वास गरेर सकिने कुरा होइन। परमेश्वरको इच्छा भनेको तेरो सम्पूर्ण अस्तित्व र हृदय उहाँलाई दिनुपर्छ र उहाँमा समर्पित हुनुपर्छ भन्ने हो—अर्थात्, तैँले परमेश्वरलाई पछ्याउनुपर्छ, आफूलाई परमेश्वरद्वारा प्रयोग गरिन दिनुपर्छ, र तँ उहाँको सेवा गर्नसमेत खुसी हुनुपर्छ—तैँले उहाँका लागि जे गर्छस्, त्यो गर्नुपर्ने कुरा नै हो। परमेश्वरले पूर्वनिर्धारित गरेका र चुनेका मानिसहरूले मात्रै उहाँमा विश्वास गर्नुपर्छ भन्ने होइन। तथ्य के हो भने, सारा मानवजातिले उहाँको आराधना गर्नुपर्छ, उहाँको कुरा सुन्नुपर्छ र उहाँको आज्ञापालन गर्नुपर्छ, किनभने मानवजातिलाई परमेश्वरले नै बनाउनुभएको हो। यदि तँलाई परमेश्वरमा विश्वास गर्नुको उद्देश्य मुक्ति र अनन्त जीवन पाउनु हो भनेर थाहा छ, तर तँ पटक्कै सत्यता स्विकार्दैनस् र सत्यता पछ्याउने मार्गमा हिँड्दैनस् भने, तैँले आफूलाई मूर्ख बनाइरहेको छस्, होइन र? यदि तँ धर्मसिद्धान्त मात्र बुझ्छस् तर सत्यता पछ्याउँदैनस् भने, के तैँले सत्यता प्राप्त गर्न सक्छस्? परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा ठूलो पक्ष सत्यता पछ्याउनु हो। हरेक सत्यताको हकमा, मानिसहरूले त्यसको भित्री अर्थ के हो, सत्यताको त्यो पक्षलाई कसरी अभ्यास गर्ने, र त्यसमा कसरी प्रवेश गर्ने भन्ने कुरालाई खोजी गर्ने, मनन गर्ने, र अनुसन्धान गर्ने गर्नुपर्छ। विश्वासीहरूले बुझ्नैपर्ने र तिनीहरूमा हुनैपर्ने कुरा यिनै हुन्। परमेश्वरमा विश्वास गरिरहँदा, व्यक्तिमा हुनुपर्ने सत्यताको विभिन्न पक्षको कुरा आउँदा, तिमीहरूले अहिले शब्द र सिद्धान्तहरू अनि बाहिरी अभ्यासहरू मात्र बुझ्छौ। तिमीहरू सत्यताको सारलाई बुझ्दैनौ, किनभने तिमीहरूले यसलाई अनुभव गरेकै हुँदैनौ। उदाहरणका लागि: आफ्नो कर्तव्य पूरा गर्ने क्षेत्रमा र परमेश्वरलाई प्रेम गर्ने क्षेत्रमा धेरै सत्यता हुन्छ, र यदि मानिसहरूले आफूलाई चिन्न चाहन्छन् भने, तिनीहरूले धेरै सत्यता पनि बुझ्नुपर्छ। देहधारणको महत्त्व र रहस्यमा पनि बुझ्नैपर्ने धेरै सत्यता छन्। मानिसहरूले कस्तो व्यवहार गर्नुपर्छ; तिनीहरूले कसरी परमेश्वरको आराधना गर्नुपर्छ; तिनीहरूले कसरी परमेश्वरको आज्ञापालन गर्नुपर्छ; तिनीहरूले परमेश्वरको इच्छा अनुसारको हुन के गर्नुपर्छ; तिनीहरूले कसरी परमेश्वरको सेवा गर्नुपर्छ—यस्ता सबै विवरणमा धेरै सत्यता समावेश हुन्छन्। तँ विभिन्न क्षेत्रका यी सब सत्यताहरूलाई कसरी लिन्छस् र अनुभव गर्छस्? सुरुमा सत्यताको कुनचाहिँ पक्षलाई अनुभव गर्नु सबैभन्दा महत्त्वपूर्ण हो? मानिसहरूले साँचो मार्गमा जग बसालेपछि बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताहरू धेरै छन्। इमानदार व्यक्ति बन्ने सत्यता छ, र विशेष गरी, कर्तव्य निभाउनुसँग सम्बन्धित सत्यताहरू छन्। मानिसहरूले यी सब अनुभव र अभ्यास गर्नुपर्छ। यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि कसरी अभ्यास र अनुभव गर्ने भनेर ध्यान नदिई सधैँ यी शब्द र धर्मसिद्धान्तहरू बोलिरहन्छस् भने, तँ सधैँ यी शब्दहरूमै जिउनेछस्, र तँमा कुनै वास्तविक परिवर्तन हुनेछैन।
अंश ६५
कतिपय अगुवा र सेवकहरूले मण्डलीभित्र रहेका व्यावहारिक समस्याहरूलाई देख्न सक्दैनन्। भेलामा हुँदा, तिनीहरूलाई आफूसँग भन्नको लागि केही पनि महत्त्वपूर्ण कुरा छैन भन्ने लाग्छ, त्यसकारण तिनीहरू मन जबरजस्ती केही शब्द र धर्मसिद्धान्तहरू प्रस्ताव गर्छन्। आफूले भनिरहेको कुरा धर्मसिद्धान्त मात्रै हो भन्ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तर पनि तिनीहरूले त्यो कुरा भन्छन् नै। अन्त्यमा, तिनीहरू आफैलाई आफ्ना वचनहरू खल्लो पनि लाग्छ, र तिनीहरूका ब्रदर-सिस्टरहरूलाई पनि त्यो ज्ञानवर्धक लाग्दैन। यदि तँलाई यो समस्याबारे थाहा छैन, तर तँ जिद्दी गर्दै यस्ता कुराहरू बोलिरहन्छस् भने, पवित्र आत्माले काम गरिरहनुभएको छैन, र मानिसहरूलाई फाइदा हुँदैन। यो कुरा यसरी नै अघि बढ्छ, होइन र? यदि तिनीहरूले जबरजस्ती ती वचनहरू बोलेका हुन् भने, एकातिर, पवित्र आत्माले तिनीहरूमा काम गरिरहनुभएको हुँदैन, र अर्कोतिर, तिनीहरूका वचनहरूले अरूलाई कुनै फाइदा पुर्याउँदैन। यदि तैँले सत्यता अनुभव गरेको छैनस्, तैपनि यसको बारेमा बोल्न चाहन्छस् भने, तैँले जेसुकै नै भने पनि सत्यताको भित्री कुरालाई बताउन सक्नेछैनस्; तैँले थप रूपमा बताउने कुरा शब्द र धर्मसिद्धान्तहरू मात्रै हुनेछन्। तैँले तिनमा केही हदसम्म अन्तर्दृष्टि हुन्छ भन्ने विचार गरेको हुन सक्छ, तर ती त धर्मसिद्धान्तहरू मात्रै हुन्; ती सत्यता वास्तविकता होइनन्। र सुन्नेहरूले चाहे जति नै प्रयास गरे पनि ती कुराबाट कुनै पनि वास्तविक कुरा प्राप्त गर्न सक्दैनन्। सुन्दा खेरी, तैँले भनेको कुरा सही हो भन्ने तिनीहरूलाई लाग्न सक्छ, तर पछि गएर, तिनीहरूले यसलाई पूर्ण रूपमा बिर्सनेछन्। यदि तैँले आफ्ना वास्तविक स्थितिहरूको बारेमा कुरा गर्दैनस् भने, तैँले मानिसहरूको हृदयलाई उत्प्रेरति गर्न सक्नेछैनस्, मानिसहरूले त्यो सुनेर याद राख्ने छैनन्। त्यसले कुनै रचनात्मक कुरा दिन सक्दैन। तैँले यस्तो परिस्थिति सामना गर्दा, तँलाई आफूले बोलिरहेको कुरा व्यावहारिक छैन भनेर थाहा हुनुपर्छ; तँ यसरी नै बोलिरहन्छस् भने, त्यसले कसैलाई राम्रो गर्नेछैन, र यदि कसैले तैँले उत्तर दिन नसक्ने प्रश्न सोध्यो भने, परिस्थिति झनै अप्ठ्यारो हुनेछ। तैँले तुरुन्तै चुप लागेर अरूलाई सङ्गति गर्न दिनुपर्छ—त्यो बुद्धिमानी निर्णय हुनेछ। यदि तँ भेलामा छस् र तँलाई कुनै निश्चित मामलाबारे केही कुरा थाहा छ भने, तैँले त्यसबारे केही व्यावहारिक कुरा बताउन मिल्छ। त्यो अलिक सतही होला, तर त्यो सबैले बुझ्नेछन्। यदि तँ सधैँ अरूलाई प्रभावित पार्न गहन तरिकामा बोल्न चाहन्छस् तर अरूले त्यो बुझ्दैनन् भने तैँले बोल्न छोडिहाल्नुपर्छ। तैँले त्यसपछि बोल्ने सबै कुरा खोक्रो धर्मसिद्धान्त हुनेछन्; तैँले आफूले सङ्गति जारी राख्नुअघि अरू कसैलाई सङ्गति गर्न दिनुपर्छ। यदि तँलाई आफूले बुझ्ने कुरा धर्मसिद्धान्त हो र त्यो भन्नु रचनात्मक हुँदैन भन्ने लाग्छ भने, तैँले त्यस्तो क्षणमा बोल्दा, पवित्र आत्माले काम गर्नुहुनेछैन। यदि तँ जबरजस्ती बोल्छस् भने, निरर्थकता र विचलन निम्तिन सक्छ अनि मानिसहरू बहकिन सक्छन्। धेरै मानिसको जग र क्षमता यति कमजोर हुन्छ कि तिनीहरू गहन कुराहरूलाई छोटो समयमा ग्रहण गर्न वा तिनलाई सजिलै याद गर्न सक्दैनन्। अर्कोतर्फ, तिनीहरू निरर्थक, वैधानिक र धर्मसैद्धान्तिक कुराहरूचाहिँ तुरुन्तातुरुन्ती बुझ्छन्। यो त तिनीहरूको असत्ती व्यवहार हो, होइन र? त्यसैले, तँ आफूले सत्यताबारे सङ्गति गर्दा सिद्धान्तहरूमा अडिग हुनैपर्छ र आफूले जे बुझ्छस् त्यसबारे बोल्नुपर्छ। मानिसहरूको हृदयमा अभिमान हुन्छ, र कहिलेकाहीँ, तिनीहरू अभिमानद्वारा नियन्त्रित हुँदा, आफूले बोल्ने कुरा धर्मसिद्धान्त हो भन्ने थाहा भएर पनि बोल्ने जिद्दी गर्छन्। तिनीहरू यस्तो सोच्छन्, “मेरा दाजुभाइ-दिदीबहिनीहरूले बताउन नसक्लान्। म आफ्नो प्रतिष्ठाको खातिर त्यो सब बेवास्ता गरिदिन्छु। अहिले वर्तमान हालतलाई जस्ताका त्यस्तै ठिकठाक छ जस्तो देखाइराख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” के यो मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइन? यो त परमेश्वरप्रति अवफादार हुनु हो! यदि यस व्यक्तिमा अलिकति पनि समझ छ भने, उसलाई पछुतो हुनेछ र आफूले बोल्न छोड्नुपर्छ भन्ने महसुस हुनेछ। उसलाई आफूले विषय बदल्नुपर्छ र आफूले अनुभव गरेको कुरा, वा सायद सत्यताबारे आफ्नो बुझाइ र ज्ञानमा सङ्गति गर्नुपर्छ भन्ने महसुस हुनेछ। कुनै व्यक्तिले जति बुझ्छ, त्यति नै बोल्नुपर्छ। व्यक्तिले जतिसुकै बोले पनि, उसले बोल्न सक्ने व्यावहारिक कुराको सीमितता हुन्छ। अनुभवविना, तेरा कल्पना र सोचाइ मत मात्र हुन्, मानव धारणाका कुरा मात्र हुन्। सत्यता अर्थात् वचनहरू बुझ्न वास्तविक अनुभव चाहिन्छ, र अनुभवविना कसैले पनि सत्यताको सार पूर्णत: बुझ्न सक्दैन, झन् सत्यता अनुभव गरिने स्थितिलाई पूर्ण रूपमा व्याख्या गर्नु त परको कुरा हो। व्यावहारिक कुरा बोल्न, तँसँग सत्यताका केही अनुभव हुनुपर्छ। अनुभवविना त्यो हुँदै-हुँदैन। तँसँग अनुभव भए पनि, त्यो सीमित हुन्छ। तैँले बोल्न सक्ने निश्चित, सीमित स्थितिहरू हुन्छन्, तर तीबाहेक तँसँग दिनलाई केही हुँदैन। भेलामा गरिने सङ्गतिमा सधैँ एक वा दुई विषय मात्र समेट्नुपर्छ। यदि तैँले ती कुरा सङ्गतिमा अझ स्पष्ट पार्न सकिस् भने धेरै उपलब्धि हासिल गरेको हुनेछस्। धेरै वा ठूल्ठूला कुरा भन्ने कोसिसमा चुर्लुम्मै नडुब्—त्यसरी कसैले केही बुझ्न सक्दैन्, र कसैलाई केही फाइदा हुँदैन। भेलाहरू भनेको पालैपालो बोल्नका लागि हुन्छन्, र यदि विषयवस्तु व्यावहारिक छ भने, मानिसहरूले त्यसबाट लाभ उठाउँछन्। एउटै व्यक्तिले आफै सबै सत्यताबारे प्रस्टसँग सङ्गति गर्न सक्छ भनेर सोच्न छोड्; त्यो असम्भव हुन्छ। कहिलेकाहीँ तँलाई आफूले अत्यन्तै व्यवहारिक तरिकाले कुराकानी गरिरहेको झैँ लाग्न सक्छ, तर तेरा ब्रदरसिस्टरहरूले अझै पनि साँचो रूपमा बुझ्दैनन्। किनभने तेरो स्थिति भनेको तेरै स्थिति हो, र तेरा ब्रदर-सिस्टरहरूको स्थिति तेरो आफ्नै स्थितिजस्तो हुँदैन। यसको साथै, यस विषयमा तँसँग केही अनुभव हुन सक्छ, तर तेरा ब्रदर-सिस्टरहरूसँग त्यो अनुभव नहुन सक्छ, त्यसकारण तिनीहरूलाई तैँले बताएको कुरा आफूमा लागू हुँदैन भन्ने लाग्छ। यस्तो परिस्थितिको सामना गर्दा तैँले के गर्नुपर्छ? तैँले तिनीहरूको अवस्था बुझ्नको लागि केही प्रश्नहरू गर्नुपर्छ। यो विषयको कुरा उठ्दा तिनीहरूले के गर्नेछन्, र तिनीहरूले सत्यताअनुरूप कसरी अभ्यास गर्नुपर्छ भनी तिनीहरूलाई सोध्। यस तरिकामा केही समय सङ्गति गरिसकेपछि, अगाडि बढ्ने मार्ग खुल्नेछ। यसरी, तैँले मानिसहरूलाई त्यो बेलाको उचित विषयमा अगुवाइ गर्न सक्छस्, र तैँले सङ्गति गरिरहिस् भने, तैँले परिणामहरू हासिल गर्नेछस्।
