ख. परमेश्‍वरको कामका तीनमध्ये हरेक चरणको महत्त्व

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा मन्दिर र वेदी निर्माण गर्ने काम समावेश थियो र इस्राएली मानिसहरूलाई डोऱ्याउन र तिनीहरूका बीचमा काम गर्नका लागि व्यवस्थाको प्रयोग गरिएको थियो। इस्राएलका मानिसहरूलाई डोऱ्याएर उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार सुरु गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरतिर बढाउनुभयो, यसरी पछि आउने पुस्ताहरूले यहोवा परमेश्‍वर हुनुहुन्छ, र यहोवाले नै आकाश र पृथ्वी साथै सबै थोक सृष्टि गर्नुभयो, र सबै सृजित प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा बाहिरसम्म फैलाउनुभयो। इस्राएल देश पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थान थियो, र इस्राएल भूमिमा नै परमेश्‍वरले पृथ्वीमा पहिलो काम गर्नुभएको थियो। व्यवस्थाको युगको काम त्यही थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

यहोवाले इस्राएलीहरूका बीचमा गर्नुभएको कार्यले मानवजातिको बीचमा परमेश्‍वरको सांसारिक उद्‍गम स्थान स्थापना गर्‍यो, जुन एउटा पवित्र स्थान पनि थियो र उहाँ त्यहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो कार्यलाई इस्राएलीहरूका बीचमा सीमित गर्नुभयो। सुरुमा उहाँले इस्राएल बाहिर काम गर्नुभएन, तर आफ्नो कामको दायरालाई सीमित गर्नका लागि उहाँले उपयुक्त मानिसहरूको छनौट गर्नुभयो। इस्राएल त्यही स्थान हो जहाँ परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो र त्यस ठाउँको धुलोबाट यहोवाले मानिसलाई बनाउनुभयो; यही ठाउँ नै पृथ्वीमा उहाँको कामको आधार बन्न गयो। नोआ तथा आदमका सन्तानका रूपमा रहेका इस्राएलीहरू नै पृथ्वीमा यहोवाको कामका आधार थिए।

