परमेश्‍वरको कार्य र मानिसको अभ्यास

मानिसको बीचमा परमेश्‍वरले गर्ने काम मानिसबाट अलग रहन सक्दैन, किनभने मानिसनै यो कामको लक्ष्य, र परमेश्‍वरले बनाउनुभएको एउटै मात्र प्राणी हो, जसले परमेश्‍वरको साक्षी दिन सक्छ। मानिसको जीवन र मानिसका सबै क्रियाकलापहरूलाई परमेश्‍वरबाट अलग गर्न सकिँदैन, र यी सबै परमेश्‍वरका हातद्वारा नियन्त्रित छन्, र कुनै पनि व्यक्ति परमेश्‍वरबाट स्वतन्त्र रहेर अस्तित्वमा रहन सक्दैन भनेर समेत भन्‍न सकिन्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन, किनभने यो एउटा तथ्य हो। परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजातिको फाइदाको लागि हो र यो शैतानका युक्तिहरूका विरुद्ध निर्देशित छ। मानिसलाई चाहिने सबै कुरा परमेश्‍वरबाट आउँछ, र मानिसको जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ। तसर्थ, मानिस परमेश्‍वरबाट अलग हुनै सक्दैन। यसको साथै, मानिसबाट अलग हुने परमेश्‍वरको कुनै अभिप्राय कहिल्यै रहेको छैन। परमेश्‍वरले गर्नुहुने काम सारा मानवजातिको खातिर हो, र उहाँका विचारहरू सँधै दयालु छन्। त्यसो भए, मानिसको लागि परमेश्‍वरको काम र परमेश्‍वरका विचारहरू (अर्थात्, परमेश्‍वरको इच्‍छा) दुवै नै मानिसले जान्‍नुपर्ने “दर्शनहरू” हुन्। त्यस्ता दर्शनहरू परमेश्‍वरको व्यवस्थापन र मानिसले गर्न नसक्ने काम पनि हुन्। आफ्‍नो कामको अवधिमा परमेश्‍वरले मानिसलाई गर्ने मागहरूलाई, यस बीचमा, मानिसको “अभ्यास” भनिन्छ। दर्शनहरू परमेश्‍वर स्वयमका काम हुन्, वा ती मानवजातिप्रतिको उहाँको इच्‍छा वा उहाँको कामका उद्देश्यहरू र महत्त्व हुन्। दर्शनहरूलाई व्यवस्थापनको भाग पनि भन्‍न सकिन्छ, किनभने यो व्यवस्थापन परमेश्‍वरको काम हो, र यो मानिसप्रति निर्देशित छ, जसको अर्थ यो परमेश्‍वरले मानिसको बीचमा गर्नुहुने काम हो भन्ने हुन्छ। यो काम त्यो प्रमाण र मार्ग हो जसद्वारा मानिसले परमेश्‍वरलाई चिन्छ, र यो मानिसको लागि सबैभन्दा धेरै महत्त्वको छ। यदि मानिसहरूले परमेश्‍वरको कार्यको ज्ञानमा ध्यान दिनुको सट्टा, परमेश्‍वरमाथिको विश्‍वासका धर्मसिद्धान्तहरू, वा सानातिना महत्त्वहीन विवरणहरूमा मात्रै ध्यान दिन्छन् भने, तिनीहरूले परमेश्‍वरलाई चिन्‍नेछैनन्, र यसको साथै, तिनीहरू परमेश्‍वरको हृदयअनुसारका बन्‍नेछैनन्। परमेश्‍वर सम्‍बन्धी मानिसको ज्ञानको लागि अत्यन्तै उपयोगी परमेश्‍वरको कामलाई दर्शनहरू भनिन्छ। परमेश्‍वरको काम, परमेश्‍वरको इच्‍छा, र परमेश्‍वरको कामका लक्ष्‍यहरू र महत्त्व नै यी दर्शनहरू हुन्; ती सबै मानिसको लागि लाभदायक छन्। अभ्यासले मानिसद्वारा गरिनुपर्ने, परमेश्‍वरलाई पछ्याउने प्राणीहरूद्वारा गरिनुपर्ने कुरालाई जनाउँछ, र यो मानिसको कर्तव्य पनि हो। मानिसले के गर्नुपर्छ भन्ने कुरा मानिसले सुरुदेखि नै बुझेको कुरा होइन, तर आफ्‍नो कामको अवधिमा परमेश्‍वरले मानिसलाई दिनुभएका मागहरू नै हुन्। परमेश्‍वरले कार्य गर्ने क्रममा यी मागहरू क्रमिक रूपमा अझै गहन र अझै उच्‍च बन्छन्। उदाहरणको लागि, व्यवस्थाको युगमा, मानिसले व्यवस्थालाई पछ्याउनुपर्थ्यो, र अनुग्रहको युगमा मानिसले क्रूसलाई बोक्‍नुपर्थ्यो। राज्यको युग फरक छ: मानिसलाई दिइएका मागहरू व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा उच्‍च छन्। दर्शनहरू जति उच्‍च हुँदै जान्छन्, मानिसलाई दिइएका मागहरू त्यति नै उच्‍च हुँदै जान्छन्, र अझै स्पष्ट र अझै वास्तविक हुँदै जान्छन्। त्यसरी नै, दर्शनहरू पनि बढ्दो रूपमा वास्तविक हुँदै जान्छन्। यी धेरै वास्तविक दर्शनहरू परमेश्‍वरप्रतिको मानिसको आज्ञापालनसँग मात्रै अनुकूल छैनन्, तर परमेश्‍वरसम्‍बन्धी उसको ज्ञानसँग अझै अनुकूल छन्।

अघिल्‍ला युगहरूको तुलनामा, राज्यको युगको अवधिमा परमेश्‍वरको काम अझै बढी व्यवहारिक, मानिसको सार-तत्व र उसका स्वभाव परिवर्तनहरूप्रति अझै बढी निर्देशित, र उहाँलाई पछ्याउनेहरू सबैका खतिर परमेश्‍वर स्वयमको साक्षी दिन अझै बढी सक्षम छ। अर्थात, राज्यको युगको अवधिमा उहाँले काम गर्ने क्रममा, परमेश्‍वरले आफैलाई मानिसकहाँ विगतको कुनै पनि समयमा भन्दा बढी प्रकट गर्नुहुन्छ, जसको अर्थ मानिसले जान्‍नुपर्ने दर्शनहरू कुनै पनि अघिल्‍लो युगको भन्दा उच्‍च छन् भन्ने हुन्छ। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने काम अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको हुनाले, राज्यको युगको अवधिमा मानिसले जानेका दर्शनहरू सम्पूर्ण व्यवस्थापनको कार्यभरिमा नै सबैभन्दा उच्‍च छन्। परमेश्‍वरको कार्य अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ, र त्यसैले मानिसले जान्‍नुपर्ने दर्शनहरू सम्पूर्ण दर्शनहरूमा सबैभन्दा उच्‍च बनेका छन्, र यसको परिणामस्वरूप मानिसले गर्ने अभ्यास पनि अघिल्‍लो जुनसुकै युगको भन्दा उच्‍च छ, किनभने मानिसको अभ्यास दर्शनहरूसँगै परिवर्तन हुन्छ, र दर्शनहरूको सिद्धता मानिसलाई दिइएका मागहरूको सिद्धताको पनि सङ्केत हो। परमेश्‍वरका सबै व्यवस्थापन रोकिने बित्तिकै, मानिसको अभ्यास पनि रोकिन्छ, र परमेश्‍वरको कामविना, विगत समयका धर्मसिद्धान्तलाई पालन गर्ने बाहेक मानिससँग अरू कुनै विकल्‍प रहनेछैन, अन्यथा फर्कने ठाउँ कहीँ पनि हुनेछैन। नयाँ दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै नयाँ अभ्यास हुनेछैन; पूर्ण दर्शनहरूविना, मानिसद्वारा गरिन कुनै सिद्ध अभ्यास हुनेछैन; उच्‍च दर्शनहरूविना, मानिसद्वारा गरिने कुनै उच्‍च अभ्यास हुनेछैन। मानिसको अभ्यास परमेश्‍वरका पाइलाहरूसँगै परिवर्तन हुन्छ, अनि, सोही अनुरूप, मानिसका ज्ञान र अनुभव पनि परमेश्‍वरको कार्यसँगै परिवर्तन हुन्छन्। मानिस जति सक्षम भए तापनि, ऊ परमेश्‍वरबाट अलग रहन सक्दैन, र यदि परमेश्‍वरले एक क्षणको लागि मात्रै भए पनि काम गर्न छोड्नुभयो भने, मानिस उहाँको क्रोधबाट तुरुन्तै मर्ने थियो। घमण्ड गर्नको लागि मानिससँग केही पनि छैन, किनभने मानिसको ज्ञान आज जति नै उच्‍च किन नहोस्, उसका अनुभवहरू जति नै प्रगाढ किन नहोऊन्, ऊ परमेश्‍वरको कामबाट अलग रहन सक्दैन—किनभने मानिसको अभ्यास, र परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा उसले खोज्‍नुपर्ने कुरालाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। परमेश्‍वरको कार्यको हरेक घटनामा, मानिसले जान्‍नुपर्ने दर्शनहरू छन्, र, यीनै कुराहरूलाई पछ्याउँदै, मानिसलाई उचित मागहरू दिइन्छ। जगको रूपमा रहेका यी दर्शनहरूविना, मानिस अभ्यास गर्न असक्षम हुने थियो, न त ऊ अटल रूपमा परमेश्‍वरलाई पछ्याउन नै सक्षम हुने थियो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन वा परमेश्‍वरको इच्‍छालाई बुझ्दैन भने, मानिसले गर्ने सबै कुरा व्यर्थ, र परमेश्‍वरद्वारा अनुमोदन हुन असक्षम हुन्छ। मानिसका वरदानहरू जति नै प्रशस्त भए पनि, परमेश्‍वरको काम र परमेश्‍वरको अगुवाइबाट ऊ अझै अलग रहन सक्दैन। मानिसका कार्यहरू जति नै असल भए पनि वा मानिसले जति नै कामहरू गरे पनि, तिनले परमेश्‍वरको कार्यलाई अझै प्रतिस्थापन गर्न सक्दैनन्। त्यसैले, कुनै पनि परिस्‍थितिमा मानिसको अभ्यासलाई दर्शनहरूबाट अलग गर्न सकिँदैन। नयाँ दर्शनहरूलाई स्वीकार नगर्नेहरूसँग कुनै नयाँ अभ्यास हुँदैन। तिनीहरूको अभ्यासले सत्यतासँग कुनै सम्‍बन्ध राख्दैन किनभने तिनीहरू धर्मसिद्धान्त अनुसार चल्दछन र तिनीहरूले मृत व्यवस्थालाई छाड्दैनन्; तिनीहरूमा कुनै नयाँ दर्शनहरू हुँदैन, र यसको परिणाम स्वरूप, तिनीहरूले नयाँ युगको कुनै पनि कुरालाई अभ्यास गर्दैनन्। तिनीहरूले दर्शनहरूलाई गुमाएका छन्, र यस क्रममा तिनीहरूले पवित्र आत्माको कामलाई पनि गुमाएका छन्, र तिनीहरूले सत्यतालाई गुमाएका छन्। सत्यता विहीनहरू मूर्खताका सन्तान हुन्, तिनीहरू शैतानका मूर्तरूप हुन्। कुनै व्यक्ति चाहे जस्तोसुकै प्रकारको व्यक्ति होस्, तिनीहरू परमेश्‍वरको कामका दर्शनहरू विहीन हुन सक्दैनन्, र पवित्र आत्‍माको उपस्थिति विहीन हुन सक्दैनन्; कुनै व्यक्तिले दर्शनहरूलाई गुमाउने बित्तिकै, उ पातालमा झरिहाल्छ र अन्धकारको बीचमा जिउँछ। दर्शनहरूविनाका मानिसहरू परमेश्‍वरलाई मूर्खतापूर्ण तरिकाले पछ्याउनेहरू हुन्, तिनीहरू त्यस्ता हुन् जसमा पवित्र आत्‍माको काम हुँदैन, र तिनीहरू नरकमा जिइरहेका हुन्छन्। त्यस्ता मानिसहरूले सत्यताको खोजी गर्दैनन्, बरु परमेश्‍वरको नामलाई साइनबोर्ड जस्तै झुण्ड्याउँछन्। पवित्र आत्माको कामलाई नचिन्‍नेहरू, देहधारी परमेश्‍वरलाई नचिन्‍नेहरू, परमेश्‍वरको व्यवस्थापनको सम्पूर्णताका तीन चरणको कार्यलाई नजान्‍नेहरू—तिनीहरूलाई दर्शनहरूको बारेमा थाहा छैन, त्यसैले तिनीहरू सत्यता विहीन छन्। अनि सत्यता नभएकाहरू सबै दुष्ट काम गर्नेहरू होइनन् र? सत्यतालाई अभ्यास गर्न इच्‍छुकहरू, परमेश्‍वरको ज्ञानको खोजी गर्न इच्‍छुकहरू, र परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्नेहरू ती मानिसहरू हुन् जसका लागि दर्शनहरूले जगको रूपमा काम गर्छन्। तिनीहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ किनभने तिनीहरूले परमेश्‍वरसँग सहकार्य गर्छन्, र मानिसले अभ्यास गर्नुपर्ने यही सहकार्य नै हो।