अंश ६६
केही मानिसमा विवेक नै हुँदैन। तिनीहरू अगुवाइ गर्ने जो कोहीलाई पनि पछ्याउँछन्। तिनीहरू असल मानिसहरूले अगुवाइ गर्दा असल, खराब मानिसहरूले अगुवाइ गर्दा खराब व्यवहार सिक्छन्। तिनीहरू जसलाई पछ्याइरहेका हुन्छन् उहीबाट सिक्छन्। तिनीहरू गैरविश्वासीहरूलाई पछ्याउँदा राक्षसहरूको सिको गर्छन्; परमेश्वरमा विश्वास गर्नेहरूलाई पछ्याउँदा अलिकति मानवताको झल्को कायम राख्न सिक्छन्। तिनीहरू सत्यता बुझ्न र अभ्यास गर्नतर्फ ध्यान दिँदैनन्, केवल अरूलाई पछ्याउँछन् अनि आँखै नहेरी तिनीहरूको सिको गर्छन्। तिनीहरू आफूलाई जो मन पर्छ उसैको कुरा सुन्छन्। के यस्तो व्यतिले सत्यता बुझ्न सक्छ? बिल्कुलै सक्दैन। सत्यता नबुझ्ने मानिसमा कहिल्यै पनि वास्तविक परिवर्तन आउनेछैन। ज्ञान र धर्मसिद्धान्त, मानव व्यवहार, बोल्ने ढंग—यी सब बाहिरी कुरा मानिसहरूबाट सिक्न सकिन्छ। तर सत्यता र जीवन, परमेश्वरका वचनहरू र उहाँको कामबाट मात्र पाउन सकिन्छ, प्रसिद्ध वा विशिष्ट मानिसहरूबाट कहिल्यै सकिन्न। विश्वासीहरूले परमेश्वरका वचनहरू कसरी खानु र पिउनुपर्छ? यो प्रश्न कोही व्यक्तिले सत्यता बुझ्न र पाउन सक्छ कि सक्दैन भन्ने महत्त्वपूर्ण प्रश्नसँग सिधै जोडिएको छ। परमेश्वरका वचनहरू खाने र पिउने सही मार्ग हुनैपर्छ; विश्वासीहरूले आफ्नो मण्डली जीवन अनि आफ्नो कर्तव्य निर्वाह गर्दा वास्तविक जीवनका समस्याहरूतर्फ लक्षित हुने र तिनलाई समाधान गर्ने परमेश्वरका वचनहरू खाने र पिउने गर्नैपर्छ। सत्यता बुझ्ने यो एक मात्र तरिका हो। तर, तिनीहरू सत्यता बुझ्छन् तर अभ्यास गर्दैनन् भने, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनन्। कतिपय मानिसहरू राम्रो क्षमता भएका हुन्छन् तर तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरूले थोरै सत्यतालाई बुझ्न सके पनि, तिनीहरूले यसलाई अभ्यास गर्दैनन्। के त्यस्ता मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? सत्यतालाई बुझ्नु सिद्धान्तहरूलाई बुझ्नु जस्तो सरल छैन। सत्यतालाई बुझ्नको लागि, तँलाई सुरूमा परमेश्वरका वचनहरूहरू कसरी खाने र पिउने सो थाहा हुनुपर्छ। उदाहरणको लागि, परमेश्वरप्रतिको प्रेम सम्बन्धी सत्यताको खण्डलाई खाने-पिउने कार्यलाई लिऊँ। परमेश्वरको वचनले भन्छ: “‘प्रेम’ भनिए अनुसार यस्तो लगाव हो जुन शुद्ध र दोषरहित हुन्छ जहाँ तँ प्रेम गर्न, अनुभव गर्न र विचारमग्न हुन आफ्नो हृदय प्रयोग गर्छस्। प्रेममा कुनै सर्तहरू हुँदैन, कुनै अवरोधहरू हुँदैन र कुनै दूरी पनि हुँदैन। प्रेममा कुनै शङ्का हुँदैन, कुनै छलकपट हुँदैन र कुनै धूर्तता पनि हुँदैन। प्रेममा कुनै लेनदेन हुँदैन र केही कुरा पनि अपवित्र हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ)। परमेश्वरले यसरी नै प्रेमलाई परिभाषित गर्नुहुन्छ, र सत्यता यही नै हो। तर तिमीहरूले कसलाई प्रेम गर्नुपर्छ? के तिमीहरूले आफ्नो श्रीमानलाई प्रेम गर्नुपर्छ? आफ्नी श्रीमतीलाई? मण्डलीमा भएका तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई? होइन। जब परमेश्वरले प्रेमको बारेमा भन्नुहुन्छ, उहाँले सङ्गी मानवप्रतिको तेरो प्रेमको बारेमा होइन, तर परमेश्वरप्रतिको मानिसको प्रेमको बारेमा कुरा गरिरहनुभएको हुन्छ। यदि कोही व्यक्तिले परमेश्वरलाई साँच्चै चिन्न सकेको छ, उहाँको स्वभाव धर्मी र पवित्र छ, अनि मानिसप्रति परमेश्वरको प्रेम सबैभन्दा साँचो र निष्कपट छ भनेर साँच्चै देख्छ भने त्यस व्यक्तिले परमेश्वरलाई गर्ने प्रेम पनि साँचो छ। एक व्यक्तिले परमेश्वरलाई प्रेम गर्ने अभ्यास कसरी गर्न सक्छ? सर्वप्रथम, उसले आफ्नो हृदय परमेश्वरलाई अर्पण गर्नुपर्छ; त्यसपछि उसको हृदयले परमेश्वरलाई प्रेम गर्न सक्छ। यदि कोही व्यक्तिको हृदयले परमेश्वर कति धेरै प्रेमिलो हुनुहुन्छ भनी साँच्चै देख्छ भने उसले उहाँलाई शंका गर्नेछैन, ऊ र परमेश्वरबीच कुनै दूरी हुनेछैन, अनि उसको परमेश्वरप्रतिको प्रेमयुक्त हृदय शुद्ध र दोषरहित हुनेछ। “दोषरहित” को अर्थ कुनै लालची इच्छाहरू नहुनु र परमेश्वरलाई कुनै पनि लालची मागहरू नगर्नु, उहाँमा सर्तहरू नलाद्नु, र कुनै पनि बहाना नगर्नु भन्ने हुन्छ। यसको अर्थ तेरो हृदयमा पहिलो स्थान उहाँकै छ भन्ने हुन्छ; यसको अर्थ तेरो हृदयमा उहाँका वचनहरूले मात्रै स्थान ओगटेका छन् भन्ने हुन्छ। यो शुद्ध र दोषरहित लगाव हो। यो “लगाव”को अर्थ तेरो हृदयको निश्चित स्थान परमेश्वरले ओगट्नुहुन्छ; अनि तैँले सधैँ उहाँको बारेमा विचार गरिरहेको हुन्छस् र उहाँको याद गरिरहेको हुन्छस्, अनि तैँले हरेक क्षणमा उहाँलाई मनमा राख्छस्। प्रेम गर्नु भनेको प्रेम गर्न आफ्नो हृदय प्रयोग गर्नु हो। “प्रेम गर्न आफ्नो हृदय प्रयोग गर्नु”मा वास्ता गर्ने, फिक्री गर्ने र चाहना गर्ने कार्य समावेश हुन्छन्। तँ आफ्नो हृदयले परमेश्वरलाई प्रेम गर्न सफल हुन, पहिला परमेश्वर, तैँले उहाँको स्वभाव र उहाँको प्रेमिलोपनलाई जान्न खोज्नैपर्छ। यदि तँ परमेश्वरलाई जान्दै जान्दैनस् भने, तैँले चाहे पनि उहाँलाई प्रेम गर्न सक्नेछैनस्। वर्तमान समयमा, तिमीहरू सबै सत्यताका लागि प्रयास गर्न इच्छुक छौ अनि सत्यता पाउन खोज्छौ। तँसँग परमेश्वरबारे केही साँचो ज्ञान नभए पनि तैँले आफ्नो हृदय प्रयोग गरेर उहाँको लागि तृष्णा गर्नुपर्छ, उहाँसँग नजिकिनुपर्छ, उहाँको आज्ञापालन गर्नुपर्छ, उहाँप्रति विचारशील हुनुपर्छ, आफ्नो मनमा भएको कुरा उहाँलाई बताउनुपर्छ, अनि आफ्नो हृदयमा भएका कठिनाइहरू उहाँसँग पोख्नुपर्छ। यदि तँ सत्यता बुझ्दैनस् भने परमेश्वरलाई खोज्; जब तैँले कुनै कुरा आफैँले सम्हाल्न सक्दैनस्, तब परमेश्वरको भर पर् अनि उहाँमाथि आश्रित बन्। जब तैँले परमेश्वरलाई यसरी प्रार्थना गर्छस्, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ र डोऱ्याउनुहुनेछ। “मैले परमेश्वरको लागि के गर्नुपर्छ? मैले के ठूला कुरा गर्नुपर्छ?”, जस्ता कुराहरू सोचेर अलमलमा नपर्। यी केवल खोक्रा शब्द हुन् र कत्ति पनि व्यावहारिक छैनन्। तैँले आफ्नो हृदय परमेश्वरलाई प्रेम गर्नमा लगाइस्, अनि तैँले निर्वाह गर्न सक्ने साना मामिला र कर्तव्यहरूमा उहाँलाई सन्तुष्ट पारिस् भने मात्र यो व्यावहारिक हुन्छ। तैँले परमेश्वरलाई कसरी र कुन हदसम्म प्रेम गर्नैपर्छ भनी मुखले नभने पनि तेरो हृदयमा परमेश्वर हुनुहुन्छ, र तेरो हृदय उहाँलाई सन्तुष्ट पार्न इच्छुक छ। तँलाई जेसुकै कठिनाइहरू भएपनि, तेरो हृदय परमेश्वरलाई सन्तुष्ट पार्न इच्छुक छ, र तैँले उहाँलाई सन्तुष्ट पार्न एकाध कुराहरू गर्न अनि एकाध कष्ट सहन सक्छस् भने, तँ उहाँलाई साँचो रूपमा प्रेम गर्छस्। यदि तँ केही सत्यता बुझ्छस् अनि सबै मामिलाहरू सम्हाल्दा सैद्धान्तिक छस् भने, तैँले परमेश्वरको प्रेम महसुस गर्न सक्नेछस्, उहाँले भन्ने सबैकुरा सत्यता, वास्तविकता हो र यसले मानिसलाई हरक्षण मद्दत गर्छ, मानिसहरू परमेश्वरका वचनहरूबाट टाढा जान सक्दैनन् र तिनीहरूको हृदय परमेश्वरविना रहनै सक्दैन, परमेश्वरविना जीवन छैन, र यदि तैँले साँच्चै परमेश्वरलाई छोडिस् भने तँ जिउनै सक्दैनथिस् जुन अति कष्टदायक हुने थियो भन्ने महसुस गर्न सक्नेछस्। “तँ आफ्नो हृदय प्रेम गर्न, अनुभव गर्न, र विचारमग्न हुन प्रयोग गर्।” यसभित्र धेरै कुरा आउँछन्। यो परमेश्वरले मानिसबाट माग गर्ने साँचो प्रेम हो; अर्को शब्दमा भन्नुपर्दा, तैँले आफ्नो हृदयले उहाँलाई प्रेम गर्नैपर्छ र उहाँबारे विचारमग्न हुनैपर्छ, अनि उहाँलाई सधैँ याद गर्नैपर्छ। यसको अर्थ यी शब्दहरू उच्चारण मात्र गर्नु होइन, न जानीबुझी अरूका अगाडि केही अभिव्यक्त गर्नु हो; यसको अर्थ त मूख्यत: हृदयले कामकुरा गर्नु, अनि आफ्नो हृदयमा कुनै अभिप्रेरणा, मिसावट वा शंका नराखी त्यसलाई आफ्नो जीवन र आफ्नो सम्पूर्ण कार्यहरू सञ्चालन गर्न दिनु हो; यस्तो खालको हृदय अरुभन्दा निकै शुद्ध हुन्छ। यदि तँ सत्यता बुझ्न सक्छस् भने परमेश्वरको आज्ञापालन गर्न सजिलो हुन्छ। परमेश्वरलाई सधैँ शंका गर्ने व्यक्तिले के सोच्छ? “के परमेश्वरले यसो गर्नु उचित छ त? परमेश्वरले किन यसो भन्नुहुन्छ? यदि परमेश्वरले यसो भन्नुको पछाडि कुनै कारण छैन भने, म यसको आज्ञापालन गर्नेछैन। यदि परमेश्वरले यसो गर्नु धर्मीछैन भने, म आज्ञापालन गर्नेछैन। अहिलेको लागि म यसलाई छोडिदिन्छु।” शङ्का बोकेर नराख्नु भनेको परमेश्वरले जे भन्नुहुन्छ र गर्नुहुन्छ त्यो सही छ, र परमेश्वरको लागि कुनै सही वा गलत भन्ने हुँदैन भनेर पहिचान गर्नु हो, र त्यो मानिसले परमेश्वरको आज्ञापालन गर्नैपर्छ, परमेश्वरप्रति ध्यान दिनैपर्छ, परमेश्वरलाई सन्तुष्ट पार्नैपर्छ, र उहाँका विचार र चासोहरूमा सहभागी हुनैपर्छ। परमेश्वरले गर्नुहुने सबै कुरा तेरो लागि अर्थपूर्ण देखिए पनि नदेखिए पनि, यो मानिसका धारणा र कल्पनाहरूसँग मिल्दो भए पनि नभए पनि, र यो मानिसका