यस समयमा सारा पृथ्वीमा उहाँको कामको थालनी गर्नु नै इस्राएलमा रहेको यहोवाको कार्यको महत्त्व, उद्देश्य र चरणहरू थिए, यस कार्यले इस्राएललाई आफ्नो केन्द्र बनायो र बिस्तारै अन्यजाति राष्ट्रहरूमा यो फैलियो। एउटा नमुना स्थापना गर्न र सारा ब्रह्माण्डमा भएका सबै मानिसहरूले उहाँको सुसमाचार नसुनेसम्म त्यस नमुनालाई फैलाउन उहाँले यही सिद्धान्तबमोजिम यस ब्रह्माण्डभरि काम गर्नुहुन्छ। पहिला इस्राएलीहरू नोआका सन्तान थिए। यी मानिसहरूले केवल यहोवाको सास मात्र प्राप्‍त गरेका थिए र जीवनका आधारभूत आवश्यकताहरू कसरी पूरा गर्ने त्यस कुरालाई मात्र पर्याप्त मात्रामा बुझेका थिए, तर यहोवा कस्तो परमेश्‍वर हुनुहुन्थ्यो वा मानिसको लागि उहाँका अभिप्राय के थिए भन्‍ने तिनीहरूलाई थाहा थिएन, सारा सृष्टिका परमप्रभुको डर कसरी मान्ने भन्‍ने कुरा त परै जाओस्। पालन गर्नुपर्ने[क] कुनै नियम तथा कानुन वा सृष्टि गरिएका कुराहरूले सृष्टिकर्ताप्रति गर्नु पर्ने कुनै कर्तव्य पो थिए कि भन्‍ने बारेमा आदमका सन्तानलाई अत्तोपत्तो थिएन। उनीहरूलाई केवल यति कुरा मात्र थाहा थियो कि पतिले परिश्रमका साथ पसीना बगाएर आफ्नो परिवारको पालनपोषण गर्नुपर्छ र पत्नीले आफ्ना पतिको अधीनमा बस्दै यहोवाले सृष्टि गर्नुभएको मानवजातिलाई निरन्तरता दिनुपर्छ। अर्को शब्दमा भन्नु पर्दा, परमेश्‍वरका नियमहरू कसरी पछ्याउने वा सम्पूर्ण सृष्टिका प्रभुलाई कसरी सन्तुष्ट पार्ने भन्‍ने जस्ता केही पनि कुराहरू केवल यहोवाको सास र उहाँको जीवन मात्रै भएका मानिसहरूलाई थाहा थिएन। तिनीहरूले अत्यन्तै थोरै कुरा मात्र बुझ्थे। तिनीहरूको हृदयमा कुटिलता वा छल कपट नभए पनि र तिनीहरूका बीचमा ईर्ष्या र विवाद विरलै उत्पन्न हुने गरेको भए पनि, उनीहरूलाई सम्पूर्ण सृष्टिका मालिक यहोवाको बारेमा कुनै ज्ञान वा समझ थिएन। मानिसका यी पुर्खाहरूलाई केवल यहोवाले दिनुभएका कुराहरू खाने र यहोवाका कुराहरू उपभोग गर्ने कुरा मात्र थाहा थियो, तर तिनीहरू यहोवाको डर मान्न जान्दैनथे। तिनीहरूले घुँडा टेकेर आराधना गर्नु पर्ने व्यक्ति परमप्रभु नै हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई थाहा थिएन। यदि त्यसो हो भने तिनीहरूलाई कसरी उहाँका प्राणीहरू भनेर भन्न सकिन्छ? यदि त्यसो हो भने, “यहोवा सृष्टि गरिएका सबै प्राणीहरूका प्रभु हुनुहुन्छ” र “मानिसले उहाँलाई प्रकट गरोस्, उहाँको महिमा गरोस् र उहाँको प्रतिनिधित्व गरोस् भनेर उहाँले मानिसलाई सृष्टि गर्नुभयो” भन्‍ने कुरा व्यर्थमा बोलिएको हो त? यहोवाको डर मान्ने हृदय नभएका मानिसहरू कसरी उहाँको महिमाको गवाही बन्न सक्थे र? तिनीहरू कसरी उहाँको महिमाको प्रकटीकरण हुन सक्थे र? “मानिसलाई मैले मेरै स्वरूपमा सृष्टि गरेँ” भन्‍ने यहोवाका वचनहरू दुष्ट शैतानको हातमा हतियार बन्ने थिएनन् र? के ती वचनहरू यहोवाले मानवजातिलाई गरेको सृष्टिमाथि कै अपमानको रूपमा रहने थिएनन् र? कामको त्यो चरण पूरा गर्नको निम्ति परमप्रभुले मानवजातिलाई सृष्टि गर्नुभएपछि आदमदेखि नोआको पालासम्म तिनीहरूलाई कुनै शिक्षा वा मार्गदर्शन दिनुभएन। बरु जलप्रलयले संसारलाई नाश गरेपछि मात्र उहाँले औपचारिक रूपमा नोआ तथा आदमका सन्तान अर्थात् इस्राएलीहरूलाई डोर्‍याउन थाल्नुभयो। तिनीहरूले सारा इस्राएलमा आफ्नो जीवन बिताउने क्रममा उहाँले इस्राएलमा गर्नुभएको काम र उहाँले बोल्‍नुभएका वाणीहरूले तिनीहरूलाई मार्गदर्शन दिए, यसले मानवजातिलाई यो कुरा देखाउँछ कि मानिसहरूले उहाँबाट जीवन पाऊन् र धुलोबाट सृष्टि गरिएका मानवजातिको रूपमा खडा होऊन् भनेर तिनीहरूभित्र सास फुकिदिन मात्र यहोवा सक्षम हुनुहुन्न, तर उहाँ मानवजातिलाई भस्म पार्न र सराप्न पनि सक्नुहुन्छ साथै मानवजातिलाई शासन गर्न आफ्नो छडीको प्रयोग पनि गर्न सक्नुहुन्छ। त्यसकारण यहोवाले पृथ्वीमा मानिसको जीवन अगुवाई गर्न सक्नुहुन्छ अनि दिन र रातको समयअनुसार मानवजातिको माझमा बोल्न र काम गर्न सक्नुहुन्छ भन्‍ने पनि तिनीहरूले देखे। मान्छे उहाँले उठाउनुभएको धुलोबाट आएको हो र उसलाई उहाँले नै बनाउनुभएको हो भन्‍ने कुरा सृष्टि गरिएका प्राणीहरूले जानून् भनेर मात्र उहाँले यो कार्य गर्नुभयो। यति मात्र होइन अन्यजातिहरू र राष्ट्रहरू (जो वास्तवमा इस्राएलबाट अलग थिएनन्, तर इस्राएलकै हाँगा थिए, तिनीहरू पनि आदम र हव्वाबाट नै आएका थिए) ले इस्राएलबाट सुसमाचार पाउन सकून् भनेर उहाँले आफ्नो पहिलो काम इस्राएलमा गर्नुभयो, ताकि ब्रह्माण्डमा सृष्टि गरिएका सबै प्राणीहरूले यहोवाको डर मान्न सकून् र उहाँलाई महान् भनी सम्‍मान गर्न सकून्। यहोवाले इस्राएलमा आफ्नो काम सुरु नगरेर मानवजातिको सृष्टि गरेपछि तिनीहरूलाई पृथ्वीमा बेफिक्रि जीवन जिउन दिनुभएको भए मानिसको शारीरिक प्रकृतिको कारण (यो प्रकृति भनेको आफूले देख्न नसक्ने चीजहरू मानिसले कहिले पनि बुझ्न नसक्नु हो, यसको अर्थ के हो भने मानवजातिलाई सृष्टि गर्नुहुने परमप्रभु नै हुनुहुन्छ भन्‍ने कुरा उसलाई थाहा हुने थिएन र त्यसो किन गर्नुभयो भन्‍ने कुरा त परै जाओस्) मानवजातिलाई सृष्टि गर्नुहुने यहोवा नै हुनुहुन्छ वा उहाँ सारा सृष्टिका मालिक हुनुहुन्छ भनेर उसले कहिले पनि थाहा पाउने थिएन। यदि यहोवाले मानिसलाई सृष्टि गरेपछि उसलाई पृथ्वीमा राखेर तिनीहरूलाई केही समयसम्‍म अगुवाइ गर्नको लागि मानवजातिको बीचमा नबसी आफ्नो हात टकटक्याउँदै आफ्नो बाटो लाग्नुभएको भए सम्पूर्ण मानवता शून्यतामा फर्किने थियो। स्वर्ग तथा पृथ्वी र उहाँले बनाउनुभएका सबै असंख्य चिजहरू, र सम्पूर्ण मानवजाति शून्यतामा फर्कने थिए, त्योभन्दा पनि बढी त तिनीहरूलाई शैतानले कुल्‍चने थियो। यसरी “पृथ्वीमा अर्थात् उहाँको सृष्टिको बीचमा उहाँ उभिने ठाउँ वा एक पवित्र स्थान हुनुपर्दछ” भन्‍ने यहोवाको इच्छा चकनाचूर हुनेथियो। यसैले मानवजातिको सृष्टिपछि तिनीहरूको जीवनलाई मार्गदर्शन दिन र तिनीहरूसँग कुराकानी गर्नको लागि उहाँ तिनीहरूका बीचमा रहन सक्षम हुनुभयो—यो सबै कुरा उहाँले आफ्नो इच्छालाई महसुस गर्न र आफ्नो योजना हासिल गर्नका लागि गर्नुभएको थियो। इस्राएलमा उहाँले गर्नुभएको काम सबै थोकको सृष्टिअघि आफूले बनाएको योजनालाई कार्यान्वयन गर्नको लागि मात्र गरिएको थियो, यसैले उहाँले सुरुमा इस्राएलीहरूका माझमा मात्र गर्नुभएको काम र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरूका बीचमा अमेल थिएन। यी कुराहरू त उहाँको व्यवस्थापन, कार्य र महिमाको निम्ति गरिएका थिए अनि यी कुराहरू उहाँले गर्नुभएको मानवजातिको सृष्टिको अर्थलाई गहन बनाउनको निम्ति गरिएका थिए। उहाँले नोआको समयपछि दुई हजार वर्षसम्म पृथ्वीमा मानवजातिको जीवनलाई मार्गनिर्देशन गर्नुभयो यस समयमा उहाँले सम्पूर्ण सृष्टिका प्रभु, यहोवाको डर कसरी मान्ने, आफ्नो जीवनलाई कसरी सञ्चालन गर्ने, कसरी बाँच्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको साक्षीको रूपमा कसरी काम गर्ने, उहाँमा कसरी समर्पित हुने र उहाँको डर कसरी मान्ने तथा दाऊद र उनका धर्मगुरुहरूले जस्तै सङ्गीतद्वारा उहाँको प्रशंसा कसरी गर्ने जस्ता कुराहरू बुझ्न मानवजातिलाई सिकाउनुभयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम

फूटनोटहरू:

क. मूल पाठमा “पालन गर्नुपर्ने” भन्‍ने वाक्यांश समावेश छैन।


सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति यहोवाको नयाँ जन्मेको शिशु थियो; तिनीहरू इस्राएलीहरू थिए। तिनीहरूमा परमेश्‍वरको डर कसरी मान्ने वा पृथ्वीमा कसरी जिउने भन्‍ने केही ज्ञान थिएन। भन्न खोजेको कुरा के हो भने, यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, अर्थात् उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई कसरी यहोवाको डर मान्ने वा पृथ्वीमा रहेका यहोवाका नियमहरू कसरी पालन गर्ने भनी बुझ्ने क्षमता दिनुभएन। यहोवाको प्रत्यक्ष अगुवाइविना कसैले पनि यो कुरा जान्न सक्दैनथियो, किनकि सुरुमा त मानिसमा त्यस्ता क्षमताहरू थिएनन्। मानिसले केवल यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर मात्रै जान्दथ्यो, तर उहाँको डर कसरी मान्ने, कस्तो प्रकारको आचरणलाई उहाँको डर मानेको भन्‍न सकिन्थ्यो, कस्तो प्रकारको मनले उहाँको डर मान्नुनुपर्थ्यो, वा उहाँको डरमा उहाँलाई के चढाउने त्यसको बारेमा मानिसलाई केही थाहा थिएन। मानिसलाई परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै थोकहरू, जुन उपभोग गर्न सकिन्छ ती कसरी उपभोग गर्ने भन्‍ने मात्र थाहा थियो, तर पृथ्वीमा कस्तो किसिमको जीवन सृष्टि गरिएको प्राणीका लागि योग्य हुन्छ भन्‍ने कुरा मानिसलाई अलिकति पनि थाहा थिएन। कसैले निर्देशन नदिई, कसैले तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ नगरी यस मानव जातिले मानव जातिको उचित जीवन कहिल्यै पनि बिताउन सक्ने थिएन, तर शैतानले क्रुद्ध बनेर कैदी बनाएका हुनेथिए। यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। यसैले, मानव जातिलाई सृष्टि गर्ने यहोवाको काम आधा मात्र भएको थियो, र त्यो पूर्ण हुनु अझै बाँकी नै थियो। उहाँले माटोबाट मानिसको ढाँचा मात्र बनाउनुभएको थियो र त्यसलाई उहाँको सास दिनुभयो, तर उहाँको डर मान्ने पर्याप्त इच्छा मानिसलाई दिनुभएन। सुरुमा, मानिसमा उहाँको डर मान्ने वा उहाँदेखि भयभीत हुने मन थिएन। मानिसले केवल उहाँका वचनहरू कसरी सुन्नुपर्छ भन्‍ने मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस एक भुस मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको अभाव थियो। मानिसले केवल यति मात्र जान्दथ्यो, कि मानव जातिलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ, तर यहोवाको वचन र कानुनहरू कसरी पालन गर्नुपर्छ भन्‍ने उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा हुनु अझै बाँकी नै थियो। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको डर मान्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा हुन सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। यसैले, मानव जातिलाई सृष्टि गर्नुभएपछि, मानव जातिले उहाँका आदेश र कानुनको पालना गर्न सकोस् र पृथ्वीमा सामान्य मानव जीवनका सबै गतिविधिहरूमा भाग लिन सकोस् भनेर उहाँले हजारौं वर्षसम्म पृथ्वीमा मानव जातिको जीवनलाई डोऱ्याउनु पऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी आज्ञाहरू यहोवाले इस्राएलीहरूको निम्ति दिनुभएको थियो, र मिश्रसँग ती आज्ञाहरूको केही पनि सम्बन्ध थिएन; इस्राएलीहरूलाई नियन्त्रण गर्नको निम्ति ती आज्ञाहरू दिइएका थिए र उहाँले तिनीहरूलाई मागहरू गर्नको निम्ति ती आज्ञाहरूको प्रयोग गर्नुभयो। तिनीहरूले शबाथको दिनको पालना गर्ने कि नगर्ने, वा आफ्ना आमाबाबुलाई आदर गर्ने कि नगर्ने वा मूर्तिहरूको पूजा गर्ने कि नगर्ने—तिनीहरू धर्मी छन् कि पापी छन् भन्‍ने कुराको न्याय यिनै सिद्धान्तहरूका आधारमा गरिन्थ्यो। तिनीहरूमध्ये कोहीलाई यहोवाको आगोद्वारा भस्म पारियो, कोहीलाई ढुङ्गाले हानेर मारियो र कोहीले यहोवाबाट आशिष् प्राप्त गरे, अनि तिनीहरूले आज्ञाहरू पालना गरेका छन् कि छैनन् भन्‍ने कुराको आधारमा यसको तय गरिन्थ्यो। शबाथको दिन पालना नगर्नेहरूलाई ढुङ्गाले हानेर मारियो। शबाथको दिन पालना नगर्ने पूजाहारीहरूलाई यहोवाको आगोले भस्म पार्‍यो। आफ्ना आमाबाबुको आदर नगर्नेहरूलाई पनि ढुङ्गाले हानेर मारियो। यी सबै कुराको आज्ञा यहोवाले नै दिनुभएको थियो। मानिसहरूको जीवनलाई अगुवाइ गर्ने क्रममा तिनीहरूले उहाँका वचन सुनून् र तिनमा समर्पित होऊन् अनि उहाँको विरोधी नहोऊन् भनेर यहोवाले आफ्ना आज्ञा र व्यवस्थाहरू स्थापित गर्नुभयो। नयाँ जन्मेका मानवजातिलाई नियन्त्रणमा राख्‍न र योभन्दा बढी त आफ्नो भविष्यको कार्यको निम्ति जग तयार गर्नको निम्ति उहाँले यी व्यवस्थाहरूको प्रयोग गर्नुभयो। यसैले यहोवाले गर्नुभएको कार्यलाई आधार मानेर नै पहिलो युगलाई व्यवस्थाको युग भनिएको हो। यहोवाले धेरै वाणीहरू बोल्‍नुभएको र धेरै काम गर्नुभएको भए तापनि उहाँले यी अनभिज्ञ मानिसहरूलाई मानव कसरी हुने, कसरी जिउने र कसरी यहोवाको मार्गलाई बुझ्‍ने भन्‍ने कुरा सिकाउँदै सकारात्मक तरिकाले पथ-प्रदर्शन मात्र गर्नुभयो। उहाँले गर्नुभएको कामको धेरैजसो हिस्सा मानिसहरूलाई उहाँको मार्ग पालना गर्न र उहाँका व्यवस्था अनुसरण गर्न प्रेरित गर्नु नै थियो। सतही रूपमा भ्रष्ट भएका मानिसहरूमा यो कार्य गरिएको थियो; यसले तिनीहरूको स्वभाव वा जीवनको प्रगतिलाई रूपान्तरण गर्ने सम्‍मको काम भने गरेन। उहाँको चासो भनेको व्यवस्थाको प्रयोग गरेर मानिसहरूलाई प्रतिबन्ध लगाउनु र नियन्त्रण गर्नु मात्र थियो। त्यस बेलाका इस्राएलीहरूको निम्ति यहोवा मन्दिरमा रहने परमेश्‍वर अर्थात् स्वर्गका परमेश्‍वर मात्र हुनुहुन्थ्यो। उहाँ बादलको खाँबो र आगोको ज्वाला हुनुहुन्थ्यो। तिनीहरूले आजका मानिसहरूले व्यवस्था र आज्ञाहरूको रूपमा जानेका कुराहरूको पालना गरून् भन्‍ने मात्रै उहाँले चाहनुभयो—तिनलाई नियमहरू पनि भन्‍न सकिन्छ—किनकि यहोवाले तिनीहरूलाई रूपान्तरण गर्न होइन, तर मानिसले प्राप्त गर्नुपर्ने थप कुराहरू तिनीहरूलाई दिन र आफ्नै मुखले तिनीहरूलाई सिकाउनको निम्ति उहाँले यसो गर्नुभयो किनकि सृष्टि गरिएपछि केही कुरा पनि मानिसको स्वामित्वमा थिएन। यसैले यहोवाले पृथ्वीमा रहँदाको जीवनमा मानिसहरूले प्राप्त गर्नुपर्ने कुराहरू तिनीहरूलाई दिएर उहाँले अगुवाइ गरेका मानिसहरूलाई तिनीहरूका पुर्खा आदम र हव्‍वाभन्दा उत्कृष्ट बनाउनुभयो किनकि उहाँले तिनीहरूलाई दिनुभएको कुरा उहाँले सुरुमा आदम र हव्‍वालाई दिनुभएको कुराभन्दा उत्कृष्ट थियो। जे होस्, यहोवाले इस्राएलमा गर्नुभएको कुराको उद्देश्य मानवजातिलाई पथ-प्रदर्शन गर्नु र तिनीहरूका सृष्टिकर्तालाई चिन्‍ने बनाउनु मात्र थियो। उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुभएन वा तिनीहरूलाई रूपान्तरण गर्नुभएन, तर केवल तिनीहरूको नेतृत्व मात्र गर्नुभयो। व्यवस्थाको युगमा यहोवाको कार्यको सारांश यही नै हो। यो नै इस्राएलको सम्पूर्ण भूमिमा उहाँले गर्नुभएको कार्यको पृष्ठभूमि तथा सत्य कथा, सार हो, साथै यो मानवजातिलाई आफ्नो हातको नियन्त्रणमा राख्‍न यहोवाले गर्नुभएको छ हजार वर्ष लामो कार्यको सुरुवात पनि हो। यसबाट नै उहाँको छ हजार वर्षे व्यवस्थापन योजनामा थप कार्यको जन्म भयो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम

येशूले अनुग्रहको युगका सबै कार्यहरूको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ देहधारी हुनुभयो, र क्रूसमा टाँगिनुभयो, र उहाँले अनुग्रहको युग पनि सुरु गर्नुभयो। उहाँ छुटकाराको कार्यलाई पूरा गर्न, व्यवस्थाको युग अन्त्य गर्न र अनुग्रहको युग सुरु गर्नको निम्ति क्रूसमा टाँगिनुभयो, र त्यसैले उहाँलाई “सर्वोच्‍च सेनापति,” “पापबलि,” र “छुटकाराकर्ता” पनि भनिन्छ। परिणामस्वरूप, अन्तर्वस्तुको हिसाबमा येशूको कार्य यहोवाको कार्यभन्दा भिन्‍न थियो, जबकि तिनीहरू एकै सिद्धान्तका थिए। यहोवाले व्यवस्थाको युग सुरु गर्नुभयो, र पृथ्वीमा परमेश्‍वरको कार्यको लागि आधार—सुरुवात विन्दु—स्थापना गर्नुभयो, र व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो। यी उहाँले गर्नुभएका दुईवटा कार्यहरू हुन्, र यिनले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्छन्। येशूले अनुग्रहको युगमा गर्नुभएको कार्य व्यवस्था जारी गर्नको लागि थिएन, बरु त्यसलाई पुरा गर्नको लागि थियो, र यसरी अनुग्रहको युग आरम्भ गर्नु थियो र दुई हजार वर्षसम्म रहेको व्यवस्थाको युग समाप्त गर्नु थियो। उहाँ पथप्रदर्शक हुनुहुन्थ्यो, जो अनुग्रहको युगको सुरुवात गर्न आउनुभयो, तर पनि उहाँको कार्यको मुख्य हिस्सा छुटकाराको कार्य थियो। त्यसैले उहाँको कार्य पनि दुई भागको थियो: नयाँ युगको सुरुवात गर्ने, र उहाँको क्रूसीकरणद्वारा छुटकाराको कार्य पूरा गर्ने। यसपश्‍चात् उहाँ बिदा हुनुभयो अनि व्यवस्थाको युगको अन्त्य भयो र अनुग्रहको युगको सुरुवात भयो।