दर्शनहरूमा अभ्यास गर्नुपर्ने धेरै मार्गहरू समावेश छन्। मानिसले जान्‍नु पर्ने परमेश्‍वरको काम भएजस्तै, मानिसबाट गरिने व्यवहारिक मागहरू पनि दर्शनहरूभित्र समावेश छन्। विगतमा, विभिन्‍न स्थानमा आयोजना गरिने विशेष भेलाहरू वा भव्य भेलाहरूमा, अभ्यासको मार्गको एउटै पक्षको बारेमा मात्रै बोलियो। त्यस्तो अभ्यास अनुग्रहको युगको अवधिमा व्यवहारमा उतार्नुपर्ने अभ्यास थियो, र परमेश्‍वर सम्‍बन्धी ज्ञानसँग यसले मुस्किलले सम्‍बन्ध राख्थ्यो, किनभने अनुग्रहको युगको दर्शन येशूको क्रुसीकरणको दर्शन मात्रै थियो, र अरू कुनै ठूला दर्शनहरू थिएनन्। क्रुसीकरणद्वारा उहाँले गर्नुभएको मानवजातिको छुट्काराको कामभन्दा बढी कुरा मानिसले जान्‍नुहुँदैन भन्ने मानिन्थ्यो, र अनुग्रहको युगको अवधिमा, मानिसले जान्‍नुपर्ने अरू कुनै पनि दर्शनहरू थिएनन्। यसरी, मानिससँग परमेश्‍वरसम्‍बन्धी थोर मात्रै ज्ञान थियो, र येशूको प्रेम र करुणा सम्‍बन्धी ज्ञान बाहेक, उसले अभ्यास गर्नका लागि थोरैसरल र दयनीय कुराहरू मात्रै थिए, जुन कुराहरू आजभन्दा निकै फरक थिए। विगतमा, उसको भेलाले जस्तोसुकै आकार लिए पनि, परमेश्‍वरको कामको व्यवहारिक ज्ञानको बारेमा बताउन मानिस असक्षम थियो, मानिस प्रवेश गर्नुपर्ने सबैभन्दा उपयुक्त अभ्यासको मार्ग कुन हो भन्‍ने कुरालाई कसैले स्पष्ट रूपमा बताउन सक्‍नु त परै जाओस्। मानिसले सहनशीलता र धैर्यताको जगमा केही सरल विवरणहरू मात्रै थप्यो; उसको अभ्यासको सारमा कुनै परिवर्तन नै थिएन, किनभने उही युगमा परमेश्‍वरले कुनै पनि नयाँ काम गर्नुभएन, र मानिसलाई उहाँले गर्नुभएका मागहरू सहनशीलता र धैर्यता, वा क्रूस उठाउने कार्य मात्रै थिए। त्यस्ता अभ्यासहरू बाहेक, येशूको क्रुसीकरणभन्दा अरू कुनै उच्‍च दर्शनहरू थिएनन्। विगतमा, अरू दर्शनहरूको बारेमा कुनै उल्‍लेख गरिएन किनभने परमेश्‍वरले त्यति धेरै काम गर्नुभएन, किनभने उहाँले मानिसलाई सीमित मागहरू मात्रै गर्नुभयो। यसरी, मानिसले जेसुकै गरे तापनि, यी सीमाहरूलाई उल्लङ्घन गर्न ऊ असक्षम थियो, जुन सीमाहरू मानिसले अभ्यास गर्नुपर्ने केही सरल र सतही कुराहरू बाहेक केही पनि थिएनन्। आज म अरू दर्शनहरूका बारेमा बताउँछु किनभने आज धेरै काम गरिएको छ, जुन काम व्यवस्थाको युग र अनुग्रहको युगकोभन्दा धेरै गुणा बढी छ। मानिसलाई दिइएका मागहरू पनि विगतका युगहरूका भन्दा कैयौं गुणा बढी छन्। यदि मानिस त्यस किसिमको कार्यलाई बुझ्‍न पूर्ण रूपमा असमर्थ छ भने, यसमा त्यति ठूलो महत्त्व हुँदैन; यदि मानिसले यसको लागि आफ्‍नो सम्पूर्ण जीवनभरको प्रयासलाई समर्पित गर्दैन भने त्यस्ता कार्यलाई पूर्णरूपमा बुझ्‍न उसलाई कठिनाइ हुनेछ भन्‍न सकिन्छ। विजयको काममा, अभ्यासको मार्गको बारेमा मात्रै कुरा गर्नुले मानिसको विजयलाई असम्‍भव तुल्याउनेथियो। मानिसलाई कुनै पनि मागहरू नदिइकन दर्शनहरूका बारेमा मात्रै कुरा गरियो भने यसले पनि मानिसको विजयलाई असम्‍भव नै तुल्याउनेथियो। यदि अभ्यासको मार्ग बाहेक अरू केहीको बारेमा बोलिएन भने, मानिसको मुख्य कमजोरीलाई प्रहार गर्नु, वा मानिसका धारणाहरूलाई तोड्नु असम्‍भव हुनेथियो, र मानिसलाई पूर्ण रूपले विजय गर्नु पनि असम्‍भव नै हुनेथियो। मानिसको विजयको मुख्य औजार दर्शनहरू नै हुन्, तैपनि यदि दर्शनहरू बाहेक अभ्यासको कुनै मार्ग थिएन भने, मानिसले पछ्याउनको लागि कुनै बाटो हुने थिएन, उसँग प्रवेशका कुनै माध्यमहरू हुनु त परै जाओस्। सुरुदेखि अन्तिमसम्‍मै परमेश्‍वरको कामको सिद्धान्त यही नै रहेको छ: दर्शनहरूमा ती कुरा छन् जसलाई अभ्यास गर्न सकिन्छ, र अभ्यासबाहेक थप रूपमा दर्शनहरू पनि छन्। मानिसको जीवन र उसको स्वभाव दुवैमा हुने परिवर्तनहरूको तह दर्शनहरूको परिवर्तनसँग साथ-साथै रहन्छ। यदि मानिस आफ्‍नै प्रयासहरूमा मात्रै भर पर्नु परेकोथियो भने, उसले कुनै पनि ठूलो तहको परिवर्तन हासिल गर्न असम्‍भव हुनेथियो। दर्शनहरूले परमेश्‍वर स्वयमको काम र परमेश्‍वरको व्यवस्थापनको बारेमा बताउँछन्। अभ्यासले मानिसको अभ्यासको मार्ग, र मानिसको अस्तित्वको बाटोलाई जनाउँछ; परमेश्‍वरको सबै व्यवस्थापनमा, दर्शनहरू र अभ्यास बीचको सम्‍बन्ध परमेश्‍वर र मानिस बीचको सम्‍बन्ध हो। यदि दर्शनहरूलाई हटाइयो भने, वा यदि अभ्यासको बारेमा कुरा नगरिकन तिनको बारेमा बताइयो भने, वा यदि दर्शनहरू मात्रै थिए र मानिसका अभ्यासलाई हटाइएको थियो भने, त्यस्ता कुराहरूलाई परमेश्‍वरको व्यवस्थापनको रूपमा लिन सकिँदैन, मानवजातिको लागि परमेश्‍वरको कार्य गरिएको थियो भनेर भन्‍न सक्‍ने त परै जाओस्; यसरी, मानिसको कर्तव्यलाई हटाइने मात्रै होइन, तर यो परमेश्‍वरको कामको उद्देश्यको पनि इन्कार हुनेथियो। यदि, सुरुदेखि अन्तिमसम्‍मै, परमेश्‍वरको कामको संलग्‍नताविना नै मानिसले अभ्यास मात्रै गर्नु आवश्यक थियो, साथै, मानिसले परमेश्‍वरको कामको बारेमा जान्‍नु आवश्यक थिएन भने, त्यस्तो काम अझै विरलैपरमेश्‍वरको व्यवस्थापन भन्‍न सकिन्थ्यो। यदि मानिसले परमेश्‍वरलाई चिनेको थिएन, र परमेश्‍वरको इच्‍छाको बारेमा अनजान थियो, अनि उसले आफ्‍नो अभ्यासलाई अस्पष्ट र अमूर्त रूपमा अन्धाधुन्ध अघि बढाउँथ्यो भने, ऊ कहिल्यै पनि पूर्ण रूपमा योग्य प्राणी बन्‍ने थिएन। त्यसकारण, यी दुवै कुरा अपरिहार्य छन्। यदि परमेश्‍वरको काम मात्रै थियो, भन्‍नुको अर्थ, यदि दर्शनहरू मात्रै थिए र मानिसद्वारा कुनै सहकार्य वा अभ्यास गरिएको थिएन भने, त्यस्ता कुराहरूलाई परमेश्‍वरको व्यवस्थापन भन्‍न सकिँदैन। यदि मानिसको अभ्यास र प्रवेश मात्रै थिए भने, मानिस जति उच्‍च मार्गमा प्रवेश गरे तापनि, यो पनि अस्वीकार्य नै हुनेथियो। मानिसको प्रवेश काम र दर्शनहरूसँगै क्रमिक रूपमा परिवर्तन हुनुपर्छ; यो झट्ट परिवर्तन हुन सक्दैन। मानिसको अभ्यासका सिद्धान्तहरू स्वतन्त्र र बन्धनमुक्त छैनन् तर ती निश्‍चित सीमाभित्र तय गरिएका हुन्छन्। त्यस्ता सिद्धान्तहरू कामको दर्शनहरूसँगै परिवर्तन हुन्छन्। त्यसकारण, परमेश्‍वरको व्यवस्थापन आखिरमा परमेश्‍वरको काम र मानिसको अभ्यासमा नै जोडिन्छ।

मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनु भन्दा पहिले, वा सुरुमा, जब स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गरियो, त्यो बेला कुनै व्यवस्थापन थिएन। यदि, परमेश्‍वरको सारा काममा, मानिसको लागि लाभदायक कुनै अभ्यास थिएन भने, अर्थात्, भ्रष्ट मानवजातिलाई परमेश्‍वरले उचित मागहरू नदिनुभएको भए (यदि, परमेश्‍वरले गर्नुभएको काममा, मानिसको अभ्यासको लागि कुनै उपयुक्त मार्ग थिएन भने), यो कार्यलाई परमेश्‍वरको व्यवस्थापन भनेर भन्‍न सकिने थिएन। यदि परमेश्‍वरको कार्यको सम्पूर्णतामा भ्रष्ट मानवजातिलाई तिनीहरूले आफ्‍नो अभ्यासलाई कसरी अघि बढाउनुपर्छ भन्‍ने बारेमा बताउने कार्य मात्रै समावेश थियो भने, र परमेश्‍वरले आफ्‍नो कुनै पनि कार्य-कुशलतालाई अघि नबढाउनुभएको भए, र आफ्‍नो सर्व-शक्ति वा बुद्धिको एउटा भाग पनि प्रदर्शन नगर्नुभएको भए, परमेश्‍वरले मानिसलाई दिनुभएको मागहरू जति उच्‍च भए पनि, मानिसको बीचमा परमेश्‍वर जति लामो समय बस्‍नुभएको भए तापनि, मानिसले परमेश्‍वरको स्वभावको बारेमा केही पनि जान्‍ने थिएन; यदि त्यसो भएको भए, यस प्रकारको कामलाई परमेश्‍वरको व्यवस्थापन भन्‍न अझै अयोग्य हुनेथियो। सरल रूपमा भन्दा, परमेश्‍वरको व्यवस्थापनको काम भनेको परमेश्‍वरले गर्नुभएका, साथै परमेश्‍वरद्वारा प्राप्त गरिएकाहरूले परमेश्‍वरको अगुवाइमा गरेका सबै काम हो। त्यस प्रकारको कामलाई व्यवस्थापन भनेर सारांशित गर्न सकिन्छ। अर्को शब्‍दमा भन्दा, मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने काम, साथै उहाँलाई पछ्याउनेहरूले उहाँसँग गर्ने सहकार्य सबैलाई समग्रमा व्यवस्थापन भनिन्छ। यहाँ, परमेश्‍वरको कार्यलाई दर्शनहरू भनिएको छ, र मानिसको सहकार्यलाई अभ्यास भनिएको छ। परमेश्‍वरको कार्य जति उच्‍च छ (अर्थात्, दर्शनहरू जति उच्‍च छन्), परमेश्‍वरको स्वभाव मानिसको लागि त्यति नै सरल तुल्याइन्छ, यो मानिसका धारणाहरूसँग त्यति नै अमिल्दो हुन्छ, र मानिसको अभ्यास र सहकार्य त्यति नै उच्‍च बन्छ। मानिसलाई दिइएका मापदण्डहरू जति उच्‍च छन्, मानिसका धारणाहरूसँग परमेश्‍वरको कार्य त्यति नै अमिल्दो हुन्छ, जसको परिणाम स्वरूप, मानिसका परीक्षाहरू, र उसले पूरा गर्नुपर्ने मापदण्डहरू पनि उच्‍च बन्छन्। यो कामको समाप्तिमा, सारा दर्शनहरू पूरा गरिएका हुनेछन्, र मानिसले जुन कुरालाई अभ्यास गर्नुपर्ने छ त्यो सिद्धताको शिखरमा पुगेको हुनेछ। यो हरेकलाई यसका प्रकार अनुसार वर्गीकरण गरिने समय पनि हुनेछ, किनभने मानिसले जान्‍नु आवश्यक कुरा मानिसलाई देखाइएको हुनेछ। त्यसकारण, जब दर्शनहरू चरम विन्दुमा पुग्छन्, सोही अनुरूप काम पनि यसको समाप्तिमा पुग्‍नेछ, र मानिसको अभ्यास पनि यसको शीर्ष विन्दुमा पुगेको हुनेछ। मानिसको अभ्यास परमेश्‍वरको काममा आधारित हुन्छ, र परमेश्‍वरको व्यवस्थापन मानिसको अभ्यास र सहकार्यमा मात्रै पूर्ण रूपमा व्यक्त हुन्छ। मानिस परमेश्‍वरको कामको प्रदर्शन-नमुना, र परमेश्‍वरको सारा व्यवस्थापन कार्यको लक्ष्य, साथै परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको परिणाम पनि हो। यदि परमेश्‍वरले मानिसको सहकार्यविना नै काम गर्नुभयो भने, उहाँको सम्पूर्ण कार्यको उत्कृष्टताको रूपमा रहन सक्‍ने केही पनि हुनेथिएन, र परमेश्‍वरको व्यवस्थापनको अलिकति पनि महत्त्व हुनेथिएन। परमेश्‍वरको कामको अतिरिक्त, आफ्‍नो कामलाई व्यक्त गर्न र यसको सर्व-शक्ति र बुद्धिलाई प्रमाणित गर्नको लागि परमेश्‍वरले उचित पात्रहरूलाई छनौट गरेर मात्रै, आफ्‍नो व्यवस्थापनको उद्देश्यलाई पूरा गर्न, र शैतानलाई पूर्ण रूपमा पराजित गर्नको लागि यी सबै कार्यको प्रयोग गर्नुको आफ्‍नो लक्ष्‍यलाई हासिल गर्न सक्‍नुहुन्छ। त्यसकारण, मानिस परमेश्‍वरको व्यवस्थापनको कामको अपरिहार्य भाग हो, र परमेश्‍वरको व्यवस्थापनलाई फल फलाउने र यसको अन्तिम लक्ष्‍यलाई हासिल गर्ने बनाउन सक्‍ने मानिस मात्रै हो; मानिस बाहेक, अरू कुनै पनि प्राणीले त्यस किसिमको भूमिकालाई निर्वाह गर्न सक्दैन। यदि मानिस परमेश्‍वरको व्यवस्थापन कार्यको साँचो उत्कृष्टता हुनु छ भने, भ्रष्ट मानवजातिको अनाज्ञाकारीतालाई पूर्ण रूपमा हटाइनुपर्छ। यसको लागि के आवश्यक पर्छ भने मानिसलाई फरक-फरक समयको लागि उपयुक्त अभ्यास दिइनुपर्छ, र परमेश्‍वरले मानिसको बीचमा त्यसै अनुरूपको कार्य गर्नुपर्छ। यसरी मात्रै आखिरमा मानिसहरूको त्यो समूहलाई प्राप्त गरिनेछ जो परमेश्‍वरको व्यवस्थापन कार्यको उत्कृष्टता हुन्। परमेश्‍वरको कार्यद्वारा मात्रै मानिसको बीचमा परमेश्‍वरले गर्नुभएको कार्यले परमेश्‍वरको गवाही दिन सक्दैन; त्यस्तो गवाही हासिल गर्नको लागि उहाँको कामको निम्ति उपयुक्त जीवित मानवजातिको आवश्यकता पर्छ। परमेश्‍वरले सुरुमा यी मानिसहरूमा काम गर्नुहुन्छ, त्यसपछि त्यसद्वारा उहाँको कामलाई व्यक्त गरिनेछ, र यसरी उहाँको त्यस्तो गवाहीलाई प्राणीहरूका बीचमा वहन गरिनेछ, र यसमा, परमेश्‍वरले आफ्‍नो कामको लक्ष्‍यलाई हासिल गर्नुभएको हुनेछ। शैतानलाई हराउनको लागि परमेश्‍वरले एकलै काम गर्नुहुन्‍न किनभने उहाँले सारा प्राणीहरूका बीचमा आफ्‍नो गवाही आफै दिन सक्‍नुहुन्‍न। यदि उहाँले त्यसो गर्नुभयो भने, मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउनु असम्‍भव हुनेथियो, त्यसकारण त्यसलाई जित्‍नको लागि परमेश्‍वरले मानिसमा काम गर्नैपर्छ, त्यसपछि मात्रै उहाँले सारा प्राणीहरूका बीचमा आफ्‍नो गवाही प्राप्त गर्न सक्‍नुहुनेछ। यदि मानिसको सहकार्यविना परमेश्‍वरले मात्रै काम गर्नुभयो भने, वा यदि मानिसले सहकार्य गर्नु आवश्यक थिएन भने, मानिसले परमेश्‍वरको स्वभावलाई कहिल्यै पनि जान्‍न सक्‍नेथिएन, र ऊ परमेश्‍वरको इच्छाको बारेमा सदासर्वदा नै अनभिज्ञ हुनेथियो; त्यसपछि परमेश्‍वरको कामलाई परमेश्‍वरको व्यवस्थापनको काम भनेर भन्‍न सकिने थिएन। यदि परमेश्‍वरको कामलाई नबुझीकन मानिसले आफै प्रयास गरेको, र खोजी गरेको, र कठिन परिश्रम गरेको भए, मानिसले मजाक गरिरहेको हुनेथियो। पवित्र आत्माको कार्यविना, मानिसले गर्ने कुरा शैतानकै हुन्छ, ऊ विद्रोही र दुष्ट काम गर्ने हुन्छ; भ्रष्ट मानिसले गर्ने सबै कुरामा शैतानलाई प्रकट गरिन्छ, र परमेश्‍वरको अनुरूप केही पनि हुँदैन, र मानिसले गर्ने सबै कुरा शैतानको प्रकटीकरण नै हुन्छ। बोलिएका सबै कुरामा दर्शनहरू र अभ्यासबाट कुनै पनि कुरा अलग छैनन्। दर्शनहरूका जगमा, मानिसले अभ्यास र आज्ञापालनको मार्ग भेट्टाउँछ, ताकि उसले आफ्‍ना धारणाहरूलाई पन्छ्याएर विगतमा उसँग नभएका कुराहरूलाई प्राप्त गर्न सकोस्। मानिसले उहाँसँग सहकार्य गरोस्, उहाँका मागहरूमा मानिस पूर्ण रूपमा समर्पित होस् भनेर परमेश्‍वरले माग गर्नुहुन्छ, र मानिसले परमेश्‍वर स्वयमले गर्नुभएको कामलाई हेर्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ शक्तिलाई अनुभव गर्न, र परमेश्‍वरको स्वभावलाई जान्‍नको लागि अनुरोध गर्छ। सारांशमा, यी परमेश्‍वरका व्यवस्थापन हुन्। मानिससँगको परमेश्‍वरको मिलाप नै व्यवस्थापन हो, र यो सबैभन्दा ठूलो व्यवस्थापन हो।