धर्मसिद्धान्तअनुरूप भए पनि नभए पनि, तँ सधैँ समर्पित हुनुपर्छ अनि यी कुराहरूलाई परमेश्वरको डर मान्ने र आज्ञापालन गर्ने हृदयले लिनुपर्छ। यस्तो अभ्यास सत्यता अनुरूप हुन्छ। यो प्रेमको प्रकटीकरण र अभ्यास हो। त्यसकारण, यदि तँ सत्यताको बुझाइ हासिल गर्न चाहन्छस् भने, तँलाई परमेश्वरका वचनहरूहरू कसरी खाने-पिउने भन्ने कुरा थाहा हुनुपर्छ। यदि तैँले परमेश्वरका वचनहरूहरू अत्यन्तै थोरै पढ्छस्, तिनलाई उत्सुकताको साथ पढ्दैनस्, र तैँले तिनको बारेमा हृदयदेखि मनन गर्दैनस् भने, तैँले सत्यता बुझ्न सक्नेछैनस्। तैँले थोरै धर्मसिद्धान्त मात्रै बुझ्न सक्नेछस्, त्यसकारण परमेश्वरका वचनहरूहरूमा उहाँको इच्छा र उद्देश्यलाई बुझ्न तँलाई अत्यन्तै कठिन हुनेछ। यदि तँ परमेश्वरका वचनहरूहरूले प्राप्त गर्न खोजेको उद्देश्य र परिणामहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले मानिसमा के हासिल गर्न र सिद्ध बनाउन खोजेको हो भनी बुझ्दैनस् भने, यसले तैँले सत्यतालाई बुझेको छैनस् भन्ने प्रमाणित गर्छ। परमेश्वरले जे भन्नुहुन्छ त्यो किन भन्नुहुन्छ? उहाँ किन त्यस्तो शैलीमा बोल्नुहुन्छ? उहाँ आफूले बोल्ने हरेक शब्दमा किन त्यत्ति गम्भीर र इमानदार हुनुहुन्छ? किन उहाँले निश्चित शब्दहरूको प्रयोग गर्ने निर्णय गर्नुहुन्छ? के तँलाई थाहा छ? यदि तँ निश्चित रूपमा भन्न सक्दैनस् भने, त्यसको अर्थ तैंले परमेश्वरको इच्छा वा उहाँको उद्देश्यलाई बुझेको छैनस्; यदि तैँले उहाँका वचनहरूपछाडिको प्रसङ्गलाई बुझ्दैनस् भने, कसरी सत्यता बुझ्न वा अभ्यास गर्न सक्छस्? सत्यता प्राप्त गर्नको लागि, तैँले सुरुमा परमेश्वरले बोल्नुहुने हरेक वचनमा उहाँले के भन्न खोज्नुभएको हो त्यो बुझ्नुपर्छ र ती वचनहरू बुझेपछि तिनलाई अभ्यासमा लागु गर्नुपर्छ, यसरी तँ परमेश्वरका वचनहरूहरूमा जिउनुपर्छ, र तिनलाई तेरो जीवन बनाउनुपर्छ। त्यसो गरेर तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। जब तँमा परमेश्वरको वचनको पूर्ण ज्ञान हुन्छ तब मात्र तैंले सत्यतालाई बुझ्न सक्छस्। केही शब्दहरू र धर्म-सिद्धान्तहरू मात्रै बुझेपछि, तैँले सत्यलाई बुझेको छस् र तँमा वास्तविकता छ भन्ने तँलाई लाग्छ। यो आफैलाई धोका दिनु हो। परमेश्वरले किन मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भन्नेसमेत तैँले बुझ्दैनस्। यसले के प्रमाणित गर्छ भने तैँले परमेश्वरको इच्छा बुझ्दैनस्, र तैँले अझै पनि सत्यता बुझेको छैनस्। वास्तवमा, परमेश्वरले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन यो मापदण्ड दिनुहुन्छ, ताकि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरूलाई त्याग्न सकून्, र तिनीहरू परमेश्वरको आज्ञापालन गर्ने र उहाँलाई चिन्ने मानिसहरू बनून्। परमेश्वरले मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाएर हासिल गर्न चाहनुभएको उद्देश्य यही हो।
सत्यलाई प्रेम गर्ने, सत्यको तिर्सना गर्ने, र सत्यको खोजी गर्ने मानिसहरूका निम्ति परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ। आफैलाई शब्दहरू र धर्मसिद्धान्तहरूसित सम्बन्धित तुल्याउने र लामो, आडम्बरी भाषणहरू दिन मन पराउनेहरूका विषयमा भन्दा, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्दैनन्; तिनीहरूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। सत्य र परमेश्वरका वचनहरूहरूप्रतिको तिनीहरूको दृष्टिकोण गलत हुन्छ; सीधा कुरा पढ्नलाई पनि तिनीहरू आफ्नो मुन्टो बटार्छन्—तिनीहरूको सबै दृष्टिकोण गलत हुन्छ। कतिपय मानिसहरूले परमेश्वरका वचनहरूहरू अध्ययन गर्न रुचाउँछन्। तिनीहरूले परमेश्वरका वचनहरूहरूले गन्तव्यको बारेमा वा कसरी आशिष्पाउने भन्नेबारेमा के बताउँछन् भनेर सधैँ अध्ययन गर्छन्। यस्ता वचनहरूप्रति तिनीहरूलाई सबभन्दा धेरै चासो हुन्छ। यदि परमेश्वरका वचनहरूहरू तिनीहरूका धारणाहरूअनुरूप छैनन् र तिनले आशिष्हरू पाउने तिनीहरूको इच्छा पूरा गर्दैनन् भने, तिनीहरू नकरात्मक बन्छन्, सत्यता खोजी गर्न छोड्छन्, र परमेश्वरको लागि समर्पित हुन चाहँदैनन्। यसले तिनीहरूले सत्यताप्रति कुनै चासो राख्दैनन् भन्ने देखाउँदछ। फलस्वरूप, तिनीहरूले सत्यताप्रति इमानदार हुँदैनन्; तिनीहरू आफ्नै धारणा र कल्पनासित मेल खाने सत्यता मात्र स्वीकार गर्न सक्छन्। यस्ता मानिसहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा उत्साही भए पनि र तिनीहरूले हरप्रकारले आफूले सक्दो केही असल कामहरू गर्ने र आफूलाई राम्रोसँग प्रस्तुत गर्ने प्रयास गरे पनि तिनीहरूले भविष्यमा राम्रो गन्तव्य पाउनका लागि मात्र त्यसो गरिरहेका हुन्छन्। तिनीहरू पनि मण्डली जीवनमा सामेल हुन्छन्, र परमेश्वरका वचनहरूहरू खाइरहेका र पिइरहेका हुन्छन्, तैपनि तिनीहरूले सत्यता अभ्यास वा हासिल गर्ने गर्दैनन्। कतियप मानिसहरू यस्ता हुन्छन्, जो परमेश्वरका वचनहरूहरू खान्छन् र पिउँछन्, तर तिनीहरू केवल झारा टार्ने काम मात्र गरिरहेका हुन्छन्; आफूले केही शब्दहरू र धर्मसिद्धान्तहरू बुझेर नै तिनीहरूले सत्य प्राप्त गरेका छौ भनी सोच्छन्। तिनीहरू कति मूर्ख छन्! परमेश्वरको वचन नै सत्यता हो। तापनि, परमेश्वरको वचन पढेपछि व्यक्तिले सत्यता बुझ्छ र प्राप्त गर्छ भन्ने हुँदैन। यदि परमेश्वरका वचनहरूहरू खाएर अनि पिएर तैँले सत्यता प्राप्त गर्न सेकिनस् भने, तैँले प्राप्त गर्ने कुरा भनेको शब्दहरू र धर्मसिद्धान्तहरू मात्र हुनेछ। यदि तँलाई सत्यता अभ्यास गर्न वा सिद्धान्तहरूअनुसार काम गर्न आउँदैन भने, तँ सत्यता वास्तविकताविहीन रहन्छस्। तैँले परमेश्वरका वचनहरूहरूलाई प्रायः पढिराख्न सक्छस्, तर पछि गएर तैँले परमेश्वरको इच्छा बुझ्न सक्दैनस्, र तैँले केही शब्द र धर्मसिद्धान्तहरू मात्र प्राप्त गर्छस्। सत्यता बुझ्नको लागि परमेश्वरका वचनहरूहरू कसरी खाने र पिउने? सबैभन्दा पहिले, परमेश्वरको वचन त्यति सीधा छैन भन्ने तैँले बुझ्नुपर्छ; परमेश्वरको वचन पूर्ण रूपमा गहन छ। परमेश्वरका वचनहरूहरूको एउटा वाक्यलाई अनुभव गर्न पनि जीवनभरको अवधि लाग्छ। धेरै वर्षको अनुभवविना, तैँले परमेश्वरको वचन बुझ्न कसरी सम्भव हुन्छ र? परमेश्वरका वचनहरूहरू पढ्ने क्रममा, यदि तैँले परमेश्वरको इच्छा बुझ्दैनस्, र तैँले उहाँका वचनहरूका अभिप्रायहरू, तिनको उत्पत्ति, तिनले हासिल गर्न खोजेका प्रभाव, वा तिनले के काम पूरा गर्न चाहन्छन् भन्ने पनि बुझ्दैनस् भने, के यसको अर्थ तैँले सत्यता बुझ्छस् भन्ने हुन्छ? तैँले परमेश्वरका वचनहरूहरू धेरै पटक पढेका हुन सक्छस्, र सायद तैँले धेरै वटा खण्ड कण्ठस्थ सुनाउन सक्छस् होला, तैपनि तँ सत्यता अभ्यास गर्न सक्दैनस्, तँ परिवर्तन भएका छैनस्, र परमेश्वरसँगको तेरो सम्बन्ध सधैँको जस्तै टाढिएको र बिरानो छ। तेरा धारणाहरूसँग नमिल्ने कुरा सामना गर्दा, तँ उहाँप्रति शङ्कालु हुन्छस्, र तैँले उहाँलाई बुझ्दैनस्, तर उहाँसँग तर्क गर्छस् र उहाँको बारेमा धारणाहरू पाल्छस् र उहाँलाई गलत बुझेर उहाँको विरोध र निन्दा गर्छस्। यो कस्तो प्रकारको स्वभाव हो? यो स्वभाव अहङ्कार, र सत्यताप्रति दिक्क मान्ने स्वभाव हो। यति अहङ्कारी र सत्यताप्रति यति दिक्क मान्ने मानिसहरूले कसरी सत्यता स्वीकार वा अभ्यास गर्न सक्छन्? अवश्य नै त्यस्ता मानिसहरूले सत्यता वा परमेश्वरलाई कहिल्यै प्राप्त गर्न सक्नेछैनन्। सबैजनासँग “वचन देहमा देखा पर्नुहुन्छ” किताब भए पनि, र तिनीहरूले परमेश्वरका वचनहरू हरेक दिन पढे पनि, र सत्यताको सङ्गति सुन्दा नोटहरू टिपे पनि, यसले सबैमा फरकफरक असर पार्छ। कोही आफूलाई ज्ञान र धर्मसिद्धान्तले सुसज्जित बनाउनमा ध्यान केन्द्रित गर्छन्; कोही सधैँ मानिसले कुन असल व्यवहार देखाउनुपर्छ भन्ने खोज्छ्न् र त्यसबारे चासो राख्छन्; कोही रहस्यहरू खुलासा गर्ने गहन शब्दहरू पढ्न इच्छुक हुन्छन्; कोही सबैभन्दा बढी भविष्यको गन्तव्यबारेका वचनबारे चासो राख्छन्; कोही राज्यको युगका प्रशासनिक आदेशहरू पढ्न अनि परमेश्वरको स्वभावको अध्ययन गर्न मन पराउँछन्; कोही परमेश्वरले मानिसलाई दिने सान्त्वना र उपदेशका वचन पढ्न इच्छुक हुन्छन्; कोही भविष्यवाणीहरू, परमेश्वरको वाचा र आशीर्वादका वचन पढ्न इच्छुक हुन्छन्; कोही पवित्र आत्माले सबै मण्डलीलाई भन्नुहुने वचन पढ्न अनि “उहाँका पुत्र” बन्न इच्छुक हुन्छन्। के तिनीहरूले यसरी परमेश्वरका वचनहरू पढेर सत्यता पाउन सक्छन्? के तिनीहरू सत्यता पछ्याउने मानिस हुन्? के तिनीहरूले यसरी परमेश्वरमा विश्वास गरेर मुक्ति पाउन सक्छन्? तिमीहरूले यी कुरा प्रष्ट देख्नैपर्छ। केही नयाँ विश्वासीहरू भन्छन्, “परमेश्वरले मानिसलाई दिने सान्त्वनाका वचन अद्भुत छन्; उहाँ भन्नुहुन्छ, ‘मेरो पुत्र, मेरो पुत्र।’ यस संसारमा कसले तँलाई यसरी सान्त्वना देला र?” तिनीहरू आफू परमेश्वरका पुत्र हुन् भनी सोच्छन्, र परमेश्वरले यी वचन कसलाई भनिरहनुभएको छ भनी बुझ्दैनन्। परमेश्वरमा विश्वास गरेको केही वर्ष भइसक्दा पनि यो अझै नबुझ्नेहरू पनि छन्; तिनीहरू यस्तो कुरा लाज नै नमानी भन्छन् अनि तिनीहरू यसबारे न धक मान्छन्, न सरम मान्छन्। के तिनीहरू सत्यता बुझ्छन्? तिनीहरू परमेश्वरको इच्छा बुझ्दैनन्, तैपनि उहाँको “पुत्र”को अहोदामा आफूलाई राख्ने दुस्साहस गर्छन्! तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा के बुझ्छन्? तिनीहरूले ती वचनको पूरै गलत अर्थ लगाएका छन्! सत्यतालाई प्रेम नगर्ने मानिसहरूले परमेश्वरका वचनहरू पढ्दा बुझ्नेछैनन्। जब तँ तिनीहरूसँग सत्यतामा सङ्गति गर्छस्, तिनीहरू त्यसलाई स्विकार्न महत्त्वपूर्ण ठान्दैनन्। यसको तुलनामा, सत्यतालाई प्रेम गर्नेहरू परमेश्वरका वचनहरू पढेपछि उत्प्रेरित हुन्छन्। तिनीहरू परमेश्वरका वचनहरूमा अख्तियार र शक्ति महसुस गर्छन्। तिनीहरू साँचो मार्ग जाँच्न अनि सत्यता स्विकार्न सक्छन्। यस्ता खालका मानिसहरूमा परमेश्वरतिर फर्कने र सत्यता पाउने आशा हुन्छ। परमेश्वरका वचनहरू अध्ययन गर्न मन पराउनेहरू सधैँ परमेश्वरले आफ्नो रूप बदल्नुहुने तरिकाबारे, उहाँले यस संसार कहिले छोड्नुहुन्छ भनेर, अनि परमेश्वरको दिनकाबारे चासो राख्छन्। तिनीहरूलाई आफ्नो जीवनको चासो हुँदैन। मानिसहरू परमेश्वरको व्यक्तिगत मामिलाहरूबारे चासो राखिरहेका छन्। यदि तँ सधैँ यस्ता प्रश्नहरू गर्छस् भने, तैँले परमेश्वरको प्रशासनिक आदेशहरू र उहाँको व्यवस्थापन योजनामा बाधा पुऱ्याइरहेको छस्। त्यसो गर्नु मूर्खतापूर्ण हुन्छ र यसले परमेश्वरको स्वभावलाई चिढ्याउँछ। यदि तँलाई सोध्ने र बुझ्ने विशेष दिलचस्पी छ अनि आफूलाई रोक्न सक्दैनस् भने, परमेश्वरलाई प्रार्थना गर् अनि भन्, “परमेश्वर, यी मामिलाहरू तपाईँको व्यवस्थापन योजनासँग सम्बन्धित छन् र ती तपाईँको व्यक्तिगत मामिलाहरू हुन्। म मेरो पहुँचभन्दा पर भएका वा मैले जान्न नपर्ने मामिलाहरूमा ताकझाँक गर्नेछैन। कृपया मलाई मूर्खतापूर्ण कुराहरू गर्नबाट रोक्नुहोस्।” मानिसले परमेश्वरका मामिलाहरू कसरी बुझ्न सक्छ? यदि परमेश्वरले आफ्नो काम र व्यवस्थापन योजनासँग सम्बन्धित निश्चित मामिलाहरूबारे बताउनु वा घोषणा गर्नुभएको छैन भने, यसबाट उहाँ ती कुरा मानिसलाई देखाउन चाहनुहुन्न भन्ने पुष्टि हुन्छ। परमेश्वरले मानिसले जानून् भनेर चाहने सबैकुरा उहाँका वचनमा छ, अनि तैँले बुझ्नुपर्ने सबै सत्यता उहाँका वचनमा छ। तैँले बुझ्नुपर्ने कति धेरै सत्यता छन्। तैँले परमेश्वरका वचनहरूमा मात्र हेरे पुग्छ; यदि केही कुरा त्यहाँ भेटिन्न भने, त्यसको उत्तरका लागि जोड नदे। यदि परमेश्वरले तँलाई बताउनुभएको छैन भने, सोधिरहनु वा अनुसन्धान गरिरहनु व्यर्थ हो। तैँले जान्नुपर्ने सबैकुरा उहाँले तँलाई बताउनुभएको छ, र तैँले जान्नु नपर्ने कुराहरू तँलाई बताउनु वा खुलासा गर्नुहुनेछैन। वर्तमान समयमा, अधिकांश विश्वासीहरूले अहिलेसम्म सही मार्गमा प्रवेश गरेका छैनन्; तिनीहरू परमेश्वरका वचनहरू पढ्दा ती वचनमा कसरी चिन्तन गर्ने भनी समेत जान्दैनन्, तिनको अभ्यास वा अनुभव गर्नु त परै जाओस्। केही यस्ता छन् जो आफ्नो कर्तव्य पूरा गर्दैनन्, वा उचित कार्यमा संलग्न हुँदैनन्। यस्ता विश्वासीहरूलाई सत्यता बुझ्न झन् कठिन हुन्छ। सत्यता बुझ्न लामो समयको अनुभव चाहिन्छ। यदि तँ होसियारीपूर्वक परमेश्वरका वचनहरू पढ्दैनस् वा उहाँका वचनको अभ्यास वा अनुभव गर्दैनस् भने कसरी सत्यता बुझ्नेछस् वा वास्तविकतामा प्रवेश गर्नेछ्स्? यदि तँ परमेश्वरको काममा समर्पित भइनस् भने कसरी विश्वासको सही मार्गमा प्रवेश गर्नेछस्? अनि यदि तँ विश्वासको सही मार्गमा प्रवेश गरिनस् भने तैँले कसरी मुक्ति पाउनेछस्? साँचो विश्वासीहरू यी मामिलामा स्पष्ट हुनैपर्छ।
अंश ६७
सत्यता वास्तविकता के हो? यो केसँग सम्बन्धित छ? यो सत्यताको अभ्याससँग सम्बन्धित छ। जब मानिसहरूले सत्यता बुझ्छन् अनि त्यसलाई अभ्यासमा लागु गर्न सक्छन्, सत्यता तिनीहरूको वास्तविकता अनि जीवन बन्नेछ। जब मानिसहरू सत्यताअनुसार जिउँछन्, तिनीहरूसँग सत्यता वास्तविकता हुन्छ। यदि मानिसहरू शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन् तर सत्यतालाई अभ्यासमा लागु गर्न सक्दैनन् भने तिनीहरूसँग सत्यता वास्तविकता हुँदैन। तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्दा सत्यता बुझेजस्तो देखिन सक्छ, तर तिनीहरू त्यो अभ्यास गर्नै सक्दैनन्, जसले तिनीहरूसँग सत्यता वास्तविकता नभएको पुष्टि गर्छ। त्यसोभए, मानिसहरू सत्यता वास्तविकतामा कसरी प्रवेश गर्नुपर्छ? तिनीहरूले परमेश्वरका वचनहरू आफ्नो वास्तविक जीवनमा लागु गर्नैपर्छ, अनि तिनीहरूले परमेश्वरका वचनहरू अनुभव र अभ्यास गर्ने प्रक्रियाबाट सत्यताको ज्ञान—अवधाराणात्मक नभई साँचो अनुभव र वास्तविक ज्ञान—प्राप्त गर्नेछन् अनि सिद्धान्तहरूअनुसार कार्य गर्न सक्नेछन्। यसको अर्थ तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गरेका छन्। त्यसोभए, तिमीहरूले कुन-कुन सत्यता अनुभव गरेका र तिनको वास्तविक ज्ञान पाएका छौ? के तिमीहरूलाई सत्यता आफ्नो जीवन बनेको अनुभूति भएको छ? परमेश्वरका वचनहरूको एक खण्ड लिँदा, तिनले सत्यताको जुनसुकै पक्षलाई सम्बोधन गरेपनि, तिमीहरूले आफूलाई तीसँग दाँज्न सक्छौ अनि ती तिमीहरूको अवस्थासँग ठ्याक्कै मिल्छ, अनि तिमीहरू एकदमै उत्प्रेरित महसुस गर्छौ, तिमीहरूलाई परमेश्वरका वचनहरूले आफ्नो हृदयको गहिराइमा छोएजस्तै लाग्छ, तिमीहरूलाई उहाँका वचनहरू पूर्णत: सही लाग्छ, अनि तिनलाई पूर्ण रूपमा स्विकार्छौ, र तिमीहरूले आफ्नै अवस्थाबारे ज्ञान पाउने मात्र नभई उहाँको इच्छाअनुरूप कसरी अभ्यास गर्ने भनी पनि जान्दछौ। परमेश्वरका वचनहरू यसरी खाएर-पिएर तिमीहरूले लाभहरू पाउँछौ, तिमीहरूले अन्तर्दृष्टि र ज्योति पाउँछौ, तिमीहरूले भरणपोषण पाउँछौ, अनि तिमीहरूको अवस्थामा कायापलट हुन्छ। तिमीहरू परमेश्वरका वचनहरू महान् छ्न् भनी सोच्छौ, एकदम खुसी र सन्तुष्ट हुन्छौ, परमेश्वरका वचनहरूको ज्ञान पाएको, परमेश्वरका वचनहरूको यो खण्डको अर्थ बुझेको, अनि तिमीहरूले ती अनुभव गर्न र अभ्यासमा लागु गर्न जानेको महसुस गर्छौ। के तिमीहरूलाई प्राय: यस्तो महसुस हुन्छ? (हुन्छ।) त्यसोभए, यस्तो अनुभूति भएपछि, के तिमीहरूले परमेश्वरका वचनहरूको यस खण्डबाट सत्यता प्राप्त गरेको महसुस गऱ्यौ? (अहँ, गरेनौँ।) तिमीहरूले सो महसुस नगरेका हुनाले, यसको अर्थ यो अनुभूति अवधाराणात्मक प्रतिक्रिया, हृदयको क्षणिक उत्तेजना मात्र थियो। केही इनाम अनि थोरै प्रवेश पाउँदैमा सत्यता बुझेको वा सत्यता वास्तविकतामा प्रवेश गरेको हुँदैन। यो केवल प्रारम्भिक अनुभव, सत्यताको शाब्दिक अर्थको बुझाइ मात्र हो। सत्यता बुझ्नेदेखि सत्यता वास्तविकतामा प्रवेश गर्ने अवस्थासम्म पुग्नु एक जटिल प्रक्रिया हो, जसलाई एकदम धेरै समय लाग्छ। धर्मसिद्धान्तका शब्द र वाक्यांशहरू बुझ्नेदेखि साँच्चै सत्यता बुझ्ने अवस्थासम्म पुग्ने क्रममा, नतिजा हासिल गर्न एक, दुई वा अझ त्योभन्दा बढी अनुभवहरू चाहिन्छ। तिमीहरूले एउटा सिङ्गो अनुभवबाट अलिकति इनाम पाउन सक्छौ, तर साँचो इनाम पाउन अनि सत्यता बुझ्ने नतिजा हासिल गर्न धेरै अनुभवहरू चाहिन्छ। यो कुनै समस्याबारे चिन्तन गरेजस्तै हो; एक पटक चिन्तन गर्दा त्यसले ज्योतिको एक किरण लिएर आउँछ, तर धेरै पटक चिन्तन गर्दा अझ ठूला इनामहरू पाउन सकिन्छ, त्यसपछि तिमीहरूले यस मामिलालाई स्पष्टसँग देख्न सक्नेछौ। यदि तिमीहरूले त्यही समस्यबारे चिन्तन गरेर केही वर्ष बितायौ भने त्यसलाई पूर्ण रूपमा बुझ्नेछौ। त्यसैले, तिमीहरू परमेश्वरका वचनहरूको ज्ञान पाउन र सत्यता बुझ्न चाहन्छौ भने, यो विविध अनुभवहरू पाउनुजस्तो सरलचाहिँ हुँदैन। के तिमीहरू आफै पनि यस्ता खालका अनुभवहरूबाट गुज्रेका छौ? सायद सबैजना दुई-चार पटक यस्ता अनुभवहरूबाट गुज्रेका छौ होला। मानिसहरूले परमेश्वरका वचनहरू अनुभव गर्न सुरु गर्दा ज्योतिको एक किरण देखिन्छ, तर तिनीहरूको ज्ञान अझै पनि सतही हुन्छ। यो धर्मसिद्धान्त बुझेजस्तै हो, तर के मात्र हो भने तिनीहरूको ज्ञान अलि बढी व्यावहारिक लाग्छ, अनि यसबारे एक दुई वाक्यमै स्पष्टसँग बताउन सकिन्न। तिनीहरूको सङ्गतिले अरूलाई तिनीहरूको ज्ञान शब्द र धर्मसिद्धान्तहरूभन्दा अलि बढी व्यावहारिक छ भन्ने महसुस गराउँछ। यदि तिनीहरूका अनुभवहरू गहन हुँदै गए अनि तिनीहरूले केही वृत्तान्तबारे बताउन सके भने तिनीहरूको ज्ञान अझै बढी व्यावहारिक लाग्नेछ। यदि त्यसपछि पनि मानिसहरूले केही समयसम्म अनुभवहरू गरिरहे अनि परमेश्वरका वचनहरूको साँचो ज्ञानका साथ बोल्न सके भने तिनीहरूको ज्ञान अवधारणात्मकबाट तर्कसङ्गतमा उक्लिनेछ। यो सत्यताको साँचो बुझाइ हो। मानिसहरूले परमेश्वरका वचनहरू अझै बढी अनुभव गरेर तिनलाई अभ्यासमा लागु गरेपछि सत्यताका सिद्धान्त बुझ्न अनि सत्यता कसरी अभ्यास गर्ने भनी जान्न सक्नेछन्। सत्यता वास्तविकतामा प्रवेश गर्नु भनेको यही हो। यसबेला, तिनीहरूले अनुभवात्मक गवाही दिँदा सुनिरहेकाहरूलाई त्यो व्यावहारिक लाग्नेछ अनि तिनीहरूले त्यसको असाध्यै प्रशंसा गर्नेछन्। जब कोही यस स्तरमा पुग्छ, परमेश्वरका वचनहरू उसको जीवन वास्तविकता बन्नेछ, अनि यस्तो खालको मानिसले मात्र सत्यता प्राप्त गरेको भन्न सकिन्छ। यो परमेश्वरका वचनहरू अनुभव गर्ने अनि सत्यता प्राप्त गर्ने सरलीकृत प्रक्रिया हो, जुन कमसेकम केही वर्ष वा १० वर्षभन्दा पनि बढी समयको प्रयासविना हासिल गर्न सकिँदैन। जब कुनै व्यक्तिले परमेश्वरका वचनहरू अनुभव र अभ्यास गर्न थाल्छ, उसले यो निकै सरल हुनेछ भन्ने कल्पना गर्छ, तर जब उसलाई केही आइपर्छ, उसलाई त्यसको सामना कसरी गर्ने वा त्यसलाई कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन, अनि हरप्रकारका कठिनाइहरू उत्पन्न हुन थाल्छन्। उसका धारणा र कल्पनाहरूले बाधाहरू पैदा गर्नेछ, उसको भ्रष्ट स्वभावले अवरोधहरू सृजना गर्नेछ, र उसले ठक्कर खाँदा र