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसहरूको आवश्यकताबमोजिम थियो। उहाँको कार्य मानवजातिलाई छुटकारा दिलाउनु थियो, तिनीहरूलाई तिनीहरूको पापको निम्ति क्षमा दिनु थियो, र त्यसैले उहाँको स्वभाव पूर्णतया नम्रता, धैर्यता, प्रेम, धार्मिकता, सहिष्णुता, कृपा, र दयाले भरिएको थियो। उहाँले मानवजातिमा प्रशस्त अनुग्रह र आशिष्‌हरू र मानिसहरूले आनन्द लिन सक्‍ने सबै कुराहरू ल्याउनुभयो, उहाँले तिनीहरूलाई तिनीहरूको आनन्दको निम्ति शान्ति र खुसीका साथै उहाँको सहिष्णुता र प्रेम, उहाँको कृपा र दयाले दिनुभयो। त्यस समयमा, मानिसहरूले सामना गरी आनन्द लिन सक्‍ने कुराहरूको प्रचुरता—तिनीहरूको हृदयभित्रको शान्ति र सुरक्षाको आभास, तिनीहरूको आत्माभित्र निश्‍चिन्‍तपनको भावना, र मुक्तिदाता येशूमा तिनीहरूको निर्भरता—यी सबै नै तिनीहरू बाँचेको त्यस युगअनुसारका थिए। अनुग्रहको युगमा, मानिसलाई शैतानले पहिले नै भ्रष्ट पारिसकेको थियो, र त्यही कारणले गर्दा, सबै मानवजातिलाई छुटकारा गर्ने कार्य हासिल गर्नको निम्ति प्रशस्त अनुग्रह, असीम सहिष्णुता र धैर्यता, र अझ भन्‍ने हो भने, लक्षित प्रभाव हासिल हुनलाई मानवजातिका पापहरूको प्रायश्‍चितको लागि पर्याप्त हुने एक बलिको आवश्यकता थियो। मानवजातिले अनुग्रहको युगमा जे देखे त्यो केवल मानवजातिका पापहरूको निम्ति मेरो प्रायश्‍चितको बलि थियो जो येशू हुनुहुन्छ। तिनीहरूले परमेश्‍वर कृपालु र सहनशील हुनुहुन्छ भन्‍ने मात्रै थाहा पाए, र तिनीहरूले येशूको कृपा र प्रेमिलोदयालुपन मात्रै देखे। यो पूर्ण रूपमा यसकारणले भयो किनकि तिनीहरू अनुग्रहको युगमा जन्मेका थिए। त्यसैले, तिनीहरूको छुटकारा हुनुअगाडि, तिनीहरूले धेरै प्रकारका अनुग्रहको आनन्‍द उपभोग गर्नुपर्थ्यो जुन अनुग्रहहरू येशूले तिनीहरूमाथि बर्साउनुभएको थियो ताकि तिनीहरूले यसबाट फाइदा लिन सकून्। यस तरिकाले, अनुग्रहको आनन्द उपभोगमार्फत तिनीहरूको पापको क्षमा दिन सकिन्थ्यो, र येशूको सहिष्णुता र धैर्यताको आनन्द उपभोगमार्फत छुटकारा पाउने मौका पनि हुन सक्थ्यो। केवल येशूको सहिष्णुता र धैर्यतामार्फत मात्र तिनीहरूले क्षमा प्राप्त गर्ने र येशूले दिनुभएको प्रशस्त अनुग्रहको आनन्द लिने अधिकार जित्थे। यो त येशूले म धर्मीलाई होइन बरु पापीलाई छुटकारा दिलाउन आएको छु, पापीहरूलाई तिनीहरूका पापहरूको क्षमा दिन आएको छु भनेर भन्‍नुभएजस्तै हो। जब उहाँ देहधारी हुनुभयो, येशूले यदि न्याय, श्राप, र मानिसको उल्‍लङ्घन नसहने स्वभाव लिएर आउनुभएको भए मानिसले छुटकारा पाउने अवसर कहिल्यै पाउँदैनथ्यो र ऊ सदाको लागि पापी रहनेथ्यो। यदि यस्तो भइदिएको भए, छ-हजार-वर्षे व्यवस्थापन योजना व्यवस्थाको युगमा आएर रोकिन्थ्यो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिने थियो। मानिसका पापहरू केवल अझै धेरै अनगिन्ती र घोर भई बढिरहन्थे र मानवजातिको सृष्टि व्यर्थको हुनेथ्यो। मानिसहरूले यहोवालाई केवल व्यवस्थाको अधीनमा भएर मात्रै सेवा गर्न सक्थे, तर तिनीहरूका पापहरू सृष्टि गरिएका पहिलो मानिसहरूको भन्दा अधिक हुनेथ्यो। येशूले मानवजातिलाई तिनीहरूको पापको क्षमा दिई तिनीहरूलाई प्रशस्त कृपा र प्रेमिलोदयालुपन बर्साएर तिनीहरूलाई जति धेरै प्रेम गर्नुभयो, येशूद्वारा मुक्ति पाउनको लागि र येशूले ठूलो मूल्य तिरेर फर्काई ल्याउनुभएको हराएको थुमा कहलिनको लागि मानवजाति त्यति नै धेरै हकदार भयो। शैतानले यस कार्यमा हस्तक्षेप गर्न सकेन, किनकि येशूले उहाँका अनुयायीहरूलाई यस्तो व्यवहार गर्नुभयो जस्तो कि एउटी स्‍नेही आमाले शिशुलाई आफ्नो काखमा राख्दा व्यवहार गर्छिन्। उहाँ तिनीहरूप्रति क्रोधित या अभिमानी हुनुहुन्‍नथ्यो, बरु सान्त्वनाले भरिएको हुनुहुन्थ्यो; उहाँ तिनीहरूको माझमा रिसको आवेगमा आउनुभएन, बरु उहाँले तिनीहरूका पापहरूमा सहिष्णुता राख्‍नुभयो र तिनीहरूको मूर्खता र अज्ञानतामा यति हदसम्‍म आँखा चिम्लनुभयो कि उहाँले भन्‍नुभयो, “अरूलाई सात गुणा सत्तरीपटक क्षमा दिनु।” यसरी उहाँको हृदयद्वारा अरूहरूको हृदय रूपान्तरित भयो, र यसरी मात्र उहाँको सहिष्णुतामार्फत मानिसहरूले आफ्नो पापको क्षमा प्राप्त गरे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