दर्शनहरूमा संलग्‍न कुराले प्राथमिक रूपमा परमेश्‍वर स्वयमको कार्यलाई जनाउँछ, र अभ्यासमा संलग्‍न कुरालाई मानिस स्वयमले गर्नुपर्छ र परमेश्‍वरसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरको कार्यलाई परमेश्‍वर स्वयमले पूरा गर्नुहुन्छ, र मानिसको अभ्यासलाई मानिस आफैले हासिल गर्छ। जुन कुरा परमेश्‍वरद्वारा गरिनुपर्छ त्यो मानिसद्वारा गरिनु आवश्यक छैन, र मानिसद्वारा अभ्यास गरिनुपर्ने कुरा परमेश्‍वरसँग सम्‍बन्धित छैन। परमेश्‍वरको कार्य उहाँको आफ्‍नै सेवकाइ हो र मानिससँग यसको कुनै सम्‍बन्ध छैन। यो कार्य मानिसद्वारा गरिनु आवश्यक छैन, यसको साथै, परमेश्‍वरद्वारा गरिनु पर्ने कार्य गर्न मानिस असक्षम हुनेछ। मानिसले अभ्यास गर्नु आवश्यक रहेको कुरालाई मानिसले नै पूरा गर्नुपर्छ, चाहे यो उसको जीवनको बलिदान होस्, वा गवाहीको रूपमा खडा हुनको लागि आफैलाई शैतानको हातमा सुम्पने कार्य नै होस्—यी सबैलाई मानिसले नै पूरा गर्नुपर्छ। आफूले पूरा गर्नुपर्ने सबै काम परमेश्‍वर स्वयमले पूरा गर्नुहुन्छ, र मानिसले गर्नुपर्ने कुरा मानिसलाई देखाइन्छ, र पूरा गर्नको लागि बाँकी काम मानिसकै लागि छोडिन्छ। परमेश्‍वरले थप काम गर्नुहुन्‍न। उहाँले आफ्‍नो सेवकाइभित्रको काम मात्रै गर्नुहुन्छ, र मानिसलाई बाटो मात्रै देखाउनुहुन्छ, र बाटो खोल्‍ने काम मात्रै गर्नुहुन्छ, अनि बाटो तयार गर्ने काम गर्नुहुन्‍न; यस कुरालाई सबैले बुझ्‍नुपर्छ। सत्यतालाई अभ्यास गर्नु भनेको परमेश्‍वरको वचनलाई अभ्यास गर्नु हो, र यो सबै नै मानिसको कर्तव्य हो, मानिसले गर्नु पर्ने कुरा हो, र परमेश्‍वरसँग यसको कुनै सम्‍बन्ध छैन। यदि परमेश्‍वरले पनि मानिसले जस्तै सत्यतामा कष्ट र शोधनको पीडा सहनुपर्छ भनेर मानिसले माग गर्छ भने, मानिस अनाज्ञाकारी भएको छ। परमेश्‍वरको काम भनेको आफ्‍नो सेवकाइ गर्नु हो, र मानिसको कर्तव्य भनेको कुनै पनि प्रतिरोधविना नै परमेश्‍वरका सबै मार्गर्दशनलाई पालन गर्नु हो। परमेश्‍वरले जुन किसिमले काम गर्नुभए तापनि वा उहाँ जसरी जिउनुभए तापनि, आफूले हासिल गर्नुपर्ने कुरालाई मानिसले पूरा गर्नैपर्छ। परमेश्‍वरले मात्रै मानिसहरूलाई मागहरू दिन सक्‍नुहुन्छ, अर्थात्, मानिसलाई माग हरू दिनको लागि परमेश्‍वर मात्रै योग्य हुनुहुन्छ। मानिससँग कुनै पनि विकल्‍प हुनुहुँदैन र पूर्ण रूपमा समर्पित भएर अभ्यास गर्ने बाहेक उसले केही पनि गर्नु हुँदैन; मानिसमा हुनुपर्ने चेतना यही नै हो। परमेश्‍वर स्वयमले गर्नु पर्ने काम पूरा भएपछि, मानिसले यसलाई चरणबद्ध रूपमा अनुभव गर्नु आवश्यक हुन्छ। यदि परमेश्‍वरको सारा व्यवस्थापन पूरा भएपछि, अन्त्यमा, मानिसले परमेश्‍वरले माग गर्नुभएको कुरा मानिसले गरेको छैन भने, मानिसलाई दण्ड दिइनुपर्छ। यदि मानिसले परमेश्‍वरका मागहरूलाई पूरा गर्दैन भने, यो मानिसको अनाज्ञाकारीताको कारणले हो; यसको अर्थ परमेश्‍वर आफ्‍नो काममा पर्याप्त रूपमा विस्तृत हुनुभएन भन्‍ने होइन। परमेश्‍वरको वचनलाई अभ्यास गर्न नसक्‍नेहरू, परमेश्‍वरका मागहरूलाई पूरा गर्न नसक्‍नेहरू, र आफ्‍नो बफादारीता दिन र आफ्‍नो कर्तव्यलाई पूरा गर्न नसक्‍नेहरू सबैलाई दण्ड दिइनेछ। आज, तिमीहरूले पूरा गर्नु पर्ने भनेका थप मागहरू होइनन्, तर मानिसको कर्तव्य हो, र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्‍नो कर्तव्यलाई पूरा गर्न, वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ, र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ, र विभिन्‍न धारणाहरूमा लुप्त हुने, वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नु हुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो, र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका हरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ। तिमीहरूलाई बताइएका वचनहरू तिमीहरूको सारको केन्द्र विन्दुमा नै पुगेको छ, र परमेश्‍वरको कार्य अभूतपूर्व क्षेत्रमा प्रवेश गरेको छ। धेरै मानिसहरू अझै पनि सत्यतावा यो बाटोको झूटलाई बुझ्दैनन्; तिनीहरू अझै पनि प्रतीक्षा गरिरहेका छन् र हेरिरहेका छन्, र आफ्‍नो कर्तव्यलाई पूरा गरिरहेका छैनन्। बरु, तिनीहरूले परमेश्‍वरको हरेक वचन र कार्यलाई छानबिन गर्छन्, तिनीहरू उहाँले के खानुहुन्छ र के लाउनुहुन्छ भन्‍ने कुरालाई ध्यान दिन्छन्, र तिनीहरूका धारणाहरू अझै सोचनीय बन्छन्। के त्यस्ता मानिसहरूले व्यर्थमा चासो देखाइरहेका छैनन् र? तिनीहरू कसरी परमेश्‍वरलाई खोजी गर्ने मानिसहरू हुन सक्छन्? र तिनीहरू कसरी परमेश्‍वरमा समर्पित हुनको लागि अभिप्राय राख्‍ने मानिसहरू हुन सक्छन्? तिनीहरूले आफ्‍नो बफादारीता र कर्तव्यलाई आफ्‍नो मनको पछाडि राख्छन्, र परमेश्‍वर अवस्थितिमा ध्यान केन्द्रित गर्छन्। तिनीहरू एक आक्रोश हो! यदि मानिसले आफूले बुझ्‍नु पर्ने सबै कुरालाई उसले बुझेको छ, र उसले अभ्यास गर्नुपर्ने सबै कुरालाई अभ्यास गरेको छ भने, परमेश्‍वरले अवश्य नै मानिसमाथि आफ्‍ना आशिषहरू प्रदान गर्नुहुन्छ, किनभने उहाँले मानिसबाट माग गर्नुहुने कुरा भनेको मानिसको कर्तव्य हो, र मानिसले गर्नुपर्ने कुरा हो। यदि मानिस उसले बुझ्‍नु पर्ने कुरालाई बुझ्‍न असक्षम छ भने र उसले अभ्यास गर्नु पर्ने कुरालाई अभ्यास गर्न असक्षम छ भने, मानिसलाई दण्ड दिइनेछ। परमेश्‍वरसँग सहकार्य नगर्नेहरू परमेश्‍वरप्रति वैमनस्यतामा छन्, नयाँ कामलाई स्वीकार नगर्नेहरू यसको विरोधमा छन्, यदि त्यस्ता मानिसहरूले केही गरेनन् भने पनि तिनीहरू स्पष्ट रूपमा यसको विरोधमा छन्। परमेश्‍वरले माग गर्नुभएका सत्यतालाई अभ्यास नगर्नेहरू जानी-जानी विरोध गर्नेहरू र परमेश्‍वरका वचनहरूप्रति अनाज्ञाकारी हुनेहरू हुन्, चाहे तिनीहरूले पवित्र आत्माको कार्यलाई विशेष रूपमा ध्यान नै किन नदिऊन्। परमेश्‍वरका वचनहरूलाई पालन नगर्ने र परमेश्‍वरमा समर्पित नहुने मानिसहरू विद्रोहीहरू हुन्, र तिनीहरू परमेश्‍वरको विरोधमा छन्। आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने मानिसहरू परमेश्‍वरसँग सहकार्य नगर्ने मानिसहरू हुन्, र परमेश्‍वरसँग सहकार्य नगर्ने मानिसहरू पवित्र आत्‍माको कार्यलाई स्वीकार नगर्ने मानिसहरू हुन्।