असफलाहरूको सामना गर्दा अनुभव कसरी गर्ने भन्ने नै बिर्सनेछ। भ्रष्ट स्वभाव भएका मानिसहरू विशेष गरी कमजोर हुन्छन् अनि सजिलै नकारात्मक बन्छन्, अनि जब तिनीहरूलाई आक्रमण गरिन्छ र तिनीहरूको निन्दा र आलोचना हुन्छ, तब तिनीहरू सजिलै लड्छन् अनि उठ्नै सक्दैनन्। यदि कसैले सत्यता खोजेर यी समस्याहरू समाधान गर्न सक्यो, दृढ रहनका निम्ति परमेश्वरमा भर पर्न सक्यो भने उसले सत्यता पछ्याउने मार्गको यात्रा सुरू गर्न सक्छ। यदि ऊ सत्यतामा रुचि राख्दैन अनि सत्यतालाई अनुभव र प्राप्त गर्नुपर्ने बहुमूल्य कुरा जसरी लिँदैन भने उसको सत्यताको अभ्यासमा शक्ति हुँदैन, अनि ऊ कठिनाइ आइपर्नेबित्तिकै लड्छ अनि त्यहीँ अड्किन्छ। यस्तो खालको व्यक्ति कायर हो, अनि उसलाई सत्यता पाउन सजिलो हुँदैन। परमेश्वरको वचन सत्यता हो, उहाँले मानिसलाई प्रदान गर्नुभएको नयाँ जीवन हो, अनि सत्यता स्विकार्नुको उद्देश्य के हो त? यसको उद्देश्य सत्यता र जीवन पाउनु, अनि सत्यतालाई आफ्नै जीवन मानी अनुभव गर्नु हो। सत्यता व्यक्तिको जीवन बन्नुअघि, सत्यता स्विकार्नुको उद्देश्य मुख्यत: भ्रष्ट स्वभावहरू हटाउनु हो। यसले के-कस्ता भ्रष्ट स्वभावहरू हटाउन सक्छ? यसले मुख्यत: विद्रोहीपन, धारणा र कल्पनाहरू, अहङ्कार, दम्भ, स्वार्थीपन, तुच्छता, कुटिलता, छलीपन, अनि लापरवाह, झाराटारूवा, र गैरजिम्मेवार हुने, विवेक र समझ नहुनेजस्ता स्वभाव हटाउँछ। अनि यसको अन्तिम नतिजा के हो त? यसको नतिजा भनेको व्यक्ति परमेश्वरप्रति समर्पित हुने, उहाँलाई महान् भनेर प्रशंसा गर्ने, उहाँको आराधना गर्ने, उहाँप्रति निष्ठावान् हुने र उहाँलाई साँचो प्रेम गर्ने अनि मृत्युसम्म उहाँप्रति समर्पित हुने इमानदार व्यक्ति बन्न सक्छ। यस्तो खालको व्यक्तिले पूर्ण रूपमा वास्तविक मानवको जीवन जिइरहेको छ, ऊ सत्यता र मानवता भएको व्यक्ति बनेको छ। कसैले सत्यता पछ्याउँदा पुग्न सकिने सबैभन्दा उच्च ठाउँ यही हो।
त्यसोभए, मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव हटाउन परमेश्वरका वचनहरू कसरी खान, पिउन र अनुभव गर्न सक्छन्? यो सरल मामिला होइन। भ्रष्ट स्वभावको समस्या साँच्चै अस्तित्वमा छ, अनि यो मानिसहरूको वास्तविक जीवनमा स्वत: प्रकट हुन्छ। मानिसहरूलाई जेसुकै आइपरे पनि, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको भ्रष्ट स्वभाव सधैँ प्रकट हुनेछन्। उदाहरणका लागि, मानिसहरूले जेसुकै भने वा गरे पनि, प्राय तिनीहरूका निश्चित अभिप्राय र लक्ष्यहरू हुन्छन्। खुट्याउने आँखा भएकाहरूले मानिसहरूले बोल्ने र कार्य गर्ने तरिका साँचो हो कि झुटो हो भनी पहिचान गर्न सक्छन्, त्यसका साथै तिनीहरूका शब्द र कार्यहरूमा लुकेका कुरा र तीभित्र रहेका जालहरू पनि पहिचान गर्न सक्छन्। त्यसोभए के यी कुरा स्वत: प्रकट हुन्छन् त? के मानिसहरूले तिनलाई लुकाएर राख्न सक्छन्? मानिसहरूले केही नभने वा नगरे पनि, तिनीहरूलाई केही आइपर्दा तिनीहरूले प्रतिक्रिया चाहिँ दिन्छन्। यी कुराहरू सुरुमा तिनीहरूको हाउभाउबाट, अनि त्यसपछि तिनीहरूका शब्द र कार्यहरूबाट अझ बढी प्रकट हुन्छन्। खुट्याउने आँखा भएकाहरूले सधैँ याद गर्नेछन्; मूर्ख र उल्लूहरूले मात्र यो पहिचान गर्न सक्दैनन्। मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्नु भनेको सामान्य कुरा हो, र यो सबैलाई पर्ने वास्तविक समस्या हो भनेर भन्न सकिन्छ। परमेश्वरले आखिरी दिनहरूमा यति धेरै सत्यता भन्नुको उद्देश्य के हो त? उहाँ मानिसहरूको भ्रष्ट स्वभाव र तिनीहरूको पापको मूल जडलाई हटाउन, तिनीहरूलाई शैतानको भ्रष्टताबाट मुक्ति दिन, तिनीहरूलाई मुक्ति प्राप्त गर्न अनि शैतानको प्रभावबाट अलग्गिन सहयोग गर्न, अनि विशेष गरी तिनीहरूलाई जीवन, सत्यता र मार्ग प्रदान गर्न यी सत्यताहरू बोल्नुहुन्छ। यदि मानिसहरू परमेश्वरमा विश्वास गर्छन् तर सत्यता स्विकार्दैनन् भने तिनीहरूको भ्रष्ट स्वभाव निर्मूल पार्न सकिँदैन, र तसर्थ तिनीहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। त्यसैले, परमेश्वरमा साँच्चै विश्वास गर्नेहरूले उहाँका वचनहरू अभ्यास र अनुभव गर्न मिहिनेत गर्नेछन्, आफ्नो भ्रष्ट स्वभाव प्रकट हुँदा आत्म-चिन्तन र आफूलाई जान्ने कोसिस गर्नेछन्, अनि यस भ्रष्ट स्वभाव हटाउन परमेश्वरका वचनहरूको सत्यता खोज्नेछन्। सत्यतालाई प्रेम गर्नेहरू परमेश्वरका वचनहरू पढ्दा आत्म-चिन्तन अनि आफूलाई जान्ने प्रयास गर्नमा ध्यान दिन्छन्, अनि तिनीहरूलाई उहाँका वचनहरू तिनीहरूको भ्रष्टता र कुरूपता खुलासा गर्ने ऐनाजस्तै लाग्छ। यसरी, तिनीहरू परमेश्वरका वचनहरूमार्फत् उहाँको न्याय र सजाय स्विकार्न थाल्छन्, अनि बिस्तारै आफ्नो भ्रष्ट स्वभाव हटाउँछन्। जब तिनीहरू आफ्नो भ्रष्ट स्वभाव कम प्रकट भएको देख्छन्, जब तिनीहरू परमेश्वरमा साँच्चै समर्पित हुन्छन्, तिनीहरूलाई सत्यता अभ्यास गर्न धेरै सहज भएको र कुनै कठिनाइहरू बाँकी नभएको महसुस हुनेछ। यसबेला, तिनीहरूले आफूमा साँचो परिवर्तन देख्नेछन्, अनि तिनीहरूको हृदयमा परमेश्वरका लागि साँचो प्रशंसा विकासित हुनेछ: "सर्वशक्तिमान् परमेश्वरले मलाई मेरो भ्रष्ट स्वभावको बन्धन र बाधा अनि शैतानको प्रभावबाट मुक्ति दिनुभएको छ।" परमेश्वरका वचनहरूको न्याय र सजायको अनुभवबाट प्राप्त हुने नतिजा यही हो। यदि मानिसहरू परमेश्वरका वचनहरूमा न्याय र सजाय अनुभव गर्न सक्दैनन् भने तिनीहरूको भ्रष्ट स्वभाव निर्मूल पार्न वा तिनीहरूलाई शैतानको प्रभावबाट अल्ग्याउन सकिँदैन। सत्यतालाई प्रेम नगर्ने मानिसहरू धेरै छन्, र तिनीहरूले परमेश्वरका वचनहरू पढे पनि वा प्रवचनहरू सुने पनि, पछि तिनीहरू शब्द र धर्मसिद्धान्त मात्र बोल्छन्, र फलस्वरूप तिनीहरूले वर्षौँ परमेश्वरमा विश्वास गरे पनि आफ्नो कुनै पनि भ्रष्ट स्वभाव हटाउँदैनन्। यी मानिसहरू पहिले पनि शैतान र दियाबलस थिए र अझै पनि त्यही नै छन्। तिनीहरूले परमेश्वरका वचनहरू फैलाउञ्जेल, उहाँका केही वचनहरू पढेर सुनाउञ्जेल अनि अरूसँग उहाँका वचनहरूबारे सङ्गति गरूञ्जेल, धेरै शब्द र धर्मसिद्धान्तहरू बोल्न सकुञ्जेल, अनि धर्मसिद्धान्त बुझ्न र आत्म-संयम सिक्न सकुञ्जेल आफ्ना भ्रष्ट स्वभावलाई हटाउन सकिनेछ भनी सोचे। फलस्वरूप, धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि पनि तिनीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आउँदैन, तिनीहरू अनुभवात्मक गवाहीबारे बताउन सक्दैनन् अनि त्यसैले आश्चर्यचकित हुन्छन्। परमेश्वरमा विश्वास गरेको यतिका धेरै वर्ष तिनीहरूले व्यर्थमा जिएका र समय बर्बाद गरेका हुनाले तिनीहरूका हात रित्तो छन् अनि तिनीहरूले कुनै सत्यता पाएका छैनन्। अहिले परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न प्रयास गर्नुको साटो केवल काम गर्न अनि प्रवचन दिनमा मात्र ध्यान दिने यस्ता धेरै झुटा अगुवा र सेवकहरू छन्। अनि के तिनीहरू सत्यता पछ्याउने मार्गमा छन् त? बिल्कुलै छैनन्।
परमेश्वरमा विश्वास गर्नेहरूका लागि सबैभन्दा महत्त्वपूर्ण वास्तविकता के हो? सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गर्नुको सबैभन्दा महत्त्वपूर्ण भाग के हो? के यसको सबैभन्दा महत्त्वपूर्ण भाग व्यक्तिले सुरूमा सिद्धान्तहरू बुझेको हुनैपर्ने होइन र? त्यसोभए सिद्धान्तहरू के-के हुन् त? ती सत्यताका व्यावहारिक पाटा हुन्, नतिजाको प्रत्याभूति गर्ने मानक हुन्। सिद्धान्तहरू यतिका सरल छन्। शाब्दिक अर्थमा हेर्दा, तँ परमेश्वरका वचनहरूका हरेक वाक्य सत्यता हुन् भनी सोच्छस् तर तँलाई सत्यता कसरी अभ्यास गर्ने भनी थाहा छैन; किनकी तँ सत्यताका सिद्धान्तहरू बुझ्दैनस्। तँ परमेश्वरका वचनहरू पूर्ण रूपमा सही छन्, ती सत्यता हुन् भन्ने सोच्छस् तर तँलाई सत्यताको व्यावहारिक पाटो के हो, वा यो कुन-कुन अवस्थाहरूप्रति लक्षित छ, यहाँ भएका सिद्धान्त के हुन्, अनि अभ्यास गर्ने मार्ग के हो भन्ने थाहा छैन—तँ यो बोध गर्न वा बुझ्न सक्दैनस्। यसले तँ सत्यता होइन धर्मसिद्धान्त मात्र बुझ्छस् भन्ने पुष्टि गर्छ। यदि तँलाई साँच्चै धर्मसिद्धान्त मात्र बुझ्छु भन्ने आभास भयो भने तैँले के गर्नुपर्छ? तैँले सत्यता खोज्नैपर्छ। सर्वप्रथम, सत्यताको व्यावहारिक पाटोसँग राम्रोसँग परिचित बन्, वास्तविकताका कुन-कुन पक्षहरू सबैभन्दा पृथक् देखिन्छन् अनि यो वास्तविकतामा प्रवेश गर्न कसरी अभ्यास गर्नुपर्छ भनी हेर्। यसरी खोजेर र जाँचबुझ गरेर तैँले मार्ग भेट्नेछस्। अनि जब तैँले सिद्धान्तहरू मजाले बुझ्छस् र यस वास्तविकता जिइरहेको हुन्छस्, तैँले सत्यता पाएको हुनेछस्, जुन सत्यता पछ्याएर हासिल हुने उपलब्धी हो। यदि तँ धेरै सत्यताका सिद्धान्तहरू बुझ्न अनि तीमध्ये केहीलाई अभ्यासमा लागु गर्न सक्छस् भने तँसँग सत्यता वास्तविकता हुन्छ अनि तैँले जीवन प्राप्त गरेको हुन्छस्। तैँले सत्यताको जुनसुकै पक्ष खोजे पनि, तैँले परमेश्वरका वचनहरूमा सत्यताको वास्तविकता कहाँ छ अनि उहाँका मागहरू के हुन् भन्ने बुझेपछि, तँले साँच्चै बुझेपछि, अनि मूल्य चुकाउन र त्यो अभ्यास गर्न सक्ने भएपछि, तैँले सत्यता पाएको हुन्छस्। तैँले यो सत्यता पाउने क्रममा, तेरो भ्रष्ट स्वभाव अलिअलि गर्दै हट्नेछ, अनि यो सत्यता तँभित्र बिस्तारै छिर्नेछ। यदि तँ सत्यताको वास्तविकतालाई अभ्यासमा लागु गर्न, अनि यस सत्यताको अभ्यासको सिद्धान्तअनुसार आफ्नो कर्तव्य र हरेक कार्य निर्वाह गर्न र आफूलाई प्रस्तुत गर्न सक्छस् भने के यसको अर्थ तँ बदलिएको छैनस् र? तँ कस्तो खालको व्यक्ति बनेको छस्? तँ सत्यता वास्तविकता भएको व्यक्ति बनेको छस्। के सत्यता वास्तविकता भएको व्यक्तिका कार्यहरू सिद्धान्तनिष्ठ हुन्छन्? के सिद्धान्तनिष्ठ कार्य गर्ने कुनै व्यक्तिले सत्यता पाएको छ? के सत्यता पाएको व्यक्ति सामान्य मानवत्व जिइरहेको हुन्छ? के सामान्य मानवत्व जिइरहेको व्यक्तिमा सत्यता र मानवता हुन्छ? सत्यता र मानवता भएका मानिसहरू परमेश्वरको इच्छाअनुरूप हुन्छन्, र परमेश्वरको इच्छाअनुरूप भएका मानिसहरूलाई उहाँ पाउन चाहनुहुन्छ। यो परमेश्वरमा विश्वास गर्नु र उहाँद्वारा लिइनुको अनुभव हो, र यो उहाँका वचनहरू खाने र पिउनेदेखि सुरू हुने सत्यता पाउने प्रक्रिया हो, साथसाथै मुक्ति पाउने प्रक्रिया पनि हो। यो सत्यता पछ्याउने, अनि परमेश्वरद्वारा सिद्ध पारिने मार्ग हो।