जब प्रभु येशूले आफ्नो काम सुरु गर्नुभयो, तब उहाँले व्यवस्थाको युगका “साङ्लोहरू” लाई पछाडि छोडी सक्नुभएको थियो, अनि त्यस युगका विधिविधान तथा सिद्धान्तहरूलाई तोडेर बाहिर निस्कनुभएको थियो। उहाँमा, व्यवस्थासँग सम्बन्धित कुनै छाप थिएन; उहाँले त्यसलाई पूर्ण रूपले हटाइसक्नुभएको थियो र उपरान्त त्यसलाई पालना गर्नुभएन, र त्यस उपरान्त मानवजातिलाई उहाँले पालना गर्न लगाउनुभएन। त्यसैले, यहाँ तँ देख्न सक्छस् कि प्रभु येशू शबाथ दिनमा गहुँका खेतहरूबाट भएर जानुभयो, र प्रभु येशूले विश्राम लिनुभएन; उहाँले बाहिर काम गरिरहनुभएको थियो, विश्राम लिइरहनुभएको थिएन। उहाँको यो कार्य मानिसहरूका धारणाहरूको लागि एउटा झड्को थियो र उहाँ त्यस उपरान्त व्यवस्थाको अधीनमा जिउनुहुन्‍न, उहाँले शबाथ दिनका बन्धनहरूलाई छोड्नुभएको छ र नयाँ काम गर्ने शैलीको साथमा नयाँ स्वरूपमा उहाँ मानवजातिको माझमा देखापर्नुभएको छ भन्‍ने बारे यसले तिनीहरूलाई बतायो। उहाँले आफूसित नयाँ काम ल्याउनुभएको छ, यस्तो काम जुन व्यवस्थाको अधीनमा रहेको अवस्थाबाट उत्पन्न भएर शबाथ दिनबाट बिदा हुँदै सुरु भयो भन्‍ने कुरा उहाँको यस कार्यले मानिसहरूलाई बतायो। जब परमेश्‍वरले आफ्नो नयाँ कामलाई अघि बढाउनुभयो, तब उहाँ उपरान्त विगतमा टाँसिनुभएन, अनि उहाँ व्यवस्थाको युगका विधिविधानहरूको बारेमा उपरान्त चिन्तित हुनुभएन। न त उहाँ पहिलेको युगको आफ्नो कामद्वारा नै प्रभावित हुनुभयो, तर अरू दिनमा झैं शबाथ दिनमा पनि उहाँले आफ्नो काम गर्नुभयो, अनि जब उहाँका चेलाहरू शबाथ दिनमा भोकाउँथे, तब तिनीहरूले खानका निम्ति गहुँका पातहरू टिप्न सके। यो सबै परमेश्‍वरको दृष्टिमा साह्रै सामान्य थियो। परमेश्‍वरको निम्ति, उहाँले गर्न चाहनुभएको नयाँ काममध्ये धेरैजसोको र उहाँले भन्न चाहनुभएको नयाँ वचनहरूमध्ये धेरैजसोको नयाँ सुरुवात हुनु उचित नै हुन्छ। जब उहाँले कुनै नयाँ काम सुरु गर्नुहुन्छ, न त उहाँले विगतको कामलाई उल्लेख गर्नुहुन्छ, न त त्यसलाई जारी नै राख्‍नुहुन्छ। परमेश्‍वरसित उहाँको कामसम्‍बन्धी सिद्धान्तहरू हुने भएकाले, जब उहाँले मानवजातिलाई आफ्नो कामको नयाँ चरणमा ल्याउन चाहनुहुन्छ, अनि जब उहाँको काम उच्च स्तरमा प्रवेश गर्छ तब उहाँले नयाँ काम सुरु गर्न चाहनुहुन्छ। यदि मानिसहरूले पुराना भनाइहरू र विधिविधानहरू अनुसार नै निरन्तर काम गरिरहन्छन् वा तिनीहरूलाई निरन्तर पक्री राख्छन् भने, उहाँले त्यसलाई सम्झने वा अनुमोदन गर्ने गर्नुहुन्न। किनभने उहाँले पहिले नै नयाँ काम ल्याइसक्नुभएको छ, अनि उहाँको कामको नयाँ चरणमा प्रवेश गरिसक्‍नुभएको छ। जब उहाँले नयाँ काम सुरु गर्नुहुन्छ, उहाँ पूर्ण रूपले एउटा नयाँ प्रतिरूपमा, पूर्ण रूपले नयाँ कोणबाट अनि पूर्ण रूपले नयाँ तरिकाले मानवजातिकहाँ देखा पर्नुहुन्छ ताकि मानिसहरूले उहाँको स्वभावका विभिन्न पक्षहरू तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो देख्न सकून्। यो उहाँको नयाँ कामका लक्ष्यहरूमध्ये एउटा हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

येशूको छुटकाराबिना, मानवजाति सदा पापमा जिउनेथ्यो र पापको सन्तान बन्‍नेथ्यो, दुष्टका सन्तान बन्‍नेथ्यो। यही कुरा नै जारी रहेको भए, पूरै संसार शैतान बस्‍ने जगत्, शैतानको बासस्थल बन्‍नेथ्यो। यद्यपि, छुटकाराको कार्यको लागि मानवजातिप्रति कृपा र प्रेमिलोदयालुपन देखाउन आवश्यक थियो; त्यस्तो माध्यमबाट मात्रै मानवजातिले क्षमा प्राप्त गर्न सक्थ्यो र अन्ततः परमेश्‍वरद्वारा पूर्ण पारिने र पूरै रूपमा प्राप्त गरिने हक पाउन सक्थ्यो। यस चरणको कार्यबिना, यो छ-हजार-वर्षे व्यवस्थापन योजनाले प्रगति गर्न सक्दैनथ्यो। यदि येशू क्रूसमा नटाँगिनुभएको भए, यदि उहाँले केवल बिरामीहरू निको पार्ने र भूतहरू भगाउने कार्य मात्रै गर्नुभएको भए, मानिसहरूलाई तिनीहरूको पापबाट पूर्ण रूपले क्षमा गर्न सकिँदैनथ्यो। येशूले पृथ्वीमा आफ्नो कार्य गरी बिताउनुभएको साढे तीन वर्षको अवधिमा, उहाँले आफ्नो छुटकाराको कार्यको केवल आधा कार्य मात्रै पूरा गर्नुभएको थियो; त्यसपछि, उहाँले क्रूसमा टाँगिएर र पापी देहको स्वरूप बनेर अनि दुष्टको हातमा आफैलाई सुम्पिएर क्रूसीकरणको कार्यलाई पूरा गर्नुभयो र मानवजातिको भवितव्यलाई काबू गर्नुभयो। उहाँले आफूलाई शैतानको हातमा सुम्पिनुभएपछि मात्रै मानवजातिलाई छुटकारा दिलाउनुभयो। साढे तेत्तीस वर्षसम्म उहाँले पृथ्वीमा दुःख भोग्‍नुभयो, उहाँको गिल्ला गरियो, निन्दा गरियो, र उहाँलाई त्यागियो, यहाँसम्म कि उहाँको शिर राख्‍ने ठाउँ थिएन, विश्राम गर्ने स्थान थिएन, र पछि उहाँलाई उहाँको पूर्ण अस्तित्वसहित—एउटा पवित्र र निर्दोष शरीरसँगै—क्रूसमा टाँगियो। उहाँले त्यहाँ भएको हरप्रकारको कष्ट सहनुभयो। सत्तामा रहेकाहरूले उहाँको निन्दा गरे र उहाँलाई कोर्रा लगाए, यहाँसम्म कि सैनिकहरूले उहाँको मुखमा समेत थुके; तैपनि उहाँ चुप भई बस्‍नुभयो र अन्त्यसम्मै सहनुभयो, निसर्त रूपमा आफैलाई मृत्युको अन्तिम बिन्दुससम्मै सुम्पिनुभयो, र यसमार्फत उहाँले सबै मानवजातिलाई छुटकारा दिलाउनुभयो। तब मात्रै उहाँले विश्राम लिन पाउनुभयो। येशूले गर्नुभएको कार्यले केवल अनुग्रहको युगको प्रतिनिधित्व गर्छ; यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन, न त यो आखिरी दिनहरूको कार्यको प्रतिस्थापन नै थियो। अनुग्रहको युग अर्थात् दोस्रो युग—मानवजातिले पार गरिसकेको छुटकाराको युग—मा येशूले गर्नुभएको कार्यको सार यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय, सजाय, र शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र ऊ शुद्ध पारिन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूको पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिसलाई बिस्तारै यस बिन्दुबाट परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँ खुलासा र काँटछाँट लामो समयसम्म गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरका अभिप्राय, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र जोडदार गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभाव रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरका अभिप्रायहरू अनुरूप भएको छ भन्‍ने सङ्केत गर्छ। आज, देहधारी परमेश्‍वर पृथ्वीमा आफ्नो कार्य गर्न आउनुभएको छ, र उहाँको माग मानिसले उहाँको ज्ञान हासिल गरोस्, उहाँप्रति समर्पित होस्, उहाँको गवाही दिओस्, तिनीहरूले उहाँको व्यावहारिक र सामान्य कार्य जानून्, मानिसका धारणासँग नमिल्ने उहाँका सबै वचन र कार्यहरूप्रति तिनीहरू समर्पित होऊन्, र मानिसलाई बचाउनका साथै मानिसउपर विजय गर्नका लागि उहाँले समापन गर्ने सबै कार्यहरूको गवाही तिनीहरूले दिऊन् भन्‍ने हो। परमेश्‍वरको गवाही दिनेहरूसँग परमेश्‍वरको ज्ञान हुनैपर्छ; यस प्रकारको गवाही मात्र सही र व्यावहारिक हुन्छ, र यस प्रकारको गवाहीले मात्र शैतानलाई लाजमा पार्न सक्छ। उहाँको न्याय, सजाय, र काँटछाँट भोगेर उहाँलाई जानिसकेकाहरूलाई उहाँ आफ्नो गवाही दिनका लागि प्रयोग गर्नुहुन्छ। शैतानले भ्रष्ट तुल्याएका मानिसहरूलाई उहाँले उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ, र त्यसैगरी जसको स्वभाव परिवर्तन भएको छ, र जसले उहाँको आशिषप्राप्त गरेको छ, यी सबैलाई पनि उहाँले गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँद्वारा मुक्ति नपाएको मानिसले आफ्नो मुखबाट उहाँको प्रशंसा गरिरहनु पर्दैन, न त उहाँलाई शैतानको दुष्ट्याइँको प्रशंसा र गवाहीको नै आवश्यकता छ। केवल उहाँलाई चिन्नेहरू मात्र उहाँको गवाही दिन योग्य छन्, र स्वभावमा परिवर्तन भएकाहरू मात्रै उहाँको गवाही दिन योग्य छन्। परमेश्‍वरले जानाजानी मानिसलाई उहाँको नामको बेइज्जत गर्न दिनुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मीपनको न्याय गर्न, मानिसको विद्रोहीपनलाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोलीवचन र कामहरू—परमेश्‍वरका अभिप्रायहरूका विरुद्धमा रहेका यी सबै कुरालाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको विद्रोहीपनका सबै कुरालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित छन्; उहाँले आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधर्मीपनको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो र वास्तवमा परमेश्‍वरको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभाव नै आजका वचनहरूका सन्दर्भ हुन्—बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्न म तिनलाई प्रयोग गर्छु। व्यावहारिक काम यही मात्र हो र यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्काउँछ। यदि तँमा अलिकति पनि भ्रष्ट स्वभाव छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसै मार्फत उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्‍नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, र तेरो अधर्मीपनका लागि तँलाई सजाय पनि दिनुभएन भने, त्यसले उहाँ परमेश्‍वर हुनुहुन्‍न भन्‍ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोरी हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनकै कारण म तँलाई सजाय दिन्छु। मैले तिमीहरूलाई आफ्नो शक्ति देखाइरहेको वा जानीजानी तिमीहरूलाई दमन गरिरहेको छैन; यस फोहोरको देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले संसारको सबैभन्दा फोहोरी कुनामा जन्मेका सुँगुरहरूले जस्तै आफ्नो सत्यनिष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारण नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि क्रोध बर्साउँछु। यी वचनहरूको यही न्यायको कारण नै तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारणले नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ; मानवजातिको विद्रोहीपन देखेर नै उहाँले उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले नै उहाँको पवित्रताको प्रकटीकरण गराउँछ। यही नै उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँ विशुद्ध र पवित्र भएर पनि उहाँ फोहोरको देशमा बस्‍नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