जब परमेश्‍वरको काम निश्‍चित विन्दुमा पुग्छ, र उहाँको व्यवस्थापन निश्‍चित विन्दुमा पुग्छ, तब उहाँको हृदयअनुसारकाहरू उहाँका मागहरूलाई पूरा गर्न सक्षम हुन्छन्। परमेश्‍वरले उहाँकै आफ्ना मापदण्डहरू अनुसार, र मानिस जुन कुरा हासिल गर्न सक्षम छ त्यही अनुसार मानिसबाट मागहरू गर्नुहुन्छ। आफ्‍नो व्यवस्थापनको बारेमा कुरा गर्ने क्रममा, उहाँले मानिसको लागि मार्ग पनि देखाउनुहुन्छ, र मानिसलाई जीवित रहने मार्ग प्रदान गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन र मानिसको अभ्यास दुवै एउटै चरणका काम हुन् र दुवैलाई एकसाथ अघि बढाइन्छ। परमेश्‍वरको व्यवस्थापनको कुरा मानिसको स्वभावको परिवर्तनसँग सम्‍बन्धित छ, र मानिसले गर्नुपर्ने कुरा र मानिसको स्वभावको परिवर्तन परमेश्‍वरको कामसँग सम्‍बन्धित छ; यी दुई अलग हुन सक्‍ने कुनै समय छैन। मानिसको अभ्यास चरणबद्ध रूपमा परिवर्तन भइरहेको छ। यो यसैले हो किनभने मानिसलाई परमेश्‍वरले गर्नुभएका मागहरू पनि परिवर्तन भइरहेका छन्, र किनभने परमेश्‍वरको काम सँधै परिवर्तन भइरहेको छ र प्रगति भइरहेको छ। यदि मानिसको अभ्यास धर्मसिद्धान्तको जालमा नै रहिरहन्छ भने, उसमा परमेश्‍वरको काम र अगुवाइको कमी छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ; यदि मानिसको अभ्यास कहिल्यै परिवर्तन हुँदैन वा गहिराइमा जाँदैन भने, मानिसको अभ्यास मानिसको इच्‍छा अनुसार गरिएको छ, र यो सत्यको अभ्यास होइन भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ; यदि पाइला चाल्‍नको लागि मानिससँग कुनै मार्ग छैन भने, ऊपहिले नै शैतानको हातमा परिसकेको छ, र शैतानद्वारा नियन्त्रित हुन्छ, जसको अर्थ ऊ दुष्ट आत्‍माहरूद्वारा नियन्त्रित छ भन्‍ने हुन्छ। यदि मानिसको अभ्यास गहिराइमा जाँदैन भने, परमेश्‍वरको काम विकास हुनेछैन, र यदि परमेश्‍वरको काममा कुनै परिवर्तन छैन भने, मानिसको प्रवेश रोकिनेछ; यो अपरिहार्य छ। परमेश्‍वरको सारा काममा, यदि मानिसले सँधै यहोवाको व्यवस्थालाई नै पालन गरिरहन्थ्यो भने, परमेश्‍वरको काम अघि बढ्न सक्दैनथियो, सम्पूर्ण युगलाई समाप्त गर्न सम्‍भव हुने त परै जाओस्। यदि मानिसले सँधै क्रूसलाई नै पक्रिराख्यो र धैर्यता र नम्रतालाई अभ्यास गर्‍यो भने, परमेश्‍वरको काम निरन्तर अघि बढ्नु असम्‍भव हुनेथियो। व्यवस्थालाई मात्रै पालन गर्ने, वा क्रूसलाई मात्रै पक्रिने र धैर्यता र नम्रताको अभ्यास गर्ने मानिसहरूका बीचमा छ हजार वर्षको व्यवस्थापनलाई समाप्त गर्न सकिँदैन। बरु, परमेश्‍वरको व्यवस्थापनको सम्पूर्ण कार्यलाई आखिरी दिनहरूका तिनीहरूकै बीचमा समाप्त गरिन्छ, जसले परमेश्‍वरलाई चिन्छन्, जो शैतानका पकडबाट उम्केका छन्, जसले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गरेका छन्। परमेश्‍वरको कार्यको अपरिहार्य दिशा यही नै हो। धार्मिक मण्डलीहरूको अभ्यास पुरानो भइसकेको छ भनेर किन भनिन्छ? किनभने तिनीहरूले जे अभ्यास गर्छन् त्यो आजको कामभन्दा अलग छ। अनुग्रहको युगमा, तिनीहरूले जे अभ्यास गर्थे त्यो सहि थियो, तर युग बितिसकेको र परमेश्‍वरको काम परिवर्तन भइसकेको हुनाले, तिनीहरूको अभ्यास क्रमिक रूपमा पुरानो भइसकेको छ। यसलाई नयाँ कार्य र नयाँ ज्योतिले पछाडि छोडिसकेको छ। आफ्‍नो मूल जगको आधारमा, पवित्र आत्माको काम धेरै चरण गहिरो गरी अघि बढिसकेको छ। तैपनि ती मानिसहरू परमेश्‍वरको कार्यको मूल चरणमा नै अझै पनि अड्किएर बसेका छन्, र अझै पनि तिनीहरू पुराना अभ्यासहरू र पुरानो ज्योतिमा नै टाँसिन्छन्। तीन वा पाँच वर्षमा नै परमेश्‍वरको काम निकै परिवर्तन हुन सक्छ, त्यसकारण २,००० वर्षको अवधिमा के अझै ठूलो परिवर्तन आउनेथिएन र? यदि मानिसमा कुनै नयाँ ज्योति वा अभ्यास छैन भने, यसको अर्थ उसले पवित्र आत्माको कार्यलाई पछ्याएको छैन भन्‍ने हुन्छ। यो मानिसको असफलता हो; परमेश्‍वरको नयाँ कार्यको अस्तित्वलाई इन्कार गर्न सकिँदैन किनभने, आज, यसभन्दा पहिले पवित्र आत्माको काम पाएकाहरू अझै पनि पुरानो अभ्यासहरूलाई नै पालन गर्छन्। पवित्र आत्माको काम सँधै अघि बढिरहेको छ, र पवित्र आत्माको प्रवाहमा हुनेहरू सबैले गहन रूपमा प्रगति गरिरहेको र चरणबद्ध रूपमा परिवर्तन भइरहेको हुनुपर्छ। तिनीहरू एउटा चरणमा रोकिनु हुँदैन। पवित्र आत्‍माको कार्यलाई नजान्‍नेहरू मात्रै उहाँको मूल कार्यमा रहने थियो, र पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्दैन थियो। अनाज्ञाकारीहरू मात्रै पवित्र आत्माको कार्यलाई प्राप्त गर्न असमर्थ हुने थियो। यदि मानिसको अभ्यासले पवित्र आत्माको नयाँ कार्यको गतिलाई पछ्याउन सक्दैन भने, मानिसको अभ्यास निश्‍चित रूपमा नै आजको कामबाट अलग हुन्छर आजको कामसँग मिल्दैन। यी जस्ता पुराना भैसकेका मानिसहरू परमेश्‍वरको इच्‍छालाई हासिल गर्न असमर्थ छन्, तिनीहरू आखिरमा परमेश्‍वरका गवाहीको रूपमा खडा हुन सक्‍ने मानिसहरू बन्‍नु त परै जाओस्। यसको साथै, सम्पूर्ण व्यवस्थापन कार्यलाई त्यस्ता मानिसहरूको समूहमा समाप्त गर्न सकिँदैन। कुनै बेला यहोवाको व्यवस्थालाई पक्रिनेहरू, र कुनै बेला क्रूसको लागि कष्ट भोग्‍नेहरूका लागि, यदि तिनीहरूले आखिरी दिनहरूका कार्यको चरणलाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूले गरेका सबै कुरा व्यर्थ, र बेकामको हुनेछन्। पवित्र आत्माको कामको सबैभन्दा स्पष्ट अभिव्यक्ति भनेको विगतमा लुप्त नभई, यहाँ र अहिलेलाई अङ्गाल्‍नु हो। आजको कार्यको गतिलाई पछ्याउन नसक्‍नेहरू, र आजको अभ्यासबाट अलग भएकाहरू नै पवित्र आत्माको कार्यलाई विरोध गर्ने र स्वीकार नगर्नेहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको वर्तमान कामलाई अवहेलना गर्छन्। तिनीहरू विगतको ज्योतिलाई पक्रेर बस्‍ने भए तापनि, तिनीहरूले पवित्र आत्माको कामलाई जान्दैनन् भन्‍ने कुरालाई इन्कार गर्न सकिँदैन। मानिसको अभ्यासको परिवर्तन बारे, विगत र आजको अभ्यासका भिन्‍नताहरूको बारेमा, अघिल्‍लो युगमा अभ्यासलाई कसरी अघि बढाइन्थ्यो भन्‍ने बारेमा, र आजयो कसरी गरिन्छ त्यसको बारेमा किन यति धेरै कुरा भएका छन्? मानिसको अभ्यासका त्यस्ता विभाजनहरूका बारेमा सँधै बताइन्छ किनभने पवित्र आत्माको काम निरन्तर रूपमा अघि बढिरहेको छ, र मानिसको अभ्यास पनि निरन्तर रूपमा परिवर्तन हुनु आवश्यक छ। यदि मानिस एउटै चरणमा अड्केर बस्‍छ भने, यसले परमेश्‍वरको नयाँ कार्य र नयाँ ज्योतिको गतिलाई पछ्याउन ऊअसक्षम छ भन्‍ने कुरालाई प्रमाणित गर्छ; व्यवस्थापन सम्‍बन्धी परमेश्‍वरको योजना परिवर्तन भएको छ भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। पवित्र आत्‍माको प्रवाहबाट बाहिर हुनेहरूले तिनीहरू सहि छन् भन्‍ने सँधै विचार गर्छन्, तर वास्तवमा, तिनीहरूमा धेरै पहिले नै परमेश्‍वरको काम रोकियो, र पवित्र आत्‍माको कार्य तिनीहरूमा छैन। परमेश्‍वरको कामलाई धेरै पहिले नै अर्को समूहका मानिसहरूमा स्थानान्तर गरिएको छ, जुन समूहमा उहाँले आफ्‍नो नयाँ कार्यलाई पूरा गर्ने अभिप्राय राख्‍नुहुन्छ। धर्ममा हुनेहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्न असमर्थ छन्, र तिनीहरू विगतका पुरानो कार्यलाई मात्रै पक्री राख्छन्, त्यसैले परमेश्‍वरले यी मानिसहरूलाई त्याग्‍नुभएको छ, र यो नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूमा नै उहाँले आफ्‍नो काम गर्नुहुन्छ। यी मानिसहरू उहाँको नयाँ कार्यमा सहकार्य गर्ने मानिसहरू हुन्, र यसरी मात्रै उहाँको व्यवस्थापनलाई पूरा गर्न सकिन्छ। परमेश्‍वरको व्यवस्थापन सँधै अघि बढिरहन्छ, र मानिसको अभ्यास सँधै माथि बढिरहेको छ। परमेश्‍वरले सँधै काम गरिरहनुहुन्छ, र मानिस सँधै खाँचोमा हुन्छ, त्यसरी दुवै आ-आफ्‍नो शीर्ष विन्दुमा पुग्‍छन् र परमेश्‍वर र मानिसले पूर्ण एकतालाई हासिल गर्छन्। परमेश्‍वरको कार्यको पूर्णताको अभिव्यक्ति यही हो, र परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनको अन्तिम परिणाम यही नै हो।