अंश ६८
के तिमीहरू अब सत्यता प्राप्त गर्नु र सत्यता वास्तविकतामा प्रवेश गर्नु केमा निर्भर हुन्छ भन्ने कुरा बुझ्छौ त? ती कुरा सत्यताको खोजी र सत्यताको अभ्यासमा निर्भर हुन्छन्—मात्रै ती दुई चीजहरूमा, यो त्यति सरल कुरा हो। परमेश्वरद्वारा व्यक्त सत्यता लिखित रूपमा अभिलेख गरिएको भए पनि, सत्यता वास्तविकता लेखनमा हुँदैन, जुन लिखित शब्दहरूको तुलनामा मानिसले धेरै कम बुझ्न वा बोध गर्न सक्छ। त्यसोभए, सत्यता बुझ्न के गर्नुपर्छ त? सत्यता बुझाइ र प्राप्ति मुख्यतया परमेश्वरका वचनहरू अभ्यास र अनुभव गरेर, उहाँको काम अनुभव गरेर, र सत्यता र पवित्र आत्माको अन्तर्दृष्टि खोजेर गरिन्छ। मानिसहरूले सत्यता अभ्यास गरेर र भोगेर सत्यता वास्तविकता प्राप्त गर्छन्; यो अनुभवबाट आउने कुरा हो, मानिसले जिउने कुरा हो। सत्यता कुनै खोक्रो सिद्धान्त होइन, न त सरल, मधुर वाक्यांश नै हो। यो जीवनशक्तिले भरिएको भाषा हो, यो जीवनको शाश्वत नियम हो; यो मानिसलाई जीवनभरका लागि साथ दिन सक्ने सबैभन्दा व्यावहारिक र बहुमूल्य चीज हो। सत्यता के हो? सत्यता मानिसको जीवनमा अस्तित्वको आधार हो, आफ्नो आचरण र कामकुराहरू सम्हाल्ने अभ्यासको सिद्धान्त हो। सत्यताले मानिसको जीवन दिशा र उद्देश्य दिन्छ; यसले मानिसलाई साँचो व्यक्तिका रूपमा जिउन र परमेश्वरको आज्ञापालन र आराधना गर्दै उहाँसामु जिउन सक्ने बनाउँछ। त्यसैले मानिसहरू सत्यताबिना बाँच्न सक्दैनन्। त्यसोभए, तँ अब जिउनका लागि केमा भर पर्छस्? तेरा विचार र दृष्टिकोण के-कस्ता छन्? तैँले कामकुरा गर्नुको दिशा र उद्देश्य के हो? यदि तँसँग सत्यता वास्तविकता छ भने, तेरो जीवनमा सिद्धान्त, दिशा र उद्देश्य हुन्छ। यदि छैन भने, तेरो जीवनमा कुनै सिद्धान्त, दिशा, वा उद्देश्य हुँदैन। तँ निस्सन्देह नै शैतानी दर्शन र परम्परागत संस्कृतिका कुराहरू पालन गर्छस्। अविश्वासीहरू यसरी नै जिउँछन्। के तिमीहरू यो मामला स्पष्टसँग बुझ्न सक्छौ? यो समस्या समाधान गर्न, व्यक्तिले सत्यता खोजी र स्वीकार गर्नुपर्छ। के सत्यता प्राप्त गर्न सजिलो छ? (हो सजिलो छ, यदि हामी परमेश्वरमा भर पर्छौँ भने।) परमेश्वरमा भर पर्दा, व्यक्ति आफैमा पनि भर पर्नुपर्छ। तेरो हृदयमा यस्तो आत्मविश्वास, यस्तो इच्छा र यस्तो आवश्यकता हुनुपर्छ, र यसो भन्नुपर्छ, “म भ्रष्ट शैतानी स्वभावहरूबीच जिउन चाहन्न। म तिनको नियन्त्रणमा हुन र छलमा पर्न, र यसरी परमेश्वरको नजरमा घृणित पटमूर्ख बन्न चाहन्नँ। त्यसरी म परमेश्वरसामु बाँच्न अयोग्य हुनेछु।” तेरो हृदयमा यस्तो भावना हुनैपर्छ। त्यसपछि, तँलाई केही आइपर्दा, यदि तैँले बुझ्न र बोध गर्न सक्ने सत्यताहरूलाई आफ्नो वास्तविक जीवनमा लागू गरिस्, र हरेक मामिलामा व्यवहारमा उतार्न सक्छस् भने, सत्यता तेरो वास्तविकता नबन्ला र? र सत्यता तेरो वास्तविकता बनेपछि, के तैँले अझै पनि आफ्नो जीवन वृद्धि नहोला भनेर चिन्ता गर्नेछस्? कुनै व्यक्तिसँग सत्यता वास्तविकता छ कि छैन भनेर तिमीहरू कसरी निर्धारण गर्न सक्छौ? यो उनीहरूले भन्ने कुराबाट थाहा पाउन सकिन्छ। सिद्धान्तका शब्दहरू मात्र बोल्ने व्यक्तिसँग सत्यता वास्तविकता हुँदैन, र उसले निश्चित रूपमा सत्यता अभ्यास गर्दैन, त्यसैले उसले जे भन्छ त्यो निरर्थक र अवास्तविक हुन्छ। सत्यता वास्तविकता भएको कसैको वचनले मानिसहरूका समस्याहरू समाधान गर्न सक्छ। तिनीहरूले समस्याको सार स्पष्ट रूपमा देख्न सक्छन्। तँलाई धेरै वर्षदेखि सताउँदै आएको समस्या केवल केही सरल वचनहरूद्वारा समाधान गर्न सकिन्छ; तैँले सत्यता र परमेश्वरको इच्छा बुझ्नेछस्, अब काम-कुरा गर्न तँलाई गाह्रो हुनेछैन, तँलाई अब बाध्यता र विवशता महसुस हुनेछैन, र तैँले स्वतन्त्रता र मुक्ति प्राप्त गर्नेछस्। के यस्तो मान्छेले भन्ने कुरा सत्यता वास्तविकता हो? त्यो सत्यता वास्तविकता नै हो। कुनै व्यक्तिले जे भने पनि यदि तँ आफ्नो समस्या बुझ्दैनस् भने, र उसले भनेका कुनै पनि कुराले यसको मूल कारण समाधान गर्दैन भने, उसले भन्ने कुरा धर्मसिद्धान्तका वचनहरू हुन्। के धर्मसिद्धान्तका वचनहरूले मानिसहरूका आवश्यकता पूर्ति गर्न र तिनीहरूलाई मद्दत गर्न सक्छन्? धर्मसिद्धान्तका वचनहरूले मानिसहरूका आवश्यकता पूर्ति गर्न वा तिनीहरूलाई मद्दत गर्न सक्दैनन् र मानिसहरूका व्यावहारिक कठिनाइहरू सुल्झाउन सक्दैनन्। धर्मसिद्धान्तका वचनहरू जति धेरै बोलिन्छन्, तिनले श्रोतालाई त्यति नै बढी चिढ्याउँछन्। सत्यता बुझ्ने मानिसहरू फरक तरिकाले बोल्छन्। तिनीहरूले थोरै शब्दहरूद्वारा समस्याको मूल कारण वा रोगको स्रोतलाई औँल्याउन सक्छन्। एउटा वाक्यले पनि मानिसहरूलाई जगाउन र मुख्य समस्याहरू पत्ता लगाउन सक्छ। मानिसहरूका कठिनाइहरू सुल्झाउन र अभ्यासको मार्ग औँल्याउनका लागि सत्यता वास्तविकताहरू भएका शब्दहरूको प्रयोग यही नै हो।
आखिरी दिनहरूमा परमेश्वर देहधारी भएर आउनुभएको छ। मानिसले व्यावहारिक परमेश्वरमा विश्वास गगर्ने कुरालाई ध्यानमा राख्दा, उसले सबैभन्दा बढी के प्राप्त गर्नुपर्छ? त्यो भनेको सत्यता, जीवन हो; योबाहेक केही महत्त्वपूर्ण छैन। जब ख्रीष्ट आउनुभयो, उहाँले सत्यता ल्याउनुभयो, जीवन ल्याउनुभयो; उहाँ मानिसहरूलाई जीवन प्रदान गर्न आउनुभयो। त्यसोभए, व्यक्तिले कसरी व्यावहारिक परमेश्वरमा विश्वास गर्न सुरु गर्छ त? सत्यता र जीवन प्राप्त गर्न के गर्नुपर्छ? परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। धार्मिकताका भोका र प्यासी सबैले तृप्त हुनेगरी परमेश्वरका वचनहरू खानु र पिउनुपर्छ। परमेश्वरका सबै वचनहरू सत्यता हुन्, र उहाँका वचनहरू समृद्ध र प्रचुर छन्; जताततै बहुमूल्य चीजहरू र सबैतिर खजानाहरू छन्। कनानको सुन्दर भूमिको प्रचुरताको आनन्द लिँदै, सत्यतालाई प्रेम गर्नेहरूका हृदय आनन्दले ढकमक्क फुल्छन्। तिनीहरूले खाने र पिउने परमेश्वरका प्रत्येक वाक्यमा सत्यता र प्रकाश छन्, ती सबै बहुमूल्य छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरू शोकले निधार खुम्च्याउँछन्; तिनीहरू भोजमा बस्छन् र पनि अनिकालले ग्रस्त हुन्छन्, यसले तिनीहरूको दयनीयता देखाउँछ। सत्यता खोज्न सक्नेहरूको लाभ बढ्दै जानेछ, र जसले त्यसो गर्न सक्दैनन्, तिनीहरूको अन्त्य हुनेछ। अहिले सबैभन्दा ठूलो चिन्ताको विषय भनेको सबै कुरामा सत्यता खोज्नु, सत्यताको बुझाइ प्राप्त गर्नु, सत्यता अभ्यास गर्नु, र परमेश्वरमा साँच्चिकै समर्पित हुन सक्नु हो। परमेश्वरमा विश्वास गर्नु भनेको यही हो। व्यावहारिक परमेश्वरमा विश्वास गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। सत्यता केका लागि प्रयोग गरिन्छ? के यो मानिसहरूको आत्मिक संसारलाई समृद्ध बनाउन प्रयोग गरिन्छ? के यो मानिसहरूलाई असल शिक्षा दिनका लागि हो? (होइन।) त्यसोभए सत्यताले मानिसको कुन समस्या समाधान गर्छ? सत्यता मानिसको भ्रष्ट स्वभाव र पापी प्रकृति सुल्झाउन, मानिसहरूलाई परमेश्वरसामु बाँच्न र तिनीहरूलाई सामान्य मानवतामा जिउन लगाउनका लागि हो। कतिपयले सत्यता के हो बुझ्दैनन्। उनीहरूलाई सधैँ सत्यता गहन र अमूर्त हुन्छ, र सत्यता रहस्य हो भन्ने लाग्छ। उनीहरू सत्यता भनेको मानिसहरूले अभ्यास गर्ने, लागू गर्ने कुरा हो भन्ने बुझ्दैनन्। कतिपय मानिसहरूले दश-बीस वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन्, र पनि वास्तवमा सत्यता के हो भनेर राम्ररी बुझेका हुँदैनन्। के यस प्रकारको व्यक्तिले सत्यता प्राप्त गरेको हुन्छ त? (हुँदैन।) के सत्यता प्राप्त नगरेकाहरू दयनीय छैनन् त? अत्यन्तै दयनीय छन्—त्यो भजनमा गाइएझैँ, तिनीहरू “भोजमा बसिरहेका छन् र पनि अनिकालबाट ग्रस्त छन्।” सत्यता प्राप्त गर्न कठिन छैन, न त सत्यता वास्तविकतामा प्रवेश गर्न नै कठिन छ, तर यदि मानिसहरू सधैँ सत्यताप्रति वाक्क मान्छन् भने, के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन् त? सक्दैनन्। त्यसकारण, तँ सधैँ परमेश्वरको अघि आउनुपर्छ, सत्यताप्रति वाक्क मान्ने तेरा भित्री स्थितिहरूलाई जाँच्नुपर्छ, र सत्यताप्रति वाक्कमान्ने के-कस्ता लक्षणहरू तँमा छन्, र काम गर्ने के-कस्ता तरिकाहरू हुनुचाहिँ सत्यताप्रति वाक्क भएको अवस्था हो, र तँ के-कस्ता कुराहरूमा सत्यताप्रति वाक्क मान्ने मनोवृत्ति देखाउँछस् भन्ने कुराहरूलाई हेर्नुपर्छ—तैँले यी कुराहरूको बारेमा बारम्बार जाँच्नुपर्छ। मानौँ, कसैले तँलाई “तँ आफ्नो इच्छामा भर परेर मात्रै आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस्—तैँले आत्मचिन्तन