वास्तवमा, अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानविरुद्ध विद्रोह गर्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको भ्रष्ट स्वभाव उजागर गर्नु र मानिसहरूलाई जीवनको सार बुझ्‍न सक्षम तुल्याउनु हो। बारम्बार दोहोर्‍याइने यी न्यायहरूले मानिसको हृदय छेड्छन्। प्रत्येक न्याय प्रत्यक्ष रूपमा तिनीहरूको नियतिसँग सम्बन्धित हुन्छ र यसको काम तिनीहरूको हृदयमा चोट पुर्‍याउनु हो ताकि तिनीहरूले ती सबै थोक छोड्न र जीवनलाई जान्‍न सकून्, यो फोहोरी संसारलाई चिन्‍न सकून्, परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌तालाई चिन्‍न सकून्, र यसको साथै मानवजातिलाई पनि चिन्‍न सकून् जसलाई शैतानले भ्रष्ट बनाएको छ। सजाय र न्याय जति यस्तो हुन्छ, त्यति नै धेरै मानिसको हृदयमा चोट पुग्‍न सक्छ र त्यति नै धेरै उसको आत्मा जागृत हुन सक्छ। यस प्रकारको न्यायको लक्ष्य यस्ता अत्यन्त भ्रष्ट भएका र सबैभन्दा गहन रूपमा धोकामा परेका व्यक्तिहरूको आत्मालाई जागृत गराउनु हो। मानिससँग आत्मा छैन, अर्थात् उसको आत्मा धेरै अघि मरिसकेको छ र उसलाई स्वर्ग छ भन्‍ने कुरा थाहै छैन, परमेश्‍वर हुनुहुन्छ भन्‍ने पनि थाहै छैन र निश्‍चय नै ऊ मृत्युको पातालमा संघर्ष गरिरहेको छ भन्‍ने पनि उसलाई थाहै छैन; कसरी पो उसले आफू पृथ्वीको यस दुष्ट नर्कमा बाँचिरहेको छु भनेर थाहा पाउन सक्थ्यो र? ऊसँग भएको यो दुर्गन्धित लास शैतानको भ्रष्टताको कारण मृत्युको पातालमा खसेको कुरा उसले कसरी थाहा पाउन सक्थ्यो? धेरै पहिले नै पृथ्वीमा भएका सबै कुरालाई मर्मत नै गर्न नसकिने गरी मानवजातिले नाश गरिसकेका छन् भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? अनि, सृष्टिकर्ता आज पृथ्वीमा आउनुभएको छ र उहाँ आफूले मुक्ति दिन सक्‍ने भ्रष्ट मानिसहरूको समूह खोज्दै हुनुहुन्छ भनेर उसलाई कसरी थाहा हुन सक्थ्यो? मानिसले हरसम्‍भव शोधन र न्यायको अनुभव गरेपछि पनि उसको बोधो चेतना सायदै चलायमान हुन्छ र वास्तवमा यो लगभग उदासीन नै रहन्छ। मानवता कत्ति पतित छ! यस किसिमको न्याय आकाशबाट खसेको क्रूर असिनाजस्तो हुने भए तापनि, यो मानिसको लागि सबैभन्दा लाभदायक कुरा हो। यदि यस्ता मानिसहरूलाई न्याय नगरिने हो भने, नतिजा केही पनि हुनेथिएन र मानिसहरूलाई पीडाको पातालबाट जोगाउन पक्‍कै पनि असम्भव हुनेथियो। यदि यो काम नगरिएको भए, मानिसहरूलाई पाताल लोकबाट बाहिर निस्कन धेरै गाह्रो हुनेथियो किनभने उनीहरूको हृदय धेरै नै अघि मरिसकेको छ र तिनीहरूका आत्मालाई शैतानले पहिले नै कुल्चिसकेको छ। पतनको सबैभन्दा ठूलो गहिराइमा डुबेका तिमीहरूलाई बचाउनका लागि तिमीहरूलाई जोडजोडले चिच्याउनुपर्छ, तिमीहरूलाई कडाइका साथ न्याय गरिनुपर्छ; अनि मात्र तिमीहरूको जमेको हृदयलाई जगाउन सम्भव हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