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यही अनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन्, र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा, र पवित्र आत्‍माको कुनै पनि कार्य विहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू, र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन्, र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ, र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन्, र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ, र दण्ड समेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, तिनीहरू पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नामलाई महिमित पार्ने र उहाँको वचनलाई अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरूलाई प्राप्त गर्नेछन्; उहाँको आज्ञा उल्‍लङ्घन गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन्, र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ, र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र मागयही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन्, र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन्, र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्त अनुसार गर्ने बाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थिति विहीन छन्, यसको साथै, परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्म बाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ, र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू, र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधको बारेमा कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मको बारेमा कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरको वर्तमान इच्‍छाको बारेमा तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन्, र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन जोसँग सत्यताको लागि कुनै प्रेम छैन, र जसलाई पवित्र आत्माले घृणा र इन्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रुवत बन्छन्, र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र? यी मानिसहरूको दुष्कर्मलाई उल्‍लेख गर्दा, कतिपय मानिसहरू तिनीहरूलाई सराप्‍न आतुर हुन्छन्, जबकि परमेश्‍वरले भने तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ। मानिसको लागि, तिनीहरूका कार्यहरू परमेश्‍वरको नामसँग सम्‍बन्धित छ भन्‍ने जस्तो देखिन्छ, तर वास्तवमा, परमेश्‍वरको लागि, उहाँको नाम वा उहाँको गवाहीसँग तिनीहरूको कुनै सम्‍बन्ध हुँदैन। यी मानिसहरूले जेसुकै गरे तापनि, यो परमेश्‍वरसँग सम्‍बन्धित हुँदैन: यो उहाँको काम र उहाँको हालको काम दुवैसँग सम्‍बन्धित छैन। यी मानिसहरूले आफैलाई अपमानित गर्छन्, र शैतानलाई प्रकट गर्छन्; तिनीहरू दुष्ट काम गर्नेहरू हुन् जसले क्रोधको दिनको लागि सञ्चय गरिरहेका छन्। आज, तिनीहरूको कार्यहरूको बाबजुत, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनलाई बाधा दिएनन् र परमेश्‍वरको नयाँ कार्यसँग कुनै सम्‍बन्ध राखेनन् भने, त्यस्ता मानिसहरू सम्‍बन्धित दण्डमा पर्नेछैनन्, किनभने क्रोधको दिन आउन बाँकी नै छ। धेरै कुरा छन् जुन परमेश्‍वरले पहिले नै निराकरण गरिसक्‍नुपर्ने हो भनी मानिसहरूले विश्‍वास गर्छन्, र ती दुष्ट काम गर्नेहरूलाई जति सक्दो चाँडो दण्ड दिइनुपर्छ भन्‍ने तिनीहरू विचार गर्छन्। तर परमेश्‍वरको व्यवस्थापनको काम अहिलेसम्‍म अन्त्यमा आइपुगेको छैन, र क्रोधको दिन आउन बाँकी नै भएकोले, अधर्मीहरूले अझै आफ्‍ना अधर्मी कार्यहरूलाई जारी राख्छन्। कतिले भन्छन्, “धर्ममा हुनेहरू पवित्र आत्माको उपस्थिति वा कामरहित हुन्छन्, र तिनीहरूले परमेश्‍वरको नामलाई बदनाम गर्छन्; त्यसकारण तिनीहरूको लापरवाही आचरणलाई अझै सहिरहनुको सट्टा परमेश्‍वरले तिनीहरूलाई किन नष्ट गर्नुहुन्‍न?” यी मानिसहरू, जो शैतानका प्रकटीकरण हुन् र जसले देहलाई व्यक्त गर्छन्, यिनीहरू अज्ञानी, नीच मानिसहरू हुन्; तिनीहरू मूर्ख मानिसहरू हुन्। परमेश्‍वरले मानिसहरूका बीचमा आफ्‍नो काम कसरी गर्नुहुन्छ भन्‍ने बारेमा बुझ्‍नुभन्दा पहिले तिनीहरूले परमेश्‍वरको क्रोधको आगमनलाई अवलोकन गर्दैनन्, र तिनीहरू सबैलाई पूर्ण रूपमा विजय गरिएपछि, ती दुष्ट काम गर्नेहरू सबैले आफ्‍नो दण्ड पाउनेछन्, र क्रोधको दिनबाट तिनीहरूमध्ये एक जना पनि उम्कन सक्‍नेछैनन्। अहिले मानिसलाई दण्ड दिने समय होइन, तर विजयको कामलाई अघि बढाइने समय हो, तैपनि परमेश्‍वरको व्यवस्थापनलाई बिगार्ने मानिसहरू छन् भने, त्यस्तो अवस्थामा, तिनीहरूको कार्यहरूको गम्भीरताको आधारमा तिनीहरूलाई दण्ड दिइनेछ। मानवजातिमाथि परमेश्‍वरको व्यवस्थापनको अवधिमा, पवित्र आत्माको प्रवाहभित्र हुनेहरूको सम्‍बन्ध परमेश्‍वरसँग हुन्छ। पवित्र आत्माद्वारा घृणा गरिएका र इन्कार गरिएकाहरू शैतानको प्रभावमा जिउँछन्, र तिनीहरूले जे कुरालाई अभ्यास गर्छन् त्यसले परमेश्‍वरसँग कुनै सम्‍बन्ध राख्दैन। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्ने र परमेश्‍वरसँग सहकार्य गर्नेहरू मात्रै परमेश्‍वरसँग सम्‍बन्धित हुन्छन्, किनभने परमेश्‍वरको कार्यलाई यसलाई स्वीकार गर्नेहरूतर्फ मात्रै लक्षित गरिन्छ, र सबै मानिसहरूप्रति यो लक्षित गरिँदैन, चाहे तिनीहरूले यसलाई स्वीकार गरून् वा नगरून्। परमेश्‍वरले गर्नुहुने कामको सँधै लक्ष्यहुन्छ र यो आवेगमा गरिँदैन। तिनीहरू जो शैतानसँग सम्‍बन्धित छन् तिनीहरू परमेश्‍वरको साक्षी दिनको लागि योग्य छैनन्, परमेश्‍वरसँग सहकार्य गर्नको लागि तिनीहरू योग्य हुने कुरा त परै जाओस्।