गर्नुपर्छ र आफैलाई चिन्नुपर्छ” भनी हप्काउँछ र तँ रिसाउँदै यस्तो जवाफ दिन्छस्, “मैले मेरो कर्तव्य निभाउने तरिका ठिक छैन, तर तेरो चाहिँ सही छ त? मेरो कर्तव्य निर्वाह गर्ने तरिकामा के गल्ती छ? परमेश्वरले मेरो हृदय बुझ्नुहुन्छ!” यो कस्तो मनोवृत्ति हो? के यो सत्यता स्वीकार गर्ने मनोवृत्ति हो? (होइन।) आफूलाई परिआउँदा व्यक्तिमा पहिले सत्यता स्वीकार गर्ने मनोवृत्ति हुनुपर्छ। यस प्रकारको मनोवृत्ति नहुनु भनेको मोही थाप्ने ढुङ्ग्रो नहुनुजस्तै हो, यसरी तँ सत्यता प्राप्त गर्न नसक्ने बन्नु हो। यदि कुनै व्यक्तिले सत्यता प्राप्त गर्न सक्दैन भने, परमेश्वरमा उसको विश्वास व्यर्थ छ! परमेश्वरमा विश्वास गर्नुको उद्देश्य सत्यता प्राप्त गर्नु हो। यदि कसैले सत्यता प्राप्त गर्न सक्दैन भने, उसको परमेश्वरमाथिको विश्वास असफल भएको छ। सत्यता प्राप्त गर्नु भनेको के हो? यो तब प्राप्त हुन्छ, जब सत्यता तेरो वास्तविकता बन्छ, जब यो तेरो जीवन बन्छ। सत्यता प्राप्त गर्नु भनेको यही हो—परमेश्वरमा विश्वास गर्नुको अर्थ यही हो! परमेश्वरले उहाँका वचनहरू केका लागि भन्नुहुन्छ? परमेश्वरले ती सत्यताहरू केका लागि व्यक्त गर्नुहुन्छ? ताकि मानिसहरूले यसरी सत्यता स्विकारून् कि, त्यसले भ्रष्टतालाई शुद्ध पारोस्; ताकि मानिसहरूले सत्यता यसरी प्राप्त गरून् कि, सत्यता नै उनीहरूको जीवन बनोस्। नत्र परमेश्वरले किन यति धेरै सत्यताहरू व्यक्त गर्नुहुन्थ्यो होला र? बाइबलसँग प्रतिस्पर्धा गर्न? “सत्यताको विश्वविद्यालय” स्थापना गर्न र मानिसहरूको समूहलाई तालिम दिन? दुवैका लागि होइन। बरु त्यो त मानवजातिलाई पूर्ण रूपमा बचाउनका लागि हो, मानवजातिलाई सत्यता बुझाउन र अन्ततः यो प्राप्त गराउनका लागि हो। तिमीहरू अब बुझ्छौ नि, कि कसो? परमेश्वरमा विश्वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (सत्यता प्राप्त गर्नु र सत्यता वास्तविकतामा प्रवेश गर्नु।) यसपश्चात्, यो कुरा तिमीहरू सत्यता वास्तविकतामा कसरी प्रवेश गर्छौ, र तिमीहरू प्रवेश गर्न सक्छौ या सक्दैनौ भन्ने कुरामा निर्भर हुन्छ।
अंश ६९
“यहोवाको भय बुद्धिको सुरुवात हो,” भन्ने शब्दहरूका सन्दर्भमा भन्नुपर्दा, तिमीहरू सामान्यतया ती शब्दहरू कसरी अभ्यास र अनुभव गर्छौ? (परमेश्वरका सबै वचन र कार्यप्रति समर्पित भएर।) यो व्यापक कथन, एक धर्मसिद्धान्त हो। यो सही लाग्छ, तर यो अलि खोक्रो छ। यदि तैँले आफ्नो धारणाविपरीतको कुरा सामना गर्नु परेमा, र आफू समर्पित हुन नसकेमा के गर्नेछस्? यो यथार्थपरक चुनौती हो। यस्तो हुँदा, यी शब्दहरूले कसरी परिणाम ल्याउन र तँमा प्रभाव पार्न, अनि तेरो व्यवहारलाई नियन्त्रण गर्न र तेरा कार्यका सिद्धान्त र दिशा परिवर्तन गर्न सक्छन्? उदाहरणका लागि, मानिलिऊँ तेरो पेट दुख्छ र कसैले “पेनकिलरले दुखाइ हटाउँछ” भनेर भन्छ। तँलाई यो भनाइ सही हो भन्ने थाहा छ, तर तँ यसलाई कसरी स्विकार्छस् र अभ्यास गर्छस्? के तँ पेट दुख्दा पेनकिलर खान्छस्? तँ त्यो कतिबेला खान्छस्? खाना खानुअघि कि पछि? दिनमा कतिपटक खान्छस्? दुखाइ हटाउन एकपटकमा कतिवटा खान्छस्, र निको हुन तैँले कति दिन त्यो खानुपर्छ? के तँलाई यी सबै कुरा थाहा छ? तँ यी कुरा “पेनकिलरले दुखाइ हटाउँछ” भन्ने भनाइ वास्तविक जीवनमा लागू गरेर मात्र बुझ्न सक्छस्। यदि तैँले यो लागू गरिनस् भने, तैँले यो भनाइलाई जसरी मानिस्, स्विकारिस् वा अनुमोदन गरिस् भने पनि, यो तेरा लागि धर्मसिद्धान्तको एउटा अभिव्यक्ति मात्र हुनेछ। तर यदि तैँले यो भनाइ आफ्नो वास्तविक जीवनमा लागू गरिस्, आफ्नो बिमार निको पारिस्, र यसबाट लाभ उठाइस् भने, उप्रान्त यो केवल खोक्रो भनाइ नभई व्यावहारिक भनाइ हुनेछ। जब अरू कसैले यस्तै परिस्थिति सामना गर्छ, तब तैँले उनीहरूलाई मद्दत गर्न आफ्नो व्यावहारिक अनुभव प्रयोग गर्न सक्नेछस्। हामीले भर्खरै “यहोवाको भय बुद्धिको सुरुवात हो,” भन्ने भनाइ उल्लेख गऱ्यौँ। “यहोवाको भय” भन्ने वाक्यांश मानिसहरूले अभ्यास गर्नैपर्ने कुरा हो, र “बुद्धिको सुरुवात” चाहिँ उनीहरूले यहोवाको भय अभ्यास गरेर पाउने परिणाम हो। अर्थात्, जब तैँले “यहोवाको भय” भन्ने वाक्यांश अभ्यास गरेको र आफ्नो वास्तविक जीवनमा लागू गरेको हुन्छस्, अनि यो वाक्यांशले तँलाई मद्दत गरेको हुन्छ र तैँले यसबाट लाभ उठाएको हुन्छस्, तब मात्र तैँले बुद्धिको परिणाम हासिल गर्न सक्नेछस्। पहिला, “यहोवाको भय” भन्ने वाक्यांश कसरी अभ्यास गर्ने भन्नेबारे कुरा गरौँ। यो वाक्यांशले मानिसहरूले आफ्नो जीवनमा सामना गर्ने सबै समस्यालाई समेट्छ, जस्तै उनीहरूको सोच, विचार, स्थिति, उनीहरूलाई आइपर्ने कठिनाइ, उनीहरूका धारणा र कल्पना, परमेश्वरबारे उनीहरूको गलतफहमी, उहाँबारे उनीहरूको सन्देह र अनुमान, साथै मानिसहरूले आफ्नो कर्तव्य निभाउने क्रममा प्रायः देखाउने लापर्बाही, चालबाजी, आत्म-धर्मीपन, आफूखुसी मनमानी गर्ने कुरा इत्यादि। त्यसैले, तँ कसरी “यहोवाको भय” भन्ने वाक्यांशलाई आफ्नो कार्य र व्यवहारका सिद्धान्तहरू परिवर्तन गर्ने सक्ने गरी लागू गर्न सक्छस्? यदि तैँले यस वाक्यांशका सबै कुरा नियालिस्, अनुभव गरिस् र जानिस् भने, यो तेरा लागि सत्यता हुनेछ। यदि तैँले यी कुराहरू कहिल्यै नियालेको छैनस्, अनि त्यसबारे जानेको र सुनेको मात्र छस् भने, त्यो तेरा लागि सधैँ एउटा धर्मसिद्धान्त हुनेछ। त्यो किताबमा छापिएको कथन, केवल शब्द हुनेछ, सत्यता हुनेछैन। किन म त्यसो भन्छु? किनभने यो भनाइले तेरो कुनै पनि अभिप्राय, विचार, वा तेरो सोच र दृष्टिकोण परिवर्तन गरेको छैन। त्यसले तैँले संसारसँग व्यवहार गर्न र आफूलाई व्यवहारमा उतार्न प्रयोग गर्ने सिद्धान्तहरू कहिल्यै परिवर्तन गरेको छैन। त्यसले तैँले कामकुरा गर्दा वा आफ्नो कर्तव्य निभाउँदा तँमा हुने मनोवृत्ति परिवर्तन गरेको हुँदैन, अनि त्यसले तेरो स्थितिलाई उल्ट्याएको छैन। तैँले त्यसबाट कुनै हालतमा लाभ उठाएको छैनस्। तिमीहरूलाई यी सबै प्रसिद्ध भनाइहरू थाहा छ र तिमीहरू ती भन्न सक्छौ, तर ती सतही रूपमा मात्र बुझ्छौ, र तिमीहरूसँग तिनको व्यावहारिक अनुभव छैन। यो कसरी पखण्डी फरिसीहरूभन्दा फरक छ? धार्मिक संसारका ती पास्टर र एल्डरहरू बाइबलका प्रसिद्ध अध्याय र खण्डहरू कण्ठाग्र बताउन र व्याख्या गर्नमा ध्यान दिन्छन्। जसले सबैभन्दा बढी कण्ठाग्र बताउँछ, उही सबैभन्दा आत्मिक, सबैद्वारा प्रशंसित अनि सबैभन्दा प्रतिष्ठित र सबैभन्दा उच्च हैसियतको ठहरिन्छ। वास्तवमा तिनीहरूले आफ्नो वास्तविक जीवनमा संसार, मानवजाति र सबै प्रकारका मानिसलाई सांसारिक मानिसहरूले जस्तै गरी हेर्छन्, अनि तिनीहरूको दृष्टिकोण पटक्कै परिवर्तन भएको हुँदैन। यसले यो कुरा प्रमाणित गर्छ: तिनीहरूले कण्ठाग्र बताउने बाइबलका ती भागहरू कुनै पनि हालतमा तिनीहरूको जीवन बनेका हुँदैनन्, ती त तिनीहरूका लागि सिद्धान्त र धार्मिक धर्मसिद्धान्त मात्र हुन्छन्, र तिनले तिनीहरूको जीवन परिवर्तन गरेका हुँदैनन्। यदि तिमीहरू पनि धर्मका मानिसहरू हिँड्ने मार्गमै हिँड्छौ भने, तिमीहरू इसाईधर्ममा विश्वास गर्छौ तर परमेश्वरमा विश्वास गर्दैनौ, अनि तिमीहरूले परमेश्वरको कार्य अनभव गरिरहेका छैनौ। केही समयदेखि मात्र परमेश्वरमा विश्वास गरेका कतिपय मानिस धेरै धर्मसिद्धान्तबारे बताउन सक्ने लामो समदयदेखिका विश्वासीहरूको प्रशंसा गर्छन्। तिनीहरूले लामो समयदेखिका विश्वासीहरू दुईतीन घण्टासम्म कुनै समस्याविना बसेर बोलेको देख्दा, उनीहरूबाट कुरा सिक्न थाल्छन्। तिनीहरूले ती आत्मिक शब्दावली र अभिव्यक्तिहरू सिक्छन्, अनि ती लामो समयदेखिका विश्वासीहरूको बोल्ने र व्यवहार गर्ने तरिका सिक्छन्, त्यसपछि तिनीहरू परमेश्वरका कतिपय आदर्श वचनहरू कण्ठस्थ गर्छन्। अन्त्यमा आफूसँग केही कुरा छ भन्ने नलागेसम्म तिनीहरू त्यसो गरिरहन्छन्। भेलाको समयमा, तिनीहरू उच्च सुनिने विचारहरूबारे झिझोलाग्दो गरी लम्बेतान बोलेको बोलेकै गर्छन्, तर यदि तैँले ध्यान दिएर सुनिस् भने, त्यो सब एकदमै बकवास, खोक्रो कुरा, अनि वचन र धर्मसिद्धान्त मात्र हुन्छ। स्पष्ट छ, तिनीहरू आफैलाई र अरूलाई धोका दिने धार्मिक ठग हुन्। कत्ति दुःखलाग्दो कुरा! त्यो मार्गमा नहिँड्। तिमीहरू यो मार्गमा हिँडेलगत्तै पूरै नष्ट हुनेछौ, र त्यसपछि चाहेर पनि फर्किन गाह्रो हुनेछ! यदि तँ ती शब्द र धर्मसिद्धान्तलाई खजाना र जीवन ठान्छस्, अनि जहाँ जाँदा पनि तिनको तडकभडक देखाउँछस् भने, तँमा तेरो भ्रष्ट, शैतानी स्वभावबाहेक केही आत्मिक सिद्धान्त र केही पखण्डी कुरा हुन्छन्। यो झूट मात्र होइन, पूर्ण रूपमा घृणित कुरा हो। यो निर्लज्ज कुरा हो, अनि यसलाई हेर्दै वाकवाकी र भयावह लाग्छ। अहिलेचाहिँ हामी प्रभु येशूका अनुयायीहरूले विश्वास गर्ने सम्प्रदायहरूलाई इसाईधर्मका रूपमा उल्लेख गर्छौँ, तिनीहरूलाई एक धर्म र एक धार्मिक समूहका रूपमा वर्गीकरण गर्छौँ। यसो किन गर्छौँ भने, ती मानिसहरू परमेश्वरमा विश्वास त गर्छन्, तर सत्यता स्विकार्दैनन्, अनि परमेश्वरका वचन अभ्यास वा अनुभव गर्दैनन्, बरु आफ्नो जीवन स्वभाव पटक्कै नबदली धार्मिक अनुष्ठान र औपचारिकता मात्र पूरा गर्छन्। तिनीहरू सत्यता पछ्याउने मानिस होइनन्, र तिनीहरू परमेश्वरबाट आउने सत्यता, बाटो र जीवन पछ्याउँदैनन्, बरु बाइबलीय ज्ञान पछ्याउँछन्, फरिसीहरूको अनुकरण गर्छन् र परमेश्वरप्रति शत्रुभाव राख्छन्। परिणामस्वरूप, मानिसहरूको यो समूहलाई