राज्यको युगमा, परमेश्‍वरले नयाँ युगको प्रारम्भ गर्न, आफूले गर्ने कामका साधनहरू परिवर्तन गर्न, र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्‍वरले यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। फरक-फरक दृष्टिकोणहरूबाट बोल्न उहाँ देह बन्‍नुभयो, ता कि मानिसले देहमा वचनको रूपमा प्रकट हुनुभएको परमेश्‍वरलाई साँच्चिकै हेर्न सकून्, र उहाँको बुद्धि र आश्‍चर्यजनकता देख्न सकून्। यस्ता काम मानिसलाई जित्‍ने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई हटाउने लक्ष्यहरू अझै राम्ररी प्राप्त गर्नलाई गरिन्छ, जुन वचनको युगमा काम गर्न गरिने वचनको प्रयोगको सही अर्थ हो। यी वचनहरूद्वारा मानिसहरूले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, मानिसको सार, र मानिस जेमा प्रवेश गर्नु पर्ने हो त्यो थाहा पाउँछन्। वचनहरूद्वारा परमेश्‍वरले वचनको युगमा गर्ने चाहना गर्नुभएको कामलाई यसको पूर्णतामा साकार बनाइन्छ। यी वचनहरूद्वारा, मानिसहरूलाई पर्दाफास गरिन्छ, हटाइन्छ, र जाँचिन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन्, र यी वचनहरूको अस्तित्व चिनेका छन्। परिणामस्वरूप, उनीहरूले परमेश्‍वरको अस्तित्वमा, परमेश्‍वरको सर्वव्यापकता र बुद्धिमा, साथै मानिसको लागि परमेश्‍वरको प्रेममा र मानिसलाई मुक्ति दिने उहाँको इच्‍छामा विश्‍वास गर्न थालेका छन्। “वचनहरू” भन्‍ने शब्द सरल र सामान्य हुन सक्ला, तर देहधारी परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्, तिनीहरूले मानिसहरूका हृदय बदलिदिन्छन्, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू बदलिदिन्छन्, र सम्पूर्ण संसार प्रकट हुने तरिकालाई बदलिदिन्छन्। युगौँ-युगदेखि, आजका परमेश्‍वरले मात्र यस प्रकारले काम गर्नुभएको छ, र केवल उहाँ मात्रै यसप्रकारले बोल्नुहुन्छ र यसप्रकार मानिसलाई मुक्ति दिन आउनुहुन्छ। यो समयबाट अगाडि मानिस परमेश्‍वरका वचनहरूद्वारा निर्देशित र पोषित भएर उहाँका वचनहरूको मार्गदर्शनको अधीनमा जिउँछ। मानिसहरू परमेश्‍वरका वचनहरूको संसारमा, परमेश्‍वरका वचनहरूको श्रापहरू र आशीर्वादहरूको माझ जिउँछन्, र अझ धेरै मानिसहरू त उहाँका वचनहरूका न्याय र सजाय अन्तर्गत जिउन थालेका छन्। यी वचनहरू र यो काम पूर्ण रूपमा मानिसको छुटकाराको लागि, परमेश्‍वरको इच्छालाई पूरा गर्नको लागि, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नको लागि हुन्। वचनहरू प्रयोग गरेर परमेश्‍वरले संसारको सृष्टि गर्नुभयो, वचनहरू प्रयोग गरेर नै उहाँले मानिसहरूलाई ब्रह्माण्डभरि अगुवाई गर्नुहुन्छ, र वचनहरू प्रयोग गरेर नै उहाँले उनीहरूलाई जित्‍नुहुन्छ र मुक्ति दिनुहुन्छ। अन्ततः, उहाँले पुरानो सम्पूर्ण संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ र उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्‍वस्त तुल्याउन चिह्नहरू र अचम्‍मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको शक्तिलाई स्पष्ट बनाउन सक्दैन। यदि परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्‍वरको व्यावहारिकता स्पष्ट पार्न असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण समर्पणता र मानिसमा परमेश्‍वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्‍मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुतता ज्ञान दिन परमेश्‍वर विभिन्‍न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। … मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरू न्याय, सजाय, काटछाँट, र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा समर्पित हुन सके। यी मानिसहरूको विश्‍वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्‍मका कामहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने वचन र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको व्यावहारिकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्‍वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिस परमेश्‍वरको प्रभुत्वप्रति आत्मसमर्पण गर्छन्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकाले, र उसको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले परमेश्‍वरको धर्मी स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्‍ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धर्मी न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धर्मी इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; नत्र, कुनै पनि मानवता किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्‍ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्‍नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ भन्‍ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले खराबलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असमर्थ हुनेथियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैनथियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

सम्बन्धित चलचित्र उद्धरणहरू

परमेश्‍वरले व्यवस्था जारी गर्नुभएको

परमेश्‍वरले इस्राएलीहरूसँग प्रतिज्ञा गर्नुभएको

परमेश्‍वर पृथ्वीमा आएर पापबलि बन्‍नुभएको

सम्बन्धित प्रवचनहरू

प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

सम्बन्धित भजनहरू

परमेश्‍वरले नयाँ युगमा नयाँ काम ल्याउनुहुन्छ

आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग सुरु गर्नुभयो

परमेश्‍वरको आखिरी दिनहरूको धर्मी न्यायले मानवजातिलाई वर्गीकरण गर्दछ

परमेश्‍वरको न्यायको कामको उद्देश्य

अघिल्लो: क. परमेश्‍वरले गर्नुहुने मानवजातिको व्यवस्थापन कार्यका तीन चरणहरूको उद्देश्य

अर्को: ग. परमेश्‍वरको कामका सबै तीन चरणहरूबीचको सम्बन्ध

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्