पवित्र आत्माको कामको हरेक चरणलाई पनि मानिसको गवाहीको आवश्यकता पर्छ। कार्यको हरेक चरण परमेश्‍वर र शैतान बीचको युद्ध हो, र युद्धको निशाना शैतान हो, जबकि यस कार्यद्वारा सिद्ध पारिने मानिस नै हो। परमेश्‍वरको कार्यले फल फलाउँछ कि फलाउँदैन भन्‍ने कुरा मानिसले परमेश्‍वरको निम्ति दिने गवाहीको तरिकामा भर पर्छ। उहाँलाई पछ्याउनेहरूबाट परमेश्‍वरले यही गवाहीको माग गर्नुहुन्छ; यो शैतानको सामु दिइने गवाही हो, र उहाँको कार्यको प्रभावहरूको प्रमाण पनि हो। परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन तीन चरणमा विभाजित छन्, र हरेक चरणमा, मानिसलाई उचित मागहरू गरिन्छ। यसको साथै, युगहरू बितेर जाने र अघि बढ्ने क्रममा, सारा मानवजातिको निम्ति परमेश्‍वरको मागहरू झन्-झन् उच्‍च हुँदै जान्छन्। यस प्रकारले, चरणबद्ध रूपमा, परमेश्‍वरको व्यवस्थापनको यो कार्य यसको शिखरमा पुग्छ, तब मानिसले “वचन शरीरमा देखा पर्नुभएको” तथ्यलाई देख्छ, र यसरी गवाही दिने सम्‍बन्धी मानिसका मागहरू जस्तै, मानिसका मागहरू पनि अझै उच्‍च बन्छ। परमेश्‍वरसँग साँचो रूपमा सहकार्य गर्न मानिस जति सक्षम हुन्छ, उसले परमेश्‍वरलाई त्यति नै महिमित तुल्याउँछ। मानिसको सहकार्य भनेको उसले दिनुपर्ने गवाही हो, र उसले दिने गवाही मानिसको अभ्यास हो। त्यसकारण, परमेश्‍वरको कार्यले पर्याप्त प्रभाव पार्छ कि पार्दैन, र यो साँचो गवाही हुन सक्छ कि सक्दैन भन्‍ने कुरा अपरिहार्य रूपमा नै मानिसको सहकार्य र गवाहीसँग जोडिएका हुन्छन्। जब काम समाप्‍त हुन्छ, भन्‍नुको अर्थ, जब परमेश्‍वरको सबै व्यवस्थापन यसको समाप्तिमा पुग्छ, मानिसले उच्‍च गवाही दिनु आवश्यक हुनेछ, र जब परमेश्‍वरको कार्य यसको समाप्तिमा पुग्छ, मानिसको अभ्यास र प्रवेश यसको शीर्ष विन्दुमा पुग्‍नेछ। विगतमा, मानिसले व्यवस्था र आज्ञाहरू पालन गर्नुपर्थ्यो, र ऊधैर्य र नम्र हुनुपर्थ्यो। आज, मानिसले परमेश्‍वरका सारा प्रबन्धहरूलाई पालन गर्नुपर्छ र उसँग परमेश्‍वरको सर्वोच्‍च प्रेम हुनुपर्छ, र अन्तिममा संकष्टको बीचमा पनि उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। यिनीहरू परमेश्‍वरले आफ्‍नो सम्पूर्ण व्यवस्थापनमा चरणबद्ध रूपमा मानिसलाई दिनुहुने मागहरूका तीन वटा चरणहरू हुन्। परमेश्‍वरको कार्यको हरेक चरण पछिल्‍लोभन्दा अझै गहन हुन्छ, र हरेक चरणमा मानिसलाई दिइने मागहरू पछिल्‍लोभन्दा अझै गहन हुन्छ, र यसरी, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापनले आकार लिँदै जान्छ। मानिसलाई दिइएका मागहरू अझै उच्‍च छन् भन्‍ने ठीक त्यही कारणले मानिसको स्वभाव परमेश्‍वरले माग गर्नुभएको मापदण्डहरूको नजिक आउँछ, त्यसपछि मात्रै सारा मानवजाति शैतानको प्रभावबाट तबसम्‍म क्रमिक रूपमा टाढा हुन्छ, जबसम्‍म परमेश्‍वरको काम पूर्ण रूपमा समाप्त हुँदैन, र सारा मानवजाति शैतानको प्रभावबाट बचाइएको हुँदैन। जब त्यो समय आउँछ, तब परमेश्‍वरको काम यसको अन्त्यमा पुगेको हुनेछ, र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्नको लागि त्यस उप्रान्त परमेश्‍वरसँगको मानिसको सहकार्य हुनेछैन, र सारा मानवजाति परमेश्‍वरको ज्योतिमा जिउनेछ, र त्यसपछि, परमेश्‍वरको विरुद्धमा कुनै विद्रोह वा विरोध हुनेछैन। परमेश्‍वरले मानिसबाट मागहरू पनि गर्नुहुनेछ, र मानिस र परमेश्‍वरको बीचमा अझै मैत्रीपूर्ण सहकार्य हुनेछ, जुन एकसाथ मानिस र परमेश्‍वरको जीवन, अर्थात् परमेश्‍वरको व्यवस्थापन पूर्ण रूपमा समाप्त भएपछि, र शैतानका पकडहरूबाट परमेश्‍वरद्वारा मानिसलाई पूर्ण रूपमा बचाइएपछिको जीवन हुनेछ। परमेश्‍वरका पाइलाहरूलाई नजिकबाट पछ्याउन नसक्‍नेहरू त्यस्तो जीवन प्राप्त गर्न असमर्थ हुन्छन्। तिनीहरूले आफैलाई अन्धकारमा खसाएका हुनेछन्, जहाँ तिनीहरू रुनेछन् र दाह्र किट्नेछन्; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई नपछ्याउने, परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँका सबै कार्यलाई पालन नगर्ने मानिसहरू हुन्। मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई जान्‍नेहरू तिनीहरू मात्रै हुन्। अक्षरहरू र धर्मसिद्धान्तहरूलाई दासले जस्तो पछ्याउने मानिसहरू पवित्र आत्‍माको कार्यद्वारा हटाइएकाहरू हुन्। समयको हरेक अवधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ, र हरेक अवधिमा, मानिसको बीचमा नयाँ सुरुवात हुनेछ। यदि मानिस “यहोवा नै परमेश्‍वर हुनुहुन्छ” र “येशू नै ख्रीष्‍ट हुनुहुन्छ” भन्‍ने सत्यताहरू, जुन तिनीहरूको सम्‍बन्धित युगहरूमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कार्यमा कहिल्यै पनि लागिरहन सक्दैन, र पवित्र आत्‍माको कार्यलाई प्राप्त गर्न ऊसँधैको लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, मानिसले अलिकति पनि शङ्का नगरिकन पछ्याउँछ, र उसले नजिकबाट पछ्याउँछ। यसरी, मानिसलाई कसरी पवित्र आत्‍माले हटाउन सक्‍नुहुन्छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरिकन पवित्र आत्‍माको काममा सहकार्य गर्छ, र परमेश्‍वरका मागहरूलाई पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पाइलाहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापन कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ, र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको कामलाई थोरै मात्रामा प्राप्त गर्ने बाहेक केही पनि गर्न नसकेपछि, उसले यसलाई यसरी व्यवहार गर्छ मानौं यो कहिल्यै परिवर्तन हुनेछैन; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको नयाँ कामका पाइलाहरूलाई पछ्याउँदैन; परमेश्‍वरको थोरै कामलाई बाहेक केही पनि नदेखेपछि, उसले तुरुन्तै परमेश्‍वरलाई काठको आकृतिको रूपमा निर्धारित गर्छ, र उसले आफ्‍नो अगाडि देखेको यही रूपमा नै परमेश्‍वर सँधै रहिरहनुहुनेछ, अर्थात् विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; सतही ज्ञान बाहेक केही पनि प्राप्त नगरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि उसले आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको ईश्‍वरको स्वभाव र अस्तित्वलाई घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणको बारेमा निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ कामलाई घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिसले यसलाई स्वीकार गर्दैन। पवित्र आत्माको नयाँ कामलाई स्वीकार गर्न नसक्‍ने मानिसहरू यिनीहरू नै हुन्; तिनीहरू अत्यन्तै रूढिवादी छन्, र नयाँ कुराहरूलाई स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। “यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगरेकोमा” इस्राएलीहरू गलत थिए भन्‍ने विश्‍वास मानिसले गर्छ, तैपनि अधिकांश मानिसहरूले “यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने” साथै “मसीहको आगमनको लागि उत्कट इच्‍छा गर्ने, तर येशू भनिने मसीहलाई इन्कार गर्ने” भूमिकालाई निर्वाह गर्छन्। त्यसैले, पवित्र आत्माको कार्यको एउटा चरणलाई स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको अधिकार-क्षेत्रमा जिउँछन्, र अझै परमेश्‍वरका आशिषहरूलाई प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नु पर्दैन। के यो मानिसको विद्रोहीपनको परिणाम होइन र? आजको नयाँ काममा लागिरहन नसकेका संसारभरिका ख्रीष्टियनहरूले तिनीहरू भाग्यमानीहरू हुन्, परमेश्‍वरले तिनीहरूका हरेक कामनाहरूलाई पूरा गर्नुहुनेछ भन्‍ने विश्‍वासलाई पक्रि राखेका छन्। तैपनि परमेश्‍वरले तिनीहरूलाई तेस्रो स्वर्गमा किन लैजानुहुनेछ सो तिनीहरूले निश्‍चित रूपमा भन्‍न सक्दैनन्, न त येशू कसरी तिनीहरूलाई लिन सेतो बादलको सवारीमा आउनुहुनेछ भन्‍ने बारेमा नै तिनीहरू निश्‍चित छन्, तिनीहरूले कल्‍पना गरेको दिनमा येशू सेतो बादलमा साँच्‍चै आइपुग्‍नुहुनेछ भनेर तिनीहरूले पूर्ण निश्‍चयताको साथ भन्‍न सक्‍नु त परै जाओस्। तिनीहरू पूर्णरूपमा चिन्तित, र अलमलमा छन्; परमेश्‍वरले हरेक सम्प्रदायका, केही साना मुट्ठीभरका विविध मानिसहरू प्रत्येकलाई लानुहुन्छ कि लानुहुन्‍न त्यो कुरा तिनीहरूलाई समेत थाहा छैन। परमेश्‍वरले अहिले, वर्तमान युगमा गर्नुहुने काम, परमेश्‍वरको इच्‍छा—यीमध्ये कुनै पनि कुराको बारेमा तिनीहरूलाई केही पनि थाहा छैन, र तिनीहरूले आफ्‍ना औंलामा दिनहरू गन्‍ने बाहेक केही पनि गर्न सक्दैनन्। अन्त्यसम्‍मै थुमाका पाइलाहरूलाई पछ्याउनेहरूले मात्रै अन्तिम आशिष प्राप्त गर्न सक्छन्, जबकि अन्त्यसम्‍मै पछ्याउन नसक्‍ने तैपनि सबै प्राप्त गरेका छौं भनी विश्‍वास गर्ने ती “चलाख मानिसहरू” परमेश्‍वरको देखा पर्ने घटनालाई देख्‍न असमर्थ हुन्छन्। तिनीहरू प्रत्येकले आफूलाई पृथ्वीको सबैभन्दा बाठो व्यक्ति हुँ भनी विश्‍वास गर्छन्, र परमेश्‍वरको कार्यको निरन्तर विकासलाई कुनै पनि कारणविना छोट्याउँछन्, र परमेश्‍वरले तिनीहरूलाई अर्थात् “परमेश्‍वरप्रति उच्‍च बफादारीता हुनेहरू, परमेश्‍वरलाई पछ्याउनेहरू र परमेश्‍वरका वचनहरूलाई पालना गर्नेहरू” लाई स्वर्गमा लैजानुहुनेछ भनी पूर्ण सुनिश्‍चितताको साथ विश्‍वास गर्छन् भन्‍ने देखिन्छ। परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति तिनीहरूसँग “उच्‍च बफादारीता” भए तापनि, तिनीहरूका वचन र कार्यहरू अझै अत्यन्तै घृणित छन् किनभने तिनीहरूले पवित्र आत्‍माको कामलाई विरोध गर्छन्, र धोका र छल गर्छन्। अन्तिमसम्‍मै नपछ्याउनेहरू, पवित्र आत्‍माको कार्यमा नलागिरहनेहरू, र पुरानो काममा मात्रै टाँसिरहनेहरूले परमेश्‍वरप्रति बफादारीता हासिल गर्न असफल मात्रै भएका छैनन्, तर यसको विपरीत, तिनीहरू परमेश्‍वरलाई विरोध गर्नेहरू बनेका छन्, नयाँ युगद्वारा इन्कार गरिएकाहरू बनेका छन्, र जो दण्डित हुनेछन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? धेरैले यो विश्‍वास गर्छन् कि पुरानो व्यवस्थालाई इन्कार गर्ने र नयाँ कार्यलाई स्वीकार गर्नेहरू विवेकहीन हुन्। “विवेक” को मात्रै कुरा गर्ने र पवित्र आत्‍माको कामलाई नजान्‍ने यी मानिसहरूको आशालाई तिनीहरूका आफ्‍नै विवेकले हटाइदिनेछ। परमेश्‍वरको काम धर्मसिद्धान्तद्वारा बाँधिँदैन, र यो उहाँको आफ्‍नै काम हुन सक्‍ने भए तापनि, परमेश्‍वरले यसलाई पक्रिराख्‍नुहुन्‍न। इन्कार गरिनुपर्नेकुरालाई इन्कार गरिन्छ, हटाइनुपर्ने कुरालाई हटाइन्छ। तैपनि परमेश्‍वरको व्यवस्थापन कार्यको एउटै मात्र सानो भागलाई पक्रिराखेर मानिसले आफैलाई परमेश्‍वरको शत्रुता तुल्याउँछ। के यो मानिसको मूर्खता होइन र? के यो मानिसको अज्ञानता होइन र? मानिसहरू जति बढी डरपोक र अनावश्यक रूपमा सतर्क छन् किनभने तिनीहरू परमेश्‍वरका आशिषहरू प्राप्त गर्न डराउँछन्, त्यति नै बढी तिनीहरू महान् आशिषहरूलाई प्राप्त गर्न, र अन्तिम आशिष प्राप्त गर्न असमर्थ हुन्छन्। समर्पित भएर व्यवस्थालाई पालन गर्नेहरू सबैले व्यवस्थाप्रति उच्‍च बफादारीता देखाउँछन्, र तिनीहरूले व्यवस्थाप्रति जति धेरै त्यस्तो बफादारीता देखाउँछन्, तिनीहरू परमेश्‍वरलाई त्यति नै बढी विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकोले, आजको काम र विगतको कामलाई समान रूपमा उल्‍लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्‍वरको काम परिवर्तन भएको छ, र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्थालाई पक्रिराख्‍नु वा क्रूसलाई बोक्‍नु होइन, त्यसकारण व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीताले परमेश्‍वरको अनुमोदन पाउनेछैन।

राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र संकष्टमा पर्नेछ। यो संकष्टमा विजय गर्न सक्‍ने र गवाहीको रूपमा खडा हुन सक्‍नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो संकष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हुनेछ। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो, र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ, र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। संकष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्‍माको कार्य र परमेश्‍वरको अगुवाइ विहीन हुन्छन्, तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्‍वरलाई साँचो रूपमा खोज्‍नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्‍नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-संकष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। धमिलो पानीमा माछा मार्नेहरूले आज फाइदा लुट्‍न सक्‍ने भए तापनि, अन्तिम संकष्टबाट उम्‍कन कोही पनि सक्‍दैन, र अन्तिम जाँचबाट कोही पनि उम्कन सक्दैन। विजय गर्नेहरूका लागि, त्यस्तो संकष्ट अति बृहत शोधन हो; तर धमिलो पानीमा माछा मार्नेहरूका लागि, यो पूर्ण निष्कासनको कार्य हो। तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन्, र तिनीहरू परमेश्‍वरबाट अलग समेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ, र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवता विहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ, वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारीलाई कुनै पनि शब्‍द वा कारण विना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूत आत्‍माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र? मानिसलाई मुक्त गर्ने कार्य विजयको कामको पूर्णतालाई पछ्याएर हासिल गरिँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्‍नो हृदयमा परमेश्‍वर विहीन हुने ती देखावटी मानिसहरूलाई सफाइ गरिएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्‍वरलाई सन्तुष्ट नपार्नेहरूलाई पुर्ण रूपमा हटाइनेछ, र हटाइएकाहरू दियाबलसबाटका हुन्। तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्‍वरको विरुद्धमा विद्रोही छन्, र यी मानिसहरूले आज परमेश्‍वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्‍मै रहनेहरू हुन् भन्‍ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्‍मै परमेश्‍वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्‍ने वचनहरूमा, “पछ्याउनु” को अर्थ संकष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्‍ने हुन्छ। आज, धेरैले परमेश्‍वरलाई पछ्याउनु सजिलो छ भन्‍ने विश्‍वास गर्छन्, तर जब परमेश्‍वरको काम समाप्त हुन लागेको हुन्छ, तैँले “पछ्याउनु” को साँचो अर्थलाई जान्‍नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्‍वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्‍नेहरू, संकष्टको बीचमा विजय बन्‍न नसक्‍नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्‍वरलाई अन्तिमसम्‍मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्‍वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्‍नो कामको जाँचलाई सामना गर्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्‍वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्‍ने कुरालाई उसको कामको जाँचले, अर्थात्, परमेश्‍वरका परीक्षाहरूले निर्धारण गर्छ, र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई आवेगमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम उहाँले गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन्, र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले दुर्व्यवहार गर्नुहुन्‍न। तिनीहरूका फरक-फरक कार्यहरू र गवाहीहरूका आधारमा, राज्यभित्रका विजेताहरूले पूजाहारीहरूका रूपमा वा अनुयायीहरूका रूपमा सेवा गर्नेछन्, र संकष्टको बीचमा विजयी हुनेहरू राज्यभित्रका पूजाहारीहरूको निकाय बन्‍नेछन्। ब्रह्माण्डभरिमा सुसमाचारको कार्य समाप्त भएपछि पूजाहारीहरूको निकायलाई निर्माण गरिनेछ। जब त्यो समय आउँछ, मानिसले गर्नुपर्ने कुरा परमेश्‍वरको राज्यभित्र उसले पूरा गर्नुपर्ने दायित्व, र राज्यभित्र परमेश्‍वरसँग एकसाथको उसको जियाइ हुनेछ। पूजाहारीहरूको निकायमा प्रधान पूजाहारीहरू र पूजाहारीहरू हुनेछन्, र बाँकीचाहिँ परमेश्‍वरका पुत्रहरू र मानिसहरू हुनेछन्। संकष्टको अवधिमा परमेश्‍वरको निम्ति तिनीहरूले दिएका गवाहीले यो सबैलाई निर्धारण गर्नेछ; ती आवेगमा दिइने पदहरू होइनन्। मानिसको अवस्थालाई स्थापना गरिसकेपछि, परमेश्‍वरको काम बन्द हुनेछ, किनभने हरेकलाई उसको प्रकार अनुसार वर्गीकरण गरिनेछ र तिनीहरूको मूल स्थितिमा फर्काइनेछ, र यो परमेश्‍वरको कार्यको पूर्णताको चिन्‍ह हो, यो परमेश्‍वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो, र परमेश्‍वरको कार्य र मानिसको सहकार्यका दर्शनहरूलाई स्पष्ट बनाउने कार्य हो। आखिरमा, मानिसले परमेश्‍वरको राज्यमा विश्राम पाउनेछ, र परमेश्‍वर पनि विश्राम गर्न आफ्‍नो वासस्थानमा फर्कनुहुनेछ। परमेश्‍वर र मानिस बीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम यही नै हुनेछ।

अघिल्लो: परमेश्‍वरद्वारा बास गरिएको देहको सार

अर्को: स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको आधारभूत स्वभाव हो

सम्बन्धित विषयवस्तु

परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको...

तपाईंले येशूको आत्मिक शरीरलाई हेर्दासम्ममा परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ

के तँ येशूलाई देख्न चाहन्छस्? के तँ येशूसँग बस्ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएको वचन सुन्ने इच्छा गर्छस्? यदि त्यसो हो भने, तैँले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्