इसाईधर्मका रूपमा वर्गीकरण गरिन्छ। प्रभुमा विश्वास गर्ने यी सबै मानिस धर्मका अनुयायी हुन्। तिनीहरू परमेश्वरको मण्डलीसँग सम्बन्धित छैनन्, अनि तिनीहरू उहाँका भेडा होइनन्। “इसाईधर्म” शब्द कहाँबाट आएको हो? यो कुन तथ्यबाट आएको हो भने, यसका अनुयायीहरू ख्रीष्टमा विश्वास गरेको, आफू आत्मिक भएको, र आफूहरूले परमेश्वरलाई पछ्याइरहेको ढोँग गर्छन्, जबकी तिनीहरू ख्रीष्टद्वारा व्यक्त सबै सत्यता इन्कार गर्छन्, पवित्र आत्माको कामलाई इन्कार गर्छन्, र परमेश्वरबाट आउने सबै सकारात्मक कुरालाई इन्कार गर्छन्। तिनीहरू आफूलाई परमेश्वरले विगतमा भनेका कुराहरूले सुसज्झित पार्छन्, ढाक्छन् र आफ्नो भेष बदल्छन्। तिनीहरू यी कुरालाई पूँजीका रूपमा प्रयोग गर्छन्, र हरबखत ती लागू गर्छन् ताकि तिनीहरूले छल गरेर तिनलाई कमाइखाने भाँडो बनाउन सकून्। तिनीहरू परमेश्वरका विश्वासीको खोल ओढेर हरबखत मानिसहरूलाई धोका दिन्छन्, तिनीहरू आफूले कत्तिको राम्ररी बाइबल अर्थ्याउन सक्छु भन्नेबारे र आफ्नो बाइबलीय ज्ञानबारे अरूसँग होड गर्छन्, यी कुरालाई महिमा र पूँजीजस्तै ठान्छन्। तिनीहरू चालबाजी गरेर परमेश्वरका आशिष् र इनाम पाउनसमेत चाहन्छन्। यो देहधारी परमेश्वरलाई इन्कार र निन्दा गर्ने ख्रीष्टविरोधीहरूको मार्ग हो, अनि यो समूहलाई तिनीहरू हिँड्ने मार्गकै कारण अन्त्यमा इसाईधर्म र एक धर्मका रूपमा वर्गीकरण गरिन्छ। अब “इसाइधर्म” शब्दलाई हेरौँ—यो राम्रो शीर्षक हो कि नराम्रो? यो राम्रो शीर्षक होइन भनेर हामी एकदमै पक्कासित भन्न सक्छौँ। यो त लाजको कुरा हो र यो गर्व वा महिमाको कुरा होइन।
तैँले जीवन प्रवेश पछ्याउँदा बुझ्नुपर्ने मुख्य कुरा के हो? तैँले मानिसहरूका लागि परमेश्वरका मापदण्डहरू केके हुन् र मानिसले उहाँको कार्य कसरी अनुभव गर्नुपर्छ भनेर परमेश्वरद्वारा व्यक्त सबै वचनमा—ती जुनै विषयका भए पनि—खोज्नुपर्छ। तैँले आफ्ना आचरण र परिस्थिति सम्हाल्ने तौरतरिका, आफ्ना विचार र दृष्टिकोण अनि जीवनमा परिस्थिति आइपर्दा तँमा हुने विभिन्न अवस्था र तैँले प्रकट गर्ने कुरालाई परमेश्वरको खुलासा र न्यायका वचनसँग तुलना गर्नुपर्छ। अझ महत्त्वपूर्ण कुरा, तैँले आत्मचिन्तन गर्नुपर्छ र आफूलाई बुझ्नुपर्छ अनि अभ्यासका सिद्धान्तहरू पत्ता लगाउन सत्यता खोज्नुपर्छ। तैँले यसद्वारा अभ्यासको मार्ग खोज्नुपर्छ, आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरका अभिप्राय कसरी पूरा गर्ने भन्ने सिक्नुपर्छ, उहाँका मापदण्डअनुसार आफूलाई व्यवहारमा पूर्ण रूपले ढाल्नुपर्छ, अनि इमानदार र सत्यता अभ्यास गर्ने व्यक्ति बन्नुपर्छ। वचन र धर्मसिद्धान्त र धार्मिकमतहरूबारे बोलेर मानिसहरूलाई छल गर्नेजस्ता काम नगर्। आत्मिक व्यक्तिको खोल नओढ्, र पाखण्डी नबन्। तैँले सत्यता स्विकार्न र अभ्यास गर्न, अनि आफ्नो स्थिति दाँज्न र जाँच्न अनि त्यसपछि त्यसपछि तैँले हरेक प्रकारको परिस्थिति सम्हाल्न चलाउने आफ्नो गलत दृष्टिकोण र मनोवृत्तिहरू परिवर्तन गर्न परमेश्वरका वचन प्रयोग गर्न ध्यान लगाउनैपर्छ। आखिरमा, तँसँग हरेक परिस्थितिमा परमेश्वरको भय मान्ने हृदय हुनैपर्छ, र तैँले अबउप्रान्त सोचविचार नगरी काम गर्ने, आफ्नै विचारहरू पछ्याउने, आफ्नो इच्छाअनुसार कामकुरा गर्ने, वा भ्रष्ट स्वभावभित्र जिउने गर्नेछैनस्। बरु, तेरा सबै काम र बोली परमेश्वरका वचन र सत्यतामा आधारित हुनैपर्छ। यसरी, तैँले क्रमिक रूपमा आफूमा परमेश्वरको भय मान्ने हृदयको विकास गर्नेछस्। व्यक्तिले सत्यतापछ्याउँदा परमेश्वरको भय मान्ने हृदय पाउँछ; यो बन्देजबाट आउँदैन। बन्देजले त एक प्रकारको व्यवहार मात्र पैदा गर्छ; यो एक प्रकारको सतही तहको सीमितता हो। परमेश्वरको भय मान्ने साँचो हृदय परमेश्वरका वचनको न्याय र सजाय निरन्तर रूपमा स्वीकारेर अनि उहाँको कार्य अनुभव गर्दा काटछाँट स्विकारेर प्राप्त हुन्छ। मानिसहरूले आफ्नो भ्रष्टताको साँचो रूप देख्दा, सत्यताको मूल्य थाहा पाउनेछन्, र तिनीहरू सत्यतातिर लागिपर्न सक्नेछन्। तिनीहरूका भ्रष्ट स्वभावहरू झन् झन् कम प्रकट हुनेछन्, र तिनीहरू परमेश्वरसामु सामान्य तरिकाले जिउन, हरेक दिन उहाँका वचन खान र पिउन, अनि सृष्टि गरिएको प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछन्। परमेश्वरको भय मान्ने, परमेश्वरप्रति समर्पित हृदय यही प्रक्रियाबाट पैदा हुन्छ। आफ्ना कर्तव्य निर्वाह गर्दा समस्याहरू सुल्झाउन निरन्तर सत्यता खोज्नेहरू सबै जना परमेश्वरको भय मान्ने हृदय भएकाहरू हुन्। ताडना पाएका अनि मनग्गे काटछाँट अनुभव गरेकाहरू सबैलाई परमेश्वरको भय मान्नु के हो भनेर थाहा छ। तिनीहरू आफ्नो भ्रष्टता प्रकट हुँदा, हृदयमा घबराहट र भय मात्र नभएर परमेश्वरको क्रोध र प्रताप पनि महसुस गर्न सक्छन्। यो अवस्थामा, तिनीहरूको हृदयमा स्वभाविक रूपमा डर पैदा हुन्छ। के अब तिमीहरू सबैसित यी कुराहरूबारे कुनै अनुभवात्मक बुझाइ छ त? (थोरै छ।) यो क्रमिक रूपले बढ्दै जानुपर्छ। थोरै अनुभवात्मक बुझाइमा सन्तुष्ट नहोऊ। अहिले तिमीहरू उपयुक्त वातावरणमा छौ, तिमीहरूले थुप्रै प्रवचन सुनिरहेका छौ, थुप्रै भेलामा गइरहेका छौ, परमेश्वरका थुप्रै वचन पढिरहेका छौ, र तिमीहरूसित आफ्नो कर्तव्य र अन्य सारा किसिमका सर्तहरू पूरा गर्ने वातावरण छ। तँ आफूमा परमेश्वरको भय छ, त्यसैले आफ्नो विश्वास बढेको छ भन्ने सोच्छस्, तर तँलाई फरक वातावरणमा राखिएको भए, के तँ अहिलेको अवस्थामा भइरहन सक्नेथिस्? के तैँले अहिले बुझेको सत्यताले कामकुरा वा जीवन र मूल्यप्रतिको तेरो दृष्टिकोण बदल्न सक्छ? यदि तैँले बुझ्ने सत्यताले यी कुराहरू पूरा गर्न सक्दैन भने सत्यता साँचो रूपमा बुझेको छैनस्। जब परमेश्वरका वचनहरू तैँले बुझ्ने सत्यता र तेरो जीवन बन्छन्, तब तैँले जीवन प्रवेश प्राप्त गर्नेछस्, र तँ सत्यता वास्तविकतामा प्रवेश गरेको हुनेछस्। यसको अर्थ सत्यता अभ्यास तैँले आफ्नै पहलमा गर्ने कुरा हुनेछ, तँलाई यस्तो कुरा जन्मजातै गर्नुपर्छ भन्ने महसुस हुनेछ। सत्यताअनुसार काम गर्नु तेरा लागि स्वभाविक हुनेछ; यो प्राकृतिक प्रकटीकरणझैँ नियमित हुनेछ। यसको अर्थ, परमेश्वरको वचन तेरो जीवन भएको हुनेछ। यदि तँ कुनै कुरा सामना गर्दा सधैँ गलत मार्ग लिन्छस्, अनि तैँले सधैँ आत्मचिन्तन गर्नुपर्छ र तँलाई सही मार्गमा हिँड्न कसैको मद्दत र साथ चाहिन्छ भने, योजस्तो खराब त केही हुँदैन, र तँसित रत्तिभर पनि कद हुँदैन। यदि तँलाई मद्दत र साथ दिने कोही छैन भने तेरो वरपरको वातावरण आमूल रूपमा परिवर्तन हुनासाथ तँ कतिसम्म गिर्नेछस् त्यो भन्न गाह्रो छ। तैँले एकै रातमा परमेश्वरलाई अस्वीकार गर्लास् र धोका देलास्, रातारात उहाँलाई त्यागेर शैतानको अङ्गालोमा जालास्। अर्को शब्दमा भन्नुपर्दा, तैँले सत्यता प्राप्त गर्नुअघि र सत्यता तेरो जीवन बन्नुअघि तँ अझै खतरामै हुन्छस्! अहिले थोरै विश्वास राख्नु, आफूलाई समर्पित गर्नु, र अलिकति सङ्कल्प वा सकारात्मक आकाङ्क्षा हुनुले तँसित जीवन छ भन्ने प्रमाणित गर्दैन। यी कुराहरू त केवल सतही घटना हुन्; यो त आफ्नो इच्छाबाट उब्जेको सोच मात्र हो। परमेश्वरसँगको तेरो सम्बन्ध सुध्रिनुअघि तैँले आफूलाई सत्यताले सुसज्जित पार्नैपर्छ। तैँले परमेश्वरको काम, केही परीक्षा र शोधन अनुभव गर्न सक्नैपर्छ। तँमा परमेश्वरप्रति साँचो विश्वास पलाउँदा, तैँले उहाँलाई साँचो प्रार्थना गर्नेछस् र उहाँबाट सङ्गति प्राप्त गर्नेछस्। तैँले परमेश्वरलाई आफ्नो मनको कुरा भन्न सक्नेछस् र आफूलाई कुनै कुरा आइपर्दा, केवल उहाँमा भर पर्न सक्छु र अरू कसैमा पर्न सक्दिनँ भन्ने तलाईं महसुस हुनेछ। त्यतिबेला परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य हुनेछ। तैँले परमेश्वरमा साँचो विश्वास गरिस् भने, उहाँले तलाईं जहाँ राख्नुभए पनि र तँ बर्षौंसम्म भेलाहरूमा सहभागी हुन नसक्ने पनि, परमेश्वरप्रतिको तेरो विश्वास अय्यूबको जस्तै फिटिक्कै बद्लिनेछैन। तँ भेलाहरूमा सहभागी नभए पनि र तँलाई प्रवचन सुनाउने कोही नभए पनि, परमेश्वरको तौरतरिका र वचन तेरो हृदयमा हुनेछन्। तैँले परमेश्वरलाई त्याग्नेछैनस्, अनि तँ उहाँले तँलाईं हरेक दिन कसरी डोऱ्याउनुहुनेछ भनेर स्पष्ट हुनेछस्। तैँले आफूमा परमेश्वरका परीक्षाहरू आइपर्दा, उहाँलाई इन्कार गर्नेछैनस्, अनि ती कुरामा उहाँका कामहरूसमेत देख्नेछस्। त्यो बेला, तँ स्वतन्त्र हुन सक्नेछस्। तिमीहरू अझै त्यो हदमा पुगेका छैनौ, तँमा अझै थुप्रै धारणा, कल्पना अनि मिसावट छन्। तेरा काम र कर्तव्य निर्वाहमा अझै केही देखावटी कुरा छन्। तेरा अत्यधिक इच्छाहरू छन्। तँ अझै बहानाबाजी गरिरहेको छस्, तँ अझै आत्मिक व्यक्ति बन्न, आत्मिक सिद्धान्तहरू सुनाउन र आफूलाई अझ धेरै आत्मिक वाक्यांश, शब्दावली र मतहरूले सुसज्जित पार्न प्रयासरत छस्। तँ अझै फरिसी र झूटो आत्मिक व्यक्ति बन्न खोजिरहेको छस्। तँ अझै यस प्रकारको मार्गमा हिँड्न खोजिरहेको छस् र अझै यस्तै गलत मार्गमा छस्। यो त परमेश्वरको साँच्चै भय मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्तिभन्दा एकदमै फरक कुरा हो! त्यसैले तिमीहरूले सत्यता पछ्याउन अनि अझै धेरै न्याय, सजाय, परीक्षा र शोधन अनुभव गर्न सकेजति गर्नेपर्छ। त्यसपछि मात्र यी देखावटी, ढोँग र असामान्य मानसिकताहरू पूर्ण रूपले हटाउन सकिन्छ। जब यी भ्रष्टताहरू हटाइन्छ, तब तेरो र परमेश्वरबीचको सम्बन्ध स्वभाविक रूपमा सामान्य बन्छ।